Tag: टप न्यूज

  • कैलालीबाट शुरु हुँदै नेकपाको एकता सन्देश सभा, कसलाई कुन जिम्मेवारी ?

    कैलालीबाट शुरु हुँदै नेकपाको एकता सन्देश सभा, कसलाई कुन जिम्मेवारी ?

    कैलाली । विभिन्न १२ घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाले देशभर पार्टी एकता सन्देश सभा आयोजना गर्ने तयारी गरेको छ । आगामी मङ्सिर १२ गते कैलालीको धनगढीबाट सन्देश सभा शुरु हुँदै छ ।

    धनगढीमा आयोजना हुने सभाको संयोजन भीम रावलले गर्दै छन् । उनले करिब ५० हजार उपस्थिति हुने गरी कार्यक्रम तयारी गर्न सबैलाई निर्देशन दिएका छन् । १२ गते दिउँसो १२ः३० बजे रङ्गशालाको दक्षिण क्षेत्रमा सभा गर्ने तयारी भइरहेको छ । कार्यक्रमको लागि विभिन्न १३ उपसमिति तयार गरिएको छ ।

    यी हुन् उपसमितिका संयोजक र सहसंयोजक

    १३ उपसमिति गठनसँगै सभाको तीव्र तयारी भइरहेको प्रचार समिति संयोजक लक्षीराम आचार्यले जानकारी दिए । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल १२ गते धनगढी पुग्ने जानकारी दिँदै उनीहरू बाहेकका केही नेताहरू ११ गते नै धनगढी पुग्ने बताए ।

    सभालाई प्रचण्ड, माधवसहित झलनाथ खनाल, वामदेव गौतम नारायणकाजी श्रेष्ठ र भीम रावलले सम्बोधन गर्ने उनले बताए ।

    मङ्सिर १२ गतेदेखि २३ गतेसम्म देशका विभिन्न स्थानमा सञ्चालन हुनेछन्। सुदूरपश्चिमबाट शुरु हुने यी कार्यक्रम क्रमशः लुम्बिनी, गण्डकी, कोशी, उपत्यका विशेष, कर्णाली, सङ्घीय संरचना समन्वय प्रदेश, मधेश र बागमती प्रदेशमा आयोजना हुनेछ।

    त्यस्तै, विदेशमा रहेका पार्टी संरचनाहरूका लागि मङ्सिर २१ गते साँझ ६ बजे भर्चुअल एकता सभा सञ्चालन गरिने कार्यक्रमसमेत तय गरिएको छ।

  • खण्डहर यातायात व्यवस्था विभाग- ४ अर्बको सम्पत्ति स्वाहा, रुखमा सर्भरको तार र टाउकोमाथि पाल !

    खण्डहर यातायात व्यवस्था विभाग- ४ अर्बको सम्पत्ति स्वाहा, रुखमा सर्भरको तार र टाउकोमाथि पाल !

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको गेटभित्र छिर्दा लाग्छ- कुनै दुर्गमको अस्थायी शिविर हो यो । कुनै बेला सेवाग्राहीको थेगिनसक्नु भीड र सवारी साधनको चापले गुलजार रहने यो स्थान आजभोलि कुनै ‘युद्धग्रस्त क्षेत्र’को भग्नावशेषजस्तो लाग्छ ।

    केही महिना अघिसम्म आधुनिक प्रविधिको कुरा हुने यो भवन अहिले खरानीको थुप्रोमा परिणत भएको छ । जहाँ सुरक्षित रहनुपर्ने सरकारी फाइल कर्मचारीको झोलामा र सर्भरका तार रुखका हाँगामा झुन्डिएका छन् ।

    भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’को आगोले विभागको भौतिक संरचना मात्र जलाएन, राज्यको ४ अर्ब रुपैयाँ स्वाहा पार्दै सिंगो यातायात प्रणालीलाई नै ‘खुल्ला आकाश’मा ल्याइदिएको छ । महत्त्वपूर्ण सरकारी संयन्त्र अहिले रुखको हाँगामा अल्झिएका तार र पार्किङमा टाँगिएकाे पालको भरमा चलिरहेको छ ।

    ‘जेनजी आन्दोलन’ को आगो निभिसकेको छ । तर, त्यसले यातायात व्यवस्था विभागमा छोडेको डढेलोको खत भने मेटिन सकेको छैन । आन्दोलनको राप सेलाए पनि यातायात व्यवस्था विभागमा त्यसले छोडेको घाउ अझै आलै छ । अर्बौँको क्षति बेहोरेको विभागले रुखमा तार टाँगेरै भएपनि दिइरहेको सेवाले राज्यको निरीहता र बाध्यता दुवैलाई एकसाथ उदाङ्गो पारिदिएको छ ।

    खरानी बन्यो ४ अर्बको सम्पत्ति

    विभागको कम्पाउन्डभित्र टेक्ने बित्तिकै अझै डढेको गन्ध  आउँछ । जताततै कालो दाग देखिन्छ । आन्दोलनको आक्रोशले विभागको भौतिक संरचना मात्र भत्काएन, राज्यको ४ अर्ब रुपैयाँ स्वाहा बनाइदियो ।

    विभागको तथ्यांकअनुसार ४ अर्ब रुपैयाँ बराबरको भौतिक तथा प्राविधिक क्षति भएको छ । सबैभन्दा ठूलो क्षति सवारी साधनमा जडान गर्न तयार पारिएका ‘इम्बोस्ड नम्बर प्लेट’ मा भएको छ । सुरक्षित मानिएको विभागको स्टोर रुम नै आगजनीको निशानामा परेपछि स्टकमा रहेका करिब ६ लाख थान इम्बोस्ड नम्बर प्लेट जलेर नष्ट भएका छन् । राज्यले ठूलो महत्वाकांक्षासहित लागू गर्न खोजेको यो प्रणालीमा मात्रै करिब ३ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । यो विध्वंसले इम्बोस्ड नम्बर प्लेट जडानको राष्ट्रिय योजनालाई नै महिनौँ पछाडि धकेलिदिएको छ ।

    भवन र फर्निचर त पुनः निर्माण गर्न सकिएला तर विभागले वर्षौँ लगाएर तयार पारेको प्राविधिक पूर्वाधार (सिस्टम) मा पुगेको चोट गहिरो छ । विभागका आइटी डाइरेक्टर केशव खतिवडाका अनुसार करिब ५० करोड रुपैयाँ लगानीमा जडान गरिएको सर्भर, नेटवर्किङ र डाटा सेन्टरको सिस्टम आगोले ध्वस्त बनाएको छ ।

    क्षति यतिमा मात्र सीमित छैन । सेवाग्राहीको हातमा पुर्याउन ठिक्क पारिएका २० हजारभन्दा बढी स्मार्ट लाइसेन्सहरू ९सवारी चालक अनुमति पत्र० पनि आगोमा जलेर खरानी भए । लाइसेन्स छाप्ने नेपालकै एक मात्र बहुमूल्य मेसिन तोडफोड भई काम नलाग्ने भएको छ । जसले गर्दा करिब दुई महिना लाइसेन्स छपाइ पूर्ण रूपमा ठप्प बन्न पुग्यो ।

    ‘आन्दोलनले करिब ४ अर्ब क्षति भयो । ५० करोडको सिस्टम मात्र होइन, सेवाग्राहीलाई वितरण गर्न ठिक्क पारिएका र छपाइ भइसकेका २० हजारभन्दा धेरै स्मार्ट लाइसेन्सहरू पनि जलेर खरानी भए । अब ती लाइसेन्सहरू पुनः छपाइ गर्नुपर्छ’, उनले भने ।

    रुखमा तार, पालमुनि कार्यालय

    अत्याधुनिक प्रविधिको युगमा यातायात व्यवस्था विभागको अहिलेको दैनिकी देख्दा जो कोहीलाई उदेक लाग्न सक्छ । आगजनीका कारण मुख्य भवनको संरचना कमजोर भएपछि प्राविधिक टोलीले ‘पहेँलो स्टिकर’ टाँसेको छ । मर्मत सम्भार नगरी भवनभित्र पस्नु जोखिमपूर्ण भएपछि सरकार अहिले पार्किङ क्षेत्रमा पाल टाँगेर चलिरहेको छ ।

    आइटी डाइरेक्टर खतिवडाका अनुसार अहिलेको अवस्था निकै दयनीय छ । आन्दोलनको निशानामा परेको विभागको मुख्य भवन अहिले प्रयोग गर्न नमिल्ने अवस्थामा छ । आगजनीका कारण भवनको संरचना कमजोर भएपछि प्राविधिक टोलीले निरीक्षण गरी भवनमा पहेँलो स्टिकर टाँसेको छ । यसको अर्थ मर्मत सम्भार नभई यो भवन भित्र बसेर काम गर्नु जोखिमपूर्ण छ ।

    ‘अहिले हामी पार्किङमा टेन्ट टाँगेर सेवा दिइरहेका छौँ । अन्तर्राष्ट्रिय मापदण्डले नदिए पनि सेवा रोक्नुहुन्न भनेर रुखका हाँगाहरूमा सर्भर र बिजुलीका तार लतार्दै सिस्टम चलाइरहेका छौँ’, उनले भने ।

    दराज र ¥याकहरू जलेका कारण कार्यालयमा महत्त्वपूर्ण सरकारी फाइलहरू राख्ने ठाउँ छैन । जसका कारण दिनभर काम गरेका फाइलहरू सुरक्षाका लागि बेलुका कर्मचारीले आफ्नै झोलामा बोकेर घर लैजानुपर्ने र भोलिपल्ट फेरि बोकेर ल्याउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

    क्षतिको अर्को गम्भीर पाटो सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइमा आएको अवरोध हो । विभागसँग लाइसेन्स प्रिन्ट गर्नका लागि रहेको नेपालको एक मात्रै बहुमूल्य मेसिन (जसको लागत साढे ४ करोड रुपैयाँ भन्दा बढी छ) पूर्ण रूपमा तोडफोड भएको छ । यस मेसिनको मर्मत हुन नसकेपछि लाइसेन्स प्रिन्टिङ सेवा २ महिना पूर्णरूपमा अवरुद्ध भएको थियो ।

    यस विषम परिस्थितिबाट पार पाउनका लागि विभागले जीटुजी मोडेलमा सुरक्षण मुद्रण केन्द्रसँग लाइसेन्स छपाइको सम्झौता गरेको थियो ।  उक्त केन्द्रले नयाँ क्यूआर कोर्डसहितको लाइसेन्स छाप्ने कार्य सुरु गरेको छ । पहिलो चरणमा ५ सय २० प्रति लाइसेन्स छपाई गरेर विभागमा बुझाएको छ । विभागले दिएको तथ्यांकको नयाँ लाइसेन्स पनि छपाइ गरेर दिनेछ ।

    निजी क्षेत्रको साथले पुनरुत्थानको प्रयास

    राज्यको महत्त्वपूर्ण संयन्त्र संकटमा परेको बेला निजी क्षेत्र भने सहयोगी बनेर अगाडि आएको छ । जलेको भवनको मर्मत सम्भार र पुनः सञ्चालनका लागि सरकारको मुख नताकी यातायात क्षेत्रका व्यवसायीहरू जुटेका छन् ।

    विशेषगरि नेपाल ट्रक यातायात व्यवसायी महासंघ, सिप्रदी ट्रेडिङ र नाइमाले क्षतिग्रस्त भवनको मर्मत जिम्मा लिएका छन् । उनीहरूको सक्रियतामा अहिले मर्मत कार्य भइरहेको छ । विभागका अनुसार अबको करिब २ हप्ताभित्र मर्मत कार्य सम्पन्न गरी भवन पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

    आन्दोलनपछि विभागमा सेवा लिन आउने करदाता र आम नागरिकलाई नै मारमा पारेको छ । ४ अर्बको क्षति, डाटाको विनाश र खुल्ला आकाशमुनि चलिरहेको सेवाले राज्यको सुरक्षा संयन्त्र र विपद् व्यवस्थापनको तयारीमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ ।

    रुखमा टाँगिएका तार र पालमुनिको सेवा नै आम नागरिकको नियति बनेको छ । जतिसक्दो चाँडो सिस्टम रिकभरी गरेर सेवालाई सामान्य बनाउन विभागको टोली अहोरात्र खटिरहेको छ । जलेका लाइसेन्सको परिपूर्ति गर्न भने अझै केही समय लाग्ने आइटी डाइरेक्टर खतिवडाले जानकारी दिए ।

  • एमाले उपमहासचिव प्रदीप ज्ञवालीको निर्वाचन आयुक्तलाई प्रश्न–पदमा बसेर शान्तिसुरक्षाबारे गैरजिम्मेवार अभिव्यक्ति दिने ?

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीको निर्वाचन आयुक्तलाई प्रश्न–पदमा बसेर शान्तिसुरक्षाबारे गैरजिम्मेवार अभिव्यक्ति दिने ?

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले पदमा बसेर शान्तिसुरक्षा बारे गैरजिम्मेवारी अभिव्यक्ति दिएको बताएका छन् ।

    उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्तिसुरक्षाको सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।’

    उनले फेसबुबका लेखेका छन्, ‘कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो–देखियो । एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ । त्यसमाथि, माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबीसहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य माननीय प्रमुख आयुक्तलाई थाहै हुनु पर्ने हो । भलै संविधान सभाको पहिलो निर्वाचनमा लडाकु र हतियार दुवैको दुरुपयोगका अनेकौँ घटना घटित भए । संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।’

  • जसपा नेपालको एकमहिने संघर्षका कार्यक्रम घोषणा, आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

    जसपा नेपालको एकमहिने संघर्षका कार्यक्रम घोषणा, आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको एक महिना भन्दा बढीको सङ्घर्षका कार्यक्रमहरु आजबाट शुरु भएको छ ।

    पार्टीले उठाइरहेको माग र राष्ट्रिय मुद्दामामा आज देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशव्यापीरुपमा एक महिने विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।

    जसपा नेपालका अनुसार, मङ्सिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न शहर बजारमा विरोध कार्यक्रम हुनेछ ।

    मङ्सिर १९ र २१ गते पार्टीले जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना राखिएको छ । मङ्सिर २७ गतेदेखि पुस ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा र जनसभा हुने जसपा नेपाले जनाएको छ ।

    जसपा नेपालले पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुरमा, पुस १५ गते वीरगंजमा र पुस १७ गते भैरहवामा जनसभा गर्ने भएको छ ।

  • राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारी दर्ता आजदेखि शुरु

    राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारी दर्ता आजदेखि शुरु

    काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था दर्ता प्रक्रिया आजदेखि आरम्भ हुने भएको छ । सबै सहकारी प्राधिकरणमा दर्ता हुनुपर्ने प्रावधान लागू भएको छ । प्राधिकरणले सहकारी संस्थालाई दर्ता हुन आह्वान गरेको छ ।

    प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड–०८२’ (पहिलो संशोधन) जारी गरेर सहकारी दर्ताका लागि आह्वान गरेको हो ।

    सहकारी संस्था दर्ताका लागि प्राधिकरणले बुधबार अनलाइन पोर्टल सार्वजनिक गर्दै छ । प्रणाली सार्वजनिक भएपछि सहकारी संस्थालाई दर्ताका लागि दिइएको अवधि गणना हुने बताइएको छ ।

    सहकारीको कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा शुल्क तय भएको छ ।

    २ करोडसम्म कुल सम्पत्ति भएका सहकारीले १ हजार, २ करोडभन्दा बढी १० करोडसम्म ३ हजार, १० करोडभन्दा बढी २५ करोडसम्म ५ हजार, २५ करोडभन्दा बढी ५० करोडसम्म ७ हजार, ५० करोडभन्दा बढी १ अर्बसम्म १० हजार र १ अर्बभन्दा बढी कुल सम्पत्ति भएका सहकारीले १५ हजार रुपैयाँ सञ्चालन इजाजतपत्र दस्तुर तिर्नुपर्ने प्रावधान ल्याइएको छ ।

    यसअघि २०८१ पुस १० गते जारी भएको सहकारीसम्बन्धी ‘केही नेपाल ऐन’लाई संशोधन गर्ने अध्यादेशमार्फत सहकारी नियमन प्राधिकरणको व्यवस्था गरिएको थियो ।

    यसपछि २०८१ माघ १४ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको हो ।

  • सशस्त्र प्रहरीद्वारा २१३ केजी गाँजा बरामद

    सशस्त्र प्रहरीद्वारा २१३ केजी गाँजा बरामद

    काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण पर्साले भारतीय सीमावर्ती इलाकामा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणमा चलाएको अभियानमा ठूलो मात्रामा गाँजा फेला परेको छ ।

    पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ बटसौरामा परालको कुन्युभित्र लुकाइछिपाई राखेको २ सय१३ किलो ग्राम गाँजा बरामद भएको सशस्त्रले जनाएको छ ।

  • एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने

    एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने

    काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल शुरु हुनेछ ।

    विराटनगरले लगातर तीन खेलमा जित हासिल गरेको छ । उसको अंक ६ पुगेको छ भने तालिकामा दोस्रो स्थानमा कायम छ ।

    यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ ।

  • आज रामकलेवासँगै विवाह पञ्चमी समापन हुने

    आज रामकलेवासँगै विवाह पञ्चमी समापन हुने

    जनकपुरधाम । त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झनामा जनकपुरधामा मनाइने विवाह पञ्चमी महोत्सव आज सकिँदैछ ।

    विवाहपञ्चमीको खास दिन मंगलबार स्वयम्बर र विवाह सम्पन्न भएपछि विवाह पञ्चमीको साताव्यापी कार्यक्रम सकिन लागेको हो ।

    आज भारतबाट आएका पाहुनालाई बिदा गरिएपछि विवाहपञ्चमी महोत्सव सकिने छ । भारतबाट आएका पाहुनालाई बिदा गरिने कार्यलाई रामकलेवा भनिन्छ । आज बुधबार रामकलेवा हुँदैन ।

    मंगलबार विवाह पञ्चमीको खास दिन जानकी मन्दिरबाट माता सीताको डोला र राम मन्दिरबाट भगवान् रामको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदानमा परम्परागत विधिअनुसार परिक्रमा गराई स्वयम्बर गरिएको छ ।

    डोलासँगै लाखौँ श्रद्धालु जनकपुर नगर परिक्रमा यात्रामा सहभागी भएका थिए । स्वयम्बरका क्रममा आकाशबाट हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो ।

    जानकी मन्दिर र राम मन्दिरमा रहेका भगवानको मालालाई एक अर्कामा फेरि गराउँदै नगर परिक्रमा गराइएको थियो । नगर परिक्रमामा लाखौँको संख्यामा श्रद्धालुको सहभागिता थियो ।

    नगर परिक्रमा जनकपुरधामको विभिन्न मठमन्दिरको डोलाका साथै साधुसन्तको समेत सहभागिता रहेको थियो ।

  • टी-२० विश्वकप २०२६को ‘ड्र’ सार्वजनिक, नेपालको समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली

    टी-२० विश्वकप २०२६को ‘ड्र’ सार्वजनिक, नेपालको समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली

    काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको आगामी वर्षको टी-२० विश्वकपको ‘ड्र’ सार्वजनिक भएको छ ।

    सार्वजनिक ड्रअनुसार नेपाल समूह सीमा रहेको छ । सो समूहमा वेस्ट इन्डिज, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड र इटली रहेका छन् ।

  • २३ वर्षदेखि भालुले लुछेको चोट बोकेकी पवित्राको वेदना- मान्छेको भन्दा जनावरको मोल बढी भयो !

    २३ वर्षदेखि भालुले लुछेको चोट बोकेकी पवित्राको वेदना- मान्छेको भन्दा जनावरको मोल बढी भयो !

    चितवन । माडी नगरपालिकाको चारैतिर चितवन राष्ट्रिय निकुञ्जले घेरिएको बस्ती हो । आजको नगरपालिका संघीयताअघि चार गाउँ विकास समितिमा विभाजित थियो । तिनैमध्येको एक बघौडा गाविस अन्तर्गत पर्ने पर्थ्यो रतनी गाउँ ।

    रतनी गाउँ रिउ खोलासँग जोडिएको बस्ती । निकुञ्जसँगको नजिकको बस्ती पनि हो । त्यही गाउँमा बस्थिन् पवित्रा ढकाल । गृहिणी पवित्राको बिहानैदेखि घर सरसफाइ, गाई भैँसी, छोराछोरीको जिम्मेवारीले घेरिएकी थिइन् ।

    २३ वर्षअघि उमेर थियो, बिहानैदेखि घरगोठको कामले पवित्रालाई छोपिहाल्थ्यो । रतनी गाउँमा घर भएकी उनी झिसमिसेमा उठिसक्थिन् । बिहानको नित्यकर्म पछि उनको व्यस्तता गृहिणीको काममा हुन्थ्यो।

    आज ६० हाराहारीमा उमेर पुगिसकेकी पवित्रालाई हरेक दिन सकस हुन्थ्यो, ट्वाइलेट कता जाने ? माडी नगरपालिकामा केही वर्ष अघि मात्रै निकुञ्जको बाटो छिचोलेर बिजुली बत्ती पुगेको हो । अझ उनको पालामा सोलार बत्ती समेत हुन्थेन ।

    पवित्रा सम्झिन्छिन्, ‘२०५९ साल माघ १६ गतेको त्यो झिसमिसे बिहान । जसले उनलाई जीवन मरणको दोसाँधमा पुर्‍यायो । मृत्युको मुखमा पुगेर फर्किए पनि जीवन सधैँ कमजोर बनाइदियो । त्यस दिन बिहानको उज्यालो राम्रोसँग भूँइमा झरिसकेको थिएन । पवित्रा उठिन् । लोटामा पानी भरिन् । दिसा गर्न जान तयार भइन् ।’

    त्यो समय गाउँभर एउटै समस्या थियो, ट्वाइलेटको अभाव । सबैजना रिउखोला छेउ बिहान दिसा पिसाब गर्न जान्थे । पवित्राको पनि त्यही नियति थियो । त्यस दिन पनि टुकी बत्ती घरको दलिनमा राखेर उनी बारितिर एक लोटा पानी लिएर गइन् ।

    ‘घरबाट अलि पर तोरी उखेलेको बारी थियो । त्यही बारीमा ट्वाइलेट गर्न गएको थिएँ, उनले भनिन्, ‘पछाडि बच्चा लिएको भालु आउँदै रैछ पत्तै पाइनँ ।’

    पवित्राले दिसा गरिसक्दा भालु उनीनजिक आइसकेको रहेछ । फरिया बेरेको शरीर । कुँद्न हम्मे परेको त्यो क्षण अहिले सम्झिँदा उनलाई जुरुङ्ग जीउ फुल्छ । सम्झिन्छिन्, दिसा गरेर उठ्दा त आफै पछाडि भालु आइसकेछ ।

    उनी हुत्तिँदै घरतिर दौडिइन् । भालुले पच्छ्यायो । गोठ पछाडि पुगेर कान्लो उक्लिनै सकिनन् । खुट्टा लर्बरियो । लडिन् ।मलखादमा अनुहार गाडियो । बाहिर देखियो टाउको । भालुले त्यही टाउकोमा लुछ्यो । निधारमाथिको कपाल छाला मासुसहित खप्लक्कै निकालिदियो ।

    चिच्याइन् पवित्रा । तर, निमेषभरमै उनीमाथि भालुले आक्रमण गरिभ्याइसकेको थियो । मल खादमै पल्टिएर बेहोस भइन् उनी । गाउँमा हल्लीखल्ली भयो । वसन्तपुरको अस्पतालमा श्रीमान् जीवलालसहित स्थानीयले पुर्‍याए । टाउकोको सबै छाला भालुले पछाडि तानेको थियो । माडीमा उपचार सम्भव भएन । त्यसपछि भरतपुर पुर्‍याए । भरतपुर अस्पतालमा पनि उपचार सम्भव नभएको डाक्टरले बताए । त्यसपछि काठमाडौँको वीर अस्पताल पुर्‍याउँदा बेलुकाको ६ बजेको उनी बताउँछिन् ।

    बिहानको ६ बजे भालुको आक्रमणमा परेकी उनी १२ घण्टापछि बल्ल उपचारमा पुगिन् । उपचार पछिको कहानी त झन् लामो छ । टाउकोमा छालासँगै मासु पनि भालुले लुछेको थियो । शल्यक्रिया गर्नुपर्ने भयो । उनको तिघ्राको मासु निकालेर डाक्टरले टाउकोमा लगाए । शल्यक्रिया सकेर होस खुल्दा मलखादमा ढलेको आफू अस्पतालको बेडमा पाएकी थिइन् पवित्राले । त्यसपछि पनि लगातार ८ महिना उपचारमा बस्नुपरेको उनले बताइन् ।

    अहिले पवित्राको ठ्याक्कै निधार माथिबाट टाउको पुरैमा चोटैचोट स्पष्ट देखिन्छ । निधार नजिकै कपाल पलाएका छन् । माथितिर खाली मासु छ । शल्यक्रिया गर्दा मासु नमिलेर देब्रेतिर कानमाथि अर्को कानजस्तो मासु धेरै छ । दाहिनेतिर धेरै गहिरो काटेकोले अझ ठूलो खत छ ।

    ‘दाहिनेतिर नुहाउन, सफा गर्न कपाल कोर्न समेत अप्ठ्यारो हुन्छ, टाउको देखाउँदै उनले भनिन्, ‘देब्रेतिर सुत्न पनि नसक्ने गरी दुखिरहन्छ । उत्तानो भएर पनि सुत्न सक्दिन ।’

    राष्ट्रिय निकुञ्ज ऐनले निकुञ्जको मध्यवर्ती क्षेत्रमा जनधनको क्षति हुँदा क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । मध्यवर्ती क्षेत्र विकास समिति मार्फत क्षति मूल्याङ्कन गरी क्षतिपूर्ति दिने कानूनी व्यवस्था छ । तर, पवित्राले जीवन मरणको दोसाधबाट फर्किदा पनि निकुञ्जबाट एक रुपैयाँ पनि सहयोग पाइनन् ।

    ५० हजारको बील दिएको थियो त्यही पनि मध्यवर्तीमा आगो लाग्दा जल्यो भनेर एक सुको दिएनन् । उनले उपचारमा लागेको सिधा खर्चको हिसाब सुनाउँदै भनिन्, ‘मेरो अप्रेसनमा नै तीन लाख रुपैयाँ खर्च भएको छ । तर, सरकारको तर्फबाट एक सुको पनि पाइन । एउटा संस्थाले दस हजारमा तीन हजार काटेर सात हजार दिएको थियो त्यति मात्रै हो आजसम्म सहयोग पाएको ।
    उनलाई बेला बेला मान्छेको भन्दा जनावरको मूल्य बढी लगाएको जस्तो महसुस हुन्छ ।’

    भालुले आक्रमण गरेको बस्तीभन्दा वर माडी वडा नम्बर ३ मा पर्ने बजार नजिक त उनीहरू आठ वर्षअघि सरेका छन् । तर, खेतीपातीको थलो त्यही रतनी वरपर छ । पटक पटक त्यहाँ जाँदा आफू काम गर्न नसक्ने अवस्थामा पुगेको उनको स्मृतिमा आइरहन्छ । जनावरको डर त यथावत छँदैछ ।

    ‘भालुले हान्यो । काम गर्न सक्दिन । टाउको दुखिरहन्छ । त्यतिबेलादेखि अहिलेसम्म सरकारले पनि केही दिएन’, उनले दुखेसो गरिन्, ‘टाउको दुखेर कतिबेला औषधि खान दौडिनुपर्छ थाहा हुँदैन । घाम पानी कतै निस्केर केही काम गर्न नसक्ने भएको छु । तर, सरकारले तिम्रा हात खुट्टा नचल्ने छैनन्, तिमी अपाङ्गमा राख्न मिल्दैन भन्छन् ।’

    उनले स्थानीय तह निर्माण भएपछि मलाई कम्तीमा दुई हजार महिनाको औषधि खान मिल्ने गरेर अपाङ्गताको परिचय पत्र बनाइदिनु भनेर पटक पटक वडा कार्यालय पनि धाइन् । तर, उनलाई सामान्य अपाङ्गताको परिचयपत्र मात्रै वडाले दिएको छ । आफूलाई राज्यले बेवास्ता गरेको गुनासो पवित्राको छ । महिनाको औषधि खाने दुई हजार खर्च पनि नदिएको उनले गुनासो गरिन् ।

    हुन त अहिले बेला बेला स्थानीय तहले तालिम लगायतका कार्यक्रममा सहभागी हुन आह्वान पनि गर्छन् । तर, पवित्रालाई कतै जान मन लाग्दैन । घर गाउँमा सरकार आएपछि त कानून बनाएर भए पनि आफू जस्ता जंगली जनावरबाट आक्रमणमा परेकालाई राज्यले सम्झिनुपर्ने जस्तो लाग्छ उनलाई ।

    भन्छिन्, ‘अपाङ्ग भत्ता पनि दिँदैनन् । तेरो हातखुट्टा छ के पाउँछेस् भने मलाई सबैले । २०५९ सालदेखिको पीडा भोगेको छु । मलाई २ हजार दिए पनि दबाइ खान्थेँ । मेरो टाउको दुखिरहन्छ । औषधि खानुपर्छ । पहिला त अझ सलाइन पानी चढाइराख्नु पर्थ्यो । अहिलेसम्म मैले सरकारबाट केही पाएको छैन । कतैबाट सहयोग पनि हुँदैन । मलाई कतै जान पनि मन लाग्दैन ।

  • मुख्यसचिवसहित दुई सचिव अनिवार्य अवकाशमा, अर्याल र पौडेल सचिवको लाइनमा

    मुख्यसचिवसहित दुई सचिव अनिवार्य अवकाशमा, अर्याल र पौडेल सचिवको लाइनमा

    काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएका छन् । मुख्यसचिव अर्याल ५८ वर्षे सेवा अवधि र सचिव दुवाडी पाँच वर्षे सचिवको कार्यकाल पुरा गरेर मंगलबारदेखि अनिवार्य अवकाशमा गएका हुन् ।

    नायब सुब्बाबाट २०४६ सालमा निजामती सेवा प्रवेश गरेका मुख्यसचिव अर्याल ३५ वर्ष सेवा गरेर अनिवार्य अवकाशमा गएका हुन् ।

    मुख्यसचिव अर्यालको मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहकाविच प्रधानमन्त्री सुशिला कार्कीले बिदाइ गरेकी छन् भने सचिव दुवाडीको आयोगमा एक समारोहकाविच बिदाइ गरिएको छ ।

    मुख्यसचिव र सचिव अवकाशमा गएसँगै दुई सचिवको पद रिक्त भएको छ । मुख्यसचिव अर्याल अवकाशमा गएपछि रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएपछि एउटा र दुवाडी अवकाशमा गएपछि दुई सचिवको पद रिक्त भएको हो ।

    दुई सचिवको पद रिक्त भएसँगै दुई जना सहसचिव सचिवको लाइनमा देखिएका छन् । जसमा पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेश सरकारका कायममुकायम (कामु) प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल छन् भने दोस्रो नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार पौडेल रहेका छन् ।

    यसअघि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्री सचिवमा बढुवा हुँदा अर्याल दोस्रो नम्बरमा र पौडेलको नाम तेस्रो नम्बरमा सिफारिस भएको थियो ।

  • ‘आधार इलाका’ मा प्रचण्ड-जनार्दन पक्षको दौडधूप, प्रलोपामा को-को लागे ?

    ‘आधार इलाका’ मा प्रचण्ड-जनार्दन पक्षको दौडधूप, प्रलोपामा को-को लागे ?

    रुपन्देही । तत्कालीन माओवादीको ‘आधार इलाका’ लुम्बिनी प्रदेश । सशस्त्र सङ्‍घर्षको मुख्य क्षेत्र रुकुम–रोल्पासहित दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, बर्दिया, बाँके र कपिलवस्तुमा बलियो उपस्थिति देखाएको माओवादी ०६४ को निर्वाचनपछि विभाजित भयो । हाल रुकुम र रोल्पाबाहेक अरु जिल्लामा कमजोर बन्दै गएको छ ।

    पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वले एक दर्जन दलबीच एकता गर्ने र पार्टीको पुरानो नाम तथा चुनाव चिह्न छाड्ने निर्णय गर्‍यो । माओवादीको भूमिगत कालदेखि मुख्य जिम्मेवारी लिएका जनार्दन शर्मा प्रभाकरले अलग्गै टीम बनाए । तत्कालीन माओवादीको ‘आधार इलाका’ लुम्बिनी प्रदेशमा माथिल्लो तहदेखि वडासम्मका नेतालाई आफूतिर तान्न प्रचण्ड र जनार्दन दुवै पक्षको दौडधूप बाक्लिएको छ ।

    प्रचण्डले तत्कालीन माओवादी केन्द्रसहितका १२ दलसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाए । तत्कालीन माओवादी केन्द्रबाट अलग भएको घोषणा गरी शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरे । माओवादी र नेकपा (एकीकृत समाजवादी) सहितका वाम दलको एकता प्रक्रियामा असन्तोष जनाउँदै शर्माको समूह अलग्गै बस्यो ।

    कार्तिक २७ गते अभियानको केन्द्रीय संयोजन समिति घोषणा भयो । समितिको नेतृत्व पूर्वमन्त्री सुदन किरातीले गरे । समितिमा किरातीसहित गेहेन्द्र ढकाल, मदन भट्टराई, नारायणी शर्मा, मदन लिम्बू, भीमबहादुर मल्ल, सम्झना राईलगायत छन् ।

    अन्य सदस्यमा गोरखबहादुर केसी, पुजन सिंह, अरविन्द यादव, जटिल कार्की, लक्ष्मी गुरुङ, देवीराम देवकोटा, प्रकाशचन्द्र पाण्डे, जन्मदेव जैशी, राजु आलेमगर, टेकेन्द्र भट्ट, सन्तोष विष्ट, दिपक साउद, प्रेमबहादुर तामाङ, पुष्प न्यौपाने, यज्ञवल्लभ शर्मा, डा. अच्युत भट्ट छन् ।

    त्यस्तै क्षितिज सापकोटा, विमला सिंह, बाबुराम नेपाली, निर्मला गौतम, किस्मतकुमार बिक, रामहरि पुडासैनी, सन्दिप पुन र धर्मराज खतिवडासहित ३१ जना छन् । यी मध्येबाट नारायणी शर्मा दाङ, सन्तोष विष्ट रोल्पा, किस्मत कुमार बिक रुपन्देहीका हुन् । माओवादीबाट विभाजन भएर प्रचण्ड, विप्लव, वैध, डा. बाबुराम, अहिले जनार्दनसहितका विप्लवबाट पनि नयाँ बनेका, वैद्यबाट पनि नयाँ बनेका माओवादी घटकहरु धेरै छन् ।

    लुम्बिनी, माओवादी युद्धताकाकै समयमा बलियो क्षेत्र भएकाले नयाँ पार्टीमा पनि यहाँ आफ्नो बलियो पकड बनाउ प्रचण्ड र जनार्दन पक्ष निकै कस्सिएका छन् । तर शर्माले चाहेजस्तो माओवादीको बलियो ठाउँ मानिएको रुकुमपूर्व र रोल्पामामा नेताहरु लैजान सकेका छैनन् । तर अन्य जिल्लाबाट प्रभावशाली नेताहरु शर्माको साथमा देखिएका छन् ।

    लुम्बिनी प्रदेशबाट शर्मालाई साथ दिएका बलिया नेताहरुमध्ये रुपन्देही जिल्लाबाट बामदेव क्षेत्री, अतिउल्लाह मुसलमान, गोविन्द केसी, किस्मत बिक, खिमबहादुर बिक, यज्ञ पोखरेल, लेखनाथ भण्डारी र कृष्ण बन्जाडे छन् । दाङबाट जगप्रसाद शर्मा, नारायणी शर्मा, हुमप्रसाद शर्मा, लुमाकान्त न्यौपाने सागर र डोरप्रसाद पन्थी छन् । त्यस्तै बर्दियाबाट तिलकराम शर्मा, बाँकेबाट कृष्ण केसी नमुना, नवलपरासीबाट सीता बौडेल र गोपी ज्ञवाली छन् । अर्घाखाँचीबाट कर्ण भट्टराई, रोल्पाबाट मिनबहादुर मगर विकल्प पनि प्रगतिशील अभियानमा जोडिएका छन् ।

    माओवादीमा माथिल्लो तहका नेताहरुसँग नजिक भएर काम गरेका नेता बामदेव क्षेत्रीका अनुसार प्रदेशबाट साविक केन्द्रीय कमिटीमा रहेका ५० भन्दा धेरै नेताहरुको नाम समावेश छ । धेरै नेताहरु पार्टी संस्थापन पक्षले चासो नदिएकै कारण विभाजित भएका हुन् ।

    ‘धेरै नेताहरु आउने क्रममा हुनुहुन्छ, जब संस्थापन पक्षले गल्ती कुरा उठाउने र आलोचना गर्नेलाई निषेधको वातावरण बनायो त्यसपछि पार्टीमा असन्तुष्टि बढ्यो, लुम्बिनीबाट ५० भन्दा धेरै केन्द्रीय सदस्यहरु हाम्रो टीममा हुनुहुन्छ ।’ उनले भने । क्षेत्रीका अनुसार प्रदेश र स्थानीय तहको जिम्मेवारीमा रहेका केही नेताहरु अहिले नखुले पनि अभियानकै क्रममा छन् । हालसम्म सबैभन्दा धेरै नेताहरु रुपन्देहीबाट जनार्दनको पक्षमा खुलेका छन् ।

    त्यसो त प्रचण्ड र शर्मा दुवैले ‘माओवाद’ छाडेकाले ठूलो असन्तुष्ट समूह ‘बाहिर बस्ने वा विप्लवसँगको पार्टीमा जाने’ अन्यौलमा छन् । प्रेस सेन्टरका नेता गुनाराम घिमिरेका अनुसार अहिले प्रचण्ड र शर्मा दुवैले ‘माओवाद’ छाडेकाले धेरै कार्यकर्ता भने अन्यौलमा छन् ।

    ‘अहिलेको अवस्थामा पार्टी फुटाउनु व्यक्तिगत स्वार्थ नमिलेकै कारण हो, कुनै वादमा नमिलेको होइन, अब पहिलेको पार्टीको ठूलो शक्ति प्रचण्डसँगै रहन्छ नै, केही शर्मातिर गए र धेरैलाई अन्यौल छ, धेरैले सोधिरहेका पनि छन् के गरौं भनेर’ उनले भने– ‘धेरै नेताहरु मात्रै भएको पार्टीमा पार्टी बलियो बन्न समस्या हुनेरहेछ ।’

    सङ्‍कटका बेला मूल पार्टी छाडेर अर्को समूह बनाएर कालान्तरमा पछुताउनुपर्ने संविधानसभा सदस्य तथा माओवादीका तत्कालीन नेता विनोद पहाडी बताउँछन् । तर असन्तुष्टि रहेको विषयमा नेतृत्वले समयमा सम्बोधन गर्न नसकेका कारण पार्टीमा विभाजन आएको उनको भनाइ छ ।

  • कांग्रेस विमर्श- गगन, गति र गन्तव्य

    कांग्रेस विमर्श- गगन, गति र गन्तव्य

    राजनीतिक रूपमा नेपाल अहिले अत्यन्त संवेदनशील अवस्थामा बामे सर्दैछ । वर्तमान संविधानअन्तर्गत शपथ खाएको, तर संविधानको कुनै पनि धाराले मान्यता दिनै नसक्ने सरकार आज छ ।

    वैधताका हिसाबले संविधानका धारा नभेटाइए पनि नागरिक तहबाट जेन-जी आन्दोलनका बलमा निर्मित सरकार भएकैले सरकारको वैधताका बारे त्यति ठूलो स्केलमा प्रश्न उठेको छैन । तर, वैधताका बारे प्रश्न उठ्दै नउठेको भन्ने पनि होइन ।

    सरकारको वैधता, काम गराईका टिप्पणी र जेनजी आन्दोलनको सन्देशबारे आगामी दिनमा टिप्पणी गरौँला । यी हरफ भने ८० वर्षे इतिहास बोकेको, तर पार्टी संस्थापनद्वारा ८० वर्षे इतिहासमै सर्वाधिक संकटमा पुर्‍याइएको ‘नेपाली कांग्रेस’ का बारे केन्द्रित छन् ।

    गगन, गति र गन्तव्य

    ‘मल्टी पार्टी सिस्टम’ मा व्यक्तिको भूमिकालाई गौण मान्ने गरिन्छ । तर, कहिलेकाहीँ देखा पर्ने इतिहासकै अत्यन्त संकटपूर्ण अवस्थामा भने व्यक्तिको भूमिकाले संकटलाई न्यूनीकरण गर्ने सवालमा महत्त्वपूर्ण भूमिका खेल्न पुग्दछ । आज वास्तवमै संकटको पूर्वसन्ध्यामा छ, नेपाली कांग्रेस ।

    त्यही कांग्रेसलाई समय सापेक्ष ‘ट्रयाक’ मा हिँडाएर गन्तव्य पहिल्याउने कामको नेतृत्व गर्लान् भन्ने कांग्रेसजन र प्रजातन्त्रवादीको अपेक्षा छ, गगनकुमार थापाप्रति । उनीप्रतिको त्यो अपेक्षा किन पनि छ भन्दा– उनी आजको मितिमा समयको बेग बुझ्ने युवा नेता मात्र नभई विघटित संसदको ठूलो दल नेपाली कांग्रेसका महामन्त्री पनि हुन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा र उनीसँग जोडिएर रहेका सात भाइको शैलीका कारण कांग्रेसले व्यहोर्नुपरेको क्षतिसँगै महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माप्रतिको भरोसाका कारण १४ औँ महाधिवेशनका करिब ५५ प्रतिशत प्रतिनिधिले पार्टीमा नेतृत्व परिवर्तनका लागि हस्ताक्षर गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालजाई बुझाइसके । जुन हस्ताक्षरको वैधताका बारे संस्थापन पक्ष प्रश्न गर्दैछ । त्यही हस्ताक्षरबाट एकातिर उनीहरू केन्द्रीय नेतृत्वमा पुगेका त हुन् नै, त्यसको वैधानिक टुंगो पनि आगामी पुस २९ भित्र लगाउनै पर्ने कांग्रेस विधानमा व्यवस्था छ ।

    गगन तिनै नेता हुन्, जसले आफ्नो राजनीतिक जीवनमा सडकबाटै विभिन्न परीक्षा, त्यो पनि खरो रूपमा दिए । अलिकति उनको गतिका बारे चर्चा गरौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा प्रत्यक्ष शासन प्रारम्भ गरेलगत्तै गगनले विद्यार्थी नेताका रूपमा शाही शासनविरुद्धको आन्दोलनको नेतृत्व गरे । राज्यद्रोहको मुद्दामा पक्राउ परेका गगनले सडक आन्दोलन छाडेनन् । जसका कारण ज्ञानेन्द्र शाहका कदमका विरुद्ध जनमत निर्माण गर्न महत्त्वपूर्ण भूमिका उनको बन्न पुग्यो ।

    राजाको शासनकाललगत्तै २०६२–०६३ को जनआन्दोलनमा ‘गगन’ ले गणतन्त्रको नारा उराले । उनको उक्त कदमको तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले खुलेरै विरोध गरे । कोइरालाको आलोचनाका बाबजुद उनले युवाको भावनाको प्रतिनिधित्व गर्दै परिवर्तनका पक्षमा जोखिम मोले । राजाका विरुद्धमा र गणतन्त्रको पक्षमा मात्र थिएन, गगनको विद्रोह । उनको तत्कालीन समयको विद्रोह भनेको आजका मितिका शेरबहादुर देउवाले झैँ लामो समय पार्टी र सरकारको सत्तामा समय बिताएको भन्दै कटाक्ष नै गरेका थिए । उनको कटाक्षको मूल सन्देश भनेकै युवा र नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने नै थियो ।

    गगनको जोखिमको शृङ्खला त्यतिमै रोकिएन । आफ्नो कालखण्डका जल्दाबल्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापित संसदमा महाभियोग दर्ता गर्ने सवालमा उनको भूमिका महत्त्वपूर्ण रह्यो । शक्तिशाली ‘लोकमान’ लाई चुनौती दिनु कार्कीकालीन समयमा चुनौतीपूर्ण नै थियो ।

    सवाल त्यतिमै रोकिएन । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि माओवादीलाई पूर्ण लोकतान्त्रिक बन्न र बनाउन युद्धकालीन समयको हिंसात्मक गतिविधि र वैचारिक पक्षको आलोचना गर्न गगनले छाडेनन् । पछिल्ला दिनमा राजावादीसँगै गणतन्त्रविरोधी शक्तिले ‘चलखेल’ थालेलगत्तै ‘वैचारिक प्रतिवाद’ मार्फत् उल्टो बाटो हिँडाउन खोज्नेका विरुद्ध उनले खबरदारी गरी नै रहे । सँगै, परम्परागत दलका विरुद्ध वैकल्पिक शक्तिका रूपमा देखा परेका दलका बारे ‘स्टण्ट’ नगर्न र धरातीय राजनीति गर्न ती दललाई सम्झाइरहे । यी हरफसम्म आइपुग्दा कांग्रेस महामन्त्री थापालाई ‘देवत्वकरण’ गरिएको कतिपयलाई लाग्न पनि सक्छ ।

    यहाँ उनलाई देवत्व गर्न खोजिएको वा गर्नुपर्ने कुनै कारण छैन । प्रष्ट छ– आजका मितिमा उच्च मनोबलका साथ कांग्रेसलाई परिवर्तन, अर्थात् ‘पुस्तान्तरणसहित रूपान्तरण’ गरेर जनताका बीचमा पार्टीलाई स्थापित गर्ने नेता उनै हुन् । बाँकी संस्थापन पक्षका करिब एक दर्जन नेता भनेका पार्टी फुट्नै लाग्यो भनेर ‘नियमित र विशेष’ दुवै महाधिवेशन रोकेर यथास्थितिमै केन्द्रीय नेतृत्वमा आफू रहेको भ्रम बाँड्ने मात्रै हुन् ।

    गगन र गतिका बारे माथि चर्चा गरियो । ‘गन्तव्य’ का बारे चर्चा गरौँ । कांग्रेस महामन्त्री थापासामु आजका मितिमा ‘गन्तव्य’ का नाममा चुनौतीका चाङ छन् । पार्टी फुट्नै लाग्यो भनेर आफ्नो रोटी सेक्न खोज्ने कथित संस्थापनलाई पनि २०१२ सालमा कांग्रेस सभापति भएका सुवर्णसमशेरले २०१४ सालमै विशेष महाधिवेशन गरेर बिपीलाई पार्टी सुम्पिएको र बिपी नेतृत्वमा कांग्रेस निर्वाचनमा जाँदा पार्टीले दुई तिहाइ ल्याएको हेक्का पनि उनै गगनले दिलाइदिनु परेको छ ।

    उपसभापति पूर्णबहादुर खड्कालाई ‘कार्यवाहक’ दिएर आराम गर्न सिंगापुर पुगेका थकित शेरबहादुर देउवालाई ‘देउवा आऊ, हामी सात भाइको राजनीति बचाऊ’ भनेर रोइलो गर्ने सात भाइलाई पनि परिवर्तनको बेगलाई आत्मसात् गर्न नसक्ने हो भने अब सिंगापुरबाट आउँदैमा केही हुन्नँ भनेर पनि तिनै गगनले बुझाइदिनु परेको छ ।

    हुन त, कांग्रेसका नेताद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको राजनीतिक बेग रोक्नकै निम्ति सिंगापुरमा रहेका देउवालाई नेपाल फर्किने राजनीतिक वातावरण निर्माण गरेको प्रष्टै छ ।

    गन्तव्यकै बारे थप चर्चा गर्नुपर्दा हालै मात्र कांग्रेसले आसन्न निर्वाचनमा सभापति देउवाकै हस्ताक्षरबाट टिकट वितरण गर्ने निर्णय गरेछन् । बहुमतको आडमा निर्णय त छिमेकी मुलुक भारत र चीनलाई नेपालमा गाभ्ने भनेर गरे पनि होला । तर, त्यो कति सम्भव विषय हो ?

    हो, कांग्रेसको निर्णय आयो । अब देउवा पुनः सक्रिय हुनेछन् । टिकटमा उनकै हस्ताक्षर चल्नेछ- यस्तै-यस्तै । तर, संस्थापन पक्षका यिनै नेताको अनुहारसहितको पोष्टर र घोषणापत्र लिएर जनतामा जाँदा कांग्रेसको ‘साइज र हविगत’ के होला ? उत्तर प्रष्ट छ- यथास्थितिमा टिकट लिएर जाने भनेको ‘ठेकेदार’ हरुले मात्र हो । जो कांग्रेस हुन्, उनीहरू यथास्थितिमा, अर्थात् नेतृत्व परिवर्तन नगरी जनताका बीच जाने कल्पनासम्म पनि गर्न सकिन्नँ ।

    तसर्थ, गगनसँगै महामन्त्री शर्मा र ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको अबको गन्तव्य भनेको नियमित नभए विशेष महाधिवेशन नै हो । यसमा अलमल अर्थात्, महाधिवेशन रोक्न खोज्नु भनेको कांग्रेसलाई समाप्त पार्न लाग्नु नै हो ।

    राहुलको बिस्कुट

    भारत, असमका १५ औँ मुख्यमन्त्री छन्, भाजपा नेता डा.हिमन्त विश्व शर्मा । त्यहाँको विधानसभाको १२६ सीटमध्ये भाजपा एक्लैले ६० सहित गठबन्धनले ७५ सीटमा विजय हासिल गरेको थियो । मुख्यमन्त्री डा.शर्मा कुनै बेला कंग्रस आईका नेता थिए । उक्त पार्टीमा रहँदा आफ्ना नेता राहुल गान्धीलाई भेट्न उनी गान्धी हाउस पुगे । उनी त्यहाँ पुग्दा नेता राहुल कुकुरलाई बिस्कुट खुवाइरहेका थिए । नेता राहुलसामु शर्माले विनम्र भावमा शीर झुकाएर अभिवादन गरे । तर, गान्धीले खासै चासो नदिई केही क्षणपश्चात् उभिइरहेका शर्मालाई बिस्कुट खान अनुरोध गर्दै त्यही कुकुरलाई दिइरहेको बिस्कुट डा. शर्मातिर सारिदिए ।

    आफूले मान्दै आएको नेताबाट गरिएको व्यवहारबाट चोट बोकेर फर्किएका डा.शर्मा भाजपाबाट आज असमका १५ औँ मुख्यमन्त्री छन् । नेपाली कांग्रेसका संस्थापन पक्षका सात भाइले परिवर्तनकारी पक्ष (जोसँग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर छ) लाई गरेको व्यवहार राहुलले डा.शर्मालाई गरेको व्यवहारभन्दा कम छैन । संस्थापन पक्षले बुझ्नुपर्ने पक्ष के हो भने, फागुन २१ मा निर्वाचन थिएन भने कांग्रेस महाधिवेशनको म्याद सारिदिए पनि फरक पर्ने थिएन । जब फागुन २१ मै चुनाव हुँदैछ भनेपछि संस्थापनका यिनै अनुहार लिएर जनतामा जाँदा कांग्रेसको मत बढ्ने छैन मात्रै होइन, हिजोको मत जोगाउन पनि सक्ने छैन ।

    दोस्रो कुरा, पार्टीको विधानमै निर्दिष्ट गरिएको विशेष महाधिवेशनको व्यवस्थाबाट पार्टी कथं पछाडि हट्यो भने ‘कांग्रेस लोकतान्त्रिक हो’ भन्ने विरासतबाट निःशुल्क प्राप्त ‘ट्याग’ सडकमै झर्ने छ । केन्द्रीय समितिमा रहेको बहुमतको आडमा नियमित त रोक्ला, कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशन रोक्ने आधार कुनै पनि कोणबाट देखिँदैन ।

    तसर्थ, नियमित सम्भव नभए विधानबमोजिम विशेष महाधिवेशन सम्पन्न गर्नु नै कांग्रेसको हितमा छ । विधानमै निर्दिष्ट गरिएको विशेष महाधिवेशन भनेको असमका मुख्यमन्त्री डा.शर्मालाई नेता राहुलले कुकुरको बिस्कुट दिएकोजस्तो विषय होइन । विशेष महाधिवेशन भनेको कांग्रेसको विधानमा भएको व्यवस्था टेकेर ल्याइएको प्रस्ताव हो । उक्त प्रस्तावमा न त जालझेल गर्ने अधिकार संस्थापनलाई छ, न त संस्थापनको प्रलोभनमा परेर ‘ब्याक’ हुने अधिकार डा.शेखर कोइराला, महामन्त्रीद्वय थापा र शर्मालाई नै । उक्त प्रस्ताव त देशैभरका बहुमत महाधिवेशन प्रतिनिधिसँगै जनचाहनाबमोजिम आएको प्रस्ताव हो । पार्टी संस्थापन पक्षले जनता र पार्टीसँगै तमाम शुभेच्छुक सामु ‘फेस सेभिङ’ गर्ने नै हो भने जेन-जीको भावनासमेत समेटेर नियमित महाधिवेशनको मिति सुनिश्चित गर्नु नै उनीहरूको पनि हितमा छ । अन्यथा पार्टी, मुलुक र लोकतनत्रको हित जेसुकै होस्, सात भाइको राजनीति र भोलिका मितिमा पनि पदचाहिँ प्राप्त गर्नैपर्यो भन्नेका लागि केवल ‘राम-राम’ मात्र भन्न सकिन्छ ।

    त्यस्तै हुन्छ, जसरी जेन-जी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित घर जल्यो । सम्पत्ति लुटिए । स्वयंमाथि विभिन्न किसिमका हतियार प्रहार हुँदा दम्पती नै घाइते हुनुपर्ने अवस्था आयो । आफैँले रिवन काटेको हेलिकप्टरले पनि बेलामा बचाउन नसकेको दृश्य आफ्नै आँखाले झल्झल्ती हेर्दा देउवाले के सोचेका थिए होलान् ? देशभरि ९ लाख क्रियाशील सदस्यमध्ये कतिजना सभापतिलाई बचाउन त्यहाँ पुगे ? पुगेका नै थिए भने पनि उनीहरू कि रमितेमात्र हुन्थे, कि खरानी हुन्छ ।

    सवाल आज कांग्रेसलाई रमिते, खरानी, टीकेबाट जोगाउँदै वैचारिक कांग्रेस निर्माण कै हो । जसका निम्ति ‘नियमित वा विशेष’ महाधिवेशन अनिवार्य शर्त पनि हो । नत्र, आफैँले रिबन काटेर उद्घाटन गरेको हेलिकप्टर भनेर मात्र के गर्नु ?

  • चार सचिवको सरुवा, केदारनाथ शर्माले पाए रक्षा सचिवको जिम्मेवारी  

    चार सचिवको सरुवा, केदारनाथ शर्माले पाए रक्षा सचिवको जिम्मेवारी  

    काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत चार जना सचिवको सरुवा गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ भने कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

    राष्ट्रिय योजना आयोगमा कार्यरत सचिव गोकर्णमणि दवाडी मंगलबारदेखि पाँच वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा गएपछि आयोगमा सचिव पद रिक्त थियो ।

    त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माको रक्षा मन्त्रालयको सचिवमा सरुवा भएको छ । रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएसँगै उक्त मन्त्रालयमा सचिव पद रिक्त भएको थियो ।

    यस्तै, रिक्त भएको भूमि मन्त्रालयको सचिवमा मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेलको सरुवा भएको छ ।

  • चुनावको विरोध गर्ने दलसमेत दर्ता भइसके, अब शङ्‍का नगरौँ- सञ्चारमन्त्री

    चुनावको विरोध गर्ने दलसमेत दर्ता भइसके, अब शङ्‍का नगरौँ- सञ्चारमन्त्री

    काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका छन् ।

    मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलहरु समेत तयार भइसकेको र सरकारले समेत आवश्यक सबै तयारी गरिरहेको अवस्थामा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका हुन् ।

    निर्वाचनको विरोध गर्ने दलसमेत दर्ता भइसकेकाले निर्वाचनमा आशङ्‍का नगर्न उले आग्रह गरे । मन्त्री खरेलले मतदाता नामावली सङ्‍कलनलाई हेर्दा जनता पनि निर्वाचनमा होमिइसकेको र सुरक्षा योजना समेत तयार भइसकेको जिकिर गरे । प्रवक्ता खरेलले अहिलेको सरकार जेनजी आन्दोलनको जगमा बनेकाले प्रधानमन्त्रीले जनेजी युवाहरुलाई प्राथमिकतामा राखेको बताए ।

    व्यस्तताका कारण प्रधानमन्त्रीले सोमबार सिंहदरबारमा जेनजी युवाहरुसग भेट्न नसकेको भन्दै उले जेनजीलाई वेवास्ता नगरिने बताए ।

    त्यस्तै मन्त्रिपरिषद्का निर्णय सुनाउँदै खरेलले नेपाल पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेश गरेको राजीनामा स्वीकृत भएको बताए ।

    बैठकले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार बिकाससँग सम्बन्धित विषयमा अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्र अनुगमन,समन्वय एवं सहजीकरण समिति गठन गर्ने निर्णय भएको बताए ।

  • नेकपालाई एक नम्बर पार्टी बनाउन कसैले रोक्न सक्दैन : प्रचण्ड

    नेकपालाई एक नम्बर पार्टी बनाउन कसैले रोक्न सक्दैन : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन्।

    पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपालाई अब एक नम्बरको पार्टी बनाउन कसैले रोक्न नसक्ने बताए।

    उनले भने, ‘निर्वाचन निर्धारित समयमै हुनुपर्छ, निर्वाचनको वातावरण बनाउन हामी देशव्यापी अभियानमा जाँदैछौं। नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बरको पार्टी बनाउन कसैले रोक्न सक्दैन।’

  • हेटौँडामा यौनधन्दा, हनीट्र्याप र कर दादागिरी: एक्सनमा सीडीओ अधिकारी

    हेटौँडामा यौनधन्दा, हनीट्र्याप र कर दादागिरी: एक्सनमा सीडीओ अधिकारी

    हेटौँडा । हेटौँडामा मौलाएको बेहद बेथिति अन्त्यका लागि उपभोक्तावादी, सुधारवादीको सक्रियता नदेखिएको गुनासो बढेको छ । हेटौँडा बाहिर हेर्दा चमकधमकले बागमती प्रदेशको राजधानी बनेर सबैको ध्यान केन्द्रित भइरहँदा भित्रभित्रै विकृति पनि उस्तै झांगिएको पाइएपछि सुक्ष्म अनुगमन शुरू भएको छ ।

    हेटौँडा बसपार्कका केही होटलमा यौनधन्दा चलेको चर्चापछि स्थानीय प्रशासनले अनुसन्धान गर्दा अनेक तथ्य भेटिएका छन् । जुन सुन्दै रोचक र ‘यस्तोसम्म हुँदोरहेछ’ भनेर अरुले पनि सचेत हुनुपर्ने भएको छ । पढाइ र जागिरको गन्तव्य हेटौँडा भएकाले धेरैले छोराछोरी, श्रीमान, श्रीमतीलाई हेटौँडामा निर्धक्क छाडिदिएका छन् । थाहा छैन, कुन दिन अप्रिय खबरमा परिवारका सदस्य जोडिने पो हुन् कि !

    कात्तिक १० गतेको एउटा घटनाले हेटौँडामा प्रहरीको ध्यान खिच्यो । हेटौँडा बसपार्क नजिकै एकजना घाइते इन्तु न चिन्तु भएर लडिरेहका भेटिए । उनीमाथि कुटपिटमा संलग्नहरू खोज्न मकवानपुर प्रहरीले बसपार्कका चारैतिरका सीसीटीभी फुटेज हेर्‍यो । घटनामा संलग्नहरू पनि भेटिए ।

    प्रहरीमा उजुरी नपरेको यो घटनामा पर्वत, कास्की, चितवन र मकवानपुरका चार जना जोडिएका थिए । पर्वत, मोती-२ का सरोज लामिछाने पोखराबाट काँकडभिट्टा जान बस चढेका थिए । घरमा त उनी भारतको आसाम, सिक्किम जाने भनेर हिँडेको बुझिएको छ । उनै लामिछाने हेटौँडामा बेहोस भेटिए । हेटौँडा अस्पतालमा दुई दिन उपचारपछि चितवन लगियो । पहिलो दिन त उनी होसमा नभएकाले केही विवरण आएन ।

    उनलाई कुटपिट गरेको आरोपमा चितवनको कालिकाका १७ वर्षीय सुवास आले मगर र तनहुँ, भानु-४ का आर्जेन तामाङलाई प्रहरीले समात्यो । मकवानपुर, भीमफेदी-२ कि सन्ध्या पाख्रिन पनि यो घटनामा संलग्न भएको र मकवानपुर प्रहरीमा ‘पटके’ पक्राउको पात्र भएको तथ्य फेला पर्‍यो । मादक पदार्थ सेवनपछि उनीहरू झगडामा उत्रिए । सबैको पहिलो भेट, एकैपटक रक्सी खाएर अनि त्यसमा महिला पनि संलग्न । कुटपिट र घाउजाँचका कुरा मात्रै पुलिसले बतायो ।

    काँकडभिट्टा हिँडेका लामिछाने र तनहुँ र चितवनका १७ वर्षमुनिका किशोरहरू ‘हनीट्र्याप’मा त परेनन् भनेर प्रहरीले चासै दिएन । बरु छारे रोगले ग्रस्त सन्ध्याले प्रहरीले भेट्नेबित्तिकै रगत छादिदिने, अस्वाभाविक गतिविधि देखाउने भनेर छाड्ने गरेको पाइयो । पटके घटनामा जोडिरहने उनलाई जिम्मा लिने मान्छे नभएको भन्दै प्रहरीले पक्रनै छाडेको थियो ।

    भर्खर मकवानपुर आएका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरालाई एकैपटक दुई फरक समूह भेटिनु, झगडा गर्नु, दुवै प्रहरी र अस्पतालमा पुग्नु तर मूलपात्र छाडिनुको विषयबारे अनुसन्धानमा संलग्नहरूले केही खुलाएनन् । एक युवतीले हेटौँडा बसपार्कमा युवक बोलाउने, फसाउने काम भएको विषयले १७ वर्षमुनिका दुई किशोर तनहुँदेखि आएर प्रहरीमा थुनिए । अर्का चैँ काकडभिट्टा हिँडेकामा हेटौँडा बसपार्कमै युवतीका पछि लाग्दा पिटिए । प्रहरीमा उनले उजुरीसमेत गरेका छैनन् । पोखराबाट काँकडभिट्टा हिँडेका युवक हेटौँडा बसपार्कमा भेटिएपछि र युवती तथा मादक पदार्थ जोडिएपछि प्रहरीमा जानु आफ्नै चारित्रिक क्षति बन्ने देखिएकाले उनी चुप लागेका रछन् ।

    यता, मंसिरको पहिलो साता मकवानपुरका सीडीओ वसन्त अधिकारी आफैँ राति हेटौँडा बसपार्कको एउटा होटलमा पुगे । ग्राहक विवरणको रजिस्टर नै बोकेर हिँडे । होटल सागरका सञ्चालकले पछि मात्र थाहा पाए लगबुक लैजाने सीडीओ हुन् भन्ने ।

    ‘शुरूमा त उनले होटलमा भइरहेको गतिविधि स्वीकारेका थिएनन् । त्यो कोठा नम्बर १०६ चैँ एकदिन ६ पटक किन बेचेको त भनेर प्रश्न गरेपछि फतक्कै गलिहाले’, सीडीओ अधिकारीले भने ।

    आइन्दा यस्तो गर्दिनँ भनेर कागज गरेको र अरु होटलबारे पनि सूचना आएकाले सुक्ष्म अनुगमन भइरहेको अधिकारीले बताए । बसपार्कमा आउने सर्वसाधारणलाई यौन कार्यका लागि आकर्षित पार्न युवतीहरू परिचालन हुने, मोलमोलाइ हुने र ‘त्यो होटल’ मा गएर यति नम्बरको कोठा लिनू, म आउँछु भन्नेसम्मको सूचना पाएर प्रमुख जिल्ला अधिकारी आफैँ होटल पुगेर रजिस्टर नै जफत गरिदिएपछि हेटौँडाका अन्य होटल सञ्चालकहरुलाई पनि तनाव भएको छ ।

    ‘मोटरसाइकल हवल्दार सा’बले चलाउनु हुन्छ, पछि बसेर सामान्य भेषमा जान्छौँ । आएको सूचना भरपर्दो नभएसम्म कसैलाई राति दुःख दिनु पनि छैन, आफूले दुःख पाउनु पनि छैन, तर बदमासी रोक्न सकेसम्म प्रयास गरिरहेको छु’, उनले भने ।

    ढाटका ठकेदारको नगरपालिकामा गुहार

    यस्तै, राति नै सिभिल ड्रेसमा पुगेका सिडिओ अधिकारीले हेटौँडा नगरपालिकाले उठाइरहेको ढाटको कर संकलन पनि रोकिदिएपछि बदमासी गर्न पाइएन भन्दै ठेकेदार र प्रतिनिधिहरू सोमबार हेटौँडा नगरपालिकामा गुहार लगाउन पुगेका छन् । आइतबार राति १२ बजेपछि ढाटमा पैसा नउठाउन अधिकारीले आग्रह गरेका थिए ।

    ‘बाइपासमा गाडी नै रोकेर चालक, सहचालकलाई दुःख दिने काम भएको छ, भैँसेतिर जाने सवारी साधनलाई पनि बसपार्क जाऊ भनेर दुःख दिएका छन्,’ अधिकारीले भने, ‘खाली ट्रकले कर तिरेन भनेर मोटरसाइकलमा पिछा गरेर नेवारपानीसम्म पुगेर चालकमाथि दुव्र्यवहार भएपछि एक्सन लिएको हुँ, नगरपालिकामा सिडिओले कर उठाउन दिएन भन्दै पुगेको खबर पाएको छु ।’

    हेटौँडा बजारमा आउजाउ गर्ने सवारीसाधनलाई पनि रोकेर बाइपासमा जान, भारतीय यात्रुहरु जो भीमफेदी हुँदै काठमाडौँ जान चाहन्छन्, उनीहरुलाई पनि दुःख दिने काम भएको गुनासोपछि यस्तो एक्सन लिइएको अधिकारीले बताए ।

    हेटौँडा अस्पतालमा सेक्युरिटी गार्डको दादागिरी

    राति नै हेटौँडा अस्पताल पुगेका सीडिओ अधिकारीले त्यहाँ झन बदमासी भइरहेको देखे । सामान्य पोशाकमा सर्वसाधारण बनेर पुगेका उनकै अगाडि मादक पदार्थ सेवन गरेर एकजनाले बिरामीको ‘प्रेस्क्रिप्सन’ नै च्यातिदिए ।

    ‘पछि थाहा भयो, उनी अस्पतालकै सुरक्षा गार्ड रहेछन्, बिदाका दिन मादक पदार्थ सेवन गरेर अस्पताल आएर यस्तो हर्कत गरेका रहेछन्, म्याद थपेर केही दिन थुन्न भनेको छु,’ अधिकारीले भने, ‘यो हदको बदमासी रोक्न कोही किन चासो लिँदैनन्, जसले जे गरे पनि हुन्छ भन्ने भइरहेको देखेँ ।’

    फार्मेसीमा विवरणै छैन

    यसपछि सिडिओ अधिकारी अस्पतालको सरकारी औषधी उपलब्ध हुने फार्मेसीमा पुगे ।

    उनले भने, ‘सरकारले दिने केही औषधी छ त ?’ सरकारी औषधी पसलमा रहेकी कर्मचारीले केही ट्याब्लेट झिकेर दिइन् । अधिकारीले भने, ‘मेरो नाम, विवरण, औषधी लगेको जानकारी राख्नु पर्ला नि ?’ ती कर्मचारीले जवाफ दिइन्, ‘तपाईं जानू न, हामी मिलाउँदा विवरण ।’

    सीडीओ अधिकारीले अस्पतालका निमित्त सुपरीटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई फोन गरे तर उनले यस्तो हुँदै नभएको भनेर जिद्दी गरे ।

    ‘मैले यसरी औषधी लिएर आइसकेँ, फेरि यस्तो हुँदैन भन्नुहुन्छ,’ सिडिओ अधिकारीले भन्दा पनि सापकोटाले यस्तो बदमासी नभएको दाबी गरेको अधिकारीले बताए ।

    पहिलो दिनै भिडियो खिचेका थिए

    मकवानपुरमा सरुवा भएर आउँदै गर्दा चाडपर्वको रौनक थियो । अधिकारीका लागि मकवानपुर नयाँ हैन । उनी २०७४ मा संघीयता कार्यान्वयन क्रममा बनेको ‘प्रदेश ३’ (बागमती) सरकारका आर्थिक मन्त्रालयका पहिलो सचिव थिए । उनलाई मकवानपुरबारे धेरै जानकारी थियो ।

    बाटोमा यति धेरै ‘ओभरटेक’ गरेर सवारी साधन हुइँकिए कि सिडिओ आफैँ त्यो अव्यवस्थित जाममा परे । यसपछि उनले ओभरटेक गर्ने १९ वटा सवारी साधनको भिडियो खिचेर कार्यालयमा हाजिर नहुँदै मकवानपुरका ट्राफिक प्रहरी निरीक्षकको मोबाइलमा ह्वाट्स एपमा पठाएका थिए । चाडपर्व भएकाले प्रहरी निरीक्षक बिदामा थिए । ‘सकेको सुधार्ने हो,’ उनले भने, ‘हेरेर बस्ने बानी छैन ।’

  • विद्या भण्डारीलाई पार्टीमा सदस्यता दिलाएरै छाड्ने ईश्वर पोखरेलको घोषणा

    विद्या भण्डारीलाई पार्टीमा सदस्यता दिलाएरै छाड्ने ईश्वर पोखरेलको घोषणा

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाएरै छाड्ने बताएका छन्।

    ११ औँ महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्दै भण्डारी पार्टीमा फर्किनु सकारात्मक विषय हुने भएकाले रोक्न नहुने बताएका हुन्।

    वक्तव्यमा भनिएको छ, ‘चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो ।’

    भण्डारीको पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर गर्ने उल्लेख छ।

    वक्तव्यमा भनिएको छ, ‘तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’

  • ईश्वर पोखरेलले महाधिवेशनमा छुट्टै राजनीतिक तथा सांगठानिक प्रस्ताव ल्याउने

    ईश्वर पोखरेलले महाधिवेशनमा छुट्टै राजनीतिक तथा सांगठानिक प्रस्ताव ल्याउने

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औँ महाधिवेशनमा छुट्टै राजनीतिक र सांगठानिक प्रस्ताव ल्याउने भएका छन्। अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै छुट्टै दस्ताबेज ल्याउने तयारी गरेका हुन्।

    अध्यक्ष केपी ओलीसहित संस्थापन पक्षका नेताहरूले यो महाधिवेशनबारे नीतिबारे कुनै छलफल नहुने, नेतृत्व चयन मात्रै गर्ने बताइरहेका बेलामा पोखरेलले फरक कित्तामा उभिएका छन्।

    पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा अध्यक्षमा ओलीसँग भिड्न लागेका पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘महाधिवेशन समक्ष प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक दृष्टिकोणको विस्तारित दस्ताबेज निकट भविष्यमा सार्वजनिक गर्नेछु । सबैको साथ र सुझावको अपेक्षा गर्दछु ।’

    वक्तव्यमा उल्लेख भएको उनको भनाइ जस्ताको तस्तै-

    भ्रष्टाचारको अन्त्य र सुशासनको पवित्र माग सहित भदौ २३ गते नवयुवाहरूको आह्वानमा भएको आन्दोलनप्रति सम्मान व्यक्त गर्दछु । तर भदौ २३ गतेकै दिउँसोबाट जेनजीहरुको आन्दोलनमा भएको घुसपैठ तथा भदौ२४ गते भएको विध्वंसको घोर निन्दा गर्दछु । दुवै दिनका घटनाका बारेमा निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषी उपर कारबाही गर्न माग गर्दछु ।

    जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले हाम्रो सामुन्ने संविधानलाई लिकमा ल्याउनुपर्ने र लोकतान्त्रिक प्रक्रिया पुनर्बहाली गर्नुपर्ने अभिभारा आइलागेको छ । विघटित प्रतिनिधिसभाको मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उचित फैसला हुने अपेक्षा गर्दछु । सँगै, सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित चुनावको वातावरण निर्माण गरोस् भन्ने मेरो आग्रह छ ।

    देशको यस्तो असाधारण परिस्थिति बिचमा यही २०८२ मंसिर (२७-२९) मा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आयोजना हुँदैछ । गत २०८२ भदौ (२०-२२) मा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको राजनीतिक तथा सांगठानिक प्रतिवेदन र विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हामीलाई स्मरण नै छ । तर भदौ २३ पछिको अवस्था र २२ भदौ अघिको परिस्थितिमा ठुलो भिन्नता आएको हामीले बुझ्नु पर्दछ । हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न आवश्यक छ ।

    मार्क्सवादीहरू वस्तुवादी हुने गर्दछन्। मनोगत आग्रहले क्षणिक सन्तुष्टि त दिन सक्ला, तर वस्तुगत यर्थाथ बिनाको निष्कर्षले झन ठुलाे सङ्कट तथा अन्योलमा पुर्‍याउँछ । तसर्थ सबैलाई वस्तुवादी भएर परिस्थितिलाई बुझ्न र सही निष्कर्षका साथ नेपाली समाजलाई दिशानिर्देश गर्न आग्रह गर्दछु ।

    मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गरेको हाम्रो पार्टी नेकपा (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा विधान महाधिवेशन पश्चात् उत्पन्न असाधारण परिस्थितिको बस्तुगत विश्लेषण गरी सही नीति निर्धारण गर्न, नयाँ चुनौतीको सामना गर्न सक्षम हुने गरी पार्टी सङ्गठनको पुनर्गठन गर्न, बलियो राष्ट्रिय शक्ति निर्माणमा सही तरिकाले अगुवाइ गर्ने नेतृत्व निर्माण गर्न उच्च विवेक, अटल आत्मविश्वास र क्रान्तिकारी आशावादका साथ सक्रिय सहभागिताका लागि सिङ्गो पार्टीपंक्तिलाई आह्वान गर्दछु ।

  • एमालेको अध्यक्षमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा, ओलीलाई निकास दिन आग्रह

    एमालेको अध्यक्षमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा, ओलीलाई निकास दिन आग्रह

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरेका छ्न । आज एक वक्तव्यमार्फत उनले भावी अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताएका हुन् ।

    वक्तव्यमा भनिएको छ, ‘पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ । पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु ।’

    पार्टीमा आफूलाई तगारो लागेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई अघि सारेकी हुन् । अहिले पोखरेलले लिखित वक्तव्य मात्र जारी गरेका छन् । महाधिवेशन प्रतिनिधि छनौटपछि प्यानल घोषणा गर्ने तयारी छ ।

    पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको उनले बताएका छन् ।

    पोखरेलले अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि ओलीलाई आग्रह गरेका छन् ।

     

  • एनपीएलः काठमाडौं गुर्खाजविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी

    एनपीएलः काठमाडौं गुर्खाजविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी

    काठमाडौं । नेपाल प्रिमियर लिग अन्तरगत आजको एक मात्र खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् ।

    लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ रोजे ।

    लुम्बिनीले यसअघि दुई म्याच खेल्दा एक जित र एक हारको मिश्रित नतिजा निकालेको छ भने काठमाण्डुले ३ म्याच खेल्दा एक जित र दुई हार व्यहोरेको छ ।

    काठमाडौंका लागि अलराउन्डर मिलिन्द कुमारले टिममा कमब्याक गरेका छन् । उनले चोटका कारण अघिल्लो म्याचमा अनुपस्थित रहेका थिए ।

  • बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार, लागत ३ खर्ब ७४ अर्ब

    बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार, लागत ३ खर्ब ७४ अर्ब

    काठमाडौं । बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार पारिएको छ । धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ ।

    आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । निर्माण अवधिको व्याज ३२ अर्बसहित आयोजनाको लागि ४ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । निर्माण अवधिको व्याजसहित कूल लागतका आधारमा कर्जा र स्वःपूँजी (इक्विटी) अनुपात ७० र ३० प्रतिशत रहने गरी मोडालिटी तयार गरिएको छ । आयोजनाको प्रवर्धक बूढीगण्डकी कम्पनी लिमिटेडमा नेपाल सरकारको ८० र नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत शेयर स्वामित्व रहनेछ ।

    आयोजना सम्पन्न भएपछि वा निर्माणको अन्तिम चरणमा वास्तविक वित्तीय सूचकलाई समेत दृष्टिगत गरी उपयुक्तता र सम्भाव्यताको आधारमा केही प्रतिशत शेयर सर्वसाधारणलाई जारी गरी कर्जाको भार घटाउन वा  सरकारको शेयर पुनर्संरचना गर्न सकिने प्रस्ताव गरिएको छ ।

    सरकारको आयोजनामा इक्विटी वापत ९७ अर्ब ४७ करोड र सहुलियतपूर्ण कर्जा वापत १ खर्ब ५० अर्ब गरी कूल २ खर्ब ४८ अर्ब रुपैयाँ लगानी रहने छ । सरकारबाट हालसम्म आयोजनामा भएको ४५ अर्ब  रुपैयाँ कम्पनीमा गरेको शेयर लगानीमा रूपान्तरणको प्रस्ताव गरिएको छ ।

    आयोजनाको निर्माणका क्रममा भन्सार तथा मूल्य अभिवृद्धि कर बापतको रकमसमेत सरकारले यस आयोजनामा लगानी गर्नु पर्ने प्रस्ताव छ । पेट्रोलियम पदार्थको आयातमा भन्सार विन्दुमा लगाउँदै आएको पूर्वाधार करको ५० प्रतिशत रकम आयोजनामा लगानीका लागि छुट्याउनु पर्ने प्रस्ताव गरिएको छ ।

    हालसम्मको लगानी घटाउँदा आयोजनामा सरकारको लगानी हुने २ खर्ब २८ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिनु पर्नेछ । प्राधिकरणले आयोजनामा इक्विटी वापत २४ अर्ब ३७ करोड रुपैयाँ लगानी गर्नेछ । वित्तीय लागत घटाई आयोजनालाई सम्भाव्य बनाऊ सरकारको सहजीकरणमा अनिवार्य तरलता अनुपातमा गणना हुने गरी ३० अर्ब रुपैयाँको ऊर्जा बण्ड जारी गर्न प्रस्ताव गरिएको छ । उक्त बण्ड बैक तथा वित्तीय संस्था, बीमा तथा पुनर्बीमा कम्पनी र सार्वजनिक कोषले खरिद गर्न सक्नेछन् । बैक तथा वित्तीय संस्थाबाट १ खर्ब ४ अर्ब रुपैयाँ ऋण प्रवाह हुनेछ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा तथा पुनर्बीमा कम्पनी,एचआइडिसिएल, नेपाल टेलिकम र वाणिज्य बैंकहरुको सहवित्तीयकरणमार्फत उठाउने प्रस्ताव गरिएको छ ।

    आयोजनाबाट हिउँदयाममा १ अर्ब ४१ करोड र वर्षायाममा १ अर्ब ९७ करोड युनिट गरी ३ अर्ब ३८ करोड युनिट विद्युत् उत्पादन हुने छ । विद्युत् खरिद बिक्री दर हिउँदयाम र वर्षायामका लागि क्रमशः १२.४० र ७.१० रुपैयाँ प्रतियुनिट रहने प्रस्ताव गरिएको छ । यसरी आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि वार्षिक रूपमा ३१ अर्ब ४८ करोड रुपैयाँ आम्दानी हुनेछ । आयोजनाको विद्युत् उत्पादन अनुमति पत्रको अवधि पचास वर्ष रहने प्रस्ताव गरिएको छ । आयोजना ८ वर्षभित्रमा निर्माण सम्पन्न भएमा ४२ वर्ष विद्युत् उत्पादन हुनेछ ।

    आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र टेण्डर कागजात तयारी अवस्थामा रहेका छन् । आयोजनाको सबैभन्दा जटिल मानिएको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत छ । जग्गाको मुआब्जा, संरचना, बोटबिरुवा तथा फलफूको क्षतिपूर्ति बापत जग्गाधनीलाई ४२ अर्ब ६५ रुपैयाँ वितरण गरिएको छ । आयोजनाबाट भौतिक तथा आर्थिक रूपमा गोरखा र धादिङका ८ हजार एक सय १७ घरपरिवारका प्रभावित हुने छन् । यसमध्ये ३ हजार ५ सय ६० घरपरिवार पूर्ण रूपमा विस्थापित हुने छन् ।

    काठमाडौं, चितवन, पोखरा जस्ता विद्युत् भार (लोड) सेन्टरबाट नजिक रहेका कारण पनि बूढीगण्डकी ऊर्जा सुरक्षाका दृष्टिकोणबाट रणनीतिक महत्वको रहेको छ । गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि २६३ मिटर अग्लो कर्भेचरयुक्त आर्च बाँध बनाइने छ । जसबाट धादिङका ५ पालिका र गोरखाका ४ गाउँपालिका प्रभावित हुने जनाइएको छ ।

     

  • जेन-जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

    जेन-जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

    काठमाडौं । केही दिनयता जेन-जीका नाममा विभिन्न समूह आएर हुलहुज्जत र उच्छृंखल गतिविधि गर्न थालेपछि सिंहदरबारको मूलद्वार र भित्र सुरक्षा निगरानी बढाइएको छ ।

    विभिन्न माग राख्न आएका जेन-जी समूहले प्रधानमन्त्रीसँग अनावश्यक र अमर्यादितरूपमा प्रस्तुत हुन थालेको, उच्छृंखल जमात देखिएकोले शान्ति सुरक्षा कायम गराउन प्रहरीले कडाइ गरेको हो ।

    ज्ञापन पत्र भन्दै विभिन्न समूह माग बुझाउन आउने हो-हल्ला गर्ने हुन थालेपछि उनीहरूलाई दक्षिण गेटबाटै भित्र पस्न नदिने रणनीति रहेको सुरक्षा अधिकारीले बताएका छन् । त्यस्तै प्रधानमन्त्री कार्यालयको मुख्य गेटमा पनि प्रहरी तैनाथ गरिएको छ ।

    जेन-जीका नाममा अनेक स्वार्थ समूह खडा भएर जेन-जीकै बलिदानमा बनेको सरकारलाई अप्ठ्यारो पारिरहेको भन्दै कसैलाई आउन नदिन निर्देशन दिइएको स्रोतले बतायो । हिजो मिराज ढुंगाना, रविकिरण हमाललगायतका गेटमै रोकिएपछि बाहिरै मागपत्र टाँसेर फर्किएका थिए । भित्र छिरेको एउटा समूह प्रधानमन्त्री कार्यालयको प्रतीक्षा हलमा हुलहुज्जत गरेर फर्किएको थियो । सुधन गुरुङ पनि मागपत्र खल्तीमा लिएर पुगेको थियो ।

    आज पनि मिराजसहित प्रधानमन्त्रीलाई भेट्न गएको समूहलाई गेटबाटै लखेटेर प्रहरीले अनामनगरको पुलसम्म पुर्‍यायो ।

  • हामी कुनै इच्छाले आएका होइनौँ, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ : गृहमन्त्री अर्याल

    हामी कुनै इच्छाले आएका होइनौँ, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ : गृहमन्त्री अर्याल

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन्।

    गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले आज भैरहवामा गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई समयमै निर्वाचन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए।

    उनले निर्वाचनको लागि आवश्यक सुरक्षाको प्रबन्ध गरेको गरेको बताए। उनले दण्डहीनता स्वीकार्य नहुने चेतावनी पनि दिए।

    उनले भने, ‘सुशासनको आधार तयार बनाउने, भोलिको दिनमा बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ। हाम्रा छोराछोरीले हाम्रो कार्यशैलीमा यत्रो प्रश्न उठाउँदा पनि नसच्चिने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न। त्यसैले आफ्नो अभिव्यक्ति दिँदा सबैले त्यसतर्फ ध्यान दिनुपर्छ।’

    उनले आफूहरू कुनै अपेक्षा र व्यक्तिगत इच्छाले नआएको भन्दै देशको विशिष्ट अवस्थामा, शून्यतालाई चिर्नुपर्ने परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा आएको बताए।

  • सिंहदरबारमा ‘जेन-जी रमिता’– मिराज समूहले भित्तामा टाँस्यो, सुधन समूह खल्तीमा राखेर फर्कियो

    सिंहदरबारमा ‘जेन-जी रमिता’– मिराज समूहले भित्तामा टाँस्यो, सुधन समूह खल्तीमा राखेर फर्कियो

    काठमाडौं । साहित्यकार इन्द्रहादुर राई बितेको ७ वर्ष हुन लागिसक्यो । उनको अमर कृति ‘आज रमिता छ’ उपन्यासको शीर्षक भने राजनीतिदेखि मेलापतसम्म सधैं काम लाग्छ ।

    इन्द्रहादुरले उपन्या रमिता छ लेख्दा मोबाइल फोनको विकास संसारमा भइसकेको थिएन । त्यो जमानामा रमिता भनेको कुनै डाँडामा बसेर हेरिन्थ्यो । त्यसैले पहाडतिर प्रायः हरेक गाउँमा ‘रमिते डाँडा’ भन्ने ठाउँ छन् । जहाँबाट अनेक रमिताहरू हेरिन्थ्यो ।

    प्रधानमन्त्री भेट्न पुगेका मिराज ढुंगानासहितका जेन-जीलाई प्रहरीले गेटबाटै लखेट्यो

    पछिल्ला केही दिनयता देशको केन्द्रीय सचिवालय सिंहदरबारभित्र र बाहिर ‘रमिता’ चलिरहेको छ । आज रमिता छ भनेरमात्र नपुग्ने दृश्य सिंहदरबार प्रवेशद्वारदेखि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयतिर देखिन्छन् । त्यसैले अचेल रमिता चलिरहेको छ’ भन्दा हुन्छ ।

    जेन‍जी आन्दोलनमा आगजनी भएर ध्वस्त बनेको सिंहदबारमा चलिरहेको रमिताका आयोजक पनि जेनजी समूह नै हुन् । विभिन्न नामका जेनजी समूह खोलेर नेता बन्न खोज्ने र आन्दोलनका उपलब्धीको फाइदा लिन खोज्नेहरूको रमिता सिंहदरबारमा चलिरहेको छ अचेल ।

    सिंहदरबार छिर्न नपाएपछि मिराज र रविकिरणसहित २१ जेन-जी समूहले गेटमै टाँसे मागपत्र

    जेनजी आन्दोलनको उद्देश्यविपरीत अचानक धेरै परिवर्तन, सत्तापलट र विध्वंश भए । जेनजीका नाममा अनेक स्वार्थ समूह खडा भए । र, जेनजीकै बलिदानमा बनेको सरकारलाई अप्ठेरो पारिरहे । त्यसैले पछिल्लो समय प्रधानमन्त्री र मन्त्रीहरूले उनीहरूलाई बेवास्ता गरेर सरकारको मुख्य दायित्व चुनावतर्फ केन्द्रित भएपछि सिंहदरबारभित्र र बाहिर रमिता चलेको हो ।

    सोमबारमात्र मात्र तीनथरी दृश्य देखिए । एकथरी सिंहदरबारको गेटमै रोकिए, अर्कोथरीले प्रधानमन्त्री कार्यालयको प्रतक्षा हलमा हुलहुज्जत गरे र तेस्रो समूह मागपत्र खल्तीमा राखेर सुटुक्क फर्कियो । ती समूह मङ्गलबार पनि सिंहदरबार गेटमा पुगेका थिए ।

    सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष मात्रपत्र बुझाउन गएका जेनजीका विभिन्न समूहहरू त्यतिकै फर्किए । प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि उनीहरूले प्रधानमन्त्री कार्यालय परिसरमै होहल्ला र नाराबाजी गरे । अन्तमा सिंहदरबारको दक्षिण गेटमा मागपत्र टाँसेर फर्किए ।

    ओली र लेखकलाई पक्राउ गराउने अभियानमा सुधन गुरुङ, रास्वपाका दुई नेताको समर्थन

    मिराज ढुंगाना, रविकिरण हमाललगायत जेनजी अगुवाहरू मागपत्र लिएर गएका थिए । उनीहरू कोही राजावादी जेनजी थिए त कोही संविधान खारेजीको माग राख्ने जेनजीहरू पनि थिए । यही भीडमा थिए जेनजी अगुवा सुधन गुरुङदेखि सुप्रिया शाहीसम्म ।

    गुरुङ पनि मागपत्र लिएर सिंहदरबार पुगेका थिए । तर, उनले पनि प्रधानमन्त्री कार्कीलाई भेट्न पाएनन् । प्रधानमन्त्रीलाई भेट्न नपाएपछि मागपत्र गोजीमा हालेर सुटुक्क सिंहदरबारबाट बाहिरिएको पाइएको छ । त्यसपछि सुप्रियाको समूहले प्रधानमन्त्री कार्यालयमा हङ्‍गामा मच्चाएको थियो

    सुधन गुरुङको आरोप- गृहमन्त्री ओमप्रकाश अर्याल त एमालेको जस्तो लाग्न थाल्यो ! (भिडिओ)

    स्रोतले भन्यो,उहाँ (सुधन) प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले गरेका नियुक्तिको हल्लाबारे बुझ्नलाई जानुभएको थियो । संवैधानिक नियुक्तिहरूलाई खारेज गरिनुपर्छ भन्ने पनि उहाँको माग थियो । योग्यता र कार्यकुशलताको आधारमा नियुक्तिहरू गरिनुपर्छ भन्ने उहाँको माग थियो । तर, अरु जेनजीहरूले हल्लाखल्ला गरेपछि स्थितिलाई थप भड्किन नदिन उहाँले प्रधानमन्त्रीलाई भेट्नुभएन ।’

    बुझिए अनुसार प्रधानमन्त्री कार्कीले कसैलाई पनि भेट्न चाहेकी छैनन् । केही समयअघि सम्पादकहरूको छलफलका क्रममा थरीथरीका जेनजीको समूह आएको र खास जेनजी अगुवाको पहिचान गर्नै गाह्रो भएको बताएकी थिइन् । अनेकथरी जेनजी बनेर अनावश्यक दबाब र हस्तक्षेप गर्न थालेपछि प्रधामन्त्री र मन्त्रीहरू पनि दिक्क भइसकेका छन् ।

    सरकारी अड्डामा सुधन गुरुङको ब्रिफिङ लिने र निर्देशन दिने ‘वैधानिक ओहोदा’ माथि सार्वजनिक प्रश्न

    मिराज ढुंगाना समूहले संविधान खारेजीदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्मको माग राखेको मागपत्र सिंहदरबारको पश्चिम गेटमा टाँसेर फर्किएको थियो । बुधबार पनि उनीहरू सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ ।

    देशभरी जेनजीका नाममा अवाञ्छित समूह र व्यक्तिहरूले अराजकता मच्चाउन थालेपछि सरकार कठोर बन्न थालेको छ । अराजकता सिर्जना गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । त्यसैले अहिले जेनजीका अगुवाहरूले गृहमन्त्रीविरुद्ध प्रदर्शन तथा सामाजिक सञ्जालबाट विरोधको ट्रेण्डिङ चलाउन थालेका छन् ।

    प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने–कुनै संगठित शक्ति र नेता नहुँदा अचेल जेनजीका नाममा जो पनि समूह बनाएर आउँने र प्रधानमन्त्रीसँगै भेट्न खोज्ने प्रवृति बढेको छ । भेट्न समय नपाएपछि फेसबुकमा भिडिओ अपलोड गर्छन् । जेनजी आन्दोलनका नाममा नक्कली घाइतेहरु खडा भएका छन् । अनेकखाले मान्छेहरु र पार्टीका कार्यकर्ताहरु जेनजी अगुवा बनेर हैरान बनाइरहेका छन्

    जेनजी आन्दोलनकै एक अभियन्ता कर्णाली संयोजक सुप्रिया शाहीले भने जेनजीका नाममा रक्षा बम र ओजश्वी थापाले सत्ता कब्जा गरेर अरुलाई निषेध गरेको आरोप लगाएकी छन् । शाहीका अनुसार ओजश्वी थापा सुधन गुरुङको हामी नेपाल संस्थाका कर्मचारी हुन् भने रक्षा बम जेनजी आन्दोलनको अगुवा दावी गर्ने अमेरिकन युथ काउन्सिलकी सदस्य हुन् ।

    टासी ल्हाजोमको नागरिकता छानबिन गर्नुपर्छ भनेपछि सुधन गुरुङ समूहको जेनजी कर्णाली संयोजकबाट कारवाहीमा परेकी सुप्रिया शाहीले आफूहरुलाई रक्षा बम र ओजश्वी थापाहरुले प्रधानमन्त्रीसँग भेट्नबाट रोकेको आरोप लगाएकी छन् ।

    सुदन गुरुङलगायत जेनजी नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी

    किसान श्रेष्ठको घरमा घुसेर सुधन गुरुङको ध्वाँस- काठमाडौंबाट एउटा बहुला आएको छ भन्दिनू !

    प्रधानमन्त्री कार्यालय पुगे सुधन गुरुङ

     

  • भन्सार र राजश्व इकाइका कर्मचारीको सेटिङमा चोरी तस्करी भइरहेको एपीएफको दाबी, तालुक निकायमा गर्‍यो जाहेर

    भन्सार र राजश्व इकाइका कर्मचारीको सेटिङमा चोरी तस्करी भइरहेको एपीएफको दाबी, तालुक निकायमा गर्‍यो जाहेर

    विराटनगर । विराटनगर भन्सार कार्यालय र राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीका कर्मचारीको मिलेमतोमा भन्सार छली भइरहेको सशस्त्र प्रहरीले दाबी गरेको छ ।

    सशस्त्र प्रहरीले भन्सार छली गरेका माल वस्तु र चोरी तस्करीमा संलग्न सवारी साधन नियन्त्रणमा लिएर भन्सार र राजश्व अनुसन्धान इकाई कार्यालयमा बुझाउँदा समेत कारबाही नभएको भन्दै एपीएफले तालुक निकायमा गुनासो समेत गरेको छ ।

    आफूहरूले नियन्त्रणमा लिएर बुझाएका माल बस्तु र सवारीसाधनलाई न्यून जरिवाना गरेर राजश्व अनुसन्धान कार्यालयले छाडेको सशस्त्र प्रहरीको जिकिर छ । यस्तै नियन्त्रणमा लिएर बुझाएको सवारीसाधनबाट भन्सार यार्डबाटै सामान अनलोड गरी अर्को सवारीसाधनमा लोड गरेको एपीएफको भनाइ छ ।

    नियन्त्रणमा लिएका सवारीबाट केही पोका सामान कस्टम यार्डबाट भन्सार कर्मचारीको मिलेमतोमा अर्को सवारी साधनमा हालेर भन्सार छली गर्न सहयोग गरेको सशस्त्रले बताएको छ । सीमामा हुने चोरी तस्करी नियन्त्रणका लागि परिचालित गस्तीले बरामद गरेका सामान र गाडी भन्सार र राजश्व कार्यालयमा बुझाउने गरिएको छ । यसरी बुझाएका सामानहरू न्यून जरिवाना गरेर भन्सार जाँच पासमा त्रुटि भएको भन्दै सशस्त्रले माथिल्लो निकायमा जाहेरी समेत गरेको प्रमाण नेपाल प्रेसले फेला पारेको छ ।

    सशस्त्र प्रहरी बल नं १ बाहिनी मुख्यालय पकली सीमा शाखाले भन्सार कार्यालयहरूबाट हुने जाँच पास प्रक्रियामा गम्भीर त्रुटि भइरहको भन्दै प्रमाणसहित माथिल्लो निकायमा जाहेर गरेको पाइएको हो । उक्त जाहेरमा बाहिनीले सशस्त्र प्रहरी बल प्रधान कार्यालय सीमा सुरक्षा विभाग (राजश्व शाखा) र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा भन्सार जाँच पासमा त्रुटि भएको गुनासो गरिएको छ ।

    सशस्त्र प्रहरीले गत कात्तिकमा विराटनगर भन्सार कार्यालय (आईसीपी) बाट प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी लत्ताकपडा नियन्त्रणमा लिएको थियो । सो क्रममा ३ जना भन्सार एजेन्टहरू समेत पक्राउ परेका थिए ।

    भन्सार कार्यालयमा बुझाएपछि पनि सो ट्याक्टरबाट कपडा अनलोड गरेर अर्को सवारी साधनमा हालिएको सशस्त्र प्रहरीले दाबी गरेको छ । भन्सारमा बुझाएको ट्याक्टरबाट कपडाका पोका अनलोड भएको विषयमा भन्सार प्रमुख उमेश श्रेष्ठलाई भन्दा पनि अनवज्ञिता प्रकट गरेको भन्दै सशस्त्रले असन्तुष्टि जाहेर गरेको कागजातमा उल्लेख छ । सशस्त्र प्रहरी नम्बर १ बाहिनी सीमा शाखाले माथिल्लो निकायमा गरेको जाहेरी पत्रमा सो कुरा उल्लेख छ ।

    सशस्त्रले कात्तिक १७ गते साँझ साढे ५ बजे विराटनगरको हनुमान मन्दिर अगाडि को. १ त २४१ नम्बरको ट्याक्टर र तीनजना भन्सार एजेण्ट नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी १ नम्बर बाहिनीका प्रमुख डीआईजी कुमार न्यौपानेले एजेन्टहरू कुन्दन मण्डल, छोटु मण्डल र ललन मण्डललाई नियन्त्रणमा लिएको बताए ।

    सोही दिन भन्सार यार्डबाट को. १ त ९७१७ नम्बरको ट्याक्टर फेला पारेको थियो । सो ट्याक्टरमा प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा १५ पोका बढी कपडा फेला पारेपछि बरामद भएको थियो । सो कपडाको बजार मूल्य १९ लाख ९० हजार ४ सय ६० रुपैयाँ बराबरको छ । सशस्त्रले सो अवैध कपडा राजश्व अनुसन्धान इकाई कार्यालयमा बुझाएको थियो ।

    यस्तै कात्तिक १९ गते बिहान संयुक्त टोलीले विराटनगर १५ स्थित बुद्ध पूजा ढुवानी सेवामा खोजतलास गर्दा शङ्कास्पद लत्ताकपडा नियन्त्रणमा लिएको थियो । सशस्त्रले सो कपडा राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीमा बुझाएको थियो ।

    सशस्त्रले बुझाएको ३४ पोका कपडा र १९ लाख ९० हजार बराबरको कपडा राजश्व अनुसन्धान इकाई कार्यालयले १ लाख २४ हजार रूपैयाँ जरिवाना गरेर छाडेको सशस्त्रले गरेको जाहेरीमा उल्लेख छ । उक्त विषयलाई लिएर एपीएफले आपत्ति जनाएको छ ।

    डीआईजी न्यौपानेले भन्सार जाँच पासमा त्रुटि भएको बताए । उनले नेपाल प्रेससँग भने, ‘यो कसरी भयो भन्ने हो ? हामीले हाम्रो निकायमा जाहेरी गरेका छौँ ।’

    राजश्वले सो सामान न्यून जरिबाना गरी छाडेको भन्दै जाँच पासमा त्रुटि भएको दाबी गरेको छ । भन्सार कार्यालय विराटनगरका प्रमुख उमेश श्रेष्ठले आफूहरूले यस बारेमा अध्ययन गरिरहेको प्रतिक्रिया दिए ।

  • प्रधानमन्त्री भेट्न पुगेका मिराज ढुंगानासहितका जेन-जीलाई प्रहरीले गेटबाटै लखेट्यो

    प्रधानमन्त्री भेट्न पुगेका मिराज ढुंगानासहितका जेन-जीलाई प्रहरीले गेटबाटै लखेट्यो

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन-जी समूहलाई आज पनि सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । हिजो अपरान्ह पनि २१ वटा जेन-जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।

    आज बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको छ । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सरकारले प्रहरी लगाएर युवाहरूको आवाज दमन गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।

    युवाको विद्रोह फगत ०८४ सालको निर्वाचन ०८२ सालमा गर्नको लागि मात्र नभएको भन्दै उनीहरूले कार्की सरकारले आफूहरूको माग पूरा गर्न नसकेको र घाइते तथा शहीदको सपना साकार पार्न असम्भव देखेको बताएका छन् ।

  • सर्वोच्चमा एमालेको मागदाबी- सुशीला कार्कीको नियुक्ति बदर, संसदबाट सरकार गठन गर्न परमादेश

    सर्वोच्चमा एमालेको मागदाबी- सुशीला कार्कीको नियुक्ति बदर, संसदबाट सरकार गठन गर्न परमादेश

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गरेको छ। नेकपा एमाले संसदीय दल (विघटित प्रतिनिधिसभा) को तर्फबाट मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले ७ माग दाबीसहित रिट दायर गरेका हुन्।

    एमालेले संसद् पुनर्स्थापना गरी प्रतिनिधि सभाको बैठक बोलाउन सभामुख तथा संसद् सचिवालयको नाममा परमादेश जारी गर्न समेत माग गरेको छ।

    यी हुन् एमालेको मागदाबी-

    -प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधान न्यायाधीश भइसकेको व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२(२) विपरीत गैर संवैधानिक तवरले नियुक्त भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा निजको प्रधानमन्त्री पदमा भएको नियुक्ति विरुद्ध अधिकार पृच्छाको आदेश जारी गरी पाउँ।

    – प्रधानमन्त्री पदमा सुशीला कार्कीलाई नियुक्ति गर्ने सम्माननीय राष्ट्रपतिज्यूको मिति २०८२ भदौ २७ को निर्णय, सोको आधारमा भएको प्रधानमन्त्रीज्यूको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदर गरी पाउँ। साथै विपक्षी प्रधानमन्त्री नियुक्त भएपश्चात् विपक्षीहरूबाट भए गरेका गैर कानुनी एवम् असंवैधानिक सम्पूर्ण काम कारबाही, निर्णय, नियुक्तिहरू समेत उत्प्रेषणको आदेशले बदर गरी पाउँ ।

    – प्रधानमन्त्री सुशीला कार्कीको एकल सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट मिति २०८२ भदौ २७ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णय उत्प्रेषणको आदेशले बदर गरी २०८२ भाद्र २४ गते पछिको अवधिलाई शून्य अवधि मानी प्रतिनिधिसभा पुनर्स्थापना सहित सो दिन कायम रहेका राज्यका सबै अङ्ग, निकायहरू पूर्ववतरूपमा यथावत् सञ्चालनमा रहने गरी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरी पाउँ ।

    – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिई सकेको अवस्थामा नयाँ सरकार गठनको लागि संविधानको धारा ७६ बमोजिमको प्रक्रिया प्रारम्भ गर्नू भनी सम्माननीय राष्ट्रपतिज्यूको नाममा परमादेश जारी गरी पाउँ।

    – पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बोलाउन आवश्यक व्यवस्था मिलाउनु भनी सम्माननीय सभामुख तथा संसद् सचिवालयको नाममा परमादेश जारी गरी पाउँ।

    – असंवैधानिक तवरले नियुक्त प्रधानमन्त्री श्री सुशीला कार्की र निज नेतृत्वको सरकारले गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचन समेत प्रतिनिधि सभा पुनर्स्थापना पश्चात् स्वतः औचित्यहीन भएकाले प्रतिनिधि सभाको निर्वाचनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही प्रतिषेधको आदेश जारी गरी रोकी पाउँ।

    – विषय बस्तुको गम्भीरता र संबेदनशिलतालाई मध्यनजर गरी प्रस्तुत विषयमा शीघ्र निर्णय हुनु पर्ने भएको हुँदा प्रस्तुत रिट निवेदनमा विपक्षीहरूको लिखित जवाफ मगाई सुनवाइको मिति किटान गरी निरन्तर सुनुवाइ गराइ पाउँ।

  • प्रतिनिधिसभा चुनावका लागि एमाले र राप्रपाले गराए दल दर्ता

    प्रतिनिधिसभा चुनावका लागि एमाले र राप्रपाले गराए दल दर्ता

    काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले र राप्रपाले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

    आज एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाको तर्फबाट केदारबहादुर अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ । एमाले र राप्रपाले पनि दल दर्ता गराएसँगै अहिलेसम्ममा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६६ दल दर्ता भइसकेका छन् ।

    प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइराखेको एमालेले आजै सर्वोच्च अदालतमा रिट समेत दायर गरेको छ ।

  • कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला बोलाइयो

    कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला बोलाइयो

    काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले भोलि काठमाडौंमा भेला राखेको छ ।

    केन्द्रीय समितिलाई दबाब दिनको लागि भोलि भेला गर्न लागेको हो ।

    कांग्रेसमा विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेका अनुसार भेला भोलि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुनेछ । उनले पार्टीको निकासको लागि अब विशेष महाधिवेशनको विकल्प नभएको बताए ।

    कांग्रेसमा चुनावपछि महाधिवेशन गर्ने कि अघि गर्ने भन्ने विषयमा चर्को विवाद छ । त्यसबारे निर्णय गर्न बिहीबारका लागि असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठक बस्दै छ ।

  • प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

    प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

    आज असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको रिट दायर गरेको विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

  • थाकेका बाबुराम र एक्लिएका जनार्दनको बाध्यात्मक पुनर्मिलन

    थाकेका बाबुराम र एक्लिएका जनार्दनको बाध्यात्मक पुनर्मिलन

    काठमाडौं । नेपालको राजनीतिमा ‘असम्भव’ भन्ने शब्दको कुनै स्थान हुँदैन भन्ने भनाइलाई पछिल्लो एउटा राजनीतिक घटनाक्रमले पुनः पुष्टि गरेको छ । तत्कालीन नेकपा (माओवादी) जनयुद्धका दुई हस्ती, जो विगत नौ वर्षदेखि फरक-फरक ध्रुव र अभ्यासमा थिए, अन्ततः एउटै बिन्दुमा आइपुगेका छन् ।

    यी दुई हस्ती हुन् डा. बाबुराम भट्टराई र जनार्दन शर्मा ‘प्रभाकर’ । उनीहरूले २ दिनअघि मात्र ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ को घोषणा गरे । माओवादी आन्दोलनका यी दुई खम्बाको पुनर्मिलन केबल दुई नेताको सहयात्रा मात्र होइन, यो नेपालको वाम-लोकतान्त्रिक आन्दोलनमा देखिएको टुटफुट, महत्वाकांक्षा र अस्तित्व रक्षाको एउटा जीवन्त दस्तावेज पनि हो ।

    आइतबार सम्पन्न बृहत् एकता घोषणा सभामा दुवै नेताले एक-अर्काको हात थाम्दै गर्दा उपस्थित कार्यकर्तामा जति उत्साह देखिन्थ्यो, त्योभन्दा बढी चुनौती र प्रश्न उनीहरूको आगामी यात्रामा तेर्सिएका छन् ।

    बाबुरामको ९ वर्षे राजनीतिक ‘प्रयोग’ र असफलताको स्वीकारोक्ति

    २०७३ सालमा संविधान घोषणा भएलगत्तै डा. बाबुराम भट्टराईले ‘माओवादी आन्दोलनको कार्यभार पूरा भयो’ भन्दै माओवादी पार्टी परित्याग गर्दा धेरैका लागि त्यो अप्रत्याशित थियो । ‘नयाँ शक्ति नेपाल’ गठन गरेर उनले परम्परागत कम्युनिष्ट पार्टीभन्दा फरक, सुसंस्कृत र आर्थिक विकासमा केन्द्रित वैकल्पिक शक्तिको वकालत गरे । तर, उनको त्यो ९ वर्षे यात्रा निकै कष्टकर र अस्थिर रह्यो ।

    २०७३ देखि २०८१ सम्मको बाबुरामको यात्रालाई हेर्ने हो भने त्यो टुटफुट र विलयको श्रृङ्खलाजस्तै देखिन्छ । सुरूमा ठूलो तामझामका साथ ‘नयाँ शक्ति’ बनाएका बाबुरामले सोचेजस्तो जनमत पाउन सकेनन् । एक्लै हिँडेर गन्तव्यमा पुग्न नसकिने निष्कर्षसहित उनले उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी विलय गराए । ‘जनता समाजवादी पार्टी’ (जसपा) बन्यो, तर बाबुरामको वैचारिक र संगठनात्मक स्वाभाव मधेश केन्द्रित दलसँग लामो समय टिक्न सकेन ।

    प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रम ।

    जसपाभित्रको अन्तरद्वन्द्व पछि उनी त्यहाँबाट अलग्गिएर २०७९ सालमा ‘नेपाल समाजवादी पार्टी’ (नेसपा) पुनर्गठन गर्न पुगे । विडम्बना, नेसपा पनि एकताबद्ध रहन सकेन । २०८० चैतमा महिन्द्रराय यादव समूह प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग नजिकिएपछि बाबुराम पुनः एक्लिए । त्यसपछि २०८० माघमा सम्पन्न महाधिवेशनबाट उनले नेसपा (नयाँ शक्ति) बनाएर आफ्नो राजनीतिक यात्रालाई ‘क्लोजिङ च्याप्टर’ तिर लैजाँदै थिए ।

    आइतबारको एकता सभामा बाबुरामको भावभंगीले स्पष्ट बताउँथ्यो, उनी अब आफैँ कार्यकारी भूमिकामा रहेर संगठन हाँक्ने दौडमा छैनन् । ९ वर्षको निरन्तरको राजनीतिक प्रयोग, असफलता र अस्थिरतापछि उनले एउटा ‘विश्राम’ चाहेका छन् । उनलाई आफ्नो विचारलाई बोक्ने र विरासत धान्ने एउटा दरिलो काँध चाहिएको थियो, जुन उनले सायद जनार्दन शर्मामा देखेका छन् । बाबुरामका लागि यो एकता आफ्नो राजनीतिक जीवनको सुरक्षित अवतरणको खोजी हो ।

    जनार्दनको ‘हुटहुटी’ र प्रचण्डसँगको मोहभंग

    अर्कोतर्फ, जनार्दन शर्मा ‘प्रभाकर’ को कथा बाबुरामको भन्दा फरक तर उत्तिकै पेचिलो छ । उनी माओवादी केन्द्रमै रहेर लामो समय शक्ति र सत्ताको अभ्यास गरे । उनी सधैं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वासपात्र र संकटका सारथी मानिन्थे । तर, पछिल्लो समय माओवादीभित्रको शक्ति संघर्ष र पुस्तान्तरणको बहसमा जनार्दनले बाटो मोडे ।

    विशेषगरी, अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न नचाहेको र सधैं आफैँ केन्द्रमा रहिरहने चाहना राखेको भन्दै जनार्दनले पार्टीभित्रै विद्रोहको स्वर उरालिरहेका थिए । उनले सार्वजनिक रूपमै भन्दै आएका थिए, ‘अब अध्यक्षले नेतृत्व छोड्नुपर्छ, म पनि नेतृत्वमा प्रतिस्पर्धा गर्न तयार छु ।’ उनको यो महत्वाकांक्षालाई प्रचण्डले सहज रूपमा लिएनन् ।

    यसबीचमा घटनाक्रमले तब नयाँ मोड लियो, जब प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा (एकीकृत समाजवादी) बीच एकता भई ‘नेपाली कम्युनिष्ट पार्टी’ (नेकपा) मा समाहित हुने निर्णय भयो । जनार्दन शर्माले यो एकतालाई माओवादी आन्दोलनको विसर्जन र प्रचण्डको सत्ता स्वार्थको संज्ञा दिँदै त्यसको विपक्षमा उभिए । उनले ‘प्रगतिशील अभियान’ सञ्चालन गरेर देशभर कार्यकर्ता ध्रुवीकृत गर्ने प्रयास गरे ।

    अन्ततः त्यही अभियान र बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति) मिलेर अहिलेको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ जन्मिएको छ । जनार्दनका लागि यो एकता प्रचण्डलाई चुनौती दिने र आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने ‘गर या मर’ को लडाइँ हो ।

    भ्रम र यथार्थको कसीमा जनार्दनको शक्ति

    एकीकरण घोषणा सभामा जतिसुकै उत्साह देखिए पनि जनार्दन शर्माको धरातलीय यथार्थ भने निकै चुनौतीपूर्ण छ । उनले माओवादी केन्द्र छोड्दा आफूसँग ‘ठूलो टिम’ र ‘शक्तिशाली पंक्ति’ रहेको दाबी गरेका थिए । तर, आइतबारको दृश्यले उनको त्यो दाबीलाई खण्डन गरेको छ ।

    विद्रोहको झन्डा उठाउँदा उनले जुन समर्थनको अपेक्षा गरेका थिए, त्यो व्यवहारमा देखिएन । उनीसँगै माओवादीको संस्थापन पक्षबाट विद्रोह गरेर आउनेमा आफूसहित जम्मा २ जना पदाधिकारी मात्र देखिए । अझ विडम्बनाको कुरा त के छ भने, माओवादी केन्द्रको शक्तिशाली मानिने स्थायी कमिटीका एकजना सदस्यले पनि जनार्दनको साथ दिएनन् । केन्द्रीय सदस्यकै कुरा गर्दा पनि २-४ जना भन्दा बढी उनको पक्षमा खुलेनन् ।

    माओवादी संगठनमा लामो समय काम गरेका र ‘अपरेसन कमाण्डर’ मानिने जनार्दनका लागि यो संख्या निकै निराशाजनक हो । १० वर्षे जनयुद्धमा हजारौ संख्या रहेको जनमुक्ती सेनाका डिभिजन कमाण्डर रहेका उनी अहिले भने ‘सेनाबिनाका सेनापति’ जस्तो देखिएका छन् । कार्यकर्ता पंक्तिमा उनको व्यक्तिगत प्रभाव रुकुम र आसपासका जिल्लामा बलियो भए पनि राष्ट्रिय राजनीतिमा पार्टी नै फुटाएर हिँड्दा सोचेजस्तो लहर आउन सकेन । जसले गर्दा, उनलाई बाबुराम भट्टराईजस्तो (राष्ट्रिय छवि भएका भलै संगठन कमजोर होस्) नेतासँग मिल्नुपर्ने बाध्यता सिर्जना भयो ।

    बाध्यताको मिलन र फागुन २१ को अग्निपरीक्षा

    डा. बाबुराम भट्टराई र जनार्दन शर्माको यो मिलनलाई विश्लेषकले ‘रहरभन्दा पनि बाध्यताको उपज’ को रूपमा अर्थ्याएका छन् । बाबुरामलाई आफ्नो विचार बोक्ने जुझारु नेतृत्व चाहिएको थियो भने जनार्दनलाई आफ्नो विद्रोहलाई वैधानिकता दिने र बौद्धिक छवि भएको ‘अभिभावक’ चाहिएको थियो ।

    बाबुरामको ‘सफ्ट पावर’ (विचार र अन्तर्राष्ट्रिय छवि) र जनार्दनको ‘हार्ड पावर’ (संगठनात्मक कौशल र युवा जोस) को मिश्रणले नयाँ पार्टीलाई गति दिने उनीहरूको दाबी छ । तर, चुनौतीको पहाड उनीहरूको सामुन्ने खडा छ ।

    सबैभन्दा नजिकको चुनौतीको रूपमा आगामी फागुन २१ गते हुने निर्वाचन खडा भएको छ । यो निर्वाचन नयाँ पार्टीको लागि अग्नि परीक्षा हुनेछ । संगठनको नाममा देशभर छरिएका बाबुरामका केही पूर्व समर्थक र जनार्दनका सीमित कार्यकर्ताको भरमा चुनावमा होमिनु चानचुने कुरा होइन ।

    एकातिर भर्खरै एकीकृत भएको प्रचण्ड-माधव नेपाल नेतृत्वको ‘नेपाली कम्युनिष्ट पार्टी’ (नेकपा) को संगठित शक्ति, अर्कोतिर नेकपा (एमाले) र नेपाली कांग्रेसजस्ता परम्परागत शक्ति, अनि उदाउँदो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहरबीच ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ ले आफ्नो अस्तित्व कसरी जोगाउला ? यो प्रश्न निकै गम्भीर छ ।

    दुई ‘अपूर्ण’ शक्ति मिलेर एउटा ‘पूर्ण’ शक्ति बन्ला ?

    नौ वर्षअघि बाबुरामले जुन बिन्दुबाट माओवादी छोडेका थिए, आज जनार्दन शर्मा पनि त्यही बिन्दुमा आइपुगेका छन्, प्रचण्डसँगको असहमति र नयाँ बाटोको खोजी । तर, समय र परिस्थिति बदलिएको छ । बाबुरामको ९ वर्षे एक्लो यात्राले पुष्टि गरिसकेको छ कि नेपालमा वैकल्पिक शक्ति निर्माण गर्न विचार मात्र होइन, बलियो संगठन र जनआधार पनि चाहिन्छ ।

    जनार्दन शर्मामा नेतृत्व गर्ने ‘हुटहुटी’ त छ, तर उनीसँग अहिले संगठनको जग छैन । बाबुरामसँग विचारको उचाइ छ, तर दौडने खुट्टा थाकिसकेका छन् । यो स्थितिमा दुई ‘अपूर्ण’ शक्ति मिलेर एउटा ‘पूर्ण’ शक्ति बन्ला वा यो मिलन पनि विगतका अनेकौं कम्युनिष्ट जुट्ने र फुट्ने शृङ्खलाको एउटा अर्को अध्याय मात्र बन्ला ?

    फागुन २१ को निर्वाचन परिणाम र त्यसपछिका दिनले नै यसको जवाफ दिनेछन् । अहिलेलाई भने यति भन्न सकिन्छ, प्रचण्डको छायाबाट मुक्त हुन खोजेका जनार्दन र राजनीतिक विश्रामको खोजीमा रहेका बाबुरामको यो सहयात्रा नेपाली राजनीतिको जटिल मोडमा सुरु भएको एउटा जोखिमपूर्ण तर रोचक जुवा हो ।

  • प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै एमाले

    प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै एमाले

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचनको लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । आज दिउँसो निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्न लागेको एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले नेपाल प्रेससँग बताए ।

    आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ । सोमबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भइसकेका छन् ।

    प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइराखेको एमालेले आज दल दर्ता गर्न लागेको हो ।

  • यु-१९ प्रिमियर कप: नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्दै

    यु-१९ प्रिमियर कप: नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्दै

    काठमाडौं । एसीसी यु-१९ प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा जारी कपमा साउदी अरेबियाविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    डिसेम्बर १ सम्म हुने कपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा नेपालसहित हङकङ र साउदी अरेबिया छन् । यस प्रतियोगितामा १४ देश सहभागी छन् । शीर्ष ३ देश यू-१९ एशिया कपमा छनोट हुनेछन् ।

  • विराटनगरको मेनरोडमा आगलागी, नियन्त्रणको प्रयास जारी

    विराटनगरको मेनरोडमा आगलागी, नियन्त्रणको प्रयास जारी

    विराटनगर । विराटनगरको मेन बजारमा आगलागी भएको छ । विराटनगर–७ स्थित सरस्वती प्लास्टिक उद्योगको पछाडिको क्षेत्रमा आगलागी भएको हो ।

    आगलागी भएको क्षेत्र जलजला मोडनजिक, श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको बजार क्षेत्रमा पर्छ ।

    उद्योग नजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको अनुमान छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्लास्टिक फोहोर जलाउने क्रममा आगो अनियन्त्रित भएको थियो । निजी आवासतर्फ आगो फैलन नदिन विराटनगर

    महागनरपालिकाको दमकलसहित प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

    आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ ।