Tag: चीन

  • चीन ‘गरिबीमुक्त’ भन्ने आशंका खण्डन गर्न राजदूत यान्छीले रिलिज गरिन् फिल्म

    चीन ‘गरिबीमुक्त’ भन्ने आशंका खण्डन गर्न राजदूत यान्छीले रिलिज गरिन् फिल्म

    काठमाडौं । गतसाता चीनले सिंगो मुलुक नै गरिबीमुक्त भएको घोषणा गर्‍यो । चिनियाँ विशेषतासहितको मापदण्डअनुसार १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरिएको घोषणा राष्ट्रपति सी जिङपिङले गरेका थिए ।

    चिनियाँ संचारमाध्यमले यसलाई मानव इतिहासकै ठूलो काम भनिरहेका छन् । तर, पश्चिमा संचारमाध्यमले चाहिँ चिनियाँ मापदण्डको गरिबी निवारण्मा भने आशंका गरिरहेका छन् ।

    चिनियाँ नेतादेखि कुटनीतिज्ञ समेत अहिले चीन गरिबीमुक्त भएको पुष्टि गर्न सक्रिय भएका छन् । यो मामिलामा नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीसमेत सक्रिय छिन् । चीन अब गरिब नरहेको औचित्य पुष्टि गर्न यान्छीले बुधबार ५० मिनेट लामो एउटा डकुमेन्ट्री फिल्म सार्वजनिक गरेकी छिन् ।

    न्यू चाइना टिभीको उक्त डकुमेन्ट्रीमा चीनले कसरी गरिबी निवारण गर्न सक्यो भन्ने कुरा चित्रण गरिएको छ । राजदूत यान्छीले सेयर गरेको डकुमेन्ट्री यस्तो छ । हेर्नूस :

  • चीनमा २५० नयाँ अर्बपति थपिए

    चीनमा २५० नयाँ अर्बपति थपिए

    बेइजिङ -शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

    विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ । विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पछिल्ला केही वर्षदेखि विकासमा तीव्र रुपमा फड्को मारेको छ ।

    विश्वका अधिकांश मुलुकमा कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा गम्भीर असर पारे पनि चीनले कोरोनाभाइरसलाई समयमै नाटकीय रुपमा नियन्त्रण गरेपछि सन् २०२० मा पनि राम्रो प्रगति गरेको छ ।

    हुरुनका अनुसार सन् २०२० मा २५९ जना अर्ब डलरको सूचीमा प्रवेश गरेका छन् । चीनमा यो सहित कूल अर्बपतिको संख्या १ हजार ५८ पुगेको छ । विश्वमै अर्बपतिको एक हजारको संख्या पार गर्ने चीन पहिलो मुलुक पनि भएको छ ।

    तुलनात्मक रुपमा, दोस्रो राम्रो प्रगति गर्ने मुलुक अमेरिकामा ७० जना नयाँ अर्बपतिको उदय भएको छ । यो सहित अमेरिकामा कूल अर्बपतिको संख्या ६९६ पुगेको छ ।

    चीनमा पानीको व्यापार गर्ने नोङ्फुका संस्थापक झोङ शानशानको सम्पत्ति ८५ अर्ब डलर पुगेको छ । विगतमा निर्माण कार्यमा संलग्न झोङले गत वर्ष हङकङमा प्राथमिक शेयर (आइपिओ) जारी गरेर ११ अर्ब डलर नगद संकलन गर्न सक्षम भएका थिए ।

    एकै वर्ष तीन व्यक्तिले ५० अर्ब डलर भन्दा बढी सम्पत्ति जुटाएका छन् । सर्भेका अनुसार टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस र पिन्डुओडुका कोलिन हुआङको सम्पत्ति ५० अर्ब डलरले बढेको छ ।

    समग्रमा, चीनले विश्वमै सम्पत्ति सिर्जना गर्नेतर्फ अग्रस्थान बनाइरहेको छ । हुरुनका अनुसार विगत पाँच वर्षको अवधिमा चीनले ४९० जना नयाँ अर्बपति जन्माएको छ भने अमेरिकाले १६० जना थपेको छ ।

    हुरुन प्रतिवेदनका अध्यक्ष रुपर्ट हूगवर्फले कोरोनाभाइरसको महामारी भएपनि गत वर्ष एक दशकयता केही व्यक्तिले सबैभन्दा बढी आम्दानी गर्न सफल भएको बताए । यसको मुख्य कारण शेयर बजारमा नयाँ कम्पनीको सूचीकरण र शेयर बजारमा आएको उछाल मुख्य रुपमा जिम्मेवार छ ।

    उनले भने- सम्भवतः विगत १०० वर्षमा एसियाले बाँकी विश्वको भन्दा बढी अर्बपति सिर्जना गरेको छ । सबैभन्दा बढी अर्बपति पनि अहिले चिनियाँ शहरमा रहेको सर्भेले देखाएको छ । अर्बपति रहेबसेका विश्वका उत्कृष्ट १० शहरमध्ये छ वटा शहर चीनमै छन् । विगत छ वर्षदेखि लगातार बेइजिङ पहिलो स्थानमा छ ।

  • चीनद्वारा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा

    चीनद्वारा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा

    काठमाडौं । चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

    चिनियाँ दुतावासले सोमबार विज्ञप्ती जारी गर्दै थप सहुलियत अनुदानमा खोप दिने बताएको हो ।

    यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । चीनको प्रतिवद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ ।

    सिनोफार्मले उत्पादन गरेको खोप दिने चीनले घोषणा गरेको हो । यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ ।

    फागुन २३ देखि नेपालमा ५५ वर्षमाथिका नागरिकले खोप लगाउँदैछन् ।

  • राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा, १० करोडलाई गरिबीबाट बाहिर निकालिएको जानकारी

    राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा, १० करोडलाई गरिबीबाट बाहिर निकालिएको जानकारी

    बेइजिङ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सिंगो मुलुक नै गरिबीमुक्त भएको घोषणा गरेको छ । राजधानीको बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आयोजित सभामा राष्ट्रपति सी जिङपिङले यस्तो घोषणा गरेका हुन् ।

    चिनियाँ विशेषतासहितको मापदण्डअनुसार १० करोड नागरिकलाई गरिबीबाट बाहिर निकालिएको राष्ट्रपतिले उल्लेख गरे ।

    सन् २०१२ मा राष्ट्रपतिको कार्यभार सम्हालेपछि सीले गरिबी निवारण आफ्नो एजेन्डा भएको बताउँदै आएका थिए । घोषणामा उल्लेख भएअनुसार चीनका ८३२ वटा गरिब जिल्ला, १ लाख २८ हजार गाउँ गरिबमुक्त भएका हुन् ।

    चिनियाँ संचारमाध्यमले यसलाई मानव इतिहासकै ठूलो काम भनेर भनिरहेका छन् । तर, पश्चिमा संचारमाध्यमले चाहिँ चिनियाँ मापदण्डको गरिब निवारणमा भने आशंका गरिरहेका छन् ।

    आफ्नो योजना सफल बनाउन राष्ट्रपति सीले आठ वर्षको अवधीमा चीनका १४ वटा गरिब क्षेत्रको भ्रमण गरेका थिए । दिगो बिकासको लक्ष्यभन्दा १० वर्ष अगाडि नै पुरा भएको भन्दै यसलाई उपलब्धी मानिएको छ ।

    चीनले गरिबी निवारण गर्दा विश्वको गरिबी निवारणमा ७० प्रतिशत योगदान पुगेको बताइएको छ ।

  • चीनद्वारा १६ कोभिड-१९ खोपलाई परीक्षणको अनुमति

    चीनद्वारा १६ कोभिड-१९ खोपलाई परीक्षणको अनुमति

    चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । सो निकायले दिएको जानकारीअनुसार चीन सरकारले १६ ओटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ भने ती मध्येका छ ओटाको त परीक्षणको तीन चरण नै भइसकेको जनाइएको छ ।

    यी मध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएको छ र यसको धेरै तिर प्रयोग पनि भएको बताइएको छ ।

    ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गएको डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका बताइएको थियो । त्यसैगरी चीनको औषधि व्यवस्थापन सम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरुलाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ ।

    त्यसमार्फत ती खोपहरु चीनमा काम गर्ने र भाइरसको जोखिम रहेका समुदायका नागरिकलाई नै लगाइएको बताइएको छ । ती खोपहरु भने अरु कतिपय देशमा निर्यात पनि गरिएको बताइएको छ ।

  • नेपालसँग ‘खोप कूटनीति’ मा भारत र चीन, कसकाे ‘भेस्टेड इन्ट्रेस्ट’ कति ?

    नेपालसँग ‘खोप कूटनीति’ मा भारत र चीन, कसकाे ‘भेस्टेड इन्ट्रेस्ट’ कति ?

    काठमाडौं । दक्षिणी मित्रराष्ट्र भारतले केही दिनअघि नेपाललाई १० लाख डोज कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ अनुदानमा उपलब्ध गरायो । अहिले उत्तरी छिमेकी चीनले पनि नेपाललाई पाँच लाख खोप निःशुल्क दिने प्रस्ताव गरेको छ । यसरी नेपाललाई कोभिडविरुद्धको लडाईंमा सहयोग गर्न दुई छिमेकीले देखाएको तत्परतालाई कतिपयले ‘खोप कूटनीति’ का रूपमा अर्थ्याउन थालेका छन् ।

    कोभिडविरुद्धको खोप लगाउन शुरू गर्ने दक्षिणएशियामा भारतपछिको दोस्रो मुलुक बनेको छ, नेपाल । त्यसो त भारतले पाकिस्तानबाहेक अरू दक्षिण एशियाली मुलुकलाई पनि अनुदानमा खोप दिइरहेको छ । अर्कोतर्फ चीनले पनि विभिन्न देशहरूलाई अनुदानमा खोप वितरण गरिरहेको छ । त्यसैले नेपाललाई छिमेकीका हिसाबले दुई देशले गरेको सहयोगमा कुनै संशय राख्नु नपर्ने सरकारी अधिकारीहरू बताउँछन् । यद्यपि, भारत र चीनले यसरी सहयोगको होड गर्नु नेपाललाई आफ्नो प्रभावमा राख्ने चाहनाकै उपज हुनसक्ने एकथरीको आशंका छ ।

    परराष्ट्र मामिलाका जानकार डा. दिनेश भट्टराई ‘खोप कूटनीति’ अहिले संसारभर ट्रेन्डिङमा रहेको बताउँछन् । अप्ठ्यारो समयमा शक्तिराष्ट्रहरूले कमजोर राष्ट्रलाई सहयोग गर्नु स्वाभाविक भए पनि त्यसमा अन्य स्वार्थ मिसिन नहुने उनको भनाइ छ ।

    ‘नेपाल सरकारले कूटनीतिक माध्यमबाट प्राप्त गर्ने खोप मानवीय स्वास्थ्यका लागि मात्रै हो र यो राष्ट्रिय हित विपरीत नहुनेमा विश्वास दिलाउनुपर्छ’ भट्टराईले नेपाल प्रेससँग भने, ‘खोप दिनेको पनि आन्तरिक वा बाह्य धेरै स्वार्थ हुनसक्छ । हामीले खोप लिए पनि त्यस्ता स्वार्थको साझेदार बन्नुहुँदैन ।’

    अनुदानमा पाउँदैमा जुनसुकै खोप वा सहयोग लिनुभन्दा मुलुकको आवश्यकता र हित हेरेर लिनुपर्ने उनले सुझाए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई विश्वभर मानवीय स्वास्थ्य संकटमा परेको बेला मित्र राष्ट्रहरूले नेपाललाई अनुदानमा खोप उपलब्ध गराउनुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन् ।

    ‘हामीलाई खोपको खाँचो छ । विश्वका धेरै देशले नपाइसकेको अवस्थामा हामीलाई खोप दिने घोषणा मित्र राष्ट्रहरूले गरेका छन् । यसबाट हामी उत्साहित छौं’, भट्टराईले भने । खोपलाई राजनीतिक स्वार्थसँग जोडेर हेर्न नहुने भट्टराईको भनाइ छ ।

    ‘यो मानवीय कुरा हो । सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य लिएका कारण आवश्यक र उपयुक्त खोप नेपालले प्राप्त गर्न हिच्किचाउनुपर्ने कारण छैन’, भट्टराईले भने ।

    भारतका दुई रणनीति

    केपी ओली शक्तिमा आएदेखि भारतसँग उनको सम्बन्ध आमरूपमा सुमधुर छैन । प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकाल बिताउँदा उनले भारतीय नाकाबन्दीको सामना गरेका थिए । दोस्रो कार्यकालमा सम्बन्ध बाहिरबाट हेर्दा सहज देखिए पनि भित्र अझै पेचिलो छ ।

    खासगरी नेपालले कालापानी–लिम्पियाधुराको भूभागलाई समेटेर नक्शा जारी गरेको विषयलाई लिएर भारत ओलीसँग रुष्ट छ । ओली उक्त भूभाग भारतबाट फिर्ता ल्याउने अडानमा छन् भने भारत यो विषयमा छलफलसम्म गर्न चाहँदैन ।

    केही साताअघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्दा द्विपक्षीय छलफलमा नेपालले यो विषय उठाए पनि भारतले चासो दिएन । यतिसम्म कि नेपालका परराष्ट्र मन्त्रीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गर्न समेत समय दिएनन् । दुई देशबीच सम्बन्ध सहज छैन भन्ने प्रष्ट संकेत थियो, त्यो । तर त्यसलगत्तै भारतले नेपाललाई कोभिड विरुद्धको भ्याक्सिन उपलब्ध गराउन तत्परता देखायो । तत्परता देखाएको मात्रै होइन कि नेपाललाई प्राथमिकतामा राखेर १० लाख भ्याक्सिन दियो पनि । भारतले नेपाललाई निस्वार्थ सहयोग गर्दैन भन्ने एकखालको मान्यताले गर्दा भारतले गरेको सहयोगमा विभिन्न तर्क गर्न थालिएको छ ।

    एक कूटनीतिक विश्लेषकको भनाइमा भारतले गरेको सहयोगका दुई प्रष्ट कारण छन् । पहिलो राजनीतिक र दोस्रो व्यापारिक ।

    राजनीतिक कारणबारे उनको विश्लेषण छ, ‘राजनीतिक कारण भनेको नेपाललाई आफ्नो प्रभावमा राखिराख्ने सोच हो । नेपालमा बढ्दो भारतविरोधी भावनालाई मत्थर बनाउने रणनीतिले पनि काम गरेको हुनसक्छ । त्योभन्दा बढी चाहिं नेपालमा चीनको बढ्दो प्रभावलाई काउन्टर दिएर नेपाल आफ्नो छत्रछायाँमा छ भन्ने सन्देश दिन खोजेको हो ।’

    व्यापारिक कारणबारे उनी भन्छन्, ‘नेपाललाई केही लाख खोप अनुदानमा दिएर भारतले आफ्नो खोपको ब्रान्डिङ गर्न पनि खोजेको हो । साथै, भविष्यमा आफूलाई आवश्यक थप खोप भारतबाटै किन्न यसले नेपाललाई नैतिक दबाब पनि परेको छ । कुनै उद्योगले नयाँ माल ल्याउँदा प्रवद्र्धनका लागि शुरूमा केही थान निःशुल्क बाँडेको जस्तै हो ।’

    नेपालले भारतबाट अनुदानको खोप ल्याएर बाँड्न थालिसके पनि अब आवश्यक पर्ने थप खोप कहाँबाट ल्याउने भन्ने निर्णयमा पुगिसकेको छैन । तथापि, भारतसँग थप खोपका लागि कुराकानी भइरहेको प्रधानमन्त्री ओलीले नेपालमा खोप उद्घाटन गर्दा बताएका थिए ।

    चीनको आफ्नै शैली

    भारतले उपलब्ध गराएको खोप नसकिंदै चीनले पनि नेपाललाई पाँच लाख डोज खोप आपतकालीन प्रयोगका लागि उपलब्ध गराउने प्रस्ताव गरेको छ । चीनले उपलब्ध गराउने ‘सिनोफार्म’ खोप लिन नेपाल सकारात्मक छ । यद्यपि औषधि व्यवस्था विभागबाट सो खोपलाई अनुमति प्रदान गरिसकेको छैन ।

    चीन विगत लामो समयदेखि नेपालको हितैषी मुलुक हो । भारतले नेपालमा गर्ने सहायता स्वार्थप्रेरित हुने गरेको आशंका गरिए पनि चीनको हकमा यस्तो आशंका कम गरिन्छ । तथापि पछिल्लो समयमा चीनले पनि नेपालमा हस्तक्षेपकारी भूमिका खेल्न थालेको चर्चा शुरू भइरहेको छ । यस्तो चर्चालाई बल पु¥याउने गरी पछिल्लो समयमा चिनियाँहरूका केही गतिविधि देखिएका पनि छन् । नेपाललाई भारतको प्रभावबाट मुक्त गरेर आफू निकट ल्याउन चीनले गरेका प्रयासहरू छिपेका छैनन् ।

    त्यसो त भारतले नेपाललाई १० लाख खोप उपलब्ध नगराएको भए पनि चीनले दिन सक्थ्यो ।

    ‘यदि सहयोगको होड नै गरेको भए चीनले भारतको भन्दा बढी खोप दिने प्रस्ताव गर्न सक्थ्यो’ ती विश्लेषक भन्छन्, ‘उसले भारतको भन्दा आधा परिमाणमा मात्रै दिनुले प्रतिस्पर्धाको भावना नरहेको भनेर बुझ्नुपर्छ ।’

    छिमेकीहरूबीच प्रतिस्पर्धाको भावना भए पनि नभए पनि नेपालसँग खोप स्वीकार गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

    उनी भन्छन्, ‘नेपाललाई बढीभन्दा बढी संख्यामा खोप चाहिएकै छ । त्यसैले जसले दिए पनि मापदण्ड पुगेको र गुणस्तरीय छ भने लिने नै हो । यसमा सम्बन्धित देशहरूको स्वार्थको खोजीनिती गरेर विषयलाई जटिल बनाइराख्नु आवश्यक छैन ।’

    त्यसो त चीनले नेपाललाई खोप उपलब्ध गराउने विषयमा पठाएको पत्रमा पनि ‘घुक्र्याउने भाषा’ प्रयोग गरेको छ । तत्काल नेपालले खोप स्वीकार नगरेको खण्डमा अरूलाई नै दिन सकिने र भविष्यमा खोप प्राप्त गर्न नेपालले लामो समय कुर्नुपर्ने हुनसक्ने पत्रमा उल्लेख छ ।

    २०७२ सालको भूकम्पपछि भारत र चीनले नेपाललाई सहयोग घोषणा गर्ने विषयमा खुलेर प्रतिस्पर्धा गरेका थिए । अहिले पनि ‘खोप कूटनीति’ मार्फत दुई देशले नेपाललाई विश्वासमा लिनका लागि प्रयास गरेको देखिन्छ ।

    त्यसो त नेपाललाई खोप उपलब्ध गराउन भारत र चीन मात्रै नभई अन्य राष्ट्रहरू समेत इच्छुक छन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बेलायतको सहयोगमा विश्व स्वास्थ्य संगठनमार्फत नेपाललाई २० लाख डोज ‘कोभ्याक्स’ खोप उपलब्ध गराउने घोषणा गरेकी छिन् । विश्वभर जारी ‘भ्याक्सिन डिप्लोमेसी’ को असर नेपालमा कस्तो पर्ने हो ? त्यो भने आगामी दिनमा देखिनेछ ।

  • चीनले नेपालसहित १४ मुलुकलाई खोप उपलब्ध गराउने

    चीनले नेपालसहित १४ मुलुकलाई खोप उपलब्ध गराउने

    काठमाडौं । चीनले नेपालसहितका १४ मुलुकलाई आफूले उत्पादन गरेको सिनोफार्म खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

    विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वेनविनले यस्तो जानकारी दिएका हुन् । नेपालले चीनबाट अनुदानमा ३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ ।

    खोप चाँडै वितरण गरिने प्रवक्ता सुहाङले जनाए । उनका अनुसार चीनले नेपालसहित पाकिस्तान, ब्रुनाइ, फिलिपिन्स, म्यानमार, कम्बोडिया, लाओस, श्रीलंका, मंगोलिया, प्यालेस्टाइन, बेलारुस, सियरालियोन, जिम्बाबे र गुएनालाई खोप उपलब्ध गराउने भएको छ ।

    चीनले दिएको उक्त खोप नेपालको डेढलाख जनसंख्यालाई लगाउन मिल्नेछ । यो खोपले चीनमा ससर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको जनाइएको छ ।

    तर, नेपालले भने चिनियाँ खोपलाई अहिलेसम्म प्रयोगका लागि अनुमति दिइसकेको छैन । नेपालले अक्सफोर्डले विकास गरेको एस्ट्राजेनेकाको भारतीय खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । चीनको उक्त खोप ७५ प्रतिशत प्रभावकारी हुने दाबी गरिएको छ ।

  • अमेरिकाले ताइवानसँग स्वतन्त्र राज्यकै हैसियदकाे व्यवहार गर्ने, चीन चिढियो

    अमेरिकाले ताइवानसँग स्वतन्त्र राज्यकै हैसियदकाे व्यवहार गर्ने, चीन चिढियो

    एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी र ताइबानी अधिकारीबीच लागे समयदेखि संवादमा लगाइएको प्रतिबन्ध आफ्नो तर्फबाट फुकुवा गर्ने बताएका छन् ।

    अमेरिकी विदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ कि दशकअघि चीनकै एउटा मुख्य भागको रुपमा प्रस्तुत गरी आफैंले लगाएको प्रतिबन्ध हाम्रो तर्फबाट फुकुवा हुनेछ, किनभने ताइबानले आफूलाई एक स्वतन्त्र टापूको दावी गरिरहेको छ । यो नियमको असर अब शून्य–शून्य हुनेछ ।

    अमेरिकाको यो कदमले चीनलाई चिढ्याउन सक्छ । त्यसो भयो भने वासिंटन र बेइजिङबीच पुनः मतभेद हुन सक्छ ।

    तर आगामी जनवरी २० मा ट्रम्प प्रशासनको बहिर्गमन निश्चित छ र नयाँ राष्ट्रपटि जोय बाइडेनले अपनाउने नीतिले बेइजिङसँगको सम्बन्ध निर्धारण गर्नेछ ।

    चीनले ताइवानलाई आफ्नै देशको एउटा प्रान्तको रुपमा व्यवहार गर्दै आएको छ । ताइवानका नेताहरुले भने सम्प्रभू राज्यको दावी गरिरहेका छन् । दुईबीचको सम्बन्ध भयाबह र हिंस्रक हुने खतरा बढ्दै गएको छ । यसो भयो भने अमेरिकाले ताइवानलाई साथ दिनेछ ।

  • करोड जनसंख्या भएको सहरमा चीनले गर्‍यो लकडाउन

    करोड जनसंख्या भएको सहरमा चीनले गर्‍यो लकडाउन

    काठमाडौं । भाइरस संक्रमणमा वृद्धि भएपछि चीनले १ करोडभन्दा बढी जनसंख्या भएको हुबेइ प्रान्तमा शुक्रबारदेखि लकडाउन गरेको छ । बेइजिङ नजिक रहेको उक्त प्रान्तीय राजधानी सिजाजुङका बासिन्दालाई प्राप्त छाड्न दिइएको छैन । ठूला राजमार्गको यातायात सेवा बन्द गरिएको छ भने हवाइ सेवा ठप्प पारिएको छ । ११७ जनामा भाइरस पुष्टि भएपछि लकडाउन घोषणा भएको हो ।

    संक्रमितमध्ये ६७ वटा केस लक्षणविहिन पाइएको जनाइएको छ । बुधबार चीनभर १२३ संक्रमण भेटिएको छ । यो केस अक्टोबर यताकै उच्च हो । सिजाजुङको स्वास्थ्य विभागका अनुसार विहिबार त्यहाँ थप ६६ पजेटिभ केस भेटिएका छन् । यो सहर राजधानी बेइजिङबाट १८० माइल दक्षिणपश्चिम पर्छ । विहिबार आयोजित प्रेसमिटमा नगर स्वास्थ्य प्रवक्ताले सिजाजुङ सहरका बासिन्दालाई अत्यावश्यक बाहेक हिँडडुल गर्नमा रोक लगाइएको बताए ।

    गत मार्चमा सर्वाधिक संख्यामा चीनमा भाइरस फैलिएको थियो । भाइरस फैलिएको वुहानमा कडा लकडाउन गरिएको थियो । लुनार नयाँवर्षको केही दिनअघि मात्र सिजाजुङमा भाइरस फैलिएको हो । यो पर्वको छेकोमा करोडौं मान्छेहरु एकठाउँबाट अर्को ठाउँमा जाने गर्दछन् । चिनियाँ सरकार पुनः यो फेस्टिभलको समयमा भाइरसको संक्रमण ब्यापक हुनसक्ने भन्दै चिन्तित छ ।

  • नेकपा मिलाउन असफल चिनियाँ टोली, कांग्रेस मनाउन कति सफल ?

    नेकपा मिलाउन असफल चिनियाँ टोली, कांग्रेस मनाउन कति सफल ?

    काठमाडौं । गत नोभेम्बर १० मा चीनको ग्लोबल टाइम्सले ‘नेपालमा चीनविरोधी भावना फैलाउन भारतपरस्त नेपाली कांग्रेसको हात रहेको’ आशयको सामाग्री प्रकाशित गर्‍यो ।

    आधा दशकभन्दा लामो समयदेखि विश्वलाई चिनियाँ दृष्टिकोण पस्किरहेको ग्लोबल टाइम्सलाई चीन सरकारको मुखपत्र सरह मानिन्छ । ग्लोबल टाइम्सको यस्तो टिप्पणीको कांग्रेसले तत्काल प्रतिवाद गर्‍यो ।

    कात्तिक २८ गतेको केन्द्रीय समितिको बैठकबाट औपचारीक निर्णय गर्दै कांग्रेसले भन्यो– ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन ।

    कांग्रेसले जुनदिन ग्लोबल टाइम्सको आलेखको खण्डन गरेको थियो त्यसै दिन नेपालस्थित चिनियाँ दूतावासले कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले हुम्लामा सीमा मिचेको भनी आधारहीन आरोप लगाएको भन्दै कांग्रेसलाई पत्र पठाएको थियो ।

    सो प्रसंगमा पनि कांग्रेसको कात्तिक २८ कै बैठकले प्रष्ट पार्दै शाहीको दावी प्रमाणमा आधारित भएको र नेपाल सरकारको ध्यानाकर्षको विषय भएको उल्लेख गरेको थियो ।

    माथि उल्लेखित प्रसंग हेर्दा चीन र नेपाली कांग्रेसबीच सम्बन्धमा ‘दरार’ उत्पन्न भएको बुझ्न गाह्राे छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियामा चीनको सहयोग रहेको तथ्य छिपेको थिएन । त्यसैले पनि कांग्रेस र चीनका बीचमा दूरी बढ्दो थियो । नेकपा औपचारीक विभाजनको संघारमा पुगेसँगै चीनले कांग्रेससँगको सम्बन्ध सुधार्ने प्रयास थालेको छ ।

    यही प्रयासको निरन्तरता थियो चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको मंगलबारको भेटवार्ता । भेटका क्रममा चिनियाँ प्रतिनिधि मण्डलले देउवालाई चीन भ्रमणको औपचारीक निमन्त्रणमात्रै दिएन, चीन र नेपाली कांग्रेसबीचको सम्बन्ध इतिहासदेखि नै प्रगाढ रहेको समेत बतायो । आफ्नै मुखपत्र मार्फत् कांग्रेसलाई ‘भारत परस्त’ दावी गरेको चीनले यत्ति छिट्टै कांग्रेससंग सद्भावको हात किन बढायो ? राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।

    कांग्रेस र चीनबीचको समकालीन सम्बन्ध कस्तो छ भनी केलाउन अघिल्लो वर्ष भएको चिनियाँ राष्ट्रपति सी चिन पिङको भ्रमणको स्मरण गर्नुपर्छ । नेपाल भ्रमणका दौराना राष्ट्रपतिले सीले पहिलो राजनीतिक भेट देउवाबाटै सुरु गरेका थिए ।

    नेपाल आएकै साँझ २५ असोज २०७६ मा सी र देउवाबीच सोल्टी होटलमा १५ मिनेट भेटवार्ता भएको थियो । भेटमा दुई नेपाल–चीन सम्बन्धका बारेमा छलफल भएको औपचारीक प्रेस नोटमार्फत जनाइएको थियो । सीले देउवालाई त्यतिबेलै चीन भ्रमणमा आउन निम्तो दिएको बताइएको थियो ।

    यसयता देउवालाई पटक–पटक चीन भ्रमणको निम्तो आइसकेको छ । कांग्रेस स्रोतका अनुसार नेपाल भ्रमणमा आएर देउवालाई भेट्ने सबैजसो प्रतिनिधि मण्डलले चीन भ्रमणको निम्तो दिएका छन् । देउवा भने चीन भ्रमणमा जान ईच्छुक देखिदैनन् ।

    भ्रमणमात्रै होइन गत अक्टुबर १६ र १७ तारिखमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले भर्चुअल रुपमा आयोजना गरेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बारेको वेविनारमा वक्ता बन्न चीनबाट गरिएको प्रस्ताव देउवाले ठाडै अस्वीकार गरेका थिए ।

    खासगरी नेपालका कम्युनिष्टहरुलाई चीनले विशेष महत्व दिएको देउवालाई मन परेको छैन । यो प्रसंग उपमन्त्री येचौसँगको मंगलबारको भेटमा पनि चलेको थियो । यद्यपि येचौले ‘नेकपासँग चीनको विशेष सम्बन्ध नरहेको र सबै पार्टीसँग समान सम्बन्ध राख्न चाहेको’ प्रष्टीकरण दिएका थिए ।

    येचौले आफ्नो भ्रमणलाई नेकपाको विभाजनसँग जोडेर नेपाली मिडियाले लेखेकोमा गुनासो गरेका थिए । त्यति नै बेला छलफलमा सहभागी कांग्रेस नेता डा.नारायण खड्काले ‘ग्लोबल टाइम्सले पनि त कांग्रेसका बारे जथाभावी लेख्यो नि !’ भन्ने प्रसंग निकालेका थिए । जवाफमा उपमन्त्री येचौले कहिलेकाहीँ आपसी सम्बन्धमा उत्पन्न हुने असमझदारी सुल्झाउन चीन इच्छुक रहेको बताए ।

    काठमाडाै‌ंस्थित चिनियाँ दूताबासले नेपाली कांग्रेसलाई लेखेकाे पत्र ।

    कांग्रेस नेता डा.नारायण खड्का चीनका तर्फबाट कांग्रेससंगको सम्बन्ध सुधार्न पहल भएको स्वीकार्छन् । ‘नेपाली कांग्रेस हाम्रा सबै मित्र राष्ट्रहरुलाई समान दृष्टिले हेर्छ तर हामीलाई हेर्ने चीनको दृष्टिकोण पूर्वाग्रही भयो कि भन्ने सबैलाई लागेको थियो । चीनले यसमा प्रष्टीकरण दिन खोजेको देखिन्छ’, खड्काले नेपालप्रेससँग भने । नेपालमा कम्युनिष्ट पार्टीसँग मात्रै विशेष सम्बन्ध राख्दा कुटनीतिक सन्तुलन कायम नहुने निष्कर्षमा चीन पुगेको हुनसक्ने खड्काको भनाई छ ।

    नेपाल–चीन सम्बन्धको हार्दिकता जोगाउन वीपी कोइरालाको पालादेखि भएको कामलाई चीनले स्मरण गराउनु सम्बन्ध सुधारको संकेत हो । नेपालमा कम्युनिष्ट पार्टीको विभाजन निश्चित भएपछि सम्भावित प्रमुख शक्तिका रुपमा पनि चीनले कांग्रेससँगको सम्बन्ध सुधार्न चाहेको हुनसक्छ ।

    चीनका तर्फबाट सम्बन्ध सुधारको पहल हुनुलाई सकरात्मक रुपमा लिएपनि कांग्रेसले यसमा थप अग्रसरता लिन खोजेको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी समारोहमा पनि देउवाको उपस्थिति निश्चित भइसकेको छैन ।

    कोरोनाका कारण सो समारोह नै भर्चुअल रुपमा हुनेसक्ने सम्भावना बढ्दै गएको छ । समारोह भौतिक रुपमा भएमा देउवाले प्रतिनिधि पठाउने र भर्चुअल भएमा भिडियो सन्देशबाट शुभकामनासम्म दिनसक्ने सम्भावना छ ।

  • हिमालय क्षेत्रमा भारत-अमेरिका गठबन्धन बन्ने हो कि ?

    हिमालय क्षेत्रमा भारत-अमेरिका गठबन्धन बन्ने हो कि ?

    काठमाडौं । आइतबार साँझ शीतलनिवास पुगेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनका राष्ट्रपति सी जिनपिङले पठाएको नयाँ वर्षको शुभकामना सन्देश सुनायो । नेकपा विभाजनबाट चीन निराश भएको प्रष्ट संकेत पनि शीतलनिवासमा प्रकट भयो ।

    आधिकारिक रुपमा आधा घण्टा भनिए पनि करीब एक घण्टाको छलफलमा शिष्टाचार र शुभकामना आदानप्रदान मात्र भयो होला ? सेरेमोनियल राष्ट्रपति भए पनि विद्या भण्डारी नेकपाको राजनीतिमा एक निर्णायक पात्र हुन् भन्ने बुझेको चिनियाँ पक्षले पार्टी विभाजनका बारेमा चासोे र चिन्ता राख्ने नै भयो ।

    राष्ट्रपतिबाट भेटघाट शुरु गरेको चिनियाँ टोलीको मुख्य चिन्ता नेकपा फुटेपछि नेपालमा भारत र अमेरिकाको संयुक्त प्रभाव बढ्ने हो कि भन्नेमा देखिएको नेकपाका एक नेताले बताए । नेकपाका दुवै पक्ष एकै ठाउँमा फर्किने सम्भावना छ कि छैन भनेर उनीहरुले चासो राखेका छन् ।

    चार दिनका लागि आएको विदेश विभागका उपमन्त्री नेतृत्वको विशेष टोलीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेट्यो । जो तीनैजना नेकपाको राजनीतिसँग जोडिएका छन् । त्यसबाहेक विभाजित नेकपाका दुवै अध्यक्ष प्रचण्डमाधव नेपाल सहित झलनाथ खनाललाई पनि भेट्यो ।

    यसपटक नेपाल आएको चीनको टोली सामान्य शिष्टाचार वा औपचारिक भ्रमणका लागि होइन । विमान चार्टर गरेर आएको यो प्रतिनिधिमण्डल विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टीका महासचिव तथा महाशक्ति चीनका राष्ट्रपति सीको प्रत्यक्ष सन्देश लिएर आएको हो ।

    चिनियाँ नेताहरुले जसपाका नेता डा. बाबुराम भट्टराईसँग पनि भेट गरेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट्दैछ । चिनियाँ टोली नेकपा मिलाउनका लागि मात्र आएको होइन भन्ने सन्देश दिनका लागि पनि काठमाडौंस्थित चिनियाँ दूतावासले यसरी सबैसँग भेटवार्ताको चाँजाेपाँजो मिलाएको बताइन्छ ।

    चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुग्न लागेको सन्दर्भमा नेकपासँग उसको घनिष्ठता पनि बढेको थियो । यसबीचमा संयुक्त पार्टी स्कूल संचालनलगायतका भाइचाराका सम्बन्ध घनिष्ठ हुँदै थियो । चीनले नेपालमा नेकपाको बलियो एकता र सरकारको स्थायित्वका लागि पछिल्लो समयमा देखिने गरी आफ्नो साथ दिएको थियो ।

    चिनियाँ टोलीसँगको भेटवार्तामा सहभागी भएका एकजनाले नेपालप्रेससँग भने–‘पार्टी विभाजनबाट चिनियाँहरु निकै नै दुखित देखिए, जति दुखी हामी पनि छैनौं । उनीहरुले फुटेर गल्ती गर्‍यौ, अझै पनि मिल्ने ठाउँ भए मिल, चीनले जस्तोसुकै सहयोग गर्नुपरे पनि गर्छ भने । तर अब परिस्थिति धेरै अघि बढिसकेको कुरा उनीहरुले सबैसँगको भेटपछि बुझे होलान् ।’

    यसपटक नेपाल आएको चीनको टोली सामान्य शिष्टाचार वा औपचारिक भ्रमणका लागि होइन । विमान चार्टर गरेर आएको यो प्रतिनिधिमण्डल विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टीका महासचिव तथा महाशक्ति चीनका राष्ट्रपति सीको प्रत्यक्ष सन्देश लिएर आएको हो । स्रोतहरुका अनुसार उनीहरु ‘ननपेपर’ सन्देश नै लिएर आएका छन् ।

    चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको विषय भारतीय मिडियामा मात्र होइन संसारभर चर्चामा छ । जसको स्पष्टीकरण चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनबाटै दिनुपरेको छ । चीनले नेपालमा कुनै राजनीतिक दल विभाजन रोक्न यो तहमा उत्रिएर प्रयास गर्नुले नेपाल मामिलासँग उसको भू–राजनीतिक रणनीति जोडिएको बुझ्न सकिन्छ ।

    जसरी २०७२ असोज २ गते संविधानसभाबाट संविधान जारी हुनबाट रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिव एस जयशंकरलाई विशेष दूतका रुपमा हठात् पठाएका थिए । अहिले चिनियाँ विशेष प्रतिनिधिमण्डलको आगमनलाई त्यही ढंगले बुझ्न सकिन्छ । तर त्यसबेला पनि जयशंकर संविधान रोक्न असफल भएका थिए भने यसपटक पनि चीन नेकपा विभाजन रोक्न असफल भएको छ ।

    नेपाली कांग्रेससँग बीपी कोइरालाको पालादेखि बनेको चीनको राम्रो सम्बन्ध यसपटक हुम्लाको सीमा विवादलगायतका प्रकरणमा नराम्ररी बिग्रेको छ । उसले पछिल्ला वर्षहरुमा देखिने गरी नेपालमा नेकपालाई साथ दिएको थियो ।

    राजनीतिक स्थायित्वका लागि बलियो नेकपाका लागि उसले जस्तोसुकै सहयोग गरिरहेको थियो र अझै पनि गर्न तयार रहेको सन्देश पठाएको छ ।

    बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को कार्यान्वयनमा नेपालको सुस्त गतिप्रति पनि चीनले आशंका जनाइरहेका बेला नवनियुक्त उर्जामन्त्री टोपबहादुर रायमाझीले पदभार ग्रहण गर्दै एमसीसी पारित नभए नेपालको उर्जाक्षेत्र डिप्रेसनमा जाने अभिव्यक्ति दिएको विषयलाई अवश्य पनि चीनले ‘नोट’ गरेको हुनुपर्छ ।

    यसबीचमा राजदूत होउ यान्छीले प्रधानमन्त्रीसँग भेट्न प्रयास गर्दा भेट नपाएको प्रसंग समेत चलिरहेका बेला चीनले उच्चस्तरकोे प्रतिनिधिमण्डल पठाएर नेकपाका दुवै पक्षसँग चीन समदूरीमा रहँदै पार्टी एकता कायम गराउन सक्दो प्रयासमा रहने सन्देश चाहिं दिएको छ ।

    यद्यपि बीआरआई कार्यान्वयन अघि बढाउन चीनकै तर्फबाट परियोजना तथा लगानीको प्रष्ट खाका आउन ढिला भएकाले सोेचे जसरी काम नभएको नेपाल पक्षको भनाइ छ । प्रधानमन्त्रीसँगको करीब दुई घण्टा लामो छलफलमा नेकपा विभाजन मात्र होइन द्विपक्षीय हितका यी सबै विषयमा खुलस्त कुराकानी भएको स्रोतले जनाएको छ ।

    यसबीचमा राजदूत होउ यान्छीले प्रधानमन्त्रीसँग भेट्न प्रयास गर्दा भेट नपाएको प्रसंग समेत चलिरहेका बेला चीनले उच्चस्तरकोे प्रतिनिधिमण्डल पठाएर नेकपाका दुवै पक्षसँग चीन समदूरीमा रहँदै पार्टी एकता कायम गराउन सक्दो प्रयासमा रहने सन्देश चाहिं दिएको छ । प्रचण्ड र माधव नेपालसँगको भेटमा पनि उनीहरुले केपी ओलीसँग मिलेर पार्टी र मुलुकको स्थायित्वमा जान जोड दिएको छ ।

    तर प्रचण्ड पक्षले प्रतिनिधिसभा पुनर्स्थापना भएर केपी ओलीले गल्ती स्वीकार गरे मात्र पार्टी एकता कायम हुनसक्ने बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावनबारे पनि चीनले चासो राखेको छ । दुवै पक्ष ‘विन विन’ हुने गरी नेकपाको विभाजन रोक्ने कुनै सूत्र हुनसक्छ कि भन्ने जिज्ञासा पनि चिनियाँहरुले राखेको भेटमा सहभागीहरु बताउँछन् ।

    चिनियाँ टोलीसँगको भेटमा सहभागी एकजनाले भने– ‘मुख्य कुरा नेकपा विभाजनपछि यहाँ अमेरिका र भारतको संयुक्त प्रभाव बढ्न सक्ने आकलनबाट उनीहरु असाध्यै चिन्तित देखिए । यो क्षेत्रको स्थायित्व र हिमालय क्षेत्रको सुरक्षामा उनीहरुको चासो छ । आफ्ना जिज्ञासा राख्ने बाहेक धेरै कुरा उनीहरुले यतैबाट सुन्न र बुझ्न चाहेको देखियो ।’

    सबै भेटघाटहरुलाई गोप्य राख्न खोजेको चिनियाँ पक्ष विमानस्थलबाट पीपीई लगाएर आफ्नै सुरक्षामा दूतावास पुगेको थियो । उनीहरुले त्यहाँ सबैभन्दा पहिले आफ्नै राजदूतबाट ब्रिफिङ लिए । टोली आउने जानकारी राजदूत यान्छीले गत साता नै राष्ट्रपतिसहितका नेताहरुलाई भेटेरै गराइसकेकी थिइन् ।

    स्रोतका अनुसार राजदूतलाई भेटेपछि चिनियाँ टोलीसँग पूर्व सभामुख कृष्णबहादुर महरासँग गोप्य भेट गराइएको थियो । महरासँग उनीहरुले नेकपा फेरि एक हुन सक्ने नसक्ने र विभाजनका कारणहरुबारे जान्न चाहेका थिए । महराले तत्काल दुवै पक्ष निषेधको अवस्थामा पुगे पनि आफू मिलाउने भूमिकामै रहेको बताएका थिए ।

    महरासँग चिनियाँहरुको सम्बन्ध निकै घनिष्ठ छ र एमसीसी रोक्न कहीं न कहीं बेइजिङले महरालाई ‘ब्याक’ दिएको थियो भन्ने जानकारहरुको बुझाइ छ । नेकपाको निर्णायक स्थानमा नरहेका महरालाई चिनियाँ राजदूतले समेत विशेष प्रतिनिधिमण्डल आउने पूर्वसन्ध्यामा भेटेकी थिइन् ।

    चिनियाँहरुलाई भेटेका नेताहरु र उनीहरुसँग वार्तामा बसेकाहरुसँगको कुराकानीका आधारमा यति भन्न सकिन्छ, नेकपा विभाजनले चीन दुःखी छ र नेपालमा राजनीतिक अस्थिरता भई हिमालय क्षेत्रमा भारत र अमेरिकाको संयुक्त प्रभाव बढ्न सक्नेमा चीन चिन्तित छ ।

    उनीहरुको चासो मुख्य जिज्ञासा चाहिं नेकपाको एकतामा सबै बिग्रिसकेको हो कि केही ठाउँ बाँकी छ ? फेरि एकता हुनलाई के–के आवश्यक पर्छ ? विभाजन किन भयो ? यस्तै यस्तै थिए । राष्ट्रपतिसँग चाहिं खुलेर यस्ता विषयमा कुराकानी नभएको स्रोत बताउँछ । नेताहरुलाई चाहिं फुटेर गल्ती गर्‍यौ भन्ने प्रष्ट सन्देश दिएका छन् ।

    चिनियाँहरु विभिन्न नेतासँगको भेटपछि दूतावासमा बसेर विश्लेषण गर्ने र त्यसपछि अर्को भेटमा जाने गरेका छन् । सबै परिस्थितिको सूचना, विश्लेषण र सम्भावित सहयोगसहितको प्रतिवेदन उनीहरुले बेइजिङमा बुझाउनुपर्ने भएकाले सबै पक्षसँग संवादमा छन् ।

    चीनले नेकपा विभाजन हुन नदिन राजदूतमार्फत पटक पटक प्रयास गरेको हो । अचानक विभाजनकै अवस्था आएपछि सी जिनपिङकै अग्रसरतामा विशेष टोली पठाइएको बुझ्न कुनै समस्या छैन ।

    चिनियाँहरुलाई भेटेका नेताहरु र उनीहरुसँग वार्तामा बसेकाहरुसँगको कुराकानीका आधारमा यति भन्न सकिन्छ, नेकपा विभाजनले चीन दुःखी छ र नेपालमा राजनीतिक अस्थिरता भई हिमालय क्षेत्रमा भारत र अमेरिकाको संयुक्त प्रभाव बढ्न सक्नेमा चीन चिन्तित छ । र नेकपाका नेताहरुलाई एकतामा फर्काउन आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न तयार छ ।

  • चक्कु आक्रमणबाट चीनमा ७ जनाको हत्या

    चक्कु आक्रमणबाट चीनमा ७ जनाको हत्या

    एजेन्सी । चीनको उत्तर–पूर्वी प्रान्त लियोलिङमा एक व्यक्तिको चक्कु आक्रमणबाट कम्तिमा ७ जानको मृत्यु भएको छ ।

    चिनियाँ सन्चारमाध्यमका अनुसार लियोनिङ प्रान्तको एउटा सानो शहर कायायुआनमा भएको यो आक्रमणमा अन्य सातजना घाइते भएका छन् ।

    सिन्ह्वाका अनुसार आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर अहिलेसम्म आक्रमणको उद्देश्य पुष्टि हुन नसकेको जनाइएको छ ।

    प्रत्यक्षदर्शीलाई उदृत गर्दै समाचारमा जनाइएअनुसार आक्रमणकारीले भीड क्षेत्रमा पुगेर चक्कु निकालेर एक्कासी आक्रमण सुरु गरेका थिए । निकै नै क्रुर देखिएका उनले अगाडी परेका जो कोहीलाई आक्रमण गरेका थिए ।

    चीनमा यस्तो खाले हिंसात्मक गतिविधि कमै मात्रामा हुने गरेको छ । तर केहि वर्षयता चक्कु वा धारिलो हतियार प्रयोग गरी हुने हिंसा बढेको छ । मानसिक रोगीहरु यस्तो अपराधमा संग्लग्न हुने गरेको अघिल्ला अनुसन्धानहरुले देखाएका थिए ।
    हङकङको साउथ चाइना मर्डिङ पोस्टमा प्रकाशित तथ्यांकअनुसार बिहान ८ बजे आसपासको समयमा चक्कु आक्रमण सुरु भएको हो । आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा प्रहरी अधिकारीसमेत घाइते भएका थिए । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले महिला र बृद्ध–बृद्धालाई निशाना बनाएका थिए ।

  • नेकपा विभाजनमा चीनको चासो, आज आउँदैछ प्रतिनिधिमण्डल

    नेकपा विभाजनमा चीनको चासो, आज आउँदैछ प्रतिनिधिमण्डल

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजन लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ ।

    नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट चिन्तित बनेको चीनले पछिल्लो अवस्था आकलनपछि पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाेउ नेतृत्वको टोली काठमाडौं पठाएको हो ।

    चिनियाँ राजदूत होउ यान्छीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न नेताहरुसँग भेट गरेकी छन् । चीनले नेकपा विभाजन हुन नदिन यसबीचमा पटक पटक प्रयास गरेको थियो ।

    चिनियाँ नेताले कस-कसलाई भेट्दैछन् भन्ने औपचारिक रुपमा जानकारी दिइएको छैन । तर नेकपाका दुवै पक्षसहित विपक्षमा रहेका अन्य पार्टीका नेतासँग पनि भेट गर्न सक्ने स्रोतले जनाएको छ ।

    राजदूत यान्छीले जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतसँग पनि भेट गरेकी थिइन् । चीनले नेकपा विभाजनपछि नेपालको अवस्था कता जान्छ भन्ने चासो व्यक्त गरेको छ ।

    चीन अझै पनि नेकपालाई एकीकृत अवस्थामा फर्काउन प्रयासरत रहेको स्रोतहरु बताउँछन् । भारतीय सञ्चारमाध्यमहरुले चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङ आफैंले पहल लिएर उच्चस्तरीय टोली नेपाल पठाउन लागेको टिप्पणी गरेका छन् ।

    सोङ ताओ प्रमुख रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग चिनियाँ राष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह दिने महत्वपूर्ण निकाय हो ।

    आज नेपाल आउन लागेका गुझाेउ विभागका दोस्रो वरियताका उपमन्त्री हुन् । ताओ यसबीचमा दुई पटक नेपाल आइसकेका छन् । यो विभागमा अन्य पाँच जनासहित ७ जना नेताहरु रहेका छन् ।

  • चीन सन् २०२८ सम्ममा विश्वकै धनी मुलुक बन्ने

    चीन सन् २०२८ सम्ममा विश्वकै धनी मुलुक बन्ने

    एजेन्सी । चीनले यसअघिको आंकलन भन्दा ५ वर्ष अगाडि नै सन् २०२८ सम्ममा अमेरिकालाई पछि पार्दै संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्षेपणसहितको प्रतिवेदन शनिबार बेलायतमा सार्वजनिक गरिएको छ ।

    बेलायतमा कार्यालय रहेको सेन्टर फर इकोनोमिक्स एण्ड विजनेस रिसर्च (सीईबीआर)ले भनेको छ कि कोरोना महामारीको समय र त्यसपछि तीनको व्यवस्थापकीय कुशलताका कारण आगामी वर्षहरुमा अमेरिका र युरोपीय देशको तुलनामा उसले सापेक्ष विकास बढाउनेछ ।

    यो प्रतिवेदनको अर्को मुख्य कुरा भनेको सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रुपमा उदाउने प्रक्षेपण गरिनु पनि हो । सीईबीआरले हरेक वर्ष बक्सिङ डे अर्थात क्रिसमस डेको भोलिपल्ट विश्वभरको आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने गर्छ ।

    निश्चित रुपमा कोरोना भाइरसको पहिलो पहिचान चीनमै भएको थियो । तर चीनले कोरोना नियन्त्रणका लागि अपनाएका कठोर उपायहरुकै कारण उसले अर्थतन्त्रलाई धरासायी बनाउने लकडाउनजस्ता गतिविधि पटक पटक गर्नुपरेन, जसरी युरोपेली देशहरुमा भइरहेको छ ।

    यसको परिणामस्वरुप चीनले मुख्य अर्थव्यवस्था भएका अन्य मुलुकभन्दा विपरिथ सन् २०२० मा आर्थिक मन्दीबाट आफूलाई बचाएको छ र यो वर्ष झन्डै २ प्रतिशतको आर्थिक बृद्धिको प्रक्षेपण गरेको छ ।

    यसको विपरित अमेरिकी अर्थव्यवस्था कोरोना महामारीका कारण सबैभन्दा प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण ३ लाख ३० हजारभन्दा बढीको निधन भइसकेको छ भने १ करोड ८५ लाखभन्दा बढी संक्रमित भएका छन् ।