Tag: कोरोना संक्रमण

  • महामारीले होटलको आम्दानी घट्दै, सोल्टीको घाटा १३ करोड

    महामारीले होटलको आम्दानी घट्दै, सोल्टीको घाटा १३ करोड

    काठमाडौं । कोरोनाको कहरमा परेका ठूला होटल  चल्न नपाउँदा आम्दानी पनि गुमाउँदै गएका छन् । केही दिन अघि तेस्रो त्रौमासिक (चैत मसान्त) सम्मको वित्तीय विवरण प्रकाशित गरेको र्‍याडिसन होटल र सोमबार प्रकाशित गरेको सोल्टी होटलको वित्तीय विवरणले ठूला पाँचतारे होटलको आय दिनानु दिन खस्किदैं गएको देखाएको छ ।

    सोल्टी होटलले हिजो प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको नौं महिनामा १३ करोड ६६ लाख ३८ हजार खुद नोक्सानी वेहोरेको छ ।

    गत वर्ष यस अवधिमा सोल्टीको खुद नाफा १४ करोड ५ लाख ४७ हजार रुपैयाँ बराबरको थियो । यो वर्ष खुद नाफा घट्नुमा गत वर्षदेखि कोरोनाका कारण आन्तरिक र वाह्र्य पर्यटक नआउनु र ठूल–ठूला राष्ट्रिय र अन्तराष्ट्रिय ‘इभेन्ट’ नहुनु होटलले जनाएको छ ।

    गत वर्ष कोरोना नेपालमा फैलिएसँगै ठूला तथा साना होटल करीब ५ महिना बन्दै भएका थिए । सोल्टीको यो वर्षको वित्तीय विवरण अनुसार यस वर्षको कुल आम्दानी ३० करोड ८७ लाख ४७ हजार रुपैयाँ बराबरको भएको छ ।

    तर, खर्च ४४ करोड ४९ लाख ७४ हजार भएको होटलको वित्तीय विवरणमा उल्लेख छ । साथै तेस्रो त्रमाससम्म कम्पनीको कुल सम्पत्ति २ अर्ब १२ करोड ३० लाख ८९ हजार र कुल दाहित्व ६० करोड ९९ लाख ४२ हजार रहेको छ । साथै कम्पनीको प्रतिशेयर आम्दानी १ दशमलव ६२ ऋणत्मक रहेको छ ।

    गत हप्तामात्रै वित्तीय विवरण प्रकासित गरेको होटल र्‍याडिसनको पनि घटा २१ करोड नाघेको छ । कोरोनाले धरासायी बनाएको ठूला होटलहरु अझै कति समय नखुल्ने हुन त्यो कसैलाई थाहा छैन । अर्बौ लगानी रहेका होटल क्षेत्रको वित्तीय विवरण दिनानु दिन खुम्चिदैं जानु शुभ संकेत नभएको बताउँछन् होटल व्यवसायी ।

  • भोज–भतेरको जमघटले संक्रमण फैलियो

    भोज–भतेरको जमघटले संक्रमण फैलियो

    मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो संख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल संक्रमित संख्या २०० रहेका छन् । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना संक्रमित देखिनुले चुनौती र जोखिम दुवै बढेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीले जानकारी दिए ।

    थाहा–३ मा सङ्क्रमण दर पनि उच्च रहेको छ । यहाँ १०२ मा परीक्षण गरिएकामा ७० संक्रमण देखिएको र संक्रमण दर ६६ प्रतिशत रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । संक्रमित हुनेमा स्वास्थ्यकर्मीसमेत छन् ।

    विवाह भोज–भतेरको जमघट र अन्य सामूहिक गतिविधिका कारण थाहा–३ मा संक्रमण फैलिएको ‘कन्ट्याक्ट ट्रेसिङ’ बाट देखिएको प्राथमिक स्वास्थ्य केन्द्र पालुङका चिकित्सक रिकेस कार्कीले बताए ।

    थाहा–३ मा क सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ भने दुईजना निको भएका छन् । त्यस्तै ६७ जना होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ । रासस

  • नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

    नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

    काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ ।

    गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितबारे आङ्कलन गरिरहेको छ ।

    कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा जारी हुनु अगावैदेखि शिक्षालयहरुमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ ।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिकसत्र असारदेखि हुने गरी शिक्षा नियमावालीमा भएको संशोधन नेपाल राजपत्रमा प्रकाशन भइसकेको र सोबमोजिम सम्बन्धित पक्षलाई सूचना पठाइएको बताउँदै नयाँ परिस्थितिबारे सरकारले निर्णय गरिनसकेको जनाए ।

    अर्को निर्णय नभएसम्म विद्यालयहरुले असार १ गतेदेखि नै नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने हुन्छ भने यसको व्यावहारिकता हेरेर पाठ्यवस्तुमा थप समायोजना गरी नयाँ भर्नाको नयाँ मिति तय गर्नुपर्ने देखिएको छ ।

    विगतमा हरेक चैतमा वार्षिक परीक्षा समाप्त भई वैशाखमा नयाँ भर्ना हुँदै आएको थियो भने गत वर्ष शुरु भएको कोरोना महामारीका कारण अधिकांश महिना प्रत्यक्ष कक्षा बन्द भई वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतामार्फत पाठ्यवस्तु समायोजन गरेर पठनपाठन गराइएको थियो । बन्दाबन्दीका कारण गत वर्ष पनि भदौ महिनासम्म नयाँ भर्ना हुन सकेको थिएन ।

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा आगामी असार १ गतेदेखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया दिए । उनले अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि शिक्षक तयार रहे पनि सबै स्थानका विद्यार्थीसँग पहुँच नभएकाले महामारीको प्रभाव कम हुँदै गएमा आगामी भदौतिरबाट शैक्षिकसत्र शुरु गर्न सकिने बताए।

    महामारीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० र १२ को परीक्षा स्थगन भएका छन् । यी परीक्षा निर्धारण नभएसम्म पनि नयाँ शैक्षिकसत्रबारे निर्णय गर्न असुविधा हुने देखिएको छ । शहरी क्षेत्रका निजी विद्यालयले भने सरकारको शुल्क उठाउन आफूखुशी नयाँ भर्ना शुरु गर्ने तयारी गरेका छन् ।

    पाठ्यपुस्तकको मूल्यसूची पुरानै

    सरकारले आउँदो शैक्षिकसत्रका लागि पनि कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको मूल्यसूची यथावत् कायम राखेको छ । शिक्षा मन्त्रालयले चालु शैक्षिकसत्र, २०७७ का लागि स्वीकृत गरेको मूल्यसूची शैक्षिक वर्ष २०७८ का लागि पनि कायम रहने गरी पाठ्यक्रम विकास केन्द्रले सूचना प्रकाशन गरेको छ । रासस

  • कोरोना संक्रमणपछि शल्यक्रियाद्वारा ७ महिने शिशु निकालियो, तीन दिनमै आमाको ज्यान गयो

    कोरोना संक्रमणपछि शल्यक्रियाद्वारा ७ महिने शिशु निकालियो, तीन दिनमै आमाको ज्यान गयो

    पोखरा । तनहुँको भीमाद नगरपालिका-५ की २२ वर्षीया महिलाको पेटमा ७ महिनाको सन्तान हुर्कँदै थियो । बैशाख अन्तिमतिर स्वास्थ्यमा समस्या देखियो । नजिकै रहेको स्वास्थ्य चौकी पुगेर उनले जाँच गराइन् ।

    तर, स्वास्थ्यमा सुधार आएन । बरु दिनदिनै बल्झियो । भीमाद अस्पतालमा उपचार गर्दा ज्वरो निको नभएपछि उनी पोखरा आइन् । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भइन् । स्वाब परीक्षण भयो, नतिजा पोजेटिभ देखियो ।

    प्रतिष्ठानको आइसोलेसन वार्डमा ती कोरोनाभाइरस संक्रमित महिलाको उपचार हुँदै थियो । तर, २९ गते साँझबाट श्वासप्रश्वासमा समस्या देखिन थालेपछि चिकित्सकले अपरेसन गरेरै भएपनि सन्तान जन्माउनुपर्ने सल्लाह दिए ।

    संक्रमित ती महिलाको अप्रेसन भयो । ७ महिनाको शिशुलाई शल्यक्रियामार्फत सकुशल निकालियो । तर, शिशु जन्मिएको तीन दिनमै ती महिलाको उपचारकै क्रममा मृत्यु भयो ।

    ‘गाउँमा औषधि गर्दा सञ्चो नभएपछि पोखरा लगिएको हो । तर, त्यहाँ पनि सास फेर्नै गाह्रो हुन थालेपछि हतारमा अप्रेसन गरेर बच्चा निकालिएको हो,’ भीमाद-५ का वडाध्यक्ष पदमबहादुर थापाले नेपाल प्रेससँग भने, ‘बच्चा जन्मिएको ३ दिनमै उहाँलाई कोरोनाले लग्यो ।’

    कोरोनाबाट मृत्यु हुनेमा ती संक्रमित महिला हालसम्मकै कम उमेरकी हुन् । शल्यक्रिया गरेर छोरी जन्मिएको थियो । तर, छोरीको पनि अवस्था गम्भीर रहेको वडाध्यक्ष थापाले जानकारी दिए । ‘उहाँको परिवारलाई बच्चाबारे साधेको थिएँ, खै उस्तै छ भन्ने जवाफ दिनुभयो,’ उनले भने ।

    यसअघि पनि ती महिलाको एक छोरी छन् । पहिलो छोरी ३ वर्ष पूरा भइसकेको वडाध्यक्ष थापा बताउँछन् । संक्रमित महिलाको शवलाई शनिबार नै पोखरामा नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ । ‘सानै उमेरमा सदस्य गुमाउनुपरेपछि परिवारै शोकमा छ,’ थापा सुनाउँछन् ।

    परिवार क्वारेन्टिनमा, आइतबारबाट कन्टयाक ट्रेसिङ

    वडाध्यक्ष थापाका अनुसार ती महिलामा कोरोनाभाइरस संक्रमणको स्रोत पत्ता लागेको छैन । श्रीमान र श्रीमतिसहित सम्पूर्ण परिवारकै बाह््य सम्पर्क नरहेकाले कताबाट र कसरी भाइरस संक्रमण भयो भन्ने पुष्टि नभएको उनले बताए ।

    ‘उहाँको श्रीमान पनि यतै हुनुहुन्छ । परिवार ठूलो छ । अहिले सबै होम क्वारेन्टिनमा बस्नु भएको छ,’ वडाध्यक्ष थापा भन्छन्, ‘भोलि (आइतबार)बाट कन्ट्याक ट्रेसिङ गरेर कोरोना परीक्षण गर्छौं ।’

    गण्डकीमा शनिबारमात्रै कोरोनाबाट १४ जना मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा अहिले ४ सय १९ जना सक्रिय संक्रमित छन् भने ३६ जनाको मृत्यु भइसकेको छ । तनहुँमा जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी छ ।

  • कोरोना संक्रमणले ममता बेनर्जीका भाइको मृत्यु

    कोरोना संक्रमणले ममता बेनर्जीका भाइको मृत्यु

    दिल्ली । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीका कान्छा भाइ असीमको शनिबार कोरोनासंक्रमणले मृत्यु भएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार उनी कोलकाताको मेडिका सुपरस्पेसिलिटी अस्पतालमा उपचाररत थिए ।

    पारिवारिक स्रोतका अनुसार असीमाको शवलाई कोरोना प्रोटोकल अनुसार दाहसंस्कार गरिने भएको छ ।

    मेडिका अस्पतालका अध्यक्ष आलोक रायले असीमको मृत्यु भएको पुष्टि गरे ।

  • रुपन्देहीका थप २ निजी अस्पतालद्वारा कोरोना संक्रमणको उपचार

    रुपन्देहीका थप २ निजी अस्पतालद्वारा कोरोना संक्रमणको उपचार

    रूपन्देही । रुपन्देहीमा थप २ निजी अस्पतालहरुले कोरोना संक्रमणको उपचार गर्ने भएका छन् । उपचार भइरहेको ३ वटा अस्पतालमा अत्यधिक चाप भएपछि २ वटा थप अस्पतालहरुले कोरोनाको उपचार सुरु गरेका हुन् ।

    रुपन्देहीको देवदहस्थित देवदह मेडिकल कलेज र बुटवलस्थित आम्दा अस्पतालले पनि आजैबाट कोरोना संक्रमितको उपचार सुरु भएको जनाएको छ ।

    लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा रूपन्देहीका थप २ वटा अस्पतालले कोभिड १९ उपचार सुरु गरेका हुन् ।देवदह नगरपालिका रूपन्देहीमा अवस्थित देवदह मेडिकल कलेजले एचडीयू स्तरको ५ बेड र जनरल १० बेड गरी १५ बेडको कोरोनाको उपचार आजैबाट सुरु गरेको जनाएको छ भने छिट्टै ५० बेड पुर्याइने कलेजका निर्देशक डा। बिक्रम ज्ञवालीले बताए।

    त्यस्तै महिला तथा बालबालिकालाई केन्द्रमा राखेर स्वास्थ्य उपचार सेवा दिँदै आएको ९सिद्धार्थ बाल तथा महिला अस्पताल ० आम्दा अस्पतालले पनि कोभिड अस्पताल सुरू गरेको छ । बालबालिका तथा महिलालाई लक्षित गरि एचडीयूस्तरको १० बेड सञ्चालन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र प्रसाद बस्यालले बताए ।

    रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्शल मेडिकल कलेज र भिम अस्पताल भैरहवामा कोरोना संक्रमितको उपचार हुँदै आएको छ। सरकारले सबै निजी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड छुट्टाउन आग्रह गरेपनि क्मिसन अस्पताल बाहेक अरूले सेवा शुरू गरेका छैनन् । रूपन्देहीमा सकृय संक्रमित ७ हजार ५ सय पुगेका छन् ।

     

  • कैलालीमा २१९ जनामा संक्रमण, ३ जनाको मृत्यु

    कैलालीमा २१९ जनामा संक्रमण, ३ जनाको मृत्यु

    कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७७६ जनाको परिक्षण गर्दा कैलालीका २१९ जनामा संक्रमण पुष्टि भएको हो ।

    सबै भन्दा धेरै धनगढीमा भेटिएका छन् । धनगढीमा ११८ जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    कैलालीका अन्य स्थानीय तहमा १०१ जना संक्रमित भएका छन् । कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ । अहिले अस्थायी कोरोना अस्पतालमा ६७ जनाको उपचार भइरहेको छ ।

    ५ जनाको भेन्टिलेटरमा र २० जनाको आइसियुमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा ३ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • बिरामी बचाइदिन अक्सिजन उद्योगलाई आफन्तको फोन !

    बिरामी बचाइदिन अक्सिजन उद्योगलाई आफन्तको फोन !

    काठमाडौं । अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि कोरोना संक्रमितका आफन्तले सोझै अक्सिजन उद्योगलाई फोन गर्न थालेका छन् ।

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अक्सिजनको कोटा तोकेपछि केही अस्पतालले बिरामी भर्ना नलिने तथा उपचार गरिरहेका बिरामी डिस्चार्ज गरिदिने बताउन थालेका छन् ।

    नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारदाले अक्सिजनका लागि आफूहरूलाई बाक्लो फोन आउन थालेको बताउँछन् ।

    शारदाले नेपाल प्रेससँग भने, ‘बिरामीको आफन्तले अक्सिजन दिएर आफ्नो बिरामीको ज्यान बचाइदिनुपर्‍यो भन्छन् । हामीले अस्पताललाई नै अक्सिजन दिने गरेका छौं भनेर बुझाउँछौं । अहिले हामीले उत्पादन गरेको अक्सिजन सीधै अस्पतालभन्दा अन्य ठाउँ बिक्री गर्न मिल्दैन । फोन गर्नेहरूले कति पैसा लाग्ने हो त्यती दिन्छौ समेत भन्ने गरेका छन् ।’

    सिलिन्डरको अभावले उत्पादन भएको सबै अक्सिजन उपभोग गर्न सक्ने अवस्था नरहेको उनले बताए । नेपाल अक्सिजन उत्पादक सघंका उपाध्यक्ष वसन्त मरठ्ठाले पनि अक्सिजन दिएर बिरामीको ज्यान बचाइदिनुपर्‍यो भनेर दैनिक धेरै फोन आउने गरेको बताए ।

    मरठ्ठाले भने, ‘अक्सिजन उद्योगीलाई अक्सिजन दिनु पर्‍यो भनेर धेरै फोन आउने गरेको छ । अक्सिजन उत्पादकले फोन थेग्नै नसक्ने अवस्था छ । अहिले स्वास्थ्य मन्त्रालय र सीसीएमसीको मात्रै फोन उठाउने अवस्था आएको छ । अक्सिजन चाहियो भन्नेहरूको फोन आएर फोन सधै बिजी हुने गरेको छ । यस्तो महामारीको समयमा घरमा भएको सबै अक्सिजन सिलिन्डर प्रयोगमा ल्याउन सके केही सहज हुन्छ कि भन्ने अवस्था आएको छ ।’

    उनले भने, ‘साना सिलिन्डर घरमा नै थन्किएर बसेका भए त्यसलाई तत्कालै प्रयोगमा ल्याउनु पर्‍यो । अहिले सिलिन्डरको अभावले गर्दा भएको सबै उत्पादन प्रयोग गर्न सकिएको छैन । त्यसलाई प्रयोग गर्न पनि घरमा लगेर राखेका र अक्सिजन प्रयोग गर्ने उद्योगहरुसँग भएको सबै सिलिन्डर प्रयोगमा ल्याउन सके अवस्था केही सहज हुने थियो ।’

    सीसीएमसीले काठमाडौं उपत्यकाका अस्पतालहरूलाई क्षमता हेरेर ५ देखि ३ सय सिलिन्डर दिन अक्सिजन उद्योगहरूलाई आदेश गरेको छ ।

    अहिले अक्सिजन बिक्री डिपोबाट नभइ उद्योगबाटै सीधा अस्पताल जाने गरेको छ । चीनबाट हिजो मात्रै ४ सय थान अक्सिजन सिलिन्डर जहाजबाट नेपाल भित्रिएको छ ।

  • अस्पताल बाहिरै राखेर उपचार !

    अस्पताल बाहिरै राखेर उपचार !

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनेसँगै अहिले बिरामीको उपचार व्यवस्थापनमा अस्पताललाई सकस परिरहेको छ । संक्रमित र मृत्यु हुनेको संख्या ४ र ३ डिजिटमा थपिन थालेको छ ।

    काठमाडौं उपत्यकामा हाल ४०,२२२ सक्रिय संक्रमित छन् जसमध्ये काठमाडौं जिल्लामा मात्र २९,२४४ छन् । उपत्यकाका निजी तथा सरकारी अस्पतालले बेड अभाव हुन थालेको बताएका छन् । अक्सिजन अभावको कारण देखाउँदै केही अस्पतालले बिरामी भर्ना नलिने र उपचार गराइरहेका बिरामी पनि डिस्चार्ज गरिदिने बताइरहेका छन् ।

    अस्पतालका बेड संक्रमितले भरिन थालेपछि बाहिरै राखेर उपचार गर्न थालिएको छ । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रन्सप्लान्ट सेन्टरको नयाँ भवनमा पनि संक्रमितको उपचार भइरहेको छ । ७०० बेड क्षमताको उक्त भवनमा बिरामीको चापले बाहिर नै राखेर भएपनि उपचार गरिरहेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए ।

            
  • नागरिक बचाउन प्रभावकारी ढंगले लाग्न सरकारलाई पत्रकार महासंघकाे आग्रह

    नागरिक बचाउन प्रभावकारी ढंगले लाग्न सरकारलाई पत्रकार महासंघकाे आग्रह

    काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट नागरिकको जीवन बचाउन प्रभावकारी ढंगले लाग्न सरकारलाई आग्रह गरेको छ। मंगलबार भर्चुअलमार्फत बसेको महासंघको दोस्रो केन्द्रीय समिति बैठकले आम नागरिक र पत्रकार लक्षित विभिन्न ८ निर्णय गरेको हो ।

    ‘कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिदैँ आफ्ना संरचनामार्फत नागरिकको जीवन बचाउनका लागि प्रभावकारी ढंगले प्रस्तुत हुन सरकारलाई यो बैठक आग्रह गर्दछ,’ महासंघले बैठकपछि जारी गरेको विज्ञप्तीमा भनिएको छ। परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

    निर्णयमा भनिएको छ, ‘स्वास्थ्य सेवा सुलभ र सहज रुपमा पाउने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्दै कोरोना संक्रमणको परीक्षणलाई सहज र निःशुल्क बनाउन, अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउन तथा अस्पतालको उपलब्धतालाई सुनिश्चित गर्नका लागि पनि सरकारलाई ध्यानाकर्षण गराउँदछ ।’

    त्यस्तै स्वास्थ्य सामग्री, औषधिको कृत्रिम अभाव देखाइ चर्को मुल्य लिइरहेको, एम्बुलेन्स, हेलिकोप्टरसहितका यातायातका साधनले पनि मनोमानी रुपमा बिरामीसंग रकम लिइरहेको भन्ने गुनासो आएको भन्दै नियमनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले पत्रकारलाई कोरोनाविरुद्धको लडाइँका ‘फ्रण्टलाइनर’ घोषित गरी उनीहरुको स्वास्थ्य र सुरक्षाका लागि उचित प्रबन्ध गर्न, पत्रकारसहित सबै ‘फ्रण्टलाइनर’ को निःशुल्क उपचारको प्रबन्ध गर्न तथा बिमा र इन्टरनेट सुबिधाको व्यवस्था गर्न पनि माग गरेको छ ।

    आगामी बजेटमा कोरोना संक्रमणबाट पीडित सञ्चारकर्मी र संकटग्रस्त संचारसंस्थाका लागि फरक- फरक राहत प्याकेजको व्यवस्था गरी घोषणा गर्न पनि महासंघले सरकारसंग माग गरेको  महासचिव राेशन पुरीले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ ।

  • दाङको बेलझुण्डी अस्पतालमा १८ घण्टामा ८ संक्रमितको मृत्यु

    दाङको बेलझुण्डी अस्पतालमा १८ घण्टामा ८ संक्रमितको मृत्यु

    दाङ । दाङको बेलझुण्डी कोरोना अस्पतालमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । कोरोना अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार गएराति ८ः४५ बजेदेखि अहिले दिउँसो ३ः४५ बजेसम्म उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मृतक २ जना महिला र ६ जना पुरूष हुन् । अक्सिजन अभावका कारण उनीहरूको मृत्यु भएको हो । अस्पतालमा ४० जनालाई मात्रै पुग्ने अक्सिजन भएको भन्दै वलीले भने, ‘अहिले ६१ जनाको उपचार गरिरहेका छौ । यसरी कसरी उपचार सम्भव छ ?

    उनका अनुसार अहिले ६१ मध्य ५ जनाको आईसीयूमा उपचार भइरहेको छ । अक्सिजन अभावका कारण थप संक्रमित भर्ना गर्न नसकिने अस्पतालले जनाएको छ ।

  • सीसीएमसीद्वारा उपत्यकाका अस्पतालमा अक्सिजनको कोटा निर्धारण (सूचीसहित)

    सीसीएमसीद्वारा उपत्यकाका अस्पतालमा अक्सिजनको कोटा निर्धारण (सूचीसहित)

    काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्न उपत्यकाका अस्पतालहरुका लागि कोटा निर्धारण गरेको छ ।

    उपत्यकाका अस्पतालहरूमा लागि तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई सीसीएमसीले अनुरोध गरेको हो ।

    ‘हामीले अक्सिजनको अभाव नहोस् भनेर अस्पतालमा कोटा नै निर्धारण गरेका छौं । यसले आवश्यकताको आधारमा अक्सिजन उपलब्ध हुने र अभाव हुन नदिन सहज बनाउने विश्वास छ’, सीसीएमसी सचिवालयका सहसचिव नूरहरि खतिवडाले नेपाल प्रेसलाई बताए ।

    स्वास्थ्य मन्त्रालयले आजै एक सूचना निकालेर ‘मन्त्रालयको तथ्याङ्कमा आधारित रही देशभरका अस्पतालमा अक्सिजनको आवश्यकतामा आधारमा वितरण व्यवस्थापन सीसीएमसीबाट गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’ जानकारी गराएको
    थियो ।

    कुन अस्पताललाई कति अक्सिजन सिलिन्डरको कोटा हेर्नुस् सूची:

  • नायिका वर्षा राउतलाई कोरोना संक्रमण, सबैलाई सुरक्षित रहन आग्रह

    नायिका वर्षा राउतलाई कोरोना संक्रमण, सबैलाई सुरक्षित रहन आग्रह

    काठमाडौं । अभिनेत्री वर्षा राउतलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमार्फत आफूलाई भाइरस पोजेटिभ भएको उनले उल्लेख गरेकी छिन् ।

    गन्ध हराएको र खोकी लागिरहेको उनले जनाएकी छिन् । स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा रहेको उनले बताएकी छिन् ।

    सबैलाई सुरक्षित रहन आग्रह गर्दै उनले ठीक भएर चाँडै काममा फर्किने आशा समेत व्यक्त गरेकी छिन् ।

    पछिल्लो समय केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ लगायतलाई भाइरस संक्रमण पुष्टि भएको छ ।

  • आइतबार ८८५० जनामा कोरोना संक्रमण

    आइतबार ८८५० जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२  जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । र यसअघि २६ जनाको विभिन्न स्थानमा भएको निधन यसमा समावेश नगरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।  यससँगै निधन हुनेको संख्या ८८ पुगेको छ ।

    देशभर८८ हजार १६० सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८१ हजार ४३० होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    यस्तै शनिबार मुलुकमा कोरोना भाइरसका ८,४१८ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मात्रै ५३ जनाको मृत्यु भएको थियो ।

  • छतबाट खसेर ज्यान गुमाएकी महिलामा कोरोना पुष्टि

    छतबाट खसेर ज्यान गुमाएकी महिलामा कोरोना पुष्टि

    कैलाली । कैलालीको धनगढीमा छतबाट खसेर ज्यान गुमाएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    शुक्रवार ३ बजे धनगढी उपमहानगरपालिका-१ मा बस्ने ५० बर्षीया महिलाको छतबाट खसेर मृत्यु भएको थियो ।

    त्यसपछि कोरोना परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

    यो सहित कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितका ज्यान गएको उनले बताए ।

  • १९ सांसद र १४१ जना संसद सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण

    १९ सांसद र १४१ जना संसद सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण

    काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि गरिएको पीसीआर परीक्षणमा १९ सांसद र १४१ संघीय संसद सचिवालयका कर्मचारीहरुमा कोरोना संक्रमण रहेको पाइएको छ ।

    यही २२ र २३ गते भएको कोरोना परीक्षणमा राष्ट्रियसभाका १ जना गरि १९ जना सांसदलाई संक्रमण पुष्टि भएको हो । केही सांसद यसअघि नै कोरोना संक्रमणका कारण आराम गरिरहेका छन्।

    २०५ सांसद र १०३० संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, संससदीय मामिला पत्रकारहरुको पीसीआर परीक्षण भएको थियो । ती मध्य १२३४ जनाको रिपोर्ट प्राप्त भएको र संक्रमण अनुपात ११.९७ प्रतिशत रहेको संसद सचिवालयले जनाएको छ ।

    विश्वासको मत लिने प्रयोजनाका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २७ बैखामा बोलाइएको छ। संक्रमित सांसदलाई मतदानमा भाग लिन दिने या नदिने भन्ने बारे अझैं टुंगो लागेको छैन्।

  • कोरोना संक्रमणले एकै परिवारका चारजनाको मृत्यु

    कोरोना संक्रमणले एकै परिवारका चारजनाको मृत्यु

    नेपालगञ्ज । कोरोनाभाइरस संक्रमणले यहाँ एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी बहिनी र दुई दाइको मृत्यु भएको हो ।

    नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा ४२ वर्षीय जाहिरको बुधवार बेलुका मृत्यु भएको हो । त्यही अस्पतालमा उनका दाई एजाजको बिहीवार बेलुकी ७ बजे र इम्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको हो । उनकी बहिनी भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो ।

    अहमदको परिवारमा अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ती मध्ये कोहि घरमा आइसोलेसनमा र कोही अस्पतालमा उपचाररत छन् ।

    जाहिर आहमद सन १९९७ मा सिंगापुरमा आयोजना भएको एसीसी यू–१९ कपमा नेपालले सहभागी हुन जाँदा १८ सदस्यीय टोलीमा थिए । पछिल्लो समय उनी लुम्बिनी प्रदेशको क्रिकेट छनोट समितिमा थिए ।

    राष्ट्रिय खेलकुद परिषद्मा उनी अधिकृतस्तरका प्रशिक्षक हुन । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपालको भारोत्तोलन प्रशिक्षण टोलीमा थिए । उनले नेपालको प्रशिक्षक भएर ताइवान, उज्वेकिस्तान, मलेसियामा टिम लगेका थिए ।

  • जो बिरामी हुँदा पनि कोरोना संक्रमितको ज्यान जोगाउन लागे

    जो बिरामी हुँदा पनि कोरोना संक्रमितको ज्यान जोगाउन लागे

    काठमाडौं । मंगलबारको कोरोना रिपोर्टले डा. पुरुषोत्तम वर्मालाई ढुक्क बनायो । ढुक्क यसकारण कि, रिपोर्ट नेगेटिभ आएको थियो । अस्पतालमा काम गर्दा गर्दै कमजोरीले गालेको थियो उनलाई । कोरोनासँग मिल्दो लक्षण पनि देखिएको थियो ।

    सामाजिक सञ्जालमा पनि संक्रमित भनेर हल्ला फिँजियो । जे होस्, नतिजा भने सुखद् आयो ।

    डा. वर्माको फोटो सामाजिक सञ्जालमा केहीदिन यता भाइरल बनेको थियो । कोरोना महामारीमा दिलोज्यान दिएर बिरामीको उपचारमा तल्लीन कतिपय स्वास्थ्यकर्मी आफैं संक्रमित छन् । तै पनि पेसागत धर्म मात्र हैन, मानवीयताको मूल्य निभाइरहेका छन् भन्ने प्रमाणस्वरूप उनको कारुणिक फोटो देखा परेको थियो सामाजिक सञ्जालमा ।

    फोटोमा डाक्टर वर्मा हातमा सलाइन लगाएर अस्पतालमा काम गरिरहेका देखिन्थे । स्वयम् बिरामी भएर संक्रमितको उपचारमा खटिएको डाक्टर देख्दा तस्बिरले धेरैको हृदय पगाल्यो ।

    कोरोना ‘हटस्पट’ बाँकेको नेपालगञ्ज मेडिकल कलेजको कोरोना वार्डमा उनी यतिबेला पनि बिरामीको हेरचाहमा लागिरहेका छन् ।

    डेढ वर्षदेखि त्यहाँ कार्यरत डा. वर्मालाई यस्तो चाप कहिल्यै परेको थिएन । सँगै काम गर्ने तीन साथी कोरोना संक्रमित भए । र होम आइसोलेसनमा गए । थेग्नै नसक्ने थियो बिरामीको चाप । त्यही क्रममा आफैं पनि बिरामी परे उनी ।

    ‘मलाई आराम चाहिएको थियो । संक्रमण भयो भन्ने लागेको थियो । यस्तै बेलामा त हो काम देखाउने । विकल्प पनि थिएन । स्लाइन लगाएर काममा खटिएँ म,’ उनी सुनाउँछन् ।

    त्यति नै बेला एक जना सहकर्मीलाई लाग्यो- यो त पछिसम्म मेमोरी हुन्छ ।’ अनि उनले दृश्यलाई फोटोमा कैद गरे । अर्का सहकर्मीले फेसबुकमा राखिदिए । डा. वर्माले पछिमात्र थाहा पाए त्यो कुरा ।

    अघिल्लो वर्षको भन्दा धेरै गाह्रो बनाएको छ यसवर्ष कोरोनाले । दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा अघिल्लो सालको तुलनामा अस्पताल आउने बिरामीको संख्या मात्र बढेको छैन । समस्या पनि गम्भीर बन्दै गएको छ ।

    बिरामीमा अक्सिजन लेभल घट्ने र सास फेर्न गाह्रो हुने समस्या निकै छ । अस्पतालमा बिरामीको संख्या बढ्दै गएका कारण स्वास्थ्यकर्मीको अहोरात्र खटिनुपरेको छ । यसरी खटिँदा थुप्रै अनुभव व्यहोरिसकेका छन् डा. वर्माले ।

    उनको आग्रह छ- कोरोनासँग नआतिऔं । ‘भीडभाडमा नबस्ने, सही तरिकाले मास्क लगाउने र हातलाई निरन्तर साबुनपानीले धुने वा स्यानीटाइजर लगाउने मात्र गरे पनि संक्रमणबाट जोगिन सकिन्छ । फैलिन पनि कम हुन्छ,’ उनी सुझाउँछन् ।

  • चितवनमा बढ्दो संक्रमणबारे के भन्छ स्वास्थ्य कार्यालय ?

    चितवनमा बढ्दो संक्रमणबारे के भन्छ स्वास्थ्य कार्यालय ?

    चितवन । जिल्लामा कोरोना संक्रमण भएका अधिकांशले आफूलाई भोजभतेरबाट संक्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु संक्रमित भेटिएका हुन् ।

    गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजा-आजाजस्ता कार्यक्रम हुनसकेका थिएनन् । लामो समयदेखि रोकिएका यस्ता कार्यक्रम वैशाख पहिलो हप्तापछि धमाधम भएका थिए । यस्ता कार्यक्रममा सहभागी नै बढी संक्रमित भएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ ।

    स्वास्थ्य कार्यालयका सूचना अधिकारी गीतागञ्जली ढकालका अनुसार कार्यालयमा दुई कर्मचारीले यही वैशाख १६ गतेबाट संक्रमितलाई फोन गरिरहेका छन् । दैनिक ५० जना हाराहारीलाई फोन गर्दा अधिकांशले विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रमबाट फर्किएपछि आफू संक्रमित भएको बताएको जानकारी दिए । उनले भने, ‘गत वर्ष धेरैले अस्पताल आएर फर्किएपछि संक्रमण भएको भन्थे, यस वर्ष भोजभतेरमा गएपछि संक्रमण भएको भनेका छन् ।’ टेलिफोनबाट सर्वेक्षण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क भने आउन नसकेको उनको भनाइ थियो ।

    वैशाखयता मात्रै जिल्लामा १ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । पछिल्ला दिनमा दैनिक २०० भन्दा बढी संक्रमित देखिएका छन् । महानगरपालिकाका कोभिड-१९ सम्पर्क व्यक्ति केशव भट्टले महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा पनि अधिकांशले विवाह, व्रतबन्ध, भोजभतेरमा सहभागी भएपछि संक्रमणमा परेको बताएको जानकारी दिए ।

    कतिपयले जिल्ला बाहिर गएर आएपछि संक्रमणमा परेको पनि जनाएको उनले बताए । भट्टले भने, ‘अधिकांश भोजभतेरबाटै संक्रमण फैलिएको पाइयो ।’ महानगरपालिकाले पाँच समूह बनाएर वडा छुट्याएर संक्रमितसँग सम्पर्क गरिरहेको छ । दुई दिनदेखि महानगरले सम्पर्क कार्य थालेको हो ।

    भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले विवाह, व्रतबन्ध, पूजापाठसँगै दलका कार्यक्रम पनि सङ्क्रमण समुदायमा पुर्‍याउनमा जिम्मेवार रहेको देखिएको बताए । उनका अनुसार सरकारले गरेको निर्देशनलाई अवज्ञा गरेकै कारण यो अवस्था आएको हो । विवाहको लगन अघि सत्तापक्ष र विपक्षी सबै दलले आआफ्नो शक्ति प्रदर्शन गरेर देशैभर सभासम्मेलन गरेका थिए । ती कार्यक्रम पनि समुदायमा कोरोना पुर्‍याउन सहयोगी बनेको फिजिसियन समेत रहेका डा. अधिकारीको बुझाइ छ । आम सर्वसाधारणले कोरोनालाई हल्का रूपमा लिँदा यो अवस्था सिर्जना भएको उनले बताए ।

    स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी गएको फागुनदेखि नै सन्देश प्रवाह गरेर भोजभतेर, सभासम्मेलनमा २५ जनाभन्दा बढी सहभागी नहुन अनुरोध गरेको भए पनि अटेर गरिएका कारण संक्रमण धेरै फैलिएको बताउछन् । उनले भने, ‘पच्चिस जनालाई भन्दा मानिसले विभिन्न अर्थमा व्याख्या गरे, अहिले यो अवस्था सिर्जना भयो ।’ विवाहमा २५ जनाभन्दा बेहुलापट्टीका २५ र बेहुलीपट्टीका २५ भन्दै फरक-फरक व्याख्या गरेर सरकारले गरेको निर्देशन अधिकांशले अटेर गरेका थिए । गत वर्ष पनि यस्ता कार्य हुन नसकेकाले कोरोना सक्किइहाल्यो नि भन्दै धेरैले मन फुकाएर आफन्त डाक्ने गरेको तिवारीको भनाइ छ ।

    पछिल्लो समयमा विगतकै तुलनामा विवाह, व्रतबन्ध धुमधामका साथ हुने गरेका थिए । यस्ता कार्यक्रममा विभिन्न जिल्ला र विदेशबाट आउनेसमेत सहभागी हुने गर्दथे । कतिपय भारतबाट समेत यस्ता कार्यक्रममा सहभागी हुन आएका थिए । जुन आज कोरोना फैलाउने माध्यम बनेको विज्ञहरु बताउँछन् । सङ्क्रमण भयावह हुँदासमेत हिजोआज पनि लुकीछिपी यस्ता कार्यक्रम हुँदै आएका छन् । प्रशासनले घरमा परिवार मात्रै बसेर यस्ता कार्य गर्न भने पनि अटेर गरेर आफन्त बोलाउँदै कार्यक्रम गरिरहेको पाइन्छ ।

  • न्याय क्षेत्रका १६१ मा कोरोना संक्रमण

    न्याय क्षेत्रका १६१ मा कोरोना संक्रमण

    काठमाडौं । कोभिड-१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ ।

    सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सय भन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र महामारीकै कारण सबै अदालतमा सेवा कटौती गरिएको छ ।

    यसअघि नै सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरिसकेको छ ।

    अदालतले सो अवधिमा बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित रिट निवेदनबाहेक अरु सुनुवाइ नगर्ने निर्णय गरेको हो । अदालतले कारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा र रिट निवेदनमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने जनाएको छ ।

  • संक्रमित सांसदले २७ गते विश्वासको मत दिन पाउलान् ?

    संक्रमित सांसदले २७ गते विश्वासको मत दिन पाउलान् ?

    काठमाडौं । वैशाख २७ गते तय गरिएको संसद बैठकको संघारमा पीसीआर परीक्षण गरिएकामध्ये चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

    बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएकोमा अहिलेसम्म आएका रिपोर्टमध्ये ६ जनामा संक्रमण देखिएको सभामुखको सचिवालयले जनाएको छ ।

    कतिपय सांसद यसअघि नै संक्रमित भएर अस्पताल र आइसोलेसनमा छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    उक्त दिन संक्रमितले मतदानमा भाग लिन पाउने या नपाउने भन्ने विषय अझैं टुंगिसेको छैन् । यसबारे अहिले छलफल चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुखले यसबारे निर्णय लिने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।

    ‘हामी त्यही छलफल गर्दै छौं,’ उनले नेपाल प्रेससँग भने, ‘अहिले कुनै निर्णय भइसकेको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठकले केही सल्लाह दिन्छ होला । त्यसपछि सभामुखले निर्णय लिनु होला ।’

    कार्यव्यवस्था परामर्श समितिको बैठक भने अझैं निर्धारण भैसकेको छैन । २७ गते बैठक बस्न लागेकाले त्यसअघि कार्यव्यवस्था समितिको बैठक बोलाउने तयारी सभामुखको छ ।

    गण्डकी प्रदेशमा भने संक्रमित सांसदले पनि मतदानमा भाग लिन पाउने निर्णय भएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावबारे निर्णय लिन बस्ने प्रदेशसभा बैठकमा संक्रमित सांसदलाई बोल्न नदिने तर मतदानमा भाग लिन दिने सहमति त्यहाँ भएको थियो ।

    यसअघि लोक सेवाले लिने परीक्षामा कोरोना संक्रमितलाई वञ्चित गरेपछि त्यसको व्यापक विरोध भएको थियो । परीक्षा दिन पाउने मौलिक हक कुनै रोगबाट संक्रमित भएकै आधारमा खोस्न नपाइने भन्दै विरोध भएपछि लोकसेवा आयोग उक्त निर्णयबाट पछाडि हटेको थियो ।

  • यी हुन् कोरोना संक्रमण देखिएका चार सांसद

    यी हुन् कोरोना संक्रमण देखिएका चार सांसद

    काठमाडौं । वैशाख २७ गते तय गरिएको संसद बैठकको संघारमा पीसीआर परीक्षण गरिएकामध्ये चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

    कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी (जसपा) का तीन र कांग्रेसका एक सांसद छन् । संक्रमण देखिएका सांसदमा जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी पार्वती डिसी चौधरी रहेको स्रोतले जनाएको छ ।

    बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएकोमा अहिलेसम्म आएका रिपोर्टमध्ये ६ जनामा संक्रमण देखिएको सभामुखको सचिवालयले जनाएको छ ।

    कतिपय सांसद यसअघि नै संक्रमित भएर अस्पताल र आइसोलेसनमा छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसका लागि सांसदको कोरोना परीक्षण गरिएको हो ।

  • चार सांसद र दुईजना कर्मचारीबाहेक सबैको कोरोना रिपोर्ट नेगेटिभ

    चार सांसद र दुईजना कर्मचारीबाहेक सबैको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौं । प्रतिनिधिसभाका चारजना सांसद र दुई जना कर्मचारीमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको छ ।

    बुधवार गरिएको पीसीआर परीक्षणको नतिजा बिहीबार आउँदा चार संसद बाहेक अन्यको नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ ।

    कतिपय सांसद यसअघि नै संक्रमित भएर अस्पताल र आइसोलेसनमा छन् । हिजो सभामुखसहित १२८ सांसद,
    कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

    प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    त्यसका लागि सांसदको कोरोना परीक्षण गरिएको हो ।

  • कोरोना संक्रमित पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन

    कोरोना संक्रमित पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन

    काठमाडौं । कोरोना संक्रमणबाट बिरामी भएका पूर्वमन्त्री मोतीप्रसाद पहाडीको बुधवार राति नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा निधन भएको छ । उनी संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका थिए ।

    ७८ वर्षीय पहाडीलाई स्वास्थ्यमा समस्या भएपछि बुधवारै अस्पताल लगिएको थियो । अस्पतालका कोरोना फोकल पर्सन तेज वलीले पूर्वमन्त्री पहाडीको कोरोनाका कारण निधन भएको पुष्टि गरेका छन् ।

    डोल्पाबाट पहाडी २०५१ सालमा स्वतन्त्र उम्मेदवार बनेर डोल्पाबाट सांसद भएका थिए । उनी केही समय एमाले प्रवेश गरे पनि पछि स्वतन्त्र थिए । त्यसयता उनी सक्रिय राजनीतिमा थिएनन् ।

    पञ्चायतकालमा २०३८ सालमै सहायकमन्त्री बनेका पहाडी पछिल्लो समय नेपालञ्जमा बस्दै आएका थिए ।

  • धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण

    धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण

    जनकपुरधाम । धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण भएको छ । बुधबार ३ जना थुनुवाको पिसिआर रिपोर्ट पोजेटिभ आएको र यसअघि नै १ जना थुनुवा संक्रमित भइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे हाे ।

    ४ दिन पहिले संक्रमित भएका थुनुवालाई यदुकोहा प्रहरी कार्यालयमा छुट्टै कोठामा आइसोलेट गरिएको कार्यालयका  प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार बुधबार संक्रमण पुष्टि भएका ३ थुनुवालाई जिल्ला प्रहरी कार्यालयभित्रै आइसोलेशनमा राखिएको छ ।

    थुनुवामा कोरोना पुष्टि भएपछि प्रहरीमा त्रास पैदा भएको छ । पछिल्लो समय धनुषामा कोरोना संक्रमण तीब्र गतिले बढिरहेको छ । वैशाख २१ बाट धनुषामा निषेधाज्ञा जारी छ ।

  • कान्ति अस्पतालका ५ बालबालिकालाई कोरोना संक्रमण

    कान्ति अस्पतालका ५ बालबालिकालाई कोरोना संक्रमण

    काठमाडौं । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा संक्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ ।

    गत वर्षभन्दा यो वर्ष संक्रमण फैलिने दर उच्च भएकाले संक्रमित थपिरहेको अस्पतालले जनाएको छ ।

    एक सातायता दिनमा एकदुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका प्रवक्ता डा कृष्णप्रसाद विष्टले बताए। उनले भने, ‘संक्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ ।’

    कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा विष्टले बताए।

    अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’ को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शङ्कास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा विष्टले बताए। बालबालिकाको रिपोर्ट पोजेटिभ भएमा कोभिडका लागि छुट्याइएको श्ययामा उपचार गरिन्छ । संक्रमण नभएको पाइएमा अरू सामान्य श्ययामा उपचार गरिने उनले बताए ।

  • मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

    मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षेत्रीय प्रयोगशालामा मंगलबार दिइएको स्वाव नमूनाको बुधबार आएको नतिजामा पोजिटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले पुष्टि गरे ।

    बुधबार बिहान संक्रामक तथा सरुवा रोग अस्पतालमा गरिएको गुरुङको एन्टिजेन परीक्षण पोजिटिभ देखिएको थियो । उनी हिजो सर्वदलीय बैठकमा सहभागी थिए ।

    बैठकबाट फर्किएलगत्तै कोभिड-१९ को लक्षण देखिएपछि गुरुङले परीक्षण गराएका थिए ।

    मुख्यमन्त्रीका प्रेस संयोजक न्यौपाने पनि संक्रमित भएर ३ दिनदेखि होम आइसोलेसनमा छन् । उनकै ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा मुख्यमन्त्रीको परीक्षण गरिएको हो ।

  • सैनिक स्वास्थ्यकर्मीलाई जंगी अड्डाको निर्देशन- सेवा फिर्तीको लागि तयारी रहनू

    सैनिक स्वास्थ्यकर्मीलाई जंगी अड्डाको निर्देशन- सेवा फिर्तीको लागि तयारी रहनू

    काठमाडौं । नेपाली सेनाले अवकासप्राप्त आफ्ना स्वास्थ्यकर्मीलाई पुन: सेवामा लगाउने तयारी गरेको छ ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि महामारी रोकथाम तथा नियन्त्रणका लागि अवकासप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी हालतमा रहन ‘रिकल टू ड्यूटी’ निर्देशन जारी गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    विश्वव्यापी महामारी बनेको कोभिड-१९ रोकथाम, उपचार र नियन्त्रणलगायतका काममा फ्रन्टलाइनमा खटिनेमध्ये सैनिक पनि एक हो ।

    प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकास प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने निर्णयको आधारमा  तयारी हालतमा रहन निर्देशन जारी गरेको हो ।

  • संक्रमित नै बने स्वास्थ्यमन्त्री, आइसोलेसनबाट सीधै सपथग्रहण

    संक्रमित नै बने स्वास्थ्यमन्त्री, आइसोलेसनबाट सीधै सपथग्रहण

    रूपन्देही । लुम्बिनी प्रदेशमा स्वास्थ्यमन्त्री बनेका रूपन्देहीका सांसद भोजप्रसाद श्रेष्ठले कोरोना संक्रमण बीच जिम्मेवारी सम्हालेका छन् ।

    १६ दिनअघि संक्रमित भएका उनी घरमै आइसोलेसनमा थिए । मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिमण्डल विस्तारमा परेका तीनमध्ये एकमन्त्री श्रेष्ठ होम आइसोलेसनबाट सीधै सपथ ग्रहण समारोहमा उपस्थित भएका छन् ।

    सपथ लिने क्रममा उनी अलग्गै उभिएका थिए । आज पुन: कोरोना परीक्षणको लागि थ्रोट स्वाब नमूना दिइएपनि नतिजा आइनसकेको उनको सचिवालयले जनाएको छ ।

  • नवलपरासीमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

    नवलपरासीमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

    रुपन्देही । कोरोना संक्रमणका कारण मंगलबार पश्चिम नवलपरासीमा थप पाँच जनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा तीन र पृथ्वीचन्द्र जिल्ला अस्पतालमा दुई जनाको मृत्यु भएको हो ।

    भैरहवा मेडिकल कलेजमा मृत्यु हुनेमा पाल्हीनन्दन गाउँपालिका-४ का ५५ वर्षीया महिला, बर्दघाट नगरपालिका-१२ का ५४ वर्षीया महिला र सुस्ता गाउँपालिका-१ का ७० वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए ।

    भत्यसैगरी पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु हुनेमा रामग्राम नगरपालिका- ४ का ४५ वर्षीय पुरुष र पाल्हीनन्दन गाउँपालिका-१ का ५५ वर्षिय पुरुष रहेका छन् ।

    अहिलेसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ जना पुगको स्वास्थ्य कार्यालयले जनाएको छ । बैशाख पहिलो सातादेखि मंगलबारसम्म जिल्लामा मृत्यु हुनेको संख्या २० पुगेको पौडेलले जानकारी दिए । जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।

  • कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य निरालाको निधन

    कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य निरालाको निधन

    काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका न्यायपरिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ ।

    संक्रमणबाट स्वास्थ्यमा गाह्रो भएपछि सशस्त्र प्रहरी अस्पतालमा उपचारार्थ भर्ना भएका खड्काको मंगलवार बिहान निधन भएको हो ।

    सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालले निरालाको निधनको पुष्टि गरेको छ । अस्पतालका अनुसार उनी वैशाख १० गते भर्ना भएका थिए ।

    निरालालाई सरकारको सिफारिसमा २०७६ पुसमा न्यायपरिषद् सदस्य नियुक्त गरिएको थियो । उनी तत्कालीन शाही सरकारका पाला महान्यायाधिवक्ता पनि थिए ।

  • रिपोर्ट कुर्दाकुर्दै जान थाल्यो संक्रमितको ज्यान

    रिपोर्ट कुर्दाकुर्दै जान थाल्यो संक्रमितको ज्यान

    कैलाली । कैलाली लम्की चुहा नगरपालिका १० की ३५ वर्षीया महिला स्वास्थ्यमा समस्या भएपछि आइतबार उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगिन् । उनको आकस्मिक कक्षमा राखेर उपचार थालियो । कोरोना संक्रमण पुष्टि भयो ।

    १८ गते सेती अस्पतालमा भर्ना भएका लम्की चुहाकै ३८ वर्षीय पुरुषको पनि सोमबार बिहान मृत्यु भएको छ । कोरोना संक्रमणबाट ग्रस्त उनी कोरोना अस्पतालसम्म पुग्नै पाएनन् ।

    यसरी कैलालीमा प्रत्येक दिनजसो कोरोना संक्रमितको मृत्यु भइरहेको छ । सोमबार दिउँसोसम्मँ ६ जनाको मृत्यु भइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

    जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी २ का ४३ वर्षीय पुरुष, धनगढी ५ की ६० वर्षीया महिलाको पनि कोरोना संक्रमबाट मृत्यु भएको छ ।

    त्यस्तै सोमबार नै कञ्चनपुर भिमदत्त नगरपालिका ७ का ६३ वर्षीय पुरुष, गोदावरी नगरपालिका १ का ३० वर्षीय पुरुषको मृत्यु भएको हो । ४ जनाको सेती प्रादेशिक अस्पतालमा र २ जनाको निजी अस्पतालमा मृत्यु भएको हो ।

    यसअघि धनगढी ४ का ४० वर्षीय पुरुष र धनगढी ३ कि ४५ वर्षीया महिलको पनि उपचारकै क्रममा ज्यान गएको थियो ।

    पुरुष सोही दिन कोरोनाको लक्षणसहित अस्पताल आएका थिए भने महिला दुई दिनअघि अस्पताल पुगेकी थिइन् ।

    पिसिआर रिपोर्ट आउन ढिला हुँदा २ दिनसम्म उनी अस्पतालको आकस्मिक कक्षमै बस्नुपर्यो । रिपोर्ट आएर कोरोना अस्पताल पुग्न नपाउँदै १६ गते उनको ज्यान गयो ।

    अस्पतालमा जनशक्ति, उपकरण र अक्सिजनको अभाव

    गत वर्ष कोरोना संक्रमण बढिरहेको बेला प्रदेश सरकारले ५० शय्याको अस्थायी कोरोना अस्पताल तयार गरेको थियो । यस वर्ष सोही अस्पतालमा ५ शय्या थप्नेबाहेक प्रदेश सरकारले अर्को तयारी गरेको छैन ।

    ५५ शय्याको अस्थायी कोरोना अस्पतालमा अहिले सबै शय्या भरिएका छन् । थपलाई राख्ने ठाउँ नहुँदा संक्रमितहरु आकास्मिक कक्षमै ज्यान गुमाउन वाध्य छन् ।

    सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ पनि ठाउँ अभाव र कोरोना पुष्टि नहुँदासम्म आकास्मिक कक्षमै राख्नु पर्न बाध्यता रहेको बताउँछन् ।

    ‘रिपोर्ट नआउँदा सम्म यहाँ राखेर उपचार हुन्छ । संक्रमण पुष्टि भइसकेपछि मात्रै कोरोना अस्पतालमा पठाउने हा’, उनले भने ।

    अहिले पनि आकस्मिक कक्षमा कोरोनाका लक्षण देखिएका तर रिपोर्ट नआएका धेरै विरामीको उचार भइरहेको छ ।

    सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका खटिएका वरिष्ठ फिजिसियन डा. नीराजन दत्त शर्मा कैलालीमा संक्रमणको अवस्था भयावह हुँदै गइरहेको बताउँछन् । संक्रमण र मृत्यु दर बढिरहेकाले स्थिति नियन्त्रण बाहिर जाने खतरा बढेको उनको बुझाइ छ ।

    ‘हामीसँग ठाउँ र जनशक्ति दुवैको अभाव छ । त्यसैले जसलाई जहाँ सकिन्छ त्यहीं उपचार गरिरहेका छौँ’ उनले भने ‘बिरामी अस्पतालमा आइसकेपछि फर्काउनुभन्दा जहाँ मिल्छ त्यही उपचार गर्नु उपयुक्त हो ।’

    आकस्मिक कक्षमा पनि रिपोर्ट नआउँदासम्म उपचार हुने गरेको उनी बताउँछन् ।

    विगतदेखि नै जनशक्ति अभाव रहेको अस्पतालमा कोरोनाको उपचार थालिएपछि थप समस्या भएको छ । त्यसै माथि कोरोना संक्रमितको उपचारमा खटिएका केही नर्सहरूमा पनि संक्रमण देखिएपछि समस्या भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै अस्पतालमा अक्सिजनको पनि अभाव छ । आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पतालले दैनिक ३ हजार ६७५ किलोग्राम अक्सिजन उत्पादन गर्दै आएको थियो । प्रतिसिलिन्डर ४७ किलोग्राम गरेर दैनिक ७५ वटा सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको अस्पतालले अहिले त्यो परिणाम घटेको जनाएको छ ।

    ‘अहिले ५५ देखि ६० सिलिन्डर मात्र उत्पादन भइरहेको छ । दैनिक १४० देखि १५० सिलिन्डर को आवश्यकता पर्छ’ सूचना अधिकारी श्रेष्ठले भन्छन् ।

    कोरोना संक्रमित बढ्दै गएका बेला अक्सिजनको माग ह्वात्तै बढेको उनको भनाइ छ । ‘हामीले मागका आधारमा उत्पादन गर्न नसके पनि जसोतसो व्यवस्थापन गरिरहेका छौँ’ श्रेष्ठले भने ‘संक्रमित थपिँदै गएमा अक्सिजन आपूर्तिमा असहज हुनसक्छ ।’

    गर्मीका कारण लोड धान्न नसक्दा र बिद्युतका कारण अक्सिजन प्लान्ट बेलाबेलामा बन्द हुने गरेको छ ।

    अहिले कोरोना अस्पतालमा सिलिन्डर मार्फत अक्सिजनको आपूर्ति भइरहेको छ । सिलिन्डरको पनि अभाव हुन थालेकोसूचना अधिकारी श्रेष्ठले बताए ।

    ९७ वटा सिलिन्डरले मात्र काम चलाइरहेको अस्पतालले थप ५० वटा खरिदका लागि प्रक्रिया अघि बढाएको छ ।

  • काठमाडौंका अस्पतालमा शय्या नभेटेपछि ‘एयर लिफ्ट’ बाट संक्रमित बाहिर पठाइँदै

    काठमाडौंका अस्पतालमा शय्या नभेटेपछि ‘एयर लिफ्ट’ बाट संक्रमित बाहिर पठाइँदै

    काठमाडौं । नयाँ प्रजातिसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि उपत्यकाका अस्पतालमा केही दिनयता चाप बढेको छ ।  जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित आईसीयूमा शय्या अभाव हुन थालेपछि एयर लिफ्टमार्फत बिरामी बाहिर लैजान थालिएको छ ।

    कोरोना महामारीको पहिलो चरणमा गत वर्ष बाहिरी जिल्लाका संक्रमितलाई थप उपचारका लागि रेफर गरेर काठमाडौं ल्याउने गरिन्थ्यो ।

    काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना संक्रमितलाई बिरामीलाई थप उपचारार्थ हेलिकप्टर मार्फत झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ‘बेड सिफ्ट’ गरिएको छ ।

    उपत्यकाका कुनै अस्पतालमा भेन्टिलेटरसहितको बेड नपाएपछि झापा कमल गाउँपालिका-५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको हो ।

    स्वास्थ्यमन्त्रालयका अनुसार हिजोमात्रै नेपालमा सात हजार २११ संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टामा २७ जनाको मृत्यु भयो ।  काठमाडौं उपत्यकामा मात्र ३ हजार ५९५ जनालाई संक्रमण पुष्टि भएको छ ।

    यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना संक्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटर सहित आइसियू अभाव भएपछि काठमाडौंबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

    उनका अनुसार काठमाडौंका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटर सहित आइसियूको अभाव भएपछि अस्पतालमा तारान्तार फोन आइरहेको छ ।

    बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटर सहित आइसियू शैया , विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ । उनले भने, ‘तीमध्ये २५ भेन्टिलेटरसहित आईसीयू बेड कोभिडका बिरामीलाई छुट्याएका छौँ । बिरामीको आवश्यककता अनुसार थप गर्दै जाने अस्पतालको नीति  छ ।’

  • संक्रमितको मलामी गएका एकै गाउँका ३१ जनालाई कोरोना

    संक्रमितको मलामी गएका एकै गाउँका ३१ जनालाई कोरोना

    बर्दीबास । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना संक्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका-९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

    गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको संक्रमण देखिएको छ । मलामीमा गएका ६०/७० जनामध्ये ४५ जनाले पीसीआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    कोरोना संक्रमणबाट दुईको मृत्यु

    जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना संक्रमणबाट दुईको मृत्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना नातेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका-२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो ।

    त्यस्तै जलेश्वर नगरपालिका-२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृत्यु भएको छ । यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना संक्रमण्बाट ५ जनाको मृत्यु भइसकेको छ ।

    निषेधाज्ञा जारी

    जिल्लामा कोरोना सङ्क्रमणको दर अत्यधिक वृद्धिसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाको १० नगरपालिका र ५ गाउँपालिकाभरि नै लागू हुने गरी यही वैशाख २२ गते बिहान ६ देखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा जिल्लामा १० दिनका लागि निषेधाज्ञा जारी गरी कोरोनाको ‘चेन ब्रेक’ गरी सङ्क्रमण न्यूनीकरण तथा रोकथामको प्रयास थालनी गरिएकोे छ । बैठकले जिल्लाको १५ वटै पालिकालाई अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न, सबै अस्पताल सञ्चालन गर्न, कार्यालय तथा व्यापार व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्न, सङ्कटको बेला उपभोक्तालाई ठगी नगर्न जस्ता निर्देशनहरुसमेत जारी गरेको छ ।

  • स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बन्द

    स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बन्द

    सिरहा । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका-९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो । ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई-९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए ।

    उक्त अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ । कोभिड-१९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । संक्रमितमध्ये ७ जना आइसोलेसनमा, १ जनाको विराटनगर, १ जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेसनमा छन् ।

    दूध डेरीमाथि कारवाही

    बिनाअनुमति दूध डेरी सञ्चालन गरेको भन्दै सिरहाको नरहा गाउँपालिका-३ नयाँ चोहर्वास्थित दूधगङ्गा डेरी उद्योगमाथि कारवाही अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको संयुक्त अनुगमन टोलीले खाद्यान्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरी दूध, दहीलगायतका सामग्री बजारमा बिक्री गरिरहेको पाइएपछि सञ्चालकमाथि कारवाही प्रक्रिया अघि बढाएको हो ।

    अनुगमनका क्रममा खाद्यान्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरेको र खाद्यान्न गुणस्तरीयसमेत नदेखिएकाले कारवाही अघि बढाइएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले बताए ।डेरी सञ्चालकलाई सम्पूर्ण कागजातसहित उपस्थित हुन पत्र काटिएको प्रमुख यादवले बताए ।

    यस्तै बजार अनुगमनकै क्रममा सिरहाको मिर्चैया नगरपालिकास्थित एक दर्जन किराना पसल तथा मिठाइ पसलबाट म्याद गुज्रिएको खाद्यान्न, पेय पदार्थ तथा खानेतेल नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका सुरेश सिंहले जानकारी दिए ।

    पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोरोना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, स्यानिटाइजरलगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताए । पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिइएको उनले जानकारी दिए। अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने उनको भनाइ थियो ।