Tag: केपी शर्मा ओली
-

ओलीकाे चुनौती– सक्नेले मलाई हटाए हुन्छ, २० महिनापछि दुईतिहाइ लिएर सिंहदरबार फर्किन्छौं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौती दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुईतिहाइ बहुमतका साथ सिंहदरबारको मूलगेटबाट पस्ने दाबी गरे ।अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– २०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुईतिहाइ बहुमतका साथ सिंहदरबार फर्केँ । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ,२० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुईतिहाइ बहुमतका साथ सिंहदरबारको मूलगेटबाट भित्र पस्छ ।ओलीले एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताए । सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको ओलीको भनाइ थियो । -

ओली पक्षले बनाएका सबै कमिटी एमालेमा रुपान्तरण, कसले के जिम्मेवारी पाए ?
काठमाडौं । पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले थाहै नपाइ महत्वपूर्ण निर्णयसहित टुंगिएको छ । बैठकले महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी समेत तोकेको छ ।
बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।
त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।
त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन् ।
प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले लिएका छन् । अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने जानकारी ओलीले गराएका छन् ।
नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।
ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिदै आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।
ओलीको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘खबर गर्न छुट्नुभएकाहरुलाई अर्को बैठकमा खबर गर्नू । माधवजीहरुलाई खबर पुगेको रहनेछ भने पनि पुर्याइदिनू । आउनु हुन्छ कि आउनुहुन्न तर पनि खबर चाहिँ गर्नुपर्छ ।’
-

बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्रीको छलफल
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा बोलाएर छलफल गर्दैछन् । त्यसका लागि केन्द्रीय सदस्यहरू बालुवाटार पुग्ने क्रम जारी छ ।
नेकपा एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनीत केन्द्रीय सदस्यहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अनौपचारिक छलफल गर्न बोलाएको स्रोतले जनाएको छ ।
एमालेको २०५ सदस्यीय केन्द्रीय कमिटीका निधन भएका र रिक्त रहेका बाहेक सदस्यहरूमध्ये १०५ जना सदस्य ओली पक्षमा छन् । यसबीचमा माधव नेपाल पक्षले केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेको थियो ।
ओलीले यसअघि माओवादी केन्द्रबाट सरकारकाे प्रतिनिधित्व गर्ने नेताहरुसँग छलफल गरेका थिए । आन्तरिक छलफलपछि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक चैत १ गते बोलाइएको छ ।
-

नेकपा विवादको एन्टिक्लाइमेक्स: एमाले-माओवादी ‘डिभोर्स’मा ओलीलाई बादलको बोनस
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र लामो समयदेखि चलेको अन्तरद्वन्द्वको नाटकीय पटाक्षेप भएको छ । सर्वोच्च अदालतले हिजो गरेको फैसला कार्यान्वयन गर्ने दुवै पक्षले निर्णय गरेपछि एमाले र माओवादी पार्टीका नेताहरु आ-आफ्नो गुँडतिर फर्केका छन् ।
झण्डै तीन वर्ष अगाडि दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता हुँदा धेरैलाई यसको टिकाउपनामा आशंका थियो । एकताको सैद्धान्तिक धरातल बलियाे नभएकाले ढिलो-चाँडो पूर्वएमाले र पूर्वमाओवादी आ-आफ्नो बाटो लाग्ने धेरैले अनुमान गरेकै थिए । तर, उनीहरु यो ढंगले छुट्टिएलान् भन्ने चाहिं कसैको कल्पनामा थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनपश्चात नेकपामा अनौपचारिक विभाजन आइसकेको थियो । तर, निर्वाचन आयोगले मान्यता नदिएकाले आधिकारिकताको लडाईंमा थिए । अहिले आएर पार्टी विभाजन त भयो, तर बिल्कुलै भिन्न रुपमा । नेकपाभित्र विवाद चर्किएसँगै दुई किनारमा पुगेका नेताहरु अन्ततः आआफ्नै पुरानो शिविरमा फर्किएका छन् ।
कित्ताकाटको यो प्रक्रियामा अपवादको रुपमा देखिएको छ रामबहादुर थापा बादलको समूह । उनी र ओलीपक्षमा लागेका पूर्वमाओवादी नेताहरु भने फेरि माओवादीमा फर्किने मनस्थितिमा छैनन् । भोलि माओवादी केन्द्रले कारबाही गरेर सांसद पद गुम्न सक्ने जोखिम मोलेर भए पनि उनीहरुले ओली समूहलाई साथ दिने भएका छन् । जनयुद्ध लडेका बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीजस्ता नेताहरु नेकपा एमालेमा यथोचित जिम्मेवारी लिएर बस्न तयार हुनु अर्को रोचक सन्दर्भ हो । यसलाई ओलीले महत्वपूर्ण बोनसका रुपमा लिएको छ ।
एमाले-माओवादीको भरपर्दो नभए पनि यसले देशमा सुखद परिणाम ल्याउन सक्ने आशा गरिएको थियो । लामो समयदेखिको राजनीतिक अस्थिरताले जर्जर बनेको देशलाई आरामदायी बहुमतसहितको बलियो सरकार चाहिएको थियो, जुन एमाले-माओवादी एकताले पूर्ति गर्यो । दुईतिहाइ बहुमतसहितको बलियो सरकार निर्माणसँगै देश विकास र समृद्धिको दिशामा अघि बढ्ने अपेक्षा जनताले लिए ।
तर, जनअपेक्षामा ग्रहण त्यतिबेला लाग्यो, जब पार्टीभित्रैबाट सरकार ढाल्ने खेलहरु हुन थाले । सरकारलाई कसरी प्रभावकारी बनाउने भन्दा पनि कसरी असफल बनाउने भन्नेतर्फ नेकपाको एउटा समूह क्रियाशील भयो । यही झोँकमा प्रधानमन्त्री केपी ओलीले असंवैधानिकरुपमा संसद भंग गरिदिए । अदालतले यसलाई सच्याए पनि ओलीको त्यही कदमले नेपाली राजनीतिलाई आजको विन्दुमा ल्याइपुर्याएको हो ।
एमाले र माओवादी केन्द्र छुट्टिसकेपछि पनि राजनीति सरलरेखामा आइसकेको छैन । प्रचण्ड-माधव पक्षको साेमबारको बैठकले सर्वोच्चको फैसलाप्रति गम्भीर असहमति जनाउँदै न्यायिक पुनरावलोकनमा जान सकिने निर्णय गरेको छ । साथै, अब माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावना पनि टड्कारो छ । त्यो अवस्थामा सरकारको भविष्य अझै पनि सुरक्षित छैन ।
यता माधव नेपालको समूह एमालेमा फर्किएपछि फेरि पनि ओली नेतृत्वलाई चुनौती दिइनै रहनेछन् । पार्टीमा विभाजन बढेसँगै दुवै समूहका नेताहरु एक-अर्काे पक्षमाथि गालीगलौजको प्रतिस्पर्धामा थिए । कसैले कसैलाई भन्न केही बाँकी राखेनन् । त्यसले उत्पन्न गरेको तिक्तता बिर्सन एमालेका दुवै पक्षलाई सहज छैन । माओवादीमा भने यो समस्या छैन ।
एमालेमा अबको आवश्यकता भनेको पुरानो तिक्तता बिर्सेर पार्टीभित्र सौहार्द वातावरणको निर्माण गर्नु हो । त्यसका लागि प्रमुख जिम्मेवारी केपी ओलीमा छ । प्रधानमन्त्री र एमाले अध्यक्ष भएको नाताले उनले अब आफूसँग फर्किएको पंक्ति माथि कुनै वैरभाव नराखी मिलाएर लैजाने खुबी देखाउनुपर्छ । माधव-झलनाथ समूहलाई अपमानित नगरी सम्मानजनक व्यवहार गर्नुपर्छ ।
साथै, अर्को पक्षले पनि प्रतिशोधको भावना त्यागेर आफ्नो पार्टी नेतृत्वको सरकारलाई बलियो र प्रभावकारी बनाउनका निम्ति योगदान दिनुपर्छ । त्यो नभएर एक-अर्काको सेखी झार्ने नै ढंगले दुवै पक्ष प्रस्तुत भए भने त्यो पार्टीका निम्ति मात्र नभएर राष्ट्रिय राजनीतिकै निम्ति दुर्भाग्यपूर्ण हुनसक्छ ।
-

ओली र गोकुलको फोटोसहित काभ्रेमा एमाले कार्यालय खुल्यो (भिडियो)
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट उत्साहित भएका केपी ओली पक्षधर देशभरका कार्यकर्ताले खारेजीमा परेको नेकपाको कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राख्ने क्रमलाई तीब्रता दिएका छन् ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ठाउँमा एमाले थपेर साइनबोर्ड संशोधन गरिने केन्द्रीय कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिए ।
काभ्रेस्थित नेकपा कार्यालयमा सोमवारै एमालेको साइनबोर्ड राखिएको छ । जिल्ला अध्यक्ष अशोक ब्यान्जुको नेतृत्वमा कार्यकर्ताले एमालेको फ्लेक्समा केन्द्रीय अध्यक्ष ओली र जिल्ला इन्चार्ज गोकुल बास्कोटाको फोटो समेत राखेर कार्यालयको एमालेकरण गरेका छन् ।
अब एमालेको कार्यालय सञ्चालनमा ल्याइएको अध्यक्ष ब्यान्जुले बताए । धुलिखेल नगरपालिकाका मेयरसमेत रहेका नगरपालिका संघका अध्यक्ष ब्यान्जु नेकपा विभाजनपछि पार्टी अध्यक्ष भएका थिए ।
-

बादल समूह एमालेमै मिसिने, पद छाड्ने तर ओलीको साथ नछाड्ने
काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरू पुनःस्थापित नेकपा एमालेमा सामेल हुने भएका छन् ।
अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका मन्त्री र नेताहरूसँग आइतबार साँझ बालुवाटारमा छलफल गरेका थिए ।
अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेताहरूसमेत छलफलमा सहभागी थिए । प्रधानमन्त्रीले अदालतको फैसला यस्तो आएको भन्दै ‘अब तपाईंहरु के भन्नुहुन्छ ? म तपाईंहरूलाई जे अनुकूल हुन्छ त्यही वातावरण बनाइदिन्छु’ भनेका थिए ।
जवाफमा सबै जनाले आफूहरू मन्त्री पदका लागि ओली पक्षमा नलागेको भन्दै विचार,सिद्धान्त र कम्युनिष्ट आन्दोलन अघि बढाउने सवाल भएकाले प्रचण्डसँग जान नसकिने बताएको स्रोतले नेपाल प्रेसलाई जानकारी दियो ।
स्रोतले भन्यो, ‘उहाँहरूसँग प्रधानमन्त्रीले खुलस्त कुरा राख्नुभयो । तर, सबैजनाले प्रधानमन्त्रीले भनेमा एक मिनेटमै पद छाड्न तयार रहेको तर साथ भने नछाड्ने बताउनुभयो । अब उहाँहरू हिजो पनि ओली पक्षीय नेकपामा हुनुहुन्थ्यो अब नेकपा एमालेमा रहनुहुन्छ र उचित जिम्मेवारी पाउनुहुन्छ ।’
एमालेमा लागेपछि प्रचण्डले सांसद पद खारेजीको प्रक्रिया चलाउन सक्ने तर प्रत्यक्ष निर्वाचित सांंसदको पद रिक्त गर्न सहज नरहेको पनि चर्चा सो पंक्तिमा चलेको छ । तर, सांसद पद महत्वपूर्ण नरहेको भन्दै सबै नेताले ओलीको साथ नछाड्ने प्रतिबद्धता जनाएको बालुवाटार स्रोतले बताएको छ ।
नेकपा माओवादी केन्द्रबाट साबिक नेकपामा केन्द्रीय सदस्य रहेका एक दर्जनभन्दा बढी नेताहरू केपी ओली पक्षमा छन् । संकटको बेला केपी ओलीको पक्षमा उभिएका कोही पनि नेता कार्यकर्ताले अब नेकपा माओवादी केन्द्र नरोज्ने केन्द्रीय सदस्य निरु दर्लामीले बताइन् ।
-

लैंगिक समानता र महिला विकासमा उल्लेख्य प्रगति भएको छ– प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले ल्याएका नीतिहरुको कार्यान्वयनसँगै लैंगिक समानता र महिला विकासमा उल्लेख्य प्रगति भएको बताएका छन् ।
१११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राज्यको तर्फबाट नीतिगत, कानूनी, संरचनात्मक र प्रक्रियागत सुधारको फलस्वरुप राजनीतिक र प्रशासन क्षेत्रमा महिलाको सहभागितामा उल्लेखनीय वृद्धि भएको बताए ।
‘शिक्षा, स्वास्थ्य, रोजगारीका सूचकहरुमा सकारात्मक सुधार भएको छ । लैंगिक विकास सूचकांकमा भएको सुधारबाट पनि सरकारको प्रयासले राम्रो प्रतिफल दिएको छ भनेर बुझ्न सकिन्छ’ प्रधानमन्त्रीले वक्तव्यमा भनेका छन्, ‘यद्यपि समाजको न्यूज चेतनाका कारण महिला उत्पीडन, महिला हिंसा र दुर्व्यवहारका अवशेषहरु बाँकी छन् । यसलाई निरुत्साहित गर्न सबैको सहकार्यमा जनचेतनाको आवश्यकता रहन्छ ।’
नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकको रुपमा व्याख्या गरिएको तथा महिला तथा किशोरीमाथि हुने बलात्कार र अन्य हिंसा नियन्त्रणका लागि कानूनी व्यवस्थालाई थप कडा बनाइएको प्रधानमन्त्रीको दाबी छ । ‘लैंगिक रुपमा हुने हिंसाको अन्त्य र सामाजिक न्याय तथा सम्मानपूर्ण जीवनयापनकाे अधिकार सुनिश्चित गरी हामी देशलाई समृद्ध र जनतालाई सुखी बनाउने अभियानमा छौं,’ प्रधानमन्त्रीको वक्तव्यमा भनिएको छ ।
-

ओलीपछि माधव नेपालले सर्वोच्चबाट पाए जन्मदिनको ‘अप्रिय उपहार’
काठमाडौं । सर्वोच्च अदालतले गत फागुन ११ गते संसद विघटनको ऐतिहासिक फैसला गर्दा संयोगले त्यही दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन थियो । आज सर्वोच्चले सत्तारुढ पार्टीमा उथलपुथल ल्याउने गरी अर्को फैसला गरेको छ । संयोगले आज माधवकुमार नेपालको जन्मदिन परेको छ ।
सर्वोच्चले फागुन ११ मा गरेको फैसला केपी ओलीका लागि अप्रिय थियो । आफूले गरेको विघटन सिफारिस सर्वोच्चले उल्टाउँदा ओलीलाई ठूलै झट्का लाग्यो । सामाजिक सञ्जालमा चर्चा भयो- ओलीले सर्वोच्चबाट जन्मदिनको ‘कहिल्यै नबिर्सिने उपहार’ पाए ।
सर्वोच्चको फैसला आउँदा ओली जन्मदिन मनाउन व्यस्त थिए । तर, उनले फैसलालाई सहजरुपमा लिए । जन्मदिनको समारोह विथोलिएन । ओली अदालतको विरोधमा उत्रिएनन् ।
आज माधव नेपाल पनि जन्मदिनको खुशियालीमा छन् । उनलाई बधाइको ओइरो लागिरहेको छ । तर, खुशीको मुडमा रहेका नेपाललाई सर्वोच्चले नमिठो झट्का दिएको छ । अनि, सामाजिक सञ्जालमा लेख्न थालिएको छ, ‘माधव नेपालले पनि सर्वोच्चबाट जन्मदिनको उपहार पाए ।’
सर्वोच्चको फैसलालाई नेपालले कसरी ग्रहण गर्छन् हेर्न बाँकी छ । तर, सत्तारुढ नेकपालाई फैसलाले खारेज गरिदिएपछि उनी आजबाट साविक नेकपा एमालेको वरिष्ठ नेतामा फर्किएका छन् । यो बीच नेपाल कम्युनष्टि पार्टीका नामबाट भएका कुनै पनि काम-कारबाही अब स्वतः अवैध भएका छन् ।
सर्वोच्चको आजको फैसलाले सबैभन्दा ठूलो धक्का नेपाललाई लागेको छ । केपी ओलीले पुरानो एमाले पाए । प्रचण्डले माओवादी केन्द्र पाए । तर, माधव नेपाल यता न उताको बनेको चर्चा चल्न थालेको छ । उनी र उनको पक्षका सबै नेता र संसद अब ‘एमाले’ भएका छन् । उनीहरूलाई माओवादी केन्द्रतर्फ तान्न प्रचण्डलाई सहज छैन ।
-

संसद भवन पुगे प्रधानमन्त्री
काठमाडौं । प्रतिनिधिसभाको बैठक केहीबेरमा बानेश्वरस्थित संसद भवमा शुरू हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओली भर्खरै संसद भवन प्रवेश गरेका छन् । ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने तथा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।
-

प्रचण्ड दलको नेता चुनिएको समाचार सरकारी मुखपत्रमा देख्दा प्रधानमन्त्री अचम्मित
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सरकारी मुखपत्र ‘राइजिङ नेपाल’मा आएको एउटा समाचारप्रति आश्चर्य व्यक्त गरेका छन् ।
शनिबार बसेको ओलीपक्षीय नेकपाको संसदीय दल बैठकलाई बालुवाटारमा सम्बोधन गर्ने क्रममा ओलीले राइजिङ नेपालमा छापिएको समाचारको प्रसंग उप्काएका हुन् ।
बैठकमा सहभागी राष्ट्रियसभा सदस्य कोमल वलीका अनुसार अर्का पक्षका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ दलको नेतामा चुनिएको भनेर राइजिङ नेपालले पहिलो पेजमा समाचार छापेकोमा ओलीले असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद वलीले भनिन्, ‘आज राइजिङ नेपालको फ्रन्ट पेजमा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनिएको समाचार देख्दा मलाई आश्चर्य लाग्यो । झूटो, भ्रामक, हुनै नसक्ने कुरा कसरी राइजिङ नेपालको फ्रन्ट पेजमा छापियो ?’
प्रचण्ड संसदीय दलको नेता चयन भएको खबरलाई अंग्रेजी अखबार राइजिङ नेपालले पहिलो पृष्ठमा छापेको छ भने गोरखापत्रले दोस्रो पृष्ठमा छापेको छ ।
ओलीले अरु के भने ?
मेलम्चीको पानी सुन्दरीजलमा आउने कार्यक्रमको अवलोकन गर्न जाने हतारोका कारण ओलीले बैठकलाई संक्षिप्त सम्बोधन गरेका थिए ।प्रमुख सचेतक विशाल भट्टराईले बैठकको ‘फ्लोर ओपन’ गरेपछि ओलीले सम्बोधन गरेका थिए । यसअघि प्रायः लामो सम्बाेधन गर्ने ओली आजको बैठकमा भने करिब ४० मिनेटजति मात्रै बोले ।
आइतबार शुरू हुने प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउन प्रमुख सचेतक र सचेतकले भनेका कुरालाई ध्यान दिएर पालन गर्न ओलीले सांसदलाई निर्देशन दिएका थिए । प्रमुख सचेतकले भनेअनुसार सबैको ‘सिटिङ एरेजमेन्ट’ हुने उनले बताए ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि त्यो पालना गर्नुपर्ने बाध्यता भए पनि आफूहरु कमजोर नभएको ओलीको भनाइ थियो ।
‘हामीले गरिरहेको संसदीय अभ्यास बलियो बनाउन, लोकतन्त्र, देशको समृद्धि र नेपाली जनताको सुखलाई नै ध्यानमा राखेर हामीले संसद विघटन गरेका थियौं’ बैठकमा ओलीले भने, ‘सर्वोच्च अदालतले गर्नै नहुने थियो, पुनर्स्थापना गर्याे । अब हामीले यसको सामना गर्नुपर्छ । भोलि हाम्रो उपस्थिति बलियो रहन्छ । हामी कमजोर छैनौं । त्यसैले साथीहरू सबै ढुक्क भएर, समयमा उपस्थित हुनुहोला र राम्रो प्रस्तुतीकरण राख्नुहोला ।’
प्रधानमन्त्रीले आफूविरुद्ध दर्ता हुने सक्ने अविश्वास प्रस्तावबारे भने केही बोलेनन् । बैठकमा प्रमुख सचेतक भट्टराईले ११५ जना सांसद उपस्थित भएको जानकारी दिएका थिए । प्रधानमन्त्री ओलीले त्यो संख्या पनि बढ्ने बैठकमा दाबी गरेका थिए ।
‘प्रधानमन्त्रीले भोलि यो संख्या बढ्ने बताउनुभएको छ’ वलीले भनिन्, ‘अन्य सांसद पनि आउने संकेत उहाँले गर्नुभएको छ ।’
-

सुन्दरीजलमा मेलम्चीको पानी देखाउँदै ओलीले भने- यस्तोमा हो लड्डु खाने !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी सुन्दरीजलमा खसेसँगै लामो सपना पूरा भएको बताएका छन्।
शनिबार मेलम्चीको पानी काठमाडौंमा खस्ने कार्यक्रमको अवलोकनपछि सम्बोधन गर्दै ओलीले आफ्नो कपाल फुल्दा पूरा भएको बताए।
‘
‘कुरा भएको त धेरै भयो’ ओलीले भने, ‘कुरा चल्दा मेरो कपाल कालै थियो । पूरा हुँदा मेरो कपाल कतै कालो रहेन ।’ आफ्नै पार्टीबाट काम हुन नदिएको कुरा आफूले गरेको र आज त्यो प्रमाणित भएको बताए।‘लामो समयपछि सपना पूरा भएको छ’ उनले भने, ‘मुख्य उपलब्धि हासिल गरेका छौं । यसै सरकारका पालामा । कहिलेकाहीं आफ्नै पार्टीबाट काम हुन दिएनन् भन्नुपर्थ्याे । अब त प्रमाणित भयो होला नि । दिन दिनै ठूला–ठूला शिलान्यास र उद्घाटन भइरहेका छन्।’
काठमाडौंलाई पानी दिनुभएकोमा ओलीले सिन्धुपाल्चोकवासीलाई धन्यवाद समेत दिए।
‘यसक्रममा केहीले ज्यान गुमाउनुपर्यो’ उनले भने, ‘त्यो प्राविधिक कारणले भएको थियो । म यस सफलताको घडीमा उहाँहरूप्रति सहानुभूति जनाउन चाहन्छु ।’
प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव समूहलाई लक्षित गर्दै भने– साथीहरु जहाँ पायो त्यहीं लड्डु खाने हैन, यस्तो बेलामा खानुपर्छ । खास खुशी भनेको यो हो ।’
-

प्रधानमन्त्री ओलीले भोलि टिचिङ अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । बिहान १० बजे अस्पतालको खोप केन्द्रमा पुगेर उनले खोप लगाउने कार्यक्रम तय भएको छ ।
७० वर्ष पुगेका प्रधानमन्त्री ओली कोरोनाको संवेदनशील समूहमा पर्छन् । भोलि नेपालमा दोस्रो चरणको खोप कार्यक्रम सुरु हुँदैछ । दोस्रो चरणको पहिलो दिन ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाउने छन् ।
विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको पहिलो खेप आइतबार काठमाडौं आइपुग्नेछ ।
-

ओलीले भने- हामीले कसैलाई प्रधानमन्त्री बनिदेऊ भनेका छैनौं र भन्दैनौं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल आफ्नो पार्टी फुटाएर प्रधानमन्त्री बनिदेऊ भन्दै किस्तीमा पद राखेर अरुको दैलोमा भीख माग्न हिंडिरहेको टिप्पणी गरेका छन् ।
विप्लव नेतृत्वको नेकपालाई मूलधारमा ल्याएपछिको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नराखेको र नराखिने प्रष्ट पारे ।
ओलीले भने, ‘आफ्नो पार्टी फुटाएर, सरकार ढालेर अरुलाई प्रधानमन्त्री बनिदेऊ न भन्दै हिंडेका छन् विचराहरू । आज संसदीय दलको बैठक भन्दैछन् रे । दलको नेता म यहाँ छु, कुन दलको बैठक हो कुन्नि मलाई थाहा छैन ।’
-

विप्लवको प्रशंसा गर्दै ओलीले भने- साहसिक काम गर्नुभयो, बधाई छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आउनु ऐतिहासिक काम भएको बताएका छन् । उनले नेपाल ‘अन्तिम किस्तामा’ शान्तिपूर्ण युगमा प्रवेश गरेको घोषणा गरे ।
विप्लव समूहसँग सरकारले गरेको तीनबुँदे सम्झौतामा हस्ताक्षरपछि बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।
उनले भने, ‘ऐतिहासिक काम भएको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । नेपालमा हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन । अर्थात् नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’ केही दिनअघि संयुक्त राष्ट्रसंघको मूल्यांकनमा नेपाल शान्तिको पारामिटरमा अगाडि देखिएको सन्दर्भ उनले प्रस्तुत गरे ।
‘राष्ट्रसंघको शान्ति पारामिटरमा नेपाल शान्तिको मापदण्डमा अमेरिका, भारत, पाकिस्तानजस्ता देशहरुभन्दा धेरै अगाडि थियो । झन् भरे बेलुका राष्ट्रसंघले मूल्यांकन गर्यो भने के भन्ला ?’
कार्यक्रममा ओलीले विप्लवको प्रशंसा गर्दै उनले साहसिक कदम चालेको बताए ।
‘म विप्लवजीलाई बधाई दिन चाहन्छु, उहाँले साहसिक कदम चाल्नुभएको छ । एउटा बाटोमा हिंडिरहँदा कार्यकर्तालाई मोड्न गाह्रै हुन्छ । उहाँले सफलतापूर्वक गर्नुभयो । यो फोर्सल्यान्डिङ होइन, क्रयासल्यान्डिङ होइन, सेफल्यान्डिङ हो ।’
ओलीले १०/१२ वर्ष अगाडि नै विप्लवसँग भेटेर आफूले लामो छलफल गरेको खुलासा गरे ।
‘हामीबीच त्यो बेला एक/डेढ घण्टा गहन छलफल भएको थियो । हामीबीच विश्वासको बीउ रोपिएको त्यही छलफलबाट हो’, ओलीले भने ।
सम्वोधनको शुरूआतमा नै ओलीले भर्खरै जेलबाट छुटेर आएका विप्लव समूहका नेता धमेन्द्रलाई बधाई दिएका थिए । ठट्टा गर्दै ओलीले भने, ‘धमेन्द्रजीलाई बधाई छ, यति छिट्टै जेलबाट निस्कन पाए पो । आफू त १४ वर्ष…’
-

झापा आन्दोलनको नेतृत्व गर्दा होस् वा प्रधानमन्त्री हुँदा मेरो निष्ठा फेरिएको छैन- ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा आन्दोलनको नेतृत्व गर्दा होस् वा अहिले राज्यको नेतृत्व गर्दा आफू निष्ठाका साथ उद्देश्यमा सक्रिय रहेको बताएका छन् ।
४८ औं सुखानी स्मृति दिवसका अवसरमा प्रधानमन्त्रीले शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै झापा क्रान्तिको स्मरण गरेका हुन् । २०२७ सालमा केपी ओली, सीपी मैनाली लगायतको नेतृत्वमा झापा क्रान्ति शुरु भएको थियो ।
सोही क्रान्तिमा सहभागी कम्युनिस्ट योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन सत्ताले जेल सार्ने बहानामा इलाम र झापाको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेको थियो ।
प्रधानमन्त्रीले आफ्ना सहयोद्धाहरुको स्मरण गर्दै कम्युनिस्ट पार्टीले स्थापनाकालमा सैद्धान्तिक रुपमा राखेको गणतन्त्रको मागलाई जनस्तरमा विस्तार गर्दै विभाजित कम्युनिस्ट आन्दोलनलाई सबल बनाउन झापा आन्दोलन एउटा गौरवपूर्ण प्रस्थानबिन्दू थियो भनेका छन् ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘झापा आन्दोलनको नेतृत्व गर्दा होस् वा प्रधानमन्त्रीको रुपमा राज्य सञ्चानलन गर्दा,जनताको समृद्धि,समाना,सामाजिक न्याय र सुख तथा राष्ट्रको जीवनमा स्वाधीनता,अखण्डता र स्वाभिमान हासिल गर्ने उद्देश्यमा म निष्ठाका साथ सक्रिय छु ।’
-

सुनकोशी-मरिन डाइभर्सन शिलान्यास गर्दै ओलीले भने – मलाई मधेशविरोधी भन्नेलाई जवाफ (भिडियो)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी-मरिन डाइभर्सन आयोजनाबाट १ लाख ८५ हजार बिघा सिंचाइ गर्न सकिने र ३१ मेगावाट विद्युत उत्पादन गर्न मिल्ने दुई मुख्य फाइदा देखाएका छन् ।
आज सिन्धुलीको कुसुमटारमा आयोजनाकाे शिलान्यास गर्दै ओलीले भने, ‘यो महत्वपूर्ण आयोजना हो, यसले जमिनमुनि दबिएको पानीको सतहमा आउने पानीले माटो मलिलो बनाउँछ । पर्यावरणलाई समेत सन्तुलित बनाउँछ ।’
‘यो आयोजनाले तराई र पहाडलाई जोड्नुका साथै एउटा ठूलो कुराको जवाफ दिन्छ । केपी ओलीलाई मधेशविरोधी भनेर तराईमा पस्न नदिने भन्थे । तर, केपी ओलीलाई मधेशमा पस्न नदिए पनि तराई मधेशमा पानी पठाइन्छ । मुख्य मन्त्रीज्यूलाई म भन्न चाहन्छु मलाई तराई मधेशमा पस्न नदिएर केही भएन पानी चाहिं पस्न दिनुहोला । तराईमा त्यस्ता जनता छैनन्, मलाई केही छैन अर्को कमला सुनकोशी डाइभर्सनबाट थप १ लाख ७० हजार हेक्टर क्षेत्रफलमा सिंचाइ पुगेपछि तराईवासीहरूले आफैं गेट बनाउनेछन्’, ओलीले भने ।
उनले भने, ‘हाम्रो यो देशको पानी देशभरि नै पुर्याउनुपर्छ ।’ हावाको उदाहरण दिंदै उनले भने, ‘हावालाई छेक्न मिल्दैन । तराई सबै हाम्रो, बारा, पर्सा , सर्लाही र रौतहट पनि हाम्रै हो उनको भनाइ थियो ।’
आयोजना निर्माणमा एक मिनेट पनि ढिला नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
-

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन यस्ता छन् संवैधानिक जटिलता
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने कदममा सर्वोच्च अदालतले ‘ब्रेक’ लगाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विपक्षीहरूको बुझाइ थियो । सर्वोच्चको आदेशलगत्तै ओलीको विरुद्धमा उभिएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले त तत्काल राजीनामा दिन माग नै गरेका थिए । तर प्रधानमन्त्री ओलीले राजीनामा नदिने मात्रै होइन सबै परिस्थितिको डटेर सामना गर्ने बताउँदै आएका छन् ।
‘प्रधानमन्त्रीबाट राजीनामा नदिने बरु संसद फेस गर्ने’ बताएका प्रधानमन्त्री ओली विपक्षीभन्दा राजनीतिक रूपमा निश्चिन्त देखिन्छन् । प्रधानमन्त्रीको यस्तो ‘कन्फिडेन्ट’ पछाडिको कारण के होला ?
नेकपा संसदीय दलमा बहुमत पुर्याउने प्रधानमन्त्रीको प्रयास जारी नै छ । तर आफूविरुद्धका सबै परिस्थितिको सामना गर्ने ‘कन्फिडेन्ट’ का पछाडि संवैधानिक प्रावधानहरू नै मुख्य सहयोगी रहेको बुझ्न कठिन छैन ।
पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्री ओलीले ‘संसदीय मूल्यमान्यता र हाम्रो आफ्नै अनुभव’ लाई आधार मानेका थिए । तर नेपालकै संसदीय अभ्यासमा संसद विघटन सिफारिश गर्ने प्रधानमन्त्रीले सँगै राजीनामा बुझाउने प्रचलन ओलीले मानेनन् । बरु मनमोहन अधिकारीको उदाहरण दिए ।
प्रतिनिधिसभा विघटनको सिफारिससँगै राजीनामा नबुझाउने प्रधानमन्त्री ओलीको निर्णय सुझबुझपूर्ण थियो भन्ने अहिले प्रमाणित हुँदै गएको छ । किनकि राजीनामा दिंदा बाहेक सरल ढंगले सत्ता छाड्नुपर्ने अवस्था बनिसकेको छैन ।
प्रधानमन्त्री पदमुक्त हुने संवैधानिक बाटो
नेपालको संविधानको धारा ७७ मा प्रधानमन्त्री पदमुक्त हुने सम्बन्धी प्रावधान रहेका छन् । धारा ७७ अनुसार राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, प्रतिनिधिसभाको सदस्य नरहेमा वा मृत्यु भएमा प्रधानमन्त्री पद रिक्त रहनेछ ।
त्यस्तै धारा १०० बमोजिमको विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री पद रिक्त रहनेछ । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न चाहेको छ । संवैधानिक दृष्टिले त्यसका लागि संविधानको धारा १०० को भर पर्नुपर्ने हुन्छ ।
धारा १०० मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था छ । सो धाराको व्यवस्था अनुसार प्रधानमन्त्रीले आफूलाई उपयुक्त लागेको समयमा संसदमा विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव राख्न सक्नेछन् ।
त्यस्तै प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएको वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित नभएमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था धारा १०० को दफा ३ मा उल्लेख छ ।
दफा ४ मा प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्नसक्ने उल्लेख छ । त्यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भएमा प्रधानमन्त्री पदमुक्त हुनेछन् ।
ओली हटाउन किन अप्ठ्यारो ?
प्रतिनिधिसभा विघटन घोषणा भएकै दिन नेकपा प्रचण्ड-माधव पक्षले प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ओलीलाई पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव ल्याएर दलको नेताबाट हटाउने विकल्प छाडेर प्रचण्ड-माधव पक्षले रोजेको यो बाटो अहिले उनीहरूकै लागि ‘गलपासो’ बनेको छ ।
किनकि संसदको रेकर्डमा प्रधानमन्त्री ओली अझै नेकपा संसदीय दलको नेता रहेका छन् । संसदीय दलको नेताकै हैसियतमा ओलीले फागुन १४ गते नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।
प्रचण्ड-माधव पक्षले गत पुस ८ गते संसदीय दलको बैठकबाट संसदीय दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई दलको नेता बनाइएको घोषणा गरेको थियो । यद्यपि संसदको रेकर्डमा प्रधानमन्त्री ओली नै हालसम्म नेकपा संसदीय दलको नेता छन् ।
प्रतिनिधिसभामा संसदीय दलको नेताका रूपमा ओलीले ह्वीप जारी गर्न सक्छन् । ह्वीप उल्लंघन गर्ने सांसदलाई निलम्बन गर्न पनि सक्छन् । यस्तो अवस्थामा संसदीय दलको नेताबाट ओलीलाई हटाएको वैधानिकता पुष्टि नगरेसम्म संसदमा अविश्वास प्रस्ताव अगाडि बढाउन प्रचण्ड-माधव पक्षलाई समस्या पर्ने देखिन्छ ।
वरिष्ठ अधिवक्ता सुनील पोखरेलका अुनसार संसदीय दलको नेताबाट ओलीलाई हटायौं भनेर पुग्दैन । संसदको रेकर्डमा ओली नेकपा संसदीय दलको नेता नरहेको प्रमाणित गरेपछि मात्रै ह्वीप वा निलम्बनको समस्या टर्छ । संवैधानिक दृष्टिले पहिले ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाएर मात्रै अश्विास प्रस्तावको चरणमा पुग्नुपर्ने हुन्छ ।
पोखरेलका अनुसार संसदीय दलको नेता नरहे पनि ओली प्रधानमन्त्रीबाट पदमुक्त हुँदैनन् । ‘प्रधानमन्त्री बन्न दलको नेता हुनुपर्नेछ तर प्रधानमन्त्री भइसकेको व्यक्ति दलको नेता नरहे पदमुक्त हुने व्यवस्था संविधानमा छैन । त्यसैले ओलीलाई पदमुक्त गर्न चाहनेले पहिले संसदीय दलमै बहुमत पुर्याउनु संवैधानिक दृष्टिले सहज देखिन्छ’, पोखरेलले नेपाल प्रेससँग भने ।
नेकपा संसदीय दलमा दुवै पक्षले बहुमत रहेको दाबी गर्दै आएका छन् ।
प्रधानमन्त्री हटाउन अप्ठ्यारो छैन- श्रेष्ठ
अर्का वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ भने प्रधानमन्त्रीलाई पदमुक्त गराउन संवैधानिक जटिलता नरहेको बताउँछन् । संसदबाट अविश्वासको प्रस्तावका पक्षमा बहुमत जुटाउने बाहेक कुनै जटिलता नरहेको श्रेष्ठको भनाइ छ ।
‘धारा १०० अनुसार अविश्वास प्रस्तावको पक्षमा बहुमत जुटाउनुपर्यो । त्यस्तो बहुमत नेकपा वा कांग्रेसले पार्टीगत रूपमा जुटाउने होइन संसदले जुटाउने हो । प्रतिनिधिसभाका सदस्यहरूले जुटाउने हो’, श्रेष्ठले नेपाल प्रेससँग भने ।
प्रधानमन्त्रीलाई पदमुक्त गराउन गाह्रो छ भन्नु गलत हुने भन्दै श्रेष्ठले संविधानले सबै कुराको विकल्प दिएको बताए । अविश्वास प्रस्ताव यो वा त्यो पार्टीको नहुने भन्दै श्रेष्ठले २५ प्रतिशत सांसदहरूले ल्याउन सक्ने प्रस्ताव भएकोले संविधानले प्रधानमन्त्री हटाउनेबारे स्पष्ट व्यवस्था गरेको बताए ।
‘संविधानमा व्यवस्था स्पष्ट छ तर कुन व्यवस्था प्रयोग गर्ने भन्ने राजनीतिक दल वा नेताको छनोटको विषय हो’, श्रेष्ठले भने ।
नेपाल बार एशोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले अझ फरक ढंगले बहस अघि बढाएका छन् । उनका अनुसार यदि प्रचण्ड–माधव पक्षले पुस ५ मा दर्ता गराएको अविश्वास प्रस्ताव फिर्ता लियो भने अब एक वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनै पाइँदैन ।
संसद सचिवालयमा दर्ता भइसकेको प्रस्ताव प्रचण्ड-माधव पक्षले फिर्ता लियौं भन्दैमा फिर्ता नहुने र त्यो संसदीय प्रक्रियामा जाने जिकिर पोखरेलको छ । संसदको पूर्ण बैठकमा सभामुखले पेश गरेपछि मात्र फिर्ता लिने वा मतदानमा जाने विकल्प आउने पोखरेलको दाबी छ ।
पोखरेलले भने, ‘प्रतिनिधिसभा विघटनपछि दर्ता भएको भनिए पनि सचिवालयमा दर्ता भइसकेको प्रस्ताव रितपूर्वक फुल हाउसमै गएर फिर्ता लिनुपर्छ । प्रस्तावकले फिर्ता लिए भने अहिलेको संविधान बमोजिम एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन । त्यसैले यो प्रक्रिया अझ जटिल बन्दै जानेछ ।’
नेकपाको कानूनी विभाजन चाँडो टुंगो लगाउने वा ओलीलाई संसदीय दलको नेताबाट प्रक्रियासम्मत ढंगले हटाउने बाहेक अन्य विकल्पमा जाँदा प्रचण्ड-माधव पक्षलाई जोखिम हुने तर्क संविधानविद्हरूको छ ।
-

ओलीको चेतावनी- केन्द्रीय कमिटी मैले बनाएको हुँ, आवश्यक परे औंला चलाउन सक्छु
पोखरा । प्रधानमन्त्री एवम् ओलीपक्षीय नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला त्यसमाथि पनि औंला चलाउन सक्ने टिप्पणी गरेका छन्।
जुन हातले नाम लिएको हो त्यसले काट्न पनि सक्ने भन्दै उनले भने, ‘देवप्रसाद गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हुँ, मैले हटाएँ । उहाँहरुले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हुँ । जरुरी परेका बेला… अहिलेसम्म औंला चलाएको छैन् है । उहाँहरूको पद केही पनि चलाइदिएको छैन ।’
सोमबार गण्डकी प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दे ओलीले पार्टी एकीकरणका लागि आफूले अल्पमत र बहुमत केही पनि नहेरेको बताए । ‘मैलै पार्टी एकता गर्दा बहुमत हेरिनँ,’ ओलीको भनाइ छ,‘ किनभने म अध्यक्ष थिएँ । पार्टी एकताका लागि केही हेरिनँ । एकीकरण सकिनेबित्तिकै उहाँहरूले आफ्नो धन्दा शुरू गर्नुभयो । पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने ।’
आफ्नो अपमान गर्न आफूमाथि झुटा लान्छाना लगाइएको उनले दाबी गरे। ओलीले भने, ‘मेरो अपमान कसरी गर्न सकिन्छ । झुटा लाञ्छना कसरी लगाउन सकिन्छ । झुटा लान्छनाको प्रचार किन ? यो मसँग मात्रै सम्बन्धित छैन् । यो पार्टी र आन्दोलनसँग सम्बन्धित छ ।
देशी विदेशी शक्तिले हमला गरिरहे पनि पार्टी कार्यकतामा कुनै अलमल नभएको भन्दै उनले धन्यावाद दिए। उनी भन्छन्,‘यत्रो हमला भइरहेको छ, देशी विदेशी सक्ति लागिरहेका छन् । तर, पनि पार्टी कार्यकर्तामा अलमल, दुविधा छैन । यो ठीक ढंगले अगाडि बढीरहेको छ, बढ्छ ।’
-

पोखरामा प्रधानमन्त्रीको ‘सेड्युल’– कार्यकर्ता भेला सम्बोधनदेखि रंगशाला निरीक्षणसम्म
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदैछन् । व्यस्त कार्यतालिकामा पोखरा आउन लागेका ओलीले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधनसहित, प्रदेश प्रशिक्षण प्रतिस्ठानको शिलान्यास र पोखरा रंगशालाको निरीक्षण गर्नेछन् ।
प्रधानमन्त्री ओली ११ बजे पोखरा आइपुग्ने र लगत्तै गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने कार्यक्रम छ । पोखरा–१ नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठान शिलान्यासपछि उनले कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । कार्यकर्ता भेला पोखरा सभागृहमा हुने तय छ ।
‘शिलान्यास कार्यक्रमपछि सिधैं प्रधानमन्त्री ज्यु सभागृहमा आउनुहुनेछ । त्यहाँ उहाँले सभागृह १ बजे कार्यकर्ता सम्बोधन गर्नुहुनेछ,’ नेकपा कास्कीका अध्यक्ष तथा प्रदेश सांसद कृष्ण थापाले भने, ‘कार्यक्रमका लागि हाम्रो तयारी पूरा भइसकेको छ ।’
कार्यकर्ता सम्बोधनपछि प्रधानमन्त्रीले पुनर्निमाण अन्तिम चरणमा पुगेको पोखरा रंगशाला निरीक्षण गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का गण्डकी प्रदेश सदस्य सचिव केशव सिलवालले जानकारी दिए । ‘त्यहाँ प्रधानमन्त्री ज्युले रंगशालामा भइरहेको पूर्वाधार निर्माण र नवौं राष्ट्रिय खेलकुदको तयारीबारे जानकारी लिनुहुनेछ,’ उनले भने । उनी २ बजे रंगशाला निरीक्षण गर्नेछन् ।
प्रधानमन्त्री ओलीले पोखरा रंगशाला जाने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था र तयारीबारे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओ थानेश्वर गौतम लगायतले निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि पोखरा रंगशाला तयार भइसकेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले ‘बिफ्रिङ’ गरे । उनले भने, ‘पोखरा रंगशालामा सरसफाई सहित स्वागतद्धार निर्माण लगायतका काम सम्पन्न भइसकेको छ ।’
पोखरा रंगशालामा खेलाडीहरुले आ–आफ्नो खेल पोशाकसहित प्रधानमन्त्रीको स्वागत गर्नेछन् ।
-

‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दै केहीका मनमा छटपटी हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको लहर आएको र त्यो देखेर केही मान्छे जलेको टिप्पणी गरेका छन्।
आइतबार गृहजिल्ला झापामा ‘नेपाल-चीन औद्योगिक पार्क’ को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दा पनि केहीका मनमा छटपटी हुने दाबी गरे।
‘केही मान्छे यो विकास देखेर जलेका छन्,’ ओलीको भनाइ छ, ‘विकासको लहर आएर जलेका छन् । देशमा समृद्धि आएकोमा जलेका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’ सुन्दै उनका मनमा छटपटी हुन्छ।’
ओलीले आफूले भोट माग्दा गरेका केही वाचा सम्झिए र ती पूरा गरेको पनि दाबी गरे। आफूले गरेका वाचा सम्झदै उनले भने, ‘तपाईंहरूसँग उहिले भोट माग्दा भनेको थिएँ- तपाईंहरूले भोट दिनुहोस्। म तपाईंहरूलाई किन भोट दिएछु भनेर आत्मग्लानी हुन दिने छैन । तपाईंहरूको अनुहार मलिन हुन दिने छैन । तपाईंहरूको शिर ठडाउने छु, तपाईंहरूको शिर निहुरिन दिने छैन ।’
आफ्नो वाचा पूरा गरेको भन्दै ओलीले भने, ‘आज त्यो प्रमाणित भएको छ । पुष्टि भएको छ ।’
-

देशकै ठूलो औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री गृहजिल्ला जाँदै
काठमाडौं । नेपालकै ठूलो औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन् ।
दमक,कमल र गौरादह तीनवटा नगरपालिकाको संगमस्थल झर्कामा निर्माण हुने नेपाल चीन मैत्री औद्योगिक पार्क सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्रमध्येको सबैभन्दा ठूलो हो । यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्छ ।
रोजगारी, लगानी र क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएकाले सो पार्क मुलुकको नमुना हुने बताइएको छ । सो पार्कले झापामा मात्रै नभएर देशमै औद्योगिक क्रान्तिको सुरूआत गर्ने दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले बताइन् ।
१ हजार ३ सय बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर नेपाल सरकारले पार्क बनाउन लागेको हो । पार्कमा ६५ अर्ब चिनियाँ लगानी भित्र्याउन सरकारले स्वीकृति प्रदान गरिसकेको र शिलान्यास भएको दुई वर्षभित्र संरचना बनिसक्ने बताइएको छ ।
-

प्रधानमन्त्री ओली १७ गते पोखरा आउँदै
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा आउने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा आउने प्रदेश सांसद राजीव पहारीले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि आउने कार्यक्रम तय थियो । तर, उक्त सम्बोधन अहिले स्थगित गरिएको छ । ‘त्यो विशेष परिस्थितिका कारण कार्यक्रम स्थगित गर्यौं । तर, १७ गते उहाँ आउनुहुन्छ,’ सांसद पहारीले भने, ‘कार्यक्रमको स्वरुप र समयमात्रै परिवर्तन भएको हो ।’
कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेताहरू पनि उपस्थित हुने बताइएको छ ।
फागुन १५ गते हुने भनिएको जनसभालाई सफल पार्न युवा संघका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीको संयोजकत्वमा २२ हजार २२२ जनाको स्वयंसेवक समिति गठन गरिएको थियो ।
-

ओलीपक्षीय नेकपा स्थायी समिति बैठक आज पनि बस्दै
काठमाडौं । विभाजित नेकपाको ओली समूहको स्थायी समिति बैठक आज पनि बस्दैछ । सर्वोच्च अदालतको फैसलापछि फेरिएको राजनीतिक परिदृश्यमा आफ्नो समूहको एकमत बनाउन ओली समूह गृहकार्यमा छ ।
हिजो भएको बैठकमा प्रधानमन्त्रीले सर्वोच्चको फैसaलाअनुसार प्रतिनिधिसभा अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी दिएका थिए ।
-

ओलीको निश्चिन्त शैली : सरकार छ, सरकार रहन्छ !
काठमाडौं । संसद विघटनपछि आज पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा प्रस्तुत भए । सर्वोच्च अदालतले दिएको राजनीतिक झट्कापछि ओलीको भाषण, प्रस्तुति र हाउभाउ कस्तो होला भन्ने जिज्ञासा धेरैलाई थियो ।
कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रमका सहभागीले प्रधानमन्त्रीको लामो प्रतीक्षा गर्नुपर्यो । आफ्नै परम्परागत शैलीअनुसार उनी निर्धारित समयभन्दा करिब दुई घन्टा ढिला आए । अनि ओलीको भाषण र हाउभाउ पनि हिजोअस्तिभन्दा फरक थिए । उनी निश्चिन्त देखिए । सरकारबाट हट्न लागेको कुनै संकेत गरेनन् । बरु देश निर्माणका ठूला योजनाहरु सुनाए । नियमित ख्यालठट्टा त छँदैछ ।
जुन विधाको कार्यक्रम छ, त्यही विधामा केन्द्रित रहेर लामो तर रोचक प्रवचन दिने ओलीको शैली हो । त्यो उनले आज पनि कायम राखे । उनले कृषि क्षेत्रका विभिन्न आयामहरुको रसिलो चर्चा गरे । मोटा र मसिना चामलको फरक छुट्याउनेदेखि नेपालको प्रगतिबाट विश्व चकित परेको गफ दिए ।
‘मसिना चामल धोका हो । तपाइँले कुनै धान एक इन्च लामो देख्नुभएको छ ?’ ओलीले प्रश्न गरे, ‘सबै प्रविधिले हो । मोटो चामललाई नै प्रविधिले लामा बनाइदिन्छ । अनि त्यसको भातलाई हामी भुजा भनेर खान्छौं ।’ उनले मसिना चामल उपभोग नगर्न सल्लाह दिए ।
ओलीले नेपाल प्रगति पथमा लम्किरहेको विभिन्न दृष्टान्तहरुसहित दावी गरे । हिजो वर्षका ५–६ किलोमिटर सडक कालोपत्रे हुन थालेकोमा अहिले दिनमै हुन थालेको उनको भनाइ थियो ।
‘भन्यो भने मान्छेहरु आत्तिन्छन्, तर विश्व चकित छ’ ओलीले आफ्नो ब्रान्डेड डाइलग दोहोर्याए ।
उनले थपे, ‘आर्थिक विकासको क्षेत्रमा नेपाल राइजिङ स्टार हो । यो मेरो भनाइ होइन विश्व बैंकको हो । विश्व बैंकले हामीलाई यत्तिकै राइजिङ स्टार भनेको होइन । भर्खरै हामीले यूएसएडको भर्सन सुन्यौं । कति मुक्तकण्ठले प्रशंसा गरेको छ । साउथ एसियामा पहिलो देश भनेर खुशी व्यक्त गरेको छ ।’
अर्को वर्षबाट नेपालले दोहोरो अंकको वृद्धिदर हासिल गर्ने ठोकुवा उनले गरे । सबै क्षेत्रमा विकासको लहर चलेको भन्दै ओलीले अब नेपालमा सिंगल लेनका होइन डबल लेनका बाटो मात्रै बन्ने बताए ।
‘उद्घाटन भइरहेका छन्, शिलान्यास भइरहेका छन् । निर्माण सम्पन्न भइरहेका छन् । अनि, यस्तोमा पनि एकथरी मान्छे केही भएन भनेर कराएका छन् । मान्छेहरुको मनोवृत्ति देख्दा अचम्म लाग्छ,’ उनले भने ।
आफूले शिलान्यास गरेको पुलमा राखिएको शिलालेखमा तोडफोड भएकोमा उनले चित्त दुखाए ।
‘त्यसमा मेरो नाम लेखिएको रहेछ, त्यसैले तोडफोड गरेछन् बहादुरहरुले । धन्न पुलमा चैं केही गरेनछन्, त्यसका लागि धन्यवाद छैन । शिलालेखको केही मतलब छैन । मलाई आफ्ना नाम पुस्तौं पुस्तासम्मले चिन्छन् भन्न भ्रम छैन’ ओलीले भने ।
गैर राजनीतिक विषयहरुमा प्रधानमन्त्रीको भाषण लम्बिँदै जाँदा सहभागीहरु छट्पटाउन थालेका थिए । तर, ओलीले उनीहरुलाई निराश बनाएनन् । कार्यक्रमको अन्त्यतिर उनले बल्ल राजनीतिक विषयमा प्रवेश गरे, अलि गम्भीर ढंगले ।
‘अघि पद्माजी (मन्त्री पद्मा अर्याल) ले कस्तो–कस्तो कुरा गर्नुभो । हुन त सही हो मान्छे सधैंभरि मन्त्री पदमा रहँदैन । रहुञ्जेल राम्रो काम गर्ने हो । म प्रधानमन्त्रीमा रहुञ्जेल राम्रो काम गर्छु । तर हिजोको अदालतको फैसलाले प्रभाव त पार्या होइन ? यो सामान्य कुरा हो ।’
‘त्यसमा केही… मेरा केही भाइहरुले लड्डु ख्वाइख्वाइ गर्या रे । लड्डु ख्वाएछन् खुशी भएर । जित्यौं हामीले भनेर । के जिते मलाई थाहा छैन । के पाउँछन् त्यो चाहिं मैले हेर्नुछ । मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ । राजीनामा देउ राजीनामा देउ भनेर । खैर यतापट्टि चिन्ता गर्नु पर्दैन ।’
‘कोही मान्छे हार्ट अट्याक भएर मर्छ, कोही ब्रेन ह्यामरेज भएर मर्छ, कोही प्लेन एक्सिडेन्टमा मर्छ । जिन्दगीको ठेगान छैन । बाचुञ्जेल राम्रो गर्ने हो । मरेपछि न मान्छे बेइमान, न इमान्दार हुनसक्छ । बाचुञ्जेल इमान्दार हुने हो गतिशील हुने हो । जिम्मेवारी निभाउने हो ।’
ओलीले त्यसपछि प्रश्न गरे, ‘अहिलेसम्मको मेरो कुराबाट मलाई केही फरक पाउनुभो ? मेरो देश विकासको आकांक्षा, संकल्पमा केही अन्तर भेट्नुभो ? फरक हुनुपर्ने आवश्यकतै छैन । स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराहरुले धेरै असर गर्छ । (संस्कृतको स्लोक भन्दै) शास्त्रले भन्छः अप्ठेरो परिस्थिति होस, सुख होस, दुख होस, सम्पत्ति होस, नहोस, एक समान हुनुपर्छ । जस्तो कि उदाउने खुशियालीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनुपर्दाको दुखमा पनि रातै भएर मुस्कुराएर अस्ताउँछ । हामी जन्मिँदा शायद सांसारिक दुखमा आइयो भनेर हो कि क्या हो, हरेक बालक रुन्छ । मर्दा कोही रुँदैन ।’
अन्त्यमा ओलीले आफूले तत्काल सरकार नछोड्ने कुरा घुमाउरो ढंगबाट गरे ।
‘हामी दृढताका साथ देश बनाइछोड्ने संकल्पमा अगाडि बढ्छौं । यो देश समृद्ध बनाइछोड्छौं । जनतालाई सुखी बनाइछाड्छौं । कृषि क्षेत्रमा उलटफेर ल्याउँछौं । हामी हाम्रो कर्तव्यमा जुट्छौं र देश बनाउँछौं । यो संकल्पमा निरन्तर अगाडि बढ्छौ । अहिले धेरै कुरा भनेर मान्छे तर्साउनु पनि ठीक छैन । सरकार छ, सरकार रहन्छ । विकासको क्रम अगाडि बढ्छ । निश्चिन्त निस्फिक्री अगाडि बढ्नुस् ।’
-

फैसला आउँदा बच्चाहरुसँग यसरी रमाइरहेका थिए ओली (तस्बिरहरु)
काठमाडौं । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन निर्णय बदर हुने गरी मंगलबार सर्वोच्च अदालतले फैसला सुनायो । संयोगले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन पनि थियो । फैसलाले उनको जन्मदिन नै खल्लो बनाइदियो ।
सर्वोच्चको फैसला आउँदाका बखत ओली बालबच्चाहरुसँग रमाइरहेका थिए । उनी आफ्नो जन्मदिन मनाउन त्यहाँ गएका थिए ।

फैसला यस्तो आउँछ भन्ने पूर्वसंकेत उनलाई पहिल्यै थियो । तर उनको चेहरा अघिपछिको भन्दा फरक थिएन । प्रधानमन्त्रीले बालबालिकाहरुसँग कसरी जन्मदिन मनाएका थिए, हेर्नुस् तस्बिरमा



-

प्रधानमन्त्रीको मूड- राजीनामा होइन संसदको सामना
काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले उल्टाएपछि विपक्षीहरूले उनको राजीनामा मागेका छन् । तर, प्रधानमन्त्री केपी ओली भने राजीनामा नदिई संसद फेस गर्ने मनस्थितिमा देखिएका छन् ।
आफूले चालेको कदम अदालतले बदर गरेपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने नेकपाको इतर पक्षले आवाज उठाइरहेको छ । यस विषयमा प्रधानमन्त्रीको औपचारिक धारणा आइसकेको छैन । तर, उनी निकट नेताहरुबाट चाहिं ओलीको राजीनामा तत्काल नआउने स्पष्ट संकेत आएको छ ।
हिजो सर्वोच्चको फैसला आउँदा बालुवाटारमा प्रधानमन्त्रीको जन्मोत्सव चलिरहेको थियो । पार्टीका प्रमुख नेता तथा मन्त्रीहरु त्यहाँ जम्मा भएका थिए । सो जमघटपछि नेताहरुबीच भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले राजीनामाभन्दा संसद फेस गर्ने मनसाय व्यक्त गरेको स्रोतको भनाइ छ ।
हिजै राति प्रधानमन्त्री निकटस्थहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीको राजीनामा नआउने संकेत दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रष्ट शब्दमा प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गर्ने र तत्काल राजीनामा नदिने बताएका छन् ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन, उनले फेसबुकमा लेखेका छन् ।
नेपाल प्रेससँग थप कुरा गर्दै थापाले भने, प्रधानमन्त्रीले अहिले राजीनामा गर्नुपर्ने कुनै कारण छैन । मनमोहन अधिकारीले हेलिकोप्टरबाट खसेर अस्पताल भर्ना हुँदाका बखत पनि बेडबाटै अविश्वास प्रस्ताव ‘फेस’ गर्नुभएको हो । ओलीले पनि ‘फेस’ गर्नुहुन्छ ।
ओली सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने फैसलाप्रति असन्तुष्टिको भाव व्यक्त गरेका छन् । उनी लेख्छन्, ‘सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ । सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।’
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि त्यस्तै आशयको ट्वीट गरेका छन् । उनले भनेका छन्, ‘प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ । यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।’
ओली निकट नेता एवम् पूर्वसभामुख सुवास नेम्वाङ प्रधानमन्त्रीले राजीनामा विषयमा केही नभनेको बताउँछन् । उनले नेपाल प्रेससँग भने, ‘अहिले त्यसबारेमा केही भन्नुभएको छैन । उहाँले सर्वोच्च अदालतको निर्णयलाई मानेर अगाडि बढ्ने भन्नुभएको छ ।’
प्रधानमन्त्रीलाई अझै ‘नयाँ गोल हान्ने चान्स’ भएको भन्ने ओली निकट नेता महेश बस्नेतको भनाइले पनि प्रधानमन्त्रीको राजीनामा नआउने संकेत गर्छ । उनले नेकपा कम्युनिष्ट पार्टीका विभाजित समूहहरु फेरि एक हुनुपर्ने भाव व्यक्त गरेका छन् ।
बस्नेतले लेखेका छन्, ‘एक गोल पोलमा लागेर फर्केको छ, नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ । मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्नुहोस्। विभाजनकारीहरुलाई एकताको प्रक्रियामा फर्काउनुस् । पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिंडाउनुहोस् । राजनीतिलाई विकृति र विसंगति मुक्त बनाउनुहोस् । हामी सबैको सशक्त र दह्रो समर्थन तपाईंलाई रहनेछ ।’
निकटवर्तीहरूले राजीनामा नदिने संकेत गरे पनि यसबारे ओली पक्षभित्र ठोस धारणा भने ११ बजे बस्ने स्थायी कमिटी बैठकपछि बन्नेछ। ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो । नेकपामा साविकका ४४ स्थायी सदस्यमध्ये १६ जना ओली पक्षमा छन्
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् । यहीबाट उनले चाल्ने भावी कदमबारे ठोस निर्णय हुनेछ।
-

नेम्वाङको प्रतिक्रिया- कानूनी शासन मान्ने शक्ति हौं, अदालतको फैसलाअनुसार अघि बढ्छौं
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर नगरिदिएको भए पनि आफूहरूले फैसलालाई मानेर अघि बढ्ने प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नेकपाका नेता सुवास नेम्वाङले बताएका छन् ।
आफूहरु कानूनी शासन मान्ने शक्ति भएको र फैसलालाई शिरोधार्य गरेरै अगाडि बढ्ने नेम्वाङको प्रतिक्रिया छ। नेपाल प्रेससँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘हामी कानूनी शासन मान्ने शक्ति हौं। स्वतन्त्र न्यायपालिकालाई संविधानको व्याख्याता मानेको छ । अब उसले गरेको फैसला नै सर्वाेपरि रहन्छ ।’
अदालतको फैसला कस्तो लाग्यो त ? भन्ने प्रश्नमा पूर्व सभामुख एवम् नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने, ‘अब उसले गरेको फैसलाले राजनीतिक रूपमा रहेका कतिपय समस्याहरूलाई सुल्झाउन सकेको छैन होला । त्यो कोणबाट प्रश्नहरू उठेको देखिन्छ । तर, मूल रूपमा संविधानको व्याख्याता भनेको सर्वोच्च अदालत नै हो ।’
आफ्नो कदमको अनुमोदन नभएपछि प्रधानमन्त्रीले नैतिकतका आधारमा अब राजीनामा दिन्छन् या संसदको सामना गर्छन् भन्नेबारे प्रष्ट भइनसकेको नेम्वाङले बताए। उनले भने, ‘उहाँले अहिले त्यसबारेमा केही भन्नुभएको छैन ।’
मंगलबार बेलुका प्रधानमन्त्रीका संचार सल्लाहकार सूर्य थापाले सामाजिक संजालमार्फत प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका थिए ।
् -

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने
काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक संकटमा छन् ।
पछिल्ला राजनीतिक घटनाक्रमले उनलाई कि राजीनामा दिने या संसदको सामना गर्ने दुई विकल्प अगाडि सारिदिएको छ । प्रधानमन्त्रीका सन्चार सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने प्रष्ट पारेका छन् ।
मंगलबार साँझ सामाजिक सन्जालमार्फत सल्लाहकार थापाले सर्वोच्च अदालतको फैसला विवादास्पद रहेको तर स्वीकार गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर फैसला कार्यान्वयन गर्ने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुस्प्रभावहरु भविश्यमा देखिंदै जानेछन् । यसबाट राजनीतिक समस्याहरुको कुनै हल हुने अवस्था पनि छैन । बरु अस्थिरता अझै बढ्नेछ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’
-

प्रधानमन्त्री ओलीले बोलाए नेकपा स्थायी समिति बैठक
काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् ।
ओली पक्षमा साविकको नेकपाका ४४ मध्ये १६ जना स्थायी समिति सदस्यहरु छन् ।
-

ओलीले भने- प्रचण्ड र माधव हल बाँधेर मैकहाँ आइपुग्न बेर छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सम्भावित फैसला राजनीतिक अस्थिरतालाई मलजल गर्ने गरी नआउने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफू जस्तोसुकै परिस्थिति सामना गरेर आएको व्यक्ति भन्दै जे फैसला आए पनि डटेर अघि बढ्ने बताए ।
ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने भन्दै कथम् कदाचित भएछ भने पनि प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना एक प्रतिशत पनि नरहेको बताए । पार्टी फुटाएर बहुमतको सरकार ढाल्ने र अरुलाई प्रधानमन्त्री बनिदेऊ भन्दै हल बाँधेर हिंड्ने अवस्थामा प्रचण्ड-माधव पुगेको ओलीको टिप्पणी छ ।
प्रधानमन्त्रीले भने, ‘काल्पनिक रूपमै भने पनि लौ प्रतिनिधिसभा पुनःस्थापना भएछ रे, त्यसपछि विचरा प्रचण्ड, माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिंड्नुहुन्छ । प्रधानमन्त्री भइदिनुस् भन्दै कहिले उत्तर, कहिले दक्षिणतिर जानुहुन्छ । खोजेर हिंड्दा हिंड्दै मैकहाँ आइपुग्न बेर छैन ।’
ओलीले देशलाई अस्थिरतातर्फ लैजाने फैसला अदालतले गर्छ भन्ने आफूलाई विश्वास नरहेको बताए । उनले सूर्य चिन्ह आफूले २०४७ सालमा निर्वाचन आयोगमा दर्ता गराएको भन्दै प्रचण्ड फर्केर पेरिसडाँडा गइसकेकाले चिन्ह कसले पाउँछ भन्ने विवाद नै नरहेको बताए ।
-

रोचक संयोग : प्रधानमन्त्री र विद्रोही नेताको जन्मदिन उही
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७० औं जन्मदिन मनाउँदैछन् । रोचक संयोग के भने भूमिगत आन्दोलनमा रहेका नेकपा विप्लव समूहका अध्यक्ष नेत्रविक्रम चन्दको जन्मदिन पनि आजै हो । दुई कम्युनिष्ट नेताको उमेरमा भने धेरै अन्तराल छ ।
ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मेका हुन् भने चन्दको जन्म २०२४ साल फागुन ११ गते रोल्पामा भएको हो । यसरी चन्दभन्दा ओली १६ वर्षले जेठा छन् । उमेरमात्र नभएर ओली र चन्दमा वैचारिक र स्वभावजन्य अन्तरालहरू पनि यथेष्ट छन् ।
चन्द आजका दिनमा राज्यबाट प्रतिबन्धित समूहका नेता हुन् । विप्लव माओवादीले हिंसात्मक आन्दोलनमार्फत देशमा जनवाद स्थापना गर्ने लक्ष्य लिएको छ । केही हिंसात्मक गतिविधिहरू गरेपछि सरकारले २०७५ साल फागुनमा यो समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता समूहका नेताहरू भूमिगतरूपमा गतिविधि गर्दै आएका छन् । विप्लव पनि लामो समयदेखि भूमिगत छन् ।
ओली पनि विगतमा कट्टरपन्थी कम्युनिष्ट नै थिए । झापामा भएको सशस्त्र विद्रोहलाई उनले अगुवाइ गरेका हुन् । एक हिसाबले भन्दा आज जुन ठाउँमा विप्लव छन्, त्यो ठाउँमा करिब ५ दशक अगाडि ओली थिए । आज ओलीको छवि अर्कै छ । कम्युनिष्ट ट्याग नहटाइसकेको भए पनि उनी प्रजातान्त्रिक धारका नेताका रूपमा चिनिएका छन् । पूर्वीय दर्शन र अध्यात्मकतर्फ उनको झुकाव बढ्दो छ ।
अहिले विप्लव समूहप्रति सरकार केही लचक बनेको छ । विप्लवले केही दिनअघि एक विज्ञप्ति जारी गरी सरकारसँग वार्तामा बस्न तयार रहेको उल्लेख गरेका थिए सरकारले पनि विप्लव समूहमाथिको प्रतिवन्ध फुकुवा गर्ने मनस्थिति बनाइरहेको छ ।
को हुन् विप्लव ?
रोल्पाको केवरी भन्ने ठाउँमा चित्रबहादुर चन्द र खुसीमाया घर्तिका कान्छो सन्तानका रूपमा जन्मेका हुन् नेत्रविक्रम चन्द । माओवादी जनयुद्धमा सामेल भएपछि उनले भूमिगत नाम ‘विप्लव’ राखेका थिए र आजसम्म यही नामबाट चर्चित छन् ।
मध्यमवर्गीय परिवारमा जन्मिएका चन्दको बाल्यकाल रोल्पामै बितेको थियो । उनले रोल्पाको सदरमुकाम लिवाङस्थित बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्षको उमेरमा एसएलसी पास गरेका थिए । नेकपालका नेता कृष्णबहादुर महराका विद्यार्थी हुन् उनी ।
चन्दले २०३९ सालमा अखिल छैटौंबाट राजनीति शुरू गरेका थिए । त्यसको ४ वर्षमा उनी विद्यार्थीका रोल्पमा अध्यक्ष भए । त्यही वर्ष एसएलसी पास गरेका हुन् । एसएलसीपछि उनी काठमाडौं आएर कानून पढ्न नेपाल कानून क्याम्पस भर्ना भए ।
२०४८ सालमा स्नातक पढ्दै गर्दा उनी एकता केन्द्र मसालको सदस्य बनेर सक्रिय राजनीतिमा होमिए । २०४५ सालमा विप्लवको परिवार रोल्पाबाट कपिलवस्तु बसार्इ सर्यो । उनले कपिलवस्तुमा रहेको जग्गा पार्टीलाई बुझाएका थिए ।
माओवादीले जनयुद्ध सुरु गर्दा उनी विद्यार्थी संगठनका उपाध्यक्ष थिए । साथै, पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी पनि उनलेपाएका थिए । पछि उनलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्यूरो इन्चार्ज बनायो ।२०५५ साल भदौमा भएको माओवादीको चौंथो विस्तारित बैठकबाट केन्द्रीय सदस्य बनेका विप्लव २०५९ सालमा पोलिटब्यूरोमा उक्लिए । २०६१ सालमा रोल्पा, रुकुम आधार इलाकाको ब्यूरो इन्चार्ज भए । कालीकोटमा प्रहरीबाट थ्री नट थ्री राइफल खोसेपछि उनको चर्चा भएको थियो ।
माओवादीमा उनी अध्यक्ष प्रचण्डको विश्वासपत्र थिए । तर, माओवादी शान्तिप्रक्रियामा आएपछि कट्टरपन्थी विप्लव प्रचण्डसित टाढिए । शान्ति प्रक्रियामा माओवादीले हस्ताक्षरा गरेकोमा नै उनी सन्तुष्ट थिएनन् । २०६९ सालमा माआवादीबाट अलग्गिएर मोहन वैद्यले नयाँ पार्टी खोल्दा उनी त्यततिर लागे । पछि वैद्यसित पनि कुरा नमिलेपछि २०७१ मा उनले आफ्नै नेतृत्वमा पार्टी बनाएका हुन् । अहिले उनी नेपाल कम्युनिष्ट पार्टीको महासचिव छन् ।
शान्ति प्रक्रियापछि पनि कुनै लाभको पदमा नपुगेका थोरै नेतामध्ये उनी पर्छन् । २०७४ सालदेखि उनी सार्वजनिकरुपमा देखा परेका छैनन् । युवाहरुलाई सत्तापलटको सपना देखाएर हिंसात्मक गतिविधिमा लगाएका विप्लवका आफ्नै छोरा भने डाक्टर हुन् ।
यो पनि पढ्नुस् : ७० वर्ष लागे ओली, यस्तो छ जीवनको आरोह-अवरोह
-

७० वर्ष लागे ओली, यस्तो छ जीवनको आरोह-अवरोह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७०औं जन्मदिन मनाउँदैछन् । सामाजिक सञ्जालमा बिहानैदेखि उनलाई शुभकामनाको वर्षा भइरहेको छ ।
२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । आमालाई भने उनले सानै उमेरमा गुमाएका थिए ।
ओलीको परिवार २०२२ सालमा तेह्रथुमबाट झापामा बसाइँ सरेको थियो । झापा आएपछि ओली कम्युनिष्ट राजनीतिमा होमिए । २०२२ सालबाट राजनीतिमा सक्रिय उनले २०२६ सालमा कम्युनिष्ट पार्टीकाे सदस्यता लिएका हुन् ।
झापाको सुरुङ्गास्थित कन्काई नदी किनारमा बसोबास गर्ने ओलीको परिवारको आर्थिक अवस्था राम्रो थिएन । डेढ वर्षकै उमेरमा आमा गुमाएकाले उनको बाल्यकाल पनि कष्टप्रद बन्यो । उनी सानै छँदा कन्काईमा आएको बाढीले घरजग्गा सबै बगाएको थियो ।

६९ औं जन्मदिन मनाउँदै प्रधानमन्त्री । फाइल तस्बिर तेह्रथुम इवाकै प्रणाली माविमा ओलीले औपचारिक पढाइ सुरु गरेका थिए । पछि उनलाई झापा आन्दोलनका शहीद रामनाथ दाहालले आफ्नो घरमा राखेर पढाए । सानैदेखि चलाख र बोल्न तगडा ओलीबाट रामनाथ प्रभावित थिए । उनले नै ओलीलाई राजनीतिमा लाग्न प्रेरित गरेका हुन् ।
राजनीतिमा लागेपछि ओलीले पढाइलाई निरन्तरता दिन सकेनन् । यद्यपि अनौपचारिक अध्ययनलाई भने उनले जारी राखे । एसएलसी दिएपछि उनले गाउँकै प्राथमिक विद्यालयमा केही समय पढाएका थिए । तर, पछि त्यो पनि छोडे ।
१४ वर्षको जेलजीवन
राजनीतिमा ओलीको वास्तविक उदय भने झापा विद्रोहबाट भएको हो । त्यसबेला उनी वैचारिकरुपमा कट्टरपन्थी कम्युनिष्टका रुपमा चिनिन्थे । उनले २०२९ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी झापा आन्दोलन कमिटीको नेतृत्व गरेका थिए ।
पञ्चायतविरोधी आन्दोलनका क्रममा ओली लामो समय जेलमा बस्नुपर्यो । पहिलोपटक २०२७ साल फागुन १६ गते झापाबाट पक्राउ परेका उनी त्यसपछि बारम्बार पक्राउ पर्ने र छुट्ने सिलसिला चल्यो । २०३० असोज २३ गते पक्राउ परेपछि भने उनले लामो र कष्टपूर्ण जेलजीवन बिताउनुपरेको थियो । यस क्रममा उनलाई ‘जेलभित्रको पनि जेल’ भनिने गोलघरमा राखिएको थियो । त्यसबेला ओली मृत्युको मुखमा पुगेर बाँचेको उनका सहयात्रीहरु बताउने गर्छन् ।
केन्द्रीय कारागार, नख्खु जेलबाट २०३६ साल जेठमा ओली जेलमुक्त भए । तर, फेरि २०३७ सालमा गिरफ्तार भएका उनी २०४४ असार ११ मा भद्रगोल जेलबाट छुटेका थिए ।
राजनीतिका आरोह-अवरोह
नेपालमा कम्युनिष्ट आन्दोलनका अग्रणी नेताहरुमध्ये पर्छन् ओली । पार्टीको नेतृत्व सम्हाल्न भने उनले लामो समय प्रतीक्षा गर्नुपरेको थियो ।
२०२५ सालदेखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा उनी आवद्ध थिए । २०२६ सालमा तत्कालीन नेकपाको उपसचिव बनेका उनले २०२७ सालमा नेकपा र पूर्वकोशी प्रान्तीय कमिटीसँगकाे एकीकरण अभियानको अगुवाइ गरे । २०२९ सालमा उनी नेपाल कम्युनिष्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुख भए । २०३० सालदेखि लगातार जेल जीवन बिताएपछि ओलीले पार्टीका सिंढी उक्लिन सकेनन् । जेलबाट छुटेपछि एकैपटक २०४४ सालमा आएर उनी नेकपा मालेको केन्द्रीय सदस्य बने ।
प्रजातन्त्र आएपछि २०४८ र २०५१ सालमा ओलीले झापा ६ बाट संसदको चुनाव जिते । २०४७ मा उनी पार्टी निकट प्रजातान्त्रिक युवा संघको संस्थापक अध्यक्ष बने । मदन भण्डारीको देहावसानपछि नेकपा एमालेमा माधव नेपाललाई महासचिव बनाउन ओलीको भूमिका थियो । ओलीले ‘सेकेन्ड म्यान’ का रुपमा नेपाललाई अविच्छिन्न साथ दिए । पछि नेपालसँग उनको फाटो भयो । अहिले उनीहरु अलग–थलग भइसकेका छन् ।
२०४९ सालदेखि २०७१ सालसम्म नेकपा एमालेको स्थायी कमिटी सदस्य मात्रै भए पनि पार्टीभित्र उनी शक्तिशाली मानिन्थे । अन्ततः २०७१ साल असारमा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भए । त्यसअघि २०७० साल माघमा झलनाथ खनाललाई हराएर उनी संसदीय दलको नेतासमेत बनिसकेका थिए । यसरी नेपालकाे राष्ट्रिय राजनीतिमा ओलीको जबरजस्त उदय भएको थियो ।
ओली पहिलोपटक लाभको पदमा पुगेको चाहिं २०५१ सालमा हो । त्यसबेला एमालेको अल्पमतको सरकारमा उनी शक्तिशाली गृहमन्त्री थिए । गृहमन्त्रालय हाँक्दा निकै राम्रो छवि बनाए उनले । त्यसपछि उनी एकपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा दुईपटक प्रधानमन्त्री बनेका छन् । २०६३ सालमा उनी उपप्रधानमन्त्री बनेका थिए । ओली २०७२ असोज २४ मा पहिलोपटक प्रधानमन्त्री निर्वाचित भए । कांग्रेसका सुशील कोइरालालाई हराउँदै उनी प्रधानमन्त्री पदमा पुगेका थिए । तर, त्यो सरकार ९ महिना मात्रै टिक्यो ।
गृहमन्त्रीका रुपमा सफल ओलीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा भने खासै छाप छाड्न सकेनन् । प्रधानमन्त्रीका रुपमा पहिलो कार्यकाल भने छोटो तर अविस्मरणीय रह्यो । उनले भारतले लगाएको नाकाबन्दी डटेर सामना गर्दै राष्ट्रवादी छवि बनाएका थिए । दोस्रो कार्यकालमा भने उनी अपेक्षित सफल भइरहेका छैनन् ।
क्षमता र कमजोरी
पहिलोपटक प्रधानमन्त्री बनेयता ओलीले प्रखर राष्ट्रवादी नेताको छवि बनाएका छन् । त्यसबेला अत्यन्तै अप्ठेरो कालखण्डमा उनी प्रधानमन्त्री बन्न पुगेका थिए । भारतले लगाएको नाकाबन्दीसँग नझुकिकन उनले यसलाई पार लगाए ।
प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका तीन वर्ष ओलीले व्यतीत गरेका छन् । यो कार्यकालमा उनी अत्यधिक विवादमा तानिए । लामो समयपछि देशले स्पष्ट बहुमतसहितको बलियो सरकार पाएको थियो । तर, पार्टीभित्रको कचिंगललाई सही समाधान गर्न नसक्दा सरकारको कामकारबाही प्रभावित बन्यो । अन्ततः ओलीले प्रतिनिधिसभा नै भंग गर्ने दुस्साहसी निर्णय लिन पुगे । यो उनका राजनीतिक जीवनकै सर्वाधिक विवादित कामका रुपमा रेकर्ड हुनेछ ।
ओलीको एउटा विशिष्ट प्रतिभा भनेको वाक्पटुता हो । उनका भाषण समर्थक र विरोधी दुवैले चाख मानेर सुन्ने गर्छन् । भाषणबाटै ओलीले निकै आलोचना पनि भोग्ने गरेका छन् । विरोधी नेताहरुलाई भित्तामा पुर्याउने गरी प्रहार गर्न खप्पिस छन् ओली । उखान टुक्का र हास्यरसले भरिएका उनका भाषणहरु चर्चित छन् । तर, भाषण गर्ने क्रममा कहिलेकाहीं आफ्नो पदीय मर्यादा नै बिर्सिने गरेको आरोप उनीमाथि लाग्ने गर्छ ।
उच्च मनोबल र सक्रियता ओलीको अर्को सबल पक्ष हो । दुईपटक किड्नी फेरेर पनि उनले आफूलाई कहिल्यै कमजोर सोचेनन् । अहिले पनि पार्टी निर्माणका काममा देशभर खटिरहेका छन् । स्वास्थ्यप्रति लापरवाह रहेकोमा उनका निकटस्थहरु भने चिन्तित बन्ने गर्छन् ।
ओलीको अर्को प्रशंसित पक्ष भनेको ज्ञानको भण्डार हो । औपचारिक अध्ययन कम भए पनि उनको ज्ञानले अनौपचारिक अध्ययनमार्फत आफ्नो ज्ञानको दायरा फराकिलो बनाएका छन् । राजनीति मात्र नभएर अरु पनि विभिन्न विधामा उनी लामो प्रवचन दिन सक्छन् । उनी नयाँ नयाँ कुराहरुमा पनि अपडेट रहन्छन् । राष्ट्र निर्माणको भिजन पनि उनीसँग छ, तर त्यसको कार्यान्वयन पक्षमा भने ओली कमजोर देखिएका छन् । बोली र व्यवहारको अन्तराल घटाउन सके उनीबाट अझै देशले आशा राख्ने ठाउँहरु छन् ।
-

प्रचण्डको दाबी–केही दिनमै अदालतले संसद पुनर्स्थापना गर्छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले केही दिनमै संसद पुनर्स्थापना गर्ने दाबी गरेका छन्। आइतबार प्रवासी नेपालीसँग भर्चुअल माध्यमबाट कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सेटिङ’ भत्किसकेको टिप्पणी गरे।
‘केपी ओलीको तथाकथित ‘सेटिङ’ भत्किसकेको छ’ उनले भने, ‘केही दिनमै अदालतले संसद पुनर्स्थापना गर्छ । अहिले माहोल सकारात्मक बनेको छ ।’ प्रचण्डले निर्वाचन आयोगले पनि आफूहरूलाई नै वैधानिकता दिनुको विकल्प नभएको दाबी गरे। उनले प्रधानमन्त्री ओलीले पछिल्लो पटक विक्षिप्त भएर अदालतलाई धम्क्याउने, उपराष्ट्रपति, सभामुखलगायतलाई अपमान गरेको समेत दाबी गरे।
‘प्रधानमन्त्री केपीजीले हिजो विराटनगरमा विक्षिप्त भएर अदालत विरुद्ध आन्दोलन गर्छु भन्नुभयो’ उनको भनाइ छ, ‘उपराष्ट्रपति, सभामुखलाई अपमान गर्ने काम गर्नुभयो। धेरै परिपक्व प्रदेश प्रमुखलाई बर्खास्त गर्नुभयो । यसले पनि उहाँ छट्पटिंदै जानुभएको देखिन्छ ।’
प्रचण्डले आफूहरूले विगतमा ओलीप्रति बढ्तै उदारता देखाएको हो कि भन्ने महसूस अहिले भएको टिप्पणी गरे। ‘केपीजी प्रति अलि उदार नै भयौं’ उनी भन्छन्, ‘पार्टी एकताको प्रस्तावक भएकाले पनि मैले उहाँलाई बुझाएर, सम्झाएर ठीक ठाउँमा ल्याउने प्रयत्न गरेँ । आलोपालो प्रधानमन्त्रीको सहमतिमा मैले उदारता नदेखाएको भए के हुन्थ्यो ?’
उनको थप भनाइ छ– ‘केपीलाई नियन्त्रण गर्ने र उनको अराजकतालाई नियन्त्रण गर्ने कुरामा हाम्रो उदारता पनि कतै कमजोरीका रुपमा रह्यो । त्यसको समीक्षा गरेर हामी प्रतिबद्धता पत्र ल्याउँदैछौं।’
विगतको तीतो अनुभवबाट शिक्षा लिएर नै संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको भन्दै प्रचण्डले भने–‘अहिले केपीजीले संविधानमा हमला गर्नुभयो र हामीले त्यसको तुरुन्तै प्रतिवाद गर्यौं ।’
-

प्रधानमन्त्रीले भने- विप्लवसँग वार्ता हुने भयो भनेर केही मान्छे छटपटिन थालेका छन् (भिडियो)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारसँग वार्ता गर्छु भनेपछि केही मानिस छटपटाएको टिप्पणी गरेका छन् ।
पाँचौं इन्द्रदह पर्यटन महोत्सवलाई आइतबार दहचोकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभाजित नेकपाका अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै आफूतिर आउनुपर्नेमा सरकारतिर गयो भनेर केही मान्छे छटपटिएको बताए ।
ओलीले भने, ‘सरकारसँग वार्ताका लागि तयार छु भनेर विप्लवले हिजो विज्ञप्ति निकालेछन्, कतिपयलाई छटपटी भएको छ, लौ हामीतिर आउँछ कि भनेको सरकारतिर पो गयो भनेर उनीहरूलाई छटपटी भएको हो ।’
ओलीले आफूले पृथकतावाद र हिंसातर्फ लागेकाहरुलाई शान्तिपूर्ण राष्ट्रिय मूलधारमा ल्याउने अभियानमा सफलता पाउँदै गएको बताए । सरकारलाई अवरोध गर्ने व्यक्तिहरु पार्टीबाट बाहिरिएपछि बल्ल देश र जनताको पक्षमा उल्लेखनीय काम अघि बढाउन सहज भएको ओलीले बताए ।
प्रधानमन्त्रीले भने, ‘अवरोध र अप्ठेरोबीच पनि सरकार अगाडि बढेकोमा विरोधीहरूलाई छटपटी भएको छ । जसले जति अवरोध गरेपनि सरकारले विकासको गति राेक्दैन । देश अगाडि बढ्दा केही मानिसलाई पीर परेको छ । यसले राम्रा काम गर्यो, जनतामाझ अझ लोकप्रिय हुनेभयो, अब बर्बाद हुनेभयो, हामी पछाडि पर्ने भयौं भनेर उनीहरू आत्तिएका छन्, सरकारका काममा उनीहरू खुशी छैनन् ।’
-

दुई वर्षपछि प्रधानमन्त्री ओली विराटनगर आउँदै, सुरक्षा व्यवस्था कडा
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्षनेताहरू आज नेकपा (ओली पक्ष)को प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न विराटनगर आउँदै छन् ।
दुई वर्षपछि प्रधानमन्त्री ओली विराटनगर आउन लागेका हुन् । २०७५ जेष्ट २६ गते अन्तिम पटक प्रधानमन्त्री ओली १ नम्बर प्रदेशको सम्बोधन गर्ने विराटनगर आएका थिए ।
विराटनगरमा आज अपरान्ह हुने आम सभालाई सम्बोधन गर्न ११ बजे प्रधानमन्त्री ओलीसहितका पार्टीका शीर्ष नेता प्रदेशको राजधानी विराटनगर आउने कार्याक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवाष नेम्वाङ, मुख्यमन्त्री शेरधन राई लगायतका शिषर्ननेताहरुले सभालाई सम्बोधन गर्ने कार्याक्रम रहेको छ ।
संसद विघटनपछि प्रधामन्त्री ओलीलाई प्रमुख अतिथीका रुपमा राखेर प्रदेश १ को राजधानी विराटनगरमा पहिलो पटक आम सभाको आयोजना गरिएको हो ।
विराटनगर महानगरपालिका-२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजित आमसभामा दुई लाख भन्दा बढीको कार्याकर्ताको सहभागीता रहने केन्दीय सदस्य ढकालले बताए ।
केन्द्रीय सदस्य ढकालका अनुसार जनसभामा उपस्थिति जनाउनेहरुका लागि प्रदेशका मुख्य शहर लगाउत स्थानीय तहमा एक हजार पाँच सय सार्वजनिक बसको व्यवस्था गरिएको छ। त्यसबाहेक मोटरसाइकल मात्रै १० हजार समर्थक आउने अनुमान छ।
आमसभाका लागि विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोला लगायतका चोकबाट जुलुस निकालिने छ । विराटनगरको सभा सम्बोधन गरी आजै प्रधानमन्त्री ओली ४ बजे काठमाण्डौ फर्कने कार्याक्रम रहेको छ ।
सभामा अत्याधिक भिड हुने भएकाले ओलीसहित शीर्ष नेताहरुले गर्ने सम्बोधनलाई विराटनगरका मुख्यचौकका दुई स्थानबाट स्क्रिनमार्फत देखाउने तयारी छ । प्रधानममन्त्रीसहितको शिर्षनेताहरुले सम्बोधन गर्ने सभालाई कार्यक्रमस्थललाई सिङ्गार्ने झकिझकाउन बनाइएको छ ।
यसअघि नेकपाको दाहाल–नेपाल पक्षले विराटनगमा विरोध सभा सम्पन्न गरीसकेको छ ।
सुरक्षा व्यवस्था कडा
सभामा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री ओलीसहित शीर्ष नेता विराटनगर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
विराटनगरमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट सुरक्षाको प्रबन्ध मिलाइएको छ । आज बिहानैदेखि विराटनगरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
ठाउँ-ठाउँमा नेपाल र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ । सादा पोशाकका सुरक्षाकर्मी पनि उत्तिकै संख्यामा परिचालन गरिएको छ ।
सुरक्षा व्यवस्था मजबुत बनाउन नेपाली सेनाको टोली सादा पोशाकमा खटिएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले विराटनगर र आसपासका स्थानको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।
‘हामीले सुरक्षा व्यवस्था पहिल्यैदेखि मजबुत बनाएका छौँ,’ उनले भने, ‘प्रधानमन्त्रीको सवारी हुने भएकाले सुरक्षाका हिसाबले सबै उच्च सतर्कता अपनाइएको छ ।’नेकपाको ओली पक्षले यसअघि धनगढी, काठमाडौं लगायतका स्थानमा पनि आमसभाको आयोजना गरिसकेको छ ।