Tag: अञ्जन विष्ट

  • साफ च्याम्पियनसीप : दुई पहेँलो कार्ड पाएका अञ्जन विष्टले आजको फाइनल गुमाउने

    साफ च्याम्पियनसीप : दुई पहेँलो कार्ड पाएका अञ्जन विष्टले आजको फाइनल गुमाउने

    काठमाडौं । नेपाल र भारतबीच आज राति साफ च्याम्पियनसीपको फाइनल भिडन्त हुँदैछ । आजको फाइनल नेपाली टिमका प्रमुख स्ट्राइकर अञ्जन विष्ट अनुपस्थित रहने भएका छन् ।

    च्याम्पियनसीपका पछिल्ला दुई म्याचमा पहेँलो कार्ड खाएको हुँदा उनले फाइनल खेल्न नपाउने भएका हुन् । भारतविरुद्धको खेलको अन्तिम समयमा उनलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए । यस्तै, बंगलादेशविरुद्धको अन्तिम खेलको ४४ औं मिनेटमा पनि उनले पहेँलो कार्ड पाएका थिए । क्रसमा लागेर फर्केको बललाई हातले हिर्काउन खोज्दा रेफ्रीले पहेँलो कार्ड देखाएका हुन् । दुई वटा पहेँलो कार्ड पाएको खेलाडीले अर्को खेल खेल्न नपाउने नियम छ ।

    अञ्जनले जारी प्रतियोगितामा दुई गोल गरेका छन् । श्रीलंकाविरुद्ध एक गोल गरेका उनले बंगलादेशविरुद्ध पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । नेपाली राष्ट्रिय टिमबाट ७ गोल गरेका अञ्जनको अभाव फाइनलमा खट्किन सक्छ ।

    साफले नेपालका प्रमूख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि फाइनल खेलमा टचलाइनमा बस्न रोक लगाएको छ । अल्मुताइरीले पनि दुई म्याचमा पहेँला कार्ड खाएका थिए । यद्यपि साफको नियमावली अनुसार रेफ्रीलाई यस्तो कारवाही गर्न नमिल्ने भन्दै अल्मुताइरीले विरोध जनाएका छन् ।

  • इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

    इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

    काठमाडौं । बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।

    आजको म्याचमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दवावमा परेको थियो । अन्ततः खेलको ८८ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्न सफल भए ।

    नेपालले गोलका लागि बनाएको क्लियर चान्समा पेनाल्टी एरिया बाहिर आएर फाउल गरेसँगै बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए । त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीले १८ यार्ड बक्समा अञ्जनमाथि फाउल गरेसँगै नेपालले पेनाल्टी पाएको थियो । त्यसलाई अञ्जनले गाेलमा परिणत गरेका हुन् ।

    मालेस्थित नेसनल फुटबल स्टेडियममा भएकाे खेलमा नेपालले आक्रामक रणनीतिका साथ मैदानमा उत्रेकाे थियाे । तर, पाएका अवसरहरु सदुपयाेग गर्न सकेन । सुरुमै गाेल गरेपछि बंगलादेशले भने रक्षात्मक खेलेकाे थियाे ।

    आठौं मिनेटमा नेपाली डिफेन्डर गौतम श्रेष्ठले विपक्षी खेलाडीमाथि खराब ट्याकले गरेसँगै बंगलादेशले फ्रि-किक पायाे । सोही फ्रि-किकमा कप्तान जमल भुयाको पासमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए। फ्रि-किक नेपाली खेलाडीको बारमा लागेर ६ यार्ड बक्सभित्र डिफ्लेक्ट भएको थियो । नेपाली डिफेन्डर दिनेश राजवंशीको कमजोरीको फाइदा उठाउँदै सुमन रेजाले गोल गरेका थिए ।

    खेलको दोस्रो मिनेटमै गोलका लागि सुन्दर मौका बनाएको नेपालविरुद्ध बंगलादेशका डिफेन्डर टोपु बर्मानले खराब फाउल गर्दै असफल बनाइदिएका थिए । लास्ट म्यान डिफेन्डर रहेका बर्मानले नेपाली फरवार्ड नवयुग श्रेष्ठलाई पेनाल्टी एरिया ठीक अगाडि तानेर लडाउँदै नेपाललाई गोल गर्न रोकेका थिए । सोही फाउलका कारण उनले दोस्रो मिनेटमै पहेँलो कार्डको सामना गर्नुपरेको थियो ।

    खेलको सुरुआतदेखि नै गोलका लागि प्रयासरत नेपालले केही मौका सृजना गरे पनि सदुपयोग गर्न सकेको थिएन । सुरुआतदेखि नै मिसपास र बल पोसेसनमा संघर्ष गरिरहेको नेपालले पहिलो हाफको अन्त्यतिर सम्हालिने प्रयास गरेको थियो ।

    पहिलो हाफको इन्जुरी समयमा रोहित चन्दको क्रसमा आयुष घलानको सुन्दर हेडर फ्रेममा नपर्दा नेपाल बराबरी गर्न दुर्भाग्यशाली रह्यो । त्यसअघि रोहित चन्दले पनि सुन्दर मौका गुमाएका थिए ।

    प्रतियोगिताको पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलको नतिजामा हराएको थियो । त्यस्तै, तेस्रो खेममा भारतसँग १-० ले पराजित नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण १ अंक हासिल गर्दै शीर्ष दुईमा स्थान बनाएको हो ।

    राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । आजै हुने माल्दिभ्स र भारतबीचको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ ।

    प्रतियोगिता १३औं संस्करण सम्म आइपुग्दा नेपाल भने एकपटक पनि फाइनल पुग्न सकेको थिएन ।

    तस्बिर स्रोत : अधाधु डट कम

  • नवयुग र अञ्जनको गोलमा नेपालको जित

    नवयुग र अञ्जनको गोलमा नेपालको जित

    काठमाडौं । अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइलाई २-० को नतिजामा पराजित गरेको छ ।

    जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरिया भित्र  ह्यान्ड गरेसँगै नेपालले पेनाल्टी पाएको थियो ।

    सोही अवसरको सदुपयोग गर्दै अञ्जनने नेपाललाई सुरुआतमै अग्रता दिलाए ।

    अञ्जनको गोलसँगै पहिलो हाफमा १-० अग्रता लिएको नेपालले दोस्रो हाफमा केही डिफेन्सिभ मनस्थिति देखाए पनि सुन्दर गोल गर्न सफल भएको थियो ।

    निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा बायाँतर्फबाट सुमन अर्यालले दिएको क्रसमा नवयुगले ट्याप-इन फिनिस गर्दै नेपालको अग्रता दोब्बर पारे । सोही अग्रताको सुखद् बचाउ गर्दै नेपालले जित सुनिश्चित गर्‍यो ।

    जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ ।

  • अञ्जनको गोलमा नेपाललाई अग्रता

    अञ्जनको गोलमा नेपाललाई अग्रता

    काठमाडौं । अञ्जन विष्टको गोलमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले १-० को अग्रता लिएको छ ।

    कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको तेस्रो मिनेटमा मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टि एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाई सुन्दर गोलमा परिणत गर्दै अञ्जनले नेपाललाई अग्रता दिलाएका हुन् ।

  • इराकसँग ६-२ ले हार्‍यो नेपाल

    इराकसँग ६-२ ले हार्‍यो नेपाल

    काठमाडौं । डिफेन्समा निरीह बनेको नेपाल मैत्रीपूर्ण फुटबलमा इराकसँग ६-२ गोलको नतिजामा पराजित भएको छ । विश्वकप तथा एएफसी एसियन कपको तयारी स्वरूप इराकको बसरामा शनिबार भएको खेलमा युवा खेलाडीको बाहुल्यता भएको नेपालले सुरुआतमा लिएको अग्रता जोगाउन सकेन ।

    इराकको दोस्रो ठूलो शहर बसरास्थित अल्फाहया रंगशालामा भएको खेलको सातौं मिनेटमा घरेलु टोलीका कप्तान अला अब्दुल जहर खासिनले फ्रि-किकमा नेपाली कप्तान किरण चेम्जोङलाई बिट् गर्दै उत्कृष्ट गोल गरेका थिए ।

    त्यसको एक मिनेट नबित्दै अञ्जन विष्टको प्रहारमा हमद इब्राहिम खलाफले गरेको बचाउने असफल प्रयास आत्मघाति गोलमा परिणत भएको थियो । उपहार गोलसँगै बराबरीमा फर्किएको नेपालका लागि डेब्युट्यान्ट मनिष डाँगीले गोल गर्दै अद्भूत अग्रता दिलाएका थिए ।

    नेपाली राष्ट्रिय टोलीबाट पहिलो पटक मैदानमा उत्रिएका मनिषले २९औं मिनेटमा काउन्टर अट्याकमा सुन्दर फिनिसिङ गरेका थिए ।

    त्यसपछि सम्हालिन नसकेको नेपालले ३९औं मिनेटमा दोस्रो गोल खायो । इराकका लागि मोहमद अब्दुलझाराले गोल गर्दै २-२ को बराबरीमा ल्याएका थिए । त्यसको एक मिनेट नबित्दै नेपालले पुन: गोल खायो । ४० औं मिनेटमा एमेन हुसेनले गोल गर्दै इराकलाई पुन: ३-२ को अग्रता दिलाएका थिए ।

    अन्तिम समयमा सम्हालिन नसकेको नेपाली रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको इराकका लागि इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीका लागि ४-२ को अग्रता निश्चित गरे ।

    दोस्रो हाफको सुरुआतमा सम्हालिने प्रयास गरेको नेपाल रक्षात्मक देखिएको थियो । यद्यपि, नेपालले थप दुई गोल खायो ।इराकका लागि ६८औं मिनेटमा वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले डिफेन्सिभ इररको फाइदा उठाउँदै इराकको अग्रता ५-२ मा पुर्‍याएका थिए ।

    त्यसको ६ मिनेट नबित्तै सज्जाद जसिम इराकका लागि गोल गर्दै ६-२ गोलको जित सुनिश्चित गरे ।

  • नेपाल भर्सेज बंगलादेश: अन्तर्राष्ट्रिय स्तरको गोल खडेरी आज चिर्ला नेपालले ?

    नेपाल भर्सेज बंगलादेश: अन्तर्राष्ट्रिय स्तरको गोल खडेरी आज चिर्ला नेपालले ?

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको खडेरी चिर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको आयोजना गर्‍यो । सन् २०१ं५ को विनाशकारी भूकम्प र त्यसपछिको कोरोना महामारीले ६ वर्षसम्म नेपाली फुटबलको ‘होम’ दशरथ रंगशालामा सिनियर राष्ट्रिय टोलीले खेल्ने मौका पाएन ।

    अन्ततः थ्री नेसन्स कपको आयोजनासँगै त्यो खडेरीमा मन्द वर्षा सुरु भएको छ । तर, किगिस्तान यु २३ सँग बराबरी खेल्दै प्रतियोगिताको सुरुआत गरेको नेपाली टोली गोल गर्न असफल रहेको सात खेल पुगिसकेको छ ।

    फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्ध २०१९ को सेप्टेम्बर १० मा अञ्जन विष्टले दुई गोल गरेयता नेपालले सात खेलमा गोल गर्न सकेको छैन ।

    अञ्जनले चाइनिज ताइपेईविरुद्धको दोस्रो गोल ६३औं मिनेटमा गरेका थिए । त्यसयता नेपालले ६५७ मिनेटसम्म गोल गर्न सकेको छैन ।

    थ्री नेसन्स कपको पहिलो खेलमा किर्गिज युवा टोली (करिब ३० मिनेट १० जनामा सीमित भएको)विरुद्ध गोल गर्न असफल रहेको नेपाली टोलीले आज बंगलादेशी राष्ट्रिय टोलीको सामना गर्दैछ ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो खेलमा किर्गिज यु २३ टोलीलाई १–० ले पराजित गरेको बंगलादेशले फाइनलमा स्थान बनाइसकेको छ । नेपालको फाइनल प्रवेशको सम्भावना उच्च देखिए पनि आजको नतिजा महत्त्वपूर्ण हुनेछ ।

    आजको खेलमा जित वा बराबरी नेपाललार्ई फाइनल पुर्‍याउन पर्याप्त हुनेछ भने २–० को फराकिलो हार नेपालका लागि भारी पर्नेछ । यदि बंगलादेश १–० ले विजयी भयो भने पहेँलो र रातो कार्ड महत्त्वपूर्ण हुनेछ ।

    नेपालका पछिल्ला सात खेलको नतिजा

    २०१९ अक्टोम्बर १० अस्ट्रेलिया ५–० नेपाल
    २०१९ अक्टोबर १५ जोर्डन ३–० नेपाल
    २०१९ नोभेम्बर ७ म्यानमार ३–० नेपाल
    २०१९ नोभेम्बर १९ नेपाल ०–१ कुवेत
    २०२० नोभेम्बर १३ बंगलादेश २–० नेपाल
    २०२० नोभेम्बर १७ बंगलादेश ०–० नेपाल
    २०२१ मार्च २५ नेपाल ०–० किर्गिस्तान यु २३

    पहिलो खेलको बराबरीपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशविरुद्ध कुनै पनि हालतमा अंक गुमाउनु नुहने बताएका थिए ।

    ‘बंगलादेशविरुद्ध हामी जितको अपेक्षासहित मैदानमा उत्रिन्छौं,’ उनले पत्रकारसँग कुरा गर्दै भनेका थिए, ‘आजको खेलमा हामीले गोल गर्न मात्रै सकेनौं, तर खेल उत्कृष्ट थियो । आगामी खेलमा हामी अंकका लागि खेल्छौं ।’

    तर, जति नेपाल गोल र नतिजाका लागि आत्तुर छ, त्यति नै बंगलादेश पनि । बंगलादेशी अखबार कालेर कान्थोसँग भ्रमणकारी टोलीका प्रशिक्षक जेमी डेले फाइनल अगाडि आफ्नो टोलीले सुखद् नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन् ।

    ‘खेलाडीहरूले अझै पनि अभ्यासमा मेहेनत गरिरहेका छन् । हामी भोलिको खेलका लागि तयार छौं । पहिलो खेलको तुलनामा नेपालविरुद्ध टोलीमा धेरै परिवर्तन देख्न सकिने छ,’ प्रशिक्षक डेलाई उदृत गर्दै कालेर कान्थोले लेखेको छ, ‘नयाँ खेलाडीहरूलाई अन्तर्राष्ट्रिय फुटबलको अनुभव लिने मौका दिइनेछ । र, म सुखद् नजितासहित फाइनल पुग्नेमा आशावादी छु ।’