Blog

  • ‘आईएमई भरोसा कोष’काे रकम वितरण

    ‘आईएमई भरोसा कोष’काे रकम वितरण

    काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ । शुक्रबार काठमाडौँमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण शुरु गरेका हुन् ।

    मृतकका परिवारमध्ये काठमाडौंमा उपलब्ध सात परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम हस्तान्तरण गरिएको छ । शुक्रबार सहयोग रकम पाउनेमा कोरोनाको कारण साउदी अरबमा मृत्यु भएका ५ जनाको परिवार, बहराइन र कतारमा मृत्यु भएका एक–एक जनाको परिवार छन् ।

    प्रतिपरिवार ५० हजार रुपैयाँको दरले भरोसा कोषबाट रकम भएका छन् । चेक हस्तान्तरण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भएपनि कम गर्न कोषले पहल गरेको बताउनु भयो । आइएमईले ब्यवसाय र नाफा मात्र हेर्दैन नेपाली दाजुभाइको संकटको साथी पनि भएको अध्यक्ष ढकालले बताए ।

    आइएमईले २०७६ साल पुष १६ देखि २०७७ असोज ३० गतेसम्म कोरोनको कारण बिदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो । यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो । आगामी पुष मसान्त भित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ ।

  • अध्यादेश फिर्ता नलिए प्रधानमन्त्रीविरुद्ध थप कदम चाल्ने चेतावनी

    अध्यादेश फिर्ता नलिए प्रधानमन्त्रीविरुद्ध थप कदम चाल्ने चेतावनी

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीले तत्काल अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने चेतावनी दिएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेलामा अध्यादेश फिर्ता नलिए थप कमद चाल्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।

    प्रधानमन्त्रीबाट पार्टीको विधि, पद्धति उल्लंघन भएको निष्कर्ष भेलाले निकालेको बताए ।

    भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु कसैलाई निषेध गरेर जाने पक्षमा नरहेको तर प्रधानमन्त्रीलाई पार्टीले नियन्त्रण गर्न आवश्यक भइसकेको बताएका थिए । भेलालाई सम्बोधन गरेर माधव नेपाल पहिलेनै निस्किएका थिए ।

  • किसानको धान किन्न आनाकानी, व्यापारीलाई खुल्लमखुला !

    किसानको धान किन्न आनाकानी, व्यापारीलाई खुल्लमखुला !

    जनकपुरधाम । कार्यालयको मूलद्वारमा ताला झुण्डिएको छ । धान बेच्न पुगेका किसानका टायरगाडा बाहिरै छन्, भित्र छिर्नै दिइएको छैन । ट्याक्टर लिएर पुगेकाहरूको धान धमाधम खरीद गरिंदैछ ।

    यो दृश्य हो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामको । यहाँका कर्मचारीले किसानसँग धान खरीद गर्नै मानेका छैन तर व्यापारीसँग दिनमा मात्र होइन, राति पनि खरीद गरिरहेको पाइएको छ ।

    सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल २७३५ र मध्यम धानको २८८५ रुपैयाँ समर्थन मूल्य तोकेको छ । व्यापारी भने सरकारले तोकेको समर्थन मूल्यमा धान किन्न तयार देखिंदैनन् । २३०० देखि बढीमा २५०० मै व्यापारीले धान खरीद गर्छन् । यसै कारण किसानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बेच्न पुग्छन् ।

    तर कार्यालयका कर्मचारीले विभिन्न बहाना बनाएर व्यापारीलाई नै धान बिक्री गर्न बाध्य पारेको किसानहरूको आरोप छ । अहिले कार्यालयले सोना मन्सुली (मध्यम) धान मात्र खरीद गरिरहेको छ ।

    लक्ष्मीनियाँ गाउँपालिका–१ का किसान छेबु यादव भन्छन्, ‘किसान कहिलेकाहीं आउँछन् । तर कहिले न तौलने त कहिले के बहाना बनाएर परेसान गर्छन् । व्यापारीको धान भने रातिमा पनि खरीद गर्ने गरिएको छ ।’

    यादव थप्छन्, ‘व्यापारीहरूले मात्र १८०० देखि १९०० मा धान किन्छन् र यहाँ आएर बेच्छन् । तर किसानका लागि लालपुर्जा अनिवार्य गरेको छ । लालपुर्जा लिएर नआएका किसानको धान नै खरीद गर्दैनन् ।’

    उनी बिहीबार नै धान बेच्न कार्यालय आएको बताउँछन् । तर कार्यालयले बिहीबार उनको धान खरीद गरेन, कर्मचारीले शुक्रबार आउनुस् भनेर फर्काए । शुक्रबार पुगेर करीब चार घण्टा कार्यालयमा बसेपछि बल्ल उनको धान खरीद गर्र्यो‍‍ ।

    ५/१० मिनेटमा हुने कामका लागि कर्मचारीले दुई÷तीन दिन कार्यालय धाउन बाध्य पार्ने गरेको उनले सुनाए ।

    लक्ष्मीनियाँकै अर्का किसान विशेश्वर साहको पीडा पनि उस्तै छ । उनले भने, ‘लालपुर्जा लिएर आएपछि मात्र धान किन्छन् भन्ने मलाई थाहा भएन । म त्यतिकै कार्यालय आएँ । तर धान खरीद गर्न नमानेपछि फेरि घर पुगेर लालपुर्जा लिएर आएँ । अनि मात्र धान बेचें ।’

    ‘धेरै यस्ता गरीब किसान छन्, जो मालिकको खेत अधियाँमा कमाउँछन् वा ठेक्का लिएर धान उब्जाउँछन् । उनीहरू कहाँबाट लालपुर्जा लिएर आउँछन् ?’ उनको प्रश्न छ, ‘के गरीब किसानले यहाँ धान बेच्नै नपाउने ? यो लालपुर्जा अनिवार्यको नियम गलत छ ।’

    कामदार अभावले समस्या

    कार्यालयमा अहिले मात्र १४ ज्यालादारी मजदूर छन् । कार्यालय मातहत मिल समेत रहेकाले उनीहरू पहिल्यैदेखि त्यहाँ काम गर्छन् । हाल धान खरीद गर्न थप मजदूर राखेका छैनन् ।

    मिलमा काम गर्ने मजदूर नै धान खरीद गर्न खटिएका छन् । उनीहरूले ४० किलोको प्रति बोरा धान अनलोड गरी तौलेर गोदाममा राखेबापत ७ रुपैयाँ २० पैसा पाउँछन् ।

    कार्यालयका वरिष्ठ सहायक जयनन्दन पाण्डे भन्छन्, ‘नयाँ मजदूर राख्न समस्या हुन्छ । त्यसैले राखेको छैन । मिलमा काम गर्ने १४ मजदूरलाई नै धान खरीद गर्ने कार्यमा खटाउँदै आएका छौं ।’

    टोकन प्रणालीले किसानलाई हैरानी

    धेरै भीड हुन थालेपछि कार्यालयले सूचना प्रकाशित गरी धान खरीद गर्न टोकन प्रणाली लागू गरेको छ । जसका कारण किसानलाई हैरानी भएको छ । अब धान बेच्न किसानले दुई दिन कार्यालय धाउनुपर्ने हुन्छ ।

    कार्यालयले जारी गरेको सूचनामा सोना मन्सुली धान बिक्री गर्ने किसानहरूको अत्यधिक चाप बढ्न गई जोख–तौल गर्नुका साथै कार्यालयको काम समयमा सम्पन्न गर्न समेत कठिनाइ भएकाले टोकन प्रणाली लागू गरेको उल्लेख छ ।

    वरिष्ठ सहायक पाण्डेका अनुसार धान बेच्ने किसानले शुक्रबारका दिन टोकन लिनुपर्ने हुन्छ । त्यसपछि टोकनमा धान खरीद गर्ने मिति तोकिने र सो मितिमा आएपछि मात्र कार्यालयले खरीद गर्छ ।

    मजदूर नथपिने तर समस्या भएको बहाना बनाएर एक दिनमा हुने कामका लागि दुई दिन कार्यालय धाउन बाध्य बनाएको टोकन प्रणाली ठीक नभएको किसानहरू बताउँछन् । टोकन प्रणाली खारेज गर्न र किसानको धान सहज रूपमा किन्ने वातावरण बनाउन किसानहरूको माग छ ।

    व्यापारीको धान हो भनेर कसरी बुझ्ने ?

    कार्यालयले व्यापारीको धान रातिमा पनि खरीद गर्ने गरेको भनेर किसानले लगाउने गरेको आरोपमा सत्यता नभएको वरिष्ठ सहायक पाण्डेले दाबी गरेका छन् ।

    ‘व्यापारी आएको कुरा कसरी थाहा पाउने ?’ उनले भने, ‘यहाँ जो आएका छन्, सबैको धान किनेकै छौं । को व्यापारी, को किसान मलाई थाहा भएन ।’ साइकल वा टायर गाडामा धान लिएर आउने किसानलाई पहिलो प्राथमिकता दिएर खरीद गर्ने गरेको उनको दाबी छ ।

    किसानबाट २० हजार क्विन्टल धान किन्ने लक्ष्य रहेको र मंसीर मसान्तसम्म ५ हजार क्विन्टल धान खरीद गरिसकेको उनको भनाइ छ ।

  • फेसबुकमार्फत महिलाहरुलाई अश्लिल तस्बिर पठाउने २ जना पक्राउ

    फेसबुकमार्फत महिलाहरुलाई अश्लिल तस्बिर पठाउने २ जना पक्राउ

    काठमाडौं । फेक इमेल तथा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरुलाई अश्लिल सन्देश, तस्बिर पठाउने, यौन उत्पीडन एवम् हैरानी गरेको आरोपमा २ जनालाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका ‌‍‍७ गल्फुटार बस्ने मोरङ विराटनगर उपमहानगरपालिका ३ घर भएका ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका ६ कल्याणपुर बस्ने ३५ वर्षीय थम बहादुर विश्वकर्मा रहेका छन् ।

    सुमनलाई काठमाडौंबाट र थम बहादुरलाई जिल्ला प्रहरी कार्यालय चितवन समेतको सहयोगमा चितवनबाट पक्राउ गरिएको हो ।

    सुमनले फेक इमेल बनाई महिलालाई आफूसँग अर्धनग्न तथा नग्न तस्बिर भएको र सो तस्बिरहरु सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने, यौन उत्पीडन दिने, हैरानी गर्ने कार्य गरेको पाइएको छ ।

    साथै थम बहादुरले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई नजिकको नाता पर्ने महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने एवम् हैरानी दिने काम गर्ने गरेकाले विद्युतीय ईलेक्ट्रोनिक कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

    उनीहरुमाथि थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

  • कोरोना अपडेट : ७८२ संक्रमित थपिए, १६ को मृत्यु

    कोरोना अपडेट : ७८२ संक्रमित थपिए, १६ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ। नेपालमा हाल संक्रिय संक्रमित ९ हजार ३१७ जना छन् ।

    यस्तै आज एक हजार २९ जना कोरोनामुक्त भएर घर फर्केका छन् । साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ४१ हजार ३९२ पुगेको छ ।

    यसैगरी कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७६५ पुगेको छ।

     

  • धरासायी बनेका उद्योग–व्यवसायलाई निरन्तरता दिन कठिनः अध्यक्ष गोल्छा

    धरासायी बनेका उद्योग–व्यवसायलाई निरन्तरता दिन कठिनः अध्यक्ष गोल्छा

    काठमडौं । कोभिड– १९ का कारण धरासायी बनेको उद्योग व्यावसायलाई निरन्तरता दिन कठिनाइ भएको उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् ।

    शुक्रबार भएको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष गोल्छाले उद्योग व्यावसायमा अर्बौको क्षति भएकाले व्यवसायलाई निरन्तरता दिन कठिनाइ भएको बताए । सरकारले राहतका प्याकेजहरु घोषणा गरेपनि कार्यान्वयनमा आउन ढिला भएकाले व्यावसायले निरन्तरता दिन नसकेको उनले बताए ।

    साना व्यावसायीले व्यावसाय सूचारु गर्न नसक्दा कर्मचारीको तलब, बैंकको ब्याज र घरभाडा तिर्न समस्या भइरहेको छ । साथै सरकारले उद्यमी व्यावसयी र कृषकलाई लक्षित गरी घोषणा गरेको कार्यक्रम कार्यान्वयनमा आउन नसकदा समस्या यथावत रहेको बताए ।

    बैठकमा उनले पुनरकर्जा कोषको रकम र अवधि बढाउनुपर्ने, साना तथा मझौला उद्योग व्यवसायले सहजै पुनरकर्जा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन माग गरे ।

    कृषिलाई उद्योगसँग जोड्न विचौलीयालाई हटाउने र साना उद्योग व्यवसायको व्यवसायिक निरन्तरता कर्जा उपलब्ध गराउन उनले जोड दिए । साथै, नयाँ व्यवसायलाई प्राथमिकता राखेर काम गरेमा १० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव भएको पनि अध्यक्ष गोल्छाले बताए ।

    बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि कृषि, उद्योग र व्यापारबीचको सन्तुलन मिलाउनु पर्ने बताए । त्यस्तै, महासंघका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठले एन नियम बनाउने, नियमन गर्ने र कार्यान्वयन गर्ने निकायको फरक सोचले गर्दा व्यावसायिक वातावरणमा असर परेको बताए ।

    कोभिडका कारण कतिपय उद्योग व्यवसाय बन्द भइसकेको र कतिपय बन्द हुने अवस्थामा पुगेकाले सरकारले छिटो राहत दिनु पर्ने बताए ।

  • सरकारले ल्यायो फिल्मलाई राहत प्याकेज : नयाँ रिलिज हुने फिल्मले ५/५ लाख पाउने

    सरकारले ल्यायो फिल्मलाई राहत प्याकेज : नयाँ रिलिज हुने फिल्मले ५/५ लाख पाउने

    चलचित्र विकास बोर्डले आउँदो ६ महिनाभित्र प्रदर्शन हुने फिल्मलाई ५/५ लाख रुपैयाँको दरले राहत रकम प्रदान गर्ने भएको छ । कोभिड–१९ प्रभावित फिल्म क्षेत्रलाई ब्युँताउन र निर्मातालाई आकर्षित गर्न यस्तो प्याकेजको घोषणा गरिएको जनाइएको छ ।

    राहत प्राप्त गर्नको लागि फिल्मले आगामी ६ महिनाभित्र प्रदर्शन मिति स्पष्ट तोकेको हुनुपर्छ । यसका लागि निर्माता संघको सिफारिस अनिवार्य गरिएको छ । राहत प्याकेजको विस्तृत विवरण चाँडै सार्वजनिक हुनेछ र चलचित्र घरलाई पनि सम्बोधन हुने चर्चा छ ।

    नयाँ रिलिज हुने फिल्मले मात्र राहत रकम प्राप्त गर्नेछन् । ‘फिल्मको प्राविधिक काम गर्नको लागि यो रकम महत्वपूर्ण हुनेछ’ निर्माता संघका महासचिव रोज राणाले भने, ‘यसले फिल्म रिलिज गर्न र माहौल तयार पार्ने काममा सहयोग पुग्नेछ ।’

    यसैबीच, बोर्डले चलचित्र प्रोजेक्ट बिमा संचालन कार्यविधि २०७७ संचालनमा ल्याएको छ । यसअन्तर्गत सरकारले छायांकन फुकुवा गरेको मितिबाट २०७८ असार मसान्तसम्मका लागि निर्माण इजाजत लिने फिल्मको हकमा यो कार्यविधि लागु हुनेछ । यसरी सुटिङमा जाने फिल्मलाई डेढलाख सम्मको बिमा सुविधा उपलब्ध हुने उल्लेख छ ।

    सरकारले फिल्म छायांकनलाई फुकुवा गरेपनि हल संचालनमा भने अहिलेसम्म कुनै निर्णय गरेको छैन । व्यवसायीले पुस १० गतेदेखि एकपक्षीयरुपमा फिल्म हल खुलाउने घोषणा गरिसकेका छन् ।

  • स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न लेखा समितिले अख्तियारलाई पत्र पठाउने

    स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न लेखा समितिले अख्तियारलाई पत्र पठाउने

    काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।

    समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो ।

    बैठकका निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले अनियमिततामा को को संलग्न हुन् त्यसको छानविन गरि कारवाही गर्न पत्र पठाउने निर्णय भएको बताए । बैठकमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग पनि समितिले छलफल गरेको थियो ।

  • पेरिसडाँडामा ओली विरोधी भेला, माधव नेपाल बाहिरिए, प्रचण्डले सम्बोधन गर्दै

    पेरिसडाँडामा ओली विरोधी भेला, माधव नेपाल बाहिरिए, प्रचण्डले सम्बोधन गर्दै

    काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला ओली इतर समूहले बोलाएको भेला पेरिसडाँडमा जारी छ।

    पहिलो दिन शुक्रकबार प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरुलाई बोलाएको भेलामा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल,  लगायतले सम्बोधन गरिरहेका छन्। माधव नेपाल भने भेला चलिरहेकै बेला पेरिसडाँडबाट बाहिरिएका छन्।

    भेलामा प्रचण्ड–नेपाल पक्षका प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरु र त्यस क्षेत्रका केन्द्रीय सदस्यहरुको समेत उपस्थिति रहेको छ।

    पार्टी भित्र विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड–माधव नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएको छ।

    नेताहरुले सम्बोधनमा आफ्नो पक्षको रणनीतिबारे जिल्ला तहका नेतृत्वलाई ‘ब्रिफिङ’ गरिरहेको बैठमा सहभागि एक केन्द्रीय सदस्यले जानकारी दिए।

  • पुस महिना सुरु भएसँगै बढ्याे चिसो (फाेटाे फिचर)

    पुस महिना सुरु भएसँगै बढ्याे चिसो (फाेटाे फिचर)

    आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ६ डिग्रीमा झरेको छ । आज काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । काठमाडौंमा मात्र होइन पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । विहानको समयमा काम गर्ने कामदारलाई चिसोले बढी सताएको छ । मर्निङ वार्कमा निस्कनेहरु पनि ढिला निस्कने गरेका छन् । सरसफाईमा खटिने कर्मचारी मात्र होइन मर्निङ वार्कमा निस्कनेहरु पनि ढिला निस्कने गरेका छन् । चोकचोकमा आगो बालेर ताप्न थालिसकेका छन् । पसलहरु पनि चिसोले ढिला खुल्ने गरेको छ । काम विशेषले निस्कनेहरु पनि बाक्लो लुगा लगाएर न्यानो भएर निस्किरहेका छन् ।

  • १८ जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    १८ जिल्लाका सिडिओ सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं । गृह मन्त्रालयले शुक्रवार १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

    गृह मन्त्रालयका अनुसार ललितपुरमा ढुण्डीप्रसाद निरौला सरुवा भएका छन् भने रामेछापकी रुद्रादेवी शर्मा गुल्मी सरुवा भएकी छन् । अरु को कहाँ सरुवा भए ? हेर्नुस सूची

  • सरकारी जग्गामा ‘समाजसेवी’को घर !

    सरकारी जग्गामा ‘समाजसेवी’को घर !

    दाङ । तुलसीपुर उपमहानगरपालिकाको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गा व्यक्तिले अतिक्रमण गरी पक्की घर समेत बनाएर बिक्री गरेको भेटिएको छ ।

    तुलसीपुर उपमहानगरको कार्यालय रहेको कित्ता नम्बर ८१२ को जग्गामा व्यक्तिले तीनवटा आरसीसीयुक्त घर बनाएको पाइएको छ । तीमध्ये तुलसीपुरमा चर्चित एकान्त होटलका संचालक टेकराम खड्काले सबैभन्दा ठूलो तीनतले घर बनाएका छन् । खड्का केही वर्षदेखि गर्मीयाममा निःशुल्क पानी वितरण गरेर समाजसेवीको रूपमा समेत परिचित थिए ।

    सूचनाको हक प्रयोग गरी महानगरबाट प्राप्त विवरण अनुसार वडा नम्बर ५ ‘ख’ मा रहेको कित्ता नम्बर ५४५ को तीन कट्ठा जमीन अतिक्रमण गरेर पक्की घर ठड्याइएको पाइएको छ । त्यस क्षेत्रका पक्की घर ऐलानी जग्गामा बनेका भन्दै किनबेच हुँदै आएको छ ।

    त्यसैगरी कित्ता नम्बर ५४४ मा पर्ने एक बिघा १० कट्ठा १४ धुर जग्गामध्ये तुलसीपुर उपमहानगरपालिकाले १० कट्ठा मात्रै भोगचलन गर्दै आएको छ भने एक बिघा १४ धुर व्यक्तिले कब्जा गरी पक्की घर बनाएर किनबेच गरिरहेका छन् ।

    यस्तै वडा नम्बर ५ ‘ख’ को उपमहानगरपालिकाको नाममा रहेको २ बिघा ८ कठ्ठा १६ धुर जग्गा व्यक्तिको कब्जामा रहेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

    साबिकको तुलसीपुर नगरपालिका कर्मचारीको भरमा चल्दाको समयमा व्यक्तिले कर्मचारीसँगको मिलेमतोमा नगरपालिकाको नाममा दर्ता स्रेस्ता कायम भएका जग्गा हडपेर पक्की घर बनाएको जानकारहरू बताउँछन् । तुलसीपुर नगरपालिकाका केही कर्मचारीले जग्गा अतिक्रमण हुँदा चुपचाप बस्ने शर्तमा मोटो रकम समेत असुलेको उनीहरू बताउँछन् ।

    करीब २० वर्षपछि उपमहानगरपालिका बनेर जनप्रतिनिधि चुनिए पनि अतिक्रमण गरिएका जग्गा फिर्ता गराउन सकेका छैनन् ।

    तुलसीपुर उपमहानगरपालिकाले आफ्नो अतिक्रमित जग्गा खोज्ने अभियान चलाएको बताएको छ । उपमहानगरपालिकाले अतिक्रमण भएको आफ्नो जग्गा खाली गर्न पटक–पटक सार्वजनिक सूचना समेत जारी गरेको छ । तर, न अतिक्रमित जग्गा अतिक्रमणकारीले खाली गरेका छन् न उपमहानगरपालिकाले डोजर लगाएर खाली गराउन नै सकेको छ ।

    ‘हाम्रो उपमहानगरको जग्गा अतिक्रमण गरिएको छ भन्ने सुन्नमा आएको छ’ उपमहानगरका प्रवक्ता श्याम डाँगीले भने, ‘भू–माफियाले अतिक्रमण गरेका जग्गा हामी खोज्ने अभियानमा छौं ।’

     

  • व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले श्रमिकको न्यायोचित भर्ना चुनौतीपूर्ण

    व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले श्रमिकको न्यायोचित भर्ना चुनौतीपूर्ण

    वैदेशिक रोजगार व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यायोचित भर्ना प्रक्रियाको कार्यान्वयनमा अझ चुनौती थपेको पाइएको छ ।

    गन्तव्य मुलुकका कतिपय रोजगारदाता कम्पनीले श्रमिक भित्र्याउँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भए पनि म्यानपावर कम्पनीबीच मागपत्र ‘हत्याउने’ होडबाजी चल्दा न्यायोचित भर्ना प्रभावित हुँदै आएको छ ।

    मागपत्र आफ्नो पक्षमा पार्न रोजगारदाता कम्पनीलाई अनुचित प्रभावमा पार्नका लागि म्यानपावर कम्पनीले प्रयत्न गर्दा न्यायोचित भर्ना जटिल देखिएको सरोकारवालाको ठम्याइ छ ।

    वैदेशिक रोजगारी प्रक्रियामा रहेको बेथिति रोक्न र न्यायोचित भर्ना प्रक्रियाको कार्यान्वयन गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण हुने यस क्षेत्रका जानकारको भनाइ छ ।

    अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसकाे सन्दर्भ पारेर अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओ र श्रम रोजगार पत्रकार समूहले संयुक्त रुपमा आयोजना गरेको ‘न्यायोचित भर्ना प्रक्रियामा देखिएको चुनौती र अवसर’ विषयक अन्तरक्रियामा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे मलेसियाका कतिपय रोजगारदाताले श्रमिकको सम्पूर्ण खर्च व्यहोर्ने भए पनि म्यानपावर कम्पनीले श्रमिकसँग अतिरिक्त शुल्क उठाइरहेको पाइएको बताए ।

    “व्यवसायीले अस्वस्थ प्रतिस्पर्धा गरिरहनुभएको छ, रोजगारदाताले श्रमिकको सम्पूर्ण खर्च व्यहोर्ने अवस्था हुँदाहुँदै पनि उहाँहरु व्यवसायीले नेपालमा श्रमिकसँग अतिरिक्त शुल्क उठाउँदा समस्या आएको छ” उनले भने, “व्यवसायीले नेपाल र मलेसियाबीच भएको श्रम समझदारीअनुसारको सेवा शुल्क पाउँछन्, श्रमिकले अतिरिक्त शुल्क तिर्नु पर्दैन ।”

    मागपत्र प्रमाणीकरणमा जालझेल नहोस् भनेर क्वालालम्पुरस्थित नेपाली दूतावासले रोजगारदाता कम्पनीका सञ्चालक वा जिम्मेवार व्यक्तिको उपस्थितिमा मात्र मागपत्र प्रमाणीकरण गर्दै आएको छ ।

    मलेसियाका अधिकांश रोजगारदाता दुई देशबीच भएको श्रम सम्झौतामा समेटिएको प्रावधान मान्न तयार छन् । राजदूत पाण्डेले रोजगारदाताले श्रमिकको सम्पूर्ण लागत र सेवा शुल्क दिन्छु भनेर भनिरहेको बताए । दुई देशबीचको श्रम समझदारी पूर्ण कार्यान्वयनमा गएपछि न्यायोचित भर्ना प्रक्रियाले गति लिने उनको भनाइ छ ।

    म्यानपावर व्यवसायी भने श्रमिकको सम्पूर्ण लागत रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्थाले समग्र वैदेशिक रोजगारीमा सङ्कुचन आउने जिकिर गर्छन् ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले मलेसियासँग श्रम समझदारी हुँदा पर्याप्त छलफल नभएको, एकोहोरो र सस्तो लोकप्रियताका निम्ति ‘शून्य लागत’ भनिदिँदा व्यवसायीलाई अप्ठ्यारो परेको बताए । उहाँले शून्य लागतको प्रावधान अन्यायपूर्ण रहेको र निजी क्षेत्रलाई ‘बाइपास’ गरेर ल्याइएको नीतिले गर्दा न्यायोचित भर्ना प्रक्रिया सफल हुन नसकेको जानकारी दिए ।

    “मलेसियाका रोजगारदाता कम्पनीले नेपालबाट मात्रै श्रमिक ल्याउनुपर्छ भन्ने बाध्यकारी व्यवस्था छैन, नेपाली श्रमिकको कोटा नछुट्याइ श्रम समझदारी गरिएको छ ।

    श्रमिकको तलब, सेवा, सुविधा सुनिश्चित गरिएको छैन” उनले भने, “जबसम्म एक महिनाको तलब बराबरको सेवासुविधा र श्रमिक आफैँले टिकट काटेर विदेश जान नपाउँदासम्म न्यायोचित भर्ना प्रक्रिया सफल हुन सक्दैन ।”

    विद्यमान प्रावधानले मलेसियामा नेपाली श्रमिकको माग घट्ने व्यवसायीको दाबी अस्वीकार गर्दै दूतावासले यसले श्रमिकसँगै व्यवसायीलाई पनि हित गर्ने प्रष्ट पारेको छ ।

    “मलेसियाको सुरक्षा क्षेत्रमा विदेशीका रुपमा नेपालीलाई मात्र लिने गरिएको छ” राजदूत पाण्डले भने, “यसले गर्दा नेपाली श्रमिकको माग घट्ने अवस्था छैन । विस्तारै श्रम समझदारी कार्यान्वयनमा गएपछि न्यायोचित भर्ना प्रक्रिया अगाडि बढ्छ ।” तथ्याङ्कले मलेसियामा नेपाली श्रमिकको माग घटेको नदेखिएको उनको भनाइ छ ।

     

  • अध्यादेशविरुद्धको रिटमाथि अर्को शुक्रबार सुनुवाई हुने

    अध्यादेशविरुद्धको रिटमाथि अर्को शुक्रबार सुनुवाई हुने

    काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेका तीनवटा रिटमाथिको सुनुवाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुने भनिए पनि आज हेर्न नभ्याइनेमा परेको छ । अब सुनुवाई अर्को शुक्रबार हुनेछ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा बसेको वरिष्ठ न्यायाधीशहरु सम्मिलित इजलासमा तीनवटा रिटमाथि सुनुवाई हुने पेशी तोकिएको थियो । आज ती रिटमाथिको सुनुवाई नहुने भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

    प्रधानन्यायाधीश अध्यक्षताको संवैधानिक इजलासमा सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीशहरु दिपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेका छन् । इजलासको बैठक हरेक साता बुधवार र शुक्रबार बस्ने गर्छ ।

    सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग लिएर अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र कञ्चनकृष्ण न्यौपानेले अलग अलग रिट दायर गरेका थिए ।

  • अध्यादेश फिर्ता गर, संसद अधिवेशन बोलाऊः कांग्रेस

    अध्यादेश फिर्ता गर, संसद अधिवेशन बोलाऊः कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन र संसदको अधिवेशन आह्वान गर्न माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आजको बैठकले संसदलाई बन्धक बनाएर अध्यादेशबाट शासन चलाउने दुस्साहस नगर्न सरकारलाई चेतावनी समेत दिएको छ ।

    कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बैठकमा सरकारको काम, अध्यादेश, हिउँदे अधिवेशन, उखु किसानहरुको आन्दोलन लगायतका विषयमा छलफल भएको बताए । ‘आजको बैठकले संविधानको मर्मविपरीत जारी भएको अध्यादेश फिर्ता लिन र तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ’, खाँडले नेपाल प्रेससंग भने । ‘सरकारको सर्वसत्तावादी सोचका कारण जनताको निर्वाचित थलो संसद वेवारिसे भएको छ । राष्ट्रिय महत्वका धेरै विषयहरुको छिनोफानो गर्न संसद बैठक अपरिहार्य छ’, खाँडले भने ।

    बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध काम गर्न थालेको बताएका थिए । सरकारलाई मनपरी गर्ने छुट दिन नसकिने भन्दै देउवाले संसदको अबको अधिवेशन धेरैक कारणले निर्णायक हुने उल्लेख गरेका थिए ।

    यसैबीच, बैठकले उखु किसानहरुको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै किसानका माग तत्काल पूरा गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

  • १० विधामा पल्सर स्पोर्ट्स अवार्ड प्रदान गरिने, पिपुल च्वाइस विधाको मनोनयन सार्वजनिक

    १० विधामा पल्सर स्पोर्ट्स अवार्ड प्रदान गरिने, पिपुल च्वाइस विधाको मनोनयन सार्वजनिक

    यसवर्षको पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा खेलाडी र खेलकर्मीलाई प्रदान गरिने भएको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले विज्ञप्ती जारी गर्दै पुस २८ गते अवार्ड प्रदान गर्ने जनाएको हो ।

    पुरुष र महिलातर्फ वर्षकै उत्कृष्ट खेलाडी, युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन भने केही दिनमा सार्वजनिक गरिने भएको छ । दीर्घसाधना सम्मान, पारा एथलिट, स्पेसल अवार्ड र टीम अफ दी इयर अवार्ड २८ गते नै घोषणा गरिने भएको छ ।

    उत्कृष्ट पुरुष तथा महिला, पिपुल च्वाइस र प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ । यसपटक एकजना अन्तराष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गरिने भएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

    यसपटक अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द्र एन्ड कम्पनी प्रालि रहेको छ । मंचले डिजिटल पेमेन्ट पार्टनरको रुपमा इ–सेवासँग सहकार्य गरेको छ । अवार्डमा इ–सेवा भोटिङ ५० प्रतिशत रहने भएको छ ।

    पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपुल्स च्वाइस विधातर्फ पौडीकी गौरिका सिंह, भालिबलकी अरुणा शाही, कराँतेका मन्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयन भएका छन् । भोटिङको आधारमा यो विधामा विजेता घोषणा गरिनेछ ।

  • सभामुखविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

    सभामुखविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

    काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको पेशी नियमित रोलक्रमअनुसार चढेपनि आज हेर्न नभ्याइने भनेर पन्छाइएको छ ।

    सापकोटाको मुद्दाको पेशी गत वैशाखदेखि नै रोलक्रममा थियो । रोलक्रम अनुसार नै शुक्रबार संवैधानिक इजलासमा परेपनि हेर्न नभ्याइने भनेर पछि सारिएको छ । रोलक्रमअनुसार पेशीमा पर्नु संयोगमात्र भएपनि नेकपाको एउटा पक्षले यसलाई आशंकाका दृष्टिले हेरेको थियो ।

    काभ्रेपलाञ्चोकका अर्जुन लामाको अपरहणपछि हत्या गरेको घटना तत्कालीन विद्रोही माओवादीका नेता अग्नि सापकोटाको प्रत्यक्ष निर्देशनमा भएको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले किटानी जाहेरी दिएकी थिइन् । सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा सापकोटा मन्त्री भएपछि कनकमणि दीक्षित, सुशील प्याकुरेल र पूर्णिमाया लामा पुनः २०६८ सालमा सर्वोच्च अदालतमा गएका थिए ।

    मुद्दा संवैधानिक इजलासमा रहेकै बेला सापकोटा सभामुख निर्वाचित भएपछि नैतिकताका आधारमा प्याकुरेलले गतवर्ष राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए । प्याकुरेलले जघन्य हत्यामा संलग्न सापकोटाको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला सभामुख जस्तो संवैधानिक पदमा लैजान नहुने बताएका थिए ।

    तत्कालीन माओवादी पक्षले भने द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायसम्बन्धी कानूनबाट छिनोफानो हुनुपर्ने भन्दै आएको छ ।

    यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो ।

    सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो।

  • संसद् विघटनले नेप्सेमा पहिरो, झण्डै १०० अंकको गिरावट

    संसद् विघटनले नेप्सेमा पहिरो, झण्डै १०० अंकको गिरावट

    काठमाडौं । कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ९६ दशमलव ८८ अंकले घट्दै १९ सय ३५ दशमलव ६४ अंकमा ओर्लिएको छ । नेप्से ४ दशमलव ७७ प्रतिशतले तल झरेको हो । पछिल्लो अप्रत्यासित राजनैतिक घटनाले शेयर बजारमा भारी गिरावट आएको नेप्सेका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले बताए ।

    ‘नेप्से एकैदिन करीब ९७ अङ्कले तल झर्नुमा अन्य कुनै कारण नभइ आज भएको राजनैतिक घटनाक्रम नै हो,’ लगानीकर्ताको मनोबल कमजोर हुँदा त्यसको असर नेप्सेमा प्रत्यक्ष पर्‍ यो । आज नेप्से घट्नुमा अन्य कुनै कारण छैन,’ उनले भने ।

    नेप्सेमा भारी गिरावट आएपनि कारोबार रकम भने बढोत्तरी भएको छ । आज भएको १४ करोड ३ लाख १५ हजार ७९६ कित्ताको कारोबारमा आठ अर्ब ९० करोड ४७ लाख २२ हजार ९५४ रकमको टर्नओभर भएको छ ।

    सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) को १ अर्ब ५७ करोड ४७ लाख २ हजार ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

     

  • विद्यालयबाट अपहरित ३४४ विद्यार्थी अपहरणमुक्त

    विद्यालयबाट अपहरित ३४४ विद्यार्थी अपहरणमुक्त

    सिन्ह्वा । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका छन् ।  यस घटनामा आतङ्ककारी समूह बोको हरामको हात रहेको छ ।

    अपहरण मुक्त भएका प्रायःविद्यार्थीहरु केटा भएको राज्यका गभर्नर अमिनु मासारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताए । हाल ती विद्यार्थीहरु कितसिना राज्यतर्फ फर्किर्दै गरेका र उनीहरुलाई स्वास्थ्य उपचार गराई परिवारजनको जिम्मा लगाइने मसारीले बताए ।

    कितसिना राज्यको कंकरा इलाकामा रहेको सरकारी विज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गत डिसेम्बर ११ का दिनमा विद्यालयमा आक्रमण बन्दुकधारी समूहले अपहरण गरेका थिए । स्थानीय सञ्चार माध्यमकाअनुसार ती विद्यार्थिहरुलाई छिमेकी पर्ने राज्यको एक विशाल जंगलमा लगिएको थियो ।

    बन्दुकधारीले गरेको सो हमलामा परी यहाँका ३४४ जना बालबालिका हराएका थिए । बोको हराम नामक यहाँको आतङ्ककारी संगठनले बुधबार ती बालबालिका आफूले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको थियो ।

    सो राज्यका गभर्नर मासारीले सो बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी जारी राखिएको बताएका थिए ।
    बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयमा आफूले अपहरण गरेको भन्दै विद्यालयका ३४४ जना बालकालिका आफूहरुसँग रहेको बताएका थिए ।

    सो विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेको थिए । नाइजेरियाको बोको हराम आतङ्ककारी समूहले विद्यालयबाट विद्यार्थीलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् ।

  • यसवर्ष अस्करमा छैन नेपालको प्रतिनिधित्व, ९० विदेशी भाषी फिल्मबीच प्रतिस्पर्धा हुँदै

    यसवर्ष अस्करमा छैन नेपालको प्रतिनिधित्व, ९० विदेशी भाषी फिल्मबीच प्रतिस्पर्धा हुँदै

    यसवर्ष अस्कर फिल्म अवार्डमा नेपालको सहभागिता नहुने भएको छ । योग्य फिल्म नभएपछि प्रतिनिधित्व नभएको काठमाडौंस्थित अस्कर कमिटिले जनाएको छ ।

    आमा र सरिता दुई फिल्म छनौटको प्रतिस्पर्धामा थिए तर, कमिटिले यी दुबैलाई सिफारिस गरेन । ‘योग्य फिल्म नभएपछि सिफारिस नगरिएको हो’ कमिटि सदस्य सामिप्य तिमल्सिनाले भने, ‘अस्करकै गुनासोपछि योग्य फिल्मलाई मात्र पठाउने निधो भएको हो ।’

    यसवर्षको ९३ औं संस्करणमा अन्तराष्ट्रिय फिचर विधातर्फ ९० फिल्मको सहभागिता रहेको एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले जनाएको छ । आगामी फेब्रुअरी २१ मा यस विधाको मनोनयन सार्वजनिक हुनेछ ।

    अन्तराष्ट्रिय विधामा यस संस्करणमा क्यानडा, चिली, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, इरान, इजरायल, जापान, पोल्यान्ड, रोमानिया, रसिया, स्लोभाकिया, दक्षिण कोरिया, स्पेन र स्वीडेनबाट सिफारिस बलिया देखिएको गोल्ड डर्बीले प्रक्षेपण गरेको छ ।

    नेपालले पहिलोपटक फिल्म सिफारिस नगरेको हो । अहिलेसम्म एरिक भ्याली निर्देशित फिल्म ‘हिमालय’ मात्र अस्करको अन्तराष्ट्रिय विधामा उत्कृष्ट पाँचमा छानिन सकेको छ ।

  • ३५६ करोडसहित अक्षय कुमार बलिउडमा सर्वाधिक कमाउने फोर्ब्स सूचीमा

    ३५६ करोडसहित अक्षय कुमार बलिउडमा सर्वाधिक कमाउने फोर्ब्स सूचीमा

    सर्वाधिक कमाउने सेलेव्रिटीको फोर्ब्स सूचीमा अक्षय कुमार परेका छन् । ३५६ करोड भारुसहित उनी यो सूचीमा समावेश हुने एकमात्र बलिउड अभिनेता हुन् । फोर्ब्सले वर्षेनि संसारको मनोरञ्जन उद्योगमा सर्वाधिक कमाउनेको सूची तयार पार्छ ।

    कोरोना महामारीले विश्व फिल्म र संगीत उद्योग नै ठप्प भएको बेला अक्षय कुमारको आम्दानी भने बढिरह्यो । ४८.५ मिलियन डलरसहित अक्षय सूचीको ५२औं नम्बरमा छन् ।

    आगामी दुई फिल्म ‘बच्चन पाण्डे’ र ‘बेल बटम’मा अक्षय कुमारमाथि निर्माताले १३ मिलियन डलर लगानी गरेको फोर्ब्सले जनाएको छ । उनी अहिले ‘पृथ्वीराज’ छायांकनमा व्यस्त छन् । ‘बेल बटम’ सुटिङ सकिएको छ । अतरङ्गी रे, सूर्यवंशी, रामसेतु, रक्षा बन्धन लगायतका प्रोजेक्ट रिलिज पाइप लाइनमा छन् ।

  • कांग्रेसमा रूखका भन्दा गुटका हाँगा धेरै

    कांग्रेसमा रूखका भन्दा गुटका हाँगा धेरै

    काठमाडौं । ‘रूख’ नेपाली कांग्रेसको चुनाव चिन्ह । कांग्रेसजनको आस्थाले प्रेम गर्ने ‘रूख’मा पार्टीको विचार, सिद्धान्त र संगठन फक्रन छाडेका छन् । कांग्रेस गुटहरूको महासंघ झैं देखिंदा रूखका भन्दा गुटका हाँगा झाङ्गिदै छन् ।

    नेपाली कांग्रेसमा झट्ट हेर्दा दुई गुट देखिन्छन् । अलिक चासो दियो भने तीन वटा गुट त प्रष्टै देखिन्छन् । कांग्रेसको आन्तरिक राजनीतिको सबै पाटो केलाएर हेर्ने हो भने चैं कांग्रेसभित्र दर्जन गुट छन् । ती गुटहरू आफू अनुकूल पार्टी हाँक्न वा पार्टीबाट प्राप्त हुने स्वार्थ हासिल गर्न वर्षौंदेखि सक्रिय छन् ।

    कांग्रेस वृत्तमा कांग्रेस भन्नु नै ‘गुटहरूको महासंघ’ हो भन्ने उक्ति चर्चामा छ । आजको सग्लो कांग्रेसको स्थापना नै दुई अलग पार्टीको एकताबाट भएको थियो । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएर नेपाली कांग्रेस बनेदेखि नै कांग्रेसभित्र दुई गुट सक्रिय नै थिए । वीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको टकराव होस् वा वीपी र सुवर्ण शमशेरबीचको आन्तरिक संघर्ष, ती सबै कांग्रेसको तत्कालीन गुटहरूको प्रभाव थिए । पञ्चायतकालीन समयमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाको समन्वयमा कांग्रेसमा ‘नेतात्रय’ भन्ने अवधारणा सतहमा आयो । तर वीपीको निधनलगत्तै कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको गुटबीच संघर्ष भइरह्यो ।

    पञ्चायतकालीन समयमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद कोइरालाको समन्वयमा कांग्रेसमा ‘नेतात्रय’ भन्ने अवधारणा सतहमा आयो । तर वीपीको निधनलगत्तै कांग्रेसमा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले नेतृत्व गरेको गुटबीच संघर्ष भइरह्यो ।

    २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति भट्टराई पराजित भएपछि प्रधानमन्त्री बन्ने अवसर कोइरालालाई प्राप्त भयो । प्रधानमन्त्री बने पनि पार्टीभित्र आफ्नो प्रभाव भट्टराईको भन्दा कम रहेको बुझेपछि सत्ताकै सहयोगमा कोइरालाले गुट विस्तार गरे । ७५ मध्येका ६६ जिल्ला सभापति भट्टराईको पक्षमा रहेकाले पार्टीभित्र समेत पकड बनाउने उद्देश्य राखेर कोइरालाले २०४९ सालमै स्थानीय निर्वाचन गराए । काठमाडौं महानगरपालिका बाहेक देशका अधिकांश प्रभावशाली नगर र गाउँमा कोइरालाले आफूनिकटलाई टिकट दिन सफल भए । यही कारण कोइराला गुट कांग्रेसमा बलियो बन्दै गयो ।

    नेपाली कांग्रेसको १३औं महाधिवेशनमा भएको प्रतिस्पर्धालाई आधार मान्ने हो भने कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेका मुख्य तीन वटा गुट क्रियाशील छन् । सभापति देउवाले लामो समय आफ्नो गुटको हैसियत निर्माणका लागि संघर्ष गरे । पार्टी विभाजनसम्म गरे । पार्टी एकतामा पुर्‍याए ।

    सभापति देउवाले लामो समय आफ्नो गुटको हैसियत निर्माणका लागि संघर्ष गरे । पार्टी विभाजनसम्म गरे । पार्टी एकतामा पुर्‍याए ।

    निरन्तरको आन्तरिक प्रतिस्पर्धाबाट कांग्रेसको मूल नेतृत्वमा स्थापित पनि भए । पार्टी सभापति भए पनि देउवा नेतृत्वको गुट कांग्रेसमा अहिले सबैभन्दा ठूलो र प्रभावकारी छ । १३औं महाधिवेशनयता देउवाको गुटमा नेताहरूको संख्या बढ्दै पनि गएको छ तर आसन्न महाधिवेशनमा देउवाको गुट ‘एकढिक्का’ रहने सम्भावना ज्यादै न्यून छ । देउवा नेतृत्वको गुटभित्र उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारको आ–आफ्नै उपगुट रहेका छन् । त्यस्तै महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा पनि छुट्टै उपगुट रहेको छ । खड्काको गुटमा स्वर्गीय खुमबहादुर खड्काको ‘लिगेसी’ जोडिएका नेताहरू सक्रिय छन् । सह–महामन्त्री डा. प्रकाशशरण महत र नेता बालकृष्ण खाँडको नेतृत्वमा पनि उपगुट सक्रिय रहेका छन् । नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता एनपी साउद पनि देउवा गुटभित्रका प्रभावशाली नेता हुन् । देउवा समूहभित्र पनि उनको आफ्नै शक्ति छ ।

    १३औं महाधिवेशनमा देउवाको निकटतम प्रतिस्पर्धी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गुटको नेतृत्व गरेको लामो अनुभव छैन । २०४६ सालयता गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नेतृत्वको गुटमा रहेका पौडेल अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेपछि मात्रै गुटको हर्ताकर्ता बनेका हुन् । पौडेलको गुटमा पार्टी पदाधिकारी भइसकेका भेट्रान नेताहरूको उपस्थिति त छ तर ती सबैका आ–आफ्नै उपगुट छन् । यसर्थमा पौडेल नेतृत्वको गुट पनि आफैंमा उपगुटहरूको मोर्चा जस्तो देखिन्छ । जसभित्र महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइरालाको नेतृत्वमा उपगुटहरू सक्रिय छन् ।

    हालै राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सह–महामन्त्री सुनीलबहादुर थापाको नेतृत्वमा पनि कांग्रेसभित्र गुट बनिसकेको छ । यो गुटमा राप्रपाबाट आएका ६ जना केन्द्रीय र तीन जना आमन्त्रित केन्द्रीय सदस्यहरू रहेका छन् ।

    १३औं महाधिवेशनबाट कांग्रेसमा बनेको नयाँ गुटको नेतृत्व पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले गर्छन् । पार्टीको आन्तरिक राजनीतिमा लामो समय कोइराला परिवारको निकट रहेर काम गरेका सिटौला आफूलाई ‘गिरिजाबाबु र सुशील दा’ को उत्तराधिकारी भन्न रुचाउँछन् । संसदीय दलको निर्वाचन र पार्टीका अन्य निर्णयहरूमा अभिव्यक्त मत र रुझानको विश्लेषण गर्ने हो भने सिटौलाको नेतृत्वमा गुट त छ तर गुटभित्रका नेताहरूको रुचि अन्य गुटमा बढी छ । जस्तो कि संसदीय दलको निर्वाचनमा सिटौला पक्षका सांसद गगन थापाले प्रकाशमान सिंहलाई मत दिए तर सोही गुटका उमाकान्त चौधरी र भीमसेनदास प्रधानले शेरबहादुर देउवालाई मत दिए । केन्द्रीय सदस्यहरू कोही सभापति देउवासँग अति निकट छन् भने कोही वरिष्ठ नेता पौडेलसँग । यसर्थ सिटौला नेतृत्वको गुटभित्र पनि उपगुटहरूको प्रभाव छ । त्यहाँ गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरीका आ–आफ्नै उपगुट रहेका छन् ।

    हालै राप्रपा त्यागेर कांग्रेस प्रवेश गरेका सह–महामन्त्री सुनीलबहादुर थापाको नेतृत्वमा पनि कांग्रेसभित्र गुट बनिसकेको छ । यो गुटमा राप्रपाबाट आएका ६ जना केन्द्रीय र तीन जना आमन्त्रित केन्द्रीय सदस्यहरू रहेका छन् ।

    १३औं महाधिवेशनमा सभापति देउवाको प्रस्तावक बनेका पूर्व महामन्त्री कुलबहादुर गुरुङको नेतृत्वमा पनि कांग्रेसमा गुट सक्रिय छ । गोविन्दराज जोशी (निष्कासित), विनयध्वज चन्द, लक्ष्मण घिमिरेलगायतका नेताहरू गुरुङको गुटमा छन् ।

    कांग्रेसमा रहेका यी गुटहरूको मुख्य भूमिका पार्टीभित्र आफ्नो ‘दुनो सोझ्याउनु’ हो । कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेको बुझाइमा कांग्रेसमा विचारको नभई ‘बार्गेनिङ’ को गुट छ । ‘कुनै खास विचार र योजनाका लागि मन मिल्नेहरूबीच सहकार्य भएको भए गुट राम्रो हुन्थ्यो । आफ्नो स्वार्थ पूरा गर्न र बार्गेनिङ गर्नका लागि कांग्रेसका गुटहरू सक्रिय देखिन्छन्’, आङदेम्बेले भने ।

    केन्द्रीय सदस्य प्रदीप पौडेल कांग्रेसका परम्परागत गुटहरू भत्काउनुको विकल्प नरहेको बताउँछन् । ‘जीवन्त पार्टीमा समूहहरू हुने कुरा स्वाभाविक हो तर कांग्रेसमा जुन परम्परागत गुटबन्दी छ यसले पार्टीको हित गरिरहेको छैन । त्यसैले पुराना गुटहरू भत्काउन प्रयास गर्नुपर्छ’, पौडेलले भने ।

    गुटको आलोचना गर्ने नेताहरू स्वयं भने कुनै न कुनै गुटमा लागेकै देखिन्छन् । केन्द्रीय सदस्य आङदेम्बे पार्टीभित्र गुटमा नहुनेले बाँच्नै नसक्ने स्थिति बनाइएकोले यस्तो अवस्था आएको दाबी गर्छन् ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइमा कांग्रेसमा गुटहरूको प्रभाव स्थापनाकालदेखि नै छ । कांग्रेसका गुटले समग्र पार्टीभन्दा पार्टीभित्रको निश्चित समूहलाई लाभ हुने गरेको छ । ‘गुटका कारण धेरै नेताले अवसर पाएका छन् । गुटप्रतिको प्रतिबद्धता नै कांग्रेसीको योग्यता भइसक्यो’, आचार्यले भने । कांग्रेसमा गुट उपगुटहरूको प्रभाव फैलँदो क्रममा रहेको छ । जसले आसन्न महाधिवेशनलाई बढी प्रभावित पार्ने देखिन्छ ।

    निर्विरोध रहेनन् देउवा

    सभापति शेरबहादुर देउवा इतर समूहबाट जति आलोचित भए पनि आफ्नो गुटभित्र निर्विरोध रहँदै आएका थिए । तर यसपटक भने आफ्नै गुटभित्र देउवा निर्विरोध छैनन् । राजनीतिको लामो यात्रामा देउवाको सारथि रहेका उपसभापति विमलेन्द्र निधि आफैं सभापति लड्ने तयारीमा छन् । सभापतिमा दोहोरिने देउवाको इच्छा हुँदाहुँदै निधिले पनि दाबी गर्नुले देउवालाई समस्यामा पारेको छ । सभापतिको उम्मेदवारीसँगै कार्यकर्ता भेटघाट र छलफललाई तीव्रता दिएका निधिले आफ्नो छुट्टै गुट मात्रै निर्माण गरेका छैनन् त्यसलाई एकताबद्ध राख्न प्रयास पनि गरिरहेका छन् ।

    आफ्नैको पेलानमा पौडेल

    वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसभित्र संस्थापन इतर समूहका नेता हुन् । तर आफ्नै गुटभित्रका नेताहरू मिलाउन पौडेललाई हम्मे–हम्मे परेको छ । प्रकाशमान सिंह, डा. शशांक कोइराला र डा.शेखर कोइराला आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । अघिल्लो महाधिवेशनमा सबैले पौडेललाई सघाएका भए पनि यतिबेला पौडेल आफ्नैको पेलानमा परेका छन् । सभापति देउवा आलोचित हुँदा आफूले राजनीतिक लाभ लिउँला भन्ने सोचेका पौडेल आफ्नै गुट सम्हाल्न नसक्ने अवस्थामा पुगेका छन् ।

    सिटौला कसको सारथि ?

    कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला आफूलाई गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको राजनीतिक सारथि भन्न रुचाउँछन् । अघिल्लो महाधिवेशनमा कसैको सारथि नबनी आफैं सभापतिको दावेदार बनेका सिटौलाले यसपटक के गर्लान् ? कांग्रेसवृत्तमा चासो बढेको छ । सिटौला गुटभित्र रहेका नेताहरू गगन थापा र प्रदीप पौडेल देउवासँग मिल्न नहुने पक्षमा छन् भने उमाकान्त चौधरी, शिवप्रसाद हुमागाई र भीमसेनदास प्रधान देउवासँग सहकार्य गर्नुपर्ने पक्षमा छन् । यस्तो अवस्थामा सिटौलालाई आफ्नो गुट एकढिक्का राख्न चुनौती थपिएको छ ।

    गच्छदार र थापाले के गर्लान् ?

    कांग्रेस उपसभापति विजयकुमार गच्छदारको राजनीतिक सक्रियता पछिल्लो समय घटेको छ । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले ‘डामे’ पछि गच्छदार तनावमा छन् । तर तत्कालीन लोकतान्त्रिक फोरमलाई कांग्रेसमा एकता गराएबापत प्राप्त शक्ति गच्छदारसँग छ । केन्द्रीय समितिमा गच्छदारबाहेक उनीनिकट ११ जना सदस्य र ६ जना आमन्त्रित सदस्य रहेका छन् । गच्छदारबाहेक हालै राप्रपाबाट आएका सहमहामन्त्री सुनीलबहादुर थापाको समूह पनि अहिले सभापति देउवा निकट नै छ । आसन्न महाधिवेशनमा कता लाग्ने भन्नेबारे थापा नेतृत्वको समूहले तय गरिसकेको छैन ।

    ‘कांग्रेसमा गुट होइन बार्गेनिङ समूह धेरै भए’
    भीष्मराज आङदेम्बे , संयोजक, केन्द्रीय अनुशासन समिति, नेपाली कांग्रेस

    नेपाली कांग्रेस त गुटहरूको महासंघ भइसक्यो भन्छन् नि ?

    जीवन्त पार्टीभित्र गुटहरू हुन्छन् त्यसमा आश्चर्य मान्नुपर्दैन । गुट भएपछि उपगुटहरू हुन्छन् त्यो पनि नौलो भएन । तर गुटहरू संस्थागत रूपमै मौलाउन थालेकाले यसले पार्टीलाई सिध्याउँदैछ । कांग्रेसको आकार खुम्चनुको पहिलो कारण नै गुट–उपगुट हो । निश्चित कामका लागि विचार मिल्नेहरूबीच गुट बनेको भए धेरै राम्रो हुन्थ्यो । तर कांग्रेसमा नेताको बुइँ चढेर अवसर हत्याउनकै लागि गुट बनाउने र गुटमा लाग्ने काम भयो । यसले गर्दा कांग्रेसभित्र विचार र संगठनभन्दा गुट निर्णायक हुन थाल्यो । त्यसले कांग्रेस गुटहरूको महासंघ बन्यो भन्नुभन्दा पनि गुटका कारण कांग्रेस अधोगतितर्फ लाग्यो भन्ने लाग्छ ।

    महाधिवेशन नजिकिंदै जाँदा त गुट बन्ने, भत्कने, फेरबदल हुने भइरहेको छ नि, यसले पार्टीलाई कत्तिको असर गर्ला ?

    गुट भनेको जहिले पनि स्वार्थहरूको समूह हो । यो कहिल्यै पनि दीर्घजीवी हुँदैन । विचारका लागि बनेका एकथरी गुट हुन्छन् । कांग्रेसमा त्यस्ता गुटहरू बनेका छैनन् । आफ्नो अस्तित्व जोगाउन र आफ्ना मान्छेलाई अवसर दिन कांग्रेसका गुटहरू बनेका हुन् । महाधिवेशन आइरहेकोले अवसरको खोजीमा नेता कार्यकर्ताहरूले उपयुक्त गुट छान्न यताउता हुने कुरा स्वाभाविक छ । महाधिवेशनबाट नेतृत्वमा आउन चाहने नेताहरूले गुट चलाउने प्रयास गर्नुभएको छ । महाधिवेशनमा कम्तीमा दोस्रो पुस्ताले गुटभन्दा माथि उठेर भूमिका खेल्नुपर्छ । दोस्रो पुस्ताका नेताहरूले चाहेमा गुट रोकिन सक्छ । गुटले मात्रै पार्टीलाई फाइदा गर्दैन, प्रतिस्पर्धाका लागि समूह बन्ने कुराले पार्टीलाई हानि गर्दैन । मुख्य कुरा लोकतान्त्रिक संस्कार र हार्दिक प्रतिस्पर्धा हुनुपर्छ । बार्गेनिङका लागि मात्रै गुट चलाउनेहरूलाई महाधिवेशनले पाठ सिकाउनुपर्छ ।

    गुटले अनुशासनमा चैं कत्तिको असर पारेको छ त ?

    कांग्रेसका तल्लो तहका कार्यकर्तामा गुटभन्दा पार्टी बलियो भए हुन्थ्यो भन्ने छ । तर कांग्रेसमा जति ठूला नेता छन् उत्ति धेरै गुटलाई प्राथमिकता दिएका छन् । नेताले नै गुटबन्दीलाई वडासम्म लैजान चाहेका छन् । अनुशासन समितिमा रहेर काम गरेको अनुभवमा गुटकै कारण अनुशासनको घेरा तोड्ने काम भएको छ । एउटा गुटकोले टिकट पाए अर्को गुटले नसघाउने प्रवृत्ति छ । गुटको असर नेतालाई भन्दा कार्यकर्तालाई नै बढी परेको छ । जुन दिन आम कार्यकर्ताले यो यथार्थ बुझ्छन् त्यही दिन गुटको झण्डा बोक्नेलाई कार्यकर्ताले लखेट्नेछन् ।

  • उपमेयरको घरमा कसरी पुगिन् बालिका ? बलात्कार प्रयासको आरोप

    उपमेयरको घरमा कसरी पुगिन् बालिका ? बलात्कार प्रयासको आरोप

    जनकपुर । महोत्तरीको मनरा सिसवा नगरपालिकाकी उपमेयर रमिता प्रधानको घरको शौचालयमा मुख बाँधिएको अवस्थामा १४ वर्षीया बालिका फेला परेको घटना सार्वजनिक भएको छ ।

    घटना बुधबारको हो । बुधबार साँझ करिव साढे छ बजेबाट बेपत्ता भएकी ती बालिकालाई प्रहरीको सहयोगमा २ घन्टापछि विनोद गामीको घरको शौचालयमा मुखमा कपडा कोचिएको अवस्थामा भेट्टाइएको महोत्तरीका डिएसपी राजन चापागाईंले जानकारी दिए । गामी उपप्रमुख रमिताका श्रीमान् हुन् ।

    नगरपालिकाको वडा नम्बर ६ मा उपप्रमुख प्रधानको घर छ । हराएकी बालिकाको खोजी गर्ने क्रममा उपप्रमुखको घरअगाडि चप्पल भेटिएको थियो । बालिकाका परिवारले बालिकालाई शौचालयमा लगेर बलात्कारको प्रयास गरिएको दावी गरेका छन् ।

    तर प्रहरीले भने स्वास्थ्य परीक्षण भएपछि मात्र बलात्कारबारे बोल्न सकिने जनाएको छ । उपप्रमुखको शौचालयमा बालिका भेटिएकोबारे नेपालप्रेसको जिज्ञाशामा महोत्तरी प्रहरीको तर्क चाहिँ हास्यास्पद छ, ‘हराइरहेकी बालिका भेटिएकी शौचालय उपमेयर प्रधानको होइन्, विनोद गामीको हो । हामी अनुसन्धान गर्दैछौं ।’ घटनापछि गामी फरार हुनुले परिवारको आरोपलाई बल पुगेको छ ।

    यता उपप्रमुख प्रधानले भने आफूलाई फसाउन बालिकालाई उनकै आमाले शौचालयमा ल्याएर राखेको बताइन् । उनले नेपालप्रेससँग भनिन्, ‘म घर आउँदा ती बालिका आमासँगै आगो तापिरहेकी थिइन्, एकैछिनमा अपहरण भयो भनेर हल्ला गरियो । र, तुरुन्तै शौचालयमा भेटिइन् भनियो । सबै योजनाबद्ध रुपमा भएको छ ।’

    उनले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले आफूलाई फसाउन योजनावद्ध रुपमा लागेको आरोपसमेत लगाएकी छन् । राज्यमन्त्री कुशवाहा त्यही क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित प्रदेश सांसद हुन् । रमिता भने तत्कालीन राजपाबाट उप–प्रमुख बनेकी छन् । पार्टी एकीकरणपछि अहिले दुवै जना एउटै पार्टी जसपामा छन् ।

    राज्यमन्त्रीले किन तपाईंलाई फसाउन खोजेको भन्ने जिज्ञासमा उनले भनिन्, ‘पुरानो रिसिइबी हुनसक्छ ।’ उनले यसअघि पनि कुशबाहाले पटक पटक आफूलाई फसाउन प्रयास गरेको दावीसमेत गरिन् ।

    राज्यमन्त्री कुशवाहाले घटनाबारे प्रहरीले जानकारी गराएपछि थाहा पाएको प्रतिक्रिया दिए । उनले भने, ‘यो घटनाबारेमा मैले आधिकारिक केहि भन्न सक्दिनँ । प्रहरीबाटै बुझ्नुस् ।’

  • मालपोत प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    मालपोत प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा

    दाङ । मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेशकुमार खड्कासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्यलय प्रमुख खड्का, मुद्दा फाँटका नायब सुब्बा केशवराज अधिकारी, मोठ फाँटका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध मुद्दा दायर गरिएको हो ।

    अख्तियारको आरोपपत्रमा सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने क्रममा ३ लाख २० हजार रुपैयाँ घुस लिएको उल्लेख छ ।

  • लोकेसन खोज्दै हिरोइन, ‘भाँडाकुटी’ लिड लेडीमा बेनिशा

    लोकेसन खोज्दै हिरोइन, ‘भाँडाकुटी’ लिड लेडीमा बेनिशा

    अस्कर कलेजका फिल्म विद्यार्थीद्धय किरण विक र गोपाल आचार्य फिल्म निर्माणको चटारोमा छन् । लकडाउन खुलेलगत्तै पहिलोपटक फिल्म घोषणा भएको हो । यी तन्नेरीले आगामी फागुन १ गतेदेखि ‘भाँडाकुटी’ फिल्म छायांकन सुरु गर्दैछन् ।

    किरणले निर्देशन गर्ने फिल्मलाई गोपालले एसोसिएट निर्देशन गर्नेछन् । बेनिशा हमाल र मुकुन भुषाल मुख्य भूमिकामा छन् । ‘कालोपोथी’ एक्ट्रेस बेनिशाले यसमा दलित युवतीको भूमिकामा अभिनय गर्नेछिन् । मुकुन उनको लभ इन्ट्रेस्टको भूमिकामा हुनेछन् ।

    बेनिशासहितको टोलीले केही समय पहिले बुटवलको मोतीपुर, सिद्धबाबा र फूलबारीमा छायांकनको लागि लोकेसन हन्टिङ गरेको छ । यही सेटिङमा छायांकन गरिने फिल्मलाई लभ, कमेडी र सोसल ड्रामा जनरामा राखिने भएको छ । प्रेममा जातिय विभेदको असर र सामाजिक द्धन्द्धलाई फिल्मले चित्रण गर्नेछ ।

    फिल्म गतिविधि ठप्प भैरहेको बेला निर्माणको घोषणा गर्ने यी तन्नेरीको पहललाई सकारात्मक रुपमा लिइएको छ । ‘फिल्म बनाउनका लागि यो सहि समय पनि हो’ निर्देशक विकले भने, ‘माहौल बनाउने मात्र हैन, फिल्मलाई नयाँ ढंगबाट सुरुआत गर्न अहिलेको समय महत्वपूर्ण छ ।’

    एक करोड लगानीमा बन्ने फिल्मलाई कलम खड्का, डिराज ठकुरी र शीतल खड्काले बनाउन लागेका हुन् । गैरआवसिय नेपालीको लगानी यसमा छ । दृश्यालय सिनेमाले बनाउने फिल्मलाई नयाँवर्षमा प्रदर्शन गर्ने योजना छ ।

  • चिसोले उखु किसान बिरामी पर्न थाले

    चिसोले उखु किसान बिरामी पर्न थाले

    काठमाडौं । एक हप्तादेखि काठमाडौंको चिसोमा आन्दोलनरत उखु किसान बिमारी पर्न थालेका छन् । बिहीबारमात्र दुईजना उखु किसान चिसोका कारण बिरामी भएर अस्पताल लगिएको उखु किसान संर्घष समितिका अध्यक्ष रामस्वार्थ रायले बताए ।

    किसानलाई कान्तिपुर र सिभिल अस्पताल लगिएको उनले बताए । उनका अनुसार ती किसानलाई रुगा, खोकी र सामान्य ज्वरो आएको छ । शुक्रबार अन्य उखु किसान पनि बिरामीकै कारण गौसलास्थित धर्मशालामा सुतिरहेका उनले जानकारी दिए ।

    तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका चारजना मन्त्रीले मंगलबार चिनी उद्योगी पक्रने निर्णय गरेपछि प्रहरीले काठमाडौं ‘सर्च अपरेशन’ चलाएको छ । प्रहरीले कुनै पनि उद्योगीलाई अहिलेसम्म पक्रिन सकेको छैन ।

  • चिसोले चारको मृत्यु

    लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ ।

    चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    गत मंसिर २२ देखि मंसिर२८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

    यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका–८ र गोलबजार नगरपालिका–१३ का १५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ । सुखीपुर नगरपालिका–८ अस्पतालचोकका १३० र गोलबजार नगरपालिका–१३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरेको प्रजिअ कणेलले बताए ।

  • अध्यादेशविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदै

    अध्यादेशविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदै

    काठमाडौं । संवैधानिक परिषद सम्बन्धी अध्यादेशविरुद्ध परेका तीनवटा अलग अलग रिटमाथि आज सर्बोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । सरकारले अध्यादेश फिर्ता लिन र पूरानै कानुन जीवित गराउन अर्को अध्यादेश जारी गरि नसकेको अवस्थामा संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो ।

    बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,कन्चनकृष्ण न्यौपाने र ओमप्रकाश अर्यालले दर्ता गरेका अलग अलग रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा एकैपटक सुनुवाई हुन लागेको हो । इजलासमा सर्बोच्चका बरिष्ठ न्यायाधीशहरु क्रमशः दिपक कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन् ।

    इजलासमा बहसपछि आजै आदेश आउन सक्ने सम्भावना छ । रिटमा राष्ट्रपति,प्रधानमन्त्री सहित संवैधानिक परिषदका सदस्यहरुलाई समेत विपक्षी बनाइएको छ ।

  • अखिल सहसंयोजक रन्जित तामाङलाई म्याग्दीमा कार्यकर्ताको अवरोध

    अखिल सहसंयोजक रन्जित तामाङलाई म्याग्दीमा कार्यकर्ताको अवरोध

    काठमाडौं । नेकपामा केपी ओली पक्ष र प्रचण्ड–माधव नेपाल पक्षबीचको विवाद पार्टी बिभाजनको दिशामा अघि बढिरहेका बेला म्याग्दी पुगेका अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको कार्यक्रममा संयोजक ऐन महर पक्षधर विद्यार्थीले अवरोध गरेका छन् ।

    अखिलका स्थानीय नेता याम पौडेलको निधनमा श्रद्धान्जली दिन गएका तामाङले आज विहान बेनीस्थित याक होटलमा कार्यक्रम आयोजना गर्न लागेका थिए ।

    स्थानीय कार्यकर्ताले संगठनको झण्डा प्रयोग गरेर गुटको कार्यक्रम गर्न लागेको भन्दै अवरोध गरेका छन् ।

    अनेरास्ववियूका जिल्ला अध्यक्ष सुवास विश्वकर्माले स्थानीय कमिटीलाई जानकारी नदिई गुटको भेला गर्न खोजेपछि विद्यार्थीले विरोध गरेको बताए । अवरोध र होहल्लापछि प्रहरीले तामाङलाई त्यहाँबाट सुरक्षा दिएर बाहिर लगेको थियो ।

    तामाङ पक्षले भने जिल्लाका पार्टी नेताहरु सहित पत्रकार सम्मेलन गर्न लागेका बेला अर्को पक्षले अवरोध गरेको जनाएको छ । जिल्ला कमिटीले विहिवारै पौडेलको निधनमा श्रद्धान्जली सभा आयोजना गरेको थियो ।

    जिल्ला अध्यक्ष विश्वकर्माले भने संगठनको सहसंयोजक आउँदा कमिटीलाई जानकारी नदिई पूर्व माओवादी पक्षको भेला गर्नु शोभनीय नभएको बताए ।

    तामाङले भने विवाद भए पनि अवरोध चाहिँ नभएको बताएका छन् ।

  • टोखा नगरपालिका : होम आइसोलेशनमा बसेका संक्रमितका लागि ४२ लाख खर्च

    टोखा नगरपालिका : होम आइसोलेशनमा बसेका संक्रमितका लागि ४२ लाख खर्च

    काठमाडौं । टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप ४२ लाख नौ हजार १०० खर्च गरेको छ ।

    काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना संक्रमित परिवारलाई सन्तुलित भोजनका लागि उक्त रकम खर्च भएको हो ।

    कोरोना संक्रमण बढेसँगै टोखाको ६२औँ नगर कार्यपालिकाको बैठकले कोरोना पोजेटिभ भई घरमा बस्ने बिरामीका लागि १४ दिनसम्म सन्तुलित भोजनका लागि प्रतिदिन ३५० भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

    नगरपालिकाभित्र बसोबास गर्ने एक परिवारको एक जना मात्र कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बसेकालाई १४ दिनको एकमुष्ट चार हजार ९०० र एकै परिवारका एकभन्दा बढी व्यक्ति कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बस्नेलाई रु सात हजार उपलब्ध गराएको नगरपालिकाका आर्थिक शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले बताए ।

    टोखाले हालसम्म कोरोना पोजेटिभ देखिएर होमआइसोलेसनमा बस्ने ६०९ व्यक्तिलाई चार हजार ९०० का दरले २९ लाख ८४ हजार १०० उपलब्ध गराएको छ ।

    यस्तै एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बस्ने १७५ परिवारलाई सात हजारका दरले १२ लाख २५ हजार उपलब्ध गराएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपाल र काठमाडौँ उपत्यकामा प्रवेश गरेसँगै यसको असर टोखा नगरपालिकामा पनि सबैभन्दा धेरै देखियो ।

    टोखा नगरपालिकामा काठमाडौँको महानगरपालिकापछि धेरै संक्रमित भेटिएका थिए ।

    नगरपालिकाले हालसम्म पाँच हजार ७४३ जनाको कोरोना परीक्षण गर्दा तीन हजार ५०२ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको टोखा स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले जानकारी दिए । कोरोना संक्रमण कारण हालसम्म टोखामा नौ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै आजको मितिसम्म आइपुग्दा ९८ सक्रिय सङ्क्रमित छन् ।

    नगरपालिकाले होमआइसोलेसनमा बस्ने कोरोना सङ्क्रमितलाई भत्ताका साथसाथै कोरोनाको उपचारका लागि टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालको रूपमा स्थापना गरेर कोरोना सङ्क्रमितको उपचारसमेत गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए ।

    टोखाकै नगर कार्यपालिकाको बैठकले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालका लागि बढोत्तरी गर्ने निर्णयानुसार अस्पताललाई प्रदेश अस्पताल बनाउन मन्त्रिपरिषद्ले समेत स्वीकृत दिइसकेको छ ।

    टोखाले कोभिड–१९ सँग सम्बन्धित अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई भत्तासमेत उपलब्ध गराएको छ ।

    टोखाले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्वयंसेवकको मनोवल उच्च राख्न ४४८ जनाको कोरोना बीमासमेत गरिदिएको छ । कोरोना बीमा गर्नेमा ६० जनप्रतिनिधि, १८२ कर्मचारी र २०६ कोभिड स्वयंसेवक छन् ।

    टोखाले सबै जनप्रतिनिधि, कर्मचारी तथा स्वयंसेवकलाई रु एक लाख बराबरको कोरोना बीमा गरेको हो ।

    नगरपालिकाले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि झण्डै रु पाँच करोड रकम खर्च गरेको छ ।

    टोखाले विपन्न परिवारको राहत, कन्ट्याक्ट ट्रेसिङ, स्वयंसेवक, खाना तथा खाजा, अनुगमन, प्राविधिक र सुरक्षाकर्मी सरसफाइ, सूचना सन्देश प्रसारण, आइसोलेसन सामग्री खरिद, आइसोलेसन र क्वारेन्टिनमा खाना तथा खाजाका लागि उक्त रकम खर्च गरेको हो ।

    यस्तै, ह्याण्ड वास स्टेशन निर्माण, मास्क, क्लोरिन, स्यानिटाइजर, पिपिइ र थर्मलगन खरिद, सर्जिकल सामान खरिदका लागि समेत रकम खर्च गरेको छ ।

  • काठमाडौंको तापक्रम यस वर्षकै कम, चिसोले देशभरको जनजीवन कष्‍टकर

    काठमाडौंको तापक्रम यस वर्षकै कम, चिसोले देशभरको जनजीवन कष्‍टकर

    काठमाडौं। काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ६ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ।

    काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ। यसअघि बुधबार काठमाडौंको तापक्रम २ दशमलव ८ डिग्री थियो।

    मौसमविद् सजिना श्रेष्ठका अनुसार तापक्रम घटे पनि पानी पर्ने सम्भावना भने छैन।

    आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बनेको छ।

    चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाएका छन्।

    त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।

  • प्रचण्ड-माधव पक्षले जिल्ला अध्यक्ष र सचिवलाई पेरिसडाँडा बोलायो

    प्रचण्ड-माधव पक्षले जिल्ला अध्यक्ष र सचिवलाई पेरिसडाँडा बोलायो

    काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला प्रचण्ड माधव नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएको छ । पहिलो दिन आज प्रदेश १ का १४ जिल्लाका अध्यक्ष र सचिवहरुलाई काठमाडौंमा बोलाएको हो ।

    यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत प्रचण्ड-माधव नेपाल पक्षले गरिसकेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलामा केपी ओली इतर समूहका अध्यक्ष र सचिवहरु सहभागी हुने र उनीहरुलाई पार्टीभित्रको पछिल्लो अवस्थाबारे शीर्ष नेताले जानकारी गराउने एक केन्द्रीय सदस्यले बताए ।

    पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ । अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीले आनाकानी गरिरहेको भन्दै ती नेताले आजको बैठकमा यसबारेमा सचिवालयका नेताहरुले आफ्नो पक्षको धारणा राख्ने ती नेताले बताए ।

    प्रचण्ड-माधव नेपाल पक्षले सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भेला क्रमशः काठमाडौं गर्ने भएको छ । काठमाडौंमा आएका जिल्ला अध्यक्ष र सचिवहरुलाईै आफ्नो पक्षको रणनीतिबारे निर्देशन दिएर जिल्ला जिल्ला पठाउने तयारी प्रचण्ड पक्षको छ ।

    पार्टीमा पछिल्ला दिनमा बढ्दै गएको ध्रुवीकरण र संकट समाधानका गर्न आगामी दिनका लागि रणनीति तय गर्न भेलाको आयोजना गरिएको आफूहरूलाई जानकारी प्राप्त भएको जिल्लाबाट आएका एक नेताले नेपाल प्रेसलाई बताए।

    संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक ल्याएको अध्यादेशसँगै नेकपा विवादले नयाँ मोड लिएको थियो। दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको थियो।

  • नृसिंह, देगुतलेजु र बालकुमारी मन्दिर पुनर्निर्माण हुने

    नृसिंह, देगुतलेजु र बालकुमारी मन्दिर पुनर्निर्माण हुने

    रासस । मंगलबजारस्थित नृसिंह र देगुतलेजु तथा बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनःनिर्माण गरिने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार ‘महानगरपालिकाको १०२औं स्थापना दिवस’ मा ती मन्दिर पुनःनिर्माण गरिने जानकारी दिएका हुन् ।

    उनका अनुसार बालकुमारी मन्दिर पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम भइरहेको छ भने लगनखेलको ‘न्हूपुखु’ पोखरी बनाउन डेढ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ।

    जनतालाई कर र नक्सा पास गर्न महानगपालिका आउनु नपरोस् भनेर अनलाइन प्रविधिमार्फत सुविधा पुर्याउन लागिएको उनको भनाइ थियो । महानगरपालिकामा रहेका ७९ हजार घरदैलोमा ब्लक नम्बर नरहँदा घर पत्ता लगाउन कठिन भइरहेकाले सडक सञ्जालमा आधारित सो नम्बर राख्नका लागि अध्ययन गरिसकेको महर्जनले जानकारी दिए । ‘हामीले वडा नं ३ का एक हजार घरमा ब्लक नम्बर वितरण गरिसक्यौं,’ उनले भने, ‘आगामी वर्ष यहाँका प्रत्येक घरमा २१औं शताब्दीलाई सुहाउँदो नम्बर राखिसकिनेछ ।’

    त्यसैगरी महानगरपालिकलाई स्मार्ट सिटी बनाउन स्मार्ट बत्ती, साइकल लेन र हरियाली प्रवर्द्धन गर्नुपर्ने आवश्यक रहेको हुँदा यो वर्ष वाग्मती पुलबाट सातदोबाटोसम्म ६७९ स्मार्ट सडक बत्ती हाल्ने काम लगभग सकिन लागिसकेको उनको भनाइ छ । यस वर्ष मङ्गलबजारबाट ग्वार्को अनि हिमालय होटलबाट अशोक सिनेमा हलसम्म तथा हरिसिद्धि, खोकना, बुङ्मती क्षेत्रमा पनि स्मार्ट बत्ती जडान गरिने योजना उनले सुनाए ।

    अर्कोतर्फ महानगरपालिकामा अघि बढाइएको पानी र हरियालीजन्य परियोजनाअन्तर्गत जावलाखेलको पाँच ठाउँमा उद्यान निर्माण भइरहेको र लगनखेल अनि कुमारीपाटीको एक–एक ठाउँमा उद्यान निर्माण गरिने भएको उहाँको भनाइ थियो ।

    महानगरपालिकाले अघि बढाएको हरियालीजन्य परियोजनाअन्तर्गत वाग्मती पुलबाट दायाँबायाँ हरियाली प्रवर्द्धनका विभिन्न काम भइरहेका छन् । ‘यी क्षेत्रमा हुर्किएका रुख बिरुवामा पानी हाल्न महानगपालिकाले एक ट्याङ्कर किनिसकेको छ भने पिम्बहाल र पूर्णचण्डी पोखरी पनि सुधार गरिसकेका छौं,’ उनले थपे,  ‘७.९ किलोमिटर चक्रपथ सडक महानगपालिकाभित्र पर्ने र ट्राफिक बत्ती व्यवस्थापन नहुँदा नेपाल सरकारलाई सो क्षेत्रमा स्मार्ट सिटी लाइट राखिदिन अनुरोध गरिरहेका छौं ।’

  • गर्भ रोक्न वार्षिक २५ लाख ट्याबलेट पिल्स, के भन्छन् विशेषज्ञ ? (भिडियोसहित)

    गर्भ रोक्न वार्षिक २५ लाख ट्याबलेट पिल्स, के भन्छन् विशेषज्ञ ? (भिडियोसहित)

    काठमाडौं । पछिल्लो समय महिलाहरुले आकस्मिक गर्भनिरोधक साधन पिल्सको अत्यधिक प्रयोग गर्न थालेका छन् । तथ्यांकअनुसार अविवाहित युवतीले समेत गर्भनिरोधक ‘७२ घण्टे’ पिल्सको अधिक प्रयोग गर्न थालेका छन् । वार्षिक २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक पिल्स बिक्री हुने गरेको तथ्यांकले देखाएको छ ।

    औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार नेपालमा आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स अर्थात् लिभोनोरजेस्ट्रेल औषधि बिक्री गर्न स्वदेशी र विदेशी गरी १८ वटा कम्पनीले अनुमति लिएका छन् । सबै कम्पनीको गरी वार्षिक २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स नेपाली बजारमा बिक्री हुने गरेको छ ।

    स्वदेशी कम्पनी ओएचएम फर्मास्युटिकलको मात्रै अनवान्टेड नामक ७२ घण्टे पिल्स वार्षिक एक लाख ८० हजार ट्याब्लेट बिक्री हुने गरेको कम्पनीले जनाएको छ ।

    त्यस्तै अन्य स्वदेशी र केही भारतीय कम्पनीको गरी नेपालमा वार्षिक करीब २५ लाख ट्याब्लेट आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स बिक्री हुने गरेको देखिएको छ ।

    फर्मासिष्टहरूका अनुसार नेपालमा ७२ घण्टे पिल्स खरीद गर्न विशेषगरी १८ देखि ३० वर्ष उमेर समूहका महिला बढी आउँछन् ।

    के हो आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स ?

    असुरक्षित यौन सम्पर्कको ७२ घण्टाभित्र सेवन गरिसक्नुपर्ने भएकाले यसलाई ७२ घण्टे पिल्स भनिएको हो । यो औषधि नेपाली बजारमा आइपिल, अनवान्टेड ७२, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्स जस्ता ब्राण्डनेममा बिक्री भैरहेको छ ।

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका अनुसार आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक हर्मोन हुन्छ । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रूण बन्न नदिने र यदि भ्रूण बनिसकेको छ भने पाठेघरमा टाँसिन दिंदैन । तर यसको सेवनले शतप्रतिशत गर्भ बस्दैन भन्ने चाहिं ग्यारेन्टी हुँदैन ।

    ७२ घण्टे पिल्स सेवन गरिसकेपछि वाक्वाकी आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसूस हुने, स्तन भारी महसूस हुने जस्ता लक्षण देखिन्छ । यी समस्या त एक दुई दिनमा हराएर जान्छ तर यसले पार्ने दीर्घकालीन समस्या भने पछिसम्म रहिरहन्छ ।

    आकस्मिक रूपमा एक–दुई पटकको प्रयोगमा त्यति असर नगरे पनि पटक–पटकको प्रयोगले स्वास्थ्यमा गम्भीर असर देखिन सक्छ ।

    स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योती अग्रवालका अनुसार पछिल्लो समय आकस्मिक गर्भनिरोधक ७२ घण्टे पिल्स सेवन गरेर स्वास्थ्यमा समस्या देखिएर अस्पताल आउनेहरू बढेका छन् ।

    पटकपटक आकस्मिक गर्भनिरोधक साधनको प्रयोगले निम्त्याएको स्वास्थ्य समस्या विकराल बन्दैछ ।

    महीनावारी गडबड, महीनावारीको समयमा धेरै रगत बग्ने, तल्लो पेट दुख्ने र बाझोपनको समस्यालगायत महिलाको प्रजनन् स्वास्थ्यमै गम्भीर असर निम्त्याएको कारणहरू मध्ये पटकपटकको आकस्मिक गर्भनिरोधक साधन पनि एक हो ।

    डा. अग्रवालका अनुसार आकस्मिक गर्भनिरोधक साधन आकस्मिक अवस्थाको प्रयोगको लागि मात्र हो पटकपटक प्रयोग गर्ने औषधि होइन । बलात्कारबाट गर्भ बस्न सक्ने हुँदा, सन्तानको रहर पुगेका दम्पतीको असुरक्षित सम्पर्क हुँदा, कण्डम फुटेर योनीभित्रै वीर्य स्खलन भएमा या नियमित परिवार नियोजनको चक्की बिर्सेर वा परिवार नियोजनका अस्थायी साधन उपलब्ध नहुने ठाउँमा आकस्मिक यौन सम्पर्क भएमा अनावश्यक र अनिच्छित गर्भ रोक्न आकस्मिक गर्भनिरोधकको चक्की सेवन गर्ने हो । तर यौन सन्तुष्टि नपाइएला भनेर कण्डम प्रयोग नगरी असुरक्षित यौनसम्पर्क गर्ने र त्यसपछि गर्भ रोक्न ७२ घण्टे पिल्स खानेहरूले आकस्मिक गर्भनिरोधक औषधिको दुरुप्रयोग गरेको विज्ञहरू बताउँछन् ।

    डा. भोला रिजाल नेपालमा यो औषधिको ‘मिसयुज’ बढेको बताउँछन् । गर्भपतनले वैधानिकता पाउनुपर्छ भनेर वर्षौं आवाज उठाएपछि गर्भपतनसम्बन्धी कानून बन्यो । यसले मातृ मृत्युदर घट्ला भन्ने विश्वास थियो त्यो पनि हुन सकेन ।

    गर्भपतन र गर्भपतन गराउने औषधिको दुरुप्रयोग झन् बढ्यो र यसले महिला स्वास्थ्यको स्थिति नाजुक बनाउँदै लगेको छ । अहिले आकस्मिक गर्भनिरोधक औषधिको दुरुप्रयोगले पनि बाँझोपनको समस्या बढेको छ । यस्ता औषधिको प्रयोग यही हिसाबले बढ्दै गए अबको केही वर्षपछि बाँझोपनको समस्याले विकराल रूप लिन सक्ने डा. रिजाल बताउँछन् ।

    आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्नेहरू शिक्षित वर्ग नै बढी छन् । अहिलेको नयाँ जेनेरेसन नै यो औषधिको दीर्घकालीन असर थाहा हुँदाहुँदै पनि प्रयोग गरिरहेका छन् ।

    फर्माशिष्ट अमित श्रेष्ठ भन्छन्, केही युवतीहरू ५०औं पटकसम्म ७२ घण्टे औषधि खरीद गर्न आउने पनि छन् । यो औषधि धेरै सेवन गर्नुहुँदैन भन्दा आफ्नो पार्टनरले कण्डम प्रयोग गर्न नमान्दा यसरी पिल्स सेवन गर्न बाध्य भएको सुनाउँछन् ।

    आकस्मिक गर्भनिरोधक साधनलाई कण्डम जस्तो जत्ति पटक यौन सम्पर्क भयो त्यति पटक प्रयोग गर्ने ट्रेन्ड नै छ । केही युवतीहरू त हप्तैपिच्छे खरीद गर्न आउने गरेको श्रेष्ठ बताउँछन् ।

    स्त्री रोग विशेषज्ञ डा. ज्योती अग्रवाल यो औषधिलाई सरकारले प्रेसक्रिप्सन विना खरीदबिक्री हुन् दिन नहुने बताउँछिन् । चिकित्सकको सल्लाह विना यो औषधि सेवन गर्दा पहिल्यै स्वास्थ्य समस्या भएका कतिपय महिलाको ज्यान पनि जान सक्छ । अन्य रोग भएका र त्यसको औषधि सेवन गरिरहेका महिलाले आकस्मिक गर्भनिरोधक पिल्स सेवन गर्नै हुँदैन ।

    अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित भएको अध्ययन अनुसार आकस्मिक गर्भनिरोधक औषधिले एस्ट्रोजोन हर्मोनमा गडबडी ल्याइदिन्छ, जसले गर्दा शरीरमा क्यान्सरका कोष वृद्धि हुने जोखिम बढ्छ । भविष्यमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर जस्ता जटिल समस्या देखिन पनि सक्छ ।
    आकस्मिक गर्भनिरोधक साधनको धेरै प्रयोगले पाठेघरको भित्ता पातलो बनाइदिन्छ । जसका कारण भविष्यमा सन्तान चाहिंदा गर्भ तुहिने सम्भावना बढेर जान्छ । आकस्मिक गर्भनिरोधक साधन धेरै प्रयोग गरे हर्मोन असन्तुलित भई मूड परिवर्तन भइरहने, तौल बढ्ने, टाउको दुखाइ हुने जस्ता समस्या पनि देखिन सक्छ । आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गर्नेले कन्डमको प्रयोग गर्दैनन्, जसका कारण यौनरोग लाग्न सक्छ ।

    गर्भनिरोधक प्रयोग नगरे विकल्प के त ?

    गर्भनिरोधक पिल्स नखाने, परिवार नियोजनका साधन प्रयोग नगर्ने, कण्डम नलगाउने र गर्भ रहन पनि नदिने हो भने सुरक्षित चक्र राम्रो विकल्प हो । नियमित रूपमा महीनावारी हुने महिलामा महीनावारी भएको कतिऔं दिनमा यौन सम्पर्क राखे गर्भ रहँदैन भन्ने जानकारी हुनुपर्छ ।
    महीनावारी गडबड नभएका महिलामा महीनावारी भएको ८ दिन अघि र २२ दिनपछि कुनै साधन विना सम्पर्क राखे पनि गर्भ रहँदैन ।

    महीनावारी भएको आठदेखि बाइस दिनसम्म यौनसम्पर्क राख्दा गर्भ रहन सक्छ । यस अवधिमा यौनसम्पर्क राख्नुपर्ने भए कण्डम, फेमिडोम अर्थात् महिला कण्डम, अन्य अस्थायी साधनहरू प्रयोग गर्नुपर्छ । तर महीनावारी अनियमित हुने महिलामा यो विधि भरपर्दो हुँदैन ।

    पिल्सलाई आकास्कि स्थितिमा मात्रै प्रयोग गर्न सुझाउँछिन् डाक्टर श्रेयसी अर्याल । पिल्सको नियमित प्रयोग प्रजनन् स्वास्थ्यका लागि घातक हुने उनको भनाइ छ ।

    हेर्नुहोस्, पिल्स प्रयोगबारे डाक्टर श्रेयसी अर्यालको सुझाव

  • सांसद रेशम चौधरीलाई जन्मकैद नै हुनुपर्ने उच्च अदालतको फैसला

    सांसद रेशम चौधरीलाई जन्मकैद नै हुनुपर्ने उच्च अदालतको फैसला

    रासस । उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो ।

    अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो ।

    एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहटको माग गर्दै निकालिएको जुलुसमा भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीकै निर्णय सदर गरेको हो ।

    उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टीकापुर घटनामा दोषी देखिएका सांसद चौधरी तथा अर्का नेता थारूलाई जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै फैसला सदर हुने भन्दै जन्मकैदको फैसला सुनाएको हो ।

    उच्च अदालतले गरेको निर्णयमा भनिएको छ, ‘प्रतिवादीहरुमध्ये रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीसमेत सात जनाको हकमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं को कसुरमा सोही महलको १३ (घ) नं बमोजिम जन्मकैद हुने र सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा जनही पाँच वर्ष कैद सजायसमेत हुने ठहर्याई भएको शुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेको देखिँदा सोहीबमोजिम सदर हुने ठहर्छ ।’

    मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जिल्ला अदालत कैलालीले प्रतिनिधिसभा सदस्य तथा सांसद चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि जिल्ला अदालतको उक्त आदेशविरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल राजपुर पुगेका थिए । उच्च अदालत दिपायल राजपुरमा पुनरावेदन गरे पनि सांसद चौधरीलाई सफाइ दिन उच्च अदालतले अस्वीकार गरेको उच्च अदालत दिपायलका निमित्त रजिस्ट्रार सीता रेग्मीले जानकारी दिए । चौधरीलाई थुनामै रहेको समयमा विसं २०७५ पुस १९ गते सांसद पदको शपथ ग्रहण गराइएको थियो ।