Category: भिडियो

  • नवराज सुवेदीको उजुरीबारे निर्वाचन आयोगले भन्यो- अध्ययन गरेर निर्णय लिन्छौं (भिडिओ)

    नवराज सुवेदीको उजुरीबारे निर्वाचन आयोगले भन्यो- अध्ययन गरेर निर्णय लिन्छौं (भिडिओ)

    काठमाडौं । आफूलाई विधानविपरीत राप्रपाको अनुशासन समितिको अध्यक्षबाट हटाइएको भन्दै नवराज सुवेदीले दिएको उजुरीउपर निर्वाचन आयोगले अध्ययन गरेरमात्रै निर्णय गर्ने जनाएको छ ।

    सुवेदीले आइतबार आफ्नो पदीय हैसियत यथावत् कायम गर्न माग गर्दै दिएको निवेदनमा आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेलले अध्ययन गरेर मात्रै निर्णय गर्ने जानकारी गराएकी हुन् ।

    सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भनिन्, ‘एक टीम आएर एउटा निवेदन दिनुभएको छ । आयोगले त्यो निवेदन लिएको छ र आयोगले अध्ययन गर्छ । त्यसमा के भएको रहेछ, कस्तो भएको रहेछ, अध्ययनपछि मात्रै भन्न मिल्छ । जस्तै निवेदनमा के माग गरिएको छ, अब त्यहाँ केही पत्रपत्रिका यताउताका माध्यमबाट कारबाही भएको भन्ने उहाँहरूको निवेदन छ । त्यो के रहेछ यथार्थ हामी हेर्छौँ । निवेदन पढ्छौँ, त्यसपछि आयोगले अध्ययन गरेर केही निर्णय गर्छ ।’

    राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई नियुक्त गरेका थिए । यो कार्य विधानविपरीत रहेको भन्दै सुवेदी पार्टीको संस्थापन इतर खेमाको साथमा आयोगमा उजुरी लिएर गएका हुन् । सात बुँदे उजुरीमा अनुशासन समितिको अध्यक्ष फेरबदल गर्ने एकल अधिकार अध्यक्षलाई नरहेको उनको जिकिर छ ।

  • अध्यक्ष लिङ्देनले पार्टीमा हैकमवाद लादेको महामन्त्री राणाको आरोप, पार्टी नफुटाउने प्रष्टीकरण (भिडिओ)

    अध्यक्ष लिङ्देनले पार्टीमा हैकमवाद लादेको महामन्त्री राणाको आरोप, पार्टी नफुटाउने प्रष्टीकरण (भिडिओ)

    काठमाडौं । राप्रपाका महामन्त्री धवल शमशेर राणाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अति गरेपछि बाध्य भएर निर्वाचन आयोगको ढोका ढकढक्याउन आउन बाध्य भएको बताएका छन् ।

    नवराज सुवेदीसँगै निर्वाचन आयोगमा उजुरी दिन पुगेका महामन्त्री राणाले अध्यक्षले आफूलाई मन नपरेका नेताहरूलाई हटाउन थालेको आरोप लगाए ।

    उनले भने, ‘सहमतिमा जाऔँ भनेर पटक पटका भनेको छु तर त्यस्तो हुन सकेन । त्यो दुर्भाग्य हो । हामी निर्वाचन आयोगमा समेत आउनुपर्ने परिस्थिति बन्यो । लामो समयदेखि पार्टीमा योगदान गरेका मान्छेहरूलाई पार्टीबाट निकाल्ने, कसैले सानो विषयमा उहाँको बारेमा लेखिदियो भने त्यसलाई पदबाट हटाइदिने, हुँदा हुँदा अनुशासन आयोगको अध्यक्षलाई समेत हटाएर अर्को मान्छे राख्ने ?’

    उनले अध्यक्षको विरोधमा केही गर्नासाथ जिम्मेवारीबाट हटाउन थालेको दाबी गरे । उनले भने, ‘महाधिवेशन ६ महिनामा आइरहेको छ, महाधिवेशनअघि यस्ता मान्छेहरू यसरी हटाउने भएपछि के को महाधिवेशन गर्ने ? सबैलाई हटाइदिए भइहाल्यो नि। अति नै भयो भनेर आज यहाँ आएको हौँ।’

    उनले विधान अनुसार अनुशासन आयोगका अध्यक्षलाई निकाल्न नपाउने भन्दै सुवेदीलाई जिम्मेवारी नै दिनुपर्ने बताए। उनले आफूलाई समेत पटक पटक कारबाही गरेको स्मरण गर्दै हैकमबाट नस्वीकार्ने चेतावनी दिए । उनले पार्टी फुटाउन नदिने प्रस्ट पारे ।

  • स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री (भिडिओ)

    स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री (भिडिओ)

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको बताएका छन् ।

    झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटनको क्रममा ओलीले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको बताए ।

    उनले भने, ‘म स्पेन गएको थिएँ । त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो त्यो भूमिका सहन नसकेर अपोजिसन पार्टी र केही अराजकतावादी पार्टीहरूले मान्छे छाडेर आयो भन्ने जस्ता वाहियात कुरा गरे ।’

    योजनाबद्ध ढंगले घटिया प्रचार गरेकव भन्दै ओलीले भने, ‘त्यो हुन सक्ने कुरा हो ? प्रमाणित गर्न सकिने कुरा हो ? प्रमाण भनेर कराएका छन् । जहिले पनि झूट बोलेको छ, झुट बालेको छ । यस्ता कुरा कति दिन टिक्छ ? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु ।’

    विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।

    प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए । दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने पनि उनले घोषणा गरे ।

    हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा नि:शुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसईई नतिजा १३ प्रतिशतले सुधार आएको उनले दोहोर्‍याए ।

    कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरु शेरधन राई, उद्वव थापालगायत थिए ।

  • निर्वाचन आयोगमा नवराज सुवेदीले भने- मैले राप्रपा त्यागेको छैन, पार्टीले अन्याय गर्‍यो (भिडिओ)

    निर्वाचन आयोगमा नवराज सुवेदीले भने- मैले राप्रपा त्यागेको छैन, पार्टीले अन्याय गर्‍यो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उजुरी पश्चात पत्रकारसँग कुरा गर्दै उनले आफूमाथि अन्याय भएको बताए ।

    सुबेदीले आफूमाथि नसोधीकन यो निर्णय लिइएको भन्दै चित्त दुखाएका थिए ।

    उनले भने, ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि निर्णय लिनु अगाडि मलाई सोध्नुपर्थ्यो । मलाई सोधिएको छैन । चिठी लेखेर दिएको पनि छैन । मैले मिडियाबाट थाहा पाएँ, मलाई निकाल्नुभयो र अर्को मान्छे राख्नुभयो रे भनेर ।’

    आफूलाई कारबाही गर्दा केन्द्रीय समितिबाट निर्णय नगरी अध्यक्षले स्वेच्छाचारिता प्रदर्शन गरेको सुबेदीले बताए ।

    पत्रकारले उनलाई ‘तपाईँले त आफैँ राप्रपा त्यागे भनेर सार्वजनिक रूपमा घोषणा गर्नुभएको होइन र ? भनेर सोधेका थिए ।
    त्यसको प्रत्युत्तर सुवेदीले यसरी दिए, ‘तपार्ईंले ठिक प्रश्न सोध्नुभयो । तर त्यो भाषणको अगाडि र पछाडि हेर्नुपर्छ । मैले भनेको थिएँ, संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र र हिन्दू राष्ट्रको निम्ति जुनसुकै सेक्रेफाइस गर्न पनि तयार छु, पार्टीबाट राजीनामा दिनुपर्‍यो, छोड्नुपर्‍यो भने पनि तयार छु, तर यो पद म छोड्दिन भनेको थिएँ । तर अगाडि, पछाडिको सबै हटाइयो । जे सुविधा लाग्छ त्यही काटेर त्यो पोर्सन मात्रै हाल्नुभयो । ममाथि पार्टीमा अन्याय भएको छ । त्यसको खिलाफमा आवाज उठाएको हो ।’

    उनले यो विषयले पार्टीमा फुट भने नआउने स्पष्ट पारे ।

  • इतर पक्षको भेला लक्षित लिङदेनको टिप्पणी- मेरो गुट छैन, नयाँ मान्छे ल्याउँदा शत्रु ठान्नेबाट पार्टी बन्दैन (भिडिओ)

    इतर पक्षको भेला लक्षित लिङदेनको टिप्पणी- मेरो गुट छैन, नयाँ मान्छे ल्याउँदा शत्रु ठान्नेबाट पार्टी बन्दैन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा आफ्नो कुनै गुट नभएको बताएका छन् । काठमाडौं ५ द्वारा आयोजित जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशनको मिति समय आएपछि तोकिने बताए ।

    अध्यक्ष लिङदेनदेखि असन्तुष्ट महामन्त्री डा. धवलशमशेर राणाको संयोजनमा संस्थापन इतर नेताहरू भेला बसेको थियो । त्यही भेलालाई लक्षित गर्दै उनले भने, ‘म सबैलाई भन्छु, पार्टीभित्र मेरो गुट छैन, मेरो पार्टीभित्र कोही विपक्षी छैन, विपक्षी को हो, जसले पार्टीलाई मुठ्ठीमा राख्न खोज्छ, नयाँ मान्छेहरू आउँदा शत्रु आए जस्तो ठान्छ । ती मानिसहरूसँग मेरो फरक मत छ ।’

    नयाँ मानिसहरू नआई पार्टी ठूलो बन्दै नबन्ने भन्दै अध्यक्ष लिङदेनले कांग्रेस, एमाले, माओवादीबाट मानिसहरू ल्याउनुपर्ने बताए ।

    उनले थपे, ‘अहिले महाधिवेशनमा को अध्यक्ष हुने भनेर लाग्ने बेला भएको छैन । टाइम आएपछि आआफ्नो उम्मेदवारी घोषणा गरेर साथीहरू हिँड्दा भयो । साथीहरूलाई म एक पटक फेरि आउनुपर्छ भन्ने लागे, मलाई पनि त्यस्तो लागे म पनि घोषणा गरुँला । कोही उपयुक्त भयो भने सहयोग गरेर पनि हिँडौँला । पद कसैले जीवनभर पाउने कुरा होइन ।’

    उनले विधानमै एउटा व्यक्ति दुई पटक भन्दा नेतृत्वमा आउन नहुने उल्लेख गरेको बताए ।

    लिङदेनले थपे, ‘मैले अब बेसी पाए एक चोटीमात्रै पाउँछु । एक चोटी म हुन पाउने सुविधा छ, तर नहुँदा मलाई कुनै पश्चाताप छैन । मैले जति सक्छु राम्रो गर्ने हो । पार्टीलाई योगदान गर्न पदमै बस्नुपर्छ भन्ने छैन । त्यसैले हामी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन ।’

    उनले राजावादी आन्दोलन आफ्नो नेतृत्वमा नभएको भन्दै सहयोगमात्रै गरेको भन्ने कुरा पार्टीकै नेताहरूले बुझ्नुपर्ने बताए ।

    उनले भने, अहिले हाम्रो पार्टीभित्रका साथीहरूले राजेन्द्रले आन्दोलन तुहायो, आन्दोलन गरेन भन्नेहरूले राजेन्द्रबाट आन्दोलन हुँदैन नयाँ नेतृत्व चाहिन्छ भनेर नवराज सुवेदी दाइलाई खोजे, उहाँलाई बनाएपछि हुन्छ भने हामीले मान्दियौँ। देशभरको कार्यकर्ता हामीले उभ्यायौं । आन्दोलनको नेतृत्व गर्नेहरूले किन स्थगित भयो भन्ने भन्नुपर्‍यो नि ! मैले आन्दोलन स्थगित भनेर विज्ञप्ति निकालेका छैन ।’

    अध्यक्ष लिङदेनले आजै गणतन्त्र समाप्त भएर राजालाई नारायणहिटीमा राख्ने चाहना रहेको बताए ।

  • झाँक्रीबारे नेकपा एस- अध्यक्षलाई सिनो भन्नुभयो, माफी मागे एक पटकलाई मौका दिन्छौँ (भिडिओ)

    झाँक्रीबारे नेकपा एस- अध्यक्षलाई सिनो भन्नुभयो, माफी मागे एक पटकलाई मौका दिन्छौँ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध बोलेको अभिव्यक्ति गल्ती भयो भनेर माफी मागे पार्टीले कारबाही नगर्ने बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अध्यक्षविरुद्धको अभिव्यक्तिले झाँक्रीलाई नै नोक्सानी गरेको दाबी गरे ।

    उनले भने, ‘उहाँले बोल्नुभएको कुरा जगजाहेर छ । जे आफूले बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ । सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन । माधव नेपाल स्वच्छ रुपमा अहिले पनि देशको अग्रणी भूमिकामा हुनुहुन्छ । उहाँलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले रुचाउँदैनन्, पत्याउँदैनन् ।’

    सचिव पाण्डेले पार्टीले कस्तो कारबाही गर्ने भन्ने कुरा जवाफमा निर्भर हुने बताए ।

    उनले थपे, ‘उहाँले अध्यक्षविरुद्ध मरेको सिनो भनेरसमेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिन्न । हामी सचिवालय बैठक बस्यौँ । छलफल गर्‍यौँ । यदि उहाँ सुध्रिने हो भने लिखित रूपमा यो कुरा नदोहोर्‍याउने गरी र भोलिका दिनमा अब यस्ता शब्दहरू निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौँ । उहाँले कुन खालको रिपोर्ट दिनुहुन्छ, त्यसमा भर पर्छ । जवाफपछि मात्रै यसको टुङ्गो लाग्छ ।’

    झाँक्रीलाई गएको सचिवालय बैठकले ७ दिनभित्र माफी मागेर स्पष्टीकरणको जवाफ दिन निर्देशन दिएको थियो, तर उनले अभिव्यक्ति गलत भयो भनेर माफी नमाग्ने सार्वजनिक रूपमै बताइसकेकी छन् ।

  • जबजको विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्छ: विद्या भण्डारी (भिडिओ)

    जबजको विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्छ: विद्या भण्डारी (भिडिओ)

    काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्ने बताएकी छन् ।

    मदन भण्डारी फाउन्डेसनले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज रूपान्तरणको लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताइन् ।

    उनले भनिन्, ‘जबजलाई अन्तर्राष्ट्रिय रूपमा पुर्‍याउने एउटा आधिकारिक माध्यमको लागि प्रयास पनि हो । यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्नसक्छ ।’

    जबज सामाजिक र आर्थिक रूपान्तरणको सिद्धान्त भएको उनले बताइन् ।

    जबजका प्रणेता मदनपत्नी पूर्वराष्ट्रपति भण्डारीले थपिन्, ‘जबजले मार्क्सवाद, लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै यहाँको ऐतिहासिक सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसात गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समावेश गर्दै एउटा विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको छ ।’

  • एमालेले चाहे वामपन्थी एकता हुनसक्छ, विद्या भण्डारी नेतृत्वमा आउन खोज्नु सकारात्मक: झलनाथ खनाल (भिडिओ)

    एमालेले चाहे वामपन्थी एकता हुनसक्छ, विद्या भण्डारी नेतृत्वमा आउन खोज्नु सकारात्मक: झलनाथ खनाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विद्या भण्डारीले कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले राजनीतिमा फर्किएको हो भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।

    चीन भ्रमणबाट फर्केपछि पत्रकार सम्मेलन गरेर बोल्दै भण्डारी एमालेको नेतृत्वमा आउने कुरालाई सकारात्मक रूपमा लिनुपर्ने बताए।

    उनले भने, ‘सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै। त्यो समूहले नै अरूलाई एकताबद्ध गर्न नचाहेकाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि सत्य हो। एमालेले वामपन्थी एकता गर्न चाहे ठुलो सङ्ख्याको एकता हुनसक्ने सम्भावना रहेको छ।’

    अहिलेको नेतृत्वबाट वामपन्थी एकता सम्भव नभएको बताए।

  • झलनाथसँग चिनियाँ पक्षको जिज्ञासा- नेपालमा कम्युनिस्ट पार्टी किन विभाजित हुँदैछन् ? (भिडिओ)

    झलनाथसँग चिनियाँ पक्षको जिज्ञासा- नेपालमा कम्युनिस्ट पार्टी किन विभाजित हुँदैछन् ? (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुख सुन हैयानसँग नेपालको कम्युनिस्ट आन्दोलनबारे छलफल भएको बताएका छन्।

    चीन भ्रमणबाट फर्केपछि पत्रकार सम्मेलन गरेर बोल्दै दुई देशबीचको सम्बन्ध विकास गर्नेबारे पनि लामो कुराकानी भएको बताए।

    नेपालको कम्युनिस्ट आन्दोलन, समग्र राष्ट्रिय परिस्थिति, विकास, नेपाललाई चीनले सहयोग गर्न आवश्यक क्षेत्रलगायतको विषयमा छलफल भएको बताए।

    उनले भने, ‘अहिले ६० प्रतिशत भन्दा धेरै मानिसहरू कम्युनिस्ट पार्टीप्रति आकर्षित भएको देखिन्छ। तर, तपाईँहरूको पार्टी चाहिँ किन यसरी विभाजित भएको भन्ने उहाँहरूको जिज्ञासा छ। त्यो उहाँहरूको चिन्ताजनक जिज्ञासा थियो।’

    उनले चिनियाँ पक्षले नेपालका कम्युनिस्ट पार्टीका नेताहरुबीच देख्दा सिद्धान्त र नीतिको ठुलो केही विवाद नदेख्ने गरेको बताएको सुनाए।

    उनले थपे, ‘नेताहरूको स्वार्थको लडाइँ मात्रै हो कि भन्नेजस्तो पनि लाग्छ भन्ने उहाँहरूको टिप्पणी थियो। यो टिप्पणीलाई नेपालका विद्वान भनिने नेताहरूले बुझ्नु, सुन्नु आवश्यक छ।’

  • ग्रामथान गाउँपालिका अध्यक्षको मनोमानी : २ वडाध्यक्षलाई गाँउसभाको बैठकमा आउन रोक (भिडिओ)

    ग्रामथान गाउँपालिका अध्यक्षको मनोमानी : २ वडाध्यक्षलाई गाँउसभाको बैठकमा आउन रोक (भिडिओ)

    विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडा नम्बर ५ र वडा नम्बर ७ का अध्यक्षलाई गाउँ सभामा आउन नपाउने आदेश दिएका छन् ।

    असार २७ गते भएको १७ औ गाउँ सभाको बैठकमा अनुशासन भङ्ग गरेको, अपमान जनक शब्द बोलेको र गाउँ सभाको प्रतिष्ठामा धक्का पुर्याएको आरोप लगाउँदै सात दिन सम्म गाउँ सभामा आउन नपाउने गरीको आदेश दिएका हुन् । अध्यक्ष माझीले वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरी र ५ का वडाध्यक्ष भेषनारायण चौधरीलाई सात दिन सम्म गाउँ सभाको बैठकमा आउन नपाउने गरी आदेश दिएका हुन् ।

    उनले असार २७ गते पत्र जारी गर्दै वडा अध्यक्षद्धयलाई गाउँ सभामा आउन नपाउने गरीको आदेश दिएका हुन् । पत्रमा ग्रामथान गाउँपालिका सभा सञ्चालन कार्यविधि २०७४ को दफा १६(४) अनुसार सात दिन सम्म निजहरूलाई सभामा आउन नपाउने गरीको आदेश जारी गरिएको उल्लेख छ । वडा नम्बर ५ र ७ का वडाअध्यक्षहरु नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

    गाउँ पालिका अध्यक्ष भने नेकपा माओवादीबाट निर्वाचित भएका हुन् ।

    ७९ को निर्वाचनमा विजयी भएका पालिका अध्यक्ष जय प्रकाश गच्छदार थारुको निधन भएपछि भएको उप निर्वाचनमा नमोनारायण माझी विजयी भएका हुन् । उनी विजयी भएसँग पालिकामा विवाद उत्पन्न हुँदै आएको छ ।

    पत्रमा भनिएको छ, ‘१७ औ गाउँ सभाको तेस्रो बैठक सञ्चालन भइरहेको अवस्थामा यस ग्रामथान गाउँ पालिकाको गाउँ सभामा तपसिल बमोजिमका सदस्यहरूले अनुशासन भङ्ग गरेका छन् ।’

    आज भएको गाउँ सभाको बैठकमा वडाअध्यक्षहरुले गाउँ सभाको नीति तथा कार्यक्रम माग गरेका थिए । पालिकाको अर्थ विधेयक र विनियोजन विधेयक कार्यपालिका बैठकबाट पास नभई सभामा पेस हुने भएपछि एमाले र काँग्रेसका जनप्रतिनीधिहरुले असार १० गतेको सभा बहिस्कार गरेका थिए ।

    वडा नम्बर ७ का वडाध्यक्ष वीरेन्द्र चौधरीले अर्थ विधेयक र विनियोजन विधेयक कार्यपालिका बैठकमा पेस नभई बहुमत गाउँ सभाका सदस्य अनुपस्थित भएका सभामा कसरी बजेट पास भयो भनेर प्रश्न गर्दा अध्यक्षले आफूलाई निलम्बन गरेको बताए ।

    उनले भने बजेट नीति तथा कार्यक्रम उपाध्यक्षले पढ्ने कानुनी व्यवस्था छ । उपाध्यक्ष सभामा उपस्थित नै नभएको अवस्थामा कसरी बजेट पारित भयो ? पारित भएको नीति तथा कार्यक्रम के हो भनेर माग गर्दा अध्यक्षले मनपरी गरेको बताए ।

    गाउँपालिका उपाध्यक्ष गुणावती थारुले नीति तथा कार्यक्रम समेत आफूलाई हेर्न नदिएको बताइन् । उनले भनिन्,‘नीति तथा कार्यक्रम नदिईकन पास भयो भनेर पालिका अध्यक्षले भन्नु भयो । हामीले पास भएको नीति तथा कार्यक्रम दिनुस् भनेर माग गर्दा उहाँले वडाअध्यक्षहरुलाई निलम्बन गर्नु भएछ ।’

    पालिकामा एमाले र काँग्रेसको बहुमत छ । बहुमत सदस्यले सभा बहिस्कार गरे पनि अध्यक्षले नीति तथा कार्यक्रम पास भएको घोषणा गरेपछि आजको बैठकमा विवाद भएको थियो ।

    उप निर्वाचनबाट अध्यक्षमा माझी निर्वाचित भएपछि गैर कानुनी रूपमा नहरबाट माटो खनेर बेचेको विषयमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले नहर नखन्न भन्दै पत्र लेखेका थिए ।

    तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजाराम पौडेलले गैर कानुनी रूपमा नहरको शाखाबाट माटो निकालेर बेच्नेहरूलाई कारबाही गर्न अनुरोध गर्दा पौडेलले स्पष्टीकरण दिनुपरेको हो ।

    पौडेलले प्रहरीलाई रोकिदिन भन्दै पत्र पठाएका थिए । पौडेलले पुस ९ गते ग्रामथानमा रहेको झोरा हाट प्रहरी चौकीलाई पत्र लेखेका थिए ।

    यसै गरी उपाध्यक्ष हुँदा हुँदै वडाध्यक्षलाई कार्यबहाक अध्यक्ष दिएको विषयमा पनि अध्यक्ष विवादमा तानिएका थिए । उनले दिएको कार्यवाहक विषयमा उपाध्यक्ष थारुले हालेको रिट उपर सुनुवाइ गदै उच्च अदालतले अन्तरिम आदेश दिएको थियो । यसै गरी अध्यक्षमा निर्वाचित भएपछि उनले उपाध्यक्षको गाडी सुविधा समेत खोसेका थिए ।

    अध्यक्ष माझीले वडा नम्बर २ का वडाध्यक्ष यादव खतिवडालाई गाली गलौच र अप शब्द बोल्दै ज्यान मार्ने धम्की दिएका थिए । ग्रामथान गाउँपालिकामा वडाहरूमा दिने भुक्तानी रोकिएको विषयमा दबाब दिएको भन्दै खतिवडा माथि माझी निकट गयानन्द माझीले समेत ज्यान मार्ने धम्की दिएका थिए ।

  • ‘पार्टी बनाउने आँट छ, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु’ (भिडिओ)

    ‘पार्टी बनाउने आँट छ, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु’ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार्न तयार रहेको बताएका छन् ।

    शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूमाथि मुद्दाकै आधारमा कमिटीले बिदा गरे आफू बिदा भएर जान तयार रहेको बताए ।

    अझै पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने नेपालको भनाइ थियो ।

    जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको उनले दोहोर्‍याए । मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफूमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको नेपालले दाबी गरे ।

    ‘अहिले ममाथि प्रतिशोध साँध्नेहरू पछि आफूले खनेको खाल्डोमा आफैँ पर्न सक्छन्’, उनले भने ।

  • प्रधानमन्त्रीको आग्रह- २० वर्ष कटेलगत्तै विवाह गर्नुस्, ३० पुग्दा तीन सन्तान पाइसक्नुस् (भिडिओ)

    प्रधानमन्त्रीको आग्रह- २० वर्ष कटेलगत्तै विवाह गर्नुस्, ३० पुग्दा तीन सन्तान पाइसक्नुस् (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्।

    विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तान वृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनुपर्ने बताए।

     

    उनले भने, ‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरू चाल्नुपर्छ । सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्को छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरू यो धन्दा छोड ।’

    जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनाशका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व नबच्ने बताए।

    प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्झन आग्रह गरे।

    उनले सन्तानले डाँडाकाढा ढाकुन् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ चिन्ता व्यक्त गर्दै विकास भएका देशमा पनि जनसङ्ख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएकाले जनसङ्ख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्ने बताए।

  • अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन सुरू : उद्यमशीलताबाट समृद्धिमा प्रधानमन्त्रीको जोड (भिडिओ)

    अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन सुरू : उद्यमशीलताबाट समृद्धिमा प्रधानमन्त्रीको जोड (भिडिओ)

    ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताउनुभएको छ।

    महिला उद्यमी महासङ्घले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभएको हो ।

    “हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ । यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले महिलाको सशक्तिकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौँ । तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ । विद्यालयमा छात्राहरुको सङ्ख्या छात्रहरुको भन्दा बढी छ । नतिजामा पनि छात्राहरुको राम्रो हुँदै गएको छ । हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ ।”

  • रसुवाको रसुवागढी क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द (तस्बिरहरू/भिडिओ)

    रसुवाको रसुवागढी क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द (तस्बिरहरू/भिडिओ)

    रसुवा । नेपाल चीन नाका क्षेत्रको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।

    सो बाढीका कारण रसुवागढी जलविद्युत आयोजना, त्रिशूली थ्री ‘ए’, चिलिमे हाइड्रोपावर र बेनी हाइड्रोपावरमा क्षति पुगेको छ ।

    बाढीका कारण सबैभन्दा बढी रसुवागढी जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीका कारण पानी निकास हुने सुरुङबाटै बाढी पस्दा पावर हाउस जलमग्न भएको छ भने हेडबक्स लगायत अन्य संरचनामा क्षति पुगेको स्टेसन हेड सन्तोष अधिकारीले बताए ।

    रसुवागढी जलविद्युत आयोजना १११ मेगावाट, त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, चिलिमे हाइड्रोपावर २१ मेगावाट र बेनी हाइड्रोपावर १९ मेगावाट क्षमताका हुन ।

    default
    default

    तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

  • दशौं राष्ट्रिय खेलकुद मंसिर मै हुन्छ, अब पनि सार्नु भनेको राष्ट्रिय लज्जाको विषय हुन्छः प्रधानमन्त्री (भिडिओ)

    दशौं राष्ट्रिय खेलकुद मंसिर मै हुन्छ, अब पनि सार्नु भनेको राष्ट्रिय लज्जाको विषय हुन्छः प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद आगामी मंसिरमा हुने बताएका छन् । सातदोबाटो एन्फा कम्प्लेक्समा स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै पनि हालतमा दशौं राष्ट्रिय खेलकुद नसर्ने बताएका हुन् ।

    ‘राष्ट्रिय खेलकुद मंसिर मै हुनुपर्छ । म मन्त्रालय लगायत सबैलाई भन्न चाहन्छु । अब पनि सार्नु भनेको राष्ट्रिय लज्जाको विषय हुन्छ । त्यहाँ कुनै ‘इक्स्क्यूज’ छैन । त्यो हुनै सक्दैन’, उनले भने, ‘अब समय सारिन्न । तोकिएको समयमा मंसिरमा राष्ट्रिय खेलकुदको आयोजना हुनेछ ।’

    दशौं राष्ट्रिय खेलकुद तेस्रो पटक मिति सार्दा पनि हुन सकेको छैन । सुरुमा २०८१ मंसिरमा दशौं खेलकुद गर्ने निर्णय भएको थियो । तर, तयारी नपुगेको भन्दै २०८१ चैतमा सारियो । उक्त समयमा पनि हुन सकेन ।

    पुनः जेठमा गर्ने गरी मिति तोकियो । प्रतियोगिताका लागि कर्णाली प्रदेशमा सम्पर्क कार्यालय खोलिए पनि अन्तिम समयमा आएर प्रतियोगिता स्थगित गरियो । तेस्रो पटक स्थगित दशौं राष्ट्रिय खेलकुद कहिले हुने मिति तोकिएको छैन ।

  • रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ (भिडिओ)

    रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ (भिडिओ)

    काठमाडौं । प्रख्यात अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् । रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा उनी आज सहभागी भएकी हुन् ।

    मनिषाले बनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरिन् । हस्ताक्षरलगत्तै उनलाई सञ्चारकर्मीले घेरेका थिए । संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुव्यर्ववहार भइरहेको बताइन् ।

    उनले भनिन्, ‘म कुनै पार्टीमा आवद्ध छैन, आम नागरिकको नाताले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको हो । त्यतिमात्र भन्नु छ ।’

    रविजीलाई अन्याय भएको तपाईँको ठम्याइ हो ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डेफिनेट्ली ।’

  • कैलालीमा गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार (भिडिओ)

    कैलालीमा गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार (भिडिओ)

    कैलाली । गोदावरी नगरपालिकास्थित गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा उनीहरुलाई उद्धार गरिएको हो ।

    नदीमा श्राद्ध गर्न गएका उनीहरु वर्षातको कारण एक्कासि बाढी आएपछि बीच भागमा फसेका थिए ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उद्धार गरिएकाहरूमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ का ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय विकट सार्की, ३५ वर्षीय वीर सार्की र बेदकोट नगरपालिका- ७ का २८ वर्षीय अब्दुल सार्की रहेका छन् ।

    मान्छे फसेको सूचना पाएसँगै कैलाली प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टसहितको टोली घटनास्थल पुगेको थियो ।‌

    घटनापछि समयमै सुरक्षा निकाय परिचालन गरिएकाले कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

  • सहकारीको छुट्टै कर्जा असुली न्यायाधिकरण स्थापना, मन्त्री अधिकारीले गरे उद्घाटन (भिडिओ)

    सहकारीको छुट्टै कर्जा असुली न्यायाधिकरण स्थापना, मन्त्री अधिकारीले गरे उद्घाटन (भिडिओ)

    काठमाडौं । सहकारीका लागि छुट्टै कर्जा असुली न्यायाधिकरण स्थापना गरिएको छ । बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नयाँ बानेश्वरमा कर्जा असुली न्यायाधिकरणको कार्यालय उद्घाटन गरेका हुन् ।

    कर्जा असुली न्यायाधिकरण कार्यालयको उद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारीसम्बन्धी पर्याप्त ऐन/कानुन र नीति भए पनि कार्यान्वयनको विषयमा केही कमीकमजोरी भएको स्वीकार गर्दै अधिकांश सहकारीको समस्या समाधान गर्ने क्रममा सरकार रहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएका समस्या यथाशीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कर्जा असुली न्यायाधिकरण नवनियुक्त अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीमा विकराल स्थिति रहेकाले न्यायाधिकरणमा ऋण नउठेका मुद्दाको चाप सुरुवातमा अत्याधिक हुने आँकलन गरिएको सुनाए । सहकारीले उठाउन नसकेको ऋण उठाउने काम कठिन भएपनि त्यसमा आफूहरूले हर प्रयास गर्ने समेत जनाए ।

    सरकारले केही दिन अगाडी मात्रै सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेतको अध्यक्षतामा कर्जा असुली न्यायाधिकरण गठन गरेको थियाे । जसको सदस्यमा धनकुटाका वसन्तराज पुरी र तनहुँका गोविन्द शर्मा नियुक्त भएका छन् ।

  • कप्तान छान्न पाउने अधिकार प्रशिक्षकको हो: एन्फा प्राविधिक निर्देशक खड्का (भिडिओ)

    कप्तान छान्न पाउने अधिकार प्रशिक्षकको हो: एन्फा प्राविधिक निर्देशक खड्का (भिडिओ)

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्राविधिक निर्देशक हरि खड्काले टोलीको कप्तान छान्ने जिम्मेवारी प्रशिक्षकको हुने बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक खड्काले कप्तान छान्ने सम्पूर्ण अधिकार प्रशिक्षकलाई हुने बताएका हुन् ।

    नेपाली टोलीको कप्तान सावित्रा भण्डारी साम्बाले निरन्तरता पाउँछिन् भन्ने प्रश्नमा निर्देशक खड्काले भने, ‘त्यो कोचमा भर पर्ने कुरा हो । कोचको जिम्मेवारी हो त्यो, तर एफएसँग समन्वय गरेर ।’

    इलिजेबल र लिड गर्ने क्षमताका आधारमा प्रशिक्षकले कप्तान छान्ने निर्देशक खड्काले बताए ।

    ‘को इलिजेबल छ, कसले टीमलाई लिड गर्नसक्छ, त्यो कोचले छान्ने हो’, उनले भने, ‘उहाँ आउनुभयो भने साम्बालाई नै निरन्तरता दिन सक्नुहुन्छ । अरु आउनुभयो भने अरुलाई इलिजेबल देख्न सक्छन् या साम्बालाई नै पनि देख्न सक्छन् ।’

  • सोविताले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्चाइयोः स्वर्णिम वाग्ले (भिडिओ)

    सोविताले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्चाइयोः स्वर्णिम वाग्ले (भिडिओ)

    काठमाडौं । रास्वपाका उपसभापति स्वणिम वाग्लेले पार्टीकी सांसद सोविता गौतमले बोल्दै नबोलेको कुरालाई उचालेर बबन्डर मच्याइएको बताएका छन्।

    संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीसँग गएको नभई प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकाहरू नफर्किएको कुरा उठाएको बताए।

    ‘रास्वपा सक्षम अनुसन्धान गर्ने निकाय होइन, हामी राजनीतिक दल हौँ, त्यो निकाय राज्यसँगै छन् छानबिन गर भनेर उहाँले आह्वान गर्नुभएको हो,’ उनले भने, ‘उहाँले बोल्नै नबोलेको कुरा प्रधानमन्त्रीसँग गएको मान्छे फर्किएनन् भन्यो भनेर यत्रो बबन्डर मच्चाइयो। उहाँले बोलेको खास भाषा हेरेको भए त्यो छर्लङ्ग छ। आज पनि उहाँले दुई चोटि दोहोर्‍याइसक्नुभयो।’

    उनले प्रधानमन्त्री गएको कार्यक्रम ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौँ नेपालीका बारेमा गौतमले कुरा उठाएको बताए।

    उनले भने, ‘प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरूको बारेमा उहाँले बोल्नु भएको छैन। यसमा स्पष्ट हुन आवश्यक छ।’

    दश वर्षअघि इथियोपिया भएको तेस्रो सम्मेलनको नेतृत्व आफूले गरेर गएको पनि स्मरण गरे। उनले ठाउँ हेरेर मान्छेहरूले ओइरो लाग्ने गरेको बताए।

    स्पेन युरोप छिर्ने द्वारको रूपमा मानव तस्करहरूले प्रयोग गरिरहेकाले त्यसबारे छानबिन गर्नको लागि यो विषय उठाएको बताए। भिजिट भिसा प्रकरणमा आफूहरूले गरेको आन्दोलन स्थापित हुँदै गएको जिकिर गरे।

  • प्रशिक्षकले एक महिना नपुग्दै मेरो तलब कहिले आउँछ, एफएलाई भन्देउ न भन्नुहुन्थ्योः सरिला श्रेष्ठ (भिडिओ)

    प्रशिक्षकले एक महिना नपुग्दै मेरो तलब कहिले आउँछ, एफएलाई भन्देउ न भन्नुहुन्थ्योः सरिला श्रेष्ठ (भिडिओ)

    काठमाडौं । उज्बेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको विवाद सतहमा आएको छ ।

    मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले केहि दिनअघि एक अन्तर्वातामा एन्फा, टिम व्यवस्थापकलाई विभिन्न आरोप लगाएका थिए ।

    एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठसहितको टोलीले पत्रकार सम्मेलन गर्दै प्रशिक्षक वाइल्डकै कारण टोलीमा विवाद आएको दाबी गरेका छन् । कार्यकारी समिति सदस्य श्रेष्ठले प्रशिक्षक वाइल्डले एक महिना नपुग्दै तलब कहिले आउँछ भनेर भन्ने गरेको आरोप लगाइन् ।

    ‘उहाँले हामीलाई जतिखेर पनि मेरो स्यालरी कहिले आउछ । मेरो स्यालरी भन्देउ न एफएलाई भन्थ्यो । उहाँले जम्मा कति गर्नुभएको छ ट्रेनिङ। तपाईं आफैलाई थाहा छ काउन्ट गर्नु,’ उनले भनिन्, ‘जसले पनि काम गर्दा एक महिनापछि स्यालरी पाउछ नि । जादा साथ कसैले पनि स्यालरी पाउँदैन ।’

    वाइल्ड गत जेठ २२ गते नेपाली महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

  • प्रशिक्षकले कप्तानको नाम नदिएपछि हामीले रेनुकालाई कप्तान बनाएका हौं : टीम व्यवस्थापक सरिला (भिडिओ)

    प्रशिक्षकले कप्तानको नाम नदिएपछि हामीले रेनुकालाई कप्तान बनाएका हौं : टीम व्यवस्थापक सरिला (भिडिओ)

    काठमाडौं । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले प्रष्टीकरण दिएकी छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले कप्तानको नाम नदिएका कारण आफुहरुले कप्तानको नाम पठाउनु परेको प्रष्टिकरण दिएकी हुन् ।

    छनोट अन्तर्गत पहिलो खेलअघि नेपाली महिला फुटबल टोलीको कप्तान एक घन्टा मै परिवर्तन गरिएको थियो । सुरुमा रेनुका नगरकोटीलाई कप्तानको जिम्मेवारी दिएपनि त्यसको एक घन्टा नबित्दै सावित्रा भण्डारी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइएको थियो ।

    उक्त विषयमा टिम व्यवस्थापक सरिलाले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिमको नाम दिनुपर्ने प्रावधानअनुसार प्रशिक्षकसँग लिष्ट मागेरको र उक्त लिष्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफैले सिनियारिटीका आधारमा रेनुकालाई कप्तान बनाइएको दाबी गरिन् ।

    ‘खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै खेलाडीको लिष्ट बुझाउनुपर्छ । हामीले बारम्बार मार्दा पनि उहाँले ९० मिनेटअघि दिँदैन भन्नुभयो,’ उनले भनिन्, ‘९० मिनेटभन्दा ५ मिनेटअघि दिनुभयो । जसमा कप्तानको नाम थिएन । हामीले सिनियारिटी हेरेर रेनुकालाई कप्तान बनाएका थियौं ।’

    तर, खेलाडी मैदान प्रवेश गर्दा प्रशिक्षकले एक्कासी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइदिएको सरिलाले सुनाइन् । ‘अन्तिममा कप्तान चयन हुँदा यस्तो समस्या भएको हो । त्यसमा तपाईहरुले अन्यथा नसोचिदिनुहोला । साम्बा एकदिन १०० प्रतिशत कप्तान हुन्छ । यो देशमा अरु आउछ भन्ने सोच छैन,’ उनले भनिन्, ‘त्यसकारण उहाँलाई नबनाउने भनेर पोलिटिक्स गरेको होइन ।’

  • रास्वपा र राप्रपालाई कांग्रेसले भन्यो- अन्त्यहीन विरोधको बाटोले फेस सेभिङ गाह्रो पर्छ (भिडिओ)

    रास्वपा र राप्रपालाई कांग्रेसले भन्यो- अन्त्यहीन विरोधको बाटोले फेस सेभिङ गाह्रो पर्छ (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपामा राजनीतिक संस्कार र समन्वय गर्ने क्षमताको अभाव देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणको अख्तियार र छानबिन समितिले पनि काम गरिरहेको बताए ।

    उनले भने, ‘संसद्‍मा नोकझोक, वादविवाद पनि हुन्छ । सहमति र असहमति पनि हुन्छ । तर, अन्त्यहीन विरोध कहिले पनि हुँदैन । उहाँहरू हिँडेको बाटोमा अब फेस सेभिङ र सहज अवतरणको अवस्था पनि बन्न गाह्रो बन्नेछ । के मानव बेचबिखन भनेको ? कहाँ भयो ?’

    उनले रास्वपा र राप्रपा हिँडेको बाटोले भोलि उनीहरूलाई नै गाह्रो हुने बताए । रास्वपा सभापति रवि लामिछानेले भिजिट भिसामा अमेरिका गएर नागरिकता लिएको घिमिरेको जिकिर थियो ।

    मुख्य सचेतक घिमिरले रवि लामिछाने आफैं भिजिट भिसामा गएर अमेरिकाको नागरिकता लिएको भन्दै रास्वपाको स्थापना नै भिजिट भिसा र सहकारी ठगीबाट भएको बताए । उनले रास्वपामा भिजिट भिसामा विदेशमा लुकेर अवसरका लागि फर्किएकाहरुको बाहुल्य रहेको दावी समेत गरे ।

  • रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको हो कि होइन ? (भिडिओ)

    रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको हो कि होइन ? (भिडिओ)

    काठमाडौं । रास्वपाले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएको विषय उठाइरहेको बेलामा गृहमन्त्री रमेश लेखकले पार्टी सभापति रवि लामिछानेले भिजिट भिसाको दुरुपयोग गरेको विषय सम्झाएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘रवि लामिछानेजी जो सम्मानित सदनको सदस्य पनि रहनुभएको थियो, अहिले एउटा परिस्थिति छ । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो भन्ने सुनेको छु । भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन ?’

    यदि भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा गएको होइन भने के भिसामा गएका थिए जानकारी दिन आग्रह गरे ।

    उनले थपे, ‘यदि अनि भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन। अनि भिजिट भिसा दूरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई धेरै ज्यादा नैतिकताको प्रश्न पढाउन हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने ? यति कुरा मैले आजसम्म भनेको थिइनँ । तर साथीहरु अलि गर्न नहुनेतिर जानुभएको छ ।’

  • रास्वपालाई गृहमन्त्रीको जवाफ- अनुमानमा नबाेल्नू, स्पेनबाट को फर्किएनन् प्रमाण दिनू (भिडिओ)

    रास्वपालाई गृहमन्त्रीको जवाफ- अनुमानमा नबाेल्नू, स्पेनबाट को फर्किएनन् प्रमाण दिनू (भिडिओ)

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीसँग भ्रमणमा जानेहरूको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेर जाने भएकाले सबै फर्किएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीसँग भ्रमणमा गएको को नफर्किएको देखाउन चुनौती दिए ।

    उनले भने, ‘प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका मानिसहरू उतै बसेको भन्ने कुरा उठेको छ । हामीले कुनै पनि विषयको न्यूनतम ज्ञान जानकारी राख्नुपर्छ, सदनमा जिम्मेवार भएर विषयवस्तुलाई मर्यादीत ढङ्गले प्रस्तुत गर्दा राम्रो हुन्छ ।’

    यो विषय सदनमा रास्वपाकी सांसद सोविता गौतमले प्रवेश गराएकी थिइन् । गृहमन्त्री लेखकले यस्ता कुरा बोल्दा अनुमान र कल्पनामा नबोल्न आग्रह गरे ।

    उनले भने, ‘असत्यको पुलिँदा बाँधेर कहीँ पनि पुगिँदैन । प्रधानमन्त्रीसँग जानुभएको प्रतिनिधिमण्डल सरकारबाट निर्णय भएर गएको छ । त्यो सबैलाई थाहा छ । को मानिस फर्केनन् भने भनिदिनुहोला ।’

  • तिब्बतमा ड्याम निर्माण गर्ने योजना थप जोखिम बढाउँदैछ : राजेन्द्र बजगाईं (भिडिओ)

    तिब्बतमा ड्याम निर्माण गर्ने योजना थप जोखिम बढाउँदैछ : राजेन्द्र बजगाईं (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले चीनले तिब्बतमा ड्याम निर्माण योजना बनाएको भन्दै त्यसले हिमाली तलतिरको जीवनलाई थप जोखिममा पार्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै भोटेकोसी बाढी पनि सम्भवतः हिमताल फुटेर आएको हुनसक्ने बताए ।

    उनले भने, ‘२०२५ संयुक्त राष्ट्रसंघद्वारा ग्लेशियर संरक्षण वर्ष घोषणापछि, विश्वभर देखा परेको वातावरणको चेतावनी भन्न मिल्छ । भोटेकोसी बाढी आएको बाढी जो सम्भवतः हिमताल फुटेर आएको थियो । फ्रेण्डशिप पुल, सयौँ गाडीहरू र दर्जनौँ जीवन बगायो। चीनले तिब्बतमा ड्याम निर्माण योजना बनाएको समाचार छन् । जसले हिमाली तलतिरको जीवनलाई थप जोखिममा पार्नेछ ।’

    विज्ञहरूले अन्तर्राष्ट्रिय हिमनदी केन्द्र स्थापना गर्न सुझाव दिएको भन्दै त्यसले वैज्ञानिक अनुसन्धान, नीति, र प्रकोप व्यवस्थापनका ग्लेशियर संरक्षणलाई तापक्रम सीमित गर्ने उपायसँग जोड्नु अत्यावश्यक रहेको बताए ।

    उनले भने, ‘हामीले २०० भन्दा बढी मानिस हेलिकप्टरबाट ल्याएका छौँ । तर, हेलिकप्टर उड्ने प्रतिबन्ध र राजनीतिका बदमास पात्रद्वारा उद्धार प्रयासहरूमा गतिरोध पैदा गराई रहन्छन् भने सैनिक विमान उद्धार महँगो भयो यहाँ अनुदानको प्रबन्ध गर्नु प¥यो। अन्यथा गरिब मर्ने भए । निषेधित क्षेत्रको अनुमति प्रक्रियामा विलम्ब हुन्छ ।’

    पशुपतिनाथमा सुरक्षाको कमजोरी भएको विषय पनि बैठकमा राखे ।

    उनले भने, ‘एक नामजारी सांसद पूर्व मन्त्री, आफ्ना सुरक्षा कर्ता सहित नियमित रूपले प्रश्नोत्तरभित्र आइरहनुको साथै बन्दुक लिएर आउने गरेका छन्, जसले मन्दिर सुरक्षामा ठुलो जोखिम ल्याएको छ ।’ संसद्लाई विधि निर्माणमा सक्रिय बनाउने आवश्यकता आवश्यक रहेको पनि बताए ।

    उनले थपे, ‘नेपालका सांसदहरू मस्यौदा विधिहरूमा सहभागी हुँदैनन्, सांसदहरू सावधानीपूर्ण अध्ययन र जबाफदेही स्वभावका छन् । जबकि अमेरिकाको विधायी सल्लाहकार र बेलायतको संसदीय सल्लाहकार जस्ता संरचनाहरूले विधि प्रक्रियामा निर्णायक भूमिका खेल्छन् । हामीले नेपालको संसद्मा पनि यस्ता समिति गठन गर्नुपर्ने माग उठाएका छौँ । यो ‘संवैधानिक परिषद् विधेयक’ विरुद्धको प्रचार–प्रसारले देखाउँछ कि हामीले यसलाई पढेर विरोध गरेका थियौँ ।’

  • रामहरि खतिवडाको प्रश्न- संसद्मा सोमबार ठूलो ड्रोन कहाँबाट आएर खस्याे ? (भिडिओ)

    रामहरि खतिवडाको प्रश्न- संसद्मा सोमबार ठूलो ड्रोन कहाँबाट आएर खस्याे ? (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् भवनभित्र ड्रोन बसेको विषय प्रतिनिधि सभाको बैठकमा राखेका छन् ।

    आजको बैठकमा बोल्दै असार २३ गते बेलुका ९ देखि ९ः३० बजेसम्मको समयतिर संसद्को बायाँतिर ठूलो ड्रोन आएर खसेको समाचार आएको बताए ।

    उनले भने, ‘कहाँबाट? के का लागि आएको थियो ? संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो पाएन ? अन्तर्राष्ट्रिय रूपमा आतङ्कवादी गतिविधि बढिरहेको बेलामा ड्रोनबाट के भएको हो ? यस्तो गम्भीर विषयमा संसद्लाई जानकारी गराइयोस् ।’

  • सोवितालाई सुनिताको जवाफ- तपाईँहरूलाई नेपाली भाषा र परिभाषा पढाउन सक्षम छौं (भिडिओ)

    सोवितालाई सुनिताको जवाफ- तपाईँहरूलाई नेपाली भाषा र परिभाषा पढाउन सक्षम छौं (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेकी सचेतक सुनिता बरालले संसद् अफवाह फैलाउने र गलत कुराको टिप्पणी गर्ने ठाउँ नभएको जवाफ फर्काएकी छन् ।

    प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणबारे रास्वपा सांसद सोविता गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले यस्तो बताएकी हुन् ।

    उनले भनिन्, ‘तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै सम्बन्धित हुँदैन । राष्ट्रको कार्यकारी प्रमुखको रूपमा गएको हुन्छ । तपाईँलाई भाषाको ज्ञान र परिभाषा सिकाउन पर्‍यो भने हामी तयार छौँ । तर हेक्का पुर्‍याएर बोल्नुस् ।’

    उनले आफ्नो कुरा राखेर रास्वपा सांसद बाहिरिएको भन्दै आपत्ति जनाइन् ।

  • अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सरकारको सम्मान (भिडिओ)

    अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सरकारको सम्मान (भिडिओ)

    काठमाडौं । सरकारले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

    बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कांस्य पदक विजेता विजय सिँजालीलाई नगद रु ६५ लाख पुरस्कार-प्रमाणपत्र प्रदान गरे ।

    त्यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कांस्य पदक विजेता खेलाडी मनमती विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ ।

    असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता टोलीलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ ।

    त्यस्तै असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरूले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नगरी क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गरे ।

    उनले अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको र खेलाडीहरू व्यवसायिकरुपमा अगाडि बढेको धारणा राखे ।

    कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षको भन्दा करिब दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताएका थिए ।

  • बुटवल-नारायणगढ सडक अवरुद्ध (भिडिओ)

    बुटवल-नारायणगढ सडक अवरुद्ध (भिडिओ)

    रुपन्देही । बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ ।

    नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट खण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको वर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध रहेको सडक आयोजनाले जनाएको छ ।

    मर्मतको कार्य यथासम्भव छिटो सुरु हुने भए पनि तत्काल वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । वर्षा लागेसँगै

    यो स्थानमा पटक पटक सडक अवरुद्ध भएको छ ।

  • कोशी प्रदेशसभामा ‘श्री ५ महाराजधिराज’ भनेपछि विवाद, सभामुखले रेकर्डबाट हटाउन मानेनन् (भिडिओ)

    कोशी प्रदेशसभामा ‘श्री ५ महाराजधिराज’ भनेपछि विवाद, सभामुखले रेकर्डबाट हटाउन मानेनन् (भिडिओ)

    विराटनगर । कोशी प्रदेशसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेपछि रेकर्डबाट हटाउन माग गरिएको छ । कोशी प्रदेशसभाको आजको बैठकमा राप्रपाका प्रदेशसभा सदस्य गोपाल विश्वकर्माले पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भन्दै सम्बोधन गरेको विषयमा नेकपा एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपले रेकर्डबाट हटाउन माग गरेका हुन् ।

    उनले भने, ‘नेपालको संविधानले श्री ५ भनेर चिन्दैन । उहाँ ज्ञानेन्द्र शाहमात्रै हो । संविधानले नचिन्ने कुरा रेकर्डबाट हटाइ पाऊँ ।’

    एमालेका प्रमुख सचेतक लिङथेपले रेकर्डबाट हटाउन माग राखे पनि सभामुख अम्बरबहादुर विष्टले बोल्नै नपाउने भन्ने नहुने बताए ।

    उनले भने ‘बोल्नै नपाउने भन्ने छैन । संविधानमा छ त्यहीअनुसार हुन्छ । ठिकै छ, माननीयज्यू तपाईँको कुराको ध्यानाकर्षण भएको छ, अब यसलाई बोल्नै नपाउने भन्ने त त्यहाँ छैन क्यारे, उहाँले जे भनेको भए पनि संविधानले जे भन्छ त्यो मात्रै कायम भएर जाने कुरा हो ।’

    लिङ्थेप फेरि प्रतिवाद गर्दै भन्छन् ‘हामी संविधानभित्रै छौँ, संविधानभित्रै रहूँ भन्ने मेरो आग्रह हो ।’

    उनको यो भनाइ नसकिँदै सभामुख विष्टले संविधानभित्रै रहन्छ धन्यवाद ! भन्दै प्रदेशसभाको बैठक अघि बढाउँछन् ।

    यसअघि पनि बैठकमा ‘श्री ५ महाराजधिराज’ भनेको विषय रेकर्डबाट हटाइएको थियो । राप्रपाबाट चुनाव जितेका विष्ट अहिले कोशीको सभामुख छन् । राप्रपाले सङ्घीयता र प्रदेश खारेजीलाई मूल मुद्दा बनाउँदै आएको छ । उनी यसअघि  पनि प्रदेश सरकारका विभिन्न कार्यक्रम साथै गणतन्त्र दिवसका कार्यक्रममा पनि अनुपस्थित हुँदै आएका थिए ।

    गणतन्त्र दिवस मनाउनेबारे जेठ १० को अन्तरक्रियामा सहभागी नभई उनी झापा गएका थिए । सरकारले विशेष अवसरमा मनाउने दिवस, कार्यक्रम, उत्सव र स्थापना दिवसहरूमा सभामुखलाई अतिथिका रूपमा निमन्त्रणा गर्ने चलन रहँदै आएको छ ।

  • सरकारलाई बास्काेटाकाे प्रश्न- भूकम्पमा राहत बाँडेजस्तो १० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ ? (भिडिओ)

    सरकारलाई बास्काेटाकाे प्रश्न- भूकम्पमा राहत बाँडेजस्तो १० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ ? (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै असार लागेपछि मल र कृषि मन्त्री दुवै हराएको टिप्पणी गरे ।

    उनले भने, ‘कृषि मन्त्री म यही छु भनेर रन्किनुहोला। तर असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ । भूकम्पमा राहत बाँडेजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ? तत्काल मलको व्यवस्था गरियोस् ।’

     

  • सत्तापक्षलाई रास्वपाको प्रश्न- अमरेशकुमारलाई औंला उठाउनुभयो, दुई थान मन्त्री लिएको दलका नेतालाई के गर्नुहुन्छ ? (भिडिओ)

    सत्तापक्षलाई रास्वपाको प्रश्न- अमरेशकुमारलाई औंला उठाउनुभयो, दुई थान मन्त्री लिएको दलका नेतालाई के गर्नुहुन्छ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जसपा नेता अशोक यादवको अभिव्यक्तबारे सरकारको धारणा मागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा प्रवक्ता मनिष झाले नेता यादवको अभिव्यक्तिबारे सरकारको धारणा मागेका हुन् ।

    उनले भने, ‘अमरेशकुमार सिंहले एउटा विषयमा बोल्दा सत्तापक्षका सांसदहरूले औँला उठाउनुभयो। र सच्याउनुपर्छ भन्नुभयो । गठबन्धनमा दुई थान मन्त्री लिइराख्नुभएको दलको एउटा नेताले भिडिओमार्फत यो देशबाट मधेस छुट्टिन्छ अभिव्यक्ति दिनुभयो । त्यसबारेमा के गर्नुहुन्छ ?’

    उनले भिडिओ वक्तव्य जारी गर्दै मधेस नेपालबाट अलग भएरै छोड्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

     

  • देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामी समस्यामा (तस्बिर/भिडिओ)

    देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामी समस्यामा (तस्बिर/भिडिओ)

    काठमाडौं । उपभोक्ता अदालतको फैसलाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ ।

    उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै सोमबार देशका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका हुन् ।

    आकस्मिक बाहेकका सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू फर्कन बाध्य भएका छन् ।

    चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको फैसलाले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उनीहरूको भनाइ छ । विभिन्न अस्पतालविरुद्ध परेको मुद्दामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

    उक्त आदेशको विरोध गरेको भन्दै संघका महासचिवलाई समेत अवहेलना गरेको मुद्दामा कारण देखाऊ भएको थियो । त्यसपछि संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

    चिकित्सकको आन्दोलनका कारण आकस्मिक बाहेकका सबै सेवा बन्द भएको वीर अस्पतालका उपसचिव सिताराम खड्काले जानकारी दिए ।

    आन्दोलनका कार्यक्रम अन्तर्गत मङ्गलवार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा नै बुझाउने संघले जनाएको छ ।

    आन्दोलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल डेन्टल एसोसिएसन, नर्सिङ एसोसिएसन, फिजियोथेरापी एसोसिएसन, भेटेरिनरी एसोसिएसनलगाएत समेत ऐक्यबद्धता जनाएका छन् ।

    तस्बिरहरु : नेपाल फोटो लाइबेरी

  • उज्बेकिस्तानसँगको हारबारे साम्बा- यो रिजल्टले पछिसम्म पिरोल्ने छ (भिडिओ)

    उज्बेकिस्तानसँगको हारबारे साम्बा- यो रिजल्टले पछिसम्म पिरोल्ने छ (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी कप्तान सावित्री भण्डारी साम्बाले एफसी क्वालिफायरमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दागर्दै चाहेको नतिजा निकाल्न नसकेको बताएकी छन् । यो नतिजाले आफूहरुलाई लामो समय पिरोल्ने उनको भनाइ छ ।

    आज स्वदेश फर्किएपश्चात त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो करिअरमा योभन्दा ठूलो प्रतियोगिता अर्को नभएको उल्लेख गरिन् । आफूलाई कप्तानीको जिम्मेवारी दिइएकोप्रति उनले खुशी व्यक्त गरिन् ।

    प्रतियोगितबारे उनको संस्लेषण यस्तो छः

    ‘सुरुवातमा अलिकित मौसमसँग अभ्यस्त हुन गाह्रो भयो । बिस्तारै सुधार ल्यायौं । कोचले सिकाए अनुसार फलो गर्दै खेल्यौं । थ्री जिरो डाउन हुँदा पनि कमब्याक गर्यौं । तर पेनाल्टीमा चुक्न पुग्यौं ।
    एउटा खेलाडीका रुपमा हाम्रो करिअरमा योजस्तो ठूलो प्रतियोगिता अर्को कुनै पनि थिएन । यो एउटा ठूलो अवसर थियो । अवसरलाई सही तरिकाले क्याच गरेको पनि हो हामीले । तीन गोलले डाउन हुँदा पनि कमब्याक गरेर ५०÷५० स्थितिमा पुग्यौं । यो रिजल्टले हाम्रो भोलिको दिन र भविष्य देखाउनेवाला थियो । रिजल्ट दिन नसक्दा खेलाडीहरुमा भोलि खेल्न छोडिसकेपछि पनि यो कुराले पिरोलिराख्नेछ ।

    मलाई लाग्छ, सुरुको १० मिनेट सम्हालिन सकेनौं । त्यसपछि बाहिरबाट कोचिङ स्टाफले जुन म्यासेज रिले गर्नुभयो, त्यसले गर्दा हाम्रो रणनति र इनर्जी बुस्ट भएको थियो । हामीले कमब्याक गर्न सफल भयौं । ओभरअल हामीभन्दा माथिल्लो टिमसँग खेलेर धेरै कुराहरु सिक्यौं । फाइट गर्नु ठूलो कुरा हो ।

    टीमभित्र अलिकति विवाद पनि आयो । तीन म्याचको राति त म सुत्न पनि सकिनँ । मलाई छुट्टै किसिमको प्रेसर थियो । आफूले आफैंलाई सम्हाल्न सकिनँ । तर, मेरो कप्तानीलाई सबै साथीहरुले साथ दिनुभयो ।