Category: भिडियो

  • ‘कर्मचारी आधा कटौती गरेर करारमा राखौं, टेबल-टेबलको शासन अन्त्य गरौं’ (भिडिओ)

    ‘कर्मचारी आधा कटौती गरेर करारमा राखौं, टेबल-टेबलको शासन अन्त्य गरौं’ (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थायी कर्मचारी आधा कटौती गरेर सेवा करारमा कर्मचारी राख्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा संघीय निजामती सेवा विधेयकमाथीको छलफलमा भाग लिने क्रममा पूर्वमन्त्री समेत रहेका माओवादी सांसद शर्माले यस्तो प्रस्ताव गरेका हुन् ।

    माओवादी सांसद शर्माले भने, ‘अब यहाँ साधारण खर्च हामीले नधान्ने अवस्थामा आजको भरीभराउ कर्मचारीलाई आधा कटौती गर्नुपर्छ भन्ने मान्यता मैले राख्दै आएको छु, मेरो भनाइ राख्दै आएको छु । त्यसलाई पनि यसले आज सम्बोधन गर्नुपर्छ र अब करारमा, करार सेवामा, सेवा करारमा राखेर काम परिणाममुखी काम गर्नुपर्छ । भद्दा संरचना, परिणामविहीन संरचनाको अर्थ छैन ।’

    सांसद शर्माले देशमा प्रधानमन्त्रीलाई मात्रै कार्यकारी अधिकार रहेको अवस्थामा टेबल–टेबलमा कर्मचारीले शासन गर्ने गरेको भन्दै यसलाई अन्त्य गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

    उनले भने, ‘आज देशमा देशको कार्यकारी भूमिका भनेको कार्यकारी अधिकार भनेको प्रधानमन्त्रीमा निहित छ । प्रधानमन्त्रीले नै शासन गर्नुपर्ने बेलामा यो देशमा शासन प्रधानमन्त्रीले होइन, टेबल–टेबलमा शासन हुने गरेको छ । मैले विगतदेखि यो कुरा उठाउँदै आएको छु । यो टेबल–टेबलको शासनलाई अन्त्य गर्ने गरी, कार्यकारी प्रमुखले नै यसलाई शासन गर्ने व्यवस्था हामीले कसरी गर्छौ भन्ने लगायतका विषय यहाँ आज रहेका छन् ।’

  • संसदको रोष्ट्रमबाटै निजामती विधेयक च्यातेर हिँडे प्रभु साह, देशमा आगो बल्ने चेतावनी (भिडिओ)

    संसदको रोष्ट्रमबाटै निजामती विधेयक च्यातेर हिँडे प्रभु साह, देशमा आगो बल्ने चेतावनी (भिडिओ)

    काठमाडौं । सांसद प्रभु साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै संसदकाे राेष्ट्रमबाटै च्यातेका छन् । यो विधेयक पारित भयो भने देशमा आगो बल्ने उनले चेतावनी दिए ।

    आज संसद बैठकमा बोल्दै साहले यस्तो चेतावनी दिएका हुन् । यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने दाबी गरे ।

    साहले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा अयाोग बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो आयो भने गरिबका लागि कालो दिन हुन्छ । यसका मतियारलाई गरिबले कहिल्यै माफी दिने छैनन् ।’

    यस्तो अपराधिक कार्यको साक्षी नबस्ने भन्दै उनी बैठक बहिष्कार गरेर हिँडेका छन् ।

    प्रभु साहकाे भनाइ जस्ताे त्यस्तै

    सम्माननीय सभामुख महोदय, यो गरिब मारा यो विधेयक यदि पारित भयो भने देशमा आगो बल्छ। गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको यो निजामती विधेयक हामीले स्वीकार्य छैन । यदि यो आज पारित भयो भने गरिबको लागि यो एउटा कालो दिन हुनेछ र यसका हत्यारालाई गरिबले कहिले पनि माफ दिने छैन ।

    म प्रश्न गर्न चाहन्छु, सरकारी जागिरमा गरिबलाई मात्रै किन प्रवेश निषेध गर्नुभयो ? लोक सेवाको अधिकारबाट किन बन्चित गर्नुभयो ? नेपालको संविधानले त समानतालाई मौलिक हक भनेको छ । तपाईहरुले नि बनाएको यो संविधान, यसको उल्लंघन गर्दा लाज लागे कि लागेन भनेर सोध्न चाहन्छु ।

    सरकारीका निकाय सबैको लागि समान होइन ? यदि सबैको लागि समान हो भने, तल्लो लेभलमा काम गर्नेहरु के स्थायी हुने होइन हुँदैन ? स्थायी जागिर गर्नु हुदैन, उसको निष्पक्ष छनोट हुनै हुदैन । दास र मालिकको युग त हामी कुनै जमानामा अन्त गरिसकेका छौं र फेरि नयाँ पुर्नावृत्ति गर्नुभयो ।

    ठुला बडाले स्थायी हुनुपर्ने, ६० वर्ष सम्म ग्यारेन्टी जीवन बाच्नुपर्ने, तर तल्लो लेभलमा काम गर्नेहरु छ–छ महिनामा तपाईको आशिर्वादमा बाच्नुपर्ने, निगाहमा बाच्नुपर्ने, दासताको जीवन बाच्नुपर्ने ? हसिया हथौडाको झण्डा लिएर आफूलाई कम्युनिस्ट भनेर लाज लाग्दैन ? त्यही गरिबको भोट लिएर आउनुभयो । म यहाँका सांसदलाई जो समितिबाट पारित गरेर ल्याउनुभएको छ, तपाईहरुले, तपाईहरुलाई गरिबले भोट दिएको थियो कि थिएन ? ती गरिबको भविष्यमाथि कत्लेआम गर्दा एकचोटी लाज लागे कि लागेन ?

    जवाफदेही हुनुपर्थ्यो कि पर्दैन थियो भन्ने प्रश्न आउँछ । संविधानको त ख्याल गर्नुपर्थ्यो नि । संविधानले त समानताको हक दिएको छ । समान हुनुपर्छ भनेको छ । आज हामी हेर्छौं, प्रधानमन्त्रीले सुविधा पाउनुहुन्छ, तर त्यो पिएनको सुविधा पाउनुपर्छ कि पर्दैन ? डाइरेक्टर साहबले सुविधा पाउनुहुन्छ, तर ड्राइभरले सुविधा पाउनुपर्छ कि पर्दैन ? सचिवजीले के–के न के–के पाउनुहुन्छ । पेन्सन पाउनुहुन्छ, सुविधा पाउनुहुन्छ, तर त्यही ठाउँका अरुले स्विपरले पाउनुपर्छ कि पर्दैन भनेर हेर्दा अनर्थ भएको छ ।

    म फेरि भन्छु, यो विधेयक करेक्सन गरियोस्, यो विधेयक फिर्ता लियोस् । यदि यसरी पारित भयो भने गरिब जनताले स्वीकारेको छैन, प्रभु शाहले स्वीकारेको छैन, आम जनतालाई अत्याचार हुने, सामाजिक न्यायको पनि बर्खिलाफ हो । संविधानमा सामाजिक न्यायको कुरा गर्नुभएको छ, सामाजिक न्यायको अधिकारको कुरा गर्नुभएको छ, समानताको कुरा गर्नुभएको छ र सबै सबै अधिकारको तपाईहरुले दुरुपयोग गरिराख्नु भएको छ । निषेध गर्नुभएको छ । अब गरिबले लोकसेवा दिन नपाउने ।

    तपाईहरुको अपराधले तिनी गरिब हुने, त्यसले पढ्न नपाउने । कि त भन्नुपर्यो अब ट्वाइलेटमा कसैले सफा गर्ने छैन, पिएनको काम कसैले गर्ने छैन, ड्राइभरको काम कसैले गर्ने छैन । यदि गर्ने छ भने, त्यसको जीवन जीवन होइन ? गरिबले बढी सुविधा पाउनुपर्ने हो नि । गरिबलाई कमजोरलाई सुरक्षाको कुरा गर्नुपर्ने होला नि । तर त्यसलाई आज रुवाउने, रुवाउने यस्ता विधेयक हामीले स्वीकार्ने छैन र म भन्न चाहन्छु, यसलाई म कुनै पनि हालतमा नेपाली जनताले स्वीकार्ने छैन ।

    यस्तो अपराधिक कामको साक्षी किनारा म बन्न सक्दिनँ । संसदले पनि नबनोस् भन्ने म आग्रह गर्न चाहन्छु । यस्ता चिरहरण, गरिबको भविष्यमाथि कत्ल्याम गर्ने चिरहरणको म साक्षी किनारा हुन नसक्ने व्यहोरा अनुरोध गर्दै म यो आजको बैठक बहिष्कार गर्दछु र यस्ता विधेयकलाई स्वीकार गर्न सकिन । म च्यात्छु । धन्यवाद ।

  • डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की (भिडिओ)

    डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच चर्काचर्की परेको छ । अर्यालले आफूलाई अप्रत्यक्षरूपमा आरोपित गरेर खतिवडाले संसदबाट दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख समक्ष माग गरेका छन् ।

    संसद बैठक सुरू भएलगत्तै सधैँजस्तो प्रतिपक्षी रास्वपा र राप्रपाका सांसदहरू आसनबाट उठेका थिए । त्यसपछि सभामुखले रास्वपाका अर्याललाई बोल्न समय दिए । अर्यालले हिजोको बैठकको प्रसंग निकाले ।

    उनको भनाइ यस्तो थियो-

    सभामुख महोदय,

    हामीले कस्तो समाज निर्माण गरेछौं ? काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिँदै हिँड्नुपर्छ । ३३ दिनदेखि भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलनमा छौं । संसदीय समिति वा उच्चस्तरीय आयोगको माग विषयान्तर गर्ने गरी हिजो यही सदनमा हामीमाथि निराधार आरोप लगाउने कोशिस गरियो । राजनीतिलाई पेशा बनाएर देश दोहन गर्नेहरूले आफ्नो पेशा-व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् ।

    २०४८ सालतिर मन्त्रीको पीए बसेर सरकारी कागजात किर्ते गरेर मान्छे विदेश पठाएवापत हनुमानढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू यही संसदमा छन् । अरुलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान् । हो म गर्वका साथ भन्छु । सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशमा केही गरेर खाने मान्छे हो, चोरेर खाने मान्छे होइन । मेरो समय ठिकै चलेको छ, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं । हामीले पैसा लिएका छौं र फर्केका छैनन् भने प्रमाण पेश गर्न चुनौती दिन्छु । होइन भने निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ भन्ने सभामुखज्यूसमक्ष रुलिङ माग गर्छु ।

    अर्यालले बोल्दाबोल्दै रामहरि खतिवडा उठेर नियमापत्ति गर्न खोजेका थिए । तर, सभामुखले उनलाई रोके । अर्यालले बोलिसकेपछि खतिवडालाई समय दिए ।

    खतिवडाले पनि आक्रामकरूपमा जवाफ फर्काए ।

    उनको अभिव्यक्ति यस्तो थियोः

    चोरको खुट्टा काट् भन्दा माननीयहरू खुट्टा झिक्नुहुन्छ । हामीले कसैको पनि नाम लिएका थिएनौं । हामीले निष्पक्ष छानबिन गर्नुपर्छ मात्र भनेका थियौं । यस्ता कुरा रेकर्डबाट हटाउनका लागि भनेर भर्खरै बोलेका शब्द रेकर्डबाट हटाइयोस् ।

    त्यसपछि सभामुखले दुवैलाई सम्बोधन गर्न खोजे । खासगरी खतिवडालाई जिम्मेवारीसाथ बोल्न सुझाव दिए ।

    उनले भनेः

    माननीयज्यूहरुले आफूले बोलेको विषयमा जिम्मेवारीसाथ बोल्नुपर्छ र त्यसप्रति जवाफदेही हुनुपर्छ । गैरसंसदीय भाषा, एक अर्कालाई आरोप लान्छाना लगाउने र नाम किटेर भन्ने कुरालाई सामान्यतया रेकर्डबाट हटाउने नियमावली र परम्परा छन् । यसको मतलब प्रत्येक कुरा सभामुखलाई देखाएर आफूले बोलेका कुराको छिनोफानो गराउनु उचित हुन्छ कि हुँदैन ? प्रत्येक सदस्यले आफूले बोलेको कुरा जिम्मेवारीसाथ प्रमाणित हुने गरी बोल्नुहुने विश्वास लिन्छु । जनप्रतिनिधिले त्यही विश्वासका साथ राख्न अनुरोध छ ।

  • शीतल निवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी (भिडिओ)

    शीतल निवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी (भिडिओ)

    काठमाडौ । असार १५ अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ ।

    राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए ।

    रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्ने बताए ।

    कृषिलगायत सबैखाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए ।

    उनले कृषि पेशामा निर्भर भई कृषिलाई रोजगारीको आधारस्तम्भको रूपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए ।

    रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

  • प्रधानमन्त्री ओली स्पेन प्रस्थान (भिडिओ)

    प्रधानमन्त्री ओली स्पेन प्रस्थान (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज साँझ औपचारिक भ्रमणमा स्पेन प्रस्थान गरेका हुन् ।

    उनी कतार एयरवेजको जहाजबाट दोहा हुँदै असार १५ गते बिहान स्पेनको राजधानी म्याड्रिड पुग्नेछन् । उनकाे भ्रमण टोलीमा २१ जना सहभागी रहेका छन् ।

    प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि स्पेन प्रस्थान गरेकी छन् । उनलाई बिदाई गर्न कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

    प्रधानमन्त्रीकाे भ्रमण तालिका

    • भ्रमणको दोस्रो दिन, असार १५ गते दिउसो करिब ४ बजे भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्नेछ ।
    • लगत्तै मेरो, नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुने जानकारी गराइएको छ ।
    • साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) महामहिम श्री पेद्रो साञ्चेजसँग हाम्रो प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक तय भएको छ ।
    • असार १५ गतेको अन्तिम कार्यक्रम, स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्री भोज रहेको छ ।

    भ्रमणको तेस्रो दिन असार १६ गतेको कार्य तालिका बाक्लो छ ।

    •  बिहान उद्घाटन सत्रमा सहभागिता हुनेछ ।
    • अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा संबोधनको लागि हामीलाई आमन्त्रण गरिएको छ ।
    • दिउसो १ बजे मित्र राष्ट्र स्तोनियाका महामहिम राष्ट्रपति महामहिम श्री अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ ।
    • दिउसो ३ देखि ४ बजेको बीचमा नेपालका प्रधानमन्त्री एवम् अल्पविकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा सम्मेलनलाई संबोधन ।
    • अपरान्ह ४:०० देखि ५:१५ को बीचमा निम्नानुसार तिनवटा द्विपक्षीय बैठक हुनेछन्ः
    • इजिप्टका प्रधानमन्त्री महामहिम डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षी बैठक
    • पोर्चुगलका प्रधानमन्त्री महामहिम श्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक
    • संयुक्त राष्ट्रसंघ महासचिव महामहिम श्री अन्तोनियो गुटरेससँगको बैठक
    • तेस्रो दिनको अन्तिम कार्यक्रम, स्पेन सरकारका महामहिम अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्री भोज रहेको छ ।

    चौथो दिन (असार १७ गते)

    • – पहिलो कार्यक्रम, मैले बिहान ८:३० बजे अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता सहित उद्घाटन मन्तव्य दिने छु ।
      – बिहान १०:३० बजे स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यवद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा संबोधन गर्नेछु ।
      – अपरान्ह १२:३० पछि नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई संबोधन गर्नेछु ।
      – अपरान्हमा नै नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा संबोधन गर्नेछु ।
      – दिउँसो ३ बजे थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा संबोधन गर्ने कार्यक्रम छ ।
      – साँझ ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्नुहुने रात्री भोजमा हाम्रो सहभागिता हुनेछ ।
      पाँचौं दिन, असार १८ गते । हामी सेभियाबाट म्याड्रिड फर्किने छौं । म्याड्रिड पुगेसँगै कार्यक्रममा संलग्न हुने तालिका तय भएको छ ।
      – साँझ ५ बजे बाट सुरु हुने नेपाल–स्पेन विजनेश तथा लगानी प्रबर्धन साँझ नामक कार्यक्रममा मैले त्यहाँको प्रतिष्ठित व्यावसायिहरुलाई संबोधन गर्नेछु । नेपालमा लगानी गर्न आव्हान गर्नेछु ।
      छैटौ दिन, असार १९ गते । हाम्रो भ्रमणको अन्तिम दिन । स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटवल क्लवका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ । समयले साथ दिए केही महत्वपूर्ण स्थानहरुको अवलोकन साथै हाम्रो राजदुतावासको अवलोकन गरिने छ।
      अन्तिम कार्यक्रमको रुपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको छ ।
      यसै दिन राती १०:४५ बजे दोहाको लागि प्रस्थान गरिने छ । हप्ता दिन पछि असार २० गते दिउसो ४:४५ बजे हाम्रो काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ ।
  • नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित, आमाकाे नामबाट नागरिकता लिने बाटाे खुल्याे (भिडिओ)

    नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित, आमाकाे नामबाट नागरिकता लिने बाटाे खुल्याे (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित भएको छ । आजको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

    त्यसअधि आजै गृहमन्त्री लेखकले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।

    उक्त प्रस्ताव पेस गर्दै गृहमन्त्री लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको बताए ।

     

    ‘आमाको नामबाट नागरिकता पाउने व्यवस्था सुनिश्चित गर्न यो विधेयक आएको छ । नागरिकतासम्बन्धी विषयमा विभिन्न समयमा अदालतबाट भएका फैसलालाई यो विधेयकमार्फत कार्यान्वयनमा ल्याउन खोजिएको छ’, गृहमन्त्री लेखकले भने ।

    वैदेशिक रोजगारमा गएका महिलाहरुले विदेशमा सन्तान जन्माउने, तर नेपाल फर्किंदा त्यस्ता सन्तानले नागरिकताविहीन हुनुपर्ने अवस्था नरहने उनको भनाइ छ ।

    विधेयकमा ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएबमोजिम स्वघोषणा गरेमा अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्नसक्ने’ व्यवस्था राखिएको छ ।

    त्यस्तै १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था विधेयकमा राखिएको छ ।

    विधेयकमाथिको छलफलका क्रममा सांसद प्रकाश ज्वालाले यो विधेयक पारित भएर कार्यान्वयनमा आएपछि आमाको नामबाट नागरिकता पाउने बाटो खुल्ने विश्वास व्यक्त गरे ।

    वास्तविक नेपाली नागरिक नागरिकता पाउनबाट बञ्चित हुन नपरोस् र गैरनागरिकले कुनै पनि अवस्थामा नागरिकता नपाओस् भनेर कानूनी व्यवस्था गर्न यो विधेयक महत्वपूर्ण हुने सांसद ज्वालाले बताए ।

    सांसद ज्वालाकुमारी साहले राष्ट्रिय सुरक्षा, एकता र सम्प्रभुतामा असर नपर्ने गरी नागरिकतासम्बन्धी व्यवस्था गर्न यो कानून आवश्यक रहेको बताए ।

    त्यस्तै, नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरेको अवस्थामा त्यस्ता अभिभावकबाट जन्मेका सन्तानले आमाको नामबाट नेपाली नागरिकता लिन चाहेमा त्यस्ता नागरिक अब नागरिकताविहीन हुनुपर्ने अवस्था हट्ने उनको भनाइ छ ।

    सांसद प्रेम सुवालले सीमा क्षेत्रका नागरिकले जहिल्यै नागरिकतासम्बन्धी समस्या भोग्नुपरेको बताउँदै यसमा विधेयकमार्फत स्पष्ट व्यवस्था ल्याइनुपर्ने बताए ।

    आमाको नामबाट नागरिकता दिने व्यवस्था राम्रो भए पनि बाबुको खोजी गर्न आवश्यक रहेको धारणा उनले राखे ।

    सांसद रामकृष्ण यादवले यो विधेयक पारित भएर कार्यान्वयनमा जाँदा नागरिकतासम्बन्धी अहिले देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

    तराईका जिल्लामा नागरिकतासम्बन्धी समस्या धेरै रहेको उल्लेख गर्दै उनले नागरिकताविहीन व्यक्तिहरु राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताए । यो विधेयकमा राखिएका व्यवस्थाले त्यस्ता व्यक्तिको समस्या समाधान गर्ने सांसद यादवको भनाइ थियो ।

    सांसद रञ्जुकुमारी झाले आमाको नामबाट नागरिकता दिन मिल्ने भनेर सर्वोच्च अदातलले दिएको आदेशको नजिर कार्यान्वयन हुने गरी यो विधेयक आएको बताइन् ।

    सांसद चित्रबहादुर केसीले नागरिकताको विषयमा सदनमा धेरै छलफल र विमर्श भएको भए पनि भारतसँगको खुला सीमाका कारण देखिएको नागरिकतासम्बन्धी विवाद र समस्यालाई यो विधेयकले समाधान गर्न नसक्ने भन्दै चिन्ता व्यक्त गरे ।

    विधेयकमाथि सांसदहरु रुपा सोशी चौधरी, शेरबहादुर कुँवर, माधव सापकोटा, मुक्ताकुमारी यादव, नारायणी शर्मा, पूर्णबहादुर घर्ती, भगवती चौधरी, अमृतलाल राजवंशी, कान्तिका सेजुवाल, सुशीला थिङ, अमृतादेवी अग्रहरीलगायतले आफ्नो धारणा राखेका थिए ।

    प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

  • एमालेको राजनीतिमा पुनः जोडिएको विद्या भण्डारीको घोषणा (पूर्णपाठ)

    एमालेको राजनीतिमा पुनः जोडिएको विद्या भण्डारीको घोषणा (पूर्णपाठ)

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् ।

    मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन् ।

    उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’

    उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् । उनले भनिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो- जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो- राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’

    राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताइन्।

    पूर्वराष्ट्रपति भण्डारीले थपिन्, ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ ।’

    भण्डारीले एमालेमा पुनः जोडिएको घोषणा गर्दा सभागृहको हलमा ताली गुन्जिएको थियो ।

    जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् ।

    मदनपत्नी विद्याले भनिन्, ‘यस्तो महत्वपूर्ण दायित्व पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वाससमेत लिएको छु ।

  • विद्या भण्डारी राजनीतिक मान्छे हो, पार्टीमा कुन जिम्मेवारी लिने सल्लाहले टुंगिन्छ: ईश्वर पोखरेल (भिडिओ)

    विद्या भण्डारी राजनीतिक मान्छे हो, पार्टीमा कुन जिम्मेवारी लिने सल्लाहले टुंगिन्छ: ईश्वर पोखरेल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन कुनै अवरोध नभएको बताएका छन् ।

    मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपति भएको व्यक्ति सक्रिय राजनीतिमा आउन कसैले नछेक्ने बताए ।

    उनले पार्टीमा कुन जिम्मेवारी लिने भन्ने सल्लाहले टुंगिने बताए ।

    वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘दललाई नै प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । राजनीतिक मान्छे हो, राजनीतिमा रुचि हुन्छ । कुनै अनौठो कुरा होइन । कुन जिम्मेवारी लिने भन्ने कुरा जे सल्लाह र समझदारी हुन्छ, त्यहीअनुसार हुन्छ ।’

    विद्या भण्डारीले राजनीतिमा रुचि राख्नु उनको धर्म भएको नेता पोखरेलको भनाइ छ ।

  • पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन पाएन भने असन्तुष्टिले विस्फोटको रूप लिन्छ: ईश्वर पोखरेल (भिडिओ)

    पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन पाएन भने असन्तुष्टिले विस्फोटको रूप लिन्छ: ईश्वर पोखरेल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन पाएन भने असन्तुष्टिले विस्फोटको रूप लिने बताएका छन् ।

    मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै पोखरेलले भने–कम्युनिस्ट पार्टीभित्र नेतृत्व अनिर्वाचित हुने,सत्ता हस्तान्तरण नगर्ने प्रवृति हटाउन जबजको सिद्धान्तको प्रयोग गर्नुपर्छ । पार्टीभित्रको द्धन्द्धलाई विधिसम्मत प्रकट हुन दिइएन भने विष्फोट हुन्छ । राजनीतिमा विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ,विग्रह पैदा गर्छ । त्यस्तो अवस्थामा विग्रह विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ । अशन्तुष्टि निश्चित विन्दूमा पुगेपछि विष्फोट हुन्छ ।

    पोखरेलले बहुपदीय सङ्गठनात्मक संरचना पार्टी केपी ओलीकै अगुवाइमा भएको बताए ।

    उनले भने, ‘पार्टी जीवनको लोकतान्त्रीकरण गर्ने क्रममा त्यसका अंगहरु केके हुनसक्छन् भन्नेबारे बहस भयो । पार्टीको ९ औँ महाधिवेशनमा पारित दस्तावेजमा पार्टी जीवनका सबै कुराहरू समेटिएका छन् । एमाले पार्टीभित्र लोकतान्त्रीकरणको पक्षमा दृढतापूर्वक उभिन्छ भनेर त्यसपछि दुनियाँले चिन्यो ।’

    उनले एमाले र माओवादीबीच एकता भएपछि विचारका धेरै कुरा स्थगित भएको स्मरण गरे ।

    वरिष्ठ उपाध्यक्ष पोखरेलले थपे, ‘विचारका धेरै पक्षहरू कमजोर बने, त्यसपछि हामी के भयौँ भयौँ भन्ने स्थिति छ । त्यो एकता टुटेपछि एमाले नयाँ ढङ्गले अघि बढ्यो । पुनर्जीवन प्राप्त गरेपछि १० औँ महाधिवेशनमा घनीभूत छलफल भयो । विधान, सङ्गठनात्मक र राजनीतिक प्रस्ताव पारित भयो । तीन दशकदेखिको छलफल बहस र अनुभवहरू समेटिएर निकालिएको निष्कर्ष छ ।’

  • ‘मिडियाले विद्या भण्डारी र मबीच बम पड्काइसके, एमाले ध्वस्त हुने सपना पूरा हुन दिइन्न’ (भिडिओ)

    ‘मिडियाले विद्या भण्डारी र मबीच बम पड्काइसके, एमाले ध्वस्त हुने सपना पूरा हुन दिइन्न’ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी अब कसैले फुटाउन नसक्ने दाबी गरेका छन् । मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छु भन्नेहरूको हालत देखिसकिएको बताए ।

     

    विगतका वर्षहरू एमालेमाथि महाप्रहारका वर्षहरू रहेको बताउँदै उनले भने, ‘हाम्रो विरोधीले गोली हानिरहेका छन्, हामीलाई छोयोमात्रै, एमाले त्यति मजबुत छ, तर अनलाइन मिडियाहरूले यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे विभिन्न ठाउँमा भन्छन् । मदन भण्डारी दिवस मनाउन देशभरि कार्यक्रम राखिएको छ । एमाले निकट रहेका सङ्गठनहरूको कार्यक्रम भाँड्न खोजेर भाँडिन्छ ? कसरी भाँडिन्छ म र विद्या भण्डारी आउने कार्यक्रम ?’

    अध्यक्ष ओलीले आजकै कार्यक्रमबाट एमालेमा बम पड्कन्छ र एमाले ध्वस्त हुन्छ भन्ने सपना देखेर विरोधीहरू बसेको बताए ।

    उनले भने, ‘कुनै बमबारुद पड्किनेवाला छैन । आश नगरे हुन्छ, एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । यसो अनलाइनतिर हेर्नुभयो भने तपाईंहरू छक्क पर्नुहुन्छ ।’

  • महाकाली सन्धि ठीक छ, चाँडै सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री (भिडिओ)

    महाकाली सन्धि ठीक छ, चाँडै सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले महाकाली सन्धि सही रहेको दाबी गर्दै सरकार कार्यान्वयनको पक्षमा रहेको बताएका छन् ।

    एमालेका अध्यक्षसमेत रहेका ओलीले मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै महाकाली सन्धि निकट भविष्यमै कार्यान्वयनमा ल्याइने बताए ।

    उनले भने, ‘महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ, सबै यसको पक्षमा छन् । सम्भव भएसम्म निकट भविष्यमै सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर कार्यान्वयन गर्छौँ ।’

    अध्यक्ष ओलीले कुनै खोलानाला नबेचेको भन्दै एमालेले देशको सार्वभौमिकतालाई तलमाथि हुन नदिने बताए ।

  • मदन भण्डारीलाई सम्झिँदै ओलीले भने- उहाँकै विचारलाई मियो मानेर देश अगाडि बढिरहेको छ (भिडिओ)

    मदन भण्डारीलाई सम्झिँदै ओलीले भने- उहाँकै विचारलाई मियो मानेर देश अगाडि बढिरहेको छ (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मदन भण्डारीको विचारलाई नै मियो मानेर देश अगाडि बढिरहेको बताएका छन् ।

    एमालेका अध्यक्षसमेत रहेका ओलीले मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै जबजको नेपालको राजनीतिमा असाधारण योगदान रहेको बताए ।

     

    उनले भने, ‘जननेता मदन भण्डारीलाई चौथो महाधिवेशनले महासचिव बनायो । उहाँलाई महासचिव बनाउनु ऐतिहासिक महत्वको घटना थियो । नेतृत्वअनुसार आन्दोलन अघि बढ्ने नबढ्ने कुरा भर पर्छ । हामीले छैटौँ महाधिवेशनमा पारित गरेको कुरा मदन भण्डारीलाई महासचिव नबनाएको भए ती उपलब्धि हुन सक्दैनथे ।’

    अध्यक्ष ओलीले दोस्रो महाधिवेशनले ठीकै नीति लिएको भए पनि नेतृत्व गलत छानेको स्मरण गरे । केशरजंग रायमाझीलाई नेता बनाएपछि महाधिवेशनको नीति त्यहीबाट हराएको उनको बुझाइ छ ।

  • पूर्वमन्त्रीहरूले सुरक्षाकर्मी लिएर हिँड्नु लाजमर्दो हो, तत्कालै फिर्ता बोलाइयोस्: प्रकाश ज्वाला (भिडिओ)

    पूर्वमन्त्रीहरूले सुरक्षाकर्मी लिएर हिँड्नु लाजमर्दो हो, तत्कालै फिर्ता बोलाइयोस्: प्रकाश ज्वाला (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पूर्वमन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरूको सुरक्षामा खटाएको सुरक्षाकर्मी तत्काल फिर्ता गर्न माग गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू पनि मन्त्री भएको, तर मन्त्रीबाट बिदा भएलगत्तै सुरक्षाकर्मी फिर्ता पठाएको बताए ।

    उनले भने, ‘यतिबेला सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीलाई भूतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरू, कतिपय व्यापारीहरूको सुरक्षामा खटाएको छ । ऐन, कानूनविपरीत त्यसरी सुरक्षाकर्मीहरूलाई खटाउने कुरा निश्चित रूपमा गम्भीर छ, बेठीक छ, गलत छ ।’

    गैरकानुनी रूपमा सुरक्षाकर्मीहरू कुन कुन व्यक्तिका लागि खटाइएको छ, त्यो गृहमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने उनले बताए ।

    सांसद ज्वालाले थपे, ‘तुरुन्तै त्यसरी खटाइएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाउनुपर्छ । म पनि मन्त्री भएको, म जुन दिन मन्त्रीबाट बिदा भएँ, त्यसै दिन सुरक्षाकर्मी फिर्ता गरेँ, तर अहिले कतिपय पूर्वमन्त्रीको पछिपछि सुरक्षाकर्मी खटाइएको छ । यो लाजमर्दो कुरा हो ।’

  • उषाकिरणको आग्रह- मदन भण्डारी फाउन्डेशनलाई ‘षड्यन्त्रको सिद्धान्त’ बनाउन जरुरी छैन (भिडिओ)

    उषाकिरणको आग्रह- मदन भण्डारी फाउन्डेशनलाई ‘षड्यन्त्रको सिद्धान्त’ बनाउन जरुरी छैन (भिडिओ)

    काठमाडौं । मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले जननेताका बाँकी सपना पूरा गर्न बनेको फाउन्डेशनलाई ‘कन्स्पिरेसी थ्योरी’का रुपमा हेर्न जरुरी नरहेको बताएकी छन् ।

    ७४ औं मदन जयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर उनले फाउन्डेशनलाई षड्यन्त्रको सिद्धान्त बनाउन जरुरी नरहेको बताएकी हुन् ।

    उनले यस्ता षडयन्त्रका सिद्धान्त चति चले पनि विचलित नभई फाउण्डेशन आफ्नो अभियान र उद्देश्यमा लागिरहने बताइन् । फाउण्डेशनका कामबारे पछिल्लो समय एमालेभित्र राजनीतिक वहसको विषय बनाइएका बेला उषाकिरणको अर्थपूर्ण जवाफ आएको हो ।

    स्वर्गीय मदन भण्डारीकी जेठी छोरी उषाकिरणले फाउन्डेशनको मुख्य उद्देश्य जनताको बहुदलीय जनवादको बारेमा चर्चा, परिचर्चा, अध्ययन अनुसन्धान गर्दै समाजमा स्थापित गर्ने रहेको बताइन् ।

    उनले जबजलाई प्राज्ञिक अध्ययनको विषयसमेत बनाउन त्रिभुवन विश्वविद्यालयका ११ विभागसँग स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा जबजबारे अनुसन्धान गर्ने विद्यार्थील छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको जानकारी दिइन् ।

    उनले मार्क्सवादको आधुनिक सिर्जनात्मक प्रयोगमा आधारित जबजलाई प्राज्ञिक अध्ययनको विषय बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्न देशव्यापी बहस श्रृंखलासमेत चलाउन लागिएको बताइन् ।

  • पार्टीमा धेरै नै विचलन देखियो, सबै पदको लागि तँछाडमछाड गर्दैछन्: प्रचण्ड (भिडिओ)

    पार्टीमा धेरै नै विचलन देखियो, सबै पदको लागि तँछाडमछाड गर्दैछन्: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी रूपान्तरणको अभियानमा रहेको बताएका छन् ।

    पार्टीका केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको आज भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले पार्टी फेरि अभियानमार्फत आफ्नै वर्गतिर फर्किएको बताए ।

    प्रचण्डले भने, ‘आजभोलि पार्टी र आन्दोलनमा धेरै नै सैद्धान्तिक, राजनीतिक, व्यावहारिक र सांस्कृतिक विचलनहरू देखिन्छन्। हामीले कम्युनिष्ट पार्टी स्थापना भएर अगाडि जाँदै गर्दा जुन आदर्श र समर्पण भावको साथ, त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ। जनयुद्धको बेला होस् वा जनआन्दोलनको बेला । आजभोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ । सबैतिर पदको निम्ति, स्वार्थको निम्ति तँछाडमछाड गरेको देखिन्छ ।’

    उनले पार्टीको केन्द्रीय समितिको बैठकमा विचार, राजनीतिक मुद्दा, वर्गप्रतिको सम्बन्ध कमजोर भएको भन्दै गम्भीर समीक्षा गरेको बताए ।

  • रविलक्षित रामहरिको टिप्पणी- जेलमा बस्दा पनि सहयोग गर्नुस् भनेर चन्दा उठाएर ठग्दैछन् (भिडिओ)

    रविलक्षित रामहरिको टिप्पणी- जेलमा बस्दा पनि सहयोग गर्नुस् भनेर चन्दा उठाएर ठग्दैछन् (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै जेलमा हुँदा समेत ठग्न नछाडेको आरोप लगाएका छन्।

    संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

     

    उनले भने, ‘रविको पक्षमा रास्वपाले चलाएको हस्ताक्षर अभियानबारे उनले भने बदमासी गर्नेहरूले कहीँ जाँदा पनि छाड्दैनन्। जेलमा बस्दा होस् वा बाहिर ठग्न नछाड्ने प्रवृत्ति व्यापक रूपमा भएको छ। जोसुकै होस्, जेलमा परेको छु सहयोग गर्नुस् भनेर चन्दा उठाउँदै छन्। यस्तो प्रवृत्ति देखियो, जेल भित्रबाट पनि।’

    उनले यस्तै, सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बदमासी गरिरहेकाहरू पनि सांसद बनेर सदनमा आएको भन्दै त्यसको छानबिन गर्न माग गरे।

  • एसइईको नतिजाबारे प्रधानमन्त्री- केही मान्छे अंक थपेर धेरै पास गराइयो भनेर हचुवामा बोल्दैछन् (भिडिओ)

    एसइईको नतिजाबारे प्रधानमन्त्री- केही मान्छे अंक थपेर धेरै पास गराइयो भनेर हचुवामा बोल्दैछन् (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एसइईको नतिजा सुधार भएर आएकोप्रति खुसी व्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै नतिजामा सुधार ल्याउन मेहनत गर्नेहरू सबैलाई धन्यवाद दिए।

    तर, केही विज्ञ भनाउँदाहरूले क थपेर धेरै पास गराइयो भनेर हचुवाको भरमा बिना आधार बोलेको भन्दै असन्तुष्टि जनाए।

    उनले भने, ‘केही मानिसहरूले अंक थपेर पास गराइयो भन्दैछन्, बिना आधार। मेहनत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान हुने गरी, नयाँ पुस्ताको उत्साहलाई होच्याउने गरी बोल्दैछन्। हामी मेहनत गर्न सक्दैनौँ, नम्बरमा खेलबाड गर्नुपर्छ ?’

    उनले शिक्षक र विद्यार्थीको मेहनतलाई अपमान नगर्न आग्रह गरे।

  • सदनको दृश्य- प्रधानमन्त्री ओली रोष्ट्रम उक्लिए, रास्वपाका सांसदहरू बैठकबाट बाहिरिए (भिडिओ)

    सदनको दृश्य- प्रधानमन्त्री ओली रोष्ट्रम उक्लिए, रास्वपाका सांसदहरू बैठकबाट बाहिरिए (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा बोल्ने क्रममा रास्वपाका सांसदहरू बाहिरिएका छन्।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै वेल घेराउ गरिरहेका रास्वपाका सांसद प्रधानमन्त्री बोल्न थालेपछि बैठक छाडेर हिँडेका हुन्।

    तर सरकार रास्वपाको माग अनुसार छानबिन समिति बनाउन तयार छैन। यसअघि नै राप्रपा सांसदहरू बैठक छाडेर हिँडिसकेका छन्।
    प्रधानमन्त्री ओलीले अहिले स्पेन भ्रमणबारे सदनलाई जानकारी गराइरहेका छन्।

  • गृहमन्त्रीलाई रास्वपाको प्रश्न -मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी ९ बुँदे कार्यादेश किन बनाइयो ? (भिडिओ)

    गृहमन्त्रीलाई रास्वपाको प्रश्न -मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी ९ बुँदे कार्यादेश किन बनाइयो ? (भिडिओ)

    काठमाडौं । रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा गरिएको मानव तस्करी राष्ट्र जनताको आत्मसम्मानमाथि गरिएको चीरहरण भएको टिप्पणी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाललाई मानव तस्करीको ट्रान्जिट हब भनेर चिनिन थालेको बताए।

    उनले भने,’तपाईँकै सचिवालयका सदस्य यो अपराध कर्ममा जोडिँदै गर्दा राजनीतिक संरक्षण छ भनेर शङ्का गर्न सकिँदैनरु मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी ९ बुँदे कार्यादेश बनाइएको छ। त्यो अनुसन्धान गर्न कि आफू र आफ्नालाई फुत्काउनको लागि हो ?’

    उनले अख्तियारले छानबिन समिति बनाएपछि गृहमन्त्रीले देखाएको व्यवहार शङ्कास्पद भएको दाबी गरे।

  • गृहमन्त्रीबारे राप्रपा- बाठो हुनुहुँदो रहेछ, आफू र कमाइ जाेगाउन समिति बनाउनुभएछ (भिडिओ)

    गृहमन्त्रीबारे राप्रपा- बाठो हुनुहुँदो रहेछ, आफू र कमाइ जाेगाउन समिति बनाउनुभएछ (भिडिओ)

    काठमाडौं । राप्रपाकी सांसद रोशन काकीले भिजिट भिसा प्रकरणमा जोगिने गरी गृहमन्त्री रमेश लेखकले छानबिन समिति गठन गरेको दाबी गरेको छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै नैतिकताको आधारमा राजीनामा दिएर छानबिनलाई सघाउन माग गरिन्।

    उनले भनिन्, ‘गृहमन्त्री त सोझो नै हुनुहुन्छ जस्तो लागेको थियो। उहाँ त चम्फु बाटो हुनुहुँदो रहेछ। उहाँले आफू फुत्किन धेरै सजिलो हुने समिति बनाउनुभयो। र कमाइलाई पनि बचाउन सजिलो छ।’

    उनले गृहमन्त्रीकै संलग्नतामा नागरिकहरूलाई भिजिट भिसाको आवरणमा बेचेको आरोप लगाइन्।

  • ओलीको टिप्पणी- कार्यकर्ताले होइन, केही स्वार्थीहरूले एमालेको महाधिवेशन खोज्दैछन् (भिडिओ)

    ओलीको टिप्पणी- कार्यकर्ताले होइन, केही स्वार्थीहरूले एमालेको महाधिवेशन खोज्दैछन् (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्।

    जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरि नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरूको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–२०८४ रहेको बताए।

    पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिने बताए।

    उनले भने, ‘हामी अर्जुन दृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरूलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।’

    प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए।

    प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसइइका लागि पनि देशभर महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी गराए।

  • प्रधानमन्त्री कमजोर छन्, कांग्रेसले भनेकोभन्दा बाहिर गएर कुनै निर्णय गर्न सक्दैनन्: शिशिर खनाल (भिडिओ)

    प्रधानमन्त्री कमजोर छन्, कांग्रेसले भनेकोभन्दा बाहिर गएर कुनै निर्णय गर्न सक्दैनन्: शिशिर खनाल (भिडिओ)

    काठमाडौं । रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्री केपी ओलीले कांग्रेसले भनेको भन्दा बाहिर गएर कुनै निर्णय गर्न नसक्ने टिप्पणी गरेका छन्।

    संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दा सरकार जोगाउनको लागि प्रधानमन्त्री धेरै कमजोर बनेको बताए।

    उनले भने, ‘उहाँले बलियो प्रधानमन्त्री हुँदा नेकपाकालमा उहाँले गरेको प्रयास असफल रह्यो। कांग्रेसले चाहेको दिन सरकार ढल्छ भनेर उहाँहरू आफैँ भनिराख्नुभएको छ। कहीँ पनि कांग्रेसले चाहेको निर्णयभन्दाबाहिर गएर कुनै निर्णय गर्न सकेका छैनन्।’

    उनले कांग्रेससँग सहकार्य थालेपछि प्रधानमन्त्रीको दम्भ सकिएको टिप्पणी गरे।

  • नेकपा एसको निष्कर्ष- भ्रष्टाचार र महँगी बढ्यो, सरकारले जनताको पक्षमा राम्रो काम गरेन (भिडिओ)

    नेकपा एसको निष्कर्ष- भ्रष्टाचार र महँगी बढ्यो, सरकारले जनताको पक्षमा राम्रो काम गरेन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।

    आज बसेको सचिवालय बैठकले भ्रष्टाचार र महँगी बढिरहेको भएपनि सरकारको ध्यान त्यता नगएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश ज्वालाले बताए ।

    उनले भने, ‘सरकारले अत्याचार गरेर बजेट ल्याएको छ, लुट मच्याइएको छ । शक्तिशाली नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरिएको छ । प्राथमिकता दिनुपर्ने क्षेत्रमा छुट्टाइएको छैन ।’

    बैठकले उखु उत्पादक किसानलाई दिने अनुदान रकम रोक्ने निर्णयको विरोध जनाउँदै निरन्तर दिन माग गरेको छ । यस्तै, धान खेती लगाउने बेलामा किसानलाई रासायनिक मलको व्यवस्था गर्न पनि बैठकले माग गरेको छ ।

    बैठकले मनसुनी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको लागि पूर्वतयारीमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ। बैठक नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

    उनले बैठक भोलि बिहान ८ बजेदेखि निरन्तर बस्ने बताए ।

  • माधव नेपालले सफाइ पाउने नेकपा एसको विश्वास, अध्यक्ष पद छाड्न नहुने निष्कर्ष (भिडिओ)

    माधव नेपालले सफाइ पाउने नेकपा एसको विश्वास, अध्यक्ष पद छाड्न नहुने निष्कर्ष (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष निकालेको छ ।

    आज बसेको सचिवालय बैठकले अध्यक्ष नेपालमाथिको मुद्दा पार्टी स्थापनाकालदेखि नै सुरू भएको षड्यन्त्रको निरन्तरता भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।

    उनले भने, ‘पार्टीविरुद्धको षड्यन्त्रको अर्को श्रृंखलाको रूपमा अध्यक्षमाथि झूटो मुद्दा लगाइएको छ । यो पार्टी र आन्दोलनमाथिको प्रहार हो । षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको हो ।

    राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने विश्वास उनले गरे । उनले प्रतिशोधपूर्ण रूपमा लगाइएको मुद्दा भएकाले नेपालले अध्यक्षको रूपमा काम गरिराख्ने र संसदीय दलको नेताबारे दलकै बैठकमा छलफल हुने बताए ।

  • शिक्षा विधेयक भोलि पारित गर्ने समितिको तयारी, विवादित यी विषयमा जुट्यो सहमति (भिडिओ)

    शिक्षा विधेयक भोलि पारित गर्ने समितिको तयारी, विवादित यी विषयमा जुट्यो सहमति (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका विवादित विषयमा सहमति जुटाएको छ ।

    सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले निजी विद्यालयको व्यवस्थापन र बाल विकास शिक्षाका विषयमा सहमति जुटाएको हो । बैठकमा निजी विद्यालय सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी र गैरनाफामूलक बनाउने प्रस्तावमा सहमति जुटेको छ ।

    निजी विद्यालयलाई क्रमशः सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर जाने शिक्षा विधेयकको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको समिति सभापति अम्बरबहादुर थापाले जानकारी दिए ।

     

    त्यस्तै प्रारम्भिक बाल विकास शिक्षालाई दुई वर्षको बनाउने सहमति भएको छ । स्थानीय तहले राष्ट्रिय मापदण्डको अधिनमा रही बाल विकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेगरी सहमति भएको सभापति थापाले जानकारी दिए ।

    त्यस्तै ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनर्वितरण गर्न सक्ने प्रावधान पारित भएको उनले बताए ।

    हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद नलाग्ने, सेवा सुविधा स्थानीय तहले तोक्ने र बाल विकास सहजकर्ताका लागि कक्षा १२ उत्तीर्ण हुनुपर्नेलगायतका प्रावधान विधेयकमा राखिएको छ । समितिको बैठक शनिबार पनि बोलाइएको छ । शनिबार नै उक्त विधेयक पारित गर्ने समितिको तयारी छ ।

  • मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो (भिडिओ)

    मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो (भिडिओ)

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेश सरकारका मन्त्रीहरूले प्रदेशसभाबाट नै सांसदहरूलाई धम्क्याएर सदन र संसद्को मुख थुन्न खोजेको आरोप लगाएका छन् । हप्काएको भरमा स्वर सानो नहुने उनले प्रष्टीकरण दिएका छन् ।

    सांसदले उठाएको विषयहरूलाई सहज जवाफ दिएर समाधान गर्नुपर्नेमा मन्त्रीहरूले प्रदेश सभा र सांसदलाई धम्क्याउने काम गरेको उनको भनाइ छ । प्रदेशसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारका मन्त्रीहरू जिम्मेवार र जबाफदेही नभएको आरोप लगाए ।

    उनले भने, ‘संसद् सत्ता नियन्त्रित हुनै सक्दैन, संसदीय दलभित्र तपाईँहरू आफ्ना सांसदलाई जे गर्नु हुन्छ गर्नुस्, तर संसद् सरकारद्वारा नियन्त्रित हुँदैन ।’

    बजेटमा लुट भएको टिप्पणी गर्दै उनले भने, ‘अधिकांश मन्त्रीहरूले बजेटमाथि ब्रम्हलुट गर्नुभएको छ । बजेट वितरणमा हिजो बदमासी भएको थियो आज हामीले लुट्यौँ भनेर मन्त्री ज्युहरूले भन्दै आउनु भएको छ ।’

    उनले आफ्नो कार्यकालमा सानातिना कमजोरी भए पनि बजेट समानुपातिक रूपमा वितरण गरिएको दाबी गरे ।

    ‘बजेटले सन्तुलन काम गर्न नसकेको कारण सन्तुलन गरमात्रै भनेको हो । सरकारलाई जबाफदेही र जिम्मेवार बनाउने प्रयास प्रतिपक्षीले गर्ने हो’, आङ्बोको भनाइ छ ।

    उनले बोलेको विषयमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले प्रतिपक्षीले आफ्नो कुरा राख्नु स्वाभाविक भए पनि प्रदेशसभामा छलफल भएर टुङ्गो लागिसकेको र मन्त्रीले जवाफ दिइसकेको विषयमा त्यही विषय दोहोर्‍याउनु आवश्यक नभएको भन्दै ध्यानाकर्षण गराए ।

  • अब मेरो राजनीतिबाट रिटायर्डकाे बेला भयो : देउवा (भिडिओ)

    अब मेरो राजनीतिबाट रिटायर्डकाे बेला भयो : देउवा (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुने समय आइसकेको भन्दै पार्टीलाई एकताबद्ध बनाउन आफू केन्द्रित रहेको बताएका छन् ।

    कांग्रेसका स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेसभित्र एकले अर्कालाई हराउने रोगको अन्त्य गर्नुपर्ने बताए ।

    उनले भने, ‘अहिलेको संविधान समावेशी, समानुपातिक छ । सबैको प्रतिनिधित्व हुन्छ। तर, एक्लै कुनै पार्टीको बहुमत ल्याउन गाह्रो छ । हाम्रो पार्टीमा एकले अर्कोलाई हराउने रोग छँदैछ । एक अर्कालाई छेक्न हाम्रोमा लागिहान्छन्, टिकट नपाउने अर्को समूह हराउन लागिहान्छन् । टिकट त एउटा नै त पाउँछ नि ! मेरो रिटायर्डको उमेर भइसक्यो । त्यही पार्टीबाट प्रधानमन्त्री भएँ, अहिले सभापति भएको छु । सबैले पार्टीलाई राम्रो बनाउन लाग्नुपर्छ ।’

    उनले संविधान राम्रो भएपनि कुनै पार्टीको सहजै बहुमत नआउने भएकाले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।

    उनले थपे, ‘हिजो माओवादीसँग मिलियो, आज एमालेसँग मिलिएको छ, त्यसका बाबजुद पनि हामीले सबैभन्दा ठुलो पार्टी बनाएका छौं । ठूलो भएपनि बहुमत छैन । तर, हाम्रो पार्टी एक भयो भने एक्लैले पनि बहुमत ल्याउनसक्छ । यो संविधान पनि हामीले बचाउनुपर्नेछ ।’

  • सुनचाँदी व्यवसायी पुनः आन्दोलित, न्यूरोड क्षेत्रमा सवारी आवागमन अवरुद्ध (तस्बिरहरू/भिडिओ)

    सुनचाँदी व्यवसायी पुनः आन्दोलित, न्यूरोड क्षेत्रमा सवारी आवागमन अवरुद्ध (तस्बिरहरू/भिडिओ)

    काठमाडौं । सुनचाँदीमा सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायीहरूले न्यूरोड क्षेत्र ठप्प पारेका छन् ।

    बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको थियो । त्यसैको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ उत्रिएका हुन् ।

    यसअघि सरकारसँग सहमति गर्दै आन्दोलन स्थगित भएको थियो । तर बजेट पास हुने बेला माग सम्बोधन नभएको भन्दै उनीहरूले अनिश्चितकालीन व्यवसाय बन्द गरी संयुक्त वृहत् र्‍याली ता खबरदारी सभा गरेका हुन् ।

    र्‍यालीका कारण न्यूरोड क्षेत्रमा गाडी छिर्न पाएका छैनन् । पसलहरु बन्द गरिएका छन् ।

    न्यूरोड गेटबाट विशाल बजार-इन्द्रचोक-बांगेमुढा-असन-भोटाहिटी-वीर अस्पताल हुँदै पुनः न्यूरोड सभा गर्ने कार्यसूची छ ।

  • जसपा नेपाललाई एमालेले भन्यो- समर्थन फिर्ता लिने निर्णय नगर्नुभएको भए राम्रो हुन्थ्यो (भिडिओ)

    जसपा नेपाललाई एमालेले भन्यो- समर्थन फिर्ता लिने निर्णय नगर्नुभएको भए राम्रो हुन्थ्यो (भिडिओ)

    काठमाडौं । नेकपा एमालेले जसपा नेपालले अहिले समर्थन फिर्ता लिनुपर्ने अहिले कुनै कारण नभएको जनाएको छ ।

    आज बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले बैठकको निर्णय थाहा पाएको भएपनि औपचारिक जानकारी नभएको बताए ।

    उनले भने, ‘उहाँहरुले संसदलाई अहिलेसम्म जानकारी गराउनुभएको छैन । त्यसो नगर्नुभएको भए हुन्थ्यो । यसबीचमा कुनै कारण नै छैन। केही विषयमा उहाँहरु आफ्नो कुरा राख्नुभएको थियो ।’

    उनले जसपा नेपालकै प्रस्तावमा आफूहरुले भूमि अध्यादेश निष्क्रिय बनाएको बताए। उनले समर्थन फिर्ता लिन निर्णय नगरेको भए राम्रो हुने बताए ।

  • विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा (भिडिओ)

    विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा (भिडिओ)

    काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गरेको छ । आज बसेको सचिवालय बैठकले निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा फरक मत राख्दा उनीहरुले गत पुस १० गते बसेको बैठकले ६ महिनाका लागि निलम्बन गरेको थियो ।

  • एमालेको निष्कर्ष- सरकारको एक वर्षको काम सन्तोषजनक (भिडिओ)

    एमालेको निष्कर्ष- सरकारको एक वर्षको काम सन्तोषजनक (भिडिओ)

    काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारको एक वर्षे कामको समीक्षा गरेको छ । आज बसेको सचिवालय बैठकले सरकारको काम र राष्ट्रिय राजनीतिबारे छलफल गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

    मुलुकमा राजनीतिक स्थिरता दिने, अर्थतन्त्र सुधार गर्ने र जनतामा आशा र भरोषा जगाउने संकल्पसहित कांग्रेससँग मिलेर सरकार गठन भएको स्मरण गरे ।

    उनले भने, ‘सरकारको एक वर्षको अवधिलाई सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। मुलुकमा राजनीतिक स्थायित्वको आधार तयार भएको छ । सरकारबारे अनेकन हल्ला भएपनि बलियो बन्दै गइरहेको छ। अर्थमन्त्रले पनि लय समातेको छ ।’

    उनले सडकमा देखिएको विरोधका स्वरहरु पनि कम हुँदै गएको बताए ।

    उनले जनताको सजकता, राजनीतिक दलको सक्रियता र सरकारको प्रभावकारिताले गणतन्त्रविरोधी गतिविधि प्रयासहरु निस्तेज भएको बताए। उनले भने, ‘देशले सही दिशा लिएको छ, हाम्रो पार्टीको नेतृत्वमा सरकार प्रभावकारी भएको निष्कर्ष निकालेका छौं। सुशासन र सेवा प्रवाहको क्षेत्रमा ध्यान दिनुपर्ने देखिएको छ।’

  • मुलुकको नाटक, गीतसंगीतमा भएको विविधताले एकताको भावना सदृढ गर्छ : राष्ट्रपति पौडेल (भिडिओ)

    मुलुकको नाटक, गीतसंगीतमा भएको विविधताले एकताको भावना सदृढ गर्छ : राष्ट्रपति पौडेल (भिडिओ)

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको नाटक, गीत र सङ्गीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताएका छन् ।

    बुधबार शितल निवासमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताएका हुन् ।

    राष्ट्रपति पौडेलले नेपालको अनुपम भौगोलिक विविधता जस्तै नेपाली समाज पनि विविधतायुक्त भएको उल्लेख गरे । नेपाल जस्तो विविध जातजाति, भाषाभाषी र सांस्कृतिक विशेषता रहेको मुलुकका लागि सङ्गीत र नाटक केवल मनोरञ्जनका साधन मात्र नभई मौलिक पहिचानको धरोहर पनि भएको उनले बताए ।

    राष्ट्रपति पौडेलले मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतका माध्यमबाट नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु सबैको कर्तव्य भएको धारणा राखे ।

    कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल संगीत तथा नाट्या दिर्घ साधना सम्मानबाट वरिष्ठ गायक दिप श्रेष्ठलाई, रंगमञ्च विधातर्फ वरिष्ठ रंगकर्मी हरिबहादुर थापालाई, संगित विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तानलाई, नाट्य विघातर्फ वरिष्ठ नाट्यकर्मी वेद कुमारी न्यौपानेलाई सम्मान गरे ।

    त्यस्तै, नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य खोज तथा अनुसन्धान विधातर्फ वरिष्ठ अनुसन्धानकर्ता कृष्ण प्रसाद पौडेल, लोकसंगत विधातर्फ वरिष्ठ लोक गायक नारायण रायमाझी, परम्परागत तथा शास्त्रीय संगीत विधातर्फ कुशेश्वर राई र वाद्यबादन विधातर्फ वरिष्ठ वाद्ययवादक राजु अग्रवाललाई सम्मान गरिएको छ ।

     

  • रास्वपालाई सरकारको चुनौती- सदनमा अवरोध नछाड्ने भए संसदीय व्यवस्था विश्वास छैन भनेर देखाउनू (भिडिओ)

    रास्वपालाई सरकारको चुनौती- सदनमा अवरोध नछाड्ने भए संसदीय व्यवस्था विश्वास छैन भनेर देखाउनू (भिडिओ)

    काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले रास्वपा र राप्रपालाई संसदीय गतिविधि प्रभावित नपार्न आग्रह गरेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै कर्मचारीमाथि अख्तियारले छानबिन सुरु गर्दा पूर्वाग्रह राखेर राजीनामा मागेको आरोप लगाए ।

    सरकारका प्रवक्ता समेत रहेका उनले भने, ‘कुनै व्यक्तिमाथि पूर्वाग्रह राखेर यति नभए हुँदै हुँदैन भन्ने ढङ्गले संसद्मा प्रस्तुत हुन मिल्दैन। उहाँहरूमा परिपक्वता पनि देखिँदैन। कि रास्वपाले भन्न सक्नुपर्यो संसदीय व्यवस्था र यो व्यवस्थाप्रति विश्वास छैन भनेर। होइन भने समस्या समाधान गर्ने थलोमा अवरोध गरेर हुन्छ ।’

    उनले माओवादीसँग सहमति गरेर नै सरकारले छानबिन समिति गठन गरेको बताए । उनले हठ त्यागेर संसदीय कारबाहीमा सहभागी हुन आग्रह गरे। प्रतिपक्ष दलहरू मेरो गोरुको बाह्रै टक्का भनेजस्तोगरी प्रस्तुत भएर समस्याको समाधान गर्नबाट भागेर मुलुकलाई एउटै विषयमा अड्काउन खोजेको आरोप लगाए ।

    उनले थपे, ‘मन्त्रालयको कुनै कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्न थाल्दा मन्त्रीले राजीनामा दिँदै जाने कुरा हुँदैन। त्यो व्यक्तिसँग जोडिएको विषय छैन । यो संसदीय विधि र पद्धतिअनुसार छैन । सरकारले कुनै हठ गरेको छैन । संसद् बहिष्कार गरिरहेका प्रतिपक्षी दलहरूलाई म के आग्रह गर्दछु भने स्वीकार गरेर जानुपर्छ ।’

  • समितिबाट सर्वसम्मत पारित विधेयकमा चलखेल नगर्न प्रचण्डको चेतावनी (भिडिओ)

    समितिबाट सर्वसम्मत पारित विधेयकमा चलखेल नगर्न प्रचण्डको चेतावनी (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिबाट पारित भएका विधेयक सदनमा पुगुञ्जेलसम्म धेरै चलखेल हुने गरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रहरी विधेकयमाथिको छलफलमा भाग लिँदै उनले सरकार र संसदीय समितिको ध्यानाकर्षण गराएका हुन् ।

    समितिका सदस्यसमेत रहेका प्रचण्डले प्रतिनिधिसभाको कार्यसूचीमा चढेर पनि कार्यसूचीबाट हटाइएको संघीय निजामती सेवा विधेयकतर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।

    उनले भने, ‘संसदीय समितिबाट सदनमा पुग्ने बेलासम्म धेरै चलखेल हुने गरेका छन् । अहिले पनि असाध्यै बढी चिन्ता छ, देशको राजनीतिक परिस्थितिलाई हेरेर केही महत्वपूर्ण विधेयक, जो धेरै मेहनत गरेर सदनमा पुर्‍याएको र समितिमा पुर्‍याएर पारित पनि गरिएको छ । सदनमा चढेर पनि कार्यसूचीबाट हटाउने कुरा एकदमै चिन्ताको विषय बनेको छ ।’

    प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले सत्तारुढ दलसँग साझेदार गर्नुको एउटा मुख्य कारण पनि यही भएको बताए ।

    उनले संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक धेरै मेहनत गरेर सदनमा ल्याइएको बताए ।

    उनले भने, ‘विद्यालय शिक्षा विधेयक पनि असार १५ गतेसम्म ल्याइन्छ भनेर प्रतिबद्धता सरकारले जनाएको थियो । मैले नै यी विधेयक सदनमा पु¥याउन ठूलो मेहनत गरेको छु र धेरै संवेदनशील विधेयक हुन् । कतै फेरि यतिकै टारिने त होइन भनेर चिन्ता लागिरहेको छ । सरकारको पनि ध्यानाकर्षण गराइरहेको छु । त्यसो गर्न खोजिएको हो भने त्यसो नगरियोस् । समितिबाट सर्वसम्मत पारित भएका विधेयक सदनमा ठीक ढंगले प्रस्तुत भएर पारित हुनेतर्फ समितिका सभापति र मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    प्रचण्डले प्रहरी विधेयक अधिकतम परिमार्जनसहित पारित गर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘अधिकतम परिमार्जनसहित पारित गर्नेतर्फ सबैको ध्यान जानेछ । यो विधेयक धेरै कुरा यस अघिका भएका छलफललाई सम्झिँदा ख्याल गर्नुपर्नेछ । यसलाई परिमार्जन गर्ने र लामो समयलाई विचार गरेर पारित गर्नुपर्छ । कहिले सर्वसम्मतबाट त कहिले बहुमतले पारित गर्छौं ।’

  • सरकारकै बेवास्ताले कानून निर्माणले तीब्रता पाएन: माओवादी केन्द्र (भिडिओ)

    सरकारकै बेवास्ताले कानून निर्माणले तीब्रता पाएन: माओवादी केन्द्र (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारकै बैवास्ताका कारणले कानून निर्माणले तीब्रता नपाएको आरोप लगाएको छ ।

    प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी विधेयकमाथिको छलफलमा भाग लिँदै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो आरोप लगाएका हुन् ।

    उनले भने, ‘सरकारकै बेवास्ताका कारणले कानून निर्माणले तीब्रता पाएको छैन । समितिका सभापतिज्यूलाई पनि भन्न चाहन्छु, अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयकदेखि संघीय निजामती सेवा विधेयक समितिबाट पारित भए पनि अघि बढ्न सकेका छैनन् । यो समितिको सभापतिको नेतृत्वको हिसाबले पहलकदमी पुगेको छैन ।’

    प्रमुख सचेतक पाण्डेले प्रहरी विधेयकमा ५१ प्रतिशत महिला सहभागितालाई ध्यान दिनुपर्ने, राजनीतिक र प्रशासनिक हस्तक्षेत्रको अन्तरविरोधलाई ख्याल गर्नुपर्नेमा जोड दिए ।

    उनले प्रहरी विधेयक छिटो पारित गर्नेगरी कार्यतालिका बनाएर लैजानुपर्ने बताए ।