Category: टि २० विश्वकप 2024

  • नेदरल्यान्ड्विरुद्ध नेपालको ब्याटिङ संकटमा, १० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर बनायो ५३ रन

    नेदरल्यान्ड्विरुद्ध नेपालको ब्याटिङ संकटमा, १० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर बनायो ५३ रन

    काठमाडाैं । टी–२० विश्वकपमा पहिलो खेल खेलिरहेको नेपाल संकटमा परेको छ । नेदरल्यान्ड्सका बलरहरुले कसिलो बलिङ गर्दै नेपालका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएका छैनन् । १० ओभरको खल समाप्त हुँदा नेपालले स्कोरबोर्डमा ५२ रन मात्रै जोड्न सक्यो भने ४ जना ब्याट्सम्यान आउट भएका छन् ।

    पहिलो विकेटका रुपमा आसिफ शेख आउट भएका थिए भने उनलाई पछ्याउँदै कुशल भुर्तेल पनि पेभिलियन फर्किए । दुवै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र अनिल साहले झिनो साझेदारी गरे ।

    तर, अनिल पनि ११ रनको निजी स्कोरमा आउट भए । पाचौं विकेटका रुपमा आएका कुशल मल्ल पनि धेरै बेल टिक्न सकेनन् । उनले ९ बलमा ९ रन बनाएर आउट भएका छन् ।

    एउटा इन्डबाट कप्तान पौडेल संघर्षरत छन् । अहिले दिपेन्द्रसिंह ऐरी उनलाई साथ दिन आएका छन् । यो जोडी नेपालका लागि अत्यधिक महत्वपूर्ण छ ।

     

     

  • नेदरल्याण्ड्स र नेपालबीचको खेल हेर्दै राष्ट्रपति पौडेल

    नेदरल्याण्ड्स र नेपालबीचको खेल हेर्दै राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल अवलोकन गरेका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पोडेलका साथ खेल अवलोकन गरेका स्वकीय सचिवालयले जनाएको छ ।

    नेपाली क्रिकेट टीमले दोस्रो पटक टी–२० विश्वकप खेल्दै छ । यसअघि नेपाली टीमलाई शुभकामना दिँदै कप्तान नेपाली टीमलाई भिडियो संवादमार्फत शुभकामना दिएका थिए । नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।

  • टी २० विश्वकपः १५ हजार दर्शक क्षमताको रंगशालामा नेपाली समर्थक खचाखच

    टी २० विश्वकपः १५ हजार दर्शक क्षमताको रंगशालामा नेपाली समर्थक खचाखच

    काठमाडौं । टी २० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ । अमेरिकाको डालासस्थित प्राइरी ग्रान्ड स्टेडियममा खेल भइरहेको हो ।

    ७ हजार २ सय सिट क्षमताको यो रंगशालामा १५ हजार दर्शक अटाउन सक्छ । अहिले रंगशालामा नेपाली दर्शक खचाखच देखिएका छन् । यो रंगाशाला रहेको राज्य टेक्सासमा नेपालीहरुको बाक्लो बसोवास छ । साथै, अन्य स्थानबाट पनि खेल हेर्न थुप्रै संख्यामा नेपालीहरु पुगेका छन् ।

    रंगशालामा नेपाली समर्थकको एकछत्र दवदवा देखिएको छ । अधिकांस दर्शक नेपालको निलो जर्सीमा छन् । उनीहरुले सुरुबाटै टीमको हौसला बढाइरहेका छन् । नेदरल्यान्ड्सका समर्थक उल्लेख्य संख्यामा छैनन् ।

    खेलमा भने नेपाल दवावमा परिरहेको छ । नेपालका दुवै ओपनर न्यून स्कोरमा पेभिलियन फर्किसककेका छन् ।

     

  • नेपालका दुवै ओपनर आउट

    नेपालका दुवै ओपनर आउट

    काठमाडौं । नेपालका दुवै ओपनर पेभिलियन फर्किएका छन् । आसिफ शेखलाई पछ्याउँदै कुशल भुर्तेल पनि आउट भए ।

    नेदरल्यान्ड्सका फास्ट बलर भान बिकले आफ्नो पहिलो बलमा नै भुर्तेललाई एलबीडब्लु धरापमा पारे । कुशलले रिभ्यूको लागि अपिल गरेनन् । आउट हुनुअघि उनले १० बलमा ७ रन मात्रै जोडेका थिए ।

     

     

  • टी २० विश्वकप : नेदरल्यान्ड्स र नेपालबीचको खेल सुरु

    टी २० विश्वकप : नेदरल्यान्ड्स र नेपालबीचको खेल सुरु

    काठमाडौं । अमेरिकाको डालासस्थित ग्रान्ड प्राइरी रंगशालामा टी २० विश्वकपअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ । टस हारेको नेपाल पहिले ब्याटिङ गर्दैछ ।

    क्रिजमा नेपालका ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेख छन् । पहिलो ओभरमा नेपालले ५ रन जोड्न सक्यो । ओभरको अन्तिम बलमा आसिफ शेखले स्ट्रेट ड्राइभ गर्दै चौका हाने । तर उनी आउट भएका छन् ।

     

     

     

     

     

     

     

  • नेदरल्यान्ड्सविरुद्ध अनिल र सागरलाई अवसर

    नेदरल्यान्ड्सविरुद्ध अनिल र सागरलाई अवसर

    काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।

    अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिला ब्याटिण्को निम्तो दिएको हो । नेदरल्यान्ड्सविरुद्ध अनिलकुमार शाह र सागर ढकालले अवसर पाएका छन् ।

    नेपालको प्लेइङ ११

    कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कुशल मल्ल, रोहित पौडेल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सागर ढकाल, अभिनास बोहरा ।

  • नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै

    नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्दै

    काठमाडौं । टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

     

  • नेदरल्यान्ड्स र नेपालबीचको खेल आधा घण्टा पछि धकेलियो

    नेदरल्यान्ड्स र नेपालबीचको खेल आधा घण्टा पछि धकेलियो

    काठमाडौं । टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्स र नेपालबीचको खेल आधा घण्टा पछि धकेलिएको छ ।

    पिच नसुकेको कारण टसमा ढिलाई हुँदा खेल ३० मिनेट पछि धकेलिएको हो । यसअघि सवा ९० मा खेल सुरु हुने भनिएता पनि खेल पौने १० बाट सुरु हुनेछ ।

  • टुँडिखेलमा विश्वकप देखाउन यस्तो छ तामझाम (तस्बिरहरू)

    टुँडिखेलमा विश्वकप देखाउन यस्तो छ तामझाम (तस्बिरहरू)

    काठमाडौं । काठमाडौंको टुंडिखेलसहित देशका विभिन्न सहरहरूमा टी-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण देखाउने तयारी भइरहेको छ ।

    मङ्गलवार राति सवा ९ बजेबाट सुरु हुने नेपाल र नेदरल्यण्ड्सको खेलको प्रत्यक्ष प्रशारण देखाउन तयारी पनि तीव्र पारिएको छ ।

    काठमाडौंको टुँडिखेलमा खेल देखाउनका लागि अहिले एलईडी स्क्रिन जोडिँदैछन् । यहाँ कन्सर्ट पनि हुने छ ।

    १७/३० फिटको स्क्रिनमा म्याच देखाउनुअघि कन्सर्ट हुने बताइएको छ ।

  • यस्तो छ नेपाल र नेदरल्यान्ड्सले खेल्ने रङ्गशाला, पीच कति चुनौतीपूर्ण ?

    यस्तो छ नेपाल र नेदरल्यान्ड्सले खेल्ने रङ्गशाला, पीच कति चुनौतीपूर्ण ?

    काठमाडौं । टी-२० विश्वकपमा आफ्नो पहिलो खेल नेपालले आज नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । नेपाली टीम जितको लक्ष्यसहित मैदानमा उत्रिने छ, तर पीच र कन्डिसनले नेपालको खेललाई धेरै प्रभाव पार्न सक्छ ।

    स्वदेशी मैदानमा नेपाली टिम जति आत्मविश्वासपूर्वक ब्याटिङ गर्न सक्छ, विदेशी भूमिमा भने त्यो स्तरमा प्रदर्शन गर्न सकेको पाइँदैन । खास गरी फास्ट बलरलाई सहयोग गर्ने पीच छ भने नेपाली ब्याट्सम्यानहरू धर्मराउने गरेका छन् । त्यसैले आजको खेलमा पनि पीचको अवस्था नेपालका लागि महत्त्वपूर्ण मानिएको हो ।

    अमेरिकाको टेक्सास राज्यमा पर्ने डालास शहरमा रहेको ग्रान्ड पाइरी रंगशालामा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । यसअघि यो रंगशाला ‘क्वीक ट्रिप पार्क’ र ‘द बल पार्क’ का रूपमा चिनिन्थ्यो । बेसबेल खेलाइने मैदानलाई विश्वकपका लागि क्रिकेट मैदानमा रूपान्तरण गरिएको हो ।

    सन् २००८ मा स्थापना भएको यो रंगशाला सन् २०१९ सम्म अमेरिकन एसोसिएसन अफ प्रोफेसनल बेसबलको होम ग्राउन्ड थियो । २०१७ देखि २०१९ सम्म युएसएल लिग २ को टीम टेक्सास युनाइटेडले यसलाई होम ग्राउन्ड बनायो । सन् २०२० को अक्टोबरमा अमेरिकी क्रिकेट बोर्डले यो रंगशाला लिजमा लिएर क्रिकेट मैदानको रूप दिएको हो ।

    सन् २०२२ को अप्रिलमा आएर रंगशालाको पुनःनिर्माण सुरु भयो । करिब २ करोड डलर खर्च गरेर क्रिकेट रंगशालामा परिणत गरिएको छ । अमेरिकाको राष्ट्रिय टिमले यही मैदानमा ट्रेनिङ गर्ने गर्छ ।

    ७ हजार २ सय सिट क्षमताको (१५ हजारसम्म अट्न सक्ने) यो रंगशालामा अन्तर्राष्ट्रिय म्याच भएका थिएनन् । लिग क्रिकेटमा यहाँ २२२ रनसम्म बनेको छ भने औसत स्कोर १५९ रहेको छ । यो मैदानमा वेस्ट इन्डिजका ब्याट्सम्यान निकोलस पुरनले एमआइ न्यूयोर्क टीमबाट खेल्दै अविजित १३७ रन बनाएका थिए ।

    जारी टी-२० विश्वकपको पहिलो खेल पनि यही मैदानमा भएको थियो, जसमा आयोजक अमेरिका र क्यानडा भिडेका थिए । हाइस्कोरिङ खेलमा अमेरिकाले उत्कृष्ट ब्याटिङ गर्दै क्यानडालाई ७ विकेटले पराजित गर्‍यो ।

    क्यानडाले पहिलो ब्याटिङ गर्दै अमेरिकालाई १९५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । तर, अमेरिकाले १४ बल बाँकी छँदै लक्ष्य भेट्टायो । ८ ओभरको खेल समाप्त हुँदासम्म अमेरिकाले २ विकेट गुमाएर ४८ रन मात्र जोड्न सकेको थियो ।

    पराजयउन्मूख देखिएको अमेरिकालाई अविश्वसनीयरुपमा खेलमा फर्काउँदै आरोन जोन्स र एन्ड्रिज गोउसले सहज जित दिलाएका थिए । जोन्स ४० बलमा ९४ रन हान्दै अविजित रहे ।

    यदि पिचको व्यवहार त्यही रह्यो भने आजको खेल पनि हाइ स्कोरिङ हुन सक्छ । नेपाल र नेदरल्यान्ड्स दुवैसँग ठूला सटहरु खेल्न सक्ने ब्याट्सम्यान छन् । नेपालका ब्याट्सम्यानहरू फ्ल्याट पीचमा खुलेर ब्याटिङ गर्न सक्छन् । यस्तोमा नेपालका लागि कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा जस्ता विष्फोटक ब्याट्सम्यानको योगदान महत्त्वपूर्ण हुनेछ ।

    यस्तो पीचमा बलिङ भने नेपालका लागि चुनौतीपूर्ण हुन सक्छ । नेपालसँग धारिला र राम्रो गति भएका फास्ट बलरहरू छैनन् । मध्यम गतिको बलमा यदि बाउन्स र स्वीङ पनि मिलेन भने राम्रा ब्याट्सम्यानहरुलाई रोक्न कठिन हुन्छ । नेपाली फास्ट बलरले लाइन र लेन्थमा भर पर्नुपर्ने छ ।

    अमेरिका र क्यानडाको खेलमा दुवै टिमका बलरले ३–३ विकेट मात्र लिन सकेका थिए । अमेरिकाका दुई फास्ट बलर र एक स्पिनरले समान १–१ विकेट लिएका थिए । अमेरिकाले ५ ओभर मात्र स्पिन फ्याकेको थियो । फास्ट बलरहरू खर्चिला सावित भएका थिए । यस्तै, क्यानडाका पनि दुई फास्ट बलर र एक स्पिनरले एक–एक विकेट लिएका थिए ।

    नेपालले आज चार जना फास्ट बलर खेलाउन सक्ने अनुमान गरिएको छ । सोमपाल कामी र करण केसी पहिलो रोजाइका फास्ट बलर हुन् भने तेस्रो बलरका रूपमा अविनाश बोहरा उत्रिन सक्नेछन् । यस्तै अलराउन्डर गुल्शन झा पनि छन् । यद्यपि, एक जना फास्ट बलरलाई बाहिर राखेर दुई स्पिनर उतार्न सक्ने सम्भावना पनि छ । ललित राजवंशी नेपालका नियमित स्पिनर हुन् भने अतिरिक्त स्पिनरका रूपमा सागर ढकाल छन् ।

    टस जित्ने टोलीले ब्याटिङ रोज्नु ठिक कि बलिङ भन्ने पनि प्रश्न छ । सामान्यता फ्ल्याट पिचमा पहिले ब्याटिङ रोज्नु उपयुक्त मानिन्छ । तर, क्यानाडाविरुद्धको खेलमा दोस्रो ब्याटिङ गरेर अमेरिकाले जित हासिल गरेको थियो । नेपाली टिम पहिले ब्याटिङ गर्न त्यति आत्मविश्वासी पनि छैन ।

  • नेपालका लागि खतरा हुन सक्ने नेदरल्यान्ड्सका ५ खेलाडी

    नेपालका लागि खतरा हुन सक्ने नेदरल्यान्ड्सका ५ खेलाडी

    काठमाडौं । आइसिसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्यान्ड्सबीच खेल अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा आज राती सवा ९ बजेबाट सुरु हुनेछ ।

    सोसियट राष्ट्रको शीर्ष टोली नेदरल्यान्ड्स विश्वकपअघि राम्रो लयमा छ । नेदरल्यान्ड्सका धेरै खेलाडी उत्कृष्ट लयमा छन् । यी हुन् नेपालका लागि खतरा हुन सक्ने नेदरल्यान्ड्सका ५ खेलाडी ।

    १. म्याक्स ओडाउड

    नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स ओडाउड सबैभन्दा अनुभवी खेलाडी हुन् । सन् २०१९ बाट नेदरल्यान्ड्सबाट खेल्न थालेका ओपनिङ ब्याटर म्याक्सले ४६ खेलमा १४०३ रन जोडेका छन् ।

    विभिन्न फेन्चाइज क्रिकेट खेलेको अनुभव भएका म्याक्स नेपालका लागि खतरा बन्न सक्ने मध्ये एक खेलाडी हुन् । उनी सन् २०२२ मा भएको टी-२० विश्वकपमा नेदरल्यान्ड्सबाट सर्वाधिक रन लिने खेलाडी बनेका थिए ।

    उनले ८ खेलमा २ अर्धशतक सहित २ सय ४२ रन बनाएका थिए । उनी आक्रामक ब्याटिङमासमेत उक्तिकै खप्पिस छन् ।

    २. माइकल लेभिट

    नेदरल्यान्ड्सका युवा ब्याटर माइकल लेभिट पनि नेपालका लागि खतरा बन्न सक्छन् । २१ वर्षीय माइकल नेदरल्यान्ड्सका उदाउँदा र उत्कृष्ट ब्याटर हुन् । टप अर्डर ब्याटर माइकल गत फेब्रुअरीमा नेदरल्यान्ड्सबाट डेब्यु गरेका हुन् ।

    उनले त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्ध गत फेरब्रुरीमा १ सय ३५ रन बनाएका थिए । नेपालसँगको दुई खेलमा उनले अर्धशतक प्रहार गरेका थिए ।

    हालसम्म ९ खेल खेलेको उनले ३ सय ४९ रन जोडेका छन् । ब्याटर माइकलले पार्ट टाइम बलिङ पनि गर्छन् । उनी तीव्र गतिमा दायाँ हाते बलर हुन् ।

    ३. बास डी लिडे

    पछिल्लो ६ वर्षदेखि नेदरल्यान्ड्सबाट खेल्दै आएका ब्याटिङ अलराउन्डर बास डी लिडे उच्च लयमा छन् । उनले ब्याटिङसँगै बलिङमा पनि शानदार प्रदर्शन गर्दै आएका छन् ।

    उनले हालसम्म ३४ टी-२० आई खेलमा ६७७ रन जोडेका छन् भने बलिङतर्फ ३० विकेट लिएका छन् । उनले चौथो नम्बरमा ब्याटिङ र अन्तिम ओभरतिर बलिङ गर्ने छन् ।

    ४. भिभियन किंग्मा

    तीव्र गति बलर भिभियन किंग्मा पनि नेपालका लागि खतरा हुन सक्ने खेलाडी हुन् । २९ वर्षीय अनुभवी खेलाडी किंग्मा पछिल्लो समय राम्रो लयमा छन् ।

    हालसम्म १८ टी-२० खेल खेलेका उनले २० विकेट लिएका छन् । गत मार्चमा कीर्तिपुरमा भएको खेलमा किंग्माले नेपालविरुद्ध ३ विकेट लिएका थिए । गत मेमा स्कटल्यान्डसँग भएको खेलमा किंग्मा एक्लैले ४ विकेट लिएका थिए ।

    ५. आर्यन दत्त

    टी-२० विश्वकपको वार्मअप खेलमा श्रीलंकाविरुद्ध ३ विकेट लिएका नेदरल्यान्ड्सका स्पीनर आर्यन दत्त पनि राम्रो लयमा छन् । २१ वर्षीय स्पिनर दत्तले ११ टी-२० खेलमा ८ विकेट लिएका छन् ।

  • नेदरल्यान्ड्सविरुद्ध नेपालको प्लेइङ सेटमा को-को अटाउलान् ?

    नेदरल्यान्ड्सविरुद्ध नेपालको प्लेइङ सेटमा को-को अटाउलान् ?

    काठमाडौं । नेपालले टी १० विश्वकपमा आफ्नो यात्रा आज सुरू गर्दैछ । पहिलो खेलमा नेपालले पाएको प्रतिद्वन्द्वी हो नेदरल्यान्ड्स ।

    नेपाल र नेदरल्यान्ड्स हाराहारीका टीम भएकाले आजको म्याच कसको पक्षमा जाला भनेर आँकलन गर्न सजिलो छैन । दुवै टीमको ब्याटिङ लाइनअप निकै बलियो छ । गत एक दिवसीय विश्वकप समेत खेलेर ठूला टीमहरूलाई धक्का दिएको नेदरल्यान्ड्सलाई रोक्न नेपाललाई सजिलो भने हुने छैन ।

    आजको खेलमा नेपालले कुनै प्रयोग नगरीकन आफ्नो ‘सेटल टीम’ उतार्ने सम्भावना छ । नेपाललाई प्लेइङ ११ को चयन गर्न खासै टाउको दुखाइ छैन । एक-दुई जनाबाहेक अरु खेलाडीहरू निश्चित नै छन् । ब्याटिङ पंतिमा पनि धेरै तलमाथि गर्न सकिने ठाउँ छैन ।

    नेपालले ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखको अनुभवी जोडीलाई उतार्नेछ । उनीहरू दुवैले नेपालका लागि थुप्रै महत्वपूर्ण पारीहरू खेलिसकेका छन् । उनीहरूको ट्यूनिङ पनि मिल्छ । कुशल आक्रामक शैलीमा खेल्छन् भने आसिफ संयमित भएर ब्याटिङ गर्छन् । दुवैलाई दिइएको भूमिका पनि यही नै हो । यो जोडीले राम्रो आधारशीला बनाउन सकेको खण्डमा नेपालले ठूलो स्कोर खडा गर्न वा पछ्याउन सक्छ ।

    पछिल्लो समय दुवै ब्याट्सम्यान आफ्नो उत्कृष्ट फर्ममा भने छैनन् । विश्वकप उनीहरूका लागि आफ्नो क्षमता विश्वसामु उजागर गर्ने अवसर हुनेछ ।

    तेस्रो नम्बरमा नेपालका कप्तान रोहित पौडेल आउन सक्छन् । यद्यपि, परिस्थितिले माग गरेमा कुशल मल्ल वा गुल्शन झालाई पनि प्रशिक्षकले पठाउने छन् । सामान्य अवस्थामा भने रोहित नै तेस्रो नम्बरका लागि उपयुक्त ब्याट्सम्यान हुन् । क्लासिकल ब्याटिङका लागि चिनिने रोहितसँग इनिङ होल्ड गर्ने र चाहिएको बेला बाउन्ड्री निकाल्न सक्ने क्षमता छ ।

    चौथो नम्बरमा कुशल मल्ल र पाँचौं नम्बरमा सन्दीप जोरालाई पठाइने सम्भावना छ । यद्यपि, सन्दीप जोरालाई बेन्चमा राखेर अनिल शाहलाई प्लेइङ ११ मा समावेश गर्न सकिने सम्भावनालाई पनि नकार्न सकिन्न । यदि अनिलले मौका पाए उनी तेस्रो नम्बरमै आउनेछन् । अनिल र सन्दीप दुवै राम्रो सम्भावना भएका ब्याट्सम्यान हुन् । यद्यपि, अनिलभन्दा सन्दीपको टेक्निक राम्रो छ । च्यालेन्जिङ पीचमा अनिलले संघर्ष गर्छन् ।

    छैटौं नम्बरमा नेपालसँग दीपेन्द्रसिंह ऐरी छन् । उनलाई नेपालले केही समयदेखि फिनिसरको रूपमा प्रयोग गर्दै आएको छ । ऐरी टी २० मा नेपालका सर्वोत्कृष्ट ब्याट्सम्यान हुन् । प्राय सम्हालिएर खेल्ने उनी आवश्यकता पर्दा भने विष्फोटक रूप धारण गर्ने गर्छन् ।

    नेपालको तल्लो क्रममा अलराउन्डरहरू छन् । सातौं आठौं र नवौं नम्बरमा क्रमशः गुल्सन झा, सोमपाल कामी र करण केसी रहेका छन् । उनीहरू तीनैजना उस्तै क्यालिबरका खेलाडी हुन् । यद्यपि, ब्याटिङमा गुल्सनबाट धेरै आशा गरिएको छ । उनले धेरै खेलमा निर्णायक प्रदर्शन गर्दै नेपाललाई जिताएका छन् ।

    १० औं र ११ औं नम्बरमा दुई विशुद्ध बलर छन् । उनीहरू हुन् अविनाश बोहरा र ललित नारायण राजवंशी । अविनाशलाई नेपालले डेथ ओभर स्पेसलिस्टको रूपमा प्रयोग गर्ने गरेको छ । ललित भने स्पिनर हुन् । नेपालसँग स्पिनको विकल्पमा सागर ढकाल पनि छन् । तर, अनुभवका कारण ललितले मौका पाउने सम्भावना छ ।

    यदी सन्दीप लामिछाने अमेरिका आउन पाएको भए ललित र सागर दुवै वेञ्चमा बस्नुपर्ने हुन सक्थ्यो । सन्दीप हुँदा नेपालको ब्याटिङ गहिराइ पनि बढ्थ्यो । तर, ललित र सागर दुवै ब्याटिङमा कमजोर छन् ।

    यो प्लेइङ ११ खेलाउँदा नेपालका कप्तान रोहित पौडेलसँग बलिङ अप्सनको कमि छैन । नेपालसँग चार फास्ट बलर सोमपाल, करण, अविनाश र गुल्शन रहनेछन् । यद्यपि चारैजना फास्ट बलरसँग राम्रा ब्याट्सम्यानलाई समस्यामा पार्न सक्ने गति र धारको अभाव छ ।

    स्पिनमा ललित राजवंशीलाई साथ दिन दिपेन्द्र, कुशल मल्ल, कुशल भुर्तेल र स्वयम् कप्तान पौडेल सक्षम छन् । यदि विपक्षी ब्याट्सम्यानहरूले आक्रामक शैलीमा खेले भने रन रोक्नलाई स्पिनरकै प्रयोग गर्नुपर्ने हुन्छ ।

  • विश्वकप खेल्न लागेको नेपाललाई चिनियाँ राजदूतले दिए जितको शुभकामना

    विश्वकप खेल्न लागेको नेपाललाई चिनियाँ राजदूतले दिए जितको शुभकामना

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै उनले शुभकामना दिएका हुन् ।

    राजदूत सोङले भनेका छन्, ‘म नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आगामी आईसीसी पुरुष टी २० विश्वकप प्रतियोगितामा भव्य सफलताको शुभकामना व्यक्त गर्छु । चियर्स नेपाल ।’

    नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । टी–२० विश्वकपमा नेपालले दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

  • नेपाली टीमको समर्थनमा क्रिकेट जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद (भिडिओ)

    नेपाली टीमको समर्थनमा क्रिकेट जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद (भिडिओ)

    काठमाडौं । सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् ।

    बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए । बैठकमा उनीहरूले जर्सीमाथि कोट लगाएका छन् ।

    १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेकाे नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।

    आजको ऐतिहासिक खेललाई नेपालले स्मरणयोग्य बनाउन हर सम्भव मिहेनत गर्नेछ ।

    यी दुई टोलीले अहिले १२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकोमा नेदरल्यान्ड्सले ६ र नेपालले ५ खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।

     

  • नेदरल्याण्ड्ससँग खेल्नुअघि नेपाली टोलीले गरे युलेसस्थित पशुपतिनाथ र बौद्ध विहारको दर्शन (भिडिओ)

    नेदरल्याण्ड्ससँग खेल्नुअघि नेपाली टोलीले गरे युलेसस्थित पशुपतिनाथ र बौद्ध विहारको दर्शन (भिडिओ)

    काठमाडौं । आईसीसी टी २० विश्वकपमा नेदरल्याण्ड्ससँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टीमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।

    नेपाली राष्ट्रिय क्रिकेट टीमले टी २० विश्वकपअन्तर्गत आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट सुरू हुनेछ । पूजाआराधनापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपालले राम्रो तयारी गरिरहेको बताए । नेपालले वेस्टइण्डिज र अमेरिकामा करिब एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको भन्दै २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी रहेको चन्दले बताए ।

    उनले भने, ‘एक महिनाको तयारी छ । रिजल्ट राम्रै दिन्छ भन्ने छ । २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी छ । त्यो बेलामा यस्तो खालको तयारी कम हुने गर्दथ्यो । अहिलेको टीमले पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा छ । खेलाडीहरूले खेलेर उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने हो । उच्च मनोबलका साथ खेल्नुस् भनेका छौं । सब खेलाडी उत्साहित हुनुहुन्छ । टीयूकै झल्को दिनेगरी दर्शकहरूको उपस्थिति हुनेछ ।’

    खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल्न आग्रह गरेको र सबै खेलाडी उत्साहित रहेको उनले बताए ।

  • नेदरल्यान्ड्ससँग भिड्नुअघि कप्तान रोहितले भने- हामी बेस्ट दिनेछौं

    नेदरल्यान्ड्ससँग भिड्नुअघि कप्तान रोहितले भने- हामी बेस्ट दिनेछौं

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्स र नेपालबीचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताएका छन् ।

    प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्दै उनले विश्वकप खेल्नका लागि आफूहरू सबै उत्साहित रहेको बताए । १० वर्षपछि नेपालले टी २० विश्वकप खेल्न लागिरहेको भन्दै पौडेलले सबैभन्दा राम्रो प्रदर्शन गर्ने आत्मविश्वास व्यक्त गरे । पहिलो खेल जित्नु महत्वपूर्ण हुने भन्दै रोहितले जितका लागि आफूहरू खेल्ने बताएका छन् ।

    उनले भने, ‘हामीसबै जना उत्साहित छौँ । यो इभेन्ट एकदमै महत्वपूर्ण छ । १० वर्षपछि हामी विश्वकप खेल्दैछौं । नेपाल क्रिकेटको लागि यो महत्वपूर्ण कुरा हो । हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौँ । २० वटा टीम छन् । सबै टीम ब्यालेन्स र प्रतिस्पर्धी हुनुहुन्छ । नेदरल्यान्ड्स्ससँग धेरै खेल खेलेका पनि छौँ । जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टीमले जित्छ । हामी बेस्ट दिनेछौँ । टुर्नामेण्टमा पहिलो खेल एकदमै महत्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ।’

  • टी–२० विश्वकप: युगाण्डालाई फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानको विजयी सुरुवात

    टी–२० विश्वकप: युगाण्डालाई फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानको विजयी सुरुवात

    काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्र्गत आज भएकोे समूह ‘सी’ को खेलमा अफगानिस्तानले युगाण्डालाई एक सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

    अफगानिस्तानले जितका लागि दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको युगाण्डा १६ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ५८ रन बलमा समेटियो । विश्वकपमा डेब्यु गरेको युगाण्डाका लागि रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    युगाण्डालाई ५८ रनमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले पाँच विकेट लिए भने नवीन उलहक र कप्तान राशिद खानले समान दुई–दुई विकेट लिए । त्यस्तै मुजिब उर रहमानले एक विकेट झारे ।

    त्यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८३ रनको योगफल बनाएको थियो । उसका लागि ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानले अर्धशतकीय पारी खेलेका थिए ।

    गुर्बाजले ४५ बलमा चार चौका र चार छक्का प्रहार गर्दै ७६ रनको योगदान दिए भने इब्राहिमले ४६ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ७० रन बनाए । त्यस्तै मोहम्द नाबीले अविजित १४ रन बनाए ।

    बलिङतर्फ युगाण्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले समान दुई–दुई विकेट लिए भने अलेपेश रमजानीले एक विकेट झारे । समूह ‘सी’मा अफगानिस्तान र युगाण्डासँगै वेष्ट इन्डिज, न्यूजील्यान्ड र पपुवा न्युगिनी छन् ।

  • नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए शुभकामना

    नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए शुभकामना

    काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे।

    प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए । सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताए ।

    “एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ । देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु”, प्रधानमन्त्री दाहालले भनेका छन् ।

  • विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध भिड्दै नेपाल: कसकाे पल्ला भारी ?

    विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध भिड्दै नेपाल: कसकाे पल्ला भारी ?

    काठमाडौँ । नेपालले आइसीसी टी–२० विश्वकप अन्तर्गत आज नेदरल्यान्ड्ससँग खेल्दै छ । दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपाल र पाचौं पटक विश्वकप खेल्न लागेको नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा आज राती सवा ९ बजेबाट सुरु हुनेछ ।

    विश्वकपमा पहिलो पटक भिड्न लागेका यी दुई टोलीबीच यसअघि मिश्रित नतिजा आउने गरेको छ । गत मार्चमा नेपालमा भएको त्रिदेशीय टी–२० सिरिजमा घरेलु टोलीलाई हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको थियो ।

    फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उपाधि जितेको हो । उक्त सिरिजमा पहिलो खेलमा नेदरल्यान्ड्सँग २ रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटले पराजित गरेको थियो ।

    त्यसअघि २०२१ मा टी–२० क्रिकेटमा नेपाल र नेदरल्यान्ड्सको भेट भएको थियो । मलेसिया, नेदरल्यान्ड्स र नेपालबिच भएको त्रिदेशीय टी–२० को सिरिजको उपाधि घरेलु टोली नेपालले जितेको थियो । फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । सोही सिरिजको समूह चरणका खेलमा नेपाल र नेदरल्यान्ड्सले एक एक खेल आफ्नो पक्षमा पारेका थिए ।

    नेदरल्यान्ड्स र नेपालबीच सन् २०१५ को जुन ३० मा पहिलो टी–२० खेल भएको थियो । उक्त खेलमा नेदरल्यान्ड्स १८ रनले विजयी भएको थियो । त्यसयता टी–२० खेलमा नेपाल र नेदरल्यान्ड्स १२ पटक आमनेसामने भएका छन् । जसमा नेपालले ५ खेल र नेदरल्यान्ड्सले ६ खेलमा जित निकालेको छ । भने एक खेल नतिजाविहीन छ ।

    टी–२० क्रिकेटमा १३ औँ पटक आमनेसामने हुन लागेका नेपाल र नेदरल्यान्ड्स दुवै विश्वकपमा सुखद सुरुआत गर्न चाहन्छन् । तुलनात्मक रूपमा समूहका केही कमजोर मानिएका दुई टोलीले एक अर्कालाई हराउने दाउमा देखिन्छन् ।

    एसोसियट राष्ट्रको शीर्ष टोली नेदरल्यान्ड्स विश्वकपअघि राम्रो लयमा छ । नेदरल्यान्ड्सका खेलाडीहरू पनि उत्कृष्ट लयमा छन् । नेदरल्यान्ड्सका म्याक्स ओडिड र युवा माइकल लेभिट नेपालका लागि घातक हुन सक्छन् । तीव्र गति बलर भिभियन किंग्मामा र स्पिनर आर्यन दत्तले उच्च लयमा छन् ।

    सन् २०१९ बाट नेदरल्यान्ड्सबाट खेल्न थालेका ओपनिङ ब्याटर म्याक्सले ४६ खेलमा १४०३ रन जोडेका छन् । युवा ब्याटर माइकलले ९ खेलमा ३ सय ४९ रन जोडेका छन् । उनले त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्ध गत फेरब्रुरीमा १ सय ३५ रन बनाएका थिए । नेपालसँगको दुई खेलमा उनले अर्धसतक प्रहार गरेका थिए ।

    विश्वकपको वार्मअप खेलमा क्यानडासँग पराजित भएको नेपाल विश्वकपमा सुखद सुरुआत गर्दै उच्च मनोबलका साथ विश्वकप खेल्न चाहन्छ । विश्वकपअघि खास प्रदर्शन गर्न नसकेको नेपालले १० वर्षपछि खेल्न लागेको विश्वकपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । नेपालका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल नेदरल्यान्ड्सका लागि घातक हुन सक्छन् ।

    रोहित उच्च फर्ममा छन् । थ्रिडी प्लेयरको नाममा चिनिएका दीपेन्द्र र ओपनर कुशल भुर्तेलले पनि उत्कृष्ट प्रदर्शन गर्ने सम्भावना छ । यीबाहेकका खेलाडीले पनि राम्रो प्रदर्शन गर्ने सम्भावना उत्तिकै छ । सन्दीप लामिछानेको अनुपस्थितमा ललित राजवंशीले स्पिनरको पाटो सम्हाल्नेछन् । उनलाई दीपेन्द्र र कुशलले साथ दिनेछन् ।

    नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न लाग्दा नेदरल्यान्ड्स भने पाचौं पटक विश्वकप खेल्न लागेको हो । सन् २०२२ को टी–२० विश्वकपमा नेदरल्यान्ड्स सुपर १२ सम्मको यात्रा तय गरेको थियो । उक्त विश्वकपमा दक्षिण अफ्रिकालाई पराजित गर्दै नेदरल्यान्ड्सले आफूलाई प्रमाणित गरेको थियो ।

    गत वर्ष भारतमा भएका एकदिवसिय क्रिकेटमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बङ्गलादेशलाई पराजित गर्न सफल भएको थियो । केही दिनअघि भएको विश्वकप वार्मअप खेलमा श्रीलङ्कालाई पराजित गरेको थियो ।

  • टी-२० विश्वकपमा दुई नेपाली ब्याट्सम्यान- कान्छा कप्तान रोहित र विश्व कीर्तिमानी दीपेन्द्र

    टी-२० विश्वकपमा दुई नेपाली ब्याट्सम्यान- कान्छा कप्तान रोहित र विश्व कीर्तिमानी दीपेन्द्र

    काठमाडौं । सन् २०२१ मा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीमाथि अनुशासन कारबाही नभएको भए रोहित पौडेलले नेपाली राष्ट्रिय टोलीको कप्तानी पाउने सम्भावना सायदै रहन्थ्यो । तर घटनाक्रमले रोहितको भागमा कप्तानी ल्याएर छाड्यो ।

    ज्ञानेन्द्र मल्लपछि कप्तान बनेका सन्दीप लामिछानेबाट केही समयमै रोहितमा जिम्मेवारी सर्यो । लामिछानेमाथि फौजदारी कसुरमा जाहेरी दर्ता भएपछि नेपाल क्रिकेट संघ–क्यानले उनलाई निलम्बन गर्यो भने रोहित नयाँ कप्तान नियुक्त भए ।

    त्यसयता एकदिवशीय र टी–२० दुवै राष्ट्रिय टोलीको कप्तान रहेका रोहितले आईसीसी टी–२० विश्वकपमा नयाँ कीर्तिमान बनाउँदैछन् । उनी विश्वकपमा कप्तानी गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुनेछन् । नेपालले जारी विश्वकपको पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै छ ।

    यही खेलबाट उनले विश्व क्रिकेटको सबैभन्दा कान्छो फर्म्याटको विश्व महाकुम्भमा इतिहास रच्नेछन् । तर रोहितको गरिमा कान्छा कप्तानमा मात्र सीमित छैन । उनी नेपालका प्रभावशाली ब्याट्सम्यान हुन् ।

    सन् २००२ मा नवलपरासीमा जन्मिएका रोहितले सन् २०१८ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनी हाल एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन् ।

    उनले ६ खेलका ५८ इनिङ्समा एक हजार ५ सय ८६ रन जोडेका छन् । त्यसमा एक शतक र ९ अर्धशतक समावेश छन् । दोस्रो स्थानमा रहेका आसिफ शेखको नाममा एक शतक र १२ अर्धशतकसहित एक हजार ४ सय १ रन छ ।

    रोहित टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान हुन् । उनले ४९ खेलका ४७ इनिङ्समा ६ अर्धशतकसहित एक हजार १ सय ८ रन जोडेका छन् । पहिलो स्थानमा दीपेन्द्रसिंह ऐरी छन् । दीपेन्द्रले ६४ खेलका ५६ इनिङ्समा एक शतक र ९ अर्धशतकसहित एक हजार ६ सय २६ रन जोडेका छन् ।

    दीपेन्द्र टी–२० अन्तर्राष्ट्रियको एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्व क्रिकेटकै तेस्रो खेलाडी पनि हुन् । युवराज सिंह र कायरन पोलार्डपछि उनले यस्तो सफलता हात पारेका थिए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका लगातार ६ बलमा दुईपटक ६ छक्का प्रहार गरेका छन् । यस्तै ९ बलमा अर्धशतक पूरा गर्ने सम्भवत तोड्नै नसकिने विश्व कीर्तिमान पनि दीपेन्द्रको नाममा छ ।

    दीपेन्द्र कुनै समय नेपाली क्रिकेटको भावी कप्तानका रुपमा हेरिएका थिए । तर सन् २०२१ को बहुचर्चित अनुशासन प्रकरणका कारण उनको तत्कालीन उपकप्तानको जिम्मेवारी गुम्यो । त्यसपछि सन्दीपलाई कप्तान नियुक्त गर्दा उपकप्तान खाली राखिएको थियो ।

    सन्दीपलाई निलम्बन गर्दा नयाँ कप्तानका रुपमा रोहितलाई अघि सारिएको थियो । अहिले पनि उपकप्तानको जिम्मेवारी कसैलाई दिइएको छैन ।

    सन् २०१७ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दीपेन्द्रले यी सबै घटनाक्रमबीच खेलाडीका रुपमा आफुलाई अब्बल सावित गरिरहेका छन् । मध्यक्रममा उनले आफूलाई राम्रो फिनिसरका रुपमा स्थापित गरिरहेका छन् । कान्छा कप्तान रोहितले आफूभन्दा सिनियर खेलाडी समेतलाई एकताबद्ध गरेर आफ्नो व्यक्तिगत प्रदर्शनलाई पनि उत्तिकै निखार्दैछन् ।

  • विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

    विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

    काठमाडौ‌ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन् ।

    राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् ।

    उनले सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् । अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गरेको आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता यही जेठ १९ गतेदेखि सुरु भएको छ । उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज राति ९ः१५ बजे नेदरल्याण्ड्ससँग खेल्दै छ ।

     

  • टी-२० विश्वकप: श्रीलङ्कालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाको विजयी सुरुवात

    टी-२० विश्वकप: श्रीलङ्कालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाको विजयी सुरुवात

    काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’को पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ ।

    अमेरिकाको न्युयोर्कस्थित नासौं काउन्टी इन्टरनेशनल क्रिकेट रङ्गशालामा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले हराउँदै विजयी भएको हो । ७८रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६ .२ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

    दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले २७ बलमा एक चौकासहित सर्वाधिक २० रन जोडे । त्यस्तै हेनरिक क्लासेनले अविजित १९ रन बनाए । उनले २२ बलमा एक चौका र एक छक्कासहित १९ रन बनाएका हुन् ।

    त्यस्तै, ट्रिस्टन स्टब्सले १३ तथा एडेन माक्ररमले १२ रन जोडे । श्रीलङ्काका कप्तान वानिन्दु हसरङ्गाले दुई विकेट लिए भने दासुन शानका र नुवान थुसराले समान एक–एक विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको श्रीलङ्काले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि कुशल मेन्डिसले ३० बलमा एक चौकासहित सर्वाधिक १९ रन जोडे भने एन्जिलो म्याथ्युजले १६ बलमा दुई छक्कासहित १६ रन बनाए । त्यसैगरी कामिन्दु मेन्डिसले ११ रन जोडे ।

    श्रीलङ्कालाई सस्तैमा समेट्ने क्रममा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले चार विकेट लिए भने कागिसो रबाडा र केशव महाराजले समान दुई–दुई विकेट लिए । समूह ‘डी’ अन्तर्गतको दोस्रो खेल नेपाली समयअनुसार आज राति ९ः३० बजे अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेपाल र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

  • टी-२० विश्वकप: नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल

    टी-२० विश्वकप: नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल

    काठमाडौं । आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आज राति आफ्नो पहिलो खेल खेल्दैछ।

    खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ । नेपालले १० वर्षपछि विश्वकप खेल्दैछ ।

    नेपालले ११ जुनमा श्रीलंकाविरुद्ध फ्लोरिडामा दाेस्राे खेल खेल्नेछ भने दुई खेल वेस्ट इन्डिजमा खेल्नेछ ।  सेन्ट भिन्सेन्ट रंगशालामा १४ जुनमा दक्षिण अफ्रिकाविरुद्ध र १६ जुनमा बंगलादेशविरुद्ध नेपालले खेल्नेछ  ।

    नेपाली टोली:
    रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।

  • समर्थकले हुटिङ गरेपछि चतुरले भने- तपाईंले वेष्टइन्डिजमा सन्दीपलाई देख्ने मौका पाउन सक्नुहुनेछ

    समर्थकले हुटिङ गरेपछि चतुरले भने- तपाईंले वेष्टइन्डिजमा सन्दीपलाई देख्ने मौका पाउन सक्नुहुनेछ

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अमेरिकाको भिसा अस्वीकृत भएका नेपाली क्रीकेटर सन्दीप लामिछानेले वेष्ट इन्डिजमा हुने खेलमा सहभागी हुन सक्ने संकेत गरेका छन् । अमेरिकामा रहेका अध्यक्ष चन्दले एक कार्यक्रममा सन्दीपको भिसा प्रक्रिया अझै जारी बताएका हुन् ।

    अमेरिकाले लगातार दुईपटक सन्दीपको भिसा अस्वीकृत गरेको थियो । नेपालले समूह चरणका दुई खेल अमेरिका र दुई खेल वेष्ट इन्डिजमा हुनेछ ।

    एक कार्यक्रममा समर्थकले सन्दीप, सन्दीप भन्दै हुटिङ गरेपछि अध्यक्ष चन्दले सन्दीप वेष्टइन्डिजमा हुने खेलमा सहभागी हुन सक्ने दाबी गरे ।

    ‘… क्यानको अध्यक्ष बोल्दै छ । आस मारेको छैन । प्रयास जारी छ । सभ्य भएर बस्नुस् । धैर्य भएर बस्नुस् । शुभकामना दिन चाहन्छु । तपाइँहरुले वेष्ट इन्डिजमा सन्दीपलाई देख्ने मौका पाउन सक्नुहुनेछ,’ हुटिङपछि चन्दले भने ।

    नेपालले वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ । पहिला दुई खेल भने नेपालले अमेरिकामा खेल्नेछ । पहिलो खेल मंगलबार अमेरिकाको डलासमा नेदरल्यान्डससंग र दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ ।

     

     

  • काठमाडौं महानगरले यी स्थानमा ‘टी-२० विश्वकप’को निःशुल्क लाइभ गर्ने

    काठमाडौं महानगरले यी स्थानमा ‘टी-२० विश्वकप’को निःशुल्क लाइभ गर्ने

    काठमाडौं । ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ ।

    नेपाली समयअनुसार भोलि साँझ सवा नौ बजेदेखि खेल हुने महानगरले जनाएको छ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् ।

    महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।

  • विश्वकप खेल्ने अमेरिकी टीममा विदेशी खेलाडीकाे राज, ८ जना भारतीय

    विश्वकप खेल्ने अमेरिकी टीममा विदेशी खेलाडीकाे राज, ८ जना भारतीय

    काठमाडौं । क्यानडाविरुद्ध सनसनीपूर्ण जीत हासिल गर्दै आयोजक राष्ट्र अमेरिकाले आईसीसी टी-२० विश्वकपमा सानदार सुरुवात गर्‍यो । डलासमा आइतबार बिहान भएको पहिलो खेलमा कठिन अवस्थाबाट उठेर अमेरिकाले ७ विकेटको जीत निकालेको हो ।

    विश्वकपको पूर्वसन्ध्यामा अमेरिकाले बंगलादेशलाई ३ खेलको टी-२० सिरिजमा हराएको थियो । २०७६ सालमा नेपालसँग ३५ रनमा अल आउट भएको अमेरिका अहिले टेस्ट राष्ट्रलाई समेत पराजित गर्ने स्थानमा पुगेको छ । घरेलु मैदानमा पहिलो पटक भइरहेको विश्वकपमा अमेरिकी टीम उच्च आत्मविश्वासयुक्त देखिन्छ । कुनै पनि टीमले अमेरिकालाई कमजोर आँक्न सक्ने अवस्था छैन ।

    अमेरिकामा क्रिकेट उति लोकप्रिय खेल होइन । आफ्नो देशमा विश्वकप भइरहँदा पनि आमअमेरिकी नागरिकलाई खासै चासो छैन । बरु अन्य देशबाट दर्शकहरू ठूलो संख्यामा विश्वकप हेर्न अमेरिका आइरहेका छन् ।

    अमेरिकी राष्ट्रिय क्रिकेट टीमको कुरा गर्ने हो भने पनि आयातित खेलाडीहरूको बाहुल्य छ । टीमभित्र अधिकांश विदेशी खेलाडी छन् । टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाविरुद्ध खेलेका ११ जनामध्ये २ जना खेलाडीमात्रै वास्तविक अमेरिकी हुन् । आरोन जोन्स र स्टेभेन टेलरबाहेक सबै विदेशी मूलका हुन् ।

    सन् २०१९ बाट टी-२० क्रिकेटमा डेब्यु गरेका आरोनले क्यानडाविरुद्ध विस्फाेटक इनिङ खेल्दै अविजित ९४ रन जोडेका थिए । उनले अहिलेसम्म २७ टी-२० आई खेलमा कुल ४७८ रन बनाइसकेका छन् ।

    टेलर पनि पछिल्लो ५ वर्षदेखि अमेरिकाको सिनियर टोलीबाट खेल्दै आएका छन् । ओपनिङ ब्याटर टेलर अमेरिकाको उमेर समूह हुँदै सिनियर टोलीमा प्रवेश गरेका हुन् । उनले सिनियर टोलीबाट २५ टी-२० आई खेलमा ७४२ रन जोडेका छन् ।

    टी-२० विश्वकपमा अमेरिकाको कप्तानी गरिरहेका मोनक पटेल अमेरिकी होइनन् । भारतमा जन्मिएका उनले उमेर समूहमा भारतबाटै खेलेका थिए । पटेलले सन् २०१९ देखि अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले टी-२० अन्तर्राष्ट्रियमा अमेरिकाको तर्फबाट २६ खेलमा ४५७ रन जोडेका छन् ।

    पटेलसहित अमेरिकाको टीममा रहेका हर्मित सिंह र सौरभ नेत्रभाल्कर भारतका हुन् । हर्मित र सौरभले भारतीय यू-१९ टोलीबाट समेत खेलिसकेका छन् । उनीहरूले सन् २०१० मा भएको यू-१९ विश्वकपमा भारतबाट खेलेका थिए । सो विश्वकपमा हर्मित भारतको तर्फबाट सर्वाधिक रन बनाउनेको दोस्रो र सौरभ भारतको तर्फबाट विकेट लिनेको सूचीको शीर्ष स्थानमा थिए ।

    हर्मितले गत अप्रिलमा अमेरिकी टोलीबाट डेब्यु गरेका हुन् । सौरभले भने सन् २०१९ बाट अमेरिकाको टोलीबाट अन्तर्राष्ट्रिय खेल्दै आएका छन् । ७ खेल खेलेका हर्मितले ७ विकेटसहित ८१ रन बनाएका छन् । २८ टी-२० खेल खेलेका सौरभले २७ विकेट लिएका छन् ।

    अमेरिकाबाट विश्वकपमा समेटिएका विकेटकिपर ब्याटर एन्ड्रिस गोस दक्षिण अफ्रिकाका हुन् । दक्षिण अफ्रिकाको यू-१९ टोलीबाट खेलेको अनुभव गोससँग छ । उनले गत अप्रिलदेखि अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्न थालेका हुन् । उनले ७ खेलमा २२६ रन जोडेका छन् । उनीसहित अलराउन्डर श्याडली भान शाल्क्विक पनि दक्षिण अफ्रिकाका हुन् । उनले पनि गत अप्रिलदेखि अमेरिकाबाट खेल्न थालेका छन् । ७ खेल खेलेका उनले ५५ रन जोडेर ७ विकेट लिएका छन् ।

    हाल अमेरिकाबाट खेलिरहेका नितिश कुमार भारतीय मूलका क्यानेडियन खेलाडी हुन् । उनले २०१२ मा क्यानडाबाट टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । क्यानडाले सन् २०११ को  विश्वकप खेल्दा उनी कान्छाे सदस्यका रुपमा टीममा थिए । २२ वर्षकाे उमेरमा उनी राष्ट्रिय टीमको कप्तान बने । गत अप्रिलदेखि मात्र उनी अमेरिकाबाट खेल्न थालेका हुन् । अप्रिलमा भएको खेलमा क्यानडाविरुद्ध उनले सर्वाधिक ६४ रन जोडेका थिए ।

    सन् २०१९ देखि अमेरिकाबाट खेल्दै आएका अली खान पाकिस्तानका हुन् । पाकिस्तानमा जन्मिएर हुर्किएका खानले सन् २०२१ मा टी-२० अन्तर्राष्ट्रियमा अमेरिकाबाट डेब्यु गरेका थिए । ९ टी-२० खेल खेलेका खानले अमेरिकाका लागि १० विकेट लिएका छन् ।

    ब्याटिङ अलराउन्डर कोरे एण्डरसन न्युजिल्यान्डका पूर्वस्टार हुन् । हाल अमेरिकाबाट खेलिरहेका उनी न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट १३ टेस्ट ४९ एक दिवसीय र ३७ टी-२० खेलेका छन् । न्युजिल्यान्डबाट खेल्दै उनले सर्वाधिक छिटो एक दिवसीय शतकको विश्व कीर्तिमान कायम गरेका थिए । उनको कीर्तिमान पछि एवी डिभिलर्सले तोडे । । सन् २०१२ मा टी-२० अन्तर्राष्ट्रियमा न्युजिल्यान्डबाट डेब्यु गरेका उनले गत अप्रिलदेखि अमेरिकाबाट खेल्न सुरू गरेका थिए । ६ टी-२० खेल खेलेका उनले १४९ रन बनाएका छन् ।

    बलर जसदीप सिंह भारतीय मूलका हुन् । लगातार अमेरिकाबाट खेल्दै आएका उनले ११ टी-२० आई खेलमा १२ विकेट लिएका छन् । अमेरिकामै जन्मेका जसदीप ३ वर्षको हुँदा परिवारसहित पञ्जाव फर्केका थिए । १३ वर्षको उमेरमा फेरि उनी अमेरिका गए र त्यहीं क्रिकेट खेल्न थाले ।

    क्यानडाविरुद्ध बेन्चमा रहेका नोसथुस प्रदीप केन्जिगे, निशर्ग पटेल र मिलिन्द कुमार भारतीय मूलकै हुन् । शायन जहागिर पाकिस्तानका हुन् । गत अप्रिलमा टी-२० आईमा डेब्यु गरेको केन्जिगेले ६ खेलमा ४ विकेट लिएका छन् । सन् २०१९ बाट टी-२० आई खेल्न सुरू गरेका पटेलले २१ खेलमा ११५ रन र २७ विकेट लिएका छन् । शायनले गत मे र मिलिन्दले गत अप्रिलबाट अमेरिकाबाट खेल्न थालेका हुन् । शायनले पाकिस्तानको यू-१९ टोलीबाट खेल्दा मिलिन्दले आईपीएल, रणजी ट्रफी खेलिसकेका छन् ।

    टी-२० विश्वकपमा पहिलो खेलमा जीत निकालेको अमेरिकाले दोस्रो खेलमा आउँदो बिहीबार पाकिस्तानसँग खेल्नेछ । जुन १२ मा भारत र जुन १४ मा आयरल्यान्डसँग खेल्ने तालिका छ ।

  • टी-२० विश्वकपः सुपर ओभरमा नामिबियासँग ओमान स्तब्ध

    टी-२० विश्वकपः सुपर ओभरमा नामिबियासँग ओमान स्तब्ध

    काठमाडौं । अमेरिका–वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा पहिलोपटक भएको सुपरओभरमा ओमानले हार व्यहोरेको छ ।

    नामिबियाले ६ बलमा २१ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा ओमानले खराब ब्याटिङ गर्दै नतिजा सुम्पियो ।

    नामिबियाले ६ बलमा एक विकेट गुमाएर १० रन मात्र जोड्न सक्यो । नामिबियाका डेबिड वाइजी उत्कृष्ट बलिङ गर्दै टिमलाई जित दिलाए ।

    त्यसो त नामिबियाले खेल नियमित २० ओभरमा नै जित्नुपर्थ्यो । अन्तिम ओभरमा जितका लागि ५ रन मात्र आवश्यक हुँदा पनि नामिबियाले जित निकाल्न सकेन । पहिलो ओभरमा विकेट, दोस्रोमा डट बल र तेस्रोमा फेरि विकेट खेलमा अप्रत्याशित ट्वीस्ट आएको थियो ।

    अन्तिम ओभरमा नामिबियालाई जितका लागि २ रन चाहियो । यहाँ ओमानले खेल आफ्नो पक्षमा पार्ने सहज मौका सदुपयोग गर्न सकेन । फिल्डरले रन आउटको अत्यन्तै सजिलो मौका खेर फालेपछि खेल सुपरओभरमा धकेलिएको हो ।

  • रोमाञ्चक बराबरीपछि ओमान र नामिबियाको खेल सुपर ओभरमा

    रोमाञ्चक बराबरीपछि ओमान र नामिबियाको खेल सुपर ओभरमा

    काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा धकेलिएको छ ।

    ११० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन मात्रै बनाउन सक्यो ।

    अन्तिम ओभरमा नामिबियालाई जितका लागि ५ रन मात्रै चाहिएको थियो भने हातमा ६ विकेट बाँकी थियो । तर पहिलो र तेस्रो बलमा विकेट गुमाएपछि नामिबिया दबाबमा आयो ।

    अन्तिम ३ बलमा नामिबियालाई ५ रन आवश्यक रह्यो ।

    चौथो बलमा ब्याट्सम्यानले १ रन मात्रै जोड्न सके । ५ औँ बलमा २ रन बटुले । अन्तिम बलमा नामिबियालाई जितका लागि २ रन आवश्यक थियो ।

    मेहरान खानले फ्याँकेको बलमा डेबिट वाइजी बिट भएपछि १ रनका लागि दगुरे । ओमानसँग रन आउटको सजिलो मौका थियो तर फिल्डरले नजिकैबाट पनि विकेट ढाल्न सकेनन् । नामिबियाका ब्याट्सम्यानले १ रन पूरा गरेपछि खेल बराबरी भयो ।

  • टी-२० विश्वकप : ओमान र नामिबियाको खेल जारी

    टी-२० विश्वकप : ओमान र नामिबियाको खेल जारी

    काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा अहिले ओमान र नामिबिया भिड्दैछन् । समूह बीको पहिलो खेल बार्बाडोसको केन्सिङ्टन ओभलमा जारी छ ।

    टस जितेर बलिङ गरिरहेको नामिबियाले सुखद सुरुआत गरेको छ । २ दशमलव ३ ओभरको खेल सकिँदा ओमान १०-३ को अवस्थामा छ ।

    दुवै टोलीको यो तेस्रो विश्वकप हो । नामिबियाका रुबेन ट्रम्पलम्यान एक्लैले ३ विकेट लिएका हुन् ।

  • टी-२० विश्वकप : वेस्ट इन्डिजसँग पिएनजी पराजित

    टी-२० विश्वकप : वेस्ट इन्डिजसँग पिएनजी पराजित

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) पराजित गरेको छ । गए राती भएको खेलमा वेस्ट इन्डिजले पिएनजीलाई ५ विकेटको पराजित गरेको हो ।

    पिएनजीले दिएको १३७ रनको विजयी लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा पुरा गर्‍यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले सर्वाधिक ४२ रनको जोडे । ब्रान्डन किंगले ३४ र निकोलस पुरनले २७ रनको योगदान दिए ।

    बलिङमा पिएनजीका असद भालाले २ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेटको गुमाएर १३६ रन बनाएको थियो ।

    पिएनजीका सेसे बाउले सर्वाधिक ५० रन बनाएका थिए । किप्लिन डोरिगाले २७ र असद भालाले २१ रनको योगदान दिएका थिए ।
    बलिङमा वेस्ट इन्डिजका अलजारी जोसेफ र आन्द्रे रसेलले २-२ विकेट लिएका थिए ।

  • अमेरिकाले रोकेका सन्दीप वेस्ट इन्डिजमा विश्वकप खेल्न सक्छन् ?

    अमेरिकाले रोकेका सन्दीप वेस्ट इन्डिजमा विश्वकप खेल्न सक्छन् ?

    काठमाडौं । दुईपटकको प्रयासमा पनि अमेरिकाले भिसा नदिएपछि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान पाएका छैनन् । अमेरिका र वेस्ट इन्डिज आयोजक रहेको टी-२० विश्वकप आजबाट सुरू भइसकेको छ ।

    नेपालले विश्वकपको समूह चरणमा चारवटा म्याच खेल्नेछ, जसमा दुईवटा अमेरिका र बाँकी दुईवटा वेस्ट इन्डिजमा छन् । अमेरिकाले भिसा नदिएपछि त्यहाँ हुने दुवै म्याचमा सन्दीप खेल्ने सम्भावना अन्त्य भइसकेको छ । अब वेस्ट इन्डिजमा हुने दुई म्याचबारे चासो बाँकी छ । के अमेरिकामा नपाए पनि सन्दीपले वेस्ट इन्डिजमा खेल्न पाउने सम्भावना हुन्छ त ?

    विश्वकप हेर्न अमेरिका पुगेका नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले हिजो एक स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुले यस्तो सम्भावनाबारे विचार गरिरहेको बताए । अमेरिकाबाहेक यूके (बेलायत) बाट पनि वेस्ट इन्डिज जान सकिने आफूले सुनेको उनको भनाइ छ । उनले ठोस जानकारी भने दिन सकेनन् ।

    वेस्ट इन्डिज खासमा एउटा देश नभएर प्रान्तीय राज्य र क्षेत्रहरूको अनौपचारिक समूह हो । नेपालबाट सीधै उडान नहुने भएकाले वेस्ट इन्डिज जानलाई अमेरिका वा बेलायतको ट्रान्जिट प्रयोग गर्नुपर्छ । दुवै देशबाट वेस्ट इन्डिज जाँदा अनअराइभल भिसा पाइन्छ ।

    सन्दीपले यसअघि अमेरिका, बेलायत र वेस्ट इन्डिज सबैतिर गएर खेलिसकेका छन् । अमेरिका र यूकेको भिसा उनीसँग पहिल्यै थियो । अदालतमा मुद्दा परेपछि अमेरिकी दूतावासले उनको पाँच वर्षे मल्टिपल भिसा खारेज गरिदियो । मुद्दा फैसला भएर सफाइ पाएपछि पनि उनको भिसा सक्रिय भएन । त्यसैले उनले फेरि प्रक्रियामा जानु परेको थियो ।

    बेलायतको भिसा पनि सन्दीपसँग छ । उनले त्यहाँ हुने द १०० क्रिकेट लिग खेलेका थिए । यद्यपि, अमेरिकी दूतावासले जस्तै बेलायतको दूतावासले पनि सन्दीपको भिसा रद्द गरेको हुन सक्ने अनुमान गरिएको छ । यदि रद्द गरिएको भए फेरि भिसाका लागि आवेदन दिनुपर्छ ।

    स्रोतकाअनुसार अमेरिकाले भिसा नदिएमा सीधै वेस्ट इन्डिज पठाउने विकल्पबारे क्यानले पहिल्यैदेखि गृहकार्य गरिरहेको थियो । त्यो गृहकार्य अहिले पनि जारी रहेको बुझिएको छ । यसमा संलग्न क्यान म्यानेजर विनोद दास अहिले अमेरिकामा नै छन् । तर, विभिन्न कारणले सन्दीप वेस्ट इन्डिज जान सक्ने सम्भावना कमजोर देखिएको छ ।

    नेपालले अमेरिकी दूतावासमा भिसा आवेदन गर्नुअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग सन्दीपलाई टीममा समावेश गर्न अनुमति मागेको थियो । यसअघि क्यानले घोषणा गरेको १५ सदस्यीय स्क्वाडबाट एकजनालाई प्रतिस्थापन गर्न आईसीसीले अनुमति दिएको हो । भिसा लाग्ने निश्चित नभएकाले कुन खेलाडीलाई प्रतिस्थापन गर्ने भन्ने चाहीँ क्यानले गोप्य राखेको थियो । यसैलाई लिएर केही व्यक्तिले सामाजिक सञ्जालमा क्यानले सन्दीपलाई १५ सदस्यीय स्क्वाडमा समावेश नगरेको भन्दै अफवाह फैलाइरहेका छन् ।

    खासमा सन्दीपलाई विश्वकपमा पुर्‍याउन क्यानले सुरूदेखि मिहिनेत गरिरहेको छ । सन्दीपको मुद्दा फैसला हुनुभन्दा अघिदेखि नै क्यानले आईसीसीसँग समन्वय गरिरहेको थियो । आईसीसी पनि सन्दीपका सन्दर्भमा धेरै नै लचक बनेको हो । यदि सन्दीपको भिसा लागे एक खेलाडीलाई उनले प्रतिस्थापन गर्ने र नलागेको खण्डमा अहिलेकै १५ सदस्यीय स्क्वाड कायम राख्न आईसीसीले अनुमति दिएको थियो । तर, सन्दीपलाई समावेश गर्न लागि ३१ मेसम्मको डेडलाइन दिइएको थियो । उक्त डेडलाइन अस्ति सकियो । त्यसैले यदि सन्दीपलाई वेस्ट इन्डिजमा पठाउन सकिने वातावरण भएमा फेरि पनि आईसीसीसँग नयाँ अनुमति लिनुपर्ने हुन्छ । तर, योभन्दा जटिलता चाहीँ भिसामै छ ।

    सन्दीपलाई भिसा नदिनका लागि अमेरिकी दूतावासमा महिलावादी संघसंस्था र केही राजनीतिकर्मीको दबाब परेको थियो । स्रोतका अनुसार केही आइएनजीओले सन्दीपलाई भिसा दिएको खण्डमा अमेरिकामा हुने विश्वकपको भेन्यूमै गएर कालो झण्डा देखाउने चेतावनी दिँदै दूतावासमा इमेल पठाएका थिए । यस्तै किसिमको दबाब बेलायतको दूतावासलाई पनि नदिइएला भन्न सकिँदैन । त्यही भएर यस्तो माहोलमा क्यानले बेलायती दूतावासमा पहल गरिहाल्न सक्ने अवस्था छैन ।

    वेस्ट इन्डिजमा नेपालको खेल १५ जुन र १७ जुनमा रहेको छ । अमेरिकामा ४ जुन र १२ जूनमा दुई म्याच खेलेपछि नेपाल वेस्ट इन्डिज जाने हो । वेस्ट इन्डिजमा खेल्न अझै १३ दिन बाँकी भएकाले भिसा आवेदन गर्न समयको अभाव भने छैन । यदि भिसा पाएको खण्डमा आइसीसीबाट अनुमति पाउन पनि कठिन नहुने क्यान स्रोत बताउँछ । कुनै पनि देशले टीमका एक खेलाडी विशेष कारणले खेल्न नसक्ने भएमा कुनै पनि बेला प्रतिस्थापन गर्न सकिने सुविधा पनि हुन्छ । त्यसैले सन्दीपका लागि आईसीसीको तगारो छैन । समस्या भनेको उनलाई कसरी वेस्ट इन्डिज पुर्‍याउने भन्ने नै हो । क्यान स्रोतले यो सम्भावना ४० प्रतिशतमात्र रहेको बतायो ।

    -चिरञ्जीवी

  • २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल

    २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल

    काठमाडौं। वेस्ट इन्डिज ‘ए’विरुद्ध घरेलु मैदानमा ५ खेलको टी-२० शृङ्खला हुनै लाग्दा सुरुमा घोषणा गरिएको १६ सदस्यीय टोलीमा थिएनन्- कमलसिंह ऐरी । तर अन्तिम समयमा नेपाल क्रिकेट संघ (क्यान) ले चार जना खेलाडीलाई समावेश गर्दा फास्ट बलर कमलको नाम छुटेन ।

    नेपालले उक्त शृङ्खला खेल्न थालेको केही दिनपछि विश्वकपका लागि घोषणा गरिएको १५ सदस्यीय राष्ट्रिय टोलीमा कमलले पनि बाजी मारेका थिए।

    कमलले २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय खेलहरू खेलेका छैनन्। अन्तिम पटक सन् २०२२ को अप्रिलमा उनले मलेसियाविरुद्ध कीर्तिपुर मैदानमा खेलेका थिए। त्यस खेलमा उनले २० रन खर्चिएर २ विकेट लिएका थिए। कमल त्यसयता लामो समय चोटबाट गुज्रिए। गत मार्चमा नेपाल भ्रमणमा आएको आयरल्यान्ड ‘ए’सँग खेल्ने नेपाल ‘ए’मा स्थान बनाएर उनले मैदानमा पुनरागमनको प्रयास गरेका थिए।

    आयरल्यान्ड ‘ए’विरुद्ध उनले तीन वटा टी-२० खेल्दा ५ विकेट लिए । उनले पहिलो खेलमा ३९ रन खर्चिएर ३ विकेट हात पारेका थिए। आयरल्यान्ड ‘ए’विरुद्ध भएको ५० ओभरको पहिलो खेलमा २१ रन खर्चिएर ४ विकेट लिएका थिए।

    दोस्रो खेलमा पनि १ विकेट लिएर ३३ रन खर्चिएका थिए। कमलले आयरल्यान्ड ‘ए’विरुद्ध खेलेका हरेक खेलमा विकेट हात पारेका थिए। त्यसपछि वेस्ट इन्डिज ‘ए’विरुद्ध २ वटा टी-२० खेल्दा उनले कुल ८६ रन खर्चिएर एक विकेट हात पारेका थिए।

    कमलले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा ४ वर्षअघि डेब्यु गरेका हुन्। सन् २०२० को फेब्रुअरीमा घरेलु मैदानमा ओमानविरुद्ध खेल्दै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। त्यस खेलमा ४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिएका थिए भने विकेट लिन सकेका थिएनन्।

    उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने सन् २०२१ को अप्रिलमा मलेसियाविरुद्ध खेल्दै डेब्यु गरेका थिए। त्यस खेलमा उनले १६ रन खर्चिएर ३ विकेट लिएका थिए।

    कमलले हालसम्म १० टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै १५ विकेट लिएका छन्। उनको बलिङ इकोनोमी ६.४९ छ। उनले एकै खेलमा १५ रन खर्चिएर ३ विकेटसम्म लिएका छन्।

    सन् २०२२ को फेब्रुअरीमा भएको खेलमा उनले ओमानविरुद्ध उक्त सफलता हात पारेका थिए। यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ३ खेल खेल्दै २ विकेट लिएका छन् भने ५.७३ बलिङ इकोनोमी छ।

    नेपाली टोलीमा कमलबाहेक सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतिस जिसी र गुल्सन झा पनि फास्ट बलरका रूपमा छन्।

    नेपाली क्रिकेट खेलाडीहरुबारे नेपाल प्रेसका थप सामग्री पढ्नुहोस्-

    1. टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता
    2. ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित
    3. अनुभवी ओपनर आसिफबाट आशा
    4. अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब
    5. सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार
    6. १६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल
    7. सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान
    8. ‘थ्रीडी क्रिकेटर’ दीपेन्द्र : नेपालको भरोसाका केन्द्र
    9. ‘योर्कर विशेषज्ञ’ अविनाश: जो डेथ ओभरमा अक्सर चुक्छन्
    10. सोमपाल कामी- धार खोजिरहेको नेपालको पुरानो हतियार
    11. सागर ढकाल- नेपालले खोजिरहेका नयाँ विशेषज्ञ स्पीनर
    12. प्रतिश जिसी- नेपालको फास्ट बलिङमा अविनाश, सोमपाल र करणका विकल्प
    13. एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’
    14. २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल
    15. कहिल्यै शून्यमा आउट नभएका गुल्शन
  • टी- २० विश्वकपको पहिलो खेल: क्यानडामाथि अमेरिकाको शानदार जित

    टी- २० विश्वकपको पहिलो खेल: क्यानडामाथि अमेरिकाको शानदार जित

    काठमाडौं । अमेरिका र वेष्टइण्डिजमा सुरु भएको टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।

    क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अमेरिकाका आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन जोडे ।

    ४२ रनमा २ विकेट गुमाएको अमेरिकाको लागि जोन्स र एन्ड्रीस गौसले तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए । गौस ६५ रन जोडे । मोनक पटेलले १६, स्टेभेन टलर शुन्य रनमा आउट भए । कोरे एण्डरसन ३ रनमा अविजित रहे । बलिङमा क्यानडाका सलिम साना, डिलोन हेलिगर र निखिल दत्तले एक एक विकेट लिए ।

    यसअघि अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

    क्यानडाका लागि नवनित धलिवालले ६१, निकोलस किर्तोनले ५१, आरोन जोनसनले २३, पर्गत सिंहले ५, दिलप्रीत बाज्वाले ५, श्रेयास मोभ्भाले ३२ र डिलोन हेलिगरले १ रनको योगदान दिएका थिए । बलिङमा अमेरिकाका अलि खान, हर्मित सिंह र कोरे एण्डरसनले एकएक विकेट लिएका हुन् ।

  • अमेरिकामा नेपाली क्रिकेट टोलीलाई अएनआरएनएको स्वागत

    अमेरिकामा नेपाली क्रिकेट टोलीलाई अएनआरएनएको स्वागत

    अमेरिका । आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ ।

    स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए ।

    टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ ।

    अमेरिकाले पहिलोपटक आईसीसी प्रतियोगिता आयोजना गरेको हो ।

  • टी- २० विश्वकप सुरू: पहिलो खेलमा क्यानडाले अमेरिकालाई दियाे १९५ रनकाे लक्ष्य

    टी- २० विश्वकप सुरू: पहिलो खेलमा क्यानडाले अमेरिकालाई दियाे १९५ रनकाे लक्ष्य

    काठमाडौं । अमेरिका र वेष्टइण्डिजमा सुरु भएको टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।

    अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो ।

    क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ६१ रन जोडे । निकोलस किर्तोनले ५१, आरोन जोनसनले २३, पर्गत सिंहले ५, दिलप्रीत बाज्वाले ५,श्रेयास मोभ्भाले ३२ र डिलोन हेलिगरले १ रनको योगदान दिए ।

    बलिङमा अमेरिकाका अलि खान, हर्मित सिंह र कोरे एण्डरसनले एकएक विकेट लिए ।