Category: सुशासन प्रेस

  • मतपेटिका टेण्डरसम्बन्धी प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश

    मतपेटिका टेण्डरसम्बन्धी प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं । मतपेटिका सप्लाई तथा वितरणको ठेक्का सम्बन्धी कार्य तत्काल अघि नबढाउन अदालतले अन्तरिम आदेश जारी गरेको छ । अयोग्य कम्पनीको बोलपत्र स्वीकृत गरेको भन्दै आयोगविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।

    उच्च अदालत पाटनले निर्वाचन आयोगको नाममा बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै मतपेटिकाको बोलपत्र सम्बन्धी कार्य जे जस्तो अवस्थामा छ, सोही अवस्थामा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    न्यायाधीश महेन्द्रनाथ उपाध्यायको एकल इजलासले जारी गरेको आदेशमा दुवै पक्षलाई छलफलका लागि भदौ १९ गते बोलाइएको छ ।

    मतपेटिकाको ठेक्का प्रक्रियामा सबै मापदण्ड र प्रक्रिया पूरा गरेपनि मूल्यांकन समितिले अयोग्य ठानेको कम्पनीलाई स्वीतृत गरिएको भन्दै ‘ग्यावियोनेट इन्भारोमेन्ट सोलुसन प्रालि’ ले मुद्दा हालेको थियो ।

    निवेदक कम्पनीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, शम्भू थापा, सुनिलकुमार पोखरेल, मेघराज पोखरेल, नरेन्द्रप्रसाद गौतम तथा अधिवक्ता भेषराज न्यौपानेले बहस गरेका थिए ।

    ठेक्कामा के भएको थियो ?

    मतपेटिका सप्लाई तथा वितरण ठेक्कामा निर्वाचन आयोगले आफैंले बनाएको मापदण्डविपरीत अयोग्य कम्पनीलाई छनौट गरेको थियो । सेटिङमा अयोग्य कम्पनीलाई ठेक्का दिने गरी नाम प्रकाशन भएपछि अन्यायमा परेका बाँकी कम्पनीले विरोध जनाएका छन् ।

    मंसिर ४ को निर्वाचनका लागि निर्वाचन सामाग्री खरीद गर्न बोलपत्र आव्हान भएबमोजिम भदौ १ गते पेस भएका बोलपत्रहरूमध्ये १४ करोड ९८ लाख ४३ हजार ६५० दाबी गरेको ‘शशीधर/काविल/ब्रिजटेक जेभी’ लाई स्वीकृत गरेको सार्वजनिक सूचनामार्फत जानकारी गराएको थियो ।

    आयोगले १७ करोड ८७ लाख ५० हजार (भ्याटसहित) को स्वीकृत लागत अनुमानका आधारमा टेण्डर निकालेको थियो । त्यसमा हिमालयन ट्रेडिङ विजिनेश कन्सर्न/एस गार्मेन्ट्स प्रालि जेभी, नेपाल हिमा ट्रेड लिंक प्रालि, केएस इन्टरनेशनल, एस.पी. एड लक्की ए.एस. जेभी, ग्याबिओनेट इन्भारोमेन्ट सोलुसन प्रालि र शशीधर/काविल/ब्रिजटेक जेभीले बोलपत्र पेस गरेका थिए ।

    आयोगले टेण्डर प्रक्रियामा सहभागी हुने बिडर (कम्पनी) ले मतपेटिका उत्पादन गर्ने कम्पनीबाट गुणस्तर नापजाँच रिपोर्ट अनिवार्यरूपमा पेस गर्नुपर्ने मापदण्ड पनि तोकेको थियो । यस्तै, १८ करोड १५ लाख रुपैयाँ बराबरको क्रेडिट फ्यासिलिटीको प्रमाणसमेत बोलपत्रको साथमै पेस गर्नुपर्ने भनिएको थियो । अनिवार्य मानिएका यी दुई मापदण्ड पूरा नगरेको कम्पनीको बोलपत्र स्वीकृत गरेको ग्याबिओनेट इन्भारोमेन्टको आरोप छ ।

    आयोगले बनाएको मूल्यांकन समितिको प्रतिवेदनले समेत ‘शशीधर/काविल/ब्रिजटेक जेभी’ले महत्वपूर्ण दुई मापदण्ड पूरा नगरेका कारण उल्लेख गर्दै यी सबै मापदण्ड पूरा गर्ने ‘ग्याबिओनेट इन्भाइरोमेन्ट सोलुसन’ नामको कम्पनी सो टेण्डरका लागि उपयुक्त र योग्य रहेको ठहर गरेको थियो ।

    पेस भएका बोलपत्रहरूको विषयमा आयोगको मूल्यांकन समितिले प्रतिवेदन नै तयार पारेको छ । आयोग स्रोतले उपलब्ध गराएको कागजातअनुसार ग्याबिओनेटबाहेकका पाँचवटै बोलपत्रदाताबाट सर्तअनुसार क्वालिटी टेस्ट रिपोर्ट पेस नभएकोले अयोग्य भनिएको छ ।

     

  • मतपेटिका खरिदको टेण्डरमा सेटिङको आरोप, मूल्यांकन समितिले अयोग्य ठानेको कम्पनीलाई जिम्मा

    मतपेटिका खरिदको टेण्डरमा सेटिङको आरोप, मूल्यांकन समितिले अयोग्य ठानेको कम्पनीलाई जिम्मा

    काठमाडौं । निर्वाचन आयोगले मतपेटिका सप्लाइ तथा डेलिभरीको ठेक्कामा चलखेल गरेको भन्दै विरोध भएको छ । ग्याबिओनेट इन्भारोमेन्ट सोलुसनले आयोग परिसरमा पत्रकार सम्मेलन गर्दै आयोग आफैंले बनाएको मापदण्डविपरीत अयोग्य कम्पनीलाई छनौट गरेको दाबी गरेको छ ।

    मंसिर ४ को निर्वाचनका लागि निर्वाचन सामाग्री खरीद गर्न बोलपत्र आव्हान भएबमोजिम भदौ १ गते पेस भएका बोलपत्रहरूमध्ये १४ करोड ९८ लाख ४३ हजार ६५० दाबी गरेको ‘शशीधर/काविल/ब्रिजटेक जेभी’ लाई स्वीकृत गरेको सार्वजनिक सूचनामार्फत जानकारी गराएको थियो ।

    आयोगले १७ करोड ८७ लाख ५० हजार (भ्याटसहित) को स्वीकृत लागत अनुमानका आधारमा टेण्डर निकालेको थियो । त्यसमा हिमालयन ट्रेडिङ विजिनेश कन्सर्न/एस गार्मेन्ट्स प्रालि जेभी, नेपाल हिमा ट्रेड लिंक प्रालि, केएस इन्टरनेशनल, एस.पी. एड लक्की ए.एस. जेभी, ग्याबिओनेट इन्भारोमेन्ट सोलुसन प्रालि र शशीधर/काविल/ब्रिजटेक जेभीले बोलपत्र पेस गरेका थिए ।

    ग्याबिओनेट इन्भारोमेन्टका डाइरेक्टर हेमन्त अग्रवालले सेटिङमा खरिद ठेक्का स्वीकृत गरेको दाबी गरे । ‘आयोगले तोकेको मापदण्ड र शर्तअनुसार योग्य कम्पनी हामी मात्र रहेको आयोगकै मूल्यांकन समितिको प्रतिवेदनले पनि देखाएको छ । तर, त्यसको निश्कर्षविपरीत गैरकानूनी ढंगले अयोग्य कम्पनीको बोलपत्र छनौट गरी आयोगले सार्वजनिक खरीद ऐनको धज्जी उडाएको छ ।’

    उनले आफूहरूले लिखित सूचनामा मागेको भएपनि जानकारी गराउन आयोगले इन्कार गरिरहेको गुनासो गरे ।

    आयोगले टेण्डर प्रक्रियामा सहभागी हुने बिडर (कम्पनी) ले मतपेटिका उत्पादन गर्ने कम्पनीबाट गुणस्तर नापजाँच रिपोर्ट अनिवार्यरूपमा पेस गर्नुपर्ने मापदण्ड पनि तोकेको थियो । यस्तै, १८ करोड १५ लाख रुपैयाँ बराबरको क्रेडिट फ्यासिलिटीको प्रमाणसमेत बोलपत्रको साथमै पेस गर्नुपर्ने भनिएको थियो । अनिवार्य मानिएका यी दुई मापदण्ड पूरा नगरेको कम्पनीको बोलपत्र स्वीकृत गरेको ग्याबिओनेट इन्भारोमेन्टको आरोप छ ।

    आयोगले बनाएको मूल्यांकन समितिको प्रतिवेदनले समेत ‘शशीधर/काविल/ब्रिजटेक जेभी’ले महत्वपूर्ण दुई मापदण्ड पूरा नगरेका कारण उल्लेख गर्दै यी सबै मापदण्ड पूरा गर्ने ‘ग्याबिओनेट इन्भाइरोमेन्ट सोलुसन’ नामको कम्पनी सो टेण्डरका लागि उपयुक्त र योग्य रहेको ठहर गरेको थियो ।

    ग्याबिओनेटले १४ करोड ५६ लाख ४० हजार रूपैयाँ बराबरको कबोल गरेको थियो ।

    पेस भएका बोलपत्रहरूको विषयमा आयोगको मूल्यांकन समितिले प्रतिवेदन नै तयार पारेको छ । आयोग स्रोतले उपलब्ध गराएको कागजातअनुसार ग्याबिओनेटबाहेकका पाँचवटै बोलपत्रदाताबाट सर्तअनुसार क्वालिटी टेस्ट रिपोर्ट पेस नभएकोले अयोग्य भनिएको छ ।

    ‘प्राविधिक तथा व्यापारिक पक्षको मूल्याङ्कनबाट छनौट भएको बोलपत्रदाता ग्याबिओनेट इन्भाइरोमेन्ट सोलुसन प्रालिले पेश गरेको बोलपत्रको सार्वजनिक खरीद ऐन २०६३ को दफा २५(५) एवम् सार्वजनिक खरीद नियमावली, २०६४ को नियम ६४ बमोजिम आर्थिक पक्षको मूल्याङ्कन गर्दा उक्त बोलपत्रदाताले पेश गरेको कबोल अंक १४ करोड ५६ लाख ४० हजार (मू.अ.करबाहेक) भन्दाको प्रस्ताव आयोगको निर्णयअनुसार स्वीकृत लागत अनुमात रु. १७ करोड ८७ लाख ५० हजार(मू.अ.करबाहेक)भन्दा १८.५२ प्रतिशत घटी रहेकोले निजको बोलपत्र सार्वजनिक खरीद ऐन २०६३ को दफा २५(८)अनुसार न्यूनतम मूल्याकिंत सारभूत रुपमा प्रभावग्राही रहेको पाइएको ’, मूल्यांकन समितिले आफ्नो प्रतिवेदनमा भनेको छ ।

    समितिले प्रतिवेदन पेस गरी आवश्यक निर्णयार्थ पेस गरे पनि निर्णय गर्ने क्रममा भने चलखेल भएको देखिन्छ ।

    बोलपत्रमा सहभागी ६ वटा कम्पनीमध्ये छनौट भएको शशीधर/काविल/ब्रिजटेक जेभीले ७ करोड ९५ लाख ९२ हजार बराबरको मात्र क्रेडिट लाइन देखाएको छ । जबकि आयोगले १३ महिना अवधिको क्रेडिट लाइनबापतको १८ करोड १५ लाखको क्रेडिट फ्यासिलिटीको प्रमाणपत्र मागेको थियो ।

    ‘आफूसँग ८ करोड रुपैयाँ समेत क्रेडिट लाइन नभएको कम्पनीलाई के आधारमा १७ करोड माथिको ठेक्का दिइयो ?’ ग्याबिओनेटका डाइरेक्टर अग्रवाल भन्छन्, ‘बोलपत्रदाता छनौट भएको भन्दै पत्रिकामा निकालिएको सूचनामा आयोगले १३ महिना अवधिको कार्यसम्पादन जमानत, सोही अवधिको क्रेडिट फ्यासिलिटी प्रमाणपत्र र ४५ दिनभित्र मतपेटिका आपूर्ति गर्नसक्ने आधार र प्रमाणसहितको कागजातसहितको विस्तृत कार्यतालिका पेस गर्न भनिएको छ । यसले समेत छनौट भएको कम्पनीले टेण्डर भर्दा तोकिएको मापदण्ड पूरा गरेको थिएन भन्ने प्रष्ट पार्छ । होइन भने छनौट भइसकेपछि सो कम्पनीलाई ती कागजात बुझाउनु भन्नुको अर्थ के ?’

    सार्वजनिक खरीद ऐनको प्रावधानविरुद्ध आयोगले गरेको निर्णयउपर आफूहरू अदालतमा जाने समेत अग्रवालले जानकारी दिए ।

  • बार आरोपित ‘बिचौलिया’ सँग अध्यक्षको संवाद- ममात्र होइन गठबन्धन छ, महाअभियोगमा धेरै पोलिटिक्स भएको छ (अडिओ)

    बार आरोपित ‘बिचौलिया’ सँग अध्यक्षको संवाद- ममात्र होइन गठबन्धन छ, महाअभियोगमा धेरै पोलिटिक्स भएको छ (अडिओ)

    काठमाडौं । नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाअभियोगमा धेरै ठूलो राजनीति घुसेको भन्दै बारले उनीविरुद्ध महाअभियोग समितिमा बुझाएको ३५ बुँदे कथित प्रमाण पनि आफूले संकलन र मस्यौदा नगरेको बताएका छन् ।

    बारले दुई दिनअघि राणाविरुद्धका प्रमाण भन्दै ३५ बुँदामा विभिन्न व्यक्तिको नाम तोकेर कल डिटेलसमेत आफूसँग रहेको जसरी फर्जी अभियोगहरु पेश गरेको छ । सो फर्जी प्रमाणको १७ बुँदामा बिचौलियाका रुपमा प्रस्तुत गरिएका दीपक तिमल्सिनासँग अध्यक्ष घिमिरे स्वयंले बारमा आफूमात्र नरहेको भन्दै गठबन्धनको परिबन्धमा परेको आशय व्यक्त गरेका छन् ।

    बारले महाअभियोग सिफारिस समितिसमक्ष दीपक तिमल्सिनासहितका ‘बिचौलिया’को सम्पत्ति छानबिन गरी पाउँ भन्दै उनीहरुलाई चोलेन्द्र शमशेरको मतियारका रुपमा प्रस्तुत गरिएको छ । तिमल्सिनाले आफ्नो नाम विनाप्रमाण किटेको गुनासो गर्न अध्यक्ष घिमिरेलाई गरेको टेलिफोन रेकर्ड नेपाल प्रेसलाई प्राप्त भएको छ । जसमा अध्यक्ष घिमिरेले उल्टै आफू गठबन्धनको बन्धक भएको भन्दै महाअभियोगमै राजनीति घुसेको स्वीकार गरेका छन् ।

    उनले बारमा आफूमात्र नरहेको र गठबन्धन पनि रहेको भन्दै यसबाट ब्याक हुँदा आफू बारको गेटभित्र पस्ने अवस्थासमेत नरहेको लाचारी व्यक्त गरेका छन् । यसबाट बारको उक्साहटमा भएको कामु प्रधानन्यायाधीश दीपक कार्की नेतृत्वको हड्ताल र त्यसपछिको महाअभियोगको सिलसिलामा बारभन्दा माथि अर्को रिमोट कन्ट्रोल रहेको देखिन्छ । अध्यक्ष घिमिरे स्वयंले महाअभियोगमा राजनीति भएको भन्नु र कथित प्रमाणहरु पनि अरुले नै मस्यौदा गरेको भन्नुले नेपाल बार ‘साँझको बार’ मा परिणत भएको प्रस्ट हुन्छ ।

    बारले लगाएका आरोपले एकातिर चोलेन्द्रलाई प्रहार गर्न खोजिए पनि जुन जुन फैसलाको प्रसंग ल्याइएको छ, त्यसमा सर्वोच्च अदालतकै अरु धेरै न्यायाधीशसमेत मुछिन्छन् । केही सीमित न्यायाधीशलाई जोगाएर बारले सबै न्यायाधीशमाथि महाअभियोग सिफारिस समितिसमक्ष नैतिक प्रश्न उठाएको टिप्पणी भइरहेको छ ।

    यस्तो छ बारले किटान गरेका ‘बिचौलिया’ दीपक तिमल्सिनासँग बार अध्यक्ष गोपालकृष्ण घिमिरले गरेको संवादको अडियो :

    दीपक :- गोपाल सर नमस्ते है म दीपक तिमल्सिना ।

    गोपालकृष्ण :- हजुर

    दीपक :- कुरा गर्न मिल्छ कि ?

    गोपालकृष्ण :- हजुर भन्नुस् त !

    दीपक :- म त हजुरसँग सोध्न खोजेको । यसो न्युज पनि हेरें । हजुर जस्तो सम्मानित व्यक्तिले चाहिँ यसरी नामै लेखेर पठाइदिसेछ । केही छ कि हजुर । मलाई त अलिक नमज्जा लागेर । हजुरसँगै डाइरेक्ट कुरा गरौं भनेर गरेको ।

    गोपालकृष्ण :- होइन बुझें मैले । यो विषयमा यस्तो छ, अब यो विभिन्न सोर्स छ बारमा होइन ? ममात्रै बारमा छैन तपाईंले बुझ्नुभाछ । अब त्यसैले गर्दा अहिले त बार चलाउँदा खेरी अनेकथरि कुरा छ नि त फेरि ! गठबन्धन भन्ने छ । तपाईंले बुझ्नै भएको छ । बाँकी त जे कुरा छ, त्यो हिसाबले होइन भन्ने कुरा प्रमाणित हुँदै जाला नि त ! त्यही ढंगले लिनुस् तपाईंले पनि ।

    दीपक :- तैपनि कस्तो भने एटलिस्ट नामै त्यसरी नलेखिदिएको भए हुन्थ्यो कि प्रमाण भएको भए हुन्थ्यो ।

    गोपालकृष्ण :- हो, नाम लेख्यो भनेर अलिकति अब्जेक्सन भाछ । त्यस्तो होइन भनेर क्लियर गर्न पनि त पाइयो नि फेरि गुमसुम रहनुभन्दा । सधैं भित्रभित्रमात्रै भन्ने, बाहिर नआउने । बारले कहिले डिस्क्लोज गर्ने भन्ने थाहा छैन भन्ने भइरहेको थियो । डिस्क्लोज गर्ने भन्ने भइसकेपछि अब यस्तो छैन, मेरो यस्तो छैन भन्न त पाइयो नि त ! चोलेन्द्र श्रीमानलाई पनि त्यो भयो अब । फलानो फलानो चीजहरु यो होइन भन्न त पाइयो नि त !

    दीपक :- तर, एउटा चाहिँ मलाई लागेको, जुन डेमोक्रेटिक पार्टीलाई उहाँले सपोर्ट गर्नुभयो होइन ? हुन त यो त अनेकथरि पोलिटिक्सहरु भाछन् । त्यो के भन्नु के नभन्नु !

    गोपाल कृष्ण :- यसमा धेरै पोलिटिक्स भएको छ, बुझ्नुभएन ? अब हामी यस्तो वेलामा बारमा आएका छौं । हामी ब्याक हुनसक्ने स्थितिमै छैनौं । ब्याक हुनेबित्तिकै हामी बारको गेट छिर्न सक्दैनौं ।

    दीपक :- मैले चाहिँ के बुझेको थिएँ भने हजुरले सायद त्यो ड्राफ्ट पनि गर्नुभएको होइन जस्तो लाग्छ ।

    गोपालकृष्ण :- वास्तवमा बुझेँ मैले । ठीकै छ यो कुरा होइन भनेर सफाइ दिने मौका भो नि त ! त्यसैले अहिले यति नै करा गराैं । थ्याङ्क यू ।

  • उच्चस्तरीय तलब सुविधा आयोगको पदाधिकारीलाई दिइयो नियुक्ति, ३ महिनाभित्र प्रतिवेदन बुझाउने

    उच्चस्तरीय तलब सुविधा आयोगको पदाधिकारीलाई दिइयो नियुक्ति, ३ महिनाभित्र प्रतिवेदन बुझाउने

    काठमाडौं । राष्ट्रसेवक कर्मचारी र श्रमिकको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगको कार्य प्रारम्भ भएको छ । अर्थ मन्त्रालयमा नै मंगलबार आयोजित एक कार्यक्रमका बीच आयोगका संयोजक तथा दुई सदस्यलाई नियुक्ति पत्र प्रदान गरेसँगै उनीहरुको कार्य प्रfरम्भ भएको हो ।

    आयोगका संयोजक पूर्व मुख्यसचिव लीलामणि पौड्याल र सदस्य पूर्व सचिव विमल वाग्ले र नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई अर्थमन्त्री जनार्दन शर्माले नियुक्ति पत्र प्रदान गरेका हुन् ।

    अर्थमन्त्री शर्माले संयोजक तथा सदस्यलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै सरकारले सबैलाइ न्याय र समयानुकूल हुने पारिश्रमिक तथा सेवा सुबिधाबारे गहिरो अध्ययन गरेर आयोगबाट सुझाव प्राप्त गर्ने विश्वास व्यक्त गरेको बताए । संयोजक पौडेलले नेपाल सरकारले विस्वास गरेर यो जिम्मेवारी दिएकोमा अर्थ मन्त्रीलाई धन्यबाद दिँदै समय मै सरकारले अपेक्षा गरेको सुझाव दिने प्रतिवद्धता जनाए ।

    आयोगले नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्रसेवक कर्मचारीको तलबमान समायोजन गर्न सिफारिस गर्नेछ । त्यस्तै नेपालका सम्पूर्ण श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधाका मापदण्ड पनि सिफारिस गर्नेछ । आयोगको कार्यालय संघिय मामिला मन्त्रालयमा रहने छ ।

    नेपाल सरकारले आयोगलाई दिएको कार्य शर्तमा विगतमा गठन भएका तलब, भत्ता पुनरावलोकन गर्ने सम्बन्धी आयोग, समिति र कार्यदलबाट प्रस्तुत भएका प्रतिवेदनबाट आवश्यक सूचना संकलन गरी विश्लेषण गर्ने, दक्षिण एसियाली मुलुकका राष्ट्रसेवक कर्मचारीको तलब सुविधाको अध्ययन एवम अर्थतन्त्रको वर्तमान अवस्थाको अध्ययन गरी तलब सुविधा सिफारिस गर्नेछ ।

    यस्तै, नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्रसेवक कर्मचारीको तलबमान समायोजन गर्न सिफारिस गर्ने, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायतका निकाय तथा संबैधानिक निकायसमेतको जोखिम, कार्य समय, अतिरिक्त कार्य समय, कार्यभारको आधारमा उत्प्रेरणा योजनासमेतको अध्ययन विश्लेषण गरी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने गरी सिफारिस गर्ने लगायत रहेका छन् ।

    आयोगको समयावधि तीन महिनाको हुनेभए पनि आवश्यक परेको खण्डमा मन्त्रिपरिषद्ले यसको म्याद थप गर्न सक्नेछ मन्त्री शर्माका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले जानकारी दिए । उनका अनुसार आयोगका संयोजकको मन्त्री सरह र सदस्यको राजपत्रांकित विशिष्ट श्रेणी सरह पारिश्रमिक तथा मर्यादाक्रम हुनेछ ।

    आर्थिक वर्ष २०७९/०८० बजेटको बुदा नम्बर ३६७ मा (राष्ट्रसेवक कर्मचारीको न्युनतम तलब र सुविधा पुनरावलोकन गर्न र श्रमिकको तलब सुबिधाको अध्ययन गरी नेपाल सरकारलाइ सिफारिस गर्न एक उच्च स्तरिय तलब सुबिधा आयोग गठन गरिनेछ) उल्लेख भएअनुसार अर्थमन्त्री शर्माको प्रस्तावमा मन्त्रिपरिषदले यही भदौ ६ गते आयोग गठन गरेको थियो ।

     

     

  • विभिन्न मन्त्रालयका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत (मन्त्रिपरिषद्को निर्णयसहित भिडिओ)

    विभिन्न मन्त्रालयका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत (मन्त्रिपरिषद्को निर्णयसहित भिडिओ)

    काठमाडौं । सरकारले विभिन्न मन्त्रालयका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना तथा कार्यक्रमका लागि आवश्यक दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

    सरकारकाे नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका आयोजना तथा कार्यक्रमका लागि विभिन्न सेवा, समूह, उपसमूह र श्रेणीका राजपत्रांकित अधिकृत तहका ४३१ पदको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत चिकित्सा शिक्षा आयोग र मन्त्रालयअन्तर्गतका आयोजना, परियोजना कार्यक्रम र समितिका लागि राजपत्रांकित श्रेणी वा सोसरहका १०५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न आयोजनाका लागि ५० राजपत्रांकित पदको अस्थायी दरबन्दीसमेत स्वीकृत गरिएको छ ।

    स्थायी कर्मचारीबाटै व्यवस्थापन गर्न अस्थायी पद सृजना गरिएको हो : प्रवक्ता कार्की

    सरकारले आफ्नो नेता तथा कार्यकर्ता भर्ती गर्न अस्थायी दरबन्दी सृजना गरिरहेको आरोप खेपिरहेका बेला सरकारका प्रवक्ता कार्कीले भने त्यसको बचाउ गरेका छन् । उनले अस्थायी दरबन्दी स्वीकृत भएकोप्रति आम जनमानसमा भ्रम सृजना गरिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।

    अस्थायी दरबन्दीमा आफ्ना मनपरेका व्यक्तिलाई नियुक्ति गर्न नभएर स्थायी नियुक्त कर्मचारीबाटै पदपूर्ति गरिने उनलले दाबी गरे ।

    उनले भने, ‘नयाँ नियुक्ति गर्न नभएर स्थायी कर्मचारीबाटै व्यवस्थापन गर्न अस्थायी पद सृजना गरिएको हो । आयोजना, परियोजना तथा कार्यक्रम अस्थायी प्रकृतिका हुने भएकाले स्थायी दरबन्दी सृजना गर्दा आयोजना, परियोजना तथा कार्यक्रमको समाप्तिपछि कर्मचारीको व्यवस्थापनमा जटिलता आउने भएकाले र थप आर्थिक दायित्वसमेत बढ्ने भएकाले स्थायी रुपमा नै कार्यरत कर्मचारीमध्येबाट खटाउने उद्देश्यले आवश्यकताअनुसार दरबन्दी सृजना गर्ने गरिएको हो ।’

    प्रवक्ता कार्कीले विगतका वर्षमा पनि यस्तो अभ्यास गर्ने गरिएको बताए ।

  • लुम्बिनीमा अनुदानका १९ विद्युतीय गाडी ३ वर्षदेखि अलपत्र, दशैंअघि संचालनको तयारी

    लुम्बिनीमा अनुदानका १९ विद्युतीय गाडी ३ वर्षदेखि अलपत्र, दशैंअघि संचालनको तयारी

    रुपन्देही । तीन वर्षदेखि दाताले दिएर लुम्बिनीमा अलपत्र १९ विद्युतीय सवारी साधन दशैं अगाडि संचालन गर्नेगरी लुम्बिनी विकास कोषले तयारी गरेको छ ।

    कोषले गठन गरेको विद्युतीय गाडी सञ्चालन कार्यदलले तोकिएको समयमै प्रतिवेदन र कार्यविधि तयार पारेर बुझाएको संयोजक एवम् लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए ।

    टोलीले आइतबार कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई विद्युतीय बस सञ्चालन सम्बन्धि प्रतिवेदन र सञ्चालन मस्यौदा कार्यविधि बुझाएर तत्काल संचालन गर्ने तयारी गरेको हो ।

    करिब ३ वर्षदेखि लुम्बिनी विकास कोषलाई एशियाली विकास बैंकबाट सहयोगमा प्राप्त विद्युतीय बस कार्यविधिको अभावमा सञ्चालनमा आउन नसकेपछि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा विश्वराज पौडेल र राजु शाक्य रहेको ३ सदस्यीय टोली गठन गरिएको थियो । लुम्बिनी विकास कोषको जेठ १९ गते बसेको बैठकले तोकेको समयभित्र कार्यदलले प्रतिवेदन र कार्यविधि निर्माण गरी पेश गरेको संयोजक भट्टराईले बताए ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी र वृहत्तर लुम्बिनी क्षेत्रमा जाने पर्यटकहरुलाई सुविधा होस् भनेर अनुदानमा प्राप्त बस तथा भ्यानहरु एसियाली क्लिन इनर्जी फण्डको सहयोगमा वातावरणमैत्री तथा वैकल्पिक ऊर्जाको प्रयोगलाई बढाउने अभिप्रायले आएको हो ।

    कार्यदलले आइतबार नै नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यलय रत्नपार्कमा प्राधिकरणका वैकल्पिक ऊर्जा विभाग, विद्युतीय बस तथा भ्यान सप्लायर कम्पनी सिमेक्स प्रालि, सौर्य ऊर्जा केन्द्र निर्माण कम्पनी इशाकासँग बैठक गरी घटस्थापनाअघि नै प्राविधि पक्षचुस्त बनाउन प्रतिबद्धता लिएको छ ।

    मन्त्री श्रेष्ठलाई अध्ययन प्रतिवेदन, कार्ययोजना, आर्थिक प्रक्षेपण, अतिआवश्यक सिफारिसहरु र कार्यविधि मस्यौदासहितको २ वटा दस्तावेज बुझाइएको संयोजक भट्टराईले जानकारी दिए । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदन अध्ययन गरी छिट्टै कोषको बैठक बसेर निर्णय गरी विद्युतीय बस तथा इ–भ्यान सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    कार्यविधि तयार भएसँगै लुम्बिनीमा अनुदानमा प्राप्त भएका विद्युतीय बस र भ्यान सञ्चालन गर्न बाटो खुल्नेछ । बस तथा भ्यानकोषको सम्पत्ति भैसकेकोले कोषले पर्यटक यातायात सेवा इकाई गठन गरी गठित इकाईबाट सञ्चालन गर्ने कार्यविधि सहितको प्रस्ताव मन्त्री श्रेष्ठलाई बुझाइएको हो । प्रतिवेदनमा विद्युतीय सार्वजनिक यातायातको भाडा दररेट, भ्यानहरुको बुकिङ प्रणाली र भाडा दर कायम गर्न प्रस्ताव गरिएको कोषाध्यक्ष भट्टराईले बताए ।

    उनका अनुसार प्रस्ताव गरिएको भाडा दर यातायात व्यवस्था विभागले तोकेको प्रतिकिलोमिटर भाडाभन्दा केही प्रतिशत सस्तो हुनेछ । बस तथा भ्यानहरुको अग्रिम र नियमित बुकिङलाई डिजिटलाइज्ड गर्नुपर्नेसमेत प्रतिवेदनमा भनिएको छ । प्रस्तावमा लुम्बिनी विकास कोषको यो कार्यक्रमको ब्राण्ड नाम “धम्म यात्रा” राखिएको छ ।

    धम्म यात्राले बृहत्तर लुम्बिनी क्षेत्र हुँदै दैनिक लुम्बिनी र एयरपोर्ट जोड्ने रुट अनुमतिको प्रस्ताव गरेको छ । प्रतिवेदनले इकाई गठनसँगै स्टाफहरु चालकहरु करार गर्ने प्रस्ताव गरेको छ भने ३ चरणका कार्ययोजना अघि सारेको छ । जसमा अफिसियल परीक्षण ५ दिन, घटस्थापनाबाट परीक्षण सञ्चालन २ महिनासम्म र त्यसपछि औपचारिक सञ्चालन गरी ३ वटा चरण प्रस्ताव गरेको छ ।

    कोषलाई प्राप्त ५ बटा बस र १४ भ्यानहरु १२ करोडभन्दा बढी लागतका हुन् भने यसलाई चार्जिङ स्टेशन निर्माण गर्न झण्डै १४ करोड रुपैयाँको लागतमा सौर्य ऊर्जा केन्द्र निर्माण भएको छ । ६ भागमा बाँडिएको अध्ययन प्रतिवेदन ५६ पृष्ठको छ । कार्यविधि १२ पृष्ठको छ ।

    प्रतिवेदनमा अध्ययनका कानुनी, प्राविधिक र आर्थिक पक्षको विश्लेषण, सञ्चालन मोडालिटी, बस र भ्यानहरुको रुट व्यवस्थापन, सञ्चालन कार्ययोजना, अनुमानित आयव्यय प्रक्षेपणसहित अनुसूचीमा प्रतिवेदनमा प्रस्तुत गरेका दावीहरुको प्रमाण राखिएको संयोजक भट्टराईले बताए ।

  • संसदीय समितिबाट सांसदले दिइन् राजीनामा, भ्रष्टाचार छानबिनमा सरकारले असहयोग गरेको गुनासो

    संसदीय समितिबाट सांसदले दिइन् राजीनामा, भ्रष्टाचार छानबिनमा सरकारले असहयोग गरेको गुनासो

    जनकपुरधाम । मधेस प्रदेशकी सांसद रानी शर्मा तिवारीले संसदीय अनुगमन विशेष समितिको सदस्यबाट राजीनमा दिएकी छन् ।

    सप्तरीमा सिँचाइ डिभिजन कार्यालयद्वारा सञ्चालन भएको २० करोडको योजनाको निष्पक्ष अनुगमन तथा छानबिनमा सरकारले सहयोग नगरेको भन्दै उनले राजीनामा दिएकी हुन् ।

    आर्थिक वर्ष २०७८/०७९ मा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले गृहजिल्ला सप्तरीमा २० करोड रूपैयाँ पठाएको भनेर प्रदेशसभा बैठकमा आलोचना भएको थियो । उक्त योजनामा छानबिनको माग उठेपछि सभामुख सरोजकुमार यादवले संसदीय अनुगमन विशेष समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी अनुमति दिएका थिए ।

    तर, समितिका सत्तापक्षीय सदस्यहरूले असहयोगका कारण समितिले प्रतिवेदन पेस गर्न सक्ने अवस्था नरहेको सांसद शर्माले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । उनले मन्त्रालयले आवश्यक कागजातसमेत उपलब्ध गराएको छैन ।

    ‘सिँचाइ डिभिजन कार्यालयले २० करोड थप रकम पाएको र उक्त रकमका योजनाहरू उपभोक्ता समितिबाट सञ्चालन गर्नका लागि कार्यालयले आफ्नो क्षेत्रभन्दा बाहिर गई टुक्रा-टुक्रा पारी योजना संचालन गरेको छ’, उनले भनेकी छन्, ‘यसरी रकमलाई सानो सो टुक्रामा योजना संचालन गरेकोमा अनियमितता भएको जस्तो अवस्था रहेको छ ।’

    शर्मा प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की सांसद हुन् । समितिमा सत्ता पक्षकै बहुमत रहेको र सत्ता पक्षले गरेका कामहरूको अनुगमन गर्ने क्रममा असहयोग भएको उनको गुनासो छ ।

  • त्रिविले माग्यो गृह प्रशासनसँग भरपर्दो सुरक्षा, उपकुलपतिले पत्रकार सम्मेलन गर्दै

    त्रिविले माग्यो गृह प्रशासनसँग भरपर्दो सुरक्षा, उपकुलपतिले पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ ।

    शनिबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयललाई नै बन्धक बनाउने गरी तालाबन्दी गर्ने समूहको खोजी गरी त्यस्ता व्यक्तिहरूलाई आवश्यक कारबाही गरी त्रिवि केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको हो ।

    केन्द्रीय कार्यालयको मुख्य प्रशासनिक भवनमा गरिएको तालाबन्दी र काम गर्न गरिएको अवरोधको कारणले विश्वविद्यालयका दैनिक कामकारबाही रोकिएको त्रिविले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    विश्वविद्यालयको पदाधिकारी एवं कर्मचारीहरूको भरपर्दो शान्ति सुरक्षाको अभावमा विश्वविद्यालय सञ्चालन गर्न कठिनाई हुने भएकोले शान्ति सुरक्षाको व्यवस्थापन नभएको अवस्थामा विश्वविद्यालयको गरिमा कायम राख्नका लागि विश्वविद्यालयले दुःखद निर्णय लिन बाध्य हुने समेत बताएको छ ।

    केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ, कीर्तिपुरका विद्यार्थीको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबर्जस्ती प्रवेश गर्ने तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेकाले सुरक्षा माग गरिएको त्रिविले जनाएको छ ।

    विश्वविद्यालय परिसरमा बसी छलफल गर्न सुरक्षाको दृष्टिले असहज परिस्थिति सिर्जना भई सो बारेमा छलफल तथा विश्वविद्यालयसँग सम्बन्धित विषयमा निर्णय गर्न त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को वैठक कान्तिपथ, जमलस्थित होटल एल्लो प्यागोडामा १० गते बेलकी ४स्३० बजे बस्ने क्रममा त्रि वि कीर्तिपुरमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घसँग आबद्ध विद्यार्थी हौँ भन्दै १०र१५ जनाको समूह जबर्जस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी, कार्यकारी परिषद्का सदस्यहरू एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णय सहितको पुस्तिका एवं अन्य महत्त्वपूर्ण कागजपत्र र फाइलहरू खोस्नेरकब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीहरूलाई हातपात गर्न खोज्ने आदिजस्ता अभद्र व्यवहार गरी महत्त्वपूर्ण कागजात लुटेका थिए ।

    विज्ञप्तिमा भनिएकाे छ,’ देशको विभिन्न भागमा रहेका विश्वविद्यालयका क्याम्पस कार्यालयहरूको आर्थिक व्यवस्थापन गर्ने र मूल आर्थिक कारोबार हुने त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको लेखा शाखामा तालाबन्दी भएको कारणले मुलुकभरिका क्याम्पस कार्यालयहरूका शिक्षक कर्मचारीहरूले गत असार महिनादेखि नै तलब पाउन सकेका छैनन् भने निवृत्त भएका शिक्षक तथा कर्मचारीहरू निवृत्तभरण तथा उपदान लगायतका सुविधा पाउनबाट बञ्चित भएका छन् । त्यस्तै विभिन्न निर्माण व्यवसायी एवं विद्युत प्राधिकरण, टेलिफोन तथा खानेपानीको नियमित रूपमा भुक्तानी गर्नुपर्ने रकम समयमा भुक्तानी नगर्दा त्यस बापत विश्वविद्यालयले लाखौँ रुपैयाँ जरिवाना शुल्क बुझाउनुपर्ने स्थिति सिर्जना भएको छ ।’

    आजै त्रिविका उपकुलपति डा. धर्माकान्त बास्काेटाले पत्रकार सम्मेलन गर्दैछन् ।  त्रिविमा भइरहेकाे अवराेधकाे विरुद्धमा कडा कदम चालिने  पत्रकार सम्मेलनमाफर्त  जानकारी दिने  त्रिवि स्राेतले बतायाे ।

  • मन्दिरको ८ बिघा जग्गा व्यक्तिको नाममा गराउने कर्मचारीसहित ३१ जनाविरुद्ध मुद्दा दायर

    मन्दिरको ८ बिघा जग्गा व्यक्तिको नाममा गराउने कर्मचारीसहित ३१ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । धनुषाको पिडारी चोकस्थित र रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा गराएको आरोपमा ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    आयोगले जारी गरेको विज्ञप्तिअनुसार मुद्दा दायर गरिएकामा तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, धनुषा मालपोतका तत्कालीन नायब सुब्बा यमुनाप्रसाद पंजियार, खरिदार जगदेव कामती र काठमाडौं शारदासदन कमलादीका कुमार खड्ग विक्रम शाह छन् । उनीहरूसँग जनही २९ करोड ८८ लाख ८१ हजार ४३७ रूपैयाँ बिगो दाबी गरिएको छ ।

    धनुषा साविक पिडारी ५ स्थित मन्दिरको कित्ता नम्बर १३२, १३३, १३४, १३५ र ६ को ८ विघा १० कठ्ठा १२ धुर सार्वजनिक जग्गा आफ्नो नाममा पारेर भ्रष्टचार गरेको आयोगको ठहर छ ।

    सँगै मालपोत कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारी उक्त सार्वजनिक जग्गाबाट नामसारी तथा रजिष्ट्रेसन पास भई कित्ताकाट गरी हाल कायम जग्गाका २७ जना जग्गाधनीहरूलाई पनि विपक्षी बनाइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् । निजहरूबाट पुनः सरकारका नाममा कायम गराउन मागदाबी गरिएको छ ।

  • २१ जिल्ला न्यायाधीशको पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)

    २१ जिल्ला न्यायाधीशको पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं । न्याय परिषदले २१ जिल्ला न्यायाधीशहरुको पदस्थापन गरेको छ ।

    परिषदको बैठकले गत साउन ३१ गते नियुक्ति सिफारिस गरिएका २१ जिल्ला न्यायाधीशलाई विभिन्न जिल्ला अदालतमा पोष्टिङ गरेको हो ।

    एक नम्बरमा सिफारिस भएका न्यायाधीश टेकबहादुर कार्कीलाई सुनसरी जिल्ला अदालतमा पदस्थापन गरिएको छ भने दुई नम्बरमा सिफारिस भएका प्रकाश कोइरालालाई मोरङ जिल्ला अदालतमा पठाइएको छ ।

    हेर्नुस् को कहाँ पुगे ?

  • मधेसका मुख्यमन्त्रीदेखि सांसदसम्मको बढाइयो पारिश्रमिक र सुविधा, कति पुग्यो ?

    मधेसका मुख्यमन्त्रीदेखि सांसदसम्मको बढाइयो पारिश्रमिक र सुविधा, कति पुग्यो ?

    जनकपुरधाम । मधेसका मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा बढेको छ । मधेसका मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक बढेको हो ।

    राजपत्रमा प्रकाशित सूचनाअनुसार मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक प्रति महिना २ हजार रुपैयाँ बढेको छ । राजपत्रमा प्रकाशित भएको सूचना मधेसका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको वेवसाइटमा प्रकाशित गरिएको छ ।

    मन्त्रिपरिषद्ले असार २३ गते नै पारिश्रमिक बढाउने निर्णय गरेपनि राजपत्रमा प्रकाशित सूचना डेढ महिनापछि भदौं ५ मा कानून, न्याय तथा प्रदशसभा मामिला मन्त्रालयको वेवसाइटमा अपडेट गरेको पाइएको छ । उक्त सूचनामा राज्यमन्त्री शब्द भन्ने उल्लेख छैन ।

    मन्त्रिपरिषद्को निर्णयबमोजिम अब मुख्यमन्त्री र मन्त्रीहरुले गाडी चढ्न पर्याप्त इन्धन पाउने छन् । मुख्यमन्त्रीले प्रतिमहिना ३ सय लिटर र मन्त्रीहरुले प्रति महिना २५० लिटर इन्धन पाउँदै आएका थिए ।

    इन्धनको इकाई दरमा ‘लिटर’ शब्दपछि ‘प्रति मोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउन प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय भएको सूचनामा उल्लेख छ । अब मुख्यमन्त्रीले गाडीपिच्छे तीन सय लिटर र मन्त्रीहरुले गाडीपिच्छे २५० लिटर इन्धन सुविधा पाउने छन् ।

    पारिश्रमिक वृद्धिपछि अब मुख्यमन्त्री लालबाबु राउतको तलब मासिक ६२ हजार ९७० रुपैयाँ पुगेको छ । यसबाहेक उनले आवास सुविधा र अतिथि सत्कार खर्च तीन हजार पनि पाउँदै आएका छन् ।

    यस्तै मन्त्रीहरुले अब मासिक ५९ हजार ७८० रुपैयाँ तलब पाउने छन् । राजपत्रमा प्रकाशित सूचनामा राज्यमन्त्रीको पारिश्रमिकबारे केहि उल्लेख गरिएको छैन । राज्यमन्त्री मासिक ५६ हजार ४९० रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् ।

    यस्तै सभामुखको पारिश्रमिक प्रति महिना ६० हजार पुगेको छ भने उपसभामुख, प्रमुख विपक्षी दलका नेता, प्रदेशसभाका विभिन्न समितिका सभापति र सचेतकको पारिश्रमिक ५८ हजार ४९० पुगेको छ । यस्तै प्रदेश सांसदको मासिक तलब ५७ हजार पुगेको छ ।

     

  • सर्वोच्चको फैसलासँगै लोकसेवाका सबै परीक्षा सुचारु, १५ दिनको समय दिएर सूचना निकालिने

    सर्वोच्चको फैसलासँगै लोकसेवाका सबै परीक्षा सुचारु, १५ दिनको समय दिएर सूचना निकालिने

    काठमाडौं । लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्काल सञ्चालन गर्ने तयारी गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी समायोजनसम्बन्धी रिटमा सर्वोच्च अदालतको अन्तिम फैसला आएसँगै अब यसअघि स्थगित सबै परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम तत्काल सुरु गर्ने जनाएको हो ।

    अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश भएका विज्ञापनका परीक्षा कार्यक्रम १५ दिनको सूचना दिएर अघि बढाइने विज्ञप्तिमा उल्लेख छ । विभिन्न समयमा अदालतमा परेका निवेदनका कारण झन्डै एक हजार दरबन्दीका परीक्षा प्रभावित भएको लोक सेवा आयोगले जनाएको छ ।

    ती सबै पदपूर्ति यही आर्थिक वर्षभित्र गरिने आयोगका प्रवक्तासमेत रहेका सहसचिव तोयनारायण सुवेदीले नेपाल प्रेसलाइ जानकारी दिए । उनका अनुसार सर्वोच्च अदालतले मंगलबार संघीय संरचना लागू भएपछि भएका कर्मचारी समायोजनसम्बन्धी ९८ मध्ये धेरैजसो रिटमा अन्तिम फैसला सुनाएको हो । धेरैजसो रिट खारेज भए पनि पूर्ण पाठ आएलगत्तै परीक्षाका कारबाही अघि बढाउने आयोगका प्रवक्ता सुवेदीको भनाई छ ।

    संघीय संरचना कार्यान्वयनमा आएपछि प्रदेश र स्थानीय तहमा खटाइएका कतिपय कर्मचारीले समायोजनको निर्णयविरुद्ध सर्वोच्च अदालत गुहारेका थिए । यस्तै थारु समूहलाई छुट्याइएको, आरक्षण कम भएको भन्दै छुटै मुद्दा पनि सर्वोच्च अदालतमा परेको थियो ।

  • सामाजिक सुरक्षा कोषबाट विशेष सापटी दिन सुरु, एक सातामा लिए ८० जनाले दुई करोड

    सामाजिक सुरक्षा कोषबाट विशेष सापटी दिन सुरु, एक सातामा लिए ८० जनाले दुई करोड

    काठमाडौ । सामाजिक सुरक्षा कोषले ‘योगदानकर्ता सापटी सेवा’ दिन सुरु गरेको एक साताको अवधिमा नै ८० जना योगदानकर्ताले दुई करोड विशेष सापटी लिएका छन् । सामाजिक सुरक्षा कोषमा लगातार ३६ महिना अर्थात ३ वर्ष योगदान गरेका योगदानकर्तामध्ये ८० जनाले विशेष सापटी सुविधा लिएका कोषले जनाएको हो ।

    भदौं एक गतेदेखि विशेष सापटी सेवा दिन थालेको कोषबाट योगदानकर्ताले कोषमा जम्मा बचतको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउने व्यवस्थाअनुसार लिएको कोषका कोषका सूचना अधिकारीसमेत रहेका डा.रोशन कोजूले नेपाल प्रेसलाई जानकारी दिए ।

    निर्देशिकाअनुसार विशेष सापटी बाहेक योगदानकर्ताले ७० लाख सम्म धितोमा घर तथा आवास सापटी, शैक्षिक सापटी ३५ लाखसम्म र सामाजिक कार्यका लागि सामाजिक कार्य सापटी लिन सक्छन् ।

    यद्यपी सामाजिक कार्य सापटी योजना भने अहिले कार्यान्वयनमा आइसकेको छैन । कोषमा नियमित ३६ महिना अर्थात ३ वर्षसम्म योगदान रकम जम्मा गरेका योगदानकर्ताले सामाजिक सुरक्षा कोषको मोबाइल एप ‘एसएसएफ नेपाल’ बाटै सापटीका लागि आवेदन दिन सक्नेछन् । गएको हप्ताबाट सामाजिक सुरक्षा कोषले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो ।

     

  • राष्ट्रपतिले सम्झाएका ऐतिहासिक तथ्य : नागरिकता कानून खुकुलो बनाउन क-कसले रोल खेले ?

    राष्ट्रपतिले सम्झाएका ऐतिहासिक तथ्य : नागरिकता कानून खुकुलो बनाउन क-कसले रोल खेले ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रतिनिधिसभामा सन्देशसहित फिर्ता गरेपछि नागरिकताका बारेमा जनस्तरमै व्यापक बहस भइरहेको छ । राष्ट्रपतिले आफ्नो सन्देशमा संसद्लाई नागरिकता कानूनको नेपाली इतिहासका बारेमा गम्भीर बहस, चिन्तन र विमर्श गर्न आग्रह गर्दै इतिहासका गम्भीर प्रसंगसमेत उद्धृत गरेकी छन् ।

    राष्ट्रपतिद्वारा संसद्लाई प्रेषित १५ बुँदे सुझाव सँगालोमा २००९ सालदेखिका नागरिकता कानूनहरुलाई उधिन्दै खास गरी अंगीकृत नागरिकता सम्वन्धी नीतिमाथि पुनरावलोकनको खाँचो औंल्याइएको छ । नागरिकताबारे राज्यका ऐतिहासिक अभ्यासहरूमाथि पर्याप्त विवेचना आवश्यक रहेकोमा समेत उनले जोड दिएकी छन् ।

    यद्यपि, सरकारले भने राष्ट्रपतिका सबै सुझावलाई बेवास्ता गर्दै प्रतिनिधिसभामा हुबहु पेश गर्‍यो र बहुमतका बलमा पारित गरियो ।

    इतिहासलाई फर्केर हेर्दा नेपालमा २०६३ सालसम्म वितरण गरिएका सबै नागरिकता २०२० सालको पञ्चायती ऐनमा आधारित थिए । उक्त ऐनमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले आफ्नो जन्मदेशको नागरिकता त्यागेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था थियो । २०३२ सालमा पञ्चायती संविधानको दोस्रो संशोधनद्वारा अंगीकृत नागरिकता नीतिलाई केही कसिलो बनाइयो ।

    उक्त संशोधनमा अंगीकृत नागरिकताका निम्ति नेपाली उत्पत्तिको व्यक्तिका हकमा दुई वर्ष, विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता पाउन ५ वर्ष र अन्य प्रकारको अंगीकृत नागरिकताका लागि १५ वर्ष नेपालमा बसोबास गरेको हुनुपर्ने सर्त राखिएको थियो । तर, सो व्यवस्था पाँच वर्ष पनि टिकेन ।

    यस परिवर्तनका बारेमा केही जिज्ञासाहरू स्वाभाविक रूपले उत्पन्न हुन्छन् । तत्कालीन समयमा करिब २५ वर्षसम्म विद्यमान कानूनी व्यवस्थालाई के-कति कारणले परिवर्तन गर्नुपरेको थियो ? नयाँ व्यवस्थालाई पुरानोभन्दा कठोर बनाउनुपर्ने कारणहरू के थिए ? यसका सन्दर्भमा पर्याप्त व्याख्याहरू उपलब्ध छैनन् ।

    राजाले गरेको आदेश नै अन्तिम हुने र कसैले प्रश्न गर्न नसक्ने त्यस समयमा गरिएको संशोधन अल्पायुमै तुहियो । नयाँ व्यवस्था लागू भएको केही वर्ष नबित्दै अङ्गीकृत नागरिकताको प्रावधानलाई कुनै कारण उल्लेख नगरी फेरि पुरानै स्वरूपमा फर्काइएको थियो । २०३७ सालमा गरिएको संविधानको तेस्रो संशोधनबाट नागरिकताको व्यवस्था २०१९ सालकै मोडलमा फर्काउनुको कारण खोज्न राष्ट्रपति भण्डारीले संसदको ध्यानाकर्षण गराएकी हुन् । वास्तवमा यो विषयले गम्भीर अनुसन्धान र अध्ययनको माग गर्छ । यसको कारण खोतल्दै जाँदा २०३६ सालको जनमत संग्रहमा पुगिन्छ ।

    अंगीकृत नागरिकतासम्वन्धी कानूनलाई खुकुलो बनाउन त्यसबखत तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले सबैभन्दा ठूलो भूमिका खेलेको ऐतिहासिक तथ्यहरूले देखाउँछन् । समाजमा अहिले पनि कतिपय अपुष्ट चर्चाहरू सुनिन्छन्- जनमत संग्रहमा निर्दललाई चुनाव जिताउन धेरै मानिसहरूको नाम मतदाता सूचीमा थपिएको थियो । यसबारेका केही संस्मरण पाका पत्रकार भैरव रिसालले लेखेका छन् ।

    हिमाल पत्रिकामा तीन वर्षअघि प्रकाशित रिसालको एउटा संस्मरणअनुसार निर्दललाई चुनाव जिताउने खर्च जोहो गर्न त्यस बेलाका नाम चलेका व्यापारी चोथमल जेटियासँग नवराज सुवेदी र प्रधानमन्त्री सूर्यबहादुरले परामर्श गरे । जेटियाले साढे ३ करोड तत्कालै दिनसक्ने तर त्यसबापत आफूले पनि केही सुविधा पाउनुपर्ने माग अगाडि सारे । उनले नेपाली नागरिकता नीतिमा संशोधन, सर्पको छाला निकासीको लाइसेन्स र काठमाडौंमा एउटा ठूलो सुती कपडा कारखाना खोल्ने अनुमति मागे । यसमा प्रधानमन्त्री थापाले सहमति जनाएको रिसालको दाबी छ ।

    यस सन्दर्भमा कसरी, कुन तहमा, कस्ता शक्तिसँग तत्कालीन सत्ताको सम्झौता भयो भन्ने थप खुलासा आजसम्म भएको छैन । तर, सुधारसहितको पञ्चायती व्यवस्थामा जाने भन्दै २०३७ सालको संविधान संशोधनले नागरिकतालाई झनै खुकुलो बनायो । त्यसपछिका हरेक राजनीतिक परिवर्तनमा अनेक बहानामा नागरिकतामाथि प्रहार हुँदै आएको देखिन्छ ।

    बहुदलीय व्यवस्था स्थापना भएको दुई वर्षपछि २०४९ मा तत्कालीन गिरिजाप्रसाद कोइराला सरकारले नागरिकता नियमावलीमा परिवर्तन गरे । संविधान र ऐनमा व्यवस्था नभएको प्रावधानभित्र छिरेर उक्त नियमवालीको नियम ३ को उपनियम (४) को व्यवस्थाले २०३६ सालमा जनमत संग्रहको लागि तयार गरिएको मतदाता नामावलीमा नाम समावेश छ वा २०३२ सालमा खटिएको नागरिकता टोलीको लगतमा नाम समावेश छ वा नेपाल अधिराज्यभित्र कुनै सरकारी वा सरकारी स्वामित्वमा रहेको संस्थामा अविच्छिन्न सेवा गरिरहेको वा सेवा गरी अवकास प्राप्त गरेको व्यक्ति छ भने उसलाई नेपालको नागरिक मानिने व्यवस्था गरियो । नियमावलीलाई संसदबाट पारित गरिरहनु नपर्ने हुनाले गिरिजा मन्त्रिपरिषदको निर्णयअनुसार राजपत्रमा प्रकाशित गरी यो नियमावली लागू गरिएको थियो ।

    नियमावलीका यी व्यवस्थाहरू संविधान र ऐनले निर्धारित गरेभन्दा खुकुलो र खतरनाक हुँदाहुँदै तत्काल लागू गरियो । उक्त व्यवस्था संविधान र ऐनसँग बाझिएको भन्ने आधारमा सर्वोच्च अदालतमा परेको रिटमाथि करिब २ वर्ष बहस भयो । यसमा वरिष्ठ अधिवक्ता गणेशराज शर्माले नियमावली खारेज हुनुपर्ने पक्षमा बहस गरेका थिए भने नियमावलीको बचाउ गर्दै त्यसबेलाका सरकारी वकिल बलराम केसीले बहस गरेका थिए ।

    नेपाली कांग्रेस निकट केसीले उक्त नियमवाली मस्यौदा गर्ने प्रक्रियामा समेत सहयोग गरेका हुनाले सरकारका तर्फबाट बहस गर्नु अनौठो मानिएन । पछि २०६१ सालमा केसीले कांग्रेसबाट सर्वोच्च अदालतमा न्यायाधीशको नियुक्ति नै पाए । उनै बलराम अहिले नागरिकता कानूनलाई खुकुलो र विदेशीमैत्री बनाउनुपर्ने पक्षमा मिडियाबाजी गरिरहेका छन् । हालै उनले राष्ट्रपतिद्वारा प्रस्तुत १५ बुँदे सुझावको आलोचना गर्दै कान्तिपुरमा लेखसमेत लेखे ।

    बलरामले गरेको बहसलाई नकार्दै अदालतले २०५१ सालमा नियमावलीका बाझिने प्रावधान खारेज गर्‍यो । तर, त्यतिञ्जेलसम्म धेरैले सो आधारमा नयाँ नागरिकता लिएको हुनसक्ने दाबी गरिंदै आएको छ । यसतर्फ आजसम्म कुनै छानबिन भएको छैन ।

    उक्त फैसलामा अदालतले भनेको थियो- २०३७ सालमा जनमतको कुनै नामावली तयार भएको छैन । प्राप्त तथ्यभन्दा बाहिरको कुरा लेखेर जारी गरिएको नेपाल नागरिकता नियमावली, २०४९ को नियम ३ (४) गैरसंवैधानिक छ ।

  • कर्मचारी समायोजन मुद्दामा सर्वोच्चको फैसला- अधिकांश रिट खारेज, केहीमा परमादेश

    कर्मचारी समायोजन मुद्दामा सर्वोच्चको फैसला- अधिकांश रिट खारेज, केहीमा परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू खारेज गरेको छ । संवैधानिक इजलासले मंगलवार गरेको फैसलासँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि परीक्षा लिने बाटो खुलेको छ ।

    कामु प्रधान न्यायाधीश दीपककुमार कार्की अध्यक्षताको संवैधानिक इजलासमा न्यायाधीशहरूमा विश्वम्भर श्रेष्ठ,अनिल कुमार सिन्हा,बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन् । फैसलाको लिखित कपी आउन बाँकी रहेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताएका छन् ।

    किरण पौडेल, भाष्कर ढुंगेल, गायत्री लम्साल लगायत विभिन्न कर्मचारीले फरक फरक समस्यासहित समायोजनविरुद्ध मुद्दा दायर गरेका थिए । संवैधानिक इजलासमा रहेको सो मुद्दाको फैसला सुनाउने मंगलवारको मिति तोकिएको थियो ।

    सर्वोच्चको वेबसाइटमा राखिएको विवरण अनुसार केही रिट खारेज भएका छन् भने कतिपयको कर्मचारीको हकमा परमादेश पनि जारी भएको छ ।

    कर्मचारी समायोजनमा असन्तुष्ट भएकाहरू अदालत गएका थिए । उनीहरूले खटाएको ठाउँमा जान नचाहेकोमा अदालतले अधिकांशको हकमा खटाएको ठाउँमा जानुपर्ने भन्दै रिट खारेज गरेको छ ।

    करिब ८० जनाको मुद्दाको एकै पटक सुनुवाइ गर्दै सर्वोच्चले कतिपयको हकमा मागबमोजिम परमादेश समेत दिएको छ ।

  • मन्त्रीस्तरीय निर्णयबाट २४ सहसचिवको एकै पटक सरुवा (सूचीसहित)

    मन्त्रीस्तरीय निर्णयबाट २४ सहसचिवको एकै पटक सरुवा (सूचीसहित)

    काठमाडौं । सरकारले मन्त्रीस्तरीय निर्णयबाट २४ जना सहसचिवको एकै पटक सरुवा भएको छ ।

    संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीको सरुवा गरेका हुन् ।

    सरुवा भएका सहसचिवको सूची यस प्रकार छ ।

  • एउटै तहका कर्मचारीको समान तलब बनाउन पूर्वमुख्य सचिव पौड्यालको नेतृत्वमा समिति गठन

    एउटै तहका कर्मचारीको समान तलब बनाउन पूर्वमुख्य सचिव पौड्यालको नेतृत्वमा समिति गठन

    काठमाडौं । सरकारले एउटै तहका कर्मचारीको तलब समान बनाउनका लागि पूर्वमुख्य सचिवको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व मुख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

    चालु आर्थिक वर्षको बजेटमा सरकारले कर्मचारीको तलब १५ प्रतिशतका दरले तलब बढाए पनि समान पदको तलब समान नभएको भन्दै अर्थमन्त्रालयले माथिल्लो पदका निजामती कर्मचारीको तलब २३ प्रतिशतसम्म बढाउने तयारी गरेको थियो ।

    यद्यपि त्यसको विरोधमा तल्लो तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि अर्थमन्त्री जनार्दन शर्माले तलबमान निर्धारणका लागि समिति गठन गर्ने आश्वासन दिएका थिए । त्यसै आश्वासनअनुसार अहिले समिति गठन गरिएको ति मन्त्रीले बताए ।

    निजामती सेवाका राजपत्रांकित श्रेणीका कर्मचारी र नेपाल प्रहरीका राजपत्रांकित श्रेणीका कर्मचारी तलबमा तीनदेखि ५ हजारसम्मको अन्तर छ । पौडेलको संयोजकत्वमा गठित समितिलाई यसरी समान पदमा अन्तर भएको तलब समान बनाउनका लागि अध्ययन गर्ने र सिफारिस गर्ने जिम्मेवारी दिइएको हो ।

     

  • लुम्बिनीकाे पौने ७ अर्ब सेटिङ प्रकरण : निर्माण व्यवसायी अदालतमा, लेखा समितिले माग्यो कागजात

    लुम्बिनीकाे पौने ७ अर्ब सेटिङ प्रकरण : निर्माण व्यवसायी अदालतमा, लेखा समितिले माग्यो कागजात

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा पौने ७ अर्बको टेण्डर सेटिङ प्रकरण बाहिर आएपछि निर्माण व्यवसायी अदालत गएका छन् भने सार्वजनिक लेखा समितिले कागजातसहित सिइओलाई बोलाएको छ ।

    प्रदेश सार्वजनिक लेखा समितिले अस्पतालको टेण्डर खुलाएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई प्रक्रियाका सम्पूर्ण कागजात लिएर उपस्थित हुन निर्देशन दिएको हो ।

    निश्चित ठेकेदारलाई मात्रै ठेक्का पर्नेगरी सेटिङमा खुलाइएको टेण्डर प्रकृयामा अन्य निर्माण व्यवसायीले आपत्ति जनाएपछि केही समय रोकिएको पुनः मुख्यमन्त्री कुलप्रसाद केसी तथा प्रदेश योजना आयोग उपाध्यक्ष बामदेव क्षेत्रीको दवावमा खोलिएको थियो ।

    अहिले यो ठेक्का रोक्न निर्माण व्यवसायीले अदालतमा रिट दायर गरेको समयमा भएका बेला सार्वजनिक लेखा समितिले उक्त निर्देशन दिएको हो । समितिको बुधवार बसेको बैठकले एक साता भित्र ठेक्का प्रक्रियाका सम्पूर्ण कागजातसहित प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेल आफै उपस्थित हुन निर्देशन दिएको समितिका सभापति विष्णु पन्थीले बताए ।

    पछिल्लो पटक सरकार परिवर्तन भएपछि गत फागुन ८ गते आव्हान गरिएको ठेक्का प्रक्रिया पनि मिलोमतोमा गरिएको र राज्यलाई एक अर्ब ४ करोडभन्दा बढी नोक्सान हुने भन्दै प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख अनन्तराम घिमिरेले चैत १४ गते अस्पतालको टेन्डर रद्द गर्दै राजीनामा दिएका थिए ।

    तर पुनः असार ९ गते आह्वान गरिएको अस्पताल भवन निर्माणको टेण्डर प्रक्रिया पनि त्यसअघिकै मिलोमतोलाई निरन्तरता दिँदै अगाडि बढाइएको भन्दै प्राधिकरण र सरकारमाथि नै प्रश्न उठेको छ । सरकारमाथि प्रश्न उठेर लामो समय विवादमा पर्दा पनि मुख्यमन्त्री तथा मन्त्रीहरुले यसको कुनै प्रतिक्रिया दिएका छैनन् ।

    सरकारका प्रवक्ता सञ्चारमन्त्री तिलकराम शर्माले यो विषयमा अहिले बोल्नुपर्ने कुनै कारण नभएको भन्दै पत्रकारसँग तर्किएका छन् ।

    अदालतमा परेको रिटमाथि भदौ ८ गते छलफल

    प्रदेश पूर्वाधार विकास प्राधिकरणले निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी मिलोमतोमा अस्पताल भवन निर्माणको लागि ठेक्का आह्वान गरेको भन्दै निर्माण व्यवसायी बलिभद्र रानाले अदालतमा दिएको रिटमाथि वुधबारको बहसपछि अन्तिम छलफलका लागि भदौ ८ गतेको मिति तोकिएको छ ।

    अदालतका न्यायाधीश कृष्णबहादुर थापा र रमेशराज पोखरेलको इजलासले उत्प्रेषण परमादेश मुद्दामा भएको बहसपछि २०७९ साउन १९ गते सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्राधिकरणलाई ध्यानाकर्षण गराइएको पत्र, इमेलमार्फत माग गर्ने र अदालतमा विचाराधीन निवेदनसहितको मिसिल साथै राखि अन्तिम छलफलको लागि भदौ ८ गते नियामाअनुसार पेश गर्न आदेश दिएको हो ।

    यसअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि साउन १९ गते पत्र नै काटेर लुम्बिनी प्रादेशिक अस्पतालको नयां भवन निर्माणका लागि भएको ठेक्कामा सेटिङ भएको निष्कर्ष निकाल्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई ठेक्का सच्याउन निर्देशन दिएको थियो । यसरी सबैतिरबाट यो टेण्डरका विषयमा आशंका बाहिर आउँदा पनि सरकार तथा प्रदेश योजना आयोगले कुनै जवाफ दिएको छैन ।

  • २१ जना जिल्ला न्यायाधीशका लागि सिफारिस (सूचीसहित)

    २१ जना जिल्ला न्यायाधीशका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । न्याय परिषद्को बैठकले २१ जनालाई जिल्ला न्यायाधीशका लागि सिफारिस गरेको छ । मङ्गलवार बसेको परिषद्को बैठकले छोटो सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

    सिफारिसमा परेकामध्ये टेकबहादुर कार्कीको नाम पहिलो नम्बरमा रहेको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता हुन् ।

    त्यसै गरी दोस्रो नम्बरमा सिफारिस भएका प्रकाश कोइराला पनि महान्यायाधिवक्ता कार्यालयकै उपमहान्यायाधिवक्ता हुन् । सिफारिसको अन्तिम नम्बरमा भगवती शर्माको नाम रहेको छ । उनी सर्वोच्च अदालतकी इजलास अधिकृत हुन् ।

    सूची

  • औद्योगिक क्षेत्रले उठाउन सकेन करोडौं बक्यौता, नतिर्नेमा क्याप्टेन थापादेखि प्रचण्डका भाञ्जासम्म

    औद्योगिक क्षेत्रले उठाउन सकेन करोडौं बक्यौता, नतिर्नेमा क्याप्टेन थापादेखि प्रचण्डका भाञ्जासम्म

    हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रको जग्गा भाडामा लिएर राजनीतिक दलका केही नेताको आडमा र पहुँचवालाहरूले बक्यौता नतिरेको पाइएको छ ।

    देशकै ठूलो हेटौँडा औद्योगिक क्षेत्रमा रहेको जग्गा कब्जा गरेर सरकारलाई भाडा नतिर्ने सूचीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भान्जादेखि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकै पूर्वमहाप्रबन्धकसम्म छन् । उनीहरूले जग्गा भाडाको सम्झौता गरेर उद्योग नखोली जग्गा कब्जा गरेर बसेका छन् । जसका कारण नयाँ उद्योग खोल्न आउनेले जग्गासमेत अभाव भएको छ ।

    औद्योगिक क्षेत्र छाडे पनि ती उद्योगहरूको नाममा बक्यौता रहेको देखिएको कार्यालयले जनाएको छ । कार्यालयले उपलब्ध गराएको सूचीअनुसार भाडा नतिर्ने सूचीमा व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापा र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, बालाजुका पूर्वमहाप्रबन्धक नन्दकिशोर बस्नेत पनि छन् । केही बहुराष्ट्रिय उद्योग पनि रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

    प्रचण्डका भान्जा गोकुल भण्डारीले असार मसान्तसम्म ५५ लाख ५५ हजार ४ सय २२ रूपैयाँ नतिरेको पाइएको छ । भण्डारी सञ्चालक रहेको साउथ एसियन ब्रुअरी इण्डस्ट्रिज प्रालिले बियर उत्पादनका लागि २०७३ सालमा जग्गा सम्झौता गरेको थियो । १०५ रोपनी जग्गा कब्जा गरेका भण्डारीले न भाडा तिरेका छन् न त उद्योग नै सञ्चालन गरेका छन् ।

    क्याप्टेन थापा थापाले व्यावसायिक साझेदार नेकपा एमाले दैलेखका उपाध्यक्षसमेत रहेका नन्दकिशोर बस्नेतको संयुक्त परियोजना क्वालिटी ह्याचरीले ४३ लाख ६८ हजार ७ सय ३४ रुपैयाँ भाडा हालसम्म तिरेका छैनन् । उनीहरूले औद्योगिक क्षेत्रको जग्गा २०६४ सालबाट कब्जा गरेका छन् । अझ ह्याचरीले भाडा तिर्न नपर्ने दाबी गर्दै दायर मुद्दा उच्च अदालत पाटन इजलासमा विचाराधीन छ ।

    औद्योगिक क्षेत्रमा रहेको बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्स (नेपाल) प्रालिको नाममा १५ लाख २४ हजार ६ सय ४३ रूपैयाँ, कृषि सामग्री कम्पनी लि (राष्ट्रिय बीउ बिजन कम्पनी प्रालि) को असार मसान्तसम्म ३१ हजार ८ सय ४४ रूपैयाँ, हेटौँडा दुग्ध वितरण आयोजनाको नाममा ४ लाख ६७ हजार ९६५ रुपैयाँ बक्यौता छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले २ लाख ५२ हजार २ सय ७९ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी दीपक आचार्यले बताए ।

    आचार्यको अनुसार आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म विभिन्न उद्योगहरूको नाममा कुल ५ करोड ७९ लाख ५४ हजार १ सय ४ रूपैयाँ बक्यौता छ । लिमिटेडले पटक-पटक ताकेता गर्दा पनि बक्यौता रकम उठ्न सकेको छैन् । उद्योगीहरूले हेटौँडा औद्योगिक क्षेत्रको वार्षिक प्रतिरोपनी ८ हजार ३ सय ३१ रूपैयाँ तिर्दै आएका छन् । हेटौँडा औद्योगिक क्षेत्रमा हाल १४८ वटा उद्योग सञ्चालनमा छन् । चारवटा जति बन्द अवस्थामा छन् ।

  • नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन आदेश

    नर्भिकको संरचना तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन आदेश

    काठमाडौं । नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधवार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले तत्काल संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

    सोमबार काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएको थियो ।

    महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अर्को सुनुवाइ नभएसम्म नर्भिक अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न र संरचना हटाउनु पर्नाको कारण पेस गर्न आदेश दिएको छ ।

  • आज पनि ‘पेन डाउन’ गर्दै नासुहरू

    आज पनि ‘पेन डाउन’ गर्दै नासुहरू

    काठमाडौं । सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् ।

    शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यभन्दामा उल्लेख भएभन्दा धेरै बढाइएपछि नायबसुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् । तलवमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ ।

    नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलका अनुसार खाजा खाने समय (दिउँसो १ बजेदेखि २ बजेसम्म) सबै नासुहरूले काम गर्नेछन् ।

     

  • लुम्बिनीका मेयरले छोरा र ज्वाइँलाई कर्मचारी नियुक्त गरेपछि विवाद

    लुम्बिनीका मेयरले छोरा र ज्वाइँलाई कर्मचारी नियुक्त गरेपछि विवाद

    रुपन्देही । कार्यविधि मिचेर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानले छोरा र ज्वाइँलाई कर्मचारी नियुक्त गरेपछि विवाद चुलिएको छ । मेयर तथा प्रमुख कार्यकारी अधिकृतले धमाधम आफन्तलाई कर्मचारीमा भर्ती गरेपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विवाद बढेको हो । उनीहरूले सो नगरपालिकामा रहेका करारका कर्मचारी हटाएर आफन्तलाई राखेका हुन् ।

    कार्यपालिकामा कुनै निर्णय नगराई यसरी आन्तरिक रूपमा आफन्तलाई कर्मचारी बनाएपछि उपमेयरसहितका वडाध्यक्षहरूले विरोध गर्दै आएका छन् । यो विवाद बढ्दै गएपछि मेयर, तथा प्रमुख कार्यकारी अधिकृतसँग उपमेयरसहितका अधिकांश कार्यपालिका सदस्यबीच सामान्य छलफल समेत हुन छोडेको छ ।

    नगर प्रमुख सजरुद्धिन मुसलमानले नगरपालिकाको वडा नम्बर–३ को अहेवमा आफ्ना छोरा जमिल अहमद खान र वडा नम्बर– ६ को सब–इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई सेवा करारको कर्मचारीमा नियुक्त गरेका हुन् ।

    त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले आफ्ना साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटर (प्राविधिक सहायक पाँचौँ तह) मा नियुक्ति दिलाएका छन् । नगरपालिकाले पुराना सेवा करारका ११ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तलाई नियुक्ति दिएको हो । मेयर खान कांग्रेसबाट निर्वाचित हुन् ।

    गाउँपालिकाकी उपप्रमुख कल्पना हरिजनले पुराना करारका कर्मचारीलाई दक्ष र क्षमतावान् कर्मचारीलाई हटाएर आफ्ना छोरा र ज्वाइँ सहित १३ जना नयाँ कर्मचारी भर्ना गरेको बताइन् । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयका सालो विभास त्रिपाटीलाई कम्प्युटर अपरेटमा नियुक्ति गरिएको उपप्रमुख हरिजनले बताइन् ।

    उपप्रमुखले भनिन, ‘नगरमा प्रमुख प्रशासकीय अधिकृत र मेयरले अनियमितता र मनपरी गरेका छन् । आफ्ना आसेपासे र परिवारका मान्छेलाई जागिर खुवाएका छन् । छोरा, ज्वाइँ र सालालाई नियुक्ति दिलाएका छन् ।’ कार्यपालिकाका बैठक बिना कुनै जानकारी करारका कर्मचारीलाई हटाइएको जानकारी समेत नदिइएको बताइन् । प्रशासकीय अधिकृत पाण्डेयले आफ्नो सालाको कम्प्युटरमा नियुक्तिको विषय भएको स्वीकार गरे ।

    ‘साउन असार ३० गते नगर सभाको बैठक बसेको थियो, त्यो बैठकमा पुराना कर्मचारीलाई बिदा दिएर नयाँ कर्मचारीलाई राख्ने विषय आएको थिएन’ उनले भनिन, ‘३१ गते १३ जना कर्मचारीलाई नियुक्त गरेको र १ गते करारका कर्मचारीलाई मौखिक रूपमा हटाएको जानकारीमा आयो । पछि माइन्यूट हेर्दा हामीलाई थाहा भयो ।’ उनले थपिन, ‘हटाउन पाइन्छ । तर, कानून र नियम संगत हुनुपर्‍यो भन्ने माग हो । आफ्नोलाई होइन दक्ष कर्मचारी आउनुपर्‍यो भन्ने हाम्रो माग हो । अहिले अयोग्य र फर्जी काम गर्नेलाई थपिदा नगरको काम कारबाही ठप्प जस्तै भएको छ ।’

    त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले आफू अनुकूल नभएका कर्मचारीलाई धमाधम सरुवा गरेपछि कर्मचारीले कामकाज ठप्प पारेका छन् । प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीलाई अनावश्यक हस्तक्षेप गरी स्वास्थ्य क्षेत्रका कर्मचारीलाई वडा सचिवमा समेत खटाएका छन् ।

    प्रशासकीय अधिकृत पाण्डेयले उपप्रमुख हरिजनले आफ्नो बदनाम गराउने गरी लागेको आरोप लगाए । पाण्डेय अहिले बिदामा छन् ।

    छोरा र ज्वाइँको कर्मचारीको नियुक्तिको विषयमा प्रतिक्रिया लिँदा मेयर खानले बोल्न चाहेनन् । छोरा र ज्वाइँलाई नियुक्ति दिनुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘अहिले म यो विषयमा बोल्दिन ।’

    प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १५ गते पाल्पाको रामपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा थियो । तर, उनले साउन २० गते उनले आफूलाई मन नपरेका कर्मचारीको नगरपालिकाको कार्यालयबाट वार्ड सचिवको रूपमा सरुवा गरेका कर्मचारीहरूको आरोप छ । जनप्रतिनिधि र कर्मचारीको कारण अहिले नगरमा विवाद सृजना भएको छ ।

    नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अफ्ठयारो महसुस गरेको बताए ।

  • बुटवलको अलपत्र सडक छिट्टै सक्न ठेकेदारलाई कबुल गराइयो

    बुटवलको अलपत्र सडक छिट्टै सक्न ठेकेदारलाई कबुल गराइयो

    रुपन्देही । ६ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक निर्माणका लागि सरोकारवालाले ठेकेदारलाई छिट्टै सम्पन्न गर्ने गरी सार्वजनिक प्रतिबद्धता गराएका छन् ।

    बुटवल उपमहानगरपालिकाको सहजीकरणमा सोमबार सरोकारवालासँग सामूहिकरूपमा निर्माण कम्पनी कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सनका प्रमुख अमित श्रेष्ठले बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । यसअघि पनि उनले सीडीओ र आयोजना प्रमुखहरूसँग पटक-पटक प्रतिबद्धता जनाएपनि काम सकिएको थिएन ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल क्षेत्रका कार्यालय प्रमुखहरु, उद्योगी व्यवसायी, नागरिक समाजसहितको उपस्थितिमा भएको कार्यक्रममा ठेकेदारले प्रतिबद्धता जनाएका हुन् ।

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका कार्यालयहरुबीच समन्वय र सहकार्य आवश्यक रहेकाले जनताको भावनाअनुसार काम गर्न आग्रह गरे । त्यसका लागि आयोजनाले पनि ताकेता गर्नुपर्ने उनको जोड थिय ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तरसरकारी कार्यालयबीच समन्वय र सहकार्य भएमा सडक निर्माणको काम तीब्र हुने विश्वास व्यक्त गरे । उनले जनताको समस्यालाई ध्यानमा राखेर निर्माण आयोजना र निर्माण कम्पनीले गम्भीरतापूर्वक काम अघि बढाउन चासो दिनुपर्ने बताए ।

    कार्यक्रममा रुपन्देहीका सीडीओ भरतमणि पाण्डेले सरकारी काममा आलटाल नगर्न र सबै सरकारी आयोजनाहरूलाई सहयोग गर्न आग्रह गरे ।

    बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्रका विकास निर्माणका काममा सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

    कार्यक्रममा बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपककुमार झा, नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्ट, भन्सार कार्यालय भैरहवाका प्रमुख ज्ञानेन्द्र ढकाल, नेपाल टेलिकमका भगवानलाल कलवारले सडक विस्तारको कामलाई चुस्त बनाउन समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका नारायण घिमिरे, राजनीतिक दलका प्रतिनिधिहरु पदम श्रेष्ठ, ऋषिराम बस्याल, महेन्द्र भुसाल, विरेन्द्र विक, व्यवसायी यज्ञ पोखरेललगायतले बोल्दै सडक विस्तारको काम समयमा पूरा गराउनका लागि सरोकारवालाहरुले बढी चासो दिनुपर्ने बताएका थिए ।

    विशेष अनुगमन सहजीकरण समिति गठन

    सिद्धार्थ राजमार्गअन्तरगत बुटवल-बेलहिया सडक निर्माणको कामको अनुगमन गर्न २ वटा विशेष अनुगमन सहजीकरण समिति बनाइएको छ ।

    बुटवलतर्फको लागि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र सिद्धार्थनगरतर्फको लागि सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलको संयोजकत्वमा विशेष अनुगमन सहजीकरण समिति बनाइएको हो ।

    समितिमा विद्युत प्राधिकरण र खानेपानी संस्थानका बुटवल र सिद्धार्थनगरका कार्यालय प्रमुख, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, निर्माण कम्पनी कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन र बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख सदस्य सचिव रहेका छन् ।

    समितिले प्रत्येक हप्ता बैठक बसेर कार्यप्रगतिबारे समीक्षा गर्ने र समन्वय र सहकार्य गर्नुपर्ने कार्यालयहरूका बीचमा समन्वय र सहकार्यका लागि पहल गर्ने निर्णय भएको छ ।

  • ‘हाइ प्रोफाइल’ अर्थ र पर्यटन मन्त्रालय सचिवविहीन, प्रधानमन्त्री कार्यालयमा सचिवको भीड

    ‘हाइ प्रोफाइल’ अर्थ र पर्यटन मन्त्रालय सचिवविहीन, प्रधानमन्त्री कार्यालयमा सचिवको भीड

    काठमाडौं । सरकारले महत्वपूर्ण मानिएका अर्थ र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा रिक्त राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवले भरिभराउ बनाएको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तानेको थियो । अर्थ सचिवको जिम्मा राजस्व सचिव कृष्णहरि पुस्करलाई दिए पनि अर्थमा अझै एकजना सचिजविहीन भएको हो । महेश्वर न्यौपानेले अनिवार्य अवकाश पाएपछि पर्यटन मन्त्रालयमा पनि सचिव रिक्त रहेको छ ।

    तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भने ८ जना सचिवमध्ये ४ जनाले मात्रै जिम्मेवारी पाएका छन् । जसमा सूर्यप्रसाद गौतमले राष्ट्रिय सुरक्षा र सुशासन, दिनेश भट्टराईले आर्थिक तथा पूर्वाधार विकास, धनराज ज्ञवालीले कानून तथा मानव अधिकार र डा. रामप्रसाद घिमिरेले प्रशासन, सामाजिक विकास तथा प्रादेशिक समन्वय हेरिरहेका छन् । अर्थबाट प्रधानमन्त्री कार्यालय तानिएका मरासिनी, खगेन्द्र नेपाल र सुरेश आचार्य जिम्मेवारीविहीन छन् ।

    आचार्य प्राविधिकतर्फका सचिव भएकाले उनलाई इन्जिनियर क्लष्टर भनेरमात्र नामकरण गरिएको छ, जिम्मेवारी तोकिएको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय तानिएका अर्जुनप्रसाद पोखरेल अतिरिक्त समूहका नाममा कार्यालयको बरण्डामा छन् ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयमा सचिव पठाउन छलफल अघि बढाएको थियो । तर, अर्थमा अधिकांश सचिवले जान नमानेकाे बुझिएको छ । यता पर्यटनमा भने धेरैले जान चाहेका कारण सचिव सरुवामा सकस भएको हो ।

    अर्थमा दुई सचिवको काम राजस्व सचिव कृष्णहरि पुस्करले चलाउँदै आएका छन् । पर्यटनमा भने नागरिक उड्डयन महाशाखा प्रमुख रहेका सहसचिव बुद्धिसागर लामिछानेले निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।

  • बुटवलमा करोडौंको सरकारी जग्गा बेच्न जनप्रतिनिधि नै अग्रसर

    बुटवलमा करोडौंको सरकारी जग्गा बेच्न जनप्रतिनिधि नै अग्रसर

    रुपन्देही । बुटवल उपमहानगरपालिका- १७ मा रहेको २२ कठ्ठा सरकारी जग्गा व्यक्तिको नाममा बनाउन जनप्रतिनिधि आफैं लागेका छन् ।

    नापी कार्यालयमा २०२७ सालदेखि बगरको पर्ती जग्गा स्पष्ट देखिने उक्त जग्गा वडाध्यक्ष तथा कर्मचारीको मिलेमतोमा मालपोत कार्यालयमा कित्ता नं थपेर व्यक्तिको नाममा गराइएको छ ।

    स्थानीयका अनुसार उक्त सरकारी जग्गामा सार्वजनिक संस्थाको लागि भवन बनाउने क्रममा सिफारिस खोज्ने क्रममा जनप्रतिनिधिले अलमल गरेपछि यसको खुलासा भएको छ ।

    लामो समय खाली रहेको, औद्योगिक क्षेत्रमा पनि नपरेको र ८ घर अस्थायी रुपमै बसेकाले स्थानीयले स्वास्थ्य इकाई कार्यालय राख्न उक्त जग्गा उपयुक्त भएको भन्दै खोजी गरेका थिए ।

    जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा बनाइएको यो जग्गा नापीको रेकर्डमा सरकारी देखिए पनि मालपोत कार्यालयमा भने व्यक्तिको नाममा ४२ नं कित्ता बनेर बसेको छ । मालपोतको ढड्डामा अन्य कित्ता नं लेखिएको स्थानमा हल्का मेटेर यो थपिएको प्रस्ट देख्न सकिन्छ । स्थानीयका अनुसार मुक्तिप्रसाद चापागाईंले दयाप्रसाद कँडेललाई सो जग्गा नजिकैको ६३ र २८ नं कित्ता बेचेका थिए ।

    कँडेलले पनि गोविन्द पंगेनीलाई बेचेको भेटिन्छ । तर, पंगेनीको कित्ता नं भएको स्थानमा कोतरेर मेटाएर ४२ नं कित्ता बनाइएको र त्यो ४२ नं कित्ता अहिले हुमबहादुर पुनलाई बेचिएको छ । नागरिकतामा उनको ठेगाना तालावाङ ८ कास्की रहेको छ । तर, स्थानीयसँग सम्पर्क छैन ।

    सरकारी जग्गा व्यक्तिको नाममा पास गर्न पटक-पटक सिफारिस दिने, तिरो चलाउने, चार किल्ला बनाएर पास गर्न पठाउने र मालपोतबाट पास गराउने सबैलाई छानबिन गरी कारबाही हुनुपर्ने र किन्ने व्यक्तिलाई समेत छानबिनमा ल्याउनुपर्ने स्थानीयले माग गरेका छन् ।

    यसअघिका वडाध्यक्ष सन्तबहादुर रानाले कर्मचारीकै मिलेमतोमा जनप्रतिनिधि नआउँदै २०६५ सालमै पास भएको आफूले सुनेको दावी गरेका छन् । उनकै पालामा २०७८ सालमा वडा कार्यालयमै त्यो जग्गाको तिरो तिरेको भेटिएपछि यो विषयमा भने वडाका कर्मचारीको बाध्यता भएको बताउँछन् ।

    ‘पुर्जा भएपछि त कर्मचारीले तिरो लिन पाउँछन्, २ वर्षको तिरो लिएको मैले बुझेको छु । तर, सबै विवरण फाइल हेर्नुपर्छ’, रानाले भने, ‘मेरो कार्यकालमा केही भएको छैन । म दोषी भेटिए कारबाही भोग्न तयार छु । सरकारी जग्गा व्यक्तिको नाममा लैजानेमाथि कारबाही हुनुपर्दछ ।’

    उक्त जग्गा बेच्न वडा कार्यालयबाट चार किल्ला सिफारिस गरेका वडा नं १७ का वडाध्यक्ष ज्ञानबहादुर रेश्मीले गल्ती भएको नेपाल प्रेससँग स्वीकार गरेका छन् । ‘असार २७ मा बिक्रीका लागि चार किल्ला दिएको मैले स्वीकार गर्छु । यसमा सबै कागजपत्र मिलाएर आएपछि दिने हो, कर्मचारीले बदमासी गरेर मिलाएछन्, उनीहरुले कागजपत्र मिलाएर बाहिर बाहिर कारोबार गरेको पत्तो भएन, मेरो गल्ती स्वीकार्दै यसलाई रोक्न पहल गर्छु’, उनले भने ।

    बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले यस्तो अवैध काममा लाग्ने जनप्रतिनिधि हुनै नसक्ने र यस्तो गलत काममा जोडिएका सबैलाई छानबिन गरी कारबाही गराउन आफू प्रतिबद्ध रहेको बताए । ‘यो विषय गम्भीर छ । यसमा संलग्नता कसैलाई छुट हुनेछैन’, उनले भने ।

    सो क्षेत्रमा शहरी स्वास्थ्य कार्यालयको कार्यालय राख्न सरकारी जग्गा खोज्दा भूमाफिया, जनप्रतिनिधि र कर्मचारीले आन्तरिक रुपमा यस्तो खेल गरेको प्रमाण भेटिएको स्थानीय खिमानन्द पाण्डे राजुले बताए ।

    मालपोत कार्यालय बुटवलका निमित्त प्रमुख घनश्याम अर्यालले नापी र मालपोतको मुख्य श्रेस्तामा उक्त जग्गा सरकारी रहेको देखिए पनि मालपोतमा रहेको ढड्डामा व्यक्तिको नाम भेटिएको बताए । ‘यो धेरै पहिलेबाट ढड्डामा तानिएको भेटियो, नापी र मालपोतको मुख्य श्रेस्तामा सरकारी नै छ, बाहिर बाहिरबाट कागजपत्र मिलाएर छिराइएको छ, यसमा केही गिरोह लागेको देखिन्छ, गम्भीर छानबिन गर्न हामी तयार छौं’, उनले नेपाल प्रेससँग भने ।

    यसैगरी सोही वडाको कि.नं २२९ मा रहेको १७ कठ्ठा सरकारी जग्गा पनि बेच्न आन्तरिक रुपमा कित्ताकाट भएको खुलेको छ । स्थानीय रामचन्द्र न्यौपानेको ५ कठ्ठा भोगचलनको जग्गालाई थपेर सोसँग जोडिएको जग्गा मालपोत तथा नापीका कर्मचारीसँग मिलेर बेच्न खोजिएको भेटिएको छ ।

  • उपप्रमुखले किर्ते नागरिकता लिएको भन्दै प्रशासनमा उजुरी

    उपप्रमुखले किर्ते नागरिकता लिएको भन्दै प्रशासनमा उजुरी

    सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवले किर्ते गरी नेपाली नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ ।

    उपमेयर यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहार राज्यअन्तर्गतको सुपौल जिल्लाको मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँको भएको उजुरीमा उल्लेख गरिएको छ ।

    उपप्रमुख मीरा र उनका पति महेन्द्रसहित उनीहरुका छोरा इन्द्रजीतले झुठा विवरण बुझाइ नागरिकता लिएको उजुरीमा दाबी गरिएको छ । उनीहरुले साविकको सप्तरीको औरही गाविस वडा नम्बर-३ (हाल डाक्नेश्वरी नगरपालिका -६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिएको दाबी उजुरीमा गरिएको छ ।

    भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न छ ।

    नेपाली नागरिकताको प्रमाण पत्र लिई मीरा सार्वजनिक पद धारण गरी नगरपालिकाको न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन, २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजीतको नागरिकता प्रमाण पत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमा माग गरिएको छ ।

    मीरालाई उपप्रमुख पदबाट निलम्बन गरी आवश्यक कानुनी कारबाहीसमेत माग गरिएको उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई बोधार्थ गरिएको छ । तर उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ ।

    उजुरी प्राप्त भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनले भने, ‘उजुरी आएको छ, हामी आवश्यक छानबिन गरेर निष्कर्षमा पुग्छौं ।’ गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवार बनेकी मीरा ६ हजार १ सय ९७ मत ल्याएर निर्वाचित भएकी हुन् ।

    मीराले आफूविरुद्ध झुटो आरोप लगाएर उजुरी दिएको दाबी गरिन् । उनले भनिन्, ‘मेरो घर यहीँ डाक्नेश्वरीमा हो । हनुमाननगर कंकालिनीको मधवापुरमा माइती हो । म नेपाली नागरिक हुँ। म माथि गलत आरोप लगाइएको छ । चुनाव जितेदेखि नै विपक्षीहरूले आफूलाई हटाउने प्रयास गरेको र षड्यन्त्र गरेर उजुरी आएको हुन सक्ने उनले बताइन्। उनले थपिन्, ‘सत्य कुरा छानबिन पछि बाहिर आउँछ ।’

  • जिप्रका गुल्मी कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहर, कुन जिल्लाका सिडिओ कति सफल ? (विवरणसहित)

    जिप्रका गुल्मी कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहर, कुन जिल्लाका सिडिओ कति सफल ? (विवरणसहित)

    काठमाडौं । अघिल्लो आर्थिक वर्षको कार्यसम्पादनमा तेस्रो नम्बरमा पर्न सफल भएको जिल्ला प्रशासन कार्यालय गुल्मी गत वर्षको कार्यसम्पादन मुल्यांकनमा सर्वोत्कृष्ट बन्न सफल भएको छ । विभिन्न ६८ वटा परिसूचकमा ९७।७५ प्रतिशत अङ्क प्राप्त गर्दै जिप्रका गुल्मी सर्वोत्कृष्ट बन्न सफल भएको गृह मन्त्रालयले जनाएको हो ।

    मन्त्रालयका अनुसार कार्यसम्पादन सम्झौताका ६ वटा विषयगत क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत ६८ वटा परिसुचक रहेका छन् ।

    मुल्यांकन प्रतिवेदनअनुसार ९७ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो नम्बरमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, ९६।७५ अंक प्राप्त गर्दै तेस्रो नम्बरमा नवलपरासी पूर्व, ९६ प्रतिशत अंक प्राप्त गर्दै चौथो नम्बरमा रूकुम पश्चिम, ९५ प्रतिशत अंक प्राप्त गर्दै पाँचौ नम्बरमा डडेलधुरा र हुम्ला पर्न सफल भएका छन् ।

    कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव पुण्यविक्रम पौडेल रहेका छन् । दोस्रो नम्बरमा पर्न सफल अर्घाखाचीको प्रमुख जिल्ला अधिकारी सहसचिव शशीधर घिमिरे छन् भने तेस्रोमा पर्न सफल नवलपरासी पूर्वको प्रमुख जिल्ला अधिकारी सहसचिव सुमन घिमिरे रहेका छन् । यस्तै चौथोमा पर्न सफल रुकुम पूर्वको प्रमुख जिल्ला अधिकारी उपसचिव तुलाराज सुनुवार रहेका छन् । पाचौँमा पर्न सफल हुम्लाको प्रमुख जिल्ला अधिकारी उपसचिव सिता परियार र डडेल्धुराको प्रमुख जिल्ला अधिकारी उपसचिव मोहनराज जोशी रहेका छन् ।

    पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारीले नेतृत्व गरेको हुम्ला जिल्ला कार्यसम्पादनमा पाँचौमा पर्न सफल भएको छ । दलित समुदायको सम्भवत एक्ली उपसचिव सीता परियारले जिल्ला प्रशासन कार्यालय हुम्लाको विगत ६ महिनादेखि नेतृत्व गरिरहेकी छन् । उनी यसअघि भक्तपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिइन।

    यस्तै चितवन, तनहुँ, सल्यान, बैतडी, नवलपरासी ९पश्चिम०, पर्वत, जाजरकोट, मुस्ताङ, भक्तपुर, दाङ, संखुवासभा, तेह्रथुम, बारा, स्याङ्जा, दार्चुला, ओखलढुंगा, कास्की, दैलेख, पर्सा, बाँके, मनाङ, लमजुङ, ललितपुर, उदयपुर, मकवानपुर, मोरङ, रसुवा, सोलुखुम्बु, अछाम, बर्दिया, भोजपुर, इलाम, प्यूठान, रामेछाप, झापा, पाल्पा, सुनसरी, सुर्खेत, कपिलवस्तु र मुगुले ९० प्रतिशतभन्दा बढी अङ्क ल्याएर उत्कृष्ट स्थान हासिल गरेका छन् ।

    त्यसैगरी २९ जिल्ला ९डोटी, धादिङ, नुवाकोट, बझाङ, बागलुङ, रोल्पा, गोरखा, रौतहट, कन्चनपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, रूपन्देही, महोत्तरी, जुम्ला, रूकुम पुर्व, काठमाडौँ, सर्लाही, सिन्धुपाल्चोक, सिरहा, खोटांङ, म्याग्दी, पाँचथर, ताप्लेजुङ, बाजुरा, दोलखा, कालिकोट, धनकुटा, धनुषा, कैलाली प्रशासन कार्यालयको कार्यसम्पादन मूल्याङ्कनको स्तर ८० देखि ९० प्रतिशतको बीचमा देखिन्छ भने सप्तरी र डोल्पा जिल्लाको ७७।५ अङ्क रहेको छ ।

    गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच गत आर्थिक वर्ष २०७८र०७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था, मूल्याङ्कन गर्ने प्रयोजनका लागि गठित समितिले गृह सचिव टेकनारायण पाण्डेलाई बुझाएको मूल्याङ्कन प्रतिवेदनअनुसार यस्तो नतिजा भेटिएको हो । समितिका संयोजक तथा मन्त्रालयका नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा।भीष्मकुमार भूसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले उक्त मूल्याङ्कन प्रतिवेदन गृहसचिवलाई बुझाएका हुन् ।

    गत आर्थिक वर्षमा मन्त्रालयबाट खटिई गएको टोलीले ४१ जिल्लाको स्थलगत अनुगमन गरी एकीकृत अनुगमन ढाँचाबमोजिम कार्यसम्पादनको अवस्था हेरी सुधारका उपाय सुझाएको थियो । अर्धवार्षिक मूल्याङ्कनको अवधिसम्म ६८ वटा जिल्लाको प्रगति ५० प्रतिशत भन्दा न्यून रहेको, ३७ वटा जिल्लाले ३० प्रतिशत अङ्कसमेत हासिल नगरेको र ८ जिल्लाले १० प्रतिशतभन्दा कम अङ्क प्राप्त गरेको अवस्थाबाट माथि उठेर आर्थिक वर्षको अन्त्यमा आइपुग्दा ४६ जिल्लाले ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेका छन् । यस्तै २९ जिल्लाले ८० प्रतिशत देखि ९० प्रतिशतको बीचको अङ्क प्राप्त गर्न सफल भएका छन् ।

    बाँकी दुई जिल्लाले ७७ प्रतिशत अङ्क प्राप्त गरेका छन् । यसरी जिल्ला प्रशासन कार्यालयको औसत कार्यसम्पादन प्रगति ८९।८ प्रतिशत पुगेको हो । गृह मन्त्रालय र मातहतका निकायको वित्तीय प्रगतिसमेत खूद बजेट विनियोजनको ९७ प्रतिशतको हाराहारीमा रहेको छ ।

    चालू आर्थिक वर्षका लागि कार्यसम्पादन परिसूचक तथा नतिजामुखी एवं वस्तुनिष्ठ बनाइएको र वार्षिक मूल्याङ्कन पद्धतिको स्थानमा प्रत्येक त्रैमासिक अवधिको अलगअलग र वार्षिक मूल्याङ्कनसमेत गर्ने गरी प्रणालीको विकास गरिएको समितिका संयोजक सहसचिव डा.भिष्मकुमार भुसालले जानकारी दिए । उनका अनुसार प्रमुख जिल्ला अधिकारीले आफ्नो कार्यसम्पादनको मूल्याङ्कनको अङ्क स्वचालित प्रणालीद्वारा आफै हेर्न सकिने गरी प्रणाली विकास गरिएकाले आर्थिक वर्षको बीचैमा सरुवा भै जाने प्रमुख जिल्ला अधिकारीले हस्तान्तरण नोटसाथ आफ्नो कार्यकालको कार्यसम्पादनस्तरको विवरणसमेत छोडेर जान सक्नेछन् ।

  • सचिवहरु हेरफेर, को कहाँ सरुवा भए ?

    सचिवहरु हेरफेर, को कहाँ सरुवा भए ?

    काठमाडौँ । सरकारले अर्थलगायत आधा दर्जनभन्दा बढी मन्त्रालयका सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद वैठकले सचिव हेरफेरको निर्णय गरेको हो ।

    चर्चामा रहेका अर्थसचिव मधुकुमार मरासिनीसहित उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सरुवा भएको स्रोतले बतायो । स्रोतका अनुसार अर्थ मन्त्रालयका सचिव मरासीनीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

    अर्थ मन्त्रालयमा राजस्व सचिवको जिम्मेवारीमा रहेका कृष्णहरी पुस्करलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ । राजस्व सचिवमा भने कसैलाई तोकिएको छैन ।

    एक मन्त्रीले भने, ‘राजस्व सचिवको जिम्मेवारी कसलाई दिने भन्ने बारेमा टुंगिसकेको छैन । प्रधानमन्त्रीसँग सल्लाह गरेर मुख्यसचिवले टुंग्याउनुहुन्छ ।’

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीको उपराष्ट्रपतिको कार्यालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव यादवप्रसाद कोइरालाको राष्ट्रपति कार्यालय, राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।

    यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई कुन मन्त्रालयमा पठाउने भन्नेबारे टुंगो लागिसकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई पर्यटन मन्त्रालयमा सरुवा गर्नका लागि पहल भइरहेको बुझिएको छ ।

    बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला सिंहदरबारमा सरुवा मिलाउनका लागि काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति कार्यालयका सचिव डा. ज्ञवाली पनि उद्योग सचिवमा जानका लागि पहल गरिरहेको बुझिएको छ । तर, कसको सरुवा कहाँ भयो भन्ने बारेमा अन्तिम टुंगो भने भोलिसम्म मात्रै लाग्नेछ ।

    मन्त्रिपरिषद् बैठकले नै प्रशासनतर्फ बढुवा गरेका सचिव दीपक काफ्लेको लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ । त्यहाँ रहेका सचिव डिल्लीराम शर्मालाई सिंहदरबार तानिएको छ ।

  • प्रधानमन्त्री कार्यालय तानिए मरासिनी, अर्थसचिवको जिम्मेवारी कृष्णहरिलाई

    प्रधानमन्त्री कार्यालय तानिए मरासिनी, अर्थसचिवको जिम्मेवारी कृष्णहरिलाई

    काठमाडौं । सरकारले अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएको हो ।

    राजस्वसचिव कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिइएको एक मन्त्रीले बताए ।

    क्लीनचिट पाएर अर्थमन्त्रीमा पुन: नियुक्ति पाएका जनार्दन शर्मा आएको ५ दिनसम्म मरासिनी मन्त्रालय आएका थिएनन् । उनी शर्माको पदभार तथा स्वागत समारोहमा समेत विनाजानकारी अनुपस्थित थिए ।

    दुईजना सचिव रहने व्यवस्था रहेको अर्थमा मन्त्रीपछि मरासिनीले मन्त्रालयको समग्र लिड गर्छन् । अर्का सचिव कृष्णहरी पुष्करले राजश्वको पाटो हेर्थे

    मन्त्रालय स्रोतका अनुसार सचिव मरासिनी भोलिसम्म बिदामा बसेका थिए । जनार्दनको कमब्याकताका उनी पोखरा काजमा गएका थिए । अघिल्लो दिनसम्म मन्त्रालय आएका सचिव शर्मा पुन:नियुक्ति भएर आउँदा देखिएनन् ।

    अर्थमन्त्रीबाट राजीनामा दिन शर्मामाथि चौतर्फी दबाब परिरहँदा चर्को दबाब परेका बेला सचिव मरासिनी बालुवाटार र खुमलटारलाई जानकारी गराएर बिदामा बसेका थिए । उनले आफूलाई सन्चो नभएको भनेर अनिश्चितकालीन बिदा लिए पनि संसदीय विशेष समितिसँगको बयानमा त्यसबेला मानसिक दबाब परेको जवाफ दिएका थिए ।

  • बेटी पढाऊ, बेटी बचाऊमा भ्रष्टाचार ठहरसहित सहसचिवसहिच ५ कर्मचारीमाथि मुद्दा

    बेटी पढाऊ, बेटी बचाऊमा भ्रष्टाचार ठहरसहित सहसचिवसहिच ५ कर्मचारीमाथि मुद्दा

    काठमाडौं । मधेश प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम’मा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगले मुद्दा दायर गरेको छ ।

    अख्तियारले एक जना सहसचिवसहित ५ जना कर्मचारी तथा एक कम्पनीविरुद्ध ५० करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    आयोगमा ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम’ अनियममिता भएको, साइकलको कम्पनी नखुलाई साइकल किनी ३ महिनादेखि गोदाममा राखिएको निवेदन परेपछि अनुसन्धान गरिएको थियो ।

    अख्तियारले अनुसन्धानपछि सहसचिव एवम् तत्कालीन मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिव यामप्रसाद भुसालसहित ५ जना कर्मचारी संलग्न भएको भन्दै मुद्दा दर्ता गरेको हो ।

    भुसालसँगै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, जनकपुरधाम धनुषाका तत्कालीन प्रमुख सिनियर डिभिजनल इन्जिनियर भगवान झा, सह–लेखापाल राजाराम मण्डल, भण्डार जिन्सी शाखा प्रमुख अधिकृत छैंठौं रामस्वार्थ महतो र भण्डार शाखाका खरिदार जितमोहनकुमार दासविरुद्ध मुद्दा दर्ता भएको हो ।

    उनीहरु धनुषाबाट साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न भएको र साइकल आपूर्तिकर्ताले नेपाल सरकार तथा प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एंव हानी नोक्सानी गरेको पुष्टि भएको आयोगका प्रवक्तास श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    आयोगका अनुसार भुसाल लेडिज साइकल खरिद सम्बन्धी कार्यको प्रमुख जिम्मेवारी भएकोमा उनले खरिद कार्यको सुरुवातदेखि सार्वजनिक खरिद ऐन, २०६३, तथा नियमावली, २०६४ र सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशिकामा भएका प्रावधानको पालना नगरेको पाइएको छ ।

    यस्तै सम्झौताअनुसार अम्बिका ब्राण्डका साइकल आपूर्ति हुनुपर्नेमा सम्झौता विपरितका ब्राण्ड नखुलेका कमसल तथा गुणस्तरहीन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानी गरेको पाइएको छ ।

    त्यसबाट प्रदेश सरकारलाई १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ नोक्सानी गरेको पुष्टि भएको हो । भुसाललाई दश करोड ३३ लाख ७ सय ५८ रुपैयाँ विगो कायम गरी कैद सजाय र बिगोबमोजिम जरिवाना गराउनुपर्ने माग गरिएको छ ।

    यस्तै प्रदेश सचिव भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन गलत तवरबाट तयार गरिएको गलत लिखत भएकोले संझौताबमोजिमको साइकल प्राप्त हुनुपर्नेमा ब्राण्ड नखुलेका साइकल स्वीकार गरी गलत स्टोर दाखिला तयार गरी भुक्तानी भएको देखिएकोले उनले थप कसुर गरेको भन्दै उनलाई थप कैद सजाय र जरिवाना गर्न पनि माग गरिएको छ ।

    यस्तै सिनियर डिभिजनल इन्जिनियर झाले जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, जनकपुरधाम धनुषाका तत्कालीन प्रमुख हुँदा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खरिद विज्ञका साथसाथै बोलपत्र मुल्यांकन समितिको सदस्यसमेत रहेर काम गरेको थिए । त्यस क्रममा खरिद सम्झौताअनुसार अम्बिका कम्पनी, ब्राण्डको साइकल हुनुपर्नेमा कम गुणस्तरीय साइकल स्थानीय फर्मबाट खरिद गरी आपूर्ति गर्दा भएका साइकलको परीक्षण प्रतिवेदन बिना नै ठीक छ भनी सम्पूर्ण साइकलको भुक्तानीको लागि सिफारिस गरेको पाइएको छ ।

    उनको कार्यले पनि प्रदेश सरकारलाई १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ नोक्सानी भएको भन्दै सोही रकम बरावरको विगो कायम गरी कैद सजाय र बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल गर्नुपर्ने माग गरिएको छ । साथै आफूलाई प्रत्यायोजित नै नभएको अधिकारको प्रयोग गरेको देखिएकोले उनले वदनियतपूर्ण तवरबाट आफूले नपाएको अधिकार पाए भनी कार्य गरी कार्य गरेको भन्दै थप सजायको माग गरिएको छ ।

    यस्तै सह–लेखापाल राजाराम मण्डलले सम्झौता भन्दा फरक ब्राण्ड नखुलेका साइकल आपूर्ति हुँदासमेत भुक्तानी कार्यमा संलग्न रही गलत मनशायले भुक्तानी दिएको भन्दै सरकारलाई १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ नोक्सानी पुगेको आयोगले जनाएको छ । उनीमाथि पनि सोही रकमको विगो कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर गर्नुपर्ने माग गरिएको छ ।

    भण्डार तथा जिन्सी शाखा प्रमुख अधिकृत छैंठौं रामस्वार्थ महतो जिन्सीभण्डार शाखाको प्रमुख भएको तथा तयार गरिएको दाखिला प्रतिवेदनको जाँच गर्ने कार्यमा संलग्न रही गलत लिखत राख्ने कार्य गरेको पाइएको अख्तियारको सूचनामा उल्ल्ेख छ । उनले जाँच गरेको भण्डार दाखिला प्रतिवेदनले प्रदेश सरकारलाई हानी पुर्‍याउने वदनियतसाथ तयार भएको गलत लिखत भएको पाइएको भन्दै उनलाई तोकिएबमोजिम कैद सजायको माग दाबी गरिएको छ ।

    भण्डार शाखाका खरिदार जितमोहनकुमार दासले भण्डार दाखिला प्रतिवेदनमा बदनियतसाथ बोलपत्रमा उल्लेख भएको कम्पनी ब्राण्ड उल्लेख नगरी ‘लेडिज साइकल’ भनी उल्लेख भएकोमा उनले प्रदेश सरकारलाई हानी पुर्‍याउने वदनियतले गलत लिखत तयार गरेको पाइएको छ । उनको उक्त कार्य कसुर भएको हुँदा उनलाई पनि कानुन अनुसार कैद सजाय र जरिवानासमेतको माग गरिएको छ ।

    यस्तै ओम सत्य साई प्राली, वीरगंज, पर्सा र त्यसका प्रवन्ध निर्देशक रेनु अग्रवालको मुख्य शेयरधनी तथा प्रवन्ध निर्देशकले खरिद सम्झौताबमोजिम अम्बिका ब्राण्डको साइकल आपूर्ति गर्नुपर्नेमा ब्राण्ड नखुलेको साइकल आपूर्ति गरी आफूलाई गैरकानुनी लाभ पुग्ने कार्य गरेको जुन ठेक्का सम्झौताअनुसार नभएको पाइएको अख्तियारले जनाएको छ । साथै निर्धारित शर्त उल्लंघन हुने कार्य गरी प्रदेश सरकारलाई १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ हानी गरेको आयोगले जनाएको छ ।

    त्यसैले ओम सत्य साई प्राली र उक्त प्रालीका प्रवन्ध निर्देशक अग्रवालले कसुर गरेकोले उक्त प्राली र रेनु अग्रवाललाई सोहि रकम बरावरको विगो कायम गरी कैद सजाय वा बिगो बमोजिम जरिवाना गरी बिगोसमेत जफत गर्न माग दाबी गरिएको आयोगका विज्ञप्तिमा उल्लेख छ ।

  • टाइगर वानका सञ्चालक भाग्ने बाटो खोज्दै सर्वोच्चमा, बैंकहरूको अर्बौं लगानी जोखिममा

    टाइगर वानका सञ्चालक भाग्ने बाटो खोज्दै सर्वोच्चमा, बैंकहरूको अर्बौं लगानी जोखिममा

    काठमाडौं । पटकपटक विवादमा आएको भैरहवास्थित टाइगर वान होटल र त्यसको सञ्चालक विदेशी कम्पनी सिल्भर हेरिटेज लिमिटेडले वित्तीय संस्थाहरूको लगानी डुब्नेगरी कानूनविपरीत कम्पनी बिक्री गरेर भाग्ने प्रयास गरेको छ । यो कम्पनीमा प्राइम, सिभिल, सानिमा, नेपाल इन्भेष्टमेन्टलगायतका बैंकको लगानी छ ।

    बैंक तथा वित्तीय संस्थाबाट लिएको अर्बौं ऋण लगानी डुबाउन हङकङकमै कारोबार गर्नेगरी कम्पनी बिक्री गर्न लाग्दा उच्च अदालत तुलसीपुरले रोक लगाएको थियो । कम्पनीकातर्फबाट कन्ट्री डाइरेक्टर एमी बनेल अहिले कम्पनी विक्री गरी हङकङमा कारोबार गर्न पाउँ भन्दै सर्वोच्च अदालत पुगेका छन् । उता बिक्री गरेर नेपालको कर छल्ने नियत यसमा प्रष्ट देखिएको छ र त्यसकै लागि सर्वोच्च अदालतको ढोकामा पुगेको छ।

    हङकङ ब्रिटिश भर्जीन आईल्याण्डको सिल्भर हेरिटेज लिमिटेडले भैरहवामा टाइगर वान होटल सञ्चालन गरेको छ । यो कम्पनी कुनै बेला अस्ट्रेलियन स्टक एक्स्चेन्जमा सूचिकृत भएपछि टाट पल्टिएको थियो । कम्पनीले होटल सञ्चालन गर्दा नेपालको कानूनसमेत मिचेको आरोप छ ।

    नेपालमा पर्यटन पूर्वाधार तथा जलविद्युतमा लगानी गर्ने भनेर नेपाली साझेदारसहित सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालि दर्ता भएको थियो ।

    पर्यटनमा एकीकृत रिसोर्टको रूपमा विस्तार गर्ने लक्ष्यसहित भैरहवामा १५ विघा जग्गामा ३ सय वटा कोठा,क्यासिनो तथा मल र गर्न यस कम्पनीको लक्षअनुरूप १५ विघामा ३०० कोठा र क्यासिनो मल र विवाह गन्तव्य समेत विकास गर्ने Wedding Destination विकास गर्ने लक्ष्य लिएर एक सयवटा भिल्ला सञ्चालनमा ल्याउने भनिएको थियो ।

    कम्पनीले सुरूमै होटलका लागि चर्चेको जमिनमा सरकारी जमीन तथा राजकुलो मिचिएको आरोप छ । स्थानीय जल उपभोक्ता समूहको आग्रह र नेपाली साझेदारको सल्लाह नमानी विदेशी लगानीकर्तालदे बलमिच्याई गरेपछि रूपन्देही जिल्ला अदालतमा मुद्दा परेको थियो ।

    अदालतले गरेको सम्पत्ति रोक्का आदेशलाई उक्त होटलले वास्ता गरेको छैन । जग्गा नापजाँचको आदेशसमेत लत्याउँदै होटलले अदालतले पठाएको नापी टोलीलाई नापजाँचमा अवरोध गर्नुका साथै भित्रभित्रै सम्पत्ति खरिद-बिक्रीको चलखेल गरेको आरोप छ ।

    सम्पत्ति रोक्कासम्बन्धी आदेशलाई पटकपटक नमानेर होटल बिक्रीका लागि बैनाबट्टा गरेपछि होटलविरुद्ध गत वर्ष साउन २८ मा जिल्ला अदालत रूपन्देहीमा अदालतको अपहेलनामा मुद्दा परेको थियो । सो मुद्दामा अदालतले अदालतको अपहेलना भएको ठहर गर्दै ३ हजार जरिबाना आदेश गरेको थियो । तर, सरकारी सम्पत्ति मिचेर संरचना खडा गरेको होटल टाइगर प्यालेस जिल्ला अदालतको सो आदेशविरुद्ध सर्वोच्च अदालत गएको छ ।

    कम्पनीले कानुनी परामर्शदाताको डीडीमा नेपाली वित्तीय संस्थाले ऋण प्रवाह गर्न नमिल्ने राय लत्याई २ अर्ब ५० करोड ऋण लिएको छ । त्यस्तै अष्ट्रेलियामा टाट पल्टिएको कम्पनी हङकङको ओसिपी एसियाले किनको थियो । नेपालबाट कम्पनी बिक्री गरेर भाग्ने प्रयासमा उच्च र जिल्ला अदालतले रोक्का गरेपछि अहिले यो कम्पनीका प्रतिनिधि सर्वोच्च अदालतबाट आफ्नो पक्षमा आदेश लिन चलखेलमा छन् ।

    बालकृष्ण भुसालको नामबाट केही अपारदर्शी आयस्रोत भएका व्यक्तिहरूले कम्पनी किन्न खोजेका थिए । कम्पनी उनीहरूले आफ्नो नाममा पार्ने र हङकङमा कारोबार गर्नेगरी बैंकको लगानी जोखिममा पर्ने भएकाले अदालतले रोक लगाएको थियो ।

    सरकारी जग्गा कब्जा गरेर बनाइएका संरचना किन्न केही व्यक्तिले सर्वोच्च अदालतसम्म सेटिङको जिम्मा लिएको स्रोतले जनाएको छ । उता कम्पनीबाट बेरोजगार बनेका ३९३ जना कामदारले अदालत गएर मुद्दा जिते तर उनीहरूले पाउनुपर्ने ६२ करोड क्षतिपूर्ति नतिरी विदेशी कम्पनी चोरबाटोबाट भाग्ने प्रयासमा छ ।

    सोही कम्पनीका विदेशी कर्मचारीहरूको तलब सोधभर्ना मै डेढ अर्ब रूपैयाँ उनीहरूले नेपालबाट लगिसकेका छन् । जबकी नेपालीलाई तिर्नुपर्ने दायित्व भने तिरेको छैन । कम्पनीका प्रमुख कार्यकारी माइक बोल्सोभरको तलबमात्रै मासिक ५० हजार डलर रहेको छ ।

    उनी क्यासिनोको र होटल सञ्चालनको रोयल्टी नतिरी नेपाल छाडेर भाग्न खोज्दा तत्कालीन पर्यटनमन्त्री प्रेम आले र सचिव महेश्वर न्यौपानेको अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोकिएको थियो । नेपाली कामदारको पैसा नतिर्ने कम्पनीले विदेशी कर्मचारीलाई भने मासिक १५ देखि ५० हजार डलरसम्म तलब तोकेर नेपालका आर्जन गरेको पैसा विदेश पठाएको छ ।

    यति ठूलो परिमाणमा प्रवाह भएको तलब तथा भत्ताको रकम होटलको विस्तारका लागि भनेर लिइएको ऋणबाट भुक्तानी भएको पाएको छ ।  यो मुद्दा नजिकबाट हेरिरहेका एक उच्च सरकारी अधिकारीका अनुसार प्राइम बैंकले गरेको २ अर्ब ५० करोड लगानी जोखिममा छ ।

    स्रोतका अनुसार यो कम्पनीले ६५ करोड एन्टी मडी लाउन्ड्री गरेको भनेर एएमएल कार्यालयमा मुद्दा नै परेको छ । यस्तो कम्पनीलाई सर्वसाधारणले जम्मा गरेको पैसा लगानी गरेर जोखिममा पारेको आरोप बैंकका अधिकारीहरुमाथि छ । किनकी सो रकम होटल विस्तार तथा उत्पादक काममा नभएर विदेशी कर्मचारीको तलबभत्तामा खर्च भएको छ । जबकी नेपाली कर्मचारी भने मुद्दा जितेर पनि पैसा पाएका छैनन् ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिका-१५ कोटीहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेसले भैरहवा-लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजना नहरको १० कट्ठा १८ धुर, राजकुलो तथा अन्य सार्वजनिक कुलोको गरी करिब २३ कट्ठा सार्वजनिक जग्गा मिचेको छ।

    २०७६ सालमै पनि मुद्दाको टुंगो नलाग्दै अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचीकृत तथा हङकङमा कार्यालय रहेको सिल्भर हेरिटेज ग्रुपले होटल खरिद-बिक्री प्रक्रिया अगाडि बढाएको थियो । कम्पनीले त्यतिबेला वेबसाइटमा राखेको जानकारीअनुसार इन्द्रबहादुर थापा नाम गरेका व्यक्ति किटान गरी टाइगर प्यालेस खरिदबिक्री प्रक्रिया अघि बढेको देखिन्छ। तर, पछि अदालती कारबाही र सार्वजनिक जग्गा मिचेको र कम्पनी टाट पल्टिन लागेको जस्ता कारणले खरिदकर्ता बिच्किएको सोतको दाबी छ ।

  • ६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ, गाडीबाट १६ लाख ५० हजार बरामद

    ६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ, गाडीबाट १६ लाख ५० हजार बरामद

    काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले उनलाई पक्राउ गरेको हो ।

    पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नाग पोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए ।

    नेपाल मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको प्रमुखको जिम्मेवारीमा थिए ।

    यस्तै उनले प्रयोग गर्दै आएको बा १ झ ९९४६ नम्बरको गाडीबाट स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ ।

  • प्रेम आलेको निर्णय जीवनरामले उल्ट्याए, सुरज वैद्यलाई रिसोर्ट सञ्चालन गर्न दिएको अनुमति खारेज

    प्रेम आलेको निर्णय जीवनरामले उल्ट्याए, सुरज वैद्यलाई रिसोर्ट सञ्चालन गर्न दिएको अनुमति खारेज

    रुपन्देही । आफ्नै पार्टीका पूर्व मन्त्री प्रेम आले नेतृत्वमा भएको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठले खारेज गरिदिएका छन् ।

    मन्त्री श्रेष्ठको अध्यक्षतामा मङ्गलवार बसेको लुम्बिनी विकास कोष परिषद् बैठकले लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलवार बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो ।

    गुरूयोजनाविपरीत ‘क्याम्पेन ग्राउन्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले नेपाल प्रेसलाई बताए ।

    संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेमकुमार आलेको दबाबमा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय भएपछि यसबारे नेपाल प्रेसमा समाचार प्रकाशन भएको थियो । पर्यटन मन्त्री आले लुम्बिनी विकास कोषका अध्यक्ष हुन्छन् ।

    संसारा वेलनेस कम्पनी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको कम्पनी हो । वैद्य आफूले लुम्बिनी विकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटेल बनाउने योजना तयार गरे पनि त्यो टुंगो लागेको थिएन । संसारा वेलनेसले लुम्बिनीग्रामस्थित श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउन्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो ।

    जापनिज वास्तुविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी विकास गुरुयोजनामा चार बिगाहा क्षेत्रफलमा फैलिएको क्याम्पियन ग्राउन्डमा आठ/नौ वटा कोठा, खुल्ला स्थान, शौचालय, क्याम्प फायर र पिकनिक स्पट राख्ने उल्लेख छ ।

    संसारा वेलनेसले पेस गरेको प्रस्तावमा भने ध्यान गर्न आउने पाहुनाका लागि रिसोर्ट सञ्चालन गर्ने भनिएको थियो । लुम्बिनी विकास गुरुयोजनामा लुम्बिनी ग्राममा स्वदेशी तथा विदेशी पाहुनाको उच्चस्तरीय आवासका लागि तीन वटा मात्रै होटेल सञ्चालन गर्ने उल्लेख छ । त्यसैअनुसार होक्के होटेल, होटेल कासाइ र श्रीलंकाको पिलग्रिमेज हाउस यसअघि नै सञ्चालन भइसकेका छन् ।

    यो विषय सार्वजनिक भएपछि मन्त्री आलेको आलोचना भएको थियो । लुम्बिनी विकास कोषका अन्य पदाधिकारी तथा पर्यटन व्यवसायीको विरोध भएको अवस्थामा मन्त्री जीवनरामले बोल्ड निर्णय गरेको भन्दै पर्यटन व्यवसायी खुसी भएका छन् ।

    यस्ता छन् परिषद्का अन्य निर्णय

    मंगलबारको बैठकले सदस्यसचिव सानुराजा शाक्यले पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रम र कोषाध्यक्ष ढुण्डिराज भट्टराईले पेश गरेको बजेट पास गरेको छ ।

    त्यसैगरी प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा मनोनयनका लागि रणनीतिक मनोनयन दस्ताबेज (Strategic Nomination Document) तयार गर्नका लागि अन्तर्राष्ट्रिय विज्ञ डङ्कन मार्शल अस्ट्रेलियालाई छनौट गर्ने र लुम्बिनी विकास कोषको आयोजनामा नोभेम्बर २०२२ मा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय भएको सदस्यसचिव शाक्यले जानकारी दिए ।

    परिषद् बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    लुम्बिनी जाने पर्यटकहरूलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।

    बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने र विभिन्न बौद्ध स्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिने निर्णय गरेको छ ।

  • छत्रदेवका तत्कालीन प्रशासकीय अधिकृत जोशीविरुद्ध भ्रष्टाचार मुद्दा

    छत्रदेवका तत्कालीन प्रशासकीय अधिकृत जोशीविरुद्ध भ्रष्टाचार मुद्दा

    रुपन्देही । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत रामजी जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । फर्निचर खरिदमा ४ लाख ४७ हजार ५०० रूपैयाँ भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    आर्थिक वर्ष २०७३/०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखिएको, बिल अनुसारका सामान दाखिला नगरिएको, प्रतिस्पर्धा सीमित हुने गरी सामानहरू खरिद गरेको अख्तियारको भनाइ छ ।

    जोशी सरुवा भएर गएपछि कार्यालयको स्टोर व्यवस्थापन गर्ने क्रममा दाखिला प्रतिवेदन बनाई खरिद नै नगरिएको सामानको बील भरपाइ पेस गरिएको भन्दै अख्तियारले कैद तथा जरिबानाको मागसहित मुद्दा दायर गरेको हो ।