Category: खेल प्रेस

  • त्रिकोणात्मक श्रृंखलामा नेपाल जितविहीन, उपाधि थाइल्यान्डलाई

    त्रिकोणात्मक श्रृंखलामा नेपाल जितविहीन, उपाधि थाइल्यान्डलाई

    काठमाडौं । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक महिला टी २० श्रृंखलामा नेपाल जितविहीन बनेको छ । अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्यान्डले उपाधि कब्जा गर्‍यो ।

    दुवै टीम ४ जितसहित ८ अंकको अवस्थामा थिए । आजको जितसँगै थाइल्यान्डले १० अंक पुर्याएको छ । ६ वटै म्याच हारेको नेपालले एक अंक पनि जोड्न सकेन ।

    आजको खेल थाइल्यान्डले एकतर्फीरूपमा जित्यो । नेपालका कुनै पनि ब्याटरले थाइल्यान्डको बलिङको प्रतिरोध गर्न सकेनन् । ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । कप्तान इन्दु बर्माले १० र कविता जोशीले १ छक्कासहित १४ रन जोडे । डेब्यू गर्ल राजमती ऐरी १४ बलमा ११ रन जोडेर अविजित रहिन् ।

    बलिङतर्फ नेपालकी कप्तान इन्दुले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् भने पूजा महतोले २ ओभरमा ११ रन खर्चेर १ विकेट हात पारिन् । अन्य बलरहरु विकेटविहीन बने ।

  • अन्तिम खेलमा नेपालको कमजोर ब्याटिङ, थाइल्यान्डलाई ८२ रनको लक्ष्य

    अन्तिम खेलमा नेपालको कमजोर ब्याटिङ, थाइल्यान्डलाई ८२ रनको लक्ष्य

    काठमाडौं । महिला त्रिकोणात्मक टी २० आई सिरिजको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई ८२ रनको सामान्य लक्ष्य दिएको छ ।

    जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सकेको हो ।

    नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् । कविता जोशीले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडिन् । कप्तान इन्दु बर्माले १० रनमा आउट हुँदा राजमती ऐरी ११ रनमा नट आउट रहिन् ।

    थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ३ तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १ विकेट लिइन् ।

    नेपाली टोलीमा २ परिवर्तन भएको छ । यस खेलमा अलिशाकुमारी यादव र राजमती ऐरीले मौका पाएकी छिन् । राजमतीको राष्ट्रिय महिला टोलीबाट यो डेब्यू खेल हो ।

    सिरिजमा यसअघि खेलेका सबै खेल हारेको नेपाल सान्त्वना जित हात पार्ने लक्ष्यमा रहेको छ । थाइल्याण्ड नेपाललाई हराउँदै उपाधि रक्षा गर्ने योजनामा छ ।

  • दीपेन्द्रकी बहिनी राजमतीको राष्ट्रिय टीममा डेब्यू

    दीपेन्द्रकी बहिनी राजमतीको राष्ट्रिय टीममा डेब्यू

    काठमाडौं । नेपालका प्रख्यात क्रिकेटर दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमती ऐरीले राष्ट्रिय टिममा डेब्यू गरेकी छन् । त्रिकोणात्मक टि २० सिरिज अन्तरगत आज थाइल्यान्डविरुद्धको खेलमा उनी प्लेइङ ११ मा अटाएकी हुन् ।

    राजमतीले यसअघि एसीसी महिला एसिया कपमा टोलीमा परे पनि खेल्ने अवसर पाएकी थिइनन् । घरेलु क्रिकेट सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलबाट खेल्ने उनले प्रधानमन्त्री कप महिला क्रिकेटमा राम्रो ब्याटिङ गरेकी थिइन् ।

    २२ वर्षीया राजमतीले नेपालको यु-१९ टोलीबाट यसअघि नै प्रतिनिधित्व गरिसकेकी छन् ।

  • अन्तिम खेलमा सान्त्वना जितको खोजीमा नेपाल, उपाधि खाेजीमा थाइल्यान्ड

    अन्तिम खेलमा सान्त्वना जितको खोजीमा नेपाल, उपाधि खाेजीमा थाइल्यान्ड

    काठमाडौं । त्रिकोणात्मक महिला टी २० सिरिज अन्तर्गत आज आफ्नो अन्तिम खेलमा नेपाल थाइल्यान्डविरुद्ध भिड्दैछ । प्रतियोगितामा ५ खेल खेल्दा सबैमा पराजय व्यहोरेको नेपालका लागि यो सान्त्वना जितको अवसर हो ।

    नेपालले यसअघि नेदरल्यान्ड्ससँग ३ र थाइल्यान्डसँग २ म्याच खेल्दा कुनै पनि जित निकाल्न सकेन । उपाधि होडबाट बाहिरिइसकेको अन्तिम खेलमा सुखद नतिजा निकाल्न आतुर छ । यद्यपि, उपाधि दावेदार थाइल्यान्ड नेपालका लागि सहज टीम होइन ।

    आजको खेल नेपालको लागि प्रतिष्ठाको मात्र विषय भए पनि थाइल्यान्ड र नेदरल्यान्ड्सको उपाधि भिडन्त पनि हो । थाइल्यान्डले नेपाललाई हराए उपाधिमा कब्जा गर्ने छ । तर, नेपालले थाइल्यान्डलाई हराएको खण्डमा रन रेटको आधारमा थाइल्यान्ड र नेदरल्यान्ड्समध्ये एक विजेता हुनेछन् ।

    अहिले अंक तालिकामा थाइल्यान्ड र नेदरल्यान्ड्सको समान अंक छ । नेदरल्यान्ड्सले सबै ६ म्याच खेल्दा ४ जित र दुई हारको नतिजा निकाल्यो । दुई म्याचमा नेदरल्यान्ड्सले थाइल्यान्डसँग हारेको हो । थाइल्यान्डले ५ म्याच खेल्दा ४ जित र एक हार व्यहोर्‍यो । एक हार नेदरल्यान्ड्सँग हो । अहिले थाइल्यान्डको रन रेट पनि राम्रो छ । नेपालले ठूलो अन्तरले थाइल्यान्डलाई हराए मात्र नेदरल्यान्ड्सले उपाधि जित्न सक्ने देखिन्छ ।

    टस जितेर नेपालकी कप्तान इन्दु बर्माले पहिले ब्याटिङ रोजेकी छन् । पीच ब्याटिङका लागि अनुकुल ठानेर उनले पहिलो ब्याटिङको निर्णय लिएकी हुन् । नेपालकाे टिममा राजमती ऐरीले डेब्यू गरेकी छन् । ममता चौधरीको स्थानमा उनलाई राखिएको हो ।

  • करिब सात करोड लगानीमा नेपालमै पहिलोपटक तिलोत्तमा क्रिकेट मैदानमा फ्लड लाइट जडान सुरु

    करिब सात करोड लगानीमा नेपालमै पहिलोपटक तिलोत्तमा क्रिकेट मैदानमा फ्लड लाइट जडान सुरु

    रुपन्देही । नेपालमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालित क्रिकेट स्टेडियममा करिब सात करोड लगानीमा फ्लड लाइट जडान थालिएको छ । रुपन्देहीको तिलोत्तमा एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिवारदेखि फ्लड लाइट जडानको काम सुरु हुने भएको छ ।

    स्टेडियमका प्रबन्धक निर्देशक विनोद कुँवरले शुक्रवार बिहान बुटवलमा पत्रकार सम्मेलन गर्दै शनिबारदेखि लाइट जडान सुरु हुने जानकारी दिए ।

    ‘स्टेडियममा फ्लड लाइट जडानको काम हुन गइरहेको म जानकारी गराउन चाहन्छु, जुन नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण पहिलो हुनेछ । अबको एक महिनाभित्र फल्ड लाइटपूर्ण रूपमा जडान भई डे नाइट म्याच खेलाउन सकिने यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’ कुँवरले भने ।

    नेपालमै पहिलो पटक रातिमा खेल्न मिल्नेगरी लाइट जडान हुने उनले बताए । लाइट जडान गर्न मात्र करिब ७ करोड लगानी लाग्ने उनले बताए ।

    २०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियम ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी भव्यतापूर्वक सम्पन्न सकेको छ ।

    यो मैदानमा गत वर्षको फागुनयता एक सय भन्दा बढी खेल भैसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो ।

    भारतबाट पनि केही क्लबस्तरीय टीम आएर खेलेको उनले बताए । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको उनले बताए ।

    ’मैदानका साथसाथै अरू भौतिक संरचना निर्माणको काम पनि अघि बढिरहेको छ। चार–चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स चेजिङ रुम र मिडिया बक्ससहित बनाइरहेका छौँ । अहिले तेस्रो तलाको काम भइरहेको छ तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा हामी छौँ,’ उनले भने, ’यसपछि हामी प्याराफिट निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने छौँ ।’

    अस्ट्रेलियामा व्यवसाय गर्दै आएका गुल्मीका कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका– १७ मा निर्माणाधीन एक्ट्राटेक ओभल निजी क्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो ।

  • फिफाद्वारा पुनः प्रतिबन्ध भयो पाकिस्तान फुटबल

    फिफाद्वारा पुनः प्रतिबन्ध भयो पाकिस्तान फुटबल

    हेटौँडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबललाई पुनः प्रतिबन्ध लगाएको छ ।

    फिफा क्यालेन्डर अनुसार नियमित काम नगरेको, समयमा निर्वाचन नगरेको भन्दै फिफाले साउथ एसियन जोनमा रहेको पाकिस्तानमाथि प्रतिबन्ध लगाएको हो ।

    यसअघि सन् २०२१ मा पनि पाकिस्तान फिफाको प्रतिबन्धमा परेको थियो । प्रतिबन्धपछि फिफाको क्यालेन्डरमा रहेको अन्तर्राष्ट्रिय खेलहरूमा पाकिस्तान सहभागी हुन पाउनेछैन ।

    सन् २०२१ को एक वर्ष लामो प्रतिबन्धलाई ०२२ मा फुकुवा गर्दै फिफाले विधान बमोजिमको काम गर्न पाकिस्तानलाई आग्रह गरेको थियो । तर पाकिस्तान फुटबलमा प्रत्यक्ष राजनीति हाबी भएसँगै समयमा ती कामहरू हुन नसक्दा फिफाले पुनः प्रतिबन्ध लगाएको हो ।

    प्रतिबन्धमा परेसँगै पाकिस्तानले एएफसी एसियन कपको तेस्रो चरणको छनौट खेल्ने अनि अनिश्चित बनेको छ ।

    छनौट प्रतियोगिता अन्तर्गत समूह ई मा रहेको पाकिस्तानले सिरिया, अफगानिस्तान र म्यानमारसँग खेल्ने कार्यक्रम रहेको थियो । यो प्रतिबन्ध कति समयको लागि हो भनेर फिफाले खुलासा भने गरेको छैन ।

  • ‘ट्रफी किङ’ लिजेन्ड मार्सेलोको संन्यास

    ‘ट्रफी किङ’ लिजेन्ड मार्सेलोको संन्यास

    काठमाडौं । पछिल्लो दुई दशकका सबैभन्दा भरपर्दो ‘सेन्टर ब्याक’को छवि बनाएका ब्राजिलियन स्टार मार्सेलोले फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

    रियल म्याड्रिका पूर्वस्टार मार्सेलोले २५ वटा ट्रफी जितेर आफूलाई ट्रफ किङको रूपमा स्थापित गरेर फुटबलको मैदानबाट बिदा लिन सफल बने ।

    ‘खेलाडीको रूपमा मेरो यात्रा यहीँ टुङ्गिन्छ । तर, फुटबलका लागि मैले दिन अझै धेरै बाँकी छ । सबै कुराका लागि धन्यवाद ।’ भन्दै मैदानबाट बिदा भए । उनले भिडियोमा भावुक हुँदै भनेका छन् “१८ वर्षको उमेरमा रियल म्याड्रिडले मेरो ढोका ढकढक्यायो र म यहाँ आइपुगेँ,’ अब, म गर्वका साथ भन्न सक्छु कि म एक साँचो म्याड्रिलेनो हुँ। यहाँ, मेरी श्रीमतीसँग मिलेर मैले एउटा परिवार बनाएको छु। १६ सिजन, २५ उपाधि, पाँच च्याम्पियन्स लिग, एक कप्तान र बर्नाबेउमा धेरै जादुयी रातहरू। कस्तो यात्रा, एक खेलाडीको रूपमा मेरो यात्रा यहाँ समाप्त हुन्छ, तर मसँग अझै पनि फुटबललाई दिनको लागि धेरै धेरै धन्यवाद छ।”

    ब्राजिलियन क्लब फ्लुमिनेसेबाट व्यावसायिक फुटबलको सुरुवात गरेका मार्सेलोले ब्राजिलको लागि सन् २००५ मा अण्डर १७ बाट आफ्नो फुटबल करिअर सुरु गरेका थिए । आक्रमक सेन्टर ब्याकको छवि बनाएका उनले त्यसयताको वर्ष सफलता मात्र चाखे ।

    आफू १८ वर्ष हुँदै सन् २००७ मा स्पेनको रियल म्याड्रिडबाट फुटबल खेल्न थालेका उनले त्यहाँ ५ वटा च्याम्पियन्स लिग र ६ वटा ला–लिगाको उपाधि समेत जिते । देशको लागि देशको लागि एउटा फिफा अन्तरमहादेशीय उपाधि जितेको मार्सेलोले सन् २०१४ र २०१८ मा ब्राजिलको तर्फबाट विश्वकप फुटबलमा नियमित स्थान समेत बनाएका थिए ।

    सन् १९८८ मा जन्मिएका ३६ वर्षका मार्सेलोले आफ्नो करिअरको उत्कृष्ट समय रियलको लागि व्यतीत गरेका छन् । उनको गजबको प्रदर्शनलाई मध्यनजर गर्दै स्पेनिस महारथी रियल म्याड्रिडले सन् २०२१ मा उनलाई क्लबको कप्तान समेत बनायो । क्लबको इतिहासको ११७ वर्षमा स्पेन बाहिरका खेलाडीलाई कप्तान बनाइएको यो पहिलो अवसर थियो ।

    ब्राजिलको लागि ५८ खेल खेलेका मार्सेलोको लागि क्लब फुटबल भने निकै सफल बन्यो । रियलमा उनले चाहे जति सबै उपाधि जितेका छन् । शान्त तर निकै चलाख सेन्टर ब्याकको रूपमा परिचय बनाएका मार्सेलोलाई उनका नजिकका सहकर्मीहरूले निकै मिलनसार फुटबलरको रूपमा भन्ने गरेका छन् ।

    मार्सेलोको संन्यासपछि रियल म्याड्रिका अध्यक्ष फ्लेटिन्हो पेरेजले उनी अहिलेको समयको सबैभन्दा उत्कृष्ट सेन्टरब्याक भएको प्रतिक्रिया दिएका छन् । पेरेजले भनेका छन् “वास्तवमा मार्सेलोको अद्भुत क्षमताको वर्णन गर्न सकिन्न, उनी यो समयका सबैभन्दा भरपर्दो र उत्कृष्ट सेन्टरब्याक हुन, उनलाई रियलले सधैँ लेजेण्डको रूपमा सम्झन्छ, रियलको परिवारमा उनलाई सधैँ स्वागत गर्न हामी तयार छौँ ।’

    मार्सेलोको संन्यासपछि उनको रियलमा रहँदाको सहयात्री रोनाल्डोले सामाजिक सञ्जालमा सन्देश दिएका छन् । उनले भनेका छन् ‘मेरो भाइ, कस्तो अविश्वसनीय करियर ! हामीले धेरै सँगै बाँचेका छौँ, उपलब्धिहरूका वर्षहरू, विजयहरू र अविस्मरणीय पलहरू। एक साथी भन्दा बढी, जीवनको लागि एक साथी। सबै कुराको लागि धन्यवाद, मेरो साथी। म जीवनको यो नयाँ चरणमा तपाईँलाई शुभकामना दिन्छु।’

    मार्सेलोको संन्यासलाई विश्व फुटबलका मिडियाहरूले “एउटा लिजेन्ट”को संन्यास शीर्षकमा सम्मान दिएका छन् । नियमित फुटबलबाट संन्यास लिएका मार्सेलोको अबको बाटोको विषयमा उनले प्रष्ट भनेका छैनन् । तर उनको भिडियो सन्देश र रियल अध्यक्षको भनाइबाट उनी कुनै रूपमा पुनः रियलसँग आबद्ध हुने सम्भावनाहरू भने आँकलन गर्न सकिन्छ ।

    कप्तानको भूमिका निर्वाह गरिसकेको कारण पनि उनीमा खेल रणनीतिहरू रहेको स्पष्ट हुन्छ । यो हिसाबमा पनि उनलाई रियलले रणनीतिकारको भूमिकामा पुनः सामेल गर्ने सम्भावनालाई नकार्न भने सकिन्न । रियलको लागि सबैभन्दा उपाधिको अनुभव रहेको मार्सेलोलाई पुनः टिममा जोडेर रियल ती उपाधिहरूलाई पुनः निरन्तरता दिने रणनीतिमा पनि हुन सक्ने अन्तर्राष्ट्रिय खेल मिडियाहरूले दाबी गर्न थालिसकेका छन् ।

  • कोपा डेल रेको सेमिफाइनल पुग्यो बार्सिलोना

    कोपा डेल रेको सेमिफाइनल पुग्यो बार्सिलोना

    हेटौँडा । फेरान टोरेसले ह्याट्रिक गरेसँगै स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोनाले स्थान बनाएको छ ।

    बिहीबार राति सम्पन्न खेलमा भ्यालेन्सियालाई समग्रमा ५-० ले पराजित गर्दै बार्सिलोनाले सेमिफाइनलको स्थान सुरक्षित गरेको हो । टोरेसले ३० मिनेट भित्र आफ्नो ह्याट्रिक पुरा गरिदिएका थिए ।

    टोरेसले तेस्रो, १७औँ र ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । लोपेजले खेलको २३औँ मिनेटमा गोल गरे । यामलले ५९औँ मिनेटमा गोल गरे ।

    गएराति नै भएको अर्को क्वाटरफाइनलमा रियल सोसिडाड विजयी भएको छ । रियलले ओसासुनालाई २-० ले पराजित गर्दै सोसिडाडले अन्तिम चारको यात्रा तय गर्‍यो।

    बिहीबारको दुई खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार वटै टिमको टुंगो लागेको छ । रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।

  • लिभरपुल लिग कपको फाइनल प्रवेश

    लिभरपुल लिग कपको फाइनल प्रवेश

    हेटौँडा । लिग कपको नामबाट चिनिने इएफएल कपमा टोटानह्याम्प विरुद्ध विशाल जित निकाल्दै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको छ ।

    पहिलो सेमिफाइनल लिगमा टोटनह्याम्पसँग १-० को अप्रत्याशित हार बेहोरेको इंलिश प्रिमियर लिगको लिग लिडर लिभरपुलले दोस्रो लेगमा विशाल जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

    घरेलु मैदान एनफिल्डमा भएको खेलमा सबै पक्षमा लिभरपुल बलियो देखिएको थियो ।

    लिभरपुलको जितमा कोडि गक्पो, महोमद सलाह, डोमिन र भान डिजिकले समान एक-एक गोल गर्दै टिमलाई फाइनल यात्रा तय गराए ।

    लिभरपुलले मार्चमा हुने फाइनलमा न्युक्यास्टल युनाईटेडको सामना गर्ने छ ।

  • महिला क्रिकेट टीममा कता-कता भ्वाङ ?

    महिला क्रिकेट टीममा कता-कता भ्वाङ ?

    काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई सिरिजमा नेपालले लगातार पाँचौँ हार व्यहोरिसकेको छ । त्रिवि क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्स र थाइल्यान्डसँगको सिरिजमा नेपालले हालसम्म कुनै पनि खेलमा जित निकाल्न सकेको छैन ।

    घरेलु मैदानमा लगातार हार बेहोर्दा नेपाली टोली आलोचित पनि बन्न पुगेको छ । नेदरल्याण्ड्स र थाइल्यान्ड तुलनात्मक रूपमा नेपालभन्दा बलिया राष्ट्र हुन् । घरेलु मैदानमा नेपालले दुवै राष्ट्रलाई कडा टक्कर दिने आशा थियो । तर फिनिसिङ र फिल्डिङमा चुक्दा नेपाल जित नजिक पुगेर पनि हारको शिकार बनिरहनु परेको छ ।

    नेपाली टोलीभित्र अन्तरविरोधका संकेतहरु पनि देखिएका छन् । केही दिनअघि टोलीकी कप्तान इन्दु बर्माले नेपाली टिमको सुधारका लागि विदेशी प्रशिक्षक ल्याउनुपर्ने बताएकी थिइन् ।

    त्यसको केही दिनपछि प्रशिक्षक मनोज कटुवालले काउन्टर जवाफ दिए । उनले अहिले नै विदेशी प्रशिक्षक खोज्नुभन्दा खेलाडीले मिहेनत गर्नुपर्ने बताए । ‘आफू घरमा सुतेर खाएर बस्ने, यहाँ आएपछि विदेशी कोच खोज्ने ?’ मिडियासँग उनी जंगिएपछि तरंग उब्जिएको छ ।

    यसबाट अड्कल लगाउन सकिन्छ कि खेलाडी र प्रशिक्षकबीच समुधर सम्बन्ध छैन भनेर । यसअघि पनि यस्ता घटना टोलीभित्र घटेका थिए । गत साउनमा भएको एसीसी महिला एसिया कप क्रिकेटमा एक सिनियर खेलाडीसँग प्रशिक्षक कटुवालको चर्काचर्कीसमेत परेको थियो । बेलाबखत केही खेलाडीसँग उनको बोलचालसमेत बन्द हुने गरेको छ ।

    पाँचौँ खेलमा अर्धशतक प्रहार गरेकी पूजा महतोले म्याचपछि असन्तुष्टि पोख्दै भनिन्, ‘कतिपय क्याच लिन फिल्डरहरुले प्रयास नै गरेनन् ।’

    उनको यो अभिव्यक्तिले खेलाडीहरुबीच पनि केही न केही समस्या देखिन्छ ।

    अलराउन्डरको थुप्रो

    बुधवार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित हुन पुग्यो । १ सय ४५ रन बनाएको नेपालले नेदरल्यान्ड्सको एक विकेट पनि झार्न सकेन । उक्त खेलको प्लेइङ–११ को टोलीमा दुई जना मात्रै ‘खाँट्टी बलर’ थिए । यही सिरिजमा डेब्यु गरेका रचना चौधरी र मनीषा उपाध्याय मुख्य बलरको रूपमा टोलीमा थिए ।

    टोलीमा ५ जना अलराउन्डर छन् । कप्तान इन्दु बर्मा, रुविना क्षेत्री, सीता रानामगर, कविता जोशी र पूजा महतो अलराउन्डर सबै हुन् । ब्याटिङ र बलिङ दुवै यिनीहरूकै वरपर घुमिरहेको छ । एक दशकदेखि रुविना, सीता र इन्दु एक दशकदेखि नेपाली क्रिकेटमा छन् । पूजा र कविता नयाँ हुन् ।

    नेदरल्यान्ड्ससँग १० विकेटले हार्दा स्पेसलिस्ट बलरले ६ ओभर मात्र बलिङ गर्न पाए । बाँकी सबै ओभर कप्तान इन्दुले अलराउन्डरलाई सुम्पिइन् । यो मात्रै होइन अधिकांश खेलमा बलरले आफ्नो स्पेल पूरा गर्न पाएका छैनन् ।

    टोलीमा अलराउन्डर धेरै हुँदा कप्तान नै अल्मलिएको प्रतित हुन्छ । खेलाडीले आफ्नो जिम्मेवारी के हो भन्ने सम्झिनसमेत सकेका छैनन् ।

    २००७ सालदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका रुविना, सीता अहिले पनि टोलीको मुख्य भूमिकामा छन् । बलिङ र ब्याटिङ दुवैमा उनीहरू नै हाबी हुने गरेका छन् ।

    पहिलो खेलमा ओपनिङ खेलेकी सीतालाई त्यसपछिका खेलमा तल्लो क्रममा झारिएको छ । उनले दोस्रो खेलमा नवौं र तेस्रो खेलमा आठौं स्थानमा ब्याटिङ गरिन् । पाँचौँ खेलमा उनको ४ विकेट झर्दासम्म पालो आएको थिएन । उनले लामो समयदेखि नेपाल ओपनिङ अथवा टप अर्डरमा खेल्दै आएकी थिइन् ।

    ब्याटिङका लागि खेलिरहेका विन्दु रावल र रोमा थापाले पनि तल्लो क्रममा मात्र ब्याटिङको अवसर पाएका छन् । कप्तानले ७ बलरहरु प्रयोग गर्दा पनि आवश्यक परेको बेला विकेट आइरहेको छैन ।

    नेपाली महिला टोलीको सबैभन्दा ठूलो चिन्ता हो, फिटनेस । महिला टोलीको खेलमा सदैव फिटनेसको अभाव खड्किराखेको हुन्छ । यु–१९ महिला टी–२० विश्वकपको पहिलो खेलमा नेपालका ५ ब्याटर रन आउट भएका थिए । फिटनेस नहुँदा क्याच छुट्नेदेखि एक–दुई रनमा रोक्न सकिने बलसमेत बाउन्ड्री भएका छन् ।

    यो सिरिजमा पनि नेपाल फिल्डिङमा चुकिरहेको छ । हारपछि कप्तान इन्दुले बलिङ र फिटनेस राम्रो नरहेको स्वीकार गरेकी थिइन् । प्रशिक्षक कटुवालको पनि राय यही नै छ । तर, नेपाल क्रिकेट संघ (क्यान) ले फिटनेस प्रशिक्षकको व्यवस्था गर्न सकेको छैन ।

    नेदरल्यान्ड्स र थाइल्यान्ड दुवै राष्ट्र वरियतामा नेपालभन्दा माथि छन् । आइसीसी महिला टी–२०आई वरियतामा नेपाल २०औँ, थाइल्यान्ड १३औँ र नेदरल्यान्ड्स १६औँ स्थानमा छन् । नेपालले यी राष्ट्रविरुद्ध कहिले पनि जित निकाल्न सकेको थिएन ।

    थाइल्यान्डसँगको पछिल्ला ३ भेटमा नेपाल पराजित भएको थियो । सन् २०१९ मा भएको दुई भेटमा ७० र ५७ रनले हारेको नेपालले यसपाली भने अन्तराल अलि साँघुरो बनाएको छ । नेदरल्याण्ड्ससँग भने नेपालले पहिलो पटक यही सिरिजमा खेलेको थियो ।

  • दोस्रो विश्वविद्यालय खेलकुदमा त्रिभुवन विश्वविद्यालय च्याम्पियन

    दोस्रो विश्वविद्यालय खेलकुदमा त्रिभुवन विश्वविद्यालय च्याम्पियन

    पोखरा । पोखरामा भएको दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय च्याम्पियन बनेको छ ।

    पोखरा रंगशालामा बुधबार र बिहीबार भएको प्रतियोगितामा ८ विश्वविद्यालयलाई पछि पार्दै १३ स्वर्ण पदक जितेर त्रिभुवन विश्वविद्यालय च्याम्पियन बनेको हो । त्रिविले १३ स्वर्णसहित ९ रजत र ४ कास्य पदक जित्दै दोस्रो पटक च्याम्पियन बनेको हो ।

    ९ पदक जित्दै काठमाडौं विश्वविद्यालय दोस्रो र ८ पदक जित्दै सुदूरपश्चिम विश्वविद्यालय तेस्रो बन्यो । समान ८ पदक जितको गण्डकी विश्वविद्यालय चौथो बन्दा ५ पदक जितेर मध्यपश्चिम पाँचौं, ५ पदक जितेर पोखरा छैटौं बन्न सफल रह्यो ।

    समान दुई पदक जित्दै कृषि तथा वन विज्ञान सातौं र पूर्वाञ्चल आठौं बने । एक पदक जितेको लुम्बिनी बौद्ध विश्वविद्यालय अंक तालिकाको पुछारमा रह्यो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको उक्त प्रतियोगितामा गण्डकी विश्वविद्यालयले समन्वय गरेको थियो ।

    तेस्रो विश्वविद्यालय खेलकुद भने आगामी वर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा गर्ने निर्णयसमेत भएको छ ।

  • एनआरटीलाई हराउँदै चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा

    एनआरटीलाई हराउँदै चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा

    पोखरा । चर्च ब्वाइज युनाइटेढ क्लब पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको खेलको सडनडेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    निर्धारित समय र अतिरिक्त समयमा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा पहिलो ५ प्रहारमा दुवैतर्फबाट ४–४ गोल भएको थियो ।

    सडनडेथमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापाले एनआरटीका खेलाडीको प्रहार बचाउँदै टोलीलाई जित दिलाए । उनी प्लेयर अफ द म्याच घोषित भए । दुवै टोलीका ९–९ जना खेलाडीले पेनाल्टी प्रहार गरे । जसमा चर्च ब्वाइजबाट ६ र एनआरटीबाट ५ गोल भयो ।

    यसअघि भएको निर्धारित समयको २५औं मिनेटमा रिचर्ड विल्सले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ६४औं मिनेटमा पेनाल्टीमार्फत नविन लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा फर्काए ।

    त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । अब चर्च ब्वाइज सेमिफाइलन प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

     

  • अष्ट्रेलिया पलायन भइन् सरस्वती चौधरी, एपीएफबाट बिदा हुँदा भावविह्वल

    अष्ट्रेलिया पलायन भइन् सरस्वती चौधरी, एपीएफबाट बिदा हुँदा भावविह्वल

    काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी नम्बर १ स्पाइकर सरस्वती चौधरी विदेश पलायन भएकी छन् । सशस्त्र प्रहरी बल (एपीएफ) बाट बिदा भएर उनी आज अष्ट्रेलिया उडेकी हुन् ।

    एपीएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा आज सानो कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा सरस्वती भक्कानिएकी थिइन् । विमानस्थलमा पनि उनलाई बिदाइ गर्न निरुता ठगुन्नालगायत भलिबल खेलाडीहरु पुगेका थिए ।

    १७ वर्षको उमेरमा सरस्वती एपीएफमा आवद्ध भएकी थिइन् । उनले टीमलाई थुप्रै सफलताहरु दिलाएकी छन् । एपीएफले उपाधि जितेका प्रतियोगितामा उनकै मूख्य योगदान हुने गर्छ ।

    क्लव भलिबलमा तहल्का मच्चाएकी सरस्वतीले सन् २०१४ मा राष्ट्रिय टीममा स्थान बनाएकी हुन् । नेपालमा आयोजित दक्षिण एसियाली आमन्त्रित भलिबल च्याम्पियनसीपमा माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलमा उनले पहिलोपटक राष्ट्रिय जर्सी लगाएकी थिइन् । त्यसयता उनले निरन्तर राष्ट्रिय टिमका लागि अहम् भूमिका निभाउँदै आएकी छन् ।

    नेपालले बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि जित्दा सरस्वतीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपालले महिला भलिबलमा जितेको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्णपदक थियो । नेपालमै भएको १३ औं सागमा पनि उनले आफ्नो उत्कृष्टता कायम राख्दै टीमलाई फाइनलसम्म पुर्याइन् । फाइनलमा नेपाल भारतसँग ३–२ ले चुकेको थियो ।

    नेपालले पहिलोपटक भलिबलमा गत वर्ष भारतलाई हरायो । काभा भलिबल नेसन्स लिगको लिग चरणमा नेपालले भारतलाई ३–१ को सेटमा हराउँदा सरस्वतीकै प्रदर्शन निर्णायक थियो ।

    सरस्वती नेपालको राष्ट्रिय महिला टीमकी खम्बा नै हुन् । ६ फिट १ इन्च अग्ली उनी कडा स्पाइकका लागि चिनिन्छन् । कैलालीको धनगढीमा जन्ीमएकी उनी १२ वर्षको उमेरदेखि भलिबलमा लागेकी थिइन् ।

    स्रोतका अनुसार सरस्वती अष्ट्रेलियामै सेटल भइसकेकी छन् । उनी गत मंसिरमा नै अष्ट्रेलिया गएकी थिइन् । त्यसलगत्तै खेलकुद मन्त्री तेजुलाल चौधरीले एक सार्वजनिक कार्यक्रममा सरस्वती चौधरी अष्ट्रेलिया पलायन भएको बताएका थिए ।

    केही दिनअगाडि टाइगर कप भलिबल प्रतियोगिता खेल्न सरस्वती नेपाल आएकी थिइन् । सो प्रतियोगिता सकिएपछि उनी फेरि अष्ट्रेलिया फर्किएकी हुन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेले सरस्वती अष्ट्रेलिया पलायन भएको पुष्टि गरे ।

    ‘मैले बुझेसम्म उतै बस्नेगरी नै गएकी हुन् । राम्रो अवसर मिल्यो होला, नजाउ भन्न सकिएन’, उनले भने ।

    सरस्वती अष्ट्रेलिया प्रस्थान गरेको थाहा भए पनि उनले औपचारिक राजीनामा भने नबुझाइसकेको न्यौपानेले बताए ।

    ‘औपचारिक रुपमा राजीनामा पत्र आइसकेको छैन । उतै पुगेर पठाउन सक्छिन् वा यता अरु कसैमार्फत बुझाउन लागेको हुन सक्छ’, उनले भने ।

    सरस्वतीले अब नेपालको राष्ट्रिय टीमबाट खेल्छिन् वा खेल्दिनन् भन्ने प्रश्न छ । निकटस्थहरुले उनी अनुकूलता मिलेमा नेपालको प्रतियोगिता खेल्न आउन सक्ने बताएका छन् । डीआइजी न्यौपानेले भने यो विषयमा जानकारी नरहेको बताए ।

    सरस्वतीलाई बिदाइ गरेको तस्बिर र भिडिओ हाल्दै राष्ट्रिय भलिबल खेलाडी रेश्मा राजभण्डारीले फेसबुकमा लेखेकी छन्, ‘तैले नयाँ बाटो रोजिस । जहाँ गए पनि अझ राम्रो गर्नु । सफलता तेरो पछि लागिरहोस् । सुरक्षित रहनु र जहिल्यै अगाडि बढिरहनु ।’

     

  • जाेरा स्पाेर्ट्ससँगकाे सम्झाैताविपरीत कुनै काम नगर्न क्यानलाई अदालतकाे अल्पकालीन आदेश

    जाेरा स्पाेर्ट्ससँगकाे सम्झाैताविपरीत कुनै काम नगर्न क्यानलाई अदालतकाे अल्पकालीन आदेश

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को नाममा कपीराइट दाबीसहित जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका प्रमुख आमीर अख्तरले दायर गरेको मुद्दा उपर अदालतले नेपाल क्रिकेट संघ (क्यान) को नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले करारको सर्तविपरीतका काम कारवाही नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको नेपाल प्रिमियर लिगका सञ्चालनकर्ता जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिका का सञ्चालक आमिर अख्तरले क्यानले आफूसँग गरेको सम्झौता बाँकी रहँदै करार उल्लंघन गरी २०२४ को एनपीएल सञ्चालन गरेको भन्दै अदालतमा रिट दायर गरेका थिए ।

    नेपाल प्रिमियर लिग नामको कम्पनी आफ्नो नाममा रहेको र क्यानले एनपीएल घोषणा गरेलगत्तै अख्तरले यो कम्पनी सुम्पिन भनेको विज्ञप्ति निकालेर जनाएका थिए । आफू क्रिकेटविरोधी नभएको र आफ्नो अधिकारका लागि लडिरहेको उनको प्रस्टीकरण छ ।

  • एपीएफ छाडेर अस्ट्रेलिया लागिन् सरस्वती चौधरी

    एपीएफ छाडेर अस्ट्रेलिया लागिन् सरस्वती चौधरी

    पोखरा । सशस्त्र प्रहरी बल एपीएफमा आवद्ध भएकी भलिबल खेलाडी सरस्वती चौधरी अष्ट्रेलिया लागेकी छन् ।

    राष्ट्रिय टोलीकी भरपर्दो स्पाइकर सरस्वतीलाई अष्ट्रेलिया लागेकी हुन् । उनलाई एपीएफको टोलीले बिदाई गरेकी हुन् ।

  • सीआर सेभेन: ४० वर्ष पुगेका सबैभन्दा ‘फिट’ फुटबलर

    सीआर सेभेन: ४० वर्ष पुगेका सबैभन्दा ‘फिट’ फुटबलर

    हेटौंडा । विश्वको सर्वकालीन महान फुटबलर को हुन ? यो प्रश्न सुन्नासाथ सबैले झट्ट भनिहाल्ने नाम ब्राजिलका पूर्वस्टार पेले र अर्जेन्टिना स्टार म्याराडोना हुन् । यही प्रश्नलाई अलिकति घुमाएर गर्दा अर्को प्रश्न हुन्छ- यो शताब्दीको महान फुटबलर को हुन ? यसको पनि उत्तर झट्टै आइहाल्छ । सबैले दिने उत्तर अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ।

    यो शताब्दी यी दुई खेलाडीमा को महान ? को शक्तिशाली ? को भरपर्दो ? यही प्रश्नको उत्तर भने फुटबल जगतले पाउन सकेको छैन । मेसी र रोनाल्डोलाई सबैभन्दा महान भन्ने बहस फुटबल जगतमा भैरहन्छ । मध्यमार्गमा रहेर फुटबल विश्लेषण गर्ने विश्लेषकहरुले दुबैलाई बराबरी भन्ने गरेका छन् ।

    तर यी दुईको खेमामा फुटबल विश्लेषकहरु सधैं जुधिरहेका छन् । फुटबल मैदानमा मेसी र रोनाल्डो विपक्षीविरुद्ध जसरी आक्रामक ढंगबाट प्रस्तुत हुन्छन्, त्यसरी उनीहरु दुबैको विरुद्धमा मैदान बाहिर को महान भन्ने होडबाजी चलिरहेको छ । सायद यो बहसले यो शताब्दीमा कुनै ठोस उत्तर भने भेट्ने छैन ।

    अब को महान भन्ने प्रश्नलाई यतै छाडेर रोनाल्डोको कुरा गरौं । रोनाल्डो उमेरले यसै वर्ष ४० टेकेका छन् । ४० वर्ष पुग्नु दुई दिन पहिले उनै रोनाल्डोले एएफसी च्याम्पियन्स लिगमा आफ्नो क्लब अल-नासरको लागि दुई गोल ठोकेर आफू अझै २०-२१ वर्षकै जोसमा रहेको प्रमाणित पनि गरे ।

    उनका उमेरका खेलाडीहरु अहिले सन्न्यासपश्चात केही कोच, केही फुटबल विश्लेषक, केही अफिसियलको रुपमा मैदान बाहिर सक्रिय छन् । उनीसँगै फुटबल खेलेका तत्कालीन स्टारहरु रोनी, जाभी, इनिएस्टालगायत अहिले मैदान बाहिरको फुटबलमा सक्रिय छन् ।

    तर रोनाल्डोमा त्यो नियम लागू भएको छैन । उनी अझै उस्तै फुर्तिलो ढंगबाट मैदानमा गोल ठोकिरहेका छन् । उनको फिटनेस हेर्दा कुनै युवा खेलाडीको भन्दा कम देखिन्न । उनको रनिङलाई भेट्टाउन अहिलेका युवा फुटबलरलाई धौ-धौ पर्छ । र त रोनाल्डो अहिले पनि म्यान्चेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस हुँदा जस्तै चलाख र पूर्ण छन्र, र त ४० पुगेका यी पोर्चुगिज फुटबलर फरवार्ड अझै यो दशकले देखेको सबैभन्दा ठूलो खेलाडी भएको दाबी गर्दैछन् ।

    रोनाल्डोले बुधबार आफ्नो ऐतिहासिक जन्मदिनको दुई दिनअघि ला सेक्स्टालाई भने, ‘म फुटबलमा सबै कुरा गर्छु । म सेट-पीसहरू राम्ररी लिन्छु, म मेरो बायाँ खुट्टाले राम्रोसँग गोल हान्छु, म छिटो छु, म बलियो छु, म उफ्रन्छु । तपाईंहरुको रोजाइ एउटा कुरा हो, यो भन्नु, यो होस् वा त्यो, चाहे तपाईं मेस्सी, पेले वा म्याराडोनालाई मन पराउनुहुन्छ, म यो सुन्छु र म यसलाई सम्मान गर्छु, तर क्रिस्टियानो पूर्ण छैन भन्नु झूट हो । म सबैभन्दा पूर्ण हुँ । म आफूभन्दा राम्रो अरू कसैलाई देख्दिनँ र म तपाईंलाई यो मेरो हृदयले भन्छु ।’

    उनको यो अभिव्यक्तिमा दम पनि छ । किनकि उनले यो कुरा मैदानबाट प्रमाणित गरिरहेका छन् र त आलोचकहरुको मुख बन्द छ । आफ्नो एक हजारौं व्यवसायिक गोल पूरा गर्ने रोनाल्डो फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् । पोर्चुगिज फरवार्डले पाँच प्रतिष्ठित बालोन डीओर अवार्ड, तीन यूईएफए पुरुष खेलाडीको वर्षको उपाधि, चार युरोपेली गोल्डेन बुट जितेका छन् । त्यस्तै पाँच पटक फिफा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

    आफ्नो उत्कृष्ट करियरमा रोनाल्डोले सात वटा लिग उपाधि, पाँच उपाधि, यूईएफए युरोपियन च्याम्पियनसिपसहित ३३ वटा उपाधि जितेका छन् ।

    युरोपको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगमा सबैभन्दा धेरै सहभागिता र गोलको रेकर्ड पनि उनैको नाममा छ । देशको लागि युरो कप विजेतासमेत रहेका रोनाल्डोले युरोपको टप ३ लिगमा पर्ने प्रिमियर लिग, लालिगा र सिरि‘ए’मा आफ्नो फुटबलको कलाकारिता स्थापित गरिसकेका छन् । यो मामिलामा हेर्ने हो भने रोनाल्डोलाई मेसीभन्दा एक कदम अगाडि राख्न सकिन्छ ।

    रोनाल्डोबारे अहिलेका स्टार खेलाडी हाल्यान्ड भनछन्, ‘उनी हामी सबैका लागि ठूलो प्रेरणा हुन् ।’ नर्वेली स्ट्राइकरले जनवरी २०२१ मा बुन्डेसलिगाको आधिकारिक वेबसाइटमा भने, ‘उनीलाई हेर, उनी मानिस हो कि मेसिन हो ?’

    सन् १९८५ फरवरी ५ मा जन्मिएका रोनाल्डोले सिनियर फुटबलमा २००२ मा पाइला राखे । स्पोर्टिङ सिपीबाट व्यवसायिक फुटबल सुरु गरेका उनले २००३ बाट २००९ सम्म इंलिश क्लब म्यान्चेस्टर युनाइटेडबाट फुटबल खेले । यो क्रममा उनले १९६ खेल खेल्दै ८६ गोल गरे ।

    त्यसपछि उनी स्पेन लागे र स्पेनिस महारथी रियल म्याड्रिडमा आवद्ध भए । उनले रियलको लागि सन् २००९ बाट २०१८ सम्म फुटबल खेले । जहाँ २९२ खेलमा ३११ गोल गरे । त्यसपछि इटालीको युभेन्टसमा सन् २०१८ बाट २०२१ सम्म खेल्ने क्रममा ८८ गोल गरेर पुनः म्यान्चेस्टर युनाइटेड फर्किए र २०२२ सम्म खेले । त्यहाँ पनि ४० गोल गरेर उनी विश्व फुटबल जगतलाई आश्चार्यमा पार्दै साउदी क्लब अल नासार पुगे । हाल साउदी प्रो लिगको नासरबाट उनले आफ्नो प्रभाव छाडिरहेका छन् ।

    बुधबार ४० वर्ष टेकेका रोनाल्डोलाई सम्झँदै विश्वभरका उनका फ्यानहरुले ‘सीआर सेभेन’ नामको केक काटेर उनको जन्मदिन मनाइरहेका छन् । फुलबलमा जर्सी नम्बर ९, १० र ११ लाई फरवार्डले लगाउने रुपमा हेरिने गरिन्छ, तर उनै रोनाल्डोले त्यो हेर्ने नजरलाई परिवर्तन गर्दै जर्सी नम्बर ७ लाई महान फुटबलरको जर्सीको रुपमा समेत स्थापित गरिदिए ।

  • कोपा इटालीयन : एसी मिलान सेमिफाइनल प्रवेश

    कोपा इटालीयन : एसी मिलान सेमिफाइनल प्रवेश

    हेटौँडा । इटलीको कोपा इटालियन फुटबलको सेमिफाइनलमा रोमालाई पराजित गर्दै एसी मिलानले सेमिफाइनलको यात्रा तय गरेको छ ।

    बुधवार राती भएको खेलमा रोमालाई ३-१ गोलले पराजित गर्दै मिलानले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    खेलमा एसी मिलानको लागि टोमी अब्राहमले दुई तथा जेआओ फेलिप्सले एक गोल गरे ।

    खेलमा उत्कृष्ट प्रदर्शन गरेको मिलानको लागि अब्राहमले पहिलो हाफको १६ र ४२ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

    दोश्रो हाफमा रोमाको लागि खेलको ५४ औँ मिनेटमा एर्टमले गोल गर्दै टिमलाई खेलमा फर्काउन प्रयास गरेका थिए । तर मिलानको लागि फेलिप्सले ७१ औँ मिनेटमा गोल गरेपछि एसी मिलानले खेल सहज रूपमा जित्न सफल बन्यो ।

    मिलानले अब इन्टर मिलान र लाजियो बिचको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

  • कोपा डेल रे : रियल म्यड्रिड सेमिफाइनल प्रवेश

    कोपा डेल रे : रियल म्यड्रिड सेमिफाइनल प्रवेश

    हेटौँडा । लेगानेसलाई पराजित गर्दै स्पेन महारथी रियल म्याड्रिड कोपा डेल रे को सेमिफाइनल प्रवेश गरेको छ ।

    बुधवार राती भएको खेलमा रियल ३-२ गोलले विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो । रियललाई जित दिलाउने क्रममा लुका मड्रिडले १८ औँ मिनेटमा पहिलो अग्रता दिएका थिए ।

    एन्ड्रीकले २५ औँ मिनेटमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । तर पहिलो हाफको ३९ औँ मिनेटमा पेनाल्टी मार्फत लेगानेसका जोज क्रुजले गोल गर्दै टिमलाई २-१ को अवस्थामा लगे ।

    दोस्रो हाफमा खेलमा फर्किएको लेगानेसले रियल विरुद्ध थप एक गोल गरेपछि खेल जित्न रियललाई संघर्ष गर्नुपरेको थियो ।

    लेगानेसको लागि क्रुजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-२ को बराबरी अवस्थामा ल्याए ।

    नियमित ९० मिनेटसम्म बराबरी रहेको खेलमा इन्ज्युर समयको तेस्रो मिनेटमा रियलले गोल गर्न सफल बन्यो ।

    उसको लागि गोञ्जाले गार्सियाले निर्णायक गोल गर्दै टिमलाई सेमिफाइनलसम्म लगे ।

  • धनगढी र डडेल्धुरा अर्जुन ट्रफीको सेमिफाइनलमा, घोडाघोडी-११ प्रतियोगिताबाट बाहिरियो

    धनगढी र डडेल्धुरा अर्जुन ट्रफीको सेमिफाइनलमा, घोडाघोडी-११ प्रतियोगिताबाट बाहिरियो

    कैलाली । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा फ्रेन्ड्स क्लब डडेल्धुरा र डीसीए धनगढी पुगेका छन् ।

    आजको हारसँगै दुई खेलमा अङ्कविहीन रहेको घोडाघोडी–११ पनि प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले समूह चरणका तीन वटै खेल खेलिसकेको छ । तीनमा दुई जित र एकमा पराजित भएको धनगढी चार अङ्कसहित अन्तिम चारमा पुगेको हो ।

    डडेल्धुराले भने अहिलेसम्म दुई खेल खेलेकोमा दुबै खेलमा जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा डडेल्धुराले बिहीबार घोडाघोडी–११ को सामना गर्नेछ । उक्त खेलबाट समूह विजेताको टुङ्गो लाग्ने छ ।

    बुधबार धनगढीको फाप्ला मैदानमा भएको दिनको दोस्रो खेलमा झापाले दिएको एक सय ६२ रन पछ्याएको घोडाघोडी– ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रन मात्रै बनाउन सक्यो ।

    उसका लागि दिनेश रावतले ४० बलमा ६४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, आयुव चन्दले २४, दीपक टमटाले १९ तथा कप्तान शेर मल्लले १० रन बनाए । झापाका अविशेक कार्कीले तीन तथा अरुण ऐरी र रमेश भट्टले एक–एक विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ गरेको झापाले २० ओभरमा छ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । झापाका लागि १५ बलमा ४१ रनको आक्रामक पारी खेले । खेलका म्यान अफ द म्याच भएका उनले पाँच छक्का र एक चौका प्रहार गरे ।

    यस्तै अविशेक कार्की र रोहन विकले समान ३७–३७ रन बनाए । पवन कार्कीले २० रन जोडे । घोडाघोडी–११ का शेर मल्लले दुई तथा नर सार्की, नरेन साउँद, सूर्य श्रेष्ठ र आयुव चन्दले एक–एक विकेट लिए ।

    बुधबार नै भएको दिनको पहिलो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंले न्यु होराइजन बुटवललाई छ विकेटले पराजित गरेको थियो । बुटवलले दिएको एक सय छ रनको लक्ष्य पछ्याएको काठमाडौंले १७.४ ओभरमा चार विकेट गुमाउँदै जित हासिल गरेको थियो । काठमाडौँका शुभ कङ्शाकार ५६ रनमा अविजित रहे । उनी खेलका प्लेयर अफ द म्याच घोषित भए । बुटवलका तुलबहादुर थापाले दुई विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ थरेको बुटवलले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय रन बनाएको थियो । उसका प्रथीक श्रेष्ठले ३७ रन बनाए । काठमाडौँका राज शाह र सूर्य तामाङले समान तीन–तीन विकेट लिए ।

    दुई खेल खेलेको काठमाडौँको यो पहिलो जित हो । काठमाडौं अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान दुई खेल नै खेलेको बुटवल अङ्क तालिकाको दोस्रो स्थानमा छ । समूह ‘बी’मा खेलेका दुबै खेलमा जित निकालेको सिवाइसी अत्तरिया चार अङ्कसहित शीर्षमा छ ।

    यस प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।

    प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भइरहेको छ ।

  • कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

    कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयका काका विषयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यलाई छिटो अघि बढाउन निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा ३०० दिनभित्र उक्त रंगशालाको स्तरोन्नति गर्ने निर्णय लिएका थिए । रंगशालामा प्यारापिट र ल्फडलाइट निर्माणका लागि मन्त्रालयले आव्हान गरेको बोलपत्रबमोजिम मूल्याङ्कको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो ।

    प्रधानमन्त्री ओलीले यस चरणको काम जारी हुँदै अर्काे चरणको निर्माणको कामका लागि सम्झौता प्रक्रिया अघि बढाउन सपनि आग्रह गरे ।

    बैठकमा हरेक जेठ १५ मा संसद्मा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष सुरु भए देखि नै तदारुकताका साथ बजेट र कार्यक्रमको कार्यान्वयन हुनुपर्नेमा ढिलाइ हुने आम प्रवृत्तिप्रति चिन्ता प्रधानमन्त्री ओलीले व्यक्त गरेका हुन् ।

    सो मन्त्रालयको चालु आर्थिक वर्षको चालु प्रगति १९ दशमलव ३५ र पूँजीगत प्रगति १२ दशमलव ०४ मात्रै भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक पाइएको प्रधानमन्त्री ओली भनाइ थियो । उनले पूर्वाधार निर्माणमा ढिलाइ भएमा मुलुकको उत्पादन र उत्पादकत्ववृद्धिमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिए ।

    उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशनमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालयमातहत रहेका सङ्घीय संसद भवन, धरहरा, सङ्घीय मन्त्रीहरुको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्र बैँकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावी योजनाबारे अवगत गराइएको थियो ।

  • एपीएफलाई हराउँदै मच्छिन्द्र आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

    एपीएफलाई हराउँदै मच्छिन्द्र आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

    पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पराजित हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई २–० गोल हराउँदै मच्छिन्द्र क्वाटरफाइनलमा पुगेको हो ।

    पहिलो हाफ दुवैतर्फ गोल हुन नसके पनि दोस्रो हाफमा २ गोल गर्दै मच्छिन्द्रले जित हासिल गर्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका आदित्य शाक्यले खेलको ७४औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई सुरुआति अग्रता दिलाएका थिए ।

    उनी मनिष डाँगीको स्थानमा खेलको ६७औं मिनेटमा मैदान छिरेका थिए । आयुष घलानले दिएको पासमा शाक्यले गोल गरे । खेलको ८१औं मिनेटमा मच्छिन्द्रका स्टेफन कामाहाले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा खेल मछिन्द्रले २–० ले आफ्नो पक्षमा पार्यो । अब मच्छिन्द्रले सेमिफाइनल प्रवेशका लागि थ्री स्टार क्लबसँग खेल्नेछ ।

    प्रतियोगिताको तेस्रो दिन भोलि चर्च ब्वाइज क्लब र एनआरटीबीच प्रतिष्पर्धा हुनेछ । उक्त खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।

  • नेदरल्यान्ड्ससामु नेपालको कुनै जोर चलेन, १० विकेटको हार

    नेदरल्यान्ड्ससामु नेपालको कुनै जोर चलेन, १० विकेटको हार

    काठमाडौं । त्रिकोणात्मक महिला टि २० सिरिजमा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ । त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटको हार चखायो ।

    नेपालले पहिले ब्याटिङ गर्दै १४५ रनको बलियो स्कोर खडा गरेको थियो, तर यो पर्याप्त भएन । बलिङ फिल्डिङ गतिलो नहुँदा नेपाललाई फेरि पनि पराजय हात लागेको छ ।

    नेपाल उपाधि होडबाट आउट भएपनि वान डे राष्ट्रविरुद्ध पहिलो जितका लागि आतुर थियो । तर, नेदरल्यान्ड्सका ओपनर जोडी स्टेरी कालिस र फेबे मोल्केनबोरले नेपाललाई निराश बनाए ।

    कालीसले अविजित ९८ रन जोड्दै नेदरल्यान्ड्सलाई जितसम्म पुर्‍याइन् । उनले ६९ बलको सामना गर्दा ११ चौका र २ चौका प्रहार गरेकी थिइन् । माल्केनबोरले ४९ बलमा ४ चौकासहित ४८ रन जोडिन् । दुई बल बाँकी छँदा नेदरल्यान्ड्सले लक्ष्य भेट्याएको थियो ।

    नेपालका कुनै पनि बलरले नेदरल्यान्ड्सका ब्याटरलाई समस्यामा पार्न सकेनन् । ब्याटिङका लागि अनुकुल पिचमा नेदरल्यान्ड्सका दुवै ओपनरले निर्धक्कसँग लक्ष्य पछ्याए । उत्तराद्र्धमा सिता रानामगरले एउटा विकेटको अवसर निकालेकी थिइन्, तर विकेटकिपिङ चुस्त नहुँदा खेर गयो ।

    नेपालकी कप्तान इन्दु बर्माले आज पनि ७ जना बलर प्रयोग गरिन् । तर, कसैले पनि विकेट निकाल्न सकेनन् ।

  • नेपालको सुधारिएको ब्याटिङमा नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य

    नेपालको सुधारिएको ब्याटिङमा नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक महिला टी-२० सिरिज अन्तरगत आज जारी खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

    नेपालका लागि पूजा महतोले अविजित ६२ रन बनाइन् ।

    सुधारिएको ब्याटिङ गर्दै नेपाली महिला टिमले त्रिवि मैदानमा अहिलेसम्मको आफ्नो उच्च स्कोर बनाएको हो ।

    ७ रनमा दुई विकेट गुमाएपश्चात कप्तान इन्दु बर्मा र पूजा महतोले नेपाललाई कमब्याक गराएका थिए । उनीहरुबीच ७८ रनको साझेदारी भयो । इन्दुले ३७ बलमा ३९ रन बनाएर आउट भइन् ।

    पाँचौं नम्बरमा आएकी रुबिना क्षेत्रीले १६ बलमा २० रन बनाइन् । उनले ३ चौका प्रहार गरेकी थिइन् ।

    पूजाले ५१ बलको सामना गर्दा ५ चौका प्रहार गरिन् । कविता जोशीले ६ बलमा एक छक्कासहित ७ रन जोडिन् ।

  • नेदरल्यान्ड्सविरुद्ध पूजाको उत्कृष्ट अर्धशतक

    नेदरल्यान्ड्सविरुद्ध पूजाको उत्कृष्ट अर्धशतक

    काठमाडौं । त्रिकोणात्मक महिला टी २० सिरिज अन्तरगत अहिले जारी थाइल्यान्डविरुद्धको खेलमा नेपालकी पूजा महतोले आकर्षक अर्धशतक बनाएकी छन् । प्रतियोगितामा नेपाली ब्याटरले बनाएको यो पहिलो अर्धशतक हो ।

    पूजाले ४३ बलमा अर्धसतक पूरा गरेकी हुन् । उनले ४ चौका प्रहार गरिन् ।

    पहिले ब्याटिङ गरेको नेपालले फेरि एकपटक खराब सुरूवात गर्दै ७ रनमा दुई विकेट गुमाएको थियो । दवावको अवस्थाबाट कप्तान इन्दु बर्मा र पूजा महतोले नेपालको पारी सम्हालेका थिए । उनीहरुबीच ७८ रनको साझेदारी भयो । इन्दु ३७ बलमा ३९ रन बनाएर आउट भइन् ।

    नेपालले १६.४ ओभरमा ३ विकेट गुमाउँदै १०६ रन जोडेको छ । अहिले क्रिजमा रुबिना क्षेत्रीले पुजालाई साथ दिइरहेकी छन् ।

  • महिला क्रिकेट कप्तानलाई प्रशिक्षकको टर्रो जवाफ- घरमा सुतेर बस्ने, यहाँ आएर विदेशी कोच खोज्ने ?

    महिला क्रिकेट कप्तानलाई प्रशिक्षकको टर्रो जवाफ- घरमा सुतेर बस्ने, यहाँ आएर विदेशी कोच खोज्ने ?

    काठमाडौं । नेपाली महिला राष्ट्रिय टीमले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजमा लगातार चार खेल हारेपछि प्रशिक्षक मनोज कटुवालले खेलाडीहरूमाथि दोष थोपरेका छन् । उनले खेलाडीहरूको फिटनेस र फिल्डिङको स्तरमा प्रश्न उठाए ।

    हिजो थाइल्यान्डसँग हार व्यहोरेपछि नेपाल उपाधि होडबाट बाहिरिएको छ । त्यसलगत्तै ‘हाम्रो खेलकुद’ सँग गरेको कुराकानीमा कटुवालले नेपालको खराव प्रदर्शनको मुख्य कारण फिटनेस र फिल्डिङ भएको औँल्याए ।

    उनले भने, ‘हारको प्रमुख कारण फिल्डिङ र फिटनेस नै हो । हामीले फिल्डिङमा धेरै त्रुटि गर्‍यौँ । महत्त्वपूर्ण क्याचहरू मिस भए । एक रनलाई चार रन दियौँ । ब्याटरहरुले रन लिन स्ट्रगल गरिरहेका छन् । ३ रन हुनुपर्नेमा दुई रन, दुई हुनुपर्नेमा एक रन मात्र आइरहेको छ ।’

    नेपालकी कप्तान इन्दु बर्माले नेपाली टिममा सुधारका लागि विदेशी प्रशिक्षक ल्याउनुपर्ने बताएकी थिइन् । बर्माको उक्त भनाइलाई लिएर प्रशिक्षक कटुवालले कडा टिप्पणी गरे । यस्तै पाराले भगवान् पशुपतिनाथलाई ल्याएर पनि केही नहुने उनको दाबी थियो ।

    विदेशी कोचको आवश्यकताका विषयमा कटुवाल भन्छन्, ‘अहिले नै विदेशी कोच खोज्ने भन्दा पनि खेलाडीले मिहिनेत गर्नुपर्‍यो । उनीहरूले क्याम्पको मात्र भर परेर हुँदैन । घर जाँदा पनि मिहिनेत गर्नुपर्‍यो । मिहिनेत गर्ने हो भने विदेशी होइन, स्वदेशी कोचले पनि हुन्छ । पहिले फिटनेस र फिल्डिङ सुधार्नुस् । विदेशी ल्याउँदैमा दुई–चार दिनमा फिटनेस सुध्रिँदैन । त्यो त भित्रबाट आउने कुरा हो । भित्रैबाट आउनु पर्‍यो । अन्डाबाट फुटाएर जबरजस्ती निकाल्न खोज्यो भने चल्ला मर्छ नि । चल्ला भित्रैबाट आफैँ फुटेर निस्किनुपर्छ । महिला क्रिकेटरको पनि भित्रैबाट आउनु पर्‍यो । घर गएपछि मिहिनेत नगर्ने, सुतेर खाएर बस्ने, अनि यहाँ आएपछि विदेशी कोच खोज्ने ? क्यानले यो दिएन भन्ने, क्यानबाट यो चाहियो भन्ने । त्यो त भएन नि । उनीहरूले पनि पर्फमेन्स दिनुपर्‍यो नि त । उनीहरूले पनि घर गएर मिहिनेत गर्नुपर्‍यो । फिटनेसमा ध्यान दिनुपर्‍यो । फिल्डिङ गर्नुपर्‍यो । ब्याटिङ र बलिङ गरेर मात्रै हुँदैन । यो कुरा उनीहरूले पनि बुझ्नुपर्छ । विदेशी कोच मात्र होइन, यस्तो पाराले त पशुपतिनाथलाई कोच बनाए पनि केही हुनेवाला छैन ।’

    कटुवाललाई क्यानले गत वर्ष कात्तिकमा नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक नियुक्त गरेको थियो । उनको सम्झौता अवधि सकिन लागेको छ ।

  • महिला टि २० त्रिकोणात्मक श्रृंखला- नेपालको लगातार चौंथो हार, उपाधि होड समाप्त

    महिला टि २० त्रिकोणात्मक श्रृंखला- नेपालको लगातार चौंथो हार, उपाधि होड समाप्त

    काठमाडौं । त्रिकोणात्मक महिला टि २० सिरिजमा नेपालले लगातार चौंथो हार व्यहोरेको छ । आज थाइल्यान्डसँग ५ रनको हार व्यहोरेसँगै नेपालको उपाधि होड समाप्त भयो ।

    टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले ६ विकेट क्षतिमा १०६ रन जोडेको थियो । जवाफी ब्याटिङमा नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र जोड्न सक्यो ।

    नेपालले ८ रनमै चार विकेट गुमाएर दयनीय सुरुवात गरेको थियो । तर, मध्यक्रममा पूजा महतो, रुबिना क्षेत्री, रोमा थापा र कविता जोशीले नेपाललाई खेलमा फर्काएका थिए ।

    रुबिनाले नेपालका लागि सर्वाधिक २६ रन जोडिन् । उनले २९ बलको सामना गर्दा एक छक्का र तीन चौका प्रहार गरेकी थिइन् । पूजा महतो २८ बलमा १८ रन बनाएर आउट भइन् । कविता जोशीले २० बलमा २४ रन जोडेर आउट हुँदा रोमा थापा १९ बलमा त्यति नै रन बनाएर अविजित रहिन् ।

    अन्तिम ओभरमा नेपाललाई जितका लागि १५ रन चाहिएको थियो भने हातमा तीन विकेट मात्र थिए । पहिलो बलमै एलिसा यादव रनआउट भइन् । बाँकी ५ बलमा नेपालले ९ रन मात्र जोड्न सक्यो ।

    नेपालले थाइल्यान्डविरुद्ध बलिङमा उत्कृष्ट सुरुवात गरेको थियो । ५६ रनमा थाइल्यान्डले ६ विकेट गुमाएको थियो । तर सातौं र आठौं नम्बरका ब्याटरले थाइल्यान्डलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए ।

    उनीहरुबीच अर्धसतकीय साझेदारी भएको थियो । नेपालका लागि मनिषा उपाध्यायले तीन विकेट लिइन् । पूजा महतो र रचना चौधरीले एक–एक विकेट लिए ।

  • लोनमा भिल्ला पुगे ओसेन्सियो र डिसासी

    लोनमा भिल्ला पुगे ओसेन्सियो र डिसासी

    हेटौँडा । गत सिजन च्याम्पियन्स लिगमा छनोट भएको इंग्लिस प्रिमियर लिगको क्लब एस्टोन भिल्लाले पेरिस सेन्ट जर्मन (पीएसजी)का मार्को असेन्सियो र चेल्सीका एक्सेल डिसासीलाई लोनमा अनुबन्ध गरेको छ ।

    जारी लिगमा ३४ खेल खेलिसक्दा १० जितसहित तालिकाको आठौँ स्थानमा रहेको भिल्लाले यो सिजनको बाकी खेलमा कमब्याक गर्ने योजना सहित दुई खेलाडीलाई लोनमा भित्राएको हो ।

    लोनमा आबद्ध पिएसजीका असेन्सियोको पारिश्रमिक बेहोर्ने भए पनि स्थायी अनुबन्धको भने कुनै मनसाय नराखेको अन्तर्राष्ट्रिय खेलकुद मिडियाले दाबी गरेको छ ।

    यस्तै, भिल्लाले डिसासीका निम्ति भने पाँच मिलियन पाउन्ड ‘लोन फी’ तिर्ने जनाइएको छ । भिल्लाले यसअघि म्यान्चेस्टर युनाईटेडका रास्फोर्डलाई समेत लोनमा भित्राएको थियो ।

  • आइएल टी २० : नेपालका कुशल र दिपेन्द्र बेञ्च तताएको तताई

    आइएल टी २० : नेपालका कुशल र दिपेन्द्र बेञ्च तताएको तताई

    काठमाडौं । यूएईमा जारी टि २० फ्रेन्चाइज लिग इन्टरनेसनल लिग टि २० (आइएल टी २०) मा लिग चरणका सबै खेलहरु सकिएका छन् । तर, उक्त प्रतियोगितामा सहभागी दुई नेपाली स्टारले एउटा म्याचमा पनि अवसर पाएनन् ।

    नेपालका दुई स्टार दिपेन्द्र सिंह ऐरी र कुशल मल्ल आइएल टी २० मा आवद्ध भएका थिए । कुशल यो प्रतियोगितामा पहिलोपटक र दीपेन्द्र दोस्रोपटक अनुवन्धित भएका हुन् ।

    दीपेन्द्रलाई गत वर्ष गल्फ जाइन्ट्सले खरिद गरेको थियो । कुशललाई यस वर्ष डेजर्ट भाइपर्सले अनुबन्ध गरेको छ । तर, दुवै टिमले लिग चरणका १० खेल खेलिसक्दा उनीहरुले ब्याट र बल छुन पाएनन् । उनीहरुको भूमिका पानी बोक्नमै सीमित छ ।

    विश्वकै चर्चित खेलाडीहरु सहभागी प्रतियोगितामा दीपेन्द्र र कुशल छनोट हुँदा नेपाली समर्थकहरु निकै उत्साहित थिए । तर, उनीहरुले एउटा पनि म्याच खेल्न नपाउँदा समर्थकहरुको उत्साह निराशामा बदलिइरहेको छ । दीपेन्द्रको टिम गल्फ जाइन्ट्स लिग चरणबाटै आउट भइसकेको छ ।

    अघिल्लो वर्ष पनि अवसर नपाएका दिपेन्द्र यो वर्ष पनि एउटै म्याच नखेलिकन फर्किने भएका छन् । आइसीसीको टि २० अलराउन्डर वरियतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रलाई उनको टिमले निकै हतोत्साही तुल्याएको छ ।

    यता कुशलको टिम डेजर्ट भाइपर्स भने अंकतालिकाको शीर्षस्थानमा रहँदै क्वालिफायरमा उक्लिएको छ । बुधबार हुने पहिलो क्वालिफायरमा डेजर्ट भाइपर्स र दुबइ क्यापिटल भिड्नेछन् । यसमा विजयी भएमा भाइपर्स फाइनलमा पुग्ने छ भने पराजित भएमा दोस्रो क्वालिफायर खेल्नुपर्छ ।
    टिमले उत्कृष्ट प्रदर्शन गरिरहँदा कुशल भने बेञ्चमै बसेर हेर्न बाध्य भए । उनले आफ्नो क्षमताको परीक्षण गर्नै पाएनन् । डच अलराउन्डर बास डे लिड घाइते भएपछि उनको विकल्पमा भाइपर्सले कुशललाई खरिद गरेको थियो । कुशललाई भित्र्याउँदा टिमले आफ्नो सामाजिक सञ्जालमा निकै महत्वका साथ प्रचारप्रसार पनि गर्यो । तर, प्लेइङ ११ को छनोट गर्दा भने उनलाई पुरै उपेक्षा गरिएको छ ।

    भाइपर्सले लिग चरणमा १० खेल खेल्दा ७ जित निकालेको थियो । सर्वाधिक १४ अंक बटुल्दै भाइपर्स शीर्षस्थानमा रहन सफल भयो । न्यूजिल्यान्डका लक्की फर्गुसनले कप्तानी गरेको भाइपर्सको स्क्वाडमा २१ जना खेलाडीहरु छन् । उनीहरुमध्ये सर्वाधिक ८ जना ईंग्ल्यान्डका छन् ।

    पाकिस्तानका फखार जमान, मोहम्मद आमिर, ईंग्ल्यान्डका एलेक्स हेल्स, साम कुरान, साम विलिङ्स, डेनियल लरेन्स, श्रीलंकाका वानिन्दु हसरंगा आदि टिमका प्रमुख नामहरु हुन् । अलराउन्डरहरु यथेष्ट संख्यामा भएकाले पनि कुशललाई मौका पाउन कठिन भइरहेको छ ।

    सबैभन्दा निराशाजनक के छ भने स्क्वाडमा रहेका २१ खेलाडीमध्ये अहिलेसम्म एउटा खेलमा पनि अवसर नपाएका कुशल मात्र हुन् ।
    दीपेन्द्रको गल्फ जाइन्ट्सले भने १० खेलमा ६ हार व्यहोर्दै पुछारबाट दोस्रो स्थानमा रह्यो । ईंग्ल्यान्डका ब्याटर जेम्स भिन्सले कप्तानी गरेको यो टीममा २६ जना खेलाडीहरुको भिड छ ।

    यद्यपि, हाइप्रोफाइल खेलाडीहरु भने खासै छैनन् । दिपेन्द्रकै स्तरका धेरै खेलाडीहरुले मौका पाइरहे पनि उनलाई भने इग्नोर गरिहँदै आएको छ । लगातार दोस्रो सिजनमा खेलविहिन हुनु दिपेन्द्रका लागि ठूलो निराशा हो । नेपाली खेलाडीहरुलाई उपेक्षा गरिएको भन्दै सम्वन्धित टिमका पेजहरुमा नेपाली फ्यानहरुले आक्रोश व्यक्त गरिरहेका हुन्छन् ।

  • रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल-नासरको जित

    रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल-नासरको जित

    काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा साउदी अरबको अल–नासरले युएईको अल वासललाई ४-० ले पराजित गरेको छ ।

    खेलमा नासरका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । गत हप्ता मात्र ४० वर्ष टेकेका रोनाल्डोले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नासरलाई महत्त्वपूर्ण तीन अंक दिलाउन सफल भए ।

    खेलमा नासारका अलि हसनले २५ औँ मिनेटमा पहिलो अग्रता दिलाएका थिए । त्यसयता रोनाल्डोले ४४ औँ मिनेटमा पेनाल्टीबाट र ७८ औँ मिनेटमा अर्को गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए । ८८ औँ मिनेटमा महोमत अलि फातीले गोल गरेपछि खेलमा अल-नासर ४-० ले विजयी बन्यो ।

    जितपछि साउदी क्लब नासर ७ खेलबाट १६ अंब सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

    पराजित युएइको वासल भने ११ अंक सहित पाँचौँ स्थानमा छ । एएफसी च्याम्पियन्स लिगमा इङ्लिस क्लब वेष्टह्याम्पबाट नासर आइपुगेका कोलम्बियाली फरवार्ड जोन डुरानले डेब्यु गरेका थिए ।

  • उपहार गोलमा चेल्सीको जित

    उपहार गोलमा चेल्सीको जित

    हेटौँडा । इंग्लिस प्रिमियर लिगमा वेस्टह्यामले एक गोल उपहारस्वरूप दिएपछि चेल्सीले २–१ को पुनरागमन जित दर्ता गरेको छ। यो जितसँगै चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ।

    सोमबार राति भएको खेलमा जारोड बोवेनले ४२ औँ मिनेटमा वेस्टह्यामलाई पहिलो अग्रता दिए पनि। चेल्सीका लागि पेड्रो नेटोले ६४ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । तर ७४ औँ मिनेटमा वेस्टह्यामका विसाकाको आत्मघाती गोलपछि चेल्सीले २–१ को जित दर्ता गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल बन्यो ।

    जितपछि चेल्सीको २४ खेलबाट ४३ अंक भएको छ। उसले म्यानचेस्टर सिटीलाई उछिनेको छ। सिटी समान खेलबाट ४१ अंकसहित पाँचौँ स्थानमा छ।

    शीर्ष तीनमा लिभरपुलको ५६, आर्सनलको ५० र नटिङघम फरेस्टको ४७ अंक छ। लिभरपुलले एक खेल कम खेलेको छ। पराजित वेस्टह्याम्प भने २७ अंक सहित १५ औँ स्थानमा छ ।

  • यूृ-१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् पूजा

    यूृ-१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् पूजा

    काठमाडौं । यु-१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् ।

    आईसीसीले मलेसियामा आइतबार सकिएको यू-१९ विश्वकपमा सहभागीमध्ये उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा नेपालकी कप्तान पूजा अटाएकी हुन् ।

    पूजाले उक्त विश्वकपमा ७० रनसहित ९ विकेट लिएकी थिइन् ।

    सूचीमा भारतका ४ खेलाडी समावेश छन् । दक्षिण अफ्रिकाका ३, इङ्ग्ल्याण्डका २, श्रीलंका र अस्ट्रेलियाका १-१ खेलाडी सूचीमा अटाएका छन् ।

    भारतबाट गोंगडी तृषा, जी कमलिनी, आयुषी शुक्ला र वैष्णवी शर्मा छन् । दक्षिण अफ्रिकाका जेम्मा बोथा, कायला रेनेके र न्थाबिसेङ निनि, इङ्ग्ल्याण्डका डेभिना पेरिन, कटिइ जोन्स, श्रीलंकाकि चामोदी प्रबोद र अस्ट्रेलियाकि काइम्हे ब्रेउ पनि टोलिमा समेटिएका छन् ।

  • सिटी विरुद्ध आर्सनलको विशाल जित

    सिटी विरुद्ध आर्सनलको विशाल जित

    हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपीएल) मा जारी सिजन खराब लयबाट गुज्रिरहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी विरुद्ध आर्सनलले विशाल जित निकालेको छ ।

    आइतबार राती भएको खेलमा विशाल जित निकाल्दै आर्सनलले पहिलो स्थानको लिभरपुलसङ्गको दूरी कम गरेको छ ।

    घरेलु मैदानमा भएको खेलमा फराकिलो जित निकाल्नेक्रममा आर्सनलको लागि मार्टिन ओडेगार्डले दुई गोल गर्दा नावानेरी, हेभेटर्ज र स्केलिले समान एक(एक गोल गरे । सिटीको तर्फबाट हाल्याण्डले एक गोल गरे ।

    विशाल जितपछि आर्सनलको २४ खेलबाट ५० अङ्क पुगेको छ । उ भन्दा एक खेल कम खेलेको लिभरपुल ५६ अङ्क सहित पहिलो स्थानमा कायम रहँदा पराजित सिटी भने समान खेलबाट ४१ अङ्क सहित चौथो स्थानमा छ ।

  • बार्सिलोनाको जित, रियललाई झड्का

    बार्सिलोनाको जित, रियललाई झड्का

    हेटौंडा । स्पेनिस ला-लिगामा बार्सिलोनाले साँघुरो जित निकाल्दा लिग लिडर रियल म्याड्रिड पराजित भएको छ ।

    आइतबार राति भएको खेलमा बार्सिलोनाले अल्भेसलाई १-० को साँघुरो अन्तरले पराजित गर्दा रियल भने रेलोगेसन नजिक रहेको स्पेनियलसँग १-० ले पराजित हुन पुग्यो ।

    रियल सङ्गको खेलमा स्पेनियलका रोमेरियोले खेलको ८५ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेपछि पहिलो स्थानमा रहेको रियलले एट्लेटिको सङ्गको ४ अङ्गको दूरी बनाउने अवसर खेर फाल्यो ।

    आइतबारकै अर्को खेलमा तेस्रो स्थानको बार्सिलोनाले ६१ औँ मिनेटमा लेवन्डोस्कीको गोल मार्फत महत्त्वपूर्ण तीन अङ्क हासिल गर्दै दुवै म्याड्रीडसँगको अङ्कदुरीलाई कम गर्ने अवसर पायो ।

    तालिकामा २२ खेलबाट रियल ४९ अङ्क सहित पहिलो स्थानमा रहँदा ४८ अङ्क सहित एट्लेटिको दोस्रो र ४५ अङ्क सहित तेस्रो स्थानमा रहेको छ ।

  • अर्जुन ट्रफी टी-२० : धनगढीको पहिलो जित, ललित राजवंशीले लिए ३ विकेट

    अर्जुन ट्रफी टी-२० : धनगढीको पहिलो जित, ललित राजवंशीले लिए ३ विकेट

    कैलाली । धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजको भएको दोस्रो खेलमा डिसिए धनगढीले पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा डडेल्धुरासँग पराजित भएको डिसिए धनगढीले घोडाघोडी–११ लाई ६९ रनले पराजित गरेको हो ।

    टस जितेर पहिलो ब्याटिङ गर्दै डिसिए धनगढीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा एक सय ४९ रन बनायो । डिसिएका लागि राजु रिजालले २७ बलमा ३७ रन बनाए ।

    यस्तै लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले १९ रन बनाए । घोडाघोडीका लागि धर्मराज जोशीले ३ विकेट लिए । नरेन साउँदले दुई विकेट लिए ।

    एक सय ५० रनको लक्ष्य लिएर मैदान उत्रिएको घोडाघोडी १६.५ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ रन र दीपक टमाट्टाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अङ्क छुन सकेनन् ।

    डिसिएलाई सानदार जित दिलाउन ललित राजवंशीले ३ विकेट लिए । मिलन बोहरा र राहु भण्डारीले दुई दुई विकेट लिए । खेलमा ३ विकेट लिएका डिसिए धनगढीका ललित राजवंशी नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

    प्रतियोगिता अन्तर्गत भोलि दुई वटा खेल हुनेछन् । पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा सिवाईसी अत्तरिया र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौं प्रतिस्पर्धा गर्नेछन् ।

    नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

    प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०्५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

    आज भएको पहिलो खेलमा सीवाईसी अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गरेको थियो ।

  • गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि

    गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि

    पोखरा ।  गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

    पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो ।
    पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो ।

    पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पिएको थियो । दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो ।

    चौथो सेट २५–२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल रह्यो । उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्‍यो । फाइनलमा पराजित भएको गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

    यसअघि भएको महिलातर्फको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–२ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।