Category: खेल प्रेस

  • चिनियाँ युनान टोलीसँग नेपाली युवा टोली पराजित (तस्विरहरु)

    चिनियाँ युनान टोलीसँग नेपाली युवा टोली पराजित (तस्विरहरु)

    काठमाडौं । चीनको नयाँ वर्षको अवसरमा शनिबार भएको मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोली चीनको युनान युवा फुटबल टोलीसँग पराजित भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा चिनियाँ युवा टोलीले नेपाली टोलीलाई २-० गोलले पराजित गरेको हो ।

    गत वर्ष भएको मैत्रीपूर्ण फुटबलमा भने नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो । खेलअघि रंगशालामा चिनियाँ र नेपाली कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतियाेगिता उद्घाटन गर्न गृहमन्त्री रमेश लेखक र नेपालका लागि चिनियाँ राजदूतलगायत दशरथ रंगशाला पुगेका थिए ।

     

    तस्विरहरु : उमेश कार्की

  • अफजलको क्रिकेटमोहः पुर्ख्यौली जग्गामा मैदान, आफ्नै खर्चमा पिच निर्माण

    अफजलको क्रिकेटमोहः पुर्ख्यौली जग्गामा मैदान, आफ्नै खर्चमा पिच निर्माण

    भोक्राह (सुनसरी) । प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचनमा देशभरमा सबैभन्दा बढी मत ल्याउने व्यक्ति थिए डा. खलिल आजाद । सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका खालिलले उपेन्द्र यादवलाई हराएका थिए ।

    खलिलले २९ हजार ५०० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी यादवको ५ हजार मत पनि पुगेन । सुनसरीको भोक्राहमा घर भएका खालिल बीपी कोइरालासँग २००७ सालको क्रान्तिमा होमिए । बीपीको सङ्गतले राजनीतिमा लागेका खलिलले प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएसँगै ज्येष्ठ सदस्यको हैसियतमा पहिलो सभा चलाए ।

    सभामुखको रूपमा दमननाथ ढुङ्गाना निर्वाचित नभइञ्जेल प्रतिनिधिसभा चलाएका खलिलका ५ भाइ छोरा छन् । जसमध्ये दुई जना अहिले पनि राजनीतिमा छन् । उनै खलिलका काइँला छोरा हुन् अफजल हुस्सेन ।

    उनले स्कुले शिक्षा दिल्लीमा पूरा गरे । उनले जामेमिल्लिया विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरे, तर उनलाई पढाइमा भन्दा क्रिकेटमा दिल बस्यो । दाजुहरू जमिल अख्तर, अजमल अख्तर र अकमल अख्तरहरु गाउँमा फुटबल खेल्थे । दाइहरूले फुटबल खेलेको देखेका अफजल दाजुहरूलाई पच्छ्याउँदै फुटबल मैदान पुग्थे ।

    सानैमा खेलकुदप्रति आकर्षित अफजल पढ्ने स्कुलमा फुटबलभन्दा क्रिकेटको क्रेज थियो । उनी पनि फुटबल छाडेर बल, ब्याट, स्टम्प र ग्लोब्स बोकेर क्रिकेटको पिच धाउन थाले ।

    दिल्लीमा पढाइ चलिरहँदा नेपालमा पनि क्रिकेटको क्रेज सुरु भइसकेको थियो । नेपाली क्रिकेट टोली एकपछि अर्को सफलताको सिँढी चढ्न थालेपछि उनी जन्मिएको सुनसरीको भोक्राहमा पनि क्रिकेटको क्रेज बढिसकेको थियो ।

    गाउँमा सानातिना प्रतियोगिता हुन थालेको थियो । उनी स्कुल र कलेज छाडेर आफ्नो गाउँमा हुने क्रिकेट प्रतियोगितामा भाग लिन आउने जाने गरिरहन्थे ।

    अफजलका दाइ जमिलले सम्झिए, दिल्लीमा हुँदा पनि क्रिकेट खेल्न विभिन्न क्लबमा जाने गर्थ्यो । गाउँमा हुँदा त नआउने कुरै थिएन । ऊ आइहाल्थ्यो ।

    ओपनर व्याट्स म्यानको रूपमा क्रिकेट ग्राउन्ड छिर्ने अफजल खेलाडीको रूपमा विकेटकिपरको रूपमा सुनसरी र कोशी प्रदेशमा चर्चित रहे । उनी २०७६ देखि ४ वर्षसम्म सुनसरीको क्याप्टेन पनि भए । उनी नेतृत्वको टोली कोशी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दोस्रो भयो ।

    अफजलले भने, ‘खेलाडीको रूपमा प्रदेशस्तरीय गेमहरू खेले । तीमध्ये मेरो नेतृत्वमा एक पटक सुनसरी प्रदेशमा दोस्रो भएको थियो ।’

    फिल्ड मासिएको पीडा

    क्रिकेट खेलाडी हुँदा अफजल जेल इनरुवामा रहेको फिल्डमा क्रिकेट खेल्थे । जेल फिल्ड उनको होम ग्राउन्ड थियो । पिच नबने पनि प्रतियोगिता गर्न मिल्ने जेल फिल्डको एउटा ग्राउन्ड थियो, तर त्यहाँ कहिले फुटबल प्रतियोगिता हुन्थ्यो भने कहिले मेला र महोत्सव लाग्ने गर्थ्यो । २०७८ सालतिर सरकारले फिल्डको स्तरोउन्नति गर्न भनेर माटो भर्न थाल्यो ।

    तर न माटो पुरेर सकियो न त फिल्ड नै तयार भयो । जुरमुराउन थालेको इनरुवा क्षेत्रको क्रिकेट पिचको अभावमा मर्ने अवस्थामा पुग्यो । अफजलले भने, ‘क्रिकेटको प्रतियोगिता त परै जाओस्, खेलाडीहरूले अभ्यास गर्नसम्म पाएनन् ।’

    खेलाडीबाट बिदा लिएपछि आफैंले खेलेको क्रिकेट पिचमा अफजलकै नेतृत्वमा क्रिकेटको राष्ट्रिय प्रतियोगितासमेत भयो । मनमोहन कप जस्तो प्रतिष्ठित क्रिकेट प्रतियोगिता सम्पन्न भएको इनरुवाको जेल फिल्डमा नेपालमै पहिलो पटक रात्रिकालिन क्रिकेट प्रतियोगिता सम्पन्न भयो ।

    ग्राउन्डमा अस्थायी लाइट हालेर रात्रिकालीन क्रिकेट प्रतियोगिता सम्पन्न गर्ने कामको नेतृत्व गरेका अफजलले रात्रिकालीन टी-टेन क्रिकेट प्रतियोगितासमेत सम्पन्न गरे ।

    तर जेल फिल्ड मासिएपछि अफजलले आफ्नै जग्गामा क्रिकेट ग्राउन्ड बनाउने निधो गरे । उनले भने, ‘मलाई पहिला नै आफैं ग्राउन्ड बनाउने सोच थियो । दाजुहरूले मान्नुहुन्छ कि हुन्न भन्ने डर थियो, तर भाइको प्रस्तावलाई सबैले स्वीकार गरे ।’

    बुवाको नाममा क्रिकेट ग्राउन्ड

    क्रिकेट खेल्ने ग्राउन्डमा फुटबल प्रतियोगिता पनि हुन्थ्यो । पिच बिग्रिए पनि खेलकुद नै हो भनेर अफजलले पचाए । त्यही ग्राउन्डमा मेला र महोत्सव पनि लागिरहन्थ्यो । मेला महोत्सव लागेका बेला अभ्यास गर्न जानु त परको कुरा भित्र पस्नसमेत टिकट काट्नुपर्थ्यो कहिलेकाहीँ । उनले खेलाडीको पीडा देखेपछि दाजुहरूलाई भने, ‘बुवाको नाममा आफ्नै जग्गामा खेल मैदान बनाऔँ ।’

    अफजलका जेठा दाजु जमिलले भने, ‘भाइको खेलप्रतिको जुनून र बुबाप्रतिको सम्मान देखेर हामीले जग्गा खेल मैदानका लागि दिने सहमति जनायौं । बुवा धर्म र जात र समुदायभन्दा माथि हुनुहुन्थ्यो ।’

    उनले थपे, ‘खेल पनि धर्म, जात र समुदायभन्दा माथि भएकाले हामीले भाइको कुरा मान्यौं ।’

    उनले डा. खलिल स्मृति प्रतिष्ठानको नाममा जग्गा राखेर क्रिकेट ग्राउन्ड बनाउन ४ विघा जग्गा दिएको बताए । ‘यो जग्गा अमूल्य हो’, उनले सुनाए, ‘अमूल्य जग्गा अमूल्य काममा दिएका छौं । भाइको सपना पूरा गर्न हामीले पैसाको हिसाब गरेनौं ।’

    अफजलले भने सात करोड रुपैयाँ हाराहारीको जग्गा क्रिकेट ग्राउन्डका लागि परिवारले दिएको बताए । घरको पश्चिम ८ विघाको प्लट थियो । त्यही प्लटबाट ४ विघा क्रिकेटका लागि ग्राउन्ड छुट्ट्याएर पिच बनाउने काम गरेको उनले बनाए ।

    पिच बनाउने र सम्याउने कामसमेत अफजल आफैंले गरेको क्रिकेट सङ्घ सुनसरीका अध्यक्ष सीपी पौडेलले बताए । उनका अनुसार पिच बनाउन २० लाख रुपैयाँ जति लगानी भएको छ ।

    ‘आफैंले बनाएको क्रिकेट ग्राउन्डमा अफजलले गत वर्षदेखि नै प्रतियोगितासमेत गराउँदै आएका छन्’,पौडेलले भने, ‘सरकारले गर्ने काम अफजलले गरिरहेका छन् ।’

    अघिल्लो वर्ष सोही ग्राउन्डमा कोशी प्रिमियर लिगको आयोजना गरिएको थियो । यस्तै पीएम कप छनोट प्रतियोगितासमेत सोही ग्राउन्डमा भएको थियो । यस वर्ष भने कोशी प्रिमियर लिगको आयोजना हुँदैछ ।

    अफजलले भने, ‘प्रतियोगिताका लागि स्पन्सरहरु आएका छन् । सरकारले पनि लगानी गरेको छ, तर पिच र ग्राउन्डका लागि हाम्रो परिवारको लगानी छ ।’

    अन्तर्राष्ट्रिय खेलाडीले भरिएका क्लबहरु खेल्दै

    फागुन ५ गतेदेखि सोही क्रिकेट ग्राउन्डमा कोशी प्रिमियर कप प्रतियोगिता हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)को अनुमति र सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा कोशी प्रिमियर लिग इभेन्ट्स मेनेजमेन्टको आयोजना प्रतियोगिता हुन लागेको हो ।

    टी-ट्वान्टी फर्म्याटमा हुन लागेको प्रतियोगितामा पूर्वेली सुपर किंग्स विराटनगर, नमुना ब्लास्टर इटहरी, दुहबी क्यापिटल्स, बालनबिउल सप्तरी टाइगर्स, एनबीएससी लायन्स विराटनगर, इटहरी आदर्श जाइन्टस र भोक्राह नरसिंह अर्नाज गरी सात टीमले प्रतिस्पर्धा गर्नेछन् ।

    पूर्वेली सुपर किंग्समा ललित राजवंशी, सन्दीप जोरा र अर्जुन साउदलगायतका खेलाडी समावेश छन् । नमुना ब्लास्टरमा कुशल भुर्तेल, कुशल मल्ल, नन्दन यादव रहेका छन् । दुहबी क्यापिटल्समा लोकेश बम, विनोद भण्डारी, विवेक यादव, साहब आलम र बसिर अहमद छन् ।

    सप्तरी टाइगर्समा मयन यादव, रुपेश सिंह, शुभ कंसाकार, नरेन साउद र विपीन खत्री छन् । एनबीएससी लायन्समा दिलीप नाथ, कृतिक कामत र निरज मुखिया छन् । इटहरी आदर्श जाइन्ट्समा गुल्शन झा, आसिफ शेख, भीम सार्की, दीपेश कँडेल र रिजन कँडेल मुख्य खेलाडी रहेका छन् ।

    भोक्राह नरसिंह अर्नाजमा अंकित सुवेदी, सुजन थपलिया, भुवन कार्की र हेमन्त धामी समावेश छन । प्रतियोगिता अवधिभर कुल २२ खेल हुनेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

  • बागमती गोल्डकपः आयोजकविरुद्ध बागमतीको जित

    बागमती गोल्डकपः आयोजकविरुद्ध बागमतीको जित

    हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लबले आयोजक बागमती खेलकुद विकास समितिलाई पराजित गरेको छ ।

    आयोजकलाई पराजित गर्ने क्रममा सर्लाहीका कप्तान विमल घिसिङले खेलको ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

    स्थानीय शहीद स्मृति रंगशालामा भएको खेलमा घिसिङ नायक बन्दा आयोजक पहिलो दिननै खेलबाट बाहिरियो । उनी म्यान अफ द म्याचसमेत घोषित भए ।

    आगामी फागुन १२ गतेसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका ७ र मोफसलका तीन टीमको सहभागिता छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख पाउनेछन् ।

    यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

  • क्यानले माग्यो मुख्य प्रशिक्षक

    क्यानले माग्यो मुख्य प्रशिक्षक

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ ।

    क्यानले शनिबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय पुरुष टोलीको लागि मुख्य प्रशिक्षकको आवेदन आह्वान गरेको हो ।

    २०७९ मा नियुक्त भएका मोन्टी देसाईको कार्यकाल सकिएसँगै क्यानले नयाँ प्रशिक्षकको आवेदन खुलाएको हो ।

    क्यानले प्रशिक्षक योग्यता ईसीबी/सीए स्तर-३ वा त्योभन्दा माथिको मान्यता पाएको र व्यावसायिक क्रिकेटमा कम्तीमा पाँच वर्षको कोचिङ अनुभव भएको हुनुपर्ने उल्लेख गरेको छ ।

    यस्तै क्रिकेट संस्कृति, एक दिवसीय चक्र र एसोसियट सदस्यहरूको मार्गको बुझाइ र ज्ञान भएको हुनुपर्ने उल्लेख छ ।

    क्यानको सूचनाका अनुसार फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ ।

  • केन्याली धावकले जिते सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

    केन्याली धावकले जिते सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

    पोखरा । १९औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावकले जितेका छन् ।

    भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार बिहान पोखरामा भएको खुला म्याराथनमा केन्याका धावक विल्सन चेरुयोट प्रथम भए । उनले २ घन्टा १७ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पूरा गरे ।

    म्याराथनमा केन्याकै धावक दोस्रो र तेस्रो बने । केन्याका जुलियस मुरिउकी वाहोमेले विल्सनभन्दा २ सेकेन्ड पछि पर्दै दोस्रो बने । उनले २ घन्टा १७ मिनेट २६ सेकेन्ड म्याराथन पूरा गरे ।

    केन्याकै ओनेस्मस गिताउ न्जोरोगे तेस्रो बने । उनले निर्धारित दुरी २ घन्टा १८ मिनेट ५१ सेकेन्डमा पूरा गरे । प्रथम हुने उनले ५ लाख हात पारे । दोस्रो बनेका जुलियसले ३ लाख र तेस्रो बनेका ओनेस्मसले २ लाख प्राप्त गरे ।

    चौथो नेपालका किरण सिंह बोगटे, पाँचौं निरज भट्ट क्षेत्री र छैटौं रिखुलाल सिंन्जाली मगर बन्न सफल भए । हाफ म्याराथनमा पुरुषतर्फ जोन बेन्स्ट्र र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जिते । जोनले एक घन्टा ९ मिनेट ०७ सेकेन्ड र सन्तोषीले एक घन्टा २० मिनेट ०३ सेकेन्डमा निर्धारित दुरी पूरा गरे ।

    पुरुषतर्फ एक घन्टा ९ मिनेट ०७ सेकेन्डमा पूरा गर्दै सन्तोषविक्रम विष्ट दोस्रो र एक घन्टा ९ मिनेट ५६ सेकेन्डमा पुरा गर्दै गजेन्द्र राई तेस्रो बने ।

    महिलातर्फ स्वारोन जेनोटिच १ घन्टा २१ मिनेट ०७ सेकेन्डमा पूरा गर्दै दोस्रो र पुष्पा भण्डारी १ घन्टा २३ मिनेट ०८ सेकेन्डमा पूरा गर्दै तेस्रो बनिन् । महिलातर्फ हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार पाए ।

    पुरुषतर्फ हाफ म्याराथनमा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० र तेस्रोले २० हजार प्राप्त गरे ।

  • उज्वेकिस्तानको ब्ल्याक बुल्सले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

    उज्वेकिस्तानको ब्ल्याक बुल्सले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

    पोखरा । नेपाल पुलिस क्लबलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा पुलिसलाई ३-१ गोलले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो ।

    खेलको ४०औं मिनेटमा कप्तान जाखोनगिर अख्मादोभको गोलमा ब्ल्याक बुल्सले पहिलो अग्रता लिएको थियो । ५९औं ब्ल्याक बुल्सका असिलबेक ओरिफजोनोभले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । ६६औं मिनेटमा साभकातजोन सात्तोरोभले गोल गरेपछि अग्रता तेब्बर भएको थियो ।

    पुलिसका उज्ज्वल राईले खेलको ७४औं मिनेटमा एक गोल फर्काए । अट्याकिङ एरियाबाट हानेको फ्री किक गोलमा परिणत भएको थियो । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स च्याम्पियन बन्यो ।

    ब्ल्याक बुल्सले पहिलो सहभागितामै उपाधि जित्दै नयाँ इतिहास बनाएको छ । उपाधि जितेको ब्ल्याक बुल्सले ट्रफीसहित १२ लाख एक हजार हात पार्‍यो । उपविजेता बनेको पुलिसले ६ लाख एक हजारमा चित्त बुझायो ।

  • ब्राइटनसँग पराजित भयो चेल्सी

    ब्राइटनसँग पराजित भयो चेल्सी

    हेटौंडा । इङ्लिस प्रिमियर लिग (इपिएल)मा चौथो स्थानको चेल्सी आठौं स्थानको ब्राइटनसङ्ग पराजित भएको छ ।

    गएराती भएको खेलमा ब्राइटनले चेल्सीलाई ३-० गोलले पराजित गरेको हो । पराजित भएसँगै चेल्सीको उपाधी अभियान थप असहज भएको छ ।

    ब्राइटनको लागि याकुम्बा मिन्टेचले दुई गोल गर्दा काओरु मिटेमाले थप एक गोल गरे । खेलको २७ औं मिनेटमा मिटेमाले गोल गर्दै चेल्सीलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफको ३८ औं मिनेटमा याकुम्बाले अर्को गोल गरेपछि चेल्सी २-० को अग्रतामा पुगेको थियो ।

    दोश्रो हाफको ६३ औं मिनेटमा याकुम्बाले दोश्रो गोल गरेपछि खेल चेल्सीले ३-० ले जित्यो । जितपछि ब्राइटन २५ खेलबाट ३७ अङ्क सहित आठौं स्थानमा उक्लदा चेल्सी भने समान खेलबाट ४३ अङ्क सहित चौथो स्थानमा कायम छ ।

  • चिनियाँ नयाँ वर्षको अवसरमा भाेलि नेपाली र युनान टाेलीबीच मैत्रीपूर्ण खेल हुँदै

    चिनियाँ नयाँ वर्षको अवसरमा भाेलि नेपाली र युनान टाेलीबीच मैत्रीपूर्ण खेल हुँदै

    काठमाडौं । चीनको नयाँ वर्षको अवसरमा फागुन ३ गते शनिबार नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल हुँदैछ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबलका लागि चीन युनान युवा फुटबल टोली नेपाल आइसकेको छ ।

    उक्त मैत्रीपूर्ण खेलको तयारी पुरा भएको र खेल जित्ने लक्ष्यका साथ मैदान उत्रने दुई टोलीका प्रशिक्षक र कप्तानहरुले जनाएका छन् ।

    खेल अघि शुक्रबार रंशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली यु–२० टिमका प्रमुख प्रशिक्षक राजेश शाहीले खेल जित्नका लागि खेल्ने भएकाले युवा टोलीले राम्रो खेल देखाउने विश्वास व्यक्त गरे ।

    त्यस्तै नेपाली यु–२० टिमका कप्तान सिमान्त थापाले छोटो अवधिमा राम्रो तयारी भएको र नजिता आफ्नो पक्षमा आउने बताएका छन् ।

    त्यस्तै चीन युनान युवा फुटबल टीमका प्रशिक्षकले पनि मैत्रीपूर्ण खेलका लागि राम्रो तयारी भएको जनाएका थिए । दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।

     

  • आहा रारा पोखरा गोल्डकपः दुवै टीम उपाधिसहित इतिहास रच्ने दाउमा

    आहा रारा पोखरा गोल्डकपः दुवै टीम उपाधिसहित इतिहास रच्ने दाउमा

    पोखरा । २४औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा हुने उक्त खेल दिउँसो साढे २ बजेबाट सुरू हुनेछ ।

    सेमिफाइनलमा पुलिसले चर्च ब्वाइज युनाइटेड क्लब र ब्ल्याक बुल्सले थ्री स्टार क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । पुलिसले ६ पटक आहा रारा पोखरा गोल्डकपको उपाधि जितिसकेको छ । मनाङ मर्स्याङ्दी क्लबले पनि ६ पटक नै आहा राराको उपाधि जितेको छ । यो पटक उपाधि जित्न सके पुलिस आहा रारा गोल्डकपको सर्वाधिक उपाधि जित्ने एक्लो टोलीको इतिहास रच्नेछ ।

    पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६, २०७४ मा आहा रारा गोल्डकपको उपाधि जितेको थियो । मनाङले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा जितेको थियो । पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि तयार रहेको बताए । उनले ट्रफी जितेर इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रिने उल्लेख गरे ।

    पुलिसले प्रिक्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई १-०, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १-० ले पराजित गरेको थियो । पुलिसका कप्तान राम वाजीले टीमको रणनीतिले काम गरिरहेको र सोही रणनीतिका अनुसार फाइनल खेल्ने बताए । राम्रो खेल खेलेर नतिजा आफ्नो पक्षमा पार्ने वाजीले विश्वास व्यक्त गरे ।

    फाइनलमा स्थान बनाएको ब्ल्याक बुल्सले पहिलो सहभागितामै उपाधि जित्दै इतिहास बनाउन चाहन्छ । ब्ल्याक बुल्सले पहिलो पटक आहा रारा गोल्डकपमा सहभागिता जनाएको हो । बाई पाएको ब्ल्याक बुल्सले क्वाटरफाइनलमा सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड क्लबलाई ३-० र सेमिफाइनलमा ५ पटकको विजेता थ्री स्टार क्लबलाई ४-० ले पराजित गर्दै फाइनलमा यात्रा सुनिश्चित गरेको हो ।

    ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले फाइनल खेल एकदमै राम्रो हुने बताए । उनले फाइनल खेल ५०-५० हुने उल्लेख गरे । उक्त टोलीमा उज्वेकिस्तानको ए र बी डिभिजन लिग खेल्ने खेलाडी समावेश गरिएका छन् । कप्तान जाखिरगिरले फाइनलका खेलका लागि उत्साहित रहेको बताए । सहारा क्लब पोखराको आयोजनामा भइराखेको प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पाउनेछ ।

  • आर्सनललाई झड्का, हाभर्टज पनि बाहिरिए

    आर्सनललाई झड्का, हाभर्टज पनि बाहिरिए

    हेटौँडा । इङ्लिस क्लब आर्सनलका स्टार फरवार्ड काई हाभर्ट्जले इपीएलको बाँकी खेल गुमाउने भएका छन् । अभ्यासका क्रममा हाभर्ट्जको ह्यामस्ट्रिङमा चोट लागेपछि उनी इपीएलबाट बाहिरिएका हुन् ।

    इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको आर्सनलको लागि हाभर्ट्ज नहुनु सबैभन्दा चिन्ताको विषय बनेको छ । यो सिजन आर्सनलको तर्फबाट सर्वाधिक गोल गरेका हाभर्ट्जको अनुपस्थितिले आर्सनलको इङ्लिस प्रिमियर लिग जित्ने सपनालाई गहिरो असर गर्ने देखिन्छ ।

    हाभर्ट्जले यस सिजन ३४ खेलमा १५ गोल गर्नुका साथै पाँच गोलका लागि अवसर सिर्जना गरेका थिए । आर्सनलका अनुसार उनको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

    आर्सनलले यसअघि नै गाब्रियल जिसस र बुकायो साकालाई गुमाइ सकेको छ । गाब्रियलको एसिएल र साकाको ह्यामास्ट्रिङको शल्यक्रिया गरिएको छ । यस्तै अर्का खेलाडी गाब्रियल मार्टिनेली पनि चोकका कारण कम्तीमा पनि एक महिना मैदान बाहिर रहने छन् ।

    आर्सनल यो पटक लिग जित्ने योजना सहित लिगमा प्रस्तुत भएको छ । लिगको २४ औँ चरण आइपुग्दा उसले ५० अङ्क बटुलेको छ । उ भन्दा माथि लिभरपुल छ । लिभरपुलको ५७ अङ्क छ । आर्सनल गत सिजनको लिग उपविजेता समेत हो ।

  • थ्रीस्टार क्लब हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश

    थ्रीस्टार क्लब हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश

    पोखरा । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा ५ पटकको विजेता थ्री स्टार क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो ।

    ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग भिड्नेछ । पुलिसले पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

    दोस्रो सेमिफाइनलमा उज्बेकिस्तानको ब्ल्याक बुल्सले थ्री स्टारलाई ४–० को फराकिलो गोलन्तरले पराजित गर्न सफल रह्यो । पहिलो हाफको एक गोल गरेको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप ३ गोल गर्यो । खेलको २४औं मिनेटमा ब्ल्याक बुल्सका शाभकात्जोन सात्तोरोभले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

    त्यसपछि खेलको ५८औं मिनेटमा असिलबेक ओरिफजोनोभले गोल गर्दै ब्ल्याक बुल्सलाई अग्रता दोब्बर बनाएका थिए । ६३ औं मिनेटमा सात्तोरोभले व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गरे ।

    ८७औं मिनेटमा सइदजमोल दाभ्लातिनोभले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता ४ गुणा पुग्यो । त्यसपछि दुवैतर्फ गोल हुन सकेन र ब्ल्याक बुल्स ४–० ले विजयी हुन सफल भयो ।

    आहा रारामा पहिलो पटक सहभागी भएको ब्ल्याक बुल्स पहिलोपटकमै फाइनल यात्रा तय गरेको हो । सहारा क्लब पोखराको आयोजनामा भइराखेको प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

     

  • १९औँ सफल पोखरा म्याराथनमा २१ देशका १५० धावक

    १९औँ सफल पोखरा म्याराथनमा २१ देशका १५० धावक

    पोखरा । आउँदो शनिवार हुने १९औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका धावक सहभागी हुने भएका छन् । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेको म्याराथनका इभेन्टमा ३ हजार १७५ धावकले नाम दर्ता गराएको मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

    पुरुषतर्फको म्याराथन दौडमा २१ देशका ८० विदेशीसहित १५० जनाले सहभागिता जनाएका छन् । हाफ म्याराथन महिलामा १० देशका ४० जना, पुरुषतर्फ ११० जना, १० किलोमिटर पुरुषतर्फ २११ र महिलातर्फ १०९ जनाले नाम दर्ता गराएका छन् ।

    ५ किलोमिटर भेट्रान्स पुरुष र महिलातर्फ ६० जना, ५ किलोमिटर छात्रतर्फ १ हजार ४७० र छात्रातर्फ १ हजार २५ जनाले नाम दर्ता गराएको मञ्चका महासचिव केशव पाठकले जानकारी दिए । रन फर फनमा करिब ७ हजार सहभागी हुने आयोजकको विश्वास छ ।

    खुला म्याराथनको विजेतालाई ५ लाख, दोस्रो हुनेलाई ३ लाख, तेस्रो हुनेलाई २ लाख र चौथोदेखि ८औँ स्थान हुनेलाई ३० देखि १० हजार प्रदान गरिने मञ्चका अध्यक्ष गुरुङले बताए ।

    खुला म्याराथनमा गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरिएको उनले बताए । यस पटकदेखि हाफ म्याराथनतर्फ पुरुषतर्फ इभेन्ट थप गरिएको छ ।

  • एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

    एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

    हेटौँडा। इङ्लिस प्रिमियर लिग (इपीएल) मा लिग लिडर लिभरपुल र एभर्टनले बराबरी खेलेका छन् ।

    बुधवार राती भएको खेलमा इन्ज्युरी समयको आठौँ मिनेटमा गोल गर्दै एभर्टनले लिभरपुललाई बराबरीमा रोक्न सफल भयो ।

    खेलमा पहिलो अग्रता पनि एभर्टनको बेतोले खेलको ११ औँ मिनेटमा लिएको थियो । तर अलिस्टेरले १६ औँ मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा लगे ।

    खेलको ७३ औँ मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल २-१ ले अगाडि रह्यो । तर एभर्टनले खेलको इन्जुरी समयको आठौँ मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।

    बराबरीको बाबजुद पनि लिभरपुल २४ खेलबाट ५७ अङ्क सहित पहिलो स्थानमा कायम छ । एभर्टनको २४ खेलबाट २७ अङ्क पुगेको छ र तालिकाको १५ औँ स्थानमा छ ।

  • चर्च ब्वाइजलाई हराउँदै पुलिस आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

    चर्च ब्वाइजलाई हराउँदै पुलिस आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

    पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

    पुलिसको जितमा सञ्जिव लामाले गोल गरे । खेलको ५८औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र सिंह थापा झुक्किदा सञ्जिवले हानेको बल गोलमा परिणत भएको थियो । त्यसपछि पाएका अवसरमा गोल गर्न नसक्दा चर्च ब्वाइज सेमिफाइनलबाट घर फर्किनुपर्‍यो । उक्त खेलमा आहा रारा पोखरा गोल्डकपको २ सय ५० औँ खेल थियो ।

    आहा रारामा पुलिसको ५०औं खेल हो । पुलिसले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार खेल्नेछ । दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ । उक्त खेलमा थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले प्रतिष्पर्धा गर्नेछन् ।

    सहारा क्लब पोखराको आयोजनामा भइराखेको प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

  • अन्तर्राष्ट्रिय फुटबलमा भाग लिन कप्तान तुम्बापो स्वदेश फर्किन्

    अन्तर्राष्ट्रिय फुटबलमा भाग लिन कप्तान तुम्बापो स्वदेश फर्किन्

    काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज स्वदेश फर्किएकी छिन् ।

    आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो आज काठमाडौँ आइपुगेकी हुन् । ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट उनी खेल्दै आएकी छिन् ।

    यसैगरी व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी सावित्रा भण्डारी ‘साम्बा’ र साउदीमा रहेकी रेखा पौडेल केहीन दिनभित्र यहाँ आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले जानकारी दिए । पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।

    उक्त प्रतियोगिताको टिकेटिङ राइट रु एक करोड ३५ लाख र ब्रोडकास्टिङ राइट रु ६६ लाखमा बिक्री गरिएको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको टिकट दर भिआइपीतर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ रु पाँच सय तोकिएको छ ।

     

  • च्याम्पियन्स लिग प्लेअप : रियल मड्रिडको रोमाञ्चक जित

    च्याम्पियन्स लिग प्लेअप : रियल मड्रिडको रोमाञ्चक जित

    हेटौँडा । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्लेअफको पहिलो लेगमा रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ‌ ।

    सिटीको घरेलु मैदानमा भएको खेलमा दुई पटक पछि परिसकेको अवस्थालाई उल्ट्याउँदै रियलले सिटीलाई ३-२ ले हरायो ।

    रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिङहामले गोल गरे । सिटीका लागि दुवै गोल एर्लिङ हालान्डले गरे ।

    खेलको १९औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सिटी १-० ले अगाडि रहेको थियो । तर ६०औँ मिनेटमा एमबापेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

    ८०औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गरेपछि सिटी पुन: २-१ ले अगाडि बढेको थियो ।

    खेलमा ८६औँ मिनेटमा डियाजले गोल गर्दै खेल बराबरीमा ल्याए । तर इन्जुरी समयमा बेलिङहामले गोल गरेपछि रियल ३(२ ले विजयी भयो ।

  • वेस्टर्न क्रिकेट क्लब रूपन्देही सुपर लिग च्याम्पियन

    वेस्टर्न क्रिकेट क्लब रूपन्देही सुपर लिग च्याम्पियन

    रुपन्देही । वेस्टर्न क्रिकेट क्लबले २३औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेस्टर्नले तेस्रो पटक सुपर लिगको उपाधि हात पारेको हो ।

    उपाधिसँगै वेस्टर्नले १ लाख १ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र हात पार्‍यो ।

    सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ४१ ओभरको खेलमा ४० ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २२५ रनको बलियो योगफल खडा गरेको थियो ।

    उसका लागि नरेन साउदले ६६ रनको अर्धशतकीय पारी खेले । यस्तै देव खनालले ४६, सन्देश थापाले २२, रञ्जित खड्काले २१, निरकुमार गुप्ताले २० र भुवन पाण्डेले १४ रनको योगदान दिए ।

    बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ५, भुवन कार्कीले २ तथा दुर्गेश गुप्ता र सुप्रित घिमिरेले १-१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको लुम्बिनी खुकुरी ३८ ओभरमा १८६ रन बनाउँदा अलआउट भयो । उसका लागि निश्चल चौधरीले ४३, भुवन कार्कीले २८, प्रज्ज्वल थापाले २३, समीर अलीले २१, अमर मिश्राले १६ र अजयकुमार चौहानले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

    बलिङमा वेस्टर्नका नरेन साउदले ४, देव खनाल र सुझाव थापाले २-२ तथा सन्देश थापाले १ विकेट लिए ।

    फाइनलमा अलराउन्ड प्रदर्शन गरेका नरेन साउद म्यान अफ द फाइनल भई एक हजार २०० रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा वेस्टर्नका देव खनाल म्यान अफ द सिरिज घोषित भई १५ हजार रुपैयाँ पाए ।

    यस्तै वेस्टर्नका अभिशेष गौतम बेस्ट बलर, न्यू होराइजनका निश्चल ज्ञवाली बेस्ट ब्याटर र तिलोत्तमा क्रिकेट क्लबका सन्दीप यादव उदयीमान खेलाडी घोषित भए । उनीहरु तीनै जनाले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

    विजेता र उपविजेता टीमलाई सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँ, संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, म्याच रेफ्री समीर खान, एभरेस्ट कत्था मिलका सञ्चालक वसन्तबहादुर रोक्का क्षेत्री, जयसवाल सेवा समितिका अध्यक्ष अमित गुप्ता, संघका सचिव सञ्जय गुरुङ, कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाणलगायतले पुरस्कार वितरण गरेका थिए ।

  • उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

    उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

    पोखरा । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    पोखरा रंगशालामा मंगलबार सकिएको खेलमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० को गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले सेमिफाइनलको यात्रा तय गरेको हो ।

    पहिलो हाफमा एक गोलले अग्रता लिएको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप दुई गोल थप्यो । खेलको ३८औं मिनेटमा ब्ल्याक बुल्सका इस्लोम्जन अब्दुकोडिरोभले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ७३औं मिनेटमा सयदज्मोल दब्लाजोनोभले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर बनाए ।

    त्यसको दुई मिनेटमै ब्ल्याक बुल्सले अर्को गोल थप्यो । ७५औं मिनेटमा शाब्कात्जोनले डी–बक्स बाहिरबाट गोल गर्दै टोलीलाई तेब्बर अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स ३-० ले विजयी भयो ।

    पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै थन्डरबोल्ट क्वाटरफाइनलमा प्रवेश गरेको थियो । दोस्रो खेलमा ब्ल्याक बुल्ससँग पराजित हुँदै थन्डरबोल्ट प्रतियोगिताबाट बाहिरिएको छ ।

    योसँगै आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । ब्ल्याक बुल्ससहित नेपाल पुलिस क्लब, चर्च ब्बाइज युनाइटेड र थ्रीस्टार सेमिफाइनलमा पुगेका छन् ।

    पहिलो सेमिफाइनल खेलमा भोलि नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल थ्री स्टार र ब्ल्याक बुल्सबीच बिहीबार हुनेछ ।

  • चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

    चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

    काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

    पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

    एन्फाले पहिलो पटक आयोजना गर्न लागेको चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मा र लेबनानको सहभागिता रहनेछ ।

    उक्त प्रतियोगिताको ‘टिकेटिङ राइट’ एक करोड ३५ लाख र ‘ब्रोडकास्टिङ राइट’ रु ६६ लाखमा बिक्री गरेको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको टिकट दर ‘भिआइपी’तर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ  ५०० तोकिएको छ ।

    एन्फाका अनुसार सहभागी टोलीले अभ्यासका लागि सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान प्रयोग गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट करिब दुई करोड ५० लाख ५६ हजार १०४ लाग्ने आयोजकले जनाएको छ ।

     

  • सातौं बागमती गोल्डकप फुटबल फागुन ३ बाट

    सातौं बागमती गोल्डकप फुटबल फागुन ३ बाट

    हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले गर्दै आएको बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ गते सुरु हुने भएको छ । बागमती गाउँपालिकाको झुरझुरेमा रहेको शहीद स्मृति रङ्गशालामा हुने प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ ।

    प्रतियोगितामा ‘ए’ डिभिजनका ७ सहित १० टीमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जनाए ।

    प्रतियोगितामा ‘ए डिभिजनको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रसहित संकटा, थ्रीस्टार, त्रिभुवन आर्मी, एपीएफ र चर्च व्वाई क्लबको सहभागिता रहनेछ । आयोजकसहित मोफसलको थप तीन क्लबको पनि सहभागिता रहनेछ ।

    प्रतियोगिताको विजेता टोलीले १० लाख, उपविजेताले ५ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगिता सम्पन्न गर्न ७३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त खर्च व्यवस्थापनको लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बाँकी रकम आयोजक समितिले व्यवस्थापन गर्नेछ ।

    यसअघिका ६ वटा संस्करण बागमती गाउँपालिकाको फापरबारीमा रहेको जनता माविको खेल मैदानमा गरिएकोमा यो पटक नवनिर्मित रंगशालामा गरिने आयोजकको भनाइ छ । प्रतियोगिता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

  • डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी

    डडेल्धुरालाई हराउँदै अत्तरियाले जित्यो अर्जुन ट्रफी

    काठमाडौं । अर्जुन ट्रफी राष्ट्रिय टी-२० च्याम्पियनशिपको उपाधि सीवाईसी अत्तरियाले जितेको छ । आज भएको फाइनलमा फ्रेन्ड्स युथ क्लव डडेल्धुरालाई ३४ रनले हराउँदै अत्तरिया च्याम्पियन बनेको हो ।

    धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । बलरलाई सहयोग गरेको पीचमा अत्तरियाले निर्धारित २० ओभरमा ११८ रन जोड्यो । तल्लो क्रमका ब्याटर रासिद खानले २१ बलमा ३१ रन बटुल्दै टीमलाई दयनीय स्थितिबाट उकासेका थिए ।

    डडेल्धुराका अभिषेक गौतमले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए ।

    जवाफी ब्याटिङमा डडेल्धुराले १८ ओभरमा ८४ रनमात्रै जोड्न सक्यो । अत्तरियाका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाए भने ओपनर कुशल भुर्तेल २२ बलमा २० रन जोडेर आउट भए । अत्तरियाका सहाब आलम र दीपेश कँडेलले ३-३ विकेट लिए ।

  • भारतीय मिडिया टीमले जित्यो भारत-नेपाल मैत्रीपूर्ण क्रिकेटको उपाधि

    भारतीय मिडिया टीमले जित्यो भारत-नेपाल मैत्रीपूर्ण क्रिकेटको उपाधि

    रुपन्देही । भारत-नेपाल दोस्रो मैत्रीपूर्ण मिडिया कप क्रिकेटको उपाधि भारतीय मिडिया टीमले जितेको छ । भारतीय मिडियाको आयोजनामा भारतको राज मनोहर लोहिया कलेज नौतनवाको खेल मैदानमा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रेस क्लब रुपन्देहीलाई ५ विकेटले पराजित गर्दै भारतीय मिडिया टीमले उपाधि जितेको हो ।

    भारतीय मिडिया टीमले उपाधिसँगै नगद ११ हजार भारतीय रुपैयाँ पायो । उपविजेता बनेको लुम्बिनी प्रेस क्लबले नगद १० हजार भारतीय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

    टस जितेर ब्याटिङ गरेको प्रेस क्लबले निर्धारित १५ ओभरमा १४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १०८ रन बनायो । उसका लागि सचिन चौधरीले ४३ बलमा ५३ रनको अर्धशतकीय पारी खेले । यस्तै मोहम्मद हविवले ११ रन बनाए । प्रेस क्लबका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    बलिङमा भारतीय मिडियाका विनयले ३, मुकेशले २ र आलोक जोशी तथा अमित त्रिपाठीले समान १-१ विकेट लिए ।

    भारतीय टीमले १०९ रनको लक्ष्य ११ ओभर ४ बलमा ५ विकेटको नोक्सानीमा पूरा गर्‍यो । उसका लागि अरविन्द त्रिपाठीले महत्वपूर्ण ५२ रन बनाए । यस्तै अमित त्रिपाठीले २२, रोहितले १२ र पुनितले १० रन बनाइ टीमलाई जित दिलाए ।

    बलिङतर्फ प्रेस क्लबका भुवन पाण्डे र भीम भण्डारीले समान २-२ विकेट लिँदा प्रकाश न्यौपानेले १ विकेट हात पारे ।

    खेलमा अरविन्द त्रिपाठी प्लेयर अफ द म्याच र म्यान अफ द सिरिज घोषित भई पुरस्कृत भए । प्रेस क्लबका सचिन चौधरी बेस्ट ब्याटर, भारतीय टीमका विनय बेस्ट बलर र प्रेस क्लबका भुवन पाण्डे बेस्ट फिल्डर भई पुरस्कृत भए ।

    भारतीय टीमका कप्तान अमित त्रिपाठी र प्रेस क्लबका अध्यक्ष एवं कप्तान कमल रायमाझीले सीमा क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुबीच आपसी भाइचारा अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको जनाए ।

    माघ २ मा भैरहवामा प्रेस क्लबले नेपाल-भारत मैत्रीपूर्ण क्रिकेट गरेको थियो । भारतीय मिडिया टीमले भने गत वर्षदेखि प्रतियोगिता आयोजना गरिरहेको छ ।

  • अर्जुन ट्रफी : फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र सिवाइसी अत्तरिया भिड्ने

    अर्जुन ट्रफी : फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र सिवाइसी अत्तरिया भिड्ने

    धनगढी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको प्रतियोगिताको उपाधिका लागि आज फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र सिवाइसी अत्तरिया भिड्नेछन् ।

    न्यू होराइजन बुटवललाई हराएर डडेल्धुरा फाइनलमा पुगेको हो भने डिसिए धनगढीलाई पराजित गर्दै अत्तरिया उपाधि भिडन्तमा पुगेको हो ।फाइनल खेल आज फाप्ला क्रिकेट मैदानमा दिउँसो १ बजे हुँदै छ ।

    डडेल्धुरामा कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारीलगायतका खेलाडी रहेका छन् । अत्तरियामा भीम सार्की, विवेक यादव, साहव आलम जस्ता नामी खेलाडी आबद्ध छन् । आज उपाधि जित्ने टोलीले नगद रु १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् ।

    धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०र५० हजार पाउनेछन् ।

  • ला–लिगा : बार्सिलोनाले घटायो रियालसँगको दुरी

    ला–लिगा : बार्सिलोनाले घटायो रियालसँगको दुरी

    हेटौँडा । स्पेनिस ला–लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले सानदार जित हासिल गरेको छ । खेलमा सेभिल्ललाई ४-१ ले हराएपछि पहिलो स्थानको रियल म्याड्रिडसँगको बार्साको दुरी पनि अब दुई अंकमा मात्र सीमित भएको छ ।

    गएराति भएको खेलमा सेभिल्लालाई हराउने क्रममा रोवर्ट लोवान्डोस्की, फर्मिन लोजेज, राफिल्हा र एरिक गार्सियाले समान एक-एक गोल गर्दा सेभिल्लाको तर्फबाट एक मात्र सान्त्वना गोल रुबेन भारगासले गरेका थिए ।

    खेलमा सुरुवाती अग्रता लेवान्डोस्कीको गोल मार्फत बार्साले लिएको थियो । खेलको सातौँ मिनेटमा यो सिजन ला–लिगामा १९ औँ गोल गर्दै लेवन्डोस्कीले टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको एक मिनेट पछि नै सेभिल्लाका रुबेनले गोल गरेपछि खेल बराबरी भयो ।

    त्यसयता ४६ मिनेटमा लोपेज, ५५ औँ मिनेटमा राफिन्हा र ८९ मिनेटमा गार्सियाले गोल गरेपछि बार्सिलोनाले सानदार जित निकाल्यो ।

    बार्सिलोनाको लागि खेलको ६२ औँ मिनेटमा स्कोरर लोपेज रातोकार्ड खाँदै बाहिरिन परेको थियो ।

    जितपछि २३ खेलबाट ४८ अंक सहित बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । पहिलो स्थानको रियलको समान खेलबाट ५० अंक छ भने दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको समान खेलबाट ४९ अंक रहेको छ ।

  • मुख्य खेलाडीलाई विश्राम दिएको लिभरपुल एफए कपबाट बाहिरियो

    मुख्य खेलाडीलाई विश्राम दिएको लिभरपुल एफए कपबाट बाहिरियो

    हेटौँडा । आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिएर एफए कपको चौथो चरणको मैदानमा ओर्लिएको लिभरपुल पराजित भएको छ ।

    अर्ने स्टलको टोली लिभरपुलले प्लाइमाउथसँग १-० को हार बेहोरेसँगै यो सिजनको एफए कपको यात्रामा पूर्णविराम लगाएको छ ।

    लिभरपुल आफ्ना प्रमुख स्टार महोमत सलाह, नुनेज, गोप्को, कोन्टो, कप्तान भान डिजिक सहित ९ प्रमुख खेलाडीविना मैदानमा ओर्लिएको थियो ।

    आफू भन्दा कमजोर क्लब विरुद्ध प्रशिक्षक स्टलले दोस्रो रोजाइको खेलाडीको परीक्षण गर्दा यो निर्णय उनलाई नै भारी परेको छ ।

    हारपछि प्रशिक्षक स्टलको आलोचना समेत भएको सन्दर्भमा उनले आफूहरू च्याम्पियन्स लिग, लिग कप र प्रिमियर लिगमा केन्द्रित हुने धारणा व्यक्त गरे।

  • अर्जुन ट्रफी : धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा

    अर्जुन ट्रफी : धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा

    काठमाडाैं । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि २० प्रतियोगिताको फाइनलमा डडेलधुरा र धनगढी टिम भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा धनगढीलाई हराउँदै अत्तरियाले फाइनलमा स्थान पक्का गरेको हो ।

    टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले बलियो स्कोर खडा गर्न सकेनन् । प्रतियोगितामा पहिलोपटक धनगढीका लागि दीपेन्द्रसिंह ऐरी उपलब्ध थिए । तर, उनी पनि खासै चलेनन् । धनगढीले निर्धारित २० ओभरमा १०८ रनमै अलआउट भयो ।

    अत्तीरयाका बलरहरु विवेक यादव र कमल गुप्ताले दुई दुई विकेट बाँडेका थिए । कसिलो बलिङ गरेका विवेकले ४ ओभरमा १९ रन मात्र खर्चिए । रसिद खान, दिपेश कँडेल, साहब आलमले एक–एक विकेट बाँडे ।

    १०९ रनको सामान्य लक्ष्य अत्तरियाले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । अत्तरियाले ४ ओभरमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको थियो । तर तेस्रो नम्बरमा आएका शंकर रानाले अविजित अर्धसतक बनाउँदै टिमलाई जितसम्म डोहोर्याए । भीम सार्कीले १६ रन, दिपेश कँडेलले २४ रन र विवेक यादवले १२ रन बनाए ।
    फाइनल भिडन्त भोलि हुनेछ ।

  • आईएल टी २० मा एक म्याच पनि नखेली फर्किएका दीपेन्द्र सिधै अर्जुन ट्रफीमा

    आईएल टी २० मा एक म्याच पनि नखेली फर्किएका दीपेन्द्र सिधै अर्जुन ट्रफीमा

    काठमाडौं । यूएईमा जारी इन्टरनेसनल लिग टी २० मा भाग लिएर नेपाली अलराउन्ड दीपेन्द्रसिंह ऐरी स्वदेश फर्किएका छन् । सो प्रतियोगितामा गल्फ जायन्ट्सबाट प्रतिनिधित्व गरेका उनले एक म्याच पनि खेल्न पाएनन् ।

    दीपेन्द्रको टीम कमजोर प्रदर्शन गर्दै समूह चरणबाट आउट भएको थियो । अर्का नेपाली अलराउन्डर कुशल मल्लको टिम डेजर्ट भाइपर्स भने प्रतियोगिताको फाइनलमा पुगेको छ । आज डेजर्ट भाइपर्स र दुबइ क्यापिटलबीच उपाधि भिडन्त हुँदैछ । टीमले फाइनलसम्मको यात्रा तय गर्दा कुशलले भने एक म्याच पनि खेल्न पाएका छैनन् । यद्यपि, डेजर्टले फाइनलमा जिते उनी उपाधि विजेता बनेर फर्किन सक्नेछन् ।

    दीपेन्द्र भने दुबईबाट फर्किए लगत्तै घरेलु लिग खेल्न धनगढी पुगेका छन् । धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी अर्जुन ट्रफीको सेमिफाइनलमा आज उनी सहभागी भए । धनगडी र अत्तरियाबीच सेमिफाइनल खेल अहिले जारी छ ।

    डीसीए धनगढीबाट खेलेका दिपेन्द्र १५ रन बनाएर आउट भएका छन् । उनले १८ बलको सामना गर्दा एक चौका प्रहार गरे । उनलाई अत्तरियाका कमल गुप्ताले सहाब आलमको हातबाट क्याच आउट गराएका हुन् ।

    अत्तरियाविरुद्ध धनगढीले कमजोर ब्याटिङ गरिरहेको छ । ओपनर लोकेश बम १२ बलमा ११ रन बनाएर आउट भए ।
    अभिषेक पलले २७ रन बनाए । आठौं नम्बरमा आएका मिलन बोहोराले केही आक्रामक सटहरु खेल्दै टिमलाई थोरै राहत दिएका छन् ।

  • शाइन रेसुंगा १० के रन हुने, पहिलो पुरस्कार एक लाख

    शाइन रेसुंगा १० के रन हुने, पहिलो पुरस्कार एक लाख

    रुपन्देही । सर्वाधिक राशिको ‘शाइन रेसुंगा नेशनल १० के रन’ प्रतियोगिता फागुन ११ गते हुने भएको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।

    ‘रन टु साइन’ भन्ने नाराका साथ बुटबलमा हुने प्रतियोगितामा राष्ट्रियस्तरका धावक सहभागी हुनेछन् । प्रतियोगितामा महिला÷पुरुष खुला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ ।

    प्रतियोगिताको नगद पुरस्कार पाँच लाख रुपैयाँ रहेको छ । जसमा खुलातर्फको महिला÷पुरुष विजेताले एकएक लाख रुपैयाँ प्राप्त गर्नेछ । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको यो नगद पुरस्कार नेपालको हालसम्मकै सर्वाधिक रहेको आयोजक साइन रेसुंगा बैंकले दाबी गरेको छ ।

    खुलातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले २ हजार ५०० रुपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    इच्छुक सहभागीले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वेबसाइटमा गएर निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुनः केन्द्रीय कार्यालय परिसरमै पुगेर समापन हुनेछ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ ।

    प्रतियोगिता अपरेसन र ब्यवस्थापनका लागि बैंककातर्फबाट सीईओ प्रकाश पौडेल र कखराका तर्फबाट हिमविक्रम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउने उद्देश्यअनुरूप दौड प्रतियोगिता गर्न लागिएको बताए ।

  • ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

    ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

    पोखरा । ६ पटकको विजेता नेपाल पुलिस क्लब पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लब यूकेलाई २-० गोलले पराजित गर्दै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

    पुलिसले दुवै गोल पहिलो हाफमा कर्नरमार्फत गरेको हो । खेलको २८औं मिनेटमा विवेक पाण्डेले कर्नरमार्फत गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाएका थिए ।

    त्यसपछि ४०औं मिनेटमा विवेककै कर्नरमा पुलिसका कप्तान राम वाजीले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । उनले कर्नरमार्फत आएको बललाई हेडमार्फत गोलको दिशा दिएका थिए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र खेल २-० ले पुलिस खेल आफ्नो पक्षमा पार्‍यो ।

    पुलिसले यसअघि प्रिक्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गरेको थियो । पुलिसले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र चर्च ब्बाइज युनाइटेड क्लबको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    पुलिससँग पराजित भएको ब्रिगेड ब्वाइज क्लब पहिलो खेलबाटै घर फर्किएको छ । प्रतियोगिताको दोस्रो क्वार्टरफाइलन थ्रीस्टार क्लब र मच्छिन्द्र फुटबल क्लबबीचको खेल आइतबार हुनेछ ।

    प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

  • फुटबलपछि खेलाडी पलायनको मारमा भलिबल

    फुटबलपछि खेलाडी पलायनको मारमा भलिबल

    पोखरा । राष्ट्रिय टोलीकी भरपर्दाे स्पाइकर सरस्वती चौधरी विदेश भासिइन् । सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर सरस्वती केही दिनअघि मात्रै अष्ट्रेलिया पलायन भएकी हुन् । सरस्वती यसअघि केही समय अष्ट्रेलिया बसेकी आएकी थिइन् ।

    पोखरामा माघ १२ देखि २० गतेसम्म भएको पाँचौं टाइगर कप भलिबल खेल्न आएकी उनी पुनः अष्ट्रेलिया फर्केकी छन् । यसअघि जाँदा एपिएफको जागिर छोडेकी थिइनन् । तर, यसपाली उनले एपीएफबाट विदा भएर त्यसतर्फ लागेकी हुन् । उनी अब नेपाली भलिबलमा सम्भवत् उपलब्ध हुने छैनिन् । नेपालको जितमा खम्बा बनेर उभिने सरस्वतीलाई नेपाली भलिबलले कति मिस गर्नेछ त्यो भोलिको दिनमा थाहा होला ।

    000

    राष्ट्रिय भलिबल टोलीको कप्तानबाट सन्न्यास लिएयता मानबहादुर श्रेष्ठ अष्ट्रेलियामा छन् । घरेलु भलिबल त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका मानबहादुर सन्न्यास लगत्तै अष्ट्रेलिया पलायन भएका थिए । सन् २०१५ बाट राष्ट्रिय टोलीबाट खेल्न थालेका मानबहादुर गत वर्षको साउनमा नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका थिए । त्यसको १५ महिनामै उनले कप्तानबाट राजीनामा दिँदै अष्ट्रेलिया भासिए ।

    000

    केही दिनअघि पोखरामा भएको पाँचौ टाइगर कप भलिबलमा पुरुषतर्फ सशस्त्र प्रहरी बल (एपीएफ) क्लब जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरियो । कारण एपीएफबाट नियमित खेल्ने खेलाडी पलायन भए । चौथो टाइगर कप खेलेका टेकराज अवस्ती, विजय थापा, लोकेन्द्र गिरी र हेमन्त मल्ल जस्ता एपिएफमा मुख्य र भरपर्दा खेलाडी पलायन हुँदा पाँचौं टाइगर कपमा उपलब्ध भएनन् ।

    नयाँ खेलाडीसहित सहभागी भएको एपीएफले राम्रो नतिजा ल्याउन सकेन । एकपटक ४–५ वटा खेलाडी पलायन हुँदा टोलीलाई ठूलो घाटा लागेको एपीएफका प्रशिक्षक महेश चौधरी बताउँछन् ।

    ‘आर्थिक अवस्थाले गाह्रो हुन्छ । सरकारले खेलकुद क्षेत्रलाई छुट्टाउनुपर्ने बजेट छुट्याएको छैन । विभागको खेलाडी त विदेश पलायन हुनुपरेको छ । सिभिलका खेलाडीको त के होला । नेपालमै बस्न गाह्रो हुन्छ,’ उनले भने । खेलाडी पलायन भएको विषय सरकारले हेर्नुपर्ने प्रशिक्षक चौधरी बताउँछन् । केही महिनापछि एपीएफको टोली राम्रो हुने उनको विश्वास छ ।

    यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । अहिले भलिबल छाडेर विदेश पलायन हुनेको संख्या अचाक्ली बढेको छ । केही समयअघि फुटबलको त्यो रोग अहिले भलिबलमा देखिन थालेको छ । केही समय खेल्ने र छोटो समयमा विदेशीने प्रचलन अहिले भलिबलमा हाबी बनेको छ । यसबाट गण्डकी प्रदेश अझ बढी प्रभावित बनेको छ ।

    भलिबलको उर्वर भूमि मानिने गण्डकी खेलाडी पलायनको मारमा परेको छ । उत्पादन गरेका राम्रा खेलाडी विभागीय लगिदिने र बचेका केही पलायन हुँदा गण्डकीले विदेशी खेलाडी भित्राउन बाध्य छ । पछिल्लो समय गण्डकीका मुख्य खेलाडी रवि केसी र सुजन चुखाल विदेश पलायन हुँदा सरोज बर्देवा एपीएफ क्लबबाट खोसिए । जसका कारण गण्डकीले तीन विदेशी खेलाडी भित्राउनुपर्‍यो । खेलाडी पलायन हुँदा विदेशबाट खेलाडी भित्राउन परेको गण्डकीका खेलाडी हिमाल सुनारी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो खेलाडी पलायन हुँदा विदेशबाट खेलाडी मगाउनुपर्ने अवस्था आयो ।’

    नेपालमा भलिबल खेलाडी भएर जीवन चलाउन सकिन्छ त ? भन्ने प्रश्नमा हिमालले भने, ‘पहिलाका पुराना खेलाडीभन्दा अलिकति सहज छ । त्यै पनि नेपालमै गुजारा चलाउन एकदमै गाह्रो छ । अहिलेको समयमा म चाहिँ सम्भव देख्दिन ।’

    विभागीय टोलीबाट खेल्ने खेलाडीलाई मासिक पारिश्रमिक व्यवस्था भए पनि प्रदेशबाट खेल्ने खेलाडीले पारिश्रमिकसमेत पाउँदैनन् । राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीले मासिक ५ हजार पारिश्रमिक पाउँछन् । त्यो उनीहरुलाई चना अण्डा खान पनि पुग्दैन । उक्त तलब पनि नेपाल भलिबल संघले अमेरिकामा रहेका पूर्व भलिबल खेलाडीको सहयोगमार्फत उपलब्ध गराएको छ ।

    यही अवस्था रहने हो भने नेपालको भलिबल पुरानै अवस्था फर्किने एभरेष्ट भलिबल क्लबका प्रशिक्षक अर्जुन घिमिरे बताउँछन् । खेलाडीको रिटायर्ड लाइफको बारेमा सरकारले सोच्न नसक्दा खेलाडी विदेशीने गरेकोे घिमिरे सुनाउँछन् । ‘जोश, उमेर हुँदासम्म खेल्ने । त्यसपछि रिटायर्ड लाइफ के गर्ने । यसको जिम्मा सरकारले लिनु पर्देन ?’ उनले भने, ‘खेलाडीले यहाँ भविष्य नदेखेर सुनिश्चित भविष्यका लागि विदेशीयको हुनुपर्छ ।’

    उनी थप्छन्, ‘भलिबल खेलका लागी अग्लो कदका खेलाडी चाहिन्छ । खोज्दा पाहिदैन । पाएका पनि खेल्न मान्दैनन् । मानेर खेलाडी बनाएपछि जोगाउन गाह्रो भएको छ । यस्तै अवस्था भयो भने पुरानो भलिबलमा नफर्किएला भन्न सकिँदैन ।’

    खेलाडी पलायन हुँदा संघ एकदमै दुखिद रहेको नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ बताउँछन् । राज्यले राष्ट्रिय खेल भलिबलका खेलाडीलाई सेवा सुविधा प्रदान गर्न नसक्दा खेलाडी पलायन नरोकिएको उनी बताउँछन् ।

    ‘भलिबल संघसँग खेलाडी रोक्न सक्ने स्रोत र साधन छैन । राज्यले रोक्न खोजेको छैन,’ उनी भन्छन्, ‘छिट्टै नै राज्यसँग छलफल गरेर उहाँहरुलाई निवेदन दिन्छौं । खेलाडीलाई रोक्न राज्यबाट सेवा सुविधा दियो भने खेलाडी पलायन रोकिन सक्छ ।’ भलिबल खेलेर आफु र आफ्नो परिवार पाल्न सक्ने अवस्था नहुँदा खेलाडी पलायन भएको संघका उपाध्यक्ष गुरुङले बताए ।

    पछिल्लो समय विदेशीयका खेलाडी

    सुजन चोखाल, गण्डकी प्रदेश, जापान

    रवि केसी, गण्डकी प्रदेश, जापान

    घनश्याम चौधरी, गण्डकी प्रदेश, जापान

    विशाल बिक, नेपाल पुलिस क्लव, अष्ट्रेलिया

    हरि थापा गुल्मेली, नेपाल पुलिस, अष्ट्रेलिया

    मानबहादुर श्रेष्ठ, आर्मी, अष्ट्रेलिया

    हेमन्त मल्ल, एपिएफ क्लब, अष्ट्रेलिया

    विजय थापा, एपीएफ क्लब, जापान

    टेकराज अवस्ती, एपीएफ क्लब, अष्ट्रेलिया

    लोकेन्द्र गिरी, एपीएफ क्लब, जापान

    राजु बिक, गण्डकी प्रदेश, पोर्चुगल

    तोरण चन ठकुरी, नेपाल पुलिस क्लब, जापान

    मिलन चन ठकुरी, गण्डकी प्रदेश, दुबई

    दिल सुनार, आर्मी क्लब, अष्ट्रेलिया

    द्वारिका थापा, नेपाल पुलिस क्लब, माल्टा

    सञ्जय अर्याल, पूर्व राष्ट्रिय खेलाडी, हङकङ

    सरस्वती चौधरी, एपीएफ, अष्ट्रेलिया

    प्रतिभा माली, न्यु डायमण्ड, अष्ट्रेलिया

     

     

  • डेब्यु खेलमा डुरानको सनसनी, नासरको जित

    डेब्यु खेलमा डुरानको सनसनी, नासरको जित

    काठमाडौं। कोलम्बियाली फर्वाड जोन डुरानले साउदी प्रो लिगको आफ्नो डेब्यु खेलमा सनसनीपूर्ण प्रदर्शन गरेपछि अल-नासरले अल-फयहामाथि ३-० को प्रभावशाली जित निकालेको छ ।

    इङ्लिस क्लब एस्टन भिल्लाबाट गत साता मात्र साउदी आइपुगेका डुरानले डेब्यु खेलमानै ब्यक्तिगत दुई गोल गर्दै नासरलाई जित दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरे ।

    २१ वर्षिय डुरानले २२ र ७२ औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण तीन अङ्क दिलाए । अल नासरको लागि अर्को गोल बुधबारमात्र ४० वर्ष पुगेका रोनाल्डोले गरे ।

    जितपछि नासार तालिकाको तेश्रो स्थानमा यथावत छ । १९ खेलबाट ४१ अङ्क बटुलेको नासर पहिलो स्थानको पहिलो स्थानको अल-इतिहाद भन्दा ८ अङ्क पछि छ । दोश्रो स्थानको अल(हिलालको भने १८ खेलबाट ४६ अङ्क छ ।

  • केनको उत्कृष्ट प्रदर्शनमा म्युनिख विजयी

    केनको उत्कृष्ट प्रदर्शनमा म्युनिख विजयी

    काठमाडौं । ह्यारी केनले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनको बुन्डेस लिगामा बायर्न म्युनिखले सानदार जित दर्ता गरेको छ ।

    शुक्रबार राती भएको खेलमा म्युनिखले ब्रेडर ब्रेननलाई ३-० ले हरायो । बायर्नको जितमा इङ्लिस स्टार केनले दुई गोल गरे भने लेरोय सानेले एक गोल गरे ।

    जितपछि २१ खेलबाट ५४ अङ्क सहित बायर्न पहिलो स्थानमा यथावत रहदा २० खेलबाट ४५ अङ्क बटुलेको डिफेन्डिङ च्याम्पियन वायर लेभरकुजन दोश्रो स्थानमा छ । पराजित ब्रेनन ३० अङ्क सहित आठौं स्थानमा छ ।

  • महिला क्रिकेट प्रशिक्षकको अभिव्यक्ति क्यानको नोटिसमा, अनुशासन उल्लंघनको विषय बन्नसक्ने

    महिला क्रिकेट प्रशिक्षकको अभिव्यक्ति क्यानको नोटिसमा, अनुशासन उल्लंघनको विषय बन्नसक्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टीमका प्रशिक्षक मनोज कटुवालले दिएको ‘विवादित’ अभिव्यक्तिलाई नेपाल क्रिकेट संघ (क्यान) ले नोटिसमा लिएको छ ।

    एक अन्तरवार्तामा उनले खेलाडीहरुको तीव्र आलोचना गरेका थिए । कटुवालको अभिव्यक्तिलाई लिएर क्यानमा अनौपचारिक छलफल भएको एक अधिकारीले बताए ।

    यद्यपि, प्रतियोगिताकै बीचमा प्रशिक्षकमाथि कुनै ‘एक्सन’ हाल्नु उपयुक्त नहुने भएकाले तत्काल निर्णय नलिइएको ती अधिकारीको भनाइ छ ।

    ‘यो अवश्य पनि अनुशासन उल्लंघनको विषय हो । प्रशिक्षक जस्तो जिम्मेवार व्यक्तिले यसरी बोल्नु शोभनीय हुँदैन’, उनले भने ।

    स्रोतका अनुसार कटुवाललाई यो विषयमा स्पष्टीकरण सोध्ने तयारी क्यानको छ । उनले दिने जवाफका आधारमा आवश्यक निर्णय लिइने छ ।

    के भनेका थिए ?

    नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले टीमको नतिजा सुधार गर्नका लागि विदेशी प्रशिक्षक चाहिने अभिव्यक्ति दिएकी थिइन् । घरेलु मैदानमा जारी त्रिकोणात्मक प्रतियोगितामा नेपालले लगातार हार व्यहोरेको सन्दर्भमा उनले विदेशी प्रशिक्षकको माग गरेकी हुन् ।

    यही विषयमा मिडियालाई अन्तरवार्ता दिँदै कटुवालले खेलाडीहरुको आलोचना गरेका हुन् ।

    उनले भनेका थिए, ‘अहिले नै विदेशी कोच खोज्नेभन्दा पनि खेलाडीले मिहिनेत गर्नुपर्यो । उनीहरूले क्याम्पको मात्र भर परेर हुँदैन । घर जाँदा पनि मिहिनेत गर्नुपर्यो । मिहिनेत गर्ने हो भने विदेशी होइन, स्वदेशी कोचले पनि हुन्छ । पहिले फिटनेस र फिल्डिङ सुधार्नुस् । विदेशी ल्याउँदैमा दुई–चार दिनमा फिटनेस सुध्रिँदैन । घर गएपछि मिहिनेत नगर्ने, सुतेर खाएर बस्ने, अनि यहाँ आएपछि विदेशी कोच खोज्ने ? उनीहरूले पनि पर्फमेन्स दिनुपर्यो नि त । विदेशी कोच मात्र होइन, यस्तो पाराले त पशुपतिनाथलाई कोच बनाए पनि केही हुनेवाला छैन ।’

    कटुवालको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । क्रिकेट समर्थकहरु उनको समर्थन र विरोधमा बाँडिएका छन् ।

    कटुवाललाई एक वर्ष अगाडि मात्रै क्यानले महिला क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त गरेको थियो । उनको करार अवधि डिसेम्बरमा समाप्त भइसकेको छ । क्यान स्रोतका करार नविकरण भएको छैन ।

    स्रोतले भन्यो, ‘डिसेम्बरमा क्यानको सबै कर्मचारी र स्वदेशी प्रशिक्षकको करार समाप्त हुन्छ । मार्चसम्म स्वत एक्सटेन्सन हुने व्यवस्था छ । त्यसपछि प्रशिक्षकको विषयमा आवश्यक निर्णय लिनेछौं ।’

    प्रशिक्षक कटुवालको सम्झौता नविकरण गर्ने वा नगर्ने कुरा बोर्ड बैठकबाट टुंगो लाग्ने स्रोतले बताएको छ ।

    नेपाली राष्ट्रिय पुरुष टीमबाट ६ वर्ष विकेटकिपरका रुपमा खेलेका कटुवाल पछिल्लो समय घरेलु क्रिकेटमा सफल प्रशिक्षकका रुपमा दरिएका थिए । उनले नेपाल पुलिस क्लबलाई काठमाडौं मेयर कप र प्रधानमन्त्री कपलगायत आधा दर्जनभन्दा बढी घरेलु प्रतियोगितामा उपाधि जिताएका छन् ।

    पीपीएलको दोस्रो संस्करणमा चितवन राइनोजका प्रशिक्षक रहेका कटुवालले टीमलाई अपराजित रहेर विजेता बनाए । कटुवालले नेपालको सिनियर र यु १९ दुवैको सहायक प्रशिक्षको भूमिका निभाएका थिए । २०१९ मा नेपालले मेरिलबोर्न क्रिकेट क्लव (एमसीसी) विरुद्ध प्रथम श्रेणी, एकदिवसीय र टि २० खेल्दा उनी सहायक प्रशिक्षक थिए ।

    क्यानले सन् २०२३ को नोभेम्बरमा महिला राष्ट्रिय टीमको जिम्मेवारी कटुवाललाई सुम्पिएको थियो । महिला टीममा नयाँ प्रशिक्षकका रुपमा कटुवाल नियुक्त हुँदा नयाँ कप्तानको जिम्मेवारी इन्दु बर्माले पाएकी थिइन् । पछिल्ला अभिव्यक्तिहरुले मनोज र इन्दुको ट्युनिङ राम्रो नमिलिरहेको छनक पाइन्छ ।

    कटुवालको प्रशिक्षणमा नेपाली महिला टीमले पहिलो प्रतियोगिताका रुपमा हङकङमा चार देशको एक दिवसीय सिरिज खेलेको थियो । उपाधि जित्ने लक्ष्य राखेको नेपालले ३ म्याच खेल्दा एक मात्र जित हासिल गरी तेस्रो स्थानमा रह्यो । नेपालले जापानलाई जितेको थियो भने तान्जानिया र हङकङसँग पराजित भएको थियो ।

    सन् २०२४ को फेबु्रअरीमा नेपाल मलेसियामा आयोजित एसीसी प्रिमियर कपमा सहभागी भयो । उक्त प्रतियोगिताको समूह चरणमा नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई हराएर समूह विजेता भयो । क्वाटरफाएनलमा कुवेतलाई हराएको नेपाल सेमिफाइनलमा मलेसियासँग पराजित हुँदै उपाधि होडबाट बाहिरियो ।

    गत जुलाइमा नेपालले महिला एसिया कपमा भाग लियो । सो प्रतियोगितामा नेपालले युएइलाई हरायो भने पाकिस्तान र भारतसँग सहजै पराजित भयो । यसपछाडि नेपालले घरेलु मैदानमा चारदेशीय सिरिज खेलेको हो, जसमा निराशाजनक परिणाम हात पारेको छ । नेदरल्यान्ड्स र थाइल्यान्डसँगको सिरिजमा ६ खेल खेल्दा नेपालले एक जित पनि हात पार्न सकेन ।

     

  • युवा संघ नेपालले आयोजना गरेको खेलमा कलाकारको समूह विजयी

    युवा संघ नेपालले आयोजना गरेको खेलमा कलाकारको समूह विजयी

    काठमाडौं । राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण खेलमा कलाकारको समूह विजयी भएको छ । शुक्रबार २ बजे लैनचौर एनसेल खेलमैदानमा खेलमा कलाकारको समूह विजयी भएको हो ।

    खेलमा कलाकारबाट ५ गोल र राजनीतिज्ञ समूह बाट १ गोल भएको थियो । खेलमा कलाकारबाट राजु ढकाल ले ४ र १ गोल आकाश श्रेष्ठले गरेको थिए भने राजनीतिज्ञ बाट सपना थेबेले १ गोल गरे ।

    खेलमा कलाकार उक्त खेलमा राजनीतिज्ञ समूहबाट प्रदिप ज्ञवाली, विश्व प्रकाश शर्मा, भानुभक्त ढकाल, महेश बस्नेत, राजिब पहारी, क्षितिज थेबे, महेश बर्तौला, दिपशिखा, सुबोध सिर्पाली, सुहांग नेम्बांग, कृष्ण हरी केसी, पुष्प श्रेष्ठ, विनय शाहा, फुर्वा लामा, रंजु राइ, सपना थेबेलगायत थिए भने कलाकारबाट धिरेन शाक्य, बद्री पंगेनी, दिनेश डिसी, आकाश श्रेष्ठ, हरी डाँगी, राजेन्द्र खड्गी, माग्ने बुडा, सारिका केसी, लक्ष्मी आचार्य, आकाश श्रेष्ठ, राजु ढकालसहितका कलाकार थिए ।

    राजनीतिज्ञ दलको समूहबाट टिम क्यापटेन क्षितिज थेबे थिए भने कलाकारबाट धिरेन शाक्य रहेका थिए ।

    राष्ट्रिय युवा संघले गत बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने सार्बजनिक गरेको छ ।

    र उक्त खेलको प्रचारको निम्ति विभिन्न समूह बनाएर खेल खेल्न लागिएको आयोजकले जनाएको छ ।

    जहाँ युवा, त्यहाँ खेलकुद भन्ने मुल नाराका साथ सुरु हुने खेलमा नेपालका ए डिभिजन लिगका क्लब र विदेशी क्लबहरु सहभागी हुने अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । प्रतियोगितामा भारत, भुटान र उजवेकिस्थानका क्लब सहभागी हुने जनाइएको छ ।

    प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो र दोस्रो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

    प्रतियोगीतामा ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।

    प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने उनले बताए ।

    फुटबल जगतलाई ऊर्जा दिन निरन्तर केपी ओली कप फुटबल आयोजना गरिरहेको र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने युवा संघको प्रबक्ता निरोज पौडेल ले जानकारी दिए।

  • संकटालाई हराउँदै सिक्किमको थन्डरबोल्ट युनाइटेड क्वाटर फाइलनमा

    संकटालाई हराउँदै सिक्किमको थन्डरबोल्ट युनाइटेड क्वाटर फाइलनमा

    पोखरा । पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकपमा सिक्किमको थन्डरबोल्ट युनाइटेड क्वाटर फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको प्रिक्वाटर फाइलनमा संकटा क्लबलाई ३-१ गोलले पराजित गर्दै थन्डरबोल्ट युनाइटेड क्वाटरफाइलनमा प्रवेश गरेको हो ।

    सुरुआती अग्रता जोगाउन नसक्दा ३ पटकको विजेता संकटा पहिलो खेलबाटै घर फर्किनुपर्यो । खेलको १७औं मिनेटमा गोल गर्दै संकटाका मनिष पौडेलले टिमलाई अग्रता दिलाएका थिए ।

    तर, ३५औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै थन्डरबोल्ट युनाइटेडले खेल बराबरीमा पुर्यायो । संकटाले डिबक्सभित्र विपक्षी टोलीका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा थन्डरबोल्टका तालाले सहजै गोल गरे । त्यसपछि पहिलो हाफमा दुवैतर्फबाट कुनै गोल भएन ।

    दोस्रो हाफमा भने थन्डरबोल्टले दुई गोल थप्दै जित दर्ता गर्यो । खेलको ७७औं मिनेटमा थन्डरबोल्टका करण राईले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि ८९औं मिनेटमा थन्डरबोल्टका खेलाडीले गोल गर्दै अग्रता दोब्बर बनाए ।

    थन्डरबोल्टका आदर्श तामाङले गोल गर्दै टोलीलाई सहज स्थितिमा पुर्याए । त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन सकेन र थन्डरबोल्ट ३–१ ले विजयी भयो । अब थन्डरबोल्टले सेमिफाइलन प्रवेशका लागि उज्वेकिस्तानको ब्लाक बुल्स फुटबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

    सहारा क्लब पोखराको आयोजनामा भइराखेको उक्त प्रतियोगिताअन्तर्गत भोलि शनिबार पहिलो क्वार्टरफाइलनको खेल हुनेछ । उक्त खेलमा ब्रिजेड ब्वाइज क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।