Category: नेकपा एस

  • माधव नेपालको दाबी- एसपीपीको विषयमा संसदमा जसले हंगामा गरे, उसैको संलग्नता छ (भिडिओ)

    माधव नेपालको दाबी- एसपीपीको विषयमा संसदमा जसले हंगामा गरे, उसैको संलग्नता छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको दाबी गरेका छन् । पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा बाहिरिएको नेपाली सेनाको पत्रले एमालेको संलग्नता पुष्टि भएको उनले दाबी गरे ।

    ‘त्यसैबीचमा एउटा कागज आयो नेपाली सेनाका प्रमुखले हस्ताक्षर गरेको । कसको सरकारका पालामा भयो भन्ने अन्योल भयो’, अध्यक्ष नेपालले भने, ‘खोज्दै जाँदा संसदमा जसले आवाज उठाएका थिए, जोडदार हंगामा मच्चाएका थिए । त्यहीँ पार्टी जोडिएको कुरा आयो ।’

    त्यत्रो कुरा किन लुकाइयो ? किन त्यो विषयमा आफै हंगामा खडा गरे भन्ने विषय बाहिर ल्याउने छलफल भइरहेको दाबी गरे । ‘किन यत्रो हंगामा ? कि सबैले बिर्से ? बिर्सने औषधि खाए या कुरा लुकाइयो ? या त कागजमा केही छैन ? यथार्थ कुरा बाहिर आओस्’, उनले थपे ।

    यस विषयमा आज बिहान गठबन्धन दलका शीर्ष नेता बसेर छलफल गरेको नेता नेपालले बताए । उनले भने, ‘बसेर प्रधानमन्त्री (शेरबहादुर देउवा)जीलाई सबै कुरा बाहिर ल्याउन भन्ने सहमतिमा पुगेका छौँं ।’

    प्रधानमन्त्री देउवा र प्रधानसेनापतिसँग कुरा गर्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भइसकेको अध्यक्ष नेपालले बताए । ‘मैले शेरबहादुर देउवालाई सोध्दा उहाँले क्याटेगोरिकल्ली जवाफ दिनुभयो । उहाँले म अमेरिका गइहाले पनि सुरक्षामा आवद्ध हुने कुनै दस्तावेजमा म सही गर्दिनँ, कसैले भने पनि म मान्दिनँ । उहाँको जवाफबाट खुसी भयौँ’, उनले भने, ‘नेपाली सेनाका प्रधानसेनापतिको जवाफ नेपाली सेना नेपालको राष्ट्रिय हित, भूराजनीतिक संवेदनशीलता र छिमेकीको संवेदनशील अवस्थालाई बेवास्ता गर्दैनौँ भन्नुभएको छ ।’

  • नेकपा एसले सदस्यता वितरण विशेष अभियान थाल्ने (सर्कुलरसहित)

    नेकपा एसले सदस्यता वितरण विशेष अभियान थाल्ने (सर्कुलरसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले संगठन विस्तार साथै पार्टी सदस्यता वितरणलाई जोड दिएको छ । बेदुराम भुसालको अध्यक्षमा बिहीबार बसेको केन्द्रीय संगठन विभागको बैठकले असारदेखि भदौसम्म तीन महिना सदस्यता वितरण विशेष अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

    अन्तर संगठन निर्देशन पठाउँदै पार्टीको केन्द्रीय संगठन विभागले केन्द्रीय परिषद्लाई पूर्णता दिन पहिले प्रतिनिधित्व भइसके बाहेकका मोर्चा/जनसंगठनलाई विधानको व्यवस्थाअनुसार नाम पठाउन भनिएको छ ।

    त्यस्तै असार मसान्तभित्र पार्टी सदस्यता अद्यावधिक गर्न, नवीकरणको काम भदौ मसान्तभित्र सक्न पनि निर्देशनमा भनिएको छ । एमालेसँगको विद्रोह गरेको छोटो अवधिमा नै पार्टी मजबुत हुँदै गरेको निष्कर्षसहित नेकपा एसले यसलाई अझै अजबुत बनाउने प्रणसमेत गरेको छ ।

     

  • देउवालाई माधव नेपालको सुझाव – ह्विस्की खुवाएर एसपीपीमा सम्झौता गराउलान्, सचेत हुनुस् (भिडिओ)

    देउवालाई माधव नेपालको सुझाव – ह्विस्की खुवाएर एसपीपीमा सम्झौता गराउलान्, सचेत हुनुस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा हस्ताक्षर गराउन प्रयास गर्लान् भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

    संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफनो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्विस्की’ खुवाएर सम्झौता गराउने आशंका गर्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन् ।

    अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको तर्फ नेपालको आशंका कायमै छ । ‘मीठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालको भनाइ छ ।

    अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सो बारेमा जानकारी माग गरेको पनि बैठकमा बताएका छन ।

    ‘मैले प्रधानमन्त्रीलाई सोध्दा उहाँले एसपीपीमा हस्ताक्षर गर्दिनँ कसैले भने पनि म गर्दिनँ भनेर भन्नुभो । यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सीमामा सैन्य गतिविधि हुन दिन्नँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वास्त भएको छु । कुनै पनि मुलुकको दबाब स्वीकारिँदैन । यस सम्झौतमा हाम्रो असहमति छ’ नेपालले बैठकमा भने ।

    उनले भने,‘ उहाँको अडान सुन्नेवित्तिकै म खुसी पनि भए । कुनैपनि राष्ट्रको अनुचित दबाबलाई कुनै हालतमा स्वीकार गर्नु हुँदैन । कहिले दबाब दिएर, फकाएर, कहिले थाहै नदिई निदाएको बेला ह्विस्की खुवाएर साइन गरिएला ख्याल गर्नुहोला । कुनै पनि हिसाबले नफसिकन संस्थागत रुपमा राष्ट्रिय हितलाई लानुपर्छ ।’

    साथै उनले नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् ।

  • बजेट पारित भए लगत्तै अहिलेका मन्त्री फिर्ता गर्ने नेकपा एसको निर्णय (भिडिओ)

    बजेट पारित भए लगत्तै अहिलेका मन्त्री फिर्ता गर्ने नेकपा एसको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय बजेट पारित भए लगत्तै कार्यान्वयन गर्ने भएको छ ।

    स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै नयाँ मन्त्री सरकारमा पठाउने भएको हो ।

    स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए ।

    स्थायी कमिटी बैठकले असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ भने १३ गते केन्द्रीय परिषद् बैठक बोलाएको खतिवडाले बताए ।

    नेकपा एसले अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने समेत निर्णय लिएको छ ।

  • झलनाथको निष्कर्ष- एमसीसी पास भए अमेरिकी सेना मार्च गर्छ भन्ने आशंका पुष्टि हुँदैछ

    झलनाथको निष्कर्ष- एमसीसी पास भए अमेरिकी सेना मार्च गर्छ भन्ने आशंका पुष्टि हुँदैछ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित तथा तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँग प्रस्तावित ‘स्टेट पार्टनरशीप प्रोग्राम’ मा सहभागी भए नेपाल युक्रेनको अवस्थामा पुग्ने चेतावनी दिएका छन् ।

    पार्टीको मंगलबारबाट सुरू स्थायी कमिटी बैठकमा खनालले आफ्नो धारणा राख्दै स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) को प्रस्तावित सम्झौताको प्राप्त कपिलाई स्थायी कमिटिको बैठकमा वितरण गर्दै एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्‍न मुलुक नरहने बताएका हुन् ।

    उनले यसबाट नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीनविरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा रहेको कुरा बैठकमा बताएका छन् । सत्तारुढ गठबन्धनको एक घटक नेकपा एसले यो प्रस्तावलाई स्वीकार गर्न नहुने खनालले बताएका छन् ।

    खनालको भनाइ थियो, ‘वास्तवमा एमसीसी अनुमोदन गर्ने बेलामा नेपाली जनतामा यो पास भयो भने नेपालमा अमेरिकी सेना मार्च.गर्नेछन भन्ने हल्ला थियो तर अहिले प्रकटरूपमा आएको यो प्रस्तावले त्यही कुरालाई पुष्टि गर्न थालेको छ । हामी सबै होसियार बनौं, सचेत बनौँ र आफ्नो राष्ट्रको स्वतन्त्रतालाई बचाऔं ।

  • सिन्धुपाल्चोक जिससमा कांग्रेस-एस गठबन्धन विजयी

    सिन्धुपाल्चोक जिससमा कांग्रेस-एस गठबन्धन विजयी

    सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ । आइतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भएका हुन् ।

    श्रेष्ठ बाह्विसे-४ बाट वडा सदस्यमा निर्वाचित हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश विकले १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार विकलाई एमालेको समर्थन थियो । तर, गठबन्धनबाट खस्नु पर्ने ११ मतमध्ये विकले १० मत प्राप्त गरेका छन् । एक मत खाली रहेको थियो ।

    उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदमनाथ नेपाल १३ मत प्राप्त गरी विजयी भएका छन् । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जंगप्रताप सिलवाल (जेपी) ले ११ मत प्राप्त गरेका थिए । उपप्रमुखमा निर्वाचित नेपाल स्थानीय तह निर्वाचनमा बलेफी गाउँपालिका-४ विन्जेलबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

    समन्वय समितिको सदस्यमा समाजवादी र कांग्रेस गठबन्धनबाट जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ, अम्बिका बस्नेत, ढकमाया, सेतो कोईराला, सोममाया श्रेष्ठ, तारा नेपालीले १३-१३ मत प्राप्त गरेको निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।

    १२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कुल २४ मतदाता थिए । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्यकाका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

  • वेटिङ मन्त्री जीवनरामको आरोप- मेलम्चीमा स्ट्यान्डर्डअनुसार काम भएन, मिलेमतो छ

    वेटिङ मन्त्री जीवनरामको आरोप- मेलम्चीमा स्ट्यान्डर्डअनुसार काम भएन, मिलेमतो छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठ पार्टीबाट मन्त्री पदमा सिफारिस भएका छन् । उनी पर्यटनमन्त्री हुने तय भएको छ । यसकारण अबको केही दिनभित्रै उनी मन्त्री बन्दैछन् ।

    यिनै सांसद श्रेष्ठले मेलम्ची खानेपानी आयोजनामा स्ट्यान्डर्डअनुसार काम नभएको बताएका छन् । प्रतिनिधिसभामा आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘काठमाडौं उपत्यकाको मेलम्ची आयोजना प्रोजेक्टको हिसाबले स्ट्यान्डर्ड प्रोजेक्ट हो’, उनले भने, ‘तर, यसको कामको अवस्था हेर्ने हो भने काठमाडौंका सडकहरू बिग्रिने, सडकमाथिबाट पानी बग्ने, काठमाडौंमा सधैँ नै अव्यवस्थित हुने सम्भावना एकदम देखिएको छ ।’

    यसको स्ट्यान्डर्डअनुसार काम नभएको र धेरै त्रुटिहरू भएको सांसद श्रेष्ठले बताए । उनले भने, ‘यसका लागि जुन ढंगका मेटेरियलहरू जसरी डिजाइन गरिएका छन्, त्यसअनुसार बिल्कुलै काम भएको छैन ।’

    अहिले हेरे पनि काठमाडाैंका ठाउँठाउँमा भर्खरै बनाएका सडकमाथिबाट पानी बगेको देखिने उनले बताए । ‘त्यो केको पानी भन्दा मेलम्चीको पाइप फुटेको पानी । यो प्राविधिक रुपमा सही ढंगबाट काम नभएको हुनाले यो समस्या आइलागेको हो’, उनले भने ।

    यसमा मन्त्रालयका इन्जिनियरदेखिको मेकानिज्मको मिलेमतोमा काम भइरहेको सांसद श्रेष्ठले दाबी गरे । ‘स्ट्यान्डर्डको रुपमा ठेक्का भएको छ । तर, काम एउटा ज्यामीलाई पेटी ठेक्काका रुपमा सय-सय फिटको दिइएको छ’, उनले भने, ‘ज्यामी नै इन्जिनियर, ठेकेदार सबै हो । त्यो स्तरमा काम भइरहेको छ ।’

    यसमा मन्त्रालयबाट तुरुन्तै छानबिन समिति बनाएर अनुगमन र निरीक्षण गर्न उनले आग्रह गरे ।

  • माधवको चुनावी समीक्षा- गठबन्धनले फाइदा त भयो, तर गठबन्धनकै गीत धेरै गाउँदा धोका पनि पायौं

    माधवको चुनावी समीक्षा- गठबन्धनले फाइदा त भयो, तर गठबन्धनकै गीत धेरै गाउँदा धोका पनि पायौं

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाँदा आफ्नो पार्टीलाई फाइदा नै भएको बताएका छन् । भौतिकरूपमा पनि पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको जित उदाहरण भएको उनले बताए ।

    ‘गठबन्धन कायम गरेका छौं । गठबन्धनले कति फाइदा कति घाटा विवेचना गरिरहेका छौँ,’ पार्टीनिकट विद्यार्थी जिल्ला विशेषको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले भने,‘अवश्य फाइदा भएको छ । भौतिक रूपमा भन्दा पोखरा शानदार जितेका छौं । हामी बाहेक कोही जित्ने थिएन । हेटौंडामा हाम्रो पार्टीले शानदार सफलता हासिल गर्‍यो ।’

    तर, गठबन्धनको धेरै वकालत गर्दा पनि कमजोरी देखिएको अध्यक्ष नेपालले बताए ।

    उनले भने,‘हाम्रा कमजोरी के रहे भने गठबन्धनको गीत गायौँ । भरोसा धेरै गर्‍यौं । अनि कतिपय ठाउँमा धोका पनि पायौं ।’ आफ्नै पार्टीको भरोसामा लडेको भए योभन्दा बढी सफलता हासिल गर्ने अवस्था देखिएको उनले बताए ।

    ‘एक्लै आफ्नै सँगठनको बलमा लडेका ठाउँमा मेयर जितेका छौँ । अध्यक्ष जितेका छौँ,’ उनले भने ।

    अब गठबन्धनको भविष्यका विषयमा शंका नगर्न पनि उनले कार्यकर्तालाई सुझाए । उनले भने,‘गठबन्धनको भविष्य छैन भन्नेका पछाडि लाग्नुहुन्न । आगामी चुनाव र चुनावपश्चातसम्म लागिरहेका छौँ ।’ आफूहरू इमान्दारिताका साथ गठबन्धनमा लाग्ने र कमजोरीको आलोचना पनि गर्ने उनले बताए ।

  • सुदेश पराजुलीको टिप्पणी- हाम्रा मन्त्री पार्टी निर्णय उल्ट्याउन देउवा र प्रचण्डको शरणमा पुगे (भिडिओ)

    सुदेश पराजुलीको टिप्पणी- हाम्रा मन्त्री पार्टी निर्णय उल्ट्याउन देउवा र प्रचण्डको शरणमा पुगे (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पार्टीको निर्णयविपरीत मन्त्री पदमा बसिरहन केही नेताले घृणित खेल खेलेको आरोप लगाएका छन् ।

    नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको सपथग्रहणपछि अध्यक्ष माधव कुमार नेपाललाई समेत साक्षी राखेर पराजुलीले पार्टी निर्णयविरुद्ध मन्त्रीहरु शेरबहादुर देउवा र प्रचण्डको शरणमा पुगेको आरोप लगाए ।

    शहरी विकास मन्त्री रामकुमारी झाँक्रीप्रति लक्षित गर्दै अध्यक्ष पराजुलीले हिजो मन्त्री नहुँदा आशा गरिएका र पार्टीको नेतृत्व गर्न सक्ने भनेर अपेक्षा गरिएका नेताले पद जोगाउन पार्टी पद्दति धुजाधुजा पारेको आरोप लगाए ।

    पराजुलीले भने, ‘आज कोही मन्त्री हुँदै गर्दा हाम्रो पार्टीको आलोकनगरको कार्यालयले के गर्छ भन्ने होइन देउवाको शरणमा गइरहेका , प्रचण्डको शरणमा गइरहेका छन् । पार्टीले एकातिरबाट निर्णय गर्छ, तर उनीहरू उल्टो गर्छन् । पदमा पुगेपछि टाँसिरहनुपर्ने मन्त्रीको कुर्सीमा सुपरग्लु छ कि ? पार्टीले बुझ्न जरुरी छ ।’

    पराजुलीले पार्टीको निर्णय पालना गराउन नेतृत्वलाई आग्रह समेत गरे ।

  • नेकपा एसले फिर्ता बोलाएका मन्त्री कार्यकक्षमै

    नेकपा एसले फिर्ता बोलाएका मन्त्री कार्यकक्षमै

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री हेरफेरको निर्णय गरेपनि सोमबार शपथग्रहण नहुने भएको छ । नेकपा एसले एक्कासी निर्णय गर्दै मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ नाम सिफारिस गरेको थियो ।

    मन्त्री फेर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै सहमत भएपछि पुरानै मन्त्रीहरुकाे निरन्तरता हुने भएको हाे ।

    बजेटमाथि उठेका प्रश्नहरुको मन्त्रालयगत छलफल जारी रहेपनि जवाफ नदिई फिर्ता बोलाउने निर्णय पार्टीले गरेको भन्दै मन्त्रीहरु रुष्ट रहेका थिए । तर मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक नभएपछि उनीहरु ढुक्कले मन्त्रालयमा नै रहेका छन् ।

    नेपाल प्रेसको टिम सिंहदरबार पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कार्यकक्षमा नै भेटिएका थिए ।

    अन्य मन्त्रीहरु मन्त्रिपरिषद् बैठकका लागि गएको उनीहरुको सचिवालयले जनाएको जनाएको छ ।

    तस्बिरहरु : उमेश कार्की

  • पार्टीले फिर्ता बोलाएकोबारे नेकपा एसका मन्त्रीहरु बेखबर

    पार्टीले फिर्ता बोलाएकोबारे नेकपा एसका मन्त्रीहरु बेखबर

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पार्टीको तर्फबाट सरकारमा सहभागीलाई फिर्ता बोलाउन गरेको निर्णयबारे मन्त्रीहरु नै बेखबर रहेको पाइएको छ । पार्टीको सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूहरुसँग सल्लाह नै नगरी पार्टीले उक्त निर्णय गरेको बताइन् । ‘आधिकारिक जानकारी थिएन, सञ्चारमाध्यमबाट पार्टीको निर्णयबारे सुनेको हुँ’, उनले भनिन् ।

    पार्टीका केन्द्रीय सदस्यसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पनि पार्टी निर्णयबारे आफू बेखबर रहेको बताए । ‘हामीलाई त्यस्तो कुनै जानकारी थिएन, सञ्चारमाध्यमबाट थाहा पाएँ’, उनले भने ।

    नेकपा (समाजवादी)कै केन्द्रीय सदस्य रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि आफुलाई मन्त्रीबाट फिर्ता बोलाएको बारेमा आधिकारिक जानकारी नआएको बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘आधिकारिक रुपमा जानकारी नआए पनि पार्टीको बैठकले फिर्ता बोलाएको र अरु साथीहरुलाई सिफारिस गरेको भन्ने सुनियो । सुरुमा नै ६ महिनाका लागि भनेर हामीहरुलाई मन्त्रीमा पठाइएको हो । २ महिना थपेर ८ महिनासम्म काम गर्ने मौका पार्टीले दियो । यसमा मेरो कुनै पनि गुनासो र चित्त दुखाई छैन । मन्त्री बनाउने र हटाउने जिम्मेवारी पार्टीलाई छ । त्यसैले मैले मन्त्रालय सम्हालेपछी गरेका काम प्रती म एकदमै खुसी छु । पार्टीको निर्णय अनुसार छाती फुलाएर बाहिरिन तयार छु ।’

    बाँकी मन्त्रीले पनि फिर्ता बोलाएको बारेमा आफूहरुलाई आधिकारिक जानकारी नभएको बताएका छन् । नेकपा एसले हिजो सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय गरेको थियो । नयाँ मन्त्रीहरुको आजै सपथग्रहण कार्यक्रम राखिएको छ ।

  • निर्वाचनको समीक्षा गर्न नेकपा एसले खटायो सात नेता

    निर्वाचनको समीक्षा गर्न नेकपा एसले खटायो सात नेता

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनबारे समीक्षा प्रतिवेदन तयारीका लागि प्रदेशस्तरीय कार्यदल बनाएको छ ।

    हिजो र आज बसेको सचिवालय बैठकले भर्खरै सकिएको स्थानीय निर्वाचनमा पार्टी र गठबन्धन दलको भूमिकाको सूचना संकलन, विश्लेषण गरी स्थायी कमिटी बैठकमा पेस गर्ने गरी प्रदेशगत रूपमा ७ जना नेतालाई जिम्मा दिइएको छ ।

    बैठकले निर्वाचनमा विजयी आफ्ना उम्मेदवारहरूलाई असार ४-५ मा काठमाडौंमा राष्ट्रिय अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ ।

    त्यस्तै यस वर्ष औसतभन्दा बढी वर्षा हुने मौसमविद्हरूको पूर्वानुमान रहेकोतर्फ ध्यानाकर्षण भएको भन्दै विपद् पूर्वतयारी र प्रतिकार्यमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिइएको छ ।

  • कांग्रेसका कारण केही स्थानमा पराजय भोग्नुपर्‍यो : माधव नेपाल (भिडिओ)

    कांग्रेसका कारण केही स्थानमा पराजय भोग्नुपर्‍यो : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको आरोप लगाएका छन् ।

    आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरी भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताए ।

    ‘समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुन्थ्यो । तर, यो कुरा उसले बुझ्न जरुरी थियो । माओवादीभित्र पनि यस्तै स्थिति भो’, नेपालले भने ।

    उहाले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा गरे ।

  • मन्त्री हेरफेरबारे नेकपा एसमा छलफल, शीर्ष नेतालाई जिम्मेवारी (भिडिओ)

    मन्त्री हेरफेरबारे नेकपा एसमा छलफल, शीर्ष नेतालाई जिम्मेवारी (भिडिओ)

    काठमाडौं । नेकपा एसको आज बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेरको विषयले प्रवेश पाएको छ । हिजोदेखि चलिरहेको बैठकअन्तर्गत आज यो विषयले प्रवेश पाएको हो ।

    सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको जानकारी दिँदै नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारले त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको बताए ।

    ‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू (शीर्ष नेता) ले नै गर्नुहुन्छ ।’

    अहिले संघीय सरकारमा एक राज्यमन्त्रीसहित सो पार्टीबाट ५ जना मन्त्री छन् ।

    आफूलाई मन्त्रीबाट हटाए पार्टी छाड्ने भन्ने केही मन्त्रीले चेतावनी दिइरहेको भन्ने चर्चाको विषयमा पत्रकारले सोधेको प्रश्नमा पार्टी निर्णय सबैले मान्नुपर्ने उपमहासचिव तुलाधरले बताए ।

    उनले भने, ‘मैले चेतावनीको कुरा सुनेको छैन् । जिम्मेवार नेताहरूले त्यसो भन्न मिल्दैन् । पार्टी सरकारमा सामेल हूँदा पार्टीले पठाएको हो । पार्टीले अर्कोलाई पठाउने चाहना राख्दा उहाँहरूले स्वीकार्नुहुन्छ ।’

    बाम गठबन्धनको चर्चाका विषयमा बैठकमा कुनै छलफल नभएको तुलाधारले बताए ।

    ‘हामी बैठकको फस्ट आवरदेखि नै यसै गठबन्धनलाई अगाडि बढाउने कुरामा प्रष्ट छौ,’ उनले भने,‘बामगठबन्धन सुन्दाखेरी सुन्दा असाध्यै राम्रो लाग्ने कुरा हो । इमान्दारिता भएन भने नराम्रो हुदो रहेछ भनेर थाहा भइसकेको छ । त्यसैले त्यो सम्भव छैन ।’

  • नेकपा एसको चुनावी समीक्षा- गठबन्धनप्रति हामी इमानदार भयौँ, अरूबाट विश्वासघात भयो (भिडिओ)

    नेकपा एसको चुनावी समीक्षा- गठबन्धनप्रति हामी इमानदार भयौँ, अरूबाट विश्वासघात भयो (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको भन्दै यसलाई पाँच दलमा छलफलमा विषय बनाउने भएको छ ।

    स्थानीय तह चुनावको समीक्षाका लागि शनिवार बसेको सचिवालय बैठकमा नेताहरूले आफूहरू गठबन्धनप्रति इमानदार भए पनि अन्य दलबाट अपमान भएको रिपोर्टिङ गरेको उपमहासचिव डा. गंगालाल तुलाधरले बताए ।

    गठबन्धनका अन्य दलबाट धोखा भएको अनुभव भएको भन्दै उनले देशभरी संगठन हुँदा पनि आफूहरूले गठबन्धनमा विश्वास गरेर थोरै ठाउँमा मात्र उम्मेदवारी दिँदा विश्वासघात भएको बताए ।

    बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै सातै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाएको छ । ती ती नेताले पाँच दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने तुलाधरले जानकारी दिए ।

    बैठकले प्रदेश १ मा जयन्ती राई,मधेस प्रदेशमा रामचन्द्र झा, वागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा. विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा महासचिव डा. बेदुराम भुसाललाई सूचना संकलनको जिम्मा दिएको छ ।

    बैठक आइतबार पनि जारी रहने र समग्र चुनावी समीक्षा सचिवालयमा भएर त्यसको प्रतिवेदन अन्य कमिटीमा छलफलका लागि पेस गरिने तुलाधरले बताए ।

  • वाम गठबन्धन: प्रचण्ड-माधवको बार्गेनिङ कार्ड कति शक्तिशाली ?

    वाम गठबन्धन: प्रचण्ड-माधवको बार्गेनिङ कार्ड कति शक्तिशाली ?

    कैलाली । पछिल्लो समय फेरि वाम गठबन्धनको चर्चा बढेको छ । स्थानीय तहको निर्वाचन सकिएलगत्तै वाम गठबन्धनको चर्चा सुरु भएको हो ।

    कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा होमिएका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि वर्तमान गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेपछि संसदीय निर्वाचनमा नयाँ गठबन्धन हुने शंका गरिएको हो ।

    देशभरका २४९ जना प्रतिनिधिहरूलाई काठमाडौंमा बुधबार प्रशिक्षण दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेले जस्तै दम्भ प्रमुख सत्ताधारी नेपाली कांग्रेसले पनि देखाउन थालेको बताएका थिए ।

    ‘कांग्रेसले पनि एमालेले जस्तै दम्भ देखायो भने ठेगान लगाइदिन्छौं, अहंकार र दम्भले कसैलाई राम्रो गर्दैन भन्ने ख्याल गरे हुन्छ’, उनले भनेका थिए, ‘कांग्रेस फेरि एमाले जस्तै अहंकारी हुने हो कि भनेर देशभरबाट हामीलाई रिपोर्ट आइरहेको छ । हामी त क्रान्तिकारी हौँ, अहंकार र दम्भ आयो भने हामी कांग्रेसलाई पनि ठोक्दै जान्छौं ।’

    कांग्रेसलाई माओवादी अध्यक्ष दाहालले दिएको कडा चेतावनीले नयाँ राजनैतिक सिराको प्रारम्भका रूपमा धेरैले बुझेका छन् । यता एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले पनि स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट इमानदारिता नदेखिएको बताउँदै आइरहेको छ ।

    पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न सुर्खेत पुगेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनको भर पर्दा कम सिट जितेको बताएका थिए । उनले एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने दाबीसमेत गरे ।

    एकातर्फ गठबन्धनका मुख्य घटकहरूबाटै गठबन्धनप्रति असन्तुष्टि व्यक्त हुनु र अर्कोतर्फ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर आएको भन्ने विषयले पनि नेपाली राजनीतिको कोर्स फेरिने संकेत गर्छ । तर, यी कुरामा भने त्यति धेरै आधार भेटिँदैन ।

    अहिले सम्भव छ त वाम गठबन्धन ?

    स्थानीय चुनावमा बलियो गढ मानिएको पोखरामा नै एमाले पराजित भयो । त्यसले एमाले पनि वाम गठबन्धनको पक्षमा छ कि भनेर अनुमान गर्नेहरु धेरै छन् । तर, एमाले नेतृत्व पंक्तिले त्यसलाई स्वीकारेको छैन ।

    एमाले नेताहरू कांग्रेससँग बार्गेनिङका लागि माओवादी र नेकपा एसले यस्तो अभिव्यक्ति दिइरहेको बताउँछन् । ‘एमालेले प्रचण्ड–माधवलाई प्रधानमन्त्री अफर गर्ने त परै जाओस्, सोच्न पनि सक्दैन । केपी ओलीको नेतृत्वमा सरकार बनाउने उहाँहरूको प्रस्ताव त हामीले अस्वीकार गरेका हौँ भने अहिले एमालेले उहाँहरूलाई प्रधानमन्त्री वा वाम गठबन्धनको प्रस्ताव गर्ने सम्भावना नै छैन’ एमाले उपाध्यक्ष विष्णु पौडेलले नेपाल प्रेसलाई भनेका छन्, ‘एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्ने चालबाजी मात्र हो । हामी प्रचण्डलाई वा माधवलाई त्यस्तो अफर गर्ने गल्ती गर्दैनौँ ।’

    विभिन्न कार्यक्रमहरूमा गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरे पनि नेपाल र दाहाल दुवैले तत्काल नै नयाँ गठबन्धनको सम्भव नभएको बताउँदै आइरहेका छन् । ‘सत्ता गठबन्धन दलहरूबिच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुन्छ’, माधव नेपालले सुर्खेतमा भनेका थिए , ‘चुनावी समीक्षाबाट आत्मालोचना भएकोले आगामी निर्वाचनमा पनि तालमेल हुने भएको हो ।’

    प्रचण्डको अभिव्यक्ति पनि योभन्दा फरक छैन । बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा दाहालले संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धनलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म लैजान आफू तयार रहेको बताएका थिए । अरूले जेसुकै भने पनि गठबन्धन बचाएरै दुवै तहको निर्वाचनमा जाने उनको भनाइ थियो ।

    यस्तो छ दलहरूको बटमलाइन

    बजारमा वाम गठबन्धनको चर्चा चलिरहेको भए पनि अहिले गठबन्धन गर्ने भनिएका एमाले, माओवादी र एकीकृत समाजवादीले भने त्यो विषयलाई स्वीकार गर्न सक्दैनन् । उनीहरूले वाम गठबन्धनको चर्चा चर्चामा मात्रै सीमित रहेको बताउँछन् ।

    नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका प्रमुख सचेतक जीवनराम श्रेष्ठले तत्काल वाम गठबन्धन सम्भव नभएको बताए । उनले एमाले नेतृत्वबाट आत्मालोचना नभएसम्म गठबन्धन सम्भव नभएको बताए ।

    ‘पहिले नेकपा एमाले ठिक ठाउँमा आउनुपर्यो, अनि नेतृत्वले आफूले गरेको गलत कामको आत्मालोचना गर्नुपर्यो । त्यसपछि बल्ल सुरुवात हुन सक्छ’ उनले भने, ‘अहिलेसम्म त्यस्तो छैन । त्यसैले वामतालमेल अहिले तत्काल सम्भव छैन ।’

    माओवादी केन्द्रका नेता देव गुरुङले पनि वाम गठबन्धनको अहिले नै सम्भव नभएको बताए । तर, राजनीतिमा असम्भव भन्ने कुरा नभएको पनि उनको विश्लेषण छ । ‘अहिले तत्काल त्यो विषयमा कुनै कुरा भएको छैन’ उनले भने ‘असम्भव भन्ने कुरा राजनीतिमा हुँदैन तर, अहिले नै सम्भव हुने सम्भावना कम छ ।’

    मुख्य एजेण्डा छोडेर समसामयिक विषयमा अहिले छलफल गर्नुको औचित्य नरहेको उनले बताए । ‘लाइनको कुरा नगरी पद र प्रतिष्ठाको कुरा मात्रै लिएर एकता वा तालमेलको कुरा गर्नु उपयुक्त होइन’ उनले भने, ‘विगतका गल्तीहरुहरुको अत्मसमीक्षा गर्न तयारी हुने कि नहुने भन्ने कुरा आउनु पर्छ । पहिले लाइन प्रस्ट भएपछि सहकार्य वा मोर्चाबोन्दीको कुरा आउँछ ।’

    एकीकृत समाजवादी र माओवादी केन्द्रको जस्तै नेकपा एमालेले पनि तत्काल वाम एकताको अवस्था देखेको छैन । पछिल्लो समय प्रधानमन्त्री र वामएकताका विषय बार्गेनिङको माध्यम रहेको एमालेको ठहर छ ।

    प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘सबै हावादारी कुरा हो । कांग्रेससँग बढीभन्दा बढी सिट लिन र कांग्रेसलाई आगामी निर्वाचनमा धम्क्याउन फालिएको कार्डमात्र हो ।’

  • गठबन्धनको भर पर्दा धेरै सिट गुमाउनुपर्‍यो : माधव नेपाल

    गठबन्धनको भर पर्दा धेरै सिट गुमाउनुपर्‍यो : माधव नेपाल

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको भर पर्दा कम सिट जितेको बताएका छन् ।

    पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न सुर्खेत आएका नेता नेपालले पत्रकार सम्मलेनमा बोल्दै गठबन्धनको सहारामा जित्ला भन्ने भावले पार्टीले कम कसरत गरेकै कारण धेरै सिट गुमाउनु परेको बताए । उनले एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने दाबीसमेत गरे ।

    उनले मतदातामा चुनाव चिन्हको अस्पष्टताले सिट गुमाउनु परेको समेत बताए ।

    ‘निर्वाचन प्रणालीमा पनि त्रुटि प्रकट भए । यसको सुधार हुनुपर्छ । प्रहरी, प्रशासन र निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आरोप छन् । पैसाको चरम दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । वस्तुजस्तो किनेर देश लुट्ने प्रवृत्ति राम्रो होइन ।’

    यद्यपि स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले गर्व गर्न लायक सफलता प्राप्त गरेको नेपालको दाबी छ ।

    ‘सत्तागठबन्धन दलहरूबीच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुन्छ’, उनले भने, ‘चुनावी समीक्षाबाट आत्मालोचना भएकोले आगामी निर्वाचनमा पनि तालमेल हुने भएको हो ।’

  • जिल्लाभर एक वडा सदस्य जित्दा पनि नेकपा एस मख्ख, भन्यो- जनताको अपार माया पायौं

    जिल्लाभर एक वडा सदस्य जित्दा पनि नेकपा एस मख्ख, भन्यो- जनताको अपार माया पायौं

    रुपन्देही । १० पालिका र ९६ वडा रहेको कपिलवस्तुमा नेकपा एसले एक वडा सदस्य मात्रै जितेपनि निर्वाचनको नतिजा पार्टीका लागि सन्तोषजनक भएको निष्कर्ष निकालेको छ ।

    पार्टीको जिल्ला सचिवालय बैठकले चुनावको समीक्षा गर्दै स्थानीय चुनावमा आफ्नो पक्षमा परिणाम निकाल्ने गरी नतिजा नआए पनि गठबन्धन दल र आफ्नो पार्टीलाई जनताको अपार माया प्राप्त भएको निष्कर्ष निकालेको हो ।

    पार्टी गठनको ८ महिनामै चुनावमा होमिनुपर्ने बाध्यता, जिल्लामा सुदृढ भइनसकेको संगठनात्मक संरचना, गठबन्धनका नाममा अल्झिनुपरेको अवस्थाबीच पनि अधिकांश पालिकामा उम्मेदवार उठाउनु र कतिपय स्थानमा राम्रो मत ल्याउनुलाई एकीकृत समाजवादी कपिलवस्तुले सन्तोषजनक मानेको हो ।

    जिल्लाभर कलम चुनाव चिह्नको प्रचारलाई समाजवादीले प्रगतिको एक कदम मानेको छ ।

    ‘जनताको बीचमा कलम स्थापित हुन सक्नु नै हाम्रा लागि सुखद पक्ष हो’, नेकपा एसका जिल्ला अध्यक्ष लंकबहादुर हमालले भने, ‘यद्यपि कतिपय स्थानमा जित्ने आकंलन गरेपनि विभिन्न परिस्थितिका कारण पराजय ब्यहोर्न पुग्यौं । यस विषयमा निर्मम ढंगले समीक्षा गरेका छौं ।’

    जिल्लाभर अधिकांश स्थानमा नेकपा एसका उम्मेदार रहेपनि कृष्णनगर नगरपालिका वडा नम्बर १० को वडा सदस्यमा मुतर्जा मुसलमानले वडा सदस्य जितेका छन् ।

  • समाजवादको लक्ष्यमा पुग्ने गरी बजेट कार्यान्वयन हुनुपर्ने नेकपा एसको जोड (भिडिओ)

    समाजवादको लक्ष्यमा पुग्ने गरी बजेट कार्यान्वयन हुनुपर्ने नेकपा एसको जोड (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले समाजवादको लक्ष्यमा पुग्नेगरी बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    सिंहदरबारमा सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटमा कतिपय राम्रा कुरा आएको भन्दै समाजवादको लक्ष्यमा पुग्नेगरी बजेटको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो ।

    सम्मानीत नेता झलनाथ खनालका अनुसार बजेटमा देखिएका कमीकमजोरीलाई हटाएर समृद्ध बनाउनुपर्ने निष्कर्ष पनि संसदीय दल बैठकमा गरिएको छ ।

    आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि पेस गरेको बजेटमाथि बैठकमा समीक्षा गरिएको थियो ।

  • चुनावअघि एमालेमा लागेका अनेरास्ववियूका उपमहासचिव नेकपा एसमै फर्किए

    चुनावअघि एमालेमा लागेका अनेरास्ववियूका उपमहासचिव नेकपा एसमै फर्किए

    काठमाडौं । स्थानीय चुनावको पूर्वसन्ध्यामा नेकपा एमालेतिर लागेका नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका उपमहासचिव मेघनाथ चापागाई सोही पार्टीमा फर्किएका छन् ।

    आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर चापागाईले आफू केही समय विवशतावस अलमलमा परेको भन्दै संगठनमा फर्किएका जनाएका छन् । उनले अब कहिले पनि आफू तलमाथि नहुने बताएका छन् ।

    चुनावअघि वैशाख १८ गते चापागाई एमालेमा प्रवेश गरी स्याङ्जाको चापकोट नगरपालिकामा एमाले जिताउन सक्रिय भएका थिए । चुनावलगत्तै उनी एमालेबाट नेकपा एसमा फर्किएका हुन् ।

  • पोखरा महानगरका मेयर आर्चायलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

    पोखरा महानगरका मेयर आर्चायलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छ ।

    निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तहमा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भन्ने विवादास्पद  अभिव्यक्ति दिएपछि आयोगले मेयर आर्चायलाई स्पष्टीकरण सोधेको हो ।

    उनलाई आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा बोलेको विषय तथा श्रव्यदृश्य सामाग्रीहरु के कति कारणले अभिव्यक्त गरेको हो ? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह कसरी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

    यस्तै मेयर आर्चायलाई आयोगले राजनीतिक दल र सरोकारवालाहरुको सहमति तथा विज्ञहरुको राय समेतको आधारमा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन देखि प्रयोग गर्दै आएको आकार, प्रकार र ढाँचा बमोजिमको मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो? निर्वाचन आयोगबाट विज्ञटोलीको सिफारिसमा कानून बमोजिम गरेको निर्णयलाई कुनै पदाधिकारीको एकल निर्णय करार गरी व्यक्तिगत दुराग्रह आक्षेप लगाउन मिल्छ, मिल्दैन? महानगरपालिकाको प्रमुख पदमा निर्वाचित व्यक्तिसँगकानून बमोजिम बदर भएको मतलाई आयोगको बदनियतले बदर भएको भनी पुष्ट्याई गर्ने आधार, प्रमाण र कारण के छ? भन्दै प्रष्ट पार्न निर्देशन समेत दिएको छ ।

    निर्वाचन आयोग र यसका प्रमुख पदाधिकारीको विरुद्धमा आम नागरिक र जनसमुदायमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य दिई स्थानीय तह निर्वाचन, २०७९ को निष्पक्षता र विश्वसनीयता माथि नै प्रश्न उठाउनु पर्नाको कारण खुलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।

  • चुनाव लड्ने भनेपछि मान्छे तर्सन थाले : नेपाल

    चुनाव लड्ने भनेपछि मान्छे तर्सन थाले : नेपाल

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन लड्न भनेपछि उम्मेदवारहरू तर्सने अवस्था बनेको बताएका छन् ।

    प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बोल्दै नेपालले निर्वाचन खर्चमा बढेको विकृतिका कारण चुनाव लड्न पनि तर्सनुपर्ने अवस्था आएको बताएका हुन् ।

    राजनीति स्वच्छ नभएकै कारण भ्रष्टाचार बढेको भन्दै अध्यक्ष नेपालले निर्वाचन पैसाले नभई विचारले लड्ने अवस्था बनाउनुपर्ने बताए ।

    ‘निर्वाचन अत्यन्तै महँगो भएको छ । मान्छे चुनावमा उठ्ने कुरा गर्दा तर्सन थालेका छन् । निर्वाचनमा भोजभतेर गर्ने, पैसा बाँड्ने क्रम न सरकारले रोक्न सकेको छ न आयोगले रोकेको छ । चुनाव जित्न खर्च गर्ने र जितेपछि भ्रष्टाचार गर्ने प्रवृत्ति मौलायो । निर्वाचनलाई कम खर्चिलो बनाउनेबारे छलफल गरौँ’, नेपालले भने ।

    उनले नीति तथा कार्यक्रमको मुख्य ध्येय ठिक भए पनि कार्यान्वयनमा रहेको चुनौतीप्रति सचेत हुनुपर्ने बताए ।

    कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले जोड दिएकाले अब त्यसलाई कार्यान्वयनमा लैजानेतर्फ ध्यान दिनुपर्ने नेपालको भनाई छ ।

    वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक देखिएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोज्दा स्थगित गरिनु दुःखद भएको नेपालले बताए ।

  • त्रियुगामा कांग्रेस र नेकपा एसका उम्मेदवारबीच कडा टक्कर

    त्रियुगामा कांग्रेस र नेकपा एसका उम्मेदवारबीच कडा टक्कर

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा अहिले मतगणना चलिरहेको छ । निर्वाचनमा धाँधली भएको भन्दै विवाद हुँदा ढिलोगरी मतगणना सुरू भएको हो ।

    मतगणना सुरु भएपछि भने सुरूदेखि नै नेपाली कांग्रेसका मेयरका उम्मेदवार बसन्तकुमार बस्नेत र नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा लडेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीबीच रोचक टक्कर भइरहेको छ । चौधरी निवर्तमान मेयर पनि हुन् । उनले अघिल्लो निर्वाचन नेकपा एमालेबाट जितेका थिए ।

    पछिल्लो मतगणनामा चौधरीले कांग्रेस उम्मेदवार बस्नेतसँग ६७ मतले अग्रता लिएका छन् । चौधरीले ३ हजार ५७२ मत पुर्‍याउँदा बस्नेतले ३ हजार ५०५ पुर्‍याएका छन् । एमाले उम्मेदवार भागवत रावतले २ हजार ५१८ मत पुर्‍याएर तेस्रो स्थानमा छन् ।

    उपमेयरतर्फ भने कांग्रेस उम्मेदवार सरिता राईले केही फराकिलो मतान्तर बनाएकी छन् । उनले ३ हजार २०५ मतसहित अग्रता लिइरहँदा नेकपा एससँगको गठबन्धनमा लडेकी माओवादी केन्द्रका गीता खड्का कार्कीले २ हजार ९३५ मतसहित पछ्याइरहेकी छन् । एमाले उम्मेदवार महेश्वरी राई २ हजार ७५९ मतसहित तेस्रो स्थानमा छिन् ।

  • काठमाडौंमा नेकपा एसले पायो पहिलो वडाध्यक्ष, १५ नम्बरमा ईश्वरको जित

    काठमाडौंमा नेकपा एसले पायो पहिलो वडाध्यक्ष, १५ नम्बरमा ईश्वरको जित

    काठमाडौं । काठमाडौं महानगरमा नेकपा एसको पहिलो र एक मात्र वडाध्यक्षका रूपमा ईश्वरमान डंगोलको जित निश्चित भएको छ । उनले वडा नम्बर १५ बाट डंगोलले जित हासिल गर्दै पार्टीको बीउ जोगाएका हुन् ।

    भर्खरै सम्पन्न भएको मतगणना अनुसार यस वडामा डंगोलले  ३४७६ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका जीवन डंगोलले १५७२ मत प्राप्त गरे भने एमालेका पूर्णकाजी डंगोललाई १३९३ भोट आयो ।

    ईश्वरमान यसअघि पनि वडा नम्बर १५ का वडाध्यक्ष हुन् । यस स्थानीय चुनावमा उनी उपमेयर पदका आकांक्षी थिए । तर, टिकट नपाएपछि वडाध्यक्षमै उठे । आफ्नो वडामा उनी निकै लोकप्रिय छन् ।

    मेयरमा यस वडामा सबैभन्दा बढी स्वतनत्र उम्मेदवार बालेनले भोट ल्याएका छन् । उनले २१०६ भोट ल्याउँदा एमालेका केशव स्थापितले १५६८ र कांग्रेसकी सिर्जना सिंहले १५०९ भोट ल्याइन् ।

    काठमाडौं महानगरका निवर्तमान ३ जना वडाध्यक्ष नेकपा एस प्रवेश गरेका थिए । तीमध्ये टिकट चुनाव जित्ने उनीमात्र हुन् ।

  • एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आफ्ना जनप्रतिनिधिलाई नेकपा एसको निर्देशन

    एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आफ्ना जनप्रतिनिधिलाई नेकपा एसको निर्देशन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ भित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

    महासचिव वेदुराम भुसालले ‘निर्वाचन विशेष सर्कुलर’ जारी गर्दै स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भइ विजयी भएकाहरूलाई सम्पत्ति विवरण सार्वजनिक गर्न र सादा एवं असल जीवनशैली अवलम्बन गर्न निर्देशन गरेका हुन् ।

    ‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नूहोला । निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नू होला । ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारिता र कर्तव्य निष्ठताकासाथ जनताको सेवा गर्नूहोला । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवनशैली र असल आचरणको अवलम्बन गर्नुहोला’, निर्देशनमा भनिएको छ ।

    स्थानीय निर्वाचन जितेका पार्टीका जनप्रतिनिधिहरूलाई पठाइएको सर्कुलरमा पार्टी कमिटीका निर्णयहरू पालना गर्न समेत आग्रह गरिएको छ ।

  • माधव नेपाल रौतहटबाट चुनाव लड्ने, गृहजिल्लामा नेकपा एसको सानदार जित

    माधव नेपाल रौतहटबाट चुनाव लड्ने, गृहजिल्लामा नेकपा एसको सानदार जित

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि चुनाव लड्न आफ्नै गृहजिल्ला रौतहट फर्किने भएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ र रौतहट क्षेत्र नम्बर ६ मा पराजित भएपछि नेपाल काठमाडौंबाट चुनाव लड्दै आएका थिए ।

    अध्यक्ष नेपाल अब आफ्नै जन्मथलो गौरबाटै चुनाव लड्ने भएका छन् । नेपाल गौर नगरपालिका वडा नम्बर २ का मतदातासमेत हुन् । उनले मतदान गरेको नगरपालिकामा नेकपा एसले मेयर र उपमेयरसहित बहुमत जितेको छ ।

    मेयर शम्भु साहले पनि पार्टी अध्यक्ष नेपाल रौतहट १ बाट चुनाव लड्दा पार्टीले सहजै जित्ने दावी गरेका छन् । गौरमा होइन नेपालकै निर्वाचन क्षेत्रमा रहेको बौधीमाई नगरपालिकामा पनि नेकपा एसले जितेको छ ।

    सोही क्षेत्रमा पर्ने अन्य दुई पालिकामध्ये दुर्गाभगवती गाउँपालिका माओवादी केन्द्रले जितेको छ भने यमुनामाई गाउँपालिका लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ ।

    जिल्लामा माधव नेपाल नेतृत्वको नेकपा एसले अहिलेसम्म चारवटा पालिका जितेको छ भने अर्को एउटामा प्रतिस्पर्धा छ । नेकपा एसले गौर र बौधिमाईसहित राजदेवी र बृन्दावन नगरपालिकामा जित निकालिसकेको छ । गरुडा नगरपालिकामा नेकपा एमालेसँग प्रतिस्पर्धा भइरहेको छ ।

    रौतहटमा चार पालिका जितेर नेकपा एसले देशभरमै सबैभन्दा राम्रो नतिजा दिएकाले अध्यक्ष नेपाल रौतहटबाटै चुनाव लड्ने सो पार्टीका नेताहरुले बताएका छन् । काठमाडौंको मतको भर नहुने र गठबन्धन गर्दा पनि ठेगान नहुने भएकाले रौतहट नेपालका लागि सुरक्षित ठानिएको छ ।

    काठमाडौंमा माधव नेपालको निर्वाचन क्षेत्रमा पर्ने कागेश्वरी मनहरा, शंखरापुर, महानगरपालिकाका ९ र ३२ वडामा कतै पनि नेकपा एसले जित निकाल्न सकेको छैन ।

    रौतहटबाट चुनाव लड्न कांग्रेस, माओवादी र जसपाको समेत गठबन्धनको सहयोगले नेपाललाई जित्न सहज हुने नेकपा एसको ठम्याइ छ । नेपाल रौतहटबाट चुनाव लडेको अवस्थामा नेकपा एसले गठबन्धनमा काठमाडौं ५, ७ र ८ नम्बर क्षेत्र दावी गर्ने तयारी छ ।

    काठमाडाैं ८ नम्बरमा जीवनराम श्रेष्ठ अहिले पनि नेकपा एसका सांसद छन् । ७ नम्बरमा बागमती प्रदेशका मन्त्री वसन्त मानन्धरलाई नेकपा एसले गठबन्धनबाट उम्मेदवार बनाउन चाहेको छ भने काठमाडौं ५ मा नेकपा एस निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले चुनाव लड्ने गरी तयारी गरिरहेका छन् ।

  • रौतहट बौधीमाईको मेयर, उपमेयर नै जित्यो नेकपा एसले

    रौतहट बौधीमाईको मेयर, उपमेयर नै जित्यो नेकपा एसले

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटको बौधीमाई नगरपालिकाको मेयरमा उनकै पार्टीका उम्मेदवार प्रदीपकुमार यादव निर्वाचित भएका छन् । ४८१० मत ल्याएर यादव विजयी हुँदा उनका प्रतिस्पर्धी जसपाका राजिव यादवले ४६२४ मत पाए ।

    त्यस्तै उपमेयरमा पनि नेकपा एसकै प्रमिलादेवी ४८९४ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी जसपाकी सीमा नेशाले ४४८१ मत पाइन् ।

  • हेटौंडा उपमहानगरको मेयरमा गठबन्धनकी लामा जित नजिक

    हेटौंडा उपमहानगरको मेयरमा गठबन्धनकी लामा जित नजिक

    हेटौंडा । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामा बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको मेयरमा जित नजिक पुगेकी छन् ।

    हालसम्म हेटौंडामा ६७ हजार ४४३ मत गणना भएको छ । जसमध्ये लामाले २१ हजार २०३ मतसहित अग्रस्थानमा छिन् । दोस्रो स्थानमा रहेका एमाले अनन्तप्रसाद पौडेलले १९ हजार १२५ मत पाएका छन् । राप्रपाका दीपकबहादुर सिंहले १८ हजार ६२६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

    कूल ७३ हजार ४४३ मत खसेको हेटौंडामा यो पटक कम मत बदर भएको छ । हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८ र १९ को मत परिणाम आइसकेको छ । जसमा नेपाली कांग्रेसले ८ वटा वडामा जित हासिल गर्दा एमालेले ६ वटा वडा जितेको छ ।

    हाल वडा नम्बर ९ मा नेकपा समाजवादी अगाडि छ भने वडा नम्बर १०, ११ तथा १३ मा एमाले र वडा नम्बर १२ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

  • बझाङको केदारस्युँमा गठबन्धन विजयी, एमालेलाई हराउँदै नेकपा एसले जित्यो अध्यक्ष

    बझाङको केदारस्युँमा गठबन्धन विजयी, एमालेलाई हराउँदै नेकपा एसले जित्यो अध्यक्ष

    काठमाडाैं । बझाङको केदारस्युँ गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट एकीकृत समाजवादीका गणेशबहादुर बोहरा ४,३२१ मत ल्याई विजयी भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लोकेशबहादुर भण्डारीलाई १,९१३ मतान्तरले पराजित गरेका हुन् । पराजित लोकेशबहादुर भण्डारीले २,४०८ मत ल्याएका छन् ।

    उपाध्यक्षमा नेपाली कांग्रेसका मनिषा धामी गुर्धामी ३,९३१ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी नाराकुमारी गुर्धामीले २,१४९ मत ल्याएकी छन् ।

  • गठबन्धनमा हेपिएको नेकपा एस- मधेसका चारपालिकामा एक्लै जित निकाल्न सफल

    गठबन्धनमा हेपिएको नेकपा एस- मधेसका चारपालिकामा एक्लै जित निकाल्न सफल

    काठमाडौं । एमाले विभाजनबाट जन्मिएको नेकपा एकीकृत समाजवादी पार्टी स्थापनापछिको पहिलो निर्वाचनमै निकै कमजोर देखिएको छ ।

    देशभरका ७५३ स्थानीय तहमा भएको निर्वाचनका हालसम्म जम्मा १२ स्थानीय तहको नेतृत्व मात्रै जितेको छ । गणना जारी रहँदा ७ वटामा अग्रता लिइरहेको छ । उपाध्यक्ष/उपमेयरमा १२ मा जित निकाल्दा ५ मा अग्रता कायम छ ।

    पालिका जितेकामध्ये नेकपा एस दुईवटामा निर्विरोध निर्वाचित भएको हो । डोल्पाको काईके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना निर्विरोध भए । जहाँ कांग्रेसका तर्फबाट निमा बुढालाई निर्विरोध निर्वाचित गरिएको छ । यहाँ कांग्रेस, एमाले र नेकपा एसको दलीय सहमतिका आधारमा निर्विरोध निर्वाचन गरिएको हो ।

    यस्तै डोल्पाकै छार्का तामसोङ गाउँपालिकामा पनि कांग्रेस, एमालेसँगकै सहमतिमा नेतृत्व नेकपा एसले पाएको छ । यहाँको उपाध्यक्ष भने एमालेलाई दिइएको छ । डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकाको उपाध्यक्ष पनि निर्विरोध नेकपा एसले पाएको छ ।

    नेकपा एसले एक्लै भने अहिलेसम्म चार स्थानीय तहमा मात्रै विजयी भएको छ । रौतहटको गौर नगरपालिका, राजदेवी नगरपालिका, सप्तरीको शम्भुनाथ नगरपालिका र सिरहाको सखुवान्कारकट्टी गाउँपालिका छन् । यीमध्ये रौतहटका गौर र राजदेवी र सप्तरीको शम्भुनाथमा मेयर र उपमेयर दुवै जितेको छ भने सिराहाको सखुवान्कारकट्टी गाउँपालिकामा अध्यक्षमात्रै जितेको छ ।

    गौर नगरपालिकामा मेयरमा शम्भु साहले ६ हजार ३८१ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ३ हजार ७५५ मत, कांग्रेसका मोहनकुमार यादवले ३ हजार २११ मत पाएका छन् ।

    उपमेयरमा पनि नेकपा एसकै शैलकुमारी साहले ४ हजार ८०९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शाहजान खातुनले ३ हजार ६८५ मत ल्याउँदा लोसपाकी उषा झाले २ हजार ५६० मत पाइन् ।

    यस्तै राजदेवी नगरपालिकामा नेकपा एसका भिखारीप्रसाद यादवले ६ हजार ९९९ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका धिरेन्द्रकुमार सिंहले ३ हजार ७१७ र एमालेका अंशु सिंहले १ हजार ३९७ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा नेकपा एसकी राजकुमारी देवीले ६ हजार १६४ मत ल्याएर विजयी हुँदा कांग्रेसकी अर्चनाकुमारी यादवले ३ हजार ४९ लोसपाकी बबिता सिंहले १ हजार ५३५ मत प्राप्त गरेकी छन् ।

    यस्तै सप्तरीको सम्भुनाथ नगरपालिकाको मेयरमा नेकपा एसका जितेन्द्रप्रसाद गुप्ता कलवारले ५ हजार ३९२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेन्दकुमार चौधरीले ४ हजार १४३ र जनता समाजवादी पार्टीका विनोदकुमार चौधरी २ हजार ८३५ मत ल्याएका छन् ।

    उपमेयरमा नेकपा एसकै अनिताकुमारी चौधरीले ४ हजार ९९८ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वीहरू कांग्रेसकी जलपनाकुमारी सरदारले ४ हजार २७१, जसपाकी सूर्यकलाकुमारी मण्डलले २ हजार ४५५ मत ल्याएकी छन् ।

    सिराहाको सखुवान्कारकट्टी गाउँपालिकाको अध्यक्षमा केदारनाथ यादवले ३ हजार ४०७ मत सहित विजयी कांग्रेसका शत्रुघनप्रसाद साहले ३ हजार ३८१ मत प्राप्त गर्दा जसपाका प्रयागराज यादवले १ हजार ८०४ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा भने कांग्रेसकी ३ हजार ४६२ मत ल्याएर विजयी भइन् । उनलाई पछ्याएकी नेकपा एसकी प्रमिला यादव ३ हजार २२६ मत मात्रै पाएकी छन् ।

    यसबाहेक नेतृत्व जितेका बाँकी तहहरूमा उदयपुरको उदपुरगढी गाउँपालिका, दोलखाको तामाकोशी गाउँपालिका, काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका, धादिङको धुनिबेशी नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकामा सत्तारूढ गठबन्धनका कांग्रेस र माओवादी केन्द्रसँगको तीनदलीय गठबन्धनमा नेकपा एसले जित निकालेको हो ।

    यसबाहेक सल्यानको कपुरकोट गाउँपालिकामा भने माओवादी केन्द्रसँगको दुईदलीय तालमेलमा मात्रै नेतृत्व जितेको छ ।
    अग्रता लिइरहेका ७ स्थानीय तहमा पनि सबैजसोमा तालमेलबाट मात्रै सम्भव भएको छ ।

  • गोकुल बास्कोटाको नगरमा गठबन्धन विजयी, नेकपा एसका टोकबहादुर बने मण्डनदेउपुरको मेयर

    गोकुल बास्कोटाको नगरमा गठबन्धन विजयी, नेकपा एसका टोकबहादुर बने मण्डनदेउपुरको मेयर

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकामा गठबन्धनले जितेको छ ।

    गठबन्धनबाट नेकपा एसका मेयर उम्मेदवार टोकबहादुर वाइबा ९४०६ मतसहित दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन् ।

    उनी नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला अध्यक्ष पनि हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विदुरप्रसाद सापकोटाले ८३५१ मत पाएका छन् ।

    उपमेयर गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मतसहित निर्वाचित हुँदा एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत पाएकी छन् ।

  • गठबन्धनबाट अपेक्षित सहयोग भएन, चुनावी परिणामको समीक्षा हुन्छ- माधव नेपाल (भिडिओसहित)

    गठबन्धनबाट अपेक्षित सहयोग भएन, चुनावी परिणामको समीक्षा हुन्छ- माधव नेपाल (भिडिओसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय चुनावबाट अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने बताएका छन् ।

    मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन र चुनावी परिणामको बारेमा समीक्षा गर्नुपर्ने भएको बताए ।

    नेपालले चुनावमा गठबन्धन घटकबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोखा भएको गुनासाहरु आइरहेको भन्दै त्यसको पनि समीक्षा गरेर अघि बढ्ने बताए ।

    नेपालले अहिलेसम्म एक सय जति ठाउँमा वडाध्यक्ष जितेको र १५–२० ठाउँमा पालिका जित्ने अनुमान रहेको भन्दै गठबन्धनबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका हुन् ।

  • नेकपा एसबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका भूपनारायण एमालेमै फर्किए

    नेकपा एसबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका भूपनारायण एमालेमै फर्किए

    झापा । नेकपा (एकीकृत समावादी)बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किएका छन् ।

    एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किएका हुन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरेका हुन् ।

    एमाले फर्किएको घोषणा गरेका भूपनारायणले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु । माधवकुमार नेपालजीले नेतृत्व गर्नुभएको पार्टीमा म वास्तवमै इमानदारीपूर्वक लागेको थिएँ । तर, माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरुले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तर्राष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्यतथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिनँ ।’

  • ललितपुरमा नेकपा एस एक्लियो: कतै कांग्रेस-माओवादी तालमेल, कतै एक्लाएक्लै भिडन्त

    ललितपुरमा नेकपा एस एक्लियो: कतै कांग्रेस-माओवादी तालमेल, कतै एक्लाएक्लै भिडन्त

    काठमाडौं । ६ स्थानीय तह रहेको ललितपुर जिल्लामा महानगरबाहेकका पाँच तहका लागि सुरुमा गठबन्धनका लागि जिल्लास्तरमै छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी (एस) सहभागी थिए ।

    छलफल सहमतिनजिक पुगेको थियो । जसअनुसार वडाहरूको भागबन्डा लगभग टुंगिसकेको थियो भने पालिकामा सहमति जुट्न बाँकी थियो ।

    छलफलमा महानगरबाहेक अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको गोदावरी नगरपालिका र बागमती गाउँपालिका कांग्रेसलाई र माओवादी केन्द्रले जितेको कोन्ज्योसोम गाउँपालिका माओवादी केन्द्रलाई दिने लगभग सहमति भएको थियो । तर, एमाले जितेको महालक्ष्मी नगरपालिका र महाँकाल गाउँपालिकामा तिनवटै दलले दाबी गरेपछि सहमति भाँडियो ।

    त्यसपछि जिल्ला तहहरुले त्यसलाई मिलाउने जिम्मा प्रदेश समितिहरूलाई दिए । तीन दलको प्रदेशस्तरीय समितिमा पनि कुरा मिल्न सकेन । अन्तिममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्रीले अलग्गै सहमति गरे ।

    सहमतिअनुसार महानगरबाहेक बाँकी रहेका तीन स्थानीय तहमध्ये एकमा कांग्रेस र दुईमा माओवादी केन्द्रले नेतृत्व पाउने भए ।

    यो सहमतिअनुसार जिल्लामा नेकपा एस एक्लिएको छ । त्यसकारण नेकपा एसका नेताहरू चिढिए । ‘जिल्लामा सहमतिनजिक पुगेका हामीलाई उहाँहरू (माओवादी केन्द्र र कांग्रेस)ले बाहिर राखेर प्रदेशबाट कथित सहमति गर्नुभयो’, नेकपा एसका जिल्ला इन्चार्ज अमृतमान तिमिल्सिनाले भने, ‘हामी अझै पनि सहमतिको कुरा गरिरहेका छौं । सबै ठाउँमा हामीले उम्मेदवारी पनि दिएका छैनौं । सहमति हुनसक्ने ठाउँमा दिएका छौं ।’

    सहमति जुटे अझै पनि केही ठाउँमा पुनर्विचार गर्न सकिने उनले बताए । यसरी गठबन्धनभित्रको विवादले एमालेलाई केही राहत भएको छ । तर, माओवादी केन्द्र र कांग्रेसबीच भएको तालमेल पूर्णरूपमा कार्यान्वयन भए जोखिम भने उत्तिकै छ । यहाँका सबै स्थानीय तहमा एमाले एक्लै चुनावमा गएको छ ।

    एक्लै गए पनि जिल्लाका ६ वटै तहमा आफ्नो पार्टीले जित्ने सुनिश्चित रहेको एमाले केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुशीला नेपालले दाबी गरिन् । ‘हामी ६ वटै तहमा मज्जाले जित्छौं । स्वार्थी गठबन्धनलाई जनताले परास्त गर्छन्’, उनले भनिन्, ‘एमालेले उठाएका जनमुखी काम र राष्ट्रवादी कदमलाई जनताले मूल्यांकन गरेका छन् ।’

    अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसले तीन, एमालेले दुई र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए । यसपटकका कस्तो नतिजा आउला ? मतपरिणामसम्म कुर्नैपर्ने हुन्छ ।

    महानगरमा एसले केन्द्रको सहमति पालना गर्ने

    ललितपुर महानगरपालिकामा अघिल्लोपटक एमाले र राप्रपाका बीचमा चुनावी तालमेल भएको थियो । तालमेलअनुसार एमालेका हरिकृष्ण ब्यञ्जनकार मेयरमा लडेका थिए भने राप्रपाका बाबुकाजी प्रधान उपमेयरमा उठेका थिए ।

    एमाले उम्मेदवार ब्यञ्जनकारका लागि त्यो तालमेल पनि पर्याप्त बन्न सकेन । उनी कांग्रेसका चिरिबाबु महर्जनसँग ३२६ मतले पछि परे । महर्जनले २४ हजार ६४२ मत बटुल्दा व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए । मेयरमै अर्का प्रतिस्पर्धी तत्कालीन रवीन्द्र मिश्रको साझा पार्टी समर्थित स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत ल्याउँदा माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए ।

    उपमेयरमा भने राप्रपा उम्मेदवार प्रधानलाई एमालेले धेरै मत दिएको देखिएन । उनी १० हजार ५४० मतमात्रै ल्याएर चौथो स्थानमा रहँदा कांग्रेसकी गीता सत्याल १९ हजार ८१९ मतसहित विजयी भएकी थिइन् । दोस्रोमा साझा पार्टी समर्थित स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत ल्याएकी थिइन् । तेस्रोमा माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ९७९ मत प्राप्त गरेकी थिइन् ।

    यसपटक पनि मेयरमा यहाँ पुरानै दुई उम्मेदवारहरू कांग्रेसका चिरिबाबु र एमालेका हरिकृष्णबीच प्रतिस्पर्धा दोहोरिएको छ । चिरिबाबु सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । अघिल्लो पटक राप्रपाबाट सहयोग पाएका व्यञ्जनकार यसपटक एक्लै छन् । उनीहरूबाहेक राप्रपाका अष्टबहादुर महर्जन र विवेकशील साझाबाट उज्ज्वलकृष्ण श्रेष्ठ मेयर उम्मेदवार छन् ।

    तर निर्णायक प्रतिस्पर्धा पूर्वप्रतिस्पर्धीहरू चिरिबाबु र हरिकृष्णकै बीचमा हुने स्पष्ट देखिएको छ । चिरिबाबुलाई अघिल्लो निर्वाचनमा १० हजार ६ सयभन्दा बढी मत बटुलेको माओवादी केन्द्रसहित एमाले फुटेर बनेको नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाको साथ छ । यसबाहेक उनले आफूले मेयर निर्वाचित भएपछि गरेको कामले पनि मतदाता बढेको दाबी गरिरहेका छन् ।

    यता हरिकृष्णका लागि भने पुरानो मत जोगाउँदै नयाँ मतदाता, अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारले तानेको मत र चिरिबाबुसँग असन्तुष्ट मतको भर पर्नुपर्ने अवस्था छ ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँ एकलाख १२ हजार ९२३ मतदाता थिए । जसमध्ये ८७ हजार ४८ मत खसेको थियो । यसपटक नौ हजार ९६७ मत थपिएर एकलाख २२ हजार ८९० पुगेको छ ।

    जिल्लाका अन्य स्थानीय तहमा एक्लिएको नेकपा एसले यहाँ केन्द्रीय सहमति पालना गरेर कांग्रेसका मेयर र माओवादीका उपमेयरलाई सघाउने जनाएको छ । ‘जिल्लामा हामीलाई गठबन्धनको भावनाभन्दा बाहिर राखे पनि महानगरमा केन्द्रको सहमतिभन्दा बाहिर जाँदैनौं’, नेकपा एसका जिल्ला इञ्चार्ज तिमिल्सिनाले भने, ‘वडाध्यक्षमा हामीले पनि उम्मेदवारी दिएका छौं । मेयर÷उपमेयरमा गठबन्धनलाई सघाउँछौं ।’
    यहाँ गठबन्धन दलहरूभित्र एउटा वडामा जनता समाजवादीलाई दिनेबाहेक बाँकीमा सहमति नजुट्दा एक्लाएक्लै चुनावमा गएका छन् ।

    महालक्ष्मीमा कांग्रेस-माओवादी केन्द्र तालमेल

    अघिल्लो निर्वाचनमा महालक्ष्मी नगरपालिकामा एमालेले एकलौटी जीत निकालेको थियो । मेयर र उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा एमालेले जितेको थियो ।

    मेयरमा एमालेका रामेश्वर श्रेष्ठले ८ हजार ८०५ मतसहित विजयी हुँदा कांग्रेसका महेश खड्काले ७ हजार ७६४ मत पाएका थिए । माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ४ हजार ३०० मत ल्याउँदा राप्रपाका आनन्द अधिकारीले एक हजार ५५७ मत ल्याएका थिए ।  उपमेयरमा एमालेकी निर्मला थापाले ८ हजार ६३६ मतसहित विजयी हुँदा कांग्रेसकी ६ हजार ३०२ मतसहित दोस्रो भएकी थिइन् ।

    यसपटक एमालेलाई चुनौती दिन कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । मेयरमा माओवादीका शिवप्रसाद कट्टेल र कांग्रेसबाट उपमेयरमा लक्ष्मी महर्जन उम्मेदवार बनेका छन् । नेकपा एसका नकुल थापा मेयरमा एक्लै चुनाव लडेका छन् ।

    एमालेले यसपटक मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा वीणा सुवेदीलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट मेयरमा प्रवीण खत्री र उपमेयरमा रामदेवी महर्जन उम्मेदवार छन् ।

    यसपटक यहाँ सत्तारूढ दलहरूबीच सबैभन्दा बढी विवाद भएको थियो । नेकपा एसले यहाँको मेयरलाई आफ्नो प्रतिष्ठासँग जोडेको थियो । तर, उसलाई यहाँको नेतृत्व छाड्न माओवादी केन्द्र र कांग्रेस दुवै तयार भएनन् । ‘उहाँहरूले जित्ने आधार पनि त हुनुप¥यो । अघिल्लो पटकको मत परिणामअनुसार यहाँ हाम्रो दाबी रहनुपथ्र्यो’, कांग्रेसका जिल्ला सचिव वशिष्ठ अधिकारी भन्छन्, ‘तर, गठबन्धनअनुसार हामीले यहाँको मेयर माओवादीलाई छाड्यौं । एसभन्दा माओवादीलाई यहाँ जित्न सजिलो पनि छ ।’

    उता नेकपा एसले भने यहाँको मेयर आफूलाई छाडे अझै पनि सहमतिको सम्भावना रहेको बताएको छ । ‘हाम्रो बटमलाइन भनेकै महालक्ष्मीको मेयर हो । त्यसैले मिल्ने गरी हामीले त्यहाँ केन्द्रको सल्लाहअनुसार मेयरमा मात्रै उम्मेदवारी दिएका छौं’, जिल्ला इञ्चार्ज तिमिल्सिनाले भने, ‘यहाँ मेयर हामीलाई दिए जिल्लाभरि हामी गठबन्धनलाई सहयोग गर्न तयार छौं ।’

    यहाँको मेयर एक्लै पनि जित्न सक्ने उनको दाबी छ । उनी भन्छन्, ‘यहाँ माओवादी–कांग्रेस गठबन्धन अहिले पनि तेस्रो हो । पहिलोमा हामी, दोस्रो एमाले र तेस्रो उहाँहरू हो ।’

    गोदावरीमा माओवादीले दुवै पद कांग्रेसलाई छाड्यो

    गोदावरी नगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पद कांग्रेसलाई छाडेको छ । जसमा कांगेसले मेयर/उपमेयरमा अघिल्लो पटक विजयी उम्मेदवारलाई नै दोहोर्‍याएको छ ।

    अघिल्लो निर्वाचनमा मेयरमा कांग्रेसका गजेन्द्र महर्जन १३ हजार ८२० मत ल्याएर विजयी भएका थिए । उपमेयरमा कांग्रेसकै मुना अधिकारी १२ हजार ७७९ मतसहित विजयी भएकी थिइन् ।

    मेयरमा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत पाएका थिए । उनी एमाले छाडेर यसपटक नेकपा एसबाट उपमेयरका उम्मेदवार भएका छन् । जसमा उनलाई उपमेयर छाड्न कांग्रेसलाई नेकपा एसले दबाब दिइरहेको छ ।

    अघिल्लो पटक मेयरमा माओवादीका गोविन्द महर्जनले ५ हजार ६७० मत ल्याउँदा राप्रपाका कृष्णबहादुर देसारले ३ हजार १२७ मत ल्याएका थिए ।

    यसपटक एमालेले गम्भीरबहादुर रानालाई मेयर उम्मेदवार बनाएको छ । उपमेयरमा रमी प्रधानाङ्ग उम्मेदवार छिन् । राप्रपाले मेयरमा राजकुमार महर्जन र रञ्जिता श्रेष्ठलाई उपमेयरमा उठाएको छ ।

    कोन्ज्योसोममा माओवादीको दोहोर्‍याउने रणनीति

    कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा अघिल्लो पटक माओवादी केन्द्रका उम्मेदवार गोपीलाल सिताङ एकहजार ७९८ मतसहित निर्वाचित भएका थिए । कांग्रेसका राजनप्रसाद घिमिरेले एकहजार ७३२ सहित दोस्रो हुँदा एमालेका कृष्णमान लामाले एकहजार ४७८ मतसहित तेस्रो भएका थिए ।

    यसपटक यहाँ माओवादी केन्द्रले सिताङलाई नै दोहोर्याएर उम्मेदवार बनाएको छ । उनलार्ई कांग्रेसले समेत समर्थन गरेको छ । यसकारण उनको दोहोरिने सम्भावना प्रबल बनेको छ ।

    सिताङलाई एमालेका कृष्णमान तामाङले चुनौती दिँदै छन् । राप्रपाले मानबहादुर तामाङलाई अध्यक्षमा उठाएको छ । उपाध्यक्ष सत्तारूढ गठबन्धनबाट कांग्रेसले पाएको छ । जसमा राजनप्रसाद घिमिरे उम्मेदवार बनेका छन् । एमालेले उपाध्यक्षमा रीता लामा उम्मेदवार बनाएको छ ।

    बागमतीमा गठबन्धन हुँदा एमालेलाई थप कठिन

    अघिल्लो निर्वाचनमा बागमती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन ३ हजार ३८८ मतसहित निर्वाचित भएका थिए । उनीसँग एकहजार १३६ मत पछाडि परेका दुर्गाप्रसाद घिमिरेले २ हजार २५२ मत पाएका थिए ।

    एक्लै भारी भएको कांग्रेसमा झन् यसपटक माओवादी केन्द्र मिसिएको छ । अघिल्लो पटक माओवादी केन्द्रका राजु आलेमगरले एकहजार ६४२ मत पाएका थिए ।

    यसपटक यहाँ अध्यक्षमा कांग्रेसका निवर्तमान अध्यक्ष लोप्चन नै उम्मेदवार छन् । उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर उम्मेदवार छन् ।

    एमालेबाट नवराज सञ्जेल अध्यक्ष र नमुना दोङ उपाध्यक्ष उम्मेदवार छन् । राप्रपाले अध्यक्षमा सानु महर्जन र उपाध्यक्षमा अम्बिका न्यौपाने घिमिरेलाई उम्मेदवार बनाएको छ ।

    महाँकालको अध्यक्षमा आ-आफ्नै उम्मेदवार

    अघिल्लो पटक महाँकाल गाउँपालिकामा एमालेले सहज जीत निकालेको थियो । एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जितेको थियो ।

    एमालेका रामचन्द्र दाहाल २ हजार ८० मतसहित निर्वाचित भएका थिए । कांग्रेसका भीमसेन घिमिरेले एकहजार ७२२ मत पाउँदा माओवादी केन्द्रका बुद्धबहादुर नेगीले ९२८ मत पाएका थिए ।

    उपाध्यक्षमा एमालेकै कमला लामा तामाङ २ हजार २९३ मतसहित विजयी हुँदा ६ वटा वडामध्ये ४ मा एमाले र एक÷एकमा कांग्रेस र माओवादी जितेका थिए ।

    यसपटक यहाँ अध्यक्षमा एमालेका कमला लामा तामाङ, कांग्रेसका गणेश केसी, माओवादी केन्द्रका भगीरथ तिमिल्सिना, नेकपा एसका राजनप्रसाद बञ्जारा र राप्रपाका सुरेश घिमिरे उम्मेदवार छन् ।

    उपाध्यक्षतर्फ एमालेले पुरुषोत्तम हुमागाईंलाई उम्मेदवार बनाएको छ । कांग्रेसले उम्मेदवारी नदिँदा माओवादी केन्द्रबाट डोल्मामाया गोले, नेकपा एसबाट रुजिना दुलाल र राप्रपाबाट सन्चमाया सिंगार उम्मेदवार छन् ।

    कांग्रेस–माओवादी तालमेलअनुसार यहाँ अध्यक्षमा माओवादीले कांग्रेसलाई छाड्नुपर्ने हो । तर, माओवादी केन्द्रका तिमिल्सिनाले पनि उम्मेदवारी दिएपछि केही विवाद देखिएको छ ।

    यहाँ अन्तिमसम्म आफ्ना उम्मेदवार तिमिल्सिनाले वक्तव्यबाट भए पनि कांग्रेसका केसीलाई समर्थन गर्ने अवस्था आउनसक्ने माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि दाहालले बताए । उनले भने, ‘छलफल भइरहेको छ । अन्तिममा हाम्रो अध्यक्ष उम्मेदवारले कांग्रेस उम्मेदवारलाई समर्थन गर्नुपर्ने अवस्था पनि आउनसक्छ ।’

  • नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा फर्किए, भन्छन्- गठबन्धन सत्ताको लुछाचुँडीका लागि मात्र

    नेकपा एसका केन्द्रीय सदस्य शाही एमालेमा फर्किए, भन्छन्- गठबन्धन सत्ताको लुछाचुँडीका लागि मात्र

    सुर्खेत । नेकपा एसका केन्द्रीय सदस्य एवं दैलेख सहइन्चार्ज तर्कबहादुर शाहीले पार्टी परित्याग गरेका छन् । गठबन्धन सत्ता लुछाचुँडीका लागि भएको भन्दै उनले एक विज्ञप्तिमार्फत नेकपा एमालेमा फर्किएको बताएका हुन् । उनले नेकपा एस छाडेर एमालेमा आएको सार्वजनिक वक्तव्य पत्रकार र शुभेच्छुकलाई पठाएका छन् ।

    ‘२०७७ साल पुस ५ गतेदेखि यो मुलुकमा प्रतिगमनको खतरा देखिएको हो भने र संविधानको रक्षार्थ गठबन्धन बनेको हुन्थ्यो भने आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई एउटा सशक्त आन्दोलनको स्वरुप दिन पर्दथ्यो । यदि यो आन्दोलन हो भने यस आन्दोलनको अगुवाइ नेकपा (एकीकृत सामाजवादी) ले गरेकोले उसैको नेतृत्वमा चुनावी गठबन्धन हुनु पर्दथ्यो । यसको ठीक विपरीत नेकपा एसलाई केबल फट्के किनाराको साक्षी मात्र बनाइयो र जालझेलपूर्ण व्यवहार देखाइयो । यसबाट के पुष्टि हुन्छ भने यो गठबंधन प्रतिगमनका विरुद्ध थिएन केबल सत्ताको लुछाचुँडी मात्र थियो’, उनले भनेका छन् ।

    गठबन्धनको भर्‍याङ चढेर गुमेको सत्ता पुनः प्राप्तिको खेलमा लागेको नेपाली कांग्रेसको नेतृत्वले आफ्ना इमानदार कार्यकर्तालाई जवाफ दिन नसकेको उनको टीप्पणी छ ।

    ‘उग्र वामपन्थी भड्कावबाट उत्पत्ति भएको नेकपा माओवादी केन्द्र गठबन्धनको सहारामा खिइँदै गएको आफ्नो अस्तित्व जोगाउन कांग्रेसरुपि गाईको पुच्छर समातेर वैतरणी पार गर्न खोज्दा १० वर्षे युद्ध के का लागि थियो उसको नेतृत्वसँग जवाफ छैन ।’

    शाहीले बिनाकारण पार्टी फुटाउने र अप्राकृतिक गठबन्धन गरेर आफू सत्तामा जान र टिकी राख्न गरिने सम्पुर्ण कार्य जनविरोधी कार्य भएको बताउँदै लोकतन्त्रविरोधी कार्यसमेत रहेको आरोप लगाएका छन् ।

    ‘लोकतन्त्रभित्रका फरक फरक विचारहरूलाई कमजोर पार्ने र एक मात्र बलियो पार्टी नेकपा (एमाले) लाई फोड्ने खेल सुरू भएको छ यो अपराध गर्न सकिन्न । यही निष्कर्षका साथ हामी आफ्नो पार्टी नेकपा (एमाले ) मा फर्किने निधो गरेका हौं ’, उनले भनेका छन् ।

    नेकपा एसको ठाँटीकाँध गाउँ कमिटी यसअघि नै नेकपा एमालेमा समाहित भइसकेको छ ।