Category: नेकपा एस

  • खाँडाचक्रका मेयर नेकपा एसमा प्रवेश, माधव नेपालले गरे स्वागत

    खाँडाचक्रका मेयर नेकपा एसमा प्रवेश, माधव नेपालले गरे स्वागत

    काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा एस प्रवेश गरेका छन् ।

    काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरे ।

    वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले २६०९ मत ल्याएका थिए । शाहीलाई माओवादी र नेकपा एसको समर्थन थियो ।

    यस नगरपालिकामा माओवादीले उपमेयर जितेको छ ।

  • जनप्रतिनिधिलाई माधव नेपालको टिप्स- जितिसकेँ भनेर जनतालाई नमस्कार गर्न नछाड्नुस्

    जनप्रतिनिधिलाई माधव नेपालको टिप्स- जितिसकेँ भनेर जनतालाई नमस्कार गर्न नछाड्नुस्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जनतासँग विनम्र व्यवहार गर्न सुझाव दिएका छन् । उनले जितिसके भनेर जनतासँग घमण्ड नदेखाउन आग्रह गरे ।

    आज पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपालले यस्तो सुझाव दिएका हुन् ।

    उनले भने, ‘मतदातालाई कहिले पनि हप्कीदप्की नगर्नुहोला । सबैसँग नम्र भएर प्रस्तुत हुनुहोला । मैले जितिसकेँ भनेर नमस्कार नफर्काउने गल्ति नगर्नु होला । नमस्कार गर्ने काम अरुको हो, टाउको हल्लाउने काम मेरो हो भन्ने नठान्नुहोला । नमस्कार गर्ने काम तपाईंहरूकै हो । नमस्कार गर्दा तपाईंको वजन घट्दैन ।’

  • गभर्नरको कार्टुन बनाएर विद्यार्थी संगठनले गरे विरोध (तस्बिरहरू)

    गभर्नरको कार्टुन बनाएर विद्यार्थी संगठनले गरे विरोध (तस्बिरहरू)

    काठमाडौं । गठबन्धननिकट संयुक्त विद्यार्थी संगठनले आज गभर्नर महाप्रसाद अधिकारीको कार्टुनसहित विरोध प्रदर्शन गरेका छन् ।

    एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी गभर्नर नै भएको दाबीसहित नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले थालेको चरणबद्ध संघर्षअन्तर्गत आज कार्टुन प्रदर्शन गरिएको हो ।

    आन्दोलनरत् विद्यार्थी संगठनले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

    तस्बिरहरू : गौरव पौडेल । 

  • झलनाथको आक्रोशित प्रश्न- अमेरिकालाई पत्र लेख्न कसले रोक्यो ? देशको कार्यकारी अधिकार कहाँ छ ? (भिडिओ)

    झलनाथको आक्रोशित प्रश्न- अमेरिकालाई पत्र लेख्न कसले रोक्यो ? देशको कार्यकारी अधिकार कहाँ छ ? (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीबारे सरकारले अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन नगरिएकोमा आपत्ति जनाएका छन् ।

    संसदमा विशेष समय लिएर बोल्दै खनालले देशको कार्यकारी अधिकार कहाँ कोसित छ भनेर प्रश्न गरे ।

    खनालले एसपीपी सम्झौता नगर्ने भनेर मन्त्रीपरिषदले एक महिना अगाडि नै निर्णय गरेको स्मरण गराए ।

    उनले भने, ‘एसपीपी लिन्नौं भनेर तुरुन्तै पत्र लेख्ने भनेको सरकारले अहिलेसम्म पनि लेख्न नसक्नुको कारण के हो ? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि फेरि अरु कसले रोक्न सक्छ यो देशमा ? कि हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?’

    यो विषयलाई चाँडोभन्दा चाँडो समाधान गरेर राष्ट्रिय भावनाको प्रतिनिधित्व गर्न खनालले सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

  • पोखराका धनाढ्य मेयरः ५४ तोला सुन, २५ करोडको सेयर

    पोखराका धनाढ्य मेयरः ५४ तोला सुन, २५ करोडको सेयर

    काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार उनी झण्डै ४४ करोडको सम्पत्तिका मालिक हुन् ।

    महानगरको वेवसाइटमा राखिएको विवरणमा मेयर आचार्यसँग पोखरामा २ वटा र काठमाडौंमा एउटा घर रहेको उल्लेख छ । पोखराको वडा नम्बर ९ मा २८९ स्क्वायर मिटर जग्गा र त्यसमा बेनेका दुईवटा घर छन् । आचार्यकी पत्नी पुष्पाकुमारी पौडेलको नाममा रहेको उक्त घर–जग्गाको मूल्य ९ करोड २५ लाख रहेको जनाइएको छ ।

    यस्तै काठमाडौंको सीतापाइलामा मेयर आचार्यको अर्को घर छ । ९२५.६० स्क्वायर मिटरमा फैलिएको यो घर पनि आचार्यले श्रीमतीकै नाममा राखेका छन् । घरको मूल्य एक करोड ८५ लाख रुपैयाँ उल्लेखित छ । उनको तेस्रो घर पोखरा–११ मा रहेको छ । मेयर आचार्यको आफ्नै नाममा रहेको घर अनुमानित ३ करोड ८५ लाख रुपैयाँको हो ।

    मेयर आचार्यसँग दोलखाको हेवा गाउँपालिकामा ८ टुक्रा जग्गा छन्, जसको मूल्य ८७ लाख रुपैयाँ पर्ने उनले उल्लेख गरेका छन् । यस्तै उनीसँग चारवटा गाडी र एक स्कुटर छन् । गाडी र स्कुटरको कुल मूल्य २ करोड रुपैयाँ उनले खुलाएका छन् ।

    सम्पत्ति विवरणमा मेयर आचार्यसँग बैंकमा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख छ । यस्तै, उनले विभिन्न कम्पनीका २५ करोड रुपैयाँको सेयर खरिद गरेका छन् ।

    कुल मिलाएर मेयर आचार्यले आफ्नो सम्पत्ति ४३ करोड ६१ लाख ४५ हजार ६१६ रुपैयाँ बराबरको सम्पत्ति रहेको उल्लेख गरेका छन् । आचार्यले विभिन्न बैंक, फाइनान्स कम्पनी तथा साथीभाइ/आफन्तबाट २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।

    उनले राखेको यो सम्पत्ति विवरणमा पुख्र्यौली सम्पत्ति समावेश गरिएको छैन । साथै ५४ तोला सुन, ३८ ताला चाँदी र ५ तोला हिरा पनि उनले तपसिलमा देखाएका छन् ।

    को हुन् आचार्य ?

    ५३ वर्षिय आचार्य हालै भएको स्थानीय चुनावमा नेकपा एकीकृत समाजवादीबाट मेयरमा निर्वाचित भएका हुन् ।

    सत्तारुढ गठवन्धनको समर्थनमा उनले एमालेका कृष्ण थापालाई ६ हजार ४५ भोटले हराएका थिए । उनले आफ्नो पेशामा उद्योग व्यवसाय, समाजसेवा र राजनीति उल्लेख गरेका छन् ।

    आचार्यले २०३९ सालमा अनेरास्ववियूको सदस्यता लिएर राजनीतिक जीवन प्रारम्भ गरेका थिए । उनी नेकपा एसका केन्द्रीय सदस्य र कास्की जिल्ला कमिटी अध्यक्ष हुन् ।

  • माधव नेपालको दाबी- आफ्नो गाउँ आफै बनाऊँ मेरै पहलमा सुरु भएको हो

    माधव नेपालको दाबी- आफ्नो गाउँ आफै बनाऊँ मेरै पहलमा सुरु भएको हो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो आफ्नो गाउँ आफैँ बनाऊँ अभियान आफ्नै पहलमा सुरु गरिएको दाबी गरेका छन् ।

    पार्टीको केन्द्रीय स्कुल विभागले आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा उनले २०५१ सालमा सरकारले ल्याएको लोकप्रिय कार्यक्रम आफ्नै पहलमा आएको दाबी गरेका हुन् ।

    ‘स्थानीय तहलाई हाम्रो पार्टीले जति महत्व हाम्रो पार्टीले जति दियो अरूले दिएनन् । आफ्नो गाउँ आफैँ बनाऊँ भन्दै नेपालको इतिहासमा कुन पार्टीले सुरु गर्‍यो ? स्थानीय तहका रकम छुट्टाएर पठाउने काम कुन पार्टीले सुरु गर्‍यो ?’ उनले भने, ‘हाम्रो त्यो बेलामा पार्टी नेकपा एमाले त्यसको अध्यक्ष मनमोहन अधिकारी हुनुहुन्थ्यो । म आफैँ महासचिव थिए ।’

    २०५१ सालको सरकारले गरेको कामको स्मरण गर्दै नेपालले आफू उपप्रधान, परराष्ट्र र रक्षा मन्त्री हुँदा अर्थमन्त्रीलाई आग्रह गरेर सरकारले लोकप्रिय योजना ल्याएको दाबी गरे ।

    ‘मैले नै पहल गरेर भरत मोहन अधिकारीसहित बसेर आफ्नो गाउँ आफैँ बनाऊँ सुरु गरौँ प्रत्येक गाउँमा बजेट पठाउन भनेका हौँ’ उनले भने, ‘हाम्रै साथीहरूले यसको विरोध गर्नु भएको थियो ।’

    अध्यक्ष नोपलले कांग्रेस जितेको ठाउँमा बजेट नपठाउने दबाब आइरहेको भन्दै आफूले त्यसको विरोध गर्दै ३ लाख पठाएको स्मरण गरे । उनले उक्त कामले जनताको विश्वास जितेको बताए ।

    शिक्षा सडक सिचाईँ, स्वास्थ्य, सीप विकास, साना तथा घरेलु उद्योग लगायत ‘९ स’ अभियान पनि आफ्नै पहलमा सुरु गरेको उनको दाबी थियो ।

    उनले विगतमा भएका कामहरूको मूल्याङ्कन गर्दै आगामी दिनमा आफ्ना पार्टीका कार्यकर्ताहरूलाई यस्तै लोकप्रिय काम गर्न निर्देशन दिए ।

    राम्रो काम सिकेर आफ्नो पालिकामा लागू गर्न उनले निर्देशन दिए । स्थानीय तहमा २०४९ साल र २०५४ सालमा पनि राम्रो काम भएको उनले जनाए ।

    नेपालले पहिलो पटक नेकपा एकीकृत समाजवादी स्थानीय तहको निर्वाचनमा होमिए पनि उत्साहपूर्ण उपलब्धी नभएको जिकिर गरे । उनले थोरै क्षेत्रमा उम्मेदवार उठाउँदा पनि मत कम भएको उनको ठहर थियो ।

    ‘चुनावमा हामीले पाएको सफल सानो होइन । ३५ हजारमध्ये २७.९२ प्रतिशतमा उम्मेदवारी दिएका थियौँ । त्यसमा पनि ९ लाख २७ हजार भोट पाएका थियौँ’ उनले भने, ‘सत प्रतिशत स्थानमा उम्मेदवारी उठाएको भए २५ लाख भन्दा धेरै भोट आउने थियो ।’

    आगामी संसदीय निर्वाचनमा समानुपातिक तर्फबाट २० देखि २५ लाख मत पाउने र त्यसबाट २० देखि २५ सिट ल्याउने उनले बताएका थिए ।

    ‘५० लाख पुराउन सके सानदार भएन ?’ उनले उत्साहित हुँदै कार्यकर्ताहरूलाई सोधे ।

    स्थानीय तहमा उम्मेदवार भएको पार्टीको चिन्ह मात्रै राख्ने व्यवस्था भएको भए अझै राम्रो नतिजा आउने भन्दै उनले मत बदर हुँदा धेरै स्थानमा पराजित हुनु परेको दुःखेसो पोखे ।

    ‘मत पत्र बदर नभएको भए इटहरीमा मेयरमा पनि हामीले जित्ने थियौँ । तुलसीपुर र बुटवलमा पनि हामी जित्ने थियौँ’ उनले भने ।

    पुरानो पार्टी भन्दा भिन्न हुनुपर्ने उनले जनप्रतिनिधिहरूलाई बताएका थिए । पार्टीलाई व्यक्तिवादी प्रवृत्तिबाट हटाउनु पर्ने । क्रान्तिकारी दृष्टिकोणले अगाडी बढ्नु पर्ने आवश्यकता रहेको जनाए ।

    फरक प्रसङ्गमा नेपालले केपी ओलीका कारण पार्टी विभाजन भएको प्रष्ट पारेका थिए ।

    ‘संसद् विघटन गरेर सर्वोच्च अदालतका मान्छेहरुलाई प्रभावमा पारि गलत फैसला भयो । फागुन २३ को फैसलामा एमाले र माओवादी फुटाउने काम ओलीले गरे’ उनले भने, २८ गते पार्टी कब्जा गर्ने र कारवाही गर्ने, फेरी आम माफीको नाटक गरियो ।’

    पार्टीमा ओली हावी भएर एकलौटी रुपमा अगाडी बढ्न थालेपछि आफूहरूले विद्रोह गरेको उनले बताए ।

    ‘स्वाभिमानी पार्टीका कार्यकर्ताहरू टुलुटुलु हेर्न चाहेनन् । नयाँ ढंगले जाने कुरा आयो । वृहत कार्यकर्ता भेलाबाट विद्रोहको झन्डा उठाउने र समान्तर गतिविधि गर्ने निर्णय भयो’ उनले भने, ‘संसदीय दलको बैठकमा बोल्न नदिएर अपमानपूर्ण व्यवहार भयो ।’

     

  • पार्टीका जनप्रतिनिधिलाई नेकपा एसको प्रशिक्षण (तस्बिरहरू)

    पार्टीका जनप्रतिनिधिलाई नेकपा एसको प्रशिक्षण (तस्बिरहरू)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई दुई दिने प्रशिक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

    काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेटमा अहिले अभिमुखीकरण जारी छ । प्रशिक्षणमा नेकपा एसबाट जितेका पालिका प्रमुख तथा उपप्रमुखहरू सहभागी छन् ।

    जनप्रतिनिधिहरूलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धजस्ता विषयमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले प्रशिक्षित गर्ने छन् ।

    तस्बिरहरू : उमेश कार्की । 

  • गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि विद्यार्थी संगठनको कालो ब्यानर

    गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक अगाडि विद्यार्थी संगठनको कालो ब्यानर

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै गठबन्धननिकट संयुक्त विद्यार्थी संगठनले राष्ट्र बैक अगाडि कालो ब्यानर टाँसेको छन् ।

    आज बिहान राष्ट्र बैकको कार्यालय अगाडि विद्यार्थी संगठनले व्यानर टाँसेको हो । उनीहरुले गभर्नर अधिकारीको राजीनामा माग गर्दै टाँसेको ब्यानर प्रहरीले हटाएको छ ।

    यसअघि आइतबार अखिल  क्रान्तिकारी र नेविसंघले गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो ।

    गभर्नरलाई बर्खास्त गर्नुपर्ने मागसहित सत्ता गठबन्धन दल निकटका प्रमुख तीन संगठनले आजदेखि चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

    नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले ५ दिनको संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

    एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर अधिकारीले मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको दाबी गर्दै ती संगठनले बर्खास्तीको माग गरेका छन् ।

    आन्दोलनका कार्यक्रमहरूमा प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने, राष्ट्र बैंकका कार्यालयमा कालो ब्यानर राख्ने, प्रज्ञा भवनमा कार्टुन प्रदर्शन गर्ने, देशभरका क्याम्पसमा विरोध गर्ने र सदनबाट गभर्नर बर्खास्तीको मागका लागि सांसदलाई दबाब दिनेसम्मका छन् ।

  • नेकपा एसका जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण

    नेकपा एसका जनप्रतिनिधिलाई आजदेखि पार्टीको प्रशिक्षण

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइने दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजदेखि शुरु हुँदैछ ।

    आज बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ।प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछन् ।प्रशिक्षण आज र भोलि सञ्चालन हुनेछ ।

    जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने प्रवक्ता जग्ननाथ खतिवडाले बताए ।

  • गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने नेकपा एसको निर्णय

    गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने नेकपा एसको निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले वर्तमान पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    आज बसेको पार्टी केन्द्रीय सचिवालयको ३२ औं वैठकले सो निर्णय गरको हो ।

    अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले गत असार १३–१४ मा आयोजित केन्द्रीय परिषदको प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल गरेको थियो । बैठकले चारवटा निर्णय गरेको महासचिव बेदुराम भुसालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    संगठन सुदृढीकरण अभियान तदारुकताका साथ अगाडि बढाउन र समाजवादबारे पार्टीको अवधारणासम्वन्धी दस्तावेज तयार गर्ने वैठकको निर्णय छ । यस्तै, वर्तमान आर्थिक समस्याबारे पनि पार्टीले एक प्रस्ताव तयार गर्ने भएको छ ।

    चौंथो निर्णयमा पाँचदलीय गठवन्धन कायम राख्दै बाम एकताका निम्ति पहल गर्ने भनिएको छ ।

     

  • गभर्नर बर्खास्तको मागसहित गठबन्धननिकट विद्यार्थीको आन्दोलन घोषणा

    गभर्नर बर्खास्तको मागसहित गठबन्धननिकट विद्यार्थीको आन्दोलन घोषणा

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तको मागसहित सत्ता गठबन्धन दल निकटका प्रमुख तीन संगठनले आन्दोलन घोषणा गरेका छन् ।

    नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै ५ दिनको संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

    एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर अधिकारीले मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको दाबी गर्दै ती संगठनले बर्खास्तीको माग गरेका हुन् ।

    आन्दोलनका कार्यक्रमअन्तर्गत प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने, राष्ट्र बैंकका कार्यालयमा कालो ब्यानर राख्ने, प्रज्ञा भवनमा कार्टुन प्रदर्शन गर्ने, देशभरका क्याम्पसमा विरोध गर्ने र सदनबाट गभर्नर बर्खास्तीको मागका लागि सांसदलाई दबाब दिनेसम्मका छन् ।

  • त्रिविसँग ११ बुँदे सहमतिपछि नेकपा एसका विद्यार्थीले तोडे अनसन

    त्रिविसँग ११ बुँदे सहमतिपछि नेकपा एसका विद्यार्थीले तोडे अनसन

    काठमाडौं । त्रिवि सुधारको मागसहित आमरण अनसनमा उत्रिएको नेकपा एसनिकट विद्यार्थीहरूले अनसन तोडेका छन् ।

    संगठन र त्रिवि वार्ता समितिबीच ११ बुँदे सहमतिसँगै अनेरास्ववियूका नेताले अनसन तोडेका हुन् ।

    त्रिभुवन विश्वविद्यालयमा विभिन्न सुधारको माग राख्दै २८ गतेदेख अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्त आमरण अनसन बसेका थिए ।

    त्रिविका उपकूलपति प्रा.डा. धर्मकान्त बास्कोटाको रोहवरमा भएको सहमतिसँगै अनसन पनि तोडिएको हो ।

    सहमति भएका बुँदाहरूमा स्नातक, स्नातकोत्तर, एमफील तथा पिएचडी तहका नियमित र आन्तरिक श्रोतबाट सञ्चालित
    कार्यक्रमका सम्बन्धमा आंगिक र सम्बन्धन प्राप्त क्याम्पस र निकायहरूले लिने शुल्क समायोजन र नियमिततर्फ लैजाने साथै पठ्यक्रम परिमार्जनका लागि आवश्यक सुझाव दिन कार्यदल गठन गर्ने, विद्यार्थी संगठनहरूको नेतृत्वसँग छलफल गरी स्ववियू निर्वाचन गराउन सरकारसाग समन्वय गर्नेलगायतका छन् ।

    त्यस्तै स्नातक, स्नातकोत्तर तहको विभिन्न विषयको प्रश्नपत्रमा देखिएका लापरबाहीका विषयमा पनि तत्काल कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

    यस्तो छ- संयुक्त सहमतिपत्र

     

  • गठबन्धनमा नेकपा एसको रणनीति- एमालेले जितेका सबै ठाउँ दाबी गर्ने, ४० सिटबाट नझर्ने

    गठबन्धनमा नेकपा एसको रणनीति- एमालेले जितेका सबै ठाउँ दाबी गर्ने, ४० सिटबाट नझर्ने

    काठमाडौं । सत्ता गठबन्धन आगामी संसदीय चुनावसम्म जाने लगभग निश्चित भएका बेला गठबन्धनको तेस्रो ठूलो घटक नेकपा एकीकृत समाजवादीले आफ्नो शक्तिलाई कम नआँक्न कांग्रेस र माओवादीलाई आग्रह गरेको छ ।

    गठबन्धनका पछिल्ला बैठकमा आफूले कांग्रेस-माओवादी नेतृत्वलाई नेकपा एसको अपमान नगर्न र आफूहरू एमालेको विद्रोही शक्ति हो भन्ने नबिर्सन पटक-पटक भनिरहेको अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

    वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने नेपालले कांग्रेस-माओवादी नेतृत्वलाई आफूले ‘टोकिरहेको’ भन्दै स्थानीय चुनावमा गरेजस्तो दम्भ र अहंकार देखिए आउँने चुनावमा गठबन्धन सफल हुन नसक्ने चेतावनी दिएको बताए ।

    त्यसो भए नेकपा एसको माग के हो त ? सो पार्टीका सम्मानित नेता झलनाथ खनालले आउँने प्रतिनिधिसभा चुनावमा कम्तीमा ४० सिट नेकपा एसले नपाए गठबन्धन हुन नसक्ने बताए । उनले कांग्रेस धोखेबाज शक्ति रहेकाले आफूहरूका लागि कांग्रेससँगको गठबन्धन फलदायी नहुने पनि बताए ।

    खनालले भने, ‘कांग्रेसले हामीलाई भोटरमात्र बनायो, धेरै ठाउँमा माओवादीको पनि त्यस्तै भूमिका देखियो । हाम्रो भोट लिने तर हामीलाई नदिने । इलाममा मैले नै भोगेँ । त्यसैले गठबन्धनबाट हामीले फाइदा लिन सकेनौं । अब यसको गम्भीर समीक्षा हुनुपर्छ र एमालेले जितेका सिटमा हाम्रो दाबी रहन्छ ।’

    एमालेले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट ९७ सिटमा उम्मेदवारी दिएर ८० सिट जितेको थियो । प्रत्यक्ष निर्वाचित ८० मध्ये हाल नेकपा एसमा १३ जना सांसद छन् ।

    प्रदेश १ बाट झलनाथ खनाल इलाम,१ र भवानी खापुङ तेह्रथुम प्रत्यक्ष निर्वाचित हुन् । मधेशबाट प्रत्यक्ष निर्वाचित सांसद नेकपा एसमा छैनन् । वागमतीबाट काठमाडौं २ माधवकुमार नेपाल, ८ का जीवनराम श्रेष्ठ, ललितपुर २ का कृष्णलाल महर्जन र मकवानपुर २ का विरोध खतिवडा छन् ।

    त्यस्तै गण्डकीबाट तनहुँ १ का किसान श्रेष्ठ, लुम्बिनीबाट पाल्पा २ का सोमप्रसाद पाण्डे,दाङ १ का मेटमणी चौधरी र दाङ ३ का हिराचन्द्र केसी छन् । कर्णालीबाट मुगुका गोपाल बम र डोल्पाका धनबहादुर बुढा छन् भने सुदूरपश्चिमबाट डोटीका प्रेम आले छन् ।

    यीमध्ये माधव नेपाल काठमाडौं छाडेर रौतहटमा चुनाव लड्ने सम्भावना छ । किसान श्रेष्ठ र रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र एउटै भएकाले त्यसको समाधान गठबन्धनबाटै खोजिने नेताहरू बताउँछन् । अरुको सन्दर्भमा क्षेत्र छाड्न गठबन्धनमा ठूलो समस्या देखिन्न ।

    गठबन्धनमा कुन दलले प्रतिनिधिसभाका कति सिट पाउने भन्ने छलफल भएको छैन । यद्यपि नेताहरूबीच अनौपचारिक छलफलमा नेकपा एसबाट प्रत्यक्ष निर्वाचित सांसदहरू जति छन् त्यति ठाउँ छाड्ने सैद्धान्तिक कुरा भएको छ । अपवादबाहेक जो जुन क्षेत्रबाट जितेका छन् ती ठाउँ गठबन्धनले नेकपा एसलाई छाड्ने सम्भावना छ ।

    गठबन्धनको कार्यदलमा रहेका माओवादीका एक नेताले भने, ‘अहिलेसम्म सिट बाँडफाँटमा पुगेका छैनौं । शीर्ष तहबाटै जिम्मेवारी दिएपछिमात्र त्यसमा प्रवेश गर्ने हो । मोटामोटी जसले जहाँ जितेको छ ती यथावत् राखेर एमालेले प्रत्यक्ष जितेका सिटहरू बाँड्ने हो । त्यसमा नेकपा एसका प्रत्यक्ष निर्वाचितबाहेक अरु घटाउँदा मोटामोटी ६५-७० सिटको बाँडफाँट होला ।’

    २०७४ सालमा माओवादीले प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो । त्यसमध्ये चारजना हाल एमालेमा छन् र ती ठाउँ रिक्त रहेका छन् । त्यसबाहेक ३२ सिट माओवादीको सुनिश्चित हुँदा कांग्रेसको २३ सिटमात्र छ । जबकी कांग्रेसले आउँने चुनावमा कम्तिमा ६० प्रतिशत सिट दाबी गरेको छ ।

    नेकपा एसमा गएका बाहेक अहिले एमालेले जितेका सबै सिट कांग्रेसलाई छाड्दा पनि उसको भागमा ४० प्रतिशत पुग्दैन । नेकपा एसका सम्मानित नेता खनालले ४० सिटभन्दा तल नमान्ने बताइसकेका छन् ।

    हालै सम्पन्न नेकपा एसको केन्द्रीय कमिटी बैठकमा पनि एमालेले जितेका सबै सिटमा दावी गर्ने र त्यसको आधा नछाड्ने कुरा नेताहरूले बताएका थिए । त्यो भनेको ८० मा दाबी गर्ने र ४० नछाड्ने हो । तर, गठबन्धनका नेताहरू भने नेकपा एसको स्थायी चुनावमा देखिएको जनमत हेर्दा उसलाई १३ सिट पनि दिन नसकिने बताउँछन् ।

    त्यही भएरै अध्यक्ष नेपालले बारम्बार भन्ने गरेका छन्,‘गठबन्धनमा हामीलाई कम आँकलन नगरियोस्, हाम्रो शक्तिको अवमूल्यन नहोस् । हामी अपमान सहन जन्मिएका होइनौं । यदि कांग्रेस, माओवादीले पनि दम्भ देखाए भने एमालेकै हालत हुनेछ ।

    कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठक शनिबार बोल्दै सभापति शेरबहादुर देउवाले आफूले प्रचण्ड र माधवलाई अलपत्र छाड्न नसक्ने बताएका थिए । देउवाले ओलीलाई छाडेर आएका माधव नेपाललाई आफूले छाड्न नमिल्ने बताएको केन्द्रीय सदस्य रामहरी खतिवडाले जानकारी दिए ।

    उनले स्थायी चुनावमा पनि माधव नेपाललाई सडकमा छाड्न नसकिने भनेका थिए । केपी ओलीसँग विद्रोह गरेर आफूलाई प्रधानमन्त्री बनाउन सघाएकाले देउवाले माधव नेपाललाई अपमान गर्न चाहेका छैनन् । तर, सिट बाँडफाँटमा भने नेकपा एसको दाबी हैसियतभन्दा बढी भएको भन्दै गठबन्धनका नेताहरूले धरातल बुझ्न सुझाव दिइरहेका छन् ।

  • माधव नेपालको चेतावनी- हाम्रो अपमान नगर, आफूले धेरै नजिते पनि एमाले हराउने शक्ति हौं (भिडिओ)

    माधव नेपालको चेतावनी- हाम्रो अपमान नगर, आफूले धेरै नजिते पनि एमाले हराउने शक्ति हौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले स्थानीय चुनावमा धेरै पाउन नसके पनि एमालेलाई हराउन काफी भएको दाबी गरेका छन् । नेकपा एसको वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूको शक्तिलाई अवमूल्यन गर्दा गठबन्धनले पनि उल्लेख्य सफलता पाउन नसकेको बताए ।

    नेपालले भने, ‘निकै ठूलो सम्भावना भएको भनिएको पार्टीले निकै ठूलो धक्का खान पुग्यो । हामी ग्राफ हेर्दै थियौं, कांग्रेसले कति पायो, एमाले र माओवादीले कति जिते भन्ने ग्राफ । राजनीतिमा आफूले धेरै पाउन सकेनन् भने अर्कोलाई सिध्याउन पनि काफी हुन्न । अहिले सुन्नुभएको होला, कतिपय ठाउँमा एक सिट जितेकोलाई मुख्यमन्त्री बनाइयो । हाम्रो शक्तिलाई अवमूल्यन गर्छन् भने महँगो मूल्य चुकाउनुपर्न हुन्छ ।’

    अध्यक्ष नेपालले आफूहरू गठबन्धनको नाममा बढी आशावादी भइरहेको भन्दै एक्लै आफ्नो शक्ति बनाउन लाग्नुपर्ने बताए । उनले गठबन्धनको उम्मेदवार भएपछि सानदार जितिन्छ भन्ने भ्रममा नबस्न समेत कार्यकर्तालाई आग्रह गरे । उनले अपमान गरिए गठबन्धनलाई चुनाव जित्न अप्ठेरोमा पर्ने चेतावनी समेत दिए ।

    उनले भने, ‘गठबन्धनको उम्मेदवार बन्छौं सानदार जित्छौं भन्ने हाम्रोमा मानसिकता भयो । आफ्नो शक्ति बनाउन लागेनौं । हामीले कांग्रेस र माओवादीलाई हिर्काएको हिर्काएकै छौं । तिमीहरूको अहंकार, धोखाधडी र बेइमानीले जसरी गठबन्धनले जित्नुपर्थ्यो त्यो नहुने खतरा अहिले पनि छ भनिरहेका छौं । तर, हामीसँग अरु विकल्प पनि छैन ।’

    अध्यक्ष नेपालले एमालेले अहिले आफूहरुलाई धेरै प्रहार नगरेकाले आफूहरूले पनि धेरै प्रहार नगर्ने बताए । तर, एमालेको भ्रममा पर्न नहुने समेत उनले बताए ।

  • बजेटमा बहसः आफ्नै मन्त्रीसँग बुढाथोकीको गुनासो

    बजेटमा बहसः आफ्नै मन्त्रीसँग बुढाथोकीको गुनासो

    कैलाली । नेकपा एकीकृत समाजवादीकी सांसद सुशीला बुढाथोकीले आफ्नै मन्त्रीहरूप्रति गुनासो पोखेकी छन् । असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमा आजबाट छलफल सुरु भएको हो ।

    आज प्रदेशसभामा बजेटमाथिको छलफलमा धारणा राख्दै उनले आफ्नै मन्त्रीले पनि पर्याप्त योजना नदिएको गुनासो पोखिन् ।

    ‘मेरो क्षेत्रमा १० करोड पुगेन । कसैको वडामा १५ करोड पुग्छ । दुई मन्त्री हुँदा पनि आवश्यक बजेट भएन’, उनले भनिन्, ‘भौतिक पूर्वाधारले काट्दिनुभयो । अर्थमन्त्रीले आफ्नै क्षेत्रमा २ अर्ब लानुभयो । ४० मन्दिर बनाउनुभयो । हाम्रो एउटा मन्दिर पनि आवश्यक ठान्नुभएन ।’

    भौतिक विकास र आर्थिक मामिला दुबै नेकपा एसका मन्त्री हुन् ।उनले बजेटको सन्तुलन नमिलेको भन्दै त्यसको सम्पूर्ण दोष मुख्यमन्त्री त्रिलोचन भट्टले लिनुपर्ने बताइन् ।

    ‘सरकार प्रमुखलाई दोष जान्छ । सबै मन्त्रालयमा ध्यान दिनुपर्ने हो । बजेट बिग्रेको अनुभूति हामीले गरेका छौं’, उनले भनिन्, ‘सबै मन्त्रीको जिल्लामा बजेटको खात छ । माननीयको जिल्लामा अवस्था चिन्ताजनक छ ।’

    उनले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मनबहादुर धामीप्रति पनि असन्तुष्टि व्यक्त गरिन् । बुढाथोकीले भनिन्, ‘पर्यटनमन्त्रीलाई धन्यवाद ! पोहोर पनि लिस्ट गायब गरिदिनुभयो । अहिले पनि गायब गर्नुभएको छ। मेरो वडामा मैले भनेको योजना परेन । अरू कसैले भनेको आयोजना परेको छ ।’

  • त्रिवि सुधारको माग गर्दै नेकपा एसका विद्यार्थी आमरण अनशनमा

    त्रिवि सुधारको माग गर्दै नेकपा एसका विद्यार्थी आमरण अनशनमा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राख्दै नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आमरण अनशन थालेको छ ।

    विकृति विसंगति र शैक्षिक अपराधीकरण बढेको भन्दै त्रिवि सुधारको माग राखेर अनशन सुरू गरिएको अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए ।

    त्रिवि उपकूलपतिसमक्ष सो संगठनको १३ बुँदे माग छ ।

    जसमा एमफिल र पीएचडीलाई नियमितसँग विद्यार्थीको शुल्क सर्वसुलभ बनाउनुपर्ने, स्ववियू निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, परीक्षा प्रणाली र प्रश्नपत्रमा देखिएका समस्यामा जोडिएका जिम्मेवार व्यक्तिलाई कारबाही गर्नुपर्ने, सबै संकायका पाठ्यक्रम समयानुकूल परिमार्जन गरिनुपर्ने, विश्वविद्यालयका पदाधिकारी र अन्य नियुक्तिमा हुने राजनीतिक भागवण्डाको अन्त्य गरी प्रतिस्पर्धाको आधारमा हुनुपर्ने लगायतका छन् ।

  • धनगढीमा केन्द्रीय सदस्यसँग माधव नेपालको साढे आठ घण्टा : बजेटको गुनासो सुने, अर्थमन्त्रीले बोल्न पाएनन्

    धनगढीमा केन्द्रीय सदस्यसँग माधव नेपालको साढे आठ घण्टा : बजेटको गुनासो सुने, अर्थमन्त्रीले बोल्न पाएनन्

    कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अहिले धनगढीमा छन् । उनी पार्टीको कार्यक्रम लिएर धनगढी पुगेका हुन् । तर, सरकारले ल्याएको बजेट र त्यसमा आफ्नो पार्टीको धारणा बारे पनि नेपालले चासो दिएका छन् ।

    नेपालले सुदूरपश्चिममा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक राखेका छन् । त्यसमा स्थानीय तहको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीको आगामी कार्य योजना र प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमको बारेमा छलफल भएको छ ।

    प्रदेश सरकार नेकपा एकीकृत समाजवादीले नेतृत्व गर्ने विषयमा भने बहस भएन । सबै भन्दा धेरै बहस प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा बिषयमा छलफल भएको थियो । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गरेका थिए । उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्त्री भएका हुन् । छलफलमा उनी पनि सहभागी थिए ।

    त्यहाँ बोल्ने अधिकांशले बजेटको विरोध गरेका थिए । ३८ केन्द्रीय मध्ये सबैजसो बैठकमा उपस्थित थिए । बैठकमा प्रदेशबाट केन्द्रीय कमिटी, पोलिट ब्युरो र स्थायी कमिटीमा रहेकाहरू पनि बैठकमा सहभागी थिए । बजेटका विषयमा बोल्ने सबैजसोले त्यसको विरोध गरे। बजेटको बचाउ गर्दै अर्थमन्त्री बोल्न खोज्दा अध्यक्ष नेपालले बोल्न दिएका थिएनन् ।

    तपाईं बस्नुहोस् पहिला सुन्नुहोस् भन्नुभयो बैठकमा सहभागी एक केन्द्रीय सदस्यले सुनाए । अर्थमन्त्रीले बजेटको बचाउ गर्न नपाए पनि भौतिक पूर्वाधार तथा विकास मन्त्री दीर्घ सोडारीले भने बचाउ गरेका थिए ।उनी संसदीय दलका नेता पनि हुन् ।

    दिउँसो ३ बजे देखि राति ११ : ३० सम्म धनगढीको सोराइमा बैठक बसेको थियो । अध्यक्ष नेपालले अबेर सम्म सबै विषयहरूमा धारणा सुनेका थिए । धारणा राख्नेहरूले पनि मन खोलेर प्रस्तुत भएका थिए ।प्रदेशका ९ वटै जिल्लाका इन्चार्ज, इन्चार्ज नभएको जिल्लामा सह इन्चार्जले धारणा राखेका थिए । उनीहरुले बजेटमा अनुभूति हुने नयाँ कुरा नभएको बताए ।

    प्रदेश इन्चार्जले पनि धेरै बोल्न नपाएको बताइएको छ । केन्द्रीय सचिव समेत रहेकी गरिमा शाह यहाँकी इन्चार्ज हुन् । उनी प्रति पनि केहीले गुनासो पोखेका थिए ।बजेट माथिका गुनासो सुनेपछि अध्यक्ष नेपालले बजेट संशोधन गर्न आवश्यक भएको ठाउँमा संशोधन गर्नु पर्ने बताएका थिए । जनताको पक्षमा बजेट आउनु पर्छ सबैले सबैको गुनासो सुन्नु पर्छ छलफल गर्नुपर्छ नेपालले भनेको कुरा उद्धृत गर्दे एक नेताले भने, संशोधन गर्नु पर्ने ठाउँमा संशोधन गर्नुपर्छ ।

    सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल रहेको नेकपा एकीकृतका अधिकांश सांसदहरुनै यथास्थितिमा बजेट पारित गर्न नदिने अडानमा छन् । उनीहरु बजेट संशोधन नहुँदा सम्म प्रदेश सभा छलफल नै नहुने बताइरहेका छन् ।

    हिजो राति साढे आठ घण्टामा अध्यक्ष नेपालले बजेट संशोधन गर्न सुझाव दिए पनि त्यसबारे ठोस निष्कर्ष आएको छैन ।यस्तो अवस्थामा आज ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

    नेकपा एकीकृत समाजवादीको तर्फबाट बलबहादुर सोडारी र सुशीला बुढाथोकीको नाम प्रदेश सभा सचिवालयमा टिपाइएको छ । उनीहरु दुवै जनालाई मन्त्री बताउने आश्वासन दिइएको बुझिएको छ ।

    अहिले राज्य मन्त्री रहेकाहरू पनि सरकारको बजेट प्रति सन्तुष्ट छैनन् । संसदीय दलले अहिले सम्म ठोस निर्णय गरेको छैन । तर, अधिकांश सांसदहरू यथास्थितिमा बजेट पारित गर्न नहुने अडानमा छन् । बहालवाला मन्त्री र मन्त्रीको आश्वासन पाएकाहरू बाहेक अन्य बजेटमा विरोधमा छन् ।

  • गठबन्धन नभएको भए एसपीपी पास हुन्थ्यो, एमसीसी हुबहु पारित हुन्थ्यो : माधव नेपाल

    गठबन्धन नभएको भए एसपीपी पास हुन्थ्यो, एमसीसी हुबहु पारित हुन्थ्यो : माधव नेपाल

    कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विदेशी शक्तिको नेपालमा चलखेल बढेको भन्दै एमसीसी र एमपीपीमा आफ्नो पार्टीको धारणा एमालेभन्दा फरक रहेको बताएका छन् ।

    आज धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूहरूको अडानले संविधान र संघीयता जोगिएको दाबी गरे ।

    ‘एमालेको आँखा चिम्लेर पारित गर्ने रणनीति रहेको थियो । एमालेमा रहँदा पनि यसमा विवाद भएको हो । गठबन्धन नभएको भए एसपीपी पास हुन्थ्यो, एमसीसी हुबहु पारित हुन्थ्यो । हाम्रो अडानले संविधान बाँच्यो संघीयता जोगियो’ उनले भने ।

    नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नहुने प्रष्ट पारेका छन् ।

    माओवादीसँग एकताको चर्चाबारे पत्रकारको जिज्ञासामा नेपालले भने, ‘चुनावभन्दा अगाड कुनै पनि पार्टीसँग हाम्रो एकता हुँदैन । एकता हुन्छ कि भनेर केही पंक्ति थर्कमान भएका छन् । थर्कमान नहुनु, मुटुको धड्कन नबढाएर आनन्दले बसे हुन्छ । हामी अहिले आफ्नो ढंगले बढिरहेका छौँ ।’

    उनले आगामी निर्वाचन सम्ममा भने यही गठबन्धन अगाडि बढ्ने भन्दै त्यसपछिका विषयमा अहिले भन्न नसकिने बताए । ‘संसद रहँदासम्म अर्थात् आउने निर्वाचनसम्म गठबन्धन रहन्छ त्यसपछि त ज्योतिषलाई सोध्नुपर्छ’ नेपालको भनाइ थियो ।

    संसदीय निर्वाचनमा पनि एक्लै लडेर जित्ने ठाउँमा एक्लै लड्ने र कमजोर भएका क्षेत्रहरूमा गठबन्धन गर्ने रणनीति रहेको उनले जनाए । स्थानीय तहको निर्वाचन विषयमा केही राम्रा र केही नराम्रा अनुभवहरू रहेको समेत उनले पत्रकारहरूलाई सुनाए ।

    महानगरपालिका र उपमहानगरपालिका जित्दा उत्साहित भएको र केही ठाउँमा गठबन्धनबाटै धोका हुँदा निराश भएको नेपालको भनाइ छ । चुनावभन्दा पहिले सबै कमिटी निर्माण गर्ने काममा लागेको भन्दै नेपालले भने, ‘अब आउने चुनावको तयारीमा जुटेका छौँ । स्थानीय तहमा केही मीठा र तीता अनुभव छ । ’

    पार्टी स्थापना भएको १० महिनामै नेकपा एकीकृत समाजवादीको संगठन देशका अधिकांश क्षेत्रमा पुगेको उनको दाबी छ ।

    ‘पार्टीले अहिले १० महिनाको समय पूरा गरेको छ । यो पार्टी देशको ७७ जिल्लामा पुगेको छ । ७५३ पालिका पुग्ने गरी अघि बढिरहेको छौँ उनले भने, ‘स्थानीय तह निर्वाचनको शिक्षा प्राप्त गर्दै आफ्नो शक्तिमाथि भरोसा गरेर अगाडी बढ्ने योजना रहेको बताएका छौँ ।’

    नेपालले आफ्नो पार्टी अचानक दुलोबाट निस्केको, चिन्दै नचिनेको र सेलिब्रटी भएर नआएको स्पष्ट पारे । उनले आफूहरू लामो संघर्षबाट आएको बताएका थिए ।

    फरक प्रसंगमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले दाबी गर्नु स्वाभाविक रहेको नेपालले बताएका थिए । तर, अन्य दलहरूबाट सहयोग नभएको हुँदा पार्टीको नेतृत्वमा सरकार बन्न नसकेको उनले स्वीकार गरे ।

  • १० बुँदे सहमति लत्याएर माधव नेपालले जीवनकै ठूलाे गल्ती गरे : घनश्याम

    १० बुँदे सहमति लत्याएर माधव नेपालले जीवनकै ठूलाे गल्ती गरे : घनश्याम

    काठमाडाैं । एमाले नेता घनश्याम भुसालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप लगाएका छन् ।

    सामाजिक सन्जालमा आज आफ्नो धारणा राख्दै भुसालले यस्तो टिप्पणी लेखेका हुन् ।

    उनले भनेका छन्,’आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’

  • उच्च अदालत बार पाटनमा एमाले-नेकपा एसनिकट कानून व्यवसायीको प्यानल विजयी (सूचीसहित)

    उच्च अदालत बार पाटनमा एमाले-नेकपा एसनिकट कानून व्यवसायीको प्यानल विजयी (सूचीसहित)

    काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको नेतृत्वमा नेकपा एमाले-नेकपा एस निकट कानून व्यवसायी आएका छन् ।

    देशभरका बार इकाईमध्ये सबैभन्दा बढी सदस्य रहेको पाटन उच्च अदालत बार एसोसियसनमा प्रगतिशील तथा पेसागत कानून व्यवसायी संगठन (पीपीएलए) र समाजवादी पेसागत कानून व्यवसायी संगठन (एसपीएलए) को संयुक्त प्यानलबाट अध्यक्ष अधिवक्ता शान्तिराम खतिवडाको प्यानलै विजयी भएको हो ।

    हिजो भएको मतदानको नतिजाअनुसार खतिवडाले १०६६ मत ल्याउँदा अधिवक्ता रामकृष्ण शर्मा २७१ मा रोकिए । त्यस्तै उपाध्यक्षमा नारायण खरेललाई उछिन्दै अधिवक्ता रामचन्द्र न्यौपाने विजयी भए ।

    हेर्नुस् विजेता उम्मेदवारको नाम तथा मत परिणाम सूची

  • मेटमणिलाई हटाएर सम्धीलाई प्रदेश अध्यक्ष बनाए माधव नेपालले

    मेटमणिलाई हटाएर सम्धीलाई प्रदेश अध्यक्ष बनाए माधव नेपालले

    रुपन्देही । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा यसअघिका अध्यक्ष मेटमणि चौधरीलाई हटाएर आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई बनाएका छन् ।

    शनिवार बुटवलमा अध्यक्ष नेपाल आफै सहभागी पार्टीको प्रदेश कमिटी बैठकबाट चौधरीलाई हटाएर पाण्डेलाई प्रदेश अध्यक्ष बनाइएको हो ।

    दाङका चौधरी र पाल्पाका पाण्डे दुवै प्रतिनिधि सभा सदस्य हुन् ।

    स्थानीय तहको निर्वाचनमा तथा पार्टीका अन्य सङ्गठनात्मक काममा चौधरी निकै अगाडि देखिए पनि पाण्डेलाई अगाडि सारिएकोप्रति लुम्बिनीका नेताहरू आश्चर्यमा परेका छन् ।

    नेकपा एसका नेताहरूले चौधरी अहिले मन्त्री तथा पार्टीको सचिव भएकाले पनि पाण्डेलाई प्रदेशको जिम्मेवारी दिएको दाबी गरेका छन् ।

    बैठकमा चौधरी आफैले पाण्डेलाई अध्यक्षको रूपमा प्रस्ताव गरेको र सर्वसम्मतबाट अध्यक्षमा पाण्डे चुनिएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई बताए ।

  • माधव नेपाल भन्छन्- गिरिजालाई मैले प्रधानमन्त्री बनाएँ, मलाई गिरिजाले (भिडिओ)

    माधव नेपाल भन्छन्- गिरिजालाई मैले प्रधानमन्त्री बनाएँ, मलाई गिरिजाले (भिडिओ)

    रूपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएपछि इमानदारीसाथ पालो दिएको बताएका छन् ।

    ‘जनआन्दोलनपछि म प्रधानमन्त्री हुने सहमति थियो । तर, मैले उहाँलाई बनाएँ । त्यसको गुण उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनुभएको थियो’, बुटवलमा शनिबार आयाजित पत्रकार भेटघाटमा नेता नेपालले भने, ‘उहाँमा राजनीतिक इमानदारी थियो ।’

    उनले पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा त्यो निरन्तर रहने जनाए । अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे ।

    एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनको भनाइ छ ।

    उनले भने, ‘स्थानीय तहमा हाम्रो पार्टीले सफलता हासिल गरेको छ । महानगर र उपमहानगरसहित धेरै ठाउँमा विजयी भएको छ । हामी आगामी निर्वाचनका लागि तयारीमा जुटेका छौं । अझै सफलता पाउनेछौं ।’

    नेता नेपालले निर्वाचनमा आफूहरुमाथि षड्यन्त्र भएकोसमेत उल्लेख गरे । उनले भने, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं । गठबन्धन माध्यम थियो । निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए । हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’

  • सीसीटीभी फुटेज मेटाउनु गलत, छानबिन हुनुपर्छ : नेकपा एस प्रवक्ता

    सीसीटीभी फुटेज मेटाउनु गलत, छानबिन हुनुपर्छ : नेकपा एस प्रवक्ता

    सुर्खेत । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज डिलेट गर्नु गलत भएको बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले यसबारे संसदले छानबिन पनि गर्नुपर्ने साथै अर्थमन्त्री जनार्दन शर्माले पनि आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने माग गरे ।

    ‘अर्थमन्त्रालयको उक्त प्रकरणलाई हाम्रो पार्टीले गम्भीरतापूर्वक लिएको छ । यसबारेमा हामीले आधिकारिक धारणा बनाएका छैन । सीसीटीभी फुटेज डिलेट भन्ने कुरामा मन्त्रालयले गल्ती गरेको देखिन्छ ’, खतिवडाले भने भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाम्रा अध्यक्ष माधवकुमार नेपालबीच गम्भीरतापूर्वक यस विषयमा छलफल भएको छ । हामीले अध्यक्षलाई निकास खोज्न भनेका छौं ।’

    यसबारेमा माओवादीले नै निकास निकालोस् भन्ने नेकपा एसको चाहना रहेको उनको भनाइ थियो ।

    ‘मिडियामा जे सुनिएको छ यो निकै गम्भीर विषय हो । यसमा छानबिन गर्नुपर्छ । माओवादीले तत्काल निर्णय लिनुपर्छ ’, प्रवक्ता खतिवडाले थपे ।

  • कान्तिपथमा नेकपा एसको सचिवालय बैठक : वागमती छाड्नुपरे सुदूरपश्चिममा दाबी

    कान्तिपथमा नेकपा एसको सचिवालय बैठक : वागमती छाड्नुपरे सुदूरपश्चिममा दाबी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा बैठक बसिरहेको हो ।

    वागमती प्रदेश सरकार, समसामयिक राजनीतिक परिवेश, पार्टीका आगामी योजना बैठकका मुख्य एजेण्डा छन् ।

    सहमति अनुसार वागमतीमा मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने नेकपा एसलाई चर्को दबाब छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध सत्ताघटककै कांग्रेस र माओवादीले हस्ताक्षर संकलन गरिसकेका छन् ।

    बैठकमा वागमती छाड्दा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको सो पार्टीको दाबी छ ।

    ‘वागमती प्रदेशका बारेमा आवश्यक छलफल हुन्छ । यदि छाड्नैपर्ने हो भने सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा हाम्रो स्वतः दाबी रहन्छ ’, एक नेताले भने, ‘त्यो बाहेक अन्य विकल्प पनि सोच्न सकिन्छ । मुख्य कुरा गठबन्धनलाई कसिलो बनाउँदै लैजाने भन्ने कुरा नै हो ।’

  • नेकपाकालीन ओली विरोधी मोर्चाको पुनर्मिलन

    नेकपाकालीन ओली विरोधी मोर्चाको पुनर्मिलन

    काठमाडौं । विघटित नेपाल कम्युनिस्ट पार्टी नेकपाका तत्कालीन पाँच जना सचिवालय सदस्यहरूको आज ‘पुनर्मिलन’ भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकपछि उनीहरुबीच सामूहिक भेट भएको हो ।

    माओवादी अध्यक्ष प्रचण्डकी पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । भेटवार्ता भएको स्थान उनले खुलाएकी छैनन् ।

    तत्कालीन अध्यक्ष प्रचण्ड तथा नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ आजको भेटवार्तामा सरिक थिए ।

    भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको अवस्था, स्थानीय चुनाव, नेपाली कांग्रेससँगको गठबन्धन लगायतका विषयमा छलफल भएको थियो ।

    नेतृत्व तहमा यो छलफललाई निरन्तरता दिने समझदारी बनेको दाहालले बताएकी छन् ।

  • नेकपा एसले भन्यो- मुख्यमन्त्रीले राजीनामा दिने कुरा छैन, बागमती छाडे अर्को कुन पाउने ? (भिडिओ)

    नेकपा एसले भन्यो- मुख्यमन्त्रीले राजीनामा दिने कुरा छैन, बागमती छाडे अर्को कुन पाउने ? (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेको सन्दर्भमा कांग्रेस र माओवादीबाट भइरहेको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

    शनिवार प्रदेशसभा संसदीय दलको बैठकमा भएका छलफलबारे जानकारी दिँदै उपनेता कृष्ण खनालले केन्द्रीय गठबन्धनले जे गर्छ प्रदेशमा त्यही लागु हुने बताए । उनले तल हस्ताक्षर गर्ने वा हल्ला गर्ने कुराको कुनै तुक नहुने समेत बताए ।

    खनालले भने– तलको हल्लाले केही तुक राख्दैन । तलका कुराको अर्थ छैन । सबै प्रदेशका सरकार केन्द्रीय गठबन्धनबाटै बनेको हुनाले जे गर्छ केन्द्रबाटै गर्छ । अहिले हस्ताक्षर गरेका आधारमा मुख्यमन्त्रीले राजीनामा दिने प्रश्न उठ्दैन । केन्द्रबाट जे निर्णय आउँछ त्यही अनुसार हुन्छ ।

    खनालले अहिले बागमतीमा नेकपा एसले छाड्दा अर्को कुन प्रदेशको मुख्यमन्त्री पाउने भन्ने प्रश्न पनि रहेकाले यसबारेमा कुनै छलफल बैठकमा नभएको बताए ।

  • सत्ता गठबन्धनको बैठक बोलाइयो, वागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

    सत्ता गठबन्धनको बैठक बोलाइयो, वागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

    काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बोलाइएको छ । बैठक आज दिउँसो बस्न लागेको हो ।

    बैठकमा वागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने न्यूज कारखानाले लेखेको छ । निर्वाचनको मिति घोषणापूर्व नै वागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ ।

    वागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । वागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् । पाण्डेविरुद्ध कांग्रेस र माओवादी सांसदले हस्ताक्षर अभियानसमेत थालेका छन् ।

    उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो ।

    शुक्रबार बस्ने बैठकको समय भने तय भइसकेको छैन । ‘गठबन्धनको बैठक समय निर्धारण भइसकेको छैन,’ प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

    सो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाएर नयाँ पठाउने व्यक्तिको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

    यसअघि शुक्रबार जसपा अध्यक्ष यादव, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालीबीच भेटवार्ता भएको थियो ।

  • नयाँ बजेटप्रति आफ्नै अर्थमन्त्रीसँग नेकपा एस रुष्ट, संशोधन गर्न दबाब

    नयाँ बजेटप्रति आफ्नै अर्थमन्त्रीसँग नेकपा एस रुष्ट, संशोधन गर्न दबाब

    कैलाली । सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि तीन साता पुग्न लाग्दासम्म छलफल सुरू भएको छैन ।

    अर्थमन्त्री प्रकाश रावलले पेस गरेको नयाँ बजेट उपयुक्त नभएको भन्दै स्वयं सत्ता पक्ष र विपक्षी दलहरूले विरोध गरिरहेका छन् । उनीहरूले यथास्थितिमा बजेट पारित गर्न नसेकिने र बजेट नसच्याउञ्जेल सदनमा छलफल नहुने उनीहरूको अडान छ ।

    प्रदेशसभा सदस्यहरूकै अडानका कारण लगातार तेस्रो पटकसम्म प्रदेशसभाको बैठक स्थगित भएको छ । यसैबीच हिजो साँझसम्म बसेको सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीको संसदीय दलले पनि बजेट सच्याउनुपर्ने ठहर गरेको छ ।

    बैठकमा स्थानीय चुनावको समीक्षा र बजेटमाथि छलफल भएको थियो । बजेटमाथिको छलफलका क्रममा नेकपा एसका प्रदेशसभा सदस्यहरूले बजेट यथास्थितिमा पारित गर्न नसकिने जिकिर गरेका छन् । अर्थमन्त्री प्रकाश रावलसमेत सहभागी बैठकमा आफ्नै पार्टीका सांसदहरूले बजेटमाथि प्रश्न गरेका थिए । उनीहरूले बजेट संशोधन गर्नुपर्ने ठहर गरेको एक नेताले जानकारी दिए ।

    अर्थमन्त्री रावलले बजेटमा केही त्रुटि रहेको स्वीकार्दै ती विषयलाई सुधार गर्न कानुनी छलफल गर्ने आश्वासन दिएका छन् ।

    सुदूरपश्चिम प्रदेशसभामा १४ सांसदसहित नेकपा एस सबैभन्दा ठूलो दलको रूपमा छ । हिजोको बैठकमा भने पूर्णा जोशी, तारालामा तामाङ, लालबहादुर खड्का र चुनकुमारी चौधरीबाहे १० जना सहभागी थिए । उनीहरू पार्टीको बैठकका लागि काठमाडौं गएकाले संसदीय दलको बैठकमा उपस्थित नभएको नेकपा एसकी प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन । चारजना अनुपस्थितका कारण बिहीबार कुनै निर्णय भने गरिएको छैन ।

    स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरूले इमानदारिता नदेखाएको पनि नेकपा एकीकृत समाजवादीले ठहर गरेको छ । ‘गठबन्धन समयमा र प्रभावकारी हुन नसकेको कारणले गर्दा परिणाम आशा लाग्दो नआएको बैठकको निष्कर्ष छ’ एक सांसदले भने ।

    नेकपा एसले ८८ स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा बझाङको केदारस्यूँ गाउँपालिका र कैलालीको घोडाघोडी नगरपालिका मात्र जितेको छ ।

  • सरकार परिवर्तनको टुंगो गठबन्धनको केन्द्रीय बैठकले नै लगाउँछ : मुख्यमन्त्री पाण्डे

    सरकार परिवर्तनको टुंगो गठबन्धनको केन्द्रीय बैठकले नै लगाउँछ : मुख्यमन्त्री पाण्डे

    काठमाडौं । आफूलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन अभियान थालेका बेला वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले यसको टुंगो पाँचदलीय गठबन्धनले नै गर्ने बताएका छन् ।

    मुख्यमन्त्री पाण्डेले ट्वीटरमार्फत गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुने पनि बताएका छन् ।

    ‘वागमती प्रदेशमा सरकार परिवर्तनसँग जोडेर आएका प्रश्नहरूको निरुपण पाँचदलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ । गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछन्’, नेकपा एसका उपाध्यक्षसमेत रहेका पाण्डेले लेखेका छन् ।

    केही दिनअघि नेपाल प्रेससँगको कुराकानीमा पनि पाण्डेले केन्द्रको निर्देशनबिना सहजै मुख्यमन्त्रीको पद नछोड्ने अडान राखेका थिए ।

    प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदले पूर्वसहमति अनुसार पदबाट हट्नुपर्ने भन्दै हस्ताक्षर संकलन थालेका हुन् ।

    सरकारमा रहेका प्रमुख तीन दलबीच वागमती प्रदेश सरकारको नेतृत्वबारे भएको लिखित सहमति नेपाल प्रेसले केही दिनअघि सार्वजनिक गरेको थियो । उक्त लिखित सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ ।

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ ।

  • नयाँ मन्त्रीलाई माधव नेपालको निर्देशन- विकृतिमा नफस्‍नू, पार्टीको शिर उँचो राख्नू

    नयाँ मन्त्रीलाई माधव नेपालको निर्देशन- विकृतिमा नफस्‍नू, पार्टीको शिर उँचो राख्नू

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट गएका नयाँ मन्त्रीहरूलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन् ।

    भर्खर नियुक्त मन्त्रीहरूलाई पार्टी कार्यालयमा सरकार सञ्चालनबारे प्रशिक्षणमूलक निर्देशन दिँदै नेपालले देश र जनताको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका हुन् ।

    ‘तपाईँहरूले जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उँचो हुनेगरी काममा खटिनुपर्छ । जसले गर्दा सरकारको इज्जत बढोस् त्यसका लागि पारदर्शीरूपमा काम गर्नुहोस्’, अध्यक्ष नेपालले भने ।

    संविधान र कानूनविपरीत कुनै पनि काम नगर्न भन्दै नेपालले पार्टीको नीति, निर्देशनविपरीत नजान पनि ध्यानाकर्षण गराएका छन् ।

    समाजवादीको तर्फबाट पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममा शेरबहादुर कुँवर र स्वास्थ्यराज्यमन्त्रीमा हिराचन्द्र केसीलाई जिम्मेवारी दिइएको छ ।

  • संसद अवरोधबारे एमालेमाथि झलनाथको आरोपपछि नेम्वाङको यस्तो जवाफ

    संसद अवरोधबारे एमालेमाथि झलनाथको आरोपपछि नेम्वाङको यस्तो जवाफ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङबीच सवालजवाफ भएको छ । ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवालजवाफ भएको हो ।

    कार्यक्रममा खनालले एमालेको संसद अवरोधका कारण जनताको कुरा राख्न नपाएको बताए । पछिल्लो समय निरन्तर नौ महिनासम्म अवरोध गरेको उल्लेख गर्दै उनले अवरोधका कारण पुनर्स्थापित प्रतिनिधिसभामा पनि जनताको कुरा राख्न नपाइएको र सरकारले कानून बनाउन नपाएको गुनासो गरे ।

    दुई-दुई पटक संसद भंग गर्ने एमालेको प्रयासलाई सर्वोच्च अदालतले रोकेको भन्दै खनालले पुनर्स्थापित संसदमा पनि एमालेले निरन्तर अवरोध गरेको बताए । जसकारण संसद प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति देखापर्न थालेको खनालको भनाइ छ ।

    संसद भंग गर्ने प्रयास र संसदमा लामो अवरोध गरेको भन्दै खनालले एमालेको आलोचना गरेपछि सुवास नेम्वाङले जवाफ फर्काएका छन् । एमाले संसदीय दलको उपनेतासमेत रहेका नेम्वाङले भने, ‘संसद अवरोध अहिलेको कुरा गर्नुभयो । विगतमा पनि अवरोध भएको थियो । को-को थियौं विगतमा अवरोध गर्नेहरू सम्झिऔँ ।’

    के कारणले संसद अवरोध हुन्छ भन्ने विषयमा अध्ययन गर्न सुझाव दिँदै नेम्वाङले भने, ‘के कारणले संसद अवरोध हुन्छ भनेर पूर्वसांसद मञ्चलाई अध्ययन गर्न र निचोड दिन अनुरोध गर्न चाहन्छु ।’

  • वागमतीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

    वागमतीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।

    पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि उनीविरूद्ध हस्ताक्षर संकलन गर्नुपरेको कांग्रेस र माओवादी केन्द्रले जनाएका छन् ।

    प्रदेशसभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेस र माओवादीका सांसदले हस्ताक्षर संकलन थालेका हुन् ।

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता प्रभात तामाङले आफूहरूले हस्ताक्षर अभियान सुरू गरेको बताए । मुख्यमन्त्री परिवर्तन गर्नुअघि हस्ताक्षर अभियान सुरू गर्ने प्रचलन अनुसार नेपाली कांग्रेसले हस्ताक्षर संकलन सुरु गरेको उनको भनाइ छ ।

    उनले भने ‘बजेट अधिवेशन पछि हाम्रो पार्टीको नेतृत्वको सरकार स्थापना गर्ने पूर्वसहमति अनुसार नै प्रदेश प्रमुखलाई बुझाउनको लागि हस्ताक्षर संकलन गरेका हौँ ।’

    सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीच वागमती प्रदेश सरकारको नेतृत्वबारे भएको लिखित सहमति नेपाल प्रेसले केही दिनअघि सार्वजनिक गरेको थियो । उक्त लिखित सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ ।

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ ।

    २०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ महिनापछि कांग्रेसले नेतृत्व पाउने गरी भएको त्यो लिखत गोप्य राखिएको थियो ।

    यो पनि पढ्नुस् : बाहिरियो तीनदलीय लिखत, इन्द्र बानियाँ बन्न पाउलान् वागमतीको मुख्यमन्त्री ?

  • नेताहरूको स्वार्थ र सनकको कोपभाजनमा संसद परेको झलनाथको टिप्पणी (भिडिओ)

    नेताहरूको स्वार्थ र सनकको कोपभाजनमा संसद परेको झलनाथको टिप्पणी (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसदलाई जनताको आवाज घन्काउने थलोको रूपमा व्याख्या गरेका छन् ।

    ६४औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यसलाई सुरक्षित र सम्मानित रूपमा चलाउनुपर्ने बताए ।

    ‘संसद आम जनताका आवाज घन्काउने र राष्ट्रका आवाज घन्काउने थलो हो,’ उनले भने,‘यो थलोलाई बडो सुरक्षित र सम्मानित रूपमा चलाउनुपर्छ ।’

    तर, नेपाली नेताहरूका आफ्नो स्वार्थ र सनकका कोपभाजनमा संसद पर्ने गरेको उनको टिप्पणी थियो । ‘हाम्रा नेताहरूलाई बेला-बेला सनक चल्दा संसद भंग गरिदिनुहुन्छ,’ उनले भने । नेताहरूका व्यक्तिगत आकांक्षा पूरा हुन नसक्दा गैरसंसदीय प्रवृत्ति विकसित गर्ने र दलीयतामाथि निस्तेज गर्ने प्रवृत्ति देखिने गरेको उनले बताए ।

    विश्वभर संसदको विकास भइरहेको भन्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘आज हाम्रो देशको संसद दिवस मात्र होइन । २०१८ देखि संयुक्त राष्ट्रसंघले पनि विश्वको संसद दिवस मनाउँदै आएको छ । आज विश्वभरि नै संसदको विकास भइरहेको छ ।’

    यसो बुझिरहँदा ब्रिटेनबाट विकास भएको संसदकै रूपमा मात्रै विश्वभरका संसदलाई बुझ्न नहुने पनि नेता खनालले बताए । उनले भने, ‘हिजो ब्रिटेनबाट संसदको विकास भयो । त्यही रूपमा सबै ठाउँमा भयो भन्ने बुझनुहुन्न । संसदको अनेकन रूप हुन्छन् ।’

  • नेकपा एस सम्पूर्ण रूपमा चुनावमा होमिने, यस्ता छन् केन्द्रिय परिषद्का १५ निर्णय

    नेकपा एस सम्पूर्ण रूपमा चुनावमा होमिने, यस्ता छन् केन्द्रिय परिषद्का १५ निर्णय

    काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा होमिने निर्णयसहित नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सम्पन्न भएको छ ।

    दुई दिन चलेको बैठकले १५ वटा प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    बैठकका निर्णय सुनाउँदै उनले भने, ‘देशका सबै कुनामा नेकपा एसका उम्मेदवारहरू पुर्‍याउने र घर–घरमा कलम लिएर जान आह्वान गरिएको छ । हाम्रो पार्टी आजबाट चुनावमा होमियो ।’

    पार्टीले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णयको बैठकले स्वागत गरेको खतिवडाले जनाए ।

    यस्तै किसानका लागि आवश्यक मल आपूर्ति सुनिश्चित गर्न पनि आग्रह गरिएको उनले जानकारी दिए ।

    अबको दुई महिनामा हामी देशव्यापी संगठन सुदृढीकरण तथा विस्तार अभियानमा लाग्ने पनि खतिवडाले बताए ।

    स्थानीय चुनावमा महानगर र उपमहानगरमा गठवन्धन सफल भएको तर त्योभन्दा तल आफ्नो पार्टीलाई कर्नरमा पार्न खोजिएको समिक्षा वैठकले गरेको उनको भनाइ छ ।

    ‘यसलाई करेक्सन गरेर गठवन्धनलाई अगाडि बढाउनुपर्छ भन्नेमा हामी प्रतिवद्ध छौं ।’

    बैठकमा वाम ध्रुविकरणको विषयमा पनि चर्चा भएको उनले बताए ।

    ‘छरिएर नबसौं भनेर हामीले आह्वान गरेका छौं । वामहरुको एउटा ध्रुव बनाउन सक्छौं कि सक्दैनौं भनेर छलफल अगाडि बढाउन चाहन्छौं ।

     

  • मेटमणिको प्रतिबद्धता- पदमा बसुञ्जेल इमानदार भएर काम गर्छु

    मेटमणिको प्रतिबद्धता- पदमा बसुञ्जेल इमानदार भएर काम गर्छु

    काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले पदमा बसुञ्जेल देश र जनताको हित हुनेगरी इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

    मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री चौधरीले देशको विकासको लागि सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरे । मुलुकमा ठूला-ठूला क्रान्ति र परिवर्तन भएको स्मरण गराउँदै उनले देश विकासको लागि अब सबैले इमानदारितापूर्वक योगदान दिनुपर्ने बेला आएकोमा जोड दिए

    गलत काम गर्दा पनि साथ दिने अनि राम्रो काममा विरोध गर्ने नेपाली परम्परा रहेको भन्दै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको विकास गर्नुपर्ने उनको भनाइ थियो ।