Category: नेकपा एस

  • एमाले अध्यक्ष ओलीको शैली सक्रिय राजाको भन्दा कम छैनः मुख्यमन्त्री पाण्डे

    एमाले अध्यक्ष ओलीको शैली सक्रिय राजाको भन्दा कम छैनः मुख्यमन्त्री पाण्डे

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शैली सक्रिय राजाको भन्दा कम नरहेको बताएका छन् ।

    एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघ नेपालको महाकाली-मेची युवा जागरण अभियानलाई हेटौंडामा स्वागत गर्दै मुख्यमन्त्री पाण्डेले ओलीको शैली राजतन्त्र सम्झाउने खालको भएको बताएका हुन् ।

    उनले भने, ‘नेकपा एकीकृत समाजवादी ओलीको गलत प्रवृत्ति र ओली फालिसकिएको राजतन्त्र बनेपछि जन्मिएको पार्टी हो र समाजवाद जन्माउने हामी नै हौं ।’

    एमालेमा अब राजतन्त्रको अवशेषमात्र बाँकी रहेको भन्दै संविधानको मर्मलाई कुल्चेर संविधानविरोधी काम गरेकै कारण एमालेको राजतन्त्रबाट समाजवादीहरु बाहिरिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

    एमालेमा देखिएको राजतन्त्रको कारण जनता वाक्क भएको बताउँदै उनले आउँदो निर्वाचनमा एमालेको हालत नाजुक हुने समेत दाबी गरे ।

    बागमती प्रदेश सरकारले समाजवादको झल्को दिने कार्यक्रमहरु अघि बढाएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले अबको निर्वाचनमा समाजवादी पार्टी देशको प्रमुख शक्तिको रुपमा उदाउने बताए ।

  • डोटीमा एमालेबाट मल्ल, गठबन्धनमा अझै अलमल्ल

    डोटीमा एमालेबाट मल्ल, गठबन्धनमा अझै अलमल्ल

    कैलाली । प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटीबाट एमालेले जिल्ला अध्यक्ष चक्र मल्ललाई सिफारिस गरेको छ । मल्लको नाम सर्वसम्मतरूपमा सिफारिस गरिएको हो ।

    मल्ल अघिल्लो पटक प्रदेशसभामा कांग्रेसका उम्मेदवार भरतबहादुर खड्कासँग थोरै मतान्तरले हारेका थिए । कांग्रेसले अहिले पनि खड्कालाई प्रतिनिधिसभामा सिफारिस गरेको छ ।

    एमालेले डोटीमा समानुपातिकतर्फ पोलिटब्युरो सदस्य एवं डोटी इन्चार्ज गौरी ओली, प्रदेशसभा ’क’ मा प्रत्यक्षतर्फ लक्ष्मण खड्का र ’ख’ बाट पदमराज भट्ट, रामबहादुर ऐर, टेक बम, भोजनाथ योगी, यज्ञराज जोशी र राधिका टमटालाई सिफारिस गरेको छ ।

    गठबन्धनका समस्या

    यहाँ अहिले गठबन्धनमा रहेका कांग्रेस, माओवादी र नेकपा एस तीन दलले दाबी गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट माओवादी केन्द्रबाट, पूर्वमन्त्री प्रेम आले नेकपा एस र पूर्वमन्त्री तथा कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर कांग्रेसबाट टिकटको दौडधुपमा छन् । तर, केन्द्रको कार्यदलमा सीट बाँडफाँट टुंगिनसकेकाले कसले पाउने अहिलेसम्म अन्योल छ ।

    माओवादी र नेकपा एसबाट भट्ट र आले सर्वसम्मत जस्तै भएपनि कांग्रेसबाट बलायरसहित प्रदेशसभा सदस्य भरत बहादुर, यज्ञराज पाठक, गोरख विष्ट (आनन्द) र धिरेन्द्र शाहीको दाबी छ ।

    नेकपा एस र कांग्रेसले उम्मेदवारको सिफारिस गरिसकेको छ भने माओवादी केन्द्रले केही दिन भित्र सिफारिस गर्ने जनाएको छ ।

    ‘मुख्यमन्त्री त्रिलोचन भट्ट संघमा उठ्ने तयारीमा हुनुहुन्छ’ माओवादीका एक नेताले भने ‘मुख्यमन्त्री भइसक्नु भएको व्यक्तिले संघ रोज्दा यहाँ हामीलाई भाग पर्ने सम्भावना छ ।’

    माओवादीले आफूहरूले पाउने दाबी गरिरहेका बेला नेकपा एसले प्रेम आलेको लागि पनि सशक्त लबिङ गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन केही सांसद थप्न आलेको भूमिका रहेको भन्दै यहाँ आलेकै लागि छुट्टयाउने प्रयास भइरहेको कांग्रेसवृत्तमा चर्चा छ ।

    नेपाली कांग्रेसले भर्खरै मात्र जिल्लामा कसैसँग तालमेल नगर्ने निर्णय गरेपछि यहाँ गठबन्धन दलबीच तिक्तता बढेको छ । गत बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले कांग्रेस एक्लै चुनाव लड्ने निर्णय गरेको थियो ।

    प्रतिनिधिसभामा सिफारिस भएका भरत खड्का जिल्लाले सर्वसम्मतरूपमा तालमेल नगर्ने निर्णय गरेको भन्दै केन्द्रले त्यसलाई लत्याउन नसक्ने जिकिर गर्छन् । जिल्लाको आवाजभन्दा बाहिर गएर केन्द्रले निर्णय लाद्ने प्रयास गरे विद्रोह हुने संकेत आफूले पाएको उनको भनाइ छ ।

    ‘यहाँ हाम्रा सबै नेता कार्यकर्ता कांग्रेस एक्लै लड्नु पर्छ भनिरहेका छन्’ उनले नेपाल प्रेससँग भने ‘त्यो भावनाविपरीत गएर केन्द्रले निर्णय गरे विकल्प खोज्ने कुरा आइरहेको छ । ’

    को कति बलियो ?

    अघिल्लो संसदीय निर्वाचनमा भिडेका पाँचजना अहिले पनि उम्मेदवारका आकांक्षी छन् । प्रदेशसभामा भिडेका तीन र प्रतिनिधिसभामा भिडेका दुईजनाकै रोजाइ अहिले प्रतिनिधिसभा बनेको छ ।

    कांग्रेसका उम्मेदवार भरत खड्कासँग झिनो मतले पराजित भएका मल्ल एमालेबाट र खड्का कांग्रेसबाट आकांक्षी छन् । मल्ल उम्मेदवार बन्ने निश्चित भइसक्दा पनि खड्काको पार्टी भित्रै बाट र गठबन्धनबाट अनिश्चित छ ।

    नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाहीलाई २ हजार ५९२ मतले हराएर मुख्यमन्त्री भएका त्रिलोचन भट्टले पनि संघीय निर्वाचन क्षेत्र ताकेका छन् ।

    २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसका वीरबहादुर बलायरलाई प्रेम आलेले १ हजार ६३२ मत अन्तरले पराजित गरेका थिए । ७४ मा बलायर हराएका आले २०७० सालमा डोटी- २ बाट सांसद बनेका थिए । त्यो बेला बलायर डोटी- १ बाट विजयी भएका थिए ।

    स्थानीय तहमा वडाध्यक्षले पाएको मतमा यो क्षेत्र नेपाली कांग्रेस निकै अगाडि छ । कांग्रेस ३४ हजार ४७ मत पाउँदा एमाले २४ हजार ९१६ पाएको छ । त्यसैले माओवादीले ७ हजार ७८९, नेकपा एकीकृत समाजवादीले ३ हजार २०५र राप्रपाले ९८७ मत पाएको छ ।

  • सीट बाँडफाँटमा अझै केही प्रश्न उठेका छन् : माधव नेपाल (भिडिओ)

    सीट बाँडफाँटमा अझै केही प्रश्न उठेका छन् : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सीटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुंग्याउने कोसिस भइरहेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सीटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुंगाउने कोसिस भइरहेको बताए ।

    सीटको बाँडफाँटको विषयमा अझै केही प्रश्न रहेको नेपालको भनाइ छ । ‘सीट बाँडफाँटको विषय कति सम्भव छ वा छैन भन्ने बारेमा प्रश्नहरू उठिरहेका छन्’, नेपालले भने ।

    स्थानीय निर्वाचनमा आफ्नो पार्टीले ९ लाख जनताको समर्थन हासिल गरेको भन्दै उनले आगामी निर्वाचनमा समानुपातिकतर्फ सबै स्थानमा उम्मेदवारी दिने धारणा राखे ।

  • योगेशलाई जन्मदिनको शुभकामना दिँदै झाँक्रीले भनिन्- महत्वपूर्ण निर्णयमा अभाव हुनेरहेछ

    योगेशलाई जन्मदिनको शुभकामना दिँदै झाँक्रीले भनिन्- महत्वपूर्ण निर्णयमा अभाव हुनेरहेछ

    काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको जन्मदिनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले लेखेको शुभकामना सन्देशले चर्चा पाएको छ ।

    शुभकामना दिँदै झाँक्रीले नेता भट्टराईको अभाव महसुस भएको बताएकी छन् ।

    उनले लेखेकी छन्, ‘ह्याप्पी वर्थ डे टु यु दाइ, मेनि मेनि ह्याप्पी रिटर्नस् अफ अ डेअहेड, आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुनेरहेछ दाइ ।’

    एक वर्ष नेकपा एमालेमा रहँदासम्म माधव नेपाल समूहमा रहेका दुई नेता अहिले अलग-अलग पार्टीमा छन् । नेकपा एसमा लागेर मन्त्री बनेकी नेतृ झाँक्री मन्त्रीबाट हटाइएपछि असनतुष्ट रहेर पार्टीका महत्वपूर्ण बैठकमा समेत अनुपस्थित भइन् ।

  • एमालेमा फर्किएका गुल्मीका दुई नेतालाई नेकपा एसले साधारण सदस्यबाट हटायो

    एमालेमा फर्किएका गुल्मीका दुई नेतालाई नेकपा एसले साधारण सदस्यबाट हटायो

    रूपन्देही । सोमबार गुल्मीमा नेकपा एसका दुई केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा अध्यक्षसहितको टोलीले एमालेसँग एकता घोषणा गरेको विषयमा सो पार्टीले आपत्ति जनाएको छ ।

    नेकपा एस जिल्ला संगठन समितिले विज्ञप्ति निकालेर पदीय दुरूपयोग गरी एमालेसँग एकता भयो भनी कुप्रचार गरेको भन्दै गणेश खनाल र नरेश भण्डारीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ । उनीहरूले एमालेसँग एकता घोषणाको कुप्रचार गरेको विज्ञप्तिमा लेखिएको छ ।

    खनाल र भण्डारीबाहेक संस्थापक अध्यक्ष श्रीराम महतसहित सिंगो पार्टी एकढिक्का रहेको नेकपा एसले दाबी गरेको छ ।

    ‘दुईजना व्यक्तिलाई टीका लगाएर एमाले पार्टी प्रवेश गरेको विषयलाई एकताको घोषणाजस्तो नाटक गरिनु खेदजनक छ । यस्ता प्रकारका गैरराजनितिक चरित्र प्रर्दशन गरी भ्रम सिर्जना नगर्न सम्बन्धित पार्टीलाई सचेत गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

    एमाले पार्टी कार्यालयमा एकीकृत समाजवादी र एमालेबीच पार्टी एकताको घोषणासभा भएको थियो । सोमबार केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बनेका नरेश भण्डारी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश खनालसहितका अधिकांश नेता सोमबार एमालेमा फर्किए । उनीहरूलाई एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टले स्वागत गरेका थिए ।

    नेकपा एस प्रदेश कमिटी सदस्य हिमाल थापा, युवासंघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसिकोट अध्यक्ष मदनदीप घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी, युवासंघ जिल्ला अध्यक्ष रामुजंग कंडेल, नेकपा एसको विद्यार्थी जिल्ला अध्यक्ष नीलकण्ठ पाण्डे, छत्रकोट कमिटीका अध्यक्ष यमबहादुर खत्री पनि एमालेमा प्रवेश गरेका थिए ।

  • आफ्नै क्षेत्रका नेता एमालेमा फर्किएपछि झाँक्रीलाई थपियो चुनौती

    आफ्नै क्षेत्रका नेता एमालेमा फर्किएपछि झाँक्रीलाई थपियो चुनौती

    रुपन्देही । नेकपा एसकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीको निर्वाचन क्षेत्रमा सो पार्टीका प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् । चुनावको मुखमा आफ्ना नेताहरू एमाले फर्किएपछि झाँक्रीलाई चुनौती थपिएको छ ।

    गठबन्धनमा गुल्मीको क्षेत्र नम्बर २ मा झाँक्रीको व्यवस्थापन हुने गरी नेकपा एसले दाबी गर्दै आएको छ । भदौ ५ गते सामाजिक सञ्जालमा पोस्टरसहितको घोषणा गर्दै उनले एमालेको विरासत तोडेर देखाउने बताएकी थिइन् । तर, उक्त पोस्ट गरेको आधा घण्टा नपुग्दै उनले डिलिट गरिन् ।

    गुल्मी २ मा एमालेका सचिव गोकर्ण विष्टले २०५६ सालदेखि उम्मेदवार बनेर २०६४ बाहेक सबै निर्वाचन जितेका छन् ।

    सोमबार नेकपा एस छाडेर एमाले प्रवेश गर्ने गुल्मीका अधिकांश नेताकार्यकर्ता झाँक्रीकै क्षेत्रबाट छन् । उनकै सिफारिसमा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बनेका नरेश भण्डारी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश खनालसहितका अधिकांश नेता सोमबार एमालेमा फर्किए । उनीहरूलाई एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टले स्वागत गरे ।

    झाँक्रीको साथ छाडेका नेताहरूले पार्टीले कम्युनिष्ट पार्टी बलियो बनाउनेभन्दा पनि कांग्रेसलाई बनाउने नीति लिएका कारण पुनः एमालेमा आएको प्रष्टीकरण दिएका छन् ।

    एमाले प्रवेश गर्दै जिल्ला अध्यक्ष भण्डारीले कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अरुबाट सम्भवन नभएकाले आफूहरू फर्किएको बताए । विगतमा भएका कमजोरीबाट पार्टीमा भएको क्षतिप्रति क्षमा गर्दै उनले अब पार्टीभित्र आउने जुनसुकै जिम्मेवारी पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

    ‘नेपाली कांग्रेसलाई शक्तिमा लैजान नेकपा एसको नेतृत्वले गरेको गम्भीर गल्तीलाई बोक्न सकिएन’, भण्डारीले भने ।

    खनाल र भण्डारीसहित नेकपा एस प्रदेश कमिटी सदस्य हिमाल थापा, युवासंघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसिकोट अध्यक्ष मदनदीप घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी, युवासंघ जिल्ला अध्यक्ष रामुजंग कंडेल, नेकपा एसको विद्यार्थी जिल्ला अध्यक्ष नीलकण्ठ पाण्डे, छत्रकोट कमिटीका अध्यक्ष यमबहादुर खत्रीसहितको जम्बो टोली एमालेमा समाहित भएको एमाले प्रदेश सदस्य हीरा एसीले बताए ।

    गुल्मी २ मा वैशाख ३० को स्थानीय चुनावको वडागत मतका आधारमा एमाले ३१२५३, कांग्रेस २९८२१, माओवादी १८४१, एस ६५८, राप्रपा १०१ छ ।

    जिल्लाको अधिकांश नेतृत्वले पार्टी छोड्ने सूचना पाएपछि केन्द्रीय सचिव झाँक्री, लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे दुई दिनदेखि जिल्लामै पुगेर उनीहरूलाई थमथमाउन लागेका थिए ।

    झाँक्रीको गृह जिल्ला गुल्मी भए पनि उनले राजनीतिको अधिकांश समय काठमाडौंमा बिताएकी छन् ।

    उनलाई २०७० सालमा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले गुल्मीको साबिक १ नम्बर क्षेत्रमा उम्मेदवार बन्न आग्रह गर्दा पैसा नभएको भन्दै अस्वीकार गरेकी थिइन् । यसबीचमा उनी समानुपातिक सूचीमा परेर सांसद भएकी छन् ।

  • १६५ सीट बाँडफाँटको प्रतिवेदन लगभग तयार- लोसपासहित कांग्रेसलाई आधा, अरुलाई कति ?

    १६५ सीट बाँडफाँटको प्रतिवेदन लगभग तयार- लोसपासहित कांग्रेसलाई आधा, अरुलाई कति ?

    काठमाडौं । सत्तागठबन्धनमा सीट बाँडफाँटलाई निष्कर्षमा पुर्‍याउने गरी कार्यदलको बैठक साँझ ६ बजे बस्दैछ । आजको ‘अन्तिम’ बैठकले भागबण्डा टुंग्याउँदै प्रतिवेदन तयार पार्नेगरी कार्यदलका सदस्य जुटेका छन् ।

    सोमबारको बैठकले १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अहिलेसम्म २०७४ को संसदीय र भर्खरै सकिएको स्थानीय चुनावको परिणामलाई आधार मानेर कुन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे कार्यदलले सरसर्ति प्रतिवेदन बनाएको छ ।

    आजको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिने र शीर्ष नेतासमक्ष भोलि पेस गर्नेछ ।

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रदेशसभाको समेत सीट बाँडफाँट गरेर सार्वजनिक गर्ने तयारीमा कार्यदल जुटेको छ ।

    स्रोतका अनुसार गठबन्धन दलबीच १६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा सीट पाउनेगरी संख्या तथा निर्वाचन क्षेत्रमा सहमति भएको छ ।

    यसअघि नेपाल प्रेसले अनौपचारिक मस्यौदा आइतबार सार्वजनिक गरेको थियो । कांग्रेसले ८६ सीट वरपर पाउने भएको छ । यसमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका लोसपा नेतालाई समर्थन जनाउने/जिताउने गरी कांग्रेसले नै बाँड्नुपर्नेछ ।

    त्यस्तै माओवादीलाई (नेसपा) बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ४४ सीट, नेकपा एसलाई १८ सीट, जसपालाई १२ र राजमोलाई १ सीट प्रस्ताव गरिएको छ ।

    माधव नेपालले कांग्रेसलाई ७० सीटमा लड्न देउवालाई आग्रेह गरेका थिए । त्यस्तै प्रचण्डले कांग्रेस ८२, अरु दल ८३ सीट बाँडौं भनेर प्रस्ताव गरेको बताइएको छ ।

    कांग्रेस सय सीटकै औपचारिक अडानमा छ । तर, देउवाले कार्यदल सदस्यहरूलाई लचिलो हुन संकेत गरेका छन् ।

  • गठबन्धनमा १६५ सीटको बाँडफाँट टुंगियो, कांग्रेस र अन्य दलबीच आधा-आधा भागवण्डा

    गठबन्धनमा १६५ सीटको बाँडफाँट टुंगियो, कांग्रेस र अन्य दलबीच आधा-आधा भागवण्डा

    काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको सीट बाँडफाँट टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कार्यदलसहित शीर्ष नेताको बैठकले एकसरो सीट संख्या टुंगो लगाएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाल प्रेसलाई बताए ।

    पुनले दलहरुले आ-आफ्नो दाबीअनुसारको निर्वाचन क्षेत्रमा छलफल गरी सीट संख्या मोटामोटी टुंगो लगाएको बताए । मंगलबार प्रदेश सभाको पनि सीट बाँडफाँट टुंगो लगाएर सार्वजनिक गरिने उनले जानकारी दिए ।

    पुनले सीट संख्या ठ्याक्कै यति भनेर अहिले नै भन्ने अवस्था नरहेको तर यसअघि छलफलमा आएकै संख्या वरिपरि टुंगिएको बताए । स्रोतका अनुसार गठबन्धन दलबीच १६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा पाउनेगरी संख्या तथा निर्वाचन क्षेत्रमा सहमति भएको छ ।

    यसअघि नेपाल प्रेसले अनौपचारिक मस्यौदा आइतबार सार्वजनिक गरेको थियो । सोही अनुसार कांग्रेसले ८३ र महन्थ ठाकुर समूहसहित ८६ सीट वरपर पाउने भएको छ ।

    गठबन्धनका कुन दलले कुन-कुन निर्वाचन क्षेत्र पाउने भन्ने लगभग सहमति जुटेको छ । तर प्रदेशको समेत टुंगो लागेपछि मात्र फेरि छलफल गरेर सार्वजनिक हुने बताइएको छ । गठबन्धन बैठक लगत्तै बालुवाटारमा कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

    यो पनि पढ्नुस्ः गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार, लोसपासहित कांग्रेसलाई ९०, अरुलाई कति ?

  • गुल्मीमा नेकपा एसका दुई केन्द्रीय सदस्यसहित जिल्ला नेतृत्व एमालेमा प्रवेश

    गुल्मीमा नेकपा एसका दुई केन्द्रीय सदस्यसहित जिल्ला नेतृत्व एमालेमा प्रवेश

    रुपन्देही । नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यसहित गुल्मीको जिल्ला नेतृत्व नेकपा एमालेमा प्रवेश गरेको छ । सोमबार गुल्मीमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टले केन्द्रीय सदस्यद्वय गणेश खनाल र नरेश भण्डारीसहितको टोलीलाई एमालेमा स्वागत गरेका हुन् ।

    केन्द्रीय सदस्य खनाल गुल्मी जिल्ला इन्चार्ज र अर्का केन्द्रीय सदस्य भण्डारी जिल्ला अध्यक्षसमेत हुन् ।

    एमाले प्रवेश गर्दै जिल्ला अध्यक्ष भण्डारीले कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अरुबाट सम्भव नभएकाले पुनः एमालेमा आएको बताए । उनले विगतमा भएका कमजोरीबाट पार्टीमा भएको क्षतिप्रति क्षमायाचना गर्दै अब पार्टीभित्र आउने जुनसुकै जिम्मेवारी पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

    नेपाली कांग्रेसलाई शक्तिमा लैजाने नेकपा एसको नेतृत्वले गरेको गम्भीर गल्तीलाई बोक्न नसकेका कारण पुनः एमालेमा आएको भण्डारीले बताए ।

    खनाल र भण्डारीसहित नेकपा एस प्रदेश कमिटी सदस्य हिमाल थापा, युवा संघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसीकोट अध्यक्ष मदनदीउ घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी एमाले फर्किएका छन् ।

    त्यस्तै नेकपा एसकाे युवा संघका जिल्ला अध्यक्ष रामुजंग कँडेल, विद्यार्थीका जिल्ला अध्यक्ष निलकण्ठ पाण्डे, पार्टीका छत्रकोट अध्यक्ष यमबहादुर खत्रीसहितको ठूलो टोली एमालेमा समाहित भएको एमाले प्रदेश सदस्य हीरा एसीले नेपाल प्रेसलाई जानकारी दिए ।

  • मुख्यमन्त्री राईलाई मातृशोक

    मुख्यमन्त्री राईलाई मातृशोक

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ ।

    भोजपुर षडानन्न नगरपालिका- ११ झ्याउँपोखरी घर भएका राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित राईको स्वास्थ्य समस्या जटिल बन्दै गएपछि राईको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको अहिले उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखिएको छ ।

    आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने सचिवालयले जनाएको छ ।

    स्वर्गीय धनकुमारी राईको कान्छा छोरा मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित पति, तीन छोरा र एक छोरी छन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले मुख्यमन्त्री राईको आमाको निधनप्रति दु:ख जनाउँदै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

  • माधव नेपालको दाबी- कांग्रेस र माओवादीभन्दा पहिले गणतन्त्रको आन्दोलन हामीले थाल्यौं

    माधव नेपालको दाबी- कांग्रेस र माओवादीभन्दा पहिले गणतन्त्रको आन्दोलन हामीले थाल्यौं

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र माओवादीभन्दा पहिले आफूले गणतन्त्रको निर्णय गरेर अभियान अघि बढाएको दाबी गरेका छन् ।

    मार्क्सवादी ज्ञान केन्द्रले आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले २०६२/६३ को जनक्रान्तिलाई गणतन्त्रमा लैजान तत्कालीन नेकपा एमालेको तर्फमा आफूले आँट गरेको बताए ।

    नेपालले भने, ‘गणतन्त्र ल्याउन विभिन्न पार्टीभित्र बहस भयो । कांग्रेस गणतन्त्रमा जान मानेको थिएन । माओवादी गणतन्त्रवादी भए पनि कहिले सांस्कृतिक राजा, कहिले के केका कुरा चलिरहेका थिए । तत्कालीन एमाले हाम्रो पार्टीभित्र पनि विवाद भयो । २०६२ असार र साउनमा बसेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रको दिशामा जाने निर्णय गरेको हो । कांग्रेस सँगै जान मानेन । हामीले बुटवलबाट एक्लै आन्दोलन अघि बढायौं ।’

    उनले जनताबाट अनुमोदिन हुन कम्युनिष्ट पार्टीले कहिल्यै अनुदार बन्न नहुने बताए ।

  • गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार, लोसपासहित कांग्रेसलाई ९०, अरुलाई कति ?

    गठबन्धनमा सीट बाँडफाँटको मस्यौदा तयार, लोसपासहित कांग्रेसलाई ९०, अरुलाई कति ?

    काठमाडौं । सत्ता गठबन्धनमा सीट भागबण्डाका लागि मस्यौदा तयार भएको छ । केहीबेरअघि बालुवाटारमा शीर्ष नेताबीचको छलफलबाट मस्यौदा तयार पारिएको हो । आजै ३ बजे बस्ने कार्यदलमा उक्त मस्यौदा प्रस्ताव गरिँदैछ । मस्यौदा छलफलकै चरणमा रहेको र सहमति भने भइनसकेको एक नेताले जानकारी दिए ।

    प्रस्तावित मस्यौदामध्ये नेपाली कांग्रेसलाई लोसपासहित ९० सीट छुट्याइएको छ । यसमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका लोसपा नेतालाई समर्थन जनाउने/जिताउने गरी कांग्रेसले बाँड्नुपर्नेछ ।

    त्यस्तै माओवादीलाई (नेसपा) बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ४४ सीट, नेकपा एसलाई १८ सीट, जसपालाई १२ र राजमोलाई १ सीट प्रस्ताव गरिएको छ ।

    यसअघि १६५ सीटमध्ये कांग्रेस ८६ सीटमा लडेर ७९ सीट अरुलाई बाँड्न सहमत भएको थियो । कार्यदलका एक नेताका अनुसार सोही सेरोफेरोमा रहेर आज दिउँसोको बैठकमा छलफल हुन लागेको छ ।

    बिहानको बालुवाटार बैठकमा माधव नेपालले कांग्रेसलाई ७० सीटमा लड्न देउवालाई आग्रेह गरेका छन् । त्यस्तै प्रचण्डले कांग्रेस ८२,अरु दल ८३ सीट बाँडौं भनेर प्रस्ताव गरेका छन् ।

    कांग्रेस सय सीटकै औपचारिक अडानमा रहे पनि देउवाले कार्यदल सदस्यहरूलाई लचिलो हुन संकेत गरेको बताइएको छ ।

  • भक्तपुर २ मा महेश बस्नेतका चुनावी कमाण्डरलाई उनैविरुद्ध उतार्दै नेकपा एस

    भक्तपुर २ मा महेश बस्नेतका चुनावी कमाण्डरलाई उनैविरुद्ध उतार्दै नेकपा एस

    भक्तपुर । नेकपा एकीकृत समाजवादी भक्तपुरले एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतका दुईवटा चुनावका कमाण्डरलाई उनैविरुद्ध उम्मेदवार सिफारिस गरेको छ । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट महेश बस्नेत निर्वाचित भएका थिए । त्यसवेला उनका चुनावी कमाण्डर थिए श्यामसुन्दर बस्नेत ।

    २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचन पहिलोपटक भक्तपुर क्षेत्र नं २ मा उम्मेदवार बनेका महेश बस्नेत तेस्रो भएका थिए । उक्त चुनावमा पनि श्याम बस्नेत महेशका चुनावी कमाण्डर थिए ।

    उक्त चुनावमा कांग्रेसका रामेश्वर ढुंगेल विजयी हुँदा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति दोस्रो स्थानमा रहेका थिए । तेस्रो रहेका बस्नेतले करिब १६ हजार मत ल्याएका थिए ।

    तर, २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा बस्नेतले कांग्रेसका हेभीवेट उम्मेदवार एवं पूर्वसभामुख दमननाथ ढुंगानालाई करिब दोब्बर मतले हराए । एमाले-माओवादी केन्द्रका गठबन्धन उम्मेदवार बस्नेतले ३६ हजार ४१२ मत ल्याउँदा ढुंगानाले १८ हजार ६८७ मात्रै पाएका थिए ।

    एमाले छाडेका श्यामसुन्दर अहिले एकीकृत समाजवादीको भक्तपुर जिल्ला अध्यक्ष छन् । उनको नाम क्षेत्र नं २ बाट एकल सिफरिस गरिएको हो । नेकपा एमालेबाट भक्तपुर क्षेत्र नं २ मा महेश बस्नेत पुनः दोहोरिने निश्चित जस्तै छ । तर, सत्ता गठबन्धन भए मंसिर ४ बस्नेतलाई जित्न त्यति सहज छैन ।

    ‘हामीले निर्वाचन कमाण्ड नसम्हालेको भए २०७० को चुनावमा करिब १६ हजारमात्रै आएको मत २०७४ मा कसरी ३६ हजार हुन्छ’, श्यामसुन्दरले भने भने, ‘२०७० को संविधानसभामा निर्वाचनमा भएका कमीकमजोरी सुधारेर २०७४ मा निर्वाचन जित्न सफल भएका थियौं ।’

    तर, आफूहरुले गरेको योगदानलाई बिर्सेर सांसद बस्नेत एक्लै अघि बढेको र उल्टै आफ्ना सहयोगीलाई पाखा लगाउन सक्रिय भएपछि अहिले पार्टी नै फरक फरक भएको उनको गुनासो छ ।

    महेश बस्नेतलाई जिताउन सक्नेले हराउन पनि सक्ने जिल्ला अध्यक्ष बस्नेतको जिकिर छ । ‘उहाँलाई २०७० सालको संविधानसभा निर्वाचनकै हालतमा पुर्‍याउन केही गाह्रो छैन’, उनले भने, ‘हिजो जिताउन सक्नेले आज हराउन पनि सक्छ ।’

    वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत क्षेत्र नं २ मा रहेका मध्यपुर थिमि र सूर्यविनायक नपामा सत्ता गठबन्धनका वडा अध्यक्षहरुले पाएको मत २७ हजार ६२९ रहेको छ । एमालेका वडा अध्यक्ष उम्मेदवारहरुले भने २४ हजार १४५ मत ल्याएका छन् ।

    क्षेत्र नं १ बाट दुईजना सिफारिस

    नेकपा एस भक्तपुरले बस्नेतसँगै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्य उम्मेदवार सिफारिस गरेको छ ।

    भक्तपुरबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १ तथा प्रदेशसभाको प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरिएको छ ।

    प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्र नं १ मा डा. राजेन्द्र कोजू र विनोद केसीको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ओमचरण अमात्य एकजनाको मात्रै नाम सिफारिस गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

    प्रदेशसभाको प्रत्यक्षतर्फ क्षेत्र नं १ (क) बाट रामप्रसाद न्यौपाने र (ख) बाट रामगोपाल चौगुठीको एकल नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ (क) बाट डा. ध्रुवराज विष्ट र दिलीप केसी तथा (ख) बाट प्रेमानन्दलाल श्रेष्ठ र श्याम चौलागाईंको नाम उम्मेदवारमा सिफारिस गरिएको छ ।

    प्रदेशसभाको समानुपातिकतर्फ क्षेत्र नं १ (क) बाट शान्ति खड्का र विष्णु कायस्थ तथा (ख) बाट रीता अवाल, माइलाबाबु देउला र एनबी दुमरुको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ (क) बाट चित्रबहादुर अछामी र शाेभा श्रेष्ठ तथा (ख) बाट सुशीला सुवेदी, भवानी खड्का र दुर्गामोहन श्रेष्ठको नाम सिफारिस गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

    ब्याक भए पोलिटव्युरो सदस्य श्रेष्ठ

    पार्टीका पोलिटव्युरो सदस्य राजेन्द्रमान श्रेष्ठ अहिले बागमती प्रदेशसभामा सांसद छन् । भक्तपुर क्षेत्र नं २ (ख) का प्रत्यक्षतर्फ निर्वाचित श्रेष्ठ आगामी निर्वाचनको लागि जिल्लाबाट कुनै पनि पदमा सिफारिस भएनन् । उनी आफैले यसपटक भक्तपुरमा कुनै पद दावी नगर्ने बताएअनुसार श्रेष्ठको नाम सिफारिस नगरिएको जिल्ला अध्यक्ष बस्नेतले जानकारी दिए ।

    उनका अनुसार पोलिटव्युरो सदस्य श्रेष्ठले पुनः उम्मेदवार बन्न चाहेको भए उनको एकल नाम सिफारिस हुन्थ्यो । सत्ता गठबन्धनको समझदारीअनुसार पनि श्रेष्ठको पद सुरक्षित छ । सत्ता गठबन्धनभित्र २०७४ सालको निर्वाचनमा जसले जितेको हो उसैलाई यसपटक सीट खाली गर्ने भन्ने आन्तरिक सहमति छ ।

    भक्तपुरमा प्रदेशसभातर्फ एक सीट सुरक्षित नेकपा एसले गठबन्धनमा २ क्षेत्रमा दाबी गरेको छ । त्यस्तै माओवादीले पनि प्रदेशसभातर्फ २ वटै क्षेत्र मागेको छ ।

  • माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुदैनः शहरीमन्त्री चौधरी

    माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुदैनः शहरीमन्त्री चौधरी

    धादिङ । शहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् ।

    एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले माधव नेपालले लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएकाले माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्लै कमजोर  नहुने बताएका हुन् ।

    पार्टी विद्रोहको औचित्यबारे मन्त्री चौधरीले सुनाए, ‘तपाईँहरुलाई माधव नेपालले किन विद्रोह गर्नुपर्‍यो, राजेन्द्र पाण्डे, गंगालाल तुलाधरले किन विद्रोह गर्नु पर्‍यो भन्ने पक्कै लागेको होला । अथवा हामीहरुले नयाँ पार्टी निर्माण किन गर्नु पर्‍यो भन्ने मुख्य कुरा हो । यदि हामीले विद्रोह नगरेको भए नेपालमा कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुन्थ्यो । त्यत्रो ठुलो पार्टी बनाएर पनि हुँदोरहेनछ भन्ने जनतामा मनोविज्ञान निर्माण हुने थियो । अर्काे कुरा कम्युनिष्टहरु तानाशाही हुन्छन् । संवैधानिक सर्वाेच्चता मान्दैनन् भन्ने कुरा स्थापित हुन्थ्यो । हो, यस्ता प्रश्नहरुको हामीले जवाफ दिनु पर्ने भयो । अझै पनि मुलुकमा कम्युनिष्ट आन्दोलनको औचित्य छ र यसलाई पुनर्गठन गर्नुै पर्ने आवस्यकता भयो । जनताले पहिलो पटक बनाएको संविधान जोगाउनुपर्ने भयो ।’

    करिब एक घण्टा प्रशिक्षणात्मक मन्तव्य राखेका मन्त्री चौधरीले ओली नेतृत्वको एमाले सबैभन्दा भ्रष्ट, सबैभन्दा घुसखोरी र सबैभन्दा धेरै दलालहरुको अखडा बनिसकेपछि विद्रोह अनिवार्य बनेको धारणा राखे ।

    हरेक युगमा अन्याय, शोषण र दमनका विरुद्ध विद्रोह भएको इतिहास रहेकाले एमालेबाट गरिएको विद्रोह माक्र्सवादी दर्शन शास्त्रीय कोणबाट समेत जायज रहेको मन्त्री चौधरीको भनाई थियो ।

     

  • नेकपा एस सर्लाहीको कमिटी एमालेमा समाहित, अध्यक्षबाहेक सबै पदाधिकारी फर्किए

    नेकपा एस सर्लाहीको कमिटी एमालेमा समाहित, अध्यक्षबाहेक सबै पदाधिकारी फर्किए

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादी सर्लाहीका उपाध्यक्ष देवेन्द्र यादवको नेतृत्वमा पदाधिकारी र जिल्लाका प्रभावशाली नेतासहितका कार्यकर्ता एमालेमा फर्किएका छन् ।

    नेकपा एसका सर्लाही उपाध्यक्ष यादव, सचिव गोविन्द अधिकारी, सहसचिव चुडामणी वाग्लेलगायतका जिल्ला कमिटीका २५ जना एमालेमा आएका हुन् । सर्लाहीको मलंगवास्थित नेकपा एमाले पार्टी कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूले एमालेमा फर्केको घोषणा गरेका छन् ।

    उनीहूलाई पूर्वसांसद हरि उप्रेतीले स्वागत गरेका थिए । उप्रेतीकै पहलमा उनीहरू एमालेमा फर्केको बताइएको छ । जिल्ला कमिटीका २५ जनासँगै करिब ५ सय कार्यकर्ता प्रवेश गरेको नेकपा एमालेले बताएको छ ।

  • एकीकृत समाजवादीसँग पार्टी एकताको तयारी हुँदैछ, घोषणापत्र एउटै बनाउँछाैं: प्रचण्ड

    एकीकृत समाजवादीसँग पार्टी एकताको तयारी हुँदैछ, घोषणापत्र एउटै बनाउँछाैं: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादी पार्टीसँग एकताको तयारी भइरहेको बताएका छन् ।

    कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै समाजवादीसँग पार्टी एकताको तयारी भइरहेको बताएका हुन् ।

    त्यसका लागि केही समयपछि पार्टी एकता संयोजन समिति बन्ने सम्भावना रहेको उनले बताए ।

    उनका अनुसार चुनावको घोषणापत्र एउटै हुनेछ । उनले भने,‘ त्यहाँ घोषणापत्र एउटै हुनेतिर हाम्रो प्रयास भइरहेको छ । तर पनि चुनाव चिन्ह आफनो आफनै हुन्छ ।’

  • नेकपा एस कर्णालीका नेता शाही एमाले प्रवेश

    नेकपा एस कर्णालीका नेता शाही एमाले प्रवेश

    काठमाडौं । नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

    डोल्पाका नेता शाहीलाई अध्यक्ष केपी ओलीले खादा लगाई पार्टीमा स्वागत गरे ।

    उनीसँगै किसान महासंघका कोषाधक्ष्य जीवनबहादुर शाही लगायतका नेता-कार्यकर्ता पनि एमालेमा आएका छन् ।

  • सुदूरपश्चिममा नेकपा एस ‘खस्कियो’, प्रदेशसभामा यसकारण बन्दैछ माओवादी पहिलो दल

    सुदूरपश्चिममा नेकपा एस ‘खस्कियो’, प्रदेशसभामा यसकारण बन्दैछ माओवादी पहिलो दल

    कैलाली । पाँच वर्षीय कार्यकाल सकिन भन्दा केही समय अगाडी सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल माओवादी केन्द्र बन्ने भएको छ ।प्रदेशमा हाल सम्म सबै भन्दा ठुलो दल रहेको नेकपा एकीकृत समाजवादीका दुई जना प्रदेश सभा सदस्यहरू एमाले प्रवेश गरेसँगै माओवादी केन्द्र प्रदेशको सबै भन्दा ठुलो दल बन्ने पक्का भएको हो ।

    एमालेबाट निर्वाचित भएर एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका तारालामा तामाङ र कुलवीर चौधरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार एमालेमा स्वागत गरे ।दल अदलबदल गरेपछि उनीहरु दुबै जनाको पद जाने भएको छ । उनीहरुको पद जाँदा १४ जना सांसद सहित पहिलो दल रहेको नेकपा एकीकृत समाजवादी १२ जना सांसद सहित दोस्रो दल बन्ने छ ।

    तामाङलाई कारबाही गर्न नेकपा एकीकृत सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दललाई निर्देशन दिइसकेको छ भने चौधरीको हकमा अझै कारबाही प्रक्रिया सुरु भएको छैन ।सुदूरपश्चिम प्रदेशमा नेकपा रहँदा माओवादी केन्द्रका पनि १४ सांसद थिए । एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किदा माओवादी केन्द्रबाट निर्वाचित झपट बोहराले एमाले रोजेपछि उनको पद गएको थियो । त्यसपछि १३ जना सांसदमा सीमित माओवादी केन्द्र अब पहिलो दल बन्ने भएको हो ।

    सुदूरपश्चिम प्रदेशमा अहिले नेपाली कांग्रेसका ११ जना प्रदेश सभा सदस्य छन् । १२ जना प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसमा पनि डडेल्धुराबाट निर्वाचित कर्ण मल्लले राजीनामा दिए पछि संख्या ११ मा सीमित भएको हो । अहिले कांग्रेस र एमालेका समान ११÷ ११ जना सांसद छन् ।नेकपा रहँदा २५ जना सांसद रहेको एमालेमा पार्टी विभाजन पछि सभामुख सहित ११ सांसद रहेका छन् । एमालेका १४ सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

    यहाँ जसपा र लोसपाका पनि १/१ जना प्रदेश सभा सदस्य छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा थप दुई जना पद मुक्त हुँदा ४९ जनामा सीमित हुने देखिएको छ । अहिले सम्म माओवादीबाट निर्वाचित झपट बोहरा र कांग्रेसबाट निर्वाचित कर्ण मल्लको पद गइसकेको छ भने अब नेकपा एकीकृत समाजवादीमा सनाखत गरेर एमाले प्रवेश गरेका तामाङ र चौधरीको पनि दलको कार्यालयले सभामुखलाई पत्र पठाएपछि र सभामुखले संसद्लाई जानकारी गराएपछि पद जाने छ ।

     

  • गठबन्धन बैठक छोडेर नेपालले भेटे राष्ट्रपतिलाई

    गठबन्धन बैठक छोडेर नेपालले भेटे राष्ट्रपतिलाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सत्तारुढ गठबन्धनका एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि भेट गरेका छन् ।

    आज साँझ गठबन्धन बैठक बस्दै गर्दा उनी बैठकबाट निस्किएर राष्ट्रपतिलाई भेटन् शीतल निवास गएका थिए ।

    त्यसपछि उनी फिर्ता भएर गठबन्धनको बैठकमा सहभागी भएका छन् ।

    यसअघि राष्ट्रपति भण्डारीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु एवम् कांग्रेस सभापति शेरबहादुरसहित पदाधिकारीहरुले भेट गरेका थिए ।

     

  • मन्त्रीबाट हटाएको डेढ घण्टा नपुग्दै चौधरीलाई ओलीको स्वागत, अरु को-को आए एमालेमा ?

    मन्त्रीबाट हटाएको डेढ घण्टा नपुग्दै चौधरीलाई ओलीको स्वागत, अरु को-को आए एमालेमा ?

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मन्त्रीबाट हटाएको डेढ घण्टा नपुग्दै भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् । एमालेमा जाने चर्चा चल्नासाथ मुख्यमन्त्री त्रिलोचन भट्टले चौधरीलाई मन्त्रीबाट बर्खास्त गरेका थिए ।

    कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एसका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका हुन् ।

    उनीसँगै नेकपा एसका पोलिटब्युरो सदस्य तथा निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द , नेता वीरबहादुर लगायर प्रदेश र जिल्ला कमिटीका सदस्यहरू प्रवेश गरे ।

  • मन्त्रीबाट हटाइएका चौधरी एमाले प्रवेश गर्दै

    मन्त्रीबाट हटाइएका चौधरी एमाले प्रवेश गर्दै

    कैलाली । सुदूरपश्चिम प्रदेशमा केहीबेरअघि बर्खास्त गरिएका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।

    कञ्चनपुरमा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा चौधरी मञ्चमा बसेका छन् । आज नेकपा एकीकृत समाजवादीका संसददेखि प्रदेशका पूर्वमन्त्री सम्मका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । उनीहरूको स्वागतका लागि अध्यक्ष केपी शर्मा ओली यहाँ आइपुगेका छन् ।  त्यही सन्दर्भसँग जोडिएर मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई मन्त्रीबाट हटाएका थिए ।

    एमालेबाट निर्वाचित उनी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेर मन्त्री बनेका थिए । आज उनी पार्टी प्रवेश कार्यक्रममा उपस्थित भएका हुन् ।

  • सांसद, पूर्वमन्त्रीसहित नेकपा एस र माओवादी नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली धनगढीमा

    सांसद, पूर्वमन्त्रीसहित नेकपा एस र माओवादी नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली धनगढीमा

    कैलाली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा कैलाली आएका छन् । संघीय सांसद र पूर्वमन्त्री लगायत नेकपा एस र माओवादीका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउन उनी कञ्चनपुरको कार्यक्रममा आएका हुन् ।

    प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द, नेता वीरबहादुर बुढाथोकीलगायत आज एमाले प्रवेश गर्दैछन् ।

    माओवादीबाट प्रभावशाली नेता शङ्करदत्त जोशी, मोहन गिरीलगायत दर्जनौं नेता कार्यकर्ता प्रवेश गर्ने तयारीमा रहेको एमालेले जनाएको छ ।

    कैलाली र कञ्चनपुरको संयुक्त आयोजनामा कञ्चनपुरमा हुने कार्यक्रममा उनीहरूलाई प्रवेश गराइने बताइएको छ ।

  • सुदूरपश्चिममा नेकपा एसको रणनीति- सबै क्षेत्रमा दाबी, अधिकतम सीटमा सहमति

    सुदूरपश्चिममा नेकपा एसको रणनीति- सबै क्षेत्रमा दाबी, अधिकतम सीटमा सहमति

    कैलाली । सत्ता गठबन्धनमा अहिलेसम्म कुन क्षेत्र कसले पाउने भन्नेबारे साझा धारणा बनिसकेको छैन । यता सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारको नाम सिफारिस गर्ने क्रम अघि बढेको छ ।

    एकीकृत समाजवादीले सुदूरपश्चिमका १६ वटै प्रतिनिधिसभा र ३२ वटै प्रदेशसभामात्र होइन समानुपातिक सांसदहरूको पनि नाम टुङ्गो लगाइरहेको छ । उसले कैलालीसहित केही जिल्लामा उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।

    सबै क्षेत्रमा उम्मेदवार तय गर्ने र पछि गठबन्धनमा अधिकतम क्षेत्रमा सहमति गर्ने एकीकृत समाजवादीको रणनीति रहेको बुझिएको छ । एकीकृत समाजवादीले कैलाली ४ बाट प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, कैलाली १ बाट जिल्ला अध्यक्ष भैरव रावल, डोटीबाट पूर्वमन्त्री प्रेम आले, बझाङबाट पूर्वमन्त्री भानुभक्त जोशी, अछाम १ बाट हालका श्रम रोजगार तथा सामाजिकमन्त्री शेरबहादुर कुँवर र अछाम क्षेत्र नम्बर २ बाट जिल्ला उपसचिव नमराज न्यौपानेको नाम सिफारिस गरेको छ ।

    यी क्षेत्रको प्रतिनिधिसभामा सर्वसम्मत नाम जिल्ला पार्टीले सिफारिस गरेको हो । डडेल्धुरामा पनि प्रतिनिधिसभाको लागि नीरादेवी जैरुलगायतको नाम सिफारिस गरिएको छ । यहाँको प्रदेशसभाको लागि डा तारा जोशीको नाम सिफारिस गरिएको छ ।

    ‘जिल्लाजिल्लाबाट नाम सिफारिस गर्ने क्रम जारी छ । केही जिल्लाबाट नाम आएको छ । केहीको बाँकी छ’, एकीकृत समाजवादीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले भने, ‘सबै जिल्लाबाट केही दिनमा नाम आउँछ ।’

    सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरे पनि यहाँ नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ चार क्षेत्रमा जोड दिएको छ ।

    बझाङ र डोटीमामा पूर्वमन्त्री भानुभक्त जोशी र प्रेम आले एकीकृत समाजवादीबाट पहिलो प्राथमिकतामा छन् । त्यस्तै अछाम १ बाट हालका संघीयमन्त्री शेरबहादुर कुँवर र कैलाली ४ बाट प्रदेशमन्त्री दीर्घ सोडारी प्राथमिकतामा छन् ।

    सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये एकीकृत समाजवादीले दुई पालिकामा मात्रै प्रमुख जितेको थियो । सत्ता गठबन्धन हुँदा पनि दुई पालिका प्रमुखमात्रै जितको कारण अहिले भागबन्डामा केही समस्या भएको एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।

    सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पहिलो शक्ति हो । तर, स्थानीय तहको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ चार क्षेत्र पनि पाउन सकस रहेको उनीहरुको बुझाइ छ ।

    ‘हामीले अहिले प्रतिनिधिसभामा चार क्षेत्र माग गरेका छौं । ती क्षेत्रमा हाम्रो बलियो उपस्थिति छ । तर, स्थानीय तहको परिणामले हामीलाई केही धक्का पुर्‍याएको छ’, नेकपा एसका एक नेताले भने, ‘चारसम्म नभए पनि ती क्षेत्र करिब पक्का हो।’

    गठबन्धनमा दलहरूबीच सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले चार क्षेत्र पाए बझाङ, डोटी अछाम १ र कैलाली ४ पाउने अवस्था छ । तीन क्षेत्रमा सम्झौता गर्नुपर्ने अवस्था आए बझाङ र डोटीमा सहमति गरी अछाम १ वा कैलाली ४ मध्ये एक पाउनसक्ने सम्भावना रहेको बुझिएको छ ।

  • बाजुरामा नेकपा एसबाट नरेशकुमार शाही सिफारिस, प्रदेशसभामा को-को ?

    बाजुरामा नेकपा एसबाट नरेशकुमार शाही सिफारिस, प्रदेशसभामा को-को ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेशकुमार शाहीलाई सिफारिस गरेको छ । जिल्ला कमिटीको विस्तारित बैठकले शाहीको नाम एकलरूपमा सिफारिस गरेको हो ।

    बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज हिक्मतबहादुर शाही, जिल्ला पार्टी सचिव पुरबहादुर रावत र युवासंघका केन्द्रीय उपमहासचिव धर्मबहादुर शाहीको नाम सिफारिस गरेको छ ।

    प्रदेश (ख) का लागि एसका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गगन रावल र मन्देवी साउद खड्कालाई सिफारिस गरिएको पार्टीले जनाएको छ । संघको समानुपातिकतर्फ काँशि नेपाली ,दावा गुरूङ् भोटे र सत्य खड्का थापालाई सर्वसम्मत सिफारिस गरिएको छ । त्यस्तै प्रदेशसभा समानुपातिकतर्फ अमृता रावल बोहरा र सतल कामी विकको नाम पठाइएको छ ।

    बाजुराका अध्यक्ष गगन रावलको अध्यक्षतामा बसेको बैठकले स्थानीय चुनावको समीक्षा र आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको रणनीतिबारे छलफल गरेको थियो ।

  • कांग्रेस र नेकपा एसले सरुवा गर्न खोजेको प्रमुख प्रशासकीय अधिकृत आचार्यको आरोप, मेयर लेख्छन्- सचिव को रहेछ त ?

    कांग्रेस र नेकपा एसले सरुवा गर्न खोजेको प्रमुख प्रशासकीय अधिकृत आचार्यको आरोप, मेयर लेख्छन्- सचिव को रहेछ त ?

    कैलाली । घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो सरुवा गराउन लागिपरेको आरोप लगाएका छन् ।

    उनले सामाजिक सञ्जालमा विगत एक महिनादेखि आफ्नो सरुवाको लागि कांग्रेस र एकीकृत समाजवादी पार्टी शक्ति केन्द्र धाइरहेको आरोप लगाएका हुन् ।

    ‘नेपाली कांग्रेस र नेकपा समाजवादीका साथीहरु विगत १ महिनादेखि लगातार मेरो सरुवा गर्न विभिन्न राजनीतिक शक्ति केन्द्रमा धाइरहनु भएको छ’, उनले लेखेका छन्, ‘तपाईंहरू थाक्नुभएकै हो भने म मार्ग प्रशस्त गर्न तयार छु है !’

    घोडाघोडी नगरपालिकामा मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसबाट निर्वाचित छन् । उनले दुइटै पार्टीलाई आफ्नो सरुवामा लागेको आरोप लगाएका हुन् ।

    आचार्यको स्ट्याटसमा नगर प्रमुख खडक रावतले कमेन्ट पनि गरेका छन् । ‘समाजवादीको को सचिव रहेछ त ?’, उनले प्रश्न गरेका छन् ।

    रावत नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव पनि हुन् । प्रमसख प्रशासकीय अधिकृत आचार्यले कांग्रेस र नेकपा एकीकृतबाट सरुवाको लागि जोड भइरहेको आरोप लगाउँदा नगर प्रमुखले आफू जिल्लाको सचिव रहेको सङ्केत दिएका हुन् ।

  • हामी अरु जस्ता होइनौं, क्रान्तिकारी योद्धा हौं: माधव नेपाल (भिडिओ)

    हामी अरु जस्ता होइनौं, क्रान्तिकारी योद्धा हौं: माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी गरिब र शोषितको पक्षमा संघर्ष गर्न स्थापना भएको बताएका छन् । नेपाली राजनीतिमा आफूहरु अरुभन्दा भिन्न रहेको उनले दाबी गरे ।

    पार्टी निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकमा बोल्दै नेपालले यस्तो दाबी गरेका हुन् । उनले कुनै पनि कम्युनिष्ट पार्टीले गरिब र सर्वहारा वर्गको हित गर्नुपर्नेमा जोड दिए ।

    नेपालले भने, ‘समाजमा विभिन्न वर्ग छन् । हामी समाजका शोषित जनताको पक्षमा, अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न सर्वहारा वर्गीय दृष्टिकोण लिएर आएका हौं । हामी अरु जस्तै होइनौं ।’

    उनले थपे, ‘हामी अरुभन्दा भिन्न हौं । हामी क्रान्तिकारी हौं । परिवर्तनकामी हौ‌ । जनताको हितको रक्षा गर्ने योद्धाहरु हौं । देशको रक्षा गर्ने र जनताको हितप्रति समर्पित हुने योद्धाको रुपमा हाम्रो भूमिका नेपाली समाजले स्वीकारेको छ ।’

    अध्यक्ष नेपालले अखिलका विद्यार्थीहरुलाई स्वार्थी र व्यक्तिवादी नबन्न सुझाव दिए । ‘तपाईंहरु भ्रष्टाचारमा लिप्त नहुनुस् । इमानदारिता, निष्ठा र समर्पणको बाटो अंगाल्नुस् । आफ्नो कामबाट सबै विद्यार्थीको मन जित्नुस्,’ उनले भने ।

    उनले देशभरका विश्वविद्यालय र कलेजमा शाखा विस्तार गर्न निर्देशन दिए ।

  • धरानबाट सिफारिस भएपछि राजेन्द्र राईको प्रष्टीकरण- चुनाव भोजपुरबाटै लड्छु

    धरानबाट सिफारिस भएपछि राजेन्द्र राईको प्रष्टीकरण- चुनाव भोजपुरबाटै लड्छु

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले भोजपुरबाटै चुनाव लड्ने घोषणा गरेका छन् ।

    सुनसरी १ धरानबाट पार्टीले उम्मेदवार सिफारिस गरेपछि राईले ४ बुँदे प्रष्टीकरण लेख्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे । उम्मेदवार सिफारिस नितान्त पार्टीको मूल्यांकन चाहनाको आधारमा भएकाले भन्दै उनले यसमा आफ्नो कुनै संकेत र माग नभएको बताए ।

    राईले भोजपुर आफ्नो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला भएकाले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने कत्तिपनि सोच नभएको प्रष्ट्याएका छन् ।

    २०७४ को चुनावमा राई भोजपुर प्रदेश ‘क’ मा एमालेबाट विजयी भएका थिए ।

    ‘भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र विश्वास गरिराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो 0.1 प्रतिशत पनि चाहना/सोच छैन’, उनले लेखेका छन्’, ‘भोजपुरे जनताले माया र विश्वास गरेसम्म म सांसद/मन्त्री केही नभई भुइँमा बसेर नि भोजपुरे र भोजपुरे जनताको सेवा गर्न चाहन्छु ! त्यसैले सांसद/मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच/चाहना छैन ।’

    मुख्यमन्त्री राईले सजिलो देख्दा उछिनपाछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस आफू नभएको भन्दै पार्टीको निर्देशन भयो भने जस्तोसुकै अप्ठ्यारोमा उम्मेदवार बन्न र काम गर्न तयार छ रहेको पनि व्यक्त गरेका छन् ।

    उनको भनाइ छ’ ‘अप्ठ्यारो देखेर पन्छिन्छ कि त्यस्तो कसैले नठान्नु होला ।’

  • एमालेलाई साइजमा ल्याउन गठबन्धनः मेटमणि चाैधरी

    एमालेलाई साइजमा ल्याउन गठबन्धनः मेटमणि चाैधरी

    रुपन्देही । शहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा एमालेले कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम गरेकाले बाध्य भएर अन्य दलसँग गठबन्धन गर्नुपरेको दावी गरेका छन् ।

    उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पटक–पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरु एकजुट हुनुपरेको जिकिर गरे ।

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनीले बुटवलमा शनिबार बिहान आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागि गठबन्धन दलहरु विजयी हुनुपर्ने दावी गरेका छन् । मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने उनले बताएका छन् ।

    नेकपा एसका पोलिटब्यूरो सदस्य रहेका चौधरीले मुलुक सम्बृद्धिको बाटोमा अघि बढिरहेको बेला फेरी मुलुकमा गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

    उनले शहरी विकास मन्त्री चौधरीले शहरी नीति विकास २०६४ पारित गर्ने तयारीमा रहेको बताउदै जनतालाई उपभोक्ता मार्फत विकास निर्माणका काममा जोडेर अगाडि जाने नीति सरकारको रहेको बताए ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पटक–पटक बुटवलको बदनाम गरेको आरोप लगाउदै यो निर्वाचनबाट पौडेललाई पत्तासाफ गर्ने ठोकुवा गरे । पौडेल बालुवाटार प्रकरणदेखि विभिन्न गलत तत्वहरुसँग साँठगाँठ गरेको उनको आरोप थियो ।

    रुपन्देही क्षेत्र २ नं मा विष्णु पौडेलसँग नेकपा एसका नेता राजु गुरुङ्ग भिड्ने घोषणा गर्दै उनले यो निर्वाचनबाट गठबन्धनले सबै स्थानमा विजयी हुने दाबी गरे ।

  • इलाम १ मा नेकपा एसबाट झलनाथ खनाल सिफारिस

    इलाम १ मा नेकपा एसबाट झलनाथ खनाल सिफारिस

    काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् ।
    आगमी ४ मंसिरमा हुन गईरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम–२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ ।

    प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को क र खका लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।

    यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतलाई भने क्षेत्र नम्बर–२ क र खका लागि नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ ।

     

     

  • राष्ट्रपतिले पूर्वसेनापतिहरूसँग भेटेकोमा गठबन्धनको आपत्ति, निगरानी गर्न प्रधानमन्त्रीलाई आग्रह (भिडिओ)

    राष्ट्रपतिले पूर्वसेनापतिहरूसँग भेटेकोमा गठबन्धनको आपत्ति, निगरानी गर्न प्रधानमन्त्रीलाई आग्रह (भिडिओ)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि शीतल निवासमा भइरहेका भेटघाटहरूप्रति सत्ता गठबन्धनले संशय प्रकट गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सीट बाँडफाँटका लागि बसेको शीर्ष बैठकमा राष्ट्रपतिको भूमिका ठीक नभएको र एमालेको पक्षमा माहौल सिर्जना गर्न खोजिएको कुरा उठेको थियो ।

    राष्ट्रपतिले नागरिकता विधेयक फेरि पारित भएर गएमा त्यसलाई स्वीकृत नगरी राजीनामा दिने सम्भावनाका बारेमा समेत नेताहरूबीच छलफल भएको बताइएएको छ । राष्ट्रपतिको भूमिकाप्रति प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव बढी आक्रामक बनेका छन् ।

    बैठकपछि आयोजित पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा एसका अध्यक्ष माधव नेपालले पूर्वसेनापतिहरूलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले भोज खुवाएकोमा गठबन्धन बैठकले गम्भीर रूपमा लिएको बताए ।

    नेपालले भने, ‘राष्ट्रपतिका बारे कुरा आएका छन् । जसरी पूर्वप्रधान सेनापतिहरूलाई शीतल निवासमा बोलाएर भोज दिने कुरा भयो यसमा प्रश्न उठेको हो । राष्ट्रपतिले के गर्न खोजेकी हुन् ? भोलि अनिष्ट हुने त होइन ? बालुवाटारमा पनि छलफल भएको छ, हामीले निगरानी गरिरहेका छौं ।’

    राष्ट्रपतिले यसबीचमा को-कोसँग छलफल गरेको हो भन्नेबारेमा पनि नेताहरूले चासो राखेका छन् ।

  • गठबन्धनमा गलफत्ती- नेकपा एसको मत साढे ४ लाख कि ९ लाख २७ हजार ?

    गठबन्धनमा गलफत्ती- नेकपा एसको मत साढे ४ लाख कि ९ लाख २७ हजार ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ९ लाख २७ हजार मत पाएको दाबी गरेका छन् । आज पार्टीको पूनर्गठन दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले २७ प्रतिशत स्थानमा उम्मेदवारी दिएर ९ लाख २७ हजार भोट पाएको दाबी गरे ।

    ‘जनताको समर्थनको कुरा गर्ने ९ लाख २७ हजार भोट पाएका छौं,’ उनले भने, ‘यत्रो जनताको समर्थन पाएको पार्टीलाई कसैले पनि अवमूल्यन गर्न खोज्छ भने त्यसले ख्याल गरोस् । हामी मूकदर्शक भर्एर बस्ने पार्टी होइन ।’

    हिजोको बालुवाटारको बैठकमा पनि आफ्नो पार्टीको हैसियत १५ देखि २० लाख मतको रहेको बताएको उनले बताए । ‘हिजोमात्रै बालुवाटारमा छलफल हुँदैथियो । उनीहरूले हाम्रो पार्टीको मतसंख्या साढे चार लाख, चारलाख २७ हजार, पाँचलाख साँढे ५ लाख भन्दैथिए । हामीले तर्क राख्यौ तपाईले जोडेको हिसाबकिताब गलत छ ।’

    पोखरामा नेकपा एसले जित्दा एउटा वडा पनि उठ्न नदिएको बताउँदै ‘के हामीले मतै पाएका थिएनौं ?’ भनेको उनले बताए । उनले भने, ‘६० हजार पाएको हाम्रो मेयरको मत हटाएर यो संख्या हटाएर हुन्छ ? मान्न सकिन्छ ? भनेपछि कुरा त ठिकै हो भन्दै थिए ।’

    सो बैठकमा २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख २७ हजार भोट पाएको पार्टीले सबै ठाउँमा उठाए १५ देखि २० लाख पाउने हैसियत रहेको प्रष्ट पारेको बताए ।
    ‘त्यतिमत पाए १५ देखि २० सीट हामीलाई कोही राख्न सक्दैन्,’ उनले भने, ‘अब हामीले समानुपातिकले पनि हैसियत देखाउनु पर्दछ ।’

    उनले निर्वाचन आयोगको तथ्यांकमा त्रुटि रहेको पनि बताएका छन् । आयोगको प्रतिवेदनअनुसार नेकपा एसका वडाध्यक्षका उम्मेदवारहरूले ४ लाख २२ हजार ७३७ मत पाएका छन् ।

  • झलनाथको स्वीकार : एमसीसी र एसपीपीमा स्थिर अडान नराख्दा पार्टीलाई घाटा भयो (भिडिओ)

    झलनाथको स्वीकार : एमसीसी र एसपीपीमा स्थिर अडान नराख्दा पार्टीलाई घाटा भयो (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी र एसपीपीमा पार्टीले स्थिर अडान लिन नसक्दा घाटा व्यहोरेको बताएका छन् ।

    नेकपा एस पार्टी पूनर्गठन दिवस कार्यक्रममा बोल्दै उनले यी मुद्दामा नेकपा एसले स्थिर अडान नलिएकाले आकर्षित जनताको पंती पार्टीमा आउनबाट रोकिएको बताए ।

    ‘ओली सरकारले अमेरिकासँग अगाडि बढाउँदै लगेको भित्रभित्रै हाम्रो देशमाथि थोपर्न लागेको असमान सम्झौता एमसीसी, एसपीपी सम्झौतामा पार्टीलाई स्थिर अडानमा राख्न सकिएन,’ उनले भने, ‘एक हप्ता अघि अस्वीकार गर्ने र एकहप्तापछि अनुमोदन गर्नपुग्दा हाम्रो पार्टी वरिपरि लहरका रुपमा आकर्षित भइरहेका जनताको पंती पार्टीमा आउनबाट रोकिनपुग्यो ।’

    यसबाहेक स्थानीय तह निर्वाचनमा पार्टीले आफ्नो स्वतन्त्र नीति लिएर अगाडि बढ्न नसकेर गठबन्धनकै भर पर्दा नेकपा एसले आफ्नै यथार्थ जनमत पनि पाउन नसकेको बताए ।

  • झलनाथ भन्छन्- ओली गुटविरुद्धको विद्रोह अझै जारी छ (भिडिओ)

    झलनाथ भन्छन्- ओली गुटविरुद्धको विद्रोह अझै जारी छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दक्षिणपन्थी अवसरवाद र नेतृत्वविरुद्ध विद्रोह गर्ने आँट निकै ठूलो रहेको टिप्पणी गरेका छन् । नेकपा एस पार्टी पुनर्गठन दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘आज हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिक्षा विचारविरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ,’ उनले भने, ‘ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्रोह गर्नुपर्‍यो ।’

    त्यो विद्रोह गर्ने आँट निकै ठूलो रहेको उनले बताए । यसबाहेक अझै पनि विद्रोह जारी रहेको उनले बताए । ‘अहिले पनि थुप्रै साथीहरू विद्रोह गरेर आउने क्रम जारी छ,’ उनले भने ।

  • ताप्लेजुङमा एकीकृत समाजवादीबाट यक्सो, तुम्बाहाम्फे र भट्टराई सिफारिस

    ताप्लेजुङमा एकीकृत समाजवादीबाट यक्सो, तुम्बाहाम्फे र भट्टराई सिफारिस

    ताप्लेजुङ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ ।

    एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको छ । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाईलाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष लामाले बताए ।

    यस्तै प्रदेशसभा (क) को प्रत्यक्षतर्फ शम्भु गौतम, सुनिता मादेन र डालकुमार गुरुङ तथा प्रदेशसभा (ख)को प्रत्यक्षतर्फ खेमबहादुर वनेम, मञ्जु पौडेल भट्टराई र ठाकुरसिंह नाल्वोलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ ।

    प्रदेशसभा (क) को समानुपातिकतर्फ नीताकुमारी सिवा र अमर लोहार तथा प्रदेशसभा (ख) तर्फ आरसी पोमु र देवीमाया नेपालीको नाम सिफारिस गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

  • काठमाडौं ५ मा नेकपा एसबाट सुदेश पराजुलीको नाम सिफारिस, प्रदेशसभामा को को ?

    काठमाडौं ५ मा नेकपा एसबाट सुदेश पराजुलीको नाम सिफारिस, प्रदेशसभामा को को ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नाम सिफारिस गरेको छ ।

    ५ नम्बर क्षेत्रीय कमिटीको बुधवार साँझ बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि विद्यार्थी नेता पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस गरेको हो ।

    पराजुलीले एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्न खोजेका छन् । नेकपा एसले सो क्षेत्र गठबन्धनबाट पाउँदा पराजुली उम्मेदवार बन्ने तयारी छ ।

    बैठकले प्रदेशसभातर्फ क्षेत्र नम्बर ५ क मा हरिभक्त श्रेष्ठ र कृष्णप्रसाद सापकोटाको नाम सिफारिस गरेको छ । त्यस्तै ख क्षेत्रतर्फ रामकृष्ण सेढाई,दिपक केसी,मनोहरी खड्का,बालकृष्ण श्रेष्ठ,राजाराम भण्डारी,धावा तामाङ,सुदर्शन पौडेल,सुशान्त डंगोल र माइला श्रेष्ठको नाम सिफारिसगरेको छ ।