Category: नेकपा एस

  • दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ

    दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ

    पोखरा । राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन् ।

    प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।

    मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्यज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

  • नेकपा एस छाेडेको भोलिपल्टै मन्त्री बने दीपक मनाङे, पाए भौतिक पूर्वाधार मन्त्रालय

    नेकपा एस छाेडेको भोलिपल्टै मन्त्री बने दीपक मनाङे, पाए भौतिक पूर्वाधार मन्त्रालय

    पोखरा । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।

    भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री थिए ।

    केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए ।

    सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाएका छन् ।

    स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसदको रुपमा बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए ।

    फाइल तस्बिर

     

  • महाधिवेशन दस्तावेजमा वामपन्थी एकीकरणलाई प्राथमिकतामा राख्दै नेकपा एस

    महाधिवेशन दस्तावेजमा वामपन्थी एकीकरणलाई प्राथमिकतामा राख्दै नेकपा एस

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिएको छ । पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्व दिएको हो ।

    वामपन्थी दलसँगको कार्यगत एकतालाई प्राथमिकतामा राखेर दस्तावेज परिमार्जन गर्न लागेको पार्टीले वाम ध्रुवीकरणबाट विकास भएको नयाँ समीकरणलाई सहज र सकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई दस्तावेजमा समावेश गर्ने उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि निर्माणाधीन दस्तावेजलाई थप अध्ययन गर्ने समय निर्धारण गरेको समितिले समान विचार तथा दृष्टिकोण भएका कम्युनिष्ट शक्तिसँग एकताका लागि अपुग भएका केही वस्तु थप्ने समझदारी भएको उनले बताए ।

    यही चैत ६ गते दस्तावेज मस्यौदा लेखन समितिको बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने खतिवडाले बताए । उनकाअनुसार राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनमाथि सुक्ष्म छलफल गरी दस्तावेज मस्यौदा लेखनलाई पूर्णता दिइने छ ।

    पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमबारे समेत दस्तावेज उल्लेख गरिएको पनि उनले सुनाए ।

    पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदन, नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा. बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले सङ्गठनात्मक प्रस्ताव तयारीका लागि नेताहरूसँग छलफल तथा परामर्श गरिसकेका छन् । सबै पक्षलाई समेटेर तयार गरिने प्रतिवेदन एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने पार्टीले जनाएको छ ।

    -रासस

  • गठबन्धन फेरिएपछि माधव नेपालको चिन्ता- थुप्रो गाली गरेर प्रतिवेदन लेखेको थिएँ अब नसच्याए त भड्कने भए (भिडिओ)

    गठबन्धन फेरिएपछि माधव नेपालको चिन्ता- थुप्रो गाली गरेर प्रतिवेदन लेखेको थिएँ अब नसच्याए त भड्कने भए (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको राजनीतिक तरंगित हुँदै छिटो छिटो परिवर्तन भइरहेको बताएका छन्।

    पार्टीनिकट महिला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेकपा एसलाई थाहै नदिई कोर्स परिवर्तन गर्न खोजे पनि अहिले सबैलाई आवश्यकता परेको बताए।

    उनले भने, ‘नेपालको राजनीति तरंगित हुँदै छिटो छिटो परिवर्तन भइरहेको छ। मान्छेले के भइरहेको चाल नै पाउँदैनन्। हामीलाई त झन् गाह्रो पर्‍यो महाधिवेशनको एउटा प्रतिवेदन तयार पारिएको थियो अब त्यो परिवर्तनमा ७९ सरकार परिवर्तनको कुरा त पुरानो भइसक्यो। हिजो गाली गरेर थुप्रो लेखेको थियो अब मिलाउनुपर्ने भो। फेरि पढेर पछि भड्केलान् भन्ने चिन्ता भो। भड्किन पनि दिन भएन। भनेपछि हेर्दा हेर्दा परिवर्तन भएको छ।’

    उनले आफूहरूलाई दम्भ देखाए पछुताउनुपर्ने चेतावनी दिए।

    उनले भने, ‘हामीलाई थाहै नदिई परिवर्तन भएपछि सबैलाई हाम्रो आवश्यकता पर्दो रहेछ। त्यो भन्दा बढी नभनौँ। हामी परिवर्तनमा निर्णायक शक्ति रहेका छौँ। अहिले पनि कसैले दम्भ राख्छ भने ख्याल गरोस् अहिलेको संसदको संरचनाको जोड घटाउ पनि ख्याल गरोस्। त्यो कुरा ख्याल गरेन भने पछि पछुताउन पर्ला।’

  • प्रधानमन्त्री र अध्यक्ष चाहिएको छैन, सबै कम्युनिष्टहरूलाई मिलाउन तयार छौँ : माधव नेपाल (भिडिओ)

    प्रधानमन्त्री र अध्यक्ष चाहिएको छैन, सबै कम्युनिष्टहरूलाई मिलाउन तयार छौँ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरू देशका सबै कम्युनिष्टहरु मिलाउने पक्षमा रहेको बताएका छन्।

    पार्टीनिकट महिला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आफूलाई कुन पद ओगटेर बस्ने इच्छा नभएको बताए।

    उनले भने, ‘एमालेमा गएका मुकुन्द न्यौपाने र केदार न्यौपानेको बेहाल छ। अहिले मलाई सबै कुरा विचार नगरी नफस्नुहोला भन्छन्। हामी देशका सबै कम्युनिष्टहरुलाई मिलाउने भए तयार छौँ। सबै कम्युनिष्टलाई गोलबद्ध गराउने भए तयार छौँ। देश बनाउनु छ हामीलाई। कुनै पद ओगटेर बस्नु पनि छैन। हामीलाई प्रधानमन्त्री चाहिएको पनि होइन। पार्टी अध्यक्ष पनि चाहिएको छैन।’

    उनले देशको परिवर्तनमा इमानदार नेता कार्यकर्ता चाहिएको जिकिर गरे।

    उनले भने, ‘अहिले हामी नयाँ चरणमा छलफलमा छौँ। सरकारको विषयमा प्रदेशदेखि राजनीतिक नियुक्तिको विषयमा पनि छलफल हुँदैछ। अरू कुराहरू पनि छलफल हुँदैन। हामीसँग कुन ढंगको व्यवहार हुन्छ त्यसमा भर पर्छ हामी अहिलेसम्म छलफलमा बसिसकेका छैनौँ। छलफल गर्दै जानेछौँ ।’

    उनले पार्टीका नेता कार्यकर्तालाई इमानदार भएर पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिए।

  • सत्तारुढ दलकै नेताले प्रचण्डमाथि पाेखे आक्रोश- ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के हुन्छ ? (भिडिओ)

    सत्तारुढ दलकै नेताले प्रचण्डमाथि पाेखे आक्रोश- ओली र देउवाले घाँटी जोडे तपाईंको हालत के हुन्छ ? (भिडिओ)

    काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै पाण्डेले प्रचण्डलाई साथ दिँदा पनि बाटोमा अलपत्र छाडेर हिँडेको भन्दै आक्रोश पोखे ।

    उनले भने, ‘संविधानको रक्षाको लागि पार्टीभित्रको व्यक्तिवादी चरित्रका विरुद्ध हामीले विद्रोह गरेर आफैंले बनाएको पार्टी तोडेर विष पिएर तपाईंको पक्षमा उभिएका थियौं । हामीलाई बाटामा छोडेर हिँड्नुभयो । यो भन्दा अनैतिकता के हुन्छ ? म प्रधानमन्त्रीलाई प्रश्न गर्छु, यो भन्दा अनैतिकता के हुन्छ ? एकचोटी हाम्रो पार्टीको ठाउँमा उभिएर सोच्नुहोस् । अघि पनि यहाँ कुरा आएको छ, ओली र शेरबहादुरजीले घाँटी जोडे भने तपाईंको हालत के हुन्छ ?’

    उनले राजनीतिमा विकृति र अविश्वास बढेकाले विकास हुन नसकेको बताए ।

  • मेटमणिको दाबी- प्रचण्ड, माधव र ओली १५/१५ महिना प्रधानमन्त्री बन्ने सहमति (भिडिओ)

    मेटमणिको दाबी- प्रचण्ड, माधव र ओली १५/१५ महिना प्रधानमन्त्री बन्ने सहमति (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले माधव नेपाल पनि १५ महिना प्रधानमन्त्री बन्ने सहमति भएको दाबी गरेका छन् ।

    विश्वासको मत दिनुअघि केपी शर्मा ओली र प्रचण्डसँग प्रतिबद्धता मागेको नेकपा एसले माधव नेपाल प्रधानमन्त्री बन्ने ग्यारेन्टी खोजेको थियो । बुधवार मुख्य नेताहरुबीच १५/१५ महिना प्रधानमन्त्री बन्ने समझदारी बनेको चौधरीको दाबी छ ।

    न्युज एजेन्सी सरोकारसँगको कुराकानीमा चौधरीले भने- अब १५ महिना प्रचण्ड प्रधानमन्त्री रहने, त्यसपछि १५ महिना माधव नेपाल र चुनावी सरकारको नेतृत्व केपी शर्मा ओलीले १५ महिना गर्ने समझदारी भएको छ । त्यस अनुसार हामीले विश्वासको मत दिने हो ।

    उनले थपे, ‘हामीले हिजोको दिनमा प्रधानमन्त्रीसँग जुन सम्झौता गरेका छौँ । जुन विषयहरु बाहिर पनि आइसकेका छन् । त्यो विषयमा सहमति भएको छ । त्यसको कार्यान्वयन गर्न हामी इच्छुक छौँ । तर आज त्यो सबै सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरेका छौँ । हामीले जे विषयमा सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन सकेन, भएन भने, इमान्दारी भएन भने फरक तरिकाले सोच्न सक्ने निर्णय गरेका छौँ । १५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र त्यसपछिको प्रधानमन्त्री केपी शर्मा ओली हुने भन्ने सहमति भएको छ ।’

    माधव नेपाल संविधानको कुन धारा बमोजिम प्रधानमन्त्री बन्ने भन्नेबारे चाहिँ उनले बताएका छैनन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री रहेका प्रचण्डले राजीनामा दिएपछि धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रावधान छ ।

    प्रधानमन्त्रीले राजीनामा दिएपछि फेरि सोही धारा बमोजिम सरकार बन्ने तर्क नेकपा एसका नेताहरूको छ ।

  • बागमतीमा हानेपालाई दुई मन्त्रीको अफर, मुख्यमन्त्रीमा नेकपा एसको पनि दाबी

    बागमतीमा हानेपालाई दुई मन्त्रीको अफर, मुख्यमन्त्रीमा नेकपा एसको पनि दाबी

    हेटौंडा । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीहरूलाई बोलाएर शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई अल्पमतमा पारिदिएपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरू भएको छ ।

    केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको छ । तर, यी दलको मात्र बहुमत पुग्ने अवस्था छैन ।

    ११० सांसद रहेको बागमतीमा सरकार गठनको लागि ५६ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । तर, यहाँ नयाँ गठबन्धसँग एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी ५५ जनामात्र छन् । सरकार बनाउन हाम्रो नेपाली पार्टी (हानेपा) लाई गठबन्धनमा सामेल गर्न कसरत सुरू भएको छ । हानेपाबाट यहाँ शैलेन्द्र बज्राचार्य र सरिता खड्गी २ जना सांसद छन् । मुख्यमन्त्रीनिकट स्रोतकाअनुसार दुवैजनालाई मन्त्रीको अफर गरिसकिएको छ ।

    ‘दुवैजनालाई क्याविनेटमा ल्याउन नेताहरू छलफलको चरणमै हुनुन्छ । कुरा सकारात्मक छ’, स्रोतले भन्यो ।

    हानेपाले भने अहिले नै आफूहरू सरकारमा जाने ध्याउन्नमा नलाग्ने बताएको छ ।

    लौरोका प्रवक्ता ई. रोहन कार्कीले नेपाल प्रेससँग भने, ‘हामी अहिले सत्ताको खेलमा छैनौं । समग्र परिस्थिति विश्लेषण गरेर मात्र निर्णय लिन्छौं ।’

    हानेपाका सांसद शैलेन्द्र बज्राचार्यले पनि नयाँ गठबन्धनमा सहभागिताका लागि कुरा आएको स्वीकारे । केन्द्रको निर्णयअनुसार अघि बढ्ने उनको भनाइ छ । नेमकिपाका ३ जना सांसद रहेपनि आफूहरू सरकारबाहिरै बस्ने एक सांसद बताउँछन् । गठबन्धनले पनि सरकारमा उनीहरूलाई ल्याउन कसरत गरेको छैन ।

    बागमती प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस केही दिन सरकार बनाउने कसरतमा लागेपनि नेकपा एस एमाले-माओवादीसहितको गठबन्धनमा सामेल भएपछि अहिले त्यो च्याप्टर क्लोज भइसकेको छ । यहाँ कांग्रेसका ३७, राप्रपाका १२ र नेकपा एसका ७ सांसद छन् ।

    नेकपा एसले बागमती प्रदेशमा आफूहरूको उपस्थिति अन्य प्रदेशको तुलनामा बढी रहेको भन्दै मुख्यमन्त्री दाबीसहित गठबन्धनमा दबाब बढाएको छ ।

    नेकपा एसका एक नेता भन्छन् ‘बागमती प्रदेश सरकारमा यदि समाजवादी नजाने हो भने विपक्ष गठबन्धनलाई बहुमत पुग्छ, राजनीतिमा हामीले मात्र सधैँ त्याग गर्नुपर्छ भन्ने छैन नि ? देश र अन्य धेरै प्रदेशको नेतृत्व गर्दा एउटा प्रदेशको नेतृत्व गर्न समाजवादीलाई दिन नहुने भन्ने हुन्न होला नि !’

  • माधव नेपालको हस्ताक्षरसहित गठबन्धनमा नयाँ सहमति, राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने वाक्य हट्यो

    माधव नेपालको हस्ताक्षरसहित गठबन्धनमा नयाँ सहमति, राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने वाक्य हट्यो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यसअघि चार दलबीच भएको ८ बुँदे सहमति भएको थियो । आज ७ बुँदे सहमति सार्वजनिक गरिएको छ ।

    पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाको सभापति रवि लामिछाने, नेकपा एसका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

    यसअघि चार दलबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्षलाई लिने सहमति भएको थियो । नयाँ सहमति पत्रमा गरेपछि राष्ट्रियभा उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटेको छ ।

    यसअघि मन्त्रिपरिषद् विस्तारसम्बन्धी सहमति पनि भइसकेकोले हटाइएको छ ।

  • माधव नेपालका आंशिक माग पूरा, ओलीकै छेउमा बसेर नारायण दाहाललाई भोट दिन ह्विप

    माधव नेपालका आंशिक माग पूरा, ओलीकै छेउमा बसेर नारायण दाहाललाई भोट दिन ह्विप

    काठमाडौं । राष्ट्रियसभामा अध्यक्षमा नारायणका दाहाललाई जिताउन सत्ता गठबन्धनको संयुक्त बैठक बसेको छ। माओवादीको तर्फबाट उम्मेदवारी दिएका दाहाललाई जिताउन गठबन्धन दलको संयुक्त बैठक बसेको हो।

    गठबन्धनमा एमाले, माओवादी, रास्वपा, नेकपा एस र जसपा सहभागी छन्। तर, गठबन्धनमा असन्तुष्टि जनाउँदै आएका माधव नेपालको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपछि उनको माग आंशिक पूरा भएको छ।

    पाँच दलबीच लिखित सहमति भएपछि नेपाल पनि मत दिन तयार भएका हुन् ।

    राष्ट्रियसभा अध्यक्षको निर्वाचन केही बेरमा सुरु हुँदैछ । उम्मेदवार दाहाललाई ओलीकै छेउमा राखेर गठबन्धन दलमा ओलीले मत दिन ह्विप जारी गरेका छन्।

    अध्यक्षमा दाहालसँग कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । तर, गठबन्धनसँग सुविधाजनक बहुमत भएकाले जित निश्चित छ।

    राष्ट्रियसभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन्। भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ।

  • विश्वासको मतमा नेकपा एसको शर्त- माधव नेपाललाई प्रधानमन्त्री, प्रदेशमा पनि पावर शेयरिङ

    विश्वासको मतमा नेकपा एसको शर्त- माधव नेपाललाई प्रधानमन्त्री, प्रदेशमा पनि पावर शेयरिङ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले अघिल्लो कांग्रेससहितको गठबन्धनमा भएको समझदारीअनुसार माधव नेपालले कम्तीमा एक वर्ष प्रधानमन्त्री बन्ने लिखित प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मागेको छ ।

    विश्वासको मत दिनुअघि नेकपा एसले माधव नेपालको प्रधानमन्त्री र संघदेखि प्रदेश सरकारसम्म पावर शेयरिङमा लिखित प्रतिवद्धता मागेको हो । यसमा नेकपा एसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समेत प्रतिवद्धता खोजेको छ ।

    नेकपा एसका कार्यालय सचिवसमेत रहेका नेता जीवनराम श्रेष्ठले प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म ‘पावर शेयरिङ’ हुनुपर्ने विषय पार्टीले अघि सारेको बताए । सचिवालयको म्याण्डेटअनुसार संसदीय दलको बैठकले विश्वासको मतअघि सो प्रतिवद्धता मागेको उनले बताए ।

    श्रेष्ठले भने, ‘लिखित प्रतिवद्धता हामीले मागेको हो । एउटा त हाम्रो पार्टीले सुशासन, आर्थिक विकास, राष्ट्रियतालगायतका विषयमा ५ बुँदे शर्त राखेको छ त्यसमा लिखित प्रतिवद्धता मागेका हौं । अर्को कुरा नलुकाई भन्दा प्रधानमन्त्रीदेखि संघ र प्रदेशका सबै संरचनामा पावर शेयरिङ गर्ने लिखित प्रतिबद्धता चाहिन्छ ।’

    अहिले नेकपा एमालेको नेतृत्वमा बनेको नयाँ गठबन्धनमा नेकपा एसले पावर शेयरिङ खोज्ने कुरा स्वाभाविक भएको भन्दै श्रेष्ठले ओलीमा विगतका कमजोरीप्रति परिवर्तन आएको हो भने बिस्तारै नेकपा पुनःस्थापनातर्फ पनि कोर्ष जान सक्ने बताए । तर, अहिले पार्टी एकताको विषय आफूहरूले नउठाएको उनको भनाइ छ ।

    नेकपा एसले कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री र सबै प्रदेश सरकारमा सम्मानजनक सहभागिताको सुनिश्चिता समेत खोजेको छ । कांग्रेसले २ वर्ष प्रधानमन्त्री र आउने चुनावमा कम्तीमा २५ सीट जिताउने ग्यारेन्टी गर्दा पनि वामपन्थी सहकार्यको लागि आफूहरूले त्याग गरेकाले ओली र प्रचण्डबाट लिखित प्रतिबद्धता मागेको नेताहरू बताउँछन् । मौखिकरूपमा माधव नेपालसँग पावर शेयरिङको प्रतिवद्धता जनाए पनि त्यो लिखित हुनुपर्ने श्रेष्ठले बताए ।

    सरकारमा सहभागी भइसकेको नेकपा एसले विश्वासको मत दिन शर्त अघि सारेपछि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग माधव नेपालको छलफल भइरहेको छ ।

  • नेकपा एसले प्रधानमन्त्रीले लिखित सहमति गरेमात्र राष्ट्रियसभा अध्यक्ष र विश्वासको मतमा सहयोग गर्ने (भिडिओ)

    नेकपा एसले प्रधानमन्त्रीले लिखित सहमति गरेमात्र राष्ट्रियसभा अध्यक्ष र विश्वासको मतमा सहयोग गर्ने (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै विश्वासको मत दिने भएको छ । उनले पार्टीका शर्तबारे भने केही खुलाएनन् ।

    सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।

    उनले भने, ‘राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाएमात्रै सहयोग गर्छौं । प्रधानमन्त्रीलाई भनेका केही मागको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी छैन ।’

    उनले थपे, ‘हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रियसभामा भोट दिनसक्छौं । र, प्रतिनिधिसभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौं । तर, उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’

    उनले सरकार अघि बढ्ने कि ढल्ने भन्नेकुरा प्रधानमन्त्री दाहालमै निर्भर रहेको बताए ।

  • केपी कमरेडको आलोचना गर्थेँ तर प्रचण्डको त नियतमै खोट रहेछ, यो सरकार ढाल्नैपर्छ : मेटमणि

    केपी कमरेडको आलोचना गर्थेँ तर प्रचण्डको त नियतमै खोट रहेछ, यो सरकार ढाल्नैपर्छ : मेटमणि

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु एक महिना पनि नभएको दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रम बोल्दै प्रचण्ड सरकार नढाले मुलुकले अस्थिरता मच्चिरहने बताए।

    उनले भने, ‘यो सरकार मुस्किलले टिक्यो भने एक महिना मात्रै हो। अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम भइरहेको छ। उहाँकै कारणले, उहाँबाहेक अरू कोही होइन। म हिजोका दिनमा केपी कमरेडप्रति एकखाल्को आलोचन गर्थेँ तर केपी ओलीभन्दा पनि धेरै अस्थिर, गलत मान्छे। आफ्नो कुर्सीका लागि सहकर्मीहरूलाई फेरिराख्छन्, तर आफ्नो कुर्सी जोगाइराख्ने उहाँको प्रवृत्ति छ।’

    प्रचण्डको नियतमै खोट भएकाले नयाँ समीकरण अब कुनै हालतमा नटिक्ने उनको जिकिर छ।

    उनले भने, ‘यो समीकरण भत्काउनै पर्छ। मेरो दल पनि सरकारमा सहभागी छ। दुई वटा मन्त्री पनि छन्। तर यो तरिकाले निर्माण भएको सरकारलाई भत्काउन सकेनौँ भने मुलुकमा अस्थिरता मच्चाइराख्छन्।’

  • झलनाथ खनाल भन्छन्- एमालेसहित वामपन्थीहरूको तत्काल पार्टी एकताको सम्भावना छैन (भिडिओ)

    झलनाथ खनाल भन्छन्- एमालेसहित वामपन्थीहरूको तत्काल पार्टी एकताको सम्भावना छैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थीहरुबीच कार्यगत भएका सुरु भएको बताएका छन्।

    ११४ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताए।

    उनले भने- हाम्रो देशको परिस्थिति बदलिएको छ। हिजो दक्षिणपन्थीहरूको एउटा गठबन्धन थियो। गठबन्धनमा हामी पनि थियौँ तर केही पनि गर्न सक्ने अवस्थामा थिएनौँ। हामी सरकारमा थियौँ तर यो काम गर्‍यौँ भन्न सक्ने अवस्था छैन। नीति कार्यक्रम र बजेट हामीले बनाउन सक्ने अवस्था थिएन। दक्षिणपन्थीहरूको प्रभुत्व भएको गठबन्धन टुटेको छ अहिले। अब वामपन्थीहरूको प्रभाव भएको गठबन्धन बनेको छ। यो घटनाले जनतालाई आशाको सञ्चार गरेको छ।

    उनले सरकारलाई जनमुखी र राष्ट्रमुखी बनाउन आफूहरूले भूमिका खेल्नुपर्ने बताए।

    उनले भने- हिजोको गठबन्धनमा दलाल पूँजीपतिका प्रतिनिधिहरू थिए। कांग्रेसले केही गर्न सक्दैन। अहिलेको सरकार वामपन्थीहरुबीचको कार्यगत एकता हो। हामी अहिले पार्टी एकता गर्न गइरहेका छैनौँ त्यो तत्काल सम्भव पनि छैन। हामीले वैचारिक राजनीतिक हिसाबले बलियो बनाउन लाग्नुपर्छ। त्यसलाई हाम्रो राष्ट्रिय महाधिवेशन आउँदैछ। हामीले समाजवादको कार्यदिशा अगाडि बढाउनुपर्छ।

  • नयाँ समीकरणकाे सरकारलाई शुभकामना दिँदै झलनाथ खनालले औंल्याए चुनौतीका चाङ

    नयाँ समीकरणकाे सरकारलाई शुभकामना दिँदै झलनाथ खनालले औंल्याए चुनौतीका चाङ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेसहितको नयाँ समीकरणको सरकारलाई शुभकामना दिएका छन् । सँगै पूर्वप्रधानमन्त्री खनालले सरकारसामु चुनौतीको चाङ रहेको औंल्याएका छन् ।

    जुन चुनौती सफलतापूर्वक पूरा गर्नुपर्ने र दायाँबायाँ गर्ने छुट नभएकोतर्फ उनले जोड दिएका छन् ।

    यो सरकार बन्दा जनतामा नयाँ आशाको सञ्चार भएको भन्दै उनले मुलकका वामपन्थी, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरुसमेत यो सरकारप्रति सकारात्मक देखिएको उल्लेख गरेका छन् ।

    यद्यपि यो सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरु विभिन्न चलखेल र षड्यन्त्रमा लागिसकेको नेता खनालले दाबी गरेका छन् ।

    हेर्नस् खनालले औंल्याएका सरकारका कार्यभारहरु

     

     

  • अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन

    अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले अध्यक्ष नेपाललाई सो जिम्मेवारी तोकेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    समितिमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने निर्णय गरेको बैठकले नयाँ गठबन्धनमा निर्माण भएको सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई जनमुखी कार्य सम्पादनका लागि निर्देशन दिएको छ ।

    महाधिवेशनका लागि पार्टी मातहतका सङ्गठनका गतिविधि, कार्ययोजनाबारे बैठकमा समीक्षा गरिएको थियो ।

    बैठकमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्ययोजनामा समेत छलफल गरिएको थियो । आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्न लागिएको छ । -रासस

  • अदालतले तीनतिर बनाइदिएको ३ वर्ष पुगेकै दिन ओलीसँग प्रचण्ड-माधवको संयुक्त मिलन

    अदालतले तीनतिर बनाइदिएको ३ वर्ष पुगेकै दिन ओलीसँग प्रचण्ड-माधवको संयुक्त मिलन

    काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा भंग गरेको तीन वर्षपछि केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको मिलन भएको छ । २०७७ फागुन २३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी मुद्दा फैसला गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्युँताएको थियो । अदालतको फैसला आउने बेलामा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । प्रचण्ड र माधव नेपाल मिलेर ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेको बेलामा अदालतको फैसला आएको थियो ।

    अदालतले एमाले र माओवादी व्युँताइदिए पनि ओली र माधव नेपाल एकै ठाउँमा बसेनन् । एमालेमै बस्न नेपालले धेरै प्रयत्न गरे पनि कुरा नमिलेपछि पार्टी फुटाएका थिए ।

    रोचक संयोग मान्नुपर्छ, तीन नेता तीनतिर भएको ठ्याक्कै तीन वर्षपछि बुधबार फेरि उनीहरूबीच सहकार्य सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण थालेपछि तीन नेताको मिलन सम्भव भएको हो ।

    यद्यपि माधव नेपालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरे पनि प्रचण्डसँगको सहकार्य भने छाडेका थिएनन् । आजबाट उनले एमालेसँग पनि सहकार्यको हात अघि बढाएका छन् ।
    प्रचण्डले एमालेसँग सहकार्य गर्न जाँदा आफूसँग सल्लाह नगरेको भन्दै सुरुमा असन्तुष्टि जनाएका नेता नेपाल अहिले सरकारमा जान राजी भइसकेका छन् ।

    मंगलबार साँझ प्रचण्ड र ओली स्वयं नेपाल निवास पुगेर सहकार्यको प्रस्ताव राखेपछि उनी सरकारमा सहभागी भएर सहकार्य गर्न राजी भएका हुन् । त्यसो त गत निर्वाचनमा गठबन्धनबाट जाँदा पनि १० सीट जिते पनि राष्ट्रिय दल बन्न नसकेपछि नेपाललाई पार्टीमा नेता कार्यकर्ता टिकाउनै मुस्किल परिरहेको छ ।

    नेता कार्यकर्ता एमालेमा फर्किन थालेपछि माधव नेपाललाई पनि कार्यगत एकता हुँदै एमालेमै पार्टी मिसाउने बाटो खुलेको छ ।

    नेकपा एसको आज बसेको बैठकमा पनि प्रचण्ड र ओलीले नै प्रस्ताव राखेपछि वामपन्थी सरकारको पक्षमा जानुपर्नेमा अधिकांश नेताहरुले जोड दिएका थिए ।
    एमाले र माओवादीबीचको सहकार्यमा नेकपा एसले आफूलाई सहभागी गराएपछि फेरि वाम एकताको चर्चा चल्न थालेको छ ।

    कांग्रेसले आगामी निर्वाचनमा एक्लै लड्ने र जनयुद्धलाई अपमानित गरेको दस्तावेज महासमितिको बैठकबाट पारित गरेपछि प्रधानमन्त्री प्रचण्ड बिच्किएर एमालेसँग काँध जोड्न पुगे । आगामी निर्वाचनमा माओवादीमात्रै होइन, माधव नेपालले नेतृत्व गरिरहेको नेकपा एस पनि एक्लै चुनावमा जानसक्ने अवस्था छैन । नयाँ दलहरुको उदयले धक्का खाएको एमाले पनि मिसन ८४ को अभियानमा छ । तर, अब फेरि वाम गठबन्धन हुँदै एकतासम्म पुग्न सके २०७४ सालमा झैं दुई तिहाइ नजिक जित्न सकिने आँकलन नेताहरुको छ ।

    विगतको धोकालाई बिर्सिएर माओवादीसँग सहकार्य गर्ने तहसम्म ओर्लिएका ओली नेकपा एससँग पार्टी एकता नै गर्नेसम्मको तयारीमा रहेको बताइन्छ । अध्यक्ष नेपालले पार्टीको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अफर गर्दा पनि आफूले अस्वीकार गरेको ब्रिफिङ गरेका थिए । देउवाले नेपाललाई घरमै पुगेर भनेका थिए, ‘प्रचण्डले जे मनलाग्यो, त्यही गर्न पाउँदैनन् । हामी चार दल (कांग्रेस, एस, जसपा र जनमोर्चा) मिलेर जाऔं । तपाईंहरू अहिले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिनुस् ।’

    प्रचण्डले धोका दिएपछि देउवाले वैकल्पिक गठबन्धन बनाउने गृहकार्य छाडेका छैनन् । उनले आजैमात्र जनमतका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरी र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई घरमै बोलाएर सहयोग मागिसकेका छन् ।

    आगामी निर्वाचन लक्षित गर्दै पार्टीको अस्तित्व नै संकटमा पर्ने खतरा बढ्दै गएको अवस्थामा प्रचण्ड र नेपाल पनि एमालेसँग सहकार्य गर्न बाध्य भएको बताइन्छ । तर, अहिले सरकारको विषयमा मात्रै छलफल चलेको नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

    वामपन्थी एकता आजको आवश्यकता भएको बताउँदै उनले आफूहरु सधैं खुला रहेको औंल्याए । उनले भने, ‘अहिले सरकारमा सहकार्यको कुरा छ । हामी सबै वामपन्थी एकताको पक्षमा त रहिरहेकै छौं । तर, पार्टी एकताको तहसम्म तत्काल पुग्दैनौं ।’

    त्यसो त नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सुरुदेखि नै एमालेसँग सहकार्यको पक्षमा उभिँदै आएका छन् । वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका नेता खनालले तत्काल एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने बताए ।

    उनले भने, ‘हामीले खास अवस्थामा विद्रोह गरेर अलग पार्टी बनायौं । यत्रो ठूलो पार्टी जुन ढंगले विभाजित भयो । आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहावलोकनका विषयहरु हुन् । एमाले र नेकपा एसबीच विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ र ?’

    नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको उनको भनाइ छ ।

    नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको माओवादीका सचिव देवेन्द्र पौडेल बताउँछन् ।

    उनी भन्छन्, ‘वामपन्थी दलहरु एक होऊन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त स्टेप चालिएको हो । विगतका त्रुटि कमजोरी सच्याएर अघि बढ्नुपर्छ भन्नेबारेमा छलफल छ । कुनै न कुनै बेला ‘ब्रेक थु्र’ गर्न त्यस्तो समय आवश्यक पर्छ । अब हामीले नयाँ अध्याय सुरु गरेका छौं ।’

    उनले बीचमा केही समय अलग भए पनि विगतकै निरन्तरता भएको दाबी गरे ।

    तर, एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अहिले माओवादी र नेकपा एससँग कार्यगत एकतामात्रै भएको दाबी गर्छन् ।

    उनी भन्छन्, ‘यो कार्यगत एकतामात्रै हो । सरकार सञ्चालन गर्न प्रमुख वामपन्थी र अन्य राजनीतिक दलहरुबीच कार्यगत एकता हो । अहिले नै एकताको तहसम्म पुग्ने भन्ने होइन, विभिन्न सम्भावना औंल्याएर एकता हुनसक्छ ।’

    उनले गठबन्धन र सरकारलाई बलियो बनाउन नेकपा एसलाई पनि समेट्न तयार भएको बताए ।

    माओवादी र नेकपा एससँग सुरु भएको कार्यगत एकता पार्टीसम्म पुग्छ कि पुग्दैन भन्ने प्रश्नमा उनले थपे, ‘अब त्यो सम्भावना नै छैन भन्न सकिँदैन । तर, त्यो निकै परको विषय हो । अहिले सरकारमा हामीले कार्यगत एकतामात्रै गरेका हौं ।’

    कम्युनिष्ट पार्टीहरुबीच फेरि सुरु भएको सहकार्य कति टाढासम्म जान्छ भन्ने नीति र कार्यक्रममा निर्भर हुने राजनीतिक विश्लेषक हरि रोक्का बताउँछन् ।

    उनी भन्छन्, ‘फेरि पार्टी एकतासम्म पुग्छ पुग्दैन भन्ने विषय नीति, कार्यक्रम र एजेण्डामा भरपर्छ, उहाँहरुले यसअघि गरेको प्रयास त असफल भयो नि ! पुरानो असफलताबाट सफलतातर्फ लान अब चाहनुहुन्छ कि हुन्न भन्ने कुरा मुख्य हो । पुरानो कुराबाट कति सिक्नुहुन्छ ? त्यसबाट सिक्नुहुन्छ कि हुन्न भन्ने लेखाजोखा गर्नुहुन्छ कि हुन्न भन्नेमा भरपर्छ ।’

    ओली माधव नेपाललाई सहयोग माग्ने तहसम्म ओर्लिनुलाई कसरी बुझ्नुहुन्छ भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘त्यो उहाँहरुमा भरपर्ने कुरा हो । उहाँहरुको एजेण्डामा अहिले एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपाबीच केही फरक त छैन, राजनीतिक र सांगठनिक रुपमा होस् या व्यवस्थापकीय रुपमा पनि ।’

    एजेण्डालाई व्यवस्थित बनाएर जान सक्नसके फेरि पार्टी एकता हुन पनि सक्ने उनको बुझाइ छ ।

  • सुदूरपश्चिममा माओवादीपछि नेकपा एसका मन्त्री पनि बर्खास्त

    सुदूरपश्चिममा माओवादीपछि नेकपा एसका मन्त्री पनि बर्खास्त

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एकीकृत समाजवादीका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई हटाएका छन् ।

    मुख्यमन्त्रीले दुई दिनअघि माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई हटाएका थिए ।

    माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि अब कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात सांसद छन् । सरकार गठनको लागी २७ आवश्यक पर्छ ।

  • नेकपा एसबाट २ मन्त्रीको टुंगो- बुढालाई शहरी, जोशीलाई संघीय मामिला

    नेकपा एसबाट २ मन्त्रीको टुंगो- बुढालाई शहरी, जोशीलाई संघीय मामिला

    काठमाडौं । नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ ।

    नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई पठाउने भएको हो । जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने निश्चित भएको हो ।

    उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ ।

  • सरकारमा जाने निर्णयपछि दुई नेता लिएर माधव नेपाल बालुवाटार लागे

    सरकारमा जाने निर्णयपछि दुई नेता लिएर माधव नेपाल बालुवाटार लागे

    काठमाडौं । सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नको लागि नेकपा एसका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरू बालुवाटार गएका छन्।

    बैठकमा छलफल भएपछि अध्यक्ष नेपाल सहित उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल बालुवाटारतर्फ लागेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

    तीन नेताहरूले वार्ता गरेर फर्किएपछि सरकारमा जानेबारे औपचारिक निर्णय हुने उनले बताए।

  • स्पष्ट भूमिकासहित सरकारमा जाने नेकपा एसकाे निर्णय (भिडिओ)

    स्पष्ट भूमिकासहित सरकारमा जाने नेकपा एसकाे निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्पष्ट भूमिकासहित सरकारमा जाने निर्णय गरेको छ ।

    पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    उनले प्रधानमन्त्रीको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै छलफल गरेपछि मात्रै निर्णय लिने बताए ।

    ‘सरकारलाई समर्थन जनाउँदै सबै कुरा मिलेपछि सरकारमा जाने निर्णय गरेको छ’, खतिवडाले भने, ‘त्यसका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने जिम्मा अध्यक्ष माधव नेपाललाई बैठकले दिएको छ ।’

  • नेकपा एस पनि सरकारमा सहभागी हुने, आजै दुई मन्त्रीको शपथग्रहणको सम्भावना

    नेकपा एस पनि सरकारमा सहभागी हुने, आजै दुई मन्त्रीको शपथग्रहणको सम्भावना

    काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो ।

    नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि छलफल हुने नेताहरुले बताएका छन् ।

    प्रदेश सरकारमा समेत एक मुख्यमन्त्री नेकपा एसले दावी गरेको छ । त्यसमा गठबन्धनका शीर्ष नेता सकारात्मक छन् ।

  • एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छः झलनाथ खनाल (भिडिओ)

    एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छः झलनाथ खनाल (भिडिओ)

    काठमाडौं । नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् ।

    वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गरेका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता खनालले नेताहरूमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको प्रष्ट्याएका छन् ।

    वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने उनको भनाइ छ । सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरूबीच नै एकीकरणको प्रक्रिया सुरू हुने पनि बताए ।

    खनालले भने, ‘अब हामी खास अवस्थामा विद्रोह गरेर अलग पार्टी बनायौं । यी सबै घटनाक्रमहरुको बारेमा र नेकपा आफैँ एउटा बडो शक्तिशाली पार्टी १० लाख भन्दा बढी पार्टी सदस्यहरू भएको पार्टी थियो । दुई तिहाई बहुमत संघीय संसदमा थियो । देशका ६ वटा प्रदेशहरूमा हामीसँग पर्याप्त बहुमत थियो । ४५४ पालिकामा हाम्रो बर्चश्व थियो । यत्रो ठूलो पार्टी जुन ढंगले विभाजित भयो । आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहालोकनका विषयहरू हुन् । र प्रत्येक पार्टीका नेताहरुले यो छाती छामेर बिल्कुल निष्पक्षताका साथ यी चिजहरुको सिंहावलोकन गर्न जरुरी छ । म त्यो सबैलाई आह्वान गर्छु । कमजोरी सबैका भएका छन् । क-कसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो । तर, विगतका कुराहरुको मत भिन्नतामा अल्झेर बस्नु पनि हुन्न ।’

    उनले थपे, ‘एकता भनेको अंकमाल गरेर चाहीँ हुँदैन । एकता भनेको रमाइलोसँग भेटघाट लड्डु आदि इत्यादी खाएर हुँदैन । एकता भनेको वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्छ । त्यसो हुनाले त्यो कुरामा मिल्दै गयो भने एकता हुन्छ । अहिले चाहीँ यो कार्यगत एकता हो हेर्नुस् । कार्यगत एकता आफैंमा एउटा महत्वपूर्ण स्टेप हो । त्यो स्टेपबाट अगाडि बढदै गएपछि कम्युनिष्टहरुको बीचमा, वामपन्थी समूहहरूको बीचमा पार्टी एकीकरणका सम्भावनाहरु बढ्छन् ।’

    सम्मानित नेता खनालले कम्युनिष्टहरूबीचको एकताका लागि नेकपा विभाजनका बेला नेताहरूले आ-आफ्नो ठाउँबाट गल्ती गरेको उल्लेख गर्दै कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

  • नेकपा एसले प्रचण्डको प्रस्ताव स्वीकार्ला कि देउवाको ? आलोकनगरमा निर्णायक बैठक सुरू

    नेकपा एसले प्रचण्डको प्रस्ताव स्वीकार्ला कि देउवाको ? आलोकनगरमा निर्णायक बैठक सुरू

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । एमाले नेतृत्वको गठबन्धनमा सामेल हुने/नहुने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो ।

    नयाँ गठबन्धनमा सहकार्यको लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली भेटेर आग्रह गरेका थिए । आज बस्ने बैठकले सरकारबारे निर्णय गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    बैठकअघि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । त्यसअघि प्रचण्डसँगको भेटमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नयाँ गठबन्धन बनाउँदा सल्लाह नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

    तर, हिजो प्रचण्ड र ओलीको संयुक्त भेटपछि अध्यक्ष नेपाल सकारात्मक भएका छन् ।

    त्यसो त प्रचण्ड सरकारलाई बहुमत पुर्‍याउन रोक्न आज विपक्षी गठबन्धनको प्रस्ताव लिएर कांग्रेस सभापति शेरबहादुर देउवा पनि नेपाल निवास कोटेश्वरमा पुगेका थिए । अहिले नेकपा एसलाई दुवै तर्फको नेताहरूको तानातानमा परेको छ ।

    देउवाले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिन नेपाललाई सुझाव दिएका थिए ।

    ‘प्रचण्डले जे मन लाग्यो त्यही गर्न पाउँदैनन् । हामी चार दल (कांग्रेस, एस, जसपा र जनमोर्चा) मिलेर जाउँ । तपाईंहरू अहिले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिनुस्,’ उनले भने । यसमा नेपालले ठोस जवाफ दिएनन् । तर, त्यसबारे आजको बैठकले निर्णय लिने भएकाले महत्वपूर्णरूपमा लिइएको छ ।

  • नेपाललाई देउवाको आग्रह- हतारमा सरकारमा नजानुस्, हामी चार दल मिलौं

    नेपाललाई देउवाको आग्रह- हतारमा सरकारमा नजानुस्, हामी चार दल मिलौं

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसत्तासहयात्री दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट धोका पाएको गुनासो गरेका छन् । उनले माओवादीले कित्ता फेरे पनि पूर्वगठवन्धनका अन्य चार दल ‘मिलेर जानुपर्ने’ बताए ।

    आज आफ्नी पत्नी आरजुलाई पनि लिएर देउवा नेपाल निवासमा पुगेका थिए । भेटवार्तामा देउवासँग कांगे्रस नेता रमेश लेखक सहभागी थिए भने नेकपा एसबाट प्रवेश हमाल, गंगालाल तुलाधारलगायतका नेताहरू बसेका थिए । स्रोतकाअनुसार भेटको सुरूमा देउवाले प्रचण्डको विषयमा लामै गुनासो गरे ।

    ‘प्रचण्ड विश्वासयोग्य मान्छे होइन रहेछन्, नराम्ररी धोका दिए यार,’ देउवाले भने, ‘हामी सबैलाई गुमराहमा राखेर धोकाधडी गरे ।’

    देउवाको भनाइमा नेपालले पनि समर्थन जनाएका थिए । यस विषयमा आफूले प्रचण्डसँग असन्तुष्टि व्यक्त गरिसकेको उनले सुनाए ।

    त्यसपछि देउवाले माओवादीले गठवन्धन तोडे पनि पूर्वगठबन्धनका अन्य दलहरू एक ठाउँमा उभिनुपर्ने बताए । उनले सीधै नयाँ गठवन्धनको प्रस्ताव भने नराखेको स्रोतको भनाइ छ । उनले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिन नेपाललाई सुझाव दिए ।

    ‘प्रचण्डले जे मन लाग्यो त्यही गर्न पाउँदैनन् । हामी चार दल (कांग्रेस, एस, जसपा र जनमोर्चा) मिलेर जाउँ । तपाईंहरू अहिले सरकारमा जाने विषयमा हतारमा निर्णय नलिनुस्,’ उनले भने ।

    यसमा नेपालले ठोस जवाफ दिएनन् । उनले आज पार्टी सचिवालयको वैठक बोलाएको र त्यसमा छलफल हुने बताए ।

    ‘उताबाट प्रस्ताव आएको छ । तपाईंको कुराप्रति पनि म सकारात्मक नै छु । अब पार्टी बैठकले जे निर्णय लिन्छ त्यही हुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

    बैठकपछि कांग्रेस नेता रमेश लेखकले छलफल सकारात्मक भएको र यसलाई निरन्तरता दिइने बताएका छन् ।

  • देउवा-माधव वार्तापछि रमेश लेखक भन्छन्- कुराकानी सकारात्मक भयो, यसलाई निरन्तरता दिन्छौं (भिडिओ)

    देउवा-माधव वार्तापछि रमेश लेखक भन्छन्- कुराकानी सकारात्मक भयो, यसलाई निरन्तरता दिन्छौं (भिडिओ)

    काठमाडौं । वैकल्पिक सत्ता गठवन्धनको निर्माणमा अग्रसर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् । भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले कुराकानी सकारात्मक भएको बताए ।

    उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो । सकारात्मक कुराकानी भएको छ । यसलाई निरन्तरता दिन्छौं ।’

  • बालुवाटार पुगे झलनाथ: प्रचण्डले भने- के के मा सहमति गरेर जान पर्छ गरौंला

    बालुवाटार पुगे झलनाथ: प्रचण्डले भने- के के मा सहमति गरेर जान पर्छ गरौंला

    काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । कोटेश्वर निवासमा माधवकुमार नेपालसँग कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्ताबीच बालुवाटारमा प्रचण्ड-झलनाथको भेट भएको हो ।

    भेटमा प्रचण्डले नयाँ गठबन्धनमा आएर सरकारमा सहभागी हुन आग्रह गरेको खनालले बताए ।

    प्रचण्डको भनाइ उद्धृत गर्दै खनालले नेपाल प्रेससँग भने, ‘के-के मा सहमति गरेर जान पर्छ गरौंला । हामी मिलेर अघि बढ्नुपर्ने अवस्था छ ।’

    खनालले हिजोमात्र नयाँ गठबन्धनबाट औपचारिक प्रस्ताव आए सरकारमा जान सकिने बताएका थिए ।

    साँझ प्रचण्ड-ओली नेकपा एसलाई गठबन्धनमा सामेल हुन आग्रह गर्दै कोटेश्वर निवास पुगेका थिए ।

  • माधव नेपाल निवासमा शीर्ष नेताहरूको दौडधूप: आरजुसहित पुगे देउवा

    माधव नेपाल निवासमा शीर्ष नेताहरूको दौडधूप: आरजुसहित पुगे देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेकपा एसका अध्यक्ष माधव नेपालको निवास  पुगेका छन् ।

    नेपाललाई भेट्न देउवा पत्नी आरजु राणासहित माधव निवास पुगेका हुन् । देउवाले मंगलबार साँझ नेपाललाई फोन गरेर आफू भेट्न आउने जानकारी गराएका थिए ।

    यसअघि राति नै एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई भेट्न उनको निवास पुगेका थिए ।

    प्रचण्ड ओलीले भेटेको भोलिपल्टै नेपाललाई भेट्न देउवा गएका हुन् । आफूलाई जानकारी नदिई प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेकोमा माधव नेपाल असन्तुष्ट छन् ।

    अर्कोतिर कांग्रेसले प्रचण्ड सरकार ढाल्न वैकल्पिक गठबन्धनको प्रयास गर्न थालेपछि प्रचण्ड र केपी ओली माधव नेपाललाई कांग्रेसतिर जान नदिन सक्रिय भएका छन् ।

  • औपचारिक प्रस्ताव आए सरकारमा संलग्न हुन्छौँ : झलनाथ खनाल (भिडिओ)

    औपचारिक प्रस्ताव आए सरकारमा संलग्न हुन्छौँ : झलनाथ खनाल (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी पनि सहभागी हुनसक्ने बताएका छन् ।

    सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले औपचारिक प्रस्ताव गरे आफ्नो पार्टी सरकारमा संलग्न भएर जान सक्ने बताएका हुन् ।

    मंगलवार अपराह्न डल्लुस्थित आफ्नै निवासमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारमा सहभागी हुनका लागि सत्तारुढ गठबन्धनले आफ्नो पार्टीसँग सम्मानजनक ढंगले वार्ता गर्नुपर्ने शर्त समेत राखे ।

    बुधवार (भोलि) बिहान सो पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।

    नेता खनालले नीतिगत, कार्यक्रमिक, योजना र भिजनमा गठबन्धनले यसरी जान्छौँ भन्ने खाका प्रस्तुत गरे सरकारमा जान कुनै समस्या नहुने प्रारम्भिक प्रतिक्रिया दिए । सरकारमा जानका लागि सत्तारुढ गठबन्धनसँग याचना नगर्ने उनको अडान थियो ।

    सम्मानित नेता खनालले सत्तारुढ गठबन्धनले सहमतिका साथ जानका लागि गरिएको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार नगर्ने पनि बताए ।

    सम्मानित नेता खनालले आफ्नो पार्टीले वाम एकताको पक्षमा भइरहेको प्रयत्नलाई झनै प्रखर ढंगले अघि बढाउने बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकलाई संकटबाट जोगाउने आशा आफूहरूमा पलाएको समेत बताए ।

  • प्रचण्डसँग झोक्किए माधव नेपाल : आफूखुसी सबै निर्णय गर्नुभयो, गणित असहज भएपछि म चाहियो ?

    प्रचण्डसँग झोक्किए माधव नेपाल : आफूखुसी सबै निर्णय गर्नुभयो, गणित असहज भएपछि म चाहियो ?

    काठमाडौँ । बालुवाटारमा चलिरहेको नवगठबन्धन बैठक छोडेर आफ्नो निवासमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले तीव्र असन्तुष्टि पोखेका छन् । आफूसँग कुनै सरसल्लाह नगरी सबै निर्णय गरेको र अप्ठेरो परेपछि खोज्दै आएको भन्दै उनी प्रचण्डसँग झोक्किए ।

    प्रचण्डले माधव नेपाललाई थाहै नदिईकन एमाले, रास्वपा र जसपासँग नयाँ सहमति गरेका थिए । भोलिपल्ट चार दलबिच नयाँ गठबन्धन बनेको समाचार आउँदासम्म नेपाल लगायत नेकपा एसका नेताहरुलाई पत्तो थिएन । दुई दिन अस्पताल बसेर अस्ति साँझ घर फर्केका नेपाल बेड रेस्टमै थिए । तर, बिहानदेखि नै उनको घरमा नेताहरूको लर्को लाग्यो ।

    बिहान बसेको माओवादी पदाधिकारी बैठकले नेकपा एसलाई पनि गठबन्धनमा समेट्ने निर्णय गरेपछि नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न आएका थिए । उनले यस्तो यस्तो कुरा भएको छ भनेर जानकारी गराउँदै नेकपा एसलाई पनि गठबन्धनमा सामेल हुन आग्रह गरे । नेपालले पार्टीमा सल्लाह गर्छु भनेर फर्काए ।

    दिउँसो आफ्नै घरमा नेपालले पार्टीको सचिवालय बैठक बोलाए । बैठकले ठोस निर्णय लिन सकेन । पर्खने र हेर्ने भन्दै नेताहरू उठे । बेलुका फेरि प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ भेट्न आएका हुन् ।

    कुराकानीको सुरुवातमा नेपाल प्रचण्डसित आक्रोशित बनेका थिए ।

    नेपालले भने, ‘तपाईँ हामीसित सल्लाह नगरी, नसोधी आफूखुसी गर्दै हिँड्ने । अहिले अप्ठेरो परेपछि हामीलाई खोज्दै आउने ? बिहानसम्म भागबन्डाको कुरा के गर्ने भनेर नभन्ने । कुरा गर्छु, भेट्छु मात्रै भन्ने । अहिले जसपाको भर नभएपछि संख्या पुर्‍याउन सकस भएर नेकपा एस चाहिने ? यो विल्कुलै वामपन्थी चरित्र भएन ।’

    माधव नेपालको आक्रोशले प्रचण्ड सुरुमै ब्याक फुटमा आए । प्रचण्ड र नारायणकाजीले नेपालको रिस शान्त गर्ने प्रयास गरे ।

    ‘अहिलेसम्म जे भयो भयो । अब तपाईँले जे भन्नुहुन्छ, जसरी जाऊँ भन्नुहुन्छ, जस्तो किसिमको सहमति गरौँ भन्नुहुन्छ, त्यही अनुसार गर्छौँ । एमाले पनि सकारात्मक छ । अहिलेको आठ बुँदेको चिन्ता नगर्नु । तपाईंहरुलाई पनि सहभागी गराएर आठ बुँदे परिमार्जन गर्न सकिन्छ । मन्त्रालयको बाँडफाँड पनि तपाईँहरू आएपछि मात्रै टुंगो लगाउने हो ।’

    उनीहरूले यति भनेपछि नेपाल अलि लचिलो भए । उनले सम्मानजनक स्थान दिइएमा सोच्न सकिने बताए । यस विषयमा पार्टीमा छलफल गरेर निर्णय लिने उनको भनाइ थियो ।

    स्रोतका अनुसार प्रचण्ड–नारायणकाजीले कम्युनिष्टहरु मिल्नुपर्ने भन्दै वामपन्थी एकतादेखि नेकपा ब्युँताउन सकिनेसम्मको कुरा गरेका थिए । विगतमा गरेका गल्तीबाट सबैले चोट खाएको भन्दै अब त्यसलाई दोहोर्‍याउन नहुनेमा जोड दिए ।

    नेकपा एस निकट स्रोतले छलफल सकारात्मक रूपमा टुंगिएको बताएको छ । यद्यपि नेकपा एसको उपस्थितिबिनै राष्ट्रियसभाको अध्यक्ष–उपाध्यक्ष लगायत थुप्रै महत्त्वपूर्ण सहमति भएकाले यो सबै पुनरावलोकन हुनुपर्ने अडान पार्टीले लिने छ । मन्त्रिपरिषदमा पनि सम्मानजनक उपस्थिति खोजिने एक नेताले बताए ।

    ती नेताले भने, ‘अध्यक्षज्यूले वचन त दिइसक्नु भएको छैन । तर नयाँ गठबन्धनमा जाने खालको वातावरण चैं अब बन्यो ।’

    स्मरणीय छ कि नेकपा एसले समर्थन गरेन भने सरकार झिनो बहुमतमा हुने छ । उपेन्द्र यादवको जसपा निर्णायक शक्ति बन्न सक्छ । जसपाले उच्चतम बार्गेनिङ गर्न सक्ने वा विभिन्न बहानामा निहुँ खोजिरहन सक्ने भएकाले गठबन्धनमा नेकपा एसलाई स्वागत गर्न खोजिएको हो ।

  • बालुवाटार बैठकबाट माधवलाई ओलीको फोन- म आउन पाइनँ, प्रचण्डजीले गर्ने कुरा मेरो पनि हो है

    बालुवाटार बैठकबाट माधवलाई ओलीको फोन- म आउन पाइनँ, प्रचण्डजीले गर्ने कुरा मेरो पनि हो है

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको सम्बन्धमा छाएको तिक्तता अब मेटिने संकेत देखिएको छ । पार्टी विभाजनयता पहिलोपटक हिजो ओलीले नेपाललाई फोन गरे ।

    गठबन्धनको सहमतिलाई मुर्तरूप दिन हिजो बालुवाटारमा बसेको बैठकमा सरकारलाई सहज बहुमत पुर्‍याउनका लागि नेकपा एसलाई पनि समेट्नुपर्ने छलफल भएको थियो । त्यसपछि अन्य नेताहरूसँगको सल्लाहमा प्रधानमन्त्री प्रचण्ड र माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपाल निवास हिँडे ।

    प्रचण्ड हिँडेपछि ओलीले वैठकबाटै नेपाललाई फोन गरेका हुन् । उनले सुरूमा नेपाललाई स्वास्थ्यलाभको कामना गरेका थिए ।

    ‘अस्वस्थ हुनुहुँदो रहेछ । स्वास्थ्यलाभको कामना छ’ भनेपछि नेपालले धन्यवाद दिए । त्यसपछि ओलीले भने, ‘म आउन पाइनँ । प्रचण्डजी आउँदै हुनुहुन्छ । उहाँले राख्ने कुरा मेरो पनि हो है ।’

    नेपालले भने, ‘ठीक छ, छलफल गर्न सकिन्छ ।’

    नेताहरूबीच दुई-तीन मिनेट मात्रै कुरा भएको थियो । ओलीले फोन गरेको केही मिनेटमै प्रचण्ड नेपाल निवासमा आइपुगेका थिए ।

    प्रचण्डले रातारात गठवन्धन फेर्दा माधव नेपाललाई उपेक्षा गरेका थिए । त्यसबाट असन्तुष्ट बनेका नेपाललाई फकाउन प्रचण्ड गएका हुन् । हिजो माओवादी वैठकले गठवन्धनमा एसलाई पनि समेट्नुपर्ने निर्णय गरेको थियो । एमाले पनि नेकपा एसलाई समेट्न सकारात्मक बनेको छ ।

  • झलनाथलाई प्रश्न- तपाईंहरूलाई प्रचण्डले पटक पटक धोका दिँदै ‘बाइपास’ गरेको देखियो नि ! (भिडिओ)

    झलनाथलाई प्रश्न- तपाईंहरूलाई प्रचण्डले पटक पटक धोका दिँदै ‘बाइपास’ गरेको देखियो नि ! (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गठबन्धनप्रति टीकाटिप्पणी नगर्ने बताएका छन् ।

    प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन टुटाएर नयाँ बनाएपछि तपाईंहरुलाई त प्रचण्डले पटक पटक धोका दिँदै बाइपास गरेको देखियो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘हामी अहिले कसैको पनि धेरै टीकाटिप्पणी गर्दैनौं ।’

    उनले आफ्नो पार्टी स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न क्रान्तिकारी भएकाले नेपालको समाजवादी क्रान्ति र रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘यो लाग्ने क्रममा अन्य वामपन्थी साथीहरु पनि साझा कार्यक्रम र नीतिहरुमा एकता गरेर जाने स्थिति बन्यो भने हामी खुला छौं । तर, अहिले आफ्नो पार्टीलाई सुदृढ बनाउन लागिरहेका छौं ।’

    उनले पुरानो गठबन्धन टुटिसकेकाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु बिदा भएर आउने बताए ।

  • आफ्ना मन्त्रीहरूलाई मन्त्रालयबाट बिदा हुन नेकपा एसको निर्देशन (भिडिओ)

    आफ्ना मन्त्रीहरूलाई मन्त्रालयबाट बिदा हुन नेकपा एसको निर्देशन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ। प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएपछि अन्योलमा रहेको नेकपा एसले नयाँ मन्त्रीको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको हो ।

    सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले भने, ‘प्रधानमन्त्रीले हाम्रा मन्त्रीजीहरूलाई के भन्नुभयो त्यो थाहा भएन । तर, हामीले अहिले नयाँ मन्त्रीहरूको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिइसकेका छौं ।’

    प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एसबाट कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् । त्यस्तै नन्दा चपाईँ भौतिकमै राज्यमन्त्री छिन् ।

  • नवगठबन्धनबारे नेकपा एस ‘पर्ख र हेर’ मा, झलनाथ भन्छन्- कुनै निर्णय गरेनौं (भिडिओ)

    नवगठबन्धनबारे नेकपा एस ‘पर्ख र हेर’ मा, झलनाथ भन्छन्- कुनै निर्णय गरेनौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणबारे तत्काल कुनै निर्णय नगर्ने भएको छ । सचिवालय बैठकपछि सम्मानित नेता झलनाथ खनालले अहिले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए ।

    उनले भने, ‘यो नयाँ गठबन्धनका नीति र कार्यक्रम के हुन्छन् । यसको प्रक्रिया र चरित्र के हो ? त्यो थाहा पाएको छैन । त्यसबारेमा उहाँहरूले कुराकानी गर्नुभयो भने भने हामीले फाइनल दृष्टिकोण बनाउन मिल्छ ।’

    उनले प्रधानमन्त्री प्रचण्डले यो गठबन्धनबारे कुनै छलफल नगरेको बताए । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले नेकपा एसलाई पनि सँगै लैजाने निर्णय गरेको थियो । यसमा एमालेको धारणा भने बाहिर आएको छैन ।

    बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेका कदमको सम्भावना, राम्रा नराम्रा पक्षहरूको विश्लेषण गरेरमात्रै निर्णय गर्ने बताए । उनले भने, ‘आजमात्रै अप्रत्यासित रूपमा घटना घटेकाले धेरै कुरा प्रष्ट हुन बाँकी छ ।’

    समीकरण फेरिएपछि सरकारमा रहेका मन्त्रीहरूले सरकार छाड्नु स्वाभाविक भएको उल्लेख गर्दै त्यसलाई कुनै अन्यौलतको रूपमा नलिएको खतिवडाले सुनाए ।

  • नयाँ गठवन्धनबारे निर्णय गर्न नेकपा एसले बोलायो सचिवालय वैठक

    नयाँ गठवन्धनबारे निर्णय गर्न नेकपा एसले बोलायो सचिवालय वैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज ३ बजे सचिवालय बैठक बोलाएको छ । अचानक बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्री प्रचण्डले सत्ता समिकरणमा फेरबदल गरेसँग नेकपा एस कुन ध्रुव हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । माओवादी वैठकले आज नेकपा एसलाई पनि नयाँ समीकरणमा समेट्ने निर्णय लिएको थियो । यसैका विषयमा छलफल गर्न पार्टी कार्यालयमा बैठक डाकिएको हो ।

    पार्टी महासचिव घनश्याम भुसालले भने, ‘हामी यसको यसको उद्देश्य र प्रक्रियालाई हेरेर आवश्यक निर्णय लिनेछौं ।’