Category: नेकपा एस

  • कमजोर ठानेर अपमान गरे सत्ता समीकरणमा उथलपुथल ल्याइदिने माधव नेपालको चेतावनी

    कमजोर ठानेर अपमान गरे सत्ता समीकरणमा उथलपुथल ल्याइदिने माधव नेपालको चेतावनी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा अर्को उथलपुथल ल्याइदिने चेतावनी दिएका छन् ।

    गृह जिल्ला रौतहटको गौर नगरपालिका- २ महादेवपट्टीस्थित लालबकैया नदीमा निर्मित मधेश प्रदेशकै दोस्रो लामो झोलुङ्गे पुल शुक्रबार उद्घाटन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई कमजोर नठान्ने चेतावनी दिएका हुन् ।

    उनले आफूले देशका ठूला हस्ती राजा वीरेन्द्रदेखी ज्ञानेन्द्रसम्म, गणेशमान सिंहदेखि कृष्णप्रसाद भट्टराईसम्म, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएकाले आफू र आफ्नो पार्टीलाई कमजोर नठान्न चेतावनी दिए ।

    पूर्वप्रधानमन्त्री रहेका नेपालले आफूहरुको आफ्नै स्वाभीमान, पहिचान, मूल्य मान्याता र महत्व रहेकोले हल्का रुपमा नलिन सचेत गरे ।

    ‘हामी कसैको दास होइनौं र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौं, त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता ग¥यो भने उसले ठूलो मूल्य चुकाउनुपर्छ’, नेता नेपालले भने, ‘हाम्रो आफ्नै स्वाभीमान र महत्व छ । त्यसैले यो कुरा बुझ्यो भने ठीक छ, नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

  • उपनिर्वाचन : धर्मगुरू आत्मानन्द लिङदेनको सहयोग खोज्दै शेखरपछि झलनाथ पनि पुगे

    उपनिर्वाचन : धर्मगुरू आत्मानन्द लिङदेनको सहयोग खोज्दै शेखरपछि झलनाथ पनि पुगे

    काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर राजनीतिक दलका शीर्ष नेताहरूले किरात धर्मगुरु आत्मानन्द लिङदेनसँग दर्शनभेट बढाएका छन्। इलाम २ मा हुने उपनिर्वाचनमा किराँत धर्मको राम्रो प्रभाव पर्ने भएकाले नेताहरूले भेट बढाएका छन्।

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि शुक्रवार लिङदेनलाई भेट्न पुगे। इलामको माङसेबुङ ५ स्थित गुरु निजी आश्रममा खनालले धर्मगुरुसँग वार्ता गरेका हुन्।

    खनालसँग कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगु र कोशी प्रदेशका पूर्वमन्त्री खिनु लङ्वा पनि सहभागी थिए। गठबन्धनमा आबद्ध नेकपा एसले इलाम २ मा आफ्नै उम्मेदवार उठाएको छ।

    सत्ता गठबन्धनमा आबद्ध नेकपा एसले इलाम जीतबहादुर राईलाई उम्मेदवार बनाएको छ। खनालले भेटेर धर्मगुरुसँग आफ्नो उम्मेदवारको पक्षमा सहयोग गर्न आग्रह गरेको बताइन्छ।

    धर्मगुरुकहाँ केही दिन अघि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पनि पुगेका थिए। उनले आफ्नो पार्टीले अगाडि सारेका उम्मेदवार डम्बर खड्काको पक्षमा खुल्न आग्रह गरेर फर्किएका थिए। त्यसो त अघिल्लो निर्वाचनमा पनि खड्कालाई नै धर्मगुरुले समर्थन गरेको चर्चा छ।

    यद्यपि, एमालेका सुवास नेम्वाङसँग १४४ मतले पराजित भएका थिए। त्यहाँ अहिले एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ भने रास्वपाले मिलन लिम्बु र पहिचानवादीहरूको तर्फबाट डकेन्द्रसिंह थेगीम चुनावी प्रतिस्पर्धामा छन्। थेगीमलाई धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले पनि समर्थन गरेका छन्।

    दलहरूले इलाम २ को निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर प्रस्तुत हुँदा करिब ५ हजार मत प्रभाव पार्न सक्ने धर्मगुरुसँग भेट बढाएका छन्।

    इलामको चुनावी सभालाई एमालेका अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गरिसकेका छन् भने रास्वपाका सभापति रवि लामिछाने शुक्रवारदेखि घरदैलोमा खटिएका छन्। यस्तै, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वाप्रकाश शर्माले पनि आज इलामको चुनावी सभालाई सम्बोधन गर्दैछन्।

  • महाधिवेशन असारमा सार्ने नेकपा एसको निर्णय (भिडिओ)

    महाधिवेशन असारमा सार्ने नेकपा एसको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशन सार्ने निर्णय गरेको छ।

    पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन सार्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

    उनका असार १६ देखि २० गते काठमाडौंमा १० औं महाधिवेशन हुनेछ।

    उनले भने- धेरै आन्तरिक तयारीहरूका कारणले संगठनको तलबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठहराएर महाधिवेशन सारेका हौँ।

  • नेकपा एसले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने

    नेकपा एसले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    अहिले पनि सचिवालय बैठक जारी रहेको छ । बैठकमा पार्टीको १० औं महाधिवशेनकाे तयारी लगायतका विषयमा छलफल भइरहेको  छ।

  • राजेन्द्र पाण्डेको टिप्पणी: प्रचण्ड–ओलीले गठबन्धनको जरा काट्न थाले, देशभरि समस्या सिर्जना हुन सक्छ

    राजेन्द्र पाण्डेको टिप्पणी: प्रचण्ड–ओलीले गठबन्धनको जरा काट्न थाले, देशभरि समस्या सिर्जना हुन सक्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश नेतृत्वको सरकारको नेतृत्व आफूहरूलाई दिने सहमति फेरेर गठबन्धनको जरा काट्न सुरु गरेको टिप्पणी गरेका छन्।

    प्रधानमन्त्री प्रचण्ड र ओलीले नेकपा एसलाई आफ्नो पार्टीको ब्रान्च अफिसजस्तो व्यवहार गरेकाले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस समर्थित गठबन्धनको पक्षमा उभिएको बताए।

    उनले नेपाल प्रेससँग भने- हाम्रो अध्यक्ष प्रचण्ड र ओलीजीले गएको १९ गते सुदूरपश्चिम प्रदेशको नेतृत्व तपाईंहरुलाई भनेर घोषणा गरेका थिए। तर, त्यो कुरा कार्यान्वयन गर्नुको सट्टा सुदूरपश्चिमको मुख्यमन्त्री रञ्जिताजीको पार्टीलाई भनेर घोषणा गर्नुभयो। त्यसपछि हाम्रो अध्यक्षले एक दिन दिने अर्को दिने नदिने पटक पटक कुरा फेर्ने दुई वटा पार्टी मिल्ने हामीमाथि शासन गर्ने, समाजवादी पार्टी उहाँहरूको ब्रान्च अफिस होइन। ब्रान्च होइन। उहाँहरूले आफ्नो ब्रान्चलाई निर्देशन दिएझैँ गरेर दिनुभयो। त्यसपछि अध्यक्ष कमरेडले चित्त बुझाउनुभएन। त्यो निर्णयको आपत्ति जनाएर बालुवाटारबाट फर्केपछि सुदूरपश्चिमका साथीहरूलाई यस्तो व्यवहार भयो भन्ने सुनाइदिनुभयो त्यसपछि उहाँहरूले आफैँ निर्णय लिनुभयो।

    आफूहरू नयाँ ढंगले अघि बढेपछि प्रधानमन्त्री प्रचण्ड र ओलीसँग त्यसबारेमा थप छलफल नभएको बताए।

    उनले भने- सुदूरपश्चिम प्रदेश सरकार बनाउने विषयमा ओली र प्रचण्डजीले जे व्यवहार देखाउनुभयो। त्यो व्यवहारले देशैभरि समस्या सिर्जना हुनसक्छ भन्ने कुरा उहाँहरूले सोच्नुभएन जस्तो लाग्छ।

    भनेपछि यही समीकरण अनुसार अब अन्य प्रदेशदेखि केन्द्रसम्मै आउन सक्छ ? भन्ने जिज्ञासामा उनले थपे- हामी नयाँ ढंगबाट अगाडि बढेपछि माओवादी र एमाले सन्चो मानेर बस्यो भने केन्द्रको छुट्टै तल छट्टै ढंगबाट चल्न सक्छ। उहाँहरूले सन्चो मान्नुभएन भने कुरा नयाँ ढंगबाट जान्छ। जरा काटेपछि रुखको टुप्पोको पात आफैँ सुक्छ। त्यसैले गठबन्धनको जरा काट्न सुदूरबाट सुरू भयो।

    नेकपा एस नयाँ ढंगले अघि बढेपछि मधेश, बागमती र लुम्बिनी प्रदेशमा पनि सरकार फेरिन सक्छ । त्यसो त नेकपा एसका अध्यक्ष माधव नेपाललाई संघ र प्रदेश सबैतिर कांग्रेससँग मिल्न दबाब बढिरहेको छ । कोशीमा नेकपा एसले गठबन्धनबाट विद्रोह गरेपछि ओलीले नेकपा एसलाई दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट गरेको आरोप लगाइसकेका छन् ।

  • संघ र प्रदेश सबैतिर कांग्रेससँग मिल्न माधव नेपालमाथि दबाब, कोशी र सुदूरपश्चिम ‘टेस्ट केस’

    संघ र प्रदेश सबैतिर कांग्रेससँग मिल्न माधव नेपालमाथि दबाब, कोशी र सुदूरपश्चिम ‘टेस्ट केस’

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालमाथि संघ र प्रदेशमा वर्तमान सत्ता गठबन्धनविरुद्ध उभिन दबाब बढेको छ । उपाध्यक्ष तथा संसदीय दलका उपनेता राजेन्द्र पाण्डे, मेटमणि चौधरीलगायतका नेताहरूले गठबन्धनको विकल्प सोच्न दबाब बढाएका हुन् ।

    सुदूरपश्चिममा कांग्रेस गठबन्धनमा नेकपा एसका प्रदेश सांसदहरूले हस्ताक्षर गरे लगत्तै अन्य प्रदेशमा पनि समर्थन फिर्ता लिन दबाब बढिरहेको पाण्डेले बताए । उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति पालना गर्ने सम्भावना पनि नदेखिएको दाबी गरे ।

    गण्डकीबाहेक अन्य प्रदेशमा नेकपा एसको कम्तीमा एक सीटदेखि बढीमा ७ सीटसम्मको उपस्थिति छ । बागमतीमा नेकपा एस निर्णायक संख्यामा रहेका कारण बागमती वा सुदूरपश्चिमको मुख्यमन्त्री पाउनुपर्ने बटमलाइन रहेको उनले बताए ।

    नेकपा एसका सचिव समेत रहेका सांसद मेटमणि चौधरीले संघीय सरकारबाट पनि पार्टी बाहिरिने सम्भावना बढेको बताए । नेकपा एस बाहिरिएपछि जसपा पनि सरकारमा नरहने र प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेससहितको समर्थनमा माधव नेपाल प्रधानमन्त्री बन्ने परिस्थिति आउने उनको दाबी छ ।

    यो पनि पढ्नुहोस्- वैकल्पिक गठबन्धनको गणितले बढाएको माधव नेपालको ‘बार्गेनिङ पावर’

    सुदूरपश्चिमको मुख्यमन्त्री दिने अडानबाट ओली र प्रचण्ड पछि हटेर नागरिक उन्मुक्तिलाई दिएपछि माधव नेपाल सोमबार बालुवाटार बैठक छाडेर हिँडेका थिए । त्यस लगत्तै प्रदेश सरकार गठनमा नागरिक उन्मुक्तिकै रेशम चौधरी पक्षलाई कांग्रेस र नेकपा एसले समर्थन जनाएका थिए ।

    प्रदेश सरकार गठनका लागि नाउपाका २ जनाको अलग अलग दाबी आएपछि प्रदेश प्रमुखले कानूनी परामर्श गरिरहेका छन् । स्रोतका अनुसार माधव नेपालले यही मौकामा ओली र प्रचण्डमाथि पनि दबाब बढाइरहेका छन् ।

    यसअघिको समझदारी अनुसार मुख्यमन्त्री नपाएको र राष्ट्रिय सभा उपाध्यक्ष पनि नपाएको भन्दै नेकपा एसले गठबन्धन छाड्न सकिने धम्की दिइरहेको छ । उसले संघीय सरकारमा थप एक मन्त्री पाउनुपर्ने अडान समेत कायमै राखेको छ ।

    प्रचण्डले पटक पटक धोका दिएको भन्दै माधव नेपाललाई यो सरकारमा सहभागी नहुन केही नेताले दबाब दिएका थिए । तर अहिले विपक्षमा रहँदा वाम एकता विरोधी आरोप लाग्ने र बाँकी रहेका धेरै नेता कार्यकर्ता एमालेमा फर्किने भयले नेपालले नचाहेरै पनि गठबन्धनलाई साथ दिएका थिए ।

    उनी जसरी पनि संसदको यसै कार्यकालमा प्रधानमन्त्री बन्न चाहन्छन् । अहिलेको १० सीटको शक्ति रहँदै प्रधानमन्त्री नबन्ने हो भने फेरि कहिल्यै मौका आउँदैन भन्ने बुझेका नेपालले यसअघिको गठबन्धनमा १८ महिनाको आलोपालोमा लिखित सहमति गराएका थिए ।

    प्रचण्डपछि आफ्नो पालो आउने भनेर बसेका नेपाल अचानक ओली र प्रचण्ड मिलेर नयाँ गठबन्धन बनाएपछि आक्रोशित बने । उनलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राख्दै ओली र प्रचण्डसँग नजान आग्रह नै गरेको थियो । तर तत्कालका लागि पार्टीभित्र दबाबमा परेको भन्दै उनले कांग्रेसलाई बाध्यता सुनाएका थिए ।

    ओली र प्रचण्डले घरमै गएर फकाए पनि नमानेका नेपालले आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने पहिलोको सम्झौता प्रचण्डलाई सर्तका रूपमा अघि सारेका थिए । मौखिकरुपमा दुवै नेताले हुन्छ भने पनि माधव नेपाल ढुक्क हुन सकेका छैनन् ।

    नेपाल आफ्नो प्रधानमन्त्री सुनिश्चित नहुने भएपछि निकै अलमलमा छन् । अहिले सरकारमा रहे पनि उनले प्रदेशमा फरक अडान कायमै राखेका छन् । कोशीमा पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा नेकपा एसले लिएको छैन ।

    माओवादीले इलाम २ मा एमालेलाई समर्थन जनाएर उम्मेदवारी दिएन । तर नेकपा एसले इलाम र बझाङ दुवै ठाउँमा आफ्ना उम्मेदवार उठाएको छ । ढिलोमा असारसम्म अहिलेको गठबन्धनबाट नेकपा एस बाहिरिने प्रमुख सचेतक समेत रहेका नेकपा एसका नेता चौधरीको दाबी छ ।

    नागरिक उन्मुक्ति पार्टी रेशम वा रन्जिता कसको कब्जामा जान्छ,त्यसको वैधानिक टुंगो भएपछि राजनीतिले फरक कोर्ष लिने दाबी समेत गरिएको छ । किनकि एमाले, माओवादी र रास्वपाबाहेकको बहुमत जुटाउन सग्लो नागरिक उन्मुक्ति आवश्यक पर्छ । जसपा भने नेकपा एस बाहिरिएलगत्तै बाहिरिन तयार रहेको दाबी नेताहरूको छ ।

  • उपनिर्वाचन : नेकपा एसबाट झलनाथ र गरिमा तोकिए कमाण्डर

    उपनिर्वाचन : नेकपा एसबाट झलनाथ र गरिमा तोकिए कमाण्डर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमाण्डर’ तोकेको छ ।

    प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं – २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकिएको हो ।

    चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उहाँहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए ।

    पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ ।

  • ०४७ देखिकै भ्रष्टाचार छानबिन गर्ने भए कारबाही गर्ने गरी गरौँ, उम्काउन होइन : राजेन्द्र पाण्डे

    ०४७ देखिकै भ्रष्टाचार छानबिन गर्ने भए कारबाही गर्ने गरी गरौँ, उम्काउन होइन : राजेन्द्र पाण्डे

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले ०४७ सालदेखि कै भ्रष्टाचार छानबिन गर्ने कुरामा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै भ्रष्टाचारको छानबिन उम्काउने गरी नभई कारबाही गर्ने गरी गर्नुपर्ने बताए।

    उनले भने- सहकारी र भ्रष्टाचारको छानबिन गर्ने कुरा जोडदार उठिरहेको बेलामा ०४७ सालदेखि कै भ्रष्टाचार छानबिन गर्नु कुरा पनि आयो। हाम्रो पार्टीको तर्फबाट भन्छु यो भ्रष्टाचार छानबिनको काम गरौँ, दोषीहरूलाई कारबाही गर्न कुरामा ध्यान दिने गरी कारबाही गर्ने गरी छानबिन गरौँ, उम्काउने गरी होइन।

    सहकारी ठगीको विषयमा छानबिन गर्दै विपक्ष दलले संसद अवरोध गरिरहेको विषयमा सार्थक वार्ता गरी गतिरोध अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए।

  • राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एसले पनि एमालेलाई मत दिने

    राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एसले पनि एमालेलाई मत दिने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ।

    उपाध्यक्षका लागि १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा हुने मतदानमा नेकपा एसले पनि दिने भएको हो।

    गठबन्धनमा भएको सहमति अनुसार एमालेकी उम्मेदवार घिमिरेलाई मत दिने नेकपा एसकी उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले बताइन्।

    यसअघि उपाध्यक्षमा नेकपा एसले पनि दाबी गर्दै आएको थियो। एमालेकी उम्मेदवार घिमिरेसँग कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछिन्।

    ५९ सदस्यीय राष्ट्रिय सभामा जित्नको लागि ३० मत आवश्यक पर्छ। माओवादीका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन्।

  • राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एसको दाबी कायमै, बालुवाटारमा सहमतिको प्रयास

    राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एसको दाबी कायमै, बालुवाटारमा सहमतिको प्रयास

    काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एसले दाबी नछाडेपछि तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास जारी छ । आजै उपाध्यक्ष पदमा मनोनयन गर्ने कार्य तालिका छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

    यसअघि सत्ता गठबन्धन फेर्ने बेला नेकपा एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एस थपिएपछि सो बुँदा तत्कालका लागि हटाइएको थियो ।

    राष्ट्रिय सभामा रास्वपाको भने प्रतिनिधित्व छैन । नेकपा एसले राष्ट्रिय सभा उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी छाडेको छैन । एमालेले विमला घिमिरेलाई उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    एमालेका एक नेताले भने, ‘माधव नेपालको असन्तुष्टिले सीमा नाघिसक्यो । अनुहार पनि कहिल्यै उज्यालो छैन । यो चाहियो,त्यो चाहियो भन्नेबाहेक अरू कुनै कुरा छैन । हैसियत १० सीटको छ तर माग राख्ने चाहिँ एमालेकै अध्यक्ष हुँ जसरी प्रस्तुत हुन्छन् । निहुँ खोज्नेबाहेक केही देखिएन । राष्ट्रिय सभा उपाध्यक्षका लागि धेरै मरिहत्ते नगर्ने सोच हाम्रो नेतृत्वमा देखिन्छ ।’

    राष्ट्रिय सभामा नेकपा एसका ८ सांसद छन् । माओवादी केन्द्रका १७ र नेकपा एमालेका वामदेव गौतमबाहेक ९ तथा जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छन् ।

  • कोशीमा सरकार फेर्न गठबन्धन दलमा छलफल : राजेन्द्र राई नआएपछि बैठक स्थगित

    कोशीमा सरकार फेर्न गठबन्धन दलमा छलफल : राजेन्द्र राई नआएपछि बैठक स्थगित

    विराटनगर । कोशी प्रदेशमा सरकार फेर्ने विषयमा गठबन्धनका दलहरू छलफलमा जुटेका छन् । उक्त छलफलमा एमाले र माओवादीका नेताहरू सहभागी थिए । केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा एसका संसदीय दलका नेता राजेन्द्रकुमार राई नआएपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।

    एमाले र माओवादीका नेताबीच एक-दुई दिनभै मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया थाल्ने सहमति भएको छलफलमा सहभागी एक नेताले बताए ।

    ती नेताले भने, ‘राजेन्द्र राईलाई पनि पर्खिम भन्ने कुरा आयो । उहाँ गृह जिल्लामा भएका कारण आजै निर्णय गरेर प्रक्रिया अगाडि बढाउन सकिएन ।’

    संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको प्रदेशसभा सदस्यको हैसियतमा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त केदार कार्कीलाई सांसदका रूपमा समर्थन गरेका एमालेका ३९ जना सांसदहरूले समर्थन फिर्ता लिने तयारी गरेका छन् । त्यसका लागि एमाले सांसदहरूले हस्ताक्षर गरिसकेका छन् ।

    माओवादीले सांसदहरूको हस्ताक्षर गराएर समर्थन फिर्ता लिने तयारी भएको छ । अब संयुक्त रूपमा हस्ताक्षर बुझाउने तयारी भएको बैठकमा सहभागी एक नेताले बताए ।

    शुक्रबार एमाले र माओवादी केन्द्रबीच गठबन्धनको भावनाअनुसार नै कोशी प्रदेश सरकार गठनको प्रक्रिया अघि बढाउने अनौपचारिक सहमति भइसकेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

    सांसदहरूले समर्थन फिर्ता गरेपछि कोशी प्रदेशमा वैकल्पिक सरकार बन्न सक्ने आवश्यक संख्यासहितको बहुमत हस्ताक्षर बुझाउने तयारी छ । प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशनको पनि माग गर्ने एमालेको तयारी रहेको छ ।

    एमालेका सांसदहरूले समर्थन फिर्ता लिएपछि गठबन्धन दलमध्ये नेकपा माओवादी केन्द्रका तीनजना मन्त्रीहरूसहित अन्य दलका मन्त्रीहरूले समेत मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका छन् । राजीनामा पत्रको मस्यौदासमेत बनिसकेको माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।

  • माओवादीपछि इलाममा सुहाङलाई सघाउन माधव नेपाल पनि होलान् तयार ?

    माओवादीपछि इलाममा सुहाङलाई सघाउन माधव नेपाल पनि होलान् तयार ?

    काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध चार दलले आफ्नै उम्मेदवार तय गरेको छ। तर, सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने इलाम २ मा एमालेका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

    एमालेले इलाम २ मा सुवास नेम्बाङका छोरा सुहाङलाई अघि सारेको छ। सुहाङ अहिले प्रचार प्रसार तीव्र पारेका छन्।

    गठबन्धनमा आबद्ध दलहरूले साझा उम्मेदवार बनाएर जाने प्रयास गरे पनि सफल भएन। एमालेलाई इलाममा सहयोग गरेपछि माओवादीले बझाङको प्रदेशसभा आफूले पाउनुपर्ने शर्त राखेको थियो।

    तर, अहिलेसम्म त्यो सहमति नभएपछि इलाममा सुहाङलाई सहयोग गर्न माओवादी तयार भइसकेको छ। त्यसो त माधव नेपालले उम्मेदवार चयन गर्नुअघि ओली र प्रचण्डसँगको भेटमा बझाङ आफूहरूलाई दिए मात्रै एमालेलाई इलाममा सहयोग गर्न सक्ने सुनाएका थिए।

    तर, एमालेले बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको भएकाले ब्याक हुन नसक्ने ओलीको जवाफ थियो।

    गठबन्धनमा आबद्ध एमाले र माओवादीबीच इलाममा सहकार्य हुने भए पनि बझाङ प्रतिस्पर्धा हुने सम्भावना छ। इलाममा फिर्ता भए पनि बझाङमा सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई माओवादीले उम्मेदवार बनाएको छ।

    यद्यपि, भोलि उम्मेदवारी दर्ताको समयसम्म त्यो फेरिन सक्ने नेताहरू बताउँछन्।

    तर, नेकपा एकीकृत समाजवादीले भने यो निर्वाचनमा एक्लै लड्ने तयारी गरेको सचिव जीवनराम श्रेष्ठले बताए।

    उनले भने- अहिले हामीले दुवैतिर उम्मेदवारी दिने भनेर उम्मेदवार तय गरिसकेका छौँ। उहाँहरू निर्वाचनको तयारीमा खटिसक्नुभएको छ। आफ्नो हिसाबले जाने भनिसकेका छौँ। फिर्ता हुँदैन।

    इलाममा एमालेलाई सहयोग गर्ने भन्ने विषयमा अहिलेसम्म पार्टीमा छलफल नभएको उनको भनाइ छ। नेकपा एसले इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ।

    तर, नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको उम्मेदवारलाई सहयोग गर्ने विषयमा गठबन्धनमा आबद्ध दलहरूसँग छलफल भइरहेको बताए।

  • नेकपा एसनिकट महिला संघले गठन गर्‍याे ४१ सदस्यीय प्रदेश कमिटी

    नेकपा एसनिकट महिला संघले गठन गर्‍याे ४१ सदस्यीय प्रदेश कमिटी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ ।

    पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई थप जिम्मेवार बनाउन सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माणलाई तीव्रता दिइएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

    महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्यता विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षणलगायत गतिविधि सञ्चालन गर्दै आएको छ । पार्टीको विधानअनुसार तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था भएकाले साङ्गठनिक गतिविधि बढेको उनले भने ।

    पार्टी मातहतका कमिटीका अधिवेशन भइरहेका छन् । बागमती प्रदेशका पाँच जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । पार्टीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

    यसैबीच, लुम्बिनी प्रदेश कमिटीले लक्ष्मी भुसालको नेतृत्वमा ४१ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । सङ्गठनको उपाध्यक्षमा मञ्जु कोइराला र समती चौधरी, सचिवमा विष्णुमाया थापा मगर, उपसचिवमा सरस्वती पोखरेल र कोषाध्यक्षमा पुष्पा भाटलाई चयन गरेको पार्टी सचिवालयले जनाएको छ ।

  • कोशीमा माओवादी र नेकपा एसका मन्त्री फिर्ता बोलाउने तयारी

    कोशीमा माओवादी र नेकपा एसका मन्त्री फिर्ता बोलाउने तयारी

    विराटनगर । कोशी प्रदेश सरकार परिवर्तनका लागि नयाँ कोर्स सुरु गर्ने तयारी भएको छ । सत्ता गठबन्धनका केन्द्रीय नेताहरूका बीचमा प्रदेशको नेतृत्व बाँडफाँटमा सहमति भएसँगै कोशी प्रदेश सरकार परिवर्तनका विषयमा नयाँ कोर्स सुरु गर्ने तयारी भएको हो ।

    सरकार परिवर्तनको नयाँ कोर्स सुरु गर्न पहिलो चरणमा सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी भएको छ । संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकारमा माओवादीबाट ३ र एकीकृत समाजवादीबाट एक जना मन्त्री बनेका छन् ।

    मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकार परिवर्तनका लागि नयाँ कोर्स सुरु गर्ने तयारी भएको माओवादी स्रोतले जनाएको छ । माओवादीका प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले एकदुई दिनभित्रमै कोशीमा सरकारको नेतृत्व परिवर्तनमा ठोस कदम चालिने बताए ।

    उनले भने, ‘सबै कुरा मिलेको छ । चाँडै कोर्स सुरु हुन्छ ।’

    उनले कस्तो कदम सुरु हुन्छ भन्नेबारेमा भने बताएनन् । सरकारमा पनि बस्ने र समर्थन पनि फिर्ता नलिने अनि नयाँ सरकारको कुरा गर्न असान्दर्भिक भएको भन्दै टिप्पणी भइरहँदा केन्द्रीय नेताहरूबाट मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन सम्बन्धित संसदीय दलका नेताहरूलाई निर्देशन आएको छ ।

    तर, निर्देशनका विषयमा अहिलेसम्म संसदीय दलका नेताहरूले मन्त्रीहरूलाई निर्देशन भने दिइसकेका छैनन् । नेकपा माओवादीका तर्फबाट पर्यटन वन तथा वातावरणमन्त्री भएका गणेश उप्रेतीले सरकारबाट फिर्ता हुनेबारे कुनै जानकारी नआएको बताए ।

    उनले भने, ‘अहिलेसम्म कुनै जानकारी आएको छैन । जानकारी नआएसम्म मन्त्रीबाट फिर्ता हुने कुरा रहँदैन ।’

    उनले मन्त्री फिर्ता बोलाएरमात्रै नयाँ सरकार बन्न नसक्ने भन्दै नयाँ सरकार बन्ने आधारका विषयमा ठोस छलफल हुनुपर्ने बताए ।

    मन्त्री उप्रेतीले भने, ‘मुख्यमन्त्रीमात्रै टुङ्गो लगाएर भएन, मन्त्रालय बाँडफाँटका विषयमा समेत लिखित सहमति हुनुपर्छ । लिखित सहमतिअनुसार निर्देशन आए सरकार छाड्न तयार छौं ।’

    नेकपा एमाले संसदीय दल कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले एकदुई दिनभित्रमै कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कदम चालिने बताए ।

    उनले भने, ‘सबै कुरा सहमति भइसकेको छ । सहमतिअनुसार सम्बन्धित पार्टीहरूमा निर्देशन आउँछ ।’

    कोशीमा नेपाली कांग्रेसका केदार कार्की नेतृत्वको सरकार छ । प्रदेशसभा सदस्यको हैसियतमा बहुमत पुर्‍याएर मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकार परिवर्तनमा कानूनी जटिलता भएको भन्दै अहिलेसम्म उनलाई दिएको समर्थन माओवादी र एकीकृत समाजवादीले फिर्ता लिएका छैनन् ।

    कार्की एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित विद्रोही ८ जना कांग्रेसका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । पछि उनलाई माओवादी, कांग्रेस र एकीकृत समाजवादीले समेत विश्वासको मत दिएका थिए ।

  • राजेन्द्र पाण्डेलाई सुमनाको जवाफ- विमानस्थलको लर्को हेरेर दु:खेसोमात्र पोख्ने हो ?

    राजेन्द्र पाण्डेलाई सुमनाको जवाफ- विमानस्थलको लर्को हेरेर दु:खेसोमात्र पोख्ने हो ?

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेकपा एसका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेलाई ‘हाम्रो देशमा के नेतामात्रै चाहिएको हो र ?’ भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएको सवालको जवाफ दिँदै उनले हिजो पाण्डेले गरेको टिप्पणीमा पनि जवाफ फर्काइन् ।

    पाण्डेले प्रशिक्षार्थी कर्मचारी भर्नासम्बन्धी कार्यविधि ल्याउनुको कारणबारे सदनमा जवाफ मागेका थिए । कुनै ऐनलाई पनि नटेकी निजामती कर्मचारीमाथि नकारात्मक प्रभाव पर्नेगरी मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि ल्याएको उनको जिकिर थियो ।

    जवाफमा आज मन्त्री श्रेष्ठले राजनीतिक दललाई नेता बनाउनका लागि विद्यार्थी संगठन निर्माण गर्न हुने तर, ती विद्यार्थीलाई सरकारी संरचना कसरी चल्छन् र सरकारी काम कसरी हुन्छ भन्ने बारेमा सिकाउँदा कसरी समानान्तर सत्ता सञ्चालन भएको देख्नुभयो ? भन्दै प्रश्न गरिन् ।

    आवश्यकता र विद्यार्थीको रुचिअनुसार सीमित संख्यामा त्यो पनि राज्यलाई आर्थिक भार नपर्ने गरी, गोप्य सूचनामा पहुँच नहुने गरी मापदण्ड बनाएर कर्मचारीको नै नेतृत्व हुनेगरी काम गर्न खोज्दा समानान्तर सत्ता कसरी बन्छ ? भन्दै उनले प्रतिप्रश्न गरेकी छन् ।

    मन्त्रालयको वेबसाइटमा राखेको कार्यविधि हेरेर मात्र प्रतिक्रिया दिन आग्रह गर्दै समाचारकै भरमा विद्यार्थीले अवसर पाउने कुरामा राजनीति नगर्न अनुरोध गरेकी छन् ।

    उनको जवाफ जस्ताको तस्तै

    चैत २० गते सांसद राजेन्द्र पाण्डेज्यूले समाचारलाई आधार मानेर शिक्षा मन्त्रालयले इन्टर्नमा सेवामा भर्ना गराउने व्यवस्थाले कर्मचारी प्रशासनमा कस्तो प्रभाव पार्ला ? गोपनीयताको हकमा र संस्थागतको विषयमा के होला र कार्यविधिको कानूनी आधार देखिएन भन्नुभएको थियो । कार्यविधि ल्याएरै (हाँस्दै) आएकी छु । यो कार्यविधि वेबसाइटमा राखिएको छ । त्यो हेर्न सक्नुहुन्छ । सुशासनसम्बन्धी ऐन छ, त्यसैमा टेकेर बनाइएको हो । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको इन्टर्नसम्बन्धी कार्यविधि २०७६ पनि रहेछ । यो यसअघि नै अभ्यासमा आइसकेको प्रणाली हो । तर, यसलाई वृहतरूपमा छलफल किन गर्नुपर्छ भन्दा पहिले हामीले युवा विद्यार्थीलाई राजनीतिक दलको भ्रातृ संगठन बनायौ । सुरूमा अरु केही उद्देश्य भए पनि त्यसको राजनीतिक दुरुपयोग भएको सबैलाई जगजायर नै छ । यो यस्तो हदमा छ कि, राजनीतिक दललाई शिक्षालयबाट बाहिर निकाल्ने शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलसँग आवद्द हुनका लागि निषेध गर्ने भन्ने कुरामा त हामी सबै एकमत नै छौ । त्यो ऐनमा नै व्यवस्था छ । सबै सर्वसम्मत पनि हुनुहुन्छ ।

    तर, आफ्नो राजनीतिक लाभ हेरेर विद्यार्थीको राजनीतिक संगठन भएन भने विद्यार्थीले राजनीति कसरी सिक्छ भन्ने प्रश्न गर्नुहुन्छ । त्यो त एक प्रकारको इन्टर्नसिप जस्तो हो भन्नुहुन्छ । के विद्यार्थीले राजनीतिमात्रै सिक्ने त ? के यो देशको सरकारी कार्यालय कसरी चल्छ र कसरी प्रभावकारी रुपमा काम गर्न सकिन्छ ? भनेर विद्यार्थीले सिक्नुपर्दैन ? हाम्रो देशमा के नेता मात्रै चाहिएको हो र ? कि अब्बल कर्मचारी पनि चाहिएको हो र अब्बल नीति निर्माण कर्ता पनि चाहिएको हो ? श्रमसँग शिक्षा जोडिएन पनि भन्नुहुन्छ । बेरोजगारको कारखाना भयो भन्नुहुन्छ । युवाको विमानस्थलमा लर्को देखेर दु:खेसो पोख्नुहुन्छ होइन त । यति त्यस्तै हो भने इन्टर्नसिप किन नगराउने त ? काम गर्न किन नसिकाउने ? शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गर्न खोजेको त्यहि नै हो । काम गर्न सिकाउने हो ।

    आवश्यकता र विद्यार्थीको रुचि अनुसार सीमित संख्यामा त्यो पनि राज्यलाई आर्थिक भार नपर्ने गरी, गोप्य सूचनामा पहुँच नहुनेगरी मापदण्ड बनाएर कर्मचारीको नै नेतृत्व हुनेगरी काम गर्न खोज्दा समानान्तर सत्ता कसरी बन्छ ? राज्यलाई भार पर्छ कि, भविष्यका कर्णदार निस्किन्छन् । यो महत्वपूर्ण कुरा छ । त्यो नसोची समचारमा आएको कुरा पढेर हामी प्रतिक्रिया दिन्छौं भने नतिजा के हुनसक्छ ? कार्यविधि मन्त्रालयको वेबसाइटमा नै छ । हेरिदिनुहोला । तर, विद्यार्थीको लागि जे राम्रो छ उहाँहरुले अवसर पाउने कुरामा उहाँहरुलाई न्याय हुने कुरामा राजनीति नगरिदिनुहोला । यो मेरो बिनम्र अनुरोध छ ।

  • हाम्रो आचरण यस्तो छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा गए देश लुटेर लगिदिन्छन् : माधव नेपाल (भिडिओ)

    हाम्रो आचरण यस्तो छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा गए देश लुटेर लगिदिन्छन् : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादको बाटोमा जान संविधान बाधक भए त्यसलाई पन्छाएर अघि बढ्नुपर्ने बताएका छन्।

    समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सम्झौता र शक्ति सन्तुलनको बिन्दु भएको बताए।

    निर्वाचनको विकृतिलाई अन्त्य गर्ने विषयमा एउटा ठोस निष्कर्षमा पुग्नुपर्ने उल्लेख गर्दै नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नहुने बताए।

    उनले भने, ‘यो निर्वाचनको विकृतिलाई कसरी नियन्त्रण गर्ने ? यसको निम्ति कुनै प्रत्यक्ष निर्वाचनको परिपाटीले टुङ्गो लगाउँदैन। प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुङ्गो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त। केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस् त। अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस् त। हाम्रो आचरण यस्तो छ। हामी जस्ता यस्तै खालका मान्छेहरू राष्ट्रपति भयो भने त यो देशको सबै लुटेर लगिदिन्छन्। अनि कुरा उठाउनेहरूलाई गोदेर कहाँ पुर्‍याइदिने हो।’

    चुनावको प्रणालीमा मुख्य समस्या भएको उल्लेख गर्दै अघि बढ्नका लागि संविधान सहयोगी र बाधक नबन्ने उनको भनाइ छ।

  • समाजवादी क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव छैनः पूर्वप्रधानमन्त्री खनाल

    समाजवादी क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव छैनः पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताएका छन् ।

    मंगलबार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताइन् । सडकबाट जनताका आवाज बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेको उनको भनाइ थियो । नेता खनालले जनताको इच्छालाई बुझेर एकतावद्ध गरी आन्दोलित गर्ने काम नगरी नेपाली विशेषताको समाजवाद आउन नसक्ने जिकिर गरे ।

    खनालले भने, ‘देशका सबै वामपन्थीहरूको प्रतिनिधित्व गरेर आज यो गोष्ठीमा साथीहरूले जुन अभिव्यक्ति व्यक्त गर्नुभएको छ, मलाई बडो खुशी लागेको छ । यो कुरालाई हामीले हाम्रा नीतिमा विकास गरौँ । कार्यक्रम विकास गरौँ । संगठनहरूमा विचार विमर्श गरौँ । आम जनतासँग जाने अभियानमा विकास गरौँ । वर्ग संघर्षमा विकास गरौँ । विनासंघर्ष केही पनि हुनेवाला छैन । खाली बालुवाटार र संसदबाट क्रान्ति हुँदैन । नेपाली विशेषताको समाजवादी त्यहाँबाट मात्रै आउँदैन । हामीले सडकबाट संघर्ष गर्नुपर्छ । सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ । अहिले विचार मिल्नेहरूको सरकार पनि छ । त्यसैले अहिले प्रगतिशील नीतिका कार्यक्रम ल्याऔँ ।’

  • प्रशिक्षार्थी कर्मचारी राख्ने शिक्षामन्त्रीको निर्णयमा राजेन्द्र पाण्डेको आपत्ति (भिडिओ)

    प्रशिक्षार्थी कर्मचारी राख्ने शिक्षामन्त्रीको निर्णयमा राजेन्द्र पाण्डेको आपत्ति (भिडिओ)

    काठमाडौं । सत्ता साझेदार नेकपा एसका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रशिक्षार्थी कर्मचारी भर्ना सम्बन्धी कार्यविधि ल्याउनुको कारणबारे संसदलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग माग गरेका छन् ।

    कुनै ऐनलाई पनि नटेकी निजामती कर्मचारीमाथि नकारात्मक प्रभाव पर्नेगरी मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि ल्याएको भन्दै उनले आपत्ति जनाए । त्यसबारे संसदलाई जानकारी गराउनका लागि मन्त्री श्रेष्ठलाई रुलिङ गर्न पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले मन्त्रीहरूलाई आफूखुसी काम गर्न छुट दिएको हो ? भनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्नसमेत गरे । मन्त्रालयको कतिपय शाखा कामविहीन रहेको अवस्थामा प्रशिक्षार्थी कर्मचारी राखेर काम गर्नुपर्ने कारण के हो ? भन्दै उनले सोधेका छन् ।

    पाण्डेले भने, ‘वर्तमान शिक्षामन्त्रीले शिक्षा मन्त्रालयको सन्दर्भमा एउटा निर्णय गर्नु भएको मैले पढेँ । मन्त्रीस्तरीय निर्णय गरेर शिक्षा उत्प्रेरक एजुकेशन क्याटलिस्ट परिचालनसम्बन्धी कार्यविधि २०८० भनेर उहाँले पारित गर्नुभएको छ । त्यो आफैँले निर्णय गर्नुभएको छ । यतिबेला मन्त्रालयकै कतिपय शाखा कामविहीन भएको बेला शिक्षा मन्त्रालयमा रहेका निजामती कर्मचारीलाई अविश्वास गर्दै प्रशिक्षार्थीहरुलाई काम दिने नीति मलाई लाग्छ मन्त्रीज्यूले लिनुभएको नीति यो सरासर ७४ हजार निजामती प्रशासनलाई प्यारालाइज गर्नेगरी ल्याएको नीति हो । ’

    उनले भने प्रशिक्षार्थी कर्मचारीलाई सेवा सुविधा दिने कि नदिने भन्ने कुरा स्पष्ट पार्न पनि शिक्षामन्त्री श्रेष्ठसँग सोधेका छन् ।

  • नेकपा एसमा चैत मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने

    नेकपा एसमा चैत मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने सबैलाई यही चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न आह्वान गरेको छ ।

    आगामी जेठमा हुने महाधिवेशनमा प्रतिनिधि चयन गर्न पार्टी मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीमा रहेका नेताले समयमै आफ्नो सदस्यता नवीकरण गर्न पार्टीले आह्वान गरेको हो ।

    पार्टीले वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि छनोटको कार्यतालिका निकालेको छ । पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन पनि गरिसकेको छ ।

    केन्द्रीय अध्यक्षदेखि केन्द्रीय निकायका सदस्य पनि चुनिएर आउनुपर्ने व्यवस्था भएकाले सम्बन्धित कमिटीले कार्यक्षेत्रका सदस्यलाई निर्धारित समयमै सदस्यता नवीकरण गरी त्यसको अभिलेख राख्न पार्टीले निर्देशन गरेको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

    महाधिवेशन प्रतिनिधि बन्न पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म नेताहरू चुनिएर आउनुपर्ने व्यवस्था विधानले गरेको छ ।

    -रासस

  • बागमतीमा मन्त्रिपरिषद् विस्तार, समाजवादीकी आले विनाविभागीय मन्त्री

    बागमतीमा मन्त्रिपरिषद् विस्तार, समाजवादीकी आले विनाविभागीय मन्त्री

    हेटौंडा। बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । नेकपा एकीकृत समाजवादीबाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

    प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् । यो सँगै समाजवादीबाट शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा मन्त्रीको सङ्ख्या ३ पुगेको छ ।

  • समाजवादीका सांसद नआएपछि बागमती प्रदेशसभा बैठक ४ बजेलाई सारियो

    समाजवादीका सांसद नआएपछि बागमती प्रदेशसभा बैठक ४ बजेलाई सारियो

    हेटौंडा । बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने बैठकमा सत्तापक्षकै एकजना सांसद नआइपुगेपछि बैठक अनिश्चित बनेको हो ।

    सत्तापक्षका नेकपा एकीकृत समाजवादी सांसद रमा आलेमगर बैठकस्थल नआइपुगेपछि प्रदेशसभा सचिवालयले बैठ ४ बजेलाई सारेको छ ।

    एकजना सभासद मात्र अनुपस्थित रहेको अवस्थामा बागमतीमा सत्ता पक्षले विश्वासको मत पाउने अवस्था नभएपछि बैठक सारिएको हो ।

  • नेकपा एसलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिने बालुवाटारमा सहमति

    नेकपा एसलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिने बालुवाटारमा सहमति

    काठमाडौं । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको छलफलमा सहमति जुटेको हो ।

    नेकपा एसले एक प्रदेशको नेतृत्व, अन्य प्रदेशमा सहमतिअनुसार आलोपालोसहित सबै प्रदेशमा सम्मानजनक सहभागीता हुनुपर्ने अडान राखेको थियो । बालुवाटारमा तीन नेताहरुबीच अब आफूहरुले सुदुरपश्मि प्रदेश सरकारको नेतृत्व पाउने सहमति भएको एक नेताले बताए ।

    ती नेताले भने– अहिले हामीले सुदुरपश्चिमको नेतृत्व पाउने लगभग सहमति भएको छ। अब अन्यमा पनि आलोपालो हुन्छन्। सबै सरकारमा हाम्रो सहभागीता रहन्छ ।

    सुदुरपश्चिममा अहिले कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । उनलाई समर्थन गर्ने बिषयमा नागरिक उन्मुक्ति पार्टी विभाजित बनेको छ । त्यहाँ नयाँ समीकरण अनुसार सरकार बनाउने नाउपाले पनि मुख्यमन्त्रीकै शर्त राखिरहेको छ ।

    आलोपालो मुख्यमन्त्री पाउने भएपछि मात्रै नेकपा एसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिन तयार भएको थियो ।

     

  • कोशीको मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी, देखाए नयाँ सरकारको ढोका खोल्ने यस्तो चाबी

    कोशीको मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी, देखाए नयाँ सरकारको ढोका खोल्ने यस्तो चाबी

    विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले नयाँ गठबन्धनका दलहरूले मुख्यमन्त्री केदार कार्कीमाथिको समर्थन फिर्ता लिनुपर्ने बताएका छन् । उनले संसदहरूले प्रदेश प्रमुखको कार्यालयमा लाइन लागेर मुख्यमन्त्री केदार कार्कीलाई समर्थन गरेकाले पहिले त्यो समर्थन फिर्ता लिनुपर्ने बताएका हुन् ।

    समर्थन फिर्तापछि यो सरकार अल्पमतमा पर्ने उनको भनाइ छ । नेपाल प्रेससँग कुरा गर्दै उनले केदार कार्कीलाई समर्थन गरेका सांसदहरू हस्ताक्षरसहित समर्थन फिर्ता लिन सभामुख र प्रदेश प्रमुखकोमा जानुपर्ने बताए ।

    उनले भने, ‘हामीले बहुमत सिद्ध गरेर गएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्नुपर्छ । प्रदेश प्रमुखले एक साताका लागि मुख्यमन्त्री केदार कार्कीलाई समय दिनुपर्ने र त्यो अवधिमा बहुमत जुटाउनु या राजीनामा गर्नुको विकल्प हुँदैन ।’

    उनले नयाँ सरकार पुन: संविधानको धारा १६८ (५) अन्तरगतै बन्ने दाबी गरेका छन् । अहिले सरकार परिवर्तनका विषयमा कानूनी जटिलता देखिएको भए पनि कुनै पनि सरकार अल्पमतमा परेपछि नटिक्ने राईको भनाइ छ ।

    ‘मुख्यमन्त्रीज्यू अदालत जानु होला तर उहाँ अल्पमतमा परेपछि अदालतले उहाँलाई मुख्यमन्त्री बनाउँदैन यो मेरो विश्वास हो ।’

    अहिले केन्द्रबाट कुनै निर्देशन नआएकाले सरकार परिवर्तनका विषयमा ठोस कदम नचालेको राईले बताए ।

    ‘निर्णय भएर निर्देशन नआएकाले सरकार परिवर्तनका विषयमा छलफल गर्न जाँगर चलेको छैन । सरकार परिवर्तनका विषयमा ठोस कुरा न तल भएको छ न माथि नै कुनै निर्णय भएको छ’, राईले भने ।

    मुख्यमन्त्रीमा दाबी

    पूर्वमुख्यमन्त्रीसमेत रहेका राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्री एमालेले दाबी गर्न नहुने बताएका छन् । उनले एमालेले नै अहिलेको परिस्थितिमा पुर्‍याएको जिकिरसहित नैतिकताका आधारमा पनि एमालेले कोशी प्रदेशको नेतृत्व दाबी गर्न नहुने बताए ।

    कुराकानीको क्रममा उनले भने, ‘उहाँहरू (एमाले) ले केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेर कानूनी जटिलता उत्पन्न गराएको गराउनुभयो । त्यसैले नैतिकताका आधारमा उहाँहरूले यस पटक मुख्यमन्त्री दाबी गर्नु हुँदैन ।’

    उनले कोशी प्रदेशमा आफ्नो दाबी रहने बताएका छन् । यो गठबन्धन सत्ता टिकाउन बनेकाले आफूहरूले चाहिँ किन छाड्ने ? भन्दै उनले प्रश्नसमेत गरे ।

    ‘यसअघिको गठबन्धन संविधान मिचिएकाले संविधानको रक्षाका लागि बनेको हो । तर, यो गठबन्धन सत्ता टिकाउनका लागि हो । त्यसैले यो गठबन्धनमा मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ ।’

    अन्य प्रदेशमा पार्टीलाई मुख्यमन्त्री दिए कोशीमा छाडिदिने उनको भनाइ थियो ।

  • यथास्थितिमा विश्वासको मत नदिने नेकपा एसको अडानले जम्कट्टेल सरकार धरमरमा

    यथास्थितिमा विश्वासको मत नदिने नेकपा एसको अडानले जम्कट्टेल सरकार धरमरमा

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने या नदिने विषयमा नेकपा एकीकृत समाजवादीले अहिलेसम्म निर्णय लिएको छैन ।

    गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । तर, गठबन्धनमा रहेको नेकपा एसले मुख्यमन्त्रीमा आलोपालोसहित अन्य भागबण्डाको विषयमा लिखित प्रतिवद्धता खोजेपछि जम्कट्टेललाई सकस परेको हो ।

    नेपाल प्रेससँग कुरा गर्दै नेकपा एसका नेता तथा बागमतीका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले केन्द्रको स्पष्ट निर्देशनविना विश्वासको मत दिन नसकिने बताए । केन्द्रीय कमिटीको बैठक र संसदीय दलको निर्णयअनुसार आफूहरू अगाडि बढ्ने उनको भनाइ छ ।

    जम्कट्टेलाई आफ्नो नेतृत्वको सरकार जोगाउन नेकपा एसको समर्थन चाहिन्छ । नेकपा माओवादी केन्द्र बागमतीका मुख्य सचेतक रत्न ढकालले आफूहरु पनि केन्द्रको निर्देशन कुरिरहेको बताए ।

    ११० सदस्यीय बागमती प्रदेशमा जम्कट्टेललाई बहुमतका लागि ५६ सांसद चाहिन्छ । उनले केही दिनअघिमात्र हाम्रो नेपाली पार्टी (हानेपा) का संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर विश्वासको मत लिने वातावरण बनाएका थिए । एमाले-माओवादी-नेकपा एससँग जम्मा ५५ सांसद छन् ।

  • ओली र प्रचण्डसँग बार्गेनिङ बढाउँदै माधव नेपाल, प्रदेश सरकारबारे राखे यस्ता शर्त

    ओली र प्रचण्डसँग बार्गेनिङ बढाउँदै माधव नेपाल, प्रदेश सरकारबारे राखे यस्ता शर्त

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सात मध्ये कम्तीमा एक प्रदेशको मुख्यमन्त्री, संघीय सरकारमा थप एक मन्त्री र सबै राजनीतिक नियुक्तिमा सम्मानजनक सहभागिताको लिखित ग्यारेन्टी मागेपछि प्रदेश सरकार गठन तथा विश्वासको मत लिने प्रक्रियामा अन्योल सिर्जना भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बागमती वा कोशीको सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने शर्त राखेका छन् । कोशीमा नेकपा एसको ४ सीट छ भने बागमतीमा ८ सीट छ ।

    माधव नेपालले संवैधानिक परिषद्ले गर्ने नियुक्तिमा समेत नेकपा एसको हिस्सा हुनुपर्ने बताएका छन् । त्यस्तै नेपालले प्रधानमन्त्री आलोपालो पनि मौखिक सहमतिमा विश्वास गर्न सकेका छैनन् ।

    नेपालले यथास्थितिमा प्रदेश सरकार गठन तथा विश्वासको मत लिने दिने प्रक्रियामा नेकपा एस एमाले र माओवादीसँग नरहने बताएका छन् । बागमतीका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले सोमवार विश्वासको मत लिने तयारी छ । तर नेकपा एसले यथास्थितिमा विश्वासको मत दिन नसकिने जनाएको छ ।

    एक प्रदेशको मुख्यमन्त्री, संवैधानिक तथा राजनीतिक नियुक्तिमा हिस्सेदारी,विगतमा नेकपा एसलाई बाइपास गरेर सत्ता परिवर्तन गरेकोमा आत्मालोचना गर्नुपर्ने लगायतका माग नेकपा एसले राखेको छ ।

  • कोशीमा नयाँ सरकार बनाउन छैन चहलपहल, इन्द्र आङ्बो भन्छन्- सिंहदरबारले सोचेजस्तो परिस्थिति छैन

    कोशीमा नयाँ सरकार बनाउन छैन चहलपहल, इन्द्र आङ्बो भन्छन्- सिंहदरबारले सोचेजस्तो परिस्थिति छैन

    विराटनगर । नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले काठमाडौंले सोचेभन्दा कोशी प्रदेशको परिस्थिति फरक भएको बताएका छन् । प्रदेश सरकार फेरबदलको चर्चा चलिरहँदा उनले प्रदेशको परिस्थिति सिंहदरबारले सोचेजस्तो नभएको बताएका हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले केदार कार्की नेतृत्वको सरकार फेर्ने विषयमा नयाँ गठबन्धनका दलहरूसँग छलफल सुरू भइनसकेको बताए ।

    आङ्बोले भने, ‘कोशीमा संविधानको धारा १६८ (५) अन्तरगतको सरकार कसले बनाएको हो ? यसबारेमा वस्तुनिष्ठ समीक्षा आवश्यक छ । ’

    नयाँ सरकार संविधानको कुन धाराबाट बन्छ पहिले सहयात्री दलहरू बसेर आधार तय गर्नुपर्ने उनको भनाइ छ । गठबन्धनको शीर्ष नेताबीच प्रदेशको नेतृत्वबारे अहिले टुंगो नलागेको भन्दै अहिले छलफल गर्नु हतार हुने आङ्बोको भनाई छ ।

    उनले भने,‘अहिले पनि अध्यक्ष प्रचण्डले प्रदेशको नेतृत्व बाँडफाँटका विषयमा टुंगो लागेको बताउनुभएको छैन । माथिबाट हामीलाई यसै हो भन्ने केही आएको छैन ।’

    मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा विघटनको विषयमा उत्ताउलो पाराको कुरा गरेको आङ्बोको टिप्पणी छ । सरकार बन्न सक्ने आधार रहुन्जेलसम्म संसद् विघटन नहुने उनको प्रष्टोक्ति थियो ।

    सत्ता समीकरण फेरिएसँगै कोशीमा मुख्यमन्त्री दाबीसहित एमाले संसदीय दलले नयाँ सरकारको कसरत थालिसकेको छ । एमाले-माओवादी-नेकपा एस-जसपासँग बहुमत छ । यहाँ सरकार बनाउन ४७ सांसद चाहिन्छ । प्रदेशसभामा एमालेसँग ४० सीट, माओवादी केन्द्रसँग १३ सीट, नेकपा एससँग ४ र जसपासँग एक सीट छ । गठबन्धनको बहुमत भएपनि सहयात्री दल नेकपा एस, माओवादीले कार्की सरकारमाथिको समर्थन फिर्ता लिएको छैन । यी दलका मन्त्री पनि कार्कीकै क्याविनेटमै छन् ।

    संविधानको धारा १६८ (३) अन्तरगत मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिएपछि एमालेका ३९ जना प्रदेश सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीको रूपमा दाबी पेस गरेका थिए । तत्कालीन सत्ता गठबन्धनका शीर्ष नेताहरूले माओवादीका इन्द्रबहादुर आङ्बोलाई कोशीमा मुख्यमन्त्री बनाउने निर्णय गरेपछि केदार कार्की आफूसहित ८ जना सांसद लिएर एमालेसँग जोडिएका थिए ।

    प्रदेशसभा सदस्यको हैसियतमा उनलाई एमालेका प्रदेशसभा सदस्यले शशरीर उपस्थित भएर सनाखत गरेपछि उनी संविधानको धारा १६८ (५) अन्तरगत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सुरूमा एमालेका राम राना र कांग्रेसबाट विद्रोह गरेका शम्सेर राईलाई मन्त्री नियुक्त गरेका मुख्यमन्त्री केदार कार्की तत्कालीन गठबन्धनमै फर्किएपछि एमालेले मन्त्रीबाट रानालाई फिर्ता बोलाएको थियो ।

  • तत्कालीन गठबन्धनबाट गाउँपालिका अध्यक्षमा एमालेसँग पराजित जीतबहादुर नेकपा एसका सांसद उम्मेदवार

    तत्कालीन गठबन्धनबाट गाउँपालिका अध्यक्षमा एमालेसँग पराजित जीतबहादुर नेकपा एसका सांसद उम्मेदवार

    विराटनगर । सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले पनि इलाम २ मा उम्मेदवारको नाम टुंग्याएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एसले जीतबहादुर राईलाई अघि सार्ने भएको हो ।

    पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य रहेका राई गत मंसिरमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । इलामको माई जोगमाई गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका जीतबहादुर एमालेका कुशबहादुर थेबेसँग २२२ भोटले पराजित भएका हुन् । थेबेले ५ हजार १३५ मत ल्याउँदा राईले ४ हजार ९१३ मत पाएका थिए ।

    नेकपा एसले उनै जीतबहादुरलाई आसन्न उपचुनावमा सांसदको टिकट दिने निर्णय गरेको हो । २०७४ सालको स्थानीय तहको चुनावमा भने राईले माई जोगमाई गाउँपालिका अध्यक्ष एमालेबाट जितेका थिए ।

    एमाले विभाजनमा माधव नेपाललाई साथ दिएर नेकपा एसमा लागेका उनी ७९ मा भने एमालेकै उम्मेदवारसँग पराजित भए ।

    २०७९ को निर्वाचनमा यहाँ नेकपा एसले समानुपातिकतर्फ ५८६ मत पाएको थियो ।

    दिवंगत नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम २ मा नेकपा एमालेले उनै सुवासका कान्छा छोरा सुहाङलाई उठाउने निर्णय गरिसकेको छ । गठबन्धनकै घटक माओवादीले आज यहाँ आफ्नै उम्मेदवार अघि सार्ने निर्णय गरेको छ । पहिचानवादीले डाकेन्द्र थेगिमलाई उम्मेदवार बनाउने भएको छ ।

    रास्वा र नेपाली कांग्रेसले भने उम्मेदवार टुंग्याइसकेका छैनन् ।

  • नेकपा एसले टुंग्यायो उम्मेदवार : इलाममा जीतबहादुर, बझाङमा दिलबहादुर

    नेकपा एसले टुंग्यायो उम्मेदवार : इलाममा जीतबहादुर, बझाङमा दिलबहादुर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार टुंग्याएको छ ।

    प्रतिनिधिसभाअन्तर्गत इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको उपाध्यक्ष जयन्ती राईले नेपाल प्रेसलाई बताइन् ।

    जीतबहादुर नेकपा एस इलामका सचिवालय सदस्य हुन् । राई अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा माइजोगमाई गाँउपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

    योसँगै उपनिर्वाचनमा सत्ता गठबन्धनभित्र मित्रवत् प्रतिस्पर्धा हुने देखिएको छ । एमाले, माओवादी केन्द्रले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् ।

  • सरकारसँग समन्वय गर्न नेकपा एसले बनायो समिति

    सरकारसँग समन्वय गर्न नेकपा एसले बनायो समिति

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालय बैठकले गठन गरेको संयन्त्रमा उपमहासचिव प्रकाश ज्वाला, सचिव जीवनराम श्रेष्ठ, मन्त्रीद्वय भानुभक्त जोशी र धनबहादुर बुढा सदस्य छन् ।

    महाधिवेशनका लागि राजनीति तथा सुरक्षा समन्वय कमिटी थप गर्ने निर्णय गरेको सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नामावली तय गर्ने निर्णय पनि गरेको छ ।

    मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदवारको योगदानका आधारमा नाम सिफारिसका लागि निर्देशन दिएको बैठकले महाधिवेशन तयारीका आवश्यक कार्यलाई तीव्र रुपमा अगाडि बढाउने निर्णय गरेको सचिव श्रेष्ठले जानकारी दिए ।

    पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको बैठकमा पार्टीको जनवर्गीय सङ्गठन सुदृढीकरणबारे छलफल गरेको बैठकले महाधिवेशनका लागि विभिन्न कमिटीबाट गरेका तयारीबारे समीक्षा गरेको छ ।

    आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ । साथै अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन गरिएको जनाइएको छ । महाधिवेशन दस्तावेज लेखन समितिले राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ ।

  • नेकपा एसको महाधिवेशन तयारीमा जुट्यो काठमाडौं कमिटी

    नेकपा एसको महाधिवेशन तयारीमा जुट्यो काठमाडौं कमिटी

    काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी पार्टीको महाधिवेशनमा जुटेको छ । महाधिवेशन केन्द्रित काठमाडौं जिल्ला अभियानको लागि पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।

    बैठकले चैत १३ गते ११ बजे पार्टी केन्द्रीय कार्यालयमा काठमाडौं जिल्लाअन्तर्गत शाखा अध्यक्षहरूको बैठक बस्ने निर्णय गरेको केन्द्रीय सदस्य सुदेश पराजुलीले बताए । बैठकमा काठमाडौं जिल्ला कमिटी, नगरदेखि वडासम्मका अध्यक्षहरू उपस्थित हुनेछन् ।

    एमालेबाट अलग भएको नेकपा एसले २०८१ जेठ ३ देखि ७ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ ।

  • नेकपा एसले आइतबार बोलायो संयुक्त बैठक

    नेकपा एसले आइतबार बोलायो संयुक्त बैठक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ ।

    बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन भएको छ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि मूल व्यवस्थापन कमिटी तथा अन्य कमिटीबाट भएका कामको समीक्षा हुनेछ ।

    सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिस भएका नाममा छलफल पनि गर्ने प्रचारविभाग प्रमुख खतिवडाले बताए ।

    आगामी जेठ देखि ७ गतेसम्म काठमाडौँमा आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको संयोजकत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ ।

  • एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने

    एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने

    पोखरा । नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोध्ने भएको छ ।

    नेकपा एसको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीलाई सल्लाह नगरी मन्त्री बनेको भन्दै मनाङेलाई स्पष्टीकरण सोध्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

    स्पष्टीकरण काम प्रक्रियामै रहेको नेकपा एस गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले बताए । ‘पहिलो चरण हामीले स्पष्टीकरण नै सोध्ने हो र यो केन्द्रले गर्ने हो । मुल रुपमा सोध्ने केन्द्र नै हो । जुन प्रक्रियामा छ । केन्द्रले सिधै सोध्छ की प्रदेश कमिटीमार्फत पठाउन त्यो चाहिँ हेर्न बाँकी छ,’ उनले भने ।

    स्वतन्त्र जितेर नेकपा एस प्रवेश गरेका मनाङेले आइतबार पार्टी छोडेको भन्दै स्वतन्त्र हैसियत बनाउन प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । निवेदन दिएको २४ घन्टा नबित्दै मनाङेलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी दिएका थिए ।

  • उपचुनावका लागि उम्मेदवार सिफारिस गर्न नेकपा एसको निर्देशन, गठबन्धनमा पनि छलफल गर्ने (भिडिओ)

    उपचुनावका लागि उम्मेदवार सिफारिस गर्न नेकपा एसको निर्देशन, गठबन्धनमा पनि छलफल गर्ने (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम र बझाङमा प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

    पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको उम्मेदारको निम्ति सत्ता गठबन्धनमा पनि छलफल गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

    उनले भने, ‘उपनिवार्चनको बारेमा सत्ता गठबन्धनका दलहरूसँग पनि छलफल गर्ने निर्णय भएको छ । साथै उम्मेदवारको नाम छनोट गर्ने अधिकार प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन क्षेत्र कमिटीलाई दिइएको छ ।’

    उनले केन्द्रीय सचिवालय र दस्तावेज मस्यौदा समितिको बैठक ११ गते बिहान १० बजे बस्ने बताए।

  • नेकपा एसले बोलायो सचिवालय बैठक, उपनिर्वाचनबारे छलफल हुने

    नेकपा एसले बोलायो सचिवालय बैठक, उपनिर्वाचनबारे छलफल हुने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ।

    दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाइएको सचिव जीवनराम श्रेष्ठले बताए।

    बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए।

    उनले भने, ‘नयाँ समीकरणपछि सरकारमा गएका छौं। त्यसबारे आगामी वैशाखमा हुने उपनिर्वाचनलगायतको विषयमा पनि छलफल हुन्छ।’

    वैशाख १५ गते इलाम २ र बझाङ प्रदेश १ मा उपनिर्वाचन हुँदैछ। इलाम २ गठबन्धनको तर्फबाट सहयोग भए सम्मानित नेता झलनाथ खनालले पनि चुनाव लड्ने मुडमा छन्।

    यस्तै बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीबारे पनि छलफल हुने जनाइएको छ।

  • मनाङेलाई मन्त्री बनाउन माधव नेपाल र घनश्याम भुसालले दबाब दिएको मुख्यमन्त्री पाण्डेको दाबी

    मनाङेलाई मन्त्री बनाउन माधव नेपाल र घनश्याम भुसालले दबाब दिएको मुख्यमन्त्री पाण्डेको दाबी

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दीपक मनाङेलाई मन्त्री बनाउन आफूलाई नेकपा एसका नेताहरूले पहिलेदेखि नै दबाब दिएको र अहिले आएर भौतिक पूर्वाधार मन्त्री बनाएको दाबी प्रष्ट पारेका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालले धेरैपटक फोनमा र भेटेर दीपक मनाङेलाई मन्त्री बनाउन आग्रह गरेको बताए । भुसाल आफ्नो विद्यार्थी राजनीतिको साथीसमेत भएकाले कफी गफमा पनि दीपकलाई मन्त्री बनाउन आग्रह गरेको बताए ।

    पाण्डेले भने, ‘माधव नेपालले पनि धेरैपटक भन्नुभएको हो । मैले समय आएपछि बनाउँला भनेको थिए । अहिले मलाई त्यो उपयुक्त समय आयोजस्तो लाग्यो र उहाँहरूले भनेकै मान्छेलाई मन्त्री बनाइदिएको छु ।’

    मुख्यमन्त्री पाण्डेले अब राप्रपा पनि अर्को गठबन्धनमा जाने अवस्था नरहेकाले आफ्नो नेतृत्वको सरकारमा आउने र यो सरकार पूरै अवधि चल्ने दाबी गरे । स्वतन्त्र जितेर नेकपा एसमा प्रवेश गरेका दीपक मनाङे हालै पार्टीको निर्णयविना मन्त्री बनेपछि नेकपा एसले कारबाहीको चेतावनी दिएको छ । तर, उनले भने आफ्नो स्वतन्त्र हैसियत कायम गरिदिन प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।