Category: नेकपा एस

  • झलनाथको दस्तावेज- कांग्रेस मुख्य दुस्मन, पूर्वराजादेखि सीके राउत र रेशम चौधरी दलाल पुँजीवादी

    झलनाथको दस्तावेज- कांग्रेस मुख्य दुस्मन, पूर्वराजादेखि सीके राउत र रेशम चौधरी दलाल पुँजीवादी

    काठमाडौं । नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले समाजवाद प्राप्तिको लागि अघि बढ्ने क्रममा मुख्य दुश्मन शक्ति र प्रधान अन्तरविरोध किटान गर्नुपर्ने भन्दै अध्यक्ष माधव नेपाललाई चुनौती दिएका छन् ।

    नेकपा एसको आसन्न महाधिवेशनमा छलफलका लागि उनले पार्टीमा पेश गरेको ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ नामक ६५ पेज लामो दस्तावेजमा नेपाली कांग्रेसलाई समाजवाद प्राप्तिको आन्दोलनको प्रमुख बाधक किटान गरेका छन् ।

    अध्यक्ष माधव नेपालले कांग्रेसलाई प्रमुख विरोधी शक्ति किटान गर्नु नेकपा एस सकिने बाटो हुने भन्दै खनालको प्रस्तावको ठाडै विरोध गरेका छन् । नेपालको दस्तावेजमा एमालेको तीव्र विरोध गरिएको छ भने कांग्रेसको आलोचना छैन ।

    यो पनि पढ्नुहोस्- माधव नेपालको प्रतिवेदन- एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड, ओली स्वेच्छाचारी र प्रतिगामी (पूर्णपाठ)

    खनालले भने कांग्रेसलाई नव उदारवादी र दलाल पुँजीवादको प्रतिनिधित्व गर्ने पार्टी भनेका छन् । उनले समाजवादी क्रान्ति सम्पन्न गर्ने क्रममा कांग्रेससँग कम्युनिष्ट पार्टीहरूको अन्तरविरोध बढ्ने दावी गरेका छन् । खनालले एमाले र माओवादीसँग सहकार्य गर्ने प्रस्तावसमेत राखेका छन् ।

    खनालले मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश गरेको प्रस्तावमा पूर्वराजा ज्ञानेन्द्र शाहदेखि लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र राप्रपालाई समेत दलाल पुँजीवादका प्रतिनिधि भनेका छन् ।

    खनालको दस्तावेजमा भनिएको छ- यतिबेला नेपालमा पुँजीवादी संसदभित्र र बाहिर हेर्दा दलाल पुँजीवादलाई प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक गुटहरू छन । पूर्वराजाको गुट, राप्रपाको गुट, लोसपाको गुट, जनमत पार्टीको गुट, नागरिक उन्मुक्ति पार्टीको गुटलगायत साना, मझौला राजनीतिक गुटहरू छन् । तिनीहरू विभिन्न साना, मझौला राजनीतिक पार्टीका रूपमा संसदमा पनि प्रतिनिधित्व गर्दछ । यी सबै पुँजीवादी पार्टीहरू नै हुन । तर, तिनीहरू कोही पनि राष्ट्रिय पुँजीपति वा निम्न पुँजीपति पार्टीलाई प्रतिनिधित्व गर्ने चरित्र देखाउँदैनन । तर, उनीहरू सबैजसो आम रूपमा दलाल पुँजीवादलाई नै प्रतिनिधित्व गरिरहेका देखिन्छन् । यी कुनै पनि राजनीतिक गुटसँग नेपाली जनताको प्रमुख राजनीतिक अन्तर्विरोध छैन । उनीहरूका पनि गलत काम, कृयाकलाप र नीतिहरूको विरोध र भन्डाफोर गर्नुपर्छ । तर, उनीहरू कुनै पनि नेपाली जनता र समाजवादी क्रान्तिकारीहरूका मुख्य प्रतिद्वन्द्वी होइनन् ।

    तर, जहाँसम्म नेपाली कांग्रेसको कुरा छ, यो उदारवाद/नवउदारवाद तथा दलाल पुँजीवादको हित प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक पार्टी हो । समाजवाद निर्माणको प्रक्रियामा त्यससँग लामोसमयसम्म अन्तरविरोध रहने छ । यो कम्युनिष्ट पार्टीसँग सँगै जस्तो जन्मिएर आएको पार्टी हो । यो पार्टीले पुँजीवादी जनवादी क्रान्तिको समग्र काल भरि नै उदार जमिन्दार र दलाल नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्दै आयो । यो उदार पुँजीवादी व्यवस्था र संसदीय लोकतन्त्रका पक्षमा छ । यो आजको पुँजीवादी शोषण, दमन र अन्यायपूर्ण सामाजिक व्यवस्थाको पक्षमा छ । तिनीहरूलाई संरक्षण गर्न चाहन्छ र समाजवादी क्रान्ति र रुपान्तरणका विरुद्ध छ । यो साम्राज्यवादीहरूसँगको सम्बन्धलाई बलियो बनाउने पक्षमा छ । पछिल्लो अवधिमा वामपन्थी आन्दोलन विभाजन हुँदै जाने क्रममा यो पार्टीले आफूलाई सुदृढ गर्दै ल्याएको छ ।

  • राजीनामा नदिएको भए उपेन्द्रलाई गलहत्त्याउने तयारी थियो : माधव नेपाल (भिडिओ)

    राजीनामा नदिएको भए उपेन्द्रलाई गलहत्त्याउने तयारी थियो : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित गराइएको दाबी गरेका छन्।

    केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अहिलेको सरकार र समीकरण कहिले कता जान्छ भन्ने टुंगो नभएको बताए।

    उनले भने- निर्वाचनपछिको गठबन्धन यो संसद कार्यकाल भरी जाला भनेको, समाजवादी मोर्चाको घटक जसपा नेपाल विभाजित भयो, विभाजित गरियो। विभाजित गरिएको मात्रै होइन, सरकारबाट पनि उनलाई निकालियो, तपाईँलाई लाग्ला आफैँ राजीनामा दिएर जानुभएको होला तर होइन निकालियो। मुन्ट्याउने काम मात्रै भएन गलहत्त्याएर निकाल्ने, उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकालिन्थ्यो, हिजो काम छँदा भाँडो नछँदा ठाडो भनेजस्तै, उहाँको अवस्था त्यस्तै देखिरहेका छौँ। केपी ओलीको प्रतिगमनको प्रतिगमनका विरुद्ध सँगै अघि बढेको पार्टी, निर्वाचनपछि गठबन्धनमा महत्त्वपूर्ण घटक भएको पार्टी।

    उनले अशोक राईलाई निर्वाचन आयोगले दिएको मान्यता सही थियो थिएन भन्ने आशंका रहेको उल्लेख गर्दै अदालतले नै टुंग्याउने बताए।

  • माधव नेपालको दाबी- हाम्रो पार्टीप्रति जनताको निकै ठूलो आशा छ (भिडिओ)

    माधव नेपालको दाबी- हाम्रो पार्टीप्रति जनताको निकै ठूलो आशा छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको राजनीतिमा आफ्नोप्रति जनताको निकै ठूलो आशा र अपेक्षा रहेको दाबी गरेका छन्।

    केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टीप्रति कुनै किसिमको भ्रम राख्नुपर्ने आवश्यक नभएको बताए।

     

    उनले भने- हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी हो। सबै चुनौतीको सामना गर्दै परिवर्तनको अग्रपङ्क्तिमा उभिने पार्टी हो। हामी बलियो हुन्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढेका छौँ। विगतको समीक्षा र मूल्याङ्कन गर्ने काममा हामीले विचार गर्नुपर्छ। अहिले पनि नेपालको राजनीतिमा हाम्रो पार्टीप्रति जनताको निकै ठूलो आशा र अपेक्षा छ। अझै पनि हामीसँग गोलबद्ध भएका ठूलो पङ्क्ति विद्यमान छन्। कसरी हामीले राजनीतिक र वैचारिक रूपमा प्रशिक्षित गर्ने, संगठनात्मक रूपमा आबद्ध गर्ने, राम्ररी क्रियाशील बन्दै जनताको आशा र भरोसाको उपयुक्त केन्द्र बन्ने विषय अगाडि सार्नुपर्छ ।

    उनले आज भोलिका ताजा घटनाक्रमले पनि एमालेबाट आफूहरूले विद्रोह गरेको औचित्य पुष्टि गरिरहेको दाबी गरे ।

  • माधव नेपालको प्रतिवेदन- एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड, ओली स्वेच्छाचारी र प्रतिगामी (पूर्णपाठ)

    माधव नेपालको प्रतिवेदन- एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड, ओली स्वेच्छाचारी र प्रतिगामी (पूर्णपाठ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको जारी पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा ५७ पेजको राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आगो ओकलेका छन् ।

    सोमबारदेखि शुरू भएको पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेपालले कांग्रेसलाई लोकतन्त्र र संविधान रक्षाका लागि प्रतिबद्ध शक्ति भन्दै एमालेलाई ती दुवै (लोकतन्त्र र संविधान) का लागि खतरा शक्तिका रूपमा औंल्याएका छन् ।

    नेपालको राजनीतिक प्रतिवेदनमा एमाले ‘व्यक्ति केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुण्ड’ मा परिणत भएको दाबी गरिएको छ । त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीलाई स्वेच्छारी, प्रतिगामी र केशरजंग रायमाझीपन्थी भनेका छन् ।

    नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ- एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा हुनुपर्ने कुनै पनि गुण केपी ओलीले चलाएको एमालेमा एउटा पनि छैन । एमालेले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अंगीकार गरेको छैन । उसले कम्युनिष्ट पार्टी विधि पद्धतिमा चल्नुपर्छ र उसले राज्य सञ्चालन गर्दा पनि विधि पद्धति अनुसार चल्नु र चलाउनुपर्छ भन्ने मान्यतासमेत परित्याग गरेको छ । एमाले नेतृत्व जनताको बहुदलीय जनवादी पनि होइन । एमाले व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुण्डमा परिणत भएको छ ।

    २२ शीर्षकमा समेटिएको राजनीतिक प्रतिवेदनका अधिकांश हरफ र सन्दर्भमा नेपालले एमाले र केपी ओलीको कटु आलोचना गरेका छन् । उनले एमालेबाट आफूहरूले गरेको ‘विद्रोह’ जायज थियो भन्ने पुष्टि भएको तर्कसमेत गरेका छन् ।

    नेपालले एमालेबाहेकका राजनीतिक दलहरूको सन्दर्भमा भने राप्रपा र रास्वपाबाहेक अन्यको आलोचना गरेका छैनन् । उनले रास्वपालाई सस्तो लोकप्रियताले सर्वसाधारणमा भ्रम सिर्जना गरेर प्रतिक्रियावादको सेवा गर्ने शक्ति भनेका छन् भने राप्रपालाई पश्चगामी र सामन्ती चरित्रको सेवा गर्ने पार्टी भनेका छन् ।

    नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आवश्यक छलफलपछि पारित हुने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । एउटै सत्ता समीकरणको सबैभन्दा ठूलो दलप्रति यति धेरै आक्रोश र आलोचनासहित अध्यक्ष नेपालले बैठकमा राजनीतिक प्रतिवेदन नै पेश गर्नुले उनको पार्टी सत्ता गठबन्धनबाट बाहिरिनुपर्ने अवस्था आउन लागेको संकेत गरेको छ ।

    हेर्नुहोस् नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको पूर्णपाठ

  • सत्ताबाट बाहिरिने दबाबमा नेकपा एस, आफैं छोड्ने कि हटाइने ?

    सत्ताबाट बाहिरिने दबाबमा नेकपा एस, आफैं छोड्ने कि हटाइने ?

    कैलाली । केन्द्रीय सत्ता गठबन्धनबाट नेकपा एस लगभग बाहिरिने निचोडमा पुगेको छ । पार्टीभित्र सत्ता गठबन्धनमा रहने वा नरहने बहसका बीच गठबन्धन छाड्ने संकेत देखिएको पार्टी उच्च स्रोतले बतायो । जसपा नेपाल फुटेपछि नेकपा एस बाहिर रहँदा पनि प्रचण्ड सरकारलाई बहुमत पुग्छ । पार्टीमा फुटसँगै उपेन्द्र यादवले सरकार छाडिसकेका छन् ।

    प्रदेश सरकारमा पनि नेकपा एसलाई एमाले-माओवादीले बेवास्ता गर्न थालेपछि माधव नेपालले गठबन्धनमा असजिलो महसुस गरिरहेका छन् ।

    एमाले, माओवादी, रास्वपा, फुटेको जसपा, नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्छ । एमालेसँग टोपबहादुर रायमाझी निलम्बित हुँदा ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ गर्दा १३८ जनाको बहुमत पुग्छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ जना जोड्दा १४० हुन्छ । नाउपाका अन्य २ सांसद पनि जोड्दा १४२ सांसद छन् ।

    नेकपा एकीकृत नहुँदा पनि सरकार जोगिने भएपछि अहिले नेकपा एसको बार्गेनिङ पावर घटेको छ । तर, जसपा नेपाल गठबन्धनबाट बाहिरिएसँगै नेकपा एस पनि बाहिर आउने वा गठबन्धनले हटाउने विषयमा छलफल चलिरहेको उच्च स्रोतको दाबी छ ।

    गठबन्धनबाट हट्दा वा हटाइला पार्टी फुटाउने र एउटा समूहले यही सरकारलाई समर्थन गर्ने विषयमा पछि छलफल भएको छ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भने अहिले विभिन्न छलफल र बहस भएपछि पार्टी फुट्ने र गठबन्धन छोड्ने विषयमा कुनै ठोस कुरा नभएको बताउँछन् ।

    उनी भन्छन् ‘पार्टीभित्र छलफल र बहस हुने कुरा सामान्य हो तर, गठबन्धनबाट हटाउने वा पार्टी फुट्ने सम्मको विषय अहिले भएको छैन ।’

    एमाले उपाध्यक्ष युवराज ज्ञवाली भने गठबन्धनमा नेकपा एकीकृत नरहने भन्ने विषय आइरहेको भन्दै तत्काल गठबन्धन छोड्दा नेकपा एकीकृत समाजवादीलाई ठूलो धक्का पुग्ने बताउँछन् ।

    ‘गठबन्धनमा नरहने, कांग्रेससँग मिलेर प्रधानमन्त्री बन्ने भन्दै आइरहेको त सुनिन्छ तर, यसो गर्दा नेकपा एकीकृत समाजवादीलाई धम्का पुग्छ ’, उनले भने ।

    एमालेकै अडानका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले अहिले सम्म विश्वासको मत लिन पाएका छैनन् । वैशाख २१ र २२ गते उनले विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेले तत्काल केन्द्रसँग परामर्श नगरी विश्वासको मत दिन नसक्ने बताएपछि अहिले फेरि ३ गते विश्वासको मत लिने गरी मुख्यमन्त्री सोडारी अगाडी बढेका छन् । ३ गते पनि विश्वासको मत दिन सक्ने अवस्था नरहेको एमाले स्रोतको दाबी छ ।

    सोडारीले ४ गते भित्रै विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । कोशीमा आज नेकपा एकीकृत समाजवादीले एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत दिए ३ गते सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई एमालेले विश्वासको मत दिने संघीय मन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले दाबी गरे ।

    कोशीमा नेकपा एकीकृत समाजवादीले विश्वासको मत नदिए एमाले सरकार ढल्ने अवस्था छैन तर, सुदूरपश्चिममा एमालेले नदिए सोडारीले विश्वासको मत पाउँदैनन् । दीर्घ सोडारीलाई एमाले अध्यक्ष केपी शर्मा ओली लेनै तत्काल विश्वासको मत नदिन निर्देशन दिएका छन् । यसले पनि सत्ता गजबन्धनमा नेकपा एकीकृत समाजवादी नरहने सङ्केत गरेको एमाले एक पदाधिकारीको दाबी छ ।

    ‘३\४ गते भित्रै नेकपा एकीकृत समाजवादीको विषय टुङ्गो लाग्छ’, एमाले स्रोतले भन्यो ‘नेकपा एस गठबन्धनबाट बाहिरिने सम्भावना भएकै हुँदा कोशीमा मन्त्री नियुक्त नगरिएको हो र सुदूरपश्चिममा विश्वासको मतको लागि हतार नगरिएको हो ।’

    मधेशमा पनि नेकपा एसविना नै सरकार बनाउने गृहकार्य भएपछि तत्काल गठबन्धनबाट निस्कने सम्भावना रहेको ती नेताले बताए ।

    अन्य प्रदेशमा पनि नेकपा एकीकृत समाजवादी नहुँदा आवश्यक पर्ने अंकगणितका लागि अन्य दलहरूसँग पनि संवाद र छलफल जारी छ ।

  • नेकपा एसको ठहर- कांग्रेसले उठाएको विषय जायज छ, सदन खुलाउने जिम्मा सरकार र सभामुखको (भिडिओ)

    नेकपा एसको ठहर- कांग्रेसले उठाएको विषय जायज छ, सदन खुलाउने जिम्मा सरकार र सभामुखको (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने दस्तावेज पेश गरिएको छ ।

    पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा पेश गरेका थिए । त्यस्तै बैठकमा संगठनात्मक प्रस्ताव र विधान मस्यौदाका साथै सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रारुप प्रस्ताव प्रस्तुत गरेको नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    उनका अनुसार बैठकमा पार्टी अध्यक्ष नेपाल र महासचिव घनश्याम भुसालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए ।

    बैठकमा स्थायी कमिटी सदस्यहरु साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आआफ्नो धारणा राखेका थिए । अन्य सदस्यहरुले आइतबारको बैठकमा धारणा राख्ने र आइतबार नै स्थायी कमिटी बैठक सकिने प्रवक्ता खतिवडाले बताए ।

    उनले पार्टीभित्र फुटका बारेमा कुनै चर्चा नभएको जिकिर गरे । संसदमा कांग्रेसले उठाएका विषय जायज भएको भन्दै प्रवक्ता खतिवडाले संसदको अवरोध हटाउन सरकार र सभामुख गम्भीर हुनुपर्ने बताए ।

    स्थायी कमिटी बैठक लम्बिएपछि पोलिटव्युरो बैठक बैशाख ३१ र जेठ १ गते तथा केन्द्रीय कमिटी बैठक जेठ २ गतेबाट बस्ने जनाइएको छ ।

  • राष्ट्रियताका लागि दबाब दिन माइतीघर पुगे नेकपा एस समर्थित युवाहरू

    राष्ट्रियताका लागि दबाब दिन माइतीघर पुगे नेकपा एस समर्थित युवाहरू

    काठमाडौं । सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले माइतीघर मण्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम गरेको छ ।

    नेकपा एसका युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन र भ्रष्टाचार तथा बेथितिको विरोधमा प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागी युवाहरुले ‘हाम्रो नोटमा हाम्रै देश-आन्तरिक मामिलामा नगर हस्तक्षेप’, ‘नेपालको पश्चिमसम्मको भेग, लिम्पियाधुरा र लिपुलेक’, उठौं युवा एकै साथ, रोकौ भारतीय विस्तारवाद’ ‘एमसीसी के हो ? व्याख्यात्मक टिप्पणी के भो ?’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनअघि युवाहरु मोटरसाइकल र्‍याली गर्दै माइतीघरमा पुगेका थिए । प्रदर्शन कोणसभापछि समापन गरिएको थियो ।

    नेपालले १०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरञ्जना गरिरहेको कारण नेपालको स्वाभीमानलाई उच्च राख्न युवा दबाब कार्यक्रम गरिएको युवा संघका नेता विशाल लामाले बताए ।

    माइतीघरमा भएको कोणसभामा युवा संघका अध्यक्ष कृष्ण विक, प्रवक्ता सञ्जीप राईलगायतले आआफ्नो धारणा राखेका थिए ।

  • नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु (तस्बिर)

    नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु (तस्बिर)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ। तोकिएको समयभन्दा केही ढिलोगरी पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    बैठकमा पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल भइरहेको छ । स्थायी कमिटी बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान र सांगठनिक दस्तावेजमाथि पनि छलफल हुने जनाइएको छ ।

    बैठकमा पछिल्लो समय सत्ता समीकरणमा देखिएको समस्या, पार्टीभित्र भएका असन्तुष्टि लगायतका विषयमा छलफल हुने प्रवक्ता खतिवडाले बताए ।

    एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। त्यसका लागि थप छलफल गर्न भोलि पोलिटब्युरो बैठक बोलाइएको छ ।

  • अहिलेको राजनीतिले संघीयता बचाउन सक्दैन: रामकुमारी झाँक्री (भिडिओ)

    अहिलेको राजनीतिले संघीयता बचाउन सक्दैन: रामकुमारी झाँक्री (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समावादीकी सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् ।

    काठमाडौंमा आयोजित नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृतिसभामा बोल्दै उनले संघीयता सवलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताइन् ।

    उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबीसमेत गरिन् ।

    नेतृ झाँक्रीले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्ने कुरामा शंका रहेको बताइन् । स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

    ‘समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रियसभामा फेरि ५९ जना किन चाहियो ? राष्ट्रियसभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्छ । हामीले कि शासकीय स्वरुप फेरौं कि त निर्वाचन प्रणाली फेरौं वा निर्वाचन कानूनमा केही न केही फेरौं । केही पनि नफेरिकन हामी कतै पुग्दैनौं’, उनले भनिन्, ‘संघीयता कसरी बाँच्छ, यसले पूर्ण खोप पाउँछ कि पाउँदैन म भन्न सक्दिनँ । यो राजनीतिले कसरी बचाउला यो संघीयता ? यो बच्चाले ९ महिनासम्मको पूर्ण खोप पाउँछ कि पाउँदैन ? त्यसपछिको बुस्टर डोज त म भन्नै सक्दिनँ ।’

    शासकीय स्वरुपहरुको सम्बन्धमा वा निर्वाचन प्रणालीको सम्बन्धमा ४० र ६० प्रतिशतको मिश्रित निर्वाचन प्रणाली हेर्नुपर्नेमा उनले जोड दिइन् ।

    सचिव झाँक्रीले निर्वाचनको थ्रेसहोल्ड बढाउनुपर्नेसमेत बताइन् । उनले नेपालका ४० लाख मानिसले विचौलियाको धन्दा गरेर जीविकोपार्जन गर्ने गरेको दाबी गरिन् ।

  • मुख्यमन्त्री सोडारीको विश्वासको मत अझै अनिश्चित

    मुख्यमन्त्री सोडारीको विश्वासको मत अझै अनिश्चित

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले लिने विश्वासको मत अझै अनिश्चित बनेको छ ।वैशाख ६ गते मुख्यमन्त्री सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । २१ दिन पुग्दा पनि कुन दिन र कहिले विश्वासको मत दिने भन्ने अझै सुनिश्चित भएको छैन ।

    मुख्यमन्त्री सोडारीले बझाङ निर्वाचन पछि विश्वासको मत पाउने आश्वासन पाएका थिए तर, अहिले बझाङबाट निर्वाचित दमन भण्डारीले शपथ नलिएसम्म एमालेले विश्वासको मत नलिनेमा उनी विश्वस्त भइसकेका छन् ।तर, त्यस अघि नै दुई पटकसम्म मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिसकेका छन् जुन प्रयास असफल भएको छ ।

    शुक्रबार विश्वासको मत लिने गरि तयारी गरेका मुख्यमन्त्री सोडारीले एमालेले विश्वासको मत नदिने बताएपछि शनिवार साँझ ५ः३० बजे सम्मको लागि बैठक स्थगित गरे । एमालेलाई मनाउने गरि बैठक स्थगित गरेका मुख्यमन्त्रीले अर्को बैठक राख्दा पनि छलफल नगरेको भन्दै एमाले थप चिढिएको थियो ।

    तत्काल एमालेले विश्वासको मत नदिने देखिएपछि अनिश्चितसम्मको लागि प्रदेश सभा बैठक स्थगित गरिएको छ । विश्वासको मतका विषयमा केन्द्रीय नेतृत्वसँग परामर्श गर्न शनिबार नै एमाले नेताहरू काठमाडौँ गएका थिए ।

    एमाले संसदीय दलका नेता राजेन्द्र बहादुर रावल, प्रमुख सचेतक सुरेन्द्र पालले काठमाडौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सुदूरपश्चिम प्रदेशको अवस्था बारे जानकारी दिएका थिए ।

    ओलीले पनि तत्काल विश्वासको मत दिन हतार नगर्न सांसदहरूलाई निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि यहाँका सांसदहरू थप ढुक्क देखिएका छन् ।

    ‘अहिले हतार गर्नुपर्ने बेला आएको छैन । हामी छलफल र परामर्शमा छौँ’ एमाले संसदीय दलका नेता रावलले भने ‘हाम्रो नेतृत्वले पनि तत्काल हतार नगर्न भन्नुभएको छ। ’

    अहिले मुख्यमन्त्री सोडारी पनि काठमाडौँमै छन् । उनी पनि नेता र नेतृत्वसँग छलफलमा छन् । अहिले सम्म पनि केन्द्रमा सोडारीलाई कहिले विश्वासको मत दिने भन्ने विषयमा कुनै टुङ्गो लागेको छैन । प्रदेश सभा बैठक अनिश्चित छ भने अन्य दलहरूले पनि तयारी गरेका छैनन् ।
    अहिले केन्द्रमा पनि सत्ता गठबन्धन भित्र भागबन्डा मिलेको छैन । सत्तारुढ दलहरू पावर सेयरिङपछि मात्रै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गर्ने स्रोतको दाबी छ ।

    अहिलेसम्म प्रदेश सरकारमा मुख्यमन्त्री सोडारीबाहेक भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नाउपाकै टिक थापा मन्त्री छन् ।

    सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा पुरा गर्न मन्त्रालय फोड्ने विषयमा पनि छलफल जारी छ । अहिले अर्थ मन्त्रालयमा सत्ता गठबन्धनका दलहरूको दाबी देखिएको छ । अहिलेसम्म एमालेले सरकारमा सहभागी हुने विषयमा कुनै निर्णय गरेको छैन ।

  • प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्छ : माधव नेपाल (भिडिओ)

    प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्छ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्ने बताएका छन् । सत्ता समीकरणमा असन्तुष्ट रहेका नेपालले कालिका खबरको वार्षिकोत्सवलाई सम्बोधन गर्दै यही सरकार अगाडि बढ्ने बताए ।

    उनले भने, ‘अहिले यो सरकार छ, यही सरकार अगाडि बढ्छ ।’

    उनले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा अहिलेको समस्या समाधान गर्न सक्नेगरी ल्याउनुपर्नेमा जोड दिए । बजेटको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पनि आफूले राख्ने बताए ।

     

  • झलनाथको प्रष्टीकरण- मैले पार्टी फुटाउँदैछु भनेर सुनियोजित रूपमा प्रचार गरियो

    झलनाथको प्रष्टीकरण- मैले पार्टी फुटाउँदैछु भनेर सुनियोजित रूपमा प्रचार गरियो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्दैछ भनेर सुनियोजित रूपमा हल्ला चलाइएको प्रष्टीकरण दिएका छन्।

    उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि नेकपा एस पनि फुट्न लागेको चर्चाकाबीच नेता खनालेले प्रष्टीकरण दिएका हुन्।

    उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केहि दिनअघि मात्र तत्कालीन जनता समाजवादी पार्टी नेपाल समेत विभाजित भएको छ । यही सिलसिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ । केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’

    उनले पार्टी आफ्नो पार्टीको १० औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको उल्लेख गरेका छन्।

    उनले थपेका छन्, ‘देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूलाई परिष्कृत र परिमार्जित गर्दैछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ, देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ । त्यसै कारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्त्वहरू आतंकित भएका छन् । त्यसैले उनीहरू प्रतिक्रियावादीहरूका मक्किइसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरू लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोसिस गर्दैछन् ।’

    पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्त्वहरूका अनर्गल प्रचारबाट होसियार बन्न आग्रह गरेका छन्। उनले वर्तमान नयाँ सत्ता समीकरणमा समर्थन रहेको समेत जनाएका छन्।

  • पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एसकाे सचिवालय बैठक जारी

    पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एसकाे सचिवालय बैठक जारी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा पार्टीको आगामी १० औं महाधिवेशन, विकसित राजनीतिक अवस्था र अन्य महत्वपूर्ण विषयमाथि छलफल भइरहेको सहभागी नेताले जनाएका छन् ।

    सत्तारुढ दल जसपा विभाजित बनेपछि तरंगित राजनीतिका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

     

     

  • दलको बैठकमा माधव नेपालको ब्रिफिङ- यही गठबन्धनलाई निरन्तरता दिने कुरामा प्रष्ट छौंं

    दलको बैठकमा माधव नेपालको ब्रिफिङ- यही गठबन्धनलाई निरन्तरता दिने कुरामा प्रष्ट छौंं

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका अध्यक्ष माधव नेपालले यही गठबन्धनलाई निरन्तरता दिने कुरामा आफू प्रष्ट रहेको पार्टीको बैठकमा ब्रिफिङ गरेका छन्।

    आज बसेको संसदीय दलको बैठकमा गठबन्धनमा आबद्ध दलबाट आफ्नो पार्टीलाई भएको व्यवहारको विषयमा आफूले प्रष्ट राख्दै आएको बताए।

    अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै एक सांसदले भने, हामी अहिले गठबन्धनमा छौँ त्यहाँ हामीले हाम्रो सबै विषय प्रष्ट राख्छौँ। अब गठबन्धनलाई निरन्तरता दिने कुरामा प्रष्ट छौंं। हामीले अहिले यो छाड्ने कुरा गरेका छैनौँ।

    उनले पार्टीका विरुद्ध भ्रम पार्न कोसिस भइरहेकाले त्यसमा सचेत हुने आग्रह गरे। उनले दल एकताबद्ध भएर यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा रहेको बताए। उनले गठबन्धन दलहरुबीच भएका सहमति कार्यान्वयनमा आशंका देखिएकोले समस्या बढेको बताए।

    सत्ता गठबन्धनमा आबद्ध भएपछि पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष नेपालको आरोप प्रत्यारोप र छेडखानी चल्दै आइरहेको छ। त्यसो अध्यक्ष नेपालले उपेन्द्र यादवसँग मिलेर सरकार ढाल्ने खेलमा लागेकै कारणले अहिले जसपा विभाजित बनेकोसम्म चर्चा छ।

  • जसपा विभाजनबारे नेकपा एसको प्रतिक्रिया- फुटाउने भूमिका खेल्नेहरूको गतिविधि निन्दनीय छ

    जसपा विभाजनबारे नेकपा एसको प्रतिक्रिया- फुटाउने भूमिका खेल्नेहरूको गतिविधि निन्दनीय छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनपछि राष्ट्रियतालाई कमजोर गर्ने खेल भइरहेको बताएका छन्।

    आज बसेको संसदीय दलको बैठकले जसपा विभाजनमा भूमिका खेल्ने कार्य निन्दनीय भएको निष्कर्ष निकालेको हो।

    बैठकपछि सांसद शेरबहादुर कुँवरले भने, जसपा सरकार र समाजवादी मोर्चामा पनि सहभागी छ। सरकारमा भएको दललाई विभाजित गर्ने गतिविधि जोजोबाट भएका छन्, ती निन्दनीय हुन्। यो देशको राष्ट्रियतालाई कमजोर गर्ने खेल हो।

    उनले गठबन्धनमा सहमति भइसकेपछि सबैले पालना गरेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए।

    उनले भने, ‘मोर्चाका गतिविधिमा पनि आशंका बढ्छ। सबैलाई एकताबद्ध गर्नको लागि समाजवादी मोर्चा बनाएका थियौँ तर, त्यही भित्रको दल विभाजित भएपछि त्यसले असर गर्ने स्वभाविक भइहाल्यो।’

  • नेकपा एसको प्रष्टीकरण- पार्टी एकताबद्ध छ, विभाजनबारे चलाइएका हल्ला गलत हुन्

    नेकपा एसको प्रष्टीकरण- पार्टी एकताबद्ध छ, विभाजनबारे चलाइएका हल्ला गलत हुन्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता नभएको जनाएको छ। जसपा विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एस पनि विभाजनको संघारमा पुगेको चर्चा चलिरहेको बेलामा पार्टीविरुद्ध चलाइएका भ्रमको पछि नलाग्न आग्रह गरेको छ।

    आज बसेको संसदीय दलको बैठकको निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले भने, संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ।

    बैठकमा समसामयिक राष्ट्रिय राजनीति, संघीय संसदको आगामी अधिवेशनमा खेल्नु पर्ने भूमिका लगायतका विषयहरूमा छलफल भएको बताए।

    बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेट बारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरू दिने, संसदको आगामी अधिवेशनमा जनसरोकारका विषयहरू सशक्त रूपमा उठाउने र कानून निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको बताए।

  • नेकपा एस संसदीय दलको बैठक सुरू (भिडिओ)

    नेकपा एस संसदीय दलको बैठक सुरू (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरू भएको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक अहिले बसिरहेको छ ।

    जसपा विभाजनसँगै नेकपा एसमा पनि विभाजनको धाँजा फाटेको चर्चा चलिरहेका बेला माधव नेपालले दलको बैठक राखेका हुन् ।

    नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन् । आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले पाएको बताइन्छ । नेकपा एसमा १० सांसद छन् ।

    नेकपा एसभित्र यहि सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत बलियो रुपमा प्रकट भइरहेका छन् । तर, नेकपा एसका सम्मानित नेता झलनाथ खनालले बाहिर चर्चा भएजस्तो आफ्नो पार्टी विभाजनतर्फ नगएको दाबी गरे ।

    उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल चिन्तित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अहिलेको सत्ता समिकरणबाट निकाल्न प्रधानमन्त्रीलाई संकेत गरिसकेका छन् ।

    उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा विभाजित जसपाका सांसदलाई मन्त्री बनाउने तयारी छ । प्रमुख सचेतक मेटमणी चौधरीका अनुसार बैठकले अबको पार्टीको रणनीति बनाउनेछ ।

  • नेकपा एसले सार्‍यो स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

    नेकपा एसले सार्‍यो स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सरेको छ । आन्तरिक तयारी नपुगको भन्दै पार्टीको बैठक सारेको हो ।

    वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिट्ब्यूरो र ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने अध्यक्ष माधव नेपालको सचिवालयले जनाएको छ ।

    यसअघि क्रमशः बैशाख २६, २७ र २८, २९ गते बस्ने भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजनको तरंग यसबेला नेकपा एसमा परेको छ ।

    उपेन्द्रसँग अध्यक्ष माधव नेपालले वैकल्पिक गठबन्धनको गृहकार्य अगाडि बढाएपछि जसपा विभाजन भएको थियो । त्यसपछिको घटनाक्रमबारे छलफल गर्न अहिले संसदीय दलको बैठक बस्दैछ ।

  • जसपा विभाजनपछि झलनाथको प्रतिक्रिया- समीकरण थप सुदृढ हुँदैछ, नेकपा एस फुट्दैन

    जसपा विभाजनपछि झलनाथको प्रतिक्रिया- समीकरण थप सुदृढ हुँदैछ, नेकपा एस फुट्दैन

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि नेपाली राजनीति तरंगित भएको छ । यही मेसोमा सोमबार बिहान नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन नेकपा एसका सम्मानित नेता झलनाथ खनाल निवास पुगेका छन् ।

    खनाल निवास डल्लु पुगेका अर्थमन्त्री पुनसँग पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाइएको छ । उनले अर्थमन्त्री पुनसँग समीकरणलाई थप बलियो बनाएर जानेबारे पनि छलफल भएको बताए ।

    पुनसँगको भेटपछि खनालले नेपाल प्रेससँग भने, ‘अहिले समीकरण थप सदृढ बन्दै गएको छ, यसलाई थप बलियो बनाएर लानुपर्छ भन्नेमा छौं । त्यही कुराकानी भयो ।’

    जसपा विभाजनपछि नेकपा एस पनि विभाजनको डिलमा रहेको चर्चा छ नि ? भन्ने जिज्ञासामा उनले भने, ‘हाम्रो पार्टी विभाजन हुँदैन, त्यस्तो कुनै सम्भावना छैन ।’

    उनले अर्थमन्त्री पुनलाई पछिल्लो आर्थिक संकट निकास गर्नेखालको नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएको बताए ।

    उनले थपे, ‘मुलुकमा देखिएको आर्थिक संकट समाधान, विकास निर्माण, मुलुकले समृद्धि मागिरहेको छ, मुल्यवृद्धि, भ्रष्टाचार महंगी यसलाई समाधान गर्ने किसिमको नीति तथा कार्यक्रम र बजेट ल्याउनुस् भन्ने सुझाव दिएको छु ।’

    उनले आज अध्यक्ष माधव नेपालले बोलाएको संसदीय दलको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताए ।

    जसपा विभाजनसँगै नेकपा एसमा पनि विभाजनको धाँजा फाटेको चर्चा चलिरहेको बेलामा माधव नेपालले दलको बैठक बोलाएका छन् । तर, पार्टी विभाजन हुने खालको कुनै विवाद नभएको नेता खनालले जिकिर गरे ।

    नेकपा एसभित्र यही सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्नेमा विवाद रहँदै आएको छ । नेता खनाललगायतका नेता एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् भने अध्यक्ष नेपाल सुरुआती चरणदेखि नै यो समीकरणमा सन्तुष्ट छैनन् ।

    कांग्रेससँग वैकल्पिक गठबन्धन बनाउने माधव नेपालको सक्रियताकै कारणले उपेन्द्र नेतृत्वको जसपा विभाजन भएको नेताहरू बताउँछन् ।

  • माधव नेपालले बोलाए संसदीय दलको बैठक, नेकपा एस विभाजन हुन नदिने प्रयास

    माधव नेपालले बोलाए संसदीय दलको बैठक, नेकपा एस विभाजन हुन नदिने प्रयास

    काठमाडौं । जसपा विभाजनसँगै नेकपा एसमा पनि विभाजनको धाँजा फाटेको चर्चा चलिरहेका बेला माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो ।

    नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन् । आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले पाएको बताइन्छ ।

    उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल चिन्तित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अहिलेको सत्ता समिकरणबाट निकाल्न प्रधानमन्त्रीलाई संकेत गरिसकेका छन् ।

    उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा विभाजित जसपाका सांसदलाई मन्त्री बनाउने तयारी छ । अबको रणनीति बनाउनका लागि नेकपा एसको संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक मेटमणी चौधरीले बताए ।

    नेकपा एसभित्र यहि सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत बलियो रुपमा प्रकट भइरहेका छन् । एकातिर सांसदहरु नेपालसँग असन्तुष्ट भएर विभिन्न ठाउँमा संवादमा छन् भने अर्कोतिर झलनाथ खनाललगायतका नेताहरु एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् ।

  • गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैन, राष्ट्रिय पुँजीको विकास गरी रोजगारी सृजना गरौं: घनश्याम भुसाल

    गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैन, राष्ट्रिय पुँजीको विकास गरी रोजगारी सृजना गरौं: घनश्याम भुसाल

    रुपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गाडी र साडी मात्रै बेचेर मुलुक नबन्ने बताएका छन् ।

    मोर्चा संगठन लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको जनसंगठनको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन नगरी अर्काको देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने दावी गरेका हुन् ।

    उनले राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा नजाँदासम्म मुलुक अगाडि बढन नसक्ने बताए । ‘अहिले हाम्रो देशमा उत्पादनमा आधारित उद्योग नै स्थापना गर्ने सकेनौं, त्यसैले युवा पलायन भइरहेका छन् ।’  महासचिव भुसालले भने,’अब नेपाल राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जाने नीति लिएका छौं ।’ उनले रोजगारी सृजाना गर्दै मुलुकमा १० वर्षभित्र राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताए ।

    नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्दा सामन्ती सत्ता रहेको तर अहिले दलाल पूँजीवाद रहेकाले त्यससंग जुध्न राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने उनको भनाइ छ । महासचिव भुसालले नेकपा एकीकृत समाजवादीको महाधिवेशले अहिलेको विद्यमान समस्याबाट निकास निकाल्ने गरी नीति बनाउने उनको दावी थियो ।

    भुसालले अहिले देशमा उद्योगधन्दा धारासायी भएको र निजी क्षेत्र उत्साही हुन नसकेको बताउँदै यसको कारण दलहरूमा वैचारिक अस्पष्टता रहेको बताए । उनले अब उद्योगधन्दालाई प्रोत्साहन गर्दै त्यस्ता उद्योगलाई विद्युत, कर लगायतमा छुट दिने नीति ल्याउनुपर्ने बताए ।

    ०६२/६३ सालको जनक्रानितले सामन्तवाद समाप्त पारेको बताउँदै अबको बाटो राष्ट्रिय पुँजीको विकास गरी रोजगारी सृजना गर्नमा केन्द्रीत हुनुपर्ने उनको तर्क थियो । उनले एमालेमा आफूहरूको विद्रोह संसद विघटनसंग मात्रै नजोडिएको बताउँदै केपी ओलीसँग वैचारिक र सैद्वान्तिक मतभेद पहिल्यैदेखि रहेको तर्क राखेका थिए ।

    पार्टीको महाधिवेशन समयमै हुने र नेपालका कम्युनिष्ट पार्टीहरू वैचारिक रूपमा अलमलमा रहेकाले त्यो महाधिवेशनको दस्तावेजले हलचल ल्याउने उनले बताए। उनले अहिले बनेको गठबन्धनमा अस्तित्वसहित सहभागी भएको तथा जनता र राष्ट्रका मुद्दामा संगैसँगै हुने भएकाले सरकारका गएको उनले बताए ।

    उनले काँग्रेससँगको गठबन्धनमा बस्दा पुच्छर बनेको भन्नेहरूले फेरि एमालेसंग मिल्दैछन् भनेर हल्ला फैलाएको बताउँदै अहिले कुनै पनि दलसंग एकता नहुने बताए । नेकपा एकीकृत समाजवादीका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्च हरि पराजुलीले जनताका आधारभूत विषयमा कार्यकर्ता केन्द्रित हुन आग्रह गरे ।

    नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष सोमप्रसाद पाण्डेयले कम्युनिष्ट आन्दोलनमा देखिएको निराशालाई अब आशामा परिणत गर्ने बताए ।

  • उपेन्द्र देखाएर बार्गेनिङ नगर्न माधवलाई जसपा नेताको चेतावनी,राष्ट्रिय पार्टी नभएकाले प्रधानमन्त्री दावी गर्ने ?

    उपेन्द्र देखाएर बार्गेनिङ नगर्न माधवलाई जसपा नेताको चेतावनी,राष्ट्रिय पार्टी नभएकाले प्रधानमन्त्री दावी गर्ने ?

    काठमाडौं । सत्ता साझेदार दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको असन्तुष्टि र अहिलेको समिकरणप्रतिको विमति सतहमै प्रकट भइरहेको छ । नेपाल वैकल्पिक गठबन्धनको प्रयासमा कांग्रेससँगको संवादमै छन् । उनले आफूले एमाले र माओवादीको साथ छाडेका दिन जसपाले पनि यो समिकरण छाड्ने र अहिलेको सरकार ढल्ने दावी गरिरहेका बेला जसपाको धारणा भने अहिलेसम्म आएको छैन ।

    के जसपा माधव नेपालकै कारणमात्र अहिलेको सत्ता समीकरणमा रहेको हो ? जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिकमा छन्,तर नेताहरु भने नेकपा एसभन्दा जसपा ठूलो र राष्ट्रिय पार्टी भएकाले माधव नेपालको पछि लाग्ने सम्भव नभएको बताइरहेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि बाध्य भएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमालेसँग सहकार्य गर्न आइपुगे पनि केपी ओलीसँगको तिक्तता अझै हट्न सकेको छैन । उनले सत्ता समीकरण भत्काइदिने चेतावनीमात्र दिएका छैनन्,आफू अपमान सहन नजन्मिएको भन्दै प्रधानमन्त्रीको ग्यारेन्टी मागिरहेका छन् ।

    एमालेप्रति माधव नेपालको आक्रोश मत्थर भएको छैन । उनी एमालेसहितको गठबन्धनबाट आफूले आलोपालो प्रधानमन्त्री पाउने सम्भावना नदेखेकै कारण खुलेरै ओलीको आलोचनामा उत्रिएका छन् ।

    एउटै गठबन्धनमा भए पनि अहिले उनीहरुले एकअर्काप्रति आरोप-प्रत्यारोप र छेडखानी गर्न छाडेका छैनन् । हिजोमात्रै रसुवा पुगेका ओलीले माधव नेपाल प्रधानमन्त्री खान नपाएर दमको बिरामी जस्तो हर्‍याकहर्‍याक गरिरहेको टिप्पणी गरे ।

    ओलीले भने, ‘अहिले पनि तपाईंहरुले देखिराख्नु भएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर पर्‍या छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ ।’

    यो अभिव्यक्ति ओलीले त्यसै दिएका होइनन्, अध्यक्ष नेपालले ओलीलाई लक्षित गर्दै आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरेका थिए । नेपालले उनीहरुलाई भतभति पोलिरहेको छ र पोलोस् पनि भन्दै त्यस्ता व्यक्तिलाई धिक्कार भन्न चाहान्छु भनेर ओलीको आलोचना गरेका थिए । ओलीले  त्यसको जवाफ फर्काएका हुन् ।

    गत सोमबार माधवले भनेका थिए, ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरु पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ, म भन्न चाहन्छु।’

    नयाँ समीकरणमा आफू बेचैन रहेको बताउँदै आएका नेपालको यो शक्ति भनेको कांग्रेसले देखाएको वैकल्पिक गठबन्धन हो । फागुन २१ गते प्रचण्डले गठबन्धन तोडेपछि कांग्रेसले नेपाललाई वैकल्पिक गठबन्धनको आश्वासन दिइरहेको छ ।

    प्रतिनिधिसभामा १० सीट रहेका माधव नेपाल ओलीसँग दूरी बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छन् । नयाँ गठबन्धन बने कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४-४ जोड्दा १३८ सांसद पुग्नेछन् । यो सरकार गठनको लागि आवश्यक संख्या हो ।

    तर, यो समीकरणबाट माधव नेपाललाई प्रधानमन्त्री बनाउन जसपाको भूमिका निर्णायक रहन्छ । जसपा अध्यक्ष उपेन्द्र यादव अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।

    एमाले नेतृत्वमा नयाँ समीकरण बन्ने बेलामा पनि उपेन्द्रमाथि प्रचण्ड र ओलीको गठबन्धनमा सहभागी नहुन पार्टीभित्र र बाहिरबाट दबाब बढेको थियो ।

    नयाँ समीकरणमा माधव नेपाल सहभागी भएपछि मात्रै उपेन्द्रले पार्टीको तर्फबाट सरकारमा मन्त्री पठाएका थिए । नयाँ मन्त्रीहरुको शपथग्रहणअघि उपेन्द्रले माधव नेपाललाई घरमै गएर भेटेका पनि थिए । त्यसबेला उपेन्द्रले माधव नेपाल सरकारमा गए मात्रै आफू जाने भन्दै सुझाव नलिएका होइनन् ।

    सम्मानित नेता झलनाथ खनालसहित पार्टीका अधिकांश नेताहरु अहिलेको गठबन्धनको पक्षमा उभिएपछि बाध्य भएर माधव यो समीकरणमा सहभागी भएका थिए ।

    के भन्छन् जसपा नेता ?

    पछिल्लो समय नेकपा एसले संघ, प्रदेश सरकार गठनदेखि राजनीतिक नियुक्तिमा बार्गेनिङ कस्दै असन्तुष्टि पोखे पनि आफ्नो पार्टीको कुनै असन्तुष्टि नरहेको जसपा प्रवक्ता मनिष सुमनले बताए ।

    उनले भने, ‘यो समीकरणप्रति हाम्रो कुनै असन्तुष्टि छैन । हामीले अहिले यो गठबन्धनको विकल्प सोचेका छैनौं । अर्को निर्वाचनसम्म यही गठबन्धन रहिरहनुपर्छ भन्ने पक्षमा हामी दृढ छौं ।’

    तर, माधव नेपालले गठबन्धनभित्र दबाब राख्न जसपा आफ्नो साथमा रहेको सन्देश दिन खोजिराख्नु भएको छ नि भन्ने जिज्ञासामा उनी भन्छन्, ‘हामी सत्ता गठबन्धनको प्रत्येक घटकको साथमा छौं । हामी सुशासनको साथमा छौं, संविधान संशोधनको पक्षमा छौं । मुद्दा मिलेसम्म हामी राजनीतिक दलहरुको साथमा रहन्छौं । तर, मुद्दा नै परिवर्तन भयो भने सँगै रहँदैनौं ।’

    उनले माधव नेपालको असन्तुष्टिको कारण जसपालाई थाहा नहुने जिकिर गरे ।

    कांग्रेसको वैकल्पिक गठबन्धनबाट माधव नेपाललाई प्रधानमन्त्रीको अफर गर्दा जसपा नै निर्णायक हुने अवस्थामा देखिएको छ । त्यो परिस्थितिमा जसपाले के गर्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले हामी यही समीकरणमा छौं । अहिले अर्को गठबन्धन बनाउने पक्षमा छैनौं, त्यो अभ्यास गर्दैनौं पनि । सोचिएको पनि छैन । अहिलेको सरकारले पाएको विश्वासको मत सुरक्षित छ ।’

    जसपाका सांसद प्रदीप यादव पनि आफूहरु यही गठबन्धनको पक्षमा रहेको दाबी गर्छन् ।

    उनी भन्छन्, ‘माधव नेपालले गठबन्धन दलभित्र आपसी छलफलमा राख्नुपर्ने कुरा बाहिर राख्दै आउनुभएको छ । सहकार्य थालिसकेपछि कुनै कुरामा विमति छ भने समझदारी गर्नुपर्छ । नत्र गठबन्धन गर्नुभन्दा अगाडि सोच्नुपर्छ । गठबन्धनमा सहभागी हुनुअघि नै उहाँहरुले योबारेमा सोच्नुपर्ने हो ।’

    कांग्रेसले वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्रीको अफर गरेपछि जसपा पनि आफ्नो साथमा रहेको सन्देश दिन खोजिराख्नुभएको छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनी भन्छन्, ‘जसपा माधव नेपालजीको पार्टीको भ्रातृ संगठन होइन । उहाँको भन्दा ठूलो दल हो । उहाँको १० सीट भए पनि राष्ट्रिय दल होइन, हामी प्रतिनिधिसभामा १२ सीट भएको राष्ट्रिय दल हौं ।’

    उनले देशभरको संख्या हेर्ने हो भने पनि नेकपा एसभन्दा जसपा ठूलो भएको जिकिर गरे ।

    नेता यादवले थपे, ‘उहाँ (माधव)को पार्टीको डिसिजन उहाँले गर्ने हो, के गर्ने के नगर्ने भन्ने । हाम्रो पार्टीको निर्णय हामी गर्छौं । हामी उहाँको पुच्छर होइनौं, उहाँले जहाँ भन्नुहुन्छ त्यही गइहाल्ने ।’

    माधव नेपालले अहिलेको गठबन्धन छाडेर कांग्रेसको प्रस्तावअनुसार वैकल्पिक कोर्समा गए पनि आफ्नो पार्टीले समर्थन नगर्ने उनले दाबी गरे ।

  • विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारीमा ‘ब्रेक’, अनिश्चितकाललाई संसद् स्थगित

    विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारीमा ‘ब्रेक’, अनिश्चितकाललाई संसद् स्थगित

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको तत्काल विश्वासको मत लिने तयारीमा ब्रेक लागेको छ ।

    हिजो विश्वासको मत लिने गरि मुख्यमन्त्री सोडारीले तयारी गरेका थिए। तर, एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेन । अन्तिममा हिजोको प्रदेश सभा बैठक आज ५ः३० बजे सम्मको लागि स्थगित गरिएको थियो ।

    शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले बताए ।

    ‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु पर्‍यो ’ उनले भने, ‘हिजो पनि हामीसँग सल्लाह नगर्ने आजको लागि पनि सल्लाह नगर्ने यसरी हुन्छ ।’

    बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको थियो । अहिले एमालेले मत नदिने भएपछि आज मुख्यमन्त्री सोडारीले विश्वासको मत नलिने जनाए।

    विश्वासको मतकै लागि आज आह्वान गरिएको प्रदेश सभा बैठक पनि अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

    अब थप छलफल र परामर्श गरेर विश्वासको मतको लागि अर्को मिति निर्धारण गरिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले बताए ।

  • जगन्नाथ खतिवडा भन्छन्- पत्रकारहरूको निष्पक्षतामाथि मलाई शंका छ

    जगन्नाथ खतिवडा भन्छन्- पत्रकारहरूको निष्पक्षतामाथि मलाई शंका छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पत्रकारहरूको निष्पक्षतामाथि शंका रहेकाले त्यसमा मेटाउनतिर लाग्न आग्रह गरेका छन् ।

    नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै पत्रकार महासंघको शुद्धीकरण अभियानमा पनि प्रश्न उठाए ।

    उनले भने- यहाँहरू आफैँले हामीभित्र शुद्धता मात्रै छैन, मिसावट छ, अशुद्धता छ, त्यसका लागि हामीले शुद्धीकरण अभियान चलाउनुपर्नेछ । भनेर पटक पटक भनेको सुनेको छु । त्यसैले अशुद्ध पत्रकार मित्रहरू कृपया शुद्ध कसरी बनाउने ? भन्ने आजको जिज्ञासा छ । यो देशको राजनीति, अर्थतन्त्र शुद्ध भए पत्रकारिता पनि शुद्ध हुन्छ ।

    उनले सरकारलाई देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मूल नीति के हो ? भन्दै प्रश्न गरे ।

    उनले भने- मैले यो कुरा प्रधानमन्त्रीलाई सुनाउन चाहन्थे, उहाँ गइसक्नुभएको छ, उहाँको प्रतिनिधि मन्त्री यही हुनुहुन्छ म उहाँलाई सुनाउन चाहन्छु, हाम्रो देशको सञ्चार क्षेत्रलाई विकास गर्ने हाम्रो मूल नीति के हो, स्वतन्त्र पत्रकारिता त सबैले भन्ने विषय हो। तर, मेरो देशको सिद्धान्त चाहिँ समाजवादभित्र आरोपित हुनुपर्नेछ। त्यो समाजवादी सञ्चार जगत् चाहिँ कस्तो हुन्छ ? त्यसको संरक्षणको नीति कस्तो हुन्छ ?

  • बझाङमा कांग्रेसको विश्लेषण- नेकपा एसले एमालेको भोट सोचे जति काट्न नसक्दा हार्‍यौं

    बझाङमा कांग्रेसको विश्लेषण- नेकपा एसले एमालेको भोट सोचे जति काट्न नसक्दा हार्‍यौं

    काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभामा एक सीट गुमाउनु परेको छ । यसअघि कांग्रेसले जितेको बझाङ १ (१) मा एमालेका दमन भण्डारी निर्वाचित भएपछि एमालेको एक सीट बढेको छ भने कांग्रेसको घटेको छ ।

    नेकपा एकीकृत समाजवादीले एमालेको भोट सोचे जति काट्न नसकेकाले कांग्रेसले जीत निकाल्न नसकेको नेताहरुले बताएका छन् । नेकपा एसले उसकै प्रभाव क्षेत्र मानिएका ठाउँमा पनि पटक्कै भोट ल्याउन नसकेपछि एमालेलाई सहज बनेको कांग्रेस नेता सत्यराज भण्डारीले बताए ।

    कांग्रेसले चुनावअघि नेकपा एसले कम्तीमा ३ देखि ४ हजारसम्म मत ल्याउने र त्यति भएपछि एमालेलाई हराउन सकिने आँकलन गरेको थियो । सुदूरपश्चिममा एमाले विभाजनको सबैभन्दा बढी प्रभाव परेको जिल्ला बझाङ भएकाले उसले एमालेको मत उल्लेख्य काट्ने अपेक्षा थियो ।

    तर, नेकपा एसका दिलबहादुर सिंहले जम्मा २,५१४ मत पाए भने माओवादीका जनकबहादुर बुढाले ३,८३१ मत पाए । जुन मत अघिल्लो निर्वाचनमा कांग्रेसले पाएको थियो ।

    नेकपा एसले जितेकै पालिकाबाट एमालेले धेरै मत ल्याएपछि कांग्रेसको जीत असम्भव भएको नेताहरुको भनाइ छ । छबिसपाथिभेरामा एमालेले स्थानीय तहमा एउटा वडा पनि जितेको थिएन । तर, त्यही ठाउँबाट यस पटक एमाले पहिलो भयो ।

    यसअघि कांग्रेसलाई जिताउन सघाएका माओवादी केन्द्र र नेकपा एस अलग अलग लडेका कारण पनि एमालेलाई सहज भएको कांग्रेसको विश्लेषण छ ।

  • झलनाथ चुनावी ‘कमान्डर’ बनेको इलाममा ३६ हजार ५३ मत गन्दा नेकपा एसले ३ सय कटाउन सकेन

    झलनाथ चुनावी ‘कमान्डर’ बनेको इलाममा ३६ हजार ५३ मत गन्दा नेकपा एसले ३ सय कटाउन सकेन

    काठमाडौं । इलाम २ मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवार बनाएको थियो। पछिल्लो मतपरिणामअनुसार राईले २९९ मत ल्याएका छन्।

    इलाम नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला पनि हो। उनलाई पार्टीले चुनावी कमान्डर समेत बनाएर पठाएको थियो। तर, नेता खनाल कमान्डर बनेका उम्मेदवार राईको जमानत जफत हुने अवस्थामा छ।

    तर, चुनावअघि इलाम खटिएका खनालले आफ्नो पार्टीका उम्मेदवार राईले सबैलाई चकित पार्ने गरी जित्ने दाबी गरेका थिए।

    उनले भनेका थिए, ‘इलाममा हाम्रो पार्टीले जित्दै छ, जितबहादुर, नामै छ। हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ। धेरै चकित हुनेछन्।’

    अहिले यो नेता खनालको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। त्यसो त नेता खनाल आफैँ गएको निर्वाचनमा गठबन्धनको बलमा निर्वाचन लड्दा पनि इलाम १ बाट पराजित भएका थिए।

    पछिल्लो मत परिणाम अनुसार इलाममा एमालेका सुहाङ नेम्वाङले १४ हजार ६१३ मत पाउँदै अग्रता कायम राखेका छन्।

    कांग्रेसले ९ हजार ३११, स्वतन्त्र उम्मेदवार डकेन्द्रले ८ हजार ५७० र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले २०५७ मत प्राप्त गरेको छन्। ६९ हजार २८७ खसेको मतमध्ये अहिलेसम्म ३६ हजार ५३ मत गनिसकिएको छ।

    यस्तै, नेकपा एसको बझाङमा पनि जमानत जफत भइसकेको छ। त्यहाँ पार्टी सचिव गरिमा शाहलाई चुनावी कमान्डर बनाएर पठाएको थियो। इलामको तुलनामा बझाङको उल्लेख्य मत ल्याए पनि जमानत जोगाउन असफल बन्यो।

    बझाङमा नेकपा एसका उम्मेदवार दिलबहादुरले २ हजार ५१४ मतसहित चौंथोमा सीमित रहे।

    त्यहाँ एमालेका उम्मेदवार दमन भण्डारी ११ हजार ६१२ मत ल्याएर विजयी भए भने कांग्रेसका अभिषेकबहादुर सिंह ११ हजार ३४३ मा रोकिए। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याए।

  • बझाङमा नेकपा एसको धरौटी जफत

    बझाङमा नेकपा एसको धरौटी जफत

    कैलाली । विजयी हुने दाबीसहित बझाङको प्रदेशसभाको उपनिर्वाचनमा होमिएको नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ ।

    बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो ।

    यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१५ मत पाएका थिए । सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि उनको धरौटी जफत भएको छ ।

    बझाङमा एमाले निर्वाचित हुँदा कांग्रेस र माओवादी केन्द्रबाहेक सबै पार्टीको धरौटी जफत भएको छ । यहाँ ११ दलका ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

  • नयाँ समीकरणबारे माधव नेपाल- घुम्तीबाट मोड्दा दुर्घटनामा नहोस् भन्नेमा सचेत छौँ (भिडिओ)

    नयाँ समीकरणबारे माधव नेपाल- घुम्तीबाट मोड्दा दुर्घटनामा नहोस् भन्नेमा सचेत छौँ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ०७४ को अवसरलाई सदुपयोग गर्न नसके पनि गल्ती स्वीकारेर अगाडि बढ्न सक्नुपर्ने बताएका छन्।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधान विपरीत कार्यलाई अझै सही गरेँ भन्दै हिँडेकाले समस्या भएको उनको भनाइ छ।

    पार्टी निकट अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘०७४ सालमा मौका पाएर दुई तिहाइमा पुगेको स्थिति थियो। त्यो सदुपयोग गर्न सकेनौँ। त्यो गल्ती महसुस गरेर आत्मालोचना गर्नुपर्छ कि भनेर हामीलाई त्राहिमाम् भएको छ। गल्ती हुनसक्छ, स्वीकार गर्ने, नदोहोर्‍याउने, अहिले पनि संसद् विघटन गरेको ठिक छ भन्दिने, संविधान मिचेर ठिक गरियो भन्दिने, यस्तो कुरा जान हुँदैन। त्यही पनि अब पुरानो कुरा नगरौँ भने पनि ठिकै छ।’

    उनले अब पुराना कुरा छाडेर नयाँ हातेमालो गर्दै अगाडि बढ्न प्रस्ताव गरे। उनले आफूहरू कम्युनिष्ट आन्दोलनको रक्षाको लागि समाजवादी मोर्चा गठन गरेको बताए।

    उनले भने, ‘अहिले समाजवादी मोर्चा बनाएका छौँ। जिल्ला तहको कार्यक्रम गर्ने तयारी छौँ। अरू पनि आउँछन् भने स्वागत गरेका छौँ। अरू आउँदैनन् भने हामी गाली गर्दैनौँ, हाम्रो त्यस्तो संस्कार छैन। मान सम्मान गर्ने बानी बसेको मान्छौँ, कसैलाई पीडा नहोस् भन्ने ठान्ने मान्छे।’

    उनले नयाँ सत्ता समीरणमा असन्तुष्टि जनाउँदै कुनै बेला सोझो औलाले घिउ ननिस्किएपछि बङ्ग्याउनुपर्ने बाध्यता आइलाग्ने सुनाए।

    उनले भने, ‘राजनीतिमा कहिलेकाहीँ त्यस्तो पनि चाहिन्छौँ। तर, अनुचित कार्य हुँदैन। देशको राजनीतिक गलत दिशातर्फ नजाओस् भन्ने कुरामा हामी सजग छौँ। सही दिशातर्फ अगाडि बढोस् भन्ने पक्षमा छौँ। कताबाट यो बाटो घुम्छ त्यो पनि विचार गरिरहेका छौँ। घुम्ती बाटोमा हिँड्दादेखि, मोटर घुमाउँदा दुर्घटनामा नपरोस् भन्ने कुरामा विचार गरिरहेका छौँ।’

  • म प्रधानमन्त्री बन्छु कि भनेर भतभती पोलिएकाहरूलाई धिक्कार छ : माधव नेपाल (भिडिओ)

    म प्रधानमन्त्री बन्छु कि भनेर भतभती पोलिएकाहरूलाई धिक्कार छ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुले मन्त्री र प्रधानमन्त्री बन्न मरिहत्ते नगर्ने बताएका छन् । पार्टी निकट अनेमसंघको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै आफू चुनावदेखि चुनावको अभियानमा नभएको बताए ।

    उनले भने, ‘हाम्रो पार्टी देश विकासको सवालमा चिन्तित छ, कसैकसैलाई लागेको छ हाम्रो पार्टी पनि सरकारमा जानको लागि मन्त्री र प्रधानमन्त्री बन्नेको लागि मरिहत्ते गरिहेको छ कि भन्ने कुरा त्यो लोभी पापीहरुले भन्ने कुरा हो । इमानदार मान्छेहरुको होइन । बरु एउटा कुरा छ । हाम्रा मान्छे गए भने राम्रा काम गर्नेछन् । हाम्रा पार्टीसँग जोडिएका नेता कार्यकर्ता सरकारमा गए भने राम्रो काम गरेर देखाउनेछन् । राम्रो काम नभइरहेको कुराहरुले हामीलाई पोल्नुपर्छ, अरु भन्दा भिन्न छौं भनेर देखाउन सक्नुपर्छ । यसअर्थमा हामी सत्ताको लागि होइन, चुनाव चुनावका लागि होइन, देश र समाज परिवर्तनको लागि हो भनेर लाग्नुपर्छ ।

    उनले अहिले अहिले कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्दै आइरहेको बताए ।

    उनले थपे, ‘राजनीतिक लक्ष्य र उद्देश्य स्पष्ट छैनन् भने पार्टी अगाडि बढ्न सक्दैन । मिसन के हो ? चुनावमात्रै हो ? मिसन जनताको मुक्ति हो । त्यसको लागि समाजलाई राम्रो बनाउनुपर्छ ।’

    उनले नेपालको राजनीतिलाई ठिक दिशामा अगाडि बढाउन आफ्नो पार्टीको निर्णायक भूमिका रहेको जिकिर गरे ।

    उनले भने, ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरु पनि छन् यो समाजमा, पोले पोलेस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकुल बनाउने कुरामा ध्यान जानुपर्छ ।

     

  • इलाम २ को प्रारम्भिक गणनामा नेकपा एसका उम्मेदवार जीतबहादुरलाई शून्य मत

    इलाम २ को प्रारम्भिक गणनामा नेकपा एसका उम्मेदवार जीतबहादुरलाई शून्य मत

    काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले शून्य मत पाएका छन् ।

    फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा नेकपा एसका उम्मेदवार जीतबहादुर राईले एक मत पनि पाएनन् । जबकी कुनै संगठन र कार्यकर्तासमेत नभएको नेपाल मजदुर किसान पार्टीले पनि सो वडाबाट एक मत पाएको छ ।

    यो वडामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले वडाध्यक्ष जितेको थियो । वडा नम्बर १ मा कांग्रेसका कर्णवहादुर लिम्बूले ८०४ मत पाएर जित्दा एमालेका बेगवहादुर निरौलाले ४७७ मत पाएका थिए । त्यसबेला नेकपा एसले कांग्रेसलाई सघाएको थियो ।

     

  • सुदूरपश्चिममा सोडारी सरकार एक महिनामै ढल्ने खतरा, मन्त्रिपरिषद् विस्तार अनिश्चित

    सुदूरपश्चिममा सोडारी सरकार एक महिनामै ढल्ने खतरा, मन्त्रिपरिषद् विस्तार अनिश्चित

    कैलाली । सत्ता गठबन्धनभित्र किचलो र विवादकाबीच मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले विश्वासको मत पाउने सम्भावना क्षीण हुँदै गएको छ ।

    सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्दादेखि चिढिएको एमाले र नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक तिक्तकाका कारण एक महिनामै सोडारीको बहिर्गमन हुने सम्भावना बढेको हो ।

    वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तत्काल नै सरकार विस्तार गरेर विश्वासको मत लिने प्रक्रियामा जाने योजना बनाएका थिए । तर, एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेपछि मुख्यमन्त्री सोडारीलाई पहिलो गाँसमै ढुङ्गा लागेको हो ।

    एमालेले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा भने कुनै निर्णय गरेको छैन । बझाङ उपनिर्वाचनपछि यस विषयमा एमालेले ठोस निर्णय गर्ने जनाएको छ । तर, बझाङको नतिजाले पनि मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निचोड आउने एमाले नेताहरूको दाबी छ ।

    बझाङमा नेकपा एकीकृत समाजवादीले एमाले हराउन भूमिका खेलेको एमाले नेताहरूबीच चर्चा छ । तर, उनीहरु एमाले उम्मेदवार जित्नेमा विश्वस्त छन् । पराजित भएमा नेकपा एकीकृत समाजवादीकै कारणले त्यो अवस्था सृजना हुन सक्ने उनीहरुको बुझाइ छ । त्यस्तो अवस्थामा विश्वासको मत दिन नहुने मत पनि बलियो रुपमा आउने छ ।

    ‘एमाले उम्मेदवारलाई हराउन नेकपा एकीकृत समाजवादी लाग्ने अनि नेकपा एकीकृत समाजवादीको मुख्यमन्त्रीलाई एमालेले जोगाउने भन्ने हुँदैन’ बझाङका एक नेताले भने, ‘बझाङमा हामी हारेपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन हुँदैन भन्नेमा लाग्छौँ । ’

    एमाले संसदीय दलका नेता राजेन्द्र रावलले पनि बझाङ उपनिर्वाचनपछि मात्रै यस विषयमा थप छलफल अगाडि बढ्ने बताए । उनले बझाङ एमाले उम्मेदवार जित्ने दाबी गर्दै त्यस्तो नआए पार्टी केन्द्रसँग पनि यस विषयमा गम्भीर छलफल हुने जनाए ।

    ‘हामी अहिले सरकारमा विषयमा कुनै छलफल गरेका छैनौँ । बझाङको परिणाम पनि मात्रै यस विषयमा छलफल अगाडि बढ्छ’ उनले भने ‘हामी जित्छौँ तर परिणाम त्यो अनुसार आएन भने केन्द्रीय नेतृत्वसँग गम्भीर छलफल गर्छौँ ।’

    एमालेभित्र मात्र होइन नागरिक उन्मुक्ति पार्टी भित्र पनि सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा बहुमत सांसदहरू विपक्षमा उभिने संकेत देखिएको छ ।

    सोडारी मुख्यमन्त्रीमा नियुक्त हुँदा नागरिक उन्मुक्ति पार्टीका दुई सांसदहरू मात्रै पक्षमा देखिएका थिए । नाउपा केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले बहुमत सांसदहरूको समर्थन रहेका दलका नेता घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी दिएका थिइन् । पार्टीभित्रको आन्तरिक विवादका कारण सरकारले विश्वासको मत नपाउने चर्चाकाबीच रेशम चौधरीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेपछि थप सरकारलाई समस्या सृजना भएको हो ।

    शनिवार रेशम चौधरीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीले चाँडै समर्थन फिर्ता लिने अभिव्यक्ति सार्वजनिक गरेका थिए । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठसहित रहेको फोटो सार्वजनिक गर्दै रेशमले लेखेका छन्, ‘हामी छिट्टै लुम्बिनी र सुदूर पश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ । ’ सुदूरपश्चिम र लुम्बिनी दुबै प्रदेशमा अहिले रन्जिता पक्षमा दुई मन्त्री छन् । दुबै भौतिक पूर्वाधार विकास मन्त्री हुन् ।

    सुरुबाटै रेशम चौधरी वर्तमान सरकारलाई समर्थन नगर्ने पक्षमा थिए । उनी काङ्ग्रेसकै नेतृत्वमा सरकार बनाउन चाहन्थे र उनी निकटका पाँच सांसद अहिले पनि सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा छैनन् ।

    रन्जितासहितको छलफलको फोटो राख्दै रेशमले दुई प्रदेशको समर्थन फिर्ता लिने अभिव्यक्तिलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । उक्त छलफलमासँगै रहेका नाउपाका नेता ठाकुरसिंह थारुले चाँडै सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिने समझदारी भएको बताए ।
    ‘उहाँहरूबीच छलफल भएको हो । सरकारको समर्थन फिर्ता लिने कुरा भएको छ’ उनले भने ।

    नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन फिर्ता लिए वा विश्वासको मत नदिएर सरकार एक महिना भन्दा बढी चल्ने अवस्था छैन ।

    सरकार विस्तार अनिश्चित

    सुदूरपश्चिम प्रदेश सरकार १० दिनसम्म विस्तार हुन सकेको छैन । वैशाख ६ गते दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यसै दिन मुख्यमन्त्री सोडारीले नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि अहिले सम्म सरकार विस्तार हुन सकेको छैन ।

    एमाले र माओवादी सरकारमा सहभागी भएका छैनन् । एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ भने माओवादीले पार्टीले तयार गरेको कार्यदलको सुझाव पर्खिरहेको छ ।

    सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा हरि चौधरी उत्सव, जगत पार्की, रुपा चौधरी र मानबहादुर धामी सदस्य रहने गरि सरकारमा सहभागी हुन मन्त्रीहरूको मापदण्ड तयार गर्ने काम गरिरहेको छ ।

    ‘हामी छलफलमा छौँ कहीँ दिनमै मापदण्ड तयार हुन्छ ’ संयोजक भट्टले भने ।  माओवादी संसदीय दलका नेता अक्कल रावलले भने केन्द्रमा शीर्ष नेताहरूबिचको छलफल पछि प्रदेशमा सरकार विस्तार हुने विश्वास व्यक्त गरे ।

    ‘उपनिर्वाचन सम्म सरकार विस्तार नगर्ने कुरा थियो । अब बिस्तार हुन्छ’ उनले भने, ‘यस विषयमा अझै केन्द्रमा छलफल हुँदै छ ।’

     

  • ओलीलक्षित माधव नेपालको टिप्पणी- आफूलाई सर्वेसर्वा ठान्दा ०७४ को अवसर गुमायौं (भिडिओ)

    ओलीलक्षित माधव नेपालको टिप्पणी- आफूलाई सर्वेसर्वा ठान्दा ०७४ को अवसर गुमायौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले सीमा नाघेपछि तत्कालिन नेकपा जोगाउन नसकेको बताएका छन्।

    पार्टीको मकवानपुर जिल्ला अधिवेशन ०७४ मा इतिहासमा कहिलेकहिले मात्रै पाउने अवसर पाउँदा पनि नेतृत्वकै कारणले प्रयास असफल भइको दाबी गरे।

    २०७४ सालमा हामीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी, झण्डै बहुमत ल्याउने अवस्थामा थियो, एमाले र माओवादीको एकता भइसकेपछि झण्डै दुई तिहाइको बहुमतको अवस्थामा पुग्यो। त्यो अवस्थामा संविधान बदलिन सकिन्थ्यो। कानून जस्तो पनि बनाउन सकिन्थ्यो। राज्यको सबै संरचनामा आमूल परिवर्तन गर्न सकिन्थ्यो।

    ठूला परिवर्तन गरेर जनतालाई सुखी जीवन उपलब्ध गराउन सकिन्थ्यो। विकासको नयाँ लहर ल्याउन सकिन्थ्यो उनले ओलीलाई लक्षित गर्दै भने, जब नेतृत्वमा अहंकार हावी भयो। नेतृत्वले पार्टीको सिद्धान्त, राज्यको संविधान र आफूलाई सर्वेसर्वा ठान्छ, अहंकारी बन्न पुग्छ विनम्र होइन। अहंकारी जब हुन पुग्छ त्यसपछि सबै सीमा नाध्छ, पार्टीको विधान मान्दैन, बैठक अस्वीकार गर्छ। छलफलाई वास्ता गर्र्दैन।

    उनले ओलीले पार्टीको विधान, सिद्धान्त र संविधान मिचेकै कारणले अहिलेसम्म सिंगो आन्दोलनले धक्का खाइरहेको बताए। उनले अहिले पनि आफूहरुको काँधमा लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी रहेको सुनाए।

  • प्रचण्डसमक्ष माधवले भने- हामीले सहज मानेका छैनौं, धाकधम्की सहन जन्मेका होइनौं (भिडिओ)

    प्रचण्डसमक्ष माधवले भने- हामीले सहज मानेका छैनौं, धाकधम्की सहन जन्मेका होइनौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डकै सामुन्ने गठबन्धन फेरिरहने उनको प्रवृतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा नेपालले अहिलेको गठबन्धन पनि कहिलेसम्म रहने भन्ने टुंगो नभएको बताए ।

    नेपालले भने, ‘परिस्थिति जटिल छ । गठबन्धन कहिले ओल्टो कहिले पोल्टो भइरहेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन । हामीले सहज मानिरहेका छैनौं । सहज अवस्था अनुभूत गरिरहेका छैनौं, हामी कसैको धाक धम्की गालीगलौज सहनका लागि जन्मेका होइनौं । दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं ।’

    अध्यक्ष नेपालले आफूहरूमाथि अपमान भइरहेको समेत बताए ।

  • इलाम २ लाई प्रतिष्ठाको विषय बनाउँदै दलहरुः शीर्ष नेताहरुको लावालस्कर

    इलाम २ लाई प्रतिष्ठाको विषय बनाउँदै दलहरुः शीर्ष नेताहरुको लावालस्कर

    विराटनगर । इलाम क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनका लागि १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा १२ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन नजिक आउँदै गर्दा दलका केन्द्रीय नेताहरू इलाम केन्द्रित भइरहेका छन् ।

    उपनिर्वाचनको लागि कांग्रेसका अधिकांश शीर्ष नेताहरू इलाम केन्द्रित भएका छन् । कांग्रेसका उपसभापति धनराज गुरुङ र दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा इलाम आउँदै जाँदै गरेका छन् । थापा चैत ३० गते इलामको गजुरमुखी, एकतप्पालगायतको क्षेत्रमा डम्बर खड्काको चुनावीसभा र घरदैलोमा सहभागी भएका थिए ।

    उनी पुनः वैशाख ८ गते आमसभामा सहभागी हुन इलाम आएका थिए । अर्का महामन्त्री शर्मा अधिकांश समय इलाममै बसेका छन् । टिकट वितरणका विषयलाई लिएर इलाममा नेताहरूका बीचमा मात्रै नभई मतदातासम्म यसको प्रभावका परेको देखिएपछि इलाममा कांग्रेस नेताहरूको दौड देखिएको हो ।

    इलाम उपनिर्वाचनमा भेषराज आचार्य र डम्बर खड्का उम्मेदवारको आकांक्षी थिए । अधिकांश कार्यकर्ता भेषराजको पक्षमा भए पनि पार्टीले खड्कालाई उम्मेदवार बनाएपछि पार्टी एक भएको सन्देश दिन पनि कांग्रेस नेताहरू इलाम केन्द्रित भएका छन् ।

    आचार्य फरक विचार समूहका नेता डा. शेखर कोइराला निकट हुन् । उम्मेदवार बनेका खड्का भने पार्टी सभापति देउवा निकट मानिन्छन् ।

    कांग्रेसइतर पक्षका नेता शेखर कोइरालासमेत इलाम पुग्दै पार्टी एक भएको सन्देश दिन खोजेका छन् । उनी वैशाख ४ गते इलाम पुगेका थिए । उनले लारुम्बास्थित किराँत धर्म गुरु आत्मानन्द लिङदेनलाई समेत भेटेका थिए ।

    कांग्रेसका उपसभापति धनराज गुरुङ र प्रभावशाली नेता शशाङ्क कोइराला चुनावीसभालाई सम्बोधन गर्न इलाम आइसकेका छन् । यस्तै सहमहामन्त्री भीष्मराज आङ्दम्वे, नेता मीन विश्वकर्मा पनि इलाममा छन् ।

    रास्वपाका शीर्ष नेता प्रभाव देखाउन टोल-टोलमा

    राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा आफ्ना उम्मेदवार मिलन लिम्बूलाई जिताउन सम्पूर्ण शक्ति खर्च गरिरहेको छ । पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, डीपी अर्याल इलाम केन्द्रित छन् । यस्तै शिक्षामन्त्री सुमना श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तोसिमा कार्की पनि इलाम २ का गाउँ–टोल घुमिरहेका छन् ।

    रास्वपा सभापति तथा गृहमन्त्री लामिछाने उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी हुनसमेत इलाम आएका थिए । लामिछाने शुक्रबार माङ्सेबुङ गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावीसभामा सहभागी भए ।

    यसअघि उम्मेदवार छनोटका विषयमा पनि ६ जना प्रतिनिधिसभा सदस्य पालिकाहरूमा गई वस्तुस्थिति बुझेर पार्टीलाई प्रतिवेदन बुझाएका थिए । सोही प्रतिवेदनका आधारमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय रास्वपाले गरेको थियो ।

    विरासत रक्षामा एमालेका नेता

    नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेको नेतृत्वमा इलाममा एमालेले चुनावी मोर्चा हाँकिरहेको छ । पार्टीका तर्फबाट उम्मेदवार बनेका सुहाङ नेम्बाङको चुनावी कार्यक्रम हाँक्न पार्टीका अन्य स्थायी कमिटी सदस्यहरू पनि आउने जाने गरिरहेका छन् ।

    वैशाख ५ गते इलामको मङ्गलबारेमा भएको सभालाई सम्बोधन गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आएका थिए । उनले कार्यक्रममा बोल्दै इलामको विकासको जिम्मा सुहाङ नेम्बाङले लिने र आफूले सुहाङको जिम्मा लिने भन्दै मत मागेका थिए । सुहाङलाई नेकपा माओवादी केन्द्र, नेपाल परिवार दल र नेपाल कम्युनिष्ट पार्टीले पनि सघाएका छन् ।

    सो चुनावीसभामा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, परिवार दलका अध्यक्ष एकनाथ ढकाललगायत सहभागी भए ।

    एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक नेकपा एकीकृत समाजवादीका नेताहरू पनि इलाम आइरहेका छन् । सो पार्टीका तर्फबाट जीतबहादुर राई उम्मेदवार छन् । उनलाई जिताउन र उनको पक्षमा माहोल बनाउन इलाम घर भएका पार्टीका सम्मानित नेता झालनाथ खनाल अहिले इलाम क्षेत्र २ मा चुनावी घरदैलोमा छन् । उनले आफ्ना उम्मेदवार राईलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । खनाल चैत २४ मा उम्मेदवारी मनोनयन दर्ताको दिनसमेत इलाम आएका थिए ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन साताअघि इलाम आएका थिए । इलाम बजारमा आयोजित चुनावी सभामा उनले राप्रपालाई जिताउन आग्रह गरे । उनीसहित नेता रवीन्द्र मिश्रसमेत इलाम आएका थिए । इलाममा राप्रपाका तर्फबाट लक्ष्मी गुरुङ चुनावी मैदानमा छन् ।

  • नेकपा एसले सबै कमिटीबाट सुझाव पाएपछि पार्टी दस्तावेज परिमार्जन गर्ने

    नेकपा एसले सबै कमिटीबाट सुझाव पाएपछि पार्टी दस्तावेज परिमार्जन गर्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ । साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि परिमार्जन गरिनेछ ।

    राजनीतिक, विधान, समाजवादी कार्यक्रमसम्बन्धी र साङ्गठनिक दस्तावेजमा सबै कमिटीबाट सुझाव सङ्कलन गरी साझा धारणा बनाउन लागिएको हो । देशभरका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको सुझाव समावेश गरी पूर्णता दिइने ती दस्तावेज आगामी जेठ ९ गतेसम्ममा सबै कमिटीमा पठाइने छ ।

    जेठ मसान्तभित्र दस्तावेजहरूमाथि सबै कमिटीले आफ्नो कार्यक्षेत्रमा पार्टी सङ्गठित सदस्यलाई सहभागी गराई परामर्श लिएपछि आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा एउटै दस्तावेज बनाएर लैजाने तयारी गरिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालले तयार पार्नुभएको राजनीतिक दस्तावेजमा राष्ट्रिय एकता, सामाजिक, सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन् ।

    पार्टीका सम्मानित नेता झलनाथ खनालले लेखेको समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजमा समाजवादको स्वरुप, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन् ।

    उपाध्यक्ष बेदुराम भुसालले लेखेको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ ।

    महासचिव घनश्याम भुसालले तयार पार्नुभएको साङ्गठनिक दस्तावेजमा देशभर पार्टी सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ ।

    केन्द्रीय सङ्गठन विभागले यही वैशाख ३० गतेसम्म सदस्यता प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए । पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली केन्द्रमा पठाउन सबै कमिटी र विभागलाई निर्देशन दिएको छ ।