Category: नेकपा एस

  • घनश्यामको आरोप- ओलीले एमाले जोगाउन संसद विघटन गरे, प्रधानमन्त्री जोगाउन पार्टी फुटाए (भिडिओ)

    घनश्यामको आरोप- ओलीले एमाले जोगाउन संसद विघटन गरे, प्रधानमन्त्री जोगाउन पार्टी फुटाए (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले संसद विघटन गरेर आफूले नेकपा एमाले जोगाएको भनी दिएको अभिव्यक्ति सामान्य नरहेको टिप्पणी गरेका छन् ।

    समाजवादबारे नेकपा एसको कार्यक्रममा बोल्दै महासचिव भुसालले पार्टी जोगाउन संसद विघटन गर्ने र प्रधानमन्त्री जोगाउन पार्टी विघटन गर्ने असामान्य काम ओलीले गरेको बताए ।

    भुसालले भने- एकजना कम्युनिस्ट पार्टीका नेताले हिजोमात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन । उहाँले पार्टी जोगाउन संसद,प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।

    महासचिव भुसालले नवौँ महाधिवेशनबाट नीति आफूहरूको पारित भए पनि नेतृत्वमा केपी ओली आएपछि पार्टी विघटनमा गएको दाबी समेत गरे । त्यसमा वामदेव गौतमको दोष रहेको समेत भुसालको आरोप छ । नीति आफूहरूको मानेर नेता चाहिँ ओलीलाई बनाउन बामदेव हिँडेको उनको भनाइ थियो ।

  • माधव नेपाल, झलनाथ खनाल र घनश्याम भुसालले ‘नेपाली समाजवादी क्रान्ति’मा आइतबार बोल्ने

    माधव नेपाल, झलनाथ खनाल र घनश्याम भुसालले ‘नेपाली समाजवादी क्रान्ति’मा आइतबार बोल्ने

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आइतबार समाजवादी क्रान्ति विषयमा बोल्ने भएका छन् ।

    एकै मञ्चमा तीन नेताले बोल्ने कार्यक्रम आइतबार बिहान ११ बजे थापा गाउँको काठमाडौं बैंक्वेटमा हुने कार्यक्रमको अगुवाइ गर्ने नेकपा एसका युवा नेता अशेष घिमिरलेले बताए ।

    उनले कार्यक्रमको आयोजना समाजवादी अध्ययन केन्द्रले गर्ने भन्दै कार्यक्रममा नेकपा एसको पार्टीको वैचारिक मन्थन हुने बताए ।

    उनले नेपाल प्रेससँग भने,‘कार्यक्रममा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र समाजवादी क्रान्तिको कार्यक्रमबारेमा समष्टिमा छलफल हुनेछ ।’

    No description available.

  • तत्काल एमालेसँग एकताको सम्भावना छैन: अध्यक्ष नेपाल (भिडिओ)

    तत्काल एमालेसँग एकताको सम्भावना छैन: अध्यक्ष नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

    नेकपा एकीकृत समाजवादी कोशी कमिटीद्वारा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए ।

    एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको उनको भनाइ थियो ।

    अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुनसमेत आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल भने सकारात्मक रहेको बताए ।

    ‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै पोजेटिभ हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नुहुँदैन’, उनले भने, ‘हिजोको कुरा पनि बिर्सौं, ठीक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने चाहना त हुनुपर्छ नि !’

    समाजवादी मोर्चाको पुनर्गठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको उनको भनाइ छ ।

    ‘मधेश प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ’, फरक प्रसंगमा उनले भने, ‘अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौं । केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौं । त्यसैले हामीले सम्बन्ध सबैसँग सुमधुर राख्न चाहन्छौं । परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ ।’

    अध्यक्ष नेपालले राष्ट्रको आवश्यक पहिचान गरेर अघि बढ्न जरुरी रहेको बताए ।

  • झलनाथको विश्लेषण- जबज छाडेर एमालेले समाजवादको कुरा नगरे टिक्दैन

    झलनाथको विश्लेषण- जबज छाडेर एमालेले समाजवादको कुरा नगरे टिक्दैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादको बाटोमा अघि नबढे एमाले नटिक्ने टिप्पणी गरेका छन्। हेटौंडा उपमहानगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै आफूहरु समाजवादी क्रान्तिको दिशामा अघि बढेको जिकिर गरे।

    उनले भने, ‘समाजवादी कार्यक्रम अब हामी महाधिवेशन मार्फत् कार्यपद्धति ल्याउँछौं। एमालेले अहिले पनि जबज भनिरहेको छ। तर, अरु पार्टीले समाजवादी कुरा गरिरहेका छन्। एमालेले पनि कुनै समयबाट समाजवादको कुरा गर्नुको विकल्प छैन। समाजवादको कुरा गर्दैन भने एमाले टिक्दैन। त्यो कुरा एमालेले बुझे हुन्छ।’

    उनले पूँजीवादी व्यवस्थाको कारणले जनतालाई ठिक ढंगले अघि बढाउन नसकेको उनको भनाइ छ।

  • समानान्तर भेला नगर्न माधव नेपालका भान्जालाई नेकपा एसनिकट युवा संघको चेतावनी, नत्र कारबाही हुने

    समानान्तर भेला नगर्न माधव नेपालका भान्जालाई नेकपा एसनिकट युवा संघको चेतावनी, नत्र कारबाही हुने

    काठमाडौं । नेकपा एसनिकट युवा संघका संयोजक कृष्णकुमार विकले गुटगत भेला नगर्न निर्देशन दिएका छन् । सहसंयोजक नितेश पौडेलले यही शनिबार काठमाडौंमा राष्ट्रिय भेला बोलाएपछि संयोजक विकले बिहीबार विशेष निर्देशन दिएका हुन् ।

    उनले युवा संघ नेपालको नाम, झण्डा, व्यानर दुरुपयोग गरी गुटगत भेला, बैठक गरेको पाइएमा जो कोहीलाई पनि संगठनको विधानबमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

    ‘पार्टी महाधिवेशन सफल पार्नुपर्ने बेलामा युवा संघ नेपालमा आबद्ध केही जिम्मेवार कमरेडहरूले यही जेष्ठ २६ गते युवा संघको नाममा राष्ट्रिय कार्यकर्ता भेला भनी जुन प्रकारका प्रचारहरू भइरहेका छन् । यो संगठनको आधिकारीक भेला वा कार्यक्रम नरहेकोले युवा संघ नेपालका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई जानकारी गराउँदछु’, विकले विज्ञप्तिमा भनेका छन् ।

    पार्टी महाधिवेशन नजिकिँदै गर्दा गुटगत भेलाले पार्टी आन्दोलन र संगठनलाई कमजोर बनाउने बताउँँदै विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारका गतिविधिले महाधिवेशनलाई प्रभावित पार्ने र नेता कार्यकर्ताको बिचमा असहिष्णुता पैदा गर्दछ । यसकारण युवा संघ नेपालका सम्पूर्ण जिम्मेवार नेता कार्यकर्ताहरूलाई पार्टी आन्दोलन बिरुद्ध भईरहेको षड्यन्त्रबाट सचेत हुँदै आशन्न महाधिवेशन सफल बनाउन जिम्मेवारीपूर्वक लाग्न निर्देशन गर्दछु ।’

    विकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र मोर्चा फाँट प्रमुख डा. विजय पौडेललाई विशेष निर्देशनको बोधार्थ दिएका छन् ।

     

  • प्रचण्ड-ओलीसँग नेकपा एसको अडान : हामीलाई अपमानजक व्यवहार भयो, प्याकेजमै सहमति चाहिन्छ

    प्रचण्ड-ओलीसँग नेकपा एसको अडान : हामीलाई अपमानजक व्यवहार भयो, प्याकेजमै सहमति चाहिन्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता समीकरणमा संघदेखि प्रदेशसम्म प्याकेजमै सहमति खोजेको छ । मधेश सरकार गठनमा निर्णायक भएपछि नेकपा एसका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्याकेजमै सहमति खोजेका हुन् ।

    यद्यपी, मधेश सरकार गठनमा सहयोग गर्न नेकपा एस तयार भइसकेको छ । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमै भएकाले तत्काल अर्को विकल्प खोज्ने पक्षमा नरहेको बताए ।

    उनले भने, ‘हामी सरकारमा छौं । यो गठबन्धनलाई भत्काउने कुनै उद्देश्य छैन । त्यसैले मधेश सरकारमा सहयोग गरेरै जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

    आफ्नो पार्टीको नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई एमाले र माओवादीले सहयोग नगरेपछि आफूहरुले प्याकेजमै सहमति खोजेको अर्का एक नेताले बताए ।

    ती नेताले नेपाल प्रेससँग भने, ‘सुदूरपश्चिमा हाम्रो नेतृत्वको सरकार छ । एमाले माओवादी दुवैले मन्त्री दिएका छैनन् । उहाँहरुले मन्त्री नदिएर मुख्यमन्त्रीलाई काम गर्न समस्या भएको छ । यो त असहयोग हो नि । कर्णालीमा गठबन्धन सरकार भनेका छन् तर हाम्रो पार्टीलाई सांसदलाई मन्त्री बनाएका छैनन् । कोशी प्रदेशमा पनि हामीले विश्वासको मत दिनुपर्ने तर हामीलाई मन्त्री नदिने उनीहरुको बहुमत पुगेको ठाउँमा हामी नचाहिँने अहिले अफ्ठ्यारो पर्दा मधेशमा हामीलाई खोज्नुभयो ।’

    सत्ता समीकरणमा आफूहरु एमाले र माओवादीको दादागिरीमा नचल्ने अडान सुनाए ।

    ती नेता थप्छन्, ‘सहकार्य गरेपछि व्यवहार त मिल्दै जानुपर्छ सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुभयो हामीलाई सम्बोधन छैन। मधेशमा आफ्नो खुसीले सरकार छाड्नुभयो अनि हामीले छाड्दिनुपर्ने हामीसँग सल्लाह नगर्ने ? उनीहरुले छाडेपछि हामी छिर्सिदै आउनुपर्ने ? एउटै सहकार्यमा भएपछि हामीसँग सल्लाह किन नगर्ने? अहिले बहुमत नपुगेपछि पछ्याउँन थाल्नुभएको छ ।’

    सत्ता समीकरणमा नेकपा एसलाई अपमानजनक ढंगले व्यवहार भइरहेको ती नेताको आरोप छ ।

    ती नेताले थपे, ‘हामीलाई यी सबै विषयमा कुरा गरेर प्याकेजमै छलफल गरौं भनेका हौं । मधेशमा समर्थनको कुरा मात्रै होइन ल हामी समर्थन दिन्छौं त्यहाँ पनि कति मन्त्रालय दिने कति मन्त्री बनाउने छलफल हुनुपर्छ कि पर्दैन। हामीले मधेश मात्रै होइन, सुदुरपश्चिम, कोशी, कर्णालीको कुरा पनि राखेका छौं ।’

    यही बिषयलाई केन्द्रमा राखेर हिजो अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गरेका थिए । तर, प्रचण्ड र ओलीबाट सहयोग गर्ने आश्वासन आएपनि विश्वस्त हुने आधार नदेखिएको नेताहरु बताउँछन् । नेकपा एसले प्रदेश सरकारमा मात्रै नभएर नियुक्तिमा पनि आफ्नो पार्टीलाई सम्मानजनक हिंसा हुनुपर्ने अडान राखेको छ ।

     

  • नेकपा एसको बैठकमा केन्द्रीय सदस्यको खोजी, महाधिवेशन पहिले नै कति फर्किए एमाले रोजी ?

    नेकपा एसको बैठकमा केन्द्रीय सदस्यको खोजी, महाधिवेशन पहिले नै कति फर्किए एमाले रोजी ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पछिल्लो केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उठाएको लगभग साझा प्रश्न थियो–केन्द्रीय कमिटीका लगभग आधा सदस्य कता गए ?

    साढे ३ सय सदस्यीय केन्द्रीय कमिटीमध्ये पछिल्लो बैठकमा डेढ सयजति मात्र उपस्थित भएपछि अरु कहाँ गए ? छाडेर जानेहरुको विवरण अध्यावधिक किन गरिएन भन्ने प्रश्न उठेको केन्द्रीय सदस्य गम्भीरलाल श्रेष्ठले पुष्टि गरे ।

    गत जेठ पहिलो साता सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा आधाजसो सदस्य अनुपस्थित भएको सन्दर्भले नेकपा एसभित्र नेतृत्व तहमै पार्टी बन्दैन भन्ने निराशा छाएको टिप्पणी बैठक परिसरमै भएको थियो ।

    कतिपय नेताले त ‘अब यो पार्टी माधव नेपाल प्रधानमन्त्री बन्ने वा नबन्नेसँग यसको अस्तित्व जोडिएको छ’ भन्नसमेत भ्याए । अलग्गै पार्टीको अस्तित्व कायम रहन्छ भन्नेमा नेकपा एसका नेताहरुमा समेत विश्वास छैन ।

    राजनीतिक दल सम्बन्धी ऐनको ‘विभाजनबाट बनेको दल ५ वर्षभित्र विभाजित हुन नसक्ने’ दफाका कारण नेकपा एस पछिल्लोपटक जसपासँगै विभाजनबाट जोगिएको छ । नत्र बहुमत सांसदहरु नै विभाजनको तयारीमा रहेको नेकपा एसका सबै नेताहरुलाई थाहा छ ।

    नेकपा एसले असार अन्तिम साता महाधिवेशनको मिति तोकिसकेको छ । राष्ट्रिय पार्टी बन्न नसकेको एसको जनमत यो अवधिमा थप कमजोर बनेको इलाम र बझाङको उपचुनावले पनि पुष्टि गरिसकेको छ ।

    यो अवस्थामा थप निराशा चिर्न महाधिवेशनले केही नयाँ नीति र कार्यदिशा लिने नेताहरुको दावी छ । नेकपा एसका महासचिव घनश्याम भुसालले असारको महाधिवेशनबाट आफ्नो पार्टीले नेपालको कम्युनिस्ट आन्दोलन र समाजवादी कार्यदिशामा नयाँ अध्याय थाल्ने दावी गरेका छन् ।

    यद्यपी नेता कार्यकर्ताको पलायन भने रोकिएको छैन । नेकपा एस स्थापनाको तीन वर्ष नपुग्दै ४४ केन्द्रीय सदस्य र २० जिल्लाका अध्यक्ष एमालेमा फर्किसकेका छन् । अरु केही निष्क्रिय बसेका छन् । केहीले राजीनामा दिएर हिँडेका छन् ।

    नेकपा एस निर्माणदेखि पछिल्लो महिनासम्म केन्द्रीय नेता र जिल्ला कमिटीहरु नै एमालेमा समाहित भइरहेका छन् । कतिपय नेता कार्यकर्ता एमालेमा फर्किएर पनि दोस्रो दर्जाको व्यवहार हुने भनेर पार्टीगतरुपमै समाहित हुने समय समेत पर्खेर बसेका छन् ।

    हालसम्म वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासीसहित ४४ जना केन्द्रीय सदस्य एमालेमा फर्किएको नेकपा एसको रेकर्डमा देखिन्छ । जिल्ला अध्यक्षहरुको संख्या पनि २० पुगेको छ । त्यसभन्दा तलको रेकर्ड छैन ।

    केन्द्रीय सदस्य रिक्त रहेको ठाउँमा केही पूर्ति गरिएको छ भने जिल्ला अध्यक्षले छाडेका ठाउँमा अरुलाई जिम्मा दिइएको छ । महाधिवेशनपछि पार्टीमा नयाँ उर्जा आउने र अहिलेको कतिपयमा देखिएको निराशा अन्त्य हुने दावी पोलिटव्यूरो सदस्य होम बुढाथोकीको छ । एमालेमा फर्किएकाहरुको त्यहाँ झनै विचल्ली र पश्चातापको अवस्था रहेको उनले बताए ।

    मकवानपुर जिल्ला अध्यक्ष छाडेर एमालेमा फर्किएका श्रीधर पोखरेल ठिक २ वर्षपछि सोमवार एमालेको जिल्ला अध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै स्यांजाको अध्यक्षबाट एमालेमा फर्किएका आरसी भट्टराई एमालेको जिल्ला सचिव निर्वाचित भएका छन् ।

    केहीले पार्टी विभाजनलगत्तै एमाले फर्किएर सांसद नै जित्न सफल भइसकेका छन् ।

  • सचिवालय बैठक बस्नुअघि माधव नेपालले गरे प्रधानमन्त्री प्रचण्डसँग छलफल

    सचिवालय बैठक बस्नुअघि माधव नेपालले गरे प्रधानमन्त्री प्रचण्डसँग छलफल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्।

    बिहान अध्यक्ष नेपालले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    भेटमा मधेश सरकार र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइन्छ। प्रधानमन्त्रीसँग छलफल गरेर फर्केका अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठक राखेका छन्। बैठक केही बेरमा पार्टी कार्यालयमा आलोक नगरमा सुरु हुँदै छ।

    बैठकमा मधेश सरकारबाट मन्त्री फिर्ता बोलाउनेदेखि महाधिवेशनको लगायतको विषयमा छलफल हुनेछ।

    नेकपा एसले जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोज यादव नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाएपछि नयाँ सरकार गठनको बाटो खुला हुन्छ।

    बिहान अध्यक्ष नेपालसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले अहिले एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेका छन्।

  • माधवको प्रष्टीकरण- हामी दुई वटा नाउमा खुट्टा राख्ने खाले होइनौं, कोही आत्तिनु पर्दैन (भिडिओ)

    माधवको प्रष्टीकरण- हामी दुई वटा नाउमा खुट्टा राख्ने खाले होइनौं, कोही आत्तिनु पर्दैन (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको प्रष्टीकरण दिएका छन् ।

    आइबार पार्टीको पत्रकार सम्मेलनमा नेपालले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए । सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने उनको भनाइ छ ।

    सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको नेपालले बताए । देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको भन्दै उनले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा राखेर हिँड्ने खाले नरहेको बताए ।

    अध्यक्ष नेपालले भने, ‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ । अन्यथा रूपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन । त्यही सिलसिलामा मैले प्रधानमन्त्रीसँग असमझदारी नहोस् भनेर फोन पनि गरेँ । उहाँले भन्नुभयो, ठीक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेण्ट फाइनल नगरिदिनु होला । कति बेला के हुने हो भन्ने स्थिति थियो र विश्वास छ, एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ । हामी दुईवटा नाउमा खुट्टा राखेर हिँड्दैनौँ ।’

    अहिलेको अन्योललाई टुंग्याउनैपर्ने अवस्था रहेको भन्दै नेपालले सरकारमा बस्ने कि नबस्ने भन्नेमा पार्टीको बैठकले टुंगो लगाउने बताए ।

  • सहमतिबाट पार्टीको नेतृत्व चयन हुने झलनाथको विश्वास (भिडिओ)

    सहमतिबाट पार्टीको नेतृत्व चयन हुने झलनाथको विश्वास (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिपूर्ण नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।

    आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनले महाधिवेशनले दस्तावेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्ने बताए ।

    उनले महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रुपमा अघि बढाउने पनि बताए । उनले अहिले देशमा महंगी, भ्रष्टाचार र युवाहरु विदेश पलायनको विकराल अवस्था रहेको बताए । उनले पूँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने बिन्दुसम्म्को कार्यक्रमहरु महाधिवेशनबाट पारित गर्ने बताए ।

    ‘अहिले महंगी बढिरहेको छ । भ्रष्टाचार व्याप्त छ । मानिसहरु हाम्रो देशका युवाहरु विदेश जानको लागि विवश भइरहेका छन् । यि ठाउँहरुबाट, भ्रष्टाचार र अहिलेका समस्या ज्वलन्त जुन छन्, ति जनताका मागहरुलाई लिएर यहाँबाट शुरु गर्दै हामी आमुल परिवर्तन गर्नेछौँ’, खनालले भने, ‘यो अहिलेको पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने बिन्दुसम्म्को यो कार्यक्रम हो । त्यसैले यो कार्यक्रम नेपालको समाजवादी क्रान्तिको सिंगो काललाई प्रतिनिधित्व गर्ने र समग्र समाजलाई रुपान्तरण गर्ने कार्यक्रम हो । यो हामी पहिलो पटक कार्यक्रम अघि सार्दैछौँ । महाधिवेशनले दस्ताबेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्छौं । त्यो सहमतिपूर्ण नेतृत्व निर्माणका लागि हामी छलफल गर्दैछौँ, गर्छौं र अन्तिमसम्म गर्नेछौँ । यो महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रुपमा अघि बढाउनेछौँ ।’

    सम्मानित नेता खनालले महाधिवेशनले कम्युनिष्ट आन्दोलनलाई थप उचानईमा पुर्याउने बताए ।

     

  • नेकपा एसको निष्कर्ष- राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो

    नेकपा एसको निष्कर्ष- राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो

    काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको छ ।

    आइतबार काठमाडौंमा आसन्न राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको जनाएको छ ।

    महासचिव घनश्याम भुसालले पुनरुत्थानवादी शक्तिहरूले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खलबल्याउने प्रयत्न गरिरहेको बताए । राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको भन्दै उनले रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

    महासचिव भुसालले भने, ‘वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा बुद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको छ र उनीहरु सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गर्दैछन् । राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको छ । मुलुकको यस्तो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्दै मुख्यतः रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने भएको छ । हाम्रो पार्टीको यो महाधिवेशन त्यस क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्ने संकल्पका साथ आयोजना हुँदैछ । यस महाधिवेशनको सफलताका लागि मुलुकभरीका श्रमजीवी, किसान, उद्योगी तथा व्यवसायी, बुद्धिजीवी, पत्रकारलगायत सम्पूर्ण देशवासीबाट पार्टीले नैतिक तथा भौतिक सहयोग तथा समर्थनको अपेक्षा गरेको छ ।’

    नेकपा एसले असार १६-२० मा महाधिवेशन गर्दैछ ।

  • प्रचण्डको ब्रिफिङ- माधवजी गलत मनसायले बूढानीलकण्ठ जानुभएको होइन, मलाई जानकारी थियो (भिडिओ)

    प्रचण्डको ब्रिफिङ- माधवजी गलत मनसायले बूढानीलकण्ठ जानुभएको होइन, मलाई जानकारी थियो (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणमा कुनै समस्या नआउने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले बाहिर चर्चा भएजस्तो समीकरणमा कुनै समस्या नभएको बताए ।

    प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘गठबन्धनमा कुनै समस्या आउँदैन । बाहिरको अनावश्यक चर्चा भइरहन्छन् । तर, सरकार आफैं ढंगले अघि बढ्छ ।’

    उनले माधव नेपाल गलत मनसायले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा नगएको सांसदहरूलाई सुनाए ।

    ती सांसदका अनुसार बैठकमा प्रचण्डले भने, ‘माधवजी गलत मनसाय लिएर बूढानीलकण्ठ जानुभएको होइन । जानुअघि मलाई जानकारी गराउनुभएको थियो । उहाँले समीकरण छाड्नुहुन्न कुराकानी भइरहेका छन् ।’

    प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह जगाउने गरी बजेट आएको उल्लेख गर्दैै सदनमा बजेटको छलफलमा सक्रिय रूपमा सहभागिता जनाउन निर्देशन दिएको प्रमुख सचेतक हितराज पाण्डेले बताए । बैठकमा १२ जना सांसदहरूले बजेटका बिषयमा धारणा राखेको र अर्थमन्त्री वर्षमान पुनले बजेटका मुलभूत पक्षमा जानकारी गराएका छन् ।

  • राष्ट्रिय राजनीतिमा विचार पुर्‍याएर चल्नुपर्ने अवस्था छ : माधव नेपाल (भिडिओ)

    राष्ट्रिय राजनीतिमा विचार पुर्‍याएर चल्नुपर्ने अवस्था छ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा विचार पुर्‍याएर चल्नुपर्ने बताएका छन् ।

    देवशंकर पौडेलको लिखुसँग आत्मसमर्पण विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू नेपालको राजनीति सहज ढंगले अगाडि बढोस् भन्ने पक्षमा रहेको बताए ।

    उनले भने, ‘राजनीति सहज ढंगले अगाडि बढ्नको लागि यात्रामा महत्त्वपूर्ण जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ । त्यसैले अहिले राष्ट्रिय राजनीतिमा विचार पुर्‍याएर चल्नुपर्छ । सबै कुरा ध्यानमा राखेर संवेदनशील भएर चल्नुपर्छ । त्यो संवेदनशील भएर चल्न सकियो भने मात्रै सफल भइन्छ ।’

    चुनौती, समस्या, अप्ठ्याराहरू पहिले नै अनुभूत गर्न गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै अध्ययन, अनुसन्धान र विश्लेषणपछि मात्रै निष्कर्ष पुग्नुपर्ने उनको भनाइ छ ।

  • माधव नेपाल कांग्रेससँग नजाने प्रधानमन्त्रीको दाबी (भिडिओ)

    माधव नेपाल कांग्रेससँग नजाने प्रधानमन्त्रीको दाबी (भिडिओ)

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एस कांग्रेससँगको समीकरणमा नजाने दाबी गरेका छन् ।

    विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले माधव नेपाल एमाले-माओवादीकै गठबन्धनमा रहने बताए । उनले यस विषयमा नेपालसँग आफ्नो कुरा भइरहेको सुनाए । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको प्रधानमन्त्रीको भनाइ छ ।

    प्रधानमन्त्री दाहालले भने, ‘आज बिहानमात्रै पनि मेरो उहाँसँग कुराकानी भएको थियो । कुराकानीका क्रममा नेपालले समीकरणभन्दा बाहिर नजाने भनेर स्पष्ट पार्नुभएको छ ।’

    प्रचण्डले मधेश प्रदेश सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे ।

    उनले भने, ‘माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिनुभएको थियो, तर अहिले उहाँ हामी भन्दा बाहिर जानु हुन्न ।’

  • माधव बूढानीलकण्ठ गएको भोलिपल्टै बालुवाटार पुगे झलनाथ, वाम सहकार्य सुदृढ बनाउनेबारे छलफल

    माधव बूढानीलकण्ठ गएको भोलिपल्टै बालुवाटार पुगे झलनाथ, वाम सहकार्य सुदृढ बनाउनेबारे छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न खनाल बिहीबार बिहान बालुवाटार पुगेका हुन् ।
    प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पछिल्ला समसायिमक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालले बताए ।

    प्रधानमन्त्रीसँग नेता खनालको संघीय सरकार र प्रदेश सरकारहरूमा पनि वाम सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको जनाइएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिने कि विकल्प खोज्ने भन्ने विषयमा नेकपा एसमा दुई धार छ ।

    नेकपा एसका अध्यक्ष माधव नेपाल हिजो कांग्रेस सभापति शेरबहादुर देउवाले राखेको विपक्षी मोर्चाको बैठकमा सहभागी भएपछि नेता खनाल आज बालुवाटार पुगेका थिए । अध्यक्ष नेपाल एमाले नेतृत्वको सत्ता समीरणप्रति सन्तुष्ट छैनन् ।

    हिजो देउवासँग नेपाल मधेश र सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गरेको बताइन्छ । तर, नेता खनाल पक्षधर संघदेखि प्रदेशसम्म वाम मोर्चालाई नै निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् ।
    सत्ता समीकरणमा आफू सहभागी भएपनि कुनै छलफलमा आफूलाई नसमेटेको भन्दै हिजोको विपक्षी मोर्चाको बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए ।

  • सदनको अवरोध हटाउन ध्यानाकर्षण-पत्र बोकेर बालुवाटार पुगे माधव

    सदनको अवरोध हटाउन ध्यानाकर्षण-पत्र बोकेर बालुवाटार पुगे माधव

    काठमाडौं । सत्ता गठबन्धको एक घटक नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संसदको गतिरोध हटाउने ध्यानाकर्षण पत्र बोकेर बालुवाटार पुगेका छन् ।

    विपक्षीसँग र सत्तारुढ दलकै शीर्ष नेताको सदन खुलाउने विषयमा पटकपटक भइरहेका बैठकमा ‘बाइपास’ मा परिरहेका नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    संसदमा देश र जनताका समस्यामा सार्थक बहस नभई, अस्वस्थ्य आरोप-प्रत्यारोप भइरहेको भन्दै उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको उल्लेख गरेका छन् ।

    ‘प्रतिपक्षलाई छलफल र सार्थक संवादको माध्यमबाट विश्वासमा लिएर अगाडि बढ्ने विषयमा सत्तापक्षले अवश्य नै कुशलता र आवश्यक लचकता देखाउनै पर्दछ भन्ने हाम्रो पार्टीको ठम्याइ छ । हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछौं- संसदका नियमित काम-कार्यवाही अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै अन्य प्रतिपक्षी दलसंग तत्काल सार्थक छलफल र वार्ता द्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउनका लागि गंभीर पहल गर्नु होस्’, नेपालको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    संसदमा देखिएको गतिरोध समाधान गर्ने दिशामा सक्रिय रहन प्रधानमन्त्रीलाई आग्रह गर्दै नेकपा एसले पार्टीको तर्फबाट हरेक खालको सहयोग गर्ने उनको प्रतिवद्धता छ ।

  • महाधिवेशनका लागि तयार ४ वटै दस्तावेज ७७ जिल्लामा पठाउँदै नेकपा एस

    महाधिवेशनका लागि तयार ४ वटै दस्तावेज ७७ जिल्लामा पठाउँदै नेकपा एस

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको दस्तावेज यही जेठ १५ गते जिल्लामा पठाउने भएको छ ।

    महाधिवेशनका लागि तयार गरिएका राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई थप परिस्कृत बनाउन जिल्ला कमिटीमा छलफलका लागि पठाउन लागेको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

    कम्युनिष्ट पार्टी स्थापनाको करिब ७५ वर्षको अनुभवमा आधारित भएर पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, शोषण र उत्पीडन, सैनिक, जातीय, भाषिक र सामाजिक विभेदका साथै वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गरी राजनीतिक दस्तावेज तयार पारेका छन् ।

    सम्मानित नेता झलनाथ खनालले देशको समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति, कार्यनीति, क्रान्तिको बाटो, नेपाली समाजका आधारभूत र प्रधान अन्तरविरोधहरूको विश्लेषण गरी समाजवादी दस्तावेज लेखेका छन् ।

    उपाध्यक्ष बेदुराम भुसालले तयार पारेको विधान दस्तावेजमा प्रतिनिधि सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने, युवा सहभागिता वृद्धि गर्नेलगायतका विषय उल्लेख गरिएको छ । महासचिव घनश्याम भुसालद्वारा सङ्गठनात्मक दस्तावेजमा पार्टीको देशभरको अवस्था, आगामी कार्यक्रमको रणनीति उल्लेख छ ।

    चारवटा प्रतिवेदनलाई सबै तहका कमिटीबाट छलफलपछि प्राप्त निष्कर्षका आधारमा त्यसलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने केन्द्रीय सदस्य मोहन गौतमले बताए ।

    आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन दिएको छ ।

    पार्टीको नयाँ र पुरानो संगठित सदस्यको सदस्यता नामावली विवरण अद्यावधिक गरिएको छ । आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने जनाइएको छ ।

  • ‘ठेकेदार मन्त्री’ धनबहादुरको सम्पत्ति- काठमाडौंमा २ घर, श्रीमतीसँग ४५ लाख नगद र १५० तोला सुन

    ‘ठेकेदार मन्त्री’ धनबहादुरको सम्पत्ति- काठमाडौंमा २ घर, श्रीमतीसँग ४५ लाख नगद र १५० तोला सुन

    काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंमा दुई वटा घर रहेको सम्पत्ति विवरण बुझाएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मन्त्री बुढाको काठमाडौं ६ मा दुई वटा घर रहेको उल्लेख गरेका छन्।

    उनले श्रीमती हिमालीको नाममा १७ र २० आना जग्गाका साथै १५० तोला सुन र ३०० तोला चाँदी पनि रहेको उल्लेख गरेका छन्।

    उनले बैंकमा आफ्नो नाममा १५ लाख पैसा रहेको उल्लेख गरेका छन् भने श्रीमतीको नाममा ४५ लाख रहेको उल्लेख गरेका छन्।

    नेकपा एसबाट मन्त्री बनेको बुढाले डोल्पामा पनि आफ्नो पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्। मन्त्री बुढा निर्माण व्यवसायी पनि हुन्।

  • संसदमा विकसित घटनाक्रमहरु सुखद् छैनन्ः ​​माधव नेपाल

    संसदमा विकसित घटनाक्रमहरु सुखद् छैनन्ः ​​माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुखद्  नभएकाे बताएका छन् ।

    मंगलवार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरुमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरुको काम हुने बताए । उनले संस दको गतिरोध हटाउने कुरामा बताए ।

    उनले भने, ‘यो सरकारमा हामी सामेल छौँ, यो सहकार्यलाई अघि बढाउने सन्दर्भमा सम्बन्धित सबै घटक सदस्यहरुको माझमा राम्रो विश्वास, राम्रो सहयोग, समझदारी, राम्रो सहकार्य हुनुपर्दछ, हामी देशका सबै शक्तिहरुसँग सहमतिका साथ अघि बढ्न चाहन्छौँ। संसदमा जुन किसिमका घटनाहरु भइरहेका छन्, ति घटनाहरु वास्तवमा सुखद् छैनन्। त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोज्नुपर्छ। गरु स्वार्थमा त्यसलाई मोड्ने काम गर्नु हुँदैन। निजी हितमा सोच्नु हुँदैन। हिजो एक किसि मको अवस्था थियो, अवस्थामा परिवर्तन भएको छ, हामीले विभिन्न पार्टीका नेताहरुसँग एक ढंगले संवाद कायम गरका थियौ। सहकार्य गर्दै आएका छौँ। अर्कोढंगले जानुपर्ने हो की भन्ने अवस्था पनि बनेको छ। अब यि सबै कुराका सन्दर्भमा कुनैपनि पार्टी फुटोस् भन्ने पक्षमा छैनौँ ।’

    अध्यक्ष नेपालले कुनैपनि पार्टीहरु नफुटुन् भन्ने आफूहरुको चाहना रहेको बताए ।

  • माधव नेपालको प्रष्टीकरण- प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, शंका नगरे हुन्छ (भिडिओ)

    माधव नेपालको प्रष्टीकरण- प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, शंका नगरे हुन्छ (भिडिओ)

    काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् ।

    दाहालले भोलि चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन् । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट गरेका हुन् । आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीसँग नेपालले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र द्विविधा नपाल्न आग्रह गरे । प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन्तु परन्तु नहुने उनको भनाइ छ ।

    नेपालले भने,‘भोलि प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुभएको छ । त्यसमा कुनै द्विविधा राख्न जरुरी छैन । किनभने हामी सरकारमा छौं । यहाँ नैतिकताको प्रश्न खडा हुन्छ । त्यसो भएको हुनाले यसमा कसैले शंका गर्न जरुरी छैन । त्यसैले मैले अघि भनेको थिए-नो ईफ, नो बट । हामी मन्त्री छौँ । सरकारका सहभागी छौं । त्यसो हुनाले हामीले विश्वासको मत दिन्छौं ।’

    अध्यक्ष नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरूले ध्यान दिनुपर्ने बताए ।

  • शहरी विकास मन्त्री बुढा पदमा रहन अनिच्छुक, पार्टीलाई दिए हट्न तयार रहेको जानकारी

    शहरी विकास मन्त्री बुढा पदमा रहन अनिच्छुक, पार्टीलाई दिए हट्न तयार रहेको जानकारी

    काठमाडौं । शहरी विकास मन्त्री धनबहादुर बुढाले पदमा रहन अनिच्छा प्रकट गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका बुढाले शीर्ष नेताहरुलाई भेटेरै आफू जुनसुकै बेला हट्न तयार रहेको सन्देश समेत सुनाएका छन् ।

    नेकपा एसका एक नेताका अनुसार गत साता बसेको संसदीय दलको बैठकमै उनले आफू मन्त्री पद त्याग्न तयार रहेको र ढिलोमा जेठ १५ सम्म राखेर आफ्नो ठाउँमा अर्को कोही सांसदलाई मन्त्री बनाए हुने बताएका थिए ।

    जेठ १५ मा बजेट आउने भएकाले बजेटसम्म बस्ने त्यसपछि नबस्ने उनको आशय देखिएको ती नेताले बताए । बुढाले मन्त्री पदमा आशक्ति नदेखाएपछि नेताहरुलाई सम्भावित पार्टी विभाजन रोक्न एकजना असन्तुष्ट सांसदलाई मन्त्री बनाउने मौका मिल्ने देखिन्छ ।

    बुढाको भनाइ उदृत गर्दै ती नेताले भने–यो शहरी विकास मन्त्रालय त ठूलो रहेछ मैले केही मेलो पनि पाउन सकिन । मान्छेहरु धेरै आएर म त घरबाटै काम गर्दैछु । नेताहरु पैसा माग्न पनि आइरहने,म त आत्तिएँ ।

    स्रोतका अनुसार बुढा मन्त्री बन्ने बेलामै नेकपा एसका एकजना पदाधिकारीको घरबास नै लिलामीबाट रोक्न २ करोड रुपैयाँ दिएका थिए । पार्टी नेताहरुको जानकारीमै उनले सो रकम दिएको बताइन्छ । त्यसपछि अर्का एक नेताले ५ करोड मागेको विषय नेकपा एसका सांसदहरुबीच सार्वजनिक चर्चा नै भइरहेको छ ।

    क श्रेणीका निर्माण व्यवसायी समेत रहेका बुढा यार्सागुम्बाका पनि नामी व्यापारी हुन् । उनी जुवाका सोखिन भएकाले मन्त्री पदको दबाब थेग्न नसकेर आफैं छाड्न खोजेको बताइन्छ । नेकपा एसका नेता कार्यकर्तादेखि विभिन्न व्यक्तिले उनलाई पैसा मागेर हैरान पारेका छन् ।

    बुढाले जीवनमा एकपटक मन्त्री बन्ने चाहना पूरा भएपछि अब अर्को चुनावपछि सक्रिय राजनीति समेत नगर्ने निकटस्थहरुलाई बताएका छन् । उनले अब दाजु कर्णबहादुर बुढाका लागि डोल्पाको मैदान खाली गर्न खोजेका छन् । कर्ण नेपाली कांग्रेसका नेता हुन् ।

    राप्रपाबाट एमाले प्रवेश गरी २०७० मा पहिलोपटक सांसद बनेका बुढा त्यसयता लगातार डोल्पाबाट चुनाव जितिरहेका छन् । उनी यसअघि रविन्द्र अधिकारी पर्यटनमन्त्री भएका बेला केही समय राज्यमन्त्री थिए ।

  • माधव नेपालको व्यंग्य- हामी तमासा हेरिरहेका छौं, राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री धेरै व्यस्त हुनुहुन्छ (भिडिओ)

    माधव नेपालको व्यंग्य- हामी तमासा हेरिरहेका छौं, राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री धेरै व्यस्त हुनुहुन्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिको सबैभन्दा व्यस्त मान्छे रहेको भन्दै व्यंग्य गरेका छन्। चिठी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु तसामा हेरिरहेको बताए।

    उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्त बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिकको कुरामा उहाँ भन्दा बढी बिजी कोही छँदै छैन होला। हामीहरु त खाली तमासा हेरेर बस्ने मान्छे मात्रै पर्यौं, त्यसैले हामी सबै घटनालाई नियालिरहेका छौं।

    उनले आफूहरुले नेपालको राजनीतिले कुन कोर्स लिएर जाने हो भन्ने कुरा हेरिरहेको बताए।

    उनले थपे, ‘राम्रो दिशामा यो देशको राजनीति अगाडि बढाृृेस्, हामी चाहन्छौं देशमा स्थायित्व होस्, वामपन्थी कम्युनिष्टहरुबीचको सहकार्य नयाँ उचाइमा पुगोस्।

  • झलनाथको दाबी : मदन-आश्रितलाई मारेर नदीमा खसाइएको हो (भिडिओ)

    झलनाथको दाबी : मदन-आश्रितलाई मारेर नदीमा खसाइएको हो (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको बताएका छन् ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१ औँ मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रूपमा फालिएको दाबी गरे ।

    उनले मदन-आश्रितको मृत्यु दुर्घटनाबाट नभई निर्ममतापूर्वक गरिएको हत्या भएको बताए । उनले दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् की सय वर्ष हत्या हत्या नै हुने बताए ।

    नेता खनालले मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गरेको बताए ।

    उनले नेपालको कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा उठाउनका निम्ति लगातार प्रयत्न गर्ने नेताहरू रहेको भन्दै स्मरण गरे ।

  • मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, जबजको सान्दर्भिकता समाप्त भएको छैन : माधव नेपाल

    मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, जबजको सान्दर्भिकता समाप्त भएको छैन : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबस)को सान्दर्भिकता अझै समाप्त नभएको बताएका छन्।

    मदन–आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै दासढुंगा दुर्घटनामा विषयमा गम्भीर खोजी गर्नुपर्ने बताए।

    उनले भने- मदन भण्डारीका उत्तराधिकारी हामी हौँ, हामीले नै यो आन्दोलनलाई उचाइमा पुर्याउन आवश्यक छ। उहाँले त्यो बेलामा कम्युनिष्ट आन्दोलनमा देखिएको चुनौतीलाई उल्लेख गरेर भन्नुभयो, कम्युनिष्ट पार्टीलाई असफल पार्ने प्रयासहरू विफल पार्नुपर्छ। र, कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गर्नुपर्छ। आन्दोलनको लोकप्रियतालाई अगाडि बढाउने क्रममा जनताको विश्वास लिन जनताको बहुदलीय जनवादको विचार अगाडि सार्नुभयो त्यसको सान्दर्भिकता समाप्त भएको छैन। कार्य क्रमिक रूपमा हामी नयाँ क्षणमा प्रवेश गरेका छौँ, हिजो जनवादी क्रान्तिको चरणमा थियौँ, अहिले समाजवादी क्रान्तिको चरणमा छौँ। त्यसैले त्यो विचारको अझै सान्दर्भिकता छ भन्ने बुझ्नु नै मदन भण्डारीप्रति सच्चा सम्मान गरेको ठहरिन्छ।

    उनले कम्युनिष्ट पार्टी नै लोकतान्त्रिक आन्दोलनको अगुवा भएको बताए।

  • नेकपा एसको १८ बुँदे प्रस्ताव- अवसर साँघुरिँदै छन्, सरकारले जिम्मेवारीपूर्वक हस्तक्षेप नगरे अवस्था चिन्ताजनक हुनसक्छ

    नेकपा एसको १८ बुँदे प्रस्ताव- अवसर साँघुरिँदै छन्, सरकारले जिम्मेवारीपूर्वक हस्तक्षेप नगरे अवस्था चिन्ताजनक हुनसक्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले १८ बुँदे प्रस्ताव पारित गरेको छ। दुई दिन बसेको बैठकले समसामयिक बिषयका प्रस्तावहरु पारित गरेको हो।

    प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पार्टीको असार १६ देखि २० गतेसम्म आयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नेदेखि सहकारी प्रकरणमा छानविन समिति बनाउने मागसम्म गरेको छ।

    बैठकले अहिले देशको आर्थिक जीवन दिनानुदिन सङ्कटपूर्ण बन्दै गएको उल्लेख गर्दै लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तिय तथा मौद्रिक नीतिहरूमार्फत् अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न सरकारसँग माग गरेको छ।

    प्रस्तावमा भनिएको छ, उद्योग व्यवसायहरू धमाधम बन्द हुँदैछन् वा अति कम क्षमतामा चलेका छन् । यसबाट उद्यमीहरूमा निराशा बढ्दैछ, रोजगारीका अवसरहरू पनि दिनानुदिन साँघुरिँदै गएका छन् । वैदेशिक रोजगारी र शिक्षाका लागि बाहिरिने युवाहरूको संख्या बढ्दैछ । उत्पादन मात्रै होइन मागमा पनि ह्रास आएको छ । उपभोक्ताको क्रयशक्ति घट्दैछ । यो बैठक, वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ ।

    रूस–युक्रेन युद्ध लम्बिँदै र जटील बन्दै गएको, हतियारको अत्यधिक प्रयोग बढ्दै गएको र धनजनको क्षति त्यही रूपमा बढ्दै गएको भन्दै आर्थिक विकासमा बाधा, खाद्यान्नको अभाव, महङ्गी, विश्वव्यापारमा तथा रोजगारीमा गिरावट, इन्धनको मूल्यमा बृद्धिजस्ता नकारात्मक प्रभाव बढ्दै गएको उल्लेख गरेको छ।

    प्रस्तावमा भनिएको छ, यो बैठक युद्धरत मुलुकहरू तथा यस युद्धमा प्रत्यक्ष—अप्रत्यक्षरुपले सङ्लग्न मुलुकहरूलाई संयमित हुन र वार्ताद्वारा समस्याको समाधान गर्न अपील गर्दै त्यसमा प्रभावकारी भूमिका खेल्न संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई आह्वान गर्दछ ।
    अवैध बाटोबाट रूसी सेनामा नेपाली युवाहरू रोजगारीका नाममा अन्तर्राष्ट्रिय मानवतस्करको चंगुलामा परेर युद्धको मैदानमा पुगेको निष्कर्ष निकालेको छ।

    यस्ता होनहार युवाहरु मध्ये केहीको मृत्यु भएको छ भने केही घाइते र वेपत्ता भएका छन । यो बैठक नेपाली युवालाई रूसी सेनामा भर्ती गरिने कार्य रोक्न, युद्धमा मारिएका र घाइतेहरुलाई क्षतीपूर्ति दिलाउन, रूसी सेनामा फसेका युवालाई स्वदेश फिर्ता गर्न, वेपत्ता भएकाहरुको खोजी गर्न र गैर कानूनी रूपमा रूसी सेनामा भर्ती गराउने दलालहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार समक्ष मागगर्दछ प्रस्तावमा उल्लेख छ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, रेशम पक्ष-राप्रपा र कांग्रेसको बहिष्कार

    सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, रेशम पक्ष-राप्रपा र कांग्रेसको बहिष्कार

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ मत पाए । विपक्षमा शून्य मत पर्‍यो ।

    कांग्रेस, नाउपा रेशम पक्ष र राप्रपाका सांसद भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए ।

    नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

  • सुदूरपश्चिम सभामा कांग्रेसको बहिस्कारबीच मतदान सुरु

    सुदूरपश्चिम सभामा कांग्रेसको बहिस्कारबीच मतदान सुरु

    कैलाली । कांग्रेस र नाउपा रेशम पक्षका प्रदेशसभा सदस्यहरूको विरोधकाबीच सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ ।

    कांग्रेस र नाउपा रेशम पक्षका बहिस्कार गरेर निस्किएका छन् भने एमाले माओवादी, नाउपा रन्जिता पक्ष २ र स्वतन्त्र एक सांसद मतदानमा सहभागी भएका छन् ।

  • नेकपा एसले भन्यो- सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताका कुरा आएका छन्, छानविन समिति गठन गर्नुपर्छ

    नेकपा एसले भन्यो- सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताका कुरा आएका छन्, छानविन समिति गठन गर्नुपर्छ

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले समग्र सहकारीको समस्या समाधान गर्नको लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

    दुई दिनसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी प्रकरणमा गृहमन्त्री समेत जोडिएको बिषयमा सरकारको ध्यानाकर्षण गराए।

    उनले भने, ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारणको बचत रकम अपचलन गरेर ठुलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेका दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन्। यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नता भएको समाचार प्रकाशित भएको छ। यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भनी माग गर्दछ।’

  • रवि लामिछानेले पनि छानबिन समिति गठन गर्ने कुरामा आपत्ति छैन भन्नुभएको छ : माधव नेपाल (भिडिओ)

    रवि लामिछानेले पनि छानबिन समिति गठन गर्ने कुरामा आपत्ति छैन भन्नुभएको छ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सहकारी प्रकरणको छानबिन गर्नको लागि संसदीय समिति गठन गर्नको लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पोजेटिभ रहेको बताएका छन्।

    पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले भेटमा आफू दोषी नभएको भन्दै आएको बताए।

    उनले भने- हामीसँग कुनै छलफल भएको थिएन, अहिले सदन खुलाउन हामीले पनि भूमिका खेल्दिनुपर्‍यो भन्ने कुरा आएका छन्। शेरबहादुरजीसँग कुरा हुन पाएका छैन। नेताहरूसँग कुरा गर्दा हामी एउटा निचोडमा पुगिसकेकाले छानबिन समिति किन बनाउन नसकेको भन्ने कुराहरू उठाइराख्नुभएको छ। अहिले मैले कुरा गर्दा पनि उहाँहरूको पोजेटिभ जवाफ थियो। मैले डिटेलमा कुरा गर्न पाएको छैन रवि लामिछाने पनि गठन गरौँ गठन गर्ने कुरामा कुनै आपत्ति छैन भन्ने पक्षमा हुनुहुन्छ। छानबिन गरौँ म दोषी छैन कुनै प्रमाण भए देखाउन् सक्कली प्रमाण देखाउनुपर्‍यो भनेर म पनि प्रधानमन्त्रीसँग भएकै बेलामा भन्दै हुनुहुन्थ्यो।

    उनले सहज ढंगले छानबिन समिति बनेर सदन चल्ने अवस्था बन्नुपर्छ भन्ने पक्षमा रहेको बताए।

  • नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

    नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)पार्टीको सचिवालय बैठकले आगामी महाधिवेशनमा साझा दस्तावेज पेस गर्ने निर्णय गरेको छ ।

    पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गरेको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

    पार्टीको अब बस्ने सचिवालय बैठकले चारवटा प्रतिवेदनलाई अनुमोदन गरेपछि त्यसलाई एकमात्र साझा दस्तावेज बनाएर महाधिवेशनमा प्रस्तुत गरिने छ ।

    आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन पनि दिएको छ ।

    गत वैशाख ३१ गतेसम्म प्राप्त सदस्यको नामावलीलाई अनुमोदन गरेको पार्टीले यही जेठ १० गतेसम्म नयाँ र पुरानो सङ्गठित सदस्यको विवरण अद्यावधिक गर्न समय तोकेको छ । आगामी असार पहिलो साताभित्र महाधिवेशन प्रतिनिधि छनोट गरिने जनाइएको छ ।

  • नेकपा एसमा महाधिवेशनका सबै प्रतिनिधि चुनिएर आउनुपर्ने

    नेकपा एसमा महाधिवेशनका सबै प्रतिनिधि चुनिएर आउनुपर्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सबै महाधिवेशन प्रतिनिधिहरु चुनिएर आउनुपर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि सम्बन्धित कमिटीबाट निर्वाचित भएर आउनुपर्ने निर्णय गरेको हो ।

    बैठकले दशौं महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज पारित गर्नका साथै दस्तावेज माथिको छलफल सबै मातहत कमिटीले संचालन गर्ने र सुझाव पठाउने निर्णय पनि गरेको छ ।

    नेकपा एसको महाधिवेशन असार १६–२० काठमाडौंमा हुँदैछ ।

    यस्तै बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण समसामयिक प्रस्तावहरु समेत पारित गरेको छ ।

    मंगरबार र बुधबार सम्पन्न बैठकले पारित गरेका निर्णय सार्वजनिक गर्न भोलि बिहान १० बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन राखेको छ ।

  • सुदूरपश्चिममा एमालेले विश्वासको मत दिने, तत्काल सरकारमा नजाने

    सुदूरपश्चिममा एमालेले विश्वासको मत दिने, तत्काल सरकारमा नजाने

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

    मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै छन् । आज एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप पनि लगाएको छ ।

    ‘हामीले विश्वासको मत दिन ह्विप लगाएका छौँ’ संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने ‘विश्वासको मत दिने र सरकार बाहिरैबाट हामीले समर्थन गर्ने निर्णय गरेका हौँ ।’

    एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै मुख्यमन्त्री सोडारीले करिब विश्वासको मत पाउने निश्चित जस्तै भएको छ ।

    २१ र २२ गते प्रदेशसभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको थियो ।

    वैशाख ६ गते एमाले, माओवादी नेकपा एकीकृत समाजवादी रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    जेठ ४ गते सम्म उनले विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सोडारीले एक दिन अघि नै विश्वासको मत पाउने करिब पक्का जस्तै भएको छ ।

    सुदूरपश्चिममा ५३ सांसद छन् । सोडारीले बहुमतको लागि २७ मत पाउनु पर्छ । यहाँ एमालेका ११, माओवादीका सभामुख बाहेक १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र एक सांसद छन् । नाउपामा आन्तरिक विवाद छ । रेशम पक्षमा सांसदहरू यो सरकारको विपक्षमा छन् भने रन्जिता पक्षमा २ सांसद सरकारमै सहभागी छन् ।

    सोडारीले विश्वासको मत पाए लगत्तै सरकार विस्तार हुने छ । अहिले सम्म सोडारी सहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएको थिए । ती बाहेकका माओवादी र एमाले अहिले पनि सरकार बाहिर छन् ।

    माओवादीले विश्वासको मत लगत्तै सरकारमा जाने रणनीति लिए पनि एमालेले भने अर्को निर्णय नहुँदा सम्म सरकारमा नजाने बताएको छ ।

    नीति कार्यक्रम र प्राथमिकताको लागि कार्यदल बनाएर विज्ञहरूको सुझाव लिने पनि एमालेले निर्णय गरेको छ । संसदीय दलकै नेता रावलको संयोजकत्वमा सबै सांसदहरूले विश्वविद्यालयका प्राध्यापकहरू र अन्य विज्ञहरूसँग शुक्रवार र शनिवार परामर्श गरेर उत्कृष्ट नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्ने निर्णय गरिएको छ ।

    बझाङबाट निर्वाचित एमाले सांसद दमन भण्डारीलाई बधाई ज्ञापन तथा उहाँको बुवाको निधन प्रति संसदीय दलले दुख प्रकट गरेको छ ।

    मुख्यमन्त्री दीर्घ सोडारीलाई न्यूनतम साझा कार्यक्रम तयारीको लागि सत्ता गठबन्धनका दलहरूसँग छलफल र परामर्श गर्न पनि सुझाव दिइएको दलका नेता रावलले जानकारी दिए ।

  • घनश्यामको प्रतिवेदन- गठबन्धनमा निर्भर हुँदा पार्टीप्रति आकर्षण घट्यो, सानो मेहनतले फर्किँदैन (पूर्णपाठ)

    घनश्यामको प्रतिवेदन- गठबन्धनमा निर्भर हुँदा पार्टीप्रति आकर्षण घट्यो, सानो मेहनतले फर्किँदैन (पूर्णपाठ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीसामु ११ चुनौती औंल्याएका छन् । जारी केन्द्रीय समितिमा पेश परेको संगठनात्मक प्रतिवेदनमा उनले एमालेबाट विद्रोह गरेपछि पार्टी संगठन निर्माणमा देखिएको समस्याबारे उजागर गरेका हुन् ।

    प्रतिवेदनमा भनिएको छ, ‘पार्टी निर्माणका बाह्य चुनौतीको समीक्षा गरेर मात्रै हाम्रो कार्यभार ठीकसँग निर्क्यौल हुन सक्दैन । संगठन निर्माणमा हामीले आज सामना गरिरहेका आन्तरिक समस्याहरूका बारेमा यथार्थपरक भएर छलफल गर्नु पनि उत्तिकै क्रान्तिकारी काम हो । आजको सङ्गठनका समस्याबारे छलफल गर्दा ती समस्या कुन परिस्थतिले उत्पन्न गर्‍यो भन्नेबारे छलफल गर्नु आवश्यक छ ।’

    नवौँ महाधिवेशनले पारित गरेको विचार तथा सिद्धान्तविपरीत कित्ताबाट नेतृत्वको निर्वाचन गरेपछि एकपछि अर्को समस्या थपिँदै गएर दुर्घटना भएको उनको निचोड छ । एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै भुसालले नेतृत्वले पार्टीलाई विचारहीन बनाउँदै लगेको उल्लेख गरेका छन् ।

    प्रतिवेदनमा उनले भनेका छन्, पार्टीमा वैचारिक-सैद्धान्तिक छलफल हराउँदै गयो । राजनीतिमा व्यक्तिवादी अवसरवाद र सङ्गठनमा गुटबन्दी बढ्दै गयो । राजनीति र सङ्गठनका समस्या नै पार्टीमा मुख्य बन्दै गए । अर्थात् विचार-सिद्धान्तका बहस तथा छलफल परिपक्व भएर त्यसले राजनीतिक र साङ्गठानिक रूप लिन नपाउँदै विद्रोहका रूपमा हाम्रो पार्टी गठन भयो । संसद विघटनपछि तीव्र भएको राजनीतिक अन्तरविरोध विकसित हुँदै जाँदा हामीले नेकपा (एकीकृत समाजवादी) को स्थापना गर्‍यौँ । जसले गर्दा विद्रोहमा सामेल भएको ठूलो पङ्तिले हाम्रा वैचारिक तथा सैद्धान्तिक दिशाले कस्तो राजनीतिक निर्णय र सङ्गठनको माग गर्छ भन्ने बुझ्न सकेन ।

    पार्टी केन्द्रको स्थापनापछि देशव्यापी राजनीतिक प्रशिक्षण र सङ्गठन निर्माणमा सम्पूर्णरूपले केन्द्रित हुन नसकेको उनले बताएका छन् ।

    यी हुन् महासचिव भुसालले औंल्याएका समस्या

    -एकै समयमा देशैभरी कमिटीहरू बनाउनु पर्ने अवस्थामा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड बनाउँदा विद्रोहको बेला देखिएको तात्कालिक सक्रियतालाई ध्यान दिनु स्वाभाविक थियो । तर विद्रोहको समयको सक्रियता विचार, सिद्धान्त र राजनीतिक तथा साङ्गठानिक योग्यता र अनुभवविना लामो समय टिकाउन सजिलो हुँदैन । विद्रोहलाई व्यवस्था र विधिमा ढाल्नु पर्ने अवस्थामा ती कमजोरीहरू विभिन्न क्षेत्रमा देखिँदै गएका छन् । त्यसले गर्दा कतिपयमा कमिटीमा नकारात्मक प्रभाव परेका छन् ।

    – नेकपा एमालेमा रहेको गुटबन्दीले किनारामा परेका कार्यकर्ताहरूको ठूलो संख्या हाम्रो पार्टीमा आएको थियो । लामो समयसम्म उपयुक्त जिम्मेवारीमा नहुँदा त्यसमध्ये कैयौँ कमरेडहरूको क्षमताको स्तर वर्षौँ पुरानो छ तर अहिले उहाँहरू पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । जिम्मेवारी र क्षमतामा तालमेल नहुँदा माथिल्लो पद र हैसियतमा रहेका कैयन्कमरेडहरूले साङ्गठानिक जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था देखिएको छ ।

    -तुलनात्मकरूपले कनिष्ठ तर सक्रिय वा जिम्मेवारी पाउँदा धेरै काम गर्न सक्ने नयाँ तथा नौजवान कमरेडहरू र तुलनात्मक रूपले पुराना तर जिम्मेवारीअनुसार सक्रिय हुन नसकेका कमरेडहरूका बीचमा हुने अन्तरविरोधहरूले पनि माथिदेखि तल्ला कमिटीहरूमा समस्या देखिएका छन् ।

    -हामीले पार्टीको निर्माण माथिबाट गर्नुपर्ने थियो । धेरैजसो कमिटीहरू सम्पूर्णरूपले नयाँ बनाउनु पर्ने थियो । तर, कसलाई कुन पद वा जिम्मेवारी दिने वा को कुन कमिटी वा कुन पदमा रहने भन्ने कुनै वस्तुगत आधार उपलब्ध थिएन । जसले गर्दा व्यक्तिको मूल्यांकन मनोगत हुने अवस्था आयो ।

    -निर्वाचनमा उम्मेदवारी र राजनीतिक नियुक्तिमा माथिल्लो कमिटीमा रहेकाहरूले प्राथमिकता पाउने परिपाटी सबैजसो पार्टीमा छ, जुन एक हिसाबले स्वाभाविक पनि हो । त्यसको समाधान लोकतान्त्रिक पद्धतिको अभ्यास र त्यस क्रममा स्थापित मापदण्डबाट हुन्छ । तर हाम्रो पार्टीले त्यस्तो अभ्यास शून्यबाट सुरू गर्नुपर्ने भएको हुँदा माथिल्लो कमिटी वा पदमा पुग्नका लागि हुने प्रतिस्पर्धालाई अझै व्यवस्थित गर्न सकिएको छैन ।

    -पार्टी स्थापनाको समयको राजनीतिक तथा संवैधानिक आवश्यकताले हामी चुनावसम्मै जानेगरी गठबन्धन सरकारमा सामेल भयौँ । उक्त गठबन्धनमा बढि निर्भरता हुँदा पार्टी निर्माणको काम ओझेलमा पर्ने अवस्था आयो । स्थानीय र संघीय निर्वाचनमा हामीले अपेक्षित उपलब्धी हासिल गर्न सकेनौँ । जसले गर्दा पार्टीमा उर्जा र आकर्षण कम हुँदै गयो । त्यसलाई चिरेर नयाँ ऊर्जा सिर्जना गर्न अझै धेरै परिश्रम गर्नु पर्नेछ ।

    -पार्टीको निर्माण माथिबाट गरिएको हुँदा समस्याको जरो पनि माथि नै थियो । सङ्गठनको माथिल्लो तहमा नै समस्या भएपछि तल्ला कमिटीहरूलाई जनवादी केन्द्रीयताअनुसार सञ्चालन गर्न कठिनाइहरू छन् ।

    -एउटा राम्रो पार्टी अनेकौँ कामहरूको एउटा सिङ्गो प्रणाली हो । प्रणाली सुचारु नहुँदासम्म कमिटीमा व्यक्ति हावी हुने अवस्था आउँछ । हाम्रो पार्टी प्रणाली निर्माणकै क्रममा छ । त्यसैले कमिटी र पद्धतिमाथि व्यक्ति र तदर्थवाद हावी हुने अवस्था अझैसम्म कायम छ ।

    -पार्टीमा रहेका उपरोक्त समस्याहरूको नकारात्मक प्रभाव जनसङ्गठनमा पर्नु स्वाभाविक छ । केही जनसङ्गठनहरूले सन्तोषजनक काम गरेका छन्, केही औपचारिकरूपमा चलेका छन् भने अरु समस्याग्रस्त छन्। सबैभन्दा चलायमान युवा र विद्यार्थीलाई जुन महत्वका साथ सञ्चालन गर्नुपर्थ्यो त्यो सकिएको छैन । आजको राजनीति र समाजका जटिलतालाई बुझ्न र चिर्न सक्ने युवा तथा विद्यार्थीहरूको राष्ट्रव्यापी परिचालनविना पार्टीलाई अगाडि बढाउन असम्भवजस्तै कुरा हो । यसमा हाम्रा गम्भीर कमजोरी रहेका छन् ।

    -संसद र संविधानको रक्षाका लागि उभिएको हुँदा राजनीतिक चेतना भएको जमात र सञ्चारमाध्यममा हाम्रो पार्टीप्रति पर्याप्त आकर्षण थियो । तर, पार्टीमा विद्यमान साङ्गठानिक तथा राजनीतिक कमजोरीहरूले गर्दा त्यो आकर्षण क्रमशः कमजोर हुँदै गएको छ ।

    -सरकार र संसदमा हाम्रो उपस्थितिलाई मुलुकले एउटा क्रान्तिकारी विद्रोही पार्टीको रूपमा हेरेको थियो । यसबारे पार्टी नेतृत्वमा बेलाबेलामा गम्भीरतापूर्वक छलफल भएका छन् । तर, संसद र सरकारमा पार्टीको अपेक्षित भूमिकालाई हामीले अझैसम्म स्थापित गर्न सकेका छैनौँ ।

    यस्तो छ घनश्यामद्वारा बैठकमा प्रस्तुत संगठनातमक प्रस्ताव-

  • नेकपा एस बैठक : महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

    नेकपा एस बैठक : महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ ।

    ललितपुरको बालकुमारीमा मङ्गलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।

    बैठकमा प्रतिवेदनमाथि सामूहिक छलफल गर्न १२ वटा समूह बनाइएको र  अहिले छलफल सुरु भएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए ।

    पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस गरेको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ ।

    राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन् । देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ ।

    समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, अन्तर्राष्ट्रिय अभ्यास, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय समावेश छन् ।

    विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ ।

    साङ्गठनिक दस्तावेजमा देशभर पार्टी सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् ।

    समूहगत छलफलबाट आएका निष्कर्षलाई टोलीनेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।

    पार्टीले आगामी असार १६ देखि २० गते काठमाडौँमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ । नेता गौतमका अनुसार यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा आज छलफल गरिने छ ।

  • वेदना पोख्दै माधव नेपालले भने- सरकारबारे सोच्नुपर्ने अवस्थामा पुगेका छौं (भिडिओ)

    वेदना पोख्दै माधव नेपालले भने- सरकारबारे सोच्नुपर्ने अवस्थामा पुगेका छौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा जुनसुकै बेलामा जेसुकै हुनुपर्ने अवस्था रहेको बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले संघमा मात्रै नभएर सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला ? भन्ने भइरहेको बताए ।

    नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा अहिले नै आजभोलि नै के हुन्छ भन्ने कुराले प्रभावित पारिरहेको छ, सुदूरपश्चिम, मधेश र बागमती प्रदेशमा के होला ? आजको सदनमा कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बाचन गर्न दिने, राष्ट्रपतिले बाचन गरेपछि टेबुल गर्ने र छलफल गरेपछि पास गर्ने कुरा हुन्छ । यी सबै कुरामा जटिलता आउनसक्छ, सरकारले कसरी हेरिरहेको छ ? सत्ताधारी र विपक्षी दलहरूले कसरी आफ्नो कुरा अगाडि बढाइरहेका छन्, हामीले जानकारी लिनुपर्छ ।’

    उनले सत्ता समीकरणमा आफूहरूलाई बेवास्ता गरेको भन्दै सरकारमा बस्ने/नबस्ने भन्ने जुनसुकै बेलामा निर्णय गनुपर्ने हुनसक्ने संकेत गरे ।

    ‘हाम्रो पार्टीलाई बेवास्ता गर्ने गरिएको छ, संसद चल्ने/नचल्ने विषयमा हुने वार्ता हामीले पत्रपत्रिकाबाट थाहा पाउनुपर्ने अवस्था छ, हामीलाई जानकारी पनि गराइँदैन । यी सबै पीडा र वेदना आफ्ना ठाउँमा छन् । यी पीडा र वेदनाले हामीलाई कहाँ पुर्‍याउने हो ?’, नेपालले भने, ‘सत्ताको निम्ति मरिहत्ते गरेर बस्ने हो कि ! स्वतन्त्र स्वाभिमानलाई ध्यान राखेर अगाडि बढ्ने हो ? भनेर हामीले सोच्नुपर्ने अवस्था छ । यसका लागि दिनदिनको परिस्थितिलाई ध्यानमा राखेर निर्णय गर्ने हिसाबले अघि बढ्नुपर्ने हुन्छ ।’

    उनले सरकारको नीति तथा कार्यक्रम निर्माणमा पनि आफूहरूलाई कुनै जानकारी नगराइएको गुनासो गरे ।