Category: नेकपा एस

  • एमाले लक्षित माधव नेपालको टिप्पणी- हामीसँग अझै मिलेर काम गर्न तयार छैन (भिडिओ)

    एमाले लक्षित माधव नेपालको टिप्पणी- हामीसँग अझै मिलेर काम गर्न तयार छैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई लक्षित गर्दै आफूहरुसँग मिलेर काम गर्न तयार नभएको टिप्पणी गरेका छन् ।

    आफ्नो पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एमाले तयार नभएपछि अरु मिल्न सक्नेहरु समाजवादी मोर्चा बनाएर अघि बढेको बताए ।

    उनले भने, ‘आत्तिनुपर्ने केही छैन, मिलौं । मिल्न मूल नेताहरुले पहल गर्नुपर्छ । हामीले अहिले समाजवादी मोर्चा बनाएका छौं । त्यसको संयोजन अहिले विप्लवले गर्दै हुनुहुन्छ । बीचमा केही समस्या आएका छन् । प्रधानमन्त्रीजीले पनि मिलेर अघि बढौं भनिराख्नुभएको छ, अरु घटकलाई ल्याउन फोन पनि गरिएको छ, अरु घटक अझै हामीसँग काम गर्न तयार भएका छैनन् । के भन्न खोजेको हो, बुझिसक्नुभएको छ । तर पनि केही छैन । जो जो मिलेर अगाडि मोर्चा बनाएर जानसक्छौं, मिलौं, अरु पनि विस्तारै आउँछन् ।’

    नेकपा एसको आजबाट सुरु भएको महाधिवेशनमा अरु सबै दल शुभकामना दिन पुगे पनि एमालेका कोही नेता गएनन् ।

  • तस्बिरमा हेर्नुहोस्, नेकपा एसको राष्ट्रिय महाधिवेशन

    तस्बिरमा हेर्नुहोस्, नेकपा एसको राष्ट्रिय महाधिवेशन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा पार्टी अध्यक्ष माधव नेपालले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

    महाधिवेशनको उद्घाटन सत्र हुनुअघि र्‍याली निकालिएको थियो। आजदेखि सुरू भएको महाधिवेशन पाँच दिनसम्म चल्नेछ । यो महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।

    महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्। महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार ८४९ प्रतिनिधि काठमाडौं आएका छन् । तत्कालीन एमालेबाट विद्रोह गरेको करिब तीन वर्षअघि नेकपा एसले पहिलो महाधिवेशन गरेको छ ।

    पार्टीको भावी नेतृत्वमा माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबी गरेका छन्। यद्यपी, पार्टीको पहिलो महाधिवेशन भएकाले सर्वसम्मत नेतृत्व चयन गर्न पार्टी पंक्तिले दबाब दिइरहेका छन् ।

  • नेकपा एसकाे महाधिवेशनमा एमालेकाे उपेक्षा, शुभकामना दिन काेही गएनन्

    नेकपा एसकाे महाधिवेशनमा एमालेकाे उपेक्षा, शुभकामना दिन काेही गएनन्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन नेकपा एमालेले बहिष्कार गरेको छ । एमालेबाट अलग भएर करिब ३ वर्षपछि गरिएको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा एमालेका कोही नेता पनि नगएका हुन् ।

    अहिले प्रज्ञा भवन कमलादीमा उद्घाटन समारोह जारी छ । नेकपा एसले एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा गरेको थियो । अहिले एउटै सत्ता समीकरणमा भए पनि ओलीले कसैलाई पनि कार्यक्रममा नपठाएको बुझिएको छ ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेताहरुको कार्यव्यस्तताको कारणले कार्यक्रममा सहभागी नभएको बताए ।

    कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछानेसहित अधिकांश दलका शीर्ष नेताहरु सहभागी छन् ।

  • विद्रोहलाई महाधिवेशनबाट संस्थागत गरेर एमालेभन्दा राम्रो पार्टी निर्माण गर्छौँ : घनश्याम भुसाल

    विद्रोहलाई महाधिवेशनबाट संस्थागत गरेर एमालेभन्दा राम्रो पार्टी निर्माण गर्छौँ : घनश्याम भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेबाटको विद्रोहलाई संस्थागत गर्नको लागि महाधिवेशनमा उभिएको बताएका छन्।

    पार्टीको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै तत्कालीन पार्टी एमाले आफूहरूको संकल्पको दिशातर्फ नगएपछि भविष्य सोचेर अलग भएको प्रष्ट्याए।

    उनले भने, ‘हामीले पुनर्गठन र रूपान्तरणको कुरा गरेका हौँ। यो संकल्प हामीले छाडेको पार्टीभन्दा राम्रो असल, निर्माण र पुनर्गठन गर्छौँ। र, कम्युनिष्ट आन्दोलनलाई नै रूपान्तरण गर्छौँ। यो संकल्पका साथ हामी हिँडेको करिब ३ वर्ष हुँदैछ। यो अवधिमा धेरै उकाली ओराली व्यहोर्यौं। हण्डर ठक्कर आएको धेरै क्षति व्यहोर्यौं। तर, भविष्यप्रतिको संकल्प ओझेल हुन दिएनौँ।’

  • नेकपा एसको महाधिवेशनमा ओली नजाने, एमालेबाट अरु नेता पठाउने सम्भावना कति ?

    नेकपा एसको महाधिवेशनमा ओली नजाने, एमालेबाट अरु नेता पठाउने सम्भावना कति ?

    काठमाडौं । नेकपा एसको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नजाने भएका छन् । नेकपा एसले महाधिवेशनमा अतिथिका लागि ओलीलाई पनि निम्ता पठाएको थियो ।

    बालकोट स्रोतका अनुसार नेकपा एसको महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओली नजाने निश्चित छ । बरु त्यसबेला पार्टीको कृषि विभागको कार्यक्रममा जाने तय भएको स्रोतले जनाएको छ ।

    नेकपा एसको अस्तित्वलाई नेकपा एमालेले अझै पनि स्वीकार गर्न चाहेको छैन । राष्ट्रिय पार्टी समेत नरहेको दलको महाधिवेशनमा एमाले अध्यक्ष जाने कुरा नहुने एक स्थायी कमिटी सदस्यले बताए ।

    नेकपा एसका दस्तावेजमा एमालेलाई प्रमुख दुश्मनको रुपमा चित्रण गरेर ओलीलाई गालिगलौज गरिएको र माधव नेपालले एक दिन अघिसम्म पनि एमाले फुटाएर ऐतिहासिक काम गरियो भनिरहेकाले त्यस्तो दलको अतिथी बन्न नसकिने ती नेताको भनाइ छ ।

    एमालेबाट अरु कोही नेताले महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिने सम्भावना पनि निश्चित नरहेको स्रोतले जनाएको छ । अध्यक्षले अन्तिममा कसैलाई पठाउने वा कोही पनि नजाने दुवै सम्भावना उत्तिकै रहेको एमाले स्रोतले जनाएको छ ।

  • महाधिवेशनको मुखमा नेकपा एसमा हुर्किंदैछ गुट ? यस्तो छ माधव-झलनाथको जवाफ

    महाधिवेशनको मुखमा नेकपा एसमा हुर्किंदैछ गुट ? यस्तो छ माधव-झलनाथको जवाफ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन भोलि सुरु हुँदैछ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीले दशौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको बताइसकेको छ। एमालेबाट विद्रोह गरेर पहिलो पटक महाधिवेशन गर्न लागेकाले सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेताहरुमाथि चर्को दबाब छ ।

    नेकपा एसका भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको दाबी छ । खनालले आफ्नो नाममा सहमति नभएर निर्वाचन भएको खण्डमा महासचिव भुसाललाई सघाउने वचन दिइरहेका छन् ।

    तर, अध्यक्ष नेपालले आफ्नै नेतृत्वलाई निरन्तरता दिएर सर्वसम्मत नेतृत्व चयन गर्नेगरी छलफल गरिरहेका छन् । नेतृत्व सहमतिमै टुंग्याउन पार्टी पंक्तिबाट चर्को दबाब बढिरहेको बेलामा आज आयोजित पत्रकार सम्मेलनमा तीन शीर्ष नेताले सर्वसम्मत नेतृत्व चयन गर्ने आश्वासन दिए ।

    यद्यपि पार्टीभित्र नेतृत्व हात पार्ने दौड रोकिएको छैन । महाधिवेशनबाटै सहमतिमै नेतृत्व टुंग्याउन पार्टीमा सम्मानित नेता, वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर पदाधिकारीको संख्या २१ पुर्‍याइएको छ। आवश्यकअनुसार वरिष्ठ नेता पद पनि राख्न सकिने बताइएको छ ।

    अध्यक्ष नेपालले नेताहरु धेरै भएपछि पार्टीमा पद संख्या बढाउनुपरेको बताए । महाधिवेशनको दौडमा पछिल्लो समय नेकपा एसमा अध्यक्ष नेपालको नेतृत्वमा संस्थापन पक्ष र झलनाथ-घनश्यामको अर्को कित्ता बन्ने देखिएको छ ।

    महाधिवेशन सम्मुखमा पार्टीभित्र गुटबन्दी मौलाएको कुरा स्वीकार्न भने दुवै नेताहरु तयार छैनन् । महाधिवेशन सम्मुखमा नेता कार्यकर्ताहरूको भेला र छलफल हुने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने अध्यक्ष नेपालले बताए ।

    अध्यक्ष नेपालले भने, ‘महाधिवेशनमा भेला नभएर के गर्छन् त ? घरमै लुकेर बस्छन् त कोही ? बस्छन्, कुराकानीहरु हुन्छ । छलफल हुन्छ। कोही रेष्टुराँमा जान्छन्, कोही होटलमा जान्छन्, छलफल गर्छन्, चिया खान्छन्, भेटघाट हुन्छ । यत्रा कार्यकर्ता छन् हामीकहाँ । देशभरिका कार्यकर्ता आउँदा त झन् ज्यादा होटलका होटल पनि भरिएको होला ।’

    विगतमा पनि गुटबन्दीको कारणले ठूलो धक्का खानुपरेको स्मरण गर्दै उनले त्यसतर्फ आफू सचेत रहेको बताए । महाधिवेशनमा नेताहरु एकताबद्ध भएर अघि बढून् भन्ने नेता कार्यकर्ताहरुको चाहना प्रशंसनीय रहेको उल्लेख गरे ।

    सम्मानित नेता खनालले पनि पार्टीभित्र गुटबन्दी नरहेको बताए ।

    उनले भने, ‘जहाँसम्म गुटगत भेलाका कुरा छन्, मैले त्यो गुटबन्दी भन्ने चिज जान्दै जान्दिनँ । गरें भने पनि जान्दिनँ । उहाँहरूले नि गर्नुभएको जस्तो मलाई लाग्दैन ।’

    उनले महासचिव भुसालसँगको भेटतर्फ संकेत गर्दै थपे, ‘हामी नेताहरूसँग विभिन्न कमरेडहरू आउनुहुन्छ, कहिले यता, कहिले उता छलफल गर्छौं । कहिले होटेलमा, कहिले रेस्टुराँमा होला, कहिले घरमा यस्ता छलफलहरू भइरहन्छन् । यो गुटबन्दी होइन, एकापसको छलफलको कुरा हो ।’

    नेता खनालले साँचै पार्टीमा गुटबन्दी रहेछ भने गलत भएको भन्दै पार्टीले विरोध गर्ने बताए ।

    पार्टीमा नेताहरुको बीचमा कहीं पनि ठूलो समस्या नरहेको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु ठूलो कुरा नभएको बताए ।

    उनले थपे, हामीले यो महाधिवेशनभित्रबाट पनि मन्थन गरेर व्यापक दस्तावेजहरुको संश्लेषण गरेर आफ्नो निष्कर्ष निकाल्छौं । अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ कि पर्दैन ? लोकतन्त्रातिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौं ।’

    यस्तै महासचिव भुसालले पनि सहमतिको आधारमा नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन गर्ने जिकिर गरे ।

    उनले भने, ‘हामी विस्तृत छलफलका साथ म फेरि पनि त्यो संकल्पका हिसाबले भन्दैछु । आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो ।’

    हिजो बनेको वाम विकल्प भत्किएको उल्लेख गर्दै महासचिव भुसालले त्यसलाई समेत जोड्ने र इतिहासको दायित्वलाई पनि पूरा गर्नसक्ने गरी नेतृत्व एकताबद्ध भएर पार्टीले चयन गर्ने सुनाए ।

  • कम्युनिष्ट एकतामा जाेड दिँदै माधव नेपालले भने- बसौं छलफल गरौं (भिडिओ)

    कम्युनिष्ट एकतामा जाेड दिँदै माधव नेपालले भने- बसौं छलफल गरौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। पुष्पलाल जयन्ती समारोहलाई सम्बोधन गर्दै कम्युनिष्ट एकता हुँदै समाजवादमा पुग्ने लक्ष्य राख्नुपर्ने बताए।

    उनले भने, ‘कम्युनिष्टहरुलाई एकताबद्ध हुनुपर्छ तर पहल गर्ने मान्छे चाहिँदोरहेछ। पहल गर्ने मान्छेले गरी देखाउने रहेछ। हामी त्यसै गुनासो मात्रै गरेर बस्यौं भने केही पनि हुँदैन। पुष्पलालले पहल गरेर कम्युनिष्ट पार्टी बनाउनुभयो। पछि विद्रोह गरेर अर्को पार्टी गठन गर्नुभयो। उहाँले नयाँ पार्टी गठन गरेपछि नयाँ स्थिती सुरु भयो। माओवादी जनयुद्धको छुट्दै अनुभव छ हाम्रो छुट्टै छ। अहिले पनि अलग अलग कोणहरु पनि छन् बसौं छलफल गरौं।’

    उनले अब जनवादी गणतन्त्रलाई समाजवदी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने बताए।

  • नेकपा एसमा यस्तो छ नेता बन्ने मापदण्ड, एमालेमा संगठित सदस्य नभएका केन्द्रीय सदस्य हुन नपाइने

    नेकपा एसमा यस्तो छ नेता बन्ने मापदण्ड, एमालेमा संगठित सदस्य नभएका केन्द्रीय सदस्य हुन नपाइने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलिबाट सुरु हुने महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको जनाएको हो।

    भोलि भकटीमण्डपमा भेला भई जुलुससहित प्रजा भवन कमलादी जाने र १२:३० बजे उद्घाटन हुने महासचिव घनश्याम भुसालले बताए। महाधिवेशनका लागि काठमाडौंको आसपासका जिल्लाहरू बाहेकका जिल्लाहरूबाट आजसम्म सवै प्रतिनिधिहरू आईसक्ने सूचना प्राप्त भएको भएको बताए। उनका अनुसार महाधिवेशनमा १८४७ प्रतिनिधि सहभागी हुनेछन्।

    महाधिवेशनको उम्मेदवार बन्नको लागि नेकपा एसले योग्यता तोकेको छ। एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यहरुले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको बताए। उनले भने, ‘तर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ । यसै गरी उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सद्यस्य बन्न योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ ।’

    केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखा परिक्षण कमिदीर केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्नका लागि केन्द्रीय कमिटी वा केन्द्रीय निकायहरूको सदस्य भई काम गरेको वा संगठित पार्टी सदस्य भई कम्तिमा १० वर्ष काम गरेको वा प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई दुई कार्यकाल काम गरेको व्यक्ति केन्द्रीय सदस्य बन्न योग्य हुने उल्लेख गरेको छ।

    महिला, दलित, सीमान्तकृत जनजाति र अपाडगता भएकाहरूको हकमा भने संगठित सदस्य भई सात वर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटीमा रही काम गरेको व्यक्ति उम्मेदवार वन्न योग्य हुने उल्लेख गरेका छ।
    यद्यपी, नेकपा एस एमालेबाट अलग भएको तीन बर्ष पुगेको छैन। तर, अहिले केन्द्रीय पदमा उम्मेदवार बन्नको लागि एमालेबाटै काम गरेकाहरुले मात्रै पाउने भएका छन्।

    उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका शीर्ष नेताहरुलाई आमत्रण गरिएको महासचिव भुसालले बताए।

    तस्बिरहरु : उमेश कार्की

  • हरेक उथलपुथलमा लिड गरेर अरूलाई हाम्राे पछि लाग्न बाध्य बनाएका छौं : माधव नेपाल (भिडिओ)

    हरेक उथलपुथलमा लिड गरेर अरूलाई हाम्राे पछि लाग्न बाध्य बनाएका छौं : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले नेपालको राजनीतिमा निर्णायक भूमिका खेलेको जिकिर गरेका छन्। महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कुनै पनि चुनौतिबाट नडराएर आफूहरु अघि बढेको बताए।

    उनले भने, ‘पार्टीको नेतृत्वव दस्तावेज जस्तै सहमतिमै टुंगो लगाइयोस् भन्ने चाहना पाइरहेका छौं। नेपाली ठूल्ठूला उथलपुथल भएका छन्। प्रत्येक उथलपुथलमा हामीले महत्वपूर्ण अग्रगामी भूमिका खेलेका छौं। सहभागी भएको मात्रै होइन, लिड गरेका छौं। घटनाक्रमलाई निर्णायक मोड दिने सक्रिय हस्तक्षेप गर्ने, अरुलाई पनि आफ्नो पछिपछि ल्याउनसक्ने, नेपालको राजनीतिमा दिशाबोध गर्ने, खुवी र क्षमताको साथ अघि बढेका छौं।’

    कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद देखिएको उल्लेख गर्र्दै पार्टीलाई त्यसबाट जोगाउनुपर्ने बताए। उनले पार्टीले अघि सारेको समाजवादको कार्यक्रममा उभिएर जनताको अगुवाको रुपमा लाग्न आग्रह गरे।

  • सर्वसहमत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुन्छ: झलनाथ खनाल (भिडिओ)

    सर्वसहमत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुन्छ: झलनाथ खनाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीले अघि सारेको नीति अनुसार नेतृत्व चयन हुने बताएका छन्।

    महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशबाट सर्वसहमत नेतृत्व चयन गर्ने बताए।

    उनले भने, ‘अबको नेतृत्व सर्वसम्मत ढंगले निर्माण गरौं, त्यसले सिंगो कम्युनिष्ट आन्दोलनलाई ठिक दिशामा अगाडि बढाउँछ। हामी नेताहरुमा केही त्यस्तो ठूलो समस्या छैन। कहिलेकाहिँ बहस गर्छौँ। कम्युनिष्ट पार्टीका नेताहरुका बीचमा बहस हुनु कुनै ठूलो कुरा होइन।’

    महाधिवेशनले निकालेको निष्कर्ष लागू गर्ने नेतृत्व सर्वसहमत चयन गर्ने बताए। उनले केही गर्दा नमिलेपछि लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने उनको भनाइ छ।उनले नेतृत्वको विषयमा नेताहरुबीच छलफल चलिरहेको उल्लेख गर्दै आफूहरुले गुटबन्दी नगरेको जिकिर गरे।

  • हिजो भत्केको वाम विकल्प जोड्नसक्ने नेतृत्व एकताबद्ध भएर दिन्छौं: घनश्याम भुसाल

    हिजो भत्केको वाम विकल्प जोड्नसक्ने नेतृत्व एकताबद्ध भएर दिन्छौं: घनश्याम भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौंसम्म कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने बताएका छन्।

    महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने बताए।

    उनले भने, ‘हिजो एउटा वाम विकल्प थियो। त्यो भत्केको छ। त्यसलाई समेत जोड्ने इतिहासको त्यो दायित्व पूरा गर्न सक्नेगरी हाम्रो नेतृत्व एकताबद्ध भएर नेतृत्व चयन गर्नेछौं।’

    उनले पार्टीको ९ औं महाधिवेशनमा नीति एउटा, नेतृत्व अर्को व्यक्ति भएकाले असफल भएको बताए।

  • नेकपा एसमा प्रदेश कमिटी अध्यक्षको संयुक्त पत्र- सर्वसहमत नेतृत्व चयन हुनेमा विश्वस्त छौं

    नेकपा एसमा प्रदेश कमिटी अध्यक्षको संयुक्त पत्र- सर्वसहमत नेतृत्व चयन हुनेमा विश्वस्त छौं

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्षहरुले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न नेतृत्वलाई आग्रह गरेका छन्।

    एमालेबाट विद्रोह गरेर पहिलो पटक महाधिवेशन गर्न लागेको हुनाले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई सर्वसहमत नेतृत्व चयन गर्न आग्रह गरेका हुन्।

    पत्रमा भनिएको छ, ‘विद्रोह गरेर गठन भएको करिव ३४ महिना पश्चात राष्ट्रिय महाधिवेशन सम्पन्न हुनु पार्टी जिवनका लागि गौरवको विषय पनि हो। सैद्धान्तिक, वैचारिक र कार्यक्रम सर्वसम्मत रुपमा तय भएको छ। तय भएको समाजवादी कार्यक्रमले आजको समाजका सबै खाले चुनौतिहरुको सामना गर्न सक्ने छ। साथै भन्ने पार्टी पंक्तिको भावना समेतलाई आत्मसात गर्दै हामी आठै प्रदेश कमिटीका अध्यक्षहरुको छलफलपछि सर्वसहमत नेतृत्व चयन गर्न सक्षम हुनेमा हामी विश्वस्त छौं।’

    पार्टी एकताबद्ध भएर महाधिवेशनमा अघि बढोस् भन्ने चाहेको उल्लेख गरेका छन्। नेकपा एसका भावी नेतृत्वमा अध्यक्ष नेपालसहित नेता खनाल र महासचिव भुसालको दाबी छ। खनालले आफ्नो नाममा सहमति नभएर निर्वाचन भएको खण्डमा महासचिव भुसाललाई सघाउने बचन दिइरहेका छन्।

    तर, अध्यक्ष नेपालले आफ्नै नेतृत्वलाई निरन्तरता दिएर सर्वसहमति नेतृत्व चयन गर्नेगरी छलफल गरिरहेका छन्।

  • माधव नेपालले जस्तो अरूले कम्युनिष्ट आन्दोलन नेतृत्व गर्न सक्दैनन्, कुनै दाग पनि छैन : जगन्नाथ खतिवडा

    माधव नेपालले जस्तो अरूले कम्युनिष्ट आन्दोलन नेतृत्व गर्न सक्दैनन्, कुनै दाग पनि छैन : जगन्नाथ खतिवडा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो अरूसँग एकता गरेर नमिसिने बताएका छन् ।

    जनताका नेता नेपाल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूले निर्माण गरेको पार्टीलाई मर्न नदिने बताए।

    उनले भने, ‘यो पार्टीलाई हामीले निर्माण गरेका हौँ। यसलाई मर्न दिन हुँदैन, यो कतै मिसिँदैन । यसको अस्तित्व समाप्त हुन सक्दैन । आजको नेपालीको समाजमा समाजवादको धरोहर बोकेर हिँड्ने नेकपा एकीकृत समाजवादी जन्मिएको हो । अबको समाजवादको नेतृत्व गर्ने र कम्युनिष्ट आन्दोलनको झण्डा उठाएर हिँड्ने जिम्मेवारी माधव नेपालको हातमा आइलागेको छ । हामी उहाँको सहयात्री हौँ ।’

    नेपालको राजनीतिमा माधव नेपालजस्तो कुनै दाग नलागेको नेता नभएको जिकिर गरे । उनले माधव नेपालले जस्तो कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने क्षमता अरू कसैले नराख्ने जिकिर गरे ।

  • सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने नेकपा एसको निर्णय

    सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने नेकपा एसको निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ। आज बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष बनाउने निर्णय गरेको हो।

    ७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार सम्मानित नेताको पद पनि यथावत् राख्ने भएको छ। अहिले सम्मानित नेतामा झलनाथ खनाल छन्।

    एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने निर्णय बैठकले गरेको छ। सचिवमा दलित, जनजाति र महिलाबाट एक-एक जना ल्याइने भएको छ।

    योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ।

  • नेकपा एसले वरिष्ठ उपाध्यक्ष राख्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

    नेकपा एसले वरिष्ठ उपाध्यक्ष राख्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी २९९ सदस्य बनाउने निर्णय गरेको छ।

    पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले १५१ बाट थप गरेर २९९ सदस्यीय बनाउने निर्णय गरेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

  • नेकपा एसमा वरिष्ठ उपाध्यक्ष र केन्द्रीय कमिटीलाई २९९ बनाउनेबारे छलफल

    नेकपा एसमा वरिष्ठ उपाध्यक्ष र केन्द्रीय कमिटीलाई २९९ बनाउनेबारे छलफल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष राख्नेबारे छलफल सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष राख्नेबारे छलफल भएको हो ।

    १५१ सदस्य केन्द्रीय कमिटीलाई पनि २९९ बनाउनेबारे छलफल भइरहेको एक नेताले बताए ।

    नेकपा एसको महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल आफैं दोहोरिने दाउमा छन् । तर, सम्मानित नेता झलनाथ खनालको समर्थनमा महासचिव घनश्याम भुसाल नेतृत्वको दौडमा छन् । वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर आकांक्षीलाई व्यवस्थापन गरेर सर्वसहमत नेतृत्व चयन गर्नेबारे अहिले छलफल भइरहेको हो ।

  • ‘माधव कमरेडलाई भनिसकें, सर्वसम्मत नेतृत्वका लागि उपयुक्त मै हुँ’

    ‘माधव कमरेडलाई भनिसकें, सर्वसम्मत नेतृत्वका लागि उपयुक्त मै हुँ’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई अहिले महाधिवेशनको चटारो छ । एमालेबाट विद्रोह गरेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले असार १६ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ । यो महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ । यो महाधिवेशनबाट नेतृत्वमा माधव नेपाल आफैं दोहोरिने दाउमा छन् ।

    तर, उनलाई सम्मानिन नेता झलनाथ खनालको सहयोगमा महासचिव घनश्याम भुसालले चुनौती दिँदैछन् । आज नेता खनाल निवास डल्लुमा दुई नेताबीच भएको छलफलमा मिलेर अघि बढ्ने सहमति बनेको छ ।

    दुई नेता मिलेर आफूविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गर्ने देखेपछि आफ्नो नाममा सहमति जुटाउन आन्तरिक छलफलमा अध्यक्ष नेपाल लागेका छन् । खनालले भुसाललाई सघाउने सुइको पाएपछि आइतबारको भेटमा नेपालले यो विषयमा चासो राखेका थिए । तर, खनालले स्पष्ट जवाफ दिएका थिएनन् ।

    त्यसो त नेतृत्वको विषयमा मात्रै होइन, नेपाल र खनालबीच पार्टीमा वैचारिक मतभेद पनि छ । नेपाल जनताको बहुदलीय जनवाद (जबज) अहिले छाड्न नहुने पक्षमा अडिग छन् भने खनाल त्यो इतिहास भइसकेकाले समाजवादी क्रान्तिको अवस्थामा पुगिसकेको तर्क गर्छन् । त्यसमा खनाललाई भुसालको समर्थन छ ।

    पार्टीभित्र पुस्तान्तरणको बहस पनि नभएको होइन । ७० वर्ष उमेद हद हटाएपछि नेपाल र खनाल दुवै नेतृत्वको लागि हौसिएका थिए ।

    तर, नेता खनाल नीति, कार्यक्रम र आफ्नो राजनीतिक विचार भुसालले बोकेको भन्दै समर्थन गर्न तयार भएको बताइसकेका छन् । तर, संस्थापन पक्षका नेताहरुले महासचिव भुसालले विद्रोहको बेलामा साथ छाडेर बीचमा आएर नेतृत्व खोजेको भन्दै असन्तुष्टि जनाइरहेका छन् । आसन्न महाधिवेशनको तयारी र नेता खनालसँगको भेटवार्तामा केन्द्रित रहेर महासचिव घनश्याम भुसालसँग गरिएको कुराकानीः

    – महाधिवेशनका लागि नेतृत्वको दौडधूप चलिरहेको बेलामा झलनाथ खनाल निवास डल्लु पुग्नुभयो । के के कुराकानी भए ?

    हामीले महाधिवेशन, महाधिवेशनका चुनौती र जिम्मेवारी, भावी नेतृत्वलगायतको विषयमा छलफल गरेका हौं ।

    – भावी नेतृत्वमा उहाँ (झलनाथ)ले तपाईंलाई समर्थन गर्ने सहमति भएको हो ?

    समर्थन कसले कसलाई गर्ने भन्दा पनि अहिले जुन विचार निर्माण गरेर टुंगोमा पुगेका छौं, अहिले जुन कार्यक्रम अघि सारेका छौं, अहिलेको कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि विचारहरूको सान्दर्भिकता र सुरक्षा गर्ने विषयमा हामीले कुराकानी गर्‍यौं । त्यसमा समान धारणा र मत छन् । यी विचार धारणा निर्माण गर्ने विषयमा हामी सँगसँगै छौं ।

    मैले यो विषय आठौं महाधिवेशनमा पनि उठाएको थिएँ । नवौं महाधिवेशनमा जाँदाखेरि जेएन कमरेड पनि यसमा सहमत भइसक्नु भएको थियो । यो कुरा नवौं महाधिवेशनमा उहाँले नै पेस गरिसक्नु भएको थियो । त्यसकारण यो विचारसँग हामी सँगसँगै आएका छौं । यस विचारको लागि हामीले थप मेहनत गर्नुपर्ने भयो भन्ने विषयमा कुरा भयो ।

    – भनेपछि नेतृत्वसहित एकै ठाउँमा उभिने सहमति भयो ?

    नेतृत्वबारे धेरै छलफल गरेनौं । भावी नेतृत्वले अगाडिका दिनमा पनि यी विचारहरूलाई रक्षा गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने सहमति भएको छ । त्यहीअनुसार अघि बढ्छौं ।

    – यो भेटपछि अब अध्यक्षमा तपाईंले उम्मेदवारी दिने पक्का भएको हो ?

    त्यो त अलग कुरा छँदैछ । मैले उहाँहरूसँग इच्छा जाहेर गरेको छु । मैले मेरो इच्छा छ, मेरो योग्यता पनि पुगेको छ । यस अर्थमा मलाई सहयोग गर्नुस् । समर्थन गर्नुस् भनेको छु दुवै नेताहरूलाई ।

    – माधव नेपाल आफैं नेतृत्वमा दोहोरिने दाउमा हुनुहुन्छ । तपाईंले इच्छा व्यक्त गर्दा कस्तो प्रतिक्रिया पाउनुभयो ?

    उहाँले पनि छलफल गरौं भन्नुभएको छ । यो विषयमा छलफल जारी छ ।

    – तपाईंले पार्टीको अध्यक्ष महाधिवेशनबाट सर्वसम्मत घोषणा हुने सम्भावना देख्नुभएको छ ?

    सर्वसम्मत नेतृत्वका लागि सबैभन्दा सजिलो र उपयुक्त मै हो भन्ने लाग्छ ।

    – माधव नेपाल नै दोहोरिने दाउमा भएकाले तपाईंको सम्भावना त कमजोर देखिन्छ नि ?

    सर्वसम्मत नेतृत्वका लागि आमरुपमा जनमत छ । त्यो सर्वसम्मत भनेको विचार र सिद्धान्तको आधारमा सर्वसम्मत हो । त्यस्तो लिडरसिपको कुरा हो । यी सबै कुरालाई हेर्दा दुवै सिनियर कमरेडले मलाई समर्थन गर्दा सर्वसम्मत हुने सबैभन्दा सजिलो तरिका यही बाटो हो ।
    त्यसो हुँदा प्रतिनिधिहरूको पनि आम रुपमा सहमति हुनुपर्छ भन्ने सेन्टिमेन्ट छ । त्यसैले सहमति हुने सबैभन्दा सजिलो उपाय यही हो । त्यस अर्थमा म बढी विश्वस्त छु ।

    – तर, तपाईंमाथि पार्टीभित्रकै नेताहरूले विद्रोहको बेलामा साथ छाडेर अहिले बीचमा आएर नेतृत्व दाबी गर्‍यो भन्ने आरोप लगाइराख्नु भएको छ नि ?

    साथ छाडेको, नछाडेको चाहिँ मैले जान्दिनँ । म जहाँसुकै रहें, म एउटा बेलाको मात्रै विद्रोही होइन । म त राजनीतिमा बीसौं वर्षदेखिको विद्रोही हुँ । त्यो गर्दा एक हप्ता, एक महिनाको विद्रोहको कुरै होइन यो ।

    हामी अब जबजभन्दा अगाडि बढिसकेका छौं । समाजवादी कार्यदिशामा पार्टी गइसकेको छ । जबजको मामला हाम्रो पार्टीमा समाधान भइसकेको छ ।

    म जहाँ छु, विद्रोहकै कुरा गरिरहेको छु । यहाँ हुँदा होस् या नहुँदा । त्यसैले यो कुरा सामान्यतया राजनीतिक रूपले सचेत मान्छेले यस्तो कुरा गर्दैन अथवा मलाई देखिराखेको, जानिराखेको, बुझिराखेको मान्छेले यो कुरा गरेको छैन जस्तो लाग्छ ।

    – पार्टीको दस्तावेज निर्माणमै पनि दुई शीर्ष नेताबीच मतभेद थियो । त्यसमा कुरा मिलिसकेको हो ?

    सुरूमा थियो । अब हाम्रो समाजवादको कार्यदिशा हो कि जनताको बहुदलीय जनवादको भन्ने थियो । त्यो चाहिँ समाजवादकै कार्यदिशा हो भन्ने कुरामा पार्टीले टुंगो लगाइसकेको छ ।

    – त्यो भनेको माधव नेपाल जबज छाड्न तयार हुनुभएको हो ?

    यो माधव नेपालजीको मात्रै कुरा भएन । जो साथीहरू जबजको कार्यदिशा र त्यसको वरिपरि जे जति मान्यता थिए, त्यो सबै हाम्रो छलफलको दौरानमा समाधान भइसकेको छ । र, हामी अब जबजभन्दा अगाडि बढिसकेका छौं । समाजवादी कार्यदिशामा पार्टी गइसकेको छ । जबजको मामला हाम्रो पार्टीमा समाधान भइसकेको छ ।

    – एमालेबाट विद्रोह गरेको औचित्य अझै नेकपा एसले पुष्टि गर्न नसकेको आरोप लाग्दै आएको छ । यो महाधिवेशनले त्यो पुष्टि गर्छ ?

    विद्रोहको औचित्य पुष्टि हुन चाहिँ यसले गरेको संकल्प पूरा हुने हो । यसमा हामी प्रयत्नशील छौं । त्यो प्रयत्नमा हामी विद्रोहको औचित्य पुष्टि गर्ने दिशामा यो महाधिवेशनले आफ्नो कार्यक्रम र नेतृत्वमा तय गर्‍यो भने विद्रोहको औचित्य पुष्टि गर्छ ।

    याे पनि पढ्नुस् : नेकपा एसको अध्यक्षमा घनश्याम भुसाललाई सघाउन झलनाथ खनाल तयार

  • नेकपा एसको अध्यक्षमा घनश्याम भुसाललाई सघाउन झलनाथ खनाल तयार

    नेकपा एसको अध्यक्षमा घनश्याम भुसाललाई सघाउन झलनाथ खनाल तयार

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग गर्ने भएका छन् । खनाल निवास डल्लुमा भएको दुई नेताहबीचको भेटमा मिलेर अघि बढ्ने सहमति भएको हो ।

    भेटमा महाधिवेशनको तयारीबारे नेता खनालसँग छलफल भएको महासचिव भुसालले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘हामीबीच नीति कार्यक्रम सबै मिलेपछि झलनाथजीसँग मिलेर अघि बढ्ने समझदारी भएको छ ।’

    सम्मानित नेता खनालको समर्थनमा महासचिव भुसाल अध्यक्षमा माधव नेपालसँग प्रतिस्पर्धा गर्न तयार देखिएका छन् ।

  • दस्तावेजमा सहमति भइसक्यो, महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाउँछौं: घनश्याम भुसाल (भिडिओ)

    दस्तावेजमा सहमति भइसक्यो, महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाउँछौं: घनश्याम भुसाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले यो महाधिवेशनबाट आफूहरु एकताबद्ध भएर आउने बताएका छन् ।

    राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी आन्दोलनको लागि नयाँ विचार लिएर आउने बताए ।

    उनले भने, ‘हामी यो महाधिवेशनबाट अझै बढी एकताबद्ध भएर निस्कनेछौं । हामीले दस्तावेज सर्वसम्मत बनाएका छौं । यो दस्तावेज लेख्नमात्रै बनाएका छैनौं । अबको क्रान्तिको बाटो, एजेण्डा के हो भन्नेबारे सघन विचार ल्याएका छौं ।’

    महासचिव भुसालले राष्ट्रिय राजनीति, कम्युनिष्ट आन्दोलन र पार्टीभित्र देखिएको चुनौतीलाई अघि सारेर छलफलमा गएर एकै ठाउँमा उभिने बताए ।

  • सहमतिमा नेतृत्व चयन गरेर कम्युनिष्ट आन्दोलनमा भूकम्प ल्याउँछौँ : झलनाथ खनाल

    सहमतिमा नेतृत्व चयन गरेर कम्युनिष्ट आन्दोलनमा भूकम्प ल्याउँछौँ : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट नीति र दृष्टिकोणको आधारमा सहमतिमा नेतृत्व चयन हुने बताएका छन्।

    राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै यो महाधिवेशनको सबैभन्दा महत्त्वपूर्ण हुने बताए।

    उनले भने, ‘दस्ताबेजहरूमा मूलभूत रूपमा सहमति गरेका छौँ। त्यसभित्र अझै गहन ढंगले छलफल गर्ने नै छौँ। यो महाधिवेशनमा पनि मन्थन हुन्छ। महाधिवेशनले कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यहरूलाई पारित गर्नेर्छौं। स्वभाविक रूपमा ठूलो लडाइँ गर्नुपर्ने छैन। हामीले नीति र दृष्टिकोणको आधारमा सहमतिको साथमा नयाँ नेतृत्व चयन गर्ने कुरा हाम्रो कार्यभार हो।’

    उनले कम्युनिष्ट आन्दोलनको एकताको सुरुआत पनि आफ्नो पार्टीले गर्ने बताए।

    उनले भने, ‘दक्षिणपन्थी यथास्थितिवाद जसरी हाबी भइरहेको छ। त्यसका विरुद्ध कम्युनिष्ट आन्दोलनमा एउटा भूकम्प जानेछ। हामी भूकम्प सिर्जना गर्छौँ प्रत्येक पार्टीभित्र अरू पार्टीभित्र जुन खालको अवसरवाद छ त्यसको विरुद्ध भूकम्प ल्याएर रुपान्तरणको सुरुआत गर्नेछ।’

  • नेकपा एसको दशौं राष्ट्रिय महाधिवेशन: एक हजार ८०० प्रतिनिधि छनोट

    नेकपा एसको दशौं राष्ट्रिय महाधिवेशन: एक हजार ८०० प्रतिनिधि छनोट

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दशौं राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार ८०० प्रतिनिधि छनोट गरेको छ ।

    यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार ८०० प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । उनका अनुसार महाधिवेशनका लागि एक हजार ८४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ ।

    अधिकांश स्थानमा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताइने । उनका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब ४५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् ।

    यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो । छनोट गरिएका प्रतिनिधिको कुल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ ।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेसँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौं महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताइन् ।

    पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सङ्घीय संसदमा १० र राष्ट्रियसभामा ८ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ । -रासस

  • पुन: निर्वाचनको मुद्दामा हारे झलनाथ खनाल

    पुन: निर्वाचनको मुद्दामा हारे झलनाथ खनाल

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा पुनः निर्वाचनको माग गर्दै झलनाथ खनालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो ।

    नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका खनालले एमालेका महेश बस्नेतसँग हारेपछि पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्मा रहेको संवैधानिक इजलासले उक्त निर्णय लिएको हो ।

    सोही क्षेत्रमा मतगणना दोहोर्‍याइ पाउँ भन्दै महेन्द्र यादवले दायर गरेको रिट पनि खारेज भएको छ ।

  • ऊर्जामन्त्रीलाई प्रेम आलेको चेतावनी- डोटीमा बस्ती डुबान भयो भने छाड्नेवाला छैन, सदनमै बदला लिन्छु

    ऊर्जामन्त्रीलाई प्रेम आलेको चेतावनी- डोटीमा बस्ती डुबान भयो भने छाड्नेवाला छैन, सदनमै बदला लिन्छु

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ऊर्जामन्त्री शक्ति बस्नेतलाई पटक पटक भन्दा पनि डोटीमा बजेट नहालेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्रीलाई भन्दा पनि आफ्नो जिल्लामा बजेट नहालेको बताए ।

    उनको भनाइ जस्ताको जस्तै

    ऊर्जामन्त्रीलाई गत वर्ष पनि सेती नदी र गण्डिगाड खोलाले कटान गरेको बस्ती, विद्यालय जोखिममा छ । बजेटको व्यवस्थापन गर्नुपर्छ भनें । ऊर्जामन्त्रीले हुन्छ भन्नुभयो, तर बजेटमा परेन । मैले प्रधानमन्त्रीलाई पनि भनें बजेट परेर बस्ती जोखिममा छ भनेर । जग्गा कटान गरिसकेको छ, अब बस्तीमात्रै बाँकी छ । उहाँले हुन्छ भन्नुभयो । टिप्नुभयो, संशोधन भएन । यस पटक पनि ऊर्जामन्त्रीले गर्छु भन्नुभएको थियो, अहिले पनि परेन ।

    डोटी जिल्लाको नाम किताबमै छैन । कतिपय सत्तापक्षका माननीयहरुकोमा बजेट परेको होला । म अनुरोध गर्न चाहन्छु, यो जाजरकोटमा बजेट कमै भएको रहेछ माननीय शक्ति बस्नेतकोमा । तपाईंहरुको कटौती गरेर पनि दिइदिनुस् । मन्त्री एउटा जिल्ला, पालिकामा मात्रै सीमित हुने ? मन्त्री सिंगो देशको होइन ? पटक पटक मन्त्री भएको मान्छेले सबैलाई समेट्न पर्दैन ? म ७० सालदेखि निरन्तर तीन पटक निर्वाचित भएर आएको छु ।

    डोटेली जनताले मलाई माया गरेर जिताइराख्नु भएको छ। तर माननीयज्यूले सुन्नुभएन । म खेद व्यक्त गर्न चाहन्छु । म ऊर्जामन्त्रीलाई भन्न चाहन्छु, तपाईं मन्त्री भइराख्नुस्, सधैं जाजरकोटमा बजेट लगिराख्नुस् । तपाईंलाई शुभकामना छ । त्यहाँको बस्ती डुबान भयो भने छोड्नेवाला छैन, खबरदार ! यदि बस्ती डुबान भयो, बगेर गयो, मानवीय क्षति भयो भने यही सदनमा बदला लिने अवस्था आउनसक्छ । डोटेली जनताले यो कुरा बोल भनेर मैले बोलिरहेको छु ।

  • नेकपा एस महाधिवेशनः आज मतदाता नामावली प्रकाशन

    नेकपा एस महाधिवेशनः आज मतदाता नामावली प्रकाशन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।

    नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण आज साँझसम्ममा प्रकाशन गरिने पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए ।

    पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची यही असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ । योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी छानबिन गर्ने मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको नामावली पनि सोही दिन प्रकाशन गरिने छ ।

    बुधबार नै उम्मेदवारको नाम फिर्ता लिने, सर्वसम्मति नभए मतदान गर्ने, मतदान सकिएलगत्तै मतगणनाको समयसीमा निर्धारण गरिएको छ । सम्बन्धित कमिटीले केन्द्रलाई मतपरिणाम सार्वजनिक गरेपछि त्यसको अभिलेख केन्द्रमा पठाउनुपर्ने छ ।

    देशभर करिब एक लाख पचास हजार संगठित सदस्य रहेको पार्टीले १२५ संगठित सदस्य बराबर एक प्रतिनिधि छनोट गरिने जनाएको छ । आसन्न राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार ८०० प्रतिनिधि छनोट गरिने छ ।

    महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि छनोट गरिने छ । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट प्रतिनिधि चुनिएर आउनेछन् । दलित, युवा महिलालगायत केही प्रतिनिधि समानुपातिक प्रतिनिधित्वको मापदण्डबाट सहभागी हुने व्यवस्था गरिएको छ । पार्टीनिकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनोटका लागि संख्या निर्धारण गरिएको छ ।

  • माधव नेपालको जिकिर- नेकपा एसमा वैचारिक मतभेद छैन

    माधव नेपालको जिकिर- नेकपा एसमा वैचारिक मतभेद छैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र वैचारिक मतभेद नरहेको दाबी गरेका छन् । अनेमसंघ (समाजवादी) को मुखपत्र विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू सबैको लक्ष्य समाजवाद भएको बताए ।

    उनले भने, ‘महाधिवेशन एकताबद्ध भएर गरियोस् भन्ने कुरा आएको छ । बहुत राम्रो र सुन्दर कुरा हो । त्यही विषयमा सबैले विचार गर्नु राम्रो हुन्छ । यो आन्दोलन अप्ठ्यारो अवस्थामा अगाडि बढाएका हौं । त्यो बेलामा खुट्टा कमाएर धर्मर गरेको भए पार लगाउनसक्ने थिएनौं । चुनौतीको बेलामा मानिसहरूको पहिचान हुन्छ ।’

    उनले आफूहरूले कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि समाजवादी मोर्चा हुँदै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध गरेर अगाडि बढ्ने प्रयास भइरहेको बताए ।

    अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन । किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं भनेर पहिलो दिनदेखि नै पाईला त्यतैतिर सारेका छौं । हामी यो महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौं जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्दैछ । र यसको निम्ति हाम्रो सम्पूर्ण नेता र कार्यकर्ताहरुको सामुहिक बुद्धिबाट नै हामीले दस्तावेजहरू अगाडि सारिरहेका छौं ।’

  • झलनाथको प्रश्न- नेतृत्वमा सहमति टाउकाे जोडेर हुन्छ कि अंकमाल गरेर ? (भिडिओ)

    झलनाथको प्रश्न- नेतृत्वमा सहमति टाउकाे जोडेर हुन्छ कि अंकमाल गरेर ? (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनमा वैचारिक कार्यदिशा, नीति र सिद्धान्तमा आधारित भए सहमतिमा नेतृत्व चयन गर्न सकिने बताएका छन् ।

    अनेमसंघ (समाजवादी) को मुखपत्र विमोचन कार्यक्रममा उनले महाधिवेशनबाट राजनीतिक, संगठनात्मक प्रतिवेदन र विधान पारित गर्ने बताए ।

    उनले भने, ‘दस्तावेजमा छलफल भइरहेको छ, सुझाव आइरहेका छन् । अहिलेका मस्यौदा दस्तावेजलाई परिस्कृत गरेर पारित गर्छौं । सहमतिको साथ नेतृत्व निर्माण गर्नुपर्छ । सहमति केका आधारमा हुन्छ ? हामीले टाउका जोडेर हुन्छ कि ? अंकमाल गरौं कमरेडहरू भनेर हुन्छ कि ? केले एकता गर्छ ? हामी एउटा वैचारिक राजनीतिक कार्यदिशाको आधारमा जुटेका छौं । नीति, सिद्धान्त र लक्ष्यको आधारमा अघि बढेका छौं ।’

    उनले नेतृत्व चयनमा एकताबद्ध भएर सहमतिको नेतृत्व चयनको पहल गर्न सबैलाई आग्रह गरे ।

  • महाधिवेशनअघि माधवको जिकिर- विद्रोहको औचित्य पुष्टिको विन्दुमा आइपुगेका छौँ (पूर्णपाठ)

    महाधिवेशनअघि माधवको जिकिर- विद्रोहको औचित्य पुष्टिको विन्दुमा आइपुगेका छौँ (पूर्णपाठ)

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दशौं महाधिवेशनबाट कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी आफ्नो पार्टीको भएको जिकिर गरेका छन् ।

    महाधिवेशनअघि अन्तर पार्टी निर्देशन-१४ जारी गर्दै उनले आजभन्दा ३३ महिना पहिले दक्षिणपन्थी अवसरवाद र विसर्जनवाद तथा लोकतन्त्र विरोधी प्रवृत्तिकाविरुद्ध विद्रोह गरेको उल्लेख गरेका छन् ।

    अपानीमा नेपालले भनेका छन्, ‘हाम्रो विद्रोहले नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको एउटा चुनौतीपूर्ण ऐतिहासिक अभिभारा बोकेका छ । दक्षिणपन्थी यथास्थितिवादबाट मुक्त गर्दै समाजवादको दिशामा सम्पूर्ण कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूलाई गोलबन्द गर्नु र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने असाधारण जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’

    पार्टीका हरेक सदस्यले आ-आफ्नो कार्यक्षेत्रमा आजका अनेकन समस्या र चुनौतीहरूको सामना गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई सही कार्यदिशाका आधारमा एकताबद्ध बनाउने र नेपालमा समाजवादको भविष्यलाई सुनिश्चित गर्न आफैंले कबुल गरेका प्रतिवद्धता भएको उनले उल्लेख गरेका छन् ।

    अपानीमा भनिएको छ, ‘अहिले हामी महाधिवेशनबाट विद्रोहको आवश्यकता र हाम्रा प्रयासहरूको समीक्षा तथा विद्रोह गर्दा नै अवलम्बन गरिएका समाजवादी लक्ष्य, कार्यदिशा र नीतिको अनुमोदन गर्दै नेपाली विशेषताको समाजवादी कार्यक्रम निर्माण गर्ने बिन्दुमा आइपुगेका छौँ । उल्लिखित ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने यस समयले हामी सबैबाट अझ बढी धैर्यता, दूरदृष्टि, दृढता र एकताको माग गरेको छ ।’

    विद्रोहको जगमा उभिएको पार्टीलाई महाधिवेशन भव्यताकासाथ सम्पन्न गर्ने दायित्व रहेको नेपालले बताएका छन् ।

  • नेकपा एसमा सदस्यता एमालेबाटै गणना, केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि

    नेकपा एसमा सदस्यता एमालेबाटै गणना, केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि

    काठमाडौं । नेकपा एकीकृत समाजवादीमा पार्टी केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू आयोजकको हैसियतमा स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुने भएका छन् ।

    महाधिवेशनमा सबै नेताहरू वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने भनिएपनि अन्तिम समयमा आएर केन्द्रीय सदस्य र केन्द्रीय आयोगका सदस्य आयोजकको हैसियतमा स्वत: महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको हो ।

    अध्यक्ष माधव नेपालले अपानी जारी गर्दै १०औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि पार्टीको संगठित पार्टी सदस्यता प्राप्त गरी कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने बताएका छन् ।

    अपानीमा भनिएको छ, ‘संगठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत पार्टीमा संगठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ । योग्यता नपुगेको व्यक्ति प्रतिनिधिमा छनोट भएमा प्रतिनिधि रद्द हुनेछ ।’

    प्रतिनिधि चयनका लागि आवेदन शुल्क न्यूनतम दुई सय हुने अपानीमा उल्लेख छ । महाधिवेशन प्रतिनिधि शुल्क एक हजार र आयोजक प्रतिनिधिहरूको प्रतिनिधि शुल्क ५ हजार निर्धारण गरिएको छ ।

  • केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे मलाई जानकारी छैन : माधव नेपाल (भिडिओ)

    केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे मलाई जानकारी छैन : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

    बिहीबार संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरका विषयमा जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि बताए ।

    अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचिका विषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।

     

     

  • हाम्रो पार्टीमा गयारामभन्दा आयाराम बढी छन् : माधव नेपाल (भिडिओ)

    हाम्रो पार्टीमा गयारामभन्दा आयाराम बढी छन् : माधव नेपाल (भिडिओ)

    पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी फोर्ने दुस्साहस गरेको भए सफल नहुने बताएका छन् ।

    समाजवादी प्रेस संगठन नेपाल कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

    ‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो । दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो,’ उनले भने, ‘फाटफुट, आयाराम-गयाराम भैरहन्छ । गयारामभन्दा आयाराम बढी छन् ।’

    उनले आफूले प्रधानमन्त्री बन्नलाई मात्र राजनीति नगरेको बताए । पहिले गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेसले अफरै गरेपछि प्रधानमन्त्री बनेको नेपालको दाबी थियो ।

  • नितेशलाई युवा संघको चेतावनी- आफैंले आफैंलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत क्षम्य हुँदैन (भिडिओ)

    नितेशलाई युवा संघको चेतावनी- आफैंले आफैंलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत क्षम्य हुँदैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालले सहसंयोजक नितेश पौडेलले विधि विधान र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधि गरेको निष्कर्ष निकालेको छ ।

    सहसंयोजक पौडेलले समानान्तर कमिटी घोषणा गरेपछि संस्थापन पक्षले पत्रकार सम्मेलन गरेर संगठनमा व्यक्तिवाद प्रकट भएको युवा संघ नेपालका कार्यालय सदस्य धर्म शाहीले बताए ।

    उनले भने, ‘सम्मेलन गर्न आफ्नै विधि र व्यवस्था छ । कमिटी, संगठन नेतृत्व छ । सबै विषयलाई लत्याएर अवैधानिक भेलालाई रोक्न संगठन र पार्टीले गरेको निर्णयलाई समेत अवमूल्यन गरेर आफैंले आफैंलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत क्षम्य हुँदैन ।’

    संगठनविपरीत गतिविधि गरेपछि पौडेलसहित कार्यालय सदस्यद्वय रोशन थापा र फूर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेर पार्टीलाई जानकारी गराइसकेको बताए । पार्टीले पनि अराजकतालाई छुट नदिने उनको भनाइ थियो ।

    मातृपार्टी महाधिवेशनमा होमिएको बेलामा युवा संघका संयोजक कृष्ण विक र सहसंयोजक पौडेल नेतृत्वका विषयमा विवाद समानान्तर कमिटीसम्म पुगेको हो । पौडेल पार्टी अध्यक्ष माधव नेपालका भान्जा हुन् भने विक सम्मानित नेता झलनाथ खनालनिकट हुन् ।

  • उपेन्द्र यादवलाई माधव नेपालको प्रस्ताव- हामी मिलेर अगाडि बढौं

    उपेन्द्र यादवलाई माधव नेपालको प्रस्ताव- हामी मिलेर अगाडि बढौं

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मिलेर अगाडि बढ्न प्रस्ताव गरेका छन् ।

    जसपा नेपालको जनकपुरधाममा भएको महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष नेपालले उक्त प्रस्ताव राखेका हुन् ।

    उनले भने, ‘हामी सहयात्री हौं । केन्द्र र प्रदेश सरकारमा संगै थियौं । संसदमा पनि साथै हो । सँगसँगै काम गर्दै आएका हौं । हामी मिलेर अगाडि बढ्नुपर्छ । विचार र मन मिलेको छ भने त्यसपछि मिलेर अगाडि बढ्ने कुरामा केही बाधा हुन सक्दैन ।’

    अध्यक्ष नेपालले हरेक चुनौतीलाई सामना गर्दै बुलन्दीका साथ अगाडि बढ्न उपेन्द्र यादवलाई सुझाव दिए ।

    उनले भने, ‘उपेन्द्र यादवले खुट्टा कमाउनु भएन, जसरी सबै चुनौतीको सामना गर्नुभयो । त्यही बुलन्दीको साथ अगाडि बढ्नुस् ।’

    उनले जसपा नेपालले लिएको संकल्प र अठोट पूरा हुनुपर्नेमा जोड दिए । पार्टी विभाजन सन्दर्भमा उनले जसपा चुनौतीको बीचबाट अगाडि बढिरहेको आफूलाई ज्ञात रहेको बताए ।

    ‘चुनौतीको बीचबाट अगाडि बढ्दा तपाईंहरुको क्षमताको परीक्षा भइरहेको छ’, अध्यक्ष नेपालले भने, ‘समाजवादको ध्येयमा अगाडि बढ्नु छ । देशको विकास र जनताको सेवा गर्न इमानदारिता चाहिन्छ ।’

    अहिले राजनीतिमा भ्रष्टाचार र स्वार्थी तथा व्यक्तिवादी प्रवृत्ति बढेको उनको भनाइ थियो ।

    ‘मैने क्या पाया ? यो प्रश्न मान्छेले मात्रै गर्छन्’, उनले भने, ‘हमने क्या दिया ? यो प्रश्न गर्दैनन् । त्यसो हुनाले क्या पाया नही, हमने क्या दिया ? यो प्रश्न गरौं हामी आफैंलाई । त्यो भावना महाधिवेशनले जगाउन सकोस् ।’

  • समाजवादी क्रान्तिबारे घनश्यामको टिप्पणी- एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन (भिडिओ)

    समाजवादी क्रान्तिबारे घनश्यामको टिप्पणी- एमाले व्यक्ति पूजामा छ, माओवादीको उमेर पुगेको छैन (भिडिओ)

    काठमाडौं । नेकपा एसका महासचिव घनश्याम भुसालले नेकपा एमाले र माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन् ।

    आइतबार काठमाडौंमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रियामा उनले नेकपा एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको जिकिर गरे । नेकपा एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने भन्दै उनले माओवादीको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लग्ने टिप्पणी गरे ।

    नेपालमा समाजवादी क्रान्ति आफ्नो पार्टी नेकपा एसले मात्रै ल्याउनसक्ने घनश्यामको जिरह छ ।

    उनको भनाइ यस्तो छ

    हाम्रो नवौं महाधिवेशनले त्यो गलत निर्णय गरेको हुँदैन थियो भने आज समाजवादी जुन कार्यक्रम हामीले बनाएका छौं, २०७५ सालमा नेपाली विशेषताको कार्यक्रम बनिसकेको हुन्थ्यो । कमरेड माधवकुमार नेपालले जितेको भए । हामीले ५ महिना पाएको भए हामीले त्यतिबेलै कार्यक्रम ल्याउने थियौँ । त्यो काम ०७५ सालमा गर्नु पर्दथ्यो, अहिले २०८१ मा हामी गर्दैछौं । मुलुकले भयंकर ठूलो क्षति व्यहोरेपछि नेकपा एसले आज गर्दैछ । यो सारा काम यो महाधिवेशनले एकै पटक गर्दैन ।

    हाम्रा प्रयत्न सार्थक भएका छन्, सफल भएको छैनन् । पुनःगठन र रुपान्तरणको प्रयत्न सार्थक हुन सकेको छैन, त्यो साँचो हो । विज्ञानमा प्रयत्न गर्नुको औचित्यहिनता कतै हुँदैन । यो महाधिवेशनबाट कतै न कतै समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्छ । यो सारा क्रान्ति नेकपा एमालेले गर्दैन । किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो । त्यो एक हिसाबले व्यक्ति पूजा । आगामी दिनमा व्यक्तिपूजाको अझै ठूलो प्रयत्न गर्नेछ । यसकाविरुद्धमा प्रयत्न हुनेछ र यही वरपर लाग्नेछ । माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ । उसको त्यो हिसाबले सिद्धान्त बुझ्ने उमेर भएको छैन । हाम्रो यो सानो पार्टीका काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ ।

  • अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र बनाउन जसपापछिको तारो बनाइएको हो : माधव नेपाल

    अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र बनाउन जसपापछिको तारो बनाइएको हो : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको दाबी गरेका छन् ।

    पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा अध्यक्ष नेपालले एउटा अध्यादेश ल्याएर जसपापछि नेकपा एसलाई स्वतन्त्रको हैसियतमा सांसदहरूलाई पुर्‍याएर सिध्याउन खोजिएको बताए ।

    नेपालले भने- कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ । एउटा अध्यादेश ल्याएर हामीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्‍याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसपापछि दोस्रो तारो हामी बनेका हौंं । यो यथार्थ बुझेनौँ भने कम्युनिस्ट पार्टीलाई कसरी सिध्याउन खोजियो भन्ने बुझिन्न ।

    अध्यक्ष नेपालले आफूले इतिहासमा सक्षम नेतृत्व दिएर एमालेलाई जोगाउँदै अहिले नेकपा एस बनाएको बताए ।

  • ओलीले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु लज्जास्पद : झलनाथ (भिडिओ)

    ओलीले समाजवादी युगमा जबजलाई मार्गदर्शक सिद्धान्त मान्नु लज्जास्पद : झलनाथ (भिडिओ)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

    आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेले मार्क्सवाद, लेनिनवादभन्दा पहिला जबज लेखेर आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको जिकिर गरेका हुन् ।

    समाजवादका कुरा गर्नेहरूले त्यसको वैचारिक र सैद्धान्तिक चुनौतीहरूलाई पहिचान गरेर अघि बढ्नुपर्ने आवश्यकता खनालले औंल्याए । सम्मानित नेता खनालले एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रूपान्तरण गरिदिएको दाबी गरे ।

    उनले भने, ‘बुर्जुवा विचारहरू कम्युनिष्ट पार्टीमा पलपलमा छिरिरहेका छन् । अनि हामीले वैचारिक संघर्ष गरेनौ भने हामीलाई नै तिनीहरूले रुपान्तरण गरिदिन्छन् । नेताहरूलाई नै रूपान्तर गरिदिन्छन । केपी ओलीमा आएको यो अधोपतन रूपान्तरण हो कि होइन ? अधोपतन हो कि होइन ? त्यो अधोपतन हो नि । १४ वर्ष जेल बसेका मान्छे । अहिले समाजवादी क्रान्तिको युगमा जबज हाम्रो मार्गदर्शक सिद्धान्त हो भनेर हिँडिरहेका छन् । लज्जास्पद कुरा हो । लाजमर्दो कुरा हो ।’

    सम्मानित नेता खनालले एमालेसँगको भिन्नतालाई स्पष्ट पारेर मात्रै पार्टीलाई अघि बढाउन सकिने पनि बताए ।