Category: राप्रपा

  • राप्रपा केन्द्रीय समितिमा मिश्र पक्षका ४० जना थप, महामन्त्रीमा शरदराज (सूचीसहित)

    राप्रपा केन्द्रीय समितिमा मिश्र पक्षका ४० जना थप, महामन्त्रीमा शरदराज (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्षका ४० जनालाई केन्द्रीय नेतृत्व तहमा समावेस गराएको छ ।

    योसँगै मिश्रका विश्वासपात्र मानिएका शरदराज पाठक राप्रपाको महामन्त्रीमा मनोनित भएका छन् । पाठक यसअघि विवेकशील साझा पार्टीको प्रवक्तासमेत रहिसकेका छन् । रवीन्द्र मिश्रले विवेकशील साझा परित्याग गरेसँगै उनले पनि पार्टी छाडेका थिए । तर औपचारिक रुपमा कुनै पार्टीमा खुलेका थिएनन् ।

    उनीसँगै अब राप्रपामा ६ जना महामन्त्री भएका छन् । राप्रपामा यसअघि नै धवलशमशेर जबरा, भुवन पाठक, राजेन्द्र गुरुङ, कुन्तीकुमारी शाही र प्रल्हाद साहले महामन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् ।

    केन्द्रीय कार्य सम्पादन समितिमा मनोनीत हुनेहरूमा 

    रवीन्द्र मिश्र

    शरदराज पाठक – महामन्त्री

    उज्वलकृष्ण श्रेष्ठ – सहमहामन्त्री

    अमृत पुडासैनी – सहायक महामन्त्री

    निरूपमा यादव

    शोभा शाक्य

    अनुपमान सैँजु

    कर्ण बहादुर शाही

    नारायण कोइराला

    हरिकृष्ण अधिकारी

    सौरेन्द्रबहादुर शाह

    केन्द्रीय सदस्यहरू

    अर्जुन प्रसाद खनाल

    हरिप्रसाद गौतम

    उद्दव प्रसाद भेटवाल

    घनबहादुर शाह

    चोकराज घिमिरे

    जयप्रकाश गुरागाईं

    दीप प्रसाद उप्रेती

    मधुसुदन केसी

    रञ्जन कार्की

    रोशन शिवाकोटी

    लक्ष्मणराज सिटौला

    सुशील देवकोटा

    दिनेश भण्डारी

    माधव भण्डारी

    पशुपति पाण्डे

    शान्ता गिरी

    लक्ष्मी घिमिरे

    वसन्ती ज्ञवाली

    विना शाह

    विपना शर्मा

    सरस्वती पन्थी भुषाल

    सुशीला अधिकारी केसी

    संगीता श्रेष्ठ

    राजु बस्याल

     

  • राजेन्द्र लिङदेनको थप शपथ : भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह

    राजेन्द्र लिङदेनको थप शपथ : भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह भएको भन्दै थप शपथ लिएका छन् ।

    बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहणसँगै उनले थप शपथ लिएका हुन् ।

    शपथग्रहणपछि उनले फेसबुकमा लेखेका छन्, ‘अघिल्लो कार्यकालझैं आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथसहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भइयो ।’

    अघिल्लो कार्यकालमा आफू एक्लै भएपनि अहिले चौध जना भएको उल्लेख गर्दै भनेका छन्, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु ।’

    मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित सांसदहरुलाई बिहीबार ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएका थिए ।

  • स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लिङदेनको सुझाव (भिडिओ)

    स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लिङदेनको सुझाव (भिडिओ)

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्थिर सरकारका लागि कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिएका छन् ।

    प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमपछि संसद भवन परिसरमा बोल्दै उनले आवश्यकताको आधारमा सरकारमा जानेबारे छलफल गर्न सकिने उनले बताए ।

    ‘सरकार गठनका लागि कुनै दलको बहुमत छैन । हामीले सरकार गठनका लागि अगाडि सारेका पनि छैनौं । ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले स्थिरताका लागि सरकार बनाओस् भन्ने चाहना छ’ उनले भने, ‘नभए गठबन्धनले नै सरकार बनाओस् । हामी प्रतिपक्षमा बस्न तयार छौं । तर, सरकार बन्न नसक्ने अवस्था आएमा राप्रपाको आवश्यकता परेमा हामी त्यसपछि छलफल अगाडि बढाउँछौं ।’

    आफूहरु मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने प्रष्ट पारे ।

    उनले भने, ‘हामी सरकारमा जाँदा हिजोको अवस्थाभन्दा फरक पर्नुपर्छ । सुशासन र सेवा प्रवाहको हिसाबले आउने सरकारले फरक ढंगको क्रियाकलाप गर्नुपर्छ। त्यो शर्तमा मात्रै कुनै पक्षलाई समर्थन गर्न सक्छौं ।’

    राप्रपाले सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए । उनले आफ्ना पार्टीका सांसदहरुलाई आफ्नो जिम्मेवारी नभुल्न निर्देशनसमेत दिए ।

  • राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत चयन

    राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत चयन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् । आज बसेको राप्रपा संसदीय दलको वैठकले उनलाई सर्वसम्म दलको नेता चयन गरेको हो ।

    राप्रपाले यस निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सीट संघमा जितेको छ । अघिल्लो चुनावको तुलनामा उल्लेख्य सुधार गरेको श्रेय पाएका लिङदेनले अब पार्टीसँगै संसदीय दलको पनि कमाण्ड सम्हाल्नेछन् ।

  • संसदीय दलकाे नेता चयन गर्न राप्रपाकाे बैठक जारी

    संसदीय दलकाे नेता चयन गर्न राप्रपाकाे बैठक जारी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेता चयन गर्न लागेको छ ।

    पार्टीको नेता चयन गर्न राप्रपाको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

     

  • चुनावको परिणामबाट त्यति सन्तुष्ट छैन: राजेन्द्र लिङ्देन

    चुनावको परिणामबाट त्यति सन्तुष्ट छैन: राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणामबाट आफू सन्तुष्ट नभएको बताएका छन् ।

    पार्टीका तर्फबाट निर्वाचित सांसदहरुलाई बधाइ दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामबाट आफु सन्तुष्ट नरहेको र परिणाम आउने बितिकै आफुले राजीनामा दिन खोजेपनि पार्टी भित्र छलफल गर्दा केहि समस्या आउने देखेर पछि हटेको बताएका हुन् ।

    उनले पार्टीले सोचेजस्तो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसावले आफुले लिने उल्लेख गरे । लिङ्देनले अहिलेको मतपरिणामको मूल्याङ्कन गर्दा जनताले आशाको दृष्टिकोणले हेर्न थालेको भन्दै राप्रपालाई मुलुकको राष्ट्रिय पार्टी बनाएर आफ्ना मूल्य मान्यताहरु स्थापीत गर्ने धारणा राखे ।

    उनले आफुहरु मन्त्री खानका लागि कुनै नेताको घर नधाउने र कुनै पार्टीको पुच्छर बनेर नहिड्ने बताए । सरकारमा गएर वा नगएर कसैलाई समर्थन गर्नुपरे कारण खुलाउने उनको भनाइ छ ।

    त्यस्तै राप्रपाका नेता पशुपतिशम्सेर राणाले संसदमा आफुहरुको उपस्थीत बलियो ढंगले प्रस्तुत भए अर्को पटक राप्रपा तेश्रो शक्ति पुन कायम हुन सक्ने बताए । अहिलेको ढंगबाट चलेर नेपाल अगाडी बढ्न नसक्ने भन्दै उनले नेपाललाई अहिले हासिल भएको मौका अनुसार ठूला पार्टीमा काम गर्ने शक्ति नरहेको बताए । उनले नयाँ तवरबाट मुलुकलाई अघि बढाउने काम राप्रपाले संसदबाट देखाउने दावी गरे । ।

    उनले नेपाल राष्ट्रको तर्फबाट संसदमा पुराना दलहरुलाई खवरदार गर्न राप्रपा आएकाले उक्त खवरदारी मामुली ढंगको नहुने जिकिर गरे ।

  • वागमती प्रदेशसभामा लक्ष्मीको आगमनः अपांगता भएकी एक्ली सांसद

    वागमती प्रदेशसभामा लक्ष्मीको आगमनः अपांगता भएकी एक्ली सांसद

    काठमाडौं । निर्वाचन आयोगबाट प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिकमा विजयी भएको प्रमाणपत्र लिन आइतबार आयोग कार्यालय आएकाहरूको लाममा थिइन् लक्ष्मी घिमिरे । अरु विजयी उम्मेदवारभन्दा फरक उनी ह्वीलचेयर गुडाएर प्रमाणपत्र लिन आयोग पुगेकी थिइन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वागमती प्रदेशमा समानुपातिकतर्फ छानिएकी हुन् लक्ष्मी । सम्भवतः यसपालिको निर्वाचनमार्फत प्रतिनिधिसभा वा प्रदेशसभामा पुग्नेमध्ये अपांगता भएका एक मात्र सांसद हुन् उनी । आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिँदा उनको अनुहारमा उत्साह र आत्मविश्वास भरिएको थियो ।

    सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै घिमिरेले आफूले संसदमा अपांगता भएका व्यक्तिहरुको मुद्दालाई नै प्राथमिकतामा राख्ने बताइन् ।

    उनले भनिन्, ‘अपांगता भएका व्यक्तिहरुले धेरै खालका समस्या भोग्नुपरिरहेको छ । म राजनीतिमा आउनुको मुख्य उद्देश्य पनि अपांगता भएकाहरुको मुद्दा अगाडि बढाउने हो । यसका निम्ति नीति बनाउने ठाउँमा पनि अपांगता भएका व्यक्ति नै पुग्नुपर्छ भनेर आएकी छु ।’

    घिमिरेले शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, खेलकुदलगायतका क्षेत्रमा अपांगता भएकाहरुको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिइन् । उनीहरुलाई केबल भोटबैंकको रूपमा मात्रै प्रयोग गर्न नहुने उनको मान्यता छ ।

    राजनीतिशास्त्रकी विद्यार्थी पनि हुन् लक्ष्मी । उनी अहिले पद्मकन्या क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छिन् । २०६६ सालमा भीरबाट लडेर उनको मेरुदण्ड पक्षघात भएको थियो । त्यसयता ह्वीलचेयरको सहरामा छिन् ।

    लक्ष्मी यसअघि विवेकशील साझा पार्टीमा थिइन् । रवीन्द्र मिश्रले विवेकशील छोडेर राप्रपा आएपछि उनी पनि सँगै आएकी हुन् ।

  • काम चलाउ सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले रोक्नुपर्छ : राप्रपा प्रवक्ता

    काम चलाउ सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले रोक्नुपर्छ : राप्रपा प्रवक्ता

    काठमाडौं । राप्रपाले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताएको छ । सरकारले अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा अध्यादेश ल्याउनु अनुचित, अनैतिक  र आपत्तिजनक रहेको बताएका हुन् ।

    कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताएका उनले  काम चलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी सुरुवात भएको भन्दै आपत्ति जनाए ।

    ‘देउवा नेतृत्वको सरकार बनेको डेढ वर्षसम्म रेशम चौधरीको रिहाइ लक्षित अध्यादेश ल्याउन कुनै अग्रसरता नदेखाएको र अहिले कामचलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी सुरूवात हो । राष्ट्रपति महोदयले कामचलाउ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्छ’, श्रेष्ठले लेखेका छन् ।

  • राप्रपा : महाधिवेशनमा सघाएका लोहनीलाई पन्छाएर इतर गुटका तामाङलाई किन च्यापे लिङदेनले ?

    राप्रपा : महाधिवेशनमा सघाएका लोहनीलाई पन्छाएर इतर गुटका तामाङलाई किन च्यापे लिङदेनले ?

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठकले हिजो समानुपातिक सांसदहरुको टुंगो लगाउँदै गर्दा अध्यक्ष राजेन्द्र लिङदेनले फेरि एकपटक नयाँ अभ्यास गरे । उनले समितिका सबै सदस्यसँग ‘वान टु वान’ कुराकानी गरेर उनीहरुको राय लिएपश्चात मात्रै निर्णयमा पुगेका थिए ।

    प्रत्यक्षमा ७ क्षेत्र जितेको राप्रपाले समानुपातिकमा पनि ७ सीट नै पाएको छ । प्रत्यक्षमा महिला शून्य भएकाले ३३ प्रतिशत पु¥याउन समानुपातिकमा ७ मध्ये ५ जना महिला पठाउनै पर्ने बाध्यता थियो । बाँकी दुई जना पुरुषको कोटामा ५ जना आकांक्षी भएपछि अध्यक्ष लिङ्देन सकसमा परेका थिए । अन्ततः प्रजातान्त्रिक तरिका अपनाएर विवादरहित ढंगले नामहरु टुंग्याउन उनी सफल भए ।

    दुईजना पुरुषको कोटामा एकजना पशुपतिशमशेर राणाको नाममा विवाद थिएन । उनी खस आर्यतर्फ पहिलो नम्बरमा थिए । तर, दोस्रो पुरुषको कोटामा डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ऋषिबाबु परियार र प्रमोद साहले दाबी गरेका थिए ।

    महाधिवेशनमा आफूलाई समर्थन गरेकाले डा. लोहनीलाई उपेक्षा गर्न लिङदेनलाई कठिन थियो । अर्कातिर उपाध्यक्ष तथा जनजाति नेता भएकाले तामाङको दावेदारी बलियो थियो । यस्तै मधेसीको पहिलो नम्बरमा रहेका प्रमोद साहले पनि तीव्र आकांक्षा राखेका थिए ।

    हिजो ११ बजे बोलाएको बैठकमा अध्यक्षले सुरुमा समानुपातिकका आकांक्षीहरुलाई बोल्न समय दिए । त्यसपछि उनले कार्यसम्पादन समितिका प्रत्यक्ष सदस्यसँग एक्लै कुराकानी गरेर समानुपातिकमा कसलाई पठाउँदा राम्रो हुन्छ भन्ने छलफल गरेका थिए । प्रत्यक्ष सदस्यको राय नोट गरेर उनले पछि बैठकमा सुनाए । र, आफूलाई अपजस नपर्ने गरेर बहुमत सदस्यहरुले समर्थन गरेकालाई समानुपातिकमा राखियो । यसो गर्दा डा. लोहनी छुटे र बुद्धिमान समेटिए ।

    राप्रपाका पुराना नेता तामाङ वरिष्ठ नेता पशुपतिशमशेर राणासँग निकट मानिन्छन् । उनले राप्रपाको महाधिवेशनमा कमल थापाको प्यानलबाट उपाध्यक्षमा जितेका थिए । यद्यपि थापा पार्टी फुटाएर जाँदा तामाङले साथ दिएनन् । अहिले उनलाई पुरानो गुट बिर्सेर लिङदेनले संसदमा पठाएका छन् । त्यसो त समानुपातिकमा चयन भएकी नेत्री गीता बस्नेत पनि कमल थापाको गुटमा थिइन् । लिङदेनले गुटभन्दा माथि उठेर निर्णय लिएको भन्दै राप्रपामा नेताहरु खुशी छन् ।

    योग्यता र क्षमताको तुलना गर्दा भने तामाङभन्दा डा. लोहनी धेरै अब्बल मानिन्छन् । राष्ट्रिय राजनीतिमा डा. लोहनीको स्पष्ट वक्ता र विद्वान नेताको छवि छ । तामाङ पुरातनपन्थी र संकुचित नेताका रुपमा चिनिन्छन् । डा. लोहनीले पार्टी महाधिवेशनमा उम्मेदवारी नदिएर लिङ्देनलाई समर्थन गरेका थिए । अहिले उनी राप्रपाको निर्देशक समिति संयोजक छन् ।

  • राप्रपाले छान्यो ७ समानुपातिक सांसद, बुद्धिमानलाई समेट्दा लोहनी वञ्चित

    राप्रपाले छान्यो ७ समानुपातिक सांसद, बुद्धिमानलाई समेट्दा लोहनी वञ्चित

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकका ७ सांसदहरूको नाम टुङ्ग्याएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई पुरुष र ५ महिलाहरूलाई समेट्दै निर्वाचन आयोगमा नामावली पठाएको हो ।

    खस आर्यबाट पशुपतिशम्शेर राणा छनोट हुँदा अर्का वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी छुटेका छन् । राणा खस आर्यको पहिलो नम्बरमा र लोहनी दोस्रो नम्बरमा थिए ।

    राप्रपाले दुई जना मात्र पुरुष उम्मेदवार छान्न सक्ने अवस्थामा उपाध्यक्ष बुद्धिमान तामाङलाई अवसर दिएको छ ।

    खस आर्यमा राणासहित रोशन कार्की र गीता बस्नेत छनोट भएका छन् ।

    आदिवासी जनजातिबाट तामाङसहित बिना लामा, मधेसीबाट विना जयसवाल तथा दलितबाट अनिसा नेपाली चयन भएका बुझिएको छ ।

    राप्रपाले समानुपातिक सांसदहरूको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

  • बहुदलपछि तीन चुनावमा जित, तीनमा हार- अहिले समानुपातिकबाट इन्ट्री

    बहुदलपछि तीन चुनावमा जित, तीनमा हार- अहिले समानुपातिकबाट इन्ट्री

    सिन्धुपाल्चोक । पञ्चायतकालदेखि नै चुनावी मैदानमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमसेर राणा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षबाट उम्मेदवार भएनन् । राणालाई सिन्धुपाल्चोकबाट राप्रपाले दुवै क्षेत्रबाट प्रत्यक्षमा सिफारिस गरेपनि राणा समानुपातिकमा पहिलो नम्बरमा सिफारिसमा परे ।

    राप्रपाले निर्वाचन आयोगमा पठाएको समानुपातिक उम्मेदवारहरुको खस आर्यमा राणा १ नम्बरमा भएकाले पनि उनी सासंद हुने निश्चित जस्तै छ । राणा समानुपतिकबाट सासंद छनोट हुने निश्चित भएसँगै संसदमा उनी सबैभन्दा जेष्ठ सदस्य पनि हुनेछन् ।

    पशुपति शम्शेर जबराको जन्म १९९८ बैशाख २५ गते भएको थियो । उनी अहिले ८१ वर्षको भए । ससंदमा उनको उमेर समूहका सम्भवत उनी एक्ला सदस्य हुन् । प्रतिनिधि सभामा सभामुख चयन नहुदाँसम्म राणाले नै जेष्ठ सदस्यको हैसियतमा ससंद चलाउने अवसर समेत पाउने निश्चित छ ।

    बहुदलपछि जित र हार बराबर

    २०३८ सालदेखि २०७४ को निर्वाचनसम्म उनी सिन्धुपाल्चोकबाट उम्मेदवार भएका थिए । २०३८ देखि एक छत्र जनताका प्रतिनिधि बनेका राणाले पहिलोपटक २०६४ को निर्वाचनमा हार ब्यहोरे । त्यसपछिका सबै संघीय चुनावमा उनले हारको ‘ह्याट्रिक’ गरे ।

    जिल्लामा विकासप्रेमी नेताको छवि बनाएका उनी पहिलो संविधानसभा निर्वाचनमा तेस्रो भए । त्यतिबेला माओवादीका दावा तामाङ विजयी भए । २०७० को संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङले राणालाई हराए । उनलाई बाम गठबन्धनबाट उम्मेदवार बनेका तामाङले हराएका थिए । पछिल्लो चुनावमा कांग्रेसको साथ पाएर पनि राणा चुके ।

    २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसको साथमा चुनावी प्रतिष्पर्धामा थिए । तर एमाले उम्मेदवार शेरबहादुर तामाङसँग फराकिलो मतान्तरमा पराजित भएका थिए । तामाङले ३८ हजार ४०१ मत पाउँदा राणाले त्यतिबेला ३० हजार ३६९ मात्रै मत ल्याएका थिए ।

    राणा ०३८ सालदेखि चुनावी मैदानमा ओर्लिएका हुन् । उनले यो चुनावमा ३६ हजार ८ सय ४५ मतसहित विजयी बनेका थिए । ०४३ र ४८ को चुनावमा पनि उनै राणा विजयी बने । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार ०५१ सालको निर्वाचनमा क्षेत्र नं. ३ बाट ११ हजार ७ सय ४४ मत ल्याएर कांग्रेसका कान्छा लामालाई हराउँदै सांसदमा निर्वाचित भएका थिए ।

    ०५६ सालको चुनावमा १४ हजार ५ सय १२ मत ल्याएर विजयी भए । यो नै उनको अन्तिम विजय थियो । त्यसयताका सबै निर्वाचनमा उनले हार व्यहोरे ।

     

  • निर्वाचनको समीक्षा र समानुपातिक उम्मेदवार टुंग्याउन राप्रपा कार्यसम्पादन समितिको बैठक तय

    निर्वाचनको समीक्षा र समानुपातिक उम्मेदवार टुंग्याउन राप्रपा कार्यसम्पादन समितिको बैठक तय

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बोलाइएको हो ।

    बैठकमा निर्वाचन आयोगको समीक्षा, समानुपातिक उम्मेदवार चयन, समसामयिक राजनीतिक परिवेश र सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार बैठकमा आयोगले उपलब्ध गराएको समयसीमभित्र प्रतिनिधिसभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुंगो लगाउनेछ । राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सीट जितेको छ ।

  • कर्णाली प्रदेशसभामा राप्रपालाई एक सीटमात्र, सन्तोषी शाही निर्वाचित हुने निश्चित

    कर्णाली प्रदेशसभामा राप्रपालाई एक सीटमात्र, सन्तोषी शाही निर्वाचित हुने निश्चित

    सुर्खेत । कर्णाली प्रदेशमा एकमात्र समानुपातिक सीट पाएको राप्रपाबाट प्रदेशसभा सदस्यमा खस आर्य महिला पठाउनुपर्ने भएको छ ।

    राप्रपाबाट कर्णालीको एकमात्र सीटमा खस आर्य महिलाको बन्दसूचीको पहिलो नम्बरमा रहेकी सन्तोषी शाही प्रदेशसभा सदस्य निर्वाचित हुने निश्चित भएको हो । उनी राप्रपा केन्द्रीय सदस्यसमेत हुन् ।

    नेकपा एसले पनि एकमात्र समानुपातिक कोटा पाएकोमा कल्याणी खड्काको नाम निश्चित भएको छ । राप्रपाले यसअघि पनि कर्णालीमा समानुपातिकतर्फ एक सीट पाएको थियो । त्यसबेला सोशीला शाही सांसद बनेकी थिइन् ।

  • ८९ सीटसहित कांग्रेस पहिलाे दल बन्दा यस्ताे भयाे प्रतिनिधिसभाकाे हिसाबकिताब

    ८९ सीटसहित कांग्रेस पहिलाे दल बन्दा यस्ताे भयाे प्रतिनिधिसभाकाे हिसाबकिताब

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना कार्य सकिएको छ ।

    मंगलबार साँझ समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले थ्रेस होल्ड कटाउने राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सीट संख्या निर्धारण गरेर पठाएको छ ।

    समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सीट प्राप्त गर्ने भएका छन् । उनीहरुले प्राप्त गर्ने सिट संख्या उल्लेख गर्दै आयोगले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने ७ वटै दललाई पत्राचार गरेको छ ।

    आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार ती दलले ३ दिनभित्र आफूले प्राप्त गरेको सीट संख्या अनुसारको उम्मेदवारको नामावली तोकिएको क्लस्टरअनुसार पेस गर्नुपर्नेछ । पेस गरेको सूची नमिलेमा आयोगले थप २ दिनको समयसीमा दिनेछ ।

    निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको सीट संख्या आधारमा प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सीटसहित ८९ सीट प्राप्त गर्दै सबैभन्दा ठूलो दल बनेको छ । यस्तै दोस्रोमा नेपाल (एमाले) ले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सीटसहित जम्मा ७८ सीट प्राप्त गरेको छ । कांग्रेसभन्दा एमाले ११ सीट कम छ ।

    नेकपा (माओवादी केन्द्र)ले भने प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरेर जम्मा ३२ सीट प्राप्त गरेको छ । पहिलोपटक चुनाव लडेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ ७ सीट र समानुपातिकतर्फ १३ सीट जितेर २० सीटका साथ चौथो दलका रूपमा उदायको छ ।

    यस्तै राप्रपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी १४, जसपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरेर १२ सीट छ । प्रत्यक्षतर्फ १ सीटमात्रै जितेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर ५ सीटसहित ६ सीट सुरक्षित गरेको छ । जनमत पार्टीसहित यस पटक राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दलहरू ७ वटा छन् । २०७४ को निर्वाचनमा ५ दलमात्रै राष्ट्रिय दल बन्न सफल भएका थिए ।

    प्रत्यक्षको सीट जितेका ६ दलले भने थ्रेसहोल्ड कटाउन सकेनन् । १० सीट जितेको नेकपा एस राष्ट्रिय दल बनेन ।

    यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४ सीट, नागरिक उन्मुक्ति पार्टी ३ सीट, राष्ट्रिय जनमोर्चा १ सीट, नेपाल मजदुर किसान पार्टी १ सीटसहित संसदमा सहभागी हुने भएका छन् । ५ जना स्वतन्त्र सांसद पनि यसपटक सदनमा आएका छन् ।

    जनमत पार्टीको समर्थन पाउनेवित्तिकै सत्तागठबन्धनलाई सरकार गठनमा सहज

    यसैबीच सीके राउत नेतृत्वको जनमत पार्टीले सत्तागठबन्धनलाई समर्थन गर्ने वित्तिकै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि सहज भएको छ । नेपाली कांग्रेसले प्राप्त गरेको ८९ सीट, नेकपा (माओवादी केन्द्र) को ३२ सीट, नेकपा (एकीकृत समाजवादी) को १० सीट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सीट, राष्ट्रिय जनमोर्चाको १ सीट जोडेर १३६ सीट पुगेको छ ।

    यसैमा जनमत पार्टीको ६ सीट जोडिनेवित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनका लागि १४२ सीट पुग्नेछ । १३८ सीटमा नै सत्तागठबन्धनलाई बहुमत पुग्ने भएकाले बहुमत पुगेर पनि ३ सीट थप हुनेछ ।

  • रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख, उब्रिएको साढे ८ लाख काठमाडौं–१ कोषमा

    रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख, उब्रिएको साढे ८ लाख काठमाडौं–१ कोषमा

    काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ बाट पराजित राप्रपा उम्मेदवार रवीन्द्र मिश्रले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।

    मिश्रका अनुसार प्रतिनिधि सभाको चुनाव लड्दा उनको साढे २४ लाख खर्च भएको छ । निर्वाचन आयोगले दिएको सीमा (२५ लाख) भित्र रहेर मिश्रले आफ्नो चुनावी अभियान सम्पन्न गरेका हुन् । उनले चुनाव लड्ने क्रममा सहयोगका लागि अपिलसमेत गरेका थिए ।

    शुभेच्छुकहरूबाट आफूलाई लगभग ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको मिश्रले जानकारी दिए । त्यसमध्येबाट २४ लाख ४९ हजार ६०७ रुपैयाँ चुनावमा खर्च भएको हो भने करिब साढे ८ रुपैयाँ उब्रेको छ ।

    उब्रेको पैसा आफूले ‘काठमाडौं–१ सरोकार कोष’ मा राख्ने मिश्रले बताएका छन् । चुनावमा पराजित भएपश्चात् उनले काठमाडौं १ मा विभिन्न काम गर्ने भन्दै कोष निर्माण गर्ने घोषणा गरेका थिए ।

    मिश्रले अघिल्लो २०७४ सालको चुनावमा २१ लाख ५० हजार खर्च गरेका थिए । उक्त चुनावमा पनि प्राप्त सहयोगबाट उब्रेको रकम पार्टीलाई बुझाएका थिए ।

  • समानुपातिकको गणना अन्तिमतिर : एमालेले २८ लाख कटाउँदा अरु दलको कति ?

    समानुपातिकको गणना अन्तिमतिर : एमालेले २८ लाख कटाउँदा अरु दलको कति ?

    काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछि गणना थालिएका स्याङ्जा २, बाजुरा र दोलखा सकिएसँगै आयोगले समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

    हालसम्म एक करोड ४ लाख ७८ हजार ७३५ गणना सकिएको छ । मंगलबार बिहान सवा ७ बजेसम्म २८ लाख १४ हजार ६५५ मत प्राप्त गरी नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेस २६ लाख ८८ हजार २१८ भोटसहित दोस्रो स्थानमा छ । एमाले र कांग्रेसबीच एक लाख २६ हजार ४३७ मतको अन्तर छ ।

    तेस्रो स्थानमा रहेको माओवादीले ११ लाख ६४ हजार १०२ मत प्राप्त गरेको छ । ११ लाख २४ हजार ७७८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ ।

    ५ लाख ८६ हजार ८१६ मत ल्याएर राप्रपा पाँचौ स्थानमा हुँदा जसपाले ४ लाख २० हजार ९५४ मत प्राप्त गरेको छ ।

    सीके राउत नेतृत्वको जनमत पार्टी ३ लाख ९४ हजार ५३८ भोटका साथ सातौँ स्थानमा छ । नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ ।

  • प्रतिनिधिसभाका १६५ क्षेत्रमा कसले कहाँ जिते ? (सूचीसहित)

    प्रतिनिधिसभाका १६५ क्षेत्रमा कसले कहाँ जिते ? (सूचीसहित)

    काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा आइसकेको छ ।

    प्रतिनिधिसभाका १६५ मध्ये सबैभन्दा बढी ५७ सीट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । ४४ सीट जितेर नेकपा एमाले दोस्रो हुँदा नेकपा माओवादी केन्द्र १८ सीट जितेर तेस्रो पार्टी बनेको छ । नेकपा एसले १० सीट जितेको छ । समानुपातिकतर्फको मतगणना सकिन अब केही दिन लाग्नेछ ।

    जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर ७ क्षेत्रमा जित हात पारेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र जितेको छ ।

    राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक निर्वाचन क्षेत्र जितेका छन् । ५ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    हेर्नुस्  कहाँ कुन दलका को उम्मेदवारले कति भोट ल्याएर जिते :

    नेकपा एमालेका विजयी उम्मेदवार

    माओवादी केन्द्रका विजयी उम्मेदवार

    नेकपा एसका विजयी उम्मेदवार

  • नेकपा एसको राष्ट्रिय पार्टी बन्ने सम्भावना क्षीण, समानुपातिकमा अहिलेसम्म कसको कति ?

    नेकपा एसको राष्ट्रिय पार्टी बन्ने सम्भावना क्षीण, समानुपातिकमा अहिलेसम्म कसको कति ?

    काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिमतिर पुगेको छ । हालसम्म एक करोड ४ लाख २० हजार १२५ मत गणना गर्दा एमालेले सुरूवातदेखिको अग्रता कायमै राखेको छ ।

    नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ मत प्राप्त गरेको छ । २६ लाख ६० हजार २४६ मत ल्याएर कांग्रेस दोस्रो स्थानमा छ । दुई दलबीचको मतान्तर एक लाख २८ हजार ११० रहेको छ । तेस्रो स्थानमा रहेको माओवादीको ११ लाख ६२ हजार १२४ मत छ । ११ लाख २४ हजार ५४३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले चौथो स्थान कायमै राखेको छ ।

    राप्रपा ५ लाख ८६ हजार ६३८ मतका साथ पाँचौ स्थानमा रहँदा ४ लाख २० हजार ९४६ मत ल्याएर जसपा छैटौं स्थानमा छ ।

    डा. सीके राउत नेतृत्वको जनमत पार्टीको ३ लाख ९४ हजार ५२६ मत रहेको छ । नेकपा एस जनमतभन्दा एक लाख बढी मतले पछाडि छ । नेकपा एसको २ लाख ९४ हजार ३६२ हुँदा नागरिक उन्मुक्तिको २ लाख ७१ हजार ६६२ मत छ ।

    प्रत्यक्षमा १० सीट जितेको नेकपा एसले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण बनेको छ ।

  • रेखा थापाको निर्वाचन खर्च तीन लाख मात्रै

    रेखा थापाको निर्वाचन खर्च तीन लाख मात्रै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर तीनका उम्मेदवार अभिनेत्री रेखा थापाको निर्वाचन खर्च तीन लाख मात्रै भएको छ । उनले तीन लाख नौ हजार सात सय ७२ रुपैयाँ मात्रै निर्वाचन खर्च भएको प्रदेश निर्वाचन कार्यालय प्रदेश एक बिराटनगरमा पेश गरेको विवरण सार्वजनिक गरेकी हुन् ।

    उनले सबैभन्दा बढी प्रिन्ट तथा स्टेसनरीमा ७४ हजार तीन सय ४६ रुपैयाँ खचिएकी छन् भने दोस्रोमा सबैभन्दा बढी ५० हजार डिजाइनमा खर्चिएकी छन् । अभिनेत्री थापाले प्रचारप्रसारमा ४० हजार, खाना तथा खाजामा ३५ हजार, इन्धनमा ३४ हजार, साउण्ड सिस्टममा १९ हजार, धरौटीमा पाँच हजार र विविधमा २२ हजार तीन सय ५० रुपैयाँ खर्चिएको प्रदेश निर्वाचन कार्यालय प्रदेश एक बिराटनगरमा पेश गरेको खर्चको विवरणमा उल्लेख छ ।

  • राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प

    राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबारबाट सु्रु भएको छ । आइतबार पनि बस्दै छ ।

    पेरिसडाँडास्थित पार्टी मुख्यालयमा शनिबार बसेको माओवादी पदाधिकारी बैठकले सरकार गठनका विषयमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

    सबै विकल्प भन्नले के–कस्ता विकल्प हुन् माओवादीले खुलाएको छैन । तर, माओवादीले नखुलाए पनि पाँच विकल्प हुन सक्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउँछन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले माओवादीको नयाँ सरकार गठनका विषयमा पाँच विकल्प हुन सक्ने उल्लेख गरेका छन् ।

    पाँच विकल्पमा सरकार बनाउन कांग्रेस वा एमालेसँग मिल्ने, सरकारको नेतृत्वमा आफैँ अघि बढ्ने, राप्रपालाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्ने, कांग्रेस, एमालेबाहेक अरु जो कोहीलाई समर्थन गर्ने र प्रतिपक्षमा बस्ने रहेको प्रवक्ता श्रेष्ठ अनुमान लगाउँछन् ।

  • ज्ञानेन्द्र शाहीले भने- संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउँछु (भिडिओ)

    ज्ञानेन्द्र शाहीले भने- संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउँछु (भिडिओ)

    काठमाडौं । जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।

    चुनाव जितेर काठमाडौं फर्किएका शाहीले विमानस्थलमै आफ्ना समर्थकलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्ध संसदबाट आवाज उठाउने बताए ।

    शाहीले वाइडबडी काण्ड, मेलम्ची काण्ड, एनसेल काण्डजस्ता ठूला भ्रष्टाचार काण्ड मच्चाउनेहरुको भण्डाफोर संसदबाट गर्ने बताए ।

    ज्ञानेन्द्र शाहीले विमानस्थलमा पत्रकारसँग विशेष कुराकानी गर्ने भनेर बोलाएका थिए तर उनका समर्थकले बाजागाजासहित नाराबाजी गरेपछि पत्रकार सम्मेलनका साटो सम्बोधन गरेर हिँडेका छन् ।

  • राप्रपा प्रवक्ता भन्छन्- हाम्रो एजेन्डा जनताबाट अनुमोदन भयो, अब संसद र सडकबाट दबाब सिर्जना गर्नेछौं

    राप्रपा प्रवक्ता भन्छन्- हाम्रो एजेन्डा जनताबाट अनुमोदन भयो, अब संसद र सडकबाट दबाब सिर्जना गर्नेछौं

    काठमाडौं । लामो समयदेखि सिथिल बन्दै गएको राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावपछि केही बौरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि प्राप्त मतपरिणामबाट पार्टीका नेताहरुले सन्तोष मानेका छन् ।

    राप्रपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकतर्फ पनि उत्तिकै संख्यामा सिट सुरक्षित गर्ने देखिन्छ । अघिल्लो चुनावमा थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय पार्टीको हैसियत गुमाएको राप्रपाका लागि यो उत्साहजनक नतिजा हो । यद्यपि, पार्टीका प्रवक्ता मोहन श्रेष्ठ भने परिणाम सन्तोषजनक भए पनि अपेक्षित अझै नभएको बताउँछन् ।

    ‘हामीले अघिल्लो चुनावको तुलनामा राम्रो कमब्याक गरेका छौं । यद्यपि, चुनावअघि योभन्दा पनि राम्रो परिणामको आंकलन गरेका थियौं । तर, विभिन्न बाह्य कारणहरुले गर्दा अलिकति चुक्यौं,’ उनले भने ।

    राप्रपाले खासगरी समानुपातिकतर्फ निकै बढी आशा राखेको थियो । तर, यसपालीको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको ह्वीमले राप्रपालाई अलिकति धक्का पुग्यो । प्रत्यक्षमा पनि आशा राखिएका दुई सिटमा घन्टीकै कारण पार्टीका उम्मेदवार पराजित बनेको राप्रपा नेतृत्वको निस्कर्ष छ ।

    पार्टी प्रवक्ता श्रेष्ठ अर्को निर्वाचनमा राप्रपालाई देशकै नेतृत्वदायी शक्ति बन्न यो चुनावले आधार प्रदान गरेको बताउँछन् । यसपालीको जनादेशले चाहीँ पार्टीलाई प्रतिपक्षमै बसेर सरकारको कडा निगरानी गर्ने सन्देश दिएको उनको बुझाइ छ । प्रवक्ता श्रेष्ठसँग चुनावी नतिजा र भावी सरकारसम्वन्धी पार्टीको रणनीतिलाई लिएर गरिएको कुराकानीः

    यसपालीको चुनाव परिणामबाट कत्तिको उत्साहित हुनुहुन्छ ?

    समग्रमा चुनावको परिणाम अपेक्षित त होइन हाम्रो लागि । योभन्दा धेरै बढी आंकलन गरेका थियौं । तथापि अघिल्लो चुनावको नतिजासँग तुलना गर्दा सन्तोषजनक छ । ७४ सालको चुनावमा हामी प्रत्यक्षमा १ सिटमा खुम्चिएका थियौं भने समानुपातिकमा पनि थ्रेसहोल्ड कटाउन सकेनौं । अहिले त्योभन्दा १४ गुणा बढी प्रगति गरेका छौं ।

    अब यही परिणामको जगमा टेकेर एउटा सबल पार्टी बनाउन सकिन्छ भन्ने हामीलाई विश्वास छ । राप्रपाले लिएका एजेन्डाहरु अनुमोदित भएका छन् । आगामी दिनमा यसलाई कसरी अगाडि बढाउने भन्ने हाम्रै क्षमतामा भर पर्ने कुरा हो । राप्रपाका राजनीतिक एजेन्डाको सान्दर्भिकता अझै बढेको भन्ने चुनावी परिणामले देखाउँछ ।

    अघिल्लो चुनावको तुलनामा परिणाम सुध्रिनुको मुख्य कारण के हो जस्तो लाग्छ ?

    मुख्य कारण भनेको नेतृत्व परिवर्तन नै हो । गत मंसिरको महाधिवेशमा हामीले पार्टीको नेतृत्व परिवर्तन गर्यौं । राप्रपाको भविष्य के हुने भन्ने सन्देहको अवस्थामाझ हामीले त्यो महाधिवेशनमार्फत पार्टीको नेतृत्वको परिवर्तन गरेका थियो । त्यही महाधिवेशनले पार्टीलाई नयाँ जीवन दियो ।

    दोस्रो कारण भनेको नेतृत्वले लिएको सुशासनप्रतिको दृष्टिकोणले पनि मतदातालाई आकर्षित गर्यो । हामीले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो भनेर लिएको मान्यता लिएका छौं ।

    नम्बर तीन, हामीले विगतमा गरेको गल्ति दोहो¥याएनौं । ०७४ सालमा हामीले ५ वटा सिटमा गठवन्धन गरेर १६० सिट कांग्रेसलाई छोडिदिएका थियौं । यसपाली पनि हामीलाई त्यस्तो प्रस्ताव नआएको होइन । केन्द्रीयस्तरमै गठवन्धन गर्ने प्रस्ताव आएको थियो । तर त्यो अस्वीकार गरेर केही स्थानमा मात्रै तालमेल गर्यौं । तीन ठाउँमा एमालेसँग तालमेल गर्यौं र १४२ ठाउँमा उम्मेदवारी दियौं । विगतको गल्ति दोहोर्याएनौं ।

    अर्को कुरा, हामी ११ महिनाको बीचमा ३ वटा चुनावमा जानुपर्यो । महाधिवेशन लगत्तैका कतिपय आन्तरिक व्यवस्थापन र सांगठनिक सुदृढीकरणका कामहरु हामीले गर्न भ्याएनौं, पाएनौं । तर पनि ०७४ को चुनावभन्दा स्थानीय तहको निर्वाचनमा गुणात्मक प्रगति गर्न सक्यौं । त्यसले हाम्रो बेस बनायो । अब यति प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा यतिसम्म गर्न सकिन्छ भनेर नयाँ रणनीतिहरु बनायौं । त्यसैको नतिजा राप्रपाको मतपरिणाम हो । र, हामीलाई एजेन्डाको मत पनि प्राप्त भएको छ ।

    एजेन्डा भनेको राजसंस्था ?

    त्यसरी छुट्याएर नहेरौं । तर, राप्रपाले लिएको एजेन्डाहरुको सान्दर्भिकता बढेर गएको स्पष्टै देखिन्छ ।

    समानुपातिकमा तपाईंहरुले सोचेजस्तो आँधिहुरी किन ल्याउन सक्नुभएन ?

    एक त हामीले गठबन्धन र तालमेलबीचको भ्रम चिर्न सकेनौं । जनताले हाम्रो एमालेसँगको तालमेललाई सत्तारुढ पाँच दलीय गठबन्धनजस्तै अर्थमा बुझे । राप्रपा एक्लै चुनावमा जावस भन्ने जनचाहना थियो । तर पाँच दलबीच गठवन्धन भइसकेपछि केही सिट सुरक्षित गर्न हामीले पनि अर्को शक्तिसँग मिल्नैपर्ने आवश्यकता भयो । अन्यथा राप्रपाको धारणा एक्लाएक्लै चुनाव लड्नुपर्छ भन्ने नै हो । सरकार बनाउँदा गठवन्धन गर्नु स्वभाविक हुने भए पनि चुनावमा आ–आफ्ना एजेन्डा लिएर जनतामा जानुपर्छ भन्ने मान्यता हाम्रो छ । गठवन्धनको संस्कृति गर्दा जनताको अधिकार संकुचित भयो ।

    अर्को के भने, थुप्रै भोटहरु अनिर्णित अवस्थामा थिए । जता पनि स्वीङ हुन सक्ने ती भोटलाई हामीले तान्न सकेनौं । घन्टीले तान्यो । घन्टीको अप्रत्याशीत उदयले पनि हामीलाई समानुपातिकमा अलिकति धक्का लाग्यो । यद्यपि, घन्टीले हामीलाई भन्दा बढी ठूला पार्टीहरुलाई नै क्षति पुर्याएको छ ।

    चुनावमा तालमेल गरेर गल्ति गरियो भन्ने महसुस भएको हो ?

    सत्तारुढ पाँच दल मिलेपछि केही सिट सुरक्षित गर्न हामी तालमेलमा गएका हौं । राष्ट्रिय पार्टी बन्नका लागि कम्तीमा एक सिट जित्नैपर्ने दवाव पनि छ । त्यसैले हामीले जोखिम मोल्न चाहेनौं । तर, हामीले तालमेल र गठवन्धनको फरक चाहीँ जनतालाई बुझाउन सक्नुपथ्र्यो । त्यसरी बुझाउन नसक्दा हाम्रो समानुपातिक मतमा प्रभावित पर्यो ।

    भन्नाले एमालेसँगको तालमेल खासै फलदायी भएन ?

    तालमेल त फलदायी नै भयो । प्रत्यक्षमा एमालेसँग तालमेल गरेका स्थानमा हामीले जितेका छौं ।

    यो चुनावमा तपाईंहरुले जित्ने आशा राखेका तर हार व्यवहोरेका स्थानहरु कुन कुन हुन् ?

    काठमाडौं १ लाई नै हामीले जित्ने सूचीमा राखेका थियौं । काठमाडौं-२ मा पनि जित्ने ठूलो सम्भावना थियो । रेखा थापाको निर्वाचन क्षेत्रमा पनि राम्रो माहोल देखिएको थियो । यस्ता अरु केही स्थानहरु हामी गुमायौं ।

    काठमाडौंका दुई क्षेत्रमा राप्रपालाई घन्टीले रोक्यो होइन ?

    हो, दुई स्थानमा घन्टीकै कारण हामी हार्यौं । मत परिणामले नै त्यो देखायो नि ।

    अब अघिल्लो चुनावमा एकजना मात्रै सांसद हुनुहुन्थ्यो । यसपाली १३ जना थपिनुभएको छ । अब संसदमा राप्रपाको भूमिका कस्तो हुन्छ ?

    यो मत परिणामको जगमा टेकेर अगाडि बढ्ने बलियो धरातल राप्रपाले प्राप्त गरेको छ । हामी आफ्नो एजेन्डाका पक्षमा संसद र सडक दुवैबाट बलियो ढंगले प्रस्तुत हुन्छौं । संसदमा हामी यतिमा सन्तोष गरेर बस्ने वाला छैनौं । हाम्रा कार्यभार बाँकी छन् । जनताले थाहा पाउने खालको भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा सचेत छौं । हामी आफ्ना एजेन्डाहरुको पक्षमा दवाव सिर्जना गर्छौं । अब कतिपय कुराहरु वैठक बसेर समिक्षा गरिन्छ र रणनीति निर्माण हुन्छ ।

    चुनावअघि कमल थापा राप्रपा छोडेर जानुभयो र नयाँ पार्टी जन्माउनुभयो । उहाँको पार्टीले राप्रपालाई चुनावमा कति असर गरेको छ ?

    त्यस्तो खास असर गरेको पाएनौं । एकदमै नगण्य वा शून्य असर गरेको छ । हामी पहिलेभन्दा धेरै ठूलो भएका छौं ।

    अब फेरि उहाँहरुलाई पार्टीमा भित्र्याउन कुनै पहल हुन्छ ?

    राजनीतिमा हरेक खालका सम्भावना हुन्छन् । तर अहिले तत्काललाई त्यस्तो सम्भावना म देख्दिनँ ।

    कमल थापा र उहाँको पार्टीको शर्मनाक हारलाई कसरी लिनुभएको छ ?

    नर्क जाने बाटो हिँडेर स्वर्ग पुगिँदैन । उहाँको बारेमा मेरो टिप्पणी यत्ति हो ।

    समग्र चुनावी परिणामलाई हेर्दा जस्तो अभिमत व्यक्त भएको छ, फेरि पनि तीन ठूला पार्टीका रुपमा त कांग्रेस, एमाले र माओवादी नै छन् । यसलाई कसरी हेर्नुहुन्छ ?

    जनमतको अपमान गर्नु त भएन, तर केही मतदाताहरु विभिन्न दवाव र प्रभावमा परेको देखिन्छ । दलहरुले देश बिगारे, वर्वाद पारे पनि भन्ने र फेरि पनि तीनै दललाई चयन गर्नुले जनताको सामूहिक विवेक अझै परिपक्व नभइसकेको संकेत गर्छ । अथवा, हामीजस्ता बैकल्पिक शक्तिले जनतालाई बुझाउन सकेनौं भनौं न ।

    जे होस, अबको पाँच वर्ष पुरानै शक्तिहरुले राज गर्ने अवस्था सिर्जना भएको छ । यो अवधिमा हामी थप मिहिनेत गर्छौं । जनतामाझ जान्छौं । पाँच वर्षपछि देशको नेतृत्व नै गर्ने शक्तिको निर्माण गर्नेछौं । हामीसँग शसक्त एजेन्डाहरु छन् । देश हाम्रो एजेन्डामा नआइ सुक्खै छैन । राप्रपा अन्ततः देश हाँक्नसक्ने शक्ति बन्छ नै । त्यो सम्भावना यो निर्वाचनले देखाएको छ ।

    राप्रपा अब सरकारमा जान्छ कि प्रतिपक्षमा बस्छ ?

    जनताले हामीलाई सत्तामा जानेभन्दा पनि प्रतिपक्षमै बस्ने म्यान्डेट दिएका छन् । आफ्नो एजेन्डाको पक्षमा दृढतापूर्वक उभिने, सदन र सडकमा समेत सशक्त प्रतिप्रक्षको भूमिका निर्वाह गर्ने सन्देश जनताले दिएका छन् ।

    सम्भवतः सरकार गठनमा हाम्रो आवश्यकता नै नपर्न पनि सक्छ । यद्यपि, पार्टीभित्र आगामी सरकारलाई लिएर औपचारिक छलफल सुरु भइसकेको छैन । वरिष्ठ नेताहरु काठमाडौं आइपुग्नुभएको छैन । छिट्टै बैठक बस्ला ।

    सरकार हाम्रो प्राथमिकता होइन । हामीले घोषणापत्रमा नै भनेका छौं कि हामी सरकारमा जाने कुरामा भन्दा एजेन्डामा केन्द्रीत हुन्छौं । तर, राप्रपा नभइकन सरकार नै नबन्ने स्थिति भयो भने जिम्मेवार राजनीतिक दलको हिसाबले राप्रपाले निकास दिनुपर्छ भन्नेमा पनि हामी स्पष्ट छौं ।

  • मकवानपुरबाट दीपक सिंह भन्छन्- राप्रपा सरकारमा जाँदैन (भिडिओ)

    मकवानपुरबाट दीपक सिंह भन्छन्- राप्रपा सरकारमा जाँदैन (भिडिओ)

    हेटौँडा । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब निर्माण हुने सरकारमा जान नहुने र नजाने बताएका छन्।

    आफूहरु अहिले प्रतिपक्षमा बसेर खबरदारी गर्नुपर्ने भन्दै उनले राम्रो सरकार बनेदेखि बाहिरै बसेर सरकारको समर्थन गर्न सकिने उनको भनाई छ ।

    राप्रपाका केही पुराना नेताहरुले राप्रपा भनेकै सरकारमा जानको लागि स्थापना भएको पार्टी भएको भान जनतामा पारिदिएको भन्दै सिंहले अबको राप्रपा त्यस्तोखाले राप्रपा नभएको बताए ।

    उनले भने, ‘सरकारमा राप्रपाको कसैलाई जरुरी भयो, राप्रपाको मुल्य मान्यतासँग मेल खाने कुरा आयो भने हामीले उहाँहरुलाई सरकार बाहिरैबाट समर्थन गर्नेछौ, तर हामी तुरुन्तै सरकारमा जाँदैनौ, हामीलाई यति सिट चाहियो, उति चाहियो, यो भन्त्रालय चाहियो भनिकन सरकारमा जाँदैनौ ।’

    सिंहले इमानन्दारीको साथमा विकासको सन्दर्भमा जुनसुकै सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए । सिंहले सरकारमा जानु मात्र राजनीति नभएको भन्दै आफूँहरुले इमान्दारिताको राजनीतिलाई अघि बढाएको दाबी गरे ।

    मकवानपुरको विकास र देशमा भ्रष्ट्राचार कम गर्ने सबालमा आफुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सिंहले सरकार आफुँहरुको प्राथमिकतामा नरहेको दाबी गरे ।

  • समानुपातिकमा एमाले कांग्रेसभन्दा एक लाख ३० हजार मतले अगाडि, जनमतले थ्रेसहोल्ड कटाउन लाग्दा एसलाई सकस

    समानुपातिकमा एमाले कांग्रेसभन्दा एक लाख ३० हजार मतले अगाडि, जनमतले थ्रेसहोल्ड कटाउन लाग्दा एसलाई सकस

    काठमाडौं । समानुपातिकमा एमाले कांग्रेसभन्दा एक लाख ३० हजार मतले अगाडि, जनमतले थ्रेसहोल्ड कटाउन लाग्दा एसलाई सकस
    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २५ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख ३० हजार नघाएको छ । सुरुदेखि नै दुई पार्टीबीच केही हजारको मात्रै अन्तर थियो ।

     

    निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान ७ बजेसम्म एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत पाएर दोस्रो स्थानमा छ ।

    समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र)ले १० लाख ९४ हजार ६०६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६३५ मत प्राप्त गरेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५० हजार ३५०, जनता समाजवादी पार्टीले तीन लाख ५४ हजार २५२, जनमत पार्टीले २ लाख ९४ हजार ४३५, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ६३ हजार ६०९, नागरिक उन्मुक्ति पार्टीले ४५ लाख २१५ मत प्राप्त गरेको छ ।

     

     

  • एक शब्दै नबोली बोहराले गृहमन्त्री खाणलाई कसरी हराए ?

    एक शब्दै नबोली बोहराले गृहमन्त्री खाणलाई कसरी हराए ?

    रुपन्देही । निर्वाचनमा उम्मेदवारले विभिन्न आश्वासन र प्रतिबद्धता बाँड्ने कुरा कुनै नौलो होइन । मतदातालाई विभिन्न योजनाहरु सुनाउने, मतदाताले राखेका विभिन्न जिज्ञासालाई तत्काल बोलेरै सम्बोधन गर्ने अनि चुनावीसभाहरुमा भाषण गरेर मतदातालाई आफूतर्फ आकर्षित गर्नु उम्मेदवारको धर्म नै हो । तर, रुपन्देहीमा यस्ता चुनावी आश्वासन र प्रतिबद्धताबारे एक शब्द पनि नबोली एक उम्मेदवारले प्रतिनिधिसभाको चुनाव जितेका छन् ।

    ती उम्मेदवार हुन् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहोरा । रुपन्देही क्षेत्र नं ३ मा बोहोराले संघीय गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई पराजित गरे । ६ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा खाँणको पार्टी कांग्रेसको वर्चश्व देखिएको थियो ।

    तर, बोहोराले चुनावी कार्यक्रममा एक शब्द पनि भाषण नगरिकनै चुनाव जिते । यसो भन्दा उनको कार्यक्रममा सहभागी नभएकालाई विश्वास नलाग्न सक्छ । तर, यथार्थमै बोहोराले बोल्दै नबोली चुनावी जीत निकालेका छन् । त्यो पनि देशकै शक्तिशाली पदमा रहेका गृहमन्त्रीलाई पछि पार्दै उनले जीतको झण्डा गाडेका छन् ।

    उनी हरेक चुनावी कार्यक्रममा पुग्थे । तर, कहीं केही बोल्दैनथे । मञ्चमा आसनग्रहण गर्थे, सबैका विचार सुन्थे । तर, जवाफ दिँदैनथे । घरदैलोमा पनि चिटिक्क परेर जान्थे । मतदातालाई नमस्कार गर्थे, धाप मार्थे, मुस्कुराउँथे । तर, कसैलाई आश्वासन दिने र जवाफ दिँदैनथे ।

    उम्मेदवारी मनोनयन गर्ने केही समय पहिले नै बोहोराले बोल्न छाडेको विषय बाहिर आएको थियो । तर, धेरैलाई यथार्थ के हो ? पत्तो थिएन । उनले उम्मेदवारी मनोनयन गरे । उनका विपक्षी समूहले बोहोरा अब बोल्न नसक्ने गरी बिरामी परेको, क्यान्सर भएकालाई किन सदनमा पठाउने भन्दै मतदातालाई मात्र सुनाएनन् सार्वजनिक मञ्चमै बोल्न थाले ।

    सार्वजनिक भएका यस्ता अभिव्यक्तिलाई उनले केही दिन त कटाए । पछि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने दिनमा यसको वास्तविकता खोल्यो उनको पार्टी र परिवारले ।

    राप्रपाका केन्द्रीय सदस्य तथा उनकी छोरी स्वाती थापामार्फत नेता बोहोराले आफ्नो धारणा सार्वजनिक गरे, ‘मेरो व्यक्तिगत स्वास्थ्य जस्तो गम्भीर विषयमा अतिरञ्जना गरेर आनन्द नलिन आग्रह गर्दछु, पोष्ट कोभिडका कारण घाँटीमा समस्या आएको हो, मंसिर दोस्रो सातासम्म भ्वाइस रेस्टको लागि डाक्टरको सुझावअनुसार यस्तो गर्नुपरेको हो । तर, विपक्षीले यसैलाई गलत व्याख्या बनाएको देख्दा आश्चर्य लागेको छ ।’

    दीपकको विषयमा छोरी स्वातीले भनिन्, ‘कोही मुखले चिप्ला कुरा गरेर हिँडेरमात्रै हुँदैन । उहाँले सबै समस्या टिपोट गर्नुभएको छ, घरदैलोमा पुग्नुभएको छ, मंसिर दोस्रो साता सदनमा गएर उहाँ बोल्नुहुन्छ ।’

    विपक्षीले यही विषय उठाएर उनको मत काट्न सकिने योजना बनाए । तर, उल्टो भयो । बोहोराले ‘पोष्ट कोभिड’ इफेक्टको कारण घाँटीमा समस्या देखिएपछि चुनावी सभामा भाषण गरेनन् । बिरामी रहेको भन्ने सन्देशका कारण पनि मतदाताले उनलाई सहानुभूतिको भोट हाले ।

    बोहोरा मञ्चमा कालो चस्मा लगाएर बसिरहँदा राप्रपा नेता तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले उनको तर्फबाट भाषण गरेका थिए । बोहोराको चुनावी कमाण्डर बनेकी उनकी छोरी स्वातीले हरेक योजना उनीसँग सल्लाह गरेर बनाएकी हुन्थिन् ।

    बोहोरा रुपन्देहीका लागि नयाँ अनुहार थिएनन् । पञ्चायतकालदेखि मन्त्री बनेका उनी गणतन्त्र स्थापनापछि पनि पटक-पटक मन्त्री बनेका छन् । माधवकुमार नेपाल प्रधानमन्त्री रहेको समयमा बोहोरा वनमन्त्री बनेका थिए । त्यो वेलाको संविधानमा गैरसांसद पनि मन्त्री बन्न पाउने व्यवस्था थियो ।

    २०७० सालको संविधानसभामा रूपन्देहीबाट चुनाव जितेपछि उनी २०७३ सालमा फेरि मन्त्री बने पुष्पकमल दाहाल नेतृत्वको सरकारमा । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अहिलेको प्रतिस्पर्धी बालकृष्ण खाणको समर्थनमा वामपन्थी गठबन्धनका उम्मेदवार घनश्याम भुसालसँग चुनाव हारेका बोहोराले यसपटक उनै खाणविरुद्ध रोमाञ्चक जीत निकाले ।

    बहालवाला गृहमन्त्रीलाई पराजित गरेका बोहोराको अहिले हाई–हाई भइरहेको छ । २ हजार ६०० मतान्तरसहित विजयी भएर उनले जीवनको उत्तरार्द्धमा पुनः संसद यात्रा तय गरेका छन् ।

    नेपालको राजनीतिमा चार दशकदेखि क्रियाशील नेता बोहोराको संसदीय यात्रा २०३६ सालदेखि सुरु भएको थियो । उनी रुपन्देहीबाट २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि २०३८ र २०४० मा पर्यटन राज्यमन्त्री बनेका बोहोरा २०५७ मा बैंक अफ काठमाडौंको अध्यक्ष बने । बोहोरा २०६७ मा वन तथा भूसंरक्षण मन्त्री तथा २०६७ मै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष बने ।

    २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचित उनी २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए । सिद्धार्थनगर नगरपालिका–३ खजहाना निवासी बोहोरा २००७ साल चैत १८ गते पाल्पामा जन्मेका हुन् ।

    एमालेको बलियो संगठन रहेको, जसपाको पनि समर्थन पाएका बोहोराको आफ्नै पार्टीको भोट पनि यो क्षेत्रमा धेरै थियो । तर, बालकृष्ण खाणसँग उनलाई जीत निकाल्ने विषय त्यति सहज थिएन । कांग्रेस नेता खाणले श्रीमती मञ्जु खाणलाई समानुपातिक सूचीको पहिलो प्राथमिकतामा राखेको, दुई श्रीमतीका कारण नैतिक रुपमा संकटमा परेको, जिल्लामा आफ्नै भाइलाई पार्टी तथा तिलोत्तमा नगरपालिकामा स्थान दिएको, गृहमन्त्रीको शक्ति दुरुपयोग गरेको विषय निरन्तर मिडियामार्फत बाहिर आए र बोहोरा पक्षधरले पनि उठाए ।

    एक वर्षअघि पार्टीको आन्तरिक निर्वाचनमा ती विषय छताछुल्ल हुने गरी बाहिरिएको थियो । तर, सबै विषय थामथुम पारेका खाणका लागि बोहोरा संसद यात्राका बाधक बने । २०४८ सालमा रुपन्देहीबाट निर्वाचन जितेर चर्चामा आएका खाणलाई पञ्चायतकालदेखि मन्त्री बन्दै आएका बोहोराले ब्रेक लगाएका छन् ।

    खाण पार्टी सभापति शेरबहादुर देउवाको पिल्लरका रुपमा रहेका छन् । खाणको पराजयले उनीमात्र होइनन् देउवा र पार्टीको संस्थापन पक्ष नै संकटमा पर्ने खतरा बढेको छ ।

  • समानुपातिकमा कांग्रेससँग मतान्तर बढाउँदै एमाले, घण्टी भेट्न लम्किँदै माओवादी

    समानुपातिकमा कांग्रेससँग मतान्तर बढाउँदै एमाले, घण्टी भेट्न लम्किँदै माओवादी

    काठमाडौं । प्रत्यक्षतर्फको मतगणना करिब सकिन लाग्दा समानुपातिको जारी छ । आइतबार बिहान ६:५० बजेसम्मको अपडेट अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेससँग एमाले अहिले एक लाख ३१ हजार ९ सय ९७ मतले अगाडि छ । आइतबार साँझको तुलनामा एमालेले कांग्रेससँगको मतान्तर अझ फराकिलो पारेको छ ।

    हालसम्म एमालेले २५ लाख १९ हजार ३१६ मत प्राप्त गरेको छ । २३ लाख ८७ हजार ३१९ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रबीच तेस्रोका लागि प्रतिस्पर्धा जारी छ । राष्ट्रिय स्वतवन्त्र पार्टीले १० लाख ५९ हजार ३२२ मत प्राप्त गर्दा माओवादी १० लाख ५२ हजार ७८८ मत ल्याएर पछ्याइरहेको छ । यी दुईबीचको मतान्तर करिब ७ हजारको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४४ हजार २५० मतका साथ पाँचौं र ३ लाख १९ हजार ४१९ मत ल्याएर जसपा छैटौं स्थानमा छ ।

    सीके राउतको जनमत पार्टीले २ लाख ५६ हजार १७ ल्याउँदा नेकपा एसले २ लाख ४८ हजार ८४९ मत पाएर सातौं स्थानमा छ ।

  • प्रदेशसभा समानुपातिकतर्फ कुन प्रदेशमा कुन दल अगाडि ? (सूचीसहित)

    प्रदेशसभा समानुपातिकतर्फ कुन प्रदेशमा कुन दल अगाडि ? (सूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ अग्रता लिइरहेको नेकपा (एमाले)ले प्रदेश सभामाको समानुपातिकतर्फ पनि ६ प्रदेशमा अग्रता लिइरहेको छ । निर्वाचन आयोगका अनुसार मधेशमा मात्रै नेपाली कांग्रेसले अग्रता लिएको हो ।

    मधेश प्रदेशमा नेपाली कांग्रेसले अग्रता लिदाँ दोस्रोमा एमाले रहेको छ । एक प्रदेशमा मात्रै सबैभन्दा अगाडी रहेको कांग्रेस पाँच वटा प्रदेशमा दोस्रो स्थानमा रहेको छ । जसमा प्रदेश एक, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कांग्रेस दोस्रोमा रहेको हो ।

    एमालेले अग्रता लिएको कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) दोस्रो स्थानमा रहेको छ । आयोगका अनुसार माओवादी केन्द्रले कर्णाली प्रदेशमा मात्रै दोस्रो स्थानमा रहेको हो । सुरुवाती चरणमा कर्णाली प्रदेशमा माओवादी केन्द्रले अग्रता लिइरहेको थियो ।

    प्रदेश एकमा राप्रपा तेस्रो स्थानमा रहदाँ मधेश प्रदेशमा भने जनता समाजवादी पार्टी तेस्रो स्थानमा रहेको छ । बामगती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

    कुन पार्टीको मत कति  ?

  • समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ?

    समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ?

    काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फ २० लाख मत कटाएको छ ।

    निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २० लाख ६ हजार ५८७ छ ।

    यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसको मत १९ लाख ३९ हजार १०४ रहेको छ ।

    माओवादी केन्द्र ८ लाख ६२ हजार ६६९ मतसहित तेस्रोमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३३ हजार ५९५ मत रहेको छ ।

  • चितवन-३ बाट राप्रपा उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित

    चितवन-३ बाट राप्रपा उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित

    हेटौंडा । चितवन क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे विजयी भएका छन् । राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका पाण्डेले ३५ हजार ५५ मत ल्याँउदै जित हासिल गरे ।

    उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गरेका छन् ।

  • राप्रपाको शानदार कमब्याक : मक्किएको पार्टीलाई लिङदेनले जगाए

    राप्रपाको शानदार कमब्याक : मक्किएको पार्टीलाई लिङदेनले जगाए

    काठमाडौं । पुरातनवादी भनेर चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि आमनिर्वाचन २०७९ सुखद बनेको छ । अघिल्लो निर्वाचनमा दयनीय नतिजा ल्याएको पार्टीले यसपालि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ अब्बल प्रदर्शनसहित शानदार कमब्याक गरेको हो ।

    अहिलेसम्म प्राप्त मतपरिणाममा राप्रपाले प्रत्यक्षतर्फ ५ सीट जितेको छ भने थप २ सीटमा यस पार्टीका उम्मेदवारहरू अगाडि छन् । प्रत्यक्षतर्फ ७ सीट (सम्भावित) पार्टीका लागि उत्साहजनक नतिजा हो । अघिल्लो चुनावमा प्रत्यक्षमा राजेन्द्र लिङदेनमात्रै विजयी भएका थिए ।

    राप्रपाका प्रमुख हस्तिहरूका लागि निर्वाचन परिणाम सुखद बनेको छ । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं-२ बाट झिनो मतले हार्नुले पार्टीलाई केही धक्का लाग्यो । अध्यक्ष राजेन्द्र लिङदेनले झापा–३ मा शानदार विजयी हासिल गरेका छन् । शानदार यस अर्थमा कि सत्तारुढ गठबन्धनको समर्थनप्राप्त कांग्रेसका बलिया उम्मेदवार कृष्ण सिटौलालाई हराउन उनी सफल भए ।

    राप्रपाका महामन्त्री धवलशम्शेर राणाले बाँके २ बाट सहज जित निकालेका छन् । उनले प्रतिस्पर्धी उम्मेदवारभन्दा ६ हजार बढी मत ल्याएर जितेका हुन् । यसैगरी, पार्टीका युवा नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि जुम्लाबाट फराकिलो अन्तरको जित हासिल गरे । उनले गठबन्धन उम्मेदवारलाई १० हजार ८ सय ६० मतान्तरले हराए ।

    राप्रपाका अर्का विजयी उम्मेदवार हुन् दीपक सिंह । पार्टीको कार्यसम्पादन समिति सदस्य रहेका सिंहले मकवानपुर १ बाट जित निकालेका हुन् । राप्रपाका पूर्व अध्यक्ष कमल थापासमेत उनका प्रतिस्पर्धी थिए । तर, थापा तेस्रो स्थानमा सीमित रहे ।

    राप्रपाका अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पनि जितेका छन् । नवलपरासी पश्चिम १ मा निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।

    जारी मतगणनामा पार्टीका महामन्त्री विक्रम पाण्डे पनि जितको बाटोमा छन् । चितवन क्षेत्र नम्बर ३ मा उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा निकै अगाडि छन् । चितवनमा रवि लामिछानेको क्रेज र राष्ट्रिय स्वतन्त्र पार्टीको जनलहरलाई पन्छाउँदै उनी जिततर्फ अघि बढेका हुन् । 

    राप्रपाका अर्का उपाध्यक्ष दीपक बोहरा रुपन्देही ३ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका बालकृष्ण खाणसँग कडा प्रतिस्पर्धामा छन् । पछिल्लो मतगणनामा खाणा उनको झिनो अग्रता छ । राप्रपाले यहाँबाट पनि एक सीटको आशा राख्न सक्छ ।

    चुनावअघि राप्रपाले प्रत्यक्षमा १० सीटसम्मको लक्ष्य राखेको थियो । त्यो हासिल नभए पनि नजिक पुगेको छ । समानुपातिकतर्फ पार्टीको महत्त्वाकाङ्क्षा झन् ठूलो थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा उर्लेको जनलहरले राप्रपाको महत्त्वाकाङ्क्षामा केही आघात पुगेको छ । अहिले समानुपातिकतर्फ घण्टीमा मतदान गरेका अधिकांश मतदाताले यदि यो पार्टी प्रतिस्पर्धामा नभएको भए हलोमा भोट हाल्ने राप्रपा नेताहरू बताउँछन् । खैर, यसका बाबजुद पनि समानुपातिकमा राप्रपा कमजोर भने छैन ।

    वैकल्पिक शक्ति राप्रपा कि रास्वपा ?

    अब बन्ने सांसदमा मुख्य दुई दलका रूपमा कांग्रेस र एमाले नै रहने छन् भन्ने शंका छैन । तर, मतपरिणामले दिएको जबरजस्त सन्देश के हो भने जनताले यी दुई दलको विकल्पमा बलियो नयाँ शक्ति चाहेका छन् ।

    राप्रपा नयाँ पार्टी होइन । ४६ सालपछि नै स्थापना भएर अनेकन् पटक टुटफुट र एकताको शृङ्खलाहरूबाट गुज्रिँदै यहाँसम्म आइपुगेको हो । तर, अहिले आएर राप्रपालाई मतदाताले नयाँ पार्टीका रूपमा लिन थालेका छन् । यसको कारण हो, नयाँ नेतृत्व । कमल थापालाई महाधिवेशनमा हराएर राजेन्द्र लिङ्देनले पार्टीको बागडोर सम्हालेसँग राप्रपाप्रति आकर्षण बढेको स्पष्ट देखिन्छ । पछिल्लो पटक विवेकशील साझा पार्टी त्यागेर रवीन्द्र मिश्र पनि राप्रपामा जोडिन आएका छन् । लिङ्देन र मिश्रको जोडीले पार्टीमा थप नयाँपनको आभास गराइदियो ।

    दोस्रो कारण चाहिँ जनतामा कथित प्रतिगामी एजेन्डा ‘राजसंस्था’ र हिन्दू राष्ट्रप्रतिको बढ्दो आकर्षण हो । राप्रपालाई राजावादी र प्रतिगामी पार्टी भनेर जनता उनीहरूप्रति विकर्षित हुने अवस्था अब छैन । प्रतिगामी भनिने एजेन्डाहरुप्रति नै जनताको मोह बढेको छ । अहिलेको युवापुस्तामा राजसंस्थाप्रति नजानिँदो आकर्षण बढ्दो रुपमा देखिन्छ ।

    राजतन्त्रको र हिन्दू राष्ट्रको पुनस्र्थापन तथा संघीयता खारेजीको एजेन्डा बोक्ने बलियो शक्ति जनताले पाइरहेका थिएनन् । कमल थापा नेतृत्वको राप्रपा नेपाललाई विगतमा जनताले त्यस्तो शक्तिका रूपमा स्थापित गर्न नखोजेका होइनन् । तर, थापाको आफ्नै सिद्धान्तहीनता र राजनीतिक बेइमानीले उनले जनताको विश्वास गुमाए । अहिले लिङ्देन नेतृत्वमा आएपछि राप्रपाले त्यो विश्वासको पुनर्जागरण गरेको छ । चुनावमा राप्रपाको भोट बढ्नुको मुख्य कारण यही नै हो ।

    अब कुरा गरौँ रास्वपाको । सैद्धान्तिकता रुपमा यो पार्टीले पुरातन एजेन्डाहरु बोकेको छैन । तर, पार्टीबाहिरका धेरैले रवि लामिछानेमा दक्षिणपन्थी झुकाव रहेको विश्वास गर्छन् । थुप्रै मतदाताहरूले उनीबाट चाहेको पनि यही नै हो कि उनले संघीयता खारेजीको एजेन्डालाई बोकेर हिँडुन् । यस आम चुनावमा रविको पार्टीले प्रदेशसभाका लागि उम्मेदवारी नदिनुले नि ती मतदाता उनीप्रति आकर्षित भएका हुन् । रवि आफैँले प्रदेश चुनावको मतपत्रमा भोट नहालेर संघीयताप्रति अरुचिको सन्देश दिए ।

    यद्यपि, रविले संघीय प्रणालीको स्पष्ट विरोध भने गरेका छैनन् । उनले संघीय संरचनालाई सुधार गरेर कम खर्चिलो र छरितो बनाउनुपर्ने वकालत गरेका छन् । तर, उनले जस्तो संघीय संरचनाको प्रस्ताव गरेका छन्, न त्यो व्यवहारिक रुपमा सम्भव छ, न त्यसको कुनै तुक छ । यदि उनले खुलेरै संघीयता खारेजीको पक्षमा आफूलाई उभ्याए भने चाहिँ उनको पछाडि जनताको ठूलो पंति खडा हुने निश्चित छ । काठमाडौं महानगरका मेयर बालेन साहले पनि चुनावमा प्रदेशको मतदान बहिष्कार गरेर आफूलाई संघीयताको विरोधमा खुलाइसकेका छन् । आगामी दिनमा दुई उदीयमान नेताले खुलेर आफूलाई प्रस्तुत गरेको खण्डमा छोटो समयमा अलोकप्रिय बनेको संघीयताको आयु छोट्टिन सक्छ ।

    यदि रविले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिका रूपमा उभ्याउन चाहन्छन् भने कांग्रेस–एमाले र माओवादीकै लाइनमा हिँडेर त्यो सम्भव छैन । यसर्थ सैद्धान्तिक प्रष्टता उनको पहिलो आवश्यकता हो । यदि ‘प्रतिगामी’ नकहलिने चक्करमा उनले वैदेशिक शक्तिबाट लादिएका एजेन्डाहरूकै वकालत गरिरहे भने तेस्रो वैकल्पिक शक्तिको चाहमा रहेका जनता राप्रपातिर फर्किनेछन् । भलै राप्रपा संख्याका हिसाबले पाँचौं नम्बरमा आउला, तर एजेन्डाका हिसाबले उ कांग्रेस–एमाले–माओवादीको प्रमुख विकल्प बन्ने छ ।

    राजेन्द्र लिङदेन राप्रपाको अध्यक्ष बनेसँगै नेपालका ठूला दलहरूमा नेतृत्व पुस्तान्तरणको दबाब बढेको थियो । तर, राप्रपापछि महाधिवेशन गरेका कुनै पनि दल कांग्रेस, एमाले र माओवादीले नयाँ नेतृत्व दिन सकेनन् । राजेन्द्रले एकातिर पञ्चायतकालीन लिगेसीको बुढो राप्रपालाई नयाँ पुस्ताको एजेण्डाकेन्द्रित र सिद्धान्तनिष्ठ राप्रपामा रुपान्तरण गरे भने अर्कोतिर भ्रष्ट आचरण र विकृतिको पर्याय बनेको राजनीतिमा सदाचारको तरंग ल्याए । राजेन्द्रको नेतृत्वसँगै राप्रपा मुलुकलाई वैकल्पिक नेतृत्व दिने शक्तिमा रूपमा विस्तारै अघि बढेको छ । हरेक पार्टी बन्न र टिक्नका लागि उसको सिद्धान्त र संगठन चाहिन्छ ।

    आज राप्रपासँग प्रष्ट सिद्धान्त र देशब्यापी संगठन सञ्जाल छ । भलै राप्रपा आज देशव्यापी चुनाव जित्ने शक्तिका रूपमा बनिसकेको छैन र उसको एजेण्डाका कारण राप्रपा नै वैकल्पिक शक्ति बन्न सक्छ । ठूलो दलको विकल्प खोज्ने र प्रदेशसभातर्फ मतदान नगर्ने रवि लामिछानेदेखि बालेन साहहरूले राप्रपाको जसरी ‘भोकल्ली’ बोल्न नसके उनीहरूको राजनीति मौकामा चौका हान्नमा मात्र सीमित हुनेछ । किनकी राजनीतिमा स्पष्ट एजेण्डा, सिद्धान्त र त्यो सिद्धान्तमा आस्था राख्ने संगठन सञ्जाल चाहिन्छ । नत्र उर्लँदो खहरेजस्तो मात्र हुन्छ ।

  • नवलपरासी २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान विजयी

    नवलपरासी २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान विजयी

    रुपन्देही । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।

    निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।

    प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कँडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए ।

  • यसरी हुन्छ समानुपातिकको बाँडफाँट- एमाले ३३, कांग्रेस ३१ र रास्वपा १७ सीट पुग्ने सम्भावना

    यसरी हुन्छ समानुपातिकको बाँडफाँट- एमाले ३३, कांग्रेस ३१ र रास्वपा १७ सीट पुग्ने सम्भावना

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खसेको करिब सवा करोड मतमध्ये समानुपातिकतर्फ बिहीबार दिउँसोसम्म साढे २५ लाख मतगणना हुँदाको रुझान विश्लेषण गर्दा ६ वटा दलले थ्रेसहोल्ड कटाउने देखिएको छ ।

    समानुपातिक निर्वाचन प्रणालीमा ४७ वटा दलले भाग लिएका थिए । हालसम्म गणना भएको २५ प्रतिशत मतलाई शतप्रतिशत आधार मानेर हिसाब गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन ७३ हजार मत पाउनुपर्छ । अहिलेसम्म ४७ दलले प्राप्त गरेको मतलाई जम्मा मत मानेर हिसाव गर्दा ६ दलले मात्रै ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।

    जसमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।

    थ्रेस होल्ड कटाउने ती ६ दलको जम्मा मत हिसाब गर्दा २४ लाख ३४ हजार १६० हुन आउँछ । यसबाट प्रतिशत निकाल्दा सबैभन्दा धेरै नेकपा एमालेले ३० प्रतिशत, नेपाली कांग्रेसले २८, राष्ट्रिय स्वतन्त्र पार्टीले १५, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ र जनता समाजवादी पार्टीले ३ प्रतिशत मत प्राप्त गरेका छन् ।

    यसै प्रतिशतअनुसार थ्रेस होल्ड कटाएका राजनीतिक दललाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट गर्दा सबैभन्दा नेकपा एमालेले ३३ देखि ३४ सीट पाउनसक्छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ३१ देखि ३२ सीट पाउनसक्छ ।

    यस्तै तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १६ देखि १७ सीट पाउने देखिन्छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १५ देखि १६ सीट प्राप्त गर्नेछ । पाँचौंमा रहेको राप्रपाले ९ देखि १० सीट पाउँदा जसपाले ४ देखि ५ सीट पाउने देखिन्छ ।

    कसरी हुन्छ समानुपातिकतर्फको सीट बाँडफाँट ?

    समानुपातिकतर्फको मतगणना भइरहँदा अधिकांशलाई समानुपातिकतर्फको निर्वाचनमा कसरी सीट बाँडफाँट हुन्छ र कसले कति सीट पाउँछ भन्नेबारेमा जिज्ञासा छ । यसैलाई मध्यनजर गरेर हामीले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ सीट बाँडफाँट हुने विधिबारे यहाँ उल्लेख गरिएको छ ।

    समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार उम्मेदवार छनोट प्रक्रिया परिच्छेद ५ मा गरिएको छ । निर्देशिकाको दफा ३१ मा सीटको बाँडफाँट गर्ने व्यवस्था गरिएको छ । जसको दफा १ अनुसार १६५ वटै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको मतगणना तालिका प्राप्त भइससकेपछि निर्वाचन अधिकृतले दलले प्राप्त गरेको सदर मत जोडिन्छ । ती दलले प्राप्त गरेको जम्मा मत संख्या एकिन हुन्छ ।

    दलले प्राप्त गरेको जम्मा मतको आधारमा निर्वाचन अधिकृतले मत परिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गरी निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

    दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको आधारमा महिला तथा अन्य समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्यासमेत निर्धारण गर्नुपर्नेछ ।

    दलले प्राप्त गरेको सीट संख्यामध्ये विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनैपर्ने संख्या निर्धारण गर्दा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ । जसमा सबैभन्दा धेरै खस आर्यबाट ३१.२, दोस्रोमा आदिवासी-जनजातिबाट २८.७, मधेसीबाट १५.३, दलितबाट १३.८, थारुबाट ६.६ र मुस्लिमबाट ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ ।

    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट प्रतिनिधित्व गर्ने जम्मा सदस्य संख्याको कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नुपर्छ ।

    सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको कम्तीमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या निर्धारण गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशत वा त्योभन्दा बढी सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार हुनुपर्नेछ ।

    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार नै हुनुपर्नेछ । निर्धारण गरिएको सम्बन्धित दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्या आयोगले नै स्वीकृत गर्नेछ ।

    यस्तो छ मत परिणाम विभाजक सूत्र

    निर्वाचनको प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि (कुल उम्मेदवार संख्या अनुसारको हुने) भाजकले भाग गरिन्छ । त्यसरी भाग गरी प्राप्त हुने नतिजालाई भागफल भनिन्छ । यसरी मत परिणामलाई भाग गरी प्राप्त हुने भागफल संख्यालाई क्रमशः ठूलो भागफलबाट सानो भागफलसम्म बाँडफाँट गरिन्छ । त्यसपछि सीट वितरण गर्ने प्रयोजनका लागि भागफलको बाँडफाँट गर्दा अन्तिम सीटको भागफल बराबर भएमा गोलाप्रथाबाट निर्णय गरिन्छ ।

    गोलाप्रथाबाट वितरण गरिने सीटको निर्धारण गर्दा उक्त सीटको सन्दर्भमा बराबर भागफल रहेका दलका प्रतिनिधिलाई रोहवरमा राखेर गर्नुपर्छ । तर, आयोगले तोकेको मिति, समय र स्थानमा त्यस्तो दलका प्रतिनिधि उपस्थित नभएको कारणले गोलाप्रथाद्वारा निर्णय गर्न आयोगलाई कुनै बाधा नपर्ने निर्देशिकामा उल्लेख छ ।

    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा दलले प्राप्त गरेको जम्मा सदर मतको ३ प्रतिशत वा त्योभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् । दलले प्राप्त गरेको जम्मा सदर मत गणना गर्दा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको जम्मा मतमा गणना गरिनेछैन ।

    त्यसपछि दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्याबमोजिम उम्मेदवार छनोट गरी पठाउन निर्वाचन अधिकृतले अवधि तोकेर सम्बन्धित दललाई जानकारी गराउनेछन् । प्रत्येक दलले मत परिणामको आधारमा प्राप्त गरेको सीट संख्या सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिन्छ ।

    उम्मेदवार छनोट गर्ने तरिका

    राजनीतिक दलले जानकारी प्राप्त गरिसकेपछि उम्मेदवारको अन्तिम बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारमध्येबाट समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम छनोट गरी दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई ३ दिनभित्र समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको निर्वाचनबाट छनोट भएका उम्मेदवारको सूची पेश गर्नुपर्छ ।

    एकल चुनाव चिन्ह लिई संयुक्त निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निर्णय गर्दा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रुपमा निर्णय गरी स्वीकृत गर्नुपर्छ । कुनै समावेशी समूहको उम्मेदवारको नाम छनोट गर्दा त्यस्तो समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट गर्न पाइनेछैन । दलले उम्मेदवार छनोट गरी पठाउँदा यथासम्भव अपांगता भएको व्यक्तिको प्रतिनिधित्व हुने गरी पठाउनुपर्छ ।

    उम्मेदवार छनोट गरिएको सूची पेश गर्दा महिला तथा अन्य समावेशी समूहको प्रतिनिधित्व नभएमा निर्वाचन अधिकृतले सम्बन्धित दललाई नामावली सच्याई त्यसैबमोजिम प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी दुई दिनभित्र पेश गर्न लेखी पठाउनुपर्छ । यद्यपि १० प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलले कुनै समावेशी समूहबाट तोकिएको संख्यामा उम्मेदवार छनोट गर्न नसकेको विशेष कारण पेश गरेमा आयोगले उक्त संख्याबमोजिम कुनै समावेशी समूहको उम्मेदवारको नाम समावेश नभएको सूचीलाई समेत मान्यता दिनसक्छ । तर, त्यस्तो दलको तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जम्मा संख्याको कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारको नाम अनिवार्य रुपमा छनोट गरी पेश गर्नुपर्छ ।

    निर्वाचन अधिकृतले लेखी पठाएको २ दिनभित्र सम्बन्धित दलले केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई संशोधित नामावलीको सूची पेश गर्नुपर्छ । एकल निर्वाचन चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निर्णय गर्दा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रुपमा निर्णय गरी स्वीकृत गर्नुपर्छ । दलले पेश गरेको संशोधित नामावली तोकिएको प्रतिशत नसमेटिएसम्म त्यस्तो दलको तर्फबाट कुनै उम्मेदवार निर्वाचित हुनेछैन ।

    दलले प्राप्त गरेको मतको अनुपातमा प्राप्त हुने सीटभन्दा त्यस्तो दलले पेश गरेको उम्मेदवारको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या कम भई सबै सीट पूर्ति हुन नसक्ने भएमा त्यस्तो सीट विभाजक सूत्र अपनाई बढी भागफल प्राप्त गर्ने अर्को दललाई प्रदान गरिन्छ । यसरी प्रदान गरिएको सीट प्राप्त गर्ने दलले त्यस्तो सीटमा सोही समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी पठाउनुपर्नेछ । दलले छनोट गरी सूची पेश गरेका उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचन भएको घोषणा गर्नेछ । निर्वाचित भएको उम्मेदवारलाई निर्वाचन अधिकृतले प्रमाणपत्र दिनेछन् ।

  • झापा ३ मा राजेन्द्र लिङदेन विजयी

    झापा ३ मा राजेन्द्र लिङदेन विजयी

    काठमाडौं । झापा क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन् ।

    मतगणनाको अन्तिम मत परिणामअनुसार लिङ्देन ४० हजार ६४८ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याएका छन् । उनीहरुबीच तीन हजार २७६ मतको अन्तर रहेको छ ।

    यसअघि पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

     

  • चारवटा चुनाव हारेका दीपक सिंहलाई पाँचौं प्रयासमा सफलता

    चारवटा चुनाव हारेका दीपक सिंहलाई पाँचौं प्रयासमा सफलता

    हेटौ‌डा । मकवानपुर १ मा मतगणनाको अधिकांश समय तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार दीपकबहादुर सिंहले अन्तिममा एकाएक फड्को मार्दै चुनाव जितेका छन् । यो विजय उनका लागि विशेष यसकारण छ कि पाँचौं प्रयासमा उनले जीतको स्वाद चाख्न पाए ।

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य सिंह यसअघि प्रतिनिधिसभा, संविधानसभा र हेटौंडाको मेयरमा गरी चारपटक लडेर पराजित भएका थिए । तर, अहिले एमाले र सत्ता गठबन्धनका बलिया प्रतिस्पर्धीलाई पराजित गर्दै उनले शानदार जीत दर्ता गरेका छन् । अझ महत्वपूर्ण के छ भने एमालेबाट चुनाव लडेका कमल थापा उनकै पार्टी राप्रपा फुटाएर निस्केका पूर्वअध्यक्ष हुन् ।

    सिंहले मकवानपुर १ मा खसेको ९१ हजार ४८६ मतमध्ये २७ हजार ८१६ ल्याए । उनका निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिना २५ हजार ४२३ मतमा रोकिइन् । एमालेबाट चुनाव लडेका कमल थापा २५ हजार ४२० मत ल्याएर तेस्रो भए ।

    २०५४ सालमा तत्कालीन हेटौंडा नगरपालिकामा मेयर उम्मेदवार सिंहले डोरमणि पौडलसँग पराजय भोग्नु परेको थियो । त्यसपछि २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा विरोध खतिवडासँग पराजय व्यहोर्दा २०७० सालको दोस्रो संविधानसभामा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा एमालेका अनन्त पौडेलसँग हारेका थिए ।

    पटक-पटक पराजित हुँदा पनि उनमा प्रत्यक्ष निर्वाचन लडेरै जित्ने आत्मविश्वास कम भएन । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिए । तर, सिंहको चुनाव जित्ने सपना त्यो वेला पनि पूरा भएन् । यद्यपि उनले २० हजारभन्दा बढी मत ल्याउँदै हेटौंडाका मतदाताको वैकल्पिक रोजाइ बनेका थिए ।

    मेयरमा चुनाव हारेकै दिनबाट मकवानपुरको सिंहले प्रतिनिधिसभाको तयारी गरेका हुन् । अन्ततः पाँचौं प्रयासमा सफल भएका छन् ।

    भ्रष्टाचारविरुद्धको कडा भाषण तथा रवाफिलो जीवनशैलीको कारण सधैं चर्चामा रहने सिंहको सम्बन्ध भारतको तत्कालीन ‘स्टेट’ राजपरिवारसँग पनि गाँसिएको छ । उनको ससुराली भारतको हाल बनारसमा रहेको राजपुत परिवार हो । मकवानपुरमा व्यवसाय सञ्चालन गरिरहेका सिंहलाई हक्की स्वभावको नेताको रुपमा लिने गरिएको छ ।

    निर्वाचनमा जीत हासिल गरेपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै सिंहले भने, ‘मकवानपुरमा पटक-पटक जितेर सांसद भएकाहरुले आफ्नाहरुको मात्र विकास गरे । म सर्वप्रथम त्यो परम्परालाई हटाउँदै समान विकासको अवधारणा निर्माण गर्छु ।’

    मकवानपुरलाई नमुना जिल्ला बनाउने र आफ्नो क्षेत्रमा रहेको विकट स्थानको विकासमा दिनरात नभनी काम गर्ने भन्दै उनले आफूलाई जिताउने सबै मतदातालाई धन्यवाद दिए ।

    ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ भन्ने राप्रपाको मूल मान्यतालाई आफूले कार्यान्वयन गर्दै जिल्लामा सुशासन कायम गर्ने विषयमा आफू सधैं चनाखो रहने उनको भनाइ छ ।

  • मकवानपुरबाट पाँचौ प्रयासमा दीपक सिंहको शानदार जित

    मकवानपुरबाट पाँचौ प्रयासमा दीपक सिंहको शानदार जित

    हेटौँडा । मकवानपुर- १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह विजयी भएका छन् । प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका सिंहले पाचौँ प्रयासमा जित हात पारेका हुन् ।

    मकवानपुरमा एमाले तथा सत्ता गठबन्धनलाई पराजित गर्दै उनले शानदार जित दर्ता गरे । सिंहले मकवानपुर-१ मा खसेको ९१४८६ मतमध्ये २७ हजार ८ सय १६ ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्यय डिना २५ हजार ४ सय २३ मतमा रोकिइन् । एमालेबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा २५ हजार ४ सय २० मत ल्याएर तेस्रो भए ।