Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • रास्वपा सभापतिलाई महामन्त्रीको प्रतिवेदन- इन्तु, किन्तु केही नभनी प्रदेश खारेजीको पक्षमा उभिऊँ

    रास्वपा सभापतिलाई महामन्त्रीको प्रतिवेदन- इन्तु, किन्तु केही नभनी प्रदेश खारेजीको पक्षमा उभिऊँ

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई एउटा महत्त्वपूर्ण प्रतिवेदन बुझाउँदैछन्, जसको अन्तर्वस्तुले पार्टीभित्र मात्र नभएर बाहिर पनि तरंग आउन सक्छ । महामन्त्री रास्वपा स्पष्टरुपमा संघीयताको विपक्षमा उभिनुपर्ने रायसहितको प्रतिवेदन आज बुझाउन लागेका हुन् ।

    पार्टीकै निर्णय बमोजिम महामन्त्री ढकालले देशका ३९ जिल्लामा एक महिना समीक्षा यात्रा गरेका थिए । त्यस क्रममा आफ्नो पार्टीका समर्थक, शुभचिन्तकदेखि सर्वसाधारणसम्मलाई भेटेर सल्लाह सुझावहरू उनले संकलन गरे । यिनै सुझावहरूका आधारमा महामन्त्री ढकालले आफ्नो प्रतिवेदन तयार गरेका हुन् ।

    महामन्त्री निकट स्रोतका अनुसार प्रतिवेदनमा आम जनताले संघीयता नरुचाएको तथा यो प्रणाली नेपालको हितमा पनि नरहेको निष्कर्ष प्रस्तुत गरिएको छ ।

    ‘हामीले अब इन्तु किन्तु परन्तु केही पनि नभनीकन प्रदेश संरचना खारेजीको मुद्दा उठाउनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

    रास्वपाले स्थापनादेखि संघीयतालाई लिएर केही अन्योलपूर्ण नीति अवलम्बन गरिरहेको छ । पार्टीले संघीयतालाई अस्वीकार गरेको छैन, तर प्रदेश सभा नचाहिने बताएको छ । प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहने तर प्रदेश सभा नरहने पार्टीको सिद्धान्तलाई सच्याउनुपर्ने महामन्त्रीको प्रतिवेदनले औँल्याएको छ ।

    यो पनि पढ्नुहोस् :- रास्वपा महामन्त्रीको प्रतिवेदन- अर्को विवेकशील बन्ने बाटोमा छौँ, म सहदेव बन्न सक्दिनँ

    डा. ढकालले प्रतिवेदनमा भनेका छन्, ‘जनताको प्रशासन सुधार हो । प्रदेश सरकार जनताको माग र चाहना केही पनि होइन । राजनीतिक दलका नेता-कार्यकर्ताको व्यवस्थापनभन्दा अर्को उपलब्धि प्रदेश सरकारबाट केही पनि भएको छैन । प्रदेश संरचनापछि प्रशासन सुधार होइन, झन् झन् अस्तव्यस्त बनिरहेको छ । तसर्थ प्रदेश खारेज गरी प्रशासन सुधारको एजेन्डा उठाउनुपर्छ ।’

    उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पनि वकालत गरेका छन् । हुन त अहिले पनि रास्वपाको यही नै हो । तर, यसलाई अझै स्पष्ट र मुखरित रूपमा एजेन्डा बनाएर जानुपर्नेमा उनको जोड छ ।

    तीन तहका सरकारमध्ये स्थानीय तहहरू भने कायम राख्नुपर्ने राय महामन्त्रीले प्रस्तुत गरेका छन् । तर, पछिल्लो समय कुनै पूर्वाधार र मापदण्डबिना अन्धाधुन्ध नगरपालिका घोषणा गर्ने कार्यबाट जनता सन्तुष्ट नरहेको उनको प्रतिवेदनमा औँल्याइएको छ । नगरपालिका घोषणाले जनतालाई सुविधा दिने भन्दा पनि करको बोझ माथि थपेको उल्लेख छ ।

    डा. ढकालले गणतन्त्र र धर्मनिरपेक्षताका विषयमा भने कुनै पनि टिप्पणी गरेका छैनन् । धर्मको विषयमा उनको प्रतिवेदन मौन छ भने गणतन्त्रलाई स्वीकार गरिएको छ ।

  • रास्वपा महामन्त्रीको प्रतिवेदन- अर्को विवेकशील बन्ने बाटोमा छौँ, म सहदेव बन्न सक्दिनँ

    रास्वपा महामन्त्रीको प्रतिवेदन- अर्को विवेकशील बन्ने बाटोमा छौँ, म सहदेव बन्न सक्दिनँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले देशभर समीक्षा यात्रापछि निकालेको निचोडलाई प्रतिवेदनका रूपमा तयार पारेका छन् । उनले आफ्नो प्रतिवेदन आज सभापति रवि लामिछानेलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

    महामन्त्री डा. ढकालले निकालेको निचोड पार्टीका निम्ति सुखद छैन । उनले रास्वपाको जनमत निकै खस्किएको विश्लेषण प्रतिवेदनमै उल्लेख गरेका छन् । पार्टीले बोल्ड निर्णय लिएर अगाडि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने उनको निष्कर्ष छ ।

    प्रतिवेदनको अन्त्यमा डा. ढकालले भावुक सन्देश लेखेका छन् । आफ्नो महामन्त्री पदलाई दाउमा राखेर भए पनि सत्य बोल्ने आँट गरेको उनको भनाइ छ ।

    प्रतिवेदनमा डा. ढकालको सन्देश:

    महाभारतमा पाँच पाण्डवमध्ये सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो । तर त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउलान् भनेर श्रीकृष्णले आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए । त्यसैले महाभारतमा सबै थाहा भए पनि उनी चुप थिए । आज पार्टीको वर्तमान भनेको जनमत छैन । जनमत कति छ त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सिट जित्ला । भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ ।

    यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो । भागवत गीतालाई मैले सधैँ मानेको छु । श्रीकृष्णको बचनलाई सधैँ पछ्याएको छु । महाभारतमा श्रीकृष्णले सहदेवलाई नबोल्नु भनेका रहेछन् । तर मलाई मेरो पार्टीको माया छ र चिन्ता छ । भोलि दुर्घटना हुँदै छ भन्दा मेरो महामन्त्री पदको मृत्यु पनि हुन सक्छ वा मलाई घोक्र्याएर पार्टीबाट निकाल्न पनि सक्छन् । मेरो आगामी राजनीतिक जीवनको लागि यो घातक साबित हुनेछ । तथापि यो पटक कृष्णको वाणीभन्दा एउटा धुन मभित्र गुन्जियो- म मरे पनि मेरो पार्टी बाँचिरहोस् ।

    डा. ढकालले आफ्नो प्रतिवेदन पार्टीले सार्वजनिक गर्नुपर्ने माग पनि अघि सारेका छन् । उनले प्रतिवेदनसँगै छुट्टै पत्र दिने तयारी गरेको बुझिएको छ । त्यसमा उनले आफ्नो व्यक्तिगत असन्तुष्टि पनि उजागर गरेका छन् ।

    ‘मैले नगरेका कामहरूमा पनि मेरो नाम लिएर पार्टीभित्र धेरै कुराकानी भयो । मेरा कुरा के के हुन् त भनेर मैले भन्नै पाइन । नराम्रा जति मेरा राम्रा जति सबै अरूका भए । मेरा कुरा के छन् जनताले थाहा पाउनु पर्छ । यो मेरो पनि राजनीतिक अधिकार हो । यो प्रतिवेदन सार्वजनिक नगर्नु ममाथि पार्टीले गरेको अन्याय हुनेछ । यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्,’ ढकालले पत्रमा लेखेका छन् ।

    रास्वपा महामन्त्री डा. ढकाललाई पार्टीले निर्णय गरेर जनमत बुझ्नका लागि देश दौडाहामा पठाएको थियो । एक महिना लामो समीक्षा यात्रा पछि फर्केर उनले प्रतिवेदन तयार गरेका हुन् ।

  • राष्ट्रिय परिचयपत्र अनिवार्यको मिति सार्न गृहमन्त्रीलाई एमाले नेताहरूको आग्रह (भिडिओ)

    राष्ट्रिय परिचयपत्र अनिवार्यको मिति सार्न गृहमन्त्रीलाई एमाले नेताहरूको आग्रह (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।

    बुधबार नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री रवि लामिछानेलाई भेटेर काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेको हो ।

    सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौंलगायतका २८ जिल्लामा आगामी साउन १ गतेदेखि अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेको छ । वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता लिनका लागि पनि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि समयमै राष्ट्रिय परिचयपत्र नहुँदाको अवस्थामा भत्ता नरोक्न नेताहरूले माग गरेका छन् ।

    काठमाडौंका पालिकाहरूमा सीमित स्रोत, साधन रहेको र समयमै सबैलाई परिचयपत्र उपलब्ध गराउन नसक्ने भन्दै समयावधिमा पुनःविचार गर्न गृहमन्त्रीलाई आग्रह गरिएको नेता श्रेष्ठले बताए । उनले आवश्यक पर्दा समय थप गर्न आग्रह गरिएको र गृहमन्त्रीले सकारात्मक रूपमा लिएको जानकारी दिए ।

    उनले भने, ‘त्यो अवधिभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेर नम्बर लिन नसक्दा आजसम्म लिई आएको वृद्ध भत्ता लिन पाइएन । यो ज्येष्ठ नागरिकहरूको पीडाको विषय भयो । यसलाई व्यवहारिक गर्नको लागि आवश्यक पर्दा यसको समय थप गर्नुपर्ने स्थिति पनि हुन्छ । गृह प्रशासनले पनि यसलाई सहजीकरणको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण गराइयो । गृहमन्त्रीले हाम्रो कुरालाई अत्यन्त सकारात्मक ढंगले लिनुभएको छ । कुनैपनि हालतमा व्यवहारिक रूपमा समस्या उत्पन्न हुन नदिने गरी सुझावलाई कार्यान्वयन गर्छु भन्नुभयो ।’

  • रास्वपा प्यूठान संयोजक सुमन सुवेदीद्वारा पार्टी परित्याग

    रास्वपा प्यूठान संयोजक सुमन सुवेदीद्वारा पार्टी परित्याग

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् ।

    मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सुबेदीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    उनले रास्वपा परित्यागको घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टिको कुनैपनि जिम्मेवारीमा आफू नरहेको जनाएका छन् । रास्वपा लुम्बिनीका अध्यक्ष देवराज पाठकले सुवेदीले लिएको जिम्मेवारी पूरा गर्न नसकेकाले आफै छाडेको नेपाल प्रेसलाई बताएका छन् ।

    ‘उहाँले आफै नेतृत्व दावी गरेर नै जिम्मेवारी लिनुभएको थियो तर नतिजा आएको थिएन, केन्द्रले नै उहाँको रिपोटिङमा सन्तोष मानेको अवस्था थिएन, काम गर्न नसकेरै छाडेको आवस्था हो’, उनले भने ।

  • ऋणको भार चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्था छ : वाग्ले

    ऋणको भार चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्था छ : वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशले सोचेको जस्तो ऋणको भार लिएर चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले नेपालले लिएको ऋणको भारीमा सचेत हुनुपर्ने अवस्थामा पुगेको बताएका हुन् । सरकारको थपिएको ऋण र पहिला लिएको ऋणले पनि आर्थिक वृद्धि गर्दा उक्त ऋण ठिकै हुने उनको भनाइ छ ।

    वाग्लेले भने- अर्थमन्त्री ज्युले यसपालिको बजेटमा १४१९ अर्ब राजस्व उठाउँछु । त्यसको झन्डै १६० अर्ब तलब दिन्छु । ५२ अर्ब वैदेशिक अनुदान लिन्छु । यसरी सङ्घीय आम्दानी करिब १३ सय १३ अर्ब जति हुन्छ भन्नुभएको छ । १४ सय ९३ अर्ब खर्च गर्छु भन्नुभएको छ । जसमा ७३२ चालू र ३५२ पुँजीगत र ४०९ वित्तीय हस्तान्तरण गर्छु भन्नुभएको छ ।

    यसरी वित्तीय व्यवस्थापन गर्नुपर्ने घाटा १८० अर्बको हिसाब अर्थमन्त्रीले ल्याएर आउनुभएको छ । त्यसको ३३० अर्ब आन्तरिकबाट उठाउँछु । तर, पहिला पहिलाको ऋण २४६ अर्ब जति तिर्छु र ८४ अर्ब ऋण थप्छु भन्नुभएको छ आन्तरिकबाट । बाह्य ऋणमा २१६ अर्ब उठाउँछु, ५४ अर्ब पुरानो ऋण तिर्छु भन्नुभएको छ । र १६४ अर्ब विदेशी ऋण थप्छु भन्नुभएको छ ।

    यसरी थप्ने भकारीमा अहिले नै करिब २४ सय अर्ब ऋण रहेको छ । यो स्टक भयो । र अहिलेको प्रभाव उहाँले करिब १८० अर्ब जति थप्छु भन्नुभएको छ । यो ठिकै हो, यदि थपिएको ऋण र पहिला लिएको ऋणले पनि आर्थिक वृद्धि गर्ने हो भने । तर, अहिले हामी त्यो हैसियतमा पुगेका छैनौँ । किनभने, विगत १० वर्षमा मात्रै हामी अर्थतन्त्रको आकारको अनुपात २३ प्रतिशत एकै पटक ४३ प्रतिशतमा पुगेका छौँ ।

    २० प्रतिशतको फड्को यो १० वर्षमा ठुलो हो । ठुला ठुला परियोजना बनेर विकास भएको भए चिन्ता गर्नुपर्ने विषय थिएन । त्यतातिर भएन । कहाँ खर्च गरेछौँ यो २० प्रतिशत बिन्दु अल्लि कति भूकम्पमा खर्च गरेका छौँ भने , कोभिडमा अलिकति खर्च गरेका छौँ, सङ्घीयतामा अल्लि अल्लि खर्च भएको छ र ठुला पूर्वाधारका नाममा लिएका केही थप ऋणहरूले यो भार थपिएको छ ।

    त्यसैले सोचेको जस्तो ऋणको भार लिएर घिउ नै खायौ त म भन्दिन । ठ्याक्कै चिन्ताजनक ठाउँमा नपुगे पनि सचेत हुनुपर्ने अवस्थामा पुगेका छौँ । अब नयाँ स्रोत र नयाँ सर्तको खोजी गर्नुपर्‍यो । मूल मन्त्र आन्तरिक अनुशासनमा बसेर प्राइभेट क्यापिटलतिर जानुपर्छ ।

  • विश्वप्रकाशको टिप्पणी- सरकारमा भएकाहरू सहकारी र गिरीबन्धुबाट पार्टी अध्यक्षलाई जोगाउन केन्द्रित छन् (भिडिओ)

    विश्वप्रकाशको टिप्पणी- सरकारमा भएकाहरू सहकारी र गिरीबन्धुबाट पार्टी अध्यक्षलाई जोगाउन केन्द्रित छन् (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार अहिले सिंगो तागतमा नभएको टिप्पणी गरेका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका कार्यक्रममा बोल्दै सरकारमा भएका दलहरुलाई आआफ्नो चिन्ता भएको बताए ।

    उनले भने, ‘एउटालाई आफ्नो अध्यक्ष जोडिएको सहकारीबाट मुक्त गराउनु छ । अर्कोलाई आफ्नो अध्यक्ष जोडिएको गिरीबन्धु जग्गा प्रकरणबाट जोगाउन सकियोस् भन्ने चिन्तामा छ । प्रधानमन्त्रीलाई कसरी गणितको रक्षा गर्ने भन्ने मात्रै छ । प्रधानमन्त्रीको दुःख हेर्छु, उपप्रधानमन्त्रीले बोलेको कुराको खण्डन गरेर बस्नुपरेको छ ।’

    उनले सरकार बलियो नभएकाले अहिले प्रतिपक्ष दल कांग्रेसलाई बलियो बनाएर जनताको विश्वास जित्नुपर्ने उनको भनाइ छ ।

     

  • खल्तीको मान्छे राजदूत पठाउँदा भू-राजनीतिक रूपमा कमजोर हुँदैछौं : रास्वपा सांसद झा (भिडिओ)

    खल्तीको मान्छे राजदूत पठाउँदा भू-राजनीतिक रूपमा कमजोर हुँदैछौं : रास्वपा सांसद झा (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजदूत नियुक्तिको प्रक्रिया सुधार गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै खल्तीको मान्छे पठाउँदा पद अस्वीकार गरेको विज्ञप्ति आउन थालेको बताए ।

    उनले भने, ‘अहिले पनि हामी भूराजनीतिक रूपमा कमजोर कदम चाल्दैछौं । राजदूतहरू खल्तीबाट नाम निकालेर कसैको नाम पठाउँदा मेरो नाम किन पठाइदिएको ? म यो अस्वीकार गर्छु भनेर विज्ञप्ति आउन थाले । हामीले कमजोर रूपमा नियुक्ति प्रक्रियाको अभ्यास गर्दै गर्दा भूराजनीतिक रूपमा हामी कमजोर हुँदैछौं ।’

    राजदूत देशको प्रतिनिधित्व हुने भएको उल्लेख गर्दै भने, सरकारले कमजोर प्रतिनिधि पठाउँदै गर्दा आफ्नो कमजोरीहरु पठाउँदैछ । त्यसैले यसलाई सुधारिएको अभ्यास गरियोस् ।

    एमालेको कोटाबाट सरकारले दक्षिण कोरियाको लागि नेपाली राजदूतमा सिफारिस गरेको सुशील प्याकुरेलले पद अस्वीकार गरेपछि उनले राजदूत नियुक्ति प्रक्रियामा प्रश्न उठाएका हुन् ।

  • पार्टीबाट राजदूत सिफारिसका लागि रास्वपाले बनायो मापदण्ड

    पार्टीबाट राजदूत सिफारिसका लागि रास्वपाले बनायो मापदण्ड

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलबाट राजदूत सिफारिस गर्न मापदण्ड बनाएको छ । रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा गठित कार्यदलले मापदण्ड बनाएको हो ।

    सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ३५ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने, कालोसूचीमा नपरेको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको हुनुपर्ने मापदण्ड छन् ।

    कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको, नियुक्ति हुँदा कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको हुनुपर्ने छ ।

    त्यसै गरी भ्रष्टाचार वा नैतिक पतनदेखि फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नियुक्त हुने मुलुकमा कुनै प्रकारको हित बाझिने अवस्था नरहेको र लाभको पद धारण गरी वन नगरी विदेशी राष्ट्रले नियुक्त गरेको जिम्मेवारीमा कार्यरत भए अवकाश लिएको १० वर्ष पूरा भएको हुनुपर्ने उल्लेख छ ।

    यो मापदण्डमा रहेर असार १४ गतेसम्म फारम भरी आफ्नो इच्छा जाहेर गर्न वा व्यक्ति सिफारिस गर्न रास्वपाले आग्रह गरेको छ ।

    यस्तै कूटनीतिक र राजनीतिक अनुभाव, नेतृत्व क्षमता, अध्ययन अनुसन्धान तथा विशेषज्ञताका आधारमा छनोट गरिने पनि रास्वपाले जनाएको छ ।

  • घण्टाघरको घडी मर्मत गराउन रास्वपा सांसद शाहले गराए ध्यानाकर्षण (भिडिओ)

    घण्टाघरको घडी मर्मत गराउन रास्वपा सांसद शाहले गराए ध्यानाकर्षण (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले घण्टाघरको घडी मर्मत गराउन ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद शाहले घण्टाघरको मर्मत गर्न ध्यानाकर्षण गराएका हुन् । उनले काठमाडौंको चिनारीसँगै ऐतिहासिक महत्व बोकेको घण्टाघरमा रंगरोगन गरेर मात्र नपुग्ने बताउँदै घडी समेत चलाउनु आवश्यक रहेको बताए ।

    सांसद शाहले घण्टाघरमा मर्मत गर्नुपर्ने जिम्मेवारी काठमाडौं महानगरको होकी पुरातत्व विभागको हो भनेर प्रश्न गरेको छ ।

    उनकाे भनाइ यस्ताे छ

    घण्टीघरबाट निस्केको आवाज़ त ठूलो हुँदैछ तर घण्टाघरको आवाज भने बन्द भएको छ ।

    कुनै बेला शहरमा ध्वनि प्रदूषण कम थियो,घण्टाघरको घड़ीको आवाज जताततै सुनिन्थ्यो , राजधानीबासीहरु समय थाहा पाउन घण्टाघरको घडीको भर थियो।

    नेपाली सेनाले दिउँसो १२ बजेको समय घण्टाघरबाट् यकिन गर्थ्यो र तोप पड्काउँथ्यो। प्रधानमन्त्री वीरशमशेरले सन् १८७५ सालमा बनाएको पुरातात्विक र ऐतिहासिक महत्वको घण्टाघर आज अलपत्र अवस्थामा छ।

    काठमाडौँ शहरकै समयसूचक बनेको घण्टाघर डिजिटल युगको शुरूआतसँगै छायामा पर्दै गएको छ

    घण्टाघरलाई पुरानै अवस्थामा फर्काएर घडी चलाउने कुरामा अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सरकार कसैले पनि पहल गरेका छैनन्।
    यसलाई हेर्ने पुरातत्व विभागले हो या काठमाण्डू महानगर आफैले ?

    काठमाण्डूको चिनारीसँगै ऐतिहासिक महत्व बोकेको घण्टाघरमा रंगरोगन गरेर मात्र पुग्दैन यसको घडी समेत चलाउनु आवश्यक छ। अन्यथा यो ऐतिहासिक धरोहरले ठिंग उभिएर गणतन्त्र र संघीयता लाई जिस्काई नै रहनेछ ।  यस तर्फ सरकारको विशेष ध्यानाकर्षण होस् ।

  • गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- जीबी राईको लोकेसन पत्ता लाग्यो भनेर स्टन्टबाजी गर्ने ? (भिडिओ)

    गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- जीबी राईको लोकेसन पत्ता लाग्यो भनेर स्टन्टबाजी गर्ने ? (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईको लोकेसन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनी गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।

    प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले गृहमन्त्री रवि लामिछानेले लोकेसन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनी प्रश्न गरे । भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर उनले आशंकासमेत जनाए ।

    शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ? देशलाई जीबीको लोकेसन चाहिएको होइन, जीबी राई चाहिएको हो । अब त्यो लोकेसनमा गेट बनाएर, कार्पेट ओछ्याएर अनि बल्ल द्विपक्षीय वार्ता हुने हो ? गृहमन्त्रीले लोकेसन पत्ता लागिसक्यो भनेको ४ दिन भयो । लोकेसन पत्ता लागिसकेपछि पनि ४ दिन किन लाग्छ ? लोकेसन पत्ता लागिसकेको भनेको जीबी राईलाई के भगाउनलाई हो माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने ? कि सरकार चाँडै नै जीबी राईलाई हाजिर गराउँदैछ ? देशलाई जीबीको लोकेसन चाहिएको होइन । जीबी राई चाहिएको हो ।’

    मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धि नचाहिने शर्माको भनाइ थियो ।

  • ‘समीक्षा यात्रापछि रास्वपा महामन्त्रीको संश्लेषण: नसच्चिए सकिन्छौं, बोल्ड निर्णय गर्नुपर्छ’

    ‘समीक्षा यात्रापछि रास्वपा महामन्त्रीको संश्लेषण: नसच्चिए सकिन्छौं, बोल्ड निर्णय गर्नुपर्छ’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई वर्षको यात्रा पूरा गर्दा महामन्त्री डा. मुकुल ढकाल एक महिना लामो ‘समीक्षा यात्रा’ सकेर अस्ति काठमाडौं फर्किए । ८० किलोमिटर पैदलसहित ४ हजार २१६ किलोमिटरको सडक यात्राबाट उनले निकालेको निष्कर्ष पार्टीका लागि त्यति सुखद छैन ।

    गत वैशाख २१ गते बसेको रास्वपा सचिवालय बैठकले देशभरको जनमत बुझ्न ढकाललाई समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो । त्यसबमोजिम गत जेठ ५ गते रास्वपा सभापति रवि लामिछानेले उनलाई घन्टी दिएर पठाएका थिए । ढकालले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे प्रदेश र जिल्ला तहबाट रिपोर्टिङ लिने र नागरिकका चासोहरु बुझ्ने जिम्मेवारी पाएका थिए ।

    गत जेठ ६ गते रास्वपा केन्द्रीय कार्यालय घन्टीघरबाट यात्रा सुरु गरेका डा. ढकालले ३८ जिल्लाको सिमाना छुन भ्याए । यस क्रममा २ हजार ७९ जनाभन्दा बढीसँग दोहोरो संवाद र अन्तरक्रिया गरेको उनले बताएका छन् । हिमाल, पहाड र तराईका सुगमदेखि दुर्गम बस्तीसम्म पुगेर जनभावना बुझ्ने काम गरेका थिए । ठीक एक महिनापछि अस्ति सुरुङ मार्गबाट काठमाडौं प्रवेश गर्दै उनले यात्रा समापन गरे ।

    डा. ढकाल अहिले आफ्नो यात्रा प्रतिवेदनको तयारीमा जुटेका छन् । तर, शुक्रबार उनले फेसबुकमा लेखेको स्टाटसलाई उनले तयार गर्ने प्रतिवेदनको ‘टिजर’ का रुपमा हेर्न सकिन्छ । डा. ढकालले पार्टीमा केही परिवर्तन गरी अघि नबढेको खण्डमा गाह्रो दिनहरु सुरु भएको निष्कर्ष सुनाएका छन् ।

    उनले लेखेका थिए, ‘राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो ? गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौं । यो प्रश्न आइसक्यो र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीले हामीमा केही परिवर्तन गरी अघि बढेनौं भने हाम्रा गाह्रा दिन शुरू भए । पार्टी जोगाउने हो, नेपाली जनताको आशा, भरोसा जगाइराख्ने हो भने हामीले उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानपर्छ । मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किदैनौं ।’

    नेपालप्रेससँग संक्षिप्त कुराकानी गर्दै ढकालले रास्वपाको लोकप्रियतामा ह्रास आएको महसुस गरेको स्वीकार गरे ।

    ‘जनतामा अझै पनि रास्वपाप्रति आशा छ । तर, पहिलेको क्रेज अलिकति सेलाएको महसुस मलाई पनि भयो’, उनले भने, ‘हामी नसच्चिने हो भने सक्किने बाटोमा जान सक्छौं ।’

    जनभावनाअनुरुप देशका मुख्य एजेन्डाहरुमाथि पार्टीले आफ्नो दृष्टिकोण बदल्नुपर्ने संकेतसमेत उनले गरेका छन् । यद्यपि, यसलाई मूर्त रुपमा प्रष्ट्याएनन् ।

    ‘म सबै कुरा प्रतिवेदनमा समेट्नेछु । जनताको भावनाअनुसार चल्न सकिएन भने हाम्रो भविष्य छैन । त्यसैले मैले दिने प्रतिवेदनमा टेकेर पार्टीले आवश्यक निर्णय लिने विश्वास छ’, उनले भने ।

    देशमा परिवर्तनकारी एजेन्डाका रुपमा ल्याइएका गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा डा. ढकालले जनअभिमत बुझ्ने प्रयास गरेका थिए । गणतान्त्रिक व्यवस्थासँग जनता सन्तुष्ट हुन नसकेको तथा धर्मनिरपेक्षता र संघीयतालाई जनताले पटक्कै नरुचाएको संश्लेषण उनको छ ।

    अहिले पार्टी सरकारबाट हटिहाल्नुपर्ने परिस्थिति भने नरहेको डा. ढकालले प्रष्ट्याए । उनले भने, ‘त्यो गर्‍यौं भने अपरिपक्वता हुन्छ । हामीले सरकारमा रहेर नै आफूलाई प्रुफ गर्नुपर्छ ।’

    केही दिनमा सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउने डा. ढकालले जानकारी दिए ।

  • रास्वपाले नयाँ किसिमको पहिचान बनाउन खोज्नु सकारात्मक छ : विनोद चौधरी (भिडिओ)

    रास्वपाले नयाँ किसिमको पहिचान बनाउन खोज्नु सकारात्मक छ : विनोद चौधरी (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीले दुई वर्षमा नयाँ किसिमको पहिचान बनाउन खोज्नु सकारात्मक रहेको बताएका छन् ।

    शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे वार्षिकोत्सवको अवसरमा गरिएको चियापान कार्यक्रममा सहभागी हुँदै सञ्चारकर्मीहरुसँग बोल्दै सांसद चौधरीले यस्तो बताए । उनले विगत दुई वर्षदेखि संसदमासँगै रहेको र नयाँ सोच र पहिचान बनाउन सक्ने सांसदहरु रहेको बताए । उनले संसदीय अभ्यासमा सबै प्रभावहरु तत्काल नपर्ने भन्दै प्रभाव पार्न सजिलो नभएको बताए ।

    उनले भने, ‘हामी दुई वर्षदेखिसँगै छौं । नजिकबाट देखिरहेको छु । नयाँ सोच,जाँगर बोकेका धेरै सांसदहरु हुनुहुन्छ । उहाँहरुले आफ्नो तर्फबाट नयाँ पहिचान बनाउनको लागि हरेक किसिमको जमर्को गरेको देखिरहेको छ । त्यो एउटा सकारात्मक कुरा हो । तत्काल सबै कुरामा सबै प्रकारका प्रभाव पर्छन भन्ने होइन । त्यति सजिलो काम छैन । संसदीय अभ्यास हो । यसको थालनी राम्रोसँग गर्नु भएको छ । आगामी दिनमा झन राम्रो हुँदै जाओस् ।’

    उनले नयाँ पार्टी भएपनि संसदीय अभ्यास राम्रो गरिरहेको बताए । उनले आगामी दिनमा बलियो र सफल बन्न सक्नुपर्ने बताए ।

  • उपप्रधानमन्त्री लामिछानेको दाबी- रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिनसक्छौँ

    उपप्रधानमन्त्री लामिछानेको दाबी- रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिनसक्छौँ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरुले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उनले शुक्रबार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन् । उनले सञ्चारकर्मीहरुमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरुले पूरै इमान्दारिताका साथ कोशिस गरिरहेको जिकिर पनि गरे ।

    सरकारमा गएको सय दिन जतिभएको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले गज्जवले मन्त्रालयहरु चलाउने आधारहरु बनेको बताए । उनले आफ्नो पार्टीलाई पुराना पार्टीजस्तो नहोस भन्नका लागि आम जनताले घण्टी बजाउने गरेको टिप्पणी पनि गरे । उपप्रधानमन्त्री लामिछानेले रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठूलो जिम्मेवारीमा पुगेको अनुभुति भएको पनि बताए ।

    उपप्रधानमन्त्री लामिछानेले यति धेरै अवधिले रास्वपालाई धेरै ठूलो भारी नबोकेको भनेर आलोचना गर्नु अन्याय हुने पनि बताए ।

    यस्तो छ लामिछानेको भनाइः

    आज हामीले यसो समिक्षा पनि गरेर हे¥यौं–कस्तो रहेछ, के रहेछ ? भनेर । समग्र रुपमा असाध्यै धेरै जिम्मेवारीपूर्ण भूमिकामा आईपुगिएछ शुरु गर्दागर्दै भन्ने कुराको महसुश भएको छ । र, २ वर्ष बितिरहँदाखेरी र आज जुन ठाउँमा रास्वपा राष्ट्रिय राजनीतिमा उभिएको छ । यसले हामीलाई असाध्यै धेरै जिम्मेवार बनाएको रहेछ भन्ने कुराको महशुस गराएको छ । जनताको अपेक्षा असाध्यै धेरै ठूलो छ ।

    अपेक्षा नै असाध्यै धेरै छ । हामी नयाँ राजनीतिक दल भएको हुनाले फरक भईदिए हुन्थ्यो, पुरानोसँग नगईदिए हुन्थ्यो । सरकारमा नगईदिए हुन्थ्यो । भन्ने जुन आम चासो छ नि । त्यो चाहीँ किन भनिरहन्छन् भने सरकारमा जानु भनेको आम नागरिकको आजसम्म बुझाई के हो भने सरकारमा जानु भनेको राज्य दोहन गर्नु भयो ।

    मान्छे आफ्नो पाल्नु हो, ठेक्कापट्टा गर्नु हो । भ्रष्टाचार गर्नु हो भन्ने भएको भएर यी आफ्नो मान्छेहरु नगई दिए हुन्थ्यो भन्ने त्यो सोच सदभावका साथ राखिएको हो । तर हामीले एउटा आधार बनाएका छौं । किनभने २१ सिटले हामीले सदनमा एक वर्ष गज्जवको प्रतिपक्ष भएका हौं । सरकारमा भर्खर सय दिन जति भएको छ । गज्जवको ढंगले मन्त्रालयहरु चलाउने आधारहरु बनेका छन् ।

    आम नागरिकको अपेक्षा अवश्यक पनि ठूलो छ । त्यो अपेक्षालाई परिपूर्ति गर्नका लागि हामीलाई चुनौति पनि ठूलो छ । त्यही ढंगको अभ्यास गरेर हामी त्यसको समिपमा पुग्छौं । त्यसलाई मिट गर्ने, म्याच गर्ने पूरै इमान्दार कोशिस गर्छौं । हामीलाई पुरानै जस्तो भनेर चाँही सचेत गराउनका लागि घण्टी बजाईदिए जस्तो लाग्छ । तपाईले आज पनि हाम्रो तौरतरिका हेर्नु भयो होला ।

    गत वर्षको पनि हेरिरहनु भएको होला । मन्त्रालयमा हामीले गरिरहेको काम हेरिरहनु भएको होला । हाम्रो मन्त्रालयमा भ्रष्टाचार हुँदैनन भन्ने कुराको निश्चिन्तता, ग्यारेन्टी दिनसक्छौ । हामी अननेशेसरी मोलाहिजामा जाँदैनौं भन्ने सुनिश्चितता हामी दिन सक्छौं । त्यसले गर्दा फरक धेरै छन । तर यति छोटो समयमा हामी कसरी फरक छौं, कसरी पृथक छौं ? अहिले देखाउन कहाँ पाएका छौँ र ।

    बाँकी नै छ । आधार त भर्खरै बन्यो । यति लामो बेथितिका बाबदुत एउटा राजनीतिक धार जन्मिएको छ । ३३, ३४ वर्षको एउटा प्रशव पीडा पछि । यसलाई सबै भारी बोक भन्नुहुन्छ भने त्यो अन्याय होला । तर भारी बोक्न हामी तयार हुँदैछौं । हुन्छौं, सक्छौं जस्तो लाग्छ मलाई ।

     

  • घण्टीघरबाट रविले भने- निर्मम समीक्षा गरेर अघि बढ्छौं (भिडिओ)

    घण्टीघरबाट रविले भने- निर्मम समीक्षा गरेर अघि बढ्छौं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा सहभागी भएका एक सय दिनमा आफूहरूले मन्त्रालय सञ्चालन गर्ने बलियो आधार बनाएको बताएका छन्।

    स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनताको अपेक्षा पूरा गर्ने चुनौतीका साथ आफूहरूले काम गर्ने बताए।

    उनले भने, ‘२१ सीटले सदनमा हामी गज्जबको प्रतिपक्ष भएकै हौँ। सरकारमा एक सय दिन जति भएको छ। गज्जबले सरकार चलाउने आधार बनेका छन्। नागरिकको अपेक्षा ठूलो छ। त्यो पूरा गर्न ठूलो चुनौती छ। त्यसलाई ख्याल गरेर हामीले इमानदार कोसिस गर्छौँ।’

    उनले आफू पुराना दलहरूभन्दा फरक भएको जिकिर गरे।

    उनले भने, ‘हामी मासमा नै विश्वास गर्छौँ। पार्टीलाई सानो संरचना बनाएका छौँ। सबै विषयलाई महाधिवेशनअघि नै स्पष्ट पार्नु छ। केही कुरा जलेश्वर बैठकले संकेत गरेको छ। भर्खरै महामन्त्रीले समीक्षा यात्रा गरेर आउनुभएको छ। निर्मम समीक्षा हुन्छ भन्नुभएको छ। उहाँ आम नागरिकको प्रतिक्रिया सुनेर आउनुभएको छ। हामी मन्त्रालयमा छिरे पनि पार्टीको लेयर त घरघर गाउँमा छ हामीले जमिन त छाडेका छैनौँ। त्यहाँबाट आएका प्रतिक्रियाहरू निर्मम छन् भन्ने छ त्यसलाई समीक्षा गरेर अगाडि बढ्छौँ।’

  • घण्टीघरमा नेताहरूको जमघट (तस्बिरहरू)

    घण्टीघरमा नेताहरूको जमघट (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित चियापान समारोहमा प्रमुख दलका नेता एवं विभिन्न क्षेत्रका अगुवाहरूलाई बोलाइएको थियो ।

    कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, झलनाथ खनाल, उपेन्द्र यादव, राजेन्द्र लिङ्देनलगायतका नेता पुगेका छन् । चियापानस्थलमा रास्वपाको चुनाव चिन्ह घण्टी पनि झुण्ड्याइएको छ । त्यस्तै गाँजा, अल्लोको रेसाबाट बनाइएको उत्पादनसमेत प्रदर्शनीमा राखिएको छ ।

    चियापान समारोहमा आउनेहरूलाई सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री मुकुल ढकालसहित पार्टीका नेता र सांसदहरूले स्वागत गरिरहेका छन् ।

    पार्टी स्थापना भएको दोस्रो वर्ष पुग्दा रास्वपा प्रतिनिधिसभामा २१ सीटका साथ रास्वपा चौथो ठूलो दल बनिसकेको छ । रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा प्रचण्ड सरकारमा ४ जना मन्त्री छन् ।

     

  • रास्वपाको २ वर्षे समीक्षा: भिरमा सिस्नु समाउँदै हिँडिरहेका छौं, पार्टी जोगाउन बोल्ड निर्णय चाहिन्छ

    रास्वपाको २ वर्षे समीक्षा: भिरमा सिस्नु समाउँदै हिँडिरहेका छौं, पार्टी जोगाउन बोल्ड निर्णय चाहिन्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको उद्देश्य स्पष्ट भए पनि भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेको बताएका छन् । पार्टी स्थापना भएको दुई वर्ष पुगेको अवसरमा शुभकामना दिँदै उनले आफूहरु उद्देश्य र गन्तव्यमा स्पष्ट रहेको बताए ।

    पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री लामिछानेले भनेका छन्, ‘गन्तव्य स्पष्ट छ । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिडिरहेका छौं । कैयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन ।’

    उनले वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै यो यात्रा सम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् ।

    उनले थपेका छन्, ‘विश्वास गर्ने एकदुई जनामात्र हुँदा त हिँड्ने आँट गरियो भने आज त हामीसँग लाखौंलाख शुभेच्छुकहरु हुनुहुन्छ। २ वर्षअघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कैयौं विश्लेषकहरु आज रास्वपा खस्कँदो छ भन्ने विश्लेषणवाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही टक शोमा बोल्न घाँटी र टाइ मिलाउँदै होलान् । तर, हामी हाम्रो यात्रामा अविचलित छौं ।’

    देश तथा विदेशका टोलटोल, बस्तीबस्तीका आममान्छेको आवाज बोल्दाबोल्दै त्यो आवाजलाई घण्टीमा रुपान्तरण गरेर २ वर्षमा हल्ला नै नगरी सिंहदरबार पसिसकेको उल्लेख गरेका छन् ।

    ‘२१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं’ उनले भनेका छन्, ‘घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो । बाँकी काम हामी गर्छौं, तपाईंहरु न चिन्ता लिनुस् न त पिर गर्नुस् ।’

    यस्तै महामन्त्री डा. मुलुक ढकालले रास्वपा जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो भन्ने गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि आफूहरु खडा भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘यो प्रश्न आइसक्यो र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीले हामीमा केही परिवर्तन गरी अघि बढेनौं भने हाम्रा गाह्रा दिन शुरू भए । पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइराख्ने हो भने हामीले उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानपर्छ । मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किदैनौं ।’

  • प्रचण्ड, ओली र रवि लामिछानेबीच राजदूतमा भागबन्डा मिलेपछि आजै नियुक्तिको तयारी

    प्रचण्ड, ओली र रवि लामिछानेबीच राजदूतमा भागबन्डा मिलेपछि आजै नियुक्तिको तयारी

    काठमाडौं । सत्तारूढ तीन शीर्ष दलबीच रिक्त ११ देशको राजदूतमा भागबन्डा मिलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच हिजो बसेको बैठकले राजदूतमा भागबण्डा मिलाएको हो।

    तीन दलका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एमालेलाई ८, रास्वपालाई २ र माओवादीले १ देशको राजदूत पाउने सहमति बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    हिजो सहमति भएपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकले आज राजदूत नियुक्ति गर्ने तयारी गरेको छ। त्यसका लागि ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

    सत्ता समीकरण फेरिएपछि कांग्रेस र जसपाको कोटाबाट नियुक्त भएका ११ देशका राजदूतलाई सरकारले जेठ २४ गते फिर्ता बोलाउने निर्णय गरेको थियो।

  • रास्वपाले दोस्रो स्थापना दिवस मनाउँदै

    रास्वपाले दोस्रो स्थापना दिवस मनाउँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज दोस्रो स्थापना दिवस मनाउँदैछ ।

    सो अवसरमा रास्वपाले आज दिउँसो १ बजेदेखि पार्टी केन्दिय कार्याल वनस्थलीमा चियापान समारोहको आयोजना गरेको छ ।

    पार्टी स्थापना भएको दोस्रो वर्ष पुग्दा रास्वपा प्रतिनिधि सभामा २१ सिटका साथ चौथो ठूलो दल बनिसकेको छ । रास्वपाले पार्टी स्थापना दिवसको अवसरमा गत वर्ष पनि चियापान समारोह गरेको थियो ।

    रास्वपाको चियापानमा विभिन्न राजनीतिक दलका नेताहरुलाई बोलाइएको छ ।

  • पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौं : गृहमन्त्री लामिछाने (भिडिओ)

    पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौं : गृहमन्त्री लामिछाने (भिडिओ)

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।

    बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरीकन सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरेका हुन् ।

    उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए । उनले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकहसँग अन्तरक्रिया गर्ने बताए ।

    ‘बजेट हामीले सकेजति, गर्नसके जति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ । पदको दुरुपयोग गरिएको छैन । पदको सदुपयोग गरिएको छ । आवश्यकताअनुसार सकेको गरिएको छ । बजेट पास गरिसकेपछि उहाँहरुसँग चितवन नै गएर अन्तरक्रिया गर्नेछु’, उनले भने, ‘आवश्यकताअनुसार जसरी मलाई नागरिकहरुले भन्दै आउनुभएको थियो, मैले पनि यो आवश्यकता नै हो है भनेर प्राथमिकीकरण गरेर गरेको छु । नागरिकको आवश्यकताअनुसार बजेट विनियोजन गरेको छु । बजेट प्रणालीमै समस्या छ । जुन ढंगले बजेट बनाउँछौँ, छलफल गर्छौं त्यो प्रणालीमा नै समस्या छ । छलफल स्वभाविक छ ।’

    उनले बजेट निर्माणको प्रणालीमा नै समस्या रहेको उल्लेख गरे ।

  • विश्वप्रकाशको टिप्पणी- छानबिन समिति बन्दा पनि राजीनामा नदिएपछि गृहमन्त्रीमा नैतिकताको खडेरी देखियो (भिडिओ)

    विश्वप्रकाशको टिप्पणी- छानबिन समिति बन्दा पनि राजीनामा नदिएपछि गृहमन्त्रीमा नैतिकताको खडेरी देखियो (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमनत्री रवि लामिछानेमा नैतिकताको खडेरी परेको टिप्पणी गरेका छन्। सहकारी प्रकरणमा संसदीय बिशेष छानबिन समिति बन्दा पनि राजीनामा नदिएपछि नैतिकताको प्रश्न उठेको बताए।

    महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले नैतिकताको खडेरी परेको छ, नयाँ दल आउँदैगर्दा त हामीलाई प्रश्न गरिनुपर्ने, संसदीय छानविन समिति बन्यो, कुनैबेला समिति बन्दै गर्दा डा. रामशरण महत, जनार्दन शर्माले राजीनामा दिनुभयो। अहिले पनि समिति बनेको छ तर गृहमन्त्रीले राजीनामा दिनुभएन। म राजीनामा माग्न उभिएको छैन।’

    उनले कांग्रेसले गृहमन्त्रीको राजीनामा नमाग्ने पनि बताए।

    उनले थपे, ‘हामी जान्दछौं नयाँ दलको डिसनेरिमा प्रश्न र आवेग छ के गरौंला भन्ने उर्जा पनि छ। तर, आवेग र आक्रोश भएजस्तै नैतिकता छ कि छैन हामी सोध्न चाहँदैनौं। जसको डिसनेरिमा नैतिकता छ कि छैन भनेर त्यही पार्टीभित्र प्रश्न उठेको छैन। कांग्रेस अगाडि उभिएर राजीनामा दिनुस् भन्दै भन्दैन।’

  • आफ्नो पहिचानको निम्ति रास्वपाका मन्त्रीहरूले राजीनामा पत्र गोजीमा छ भन्नुभएको होला : प्रधानमन्त्री

    आफ्नो पहिचानको निम्ति रास्वपाका मन्त्रीहरूले राजीनामा पत्र गोजीमा छ भन्नुभएको होला : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोजीमा राजीनामा पत्र बोकेर हिँड्नु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिचान भएको टिप्पणी गरेका छन्।

    भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजीनामाको विषय आफ्नो पहिचानको लागि उठाएको हुनसक्ने बताए।

    उनले भने, ‘यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो नि ! हामी त्यस्ता हौं भनेर। त्यो चाहिँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला। तर मैले बुझेकोमा त्यस्तो केही छैन।’

    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफूहरूले खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्नुपर्ने ठाउँमा पुगेको बताएका थिए।

  • एनजीओ प्रायोजित खाजा अर्डर गरिएपछि गृहमन्त्रीले बहिस्कार गरे राज्य समितिको बैठक

    एनजीओ प्रायोजित खाजा अर्डर गरिएपछि गृहमन्त्रीले बहिस्कार गरे राज्य समितिको बैठक

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठक बहिस्कार गरेका छन् ।  अनावश्यक  तडकभडक गरिएकाे  भन्दै उनी बैठकमा सहभागी नभई हिँडेकाे स्राेतले बतायाे ।

    गृहमन्त्री लामिछानेलाई आज विहान साढे ७ बजे समितिले छलफलका डाकेको थियो । बोलाइएको समयमै लामिछाने बैठकस्थलमा पुगेका थिए । तर आजको बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि गृहमन्त्री भड्किएको स्रोतको भनाइ छ ।

    खाजाकाे प्याकेटमा चना, फलफुल, जाम-पाउराेटी, अण्डा, आलु भुजुरी आदि थिए ।

    स्रोतका अनुसार समितिको बैठकमा पहिलोपटक कुनै एनजीओले खाजाको प्रायोजन गरेको थियो । समितिमा गृहमन्त्रीको भनाईलाई उदृत गर्दै स्रोतले भन्यो, ‘यो भन्दा अगाडि यसरी एनजीओबाट खाजा ल्याइएको देखिएको थिएन । यो प्रवृति ठीक भएन । ‘

    त्यसपछि उनी छलफलमा सहभागी नभई बैठक छोडेर हिँडेका थिए । समितिले आज निजामति सेवा विधयेकका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई  निम्याएकाे थियाे ।

  • रविको दावी- सय दिन सरकारमा बसेर विधि बनायौं, तर मान्छेहरु माछा खोज्दैछन् (भिडिओ)

    रविको दावी- सय दिन सरकारमा बसेर विधि बनायौं, तर मान्छेहरु माछा खोज्दैछन् (भिडिओ)

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले रास्वपाका मन्त्रीहरुले सरकारमा गएको सय दिनभित्र विधि बसाउँने काम गरेको भन्दै तर मान्छेहरु त्यसमासन्तुष्ट नरहेको बताएका छन् ।

    पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा रास्वपा सभापति लामिछानेले माछा समाउने भाष्य आफूहरुले नै बनाएकाले प्रश्न उठ्नु स्वभाविक नै रहेको बताए ।

    लमिछानेले भने–अहिलेको सन्दर्भमा सरकारमा गएर नराम्रो काम केही नगर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो । हामीले सय दिनमा केही पनि नराम्रो गरेनौं,बरु बिधी बनाउने काम गरेका छौं । तर नराम्रो नगर्दैमा चुप लाग्ने अवस्था छैन । यहाँ त माछाका कुरा छन् । यहाँ सबैभन्दा ठूलो त माछाको कुरा छ नि । उपलब्धि भनेकै माछा भन्ने हामीले नै भनेकाले समेत माछा खोइ माछा भनेर सोध्छन् ।

    गृहमन्त्री लामिछानेले फाइल खोल्न दबाब आइरहे पनि अहिले फाइल बनाउने काममा आफूहरु लागेको बताए । उनले विगतमा परिवर्तनको क्रान्तिको पक्षमा लाग्नेहरुको हत्या हुने गरेकोमा अहिले चरित्रहत्या गरिने भन्दै आफूहरुविरुद्ध अहिले त्यहि भइरहेको बताए ।

    चरित्रहत्याका कारण कतिपय रास्वपाका कार्यकर्तामा सातो गए पनि सातो जानुपर्ने खालको गल्ति आफूहरुबाट नभएको दावी गरे । उनले बोली र आफूबीच गज्जबको नाता रहेको भन्दै बोलेर आफ्नो केही बिग्रिएकाले अब कम बोल्ने र धेरै काम गर्ने पक्षमा रहेको बताए ।

  • स्वर्णिमको संकल्प- रविकै नेतृत्वमा मिसन ८४, इलामले संगठन र कार्यकर्ताको अभाव खड्कायो (भिडिओ)

    स्वर्णिमको संकल्प- रविकै नेतृत्वमा मिसन ८४, इलामले संगठन र कार्यकर्ताको अभाव खड्कायो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले चुनाव लड्न र विपक्षीका अफवाह चिर्न कार्यकर्तामा आधारित संगठन चाहिने रहेछ भन्ने आभास इलामको उपनिर्वाचनले गराएको बताएका छन् ।

    रास्वपा स्थापनाको दोस्रो वर्ष पुगेको अवसरमा शनिवार आयोजित कार्यक्रममा वाग्लेले इलामको पराजयपछि कार्यकर्ता चाहिने रहेछ भन्ने लागेको बताए । ‘मास बेस’ पार्टीमात्र बन्छौं भनेर नहुने पाठ सिक्न उपचुनावले सघाएको बताए ।

    अर्को प्रसंगमा वाग्लेले जसपा विभाजनपछि माधव नेपालको पार्टी पनि फुट्न लागेको र रास्वपा पनि फुट्छ भन्ने हल्ला चलाए पनि त्यो सम्भव नरहेको बताए । उनले रास्वपामा नीति र नेतृत्वबारे जलेश्वर बैठकले पारित गरेको दस्तावेजले कुनै विवाद नरहेको दावी गरे ।

    वाग्लेले भने–अब तिमीहरुको रास्वपा पनि फुट्दैछ भन्नेहरुको कुरा सुन्दा हामी मुसुमुसु हाँस्छौं । रास्वपा के हो भन्ने बुझेकै छैनन् । हामी नीति र नेतृत्वमा प्रष्ट र एक ठाउँमा संगठित छौं । नेतृत्वमा हाम्रो संस्थापक सभापति रवि लामिछानेको विकल्प छैन र उहाँकै नेतृत्वमा मिसन ८४ सफल बनाउँने हो । जलेश्वर बैठकपछि तपाईहरुले हेर्नुभएको छ,नीति र नेतृत्वको बारेमा हामीमा एकरुपता छ ।

    उपसभापति वाग्लेले रास्वपा अहिले शासन सन्चालन बुझ्ने क्रममा रहेको बताए । रास्वपा र यसको नेतृत्वलाई कमजोर पार्न तथा अफवाह फैलाउन पुराना पार्टीदेखि मिडियाको एउटा तत्का पुरै शक्ति लगाएर आइरहेको दावी समेत गरे ।

  • रविको पत्रकार सम्मेलनः डेढ घन्टा ढिला आए, प्रश्नको सामना गरेनन्

    रविको पत्रकार सम्मेलनः डेढ घन्टा ढिला आए, प्रश्नको सामना गरेनन्

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज ‘पत्रकार सम्मेलन’ आयोजना गर्दै आफ्नो सय दिने कार्यकालका उपलब्धी सुनाएका छन् । पत्रकार सम्मेलन करिब डेढ घन्टा चले पनि गृहमन्त्रीले प्रश्नको सामना भने गर्न चाहेनन् ।

    गृह मन्त्रालयले साढे दुई बजे प्रेस ब्रिफिङका लागि पत्रकारहरुलाई निम्त्याएको थियो । दिइएको समयभन्दा डेढ घन्टा ढिला गरेर गृहमन्त्री लामिछाने उपस्थित भए । मन्त्रालयका विभिन्न अधिकारीहरूलाई राखेर उनले १९ पृष्ठमा आफ्नो मन्त्रालयका उपलब्धीहरूको चर्चा गरेका थिए ।

    सरकारी जग्गा फिर्ता ल्याएकोदेखि हतियार बरामदसम्मलाई गृहमन्त्रीले आफ्नो उपलब्धी सूचीमा राखेका छन् । मन्त्रालयका अधिकारीहरुले आआफ्नो क्षेत्रका विषयहरुलाई प्रष्ट्याएका थिए भने बीचबीचमा गृहमन्त्रीले बोलेका थिए । पत्रकार सम्मेलनको अन्तिममा उनले आफ्नो धारणाहरु राखे ।

    पत्रकारहरू गृहमन्त्रीलाई सोध्न थुप्रै प्रश्नको पन्तरो बोकेर पुगेका थिए । तर, गृहमन्त्री लामिछाने टकटकिए । सिरोहिया पक्राउ प्रकरणदेखि आरजू राणा जोडिएको टीकापुर जग्गा अतिक्रमणका विषयमा उनले मुख खोलेनन् । आफूहरूले कसैलाई पनि नजोगाउने भन्दै सोलोडोलो जवाफ दिए ।

    पत्रकारले प्रश्न सोध्न पाउनुपर्ने माग गरेका थिए । तर, गृहमन्त्री लामिछानेले भने, ‘यो प्रेस मिट होइन, प्रेस ब्रिफिङ हो । निमन्त्रणामै हेर्नुस् न ।’

    यति भनेर उनी जुरुक्क उठेर सरासर हिँडेका थिए । पत्रकार पनि आफ्नो बाटो तताउन बाध्य भए ।

  • जनकपुरमा ९ हजार बिघा जग्गा अतिक्रमण भएको छ, ‘बिग अपरेसन’ सुरू गरेका छौंः गृहमन्त्री

    जनकपुरमा ९ हजार बिघा जग्गा अतिक्रमण भएको छ, ‘बिग अपरेसन’ सुरू गरेका छौंः गृहमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको बताएका छन् । गृह मन्त्रालयका १०० दिनको उपलब्धी सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले यो जानकारी दिएका हुन् ।

    जनकपुरमा जग्गा अतिक्रमणबारे गृह मन्त्रालयले ‘बिग अपरेशन’ सुरू गरेको जानकारी दिए । उनले विस्तृतरूपमा भने बताएनन् ।

    अनुसन्धानमा भएका विषयहरूको गहनताका कारण सार्वजनिक गर्न नसकिने लामिछानेको भनाइ छ ।

    उनले भने, ‘दिनरात एक गरेर काम गरिरहेका छौं । कुनै पनि केसमा कम्प्रमाइज हुँदैन । ती केसका आफ्नै जटिलताहरू छन् । त्यसैले केही समय अवश्य लाग्छ । तर, सुशासन कायम गर्ने कुरामा सम्झौता हुँदैन ।’

    गृहमन्त्री लामिछानेले थपे, ‘के भयो कसो भयो भन्नै पर्दैन । हुँदैछ गर्दैछौं । समय आएपछि थाहा पाउनुहुन्छ । कुनै त्यस्तो व्यक्ति छैन जसलाई हामीले बचाउन परोस् । कुनै अभियन्ता, व्यापारिक घरानाको व्यक्ति कसैको पनि भारी बोक्ने होइन । हामीले बोक्ने भारी भनेको जनताले दिएको मतको भारी हो ।’

  • गृहमन्त्री लामिछानेले सय दिनमा के-के गरे ? हेर्नुहोस् फेहरिस्त

    गृहमन्त्री लामिछानेले सय दिनमा के-के गरे ? हेर्नुहोस् फेहरिस्त

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय दिनमा भएगरेका कामको सूची सार्वजनिक गरेका छन् ।

    मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा उनले नीतिगत तथा कानूनी प्रवन्ध, शान्ति सुरक्षा र अपराध नियन्त्रण, सीमा तथा अध्यागमन प्रशासन, विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादन सहजीकरण, राजस्व चुहावट नियन्त्रण, सूचना प्रविधिको प्रयोग र विविध अन्तर्गत गरिएका कामको फेहरिस्त प्रस्तुत गरे ।

    यस्तो छ गृहमन्त्री लामिछानेको सय दिनको कामको सूची

  • संख्यामा भन्दा पनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔं : सांसद गौतम (भिडिओ)

    संख्यामा भन्दा पनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔं : सांसद गौतम (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन् ।

    शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउनुपर्ने बताएकी हुन् । उनले त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि बताइन् । उनले नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्र्याउनुपर्ने बताइन् ।

    नेपालको पर्यटनको मुल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरुबाट पर्यटन प्रवद्र्धन नहुने उनले बताइन् । उनले संख्यामा पर्यटक गन्न छोड्नुपर्ने बताइन् ।

    सांसद गौतमले ट्रेकिङ टेल मासेर सडकहरु पुर्याइएको भन्दै यसले ट्रेकिङ व्यवसायलाई धरापमा पारेको बताइन् । उनले ट्रेकिङ टेलको रक्षा गर्नुपर्ने बताइन् ।

    यस्तो छ सांसद गौतमको भनाइः

    बजेट विनियोजन मज्जाले नियालेर हेर्ने हो भने मन्त्री र सांसदहरुबीचको शक्ति संघर्षमा मन्त्रीले सांसदलाई हराएको जस्तो र गर्व गरेको जस्तो देखिन्छ । त्यो बजेटले बोल्ने कुरा हो ।

    मन्त्रीहरु बजेटमा उत्कृष्ट हुनुहुन्छ कि, सांसदहरु भन्दा एकदम उत्कृष्ट हो कि, उहाँहरुको ठाउँमा चाहिँ बढी नै पर्नुपर्ने हो कि भन्नेजस्तो भान हुन्छ । टुक्रे बजेटलाई प्रश्रय नदिऔँ । यति धेरै टुक्रे बजेटहरु विनियोजन भएको छ कि एकलाखे बजेटले एउटा लाखे नाच आयोजना गर्न पनि पुग्दैन रहेछ । त्यस्तो किसिमको बजेट विनियोजन भएको देखियो ।

    मन्त्रीले मागेजति दिदाँ एकछिन वाहवाही त होला तर नेपालको पर्यटन क्षेत्रमा यसले कतिपनि योगदान दिन सक्दैन । हामीले भुटानमा जस्तो संख्यामा होइन, खर्च गर्न सक्ने पर्यटन भित्राउने किसिमको नीति लिनुपर्छ जस्तो लाग्छ । किनकी नेपालको पर्यटनको मुल आधार भनेको हाम्रो हिमालहरु हुन् । प्राकृतिक सम्पदाहरु हुन् । यहाँका संस्कृतिहरु हुन् ।

    यदि यही बचाउनुपर्ने हाम्रो सम्पत्ति एक रुपैयाँ खर्च नगर्ने, उल्टै नेपालमा आएर, नेपालीको घरमा टुटेफुटे बोलेर, बसेर खाएर फिर्ता जाने ब्याकप्याकर्स पर्यटकहरु भित्राएर नेपालको पर्यटन प्रर्वद्धन हुन्छ ? यसले नेपालको पर्यटन नीतिमा केही योगदान पुर्याउँछ ? यसले हामीलाई कहाँ पुर्याउँछ ?

    त्यही भएर संख्यामा कति पर्यटक आए भन्ने किसिमको गणनागर्ने छोड्दिनुस् । यदि साँच्चिकै परिवर्तन गर्ने हो भनेदेखि गुणस्तरमा आधारित पर्यटकहरु भित्राउनुपर्छ । त्यसको लागि मापदण्ड तयार गर्ने कुरामा सरकार संवेदनशील हुनुप्यो ।

     

  • सांसद असिम शाहको प्रश्न- टिकटक प्रतिबन्धको औचित्य के भयो ? (भिडिओ)

    सांसद असिम शाहको प्रश्न- टिकटक प्रतिबन्धको औचित्य के भयो ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो ? भनी सरकारलाई प्रश्न गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले व्यवस्थित र नियन्त्रितरूपमा टिकटक खोल्न माग गरे ।

    उनले भने, ‘टिकटक पहिले ९० लाखको हाराहारीमा चल्थ्यो, अहिले भीपीएनले ५० लाखले चलाइरहेको अनौपचारिक तथ्यांक छ । टिकटकको विकल्प फेसबुक, इन्स्टाग्राम, युट्युब सर्टस मज्जाले चलेकै छ । के सरकारले टिकटक बन्द भएपछि विकृति वा अपराध घटेको तथ्यांक वा प्रतिवेदन छ होला ? टिकटक बन्द भएपछि ब्याण्डविथ घटेर डेटा बिक्रीमा हुने आम्दानी घटेर ऐनसेलको १ अर्ब ४४ करोड र एनटीसीले १.५ अर्ब रूपैयाँ घाटा भएको तथ्यांकले देखाएको छ । सूचीकृत नभएका अन्य प्लेटफर्म विनारोकटोक चलिरहेकै छन् । व्यवस्थित र नियन्त्रितरूपमा टिकटक खोल्न सरकारसँग आग्रह गर्न चाहन्छु ।’

  • कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ (भिडिओ)

    कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

    उनले भने, ‘प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन। केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्तिहरू दिनुभयो। हामीले प्रधानमन्त्रीसँग उहाँले अभिव्यक्त गर्नुभएको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौँ। मैले के विश्वास गरौँ हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ? त्यो तयारी सकिएपछि मात्रै एकैचोटी जवाफ दिन्छु भनेर आउनुहुने हो कि ? अथवा त्यसको जवाफ दिन नसकेर डराएर भाग्न खोज्नुभएको हो कि ? मैले के अनुमान गर्ने ?’

    उनले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे आगामी बैठकमा सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङ माग गरे।

  • तेस्रो लेयरका नेतालाई पार्किङ गर्ने ठाउँ बन्यो प्रदेश : गृहमन्त्री लामिछाने (भिडिओ)

    तेस्रो लेयरका नेतालाई पार्किङ गर्ने ठाउँ बन्यो प्रदेश : गृहमन्त्री लामिछाने (भिडिओ)

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

    बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने स्थल बनेको बताए ।

    उनले व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताउनु भयो । उहाँले तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ प्रदेश बनेको बताए । अहिले भएको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको बताए ।

    ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यही प्रदेश हो । के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ की बद्नाम गराउने काम गरेको छ’, उनले भने, ‘त्यसलाई रिट्रोफिड गरौँ है, त्यसलाई ठिक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरु कता जाने भन्दा प्रदेशमा ।’

    गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए । उनले मिलेर जाउँ भन्ने चकरमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिट बढी जित्ने दाबी गरे ।

  • विराटनगरमा गृहमन्त्रीको पत्रकारलाई जवाफ- अनुसन्धान नटुङ्गिई पत्रकार सम्मेलन गरिन्छ र ? (भिडिओ)

    विराटनगरमा गृहमन्त्रीको पत्रकारलाई जवाफ- अनुसन्धान नटुङ्गिई पत्रकार सम्मेलन गरिन्छ र ? (भिडिओ)

    विराटनगर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा आफूले कसैको पनि नाम तोकेर मुलुुकको गोप्य सूचना बेचेको विषयमा नबोलेको बताएका छन् ।

    विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मिडियामा आएको समाचारका विषयमा कुरा उठाएको बताए । उनले मुलुकका गोप्य सूचना विदेशीलाई बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय के भइरहेको छ भनेर जिज्ञासाको विषयमा भने कुनै जवाफ दिएनन् । यो पुरानो कुरा भएको भन्दै उनी तर्किएर हिँडेका छन् ।

    विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा देशका गोप्य सूचना विदेशीलाई बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय कहाँ पुग्यो ? भनेर पत्रकारले प्रश्न गरेका थिए ।

    जवाफमा उनले ‘सञ्चार माध्यममै आएका कुरा मैले संसदमा उठाएको’ भन्ने जवाफ दिए । सांसदलाई सम्बोधन गर्ने क्रममा लामिछानेले देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔँ भनेर बोलेका थिए ।

    गृहमन्त्री लामिछानेले संसदमा बोल्ने सन्दर्भमा आफूले कसैको नाम लिएको थाहा नभएको बताए। ‘सञ्चार माध्यममा यस्ता कुरा पनि आउँछन् नि भन्ने कुरा गरेको हुँ ।पत्रपत्रिका र सञ्चार माध्यममा आएकै कुराले गर्दा खेरी हो,’ लामिछानेले भने, ‘अरू प्रश्न पनि छन् होला नि साथीहरू? तपाईँहरूका आफ्ना प्रश्न पनि भइदिएको भए हुन्थ्यो । कसैले खडा गरिदिएको प्रश्न महिनौँसम्म सोध्नु भयो भने कसरी हुन्छ? अनुसन्धानका विषय यसरी पत्रकार सम्मेलन गर्दै अगाडि गइन्छ र?

    लामिछानेले संसदमा प्रतिपक्षीले जवाफ मागेमा दिन आफू तयार रहेको बताए । संसदीय मर्यादा विपरीत बोलेकाले गृहमन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेर काँग्रेसले भनिरहेको छ नि भनेर सोधिएको प्रश्नमा उनले भने, भने ‘जवाफ दिन पर्ने भए दिउँला नि ।’ लामिछाने आजदेखि सुरु हुने दुई दिने राष्ट्रिय सुरक्षा बैठकमा सहभागी हुन विराटनगर आएका हुन् ।

  • सम्भव सिरोहियाको आरोपबारे गृहमन्त्रीको टिप्पणी- त्यति भनेपछि प्रमाण पनि ल्याइदिनुहोला नि त

    सम्भव सिरोहियाको आरोपबारे गृहमन्त्रीको टिप्पणी- त्यति भनेपछि प्रमाण पनि ल्याइदिनुहोला नि त

    काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका सीईओ सम्भव सिरोहियाले कान्तिपुरलाई समाचार लुकाउन गृहमन्त्री रवि लामिछानेले असफल प्रयास गरेको आज दाबी गरे । सिरोहियाको यस्तो दाबीबारे गृहमन्त्री लामिछानेले अनभिज्ञता दर्शाएका छन् ।

    आज संसदीय समितिबाट फर्किने क्रममा उनलाई यो विषयमा सोधिएको थियो । लामिछानेले आफूले सिरोहियाको भिडिओ हेर्न नपाएको बताए ।

    उनले भने, ‘मैले भिडिओ हेरेको त छैन, अरुबाट सुनेको चाहिँ छु । त्यस्तो भन्ने मान्छेले प्रमाण पनि ल्याइदिनुहोला नि त ।’

    सिरोहियाले कान्तिपुरमा सहकारी काण्डको समाचार लुकाउमा र मिलाइदिनका लागि गृहमन्त्रीले अनुरोध गरेको आरोप लगाएका थिए । आफूहरुले नमानेपछि मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको उनको दाबी छ ।

     

  • समितिको बैठकमा आरजूलाई गृहमन्त्री लामिछानेले भने- हामी एकै ठाउँमा उभिने ठाउँ पनि रहेछ नि ! (भिडिओ)

    समितिको बैठकमा आरजूलाई गृहमन्त्री लामिछानेले भने- हामी एकै ठाउँमा उभिने ठाउँ पनि रहेछ नि ! (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभा अन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी भए । आज समितिको बैठकमा गाँजालाई वैधानिकता दिने सरकारको नीतिबारे छलफल भएको थियो ।

    समितिको सभापतिमा छिन् कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजू राणा देउवा । पछिल्लो समय सहकारी प्रकरणको विषयले कांग्रेस र रास्वपाको दूरी बढेको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको दाबी गरेपछि अहिले संसदीय छानबिन समिति गठन गरेर त्यसले काम गर्दैछ ।

    तर, आज कृषि समितिमा पुगेका गृहमन्त्री लामिछाने आज महत्वपूर्ण विषयमा घनिभूत छलफल भएको बताए ।

    गृहमन्त्री लामिछानेले आरजूतर्फ हेर्दै भने, ‘सभापतिज्यू कतिपय ठाउँमा त हामी एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेछ नि । भनिन्छ नि सबै एकै ठाउँमा उभिएको जस्तो समितिको बैठक यहाँ पक्ष र विपक्ष रहेन ।’

     

  • विपत्तिको बेला खटिन वडादेखि नै दलीय संयन्त्र बनाउने प्रस्ताव, गृहमन्त्रीले मागे पार्टीका स्वयंसेवक (भिडिओ)

    विपत्तिको बेला खटिन वडादेखि नै दलीय संयन्त्र बनाउने प्रस्ताव, गृहमन्त्रीले मागे पार्टीका स्वयंसेवक (भिडिओ)

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरूको विवरण माग गरेका छन् । गृहमन्त्रालयले आज आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफल’ मा तल्लोस्तरसम्म संरचना भएका दलहरूलाई परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन समेत प्रस्ताव गरिएको छ ।

    गृहमन्त्री लामिछानेले मनसुनजन्य विपद्‍मा स्वयंसेवकहरूको आवश्यक पर्ने उल्लेख गर्दै दलहरूले आफ्नो तर्फबाट कति स्वयंसेवक दिनसक्छन् सोहीअनुसार मन्त्रालयले योजना बनाउने बताए ।

    उनले भने, ‘सम्पूर्ण राजनीतिक दलहरूलाई एउटा प्रस्ताव म के राख्न चाहन्छु भने आउँदै गरेको मनसुनजन्य विपद्का लागि गृह मन्त्रालयले स्वयंसेवकको रुपमा तपाईको राजनीतिक दलबाट कति संख्यामा साथीहरूको अपेक्षा गर्नसक्छौँ होला ? तीमध्ये कति राहत, उद्धारमा अनुभव भएका हुनुहुन्छ होला ? भन्ने कुराको डिटेल यो महिनाको अन्त्यसम्म प्राप्त हुन सक्यो भने हामीले बनाउने योजनामा त्यसको असाध्यै ठूलो भूमिका हुन्छ ।’

    २०७२ सालको भूकम्पका बेला पुर्‍याएको योगदानबाट शिक्षा लिँदै दलका नेता/कार्यकर्तामा खोज र उद्धारको कर्तव्यबोध तथा स्वयंमसेवी भावना बढाउन पनि विपद्का बेला उनीहरूलाई प्रयोग गर्नुपर्ने सहभागीको जोड छ ।

    नेकपा एसका नेता डा. गंगालाल तुलाधरले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरू एकजुट हुनुपर्ने र उनीहरूको परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनु पर्नेमा जोड दिए ।

    त्यस्तै, भूकम्प र कोभिडका बेलाको सन्दर्भ जोड्दै नेपाली कांग्रेसका नेता एवं सांसद मोहनबहादुर बस्नेतले तल्लो तहसम्म संरचना रहेका दलका कार्यकर्तालाई ढंग पुर्‍याएर परिचालन गर्न सके तत्काल परिणाम आउने बताए ।

    माओवादी केन्द्रका नेता सूर्य सुवेदीले संघदेखि वडासम्म बनाइने ‘लुज फोरम’ ले राजनीतिक दलले नै नेतृत्व गरेका तीनवटै तहका सरकारबीच समन्वय गराउन भूमिका पनि खेल्ने बताए ।

    यसैगरी, एमालेका केन्द्रीय सदस्य एवं विपद् व्यवस्थापन तथा स्वयम सेवक विभाग प्रमुख किरण पौडेलले राज्यले विपद् व्यवस्थापनको स्रोत-साधन र दलहरुले जनशक्ति उपलब्ध गराउने अभ्यास प्रभावकारी हुने औंल्याए ।

    राप्रपा सांसद ज्ञानबहादुर शाहीले विगतका विपद् प्रभावितको व्यवस्थापनमा ध्यान दिन र जनमत पार्टीका सांसद अब्दुल खानले विपद् व्यवस्थापनको दीर्घकालिन योजना बनाउँदा पनि दलहरुसँग छलफल गर्न सुझाव दिए ।

    दलका प्रतिनिधिको सुझावपछि गृहमन्त्री लामिछानले राजनीतिक होस् या प्राकृतिक विपद्‍मा एकजुट हुने नेपालका दलहरूको अभ्यास सकारात्मक रहेको भन्दै जनसेवाको उद्देश्य, तल्लो तहसम्मको संयन्त्र र स्वयमसेवक परिचालनको अनुभवका आधारमा पनि विपद् व्यवस्थापनमा दलहरुको योगदान महत्वपूर्ण हुने अपेक्षा राखे ।