Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • जिबी राई नल्याई सहकारी ठगीको निष्कर्ष अधुरो रहने, रविले यसरी दिए इन्कारी बयान

    जिबी राई नल्याई सहकारी ठगीको निष्कर्ष अधुरो रहने, रविले यसरी दिए इन्कारी बयान

    काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जिबी राई र उनको समूहले गरेको सहकारीको बचत रकम अपचलन तथा गोरखा मिडियामा आएको रकमबारे आफूलाई केही जानकारी नभएको बयान दिएका छन् ।

    सहकारी बचत रकम अपचलन छानविन गर्न गठित संसदीय विशेष सुनुवाई समितिसमक्ष शुक्रवार मध्यरातसम्म ९ घण्टाभन्दा बढी भएको सोधपुछमा गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालकमध्येका एक लामिछानेले इन्कारी बयान दिएको समितिका सदस्य लेखनाथ दाहालले बताए ।

    दाहालले भने– ‘९ घण्टाभन्दा बढी समय सोधपुछ भयो र उहाँ तथा छबिलाल जोशीका सबै बयान लगभग रेडिमेड नै थिए । रविजीले इन्कारी बयान दिँदै आफू गोरखा मिडिया नेटवर्ककको मालिक नभएर तलबी कर्मचारीमात्र भएको बताउनुभएको छ । सहकारीको रकम कसरी आयो र के कसरी अपचलन भयो भन्नेबारेमा मलाई केही जानकारी छैन भन्नुभएको छ । अब जिबी राईलाई ल्याएर सोधपुछ नगरी कुनै निष्कर्षमा पुग्न नसकिने देखिन्छ ।’

    रविलाई समितिले लिखित प्रश्न सोधेको थियो । व्यक्तिको नाममा सहकारीबाट ऋण खडा गरेर गोरखा मिडियामा लैजान मिल्छ ? भन्ने प्रश्नमा रविले आफ्नो नाममा ऋण लिएको समेत जानकारी नरहेको जवाफ दिएका छन् ।

    रविको जवाफ उधृत गर्दै एक सदस्यले भने– ‘यो छानविन समितिबाट सहकारीका वचतकर्तासँगै मैले पनि न्याय पाउने अपेक्षा गरेको छु । मलाई जसरी जोडिएको छ कुन सहकारीबाट कति ऋण निकालेर मिडियामा लगियो भन्ने केही थाहा छैन । मेरो नाममा जिबी राईले नै ऋण निकालेर लगेका रहेछन् भने थाहा हुने कुरा पनि भएन । मेरो नाममा ऋण निकालेको पनि थाहा छैन र तिरेको पनि थाहा छैन । नक्कली नाममा ऋण लिएको हुनसक्छ ।’

    रविले जिबी राईलाई आफूले पक्राउ गर्नै लाग्दा केही व्यक्तिले भगएको भन्दै उनी मलेसियामै रहेकाले सरकारले ल्याउन सक्ने बताएका छन् । समितिका सभापति सुर्य थापाले सोधपुछका सवाल जवाफहरु अहिले गोप्य नै रहने भन्दै रवि लामिछानले आफूमाथिका आरोप भने अश्वीकार गरेको बताए ।

  • रवि लामिछानेसँग सहकारी छानबिन विशेष समितिले लियाे ९ घण्टा बयान

    रवि लामिछानेसँग सहकारी छानबिन विशेष समितिले लियाे ९ घण्टा बयान

    काठमाडौं । काठमाडौं । सहकारी छानबिन विशेष समितिले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग बयान सकिएको छ । अपराह्न साढे ४ बजेबाट सुरु भएको बयान
    मध्यरातमा १ बजेर १५ मिनेटमा सकिएको हो । बयानमा ५० वटा भन्दा बढी प्रश्नहरु रहेको थिए । बयान ९ घण्टासम्म चलेको थियो ।

    बयानमा रवि लामिछानेले बुटवलको सुप्रीम सहकारी, चितवनको सहारा सहकारी ,पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेट्वोर्कमा आएका आफ्नो नाममा खडा गरिएको ऋण, आफ्नो नाममा प्रवाह गरेको भनेको रकम ति सन्दर्भमा आफ्नो हस्ताक्षर आफ्नो कागजात नागरिकता समावेश नभएको स्पष्ट गरेको समितिका सभापती सूर्य थापाले बताए ।

    रवि आफू संस्थाको प्रबन्ध निर्देशकको रुपमा आफ्नो प्रशासकीय आन्तरिक काममा संलग्न भएको तर कार्यकारी प्रमुखका रुपमा आर्थिक सहयोग जुटाउने लगायातको कामहरु जीबी राइले गर्ने गरेकोले कहाँबाट कसरी रकम आयो भन्ने कुरा जीबी राइलाई थाहा हुने कुरा बताए ।

  • रास्वपाकाे स्टार्टअप विभागले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्ने

    रास्वपाकाे स्टार्टअप विभागले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको स्टार्टअप विभागले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्ने भएको छ।

    पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा भोलि (भदौ ८ गते, शनिवार) दिउँसो १ बजे हुने कार्यक्रममार्फत विभागले अभियान घोषणा गर्न लागेको हो।

    स्वदेशी उत्पादन प्रवद्र्धनमा सहयोग र त्यसका लागि आवश्यक नीति र कानून तर्जुमामा दबाब दिने उद्देश्यका साथ अभियान घोषणा गर्न लागिएको रास्वपाले जनाएको छ।

    साँझ ५ बजेसम्म चल्ने अभियान शुभारम्भ कार्यक्रममा करिब ३० थरी नेपाली उत्पादन प्रदर्शन, भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यवद्धताका लागि हस्ताक्षर संकलन र विभिन्न ५ वटा विषयमा ‘नीति मन्थन’ गरिने छ ।

  • सुदूरपश्चिमको प्रदेश राजधानी दिपायल बनाउन रास्वपा डोटीले मुख्यमन्त्रीलाई बुझायो ज्ञापन

    सुदूरपश्चिमको प्रदेश राजधानी दिपायल बनाउन रास्वपा डोटीले मुख्यमन्त्रीलाई बुझायो ज्ञापन

    डोटी । सुदूरपश्चिम प्रदेशको राजधानी दिपायल हुनुपर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ ।

    प्रदेश राजधानी डोटीमा कायम गर्न माग गर्दै डोटीका प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको रास्वपाका जिल्ला संयोजक केशवबहादुर बलायरले जानकारी दिए ।

    देशको समानुपातिक विकास गर्न साविकका ५ वटा विकास क्षेत्रको सदरमुकाम आन्तरिक सुरक्षा, भूगोल, अन्तर्राष्ट्रिय सीमा मापदण्डअनुसार पर्ने ठाउँलाई तोकिएको तर संघीयता आएपछि प्रदेश राजधानी तोक्ने क्रममा डोटीलाई अन्याय भएको ज्ञापनपत्रमा उल्लेख छ ।

    ‘तराई आफैंमा उर्वर भूमि हो, यदि पहाडबाट बसाइसराइ नरोकिने हो र पुँजी पलायन हुँदै जाने हो भने पहाडका गाउँहरु खाली हुनेछन्, कतिपय गाउँबस्ती खाली भइसकेका छन्’, ज्ञापनपत्रमा भनिएको छ, ‘तराईमा व्यापक रुपमा जंगल अतिक्रमण र मापदण्डविपरीत घर लगाउँदै जाने हो भने भविष्यमा ठूलो खाद्य संकट आउने संकेत देखिएको छ ।’

    त्यसैले दिपायल राजधानीको विषयमा पुनर्विचार गरिनुपर्ने माग गरिएको छ । हाल कायम भएको सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको व्यापक विवाद भएको ज्ञापनपत्रमा उल्लेख छ ।

    साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई सुदूरपश्चिम प्रदेश बनाइएको थियो । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल भए पनि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम कैलालीको धनगढी तोकेको थियो ।

    पछि २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशसभाको दुई तिहाइ बहुमतले कैलालीको गोदावरी नगरपालिका- २ र ४ मा प्रदेश राजधानी तोकेको थियो, तर हालसम्म उक्त स्थानमा राजधानीका लागि कुनै संरचना बनेका छैनन् ।

    दिपायलमा भने साविकका क्षेत्रीय निर्देशनालयका भवनहरु प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका छन् ।

  • भ्रष्टाचार मुद्दामा हदम्याद अस्वीकार गर्दै रवि लामिछानेले भने- नो इफ नो बट, हाम्रो कुरा क्लियर कट ! (भिडिओ)

    भ्रष्टाचार मुद्दामा हदम्याद अस्वीकार गर्दै रवि लामिछानेले भने- नो इफ नो बट, हाम्रो कुरा क्लियर कट ! (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हदम्याद राख्ने चर्चापछि आफूलाई दुई हजारभन्दा धेरै युवाहरूको फोन आएको बताए।

    उनले भने, ‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन भन्ने युवाहरूले चित्ता व्यक्त गर्नुभएको छ। म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्न हुने छैन। नो इफ नो बट हाम्रो कुरा क्लियर कट।’

    नीतिगत भ्रष्टाचारको विषयमा पनि गम्भीर रूपमा हेर्नुपर्ने बताए।

  • रास्वपाले भन्यो- भ्रष्टाचारमा मुछिएका र स्वार्थ बाझिने मन्त्री नियुक्तिविरूद्ध ससदमा कडा रूपले प्रस्तुत हुन्छौं (भिडिओ)

    रास्वपाले भन्यो- भ्रष्टाचारमा मुछिएका र स्वार्थ बाझिने मन्त्री नियुक्तिविरूद्ध ससदमा कडा रूपले प्रस्तुत हुन्छौं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले भ्रष्टाचार मुद्दामा हदम्याद राखेर ठूला माछालाई उन्मुक्ति दिन खोजेको आशंका व्यक्त गरेको छ ।

    पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिकाे बैठकले सरकारमा भ्रष्ट एवम् स्वार्थ बाझिने मन्त्री नियुक्ति गरेको विषयमा सदनमा कडा रुपमा प्रस्तुत हुने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

    उनले भने, ‘भ्रष्टाचार मुद्दामा हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरण, भ्रष्ट एवम् स्वार्थ बाझिने मन्त्री नियुक्ति गरेको बारेमा छलफल गरेका छौं। यो विषयमा हामी सदनमा कडा रुपले प्रस्तुत हुन्छौं ।’

    भ्रष्टाचारको हदम्याद राखेर नीतिगत भ्रष्टाचार गरेर आफ्ना मान्छे जोगाउन खोजेको दाबी गरे ।

    उनले थपे, ‘अख्तियारले नीजि क्षेत्रलाई पनि हेर्ने सरकारी क्षेत्रलाई चाहिँ उन्मुक्ति दिँदै जाने, आफ्ना मान्छेलाई नछुने खरदार सुब्बाहरुलाई मात्रै दुख दिने, ठूला माछा नसमात्ने वर्षौँसम्म फाइल अड्काएर राख्नेको विरोध गर्छौँ ।’

  • स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने रास्वपाको निर्णय

    स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ।

    पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय तह उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

    सरकारले रिक्त स्थानीय तहमा निर्वाचन गर्ने तयारी गरेको छ । हालै निर्वाचन आयोगले मंसिरमा उपनिर्वाचन गर्न सुझाव दिएको थियो ।

  • मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय (भिडिओ)

    मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री डा। मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

    पार्टी कार्यालय वनस्थलीमा जारी बैठकले साधारण सदस्यबाट पनि निष्कासन गर्नुअघि एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

    यसअघि पनि ‘तपाईंलाई साधारण सदस्यबाट पनि निलम्बन किन नगर्ने ?’ भनेर रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै प्रश्न उठाएका थिए। उल्टै सभापति लामिछानेको राजीनामा माग्दै जवाफ फर्काएपछि पार्टीबाट हटाउनुअघि अन्तिम पटक स्पष्टीकरण सोधेको हो।

    ढकाल अब रास्वपामा फर्किने सम्भावना करिब टुंगिसकेको छ।

  • रविको आग्रह- संक्रमणकालीन न्यायका बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाऔं (भिडिओ)

    रविको आग्रह- संक्रमणकालीन न्यायका बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाऔं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसँग सम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् ।

    बुधबार प्रतिनिधि सभामा संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै लामिछानले राजनीतिक दाउपेचकै कारण संक्रमणकालीन न्यायका कामहरु लामो समय अल्झिएको भन्दै अव भने यसलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका हुन् । उनले न्याय दिने संरचनालाई बलियो बनाउदै पिडितलाई न्याय दिन सक्नुपर्नेमा जोड दिए ।

    राजनीतिक भागबण्डाका आधारमा आयोगमा पदाधिकारी चयन गरे पिडितले न्याय पाउन नसक्ने उनले बताए । उनले अन्तराष्ट्रिय जगतले प्रश्न गर्न नसक्ने गरि संक्रमणकालीन न्यायसंगसम्बन्धी कामलाई निष्कर्षमा पुराउनुपर्ने बताए ।

    त्यस्तै, उनले ठूला दल एक ठाँउ आएर सरकार बनाउने परिस्थीति मुलुकमा आएको स्वीकार गर्न तयार नरहेको जिकिर गरे । उनले लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ गर्दै प्रणालीहरुलाई नभत्काउने प्रतिवद्धता गर्नुपर्नेमा जोड दिए ।

    उनले लोकतान्त्रीक प्रणालीमा भइरहेको प्रहारका कारण नयाँ दलहरु स्थापित हुने अवस्था आएको समेत बताए । उनले टीआरसीलाई रास्वपाले नजिकबाट हेरिरहेको भन्दै प्रणालीका नाममा यसलाई भत्काउने काम भए पिडितहरुका लागि दुर्भाग्य हुने बताए ।

     

  • रास्वपाले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने

    रास्वपाले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।

    केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टी सचिवालयको बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले बताए ।

    उनले राष्ट्रिय भेलाभन्दा अगाडि सातै प्रदेशमा भेला गर्ने, राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता र उम्मेदवार क्लव/लिडरसिप एकेडेमी) मा छलफल गर्ने निष्कर्ष निकालेको बताए ।

  • मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउन रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण

    मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउन रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) को महामन्त्रीबाट निष्कासित डा. मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणको आशय साधारण सदस्यबाटै हटाउनेगरीको छ ।

    कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले स्पष्टीकरणमा पार्टीविरुद्ध नियोजितरूपमा निरन्तर सक्रिय रहेको भन्दै पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने ? तपाईँको साधारण सदस्यता किन खारेज गर्नु नपर्ने ? आफ्ना आधार प्रमाण भनाइसहित २४ घण्टाभित्र जवाफ पठाउन भनेका छन् ।

    ढकाललाई विभिन्न सञ्चारमाध्ययममा आएका उनका अभिव्यक्तिको सूचीसहित २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

    नेपाल प्रेससित कुरा गर्दै ढकालले आफू अहिल पनि रास्वपाको महामन्त्री रहेको जिकिर गरे । विधानमा कार्यवाहक महामन्त्रीको प्रावधान नै नरहेको र महामन्त्रीलाई महाधिवेशनले मात्र हटाउन सक्ने उनको भनाइ छ । स्पष्टीकरणको जवाफ दिने वा नदिने विषयमा आफूले कानून व्यवसायीसँग सल्लाह गर्ने उनले बताए ।

    पार्टीलाई समाप्त पार्ने उद्देश्यले षडयन्त्रपूर्वक अरु नेताहरूलाई भेटेको आरोप पनि पत्रमा लगाइएको छ । ढकालले अस्तिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलसित भेटेका थिए ।

  • नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखियो, तत्काल समाधान पर्नुपर्छ : सांसद गौतम (भिडिओ)

    नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखियो, तत्काल समाधान पर्नुपर्छ : सांसद गौतम (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै हवाइ क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराइन् ।

    उनले भनिन् ‘हवाई दुर्घटनाको विषय आजसहित छैटौँ पटक उठान गरिरहेको छु । नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको छ । नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने र त्यो विधेयक कहिले संसदमा लिएर आउनुहुन्छ । सरकारमा पर्यटनमन्त्री पटक-पटक फेरिनु भयो तर विधेयक संसदमा आएको छैन । यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको छ । त्यसमा प्रस्टसँग सुन्न सकिन्छ । लापरबाही भएको छ ।’

    हवाई यात्रामा कति यात्रुहरूले ज्यान गुमाउनुपरेको भन्दै नेपालको नियामक निकायको नियमन फेल भएको प्रष्ट देखिएको बताइन् ।

     

  • रास्वपाले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने, टीआरसी विधेयकमा समर्थन (भिडिओ)

    रास्वपाले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने, टीआरसी विधेयकमा समर्थन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने तयारी गरेको छ।

    आज बसेको संसदीय दलको बैठकपनि सम्भव भएसम्म आजै विधेयक दर्ता गर्ने तयारी गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए।

    उनले भने, ‘हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ। त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ। जलनसम्बन्धी विधेयक अन्तिम छलफल हुँदै छ र सम्भवतः आज नै दर्ता गछौं।’

    उनले आज प्रतिनिधिसभामा पेश हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसी विधेयकको समर्थनमा बोल्ने बताए।

    उनले भने, ‘टीआरसी विधेयक सर्वसहमतिले प्रतिनिधिसभामा प्रस्तुत गर्ने भनिएको छ, त्यसमा नेताहरू बोल्दा समर्थनमा बोल्ने कुरा भएको छ।’

    उनले बैठकमा आगामी दिनमा संसदको गतिविधिहरू कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा बैठकले निर्णय लिने बताए।

  • रास्वपाले भन्यो- भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य हुँदैन (भिडिओ)

    रास्वपाले भन्यो- भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य हुँदैन (भिडिओ)

    काठमाडौं । सरकारले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने कानूनी प्रबन्ध गर्न खोजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएको छ। संसदीय दलको बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारमा हदम्याद स्वीकार्य नहुने बताए।

    उनले भने, ‘भ्रष्टाचारमा हदम्याद राख्ने कुरा स्वीकार्य छैन। भ्रष्टाचारमा हदम्याद राखेर विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने बाटोमा छ। त्यो स्वीकादैनौं।’

    उनले विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्ने पनि बताए।

    उनले भने, ‘यो कुरालाई पनि जोडतोडले उठाउँछौं। बक्यौताको बिषयमा अरु जे भएपनि राज्यले उठाउनुपर्ने बक्यौता उठाउनुपर्छ।’

    उनले यीबाहेक सदन र समितिमा भएका विधेयकहरुको बिषयमा पनि छलफल भइरहेको बताए।

  • रास्वपाको कार्यशालामा समूहगत छलफल

    रास्वपाको कार्यशालामा समूहगत छलफल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र मधेस प्रदेशमा पार्टीको बन्द कार्यशाला ‘क्लोज क्याम्प’ जारी राखेको छ ।

    पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षमा छलफलसहित विधान संशोधनमा सुझाव दिन रास्वपाको प्रदेश समितिले आयोजना गरेको बन्द कार्यशाला तीन दिन अघि सुरु भएको हो ।

    रास्वपाले अघिल्लो साता केन्द्रीय तहका नेताहरुका लागि काठमाडौँमा दुईदिने कार्यशाला आयोजना गरेको थियो । सुदूरपश्चिममा ८०, लुम्बिनीमा ७०, गण्डकीमा ६०, कर्णालीमा ३० र मधेसमा ८० जना सहभागी उक्त कार्यशालामा ६ समूहमा विषयगत छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    ‘क्लोज क्याम्प’मा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्य सहभागी छन भने  उनीहरुलाई केन्द्रीय प्रतिनिधिले सहजीकरण गर्ने कार्यवाहक प्रवक्ता झाले जानकारी दिए । सहजीकरणका लागि सुदूरपश्चिममा दीपक बोहोरा र गणेश पराजुली, लुम्बिनीमा लक्ष्मी तिवारी र कुसुम महर्जन, गण्डकीमा शिव नेपाली र विजय जैरु, कर्णालीमा हरि ढकाल र विनिता कठायत तथा मधेसमा मनिष झा र कामिनी चौधरी छन्।

    प्रवक्ता झाका अनुसार कोशी प्रदेशमा आज सञ्चालन गरिँदैछ । कोशीमा निशा डाँगी र उपेन्द्र पाण्डेले सहजीकरणको जिम्मेवारी लिनुभएको छ । बन्द कार्यशालाबाट विचार, सङ्गठन, अभियान, मूल्यमान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लबर लिडरसिप एकेडेमीगरी छ वटा विषयमा भएको छलफलको निष्कर्ष एकीकृतगरी केन्द्रीय समितिमा बुझाइनेछ । रास्वपा केन्द्रले विधान संशोधनको सुझाव मागेकाले त्यसबारे छलफल भइरहेको सो पार्टीले जनाएको छ ।

    “बन्द कार्यशालाबाट आएका सुझाव केन्द्रीय समितिमा प्रस्तुत गरेर पार्टी विस्तार र सुदृढीकरणको योजना बनाउँछौँ”, सहप्रवक्ता प्रतिभा रावलले भनिन्, “राष्ट्रिय भेला र महाधिवेशनको मिति प्रस्ताव भइसकेकाले अभियानकै रुपमा पार्टीका कामलाई उठाउन कार्यशाला आयोजना गरेका हौँ ।”

     

  • सरकारलाई रास्वपाको चेतावनी- विद्युतको बक्यौता असुल नगरे कानूनी प्रक्रियामा प्रवेश गर्न नपरोस् (भिडिओ)

    सरकारलाई रास्वपाको चेतावनी- विद्युतको बक्यौता असुल नगरे कानूनी प्रक्रियामा प्रवेश गर्न नपरोस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विद्युतको बक्यौता उठाउन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले बक्यौता असुल नगरे आफूहरु मौन नबस्ने चेतावनी दिए ।

    उनले भने, ‘हाम्रो टाउकोमा लोन थप्दै गर्ने र उठाउनुपर्ने बक्यौता छाड्दै गर्ने ? यो सह्य हुँदैन, यस्तो सेटिङहरु मानिँदैन अब । त्यसैले हामीले योभन्दा सशक्त आवाज उठाउने र कानूनी प्रक्रियामा पनि प्रवेश गर्न नपरोस् । सरकारलाई चेतावनी छ, कृपया यस्तो सम्झौता नगर्नुस् । गरिबहरुको लाइन काट्दै गर्ने, उनीहरुलाई विदेश लखेट्ने, तर बक्यौता तिर्नुपर्नेहरु चाहिँ छाड्ने यो मिल्दैन ।’

    सांसद झाले देश कुनै १५ वटा व्यापारीले नभइ हरेक नागरिकले चलाउँछन् भन्ने भाष्य आवश्यक भएको बताए ।

    उनले थपे, ‘नियमले तोकेअनुसारको बक्यौता असुल गरियोस्, त्यसमा कुनै छुट हुँदैन । त्यो असुल हुनैपर्छ । नो इफ, नो बट बक्यौता असुल हुनैपर्छ ।’

  • नागरिकको सुरक्षा गर्न नसक्ने कस्तो कमजोर दुई तिहाइको सरकार ? : सांसद खनाल (भिडिओ)

    नागरिकको सुरक्षा गर्न नसक्ने कस्तो कमजोर दुई तिहाइको सरकार ? : सांसद खनाल (भिडिओ)

    काठमाडौं । रास्वपा सांसद शिशिर खनालले केपी शर्मा ओली नेतृत्वको सरकारले विधि नमानेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार नागरिकको सुरक्षा गर्न असफल भएकाे जिकिर गरे ।

    उनले भने, ‘दुई महिना अगाडि मन्त्रिपरिषद्ले केही राजदूतलाई फिर्ता बोलायो, उक्त गठबन्धनको प्रमुख अंशियारसहित बनेको यो सरकारले फिर्ता बोलाइसकेका एक राजदूतलाई राजदूत नियुक्तसम्बन्धी निर्देशिकाको दफा २१ को नियमविपरीत फेरि नियुक्त गरेको छ ।’

    सांसद खनालले विधि मान्नु नपर्ने, नागरिकको सुरक्षा गर्न नसक्ने कस्तो कमजोर दुई तिहाइको सरकार भन्दै प्रश्न गरे ।

  • सोविता गौतमलाई आफ्नै निर्वाचन क्षेत्रमा कसले गर्‍यो ‘दुर्व्यवहार’ ?

    सोविता गौतमलाई आफ्नै निर्वाचन क्षेत्रमा कसले गर्‍यो ‘दुर्व्यवहार’ ?

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई उनकै निर्वाचन क्षेत्रभित्र केही युवाहरुले अमर्यादित व्यवहार गरेका छन् । यस विषयमा गौतमले आज संसदमा पनि ध्यानाकर्षण गराइन् ।

    अविरल वर्षा र बाढी–पहिरोले गरेको क्षतिको अवलोकन गर्न हिजो बिहानैदेखि उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानमा पुगेकी थिइन् ।

    यस क्रममा करिब साँझ ५ बजे उनी कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा पर्ने मनकामना टोलमा घटना भएको हो । केही युवाहरुले उनलाई घेरेर हुलहुज्जत गरेका थिए । सोवितासँग उनकी स्वकीय सचिव प्रकृती न्यौपाने मात्र थिइन् ।

    मुलपानी क्रिकेट रंगशालाबाट विपरीत डाँडापट्टि एउटा चौतारो र त्यसनजिक चियापसल छ । त्यो कटेपछि एउटा बस्ती आउँछ । उक्त बस्तीमा पहिरो गएको ठाउँ देखाउनका लागि केही स्थानीयहरु चिया पसलमा उनलाई पर्खेर बसेका थिए । सोविता उनीहरुसँगै पहिरो गएको स्थान अवलोकन गरेर करिब आधा घन्टामा फर्किइन् ।

    फर्किने क्रममा उनले चिया पसल अगाडि केही युवाहरुको हुल देखिन्, जो अघि त्यहाँ थिएनन् । उनीहरु सबै झगडाको मुडमा थिए । सोविताको गाडी आउनासाथ उनीहरुले घेराउ गरे ।

    उनीहरुमध्येका एकजनाले ‘तपाईं बुढाहरुको मात्र कुरा सुन्ने, युवाहरुलाई वास्ता नगर्ने ?’ भनेपछि सोविता गाडीबाट ओर्लेकी थिइन् । त्यसपछि आफूमाथि उनीहरु अमर्यादित तवरले पेश भएको र फोहोरी शब्दहरुसमेत प्रयोग गरेको सोविताको आरोप छ ।

    ‘माननीयज्यू उहाँहरुको कुरा सुन्छु भनेर गाडीबाट निस्किनुभयो, तर उनीहरुको नियत अर्कै रहेछ’, सोवितासँग रहेकी स्वकीय सचिव न्यौपानेले भनिन् ।

    न्यौपानेको भनाइमा ती युवाहरुसँग खास कुनै मुद्दा वा माग थिएन । उनीहरु केवल उत्तेजना र उच्छृंखलता देखाइरहेका थिए ।

    ‘उहाँहरुको प्रस्तुति हेर्दा जसरी पनि माननीयज्यूलाई प्रोभोक गर्ने र भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्ने जस्तो देखिन्थ्यो’, न्यौपानेले भनिन्, ‘तर, माननीयज्यूले संयमित भएर नै उनीहरुलाई जवाफ दिनुभयो ।’

    असुरक्षाको अवस्था आएपछि सोविता र प्रकृती त्यहाँबाट हिँडेका थिए । बाटोबाटै प्रकृतीले बौद्ध प्रहरीको डीएसपीलाई फोन गरेर जानकारी गराएकी थिइन् ।

    उनले भनिन्, ‘पछि हामीलाई स्थानीयहरुले फोन गरेर जानकारी गराउनुभयो कि ती युवाहरु २४ सै घन्टा गाँजा र रक्सी खाएर बस्दा रहेछन् । उनीहरुमध्ये एक व्यक्ति एउटा राष्ट्रिय पार्टीको जिम्मेवार कार्यकर्तासमेत हुनुहुँदो रहेछ ।’

    भिडिओमा देखिएका एक व्यक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता सुदीप फुयाल भएको खुलेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग खिचेको तस्बिर उनले आफ्नो फेसबुकको कभरमा हालेका छन् ।

    हिजै साँझ ६ः२३ मा उनले उक्त घटनाको भिडिओ आफ्नो फेसबुक पेजमा अपलोड गरेका थिए । तर, आफूहरुले गालीगलौज गरेको पार्ट हटाएर सोविताले जवाफ दिएको पार्ट मात्रै उनले हालेका छन् ।

    उनले क्याप्सन लेखेका छन्, ‘आफ्नै क्षेत्रका युवाहरुले समस्याहरु राख्दा तर्केर हिँडिन् काठमाडौं २ कि संघीय सांसद सोविता गौतम ।’

    संसदमा शोभिताले एक राष्ट्रिय पार्टीका जिम्मेवार व्यक्ति भने पनि पार्टीको नाम र निजको परिचय खुलाएकी थिइनन् ।

     

  • रास्वपाको चेतावनी- आफू अनुकूल संविधान संशोधन गर्ने कांग्रेस-एमालेको सहमति मान्दैनौं (भिडिओ)

    रास्वपाको चेतावनी- आफू अनुकूल संविधान संशोधन गर्ने कांग्रेस-एमालेको सहमति मान्दैनौं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आफू अनूकल संविधान संशोधन गर्ने सत्तारुढ गठबन्धनको सहमति मान्य नहुने बताउनुभएको छ ।

    सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व गराउन पनि सरकारलाई सचेत गराए । सरकारले समावेशीताको आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्याएको उनको आरोप थियो ।

    परियारले भने, ‘संविधानको मूलभूत आशय समावेशीतालाई अहिले राजनीतिक पार्टीहरूले नै लत्याइरहेका छन् । संविधान आफैंले काम गर्ने होइन । संविधान एउटा सामाजिक करार हो । त्यो अनुसार राजनीतिक पार्टी र व्यवस्था चल्नुपर्छ । तर, राजनीतिक पार्टीहरू आज त्यो सामाजिक करारलाई मानिरहेका छैनन् । म सम्माननीय सभामुख महोदयमार्फत राजनीतिक पार्टीहरूको ध्यानाकर्षण गराउन चाहन्छु-१४ प्रतिशत लगभग रहेको दलित समुदाय सबैतिरबाट वञ्चित गर्ने यो कस्तो खालको राजनीतिक प्रवृत्ति हो ? संविधानअनुसार काम नगर्ने, आफू अनुकूल संविधान संशोधन गर्न खोज्ने कदाचित मान्य हुने छैन । राष्ट्रिय स्वतन्त्र पार्टी यो सरकारले समावेशीतालाई नबुझेको कुरामा घोर भर्त्सना गर्दछ । र सरकारका सबै निकायहरुमा समावेशीतालाई प्राथमिकतामा राखेर काम गर्न ध्यानाकर्षण गराउँछ ।’

    प्रमुख सचेतक परियारले सरकार संविधानअनुसार अघि बढ्न नसकेको जिकिर गरे ।

  • रास्वपा सांसदको गुनासो- जनताको समस्या बुझ्न सार्वजनिक यातायात चढ्दा खिसीटिउरी गरे (भिडिओ)

    रास्वपा सांसदको गुनासो- जनताको समस्या बुझ्न सार्वजनिक यातायात चढ्दा खिसीटिउरी गरे (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले सार्वजनिक यातायातलाई सुरक्षित र यात्रुमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनताको समस्या बुझ्न ५ दिन सार्वजनिक सवारीमा चढ्ने अभियान पार्टीले चलाउँदा खिसीटिउरी गरेको गुनासो गरे ।

    उनले भने, ‘नागरिकले सास्ती खेपेको एउटा क्षेत्र हो सार्वजनिक यातायात, राज्यका उच्च अंग, तहका उच्च अधिकारीहरूले प्रयोग नगर्ने भएकाले होला सार्वजनिक यातायातको सुधारमा उनीहरूको चासो छैन । न सहज सेवा न सुरक्षा न यात्रुमैत्री व्यवहार, दुर्घटनाको दर र मृत्युमा पनि विभेद यस्तो लाग्छ सार्वजनिक यातायात चढ्ने यात्रुप्रति राज्यको कुनै दायित्व नै छैन ।’

    नागरिकले भोग्दै आएको समस्या प्रत्यक्ष बुझ्न आफ्नो केन्द्रीय सदस्य र सांसदहरूलाई पाँच दिन सार्वजनिक यातायातमा यात्रा गर्न प्रस्ताव गरेको नेपालीको भनाइ थियो ।

    उनले थपे, ‘जनताबीच गएर उनीहरूको समस्या बुझ्छौं र समाधानको योजना दिन्छौं भनेर सुरू गरेको अभियानलाई कतिपयले खिसीटिउरीको विषय बनाएका छन् ।’

  • सदनमा सोविताको गुनासो- राष्ट्रिय दलका युवाहरूले गाँजा र रक्सीको नशामा मलाई दुर्व्यवहार गरे (भिडिओ)

    सदनमा सोविताको गुनासो- राष्ट्रिय दलका युवाहरूले गाँजा र रक्सीको नशामा मलाई दुर्व्यवहार गरे (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निर्वाचन क्षेत्रमा जाँदा हिजो आफूमाथि दुर्व्यवहार भएको गुनासो गरेकी छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै आइतबार साँझ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६ मा आफूमाथि कुनै राष्ट्रिय दलको जिम्मेवारीमै रहेका व्यक्तिहरूले दुर्व्यवहार गरेको बताइन् ।
    यद्यपि, उनले कुन दलको को भन्ने खुलाइनन् ।

    पहिरो हेरेर फर्किने क्रममा गाँजा र रक्सीको नशामा रहेका १५/२० जना युवाले आफूलाई घेरेर गाली गरेको उनको भनाइ थियो । उनले आफूलाई यो हर्कतको जिम्मा ती युवा आवद्ध राष्ट्रिय दलले लिन्छ कि लिँदैन ? भनेर सरकारको ध्यानाकर्षण गराएकी छन् ।

  • रास्वपा नेताहरु ५ दिन सार्वजनिक बसमा: अनुभव कि स्टन्ट ?

    रास्वपा नेताहरु ५ दिन सार्वजनिक बसमा: अनुभव कि स्टन्ट ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु सार्वजनिक बसमा यात्रा गरेका तस्विर र भिडियोहरु अहिले सामाजिक सञ्जालमा यत्रतत्र छरिएका छन् । सस्तो लोकप्रियताका लागि ‘स्टन्ट’ गरेको आरोप उनीहरुमाथि लागिरहेको छ ।

    रास्वपाले पार्टीको भावी कार्यदिशा र रणनीति तय गर्न दुई दिने बन्द कार्यशाला गत शुक्रबार र शनिबार राखेको थियो । उक्त कार्यशाला सकिएपछि समापनका क्रममा सभापति रवि लामिछानेले सबैजना सार्वजनिक यातायात चढेर जाने प्रस्ताव राखे । त्यसपछि नेताहरुबीच सार्वजनिक यातायातका समस्याहरुलाई गहिरोसँग बुझ्न पाँच दिन सबैले सार्वजनिक यातायात प्रयोग गर्ने अनौपचारिक कुराकानी भएको सहमहामन्त्री विपीन आचार्य बताउँछन् ।

    ‘यो हामीले बैठकमा गहन छलफल गरेर निर्णय गरेको विषयवस्तु होइन, सभापतिज्यूले अनौपचारिक रुपमा प्रस्ताव गर्नुभयो, सबै जना सहमत भयौं’, उनले नेपाल प्रेससँग भने, ‘हामीले संसदमा सार्वजनिक सवारीसाधनलाई प्रभावकारी बनाउने विषयमा सार्वजनिक महत्वको प्रस्ताव राख्न लागेकाले पनि यो विषयवस्तु आएको हो ।’

    त्यस दिन कार्यशालामा सहभागी सबै नेताहरु आआफ्ना निजी सवारीसाधन पार्टी कार्यालयमै छोडेर घर फर्किएका थिए । यस क्रममा सभापति रवि लामिछानेलगायतका केही नेतालाई युट्युबरहरुले पछ्याएर उनीहरु सार्वजनिक सवारीसाधनमा यात्रा गरेको भिडियो पोस्ट गरे । तिनै भिडिओ अहिले चर्चामा आएका हुन् ।

    रास्वपाले ५ दिन सबैले सार्वजनिक यातायात चढ्नैपर्ने भनेर बाध्यकारी गरेको भने होइन । कसैले यसको उल्लंघन गरेको खण्डमा कुनै कारबाही भोग्नुपर्ने छैन । सांसदहरु तथा केन्द्रीय सदस्यहरुले ‘अत्यावश्यक अवस्थामा’ बाहेक सार्वजनिक यातायात चढ्ने भनिएको छ । रास्वपाका कतिपय केन्द्रीय सदस्यहरु नियमित रुपमै सार्वजनिक यातायात प्रयोग गर्ने पनि छन् ।

    रास्वपाको यो नयाँ अभ्यासलाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रिया मिश्रित छ । एकथरिले सार्वजनिक यातायातको समस्या बुझ्न केही दिन आफैंले अनुभव गर्न खोज्नु सही पनि मानेका छन् । आलोचकहरुले भने सधैं जस्तो यसलाई ‘स्टन्टबाजी’ को संज्ञा दिएका छन् ।

    विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले फेसबुकमा स्टाटस लेख्दै रास्वपाप्रति कटाक्ष गरेकी छन् ।

    उनको स्टाटस यस्तो छ :

    ‘मेरो एकजना साथीलाई Vegetarian मानिसहरूको जिन्दगीमा research गर्न मन लाग्यो रे ! त्यसैले अब ५ दिनलाई मासु नखाई “Veg” हुने निर्णय गरेका छन् !

    यति गरेपछि उनी भेजहरूलाई भेज हुनु भनेको के हो भनेर प्रवचन दिन सक्ने हुन्छु भन्छन् । अनि आफू भेज नै हो भन्ने विश्वास दिलाउन सक्छु पनि भन्छन् ।

    फेरि छैटौं दिनदेखि भने non-veg नै हुने हो रे !

    यस्तो नाटक नरचन भनेको, मानेनन् !’

    रास्वपाका सहमहामन्त्री आचार्यले भने सामान्य विषयलाई अनावश्यक रुपमा ठूलो बनाइएको टिप्पणी गरे । पार्टीले कुनै पनि फरक काम गर्नासाथ ‘स्टन्ट’ को संज्ञा दिन थालिएको उनको गुनासो छ ।

    उनको भनाइ यस्तो :

    यो कुनै ठूलो विषय थिएन । यति धेरै चर्चा र टिप्पणी होलान् भन्ने सोचेका पनि थिएनौं । अचानक आएको प्रस्ताव हो । सबैको सहमतिमा गरौं न त भन्ने भयो ।

    यो आलोचना गरिरहनुपर्ने विषय हो जस्तो लाग्दैन, तर अहिले जे कुरामा पनि नकारात्मकता खोज्ने बानी परिसकेको छ । केही फरक गर्न खोज्यो कि स्टन्टको संज्ञा दिइन्छ । हामीले विगतमा ‘स्टन्ट’ भनेर सिनेमामा देखाइने साहसिक दृश्यहरुलाई बुझ्थ्यौं । अहिले त जे पनि स्टन्ट भन्न थालियो ।

    रञ्जु दर्शनाले कुन सन्दर्भमा लेख्नुभयो मलाई थाहा छैन । त्यसो हो भने त महिनामा एकदुई दिन व्रत किन बस्ने ? धेरै मानिस साउनमा माछामासु खानुहुन्न, त्यसको के अर्थ भयो ? पाँच दिन गाडी चढेर के हुन्छ भन्नेलाई म प्रतिप्रश्न गर्न चाहन्छु, यसबाट घाटा चाहिँ के हुन्छ ? कसलाई हानि हुन्छ ?

    सबै साथीहरुले आआफू पब्लिक गाडी चढेर मिडियामा बोलाएको पनि होइन । उहाँहरुले आफैंले थाहा पाएर फलोअप गर्नुभएको होला । नत्र हामी त धेरै हल्लाखल्ला गर्ने पक्षमा पनि थिएनौं ।

    पब्लिक गाडी हामी अहिले पनि यदाकदा चढिरहेकै हुन्छौं । हाम्रो लागि कुनै एड्भेन्चर होइन, तर हामीले संसदमा प्रस्ताव लैजाने क्रममा आफैंले केही दिन चढेर हेरौं न भन्ने भयो । पब्लिक गाडीमा हिँड्दा धेरै किसिमका मानिससँग साक्षात्कार हुन्छ । जनभावना बुझ्न सकिन्छ । सार्वजनिक यातायाताका समस्याहरुलाई आफैंले महसुस गर्न सकिन्छ ।

    मेरो विचारमा मूल रुपमा चार वटा समस्या छन् । पहिलो- यसमा समयको धेरै बर्बादी हुन्छ । गाडीहरु ठाउँठाउँमा रोक्ने र यात्रुको प्रतीक्षामा धेरै बेर रोक्ने हुँदा समयमा गन्तव्यमा पुग्न कठिन हुन्छ । दोस्रो- सिट क्षमताभन्दा धेरै संख्यामा यात्रु चढाउँदा कोचाकोच हुन्छ । यसबाट विशेषगरी महिला यात्रुलाई असुविधा हुने गरेको छ । तेस्रो- सार्वजनिक यातायातको गुणस्तर कमजोर छ । हाम्रोमा बाटोघाटोको कारणले पनि सवारीसाधनहरु चाँडै थोत्रिन्छन् । तिनीहरुको राम्रो मेन्टेनेन्स भएको हुँदैन ।

    यी तीन कुरामा सुधार गर्न सकियो भने जोकोही पनि निजी सवारी छोडेर सार्वजनिकमा यात्रा गर्न सक्छन् । त्यो भएमा सडकमा सवारीको चाप पनि कम हुन्छ ।

  • पजेरो सुविधा त्यागेका चितवन-२ का पूर्व सांसदले रविलाई भने- कुनै दिन सार्वजनिक बसमै भेटौँला

    पजेरो सुविधा त्यागेका चितवन-२ का पूर्व सांसदले रविलाई भने- कुनै दिन सार्वजनिक बसमै भेटौँला

    चितवन । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सार्वजनिक बसमा कुनै दिन भेट्ने आह्वान गरेको फेसबुक पोष्ट सामाजिक सञ्जालहरूमा आज चर्चामा छ ।

    पछिल्ला दिनमा राजनीतिक दलका नेता पद प्रतिष्ठामा बसेपछि भुइँमान्छेको जीवनबाट टाढा विलासी जीवनयापन गर्ने टिप्पणी बढ्दै गएको समयमा उनले यो स्टाटस पोष्ट गरेका हुन् ।

    राजनीतिकको माथिल्लो पदमा बसेर सार्वजनिक यातायातमा सवार गर्न चुनौती दिने काशीनाथ अधिकारी को हुन् त ?

    काशीनाथ अधिकारी चितवनका बासिन्दा हुन् । उनको घर चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ९ मा पर्छ । २०१६ सालमा जन्मिएका अधिकारी तत्कालीन नेकपा मालेमार्फत चितवनबाटै भूमिगत राजनीति गरेका व्यक्ति हुन् ।

    चितवनको तत्कालीन कृषि क्याम्पसमा कृषि विषयमा स्नातक पढ्दापढ्दै उनी राजनीतिमा लागेका थिए । २०३८ सालदेखि भूमिगत राजनीति गरेका अधिकारीले चितवन र मकवानपुरमा समेत तत्कालीन पार्टी प्रमुख भएर काम गरे ।

    २०४६ सालको जनआन्दोलन चितवनमा उनैको नेतृत्वमा भएका थियो । २०४७ सालपछि खुला राजनीतिमा आएका अधिकारी २०४९ सालदेखि नेकपा एमालेको केन्द्रीय कमिटीमा छन् । हाल उनी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत हुन् ।

    चितवन घर भए पनि अधिकारीको बसाइ काठमाडौंमा छ । उनी नेकपा एमालेमा पूर्णकालीन छन् । नेकपा एमालेको पार्टी कार्यालय हालको च्यासलमा आउन उनी बस्ने डेरा रानीवनबाट दैनिक आउजाउ गर्नुपर्छ ।

    अधिकारी भन्छन्,- डेराबाट दिनदिनै सार्वजनिक यातायातमा आउने भएकोले अहिलेका केही नेता चढेजस्तो यो मेरो काउन्टमा पर्ने विषय त होइन । तर, रवि जीको सार्वजनिक बसमा यात्रा गरेको फोटो देखेपछि सार्वजनिक बसको यात्रा गर्ने विषयले छोयो । कुनैदिन उहाँसँग भेटिएका जस्तो लागेर लेखेको हुँ ।

    पार्टीको केन्द्रीय कमिटीमा मात्रै होइन तीन पटकसम्म संसदीय अभ्यास पनि अधिकारीले गरिसकेका छन् । रविसँगको उनको संयोग के मिल्छ भने, अधिकारी पनि पहिलो पटक चितवन २, कै निर्वाचित सांसद थिए । उनले २०५१ सालमा चितवन २ बाट संसदीय निर्वाचन जितेका थिए ।

    त्यही बेलादेखि सांसदलाई प्राडो, पजेरो चाहिने संस्कृति भित्रिएको उनको बुझाइ छ । त्यतिबेला उनको भागमा पनि गाडी सुविधा आएको थियो ।

    अधिकारी भन्छन्,- मैले गाडी सुविधा लिएँ । तर, मेरो सुविधामा प्रयोग भएन पार्टीलाई दिएँ । आफूलाई सार्वजनिक यातायात नै ठिक थियो ।

    त्यसपछि राष्ट्रियसभा सदस्य र दोस्रो संविधानसभा निर्वाचनमा संविधानसभा सदस्यमा उनलाई पार्टीले समानुपातिक सूचीमा राखेको थियो । ती दुई पटक पनि उनले व्यक्तिगत गाडीको प्रयोग गरेनन् ।

    सार्वजनिक यातायात नै चढ्ने गरे जसरी ६५ वर्षको उमेरमा अहिले पनि सार्वजनिक बस चढ्छन् ।

    राजनीतिक दलहरूमा लाग्नेहरूको जीवन सादा आवश्यक हुन्छ भन्ने बुझाइ उनको छ । पार्टीले के दिन्छ भन्दा पनि नागरिकलाई इमानदारितापूर्वक सेवा दिनुपर्छ भन्छन् अधिकारी ।

    उनको यो भनाइलाई चितवनका पार्टी प्रमुख भइसकेका नेकपा एमाले चितवनका नेता विजय सुवेदी पनि समर्थन गर्छन् ।

    मकवानपुरबाट भूमिगत राजनीतिक जीवन सुरु गर्नेबेला सुवेदीले अधिकारीसँग भेट हुने मौका पाए । अझ उनी नै प्रमुख हुँदा राजनीतिक संस्कार सिकेको उनको भनाइ छ ।

    काशीनाथ अधिकारीलाई भेटेको ४० वर्षभन्दा बढी भए पनि उनको साधारण जीवनशैलीले सधैँ प्रभावित भएको सुवेदी बताउँछन् ।

    उनले नेपाल प्रेससँग कुरा गर्दै भने,- चिनेको केही समयमा नै राजनीतिक दलका नेताहरूमाथिको श्रद्धा घट्दै गएको हुन्छ । तर उहाँसँगको चिनजान र राजनीतिक संगतको समय जति बढ्दै गयो त्यति श्रद्धा बढ्दै गएको छ ।

  • रास्वपाको कार्याशालामा संगठन र लिडरसीपबारे समूहगत निष्कर्ष प्रस्तुत

    रास्वपाको कार्याशालामा संगठन र लिडरसीपबारे समूहगत निष्कर्ष प्रस्तुत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला आज दोस्रो दिन पनि चलिरहेको छ। पार्टीको केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा कार्यशाला हिजोदेखि चलिरहेको छ।

    कार्यशालाको दोस्रो दिन आज विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य मान्यता र लिडरसीप एकेडेमी क्यान्डिडेट क्लबमा छुट्याइएको ६ समूहले छलफलको निष्कर्ष प्रस्तुत गरिरहेका छन्।

    पार्टीको रणनीति तयारीमा केन्द्रित कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन्। बन्द कार्यशालामा विषयगत छलफलका लागि हिजो ६ वटा समूह विभाजन गरिएको थियो।

    कार्यशाला अन्तर्गत केन्द्रीय समितिका सदस्यहरूले बुझाएको कार्ययोजना सुझाव सभापति रवि लामिछाने र उपसभापतिद्वय डीपी अर्याल र डा। स्वर्णिम वाग्लेले अध्ययन गर्नेछन्। सत्ताबाट बाहिरिएपछि रास्वपामा पार्टी निर्माणमा जुटेको छ।

  • रास्वपाको दुई दिने कार्यशाला सुरू, छलफलका लागि ६ समूहमा विभाजन

    रास्वपाको दुई दिने कार्यशाला सुरू, छलफलका लागि ६ समूहमा विभाजन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने बन्द कार्यशाला सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा कार्यशाला अहिले चलिरहेको छ ।

    पार्टीको रणनीति तयारीमा केन्द्रित कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको प्रवक्ता मनिष झाले बताए ।

    कार्यशालामा विचार, संगठन, मूल्य-मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे छलफल चलिरहेको बताए।

    बन्द कार्यशालामा विषयगत छलफलका लागि ६ वटा समूह विभाजन गरिएको छ ।

    कार्यशाला अन्तर्गत केन्द्रीय समितिका सदस्यहरूले बुझाएको कार्ययोजना/सुझाव अध्ययनको सभापति रवि लामिछाने र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले अध्ययन गर्नेछन् ।

  • प्रधानमन्त्रीले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै सुमना श्रेष्ठको आपत्ति

    प्रधानमन्त्रीले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै सुमना श्रेष्ठको आपत्ति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेकी छन् । यो हस्तक्षेपले राजनीतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनुहुँदैन भन्ने अझै स्पष्ट भएको उनको टिप्पणी छ ।

    श्रेष्ठले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेकी हुन् । उनले प्रधानमन्त्रीलाई विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो रु भन्दै प्रश्न सोधेकी छन् ।

    ‘विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो । रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहीँ चित्त बुझेन छ यहाँलाई ?’ उनको प्रश्न छ ।

    सुमना थप लेख्छिन्, ‘त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको रु यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुदैन भन्ने कुरा झनै प्रष्ट पार्छ ।’

    पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो ।

    विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो। रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहीँ चित्त बुझेन छ यहाँलाई रु’

    हेर्नुस पूरा स्टाटस :
    प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू,
    विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ?

    पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो।

    विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो। रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहीँ चित्त बुझेन छ यहाँलाई?

    त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिकोरु यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुदैन भन्ने कुरा झनै प्रष्ट पार्छ।

    अब के हुन्छरु नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनु हुन्छरु नझुलाउनको लागि के लेनदेन हुन्छ, कसलाई के पद माग्नु हुन्छरु आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरी खाने भाँडो न हो, अरु प्राध्यापक र विद्यार्थीहरू मूक दर्शक न हुन् हैन त ?

    स्मरण रहोस् नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के के हेरफेर हुन्छ हामी हिसाब राख्ने छौँ ।

    २०८० मंसिर २७ गते अनलाइन खबरमा प्रकाशित लेखः “प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन किन चाहँदैनन् दलहरूरु” मा अनेरास्ववियुका अध्यक्ष समिक बडालले दलहरूले विश्वविद्यालयलाई प्राज्ञिक मर्यादाको रूपमा भन्दा राजनीतिक स्वार्थपूति गर्ने केन्द्र बनाइरहेको बताएका थिए । त्यही लेखमा तपाइँले भन्नु भएको छ “प्रधानमन्त्री कुलपति रहन आवश्यक छैन” भनेर।

    तपाइँकै युवा नेताले राजनैतिक दलहरुको कारण शिक्षा खस्किएको भनि उदाहरणसहित दिनुभएको छ। आफै पनि पदेन राजनैतिक नियुक्ति नचाहिने भनिसक्नु भएको छ।

    तपाइँको बोली माथि अब जनताले विश्वास गर्ने कि नगर्ने?

  • रघु पन्तलाई स्वर्णिमको जवाफ- हामीलाई मध्यरातमा खुफिया एजेन्सीका प्रमुखसँग गोप्य वार्ता गर्नु छैन (भिडिओ)

    रघु पन्तलाई स्वर्णिमको जवाफ- हामीलाई मध्यरातमा खुफिया एजेन्सीका प्रमुखसँग गोप्य वार्ता गर्नु छैन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले एमालेका सांसद रघु पन्तलाई जवाफ फर्काएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले वाग्लेले भारतको पक्षधरता लिँदै अभिव्यक्ति दिएको आरोप लगाउँदै आपत्ति जनाएका थिए।

    त्यसको जवाफ फर्काउँदै रास्वपा उपसभापति वाग्लेले भने, ‘राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तानपछि दोस्रो तन्नम मुलुकको रुपमा नेपाल रहने थिएन । कस्तो खालको राष्ट्रवादको अभ्यासले तपाईंहरूले नेपाललाई त्यहाँ पुर्‍याउनुुभयो ? हामी छिमेकी राष्ट्रहरूको उन्नयनमा, प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमिकतालाई अक्षुण्ण राख्दै लिने, हाकाहाकी संवाद गर्ने, आँखामा आँखा जुधाएर कुराहरू राख्ने । हामीलाई मध्यरातमा खुफिया एजेन्सीका प्रमुखहरूलाई बोलाएर गोप्य मन्त्रणा गर्नु छैन ।’

    कुनै नदीनालाका सन्धिहरूलाई देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दुःसाहस गर्नु पनि नभएको उनले बताए ।

    सांसद वाग्लेले थपे, ‘हामी नयाँ कूटनीति, नयाँ राजनीतिको संस्कार बसाउन लागेका छौं । अरूको राष्ट्रवाद कागज र भाषणमा होला । मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ । मेरो देशभक्ति उन्नत विकल्पहरू त्याग्दै मैले रोजेको असाधारण कर्ममा गएर देखिन्छ । मेरो आग्रह छ, नयाँ शक्तिलाई गलाउने, झुकाउने, क्यारिकेचर बनाउने, झूटो बोलेर यसलाई पन्छाउन सकिन्छ कि भन्ने दुःसाहस कसैले नसोच्नुहोला ।’

  • उपसभामुख जोडिएको प्रकरणमा कांग्रेसले माग्यो सभामुखको जवाफ (भिडिओ)

    उपसभामुख जोडिएको प्रकरणमा कांग्रेसले माग्यो सभामुखको जवाफ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगर जोडिएको विषयमा सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।

    प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी न्याैपानेले उपसभामुखको विषयमा सभामुखको जवाफ मागेकी हुन् ।

    उनले भनिन्, ‘उपसभामुखमाथि निकै चार्ज लागेको छ, ५ जना असम्बन्धितलाई व्यक्तिलाई पत्र सिफारिस गर्नेदेखि ५ जना बालिका लगेको कुरा पनि आएको छ । यो कुराबारे मानव तस्करीको गम्भिर आरोप लागेको छ । आरोप लाग्दैमा म सही हो पनि भन्दिनँ । तर, अन्त्यन्त गम्भीर आरोप लाग्दा जिम्मेवार पदमा बसेको व्यक्तिमाथि छानविन गर्न पाउन हक छ कि छैन । यो बिषयमा सभामुखको ध्यानाकर्षण गराउँछु ।’

     

     

  • विपद् व्यवस्थापनबारे सांसद कार्कीद्वारा सार्वजनिक महत्वको प्रस्ताव पेस

    विपद् व्यवस्थापनबारे सांसद कार्कीद्वारा सार्वजनिक महत्वको प्रस्ताव पेस

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी छन् ।

    प्रतिनिधिसभाको बैठकमा ‘विपद् व्यवस्थापनमा पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेकी हुन् ।

    प्रस्तावमाथि अहिले छलफल चलिरहेको छ । सो प्रस्तावको समर्थकमा सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असीम साह, गणेश पराजुली, डा. चन्दा कार्की, विन्दबासिनी कंसाकार र निशा डाँगी रहेका छन् ।

  • विश्वप्रकाशलाई रविको प्रश्न- मैले खोलेको सिरोहियाको फाइल केही पनि होइन भन्न मिल्छ ? (भिडिओ)

    विश्वप्रकाशलाई रविको प्रश्न- मैले खोलेको सिरोहियाको फाइल केही पनि होइन भन्न मिल्छ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस-एमालेलाई रास्वपाको चिन्ता नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई ठूला दल मिलेर बनेको सरकारले रास्वपालाई तार्गेट बनाएर एकपछि अर्को आरोप लगाएको जिकिर गरे ।

    उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको हिजो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश पक्राउ प्रकरणमा दिइएको अभिव्यक्तिमा आपत्ति जनाए ।

    उनले भने, ‘उहाँको नागरिकता प्रकरणमा अनुसन्धान जारी छ, लामो अनुसन्धानको विषय छ । तर, उहाँले खुदा पहाड निक्ला चुहा, तपाईंले खोल्नुभएको केही पनि होइन भनेर संसदलाई गुमराहमा राख्न मिल्छ ?’

    उनले आफूले कुनै पूर्वाग्रह राखेर नागरिकता प्रकरणको छानबिन अघि नबढाएको जिकिर गरे ।

    उनले थपे, ‘कान्तिपुर टेलिभिजनमा समाचार पढ्ने मान्छेको कमी भए म समाचार पढ्छु । मलाई माया छ । कान्तिपुरसहित यो देशका पत्रपत्रिकाले दिएको योगदानको प्रशंसा गर्छु । तर, संस्थाको योगदान र व्यक्तिको कुरालाई एकैठाउँमा राखेर हेर्न मिल्दैन ।

    बाँसबारी, टीकापुरसहित विभिन्न विषयको अनुसन्धान भइरहेकाले फाइल उनीहरूलाई नै जिम्मा लगाउने बताए । उनले अनुसन्धानमा रहेको विषयलाई पूर्वाग्रह साँधेको केही पनि होइन भनेर सदनमा भ्रम छरेको दाबी पनि गरे ।

    रविले भने, ‘उहाँहरू मिल्दैमा अब सहकारी बन्धुको भाषा हामी बन्द भएको हेर्न चाहँदैनौं । स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टीकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्ने आँट गरुन् ।’

  • गगनप्रति रविको प्रश्न- मैले सहकारीबाट ऋण लिएको प्रमाण खोइ ? (भिडिओ)

    गगनप्रति रविको प्रश्न- मैले सहकारीबाट ऋण लिएको प्रमाण खोइ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सहकारीमा आफूले निवेदन दिएर ऋण लिएको प्रमाण अहिलेसम्म नपाएको बताए ।

    उनले गगनलाई लक्षित गर्दै भने, ‘एकजनाले मैले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नुभएको थियो, मैले भनेको थिएँ त्यो प्रमाण बाटोमा तपाईंले जहाँ फ्याकेर हिँडेपनि म राजनीति छाड्छु भनेर । मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन । यसरी सदनलाई झुक्याउने गलत कुराहरु भन्दिने ।’

    उनले ठूला भ्रष्टाचारको काण्डहरुमा गलत सूचनाहरु दिएर संसद र राष्ट्रलाई भ्रममा पार्ने काम गर्न नहुने बताए ।

  • रास्वपा सांसद निशा डाँगीले खोजिन् कीर्तिपुर खेल मैदान निर्माणको प्रगति विवरण (भिडिओ)

    रास्वपा सांसद निशा डाँगीले खोजिन् कीर्तिपुर खेल मैदान निर्माणको प्रगति विवरण (भिडिओ)

    काठमाडौं । रास्वपाकी सांसद निशा डाँगीले कीर्तिपुर खेल मैदान निर्माणको प्रगति सदनलाई जानकारी गराउन माग गरिकी छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै केपी ओली नेतृत्वको सरकारले ३ सय दिनमा निर्माण सम्पन्न गर्ने घोषणा गरेको १५ दिन भइसकेकाले ५ प्रतिशत काम अहिले हुनुपर्ने उनको भनाइ छ । उनले समचार र चर्चाको लागि मात्रै निर्णय गर्ने प्रवृत्ति त्याग्न आग्रह गरिन् ।

    उनले भनिन्, ‘प्रधानमन्त्री आफैंले वा खेलकुदमन्त्रीले सदनमा निर्माणबारेको जानकारी प्रत्येक महिना सदनमा राख्नुपर्ने माग समेत राख्छु ।’

  • कांग्रेस महामन्त्रीलाई रास्वपा सांसदको प्रश्न- मनोज केसीको सरुवाबारे बोल्न सक्नुहुन्छ ? (भिडिओ)

    कांग्रेस महामन्त्रीलाई रास्वपा सांसदको प्रश्न- मनोज केसीको सरुवाबारे बोल्न सक्नुहुन्छ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डीआइजी मनोज केसीको सरुवालाई लिएर आपत्ति जनाएको छ ।

    संसद बैठकमा बोल्दै रास्वपा सांसद हरि ढकालले विश्वासको मत लिएको दुई दिनभित्र अब्बल राष्ट्रसेवकको सरुवा गरिएको बताए ।

    कुन उद्देश्यका साथ केसीको सरुवा गरिएको हो भन्ने प्रश्न ढकालले राखेका छन् । उनले कांग्रेस महामन्त्री (नाम नलिईकन) लाई यो विषयमा सदनमा बोल्न चुनौती समेत दिए ।

    ढकालको भनाइ:

    नयाँ सरकार बन्दै गर्दा यो सरकारको उद्देश्य हामीलाई थाहा थियो । अहिले शृङ्खला देखिन थाल्या छ । पहिलो शृङ्खला सरकार गठनपछि मन्त्रिमण्डल बन्दा नै देखिया थियो । अनुसन्धानको घेरा वरिपरि रहेकाहरूलाई मन्त्री दिएर पुरस्कृत गरियो । दोस्रो, प्रादेशिक मन्त्री बनाउँदा गुण्डानाइके, अपहरण–फिरौती तथा मानव बेचबिखनमा मुद्दा खेपेकालाई रोजियो ।

    तेस्रो श्रृंखलामा एक अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी मनोज केसीलाई सरुवा गरियो । उहाँलाई कसरी सरुवा गरियो ? त्यो पनि विश्वासको मत लिएको दुई दिनभित्र । कुन उद्देश्यले यो सरकार बनेको हो भन्ने तर्क हामीले प्रस्तुत गरेका थियौँ । त्यही उद्देश्यका लागि यो गरिएको प्रष्ट भएको छ ।

    असार १० गते इन्स्पेक्टर सरुवाका विषयमा कांग्रेसका एक महामन्त्रीले भ्रम फैलाउने गरी स्टाटस लेख्नुभएको थियो । उहाँ आज मनोज केसीको सरुवाका विषयमा बोल्न सक्नुहुन्छ ? सक्नुहुन्न ।

    यसरी हामीले जनआवाज सदनमा राख्दा नातिनातिनाको संज्ञा दिइन्छ । हो, हामी नातिनातिना नै हो । डिठ्ठासाहेब, काजीसाहेबहरुको रवैयालाई चुनौती दिने अब्बल पढेलेखेका सक्षम नातिनातिना हौँ ।’

  • रास्वपाले गरेको कारबाही अवैध भन्दै निर्वाचन आयोगमा डा. मुकुल ढकालको पत्र

    रास्वपाले गरेको कारबाही अवैध भन्दै निर्वाचन आयोगमा डा. मुकुल ढकालको पत्र

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्रीबाट हटाएका डा. मुकुल ढकालले निर्वाचन आयोग गुहारेका छन् । आफूलाई कारबाही गर्ने पार्टीको निर्णय नै अवैधानिक रहेको उनको दाबी छ ।

    निर्वाचन आयोगका प्रमुख आयुक्तलाई पत्र पठाउँदै ढकालले रास्वपाबाट विवरण अद्यावधिक गर्नका लागि कुनै पत्र आएको खण्डमा त्यसलाई कार्यान्वयन नगर्न दबाब समेत दिएका छन् ।

    पार्टीले कारबाही गरेको विषयमा आफूलाई कुनै पत्र प्राप्त नभएको र सञ्चारमाध्यमबाट थाहा पाएको उनको दाबी छ ।

    रास्वपाले आफूलाई गरेको बर्खास्त अवैधानिक रहेकोमा उनले ५ वटा तर्कहरू गरेका छन्, जुन यस प्रकार छन्:

    १. राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेश गर्ने मनासिब मौका दिइएको छैन । नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापी लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले पनि सो व्यवस्था गरेकाले सफाइको मौका नदिई गरिएको कुनै पनि कारबाही अवैधानिक ठहर्छ

    २. रास्वपा विधान (दोश्रो संशोधन २०८०) को विधानको धारा १८(७), ५६(२) र ५६ (४) ले पनि सफाइको मौका दिनपर्ने उल्लेख गरेको छ । अतः सफाइको मौका नदिई गरिएको कुनै पनि कारबाही अवैधानिक हुन्छ ।

    ३. नेपालको संविधानको धारा २६९ (४) बमोजिम राजनीतिक दलहरू लोकतान्त्रिक हुनैपर्ने बाध्यकारी व्यवस्था गरेको छ । साथै, रास्वपाको विधानको प्रस्तावनाले पनि रास्वपा एक लोकतान्त्रिक पार्टी रहेको तथ्यलाई आत्मसात् गरेको छ ।

    सफाइको मौका नदिई गरिएको कारबाही पूर्वाग्रही र लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको छ । यसर्थ, ममाथि गरिएको भनिएको कारबाही नेपालको संविधानले प्रदत्त गरेको लोकतान्त्रिक अधिकार, लोकतान्त्रिक मूल्य मान्यता एवं रास्वपा विधानकै बर्खिलाप छ ।

    ४. रास्वपाको बैठक सञ्चालन कार्यविधि (सम्मानित आयोगमा पनि बुझाइएको छ) को दफा ६ ले महामन्त्रीले बैठक सञ्चालन गर्ने उल्लेख गरेको छ । मैले कुनै पनि केन्द्रीय समिति सदस्य वा पदाधिकारीलाई बैठक सञ्चालनको अनुमति नदिएकाले मेरो अनुमति वा उपस्थितिबिना बसिएको पार्टीको कुनै पनि बैठक अवैधानिक हुनेछ ।

    साथै, बैठक सञ्चालन कार्यविधिको दफा १० बमोजिम निर्णायक प्रमाणीकरण सभापति र महामन्त्रीको हस्ताक्षरबाट हुने उल्लेख गरेकाले, मेरो हस्ताक्षरबिना कुनै पनि बैठकका निर्णय प्रमाणीकरण हुँदैन। यसर्थ, मलाई कारबाही गर्न बसेको बैठक नै अवैधानिक रहेकाले अवैधानिक बैठकले कुनै निर्णय गर्न पाउँदैन ।

    ५. नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले राजनीतिक दललाई एकै किसिमको राजनीतिक विचारधारा राख्नेहरूको संगठनका रूपमा व्याख्या गरेको छ ।

    म पार्टीको संस्थापक केन्द्रीय समिति सदस्य र पहिलो महामन्त्री एवं प्रवक्ता रहेको, पार्टीको विधान पनि मेरै नेतृत्वमा लेखिएका कारण रास्वपाको विचारको संस्थापक समेत रहेकाले राजनीतिक दलको सदस्य एवं पदाधिकारी भई राजनीतिक अधिकार प्रयोग गर्ने मेरो संवैधानिक अधिकार उपर पार्टीको राजनीतिक जीवनमा राखेको फरक अभिमतकै कारण ममाथि विधि, विधान र प्रक्रिया पुर्‍याइन गरिएको भनिएको अनुसन्धानात्मक कारबाही नेपालको संविधानले दिएको राजनीतिक अधिकार विपरीत छ ।

    महोदय, उल्लिखित आधारहरूको कारण ममाथि गरिएको भनिएको कारबाही पूर्वाग्रही, विधि, विधान र प्रक्रिया विपरीत रहेको जानकारीका लागि अनुरोध गर्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्णय अद्यावधिक गर्न आए नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । साथै, मेरो अनुमति वा उपस्थितिबिना राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक नै अवैधानिक हुने भएकाले अब उप्रान्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट कुनै निर्णय भई सम्मानित आयोग समक्ष निर्णय अभिलेखीकरण वा जानकारीका लागी आए त्यस्तो निर्णयमा मेरो हस्ताक्षर रहेको/नरहेको हेरेर मात्र आयोगले जानकारीमा लिने वा निर्णय अद्यावधिक गर्ने कारबाही अगाडि बढाउनका लागि पनि श्रीमान् समक्ष सादर अनुरोध गर्दछु ।

  • रास्वपाले विधान संशोधन गर्ने, सुझावका लागि बनायो ११ सदस्यीय कार्यदल

    रास्वपाले विधान संशोधन गर्ने, सुझावका लागि बनायो ११ सदस्यीय कार्यदल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी विधान संशोधन गर्ने भएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन, परिमार्जन र सुझावका लागि ११ सदस्यीय कार्यदल बनाएको हो।

    विधान संशोधन गर्नको लागि कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी संयोजकत्वमा कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

    उनका अनुसार कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहेका छन्।

    त्यो कार्यदलको बैठक आजै बसेर उपसंयोजक र सचिव तोक्ने बताए। आज गठित कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको बताए।

    यस्तै, बैठकले सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि बताए।