Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • पुराना पार्टीका कार्यकर्ता आफ्ना नेता भ्रष्ट छन् भन्नेमा कन्भिन्स छन्, तर हामी तयार छैनौँ : मनिष झा (भिडिओ)

    पुराना पार्टीका कार्यकर्ता आफ्ना नेता भ्रष्ट छन् भन्नेमा कन्भिन्स छन्, तर हामी तयार छैनौँ : मनिष झा (भिडिओ)

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरू आफ्ना नेता भ्रष्ट हुन् भन्नेमा विश्वस्त रहेकाले बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र कृष्णबहादुर महरा पक्राउ पर्दा सडकमा नआएको दाबी गरेका छन् ।

     

    पोखरामा मङ्गलवार बिहान आयोजित पत्रकार सम्मेलनमा उनलाई सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता झाले कांग्रेस एमालेजसरी आफूहरू आफ्ना नेता भ्रष्ट हुने भन्नेमा कन्भिन्स हुन नसकेको बताए ।

    झाले भने- उहाँहरूका नेताहरू भ्रष्ट हो भन्ने कुरामा जति चाँडै उहाँ कन्भिन्स हुनुभयो, परापूर्व कालदेखि हाम्रा नेता बदमासी गरिरहेका छन् भनेर कन्भिन्स हुनुभयो र सडकमा कोही गएनन् । तर हामी कन्भिन्स छैनौँ । कानूनलाई त्यो बेला सघाउने हो जुनबेला त्यो कानूनसम्मत हुन्छ । प्रतिवेदनको आधारमा हो हो भने ८७ अर्बको छानविन गरौँ, रातोपुल र गौशालातिर आफ्ना जिल्ला सभापतिलाई नलुकाऔँ, उपसपतिलाई नजोगाऊँ, सभापतिकी पत्नीलाई नजोगाऊँ कारबाही प्रक्रिया अघि बढाऔँ । नत्र एकजना (रवि लामिछाने) लाई मात्र छानबिन गर्दा कसरी कानूनसम्मत भयो ?

    प्रवक्ता झाले माछापुच्छ्रे सहकारीको एक करोड अपचलन गर्ने तरुण दल मोरङका नेता प्रभाकर झालाई कांग्रेस महामन्त्री गगन थापाले जोगाएर गौशाला रातोपुलतिर राखेको आरोप समेत लगाए ।

  • घुसपैठको आरोपमा पोखरा आन्दोलनमा कुटिएका व्यक्ति रास्वपाकै स्थानीय नेता

    घुसपैठको आरोपमा पोखरा आन्दोलनमा कुटिएका व्यक्ति रास्वपाकै स्थानीय नेता

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आइतबार पोखराको प्रदर्शनका क्रममा घुसपैठियाको आरोपमा कुटपिट गरेका व्यक्ति सोही पार्टीका नेता रहेको खुलेको छ ।

    रवि लामिछानेको पक्षमा भएको प्रदर्शनमा घुसपैठ गरेर परिस्थितिलाई उत्तेजक बनाएको आरोपमा कुटिएर रक्ताम्य भएका व्यक्ति रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेल रहेको खुलेको हो ।

    पौडेलले नचिनेका कार्यकर्ताहरूको कुटाइबाट आफू घाइते भएको स्वीकार गरेका छन् । मुक्का प्रहारबाट मुख फुटेपछि २ टाँका लगाइएको पौडेलले बताएका छन् । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

    उनलाई कांग्रेस एमालेको घुसपैठिया भन्दै रास्वपा सांसद हरि ढकालकै सामुन्ने निर्घात कुटपिट गरिएको थियो । प्रहरीले जोगाएर लैजान खोज्दा पनि रास्वपा कार्यकर्ताले उनलाई लखेटी लखेटी कुटेका थिए ।

    प्रहरीमाथि पानीको बोतल प्रहार गरेपछि उनी घुसपैठिया भएको आशंकामा नियन्त्रणमा लिइएको र त्यसक्रममा केही व्यक्तिले कुटपिट गरेको रास्वपा नेताहरूले बताएका छन् ।

    यसैबीच घुसपैठीयाको नाममा कुटिएका पौडेललाई स्वर्णिम वाग्ले लगायतका नेताहरूले गएर भेटेका छन् । आफ्नै कार्यकर्ताको कुटाइबाट घाइते भएका पौडेललाई रास्वपा सांसद डा.तोसिमा कार्कीले घरमै पुगेर स्वास्थ्य जाँच गरेकी छन् । पौडेलले आफू बेड रेष्टमा रहेको भन्दै पार्टीको आन्दोलनलाई समर्थन रहेको प्रष्ट पारेका छन् ।

  • प्रधानमन्त्रीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सर्‍यो

    प्रधानमन्त्रीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सर्‍यो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने समय सरेको छ ।

    प्रधानमन्त्री ओलीसहित विपक्षी दलको नेताहरुको कार्यव्यस्तताको कारणले ४ बजेका लागि तय भएको ज्ञापनपत्र बुझाउने कार्यक्रम ८ बजेलाई सारिएको हो ।

    शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले डाकेको विपक्षी दलको बैठकले ज्ञापनपत्रको मस्यौदा बनाउन कार्यदल बनाएको थियो ।

    कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल रहेका छन् ।

    प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

    बाढीपहिरोबाट ठूलो क्षति हुँदा पनि सरकार राहत तथा उद्धारमा असफल भएको विपक्षी दलको निष्कर्ष छ । संसदको विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको विपक्षी दलको तयारी छ ।

    आज जुम्ला पुगेका प्रचण्डले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरू गर्ने बताएका थिए।

    प्रचण्डले भनेका थिए ‘आज मात्रै हामी विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापन पत्र दिँदैछौं र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरू हुन्छन् ।’

  • रवि पक्राउको विरोधमा पोखरा र चितवनमा रास्वपाको प्रदर्शन (भिडिओ)

    रवि पक्राउको विरोधमा पोखरा र चितवनमा रास्वपाको प्रदर्शन (भिडिओ)

    काठमाडौं । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले सोमबार पनि प्रदर्शन गरेको छ ।

    राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाए । त्यस्तै उनको निर्वाचन क्षेत्र चितवन २ मा पनि ‘निलो क्रान्ति जिन्दावाद !’ लेखिएको प्लेकार्ड बोकेर समर्थक र कार्यकर्ता सडकमा उत्रिएका छन् ।

    सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेश गरिएको थियो ।

    अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ । रास्वपाले भने नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ ।

  • विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    काठमाडौं । विपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदैछन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ४ बजे ज्ञापनपत्र बुझाउने तय भएको हो ।

    शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले डाकेको विपक्षी दलको बैठकले ज्ञापनपत्रको मस्यौदा बनाउन कार्यदल बनाएको थियो । कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल रहेका छन् ।

    प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

    बाढीपहिरोबाट ठूलो क्षति हुँदा पनि सरकार राहत तथा उद्धारमा असफल भएको विपक्षी दलको निष्कर्ष छ । संसदको विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको विपक्षी दलको तयारी छ ।

    सरकारलाई दबाबमा राख्नको लागि संघीय संसदका सबै प्रतिपक्ष दल एकैठाउँमा उभिएका छन् ।

  • हिरासत रुँघ्ने गार्ड सुत्ने कोठामा रवि, तल्लाे तलामा छवि

    हिरासत रुँघ्ने गार्ड सुत्ने कोठामा रवि, तल्लाे तलामा छवि

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की प्रहरीले हिरासत रुँग्ने गार्डको कोठामा राखेको छ । हिरासत रहेको भवनको माथिल्लो तलामा रहेको गार्ड सुत्ने कोठामा बस्ने व्यवस्था मिलाइएकाे प्रहरी स्राेतले बतायाे ।

    स्रोतका अनुसार पूर्व डीआईजी छविलाल जोशीलाई तल्लो तल्लाको गार्ड सुत्ने कोठामा राखिएको थियाे । कास्की प्रहरीका ५ वटा हिरासत कक्ष छन् ।

    माथिल्लो तला र तल्लो तल्लामा थुनुवा रुग्ने गार्ड सुत्नका लागि बेग्लै कोठा छ । दुवै काेठामा सामान्य खाट र ओछ्यान छन् ।

    ‘जोशी र लामिछाने दुवै जना गार्डको कोठामा बस्नु हुन्छ’, कास्की प्रहरीका एक अधिकारीले भने ।

    सुत्ने खाटबाहेक अन्य सुविधाहरु भने छैनन् । गार्ड र सबै थुनुवाका लागि शौचालय एउटै छ ।

    छविलाललाई सुरुमा अरु थुनुवाहरुसँगै राखिएको थियो । रास्वपाका पूर्व केन्द्रीय सदस्य ढाकाराम श्रेष्ठ पनि उनीसँगै थिए ।

    तर, छविलालले चिसोका कारण आफ्नो स्वास्थ्यमा समस्या आएको बताएर अस्पताल बस्न पाउनुपर्ने माग गरे । त्यसपछि उनलाई गार्डको कोठामा बस्ने व्यवस्था मिलाइएको हो । खाना भने उनले प्राय मेसकै खाने गरेका थिए ।

    थुनामा रहेको कुनै पनि कैदी शौचालय जानुपर्दा बाहेक आफूलाई राखिएको कोठाबाट निस्किन पाउँदैनन् । भेट्न आउनेहरु पनि कोठाभित्र पस्न सक्दैनन् । उनीहरुले ढोकाबाहिरै उभिएर कुरा गर्नुपर्छ ।

    भेट्न आउनेका लागि निश्चित समय तोकिएको हुन्छ । रवि र छविको भेट संयोगले एकैपटक शौचालय गए भने मात्रै सम्भव हुने स्रोतले बतायो ।

    प्रहरीले लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । त्यसपछि कास्की प्रहरीमा अनुसन्धानका लागि लगिएको हो ।

     

  • अदालतबाहिर ओलीविरुद्ध रविले ओकले आगो, सरकार ढाल्न आह्वान (भिडिओ)

    अदालतबाहिर ओलीविरुद्ध रविले ओकले आगो, सरकार ढाल्न आह्वान (भिडिओ)

    काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओलीविरुद्ध कडा आक्रोश पोखेका छन् ।

    आज प्रहरीले म्याद थपका लागि अदालत लैजादै गर्दा सञ्चारकर्मीर्लाइ छोटो सम्वोधन गर्दै यो सरकार ढालिहाल्नुपर्ने बताए ।

    आफूलाई अदालतले न्याय दिने विश्वास रविले व्यक्त गरे । तर, केपी ओली नेतृत्वको यो सरकार रहिरहँदा देशले धेरै दुख पाउने उनको दाबी छ ।

    भिडिओ

    रविको भनाइः

    मलाई अदालतले न्याय दिनेमा निर्धक्क छु । तर देशभरबाट सबैजनालाई यो सरकारविरुद्ध उत्रिन आह्वान गर्छु । केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दु:ख पाउँछ । त्यसैले यो अधिनायकवादी सरकारविरुद्ध यही बेलामा देशैभरिबाट जहाँ–जहाँ हुनुहुन्छ, मेरो लागि होइन, देशका लागि बाहिर निस्किनुपर्ने अवस्था आउन सक्छ ।

    म सबैलाई अपिल गर्छु । सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनी, यो सरकार रहुञ्जेल यस्तै हर्कत गर्छ । यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन् । यो सरकारबाट देश कहिल्यै बन्दैन । भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी ठग पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झूट्टा मुद्दा लगाउने ? मलाई जस्तै डेढ वर्ष लगाएर ओलीलाई छानविन गर्ने हो भने सबैभन्दा भ्रष्टाचारमा उभिएको मानिस केपी ओली हो । उनी देशको प्रधानमन्त्री हुनु दुर्भाग्य छ ।

    मलाई न्याय अदालतले दिन्छ । न्याय प्रक्रियामा सघाउन आएको हुँ । यो अन्तिम लडाईं हो । राज्यशक्ता कब्जा गर्ने र निर्दोष मान्छे फसाउने यिनीहरुको यो सत्ता अन्त्य हुनुपर्छ । घरघरबाट आएर आएर यो सरकारको विरोध गर्न अनुरोध गर्छु ।

     

  • रविलाई अदालत पुर्‍याइयो, घुमाउरो बाटो प्रयोग

    रविलाई अदालत पुर्‍याइयो, घुमाउरो बाटो प्रयोग

    पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

    शुक्रवार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार बिहान पोखरा ल्याइएको थियो । शनिवार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो ।

    नियमित बाटोमा रास्वपाको प्रदर्शन भएका कारण अर्को बाटोबाट रविलाई अदालत लगिएको थियो ।

  • निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त (भिडिओ)

    निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त (भिडिओ)

    पोखरा । रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरा तनावग्रस्त भएको छ ।

    महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि मााहाेल तातेकाे हो ।

    अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

    रास्वपाले भने प्रदर्शन शान्तिपूर्ण हुने भन्दै जनतालाई आफ्नो अभिव्यक्ति राख्न दिनुपर्ने बताएको छ ।

    रविलाई कारवाहीको मागसहित सहकारीपीडितहरूले पनि आजै प्रदर्शनको तयारी गरेका छन् । दुई पक्षीय प्रदर्शनले निम्तिन सक्ने सुरक्षा चुनौतीलाई ध्यान दिएर उच्च सतर्कता अपनाइएको सुरक्षा अधिकारीले बताएका छ्न् ।

    जिल्ला प्रशासन कार्यालय कास्कीले शहीदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरेको छ ।

  • शान्तिपूर्ण आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा

    शान्तिपूर्ण आन्दोलन रोक्न निषेधाज्ञा लगाउनु सरकारको कायरता : रास्वपा

    काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले पोखरामा निषेधाज्ञा जारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुष्ट बनेको छ । आफूहरूले गरिरहेको शान्तिपूर्ण प्रदर्शनलाई रोक्न सरकारले कायरता प्रदर्शन गरेको रास्वपा उपसभापति डिपी अर्यालले प्रतिक्रिया दिए ।

    कास्कीका प्रमुख जिल्ला अधिकारीले महानगर क्षेत्रमा प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भन्दै निषेधाज्ञा लगाएका हुन् । पाँच जनाभन्दा बढीलाई निषेधित क्षेत्रमा जम्मा हुन रोक लगाइएको छ ।

    रास्वपाले सहिदचोकमा प्रदर्शन गरिरहँदा निषेधाज्ञाको सूचना जारी गरिएको हो । उक्त सूचनापछि रास्वपाले आफ्नो प्रदर्शन जारी राख्छ कि राख्दैन भन्ने प्रश्नमा उपसभापति अर्यालले भने, ‘हाम्रो प्रदर्शनलाई निरन्तरता दिन्छौँ, तर निषेधित क्षेत्र तोड्ने हाम्रो अभ्यास र नीति छैन ।’

    अर्यालले स्वतस्फुर्तरुपमा भएको शान्तिपूर्ण प्रदर्शनबाट सरकार आत्तिनु नपर्ने बताए ।

    ‘हामीले अस्तिदेखि नै शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका छौँ । पार्टीको झन्डासमेत नबोकेर राष्ट्रिय झन्डा बोकिएको छ । प्रहरी प्रशासनले पनि तपाईँहरूको आन्दोलन अरूको भन्दा संयमित छ भनेर प्रशंसा गरेका छन् । तर, अनायास माथिको आदेशमा प्रशासनले निषेधाज्ञा लगाउनु निन्दनीय हो ।’ उनले भने ।

    अब कसरी प्रदर्शनलाई निरन्तरता दिने भनेर रणनीति बनाइने उनको भनाइ छ ।

  • कास्की जिल्ला अदालत जाने सडकमा प्रहरीले राख्यो ब्यारियर, रविलाई दिउँसो ल्याइने

    कास्की जिल्ला अदालत जाने सडकमा प्रहरीले राख्यो ब्यारियर, रविलाई दिउँसो ल्याइने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराईंदैछ । उनलाई अस्ति काठमाडौंस्थित रास्वपा प्रधान कार्यालयबाट पक्राउ गरिएको थियो ।

    आज दिउँसो रविलाई लैजाने तयारी गरिएकोमा प्रहरीले अहिल्यैबाट अदालत परिसरमा कडाइ गर्न थालेको छ ।

    बैदामचोकमा रहेको जिल्ला अदालत जाने सडकको १०० मिटर अगाडि नै ब्यारियर राखेर प्रहरी सवारी अवागमन ठप्प बनाएको त्यहाँ रहेका रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

    रास्वपाहरुले प्रदर्शनको तयारी गरिरहँदा प्रहरीले पूर्वसतर्कता अपनाएको हो । रास्वपा नेताहरुले भने प्रदर्शन शान्तिपूर्ण हुने भन्दै निषेध नगर्न प्रहरीलाई आग्रह गरेका छन् ।

    बोहराले भने, ‘प्रदर्शन शान्तिपूर्ण हुन्छ । प्रहरीले यसरी आत्तिनुपर्दैन । जनताले स्वतस्फुर्तरुपमा गरेको प्रदर्शनमा अनावश्यक नियन्त्रण गर्न नखोजियोस ।’

    रास्वपा कार्यकर्ताहरु भेला हुने क्रम सुरु भइसकेको छ । अहिले जिल्ला अदालतबाट केही पर शहिद चाेकमा  रास्वपा कार्यकर्ताहरुले  नाराबाजी गरिरहेका छन् । उनीहरुले राष्ट्रिय झण्डा बाेकेका छन् ।

  • रवि लामिछानेलाई भोलि अदालत उपस्थित गराइने, रास्वपाले प्रदर्शन जारी राख्ने

    रवि लामिछानेलाई भोलि अदालत उपस्थित गराइने, रास्वपाले प्रदर्शन जारी राख्ने

    पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भोलि जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।

    शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराउने प्रहरीको तयारी छ ।

    रविको पक्राउविरुद्ध विरोध प्रदर्शन गरेको रास्वपाले भोलि पनि जारी राख्ने भएको छ । रास्वपाले शनिबार पोखरा चिप्लेढुंगा र काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो ।

    आइतबार पनि जिल्ला प्रशासन कार्यालय कास्की अगाडि दिउँसो साढे १२ बजे प्रदर्शन गर्ने रास्वपाले जनाएको छ । रवि पक्राउ परेसँगै रास्वपा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सहमहामन्त्री रमेश प्रसाईंलगायतका थुप्रै नेता पोखरामा छन् ।

    रविविरुद्ध सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा चलाइएको छ ।

  • नेता कार्यकर्तालाई रास्वपाको आग्रह- आन्दोलनको क्रममा तोडफोड गरेर नाम खराब गर्नसक्छ, सचेत रहनू

    नेता कार्यकर्तालाई रास्वपाको आग्रह- आन्दोलनको क्रममा तोडफोड गरेर नाम खराब गर्नसक्छ, सचेत रहनू

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक तथा सरकारी सम्पत्ति तोडफोड गरेर गरिने आन्दोलनलाई विरोध गर्ने जनाएको छ । पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेपछि सडक आन्दोलनमा उत्रिएको रास्वपाले नागरिकलाई दुःख नदिने पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले बताए ।

    सडकमा टायर बालेको फोटो राख्दै उनले भनेका छन्, ‘विरोधको यो तरिकालाई रास्वपाले कहिल्यै पनि समर्थन गर्दैन । नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्दछ । यस्ता किसिमका आन्दोलन गर्ने रास्वपाका या रवि लामिछानेका समर्थक हुनै सक्दैनन् ।’

    नागरिकका मुद्दा अझ बढी उठाउने, विधिलाई हुबहु लागू गर्ने र गराउनेमा उपस्थित हुँदा रचनात्मक र शान्तिपूर्ण रुपमा भइदिन उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

    उनले थप भनेका छन, ‘समर्थकका रूपमा घुसपैठ गरेर रास्वपाको नाममा खराब गर्ने सम्भावना रहेको हुँदा सचेत भएर त्यस्तो भेटिएमा प्रहरीलाई जिम्मा लगाइदिन हुन अनुरोध छ ।’

  • सांसद रवि लामिछाने पक्राउबारे संसद सचिवालयले गरायो जानकारी

    सांसद रवि लामिछाने पक्राउबारे संसद सचिवालयले गरायो जानकारी

    काठमाडौं । संघीय संसदले प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ ।

    संसद सचिवालयले चितवन क्षेत्र नं २ बाट निर्वाचिन सांसद रवि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरिएको जानकारी गराएको हो ।

    संंसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै भनेका छन्, ‘नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जानकारी गराइएको भन्नेसमेत व्यहोराको जिल्ला प्रहरी कार्यालय कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको प.सं. २०८१/०८२ च.नं. ७०२७ मिति २०८१/०७/०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (२) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

    प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम (२) मा बैठक नचलेको अवस्थामा उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउने उल्लेख छ ।

    प्रतिनिधिसभाको निययावलीमा २४८ मा भनिएको छ-

    (१) सदस्यको पक्राउसम्बन्धी जानकारीः (१) संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ ।

    (२) बैठक नचलेको अवस्थामा उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउनेछ ।

    (३) प्रचलित कानूनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेशबमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधासमेत स्थगित हुनेछ ।

    स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि ‘अदालत’ भन्नाले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत सम्झनुपर्छ ।

    (४) कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परी कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ ।

    (५) उपनियम (३) बमोजिम पक्राउ भएको कुनै सदस्यले सफाइ पाएमा वा थुना मुक्त भएमा निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई तत्काल दिनेछ र अधिवेशन चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गरिनेछ । त्यसरी कुनै सदस्य निलम्बन फुकुवा भएमा निजको स्थगित भएको पारिश्रमिक, सेवा र सुविधा सुचारु हुनेछ ।

  • स्वर्णिमको दाबी- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्‌मा छन्

    स्वर्णिमको दाबी- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्‌मा छन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्मा रहेको आरोप लगाएका छन् । सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले बदलाको भावनाले सरकार अघि बढेको बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीले पार्टीका कार्यालय बनाउन स्वार्थ बाँझिने गरी व्यवसायीसँग जग्गा लिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने गिरोह संगठित अपराधी त अहिलेको मन्त्रिपरिषद्मा छन् । उनीहरुबाट ध्यान मोड्न अहिलेको यो काम भइरहेको छ ।’

    बेचन झा पक्राउ गरेको २४ घण्टाभित्र सरकार ढाल्नुको कारण जनताले बुझेको उनको भनाइ छ ।

    उपसभापति वाग्लेले रविलाई एक दिन भए पनि जेलमा राख्न सकिएन भने आफ्नो राजनीति सकिने भयो भन्नेहरुले बदलाको भाव देखाएको जिकिर गरे ।

  • सभापति लामिछाने पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित

    सभापति लामिछाने पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउ परेपछि जिल्ला अधिवेशन तत्काललाई स्थगित गरेको छ । हिजो सभापति लामिछाने पक्राउ परेपछि आज तय भएका कार्यक्रम गरेर रास्वपाले भोलिदेखिका सबै कार्यक्रम स्थगित गरेको हो ।

    रास्वपाका अधिकांश नेताहरु अहिले सभापति लामिछानेसँग पोखरा गएकाले उतै केन्द्रित छन् । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले राज्य नै निरन्तर रवि लामिछानेमाथि प्रहार गर्न लागिपरे पनि आफूहरु नआत्तिएको बताए ।

    उनले भने, ‘पार्टीका मुख्य गतिविधिहरु भई नै रहन्छन्, तर महाधिवेशन केन्द्रित काम अब केही तलमाथि हुने नै छन् । नेतृत्वमाथि यो रवैया भएको छ । यसले पार्टीका काम अगाडि बढाउन अप्ठेरो हुन्छ नै । पार्टीको काम अघि बढ्छ, तर आजसम्म तय भएका जिल्ला भेला गर्ने र अरु अर्को सूचना नआएसम्मको लागि स्थगित गरेका छौं ।’

    सरकारले देखाएको रवैयाको शान्तिपूर्ण विरोध गर्ने उनले बताए ।

  • सरकार मरे पनि न्यायालय मरेको छैन, सभापति निर्धक्क हुनुहुन्छ: डीपी अर्याल

    सरकार मरे पनि न्यायालय मरेको छैन, सभापति निर्धक्क हुनुहुन्छ: डीपी अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई थुन्न पाए रास्वपा सकाइन्थ्यो भन्ने मनसाय कांग्रेस-एमालेले राखेको बताएका छन्।

    सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि पोखरामा जारी प्रदर्शनको क्रममा बोल्दै रास्वपा २१ सांसदसहित सदन छिरेपछि रोक्ने षड्यन्त्र गरेकै कारणले चितवनमा दुई पटक चुनाव गर्नुपर्ने अवस्था आएको बताए।

    उनले भने,‘हामीले जनताका लागि केही गर्ने उद्देश्यका साथ हिँडेको थियौं। हामीले रवि लामिछाने एक जनाको लागि मागेका होइनौं। म आग्रह गर्छु, हामीले केही गर्न थालेको अभियानलाई रोक्न रविमाथि अप्रत्याशित ढंगले पक्राउ गरिरहेको छ।’

    संसदीय छानबिन समितिले सहकारीमा कुनै संलग्नता नदेखिए पनि आगामी चुनावमा आफूहरु सकिने डरको कारणले तर्सिएर दुई तिहाइ सरकारको दम्भ देखाएको बताए ।

    उनले भने, ‘मैले भखरै पार्टी सभापतिलाई भेटेर आएको छु । उहाँ निर्धक्क हुनुहुन्छ। हामीलाई न्यायालयप्रति विश्वास छ। हामीले सघाउने हो। यो देशमा सरकार मरिसक्यो, न्यायालय मरेको छैन। न्यायालयले रवि लामिछाने होइन, एउटा अभियानलाई बचाउनेछ ।’

  • रवि पक्राउकाे प्रतिराेधमा काठमाडाैैं र पाेखरामा एकसाथ उत्रिए रास्वपा कार्यकर्ता (तस्बिरहरु)

    रवि पक्राउकाे प्रतिराेधमा काठमाडाैैं र पाेखरामा एकसाथ उत्रिए रास्वपा कार्यकर्ता (तस्बिरहरु)

    काठमाडौं । सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

    रास्वपाले आज बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रदर्शनमा रास्वपा नेता कार्यकर्ताहरु सहभागी थिए ।

    सहकारी ठगीमा शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगिएको थियो । शनिबार बिहान ३ बजे पोखरा लगिएकोमा रातिदेखि नै रास्वपा कार्यकर्ताले विरोध गरेका थिए ।

    जिल्ला अदालत कास्कीले उनीसहित १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।         

  • रास्वपाको आरोप- राजनीतिक प्रतिशोध साँध्न सरकारले अदालतको समेत प्रयोग गर्‍यो

    रास्वपाको आरोप- राजनीतिक प्रतिशोध साँध्न सरकारले अदालतको समेत प्रयोग गर्‍यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवहाक प्रवक्ता मनिष झाले सरकारमा रहेकाहरुले राजनीतिक प्रतिशोध साँधेर अदालतको समेत प्रयोग गरेको आरोप लगाएका छन्।

    सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि पोखरामा जारी प्रदर्शनको क्रममा बोल्दै अदालत पनि नांगिएको टिप्पणी गरे।

    उनले भने, ‘अदालतमा पनि पार्टीमा मान्छे छन् नत्र ७ जनामा त्यही न्यायाधिश कसरी पर्छ। ७ जनामध्ये आजभन्दा २५ दिनअघि जुन न्यायाधिशले गर्नेवाला थियो हिजो त्यही कसरी पर्छ। ६ जना बिदामा कसरी हुन्छ। सबैले भनेका छन्, हामीले मात्रै भनेका होइन। अदालत नांगियो भने हामी न्याय खोज्न कहाँ जाने। उहाँहरुले राजनीतिक प्रतिशोध कुण्ठाको लागि अदालतको पनि प्रयोग गर्दै हुनुहुन्छ।’

    उनले आफूहरु वास्तविक सहकारी पीडितको पक्षमा लडिरहेको जिकिर गर्दै प्रधानमन्त्री केपी ओली र कांग्रेस महामन्त्री गगन थापाले रवि लामिछाने मात्रै देखेको टिप्पणी गरे।

    उनले थपे, ‘सहकारीमा ८७ अर्ब फसेको छ। हामीले त्यो समस्या समाधान गर्नुपर्छ भनिरहेका छौं। हामी कसैलाई उन्मुक्ति दिन हुँदैन भन्ने पक्षमा छौं। उहाँहरुले सार्वजनिक लेखा समितिको सभापतिको श्रीमती भएकाले उन्मुक्ति, कांग्रेसको उपसभापति भएकाले उन्मुक्ति पाउने रे, हामीले उन्मुक्ति खोजेका छैनौं न्याय खोजेका हौं।

  • रास्वपाका उपलब्ध नेताहरु पोखरामा छलफलमा

    रास्वपाका उपलब्ध नेताहरु पोखरामा छलफलमा

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपलब्ध नेताहरु पोखरामा छलफलमा छन् । सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेसँगै पोखरा आएका रास्वपा नेताहरु छलफलमा जुटेका हुन् ।

    छलफलमा उपसभापतिद्वय डा.स्वर्णिम वाग्ले, डीपी अर्याल तोसिमा कार्की, दीपक बोहरा, शिव नेपाली, हरि ढकाल, बिनितालगायत उपलब्ध केन्द्रीय सदस्य सहभागी भएको रास्वपाले जनाएको छ ।

    अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको रास्वपाका एक नेताले बताए ।

    रास्वपाले आज ११ बजे पोखरा चिप्लेढुंगामा विरोध प्रदर्शन गर्दैछ । प्रदर्शन चिप्लेढुंगाबाट जिल्ला प्रहरी कार्यालयसम्म पुग्नेछ । प्रदर्शनमा विभिन्न जिल्लाका प्रतिनिधि सहभागी रहेको रास्वपाले जनाएको छ ।

  • रवि लामिछाने पक्राउविरुद्ध रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्दै

    रवि लामिछाने पक्राउविरुद्ध रास्वपाले पोखरा र काठमाडौंमा प्रदर्शन गर्दै

    पोखरा । सभापति रवि लामिछाने पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

    रास्वपाले शनिबार बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो ।

    शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेर पोखरा ल्याइएको थियो । शनिबार बिहान ३ बजे पोखरा ल्याइएकोमा रातिदेखि नै रास्वपा कार्यकर्ताले विरोध गरिराखेका छन् ।

    रवि ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यकर्ताको भिड लागेको थियो । रवि पक्राउ परेको विरोधमा रास्वपाले चर्को विरोध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीविरुद्ध समेत नारा लगाए । जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

    जिल्ला अदालत कास्कीले उनीसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।

  • रवि लामिछानेलाई ३ बजे पोखरा ल्याइयो, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण

    रवि लामिछानेलाई ३ बजे पोखरा ल्याइयो, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण

    पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ। शुक्रबार साँझ पक्राउ परेका रविलाई स्थलमार्ग हुँदै आज बिहान करिब ३ बजे कास्की प्रहरी कार्यालय ल्याइएको हो ।

    रवि ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यकर्ताको भिड लागेको थियो । रवि पक्राउ परेको विरोधमा रास्वपाले चर्को विरोध गरेका थिए । उनीहरु प्रधानमन्त्रीविरुद्ध समेत नारा लगाए ।

    जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

    जिल्ला अदालत कास्कीले उनीसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।

  • रवि पक्राउको रास्वपाद्वारा भर्त्सना, राजनीतिक प्रतिसोध अस्वीकार्य

    रवि पक्राउको रास्वपाद्वारा भर्त्सना, राजनीतिक प्रतिसोध अस्वीकार्य

    काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापति रवि लामिछानेलाई पक्राउ गर्नु  राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ।

    कार्यवाहक प्रवक्ता  मनिष झाले एक विज्ञप्ति जारी गर्दै सभापति पक्राउप्रति घोर भर्त्सना गरेको जनाएका छन् । न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको समेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने बताइएको छ ।

    ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ ’ विज्ञप्तिमा भनिएको छ ,  ‘तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ ।   तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन । ’

    बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत (रास्वपा)ले आरोप लगाएको छ ।

    ‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन्  हामी डराएका छैनौँ, तर्सिएका हैनौँ । अब परिवर्तनको लडाई थप बुलन्द भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

    राजनीतिक जालझेलको विरुद्ध उभिन समेत विज्ञप्तिमा आह्वान गरिएको छ ।

  • रविपत्नी निकिता पनि प्रहरीको गाडीसँगै पोखरा जाँदै, रास्वपाका नेता-कार्यकर्ताको ठूलो पंक्ति साथमा

    रविपत्नी निकिता पनि प्रहरीको गाडीसँगै पोखरा जाँदै, रास्वपाका नेता-कार्यकर्ताको ठूलो पंक्ति साथमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेर पोखरातिर हिँडाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र कार्यकर्ताको ठूलो पंति प्रहरीको गाडीलाई पछ्याउँदै पोखरा लागेका छन् ।

    रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले दुवै पोखरा जाँदैछन् । स्वर्णिम पहिले नै प्रस्थान गरिसकेको बुझिएको छ । रास्वपाका अधिकांश पदाधिकारीहरू प्रहरीको गाडी पछिपछि हिँडेका छन् ।

    रविकी पत्नी निकिता पौडेल पनि पोखरा जाँदैछिन् । उनी आफ्नै गाडी चढेर हिँडेकी हुन् ।

    रास्वपाको युवा दस्ता (र्यापिड एक्सन टीम) पनि रविप्रति समर्थन जनाउन पोखरा जाने भएको छ । यसका लागि गाडीहरूको बन्दोवस्त मिलाउने काम भइरहेको स्रोतले बतायो ।

  • पक्राउ परे पूर्वगृहमन्त्री रवि लामिछाने

    पक्राउ परे पूर्वगृहमन्त्री रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो ।

    रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् ।

    रास्वपा नेताहरुले प्रहरीलाई असहयोग नगर्न आग्रह गरेका छन् । लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिने छ । रास्वपाका केही नेता कार्यकर्ताहरु प्रहरीको गाडी सँगसँगै कास्की जाने तयारीमा छन् ।

  • प्रहरीलाई असहयोग र प्रतिवाद नगर्न रास्वपाको आग्रह

    प्रहरीलाई असहयोग र प्रतिवाद नगर्न रास्वपाको आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रहरीलाई असहयोग र प्रतिवाद नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको छ।

    पार्टी सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएपछि आयोजित पत्रकार सम्मेलनमा कार्यबहाक प्रवक्ता मनिष झाले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।

    उनले भने, ‘उहाँले अब केही समयपछि बोल्नुहुन्छ। त्यसपछि सडक मार्ग हुँदै पोखरातर्फ लाग्नुहुनेछ।’

  • रास्वपाका कावा महामन्त्रीले भने- पोखराबाट न्यायको लडाइँ सुरू भयो

    रास्वपाका कावा महामन्त्रीले भने- पोखराबाट न्यायको लडाइँ सुरू भयो

    काठमाडौं । रास्वपाका कार्यबहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीले अब न्यायको लडाइँ पोखराबाट सुरु हुने घोषणा गरेका छन्। पार्टी सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएपछि निर्दोषलाई झोस्ने, दोषीलाई पोस्ने नाटक बन्द गर्न सरकारलाई चुनौती दिएका छन्।

    उनले भनेका छन्, ‘दोषी जति उम्काउने, दोषीसँग आफै करोडौंको उपहार लिने । निर्दोषलाई जबरजस्ती फसाउने ? यस्तो निर्लज्ज सरकार, यो सरकार होइन सरकारको नामको जनघाती कलङ्कहरूको गठबन्धन हो।’

    उनले निर्दोषलाई जबरजस्ती फसाउने अराजनीतिक चरित्रका विरुद्ध घोर भर्सना गरेका छन्।

    उनले थपेका छन्, ‘रास्वपा सभापति विरुद्ध पक्राउ पुर्जी जारी गर्न दशैंअघिदेखि निरन्तर प्रयास गरेको सरकार प्रमाण नपुग्ने भन्दै अदालतबाट बारम्बार रितो हात फिर्ता आएको थियो। सबैतिरको सेटिङ मिलाइसकेपछि आज बिना आधारको पक्राउ पुर्जी लिएर रवि लामिछानेलाई लिन भन्दै प्रहरीहरू सहर यस्तै त रहेछ हामीले भनेर नहुने भन्दै आइपुगे।’

    निर्दोषहरूका न्यायका लागि अब यो देशमा आन्दोलन अगाडि बढ्ने भन्दै अब पोखराबाट न्यायको निम्ति लडाई सुरु गर्ने घोषणा गरेका छन्।

    उनले भनेका छन्, ‘न्यायप्रेमी जनप्रतिमी देशप्रेमी साथीहरु पोखरा आउनलाई तयारी गर्नुहोला। सहकारी पीडितहरूलाई न्याय दे । निर्दोषलाई झोस्ने, दोषीलाई पोस्ने नाटक बन्द गर। उपहारको नाममा दोषीसँग करोडौंको घुस लिने घुस्या राजीनामा दे।’

  • रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ?

    रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ?

    कास्की ।  जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    सहकारी ठगीमा अनुसन्धान गर्न शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।

    पक्राउ पुर्जी जारी भएकाहरूमा रवि लामिछाने, विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन् ।

     

  • सभापति लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएपछि पोखरामा रास्वपाको आकस्मिक बैठक

    सभापति लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएपछि पोखरामा रास्वपाको आकस्मिक बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रास्वपा गण्डकी प्रदेश र कास्की जिल्ला समितिको बैठक बसेको छ। अहिले प्रदेश र जिल्ला स्तरको बैठक जारी छ।

    सहकारी ठगीका विषयमा छानविन गर्नको लागि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तर, सरकारले प्रतिशोध साँधेर पक्राउ पुर्जी जारी गरेको रास्वपाको दाबी छ।

    सभापति लामिछानेलाई पक्राउ गरेपछि पोखरामा प्रतिवाद गर्ने तयारी रास्वपाको छ।

     

  • रविलाई पार्टी कार्यालयबाट पक्राउ गरिँदै, स्थलमार्गबाट कास्की लैजाने तयारी

    रविलाई पार्टी कार्यालयबाट पक्राउ गरिँदै, स्थलमार्गबाट कास्की लैजाने तयारी

    काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली अहिले पार्टी कार्यालयमा छ । सीआइबीका एसपी हविन्द्र बोगटीले रविलाई पक्राउ गर्ने प्रक्रियागत कामहरु गरिरहेका छन् ।

    पार्टी कार्यालयमा रास्वपा नेता कार्यकर्ता र सञ्चारकर्मीको भीड छ । प्रहरीले आजै कास्की लैजाने तयारी छ । रवि र रास्वपाले स्थलमार्गबाट जाने प्रस्ताव गरेका छन् । यसमा प्रहरी पनि तयार रहेको स्रोतले बतायो ।

    रविलाई कास्की लैजाने क्रममा रास्वपाका नेता कार्यकर्ताहरु पनि सँगसँगै जाने तयारी गरिएको छ ।

  • पक्राउ पूर्जीपछि रविले लेखेः दुईतिहाइको सरकार जोगाइदिन म बलि चढ्नुपर्ने ?

    पक्राउ पूर्जीपछि रविले लेखेः दुईतिहाइको सरकार जोगाइदिन म बलि चढ्नुपर्ने ?

    काठमाडौं । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रास्वपा सभापति रवि लामिछानेले आक्रोश पोखेका छन् । नयाँ पुस्तालाई एक–एक गर्दै सक्काउदै जाने कुनियत देखिएको उनको टिप्पणी छ ।

    सामाजिक सञ्जालमा आक्रामक स्टाटस लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीव्र प्रहार गरेका छन् ।

    हेर्नुस रविको स्टाटसः
    तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?

    तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।

    तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ?
    तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?

    यति गरेपछि भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता ÷कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।

    ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु ।
    नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।

    अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।

  • रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

    रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

    काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ।

    सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा पुगेको हो।

    रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरी उनलाई पक्राउ गर्न पुगेको हो। रवि अहिले पार्टी कार्यालयमा छन्। उनी सम्बोधन गर्ने तयारी गरिरहेका छन्।

    कास्की प्रहरीले जिल्ला अदालतबाट रविलाई पक्राउ गर्न अनुमति पाएलगत्तै देशभरका ठुला अपराधको अनुसन्धान गर्ने प्रहरीको युनिट सीआईबी सक्रिय बनेको हो।

    यतिबेला वनस्थलिस्थित रास्वपा पार्टी कार्यालयमा मानिसहरुको बाक्लो भिड लागेको छ। भिडबाट सीआईबीको टोली सहजै पार्टी कार्यालय प्रवेश गरेको थियो।

    लामिछाने निवर्तमान गृहमन्त्री हुन्। दुईपटक गृहमन्त्री बनेका लामिछानेमाथी सहकारीको रकम अपचलन गरेको आरोप छ।

    ग्यालेक्सी टेलिभिजनको सन्चालक गोरखा मिडियामा सहकारीको रकम ल्याएर अपलचन गरेको आरोपमा कास्की प्रहरीले यतिबेला पूर्व डीआईजी छविलाल जोशीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

    ठगी, संगठित अपराध लगायत कसुरमा उनीमाथि अनुसन्धान गरिरहेको छ। प्रहरीले संगठित अपराधमा बढीमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्छ। तर जोशी पक्राउ परेको लगभग एक महिना हुन लागेकाले अब पक्राउ पर्नेहरु बढीमा एक महिना मात्र हिरासतमा रहनेछन्।

  • रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले रविमाथि कारवाही सिफारिस गरेको थियो । सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषि ठहर्याइएको छ ।

    आज कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पूर्जि लिन जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । अदालतमा उपलब्ध एक मात्र न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् ।

  • रवि लामिछानेलाई पक्राउ गर्न खोजिनु राजनीतिक प्रतिशाेध, पार्टीको रणनीति बनाउँदैछौं: डीपी अर्याल

    रवि लामिछानेलाई पक्राउ गर्न खोजिनु राजनीतिक प्रतिशाेध, पार्टीको रणनीति बनाउँदैछौं: डीपी अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीेका सभापति रवि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी हुन सक्ने हल्लाले राजनीतिक सरगर्मी बढाएको छ । रास्पपा नेताहरु पार्टी कार्यालयमा भेला भएर अनौपचारिक छलफल गरिरहेका छन् ।

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल पक्राउ पूर्जि जारी हुने चर्चा सुने तापनि औपचारिकरुपमा केही पनि नआएको बताउँछन् । यदि लामिछानेलाई पक्राउ नै गर्न खोजिएको हो भने त्यो राजनीतिक प्रतिसोधपूर्ण हुने उनको भनाइ छ ।

    अर्यालसँग गरिएको संक्षिप्त कुराकानीः
    रवि लामिछानेलाई पक्राउ गर्न लागिएको हल्ला व्याप्त छ । अहिलेसम्म पार्टीलाई कुनै सूचना वा जानकारी छ कि छैन ?

    हामीलाई औपचारिक जानकारी केही पनि आएको छैन । पक्राउ पूर्जि जारी हुँदैछ रे भन्ने सुनेका छौं । अहिले पार्टी कार्यालयमा बसेर अनौपचारिक कुराकानी गरिरहेका छौं ।

    यदि पक्राउ पूर्जी जारी भयो र पक्राउ गर्न खोजियो भने रास्वपाको रणनीति के हुन्छ ?
    हामी अहिले छलफलमै छौं । सभापतिज्यूले निस्पक्ष अनुसन्धामा सघाउँछु भनेर भन्दै आउनुभएको छ । तर, राजनीतिक प्रतिसोध साँध्न खोजिएमा हामीलाई मान्य हुँदैन । पक्राउ गर्न खोजिएको अवस्थामा कसरी सामना गर्ने भन्ने रणनीति बनाउने क्रममा छौं ।

    पार्टी कार्यकर्तालाई सडकमा उतार्ने तयारी हो ?

    आफ्नो पार्टीका सभापतिलाई अन्यायपूर्वक जेल हाल्न खोजिन्छ भने कार्यकर्तापंतिले स्वतस्फुर्त रुपमा प्रतिरोध गर्न सक्छन् । पार्टीले अहिलेसम्म यसमा कुनै पनि निर्देशन दिएको छैन ।

    अनुसन्धानलाई सघाउने भनिसकेपछि पक्राउ पूर्जी जारी गर्ने कुराको विरोध किन त ?
    के आधारमा पक्राउ गर्ने भन्ने त प्रष्ट हुनु पर्यो नि ।

    संसदीय छानविन समितिले दिएको प्रतिवेदनका आधारमा ?

    सर्वप्रथमत संसदीय छानविनसमितिले आफ्नो टीओआर नाघेर कारवाही सिफारिस गरेको छ । अर्कोकुरा सहकारी ठगीमा सभापतिज्यूलाई समितिले आरोपित पनि गरेको छैन । गोर्खा मिडियाको पैसा खर्च गरेकोमा मात्रै जिम्मेवार ठहर्याइएको हो । यसमा त सहकारी ऐन नभएर कम्पनी ऐन आकर्षित हुन्छ । कम्पनी ऐन अनुसार एमडीले कम्पनीको खातमा भएको पैसा खर्च गर्न पाउँछ कि पाउँदैन रु एमडीले कम्पनीको पैसा खर्च गर्दा जेलमा हाल्न कुन कानूनले दिन्छ ? हाम्रो प्रश्न यो हो ।

    भनेपछि राजनीतिक पूर्वाग्रह साँध्न खोजिएको पार्टीको निस्कर्ष हो ?

    विल्कुल हो । सहकारीपिडितलाई न्याय दिन खोजिएको छैन । त्यतातिर चासो नै छैन । जसरी पनि रवि लामिछानेलाई जेल हाल्नु परेको छ । यो राजनीतिक प्रतिसोध नभए के हो ?

  • रविलाई पक्राउ गर्ने तयारीविरुद्ध रास्वपाले कार्यकर्ता उतार्ने, तत्काल पार्टी कार्यालय आउन आह्वान

    रविलाई पक्राउ गर्ने तयारीविरुद्ध रास्वपाले कार्यकर्ता उतार्ने, तत्काल पार्टी कार्यालय आउन आह्वान

    काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जि जारी गर्ने चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टीको हेडक्वार्टरमा सरगर्मी बढेको छ । रास्वपाका नेता कार्यकर्ताहरु कार्यालयमा भेला हुन थालेका छन् ।

    जिल्ला अदालत कास्कीले आजै लामिछानेमाथि पक्राउ पूर्जी जारी गर्न सक्ने आँकलन रास्वपाका नेताहरुको छ । पक्राउ पूर्जी जारी भएमा कसरी सामना गर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए । काठमाडौंदेखि पोखरासम्म नै प्रदर्शन गर्ने तयारी गरिएको छ ।

    रास्वपाकाे कार्यलयमा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र  डिपी अर्यालसहित प्रमुख नेताहरु उपस्थित छन् । लामिछानेकी पत्नी निकिता पाैडेल पनि  केहीबेरअघि पार्टी कार्यालय प्रवेश गरेकी थिइन् । नेताहरु आउने क्रम जारी छ ।

    रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अन्त्य जरुरी सूचना भन्दै फेसबुकमा पोस्ट गरेकी छन् ।

    उनले लेखेकी छन्, ‘काठमाडौंमा हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भइदिनु होला । साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा रहनुहोला ।’

    ती नेताका अनुसार रविलाई पक्राउ पूर्जी लिएर प्रहरी आए भने उनी जान तयार हुनेछन् । उनलाई नेता र कार्यकर्ताहरुकाे समूहले पछ्याएर पाेखरासम्म ल्याउने तयारी छ ।  यद्यपि, आजै रविविरुद्ध पक्राउ पूर्जी जारी हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन ।