Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • डीपी अर्यालले बोलाए रास्वपाको आकस्मिक केन्द्रीय समितिको बैठक

    डीपी अर्यालले बोलाए रास्वपाको आकस्मिक केन्द्रीय समितिको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक डाकेका हुन् ।

    आज साँझ ५ः३० बजे बैठक बस्नेगरी केन्द्रीय सदस्यहरुलाई केन्द्रीय कार्यालय वनस्थली आउन निर्देशन दिइएको छ ।

    उपसभापति अर्यालले केन्द्रीय कार्यालयमा उपस्थित १४ जना केन्द्रीय समितिका नेताको सुझावमा बैठक आह्वान गरेका छन् ।
    बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । बैठकको एजेन्डा भने खुलाइएको छैन ।

    सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले सरकारले प्रतिशोध राखेको भन्दै सडक आन्दोलन गरिरहेको छ । सभापति लामिछाने पक्राउ परेपछि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन ।

  • सहकारी पीडितको आन्दोलनमा रास्वपाको समर्थन, गैरदलीय पहिचानसहित सहभागी हुन आह्वान

    सहकारी पीडितको आन्दोलनमा रास्वपाको समर्थन, गैरदलीय पहिचानसहित सहभागी हुन आह्वान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले मंसिर ५ गते सहकारी पीडितहरुको बचत रकम फिर्ता गराउने हेतुले गर्न लागेको काठमाडौं केन्द्रित आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

    रास्वपाका प्रवक्ता मनिष झाले अभियानको आन्दोलनमा पार्टीको समर्थन रहेको बताउँदै उपस्थितिको लागि सम्पूर्ण पार्टी पंक्ति एवं शुभचिन्तकहरुलाई आह्वान गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोधको अभ्यास गर्दै कसैलाई हिरासतमा राख्दैमा यो समस्या समाधान हुँदैन, न पीडितहरूले आफ्नो बचत फिर्ता पाउनेछन् । तसर्थ यसको निराकरणतर्फ काम गर्न सरकार तथा सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

    सहकारी समस्याको मूल कारण नै फितलो कानून, भएको कानूनको इमानदार कार्यान्वयन नहुनु, पटकपटक बचतकर्ताहरुलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लागेको रास्वपाको ठहर छ ।

    २०८० माघमा पार्टीले तयार पारेर प्रधानमन्त्रीलाई बुझाएको ‘सहकारी एवं लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजना’ प्रतिवेदनमा पनि संस्थागत कुशासन, अपचलन गर्ने सहकारी सञ्चालकहरुको राजनीतिक संरक्षणलगायतका विषय प्रधानताका साथ उठाइने विज्ञप्तिमा उल्लेख छ ।

    बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त नेपाली नागरिकहरुलाई आउन विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

  • रास्वपाले आज सरकारविरुद्ध ७ मिनेट घन्टी बजाउने

    रास्वपाले आज सरकारविरुद्ध ७ मिनेट घन्टी बजाउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध टोलका सबै चोकमा ७ मिनेट खबरदारी घन्टी बजाउन आह्वान गरेको छ । आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलका चोकमा जम्मा भई घण्टी बजाउन पार्टी कार्यकर्ता र समर्थकलाई रास्वपाले आग्रह गरेको हो ।

    दुई वर्षअघिको आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरूआत भएको दिन भन्दै रास्वपाले यस्तो कार्यक्रम घोषणा गरेको हो ।

    रास्वपाले भनेको छ, ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोधविरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौं ।’

    घन्टी बजाउँदै गरेको फोटो, भिडिओहरू सामाजिक सञ्जालमा अपलोड गरी खबरदारी गर्न पनि रास्वपाले भनेको छ ।

    दुई वर्षअघि भएको आम निर्वाचनबाट रवि लामिछाने नेतृत्वको रास्वपा २० सीटसहित प्रतिनिधि सभाको चौथो शक्तिको रूपमा उदाएको थियो ।

    तर, अहिले सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध राखेर सरकारले समातेको भन्दै आन्दोलन गर्दै आइरहेको छ ।

  • उपनिर्वाचन हुने २६ स्थानमा रास्वपाको उम्मेदवारी, काठमाडौं-१६ मा रोजिना (सूचीसहित)

    उपनिर्वाचन हुने २६ स्थानमा रास्वपाको उम्मेदवारी, काठमाडौं-१६ मा रोजिना (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा आफ्ना उम्मेदवार खडा गरेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा भने रास्वपाले उम्मेदवारी दिएन ।

    काठमाडाैं १६ को वडाध्यक्षमा रोजिना श्रेष्ठलाई उठाइएको छ । मोरङको ग्रामथान पालिका अध्यक्षमा नविन कुमार खवास घन्टीवाहक उम्मेदवार बनेका छन् ।

    ओखलढुंगा, सप्तरी रौतहट, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरा, बझाङ, डोल्पा, दार्चुला, कैलाली जिल्लाहरुमा हुने उपनिर्वाचनमा रास्वपाले उम्मेदवारी दर्ता गराएन ।

    उम्मेदवारी नदिएको स्थानमा अन्य उम्मेदवारलाई समर्थन गर्ने वा तटस्थ बस्ने पार्टीको नीति छ ।

    हेर्नुस् रास्वपा उम्मेदवारको सूची

  • कीर्तिपुर मेयरको दौडबाट रास्वपाको ‘वाकओभर’, स्वतन्त्रलाई समर्थन गर्ने तयारी

    कीर्तिपुर मेयरको दौडबाट रास्वपाको ‘वाकओभर’, स्वतन्त्रलाई समर्थन गर्ने तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएको छ । चाहे जस्तो उम्मेदवार नभेटिएपछि चुनावी प्रतिस्पर्धा नगर्ने निष्कर्षमा पुगेको पार्टी स्रोतले बतायो ।

    उम्मेदवारी मनोनयन दर्ताको अन्तिम क्षणसम्म पनि रास्वपाले आफ्ना उम्मेदवारहरुको टुंगो लगाउन सकेको छैन । केहीबेर अघि आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरुले कीर्तिपुरसहित सबै स्थानमा काम भइरहेको बताएका छन् ।

    यद्यपि स्रोतका अनुसार कीर्तिपुरमा उम्मेदवारी नदिने निधो भइसकेको छ । त्यहाँ स्वतन्त्र उम्मेदवार बनेकाहरुमध्ये एकजनालाई पार्टीले समर्थन गर्नेछ ।

  • पाँच दिन ताकेता गर्दा पनि प्रधानमन्त्रीले भेट्न समय नदिएको रास्वपाको गुनासो (भिडिओ)

    पाँच दिन ताकेता गर्दा पनि प्रधानमन्त्रीले भेट्न समय नदिएको रास्वपाको गुनासो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाँच दिनसम्म प्रयास गर्दा पनि नपाएको गुनासो गरेको छ । देशको चौंथो ठूलो राजनीतिक शक्तिलाई प्रधानमन्त्रीले उपेक्षा गरेको भन्दै नेताहरुले आपत्ति जनाए ।

    आज आयोजित पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको मागपत्र लिएर प्रधानमन्त्रीलाई भेट्न खोजेको बताए ।

    उनले भने, ‘हामीले पाँच मिनेट समय लिएर उहाँलाई आफ्नो पार्टीका मागहरु सुनाउन खोजेका थियौं । तर, देशको चौंथो ठूलो राजनीतिक दललाई उहाँले पाँच मिनेट पनि समय दिनुभएन । बरु विभिन्न कार्यक्रममा गएर हामीलाई खिसिट्यूरी गर्नुभयो । त्यसैले आज हामीले पत्रकार सम्मेलन नै गरेर आफ्ना मागहरु सार्वजनिक गरेका छौं ।’

    झाले थपे, ‘जापानमा एक व्यक्तिले के–के बोले भन्नेसमेत सुनेर एक्सन लिन सक्ने प्रधानमन्त्रीले हाम्रो पत्रकार सम्मेलनमा बोलेका कुराहरु पक्कै सुन्नुहुने अपेक्षा छ ।’

     

     

  • रविलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न मागसहित रास्वपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

    रविलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न मागसहित रास्वपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने सहितका मागपत्र सार्वजनिक गर्दै रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको हो ।

    आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरे । मागपत्रको दोस्रो बुँदामा सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने उल्लेख छ ।

    यसैगरी, रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

  • आफ्ना उम्मेदवारलाई डरधम्की देखाएको भन्दै रास्वपाले दियो आयोगमा उजुरी

    आफ्ना उम्मेदवारलाई डरधम्की देखाएको भन्दै रास्वपाले दियो आयोगमा उजुरी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई डर धम्की दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

    कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगसमक्ष लिखित रूपमा निवेदन दिँदै उक्त कार्यमा संलगन्हरूलाई कारवाहीको माग गरेका छन् ।

    आयोगसमक्ष दिइएको उजुरीमा सुजाता र उनको श्रीमान बल थापालाई ४०-५० जना युवाहरुको समूहले घरबाट लछारपछार गर्दै लगिएको र उक्त कार्यमा कांग्रेसका कार्यकर्ता संलग्न रहेको दाबी गरिएको छ ।

    यस्तै मधेश प्रदेशमा पनि उम्मेदवारी दिने तयारीमा रहेका आफ्ना कार्यकर्ता र परिवारलाई डरधम्की देखाइएको रास्वपाले बताएको छ ।

    ‘लोकतन्त्रको महत्वपूर्ण पक्ष स्थानीय तह उपनिर्वाचनमा पहिलोपटक सहभागी हुन लागेको संसदको चौथो ठूलो राजनीतिक दलप्रति भएको निकृष्ठ अलोकतान्त्रिक क्रियाकलापप्रति सम्मानित निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौं । यस घटनाले हामीलाई साह्रै दुःखी बनाएको त छ नै । साथै निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको छ’, रास्वपाले भनेको छ ।

  • सर्केगाडमा रास्वपाकी उपाध्यक्ष उम्मेदवार पछि हटिन्, डर–धम्की दिइएको पार्टीको दावी

    सर्केगाडमा रास्वपाकी उपाध्यक्ष उम्मेदवार पछि हटिन्, डर–धम्की दिइएको पार्टीको दावी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापा निर्णयबाट ब्याक भएकी छन् । रास्वपाले उनलाई डर धम्की दिएर उम्मेदवारीबाट पछि हट्न बाध्य बनाइएको बताएको छ ।

    हिजो रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले फेसबुकमा एक पोस्ट गर्दै सुजाता र उनको श्रीमान बल थापालाई ४०–५० जना युवाहरुको समूहले घरबाट लछारपछार गर्दै लगिएको दावी गरेका थिए । सुजाताको ससुरा सर्केगाड ४ को कांग्रेस सभापति रहेको र उनकै ईशारामा यसरी अपहरण गरिएको बुर्लाकोटीले आशंका गरेका छन् ।

    यस विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेसँग बुझ्दा सुजाताको अपहरण नभएको बताए ।

    उनले भने, ‘हामीलाई पनि अपहरण भएको भन्ने सूचना आएको थियो । मैले सुरक्षा संयन्त्रमार्फत बुझ्न लगाएँ । सुरक्षा संयन्त्रले उहाँसित कुरा गर्दा आफू सकुशल रहेको र कुनै सुरक्षा खतरा नरहेको बताउनु भएको छ । आफ्नो राजनीतिक पृष्ठभूमि फरक रहेकाले रास्वपाबाट उम्मेदवारी दिने मनशाय नरहेको उहाँको भनाइ सुरक्षा संयन्त्रमार्फत मलाई आएको छ ।’

    रास्वपाले भने सुजातालाई डरत्राशमा राखेर बोल्न लगाइएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ । रास्वपाका केन्द्रीय निर्वाचन परिचालन संयोजन समितिका संयोजक गणेश पराजुलीले थापाले आफू उपाध्यक्ष नउठ्ने जानकारी पार्टीलाई गराएको बताए ।

    ‘उहाँ अपहरणमुक्त हुनुभएको सूचना आएको छ । उहाँले हाम्रा साथीहरुसँग अब चुनाव उठ्दिन भन्नुभएको छ । डर धम्कीकै कारण उहाँ उम्मेदवारीबाट पछि हट्न वाध्य हुनुभएको हो,’ पराजुलीले भने ।

    उपनिर्वाचन हुने अन्य क्षेत्रमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरुलाई डर धम्की दिने काम भइरहेको उनले बताए । यस विषयमा सुरक्षा निकायहरुलाई जानकारी गराउँदा पनि चित्तबुझ्दो पहल नभएको उनको गुनासो छ ।

  • रुपन्देहीको हिरासतमा रविका ३ दिन- सरकारसँग आक्रोशित, प्रहरीसँग सन्तुष्ट

    रुपन्देहीको हिरासतमा रविका ३ दिन- सरकारसँग आक्रोशित, प्रहरीसँग सन्तुष्ट

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले रुपन्देहीको प्रहरी हिरासतमा ३ दिन बिताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा बयानमा उनको २४ घण्टा व्यतित भयो ।

    मंगलबार पोखराबाट जहाजमार्फत भैरहवा ल्याएर साढे १२ बजेदेखि साढे ६ बजेसम्म मौखिक बयान लिइएको थियो । बुधबार सवा १० बजेदेखि सवा ७ बजेसम्म र बिहीबार सवा १० बजेबाट ७ बजेसम्म लिखित बयान लिइयो । पहिलो दिन मौखिक २५ भन्दा बढी तथा दोस्रो र तेस्रो दिन रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा उनले ७४ वटा लिखित प्रश्नको सामना गरे । आज उनलाई पोखरा फर्काइएको छ ।

    हरेक प्रश्नमा सहजै उत्तर दिएका रविले आफूमाथि लगाइएको आरोपको इन्कारी बयान दिएको अनुसन्धानमा संलगन अधिकारीहरूले बताएका छन् । सहकारीको रकम अपचलनका विषयमा सबै जानकारी जीबी राई र सागर केसीसँग हुनसक्ने भन्दै आफूले ऋणका लागि कुनै निवेदन नदिएको, आफूले कसैसँग रकम नलिएको दाबी उनले गरे ।

    कास्की प्रहरीको हिरासतमा बसेको २६औं दिनमा उनलाई रुपन्देही ल्याइएको थियो । पोखराको सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्न/गराउन जिम्मेवार देखिएको भन्दै उनीमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो ।

    जिल्ला अदालत रुपन्देहीले कात्तिक ८ गते लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १२ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिन प्रहरीलाई पक्राउ अनुमति दिएपछि लामिछानेलाई यहाँ ल्याइएको हो । बन्जाडेसँग यसअघि नै बयान लिइएको थियो ।

    जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकारीलगायतको उपस्थितिमा ३ दिनमा रविलाई ७४ वटा प्रश्नमा सवालजवाफ भएको जिल्ला न्यायाधिवक्ता पौडेलले बताएका छन् ।

    ‘लामिछानेसँग ७४ प्रश्नमा सवालजवाफ भएको छ, उहाँले सहज रूपमा जवाफ दिनुभएको छ, अब, अनुसन्धान अधिकृतले अनुसन्धान पूरा गरेर अभियोजन लगाएर मुद्दा पेस गर्नेछन्, अहिलेलाई बयान सकिए पनि पछि अन्य आरोपीको बयान र तथ्यप्रमाण फेला परे पुनः बयान हुन भने सक्नेछ’, पौडेलले भने ।

    इलाका प्रहरी कार्यालय बुटवलमार्फत् अनुसन्धान भइरहेको मुद्दा रविसहित सबै प्रतिवादीको बयान सकिएपछि अदालत पेस हुनेछ । मंगलबार बयान दिएर कार्यालयबाट बाहिरिँदै गर्दा लामिछानेले ‘खोरमा बाघ थुन्दैमा स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएपछि प्रहरी प्रशासनले कडा सुरक्षाबीच रविलाई सरकारी वकिल कार्यालय ल्याउने र लैजाने गरेको थियो । तर, रविले समर्थक र पत्रकार देखेपछि हात हल्लाएर संकेत गर्दै खुसी अनुहारमा भित्र जाँदा र बाहिर आउँदा अभिवादन गरिरहेका थिए ।

    बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत लामिछानेका अतिरिक्त छविलाल जोशी र जीबी राईको समूहमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

    रुपन्देही प्रहरीका अनुसार सहकारीका १८ सय ३१ जनाले आफूहरूको ८६ करोड बढी वचत अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।

    प्रहरी सुप्रिम सहकारीसम्बन्धमा २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । यसमध्ये ८ जना पक्राउ परेका छन् । जसमा २ जना कास्की र एक जना रुपन्देही कारागार रहेका छन् भने ५ जना धरौटीमा रिहा भएका छन् ।

    सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी पूर्वअध्यक्ष जीबी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसीसहित १९ जना फरार छन् ।

    यसैबीच रुपन्देही प्रहरी हिरासतमा तीन दिन बिताएका रवि लामिछानेले मात्रै होइन सो पार्टीका नेता तथा समर्थकहरुले रुपन्देही प्रहरीको व्यवहारबाट सन्तुष्ट भएको जनाएका छन् । आफ्ना पार्टीका नेताहरूसँगको हिरासतमै भएको भेटमा रविले न्यायिक पद्दतिमा सघाउन आएको र प्रहरीको व्यवहारप्रति सन्तुष्ट भएको जनाएका छन् ।

    प्रतिशोधमा फसाउनेगरी बनाएका रणनीति सफल नहुने भन्दै उनी सरकारप्रति आक्रोशित देखिएका थिए ।

    रास्वपा लुम्बिनी अध्यक्ष देवराज पाठकले प्रहरीले पोखरामा भन्दा निकै सम्मानका साथ आफ्नो जिम्मेवारी पूरा गरेको जनाए ।

    ‘प्रहरीले सम्मानसाथ राखेको सभापतिले पनि बताउनुभयो, हामीले पनि त्यो अनुभव गर्‍यौं, पोखरामा यस्तो भएको थिएन, हामीले पनि यहाँ सबै प्रदर्शन तथा अन्य कार्यक्रम शान्तिपूर्वक गर्‍यौं’ उनले भने ।

    रुपन्देहीमा रास्वपाका उपसभापति डिपी अर्याल, सहकोषाध्यक्ष दीपक बोहोरा, संगठन विभाग सचिव शंकरकुमार श्रेष्ठलगायतका नेताहरुले तीन दिनको बीचमा रविको पक्षमा भएका प्रदर्शनमा नेतृत्व गरेका थिए ।

    रास्वपा नेता गणेश पौडेलले रुपन्देही प्रहरीले गरेको सम्मानले सभापतिलाई मात्रै होइन सबै कार्यकर्तालाई खुसी बनाएको बताए ।

    ‘मैले आज पनि उहाँसँग भेटेर कुरा गरेँ, प्रहरीको ससम्मान व्यवहारले उहाँसहित हामी खुसी छौ, कानुनी प्रकृयाका लागि गर्नुपर्ने काममा हामीले सहयोग गर्ने भनेर सभापति बताउनुभएको छ’ उनले भने ।

    नयाँ मुद्दा दर्ता प्रकृया कसरी अघि बढ्छ ?

    अहिलेको बयान सकिए पनि रुपन्देहीमा अर्को मुद्दा दर्ता हुनसक्ने आंकलन गरिएको छ । प्रहरी र रास्वपाका नेताहरू नै यसो हुनसक्ने बताएका छन् । सहकारीबाट रकम निकालेर गोर्खा मिडियामा पठाएको विषय कास्की र रुपन्देहीमा मात्रै होइन चितवन, काठमाडौंमा समेत उठेको छ । कास्की र रुपन्देहीमा पक्राउ अनुमति नै पाइसकेकाले यहाँ बयान भइरहेको हो ।

    एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक-फरक भएकाले सम्बन्धित जिल्लामा लामिछानेविरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता हुन सक्ने अनुसन्धान अधिकृतको भनाइ छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले एकै प्रकृतिको कसुरमा एकै चरणमा अनुसन्धान भए पनि दुवै सहकारीको मुद्दा एकैठाउँ गाभ्न नमिल्ने भएकाले सुप्रिम सहकारीको विषयमा रुपन्देहीमा मुद्दा दर्ता हुनसक्ने संकेत गरेका छन् ।

    बयान र प्रमाणको आधारमा लामिछानेविरुद्ध मुद्दा चलाउने या नचलाउने भन्नेबारे सरकारी वकिलको कार्यालयको प्रतिवेदनले निर्धारण गर्ने जनाइएको छ । रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले अनुसन्धान अझै बाँकी रहेकोले अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा चलाउने कि नचलाउने भन्ने विषयमा निर्णय हुने जनाएका छन् ।

  • रास्वपाको आन्दोलनबारे एमालेले भन्यो- कानूनीराजको दृष्टिले उचित होइन (भिडिओ)

    रास्वपाको आन्दोलनबारे एमालेले भन्यो- कानूनीराजको दृष्टिले उचित होइन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले देखिएको गतिविधिलाई अराजकताको संज्ञा दिएका छन् ।

    मंसिर ७ को जागरण सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै योजना बनाएरै सडकमा आन्दोलन गनु उचित नभएको बताए ।

    उनले भने, ‘सहकारी प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि जुन गतिविधि भइरहेको छ, त्यो कानूनी राजको दृष्टिले उपयुक्त होइन । त्यो जोकोहीले भन्नसक्ने कुरा हो । निरन्तर योजना बनाएरै गतिविधि गर्नु उचित होइन ।’

     

    उनले सामाजिक सञ्जालमा पनि फेक आइडी बनाएर समेत समाजमा अराजक गतिविधि भइरहेको समेत बताए ।

  • भैरहवामा ३ दिनको बयान सकेर रविलाई पोखरा फर्काइयो

    भैरहवामा ३ दिनको बयान सकेर रविलाई पोखरा फर्काइयो

    रुपन्देही । रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पोखरा लगिएको छ ।

    सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको उनीमाथि आरोप थियो ।

    बिहानैबाट हुस्सु लागेर मौसम खराबीका कारण भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नखुलेकाले पौने ८ बजेको उडान साढे ५ घण्टा डिले भएको थियो ।

    रुपन्देहीका प्रहरी प्रवक्ता लक्ष्मी खनालले लामिछानेलाई विमानस्थल खुलेपछि पोखरा पठाइएको बताइन् ।

    ‘हामीले सबै तयारी सकेका थियौं तर बिहानैदेखि विमानस्थल नखुलेकाले ढिलाई भयो’ उनले भनिन् ।

    बिहीबार अन्तिम उडानमा पठाउन खोजिएपनि बयान सकिएपछि कागजपत्र मिलाउन ढिलाई भएकाले आजलाई सारिएको थियो । उनलाई यती एयरमार्फत पोखरा पठाइएको हो ।

    रविलाई आज नै लैजाने पक्का भएपछि उनको सचिवालय तथा पार्टीका अन्य नेता-कार्यकर्ता पोखरा पुगिसकेका छन् ।

  • रविबारे कांग्रेस- आधार देखेरै प्रक्रिया अघि बढेको हो, दोषी निर्दोष अब अदालतले छुट्ट्याउँछ

    रविबारे कांग्रेस- आधार देखेरै प्रक्रिया अघि बढेको हो, दोषी निर्दोष अब अदालतले छुट्ट्याउँछ

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी प्रकरणमा पार्टीको जोसुकै नेता मुछिएपछि दोषी देखिए कारबाही गर्ने आफूहरूले अवरोध नगर्ने बताएका छन्।

    नेपाल प्रेस युनियन रुकुम पश्चिमले सदरमुकाम मुसिकोट खलंगामा गरेको पत्रकार सम्मेलन बोल्दै प्रश्न उठेकाहरूमाथि छानबिन गर्न पार्टीले भनिसकेको बताए।

    कांग्रेस उपसभापति धनराज गुरुङलाई पनि सहकारी ठगीको आरोप लागेको छ।

    त्यही प्रसङ्गलाई लक्षित गर्दै भने, ‘हाम्रो पार्टीको पनि जोसुकै होस् छानबिनको प्रक्रियालाई अवरोध गर्ने काम हामीबाट हुँदैन। आधार प्रमाण भए अनुसन्धान प्रक्रिया अघि बढाए हुन्छ भनेका छौँ। हामी सत्तामा भएको कारणले कसैलाई बचाउने कसैलाई प्रक्रियामा ल्याउने भन्ने लक्ष्य छैन। सबै कुरा निष्पक्ष हुन्छ। कांग्रेसले कसैलाई विभेद गरेको छैन।’

    उनले रवि लामिछानेको विषय अदालतमा भइसकेकाले बोल्न आवश्यक नभएको बताए।

    उनले भने, ‘रविजीको बारेमा संसदीय छानबिन समितिले सर्वसम्मत नाम नै तोकेर रवि लामिछानेसहित चार जनालाई कारबाहीको लागि सिफारिस गरेको छ। त्यसपछि सरकार अनुसन्धान निकायहरूले गर्‍यो। उहाँहरूले केही आधार देखेर नै प्रक्रिया अघि बढाएको होला। अदालतले पनि केही आधार देखेर थुनामा राखेको हो। अब त्यो अदालतको हातमा गइसक्यो। अब अदालतले बोल्छ, हामीले केही भन्नुपर्ने छैन। निर्दोष भए अदालतले सफाइ दिन्छ, दोषी भएर कारबाही हुन्छ।’

  • रविकाे विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै रास्वपा

    रविकाे विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेर समय मागेको प्रवक्ता मनिष झाले बताए ।

    अहिलेसम्म प्रधानमन्त्रीको कार्यालयबाट जवाफ आएको छैन । प्रधानमन्त्रीले समय दिएलगत्तै सांसदहरुले भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ ।

    प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रको विषयमा आज पार्टीका सांसदहरु बसेर छलफल गरेका छन् । प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रमा सभापति लामिछानेको विषयमा केन्द्रित हुने एक सांसदले बताए ।

    रास्वपाले सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्दै आइरहेको छ । रास्वपाको यो कदमप्रति प्रधानमन्त्री ओली सन्तुष्ट छैनन् ।

  • रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ ।

    अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका हुन् ।

    अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियामा प्रभाव पर्नेगरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा नागरिकमा फैलाउने लगायतका काम गरी स्वतन्त्र न्यायपालिका माथि नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।

    अवहेलना निवेदनमा रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियारलगायतलाई विपक्षी बनाइएको छ ।

    भट्टराईको निवेदन सर्वोच्च प्रशासनले सुरूमा दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरिएको थियो । कात्तिक १४ मा सर्वोच्च प्रशासनले निवेदन दरपिठ गरेपछि त्यस विरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै अदालतले दरपिठ बदर गरेसँगै मुद्दा दर्ता भएको हो ।

  • भैरहवामा आज पनि रास्वपाका कार्यकर्ताको प्रदर्शन (भिडिओ)

    भैरहवामा आज पनि रास्वपाका कार्यकर्ताको प्रदर्शन (भिडिओ)

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रुपन्देहीको भैरहवामा मंगलबारभन्दा आज बुधबार सो पार्टीका समर्थकहरु बढी देखिए ।

    मंगलबार पनि दिनभरजसो प्रदर्शन गरेका रास्वपा कार्यकर्ताहरुले बुधबार शक्ति बढाएका हुन् । मंगलबार मध्यान्ह साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उनको बयान जिल्ला सरकारी वकिल कार्यालयमा लिइरहेपनि आसपासका क्षेत्रमा नियमितजसो प्रदर्शन गरिरहेका थिए । आज सबा १० बजे बयानका लागि पुराइएपछि ११ बजेबाट प्रदर्शन थालिएको हो ।

     

    लुम्बिनी रोडमा रास्वपा नेता कार्यकर्ताले लामिछानेको पक्षमा प्रदर्शनपछि कोणसभा गरिएको छ । रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले मंगलबार आकस्मिक भएर समर्थकहरु थोरै भएपनि आज हिजोभन्दा बढेका हुन् ।

    बुधबार प्रदर्शनपछि आयोजित सभामा रास्वपाका केन्द्रीय उपसभापति डिपी अर्यालले सबैतिरको बयानमा सहकारीको रकम अपचलन अस्वीकार गरेको अवस्थामा पनि एकै विषय धेरै जिल्लामा तानेर समय लम्बाउनु राजनीतिक प्रतिशोध बाहेक केही नभएको बताए ।

    उनले विभिन्न जिल्लामा डुलाएर कानुनी छिद्र खोजेर अलमलाउन खोजिए पनि त्यो संभव नभएको बताए । रुपन्देहीमा जम्मा भएका पार्टीका समर्थकहरुलाई उनले आन्दोलनलाई मर्यादित बनाउन आग्रह गरे ।

    विरोध सभालाई रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठक, केस विजय जैरु, केन्द्रीय संगठन विभाग सचिव शंकरप्रसाद श्रेष्ठ, रुपन्देही सभापति बुद्धि शर्मा, नेता गणेश पौडेललगायतले सरकारले गलत नियतले पार्टी सभापतिलाई दुःख दिइरहेको बताएका थिए ।

    बुटवलको सुप्रिम सहकारीमा बचत ठगी गरेको आरोपमा लामिछानेलाई हिजो कास्कीबाट रुपन्देही ल्याएको थियो। अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ।

    बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बयानमा भने उनले सहकारीबाट रकम नलगेको दावी गरिरहेका छन् ।

    प्रहरीले बुधबार नै बयान सकेर पठाउने तयारी गरेपनि अझै केही टुंगो लागेको छैन ।

  • रास्वपाबाट दैलेखेको महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढा बने उम्मेदवार

    रास्वपाबाट दैलेखेको महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढा बने उम्मेदवार

    काठमाडौं । हालसम्म प्रतिनिधि सभा निर्वाचनमात्र लडेको राष्ट्रिय स्वतन्त्र पार्टी अन्ततः स्थानीय तह निर्वाचनमा होमिने भएको छ । रास्वपाले दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि हुन लागेको उपनिर्वाचनमा प्रकाश बुढालाई उम्मेदवार बनाएको छ ।

    रास्वपा दैलेख जिल्ला उप सभापति समेत रहेका बुढालाई अध्यक्ष उम्मेदवार बनाएर चुनावी अभियानमा निस्किएको हो । दैलेख जेसिसको अध्यक्ष समेत रहेका बुढा कर्णालमा रक्तदाता अभियन्ताका रुपमा समेत सक्रिय छन् ।

    यस्तै, दुल्लु नगरपालिका वडा नं। १३ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट रामबहादुर शाहीलाई उम्मेदवार बनाइएको रास्वपा दैलेखका सभापति बखत भण्डारीले बताए ।

  • रास्वपाले दियो कविन्द्र बुर्लाकोटीलाई उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार

    रास्वपाले दियो कविन्द्र बुर्लाकोटीलाई उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनमा पार्टीका उम्मेदवारको उम्मेदवारी दर्ता पत्रमा हस्ताक्षर गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ।

    मंगलबार बसेको केन्द्रीय समितिको बैठकले टिकटमा हस्ताक्षर गर्ने अधिकार कार्यवाहक महामन्त्रीलाई दिने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए।

    सभापति रवि लामिछाने सहकारी प्रकरणमा हिरासतमा परेपछि रास्वपाले कार्यवाहक सभापति तोकेको छैन।

  • हिरासतबाट रविकाे सन्देश- फसाउने योजना बन्दैछन्, तर आन्दोलन शान्तिपूर्ण बनाउनू

    हिरासतबाट रविकाे सन्देश- फसाउने योजना बन्दैछन्, तर आन्दोलन शान्तिपूर्ण बनाउनू

    रुपन्देही । मंगलबारदेखि रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले बुधबार नेताहरूसँग भेटघाट गरेका छन् ।

    लामिछानेले बुधबार बिहान पार्टीका नेतासँग अलग-अलग भेटेर बाहिरी अवस्था बुझेका छन् भने आवश्यक निर्देशन पनि दिएका छन् । बुधबार बिहान रास्वपाका सहकोषाध्यक्ष दीपक बोहरा, संगठन विभाग प्रमुख शंकरकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकलगायतका नेताले अलग-अलग भेटेका थिए ।

    उनले आफूलाई भेट्न आएकासँग न्यायिक पद्धतिलाई सघाउन तयार भएपनि सरकारले प्रतिशोध राखेरै बयान लम्ब्याएको र मानसिक दबाब दिन खोजिरहेको बताएका छन् । यद्यपि ढुक्क भएर आफ्नो भनाइ राखिरहेको उनले बताएका छन् ।

    आन्दोलनलाई शान्तिपूर्ण र सौहार्दपूर्ण बनाउन नेतृत्वलाई आग्रह गर्दै सरकारले प्रतिशोधमा फसाउनेगरी बनाएका रणनीति सफल नहुने भन्दै ढुक्क रहेर साथ दिन आग्रह गरेको भेटका लागि गएका एक नेताले बताए ।

    मंगलबार पोखराबाट जहाजमा ल्याइएका रविको साढे १२ बजेदेखि साँझ ६ बजेसम्म मौखिक बयान लिइएको थियो । प्रहरीले उनलाई केही समय आराम गर्न भनेपनि आफू बयानका लागि तयार भएको बताएपछि बयान तत्काल सुरू गरियो ।

    रविलाई भेट्न पुगेकाहरूले आन्दोलन र समसामयिक परिवेशको जानकारीसँगै आन्तरिक योजनाको छलफल गरेका छन् । रास्वपा लुम्बिनी अध्यक्ष देवराज पाठकले सभापति न्यायिक प्रोसेसलाई सघाउन तयार भएको र उच्च मनोबलका साथ बसेको बताए ।

    ‘मैले बिहान १० मिनेट हिरासतमै भेटेर आएँ, अरु केही साथीहरूले पनि भेट्नुभएको छ, उहाँले न्यायिक प्रोसेसलाई खुलेर सघाउने जनाउनुभएको छ’ पाठकले नेपाल प्रेससँग भने, ‘सरकारले प्रतिशोध राखेर यति धेरै समय लिइरहेको छ, थकाउन खोजिरहेको छ, बाहिरको माहोल कस्तो छ ? जसरी पनि आन्दोलनलाई शान्तिपूर्ण बनाउनुहोस्, अराजक बनाएर गलत तत्वले हामीलाई आक्षेप लगाउने हुनसक्छ, त्यसमा सचेत हुनुपर्छ भन्नुभयो ।’

    सभापति लामिछानेले रुपन्देही प्रहरीमा राम्रो व्यवहार गरेको बताएका छन् ।

    ‘मलाई भित्र कुनै समस्या छैन, प्रहरीको व्यवहार राम्रो छ, बाहिर पनि राम्रो भएको सुनेको छु, आन्दोलनका कारण कुनै केही क्षति भए राज्यको नोक्सानी हुने हो, कसैलाई चोटपटक लाग्ने, कसैलाई दुःख दिनेखालका आन्दोलन रोक्नका लागि सचेत बताउनुभयो’, लामिछानेलाई उद्धृत गर्दै पाठकले थपे ।

    लामिछानेको दोस्रो दिनको बयान आज बिहान सवा १० बाट जारी छ । उनलाई प्रहरीको कडा सुरक्षा घेरामा सरकारी वकिल कार्यालय लगिएको थियो । मंगलबार बयान दिएर निस्किने क्रममा उनले बार्दलीबाट ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्दै टिप्पणी गरेका थिए ।

    बुधबार दोस्रो दिनको बयानका लागि लैजानेक्रममा प्रहरीले घेरा हालेर प्रवेश गराएको थियो ।

    बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनको अभियोगमा जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको उपस्थितिमा इलाका प्रहरी कार्यालय बुटवलकै प्रहरी अधिकृतहरुले बयान लिइरहेका छन् । मंगलबार प्रारम्भिकरूपमा मौखिक बयान लिइएको र आज विभिन्न सवालहरुमा लिखित बयान लिइने छ ।

    इलाका प्रहरी कार्यालयमार्फत् अभियोजन गरिएको मुद्दाका सन्दर्भमा सरकारी वकिल कार्यालयमा मंगलबार लामिछानेले इन्कारी बयान दिएका छन् । आफू सदस्य नै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको उनले बताएको प्रहरी स्रोत बताउँछ ।

    रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौरले बुधबार सरकारी कार्यालय समयमा बयान लिइएपछि आजै फर्काउने वा राख्ने टुंगो लाग्ने बताए ।

    रास्वपाका कार्यकर्ताले बुधबार पनि साढे ११ बजे लुम्बिनी गेटमा जम्मा भएर प्रदर्शन थालेका छन् । सुप्रिमबाट लामिछानेले दुई करोड र जीबी राई सम्वद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

  • भैरहवामा रविको दोस्रो दिनको बयान सुरू, आज लिखित सवाल-जवाफ

    भैरहवामा रविको दोस्रो दिनको बयान सुरू, आज लिखित सवाल-जवाफ

    रुपन्देही । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज दोस्रो दिन बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही उपस्थित गराइएको छ ।

    मंगलबार पोखराबाट ल्याएर साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उनको मौखिक बयान लिइएको थियो । आज भने लिखित रूपमै प्रश्न राखेर बयान लिइने बताइएको छ । रविको दोस्रो दिनको बयान सुरू भइसकेको छ ।

    बुटवलमा सुप्रिम सहकारी ठगी प्रकरणको थप अनुसन्धान तथा बयानका लागि लामिछानेलाई कास्कीबाट हिजो रुपन्देही ल्याइएको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रूपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

    रविले आफूले सहकारीबाट रकम नलगेको बयान दिएका छन् । प्रहरीले यहाँबाट छिटो बयान सकेर रविलाई पठाउने जनाएको छ । सुप्रिम सहकारी ठगीको मुद्दा इलाका प्रहरी कार्यालय बुटवलले हेरिरहेकाले बयानमा पनि बुटवलकै प्रहरी अधिकृत रहेका छन् ।

  • बयानमा निर्धक्क रवि- सुप्रिम सहकारी ठगीमा संलग्नता अस्वीकार, आज लिखित प्रश्न सोधिने

    बयानमा निर्धक्क रवि- सुप्रिम सहकारी ठगीमा संलग्नता अस्वीकार, आज लिखित प्रश्न सोधिने

    रुपन्देही । सहकारी ठगीबारे अनुसन्धानका लागि बयान लिन कास्कीबाट मङ्गलवार दिउँसो भैरहवा ल्याइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले बयानमा त आफ्नो संलग्नता अस्वीकार मात्रै गरेनन् बाहिर पनि निर्धक्क देखिएका छन् ।

    मङ्गलवारको बयान सकेर प्रहरी निगरानीमा सरकारी वकिल कार्यालय बाहिर उनले निर्धक्क बोले बाघलाई थुनेर स्याल हुँदैन । त्यो अभिव्यक्ति दिने समयमा उनलाई प्रहरीले रोकिरहेको थियो । सँगै रहेका इलाका प्रही कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले उनी अडिएर समर्थकहरूलाई हेरेर बोल्न थालेपछि रोक्दै अगाडि बढाएका थिए । विमानस्थल, अदालत र बयान सबै ठाउँमा उनी कतै गल्ती गरेजस्तो वा प्रहरी हिरासतमा रहेजस्तो देखिएका छैनन् ।

    मङ्गलवारको बयानमा सहकारी रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले आज बुधवार पनि बयान लिने भएको छ । मङ्गलवार मौखिक प्रश्न सोधिएको उनलाई आज भने लिखित प्रश्न सोधिने भएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले मङ्गलवार २० भन्दा बढी प्रश्न सोधिएको अधिकांश प्रश्नमा इन्कारी बयान दिएका थिए । आज बुधवार बिहान सवा १० बजेदेखि नै बयान निरन्तर हुने जनाइएको छ ।

    पोखराबाट विमानस्थलबाट १२ बजे विमानस्थल पुराइएका उनलाई सिधै सरकारी वकिलको कार्यालय पुराइएको थियो । प्रहरीले एकछिन आराम गर्न प्रस्ताव गरे पनि लामिछानेले सिधै बयानमा जान तयार भएपछि उनलाई बयानमा राखिएको थियो । मङ्गलवार साढे १२ बजे सुरु भएको बयान साँझ ६ बजे सकिएको थियो । आज सवा १० बजे छामिछानेको बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठोरले जनाए ।

    उनले रवि लामिछानेलाई मङ्गलवार जिल्ला प्रहरी कार्यालय भैरहवामै राखिएको छ । बयानमा सुप्रिम सहकारीको मुद्दा रहेको इलाका प्रहरी कार्यालय बुटवलका अधिकृतहरू बसेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसँगको बयानमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डित, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित केही अनुसन्धान अधिकृत सामेल थिए । मङ्गलवार सामान्य सोधपुछ भए पनि लिखित सोधपुछ बुधवार हुने जिल्ला न्यायाधिवक्ता पौडेलले जानकारी दिए ।

    बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेपनि बयानमा सहकारीबाट रकम नलगेको जिकिर गरेपछि प्रहरीलाई संकट परेको छ ।

    सहकारीबाट आफ्नो नाममा गएको रकम कसले र कसरी लग्यो भन्नेबारे आफूलाई जानकारी नरहेको लामिछानेले बयानका क्रममा बताएको लामिछानेले आफूले सहकारीबाट रकम नलगेको र कसैलाई त्यस्तो आग्रह वा निर्देशनसमेत नदिएको जवाफ दिएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ ।

    सुप्रिम सहकारीको खाताबाट गोरखा मिडिया नेटवर्कको खातामा सिधै रकम ‘ट्रान्सफर’ भएको र रकम कर्मचारी रोशनी गुरुङले जम्मा गरिदिएको, रविको नाममा थप ९६ लाख रुपैयाँ प्रवाह भएको सहकारी रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ तर रविले यो विषयमा आफूलाई केही जानकारी नभएको जवाफ दिएका छन् ।

    लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ ।

    संसदीय समितिको छानबिन प्रतिवेदनमा सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा २ करोड ५० लाख, छविलाल जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

    लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न कास्की प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई पहिलो पटक कात्तिक ४ गते ६ दिनको म्याद थप गरेको थियो ।

    दोस्रो पटक ७, तेस्रो पटक १० र चौथो पटक १३ दिनको म्याद थप भएर उनीमाथि अनुसन्धान भइरहेको छ । लामिछानेलाई मङ्गलवार दिउँसो १ बजे पोखरा विमानस्थलबाट भैरहवा हुँदै जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको थियो ।

  • बयान दिएर निस्किँदै गर्दा रविले भने- खोरमा थुनिदैमा बाघ स्याल हुँदैन (भिडिओ)

    बयान दिएर निस्किँदै गर्दा रविले भने- खोरमा थुनिदैमा बाघ स्याल हुँदैन (भिडिओ)

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ टिप्पणी गरेका छन् । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकतिर फर्किएर बार्दलीबाट हात उठाउँदै छोटो बोले ।

    लामिछानेलाई आजै पोखराबाट बयानको लागि त्यहाँ लगिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ ।

    लामिछानेलाई भैरहवा लगेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

    रास्वपाका कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताको भैरहवाको बुद्धचोक, लुम्बिनी गेटलगायतको ठाउँमा रविको पक्ष र विपक्षबीचको प्रदर्शन समेत गरेका थिए ।

    रास्वपाले सरकारले प्रतिशोध राखेर सभापति लामिछानेलाई हिरासतमा राखेको भन्दै देशभर आन्दोलन गरिरहेको छ ।

  • रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने

    रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्ने भएको छ ।

    न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश दिएको हो ।

    अनुसन्धानमा रहेकै अवस्थामा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।

  • भैरहवामा रास्वपा कार्यकर्ता राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा, रविमाथि राजनीतिक प्रतिशोध भन्दै सरकारको विरोध (भिडिओ)

    भैरहवामा रास्वपा कार्यकर्ता राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा, रविमाथि राजनीतिक प्रतिशोध भन्दै सरकारको विरोध (भिडिओ)

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता-कार्यकर्ताले रुपन्देहीको भैरहवामा प्रदर्शन गर्दै राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै विरोध गरेका छन् ।

    प्रदर्शनकारीले रास्वपाको झण्डा नबोकि राष्ट्रिय झण्डासहित प्रदर्शन गरेपनि लामिछानेमाथि अन्याय भएको भन्दै सरकारको विरोधमा लगातार नारावाजी गरिरहेका छन् ।

    बिहानैदेखि विमानस्थल अघि जम्मा भएर प्रदर्शनमा उत्रिएका उनीहरुले अहिले भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयको उत्तरपट्टीको भित्री सडक र बजारमा प्रदर्शन गरिरहेका छन् ।

    सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धि कसुरमा अनुसन्धान रहेको सभापति लामिछानेको समर्थनमा पार्टीको तर्फबाट प्रदर्शन गरेको भन्दै आलोचना भएपछि भैरहवामा भने पार्टीको झण्डा प्रयोग भएको छैन तर आन्दोलनको नेतृत्व पार्टीकै नेताहरुले गरिरहेका छन् ।

    मंगलबार रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रवन्ध निर्देशक लामिछानेलाई भैरहवा ल्याउने सूचना पाएपछि बिहानैबाट जम्मा भएका उनका समर्थकले दिनभरजसो प्रदर्शन गरिरहेका छन् । रास्वपा कार्यकर्ताको मोटरसाइकल र्याली बुद्ध चोकबाट सुरु भएर विमानस्थल, गल्लामण्डी हुँदैं पुनः बुद्ध चोक पुगेको थियो ।

    कार्यकर्ताले प्रदर्शन शान्तिपूर्ण हुने उल्लेख गर्दै प्रदर्शनकर्ताका लागि आचारसंहिता सार्वजनिक गरेका थिए । उनीहरुले सहकारी पीडितलाई न्याय दे, राजनीतिक प्रतिशोध नसाँध, रविलाई न्याय दे लगायतका नारा लगाइरहेका छन् ।

    रास्वपा कार्यकर्ताले भैरहवाको बुद्धचोकमा भेला भएर सभापतिको रिहाई माग गर्नुका साथै पक्राउको विरोध गरेपछि नाराबाजीसहित विरोध गर्दै सरकारी वकिल कार्यालय नजिक पुगेका छन् ।

    यो आन्दोलनको अगुवाई प्रदेश समितिले गरेपनि रुपन्देही आसपासका मात्रै कार्यकर्ता जम्मा भएको प्रदेश अध्यक्ष देवराज पाठकले बताए । लामिछानेलाई पोखराबाट बुद्ध एयरको जहाजबाट मध्यान्ह भैरहवा ल्याइएपछि सिधै सरकारी वकिलको कार्यालयमा बयानका लागि पुराइएको थियो ।

  • भैरहवामा रविको बयान सुरू, कडा सुरक्षाबीच वकिल कार्यालय पुर्‍याइयो

    भैरहवामा रविको बयान सुरू, कडा सुरक्षाबीच वकिल कार्यालय पुर्‍याइयो

    काठमाडौं । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवामा लगिएको छ ।

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा पुराइएको हो ।

    लामिछानेलाई भैरहवा ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

    भैरहवा विमानस्थलबाट लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको छ ।

    रास्वपाका कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताको प्रदर्शनका कारण उनलाई कडा सुरक्षाबीच सरकारी वकिल पुर्‍याइएको हो । भैरहवाको बुद्धचोक, लुम्बिनी गेटलगायतको ठाउँमा रविको पक्ष र विपक्षबीचको निरन्तर प्रदर्शनले सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिँदै स्थानीय प्रशासनले निषेधाज्ञा घोषणाको तयारी गरेको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको कार्यकक्षमा उनको बयान जारी छ ।

    दिउँसो साढे १२ बजे पोखराबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जहाजमार्फत् ल्याइएका लामिछानेलाई त्यहाँबाट केही समय रेष्ट गर्न जिल्ला प्रहरी कार्यालय लैजाने तयारी थियो । तर, उनले आफूले रेष्ट नगर्ने बताएपछि सरकारी वकिल कार्यालय लगेर बयान लिन सुरु गरिएको हो ।

    रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले सकेसम्म आजै बयान सक्ने तयारी भएपनि पोखराबाट आउँदा नै ढिला भएकाले समय अपुग हुन सक्ने बताए । लामिछानेलाई बढीमा ३ दिनमात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ ।

    रविसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

    बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रूपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको उनीमाथि अभियोग छ ।

  • रवि लामिछानेलाई भैरहवा ल्याइयो, बयानका लागि सिधै सरकारी वकिल कार्यालयमा लगिने

    रवि लामिछानेलाई भैरहवा ल्याइयो, बयानका लागि सिधै सरकारी वकिल कार्यालयमा लगिने

    रुपन्देही । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवामा ल्याइएको छ । उनी आएको बुद्ध एयरको विमान १२ः२० मा पोखराबाट भैरहवामा ल्याण्ड भएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो ।

    पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि मौसम खराब भएकाले उडानमा ढिलाइ भएको हो। लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

    उनलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने विमानस्थलमै पुगेर पनि समर्थकहरुले प्रदर्शन गरिरहेको रास्वपा प्रदेश अध्यक्ष देवराज पाठकले बताए ।

    उता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारीका लागि पुगेका छन् । उनीहरुले ११ बजेदेखि प्रदर्शन गर्ने सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले जनाए । उनले कसैको समर्थन र विरोधभन्दा पनि आफूहरुले न्यायका लागि विरोध गरेको बताए ।

    रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गर्ने बताएका छन् । उनका अनुसार सकेसम्म आजै बयान सक्ने तयारी भएपछि पोखराबाट आउँदा नै ढिलाई भएकाले आजै पूरा नहुने भएको छ । लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ ।

    लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो ।

    बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानमा देखाइएको छ । रास्वपा र सुप्रिम पीडितहरुले भैरहवाकेन्द्रित भएर प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले बुद्धचोक, लुम्बिनी गेट, जिल्ला अदालत र सरकारी वकिल कार्यालय क्षेत्रलाई निषेधित क्षेत्र घोषणाको तयारी गरिरहेको छ ।

    सोमबार दिनभर सुरक्षा संयन्त्रको बैठकले सम्भावित प्रदर्शनको आकलन र विश्लेषण गरिरहेको र आवश्यकताअनुसार मंगलबार नै निषेधित क्षेत्र घोषणा गर्ने गरी निर्णय भएको सुरक्षास्रोतले जनाएको छ ।

    लामिछानेसँगै रूपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल बञ्जाडे जोशीलाई पनि यसअघि नै भैरहवा ल्याएर बयान गरेर कास्कीमै लगिएको छ ।

    विमानस्थलमा राष्ट्रिय झण्डा बोकेका सयौं समर्थकहरुले विमानस्थल बाहिर नाराबाजी गरिरहेका छन् ।

  • ५ घण्टापछि पोखराबाट भैरहवा उड्यो जहाज, लास्ट सिटमा रवि (भिडियो)

    ५ घण्टापछि पोखराबाट भैरहवा उड्यो जहाज, लास्ट सिटमा रवि (भिडियो)

    पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई वयानका लागि रुपन्देही लगिएको छ ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि वयानका लागि रविलाई बुद्ध एयरको जहाजमार्फत रुपन्देही लगिएको हो । ७ बजेको जहाज उड्ने तय भएपनि खराब मौसमका कारण १२ बजेपछि मात्रै उडेको हो ।

  • जहाजको लास्ट सिटमा एक घन्टा बसेपछि रवि लामिछाने फेरि प्रतीक्षा कक्षमा

    जहाजको लास्ट सिटमा एक घन्टा बसेपछि रवि लामिछाने फेरि प्रतीक्षा कक्षमा

    रुपन्देही । २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुद्ध एयरको जहाजमा एक घन्टा राखेर पुनः प्रतीक्षा कक्षमा झारिएको छ ।

    पोखराबाट बयानका लागि भैरहवामा ल्याउन बिहानै साढे ५ बजे नै उनलाई जहाजस्थल पुर्‍याइएको थियो । बिहान पौने ८ को उडान भएपनि भैरहवामा भिजिविलिटी नभएकोले बाहिरै राखिएको थियो । भैरहवामा मौसम सुधार भएको भन्दै १०:२९ बजे जहाजमा राखिएपनि साढे ११ बजेसम्म भैरहवामा कमजोर भिजिविलिटीका कारण जहाज उड्न सकेको छैन ।

    अहिले जहाजबाट रविसहित सबैलाई झारेर प्रतीक्षा कक्षमा लगिएको जनाइएको छ । उनलाई पोखरा विमानस्थलको विशिष्ट कक्षमा राखिएको छ भने अन्य यात्रुहरूलाई प्रतीक्षा कक्षमा राखिएको छ । पोखरा जहाजस्थलमा पनि उनलाई विशेष सुरक्षाभित्र राखिएको र आफूहरू अन्य ठाउँमा रहेको एक यात्रुले नेपाल प्रेसलाई बताए ।

    यता रुपन्देहीमा लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध जहाजस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनलाई ल्याउने तयारीपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने एयरपोर्टमै पुगेर पनि समर्थकहरूले प्रदर्शन गरिरहेको रास्वपा प्रदेश अध्यक्ष देवराज पाठकले बताए ।

    उता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शनको तयारीका लागि पुगेका छन् । उनीहरूले ११ बजेदेखि प्रदर्शन गर्ने सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले जनाए । उनले कसैको समर्थन र विरोधभन्दा पनि आफूहरुले न्यायका लागि विरोध गरेको बताए ।

    रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जहाजस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गर्ने बताएका छन् । प्रशासनले भने दुवै तर्फको प्रदर्शनलाई रोक्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । लुम्बिनी गेट, बुद्धचोक, सरकारी वकिल कार्यालय परिसर र जिल्ला अदालत क्षेत्रमा निषेधाज्ञा लगाउने तयारी भएको सुरक्षास्रोतले जनाएको छ ।

  • हिरासतमा भेट्न पुगेका नेताहरुसँग रवि- यो राजनीतिक प्रतिशोध नै हो भन्ने कुरा नागरिकलाई बुझाउन नचुक्नुस् (भिडिओ)

    हिरासतमा भेट्न पुगेका नेताहरुसँग रवि- यो राजनीतिक प्रतिशोध नै हो भन्ने कुरा नागरिकलाई बुझाउन नचुक्नुस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई भेट गरेका हुन् ।

    भेटपछि सभापतिसँग भएको छलफलको विषयमा पार्टीभित्र छलफल गरेर पर्सि पत्रकार सम्मेलन गरेर जानकारी गराउने प्रवक्ता झाले बताए ।

     

    उनले भने, ‘अहिलेसम्म राज्यसत्ताले गरेको प्रतिशोध र आगामी कदमबारे जानकारी गराउँछौं । पर्सि अपरान्ह केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन हुन्छ ।’

    उपसभापति वाग्लले पनि प्रतिशोध साध्न नै सभापतिलाई अनावश्यक हिरासतमा राखेको बताए ।

    उनले भने, ‘हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं । हाम्रो विधिको शासनमा आस्था पनि छ । अति नै भयो । रविजी र रास्वपाप्रति सहानुभूति बढेको छ । अहिले सरकारले राजनीतिक प्रतिशोध राखेको हो । हाम्रो आन्दोलन जारी नै छ । यो अभियानलाई अझै व्यापक बनाउँछौं । कुनै ठोस योजना बनाएर अन्य साथीहरुलाई पनि जोड्छौं ।’

    अर्का उपसभापति अर्यालले दोस्रो चरणको आन्दोलनलाई व्यवस्थित मोडालिटी बनाएर जाने बताए । हिरासतमा भए पनि सभापति लामिछाने नै हुने उनले दोहोर्‍याए ।

    भेटमा सभापतिको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिले अनुसन्धान प्रक्रिया चलिरहेको छ । हामीले बाहिर बसेर गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो । यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, बुझाउनुस् । त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन ।’

  • रवि लामिछाने थप १३ दिन थुनामै रहने, कास्की जिल्ला अदालतबाट चौथोपटक म्याद थप

    रवि लामिछाने थप १३ दिन थुनामै रहने, कास्की जिल्ला अदालतबाट चौथोपटक म्याद थप

    पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथी थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

    कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।

    पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद पनि सकिएपछि रविलाई अदालतमा उपस्थित गराएको हो। रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

  • जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो, जेलमै बसेर पार्टी चलाउनुहुन्छ: डीपी अर्याल (भिडिओ)

    जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो, जेलमै बसेर पार्टी चलाउनुहुन्छ: डीपी अर्याल (भिडिओ)

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति नै रहने बताएका छन् ।

    पोखरामा भएको प्रदर्शनको क्रममा उनले उक्त कुरा बताएका हुन् ।

    ‘म यहाँहरुलाई यो मन्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामीछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो’, उनले भने, ‘यसमा कसले कार्यबाहक सभापति पाउँछ, पाउँदैन गौण कुरा हो । त्यसकारण यहाँहरुलाई विश्वस्त पार्न चाहन्छु । उहाँ जहाँ बस्नुहुन्छ । हिरासत रहनुहोला । जेलमा रहनुहोला । रास्वपाको सभापति रवि लामिछाने नै हो ।’

  • लीलावल्लभलाई कारबाही गर्ने एमाले निर्णयको प्रशंसा गर्दै रास्वपा नेताले भने- नयाँ पार्टीको रूपमा चुक्यौं, माफी माग्छु

    लीलावल्लभलाई कारबाही गर्ने एमाले निर्णयको प्रशंसा गर्दै रास्वपा नेताले भने- नयाँ पार्टीको रूपमा चुक्यौं, माफी माग्छु

    काठमाडौं । रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले जापान काण्डमा मुछिएका कोशी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीलाई निलम्बन गर्ने एमाले निर्णयको प्रशंसा गरेका छन् ।

    उनीमाथि छानबिनका लागि अनुरोध गर्नु यतिसम्म सराहनीय भएको उनको भनाइ छ ।

    उनले फेसबुकमा लेखेका छन्, ‘जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्‍याएको, तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लीलावल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ । उनीमाथि छानबिनका लागि अनुरोध गरेको छ । यतिसम्म भए पनि एमालेले गरेको कुरा सराहनीय छ ।’

    उनले अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हेरिरहेको बताएका छन् ।

    नेता कार्कीले थपेका छन्, ‘र, नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनुपर्ने नयाँ छवि, हुर्काउनुपर्ने नयाँ प्रवृत्ति र देखाउनुपर्ने पारदर्शी चरित्रका रूपमा हामी चुकेका छौं । मेरो भागमा पर्ने गल्ती, मौनताका लागि सार्वजनिक रूपमा माफी माग्छु ।’

    सहकारी प्रकरण सभापति रवि लामिछाने पक्राउ परेपछि सडक आन्दोलनमा उत्रिरहेको बेलामा रास्वपा नेता कार्कीले नयाँ पार्टी र नेताको रूपमा आफूहरू चुकेको भन्दै सार्वजनिक रूपमा माफीसमेत मागेका छन् ।

  • रास्वपा केन्द्रीय समिति बैठक सुरु, आन्दोलनबारे के गर्ला निर्णय ? (भिडिओ)

    रास्वपा केन्द्रीय समिति बैठक सुरु, आन्दोलनबारे के गर्ला निर्णय ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुने प्रवक्ता मनिष झाले बताए ।

    पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटीबारे छलफल पनि बैठकले निर्णय लिने उनले बताए।

    सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आन्दोलनरत रास्वपाले आजको बैठकबाट संघर्षका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। रास्वपाले सभापति लामिछानेलाई हिरासतमुक्त गरेर अनुसन्धान गर्न माग गर्दै आइरहेको छ।

  • घण्टीघरबाट रास्वपा नेताहरुलाई समर्थकको दबाब- आफ्नै नेताहरुलाई ‘नो नट अगेन’ भन्ने दिन नआओस् (भिडिओ)

    घण्टीघरबाट रास्वपा नेताहरुलाई समर्थकको दबाब- आफ्नै नेताहरुलाई ‘नो नट अगेन’ भन्ने दिन नआओस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ। पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन घण्टीघरमै पुगेका छन्।

     

    रास्वपा पार्टी कार्यालयमा अहिले प्लेकार्डसहित समर्थक तथा कार्यकर्ता बसिरहेका छन्। उनीहरुले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउँनेलाई आँट दिन्छौं, आफ्नै नेताहरुलाई नो नट अगेन भन्ने दिन नआओस् भन्ने नारासहितको प्लेकार्ड बोकेको छन्।

    यस्तै, की संकटमा पार्टी सम्हाल की ठाउँ छाड, रविको नाममा सांसद र नेता भएकाहरु रविलाई संकट पर्दा पछि हट्नु धोखा हो, निर्णायक आन्दोलनको विकल्प छैन, पार्टी एकता देशको आवश्यकता, सबै हाम्रा नेता हौँ नेताजस्तै बन, की भन रवि दोषी हो की लड उसका लागि, समयले आन्दालने नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, रविले नाम दिए रविलाई पर्दा साथ नदिनेरु भन्दै नेताहरुप्रति असन्तुष्टि पनि पोखेका छन्।

    रवि पक्राउ परेपछि उपसभापतिद्वय डिपी अर्याल र स्वणिम वाग्लेको टकरावले अहिलेसम्म कार्यवहाक अध्यक्षसम्मेत तोक्न सकेको छैन। यो सहित पार्टीको आगामी रणनीतिबारे छलफल गर्न आज बैठक बस्दैछ।

    बैठकअघि घण्टीघरमा प्लेकार्डसहित पुगेका समर्थकले केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीसँग कुरा गर्दै सभापति दोषी भए ढाकाकुमार श्रेष्ठलाई जस्तै कारवाही गर्नुपर्यो तर, सरकारले प्रतिशोध साँधेको भए प्रतिरोधमा कडा रुपमा प्रतिरोधमा उत्रिनुपर्ने भन्दै दबाब दिए।

    केन्द्रीय समितिको बैठकले अहिलेसम्म कुनै निर्णय गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। आजको बैठकले प्रतिशोध राखेर सभापतिलाई पक्राउ गरेको भन्दै आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। तर, रास्वपाले सोचेजस्तो सडकमा प्रदर्शन गर्न सकिरहेको छैन।

     

  • रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

    रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । शनिवार बिहान साढे ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुनेछ ।

    यस्तै, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

    पार्टी कार्यालयमा बस्नै बैठकमा अन्य विविध विषयमा पनि छलफल हुनेछ ।