Category: माओवादी केन्द्र

  • एमालेले आत्मसमीक्षा नगरेसम्म चुनावमा सहकार्य हुँदैन: प्रचण्ड 

    एमालेले आत्मसमीक्षा नगरेसम्म चुनावमा सहकार्य हुँदैन: प्रचण्ड 

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन् ।

    कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले  पत्रकार सम्मेलनमा बाेल्दै आगामी निर्वाचनमा एमालेसँग सहकार्य नहुने बताएका हुन् ।

    उनले एमालेले विगतका काम कारबाहीहरुको आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले भने,‘एमालेसँग कतै सहकार्य हुने सम्भावना देखिएको छैन । विगतका कामकारबाहीहरुको आत्मसमिक्षा नभई विघटन प्रतिगमनको कुरा स्पष्ट नभएसम्म त्यो सम्भावना देखा पर्दैन ।’

    प्रचण्डले गठबन्धनको बाँकी काम आजदेखि गर्ने र भोलिसम्म सीट बाँडफाटँ टुंग्याउने बताए ।

    उनले थपे,‘संख्या मात्र टुंग्याउने भन्दा पनि कुन कुन क्षेत्र कुन कुन प्रदेश पाउने भनेर एकैचोटी टुंग्याउनको लागि हामीले हिजो रातिसम्म तयारी गरेका छौं । भोलिसम्म सकिन्छ । गठबन्धनभित्र कुनै असहमति छैन । यसलाई अझ प्रभावकारी कसरी बनाउने भन्ने छलफल केन्द्रित छ । संघमा टिकट मिलेन भने प्रदेशमा भोट ट्रान्सफर हुने वातावरण बनाउँदैछौं । सन्तुलन मिलाएर जाने हो ।’

    माओवादीले एक्लै जित्ने ठाउँमा पनि अरु पार्टीलाई समायोजन गरेर लैजाने उनले बताए ।

  • माओवादी केन्द्र बागमती प्रदेशले बनायो उम्मेदवार छनौटका यी ११ मापदण्ड

    माओवादी केन्द्र बागमती प्रदेशले बनायो उम्मेदवार छनौटका यी ११ मापदण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिले प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २०७९ को प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनौटका लागि ११ वटा मापदण्ड तय गरेको छ ।

    प्रदेश समिति अध्यक्ष सरल सहयात्रीको अध्यक्षतामा भदौ १५ मा बसेको प्रदेश समिति कार्यालयको विस्तारित बैठकले प्रक्रियाअनुसार बैठकको फोटोसहित भदौ २० गते भित्र पठाइसक्न मातहतका पार्टी कमिटीलाई निर्देशन पनि दिएको छ ।

    जसमा भदौ १८ मा पालिका समितिको बैठक गर्ने, १९ गते प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठक बस्ने र २० गते जिल्ला समन्वय समिति कार्यालयको बैठक बस्न निर्देशन दिएको समिति अध्यक्ष सहयात्रीले जानकारी दिए । उनका अनुसार बैठकले उम्मेदवार छनौट सम्बन्धी ११ आधार तय गरेको हो ।

    यस्ता छन् ११ वटा आधार

  • नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका विषय ठीक छन् : वर्षमान पुन

    नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका विषय ठीक छन् : वर्षमान पुन

    काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय ठीक भएको बताएका छन् । तर ति विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने पुनले बताए ।

    राष्ट्रपतिसँग बुधबार शीतल निवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालसहित आफूहरुले नागरिकता विधेयकबारे पार्टीको धारणा स्पष्ट गरेको उनले बताए । उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरुषलाई बराबरी गर्न संविधान संशोधन गर्नुपर्ने औंल्याए ।

    संविधानमै नभएको विषय नागरिकता विधेयकमा आउनुपर्थ्याे भन्नु जायज नभएको उनको तर्क छ । नेपाली पुरुषले विवाह गरेर ल्याएका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भए पनि महिलाले विदेशी पुरुष विवाह गरेर ल्याउँदा के गर्ने भन्नेमा संविधान मौन रहेको पुनले जिकिर गरे ।

    अहिले बाहिर सार्वजनिक बहस भएको र राष्ट्रपतिले उठाएको सवाल सही भए पनि त्यो सम्बोधन गर्न संविधान संशोधन गर्नैपर्ने पुनले स्पष्ट पारे । ‘नेपाली पुरुषले विदेशी महिला विवाह गरेमा अंगीकृत नागरिकता पाउने व्यवस्था संविधानमा छ’, त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग, कीर्तिपुरका विद्यार्थीलाई भिजिटिङ फ्रोफेसरका रुपमा बिहीबार कक्षा लिँदै पुनले भने, ‘नेपाली महिलाले विदेशी पुरुष विवाह गरेर ल्यायो भने के गर्ने भन्ने व्यवस्था छैन । अहिले बाहिर सार्वजनिक बहस भएको छ । संविधानमा नभएको कुरा कानूनमा ल्याउन सकिँदैनथ्यो ।’

    आफूहरुले त्यस विषयमा संविधान लेखनका क्रममा कुरा उठाए पनि अन्य दलले नसुनेको स्मरण पुनले गरे । ‘राष्ट्रपतिले भन्नुभएको कमसेकम महिला र पुरुषको बराबर हुनुपर्छ भन्नेमा हामी सहमत छौं । हिजो हामीले संविधानसभामा पनि उठाएको विषय हो’, पुनले भने, ‘तर, सहमति बनेन । त्यो गर्न संविधान नै संशोधन गर्नुपर्छ ।’

    उनले वैवाहिक अंगीकृतको विषयमा अनावश्यक विवाद खडा गरिएको बताए । २००९ सालदेखि हालसम्म वैवाहिक अंगीकृत नागरिकताबारे एउटै व्यवस्था रहेको उनले बताए ।

    सरकारले नागरिकता विधेयक संघीय संसदमा प्रस्तुत गर्ने त्रममै राष्ट्रिय सहमति कायम गरेर अर्को विधेयक ल्याउने प्रतिबद्धता गरेकाले त्यसमा शंका गरिरहनुपर्ने अवस्था नरहेको तर्क पुनले गरे । भारतमा वैवाहिक अंगीकृतका लागि सात वर्षको समयसीमा रहेकाले नेपालमा पनि त्यही व्यवस्था राख्नुपर्ने आफ्नो दलको धारणा रहेको पुनले बताए । ‘वैवाहिक अंगीकृतको हकमा भारतमा सात वर्षको समयसीमा छ, अरुअरु देशमा विभिन्न छ । कमसेकम भारतसँग नजिक छिमेकी भएकाले हाम्रोमा पनि सात वर्ष राखौं भन्ने कुरा लजिकल छ’, उनले भने ।

    फरक प्रसंगमा पुनले २००९ सालयता हालसम्म सवा चार लाखले मात्र वैवाहिक अंगीकृत नागरिकता लिएको गृह मन्त्रालयको तथ्याङ्क रहेको भन्दै ७० वर्षको इतिहास हेर्दा त्यसबाट राष्ट्रिय सुरक्षामै प्रश्न उठ्छ कि भन्ने चिन्ता गर्नुनपर्ने तर्क गरे ।

  • प्रदेशसभा सार्न खोजेपछि मुख्यमन्त्रीलाई गृहमन्त्रीकाे फाेन- हतार नगर्नुस्, गठबन्धनमा असर पर्ला

    प्रदेशसभा सार्न खोजेपछि मुख्यमन्त्रीलाई गृहमन्त्रीकाे फाेन- हतार नगर्नुस्, गठबन्धनमा असर पर्ला

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको एकलौटी निर्णयले विवादमा तानेको भन्दै सत्ताघटक कांग्रेसका मन्त्रीहरू असन्तुष्ट भएका छन् । यो असन्तुष्टि केन्द्र सरकारमा समेत पुगेको छ ।

    प्रदेशको स्थायी राजधानी दाङमा संरचना नबन्दै मन्त्रालय सार्न केसीले दबाब दिन थालेपछि यहाँका कांग्रेस मन्त्रीले आपत्ति जनाइरहेका छन् । मुख्यमन्त्रीको यो पहलमा सभामुख पूर्णबहादुर घर्ती तथा राप्ती पश्चिमका केही मन्त्रीहरूले साथ छ । तर, अन्य मन्त्री यसले सरकारी खर्च बढाउने भन्दै मानिरहेका छैनन् ।

    आगामी प्रदेशसभा बैठक दाङमा राख्न सामान ओसार्न मुख्यमन्त्रीले निर्देशन दिइसकेका छन् । यसलाई रोक्न प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्री तथा नेताले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर आग्रह गरेका थिए । त्यसपछि गृहमन्त्री खाणले मुख्यमन्त्री केसीलाई फोन गरेर प्रदेशसभा नसार्न र सामान नओसार्न दबाब दिएको बताइएको छ ।

    ुचुनावअघि ठाउँ नै नबनाइ सार्ने प्रयास नगर्नुस् । हाम्रा साथीहरूको व्यापक असन्तुष्टि छ । यसले गठबन्धनमै असर पर्नसक्छ । यसलाई रोक्नुस् । हतार गर्नुपर्दैनु, गृहमन्त्रीको भनाइ उद्धृत गर्दै मुख्यमन्त्रीनिकट स्रोतले भन्यो ।

    भदौ १० गते प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजना कार्यालय उद्घाटनमा शहरी विकास मन्त्री डिल्ली चौधरी नै अनुपस्थित भए । चुनावअघि जसरी पनि प्रदेशसभा र केही मन्त्रालय सार्ने अडानमा केसी छन् । सामान सार्न कर्मचारीलाई दबाब दिन थालेपछि कर्मचारी नै धमाधम बिदा लेख्न थालेका छन् ।

    प्रदेशसभाका एक कर्मचारीका अनुसार दाङमा निर्माणाधीन प्रदेशसभा भवन सम्पन्न हुन अझै ३ महिना जति लाग्छ । बिजुली जडानको काम पनि बाँकी छ । राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेशसभाको लागि ५ करोड २१ लाख ९३ हजार रूपैयाँ लागतमा ‘मेटल स्ट्रक्चर’ को भवन निर्माणाधीन छ । त्यहाँ काम सक्न प्रदेश पूर्वाधार विकास प्राधिकरणले असोज मसान्तसम्मको म्याद दिएको छ । एसी जडान, फर्निचरलगायतका काम सुरू नै भएको छैन । मुख्यमन्त्रीको निर्देशनमा राप्ती प्राविधिक शिक्षालयका कक्षाकोठाहरू खाली गरिएको छ । तर, रङरोगन र मन्त्रालय बस्न मिल्ने बनाउन कम्तीमा ३ महिना लाग्ने कर्मचारी बताउँछन् ।

    सरकारमै भएको दलसँग छलफल नै नगरी, संरचना नबन्दै कार्यालय सार्न हतार गर्नुले राज्यलाई अनावश्यक आर्थिक भार थोपर्ने र कर्मचारीमा असन्तुष्टि बढाउने नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फखरुद्धिन खान बताउँछन् ।

    ‘स्थायी संरचना बनेपछि जाने कुरामा पहिले नै निर्णय भएको छ, यो कसैले टार्न सम्भव नै छैन । तर, मुख्यमन्त्री र सभामुखले छलफल नै नगरी एकलौटी गरेपछि हामी सन्तुष्ट छैनौ, कर्मचारीको उस्तै विरोध छ, यसले संघीयताको विरोधमा आवाज उठाउनेलाई मलजल पुग्नेछ’, खानले नेपाल प्रेससँग भने ।

    नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता बैजनाथ चौधरी संरचना नै नभएको ठाउँमा प्रदेशसभा र मन्त्रालयका कार्यालय सार्न खोज्नु चुनावलाई प्रभावित बनाउने र आर्थिक भार बढाउने काम भएको टिप्पणी गर्छन् ।

    उनले भने, ‘कर्मचारी बस्ने केही ठाउँ छैन, अहिलेको हतारो चुनावी स्वार्थ मात्रै हो, राज्यलाई दोहोरो खर्च किन गराउने रु एमालेको सरकारले स्थायी संरचना बनाएर मात्रै दाङमा मन्त्रालय र प्रदेशसभा लैजाने निर्णय गरेको हो, हामीले त्यसमै अडान लिएका छौं ।’

    पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री तथा केही मन्त्रीहरूले स्वार्थका कारण आर्थिक चलखेल गर्ने गरी हतारमा संरचना सार्न खोजेको आरोप लगाएका छन् ।सरकारका प्रवक्ता तिलकराम शर्मा भने प्रदेशसभाले एक वर्षअघि नै गरेको निर्णयलाई कार्यान्वयन गर्नु गलत नहुने भन्दै मुख्यमन्त्रीको बचाउ गरे ।

    कर्मचारी असन्तुष्ट

    पूर्वाधारविना नै लुम्बिनी प्रदेश सरकारले मन्त्रालय र कार्यालयहरु स्थायी राजधानी दाङमा सारेपछि कार्य सम्पादन प्रभावित हुन थालेको छ । स्थायी संरचना बनाएर मात्रै प्रदेश राजधानी दाङमा मन्त्रालय, प्रदेशसभा र मातहतका कार्यालयहरू सार्ने भनिएपनि अस्थायी संरचनामै धमाधम कार्यालयहरु सरेपछि कार्यसम्पादन नै प्रभावित भएको कर्मचारीले बताएका छन् । दाङ सरिसकेका कार्यालयहरूकै कार्यसम्पादन असहज र खर्चिलो भइरहेको बेला मुख्यमन्त्रीले प्रदेशसभा र गएका २ वटा मन्त्रालय मातहतका कार्यालय तुरुन्तै सार्न निर्देशन दिएपछि कर्मचारीह बिदामा बस्न थालेका छन् ।

    स्थायी राजधानी देउखुरीमा रहेका दुई मन्त्रालय नाम मात्रैका भएका छन् । मुख्यमन्त्रीको सम्पर्क कार्यालयको अवस्था पनि उस्तै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ग्रामीण तथा सहरी विकास मन्त्रालय देउखुरी राखिएको छ । मन्त्रालयको आधारभूत काम पनि स्थायी राजधानीको मन्त्रालयबाट हुँदैन । बुटवलस्थित सम्पर्क कार्यालयबाट कार्यसम्पादन हुँदै आएको छ ।

    मन्त्रालय सरेको १० महिना पुगिसक्दा पनि देउखुरीमा रहेको मन्त्रालयमा पूर्वाधार अभावका कारण कर्मचारी न्यून छन् । मन्त्रालयबाट कुनै सेवा प्रवाह हुन नसक्दा कर्मचारीको दैनिक आउने र हाजिर लगाउने मात्र काम मात्रै भएको छ ।

    स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटाले स्थायी राजधानीबाट काम सुरू भए पनि केही असहजता भने भएको स्वीकार्छन् ।

    ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले दाङस्थित मन्त्रालयमै पदभार ग्रहण गरेपनि त्यसपछिका सबै काम बुटवलमै बसेर गरेका छन् । स्थायी राजधानीमा स्थापना भएका शिक्षा तथा सामाजिक विकास निर्देशनालयमा ३५ जनाको दरबन्दी रहेकोमा ८ जनामात्रै कर्मचारी हाजिर भएका छन् । सहकारी कार्यालयको हालत पनि उस्तै छ ।

    ‘स्थायी राजधानी मात्रै तोकियो, संरचना बनेकै छैन’, एक कर्मचारीले गुनासो पोखे, ‘कर्मचारी आएर बस्नसक्ने अवस्था नै छैन ।’ ती कर्मचारीका अनुसार यहाँ कर्मचारी बस्न सक्ने न्यूनतम पूर्वाधार छैन ।

    लुम्बिनी प्रदेशमा संघीय सरकारले ३५ सय दरबन्दी तोकेको छ । प्रदेश सरकारले ७ सयको हाराहारीमा दरबन्दी बनाएपछि यहाँ ४२ सयजनाको दरबन्दी छ । तर, अहिले ६० प्रतिशत मात्रै कर्मचारी हाजिर भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता नरेन्द्रकुमार रानाले बताए ।

    बुटवलमा समेत कर्मचारी काम गर्न अनइच्छुक भएको अवस्थामा स्थायी राजधानी देउखुरी उपत्यकामा बस्ने व्यवस्था नभएकाले पूर्वाधार बनाएर मात्रै कार्यालय सार्न कर्मचारीहरूले सुझाव दिने गरेका छन् ।

  • सुदूरपश्चिममा नेकपा एस ‘खस्कियो’, प्रदेशसभामा यसकारण बन्दैछ माओवादी पहिलो दल

    सुदूरपश्चिममा नेकपा एस ‘खस्कियो’, प्रदेशसभामा यसकारण बन्दैछ माओवादी पहिलो दल

    कैलाली । पाँच वर्षीय कार्यकाल सकिन भन्दा केही समय अगाडी सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल माओवादी केन्द्र बन्ने भएको छ ।प्रदेशमा हाल सम्म सबै भन्दा ठुलो दल रहेको नेकपा एकीकृत समाजवादीका दुई जना प्रदेश सभा सदस्यहरू एमाले प्रवेश गरेसँगै माओवादी केन्द्र प्रदेशको सबै भन्दा ठुलो दल बन्ने पक्का भएको हो ।

    एमालेबाट निर्वाचित भएर एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका तारालामा तामाङ र कुलवीर चौधरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार एमालेमा स्वागत गरे ।दल अदलबदल गरेपछि उनीहरु दुबै जनाको पद जाने भएको छ । उनीहरुको पद जाँदा १४ जना सांसद सहित पहिलो दल रहेको नेकपा एकीकृत समाजवादी १२ जना सांसद सहित दोस्रो दल बन्ने छ ।

    तामाङलाई कारबाही गर्न नेकपा एकीकृत सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दललाई निर्देशन दिइसकेको छ भने चौधरीको हकमा अझै कारबाही प्रक्रिया सुरु भएको छैन ।सुदूरपश्चिम प्रदेशमा नेकपा रहँदा माओवादी केन्द्रका पनि १४ सांसद थिए । एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किदा माओवादी केन्द्रबाट निर्वाचित झपट बोहराले एमाले रोजेपछि उनको पद गएको थियो । त्यसपछि १३ जना सांसदमा सीमित माओवादी केन्द्र अब पहिलो दल बन्ने भएको हो ।

    सुदूरपश्चिम प्रदेशमा अहिले नेपाली कांग्रेसका ११ जना प्रदेश सभा सदस्य छन् । १२ जना प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसमा पनि डडेल्धुराबाट निर्वाचित कर्ण मल्लले राजीनामा दिए पछि संख्या ११ मा सीमित भएको हो । अहिले कांग्रेस र एमालेका समान ११÷ ११ जना सांसद छन् ।नेकपा रहँदा २५ जना सांसद रहेको एमालेमा पार्टी विभाजन पछि सभामुख सहित ११ सांसद रहेका छन् । एमालेका १४ सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

    यहाँ जसपा र लोसपाका पनि १/१ जना प्रदेश सभा सदस्य छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा थप दुई जना पद मुक्त हुँदा ४९ जनामा सीमित हुने देखिएको छ । अहिले सम्म माओवादीबाट निर्वाचित झपट बोहरा र कांग्रेसबाट निर्वाचित कर्ण मल्लको पद गइसकेको छ भने अब नेकपा एकीकृत समाजवादीमा सनाखत गरेर एमाले प्रवेश गरेका तामाङ र चौधरीको पनि दलको कार्यालयले सभामुखलाई पत्र पठाएपछि र सभामुखले संसद्लाई जानकारी गराएपछि पद जाने छ ।

     

  • माओवादी सिन्धुलीका संयोजकसहित करिब ३ सय जना एमालेमा प्रवेश

    माओवादी सिन्धुलीका संयोजकसहित करिब ३ सय जना एमालेमा प्रवेश

    सिन्धुली । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला संयोजकसहितका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

    संयोजक रामकुमार पौडेल, केन्द्रीय सदस्य मिथिला फुयाल, मरिण गाउँपालिका कमिटी अध्यक्ष गोपाल बुढाथोकीसहितलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरे ।

    नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीले मरिण गाउँपालिकामा आयोजना गरेको सभामा ३ सय जना प्रवेश गरेको एमालेले जनाएको छ ।

  • सांसद, पूर्वमन्त्रीसहित नेकपा एस र माओवादी नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली धनगढीमा

    सांसद, पूर्वमन्त्रीसहित नेकपा एस र माओवादी नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली धनगढीमा

    कैलाली । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा कैलाली आएका छन् । संघीय सांसद र पूर्वमन्त्री लगायत नेकपा एस र माओवादीका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउन उनी कञ्चनपुरको कार्यक्रममा आएका हुन् ।

    प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द, नेता वीरबहादुर बुढाथोकीलगायत आज एमाले प्रवेश गर्दैछन् ।

    माओवादीबाट प्रभावशाली नेता शङ्करदत्त जोशी, मोहन गिरीलगायत दर्जनौं नेता कार्यकर्ता प्रवेश गर्ने तयारीमा रहेको एमालेले जनाएको छ ।

    कैलाली र कञ्चनपुरको संयुक्त आयोजनामा कञ्चनपुरमा हुने कार्यक्रममा उनीहरूलाई प्रवेश गराइने बताइएको छ ।

  • प्रतिनिधिसभा सीट बाँडफाँट- रामेछापमा माओवादीबाट लीलामणिको चर्चा

    प्रतिनिधिसभा सीट बाँडफाँट- रामेछापमा माओवादीबाट लीलामणिको चर्चा

    काठमाडौं । गठबन्धनको सीट बाँडफाँट कार्यदलमा बनेको मापदण्ड अनुसार रामेछापको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नेकपा (माओवादी केन्द्र) को भागमा पर्ने निश्चित भएपछि त्यहाँ केन्द्रस्तरकै नेता उम्मेदवार बनाएर पठाउनेबारे अनौपचारिक छलफल भएको छ ।

    तुलनात्मकरूपमा माओवादीको देशभरकै राम्रो मताधार भएको क्षेत्रमा रामेछाप पनि पर्छ । हालैको स्थानीय तह निर्वाचनमा वडा तहमा पाएको मतका आधारमा माओवादी २७ हजार ८२९ मतसहित तेस्रो स्थानमा छ । उसले जिल्लाका ६४ मध्ये १५ वडाध्यक्ष जितेको छ ।

    जिल्लामा ३८ हजार ८६७ मत वडा तहबाट एमालेको पक्षमा आएको छ भने कांग्रेसको पक्षमा ३८ हजार ७४३ मत छ । दुवै दलले बराबरी २४/२४ वडा जितेका छन् । नेकपा एसले एउटा वडाध्यक्ष जितेको छ ।

    कांग्रेस र एमालेले तीन तीनवटा पालिका प्रमुख जित्दा माओवादीले २ पालिका जितेको छ । यस हिसाबले पनि रामेछापलाई माओवादीले आफ्नो प्रभावक्षेत्रका रूपमा लिने गरेको छ । गठबन्धनमा प्रतिनिधिसभाको सीट आफ्नो भागमा नआउने बुझेरै कांग्रेसका जिल्ला नेताहरु प्रदेशसभाको टिकटका लागि दौडधूप गरिरहेका छन् ।

    यता राम्रो मत रहेको रामेछापमा स्थानीय अन्तरविरोधको समेत हल हुनेगरी केन्द्रीयस्तरकै नेतालाई उम्मेदवार बनाएर पठाउनेबारे माओवादी नेताहरुबीच अनौपचारिक छलफल भएको स्रोतले जनाएको छ । पार्टीबाहिरबाट समेत रामेछापका शीर्ष तहका नेता पठाए जिताउन सकिने सुझाव आएको एक पदाधिकारीले बताए ।

    रामेछापमा उम्मेदवार बनाउने पहिलो नाम माओवादी केन्द्रका सचिव तथा प्रभावशाली नेता लीलामणी पोखरेलको आएको छ । पोखरेलले तत्कालीन एकता केन्द्र मसाल र त्यसको चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपालको महासचिवका रूपमा रामेछापका धेरै गाउँ र वडा तहसम्म पुगेर संगठन गरेका छन् ।

    पोखरेल रामेछापमा परिचित नेता हुन् । माओवादीले जितिरहेका सुनापति र दोरम्बा गाउँपालिकामा युद्धकालीन माओवादीको भन्दा जनमोर्चा समूहको मत बढी रहेको मानिन्छ । यसपटक गाउँपालिकामा साबिक जनमोर्चा समूहलाई निषेध गरेर टिकट दिइएकोले झण्डै विद्रोहसमेत भएको थियो । पूर्वजनमोर्चा समूह असन्तुष्ट बनेको थियो ।

    जिल्ला संयोजक मैनकुमार मोक्तानले गाउँपालिका अध्यक्ष हार्ने भएपछि अन्तिममा कांग्रेससँग गठबन्धन गरेर माओवादीले झिनो मतान्तरले दोरम्बा गाउँपालिका जितेको थियो । प्रतिनिधिसभा निर्वाचनमा लीलामणी पोखरेललाई उम्मेदवार बनाएर पठाउँदा जिल्लाको अन्तरविरोध पनि हल हुने र पूर्वजनमोर्चा समूहको माग पनि सम्बोधन हुने आँकलन छ ।

    रामेछाप (साबिक २ नम्बर क्षेत्र) मा २०४८ सालमा जनमोर्चाबाट कमल चौलागाईँले जितेका थिए । त्यसयता एमालेले २०५६ मा तत्कालीन संयुक्त जनमोर्चाका अध्यक्ष अमिक शेरचनलाई समर्थन गरे पनि जित निकाल्न सकेको थिएन । २०५६ मा लीलामणि पोखरेल सिन्धुलीबाट निर्वाचित भएक थिए ।

    पोखरेलले काठमाडौं २ मा पनि दाबी गरेका छन् । तर, यहाँ झक्कु सुवेदी उम्मेदवार बन्न खोजिरहेका छन् । उनले २०६४ सालमा यहि क्षेत्रमा माधव नेपाललाई पराजित गरेका थिए । लीलामणि पोखरेलको लागि काठमाडौं २ भन्दा रामेछाप अनुकूल हुने नेताहरू बताउँछन् ।

    जिल्लामा हालका सांसद श्यामकुमार श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलागाई, २०६४ सालको संविधानसभा सदस्य तारानारायण श्रेष्ठ, लक्ष्मी गुरुङ, धावा लामा, डिल्लीमान तामाङलगायतका नेता प्रतिनिधिसभा सदस्यका दाबेदार छन् । एकले अर्कोलाई अश्वीकार गर्ने अवस्था रहेकाले केन्द्रबाटै नेता पठाउन कतिपयले सुझाव दिएको ती पदाधिकारीले बताए ।

    त्यसो त रामेछापमा पठाउनका लागि राम कार्की र हरिबोल गजुरेलको पनि नाम आएको छ । तर, गजुरेल सिन्धुली २ छाड्ने पक्षमा छैनन् । यसअघि रामेछापमा एमाले नेताहरू ईश्वर पोखरेल, देवशंकर पौडेल (हाल नेकपा एस) लगायतको हत्या प्रयास गरेपछि सिन्धुली सरुवा भएका बाहुबली नेता राजन दाहालले गजुरेलको क्षेत्रमा दावी गरेका छन् ।

    राम कार्की झापा १ बाट चुनाव नलड्ने मनस्थितिमा पुगेकाले सहज जितका लागि उनको नाम पनि रामेछापका लागि लिन थालिएको छ । पार्टीले आवश्यकता ठानेमा रामेछाप जानका लागि लीलामणी पोखरेल भने तयार देखिएका छन् ।

  • अखिल क्रान्तिकारीद्वारा ‘त्रिवि बचाउ संघर्ष’ सुरू

    अखिल क्रान्तिकारीद्वारा ‘त्रिवि बचाउ संघर्ष’ सुरू

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकटको अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ सुरू गरेको छ ।

    नेविसंघको तालाबन्दी र आन्दोलनका कारण एक वर्षदेखि अस्तव्यस्त बनेको त्रिविको समस्या समाधानका लागि चौतर्फी दबाब भइरहँदा सत्तागठबन्धनकै विद्यार्थी संगठन क्रान्तिकारीले विश्वविद्यालय रुपान्तरणको लागि आन्दोलनहरूको स्वरूप बदल्ने उचित समय आएको जनाएको हो ।

    संघर्षका कार्यक्रम सार्वजनिक गर्दै क्रान्तिकारीले भदौ १५ देखि २२ सम्म २४ घण्टा विश्वविद्यालय खुला रहने अभियान सुरू गरेको छ ।
    क्रान्तिकारीले बिम्बात्मकरूपमा विश्वविद्यालय २४ घण्टा खुल्ला राख्ने जनाएको छ । त्यस्तै कक्षाकोठाहरू खुला राख्दै पढाइ सुचारु गर्ने र सबै तहका कार्यकक्षह खुला राख्ने बताइएको छ ।

    बिम्बात्मकरुपमा बत्ती, पानीको धारा पनि खुला राख्ने क्रान्तिकारीले बताएको छ । बिम्बात्मकरूपमा विश्वविद्यालयका गेटहरू पनि खुला राख्ने भन्दै अखिल क्रान्तिकारीले मागहरू पूरा नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

  • संघमा ६० र प्रदेशमा १२० भन्दा तल झरेर सहमति हुँदैन : प्रचण्ड

    संघमा ६० र प्रदेशमा १२० भन्दा तल झरेर सहमति हुँदैन : प्रचण्ड

    रुपन्देही । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा काठमाडौंका मेयर बालेन शाहजस्तै चमत्कार देखाउने नयाँ अनुहारलाई पार्टीबाट चुनावी मैदानमा पठाउनुपर्ने बताएका छन् ।

    सोमबार उपत्यका विशेष प्रदेश समितिको कार्यक्रममा बोल्दै उनले अबका उम्मेदार जित्नैपर्ने आउनुपर्ने बाध्यता भएकाले र मतदाताले नयाँपन खोजेकाले बालेनजस्तै उम्मेदार खोजेको बताएका हुन् ।

    ‘मतदाताले नयाँपन खोजेको छ, अब परम्परागत अवस्थाबाट चुनाव जितिदैन भन्ने संकेत देखिएका छन्, नयाँ आउनुपर्नेछ, बालेनजस्तै आउनुपर्नेछ, नयाँ चमत्कार नगर्नेले अब चुनाव जित्न सकिने अवस्था छैन ।’ प्रचण्डले भने, ‘अब तपाईहरुले पनि सिफारिस गर्दा त्यही खालको अनुहार खोज्नुहोस्, यथास्थितिबाट अब चल्न चुनौती आउन थाल्यो ।’

    गठबन्धन दलको बाँडफाँडमा माओवादीले संघमा कम्तीमा ६० र प्रदेशमा १२० भन्दा तल झरेर सहमति गर्नै नसकिने प्रचण्डले बताएका छन् ।

    ‘गठबन्धन दलमा माओवादी बलियो र निर्णायक शक्ति भएका नाताले पनि यो संख्याभन्दा कममा पार्टीभित्र चित्त बुझाउनसक्ने अवस्था छैन, यो कुरा शीर्ष नेताहरुलाई मैले बताएको छु, कार्यदलमा रहेका साथीहरुलाई पनि प्रष्ट भनेको छु’, प्रचण्डले भने ।

    अबको केही दिनमा गठबन्धनमा बाँडफाँडका सबै विषय टुंगिने उनको संकेत थियो । ‘गठबन्धनबाट तीन स्टेपमा काम टुंगिन्छ, पहिलो केही दिनमा दलले पाउने केन्द्रबाट सीटको टुंगो, २० सम्म क्षेत्रको टुंगो अनि २५ सम्म पार्टीका उम्मेदवार टुंग्याउँछौं यसरी कार्ययोजना बनेको छ’, उनले भने । स्थानीय निर्वाचनमा गठबन्धनमा केही समस्या देखिएपनि अहिले त्यसो नहुने उनको भनाइ थियो ।

    ‘स्थानीयमा भन्दा अहिले सजिलो होला, त्यतिबेला पनि पार्टी निर्णय विपरीत केही उम्मेदवारी भएका थिए धेरै भएकाले त्यो समस्या थियो अहिले त्यसो हुन दिइन्नँ, अहिले सहज हुन्छ, हाम्रो भागमा सबै पर्दैन, प्रत्यक्षमा ६० र प्रदेशमा १२० जनाको नाम टुंगाउन म आफै लागे पनि सक्छु’, प्रचण्डले भने ।

    गठबन्धन भएपछि सबैलाई उम्मेदार हुने मन लागेर पनि नपुग्ने भएकाले पार्टी निर्णय मान्न उनको निर्देशन थियो । ‘सबैलाई पुग्दैन, विकल्पसहित २० गतेसम्म सिफारिस दिनुस्, जित्ने उम्मेदार खोज्नुसु प्राथमिकतामा महिला, दलित, जनजाति, मधेसीलाई दिनुस् तर जित्ने उम्मेदार दिनुस्,’ उनको भनाई थियो ।

    अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व सर्वसम्मत भएको पार्टी माओवादी मात्रै भएको बताएका थिए । स्थानीय तहको निर्वाचनमा विदेशी शक्तिहरुले धेरै हेपेर निकालेका विषयहरु बाहिर ल्याएको, देशकै पनि विभिन्न संस्थाले सर्वेक्षण गरेर पनि धेरै कमजोर रहेको तथ्यांक निकाले पनि माओवादीले १२२ संख्या जितेकाले अहिले पनि यस्ता गलत प्रचारबाट जोगिन उनको आग्रह थियो ।

    ‘हामीले त अझै बढी आउने अपेक्षा गरेका थियौ तर यो देखेर पनि प्रतिक्रियावादी अचम्ममा परेका छन्, तेस्रो भएपनि निर्णायक भएका छौं, चाबी माओवादीको हातमा आएकाले पहिलो भएको महशुस भएको छ’, उनले भने ।

  • बालेनबारे बोल्दै प्रचण्डको दाबी : सेन्टिमेन्टले गर्दा जितेको हो, त्योभन्दा खरो उम्मेदवार उतार्ने मेरो प्लान छ (भिडिओ)

    बालेनबारे बोल्दै प्रचण्डको दाबी : सेन्टिमेन्टले गर्दा जितेको हो, त्योभन्दा खरो उम्मेदवार उतार्ने मेरो प्लान छ (भिडिओ)

    काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको मेयरमा बालेन्द्र साह (बालेन)ले सेन्टिमेन्टले जितेको बताएका छन् ।

    पार्टीको उपत्यका विशेष प्रदेश समितिको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बालेनले सेन्टिमेन्टले जितेको र आफूले त्योभन्दा खरो उम्मेदवार उतार्ने योजना रहेको बताए ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् ।

    जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन साह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा ठूलो आफूहरुले सेन्टिमेन्ट खोजिरहेको बताए ।

    जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उनले काठमाडौं उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गरे ।

    उनले उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा आफ्नो पार्टीको स्थिति नाजुक रहेको बताए । तर उनले बागमती प्रदेशमा भने माओवादी अहिले एक नम्बर पार्टीको भएको दाबी गरे । उनले वागमतीमा एमाले तेस्रो र आफूहरु तेस्रो भएको बताए ।

  • गाउँपालिका अध्यक्षमाथि प्रहरीसँग मिलेर लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको आरोप

    गाउँपालिका अध्यक्षमाथि प्रहरीसँग मिलेर लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको आरोप

    रुपन्देही । पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षले साझेदारी व्यापारको एक करोड ३३ लाख मुनाफा हडप्न प्रहरीसँगको मिलेमतोमा दुई भारतीयलाई लागुऔषधमा मुद्दामा फसाएको घटना बाहिरिएको छ ।

    गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई कवाड व्यवसायको एक करोड ३३ लाख मुनाफा नदिने उद्देश्यले लागुऔषध मुद्दामा फसाएको भन्दै उनीमाथि कारवाहीको माग गरिएको हो । स्थानीयले गाउँपालिका अध्यक्ष गुप्ता स्वयं लागुऔषाधको कारोबारी भएको र उनले मान्छे खटाएर कारोबार गर्दै आएकाले त्यस विषयमा उनीमाथि नै अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

    थुनामा रहेका पीडितका परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले परासीमा पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष गुप्ताकै योजनामा भुमहीमा गुप्ता र पासवानले कवाडी व्यवसायी गर्दै आएको आरोप लगाए । उनीहरू भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका हुन् । गाउँपालिका अध्यक्ष गुप्ता पनि कवाड व्यवसायी हुन् । पछिल्लो समय उनले रामा गुप्तासँग साझेदारीमा उक्त व्यवसाय गर्दै आएका थिए । तर, नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमतिलाई बेवास्ता गर्दै रकम दिन आलटाल गर्दै आएको पत्रकार सम्मेलनमा दाबी गरियो ।

    दिनुपर्ने रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले आर्थिक चलखेल गरेर नवलपरासी प्रहरी प्रमुख ऋषिराम कंडेललाई समेत प्रभावित गरेर भारतीयलाई लागूऔषध मुद्दामा फसाएको आरोप छ । पालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

    थुनामा रहेका गुप्ता र पासवान पूर्णतः निर्दोष रहेकाले तत्काल रिहाई गर्न र गाउँपालिका अध्यक्षमाथि छानबिनको माग गरिएको छ । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीले गरेको छानबिनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि उनीहरूको माग छ । आर्थिक चलखेल गरेर गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगीलाई बयान फेर्न लगाई उनैलाई मात्र दोषी देखाएर गाउँपालिका अध्यक्षलाई उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

    गुप्ता र पासवानलाई फसाउन गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी गाउँपालिकाका नगर प्रहरी (पूर्वप्रहरी) रघुनाथ धोवीले असार २२ गते रामग्राम नगरपालिका १७ पिपरहियामा चिया पसलभित्र बोलाएर आफैंले ल्याएको लागुऔषध मोटरसाइकलमा राखिदिएर पक्राउन लगाइएको रामा गुप्ताका सालो सन्जय शाहले बताए ।

    ‘गाउँपालिका अध्यक्षसँग १३ करोडको कारोबार गरेका थियौं, कारोबारको २० प्रतिशत नाफा हामीले पाउने सहमति थियो’, शाहले भने, ‘हामीले पाउनुपर्ने एक करोड ३३ लाख रकम नदिन अध्यक्षले धेरै समय आलटाल गरेका थिए, त्यसदिन पिपरहियामा बोलाए, पैसा दिने होला भनेर गएको भिनाजुलाई फसाउन रहेछ । यसरी अन्यायमा पारेको बेला उल्टो मुद्दा लगाएर फसाउन खोजिएको छ । ’

    शाहका अनुसार भिनाजु रामा गुप्ता र पासवान मोटरसाइकल बाहिर राखेर चिया पसलभित्र बसेको बेला गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी धोवीले उक्त मोटरसाइकलमा लागुऔषधको झोला राखिदिए । त्यसपछि गाउँपालिका अध्यक्षले नै प्रहरीलाई सूचना दिएर पक्राउ गराएको शाहको दाबी छ ।

    गाउँपालिका अध्यक्ष गुप्तासँग रामाले १२ वर्षदेखि कवाड कारोबार गर्दै आएको सन्जयले बताए । पाउनुपर्ने रकम दिन आलटाल गरेपछि कवाड दिन छाडेको र उनले धम्की दिँदै आफूलाई नै बेच्न दबाब दिँदै आएको शाहले बताए । पछिल्लो समय भुमहीस्थित बजाज मोटरसाइकल उद्योगबाट उत्पादित कवाड बिक्रीका लागि २० लाख धरौटी मागेपछि रकम नभएकाले रामाले गाउँपालिका अध्यक्षसँग २० प्रतिशत नाफा पाउने गरी साझेदारीमा कारोबार गर्दै आएको बताए ।

    पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले पद र पैसाको आडमा गाउँपालिका अध्यक्षले तिर्नुपर्ने मोटो रकम नतिरेर उम्किन भारतीय नागरिकलाई फसाएको पाइएको बताए । गठबन्धनको आडमा गाउँपालिका अध्यक्षले प्रहरी प्रशासनलाई प्रभावित गरेर उम्किन खोजेको भन्दै यादवले निर्दोष भारतीयलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

    ‘भारतीय नागरिकको पक्षमा बोलिदिने कोही छैनन् भनेर झुटा मुद्दामा फसाउन खोजिएको छ, यस्तो अन्याय भयो भने भोलि भारतमा रहेका नेपालीमाथि यस्तै घटना दोहोरिन सक्छन् । यो घटनामा प्रहरीको भूमिका शंकास्पद छ’, यादवले भने ।

    नेपाली कांग्रेस नवलपरासीका कार्यवाहक सभापति विक्रमप्रसाद यादवले गठबन्धनको आडमा गाउँपालिका अध्यक्ष गुप्तालाई बचाउन प्रहरी प्रशासनसमेत लागेको भन्दै गृहमन्त्रालयको ध्यान जानुपर्ने माग गरे । गुप्ताले आफू उम्कन प्रहरी प्रशासन र पार्टी नेतृत्वसँग चलखेल गरेको भन्दै उनको कल डिटेल अनुसन्धान गर्न माग गरेका छन् । गुप्ता र पासवान बसेको ठाउँमा २७० सेट डाइजेपाम नुर्फिन र फेनार्गन भेटिएको प्रहरीको भनाइ छ ।

    निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका दुवै युवक तीन महिनादेखि प्रहरी हिरासतमा छन् ।
    प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगी धोबीलाई पक्राउ गरेको छ । कांग्रेस र जसपाले गाउँपालिका अध्यक्ष र जिल्ला प्रहरी प्रमुखबीच भएको फोन सम्वादको कल डिटेल अनुसन्धान गर्न पनि माग गरेका छन् ।

    घटनाको चौतर्फी विरोध भएपछि गाउँपालिका अध्यक्ष गुप्ताले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर आफूलाई बचाइदिन हारगुहार गरेको स्थानीय बताउँछन् । गाउँपालिका भवन उद्घाटन गर्न गुप्ताको निम्तोमा प्रचण्ड आएका थिए ।

    यसअघि गत साउन ३० गते नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ समितिका सभापति हरिहर चौहान, जसपा गाउँ कार्य समितिका सहसंयोजक कमलेश माली, जसपाका गाउँ युवा समितिका अध्यक्ष बसन्त यादव र कांग्रेस जिल्ला समिति सदस्य चन्द्रमणि चौधरीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्दोष भारतीय नागरिकलाई मुक्त गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

    पश्चिमनवलपरासीका एसपी ऋषिराम कंडेलले ५० दिनअघि यो विषयमा २ जनालाई नियन्त्रणमा लिइएको बताउँदै यसबारेमा अनुसन्धान भइरहेकाले निर्दोष कसैलाई फस्न नदिइने नेपाल प्रेसलाई बताए ।

    ‘पहिले २ जनालाई नियन्त्रणमा लिइयो तर यो घटनामा बदमासी गर्ने १ जनालाई पछि पक्राउ गरियो, बाँकी अनुसन्धान हुँदैछ, प्रहरीको संलग्नता अनावश्यक आरोप हो, छानविनले सबै प्रमाणित हुन्छ’, उनले भने ।

    लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलराज उपाध्यायले छानविन अन्तिम चरणमा पुगेको र दोषी कुनै हालतमा उम्किन नदिइने बताए ।
    यसबारेमा प्रतिकृया लिन पालिका अध्यक्ष गुप्तालाई धेरैपटक सम्पर्क गरेपनि उनको मोबाइल नं ९८५७०२४२९६ मा सम्पर्क हुँदैन ।
    पालिकाका प्रवक्ता कृष्णचन्द्र यादवले अध्यक्ष काठमाडौं जानुभएकाले मोवाइलमा सम्पर्क नभएको तर अन्य विषयमा जानकारी नभएको बताए ।

  • कर्णाली प्रदेश : माओवादीका सबै सांसद मन्त्री, आज दुईजनाको सपथ

    कर्णाली प्रदेश : माओवादीका सबै सांसद मन्त्री, आज दुईजनाको सपथ

    सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज सपथ लिँदैछन् ।

    रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले पद तथा गोपनीयताको सपथ लिन लागेका हुन् । यो नियुक्तिसँगै कर्णाली प्रदेशमा माओवादीका सबै ११ सांसद मन्त्री भएका छन् ।

    माओवादीले सबै सांसदलाई माग पुर्‍याउन आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो ।

    सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए । रिक्त दुई मन्त्रालयमा पालो पुग्न बाँकी दुई सांसदलाई पठाइएको हो ।

  • वागमती प्रदेशमा माओवादीले तोक्यो चुनावी कमाण्डर, प्रचण्डकाे क्षेत्रमा रेणु ? (सूचीसहित)

    वागमती प्रदेशमा माओवादीले तोक्यो चुनावी कमाण्डर, प्रचण्डकाे क्षेत्रमा रेणु ? (सूचीसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले दुई महिना चुनावी मैदानमा खटिने गरी वागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार वागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको बैठकले सबै केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिएको हो ।

    वागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र चितवन–३ को कमाण्डर रेणु दाहाललाई दिइएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार भरतपुर महानगरपालिकाकी प्रमुखसमेत रहेकी दाहाल नेकपा (माओवादी केन्द्र) चितवनकी इन्चार्जसमेत रहेकी छन् ।

    कुन क्षेत्रका चुनावी कमाण्डर को ?

    काठमाडौं १– अनिल शर्मा

    काठमाडौं २– मा कुमार पौडेल

    काठमाडौं ३– मा बद्री बजगाईं

    काठमाडौं ४–गोविन्द बटाला

    काठमाडौं ५– कल्पना शर्मा

    काठमाडौं ६– हिमाल शर्मा

    काठमाडौं ७– रामबाबु फुयाँल

    काठमाडौं ८– सरिता श्रेष्ठ

    काठमाडौं ९– शंकर दुलाल

    काठमाडौं १०– अञ्जना विशंखे

    ललितपुर १–गंगा पराजुली

    ललितपुर २–उर्मिला लामा

    ललितपुर ३–हरि दाहाल, पद्मा राई

    भक्तपुर १– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल

    भक्तपुर २–दिलीप प्रजापती

    चितवन १– कञ्चन खनाल

    चितवन २–घनश्याम दाहाल

    चितवन ३–रेणु दाहाल

    मकवानपुर १– विजय गौतम

    मकवानपुर २–कुमारी मोक्तान

    नुवाकोट १–हितबहादुर तामाङ

    नुवाकोट २–विमला सुवेदी

    काभ्रेपलाञ्चोक सूर्यमान दोङ र रुकु चौलागाई,

    सिन्धुपाल्चोक माधव सापकोटा र शरद दुलाल

    धादिङ शालिकराम जम्कट्टेल

    दोलखा देवी खड्का

    रामेछाप श्यामकुमार श्रेष्ठ

    सिन्धुली दीर्घराज श्रेष्ठ र वसन्त माझी

     

  • कर्णाली : माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    कर्णाली : माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    सुर्खेत । कर्णाली प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्द्रमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।

    नेकपा ( माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनानामा बुझाएका हुन् ।

    राजीनामा पत्र बुझेलगत्तै मुख्त्री शाहीले स्वीकृत समेत गरिसकेका छन् । सोमबार माओवादीकै दुई नयाँ अनुहार मन्त्रिमण्डलमा पठाउने तयारी छ ।

  • प्रचण्डको दाबी- देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक

    प्रचण्डको दाबी- देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक परेको बताएका छन् ।

    शनिबार बुटवलमा सञ्चचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले स्थानीय तहको चुनावमा आपसी गठबन्धन र तालमेल भनेजस्तो नभएपनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठूलो कुरा भएको जिकिर गरे । त्यस्तै प्रचण्डले स्थानीय तह चुनावको परिणाम जस्तो आएपनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकोले उपलब्धिमूलक मानेको धारणा राखे ।

    प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउन गरिएको गठबन्धन आगामी चुनावमा थप बलियो हुने बताएका छन् ।
    स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा सन्तोषजनक परिणाम नआएपनि आगामी निर्वाचनमा गठबन्धन बलियो हुने उनले बताएका हुन् ।
    पार्टीको कार्यकर्ता प्रशिक्षणका लागि शनिबार बुटवल आएका प्रचण्डले पत्रकारहरुसंग कुराकानी गर्दै स्थानीय तह निर्वाचनको परिणाम माओवादी केन्द्रका लागि सुखद नभएपनि त्यसबाट पाठ सिकेर अगाडि बढ्ने बताए । ‘गठबन्धन र तालमेल भनेजस्तो भएन तरपनि गठबन्धन र सरकार मिलेर स्थानीय तहको निर्वाचन सफल पारेर र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कामका लागि दोश्रो निर्वाचनको तयारी गरिएको हो, यसलाई सामान्यरुपले लिनुहुँदैन,’ प्रचण्डले भने ।

    ‘गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट बचाएको हो, देश बचाउनेमा गठबन्धनको भूमिका ठूलो छ तसर्थ स्थानीय तहको निर्वाचन परिणाम हेरेरभन्दा पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने हो’, सत्तारुढ दलका प्रमुख घटक माओवादीका अध्यक्ष प्रचण्डले भने ।

    स्थानीय तह निर्वाचनमा भएको परिणाम लिएर प्रदेश र संघको निर्वाचनमा राम्रो नतिजा निकाल्ने प्रचण्डको भनाइ थियो ।

    यसअघि प्रचण्डले लुम्विनी प्रदेशका अगुवाकार्यकर्ताहरुलाई आगामी निर्वाचनको तयारीबारे प्रशिक्षण दिएका थिए। उनीसँगै नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन बुटवल आएका थिए ।

  • दलहरुले महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाउनुपर्छः पूर्वसभामुख घर्ती

    दलहरुले महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाउनुपर्छः पूर्वसभामुख घर्ती

    काठमाडौं ।नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसर्री घर्तीले राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएकी छन् ।

    हरेक पार्टीमा प्रत्यक्ष निर्वाचन लड्ने क्षमताका महिला नेताहरु रहेको भन्दै उनले टिकट वितरणमा ध्यान दिन राजनीतिक नेतृत्वलाई आग्रह गरिन् । नेताहरुमा महिलाहरु समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञानले घर गरेको र स्वयं महिलाहरु समेत समानुपातिक पद खान लालायित हुने प्रवृत्ति देखिएको उनको भनाइ थियो ।

    माओवादी जनयुद्धका कारण नेपाली महिलाहरुमा जागरण आएको तथा सिंगो समाज महिलामैत्री बन्दै गएको उल्लेख गरिन् । पुरुषहरुलाई पृतृसत्तावादी भनेर गाली गर्ने महिलाहरु आफैं त्यो मनोदशाबाट ग्रस्त भएको उनको टिप्पणी थियो । घर्तीले आफूभित्रको पृत्तसत्तावाद जबर्जस्त निकालेर फाल्न सक्नुपर्नेमा जोड दिइन् ।

    महिलालाई अगाडि बढाउने विषयमा विगतको तुलनामा धेरै परिवर्तन आएको र पुरुष नेतृत्वले समन्वय गर्ने गरेको उनले बताइन् । ‘राजनीतिक पार्टीहरुमा महिलाले आफ्नो पकड निर्वाचन क्षेत्र बनाउन सक्दैनन् भन्ने पनि छ’, पार्टी संवद्ध महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले राजधानीमा गरेको कार्यक्रममा घर्तीले भनिन्, ‘महिलाहरु समानुपातिकमा मात्र लालायति हुँदा र प्रत्यक्ष निर्वाचन लड्न तयार नहुँदा पुरुष नेताहरुमा महिला भनेका समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञान निर्माण भएको छ ।’

    महिलाले अवसर पाए जस्तोसुकै जिम्मेवारी पुरा गर्न सक्छन् भन्ने प्रमाणित भएको भन्दै उनले त्यसको उदाहरण आफैं भएको चर्चा गरिन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि ठूलो विश्वास र भरोसा गरेर सभामुखको जिम्मेवारी दिएको स्मरण घर्तीले गरिन् । सभामुखको जिम्मेवारी पाउँदा धेरैले आफूले सम्हाल्न नसक्ने भन्दै खिसीट्युरी गरेको उनले सुनाइन् ।

    ‘६ महिना त म दिनमा २ घण्टा मात्र सुतें । कहिले काहीं त त्यो पनि भएन’, उनले भनिन्, ‘भोलिपल्ट बस्ने संसदमा जुन विषयमा छलफल छ त्यसबारे धेरै अध्ययन गरे जान्थें । मैले संविधानका प्रत्येक हरफ हातले डायरीमा कोरेर पढेको छु । संसद सचिवालयमा धुलोले पुरिएका किताब धुलो टक्टक्याएर पढेर बैठकमा जाने गरेको थिएँ ।’

    आफू असफल हुँदा महिलाहरु शासन प्रशासन चलाउन सक्दैनन् भन्ने सन्देश प्रवाह हुने र आफूलाई नजिरका रुपमा देखाएर भविष्यमा अरु महिलालाई अवसरबाट रोक्न सक्नेतर्फ सधैं सचेत भएर काम गरेको अनुभव उनले सुनाइन् । आफूलाई सफल बनाउन सञ्चार माध्ययले खेलेको सकारात्मक भूमिका कहिल्यै बिर्सन नसक्ने पनि उल्लेख गरिन् ।

    घर्तीले महिलालाई अवसर र सम्मान दिने कुरामा माओवादी नेतृत्व अरु दलको तुलनामा धेरै प्रगतिशील रहेको दाबी गरिन् । ‘महिलालाई अवसर दिने र सम्मान गर्ने संस्कार अरु पार्टीको तुलनामा माओवादीमा धेरै राम्रो छ’, उनले भनिन् । आफूहरुको आन्दोलनले नै आजका छोरीहरुलाई अधिकारप्रति सचेत गराएको र आफ्नै खुट्टामा उभिन सक्ने बनाएको दाबी घर्तीले गरिन् ।

    महिलाले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश चलाइसकेकाले अब प्रधानमन्त्री बन्ने पालो महिलाको आएको बताइन् । महिलाले आफूलाई राजनीतिमा स्थापित गराउन मनोबल उच्च राख्नुपर्ने उनको भनाइ थियो ।

    फरक प्रसंगमा घर्तीले सांसदले नीति निर्माणको काम गर्नुपर्नेमा विकास निर्माणको काम गरिरहेको टिप्पणी गरिन् । नीति निर्माण छाडेर सांसदहरु विकास निर्माणको पर्यायबाची बनेको उनको भनाइ थियो ।

  • भागबण्डाबारे प्रचण्ड भन्छन्- जसले जहाँ जितेको हो, त्यहाँ पहिलो हक उसकै

    भागबण्डाबारे प्रचण्ड भन्छन्- जसले जहाँ जितेको हो, त्यहाँ पहिलो हक उसकै

    धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा केही दिनमै भागबण्डा टुंगिने बताएका छन् ।

    धरानमा प्रदेश १ का पार्टी केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूसँगको संयुक्त बैठकमा प्रचण्डले सबै निर्वाचन क्षेत्रको दलगत अवस्था बुझ्ने काम भइरहेको जानकारी गराए । सीट बाँडफाँटको क्रममा यसअघि जहाँ जसले जितेको छ त्यो ठाउँ पहिलो हक हुने उनको जिकिर छ ।

    ‘गठबन्धनमा संख्या बाँडफाँटलाई मुख्य आधार बनाएर काम भैरहेको छ । जसले जहाँ जितेको हो त्यो ठाउँ उसकै पहिलो हक लाग्ने भनिएको छ । निर्वाचन क्षेत्रमा अहिले, कहाँ, कसको, कस्तो अवस्था छ बुझ्ने काम भैरहेको छ । केही दिनमा यो काम सकिन्छ’, दाहालको भनाइ थियो ।

    उनले स्थानीय चुनावमा कतिपय ठाउँमा आफूलाई मन नपरेको उम्मेदवार हराइएकाले अब सचेत हुनुपर्ने बताए ।

    ‘पार्टीभित्र जे जस्तो भएपनि आउने संघ र प्रदेशको निर्वाचनमा पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई जिताई छाड्ने संकल्प गर्न जरुरी छ । स्थानीय चुनावमा आफूलाई मन नपरेको उम्मेदवार हराइयो’, प्रचण्डले भने, ‘त्यहाँ व्यिक्तको आत्मातुष्टी त भयो तर पार्टीले हार्‍यो । त्यो अब नहोस् हामी सचेत बनौं । गल्ती गर्नेलाई छानबिन समितिले दिएको सुझाव अनुसार कारवाही गरिन्छ ।’

    स्थानीय निर्वाचनको टिकट वितरणमा केही ठाउँमा मनोमानी भएको बताउँदै प्रचण्डले अब संस्थागतरूपमै उम्मेदवार छनौट गरिने बताए । उनले भने, ‘अब प्रदेशबाट संघ र प्रदेशको उम्मेदवार १, २, ३ गरेर ३ जना उम्मेदवारको सिफारिस संस्थागत गर्नुस् ।’

    पार्टीमा दुई अतिवादी प्रवृत्ति देखा परेको प्रचण्डले गुनासो गरे ।

    ‘बडो क्रान्तिकारी कुरा गर्ने तर दक्षिणपन्थीसँग आत्मासमर्पण गर्न जाने, अर्को यी सबै हिँडिदिएपछि एक्लै मनपरि गर्न पाइन्थ्यो भन्ने संकीर्णतावादी प्रवृत्ति पार्टीमा देखा परेका छन् । यी प्रवृत्तिका विरुद्ध हामी लगातार लडिरहेका छौं ‘, उनले भने ।

    फरक प्रसंगमा विगत घटनामा आत्माआलोचना नगरेकाले एमालेसँगको च्याप्टर क्लोज भएको प्रचण्डले बताए ।

    ‘एमालेले विगत घटनामा आत्माआलोचना गरेको भए, एमसीसीमा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन तयार भएको भए हामीले ओलीलाई प्रधानमन्त्री बनाउन तयार भएको हो । केपी त्यसको लागि तयार भएनन् । त्यो च्याप्टर क्लोज भएको छ । अब हामी यही गठबन्धनमा जान्छौं भन्ने स्पष्ट गरिसकेका छौं ।

  • माओवादीले दुई मन्त्री फिर्ता बोलायो, अब सबैको भाग पुग्ने

    माओवादीले दुई मन्त्री फिर्ता बोलायो, अब सबैको भाग पुग्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रदेशसभामा सहभागी सबैलाई मन्त्रीको भाग पुर्‍याउने भएको छ । कर्णाली प्रदेशसभामा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकीलाई सरकारमा पठाउने तयारी भएको छ ।

    माओवादीले हालका जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएर जाजरकोटकै कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई मन्त्री बनाउने तयारीमा रहेको पूर्वमन्त्री एवम् माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

    पार्टी केन्द्रको निर्देशनअनुसार सरकारमा रहेका दुई जना मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारमा सहभागी हुन बाँकी रहेका दुई जना सांसदलाई मन्त्री बनाइनेछ ।

    कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ जना सांसद छन ्। तिमध्ये नौ जना सांसद सरकारमा सहभागी भइसकेका छन् । बाँकी दुई जनालाई पनि सरकारमा सहभागी गराउनका लागि माओवादी केन्द्रले सात महिनाअघि नियुक्त गरिएका सिंह र विष्टलाई सरकारबाट फिर्ता बोलाएको हो ।

  • हर्क साम्पाङसँग रुख रोप्दै प्रचण्डले कार्यकर्तालाई भने- हर्कबाट प्रेरणा लिनुस् (भिडिओ)

    हर्क साम्पाङसँग रुख रोप्दै प्रचण्डले कार्यकर्तालाई भने- हर्कबाट प्रेरणा लिनुस् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान पुगेर मेयर हर्क साम्पाङसँग रुख रोपेका छन् ।

    धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदान कार्यमा उनले मेयर साम्पाङलाई साथ दिए । मेयर साम्पाङको आव्हानमा साप्ताहिकरूपमा हरेक शुक्रबार वृक्षारोपण हुँदै आएको छ । केही दिनअघि काठमाडौं आएका मेयर साम्पाङले श्रमदानका लागि धरान आउन प्रचण्डलाई भेटेरै निम्तो दिएका थिए ।

    जेवी टुहुरेको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले बिरुवा रोप्नुका साथै पानी हाले ।

    प्रचण्डले हर्क साम्पाङको श्रमलाई खुलेर प्रशंसा गरे । उनले हर्कको व्यवहार र आचरणबाट प्रेरणा लिन माओवादी पार्टीका कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । धरानका लागि साम्पाङ अवसर भएको प्रचण्डको भनाइ थियो ।

    ‘सिंगो देशको उहाँको कामलाई गम्भिरतापूर्वक हेरेको छ । खासगरी हामी कम्युनिष्ट अझ माओवादीले गरिराख्नपर्ने काम उहाँले गरिराख्नुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजिवी जनतालाई पनि हर्कको व्यवहार र आचरणबाट प्रेरणा लिन अनुरोध गर्दछु’, प्रचण्डले भने, ‘उहाँ निरन्तर यसमा डटिरहन कति सक्नुहुन्छ शुभकामना छ । जनतासँग जोडिराख्नुस् जनताको साथ पाइराख्नुस् । मेरो र हाम्रो साथीहरूको साथ छँदैछ । उपमेयर हाम्रो पार्टीबाटै हुनुन्छ । उहाँहरूको जोडी मिलेको छ । अनुहार पनि मिलेको छ, काम पनि मिलेको छ । धरान उपमहानगरका लागि अवसर हो ।’

  • वर्षमान पुनको टिप्पणी-एमाले पार्टी कर्पोरेट हाउस हो, ओली कर्पोरेटका सिईओ हुन्

    वर्षमान पुनको टिप्पणी-एमाले पार्टी कर्पोरेट हाउस हो, ओली कर्पोरेटका सिईओ हुन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कर्पोरेट हाउस भएको टिप्पणी गरेका छन् ।
    एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सिइओ केपी ओली र अरु नेताहरु डाइरेक्टर र डेपुटी र डाइरेक्टरको भूमिकामा रहेको पुनले बताए ।

    ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको उनको भनाइ थियो । अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरु एमालेमै बसिरहेको उल्लेख गरे ।

    ‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो । ओली कर्पोेरेट हाउसमा सिईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्’, पार्टीको बागमति प्रदेशअन्तर्गतका सबै जिल्लाका समन्वय समिति संयोजक र गाउँपालिका र नगरपालिका अध्यक्षहरुको संगठनात्मक कार्यशालालाई बुधबार साँझ राजधानीमा सम्बोधन गर्दै पुनले भने ।

    एमाले विचार र सिद्धान्तमा नभई नाफा र स्वार्थका लागि चलेको आरोप उनले लगाए । ‘एमालेमा मानिसहरु बसिरहेको विचार र राजनीतिले होइन । ठूलो कार्पोरेट हाउसमा बस्दा फाइदा धेरै हुन्छ । ब्राण्ड बिक्छ, कर्पोरेटमा तलब/सुविधा बढ्छ, बोनस पाइन्छ भनेर हो’, पुनले भने, ‘कर्पोरेट हाउसमा कामदारहरु नाफाका लागि मिहेनत गर्छन्, ज्यान दिन पनि तयार हुन्छन् । एमालेका नेता कार्यकर्ता त्यस्तै भएका छन् ।’

    उनले कर्पोरेट संस्कारमा हुर्किएका कारण एमाले कार्यकर्ताले केपी ओलीले दुईपटकसम्म संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्दा र व्यवस्थामाथि नै प्रहार बोल्दा पनि बोल्न नसकेको टिप्पणी उनको थियो ।

    तर, माओवादी केन्द्र भने विचार, राजनीति र सिद्धान्त आधारित समाजवादी कार्यदिशा बोकेको पार्टी भएको दाबी पुनले गरे । उनले विचारलाई बोक्न सक्ने संगठन पनि आफूहरुसँग रहेको बताए ।

    जनयुद्धका बेला पार्टीले सेना र संयुक्त मोर्चाको नेतृत्व गरेको भन्दै उनले आजको प्रतिस्पर्धात्मक राजनीतिमा समाजवादको आधार निर्माण गर्ने पार्टी चाहिएको बताए । ‘समाजवादको आधार निर्माणका लागि क्रान्तिकारी पार्टी चाहिन्छ । जुझारु कार्यकर्ता र जनताको समर्थन चाहिन्छ’, पुनले भने, ‘समाजको क्रान्तिकारी परिवर्तन र जनता तथा आफ्नै जीवनमा परिवर्तनका लागि पनि पार्टी चाहिने भन्दै सडकमा खबरदारी गर्ने, सदनमा जनताको आवाज बोल्न सक्ने र सरकारमा रहँदा जनताको पक्षमा काम गर्ने पार्टी चाहिएको छ ।’

    पार्टीका हरेक कमिटीका अध्यक्ष वा मुख्य नेतृत्वलाई पियानो बाधकको संज्ञा दिँदै पुनले समितिको मुख्य नेता, मुख्य संगठक र मुख्य व्यवस्थापकका हैसियतले अध्यक्षहरुले पियानो बजाउँदा दुवै खुट्टा र दसवटै औंला चलाउनुपर्ने बताए । आफ्नो समितिका सदस्यहरुलाई विचारले नेतृृत्व गर्ने, भावनात्मक रुपले एकताबद्ध गर्ने र संगठनात्मक रुपले एकीकृत गर्नुका साथै जनतासँग जोडिएर जनभावनाअनुसार काम गर्ने गुण नेताहरुमा हुनुपर्ने चर्चा गरे ।

    फरक प्रसंगमा पुनले गठबन्धन आवद्ध अरु दललाई बाँडेर बाँकी रहेको सिटमध्ये ६० प्रशितमा काँग्रेस र ४० प्रतिशत स्थानमा माओवादीले लिने गरी एकरदुई दिनभित्रै सिट बाँडफाँटको टुंगो लाग्ने बताए । केपी ओलीको दक्षिणपन्थी प्रवृत्ति र प्रतिगमनलाई निर्वाचनमार्फत पराजित गरिने भन्दै उनले आफूहरुले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता जनाए ।

  • दाङमा महरा र पोखरेलबीच टक्कर निश्चित, मेटमणि र हीराचन्द्रमध्ये को पछि हट्ने ?

    दाङमा महरा र पोखरेलबीच टक्कर निश्चित, मेटमणि र हीराचन्द्रमध्ये को पछि हट्ने ?

    रुपन्देही । आगामी निर्वाचन नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका प्रभावशाली केन्द्रीय नेताहरुमध्ये दाङमा कसले टिकट पाउला भन्ने चर्चा सुरु भएको छ ।

    दाङ २ एमाले महासचिव शंकर पोखरेल र माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको निर्वाचन क्षेत्र हो । अघिल्लोपटक प्रदेशसभामा झरेका महासचिव पोखरेल यसपटक प्रतिनिधिसभामा उक्लिने सम्भावना छ । तर गठबन्धनबाट महराले टिकट पाउँदा दुई वाम नेताबीच कडा टक्कर पर्ने देखिएको छ ।

    दाङ क्षेत्र नं १ नेकपा एसका नेता एवं शहरी विकासमन्त्री मेटमणि चौधरीको निर्वाचन क्षेत्र हो । यहाँ एमालेबाट गंगा वा शान्ता चौधरी दावेदार छन् । क्षेत्र नं ३ मा कांग्रेसका प्रभावशाली नेता दीपक गिरी, एमालेबाट घनश्याम पाण्डे वा कोमल वलीको चर्चा छ ।

    दाङमा सत्ता गठबन्धनबाट १ नं क्षेत्रमा नेकपा एसका मेटमणि चौधरी, २ मा माओवादीका कृष्णबहादुर महरा र ३ मा कांग्रेसका दीपक गिरीले टिकट पाउने बलियो सम्भावना छ । एमालेबाट क्षेत्र नं २ मा महासचिव पोखरेलको निश्चित जस्तै छ । १ नं र ३ नम्बर क्षेत्रमा कसले टिकट पाउने भन्ने रस्साकस्सी चलिरहेको छ ।

    पाँच दल सत्ता गठबन्धन बलियो बनाएर एमालेलाई माथ खुवाउने योजनामा छ । त्यस्तै स्थानीय निर्वाचनमा गठबन्धनमा देखिएको विवादमा टेकेर एमाले आफ्नो वर्चश्व जोगाउने रणनीतिमा लागेको छ । एमालेले स्थानीय निर्वाचनमा दुई उपमहानगरमा बलियो गठबन्धन भत्काएर जित निकालेको थियो । माओवादीका केही प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेको, नेकपा एसले धेरै मत काट्न नसकेको र कांग्रेस तथा माओवादीका कार्यकर्ताले एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेकाले स्थानीय तह निर्वाचनमा जस्तै आफ्नो पुरानो वर्चश्व कायम राख्ने दाबी एमालेको छ ।

    महरा र पोखरेलबीच टक्कर, कसले मार्ला बाजी ?

    २०७४ मा तत्कालीन नेकपा हुँदा क्षेत्र नम्बर २ बाट कृष्णबहादुर महरा प्रतिनिधिसभा र शंकर पोखरेल प्रदेशसभामा चुनाव लडेका थिए । तर, यसपटक प्रतिनिधिसभामा महरा र पोखरेल आमनेसामने हुने स्थिति बनेको छ ।

    गठबन्धनमा यो क्षेत्र महराले नै पाउने करिब निश्चित छ । तर, यसअघि महराले हराएका कांग्रेस नेता राजु खनालले पनि यहाँ दाबी गर्दै आएका छन् । माओवादी केन्द्र दाङका सहइन्चार्ज निर्मल आचार्यले दाङ २ मा कृष्णबहादुर महराले नै प्रत्यक्ष निर्वाचन लड्ने बताए ।

    यसअघि महराले खनाललाई १४ हजार १४५ मतान्तरले हराएका थिए । महराले ४० हजार ४२ मत पाउँदा खनालले २५ हजार ८९७ मत ल्याएका थिए ।

    एमालेबाट पोखरेलबाहेक कसैको दाबी देखिएको छैन । उनी क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बनेका थिए । एमाले दाङका सचिव मनोहर बुढाथोकीले क्षेत्र नम्बर २ मा एमालेबाट महासचिव पोखरेल निश्चित जस्तै भए पनि अन्य क्षेत्रमा धेरैको दाबी रहेको बताए ।

    पोखरेलले प्रतिस्पर्धीभन्दा ९ हजार ५२५ मत बढी प्राप्त गरेका थिए । उनले २० हजार ६९४ मत ल्याउँदा प्रतिद्वन्द्वी कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १६९ मत ल्याएका थिए ।

    प्रदेशसभाको अर्को क्षेत्रमा एमालेकै अमरबहादुर डाँगी निर्वाचित भएका थिए । तर, पोखरेल नेतृत्वको सरकार ढाल्न उनले सांसदमात्रै छाडेनन् एमाले नै छोडे । अहिले डाँगी माओवादीबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसीको प्रमुख राजनीतिक सल्लाहकार बनेका छन् ।

    क्षेत्र नम्बर २ मा घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडा पर्छन् । बंगलाचुली गाउँपालिका माओवादी केन्द्रले जितेको छ । घोराही उपमहानगरपालिका एमाले जितेको छ । गएको निर्वाचनमा घोराही र तुलसीपुरमा गठबन्धन पराजित भएपछि कांग्रेस र माओवादी केन्द्र एक-अर्कोलाई अन्तर्घातको आरोप लगाइरहेका छन् । जसले गर्दा क्षेत्र नम्बर २ मा गठबन्धनमा उत्साह छैन ।

    स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा आएको मतअनुसार यो क्षेत्रमा एमाले ३३ हजार ५९३, कांग्रेस २३ हजार ३०१, माओवादी १० हजार ४७८, राप्रपा ३ हजार २६४ र नेकपा एसको २ हजार ९४२ रहेको छ ।

    मेटमणिलाई गठबन्धनको आश

    आफ्नो पार्टीको बलियो सांगठनिक आधार नभए पनि सत्ता गठबन्धनबाट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका नेता तथा शहरी विकासमन्त्री मेटमणि चौधरी बलियो दावेदार हुन् । उनी २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । चौधरीसँगै एमालेबाट प्रदेशसभा सांसद एवं एमालेका केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा र गंगा चौधरी बलिया उम्मेदवार हुन् ।

    यो क्षेत्रमा कांग्रेस नेताहरुले स्थानीय निर्वाचनमा २ हजार ३ सय मत ल्याएको पार्टीलाई ३० हजार हाराहारीमा मत ल्याएको पार्टीबाट भोट दिलाएर जिताउन नसकिने तर्क गर्दै आएका छन् ।

    यसअघि पहिलोपटक निर्वाचन लडेका मेटमणिले ३७ हजार ९०८ मत पाएका थिए । प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन् । नेकपा एकीकृत समाजवादी दाङका अध्यक्ष सुरामणि बेल्बासेले क्षेत्र नम्बर १ बाट मेटमणि नै उम्मेदवार बन्ने बताए ।

    क्षेत्र १ को प्रदेशसभातर्फ शर्मा र माओवादी केन्द्रका इन्द्रजीत थारूले जितेका थिए । थारूले पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसका तत्कालीन प्रभावशाली नेता स्व. खुमबहादुर खड्कालाई पराजित गरेका थिए ।

    क्षेत्र नम्बर १ मा लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिका तथा घोराही उपमहानगरका ४ वटा वडा पर्छन् । गएको पालिका निर्वाचनमा लमही र राजपुर कांग्रेस तथा गढवा र राप्ती माओवादी केन्द्रले जितेका छन् ।

    यो क्षेत्रमा स्थानीय निर्वाचनमा वडाध्यक्षमा आएको मतभारअनुसार कांग्रेस २९ हजार ७५७, एमाले २७ हजार ०२५, माओवादी १९ हजार २७६, राप्रपा २ हजार ३५०, एस २ हजार ३४१ र जसपाको ८०७ मत रहेको छ ।

    चर्चामा क्षेत्र नं ३

    कांग्रेसका प्रभावशाली नेता दीपक गिरीको क्षेत्र हो दाङ ३ । यहाँबाट अहिलेका सांसद तथा राज्यमन्त्री बनेका हीराचन्द्र केसीले नेकपा एसबाट दाबी गरेका छन् । तर, १ नम्बर क्षेत्रमा मेटमणिले नपाई केसीले पाउने सम्भावना छैन ।

    एमालेबाट घनश्याम पाण्डे र निवर्तमान राष्ट्रियसभा सदस्य कोमल वलीमध्ये एक उम्मेदवार हुने चर्चा छ । पाण्डे मुख्यमन्त्री बन्ने दलबाट आधिकारिक भनाइ नआएसम्म संघमा नछोड्ने अडानमा छन् । अघिल्लोपटक तुलसीपुर उपमहानगरमा मेयर हुँदा राम्रो काम गरेको र अहिलेको पालिका निर्वाचनमा पनि तुलसीपुरमा एमालेलाई जिताएपछि पाण्डेको पक्षमा माहोल बलियो बन्दै गएको जिल्ला नेताहरू बताउँछन् । तर, वलीले केन्द्रको पहुँचमा टिकट ल्याउन पनि सक्ने केहीले आंकलन गरेका छन् ।

    कांग्रेसबाट पूर्वमन्त्री गिरी यसअगाडि पनि उम्मेदवार थिए । यो क्षेत्रबाट यसअगाडि एमालेबाट निर्वाचित हीराचन्द्र केसी अहिले नेकपा एकीकृत समाजवादीमा छन् । केसीले ४० हजार २८७ मतका साथ विजयी हुँदा गिरीले ३३ हजार ७३० मत ल्याएका थिए ।

    प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क) मा कांग्रेसका डिल्लीबहादुर चौधरीले जितेका थिए । चौधरीले माओवादी उम्मेदवार जगप्रसाद शर्मालाई २ हजार ३३६ मतान्तरले हराएका थिए । चौधरी अहिले लुम्बिनी प्रदेशको मन्त्री छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (ख) मा एमाले उम्मेदवार उत्तरकुमार वली निर्वाचित भएका थिए ।

    वलीको सडक दुर्घटनामा ३ वर्ष अगाडि निधन भएपछि भएको उपनिर्वाचनमा उनकी धर्मपत्नी विमला वली निर्वाचित भएकी थिइन् । हाल उनी माओवादीमा छिन् । उनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री भए पनि विवादमा तानिएपछि अहिले हटाइएकी छन् ।

    कांग्रेस दाङका सभापति शंकर डाँगीले गठबन्धन दलबीच तीन निर्वाचन क्षेत्रमा सीट बाँडफाँट हुने बताए । क्षेत्र नम्बर ३ मा बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरका केही वडा पर्छन् । तुलसीपुरबाहेक तीनवटै क्षेत्रमा कांग्रेसले जितेको छ ।

    स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले यो क्षेत्रमा ल्याएको मत परिणामअनुसार एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८०, एस १ हजार ९३८, राप्रपाको १ हजार ४४४ र जसपाको १८२ रहेको छ ।

  • प्रचण्डको आरोप- ओलीले चितवनमा मलाई कमजोर पार्ने मात्र काम गरे (भिडिओ)

    प्रचण्डको आरोप- ओलीले चितवनमा मलाई कमजोर पार्ने मात्र काम गरे (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना चकनाचुर भएको आरोप लगाएका छन् ।

    चितवनको माडी नगरपालिका क्षेत्रमा रहेको हुलाकी सडकअन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा कसरी असफल बनाउने भनी षड्यन्त्र गरेको बताए ।

    ‘राजनीतिक स्थायित्व र विकास सपना देखेर हामीले नेकपा बनाएका थियौं । केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ उनले भने,‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हो त्यो सपना चकनाचुर भयो ।’

    ओलीले पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने र आफूलाई कसरी हुन्छ चितवनमा असफल पार्नेबाहेक कुनै काम नगरेको प्रचण्डको टिप्पणी थियो ।

    ‘पटक-पटक प्रतिनिधिसभा विघटन गर्ने र प्रचण्डलाई चितवनमा कसरी असफल पार्ने भन्नेबाहेक प्रधानमन्त्रीका रूपमा मेरा अर्का सहअध्यक्षबाट अरु केही भएन । म प्रष्ट भन्न चाहन्छु,’ उनले भने ।

  • वाममोर्चा बनाउने प्रयासमा छौं, एमालेले पुनर्विचार गरे छलफल गर्छौं : महासचिव गुरुङ (भिडिओ)

    वाममोर्चा बनाउने प्रयासमा छौं, एमालेले पुनर्विचार गरे छलफल गर्छौं : महासचिव गुरुङ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले वाममोर्चा निर्माणको प्रयास भइरहेको बताएका छन् ।

    रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले त्यसका लागि नेकपा एकीकृत समाजवादी, वामदेव गौतमको पार्टी, डा. बाबुराम भट्टराईको पार्टी लगायतसँग छलफल भइरहेको बताए ।

    ‘पाँचदलीय गठबन्धन पनि एउटा सहमतिको मोडल हो । यसबाहेक अधिकतम लचकताका साथ कम्युनिष्ट दलहरूसँग पनि मिलेर जानुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने,‘त्यसका लागि पछिल्लो समयमा वाममोर्चाको निर्माण गर्न सकिन्छ कि भनेर सहकार्य गरेर बढ्ने प्रक्रिया चलिरहेको छ ।’

    महासचिव गुरुङले विगतमा नेकपा एमालेसँग गरिएको प्रयास असफल भएको बताए । ‘अझै पनि एमालेले पनि पुनर्विचार गरे छलफल गर्छौं । यसबाहेक छरिएर रहेका माओवादी र अन्य वाम घटकसँग सहकार्य गर्न माओवादी केन्द्र तयार छ ।’

    तर, वामघटकमा भएको संकीर्णता र एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति बाधक रहेको उनको भनाइ थियो । मुलुकको अस्मिता जोगाउन कम्युनिष्टको एकता नै महत्वपूर्ण रहेको महासचिव गुरुङको जोड छ ।

  • प्रमुख तीन दलको हाइकमाण्ड कति समावेशी ?

    प्रमुख तीन दलको हाइकमाण्ड कति समावेशी ?

    काठमाडौं । महाधिवेशन सकिएको आठ महिनापछि नेकपा (माओवादी केन्द्र) ले चयन गरेको २१ सदस्यीय पदाधिकारीमा ७१ प्रतिशत अर्थात १५ जना खस-आर्यबाट छन् । माओवादीले एकजना महिला रहेको पदाधिकारीमा दलितको संख्या भने शून्य पारेको छ ।

    समावेशी र पहिचानको अधिकारको सबैभन्दा बढी रटान लाउने माओवादी सम्भवत: प्रमुख राजनीतिक दलको नेतृत्वमा दलितको प्रतिनिधित्व नगराउने एकमात्र पार्टी बनेको छ ।

    समावेशी र अधिकारको एजेण्डा बोक्ने दलहरू नै असमावेशी बनेको दलहरूमाथि आलोचना बढ्दो छ ।

    जनजातिमा पनि पुरुषको वर्चस्व

    अध्यक्ष प्रचण्डपछि दोस्रो वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । उपाध्यक्ष कृष्णबहादुर महरा खस आर्यबाटै छन् । कार्यकारी पद मानिने महासचिव भने जानजातिबाट देव गुरूङ छन् । ७ जना उपमहासचिवमा वर्षमान पुन जनजातिबाट र मात्रिका यादव मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने भए पनि उपमहासचिवमा पनि ७१ प्रतिशत अर्थात् ५ जना भने खस आर्यबाटै छन् । जसमा जनार्दन शर्मा, गिरीराजमणी पोखरेल, हरिबोल गजुरेल, पम्फा भुसाल र शक्ति बस्नेत रहेका छन् । समग्र पदाधिकारीमा ४ प्रतिशत अर्थात एकजना मात्रै उपमहासचिवमा पम्फा भुसाल छिन् ।

    ९ सदस्यीय सचिवमा हितमान शाक्य जनजातिबाट र गणेश साह मधेसीबाट परे पनि दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की गरी ७७ प्रतिशत खस आर्य छन् ।

    कांग्रेसमा पनि खसआर्यकै हाबी

    करिब ९ महिनाअघि सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दा १३ पदाधिकारी निर्वाचित गरेको थियो । १३ सदस्यीय पदाधिकारीको टिममा ४५ प्रतिशत खसआर्य छन् । सभापति शेरबहादुर देउवा आफैं खसआर्यबाट छन् । दुईजना उपसभापतिमध्ये धनराज गुरुङले आदिवासी जनजातिबाट प्रतिनिधित्व गर्दा अर्का उपसभापति पूर्णबहादुर खड्का खसआर्यबाटै प्रतिनिधित्व गर्छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा दुवैजना खसआर्य हुन् ।

    कांग्रेसले सहमहामन्त्रीमा समावेशी कोटा छुट्याएर नेतृत्वमा ल्याएको छ । त्यहाँ पनि खसआर्य, महिला र पिछडिएको क्षेत्रबाट तीनजना सहमहामन्त्रीले खसआर्यबाटै प्रतितिधित्व गर्छन् । जसमा खसआर्यबाट किशोरसिंह राठौर, महिलाबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे खसआर्यबाटै प्रतिनिधित्व गर्छन् ।

    कांग्रेसले पनि वैधानिक व्यवस्थाबाहेक पदाधिकारीमा समावेशीमा ध्यान दिएको छैन । सीमान्तकृत समुदायको प्रतितिधित्व गर्ने तर खुलाबाट समेत निर्वाचित भएर आउन सक्ने नेतालाई समेत देउवा र कोइराला प्यानलले चुनावी मैदानमा ल्याउन सकेन । स्वयं सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने नेताले पनि आफूलाई खुला निर्वाचनमा उभ्याउन सकेनन् ।

    प्रमुख पाँच पदमा पनि एक जना पनि महिला छैनन् । प्रतिस्पर्धामा एकजना पनि महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्र आउन सकेन । एक उपसभापतिमा मात्र आदिवासी जनजातिबाट धनराज गुरुङ निर्वाचित भए ।

    समावेशी कोटाका ८ जना सहमहामन्त्रीमध्ये एक मात्र महिला डीना उपाध्यायाय निर्वाचित भएकी छन् । तीबाहेक आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितबाट जीवन परियार, खसआर्यबाट किशोरसिंह राठौर, मधेसीबाट महेन्द्र यादव, महिलाबाट महालक्ष्मी उपाध्याय ‘डिना’, मुस्लिमबाट फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, थारुबाट उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

    एमाले पदाधिकारीमा ६८ प्रतिशत खसआर्य नै

    करिब १० महिनाअघि चितवनमा सम्पन्न नेकपा एमालेको १० औं महाधिवेशनले ३०१ जनाको केन्द्रीय कमिटी र १९ सदस्यीय पदाधिकारी बनाएको थियो ।

    पदाधिकारीमा अध्यक्ष केपी ओलीसहित ६८ प्रतिशत अर्थात १३ जना पदाधिकारी खस आर्यबाट छन् । माओवादी र कांग्रेसबाट पदाधिकारीमा एक/एकजना महिला हुँदा एमालेमा १० प्रतिशत (दुईजना) महिला छन् । दलित र मधेसीको उपस्थिति एक-एक जना छन् ।

    एमालेको १९ सदस्यीय पदाधिकारी टिममा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल खसआर्यबाटै छन् । ६ जना उपाध्यक्षमा ५० प्रतिशत जनजाति छन् । जसमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापामगर र सुवास नेम्वाङ रहेका छन् । युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्रप्रसाद पाण्डे खसआर्यबाट छन् ।

    अध्यक्षपछि कार्यकारी भूमिकामा रहेका शंकर पोखरेल खसआर्यकै छन् । ३ सदस्यीय उपमहासचिवको टिममा ३३ प्रतिशत अर्थात एक जना पृथ्वीसुब्बा गुरुङ जनजातिबाट छन् भने प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल खस आर्यबाटै नेतृत्वमा छन् ।

    ७ सदस्यीय सचिवको टिममा ७१ प्रतिशत टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई र पद्माकुमारी अर्याल खस आर्यबाट छन् । दलितबाट छविलाल विश्वकर्मा र मधेसीबाट रघुवीर महासेठले प्रतिनिधित्व गरेका छन् ।

    एमाले पदाधिकारीमा दुईजना महिला, एक दलित र एकजना मधेसीको उपस्थिति भएको छ । यो हिसाबमा पदाधिकारीमा महिलाको सहभागिता १० प्रतिशत देखिएको छ भने दलित र मधेसीको सहभागिता ५-५ प्रतिशत छ । संख्यात्मक हिसाबले महिला, दलित र मधेसीको संख्या पदाधिकारीमा कम देखिए पनि यसअघिको तुलनामा सुधार भएको छ ।

  • चुनावी माहोल बनाउन प्रचण्ड चितवनमा, आजै पाँच कार्यक्रममा व्यस्त

    चुनावी माहोल बनाउन प्रचण्ड चितवनमा, आजै पाँच कार्यक्रममा व्यस्त

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावको छेको पारेर चितवन लागेका छन् । प्रतिनिधिसभाको चुनावमा चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी गरेका अध्यक्ष प्रचण्ड आज बिहान चितवन पुगेका हुन् ।

    चितवन पुग्नुअघि उनको कार्यतालिका सार्वजनिक भएको छ । तालिका अनुसार उनी आज एकै दिन ५ वटा कार्यक्रममा सहभागी हुनेछन्, जसमध्ये तीन वटा शिलान्यास कार्यक्रम छन् ।

    आजै पुल उद्घाटन तथा पार्टी प्रशिक्षण कार्यक्रम पनि राखिएको छ । प्रचण्डले बरुवाबजार भैरवपुर पर्साचोक बैदार चिन्द्रेनी अजिंगरे सहिदपुर गंगटे सडक शिलान्यास, हुलाकी सडक अन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन, र माडी ठोरी सडक खण्डको उद्घाटन गरिसकेका छन् ।

    यस्तै टमटा खोला तटबन्धन शिलान्यास कार्यक्रम पनि आजै छ । भरतपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको प्रमुख अथितिको रुपमा प्रचण्ड सहभागी हुनेछन् ।

    केही दिनअघि जापान भ्रमणमा रहेका बेला प्रचण्डले आफू चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए । उनी आजै कार्यक्रम सकाएर गठबन्धनको बैठकका लागि काठमाडौं फर्कदैछन् ।

  • राष्ट्रवादको मखुन्डो लगाएर भोट बटुल्छौं भन्ने दुरुत्साह भएको छ : प्रचण्ड

    राष्ट्रवादको मखुन्डो लगाएर भोट बटुल्छौं भन्ने दुरुत्साह भएको छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु नै पाखण्डीबाहेक केही नभएको बताएका छन् ।

    बुधबार बिहान भरतपुर विमानस्थलमा संचारकर्मीहरुसँग कुुरा गर्दै अध्यक्ष प्रचण्डले नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित भएर फेरि राष्ट्रपतिकोमा जाने बताउँदै अहिले नागरिकता विधेयकको गलत उदेश्यको निम्ति प्रचार गरिएको बताए ।

    उनले आमाबुबा दुबै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विधेयकको सार भएको बताए ।

    उनले भने,‘ यसलाई गलत उदेश्यको निम्ति प्रचार गरिएको छ । दुई वटा कारणले एउटा त आमाबुबा दुबै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो अहिलेको विद्येयकको सार हो । ७ लाख मान्छेहरु नागरिकता विहिन भएका छन् । सबै अवसरबाट बञ्चित भयो त्यो स्थितिको अन्त्य गर्ने विद्येयक हो । त्यसकारण यसलाई राष्ट्रघाती भन्नु नै पाखण्ड बाहेक केही हुदैन ।

    नागरिकता विधेयक संसदमा ल्याउँदा एमालेले राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको उनले बताए ।

    ‘यो त्यही विद्येयक हो जो केपी ओली प्रधामन्त्री हुँदा अध्यादेशमार्फत लगिएका थियो । जसले यो विद्येयक अध्यादेश मार्फत पोहोर साल लगेका थिए । यही विद्येयक राष्ट्रघाती भन्नुभन्दा बेइमानी अनैतिकता अरु केही हुनै सक्र्दैनन् । ’ प्रचण्डले भने ।

    उनले एमालेले राष्ट्रवादको मखुन्डो लगाएर भोट बटुल्छौं भन्ने दुरुत्साह गरेको आरोप समेत लगाए ।

    ‘ यो ७ वर्षे वैवाहिक अंगिकृतको व्यवस्था राज्य व्यवस्थाबाट पारित भएर गएको थियो । म पनि नेकपाको अध्यक्ष थिए । शशी श्रेष्ठ राज्य व्यवस्था समितिको अध्यक्ष हुनुहुन्थ्यो म त्यतिबेला सदस्य थिए ।राज्य व्यवस्थाको त्यो प्रस्ताव सदनमा लैजाउँ भन्दा नमान्ने केपी ओली र एमाले गुट नै हो । र अध्यादेशबाट अहिले जे लगिएको छ त्यो लैजाने पनि केपी ओली नै हो । यति छरलंग कुरालाई पनि नेपालका जनता बुद्धि नभएका छन् । भ्रम दिन सकिन्छ, राष्ट्रवादको मुकुन्डो लगाएर भोट बटुल्न सकिन्छ भन्न ठान्ने दुस्साहस जो भएको छ । मलाई लाग्छ नेपाली जनता समेत भइसके ।’

  • वर्षमान भन्छन्- गठबन्धन साझा कार्यक्रम लिएर चुनावमा जान्छ (भिडिओ)

    वर्षमान भन्छन्- गठबन्धन साझा कार्यक्रम लिएर चुनावमा जान्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आसन्न निर्वाचनमा गठबन्धन साझा कार्यक्रम लिएर जाने बताएका छन् ।

    संसदबाहिर पत्रकारसँग बोल्दै पुनले भने, ‘तालमेल गर्ने दलहरूबीच पनि साझा कार्यक्रम र समान धारणा बनाएर जनतामाझ जान्छौं । साझा कार्यक्रममा गठबन्धनले जनताका लागि गर्ने कामहरूको प्रतिबद्धता हुनेछ ।’

    वामशक्ति एकठाउँमा आउनुपर्नेमा पुनको जोड छ ।

    माओवादी र एकीकृत समाजवादीसँग विचार र राजनीतिक कार्यदिशामा पनि एकरूपता रहेकाले एउटै घोषणापत्रमा चुनाव लड्ने तयारीमा रहेको उनले बताए ।

  • माओवादीसँग मिले पनि चुनावमा आफ्नै चिन्ह लिएर लड्छौं : माधव नेपाल (भिडिओ)

    माओवादीसँग मिले पनि चुनावमा आफ्नै चिन्ह लिएर लड्छौं : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ लड्ने प्रष्ट्याएका छन् ।

    मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको बताए ।

    ‘पाँचदलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्छौं । माओवादी केन्द्रसँग चुनावपछि एकता अघि बढ्छ । त्यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको छ’, नेता नेपालले भने ।

    हिजो मात्र प्रचण्ड-माधव बसेर दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने समझदारी बनेको छ । त्यस्तै पार्टी एकताका लागि राजनीतिक, वैचारिक काम गर्न पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति पनि भएको छ ।

  • लुम्बिनीका मुख्यमन्त्रीको परिवारवाद : ज्वाइँलाई जागिर खुवाउन कानुन नै संशोधन

    लुम्बिनीका मुख्यमन्त्रीको परिवारवाद : ज्वाइँलाई जागिर खुवाउन कानुन नै संशोधन

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सचिवालयमा मात्र नभई कार्यकाल सकिन केही महिना मात्रै बाँकी हुँदा अन्य निकायमा पनि परिवारका सदस्यलाई ‘सेटल’ गर्न थालेका छन् ।

    पछिल्लो पटक ज्वाइँलाई सञ्चार रजिस्टार बनाउन कानुन नै संशोधन गरेपछि सत्तागठबन्धनमा रहेका दल र स्वयं उनकै पार्टीबाट विरोध भएको छ । कुनै राजनीतिक नियुक्ति पार्टीको प्रदेश कमिटीबाट निर्णय वा सल्लाह नगरिएको भन्दै उनकै पार्टीका नेताहरूले विरोध गर्न थालेका छन् ।

    मुख्यमन्त्रीका काइला दाइ मानबहादुर केसीका ज्वाइँ रोहित केसीलाई उनले रजिस्टार बनाउने तयार गरेको स्रोतले बताएको छ । रोहित र उनकी श्रीमती दिया अहिले पनि मुख्यमन्त्रीकै सचिवालयमा छन् ।

    रोहित र दियासहित मुख्यमन्त्रीको पारिवारिक तस्बिर ।

    अघिल्लो सरकारको पालामा रजिष्टारका लागि कानुन वा पत्रकारितामा एमए गरेको प्रावधान थियो । तर, रोहितले व्यवस्थापन पढेकाले उनैको मापदण्ड पुग्ने गरी कानुन संशोधन गर्दा वा थपेर जुनसुकै विषयमा स्नातक गरेको भए पुग्ने बनाइएको जानकारहरू बताउँछन् । काउन्सिलको अध्यक्ष, रजिस्टारसहितका पदमा आफन्त र दलका कार्यकर्ता राख्नका लागि मुख्यमन्त्रीले कानुन संशोधन गराएको आरोप छ । यसका लागि कर्मचारीले पनि आफ्नो स्वार्थ घुसाएका छन् । कानुन संशोधन गर्दा कर्मचारी पनि बस्न पाउने गरी कानुन सचिव राजेन्द्र थापा र श्रीकृष्ण सुवेदीले मिलाएका छन् । केसीले सुरुमै रोहितलाई प्रेस सल्लाहकार राख्न खोजेपनि पार्टीभित्र विरोध भएर रोल्पाका मानसिंह विकलाई राखेका थिए ।

    माओवादीका शीर्ष नेताहरूले यो पदमा माओवादीमै रहेर पत्रकारिता गरेकालाई व्यवस्थापन गर्न धेरैपटक आग्रह गरेका थिए । माओवादी नेता कृष्णबहादुर महरा, बलदेव खनाल, गोविन्द आचार्यलगायतले सोही पार्टीको पत्रकार संगठनमा रहेका वसन्त गिरीलाई राख्न दबाब दिइरहेका छन् । गिरीलाई राख्न कांग्रेसबाट मन्त्री भएका डिल्ली चौधरी, जसपाबाट मन्त्री भएका सहश्रराम यादवलगायतले दबाब दिएपनि मुख्यमन्त्री ज्वाइँलाई नै नियुक्ति दिने अडानमा छन् । माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले उनीनिकट पत्रकार रुद्रहरि कुँवरलाई राख्न माग गरेका थिए तर मुख्यमन्त्रीले मानेन् ।

    केही दिनअघि मात्र मुख्यमन्त्रीले प्रदेश प्राविधिक विश्वविद्यालयको रजिष्टारमा पनि नातामा भाइ पर्ने रेग भण्डारीलाई नियुक्त गरेका छन् । उनी यसअघि आइटी विज्ञको रूपमा सचिवालयमा थिए । सचिवालयमा कार्यकाल सकिन लाग्दा भण्डारीलाई ५ वर्षे नियुक्ति दिइएको हो ।

    यसअघि मुख्यमन्त्रीको १८ सदस्यीय सचिवालय यसैपनि आलोचित छ । सचिवालयमा छोरी मानवी केसीलाई दोभासेको नियुक्ति दिएर मासिक ३७ हजार ९ सय ९० तलबभत्ता भुक्तानी दिइराखिएको छ । जनसम्पर्क सल्लाहकार, प्रमुख राजनीतिक सल्लाहकार, प्रेस संयोजक, फोटोग्राफर, स्वकीय सचिव पनि नियुक्त छन् । सचिवालयमा २१ हजारदेखि ८० हजार रूपैयाँसम्म तलब खाने मान्छे छन् ।

    केसीका प्रमुख राजनीतिक सल्लाहकार दाङका अमरबहादुर डाँगीलाई सञ्चार, अतिथि सत्कारसहित ८० हजार ८ सय ४० रुपैयाँ मासिक सेवा-सुविधा दिएका छन् । डाँगी एमालेका पूर्वप्रदेशसभा सदस्य हुन् । केसीलाई मुख्यमन्त्री बनाउन उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सहयोग गरेका थिए । त्यही गुन तिर्दै डाँगीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाइएको छ ।

    त्यस्तै रोल्पाको घर्ती गाउँका रमेशबहादुर वली क्षेत्रीलाई जनसम्पर्क सल्लाहकार बनाएका छन् । उनको सेवा-सुविधा मासिक ६४ हजार ८ सय रूपैयाँ छ । मासिक ४२ हजार ३ सय ८० दिएर खरिन्द्र विकलाई स्वकीय सचिव बनाइएको छ । रोल्पाकै मानसिंह विक प्रेस संयोजक छन् । उनको तलब ३७ हजार ९ सय ९० छ । प्रमुख राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकारका नाममा एकजना कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र हलुका सवारी चालक पनि नियुक्त गरिएको छ ।

    प्रमुख राजनीतिक सल्लाहकारदेखि क्यामेरामेन र कार्यालय सहयोगीसम्मले पाउने सुविधाअनुसार मुख्यमन्त्री केसीको सचिवालयले मात्र प्रदेश सरकारको मासिक ५ लाख २९ हजार ६० रुपैयाँ थप व्ययभार बढाएको छ । धेरै सुविधा लिने प्रमुख राजनीतिक सल्लाहकार डाँगी र वली प्रायः मुख्यमन्त्री कार्यालयमा भेटिँदैनन् । उनीहरूले सल्लाह दिने भनेको टेलिफोनमै हो । नियमित कार्यालय जान नपर्ने र आवश्यक पर्दा टेलिफोनमा पनि सम्पर्क भइरहने राजनीतिक सल्लाहकार डाँगीले बताए ।

    मन्त्रीहरूको सचिवालय ३ देखि ५ जनासम्मको छ । त्यसले प्रदेश सरकारको राज्य कोषबाट मासिक २१ लाख रूपैयाँभन्दा बढी थप खर्च भइरहेको छ । लुम्बिनीमा १७ सदस्यीय मन्त्रिपरिषद् छ । १३ मन्त्री र ४ राज्यमन्त्री छन् ।

    प्रदेशसभा लेखा समिति सभापति विष्णु पन्थी चुनावको मिति तोकिसकिएकाले सरकारले धमाधम कानुनविपरीत नियुक्ति गर्नु गलत भएको बताउँछन् ।

    ‘जे-जे भनेर नियुक्त गरे पनि यो आफन्त र कार्यकर्ता पाल्ने खेलोमेलो मात्र हो, चुनावको मिति घोषणा भएपछि यस्तो काम गर्नु गैरजिम्मेवारी हो, त्यस्ता अनावश्यक खर्चलाई निरुत्साहित गर्नु जरुरी छ ’, उनले नेपाल प्रेससाग भने ।

    सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले सरकारले कार्यविधि बनाएको र त्यहीअनुसार नै नियुक्ति भएको दाबी गरे ।

  • माओवादी मधेस सचिवालय सदस्यसहित विभिन्न दलका कार्यकर्ता एमालेमा प्रवेश

    माओवादी मधेस सचिवालय सदस्यसहित विभिन्न दलका कार्यकर्ता एमालेमा प्रवेश

    काठमाडौं । विभिन्न पार्टीमा आबद्ध मधेसका प्रभावशाली नेता एमाले प्रवेश गरेका छन् ।

    नेकपा माओवादी केन्द्र मधेस प्रदेश सचिवालय सदस्य प्रदीप पटेल, राजपुर नगरपालिकामा जसपाबाट मेयर पदका प्रत्याशी मो. जैद राजा, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य नागेन्द्र शाहलगायत रौतहटका नेता-कार्यकर्ता एमालेमा आएका हुन् ।

    आइतबार एक कार्यक्रमबीच उनीहरूलाई एमाले अध्यक्ष केपी ओली, नेता प्रभु शाहलगायतले पार्टीमा स्वागत गरे ।

  • वाईसीएलको अध्यक्षमा श्रीपाली र महासचिवमा शाही चयन

    वाईसीएलको अध्यक्षमा श्रीपाली र महासचिवमा शाही चयन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को अध्यक्षमा सुवोध श्रीपाइली चयन भएका छन् । काठमाडौंमा सम्पन्न वाइसीएलको राष्ट्रिय भेलाले श्रीपालीलाई अध्यक्षमा चयन गरेको हो ।

    यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । वाइसीएलको पदाधिकारीमात्रै ६१ जनाको बनेको छ भने केन्द्रीय समिति ३ सय ५१ सदस्यीय घोषणा भएको छ । पदाधिकारीमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ ।

    शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । त्यसपछि बन्दसत्र सम्पन्न भए पनि निर्वाचन प्रक्रिया सुरु भएपछि सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए । देवकोटाको ४० वर्षे उमेर हद कटेपछि श्रीपाइलीले नेतृत्व गर्ने मौका पाएका हुन् ।

    यसअघिको सम्मेलनमा सुमन देवकोटा र श्रीपालीबीच नेतृत्व लिनेबारे विवाद भएपछि पार्टीले देवकोटालाई संयोजक र श्रीपालीलाई सहसंयोजक बनाइएको थियो । तर, देवकोटाको ४० वर्षे उमेरहद पूरा भएपछि श्रीपालीलाई नै अध्यक्ष बनाइएको हो । यस्तै वाईसीएलको महासचिवका लागि ज्ञानबहादुर गुरुङ, गणेश शाही र मिङमा डण्डु शेर्पा गरेर ३ जनको दाबी रहे पनि छलफल पछि शाहीले बाजी मारेका हुन् ।

  • ‘पेल्यो बेस्मरी’ सेलो गाउँदै पूर्वमेयरले छाडे माओवादी, सिन्धुका अरु नेता पनि एमाले प्रवेश गर्दै

    ‘पेल्यो बेस्मरी’ सेलो गाउँदै पूर्वमेयरले छाडे माओवादी, सिन्धुका अरु नेता पनि एमाले प्रवेश गर्दै

    सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाको निर्वतमान मेयर एवम् माओवादी नेता अमानसिं तामाङले टिकटकमा शनिबार बेलुकी भावुक हुदै तामाङ सेलो पोष्ट गरे, सेलोमो भनिएको छ-

    माओवादी पार्टीको नेताले, पेल्यो मलाई बेस्मरी

    पार्टीमा बस्नु नसकिने भो, निस्केर जाउँ म कसोगरी

    बसौं भने पेलेर ल्याउँछ, निस्केर नगई भा छैन

    पूर्वमेयर तामाङले तामाङ सेलोमार्फत माओवादी पार्टी छाड्न लागेको र लामो समय बिताएको पार्टी छाड्नु पर्दा दुःख लागेको बताएका छन् ।

    सिन्धुपाल्चोक सदरमुकाम समेत रहेको जिल्लाको पहिलो नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट मेयरमा निर्वाचित भएका तामाङ भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनमा समेत पुनः उमेदवार हुन खोजेका थिए । तर, माओवादीले उम्मेदवार नबनाएपछि तामाङ असन्तुष्ट थिए ।

    त्यतिबेला नै माओवादी छाडेर एमालेमा प्रवेश गर्ने अन्तिम तयारी भएपनि माओवादी अध्यक्ष प्रचण्डले पुनः उमेदवार बनाउने आश्वासन दिएपछि उनी रोकिएका थिए । तर, अन्तिम समयमा तामाङलाई उम्मेदवार नबनाएपछि उम्मेदवार मनोनयनको दिन तामाङ समर्थक र माओवादी कार्यकर्ताहरूबीच झडपसमेत भएको थियो ।

    पार्टीले उम्मेदवार नबनाए पनि उनी माओवादी उमेदवार कृष्णप्रसाद सापकोटाको चुनावी अभियानमा भने सहभागी भई सापकोटालाई मत मागेर हिँडेका थिए । माओवादी सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसहित वैशाख १६ गते सम्पन्न बैठकले तामाङलाई पार्टीको केन्द्रीय सदस्य र वागमती प्रदेश सदस्यका लागि सिफारिस गर्ने, सिन्धुपाल्चोक जिल्लाको सहइञ्चार्ज बनाउने लगायतका सहमति भएको थियो ।

    तर, चुनाव सकिएको दुई महिनाभन्दा बढी हुँदासमेत सहमति कार्यान्वयन नभएपछि पूर्वमेयर तामाङले पार्टी परित्याग गर्न लागेको उनी निकटका नेताहरूले जानकारी दिएका छन् । तामाङसहित माओवादीका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पार्टी प्रवेश गराउन लागेको एमाले सिन्धुपाल्चोक अध्यक्ष कमल नेपालले जानकारी दिए ।

    २०३६ सालदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भएका तामाङ २०४९ को स्थानीय निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाबाट कुभिण्डे गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । २०५८ मा माओवादीमा भूमिगत भएका तामाङ जिल्ला जनसरकार प्रमुख समेत भएका थिए ।

    भोटेकोशीको उपाध्यक्षसहितको टोली पनि प्रवेश गर्ने

    यसैबीच भोटेकोशी गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष दाबुटी शेर्पासहितको पूर्वमाओवादी नेता कार्यकर्ताहरू पनि एमाले प्रवेश गर्ने भएका छन् । माओवादीका भोटेकोशी गाउँपालिकाका अध्यक्ष आङछिरीङ शेर्पालगायतका माओवादी नेताहरू एमाले प्रवेश गर्न लागेको एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

    गाउँपालिकाकी उपाध्यक्ष शेर्पा,पार्टीका अध्यक्ष आङछिरीङ शेर्पालगायतका भोटेकोशीका माओवादीका नेताहरुले चुनावको बेलामा नै पार्टी छाडेका थिए । उनीहरू स्थानीय चुनावमा टिकटको आकांक्षी भएपनि माओवादीले पुन राजकुमार पौडेललाई नै उमेदवार बनाएपछि शेर्पाहरूको समूहले पार्टी छाडेको थियो । उनीहरूलाई स्थानीय निर्वाचनपछि माओवादी वागमती प्रदेश कमिटीले कारबाहीसमेत गरेको थियो ।

     

  • गिरिको निधनबाट राजनीतिमा गहिरो अभावको अनुभूति भयो: प्रचण्ड

    गिरिको निधनबाट राजनीतिमा गहिरो अभावको अनुभूति भयो: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएकोबताएका छन् ।

    गिरिको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।उनले सामाजिक संजाल फेसबुकमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

    उनले लेखेका छन्,’नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’

     

  • चुनाव केन्द्रित ‘टीम प्रचण्ड’– विशेष महाधिवेशनसम्मको अस्थायी प्रबन्ध

    चुनाव केन्द्रित ‘टीम प्रचण्ड’– विशेष महाधिवेशनसम्मको अस्थायी प्रबन्ध

    काठमाडौं । महाधिवेशन सम्पन्न भएको करिब ८ महिनापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० जना पदाधिकारी प्रस्ताव गर्दा स्थायी कमिटी बैठकले ताली बजाएर अनुमोदन गर्‍यो । प्रचण्डलाई यसअघि नै महासचिव लगायत मुख्य पदका आकांक्षी नेताहरुले जसको नाम प्रस्ताव गरे पनि मान्ने वचन दिइसकेका थिए ।

    पार्टीभित्र नेताहरुलाई लडाए, जुधाएर र अन्तिममा सबैको साझा नेताका रुपमा सबैको व्यवस्थापन गरेर ३५ वर्षदेखि निर्विकल्प नेतृत्व गर्दै आएका प्रचण्डले यसपटक पनि आफूलाई अप्ठेरो पर्ने कामबाट सहज पार पाएका छन् । महासचिव पदका प्रमुख दाबेदार वर्षमान पुन र जनार्दन शर्मामध्ये एक छान्नु उनका लागि सहज थिएन, त्यसैले उनले सहज विकल्पमा रुपमा देव गुरुङ निकाले ।

    पार्टीमा जनयुद्धकालीन वरिष्ठता र शान्ति प्रक्रियापछिको एकीकरणका धाराहरुसमेत समेटेर उनले २० जना पदाधिकारी छाने । यसो गर्दा वरिष्ठताका आधारमा नारायणकाजी दोस्रो वरियतासहित वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा एकल उपाध्यक्ष भए । उपाध्यक्षमा अरु नेताहरु व्यवस्थापन गर्नुभन्दा उनले महासचिव र उपाध्यक्षका दाबेदारहरुलाई उपमहासचिवमा सेटल गरे ।

    यसबीचमा उनले हरिबोल गजुरेल र पम्फा भुसालमध्ये एकजनालाई महासचिव बनाउने योजना पनि सुनाएका थिए । तर एकाएक पछिल्लो पटक उनले महरापछिको वरियतासहित देव गुरुङलाई छाने । यद्यपी वरिष्ठताकै आधारमा हो भने गुरुङभन्दा हरिबोल सिनियर हुन् । उपमहासचिव राखिएकोमा उनी सन्तुष्ट छैनन् ।

    महासचिवको दावी गरेका वर्षमान पुन, जनार्दन शर्मा, गिरिरामणी पोखरेल, शक्ति बस्नेत, पम्फा भुसाल, मात्रिका यादव जस्ता नेता उपमहापसचिवमा समेटिँदा स्थायी कमिटीका सिनियर सदस्यबाट छानेर ९ जना सचिव बनाइएको छ ।

    सचिवमा उमेर तथा राजनीतिक जीवनका हिसाबले समेत अवकाश भइसकेका दिनानाथ शर्माजस्ता पाका नेतासमेत समेटेर प्रचण्डले ९ जनाको नाम पेश गरेका थिए । चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव बनाइएको छ ।

    कोषाध्यक्ष पदमा भने लो प्रोफाइलका नेता श्रीराम ढकाल चयन भएका छन् । उनी लामो समयदेखि कार्यलय सचिव थिए । चाँडै नै पार्टीको विधान महाधिवेशन आयोजना गर्ने भएकाले अहिलेको पदाधिकारी टिम तदर्थ प्रकारको रहेको पाध्यक्ष कृष्णवहादुर महराले बताए । उनले चुनावलाई केन्द्रित गरेर अस्थायी प्रबन्ध गरिएको बताए ।

    प्रचण्डले चलाखीपूर्वक पेश गरेको पदाधिकारी सूचीमा शान्ति प्रक्रियापछि पार्टी एकतामा जोडिएका तत्कालीन एकता केन्द्रका नारायणकाजी श्रेष्ठ, गिरिराजमणी पोखरेल र लिलामणी पोखरेललाई समेटेका छन् । त्यस्तै, नेकपा मसालबाट जोडिएका डिलाराम आचार्य पनि सचिवमा समेटिएका छन् ।

    नेकपा संयुक्तबाट पार्टी एकतामा जोडिएका गणेश साह समेत पदाधिकारीमा समेटिँदा जनयुद्धकालीन पृष्ठभूमिका नेताहरुले बाँकी जिम्मेवारी पाएका छन् । नेता व्यवस्थापनका नाममा आउटडेटेड व्यक्तिको भारीभर्कम पदाधिकारी बनाउँदा क्षमतावान युवा पुस्ता छुटेको टिप्पणी भइरहेको छ ।

    त्यस्तै २१ सदस्यीय पदाधिकारीमा दलितको प्रतिनिधित्व छैन भने महिला एकजनामात्र छन् ।

    माओवादीले बनाएको यो पदाधिकारी टिमलाई चुनाव केन्द्रित भनिएको छ । त्यसैले यो बैठकले सबैको चित्त बुझाउन खोज्दा सोही बमोजिमका नेताको व्यवस्थापन गरिएको छ । बैठकले भदौ ७ गतेसम्म गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउने अनुमान गर्दै त्यसपछि सातै प्रदेशमा सन्देशमूलक भेला तथा प्रशिक्षण सन्चालन गर्ने निर्णय समेत गरेको छ । सोही बैठकले १२५ सदस्यीय पोलिटव्युरो र ४१ सदस्यीय स्थायी कमिटीको टुंगो लगाएको छ ।