Category: माओवादी केन्द्र

  • विष्णु रिजालको टिप्पणी- ६४ यताका निर्वाचनमा माओवादी ओरालो

    विष्णु रिजालको टिप्पणी- ६४ यताका निर्वाचनमा माओवादी ओरालो

    काठमाडौं । नेकपा एमालेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नेकपा माओवादी केन्द्र हरेक निर्वाचनमा ओरालो लागिरहेको दाबी गरेका छन् । आज एक ट्वीटमार्फत उनले २०६४ यताका निर्वाचनको नतिजा केलाउँदा यस्तो तथ्य देखिएको उल्लेख गरेका हुन् ।

    ‘२०६४ सालयताका हरेक निर्वाचन केलाउँदा माओवादी निरन्तर ओरालो लागिरहेको छ,’ उनले लेखेका छन्,‘भर्खरै सम्पन्न स्थानीय निर्वाचनसम्म आइपुग्दा यो पार्टी १२ प्रतिशतमा सीमित भएको छ ।’

    भर्खरै चितवन माओवादीका प्रभावशाली नेता एमाले प्रवेश गरेको पनि उनले उल्लेख गरेका छन् ।

  • माओवादीनिकट व्यवसायीको महाधिवेशनमा भाँडभैलो, तीनवटा संगठन छुट्टै भेलाको तयारीमा

    माओवादीनिकट व्यवसायीको महाधिवेशनमा भाँडभैलो, तीनवटा संगठन छुट्टै भेलाको तयारीमा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीको महाधिवेशन सर्वसम्मत नेतृत्व चयनमा असफल भएको छ । मनपरी गरेको भन्दै तीनवटा संगठनले बहिष्कार गरेका छन् ।

    उद्योग व्यापार सहकार्य महासंघ, राष्ट्रिय उद्योग व्यापार महासंघ, राष्ट्रिय उद्योग व्यापार महासंघ (केन्द्र), नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको छाता संगठन नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशनमा किचलो भएको हो । महाधिवेशनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार होटल एभरेष्टमा उद्घाटन गरेका थिए । माओवादीनिकटका व्यवसायीको आधा दर्जन संगठन एकीकृत गरेर नयाँ नेतृत्व चयन गर्ने बताइएको थियो ।

    पार्टी केन्द्रीय सदस्य गंगा कार्की, पूर्व सभासद तथा व्यवसायी कृष्ण आचार्य, तदर्थ समितिका अध्यक्ष श्यामकुमार पाठकले एकता गर्नुअघिको सहमतिलाई लत्याउँदै आफूनिकटको भर्ती केन्द्र बनाएपछि बहिष्कार गर्नुपरेको एक सदस्यको आरोप छ । आफूहरूको धारणा छिट्टै सार्वजनिक गर्ने उनले बताए ।

    ‘पार्टी नेतृत्वलाई गुमराहमा राखेर एकताको भाव नै मरेर आफूखुसी नेतृत्व चयन गरियो । उहाँहरू व्यवसायीको हक हितभन्दा पनि पार्टीबाट कसरी भाग लिने भन्ने मनसाय देखेपछि हामीले बाहिरिएका हौं । अब छिट्टै आफ्नो धारणा सार्वजनिक गर्नेछौं र तीनवटै संगठनबीच एकता गरेर नयाँ नेतृत्व चयन गर्नेछौं ’, बन्दसत्र बहिष्कार गरेका एक नेताले भने ।

    महाधिवेशनले खेम भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । तर, बहिष्कार पक्षले स्वार्थहरूको सानो समूह भएको आरोप लगाएको छ । देशभरका व्यवसायीलाई समेटर छिट्टै अर्को महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने बाहिष्कार पक्षले बताएको छ ।

    पार्टी अध्यक्ष प्रचण्डले उद्घाटनको क्रममा सम्बोधन गर्दै व्यवसायीको गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । सबै व्यवसायी एकजुट भएकोमा प्रचण्डले खुसी जनाउँदै पार्टी र सरकारमा राम्रो स्थान दिने उनले आश्वासन दिएपनि भण्डारीको नेतृत्व विवादित बनेको छ ।

  • चितवनमा माओवादीलाई अर्को धक्का, महानगर सचिवालय सदस्यद्वारा पार्टी परित्याग

    चितवनमा माओवादीलाई अर्को धक्का, महानगर सचिवालय सदस्यद्वारा पार्टी परित्याग

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका प्रभावशाली नेता यमबहादुर परियारसहितको टिमले माओवादी पार्टी परित्याग गरेकाे केही समयमा नै माओवादीलाई अर्काे धक्का लागेकाे  छ ।

    माओवादी केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज परियारले लामो योगदान गरेको पार्टी छाडेपछि माओवादी चितवनमा हलचल पैदा भएको छ । परियारले पार्टी छाडेकै दिन माओवादी केन्द्र भरतपुर महानगरपालिकाका सचिवालय सदस्य खगराज पाठकले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

    भरतपुर महानगरपालिका वडा नं। ६ का वडा इन्चार्जसमेत रहेका पाठक सो क्षेत्रका चर्चित युवा नेता मानिन्छ । जिल्लामा पोल्ट्री ब्यावसायीको सफल छवि बनाएका पाठक माओवादी निकट अखिल नेपाला किसान महासंघका केन्द्रीय सदस्यसमेत हुन् । पाठकले माओवादी पार्टी भित्र चरम परिवारवाद, नातावाद मौलाएकोले पार्टी परित्याग गरेको बताए ।

    उनले माओवादी राजनीतिक, बैचारिक र सांगठनिक दृष्टिकोणबाट पार्टी नरहेको बताए । पाठकले अहिले पार्टी परित्याग गरेर स्वतन्त्र नै बस्ने र राजनीतिक प्राणी भएकोले उपर्युक्त समयमा विचार गर्ने बताए । पाठक एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका आफन्तसमेत पर्दछन् । पाठकलाई एमालेमा ल्याउन पहल भैरहेको एमाले स्रोतले जनाएको छ ।

    पाठकको पार्टी परित्यागले वडा नं ६ मा बलियो रहेको माओवादीलाई अर्को धक्का लागेको छ । बिहीबार मात्रै एमाले केन्द्रीय पार्टी कार्यालयमा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारसहित माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवम् भरतपुर महानगरपालिका सहइन्चार्ज अन्जन तिमिल्सिना, बागमती प्रदेश परिषद सदस्य पिताम्बर पोखरेल, कालिका नगरकमिटी उपाध्यक्ष तुलबहादुर बिक , जिल्ला सदस्य लावण्यराज शर्मा, वडा नं १६ का वडाध्यक्ष नारायण अधिकारी, वडा नं।१५ का वडाध्यक्ष आकाश थापा, माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य माडी नगरपालिका ७ देवेन्द्रपुरका गिरीधारी सुवेदीसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

  • ओलीको टिप्पणी- मैले अध्यक्ष बनाएर छेउमा राखेँ, प्रचण्ड त ग्वाम्मै छुरा धस्न आइहाले (भिडिओ)

    ओलीको टिप्पणी- मैले अध्यक्ष बनाएर छेउमा राखेँ, प्रचण्ड त ग्वाम्मै छुरा धस्न आइहाले (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बनाउने उद्देश्यले गरेको पार्टी एकतामा प्रचण्डले घात गर्न खोजेपछि नयाँ ढंगले पार्टी अघि बढेको भन्दै अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता रहेको दाबी गरेका छन् ।

    प्रचण्डको गृहजिल्ला चितवनका सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले दिएको संख्यालाई प्रचण्डले बहुमत जुटाएर आफैंलाई हटाउन खोजेको बताए ।

    ओलीले भने, ‘मैले अँगालो हालेर, अध्यक्ष बनाएर मेरै छेउमा राख्दा प्रचण्डले मलाई ग्वाम्मै छुरा घोपे । अस्ति कता भिडिओमा हेर्दै थिएँ, केपी ओलीलाई त मैले साधारण सदस्यबाटै निकालेको थिएँ भनेर प्रचण्ड गर्व गर्दै थिए । कस्तो व्यक्तिलाई मैले विश्वास गरेर पार्टी एकता गरेछु अहिले अचम्म लाग्छ । मैले दिएको बहुमत मविरुद्ध नै प्रयोग गर्न खोज्ने । म भन्दै थिएँ, पर्खिनुस् महाधिवेशनबाट अध्यक्ष बनाउँछु । तर, उनी भने मसँग बहुमत पुगिसक्यो भनेर निकाल्न तम्सिएछन् ।’

    ओलीले अदालतले पार्टीको नाममात्र जुध्यो भनेको भन्दै नेकपा विभाजन नभएको दावी गरे । अध्यक्ष ओलीले माओवादी पार्टी अब नरहेको भन्दै प्रचण्डको नेतृत्वमा सानो केन्द्रमात्र बाँकी रहेको दाबी गरे ।

  • प्रचण्ड भन्छन्: आर्थिक क्रान्तिको नेतृत्व मैलेमात्र गर्न सक्छु (भिडिओ)

    प्रचण्ड भन्छन्: आर्थिक क्रान्तिको नेतृत्व मैलेमात्र गर्न सक्छु (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवन आर्थिक क्रान्तिका लागि हुने बताएका छन् ।
    पार्टी निकट नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनमा बोल्दै उनले राजनीतिक सुधारका केही कामबाहेक राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताएका हुन् । त्यसैका लागि आफ्नो बाँकी जीवन बिताउने उनले बताए ।

    ‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रतिर, सामाजिक न्याय र विकासतिर आत्मनिर्भरतातिर जान मैले अब गर्ने क्रान्ति भनेको आर्थिक रुपान्तरण र समृद्धि नै हो’, उनले भने, ‘बाँकी जीवन बिताउने भनेको त्यसैका लागि हो ।’

    यसका लागि आफूले केही मिसन र भिजन तयार पारेको उनले बताए । ‘मैले केही मिसन र केही भिजन तयार पारेको छु । अब देशलाई आर्थिक समृद्धितिर र भ्रष्टाचार तथा कुशासनको अन्त्यतिर राजनीतिक सुधारको अभियान सुरु गर्नुछ’, प्रचण्डले भने ।

    राजनीतिक परिवर्तन ल्याउन क्रान्ति गरेकाले आर्थिक क्रान्तिको नेतृत्व पनि आफूले मात्र गर्नसक्ने उनको दाबी थियो ।

  • जनता अहिले पनि देशको चाबी माओवादीको हातमा दिन चाहन्छन् : प्रचण्ड (भिडिओ)

    जनता अहिले पनि देशको चाबी माओवादीको हातमा दिन चाहन्छन् : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले अझै पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहेको बताएका छन् ।

    पोस्टबहादुर बोगटीको स्मृति दिवसमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  यस्ताे बताएका हुन् । उनले  देशको राजनीति कता लैजाने भन्ने फैसला माओवादीले गरोस भन्ने चाहना जनताको रहेको  भन्ने सन्देश स्थानीय तहको निर्वाचनबाट  दिएकाे बताए ।

    ‘स्थानीय तहको निर्वाचनबाट सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी चाहिँ दिन चाहन्छन् । देशको राजनीति कता लैजाने भन्ने फैसला माओवादीले गरोस भन्ने चाहना छ जनताको भन्ने कुरा प्रष्ट देखिएको छ।’ उनले भने ।

    उनले  माओवादी पार्टीका नेताहरु एकतावद्ध  हुन नसक्दा  स्थानीय तहमा नतिजा राम्राे नआएकाे पनि स्वीकारे ।

    स्थानीय तहको निर्वाचनमा पार्टीभित्रको व्यवस्थापन राम्रो गर्न सकेको भए देशको एक नम्बर कम्युनिष्ट पार्टी बन्ने बस्तुगत आधार क्लियर देखिएकाे  बताए ।   उनले थपे,’ त्यो कुनै मनोगत मूल्याङकनको कुरा होइन हामीले पहिला जितेका ५० भन्दा बढी स्थानीय तह जहाँ जनमत हाम्रै पक्षमा  थियाे तराई मधेश पहाड सबैतिर  । अझ मुख्यत हेर्दा तराई मधेशको जनमत हाम्रै पक्षमा हुँदा हुँदै पनि पार्टीको व्यवस्थापन राम्रोसँग गर्न नसक्दा त्यति गुम्यो हाम्रो । यदि त्यो नगुमेको भए आज हामी देशको पहिलो कम्युनिष्ट पार्टी बनिसकेको हुन्थ्यो ।’

    अध्यक्ष  प्रचण्डले अझै पनि पार्टी पुरै रिभाइभ हुने सम्भावना रहेकाे बताए ।

     

  • सिट बाँडफाँटमा मिडियामा आएजस्तो हुबहु सहमति भएको होइन र छैन : माओवादी केन्द्र

    सिट बाँडफाँटमा मिडियामा आएजस्तो हुबहु सहमति भएको होइन र छैन : माओवादी केन्द्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धनका दलहरुबीचको सिट बाँडफाँटको विषयमा मिडियामा आएको जस्तो हुबहु सहमति नभएको जनाएको छ ।

    आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकले यस्तो स्पष्ट पारेको हो ।

    निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलहरूबीच सकारात्मक दिशामा छलफल भइरहेको तर केही अनलाइन मिडियामा आएको जस्तो हुबहु बाँडफाँट भने नभएको पार्टीका अध्यष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

    माओवदीले यसबारेमा अनावश्यक रुपले भ्रमित नहुन पनि आग्रह गरेको छ। समानुपातिक प्रतिनिधित्व सूची पेस गरिसकेपछि आगामी असोज ४ गते गठबन्धनको बैठकसेर क्षेत्रको बाँडफाँट टुंगो लगाउने समझदारी बनेको माओवादीको दाबी छ ।

    त्यस्तै, माओवादीले आजै अनुशासन आयोगका अध्यक्ष कमरेड टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको र थ छलफल गरी आवश्यक निर्णय लिइने जनाएको छ ।

    आगामी निर्वाचनमा माओवादीले समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची तयार गर्नका लागि पार्टी प्रदेशहरुले बिहीबारभित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सर्ट लिस्ट पेस गर्ने, समानुपातिकको तालिका तयार गर्दा अन्तरिम व्यवस्थापिका बाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्‍याउने तथा गत स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने र सम्बन्धित कमिटीले निर्णय गरेकै हुनु पर्ने मापदण्ड पनि तय गरेको छ ।

  • अखिल क्रान्तिकारीको ‘विद्रोही कमिटी’ ले संविधान दिवसमा म्याराथन गर्ने

    अखिल क्रान्तिकारीको ‘विद्रोही कमिटी’ ले संविधान दिवसमा म्याराथन गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पवन कार्की (विद्रोही समूह) ले संविधान दिवसको दिन पारेर ‘काठमाडौं रेस २०७९’ आयोजना गरेको छ ।

    ‘संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन ! शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागी मिनी म्याराथन’ भन्ने नाराका साथ म्याराथन गर्न लागिएको प्रवक्ता उपदेश यादवले बताए । नेपाल एथलेटिक्स एशोसिएशन, शहीद स्मृति स्पोर्टस् एकाडेमी र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त कार्यक्रम गर्न लागिएको हो ।

    असोज ३ बिहान ७ बजे आयोजना गरिएको म्यारथनको रुटमा त्रिपुरेश्वर-थापाथली-माइतीघर-बबरमहल हुँदै बिजुली बजार पुल हुँदै एभरेष्ट होटल अगाडिको डीभाइडर पुगेर सोही बाटो फर्केर त्रिपुरेश्वरसम्मको ५ किलोमिटर तय गरिएको छ ।

    म्याराथनका प्रथम, दोस्रो र तेस्रो प्रतिस्पर्धीलाई क्रमश: २५ हजार, दोस्रोलाई २० र तेस्रोलाई १५ हजारसहित ट्रफि र मेडल गरिएको छ ।

  • समस्या बल्झाउनेगरी टीआरसी विधेयकमा कुनै शब्द राख्न खोजे दुर्भाग्यपूर्ण हुने प्रचण्डको चेतावनी

    समस्या बल्झाउनेगरी टीआरसी विधेयकमा कुनै शब्द राख्न खोजे दुर्भाग्यपूर्ण हुने प्रचण्डको चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रहभन्दा टाढा रहेर टुंग्याउनुपर्ने बताएका छन् ।

    बुधबार सिंहदरबारमा बसेको मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले विस्तृत शान्ति सम्झौता कानूनीभन्दा पनि राजनीतिक सम्झौता भएको भन्दै राजनीतिक सहमतिका आधारमा विनापूर्वाग्रह यो विधेयक टुंग्याउनुपर्नेतर्फ जोड दिए ।

    ‘संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सबैको चिन्ता र चासो छ । यसमा कोही पक्ष र विपक्ष हुन जरुरी छैन । समस्या बल्झाउने गरी विधेयकमा कुनै शब्द राख्न खोजे दुर्भाग्यपूर्ण हुनेछ’, प्रचण्डले भने ।

    उनले विधेयकमा शब्द जस्तोसुकै राखेपनि भोलिका शक्ति सन्तुलनले गर्ने कार्यान्वयन हुने बताए । मानव अधिकारको गम्भीर उल्लंघनका मुद्दामा अदालतले गर्ने फैसलाविरुद्ध अपिलमा जान सक्ने व्यवस्था राख्नुपर्ने पनि प्रचण्डको माग छ ।

    बैठकमा एमाले सांसद सुवास नेम्वाङले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई टुंगाउनुपर्ने सबैको साझा विषय भएकाले यसैपटक टुंगो लगाउनुपर्नेमा जोड दिए । पीडित र पीडकको बीचमा मेलमिलाप र गम्भीर उल्लंघनका विषयमा प्रक्रियाबाटै टुंगो लगाउनुपर्ने विषय महत्वपूर्ण रहेको भन्दै विधेयकमा रहेका विषयमा निर्विवाद ढंगले अन्तिम रूप दिनुपर्ने उनको भनाइ छ ।

    समितिले संसदको यही कार्यकालमा नै उक्त विधेयक पेस गर्ने गरी सहमतिको प्रयास गरिरहेको छ । विधेयकमा सहमति खोज्न समितिले कार्यदल गठन पनि गरेको छ ।

  • काठमाडौं २ मा ओनसरीलाई प्रचण्डको ‘ग्रीनसिग्नल’, हमाल व्यवस्थापन गर्न नेकपा एसको अडान

    काठमाडौं २ मा ओनसरीलाई प्रचण्डको ‘ग्रीनसिग्नल’, हमाल व्यवस्थापन गर्न नेकपा एसको अडान

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट चुनाव लड्ने लगभग निश्चित भएपछि उनले यसअघि जितेको काठमाडौं क्षेत्र नम्बर २ मा त्रिपक्षीय दाबी परेको छ ।

    स्थानीय तह निर्वाचनको मतका आधारमा पहिलो रहेको नेपाली कांग्रेसले दाबी गर्ने नै भयो । नेकपा एसले मापदण्डअनुसार आफ्नो भागमा पर्नुपर्ने बताइरहेका बेला स्थानीय तह चुनावको मतका आधारमा काठमाडौं २ मा माओवादीको पनि बलियो दाबी परेको छ ।

    अझ रोचक कुरा चाहिँ पूर्वसभामुख ओनसरी घर्तीको नाम माओवादी केन्द्रले सो क्षेत्रबाट पहिलो नम्बरमा सिफारिस गरेपछि काठमाडौं २ को सीट बाँडफाँट पेचिलो बनेको छ । माओवादीले पहिलो नम्बरमा ओनसरी र दोस्रो नम्बरमा झक्कु सुवेदीको नाम सिफारिस गरेको छ ।

    ओनसरीको सन्दर्भमा कांग्रेस लचिलो भए पनि नेकपा एसले सो क्षेत्रमा सीट बाँडफाँट कार्यदलमा समेत रहेका पार्टी उपाध्यक्ष प्रमेश हमालको लागि अडान राखेको छ । हमाल ललितपुर ३ का हुन् । तर, सो क्षेत्रमा माओवादीबाट पम्फा भुसाल रहेकाले उनलाई काठमाडौं २ मा उम्मेदवार बनाउन खोजिएको छ ।

    कांग्रेस लचिलो भए पनि माधव नेपालले प्रमेश हमालको व्यवस्थापन गर्नुपर्ने बताएपछि माओवादी र नेकपा एसको शीर्ष तहमै वार्ता हुने भएको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पनि काठमाडौं २ लगायत कतिपय क्षेत्रमा माओवादी र नेकपा एसको दोहोरो दाबी रहेको बताए ।

    पूर्वसभामुख घर्ती भने सबै परिस्थिति मिलेर दलहरुले आग्रह गरेमात्र चुनाव लड्ने मनस्थितिमा रहेको निकट स्रोतले जनाएको छ । पूर्वसभामुख जस्तो व्यक्तिलाई दलहरुले आग्रह गर्दा उम्मेदवार बन्ने उनको मनसाय छ ।

    स्रोतका अनुसार अध्यक्ष प्रचण्डले उनलाई काठमाडौं २ बाट उम्मेदवार बन्न आग्रह गरेका छन् । त्यसपछि नै क्षेत्रीय कमिटीले उनको नाम एक नम्बरमा सिफारिस गरेको हो ।

  • करोडौंको बीचमा एक्लो महसुस हुन्छ, जीवनप्रति गर्वबोध गर्न गाह्रो भइरहेको छ : प्रचण्ड

    करोडौंको बीचमा एक्लो महसुस हुन्छ, जीवनप्रति गर्वबोध गर्न गाह्रो भइरहेको छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले आफू प्रधानमत्री भए पनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको अनुभव सुनाएका छन् । माओवादीका सांसद सुदन किरातीको अनुभूति समेटिएको पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले लाखौं करोडौं मान्छेको बीचमा पनि एक्लो एक्लै महसुस हुने गरेको बताए ।

    प्रचण्डले भने- हामी मन्त्री, प्रधानमन्त्री त भयौं तर यो जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको छ । हिजो मानव जातिको मुक्तिको लागि सम्पूर्ण समर्पणसहित जनयुद्धमा लाग्दा पद प्रतिष्ठा र स्वार्थको लागि थिएन । मानव जातिको लागि गरेका थियौं । एक्लै जंगलमा हुँदा,पहाड उकाला ओराला,नदीनाला सबैमा एक्लै हिँड्दा पनि लाखौं करोडौं अरबौंको बीचमा सँगै हिडेको जस्तो लाग्थ्यो । तर आज लाखौं करोडौं मान्छेका बीचमा छौं तर एक्लो महसुस हुन्छ ।

     

    प्रचण्डले सुदन किराती मन्त्रीमात्र होइन प्रधानमन्त्री र राष्ट्रपति पनि हुने सम्भावना नजिकै रहेको समेत बताए ।

  • प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता

    प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

    बानेश्वरस्थित संघीय संसद भवनमा भएको भेटमा दुईपक्षीय हित र समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाललगायत सहभागी थिए ।

    सभामुख अग्नि सापकोटाको निमन्त्रणामा सोमबार नेपाल आएका लीले आज बिहान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।

    त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाटको कार्यतालिका रहेको छ ।

  • माओवादीबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका नेता एमालेमा प्रवेश

    माओवादीबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका नेता एमालेमा प्रवेश

    घोराही । नेकपा माओवादीका नेता पर्शुनारायण श्रेष्ठ ‘दिनेश’ एमालेमा प्रवेश गरेका छन् ।

    मंसिर ४ गतेको आम चुनावका लागि उनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ आदिवासी जनजाति कोटाबाट एकलरूपमा सिफारिस गरिएको थियो । यसअघि पनि स्थानीय चुनावताका उनले पार्टी छाडेका थिए ।

    पछि माओवादी र कांग्रेसको तर्फबाट घोराहीका मेयरमा प्रतिस्पर्धा गरेका हेमराज शर्मा ‘डाइमण्ड’ का कारण उनी पुन: फर्किए । श्रेष्ठलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।

    नेकपा एमाले दाङ क्षेत्र नम्बर २ का प्रदेश इञ्चार्ज शिवकुमार आचार्य, लुम्बिनी प्रदेशका सहइञ्चार्ज जीवन गौतम, एमाले नेता प्रमोद शर्माको उपस्थितिमा उनी एमालेमा प्रवेश गरेका हुन् ।

  • खेलकुदमन्त्री अथक बाँके १ बाट उम्मेदवार सिफारिस

    खेलकुदमन्त्री अथक बाँके १ बाट उम्मेदवार सिफारिस

    बाँके। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँके १ बाट सिफारिस भएका छन् ।

    नेकपा माओवादी केन्द्रले अथकलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

    मन्त्री अथक ७४ सालको चुनावमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

  • ‘ज्येष्ठ’ पूर्वप्रधानमन्त्रीका नजरमा शीर्ष तीन नेताः ओली पुटिनजस्ता, देउवा र प्रचण्ड कस्ता ? (भिडिओ)

    ‘ज्येष्ठ’ पूर्वप्रधानमन्त्रीका नजरमा शीर्ष तीन नेताः ओली पुटिनजस्ता, देउवा र प्रचण्ड कस्ता ? (भिडिओ)

    काठमाडौं । नेपालका ५ जना जीवित पूर्वप्रधानमन्त्रीमध्ये चारजना आगामी चुनाव लड्ने सुरसार गर्दै मैदानमा उत्रिएका छन् । तर, एक पूर्वप्रधानमन्त्री भने राजनीतिक परिदृष्यमा कतै देखिँदैनन् ।

    सक्रिय राजनीतिबाट अघोषित विश्राम लिएका यी पूर्वप्रधानमन्त्री हुन् लोकेन्द्रबहादुर चन्द । मंसिरमा हुने आम निर्वाचनमा उनी केवल मतदाताका रूपमा सहभागी हुनेछन् । तर, एउटा राजनीतिकर्मीका रूपमा चुनावप्रति उनको गहिरो चासो रहेको छ ।

    बाहिरैबाट मंसिर ४ को चुनावी माहौललाई नियालिरहेका चन्दका नेपाली राजनीतिलाई हेर्ने आफ्नै दृष्टिकोण छन् । अनि अहिले राष्ट्रिय राजनीतिका प्रमुख हस्तिहरूलाई हेर्ने उनको नजर कस्तो छ त ? शीर्ष तीन नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाले उनले आफ्नो संक्षिप्त धारणा नेपाल प्रेससँग सेयर गरेका छन् । ।

    माओवादी सुप्रिमो प्रचण्डलाई गहिरो गरी हेर्दा रमाइलो लाग्ने बताउँछन् चन्द । हाँस्दै भन्छन्, ‘उहाँ (प्रचण्ड) एक न एक कुरा निकालिरहनुहुन्छ । तपाईंलाई घर भयो, जग्गा भयो अब स्वर्गको तारा पनि दिउँला भन्नुहुन्छ ।’

    तर, प्रचण्डले दाबी गरेजस्तै मुलुक अहिले माओवादीकै एजेण्डामा चलिरहेको चन्दको बुझाइ छ ।

    उनी थप्छन्, ‘प्रचण्डसँगको कुराकानीमा मैले के पाएको छु भने उहाँ नयाँ-नयाँ रूप लिइरहनुहुन्छ । यो गणततन्त्र उहाँहरूकै एजेण्डा हो । संघीयतता उहाँहरूकै एजेण्डा हो । जातीय राज्य पनि उहाँहरूकै एजेण्डा थियो । तर, धन्न जातीय राज्य चाहिँ बनाउनुभएन ।’

    एमाले अध्यक्ष ओलीप्रति टिप्पणी गर्दै चन्दले उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग तुलना गरे ।

    चन्दले भने, ‘रुसको राष्ट्रपति पुटिन छ नि ? हो, ओली नेपालका पुटिन हुन् । उहाँको बानी के छ भने डटेपछि डटिरहने । लागेपछि लागिरहने । त्यसमा मैले थप भन्नुपर्छ जस्तो लाग्दैन ।’

    ओली जहिल्यै बलियो देखिने, कमजोर कहिल्यै नदेखिने उनको विश्लेषण छ ।

    ‘उहाँ कतै लत्रेको देख्नुभएको छ ? उहाँ त भाषण पनि हाँकिरहने मान्छे । टुक्काहरू झिकेर रमाइलो पनि गरिरहने मान्छे हुनुहुन्छ,’ चन्द भन्छन् ।

    पूर्वराजा ज्ञानेन्द्रले देउवाको सरकारलाई अपदस्त गरेर प्रत्यक्ष शासन आफ्नो हातमा लिई चन्दलाई प्रधानमन्त्री बनाएका थिए । त्यो समयको राजनीतिक उतारचढाव चन्दको दिमागमा ताजा नै छ । यद्यपि, देउवाप्रति धेरै टिप्पणी गर्न चाहँदैनन् ।

    ‘उहाँ खासमा असल मान्छे हो । अझै प्रधानमन्त्री हुन्छन् भनेर ज्योतिषले भनेका छन् । त्यस्तो मान्छेलाई मैले खराब भनेर हुन्छ त ?’, चन्दले कटाक्ष गर्दै भने ।

    ६ दशक सक्रिय राजनीति गरेका ८३ वर्षीय पूर्वप्रधानमन्त्री चन्दसँग गरिएको विस्तृत अन्तर्वाता नेपाल प्रेसमा प्रतीक्षा गर्नुहोस् ।

  • अखिल क्रान्तिकारी छात्रा विभागको प्रमुखमा प्रविणा चयन

    अखिल क्रान्तिकारी छात्रा विभागको प्रमुखमा प्रविणा चयन

    चितवन । अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभाग प्रमुखमा प्रविणा अधिकारी चयन भएकी छन् । विभागको उपप्रमुखमा देवकी कार्की र पर्वती शर्मा तथा सचिवमा इन्दिरा पुरीलाई तयन गरिएको छ ।

    ‘सम्पति र सत्तामा समान सहभागिता, शिक्षा र रोजगारीसहितको आत्मनिर्भरता’ मूल नारासहित शनिबार र आइतबार दुई दिनसम्म केन्द्रीय भेला आयोजना गरिएको थियो । रामपुरस्थित कृषि क्याम्पसमा भएको भेलालाई अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहसहित, पूर्व विद्यार्थी नेतृ कञ्चन खनाल, माओवादी चितवन अध्यक्ष आर. सी अधिकारीलगायतले प्रशिक्षण दिएका छन् ।

    क्रान्तिकारीकी नेतृ मुना काप्रीका अनुसार मुलुकभरबाट ५०० छात्रा प्रतिनिधि सहभागी सो भेलामा सातवटै प्रदेशबाट दुई-दुई जनाले रिपोर्टिङ्ग गरेका थिए ।

  • गुल्मी-२ झाँक्रीलाई नछाड्न माओवादीमा प्रचण्ड दबाब, स्थानीय चुनावमा रोल्पापछि दोस्रो

    गुल्मी-२ झाँक्रीलाई नछाड्न माओवादीमा प्रचण्ड दबाब, स्थानीय चुनावमा रोल्पापछि दोस्रो

    काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ नेकपा एसलाई नछाड्न माओवादी केन्द्रभित्र लबिङ बढेको छ । लुम्बिनी प्रदेशमै स्थानीय चुनावमा रोल्पापछिको दोस्रो नतिजा निकाल्न सफल भएको गुल्मीमा माओवादीले प्रतिनिधिसभाका दुवै क्षेत्र छाड्न नसक्ने नेताहरुले बताएका छन् ।

    यसैबीच गुल्मी २ मा माओवादीबाट टिकटका प्रमुख दाबेदार भिमकान्त भण्डारीले आइतबार अध्यक्ष प्रचण्डसँगको भेटको फोटो राखेपछि जिल्लाको राजनीतिमा तरंग पैदा भएको छ । व्यवसाय र सामाजिक काममा संलग्न भण्डारीले फोटो पोष्ट गर्दै लेखेका छन्- अध्यक्ष भन्नु हुन्छ गुल्मी के छ जितिन्छ ? मैले भने, गुल्मी २ का जनताले हसिया हथौडामा भोट हाल्ने रहर गरेका छन् । योसँगै गुल्मी २ मा माओवादीको बलियो दाबी रहेको पुष्टी भएको छ ।

    गुल्मीका १२ स्थानीय तहमध्ये माओवादीले चारवटामा प्रमुख पद जितेको छ । प्रमुख जितेकामध्ये रुरुक्षेत्र गाउँपालिकाबाहेक अन्य तीनवटा पालिका क्षेत्र नम्बर २ मा पर्छन् । सो क्षेत्रमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले टिकट दाबी गरेका कारण माओवादीका स्थानीय नेता कार्यकर्ता केन्द्रीय नेताहरुसमक्ष डेलिगेशन आइरहेका छन् ।

    गुल्मी–२ मा नेता व्यवस्थापन गर्ने नाममा जनमत नभएको पार्टीलाई सीट दिँदा विपक्षलाई फाइदा हुने भन्दै लुम्बिनीकै दोस्रो रोल्पा बनेको जिल्लामाथि अन्याय नगर्न माओवादी नेताहरुले आग्रह गरेका छन् । यसअघि गुल्मीमा माओवादीले एउटामात्र स्थानीय तह जितेको थियो ।

    गुल्मी–१ कांग्रेसले पाउने निश्चित छ । २ नम्बर क्षेत्रमा माओवादीको करीव १० हजार मत छ भने एमालेको ३२ हजार हाराहारी र कांग्रेसको २२ हजार हाराहारी मत रहेको मानिन्छ । स्थानीय तहमा धेरै वडामा माओवादी उम्मेदवार रुख चिन्ह लिएर लडेका कारण वडाको मतबाट वास्तविकता थाहा नहुने उनीहरुको भनाइ छ ।

    यतिसम्मकी माओवादीका जिल्ला इन्चार्ज वीरवहादुर कार्कीसमेत रुख चिन्हबाट वडा सदस्य लडेर हाल जिसस सदस्य छन् । नेकपा एसको मत सो क्षेत्रमा एक हजारको हाराहारीमा रहेको अनुमान छ । झाँक्रीको लागि शीर्ष नेताहरुले गुल्मी २ छाड्ने चिन्ताले माओवादीका स्थानीय नेता कार्यकर्ताले नेतृत्वमाथि दबाब बढाएका छन् ।

    पछिल्लो समय नेकपा एसको मुख्य नेतृत्वसँग असन्तुष्ट रहेकी झाँक्रीले टिकटका लागि सिधै शेरवहादुर देउवा र प्रचण्डसँग एप्रोच गरेको स्रोतले जनाएको छ । देउवा झाँक्रीको पक्षमा सकारात्मक रहेपनि माओवादीले भने गुल्मी २ मा दाबी कायमै राखेको प्रचण्डले जिल्लाका नेताहरुलाई बताएका छन् ।

    गुल्मी-२ बाट माओवादी केन्द्रले भीमकान्त भण्डारी,नुमराज पाण्डे र वीरवहादुर कार्कीको नाम सिफारिस भए पनि भण्डारीले टिकट पाउने समझदारी छ । उनीसहित नेताहरुले प्रचण्डलाई समेत भेटेर स्थानीय चुनावको मतको समेत सम्मान गर्दै गुल्मी २ नछाड्न आग्रह गरेका छन् ।

    गुल्मीका एक माओवादी नेताले भने- जिल्लामा हामी कांग्रेसपछि दोस्रो भएका छौं स्थानीय तहमा । कांग्रेसले ५, माओवादीले ४ र एमालेले ३ पालिका जित्यो । नेकपा एसले एउटा वडा पनि जितेको छैन । समाजवादीका जिल्ला इन्चार्जसहित बहुमत सदस्य एमालेमा फर्किए । झाँक्रीजीको चुनावी अनुभव पनि छैन र उहाँको क्रेज शहरमा होला यता गाउँघरमा छैन । त्यसैले एउटा कांग्रेस र एउटा माओवादीले बाँड्दामात्र एमाले हराउन सकिन्छ भन्ने हाम्रो रिपोर्ट हेडक्वार्टमार दिएका छौं ।

    माओवादी पार्टीले २०६४ सालमा गुल्मीका ३ मध्ये २ क्षेत्रमा जितेको थियो । २०७० मा पराजित भएको माओवादीले २०७४ मा प्रदेश जित्यो भने अघिल्लोपटक धुर्कोट जितेर नमूना पालिका बनाएको पार्टीले यसपटक ४ पालिका जितेको छ । यसलाई माओवादी नेताहरुले जनमत बढेको अर्थमा ब्रिफ गरेका छन् ।

    गुल्मी जिल्ला माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल समेत चुनाव जितेको र गृहजिल्ला भएका कारण पनि गुल्मी २ मा माओवादीले दाबी यथावत राखेको नेताहरुले बताएका छन् । झाँक्रीलाई चुनाव लड्न इच्छा भए काठमाडौं उपयुक्त हुने सुझाव उनीहरुको छ ।

     

  • नेविसंघले प्रहरीमाथि ढुंगामुढा र विश्वविद्यालय तालाबन्दी गरेकोमा अखिल क्रान्तिकारीको विरोध

    नेविसंघले प्रहरीमाथि ढुंगामुढा र विश्वविद्यालय तालाबन्दी गरेकोमा अखिल क्रान्तिकारीको विरोध

    काठमाडौं । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणित हुन ढिला भएको भन्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको बेला सत्ता गठबन्धनकै अर्को घटक अनेरास्ववियु क्रान्तिकारीले भने नेविसंघको ढुंगामुढाले विद्यार्थी आन्दोलनमाथि प्रहार गरेको आरोप लगाएको छ ।

    अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले नेविसंघको आन्दोलन,ढुंगामुढा र राष्ट्रपतिको पुत्ला जलाउने कार्यको निन्दा गर्दै यसले विद्यार्थी आन्दोलनको भविष्यमाथि ढुंगा बर्साएको टिप्पणी गरेका छन् । उनले नेविसंघबाट भएको विश्वविद्यालयको तालाबन्दीको समेत बिरोध गरेका छन् ।

    मैनालीले भने, ‘नेविसंघले प्रहरी माथी होइन विद्यार्थी आन्दोलनको भविष्यमाथी ढुंगा बर्षाइरहेको छ । त्रिबिको तालबन्दी , त्रिचन्द्र अगाडी आज प्रहरीमाथि गरिएको ढुंगामुढाले बिध्यार्थी आन्दोलनमाथि थप कालो पोत्ने काम मात्र गर्छ । नेबिसंघका मित्रहरुलाई आन्दोलनको स्वरुप फेर्न ,रचनात्मक बनाउन र शैक्षिक मुद्दामा बढी केन्द्रित हुन अनुरोध गर्छु । आफ्ना गतिबिधीले आलोचना गर्नेहरुलाई थप बल नपुर्याउ ।’

    नेविसंघले आइतबार राष्ट्रपतिको पुत्ला जलाउँदै प्रहरीमाथि आक्रमण गरेको थियो ।

  • सम्राट अशोकसँग आफूलाई दाँज्दै प्रचण्डले भने- युद्धलाई नजिकबाट हेरेकैले शान्तिको महत्व बुझ्छ (भिडिओ)

    सम्राट अशोकसँग आफूलाई दाँज्दै प्रचण्डले भने- युद्धलाई नजिकबाट हेरेकैले शान्तिको महत्व बुझ्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास र समृद्धिका लागि शान्ति र स्थिरताको ठूलो महत्व हुने बताएका छन् ।

    काठमाडौंमा आयोजित युवा उद्यमी सम्मेलनलाई सम्बोधन गर्दै उनले बुद्ध जन्मेको देशमा अब शान्ति र स्थिरता कायम गर्दै विकास र समृद्धिको बाटो कोर्नुपर्ने बताएका हुन् ।

    सोही अनुसार आफ्नो बाँकी जीवन यही कार्यमा खर्चिने उनले प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘मेरो बाँकी जीवन विकास र समृद्धि, शान्ति र स्थिरताका लागि हो । यसो भन्दा धेरैलाई अनौठो पनि लाग्नसक्छ ।’

    नेपाली भूमिमा बुद्ध जन्मेको र बुद्धको शान्ति सन्देश दिने पात्र सम्राट अशोक आफूजस्तै युद्ध लडेको पात्र रहेको अध्यक्ष प्रचण्डले टिप्पणी गरे ।

    ‘हामी बुद्ध जन्मेको देशका बासी हौं । बुद्धलाई र बुद्धको शिक्षा शान्ति र अहिंसाको सन्देशहरूलाई स्थापित गर्न एउटा त्यस्तो युद्धको कमाण्डर धेरै ठूलो युद्ध लडेको मान्छेद्वारा भएको तपाईँ हामी पढ्छौं इतिहासमा-अशोक !’, उनले भने,‘थुप्रै युद्ध लडेको । आफ्नै आँखा अगाडि हज्जारौं-हजार मान्छे मर्ने/मार्नेगरी लडेको मान्छे नै अन्ततः शान्तिको दूतका रूपमा बुद्धका सन्देशहरूलाई स्थापित गरेर अशोक स्तम्भ हामी लुम्बिनीमा देख्छौं ।’

    युद्ध लडेको पात्रमा त्यस्तो रुपमा परिवर्तन हुनसक्ने बताउँदै अध्यक्ष प्रचण्डले अगाडि भने, ‘मैले भन्ने गरेको छु-शान्तिको महत्व त्यसले बुझेको हुन्छ जसले युद्धलाई नजिकबाट हेरेको हुन्छ ।’

    शान्ति, स्थिरता र विकासको आवश्यकतालाई पूर्ण गर्ने कुरा नै आजका मुख्य कुरा रहेको उनले बताए । ‘हामीलाई ठुल्ठूला दार्शनिकहरूले भनेका छन् । संसार हाम्रो हो, युवाहरूलाई सम्बोधन गर्दै संसार तपाईँहरूको पनि हो । तर, अन्तिम विश्लेषण संसार तपाईँ युवाहरूकै हो । तपाईँहरूकै भरोसामा हामी छौं,’ उनले भने ।

    को हुन् प्रचण्डले आफूसँग तुलना गरेका अशोक ?

    अशोक (राज्यकाल ईसापूर्व २७३-२३२) प्राचीन भारतमा मौर्य राजवंशको चक्रवर्ती राजा थिए । उनको राज्य उत्तरमा हिन्दूकुशदेखि दक्षिणमा मैसूरसम्म तथा पूर्वमा बङ्गालदेखि पश्चिममा अफगानिस्तानसम्म पुगेको थियो । यो त्यसबेलाको भारतको सबैभन्दा ठूलो साम्राज्य थियो ।

    सम्राट अशोकलाई साम्राज्य विस्तारका लागि तमाम युद्ध लडेको र अन्तमा बौद्ध धर्मको प्रचारको लागि जानिन्छ । उनले जीवनको उद्धरार्धमा भारत, श्रीलङ्का, अफगानिस्थान, पश्चिम एसिया, इजिप्ट तथा ग्रीकसम्म बुद्ध धर्म र बुद्धको शान्ति सन्देशको प्रचार गराए ।

    अशोक बाल्यकालबाट नै सैन्य गतिविधिहरूमा पोख्त थिए । उनले सुरुवातमा आफ्ना सौतेनी भाईहरूलाई मारेर सम्राट बनेका थिए । सम्राट बनेलगत्तै अशोकले पूर्व तथा पश्चिम दुबै दिशामा आफ्नो साम्राज्य फैलाउन सुरू गरे । जसमा उनले हज्जारौं मानिस र सैनिकको नरसंहार गरेका थिए ।

    त्यसैक्रममा कलिङ्ग भन्ने ठाउँमा भएको नरसंहारपछि उनको मनमा ग्लानी भरियो र बौद्ध धर्म अंगिकार गर्नपु गे । त्यसपछि उनी बुद्धको उपदेशहरू पढ्दै गए र ती उपदेशहरूलाई आफ्नो जीवनमा उतार्न थाले ।

    यसैक्रममा उनले शिकार तथा पशुहत्या गर्न छोडिदिए । ब्राह्मण तथा अन्य सम्प्रदायको सन्यासीहरूलाई खुलेर दान दिए । जनकल्याणको लागि उनले चिकित्सालय, पाठशाला तथा सडक आदिको निर्माण गराए ।

    त्यसपछि बौद्ध धर्मको प्रचारका लागि आफूसहित आफ्नो छोरा र छोरीलाई विभिन्न देशको यात्रामा पठाएका थिए ।

  • आफ्नै बारेमा प्रचण्ड- खान नपुग्ने परिवारमा जन्मेको म दुईचोटि प्रधानमन्त्री भएँ, सपनाजस्तो लाग्छ (भिडिओ)

    आफ्नै बारेमा प्रचण्ड- खान नपुग्ने परिवारमा जन्मेको म दुईचोटि प्रधानमन्त्री भएँ, सपनाजस्तो लाग्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार एउटा कार्यक्रममा युवा लगानीकर्ताहरूसँग आफ्नो निजी जीवनका अनुभव बाँडेका छन् । खान-लाउन नपुग्ने विपन्न परिवारमा जन्मेको आफू दुईपटक प्रधानमन्त्री बन्न सफल भएको भन्दै उनले आश्चर्य र गौरव एकसाथ प्रकट गरे ।

    नेपाल युवा लगानीकर्ता सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नो विगत कोट्याएका थिए । आफ्नो परिवार खान नपुगेरै कास्कीबाट चितवनमा सरेको उनले सुनाए । युवा अवस्थामा देशमा निरंकुशता र सामन्तवाद अन्त्य गर्ने अठोट लिएर हिँडेपछि पछाडि फर्केर हेर्नु नपरेको उनको भनाइ थियो ।

    ‘पहाडमा खान नपुगेर चितवनमा बसाइँ सरेको बच्चा दुईचोटि गणतन्त्र नेपालको प्रधानमन्त्री भएँ । फर्केर हेर्दा आफैंलाई सपना हो कि विपना हो जस्तो लाग्छ’, प्रचण्डले भने ।

    कार्यक्रममा प्रचण्डले गरेको संबोधनको एक अंश-

    म आफैं कहिलेकाहीँ आफ्नो इतिहास र विगतलाई फर्केर हेर्छु । म कास्की जिल्लाको ढिकुरपोखरीको गरिब किसान परिवारमा जन्मेको हुँ । घरमा खान-लाउन नपुग्ने भएकाले म ८ वर्षको छँदा परिवार चितवन बसाइँ सरेको थियो । मेरो पढाइ-लेखाइ, हुर्काइ सबै चितवनमा नै भयो, जुन अहिलेको भरतपुर महानगरपालिकामा पर्छ ।

    एसएलसी गरेर कलेज पढ्दै गर्दा जीवनमा के चैं लक्ष्य लिने भनेर युवा साथीहरूमा डिबेट हुन्थ्यो । त्यसबेला सबैभन्दा पहिले नेपालको राजनीतिलाई ट्रयाकमा ल्याउनु आवश्यक छ भन्ने निष्कर्षमा हामी पुग्यौं । राजनीति नै धमिलियो भने अरु प्रयासले अपेक्षित परिणाम आउन सक्दैन भन्ने ठहर भयो । निरंकुशताको अन्त्य हुनुपर्छ र सामन्तवादको अन्त्य हुनुपर्छ भनेर हामीले आफ्नो अभियान सुरू गर्‍यौं । त्यसको निम्ति निरन्तर लाग्ने र एउटा विन्दूमा पुगेर देशलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउने सपना देख्यौं र अठोट गर्‍यौं । त्यो अठोट अहिलेसम्म कायम छ ।

    सपना देख्नुस्, लागिपर्नुस् । सफलता तपाईंलाई चुम्न आइपुग्छ । म पहाडमा खान नपुगेर चितवनमा बसाइँ सरेको बच्चा दुईचोटि प्रधानमन्त्री भएँ गणतन्त्र नेपालको । यो कसरी सम्भव भयो भन्ने हेर्दा आफैँलाई सपना हो कि विपनाजस्तो लाग्छ । तर, हुँदो रहेछ । आफैँलाई गौरवशाली पनि ठान्छु म । युद्धको नेतृत्व गरेँ १० वर्षसम्म । त्यो पनि नेपालको इतिहासमा कहिल्यै नभएको विद्रोहको कमाण्ड गरेँ । सुप्रिम कमाण्डर भएँ । यो सबै अवसर सजिलै प्राप्त गर्ने र गर्न सक्ने कुरा पनि होइन । सजिलो भए कसले मलाई छोड्थ्यो र । विस्तृत शान्ति सम्झौताको पनि नेतृत्व गरेँ । यो पनि सबैले पाउने कुरा होइन । युगान्तकारी कुरा हो । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी संविधान निर्माण, यो पनि सानो कुरा होइन ।

    देश निर्वाचनतिर जाला कि नजाला, मधेस पहाड मिल्ला कि नमिल्ला ? भन्ने थियो । म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशलाई निर्वाचनतिर लगेर संविधान कार्यान्वयनको एउटा ऐतिहासिक आधारशीला खडा गर्ने काम गरेँ । एउटा व्यक्तिलाई यति ठूल्ठूला घटनाहरुको नेतृत्व गर्ने र युगान्तकारी परिवर्तन संस्थागत गर्ने अपसर प्राप्त हुनु धेरै ठूलो गौरवको कुरा हो ।

    फर्केर हेर्छु, कसरी यस्तो भयो होला । जतिबेला त्यो सपना देखेर, अठोट लिएर यो देशलाई नयाँ ठाउँमा पुर्‍याउने भनेर अघि बढेँ, दायाँ-बायाँ फर्केर हेरिनँ । भन्न त मलाई भन्छन्, कहिले के, कहिले के गर्छ भनेर । तर, म आफ्नो मुख्य उद्देश्यबाट कहिल्यै पनि दायाँबायाँ भएको छैन । तपाईंहरू पनि अठोट लिनुस् र त्यसमा अडिनुस् ।

    म अब जीवनको उत्तरार्द्धमा छु । ५-७ वर्ष, बढीमा १० वर्ष होला सक्रिय जीवन भनेको । अब समृद्धि र आर्थिक क्रान्तिका लागि बाँकी जीवन समर्पित गर्ने अठोट गरेको छु ।

  • प्रचण्ड छैठौं जिल्ला गुल्मी १ बाट पनि सिफारिस

    प्रचण्ड छैठौं जिल्ला गुल्मी १ बाट पनि सिफारिस

    रुपन्देही । नेकपा माओवादी गुल्मीले क्षेत्र नं १ मा पार्टी अध्यक्ष प्रचण्डलाई पहिलो नम्बरमा उम्मेदवारको लागि सिफारिस गरेको छ । यसअघि ५ जिल्लाबाट अध्यक्ष प्रचण्डलाई सिफारिस गरिसकेको छ । संघीय निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. १ गुल्मीको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको संयोजक लिला थापामगरले जानकारी दिएकी छन् ।

    प्रचण्डसँगै लक्ष्मण पन्त र मणिराम ज्ञवालीलाई संघीय उम्मेदवारको लागि सिफारिस गरेको छ भने प्रदेश ‘क’तर्फ पार्टी प्रदेश अध्यक्ष सुदर्शन बराल तथा सिर्जना तरामु र लिलबहादुर केसी र ‘ख तर्फ अशोक थापा, रामचन्द्र कंडेल, अशोक श्रेष्ठलाई सिफारिस गरेको छ ।

  • भारतीयलाई साक्षी राखेर आरजु र मबीच ७ बुँदे सम्झौता भयो भन्ने भ्रम चीनलाई समेत परेछ- प्रचण्ड (भिडिओसहित)

    भारतीयलाई साक्षी राखेर आरजु र मबीच ७ बुँदे सम्झौता भयो भन्ने भ्रम चीनलाई समेत परेछ- प्रचण्ड (भिडिओसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीमा आफू र आरजु राणा देउवाबीचको भेटबारे चीनले चासो राखेको बताएका छन् ।

    पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा भेटबारे पत्रकारले राखेको जिज्ञासाको जवाफमा उनले सो कुरा बताएका हुन् ।

    ‘मलाई अनौठो त्यति वेला लाग्यो कि चीनमा रहेका हाम्रा राजदूतले ‘मलाई निकै ठूलो प्रश्न उठ्यो, तपाईं र आरजु भारतीयसँग बसेर कति बुँदे सहमति गर्नुभयो रे भन्ने कुरामा चीनले पनि वडो चासो राख्यो’ भन्नुभयो’, प्रचण्डले भने, ‘झूटो र निराधार कुराको यति ठूलो प्रचार गरिनुबाट कहीं न कहीं प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू निकै सक्रिय छन् ।’

    ती हल्ला निराधार र भ्रामक रहेको उनले बताए । ‘यो कुरा निकै हल्ला गर्ने कोसिस गरियो । तर, ती निकै भ्रामक र झूटा हल्लाहरू हुन् । आरजु राणा हाम्रो प्रधानमन्त्रीजीको परिवार पनि हो’, उनले भने ।

    दूतावासमा बिहान आफूलाई ब्रेकफास्टका लागि बोलाएको र त्यहाँ आरजुलाई भेटेर औपचारिक कुराबाहेक केही नभएको अध्यक्ष प्रचण्डले दाबी गरे ।

    ‘दूतावासमा मलाई बिहान ब्रेकफास्टका निम्ति राजदूतले बोलाउनुभएको थियो र म गएको थिएँ । आरजु पनि त्यहाँ हुनुहुन्थ्यो । सामान्य औपचारिकता र स्वास्थ्य लाभको कामनाबाहेक अरु कुनै पनि कुरा त्यहाँ भएको होइन’, प्रचण्डले भने, ‘त्यहाँ राजदूतलगायत सबै पदाधिकारीसँग ब्रेकफास्ट मिटिङमा थियौं । यो पहिलो कुरा, त्योभन्दा बढी हुने स्थिति पनि थिएन, हुने कुरा पनि थिएन ।’

    यससम्बन्धी प्रचण्डको प्रष्टोक्ति जस्ताको तस्तैः

    यो कुरा निकै हल्ला गर्ने कोसिस गरियो । तर, ती निकै भ्रामक र झूटा हल्लाहरू हुन् । आरजु राणा हाम्रो प्रधानमन्त्रीजीको परिवार पनि हो । स्वास्थ्योपचारका निम्ति दिल्लीमा हुनुहुन्थ्यो ।

    दूतावासमा मलाई बिहान ब्रेकफास्टका निम्ति राजदूतले बोलाउनुभएको थियो र म गएको थिएँ । आरजु पनि त्यहाँ हुनुहुन्थ्यो । सामान्य औपचारिकता र स्वास्थ्य लाभको कामनाबाहेक अरु कुनै पनि कुरा त्यहाँ भएको होइन । त्यहाँ राजदूतलगायत सबै पदाधिकारीसँग ब्रेकफास्ट मिटिङमा थियौं । यो पहिलो कुरा, त्योभन्दा बढी हुने स्थिति पनि थिएन, हुने कुरा पनि थिएन ।

    तर, अनौठो के भयो भने खास गरी एउटा राजनीतिक दलसँग सम्बन्धित मान्छेहरूले त्यहाँ चाहिं कति बुँदे सहमति नै भयो, भारतीयलाई समेत राखेर सहमति भयो भन्ने प्रचार गरियो । त्यो बिलकुल निराधार, बिलकुल झूटो र नियोजित प्रचार गरियो । त्यो चाहिं मेरा पार्टीलाई र मलाई अनावश्यक बदनाम गर्ने षड्यन्त्रबाट प्रेरित कुरा हो ।

    मलाई अनौठो त्यति वेला लाग्यो कि चीनबाट हाम्रो चिनियाँ राजदूत हाम्रो नेपालबाट जानुभएको, उहाँले मलाई निकै ठूलो प्रश्न उठ्यो, तपाईं र आरजु भारतीयसँग बसेर कति बुँदे सहमति गर्नुभयो रे ! भन्ने कुरा चीनले पनि बडो चासो राख्यो भन्ने कुरा अनौठो लाग्यो । झूटो र निराधार कुराको यति ठूलो प्रचार गरिनुबाट कहीं न कहीं प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू निकै सक्रिय छन् ।

  • देश स्थानीय निर्वाचनसम्म नै पुग्ने हो कि होइन भन्ने चिन्ता थियो: प्रचण्ड (भिडिओ)

    देश स्थानीय निर्वाचनसम्म नै पुग्ने हो कि होइन भन्ने चिन्ता थियो: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई देश स्थानीय तह निर्वाचनसम्म पनि पुग्ने हो कि होइन भन्ने चिन्ता लागेको बताएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले पछिल्लो वर्ष संविधान उल्ट्याउने र परिवर्तनका उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको उल्लेख गरे ।

    त्यो खतरा अहिले पनि कायमै रहेको उनले बताए । ‘खतरा अहिले पनि टरिसकेको छैन । तर, देशलाई ट्रयाकमा ल्याएर स्थानीय तह निर्वाचन गर्‍यौं, प्रचण्डले भने, त्यसमा जीत जसको भए पनि प्रगतिशील शक्तिको नै भएको छ । जनताले नै जितेका हुन्’, प्रचण्डले थपे ।

    पोखरामा आज आयोजित माओवादी केन्द्र निकट जनस्वास्थ्यकर्मी महासंघको महाधिवेशनमा बोल्दै उनले आउने निर्वाचनले संविधान उल्टाउन नसक्ने अवस्थामा पुग्ने बताए ।

    मंसिर ४ गते हुने निर्वाचन राजनीतिक परिवर्तन र संविधानको रक्षाका लागि महत्वपूर्ण हुने उनको भनाइ छ । ‘निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्नु संविधानका उपलब्धि रक्षामा अझ बढी सफलता हासिल गर्नु हो’, प्रचण्डले भने, ‘अहिलेको निर्वाचनबाट परिवर्तनका उपलब्धिको रक्षा र संविधान कहिल्यै उल्ट्याउन नसक्ने गरी स्थापित हुनेछ ।’

    पछिल्लो वर्ष संविधान उल्टाएर गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली सबै उल्टाउन खोजिएको भन्दै उनले जसलाई आन्दोलन र सामूहिक एकताका माध्यमबाट रक्षा गर्न सफल भएको स्पष्ट पारे ।

  • प्रचण्डले पोखरामा सुनाए आफ्नो लक्ष्य- माओवादी पहिलो वामपन्थी र निर्णायक शक्ति हुने गरीमात्रै तालमेल

    प्रचण्डले पोखरामा सुनाए आफ्नो लक्ष्य- माओवादी पहिलो वामपन्थी र निर्णायक शक्ति हुने गरीमात्रै तालमेल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेल हुँदा आफ्नो पार्टीलाई वामपन्थी आन्दोलनको पहिलो र देशको निर्णायक शक्ति हुनेगरी गर्ने लक्ष्य रहेको बताएका छन् ।

    पोखरामा आज आयोजित माओवादी केन्द्र निकट जनस्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो लक्ष्यभन्दा दायाँबायाँ हुने गरी तालमेल नहुने प्रस्ट पारे ।

    स्थानीय तह निर्वाचनमा नै त्यो सम्भावना रहेकामा आफ्नै पार्टीभित्रको समस्याले क्षति व्यहोर्नुपरेको उनको भनाइ छ ।

    ‘गएको स्थानीय तह निर्वाचनमा पहिला जितेकालाई बचाउन र पछि जितेकालाई कायम राख्न सकेको भए देशको दोस्रो र वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्थ्यौं । तथ्य तथ्यांक र जनमतले त्यही देखाउँछ’, प्रचण्डले भने, ‘तर, आफ्नै कारणले पहिला जितेका ५० भन्दा बढी पालिका गुमाउन पुग्यौं ।’

    त्यो लक्ष्य आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पूरा गरिछाड्ने अध्यक्ष प्रचण्डले बताए । ‘हाम्रो लक्ष्य के छ भने गठबन्धनमा तालमेल पनि यसरी होस् कि माओवादी केन्द्र देशको पहिलो वामपन्थी र देशको निर्णायक शक्ति बनोस् । हामी त्यही ढंगले तालमेल गर्दैछौं’, उनले भने ।

  • गुल्मी- २ मा माओवादीले झाँक्रीलाई नछाड्ने, गोकर्णसँग भिड्न भीमकान्त मैदानमा

    गुल्मी- २ मा माओवादीले झाँक्रीलाई नछाड्ने, गोकर्णसँग भिड्न भीमकान्त मैदानमा

    काठमाडौं । गठबन्धनको सीट बाँडफाँट थप पेचिलो बन्दै गएको बेला केही क्षेत्रमा नयाँ ट्वीस्ट आएको छ । यसअघि रामकुमारी झाँक्रीको लागि गठबन्धनमा अन्य दलले दाबी नगर्ने भनिएको गुल्मी क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र) ले बिहीबारदेखि सशक्त दाबी गरेपछि नयाँ ट्वीस्ट आएको हो ।

    नेकपा एसकी सचिव झाँक्रीले गुल्मी २ मा चुनाव लड्नका लागि पछिल्लो समय सो क्षेत्रमा सक्रियता बढाएकै बेला माओवादी केन्द्रले युवा नेता तथा व्यवसायी भीमकान्त भण्डारीको नाम अघि सारेपछि सो क्षेत्रमा माओवादीको औपचारिक दाबी पेस भएको कार्यदल स्रोतले जनाएको छ ।

    कार्यदलमा राष्ट्रिय जनमोर्चाबाट सदस्य रहेका हिमलाल पुरीले गुल्मीमा आफूहरूले पनि एउटा प्रदेशसभा सदस्य दाबी गरेको र क्षेत्र नम्बर २ मा माओवादी र नेकपा एस दुवैको दाबी आएको बताए । स्रोतका अनुसार नेकपा एसका कार्यदल सदस्यहरूले गुल्मी २ लाई प्राथमिकता दिएका छैनन् । तर, गठबन्धनका शीर्ष नेता झाँक्रीको व्यवस्थापनका लागि उदार छन् ।

    झाँक्रीप्रति प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भने उदार देखिएका छन् । उनले गुल्मीका नेताहरूलाई झाँक्री जिताउन भने पनि माओवादीले सो क्षेत्रमा सशक्त दाबी गरेपछि जिल्लाको राजनीति फेरिएको छ । कार्यदलमा रहेका माओवादी उपमहासचिव वर्षमान पुनले समेत झाँक्रीले ‘जितिन्छ र ?’ भन्दै सकेसम्म काठमाडौं जस्तो शहरी क्षेत्रबाटै चुनाव लड्न सुझाव दिएको चर्चा छ ।

    काठमाडौं ५ मा कांग्रेसले सशक्त दाबी गरेको छैन । सो क्षेत्रमा नेकपा एसबाट सुदेश पराजुलीको नाम प्रस्ताव भएको छ । झाँक्रीलाई कतिपयले ‘सेलिब्रिटी’ लाई चुनाव जित्न सहज हुने भन्दै काठमाडौं ५ मा सर्न समेत सुझाव दिएका छन् । तर, उनी गुल्मी २ मै सक्रिय छिन् । हालै जिल्ला इन्चार्ज र अध्यक्ष एमाले प्रवेश गरेपछि उनले थप मेहनत गर्नुपरेको छ ।

    उता माओवादीबाट भीमकान्त भण्डारीसहित जिल्ला संयोजक तथा जिसस सदस्य वीरबहादुर कार्की र नुमराज पाण्डे सिफारिस भएका छन् । प्रक्रियाका लागि तीनजना सिफारिस भएपनि भण्डारी नै माओवादी केन्द्रबाट उम्मेदवार बन्ने निश्चित छ । अध्यक्ष प्रचण्डसहितका नेताहरूलाई जानकारी दिएरै उनी उम्मेदवार बन्ने प्रक्रियामा सहभागी भएको स्रोतले जनाएको छ ।

    जिल्लाको विकास निर्माणमा बजेट परिचालनदेखि ठूला परियोजना हाल्नेमा अर्थ मन्त्रालयमा हुँदादेखि नै सक्रिय रहेका भण्डारीले ४ करोडभन्दा बढीका स्वास्थ्य सामग्री गुल्मीमा वितरण गरेर चर्चामा छन् । विध ल्याबमार्फत नेपालमा पहिलोपटक कोरोना परीक्षण थालेका भण्डारीकै पहलमा नेपालमा पहिलोपटक चीनसँग जीटूजीमार्फत कोभिडविरुद्धको खोप आएको थियो ।

    एमालेका सचिव गोकर्ण विष्टसँग भण्डारी प्रतिस्पर्धा गर्नेगरी माओवादीले सो क्षेत्रमा दाबी गरेपछि जिल्लामा चर्चा चुलिएको छ ।

    माओवादीका एक नेताले भने, ‘गुल्मी २ मा एमालेको ३० देखि ३२ हजार मत छ । कांग्रेसको २०/२२ हजार र माओवादीको १० हजार बढी मत छ । नेकपा एसको १२ सयको हाराहारीमा मत रहेको छ । भीमकान्तको सामाजिक कामका कारण उनी उम्मेदवार बन्दा गोकर्णलाई पराजित गर्न सक्ने भएरै हामीले दाबी गरेको हो । झाँक्रीको व्यक्तित्वका कारण गठबन्धनले सीट छुट्याउने हो भने काठमाडौं उपयुक्त हुन्छ भन्ने सुझाव दिएका छौं ।’

    हालै एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग वार्ता गरेको भन्दै माओवादीका स्थानीय नेताले गुल्मी २ नछाड्न कार्यदलमा रहेका नेतादेखि प्रचण्डसम्मलाई दबाब दिइरहेका छन् । तर, झाँक्रीले भने गोकर्ण र प्रदीप ज्ञवालीले एकता गरौं भनेर आफूसँग संवाद गर्ने हिम्मत नराखेको नेपाल प्रेसकै अन्तर्वार्तामा बताएकी छन् ।

  • भोजपुरमा माओवादीबाट सुदनसहित ४ जना सिफारिस, अजम्बरले पनि गरे दाबी

    भोजपुरमा माओवादीबाट सुदनसहित ४ जना सिफारिस, अजम्बरले पनि गरे दाबी

    भोजपुर । नेकपा माओवादी केन्द्र भोजपुरले आसन्न प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

    प्रतिनिधिसभातर्फ चारजनाको नाम सिफारिस गरिएको माओवादीका जिल्ला संयोजक नगेन्द्र भुजेल ‘शैलेन्द्र’ ले जानकारी दिए । सिफारिसमा परेका नामहरूमा सुदन किराती, अजम्बर काङमाङ राई, विमल खड्का र शरणकुमार तामाङ छन् । अजम्बरले पनि प्रतिनिधिसभामा दाबी गरेपछि जिल्लाको राजनीतिक गफगाफमा चर्चा बढेको छ ।

    एमालेमा हुँदा युवा संघको अध्यक्ष भइसकेका काङमाङ अशोक राईहरूसँगै संघीय समाजवादी फोरममा लागेका थिए । उनी पछिल्लो समय माओवादीमा छन् । कतिपयले दुईपटक जितिसकेकाले सुदन नै टिकटका लागि बलियो दाबेदारी मानेका छन् भने जनताले नयाँ अनुहार खोजेको गाउँ कमिटीबाट माग आएको जिल्ला समन्वय समितिका एक नेता बताउँछन् ।

    किराती हाल प्रतिनिधिसभा सदस्य छन् । ७४ को चुनावमा वाम गठबन्धनबाट उठेका उनी १२ हजार ६९८ मतान्तरले विजयी भएका थिए । किरातीले ३४ हजार ३९४ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी उमेशजंग रायमाझीले २१ हजार ६९६ मत पाएका थिए । २०६४ को पहिलो संविधानसभा चुनावमा एमालेका शेरधन राईलाई हराएका किराती दोस्रो संविधानसभा चुनावमा भने उनैसँग पराजित भए ।

    सत्ता गठबन्धनमा भागबण्डा टुंगिनसकेपनि पहिले जितेकै आधारमा यहाँ माओवादीले पाउने निश्चित छ । गठबन्धनकै अर्को घटक नेकपा एसले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई प्रदेश ‘क’ मा उठाउने तयारी गरेको छ ।

    माओवादी केन्द्रबाट उम्मेदवार सिफारिसमा परेका अन्य नेता :

    प्रतिनिधि सभा : समानुपातिकतर्फ

    १. एकबहादुर राई
    २. दुर्गा राई

    प्रदेश सभा: ‘क’ : प्रत्यक्षतर्फ

    १. दिलकुमार राई
    २.राजेश खतिवडा
    ३. हर्कराज राई

    प्रदेश सभा ‘क’ : समानुपातिकतर्फ

    १. बबिन्द्र रसाइली

    प्रदेश सभा ‘ख’ : प्रत्यक्षतर्फ

    १. सन्दीप राई

    प्रदेशसभा ‘ख’ : समानुपातिकतर्फ

    १. मनिका राई
    २. सम्झना राई (सन्ध्या)

  • गठबन्धनले मुख्यमन्त्री केसीलाई धर्मसंकट, रोल्पा र दाङ जता लागे पनि टुंगो छैन टिकट

    गठबन्धनले मुख्यमन्त्री केसीलाई धर्मसंकट, रोल्पा र दाङ जता लागे पनि टुंगो छैन टिकट

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं माओवादी नेता कुलप्रसाद केसी आगामी निर्वाचनका लागि असुरक्षित देखिएका छन् । सत्ता गठबन्धनका कारण उनले मंसिर ४ गते हुने आम निर्वाचनमा पार्टीबाट टिकट पाउने सम्भावना क्षीण बन्दै गएको हो ।

    एक निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी नेता वर्षमान पुनले छाड्ने अवस्था छैन । प्रदेशमा गठबन्धनका कारण दुवै क्षेत्र नेपाली कांग्रेसले दाबी गरेपछि मुख्यमन्त्री केसी रेड जोनमा पुगेका छन् । गठबन्धन नभए पनि रोल्पामा माओवादीका आकांक्षी धेरै छन् । जसले गर्दा केसीले संघ वा प्रदेशमा टिकट पाउन सहज छैन ।

    रोल्पा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको जिल्ला पनि हो । मुख्यमन्त्री केसी र काग्रेस सभापति पुनको क्षेत्र पनि एउटै हो । यसकारण सत्ता गठबन्धनले गर्दा केसीलाई टिकट फुस्काउनै समस्या आएको देखिएको हो ।

    कांग्रेस नेता पुनले माओवादीलाई संघ या प्रदेशका दुवै क्षेत्रमध्ये एक रोज्न पहिले नै प्रस्ताव गरेको र गठबन्धनमा कांग्रेस त्यो मान्न तयार रहेको बताए । ‘संघ या प्रदेश रोज्न भनेका छौं । गठबन्धन भनेपछि दुवै पाइँदैन’, सभापति पुनले भने, ‘हामी प्रस्ट छौं । त्यसैले संघको १ सीट रोज्ने कि प्रदेशका दुई सीट भनेर भनिसकेका छौं ।’

    संघको उम्मेदवारमा वर्षमान पुन निश्चित जस्तै भएकाले प्रदेशको क्षेत्र कांग्रेसलाई छोड्नुपर्ने भएकाले मुख्यमन्त्री केसीलाई सर्लक्कै टिकट पाउन समस्या परेको माओवादी नेताहरुले बताउँदै आएका छन् ।

    ‘मुख्यमन्त्रीले गठबन्धनकै कारण यसपटक टिकट पाउने सम्भावना कम छ । संघीय क्षेत्र माओवादीले पाउँदा वर्षमानकै निश्चित छ । प्रदेशमा दुवै कांग्रेसले दावी गरेको छ । बल गरेर एक क्षेत्र माओवादीले पाए पनि उहाँको क्षेत्रमा कांग्रेस प्रदेश सभापतिले छोड्ने कुरा हुँदैन’, माओवादी रोल्पाका एक नेताले भने, ‘अर्को क्षेत्रमा यसअघि माओवादीबाटै जितेका नेता सिजलले छोड्ने अवस्था छैन । त्यसैले उहाँले अन्य जिल्लातर्फ आँखा लगाइरहनु भएको छ ।’

    रोल्पाबाट टिकट नपाउने सम्भावनाा बढेपछि मुख्यमन्त्री केसीले दाङको निर्वाचन क्षेत्र नं १ तिर नजर लगाएको बुझिएको छ । केन्द्रीय राजनीतिमा जान इच्छुक केसी राजधानीको संरचना लगेर टिकट हात पार्ने दाउमा लागेका छन् । नेकपा एकीकृत समाजवादीका नेता एवं मन्त्री मेटमणि चौधरीको क्षेत्र भएकाले यहाँ पनि केसीको सम्भावना कमै छ । विकल्पमा मुख्यमन्त्री केसी दाङबाटै प्रदेशसभाको टिकट सुरक्षित बनाउन लागिपरेका छन् । तर यहाँ पनि प्रदेश सांसद एवं मन्त्री इन्द्रजीत चौधरी तगारो बन्ने देखिएको माओवादी नेताहरुको विश्लेषण छ ।

    तैपनि दाङका नेताहरुलाई प्रभावमा पार्न मुख्यमन्त्री केसीले अपूर्ण भौतिक संरचनामै हतारहतार राजधानीका निकाय सार्न खोजे पनि सफलता हात पार्न सकेका छैनन् ।

    लुम्बिनीको स्थायी राजधानी दाङ देउखुरी राप्ती उपत्यकामा आफ्नै पहलमा प्रदेशसभा र मन्त्रालयहरु सारेको जस लिएर नेतृत्वसँग टिकट हत्याउने दाउमा लागिपरेको भन्दै यसले पार्टीलाई असर पारेको दाङका माओवादी नेताको बुझाइ छ ।

    मुख्यमन्त्री केसीले माओवादी केन्द्रीय नेतृत्वलाई गठबन्धनबाट दाङको क्षेत्र नं १ मा टिकट दिलाउन दबाब बढाएका छन् । टिकट पाउनकै लागि उनले प्रदेशसभा र मन्त्रालयहरु सार्न कर्मचारीलाई निर्देशन दिने गरेका छन् । आफ्नो निर्देशन पालना नगर्ने कर्मचारीहरुको सरुवासमेत गराएका छन् । मुख्यमन्त्री केसीले स्थायी राजधानीमा प्रदेशसभा र मन्त्रालय सार्न हतार गर्नुको पछाडि टिकट पनि एउटा कारण रहेको कांग्रेसका नेताहरु बताउँछन ।

    दाङ क्षेत्र नं १ मा कांग्रेसले पनि दाबी गरेको छ । कांग्रेसले यस क्षेत्रको लागि केन्द्रीय सदस्य योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, प्रदीप थापा र स्व. नेता खुमबहादुर खड्काका छोरा अनुराज खड्कालाई सिफारिस गरेको छ ।

    को-को भए रोल्पाबाट सिफारिस ?

    हुन त मुख्यमन्त्री केसी रोल्पाबाट प्रतिनिधिसभा उम्मेदवारको लागि तेस्रो नम्बरमा सिफारिसमा परेका छन् । प्रत्यक्षतर्फ उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती मगर, ओनसरी घर्तीमगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ तारा घर्तीमगरको एकल नाम सिफारिस गरिएको छ ।

    प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ जोखबहादुर महरा, सुकबहादुर बुढामगर, गुणेन्द्र घर्तीमगर र पूर्ण केसीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ आशबहादुर पुन, मीना खड्का र कुष्मा पुनमगरको नाम सिफारिस भएको छ । प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्रकुमार पुन, रोल्पा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख राजबहादुर बुढा, निमकान्त डाँगी र वीरबहादुर खत्रीको नाम सिफारिस गरिएको छ ।

    त्यस्तै समानुपातिकतर्फ त्रिपनी बैजाली, धनीकला बुढा, मानसिंह बिक, हितकुमारी बुढा, लालसरी घर्ती, शेरसिं बन्दिपुरे, शान्तराज बोहरा, गोविन्द पुन, रामबहादुर वली, भक्तबहादुर वली र पूर्णबहादुर दमाईको नाम सिफारिस गरिएको छ ।

  • प्रचण्डको आशंकाः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि छ

    प्रचण्डको आशंकाः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगर्न सक्ने आशंका प्रकट गरेका छन् ।

    त्यसो भएमा यो विषय अदालतमा जाने वा राष्ट्रपतिले राजीनामा दिनपर्ने उनको भनाइ छ ।आज पोखरामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रचण्डले दोस्रोपटक दुवै सदनबाट पारित भएर गएको विधेयकलाई राष्ट्रपतिले रोक्ने कुनै ठाउँ संविधानले नदिएको बताए ।

    उनले भने, ‘मलाई त प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ । तर केही दिनअघि भेटेर कुरा गर्दा उहाँले यसलाई पोलिटिकल इस्यू बनाउने मुडमा रहेको पाएको थिएँ । त्यसैले नगर्ने सम्भावना पनि छ । गर्नुभएन भने यो इस्यू अदालतमा जान्छ र अदालतको फैसलापछि अगाडि बढ्छ ।’
    प्रचण्डले विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने उल्लेख गरे ।

    ‘मैले राष्ट्रपतिलाई पनि भनेको थिएँ । प्रमाणीकरण नगरेको अवस्थामा या त राजीनामादिने वा अदालतमा जाने हो । यो दुईवटा हुन सक्छ,’ उनले भने ।

  • चितवनबाट दायाँबायाँ गर्दिन, चुनाव जित्नेमा झण्डै–झण्डै कन्फिडेन्ट छु: प्रचण्ड

    चितवनबाट दायाँबायाँ गर्दिन, चुनाव जित्नेमा झण्डै–झण्डै कन्फिडेन्ट छु: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफू चितवन–३ बाट दायाँबायाँ नगर्ने प्रष्ट पारेका छन् । चुनाव जित्नेमा पूरा कन्फिडेन्स रहेको उनले बताए ।

    पोखरामा आज सञ्चारकमीसँगको अन्तरक्रियामा बोल्दै प्रचण्ड चितवन–३ बाट आफ्नो उम्मेदवारी तय भएको उल्लेख गरेका हुन् । सञ्चारकर्मीले उनलाई चुनाव क्षेत्र परिवर्तनको सम्भावनाबारे सोधेका थिए ।

    प्रचण्डले भने, ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनुपर्यो भनिराख्नुभएको छ । सबैलाई धन्यवाद नै भन्न चाहन्छु । तर म अहिले चितवनबाटै लड्छु । मेरो दिमागमा दायाँबायाँ अर्को छैन ।’

    उनले चितवनका जनताको चेतना र भावनामा आफूलाई विश्वास रहेको उल्लेख गरे । प्रचण्डले थपे, ‘गठवन्धन पनि छँदै छ । गठवन्धनमा कुनै विमति छैन । त्यसैले मैले चितवन छोड्दा राम्रो सन्देश दिँदैन । म यहाँ जित्छु भन्नेमा झण्डै झण्डै पूर्ण कन्फिडेन्स र विश्वासमा छु ।’

    उनले विगतमा आफूले विभिन्न जिल्लामा चुनाव लडेर प्रचण्ड देशभरीका जनताको हो भन्ने सिद्द गर्न खोजेको बताए । अहिेल चितवन छाड्दा डराएर हिँडेको जस्तो हुने उनको भनाइ छ ।

    ‘म त्यसो गर्न चाहन्न, किनकी मैले जित्छु,’ उनले भने ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट संघमा प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट संघमा प्रत्यक्ष र समानुपातिक दुवैमा सिफारिस

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको नाम माओवादी केन्द्रले प्रतिनिधि सभामा सिफारिस गरेको छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ उनको एकल नाम सिफारिस गरिएको हो । त्यस्तै, समानुपातिक तर्फ पनि मुख्यमन्त्री भट्टको नाम सिफारिस गरिएको हो ।

    वुधवार बसेको पार्टी जिल्ला समन्वय समिति डोटीले उनलाई सिफारिस गरेको हो । प्रत्यक्ष तर्फ सर्वसम्मत भएका मुख्यमन्त्री भट्ट समानुपातिक तर्फ पनि खस आर्यबाट सर्वसम्म छन् ।

    अन्य कोटामा भने उनी सहित ५ जनाको नाम सिफारिस गरेको छ । खस आर्यबाट भट्ट, जनजातिबाट डम्बर घर्तिमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरेको छ ।

    यस्तै, प्रदेशसभा ‘क’ र ‘ख’ दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ ३/३ जना सिफारिस भएका छन्। प्रदेश सभा ‘क’ का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस भएका छन् भने ‘ख’ का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुवर प्रख्यात सिफारिस भएका छन् ।

    अघिल्लो पटक नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाहीलाई २ हजार ५९२ मतले हराएर मुख्यमन्त्री भएका भट्टले संघीय निर्वाचन क्षेत्र ताक्दा गठबन्धनका अन्य दुई घटक नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका नेताले पनि डोटीमा प्रतिनिधि सभा ताकेका छन् ।

    २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ हजार ६३२ मत अन्तरले हराउने प्रेम आले र हार्ने वीर बहादुर बलायर दुबै अहिले गठबन्धनबाट संघ ताकेका छन् ।

    ०७४ मा बलायर हराएका आले २०७० सालमा डोटी-२ बाट र बलायर डोटी-१ बाट विजयी भएका थिए ।

  • कैलाली-४ मा माओवादीबाट संघमा तीन जना, तीमध्ये दुई जना प्रदेशमा पनि सिफारिस

    कैलाली-४ मा माओवादीबाट संघमा तीन जना, तीमध्ये दुई जना प्रदेशमा पनि सिफारिस

    कैलाली । कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रले संघ र प्रदेशका लागि नाम सिफारिस गरेको छ ।

    क्षेत्रीय समन्वय समितिले प्रतिनिधि सभाका लागि कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसालको नाम माथिल्लो कमिटीलाई पठाएको हो ।

    चौधरी २०६४ मा माओवादीबाट निर्वाचित संविधान सभा सदस्य हुन् । केही समयअघि मात्रै जसपाबाट माओवादी केन्द्र प्रवेश गरेका चौधरीको नाम प्रतिनिधि सभामा मात्र होइन प्रदेश सभामा पनि सिफारिस गरिएको छ ।

    प्रदेश‘क’तर्फ प्रत्यक्षमा चौधरीसहित लक्षीराम आचार्यको नाम पनि दुवैतर्फ छ । राष्ट्रिय जनमोर्चाबाट केही समयअघि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । राष्ट्रिय जनमोर्चामा उनी केन्द्रीय सदस्य तथा प्रदेश सचिव थिए । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि उनी उम्मेदवार थिए ।

    त्यस्तै, हरि राम चौधरी ‘उत्सव’, मदनराज जोशी, लक्ष्मीप्रसाद दाहाल, हरि जोशी र उद्धव राज भट्टराई को नाम प्रदेशमा पठाएको हो ।

    हरि राम चौधरी अहिले माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्यमा छन् । छ बर्षिय कार्यकालमा रहेका उनी माओवादी केन्द्रका प्रदेश अध्यक्ष पनि हुन् ।

    प्रदेश ‘ख’तर्फ प्रत्यक्षमा मेघराज भट्ट, हुकुम साउँद, देवेन्द्र शाही, तिलक चौधरी र विमल साउँद को नाम सिफारिस भएको छ । यो क्षेत्रमा एमालेबाट प्रदेश इन्चार्ज लेखराज भट्ट र नेकपा एकीकृत समाजवादीबाट जिल्ला इन्चार्ज दीर्घ सोडारीको एकल नाम सिफारिस भइसकेको छ । त्यस्तै, कांग्रेसबाट नैन सिंह महर,सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठक आकांक्षी छन् ।

  • अर्घाखाँचीमा माओवादीका बलदेवको सिफारिसपछि डिलारामलाई तनाव

    अर्घाखाँचीमा माओवादीका बलदेवको सिफारिसपछि डिलारामलाई तनाव

    रुपन्देही । नेकपा माओवादीका सचिव चक्रपाणी खनाल बलदेवको नाम अर्का सचिव डिलाराम आचार्यको क्षेत्र अर्घाखाँचीबाट सिफारिस भएको छ ।

    यसअघि कपिलवस्तुको क्षेत्र नं १ लाई निर्वाचन क्षेत्र बनाएका खनालले गठबन्धनमा कांग्रेसलाई छाड्नुपरेको अवस्थामा वैकल्पिक क्षेत्र खोज्दै अर्घाखाँचीमा पनि नाम पारेको भन्दै अर्का सचिव डिलाराम आचार्य निकट कार्यकर्ताहरु आक्रोशित बनेका छन् । बलदेव अहिले कपिलवस्तु १ बाट प्रतिनिधिसभा सदस्य छन् ।

    कपिलवस्तु १ बाट उनीसहित ३ जनाको नाम केन्द्रमा सिफारिस भए पनि यहाँ कांग्रेस नेता दीपकुमार उपाध्यायले दाबी गरिरहेकाले कतै गठबन्धनमा छाड्नुपर्ने हो कि भन्ने त्रासमा खनाल पक्ष रहेको छ ।

    खनालको दुवै जिल्लाबाट नाम सर्वसम्मत भने सिफारिस हुन सकेको छैन । कपिलवस्तुमा उनीसहित डोरप्रसाद उपाध्याय, कमल चुँदालीको नाम सिफारिस भएपनि चुँदालीले आफू अहिलेको निर्वाचन प्रणालीमा आर्थिक अवस्थाले लड्न नसक्ने बताएका छन् ।

    अर्घाखाँचीबाट टोपबहादुर रायमाझीले माओवादी छाडेपछि त्यो खाडल पुर्न सचिव बनाइएका डिलाराम आचार्यले टिकट पाउने अपेक्षा गरिएपनि बलदेवको नामसमेत सिफारिसमा परेपछि उनको समूहले आशंका गर्न थालेको छ । यहाँबाट बलदेव, आचार्यसहित जाकिर हुसेनको नाम पनि सिफारिस भएको माओवादी अर्घाखाँचीले जनाएको छ ।

    अर्घाखाँचीमा समानुपातिकतर्फ सुशिला श्रीपालीको एकल नाम सिफारिस भएको छ । प्रदेश सभा ‘क’ तर्फ ठाकुर कुमार बिक, पदम क्षेत्री, शोभाखर बन्जाडेको नाम सिफारिस भएको छ भने प्रदेश सभा ख मा बिबेक गैरे, टिकाबहादुर रेश्मी र भक्त बहादुर पुनको नाम सिफारिस भएको माओवादी अर्घाखाँचीले जनाएको छ ।

  • प्रचण्ड बुहारी बिना संघमा, पिए प्रदेशमा सिफारिस

    प्रचण्ड बुहारी बिना संघमा, पिए प्रदेशमा सिफारिस

    कैलाली । नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डकी बुहारी एवम् पूर्वमन्त्री बिना मगरलाई प्रतिनिधि सभामा र उनका स्वकीय सचिव (पिए) लाई प्रदेश सभामा सिफारिस गरेको छ ।

    कञ्चनपुर १ प्रतिनिधिसभाका लागि पूर्वमन्त्री मगर प्रत्यक्षतर्फ सिफारिस हुँदा उनका स्वकीय सचिव दीपक प्रसाद तिमिल्सिना प्रदेश सभाका लागि सिफारिस भएका छन् ।

    माओवादीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीले उनीहरुको नाममा सिफारिस गरेको हो । प्रदेशसभा सिफारिस हुने पूर्वमन्त्रीका स्वकीय सचिव तिमिल्सेना माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य पनि हुन् ।

    प्रत्यक्षतर्फ उनी सर्वसम्मत भने सिफारिस भएनन् । उनीसँगै कञ्चन गिरी, दीपक बिसी(आदर्श), भक्ता राना, लोकेन्द्र लम्साल पनि सिफारिस भएका छन् । उनीहरुमध्ये लम्साल राष्ट्रिय जनमोर्चा छाडेर माओवादी केन्द्रमा लागेका हुन् ।

    प्रदेश सभा क मा पाँच जना सिफारिस हुँदा ख तीन जना सिफारिस भएका छन् । यहाँ सिफारिस हुने पुष्कल चौधरी, राजेन्द्र जोशी र रामलाल राना हुन् ।

  • उद्योगीसँग प्रचण्डको प्रतिबद्धता- अब मेरो सम्पूर्ण जीवन आर्थिक सम्बृद्धि र विकासमा समर्पण (भिडिओ)

    उद्योगीसँग प्रचण्डको प्रतिबद्धता- अब मेरो सम्पूर्ण जीवन आर्थिक सम्बृद्धि र विकासमा समर्पण (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको चुनावपछि आफ्नो सम्पूर्ण ध्यान विकास र सम्बृद्धिको यात्रामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    नेपाल उद्योग परिसंघ (सिएनआइ)ले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचनपछि एकचोटी आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानूनमा आवश्यक सुधारसहित राजनीतिक दलहरुबीच सहकार्यबाट नयाँ उचाइमा पुर्‍याउने बताए ।
    अध्यक्ष प्रचण्डले अबको आफ्नो सम्पूर्ण जीवन आर्थिक विकास र सम्बृद्धिका लागि समर्पित गर्ने समेत बताए ।

    प्रचण्डले भने- समावेशी लोकतन्त्र र युनिक शान्ति प्रक्रियाका कारण अब राजनीतिक क्रान्ति पूरा भएको छ । अब चुनावपछि मेरो सम्पूर्ण जीवन आर्थिक सम्बृद्धि र विकास अनि सामाजिक न्यायको निम्ति समर्पित गर्छु ।

  • प्रचण्ड बुहारी विना कञ्चनपुर-१ बाट सर्वसम्मत सिफारिस

    प्रचण्ड बुहारी विना कञ्चनपुर-१ बाट सर्वसम्मत सिफारिस

    कैलाली । नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वमन्त्री विना मगरको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

    बिहीबार प्रतिनिधिसभाको लागि मगरको एकल नाम सिफारिस गरिएको हो । अघिल्लो पटक उनी कांग्रेस उम्मेदवार देवानसिंह विष्टलाई १९ हजार ५ सय ८४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य भएकी थिइन् ।

    ३९ हजार २१ मत प्राप्त गरेर मगर विजयी हुँदा विष्टले १९ हजार ४३७ मत ल्याएका थिए ।

    यस पटक पनि गठबन्धन भित्रै कांग्रेसबाट विष्ट र माओवादी केन्द्रबाट मगरको नाम सर्वसम्मत भएको छ । मगर २०७० सालको दोस्रो संविधान सभामा भने पराजित भएकी थिइन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् ।

    प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा मगर सिफारिस हुँदा जिउलाल चौधरी, प्रेम सिह बोहरा, मनोहर राना, मन्कु चौधरी, गोपाल काफ्ले, राम बहादुर देउकर(रक्तविज) र सीता विक समानुपातिकमा सिफारिस भएका छन् ।

    प्रदेश सभा क बाट कञ्चन गिरी, दीपक तिमिल्सिना, दीपक बिसी(आदर्श), भक्ता राना, लोकेन्द्र लम्साल प्रत्यक्ष र कृष्ण पण्डित, पदम परियार, फुल्लन राना, बिरबल विश्वकर्मा, भागुराम चौधरी, रिता विक समानुपातिकमा सिफारिस भएका छन् ।

    कांग्रेस छाडेर माओवादी गएका पुष्कल चौधरी, राजेन्द्र जोशी, रामलाल राना प्रदेश ख मा प्रत्यक्षमा उम्मेदवारका लागि सिफारिस गरिएका छन् । यसै गरी समानुपातिकमा गणेश सुनार, चन्द्र सिंह विक, नन्द्रकिशोर एसके, दिपा चौधरी र सहबिर सुनार सिफारिस भएका छन् ।