Category: माओवादी केन्द्र

  • माओवादी प्रभावित क्षेत्रमा कांग्रेसको उम्मेदवारी शून्य ! पार्टी झन् कमजोर हुने कार्यकर्ताको चिन्ता

    माओवादी प्रभावित क्षेत्रमा कांग्रेसको उम्मेदवारी शून्य ! पार्टी झन् कमजोर हुने कार्यकर्ताको चिन्ता

    रूपन्देही । माओवादी युद्वका वेला साविक राप्तीमा नेपाली कांग्रेस निशानामा परेको थियो । अहिले यहाँ माओवादीलाई छाडेर एक सीटमात्र पाउने भएपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा असन्तुष्टि बढेको छ ।

    सत्ता गठबन्धनभित्र प्रतिनिधिसभामा सीट बाँडफांँट गर्दा कांग्रेसले अहिलेको लुम्बिनीमा १२ सीट पाउने भए पनि युद्वमा संघर्ष गरेर पार्टी जोगाएको साविकको राप्तीमा एक क्षेत्रमा मात्र पाउने भएको छ ।

    लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनमा कांग्रेसले प्रतिनिधिसभातर्फ १२ सीट पाउने र अन्य पार्टीले बाँकी सीट लिने सहमति भएको कांग्रेस नेता गोविन्दराज पोखरेलले सार्वजनिक गरेका छन् ।

    पोखरेलका अनुसार सीट बाँडफाँटमा पुरानो राप्ती अञ्चलअन्तर्गतका जिल्लाहरु रुकुम पूर्व, रोल्पा, प्यूठान र दाङबाट कांग्रेसले प्रतिनिधिसभामा एक सीटमात्रै पाउने सहमति भएको छ । ‘हामीले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पुरानो राप्तीका ४ जिल्लाबाट दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मात्रै पाउने भएका छौं’, पोखरेलले भने ।

    २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनविरुद्ध लडेको कांग्रेसले लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीमा २, नवलपरासीमा १ र कपिलवस्तुमा २ गरी ५ सीटमा जीत हासिल गरेको थियो ।

    ‘यसपटक गठबन्धनका कारण कांग्रेसबाट धेरै साथीहरु उम्मेदवार हुन बन्चित हुनुभएको छ । तर, कम ठाउँमा उम्मेदवारी दिए पनि धेरै जनाले प्रतिनिधिसभामा जीत हासिल गर्नुहुनेछ’, पोखरेलले भने ।

    जनयुद्वका समयमा माओवादीसँग लडेर पार्टी जोगाएका क्षेत्रमा पार्टीको उम्मेदवारी नै नरहने र उही माओवादीका नेतालाई जिताउने गरी गठबन्धन भएकाले पार्टीको अस्तित्व झनै कमजोर हुने र नेतृत्वले यसमा विवेक पुराउन नसकेको कांग्रेस कार्यकर्ता दीपक पन्थी बताउँछन् ।

  • प्रचण्डको निधार खाली, छोरी बुहारी र नातिनालाई लगाइदिए टीका

    प्रचण्डको निधार खाली, छोरी बुहारी र नातिनालाई लगाइदिए टीका

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइएका दिए ।

    खुमलटारस्थित प्रचण्ड निवासमा टीकाटालोको फोटो छोरी गंगा दाहालले सार्वजनिक गर्दा प्रचण्डको निधारमा भने टीका छैन ।

    त्यस्तै बिरामी भएका कारण सीता दाहाल पनि देखिएकी छैनन् ।

    शान्ति प्रक्रियामा आएको केही वर्षपछि प्रचण्ड परिवारमा दशैं मनाउने गरिएको हो ।

    प्रचण्डका पिता मुक्तिराम दाहालले शान्ति प्रक्रियापछि छोरासँगै दशैं मनाएका थिए । उनको निधन भइसकेको छ ।

  • चितवन नछाड्न प्रचण्डलाई गठबन्धन दलहरूको अपिल

    चितवन नछाड्न प्रचण्डलाई गठबन्धन दलहरूको अपिल

    काठमाडौं । गठबन्धन दलका नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन नछाड्न आग्रह गरेका छन् ।

    प्रचण्डले चितवन छाडेर गोरखाबाट चुनाव लड्ने तयारी गरेपछि चितवनबाट गठबन्धनका दलका नेताहरूले यस्तो आग्रह गरेका हुन् ।

    दलहरूले संविधान, लोकतन्त्र र विकासका लागि निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक भएको उल्लेख गर्दै चितवनलाई अभिभावकीय भूमिका निर्वाचन गर्न अपिल गरेका छन् ।

    कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षमा बसेको बैठकमा माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एसका अध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विष्णु पौडेल र जसपाका अध्यक्ष प्रेमराज भुजेल लगायतको सहभागिता थियो ।

  • इटहरीमा ‘नील’ भएको माओवादीलाई द्वारिकले बलियो बनाउलान् ?

    इटहरीमा ‘नील’ भएको माओवादीलाई द्वारिकले बलियो बनाउलान् ?

    इटहरी । २०४९ को स्थानीय चुनावको संघारमा धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार पढेर शिक्षक जागिर खाँदै गरेका युवा द्वारिकलाल चौधरीलाई एमालेले दुई उपहार दियो- एक हातमा संगठित सदस्यता र अर्को हातमा सुनसरीको हाँसपोसा गाविस अध्यक्षको टिकट । यी दुवै अवसर दिलाउने नेता थिए सुनसरी एमालेका तत्कालीन सचिव भीम आचार्य । थारु बाहुल्य वडामा मत तान्न थारु युवालाई खोजखाज गरेर टिकट दिएका थिए आचार्यले । उनको चलाखीले काम गर्‍यो द्वारिकलालले २०४९ र २०५४ दुवै चुनावमा बाजी मारे ।

    सुनसरीको एक गुमनाम गाविसको अध्यक्ष जितेका द्वारिकले इटहरी उपमहानगरपालिका भएपछि पनि मेयरको टिकट पाए । उनी दुई कार्यकाल अध्यक्ष भइसकेको हाँसपोसा गाविस २०७१ मा उपमहानगरमा गाभियो । उनले इटहरीको प्रथम मेयर जिते । एमालेले उपमेयर पनि जित्यो ।

    २०७९ को स्थानीय चुनावमा पुन: मेयर लड्ने चाहनामा थिए उनी । आफूनिकटलाई भन्थे, ‘मैले टिकट माग्दै पर्दैन । टिकट मलाई खोज्दै आउँछ ।’ आफू ‘चर्चित’ मेयर भएकोले मेयर टिकट स्वतः पाउने बताइरहेका उनलाई एमालेले टिकट दिएन । चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएको थियो । उसो त एमालेले टिकट नदिए नेकपा एसबाट पनि उठ्न तयार थिए द्वारिक । तर, गठबन्धनको भागबण्डाका क्रममा कांग्रेसले यहाँको मेयर टिकट हत्यायो । टिकटमा हौसिएका चौधरी केपी ओली सहभागी चुनावी सभामा पुगे र नेकपा एसका उपमेयर उम्मेदवार केशव विष्टलाई ‘भ्रष्ट’ र कांग्रेसबाट मेयर उम्मेदवार हेमकर्ण पौडेललाई ‘जरासन्द राक्षस’ भन्न भ्याए ।

    इटहरीको चुनावका निर्णायक वडाहरू २, ४ र ५ मा पहिलोपटक कांग्रेसका मेयर उम्मेदवारले लिड गर्न थालेपछि द्वारिकलाल चौधरीले सामाजिक सञ्जालमा खुसी साट्न थाले । कमेन्टहरूमा कार्यकर्ताले गरेको प्रश्नमा उनले एमालेका मेयर उम्मेदवार यामकुमार सुब्बाले हार्नुपर्ने जवाफ फर्काएका थिए । ‘यारेल’ भन्दै उनले याम सुब्बा, रेवतीरमण भण्डारी र लक्ष्मी गौतमको उछितो काडिरहे । ५ हजारभन्दा बढी मतान्तरका साथ एमालेले मेयर हार्‍यो । तर, उपमेयरसहित १४ वडामा जित्यो ।

    ७४ मा ८ वडा मात्रै जितेको एमालेले १४ वडा जित्यो । द्वारिकको गृहवडा १७ नम्बरमा पनि वडाध्यक्ष एमालेले जित्यो । पार्टी हार्दा खुसी जनाएको भन्दै एमाले इटहरी सचिव रुपेश बस्नेतले सार्वजनिक रूपमै प्रश्न गरे, ‘तपाईँ कतिमा बिक्री हुनुभयो ?’ द्वारिकलालले त्यसको उत्तर दिएनन् । तर, मेयर भएका हेमकर्ण पौडेलले केही मञ्चमा चौधरीलाई च्याप्न थालेपछि एमालेमा उनको ‘स्पेस’ झन् घट्न पुग्यो ।

    स्थानीय चुनावअघि एमाले सुनसरीको नेतृत्वको चुनावमा द्वारिकलाले लज्जास्पद हार ब्योहोरे । २२ सय ८० प्रतिनिधि भएको जिल्ला अधिबेशनमा उनले ८० मत मात्रै ल्याए । उनलाई आफ्नै नेता-कार्यकर्ताले सामाजिक सञ्जालमा ‘असीलाल’ उपनाम दिन थालेका थिए । एमालेजनले द्वारिकलाल र द्वारिकलालले एमाले मन नपराउने सिलसिला चलिरह्यो ।

    मंसिर ४ को चुनावमा पनि टिकट नपाउने बुझेपछि चौधरी माओवादी प्रवेश गरेको बताइएको छ । सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट उठ्ने उनको तयारी छ । निकट स्रोत अनुसार सुरूमा ‘टिकट फिक्स’ भए कांग्रेस जान खोजेपनि सम्भावना टरेपछि उनले माओवादी रोजेका हुन् ।

    आइतबार खुमलटारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वमेयर चौधरीलाई पार्टीमा स्वागत गरे । माओवादीमा भित्र्याउँदै प्रचण्डले चौधरीको पार्टी प्रवेशले विशेष अर्थ राख्ने दाबी गरेका थिए ।

    ‘पार्टी प्रवेश त धेरै हुने गरेका छन् । तर, आजको यो पार्टी प्रवेशको विशेष वैचारिक सांगठानिक अर्थ र महत्व छ । द्वारिक चौधरी इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित हुनुन्छ । क्रान्तिकारी ढंगले उहाँले गर्नुभएको कामले जनतामा आकर्षण बढ्दै गएको छ’, प्रचण्डले फुर्क्याएका थिए ।

    एमालेको विभिन्न जिम्मेवारीमा रहेको मान्छे माओवादीमा आउनुले परिवर्तन र क्रान्तिकारीको पक्षमा सही फैसला भएको प्रचण्डले बताए ।

    उनले भने, ‘एमालेको त्यत्रो जिम्मेवारी सम्हालेको व्यक्ति माओवादीमा प्रवेश गर्नु विशेष राष्ट्रिय अर्थ छ । चुनावको विशेष मौका प्रतिगमनले पटकपटक टाउको उठाउन गरिराखेको जमर्कोलाई चोटिलो प्रहार गर्दै परिवर्तन र क्रान्तिको पक्षमा सही फैसला लिनुभएको छ । तपाईँको भूमिका दह्रो र राम्रो बनाउनेमा पूरै पार्टीको सहयोग हुन्छ ।’

    माओवादी प्रवेशले इटहरीमा द्वारिक कि माओवादीलाई फाइदा ?

    जनगणना २०५८ अनुसार इटहरीको जनसंख्या ४१ हजार २ सय १० थियो । १० वर्षपछि २०६८ मा यो १ लाख ४० हजार ५ सय १७ पुग्यो । १० वर्षमा एक लाख हाराहारी जनसंख्या बढ्नुको प्रमुख कारक माओवादी सशस्त्र युद्ध थियो । इटहरीमा नेपाली सेनाको पूर्वी पृतनादेखि सशस्त्रको पूर्वी मुख्यालय भएकाले पहाडबाट द्वन्द्वपीडित, माओवादीका कारण विस्थापित सुरक्षा खोज्दै इटहरी ओर्लिए । २०७८ मा आएर यहाँको जनसंख्या १ लाख ९८ हजार ९८ पुगेको छ ।

    द्वन्द्वप्रभावित तथा पीडितहरूको मुकामजस्तै भएकोले यहाँ माओवादीको जनमत राम्रो नभएको राजनीतिलाई नजिकबाट नियाल्नेको विश्लेषण छ । पहिलो संविधानसभामा देशभर बलियो प्रस्तुति गरेको माओवादी इटहरी क्षेत्रमा पराजित नै भयो । स्थानीय चुनाव २०७४ मा इटहरीमा जम्माजम्मी वडा नम्बर १० मा एक सदस्य जितेको थियो । पछि उनी पनि एमाले प्रवेश गरे । २०७४ को चुनावमा माओवादी मेयर उम्मेदवारको मतलाई उछिन्दै राप्रपा तेस्रो भएको थियो ।

    भर्खरै सकिएको स्थानीय चुनावमा पाँचदलीय गठबन्धन हुँदा वडा नम्बर १० र १८ अध्यक्ष टिकट पाएको माओवादीले त्यो पनि गुमायो ।

    अहिले द्वारिकलालले आकांक्षा देखाएको सुनसरी २ (क) मा इटहरीमा वडा नम्बर १, २, ३, ४, ५ र १६, १७, १८, १९ र २० छन् । सीमावर्ति रामधुनी नगरपालिकाको वडा नम्बर ३ र ५ पनि यही क्षेत्रमा पर्छ ।

    वैशाख ३० को स्थानीय निर्वाचनमा वडा नम्बर १८ मा एमालेका उम्मेदवार रामकुमार चौधरीले गठबन्धनका तर्फबाट माओवादीका राजदेव चौधरीलाई पराजित गरेका थिए । रामकुमारले ११६६ मत र राजदेवको ७१६ मत आएको थियो ।

    रामधुनी वडा नम्बर ५ मा नेपाली कांग्रेस तथा वडा नम्बर ३ एमालेले जितेको ५ । वडागत हिसाबले हेर्दा इटहरीका २ (क) मा पर्ने १० वडाहरूमा वडा नम्बर १, २० मात्रै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको जित भएको छ । रामधुनीमा एक-एक वडा एमाले र गठबन्धनको छ । अर्थात् सुनसरी क्षेत्र नम्बर २ (१) मा पर्ने १२ वडामा एमालेले ९ र कांग्रेसले ३ वडा जितेका छन् । माओवादी नील छ । गठबन्धन हुँदा पनि नील भएको माओवादीमा प्रवेश गरेर द्वारिकलालले राजनीतिक जोखिम लिएका छन् ।

    ‘द्वारिकलाल चौधरीले सुनसरी यहाँ उठ्दा थारु मतदाताको आश गरेको देखिन्छ । तर, यहाँ आठ हजार हाराहारी मात्रै थारु मतदाता छन् अहिले जित्नलाई ३० हजार हाराहारी ल्याउनुपर्छ ’, एमाले सुनसरी जिल्ला नेता तथा इटहरीका स्थानीय होमनाथ घमला भन्छन् ।

    एमालेमा इन्ट्रीदेखि निरन्तर स्थानीय सत्तामा भएपनि उनले नयाँ पुस्ताका थारु नेता नजन्माएको टिप्पणी धमलाको छ । पहाडबाट बसाइँ सरेर आएकाहरूलाई ‘छ धुरे’ र ‘दश धुरे’ अपमान गरेको देखि विभिन्न विवादास्पद विगतले द्वारिकलाई मतदाताको मन जित्न त्यति सहज नभएको उनको बुझाइ छ ।

    ‘इटहरीको कमजोर जनाधार भएको माओवादीका अब सबैभन्दा बलिया नेता द्वारिक नै हुन् किनभने अरु नेताको जनमतै छैन । तर, गठबन्धन हुँदा पनि प्रदेश सांसद जित्ने अवस्था कुनै कोणमा पनि छैन’, दाबी गर्दै धमला थप्छन्, ‘द्वारिकको माओवादी प्रवेशले उनलाई भन्दा धेरै फाइदा माओवादीलाई छ ।’

  • प्रदेश सभाको टिकट माग्न मुख्यमन्त्री भट्ट काठमाडौंमा नेता चाहर्दै !

    प्रदेश सभाको टिकट माग्न मुख्यमन्त्री भट्ट काठमाडौंमा नेता चाहर्दै !

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अन्ततः फेरी प्रदेश सभाका आकाङ्क्षी भएका छन् । यस अघि प्रतिनिधि सभाको उम्मेदवार बन्ने भन्दै जिल्लाबाट एकल सिफारिसमा परेका भट्टले अहिले प्रदेश सभामा चासो देखाएका हुन् ।

    एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा मुख्यमन्त्री भट्ट सहित नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेको थियो ।

    अहिले उक्त क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा पर्ने देखिएपछि मुख्यमन्त्री भट्ट फेरी प्रदेशमा झर्ने योजना बनाएका हुन् । उनले केही समय अघि सम्म आफू संघीय निर्वाचनमा प्रत्यक्षबाट उम्मेदवार बन्ने नभए समानुपातिक बाटो रोज्ने बताएका थिए ।

    उनकै चाहना अनुसार माओवादी केन्द्र डोटी जिल्ला समन्वय समितिले गत भदौ २२ गते प्रतिनिधि सभा उम्मेदवारका लागि भट्टको नाम एकल रूपमा सिफारिस गरेको थियो। यस्तै, समानुपातिक तर्फ ९खस आर्य० मा उनको नाम पहिलो नम्बरमा नै सिफारिस गरिएको थियो ।

    अहिले समानुपातिक तर्फबाट पनि प्रतिनिधि सभा सदस्य हुने सुनिश्चित नभएपछि प्रदेश सभामै उनको मन मोडिएको हो । स्रोतका अनुसार समानुपातिकको पहिलो र दोस्रो नम्बरमा आउन चाहेका भट्टले त्यो सम्भव नदेखेपछि कागज पत्र नै बुझाएनन्।

    ‘उहाँले (मुख्यमन्त्रीले) पहिलो वा दोस्रो नम्बरमै बस्न खोज्नु भएको थियो त्यो सम्भव भएन अनि कागजात नै दिनुभएन’ माओवादी उच्च स्रोतले बतायो ।

    मुख्यमन्त्री प्रतिनिधि सभा प्रवेश गर्ने दुवै बाटो बन्द भएपछि प्रदेश सभाको लागि लबिङमा लागेका छन् । १० गते अघि काठमाडौँ पुगेका भट्टले ५ पटक सम्म टिकट सारेर नेताहरूसँग भेटघाट गरिरहेको माओवादी स्रोतको दाबी छ ।

    ‘उहाँ १२ गते फर्किने भनेर काठमाडौँ आउनु भएको हो तर, ५ पटक सम्म टिकट सारेर नेताहरूलाई भेटिरहनु भएको छ’ माओवादी स्रोतले भन्यो ‘सबैलाई भेटेर पुन प्रदेश सभाको लागि टिकट मागिरहनु भएको छ ।’

    अहिले सम्म उनले माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन शक्ति बस्नेत उपराष्ट्रपति नन्द किशोर पुन लगायतका नेतालाई भेटेर प्रदेश सभाको लागि इच्छा’ जाहेर गरेको स्रोतको दाबी छ ।

    प्रतिनिधि सभामै केन्द्रित भएका भट्ट प्रदेश सभा तर्फ पनि इच्छा राखेपछि अहिले डोटीमा माओवादी केन्द्र भित्रै विवाद सुरु भएको छ ।

    आगामी निर्वाचन पछि माओवादीले सरकार बनाउने अवस्था आए मुख्यमन्त्रीका लागि खगराज भट्टको नाम अघि सारिएको छ । डडेल्धुरामा तीन पटक सम्म शेरबहादुर देउवासँग पराजित भट्टलाई प्रदेशमा लडाएर मुख्यमन्त्री बनाउने आश्वास देउवाले नै दिएका छन् ।

    मुख्यमन्त्री बन्ने सम्भावना नभए पनि फेरी प्रदेश सभा तर्फ केन्द्रित भएको भन्दै मुख्यमन्त्री भट्टको आलोचना हुन थालेको छ ।

    २०७४ सालको निर्वाचनमा भट्ट डोटी प्रदेश सभा ९ख० बाट विजयी भएका थिए। वाम गठबन्धनका साझा उम्मेदवार रहेका भट्टले नेपाली कांग्रेसका योगेन्द्र बहादुर शाहीलाई २ हजार ४९६ को मतान्तरले पराजित गरेका थिए। भट्टले १६ हजार ९१ मत प्राप्त गरेका थिए भने कांग्रेसका शाहीले १३ हजार ५९५ मत प्राप्त गरेका थिए ।

    यस पटक पनि भट्ट डोटी प्रदेश सभा ९ख० बाट उम्मेदवार हुन खोजेका हुन्। माओवादी केन्द्र डोटीले भने प्रदेश सभा (ख) का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती र प्रेम कुँवरको नाम सिफारिस गरेको छ। प्रदेश सभा क भने नेपाली कांग्रेसले पाउने भएको छ । यस अघि पनि यहाँ बाम गठबन्धनका उम्मेदवारलाई हराएका कांग्रेसका भरत खड्का विजयी भएका थिए ।

  • माओवादीको समानुपातिक बन्दसूचीबाट उपाध्यक्ष महराको नाम हटाइयो

    माओवादीको समानुपातिक बन्दसूचीबाट उपाध्यक्ष महराको नाम हटाइयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।

    निर्वाचन आयोगले समानुपातिकको बन्द सूचीमा रहेकाहरूको नाम सच्याउन दिएको अन्तिम समयमा आएर महराको नाम हटाएको हो ।

    महराको नाम हटाइएको माओवादी स्रोतले पुष्टि गरेको छ । तर महरा प्रत्यक्ष चुनाव नलड्ने भएका छन् ।

    २०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएको थियो ।

    महराकै इच्छामा नाम हटाइएको स्रोतले जनाएको छ ।

  • माओवादीका सांसद छक्कबहादुर लामा एमालेमा प्रवेश

    माओवादीका सांसद छक्कबहादुर लामा एमालेमा प्रवेश

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । बालकोटमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरे ।

    २०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जितेका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए ।

    २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका लामा जिल्लाका प्रभावशाली र लोकप्रिय नेता मानिन्छन् ।

    उनीसहितको टिमलाई एमालेले प्रवेश गराएर टिकट दिन लागेको छ ।

    यसअघि नै जिल्लाका प्रभावशाली माओवादी नेता छिमी लामाको टिम एमालेमा प्रवेश गरिसकेको छ ।

    तस्बिर : उमेश कार्की । 

  • प्रचण्डको सचिवालयले भन्‍यो- योग्य र सक्षम सबैको उम्मेदवारी असम्भव, घात-प्रतिघात गर्ने छुट छैन

    प्रचण्डको सचिवालयले भन्‍यो- योग्य र सक्षम सबैको उम्मेदवारी असम्भव, घात-प्रतिघात गर्ने छुट छैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले गठबन्धनका कारण योग्य र सक्षम नेताहरू हुँदाहुँदै उम्मेदवार बन्न सम्भव नभएको स्वीकार गरेको छ ।

    सचिवालयमा रहेकी प्रचण्डपुत्री गंगाले सामाजिक सञ्जालमार्फत प्रतिगमनलाई परास्त गर्न जित्नैपर्ने र गठबन्धनका दलहरूलाई समेत जिताउनुपर्ने अनिवार्यता भएको जिकिर गरेकी छन् ।

    ‘हामीलाई असन्तुष्टि या अन्य बहानामा निष्क्रिय बन्न या निर्वाचनमा घात प्रतिघात गर्ने छुट छैन । पार्टीले यिनै तथ्यलाई मनन गर्दै भए गरेका निर्णयहरूलाई सक्रियतासाथ पालना गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी पनि हो’, उनले लेखेकी छन् ।

    समानुपातिक उम्मेदवारको बन्दसूचीको काम टुंगिएको र अब केही दिनमा सीट बाँडफाँटसँगै उम्मेदवारीको समेत टुंगो लाग्ने उनले जानकारी गराएकी छन् ।

    ‘एउटा जीवन्त पार्टीभित्र उम्मेदवारको आकांक्षा राख्ने, जनतामाझ आफूलाई योग्य साबित गर्ने चाहना धेरै कमरेडको हुनु स्वभाविकै हो । तर, धेरै योग्य र सक्षमहरू भएको हाम्रो गौरवशाली पार्टीमा सबैले उम्मेद्वार बन्नु सम्भव थिएन र छैन पनि । त्यसैले यसपटक पार्टीले केही निश्चित मापदण्डका आधारमा उम्मेदवारको सिफारिस गर्न मातहतका कमिटीहरूलाई निर्देशनसमेत गरेको थियो ।’

    शुद्धतावाद भन्दा सापेक्षतावादमा विश्वास राख्दै निर्वाचनको महाअभियानमा पार्टीको इतिहासलाई मनन गरेर सक्रियताका साथ माओवादीलाई पहिलो दल बनाउन उनले आग्रह पनि गरेकी छन् ।

  • पदमुक्त सभामुखले छाडेनन् झण्डा र डण्डा, सचिवालयले असोजको तलब भत्ता नदिने

    पदमुक्त सभामुखले छाडेनन् झण्डा र डण्डा, सचिवालयले असोजको तलब भत्ता नदिने

    काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल सकिएपछि स्वतः पदमुक्त भएका सभामुख अग्नि प्रसाद सापकोटाले पदीय हैसियतमा प्राप्त सेवा सुविधा त्याग्न अस्वीकार गरेका छन् ।

    संविधान बमोजिम प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयनको अघिल्लो दिनबाट सभामुख र उपसभामुख पदमुक्त हुने भनिएको छ । त्यस अनुसार बन्द सूची पेश भएको असोज २ को अघिल्लो दिन अर्थात् असोज १ गते रातिदेखि सभामुख पदमुक्त भइसकेका छन् ।

    तर सापकोटा आइतबार बडा दशैंको फूलपाती बढाइँका क्रममा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा आयोजित समारोहमा पनि सभामुखकै हैसियतमा सहभागी भए । उनी सभामुखको सरकारी गाडी बा १ झ ८२२९ नम्बरको सवारीमा थिए ।

    सापकोटाले यसअघि सभामुखकै हैसियतमा व्यवस्थापन समिति बैठक बोलाएर कर्मचारीको सरुवा बढुवा गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए ।

    यो पनि पढ्नुहाेस् : सेटिङको शासन- बहालवाला प्रधानन्यायाधीशलाई डण्डा, पदमुक्त सभामुखलाई झण्डा !

    उनले निर्वाचन आयोगलाई पनि सभामुख र उपसभामुखको कार्यकाल कहिलेसम्म हो भनेर पत्र लेखेकोमा आयोगले बन्द सूची पेश भएपछि पदमुक्त भएको भन्दै यसको व्याख्या आयोगले नगर्ने बताएको थियो । सभामुखकोविरुद्ध सर्वोच्चमा रिट सुनुवाइकै क्रममा छ ।

    यसैबीच संसद् सचिवालयले सभामुख सापकोटा र उपसभामुख पुष्पा भुसाललाई असोज १ गतेपछिको तलब भत्ता भने नदिने भएको छ ।

    महालेखा र अख्तियारले समेत हेर्ने भएकाले बेरुजु मानिने सुविधा नदिइने सचिवालय स्रोतले जनाएको छ ।

  • द्वारिकलाललाई भित्र्याउँदै प्रचण्डले भने- एमालेको त्यत्रो मान्छे आउनु विशेष राष्ट्रिय अर्थ छ (भिडिओ)

    द्वारिकलाललाई भित्र्याउँदै प्रचण्डले भने- एमालेको त्यत्रो मान्छे आउनु विशेष राष्ट्रिय अर्थ छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले माओवादीमा आउने सही फैसला लिएको बताएका छन् ।

    आज खुमलटारस्थित निवासमा चौधरीलगायतलाई पार्टीमा भित्र्याउँदै उनले चौधरीको पार्टी प्रवेशले विशेष अर्थ राख्ने दाबी गरे ।

    ‘पार्टी प्रवेश त धेरै हुने गरेका छन् । तर, आजको यो पार्टी प्रवेशको विशेष वैचारिक सांगठानिक अर्थ र महत्व छ । द्वारिक चौधरी इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित हुनुन्छ । क्रान्तिकारी ढंगले उहाँले गर्नुभएको कामले जनतामा आकर्षण बढ्दै गएको छ’, प्रचण्डको भनाइ थियो ।

    क्रान्तिकारी पार्टीको खोजी गर्दै एमालेको विभिन्न जिम्मेवारीमा रहेको मान्छे माओवादीमा आउनुले विशेष राष्ट्रिय अर्थ राख्ने पनि उनले बताए ।

    प्रचण्डले भने, ‘एमालेको त्यत्रो जिम्मेवारी सम्हालेको व्यक्ति माओवादीमा प्रवेश गर्नु विशेष राष्ट्रिय अर्थ छ । चुनावको विशेष मौका प्रतिगमनले पटकपटक टाउको उठाउन गरिराखेको जमर्कोलाई चोटिलो प्रहार गर्दै परिवर्तन र क्रान्तिको पक्षमा सही फैसला लिनुभएको छ । तपाईँको भूमिका दह्रो र राम्रो बनाउनेमा पूरै पार्टीको सहयोग हुन्छ ।’

    नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि चौधरी माओवादी प्रवेश गरेको बताइएको छ । चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएन । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवारको आकांक्षी छन् ।

  • इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश

    इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश

    काठमाडौं । । इटहरी उपमहानगरपालिका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आज बिहान
    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा पुगेर माओवादी प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र खादा लगाएर स्वागत गरे ।

    नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि माओवादी प्रवेश गरेको बताइएको छ । चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएन । त्यसपछि पनि संसदीय चुनावमा प्रदेशसभा भए पनि खाने भनेर बसेका चौधरीले त्यो संकेत नपाएपछि माओवादीबाट उम्मेदवार बन्न लागेका हुन् ।

    चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् । सो क्षेत्रमा यसअघि एमालेका सर्वध्वज साँवाले जितेका थिए ।

    गठबन्धनमा प्रतिनिधिसभाको सीट कांग्रेसको भागमा परेको छ । प्रदेशसभातर्फ पनि सो क्षेत्रका ख बाट कांग्रेसका राजीव कोइरालाले जितेका थिए । प्रदेशसभा क तर्फ नेकपा एसले पनि दावी गरेको छ ।

     

     

  • दशैंको शुभकामना दिँदै प्रचण्डले भने- चुनावमा प्रतिगमनविरोधि शक्तिलाई जिताउनुस्

    दशैंको शुभकामना दिँदै प्रचण्डले भने- चुनावमा प्रतिगमनविरोधि शक्तिलाई जिताउनुस्

    काठमाडौं । नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा प्रतिगमनविरोधि शक्तिलाई जिताउन अपिल गरेका छन् ।

    दशैंको शुभकामना दिँदै अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ गते हुनगइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन अपील गरेका हुन् ।

    उनले जारी गरेको शुभकामना सन्देशमा भनेका छन्,‘सांस्कृतिक पर्वहरुको श्रृङ्खला भित्र अब हामी प्रादेशीक र संघीय निर्वाचनको संघारमा पनि छौं । आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु । ’

    देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व भएको बताएका छन् । हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको बताए ।

     

  • प्रचण्डका लागि चितवन- ३ भन्दा गोरखा- २ जोखिममुक्त क्षेत्र

    प्रचण्डका लागि चितवन- ३ भन्दा गोरखा- २ जोखिममुक्त क्षेत्र

    काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड के गोरखाबाट चुनाव लड्दैछन् ? पार्टीभित्रै नेताहरु अन्योलमा देखिएका छन् । डा.बाबुराम भट्टराईले चुनाव नलड्ने मनस्थिति बनाएसँगै गोरखा- २ मा प्रचण्डको चर्चा चलेको छ ।

    नेपाली कांग्रेसका नेताहरुले गोरखा- २ मा प्रचण्ड आउने चर्चा चलाएपछि माओवादी पंक्ति पनि तरंगित भएको छ । केही समयअघि गोरखा पुगेर आफू चितवन- ३ मै निर्वाचन लड्ने बताएका थिए ।

    पार्टीका स्थानीय समितिहरूले गोरखाबाट आफ्नो नाम सिफारिस गरेपछिको प्रतिक्रियास्वरुप प्रचण्डको यस्तो अभिव्यक्ति आएको थियो ।

    स्थानीय तह निर्वाचनअघि अध्यक्ष प्रचण्ड चितवन छाडेर अन्यत्र सुरक्षित सीट खोजिरहेका थिए भन्नेहरुलाई गोरखामा स्थानीय तह निर्वाचनले माओवादीलाई दिएको सफलतासँगै प्रचण्डको चर्चा चलेको थियो ।

    गठबन्धनको बैशाखी नटेकी चितवनमा जित्ने स्थिति नदेखेका उनका लागि स्थानीय निर्वाचनले भने साहस भर्ने काम गरेको थियो ।

    चितवनमा स्थानीय निर्वाचनमा गठबन्धन सफल भएपछि संसदीय निर्वाचनमा झन् सहज हुने उनको अनुमान थियो । त्यही कारण गोरखा पुगेर फेरि चितवन- ३ मा नै लड्ने अभिव्यक्ति दिएका थिए ।

    पछिल्ला केही दिनयता स्थिति फेरिएको छ । गठबन्धनको बलियो सहयात्री कांग्रेसभित्रको विवादले आकार लिँदै गएको छ । जसको असर आफूतिर नै सोझिन थालेपछि प्रचण्ड स्वयंले चितवन- ३ को विकल्प खोज्न थालेको चर्चा चले पनि माओवादी चितवनका अध्यक्ष आरसी अधिकारीले भने अध्यक्षले चितवनबाटै चुनाव लड्ने बताएका छन् ।

    यद्यपि गोरखा- २ प्रचण्डलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नै सहज पारिदिएका छन् । भट्टराई आफैंले प्रत्यक्ष नलड्ने मनस्थितिमा पुगेको बताएपछि उनको रिक्त सीट गोरखा- २ मा प्रचण्ड लड्नुपर्ने माग स्थानीय कार्यकर्ताले गर्न थालेका छन् ।

    अध्यक्ष प्रचण्ड हार्न नहुने त्यसका लागि एक्लै लड्दा पनि सुरक्षित हुने सीटमा नै लड्नुपर्ने कार्यकर्ताको जोडबल छ । यस्तै सहज जीत हुने सीटमा नै लड्दा अध्यक्षले देशभरका निर्वाचनमा सहभागी हुन पाउने भन्दै गोरखा- २ मा नै लड्नुपर्ने कार्यकर्ताको तर्क छ ।

    प्रचण्डले चितवन नछाड्ने भने पनि गोरखा- २ चितवनभन्दा धेरै सहज मानिएको छ उनको जीतका लागि । माओवादी एक्लै जित्ने सो क्षेत्रमा बाबुराम समेत थपिएपछि कांग्रेसको समर्थन नै नभए पनि प्रचण्ड सहज जित्ने अवस्था छन् ।

    त्यसो त चितवनको जनमत स्वीङ हुनसक्ने खालको छ । स्वतन्त्र उम्मेदवारहरु तथा एमाले राप्रपा फ्याक्टरका साथै कांग्रेसकै भुईंकटहर समूहसमेत सक्रिय रहेकाले चितवनभन्दा गोरखा प्रचण्डका लागि जोखिममुक्त क्षेत्र रहेको नेताहरु बताउँछन् ।

    चितवन- ३ र गोरखा- २ कुन सुरक्षित ?

    प्रचण्डको पुरानो क्षेत्र चितवन- ३ मा माओवादी केन्द्र एक्लै जित्नसक्ने देखिन्न । यहाँ उनी २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनबाट जितेका थिए । उतिबेला उनले ४८ हजार २७६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेससँगको तालमेलमा लडेका राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए ।

    यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वडा र सिंगो माडी नगरपालिका समावेश छ ।

    गएको स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनबाट प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगरकी मेयरमा पुनः निर्वाचित भएकी छन् । यद्यपि उनको जीत गठबन्धनकै भरमा सम्भव देखिएको वडागत नतिजाले पनि देखाउँछ ।

    प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरका १९ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेसले जितेको छ । यस्तै एमाले र माओवादी केन्द्रले ३/३ वडा जितेका छन् भने नेकपा एसले २ वटा र १ वटा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

    यस्तै माडी नगरपालिकामा राप्रपा र एमालेको गठबन्धनबाट एमालेले मेयर जितेको छ । उपमेयर भने कांग्रेसले जितेको छ । वडागत नतिजामा माओवादी केन्द्रले ४, राप्रपा र नेकपा एसले २/२ तथा एमालेले एउटा जितेको छ ।

    योसँगै प्रचण्डको यो निर्वाचन क्षेत्रका २८ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेस, ७ वडा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एस ४/४ वडा, राप्रपा २ र स्वतन्त्र १ वडा जितेका छन् ।

    वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले पहिलो देखिन्छ । उसका वडाध्यक्षका उम्मेदवारहरूले कुल २९ हजार ७७१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारहरूले २९ हजार ३४३ मत प्राप्त गरेका छन् ।

    माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले जम्मा १० हजार ९४० मतमात्रै प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारहरूले ६ हजार १९८ मत पाएका छन् ।

    नेकपा एसका वडाध्यक्ष उम्मेदवारहरूले यो क्षेत्रमा ५ हजार ३७ मत पाएका छन् भने जसपाले ७२ मत बटुलेको छ । वडामा गठबन्धनका साझा उम्मेदवार भएकाले एमालेको मत बढी देखिएको हो ।

    सत्तारूढ गठबन्धनले सरासर मत दिए यहाँ प्रचण्डको जीत सुरक्षित देखिन्छ । तर, कांग्रेसका आधा मतदाताले नै मत नदिने हो भने प्रचण्डका लागि यो चुनाव घातक बन्नसक्छ ।

    कांग्रेसभित्रकै समीकरणअनुसार पनि यहाँ शेखर-गगन समूह नै बलियो छ । अहिले कांग्रेसभित्रको विवाद बढ्दै जाँदा यो समूहले गठबन्धनलाई भोट नदिने रणनीति अख्तियार गर्ने खतरा बढेको छ ।

    आफ्नो समूहले पाउने सीट गठबन्धनकै कारण गुमेको र अन्यायमा परेको सो समूहको बुझाइ छ । यस समूहका युवा नेता गुरुराज घिमिरेले आफूमाथि न्याय नभए प्रचण्डसँगै निर्वाचन लड्ने उद्घोष नै गरिसकेका छन् ।

    उता चितवन- ३ का तुलनामा गोरखा- २ मा माओवादी केन्द्र निकै बलियो छ । यहाँ वडागत मतमा माओवादी केन्द्र २२ हजार २५० मतसहित पहिलो छ ।

    दोस्रोमा गठबन्धनकै दल कांग्रेस छ । जसको २१ हजार १३६ मत छ भने बाबुराम भट्टराईको पार्टीसँग ७ हजार ५०४ मत छ । यहाँ कांग्रेसका आधा भोट नपाए पनि प्रचण्डले सहज जीत निकाल्नसक्ने आँकडा छ । विपक्षमा रहेको एमालेसँग ७ हजार ९२६ र राप्रपासँग ८७८ मतमात्रै छ ।

    यो निर्वाचन क्षेत्रमा पालुङटार नगरपालिकाका १०, सिराञ्चोक गाउँपालिकाका ८, अजिरकोट गाउँपालिकाका ५, बारपाक सुलिकोट गाउँपालिकाका ८ वटा वडा र गोरखा नगरपालिकाका वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ गरी ७ वडा समावेश छन् ।

    यो क्षेत्रमा स्थानीय निर्वाचनमा माओवादी केन्द्र जबरजस्त रुपमा हावी देखिएको छ । यो क्षेत्रमा समेटिएका पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र गोरखा नगरपालिकामा उसले जीत निकाल्दा सिराञ्चोक गाउँपालिकामा मात्रै कांग्रेस जितेको छ ।

    ३८ वटा वडामध्ये १८ वटा माओवादी केन्द्रले जित्दा कांग्रेसले १७ वटा जितेको छ । बाँकी ३ वटा वडा जसपाले जितेको छ । जसपाको त्यो शक्ति भनेको बाबुरामसँगै माओवादीमा विलय भइसकेको छ । त्यसैले यहाँ प्रचण्ड जानसक्ने सम्भावना बढेको माओवादी केन्द्र स्रोत बताउँछ ।

    २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेसपाका अध्यक्ष भट्टराई तत्कालीन नयाँ शक्ति पार्टीबाट लड्दा कांग्रेसको साथ पाएर ३१ हजार ८०७ मतसहित विजयी भएका थिए । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ २४ हजार ९३३ मतमा रोकिएका थिए । श्रेष्ठ अहिले राष्ट्रियसभा सदस्य रहेकाले प्रचण्डका लागि गोरखा यात्रा सहज देखिएको छ ।

    गोरखा १ कांग्रेसले पाउँदा यो क्षेत्रबाट कांग्रेसका राजेन्द्र बजगाईं उम्मेदवार हुने लगभग निश्चित छ । यसअघि प्रदेशसभामा लडेका बजगाईं लगभग निर्विकल्प उम्मेदवार हुन् । यद्यपि २०४८ सालदेखि लगातार प्रत्यक्ष वा समानुपातिकमा निरन्तर अवसर पाइरहेका नेता चीनकाजी श्रेष्ठले पनि चाहना राख्न सक्छन् । तर, बजगाई हुँदा प्रचण्डका लागि थप सहज हुनेछ ।

    गोरखामा माओवादी र कांग्रेस पहिलो तथा दोस्रो शक्ति हुन् । तेस्रो शक्तिमा एमाले र बाबुराम रहेकोमा बाबुराम प्रचण्डका सारथी भएपछि गोरखा २ उनका लागि ढुक्कको क्षेत्र हुने नेताहरुले देखेका छन् ।

    प्रचण्डलाई  बोलाउँदैछन् गोरखाका माओवादी

    यसैबीच गोरखा माओवादीले प्रचण्डलाई बोलाइरहेको छ । यसअघि जिल्लाबाट सर्वसम्मत नाम सिफारिस गरेका नेताहरुले प्रचण्ड गोरखा आउँदा पार्टीलाई पनि फाइदा हुने र सुरक्षित पनि रहने बताएका छन् ।

    गण्डकी प्रदेश सांसदसमेत रहेका गोरखाका नेता लेखबहादुर थापाले गोरखा १ वा २ जहाँबाट पनि लडे पनि प्रचण्डलाई जिताउन आफूहरु तत्पर रहेको बताए ।

    उनले भने, ‘हामीले गोरखामा आउनुहोस् भनेर उहाँलाई भनेका हौं । चितवन- ३ छाडेर अरु कतै जानुपरे गोरखा आउनु हाम्रा लागि पनि फाइदाजनक नै हुन्छ । गोरखाको माग पनि उहाँ नै हो । तर, कहाँबाट लड्नुहुन्छ, हामीलाई जानकारी गराउनुभएको छैन ।’

  • नेकपा विभाजनपछि एमालेमा रहेका दुई नेता माओवादीमै फर्किए

    नेकपा विभाजनपछि एमालेमा रहेका दुई नेता माओवादीमै फर्किए

    काठमाडौं । चुनावको मुखैमा सल्यानका दुई एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटीका सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल माओवादीमा प्रवेश गरेका हुन् ।

    दुवै पूर्वमाओवादी नेताहरुलाई अध्यक्ष प्रचण्डले शुक्रबार पार्टीमा स्वागत गरेका छन् । उनीहरु तत्कालीन नेकपा विभाजनपछि बादल समूहसँगै एमालेमा रहेका थिए ।

    कुँवर माओवादी जनमुक्ति सेनाका कमाण्डरसमेत थिए । पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरु मात्रिका यादव, टेकबहादुर बस्नेत, रमेश मल्ललगायत थिए ।

  • रुकुम पश्चिमको तीनै सीटमा माओवादी दाबी, नत्र अनपेक्षित परिणाम हुने चेतावनी

    रुकुम पश्चिमको तीनै सीटमा माओवादी दाबी, नत्र अनपेक्षित परिणाम हुने चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका तीन वटै सीट नपाए परिणाम अनपेक्षित हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

    जिल्ला संयोजक गोविन्द रोका (सचिन)ले शुक्रवार विज्ञप्ति जारी गर्दै गठबन्धनको सीट बाँडफाँट मापदण्ड विपरित यसअघि जितेका क्षेत्र अन्य दललाई नदिन ध्यानाकर्षण गराएका हुन् । रुकुम पश्चिमको प्रतिनिधि सभा र दुवै प्रदेशसभामा यसअघि वाम गठबन्धन हुँदा पनि माओवादीले नै पाएको थियो र तीनै सीट जितेको थियो ।

    रोकाले भनेका छन्– सिट बाँडफाँडको लागि गठबन्धन दलहरूले यसअघि जितेका क्षेत्रहरू यथावत् राखी अन्य क्षेत्रमा मात्र भागबन्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट बाँडफाँट सम्बन्धी निर्णय गर्न नेकपा ९माओवादी केन्द्र० रुकुम पश्चिम जोडदार माग गर्दछ । अन्यथा भएमा रुकुम पश्चिममा त्यसको परिणाम अनपेक्षित हुनसक्ने तर्फ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।

    गठबन्धनको सीट बाँडफाँटमा रुकुम पश्चिमको एउटा प्रदेश सभाको एउटा सीट नेपाली कांग्रेसले पाउने चर्चा चलिरहेका बेला माओवादीको यस्तो चेतावनी आएको हो ।

  • रामेछापको प्रतिनिधिसभा सीट छाड्न माओवादीकै डेलिगेशन, दोलखासँग साट्ने तयारी

    रामेछापको प्रतिनिधिसभा सीट छाड्न माओवादीकै डेलिगेशन, दोलखासँग साट्ने तयारी

    काठमाडौं । गठबन्धन दलहरुबीच बढीभन्दा बढी प्रतिनिधिसभाका सीट लिने शीर्ष तहको प्रयास र जिल्ला नेतृत्वले आफ्नो क्षेत्र नछाड्न दबाब दिने प्रक्रिया चलिरहेका बेला रामेछाप र दोलखाको हकमा भने फरक दृश्य देखिएको छ ।

    संघको टिकट पाउने सम्भावना रहेका नेताबाहेक रामेछापका माओवादी नेताहरुले दुवै प्रदेशसभाको सीट लिएर प्रतिनिधिसभा कांग्रेसलाई छाड्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    स्रोतका अनुसार प्रदेशसभा टिकटका आकांक्षीसहित जिल्लाका प्रभावशाली नेताहरुले कार्यदल सदस्य वर्षमान पुन, देव गुरुङदेखि प्रदेश कमिटी इन्चार्ज सहइन्चार्जलगायतलाई भेटेरै प्रदेशसभा सीट लिन सुझाव दिएका हुन् ।

    केन्द्रीय सदस्य युवराज चौलागाईं प्रतिनिधिसभा छाड्न नहुने अडानमा छन् । उनी प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् र दुईपटक अर्का केन्द्रीय सदस्य श्याम श्रेष्ठले टिकट पाएर जितेकाले यसपटक आफ्नो पालो आउनेमा आशावादी छन् ।

    २०६४ सालदेखि नै माओवादीले लगातार जितेको र २०७४ मा जितेका कारण मापदण्डबाटै सो क्षेत्र माओवादीले पाउने उनको तर्क छ । प्रतिनिधिसभामै सिफारिस भएका श्याम श्रेष्ठ भने आफूले नपाउने खालको अवस्थामा सो क्षेत्र कांग्रेसलाई छाडे हुनेमा छन् ।
    प्रतिनिधिसभाका लागि डिल्लीमान तामाङ र लक्ष्मी गुरुङ पनि दाबेदार हुन् ।

    जिल्लाका नेताहरुले भने प्रतिनिधिसभा लिने भए कुलमान घिसिङ वा केन्द्रबाट सिनियर नेता आएमात्र जिताउन सकिने नत्र जित्न नसकिने रिपोर्टिङ गरेका छन् । यसअघि लीलामणि पोखरेल पनि रामेछाप जाने चर्चा चलेको थियो ।

    माओवादीका एक प्रदेश कमिटी सदस्यले भने, ‘श्याम वा युवराज जो भए पनि एकले अर्कोलाई असहयोग गर्ने अवस्था छ । संघ लिँदा भन्दा दुवै प्रदेश लियो भने माथि कांग्रेसले सहज जित्छ र तल पनि हाम्रो दुवै सीट हुनसक्छ । उसै पनि जनतामा जोडिने भनेको प्रदेश सांसद हुनेरहेछ र हाम्रा दुईजना साथी सेटल पनि हुने भएकाले हामीले डेलिगेशन गएरै दोलखा र रामेछाप साटौं भनेका हौं ।’

    माओवादीमा रामेछापबाट प्रदेशसभा १ तर्फ रवीन्द्र पौडेल र तारानारायण श्रेष्ठमध्ये एक प्रमुख दाबेदार हुन् । २ नम्बरमा धावा लामा वा संघ नपाउँदा युवराज चौलागाईं नै हुनसक्ने ती नेताले नेपाल प्रेसलाई बताए ।

    माओवादीका लागि पनि नेता व्यवस्थापनका हिसाबले दोलखाको प्रतिनिधिसभा सीट लिन दबाब छ । दोलखाबाट यसपटक पोलिटव्युरो सदस्य गंगा कार्की (विश्व) मुख्य दाबेदार छन् ।

    पूर्वमन्त्री देवी खड्का र हाल बागमती प्रदेशमन्त्री विशाल खड्का पनि दाबेदार हुन् । तर, सो परिवारबाट सबैभन्दा सिनियर भएर अवसर नपाएका नेता भएकाले कार्कीका लागि प्रतिनिधिसभा सीट माओवादीले लिन चाहेको छ । कार्की देवी र विशालका भिनाजु हुन् ।

    गंगा कार्की माओवादी जनयुद्धकालदेखिका सिनियर नेतामध्ये अवसर नपाउनेमा पर्छन् । यसपटक रामेछापको प्रतिनिधिसभा सीट कांग्रेसलाई दिएर माओवादीले दोलखा लिन खोजेको एक नेताले बताए । यद्यपि यसबारेमा छलफल चलिरहेको छ । कार्यदलले अधिकांश निर्वाचन क्षेत्रको बाँडफाँट मिलाइसके पनि दोलखा र रामेछाप साटफेरका लागि राखिएको छ ।

    नेकपा एसले पनि दोलखाको प्रतिनिधिसभा सीट मागेको छ । त्यस्तै रामेछापको पनि एक सीट प्रदेशसभा मागेको छ । दुवै जिल्लाको टुंगो नलागेको कार्यदलका एक सदस्यले बताए ।

    यसैबीच रामेछापका कांग्रेस जिल्ला सभापति कान्छाराम तामाङले भने आफू प्रदेशसभा चुनाव नलड्ने भन्दै प्रतिनिधिसभा नपाए आफू उम्मेदवार नबन्ने र अरुलाई सहयोग गर्ने बताएका छन् ।

  • राष्ट्रपतिविरुद्ध अनेरास्ववियू क्रान्तिकारी पवन कार्की पक्षको विरोध

    राष्ट्रपतिविरुद्ध अनेरास्ववियू क्रान्तिकारी पवन कार्की पक्षको विरोध

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनरेस्ववियू क्रान्तिकारीको विद्रोही पक्षले राजधानीमा नागरिकता विधेयकसम्बन्धी भ्रम र यथार्थ बहस सम्पन्न गरेको छ ।

    संगठनको कानून विभागले मंगलबार सिनामंगलमा बहस सम्पन्न गरेकाे उपदेश यादवले जानकारी दिए । कार्यक्रममा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले नागरिकता विधेयकबारेमा विभिन्न तर्क राखेका थिए ।

    त्यस्तै, अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पवन कार्कीले जनताका निम्ति संविधान संशोधन गर्न पाउने व्यवस्था रहेको बताउँदै नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गल्ती गरेको बताए ।

    कार्यक्रममा नेता बिडारीले २०११ सालको विषय उठान गर्दै राजा महेन्द्रकी पत्नी पनि भारतीय रहेको र अन्य रानीहरु पनि भारतबाट विवाह गरेर ल्याइएको र उनीहरुलाई नागरिकता दिइएको बताउँदै नागरिकता विधेयकको पक्षमा तर्क प्रस्तुत गरेका थिए ।

    उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता विधेयकमा विदेशी महिला नेपालमा विवाह गरेर आएको ७ वर्षपछि मात्रै नागरिकता दिने भनेर नलेखिएको दाबी गरे । संसदीय समितिले सो व्यवस्था थपेको उनको भनाइ थियो ।

    त्यस्तै, ओलीले अध्यादेश ल्याउँदा पनि ७ वर्षे प्रावधानलाई हटाएको बिडारीले आरोप लगाए । बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान समेत गरेका छन् । सम्बोधनका क्रममा उनले भने, ‘ओलीले ल्याएको त्यही नागरिकता विधेयक पास अनि देउवाले ल्याउँदा फेल ? के हो कान्छी भन्दै सोध्नुपर्ने’

  • महराले समानुपातिक रोजेपछि कसले पाउँछ दाङ २ ?

    महराले समानुपातिक रोजेपछि कसले पाउँछ दाङ २ ?

    रुपन्देही । सत्ता गठबन्धन दलले दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई छोड्ने निश्चित थियो । तर, माओवादीले महराको नाम समानुपातिक सूचीमा राख्यो ।

    गठबन्धन दलमा माओवादीपछि यो क्षेत्रमा नेपाली कांग्रेसले दाबी गरेकाे छ । महराको नाम समानुपातिकमा चढेसँगै २०७४ को निर्वाचनमा उनै महरासँग पराजित कांग्रेस नेता राजु खनालले अहिले यहाँ आफ्नो दाबी पेश गरेका छन् ।

    गठबन्धन दलबीच दाङका ३ निर्वाचन क्षेत्रमध्ये १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, २ मा माओवादीका महरा र ३ मा कांग्रेसका दीपक गिरीलाई उम्मेदवार बनाउने अनौपचारिक सहमति भएको थियो । तर, महराले समानुपातिक रोजेपछि खनालले दाबी गरेको कांग्रेसका जिल्ला सभापति शंकर डाँगीले बताए । उनका अनुसार महराबाहेक माओवादीका अरु नेतालाई कांग्रेसले स्वीकार गर्नेछैन ।

    माओवादीले यस क्षेत्रको लागि महरासँगै स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा र पोलिटव्युरो सदस्य निर्मल आचार्यलाई सिफारिस गरेको छ । तर, शर्मा र आचार्यलाई एमाले महासचिव शंकर पोखरेलसँगको प्रतिस्पर्धामा जिताउन नसकिने कांग्रेसको तर्क छ । प्रतिनिधिसभाको बदलामा माओवादीलाई दाङमा प्रदेशसभाको तीन सीट दिने पक्षमा कांग्रेस रहेको बुझिएको छ ।

    दाङ २ मा एमालेबाट महासचिव पोखरेलको एकल नाम सिफारिस भएको छ । एमालेले उनलाई भावी अर्थमन्त्रीको रुपमा प्रचार गरिरहेको छ । एमालेले प्रदेश राजधानी दाङमा ल्याउन तत्कालीन मुख्यमन्त्री पोखरेलले निर्वाह गरेको भूमिका, महराले मैदान छाडेकोजस्ता विषयलाई मुद्दा बनाएको छ ।

    दाङ २ मा तीन स्थानीय तह छन् । जसमा घोराही उपमहानगरका १९ मध्ये १, २, ३, ५ बाहेक सबै वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । तुलसीपुर उपमहानगरका १६, १७, १८ र १९ वडा तथा बंगलाचुली गाउँपालिका पूरै यस क्षेत्रमा पर्छ । स्थानीय तह निर्वाचनमा बंगलाचुली गाउँपालिका प्रमुख माओवादीले र उपप्रमुख कांग्रेसले जितेको छ । ८ मध्ये माओवादी र कांग्रेसले ४/४ वटा वडा जितेका छन् ।

    एमालेले घोराहीको प्रमुख र उपप्रमुखसहित यस क्षेत्रमा पर्ने १५ मध्ये १० वटा वडा जितेको छ । यहाँ कांग्रेसले ४ वटा जित्दा माओवादीले एउटामात्रै वडा जितेको छ । तुलसीपुरको प्रमुख र उप्रमुखसहित यस क्षेत्रमा पर्ने ४ मध्ये एमालेले २ वडा जितेको छ । एउटा कांग्रेसले जित्दा अर्को स्वतन्त्रले जितेका छन् ।

    दाङ २ मा एमाले र गठबन्धनको मत बराबरीजस्तै छ । वडा अध्यक्षको मतभारमा एमाले एक्लैको ३६ हजार २६१ मत छ । कांग्रेसको २२ हजार ७६९, माओवादीको १० हजार ४७८ र एकीकृत समाजवादीको २ हजार ९४२ मत छ । गठबन्धनको कुल ३६ हजार १८९ मत देखिन्छ ।

  • प्रचण्डको दाबी- मलाई प्रधानमन्त्री बन्न अहिले पनि अफर छ (भिडिओ)

    प्रचण्डको दाबी- मलाई प्रधानमन्त्री बन्न अहिले पनि अफर छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर रहेको दाबी गरेका छन् । उनले कहाँबाट त्यस्तो अफर आएको भने खुलाएनन् ।

    निर्वाचन क्षेत्र चितवन पुगेका प्रचण्डले प्रेस सेन्टरद्वारा आयोजित दसैँको शुभकामना कार्यक्रममा राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि आफ्नो प्रतिबद्धता भएको बताए ।

    ‘चाहेको भए ७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि छ । म प्रधानमन्त्रीको रेसमा छैन । राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो फैसला तपाईँहरूको हातमा छ । शान्ति प्रक्रियामा गिरिजासँग सम्झौता गर्दै गर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ ।’

    अबको दशक आर्थिक क्रान्तिको दशक भएको भन्दै प्रचण्डले जीवनको उत्तरार्द्धमा अब त्यसमा लाग्ने बताए । चितवनलाई विकासको मोडलको रूपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘कसले के भन्छ भन्दा पनि कसले के गर्छ भन्नेले निर्णय गर्छ । भरतपुर महानगर र चितवनमा के भइरहेको छ भनेर यहाँको विकासले बोलिराखेको छ । देशको मध्यभागमा रहेको चितवनको विकासको मोडल देशभरका लागि सन्देश बन्नुपर्छ । यो चितवनको मात्र होइन राष्ट्रको सवाल हो । राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वयमा छु । समृद्धिका लागि खरबौंको परियोजना कसरी ल्याउन सकिन्छ भनेर लागेको छु ।’

    संविधान उल्ट्याउन, गणतन्त्र कमजोर पार्न र नेतालाई बदनाम गर्न एकथरी लागेका भन्दै प्रचण्डले त्यसका लागि सामाजिक सञ्जाललाई माध्यम बनाइएको बताए ।

  • पदमुक्त सभामुखले गराएका निर्णय कार्यन्वयन नगर्न महासचिवलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

    पदमुक्त सभामुखले गराएका निर्णय कार्यन्वयन नगर्न महासचिवलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले कानून बमोजिम पदमुक्त भइसकेका सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालले आफू अनुपस्थित भएको बेला व्यवस्थापन समितिको बैठक बोलाएर गरेका निर्णय कार्यन्वयन नगर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

    अध्यक्ष तिमल्सिनाको निजी सचिवालयबाट उपसचिव सुशीला आचार्यले आइतबार संसदका महासचिव डा. भरतराज गौतमलाई पत्र लेखी असोज ५ गते बसेको संघीय संसद सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यन्वयन नगर्न जानकारी गराएकी छन् ।

    अध्यक्ष तिमल्सिना पनि व्यवस्थापन समितिमा हुन्छन् । तर उनी पर्वत गएको मौकामा पदमुक्त सभामुखको निर्देशनमा महासचिव गौतमले बैठक बोलाएर कर्मचारी पदस्थापन, विदेश अध्ययन विदा स्वीकृति लगायतका विभिन्न निर्णय गराएका थिए ।

    अध्यक्ष तिमल्सिनाले सभामुख र उपसभामुख पदमुक्त भए नभएको बारे निर्वाचन आयोगलाई समेत पत्राचार गरेका छन् । आयोगले उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्ममात्र पदमा रहने भन्दै समानुपातिकको बन्दसूची पेश हुने दिनलाई डेडलाइन मानेर जवाफ पठाएको छ ।

    अध्यक्ष तिमल्सिनाको तर्फबाट महासचिव गौतमलाई पठाइएको पत्रमा पनि प्रतिनिधिसभाका पदाधिकारी तथा सदस्यहरुको कार्यकाल सकिएकाले पदमुक्त सभामुखले गरेका निर्णय कार्यन्वयन गर्न गराउन उपयुक्त नदेखिएको उल्लेख छ ।

  • धनकुटाका सबै माओवादी नेताको राजीनामा, भण्डारी नेतृत्वमा स्वतन्त्र चुनावी अभियान घोषणा

    धनकुटाका सबै माओवादी नेताको राजीनामा, भण्डारी नेतृत्वमा स्वतन्त्र चुनावी अभियान घोषणा

    विराटनगर । गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामा दिएका छन् । माओवादीले धनकुटाको प्रतिनिधिसभा सीट नपाउने भएपछि पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा दिएका हुन् ।

    जिल्लाका निवर्तमान संयोजक डिल्लीराम राई (कमल)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकले सो निर्णय गरेको जनाएका छन् ।

    बैठकले जिल्लास्थित पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित सबै सदस्यले पदीय जिम्मेवारीबाट सामूहिक राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।

    बैठकले हेमराज भण्डारीको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । भण्डारी २०६४ सालमा धनकुटाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

    गठबन्धनबाट धनकुटाको सीट नेपाली कांग्रेसले लिने लगभग निश्चित छ । यसअघि राप्रपाबाट चुनाव लडेर एमालेका राजेन्द्र राईसँग पराजित सुनिल थापा यसबीचमा कांग्रेसका शीर्ष नेतृत्वमा छन् । उनका लागि कांग्रेसले धनकुटा लिएको छ भने माओवादीले थापालाई भोट नहाल्ने भन्दै पार्टीमै रहेर गठबन्धनमा घात गर्नुभन्दा स्वतन्त्र अभियानबाट चुनाव लड्ने निर्णय भएको भण्डारीले बताए ।

    गठबन्धनमै जसपाले पनि धनकुटामा दाबी गरेको थियो । सीट बाँडफाँट कार्यदलमै रहेका जसपा नेता रकम चेम्जोङको लागि जसपाले अडान लिएको थियो । धनकुटामा वाम गठबन्धन भएका बेला पनि तीनै सीट एमालेले लिएर माओवादीले अघिल्लो चुनावमा मतदाताको भूमिकामात्र निर्वाह गरेका थिए ।

  • आफ्ना प्राथमिकताका क्षेत्र सुनिश्चित गरेर विदेशी सहयोग लिनुपर्छ : माओवादी सचिव कार्की

    आफ्ना प्राथमिकताका क्षेत्र सुनिश्चित गरेर विदेशी सहयोग लिनुपर्छ : माओवादी सचिव कार्की

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव राम कार्कीले नेपालले आफ्ना प्राथमिकताका क्षेत्र सुनिश्चित गरेर मात्रै विदेशी सहयोग लिनुपर्नेमा जोड दिएका छन् । चीनले अगाडि सारेको ‘बिआरआई’परियोजना विश्व व्यवस्थालाई परिमार्जन गर्न ल्याइएको बताउँदै उनले यस्तो बताएका हुन् ।

    शुक्रबार संघीय राजधानी काठमाडौंको संवाद डबलीमा लेखक भानु भण्डारीद्धारा लिखित ‘भूराजनीति’ नामक पुस्तक विमोचन गर्दै पूर्व सञ्चारमन्त्री कार्कीले चीनले पुँजीवादी व्यवस्थामा आफ्नो भूमिका मात्रै नखोजेर त्यसलाई परिमार्जित गर्न खोजिरहेको बताए । तर, उसका प्रतिद्वन्दीले आजको विश्व व्यवस्थालाई चीनले धराशाही बनाउन खोजेको आरोपसहित घेराबन्दी गर्न थालेको उनको भनाई थियो ।

    कार्कीले नेपालले परम्परागत राजनीतिक मान्यतालाई तोड्नुपर्ने बताएका छन् । नेपालको परराष्ट्र नीति भनेको घरेलु नीति भएको भन्दै त्यसको प्रभाव बाहिरपर्ने उनले बताए ।

    उनले भने, ‘नेपाल जुन भौगोलिक अवस्थितिमा छ, त्यसका राम्रा र नराम्रा दुबै पक्ष छन् । मुख्य कुरा भनेको नेपालले कस्तो परराष्ट्र नीति बनाउँछ भन्ने कुरा हो । घरेलु नीतिको विस्तारित रुप नै परराष्ट्रनीति हो । नेपालले स्वतन्त्र परराष्ट्र नीति बनाउनुपर्छ ।’ विगतमा भूराजनीतिको गाँठो परेको बेला नेपालले शान्ति क्षेत्रको क्षेत्रको प्रस्ताव ल्याएको बताउँदै पुनः त्यही अवस्था आएको बताए ।

    विगतको भन्दा दक्षिण एसियामा जटिल राजनीतिक अवस्था सिर्जना भएको बताउँदै कार्कीले भने, ‘आज दक्षिण एसियामा जटिल अवस्था सिर्जना भएको छ । अमेरिका आफ्नो बर्चस्व कायम राख्न चाहन्छ र त्यसलाई विस्तार गर्न चाहन्छ । बर्चस्व कायम राख्न र विस्तार गर्न अमेरिकाले चीनलाई बाधक देखेको छ । अर्कोतिर आफ्नो उद्देश्यका लागि अमेरिकाले भारतलाई रणनीतिक साझेदार बनाउन खोजेको छ । हाम्रा दक्षिणको छिमेकी अमेरिकाको साझेदार बन्ने र उत्तरको छिमेकी अमेरिकाको विरोधी बन्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा नेपालले आफ्नो सार्वभौमसत्तालाई सुनिश्चित गर्नको लागि स्वतन्त्रताको नीति लिनुपर्छ ।’

    कार्यक्रममा बोल्दै कार्कीले नेपालमा २०४६ सालयता यो वा त्यो बहानामा पुँजीवादी व्यवस्था चलिरहेको बताउँदै त्यसलाई ब्रेकथ्रु गर्नुपर्ने बताए ।

  • सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित परेको रिटउपर आज सुनुवाइ

    सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित परेको रिटउपर आज सुनुवाइ

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

    अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानून मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध दायर रिटको पेसी आजका लागि तोकिएको थियो ।

    निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ ।

    प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको हो ।

    नेपालको संविधानको धारा ९१ को उपधारा (६) (क) मा प्रयुक्त पदावली ‘तर प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्’ अन्यथा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ भन्ने कुरा स्पष्टसँग उल्लेख गरिएको रिटमा भनिएको छ ।

    ‘राजनीतिक दलले प्रतिनिधिसभा निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ उम्मेद्वारहरूको बन्दसूची पेस गरिसकेको अवस्थामा पनि सभामुख र उपसभामुखले संविधानको धारा ९१(६)(क) को मर्म र भावनाविपरीत आ-आफ्नो पदबाट राजीनामा गर्नुभएको छैन जसले गर्दा राज्यलाई थप आर्थिक भार पर्ने निश्चित छ । सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्य स्रोत साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनु भएको छ, यो दुरूपयोग सविंधानमाथिको निर्मम प्रहार र धोकाधडी हो ‘, रिटमा उल्लेख छ ।

  • सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित सर्वोच्चमा रिट दायर

    सभामुख र उपसभामुखको पद खाली गराउन मागसहित सर्वोच्चमा रिट दायर

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानून मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई सभामुख र उपसभामुखविरुद्ध रिट दायर गरेका हुन् ।

    निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न रोक लगाउनसमेत रिटमा माग गरिएको छ । रिटमाथि शुक्रबारलाई पेसी तोकिएको छ।

    प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्र पदमा बहाल रहने व्यवस्था उल्लेख गर्दै रिटमा सभामुख र उपसभामुखको पद खाली गराउन माग गरिएको हो ।

    नेपालको संविधानको धारा ९१ को उपधारा (६) (क) मा प्रयुक्त पदावली ‘तर प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन्’ अन्यथा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ भन्ने कुरा स्पष्टसँग उल्लेख गरिएको रिटमा भनिएको छ ।

    ‘राजनीतिक दलले प्रतिनिधिसभा निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ उम्मेद्वारहरूको बन्दसूची पेस गरिसकेको अवस्थामा पनि सभामुख र उपसभामुखले संविधानको धारा ९१(६)(क) को मर्म र भावनाविपरीत आ-आफ्नो पदबाट राजीनामा गर्नुभएको छैन जसले गर्दा राज्यलाई थप आर्थिक भार पर्ने निश्चित छ । सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्य स्रोत साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनु भएको छ, यो दुरूपयोग सविंधानमाथिको निर्मम प्रहार र धोकाधडी हो ‘, रिटमा उल्लेख छ ।

    रिटको पूर्णपाठ:

  • बझाङ कांग्रेसको निर्णय- माओवादीसँग गठबन्धन गर्ने, नेकपा एससँग मित्रवत् प्रतिस्पर्धा

    बझाङ कांग्रेसको निर्णय- माओवादीसँग गठबन्धन गर्ने, नेकपा एससँग मित्रवत् प्रतिस्पर्धा

    कैलाली । आसन्न चुनावको सीट बाँडफाँटमा सत्ता गठबन्धनबीच भागबण्डा मिलाउन सकस परिरहेको बेला जिल्लामा आफू अनुकूल गठबन्धनको तयारीमा लागेका छन् ।

    एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा अहिले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सशक्त दाबी गरिरहेका छन् । एमालेबाट दुई पटकसम्म निर्वाचित भएर मन्त्री भइसकेका पुराना नेता भानुभक्त जोशी अहिले नेकपा एसमा छन् । जोशीलाई टिकट दिनुपर्ने दबाबसहित बझाङमा नेकपा एसको दाबी गरिरहेको छ । टिकटमा नेकपा एसले बझाङ पाउने सम्भावना बढेलगत्तै कांग्रेसले पनि आफ्नो दाबी नछाड्ने निर्णय गरेको छ ।

    बझाङ कांग्रेसले नेकपा एससँग तालमेल नगर्ने संकेत गरेको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले माओवादीसँग गठबन्धन गर्ने र नेकपा एससँग मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको छ ।

    ‘बझाङ जिल्लाका कांग्रेसजनबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग मित्रवत् स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने जानकारी गराइन्छ’ जिल्ला सभापति खडकबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    जनमतको हिसाबले कांग्रेस पहिलो, माओवादी दोस्रो र समाजवादी तेस्रो न्यून स्थानमा रहेको कांग्रेसको दाबी छ ।

    नेकपा एसले भने जिल्लामा आफ्नो पार्टीको सशक्त दाबी गरेको जनाएको छ । जिल्लाले विज्ञप्ति जारी गर्दैमा केही नहुने प्रदेश सचिव दिनेश चन्द्र सुवेदी बताउँछन् ।

    ‘ गठबन्धन गर्ने, नगर्ने भन्ने अधिकार केन्द्रलाई छ । जिल्लाले निर्णय गर्दैमा केही फरक पर्दैन’ उनले भने, ‘डोटीमा पनि त गर्दैन भनेका छन् नि त्यो भनेर हुँदैन बझाङमा हाम्रो दाबी छ । हामी जित्छौं पनि ।’

    उनले सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभामध्ये ५ क्षेत्रमा आफ्नो पार्टीको दाबी रहेको जानकारी दिए । उनका अनुसार बझाङ, अछाम १, बैतडी, डोटी र कैलाली ४ मा नेपाली एकीकृत समाजवादीले दाबी गरिरहेको छ ।

    कांग्रेसभित्रै रस्साकस्सी

    बझाङमा माओवादी केन्द्रबाहेक अन्य सबै दलले चासो दिएका छन् । नेकपा एसबट पूर्वमन्त्री भानुभक्त जोशीको सम्भावना छ । एमालेबाट सर्वसम्मत नभए पनि ऐन महरको सम्भावना धेरै छ । महरसँगै भैरव सिंह, आसा विक, महेश भट्टराई र जुना जाग्रीको नाम प्रतिनिधिसभाको लागि सिफारिस भएको छ । अघिल्लोपटक वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार बनेका भैरवबहादुर सिंहले ७ हजार ७०२ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका पृथ्वीबहादुर सिंहलाई हराएका थिए । एमालेका सिंहले ३४ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसका सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका थिए ।

    बझाङमा नेपाली कांग्रेसबाट अर्जुनजङ्ग बहादुर सिंह ,पृथ्वीबहादुर सिंह र नरेशबहादुर सिंहले दाबी गरेका छन् । अर्जुनजङ्ग बहादुर सिंह २०४८ र ०५६ नेपाली कांग्रेसबाट विजयी भइसकेका छन् । उनी पूर्वपरराष्ट्र राज्यमन्त्री र कोरियाका लागि नेपाली राजदूत बनिसकेका छन् । दुई पटकसम्म विजयी भइसकेको सिंह २०७० सालमा बझाङ १ मा नेकपा एमालेका मानप्रसाद खत्रीसँग पराजित भएका थिए ।

    त्यस्तै कांग्रेसबाट अर्का उम्मेदवारको चर्चा रहेका व्यक्ति पृथ्वीबहादुर सिंह हुन् । पूर्व जिल्ला समिति सभापति रहेका सिंह अघिल्लो पटक एमाले उम्मेदवार भैरवबहादुर सिंहसँग करिब ८ हजार मतले पराजित भएका थिए । कांग्रेसबाट आकांक्षी देखिएका नरेशबहादुर सिंह २०७० सालको निर्वाचनमा एमालेका लालबहादुर रावलसँग पराजित भएका थिए ।

    वैशाख ३० गतेको मत परिणाम अनुसार यहाँ एकल रूपमा एमाले बलियो देखिएको छ । गठबन्धन हुँदा भने कांग्रेस बलियो छ। आफू बलियो भएको स्थानमा कांग्रेस समाजवादीलाई छोड्न जिल्लामा तयार छैन । नेकपा एमालेका उम्मेदवारले २८ हजार ६११ पाउँदा कांग्रेस उम्मेदवारले २० हजार १६६, माओवादीका उम्मेदवारले ९ हजार १४५ नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ७ हजार ६३२ र राप्रपाका उम्मेदवारले जिल्लाभरि १२८ मत पाएका छन् ।

    २०४८ यता यहाँ कांग्रेसले २ पटक निर्वाचन जितेको यो क्षेत्रमा नेकपा एमाले भने चार पटक विजयी भएको छ । २०४८ र ०५६ मा कांग्रेस विजयी हुँदा २०५१, ०६४, ०७० र ०७४ मा एमाले विजयी भएको थियो ।

    यो पनि पढ्नुस् : बझाङमा एमालेबाट डेब्यूको तयारीमा महर, गठबन्धनमा कांग्रेस र नेकपा एसको रस्साकस्सी

  • अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षद्वारा संविधान दिवसको अवसरमा मिनी म्याराथन आयोजना

    अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षद्वारा संविधान दिवसको अवसरमा मिनी म्याराथन आयोजना

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ सङ्गठन अखिल (क्रान्तिकारी) को पवन कार्की समूहले आठौं संविधान दिवसको अवसरमा काठमाडौं रेस–२०७९ (मिनी मेराथन) को आयोजना गरेको छ ।

    क्रान्तिकारीको केन्द्रीय समितिले ८ औँ संविधान दिवसको अवसरमा ‘संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन ! शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनी म्याराथन !!’ भन्ने मूल नाराका साथ नेपाल एथलेटिक्स एशोसियसन, शहिद स्मृति स्पोर्ट एकेडेमी, नेशनल स्पोर्टस काउन्सिल, नेपालको समन्वयमा कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रमलाई रमनकुमार श्रेष्ठ क्रान्तिकारी प्रगतिशील कानुन व्यवसायी संघको संयोजक तथा पूर्वमहान्यायाधिवक्ता एवम् अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष रमनकुमार श्रेष्ठ, ओलम्पिक नेपाल कमिटीको सचिव तथा अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष रामजी बहादुर श्रेष्ठ, एथलेटिक्स एशोसिएसनका सचिव आरके बिष्ट, एथलेटिक्स एशोसिएसनका मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङले उद्घाटन गरेका थिए ।


    त्रिपुरेश्वरस्थित रंगशालादेखि सुरु भएको रेस थापाथली, माइतीघर, बबरमहल, बिजुली बजार पुल हुँदै एभरेस्ट होटल अगाडिको डीभाइडर पुगेर सोही बाटो फर्केर त्रिपुरेश्वर सम्मको (५ किलोमीटर दूरी को) थियो । पुरुष सहभागी ३६५ थिए भने र महिलाको सहभागिता ११२ जनाको गरेर जम्मा ४७७ जनाको सहभागिता रहेको अखिल (क्रान्तिकारी) को प्रवक्ता उपदेश यादवले जानकारी दिए ।

    म्याराथनमा पुरुष तर्फ निर्धारित दूरी १७.४५.३ मिनेटमा पूरा गर्दै पिनाकल कलेजका अजितकुमार यादव पहिलो, नेपाल पुलिस क्लबका सन्तोष विक्रम विष्ट दोस्रो तथा त्रिभुवन आर्मी क्लबका मोहन देव जोशी तेस्रो भएका छन् । त्यस्तै, महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाईले निर्धारित दूरी २०.३५.७५ मिनेटमा पार गर्दै पहिलो बनेकी छन् भने नेपाल पुलिस क्लबकी राममाया बुढा दोस्रो तथा नेपाल पुलिस क्लबका रेखा विष्ट बनेकी छन् ।

    महिला र पुरुष दुवैतर्फ पहिलो, दोश्रो, तेस्रो विजेतालाई क्रमश २५, २०, र १५ हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रवक्ता यादवले जानकारी दिए ।

     

  • प्रचण्डको अपिल- संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउनुस्

    प्रचण्डको अपिल- संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउनुस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्‍याउने श्रेय वर्तमान संविधानलाई गएको बताएका छन् ।

    संविधान दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’ को अनुभूति गराएको बताएका हुन् ।

    शुभकामना सन्देशमा प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई भोट दिनसमेत आग्रह गरेका छन् ।

    ‘संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ’, प्रचण्डको भनाइ छ । संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि भनदै उनले प्रतिगमनविरोधी अग्रगामी नेपालीलाई गठबन्धनमा रहेका दललाई विजयी गराउन अपिल गरेका छन् ।

    ‘लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ,’ दाहालले भनेका छन् ।

  • प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला उम्मेदवार बनाउन आयोगको निर्देशन

    प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला उम्मेदवार बनाउन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको छ ।

    भदौ ३१ गतेको आयोगको निर्णयअनुसार दलहरूलाई यस्तो निर्देशन गरेको हो ।

    ‘नेपालको संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्मबमोजिम यस्तो निर्णय गरेको आयोगले जनाएको छ ।

    जसअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला लक्षित गरी मनोनयन दर्ता गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन गरिएको हो ।

  • समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न माओवादीले बनायो कार्यदल

    समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न माओवादीले बनायो कार्यदल

    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न कार्यदल गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

    गुरुङ नेतृत्वको कार्यदलमा उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल सदस्य रहेको उपमहासचिव हरिबोल गजुरेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कार्यदलले क्लस्टर मिलाएर सूची तयार पार्नेछ ।

    उनका अनुसार उम्मेदवार बढाउने वा घटाउने, मापदण्ड पूरा भए नभएको हेर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । कार्यदलले सूची तयार पारेपछि पदाधिकारी बैठकले अन्तिम नामावली टुंगो लगाइने उपमहासचिव गजुरेलले बताए ।

    निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फको बन्दसूची बुझाउने समय तोकेको छ ।

  • ओलीमाथि खनिए प्रचण्ड- संसद विघटन प्रतिगमन नभएर के हो ? कि नेपाली जनता भेडा भन्ठान्नुभो ! (भिडिओ)

    ओलीमाथि खनिए प्रचण्ड- संसद विघटन प्रतिगमन नभएर के हो ? कि नेपाली जनता भेडा भन्ठान्नुभो ! (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन संविधानको मर्मविपरित भएको बताउँदै त्यो प्रतिगमन नै रहेको बताएका छन् ।

    चालू प्रतिनिधिसभाको अन्तिम बैठकमा उनीअघि बोलेका एमाले अध्यक्ष ओलीले बोलेको कुरामाथि पटाक्षेप गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

    ‘तीनवर्ष पुग्दानपुग्दै संविधानको मर्म र भावनाअनुसार सरकार अगाडि जान सकेन । मलाई अनौठो पनि र अलिअलि आश्चर्य पनि लाग्यो,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताले प्रतिगमनको पनि ब्याख्या पनि गर्नुभयो, लोकतन्त्रको पनि व्याख्या गर्नुभयो । यो के….जसले जे भनेपनि हुनेहोकी क्याहो जस्तो पनि लाग्यो मलाई । संविधानमा हुँदै नभएको अधिकार, सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइदैन भनेर हामी सबैले सचेत भएर व्यवस्था गरेको होइन् ?’

    संसदभित्र सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै संविधानको मर्म, भावना र लोकतन्त्रको मान्यताविपरित सरकारको नेतृत्व गर्ने दलभित्र बैठक बस्दाबस्दै त्यसबारे छलफल नगरिकन हठात प्रतिनिधिसभा विघटन गर्ने काम भएको उनले बताए । ‘अनि कताकता तुलना गर्दिनुभो । अहिले पनि निर्वाचन गरेको प्रतिगमन हो । तुलना गर्ने पनि एक हद हुन्छ नि,’ उनले भने, ‘हामी यहाँ बसेका केही नि नबुझ्ने छन् भन्ठान्नुभा हो की, अथवा नेपाली जनताले केही नि जान्दैनन्, भेडै छन् भन्ठान्नुभा होकी ?’

  • प्रचण्डको व्यक्तिगत मोवाइल एप ‘क–प्रचण्ड’ लञ्च

    प्रचण्डको व्यक्तिगत मोवाइल एप ‘क–प्रचण्ड’ लञ्च

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तिगत ‘मोवाइल एप’ लञ्च गरिएको छ ।

    राष्ट्रिय विज्ञान दिवसका अवसरमा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित कार्यक्रममा ‘क–प्रचण्ड’ नामक एप लञ्च गरिएको हो ।

    उक्त एपमा अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रका गतिविधि, सूचना, जानकारी, सामाजिक सञ्जालहरूकै मोडालिटीमा सहजरुपमा लिन सकिने जनाइएको छ ।

  • प्रचण्डको टिप्पणी- तेत्तिसकोटी देवता पुज्दै हिँड्नुभन्दा मान्छे पुज्दै हिँडे कति राम्रो हुने (भिडिओ)

    प्रचण्डको टिप्पणी- तेत्तिसकोटी देवता पुज्दै हिँड्नुभन्दा मान्छे पुज्दै हिँडे कति राम्रो हुने (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने परम्परा विज्ञानसम्मत नभएको बताएका छन् ।

    पार्टी कार्यालय पेरिसडाँडामा आज पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्  ।

    ‘हामीकहाँ त अब तेत्तिस कोटी देवता हुन्छन्,’ उनले भने, ‘जतासुकै देवतालाई पूजा गर्दै हिँड्नपर्ने । मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पुजा गर्दै हिँड्ने संस्कार छ ।’

    यसो भन्दा आफूमा चुनावको डर रहेको बताउँदै धर्मलाई नकारात्मक नभनेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘मैले फेरि धर्मलाई नेगेटिभ भन्या होइन है फेरी । चुनावको बेला छ, यसो भन्यो भनेर फेरी प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त ।’

    यसरी ढुंगा पुज्दै हिँड्नुभन्दा मान्छे पूज्दै हिँडे धेरै राम्रो हुने उनले बताए । ‘हामी घरैपिच्छे पूजा गरी हिड्ने मान्छेलाई पुजागरी हिँडे कति राम्रो हुन्थ्यो । गरिबहरूलाई पूजा गरी हिँडे धेरै राम्रो हुन्थ्यो नि,’ उनले भने ।

    विश्व कम्युनिष्ट आन्दोलन र माक्र्सवाद विज्ञानमा आधारित भएको अध्यक्ष प्रचण्डले दाबी गरे । ‘प्रकृतिको विकास कसरी भयो ? समाजको विकास कसरी भयो ? मानिसहरूको चिन्तन/चेतनाको विकास कसरी भयो?,’ उनले भने,‘माक्र्सवादले सबभन्दा बढी अनुसन्धान गरेको, आविष्कार गरेको, खोज गरेको, साधना गरेको मेहनत गरेर पत्ता लगाएको कुरा त्यही नै हो ।’

    यही कुरालाई कम्युनिष्टहरूले भौतिकवाद भनेर बुझ्ने उनले बताए । ‘हामी त्यस्लाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनेर बुझ्छौ । त्यसैबाट नै क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानवजातीको उन्मुक्तिको अभियान सुरू भएको हो,’ उनले भने ।

  • प्रचण्ड भन्छन्–सुन्धारामा नेता कार्यकर्ताको भीडले हिँड्नै गाह्रो छ (भिडिओ)

    प्रचण्ड भन्छन्–सुन्धारामा नेता कार्यकर्ताको भीडले हिँड्नै गाह्रो छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारीका लागि देशभरका नेता कार्यकर्ता काठमाडौं केन्द्रीत भएको बताएका छन् ।

    पार्टी कार्यालय पेरिसडाँडामा आज पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘भोलि समानुपातिकको बन्द सूची बुझाउनु छ निर्वाचन आयोगमा । देशैभरीबाट करिब–करिब राजनीतिक पार्टीका नेताकार्यकर्ता निकै ठूलो जमघट चाही भएको छ,’ उनले भने, ‘मैले सुनेको सुन्धारा वरीपरी हिँड्नै पनि गाह्रो भएको छ अरे ।’

    आफ्नो पार्टीबाट समानुपातिकका उम्मेदवारहरूको सूचि लगभग तयारी अवस्थामा रहेको पनि उनले बताए । ‘हामी पनि त्यसलाई अन्तिम रूप दिने प्रक्रियामा छौं । त्यसले गर्दा मेरो त्यतातिर नै व्यस्तता छ,’ उनले भने ।

  • चुनावी घोषणापत्र बनाउन माओवादीले विज्ञहरूसँग सुझाव लिने

    चुनावी घोषणापत्र बनाउन माओवादीले विज्ञहरूसँग सुझाव लिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि घोषणापत्रमा समेट्नुपर्ने विषयमा विज्ञहरूसँग सुझाव लिने भएको छ ।

    शुक्रबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको प्रतिबद्धतापत्र मस्यौदा समितिको बैठकले कार्ययोजना तयार पारेको हो । माओवादीले घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा मस्यौदा समिति बनाएको छ ।

    हिजोको बैठकले असोज ६-८ सम्म विभिन्न विषयविज्ञसँग सुझाव संकलन गर्नेगरी कार्यतालिका बनाएको छ । वाम बुद्धिजीवीहरू, अर्थतन्त्रका विज्ञ, नागरिक समाज, युवालगायतसँग अन्तरक्रिया गर्ने समितिले जनाएको छ ।

    देशको वर्तमान आवश्यकता, युवाका सवाल र समाजवादउन्मुख एजेण्डामा केन्द्रित भएर घोषणापत्र बनाइने समितिका सदस्य प्रकाश विकल्पले जानकारी दिए ।

    नारायणकाजी श्रेष्ठको नेतृत्वमा महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, सचिव लीलामणि पोखरेल, गणेश साहसहित परशुराम तामाङ, अमृता थापामगर, डा. मीनबहादुर श्रेष्ठ, डिपी ढकाल, जाकिर हुसेन, प्रकाश विकल्प, जगत सिम्खडा, मनहरि तिमिल्सिना, डा. पूर्ण लोक्सम, नहेन्द्र खड्का मस्यौदा समितिका सदस्य छन् ।

    सर्वसाधारण र माओवादीका शुभेच्छुकहरूका लागि घोषणापत्रमा छुटाउन नहुने विषयबारे cpnmcempc@gmail.com मा माओवादीले सुझाव आव्हान गरेको छ ।

  • यी हुन् प्रमुख तीन दलबाट ७४ को चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ बन्दसूचीमा परेकाहरू

    यी हुन् प्रमुख तीन दलबाट ७४ को चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ बन्दसूचीमा परेकाहरू

    काठमाडौं । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेस गरी निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक उम्मेदवारको बन्दसूची भोलि राति १२ बजेदेखि स्वतः कायम नरहने गरी निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।

    २०७४ को निर्वाचनमा बन्द सूचीमा रहेकाहरूको नाम हटाएपछि मात्र अबको बन्दसूचीमा पेस गर्न मिल्ने र प्रत्यक्षमा उम्मेदवारी दिन मिल्ने बाटो खुल्नेछ ।

    यसअघि प्रमुख तीन दल नेकपा एमाले, नेकपा एमाले र माओवादी केन्द्रले बराबर ११० जनाको सूची पेस गरेका थिए । २०७४ मा समानुपातिकतर्फको निर्वाचनमा भाग लिन ४० राजनीतिक दलले बन्दसूची बुझाएका थिए ।

    हेर्नुस् २०७४ को बन्दसूचीमा प्रमुख ३ दलबाट समानुपातितर्फ उम्मेदवारहरूको नामावली:

    नेकपा एमाले-

    नेपाली कांग्रेस :

    नेकपा माओवादी केन्द्र :