Category: माओवादी केन्द्र

  • ज्यान जोखिममा राखेर पहाडको बीचबाट हिँडे, अब गोरखालाई धुलोमुक्त बनाउँछु : प्रचण्ड (भिडिओ)

    ज्यान जोखिममा राखेर पहाडको बीचबाट हिँडे, अब गोरखालाई धुलोमुक्त बनाउँछु : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पाँच वर्षभित्र गोरखा जिल्लालाई धुलोमुक्त बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।

    गोरखामा २ का आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले उनले आफूले चुनावी प्रचारको क्रममा ढुंगाको बीचमा ज्यान जोखिममा राखेर हिँड्न परेको बताए।

    प्रचण्डले भने- हिजोदेखि आजसम्म आउँदा माथि ढुंगैढुंगाको बीचको पहराबाट आउँदा डरलाग्दो बाटो हिँडे म। हिजो २२ वटा कार्यक्रममा धुलो र ढुंगाको बीचबाट ज्यान जोखिमजस्तो ठाउँबाट हिँडेर हिजो सभा भए । तल झरेपछि यहाँ राम्रो होला भनेको यहाँ पनि धुलो बाहेक केही पनि रहेनछ। मैले ०७४ मा चितवनबाट लड्दा जता गएपनि धुलो मात्रै थियो। मैले ५ वर्षभित्र धुलो पिचमा बदल्छु भनेर त्यो पुरा गरे। अब पाँच वर्षभित्र गोरखाको धुलो र ढंगा पनि सफा गरिन्छ।

    राजनीतिक क्रान्ति गोरखाबाटै सुरु गरेकाले आर्थिक समृद्धिको अभियान पनि गोरखाबाट सुरु गर्ने बताए।

    ‘म गोरखामा आओस् भन्ने चाहना हाम्रो पार्टी र यहाँको जनताको पनि भयो। सिराह, काठमाडौं, चितवनबाट चुनाव लड्दै गर्दा पार्टी गठबन्धन र यहाँको जनताको भरोसाले मलाई यहाँ खडा गरेको छ’ उनले भने, ‘बाबुरामजी र हाम्रो सपना भनेको देशको राजनीतिलाई सुदृढ गर्नु नै हो। जनताको अधिकारलाई सुनिश्चित गर्न आर्थिक क्रान्ति आवश्यक छ।’

    मंसिर ४ को निर्वाचनमा प्रतिगमन विरुद्धको लडाइँ भएको समेत बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै संविधान च्यात्न खोज्नेहरूलाई परास्त गर्न एकजुट हुन आह्वान गरे।

    ‘ठुलो बलिदानपछि हामीले संविधानसभा प्राप्त गरेका थियौँ। तर, केही नेताहरूबाट त्यसलाई उल्टाउने प्रयास भयो। लोकतन्त्र र समावेशी संविधानलाई उल्ट्याउन खोजियो। त्यही संघर्षको बीचबाट यो गठबन्धन बनेको हो’ उनले भने, ‘हामीले यो गठबन्धनमार्फत देशलाई प्रतिगमनतर्फ जान खोज्नेलाई रोक्न सफल भएका छौँ। स्थानीय निर्वाचनबाट परास्त गरेपछि संविधान च्यात्न खोज्नेलाई आगामी निर्वाचनबाट परास्त गर्नुपर्छ।’

  • भैंसेपाटी पुगेर पम्फा भुसालले वामदेव गौतमसँग मागिन् भोट

    भैंसेपाटी पुगेर पम्फा भुसालले वामदेव गौतमसँग मागिन् भोट

    काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले वामदेव गौतमसँग भोट मागेकी छन् ।

    भैंसेपाटीस्थित गौतम निवासमा पुगेर भुसालले भोट मागेकी हुन् । एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गौतम पछिल्लो समय राजनीतिमा सक्रिय छैनन् ।

    एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा नगई वाम एकताको पक्षमा लागेको बताउने गौतम देश चुनावमय हुँदा निष्क्रिय देखिन्छन् ।

    उनै गौतमलाई भेटेर भुसालले आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गरेकी हुन् । सत्ता गठबन्धनकी उम्मेदवार भुसाल २०६४ र २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर, २०७० सालको निर्वाचन भने उनी सम्मिलित पार्टीले बहिस्कार गरेको थियो ।

    यसपटक गठबन्धनको समर्थनसहित उनी चुनावी मैदानमा छिन् ।

    तस्वीर सौजन्य : पम्फा भुसाल

  • काठमाडौं १० मा माओवादीको निर्णय- प्रदेशसभा २ मा पनि उम्मेदवारी कायमै राख्ने

    काठमाडौं १० मा माओवादीको निर्णय- प्रदेशसभा २ मा पनि उम्मेदवारी कायमै राख्ने

    काठमाडौं । सत्ता गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १० को प्रदेशसभा क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई गठबन्धनको आधिकारिक उम्मेदवार मान्ने निर्णय गर्दै जारी गरेको सर्कुलरप्रति नेकपा माओवादी केन्द्रको क्षेत्रीय समितिले असहमति जनाएको छ ।

    गठबन्धनका शीर्ष नेताको बैठकले जारी गरेको आधिकारिक उम्मेदवारको सूचीमा काठमाडौं १० मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका राजन केसी र माओवादी केन्द्रका अञ्जना विशंखे र प्रदेशसभा १ मा कांग्रेसका पुकार महर्जन र माओवादीका दिलीप महर्जनबीच मित्रवत प्रतिस्पर्धा गर्ने भनिएको छ ।

    तर, प्रदेशसभा २ मा भने एकीकृत समाजवादीका रमा आलेमगरको नाममात्रै राखिएको छ ।

    गठबन्धनको सीट बाँडफाँटमा उक्त क्षेत्र एकीकृत समाजवादीको भागमा परे पनि माओवादीले गणेशबहादुर कुँवरलाई उम्मेदवार बनाएपछि दोहोरो उम्मेदवारी छ ।

    माओवादीको काठमाडौं क्षेत्र नम्बर १० क्षेत्रीय कमिटीका इन्चार्ज पुरुषोत्तम सुनार र क्षेत्रीय इञ्चार्ज उर्गेन लामाले प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनको निर्णयप्रति क्षेत्रीय कमिटीको असहमति रहेको बताउँदै काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभा र प्रदेसभा १ र २ गरेर सबै क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवारी कायमै रहेको प्रस्ट पारेका छन् ।

    गठबन्धनका शीर्ष नेताको बैठकले कुँवरको उम्मेदवारीलाई गठबन्धनको लिष्टमा नराखे पनि स्थानीय माओवादी नेतृत्वले मित्रवत प्रतिस्पर्धाका नाममा एकीकृत समाजवादीलाई छाड्न नसकिने जनाएको छ ।

    ‘मिति २०७९ साल कात्तिक ११ गते ४ दलीय गठबन्धनको विज्ञप्ति प्रकाशित भएकोमा काठमाडौं जिल्ला क्षेत्र नम्बर १० नेकपा माओवादी केन्द्रको ध्यानाकर्षण भएको छ । काठमाडौं जिल्ला क्षेत्र नम्बर १० मा उम्मेदवारी दर्ता गर्ने समयदेखि नै गठबन्धन नभएकाले उक्त विज्ञप्तिप्रति असहमति रहेको हुँदा प्रतिनिधिसभा सदस्य उम्मेदवार क. अञ्जना विशंखे, प्रदेशसभा १ सदस्य उम्मेदवार क. दिलीप महर्जन र प्रदेशसभा २ सदस्य उम्मेदवार क. गणेशबहादुर कुँवरसमेत ३ जनाको उम्मेदवारी यथावत कायम रहेकाले कोही पनि भ्रममा नपरी चुनावी अभियानमा सक्रिय भई परिचालित हुन स्थानीय नेता, कार्यकर्ता, शुभचिन्तक तथा सम्पूर्ण समर्थक जनसमुदायमा हार्दिक अपिल गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ ।

  • माओवादीले भोलि घोषणापत्र सार्वजनिक गर्ने

    माओवादीले भोलि घोषणापत्र सार्वजनिक गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

    मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।

    सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

    सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको थियो ।

  • काठमाडौं- ३ का माओवादीको चेतावनी–मित्रवत प्रतिस्पर्धाका नाममा हाम्रो सीट खोस्ने सहमति अमान्य

    काठमाडौं- ३ का माओवादीको चेतावनी–मित्रवत प्रतिस्पर्धाका नाममा हाम्रो सीट खोस्ने सहमति अमान्य

    काठमाडौं । सत्ता गठबन्धनले काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र नम्बर २ मा मित्रवत प्रतिस्पर्धा गर्ने भनी जारी गरेको सर्कुलरप्रति नेकपा माओवादी केन्द्रको क्षेत्रीय समितिले असहमति जनाएको छ ।

    गठबन्धनका शीर्ष नेताहरुको बैठकले जारी गरेको आधिकारिक उम्मेदवारको सूचीमा काठमाडौं ३ मा प्रतिनिधि सभामा कांग्रेसका सन्तोष चालिसे र प्रदेश सभा १ मा कांग्रेसका छिरिङ दोर्जे लामाको नाम राखिएको छ ।

    त्यस्तै प्रदेश सभा क्षेत्र २ मा कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुँयालबीच मित्रवत प्रतिस्पर्धा गर्ने भनिएको छ । गठबन्धनको सीट बाँडफाँटमा सो क्षेत्र माओवादीको भागमा परे पनि कांग्रेसले ठकुरीलाई उम्मेदवार बनाएपछि दोहोरो उम्मेदवारी छ ।

    नेकपा माओवादी केन्द्रको काठमाडौं क्षेत्र नम्बर ३ क्षेत्रीय कमिटीका इन्चार्ज समेत रहेका प्रदेश सभा उम्मेदवार महेश्वर फुयाल विवेकले प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले विमल ठकुरीको उम्मेदवारी निष्क्रिय बनाएर प्रदेश सभा २ मा माओवादी केन्द्रलाई समर्थन जनाएमात्र प्रतिनिधि सभा र प्रदेशसभा १ मा कांग्रेसलाई सघाउँन सकिने प्रष्ट पारेका छन् ।

    माओवादी केन्द्रबाट प्रतिनिधि सभामा बद्री बजगाई र प्रदेशसभा १ तर्फ कपिलमुनी उप्रेती उम्मेदवार छन् । गठबन्धनका शीर्ष नेताको बैठकले बजगाई र उप्रेतीको उम्मेदवारीलाई गठबन्धनको लिष्टमा नराखे पनि स्थानीय माओवादी नेतृत्वले मित्रवत प्रतिस्पर्धाका नाममा कांग्रेसलाई छाड्न नसकिने जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ– यदि नेपाली कांग्रेसले सहमतिबेगर दर्ता गरेको प्रदेश क्षेत्र(२) को उम्मेदवारी फिर्ता लिन्छ भने माओवादी केन्द्र पनि संघ र प्रदेश (१) को उमेदवारी फिर्ता लिन तयार छ । यदि नेपाली कांग्रेसले मित्रवत प्रतिस्पर्धाका नाममा माओवादी केन्द्रको भागमा परेको प्रदेश(२) बाट आफ्नो उमेदवारलाई पुर्ण रूपमा निस्कृय गर्दैन हाम्रो तीन वटै सीटको उम्मेदवारी कायम रहनेछ र हामी तीनैजना भोट माग्दै मतदाताबीच सशक्त रुपमा जानेछौं ।

  • अहिलेसम्मका चुनावमध्ये सहज भएको भन्दै प्रचण्डले भने- गोरखामा रिल्याक्स फिल गरेको छु (भिडिओ)

    अहिलेसम्मका चुनावमध्ये सहज भएको भन्दै प्रचण्डले भने- गोरखामा रिल्याक्स फिल गरेको छु (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले अहिलेसम्मको चुनावमध्ये आफ्ना लागि गोरखा सहज भएको बताएका छन् । उनले गोरखामा रिल्याक्स फिल गरेको पनि बताए ।

    आइतबार बिहान भच्चेकमा कार्यकर्ता तथा मतदातामाझ छोटो अन्तरक्रियामा उनले गठबन्धनभित्र दरिलो एकता भएको बताएका छन् ।

    प्रचण्डले भने, ‘गोरखा आउन पाएकोमा खुसी छु । अहिलेसम्मको निर्वाचनमा भन्नुपर्दा मेरो लागि एक ढंगले सहज । यहाँ आउँदा रिल्याक्सजस्तो फिल गरेको छु । गोरखामा निश्चित सपना बोकेर आएको छु । गोरखामा आउनुको उद्श्य इतिहास, पछिल्लो माओवादी आन्दोलनको दृष्टिकोणले गोरखा महत्वपूर्ण जिल्लाभित्र पर्छ । गठबन्धनभित्र पनि दरिलो एकता भएको छ ।’

    राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको परिवर्तन सुशासन र विकासले गति लिएर परिवर्तनको औचित्य सिद्ध गर्ने कुरा भनेको जस्तो नभएको उनले स्वीकारे ।

    भौतिक पूर्वाधार, सडक सञ्जाल गोरखामा आफ्नो प्राथमिकता भएको भन्दै प्रचण्डले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरू गरेर संसारभरलाई देखाउने दाबी गरे ।

    ‘गोरखामा भौगोलिक, ऐतिहासिक, साँस्कृतिक आधार छन् । आउने ५ देखि १० वर्षभित्र नेपालमा समृद्धिको नयाँ अभियान अघि बढाएर सफल पार्न सकिएन भने राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न गार्‍हो हुन्छ । जनक्रान्तिको थलोबाटै यसको थालनी गर्न तपाईँमाझ आएको छु’, उनको भनाइ थियो ।

    गोरखामा आफूलाई ल्याएकोमा प्रचण्डले बाबुराम भट्टराईलाई धन्यवादसमेत दिए ।

    उनले भने, ‘सधैँ एउटै मान्छे एकैठाउँमा हुँदैन भन्ने बाबुरामजीले भन्नुभयो उहाँमा त्यो उदारता र भावना छ । तर, मलाई यहाँ ल्याएर तँ चाहिँ यहाँ हुनुपर्छ भन्नुभो त्यसका लागि विशेष धन्यवाद ।’

  • धादिङबाट प्रचण्डले भने- गठबन्धनले नजिते देश हार्छ, राजावादी र विखण्डनकारीले जित्छन् (भिडिओ)

    धादिङबाट प्रचण्डले भने- गठबन्धनले नजिते देश हार्छ, राजावादी र विखण्डनकारीले जित्छन् (भिडिओ)

    धादिङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले चुनाव नजिते देश हार्ने भन्दै देशलाई जिताउन पनि सबै विगतका तितामिठा त्यागेर एक आपसमा मत दिन गठबन्धन आबद्ध दलका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    चुनावी अभियानका क्रममा निर्वाचन क्षेत्र गोरखा जाने क्रममा धादिङको सल्यानटारमा आयोजित गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनले नजिते देश विखण्डन गर्ने प्रतिगामी गठबन्धनले जित्ने खतरा रहेको बताए ।

    प्रचण्डले भने–यो निर्वाचन एउटा ब्याटल बनेको छ । गठबन्धन जित्दा देश जित्छ । अहिले दुई वटा गठबन्धन छन् । एउटा शान्ति प्रक्रियादेखि लोकतान्त्रिक गठबन्धन छ । अर्को गठबन्धनमा राजावादी, देश विखण्डन गर्ने अलगाववादी, अतिवादी र संविधानविरोधीहरु छन् । त्यसैले आग्रह पूर्वाग्रह छाडेर इतिहासको आवश्यकता अनुसार बनेको गठबन्धन जिताउनुपर्छ ।

    अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारीदेखि अहिलेसम्म सहकार्य गरेको गठबन्धनमा नेकपा एकीकृत समाजवादीको भूमिका प्रस्ट्याउँदै तत्कालीन एमालेको प्रमुख माधव नेपाल नभएको भए त्यस बेला के हुन्थ्यो भन्ने गम्भीर प्रश्न खडा भएको बताए ।

  • पिएस गुरुङको प्रश्न- हाम्रो सेनापति केपी ओली हुन्, गठबन्धनको मोहनविक्रम कि चित्रबहादुर ? (भिडिओ)

    पिएस गुरुङको प्रश्न- हाम्रो सेनापति केपी ओली हुन्, गठबन्धनको मोहनविक्रम कि चित्रबहादुर ? (भिडिओ)

    लमजुङ । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धन सेनापतिविहीन फौजमा परिणत भएको भन्दै केपी ओलीको विकल्पमा प्रधानमन्त्रीको साझा उम्मेदवार पेश गर्न चुनौती दिएका छन् ।

    लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङले धेरै सेनापति भएको फौजले लडाइँ जित्न नसक्ने बताए । नेपाल प्रेससँगको भिडिओ कुराकानीमा गुरुङले एमालेले केपी ओलीलाई सेनापति बनाएर बहुमत मागिरहेको बताए ।

    गुरुङले भने, ‘धेरै सेनापति भएको सेनाले जहिले पनि लडाइँ हार्छ । हामी त केपी ओलीलाई सेनापति बनाएर बहुमत दिनुस्, हाम्रो प्रधानमन्त्री केपी ओली हो भनेर गएका छौं । जनताले हामीलाई विश्वासका साथ हेरेका छन् । तर, गठबन्धनको प्रधानमन्त्री को हो ? शेरबहादुर, प्रचण्ड, माधव नेपाल, मोहनविक्रम सिंह हुन् कि चित्रबहादुर केसी हुन् ? आफ्नो नेता छान्न नसकेको गठबन्धनले चुनाव जित्छ ? जनताले पत्याउँदैनन् ।

    उपमहासचिव गुरुङले गठबन्धनका एउटा सेनापति प्रचण्ड सुरक्षका लागि भाग्दै गोरखा आइपुगेको दाबी गरे । उनले कहिले चितवन, कहिले सिरहा, कहिले काठमाडौं हुँदै हार्ने डरले सुरक्षाका लागि गोरखा आएको भन्दै नेतृत्वविहीन गठबन्धनलाई भोट दिएर खेर फाल्न नहुने बताए ।

  • प्रचण्डको गृहजिल्ला चितवनको माओवादी नेतृत्वविहीन, सहइन्चार्ज पनि एमालेमा प्रवेश

    प्रचण्डको गृहजिल्ला चितवनको माओवादी नेतृत्वविहीन, सहइन्चार्ज पनि एमालेमा प्रवेश

    चितवन । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी एमाले प्रवेश गरेका छन् । चितवन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला हो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा रेग्मीसहित माओवादीनिकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल पनि एमाले प्रवेश गरेको एमाले वागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिए । यसअघि माओवादीकै जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियार एमाले प्रवेश गरेका थिए । परियार र रेग्मीको प्रवेशसँगै माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज र सहइन्चार्जविहीन भएको छ ।

    एमाले प्रवेश गरेका रेग्मी माओवादी वागमती प्रदेश कमिटीको सचिवालय सदस्यसमेत हुन् । पत्रकार नेता पोखरेल पनि वागमती प्रदेश कमिटीका सदस्य हुन् । रेग्मीले यसअघि माओवादी केन्द्र चितवनको पटकपटक जिल्ला सचिव, काठमाडौं र ललितपुरको समेत पार्टी सचिव भएर काम गरेका थिए । माओवादी केन्द्र ‘दाहाल एण्ड कम्पनी’ को रूपमा विकास भएकोले त्यहाँ बस्दा नेपाली कम्युनिष्ट अान्दोलनलाई थप क्षति र बर्बादी हुने भन्दै रेग्मीले आफूहरू कम्युनिष्ट आन्दोलनका मूल धार एमालेमा समाहित भएको बताए ।

    पार्टीलाई सही बाटोमा ल्याउन अन्तरसंघर्ष गरेपनि प्रचण्डले जे भन्छन् त्यही नियम र कानून बन्ने गरेको र व्यक्तिवाद हाबी भएको उनको आरोप छ ।

    ‘कांग्रेससँग आत्मसमर्पण गर्दै माओवादी अहिले कांग्रेसले छुट्याएको भाग खाने ठाउँमा आइपुगेको छ । कांग्रेसलाई ठूलो पार्टी बनाउन हिँड्ने कदापि कम्युनिष्ट हुन नसक्ने ठहरसहित हामी एमालेमा आएका हौं । अरु कम्युनिष्टहरू पनि एमालेमा केन्द्रीकृत हुन आवश्यक छ । अरू पनि नेता-कार्यकर्ता एमालेमा आउन उचित समयको पर्खाइमा छन्’, एमाले प्रवेशको क्रममा रेग्मीले भने ।

    पार्टी प्रवेश गर्ने कार्यक्रममा माओवादीबाट एमाले प्रवेश गरेका केन्द्रीय सदस्य यमबहादुर परियारलगायतको उपस्थिति थियो ।

  • बन्दसूचीबाट कांग्रेस र माओवादीका ४ जनाको खारेज हुँदा एमालेका सबै कायम (सूचीसहित)

    बन्दसूचीबाट कांग्रेस र माओवादीका ४ जनाको खारेज हुँदा एमालेका सबै कायम (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले खारेज गरेको समानुपातिकतर्फका उम्मेदवारमध्ये सबैभन्दा बढी राष्ट्रिय जनमोर्चाका २३ जना परेका छन् । आयोगले विभिन्न राजनीतिक दलले पेस गरेको बन्दसूचीमध्ये मापदण्डविपरीतका ५५० जनाको उम्मेदवारी खारेज गरेको थियो । हटाइएका उम्मेदवारहरूमा २०३ प्रतिनिधिसभा र ३४७ प्रदेशसभातर्फका छन् ।

    गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका तर, निर्वाचन खर्चको विवरण पेस नगरेपछि आयोगले तोकेको जरिबाना नतिर्ने २३ जनाको उम्मेदवारी खारेज भएको हो । यसपछि जनमोर्चाबाट ८७ जना उम्मेदवारको नाममात्रै बन्दसूचीमा कायम भएको छ ।

    दोस्रोमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका २२ जनाको उम्मेदवारी खारेज भएर ८८ जनाको उम्मेदवारी कायम भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका १० जनाको उम्मेदवारी खारेज भएको छ । जसमा १६ जनाको तोकिएको जरिबाना नबुझाएका कारण, ३ जनाको उमेर नपुगेको र २ जनाको दोहोरो परेको कारण छन् । एकजनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेका कारण खारेज भएको छ ।

    नेकपा (एमाले) को बन्दसूची भने सबै कायम भएको छ । समानुपातिकतर्फको ११० सीटका लागि हुने निर्वाचनमा एमालेले ११० जनाको नाम बन्दसूचीमा समावेश गरेको थियो । नेपाली कांग्रेसबाट भने एकजनाको नाम बन्दसूचीबाट हटेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाकार रहेका गोविन्द परियारको नाम दलितबाट बन्दसूचीमा पेस भए पनि उनीविरुद्ध निर्वाचन आयोगमा लाभको पदमा रहेको भन्दै उजुरी गरेपछि आयोगले उम्मेदवारी खारेज गरेको हो ।

    यस्तै नेकपा (माओवादी केन्द्र) बाट ३ जनाको उम्मेदवारी खारेज भएको छ । जसमा दुईजनाले आयोगबाट लागेको जरिबाना नबुझाएका कारण र १ जनाको दोहोरो उम्मेदवारी भएको भन्दै निर्वाचन आयोगले खारेज गरेको हो । यो सँगै माओवादीबाट १०७ जनाको मात्रै उम्मेदवारी कायम हुने भएको छ ।

    नेकपा (एकिकृत समाजवादी) बाट ६ जनाको उम्मेदवारी खारेज भएको छ । जसमा ५ जनाले आयोगबाट लागेको जरिवाना नुबझाएका कारण र एक जनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेका कारण आयोगले उम्मेदवारी खारेज गरेको हो । योसँगै नेकपा (एकिकृत समाजवादी) बाट १०४ जनाको उम्मेदवारी कायम भएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४ जनाको उम्मेदवारी खारेज भएको छ । जसमा ३ जनाको आयोगबाट लागेको जरिबाना नबुझाएका कारण र एकजनाको दोहोरो उम्मेदवारी परेका कारण निर्वाचन आयोगले खारेज गरेको हो । यस्तै बन्दसूचीमा ११० जनाकै नामावली पेस गरेको नवगठित रवि लामिछाने नेतृत्वको राष्ट्रिय पार्टीको ३ जनाको उम्मेदवारी खारेज भएको छ । जरिबाना नतिरेकाले उनीहरू ३ जनाको नाम आयोगले हटाएको हो ।

    हेर्नुस् सूची

  • गठबन्धनको रणनीतिक प्रयास- ‘भोट ट्रान्सफर’ गर्न कार्यकर्तालाई देखाउँदै ओलीको त्रास (भिडिओ)

    गठबन्धनको रणनीतिक प्रयास- ‘भोट ट्रान्सफर’ गर्न कार्यकर्तालाई देखाउँदै ओलीको त्रास (भिडिओ)

    काठमाडौं । तपाईँ घृणा गर्नुस् वा माया गर्नुस् कतिपय पात्र जसलाई तपाईँ उपेक्षा गर्न सक्नुहुन्न । नेपाली राजनीतिको तीव्र ध्रुवीकरण हुँदै गर्दा केपी शर्मा ओली त्यस्तै एउटा पात्र बनेका छन् । चुनाव नजिकिँदै गर्दा ओलीको पक्ष र विपक्षमा मुलुक विभाजित छ ।

    एकातिर बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीसहित ६ दलको गठबन्धन ओलीलाई उनीहरूको भाषामा ‘सबक सिकाउन’ बलियो सहकार्य गर्दै अघि बढेको छ भने अर्कोतिर हिजो गठबन्धनकै एउटा बलियो घटक उपेन्द्र यादवलाई त्यहाँबाट निकालेर आंशिक तालमेलसहित ओली पनि प्रतिवादमा उत्रिएका छन् ।

    हिजो ओलीलाई गाली गर्ने अशोक राई अहिले केपी ओलीले देखेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना साकार पार्न आफू धरानमा आएको भन्दै एमाले फकाउँदैछन् भने उपेन्द्र यादव र राजेन्द्र लिङदेनहरू ओलीको नेतृत्वमा आगामी सरकार बन्ने बताउँदै भोट मागिरहेका छन् ।

    तर, सत्तागठबन्धनका शीर्ष नेता एक कदम अघि बढेर ओलीको त्रास देखाउँदै कार्यकर्तालाई गठबन्धनप्रति बफादार बन्न दबाब दिइरहेका छन् । गठबन्धनभित्र मत ट्रान्सफरमा समस्या देखिएपछि शीर्ष नेताहरूले एकैस्वरमा ओली फोबिया देखाएर कार्यकर्तालाई गठबन्धनको औचित्य साबित गरिरहेका छन् ।

    उता केपी ओलीले भने आफ्नो विरोध गरेर वा आफूविरुद्ध मुख छाडेर कसैको जीविका चल्छ भने त्यसबाट आफू खुसी नै हुने जवाफ दिएका छन् । यद्यपि विपक्षीमाथि प्रहार गर्न गठबन्धनका पाँच शीर्ष नेताभन्दा ओली एक्लै काफी देखिन्छन् ।

    सातै प्रदेश, ओलीविरुद्ध आवेश

    सत्तागठबन्धन आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न केन्द्रित छ । चुनावी प्रचारकै क्रममा गठबन्धनले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्‍यो ।

    भेलालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत शीर्ष नेताहरूले सम्बोधन गरे ।

    उनीले गठबन्धन संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा बनेको प्रष्ट्याउन खोजिरहे । भने, गठबन्धनभित्रका असन्तुष्ट र बागी उम्मेदवारहरूलाई पनि सरकारी नियुक्तिको आश्वासनको पासो फ्याँके ।

    चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गर्दै प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले राजदूत, संवैधानिक नियुक्ति, राष्ट्रियसभा सदस्यजस्ता पदहरूको लोभ देखाइरहेका छन् । प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई आश्वास बाँड्ने काम गरिरहेका छन् ।

    यीबाहेक गठबन्धनका शीर्ष नेताहरूले चुनावपछि बन्ने सरकारले गर्ने कामबारे एकताबद्ध भएर फेहरिस्त सुनाउन र देखाउन सकेका छैनन् । भाषणका क्रममा नेताहरूले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको र उनी शक्तिमा आए कसैको अस्तित्व नरहने भनेर कार्यकर्तालाई ‘ओली त्रास’ देखाएका छन् ।

    हेर्नुस् भिडिओ-

    गत मंगलबार गठबन्धन दलका शीर्ष नेताहरूले संयुक्त प्रतिबद्धता जाहेर गर्दै गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति जनताको समर्थन रहने विश्वास व्यक्त गरेका थिए । उनीहरूको संयुक्त प्रतिबद्धतामा पनि ओलीलक्षित गर्दै प्रतिगमन कायम रहेसम्म गठबन्धन कायम रहने प्रष्ट्याउन खोजेका थिए ।

    संयुक्त प्रतिबद्धतामा भनेका थिए, ‘राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गर्दै जनताको संघर्ष र बलिदानको परिणामस्वरूप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने छ ।’

    एजेण्डा के ?

    गठबन्धनका शीर्ष तहबाट नभएर ओलीले गरेको संसद विघटनलाई प्रतिगमनलाई देखाएर भोट मागिरहेका छन् । भने, ओलीले त्यसको बचाउ गर्दै देश विकासविरोधी भएको आरोप लगाउँदै आइरहेका छन् । गठबन्धनले जिते के गर्ने भन्ने भन्दा पनि हारेमा ओलीको अतिवादले जित्ने र देशै छाड्नुपर्ने अवस्था आउने भनेर त्रास देखाइरहेका छन् ।

    ओलीको प्रतिगमनको कारणले गठबन्धन बनेको हुनाले उपलब्धिको रक्षा गर्नका लागि आफूहरूले यही एजेण्डालाई प्राथमिकता दिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महत दाबी गर्छन् ।

    उनी भन्छन्, ‘हाम्रो रहरले गठबन्धन बनेको होइन । ओलीजीकै असंवैधानिक कारणले संविधान र लोकतन्त्रको रक्षा गर्दै देशलाई प्रतिमनमा जानबाट रोक्न एकजुट भएको हौँ । त्यसैले चुनावमा यही एजेण्डालाई अघि सारेका छौँ ।’

    उनले मंसिर ४ को निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्न दाबी गरे । ‘हामीले उलपब्धि रक्षाका लागि गठबन्धन गरेकोमा दुईमत छैन । त्यसैले आगामी सरकार पनि कांग्रेस नेतृत्वमा गठबन्धनकै बन्छ’ उनले भने ।

    हेरौँ, ओलीमाथि गठबन्धन शीर्ष नेताको श्रृंखलाबद्ध आलोचना

    कात्तिक ४ गते बुटवलमा

    देउवा : एमाले-राप्रपासहितका पक्ष राष्ट्रवादी हुनै सक्दैन । सत्तागठबन्धनको खिलाफमा राजावादी तागत लागेको छ । उनीहरूले राष्ट्रवादी हो भन्न थालिसके, असली मानेमा राष्ट्रवादी हामी हौँ । लडेर व्यवस्था ल्याउने हामी, उनीहरू कसरी राष्ट्रवादी हुन्छन् ?

    माधव नेपाल : केपी ओलीले अलिकति शक्ति आर्जन गरे भने, बहुमतको त कुरै छाड्नुस्, त्यसपछि देश नै छाडेर भाग्नुपर्ने हुन्छ । तिनले गणतन्त्रलाई जोखिममा राख्नेछन् । उनले जम्मै प्रतिगामी शक्तिसँग साँठगाँठ गरेका छन् । राप्रपाको नीति क्लिएर नै छ । राजतन्त्रलाई पुनःस्थापित गर्ने, इतिहासको रछ्यानमा फालिएको संस्थालाई जिउँदो बनाउने र सत्ता उनको हातमा पुर्‍याउने शक्तिसँग साँठगाँठ छ ।

    कात्तिक ५ विराटनगरमा

    प्रचण्ड : सानातिना कमीकमजोरी हिजो छन् भनेपनि यो महान् उद्धेश्यको निम्ति त्यसलाई थाती राखेर संविधान, लोकतन्त्र र जनताका एकढिक्का होइदिनुहोला, गठबन्धनका सबै साथीहरूलाई कुरो गहिरो छ, अहिले पनि षड्यन्त्र रोकिएको छैन ।

    माधव नेपाल : कसैकसैले भन्छन् कांग्रेस र कम्युनिष्टले अगाडि बढ्न सक्दैन । ०४६/४७ को निरंकुश आन्दोलन कांग्रेस, कम्युनिष्ट मिलेर सफल भएको थियो, राजतन्त्रलाई हटाउन कांग्रेस कम्युनिष्ट मिलेको थियो । प्रचण्डको विद्रोही भावना र हाम्रो केपी ओलीलाई पछार्न सकेको छौँ ।

    कात्तिक ५ गते जनकपुरमा

    प्रचण्ड : मधेसको अधिकारका लागि लड्नेहरू आइसोलेसनमा पर्ने, विष वमन गर्नेहरू विजयी हुने, उनीहरू नै कता-कता बलियो देखिने यो विडम्बना किन भइरहेको छ ? यहाँका बुद्धिजीवि, नेता कार्यकर्ताको लागि पनि चुनौती हो । कतै न तकै हाम्रो गठबन्धन दलका नेताहरूको कमजोरी भयो ।

    माधव नेपाल : केपी ओलीका भ्रममा नपर्नुस्, अलमलिनु आवश्यक छैन । मधेसको विरोधी कोही पार्टी छ भने त्यो एमाले मात्रै हो । केपी ओली एक नम्बर खतरनाक मान्छे हो । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेका हुन् ।

    रामचन्द्र पौडेल : मधेसमा केपी ओली र एमालेले जित्न लागेको जस्तो हाइ-हाइ गर्नु मधेसीको अहितमा हुन्छ । ओलीले मधेसका लागि राम्रो गर्दैनन् तपाईंहरू बेलैमा सचेत बन्नुहोला ।

    कात्तिक ६ गते धनगढीमा

    देउवा : संविधान बचाउने कि नबचाउने गणतन्त्र जोगाउने कि नजोगाउने भन्ने कुरा छ । संघीयता बच्न गठबन्धन जित्न आवश्यक छ । संविधान र सत्ता गठबन्धनविरुद्ध अन्तर्राष्ट्रिय शक्ति लागेका छन् ।

    प्रचण्ड : आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो । सबै उपलब्धिहरू धरापमा भएपछि गठबन्धन बनाएका हौँ । गणतन्त्र उल्टाउने एमालेको योजना छ । एमालेले राजतन्त्रलाई पुनःस्थापना गर्ने उद्देश्यले गठबन्धन बनाएको छ ।

    माधव नेपाल : हामीले समयमा कदम नचालेको भए लोकतान्त्रिक संविधान जोगिने थिएन । गणतन्त्रको रक्षा हुने थिएन । मुलुक प्रतिगमनतिर जाने थियो । सबै उपलब्धि सकिने थियो । एमाले प्रगति र परिवर्तनको बाधक हो ।

    कात्तिक ६ गते सुर्खेतमा

    देउवा : अहिले नेपाल अत्यन्तै गम्भीर मोडमा उभिएको छ, देश कता जाने ? संविधान कता जाने भन्ने द्विविधा छ । हामीले २००७ सालदेखि लड्दा/लड्दा यो व्यवस्था आएको हो, त्यसैले यो शासन प्रणालीलाई बचाउनका लागि सुदूरपश्चिमको एकता आवश्यक छ ।

    प्रचण्ड : अहिलेको एमाले एमाले होइन, माधवकुमार नेतृत्वमा रहेको बेलाको पो एमाले हो । विस्तृत शान्ति सम्झौताका बेला ओली नेतृत्वमा हुन्थे भने अहिले यो व्यवस्था आउने थिएन देश जोगाउन, संविधान जोगाउन र प्रतिगमन सच्याउने चुनाव हो ।

    सोमबार काठमाडौंमा

    बाबुराम भट्टराई : चर्को घामले सताइरहेका बेला हँसिया बोक्ने किसान, हतौडा बोक्ने मजदुर र कलम समात्ने बुद्धिजीवि एउटा ठूलो रुखको छायाँमा बसेर कपमा चिया खाँदा जुन आनन्द आउँछ ।

    प्रचण्ड : ओलीले नेपालमा संविधानसभा सम्भव छैन । राजतन्त्र फाल्न सम्भव छैन भन्ने नेताहरू थिए । अहिले पनि संविधान स्वीकारेका रहेनछन् । आफू पावरमा आएपछि संविधान र गणतन्त्र उल्टाउने कसरत गरे । त्यसैले ओलीबाट मैले ज्ञान प्राप्त गरेको आएको छु । अब मिल्ने गल्ती गर्दिनँ ।

    माधव नेपाल : हामीले गठबन्धनको साझा उम्मेदवारलाई जिताउन सकेनौँ भने प्रतिगमनकारीको मनोबल बढ्छ । ओलीले संविधान र लोकतन्त्रको मूल्य मान्यता कुल्चिएर अघि बढे । बयलगाडा प्रवृत्तिवाला ओलीले अहंकारमा डुबाए । अब उनी हिटलरको शैलीमा आफैँ समाप्त हुँदै जान्छन् ।

    रामचन्द्र पौडेल : अहिलेसम्मको उलपब्धिमाथि राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीबाट प्रहार भएको छ । रक्षक नै भक्षक भए । त्यसैले अहिले केपी ओलीले गरेको गठबन्धन दलका अनुहार हेरे पुग्छ । राष्ट्रवादको मुकुन्डो उत्रिसकेको छ ।

    यी माथि प्रस्तुत अभिव्यक्ति गठबन्धनका शीर्ष नेताहरूले चुनावी कार्यक्रमलाई सम्बोधन गर्दाका हुन् । ओली जिते फेरि देशमा राजतन्त्र फर्काउनेदेखि देश नै छाडेर भाग्नुपर्ने परिस्थिति आउने उनीहरूको भनाइ छ । अझ, भनौं ओलीबारे जनतामा त्रास फैलाइरहेका छन् ।

    गठबन्धनमा कांग्रेसबाट ‘भोट ट्रान्सफर’ नहुने आसयमा अझै प्रचण्ड-माधव प्रस्तुत भइरहेका छन् । उनीहरूले ओलीको त्रासलाई देखाएर गठबन्धनको पक्षमा मत फकाउने र धम्काउने गरिरहेका छन् ।

    हरेकजसो कार्यक्रममा प्रचण्ड र माधव नेपालले मत ट्रान्सफर नहुने आशंका व्यक्ति गर्दै आइरहेका छन् भने देउवा र नेता पौडेलले गठबन्धनको पक्षमा उपलब्धिको रक्षाको लागि मतदान गर्न आह्वान गरेका छन् ।

    गठबन्धनको कुनै उद्देश्य नै नभएकाले एकमात्र उद्देश्य एमालेको समाप्ति र एकमात्र एजेण्डा केपी ओलीलाई सराप्ने रहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दाबी गर्छन् ।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य केही छैन । उनीहरूको उद्देश्य भनेको एमाले सिध्याउनमात्रै हो । राजनीतिक स्थायित्व, मुलुकको विकास र हितको पक्षमा काम गर्नै सक्दैनन् ।’

    विश्लेषक भन्छन्-एजेण्डा नभएपछि गालीगलौज

    दलहरूको कुनै एजेण्डा नै नभएका कारणले नेताहरू आरोप-प्रत्यारोपमा लागको राजनीति विश्लेषक खगेन्द्र प्रसाईँ टिप्पणी गर्छन् ।

    उनी भन्छन्, ‘अहिलेको राजनीति सत्ताकेन्द्रित मात्रै छ । दलहरूसँग केही एजेण्डा छैन । राष्ट्र र जनता आवश्यकता प्राथमिकतामा परेको देखिँदैन । सरकारको वरिपरि देखिराख्नुपर्ने उनीहरूको एकमात्रै योजना भएजस्तो देखिएको छ । राजनीतिको प्राण नै सत्ता मात्रै हो भन्ने उहाँहरूलाई लागेको छ । अहिलेको राजनीतिका स्थिति पुँजीवादी व्यवस्था हो । अहिले राजनीतिमा अराजकता फैलिएको छ ।’

    त्यसो त अर्का राजनीतिक विश्लेषक हरि रोक्का पनि दलहरू एजेण्डाविहीन भइसकेको दाबी गर्छन् ।

    उनी भन्छन्, ‘दलहरूको न भोट माग्ने शैली फेरिएको छ न त अवस्था नै । एजेण्डाविहीन भएपछि अहिले सत्तास्वार्थमा रमेर त्यही अनुरूप चलिरहेका छन् ।’

    गठबन्धनले ओलीलाई दोषी देखाएर भोट माग्नु स्वाभाविक भएको उनको बुझाइ छ ।

    ‘दलहरूको एजेण्डा बिक्न छाडिसक्यो । गत निर्वाचनमा गर्छु भनेका काम केही भएका छैनन् । त्यसैले गठबन्धन पक्षले ओलीको असफलता देखाउने ओलीले गठबन्धनको असफलतालाई दोषी देखाएर आफू जनतासमक्ष राम्रो बन्न खोजेका छन्’ रोक्काले भने ।

    नेताहरूको अभिव्यक्ति र परिवर्तनको एजेण्डाबारे आश गर्नुको कुनै तुक नहुने उनको बुझाइ छ ।

  • माओवादीको ‘आधार इलाका’मा एमालेको चुनावी रणनीति, बागीसँग तालमेल

    माओवादीको ‘आधार इलाका’मा एमालेको चुनावी रणनीति, बागीसँग तालमेल

    रुपन्देही ।नेकपा एमालेले माओवादीले आधार इलाका मान्दै आएको रुकुमपूर्वमा आफ्नो वर्चश्व बढाउन गठबन्धनका बागी उम्मेदारलाई साथ दिँदै आफ्ना उम्मेदारलाई ब्याक गराएको छ ।

    प्रदेश सभा १ मा सत्ता गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका सुरुल पुन अजयशक्तिलाई सघाउँदै नेकपा एमालेले आफ्नो उम्मेदवारी निष्क्रिय गराएर यस्तो रणनीति अपनाएको हो । असन्तुष्ट समूहसँग प्रतिनिधिसभामा आफ्ना उम्मेदवारलाई सघाउनेगरी प्रदेशमा साथ दिने सहमति भएको हो ।

    सोमबार पुथाउत्तरगंगा गाउँपालिका वडा नं १० तकसेरामा बसेको बैठकबाट यस्तो निर्णय गरेको नेकपा एमालेले जनाएको छ।
    सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका तेजबहादुर ओली (प्रतीक) उम्मेदार छन् भने एमालेबाट तेजेन्द्र बुढामगरको उम्मेदवारी परेको थियो।

    तेजेन्द्रको उम्मेदवारीलाई नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका कैलासकुमार मल्ललाई सघाउने सहमतिमा उम्मेदवारी निष्क्रिय पारिएको हो। यहाँको प्रतिनिधिसभामा माओवादीबाट लुम्बिनी प्रदेशका पूर्वसभामुख पूर्णबहादुर घर्ती उम्मेदार छन् । उनी गठबन्धनका आधिकारिक उम्मेदार हुन् ।

    एमालेका जिल्ला कमिटी अध्यक्ष टोपबहादुर ओलीले गठबन्धनबाट बागी उम्मेदवार बनेका सुरुल पुनलाई चुनाव चिह्न चिम ‍(बल्ब) मा मत दिई सहयोग गर्नका लागि उम्मेदवारी निष्क्रिय गराएको जनाएका छन् । माओवादीका आधिकारिक उम्मेदार हराउन माओवादीकै केही नेताहरुबाटै बागी उम्मेदार सुरुल पुनलाई साथ दिएपछि रुकुमपूर्वको सत्ता गठबन्धनलाई समस्या थपिएको छ।

    सत्तारुढ गठबन्धनमा यहाँको प्रतिनिधि सभा र एक प्रदेश माओवादीलाई र एक प्रदेश सभा कांग्रेसलाई दिनेगरी सहमति भएको थियो तर यहाँका माओवादीले कांग्रेसलाई अनावश्यकरुपमा स्पेश दिएको भन्दै पार्टी नेतृत्वसँग असन्तुष्ट बनेका छन् भने आफ्नै नेतालाई परेको भागमा पनि बागी उम्मेदार उठाएका छन् ।

    स्थानीय तहको निर्वाचनमा आएको मत परिणाम हेर्दा यहाँ सबै दल एकातिर भएपनि माओवादी बलियो देखिन्छ । स्थानीय तहको वडाध्यक्षमा आएको मतअनुसार माओवादीकोे ११६२१, कांग्रेसको ६५३३, एमालेको ४५२१ मत आएको छ ।

  • चुनावी मैदानमा माओवादी पदाधिकारी- तीन नेतालाई छैन डर, अरु सबैलाई कांग्रेसको भर

    चुनावी मैदानमा माओवादी पदाधिकारी- तीन नेतालाई छैन डर, अरु सबैलाई कांग्रेसको भर

    काठमाडौं । यदि राजनीतिक दलहरु एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हो भने नेकपा माअ‍ोवादी केन्द्रले कति सीट जित्ला ? आम मान्छेले अनुमान लगाउने भनेको रोल्पा, रुकुम पूर्व र पश्चिम अनि गोरखा २ नै माओवादीका सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र हुन् ।

    संयोग नै मान्नुपर्छ गोरखा २, रोल्पा र रुकुममा माओवादी पार्टीका मुख्य नेताहरु प्रचण्ड, वर्षमान पुन र जनार्दन शर्मा उम्मेदवार छन् र एक्लै चुनाव जित्न सकिने ती क्षेत्रमा दोस्रो मत बोकेको कांग्रेससमेत साथमा भएपछि तीनैजना पदाधिकारी सेफ जोनमा देखिन्छन् ।

    २०७४ सालमा वाम गठबन्धन (एमाले-माओवादी) गरेर माओवादी केन्द्रले प्रत्यक्षमा ३६ सीट जितेको थियो । वाम गठबन्धनपछिको पार्टी एकता टुटेपछि माओवादी अहिले नेपाल कांग्रेस नेतृत्वको गठबन्धनमा छ ।

    कांग्रेसलाई एक्लाएर एकजुट भएका कम्युनिष्टहरू छिन्नभिन्न भएसँगै देशको राजनीतिक परिवेश बदलिएको छ । अहिले माओवादी कांग्रेससहित नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरेर चुनावी मैदानमा छ ।

    माओवादीले यसअघिको सहयात्री एमालेलाई मुख्य प्रतिस्पर्धी मानेको छ । गत निर्वाचनमा दोस्रो शक्ति बनेको माओवादीले गठबन्धनको कारण ४६ सीटमा मात्रै उम्मेदवार खडा गरेको छ । त्यसमा पनि एमाले छाडेका नेताहरू घनश्याम भुसाल, प्रभु शाहलगायत केही नेताहरूलाई सघाएको छ ।

    माओवादीका २१ पदाधिकारीमध्ये १० जनामात्रै चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १९ पदाधिकारीमध्ये १५ जना चुनावी मैदानमा उत्रिँदा माओवादीका ११ जना पदाधिकारी ‘रिङ’ बाहिरै छन् ।

    पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य छाडेर गोरखा २ बाट चुनाव लड्ने योजनामा थिए । तर, ब्याक भए । उनी २०७४ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

    उपाध्यक्ष कृष्णबहादुर महरालाई दाङ २ बाट चुनाव लड्न पार्टीले आग्रह गरे पनि अस्वीकार गरे । समानुपातिकमा नाम रहेका महरा पनि चर्को आलोचनापछि चुनावी प्रतिस्पर्धाबाट ब्याक भए ।

    चुनावी मैदानमा उभिएका माओवादीका १० पदाधिकारीको चुनावी अवस्था कस्तो छ ? हेरौं हिसाबकिताबः

    गोरखामा प्रचण्ड सुरक्षित

    २०७४ सालमा चितवन ३ बाट निर्वाचित अध्यक्ष प्रचण्ड यसपटक गोरखा २ मा उम्मेदवार बनेका छन् । चितवनमा असहज परिस्थिति बनेपछि प्रचण्डले गोरखा रोजेका हुन् । तर, त्यो कुरा प्रचण्ड स्वीकार गर्दैनन् ।

    चितवनमा चुनाव हार्ने डरले प्रचण्ड गोरखा आएको कुरा सत्य नभएको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बताउँछन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘कमरेड प्रचण्डमात्रै त्यस्तो नेता हुनुहुन्छ, जसले निरन्तर एउटै निर्वाचन क्षेत्रमा डुबिरहने पूँजीवादी संसदवादको मान्यतालाई चिर्नुभयो । कहिल्यै पनि एउटै निर्वाचन क्षेत्रमा दोहो¥याएर लड्नुभएको छैन । यही चिन्तन र सोचका कारण उहाँले यसपालि गोरखा रोज्नुभएको हो ।’

    प्रचण्डको जीत गोरखामा निश्चित भएको उनले दाबी गरे । ‘हामी गोरखालीहरू उहाँलाई नेपालको चुनावी इतिहासमै सबैभन्दा बढी मतान्तरले जिताउन चाहन्छौं’, श्रेष्ठको भनाइ थियो ।

    प्रचण्डले अहिलेसम्म एउटै निर्वाचन क्षेत्रबाट दोहो¥याएर लडेका पनि छैनन् । पहिलो संविधानसभा चुनावमा रोल्पा र काठमाडौंबाट विजयी भएका थिए उनी । तर, दोस्रोमा काठमाडौं र सिराहाबाट चुुनाव लड्दा काठमाडौंमा हारेका थिए ।

    गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजाअनुसार गोरखामा माओवादी पहिलो पार्टी हो । प्रचण्डले उम्मेदवारी दिएको गोरखा २ मा एमालेले अब्दुश मियाँलाई अघि सारेको छ । मियाँ हालैमात्र एमाले प्रवेश गरेका हुन् । जनतामाझ नभिजेका प्रतिस्पर्धी भएपछि प्रचण्डको जीत थप सहज बनेको माओवादी नेताहरूको बुझाइ छ ।

    स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार गोरखा २ मा माओवादीको २२ हजार २५०, कांग्रेसको २१ हजार १३६, एमालेको ७ हजार ९२६, जसपाको ७ हजार ५०४ र राप्रपाको ८७८ मत रहेको छ ।

    एमाले र जसपाबीचको मत जोड्दा पनि माओवादी एक्लैको मतलाई उछिन्न सक्ने अवस्था छैन । तर, प्रचण्डलाई कांग्रेस र नेकपा एसको पनि साथ भएकाले फराकिलो मतान्तरसहित जीत हुने देखिएको छ । प्रचण्डको व्यक्तित्वको हिसाबले पनि थप भोट तान्नसक्ने नेताहरू दाबी गर्छन् । गोरखाको जसपा भनेकै बाबुराम समूह भएकाले सो मत पनि प्रचण्डमै जानेछ ।

    लमजुङमा देवलाई कांग्रेसको भर

    महासचिव देवप्रसाद गुरूङलाई लमजुङबाट चुनाव जित्न यसपटक सहज छैन । २०७४ सालको निर्वाचनमा एउटै मोेर्चाबाट विजयी भएका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ उनीविरूद्ध मैदानमा छन् । २०७४ सालमा प्रदेशसभामा जितेर गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत भएका गुरूङ अहिले संघमा लड्दैछन् ।

    गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एक्लाएक्लैमा एमाले अगाडि छ । एमालेले ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, राप्रपाले १ हजार १८४ र जसपाले १९० मत ल्याएको छ । यो मतअनुसार गुरूङद्वयबीच कडा टक्कर हुने देखिन्छ ।

    व्यक्तिगत रुपमा देव गुरुङभन्दा पीएस गुरुङ लोकप्रिय हुनु ,जनमतमा एमाले अगाडि हुनु र पीएसको आफ्नै गाउँपालिका क्लोसोथरमा एमालेले क्लीन स्वीप गर्नुले एमाले बलियो देखिन्छ यो जिल्लामा ।

    तर, गठबन्धन भएकाले आफ्नो जीत निश्चित भएको दाबी गर्छन् महासचिव गुरूङ । उनी भन्छन्, ‘हामी एकजुट भएर लाग्नसके लमजुङमा मात्रै नभएर देशैभर गठबन्धनको जीत सुनिश्चित छ । यो गठबन्धन चुनावसम्म मात्रै नभएर आगामी सरकार निर्माणसम्म जान्छ ।’

    रोल्पामा वर्षमानलाई ‘नो टेन्सन’

    २०७४ सालको निर्वाचनमा कांग्रेसका अमरसिंह पुनमगरलाई २० हजार मतान्तरले हराएका उपमहासचिव वर्षमान पुन रोल्पामा सुरक्षित छन् । गत निर्वाचनमा उनले ४० हजार ६४७ मत ल्याउँदा कांग्रेसका पुनले १९ हजार ९०६ मत पाएका थिए ।

    अहिले कांग्रेस सत्ता गठबन्धनमै छ । पुनविरूद्ध एमालेले पूर्व माओवादी लडाकु कमाण्डर पूर्ण बुढामगरलाई अघि सारेको छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एक्लाएक्लैमा माओवादी पहिलो शक्ति छ । माओवादीले ४० हजार ७९१, कांग्रेसले २४ हजार ६६४, एमालेले १५ हजार ३०१, राप्रपाले १ हजार २१८ र नेकपा एसले ९५० मत ल्याएको छ ।

    वर्षमान पुनः पार्टीको शीर्षस्थ नेता र भावी अर्थमन्त्रीका रुपमा प्रचार भएकाले पनि उनी सेफजोनमा देखिन्छन् ।

    रुकुम पश्चिममा जनार्दनको पल्ला भारी

    रुकुम पश्चिममा २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट भारी मत ल्याएर विजयी उपमहासचिव जनार्दन शर्माको अहिले पनि पल्ला भारी छ । गत निर्वाचनमा शर्माले ३४ हजार ४०२ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६५९ मत ल्याएका थिए ।

    गत वैशाखमा भएको स्थानीय निर्वाचनको मतअनुसार रूकुम पश्चिममा माओवादी पहिलो शक्ति हो । यहाँ माओवादीको ३७ हजार १०२, कांग्रेसको २६ हजार ६२०, एमालेको ६ हजार १२४, नेकपा एसको १३० र राप्रपाको १०८ मत छ ।

    जाजरकोटमा शक्ति कांग्रेसविना कमजोर

    २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट विजयी शक्तिबहादुर बस्नेतलाई अहिले जाजरकोटमा कांग्रेसकै भर देखिन्छ । गत निर्वाचनमा बस्नेत ३२ हजार २८१ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याएका थिए ।

    अहिले बस्नेतविरूद्ध २०७४ का सहयात्री एमालेका निरज आचार्य चुनावी मैदानमा छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार जाजरकोटमा एमाले पहिलो शक्ति हो ।

    यहाँ एमालेको २४ हजार ४, कांग्रेसको २२ हजार ३४२, माओवादीको १८ हजार ६२२, नेकपा एसको २ हजार ३३४, राप्रपाको १३४ र जसपाको २४ मत रहेको छ । त्यसैले बस्नेतको जीत कांग्रेसमा निर्भर रहन्छ ।

    कांग्रेसका राजीवविक्रम प्रतिनिधिसभाका दाबेदार थिए । तर, गठबन्धनमा शक्तिले पाएपछि उनी प्रदेशमा झरेका छन् ।

    धुनषामा मातृकालाई साना दल निर्णायक

    २०७४ सालमा धनुषा १ बाट विजयी उपमहासचिव मातृका यादव अहिले पनि जीतको खोजीमा छन् । उनले गत निर्वाचनमा फोरम नेपालका दीपक कार्कीलाई हराएका थिए । यादवले २६ हजार ४१४ मत ल्याउँदा कार्की १७ हजार २८१ मतमा रोकिएका थिए । कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना १५ हजार ६७९ मतसहित तेस्रो भएका थिए ।

    गठबन्धनको आडमा चुनावी मैदानमा उत्रिएका यादवविरूद्ध एमाले-जसपा गठबन्धनले जसपाका दीपक कार्कीलाई नै उम्मेदवार बनाएको छ । गत स्थानीय निर्वाचनको मतअनुसार यहाँ कांग्रेस पहिलो पार्टी हो । त्यसैले एमाले जसपाको गठबन्धनविरुद्ध जीत निकाल्न यादवलाई कांग्रेसको भर पर्नुपर्ने देखिएको छ ।

    यहाँ कांग्रेसको १८ हजार ५१४, एमालेको १६ हजार ५८१, माओवादीको १२ हजार ३४३, जसपाको ९ हजार २०, लोसपाको ६ हजार ६२४, राप्रपाको ४ हजार ९४६, जनमत पार्टीको ३ हजार ३२०, नेकपा एसको २ हजार ९३७ मत रहेको छ । यस आधारमा यादवलाई जीत निश्चित गर्न कांग्रेससँगै साना दलका मत पनि निर्णायक देखिन्छ ।

    महोत्तरीमा गिरिराजमणिलाई चौथो जीतको चुनौती

    उपमहासचिव गिरिराजमणि पोखरेल २०६४ सालदेखि निरन्तर महोत्तरी १ बाट विजयी भएका थिए । अघिल्लो चुनावमा वाम गठबन्धनको तर्फबाट पोखरेलले २३ हजार ७७६ मत ल्याउँदा उनका प्रतिस्पर्धी संघीय समाजवादी फोरमका लक्ष्मी महतो कोइरीले १९ हजार ४९२ मत ल्याएका थिए । कांग्रेसका सीताराम भण्डारी ९ हजार ४७५ मतसहित तेस्रो स्थानमा रहेका थिए ।

    अहिले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पोखरेलविरूद्ध एमाले-जसपा गठबन्धनले लक्ष्मी महतोलाई नै अगाडि सारेको छ । कोइरी अहिले जसपा छाडेर एमालेबाट उम्मेदवार बनेका छन् ।

    रोचक कुरा चाहिँ के छ भने हालै सम्पन्न स्थानीय तह निर्वाचनमा गौशाला नगरपालिकाको मेयर जितेका दीपेन्द्र महतो लक्ष्मीका छोरा हुन् । त्यसैले पनि यहाँ लक्ष्मी महतो धेरै बलियो बनेर आइरहेका छन् ।

    गत स्थानीय तह निर्वाचनको मतअनुसार माओवादी पहिलो शक्ति छ । तर, यहाँ बर्दिबासको मेयरमा कांग्रेसका बागीले जितेका थिए भने जसपाको मत एमालेतिर थपिँदा परिणाम उल्टिने खतरा पनि माओवादीले महसुस गरिरहेको छ ।

    महोत्तरीमा माओवादीको १५ हजार ८८८, कांग्रेसको १३ हजार १४६, एमालेको ८ हजार ३४, जसपाको ७ हजार २३४, लोसपाको ७ हजार ६९, नेकपा एसको १ हजार ५०८ र राप्रपाको ४७८ मत रहेको छ ।

    ललितपुरमा पम्फालाई चुनौती

    ऊर्जामन्त्री रहेकी माओवादी उपमहासचिव पम्फा भुसाललाई ललितपुर ३ मा जीत निकाल्न चुनौती देखिन्छ । २०७४ को निर्वाचनमा २४ हजार ३६ मत ल्याएर विजयी भुसाललाई अहिले कांग्रेसको भर देखिन्छ ।

    उनले कांग्रेसका मदनबहादुर अमात्यलाई हराएकी थिइन् । अहिले उनीविरूद्ध एमालेले अमृत खड्कालाई अघि बढाएको छ । तर, एमालेको उम्मेदवार खड्का हाइ प्रोफाइल नभए पनि स्थानीयस्तरमा भिजेका नेता हुन् ।

    स्थानीय तह निर्वाचनको मतअनुसार यहाँ कांग्रेस पहिलो पार्टी हो । त्यसैले पम्फाले कांग्रेसको मतमै भर पर्नुपर्नेछ । यहाँ कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादीको ७ हजार ७२७, नेकपा एसको ५ हजार १२९ र राप्रपाको ४ हजार ३४२ मत छ ।

    माओवादीका सोही क्षेत्रका जिल्ला सहइन्चार्ज सरोज डंगोल, हालै ललितपुर उपमहानगरको उपमेयरमा गठबन्धनबाट हारेका बाबुराजा बज्राचार्यसहित माओवादीको ठूलै टीम एमाले प्रवेश गरेकाले पनि पम्फालाई चुनौती थपिएको छ ।

    बागलुङमा देवेन्द्रलाई डर

    शिक्षामन्त्री रहेका माओवादी सचिव देवेन्द्र पौडेल २०७४ को निर्वाचनमा बागलुङ २ विजयी भएका थिए । वाम गठबन्धनबाट उनले कांग्रेस उम्मेदवार नरबहादुर पुन ‘निरज’ लाई ८ हजार ९२२ मतान्तरले हराएका थिए ।

    पौडेलले २८ हजार ८२७ मत ल्याउँदा कांग्रेसका पूर्वसांसद निरज पुनले १९ हजार ९५ मत ल्याएका थिए । कांग्रेसका पुनलाई हराएका मन्त्री पौडेल अहिले कांग्रेसकै आडमा चुनाव जित्ने तयारीमा छन् । उनीविरूद्ध एमालेले मञ्जु शर्मा चालिसेलाई चुनावी मैदानमा उतारेको छ । गठबन्धनबाट आफूले चुनाव जित्नेमा विश्वस्त रहेको पौडैल दाबी गर्छन् ।

    यो क्षेत्रमा एमाले तुलनात्मक रुपमा कमजोर भएकाले देवेन्द्र ढुक्क छन् । तर, एमालेले उठाएकी उम्मेदवार मञ्जु गत स्थानीय चुनावमा गल्कोट नगरपालिकाको मेयरमा कांग्रेसबाट बागी उठेर एक्लै ३५ सय मत ल्याएकी लोकप्रिय महिला हुन् ।

    मञ्जु यसबीचमा एमाले प्रवेश गरेर उम्मेदवार बन्दा प्रदेशमा माओवादीका बागी प्रकाश घर्तीलाई एमालेले समर्थन गरेकाले माओवादीको गढ मानिने ताराखोलाको मत प्रकाशले एमालेतिर प्रभावित पार्ने सम्भावना पनि उत्तिकै छ ।

    गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एमाले पहिलो शक्ति हो । एमालेको १९ हजार ३०, कांग्रेसको १७ हजार ७५१, माओवादीको ९ हजार ७५१, राजमोको ६ हजार ६७८, नेकपा एसको ३८८ मत रहेको छ ।

    कपिलवस्तुमा चक्रपाणिलाई बागीको त्रास

    पूर्वमन्त्रीसमेत रहेका चक्रपाणि खनाललाई कांग्रेसको बागी उम्मेदवारको त्रास छ । २०७४ सालमा कपिलवस्तु १ बाट विजयी खनाल अहिले गठबन्धनको आडमा दोहोरिने दाउमा छन् ।

    गत निर्वाचनमा खनालले २९ हजार ७९९ मत ल्याउँदा कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत ल्याएका थिए । उनीविरूद्ध एमालेले संविधानसभा सदस्य बलराम अधिकारीलाई मैदानमा उतारेको छ । तर, कांग्रेसबाटै प्रभावशाली नेता ललित गुरूङ गठबन्धनको बागी उम्मेदवार बनेकाले खनाललाई चुनौती बनेको छ ।

    यहाँ कांग्रेस पहिलो पार्टी भए पनि बागी उम्मेदवार गुरूङले मत काट्नसक्ने आँकलन छ । त्यस्तो अवस्थामा एमालेलाई जसपाले सघाए खनाललाई झन् ठूलो चुनौती पर्नेछ ।

    कपिलवस्तु १ मा कांग्रेसको २८ हजार २७१, एमालेको २६ हजार ८२३, जसपाको १३ हजार ५१०, माओवादीको ९ हजार ३३८, नेकपा एसको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४ र राप्रपाको २ हजार ४८० मत छ ।

  • ज्ञानी भइसकें, अब केपीसँग मिल्ने गल्ती गर्दिनँ: प्रचण्ड

    ज्ञानी भइसकें, अब केपीसँग मिल्ने गल्ती गर्दिनँ: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन् ।

    सोमबार बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसँग गठबन्धन गरेर आफूले ज्ञान प्राप्त गरेकाले गल्ती नदोहोर्‍याउने बताए ।

    उनले भने, ‘गठबन्धन पहिलाको जस्तो हुने हो कि भन्ने शंका गर्छन् । तर, म केपीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको छु । ज्ञानी भइसकेपछि फेरि त्यही गल्ती दोहोर्‍याउँदिनँ । मैले भन्ने गरेको छु, यो देशमा प्रतिगमन र संविधान मिच्नेहरुसँग लडाइँको आवश्यकता भएसम्म गठबन्धन कायम रहन्छ ।’

    उनले गठबन्धनको पक्षमा ढुक्क भएर मतदान गर्न आह्वानसमेत गरे ।

  • प्रचण्डको फेसबुक पेजबाट केहीबेरमै किन हटाइयो यो भिडिओ ?

    प्रचण्डको फेसबुक पेजबाट केहीबेरमै किन हटाइयो यो भिडिओ ?

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजमा निर्वाचन सम्बन्धी अपलोड भएको भिडियो केहिबेरमै हटाइएको छ ।

    उक्त भिडियो अपलोड गर्दा शीर्षक राखिएको थियो- माओवादीका लागि मधेशः ‘गर्भ से कहुँ हम मधेशी छिको नारा’देखि मधेशको आफ्नै प्रदेश सरकारसम्म । भोजपुरी भाषामा तयार पारिएको उक्त भिडियोमा क्रान्तिकारीको समानान्तर कमिटी पवन कार्की समूहका प्रवक्ता उपदेश यादवले रोल प्ले गरेका हुन् ।

    २ मिनेट ३४ सेकेण्डको उक्त भिडियो संगठनको विवादका कारण हटाउन दबाब परेको सो समूहका नेताको आशंका छ । तर यो भिडियो हटाउनुको पछाडि अन्य कारण पनि हुनसक्ने अनुमान छ ।

    भिडियोमा ०४८ सालमा स्व. गजेन्द्र नारायण सिंहले काठमाडौंमा भाषण गर्दा विरोध भएको र पछि माओवादी युद्धकै कारण मधेशीको अधिकार र पहिचान स्थापित भएको देखाइएको छ । साथै माओवादी युद्धकै कारण मधेशीले राष्ट्रपति र मुख्यमन्त्रीसम्म बनेको व्याख्या भिडिओमा गरिएको छ ।

    भिडिओ:

    राष्ट्रपति र मुख्यमन्त्रीलाई पनि आफ्नै भनिएको छ । जबकी माओवादीले पहिलो राष्ट्रपतिको उम्मेदवार रामराजा प्रसाद सिंहलाई बनाएको थियो । मधेसमा मुख्यमन्त्री भने जसपाको लालबाबु राउत छन् । देशमा भएको राजनीतिक परिवर्तनमा मधेस आन्दोलन र जनआन्दोलनलाई भिडियोमा बेवास्ता गरिएको छ । जसले गर्दा भिडियो विवादित हुनसक्ने भनेर पनि पेजबाट हटाएको हुनसक्छ । प्रचण्डपुत्री गंगाको फेसबुक पेजमा भने यो भिडिओ अहिले पनि छ ।

     

  • सुर्खेतमा प्रचण्डले भने- गिरिजाबाबुले अन्तिममा एक्लै बोलाएर मलाई भनेको कुरा सबैले हेक्का राख्नुपर्छ (भिडिओ)

    सुर्खेतमा प्रचण्डले भने- गिरिजाबाबुले अन्तिममा एक्लै बोलाएर मलाई भनेको कुरा सबैले हेक्का राख्नुपर्छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म त देशमा शान्ति ल्याउनकै लागि भएको दाबी गरेका छन् ।

    कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम घडीमा देशको जिम्मेवारी आफूलाई सम्हाल्न भनेको दोहोर्‍याए ।

    उनले भने, ‘विस्तृत शान्ति सम्झौताको मूल मर्म त देशमा शान्ति ल्याउने नै थियो । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लानेतर्फ उत्प्रेरित थियो । त्यो जनताको जित थियो । एउटाले हारेको अर्कोले जितेको रूपमा होइन । त्यसलाई सबै नेपालीले जितेको र १२ बुँदे समझदारीका सबै सहयात्रीहरूले जितेको रूपमा हामीले बुझेका थियौँ ।’

    अहिलेसम्मको उपलब्धि रक्षा गर्नका लागि सबै एकजुट हुनुपर्ने प्रचण्डले भने ।

    उनले भने, ‘गिरिजाप्रसाद कोइराला जो विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता पनि हुनुहुन्थ्यो । जीवनको अन्तिम घडीतिर उहाँले मलाई एक्लै बोलाएर अब यो देशको जिम्मेवार तपाईंले गर्नुपर्छ भन्नुभएको थियो । त्यो त्यतिबेलै सार्वजनिक भएको कुरा हो । उहाँले त्यो किन मलाई भन्नुभयो भन्नेकुरा सबैले हेक्का राख्नुपर्छ ।’

  • छुट्टै चुनावी मिसनमा क्रान्तिकारीको पवन कार्की समूह, १२ हजार ५०१ कमाण्डर रहेको समिति गठन (सूचीसहित)

    छुट्टै चुनावी मिसनमा क्रान्तिकारीको पवन कार्की समूह, १२ हजार ५०१ कमाण्डर रहेको समिति गठन (सूचीसहित)

    काठमाडौं । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा उम्मेदवारलाई जिताउन माओवादीनिकट पवन कार्की नेतृत्वको विद्यार्थी संगठनले १२ हजार ५०१ कमाण्डर रहेको निर्वाचन परिचालन समिति गठन गरेको छ ।

    अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय संयोजक पवन कार्कीको संयोजकत्वमा केन्द्रीय कार्यालय, सचिवालय, केन्द्रीय समिति र आयोगमा रहेका २२६ जना, १६५ संघीय निर्वाचन क्षेत्रमा १९५ जना, ३३० प्रदेश निर्वाचन क्षेत्रमा ४३९ जना, ७५३ पालिकामा ७५३ कमाण्डर र देशभरका १०८८८ मतदान स्थलमा बुथ कमाण्डर गरी परिचालन समिति बनाइएको प्रवक्ता उपदेश यादवले जानकारी दिए ।

    समानुपातिकतर्फ माओवादी केन्द्र र प्रत्यक्षतर्फ गठबन्धनका साझा उम्मेदवारला२ जिताउने गरी उनीहरू परिचालन हुने यादवले बताए ।

    अखिल क्रान्तिकारीद्वारा निर्माण गरिएको जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभास्तरीय निर्वाचन परिचालन कमाण्डर यस प्रकार छन्

  • एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्टाउने र राजतन्त्र पुनःस्थापना गर्ने हाे: प्रचण्ड

    एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्टाउने र राजतन्त्र पुनःस्थापना गर्ने हाे: प्रचण्ड

    कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्ट्याउने र राजतन्त्र पुनःस्थापना गर्ने रहेको बताएका छन् ।

    सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताएका हुन् ।

    ‘हाम्रो गठबन्धन विशिष्ट परिस्थितिमा ठूलो संकटबीच बनेको हो । सबै उपलब्धिहरु धारापमा थियो । लोकतन्त्र, संविधान र गणतन्त्र जोगाउन गठबन्धन भएको हो’, प्रचण्डले भने, ‘यो पटक हाम्रो मुख्य मुद्दा संविधानको रक्षा, स्थिरता र विकास हो ।’

    उनले एमाले नेतृत्वको गठबन्धनको आफ्नै विचार रहेको औंल्याउँदै भने, ‘गणतन्त्र उल्टाउने योजना छ । राजतन्त्रलाई पुनःस्थापना गर्ने उद्देश्य राखेकाहरुको गठबन्धन छ ।’

    सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराउन उनले आह्वान गरे । ‘गठबन्धनलाई विजयी गराउनु भनेको संविधान र लोकतन्त्रलाई जिताउन हो’, उनले भने ।

    प्रचण्डले गठबन्धन विजयी भएपछि हामी आर्थिक क्रान्तितर्फ लाग्ने बताए ।

    ‘निर्वाचनको अभियानको दौरान आर्थिक विकास र समृद्धिको लागि देशमा रोजगारी सिर्जना गरिनेछ भन्ने कुरा जनतालाई बुझाउनु छ’, उनले थपे, ‘प्रतिगमनको खतरा रोक्नु छ । विस्तृत शान्ति सम्झौता गर्दा मैले रुखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हटौडामा भोट हाल्नु भएको हो । माधव नेपाल त्यो वेला एमाले अध्यक्ष नभएर केपी ओली अध्यक्ष भएको भए देशलाई त्यो वेला नै दुर्घटनामा पार्ने थिए ।’

  • देव गुरूङको आव्हान- चुनावपछि गठबन्धनकै सरकार बन्छ, ढुक्कसँग मतदान गर्नुस्

    देव गुरूङको आव्हान- चुनावपछि गठबन्धनकै सरकार बन्छ, ढुक्कसँग मतदान गर्नुस्

    लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधिसभामा गठबन्धन उम्मेदवार देव गुरूङले लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

    गठबन्धनको लमजुङ-काठमाडौं सम्पर्क समन्वय समिति र मञ्चले काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा उनले राजनीतिक स्थिरता, सुशासन, लमजुङको विकास र समृद्धिको लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘हामीले हाम्रो उमेदवारी फगत निर्वाचन जित्नको लागि मात्रै नभएर लमजुङको विकास र समृद्धिको लागि दिएका हौं । सुशासनसहितको विकास र बजार व्यवस्थासहितको उत्पादन प्रणालीमार्फत जनताको आर्थिक समृद्वि नै मुख्य एजेण्डा हुन् ।’

    उनले त्यसको लागि कृषिमा यान्त्रीकरण, भएका सडक कालोपत्रे, नयाँ सडक विस्तार गरी उत्पादन केन्द्रसम्म पुर्‍याउने र पर्यटन तथा जलविद्युतका सम्भावनालाई अत्यधिक मात्रामा उपयोग गर्ने पनि आफ्नो योजना सुनाए ।

    गठबन्धन यो चुनावसम्म मात्रै नभएर सरकार निर्माण, संविधान रक्षा र शान्ति प्रक्रियाको पूर्णताको लागि पनि आवश्यक रहेकाले ढुक्कसँग मत दिन मतदातासँग गुरुङको आग्रह छ ।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता दीलबहादुर घर्तीले ओली मण्डलीले संविधान मिच्ने र निरंकुशता लाद्ने प्रयास गरेकाले माओवादीसहितको गठबन्धन बनेकाले संविधानको रक्षा र लमजुङको विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारलाई ढुक्कसँग भोट दिएर जिताउन कांग्रेससहित सबै दलका कार्यकर्ता र मतदातालाई आग्रह गरे ।

    उनले देव गुरूङ जस्तो नेतालाई आफूहरूले साझा उमेदवारको रूपमा प्रान्त गर्नु लमजुङको लागि गौरवको विषय भएको बताए ।

    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारीले गठबन्धनका दलहरूबीचमा कुनै समस्या नभएको बताए । उनले प्रतिद्वन्दी दल एमालेमा गम्भिर विवाद र असहमति देखिएकाले गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित रहेको दाबी गरे ।

  • सुदूरपश्चिमको भेला तथा प्रशिक्षणमा सम्बोधन गर्न गठबन्धनका नेता धनगढीमा (तस्बिरहरू)

    सुदूरपश्चिमको भेला तथा प्रशिक्षणमा सम्बोधन गर्न गठबन्धनका नेता धनगढीमा (तस्बिरहरू)

    कैलाली । प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा रहेका सत्ता गठबन्धनका नेता धनगढी आइपुगेका छन् ।

    सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत धनगढी आएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सँगै छन् ।

    सुदूरपश्चिमको संयुक्त प्रशिक्षण कार्यक्रम संयोजनको जिम्मेवारी नेकपा माओवादी केन्द्रले पाएको छ । संयुक्त प्रशिक्षण कार्यक्रममा प्रदेशका ९ जिल्लाबाट गठबन्धन दलका प्रतिनिधि, उम्मेदवारलगायत आएका माओवादी कैलाली इन्चार्ज हरि ज्ञवाली ‘अखण्ड’ ले जानकारी दिए ।

  • प्रचण्डको प्रश्न- ‘मधेसको लागि लड्नेहरू आइसोलेसनमा पर्ने, केपी ओली हाबी हुने’ यो किन भयो ?

    प्रचण्डको प्रश्न- ‘मधेसको लागि लड्नेहरू आइसोलेसनमा पर्ने, केपी ओली हाबी हुने’ यो किन भयो ?

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा केपी ओली किन बलियो हुँदैछन् भन्नेबारे गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

    गठबन्धन दलका नेता कार्यकर्तालाई मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस आन्दोलनको विरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन् ? भन्ने प्रश्न उठाए ।

    उनले स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ संकेत गर्दै प्रचण्डले मधेसविरुद्ध विष वमन गर्नेहरू चुनावमा विजयी हुनु विडम्बना भएको बताए ।

    प्रचण्डले भने– मधेसको अधिकारका लड्नेहरू आइसोलेसनमा पर्ने, विष वमन गर्नेहरू विजयी हुने, उनीहरू नै कता कता बलियो देखिने यो विडम्बना किन भइरहेको छ ? यहाँका बुद्धिजीवी,नेता कार्यकर्ताको लागि पनि चुनौती हो । कतै न तकै हाम्रो गठबन्धन दलका नेताहरूको कमजोरी भयो ।

    अध्यक्ष प्रचण्डले मधेसमा भ्रम दिने,झुटा आश्वासन दिने, बेइमानी र जालझेल गर्नेहरू फेरि बलियो हुन थालेको भन्दै सचेत बन्न आग्रह गरे ।

    उनले मधेसको अधिकारका लागि आफूले संविधान संशोधन विधेयक ल्याउँदा केपी ओलीले पारित हुन नदिएको र नागरिकता विधेयकमा समेत ओली बाधक बनेको आरोप लगाए ।

  • प्रतिनिधिसभातर्फ सबैभन्दा बढी एमालेका १४१ उम्मेदवार- राप्रपा दोस्रो, अरु दलका कति ? (सूचीसहित)

    प्रतिनिधिसभातर्फ सबैभन्दा बढी एमालेका १४१ उम्मेदवार- राप्रपा दोस्रो, अरु दलका कति ? (सूचीसहित)

    काठमाडौं । आगामी मंसिर ४ गतेका तय भएको प्रतिनिधिसभाको निर्वाचनमा ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ । जसको ९ प्रतिशत अर्थात २२५ जना मात्रै महिलाको उम्मेदवारी परेको हो । जम्मा उम्मेदवारीको ९१ प्रतिशत अर्थात २ हजार १८७ पुरुषकै परेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।

    ६२ राजनीतिक दलमध्ये सबैभन्दा बढी नेकपा ९एमाले०ले १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये २४ निर्वाचन क्षेत्रका गठबन्धन गरेका कारण छोडे पनि बाँकी १४१ निर्वाचन क्षेत्रमा भने एमालेले आफ्नै उम्मेदवार उठाएको हो । नेकपा

    (एमाले)ले सबैभन्दा बढी १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदा महिलालाई भने उपेक्षा गरेको छ । जम्मा उम्मेदवारीको ७ प्रतिशत मात्रै अर्थात ११ जना महिला उम्मेदवार उठाएको छ ।

    दोस्रोमा राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले भन्दा एक निर्वाचन क्षेत्र मात्र कम अर्थात १४० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । राप्रपाले पनि महिलालाई उपेक्षा गर्दै ५ प्रतिशत अर्थात ८ जना मात्रै महिला उम्मेदवार उठाएको छ ।

    तेस्रोमा सबैभन्दा बढी रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले १३१ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ९ प्रतिशत अर्थात १२ जना महिला उम्मेदवार उठाएको छ । चौथोमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले १०९ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ११ प्रतिशत अर्थात १२ जना महिला उठाएको छ । नेकपा (एमाले) र राप्रपा भन्दा बढी महिलाको उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टी र नेमकिपाबाट परेको छ ।

    अहिलेको सत्तारुढ दल अर्थात आगामी निर्वाचनमा आँफू सबैभन्दा पहिलो दल हुने दाबी गरिरहेको नेपाली काँग्रेसले पाँचौ नम्बरमा ९१ निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार उठाएको छ । जम्मा उम्मेदवारीको ५ प्रतिशत अर्थात ५ जना मात्रै महिला उम्मेदवार उठाएको छ । छैटौं नम्बरमा भने मंगोल नेशनल अर्गनाइजेशनले ८८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ११ प्रतिशत अर्थात १० जना महिला उम्मेदवार उठाएको छ ।

    सातौ नम्बरमा जनता समाजवादी पार्टी ९जसपा०ले ७९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउदाँ ८ प्रतिशत अर्थात ७ जना महिला उम्मेदवार उठाएको छ । एमाले काँग्रेस भन्दा बढी महिलाको उम्मेदवारी जसपाबाट परेको छ । नवौँ नम्बरमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले ५८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा १० प्रतिशत अर्थात ६ जना महिला उठाएको छ ।

    राप्रपा नेपालले पनि एमाले र काँग्रेस भन्दा बढी नै महिला उम्मेदवार उठाएको छ । बाहौँ नम्बरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले ५१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ५ प्रतिशत अर्थात ३ जना महिला उठाएको छ । लोसपाले पनि अन्य राजनीतिक दलको तुलनामा कम अर्था नेपाली काँग्रेसकै जति महिला उम्मेदवार उठाएको छ ।

    नेकपा ‍(माओवादी केन्द्र)बाट सबैभन्दा बढी १७ प्रतिशत महिलाको उम्मेदवारी कायम

    आगामी निर्वाचनपछि आफुलाई दोस्रो पार्टी हुने दाबी गर्दै आएको सत्तारुढ नेकपा (माओवाद केन्द्र)ले भने साना दलको भन्दा पनि कम ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । आगामी निर्वाचनमा भाग लिएका ६२ दलमध्ये सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने पार्टीका रुपमा नेकपा (माओवादी केन्द्र) बनेको छ । माओवादीले जम्मा उम्मेदवारीको १७ प्रतिशत अर्थात ८ जना महिला उम्मेदवार उठाएको छ । माधवकुमार नेपाल नेतृत्वको सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले भने २१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा सबैभन्दा कम अर्थात ४ प्रतिशत अर्थात एक जना मात्रै महिला उम्मेदवार उठाएको छ ।

    यद्यपी स्वतन्त्रबाट मात्रै जम्मा उम्मेदवारीको ३५ प्रतिशत अर्थात ८६७ जनाको उम्मेदवारी परेको छ । जसमा ८ प्रतिशत अर्थात ७७ जना महिलाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । स्वतन्त्रतर्फको उम्मेदवारीलाई हिसाव नगर्दा ६२ वटा राजनीतिक दलबाट एक हजार ५४५ जनाको उम्मेदवारी पर्दा ९ प्रतिशत नै अर्थात १४८ जना महिलाको उम्मेदवारी परेको छ ।

  • प्रचण्डले भनेः गठबन्धनलाई भोट नहाले पाप लाग्छ

    प्रचण्डले भनेः गठबन्धनलाई भोट नहाले पाप लाग्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई भोट नहाले पाप लाग्ने टिप्पणी गरेका छन् ।

    पोखरामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘हँसिया हथौडालाई रूखमा, रूखलाई हँसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौं’, उनले भने, ‘गठबन्धन गर्दा नै सबै चिनाव चिह्न स्वीकार गरेका हौं । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’

    संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरुले पाएको बताए ।

    ‘स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर, सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिनँ भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’

  • प्रतिक्रान्तिकारी कम्युनिष्टभन्दा कांग्रेस धेरै उत्तम : प्रचण्ड (भिडिओ)

    प्रतिक्रान्तिकारी कम्युनिष्टभन्दा कांग्रेस धेरै उत्तम : प्रचण्ड (भिडिओ)

    रूपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो निर्वाचन ठूलो राजनीतिक लडाइँ भएको बताएका छन् ।

    लुम्बिनीस्तरीय गठबन्धन दलका कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘करिब दुईतिहाइको बहुमत पाएको सरकारबाट संविधान उल्टाउने र १७ साल फर्काउने खतरा भएकोले हामीले यो गठबन्धन बनाएका हौं ।’

    ओली सरकारविरूद्व पार्टीभित्र लड्ने प्रयास गरेको भन्दै प्रचण्डले मंसिर ४ मा त्यो विषय सम्झन कार्यक्तालाई आग्रह गरे ।

    नेता दाहालले गणतन्त्र र लोकतन्त्रविरूद्व भएको षड्यन्त्र प्रयासलाई पराजित गरेको र त्यो अबको चुनावबाट सफल हुनेवाला भएको जिकिर गरे ।

    ‘प्रतिगमनकारी गठबन्धन रोज्ने कि लोकतन्त्र, गणतन्त्र र लोकतन्त्र जोगाउने गठबन्धन रोज्ने भन्ने फैसला मंसिर ४ गते हुनेछ’, प्रचण्डले भने ।

    रूस र चीनका कम्युनिष्ट पार्टीको उदाहरण दिँदै उनले कुन शक्तिलाई लिएर हिँड्ने भन्ने सिक्नुपर्ने औंल्याए ।

    ‘प्रतिगमन र प्रतिक्रान्तिकारी नेपाली कांग्रेस धेरै उत्तम हो, नेपालका सबै उपलब्धि कांग्रेससँग मिलेर भएका छन्, यसको अवस्थालाई बुझौं’, दाहालले भने ।

    शान्ति सम्झौता गर्दा नै कांग्रेस-माओवादीले एकअर्कामा भोट हालिसकेको भन्दै प्रचण्डले अहिले गठबन्धनमा भोट दिन सकिन्न भन्ने विषय कुनै मानेमा उपयुक्त नभएको बताए । गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधव नेपाल नभएको भए शान्ति सम्झौता नहुने भन्दै उनले गठबन्धनले चुनावपछि पनि निरन्तरता पाउने बताए ।

  • प्रधानमन्त्री बनाएकोमा प्रचण्ड-माधवलाई धन्यवाद दिँदै देउवाले भने- गठबन्धनमा कसैले समस्या नल्याऔं

    प्रधानमन्त्री बनाएकोमा प्रचण्ड-माधवलाई धन्यवाद दिँदै देउवाले भने- गठबन्धनमा कसैले समस्या नल्याऔं

    पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै एक पार्टीको मात्र बहुमत आउन सक्ने अवस्था नरहेको भन्दै गठबन्धन आवश्यक रहेको बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय गठबन्धनको कार्यकर्ता भेलामा बोल्दै देउवाले सबै नेताका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

    ‘सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ । भूगोल, राजनीतिले पनि सबै मिलेर बस्नुपर्ने आवश्यक छ । गठबन्धन आवश्यक छ । आज शेरबहादुर छ भने भोलि प्रचण्ड, माधव नेपाल, रामचन्द्र हुनुहोला । सबैका लागि यो महत्वपूर्ण उपलब्धि हो । अहिलेको चुनाव धेरै महत्व बोकेको चुनाव हो । समावेशी लोकतन्त्रलाई अघि बढाउँदै देश सच्चा मानेमा राष्ट्रिय एकता कायम गर्नेछ’, देउवाले भने ।

    उनले विगतका कुरा सम्झिएर काम नभएको भन्दै राजनीतिमा कुनै पनि ठाउामा समझदारी गर्नुपर्ने हुन सक्ने औंल्याए ।

    ‘हिजोका कुरा ल्याएर केही काम छैन । राजनीतिमा हिजो-आजका कुरै छैन । हिजोका कुराको काम छैन, सम्झनुपर्ने केही छैन । गठबन्धनमा कुनै हालत र बहानामा शंका नहुने अवस्था छ । गठबन्धनमा समस्या ल्याउने काम कुनै पार्टीले गर्नु हुँदैन’, देउवाले भने, ‘राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएका हुन्छन् । हिजोका लडाइँका कारण होलान्, ती बितेका कुरा भए । राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने, बिसाउनुपर्ने हुन सक्छ । अहिलेको प्राप्ति सबैको जित हो ।’

    केन्द्रमा गठबन्धनका शीर्ष नेताहरूको सम्बन्धजत्तिकै तलसम्म बनाउन कार्यकर्तालाई देउवाले निर्देशन दिए ।

    ‘हामी माथि माधवजी, प्रचण्डसँग कति राम्रो सम्बन्ध छ, तल पनि हुनुपर्‍यो । आपसमा सम्बन्ध बढाउने काममा लाग्नुपर्छ ।’

    टिकट नपाएकोमा कोही रिसाएको भए मिलाइने उनले बताए ।

    ‘उहाँहरू (माधव नेपाल, प्रचण्ड) लाई धन्यवाद दिन चाहन्छु, कांग्रेसको सभापतिलाई प्रधानमन्त्री बनाउने भन्नुभयो । म व्यक्तिलाई प्रधानमन्त्री बनाएको होइन । भोलिका सन्ततिले मूल्यांकन गर्नेछन्, त्यसबेला पनि यस्तो राम्रो व्यवस्था ल्याएको भनेर ।’

  • ओलीप्रति प्रचण्डको कटाक्ष- गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो

    ओलीप्रति प्रचण्डको कटाक्ष- गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले ‘गोरुगाडा सिद्धान्त’ अपनाउन लागेपछि गठबन्धन बनेको भन्दै कटाक्ष गरेका छन् ।

    पोखरामा जारी गठबन्धनको प्रादेशिक भेलामा बोल्दै प्रचण्डले गठबन्धन गोरुगाडा सिद्धान्तको विपरीत बनेकाले संविधान, लोकतन्त्र र राष्ट्रका रक्षा निम्ति कायम नै रहने बताए ।

    ‘जनआन्दोलनताका एमालेभित्रै केही मान्छेले गोरुगाडा सिद्धान्त बताउँदै बसे । पछि सुध्रे होलान् भनेको फेरि त्यही सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो,’ प्रचण्डले भने ।

    पाँचदलीय गठबन्धन निर्वाचनमा जानका लागि मात्र नबनेको भन्दै ठूलो मिहिनेत र धेरै छलफलपछि गठबन्धन बनेको उनको भनाइ थियो ।

    ‘गठबन्धन निर्वाचनमा जान मात्र बनेको होइन । यसो भनिन्छ भने गठबन्धन पछाडिको सिद्धान्तलाई नजरअन्दाज गरेको हुन्छ,’ प्रचण्डले भने ।

    दाहालले पाँच दलका शीर्ष नेता सबै एक भएको सन्देश दिन प्रदेशस्तरीय भेलामा हिँडेको बताए ।

    ‘तपाईंहरू अघि बढ्नुस्, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई जिताउन लाग्नुस्,’ उनले भने, ‘हामी सबै आज यहाँ आएको एक छौं भन्ने सन्देश दिन आएका हौं ।’

    ठूलो संघर्षपछि ल्याएको परिवर्तन उल्ट्याउन र राष्ट्रिय एकता खण्डित गर्न एमाले नेतृत्वको गठबन्धन बनेको प्रचण्डको आरोप छ । देशलाई घातकरूपमा पछि धकेल्न अर्को गठबन्धन उद्धत रहेको उनले बताए ।

    चुनावपछि गठबन्धन जुनसुकै हालतमा विजयी हुने उनको विश्वास छ । नयाँ आर्थिक विकासको युगतर्फ लैजान पनि गठबन्धनको विजयी आवश्यक भएको प्रचण्डले बताए । नमीठा अनुभवबीच गठबन्धन बनेको र परिवर्तन रक्षाका लागि बनेको गठबन्धन बचाउन जिम्मेवारीबोध गरेर हँसिया हतौडा, रुख, कलममध्ये जसको उम्मेदवार भएपनि मत हाल्न उनको आह्वान छ ।

  • पोखरामा माधव नेपालले प्रचण्डको पार्टीको नाम बिर्सिएपछि…

    पोखरामा माधव नेपालले प्रचण्डको पार्टीको नाम बिर्सिएपछि…

    पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरामा जारी सत्तारुढ गठबन्धनको प्रादेशिक भेलामा सम्बोधनको सुरूमा माओवादी केन्द्रको नाम भन्दा गलत उच्चारण गरे ।

    ‘एकीकृत माओवादीका अध्यक्ष’ भन्दै प्रचण्डलाई सम्बोधन गरेका नेपालले पछि आफूलाई सच्याए । आफैँलाई सच्याउने क्रममा उनले गठबन्धनमा धेरै पार्टी भएकाले पार्टीहरूको नाम नै बिर्सने गरेको प्रष्टीकरण दिए ।

    ‘नाम नै बिर्सने रहेछ, यति धेरै पार्टी छौं । कुन एकीकृत, कुन केन्द्रीय नै बिर्सिने,’ नेपालले भने ।

    पाँचदलीय गठबन्धन नेकपा एमालेले भनेजस्तो ‘अप्राकृतिक’ नभएको भन्दै संविधान रक्षार्थ बनेको गठबन्धन प्राकृतिक र पवित्र भएको उनको दाबी थियो । गठबन्धनको ध्यान सत्तामा पुग्ने मात्र नभई जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बढाउन लाग्ने उनले बताए ।

    रोजगारी दिन नसके लुटेर विदेश पठाउने नेताहरू भएको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने नेपालको भनाइ छ ।

    ‘देशभित्र रोजगारी दिँदा पनि घुस खाने, बाहिर पठाउन पनि घुस खाने प्रवृत्ति छ,’ नेपालले भने ।

    नेकपा एमाले र जनता समाजवादी पार्टीलगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उनको आरोप छ । विकासका नाममा विनाश गर्न उनीहरू एकजुट भएको भन्दै नेपालले भने, ‘त्यो भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, प्रतिगमनकारी गठबन्धन हो,’ उनले भने ।

  • कांग्रेसका अधिकांश मन्त्रीले टिकट पाउँदा मुख्यमन्त्रीसहित माओवादीका प्रभावशाली नेता रेसबाहिर

    कांग्रेसका अधिकांश मन्त्रीले टिकट पाउँदा मुख्यमन्त्रीसहित माओवादीका प्रभावशाली नेता रेसबाहिर

    रूपन्देही । सत्तारुढ गठबन्धनमा ‘नरमकरम’ मिलाउँदा प्रभावशाली नेताहरू टिकटबाट वञ्चित भएका छन । लुम्बिनीका २६ संघीय निर्वाचन क्षेत्रमा ७ र ५२ प्रदेश निर्वाचन क्षेत्रमध्ये १८ ठाउँमा मात्र माओवादीका उम्मेदवार छन् ।

    लुम्बिनी प्रदेशसभाको पहिलो कार्यकालमा दुईजना मुख्यमन्त्री भए । हालका मुख्यमन्त्री कुलप्रसाद केसीले पनि टिकट पाएका छैनन् । एमाले महासचिव एवं लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल अहिले दाङ-२ बाट चुनावी मैदानमा छन् । २०७४ मा पोखरेल प्रदेशमा लडेका थिए भने माओवादीका कृष्णबहादुर महरा प्रतिनिधिसभामा विजयी भएका थिए । अहिले पोखरेलसँग माओवादीकै रेखा शर्मा गठबन्धनबाट प्रतिस्पर्धामा छिन् ।

    पुनः मुख्यमन्त्री बन्ने प्रयासमा रहेका माओवादी नेता केसीले भने टिकट नै पाएनन् । सुरुमा संघीय निर्वाचन लड्ने गरी एक क्षेत्र रहेको रोल्पामा उनले प्रयास गरे । नेता वर्षमान पुनले नछोड्ने भएपछि उनी प्रदेशकै मुख्यमन्त्री सुनिश्चित गरी प्रदेशसभामै लड्ने तयारीमा थिए । प्रदेशतर्फ २ क्षेत्र रहेको रोल्पामा गठबन्धनले एक क्षेत्र कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनलाई दिने सहमति गर्‍यो । अर्को क्षेत्रमा अघिल्लो चुनावमा उनैलाई सहयोग गरेका माओवादीका पोलिटब्युरो सदस्य जोखबहादुर महरा थिए ।

    महराले यसपटक प्रदेश नछोड्ने भएपछि केसीलाई अर्को समस्या पर्‍यो । रोल्पाबाट सम्भावना कम देखेका केसीले त्यसपछि दाङको क्षेत्र नं. १ (१) मा चासो देखाए र अधिकतम प्रयास पनि गरे । तर, प्रदेशमा सुरूमा आन्तरिक मामिला तथा कानुन मन्त्री र डेढ वर्ष मुख्यमन्त्री भएका केसी बढी विवादमा फसेकाले टिकटका लागि केन्द्रको ‘नोटिस’ मा नपरेको माओवादीनिकट स्रोत बताउँछ ।

    केसीका प्रेस संयोजक भएर काम गरेका रोल्पाका पत्रकार मानसिंह विकले पनि संघीय र प्रदेश दुवैतर्फ चासो देखाएको भएपनि गठबन्धनकै कारण केसीले टिकट नपाएको बताए ।

    माओवादीले लुम्बिनी प्रदेशमा मन्त्री भएका अधिकांश नेतालाई यसपटक टिकट दिएको छैन । दुईपटक गरेर माओवादीबाट ६ जना मन्त्री बनेका थिए । दुईजना राज्यमन्त्री भए । तीमध्ये यसपटक बहालवाला स्वास्थ्यमन्त्री इन्द्रजित थारु दाङ १ (१) बाट र पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बराल गुल्मी १ (१) बाट उम्मेदवार बनेका छन् ।

    केसीसँगै बहालवाला अर्थ तथा सहकारीमन्त्री प्यूठानका कृष्णध्वज खड्का, आन्तरिक मामिला तथा कानून तथा सञ्चारमन्त्री बर्दियाका तिलकराम शर्मा, स्वास्थ्य राज्यमन्त्री दाङकी विमला वली खत्री, अर्थ तथा सहकारी राज्यमन्त्री कपिलवस्तुकी सुष्मा यादवले पनि टिकट पाएनन् ।

    भौतिक पूर्वाधार विकासमन्त्री रहेका जसपाका सहसराम यादव कांग्रेसमा प्रवेश गरेर टिकट लिएका छन् ।

    कांग्रेसबाट मन्त्री बनेका भने सबैले टिकट पाएका छन् । पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री दाङका डिल्ली चौधरी मुख्यमन्त्रीको दाबेदारीसहित दाङको ३ (१) बाट मैदानमा छन् । त्यस्तै वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमाल बाँके २ (२) बाट, शिक्षा तथा खेलकुदमन्त्री बसिउद्धिन खाँ रूपन्देही ४ (२) बाट र ऊर्जा‚ जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर राना पाल्पा २ (१) बाट चुनाव लड्दैछन् ।

    एमालेबाट मन्त्री बनेका नवलपरासी पश्चिमका वैजनाथ चौधरीले अन्तिममा टिकट पाएनन् भने लीला गिरी रूपन्देहीको २ (१) बाट उम्मेदवार बनेका छन् । कांग्रेसको प्रदेशसभाका प्रमुख सचेतक फकरुद्धिन खानले कांग्रेसका धेरै प्रदेशसभा सदस्यले अहिले पनि टिकट पाएको बताए । त्यस्तै प्यूठानका कृष्णध्वज खड्काकी श्रीमती रेखा शर्मा दाङ- २ बाट प्रत्यक्षमा लड्दै छन् । त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती एकमात्र क्षेत्र रहेको पूर्वी रुकुमबाट प्रतिनिधिसभामा चुनाव लड्दै छन् ।

    दुई संघीय मन्त्री उम्मेदवार

    लुम्बिनी प्रदेशबाट दुई संघीय मन्त्री उम्मेदवार बनेका छन् ।

    रुपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री बालकृष्ण खाण र दाङ क्षेत्र नम्बर १ बाट सहरी विकास मन्त्री मेटमणि चौधरी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । गृहमन्त्री खाणले एमालेको समर्थनमा उम्मेदवार बनेका राप्रपाका दीपक बोहरासँग प्रतिस्पर्धा गर्नेछन् भने दाङ-१ मा मन्त्री चौधरीले एमालेकी शान्ता चौधरीसँग प्रतिस्पर्धा गर्नेछन् ।

    केही दिनअघिसम्म बाँके क्षेत्र नम्बर २ बाट भौतिक पूर्वाधार मन्त्री रहेका मोहम्मद इस्तियाक राई सरकारबाट हटेका छन् । बाँके-२ मा राईले जसपाबाट उम्मेदवारी दिएका छन् । उनले राप्रपा नेता धवलशमशेर राणा र नेपाली कांग्रेसमा सुदीप नरसिंह राणासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

    लुम्बिनी प्रदेशका १६ जना मन्त्रीमध्ये टिकट पाउनेहरू

    १ पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री दाङका डिल्ली चौधरी दाङ ३ को १ कांग्रेस

    २ स्वास्थ्यमन्त्री इन्द्रजित चौधरी दाङ १ को १ माओवादी

    ३. वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमाल बाँके २ को २ कांग्रेस

    ४. कांग्रेसका शिक्षा तथा खेलकुदमन्त्री बसिउद्धिन खाँ रूपन्देही ४ को १ कांग्रेस

    ५ ऊर्जा‚ जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर राना पाल्पा २ को १ कांग्रेस

    ६. भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव कपिलवस्तु १ को २ कांग्रेस

    टिकट नपाएका मन्त्री

    १. टिकट नपाउने मुख्यमन्त्री रोल्पाका कुलप्रसाद केसी (माओवादी)

    २. अर्थ तथा सहकारीमन्त्री प्यूठानका कृष्णध्वज खड्का (माओवादी)

    ३. आन्तरिक मामिला तथा सञ्चारमन्त्री बर्दियाका तिलकराम शर्मा (माओवादी)

    ४. अर्थ तथा सहकारी राज्यमन्त्री कपिलवस्तुकी सुष्मा यादव (माओवादी)

    ५ श्रम तथा यातायात व्यवस्थामन्त्री पाल्पाकी पुर्मती ढेंगा (जसपा)

    ६ कृषि, तथा भूमि व्यवस्थामन्त्री बर्दियाकी सुमन शर्मा रायमाझी (जसपा)

    ७. महिला बालबालिका तथा समाज कल्याण मन्त्री पाल्पा रमा घर्ती (एस)

    ८. अजय शाही उद्योग, वाणिज्य तथा आपूर्ति नवलपरासी स्वतन्त्र

    ९. अर्जुन श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कांग्रेस

    १०. रिना नेपाल विक, पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री कांग्रेस

  • मंसिर ४ को ब्याटल जसरी पनि गठबन्धनले जित्नु छ: प्रचण्ड (भिडिओ)

    मंसिर ४ को ब्याटल जसरी पनि गठबन्धनले जित्नु छ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् ।

    शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर ४को चुनाव सामान्य निर्वाचन नभएको भन्दै देशको संविधान मिच्नेहरुलाई पाखा लगाउन कार्यकर्ताहरु अहोरात्र खटिएर चुनावी ब्याटल गठबन्धनलाई जिताउन जोड दिएका हुन् ।

    उनले मंसिर ४ गते देशमा अराजकता निम्त्याउने, देशलाई निरंकुशताको भुमरीमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाई भएकाले दुईवटा गठबन्धनबीच ब्याटल हुने र  त्यसको ब्याटल आफूहरुले जित्नुपर्ने बताए ।

    काठमाडौं ७ मा माओवादीबाट उम्मेदवार बनेकी मानुषी यमी भट्टराईले चुनाव जित्नेमा विश्वास व्यक्त गरे । उनले अहिले दुईवटा गठबन्धन आमनेसामने भएको बताए ।

  • नारायणकाजीको खुलासा: एमसीसी पारित हुनुअघि ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थियौं (भिडिओ)

    नारायणकाजीको खुलासा: एमसीसी पारित हुनुअघि ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थियौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गठबन्धन दलभित्रको चुनावी तालमेल आफूहरुको इच्छा नभएर बाध्यात्मक परिस्थितिको उपज भएको बताएका छन् ।

    आगामी चुनावमा पनि कम्युनिष्ट एकताका लागि आफूहरुले पहल गरेको भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण त्यो सफल नभएको उनले गुनासो गरे ।

    माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले एमसीसी असफल बनाउने हो भने ओलीलाई फेरि प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्डले गरेको खुलासासमेत गरे । तर, ओलीले त्यसलाई पनि अस्वीकार गरेको उनको भनाइ थियो ।

    श्रेष्ठले भने, ‘एमसीसी पारित हुनुअघि नेकपा एमालेको केपी ओलीसहितको टोलीसँग वार्ता गर्न हामी गयौं । हामीले नै प्रस्ताव राख्यौं, एमसीसी असफल गर्न साथ दिनुस् । ओलीले हिजो एमसीसी पारित गर्नुपर्छ नै भन्या हो । तर, अब राष्ट्रियताको मुद्दामा फेरि हामी मिलौं भनेर भनेका थियौं । एमसीसी असफल भएपछि गठबन्धन टुट्छ, त्यसपछि तपाईं नै फेरि प्रधानमन्त्री हुनुस् भन्नेसमेत हाम्रो प्रस्ताव थियो । अनि, वाम तालमेल गरेर चुनाव जाउँ भनेर पनि आग्रह गरिएको थियो । तर, ओलीजी एमसीसी असफल बनाउन तयार हुनुभएन ।’

    श्रेष्ठका अनुसार उक्त बैठकमा एमालेबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायतका नेताहरु थिए । यस्तै माओवादीबाट अध्यक्ष प्रचण्ड र आफूसहितका केही नेताहरु रहेको उनले बताए ।

    श्रेष्ठले पछिल्लो समयमा पनि प्रतिनिधिसभा विघटनमा आफूले गल्ती भएको भनेर स्वीकार गरेर आउँदा एमालेसँगै सहकार्य गर्ने पक्षमा आफूहरु रहेको बताए । उनले थपे, ‘यो गठबन्धनमा जानु हाम्रो इच्छा नभएर बाध्यता हो । अन्यथा हामी त कम्युनिष्ट गठबन्धनकै पक्षमा थियौं ।’

    उनले अहिलेको चार दलीय गठबन्धनका थुप्रै सीमा र अप्ठेराहरु रहेको उल्लेख गरे । चार पार्टी भए पनि व्यवहारमा ६ पार्टीको गठबन्धन जस्तो भएको उनले टिप्पणी गरे ।

    ‘कांग्रेस एउटा पार्टी भए पनि व्यवहारमा तीनवटा जस्तो छ । देउवाजी कहिले रामचन्द्रजीसँग कुरा गर्नुपर्छ भन्नुहुन्छ, कहिले शेखर कोइराला र गगन थापासँग सल्लाह गर्नुपर्छ भन्नुहुन्छ । यो गठबन्धन ६ पार्टीको जस्तो भयो ।’

    तैपनि सीट बाँडफाँटमा आधारभूत सहमति भएको भन्दै उनले खुशी व्यक्त गरेका छन् ।

  • माओवादी केन्द्रकी दोलखा इन्चार्ज देवी खड्काले दिइन् राजीनामा

    माओवादी केन्द्रकी दोलखा इन्चार्ज देवी खड्काले दिइन् राजीनामा

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी दोलखा जिल्ला इन्चार्ज देवी खड्काले राजीनामा दिएकी छन् । स्वास्थ्यको कारण देखाउँदै खड्काले पार्टी हेडक्वार्टरसमक्ष राजीनामा दिएकी हुन् ।

    माओवादी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खड्का दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको प्रमुख दाबेदार थिइन् । पार्टीले गंगा वहादुर कार्कीलाई उम्मेदवार बनाएपछि उनले अध्यक्ष प्रचण्डलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

    खड्का २०६४ सालको पहिलो संविधानसभामा माओवादीबाट निर्वाचित भएकी थिइन् । खड्का पार्टीबाट प्रत्यक्ष निर्वाचन लड्न सक्षम र योग्य महिला भए पनि उनीमाथि न्याय नभएको निकटस्थहरुको गुनासो छ ।

    उनका पति राजकुमार श्रेष्ठ यसअघि नै राजनीतिबाट विरक्तिएर कृषिमा लागि सकेका छन् । श्रेष्ठ पनि २०६४ सालमा सिन्धुपाल्चोक १ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

  • आगामी निर्वाचन जनयुद्धका उपलब्धि उल्ट्याउन खोज्नेहरूसँगको लडाइँ हो : प्रचण्ड (भिडिओ)

    आगामी निर्वाचन जनयुद्धका उपलब्धि उल्ट्याउन खोज्नेहरूसँगको लडाइँ हो : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ मा हुने निर्वाचन अरु वेलाको जस्तो सामान्य नभएको बताएका छन्।

    प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धका उपलब्धि उल्ट्याउन खोज्नेहरुसँगको लडाइँ भएकाले सामान्य रुपमा लिन नहुने बताएका हुन् ।

    उनले भने, ‘मंसिर ४ गते दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदैछ । यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन् । हामीले सामान्य निर्वाचनको रुपमा लिनु हुँदैन । त्यो छुट हामीलाई छैन ।’

    उनले गठबन्धन र पार्टीका नेता-कार्यकर्तालाई आआफ्नो ठाउँबाट जनमत बनाउन लाग्न निर्देशनसमेत दिए । जनयुद्धका उपलब्धि रक्षा गर्न अहिलेको निर्वाचन आफूहरुले जित्नैपर्ने प्रचण्डको भनाइ छ ।

    अहिले पनि माओवादीका बारेमा घेराबन्दी गरेर भ्रम छर्ने प्रयास भइरहेकाले त्यसको प्रतिवाद गर्नसमेत निर्देशन दिए । उनले अहिले रक्तपातहीन युद्ध नै चलिराखेकोसमेत बताए ।

  • कमल थापासँग असन्तुष्ट नेता प्रचण्ड भेट्न खुमलटारमा

    कमल थापासँग असन्तुष्ट नेता प्रचण्ड भेट्न खुमलटारमा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापासँग असन्तुष्ट पदाधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

    मंगलबार बिहान खुमलटार पुगेका राप्रपा नेपालका पाँच पदाधिकारीले प्रचण्डसँग छलफल गरेका हुन् ।

    अध्यक्ष प्रचण्डलाई भेट्न राप्रपा नेपालका उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य पुगेको खुमलटार स्रोतले बतायो ।

    राप्रपा नेपालका अध्यक्ष थापा मकवानपुर १ बाट एमालेको सहयोगमा चुनाव लड्दैछन् । आफ्नो चुनाव चिन्ह छाडेर सूर्यबाट लड्ने थापाको निर्णयप्रति पार्टीमा असन्तुष्टि बढेको छ । पछिल्लो समय पार्टीकेन्द्रित नभई एमालेको चुनावी प्रचारमा लागेको गुनासो गरिरहेका नेताहरूको प्रचण्डसँगको भेटलाई अर्थपूर्णरूपमा लिइएको छ ।

    तर, अध्यक्ष थापाले भने आफ्नो पार्टी, विचारलाई जोगाउन चुनौती भएकाले सूर्य चिन्हको साथ लिएको बताउँदै आएका छन् ।

    ‘मैले राष्ट्रवादी पार्टीको रूपमा पहिचान बनाएको पार्टीसँग सहकार्य गरेको हुँ । मैले राष्ट्रिवादी अडान लिएकै कारणले मलाई सिध्याउन अनेक षड्यन्त्र भएको छ’ थापाले भनेका छन् ।

  • गठबन्धनबाट भावी प्रधानमन्त्री- ‘किङमेकर’ प्रचण्ड यसकारण पुग्दैछन् कुर्सीनजिक

    गठबन्धनबाट भावी प्रधानमन्त्री- ‘किङमेकर’ प्रचण्ड यसकारण पुग्दैछन् कुर्सीनजिक

    काठमाडौं । सत्ता गठबन्धनको सीट बाँडफाँट चलिरहेका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाल प्रेससँगको अन्तर्वार्तामा भनेका थिए–चुनावपछि प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले देश हाँक्छ । हामीसँग एक पटक देश हाँक्ने योजना र सपना छ ।

    तर त्यसयता माओवादीले प्रधानमन्त्रीको रूपमा औपचारिक दाबी गरेको छैन । यद्यपि माओवादीका चुनावी प्रचार सामग्रीमा भने प्रचण्डलाई भावी प्रधानमन्त्रीका रूपमा प्रचार गरिएको छ । जसको नीति उसको नेतृत्वदेखि मङ्सिर ४,प्रचण्ड सरकारसम्मका नारा माओवादीले चुनावमा अघि सारेको छ ।

    अझ रोचक पक्ष राजनीतिका शीर्ष खेलाडीहरूबिच चल्ने गरेको के छ भने,चुनावपछिको प्रधानमन्त्री प्रचण्ड बन्ने निश्चित छ तर केपी ओली कि शेरबहादुर देउवाको ? यो भने अनिश्चित छ । यो चर्चामा दम र तथ्य पनि लुकेको छ ।

    आफूलाई भेट्न गएका कांग्रेस नेताहरू शेखर कोइराला, गगन थापा, डा. मिनेन्द्र रिजाललगायतलाई केही समय अघि ओलीले ‘कांग्रेसले चुनावमा गठबन्धन कायमै राख्छ भने चुनावपछि पाँचै वर्षको प्रधानमन्त्री प्रचण्डलाई मैले बनाउँछु’ भनेका थिए । यो कुरा ओलीले बालुवाटार पुगेर देउवालाई पनि भनेको कांग्रेस नेताहरुबीच ओपन सेक्रेट छ ।

    त्यसैले चुनावी परिणामपछि नेपालको राजनीति फेरि एक पटक उथलपुथल हुन पनि सक्छ । यो कुरा नेताहरूले पनि बुझेका छन् र गठबन्धनको सीट बाँडफाँटदेखि नै चुनावपछिको समीकरणलाई ध्यान दिइएको छ । एमाले पनि ठिक्क साइजमा रहोस् र कांग्रेस पनि धेरै सीट जित्न नसकोस् भन्नेमा सबैभन्दा बढी सचेत माओवादी नेतृत्व नै छ ।

    चुनावपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख मात्र होइन एक डेढ वर्षभित्र राष्ट्रियसभा अध्यक्ष पनि जसको सत्ता हुन्छ त्यही गठबन्धनको भागमा पर्ने भएकाले पनि प्रचण्ड किङमेकरको भूमिकामा स्थापित हुनेछन् ।

    प्रत्यक्षमा ४३ सीटमा प्रतिस्पर्धा गरिरहेको माओवादीले समानुपातिकसमेत गरी निर्णायक भूमिकामा रहने लगभग निश्चित छ । त्यसैले देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिएनन् भने कांग्रेस पाँच वर्ष सत्ता बाहिर रहनुपर्ने र मुख्य पदहरू फेरि गुमाउनुपर्ने भएकाले देउवाकै प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि सरकारको नेतृत्व कसले गर्छ? भन्ने आम चासोको विषय बनेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावी मैदानमा होमिँदा गठबन्धनले अझै तोक्न सकेको छैन। त्यसैले एमाले महासचिव पोखरेलले ओलीको काउन्टरमा गठबन्धनको उम्मेदवार को हो भनेर प्रश्न गरिरहेका छन् ।

    गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। यद्यपि, यसअघि गठबन्धनमा रहेको जसपा सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै एमालेसँग तालमेल गर्न पुगेको छ। जसपा बाहिरिएसँगै गठबन्धनमा लोसपाको इन्ट्री भएको थियो।

    तर, निर्वाचनपछि सरकारको नेतृत्व गर्ने बारेका गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेस र माओवादी केन्द्र वरिपरि नै छ। जुन कुराको संकेत एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत गरे।

    उनले गठबन्धनभित्र भावी प्रधानमन्त्रीका दाबेदारबारे प्रसंग कोट्याएर देउवा र प्रचण्डतर्फ फर्किएर उनले भनेका थिए, ‘वर्तमानका त प्रधानमन्त्री हुँदै हुनुहुन्छ, भविष्यका पनि प्रधानमन्त्रीहरू यहीँ हुनुहुन्छ।’

    गठबन्धन जोगाउनै चिन्ता

    अध्यक्ष नेपालले देउवा वा प्रचण्डलाई भावी प्रधानमन्त्रीको रूपमा इंगित गरे पनि गठबन्धनभित्र यसले औपचारिकता नपाएको नेताहरू बताउँछन्। भावी प्रधानमन्त्रीको विषयमा छलफल गर्दा गठबन्धनमा समस्या आउन सक्ने भएकाले चुनावअघि छलफल नगर्ने रणनीति बनाएका छन्।

    ‘अहिले हाम्रो ध्यान निर्वाचन केन्द्रित छ। अहिले भावी प्रधानमन्त्रीको विषय निकाल्दा फेरि समस्या हुनसक्छ। त्यसैले शीर्ष नेताहरूले त्यसबारेमा बोल्नुभएको छैन’ माओवादीका एक नेताले भने।

    त्यसो त कांग्रेसभित्र प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा शेखर कोइराला, प्रकाशमान सिंह र डा शशांक कोइरालाले आफूलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्न चाहेका छन्। उनीहरू बाहेक प्रधानमन्त्री देउवा पत्नी आरजू राणा देउवालाई पनि प्रधानमन्त्री बन्ने चर्चा कांग्रेसवृत्तमा नचलेको होइन।

    महामन्त्री थापाले असोज २३ गते उम्मेदवारी दर्ता गरे लगत्तै आफूसँग प्रधानमन्त्री बन्ने जोस र आँट भएको बताएका थिए।

    उनले भनेका थिए, ‘पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ। र, मेरो प्रयत्न त अब ड्राइभिङ सिटमा आफैँ बसेर अब योभन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मूल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो। आफ्नो कर्म गर्ने हो, त्यसले फल कस्तो दिन्छ ? त्यो समयले बताउला ।

    कांग्रेसले आफ्नो निर्णयमै चुनावपछि आफ्नै नेतृत्वको बहुमतको सरकारको सुनिश्चितताका लागि गठबन्धन गर्ने भनेको छ ।

    प्रचण्डको इच्छा

    कांग्रेस बाहेक गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूलाई प्रधानमन्त्रीको रूपमा अगाडि ल्याउन चाहेका छन्।

    तेस्रो शक्तिको रूपमा सधैँ स्थापित भएर मौकालाई सदुपयोग गर्दै आएका प्रचण्डले कहिले कांग्रेस, कहिले एमालेसँग बार्गेनिङ गरेर दुई पटक प्रधानमन्त्री भइसके। अझै पनि उनमा प्रधानमन्त्री बन्ने महत्त्वाकाङ्क्षा हटेको छैन। उनले एक पटक फेरि प्रधानमन्त्री चाहना लुकाएका छैनन् ।

    त्यसैले प्रधानमन्त्री पदको ‘पावर सेअरिङ’लाई प्राथमिकता दिएका छन्।

    ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलिमिलीमै गयो। अर्का पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रूपमा देशमा देखा परेका यी तमाम विकृतिमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छ’ गत असारमै प्रचण्डले भनेका थिए।

    तर, आफूले प्रधानमन्त्रीको दाबी गर्दा गठबन्धनमा समस्या आउने देखिएपछि उनको बोली फेरिएको छ। उनले प्रधानमन्त्रीको अफर आएपछि अहिले आफू रेसमा नरहेको प्रस्ट्याउँदै आइरहेका छन्।

    ‘अहिले चुनावी सरकार देउवाजीको नेतृत्वमा गएपछि आलोपालो गर्दा आगामी सरकारको पहिलो प्रधानमन्त्री प्रचण्ड जी नै हुनुहुन्छ नि! ती नेताले भने।

    गठबन्धनबाट प्रधानमन्त्रीको मुख्य प्रतिस्पर्धी देउवा र प्रचण्ड नै हुन्। देउवा छैटौँ र प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा छन्।

    ‘विषय प्रवेश भएको छैन’

    तर, चुनावपछि कसले सरकारको नेतृत्व गर्ने विषयमा गठबन्धन दलहरूबिच कुनै विवाद नआउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बताउँछन्।

    उनले सोमबार सुर्खेत पुगेर भने, ‘अहिले हाम्रो मुख्य लक्ष्य गठबन्धनलाई आगामी निर्वाचनमा सफल बनाउनु हो। सरकारको नेतृत्व चुनावमा आएको नतिजाको आधारमा हुने हो त्यसैले त्यसमा कुनै विवाद छैन। हुँदा पनि हुँदैन।’

    यस्तै, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि गठबन्धनमा भावी प्रधानमन्त्रीको विषयमा छलफल नभएको प्रष्ट पारे।

    उनले भने, ‘अहिले हामी सबै चुनाव केन्द्रित भएका छौँ। त्यसैले हामीले अहिले भावी प्रधानमन्त्री विषयमा विषय प्रवेश नै गराएका छैनौँ।’

    एमालेको आलोचना

    यता, चुनाव घोषणा लगत्तै अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेर चुनावमा होमिएको एमालेले गठबन्धनको चर्काे आलोचना गर्दै आइरहेको छ। भावी प्रधानमन्त्री समेत अगाडि सार्न नसकेको भन्दै गठबन्धन दलको चर्को आलोचना गरिरहेका छन् ।

    गठबन्धनले भावी प्रधानमन्त्री समेत नतोकी चुनावमा जानु भनेको असक्षमता भएको एमाले नेता महेश बस्नेत दाबी गर्छन् ।

    उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा कुन पार्टीलाई सरकारमा ल्याउने र कस्तो सरकार बनाउने भन्ने तहदेखिको छलफल भइरहेको पाइन्छ। हामीले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ। तर, गठबन्धनले अबको भावी प्रधानमन्त्रीको भनेर अगाडि बढाउन सकेको छैन। अब शेरबहादुर देउवा नै भावी प्रधानमन्त्री होलान् भनेर मान्छेले अनुमान गर्न थालेका छन् ।’

    उनले भावी प्रधानमन्त्रीको रूपमा ओलीसँग देउवाको तुलना नै हुन नसक्ने टिप्पणी गरे। उनले मात्रै नभएर एमालेका ओलीसहित शीर्ष नेताहरूले भावी प्रधानमन्त्री तोक्न नसकेको भन्दै गठबन्धनको चर्को आलोचना गरिरहेका छन् ।

  • गठबन्धनका बागीलाई माओवादीको अल्टिमेटम : आज दिनभरमा फिर्ता लिए कारबाही नहुने

    गठबन्धनका बागीलाई माओवादीको अल्टिमेटम : आज दिनभरमा फिर्ता लिए कारबाही नहुने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीभित्रबाट गठबन्धनविरुद्ध बागीलाई उम्मेदवारी दिएकालाई फिर्ता लिन अल्टिमेटम दिएको छ ।

    पार्टी कार्यालयको मुख्य सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गरेर आज दिनभरसम्म उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

    बागी उम्मेदवारी फिर्ता नलिए तिनका प्रस्तावक र समर्थकलाई समेत कारवाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।