Category: माओवादी केन्द्र

  • प्रदेशसभा समानुपातिकतर्फ कुन प्रदेशमा कुन दल अगाडि ? (सूचीसहित)

    प्रदेशसभा समानुपातिकतर्फ कुन प्रदेशमा कुन दल अगाडि ? (सूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ अग्रता लिइरहेको नेकपा (एमाले)ले प्रदेश सभामाको समानुपातिकतर्फ पनि ६ प्रदेशमा अग्रता लिइरहेको छ । निर्वाचन आयोगका अनुसार मधेशमा मात्रै नेपाली कांग्रेसले अग्रता लिएको हो ।

    मधेश प्रदेशमा नेपाली कांग्रेसले अग्रता लिदाँ दोस्रोमा एमाले रहेको छ । एक प्रदेशमा मात्रै सबैभन्दा अगाडी रहेको कांग्रेस पाँच वटा प्रदेशमा दोस्रो स्थानमा रहेको छ । जसमा प्रदेश एक, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कांग्रेस दोस्रोमा रहेको हो ।

    एमालेले अग्रता लिएको कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) दोस्रो स्थानमा रहेको छ । आयोगका अनुसार माओवादी केन्द्रले कर्णाली प्रदेशमा मात्रै दोस्रो स्थानमा रहेको हो । सुरुवाती चरणमा कर्णाली प्रदेशमा माओवादी केन्द्रले अग्रता लिइरहेको थियो ।

    प्रदेश एकमा राप्रपा तेस्रो स्थानमा रहदाँ मधेश प्रदेशमा भने जनता समाजवादी पार्टी तेस्रो स्थानमा रहेको छ । बामगती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

    कुन पार्टीको मत कति  ?

  • समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ?

    समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ?

    काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फ २० लाख मत कटाएको छ ।

    निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २० लाख ६ हजार ५८७ छ ।

    यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसको मत १९ लाख ३९ हजार १०४ रहेको छ ।

    माओवादी केन्द्र ८ लाख ६२ हजार ६६९ मतसहित तेस्रोमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३३ हजार ५९५ मत रहेको छ ।

  • चुनावलगत्तै माओवादी उपमहासचिव वर्षमान पुन: चीन जाँदै

    चुनावलगत्तै माओवादी उपमहासचिव वर्षमान पुन: चीन जाँदै

    काठमाडौं । रोल्पाबाट नवनिर्वाचित सांसद तथा नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान यसै साता चीन जाने भएका छन् । नियमित स्वास्थ्य उपचारको सन्दर्भ मिलाएर वर्षमान पुन बेइजिङ जान लागेका हुन् ।

    पुन निकट स्रोतका अनुसार काठमाडौंबाट नियमित उडान शुरु नभइसकेकाले हिमालयन एयरको कार्गो विमानबाट वर्षमान चीन जाने तयारी भइरहेको छ । सम्भवतः आइतवारसम्म उनी बेइजिङ जानेछन् ।

    पुनको उपचार यसअघि पनि चीनमा भएको थियो । पार्टीभित्र चीनको विश्वासिलो पात्रका रुपमा स्थापित भएका पुनको चुनाव लगत्तै हुन लागेको चीन भ्रमणलाई राजनीतिक रुपमा पनि हेरिएको छ ।उनी नेकपा एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् ।

    चु्नावअघि पनि उनी कांग्रेससँग भन्दा एमालेसँग गठबन्धन गर्नुपर्ने पक्षमा थिए । चीनले नेपालमा कम्युनिष्टहरुको एकताका पक्षमा पहल गर्दै आएको छ ।तर यसपटक पुनको भ्रमण राजनीतिक उद्देश्यप्रेरित नरहेको उनको पारिवारिक स्रोतले जनाएको छ।

  • जनताले रगत बगाएर ल्याएको परिवर्तनलाई उल्ट्याउन दिइने छैन : प्रचण्ड

    जनताले रगत बगाएर ल्याएको परिवर्तनलाई उल्ट्याउन दिइने छैन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलका नेतृत्व नसच्चिए देश झन् ठुलो भूमरीमा पर्नेसक्ने चेतावनी दिएका छन् ।

    गोरखा २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई कुनै पनि हालतमा जनताले रगत बगाएर ल्याएको परिवर्तनलाई उल्ट्याउन नदिइने बताए ।

    उनले भने, ‘एजेण्डा होइन, एउटा आवेगमा देशलाई कही न कही भ्रमित पार्ने संकेत पनि देखा परे । त्यसैले, म अहिले कसैलाई दोष र आरोप लगाउने पक्षमा छैन । यो हाम्रोलाई ठुलो चुनौती हो । जसले यो राजनीतिक परिवर्तन र जनताका लागि लडाईं लडे ती पार्टीलाई चुनौती हो ।’

    कसैलाई गाली गर्नुभन्दा पनि राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने अवस्थाको रुपमा लिएको बताए ।

    उनले भने, ‘यो परिस्थितीमा यति ठुला परिवर्तन र आन्दोलन गर्ने राजनीतिक दल र नेताहरुले एकचोटी आफैभित्र फर्केर कहाँनेर कमी कमजोरी भए ? जसले गर्दा विचार र सिद्धान्त अबमुल्यन हुने खतरा देखा पर्यो। राजनीतिक एजेण्डा ओझेलमा परेको बेलामा राजनीतिक नेतृत्वले नै सोच्नुपर्ने बेला आइलागेको छ ।’

    उनले आफ्नो पार्टी र गठबन्धन दलमा पनि कुरा गर्ने बताए । आगामी दिनमा जनताको निम्ति समर्पित हुने नीति योजना र कार्यक्रम नल्याउने भए देश अफ्ठ्यारोमा पर्नसक्ने चेतावनी दिए ।

  • सोचेजस्तो परिणाम आएन, तुरुन्त गठबन्धनको बैठक बसेर छलफल गर्छौँं : प्रचण्ड (भिडिओ)

    सोचेजस्तो परिणाम आएन, तुरुन्त गठबन्धनको बैठक बसेर छलफल गर्छौँं : प्रचण्ड (भिडिओ)

    गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नल्याएको बताएका छन् । गोरखा २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको बताए ।

    उनले भने, ‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ । तर, हामीले सोचेजस्तो परिणाम भएन भन्नेपनि छ । नसोचेका केही कुरा भए । त्यसैले यहाँ सकेर तुरुन्त काठमाडौं जानुपर्ने भएको छ । गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ । अपेक्षा गरेको जस्तो भएन । गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।’

    प्रचण्डले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने प्रयासलाई सफल हुन नदिने बताए । यसअघि पनि ७५ वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता जाहेर गरे ।

    ‘राजनीतिक नेतालाई गाली गरेपनि केही फरक पर्दैनथ्यो । तर, देश झन् ठूलो भूमरीमा पर्ने स्थिति हो भने त्यो स्वीकार्य हुने विषय होइन । झण्डै ७५ वर्षदेशको लोकतान्त्रिक अधिकारलाई रक्षा गर्नुपर्छ’ उनले भने, ‘अहिलेसम्मको उपब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ ।’

  • सुदूरपश्चिमका १५ सीटको नतिजामा संघ र प्रदेश दुवैमा कांग्रेस पहिलो, माओवादी संघमा शून्य

    सुदूरपश्चिमका १५ सीटको नतिजामा संघ र प्रदेश दुवैमा कांग्रेस पहिलो, माओवादी संघमा शून्य

    कैलाली । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा क्षेत्रमध्ये १५ वटाको मत परिणाम आइसकेको छ । बाजुरामा मतगणना अनिश्चित छ । अन्य सबै जिल्लाका निर्वाचन क्षेत्रमा मतगणना भइसकेको हो ।

    मत गणना सम्पन्न भएका क्षेत्रमध्ये ७ क्षेत्रमा कांग्रेस विजयी भएको छ । सत्तागठबन्धनमा कांग्रेसलाई ९ क्षेत्र भाग परेको थियो । एक क्षेत्रमा पराजय भोगेको छ । बाँकी एक क्षेत्रमा मत गणना हुन सकेको छैन ।

    कांग्रेसबाट कैलाली ४ मा वीरबहादुर बलायर, ५ डिल्लीराज पन्त, कञ्चनपुर २ मा एनपी साउद र ३ मा रमेश लेखक विजयी भएका छन् । डडेल्धुरामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,अछाम २ मा पुष्प शाह र दार्चुलामा दिलेन्द्र बडू निर्वाचित भइसकेका छन् ।

    यहाँ नेकपा एकीकृत समाजवादीलाई तीन क्षेत्र भागमा परेको थियो । तीनै क्षेत्रमा नेकपा एस विजयी भएको छ । डोटीमा प्रेम आले, अछाम १ मा शेरबहादुर कुँवर र बझाङमा भानुभक्त जोशी विजयी भएका छन् ।

    नागरिक उन्मुक्तिबाट कैलाली १ मा रन्जिता श्रेष्ठ र ३ मा गङ्गा चौधरी निर्वाचित भएका छन् । २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी भारी मतसहित अग्रता बनाइरहेका छन् । उनको जीत करिब निश्चित छ ।

    सुदूरपश्चिमका १५ स्थानमा उम्मेदवार खडा गरेको एमालेले प्रतिनिधिसभा तर्फ २ स्थानमा मात्र जीत निकाल्न सक्यो । एमालेबाट कञ्चनपुर १ मा तारा लामा तामाङ र बैतडीमा दामोदर भण्डारी निर्वाचित भएका छन् ।

    बाजुरामा एमालेका कर्ण थापा र कांग्रेसका बद्री पाण्डे निर्वाचनमा छन् । थापाले जिते एमालेको संख्या प्रदेशमा ३ पुग्ने छ भने पाण्डेले जिते कांग्रेसको संख्या ८ पुग्नेछ ।

    प्रदेशमा को अगाडि ?

    सुदूरपश्चिमका ३२ प्रदेशसभा सीटमध्ये एमालेले ३० स्थानमा उम्मेदवार खडा गरेको थियो । कैलाली र कञ्चनपुरको एक÷एक क्षेत्र खाली राखेर ३० स्थानमा दिएको उम्मेदवारीमध्ये एमालेले कैलाली ५ (१) बाहेक ३ क्षेत्रमात्रै जितेको छ । यहाँ एमालेका उम्मेदवारले अग्रता बनाइरहेका छन् । त्यसबाहेक एमालेले डोटी, बैतडी र कञ्चनपुरको एक एक क्षेत्र जितेको हो । डोटीमा एमालेका चक्र मल्ल, बैतडीमा सुरेन्द्र पाल र कञ्चनपुरमा वीरबहादुर थापा पाताल विजयी भएका छन् ।

    सत्ता गठबन्धनमा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ एक क्षेत्र पनि जित्न सकेन । तर, उसले प्रदेशसभामा ८ सीट जितिसकेको छ । प्रदेशसभामा सत्ता गठबन्धनमा माओवादीलाई १२ क्षेत्र भाग लागेको थियो ।

    कैलालीबाट रमेश धामी, डडेल्धुरामा खगराज भट्ट, कञ्चनपुरमा ओमविक्रम भाट, बझाङमा भीमबहादुर भण्डारी, डोटीमा शिवसिंह ओली, अछाममा झपटबहादुर साउद र अक्कल रावल, दार्चुलामा मानबहादुर धामी विजयी भएका छन् ।

    सत्ता गठबन्धनमा कांग्रेसलाई १८ क्षेत्र भाग लागेको थियो । कांग्रेसले प्रदेशमा ११ क्षेत्रमा जीत हासिल गरेको छ । कैलालीमा कमल शाह, प्रकाश बम, प्रकाश देउवा विजयी हुँदा कञ्चनपुरमा बेलबहादुर राना मगर, बहादुरसिंह थापा, देवानसिंह विष्ट विजयी भएका छन् ।

    दार्चुलामा विक्रम धामी, बझाङमा पृथ्वीबहादुर सिंह, बैतडीमा शिवराज भट्ट र अछाममा मेघराज खड्का र मानबहादुर रावल विजयी भएका छन् ।

    सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई प्रदेशमा २ क्षेत्र भाग लागेको थियो । गठबन्धनमा भाग परेकोमध्ये कैलाली ४ (१) मा दीर्घ सोडारी विजयी हुँदा ३ (२) मा अमर साउद पराजित भए । कञ्चनपुर ३ (१) मा प्रकाश रावल मित्रवत प्रतिस्पर्धामा विजयी भए ।

    सुदूरपश्चिममा नागरिक उन्मुक्तिले ५, नेकपा एकीकृत समाजवादीले २ र स्वतन्त्र एक उम्मेदवार पनि विजयी भएका छन् । नागरिक उन्मुक्तिका पाँचै जना कैलालीबाट विजयी भएका हुन् । नागरिक उन्मुक्तिबाट घनश्याम चौधरी, खुसीराम थारु, लक्ष्मणकिशोर चौधरी, कैलाश चौधरी र रामेश्वर चौधरी विजयी भए ।

    यस प्रदेशमा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी पनि विजयी भएका छन् । डडेल्धुरा प्रदेशसभा २ नेकपा एसलाई भाग नदिएपछि उनले सत्ता गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

  • जनताको सेवामा समर्पित हुँदै समृद्धिको अभियान थाल्छु : प्रचण्ड (भिडिओ)

    जनताको सेवामा समर्पित हुँदै समृद्धिको अभियान थाल्छु : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चुनावअघि गरेको वाचा पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।

    गोरखा २ बाट भारी मतले निर्वाचित भएपछि प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गोरखाबाट विकास र समृद्धिको नयाँ अभियान थाल्ने बताए ।

    उनले भने, ‘हामीले गोरखाबाट विकास र समृद्धिको नयाँ-नयाँ अभियान थाल्ने प्रतिबद्धता व्यक्त गरेका छौं । त्यही प्रतिबद्धताअनुसार अघि बढ्ने विश्वास दिलाउन चाहन्छु । जनताले दिएको मतलाई सम्मान गर्दै सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्छु ।’

  • द्वारिकलाललाई हराउँदै सुनसरीमा एमालेका रेवती विजयी

    द्वारिकलाललाई हराउँदै सुनसरीमा एमालेका रेवती विजयी

    इटहरी । सुनसरी २ को प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एमालेका रेवती भण्डारी विजयी भएका छन् ।

    इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीलाई २६८० मतान्तरले हराउँदै भण्डारीले जित हात पारेका हुन् । चुनावको मुखैमा एमाले छाडेका द्वारिकलालले माओवादीबाट प्रदेशसभाको टिकट लिएका थिए ।

    भण्डारीले १४५२८ ल्याउँदा चौधरीको ११८४८ मत आएको छ ।

    तेस्रो स्थानको राप्रपाका मोहनबहादुर खत्रीले ९३२८ मत ल्याएका छन् ।

  • सुदूरपश्चिममा प्रतिनिधिसभातर्फ माओवादीलाई ‘चोट’

    सुदूरपश्चिममा प्रतिनिधिसभातर्फ माओवादीलाई ‘चोट’

    कैलाली । १६ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशको नतिजामा माओवादी केन्द्रलाई चोट परेको छ । सत्तागठबन्धनमा चार सीट भाग पाएको माओवादी  तीन ठाउँ पराजित भइसकेको छ । गणना जारी रहेको एक क्षेत्रमा भारी मतले पछाडि छ ।

    माओवादीले कैलाली २ र ३ कञ्चनपुर १ र बैतडीमा उम्मेदवारी दिएको थियो । कैलाली २ बाहेक सबै तीनवटै क्षेत्रको परिणाम आइसकेको छ । कैलाली २ मा ४० हजार गणना हुँदासम्म माओवादी केन्द्रका भगत बडूवाल ४ हजारभन्दा बढी मतले पछि छन् ।

    नागरिक उन्मुक्तिका अरुण चौधरीले १४ हजार ७०५ मत पाउँदा सम्म माओवादी केन्द्रका बडूवालले १०३९८ मत प्राप्त गरेका छन् ।कैलाली ३ मा नागरिक उन्मुक्तिका गङ्गा चौधरीसँग माओवादी केन्द्रका कृष्ण चौधरी ‘कुन्दन’ पराजित भए । गंगाले २३ हजार १२० मत ल्याए भने चौधरी १७ हजार ७४९ मा रोकिए ।

    कञ्चनपुर- १ मा एमालेका तारालामा तामाङ विजयी भए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी बिना मगर ४९११ मतले पछाडि परिन् ।

    तामाङले २०९६९ मत प्राप्त गर्दा मगरले १६०५८ मत ल्याइन् । अघिल्लो पटक बिना १९ हजारभन्दा बढी मतान्तरका साथ विजयी बनेकी थिइन् । बैतडीमा पनि माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुँवर पराजित भए । एमालेका दामोदर भण्डारीले ह्याट्रिक गर्दा कुँवर १५३१ मतले हारे ।

    भण्डारीले ३३६११ मत ल्याए भने कुँवरले ३२०८० मत ल्याए ।अघिल्लो पटक वाम गठबन्धन गर्दा माओवादी केन्द्रले चार ठाउँमा लडेर तीन क्षेत्रमा विजयी जितेको थियो ।

    त्यो बेला कैलाली ३ मा माओवादीबाट विजयी भएका गौरिशंकर चौधरी र लेखराज भट्ट अहिले एमालेबाट निर्वाचनमा लडेका थिए । यसपटक दुवैजना पराजित भए ।

  • रुकुम पश्चिममा अर्थमन्त्री शर्मा विजयी

    रुकुम पश्चिममा अर्थमन्त्री शर्मा विजयी

    रुकुम पश्चिम । अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहनुभएका नेकपा (माओवादी केन्द्र) का नेता शर्माले नेकपा (एमाले)का नन्दराम देवकोटालाई पराजित गरेका हुन् ।

    मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कूल ५७ हजार दुई सय ९५ सदर मत खसेका थिए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले सात सय ९६, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार हरिबहादुर पुनले दुई सय आठ र स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार पाँच सय ६७ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, रुकुम पश्चिममा प्रदेशसभा सदस्यतर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा ९१० मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले आठ हजार ८१ मत ल्याए ।

    त्यसैगरी, रुकुम पश्चिम प्रदेशसभा (२) मा माओवादी केन्द्रकै्र उम्मेदवार राजकुमार शर्माले २० हजार एक सय ६० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्तीमगरले आठ हजार ८८ मत प्राप्त गरे ,

  • कञ्चनपुर १ मा तारा लामा विजयी, बिना मगर पराजित

    कञ्चनपुर १ मा तारा लामा विजयी, बिना मगर पराजित

    कैलाली । कञ्चनपुर प्रतिनिधि सभा १ मा नेकपा एमालेका तरा लामा तामाङ विजयी भएका छन्।

    सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएकी माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई चार हजार ९११ मत अन्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् ।

    तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेका छन्। अघिल्लो पटक यस क्षेत्रमा बिना मगर १९ हजार बढि मतान्तरले विजयी भएकी थिइन्

    प्रतिनिधि सभा सदस्यका आकाङ्क्षी रहेका तामाङ बाम गठबन्धनमा माओवादीलाई सङ्घ भाग परेपछि प्रदेशमा लडेका थिए ।

    प्रदेशमा एमालेबाट विजयी भएर प्रमुख सचेतक भएका तामाङ पछि नेकपा एकीकृत समाजवादी भएर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत भएका थिए ।

    स्थानीय तहको निर्वाचन पछि पुन ः एमालेमा फर्किएर प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएका तामाङले अघिल्लो पटकको सहयात्री बिना मगरलाई पराजित गरेका हुन् ।

  • यसरी हुन्छ समानुपातिकको बाँडफाँट- एमाले ३३, कांग्रेस ३१ र रास्वपा १७ सीट पुग्ने सम्भावना

    यसरी हुन्छ समानुपातिकको बाँडफाँट- एमाले ३३, कांग्रेस ३१ र रास्वपा १७ सीट पुग्ने सम्भावना

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खसेको करिब सवा करोड मतमध्ये समानुपातिकतर्फ बिहीबार दिउँसोसम्म साढे २५ लाख मतगणना हुँदाको रुझान विश्लेषण गर्दा ६ वटा दलले थ्रेसहोल्ड कटाउने देखिएको छ ।

    समानुपातिक निर्वाचन प्रणालीमा ४७ वटा दलले भाग लिएका थिए । हालसम्म गणना भएको २५ प्रतिशत मतलाई शतप्रतिशत आधार मानेर हिसाब गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन ७३ हजार मत पाउनुपर्छ । अहिलेसम्म ४७ दलले प्राप्त गरेको मतलाई जम्मा मत मानेर हिसाव गर्दा ६ दलले मात्रै ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।

    जसमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।

    थ्रेस होल्ड कटाउने ती ६ दलको जम्मा मत हिसाब गर्दा २४ लाख ३४ हजार १६० हुन आउँछ । यसबाट प्रतिशत निकाल्दा सबैभन्दा धेरै नेकपा एमालेले ३० प्रतिशत, नेपाली कांग्रेसले २८, राष्ट्रिय स्वतन्त्र पार्टीले १५, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ र जनता समाजवादी पार्टीले ३ प्रतिशत मत प्राप्त गरेका छन् ।

    यसै प्रतिशतअनुसार थ्रेस होल्ड कटाएका राजनीतिक दललाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट गर्दा सबैभन्दा नेकपा एमालेले ३३ देखि ३४ सीट पाउनसक्छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ३१ देखि ३२ सीट पाउनसक्छ ।

    यस्तै तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १६ देखि १७ सीट पाउने देखिन्छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १५ देखि १६ सीट प्राप्त गर्नेछ । पाँचौंमा रहेको राप्रपाले ९ देखि १० सीट पाउँदा जसपाले ४ देखि ५ सीट पाउने देखिन्छ ।

    कसरी हुन्छ समानुपातिकतर्फको सीट बाँडफाँट ?

    समानुपातिकतर्फको मतगणना भइरहँदा अधिकांशलाई समानुपातिकतर्फको निर्वाचनमा कसरी सीट बाँडफाँट हुन्छ र कसले कति सीट पाउँछ भन्नेबारेमा जिज्ञासा छ । यसैलाई मध्यनजर गरेर हामीले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ सीट बाँडफाँट हुने विधिबारे यहाँ उल्लेख गरिएको छ ।

    समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार उम्मेदवार छनोट प्रक्रिया परिच्छेद ५ मा गरिएको छ । निर्देशिकाको दफा ३१ मा सीटको बाँडफाँट गर्ने व्यवस्था गरिएको छ । जसको दफा १ अनुसार १६५ वटै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको मतगणना तालिका प्राप्त भइससकेपछि निर्वाचन अधिकृतले दलले प्राप्त गरेको सदर मत जोडिन्छ । ती दलले प्राप्त गरेको जम्मा मत संख्या एकिन हुन्छ ।

    दलले प्राप्त गरेको जम्मा मतको आधारमा निर्वाचन अधिकृतले मत परिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गरी निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

    दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको आधारमा महिला तथा अन्य समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्यासमेत निर्धारण गर्नुपर्नेछ ।

    दलले प्राप्त गरेको सीट संख्यामध्ये विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनैपर्ने संख्या निर्धारण गर्दा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ । जसमा सबैभन्दा धेरै खस आर्यबाट ३१.२, दोस्रोमा आदिवासी-जनजातिबाट २८.७, मधेसीबाट १५.३, दलितबाट १३.८, थारुबाट ६.६ र मुस्लिमबाट ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ ।

    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट प्रतिनिधित्व गर्ने जम्मा सदस्य संख्याको कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नुपर्छ ।

    सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको कम्तीमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या निर्धारण गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशत वा त्योभन्दा बढी सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार हुनुपर्नेछ ।

    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार नै हुनुपर्नेछ । निर्धारण गरिएको सम्बन्धित दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्या आयोगले नै स्वीकृत गर्नेछ ।

    यस्तो छ मत परिणाम विभाजक सूत्र

    निर्वाचनको प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि (कुल उम्मेदवार संख्या अनुसारको हुने) भाजकले भाग गरिन्छ । त्यसरी भाग गरी प्राप्त हुने नतिजालाई भागफल भनिन्छ । यसरी मत परिणामलाई भाग गरी प्राप्त हुने भागफल संख्यालाई क्रमशः ठूलो भागफलबाट सानो भागफलसम्म बाँडफाँट गरिन्छ । त्यसपछि सीट वितरण गर्ने प्रयोजनका लागि भागफलको बाँडफाँट गर्दा अन्तिम सीटको भागफल बराबर भएमा गोलाप्रथाबाट निर्णय गरिन्छ ।

    गोलाप्रथाबाट वितरण गरिने सीटको निर्धारण गर्दा उक्त सीटको सन्दर्भमा बराबर भागफल रहेका दलका प्रतिनिधिलाई रोहवरमा राखेर गर्नुपर्छ । तर, आयोगले तोकेको मिति, समय र स्थानमा त्यस्तो दलका प्रतिनिधि उपस्थित नभएको कारणले गोलाप्रथाद्वारा निर्णय गर्न आयोगलाई कुनै बाधा नपर्ने निर्देशिकामा उल्लेख छ ।

    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा दलले प्राप्त गरेको जम्मा सदर मतको ३ प्रतिशत वा त्योभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् । दलले प्राप्त गरेको जम्मा सदर मत गणना गर्दा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको जम्मा मतमा गणना गरिनेछैन ।

    त्यसपछि दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्याबमोजिम उम्मेदवार छनोट गरी पठाउन निर्वाचन अधिकृतले अवधि तोकेर सम्बन्धित दललाई जानकारी गराउनेछन् । प्रत्येक दलले मत परिणामको आधारमा प्राप्त गरेको सीट संख्या सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिन्छ ।

    उम्मेदवार छनोट गर्ने तरिका

    राजनीतिक दलले जानकारी प्राप्त गरिसकेपछि उम्मेदवारको अन्तिम बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारमध्येबाट समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम छनोट गरी दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई ३ दिनभित्र समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको निर्वाचनबाट छनोट भएका उम्मेदवारको सूची पेश गर्नुपर्छ ।

    एकल चुनाव चिन्ह लिई संयुक्त निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निर्णय गर्दा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रुपमा निर्णय गरी स्वीकृत गर्नुपर्छ । कुनै समावेशी समूहको उम्मेदवारको नाम छनोट गर्दा त्यस्तो समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट गर्न पाइनेछैन । दलले उम्मेदवार छनोट गरी पठाउँदा यथासम्भव अपांगता भएको व्यक्तिको प्रतिनिधित्व हुने गरी पठाउनुपर्छ ।

    उम्मेदवार छनोट गरिएको सूची पेश गर्दा महिला तथा अन्य समावेशी समूहको प्रतिनिधित्व नभएमा निर्वाचन अधिकृतले सम्बन्धित दललाई नामावली सच्याई त्यसैबमोजिम प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी दुई दिनभित्र पेश गर्न लेखी पठाउनुपर्छ । यद्यपि १० प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलले कुनै समावेशी समूहबाट तोकिएको संख्यामा उम्मेदवार छनोट गर्न नसकेको विशेष कारण पेश गरेमा आयोगले उक्त संख्याबमोजिम कुनै समावेशी समूहको उम्मेदवारको नाम समावेश नभएको सूचीलाई समेत मान्यता दिनसक्छ । तर, त्यस्तो दलको तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जम्मा संख्याको कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारको नाम अनिवार्य रुपमा छनोट गरी पेश गर्नुपर्छ ।

    निर्वाचन अधिकृतले लेखी पठाएको २ दिनभित्र सम्बन्धित दलले केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई संशोधित नामावलीको सूची पेश गर्नुपर्छ । एकल निर्वाचन चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निर्णय गर्दा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रुपमा निर्णय गरी स्वीकृत गर्नुपर्छ । दलले पेश गरेको संशोधित नामावली तोकिएको प्रतिशत नसमेटिएसम्म त्यस्तो दलको तर्फबाट कुनै उम्मेदवार निर्वाचित हुनेछैन ।

    दलले प्राप्त गरेको मतको अनुपातमा प्राप्त हुने सीटभन्दा त्यस्तो दलले पेश गरेको उम्मेदवारको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या कम भई सबै सीट पूर्ति हुन नसक्ने भएमा त्यस्तो सीट विभाजक सूत्र अपनाई बढी भागफल प्राप्त गर्ने अर्को दललाई प्रदान गरिन्छ । यसरी प्रदान गरिएको सीट प्राप्त गर्ने दलले त्यस्तो सीटमा सोही समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी पठाउनुपर्नेछ । दलले छनोट गरी सूची पेश गरेका उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचन भएको घोषणा गर्नेछ । निर्वाचित भएको उम्मेदवारलाई निर्वाचन अधिकृतले प्रमाणपत्र दिनेछन् ।

  • विशाललाई हराउँदै खोटाङमा माओवादीका रामकुमार विजयी

    विशाललाई हराउँदै खोटाङमा माओवादीका रामकुमार विजयी

    विराटनगर । खोटाङमा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन् । एमालेका विशाल भट्टराईलाई हराउँदै राई प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन् ।

    विजयी राईले ३१ हजार ३५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६८२ मतमा रोकिए ।

    भट्टराई २०७४ सालको निर्वाचनमा माओवादीसँगको तालमेलमा यसै क्षेत्रबाट विजयी भएका थिए । विशाल एमालेका मुख्य सचेतकसमेत भए ।

  • प्रदेश १ : प्रतिनिधिसभातर्फ जित र अग्रता दुवैमा एमाले पहिलो, पछ्याउँदै कांग्रेस (सूचीसहित)

    प्रदेश १ : प्रतिनिधिसभातर्फ जित र अग्रता दुवैमा एमाले पहिलो, पछ्याउँदै कांग्रेस (सूचीसहित)

    विराटनगर । प्रदेश १ का प्रतिनीधि सभाका २८ निर्वाचन क्षेत्रमध्ये ६ वटाको नतिजा आइसकेको छ ।

    अन्तिम परिणाम आइसकेकामध्ये एमालेले ४ र कांग्रेसले २ सीट जितेको छ ।

    एमालेबाट अध्यक्ष केपी ओली झापा ५ बाट, झापा २ बाट देवराज घिमिरे, उदयपुर २ बाट अम्बरबहादुर रायमाझी र ताप्लेजुङबाट योगेश भट्टराई विजयी भएका छन् ।

    कांग्रेसबाट झापा १ बाट विश्वप्रकाश शर्मा र ओखलढुंगाबाट रामहरी खतिवडा विजयी भएका छन् ।

    गणना भइरहेका २२ क्षेत्रमध्ये १० ठाउँमा एमालेका उम्मेदवारले लिड गरेका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार ५ क्षेत्रमा अगाडि हुँदा माओवादी केन्द्र ३ ठाउँमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टी २, राप्रपा र स्वतन्त्र उम्मेदवार एक-एक ठाउँमा अगाडि छन् ।

    कहाँ को अगाडि ?

    एमाले

    १. लालप्रसाल साँवा झापा ४

    २. महेश बस्नेत इलाम १

    ३. सुवास नेम्वाङ्ग इलाम २

    ४. वसन्त नेम्वाङ्ग पाँचथर

    ५. राजेन्द्र राई धनकुटा

    ६. मानवीर राई सोलुखुम्बु

    ७. भगवती चौधरी सुनसरी ३

    ८. जगदिशप्रसाद कुसियैत सुनसरी ४

    ९. घनश्याम खतिवडा मोरङ १

    १०. ऋषिकेश पोखरेल मोरङ २

    नेपाली कांग्रेस

    १. सीता गुरुङ तेह्रथुम

    २. डा. नारायण खड्का उदयपुर १

    ३. दीपक खड्का संखुवासभा

    ४. डा. शेखर कोइराला मोरङ ६

    ५. डा. सुनिल शर्मा मोरङ ६

    माओवादी केन्द्र

    १. अमनलाल मोदी मोरङ ४

    २. सुदन किराती भोजपुर

    ३. रामकुमार राई खोटाङ

    राष्ट्रिय स्वतन्त्र पार्टी

    १. गोमा तामाङ सुनसरी १

    लालविक्रम थापा सुनसरी १

    राप्रपा

    राजेन्द्र लिङदेन झापा ३

    स्वतन्त्र

    योगेन्द्र मण्डल मोरङ ५

  • दाङ २ मा रेखा विजयी, एमाले महासचिव पोखरेल झिनो मतान्तरले पराजित

    दाङ २ मा रेखा विजयी, एमाले महासचिव पोखरेल झिनो मतान्तरले पराजित

    रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेल झिनो मतान्तरले पराजित भएका छन् । दाङ २ मा पोखरेललाई १९६ मतले हराउँदै माओवादीकी रेखा शर्मा विजयी भइन् ।

    शर्माले २६८७७ मत ल्याउँदा पोखरेल २६६८१ मा रोकिए ।

    निर्वाचन अधिकृतको कार्यालयले मतपरिणामको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

  • सिन्धुपाल्चोकमा माओवादीका तीन ‘स’ को जित

    सिन्धुपाल्चोकमा माओवादीका तीन ‘स’ को जित

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा माओवादी भित्र तीन ‘स’ को नामबाट परिचित माधव सापकोटा ‘सुवोध’,सरल सहयात्री र युवराज दुलाल ‘सरद’ तीनै जनाले  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाजी मारेका छन् ।

    जनमूक्ति सेना पृष्ठभूमिबाट माओवादी राजनीतिमा उदाएका यी तीनै नेता एकै पटक संसदीय राजनीतिमा प्रवेश गरेका छन् । युवराज दुलाल दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका हुन् भने माधव सापकोटा र सरल सहयात्री पहिलो पटक संसदमा पुगेका हुन् ।

    माओवादी युद्धकालमा उनीहरु पार्टीभित्र तीन ‘स’ ले परिचित थिए। पार्टी शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा आएपछि तीन ‘स’ मित्रता झन् घनिभूत हुन थाल्यो। तीन जना सुवोध, सरल र शरदको छोटकारी रुप तीन ‘स’ उपनामले उनीहरु चिनिए । उनीहरु आफ्नो वास्तविक नामभन्दा पनि सुवोध, सरल र शरदले जिल्लामा चिनिन्छन्। उनीहरु तिनै जना उमेरले भर्खर ४० पुगेका माओवादीका युवा नेता हुन्।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल सँग निकट सम्बन्ध राख्ने तीन नेता मध्ये दुलाल दाहालको अंगरक्षक भएर लामो समय दाहाल सँगै थिए । माओवादी अध्यक्ष दाहालका छोरा प्रकाश दाहाल सहित सरद र सरलले सगरमाथाको आरोहण समेत गरेका थिए ।

    सत्ता गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव सापकोटा ‘सुवोध’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा ३० हजार ३७४ मत सहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पार्दे उनी निर्वाचित भएका हुन् ।

    नेपालले २७ हजार १८ मत ल्याएका थिए । २०७४ को प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ प्रदेश सभा –२ बाट प्रदेश सभामा निर्वाचित भएका एमाले नेता सरेश नेपाल वागमती प्रदेश सभाका पुर्व मन्त्री थिए ।

    माओवादी नेता सापकोटा पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन् । उमेरले भर्खर ४० पुगेका नेता सापकोटालाई नेपाली कांग्रेस सहित सत्ता गठबन्धनको साथ रहेको थियो ।

    माओवादी भित्र अर्काे ‘स’ बाट परिचित सरल सहयात्री पौडेल दोस्रो प्रयासमा संसदमा पुगेका छन् । उनी सिन्धुपाल्चोक–१ प्रदेश सभा–२ बाट निर्वाचीत भएका छन् । सरलले १७ हजार २५६ मत सहित प्रदेश सभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका होमनारयण श्रेष्ठले १३ हजार १३ मत पाएका थिए । सरलले श्रेष्ठ भन्दा ४ हजार ४३ बढी मत ल्याएर निर्वाचित भएका हुन् ।

    गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठ २०७४ को स्थानीय निर्वाचनमा जुगल गाउँपालिकाबाट अध्यक्षमा निर्वाचीत भएका थिए । सर २०७० को निर्वाचनमा सिन्धुपाल्चोक १ बाट उमेदवार भएर पराजीत भएका थिए ।

    आफ्नै पुर्व सहकर्मीलाई हराउदै माओवादी पोलिटब्युरो सदस्य युवराज दुलाल दोस्रो पटक भारी मतसहित प्रदेश सभामा विजयी भएका छन् । दुलालले २० हजार ९०६ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमान सिं तामाङले १२ हजार १३९ मत ल्याएका थिए । दुलाले तामाङ भन्दा ८ हजार ७६७ मत बढी ल्याएका थिए । दुलाल २०७४ को प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक–२ प्रदेश सभा –१ बट निर्वाचित भएका थिए ।

    अहिले पनि सोही क्षेत्रबाट निर्वाचित भएका छन् । एमाले उम्मेदवार तामाङ २०७४ मा नेकपा माओवादीको तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा निर्वाचीत भएका थिए । उनी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको एक महिना अघि मात्रै माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए ।

    क्षेत्र नम्बर १ मा गठबन्धनको ‘क्लिनसीप’

    एमाले विरुद्ध गठबन्धन बनाएर निर्वाचनमा होमिएको गठबन्धनले सिन्धुपाल्चोक–१ मा एमालेलाई ‘क्लिनसीप’ बनाएको छ । १ प्रतिनिधि सभा र १ प्रदेश सभामा माओवादी केन्द्रले जितेको छ भने एउटा प्रदेश सभामा कांग्रेस उमेदवार विजयी भएका छन् । सिन्धुपाल्चोक–१ प्रदेश सभा–१ मा नेपाली कांग्रेसकी उमेदवार मसिना खडका विजयी भइसकेकी छन् ।

    २०७४ को निर्वाचनमा यो क्षेत्रका २ प्रदेशमा एमाले नेताहरु ले माओवादीसँगको गठबन्धनमा जित हाँसिल गरेका थिए । भने एमालेसँगको गठबन्धनबाट माओवादी नेता अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा विजयी भएका थिए ।

     

  • पीएसलाई बधाई दिँदै देव गुरुङले भने- वामहरू एक ठाउँ बनाउन पहल गर्नुस्

    पीएसलाई बधाई दिँदै देव गुरुङले भने- वामहरू एक ठाउँ बनाउन पहल गर्नुस्

    पोखरा । पराजित माओवादी महासचिव देव गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई बधाई दिएका छन् । लमजुङबाट प्रतिनिधिसभामा पीएससँग देव गुरुङ ३१८८ मतले पराजित भएका थिए ।

    पृथ्वीसुब्बा गुरुङ बसेको होटल पुगेर देव गुरुङले बिहान बधाई तथा कार्यकाल सफलताको कामना गरेका हुन् ।

    भेटका क्रममा देव गुरुङले पीएसलाई वामहरू एक हुनुपर्ने र एमालेबाट त्यसको पहल गर्न पृथ्वीसुब्बालाई आग्रह गरे ।

    देवले देशको ६५ प्रतिशत मत कम्युनिष्टको भएपनि कम्युनिष्ट एक नहुँदा अरुले मौका पाउने गरेको बताएका थिए । यसअघि गरिएको एमाले-माओवादी एकता टिकाउन नसकेकोमा दुवै पक्षले गहिरो समीक्षा गरेर फेरि एकता गर्ने बेला आएको बताएका छन् ।

  • मतगणना नसकिँदै गोरखामा प्रचण्डको शानदार जित

    मतगणना नसकिँदै गोरखामा प्रचण्डको शानदार जित

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा-२ बाट फराकिलो जित हासिल गरेका छन् । मतगणना नसकिँदै उनी विजयी बनेका हुन् ।

    यस क्षेत्रमा अब १२ हजार मत मात्रै गन्न बाँकी छ । अहिलेसम्म प्रचण्डले २१ हजार ७४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४ सय ६३ मत ल्याउँदा तेस्रो स्थानमा एमालेका अब्दुस मियालाई ५ हजार ६ सय ३७ मत आएको छ ।

    दोस्रो स्थानमा रहेका बुर्लाकोटीसँग प्रचण्डको मतान्तर १२ हजार ६ सय ११ पुगेको छ । त्यसैले बाँकी मत जता गए पनि प्रचण्डको जित निश्चित भएको हो ।

    चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रचण्ड अन्तिम समयमा गोर्खा गएका थिए ।

  • एमाले र माओवादी महासचिव पछाडि, चुनाव जित्न हम्मेहम्मे

    एमाले र माओवादी महासचिव पछाडि, चुनाव जित्न हम्मेहम्मे

    काठमाडौं । प्रतिनिधिसभाको जारी मतगणनामा नेकपा एमाले र माओवादी केन्द्रका महासचिवलाई चुनाव जित्न हम्मेहम्मे पर्ने देखिएको छ ।

    पछिल्लो मत परिणामअनुसार दाङ २ मा एमाले महासचिव शंकर पोखरेल र लमजुङमा माओवादी महासचिव देव गुरुङ पछि परेका हुन् ।

    दाङ २ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेखा शर्माको अग्रता कायम छ । सुरुवाती चरणदेखि नै अग्रता लिएकी शर्माको १४ हजार १०७ मत छ । एमाले महासचिव पोखरेलले १२ हजार २४३ मत ल्याएर पछ्याइरहेका छन् ।

    यस्तै लमजुङमा माओवादी केन्द्रका महासचिव गुरुङविरुद्ध एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अग्रता लिइरहेका छन् । पृथ्वीले २२ हजार ४३८ मत ल्याएर अग्रता कायम राख्दा देवले २२ हजार १३० मत ल्याएर पछ्याइरहेका छन् ।

  • गोरखाकाे प्रदेशसभामा कांग्रेसलाई २ सीट, माओवादी र नेसपालाई १-१

    गोरखाकाे प्रदेशसभामा कांग्रेसलाई २ सीट, माओवादी र नेसपालाई १-१

    पोखरा । गोरखाका प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । गोरखाका ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले २ सीट जित्दा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले १/१ सीट जितेका छन् ।

    गोरखा प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) मा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन् । धितालले १४ हजार २७६ मत ल्याए । नेकपा एमालेका उम्मेदवार सुरेन्द्र थापाले ८ हजार ८०२ मतमात्र पाए ।

    क्षेत्र नम्बर १ (२) मा कांग्रेसका नन्द्रप्रसाद न्यौपाने विजयी भए । न्यौपानेले १६ हजार २६१ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका मोहन भट्टराईले ७ हजार ५३३ मत पाए । यी दुईबीच ८ हजारको मतान्तर छ ।

    प्रदेशसभा २ (१) मा नेपाल समाजवादीका फणिन्द्र देवकोटाले जीत निकालेका छन् । देवकोटाले एमाले उम्मेदवार राजु रानालाई ६ हजार बढीको मतान्तरले हराएका हुन् । देवकोटाले १० हजार २४७ मत पाउँदा राजु रानाले ४ हजार २०४ मत पाए ।

    गोरखा २ (२) मा कांग्रेसबाट मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएका सुरेन्द्रराज पाण्डे विजयी भइसकेका छन् । पाण्डेले ११ हजार ५ सयको मतान्तरमा चुनाव जितेका हुन् । उनले १६ हजार ८८२ मत पाउँदा नेकपा एमालेका बसन्त गुरुङले ५ हजार ३६० मत पाए ।

  • बागलुङ २ मा देवेन्द्र पौडेलको २२८५ मतान्तरले अग्रता

    बागलुङ २ मा देवेन्द्र पौडेलको २२८५ मतान्तरले अग्रता

    बागलुङ । बागलुङ २ मा ३६ हजार ४८१ मत गणना गर्दा वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका देवेन्द्र पौडेलले अग्रता कायमै राखेका छन् ।

    माओवादीका देवेन्द्र पौडेल १८ हजार ३२० मतका साथ अगाडि बढिरहेका छन् । उनलाई एमालेकी मञ्जु चालिसेले १६ हजार ३५ मतका साथ पछ्याइरहेकी छिन् ।

    पौडेल र चालिसेबीच अहिले २ हजार दुई सय ८५ मतान्तर रहेको छ । त्यस्तै तेस्रो स्थानमा १ हजार ५ सय ६३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तिला खत्री रहेको छ ।

     

  • रोल्पामा प्रदेशसभाबाट माओवादीका महरा विजयी

    रोल्पामा प्रदेशसभाबाट माओवादीका महरा विजयी

    रुपन्देही । नेकपा माओवादीबाट मुख्यमन्त्रीको प्रचार गरिएको नेता जोखबहादुर महरा रोल्पाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् ।

    लामो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव भएर काम गरेका महरालाई प्रचण्डले मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा पठाएको माओवादी नेताहरुले नै चुनावअघि बताएका थिए ।

    महराले एमालेका कमलबहादुर बुढाथोकीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

    लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित महराले १९ हजार ४ सय २५ मत प्राप्त गरेका छन् । एमालेका बुढाथोकीले ५ हजार ४ सय ५ मत प्राप्त गरेका थिए । महराले १४ हजार २० मतको अन्तरले बुढाथोकीलाई पराजित गरेका हुन् । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा राप्रपाका पदमबहादुर थापा तेस्रो भएका थिए ।

     

  • माओवादी तनहुँ संयोजक आलेले भने- कांग्रेसले गम्भीर घात गर्‍यो

    माओवादी तनहुँ संयोजक आलेले भने- कांग्रेसले गम्भीर घात गर्‍यो

    पोखरा । माओवादी केन्द्रका तनहुँ संयोजक ओमराज आलेले नेपाली कांग्रेसले आफूहरूलाई गम्भीर घात भएको बताएका छन् ।

    तनहुँ २(१) मा माओवादी उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने हारेपछि संयोजक आलेले आफूहरुलाई गम्भीर घात भएको बताएका हुन् ।

    माओवादीले तनहुँ २ मा शंकर भण्डारी र प्रदेशसभामा कांग्रेसका जीतप्रकाश आलेलाई जिताउँदा कांग्रेसले माओवादीलाई सहयोग नगरेको उनको भनाइ छ ।

    माओवादी उम्मेदवार हार्नुले गठबन्धनको राजनीतिक संस्कार नै धुमिल बनाएको उनको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै माओवादी गठबन्धनप्रति बफादार भएपनि कांग्रेस बफादार नबनेको लेखेका छन् ।

     

  • सिन्धुलीबाट प्रतिनिधिसभातर्फ माओवादीको विजयी सुरुआत, राजन दाहाल निर्वाचित

    सिन्धुलीबाट प्रतिनिधिसभातर्फ माओवादीको विजयी सुरुआत, राजन दाहाल निर्वाचित

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ पहिलो जित सिन्धुली २ बाट निकालेको छ ।

    सिन्धुली क्षेत्र नम्बर २ मा माओवादीका राजन नामले परिचित लेखनाथ दाहाल २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् ।

    मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसँग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत पाएका छन् । गठबन्धनका उम्मेदवार दाहाल यसअघि प्रदेश सभा सदस्य थिए ।

  • निर्वाचन परिणामलाई लिएर नारायणकाजीको टिप्पणी: सबै आँधिबेरीले ध्वंश मात्रै पार्दैन, बाटो सफा पनि गर्छ

    निर्वाचन परिणामलाई लिएर नारायणकाजीको टिप्पणी: सबै आँधिबेरीले ध्वंश मात्रै पार्दैन, बाटो सफा पनि गर्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मतपरिणामबारे गम्भीर विश्लेषण गर्नुपर्ने टिप्पणी गरेका छन्।

    सत्ता गठबन्धनमा सामेल दल माओवादीले उल्लेख्य मात्रामा जित्न नसकेको अवस्थामा उनले यस्तो बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन परिणाम आइरहेका छन् । यसले निश्चित सन्देशहरु दिएको छ । यसबारेमा समग्र बिश्लेषण, संश्लेषण गर्नै पर्छ । त्यसको लागि धेरै घोत्लिनु पर्ने स्थिति पनि छैन । निष्कर्ष सहज बोधगम्य नै छ ।’

    उनले सबै आँधिबेरीहरु जीवन ध्वंश गर्न मात्र नआउने टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘तर अहिले यति मात्र। बुद्ध शिक्षाको महत्वपुर्ण निम्न अंश लाई मनन गरौं । सबै आँधिबेरीहरु तपाइको जीवन ध्वंश गर्न मात्र आउदैनन्, कुनै तपाईको बाटो सफा गर्न पनि आउँछन्।’

  • अघिल्लो पटक दोब्बर मतले विजयी भएकी बिना मगर अहिले झण्डै दोब्बर मतले पछि

    अघिल्लो पटक दोब्बर मतले विजयी भएकी बिना मगर अहिले झण्डै दोब्बर मतले पछि

    कैलाली । अघिल्लो पटक दोब्बर मतले विजयी भएकी विना मगर अहिले दोब्बर मतले पछि परेकी छन् ।

    कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङसँग सत्ता गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्री उम्मेदवार मगर दोब्बर मतले पछि परेकी हुन् ।

    १५,७६३ मत गणना हुँदा सम्म एमालेका तामाङले ८०६८ मत पाएका छन् । माओवादीकी मगरको ४३६२ मत छ ।

    अघिल्लो पटक विना मगर यही क्षेत्रबाट १९ हजार ५ सय ८४ मतान्तरले विजयी भएकी थिइन् । बिनाले ३९ हजार २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार ४३७ मत प्राप्त गरेका थिए ।

    अहिले उनका अघिल्लो पटकका प्रतिस्पर्धी सहयात्री भएर गठबन्धनमा उत्रिएका छन् भने अघिल्लो पटकको गठबन्धनको सहयात्री भएका तामाङ अहिले प्रतिस्पर्धी भएर मगरसँग जुधिरहेका छन् ।

  • गोरखा २ मा प्रचण्ड भारी मतले अगाडि, अब्दुसलाई घण्टीले उछिन्यो

    गोरखा २ मा प्रचण्ड भारी मतले अगाडि, अब्दुसलाई घण्टीले उछिन्यो

    गोरखा । गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरका साथ अग्रस्थानमा छन् ।

    पछिल्लो मतपरिणामअनुसार १० हजार ४३६ मतगणना गर्दा प्रचण्डले ५ हजार ९८१ मत ल्याएका छन् ।

    उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १ हजार ६८४ मत ल्याएर दोस्रो स्थानमा छन् ।

    नेकपा एमालेका अब्दुस मियाँ १ हजार ४३८ मत ल्याएर तेस्रो स्थानमा छन् ।

  • कञ्चनपुर १ : बिना मगर एक हजार मतले पछाडि

    कञ्चनपुर १ : बिना मगर एक हजार मतले पछाडि

    कैलाली । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको बुहारी बिना मगरले अहिले सम्म अग्रता बनाउन सकेकी छैनन् ।

    अघिल्लो पटक १९ हजार बढि मतान्तरले विजयी भएकी मगर अहिले सम्म १ हजार ९० मतले एमाले उम्मेदवार तारा लामा तामाङसँग पछाडि छिन् ।

    तामाङले २ हजार २७४ मत प्राप्त गर्दा मगरले १ हजार ८४ मत पाएकी छन् । अहिले सम्म ४ हजार ३६० मत गणना भइसकेको छ ।

  • मोरङमा एमाले २, कांग्रेस २, माओवादी र स्वतन्त्र १–१ क्षेत्रमा अगाडि

    मोरङमा एमाले २, कांग्रेस २, माओवादी र स्वतन्त्र १–१ क्षेत्रमा अगाडि

    विराटनगर । प्रतिनिधि सभाका ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा २ क्षेत्रमा एमाले र २ क्षेत्रमा कांग्रेसका उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् ।

    एउटा क्षेत्रमा एमालेका बागी र एउटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ । मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेको अग्रता छ ।

    त्यहाँ नेकपा एमालेका घनश्याम खतिवडाले १७०१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले ११७० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    मोरङ क्षेत्र नम्बर २ मा पनि एमालेले अग्रता कायम राखेको छ । एमालेका ऋषिकेश पोखरेलले १९९५ मत ल्याउँदा नेपाली कांग्रेसका सुजाता कोइरालाले १५२० प्रप्त गरेकी छन् । राष्टिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले २२६ मत प्राप्त गरेका छन् ।

    मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्मा अगाडि छन् । उनले १८८७ मत ल्याउँदा नेकपा एमालेका भानुभक्त ढकालले ८७८ मत ल्याएका छन् । राप्रपाकी रेखा थापा भने तेस्रो स्थानमा छन् । उनले ३८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    मोरङ क्षेत्र नम्बर ४ मा माओवादीका अमनलाल मोदीले अग्रता कायम राखेको छन् । मोदीले ५७९२ मत ल्याँउदा नेकपा एमालेका विनोद ढकालले ४१४९ मतका पाएका छन् । त्यहँ राप्रपाले ३२६ मत पाएको छ ।

    मोरङ क्षेत्र नम्बर ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले ३६९३ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका राजकुमार यादवले ३२९४ मत ल्याएका छन् । त्यस्तै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले ३१२२ मत ल्याएर तेश्रो स्थानमा छन् ।
    मोरङ क्षेत्र नम्बर ६ मा डा शेखर कोइराला अगाडि छन् ।

    नेपाली कांग्रेसका कोइरालाले १७७७ मत प्राप्त गर्दा नेकपा एमालेका लालबाबु पण्डितले १६३२ मत प्राप्त गरेका छन् । राष्टि«य स्वतन्त्र पार्टीले ५१३ मत प्राप्त गरेको छ ।

  • गोरखामा सुरु भएन मतगणना, धाँधली भएको भन्दै पुन: मतदान गर्न माग

    गोरखामा सुरु भएन मतगणना, धाँधली भएको भन्दै पुन: मतदान गर्न माग

    पोखरा । गोरखामा अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन । त्यहाँ नेकपा एमालेले पुन: मतदान हुनुपर्ने भन्दै निर्वाचन आयोगसँग माग गरेको छ । केही बुथमा निर्वाचनविरोधी कार्य भएको भन्दै पुन: मतदान गर्नुपर्ने एमालेको माग छ ।

    आइतबार मतदानको समय सकिएपछि नेकपा एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षर गर्न आनाकानी गरेको थियो ।

    पछि मुचुल्कामा सही गरेर मतपेटिका भने उठाइएको थियो । तर, एमालेले आज सोही मुद्दा सर्वदलीय बैठकमा उठाउने देखिएको छ ।

    एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ अहिले आफूहरू बैठकमै रहेको र गठबन्धनबाहेकका दलमा साझा धारणा बनाउन लागेको बताए । चुनावमा गठबन्धनबाट धाँधली भएको र स्वतन्त्र वातावरण पनि नदिएको उनको आरोप छ ।

    `बेलुकासम्म केही निर्णय गर्छौं, अहिले छलफलमै छौँ । गठबन्धन बाहेकका दलको साझा धारणा बन्छ,´ उनले भने ।

    कांग्रेस नेता तथा गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईंले भने, `हिजो मतपेटिका उठाउने बेलामा पनि फण्डा भो, प्रचण्डजी र मेरो दुवैको क्षेत्रमा निवेदन हालेका छन् ।´

    यस्तै जिल्लाको चुम्रुनबीबाट मतपेटिका अहिलेसम्म पनि ल्याइएको छैन । मतपेटिका हेलिकप्टरमा ल्याउने तयारी गरिएको छ । चुम्रुनबीको मतपेटिका ल्याइएपनि एमालेको विरोधमा मतगणना अझै ढिला हुने देखिएको छ ।

  • काठमाडौं ७ मा मानुषी तेस्रो, घण्टीले अग्रता लिँदा एमाले दोस्रो

    काठमाडौं ७ मा मानुषी तेस्रो, घण्टीले अग्रता लिँदा एमाले दोस्रो

    काठमाडौं । मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौं ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई तेस्रो स्थानमा पुगेकी छन् ।

    प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतले अग्रता लिँदा एमालेका श्याम घिमिरे ९३ मतसहित दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रकी मानुषी ७५ मतसहित तेस्रो स्थानमा छन् ।

    सो क्षेत्रमा लौरो चिन्हका इन्जिनियर प्रवेन्द्र पोखरेल ७२ मतसहित चौथो स्थानमा छन् ।

  • चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड (तस्बिरहरु)

    चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड (तस्बिरहरु)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको मतदान केन्द्रको अवलोकनमा व्यस्त भएका छन्। चितवनबाट भोट हालेर गोरखा पुगेका प्रचण्ड मतदान केन्द्रको अवलोकनमा छन्।

    ०७४ सालमा चिवतन ३ बाट निर्वाचित अध्यक्ष प्रचण्ड यसपटक गोरखा २ बाट उम्मेदवार बनेका छन्। उनीसँग एमालेका अब्दुश मियाँ चुनावी मैदानमा छन्।

    उनले गोरखा २ का बिरिनचोकस्थित मतदान केन्द्र, कुन्दुरटार मतदान केन्द्रको अवलोकन गरेका छन्। त्यसअघि तनहुँ आँबु खैरेनीमा रहेको रामशाह माध्यमिक विद्यालयस्थित मतदान केन्द्र र जम्वादेवी मतदान केन्द्रको अवलोकन गरेका थिए।

  • अग्नि सापकोटाले भोट हालेको मतदान केन्द्रमा झडप (भिडिओ)

    अग्नि सापकोटाले भोट हालेको मतदान केन्द्रमा झडप (भिडिओ)

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएको छ । पूर्वसभामुख अग्नि सापकोटाले केहीबेरअघि यसै केन्द्रबाट भोट हालेका थिए । एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् ।

    सुरक्षाकर्मी तत्काल खटाइएसँगै अहिले स्थिति नियन्त्रणमा आएको र मतदान जारी रहेको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् ।

    गठबन्धनका उम्मेदवार माधव सापकोटाको मतदान केन्द्र पनि यही हो ।

  • प्रचण्डले भने- गठबन्धनले आरामसँग बहुमत ल्याउँछ, प्रधानमन्त्री को बन्ने सल्लाहमा टुंग्याउँछौं (भिडिओ)

    प्रचण्डले भने- गठबन्धनले आरामसँग बहुमत ल्याउँछ, प्रधानमन्त्री को बन्ने सल्लाहमा टुंग्याउँछौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदान गरेका छन् । गोरखा-२ बाट उठेका प्रचण्डले चितवनको भरतपुर महानगरपालिका-१४ शिवनगरस्थित मतदान केन्द्रबाट भोट हालेका हुन् । उन हिजै चितवन पुगेका थिए ।

    मतदानपछि प्रतिक्रिया दिँदै प्रचण्डले यो निर्वाचन ऐतिहासिक महत्वको ठानेको बताए ।

    ‘संविधानमाथि नै घात हुने हो कि भन्ने स्थिति देखा परेको सन्दर्भमा स्थानीय चुनावको बेला भनेको थिएँ कुन पार्टीले कति मत ल्याए भन्दा पनि लोकतन्त्रमा आवधिक निर्वाचन सम्पन्न हुनु भनेको ठीक ढंगले सिष्टमले काम गर्दैछ भन्ने प्रमाण हो । योपटक पनि स्वच्छ धाँधलीरहित र निष्पक्षरूपमा चुनाव सम्पन्न हुनु ठूलो कुरा हो ।’

    चितवन आएर भोट हाल्दै गर्दा गर्दा गर्व महसुस भएको प्रचण्डले बताए ।

    ‘देशभरिको माहोल सकारात्मक छ । संविधानमाथि नै प्रश्न चिन्ह उठाउनेहरूका लागि यो सहभागिता ठूलो कुरा हो । यो निर्वाचनले देशमा विकास र समृद्धिले नयाँ प्रक्रियामा लानेछ ।’

    प्रधानमन्त्री को बन्ने भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले यो विषय आरामसँग टुंग्याउने बताए ।

    ‘गठबन्धनले आरामसँग बहुमत ल्याउँछ गठबन्धनकै सरकार बन्छ । प्रधानमन्त्रीका उम्मेदवार धेरै छन् अहिले नेपाली कांग्रेसभित्र पनि शेरबहादुर देउवाजीदेखि लिएर गगन थापा, अरुले पनि दाबी गरिरहेका छन् । मैले पनि सबैतिर भनेको छु । हाम्रो लागि प्रधानमन्त्री समस्याको विषय हुँदैन । आरामसँग सजिलैसँग सल्लाह गरेर हल गर्छौं । शेरबहादुरजी ले पनि डडेल्धुरामा सल्लाह गरेर टुंग्याउँछौं भन्नुभएको छ ।’

    उनले प्रधानमन्त्रीका कारण गठबन्धन नटुट्ने बताए ।

    ‘संविधान र सुशासनमाथि प्रश्न चिन्ह रहिरहँदासम्म गठबन्धन रहिरहन्छ’, प्रचण्डको भनाइ थियो ।

    गोरखा झरेपनि चितवन विकासमा लागिरहने उनको प्रतिबद्धता छ ।

    ‘मैले चितवन छाडेको होइन, गोरखा गएको चाहिँ हो’, प्रचण्डको प्रष्टोक्ति थियो ।

  • मौन अवधिमा एमाले पत्रकारले भ्रम फैलाएको भन्दै माओवादी पत्रकार संगठनले जनायो आपत्ति

    मौन अवधिमा एमाले पत्रकारले भ्रम फैलाएको भन्दै माओवादी पत्रकार संगठनले जनायो आपत्ति

    काठमाडौं । नेकपा माओवादीनिकट पत्रकार संगठन प्रेस सेन्टरले एमालेका पत्रकारले विभिन्न अनलाइनमा प्रकाशन भएजसरी प्रविधिको दुरुपयोग गरी स्क्रिनसट गरेर भ्रम फैलाएको भन्दै आपत्ति जनाएको छ ।

    विज्ञप्ति जारी गर्दै सेन्टरले नेकपा (एमाले) का प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत एमाले सम्बद्ध केही पत्रकारले केही अनलाइन तथा पत्रिकाका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोप लगाएको छ ।

    सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई स्क्रीनसट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ ले विज्ञप्तिमा आपत्ति जनाएका छन् ।

    ‘सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै स्क्रीनसट गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो । सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो । यस्तो गलत कार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको घोर उलङ्घन पनि हो’, विज्ञप्तिमा भनिएको छ ।