Category: माओवादी केन्द्र

  • लुम्बिनी माओवादी : दलको नेतामा जोखबहादुर सर्वसम्मत

    लुम्बिनी माओवादी : दलको नेतामा जोखबहादुर सर्वसम्मत

    बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनीले दलको नेतामा जोखबहादुर महरालाई चयन गरेको छ ।

    माओवादी स्थायी समितिका सदस्य एवं रोल्पा १ (१)बाट निर्वाचित महरा सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

    प्रदेश सभामा ९ सांसदहरु रहेको दलको बैठकले उनलाई दलनेताको रुपमा निर्वाचित गरेको माओवादी लुम्बिनी अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । अध्यक्ष प्रचण्डको सचिवालयमा लामो समय बसेर अहिले उनी प्रदेशमा झरेका हुन् ।

  • शीतल निवासमा दौरा-सुरुवाल विमर्श– जब राष्ट्रपतिले नै प्रचण्डसित चासो राखिन्

    शीतल निवासमा दौरा-सुरुवाल विमर्श– जब राष्ट्रपतिले नै प्रचण्डसित चासो राखिन्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भइसकेपछि जनमानसमा एउटा उत्सुकता थियो, ‘उनले कस्तो पोशाक लगाएर शपथ ग्रहण गर्लान् ?’

    नेपालमा अहिले घोषित राष्ट्रिय पोशाक कुनै नभए पनि अनौपचारि करुपमा दौरा–सुरुवाल र भादगाउँले टोपीले राष्ट्रिय पोशाकको मान्यता पाइरहेको छ । राज्यस्तरका महत्त्वपूर्ण सभा–समारोहहरूमा उच्चपदस्थहरू यही पोशाकमा सजिने गरेका छन् । तर, जीवनमा कहिल्यै दौरा–सुरुवाल नलगाएका माओवादी अध्यक्ष प्रचण्डलाई यसपालि शपथ ग्रहणको पोशाकबारे निर्णय लिन निकै सकस पर्यो ।

    अघिल्लो दुई पटक प्रधानमन्त्री बन्दा प्रचण्डले सुट र टाई माथि कालो टोपी लगाएर शपथ खाएका थिए । पहिचानको वकालत गर्ने पार्टीका प्रमुखले विदेशी पोशाक लगाएर शपथ खाएको भनेर निकै आलोचना खेप्नुपरेको थियो । त्यसैले यसपालि प्रचण्डलाई दौरा सुरुवाल लगाउन धेरैले सुझाव दिएका थिए । यद्यपि, प्रचण्डले लगाउने पोशाकबारे निर्णायक छलफल चाहिँ शीतल निवासमा भएको रहेछ ।

    गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्तावित गर्दै ७ दलका नेताहरू शीतल निवास पुगे । त्यस बेला भएको अनौपचारिक कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण समारोहमा लगाउने पोशाकबारे प्रचण्डसँग चासो राखेकी थिइन् ।

    स्रोतका अनुसार सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर पेस गरिसकेपछि राष्ट्रपति भण्डारीले प्रचण्डसँग प्रश्न गरेकी थिइन्, ‘शपथ ग्रहणमा कस्तो पोशाक लगाउने विचार गर्नुभएको छ रु सकेसम्म दौरा सुरुवाल लगाउनुभए राम्रो हुन्थ्यो ।’

    प्रचण्डले सिधा जवाफ दिन सकेनन् । तर, त्यहाँ उपस्थिति सबै नेताहरूले दौरा सुरुवाल नै लगाउनुपर्नेमा जोड दिएको स्रोतले बतायो ।

    राष्ट्रपतिको भनाइमा समर्थन जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रचण्डलाई दौरा–सुरुवालमा शपथ खान सुझाए ।

    ‘तपाईँले दौरा–सुरुवालमा शपथ खानुभयो भने राप्रपाले सरकारलाई गरेको समर्थनको पनि सम्मान हुन्छ,’ उनले भने ।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दौरा सुरुवाल नै लगाउनु वाञ्छनीय हुने बताए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विदेशी पोशाकभन्दा दौरा सुरुवाल लगाउँदा नै राम्रो सन्देश जाने बताए ।

    अरू त अरू माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत दौरा सुरुवालकै पक्षमा उभिएका थिए ।

    उनले भने, ‘आफ्नो जातीय पहिचान झल्किने पोशाक लगाउनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यताका आधारमा पनि तपाईँ खस–आर्य भएको हिसाबले दौरा–सुरुवाल नै उपयुक्त हो ।’

    पार्टीकै सहकर्मीबाट पनि यस्तो सुझाव आएपछि प्रचण्ड गम्भीर बनेका थिए । उनले आफू दौरा–सुरुवालको विरोधी नभएको स्पष्टीकरण दिए ।
    ‘दौरा–सुरुवालप्रति मलाई आपत्ति होइन । देशमा सबै जातजातिले आ–आफ्नो पोशाक लगाउनुपर्छ भन्ने नै हो । हाम्रो यो मान्यता स्थापित भइसकेको छ,’ उनले भने ।

    तर, शपथ ग्रहणमा के लगाउने भनेर स्पष्ट जवाफ दिन भने सकेनन् । बरु उनले आफूसँग दौरा–सुरुवाल नभएको बताएर टार्न खोजेका थिए ।
    शीतल निवासको छलफलपश्चात् प्रचण्डले आफ्ना केही निकटस्थ र परिवारका सदस्यहरूसँग समेत सल्लाह लिए । सबैबाट दौरा सुरुवाल लगाउँदा नै शपथग्रहण समारोहको गरिमा रहने सुझाव पाएपछि प्रचण्ड अन्ततः सहमत भएका थिए । उनले दौरा–सुरुवालमा शपथ खाएपछि राम्रो प्रतिक्रिया पनि पाएका छन् । शपथ ग्रहण समारोहपछि भने उनी प्राय सुट–टाइमै देखिएका छन् ।

  • रास्वपा पनि एकता दिवस मनाउनुपर्ने पक्षमा, प्रचण्ड अलमलमै

    रास्वपा पनि एकता दिवस मनाउनुपर्ने पक्षमा, प्रचण्ड अलमलमै

    काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पक्षमा उभिने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्वका साथ उठाइरहेको एजेन्डामा रास्वपाले समर्थन गरेको हो ।

    रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको सम्मान र जनभावनाको कदर गर्दै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने पक्षमा पार्टी रहेको बताए ।

    ‘हामी पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाएर सार्वजनिक बिदा दिनु राम्रो हुन्छ भन्नेमा छौं,’ उनले भने ।

    सत्तारुढ दलहरूको बैठकमा आफूहरूले यही कोणबाट कुरा राखेको डा। ढकालले जानकारी दिए । तर, यही विषयमा ‘रिजिड’ भएर अडान चाहिँ नलिने उनको भनाइ छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिनुपर्ने कुरालाई पार्टी सरकारमा जान मुख्य शर्तका रूपमा अघि सारेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन यो विषयमा सहमति नभए सरकारमा जान थप कुरै अघि नबढ्ने बताउँछन् । तर, प्रधानमन्त्री प्रचण्डले भने अहिलेसम्म मौनता साँधिरहेका छन् ।

    केही दिनअघि सत्तारुढ दलहरूको एउटा बैठकमा एकता दिवसलाई लिएर छलफल भएको थियो । स्रोतका अनुसार उक्त छलफलमा उपप्रधानमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेले पुस २७ गते सार्वजनिक बिदा दिँदा जनतामा राम्रो सन्देश जाने सुझाव दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले ‘एस’ वा ‘नो’ मा जवाफ दिएनन् । उनले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनीप्रति आफूहरू पनि सकारात्मक नै रहेको बताए । यद्यपि, सार्वजनिक बिदाको प्रसंगमा केही बोलेनन् ।

    सत्ता साझेदार प्रमुख दल नेकपा एमालेले पनि एकता दिवसका विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, एमालेको वैचारिक रुझान पृथ्वीनारायण शाहको योगदानलाई यथोचित सम्मान गर्नुपर्छ भन्ने छ । सार्वजनिक बिदा दिने वा नदिने विषयमा एमालेले लिने अडान निर्णायक बन्न सक्ने स्रोत बताउँछ । एमाले नेताहरूले पनि यस विषयमा अहिल्यै बोल्न चाहेका छैनन् ।

    (फाइल तस्बिर)

  • मन्त्री बन्दिनँ, बाहिरै बसेर सरकार सफल पार्न लाग्छु : वर्षमान पुन

    मन्त्री बन्दिनँ, बाहिरै बसेर सरकार सफल पार्न लाग्छु : वर्षमान पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त मन्त्री नबन्ने भएका छन् । पुनले आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए । पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको उनको भनाइ थियो ।

    पुनलाई वर्तमान सत्ता गठबन्धनको सूत्रधारमध्ये एक मानिन्छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा पुनले दोश्रो तहका एमाले नेताहरुसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको छलफल अघि बढाएका थिए ।

    चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा भित्रभित्रै सक्रिय भए । तर, आफैंले निर्माण गरेको गठबन्धनमा मन्त्री हुन्न भन्नुको कारणबारे पुनले भने, ‘तीनपटक मन्त्री भइसकेको छु । यसपटक बाहिरै बसेर अध्यक्ष नेतृत्वको सरकारलाई सफल पार्न लाग्छु ।’ पुनले आफू मर्यादाक्रम नमिलेर वा ‘हेबिवेट’ मन्त्रालय नपाएका कारण सरकारबाहिरै बस्न लागेको भन्ने भ्रममा नपर्न सम्वद्ध सबैलाई आग्रह गरे ।

    पहिलोपटक मन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलोपटकमै उपप्रधानसहित गृहमन्त्री भएको विषयलाई कारण बनाउँदै पुन सरकारमा जान अनिच्छुक भएका समाचार आएका थिए । ‘धेरैवटा दल मिलेर सरकार बनेको छ । फरक पार्टीबाट मन्त्री भएका व्यक्तिसँग मर्यादा क्रममा तल वा माथि पर्ने भइयो भनेर सरकारमा जाने/नजाने हुँदैन’, पुनले भने, ‘यसपटक बाहिरै बसेर प्रधानमन्त्रीलाई सहयोग गर्छु, पार्टी सुदृढीकरणको काम पनि गर्छु भनेर हो ।’

    राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे । आफ्ना अध्यक्षको नेतृत्वमा नयाँ सरकार बनेपछि जनमानसमा उत्साह आएको दाबी उनको थियो ।

    उनले विदेशबाट आउने नेपालीले व्यक्तिगत प्रयोजनका लागि ल्याउने मोबाइल फोनमा लगाइएको प्रतिबन्ध फुकुवा गरेर सरकारले जनपक्षीय कामको थालनी गरिसकेको बताए ।

    फरक प्रसंगमा पुनले नेपालजस्तो संवेदनशील भू-राजनीतिक अवस्थामा रहेको मुलुकले कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा परिपक्वता र कुशलता प्रदर्शन गर्नुपर्ने बताए । सरकार र आफ्नो दलले दुई छिमेकी भारत र चीन तथा अमेरिकासहित सबै मित्र राष्ट्रसँग समानता र सह-अस्तित्वका आधारमा बराबरीको सम्बन्ध राख्ने विषयलाई सधैं केन्द्रमा राख्ने उनको भनाइ थियो ।

    ‘कहिले कता र कहिले कता ढल्किने गर्दा कुटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुन्छ । हामी कतै ढल्किने भन्दा पनि नेपालतिर ढल्किनुपर्छ’, पुनले भने, ‘छिमेकी र अरु अन्तर्राष्ट्रिय मित्रहरुका जायज र स्वभाविक चासोको सम्बोधन गर्नुपर्छ । सबैसँग सहयोग र सहकार्य गरेर जानुपर्छ भन्ने नै सरकार र हाम्रो दलको परराष्ट्र नीति सञ्चालनको आधार हो ।’

  • अब्दुसको टिप्पणी- उत्ताउला प्रधानमन्त्री कामकुरो नसकिँदै विमानस्थल उद्घाटन गर्न पोखरा पुग्दैछन्

    अब्दुसको टिप्पणी- उत्ताउला प्रधानमन्त्री कामकुरो नसकिँदै विमानस्थल उद्घाटन गर्न पोखरा पुग्दैछन्

    काठमाडौं । नेकपा एमालेका नेता अब्दुस मियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उत्ताउलाको संज्ञा दिएका छन् ।

    प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गर्न लागेकोप्रति उनले कटाक्ष गरेका हुन् ।

    प्रचण्डसँग गोरखा २ मा पराजित भएका एमालेका अब्दुसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म उत्सुक छु, आज उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलमा कुन देशबाट विमान आउँदैछ वा कुन देशमा विमान उडेर जान्छ ? सम्भवत: त्यसबारे कुनै तयारी भएकै छैन । उत्ताउला प्रधानमन्त्री काम कुरो नसकिँदै विमानस्थल उद्घाटन गर्न पोखरा पुग्दैछन् । यसो कर्मकाण्ड पुर्‍याउन एउटा लोकल जहाज ल्याण्ड गराउने अरे ।’

    उनले विमानस्थल उद्घाटन हुँदा पोखरा महानगरले सार्वजनिक बिदा दिएकोप्रति पनि असन्तुष्ट पोखेका छन् ।

    ‘अर्को अचम्म, एउटा सामान्य विमानस्थल उद्घाटन हुँदा आज पोखरामा सार्वजनिक बिदा दिइएको छ । यो बिदाको औचित्य के हो, मैले चाहिँ बुझ्न सकिन’ उनले भनेका छन्, ‘ यतिखेर विभिन्न विद्यालय तथा क्याम्पसमा परीक्षा चलिरहेको छ । हठात् ‘राजाको उर्दी’ शैलीमा सार्वजनिक बिदा घोषणा हुँदा विद्यार्थी तथा अभिभावकले जुन किसिमको अन्योलपूर्ण वातावरण भोग्नुपरेको छ, त्यसबारे प्रधानमन्त्री र उनले नेतृत्व गरेको सरकारले खासै वास्ता गरेजस्तो देखिन्न ।’

    नयाँ वर्षको पहिलो दिनमै प्रधानमन्त्रीको कार्यशैलीप्रति कटाक्ष गर्ने रहर नभएको उल्लेख गर्दै उनले हरेक गलत कदमविरुद्ध आवाज उठाउने जिम्मेवारी आफूलाई गोर्खाली जनताले दिएको बताएका छन् ।

  • एकल दाबी हुँदा पनि माओवादी लुम्बिनीको दलको नेता चयनमा किन ढिला ?

    एकल दाबी हुँदा पनि माओवादी लुम्बिनीको दलको नेता चयनमा किन ढिला ?

    रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट दलको नेतामा एक्लो आकांक्षी हुँदा पनि अझै टुंगिएको छैन ।

    माओवादी स्थायी समिति सदस्य रहेका रोल्पाका जोखबहादुर महरा यहाँका सशक्त दाबेदार छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा लामो समय काम गरेका छन् । दलको नेतामा अन्यले दाबी गरेका छैनन् ।

    तर, प्रमुख सचेतक र सचेतकमा भने तुलाराम घर्ती र कृष्णा केसीले दाबी गर्दै आएका छन् । घर्ती यसअघि पनि प्रमुख सचेतक भएकाले स्वाभाविक दाबी रहेको र कृष्णा एकमात्र निर्वाचित महिला सांसद भएको भन्दै बताइरहेका छन् ।

    सांसद तुलाराम घर्तीले पहिले शपथग्रहण सकेपछि नेतृत्वका विषयमा दलको बैठक बसेर टुंगाइने जानकारी दिए । माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले आइतबार नै दलको नेता छनोट हुने र प्रदेशमा मुख्यमन्त्रीको दाबी आफ्नो रहेको बताए ।

  • माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट

    माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट

    कैलाली । माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

    आज बसेको संसदीय दलको नेतामा भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको हो । साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ ।

    भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन् । यस अघि हिजोको बैठकमा सहमति हुन नसकेपछि आज दोस्रो दिन बैठक बसेको हो ।

    दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने आजको बैठकले चयन गरेन ।

  • चार मिनेटको भाषणमा प्रचण्डले भने- मेरो बाँकी जीवन सुशासन र विकासमा समर्पित (भिडिओ)

    चार मिनेटको भाषणमा प्रचण्डले भने- मेरो बाँकी जीवन सुशासन र विकासमा समर्पित (भिडिओ)

    काठमाडौं । सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने कम्युनिस्ट नेताहरू र आफ्नै समेत विगतलाई सच्याउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भाषण कम,जनताको सेवा धेरै गर्ने प्रण गरेको बताएका छन् ।

    चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको समेत बताए ।

    करीव ४ मिनेटको भाषणमा उनले भने- मैले यो पटक हरेक दिन देशको पक्षमा,जनताको पक्षमा,सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छ । तपाई चितवनबासीलाई थाहा छ,मैले बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेको छु । म यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन ।

    प्रधानमन्त्रीले जनतालाई पिरमर्कामा पार्ने कुनै पनि निर्णयमा कठोर कदम चाल्ने समेत बताए ।

  • माओवादी वागमती संसदीय दलको नेता आज पेरिसडाँडाले टुंग्याउने

    माओवादी वागमती संसदीय दलको नेता आज पेरिसडाँडाले टुंग्याउने

    हेटौँडा । नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलको नेता छान्न शुक्रबार काठमाडौंमा बसेको बैठकमा सहमति नजुटेपछि आज माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘फाइनल मिटिङ’ हुने भएको छ ।

    शुक्रबारको बैठकमा पोलिटब्युरो सदस्य तथा पूर्व संसदीय दलका नेता शालिकराम जम्कट्टेल, पूर्व मन्त्री युवराज दुलाल, प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र नेता गंगानारायण तुलाधरले दाबी नछोडेपछि बैकठ निस्कर्षविहिन बनेको थियो ।

    शुक्रबार निस्कर्षविहिन  बनेको बैठक शनिबार १ बजे केन्द्रीय कार्यालयमा हुने र आजको बैठकले सर्वसम्मति वा प्रक्रियाबाट दलको नेता चयन गर्ने माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष तथा प्रदेश सांसद प्रेमबहादुर पुलामीमगरले नेपालप्रेसलाई बताए ।

    उनले भने, ‘हामीले सहमति भएको अवस्था र निर्वाचन भएको अबस्था जुनसुकै भएपनि आज कुनैपनि हालतमा दलको नेता छान्ने कुरा निश्चित छ र आज दिउँस १ बजे दलको नेता छनोट गरेर हेटौँडा फर्कन्छौँ ।’

    गत पाँच वर्ष दलको नेता भएका जम्कट्टेल र यो पटक मात्र प्रदेशसभामा विजयी भएका पौडेलबीच अन्तिम प्रतिस्पर्धा हुने देखिएको माओवादी निकट स्रोतको दाबी छ । माओवादीका केही नेताहरु अवसरको बाँडफाँड सधै एउटै ब्यक्तिलाई गर्न नहुने पक्षमा छन भने एउटा पक्ष पाँच वर्ष दलको नेता भएका अनुभवी ब्यक्तिलाई एक पटक पुनः अवसर दिनुपर्ने पक्षमा रहेका छन् ।

  • दुई विशाल छिमेकीको आँखामा प्रचण्ड सरकार कति कम्फर्टेबल ?

    दुई विशाल छिमेकीको आँखामा प्रचण्ड सरकार कति कम्फर्टेबल ?

    काठमाडौं । एक समय नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक अन्तर्वार्तामा आफ्नो नेतृत्वको सरकार छिमेकी देश भारतका लागि पनि ‘कम्फर्टेबल’ हुने दाबी गरेका थिए । उनको त्यस अभिव्यक्तिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बारम्बार घोचपेच र कटाक्ष गर्ने गरेका छन् ।

    अहिले आएर ती नै ओलीले जुटाइदिएको बहुमतको बलमा प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् प्रचण्ड । पहिले दाबी गरे झैं प्रचण्ड नेतृत्वको सरकार दक्षिणी छिमेकीका लागि ‘कम्फर्टेबल’ हुन खोज्ला कि दुवै छिमेकीलाई समदूरीमा राखेर कूटनीतिक सन्तुलन मिलाउला भन्ने प्रश्न छ ।

    प्रचण्डले प्रधानमन्त्री बनेलगत्तै पहिलो अन्तर्वार्ता भारतीय मिडियालाई दिए । सो अन्तर्वार्र्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुनसक्ने संकेत गरेका छन् । आजै भारतीय राजदूतले प्रचण्डलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देशसमेत हस्तान्तरण गरे । प्रधानमन्त्री बन्नुअघि पनि भारतीय राजदूतले प्रचण्डलाई भेटिसकेका थिए ।

    यी यावत् घटनाक्रमले प्रचण्डले दक्षिण छिमेकीप्रति कम्फर्टेबल बन्न खोजेको आशंका उब्जिन्छ । यद्यपि, अहिल्यै निष्कर्षमा पुग्नु भने हतारो हुनेछ ।

    पछिल्ला राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दा नेपालको सत्तायात्रा गर्ने राजनीतिक पार्टी र तिनको नेतृत्वलाई कहिले चीनमुखी त कहिले भारत वा अमेरिकामुखीको ट्याग लाग्ने गरेको छ । सोही कारण पनि हाल नेपाली राजनीतिमा आएको अप्रत्याशित हलचलको पराकम्पन छिमेकी मुलुक चीन र भारतसम्म महसुस भएको बुझ्न सकिन्छ ।

    दश वर्षे जनयुद्धको नेतृत्व गरिरहेको बखत आफ्नो अधिकांश समय भारतमा बिताएका ‘प्रचण्ड’ पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दलका नेताको हैसियतमा प्रधानमन्त्री बनेपछि भने पहिलो विदेश भ्रमणको गन्तव्य चीनलाई बनाए । यस्तै अमेरिकी सम्झौता एमसीसीको सन्दर्भमा पनि ‘प्रचण्ड’ चीनपरस्त देखिएको आरोप लागेको थियो ।

    नेपालको ४४औं प्रधानमन्त्रीको रुपमा प्रचण्डको आगमन हुनु धेरै नेपालीलाई जस्तै छिमेकी मुलुक चीन र भारतलाई पनि एउटा अनपेक्षित खबर नै थियो । तर, यसो भनिरहँदा प्रचण्ड भारत र चीनको लागि नितान्त नयाँ व्यक्ति भने होइनन् । आधिकारिक रुपमै पनि यी दुई राष्ट्रले प्रचण्डसँग ‘डिल’ गर्न थालेको एक दशकभन्दा बढी समय भइसकेको छ । तर, भारतको दृष्टिकोणबाट हेर्दा भारतले प्रचण्डलाई चीनपरस्त नेताको रुपमा लिन्छ भन्न सकिन्छ ।

    प्रचण्डलाई एक व्यवहारिक र लचिलो नेताको रुपमा लिन सकिन्छ । यद्यपि उनको भरपर्दो नेताको छवि भने छैन । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका संकाय सदस्य तथा नेपाल नीति अनुसन्धान संस्थान (NIPORE) का सह-संस्थापक कूटनीतिज्ञ सन्तोष शर्मा पौडेलको भनाइमा चीनले नेपालको प्रधानमन्त्रीको रुपमा देख्न चाहेका दुई व्यक्तिमध्ये पहिलो नम्बरमा केपी ओली र दोस्रो नम्बरमा प्रचण्ड हुन् ।

    ‘चीनले अहिलेको नेपालको राजनीतिक हावा आफ्नो दिशामा बगिरहेको महसुस गरेको छ’, उनी भन्छन् ।

    प्रचण्डले भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा आफू न चीनमुखी न त भारतमुखी रहेको दाबी गरेका छन् ।

    ‘सुरुदेखि नै मैले भनिरहेको छु, म प्रो-नेपालवाला लाइनमा छु । भारत, चीन र अरू जति पनि हाम्रा अन्तर्राष्ट्रिय मित्रहरूसँग राम्रो सम्बन्ध बनाउनु हाम्रो उद्देश्य हुनेछ’, उनको भनाइ छ ।

    छिमेकी मुलुकसँग सन्तुलित र परस्पर सम्बन्ध राख्ने नेपालको घोषित परराष्ट्र नीति हो । तर, व्यवहारमा भने त्यस्तो पाइँदैन । जुनसुकै सरकारको ढल्काइ पनि अपवादमा बाहेक भारततिरै भएको पाइन्छ । भारतसँगको खुला सीमा र मिल्दोजुल्दो सामाजिक-साँस्कृतिक परिवेश यसका मुख्य कारण हुन् ।

    पछिल्लो समय भारत र चीनमात्र नभई अमेरिका तथा अन्य मध्यपूर्वी राष्ट्रहरु पनि नेपालको रणनीतिक साझेदारको रुपमा देखापरेको अवस्थामा प्रचण्डले अन्तर्राष्ट्रिय समुदायबीच आफूलाई कुन रुपमा प्रस्तुत गर्नेछन् भन्ने विषय महत्वपूर्ण हो ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चीनसँग भएका व्यापार तथा पूर्वाधारसम्बन्धी धेरै परियोजनाले प्रचण्डको कार्यकालमा गति लिने चीनको विश्वास छ । प्रचण्डले पदभार सम्हालेलगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नयाँ सरकारसँग बेल्ट एन्ड रोड क्षेत्रअन्तर्गत सहकार्य हुने र रणनीतिक साझेदारी विस्तार गरिने विश्वास प्रकट गर्नु यसको ज्वलन्त उदाहरण हो । प्रचण्डले पदभार ग्रहण गरेको भोलिपल्टै दुई देशबीच बेल्ट एण्ड रोड रेल लिंक निर्माणको सम्भाव्यता अध्ययनको काम सुरु गर्न ६ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आउनु, कोरोना महामारीदेखि बन्द रहेका नेपाल-चीन नाकाहरु खुल्दै जानु केबल संयोगमात्र हुन नसक्ने पनि केही जानकारहरु दाबी गर्छन् । वर्तमान सरकार देशका दुई मुख्य कम्युनिष्ट पार्टी मिलेर बनेको हुनाले चीनका लागि केही सहज देखिए तापनि यसभित्र पनि पूर्ण रुपले वैचारिक एकरुपता छैन भन्ने यथार्थबाट शक्ति राष्ट्रहरु बेखबर छैनन् ।

    यसै सन्दर्भमा नेपालका लागि पूर्वभारतीय राजदूत तथा काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया-नेपाल सम्बन्धका लेखक रञ्जित राय भने केही फरक धारणा राख्छन् । हालैमात्र अन्तर्राष्ट्रिय मिडिया साउथ चाइना मर्निङ पोस्टका लागि दिएको एक अन्तर्वार्तामा रायले प्रचण्ड नेतृत्वको सरकारले भारत र नेपालबीचको सम्बन्धमा व्यापक परिवर्तन नआउने धारणा राखेका छन् ।

    ‘नयाँ दिल्लीसँग प्रचण्डको राम्रो सम्बन्ध छ, उनी भारतसँग गहिरो संलग्नता र सहयोग देखाउने व्यक्ति हुन्’, उनको भनाइ छ ।

    यस्तै जवाहरलाल नेहरू विश्वविद्यालयकी इनर एसिया स्टडी सेन्टरकी प्राध्यापक संगीता थपलिया पनि भारतले वर्तमान समयमा नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगरी कनेक्टिभिटी लिंकदेखि विद्युत उत्पादनसम्मको पूर्वाधार जस्ता ठोस परिणामहरूमा धेरै ध्यान केन्द्रित गरिरहेको हुनाले नेपालमा जुनसुकै नेतृत्व आए पनि भारतसँग असहज परिस्थिति निर्माण नहुने विश्वास व्यक्त गर्छिन् ।

    नेपालमा अन्तर्राष्ट्रिय लगानीको वातावरण मिलाउँदा होस् वा अन्य पूर्वाधार विकास गर्ने कुरामा होस्, नेपालको नेतृत्वले भारत, चीन वा अन्य कुनै मुलुकलाई बढी मान्यता दिने वा फरक व्यवहार गर्न नहुने कूटनीतिज्ञ पौडेलको मान्यता छ ।

  • आफ्नै नेता हराउन सक्रिय भुसाललाई लुम्बिनीका मुख्यमन्त्री केसीले ‘पुरस्कार’स्वरुप दिए लुप्राविको बोर्डमा नियुक्ति !

    आफ्नै नेता हराउन सक्रिय भुसाललाई लुम्बिनीका मुख्यमन्त्री केसीले ‘पुरस्कार’स्वरुप दिए लुप्राविको बोर्डमा नियुक्ति !

    रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले शिक्षामन्त्रीलाई समेत कुनै जानकारी नदिई लुम्बिनी प्राविधिक विश्वविद्यालयमा बोर्ड सदस्य नियुक्त गरेका छन् । विश्वविद्यालयको कुलपति मुख्यमन्त्री र उपकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ ।

    कार्यकालको अन्तिम समयमा रहेका मुख्यमन्त्री केसीले कपिलवस्तु वाणगंगा नगरपालिका- ८ का क्रसर उद्योग सञ्चालक नारायण भुसाललाई प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्य नियुक्त गरेका हुन् ।

    मंसिर २९ गते कुलपतिको निर्णयानुसार भुसाललाई नियुक्त गरिएको विषय बिहीबार साँझमात्रै सार्वजनिक भएको छ । मंसिर २९ गतेको निर्णय मन्त्रिपरिषद बैठकमा समेत जानकारी नदिइएको शिक्षा मन्त्रालयका अधिकारीको भनाइ छ ।

    प्रदेशका शिक्षामन्त्री बसिउद्दिन खानले यो विषयमा कुनै जानकारी नभएको नेपाल प्रेसलाई बताए ।

    ‘मैले तपाईंले भनेर थाहा पाएँ, यसबारे मलाई केही जानकारी छैन, प्राविधिक विश्वविद्यालयमा सोही क्षेत्रका विज्ञहरुलाई राख्ने कार्यविधि बनाएका हौं, म काठमाडौंमा छु’, उनले भने, ‘मुख्यमन्त्री कुलपति रहने व्यवस्था छ, उहाँले विशेष अधिकार प्रयोग गर्नुभएको होला । अहिले राजनीतिक समीकरण फेरिएपछि उहाँले एकलौटी गर्नुभएको हो । विषयगत मन्त्रालयलाई जानकारी दिनुपर्ने, निर्णय गरिनुपर्ने कानुनी व्यवस्था छँदैछ ।’

    शिक्षामन्त्री खानले बोर्ड सदस्यमा आउन स्नातक उत्तीर्ण रहेको हुनुपर्ने र सम्बन्धित क्षेत्रमा दक्ष हुनुपर्ने कार्यविधिमा रहेका जानकारी दिए ।

    प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अगाडि सारेको यो विश्वविद्यालयमा ४ जना बोर्ड सदस्य रहने कार्यविधि छ । जसमा निजी क्षेत्रबाट सरकारले एकजना बोर्ड सदस्य नियुक्त गरेको रजिष्टार रेग भण्डारीले बताए । ‘बोर्ड सदस्यमा कसलाई पठाउने भन्ने विषय हाम्रो कार्यक्षेत्रमा पर्दैन, हिजो बोर्ड सदस्यमा नियुक्त नारायण भुसाललाई पत्र दिने समयमा म पनि पुगेको हो’, भण्डारीले भने ।

    कार्यकालको अन्तिम समयमा मुख्यमन्त्रीले भुसाललाई नियुक्त गरेपछि उनकै पार्टीभित्र विरोध भएको छ । नेकपा माओवादी केन्द्रको कपिलवस्तु र रुपन्देहीका संयोजकहरुले भुसाल पहिले माओवादी भए पनि अहिले पार्टीको जिम्मेवारीमा नरहेको भन्दै नियुक्तिको विरोध गरेका छन् ।

    मंसिर ४ गते भएको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं १ मा तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सचिव चन्द्रप्रकाश खनाल बलदेवलाई हराउन लागेका भुसाललाई पार्टीकै स्थायी कमिटी सदस्य एवं मुख्यमन्त्री केसीले पुरस्कारस्वरुप बोर्डमा लगेको भन्दै एक माओवादी नेताले व्यंग्य गरे ।

    माओवादीको कपिलवस्तु तथा रुपन्देहीका जिल्ला संयोजकहरुले पार्टीको प्रतिष्ठामा समेत आँच आउने गरी मुख्यमन्त्री केसीले गरेको नियुक्तिको विषयमा पार्टीमा गम्भीर ढंगले उठाइने औंल्याए । उनीहरुका अनुसार भुसालको अध्ययनले उनी त्यहाँ नियुक्त हुन योग्य छैनन् ।

    माओवादी रुपन्देहीका संयोजक निर्मल जीसीले मुख्यमन्त्रीले के कसरी नियुक्त गर्नुभयो भन्ने विषय आफूलाई थाहा नभएको तर पार्टीले उहाँलाई सिफारिस नगरेको बताए ।

    कपिलवस्तुका संयोजक विष्णु वेल्वासे पनि वाणगंगाका भुसाल पार्टीको जिम्मेवारीमा नरहेको र कसैलाई पनि नियुक्तिको सिफारिस नगरिएको बताउँछन् ।

    विश्वविद्यालय सञ्चालन गर्न साउन १६ गते उपकुलपतिमा रुपन्देहीका विनोद ढकाल तथा २० गते रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरी काम अगाडि बढाइएको छ । बाँकेको खजुरामा विश्वविद्यालयका केन्द्रीय कार्यालय रहेको छ ।

  • वागमतीमा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु, दलको नेता बन्न आधा दर्जन इच्छुक

    वागमतीमा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु, दलको नेता बन्न आधा दर्जन इच्छुक

    हेटौँडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न आज काठमाडौंमा बैठक सुरु भएको छ । दलको नेताको लागि आधा दर्जन बढि नेताले इच्छा देखाएपछि सहमतीको संभावना न्यून बन्दै गएको माओवादी केन्द्र निकट श्रोतको भनाई छ ।

    काठमाडौंमा जारी बैठकमा दलको नेताको लागि पोलिटब्यूरो सदस्य शालिकराम जम्कट्टेल, माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’, प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगा नारायण श्रेष्ठसहित आधा दर्जन धेरै नेताहरुले इच्छा देखाएको माओवादी निकट श्रोतको दाबी छ ।

    दलको बैठकबारे नेपाल प्रेससँग कुरा गर्दै माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा नवनिर्वाचित प्रद्रेशसभा सदस्य सरल सहयात्री पौडेलले भने, ‘हाम्रो दलको नेता छान्नको लागि हाल बैठक सुरु भइसकेको छ, आज या भोलीसम्म सहमति अथवा प्रक्रियाबाट दलको नेता टुंगो लाग्छ, दलको नेताको लागि करिब ७ जना माननीयज्युहरुले इच्छा देखाएका छन् ।’

    वागमतीमा माओवादीबाट कुल २१ सांसद छन् ।

  • वाम एकताको विकल्प छैन, नेकपा एस छिट्टै सरकारमा समेटिन्छ : देव गुरुङ (भिडिओ)

    वाम एकताको विकल्प छैन, नेकपा एस छिट्टै सरकारमा समेटिन्छ : देव गुरुङ (भिडिओ)

    रुपन्देही । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने प्रक्रियामा लाग्नुको विकल्प नभएको बताएका छन् ।

    शुक्रबार रुपन्देहीको भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले दीर्घकालीनरूपमा वामपन्थी एक नभए प्राप्त उपलब्धि गुम्दै जाने बताए । सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्नेमा गुरुङको जोड थियो ।

    ‘सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य हुनुपर्छ, नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं ’, उनले भने ।

    मुलुकको स्वाधीनताको रक्षा विगतका नेतृत्वबाट सम्भव नदेखिएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाइएको उनको दाबी छ । पूर्वमन्त्रीसमेत रहेका गुरुङले विगतको नेतृत्वबाट संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुन:स्थापनामा सफल भए पनि राष्ट्रिय स्वाधीनतामाथि खतरा पर्दा र बाह्य शक्तिले चलखेल गर्दा नेतृत्वले ध्यान पुर्‍याउन नसकेको बताए ।

    उनले भने, ‘विभिन्न ढंगले मुलुक संकटमा जानसक्ने अवस्था भएकाले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्दा पाँच दलबीच सहमति जुट्न सकेन, मुलुकलाई सामान्य अवस्थामा लैजानुपर्ने आवश्यकता छ ।’

    राष्ट्रियतासँग जोडिएका मुद्दामा सहमति जुटाउँदै अघि बढ्नुपर्ने नेता गुरुङको भनाइ थियो ।

    ‘प्रचण्डले धेरैलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नुभयो, यो संकटपूर्ण अवस्थामा सरकारको नेतृत्व गर्ने कार्य महत्वपूर्ण छ’, उनले भने, ‘माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेट्न सकिएन, विस्तारै समेट्ने प्रक्रियामा छौं ।’

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृहमन्त्री बन्ने प्रस्ताव राखेपछि अहिलेको अवस्थामा उहाँको मागदाबीअनुसार जिम्मेवारी दिँदा उपयुक्त हुन्छ भन्ने हिसाबले नै अगाडि बढिएको बताए ।

    ‘मन्त्रालयको जिम्मेवादी दिने कुरा प्रधानमन्त्रीले मात्र सोच्ने विषय होइन्, आपसी समझदारी खोज्ने प्रक्रियामा गृहमन्त्रीको जिम्मेवारी दिइएको हो, रवि लामिछानेलाई समेट्नु स्वाभाविक प्रक्रिया हो ’, महासचिव गुरुङले भने ।

    निर्वाचनको प्रक्रियाबाट नयाँ घटक आएकाले राजनीतिक रूपमा कसैलाई निषेध गरी जान सक्ने स्थिति नभएको उनले प्रष्ट्याए ।

  • अढाई घण्टा कुराकानी गरेर बालुवाटारबाट निस्किए ओली

    अढाई घण्टा कुराकानी गरेर बालुवाटारबाट निस्किए ओली

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अढाई घण्टा कुराकानी गरेर एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन्।

    दुई नेताहरुबीच मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित रहेको बालुवाटारनिकट स्रोतले बतायो ।

    सातदलीय गठबन्धनबीच संवैधानिक पद, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबण्डालगायतका विषयमा प्याकेजमै टुंग्याउने तयारी भइरहेको छ ।

    बिहीबारमात्र गठबन्धनमा रहेका प्रमुख दलको शीर्ष नेतृत्वले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन गरेको थियो ।

    मस्यौदा समितिलाई ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तयारीको म्याण्डेट दिइएको छ ।

  • विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

    विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । विदेशबाट फर्केका नेपालीले ल्याउने मोबाइलमा कडाइ गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् ।

    सर्वसाधारणले विदेशबाट ल्याउने मोबाइलमा समेत कडाइ गर्न खोजिएकोप्रति तीव्र आलोचना भएपछि प्रधानमन्त्रीले सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

    अनधिकृतरूपमा आयात हुने मोबाइल फोनको वितरण तथा प्रयोगलाई निरुत्साहित गर्ने भन्दै भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीलाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।

  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटघाट

    प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटघाट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । अहिले दुईजनाबीच छलफल चलिरहेको छ ।

    मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल केन्द्रित रहेको बालुवाटारनिकट स्रोतले बतायो ।

    सातदलीय गठबन्धनबीच संवैधानिक पद, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबण्डालगायतका विषयमा प्याकेजमै टुंग्याउने तयारी भइरहेको छ ।

    बिहीबारमात्र गठबन्धनमा रहेका प्रमुख दलको शीर्ष नेतृत्वले प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठबन्धनबीच सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्यूनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन गरेको थियो ।
    मस्यौदा समितिलाई ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तयारीको म्याण्डेट दिइएको छ ।
  • बधाईका लागि समय नमाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

    बधाईका लागि समय नमाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई र शुभकामना आदान प्रदानका लागि समय माग नगर्न सबैलाई अनुरोध गरेका छन् । बधाई र शुभकामना आदानप्रदानका लागि लाग्ने समय देश निर्माणको कामा खर्चिनु उचित हुने भन्दै उनले यस्तो आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

    तर, सरकारको कामलाई प्रभावकारी बनाउनका लािग दिने सल्लाह र सुझाव सचिवालयलमार्फत पेस गर्नका लागि भने प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका जनाइएको छ ।

    प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्युले बधाई र शुभकामना आदानप्रदानको लागि समय माग गर्नु भएका सबै दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकोले अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत पेश गरिदिन पनि आग्रह गर्दछौं ।’

  • प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूत थोम्पसनले गरे शिष्टाचार भेटवार्ता

    प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूत थोम्पसनले गरे शिष्टाचार भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकी राजदूत डीन आर. थोम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    उनीहरुबीचको भेटवार्तामा भविष्यमा द्वीपक्षीय हितका विषयमा धारणाहरु राखिएको नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

     

  • विषय विज्ञलाई मन्त्री बनाउने सत्ता साझेदार दलमा छलफल

    विषय विज्ञलाई मन्त्री बनाउने सत्ता साझेदार दलमा छलफल

    काठमाडौं । सातदलीय गठबन्धनमा विषय विज्ञलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीपरिषद् विस्तार गर्दा अब बन्ने मन्त्री विषय विज्ञ हुनुपर्नेमा छलफल भइरहेको बताए ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकपछि उनले अब क्षमताका आधारमा दलहरूले सरकारमा मन्त्री पठाउने जानकारी दिए ।

    रविले भने, ‘मन्त्रिमण्डल विस्तारबारे छलफल भइरहेको छ । यसपटक विषयविज्ञ भए भने राम्रो हुन्छ । एउटा मन्त्रालय सम्हालेको व्यक्तिले तुरुन्त अर्को मन्त्रालय सम्हालेको पछिल्लो परिपेक्ष छ । त्यसलाई मिनिमाइज गर्ने समझदारीको प्रयास गरिरहेका छौँ ।’

    मन्त्रीपरिषद् विस्तारको विषयमा व्यापक छलफल भइरहेकाले अझै केही समय लाग्ने उनको भनाइ छ ।

    मन्त्री लामिछानेले भने, ‘विश्वासको मत अगाडि हुन्छ वा पछाडि भन्ने समयलाई ध्यानमा राखेर छलफल भएको छैन । संवाद गर्दै जाँदा पछाडि पनि जान सक्छ । तर, हामीले त्यो मितिलाई ध्यानमा राखेका छैनौँ ।’

    राष्ट्रपतिदेखि मुख्य संवैधानिक पदहरू प्याकेजमै मिलाउनेबारे छलफल भइरहेको बताए ।

    उनले भने, ‘हाम्रो प्रदेशमा त छैन । तर, सत्ता साझेदार दलहरूको प्रदेशमा उपस्थिति छ । त्यसैले राष्ट्रपतिदेखि प्रदेशको मुख्यमन्त्रीसम्म प्याकेजमा समझदारी बनाउने प्रयास भइरहेको छ ।’

  • मधेश प्रदेशका स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश

    मधेश प्रदेशका स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश

    जनकपुरधाम । मधेश प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार साँझ प्रदेशसभा सदस्य कुशवाहाले पार्टीमा भित्र्याएका हुन् ।

    सर्लाही ३ ९१० बाट निर्वाचित उनी माओवादीमा प्रवेश गर्न प्रचण्डको निजी निवास खुमलटार पुगेका थिए ।

    कुशवाहा प्रवेश गरेसँगै मधेश प्रदेशमा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।

  • सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

    सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

    काठमाडौं । शक्ति बाडफाँटका विषयमा छलफल गर्न बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । मन्त्रालयको भागबण्डा लगायतका विषयमा बैठकमा छलफल हुने छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन् ।

    प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन विभिन्न रानजीतिक दलसँगको छलफललाई तीव्र पारेका छन् । उनले बुधबार एमाले अध्यक्ष ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

    अहिलेसम्म एमालेबाट ४ माओवादीबाट १ र स्वतन्त्र पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् ।

    शक्ति बाँडफाँटसँगै राप्रपालगायतका दलहरूलाई सरकारमा सहभागी गराउने विषयमा पनि बैठकमा छलफल हुनेछ । राप्रपा, नागरिक उन्मुक्ति र जसपाले पार्टीहरूले सरकारमा सहभागी हुन विभिन्न सर्तहरू अगाडि सारेका छन् ।

    तस्बिर : सूर्य किरण

     

  • प्रधानमन्त्री प्रचण्ड बालुवाटार प्रवेश (तस्बिरहरु/भिडिओ)

    प्रधानमन्त्री प्रचण्ड बालुवाटार प्रवेश (तस्बिरहरु/भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । उनी आज साँझ खुमलटारबाट बालुवाटार गएका हुन् ।

    बालुवाटारका ज्योतिष टिकाराम घिमिरेको साइतअनुसार साँझ ५ बजे प्रवेश गर्ने भनिए पनि करिब एक घण्टा ढिलो गरेर उनी प्रवेश गरेका हुन् ।

    प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा सोमबार सपथ लिएका थिए । साढे पाँच वर्षपछि बालुवाटार छिरेका प्रचण्डको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल हो ।

     

  • कर्णालीको मुख्यमन्त्री नछाड्ने माओवादीको दाबी, राजकुमार शर्मा संसदीय दलको नेता चयन

    कर्णालीको मुख्यमन्त्री नछाड्ने माओवादीको दाबी, राजकुमार शर्मा संसदीय दलको नेता चयन

    काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । यसैबीच नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयन भएका छन् ।

    आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ ।

    शर्मा रुकुमपश्चिम प्रदेश सभा (२) बाट निर्वाचित सांसद हुन् । त्यहाँ एमालेले नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली इन्चार्ज यामलाल कँडेल कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा चयन भइसकेका छन् ।

    कँडेल यसपटक अब वाम गठबन्धन बनेसँगै मुख्यमन्त्री बन्ने निश्चित भएको छ । तर, त्यहाँ माओवादीले पनि दाबी गरेको छ । माओवादी संसदीय दलको नेतामा चयन भएका शर्मा पोलिटब्यूरो सदस्य पनि हुन् ।

  • प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी, गठबन्धनमा कुरा गर्न वार्ता टोली गठन

    प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी, गठबन्धनमा कुरा गर्न वार्ता टोली गठन

    विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । उनले नयाँ गठबन्धन बन्दा प्रदेश १ को नेतृत्व माओवादीले गर्न पाउनु पर्ने दावी गरेको हो ।

    माओवादी प्रदेश १ को बैठकले सरकार गठन र अन्य दलसँग वार्ता गर्न प्रदेश इन्चार्ज राम कार्कीको सयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा माओवावादी प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङवो र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ सदस्य रहेका छन् ।

    प्रदेश १ मा माओवादीका १३ जना प्रदेश सांसद रहेका छन् । नयाँ गठबन्धनमा एमालेका ४० जना प्रदेश सांसद रहेका छन् । यस्तै नयाँ गठबन्धनमा रहेको राप्रपाका ६ र जसपाका एक जना प्रदेश सदस्य रहेका छन् ।

    माओवादीले बनाएको वार्ता टोलीले शीर्ष नेताहरुसँग छलफल थालेको प्रदेश अध्यक्ष नेम्वाङले जानकारी दिए ।

  • ज्योतिषीलाई साइत हेराएर आज खुमलटारबाट बालुवाटार सर्दै प्रचण्ड

    ज्योतिषीलाई साइत हेराएर आज खुमलटारबाट बालुवाटार सर्दै प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्ने भएका छन् । उनी बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने सचिवालय स्रोतले बतायो ।

    स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर बालुवाटार छाडी धुम्वाराहीमा सरेका छन् ।

  • दुई वर्षपछि ओली खुमलटारमा (भिडिओ)

    दुई वर्षपछि ओली खुमलटारमा (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि खुमलटार पुगेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्न ओली खुमलटार पुगेका हुन् ।

    नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओलीको दौडधुप बढेको छ । एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका छन् ।

    यसअघि संसद विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुगेका थिए । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो।

    खुमलटारमा प्रचण्ड र ओलीबीच सत्ता सहकार्य, भागबण्डा र आगामी यात्राको बारेमा छलफल हुने बुझिएको छ । ओली र प्रचण्डबीचको खुमलटार भेटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि बोलाइने स्रोतले बताएको छ ।

    ओली र माधव नेपाललाई भेट गराउन खुमलटारमा प्रचण्ड माध्यम बन्ने भएका छन् ।

    एमालेबाट अलग भएको नेकपा एसले प्रत्यक्षमा १० सीट जितेको छ । प्रचण्डले माधव नेपाललाई सरकारमा र ओलीले पुनः पार्टीमै फर्काउने प्रयास गरिरहेका छन् । माधव नेपाल फर्किए प्रतिनिधिसभाको पहिलो दल एमाले बन्नेछ ।

    उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले माधव नेपालसँग छलफल गरेर दुई नेताबीच वार्ताको पहल गरेका छन् । यसअघि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि नेपाललाई भेटेर एमालेमा फर्किन आग्रह गरेका थिए ।

    सुवास नेम्वाङदेखि महेश बस्नेतसम्मका नेताहरू माधव नेपालसँग संवादमा छन् ।

  • प्रचण्डलाई भेट्न ओली खुमलटार जाँदै

    प्रचण्डलाई भेट्न ओली खुमलटार जाँदै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटारतर्फ लागेका छन्।

    पाँच दलीय सत्ता गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार जान लागेका हुन्।

    ओली र प्रचण्ड एकठाउँमा उभिएपछि फेरि वाम एकताको चर्चा चलिरहेको छ। प्रधानमन्त्री प्रचण्डले बिहान मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए।

    ओली र प्रचण्डको खुमलटार बैठकमा माधव नेपाल पनि जानसक्ने बताइएको छ।

    मङ्गलवार साँझ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष नेपालसँग भेटवार्ता गरेका थिए। प्रचण्डले नेकपा एसलाई पनि सरकारमा ल्याउन पहल गरिरहेका छन्।

  • हात्तीवनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता

    हात्तीवनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् ।

    नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

    अहिले हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता जारी रहेको छ ।

    यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी प्रचण्डको छ ।

  • ओली-प्रचण्ड मिलनको दोस्रो चरण- होला त असफल पार्टी एकताको दोस्रो संस्करण ?

    ओली-प्रचण्ड मिलनको दोस्रो चरण- होला त असफल पार्टी एकताको दोस्रो संस्करण ?

    काठमाडौं । कांग्रेस नेतृत्वको गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि फेरि वाम एकताको चर्चा चल्न थालेको छ ।

    दुई ठूला कम्युनिष्ट पार्टीसहित ७ दल मिलेर सरकार गठन गरेपछि फेरि वाम एकताको बहस चल्न थालेको हो । यही गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेत मिलाउन केही नेता लागेका छन् ।

    यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७४ सालमा चुनावी तालमेलसहित पार्टी एकता गरेर नेकपा गठन गरेका थिए ।

    ओली र प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति तोडिएपछि नेकपाभित्र विवाद चर्किएको थियो । प्रचण्डले एमालेसँग एकता गरेपछि माधव नेपाल र झलनाथ खनाल खेमाका नेताहरुको आडमा ओलीविरुद्ध मोर्चाबन्दीसमेत गर्न भ्याए ।

    तर, ओलीले पार्टीभित्र आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने प्रयासपछि दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि विवाद उत्कर्षमा पुग्यो । पार्टी एकतापछि ओली र प्रचण्डबीचको आन्तरिक द्वन्द्वका बीचमा सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपाको एकता भंग गरेपछि अलग भए ।

    पार्टीबाट अलग भएपछि एक-अर्काविरुद्ध खरो रुपमा आरोप-प्रत्यारोपमा उत्रिएका ओली र प्रचण्ड अहिले एकै ठाउँमा उभिन पुगेका छन् । ओलीलाई कांग्रेस नेतृत्वको गठबन्धन टुटाउनुपर्ने र प्रचण्डलाई प्रधानमन्त्री बन्नुपर्ने दुवैको स्वार्थ मिलेपछि अहिले एकै ठाउँमा उभिन पुगेका हुन् ।

    ओली र प्रचण्डको एकअर्काको स्वार्थको बीच कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान कसेपछि ओलीलाई फाइदा पुग्यो । ओलीले पाँच दलीय गठबन्धनको एउटा घटक जसपालाई चुनावअघि नै आफूतिर तानिसकेका थिए ।

    त्यसो त देउवासँग ‘बार्गेनिङ’ गर्दैगर्दा प्रचण्डले दोस्रो तहका नेताहरुलाई एमाले नेताहरुसँग निरन्तर संवादमा लगाएका थिए । अहिले प्रचण्ड एमालेसहित ७ दलको समर्थनमा १६९ सांसदको समर्थनमा देशको ४४औं प्रधानमन्त्री बने ।

    यद्यपि नेकपाभित्रको विवादमा आफूलाई निरन्तर साथ दिएका माधव नेपाललाई भने प्रचण्डले एक्ल्याएका छन् । प्रचण्डले गठबन्धन छाडेर एमालेसँग सहकार्य गरेपछि एमालेबाट अलग्गिएर एकीकृत समाजवादी पार्टी दर्ता गरेका नेपाल अहिले अलमलमा छन् ।

    प्रचण्डले नेकपा एसलाई पनि सरकारको समर्थनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, एमाले नेतृत्व माधव नेपाललाई ल्याउन इच्छुक छैन । मानमात्र खोज्ने नेपाललाई ल्याउँदा अर्को घाँडो हुने तर्क कतिपय नेताहरुको छ ।

    एमाले नेताहरु भन्छन्, ‘अब माधव नेपालहरु जस्तालाई फेरि मिसाएर पार्टीमा समस्या सिर्जना गर्नु छैन । उसै पनि जनता र कार्यकर्ता त्यहाँ छैनन्, एकताका नाममा डेट एक्सपायर र अनैतिकहरुलाई हुलेर पार्टीमा फेरि हुँडलो मच्चाउनु जरुरी छैन । व्यक्तिगत रुपमा एमालेमा फर्किन सबै स्वतन्त्र छन् ।’

    निर्वाचनबाट कम्युनिष्टहरु निरन्तर ओरालो लाग्ने नतिजा देखिएको वेलामा ओली र प्रचण्ड फेरि सँगै हिँडेपछि फेरि वामपन्थीहरुको एकता हुनसक्ने आँकलन भने हुन थालेको छ । यद्यपि एमाले पंक्ति पार्टी एकताप्रति इच्छुक देखिन्न ।

    हिजो प्रचण्डले माधव नेपालहरुसँग मिलेर झण्डै कब्जा गरिसकेको पार्टी केपी ओलीले पुस ५ को कदम चालेर जोगाएको निष्कर्ष आम एमाले पंक्तिको छ । अब प्रचण्डको स्थायी व्यवस्थापन भएपछि मात्र माओवादीको बाँकी रहेको हिस्सा एमालेमा विलय हुने एमालेको कोर पंक्तिको बुझाइ छ ।

    ‘तत्काल सम्भव छैन’

    सत्ता स्वार्थको लागि बनेको गठबन्धन भएकाले स्थिर हुनसक्ने सम्भावना कमै रहेको राजनीतिक विश्लेषक हरि रोक्का तर्क गर्छन् ।

    उनी भन्छन्, ‘यसअघि पनि उहाँहरु नमिलेको होइन । सत्ता स्वार्थकै कारणले अलग हुनुभयो । अहिले सत्ताकै कारणले जोडिनुभयो । त्यसैले फेरि पछि भागबन्डा नमिल्दा अलग नहोलान् भन्ने अवस्था छैन ।’

    कम्युनिष्ट भन्नेहरुमा सिद्धान्त, नीति केही नभएको उनको भनाइ छ ।

    तर, पाँच दलीय गठबन्धनलाई पराजित गरेका एमाले सांसद तथा पोलिटव्युरो सदस्य सूर्य थापा सत्ता सहकार्यलाई पार्टी एकताको रुपमा रुपान्तरण हुन नदिने बताउँछन् ।

    उनी भन्छन्, ‘पार्टी एकता हुन्न, गठबन्धन नै अगाडि बढ्छ । झुक्किएर पनि पार्टी एकता गर्न दिइनेछैन । पार्टी एकताको नाममा पार्टी कब्जा गर्ने विगतमा अभ्यास भयो । हामीले शिक्षा लिइसक्यौं ।’

    विचार र व्यवहार मिल्नेबीच एकता हुनसक्ने भए पनि आजको स्थितिमा माओवादीसँग एकता हुन नसक्ने उनको दाबी छ ।

    उनले भने, ‘एकातिर माओवादीको ट्याग झुण्ड्याएर अर्कोतिर जनताको बहुदलीय जनवाद बोकेर आजको स्थितिमा पार्टी एकता सम्भव छैन ।’

    एमाले र माओवादीबीच हालैमात्र सहकार्य सुरु भए पनि पार्टी एकताको विषयले राजनीतिक रुप लिएको छैन ।

    माओवादीलाई अस्तित्वको चिन्ता

    दश वर्षे जनयुद्धपछि शान्ति प्रक्रियामा आएको माओवादी २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत सीट जितेर संसदीय राजनीतिमा उदाएको थियो ।

    तर, २०६४ देखि २०७९ सम्म आइपुग्दा निरन्तर ओरालो लागेको छ । जनमत निरन्तर घटेर प्रतिनिधिसभाको तेस्रो शक्ति बने पनि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका छन् ।

    माओवादीले मंसिर ४ को निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सीट जितेको छ । तर, २०७४ को निर्वाचनमा प्रत्यक्षमै ३६ सीट जितेको थियो भने समानुपातिकमा १७ सीट ल्याएको थियो ।

    तेस्रो शक्तिको लाभ लिँदै आएको प्रचण्ड तेस्रो पटक देशको प्रधानमन्त्री बने पनि पार्टीको अस्तित्व जोगाउन उनलाई चुनौती छ । कांग्रेससँगको चुनावी गठबन्धनबाट सोचेजस्तो परिणाम नआएपछि प्रचण्ड सन्तुष्ट छैनन् ।

    चुनावबाट सोचेजस्तो नतिजा नपाउनु र कांग्रेसले पूर्वसहमति तोडेपछि आफूहरु बाध्य भएर विकल्प खोजेको माओवादीका सचिव दिनानाथ शर्मा बताउँछन् ।

    उनी भन्छन्, ‘चुनावमा पनि कांग्रेसी नेताहरुले माओवादीको विकल्पमा घण्टीलाई भोट हालेको प्रस्टै देखियो । अहिले पनि पावर शेयरिङका आधारमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्ने अडान लियो । त्यसैले कांग्रेसले धोखा दिएपछि हामीले विकल्प खोजेका हौं ।’

    उनले अहिले एमालेसँग सत्ता सहकार्यमात्रै गरेको उल्लेख गर्दै पार्टी एकताबारे अहिल्यै भन्न नसक्ने बताए ।

    शर्माले भने, ‘हामीले पहिला पनि चुनावी तालमेलसहित पार्टी एकता गरेका थियौं । जनताले मत पनि दिएका हुन् । तर, हामीले जोगाउन सकेनौं । त्यसको समीक्षा होला नै ।’

    अहिलेको जनादेशअनुसार अब एमाले र माओवादी मिलेर जानुपर्ने उनको राय छ । ‘कम्युनिष्टहरुबीच आपसमा फुट्ने र जुट्ने भइरहे पनि अब सहकार्य गरेरै जानुपर्छ’, शर्माले भने ।

    त्यसो त चुनावअघि प्रचण्डले एमालेबाहेकको कम्युनिष्टहरुलाई एकजुट बनाएर समाजवादी केन्द्र निर्माणको पहल थालेका थिए । उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपालगायतलाई समेटेर जाने प्रयास गरेका थिए । तर, त्यो प्रयास असफल भएको थियो ।

  • प्रधानमन्त्री प्रचण्डले भने- मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनसक्छ

    प्रधानमन्त्री प्रचण्डले भने- मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनसक्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका छन् । भारतीय न्युज च्यानल एबिपीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो हिजोमात्र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग कुराकानी भएको बताए ।

    प्रधानमन्त्रीले भने- मलाई जहाँबाट पहिलो निम्ता आउँछ त्यहीँ भ्रमण हुन्छ । हिजोमात्र भारतीय विदेश सचिवसँग कुराकानी भएको छ । मलाई लाग्छ मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ ।

  • दिनानाथ भन्छन्- देउवाले समय घर्काएर आफैं प्रधानमन्त्री बन्न खोजेपछि बाध्यात्मक कदम चाल्यौँ

    दिनानाथ भन्छन्- देउवाले समय घर्काएर आफैं प्रधानमन्त्री बन्न खोजेपछि बाध्यात्मक कदम चाल्यौँ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले चुनावअघि गरिने गठबन्धनलाई अनैतिक मान्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वका कतिपय देशहरुमा चुनावअघि पनि विभिन्न विचार र एजेण्डामा केन्द्रित भएर गठबन्धन गर्ने गरेको उल्लेख गरे ।

    उनले बहुदलीय व्यवस्थामा कुनैपनि एक दलले सरकार गठनका लागि बहुमत ल्याउन नसक्ने बताए । कांग्रेस, एमाले र माओवादी लोकतान्त्रिक आन्दोलनका सहयात्री भएकाले निषेधको राजनीति गर्न नहुने बताए ।

    ०७४ सालमा एमाले र माओवादी मिलेर बहुमत ल्याएपछि कम्युनिष्टहरुले जोगाउन नसकेको स्मरण गरे । उनले हिजोको कुरालाई लिएर आग्रह र पूर्वाग्रहलाई विर्सेर भोलिको दिनको बारेमा सोच्न आग्रह गरे ।

    उनले भने, ‘परिस्थितीले हामीलाई जहाँ उभ्याउँछ हामी त्यही उभिन तयार छौँ । अहिले हामी एमालेसँग मिलेर सरकार गठन गरेका छौँ । अब केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

    प्रचण्डलाई अबको दुई वर्ष बिग्रेको अवस्था र युग बदल्नको लागि महत्वपूर्ण अवसर पाएको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारले जनताको अपेक्षा पुरा गर्ने जिकिर गरे ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले धोका दिएपछि एमालेसँग मिल्न बाध्य भएको बताए । उनले भने, ‘उहाँले सहमति अनुसारको पावर शेयरिङका लागि साथीहरुले दिएनन् मात्रै भन्नुभयो । हामीले दिउँसो १ बजेसम्म कुरेका हौँ । तर, उहाँहरुले समय घर्काएर प्रधानमन्त्री बन्ने र ३० दिनभित्र धेरै खेल खेलेर विश्वासको मत लिनखोज्ने अवस्था देखियो। त्यसैले हामीले बाध्यात्मक कदम चालेका हौँ ।’

  • प्रचण्डले बालकोटको बार्दलीमा पुगेर अभिवादन गरेपछि पुराना कुरा फच्चे भए : सूर्य थापा

    प्रचण्डले बालकोटको बार्दलीमा पुगेर अभिवादन गरेपछि पुराना कुरा फच्चे भए : सूर्य थापा

    काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले चुनावअघिको गठबन्धन अनैतिक भएपछि सरकार गठनका लागि एमाले र माओवादीबीच सहकार्य हुनु स्वभाविक भएको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन उनले भने, ‘चुनावअघि गठबन्धन गरेर जानेकुरा गलत हो । निर्वाचनको परिणापछि गठबन्धन बन्नु बाध्यात्मक र स्वभाविक हो। म गठबन्धन विरुद्ध लडेर आएको हुँ ।’

    उनले पाँच दलीय गठबन्धनले सरकार र स्थितरता दिन नसक्ने चुनावअघि नै भनेको बताए । राजनीतिकमा असम्भव भन्ने केही नुहुने उनको भनाइ छ ।

    उनले भने, ‘नेपालका मुख्य पार्टी एमाले र कांग्रेस नै हुन्। अरु केही पार्टी आउँछन् जान्छन्। यो प्रक्रिया चलिरहन्छ ।’

    उनले प्रचण्डले बालकोटको बार्दलीमा पुगेर अभिवादन गरेपछि पुराना कुरा फच्चे भएको उनको टिप्पणी छ ।

     

  • कांग्रेस नेता मीन विश्कर्माको दाबी : प्रचण्ड सरकार ३० दिन टिक्न मुस्किल छ

    कांग्रेस नेता मीन विश्कर्माको दाबी : प्रचण्ड सरकार ३० दिन टिक्न मुस्किल छ

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुट्ने कांग्रेसको कुनै नेताहरुले नसोचेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका हुन् ।

    उनले भने, ‘बालुवाटार बैठकबाट एकछिन भनेर निस्कनुभएको प्रचण्डजी एकैछिनमा बालकोट पुगेर परिस्थिति अर्कै बनाउनुभयो । गठबन्धन दलले राजनीतिक स्थितरता सोचेका थियौँ। उहाँले दुभाग्यपूर्ण घटना घटाउनुभयो ।’

    प्रधानमन्त्रीको दाबी पर्दैनमा भड्किएर जान नहुने उनको भनाइ छ । यसअघि २०७४ सालमा कांग्रेससँग छलफल चलिरहेको बेलामा एमालेसँग तालमेल गर्न पुगेको बताए ।

    उनले ओली र प्रचण्डलाई कटाक्ष गर्दै जोसँग डिभोर्स भयो त्यसैसँग पुनः विवाह भएको घटना नदेखेकाले आफूहरु आचर्य भएको बताए । सरकार गठन भएपछि राजनीतिक स्थायित्व कायम हुन मुस्किल रहेको बताए ।

    उनले भने, ‘संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । त्यो ३० दिनसम्म सरकार कसरी जान्छ । तर, ३० दिन कट्यो भनेर सरकार दुईवर्ष जान्छ । मलाई लागेको ।’

  • दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त, प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गर्दै

    दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त, प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गर्दै

    काठमाडौं । सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको तयारी गरेका हुन् ।

    माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गरेका पोखरेलले अहिलेसम्म महत्वपूर्ण अवसर पाएका थिएनन् । उनी सर्वोच्च अदालतको न्यायाधीशका दाबेदारसमेत थिए । स्रोतका अनुसार पोखरेल नियुक्त हुने निश्चित भएको छ ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेपछि प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउनेछन् ।

  • सुदूरपश्चिम सरकार- ‘ट्रयाक वान’मा माओवादी र एमालेको दाबी, ‘ट्रयाक टु’ मा नागरिक उन्मुक्ति हाबी

    सुदूरपश्चिम सरकार- ‘ट्रयाक वान’मा माओवादी र एमालेको दाबी, ‘ट्रयाक टु’ मा नागरिक उन्मुक्ति हाबी

    कैलाली । केन्द्रमा राजनैतिक कोर्स परिवर्तनसँगै प्रदेशमा पनि सरकारमा दाबी गर्ने पार्टीहरू फेरबदल भएका छन् । सुदूरपश्चिम प्रदेशमा यस अघि कांग्रेस र माओवादीले सरकारमा दाबी गरेको थियो ।

    हिजो केन्द्रमा भएको नयाँ गठबन्धनले सुदूरपश्चिम प्रदेशमा कांग्रेस मुख्यमन्त्रीमा दाबी गर्न नसक्ने अवस्थामा पुगेको छ । अब प्रदेशमा नयाँ सरकार दाबी गर्नेमा कांग्रेस आउट हुँदा एमाले इन भएको छ ।

    ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको गठबन्धनले सहज बहुमत पुराउने देखिन्छ । यहाँ नयाँ गठबन्धनमा ११ सिट सहित माओवादी पहिलो १० सिट सहित एमाले दोस्रो ७ सिट सहित नागरिक उन्मुक्ति तेस्रो र १ सिट सहित राप्रपा चौथो दल रहेको छ ।

    यो बाहेक काग्रेससँग १९ र नेकपा एकीकृत समाजवादीसँग ४ सिट छ । केन्द्रको फेरिएको समीकरण अनुसार एमाले माओवादी नागरिक उन्मुक्ति र राप्रपा मिल्दा सहज बहुमत पुग्छ । सरकार बनाउन २७ सांसद आवश्यक यी चार दल मिल्दा २९ सांसद पुग्छन् ।

    नयाँ गठबन्धनमा सरकार बनाउन पुग्ने अङ्कगणित छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अझै तय भइसकेको छैन । कांग्रेससँगको गठबन्धनमा पनि यहाँ माओवादीले दाबी गरेको थियो । अहिले एमालेसँगको गठबन्धनमा पनि माओवादीले दाबी गरिरहेको छ ।

    अघिल्लो पटक एमाले र माओवादी तालमेल गरेर सरकार बनाउँदा नेतृत्व माओवादी केन्द्रले गरेको थियो । त्यो बेला ठुलो दल एमाले थियो । ठुलो दल एमाले हुँदा हुँदै अघिल्लो पटक एमालेको समर्थनमा माओवादीले मुख्यमन्त्री पाएजस्तै अहिले माओवादीको समर्थनमा एमालेले मुख्यमन्त्री पाउनु पर्ने दाबी एमाले नेताहरूको छ ।

    यता माओवादी केन्द्रले ठुलो दल भएको हुँदा यस पटक पनि आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बताउँदै आइहरेको छ । सुदूरपश्चिम प्रदेशमा माओवादी र एमाले दुवैले दाबी गरिँदा यसको छिनोफानो भने केन्द्रबाटै हुने छ । केन्द्रमा अहिले सम्म शीर्ष नेताहरू बिच यसको छलफल सुरु भएको छैन ।

    को बन्ला मुख्यमन्त्री ?

    सुदूरपश्चिम प्रदेशमा एमाले वा माओवादी केन्द्रले मुख्यमन्त्री पाउँदा त्यो दल भित्रबाट पनि को भन्छ मुख्यमन्त्री भन्ने अझै निश्चित भइसकेको छैन । दुवै दलले अहिले सम्म दलको नेता छनोट नगरेको हुँदा पार्टीले सरकारको नेतृत्व पाउँदा पनि त्यसमा कसले अवसर पाउँछ भन्ने निश्चित हुन नसकेको हो ।

    माओवादीले सरकारको नेतृत्व गर्ने अवस्थामा खगराज भट्ट वा ओम विक्रम भाटले त्यसको नेतृत्व पाउन सक्ने छन् । त्यस अलवा मानबहादुर धामी र अक्कल रावललाई पनि जिम्मेवारी आउन सक्छ । त्यो सम्भावना भने कम छ ।

    माओवादीबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका भट्ट डडेल्धुराबाट प्रदेश सभामा निर्वाचित भएका हुन् । उनलाई अघिल्लो गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले र प्रचण्डले संयुक्त रूपमा एउटै मञ्चमा उभिएर सुदूरपश्चिम प्रदेशको भावी मुख्यमन्त्रीको रूपमा प्रस्तुत गरेका थिए ।

    देउवासँग लगातार तीन पटक सम्म पराजित भएका भट्ट देउवाकै सहयोगमा मुख्यमन्त्री बन्ने अपेक्षामा थिए । तर, उक्त गठबन्धन टुटेपछि अहिले माओवादी प्रदेश इन्चार्ज र स्थायी कमिटी भएको हुँदा सिनियर भन्दै प्रदेशमा मुख्यमन्त्रीको दाबी गरिरहेका छन् ।

    प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भए लगत्तै उनी शुभकामना दिन खुमल्टार पुगेका थिए । त्यहाँ सरकारका विषयमा भने छलफल भएन।

    माओवादीबाटै मुख्यमन्त्रीमा दाबी गरिरहेका ओम विक्रम भाट सरल कञ्चनपुरबाट निर्वाचित हुन् । युवा पुस्तालाई प्रदेशको नेतृत्व दिनु पर्ने भन्दै उनी पनि मुख्यमन्त्रीको लाइनमा उभिएका छन्। संसदीय दलको नेतामा सके सर्वसम्मत नभए निर्वाचन मार्फत भएपनि आफू हुने दाबी गरेका भाट भट्टको विकल्पमा दलको नेता चयन हुन सक्ने पनि आकलन गरिएको छ ।

    यता एमालेले मुख्यमन्त्री पाउने सम्भावना हुँदा अहिले सम्म राजेन्द्र रावल र धर्मराज पाठकको नाम चर्चामा छ । सात प्रदेश मध्ये प्रदेश १, गण्डकी र कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने करिब पक्का जस्तै हो यस्तो अवस्थामा सुदूरपश्चिममा पनि सरकारको नेतृत्व पाउन सहज भने छैन । यही सुदूरपश्चिममा त्यो अवसर आए रावल र पाठक नै मुख्यमन्त्री बन्न सक्ने आकलन गरिएको छ । दुवै जना समानुपातिक मार्फत प्रदेश सभा सदस्य भएका हुन् ।

    रावल पोलिट व्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज हुन् भने पाठक प्रदेश सचिव हुन् । यी दुवै जनाले अहिले सम्म दलको नेतामा आधिकारिक घोषणा गरेका छैनन् । पार्टीले गरेको निर्णय मान्ने बताउँदै आएका दुवै जना मध्ये एक जना दलको नेता बन्ने र सरकारको नेतृत्व गर्ने अवसर पाए मुख्यमन्त्री बन्ने योजनामा छन् ।

    ट्रयाक टु : नागरिक उन्मुक्तिको सरकार

    हिजो बालकोटमा तयार भएको नयाँ गठबन्धनमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका तर्फबाट अध्यक्ष रन्जिता चौधरी पनि सहभागी थिइन् । उनी बालकोट मात्रै गइनन् सितलनिवास पनि पुगिन् ।

    केन्द्रमा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई समर्थन गर्दा प्रदेशमा पनि त्यही गठबन्धनलाई नागरिक उन्मुक्तिको साथ हुने अपेक्षा गरिएको छ । तर, यहाँ नागरिक उन्मुक्ति निर्णय भएको हुँदा मुख्यमन्त्री दाबी गर्दा पनि दिनु पर्ने परिस्थिति नआउँदा भन्न सकिन्न ।

    नयाँ गठबन्धनमा नागरिक उन्मुक्तिका ७ सांसद जोड्दा २९ पुग्छ । यता कांग्रेस, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको संख्या २४ मात्रै पुग्छ । एमाले नेतृत्वको गठबन्धनबाट कांग्रेस नेतृत्वको गठबन्धनलाई नागरिक उन्मुक्तिले साथ दिने अवस्था सृजना हुँदा कांग्रेस नेतृत्वको गठबन्धनको सिट संख्या ३१ पुग्छ ।

    यहाँबाट स्वतन्त्र उम्मेदवार नयाँ गठबन्धनका जाँदा पनि सरकार बन्ने अवस्था सृजना हुन्छ । उहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।

    एमाले माओवादी र राप्रपा मात्रै सरकार बनाउन सक्दैनन् । यता कांग्रेस र नेकपा एकीकृत समाजवादी पनि सरकार बनाउन सक्दैनन् ।

    नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्‍यो त्यही दलको सरकार बन्ने हुँदा सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्नु पर्ने अवस्था पनि सृजना हुन सक्छ ।तर, यो सम्भावना भने निकै कम छ ।

    प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको सम्मानजनक उपस्थिति नभए त्यो परिस्थिति पनि आउन सक्ने आकलन गरिएको छ ।

    एमाले नेतृत्वको सरकार बन्न नदिन कांग्रेस र नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको अफर दिएर त्यसमा नागरिक उन्मुक्ति सकारात्मक भए रामेश्वर चौधरी मुख्यमन्त्री बन्न सक्ने छन् । उनी नागरिक उन्मुक्तिको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता हुन् ।