Category: माओवादी केन्द्र

  • माओवादी प्रदेश १ को सरकारमा जान्छ, इन्द्र आङ्बोको कुरा व्यक्तिगत हो : हरिबोल गजुरेल

    माओवादी प्रदेश १ को सरकारमा जान्छ, इन्द्र आङ्बोको कुरा व्यक्तिगत हो : हरिबोल गजुरेल

    विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहसचिव हरिबोल गजुरेलले पार्टीको आधिकारिक निर्णयलाई सबैले मानेर जानुपर्ने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले मुख्यमन्त्री र सभमुख बाँडफाँटका विषयमा गठबन्धनमा सहमति भइसकेकाले यसलाई मान्नुपर्ने बताए । प्रदेश १ मा आलोपालो सरकार चलाउने सहमति भएको भन्दै संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारमा माओवादी नजाने बताइरहेका बेला गजुरेलले पार्टीको धारणा प्रष्ट्याएका हुन् ।

    प्रदेश १ को मुख्यमन्त्री एमालेको र सभामुख माओवादीको हुने सहमति भइसकेकाले माओवादी प्रदेश १ मा सरकारमा जाने उनले बताए ।

    उनले भने, ‘माओवादी प्रदेश १ का संसदीय दलका नेताले मुख्यमन्त्री आलोपालोमा नभए सरकारमा नजाने भन्ने कुरा उहाँको व्यक्तिगत हो । पार्टीले गरेको निर्णय उहाँले मान्नुपर्छ । हामी प्रदेश १ सरकारमा जान्छौं, यो पार्टीले गरेको सहमति हो ।’

  • प्रतिनिधि सभाको पहिलो बैठकमा प्रचण्डको लिखित भाषण- नयाँ दल र सांसदको जोसलाई राष्ट्र निर्माणमा लगाउने (भिडिओ)

    प्रतिनिधि सभाको पहिलो बैठकमा प्रचण्डको लिखित भाषण- नयाँ दल र सांसदको जोसलाई राष्ट्र निर्माणमा लगाउने (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताएका छन्।

    मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले जनताको निरन्तर निगरानीमा भएको बताए।

    उनले भने, ‘हामी सुशासन दिन सक्छौँ या सक्दैनौँ। जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ या सक्दैनौँ। यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो।’

    परम्परागत अभ्यास र राजनीतिबाट अब जनतामाझ जान सक्ने स्थिति नभएको बताए। फरक पृष्ठभूमिबाट आएपछि विकास निर्माण र सुशासनमा साझा एजेण्डा हुने बताए।

    उनले भने, ‘हामीलाई अहिले समस्यामा अल्झिने छुट छैन। संसदमा नयाँ दलहरूको पनि प्रवेश भएको छ। नयाँ अनुहारहरू थपिनुभएको छ। म मनैदेखि भन्न चाहन्छु तपाईँहरूको प्रवेश लोकतन्त्रको जित हो। तपार्ईहरुलाई केही गर्ने हुटहुटी छ। त्यो संसद्को नयाँ पूँजी हो। तपाईँहरूको आवेग रचनात्मक हुनेछ।’

    गरे के हुन्न भन्ने आशा जगाएर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित हुने बताए। उनले राष्ट्रिय एकतालाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए।

  • पार्टीका सांसदलाई प्रधानमन्त्रीको निर्देशन- विश्वासको मतका लागि सबै दलका सांसदसँग कुरा गर्नुस् (भिडिओ)

    पार्टीका सांसदलाई प्रधानमन्त्रीको निर्देशन- विश्वासको मतका लागि सबै दलका सांसदसँग कुरा गर्नुस् (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिनको लागि सबै दलसँग कुरा गर्न पार्टी सांसदलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिने तयारी छ ।

    संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पार्टीसँग मात्रै नभएर सांसदहरूसँग पनि व्यक्तिगत कुरा गर्न निर्देशन दिएका हुन् ।

    पाण्डेले भने, ‘उहाँले सबै दललाई विश्वासको मत लिन पहलका लागि आह्वान गर्नुभएको छ । र, सबै सांसदलाई अन्य दलका सांसदहरूसँग कुरा गर्नका निर्देशन गर्नुभएको छ ।’

    नेकपा एकीकृत समाजवादी र कांग्रेससहित सबै दलहरुसँग पनि विश्वासको मत दिन आग्रह गरेको र सकारात्मक जवाफ आएको उनले बताए ।

  • इन्द्र आङ्बोले आलोपालोको ‘बखेडा’ झिकेपछि संस्थागत निर्णय गर्न माओवादी संसदीय दलको बैठक सुरू

    इन्द्र आङ्बोले आलोपालोको ‘बखेडा’ झिकेपछि संस्थागत निर्णय गर्न माओवादी संसदीय दलको बैठक सुरू

    विराटनगर । माओवादी प्रदेश १ संसदीय दलको बैठक सुरु भएको छ ।

    सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र फरक फरक अभिव्यक्ति आउन थालेपछि बैठक डाँकिएको हो ।

    बिहान संसदीय दलका नेता इन्द्र आङ्वोले मुख्यमन्त्री आलोपालो नगरे सरकारमा नजाने बताएका थिए । त्यसपछि प्रदेशसभाका अन्य सदस्यहरूले यो संस्थागत निर्णय नभएको अभिव्यक्ति दिएका थिए ।

    बैठकले पार्टी सरकारमा जाने नजाने टुंगो लगाउने छ ।

  • माओवादी संसदीय दलको बैठक जारी

    माओवादी संसदीय दलको बैठक जारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ ।

    प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

    गत मंसिर ४ मा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि लिने विश्वासको मतसहित समसाययिमक विषयमा संसदमा छलफल भएको छ ।

  • प्रदेश १ मा मौसमको व्यक्तिगत बार्गेनिङ, नेताहरू भन्छन्- आलोपालो माओवादीको संस्थागत माग होइन

    प्रदेश १ मा मौसमको व्यक्तिगत बार्गेनिङ, नेताहरू भन्छन्- आलोपालो माओवादीको संस्थागत माग होइन

    काठमाडौं । हिक्मत कार्की नेतृत्वको सरकारमा सहभागी नहुनेबारे कुनै संस्थागत निर्णय नभएको माओवादीका प्रदेश सांसदहरूले बताएका छन्। मुख्यमन्त्री आलोपालो नभए प्रदेश १ सरकारमा नजाने भनेर दलका नेता इन्द्र आङ्बो ‘मौसम’ ले व्यक्तिगत बार्गेनिङमात्र गरेको ती सांसदहरूको भनाइ छ ।

    आङ्बोले यसअघिदेखि नै मुख्यमन्त्री नपाए आफू मन्त्री पनि नबन्ने बताउँदै आएका थिए । अहिले उनको व्यक्तिगत कुरालाई लिएर केही सामाजिक सञ्जाल र मिडियामा समेत भागबण्डा नसच्चिएसम्म सरकारमा पार्टी सहभागी नहुने भनेर प्रचार भइरहेको छ ।

    माओवादीका केन्द्रीय सदस्यसमेत रहेका एक प्रदेश सांसदले आफूहरूसँगको सल्लाहविना आङ्बोले उक्त निर्णय गरेको बताए ।

    ‘मुख्यमन्त्री बन्ने उहाँको चाहना त होला । तर, पार्टीले गरेको निर्णय मान्दिनँ भनेर कहाँ हुन्छ र ? संसदीय दलको बैठकमा यसबारे केही निर्णय त के छलफलसम्म भएको छैन ‘, उनले नेपाल प्रेससँग भने ।

    प्रदेश सांसद र केही नेताले आफूहरूले मिडिया र फेसबुकबाट यो कुरा थाहा पाएको बताएका छन् ।

    ‘मैले पनि समाचार हेरेर थाहा पाएँ । यसबारेमा हामी छलफल गर्नेछौं’, ती सांसदले भने ।

    माओवादी प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग ‘मिक्सो’ ले सरकारमा नजाने भन्ने निर्णय पार्टीले नगरेको बताए ।

    उनले भने, यो संसदीय दलको कुरा हो पार्टीको संस्थागत र आधिकारिक धारणा होइन । उनले प्रदेश १ मा माओवादीले मुख्यमन्त्री पाउनुपर्ने माग गरिरहेको बेला आलोपालोको दाबी स्वाभाविक हो । तर, सरकारमा जाने/नजाने विषय प्रदेश कमिटीको बैठकबाट मात्र टुंगिन्छ ।’

    माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सुरूमा नेतृत्वले मुख्यमन्त्री आलोपालो भनेर भनेको । अहिले एमालेको भागमा मात्रै परेको भन्ने निर्णय आएकाले नसच्चिएसम्म माओवादी सरकारमा नजाने बताए ।

    सातदलीय गठबन्धनमा प्रदेश १ एमालेको भागमा परेसँगै मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । आजै केही मन्त्री थप्ने तयारी छ ।

  • प्रदेश १ को सभामुख बन्दै बाबुराम गौतम

    प्रदेश १ को सभामुख बन्दै बाबुराम गौतम

    विराटनगर । प्रदेश १ को सभामुख बाबुराम गौतम हुने भएका छन् । सत्ता साझेदार दलहरूका बिचमा बाँडफाँड हुँदा प्रदेश १ को सभामुख माओवादीको भागमा परेको थियो ।

    माओवादीको भागमा सभामुख परेसँगै माओवादीले गौतमलाई सभामुख बनाउने तयारी गरेको हो । उनी ओखलढुंगा १(२)बाट निर्वाचित भएका हुन् ।

    माओवादीका केन्द्रीय सदस्य समेत रहेका गौतमलाई माओवादी हेडक्वाटरले सभामुख बनाउन चाहेको छ ।

    यसअघि सभामुखमा संखुवासभाबाट निर्वाचित राजेन्द्र कार्कीको समेत सभामुख बन्ने चर्चा थियो । तर अन्तिममा गौतमलाई सभामुख बनाउने निर्णय माओवादीले गरेको छ ।

  • राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्री बन्ने निश्चित, यामलालको सपनामा ब्रेक

    राजकुमार शर्मा कर्णालीको मुख्यमन्त्री बन्ने निश्चित, यामलालको सपनामा ब्रेक

    सुर्खेत । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकको सहमतिपछि यामलाल कँडेललेको मुख्यमन्त्री बन्ने सपनामा ब्रेक लागेको छ ।

    शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा गरेको भागबन्डाअनुसार कर्णालीमा माओवादीले बाजी मार्‍यो । उक्त निर्णयले कर्णालीमा मुख्यमन्त्रीका लागि चर्चा बटुलेका कँडेल यसपटक पनि मुख्यमन्त्री बन्ने बाटोबाट किनारा लागेका हुन् ।

    २०७४ सालको निर्वाचनबाटै मुख्यमन्त्रीको लाइनमा बसेका कँडेल त्यति बेला केन्द्रमा एमालेको सरकार बनेसँगै मुख्यमन्त्रीको लागि वञ्चित भएका थिए ।

    कँडेल दोस्रो कार्यकालको लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए । उनी मुख्यमन्त्री बन्ने मौकामा यस पटक पनि प्रदेश सभामा चुनाव लडेका हुन् । तर कँडेलले सोचेको भन्दा फरक परिणाम आएको छ ।

    सात दलीय सत्ता गठबन्धनको बैठकले सात वटै प्रदेशमा मुख्यमन्त्री र सभामुखबारे भागबन्डा मिलाएको छ ।

    सहमति अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री पद नेकपा माओवादी केन्द्रको भागमा परेको छ । अन्य प्रदेशमा दलहरुबीच आलोपालो सरकार चलाउने सहमति भए पनि कर्णालीमा ५ वर्ष माओवादीले सरकार चलाउने भएको छ ।

    सभामुख भने एमालेको पोल्टामा परेको छ । तर भागबन्डामा कर्णाली एमालेको भागमा मुख्यमन्त्री पद नपर्दा कँडेलको अब पाँच वर्षसम्म मुख्यमन्त्री बन्ने सपना ब्रेक लागेको हो ।

    माओवादीका शर्मा बन्दै मुख्यमन्त्री

    अब कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा (आर्ट) मुख्यमन्त्री बन्ने भएका छन् ।

    सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै शर्मा मुख्यमन्त्री बन्ने भएका हुन् ।

    १३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।

    शर्मालाई पुस १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । रुकुम पश्चिम (२) बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने छन् ।

  • वागमतीको मुख्यमन्त्रीमा माओवादीका शालिकरामले दाबी पेस गर्ने

    वागमतीको मुख्यमन्त्रीमा माओवादीका शालिकरामले दाबी पेस गर्ने

    हेटौँडा । वागमती प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शालिकराम जम्मकट्टेलले सोमबार प्रदेश प्रमुखककोमा दाबी पेस गर्ने भएका छन् ।

    सत्तारुढ गठबन्धनको भागवण्डाअनुसार एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको वागमती प्रदेशमा पहिलो नेतृत्व माओवादी केन्द्रले गर्ने निर्णय भएसँगै संसदस्य दलका नेता समेत रहेका जम्मकट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

    तत्कालिन एमाले-माओवादी सरकारमा डोरमणी पौडेल क्याविनेटमा आन्तरिक मामिला तथा काूनमन्त्री रहेर ४३ महिना काम गरेका जम्कट्टेल वर्तमान सरकरको पनि आर्थिक मामिला मन्त्री रहेका छन् ।

    वागमती प्रद्रेशमा एमालेका २७, माओवादी केन्द्रका २१ तथा राप्रपाको १३ गरि ६१ सिट रहेको छ । प्रदेश सभाको पहिलो कार्यकालमा बागमतीमा डोरमणी पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए ।

  • प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतलाई समर्थन गर्ने माओवादीको निर्णय (भिडिओ)

    प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतलाई समर्थन गर्ने माओवादीको निर्णय (भिडिओ)

    विराटनगर । माओवादीले प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

    भर्खरै सकिएको माओवादी संसदीय दलको बैठकमा एमाले नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि पार्टीबाट मन्त्री हुनेहरूको नामबारे निर्णय गर्ने प्रदेश सांसद गणेश उप्रेती ‘शुशिल’ ले जानकारी दिए ।

    उनले दलको उपनेता, प्रमुख सचेतक पनि दाबी पेश गरेपछि मात्रै छान्ने बताए ।

  • प्रदेश १ मा सर्वदलीय बैठक, मुख्यमन्त्रीसहित केही मन्त्रीकाे नाम पेश गरिँदै

    प्रदेश १ मा सर्वदलीय बैठक, मुख्यमन्त्रीसहित केही मन्त्रीकाे नाम पेश गरिँदै

    विराटनगर । प्रदेश १ मा सभामुख उपसभामुख चयन र नयाँ सरकार गठनका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ ।

    संसद सचिवालयमा संसदको आगामी कार्यसूचीको विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्की, नेपाली कांग्रेसका उद्वव थापा, माओवादी केन्द्रका इन्द्र आङ्बो, राप्रपाका भक्ति सिटौला सहभागी छन् ।

    बैठकपछि मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेश गर्नेछन ।

    एमाले स्रोतका अनुसार आजै सानो मन्त्रिपरिषद्को नामावली प्रदेश प्रमुखसमक्ष पेश हुनेछ । भोलि मुख्यमन्त्रीले शपथ खाएपछि अरु मन्त्रीहरुको पनि शपथ गराउने कार्यक्रम रहेको छ ।

  • प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे माधव र उपेन्द्र

    प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगे माधव र उपेन्द्र

    काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले भेटेका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार अध्यक्ष नेपाल र यादव पुगेका थिए । प्रधानमन्त्रीले मंगलबार लिने विश्वासको मत, वामपन्थी एकता लगायतको विषयमा छलफल भएको स्रोतले बताएको छ ।

    प्रधानमन्त्री दाहालले नेकपा एस र जसपालाई सरकारमा ल्याउने प्रयास गरिरहेका छन् । जसपाले सरकारलाई समर्थन गरिसकेको छ भने नेकपा एस अझै पर्ख र हेरेको अवस्थामा छ । भेटमा प्रधानमन्त्री प्रचण्डले दुई नेतालाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

    न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको भन्दै जसपाले शनिबार विश्वासको मत दिने आधार खडा भएको निर्णय गरेको थियो ।

    यता, माओवादी, नेकपा एस र जसपाले वामपन्थी एकताको लागि भन्दै कार्यदल गठन गरेर छलफल अगाडि बढाएका छन् ।

    बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि माओवादीसँग पार्टी एकताको लागि आज वार्ता टोली गठन गर्दैछ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष भट्टराईबीच शानिबारको भेटवार्तामै तत्काल पार्टी एकत गर्ने सहमति बनेको थियो।

    यता, सत्ता गठबन्धनको बैठकअघि तीन नेताहरूको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ । मुख्यमन्त्रीको भागबण्डा मिलाउने ५ बजे गठबन्धनको बैठक बस्दैछ ।

  • मन्त्री र दाबी मन्त्रालयमा छलफल गर्न माओवादी प्रदेश १ संसदीय दलको बैठक बोलाइयो

    मन्त्री र दाबी मन्त्रालयमा छलफल गर्न माओवादी प्रदेश १ संसदीय दलको बैठक बोलाइयो

    विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको बैठक बोलाइएको छ । कसको नेतृत्वमा नयाँ सरकामा जाने, कुन-कुन मन्त्रालयमा दाबी गर्नेलगायतमा विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

    प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईँ ‘सचिन’ ले नयाँ सरकार गठनको विषयमा दलको बैठक बोलाइएको जानकारी दिए । संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो र एमाले संसदीय दलका नेता हिक्मत कार्कीका बीचमा छलफल भएको भन्दै दुवै पक्षले आ-आफ्नो दलको बैठक तय गरेको उनको भनाइ छ ।

    प्रदेश १ मा माओवादीका १३ सांसद छन् । संसदीय दलका नेता वर्तमान अर्थमन्त्री आङ्बोले माओवादीका भागमा मुख्यमन्त्री नपरे आफू मन्त्री नबन्ने बताउँदै आएका छन् । उनी सरकारमा नजाने भएपछि चापागाईँको नेतृत्वमा सरकारमा पठाउने माओवादीको तयारी रहेको छ । तर, जीवन आचार्यले सरकारको नेतृत्वको दाबी गरिरहेका छन् । उनी प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँसमेत हुन् ।

    प्रदेशसभा सदस्य गणेश उप्रेती, राजेन्द्र कार्कीले पनि सरकारमा जाने दाबी गरिरहेकाले मन्त्री टुंग्याउन सकस परिरहेको माओवादीका एक नेताले बताए । संसदीय दलको वैठक नै नबसी सांसदहरूले मन्त्रालय दाबी गर्दा माओवादीभित्र विवाद उत्पन्न भएको छ ।

    आफूखुसी मन्त्रालय दाबी गरेको र एकले अर्काको अस्तित्व नै स्वीकार नगर्ने अवस्था आएपछि संसदीय दलका नेता आङ्बोले फेसबुकमा संसदीय दलको बैठकले सवै विषय टुंग्याउने बताएका छन् ।

  • लुम्बिनीको नेतृत्वका लागि दबाब बढाउँदै एमाले-माओवादीका नेता

    लुम्बिनीको नेतृत्वका लागि दबाब बढाउँदै एमाले-माओवादीका नेता

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीका दाबेदार नेताले आफ्नो पक्षमा निर्णय लिन नेताहरूलाई दबाब दिएका छन् ।

    एमालेबाट दलको नेता निर्वाचित भएका लीला गिरी तथा माओवादीबाट दलको नेता निर्वाचित भएका नेता जोखबहादुर महरा दुवै प्रदेशको नेतृत्व लिनका लागि पार्टी नेतृत्वसँग निरन्तर संवादमा र भेटघाटमा छन् । सत्तारुढ गठबन्धन दलमा रहेका यी दुवै दलले यहाँको नेतृत्व दाबी गरिरहेका छन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको समय नजिकिएसँगै नेताहरूले दौडधुप बढाएका हुन् ।

    प्रदेशमा कुनै दलको बहुमत नभएकाले प्रदेश प्रमुखले पुस २७ गते ४ बजेभित्र बहुमतीय सरकार गठनका लागि बहुमत सांसदहरूको हस्ताक्षर पेश गर्न आव्हान गरिसकेका छन् ।

    नेतृत्व दाबी गरिरहेका दलले सरकार गठनका लागि गृहकार्य थालेका हुन् । दुई पार्टीबीच मुख्यमन्त्रीका लागि रस्साकस्सी र दौडधुप भए पनि केन्द्रबाट नै कसले पाउने भन्ने निर्णय नहुँदा अलमलमा परेका छन् ।

    एमाले र माओवादी दुवै दलले प्रदेशको नेतृत्वका विषयमा आ–आफ्ना अडान छाडेका छैनन् । दुवै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीको सहमतिसहितको निर्णय कुरेर बसेका छन् ।

    एमालेले प्रदेशको ठूलो दलका हिसाबले यहाँको नेतृत्व छाड्नै नसकिने जनाउँदै आएको छ भने माओवादीले आफ्नो आधार इलाका भएकाले पनि यहाँको नेतृत्व दाबी हुनु स्वभाविक भन्दै आएको छ ।

    सत्ता गठबन्धनमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी केन्द्रको निर्देशनअनुसार कसरी बढी भागबन्डा लिने भन्ने योजनामा छन् ।

    यता नेपाली कांग्रेसले पनि आकर्षक प्रस्तावसहित साना दलहरूसँग छलफल अगाडि बढाएको छ । त्यसको नेतृत्व कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गरेका छन् । चौधरी गठबन्धन भत्काएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने गृहकार्यमा देखिएपनि कुनै ठूलै फेरबदल नभए तत्काल सफल हुने अवस्था छैन ।

    एमालेबाट संसदीय दलका नेता एवं पोलिटब्यूरो सदस्य लीला गिरी मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महराको दाबी छ । मुख्यमन्त्रीमा एमाले र माओवादी दुवैले दाबी नछाडेकाले गठबन्धनभित्र सहमति जुट्न सकेको छैन ।

    महराले काठमाडौंमै पुगेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेर फर्केका छन् । महराकै पहलमा स्वतन्त्र सांसद दीपेन्द्र पुन मगर माओवादी प्रवेश गरेका छन् । यता गिरीले पनि पार्टी अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् ।

    एमाले नेता लीला गिरीले केन्द्रको निर्णय पर्खेर बसेको तर यहाँ अन्य सत्तारुढ दलसँग गर्ने तयारी भइरहेको बताए । ‘नेतृत्वको विषयमा माथिबाटै टुंगो नलाग्दासम्म केही भएन, यहाँको अन्य तयारी हामीले गरिसकेका छौँ, उनले भने । यहाँको नेतृत्वका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई दबाब दिइरहेका छन् ।

    माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा मुख्यमन्त्री कसले लिने भन्ने टुंगो नलागे पनि अन्य दलहरूसँग अनौपचारिक छलफल अगाडि बढेको बताए ।

    १० राजनीतिक दलको प्रतिनिधित्व रहेको ८७ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २९ सांसद छन् ।

    यस्तै नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टी ४, लोकतान्त्रिक समाजवादी पार्टीका ३, जसपाका ३, जनमतका ३, नेकपा एकीकृत समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र २ जना सांसद छन् ।

    सत्तारुढ गठबन्धनमा रहेका एमाले, माओवादी, राप्रपा, नागरिक उन्मुक्ति, जनमतका सांसदहरूको संख्या ५३ रहेको छ ।

  • वामपन्थी एकताका लागि माओवादीले पनि बनायो वार्ता कार्यदल

    वामपन्थी एकताका लागि माओवादीले पनि बनायो वार्ता कार्यदल

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ता र छलफल गर्न कार्यदल गठन गरेको छ ।

    पार्टी पदाधिकारीको शनिवार बसेको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

    कार्यदलमा महासचिव देव गुरुङसहित जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणी पोखरेल सदस्य रहेको गुरुङले नेपाल प्रेसलाई बताए । यो कार्यदलले नेकपा एससहितका दलसँग छलफल गर्नेछ ।

    यसअघि नेकपा एस र जसपाले पनि कार्यदल गठन गरेका थिए ।

    बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको लागि माओवादी केन्द्रले छलफल गरेको छ । नेसपाले माओवादीकै चुनाव चिन्हबाट भाग लिएको थियो ।

  • एउटा पनि नराम्रो काम गर्दिनँ, गर्न दिन्न: प्रधानमन्त्री प्रचण्ड

    एउटा पनि नराम्रो काम गर्दिनँ, गर्न दिन्न: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन्।

    शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन् ।

    प्रधानमन्त्रीले भने, ‘‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन। यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ। यो ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुन्छन् ।’’

    ‘‘शिक्षक अस्पताल हाम्रै पहलमा अगाडि आएको छ,’ प्रधानमन्त्रीले भने, ‘‘यसलाई सफल कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो। यसका साथै शिक्षकहरूको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनैपर्छ। त्यसतर्फ पनि सरकारले सोचिरहेको छ।’

    देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका भएकोमा प्रधानमन्त्रीले जोड दिए। उ

    एउटा पनि नराम्रो काम गर्दिनँ, गर्न दिन्नँ

    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा चित्रित गरे।

    उनले भने, ‘‘तेस्रो कार्यकाल मेरा निम्ति चुनौतीपूर्ण अवसर हो । यसलाई हामीले पूराका पूरा सदुपयोग गर्न सक्नुपर्छ । म एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत छु। सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ। जनताको त्यो आशालाई सम्वोधन गर्न तपाई हामी सबै गम्भीर र जिम्मेवार हुनुपर्छ।’

     

  • माओवादी विभाजनमा विदेशी शक्तिको पनि हात छ : महरा

    माओवादी विभाजनमा विदेशी शक्तिको पनि हात छ : महरा

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी विभाजनमा विदेशी शक्तिको पनि हात रहेको बताएका छन् । शुक्रबार संवाद डबलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आफूहरुका कमजोरी बताउँदै महराले विदेशी शक्ति माओवादीलाई निशस्त्रीकरण, आकार घटाउन र घृणा पैदा गर्ने अभियानमा लागेको बताए ।

    माओवादी केन्द्रका प्रवक्तासमेत रहेका महराले माओवादी नेताले दुई बाटो हिँडेको र दुवै बाटोबाट गन्तव्यमा पुग्न नसकेको बताए । ‘एकथरी माओवादी नेता एम्बुसको बाटोमा हिडे र एकथरी त्यसलाई छल्नुपर्छ भन्दै संसदको बाटोमा । किरण–विप्लव पनि आफू हिडेको बाटोमा अगाडि बढ्न सक्नुभएन । हामी पनि दलदलमा फस्यौं । सबैले आआफ्ना आत्मसमिक्षा गर्न जरुरी छ’, महराले भने ।

    आत्मसमिक्षासहित सबै कम्युनिष्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न नसकिने महराले ठोकुवा गरे । उनले समाजवादको लागि छलफल र बहस गर्न साझा मंच बनाउन आवश्यक रहेको समेत बताए । कार्यक्रममा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले अहिलेको व्यवस्थाकै निरन्तरताबाट समाजवादमा पुग्न नसकिने भन्दै क्रमभंग आवश्यकता रहेको बताए । उनले परिवर्तनको लागि एकता हुनुपर्नेमा जोड दिए ।

    बास्तोलाले नेपालको संसदीय व्यवस्था निरंकुश रहेको बताउँदै दलाल पूँजीवादबाट पूँजीवादमा पुग्नलाई पनि आन्दोलन आवश्यक रहेकोसमेत बताए ।कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का नेता परि थापा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्य, नेकपाका केन्द्रीय सदस्य चिरन पुन, राजु कार्की, जागृत रायमाझी, अरुण गुरुङलगायतले वैज्ञानिक समाजवादीको लागि विभाजित कम्युनिस्ट नेताले नयाँ शिराबाट एकठाउँमा आउनु आजको आवश्यकता रहेको बताएका थिए ।

    कार्यक्रममा नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले कार्यपत्र प्रस्तुत गरेका थिए भने तिलक थापा मगरले कार्यक्रम संचालन गरेका थिए ।

  • वडाध्यक्षबाट राजीनामा दिएर माओवादी नेता महरा नेकपा बहुमतमा प्रवेश

    वडाध्यक्षबाट राजीनामा दिएर माओवादी नेता महरा नेकपा बहुमतमा प्रवेश

    कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ का वडा अध्यक्ष बहादुरसिंह महराले पदबाट राजीनामा दिएका छन् ।
    जनचाहना र जनभावनाविपरीतका कार्यहरू भइरहेको र किनाराको साक्षी बस्दा जनमतको अपमान हुने भन्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

    शुक्लाफाँटा नगरपालिकाको १२औं नगर अधिवेशनमा मेयर रणबहादुर महरालाई उनले राजीनामापत्र बुझाएका छन् ।

    वैशाख ३० मा सम्पन्न स्थानीय तह चुनावमा उनी नेकपा माओवादी केन्द्रका तर्फबाट दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

    मेयर महरालाई बुझाएको पत्रमा उनले निरन्तर रुपमा जनचाहना र जनभावनाविपरीतका कार्यहरू भइरहेको र किनाराको साक्षी बस्दा जनमतको अपमान हुने भएकाले राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

    महराले माओवादी केन्द्रसमेत परित्याग गरेका छन् । नगर कमिटी अध्यक्षलाई उनले पार्टी परित्यागको पत्र पठाएका हुन् । उनी माओवादी छाडेर आजै नेकपा बहुमतमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

  • प्रचण्डका ज्वाइँको नजर भौतिक पूर्वाधारमा, नेता-कार्यकर्ताको असन्तुष्टि छताछुल्ल

    प्रचण्डका ज्वाइँको नजर भौतिक पूर्वाधारमा, नेता-कार्यकर्ताको असन्तुष्टि छताछुल्ल

    विराटनगर । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँसमेत रहेका जीवन आचार्य प्रदेश १ को मन्त्री बन्न दौडधुपमा लागेपछि पार्टीका नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन् । जिम्मेवार नेताहरूले समेत सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।

    मोरङ ६ को प्रदेशसभा १ बाट चुनाव जितेका आचार्य भौतिक पूर्वाधारमन्त्रीको दाबीसहित अहिले लबिङमा रहेको बताइएको छ । मुख्यमन्त्री नपाए माओवादीबाट सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने आचार्यले बताएको माओवादी स्रोतले जानकारी दिएको छ ।

    माओवादीनिकटको पत्रकार संगठन प्रेस सेन्टरका प्रदेश १ अध्यक्ष विनोद घिमिरेले आचार्यको जिम्मेवारीको छलाङलाई आफूले सामान्तवादको अवशेषको रूपमा लिएको टिप्पणी गरेका छन् ।

    उनले लेखेका छन्, ‘प्रचण्डका ज्वाइँ जीवन आचार्य प्रदेशको मन्त्री नै बन्ने र बनाउने कुरा चलिरहेको छ यदि जीवन आचार्य यहाँको मन्त्री बने भने उहाँमा (अध्यक्ष प्रचण्ड) मा सामन्तवादको अवशेष हैन भण्डार नै भएको पुष्टि हुन्छ ।’

    माओवादी कार्यकर्ता गोपाल बरालले आचार्य मन्त्री बन्ने दौडमा लागेको भन्दै फेसबुकमा लेख्छन्, ‘ज्वाइँलाई दुई चम्चा घिउले सत्कार गरिसकियो त ? हर्पे नै घोप्ट्याउने त महाशय ?’

    कार्यकर्ता र नेतामात्र होइन, मन्त्रीको रेसमा रहेका पार्टीका अन्य सांसद पनि जीवनविरुद्ध उत्रिएका छन् । प्रदेशसभमा उनीभन्दा सिनियर सांसादहरू भएकाले पालो दिनुपर्ने उनीहरू बताउँछन् । एमालेको नेतृत्वमा सांसद हुँदा आफूलाई मन्त्री बन्न सहज हुने आचार्यले लबिङ गरिरहेको भन्दै आन्तरिकरूपमा उनको आलोचना पनि भइरहेको छ ।

    माओवादी प्रदेश १ का सचिव तथा प्रदेश सांसद गणेश उप्रेती ‘शुशिल’ ले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीती गर्नेहरूले राजनैतिक निर्णय र राजनैतिक पहलकदमी लिएकै राम्रो त्यसभित्र अराजनैतिक र मूल्य मान्यता नाघेर निर्णयहरू लिँदा आन्दोलन वा अभियान कसैलाई फाइदा पुग्दैन ।’

    सांसद आचार्यले भने आफू पार्टीको केन्द्रीय सदस्य, प्रत्यक्षबाट निर्वाचित सांसद भएकोले सबै हिसाबले मन्त्रीका लागि योग्य भएको नेपाल प्रेसलाई बताए । पार्टीमा अध्यक्षको परिवारवादसँग जोड्न नहुने बताए ।

    ‘युवाहरूको प्रतिनिधित्वका लागि मेरो दाबी हो, कसैले मिडिया स्टन्ट गरिरहेका छन् । यसमा मेरो आपत्ति छ’, आचार्यको भनाइ छ ।

    प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले आइतबारसम्मको समय सीमा तोकेका छन् । सरकार गठनका लागि यहाँ सातदलीय गठबन्धनमा रहेका एमाले, माओवादी र राप्रपाबीच छलफल भइरहेको छ । मुख्यमन्त्रीमा एमाले र माओवादीले दाबी गरिरहेका छन् ।

    ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । यहाँ एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सांसद छन् ।

    केन्द्रमा भागबण्डा टुंगिसकेको छैन ।

  • बाबुरामको सुझाव- कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं

    बाबुरामको सुझाव- कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गठबन्धन गर्दैगर्दा लक्ष्मण रेखा पालना नगरिए दीर्घकालीन क्षति हुने भन्दै सजग गराएका छन् ।

    बिहीबार राति ट्वीट गर्दै नेता भट्टराईले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दा दुष्परिणाम भोगेको बताउँदै नबिर्सन भनेका छन् ।

    ‘गठबन्धन गर्दा एउटा लक्ष्मण रेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ ! सरकारको अंकगणित निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसंग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ । २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं !’, उनले लेखेका छन् ।

  • स्ववियु निर्वाचनमा लाग्न अखिल क्रान्तिकारीलाई प्रचण्डको निर्देशन

    स्ववियु निर्वाचनमा लाग्न अखिल क्रान्तिकारीलाई प्रचण्डको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीलाई स्ववियु निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

    बिहीबार अखिलको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन गरेको अखिल(क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

    त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेको छ । यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ । प्रचण्डले संगठनमा असन्तुष्ट बनेकाहरुलाई सहमतिमा ल्याउनुपर्ने बताए ।

    उनले पञ्चा सिंह नेतृत्वको कमिटी नै आधिकारीक र बैधानिक कमिटी भएकोमा पार्टीमा कुनै कन्फ्युजन नरहेको भन्दै संगठनका समस्याहरु समाधान गरेर स्ववियु चुनाव केन्द्रित हुन प्रचण्डले निर्देशन दिएको उपाध्यक्ष मैनालीले बताए ।

    आफ्नो तेश्रो कार्यकालमा उल्लेख्य काम गर्ने भन्दै प्रचण्डले नराम्रो केही नगर्ने प्रधानमन्त्रिको रुपमा तेस्रो कार्यकाल सरकारले राम्रै राम्रो मात्र गरेर स्मरणिय कार्यकाल बनाउन आफू लागेको प्रचण्डको भनाई थियो ।

    यसपटक ऐतिहासिक काम गर्ने उनको दाबी छ । बैठकमा ४१ पदाधिकारी मध्य ३७ पदाधिकारी सहभागी भएका थिए ।

  • सरकारलाई विश्वासको मत दिनेबारे नेकपा एसले भन्यो- एमालेले अझै हाम्रो अस्तित्व स्वीकारेन (भिडिओ)

    सरकारलाई विश्वासको मत दिनेबारे नेकपा एसले भन्यो- एमालेले अझै हाम्रो अस्तित्व स्वीकारेन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेको सबैभन्दा ठूलो दल एमालेले आफ्नो पार्टीको अस्तित्व अझै स्वीकार नगरेको टिप्पणी गरेको छ ।

    पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले औपचारिक रुपमा अझै समर्थन नमागेको बताए ।

    उनले भने, ‘दुई अध्यक्षहरुको भेट नीजि हो। त्यसमा औपचारिक रुपमा जानकारी छैन। विश्वासको मतबारे २६ पुससम्म निर्णय गछौँ ।’

    सरकारको नेतृत्वमा प्रचण्डले गरेपछि संयोजन समितीको नेतृत्व ओलीले गरेकाले सहकार्यका लागि असहज भएको बताए ।

    ‘सरकारको नेतृत्व प्रचण्डले गर्नुभएको छ । त्यसको संयोजन संयन्त्रको प्रमुखमा केपी ओली हुनुहुन्छ । एमालेकै आड भरोसामा सरकारको नेतृत्व प्रचण्डले गर्नुभएको छ’ उनले भने, ‘एमालेको अहिलेसम्मको दृष्टिकोण हेर्दा हाम्रो साथ नचाहिएको । आफैंसँग बहुमत पर्याप्त भएको । र नेकपा एसको अस्तित्व स्वीकार गर्न नसकेर सहकार्य नगर्ने अभिव्यक्ति आइरहेको सन्दर्भमा हामीले सरकारबारे निर्णय गर्न आवश्यक छैन ।’

  • मुख्यमन्त्रीको दाबी लिएर सुदूरपश्चिमका माओवादी नेता बालुवाटारमा, एमालेका पनि साँझ बालकोट जाने

    मुख्यमन्त्रीको दाबी लिएर सुदूरपश्चिमका माओवादी नेता बालुवाटारमा, एमालेका पनि साँझ बालकोट जाने

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको लागि एमाले र माओवादी केन्द्रले लबिङ थालेका छन् । आज माओवादी केन्द्रका नेताहरूले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटारमा भेटेर सत्तागठबन्धनको बैठकमा सुदूरपश्चिम माओवादीले पाउने गरी अडान लिन आग्रह गरे ।

    प्रचण्ड भेट्न माओवादी प्रदेश संसदीय दलका नेता खगराज भट्ट, प्रदेश सांसदहरू सरल भाट र प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ गएका थिए । प्रदेशको गठबन्धनमा सबैभन्दा ठूलो दल माओवादी भएकोले दाबी नछाड्न दबाब दिएको सहभागी एक सांसदले नेपाल प्रेससँग भने ।

    नेताहरूको कुरा सुनिसकेपछि प्रचण्डले अहिले नै कसको भागमा पर्ने भन्नेबारे बताउन नसकिने जनाएका थिए ।

    ‘दलहरूबीच प्याकेजमा सहमति हुँदा सुदूरपश्चिममा जोड दिन सकिन्छ तर, हाम्रै भागमा पर्छ भन्ने कुरा हुँदैन’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती सांसदले भने ‘हाम्रो भागमा पार्न म जोड बल गर्छु ।’

    कर्णाली एमालेलाई दिएको खण्डमा सुदूरपश्चिम प्रदेश माओवादीको भागमा पर्न सक्ने माओवादी नेताहरूको बुझाइ छ ।

    एमालेको पनि जोड

    यस प्रदेशको मुख्यमन्त्रीमा एमालेले सशक्तरूपमा दाबी गरिरहेको छ । अघिल्लो पटक एमालेको समर्थनमा माओवादीले पाँच वर्ष सरकार चलाएकोले भन्दै अहिले माओवादीको समर्थनमा एमालेले सरकारको नेतृत्व पाउनु पर्ने नेताहरूको जिकिर छ । यही माग लिएर एमाले नेताहरू आज साँझ अध्यक्ष केपी ओलीलाई भेट्न जाने तयारीमा छन् ।

    एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र एमाले संसदीय दलका नेता राजेन्द्र रावल नेतृत्वको दाबी लिएर बालकोट जान लागेका हुन् ।

    नागरिक उन्मुक्ति निर्णायक

    माओवादीका खगराज भट्ट र एमालेका राजेन्द्र रावलमात्रै होइन नागरिक उन्मुक्तिमा रामेश्वर चौधरी पनि मुख्यमन्त्रीको लबिङमा छन् । नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म औपचारिक रुपले मुख्यमन्त्रीको दाबी गरेको छैन तर, केही नेताहरू मुख्यमन्त्री पाउने अवस्थामा सरकारमा जान सकिने बताउँदै आइरहेका छन् ।

    नागरिक उन्मुक्तिका ७ सांसद सुदूरपश्चिममा निर्णायक छन् । यहाँ सत्ता गठबन्धनमा माओवादी ११, एमाले १० र राप्रपा १ सांसद छन् । यो गठबन्धनमा नागरिक उन्मुक्ति समावेश हुँदा २९ पुग्छ नहुँदा २२ मात्रै हुन्छ । यहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।

    सत्ता गठबन्धनभन्दा बाहिर रहेको कांग्रेसमा १९ नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन्। कांग्रेस, नेकपा एस र स्वतन्त्र मिलाउँदा पनि २४ मात्रै हुन्छ । नागरिक उन्मुक्ति जुन गठबन्धनमा मिल्ने अवस्था आउँछ त्यहि गठबन्धनको सरकार बन्ने अवस्था छ ।

    अहिले नेताहरू आफ्नो नेतृत्वसँग आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने कुरासँगै नागरिक उन्मुक्तिलाई मनाउने कुरामा पनि जोड दिन आग्रह गरिरहेका छन् ।

  • कर्णालीमा सरकार गठन : बालकोट र बालुवाटारको ‘ग्रिन सिग्नल’ पर्खिँदै

    कर्णालीमा सरकार गठन : बालकोट र बालुवाटारको ‘ग्रिन सिग्नल’ पर्खिँदै

    सुर्खेत । कर्णालीमा गठबन्धन दलबीच नै सरकार गठनकाबीचमा मतभेद हुँदा सरकार गठनको पेचिलो बनेको छ । गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सरकार गठनका बिषयमा साझा धारणा बन्न नसक्दा सरकारको नेतृत्वमा तानातानको स्थिति सिर्जना भएको छ ।

    हालसम्म प्रदेशस्तरमा सरकार गठनलाई लिएर एमाले-माओवादीबीच प्रारम्भिक छलफलसमेत हुन सकेको छैन । भागबण्डामा सत्तारुढ गठबन्धनमा सहमति हुन बाँकी रहेका कारण प्रदेशमा सरकार गठन प्रक्रियाले गति लिन नसकेको हो ।

    प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानी सरकार गठनबारेमा हालसम्म प्रदेश प्रमुखले कुनै गृहकार्य नगरेको बताउँछन् ।

    ‘आजका दिनसम्म प्रदेश प्रमुखज्यूले सरकार गठनका विषयमा छलफल अघि बढाउनुभएको छैन’, थानीले भने, ‘राजनीतिक विषय हो, उहाँले दलहरूलाई सरकार गठनका लागि कहिले आह्वान गर्नुहुन्छ त्यो हामीले भन्न सक्ने विषय पनि रहेन ।’

    थानीका अनुसार प्रदेश प्रमुख तिलक परियारले दलहरूसँग सामूहिक वा एकल कुनै पनि छलफल गरेका छैनन् । आगामी प्रदेश सरकार निर्माणको साँचो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातमा रहेकाले पनि कर्णालीका नेताहरू अलमलमै छन् ।

    माओवादी केन्द्रको प्रदेश कमिटीस्तरका नेताहरूले पनि अध्यक्ष प्रचण्डलाई भेटेर कर्णाली सरकारको नेतृत्व आफूले पाउनुपर्ने आधारसहित दाबाब बढाएका छन् । कर्णाली माओवादी केन्द्रको आधार इलाका र गठबन्धनमा ठूलो दल भएकाले सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने विषयमा प्रचण्डसँग छलफल भएको माओवादी केन्द्र प्रदेश इन्चार्ज कालीबहादुर मल्ल बताउँछन् । तर, अध्यक्ष प्रचण्डले गठबन्धनमा हुने सहमतिकै आधारमा सरकारको भागबण्डा हुने जवाफ दिएको इन्चार्ज मल्लले बताए ।

    यस्तै कर्णालीमा माओवादी केन्द्र र एमालेले सरकारको नेतृत्वका लागि आफ्ना छुट्टाछुट्टै दाबीसहित शक्ति केन्द्र भने धाइरहेका छन् । एमालेका प्रदेशस्तरका नेताहरूले केही दिनअघि अध्यक्ष ओलीसँग भेटेर सरकारको नेतृत्वका बारेमा छलफल गरेका थिए ।

    एमाले संसदीय दलका नेता यामलाल कँडेलसहितका नेताहरूले अध्यक्ष ओलीलाई भेटेर सरकारको नेतृत्व एमालेले नै गर्नुपर्ने बताएका छन् । प्रत्यक्षतर्फको परिणामको संख्यामा तलमाथि भए पनि समानुपातिक मतका हिसाबले कर्णालीमा एमाले नै पहिलो पार्टी भएको निष्कर्षसहित पहिलो चरणमा दाबी रहने पार्टी केन्द्रलाई जानकारी गराइएको एक नेताले बताए ।

    एमालेले स्थायी कमिटी सदस्य एवम् प्रेदश इन्चार्ज यामलाल कँडेल र माओवादी केन्द्रले राजकुमार शर्मालाई संसदीय दलको नेता सर्वसम्मत चयन गरिसकेका छन् । कर्णालीमा माओवादी केन्द्र, एमाले र राप्रपा मिल्दा बहुमत पुग्छ ।

    ४० सदस्यीय प्रदेशसभामा यो गठबन्धनका पक्षमा २४ सांसद छन् । सरकार गठन गर्न कम्तीमा २१ सीट आवश्यक पर्छ । जसमा माओवादी केन्द्र १३, एमाले १० र राप्रपाका १ सांसद रहेका छन् ।

  • माधव नेपालसँग प्रचण्डको आग्रह : मलाई विश्वासको मत दिनुस्

    माधव नेपालसँग प्रचण्डको आग्रह : मलाई विश्वासको मत दिनुस्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

    सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको दल कार्यालय भेटी प्रधानमन्त्रीले अध्यक्ष नेपाललाई सरकारलाई विश्वासको मत प्रदान दिन आग्रह गरेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए ।

    प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै कुनै निर्णय गर्न सकेको छैन । उनीहरूले सरकारबाट औपचारिक प्रस्ताव नआएको बताउँदै आइरहेका छन् ।

    भेट हुनुअघि अध्यक्ष नेपालले प्रचण्डको अनुहार हेरेर समर्थन गर्न मिल्ने भए गरिसक्ने प्रतिक्रिया दिएका थिए । उनले सरकारको काम हेरेर प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत दिनसम्म निर्णय लिने बताएका थिए ।

    तर, प्रचण्डले माधव नेपाललाई पनि आफू नेतृत्वको सरकारमा समेट्ने प्रयास गरिरहेका छन् ।

  • ओली-प्रचण्डले निर्णय नदिँदा लुम्बिनीमा एमाले-माओवादीमा दोधार

    ओली-प्रचण्डले निर्णय नदिँदा लुम्बिनीमा एमाले-माओवादीमा दोधार

    रुपन्देही । सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रले लुम्बिनीमा शक्ति बाँडफाँटका लागि मुख्यमन्त्री र प्रदेश सभामुख लिने गरी टुंगाएका छन् । प्रदेशसभाको पहिलो बैठक बसेसँगै मुख्यमन्त्री र सभामुख चयनको विषयले प्रवेश पाइसकेको छ ।

    दलको नेता छानिइसकेकाले सरकारको नेतृत्व गरेका यी दुई दलबाटै कसलाई सभामुखमा पठाउँछन् भन्ने चासो अहिले बढेको छ । संविधानको व्यवस्थाअनुसार निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाएको ३० दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्नेछ ।

    यस आधारमा पुसको अन्तिम सातासम्म मुख्यमन्त्री चयन गर्नुपर्नेछ । प्रदेशसभाको पहिलो बैठक सुरु भएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने व्यवस्था संविधानको धारा १८२ मा छ । सोमबार बसेको पहिलो बैठकपछि माघ ३ गते बैठक बोलाइएको छ । लुम्बिनी प्रदेशले माघ ३ मै सभामुख पाउनेछ ।

    एमाले शीर्ष नेताहरुका अनुसार मुख्यमन्त्री करिब एमालेले पाउने निश्चित छ । एमालेबाट संसदीय दलको नेतामा लीला गिरी चयन भएकाले उनी नै मुख्यमन्त्री बन्नेछन् ।

    ‘मुख्यमन्त्रीको टुंगो करिब करिब लागि नै सकेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डलाई नै निर्णयको जिम्मा रहेकाले अन्य प्रदेशमा गठबन्धन दललाई मिलाउँदा छाड्नुपर्ने पनि हुनसक्छ’, एमालेका एक नेताले भने ।

    उनका अनुसार मुख्यमन्त्रीका लागि बागमती र लुम्बिनी प्रदेशमा कुन पार्टीले लिने अझै अन्तिम टुंगो लागेको छैन । एमालेले लुम्बिनीको नेतृत्व पाएपछि बागमतीमा माओवादीको नेतृत्व हुनेछ । एमालेले मुख्यमन्त्री पाएपछि लुम्बिनीमा माओवादी केन्द्रले सभामुख पाउनेछ ।

    सभामुखमा माओवादीबाट तुलाराम घर्ती हुने करिब टुंगो लागे पनि बुधबार स्वतन्त्रबाट जितेका रोल्पाका दीपेन्द्र पुन सिजल माओवादीमै फर्केपछि उनको सम्भावना बढेको छ । घर्ती यसअघि प्रमुख सचेतक बनिसकेको र अहिले दलको नेतामा दाबी गरेकाले उनैले पाउने सम्भावना बढी छ । एमालेमा जान तयार सिजललाई नेताहरुले आश्वासन दिएर नै फर्काएको आकंलन छ ।

    तर, प्रत्यक्षबाट जितेकी एकमात्र प्रदेश सांसद कृष्णा केसी भएकाले उनी पनि बलियो दावेदार हुन् ।

    माओवादीले स्थायी कमिटी सदस्य रोल्पाका जोखबहादुर महरालाई दलको नेता चयन गरेको छ । माओवादीले नेतृत्व पाउँदा महरा मुख्यमन्त्री हुनेछन् । संसदीय अभ्यासमा पहिलो पटक आए पनि प्रचण्डको सचिवालयमा बसेर आएको सिनियर नेता भएकाले उनले अवसर पाउनेछन् ।

    एमालेले सभामुख पाउने अवस्था आएमा भने भोजप्रसाद श्रेष्ठ वा दिनेश पन्थी सभामुख हुनेछन् । माओवादीले मुख्यमन्त्री पाएको अवस्थामा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सरकारमा जाने नेताहरुले बताएका छन् । मुख्यमन्त्री र सभामुखको बाँडफाँट करिब सकिएकाले अब उपसभामुख, मन्त्रालय, संसदीय समितिहरुमा गठबन्धन दलहरुबीच भागबन्डा हुनेछ ।

    लुम्बिनीमा एमालेको २९, माओवादीको १०, नागरिक उन्मुक्ति र राप्रपाका ४-४, जनमतका ३ सांसदको गठबन्धन छ । जसपाले पनि केन्द्रमा गठबन्धन सरकारलाई समर्थन गरेको छ । जसपाका लुम्बिनीमा ३ सांसद छन् । सत्ता बाँडफाँट हुँदा सबै सांसदको प्रतिनिधित्व हुने देखिएको छ ।

    यद्यपि राप्रपा र जसपा केन्द्र सरकारमा सहभागी नभएकाले प्रदेशमा के गर्छन् भन्ने टुंगो छैन । सभामुखमा एमाले-माओवादीबाट दाबी भए पनि उपसभामुखमा भने गठबन्धनका अन्य दलको दाब रहनेछ ।

  • गठबन्धनको बागी बनेर जितेका प्रदेश सांसद पुन आत्मालोचनासहित माओवादीमै फर्किए

    गठबन्धनको बागी बनेर जितेका प्रदेश सांसद पुन आत्मालोचनासहित माओवादीमै फर्किए

    काठमाडौं । तत्कालीन पाँचदलीय गठबन्धनमा कांग्रेसका उम्मेदवारविरुद्ध बागी उठेर जितेका प्रदेशसभा सदस्य दीपेन्द्र पुन ‘सिजल’ आत्मालोचनासहित माओवादी पार्टीमै फर्किएका छन् ।

    रोल्पाको प्रदेश सभा क्षेत्र नम्बर २ मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनबाट टिकट पाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । यद्यपि माओवादी पंक्तिको भित्रभित्रै उनलाई समर्थन रहेको थियो ।

    दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका पुनले बुधबार बिहान माओवादी उपमहासचिव वर्षमान पुनसँगै बालुवाटार गएर अध्यक्ष प्रचण्डलाई भेटेर पार्टीमा फर्किएका हुन् ।

    गठबन्धनको उम्मेदवारविरुद्ध बागी बनेपछि उनलाई पार्टीले निष्कासन गरेको थियो । पार्टीको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएर उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    सिजलको प्रवेशसँगै लुम्बिनी प्रदेशसभामा माओवादीको सांसद संख्या १० पुगेको छ ।

  • अखिल क्रान्तिकारीको विद्रोही समूहले कमर्स क्याम्पसमा बनायो समानान्तर कमिटी

    अखिल क्रान्तिकारीको विद्रोही समूहले कमर्स क्याम्पसमा बनायो समानान्तर कमिटी

    काठमाडौं । अखिल क्रान्तिकारी विद्रोही समूले नेपाल कमर्स क्याम्पसमा ३५ सदस्यीय समानान्तर इकाई कमिटी चयन गरेको छ ।

    क्रान्तिकारीले क्याम्पसको १३ औं क्याम्पस सम्मेलनबाट अध्यक्ष सरोज रायको नेतृत्वमा समानान्तर कमिटी निर्माण गरेको हो ।

    केन्द्रीय संयोजक पवन कार्कीको प्रमुख आतिथ्यतामा गठित कमिटीका उपाध्यक्ष विमल लिम्बू, सचिवमा तीर्थ राज दुङ्गे, सहसचिवमा दुर्गा देवी मैनाली, मनोज थापा, सर्गम रावत रहेका छन् । त्यस्तै, कोषाध्यक्षमा संगीत पौडेल रहेका छन् ।

  • हरिबोल प्रधानमन्त्रीको मुख्य सल्लाहकार बन्ने, वाईसीएल इन्चार्जलाई पनि सचिवालयमा राख्ने तयारी

    हरिबोल प्रधानमन्त्रीको मुख्य सल्लाहकार बन्ने, वाईसीएल इन्चार्जलाई पनि सचिवालयमा राख्ने तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा उपमहासचिव हरिबोल गजुरेललाई ल्याउने भएका छन् । प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि असन्तुष्ट नेता गजुरेललाई प्रचण्डले मुख्य सल्लाहकार बन्न आग्रह गरिसकेका छन् ।

    सिन्धुली २ मा उनको टिकट बाहुबली नेता राजन दाहाल (लेखनाथ)ले खोसेका थिए । तत्कालीन नेकपामा हुँदा गजुरेलले प्रचण्डलाई माधव नेपाल र झलनाथ खनालहरुको उक्साहटमा नलागी केपी ओलीसँग मिलेर काम गर्न सुझाएका थिए । त्यसपछि प्रचण्ड आफूप्रति नकारात्मक बनेको गजुरेलले बताउने गरेका छन् ।

    यसपटक टिकटका लागि प्रदेश कमिटीबाट सिफारिस भए पनि राजन दाहालले हुलहुज्जत गरेर प्रचण्डलाई दबाबमा पारेको आरोप गजुरेलको छ । उपराष्ट्रपति बन्न अस्वीकार गरेका गजुरेलले प्रचण्डसँग पार्टीकै कार्यकारी भूमिका माग गरेका थिए । तर, प्रचण्डले उनलाई मुख्य सल्लाहकार बन्न भनेका छन् ।

    सरकारले विश्वासको मत लिएर मन्त्रिपरिषदले पूर्णता पाएपछि गजुरेलको नियुक्ति हुने बताइएको छ । मन्त्रीसरहको सुविधा पाउने गरी गजुरेल प्रचण्डको सल्लाहकार बन्न तयार रहेको बताइएको छ ।

    उता वाईसीएल इन्चार्जसमेत रहेका नेकपा माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा (दीपशीखा)ले पनि यसपटक प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी पाउने भएका छन् । समकालीन नेताहरु सांसद र मन्त्री बने पनि सापकोटाले अहिलेसम्म संसदीय भूमिका पाएका छैनन् ।

    उनी यसपटक भक्तपुर २ बाट चुनाव लड्न चाहन्थे । प्रचण्डका सदाबहार सहयोगी सापकोटा कुनै वेला चुनावी कमाण्डरसमेत थिए । प्रचण्डको सचिवालयमा बसेर राम्रो काम गर्ने भूमिका पाए आफू त्यसका लागि तयार रहेको उनले प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहालमार्फत सन्देश पठाएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयमा अहिले औपचारिक रुपमा कसैले नियुक्ति पाएका छैनन् । यसपटक प्रधानमन्त्रीको सचिवालय चुस्त र कामकाजी बनाउने तयारी छ । सकेसम्म सातै प्रदेशबाट प्रधानमन्त्रीको सचिवालयमा एकएक जना समेट्ने सम्भावना छ ।

  • यातायातको अनुगमनपछि मन्त्री श्रेष्ठले भने- जनताले पाएको दु:ख हेरेरमात्र बस्दैनौं

    यातायातको अनुगमनपछि मन्त्री श्रेष्ठले भने- जनताले पाएको दु:ख हेरेरमात्र बस्दैनौं

    काठमाडौं । सेवाग्राहीले दैनिक सास्ती भोग्ने यातायात कार्यालयमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आज स्थलगत अनुगमन गरेका छन् । बिहान कार्यालय समय सुरू भएसँगै अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले एकान्तकुना, ठूलोभर्‍याङ र गुर्जुधारा यातायात कार्यालय गएर सेवाग्राहीका गुनासो सुने ।

    उनले त्यहीँबाट संघ र प्रदेश मन्त्रालय बसेर यातायात व्यवस्था सुधार कार्ययोजना ल्याउने घोषणा गरेका छन् ।

    ठूलोभर्‍याङ यातायात कार्यालयको अनुगमनपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री श्रेष्ठले यातायात व्यवस्था कसरी सुधार गर्ने भन्ने विषयमा संघीय सरकारले तत्काल काम थाल्ने र यसका लागि प्रदेश सरकारसँग छलफल गरिरहेको जानकारी दिए ।

    उनले भने, ‘अहिलेको समस्या र कमजोरीलाई अध्ययन गरेर जनतालाई सर्वसुलभ रूपमा सेवा दिनका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौँ । स्थलगत अध्ययन गरेर छिटोभन्दा छिटो यातायात सुधार कार्ययोजना बनाउँछौँ ।’

    जनताले अहिलेसम्म पाएको दु:ख अन्त्य गरेर नयाँ ढंगबाट काम गर्ने उनको प्रतिबद्धता छ । जनताको कामलाई सरल ढंगबाट गर्न कर्मचारी थप गरेर भएपनि तत्काल गर्ने बताए ।

    उनले भने, ‘जनताले पीडा पाइरहेका छन् । हामी हेरेर बस्दैनौँ । हेरेर बस्ने भए हाम्रो काम छैन । त्यसैले हामीले त्यो समस्या समाधान गर्नुपर्छ ।’

    उनले सर्वसुलभ रूपमा सुशासनमा रहेर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए ।

    तस्बिरहरु : गौरव पौडेल

  • नेसपाले बैठक बोलायो, माओवादीसँगको एकताबारे पनि छलफल हुने

    नेसपाले बैठक बोलायो, माओवादीसँगको एकताबारे पनि छलफल हुने

    काठमाडौं । नेपाल समाजवादी पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ । पुस २४ गते बस्ने गरी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले बताए ।

    बैठकमा पार्टीको आगामी यात्रा, माओवादीसँगको एकता र समसामयिक राजनीति विषयमा छलफल हुने बताए।

    डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा मंसिर ४ मा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गएको छ ।

    १० वर्षे जनयुद्धका सहयात्री प्रचण्ड र बाबुराम अहिले नजिक भएका छन् । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग सोमबार अध्यक्ष भट्टराईले भेटवार्ता गरेका थिए । नेसपाका अधिकांश नेताहरूले अब माओवादीसँग एकता गर्नुपर्नेमा जोड दिएका छन् ।

  • यातायात कार्यालयमा मन्त्री श्रेष्ठको ‘छड्के’, छिटो र झन्झटरहित सेवा प्रवाहमा जोड

    यातायात कार्यालयमा मन्त्री श्रेष्ठको ‘छड्के’, छिटो र झन्झटरहित सेवा प्रवाहमा जोड

    काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गरेका छन् ।

    मंगलबार कार्यालय समय सुरू हुनासाथ मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका थिए । छिटो र झन्झटरहित सेवा प्रवाहका लागि उनले कर्मचारीलाई निर्देशन दिएका छन् । साथै सेवाग्राहीसँग पनि पाइरहेको सेवा र गुनासोबारे पनि जिज्ञासा राखेका थिए । उनले सवारी चालक अनुमति पत्रका लागि भइरहेको लिखित तथा ट्रायल परीक्षाको पनि निरीक्षण गरेका छन् ।

    उनले मन्त्रालय सम्हालेलगत्तै भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको उल्लेख गर्दै भनसुन र घूस नखुवाई काम गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।

    उनले सोमबार पनि आफ्नो मन्त्रालयमा १० बजे कार्यालय उपस्थित नहुने कर्मचारीको तलब काट्ने चेतावनी दिएका थिए ।

  • आज प्रधानमन्त्री प्रचण्डले निर्देशनात्मक सम्बोधन गर्ने

    आज प्रधानमन्त्री प्रचण्डले निर्देशनात्मक सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारबाही प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन्।

    प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका हुन्।

    प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले सचिवका कार्यविवरण सुनिसकेपछि आज आवश्यक निर्देशन दिने भएका हुन्।

    यही पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डल सुशासन र नागरिकलाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए।

    पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए।

    विशेषगरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार सोमबार पहिलो चरणमा प्रधानमन्त्रीले सचिवहरूसँग छलफल गरेका हुन्।

    केही सचिव र विभागका प्रमुखले आआफ्ना विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए।

    उनीहरूले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए।

    छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटनलगायत मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको प्रतिवेदन प्रस्तुत गरेका थिए।

    केही सचिव र विभागको विवरण आज प्रस्तुत भएपछि मात्रै प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको प्रेस संयोजक शर्माले जानकारी दिए।

  • सधैं १० मिनेट ढिलो आउने कर्मचारीको हाजिर गयल गर्ने उपप्रधानमन्त्री श्रेष्ठको निर्णय

    सधैं १० मिनेट ढिलो आउने कर्मचारीको हाजिर गयल गर्ने उपप्रधानमन्त्री श्रेष्ठको निर्णय

    काठमाडौं । उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारी ढिलो कार्यालय आउने प्रचलन रोक्नका लागि विद्युतीय हाजिरीलाई कडाइ गर्ने निर्णय गरेका छन् । नियमितबाहेक कहिलेकाहीँ १० मिनेटसम्म ढिला आए कारण बताएर हाजिर सदर गर्ने तर दैनिक १० मिनेट ढिला आउने कर्मचारीको हाजिर गयल गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको जानकारी गराएका हुन् । यद्यपी विशेष कारण परेमा कहिलेकाहीँ भने छुट दिइने मन्त्री श्रेष्ठ बताए ।

    उनले सोमबार नेकपा (माओवादी केन्द्र) निकटका पत्रकारको संगठन प्रेस सेन्टर नेपालका पदाधिकारीसँगको छलफलमा मन्त्रालय मातहतका सबै कर्मचारीको गुनासो सुन्ने व्यवस्था मिलाइएको बताएका छन् । मन्त्रालयका कार्यालय सहयोगीदेखि सवारी चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक आव्हान गर्ने र उक्त बैठकमा उनीहरुको कुरा सुन्ने व्यवस्था मिलाइएको बताए ।

    हरेक महिना मन्त्रालयका कर्मचारीका गुनासा सुन्ने र महिनामा दुई पटक मन्त्रालय मातहतका विभागका कर्मचारीका कुरा सुन्ने व्यवस्था मिलाएको उपप्रधामन्त्री श्रेष्ठले बताए । त्यस्तै आम नागरिकले भोगिरहेका समस्या, गुनासा र सुझाव लिनका लागि जतिसक्दो चाडै एउटा विशेष संयन्त्र बनाउन लागिएको पनि बताए ।

    मन्त्री श्रेष्ठले आफुले तीनवटा काममा बढी प्राथमिकता दिएको पनि जानकारी गराएका छन् । उनका अनुसार सुशासन, यातायात व्यवस्थापन र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको र त्यसका लागि छुट्टै संयन्त्र निर्माण गरी काम गर्ने योजना अघि सारिएको बताए ।

    काठमाडौंको यातायातको समस्या, लाइसेन्स छपाई तथा वितरणमा देखिएको समस्या, प्रदुषण नियन्त्रणका लागि स्टिकर लिन लाग्ने झनझट लगायत विषयमा वागमती प्रदेश सरकार र विभागीय मन्त्रीसँग छलफल गरेर अघि बढाइसकिएको मन्त्री श्रेष्ठको भनाई छ । त्यसका लागि सबैभन्दा पहिले बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाललाई भोली मन्त्रालयमा बोलाइएको पनि उनले जानकारी गराएका छन् ।

    नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेका उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेदेखि हरेक क्षेत्रका व्यक्तिसँग सुझाव संकलन गरिरहेको जनाएका छन् ।

     

  • प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

    प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्।

    संसद्का महासचिवलाई सम्बोधन गर्द २६ गते व्यवस्था मिलाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

    नेपालको संविधानको ६७ को उपधार (२) बमोजिम नियुक्त भएपछि तीस दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रचण्डले १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

    प्रतिनिधिसभामा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ।