Category: माओवादी केन्द्र

  • माओवादीबाट राजीनामा नदिई रास्वपाका उम्मेदवार बने मिलन लिम्बू, प्रेस सेन्टरले गर्‍यो बर्खास्त

    माओवादीबाट राजीनामा नदिई रास्वपाका उम्मेदवार बने मिलन लिम्बू, प्रेस सेन्टरले गर्‍यो बर्खास्त

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा उम्मेदवार बनाएका मिलन लिम्बूले माओवादीबाट राजीनामा नदिएको खुलेको छ । उनी माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए भने माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए ।

    प्रेस सेन्टरले हिजो एक विज्ञप्ति जारी गरी उनलाई संगठनको जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ । सेन्टरका महासचिव सन्तोष पौडलद्वारा जारी विज्ञप्तिमा लिम्बूले संगठनको नीति, विधि, विधान र आचरणविपरीत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामा अभिव्यक्ति दिएको तथा अनुशासनविपरीत गतिविधि गरिरहेको उल्लेख छ ।

    ‘पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको र संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत वेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकाले संगठनको अनुशासन समितिको सिफारिसमा आजकै मितिदेखि सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

    रास्वपालाई मिलनले आफू माओवादीबाट अलग भइसकेको बताएका थिए । यद्यपि, उनले प्रेस सेन्टरमा राजीनामा नबुझाएको महासचिव पौडेलले नेपाल प्रेससँग बताए ।

    ‘उहाँले राजीनामा दिनुभएको छैन,’ पौडेलले भने, ‘सामाजिक सञ्जालमा लेखेको कुरालाई हामी मान्यता दिँदैनौं ।’

    लिम्बू माओवादीबाट इलाम २ मा चुनाव लड्न चाहन्थे । तर, टिकट पाउने परिस्थिति नदेखेपछि उनले ‘पहिचानवादी’ समूहबाट साझा उम्मेदवार बन्ने प्रयासमा लागे । त्यसमा पनि सफल भएनन् । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरे । उनले आफूलाई ‘अकबरे उम्मेदवार’ भन्दै चुनाव चिन्हको रुपमा ‘डल्ले खुर्सानी’ को प्रचार गरिरहेका थिए ।

    स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुअघि २३ फागुनमा लिम्बूले एउटा ‘प्रेस विज्ञप्ति’ सामाजिक सञ्जालमा राखेका छन् । त्यसमा उनले आफूले सबै राजनीतिक आवद्धता त्याग गरेको उल्लेख गरेका थिए ।

    ‘आम नेपालीजनको विकास, समृद्धि र परिवर्तनको चाहना तथा अपेक्षालाई नेपालका राजनीतिक दलहरुले गरेको उपेक्षालाई मध्यनजर गर्दै आजैका मितिबाट राजनीतिक आवद्धताबाट पूर्णरूपमा अलग भएको सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा जानकारी गराउन चाहन्छु,’ उनले लेखेका थिए । उनले सीधै माओवादी नभनेर अमूर्तरूप भाषा प्रयोग गर्दै ‘राजनीतिक आवद्धता’ छाडेको भनेका छन् । तर, त्यतिबेला उनको रास्वपासँग कुराकानी सुरू भइसकेको थियो ।

    रास्वपा सभापति रवि लामिछानेसँग मिलनले न्यू २४ टेलिभिजनमा सँगै काम गरेका हुन् । रास्वपाले इलाममा स्थानीय जनजाति अनुहार खोजिरहेको थियो । स्वतन्त्र उम्मेदवारी दिए पनि जित्ने सम्भावना नदेखेपछि लिम्बूले पार्टीकै छहारी खोज्न थाले । दुवैको ‘चुनावी स्वार्थ’ मिलेपछि नीतिगत विषय ‘सेकेन्डरी’ भयो र कथित ‘प्राइमरि इलेक्सन’ अगाडि नै मिलनलाई उठाउने रास्वपाले पक्का गरेको थियो ।

    रास्वपासँग मिलनले बोकिरहेको व्यक्तिगत विचारधारा मेल खाँदैन । मिलन संघीयताका कडा पक्षपाति मात्र नभएर जातीयताका हिमायती हुन् । कोशी प्रदेशको नामकरण पहिचानका आधारमा हुनुपर्ने भन्दै उनी संघर्षरत छन् । रास्वपा संघीयताको आलोचक हो, जसले प्रदेश सभा चुनावमा पनि भाग लिने गरेको छैन । रास्वपा कोशी प्रदेश नामकरणको विरोधमा पनि छैन । तर, मिलनले उम्मेदवारी घोषणापछि एक भिडिओ सन्देश जारी गर्दै रास्वपाले आफूसँग संघीयता र पहिचानको पक्षमा प्रतिवद्धता जनाएको दाबी गरेका छन् ।

    मिलनलाई हटाइएको जानकारीसहित सेन्टरको विज्ञप्ति-

  • आधा आकाश ओगट्ने महिलालाई बेवास्ता गरेर चम्किलो धर्तीको कल्पना गर्न सकिन्न : प्रधानमन्त्री (भिडिओ)

    आधा आकाश ओगट्ने महिलालाई बेवास्ता गरेर चम्किलो धर्तीको कल्पना गर्न सकिन्न : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटि चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन् ।

    शुक्रबार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले महिलाहरू आर्थिक हिसाबले सशक्त भएमात्र साँचो अर्थमा सशक्तिकरण हुन सक्ने बताए ।

    प्रधानमन्त्री दाहालले महिला उद्यमशिलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रूपमा लिएको बताए । महिला उद्यमीलाई विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकिएको कुरा सुन्न आएको भन्दै त्यसलाई फेरि जोडिने भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री दाहालले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रवर्द्धन गर्न, कर छुटलगायतका सुविधा उपलब्ध गराउन पहल लिने विश्वास जनाए ।

  • बिना मगरलाई सहईन्चार्ज नस्वीकार्ने भन्दै सिनियर पाँच केन्द्रीय सदस्यले गरे छलफल बहिष्कार

    बिना मगरलाई सहईन्चार्ज नस्वीकार्ने भन्दै सिनियर पाँच केन्द्रीय सदस्यले गरे छलफल बहिष्कार

    कैलाली । माओवादी सिनियर केन्द्रीय सदस्यहरूको छलफलमा प्रदेशको सहईन्चार्ज बिना मगरलाई बनाएको प्रति विवाद उत्पन्न भएको छ । फागुन १६ गतेको स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सहईन्चार्जमा बिना मगरलाई जिम्मेवारी तोकिएको थियो ।

    जुनियरलाई सहईन्चार्ज बनाएको भन्दै सोही दिनबाट विरोध गरेका माओवादीका नेताहरूले आज धनगढीमा भएको छलफल पनि बहिष्कार गरेका छन् । हेमराज भट्टराई, हरि ज्ञवाली, नेपबहादुर चौधरी, विरमान चौधरी र भगत बडूवालले सामूहिक रुपमा बैठक बहिष्कार गरेका हुन् ।

    प्रदेश इन्चार्ज पोख्रेल, सहईञ्चार्ज मगरको उपस्थितिमा केन्द्रीय सदस्य तथा प्रदेश सचिवालय सदस्यहरूको बैठकका लागि एजेन्डा तयार गर्न बसेको छलफल पाँच जना सिनिअर केन्द्रीय सदस्यहरूले बहिष्कार गरेका हुन् ।

    गत स्थायी समितिको प्रदेशको सङ्गठन सम्बन्धी गरेको निर्णयमा असहमति जनाउँदै उक्त निर्णय नसच्चिएको भन्दै बैठक बहिष्कार गरेको धर्मराज भट्टराईले जानकारी दिए ।

    ‘सुदूरपश्चिम प्रदेशको सङ्गठन सम्बन्धी गरिएको निर्णय अवैज्ञानिक छ अवस्तुवादी छ । त्यस कारणले यो बेठीक छ यो सच्चाइनु पर्छ भन्ने हाम्रो माग हो’, उनले भने, ‘सिनियर कमरेडहरूलाई बाहिर राखेर जिम्मेवारी दिने प्रक्रियाबारे गम्भीर भएका थियौँ । हामीले हाम्रो कुरा राख्यौँ र बाहिर निस्कियौँ ।’

    उनले स्थायी कमिटी बैठकले गरेको उक्त निर्णय सच्चाउन समेत माग गरे । यस अघि नै उक्त निर्णय प्रति असहमति जनाउँदै प्रदेश इन्चार्ज, केन्द्रीय नेतृत्व लगायतलाई जानकारी गराइएको समेत उनले बताए ।

    ‘आफ्नो माग राख्यौँ प्याकेजमा हल गरिनु पर्छ भन्यौँ । सिनिअर साथीहरूको मनोविज्ञानमा असर पर्ने गरि गरिएको निर्णय स्वीकार्य हुन सक्दैन’, उनले भने ।

    यस अघि प्रदेश अध्यक्षले पार्टी अध्यक्षसँग छलफल गर्ने बताएको तर, आजको छलफलमा स्थानीय कमिटी बैठकले गरेकै निर्णय अनुसारको धारणा आएपछि पाँच जनाले सामूहिक धारणा राखेर बैठक बहिस्कार गरेका हुन् ।

    पाँच जनाले बैठक बहिस्कार गरेपनि अन्य बहुमत सिनियर केन्द्रीय सदस्यहरूको छलफल जारी रहेको थियो । उक्त छलफल केन्द्रीय सदस्यहरूको बैठकको एजेन्डा र प्रदेश सचिवालय सदस्यहरूको बैठकको एजेन्डा तय गर्ने जनाइएको छ ।

     

  • गठबन्धनको कोपभाजनमा परेकी उर्मिला अर्यालको माओवादी संसदीय दलको नेतामा दाबी

    गठबन्धनको कोपभाजनमा परेकी उर्मिला अर्यालको माओवादी संसदीय दलको नेतामा दाबी

    काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षबाट आज राजीनामा दिएकी उर्मिला अर्यालको भनाइमा उनी यो पदका लागि इच्छुक नै थिइनन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले मौका आएपछि अध्यक्ष नै बनाउने आश्वासन दिएर उनलाई उपाध्यक्षमा उठ्न मनाएका थिए ।

    सत्तारुढ गठबन्धन फेरिएसँगै राष्ट्रियसभाको अध्यक्ष माओवादीको भागमा पर्‍यो पनि । तर, माओवादी अध्यक्ष तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्याललाई पन्छाएर आफ्नो भाइ नारायणप्रसाद दाहाललाई रोजे । नयाँ गठबन्धनमा भएको सहमति अनुसार उपाध्यक्ष अर्को दलको भागमा परेको छ । यसर्थ आज अर्यालले उपाध्यक्षबाट राजीनामा दिइन् ।

    नयाँ गठबन्धनबीच अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने सहमति प्रारम्भिकरूपमा भएको थियो । तर, नेकपा एस पनि गठबन्धनमा मिसिएपछि उपाध्यक्षमा दाबी गर्‍यो । फलतः गठबन्धनको संशोधित सम्झौतामा उपाध्यक्ष एमालेलाई दिने वाक्यांश गायब भएको छ । यद्यपि, माओवादीले अध्यक्ष पाइसकेकाले उर्मिलाले उपाध्यक्षबाट राजीनामा दिनैपर्ने परिस्थिति बनेको थियो ।

    मैले कुरा राखेकी छु । उहाँहरूले पनि सोच्ने विषय हो । अहिले संसदीय दलको नेता रहनुभएका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुनुहुन्छ । उहाँ सरकारमा गइसकेपछि वरीयताले पनि संसदीय दलको नेताको दाबेदार त मै हुँ । पार्टी अध्यक्षले सोच्नुहोला ।

    नेपाल प्रेससँग कुरा गर्दै अर्यालले आफूले व्यक्तिगत र राजनीतिक परिस्थितिका कारण राजीनामा दिएको बताइन् ।

    ‘राजनीतिक कुरा तपाईंले बुझ्नुभएकै छ । व्यक्तिगत कुरा गर्दा अध्यक्षमा नारायण दाहालज्यू आउनुभएपछि मलाई उपाध्यक्षमा बसिरहन मन भएन । पार्टीमा उहाँ र म एउटै स्टेटसका नेता हौं । खासमा त राजनीतिमा उहाँभन्दा मै पुरानो हुँ,’ अर्यालले भनिन् ।

    उनले गठबन्धनमा भागबण्डाको कुरा पनि भएकाले आफूले राजीनामा गर्नुको विकल्प नरहेको बताइन् ।

    ‘नेताहरूले केही भन्नुभएको त थिएन, तर आशय त बुझ्नुपर्‍यो नि ! मैले पनि पार्टीलाई अप्ठेरो पारिदिनु भएन,’ उनले भनिन्, ‘एउटालाई अध्यक्ष बनाएपछि अर्कोले उपाध्यक्षबाट छोड्नै पर्‍यो, उपाध्यक्ष अर्को पार्टीलाई दिने भनिसक्या छ ।’

    आफूलाई अध्यक्ष बनाउने आश्वासन दिएका प्रचण्डले अहिले त्यो मौका आएपछि अर्को व्यक्ति रोजेकोमा विस्मित छिन् उर्मिला ।

    उनी भन्छिन्, ‘खासमा उपाध्यक्ष बन्न मलाई मन थिएन, पार्टीले निर्णय गरेपछि स्वीकार गरेकी हुँ । त्यसबेला मलाई पार्टी अध्यक्षले पछि अध्यक्ष बन्ने परिस्थिति निर्माण हुन सक्छ भनेर कन्भिन्स्ड गर्नुभएको थियो । पार्टीले अध्यक्ष पाउने अवसर आएपछि मलाई नै बनाउँछ भनेर आशावादी थिएँ । तर, मसित कुनै सरसल्लाह नगरकिन निर्णय भयो । बाहिर सञ्चारमाध्यमबाट थाहा पाएँ । मेरो अध्यक्षमा दाबी थियो भन्ने त इतिहासमा रहन्छ । तर, पार्टीले निर्णय गरेको कुरा स्वीकार्नैपर्‍यो ।’

    राष्ट्रियसभा अध्यक्षमा निर्वाचित नारायण दाहालसँग आफ्नो कुनै व्यक्तिगत इगो नभएको तर अध्यक्ष प्रचण्डसँग गुनासो रहेको उनले बताइन् ।

    उपाध्यक्षबाट राजीनामा दिँदा आफूले कुनै बार्गेनिङ नगरेको उनको भनाइ छ ।

    ‘मन्त्री त अहिले म जान्न नै भनेको छु । फेरि सबै मन्त्रिमण्डलको निधो भएपछि बल्ल अध्यक्षको टुंगो भएको हो । कसलाई हटाउने कसलाई फाल्ने त्यो गर्नु हुँदैन । त्यसैले म जान्न नै भनेको छु,’ उनले भनिन् ।

    अर्यालको रुचि राष्ट्रियसभामा पार्टी संसदीय दलको नेता बन्ने छ । यसबारे उनले प्रचण्डसँग आफ्नो कुरा राखिसकेकी छन् ।

    ‘मैले कुरा राखेकी छु । उहाँहरूले पनि सोच्ने विषय हो । अहिले संसदीय दलको नेता रहनुभएका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुनुहुन्छ । उहाँ सरकारमा गइसकेपछि वरीयताले पनि संसदीय दलको नेताको दाबेदार त मै हुँ । पार्टी अध्यक्षले सोच्नुहोला । राष्ट्रियसभा अध्यक्षको चयन भएको भोलिपल्टै पार्टी अध्यक्षलाई भेटेर भनेको थिएँ । उहाँ पोजिटिभ नै हुनुहुन्छ, तर के गर्नुहुन्छ थाहा छैन,’ अर्यालले भनिन् ।

  • काम गर्न नसके पद ओगटेर बस्दिनँ, अर्को उथलपुथल गर्न बेर छैन : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काम गर्न नसके पद ओगटेर बस्दिनँ, अर्को उथलपुथल गर्न बेर छैन : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण बनेपछि पनि काम गर्न नसके पद ओगटेर बस्ने मनस्थितिमा आफू नरहेको बताएका छन्।

    राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै सुशासन र विकासको काम अझै अगाडि बढाउन नसके आफूले अर्को उथलपुथल गर्न सक्ने बताए।

    त्यसबारे उनको भनाइ

    सुशासन कायम गरेर विकासलाई गति दिने कामलाई पनि भएका छन्। अहिले समीकरण चेन्ज भएको छ। गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो। उथलपुथल त मैले भनेको थिएँ। म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन। त्यो अरूलाई भनेको होइन। मेरै लागि भनेको हो।

    मैले भन्ने गरेको कामै गर्न नसक्ने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन। मैले जनतालाई पनि भनेको छु। अहिले पनि पदको सुरक्षाको लागि समीकरण अर्को बनाएको पनि होइन। पद त मेरो सुरक्षित थियो। तर, काम अझै तीव्र गतिमा गर्न सकियोस्।

    सुशासन र विकासको काम अझै अगाडि बढाउने मान्यतालाई मात्रै हो। त्यो पनि हुन सकेन भने पद ओगटिराख्नेको औचित्य पुष्टि हुँदैन। त्यसमा म सचेत छु। त्यसैले मैले अरूलाई अप्ठ्यारो पार्ने गरी उथलपुथल बनेको होइन। फेरि मैले यस्तो भन्यो भनेर अर्को जाला तर, काम गर्न सकिँदैन भने पदमा बस्न हुँदैन भन्नेमा दृढ छु ।

    सबै संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको उनको भनाइ थियो ।

    ‘समाजमा विशेषतः युवाहरूमा प्रकट भइरहेको नैराश्यता र नकारात्मक सोंचमा परिवर्तन गर्नुछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सबै सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती हो, यसको सामना गर्नुछ ।’

    अनुगमन तथा मूल्याङ्कनलाई थप वस्तुनिष्ठ, प्रभावकारी, नतिजामूलक बनाउनुपर्नेमा जोड दिँदै प्रचण्डले राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजनाको निर्धारित लागत र समयसीमा भित्रै सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए ।

    ‘विकासे आयोजनाहरूमा राम्रो गर्नेलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिन्छ,’ प्रधानमन्त्रीले भने, ‘कुण्ठा र निराशालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ, यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत म विशेष आग्रह गर्दछु ।’

    पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन ? भनी प्रधानमन्त्री दाहालले प्रश्न गरे ।

  • उर्मिला अर्यालले दिइन् राष्ट्रियसभा उपाध्यक्षबाट राजीनामा

    उर्मिला अर्यालले दिइन् राष्ट्रियसभा उपाध्यक्षबाट राजीनामा

    काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष उनले केही बेरअघि राजीनामा पत्र बुझाएकी हुन् ।

    उनी राष्ट्रियसभा उपाध्यक्षमा गत माघ २३ गते निर्विरोधि निर्वाचित भएकी थिइन् । सत्ता गठबन्धनबाट अध्यक्षमा माओवादीको तर्फबाट नारायण दाहाल निर्वाचित भएपछि उनले राजीनामा बुझाएकी हुन् । अर्याल पनि माओवादीबाटै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

    यसअघि गठबन्धनमा उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको थियो । तर, पछि नेकपा एस मिसिएसँगै नयाँ सहमतिमा त्यो बुँदा हटाइएको छ । तर, गठबन्धन दलबीच उपाध्यक्ष कसको भागमा राख्ने भन्ने औपचारिक सहमति भइसकेको छैन ।

  • गठबन्धन टुटेपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल

    गठबन्धन टुटेपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

    संसदको गतिरोध गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले देउवालाई बालुवाटार बोलाएर छलफल गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले बताए।

    बिहान बालुवाटारमा भएको भेटमा शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउनेदेखि संसद्मा भएका विभिन्न विधेयकहरूमाथि छलफल भएको जनाइएको छ। कांग्रेस नेतृत्वको गठबन्धन फागुन २१ गते टुटेपछि प्रधानमन्त्री प्रचण्डले देउवासँग पहिलो पटक एक्लै भेट गरेका हुन्।

  • कोशीमा नयाँ सरकार बनाउन छैन चहलपहल, इन्द्र आङ्बो भन्छन्- सिंहदरबारले सोचेजस्तो परिस्थिति छैन

    कोशीमा नयाँ सरकार बनाउन छैन चहलपहल, इन्द्र आङ्बो भन्छन्- सिंहदरबारले सोचेजस्तो परिस्थिति छैन

    विराटनगर । नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले काठमाडौंले सोचेभन्दा कोशी प्रदेशको परिस्थिति फरक भएको बताएका छन् । प्रदेश सरकार फेरबदलको चर्चा चलिरहँदा उनले प्रदेशको परिस्थिति सिंहदरबारले सोचेजस्तो नभएको बताएका हुन् ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले केदार कार्की नेतृत्वको सरकार फेर्ने विषयमा नयाँ गठबन्धनका दलहरूसँग छलफल सुरू भइनसकेको बताए ।

    आङ्बोले भने, ‘कोशीमा संविधानको धारा १६८ (५) अन्तरगतको सरकार कसले बनाएको हो ? यसबारेमा वस्तुनिष्ठ समीक्षा आवश्यक छ । ’

    नयाँ सरकार संविधानको कुन धाराबाट बन्छ पहिले सहयात्री दलहरू बसेर आधार तय गर्नुपर्ने उनको भनाइ छ । गठबन्धनको शीर्ष नेताबीच प्रदेशको नेतृत्वबारे अहिले टुंगो नलागेको भन्दै अहिले छलफल गर्नु हतार हुने आङ्बोको भनाई छ ।

    उनले भने,‘अहिले पनि अध्यक्ष प्रचण्डले प्रदेशको नेतृत्व बाँडफाँटका विषयमा टुंगो लागेको बताउनुभएको छैन । माथिबाट हामीलाई यसै हो भन्ने केही आएको छैन ।’

    मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा विघटनको विषयमा उत्ताउलो पाराको कुरा गरेको आङ्बोको टिप्पणी छ । सरकार बन्न सक्ने आधार रहुन्जेलसम्म संसद् विघटन नहुने उनको प्रष्टोक्ति थियो ।

    सत्ता समीकरण फेरिएसँगै कोशीमा मुख्यमन्त्री दाबीसहित एमाले संसदीय दलले नयाँ सरकारको कसरत थालिसकेको छ । एमाले-माओवादी-नेकपा एस-जसपासँग बहुमत छ । यहाँ सरकार बनाउन ४७ सांसद चाहिन्छ । प्रदेशसभामा एमालेसँग ४० सीट, माओवादी केन्द्रसँग १३ सीट, नेकपा एससँग ४ र जसपासँग एक सीट छ । गठबन्धनको बहुमत भएपनि सहयात्री दल नेकपा एस, माओवादीले कार्की सरकारमाथिको समर्थन फिर्ता लिएको छैन । यी दलका मन्त्री पनि कार्कीकै क्याविनेटमै छन् ।

    संविधानको धारा १६८ (३) अन्तरगत मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिएपछि एमालेका ३९ जना प्रदेश सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीको रूपमा दाबी पेस गरेका थिए । तत्कालीन सत्ता गठबन्धनका शीर्ष नेताहरूले माओवादीका इन्द्रबहादुर आङ्बोलाई कोशीमा मुख्यमन्त्री बनाउने निर्णय गरेपछि केदार कार्की आफूसहित ८ जना सांसद लिएर एमालेसँग जोडिएका थिए ।

    प्रदेशसभा सदस्यको हैसियतमा उनलाई एमालेका प्रदेशसभा सदस्यले शशरीर उपस्थित भएर सनाखत गरेपछि उनी संविधानको धारा १६८ (५) अन्तरगत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सुरूमा एमालेका राम राना र कांग्रेसबाट विद्रोह गरेका शम्सेर राईलाई मन्त्री नियुक्त गरेका मुख्यमन्त्री केदार कार्की तत्कालीन गठबन्धनमै फर्किएपछि एमालेले मन्त्रीबाट रानालाई फिर्ता बोलाएको थियो ।

  • बालुवाटारमा प्रचण्डको ब्रिफिङ- प्रदेशको भागबण्डाको विषयमा कुरा मिलिसकेको छैन

    बालुवाटारमा प्रचण्डको ब्रिफिङ- प्रदेशको भागबण्डाको विषयमा कुरा मिलिसकेको छैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनमा प्रदेशको भागबण्डाको विषयमा नटुंगिएको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन्।

    बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलहरुबीच छलफल भइरहेपनि कुरा मिलिनसकेको जानकारी गराएका हुन्।

    बैठकपछि प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने,‘प्रदेशको भागबण्डाको बिषयमा छलफल चलिरहेको छ। अहिलेसम्म टुंगिएको छैन। भोलिसम्ममा टुगिनसक्छ। ’

    सत्ता गठबन्धन फेरिएपछि नयाँ समीकरणमा प्रदेश सरकारको बिषयमा छलफल चलिरहेको छ। त्यस बिषयमा प्रचण्डसँग सोमबार एमाले अधयक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालले छलफल गरेका थिए।

    गठबन्धनमा कोृशी, मधेश र सुदूरपश्चिमको विषयमा कुरा मिलेपनि कर्णाली, लुम्बिनी, बागमती र गण्डकीका विषयमा अझै सहमति जुटिसकेको छैन। कोशी एमाले, मधेशमा जसपा र सुदूरपश्चिममा नाउपाले सरकारको नेतृत्व गर्ने सहमति बनेको बताइन्छ। कोशीबाहेक कर्णाली र गण्डकी एमाले र लुम्बिनी र बागमती माओवादीले लिनेगरी छलफल अघि बढेको छ।

    तर, आज बसेको माओवादी पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेश सरकारको नेतृत्वले आफूहरुले पाउनुपर्ने अडान राखेका छन्।

  • उपनिर्वाचन : इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय (भिडिओ)

    उपनिर्वाचन : इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

    बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

    आजको बैठकमा छलफलपछि सर्वसम्मत रुपमा पार्टीबाट आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

    इलाम २ बाट केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस भएर आएको छ ।

    इलाममा एमालेबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । रास्वपाबाट मिलन लिम्बूको चर्चा छ भने कांग्रेसले गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग झिनो मतले पराजित भएका डम्बर खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

  • राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री

    राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिएका हुन् ।

    उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको बताए ।

    ‘आयोगले सरकारको थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी दिनमा योजनाहरू प्रभावकारी एवं तथ्यमा आधारित हुनेछन् ।’ उनले तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन दिर्नेशन दिए ।

    ‘मलाई विश्वास छ, अहिले बनेको नयाँ टिमले राष्ट्रिय योजना आयोगको काम–कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धान र विकास–निर्माणका आयोजनाहरूको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ ।’

    उनले सोह्रौँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति र कार्यक्रमहरूलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई निर्देशन दिए ।

    सोह्रौं योजनाले प्रमुख रूपमा देशभित्र उत्पादन र रोजगारी बढाउने दिशामा नयाँ खालका नतिजामूलक कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले अब निर्माण गर्ने पूर्वाधारले कुन हदसम्म उत्पादन र रोजगारी बढाउन सहयोग पुर्याउँछ, त्यसको आधारमा मात्र पूर्वाधारका आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्छ ।’

     

  • बागमतीमा हानेपाले समर्थन फिर्ता लिने, मुख्यमन्त्री जम्कट्टेललाई सकस

    बागमतीमा हानेपाले समर्थन फिर्ता लिने, मुख्यमन्त्री जम्कट्टेललाई सकस

    हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिने भएको छ । २ सांसद रहेको हानेपाले मुख्यमन्त्रीको दाबी गर्दै आएको छ ।

    हानेपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर पार्टी (नेमकिपा) मध्ये एकको समर्थविना मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउन सक्दैनन् । राप्रपा र नेमकिपाले सरकारलाई समर्थन नदिने बताइसकेको छ ।

    हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन फिर्ताको सबै तयारी पूरा भएको र औपचारिक पत्र लिएर बिहीबार बिहानसम्म आउने बताए ।

    गत फागुन २३ मा नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेलाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ । बागमतीमा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । एमाले नेतृत्वको गठबन्धनमा ५५ जनामात्र सांसद छन् ।

  • राष्ट्रियसभा अध्यक्ष दाहाललाई भरतपुर महानगरले गर्‍यो सम्मान

    राष्ट्रियसभा अध्यक्ष दाहाललाई भरतपुर महानगरले गर्‍यो सम्मान

    चितवन । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिकामा स्वागत तथा सम्मान गरिएको छ । मंगलबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा मेयर रेनु दाहालले उनलाई माला लगाइदिनुका साथै सम्मान पत्र प्रदान गरिन् ।

    मेयर रेनु दाहालले भरतपुरले प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र उपप्रधान तथा गृहमन्त्री पाउनु गर्वको विषय भएको बताइन् । इतिहासमा यस्तो विरलै मिल्ने भन्दै उनले यो अवसर र चुनौती दुवै भएको बताइन् ।

    फागुन २९ गते उहाँ राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएपछि दाहाल पहिलोपटक गृहजिल्ला चितवन आइपुगका हुन् । सम्मान लिँदै अध्यक्ष दाहालले राष्ट्रियसभाको गरिमालाई उचो पार्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानून निर्माण गर्न राष्ट्रियसभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

  • लुम्बिनीको मुख्यमन्त्री आफ्नो भागमा परेको माओवादीको दाबी, के भन्छ एमाले ?

    लुम्बिनीको मुख्यमन्त्री आफ्नो भागमा परेको माओवादीको दाबी, के भन्छ एमाले ?

    रुपन्देही । माओवादीले लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीमाथिको समर्थन फिर्ता लिइसकेको छ ।

    नयाँ गठबन्धनका दलबाहेकबाट उनलाई बहुमत पुग्ने अवस्था देखिन्न । उनी निरन्तर बहुमत जुटाउने कसरतमा भने लागेका छन् । नयाँ गठबन्धनमा रहेको एमाले र माओवादीले भने केन्द्रको निर्णय कुरेर बसेको छ । दुवै पार्टीले आफ्नो दाबी पेश गर्न पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् ।

    नयाँ मुख्यमन्त्रीको लागि हानथाप चलिरहँदा माओवादीका शीर्ष नेताले लुम्बिनी आफ्नो पक्षमा परेको सूचना प्रदेश तहका नेताहरुलाई सुनाएको स्रोत बताउँछ । माओवादी केन्द्रका सचिव तथा प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल (बलदेव) ले लुम्बिनीको नेतृत्व आफ्नो पार्टीलाई पर्ने अनौपचारिक सहमति भएको बताए ।

    ‘अनौपचारिक सहमतिमा हामीले पाउने कुरा भएको हो, अन्तिम टुंगो लागेको थिएन, म अहिले काठमाडौं बाहिर निस्केको छु, केन्द्रकै सहमतिअनुसार प्रदेश अगाडि बढ्ने विषयमा हामी प्रष्ट छौं’ उनले नेपाल प्रेससँग भने ।

    माओवादी संसदीय दलका नेता जोखबहादुर महराले भने लुम्बिनी सरकारको नेतृत्व माओवादीले नछाड्ने पार्टीको बटमलाइन भएको बताउँछन् ।

    ‘अन्य प्रदेशमा एमालेले पाउने भएकाले लुम्बिनीमा हामीले नछाड्ने भनेका छौं, गठबन्धन गरिसकेपछि ठूलो दल र सानो दल भन्ने कुरा हुँदैन’, महराले भने ।

    प्रदेश अध्यक्ष सुदर्शन बराल प्रचण्डसँग आफैंले भेटेर कुरा गर्दा कर्णालीमा एमालेले पाउने भएकाले लुम्बिनीमा आफूहरूले पाउने निश्चित भएको जिकिर गर्छन् ।

    ‘लुम्बिनी माओवादीले पाउने कुरा मोटामोटी समझदारी भएको सुनेका छौं, औपचारिक निर्णय आएको छैन, प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई आफूहरुले भेटेर यहाँको नेतृत्वको विषयमा कुरा राखेका छौं, केन्द्रले गरेको सहमतिअनुसार अगाडि जाने विषयमा एमालेसहितका अन्य दलसँग कुराकानी भइरहेको छ’, बरालले भने ।

    लुम्बिनीलाई युद्धकालदेखि राम्रो प्रभाव क्षेत्र मान्दै आएकोले त्यो प्रभाव र विरासत जोगाइराख्न पनि एमालेलाई नछाड्ने मुडमा माओवादी देखिन्छ । महरा प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयमा लामो समय काम गरेकाले उनलाई मुख्यमन्त्री बनाउन जोडबल हुने माओवादी नेताको विश्लेषण छ । तर, महरासँगै केही सांसद सन्तुष्ट छैनन् । दलको नेता फेर्ने तयारीमा लागेका सांसदहरू नेतृत्वको ‘रेड सिग्नल’ बाट पछि हटेका थिए ।

    एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लीला गिरी आफूहरूको दाबी पनि स्वाभाविक रहेको बताउँछन् । उनी यसअघि माओवादीसमेतको समर्थनमा तीन महिना मुख्यमन्त्री बनेका थिए भने शंकर पोखरेल नेतृत्वको लुम्बिनीको पहिलो प्रदेश सरकारमा तीन वर्ष उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री भएका थिए ।

    ‘प्रदेशको सबैभन्दा ठूलो दल, माओवादी र एमालेबीच सांसद संख्याको ठूलो अन्तर र गतवर्ष माओवादीसँग गठबन्धन भएपछि शुरुमा मुख्यमन्त्री एमालेले नै पाएको हुँदा यसपटकको दाबी स्वभाविक हो तर केन्द्रको सहमतिबेगर हामी जान सक्दैनौं, नेतृत्वले विवेकसम्वत् निर्णय गर्नेछ’, गिरीले भने ।

    प्रदेशमा माओवादीबाट प्रदेश प्रमुख, सभामुख, प्रदेशसभा सचिव सबै रहेकाले आफूहरूले स्वत: मुख्यमन्त्री पाउनुपर्ने गिरी बताउँछन् । एमाले लुम्बिनी अध्यक्ष राधाकृष्ण कंडेलले लुम्बिनीमा एमाले पहिलो पार्टी भएकोले यहाँको नेतृत्वको स्वाभाविक दाबेदार भएपनि केन्द्रीय निर्णय र सहमतिभन्दा बाहिर जानसक्ने परिस्थिति नभएको जनाएका छन् ।

    ‘सरकारको नेतृत्वका विषय हामीले यहाँको मात्रै टुंगो लगाएर हुँदैन, सबै प्रदेशको केन्द्रबाट गरिएको विषय छ, नेतृत्वले विवेकसम्मत नै निर्णय गर्नेछ, हामीले गर्ने पहल गरिराखेका छौं’, कँडेलले भने ।

    राप्रपाका एकजना निलम्बित भएपछि ८७ बाट ८६ सदस्यीय भएको प्रदेशसभामा ४४ सांसदले बहुमत पुग्छ । एमालेका २९, कांग्रेसका २७, माओवादीका १० (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका चार-चार, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका तीन-तीन तथा नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक-एक सांसद छन् ।

    नयाँ गठबन्धनमा रहेका एमाले, माओवादी, जसपा र नेकपा एसका सांसद संख्या जोड्दा ४३ पुग्छ । माओवादीबाट बागी बनेर जितेका स्वतन्त्र सांसद खड्ग बस्नेत नयाँ गठबन्धनमा बस्ने कुरा भइसकेको दाबी नेताहरुले गरेका छन् । यसमा ४ सांसद रहेको नागरिक उन्मुक्तिको पनि एक समूहले केन्द्रमा जस्तै यहाँपनि नयाँ गठबन्धनलाई सहयोग गर्ने समझदारी बनेको बताइन्छ ।

    लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख तुलाराम घर्ती र प्रदेश सभासचिव दुर्लभकुमार पुन माओवादीबाटै गएका हुन् । यसअघि कांग्रेससहितको गठबन्धन सरकारमा माओवादीबाटै सबै प्रमुख पद लिइएको भन्दै आलोचना गर्नेहरु अहिले पनि पुनः त्यसो गर्न नहुने विषय दोहोर्‍याइरहेका छन् ।

  • बागमती प्रदेशका सबै जिल्लामा माओवादीले तोक्यो नयाँ इन्चार्ज

    बागमती प्रदेशका सबै जिल्लामा माओवादीले तोक्यो नयाँ इन्चार्ज

    काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका सबै जिल्लामा नयाँ इन्चार्ज पठाएको छ। प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर नयाँ नेताहरुलाई जिम्मेवारी दिएको हो।

    माओवादीले रसुवामा कल्पना शर्मा, धादिङमा पुष्पविक्रम मल्ल, चितवनमा घनश्याम दाहाल, मकवानपुरमा विजय गौतम, सिन्धुलीमा बुद्धिमान माझी, रामेछापमा श्यामकुमार श्रेष्ठ, दोलखामा विशाल खड्का, काभ्रेपलाञ्चोकमा तेजबहादुर मिजारलाई इन्चार्ज बनाएको छ।

    यस्तै, सिन्धुपाल्चोकमा केशव नेपाल, नुवाकोटमा हिरानाथ खतिवडा, काठमाडौंमा सूर्य सुवेदी पथिक, ललितपुरमा हरि दाहाल, भक्तपुरमा दिलिप प्रजापति, काठमाडौं महानगरमा मुक्तिनारायण प्रधान, ललितपुर महानगरमा राजकाजी महर्जन र हेटौंडा उपमहानगरमा प्रल्हाद लामिछाने जिम्मेवारी दिएको हो।

  • सिंहदरबारमा प्रचण्ड-ओलीको भेट

    सिंहदरबारमा प्रचण्ड-ओलीको भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदबारमा जारी भेटमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

    नयाँ गठबन्धनबाट सत्ता यात्रा थालेपछि प्रचण्ड र ओलीबीच भेटघाट बाक्लिएको छ । यस्तै आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो । त्यसका लागि मोर्चाले ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

  • समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउनेबारे छलफल, ओलीसँग कुरा गर्ने जिम्मा प्रचण्डलाई

    समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउनेबारे छलफल, ओलीसँग कुरा गर्ने जिम्मा प्रचण्डलाई

    काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको सत्ता गठबन्धन परिवर्तन भएपछिको अवस्थाबारे छलफल भएको छ।

    शुक्रवार बालुवाटारमा बसेको मोर्चाको बैठकले थप विस्तार र प्रभावकारी बनाउँदै अघि बढ्ने निर्णय गरेको छ।

    नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका अनुसार एमालेसहित अन्य वाम शक्तिहरूलाई पनि आबद्ध गराउनेबारे निर्णय भएका छ।

    उनले भनिन्, ‘मोर्चामा एमालेलाई पनि भित्र्याउन अध्यक्ष केपी ओलीसँग छलफल गर्नको लागि अध्यक्षज्यूलाई जिम्मा दिइएको छ। उहाँसहित अन्य शीर्ष नेताहरूले एमालेसँग छलफल गरेपछि निष्कर्षमा पुग्छ।’

    हिजो ओलीसँग मोर्चाका संयोजक नेत्रविक्रम चन्दले बालुवाटार पुगेर भेट गरेका थिए। बालुवाटारमा ओलीको सकारात्मक जवाफबारे आजको बैठकमा विप्लवले जानकारी गराएका थिए।

    मोर्चाको आगामी कार्यक्रमहरू केही दिनमा ठोस गरेर लैजाने सहमति भएको छ। मोर्चाले सरकारलाई प्रभावकारी बनाउन सुझाव दिँदै भ्रष्टाचार, अनियमितता, लघुवित्त र सहकारी ठगीलगायतका विकृतिहरू रोक्नको लागि आवश्यक कदम चाल्नेबारे पनि छलफल भएको छ।

  • जनताको घरदैलो पुग्ने अभियानमा कोशीका पूर्वअर्थमन्त्री जीवन आचार्य

    जनताको घरदैलो पुग्ने अभियानमा कोशीका पूर्वअर्थमन्त्री जीवन आचार्य

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वअर्थमन्त्री जीवन आचार्यले मतदाता तथा जनताको घर र टोलटोलमा पुगेर भेटघाट गर्ने क्रम बढाएका छन् ।

    आचार्य बुधबार दिउँसो राहतसहित मोरङको रंगेली सन्थालका अग्नि पीडितको बस्तीमा पुगेका छन् । राहत सामग्रीसहित आगलागीबाट क्षति पुगेको सन्थाल, सतार र मुसहर समुदायको वस्तिमा पुगेका आचार्यले कर्मचारी तथा समाजसेवीहरुको उपस्थितिमा आगजनी पीडितलाइ राहत वितरण गरे ।

    विभिन्न व्यक्ति तथा संघ संस्थाहरुको सहयोगमा भएको राहत वितरण कार्यक्रममा आचार्यले सन्थाल बस्तीका आगजनी पीडितलाइ राहत वितरण गरेका थिए ।

    सो राहत वितरण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की, सशस्त्र प्रहरी मोरङका एसपी, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, पवन शारडा, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल लगायत पुर्व माननीयहरु, पत्रकार र नागरीक समाजका अगुवाहरुको उपस्थिति थियो ।

    चैत ४ गते मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएका थिए ।

    आगलागीपछि कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

    जनतासँग भेटघाट तथा विभिन्न योजनाहरुको अनुगमन गर्ने क्रममा आचार्यले गत आइतबार सुन्दरहररैँचा नगरपालिका अन्तर्गत पर्ने, मृगौलिया, गोठगाउँ, बलिया आदि क्षेत्र र आसपासका जनताहरुसँग भेटधाट गरेका थिए ।

    त्यसैदिन बलिया क्षेत्र पुगेका आचार्यले सुन्दरहरैचाका टेम्पो तथा सिटी सफारी व्यवसायीहरुसँग पनि भेटघाट गरी सुन्दरहरैचाका टेम्पो तथा सिटी सफारीहरुलाई इटहरी प्रवेश गर्न नदिइएको बारे जानकारी लिएका थिए ।

    आचार्यले केही दिनअघि बुढीगंगा गाउँपालिका वार्ड ६ मा निर्माणाधीन उराककव सामुदायिक भवनको अनुगमन गरेका थिए भने बुढीगंगा गाउँपालिकाका खेलाडीहरूको प्रोत्साहनका लागि उनीहरुसँग भेटघाट गरेका थिए ।

    आचार्यले करिब एक महिनाअघि बुढिगंगामा ट्रक पल्टेर भएको दुखद् घटना र समग्र परिस्थितिका बारेमा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ भेटी घटनाका घाईतेलाई सहयोगको लागि ध्यानाकर्षण गराएका थिए ।

     

  • दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताए ।

    ‘इतिहासदेखि नै थिचिएका, मिचिएका र अपमानित जीवन व्यतीत गर्न बाध्य पारिएका नेपालका दलित समुदायलाई सरकारका तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध छ ।’

    यस वर्ष नेपालको नारा ‘आत्मसम्मान, समानता र सामाजिक न्यायसहितको समृद्धका लागि राजनीतिक हक १ जातीय छुवाछूत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलित अधिकार दशक’ रहेको छ ।

    संयुक्त राष्ट्रसङ्घले सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय महासन्धि, १९६५ पारित गरी २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।

  • केन्द्रीय सदस्य शर्माद्वारा माओवादी परित्यागको घोषणा, प्रचण्डमाथि जनयुद्धको सपना तुहाएको आरोप

    केन्द्रीय सदस्य शर्माद्वारा माओवादी परित्यागको घोषणा, प्रचण्डमाथि जनयुद्धको सपना तुहाएको आरोप

    जनकपुरधाम । संविधानसभा सदस्य रामकुमार शर्माले नेकपा माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी सामाजिक संजालमार्फत् अध्यक्ष प्रचण्डलाई गराएका हुन् ।

    नेता शर्मा पार्टीको नेतृत्वप्रति लामो समयदेखि असन्तुष्ट थिए । उनले पार्टीका प्रमुख पदाधिकारीहरु बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको, माओवादी पार्टी नभएर गुटैगुटका महासंघमा रुपान्तरण भएको, जनयुद्धको दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुदै गएको टिप्पणी गरेका छन् ।

    नेता शर्माले जनादेश विपरित विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटक(पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अन्नत अध्यारो दिशातर्फ धकेलेको आरोप पनि अध्यक्ष प्रचण्डमाथि लगाएका छन् ।

    माओवादी अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा छन् । तर शर्माले पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको काममा असन्तुष्टी जनाउँदै पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समिक्षा गर्दा आकाश पताल को फरक पाएको अनुभुति हुन्छ !’

    पार्टीले लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णयको अधिकार र पहिचानसहितको प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक समाबेशी संसद, क्रान्तिकारी भुमिसुधार, निस्शुल्क एवं गुणस्तरिय शिक्षा र स्वास्थ्यका साथै रोजगारीको ग्यारेन्टीसहित नयाँ नेपाल बनाउने सपना तुहिएकोमा उनले दुःख व्यक्त गरेका छन् ।

    उनले महान जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी भएको र जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको महशुस गरेको पनि उनले उल्लेख गरेका छन् ।

  • तीव्र विकासको जनचाहना पूरा गर्न समृद्धि यात्रालाई गति दिनेछौं : अर्थमन्त्री पुन

    तीव्र विकासको जनचाहना पूरा गर्न समृद्धि यात्रालाई गति दिनेछौं : अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले जनताको तीव्र विकासको चाहना पूरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।

    बुधबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले नयाँ सत्ता समीकरणमा संलग्न राजनीतिक दलका तर्फबाट न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तयार भएको भन्दै जनताको तीव्र विकासको चाहना पूरा गर्दै समृद्धिको यात्रालाई गति दिने बताए ।

    उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीब्रता दिन र निजी क्षेत्रलाई विश्वासमा लिई अगाडि बढ्ने उनको भनाइ छ । पुँजीगत खर्चको न्यूनताको समस्या समाधान गर्न नीति, कानून र प्रक्रिया सुधार अघि बढाइने पुनको भनाइ छ ।

    आवश्यकता, सम्भावना र सोचलाई सम्बोधन गर्नेगरी सन्तुलन मिलाएर आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिने उनको भनाइ छ ।

    आगामी वर्षको बजेट सोह्रौं योजनाको सोच अनुसारको पहिलो वर्षको प्रमुख कार्यक्रम कार्यान्वयन गर्ने वर्ष हुने भन्दै अर्थमन्त्री पुनले सुशासन, सामाजिक न्याय र समृद्धिको सोचसहित कार्यान्वयनमा आउने योजनाबाट आगामी आर्थिक वर्ष संविधानमा उल्लेख भए बमोजिमको समाजवादउन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासको लागि केही ठोस आधार तयार हुने धारणा राखेका छन् ।

    बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रविन्दुमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको संक्रमणकालीन रणनीति कार्यान्वयन गरिने उनको भनाइ छ । सहकारी र लघु वित्तमा रहेका समस्या तथा र मिटरब्याज पीडितहरूको साथमा सरकार रहेको भन्दै उनले यसका लागि सरकारले काम अगाडि बढाइ सकिएको जानकारी दिए ।

    कृषिलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण, औद्योगिकीकरण, निर्यात व्यापार र आपूर्ति व्यवस्था अभिवृद्धिको प्रमुख क्षेत्रका रूपमा विकास गरिने उनको भनाइ छ ।

  • माओवादी बागमती संसदीय दलको बैठकमा अग्नि सापकोटा पनि उपस्थित

    माओवादी बागमती संसदीय दलको बैठकमा अग्नि सापकोटा पनि उपस्थित

    काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।

    पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा बैठक सुरू भएको हो।

    बैठकमा पछिल्लो समसामयिक राजनीति घटनाक्रम र मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारबारे छलफल भइरहेको जनाइएको छ।

    नयाँ समीकरण बनेपछि मुख्यमन्त्री जम्मकट्टेललाई सरकार टिकाउन मुस्किल परिरहेको बेलामा आगामी रणनीतिबारे छलफल गर्नको लागि बैठक बसेको हो ।

  • तयारी नपुगेको भन्दै माओवादीको पूर्वनिर्धारित दुवै अभियान स्थगित

    तयारी नपुगेको भन्दै माओवादीको पूर्वनिर्धारित दुवै अभियान स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रले तराई–मधेस र पूर्वपश्चिम दुवै अभियान स्थगित गरेको छ। मंगलबार बसेको पदाधिकारीको बैठकले दुवै अभियान स्थगित गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए।

    उनले भने, ‘अहिले पार्टीका प्रदेश इन्चार्जहरु पनि फेरिएका छन्। त्यसैले तयारी नपुगेकाले अहिलेलाई दुवै अभियान स्थगित गरेका छौं।’ उनले अब बस्ने बैठकले आवश्यक तयारीपछि अभियानको मिति तय गर्ने बताए।

    माओवादीले पहिलो चरण चैत १५ देखि हुने भनिएको तराई–मधेस जागरण अभियान र दोस्रो चरणमा वैशाख १५ देखि हुने भनिएको पूर्वपश्चिम उत्तर–दक्षिण अभियान स्थगित गरेको हो।

    माओवादीले यसअघि गत भदौदेखि ४ महिने जनतासँग माओवादी अभियान चलाएको थियो। यो अभियान सफल भएको निष्कर्षसहित माओवादीले थप दुई अभियान तय गरेको थियो।

  • मतदातामाझ उत्साह भर्न घरदैलोमा व्यस्त जीवन, विकासे अनुगमनसहित लिँदैछन् सुझाव

    मतदातामाझ उत्साह भर्न घरदैलोमा व्यस्त जीवन, विकासे अनुगमनसहित लिँदैछन् सुझाव

    विराटनगर । कोशी प्रदेशका सांसद एवं पूर्वमन्त्री जीवन आचार्यले निर्वाचन क्षेत्रको दौडाहालाई तिव्रता दिएका छन् । मोरङ ६ स्थित सुन्दरहरैँचा नगरपालिका क्षेत्रका विकास निर्माणका कामहरूको स्थलगत अनुगमनसँगै आगामी बजेटका लागि उनले स्थानीयसँग छलफल, सुझाव तथा भेटघाट गरेका छन् ।

    ‘बन्छ, बनाउनुपर्छ यो हाम्रो अभिभारा हो, सकिन्छ, सक्नुपर्छ यो हाम्रो जिम्मेवारी हो’ भन्ने नारा लिएर आचार्य मतदाताको घरदैलोमा पुगेका हुन् । स्थानीयसँगको भेटघाट तथा विभिन्न योजनाहरूको अनुगमन गर्ने क्रममा सुन्दरहरैँचा नगरपालिकाका मृगौलिया, गोठगाउँ, बलिया लगायतका ठाउँमा पुगेको उनले बताए ।

    बलियामा उनले टेम्पो तथा सिटी सफारी व्यवसायीसँग छलफल गरे । व्यवसायीहरूले इटहरी नगरपालिकाका सिटी सफारीवालाहरूले सुन्दरहरैँचाका सफारीहरुलाइ यात्रु लिएर इटहरी आवतजावत गर्न नदिएर अन्याय गरेको भन्दै समाधानका लागि पहल गरिदिन अनुरोध गरेका छन् । सांसद आचार्यले आफूले पहल गर्ने आश्वासन दिए ।

    आचार्यले सुन्दहरैंचा नगर हस्पिटललाई बजेट विनियोजन गराई अझै व्यवस्थित र साधन स्रोतयुक्त बनाउन पहल गर्ने प्रतिवद्धता जनाए ।

    गाउँ भ्रमणका क्रममा पूर्वमन्त्री विजय विश्वास, लता न्यौपाने, दीक्षान्त भट्टराई, इश्वरी आचार्यलगायत माओवादीका नेता कार्यकर्ता पनि आचार्यको साथमा छन् ।

    ‘यो देशमा केही हुँदैन भन्ने युवावर्गमा आशा जगाउँदै मैले प्रत्यक्ष भेटघाटलाई निरन्तरता दिएको छु । युवाहरूलाई हामी सँगसँगै छौं भनेर उत्साह भर्ने पनि उद्देश्य हो’, सांसद आचार्यले बताए ।

  • कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- सहकारी प्रकरणमा रविको संलग्नता कतै देखिएन, राजनीतिकरण नगरौं (भिडिओ)

    कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- सहकारी प्रकरणमा रविको संलग्नता कतै देखिएन, राजनीतिकरण नगरौं (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको सहकारीसम्बन्धी विषय अनुसन्धानका क्रममा रवि कतै दोषी नदेखिएको भन्दै यसलाई राजनीतिकरण गर्न खोजिएको बताएका छन् ।

    प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि उभिएका दाहालले प्रमुख विपक्षी नेपाली कांग्रेसले केही दिनयता उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले रवि लामिछाने उक्त सहकारीको सञ्चालक समिति, लेखा समिति, वा अन्य कुनै समिति र जिम्मेवारीमा नरहेको तथा अदालतमा विचाराधीन मुद्दामा पनि कतै नजोडिएकाले यसलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे ।

    प्रधानमन्त्रीले भने, ‘सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन । यो दरखास्तउपर प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न भएको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ गते मुद्दा दायर गरेको थियो । जुन अदालतमा अझै विचाराधीन नै छ ।ती १९ जनामध्ये चारजना पक्राउ परेका छन् भने बाँकीको प्रहरीले खोजी गरिरहेको छ ।’

    प्रधानमन्त्रीले रवि लामिछाने प्रतिपक्षमै रहेका बेला सो सहकारी प्रकरणको अनुसन्धान भएको र उनको भूमिका कतै नदेखिएको भन्दै अहिले सरकारमा सहभागी भएका बेला स्वार्थको द्वन्द्व हुने भनी कांग्रेसले उठाएको प्रश्नको औचित्य नरहेको बताए ।

    उनले भने, ‘जाहेरीमा उहाँ सहकारी हिनामिनामा संलग्न भएको कुनै पनि आधार प्रमाण पेश गरिएको छैन । एक पटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको मुद्दामा यस्तो आधार प्रमाण बिनाको जाहेरी पुनः दर्ता गर्न आवश्यक नै हुँदैन । त्यसैले प्रहरीले कानुन बमोजिम नै उक्त जाहेरी छुट्टै दर्ता गर्न समेत उपयुक्त ठानेन । यो कुरा उहाँ सरकारमा आउनु अघिको विषय हो । त्यतिबेलाको सरकारमा त अहिले प्रश्न गर्ने कांग्रेस स्वयं सहभागी थियो । अनुसन्धानले उहाँको नाममा लिएको भनेर देखाइएको ऋण प्रवाह गर्दा तयार भएको फाराममा कुनै पनि विवरण भरेको देखिएको छैन । त्यस्ता खाताहरूमा उहाँको नागरिकता, तीन पुस्ते विवरण र ठेगानासमेत खुलाइएको छैन । यसले पनि ऋण उहाँले लिएको हो कि लिएको जस्तो देखाइएको हो भन्ने प्रश्न उठ्छ ।’

    प्रधानमन्त्रीले सहकारी ऐन २०६४ को दफा २ (त) अनुसार सहकारी संस्थाले सदस्यसँग मात्र कारोबार गर्न पाउँने भन्दै सदस्य नभएको व्यक्तिसँग संस्थाको कारोबार नहुने भएकाले सदस्य नै नभएको रवि लामिछानेको भूमिका सहकारी ठगीमा हुन नसक्ने जिकिर गरे ।

    प्रधानमन्त्रीले भने, ‘फेरि उहाँको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्यौट भइसकेको समेत देखिन आएकोले उहाँको हकमा अनुसन्धान गर्नुपर्ने नै देखिन्न भन्ने प्रहरी निष्कर्ष छ । र, प्रहरीले यो निष्कर्ष उहाँ सरकारमा आएपछि होइन आउनुअघि नै निकालिसकेको हो ।’

    रास्वपा फेरि सरकारमा सहभागी हुने चर्चा हुन थालेपछि र सरकारमा सहभागी भएपछि यो विषयलाई संसदको नियमित काम कारबाही प्रभावित हुने गरी उठाएको भन्दै यसबारे प्रहरीले गत असोजमा नै अनुसन्धान गरी मुद्दा बुझाएको बेला रवि सरकारमा नरहेको बताए ।

    प्रधानमन्त्रीले मुद्दा बुझाइसक्दा सम्म रविको नाममा उजुरी, निवेदन केही नरहेको भन्दै उजुरी पर्ना साथ राजीनामा दिने हो भने के हुन्छ ? भन्ने प्रश्न समेत गरे ।

    उनले थपे, ‘के हामी उजुरी दर्ता हुना साथ राजीनामा दिने सहमति गर्न सक्छौं ? हैन, गृहमन्त्रीबाट चाहिँ हटाऊ , मुद्दा प्रभावित हुन्छ भन्न खोज्नु भएको हो भने प्रभावित पार्नेले अर्को मन्त्रालयमा बसे पनि पार्ला । सरकारमा बसे मात्रै पनि पार्ला । त्यसैले यो विषयलाई राजनीतिकरण नगर्न अनुरोध गर्छु ।’

    प्रधानमन्त्रीको जवाफको पूर्णपाठ

    सम्माननीय सभामुख महोदय,

    एउटा विशेष राजनीतिक परिस्थितिमा नयाँ गठबन्धनको सरकार बनेपछि सम्मानित संसदमा प्रतिपक्षी दलका माननीय सांसदहरुले उठाउनुभएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रष्ट पार्नु जरुरी ठानेको छु।

    मेरो सरकारको पहिलो प्राथमिकता सुशासन रहेको र सुशासन कायम गर्न कुनै कुरामा सम्झौता नहुने कुरा मैले यस सम्मानित सदनमा विश्वासको मत लिने क्रममा र अन्य सन्दर्भममा बारम्बार व्यक्त गर्दै आएको छु । सुशासनको संकल्प लिएर नै यो अवधिमा ठूलाठूला भ्रष्टाचारका काण्डहरुको छानवीन गरिएको छ र यसलाई झनै प्रभावकारी बनाइँदैछ । त्यसैले सुसासन कायम गर्ने विषयमा सरकारले कहिँकतै सम्झौता गर्दैन । मैले बारम्बार भनेको छु, यदि दोषी देखिए म समेत कार्वाहीको दायरमा आउन तयार छु।

    जहाँसम्म उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरुले कुरा उठाउनु भएको छ, हालसम्मको अनुसन्धानले माननीय रवि लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुददामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन। सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन। यो दरखास्तउपर  प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न भएको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ गते मुद्दा दायर गरेको थियो। जुन अदालतमा अझै विचाराधीन नै छ।ती १९ जना मध्ये चार जना पक्राउ परेका छन् भने बाँकीको प्रहरीले खोजी गरिरहेको छ।

    मूल उजुरी परेको ६ महिनापछिगएको माघ १६ गते कास्की जिल्ला प्रहरी कार्यालयमा पुरक जाहेरी दिइएको थियो जसमा उहाँ समेत १८ व्यक्ति तथा कम्पनीलाई विपक्षी बनाइएको थियो। मूल उजुरीपछि थप प्रमाणहरु भेटिएमा पुरक जाहेरी दिई अनुसन्धान गर्न सकिने प्रावधान हुन्छ।तर उक्त जाहेरीमा उहाँ सहकारी हिनामिनामा संलग्न भएको कुनै पनि आधार प्रमाण पेश गरिएको छैन। एक पटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको मुद्दामा यस्तो आधार प्रमाण बिनाको जाहेरी पुनः दर्ता गर्न आवश्यक नै हुँदैन। त्यसैले प्रहरीले कानुन बमोजिम नै उक्त जाहेरी छुट्टै दर्ता गर्न समेत उपयुक्त ठानेन। यो कुरा उहाँ सरकारमा आउनु अघिको विषय हो। त्यतिबेलाको सरकारमा त अहिले प्रश्न गर्ने कांग्रेस स्वयं सहभागी थियो।

    अनुसन्धानले उहाँको नाममा लिएको भनेर देखाइएको ऋण प्रवाह गर्दा तयार भएको फाराममा कुनै पनि विवरण भरेको देखिएको छैन। त्यस्ता खाताहरुमा उहाँको नागरिकता, तीन पुस्ते विवरण र ठेगानासमेत खुलाइएको छैन। यसले पनि ऋण उहाँले लिएको हो कि लिएको जस्तो देखाइएको हो भन्ने प्रश्न उठ्छ।

    सहकारी ऐन २०६४ को दफा २ (त) अनुसार सहकारी संस्थाले सदस्यसँग मात्र कारोबार गर्न पाउँछ। सदस्य नभएको व्यक्तिसँग संस्थाको कारोबार हुँदैन र संस्थाको अवस्थामा संस्थाको सदस्य नै नभएको व्यक्तिको हात हुँदैन।

    उहाँ यो सहकारीमा सदस्य भएको देखिएन।

     फेरि उहाँको नाममा प्रवाह भएको भनिएको ऋण फर्छयौट भइसकेको समेत देखिन आएकोले उहाँको हकमा अनुसन्धान गर्नुपर्ने नै देखिन्न भन्ने प्रहरी निश्कर्ष छ। र प्रहरीले यो निश्कर्ष उहाँ सरकारमा आएपछि होइन आउनुअघि नै निकालिसकेको हो।

    उहाँको पार्टी फेरि सरकारमा सहभागी हुने चर्चा हुन थालेपछि र सरकारमा सहभागी भएपछि यो विषयलाई संसदको नियमित काम कारवाही प्रभावित हुने गरी उठाउनु जायज छ या छैन भन्ने कुरा स्वयम् प्रतिपक्षी दलका माननीयज्यूहरुले बुझ्नुपर्ने हुन्छ । किनभने  प्रहरीले गत असोजमा नै अनुसन्धान गरी मुद्दा बुझाएको  बेला वहाँ प्रतिपक्षमा हुनुहुन्थ्यो । अनुसन्धान सकिसकेको विषयमा conflict of interest कसरी हुनसक्छ?यो त principle of creating conflict of interest पो भयो कि ?

    म फेरि पनि जोड दिएर भन्न चाहन्छु सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ । यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट केही पनि कैफियत देखिएमा उहाँलाई कारबाही गर्न कुनैपनि कुराले रोक्ने छैन।

    मुद्दा बुझाइसक्दा सम्म उहाँको नाममा उजुरी, निवेदन केही छैन। उजुरी पर्ना साथ राजीनामा दिने हो भने के हुन्छ? के हामी उजुरी दर्ता हुना साथ राजीनामा दिने सहमति गर्न सक्छौं ? हैन, गृहमन्त्रीबाट चाहिँ हटाऊ , मुद्दा प्रभावित हुन्छ भन्न खोज्नु भएको हो भने प्रभावित पार्नेले अर्को मन्त्रालयमा बसे पनि पार्ला। सरकारमा बसे मात्रै पनि पार्ला। त्यसैले यो विषयलाई राजनीतिकरण नगर्न अनुरोध गर्दै म अब माननीय सांसदहरुका नियमित प्रश्नोत्तरको जवाफ दिन चाहन्छु।

  • महराको राजीनामा कि निलम्बन ? ‘अस्पताल हिरासतमा’ आजै भेटेर टुंगो लगाउने माओवादीको निर्णय

    महराको राजीनामा कि निलम्बन ? ‘अस्पताल हिरासतमा’ आजै भेटेर टुंगो लगाउने माओवादीको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउनेबारे उनैसँग सल्लाह गर्ने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको पदाधिकारी बैठकले महरालाई भेटेरै उनीसँग राजीनामाको बारे छलफल गर्ने निर्णय गरेको हो । दिउँसो महरालाई अस्पतालकै हिरासतमा भेटेर नेताहरुले कुरा गर्ने समझदारी भएको एक पदाधिकारीले बताए ।

    उनले भने–अब आरोपको बारेमा न्यायिक प्रक्रियाबाट किनारा नलागेसम्म उहाँले राजीनामा गर्ने राम्रो विकल्प हो भन्ने कुरा आएको छ । दिउँसो महासचिव वा अन्य नेताले भेटेर कुरा गर्ने अनि राजीनामा दिए स्वीकृति हुन्छ । नत्र निलम्बन गर्नुपर्छ भन्ने कुरा आएको छ ।

    स्रोतका अनुसार बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले महराले सुन तस्करीमा संलग्न भनिएका व्यक्तिहरुसँग फोनमा सम्पर्क गरेको र भन्सार अधिकृतसँग फोनमा कुरा गरेबाहेक उनी तस्करीमा संलग्न हुने कुनै आधार नदेखिएको अनुसन्धान अधिकारीहरुले आफूलाई बताएको ब्रिफिङ गरेका थिए ।

    बैठकका सहभागीहरूका अनुसार केही नेताले प्रश्न उठेपछि यसको टुंगो नलागेसम्म निलम्बन गर्न उपयुक्त हुने सुझाव दिएका थिए । केहीले भने महरामाथि अन्याय भएको र कसैसँग टेलिफोन कुराकानी वा फोटो खिचेका आधारमा पक्राउ गर्दै राजनीतिक जीवन सिध्याउने हो भने कुनै पनि नेता बाँकी नरहने बताएका थिए ।

    एक पदाधिकारीले भने, ‘स्वास्थ्यको हिसाबले पनि महराजी साह्रै कमजोर अवस्थामा देखिनुभएको छ । उहाँलाई जसरी धरपकड गरिएको छ, त्यो पनि ज्यादतीपूर्ण देखियो । टेलिफोन त हामी पनि कसैको काम परेमा गर्छौं । अब यस्ता कुरालाई आधार बनाउने हो भने त को बाँकी रहन्छ ? महराजीमाथि अलि बढी नै ज्यादती भयो भन्ने कोणबाट पनि कुरा आएका छन् ।’

    बैठकमा महरा सुन तस्करीमा दोषी प्रमाणित हुने आधार नदेखिएकाले न्यायिक प्रक्रियाबाट सफाइ पाउँदा उनलाई पनि र पार्टीलाई समेत हुने भएकाले अनुसन्धानमा सघाउने समझदारी भएको उपाध्यक्ष पम्फा भुसालले बताइन् । यद्यपि महराको नाजुक स्वास्थ्य अवस्था र घरपरिवारको बारेमा भने ख्याल राख्नुपर्ने बताइन् ।

    उनको परिवारका सदस्यले एक लाल सुन समेत लगाएको नदेखिएको भन्दै यस्ता ठूला तस्करीमा महराको संलग्नता होला भन्ने कसैलाई पत्यार नभए पनि अब न्यायिक प्रक्रियाबाट टुंगो लाग्ने आशा गरिएको नेताहरुले बताए ।

  • महरा पक्राउबारे माओवादी बैठकमा छलफल, प्रवक्ता भन्छन्– निस्कर्षमा पुगिसकेका छैनौं (भिडिओ)

    महरा पक्राउबारे माओवादी बैठकमा छलफल, प्रवक्ता भन्छन्– निस्कर्षमा पुगिसकेका छैनौं (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेकपा माओवादीको पदाधिकारी वैठकमा उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको विषयमाथि छलफल भएको छ । पदाधिकारीहरुले आ–आफ्नो धारणा राखेको तर निस्कर्षमा पुगिनसकेको प्रवक्ता अग्नी सापकोटाले बताए ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महरा पक्राउ र सुन प्रकरणको प्रतिवेदनबारे सुरुमा व्रिफिङ गरेका थिए । त्यसपछि नेताहरुले आआफ्नो धारणा राखेका छन् ।

    सापकोटाले भने, ‘उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा राम्रोसित छलफल भएको छ । यसको हरेक पाटो पक्षमा गम्भीरतापूर्वक छलफल भएको छ । छिटोभन्दा छिटो निस्कर्षमा पुग्छ ।’

    महरालाई जिम्मेवारीबाट मुक्त गर्ने विषयमा के कुरा भयो भन्ने पत्रकारको प्रश्नमा सापकोटाले स्पष्ट जवाफ दिएनन् । उनले भने, ‘विविध कोणबाट छलफल भइरहेको छ । निस्कर्ष आएपछि तपाईंहरुलाई जानकारी गराउँछौं ।’

  • लेखनाथ न्यौपानेको टिप्पणी- पद र पैसाको लागि मरिहत्ते गर्ने माओवादी पनि उहीं ड्याङको मुला

    लेखनाथ न्यौपानेको टिप्पणी- पद र पैसाको लागि मरिहत्ते गर्ने माओवादी पनि उहीं ड्याङको मुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग भएको टिप्पणी गरेका छन् ।

    पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा पक्राउ परेकोप्रति लक्षित गर्दै उनले लाभको पदमा गएर वा लामो समयसम्म एउटै पदमा बसेपछि विकृति झाँगिएको बताए ।

    उनले लेखेका छन्- ‘विकृतिको केन्द्र सत्ता हो, चाहे हिजोको नयाँ सत्ता होस्, चाहे हिजो हामीले भन्ने गरेको आजको पुरानो सत्ता होस् । जोजो पटक पटक लाभको पदमा गए वा लामो समयसम्म एउटै पदमा बसे, विकृति झाँगिएको त्यही छ । पद र पैसाको लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिको महारोग हो, यसमा त्यत्रो सपना र बलिदानबाट आएको माओवादी पनि उहीं ड्याङको मुला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएको हो निरन्तर । यसकारण मलाई प्रचण्डविरोधी भनेर आरोप लगाउने गरिएको छ ।’

    उनले आफूले सत्य कुरा राख्न जिल्लाहरु जान नदिनेगरी अवरोध गर्ने र कुनै कार्यक्रममा जाँदा कसले बोलायो यसलाई भनेर आयोजकलाई झपार्ने गरेको सुनेको उल्लेख गरेका छन् ।

    उनले थपेका छन्- ‘जसले आफूलाई प्रचण्डको खास मान्छे भन्दै शासन चलाएका छन् । ती तोरीलाउरेहरुले आजभोलि के सोच्दै होलान् ? दुःख लाग्छ, यस्ताहरुले माओवादी आन्दोलनको नेतृत्व गरेपछि हुने यस्तै हो ।’

  • उपाध्यक्ष महरा पक्राउ परेपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक

    उपाध्यक्ष महरा पक्राउ परेपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार बिहान बस्नेगरी प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

    बैठकमा नेताहरुको कार्यविभाजनसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा आज बिहान पक्राउ परेका छन् ।

    सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । लगत्तै गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सोही प्रतिवेदनपछि गृहमन्त्री रवि लामिछानेको निर्देशनमा आज बिहान प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो ।

    तर, उपाध्यक्ष महरा पक्राउको विषयमा अहिलेसम्म पार्टीमा छलफल नभएको नेता ढकालले बताए ।

    माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले पनि अहिले उपाध्यक्ष पक्राउको विषयमा छलफल नभएको बताए ।

    उनले भने, ‘भोलि पदाधिकारी बैठक बोलाइएको छ । बैठकको एजेण्डाबारे केही आएको छैन । अब भोलि बैठकमै थाहा होला ।’

    अर्का एक पदाधिकारीले उपाध्यक्ष महरा पक्राउ परेपछि पार्टीमा आन्तरिक छलफल भएको बताए ।

    ती नेताले नेपाल प्रेससँग भने, ‘पार्टीको शीर्ष नेता पक्राउ परेपछि आन्तरिक छलफल हुनु स्वाभाविक हो । अब अध्यक्षले भोलि बिहान राख्नुभएको बैठकमा त्यसबारेमा ब्रिफिङ गराउनुहुन्छ होला । बैठक पूर्वनिर्धारित होइन, आकस्मिक भएकाले महराजीको पक्राउ प्रकरणबारे छलफल हुन्छ भन्ने लागेको हो ।’

    महरामाथि विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ ।

    महरामात्रै नभइ पार्टी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनको नाम सुन काण्डमा पनि जोडिएको छ ।

    पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार भएको बेलामा पार्टीका नेताहरु नै विभिन्न काण्डमा पक्राउ पर्न थालेका छन् ।

  • माओवादीले दियो मातृका यादवलाई नयाँ जिम्मेवारी, दुई केन्द्रीय सदस्यको सरूवा

    माओवादीले दियो मातृका यादवलाई नयाँ जिम्मेवारी, दुई केन्द्रीय सदस्यको सरूवा

    काठमाडौं । नेकपा माओवादी केन्द्रले उपमहासचिव मातृकाप्रसाद यादवलाई नयाँ जिम्मेवारी दिएको छ । महासचिव देव गुरुङले परिपत्र जारी गर्दै यादवलाई सम्पर्क समन्वय प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएको जानकारी गराएका हुन् ।

    यादवले यसअघि भारत प्रवासको जिम्मेवारी अस्वीकार गरेका थिए । यस्तै माओवादीले दुई केन्द्रीय सदस्यको सरुवा गरेको छ । केन्द्रीय सदस्य महेश्वर दाहाल ४ महिने जनतासँग माओवादी पार्टी विशेष रुपान्तरण अभियानमा बागमती प्रदेशमा खटिएकाले सोही प्रदेशमा सरूवा गरिएको परिपत्रमा उल्लेख छ ।

    वैकल्पिक केन्द्रीय सदस्य मोहनमान स्वाँरले आफू श्रीमतीको उपचारमा लामो समयसम्म क्यानडामा रहनुपर्ने कारण देखाइ सरुवा माग गरेकाले युरोप-अमेरिका प्रवास समन्वय प्रदेशमा सरूवा गरिएको छ ।

    महासचिव गुरुङले माओवादी र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको पनि जानकारी गराएका छन् । डा. बाबुराम भट्टराई माओवादीसँग एकता गर्न तयार नभएपछि अर्का अध्यक्ष महेन्द्रराय यादव पक्षका नेताहरुले शनिबार एकताको सहमति गरेका थिए ।

  • पक्राउपछि विमानस्थलबाट महराको प्रधानमन्त्रीलाई फोन, विप्लवसँग जम्काभेट

    पक्राउपछि विमानस्थलबाट महराको प्रधानमन्त्रीलाई फोन, विप्लवसँग जम्काभेट

    रुपन्देही । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार पक्राउ परे । उनलाई बर्दघाटबाट पिछा गरेको प्रहरीले कपिलवस्तुको पकडी पुगेर पक्राउ गरेको हो ।

    महरालाई रुपन्देही छिरेर गाडी फेरेर जान निकटस्थले दिएको सल्लाह नमानीकन महरा रातो गाडीमा गन्तव्यमा हिँडेका थिए । प्रहरीले रुपन्देहीमै उनलाई पक्राउ गर्न खोजे पनि ब्यारियरमा नरोकी गाडी हुइँक्याइएको थियो । तर पछि ब्यारियर नै रोकेर समातिएको हो ।

    पक्राउपछि रुपन्देही प्रहरीको गाडीमा राखेर एयरपोर्ट ल्याइएको प्रहरी स्रोतले बताएको छ । ९ बजे उड्ने यति एयरलाइन्समा उनलाई काठमाडौं फर्काउन खोजिएको थियो । तर, जहाज डिले भयो ।

    भैरहवा विमानस्थल पुगेपछि पूर्वमाओवादी नेता नेत्रविक्रम चन्द विप्लवसँग उनको जम्काभेट भयो । सोही समयमा महराले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि मोबाइलमा कुरा गरेका थिए । प्रचण्डले ‘आउनुहोस्, प्रहरीले समातेपछि यही बसेर कुरा गरौला, अब रोक्ने कुरा भएन’ भनेको स्रोतले जनाएको छ ।

    सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगले चैत १ गते प्रतिवेदन बुझाएसँगै महराले चलखेल सुरु गरेका थिए । गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन पढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । त्यसको भोलिपल्ट प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएका थिए ।

    प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री लामिछानेले माओवादी उपाध्यक्ष महराका विषयमा पनि कुराकानी गरेको स्रोतले जनाएको छ ।

    त्यसपछि महरा भाग्न खोजेका थिए । उनले काठमाडौं छोडेको खबर प्रहरीमा पुगेको थियो । त्यसपछि प्रहरीले कडाइ गरेको थियो ।

    स्रोतका अनुसार महरा भारततर्फ जानको लागि तयारी गरेका थिए । यो सूचना पाएको प्रहरीले नाकामा कडाइ गरिरहेको चाल पाएपछि महरा अर्को बाटोबाट लागेका हुनसक्ने अनुमान गरिएको छ । राजमार्ग छाडेर हुलाकी मार्ग प्रयोग गरेकाले यो सम्भावना बलियो रहेको प्रहरी अधिकृत बताउँछन् ।

    विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेर ल्याएको आरोपमा महराका छोरा राहुल विरुद्ध मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ ।

    सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो । त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो ।

  • पोखरामा अन्तर्राष्ट्रिय हवाई सेवाबाट व्यवसायिक उडानको पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    पोखरामा अन्तर्राष्ट्रिय हवाई सेवाबाट व्यवसायिक उडानको पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवाहरूबाट व्यवसायिक उडानका लागि पहल गर्ने बताएका छन् ।

    पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध जनाए ।

    ‘प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला-त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ’, उनले भने ।

    प्रधानमन्त्री दाहालले गण्डकी प्रदेशको विकासमा दूरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तीव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै बताए ।

    ‘पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ,’ उनले भने, ‘आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ ।’

    लक्ष्यअनुसार पर्यटक भित्राउन खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यका लागि सम्पूर्ण पोखरेली जनसमुदायमा अपील गरेका छन् ।

  • प्रचण्डको ब्रिफिङ- कांग्रेससँगको गठबन्धनले राष्ट्रियताको रक्षा नहुने देखेँ, एमाले समस्या हुँदैन

    प्रचण्डको ब्रिफिङ- कांग्रेससँगको गठबन्धनले राष्ट्रियताको रक्षा नहुने देखेँ, एमाले समस्या हुँदैन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग लामो गृहकार्यपछि सहकार्य थालेकाले तत्कालै नटुट्ने पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा उनले कांग्रेसको संविधान विरोधी गतिविधिबाट आफू झस्किएपछि नयाँ समीकरणमा जानुपर्ने बताए ।

    उनले भनाई उदृत गर्दै एक नेताले भने, ‘कांग्रेसबाट सरकार सञ्चालनमा सहयोग भएन । अर्थमन्त्रीले साथ दिनुभएन । कोशीमा हामीले पटकपटक धोका पायौं । त्यसैले यहाँबाट अघि बढ्न नसक्ने निष्कर्ष निकालेर मैले नयाँ कदम चालेको हुँ ।’

    उनले महासमितिको बैठकमा पनि हिन्दू धर्मको पक्ष वकालन गर्दै संविधानविरोधी काम भएको बताए ।

    उनले थपे, ‘कांग्रेससँगको गठबन्धनबाट राष्ट्रियताको न संरक्षण हुन्छ न समाजवादउम्मुख काम हुन्छ । त्यसैले एमालेसहितको नयाँ समीकरण थालेका छौं । यो हामीले लामो गृहकार्यपछि थालेकाले यहाँ समस्या हुँदैन ।’

     

     

  • माओवादीको विधान सुझावसहित स्थायी कमिटीबाट पारित

    माओवादीको विधान सुझावसहित स्थायी कमिटीबाट पारित

    काठमाडौं । नेकपा नेकपा माओवादी केन्द्रले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर पार्टीको विधानलाई अन्तिम रूप दिएको छ ।

    आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विधानलाई अन्तिम रुप दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    उनले भने, ‘छलफलबाट विधान परिपूर्ण र समृद्ध भएको छ । विधान अधिवेशनले पास गरेको मूल स्पिरिट त पहिल्यै पास भएको छँदै थियो, अहिले हामीले व्यापक रूपमा त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्न छलफल ग¥यौं, छलफलले परिपूर्ण र समृद्ध भएको छ । आज त्यो फाइनल भएको छ ।’

    बैठकले राष्ट्रियसभा अध्यक्षमा निर्वाचित नारायण दाहालले पार्टीमा दिएको राजीनामा स्वीकृत गरेको उनले जानकारी दिए ।

  • सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता देखिएको छानबिन समितिको ठहर

    सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता देखिएको छानबिन समितिको ठहर

    काठमाडौं । सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ । सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन दिएको स्रोतले बतायो ।

    बिहीबार आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् भएको सुन तस्करीमा महराको नाम जोडिएको थियो । यही प्रकरणमा महराका छोरा राहुल प्रहरी हिरासतमा पुगेका थिए । भेपमार्फत ल्याइएको सुन छुटाउन चिनियाँ गिरोहसँग महरा बाबुछोराको सम्पर्क देखिएपछि उनीहरूलाई अनुसन्धानमा तानिनु पर्ने माग हुँदै आएको थियो ।

    हङकङबाट तस्करी भएको ६० किलो साथै भेपमा लुकाएर तस्करी गरिएको सुनलगायतका प्रकरणको जाँचबुझका लागि आयोग बनाइएको थियो ।