Category: नेपाली कांग्रेस

  • आरजुले भनिन्- कैलालीमा बेकारको आन्दोलन भइरहेको छ, भ्रम सिर्जना नगरौँ

    आरजुले भनिन्- कैलालीमा बेकारको आन्दोलन भइरहेको छ, भ्रम सिर्जना नगरौँ

    कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले कैलालीमा गेटा मेडिकल कलेजका लागि भइरहेको आन्दोलनको कुनै अर्थ नभएको टिप्पणी गरेकी छन् ।

    भिडियो सन्देश मार्फत उनले गेटा मेडिकल कलेजको लागि यसै आर्थिक वर्षमा बजेट व्यवस्था हुने आश्वासन दिँदै बेकारको आन्दोलन भइरहेको अभिव्यक्ति दिएकी हुन् ।

    ‘निर्वाचनका कारण ढिला भएको हो । एक दुई हप्तामै समिति बन्छ । सञ्चालनको लागि यो बजेटमा बजेट आउँछ’ उनले भनिन् ‘यो बेकारको आन्दोलन गर्ने र बेकारको भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु ।’

    उनले गेटा मेडिकल कलेज बारे भइरहेको आन्दोलन सुन्दा अचम्म लागेको समेत बताएकी छन् । ‘गेटामा रहेको क्याम्पस सम्बन्धी विभिन्न टिका टिप्पणी भइरहेको र आन्दोलन समेत भइरहेको सुन्दाखेरि कैलालीमा अचम्म लागेको छ’ उनले भनेकी छन् ।

    आफूले चुनावमा समेत यस विषयमा बताउँदै आएको उनले स्मरण गराएकी छन् । ‘मैले चुनावको दौरानमा अवगत गराएको थिए र त्यहाँको डाक्टरलाई पनि अवगत नै छ । चैत्र ४ गते त्यहाँ ३०० शय्याको अस्पताल खोल्ने निर्णय भइरहेको कुरा बाहिर आइसकेको छ’ उनले भनिन्, ‘नेपाल सरकारको नियम अनुसार तीन वर्ष अस्पताल चलाएपछि मात्रै क्याम्पस चलाउन सकिन्छ । त्यही नियम अनुसार पहिला गेटामा अस्पताल सञ्चालन चाडै हुन गइरहेको छ ।’

    मंगलबार सरकारले ल्याएको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय उल्लेख नभए पनि कैलालीमा आन्दोलन भइरहेको छ । नीति तथा कार्यक्रममा मेडिकल कलेज नसेटिएपछि करिब ९० प्रतिशत पूर्वाधार तयार भइसकेको गेटामा अन्यौलता सृजना भइरहेको छ ।

    यहाँ सबै पक्षले तत्काल बजेट व्यवस्था गरेर गेटा मेडिकल कलेजलाई अगाडी बढाउन दबाब दिइरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री पत्नी समेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्यले बेकारको आन्दोलनको संज्ञा दिँदा उनको अभिव्यक्ति समेत विवादमा तानिएको छ ।

  • निधिलाई प्रमुख अतिथि बनाएपछि एमाले जनप्रतिनिधिले गरे सपथग्रहण बहिष्कार

    निधिलाई प्रमुख अतिथि बनाएपछि एमाले जनप्रतिनिधिले गरे सपथग्रहण बहिष्कार

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि उनी विवादमा तानिएका छन् ।

    मेयर साहले उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथग्रहणका लागि कार्यक्रम आयोजना गरेका थिए । प्रमुख अतिथि नेता निधिलाई बनाएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रम बहिष्कार गरेका छन् ।

    एमालेबाट निर्वाचित ७ वटा वडाध्यक्ष र २९ वटा सदस्यले सपथग्रहण कार्यक्रम सामूहिकरूपमा बहिष्कार गरे । एमाले जनप्रतिनिधिको संयुक्त विज्ञप्तिमा निधिलाई प्रमुख अतिथि बनाएकाले सपथग्रहण समारोहमा उपस्थित हुन असमर्थ भएको उल्लेख छ ।

    ‘सपथग्रहण समारोहमा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री वा नेपाल सरकारका कुनै तहका कर्मचारीलाई प्रमुख अतिथि बनाएको भए आपत्ति थिएन’, विज्ञप्तीमा भनिएको छ ।

    कांग्रेसबाट टिकट नपाएपछि नगर सभापतिबाट राजीनामा दिएर साह स्वतन्त्र उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनले चुनावपछि पनि स्वतन्त्र रहने बताएका थिए । तर, निर्वाचित भएपछि अब कांग्रेसमै रहने साहले बताउन थालेका छन् ।

     

  • त्रियुगामा कांग्रेस र नेकपा एसका उम्मेदवारबीच कडा टक्कर

    त्रियुगामा कांग्रेस र नेकपा एसका उम्मेदवारबीच कडा टक्कर

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकामा अहिले मतगणना चलिरहेको छ । निर्वाचनमा धाँधली भएको भन्दै विवाद हुँदा ढिलोगरी मतगणना सुरू भएको हो ।

    मतगणना सुरु भएपछि भने सुरूदेखि नै नेपाली कांग्रेसका मेयरका उम्मेदवार बसन्तकुमार बस्नेत र नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा लडेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीबीच रोचक टक्कर भइरहेको छ । चौधरी निवर्तमान मेयर पनि हुन् । उनले अघिल्लो निर्वाचन नेकपा एमालेबाट जितेका थिए ।

    पछिल्लो मतगणनामा चौधरीले कांग्रेस उम्मेदवार बस्नेतसँग ६७ मतले अग्रता लिएका छन् । चौधरीले ३ हजार ५७२ मत पुर्‍याउँदा बस्नेतले ३ हजार ५०५ पुर्‍याएका छन् । एमाले उम्मेदवार भागवत रावतले २ हजार ५१८ मत पुर्‍याएर तेस्रो स्थानमा छन् ।

    उपमेयरतर्फ भने कांग्रेस उम्मेदवार सरिता राईले केही फराकिलो मतान्तर बनाएकी छन् । उनले ३ हजार २०५ मतसहित अग्रता लिइरहँदा नेकपा एससँगको गठबन्धनमा लडेकी माओवादी केन्द्रका गीता खड्का कार्कीले २ हजार ९३५ मतसहित पछ्याइरहेकी छन् । एमाले उम्मेदवार महेश्वरी राई २ हजार ७५९ मतसहित तेस्रो स्थानमा छिन् ।

  • काठमाडौं महानगरसभा र कार्यपालिकामा कांग्रेसको बहुमत सुनिश्चित

    काठमाडौं महानगरसभा र कार्यपालिकामा कांग्रेसको बहुमत सुनिश्चित

    काठमाडौं । काठमाडौं महानगरको मतगणना अझैं सकिएको छैन । सम्भवतः आजै अन्तिम मतपरिणाम आउनसक्ने देखिएको छ ।

    मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह मेयरमा र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चित भइसकेको छ ।

    यस्तै नगरसभा र नगरकार्यपालिकामा भने नेपाली कांग्रेसको बहुमत हुने सुनिश्चित भएको छ । काठमाडौं महानगरपालिकामा कुल १६५ सदस्यीय नगरसभा हुन्छ । जसमध्ये १६२ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । जसमा मेयर/उपमेयर, वडाध्यक्ष र सदस्यहरू पर्छन् । यसबाहेक ३ जना कार्यपालिका निर्वाचनबाट निर्वाचित हुने सदस्य हुन्छन् । कार्यपालिका सदस्यमा ८ जनाका लागि निर्वाचन हुन्छ । जसमा पाँचजना प्रत्यक्ष निर्वाचित सदस्यबाटै निर्वाचित हुन्छन् भने, थप तीनजना बाहिरबाट दलित र अल्पसंख्यकबाट निर्वाचित हुने व्यवस्था छ ।

    यस्तै काठमाडौं महानगरमा ४२ सदस्यीय नगर कार्यपालिका हुन्छ । जसमा मेयर अध्यक्ष रहनेगरी उपमेयर र ३२ वडाध्यक्ष पदेन सदस्य हुन्छन् ।
    यस्तै ८ जना कार्यपालिका सदस्य निर्वाचनबाट निर्वाचित हुन्छन् । कार्यपालिका सदस्य निर्वाचनका मतदाता प्रत्यक्ष निर्वाचनबाट निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्यहरू हुन्छन् ।

    हालसम्म कांग्रेसले १८ वटा वडाध्यक्ष जितेको छ । जसमा वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० नम्बर वडा रहेका छन् । यस्तै वडा सदस्यमा ७२ जना जितिसकेको छ । जसमा महिला सदस्य १८ जना, दलित महिला सदस्य १५ जना र ३९ जना खुला सदस्य छन् ।

    यसरी नगरसभामा ९० सदस्य निर्वाचित भइसकेका छन् । जुन १६२ जनामा बहुमतभन्दा बढी छ । यसैले कार्यपालिका सदस्यहरूको निर्वाचनमा पनि कांग्रेसले चाहे एकलौटी ८ जना आफ्ना उम्मेदवार जिताउनसक्ने मत तयार भएको छ ।

    यसैले ४२ सदस्यीय कार्यपालिकामा पनि १८ वडाध्यक्ष र ८ कार्यपालिका निर्वाचनबाट निर्वाचित सदस्य गरी २६ जना कांग्रेसका सदस्य सुनिश्चित देखिएको छ ।

    उता एमालेबाट हालसम्म १२ जना वडाध्यक्ष जितेका छन् । जसमा वडा नम्बर १, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१ र ३२ का वडाध्यक्ष रहेका छन् । यस्तै एमालेले ४६ जना सदस्य जितेको छ । जसमा १२ जना महिला सदस्य, १३ जना दलित महिला सदस्य र ४६ जना खुला सदस्य छन् ।

    यसरी एक उपमेयरको जित सुनिश्चित हुँदा नगरसभामा एमालेको ५९ सदस्य हालसम्म कायम भएको छ । भने कार्यपालिकामा १२ वडाध्यक्ष र एक उपमेयरसहित १३ जना सुनिश्चित भएको छ ।

    यस्तै वडा नम्बर १५ को वडाध्यक्ष नेकपा एकीकृत समाजवादीले जितेको छ भने १४ नम्बर वडाको मतगणना चलिरहेको छ ।

  • काठमाडौंको मतगणना सकिन लाग्यो, अन्तिम वडामा कडा टक्कर (भिडिओ)

    काठमाडौंको मतगणना सकिन लाग्यो, अन्तिम वडामा कडा टक्कर (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब वडा नम्बर १४ को मात्रै मतगणना आउन बाँकी छ ।
    काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन विजयी भइसकेका छन् ।

    उनको विजयको औपचारिक प्रतिक्षा मात्रै बाँकी छ । मतगणना सकिन लाग्दा बालेन स्वयम् राष्ट्रिय सभागृहमा आएका छन् । उनका समर्थकहरुले विशाल र्‍याली निकाल्ने तयारी गरेका छन् ।

    हाल मतगणना जारी रहेको वडा नम्बर १४ मा १०५६२ मत खसेकोमा ९ हजार ४ सय ५२ मत गनिसकिएको छ । यस वडाको वडाध्यक्षमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । हालसम्म कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठले ३०९३ र एमालेकी रश्मी खड्काले ३०७४ भोट ल्याएकी छन् । राप्रपाका आनन्दप्रसाद श्रेष्ठको १०२६ भोट आएको छ ।

    कांग्रेसले काठमाडौंमा सर्वाधिक १८ वडा जितिसकेको छ । यस्तै १२ वटा वडा एमालेको भागमा परेका छन् । एउटामा नेकपा एसका उम्मेदवार विजयी भएका छन् ।

  • ओलीले प्रधानमन्त्रीलाई भने- ईपीजी प्रतिवेदन बुझ्नुस्, सदनलाई जानकारी गराउनुस् (भिडिओ)

    ओलीले प्रधानमन्त्रीलाई भने- ईपीजी प्रतिवेदन बुझ्नुस्, सदनलाई जानकारी गराउनुस् (भिडिओ)

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नेपाल र भारतले गठन गरेको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले बनाएको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिवेदन बुझेर यसका अन्तरवस्तु संसदलाई जानकारी गराउन उनले सुझाव दिए ।

    संसदमा आज भाषण गर्दै ओलीले भने, ‘नेपाल र भारतका दुई प्रधानमन्त्रीले औपचारिक वार्तामा बसेर गठन गरेको इपिजी समूहले दुईपक्षीय सहमतिमा बनाएर दुई वर्षभन्दा बढी काम गरेर बनाएको रिपोर्ट बुझे बुझाएको छैन । के भनियो भने भारतले बुझेन । म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, एउटा प्रधानमन्त्रीले पहिले बुझ्नुपर्‍यो नि ? नेपालले किन बुझ्दैन ? प्रधानमन्त्रीज्यू ईपीजी प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउनुस् ।’

    ईपीजी प्रतिवेदन सन् २०१९ मा नै तयार भएको थियो । ओली स्वयम् प्रधानमन्त्री पदमा हुँदा यो प्रतिवेदन बुझेका थिएनन् । अहिले उनले देउवालाई बुझ्न सल्लाह दिएका छन् ।

  • निधिलाई स्वागत गर्न बागी मेयर विमानस्थलमा, सपथग्रहणमा कांग्रेस नेताहरू सहभागी हुँदै

    निधिलाई स्वागत गर्न बागी मेयर विमानस्थलमा, सपथग्रहणमा कांग्रेस नेताहरू सहभागी हुँदै

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहको सपथग्रहण समारोहको प्रमुख आतिथ्य ग्रहण गर्न नेपाली पूर्वउपसभापति एवं कांग्रेस नेता विमलेन्द्र निधि आइपुगेका छन् ।

    काठमाडौंबाट विमानमा जनकपुरधाम आएका नेता निधिलाई स्वागत गर्न नवनिर्वाचित मेयर साह र कांग्रेसका नेताहरू पुगेका थिए । निधिले विजयी भएकोमा साहलाई बधाई दिए ।

    मेयर साहले आज उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथग्रहण गराउने कार्यक्रम राखेका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथिमा निधिलाई बोलाएपछि अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले विरोध गर्ने स्रोतले जनाएको छ ।

    सत्ता गठबन्धनको भागबन्डामा मेयर जसपालाई दिएपछि साह कांग्रेसको नगर सभापतिबाट राजीनामा दिएर चुनाव लडेका थिए । उनी निर्वाचित भएपछि पुन: कांग्रेसमा फर्किने संकेत गरेका छन् ।

    हिजो जनकपुरधाममा निकालिएको उनको विजयी जुलुसमा कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र जिल्ला सभापति योगेन्द्र पजियारसमेत सहभागी थिए ।

  • काठमाडौंमा कांग्रेसले जित्यो १८ औं वडा, १६ नम्बरबाट मुकुन्द निर्वाचित

    काठमाडौंमा कांग्रेसले जित्यो १८ औं वडा, १६ नम्बरबाट मुकुन्द निर्वाचित

    काठमाडौं । काठमाडौंका वडामा नेपाली कांग्रेसले आफ्नो जितसंख्या १८ पुर्‍याएको छ । सार्वजनिक पछिल्लो मतपरिणाममा वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् ।

    रिजालले ४००५ मत ल्याएर जित हासिल गर्दा एमालेका लक्ष्मीरत्न तुलाधरले ३२३९ भोट ल्याएर हार व्यहोरे । सदस्यहरुमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् ।

    यो वडामा कुल १२ हजार ३ सय ३६ भोट खसेको थियो । मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन साहलाई आएको छ ।काठमाडौंका वडाहरुमा कांग्रेसको प्रभूत्व देखिएको छ । अहिलेसम्म १८ वटा वडामा जित हासिल गर्दा एमाले १२ वडा मात्रै जितेको छ ।

  • बागी मेयरको विजय जुलुस कांग्रेसमय, प्रदेशमन्त्रीदेखि जिल्ला सभापतिसम्म सहभागी

    बागी मेयरको विजय जुलुस कांग्रेसमय, प्रदेशमन्त्रीदेखि जिल्ला सभापतिसम्म सहभागी

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरको मेयरमा बागी उठेर निर्वाचित भएका मनोज साहको विजयी जुलुसमा कांग्रेसका सयौं नेता-कार्यकर्ता सहभागी भएका छन् ।

    नवनिर्वाचित मेयर साह र सत्ता गठबन्धनबाट उम्मेदवार बनेर उपमेयरमा निर्वाचित कांग्रेसकी किशोरी साहको संयुक्त जुलुस कांग्रेसमय बनेको हो । विजयी जुलुस निकालेका थिए । उक्त जुलुसमा कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार र कांग्रेसका सयौं कार्यकर्ता सहभागी छन् ।

    सत्ता गठबन्धनले जनकपुरधामका मेयरमा जसपाका लालकिशोर साहलाई चुनावी मैदानमा उतारेको थियो । निवर्तमान मेयरसमेत रहेका उनी पराजित बने ।

    भागबण्डाप्रति असन्तुष्टि जनाउँदै मनोज साहले कांग्रेस नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र लडेका थिए । उम्मेदवारी फिर्ता लिन कांग्रेस नेतृत्वले व्यापक दबाब दिएका थिए ।

    विजयोत्सवमा कांग्रेसकै नेता कार्यकर्ताको भीड उर्लिएपछि धेरैले टिप्पणी र आश्चर्य मानेका छन् ।

  • कांग्रेसको लोकप्रियता पुष्टि भयो, अब आम चुनावको तयारीमा लागौं : महामन्त्री थापा (भिडिओ)

    कांग्रेसको लोकप्रियता पुष्टि भयो, अब आम चुनावको तयारीमा लागौं : महामन्त्री थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।

    बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरूलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आम निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

    ‘स्थानीय निर्वाचनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि गरेको छ । यसपटकको स्थानीय निर्वाचन आमनिर्वाचनको झल्को दिने खालको भयो । यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिले हाम्रो राम्रो परिणाम आयो’, थापाले भने ।

    महामन्त्री थापाले मुलुकमा नयाँ अध्याय सुरू भइसकेको भन्दै कसैको आलोचना नगरी अघि बढ्नुपर्ने बताए । अबको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले विशेष ध्यान दिनुपर्ने भन्दै उनले पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।

  • संविधानका अनुसूची र स्थानीय सरकार सञ्चालन ऐन कन्ठस्थ गर्न जनप्रतिनिधिहरुलाई गगन थापाको सुझाव

    संविधानका अनुसूची र स्थानीय सरकार सञ्चालन ऐन कन्ठस्थ गर्न जनप्रतिनिधिहरुलाई गगन थापाको सुझाव

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई संविधानका धारा र स्थानीय सरकार सञ्चालन ऐन कन्ठस्थ गर्न सुझाव दिएका छन् ।

    नेपाली कांग्रेस भक्तपुरले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्न बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन कन्ठस्थ पारी सोही आधारमा काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका हुन् ।

    संविधान र ऐनले दिएका अधिकारभन्दा बाहिर गएर काम नगर्न जनप्रतिनिधिहरुलाई सचेत गर्दै उनले भने, ‘यसअघि निर्वाचित कतिले संविधान र ऐनले दिएका अधिकार जान्न नपाउँदै कार्यकाल सकाए । कतिले संविधानले जे नगर भन्यो त्यहीं गरे, कतिले जे गर भन्यो त्यो गरेनन् ।’

    महामन्त्री थापाले जनताले निर्वाचनमार्फत दिएको जिम्मेवारी इमानदारीपूर्वक पालना गर्न आग्रहसमेत गरे ।

    तथ्य र प्रमाणको आधारमा नगर र वडाको विकास निर्माण गर्न जोड दिँदै उनले भने, ‘तथ्य, प्रमाण र तथ्यांकको आधारमा मात्रै स्रोतको विनियोजन गर्नुहोस् । अरुलाई डाहा र इर्ष्या लाग्ने नगरपालिका र वडा बनाउनुहोस् ।’

    काठमाडौं महानगरपालिकालगायतका केही ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेकोतर्फ संकेत गर्दै संघीय सांसदसमेत रहेको थापाले मतदातामा रिस, आक्रोश र आलोचना रहेको बताए ।

    ‘मतदाताहरु रिसाएका छन् । उनीहरुभित्र आक्रोश रहेको छ । उनीहरुले परिवर्तन र परिणाम खोजिरहेका छन्’, उनले भने, ‘त्यसैले मतदाताहरुको आक्रोश बुझ्नुपर्छ । आलोचना बुझ्नुपर्छ । दोहोरिन चाहेका जनप्रतिनिधिहरुलाई लज्जाजकन पराजित गरेका घटनाबाट सिकौं ।’

    उनले पार्टी पराजित भएको नगर र वडामा अबको पाँच वर्ष प्रतिपक्षमा रहेर निरन्तर जनताबीच नै काम गर्न आह्वान गरे ।
    महामन्त्री थापाले स्थानीय तह निर्वाचनमा कांग्रेस सफल भएको भन्दै अब संघ र प्रदेश निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

    पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र केही प्रदेशमा पार्टी सरकारमा गएपछि अब कांग्रेस प्रश्न गर्ने नभई जिम्मेवारी लिने ठाउँमा रहेको उनको भनाइ थियो ।

    ‘दमननाथ ढुंगानालाई उम्मेदवार बनाउनु गल्ती भयो’

    फरक प्रसंगमा महामन्त्री थापाले अघिल्लो संघीय निर्वाचनमा पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएर पार्टीबाट गल्ती कमजोरी भएको बताएका छन् ।

    तर, अबको संघीय निर्वाचनमा उक्त गल्ती नदोहोरिने उनले वचन दिए । यसपालि भक्तपुरले जे चाहन्छ, त्यही हुने महामन्त्री थापाको भनाइ थियो ।

    ‘अघिल्लो निर्वाचनमा उम्मेदवार छनोटमा पार्टीबाट गल्ती कमजोरी भयो । अबको निर्वाचनमा त्यो गल्ती दोहोरिँदैन’, उनले भने, ‘अब भक्तपुरले जे चाहन्छ, तपाईंहरुले जे चाहनुहुन्छ त्यहीअनुसार उम्मेदवार चयन गर्छौं ।’

    अघिल्लो संघीय निर्वाचनमा कांग्रेसले भक्तपुर क्षेत्र नं २ मा पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो । कांग्रेस भक्तपुरको असहमतिबीच नै पार्टीले टिकट दिएका ढुंगाना नेकपा एमालेका महेश बस्नेतसँग भारी मतान्तरले पराजित भएका थिए । त्यसको असरले कांग्रेसले भक्तपुरको संघमा मात्रै होइन, प्रदेशमा समेत प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन ।

  • गठबन्धनकै कारण कांग्रेस ठूलो दल बन्यो, संघीय चुनावमा पनि मिलेरै जान्छौं : गृहमन्त्री खाण

    गठबन्धनकै कारण कांग्रेस ठूलो दल बन्यो, संघीय चुनावमा पनि मिलेरै जान्छौं : गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा कांग्रेसको धेरै सिट आउनुमा गठबन्धनको सहयोग रहेको भन्दै आगामी संघीय र प्रादेशिक चुनावमा पनि पाँचदलीय गठबन्धन कायमै रहने बताएका छन् ।

    पर्वतको पैंयु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ललाई आफ्नै कार्यकक्षमा बधाई तथा शुभकामना दिने क्रममा गृहमन्त्री खाणले गठबन्धनकै कारण कांग्रेस ठूलो दल बनेको बताए ।

    गृहमन्त्री खाणले बधाई दिँदै गठबन्धनको मर्मअनुसार गाउँ र जनताको सेवा गर्न गर्न मल्ललाई सुझाव दिए ।

    उक्त भेटघाट कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, पैंयु गाउपालिका वडा नम्बर ७ का वार्ड अध्यक्ष तोयनाथ शर्मा ,नेपाल तरुण दल पर्वतको नेता विप्लव हमाल, नेपाली कांग्रेस पर्वत पार्टी जिल्ला समिति सदस्य गुप्तप्रताप सेन ,नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता रेशम हमाललगायत उपस्थित थिए ।

  • काठमाडौंको जिल्लासभामा कांग्रेसको बहुमत, एकल जिसस बनाउनसक्ने

    काठमाडौंको जिल्लासभामा कांग्रेसको बहुमत, एकल जिसस बनाउनसक्ने

    काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा एकल जिल्ला समन्वय समिति गठन गर्नसक्ने भएको छ । निर्वाचन परिणामअनुसार काठमाडौंको जिल्लासभामा कांग्रेसको एकल बहुमत सुनिश्चित भइसकेको छ ।

    संविधानले जिल्लाभरका स्थानीय तहका प्रमुख र उपप्रमुख सदस्य रहने जिल्लासभाको व्यवस्था गरेको छ । जिल्लासभाले १ जना प्रमुख, १ जना उपप्रमुख र कम्तीमा १ जना दलित वा अल्पसंख्यकसहित बढीमा ९ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ ।

    काठमाडौंमा १ महानगर र १० नगरपालिका छन् । जसअनुसार जिल्लासभा २२ सदस्यीय हुनेछ । २२ सभासदमध्ये कांग्रेसका १२ जना हुने निश्चित भइसकेको छ ।

    कांग्रेसबाट जिल्लासभामा दक्षिणकाली नगरपालिकाका प्रमुख र उपप्रमुख, कीर्तिपुर नगरपालिकाका प्रमुख र उपप्रमुख, चन्द्रागिरी नगरपालिकाका प्रमुख, नागार्जुन नगरपालिकाका प्रमुख, तारकेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुख, टोखा नगरपालिकाका उपप्रमुख, गोकर्णेश्वर नगरपालिकाका प्रमुख, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख र शंखरापुर नगरपालिकाकी उपप्रमुख गरी १२ जना रहनेछन् ।

    २२ सदस्यीय जिल्लासभामा एकल बहुमत हुने भएकाले कांग्रेसले जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख दुवै आफैसँग राख्ने सम्भावना बढी छ । सदस्यहरुमा भने गठबन्धनमा रहेका दलहरुको प्रतिनिधित्व गराउन सकिने कांग्रेसका एक नेताले जानकारी दिए ।

  • कांग्रेसले भन्यो- तालमेलको नतिजाले संसदीय निर्वाचनसम्म गठबन्धनको आधार मजबुत भयो (भिडिओ)

    कांग्रेसले भन्यो- तालमेलको नतिजाले संसदीय निर्वाचनसम्म गठबन्धनको आधार मजबुत भयो (भिडिओ)

    काठमाडौं । सम्पन्न स्थानीय तह निर्वाचनमा भएको सत्तारूढ दलबीचको तालमेल र आएको नतिजाले गठबन्धनको भविष्य मजबुत बनाएको कांग्रेसले टिप्पणी गरेको छ ।

    पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन र निर्वाचनका सन्दर्भमा उठेका आशंकाहरू स्थानीय तह निर्वाचनको नतिजाले समाप्त पारिदिएको बताए ।

    ‘गठबन्धनका विषयमा पार्टीभित्र र बाहिर धेरै प्रश्न र आशंका सिर्जना भएका थिए । त्यसलाई चिरेर विश्वासको आधार तयार भएको छ’, पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने, ‘गठबन्धनको लय मिलेको छ । एकअर्कालाई सहयोग पुगेको छ । अपवाद ठाउँहरू छन् । त्यो मूलतः हामीले मतदातालाई चुनाव चिन्हका बारेमा सुसूचित गर्न नसक्दा समस्या भयो ।’

    समग्रमा गठबन्धनको नेतृत्व सन्तुष्ट रहेको उनले दाबी गरे । ‘विश्वासको वातावरण सिर्जना भएको छ । यसले आगामी संसदीय निर्वाचनसम्म गठबन्धनलाई अगाडि बढाउन मजबुत आधार तयार भएको छ’, उनले भने ।

  • गृहनगर जितेपछि रामचन्द्रले भने- प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुनेछ

    गृहनगर जितेपछि रामचन्द्रले भने- प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुनेछ

    तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश र संघको निर्वाचनमा पनि चुनावी तालमेल गर्ने आधार बनेको बताएका छन् ।

    गृहनगर तनहुँको व्यासमा कांग्रेसले जितेपछि आयोजित विजय सभालाई सम्बोधन गर्दै नेता पौडेलले स्थानीय निर्वाचनले गठबन्धन र तालमेलको अपरिहार्यता पुष्टि गरेको बताए ।

    उनले संविधान र मुलुक जोगाउन गठबन्धन भएको भन्दै प्रदेश र संघको निर्वाचनमा पनि सहकार्य जरुरी रहेको बताए ।

    ‘संविधान र मुलुकलाई जोगाएर समृद्धि र विकास हासिल गर्न अझै केही समय संविधान पक्षधरबीच सहकार्य हुनुपर्छ । अब हुने प्रदेश र संघ निर्वाचनमा पनि तालमेल हुनुपर्छ’, पौडेलले भने ।

    उनले तनहुँका जनताले कांग्रेसलाई जिताएर लोकतन्त्र, संविधान र विकासको पक्षमा आफूलाई उभ्याएको समेत बताए । पौडेलले निर्वाचित जनप्रतिनिधिहरुलाई शासक नभई सेवकका रुपमा काम गर्न आग्रह समेत गरेका छन् ।

    व्यासनगरको प्रमुखमा कांग्रेसका बैकुण्ठप्रसाद न्यौपाने विजयी भएका छन् । उनीविरुद्ध पूर्व कांग्रेस नेता गोविन्दराज जोशीका छोराले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर सरकार कल्याणकारी बन्नुपर्छः कांग्रेस नेता महर

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेर सरकार कल्याणकारी बन्नुपर्छः कांग्रेस नेता महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको ढाड सेक्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिई कल्याणकारी बन्न सरकारसँग आग्रह गरेका छन् ।

    उपभोक्ता मञ्चले बढ्दो महंगीका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता महरले पछिल्लो केही महिनायता अस्वाभाविक मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेर उपभोक्ता मारमा परेको बताए ।

    सरकारले आइतबार रातिदेखि लागू हुने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गरिनुपर्ने उनको माग छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि वृद्धि हुने भएकाले राज्य कल्याणकारी बन्नुपर्नेमा उनले जोड दिए ।

    ‘सरकारको काम व्यापार गरेर नाफा खानेमात्र होइन । समस्यामा परेका बेला कल्याणकारी भावना राखेर जनतालाई सहुलियत दिनु पनि हो । पेट्रोलियम पदार्थमा लगाइएको करमात्रै खारेज गर्न सके अकासिएको मूल्यवृद्धिमा स्वतः गिरावट आउने छ’, नेता महरले भने ।

    सरकार कूटनीतिक माध्यमबाट पनि नेपालमा पेट्रोलियम पदार्थको सहज व्यवस्थापनमा लाग्नुपर्ने महरको भनाइ छ । अप्ठ्यारो परिस्थितिमा नै जनतालाई राज्य र सरकार भएको महसुस हुनुपर्ने उनी बताउँछन् ।

    विदेशमा मूल्य बढेर आयो भन्दै नेपालमा पटक–पटक मूल्य वृद्धि गर्नुमात्रै समस्याको समाधान नहुने उनको भनाइ छ । यो समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्नेमा महरले जोड दिए ।

    अहिले पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८०० रुपैयाँ पुगेको छ । निगमले गएको वैशाख ३१ गतेमात्रै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको थियो ।

  • दलसँग कामको योजना नभएको स्वीकार्दै गगनले भने- उम्मेदवार उठाउँदा सोच्नुपर्ने भयो (भिडिओ)

    दलसँग कामको योजना नभएको स्वीकार्दै गगनले भने- उम्मेदवार उठाउँदा सोच्नुपर्ने भयो (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरूसँग नरहेको स्वीकार गरेका छन् ।

    आइतबार काठमाडौंमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ लोकार्पण तथा समसामयिक अर्थ-राजनीतिक विमर्श कार्यक्रममा थापाले राजनीतिक दलहरुको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताएका हुन् ।

    जतिसुकै ठूला कार्यक्रम ल्याएपनि कार्यान्वयनको नीति फितलो देखिएको थापाको भनाइ थियो । थापाले अगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बहुमत पाउने दाबी गर्दै भावी योजनाका बारेमा अहिलेदेखि तयारी थालेको पनि बताए ।

    कांग्रेसले बहुमत प्राप्त गर्दै गर्दा मुलुकलाई दुर्घटनामा पार्दैन भनेर कसरी आश्वस्त पार्ने भन्ने विषय प्रमुख रहेको उनले बताए ।

    थापाले विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवार हाबी भएकोतर्फ संकेत गर्दै दलहरूले उम्मेदवार उठाउँदा निकै सोच विचार गर्नुपर्ने अवस्था आएको धारणासमेत राखे ।

    पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकमा वाग्लेद्वारा लिखित बिभिन्न लेखहरू संग्रहित गरिएको छ ।

  • कन्चनपुरको कृष्णपुरमा कांग्रेस विजयी, मेयरमा हेमराज र उपमेयरमा द्रोपदी

    कन्चनपुरको कृष्णपुरमा कांग्रेस विजयी, मेयरमा हेमराज र उपमेयरमा द्रोपदी

    महेन्द्रनगर । कन्चनपुरको कृष्णपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ ।

    मेयरमा नेपाली कांग्रेसका हेमराज ओझा १० हजार ४३४ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २०० मत पाएका छन् ।

    उपमेयरमा पनि कांग्रेसकै द्रौपदी राना विजयी भएकी छन् । उनले ९ हजार ६७५ मत पाउँदा एमालेकी रमिता रानाले ७ हजार ३१६ मत पाएकी छन् ।

  • काठमाडौं-७ मा २५ वर्षपछि कांग्रेस विजयी

    काठमाडौं-७ मा २५ वर्षपछि कांग्रेस विजयी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ७ मा २५ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार विमलकुमार होडा विजयी भएका छन् । यहाँ दलित महिला सदस्य भने एमालेले जितेको छ ।

    होडाले २ हजार ८६७ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णमणि भट्टराईले ४४ मत कम २ हजार ८१९ मत प्राप्त गरेका छन् ।

    यो वडामा चावहिल मित्रपार्क क्षेत्र पर्दछ । यहाँ २०५४ देखि एमालेले लगातार आफ्नो विरासत कायम गर्दै आएको थियो ।

    यहाँ मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नै सबैभन्दा बढी ३ हजार ८४६ मत प्राप्त गरेका छन् । दोस्रोमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले १ हजार ५८० मत प्राप्त गर्दा तेस्रोमा एमाले उम्मेदवार केशव स्थापितले १ हजार ४७२ मत प्राप्त गरेका छन् ।

  • अन्तर्घात आरोपमा कांग्रेसका ३ महासमिति सदस्यसहित बारामा ८ जनामाथि कारबाही सिफारिस

    अन्तर्घात आरोपमा कांग्रेसका ३ महासमिति सदस्यसहित बारामा ८ जनामाथि कारबाही सिफारिस

    बारा । स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली कांग्रेस निजगढ र कोल्हबीले कार्यकर्तामाथि कारबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।

    स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेपाली कांग्रेस निजगढ नगर समितिले तीनजना महासमिति सदस्यसहित सातजना नेता कार्यकर्तामाथि काराबाही गर्न पार्टीको केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको हो ।

    नगर समितिले महासमिति सदस्यहरू शम्भुबहादुर बुढाथोकी, पदमबहादुर भण्डारी, महेशी कुँवर, जिल्ला कार्यसमितिका सदस्य कृष्णप्रसाद खरेल, महाधिवेशन प्रतिनिधि रामकुमारी गोले, बारा क्षेत्र नम्बर- १ क्षेत्रीय समितिका सहसचिव प्रदिपकुमार उप्रेती र जिल्ला कार्यसमितिका पूर्वसदस्य रामचन्द्र जैसवाललाई कारबाही गर्न सिफारिस गरेको हो ।

    उनीहरूमाथि गत स्थानीय निर्वाचनमा निजगढ नगरपालिकामा पार्टीको तर्फबाट प्रमुख पदका उम्मेदवार सुरेश खनाललाई हराउन भूमिका खेलको आरोप लगाइएको छ । नगर कार्यसमितिले पार्टीको उम्मेदवार हराउने भूमिका खेल्नेहरुलाई प्रमाणसहित कारबाहीको लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गर्ने निर्णय गरेको निजगढ नगर सभापति नवराज तिमल्सिनाले जानकारी दिए ।

    नेकपा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा उत्रिएका निवर्तमान मेयरसमेत रहेका खनाल नेकपा एमालेका उम्मेदवार सुरथ पुरीसँग पराजित भएका थिए भने गठबन्धनबाट उपमेयर पदका उम्मेदवार माओवादीका रवि दङ्गाल पनि एमालेकी सोममाया थिङ्गसँग पराजित भए ।

    नगरप्रमुख पदमा पराजित बने पनि कांग्रेसले निजगढमा यो निर्वाचनमा ८ वटामा वडा अध्यक्ष पद जितेको छ । यसअघि कांग्रेसले निजगढका ५ वटा वडामा मात्रै जित हात पारेको थियो ।

    त्यसैगरी नेपाली कांग्रेस कोल्हबीले पनि वडा नम्बर १ मा पार्टीबाट वडा अध्यक्षका उम्मेदवार त्रियोगी राउत थारुलाई अन्तर्घात गरेर हराएको भन्दै नगर सभापति विरेन्द्रप्रसाद चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

    कोल्हबीका कांग्रेस कार्यकर्ता भेलाले कांग्रेस नगर सभापति विरेन्द्र र उनका छोरा नेविसंघको आदिवासी जनजाति संयोजक समिर चौधरीलाई पार्टीका उम्मेदवार राउत थारुलाई अन्तर्घात गरेर हराएको आरोपमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाको वडा नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार राजहरण चौधरी विजयी बनेपछि कांग्रेसभित्र अन्तर्घातको बहस सुरू भएको हो ।

  • बाराको महागढीमाई नगरपालिकामा कांग्रेसका यादव विजयी

    बाराको महागढीमाई नगरपालिकामा कांग्रेसका यादव विजयी

    बारा । बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारादेवी कानु विजयी भएका हुन् ।

    यादव ८ हजार ६ सय ७० सहित मेयरमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवले ७ हजार ३ सय ७६ मत ल्याए ।

    उपमेयरमा निर्वाचित कानुले ७ हजार ९ सय ९७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार पुष्पान्जली देवीले ७ हजार १० मत ल्याएकी छन् ।

  • कालो कोठामा काम नगर्न सुझाव दिँदै सुनिल थापाले बताए विकासका ४ मन्त्र

    कालो कोठामा काम नगर्न सुझाव दिँदै सुनिल थापाले बताए विकासका ४ मन्त्र

    काठमाडाैं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई जनताको काम गर्दा कालो कोठामा बसेर नगर्न सुझाएका छन् ।

    पाख्रिवास नगरपालिका वडा नं. ८ का नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिने क्रममा थापाले दिगो विकासको लागि चार कुरामा ध्यान दिन सुझाए ।

    थापाले भने, ‘पहिलो- दिगो विकारको लागि पूर्वाधारमा ध्यान दिऔँ, दोस्रो- महिलाको हक अधिकार र सिप तालिमलाई के-के गर्नुपर्छ हाँहरुलाई नै सहभागी गराएर काम गरौँ, तेस्रो- विकासको काममा युवाहरूलाई सहभागी गराऔँ र चौथो- अल्पसंख्यक र दलित दाजुभाई दिदीबहिनीको समस्यालाई मनन गरेर अगाडि बढ्नुभयो भने तपाईंहरू सफल बन्नुहुनेछ ।’

    चुनावी अभियानमा गाउँ गएको स्मरण गर्दै थापाले घामेका जनताको माग सडकमा केन्द्रित भएकाले त्यसकालागि १० लाख बजेट प्रदेश सरकाबाट छुट्टाइएको बताए ।

    थापाले भने, ‘त्यो कार्यपत्र आइसकेको छ । काम गर्ने अधिकार तपाईंहरूले पाइसक्नुभएको छ । मेयर साप, वडा अध्यक्ष ज्यू यहीँ हुनुहुन्छ । घामेका जनतासँग छलफल गरी सडक चाँडै बनाउनुस् ।’

    थापाले कर्मले पदाधिकारी र धर्मले सेवक भएका कारण जुन सुकै पार्टी भए पनि कांग्रसको उदारवाद नीतिलाई नबिर्सिन र कसैलाई काखा, कसैलाई पाखा नगरि काम गर्न मेयर र वडा अध्यक्षलाई अनुरोध गरे ।

    धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङले ५ हजार ४ सय ९८ मत ल्याइ मेयरमा विजयी भएका थिए । यस्तै उनका प्रतिद्वन्द्वी एमालेका भीमबहादुर राईले ५ हजार ५३ मत पाएका थिए ।

  • एमालेको पकड क्षेत्र मानिने काभ्रेको पनौती पनि कांग्रेसले जित्यो

    एमालेको पकड क्षेत्र मानिने काभ्रेको पनौती पनि कांग्रेसले जित्यो

    काभ्रे । नेकपा एमालेको पकड क्षेत्र मानिने काभ्रेको पनौती नगरपालिकामा पनि कांग्रेसले जितेको छ । पनौतीको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राम शरण भण्डारी विजयी भएका छन् ।

    भण्डारीले १४ हजार ५० मत पाउँदा प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरे ।

    उपमेयरमा भने नेकपा एमालेकी गीता बन्जारा विजयी भइन् । बन्जाराले १२ हजार ३३७ मत प्राप्त गरिन् भने प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका छविलाल हुमागाईंले १० हजार ३८८ मत पाए ।

    यहाँ कांग्रेसले १, ५, ९ र १० गरी चार वटा वडा जितेको छ भने एमालेले २, ३, ४, ६, ७, ८ र ११ गरी सातवटा वडा जितेको छ ।

  • रतुवामाईको मेयरमा ७४ वर्षीय नागेश्वर निर्वाचित

    रतुवामाईको मेयरमा ७४ वर्षीय नागेश्वर निर्वाचित

    विराटनगर। प्रदेश १ रतुवामाई नगरपालिकाको मेयरमा कांग्रेसकाका ७४ वर्षीय नागेश्वर प्रसाद सिंह गनगाई विजयी भएका छन् । उनले १३ हजार १ सय ३५ मत प्राप्त गरेका छन् ।

    उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका दुर्गा कुमार विष्टले ११ हजार २ सय ५२ मत ल्याएका छन् ।

    यस्तै उपमेयरमा एमालेकी दयान्ता देवी चुडाल विजयी भएका छिन् । उनले ९ हजार ३ सय ७४ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् ।

    माओवादीका सुमन कालिकोटेले भने ८ हजार ४ सय ७९ मत ल्याएका छन् । यस नगरपालिकामा माओवादीका र कांग्रेसबीच गठबन्धन भएको थियो । चुडाल निवर्तमान उपमेयर हुन । नागेश्वर पूर्व शिक्षक समेत हुन् ।

    २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुखमा कांग्रेसका रविन राईले बाजी मार्दा उपप्रमुखमा एमालेकी चुँडाल विजयी भएकी थिइन् ।

    गत चुनावमा रविन राई ९ हजार ९५ मतसहित निर्वाचित भएका थिए । एमालेका टेकेन्द्रबहादुर पोमुले ८ हजार १ सय मत ल्याएका थिए ।

    कम्युनिस्ट पार्टीको उद्गम थलोमा कांग्रेसका नागेश्वरले जित निकालेका छन् भने एमलेका उम्मेदवारले हार बेहोरेका छन् । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस हाल रतुवामाई नगरपालिकामा भएको थियो । रतुवामाई नगरपालिकामै नेकपा एमालेका संस्थापक नेता स्वः मदन भण्डारीको घर छ ।

  • एमालेले कागेश्वरी मनोहरा पनि गुमायो, मेयरमा कांग्रेसका कार्की निर्वाचित

    एमालेले कागेश्वरी मनोहरा पनि गुमायो, मेयरमा कांग्रेसका कार्की निर्वाचित

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्र कार्की निर्वाचित भएका छन् । उपमेयरमा भने एमालेकी शान्ति थापा विजयी भएकी छन् ।

    मेयरमा कार्कीले ११ हजार ३२२ पाए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरे।

    उपमेयरमा एमालेकी थापाले ९ हजार ८७५ मत पाउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भोला चापागाईं ५ हजार ४२२ मत मात्र प्राप्त गरे ।

  • विष्णु पौडेलको वडा कांग्रेसले जित्यो, एमालेको ३० वर्षे विरासत तोडियो

    विष्णु पौडेलको वडा कांग्रेसले जित्यो, एमालेको ३० वर्षे विरासत तोडियो

    रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले मतदान गरेको वडा कांग्रेसले जितेको छ ।

    पौडेलले मतदान गरेको बुटवल उपमहानगरपालिकामा एमालेका उम्मेदवार ज्ञानप्रसाद अर्याललाई ३५ मतले पराजित गर्दै नेपाली कांग्रेसमा यज्ञप्रसाद पंगेनीले जित निकालेका छन् ।

    तीन दशकयता एमालेबाहेक कसैले जित्न नसकेको यो वडामा यसपालिका कांग्रेसले जित निकालेको हो । वडाध्यक्ष कांग्रेसले जितेको यो वडामा दुई सदस्य एमाले, एक सदस्य जनमुक्ति र एक सदस्य माअ‍ोवादीका उम्मेदारले जितेका छन् ।

    वडा सदस्यमा एमालेका सीता खनाल, सबिता विक, माओवादीका हरि ज्ञवाली, जनमुक्तिका तुलबहादुर थापाले जितेका हुन् ।

  • कैलालीकाे गोदावरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    कैलालीकाे गोदावरीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    कैलाली । कैलालीको गोदावरी नगरपालिकाकाे प्रमुखमा नेपाली कांग्रेसका वीरेन्द्र भट्ट तथा उपप्रमुखमा नेकपा एमालेकी शारदादेवी रोकाया विजयी भएका छन् ।

    कांग्रेसका भट्टले नेकपा एमालेका गोकर्ण भट्टलाई ४ हजार २७७ मतले पछि पार्दै विजयी भएका हुन् । भट्टले १५ हजार ५०१ मत पाउँदा एमालेका भट्टले ११ हजार २२४ मत पाएका थिए ।

    त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी रोकायाले एकीकृत समाजवादीकी रत्ना कडायतलाई ६८७ मतले पछि पार्दै विजयी भएकी हुन् । रोकायाले १० हजार ६७० मत पाउँदा समाजवादीकी कडायतले ९ हजार ९८३ मत पाएकी छिन् ।

    यस्तै नगरभित्रका १२ वटा वडामध्ये ७ वटामा कांग्रेस विजयी भएको छ । एमालेले ४ वटामा जित हात पारेको छ ।

  • बैतडीको पुर्चौडी नगरपालिकाका कांग्रेस विजयी

    बैतडीको पुर्चौडी नगरपालिकाका कांग्रेस विजयी

    काठमाडाैं । बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार ‍विजयी भएका छन् । मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुक निर्वाचित भएका हुन् ।

    बमले ५ हजार ८८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्णबहादुर कुँवरले ३ हजार ९६५ मत पाएका छन् ।

    माओवादी केन्द्रका विक्रम कुँवर प्रतीकले ३ हजार ९०६ मत ल्याएका छन् ।

  • काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धन विजयी

    काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धन विजयी

    काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा गठबन्धन विजयी भएको छ । यहाँ पालिका अध्यक्षमा माओवादी केन्द्र इन्द्रबहादुर थिङ र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा विजयी भएका हुन् ।

    अध्यक्ष विजयी थिङले ४,४८५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेखर लामाले ३,१५५ मत पाएका छन् ।

    उपाध्यक्ष विजयी जिम्बाले ४,३२८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुक्मणी गुरुङले २,९८७ मत पाइन् ।

  • भक्तपुरको चाँगुनारायण नपाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी (अन्तिम नतिजासहित)

    भक्तपुरको चाँगुनारायण नपाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी (अन्तिम नतिजासहित)

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ ।

    गठबन्धनलाई छाडेर एक्लै अघि बढेको कांग्रेसले यहाँ उपमेयर गुमाउनुपर्‍यो । त्यस्तै कांग्रेस २०७४ सालको मंसिरमा भएको प्रदेशसभाको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गरिएको लिखित सम्झौतालाई लत्याएर अघि बढेको थियो ।

    प्रमुख निर्वाचित कांग्रेसका जीवन खत्रीले ९ हजार ५५० मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी वीणा बास्तोलाले ९१६० मत ल्याइन् । उनी निवर्तमान उपमेयर थिइन् ।

    प्रमुखमा राप्रपाका रवीन्द्रप्रताप शाहले ८ हजार ६७ मत ल्याउँदा नेमकिपा केशवप्रसाद तिमिल्सिनाले ३ हजार २६७ मत पाए ।

    उपप्रमुखमा एमालेका रमेश बुढाथोकी ११ हजार १०७ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुभद्रा काफ्लेले ९ हजार ७६ मत ल्याइन् । उपमेयरमा राप्रपाकी मञ्जु कार्कीले ६०८६ र नेमकिपाकी कल्पना लामाले ३३७४ मत ल्याएका छन् ।

    वडामा पनि मिश्रित

    चाँगुनारायण नपाका नौ वटा वडामा यसपटक पनि मिश्रित परिणाम आएको छ । अघिल्लो निर्वाचनमा कांग्रेस, एमाले र नेमकिपाको उपस्थिति रहेको वडामा यसपटक राप्रपाले इन्ट्री गरेको छ । राप्रपाले एमालेका दुइटा वडा खोसेको छ ।

    कांग्रेसले ४ वडाको अध्यक्ष जित्दा राप्रपा र एमालेले समान २–२ वटा र नेमकिपाले एक वडा जितेका छन् ।

    चाँगुनारायण नगरपालिका
    प्रमुखः जीवन खत्री (नेपाली कांग्रेस
    उपप्रमुखः रमेश बुढाथोकी (एमाले)
    वडा नं १ः सिजन कार्की (कांग्रेस)
    वडा नं २ः सोम प्रधान (कांग्रेस)
    वडा नं ३ः श्यामसुन्दर धिमाल (एमाले)
    वडा नं ४ः रोजबहादुर लामा (एमाले)
    वडा नं ५ः जयन्द्र खड्का (कांग्रेस)
    वडा नं ६ः धनबहादुर लामा (राप्रपा)
    वडा नं ७ः श्याम नायजू श्रेष्ठ (राप्रपा)
    वडा नं ८ः जनक खत्री (कांग्रेस)
    वडा नं ९ः गणेश त्यात (नेमकिपा)

  • बुटवल उपमहानगरमा गठबन्धनका खेलराज एमालेका भट्टराईभन्दा साढे ४ हजार मतले अगाडि

    बुटवल उपमहानगरमा गठबन्धनका खेलराज एमालेका भट्टराईभन्दा साढे ४ हजार मतले अगाडि

    रुपन्देही । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । गठबन्धनका उम्मेदवार उनले १३ हजार ४१८ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।

    नेकपा एमालेका प्रत्यासी बाबुराम भट्टराईले ८ हजार ९७२ मत प्राप्त गरेका छन् । पछिल्लो मत गणनाअनुसार भट्टराई पाण्डेभन्दा ४ हजार ४४६ मतले पछि छन् । यसैगी राप्रपाका मृगेन्द्र शेरचनले २३७४ मत प्राप्त गरेका छन् ।

    उपमेयर उम्मेदवारमा भने नेकपा एमालेकी सबित्रा अर्यालले अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चीनबहादुर गुरुङलाई २७०१ मतले पछि पारेकी छन् । अर्यालले ९ हजार ९७८ मत प्राप्त गर्दा गठबन्धनका गुरुङले ७ हजार २७७ मत प्राप्त गरेका छन् ।

    यसैगरी राप्रपाकी भगवती पाण्डे सैंजुले ३३०७ मत प्राप्त गरेकी छन् । बुटवलमा हालसम्म २७३४४ मत गणना भएको छ ।

    यसअघि एमालेले जितेका वडाहरुमा पनि कांग्रेसले फराकिलो अन्तरले जितेकाले यहाँबाट पाण्डेको जित निश्चित जस्तै बनेको छ । तर, उपमेयरमा भने गठबन्धनभन्दा एमालेका उम्मेदवार अगाडि छन् । यो अन्तरलाई हेर्दा उपमेयरमा एमालेले जित्ने सम्भावना बलियो भएको छ ।

  • मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी, प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस

    मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी, प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस

    मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    मतगणनाअनुसार गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका विष्‍णुबहादुर विष्‍ट ९७१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले ७७७१ मत ल्याए ।

    यसैगरी उपमेयरमा गठबन्धनबाटै नेपाली कांगेसका भरत गोपाली ८६०७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकै कल्‍पना बलामीले ८५२२ मत ल्याइन् ।

  • गैंडाकोटको मेयर, उपमेयर दुवै कांग्रेसले जित्यो

    गैंडाकोटको मेयर, उपमेयर दुवै कांग्रेसले जित्यो

    चितवन । नवलपरासी (वर्दघाट पूर्व)को गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ति कोइराला निर्वाचित भएका हुन् ।

    मेयरका उमेदवार अधिकारीले निकतटम प्रतिस्पर्धी एमालेका छत्रराज पौडेललाई दुई हजार ८४९ मतअन्तरले पराजित गरेका हुन् ।

    अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान मेयर समेत रहेका पौडेलले जम्मा १३ हजार ६०६ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा पौडेल २०२ मतअन्तरले निर्वाचित भएका थिए ।

    उपमेयरकी उमेदवार कांग्रेसकी कोइराला सात हजार ४७४ मतअन्तरले निर्वाचित भइन् । कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा एमाले र राप्रपा गठबन्धनका उमेदवार लुलाराम पौडेलले आठ हजार ६४० मत प्राप्त गरे ।

    गैंडाकोटका १८ वटा वडामध्ये १० वडामा कांग्रेसका उमेदवार निर्वाचित भए भने छ वडामा एमालेका उमेदवार निर्वाचित भए । एउटा वडामा माओवादी केन्द्रका उमेदवार निर्वाचित भए ।

  • कालीगण्डकीमा कांग्रेस अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    कालीगण्डकीमा कांग्रेस अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    रुपन्देही । गुल्मीको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा ४ हजार ८१० मतले विजयी भएका छन् ।
    उपाध्यक्षमा नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी ४ हजार ४८४ मत ल्याएर विजयी भएकी छन् ।

    गाउँपालिका अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३८४ मत ल्याइन् ।

    गाउँपालिकामा रहेका ७ वटा वडाहरुमध्ये एमाले र कांग्रेसले ३-३ तथा एउटा वडामा राष्ट्रिय जनमोर्चाले जितेको छ ।

    जिल्लाका १२ वटा स्थानीय तहमध्ये ११ वटाको मतगणना सकिएको छ ।

  • सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका कांग्रेसले जित्यो

    सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका कांग्रेसले जित्यो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका कांग्रेसले जितेको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार पासाङ नोर्बु शेर्पा दुई हजार ६०५ मत ल्याउँदै विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खडकाले २०४८ मत प्राप्त गरे ।

    त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै दिछेन शेर्पा दुई हजार ७१२ मत ल्याउँदै विजयी भएकी छन। उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सुन्तलीमाया तामाङले २ हजार ५५३ मत प्राप्त गरिन् ।

    पाँच वडा रहेको यो गाउँपालिकामा १, २ र ५ कांग्रेसले जितेको छ भने ३ मा स्वतन्त्र उमेदवार विजयी भएका छन् । त्यस्तै वडा नम्बर ४ मा एमाले उमेदवार विजयी भएका छन्।