Category: नेपाली कांग्रेस

  • प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार तय

    प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार तय

    काठमाडौं । नेपाली कांग्रेस आबद्ध पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार बन्ने निश्चित भएको छ । यही साउन ६ र ७ गते हेटौंडामा आयोजना हुने युनियनको नवौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।

    संस्थापन पक्षबाट अध्यक्षका आधा दर्जन आकांक्षीहरूमध्ये अन्तिममा पाँच सदस्यीय कार्यदलले मंगलबार अनिता विन्दुको नाम अध्यक्षमा टुंगो लगाएको हो । कार्यदलमा युनियनका अध्यक्ष बद्री सिग्देलसहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्साल छन् ।

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि अनितालाई अध्यक्षमा अघि बढ्न कार्यदलले सिग्नल दिएको छ । नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष समेत रहेकी अनिता विन्दु नेपाल टेलिभिजनमा कार्यरत छिन् ।

    संस्थापनइतर पक्षबाट अध्यक्षमा शिव लम्साल उम्मेदवार बन्ने लगभग निश्चित छ ।

  • आउँदो चुनावमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय (पूर्णपाठ)

    आउँदो चुनावमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्ने कांग्रेसको निर्णय (पूर्णपाठ)

    काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेर अघि बढ्ने भएको छ ।

    आज सकिएको केन्द्रीय समिति बैठकको निर्णयार्थ प्रस्तुत गरिएको प्रस्तावमा आउँदा दुवै चुनावमा कांग्रेसलाई स्पष्ट बहुमत हुने गरी संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै स्थिर सरकारमार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरिएको उल्लेख छ ।

    ‘तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठानिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरूसँग संवादमार्फत निष्कर्षमा पुग्ने’, कांग्रेसको भनाइ छ ।

    स्थानीय तहको निर्वाचन समग्रमा गठबन्धनसहित प्राप्त परिणामप्रति कांग्रेसले सन्तोष जनाएको छ ।

  • जनप्रतिनिधिमाथि आक्रमण गर्ने डीएसपीलाई कारबाही माग गर्दै एमाले आन्दोलनमा

    जनप्रतिनिधिमाथि आक्रमण गर्ने डीएसपीलाई कारबाही माग गर्दै एमाले आन्दोलनमा

    रुपन्देही । तिलोत्तमा नगरपालिकाको आजको लागि बोलाइएको नगरसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

    सचिव माधवप्रसाद पौडेलले बैठक सुरू हुनु केही समयअघि सूचना टाँसेर भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएका छन् । आइतबार विवादपछि स्थगित भएको नगरसभा सोमबार १२ बजेका लागि बोलाइएको थियो ।

    बजेट पास गर्न केही दिनयता नियमित रूपमा बैठक बसेपनि कांग्रेसबाट निर्वाचित मेयर रामकृष्ण खाण तथा एमालेबाट निर्वाचिन उपमेयर जागेश्वरी चौधरीको आ-आफ्नै अडानले निष्कर्ष निस्किएको छैन । नगरसभामा बहुमतमा रहेको एमालेले बजेटसहित सभाबाट ३ विषयगत समिति प्रस्ताव गर्नुपर्ने अडानमा भएपछि मेयरले नगरसभा स्थगित गर्दै आएका छन् ।

    हिजो पनि मेयरले कोरम नपुगेको भन्दै बैठक स्थगित भएपछि एमाले जनप्रतिनिधिले नाराबाजी गरेका थिए । बैठकमा आफूहरूलाई हाजिर गर्न नदएको तथा प्रहरी प्रशासनको बलमा धरपकड गरिएको एमालेको आरोप छ । सो क्रममा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडा नम्बर ४ का अध्यक्ष हरिबहादुर क्षेत्री केसीलाई धकेलेर कार्यक्रमस्थल मणिग्राम पार्टी प्यालेसको पौडीपोखरीमा पुर्‍याएपछि विवादले चर्को रूप लिएको छ ।

    एमालेका जनप्रतितिनिधिले दाजु गृहमन्त्री बालकृष्ण खाणको मेयरले प्रशासनको दुरुपयोग गरेको, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली कांग्रेसको कार्यकर्ता बनेर नगरपालिकालाई पार्टी कार्यालयजस्तै बनाएको र खाणकै योजनामा बुटवल आएका डीएसपी केसीले जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको भन्दै विरोध गरिरहेको छ ।

    यसैबीच डीएसपी केसीले कांग्रेस नेताको निर्देशनमा वडाध्यक्षसहितका जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै एमाले निकट विभिन्न संगठनहरूले विरोध गरिरहेका छन् ।

    एमाले प्रदेश कमिटी सदस्य मोहन चापागाईले केसीमाथि कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइने र गृहमन्त्रीको आडमा गरिएका शक्तिको दुरुपयोगलाई निस्तेज पार्ने विरोध कार्यक्रम गराई अपराधिक काममा संलग्नलाई कारबाही गराएरै छाड्ने बताए ।

  • देउवाले ‘बढ्ता नबोल्नुस्’ भनेर हप्काएका युवा डडेलधुराबाट देउवासँगै चुनाव लड्ने

    देउवाले ‘बढ्ता नबोल्नुस्’ भनेर हप्काएका युवा डडेलधुराबाट देउवासँगै चुनाव लड्ने

    काठमाडौं । झण्डै पाँच वर्षअघि बीबीसी नेपाली सेवाद्वारा सञ्चालित कार्यक्रम ‘साझा सवाल’ मा तत्कालीन प्रधानमन्त्री र संयोगवश वर्तमान प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गुल्मीका एक युवाले खरो प्रश्न सोधे । उनको प्रश्न थियो, ‘लि क्वानलाई सिंगापुर दिँदा खेरी ढुँगा दिइएको थियो, उनले हीरा बनाए । तर, नेपाललाई तपाईंलाई दिँदा हीरा दिइएको थियो, तपाईंले ढुंगा बनाउनुभयो । यसको कारबाही कसलाई गर्ने ?’

    आक्रामक शैलीमा प्रश्न सोधिरहेका उनी त्यतिमै रोकिएनन् । उनले थप प्रश्न गरे, ‘सिंगांपुर, चीन, अमेरिका, बेलायतलगायतका देशमा अति उत्कृष्ट विद्यार्थीहरुमात्र प्रधानमन्त्री भएका छन् । उदाहरणका लागि बेलायतका सम्पूर्ण प्रधानमन्त्रीहरु अक्स्फोर्ड विश्वविद्यालयका छन् । नेपालको विगत ७० वर्षदेखि हामीले हाम्रो मन बुझ्ने प्रधानमन्त्री कुन चाहिं पायौं ?’

    उनको खरो शैलीको प्रश्नमा शेरबहादुर देउवा अलि आक्रोशित ढंगमा प्रस्तुत भए र जवाफ फर्काए, ‘तपाईं बर्ता बोल्दै हुनुहुन्छ । नेपालमा जुन विश्वविद्यालय छ, त्यही पढ्ने हो । यहाँ अक्स्फोर्ड कताबाट ल्याउने ?’

    उनले थपे, ‘मलाई जनताले चुन्या हैन ? म प्रधानमन्त्री नभए को बन्ने, तपाईं बन्ने ?’

    एउटा सामन्य युवाको प्रश्न गर्ने शैली र उत्तर दिने ठाउँमा रहेका देशका कार्यकारी प्रमुखको आक्रोशित शैलीले ती युवालाई देशको नेतृत्वबाट ‘फ्रस्टेड’ युवा वर्गमा एकाएक चर्चित बनायो । ती युवा थिए सागर ढकाल । साझा सवाल ‘बोय’को इमेज बनाएका ती नै सागर ढकालले हाल आसन्न प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

    मूलधारका पार्टीको नेतृत्वमा रहेका नेताहरुलाई हजुरबुबा र दोस्रो पुस्ताका नेता भनिएकाहरुलाई बुबा पुस्ताको संज्ञा दिँदै आएका ढकालले हजुरबुवा पुस्तालाई पूर्ण आराम, बुवा पुस्तालाई सल्लाहकार र ४० वर्षमुनिका प्रधानमन्त्री भन्ने अवधारणालाई अंगीकार गर्दै चुनावमा होमिने घोषणा गरेका हुन् ।

    नेपालमा पढेलेखेका नेताहरु किन छैनन् भन्ने प्रश्न गर्दै आएका ढकालले पुल्चोक इन्जिनियरिङ कलेजबाट स्नातक र विश्व प्रख्यात अक्स्फोर्ड विश्वविद्यालयबाट मास्टर्सको अध्ययन गरेका छन् । उनले नेपालकै ऊर्जा तथा जलस्रोत मन्त्रालयदेखि चीन, जोर्डन, इजरायल, प्यालेस्टाइनलगायतका देशमा समेत काम गरिसकेका छन् ।

  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, आज निर्णय सुनाउने

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, आज निर्णय सुनाउने

    काठमाडौं । गत सोमबार देखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आज ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो ।

    हिजो बसेको पदाधिकारी बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गरेको बताइएको छ ।

    जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारी सम्म सबैले आफ्नो कुरा राखेका थिए । आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने भएकाे छ ।

     

     

  • पदवहाली गर्दै भुसालले भनिन्- कार्यकाल थोरै भए पनि सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेछु (भिडिओ)

    पदवहाली गर्दै भुसालले भनिन्- कार्यकाल थोरै भए पनि सदनलाई प्रभावकारी ढंगले अघि बढाउनेछु (भिडिओ)

    काठमाडौं । उपसभामुख पुष्पा भुसालले आफ्नो कार्यकाल थोरै समयको भए पनि सदनलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएकी छन् ।

    सिंहदरबारस्थित कार्यकक्षमा पदवहाली गर्दै उनले जिम्मेवारी बढेको महसुस भएको प्रतिक्रिया दिइन् ।

    सञ्चारकर्मीसँग भुसालले भनिन्, ‘मेरो कार्यकाल थोरै समय भएको भए पनि मैले मेरो जिम्मेवारी बढेको महसुस गरेकी छु । यो संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुखबाट गरेको अपेक्षा र भूमिका इमान्दारितापूर्वक मेरो आफ्नो काम कारबाही अघि बढाउने छु । र, सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगले अघि बढाउनका लागि मेरो ३ महिना-४ महिना जति समय छ । मेरा लागि एकदमै महत्वपूर्ण रहनेछ र भूमिका पनि त्यसै अनुसार निर्वाह गर्नेछु ।’

  • कांग्रेस पदाधिकारी बैठक बस्दै

    कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक अपरान्ह ३ बजे बस्ने भएको छ ।

    सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो । जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक राखिएको हो ।

    पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बताइएको छ । केन्द्रीय समिति बैठक हिजै सक्ने तयारी गरिए पनि नेताहरूले बोल्ने पालो नसकिएकाले लम्बिएको हो ।

  • गभर्नरविरुद्ध कांग्रेस र माओवादीका विद्यार्थीको संयुक्त आन्दोलन, २४ घण्टाभित्र बर्खास्त गर्न अल्टिमेटम (भिडिओ)

    गभर्नरविरुद्ध कांग्रेस र माओवादीका विद्यार्थीको संयुक्त आन्दोलन, २४ घण्टाभित्र बर्खास्त गर्न अल्टिमेटम (भिडिओ)

    काठमाडौं । सत्तारुढ दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका विद्यार्थीहरू राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै संयुक्त आन्दोलनमा उत्रेका छन् । उनीहरूले गभर्नरलाई बर्खास्त गर्न २४ घण्टाको अल्टिमेटम दिए ।

    गभर्नरविरुद्ध नेविसंघ र अखिल क्रान्तिकारीका कार्यकर्ता बालुवाटारमा घेराउ गर्न पुगेका थिए । त्यस क्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र नेविसंघका अध्यक्ष डुजाङ शेर्पाले २४ घन्टाभित्र राजीनामा वा बर्खास्त नभएको खण्डमा गभर्नर बहिष्कार गर्ने तथा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका हुन् ।

    क्रान्तिकारी अध्यक्ष सिंहले एमालेका कार्यकर्ता एमप्रसाद अधिकारीले राष्ट्र बैंकको कुर्सीमा बसेर राष्ट्रको ढुकुटी दोहन गरिरहेको आरोप लगाइन् । एमाले पार्टी नै झूटको पुलिन्दा र जालझेलको अर्को नाम भएको उनको भनाइ छ ।

    ‘आजका दिनसम्म जनतालाई गुमराहमा राखेर, ऐनलाई छलेर एमालेका कार्यकर्तालाई देशको ढुकुटी सुम्पिएको छ । एमालेले अहिले खोटाङमा टर्च लगाएर एम अधिकारी खोजिरहेको छ । रातारात खडा गरिने डमी एम अधिकारी हामी खारेज गर्नेछौं । गभर्नरलाई बर्खास्त नगरिएसम्म सडक आन्दोलन निरन्तर अगाडि जानेछ,’ सिंहले भनिन् ।

    उनले प्रधानमत्रीलाई शेरबहादुर देउवालाई गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न अपिल गरिन् ।

    ‘यो लज्जास्पद दृष्यले नेपाली जनताको शिर निहुरिएको छ,’ सिंहले भनिन्, ‘प्रधानमन्त्रीज्यू, उहाँलाई बर्खास्त गर्ने हिम्मत गर्नुस् । नेपाली जनताले तपाईंलाई सलाम गर्नेछ । अबको २४ घण्टामा अवैधानिक गभर्नर बर्खास्त नगरिए क्रान्तिकारी चुप लागेर बस्दैन । सडकमा आगो बाल्छौं ।’

    नेविसंघका अध्यक्ष शेर्पाले देशको ढुकुटीको चाबी बोकेका गभर्नर अधिकारी राति-राति बालकोट दरबारमा गएर केपी ओलीसँग डिनर मिटिङ गर्दै कसरी सरकारलाई असफल बनाउने भन्ने षड्यन्त्रमा तल्लीन रहने गरेको आरोप लगाए । अर्थतन्त्रमा संकट ल्याएर सरकारलाई दोष थोपर्ने दाउपेचमा गभर्नर लागेको उनको दाबी छ ।

    शेर्पाले भने, ‘अब हामी धेरै धैर्य गर्न सक्दैनौं । तत्काल गभर्नरले राजीनामा नदिएको खण्डमा उनलाई बहिष्कार गर्नेछौं । २४ घन्टाभित्र एम अधिकारीले राजीनामा नदिए वा बर्खास्त नभएमा आन्दोलनको आँधीबेहरी उराल्ने छौं ।’

    उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारबाट लखेटेजस्तै गभर्नरलाई पनि लखेट्ने चेतावी दिए ।

  • गभर्नरलाई बर्खास्त गर्न नेविसंघको माग

    गभर्नरलाई बर्खास्त गर्न नेविसंघको माग

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठनहरु नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तकाे माग गर्दै राष्ट्र बैक अगाडि विरोध प्रदर्शन गरेको छ ।

    आइतबार बिहान बालुवाटार पुगेर नेविसंघका कार्यकर्ताले गभर्नर अधिकारीविरुद्ध राष्ट्र बैकको कार्यलय घेराउ गर्दै विरोध जनाएका थिए । उनीहरुले गभर्नर विरुद्ध नाराबाजी गरेका थिए ।

    नेविसंघका अध्यक्ष अध्यक्ष डुजाङ शेर्पाले प्रधानमन्त्रीले गभर्नर अधिकारीलाई २४ घण्टाभित्र बर्खास्त नगरे कडा आन्दोलन गर्ने बताए । विरोध कार्यक्रममा बोल्दै उनले भने प्रधानमन्त्रीले गभर्नरलाई २४ घण्टा भित्र बर्खास्त गरेन भने हामी कडा कारबाही गर्छौै । ’

  • चर्चामा मोहन बस्नेतको विद्रोहको धम्की, यस्तो छ सिन्धुपाल्चोकमा उनको शक्ति

    चर्चामा मोहन बस्नेतको विद्रोहको धम्की, यस्तो छ सिन्धुपाल्चोकमा उनको शक्ति

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कम्युनिष्टहरुसँग गठबन्धन आवश्यक नरहेको भन्दै गठबन्धन गरेर आफ्नो क्षेत्र माओवादीलाई छाडिए विद्रोह गर्ने चेतावानी दिए ।

    कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय चुनावमा जस्तै आउने संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेर जाने पक्षमा छन् । गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाणले शनिबार आफ्नो धारणा राख्ने क्रममा बस्नेतलाई घुमाउरो जवाफ दिँदै माओवादी एक्लै चुनाव नलड्ने र उसलाई रोक्न सीट बाँडफाँट गर्दा जुनसुकै क्षेत्र पनि छाड्न तयार भएर बस्नुपर्ने बताए ।

    तर, देउवा र खाण निकट केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोकमा कम्युनिष्टहरुसँग गठबन्धन गर्न नहुने भनेर दिएको अभिव्यक्ति चर्चामा छ ।

    गएको स्थानीय निर्वाचनमा बागमतीका धेरै जिल्लामा सत्तारुढ पाँचदलबीच गठबन्धन भए पनि सिन्धुपाल्चोकमा भएन । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये कांग्रेसले जुगल गाउँपालिकामा मात्रै माओवादी केन्द्रसँग गठबन्धन गर्‍यो ।

    मेलम्ची नगरपालिकामा भने कांग्रेसले राप्रपासँग गठबन्धन गरेको थियो । त्योबाहेक सबै दलहरु सिंगल-सिंगल नै चुनावी प्रतिस्पर्धामा थिए । माओवादीले चौतारा, बलेफी र मेलम्चीमा मत संख्या थोरै भए पनि समाजवादीसँग गठबन्धन गरेको थियो । एमाले र माओवादीबीच सुनकोशी गाउँपालिकामा गठबन्धन भएको थियो ।

    बस्नेत अभिव्यक्तिको अर्थ ?

    २०७४ सालको प्रदेश र संघको निर्वाचनमा देशभर नै एमाले र माओवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । सिन्धुपाल्चोकमा पनि दुई दल मिल्दा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा थियो । चार प्रदेश र दुई संघीय निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा अघिल्लो चुनावमा एमाले र माओवादी मिल्दा पनि प्रतिनिधिसभा २ प्रदेशसभा (ख) मा कांग्रेसले जितेको थियो ।

    केन्द्रीय सदस्य बस्नेतको १ नम्बर क्षेत्र हो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल र केन्द्रीय सदस्य सरेश नेपालको समेत क्षेत्र यही हो । तिनै दलका ‘हेभीवेट’ उम्मेदवारका कारण पनि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ सधैँ चर्चामा रहने गर्दछ ।

    अघिल्लो निर्वाचनमा एमाले र माओवादीका साझा उम्मेदवार अग्निप्रसाद सापकोटा ४० हजार ५०४ मत ल्याएर विजयी भएका थिए । बस्नेतले २९ हजार ७९८ मतमात्रै ल्याएका थिए ।

    स्थानीय निर्वाचन २०७९ मा केन्द्रीय गठबन्धनअनुसार सिन्धुपाल्चोकमा पनि प्रमुख तीन दलबीच गठबन्धन गरेर जाने विषयमा पटक–पटक छलफल र बैठक भएको थियो । तर, कांग्रेस र माओवादीको अडानका कारण गठबन्धन हुन सकेन । माओवादीले १२ मध्ये दुवै दलले ६÷६ पालिका बाँड्नुपर्ने बताएको थियो । कांग्रेसले ६ पालिका माओवादीलाई दिन नसक्ने भनेपछि केन्द्रको नीतिविपरीत माओवादी र काग्रेस एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा गएका थिए ।

    बस्नेत हौसिनुको कारण……..

    सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये बस्नेतको क्षेत्र नं १ मा बाह्रबीसे नगरपालिकासहित ७ पालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको ६ वटा वडा रहेका छन् । कांग्रेस एक्लैले बाह्रबीसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा प्रमुख/उपप्रमुख जितेको छ । सुनकोशी र बलेफीमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ । जुगलमा भने माओवादीसँगको सहकार्यमा उपाध्यक्ष जितेको छ ।

    कमजोर रहेको भनिएको चौतारा साँगाचोकगढी नगरपालिकामा समेत दुई वडामा कांग्रेसले जीत हासिल गरेको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्ने हो भने कांग्रेस प्रस्ट अगाडि छ । यस आधारमा बस्नेतले टिकट पाए जित्ने देखिन्छ ।

    क्षेत्र नम्बर १ को ५३ वडामध्ये काग्रेस ३२, एमाले १६ र माओवादी केन्द्रले ५ वटा जितेका छन् । वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एसको १६५० मत छ ।

    संघमा मात्रै होइन दुवै प्रदेशमा समेत कांग्रेस अगाडि नै छ । मत परिणमा हेर्दा आफूले जित्ने र गठबन्धन हुँदा माओवादीलाई छाड्नुपर्ने भएपछि बस्नेतले अन्य जिल्लामा गठबन्धन भए पनि सिन्धुपाल्चोकमा कम्युनिष्टसँग गठबन्धन नगर्ने अभिव्यक्ति दिएका हुन् ।

    बस्नेत कम्युनिष्टहरुप्रति अनुदार नेताको रुपमा स्थापित छन् । आउने चुनावमा कांग्रेससँग गठबन्धन गर्दा अघिल्लो निर्वाचनमा माओवादीले जितेका सबै क्षेत्र आफूहरुले पाउनुपर्ने अडान माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवासमक्ष राखेका छन् ।

    त्यही कारण गठबन्धन हँुदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बस्नेतले छाड्नुपर्ने देखिन्छ । बस्नेतलाई बरु काठमाडौंको कुनै क्षेत्रमा ल्याएर उठाउने चर्चा पनि कांग्रेस वृत्तमा चलेको छ । तर, बस्नेतले यसलाई ठाडै अस्वीकार गरिसकेका छन् ।

    केन्द्रले ‘पेलेरै’ गठबन्धन गर्दा माओवादीबाट पुनः अग्निप्रसाद सापकोटा नै उम्मेदवार बन्ने निश्चित जस्तै छ । माओवादीको तर्फबाट अहिले पोलिटब्युरो सदस्य माधव सापकोटा ‘सुवोध’को संघीय चुनावमा उठ्ने चर्चा छ । यदि कांग्रेससँग गठबन्धन भयो भने सुवोधलाई ब्याक गराएर पुनः अग्नि नै उठ्नसक्ने प्रबल सम्भावना छ ।

    कांग्रेससँग सहकार्य गर्न माओवादी पनि अनिच्छुक

    कांग्रेस केन्द्रीय सदस्य बस्नेतले सहकार्य नगर्ने अभिव्यक्ति दिँदै गर्दा माओवादीका अधिकांश नेता–कार्यकर्ताहरु पनि कांग्रेससँग तालमेल गर्न नहुने अडानमा छन् । अन्य जिल्लामा जे-जस्तो भए पनि सिन्धुपाल्चोकमा एमाले र माओवादी मिलेर चुनावी प्रतिस्पर्धामा जानुपर्नेमा दुवै दलका धेरै नेता-कार्यकर्ताहरुको मत छ । वाम सहकार्यको सुरुवात जिल्ला समन्वय समितिको निर्वाचनमा समेत एमाले र माओवादीबीच भएको थियो । त्यतिबेला आउने चुनावमा समेत सहकार्य गरेर जाने दुवै पार्टीबीच लिखित सहमति भएको थियो ।

    स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा माओवादी तेस्रो पोजिसनमा देखिए पनि उठ्ने उम्मेदवारमा मतको संख्या फेरबदल भने हुनसक्छ । माओवादीबाट युवा नेता माधव सापकोटालाई उम्मेदवार बनायो भने मत बढ्न सक्ने स्वयम् कांग्रेस-एमालेका नेताहरुले नै सार्वजनिक रुपमै चर्चा गर्ने गरेका छन् ।

    कांग्रेस, एमाले र माओवादीका नेताहरु यसअघि नै जनतामाझ ‘टेस्टेड’ भएकाले मतदाताहरु अब नयाँ अनुहारप्रति आकर्षित हुनेछन् । कांग्रेस र एमालेबाट पुरानै अनुहार दोहोरिए भने नयाँ उम्मेदवारप्रति मतदाताहरुको आर्कषण बढ्न सक्ने आँकलन गरिएको छ ।

    सिन्धुपाल्चोक क्षेत्र नम्बर १ सभामुख अग्नि सापकोटाका कारणमात्र चर्चामा छैन । मोहन बस्नेतको विद्रोहको धम्कीले अझ चर्चामा छ । मोहनबहादुर बस्नेत यसपटकको स्थानीय चुनावबाट जिल्लामा अझ बलियो बनेका छन् भने कांग्रेसमा उनी निर्विकल्प देखिएका छन् । उनले कांग्रेसमा आफ्ना विरोधीलाई लगभग निमिट्यान्न पारिसकेका छन् । उनको विकल्पमा कोही उभिन सक्ने अवस्था पनि छैन ।

    २०५६ र २०७० मा दुईपटक चुनाव जितेको र २०६४ तथा २०७४ दुईपटक हारेको बदला उनी यसपटक लिन चाहन्छन् । उनी कुनै हालतमा आफ्नो क्षेत्र गठबन्धनबाट माओवादीलाई नदिन केन्द्रीय कार्य समितिमै धम्कीपूर्ण शैलीमा प्रस्तुत भएका छन् । र, जिल्लामा उनी कम्युनिष्टलाई ह्याकुलाले मिचेरै जित्छु भन्नेमा ढुक्क छन् ।

  • कांग्रेस बैठकमा देउवाले भने–प्रचण्ड र माधवलाई अलपत्र पारेर एक्लै जान सकिन्न

    कांग्रेस बैठकमा देउवाले भने–प्रचण्ड र माधवलाई अलपत्र पारेर एक्लै जान सकिन्न

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो एकमात्र उद्देश्य कांगेसलाई पहिलो पार्टी बनाउँने रहेको भन्दै गठबन्धनलाई आउँने चुनावसम्म कायमै राखिने बताएका छन् ।

    बैठकपछि देउवाको भनाइ उदृत गर्दै कांग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले भने–प्रचण्डलाई गिरिजाबाबुले दिल्लीबाट लिएर आउनुभएको हो, उनलाई छाडेर जान सकिन्न । माधव नेपालल पनि पार्टी फुटाएर आएका छन्, उनलाई पनि चटक्कै छाड्न सकिन्न । कसैलाई अलपत्र पार्ने होइन, सबैलाई लिएर गठबन्धन अगाडि बढ्छ ।

    देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने भन्दै आफूले कसैलाई काखापाखा नगर्ने बताए । पार्टीको अब साउन ३ गते बस्ने बैठकले महत्वपूर्ण निर्णय लिने खतिवडाले बताए ।

  • कांग्रेस बैठकमा महामन्त्रीको गुनासो–हिजो ओलीलाई गरेका प्रश्नले हामीलाई नै लखेट्दैछ

    कांग्रेस बैठकमा महामन्त्रीको गुनासो–हिजो ओलीलाई गरेका प्रश्नले हामीलाई नै लखेट्दैछ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले एक वर्ष सरकार चलाउँदा जवाफ दिन सकिने कुनै काम नभएको भन्दै विगतमा केपी ओलीलाई गरेका प्रश्नले आफूहरुलाई लेखेट्न थालेको टिप्पणी गरेका छन् ।

    केन्द्रीय कार्य समितिको बैठकमा शनिवार आफ्नो धारणा राख्ने क्रममा महामन्त्री थापाले अर्थमन्त्रालय कांग्रेले नलिनु गति भएको र अहिले सरकारका विकृतिको प्रतिरक्षा गर्न नसक्ने अवस्थामा पुगिएको बताए । उनले ओलीकै कार्यशैली पछ्याएको आरोप देउवामाथि लगाए ।

    अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि केपी अोलीले गलत गरेको भनेर आफूहरुले प्रश्न उठाएका कतिपय विभागहरु प्रधानमन्त्री माहतहत नै राखिनु र संवैधानिक परिषद विधेयक जस्ता कुरामा सरकारका कारण आफूहरुले जवाफ दिने अवस्था नभएको बताएका थिए ।

    बैठकमा थापाले भने– एक बर्ष सरकार चलाइसक्यौं । अब फेरि पनि सरकार चलाउँदा के डेलिभर गर्छाैं भन्ने प्रस्ट नभइ मत आउँदैन । हिजो ओली हुँदा सरकार कसरी चलाउँछौं हेर्नू ? भनेका थियौं । आज सरकार कसरी चलेको छ देखिएको छ ? डिफेन्स गर्ने अवस्था छैन । हामीमाथिका प्रश्नले हामीलाई लखेट्छ ।

    बैठकमा उपसभापति धनराज गुरुङले सभापतिको नाकमा झिँगा बसेको भन्दै तरबार हान्ने काम केही सदस्यहरुले गरेको भन्दा देउवाले ‘खोइ मेरो नाकमा झिँगा’ भन्ने प्रश्न गरेका थिए । गुरुङले भने निदाएको बेला थाहा नहुने जवाफ दिए ।

  • बैठकमा गगन गर्जिएपछि देउवाले भने–महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् न

    बैठकमा गगन गर्जिएपछि देउवाले भने–महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् न

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री गगन थापा सभापति शेरवहादुर देउवा र उनको टिमप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । महामन्त्री थापाले निर्वाचित महामन्त्रीले पार्टी र सरकारका कामबारे बाहिरबाट थाहा पाउनुपरेपछि प्रतिक्रिया पनि बाहिरबाटै दिनुपरेको बताए ।

    थापाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने–सभापतिले महामन्त्रीहरुको जिम्मेवारी र हैसियतबारे प्रष्ट पार्नुस् । केन्द्रीय सदस्य साथीहरुले सभापति खुसी बनाउँन हामीलाई गाली गर्ने कुराले पार्टी र सभापति दुवैलाई फाइदा गर्दैन । गुटको भेला पार्टी प्यालेसमा राखियो भन्ने सन्दर्भमा ठूलो घर हुनेले बुढानिलकण्ठमा घरमै गरेको पनि हो । ठूलो घर नहुनेले पार्टी प्यालेसमा गर्छन् । महामन्त्री थापाले लगातार आलोचना गरेपछि देउवाले ‘महामन्त्रीज्यू,फोन चाहिँ उठाउने गर्नुस् न’ भन्ने जवाफ थिए ।

    महामन्त्री थापाले पार्टी सञ्चालन प्रक्रियामा आपत्ति जनाउँदै निर्वाचित महामन्त्रीको भूमिका सभापति र उपसभापतिले गरेका निर्णयमा ताली बजाउँनेमात्र नभएको बताएका थिए । उनले कांग्रेसमा एक्लै लडेर चुनाव जितिन्छ भन्ने आत्मविश्वास गुम्दै गएकोमासमेत टिप्पणी गपरेका थिए ।

    उनले भने– अहिले ३ सय भन्दा धेरै जित्यौ भनेर दम्भ प्रकट भएको छ। त्यो नराखेको राम्रो । ठूला सहरमा धक्का लागेको छ । लघुताभाषका साथ हामी एक्लै लड्न सकिन्छ ? ०६८ सालमा सुशील कोइरालालाई राजिनामा बुझाएर शेरबहादुर देउवा हिँड्दा आफूहरुले फकाएको भन्दै थापाले आज एजेण्डामा आफूहरुले छलफल गर्दा खेद्ने काम भएको बताए ।

  • गृहमन्त्रीको ब्रिफिङ- गठबन्धनविना माओवादी चुनाव लड्दैन, हामीले नगरे अर्को पार्टनर खोजिहाल्छ

    गृहमन्त्रीको ब्रिफिङ- गठबन्धनविना माओवादी चुनाव लड्दैन, हामीले नगरे अर्को पार्टनर खोजिहाल्छ

    काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेकपा माओवादी केन्द्र एक्लै चुनाव नलड्ने दाबी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज कुरा राख्दै उनले यस्तो बताएका हुन् ।

    ‘गठबन्धनविना माओवादी एक्लै चुनाव लड्दै लड्दैन । उसले कुनै अर्को पार्टनर खोजिहाल्छ’, उनले भने, ‘गठबन्धन भयो भने कसैको पनि सीट जानसक्छ । यसका लागि सबै तयार रहनुपर्छ ।’

    अहिलेमात्र होइन धेरै पछाडिसम्म पनि गठबन्धनको आवश्यकता रहेको उनले बताए ।

    नेता शेखर कोइरालाले आफ्नो पछाडि सुराकी पठाएको भन्ने अभिव्यक्तिको गृहमन्त्री खाणले खण्डन गरे । उनले भने, ‘गृह प्रशासनको नियमित ड्युटीअनुसार नै सूचना संकलन हुन्छ । कसैको सुराकी, चियोचर्चो भएको भए, त्यसैवेला भन्नुपर्ने हुन्छ ।’

    यस्तो कुराको स्टन्ट देखाउनु आवश्यक पनि नरहेको उनले बताए । ‘महिनापछि मिडियामा पोलिटिकल स्टन्टको कुनै आवश्यक छैन’, उनले भने ।

  • कांग्रेसको केन्द्रीय समिति बैठक सुरू (तस्वीरहरु)

    कांग्रेसको केन्द्रीय समिति बैठक सुरू (तस्वीरहरु)

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आज पुनः सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरू भएको हो ।

    यही असार २७ गतेबाट सुरु बैठक हिजो उपसभामुखको निर्वाचनका कारण हुन सकेन । असार २७ गतेयता आज चौथो दिनसम्म बैठक जारी छ ।

    बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, आगामी रणनीति र पार्टी तथा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको पूर्णताका विषयमा छलफल भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

    तस्वीरहरु : उमेश कार्की

  • सुर्खेत कांग्रेसले ६०० बढीसँग सोध्यो स्पष्टीकरण

    सुर्खेत कांग्रेसले ६०० बढीसँग सोध्यो स्पष्टीकरण

    सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको संस्थापन समूहले स्थानीय तह निर्वाचनमा पार्टीलाई पराजित गर्न अन्तर्घात गरेको आरोपसहित ६०० भन्दा बढीलाई स्पष्टीकरण सोधेको छ । संस्थापन समूहले शेखर कोइराला समूहका कार्यकर्तालाई मात्रै स्पष्टीकरण सोधेपछि कांग्रेसभित्र रडाको मच्चिएको छ ।

    ‘कांग्रेस एकताबद्ध भएर जानुपर्नेमा हाम्रो समूहका अधिकांश साथीहरुलाई व्यक्तिगत रुपमै स्पष्टीकरण सोधेको पाइएको छ’, सुर्खेत कांग्रेस संस्थापनइतर समूहका एक नेताले भने, ‘कहींकतै अन्तर्घात भएको हुनसक्छ । त्यस्ता स्थानमा भने स्पष्टीकरण सोध्नुपर्नेमा समग्र हाम्रो समूहलाई नै स्पष्टीकरण सोधिएको छ । हामी पार्टीको यो निर्णयको कडा प्रतिवाद गर्छौं ।’

    कांग्रेसका संस्थापनइतर समूहका अधिकांश नेता–कार्यकर्तालाई स्पष्टीकरण सोधिएको भन्दै सामाजिक सञ्जालमा संस्थापन समूहका कार्यकर्ताले चर्को आलोचना गरेका छन् ।

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्नुपर्ने समयमा पार्टीभित्रको यो लडाइँले कांग्रेसलाई थप कमजोर बनाउने उनीहरुको भनाइ छ ।

    यसबारेमा प्रतिक्रिया लिन खोज्दा अनुशासन समितिका सदस्य कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले फोन उठाएनन् ।

  • कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ: डा. शेखर कोइराला

    कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ: डा. शेखर कोइराला

    चितवन । नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रीय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताए ।

    शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन । राम्रोसँग काम गर्दै गयो भने त्यो हुँदै जान्छ ।’ बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा नभएको उनले बताए ।

    आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको उनले बताए । गठबन्धन गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने उनले बताए ।

    गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने निश्चित हो रु भन्ने प्रश्नमा उनले अहिल्यै आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।

    अघिल्लो पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस–राप्रपा गठबन्धन गर्दा क्षेत्र नं ३ कांग्रेसले पाएको थिएन । क्षेत्र नं ३ को अधिकांश भाग पर्ने भरतपुर महानगरपालिकाको निर्वाचनमा पनि माओवादी केन्द्रसँग गठबन्धन गर्दा कांग्रेसले मेयर पाउन सकेन ।

    स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि वैठकमा छलफल भइरहेको उनले बताए । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट वागी उमेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

    फरक प्रसंगमा बोल्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित ढंगले विभाग र भातृ संस्था बनाउन आफूले भनेको बताए । नेताहरुले आफ्नो पक्षका नेता कार्यकर्तालाई बोलाएर सल्लाह लिने कुरालाई ठूलो इस्यु बनाउन जरुरी नरहेको उनी बताउँछन् ।

    १४औँ महाधिवेशनका क्रममा देउवाले आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरेको भन्दै उनले अहिले आफूले त्यही काम गर्दा गुटबन्दीको आरोप लागेको बताए ।

    ‘कांग्रेस विधिसम्मत, विधानसम्मन हिँडोस् भन्ने हो । यो एउटा समूहको पार्टी होइन, सबैलाई मिलाएर हिँड्नुहोस् भनिएको मात्रै हो’, उनले भने । कांग्रेस विधिसंगत रुपमा चलोस् भनेर आफुहरुले नेतृत्वलाई खबरदारी गर्दै आएको उनले बताए ।

    रुस र युक्रेनबीचको युद्धले मात्रै नेपालमा यतिधेरै मूल्यवृद्धि नभएको भन्दै उनले बजारमा प्रभावकारी अनुगमन गर्न सरकारलाई अनुरोध गरेको बताए ।

     

  • दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट

    दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटघाट

    काठमाडौं । शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटघाट भएको छ ।

    ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो ।

    सो क्रममा भारतका लागि नेपाली राजदुत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिति रहेको थियो । शुक्रबार साँझ दुतावासमा आयोजना भएको रात्री भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।

    प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन ।

     

  • कांग्रेसका जिल्ला सचिवको नेतृत्वमा गाउँपालिकामा आक्रमण भएको गुराँसका अध्यक्षको दाबी

    कांग्रेसका जिल्ला सचिवको नेतृत्वमा गाउँपालिकामा आक्रमण भएको गुराँसका अध्यक्षको दाबी

    सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा करारका कर्मचारीहरुको आक्रमणबाट गाउँपालिकाको भवनमा ठूलो क्षति पुगेको छ ।

    गाउँपालिकामाथि डाँडाबाट कर्मचारीहरुले ढुंगा बर्साउँदा कार्यालयको छाना दबेका छन् भने गाउँपालिका अध्यक्ष टोपबहादुर बीसीको कार्यकक्षमा क्षति पुगेको छ ।

    करिब ६०० भन्दा बढी आन्दोलनकारीहरुको नेतृत्व पूर्वगाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला सचिव खेमराज वली, पूर्वजिल्ला सभापति कृष्ण बीसीलगायतले गरेका थिए ।

    स्थानीयका अनुसार पालिका अध्यक्षसहित उपाध्यक्ष, वडाध्यक्षहरुलाई समेत कार्यालयमा ज्यान जोगाउन हम्मेहम्मे परेको थियो । आक्रमण हुँदा प्रहरीसमेत घाइते भएका थिए । जसले गर्दा प्रहरीले गोली चलाउनु परेको थियो ।

    पालिका भवनमाथि ढुंगा प्रहार हुँदा केही दिनअघि उद्घाटन गरिएको भवनमा क्षति पुगेको छ ।

    असार २९ गते बसेको १० औं गाउँसभाले करार सम्झौता असार महिनामा सकिने भएको र कसैलाई निकाल्ने नभई कर्मचारीको व्यवस्थापन गर्ने योजना रहेको भए पनि अराजकता प्रस्तुत भएको पालिकाका प्रवक्ता दीपेन्द्र ओलीले बताए ।

    ५४ लाखमात्रै राजस्व संकलन हुने गरेको, एक वर्षमा तीन करोड ८६ लाख बजेट तलबभत्तामा खर्च हुने गरेको छ । जनसंख्याको आधारमा कर्मचारी राखिने पालिकाको योजना थियो । उनले भने, ‘तर, अहिले गलत रुपमा व्याख्या गरिएको छ । यहाँको कर्मचारी म्याद थप बारेमा दलगत रुपमा विभिन्न भ्रामक प्रचार गरिएको छ ।’

    पानीसमेत पिउन दिइएन, अराजकता देखाइयोः अध्यक्ष बीसी

    गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बीसीले कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा आन्दोलनकारीले कार्यकक्षमै थुनेको बताए । ‘बाहिर व्यापक हल्ला भइरहेको थियो । कार्यकक्षबाट बाहिर निस्कन दिइएन । पानी पिउनसमेत बन्द गराइयो’, उनले भने, ‘गाउँपालिकाको विकास निर्माण गर्नेबारेमा हामी छलफलमै थियौं । करारका कर्मचारीले राखेका मागहरुप्रति सकारात्मक नै थियौं ।’

    विगतमा भए गरेका काम, विकास निर्माणसँग सम्बन्धित, कर्मचारीका व्यक्तिगत फाइलसमेत नभेटिएको उनले जानकारी दिए । ‘करारका कर्मचारीलाई काम गराउँदा मनलाग्दी गरेको पाइयो । चाहिनेभन्दा बढी कर्मचारी राखेको पाइयो’, अध्यक्ष बीसीले भने, ‘१५० जना कर्मचारी रहेको पुष्टि भएको छ ।’

    उनले एकै पदमा रहेका कर्मचारीमा पनि सेवा सुविधा वितरणमा मनलाग्दी गर्ने गरिएको पाइएको बताए । उनका अनुसार नौ जना कार्यालय सहयोगी नियुक्त गरिएकोमा एकजनाले मात्रै काम गर्दै आइरहेका छन् । कार्यालय सहयोगीको नियुक्ति पाएकाहरुले नासु अधिकृतको परिचयपत्र बोकेर हिँडने गरेको पाइएको अध्यक्ष बीसीले बताए ।

    बिहान ८ बजेदेखि नै ज्ञापनपत्र बुझ्न भनेर कार्यालयमा आएको बताउँदै उनले गाउँसभाले गरेको निर्णय कार्यान्वयन गर्नैपर्ने बाध्यता रहेको बताए पनि कर्मचारीहरुले अटेर गरेको बताए । त्यसपछि कांग्रेसका गुराँस सभापति चन्द्रप्रसाद भट्टराईसमेत आएर ज्ञापनपत्र बुझाएको उनको भनाइ छ ।

    उनले सहमतिको प्रयास जारी रहे पनि यो मुद्दामा राजनीतिकरण गरिएको आरोप लगाए ।

    सहायक प्रमुख जिल्ला अधिकारी गणेबहादुर कार्कीमाथि समेत आक्रमण भएको बताउँदै बीसीले आफू सबैको जनप्रतिनिधिको रुपमा काम गर्न लागेको बताए । उनले आफूलाई मार्ने योजनाअनुरुप आक्रमण भएको दाबी गरे ।

    उनका अनुसार सेवाग्राही कार्यालय, स्तनपान कक्षा, दर्ता चलानी, लेखा शाखा, सभाहलमा तोडफोड भएको छ । कार्यपालिकाको बैठक राखेर प्रक्रियाअनुसार अघि बढ्ने उनको भनाइ थियो ।

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गत सोमबारदेखि सुरु भएको हो । आजको बैठकमा पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ ।

    सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि शीर्ष नेताले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

  • कांग्रेसको प्रस्तावित मर्यादाक्रम तरुण दललाई अमान्य, घटुवा गरेर मनोबल गिराइएको गुनासो

    कांग्रेसको प्रस्तावित मर्यादाक्रम तरुण दललाई अमान्य, घटुवा गरेर मनोबल गिराइएको गुनासो

    काठमाडौं । नेपाली कांग्रेस समर्थित नेपाल तरुण दलले पार्टीद्वारा प्रस्तावित मर्यादाक्रम स्वीकार्य नभएको जनाएको छ । संघले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै प्रस्तावित मर्यादाक्रमले आफूहरुको योगदानको अवमूल्यन गरी घटुवा गरेको गुनासो पोखेको छ ।

    संघका अध्यक्ष विद्वान गुरुङले भ्रातृ संस्थाका अध्यक्षहरुको मर्यादाक्रम घटाउने प्रस्ताव फिर्ता लिन र सच्याउनसमेत माग गरेका छन् ।

    विभिन्न राजनीतिक संघर्ष र आन्दोलनमा आफ्नो महत्वपूर्ण भूमिका सफलतापूर्वक निर्वाह गरेका तरुण दललगायतका भ्रातृ संस्थाहरुको गौरवपूर्ण इतिहासको उचित मूल्यांकन गर्नु अहिलेको आवश्यकता रहेको अध्यक्ष गुरुङले ज्ञापनपत्रमा औंल्याएक छन् ।

    कांग्रेसले पार्टी सभापतिदेखि साधारण सदस्यसम्मको मर्यादाक्रम निर्धारण गरी पार्टी केन्द्रीय समितिको बैठकमा निर्णयार्थ प्रस्तुत गरेको छ ।

  • अढाई वर्षपछि संसदले पायो उपसभामुख, संवैधानिक परिषदमा गठबन्धनको बहुमत (भिडिओ)

    अढाई वर्षपछि संसदले पायो उपसभामुख, संवैधानिक परिषदमा गठबन्धनको बहुमत (भिडिओ)

    काठमाडौं । लामो समयदेखि खाली रहेको संसदको उपसभामुख पद अन्ततः सत्तारुढ दल कांग्रेसको पोल्टामा परेको छ । कांग्रेसकी सांसद पुष्पा भुसाल एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुख निर्वाचित भइन् ।

    आज भएको चुनावमा खसेकाे ‍‍ २४२ मध्ये  १४८ मत ल्याउँदै भुसाल विजयी भएकी हुन् । भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले समेत समर्थन गरेका थिए । पराजित एमालेकी भट्टराईले ९३ मत ल्याइन् । उनलाई एमालेबाहेक राप्रपाले समर्थन गरेको थियो ।

    तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधिसभामा नयाँ उपसभामुखको निर्वाचन हुन सकेको थिएन ।

    संसदको कार्यकाल नै सकिन लाग्दा भुसाल उपसभामुख निर्वाचित भएकी हुन् । कानून अध्ययन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् ।

    उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने व्यवस्था छ । अब संवैधानिक परिषदमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसाल तीनजना हुनेछन् ।

    अर्कोतर्फ प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना छन् ।

    कामु प्रधानन्यायाधीश दीपक कार्की असोजसम्म रहनेछन् । त्यसबीचमा महाअभियोगको टुंगो नलागेमा हरिकृष्ण कार्की कामु हुनेछन् ।

  • गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको धर्ना 

    गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको धर्ना 

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नरविरुद्ध प्रदर्शन गरेको हो।

    गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसंघले उनको राजीनामा माग गरेको हो।

    नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको बताए। ‘राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन्। नेपालको अर्थतन्त्रलाई रेगुलेसन गर्ने संस्थाको प्रमुख पार्टीको झोले भएर हिँड्नु निन्दाजनक हुन्छ,’ उनले भने ।

    उनले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्। आन्दोलनमा नेविसंघ एनसीसी कलेजका नेता अन्सुल केसी, त्रिविका नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट, सदीक्षा आचार्यलगायत नेताहरू छन्। उनीहरूले एक घन्टा धर्ना दिने जनाएका छन्।

  • प्रतिनिधिसभाले साढे २ वर्षपछि उपसभामुख पाउँदै, यस्तो छ संसदको गणित

    प्रतिनिधिसभाले साढे २ वर्षपछि उपसभामुख पाउँदै, यस्तो छ संसदको गणित

    काठमाडौं । प्रतिनिधिसभामा रिक्त उपसभामुख पद पूर्तिका लागि आज निर्वाचन हुँदैछ । दिउँसो ३ बजे बस्ने संसद बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरू गर्ने कार्यसूची रहेको छ ।

    उपसभामुखका लागि सत्तारुढ ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल उम्मेदवार छिन् । त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले विद्या भट्टराईलाई मैदानमा उतारेको छ ।

    डा. शिवमाया तुम्बाहाङफेले २०७६ माघ ६ मा राजीनामा दिएपछि करिब साढे २ वर्षदेखि उपसभामुख पद रिक्त थियो ।

    सुरूमा साना दलले उम्मेदवार उठाए समर्थन गर्ने तयारी गरेको एमालेले अन्तिम अवस्थामा लोसपा गठबन्धनतिर लागेपछि आफ्नै उम्मेदवार खडा गरेको हो । लोसपाले चन्दा चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेपनि सरकार तथा आसन्न निर्वाचनमा सम्भावित नाफा आँकलन गर्दै गठबन्धनलाई सघाउने निर्णय गरेको थियो ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् । बाँकी २७१ मा पनि चारजना निलम्बनमा रहेका २६६ जनाले मतदान गर्न पाउँछन् । १३४ मत भए उपसभामुख जित्न पुग्छ ।

    गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आबद्ध राजमोको एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक-एकजना सांसद छन् ।

    कांग्रेस, माओवादी र नेकपा एसको मत नै सत्ता गठबन्धनलाई जित्न पुग्ने देखिन्छ ।

  • प्रधानमन्त्रीले भने- हतियार किन्ने केन्द्रीय सरकारको योजना छैन

    प्रधानमन्त्रीले भने- हतियार किन्ने केन्द्रीय सरकारको योजना छैन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीलाई हतियार किन्ने केन्द्रीय सरकारको कुनै योजना नरहेको प्रष्ट पारेका छन् । केन्द्रीय कार्य समिति बैठकमा गोपालमान श्रेष्ठले उठाएको प्रश्नको तत्काल जवाफ दिँदै देउवाले हतियार किन्ने योजना नरहेको बताएका हुन् ।

    देवाको भनाइ थियो, ‘हतियार किन्ने त्यो कुरा गलत हो । हतियार खरिद गर्ने केन्द्रीय सरकारको कुनै योजना छैन ।’

    प्रहरीलाई हतियार केन्द्रीय सरकारबाहेक प्रदेश सरकारले किन्न पाउँने संवैधानिक व्यवस्था छैन । हतियार खरिदका लागि ८४ करोड रूपैयाँ रकमान्तर भइसकेको छ ।

  • ‘कारबाही गर्ने भए अन्त भोट हाल्न सिकाउने शेरबहादुर र रामचन्द्रजीबाट सुरू गरौं’

    ‘कारबाही गर्ने भए अन्त भोट हाल्न सिकाउने शेरबहादुर र रामचन्द्रजीबाट सुरू गरौं’

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

    यसैक्रममा नेता बलबहादुर केसीले सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर एकताबद्ध बनाएर लैजानुपर्ने जोड दिए । उनले चुनावी गठबन्धनको विषयमा नेताहरू विभाजित नहुन आग्रह गरे ।

    गएको स्थानीय चुनावमा गठबन्धनका कारण बागी उठेका, अन्तर्घात गरेकाहरूलाई कारबाही गर्ने हो भने पहिला देउवा र रामचन्द्र पौडेलबाट सुरू गर्नुपर्ने केसीको भनाइ थियो ।

    ‘गठबन्धन गर्ने, नगर्ने भनेर विभाजित नहौं । कांग्रेस एक हुनुपर्छ । सभापतिजीले पार्टी मिलाएर लैजानुस्’, केसीले भने, ‘जहाँसम्म चुनावमा असहयोग गरेकालाई कारबाही गर्ने कुरा पनि उठेको छ । गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ । किनभने उहाँहरूले नै हामीलाई अन्त भोट हाल्न सिकाएको हो ।’

  • कांग्रेस बैठकमा प्रश्न – सभापति ज्यू ! तराईमा कांग्रेस चाहिँदैन ?

    कांग्रेस बैठकमा प्रश्न – सभापति ज्यू ! तराईमा कांग्रेस चाहिँदैन ?

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मिनाक्षी झाले गठबन्धनका नाममा मधेस प्रदेशमा कांग्रेस सिध्याउन खोजेको टिप्पणी गरेकी छन् ।

    जारी केन्द्रीय सदस्य बैठकमा आफ्नो भनाइ राख्ने क्रममा झाले कांग्रेसको टिकट खोस्दै प्रतिस्पर्धीलाई टिकट दिएर पार्टी कमजोर बनाएको बताइन् ।

    ‘२ नम्बर प्रदेशमा हाम्रो प्रतिस्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजेको हो ? तराईमा कांग्रेस चाहिँदैन सभापति ज्यू ? किन महत्त्व बोक्ने जनकपुरमा हामीलाई टिकट दिइएन ?, सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै उनले भनिन्, ‘जसपालगायत क्षेत्रीय पार्टीहरूसँग भिड्नु छ कांग्रेस बनाउन हामी लागेका छौं । अनि हाम्रै जनकपुरमा टिकट खोसेर जसपालाई दिएपछि हामी कसरी लड्ने ? अब तराईमा कांग्रेस चाहिँदैन सभापति ज्यू ?’

  • देउवालाई निधिको सुझाव- पार्टीभित्रै गठबन्धन बलियो बनाउनुस् (भिडिओ)

    देउवालाई निधिको सुझाव- पार्टीभित्रै गठबन्धन बलियो बनाउनुस् (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं नेता विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई आफ्नै पार्टीभित्र गठबन्धन बलियो बनाएर लैजान सुझाव दिएका छन् ।

    जारी केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्दै निधिले पाँच दलबीच मात्र तालमेल गरेर नहुने आउँदो निर्वाचनमा कांग्रेस सफल हुन पार्टीभित्र पनि गठबन्धनको खाँचो औंल्याएका हुन् ।

    ‘१४औं महाधिवेशनमा तपाईंविरुद्ध म, शेखरजी, प्रकाशमानजी उम्मेदवार हुनुन्थ्यो । कांग्रेसमा सभापतिबाहेकका शक्ति केन्द्र र उपकेन्द्र धेरै छन् । र, यी केन्द्र र उपकेन्द्रलाई एकताबद्ध गरेर लैजाने चुनाव जित्न र पार्टीको सुदृढीकरणका लागि अत्यावश्यक छ । मैले उहाँलाई भनेको छु- जुन काम तपाईँको काँधमा छ । ६ महिनाभन्दा बढी नाघिसक्यो विभागलगायतका विभिन्न काम बाँकी छन् । यी सबैमा हामी सहयोग गर्छौं’, उनले भने ।

    स्थानीय चुनावमा कांग्रेसले बढी सिट ल्याएको र प्रदेश र संघको निर्वाचनमा त्योभन्दा बढी उद्देश्य लिएर बहुमत आउने गरी काम गर्नुपर्नेमा निधिको जोड थियो ।

    ‘स्थानीय चुनावमा मेयर-उपमेयर, अध्यक्षको टिकट वितरणमा असन्तुष्टि भएर कतिपय ठाउँमा स्वतन्त्र साथीहरूले जितेका छन् । उनीहरूलाई पनि आउँदो चुनावमा कांग्रेसको पक्षमा लाग्न मिलाएर लैजानुपर्छ’, उनले भने ।

    विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे कांग्रेसले नै नेतृत्व गर्दै दिशानिर्देश गर्नुपर्ने निधिको भनाइ थियो ।

  • देउवालाई अर्जुननरसिंहको जवाफ- पार्टी कार्यालयमै हामी सबै अट्ने ठूलो कोठा दिनुस्

    देउवालाई अर्जुननरसिंहको जवाफ- पार्टी कार्यालयमै हामी सबै अट्ने ठूलो कोठा दिनुस्

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टी प्यालेसमा गुट भेला गरेको भन्दै सभापति देउवा एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको टिप्पणीप्रति शेखर पक्षका नेताले जवाफ फर्काएका छन् ।

    कांग्रेस नेता अर्जुननरसिंह केसीले आफ्ना समूहका सबैजना आँट्ने गरी पार्टी कार्यालयमा ठूलो कोठा दिए त्यहीँ बसेर छलफल गर्ने बताएका छन् ।

    ‘ठूलो कोठा दिइयोस् । हाम्रो समूहका सबै साथीहरू अटुन् । बाहिर भेला गर्दैनौं । पार्टी कार्यालयमै छलफल गर्छौं ‘, केसीले भने ।

    पदाधिकारीलाई समेत बस्ने ठाउँ नभएको भन्दै उनले विगतमा रामचन्द्र पौडेललाई कोठा छुट्याइएकोमा अहिले देउवासँगै लडेर पराजित भएका शेखर कोइरालालाई बस्ने ठाउँ नभएकोमा आपत्ति जनाए ।

    सभापति एवं प्रधानमन्त्री देउवालाई अहिले समूहको भेलालाई अनौंठो नमान्न पनि उनले आग्रह गरेका छन् ।

    ‘अहिले समूहको भेलालाई अनौंठो मान्ने शेरबहादुरजीले विगत सम्झनुपर्छ । हिजो उहाँ प्रतिपक्षमा हुँदा गरेका भेलाबारे उहाँले के भन्नुहुन्छ ?, – केसीले सोधे ।

  • कांग्रेस बैठकमा केसीको प्रश्न- पार्टीभित्रकै एक पक्षलाई तिरस्कार गरेर चुनावी गठबन्धनको वैशाखी किन ?

    कांग्रेस बैठकमा केसीको प्रश्न- पार्टीभित्रकै एक पक्षलाई तिरस्कार गरेर चुनावी गठबन्धनको वैशाखी किन ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्रको एउटा पक्षलाई तिरस्कार गरेर गठबन्धनका नाममा सभापति शेरबहादुर देउवाले आफ्नो पक्षको मात्र हित सोचेको भन्दै केन्द्रीय समिति बैठकमा असन्तुष्टि पोखेका छन् ।

    केन्द्रीय कार्य समितिको बिहीबारको बैठकमा लिखित धारणा राख्दै नेता केसीले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई गठबन्धनको बैशाखी आवश्यक थियो कि थिएन भन्ने बहसको विषय बनेको बताएका छन् ।

    उनले चुनावी गठबन्धन तत्कालीन रणनीतिमात्र रहेको भन्दै संघीय र प्रदेश संसदको निर्वाचनमा गठबन्धन आवश्यक छ भने पार्टीको स्वाभीमान र सम्मानजनक हैसियतको रक्षा गर्ने स्पष्टतासहित निश्चित मापदण्ड र आचारसंहिता हुनुपर्ने बताएका छन् ।

    उनले भनेका छन्, ‘यी दुवै तहका संसदीय निर्वाचनमा कांग्रेसले बहुमतको लक्ष्य राख्नुपर्छ । गठबन्धनको औचित्य र कांग्रेसको निर्णायक हैसियत कायम राख्न पार्टीभित्र बृहत ऐक्यबद्धताको उत्साही वातावरण बनाउन जरुरी छ ।’

  • गगन-विश्वको बचाउमा बोले गुरुराज- आलोचना गर्ने समय भएको छैन

    गगन-विश्वको बचाउमा बोले गुरुराज- आलोचना गर्ने समय भएको छैन

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको बचाउ गरेका छन् । ट्वीटरमार्फत उनले महामन्त्रीद्वयको आलोचना गर्ने समय अझै नभएको बताएका हुन् ।

    ‘कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाको आलोचना गर्ने बेला भएको छैन । काम गर्न नसघाउने, परिणाम चाहीँ खोज्ने पवृत्ति ठिक होइन,’ उनले लेखेका छन्, ‘उहाँहरूमा पार्टी चलाउन सक्ने अपार क्षमता छ । परम्परागत चिन्तनले थिचिएको पार्टीमा आफ्नो वुद्धि विवेकले काम गर्ने वातावरण छैन । काम हेरेर पछि टिप्पणी गरौंला ।’

    चारदिनदेखि चलेको केन्द्रीय समिति बैठकअन्तर्गत हिजोको बैठकमा महामन्त्रीद्वय थापा र शर्माको चर्को आलोचना भएको थियो ।

  • कांग्रेस उपसभापति गुरुङको टिप्पणी- ‘श्रीखण्ड’ भनिएको प्रदेशलाई नेताहरूले ‘खुर्पाको बींड’ बनाउन लागे

    कांग्रेस उपसभापति गुरुङको टिप्पणी- ‘श्रीखण्ड’ भनिएको प्रदेशलाई नेताहरूले ‘खुर्पाको बींड’ बनाउन लागे

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताहरूको व्यवहारले प्रदेश संरचना समस्यामा परेको बताएका छन् ।

    ट्वीटरमा ‘चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बींड’ भन्ने उखानलाई उल्लेख गर्दै उनले जनताका लागि श्रीखण्ड भनिएको प्रदेश नेताहरूको व्यवहारले खुर्पाको बींड हुनलागेको टिप्पणी गरेका छन् ।

    ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड भन्थे हो रहेछ । प्रदेश जनताका लागि श्रीखण्ड नै होस् भन्ने चाहना राखेका थियौं’, उनले लेखेका छन्, ‘तर, हामी नेताहरूकै व्यवहारले प्रदेशहरुलाई खुर्पाकै बींड बनाउन लाग्यौं । मुलुकको दुर्भाग्य !’

  • उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको मनोनयन दर्ता

    उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको मनोनयन दर्ता

    काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख निर्वाचन प्रक्रिया आजबाट सुरू भएको छ ।

    सत्तारुढ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् ।

    केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।

    भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा एसकी सांसद लक्ष्मीकुमारी चौधरी छन् ।

    प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय गरिसकेको छैन ।

    यो संसदको कार्यकाल करिब चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो ।

    आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ । शिवमाया तुम्बाहाङ्फेको राजीनामापछि रिक्त उपसभामुख पदमा झण्डै २ वर्षपछि नियुक्त गर्न लागिएको हो ।

    उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजेबाट मतदानको कार्यसूची तय भएको छ ।

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो ।

    आजको बैठकमा कांग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् । सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम राखिएको हो ।

    सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

  • कांग्रेस नेताहरूको संगठित स्वर- महामन्त्री ‘मिडिया मेन’ भए, केटौले होइन जिम्मेवार बन्नुस्

    कांग्रेस नेताहरूको संगठित स्वर- महामन्त्री ‘मिडिया मेन’ भए, केटौले होइन जिम्मेवार बन्नुस्

    काठमाडौं । मिडिया खपतका लागि पार्टीले दिएको पद दुरुपयोग गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापाको चर्को आलोचना भएको छ ।

    बुधवारको बैठकमा ४८ जनाले बोलेकोमा धेरै सदस्यले महामन्त्रीहरूको भूमिकाप्रति प्रश्न उठाएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।

    महामन्त्रीहरूले पार्टीको आधिकारिक दृष्टिकोण बोल्नुपर्छ,मिडियामा जे बिक्छ त्यो बोल्ने होइन भन्ने कुरा उठेको खतिवडाले बताए ।

    बैठकमा रमेश रिजाल, राजीव ढुंगाना, केशवकुमार बुढाथोकी, रामजनम चौधरी लगायतका नेताहरूले महामन्त्रीहरूको भूमिका केटौले पाराको भएको र मिडिया तथा सोसल मिडियाको स्टन्टमा रमाएको भन्दै जिम्मेवार भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

    केन्द्रीय सदस्य रिजालले महामन्त्रीहरू मिडिया केन्द्रित भएको र ट्विट गरेर रमाउने गरेको भन्दै अतिवादमा नजान आग्रह गरेका थिए ।

    त्यस्तै अर्का नेता केशव कुमार बुढाथोकीले शेखर कोइारालाहरुलाई पार्टी कार्यालयमै भेला गर्न दिनुपर्ने भन्दै महामन्त्रीहरूले गुटबन्दी गर्ने हो भने आफूहरूले बहिस्कार गर्ने चेतावनी दिए ।

    बैठकपछि एक केन्द्रीय सदस्यले भने–आज दुवै महामन्त्रीको बारेमा चर्को आलोचना भयो । उहाँहरू मिडियामा मात्र केन्द्रित हुने र जे बोल्दा हिरो भइन्छ त्यही बोलिदिने,पार्टीमा पर्गेल्नु नपर्ने भन्ने कुरा उठ्यो । उहाँहरू विदेशमा बस्नेलाई मतदान अधिकार माग्दै निर्वाचन निर्वाचन आयोगमा कसको अनुमतिले जानुभयो ? भन्ने कुरा सिरियसले उठेको छ ।

    बैठकमा केन्द्रीय सदस्य राजीव ढुंगानाले पार्टीमा छलफल नगरी कुन निर्णयका आधारमा महामन्त्रीहरूले मिडियाबाजी गरेका छन् ? भन्ने प्रश्न उठाएका थिए ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्तपा डा।प्रकाशशरण महतले पनि महामन्त्रीहरुको भूमिका जिम्मेवारी हुनुपर्ने भन्दै बाहिर मिडियामा बोल्नुभन्दा पहिले पार्टीमा छलफल गर्नुपर्ने बताए ।