Category: साहित्य / ब्लग

  • कमरेड, काठमाडौंको आगोले कर्णालीमा खिचडी पाक्छ ?

    कमरेड, काठमाडौंको आगोले कर्णालीमा खिचडी पाक्छ ?

    सर्वोच्च अदालतले नेकपा भंग गरी एमाले र माओवादीलाई पूर्ववत् स्थितिमा ल्याउनुअघि नै कर्णालीमा माओवादी नेतृत्वको सरकार ढालेर एमालेको बनाउने चलखेल सुरु भएको थियो ।

    ४० सिट रहेको प्रदेशसभामा एमालेको मात्रै २० सिट भएपछि उक्त प्रयास अस्वभाविक थिएन । तर भागवण्डामा कर्णाली प्रदेश माओवादीको भागमा पारेपछि सुरुदेखि नै एमालेको ठूलो तप्का केन्द्रसँग असन्तुष्ट थियो ।

    एमालेकै नेतृत्वमा सरकार बनाउने कुरामा एमालेका दुवै खेमा सहमत थिए । तर केन्द्रले नसुनेपछि यहाँका नेताहरुले चाहेर पनि केहि गर्न सकेनन् । अर्थात केन्द्रका नेताहरुको प्रभाव र दबाबकासामु कर्णाली एमाले ‘निरीह’ भयो ।

    फलस्वरुप २०७४ साल फागुन तीन गते माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्रीको रुपमा महेन्द्रबहादुर शाहीले सपथग्रहण गरे । उनको नेतृत्वमा एमाले सरकारमा गयो, चार मन्त्रालयसहित ।

    माओवादी नेतृत्वमा सरकार बनेदेखि नै एमाले संसदीय दलका नेता यामलाल कंडेलले असहयोग गरेको आरोप मुख्यमन्त्री शाहीले लगाइरहे । कँडेलले पनि सरकारले ‘माखो मार्न नसकेको’ प्रतिक्रिया दिइरहे । शाही मुख्यमन्त्री भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने भएकै कारण दुवै पक्षले एक अर्कालाई कटाक्ष गरेरै समय बिताए ।

    सरकार गठनको साढे दुई वर्षपछि एमालेले केही माओवादी सांसदको साथमा सरकार ढाल्ने योजना बनाए । जतिबेला केन्द्रमा नेकपाभित्र दिनप्रतिदिन किचलो बढिरहेको थियो ।

    २०७७ असोजमा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी, उपसभामुख पुष्पा घर्ती र ठम्मर विष्टसहित १८ जनाले संसदीय दलको नेताबाट शाहीलाई हटाउन भन्दै हस्ताक्षर गरे ।

    केन्द्रमा नेकपा भित्र चर्किएको द्वन्द्वको असर कर्णालीमा पनि पर्यो । यहाँका हरेक केन्द्रीय नेताहरुले खेल्न सुरु गरे । माधव नेपाल पक्ष उक्त हस्ताक्षर घटनाबाट पछि हटेपछि मुख्यमन्त्री शाहीको सरकार उतिबेला जोगियो ।

    मुख्यमन्त्री शाहीले त्यतिबेला प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सचेतकमा एमालेकै नेपालपक्षका कुर्मराज शाहीलाई नियुक्त गरे । त्यसपछि कर्णालीको राजनीति थप अस्थिर बन्यो । कर्णाली अस्थिर भइरहेको समयमा केन्द्रको विवाद चरम अवस्थामा पुग्यो ।

    तत्कालीन एमालेको एक भाग माओवादीसँग सहकार्य गर्दै देशव्यापी आन्दोलनमा होमियो भने एमालेको संस्थापन पक्ष पनि आमसभा गर्नतिर लाग्यो ।

    संसद पुर्नस्थापना गर्नुपर्ने मागमा नेकपाकै एक खेमा आन्दोलित भइरहेको समयमा अकस्मात सर्वोच्चले एमाले र माओवादीकै रुपमा दुवै दललाई व्युँताइदियो । त्यसपछि कर्णालीमा थप खेल भयो ।

    एमाले एक्लैको २० सीट भएपछि कर्णालीमा संसदीय दलका नेता कंडेलको अध्यक्षतामा बसेको वैठकले २०७७ चैत ४ गते नेकपा माओवादी नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गर्यो । उक्त निर्णयको दुई सातापछि मात्रै सरकारमा सहभागी एमालेका तीन मन्त्रीहरु फिर्ता भए ।

    तीनै मन्त्रीहरु फिर्ता भइसकेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भन्दै चैत ३१ गते प्रदेशसभामा पत्र दर्ता गराए ।

    १२ सिट रहेको माओवादीले कांग्रेस, राप्रपाको सर्मथन लिएपनि कर्णालीमा सरकार बन्ने सम्भावना थिएन । त्यसका लागि उसलाई एमालेकै सांसदहरुको आवश्यकता थियो । त्यही आवश्यकता पूर्ती गर्ने तयारीका साथ २०७८ वैशाख तीन गते प्रदेशसभामा एमालेका चार जनाले फ्लोरक्रस गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गरे । उनीहरुको मतदानपछि मुख्यमन्त्री शाहीको सरकार जोगियो ।

    ‘दलको निर्णयविरुद्ध फ्लोर क्रस गरेको’ भन्दै एमाले संसदीय दलको सोहीसाँझ बसेको वैठकले कारवाहीका लागि चारैजनाको नाम सिफारिस गर्यो । उक्त सिफारिसपश्चात एमालेले चार जना (प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा)लाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्यो । कारवाहीपश्चात एमाले सबैभन्दा ठूलो दल हुँदाहुँदै प्रतिपक्षमा बस्न बाध्य भयो । १६ सिटमा खुम्चियो ।

    तर, सर्वोच्च अदालतले जेठ तीस गते दुवै जनालाई सांसद पदमा पुर्नबहाली गर्न आदेश दियो । सदनमा नीति तथा कार्यक्रम पेश भइसकेको अवस्थामा उनीहरु पुर्नबहाली भए । एमाले एक ढिक्का बनाउन फेरि काठमाडौंदेखि सुर्खेतमा बैठकहरु भए ।

    जेठ ३२ गतेको सदनमा सभामुख राजबहादुर शाहीले सांसदहरु पुर्नबहाली भएको र एमालेकै सांसद रहेको पत्र पढेर सुनाएपछि कर्णाली सरकार फेरि अल्पमतमा परेको देखियो । फेरि एमाले एक्लैको संख्या बीस पुग्यो ।

    एमालेका सांसदहरु दल रावल, सुशील थापा लगातार पुर्नबहाली भएका चार सांसदसँगको छलफलमा जुटे । प्रकाश ज्वालाको निवासमै गएर फकाउने काम भयो । यामलाल कंडेर र प्रकाश ज्वाला दुवैलाई मिलेर अघि बढ्न कार्यकर्ताले पनि दबाब दिए । परिणामस्वरुप प्रकाश ज्वाला असार एक गतेको सदनमा उपस्थित भए, तीन मन्त्रीलाई अनुपस्थित गराइयो । ज्वाला सदनमा उपस्थित हुने वातावरण बनाइसकेपछि कर्णालीमा एमाले एकताबद्ध हुने खबर मिडियामा फैलियो ।

    दुई पक्षबीचको छलफल सहमतिउन्मुख थियो । नेपालपक्षका नेताहरु अष्टलक्ष्मी शाक्य, भीम आचार्यले आफ्नो प्रदेशशको सरकार जोगाउन खेलेको भूमिकालाई हेर्दै प्रदेशमा मन्त्री पदबाट फिर्ता हुनेसम्मको सहमति हुन थालेको थियो । त्यसैका आधारमा एमाले दलको बैठकले तीनै जनालाई मन्त्री पदबाट फिर्ता हुन निर्देशन जारी गरेको थियो ।

    अहिले सर्वोच्च अदालतले ती चार जनालाई काठमाडौं बोलाएको छ । एमालेका शीर्षस्थ नेताहरु वार्तामा छन् । तर, कर्णालीको एमाले राजनीति अहिले पनि यसै भन्न सकिने अवस्था छैन ।

    कर्णालीको राजनीति यहाँको स्थितिअनुसार हुन आवश्यक छ । काठमाडौंको सरगर्मीको प्रभाव यहाँ पर्न दिनु हुँदैन ।

  • कलिलै उमेरमा बिधवा बन्नेहरुका कथा- कति सहज छ पुनर्विवाह ?

    कलिलै उमेरमा बिधवा बन्नेहरुका कथा- कति सहज छ पुनर्विवाह ?

    २१ वर्षकी युवतीको मनमा जीवनका कस्ता परिकल्पना होलान् ! जीवनलाई सुन्दर बनाउन  उत्कृष्ट पढाइ, राम्रो जागिर, व्यवसाय गर्ने शौख, आफू सुहाउँदो जीवन साथीको परिकल्पना । समग्रमा सुन्दर भविष्यको सपना ।

    चन्द्रागिरीकी दीपिका श्रेष्ठ महर्जन पनि तीनै आम युवती मध्येकी एक हुन् । जोसँग २१ वर्षको उमेरमा यस्तै सपना थिए । सुखी भविष्यको परिकल्पना पनि । तर, सुन्दर भविष्य रोज्नेबेला उनको जीवन भने उजाडियो । विवाह भइसकेर पनि उनी एकल (विधवा) भइसकेकी थिइन् ।

    सात महिनाको भ्रुणले गर्भमा लात्ती हान्दा खुसी हुनेबेला उनले एकल हुनुको सामाजिक विभेदको लात्ती खेप्दै थिइन् । परिवारले नै उनलाई तँ एक्लो होस् भनिरहेको थियो ।

    आज ७ वर्ष पुगेकी छोरी संसार देख्न दीपिकाको गर्भमा चल्मलाउँदै गर्दा उनका श्रीमानले दुर्घटनामा ज्यान गुमाए ।

    दीपिकाले एकल जीवनको सात वर्ष गुजारिसकेकी छिन् । २७ वर्षकी उनी श्रीमानको मृत्युसँगै .परिवारको अपहेलना, वेवास्ता सबै एकल हुँदाको छ वर्षमै भोगिसकेको बताउँछिन् । कहिलेकाँही त उनलाई लाग्छ यी सात वर्षमा जीवनभरको दुःखको पहाड भोगिसकें ।

    ‘हिजोसम्मका भाउजु श्रीमानको मृत्युपछि म्याडममा रुपान्तरण हुन्छन्,’ यो अमिशाले एकल भएपछि भोगेको यथार्थ हो । श्रीमानको मृत्युपछि हामीलाई मान्छेका रुपमा यो समाजले कहिल्यै नहेर्ने रहेछ । आफ्नो काममा घर बाहिर निस्किए आफ्नैले पहिले चरित्रमा प्रश्न उठाउँछन् भन्ने अमिशाको अनुभव आम एकल महिलाको साझा पीडा पनि हो ।

    पहिले श्रीमानको जीवन बिछोडिएसँगै रातो रंगदेखि जीवनभर बिछोडिनुपर्ने मानसिक पीडा हुन्थे एकल भएपछि महिलाका । अहिले रंगबियोगले दिएको भन्दा ज्यादा समस्या भोग्न थालेका छन् एकल महिलाले । ‘श्रीमान बितेपछि महिलाको जीवन नै नहुने रहेछ,’ उनले भनिन्, ‘सुत्केरी हुँदा अस्पतालको बिल समेत परिवारले तिरिदिएन ।’

    परिवारको कुनै सहयोग नपाएपछि ३ महिनाको बच्चा छोडेर काम गर्न थालेकी उनी परिवारमै बसेर छोरी र आफ्नो लागि संघर्ष गरिरहेको बताउँछिन् ।

    एकल महिलाको धेरैजसो समस्या एकैखाले हुन्छन् । जस्तो दीपिकाको झैं अमिशा सुनारको पनि छ कथा । उनी पनि २१ वर्षमै एकल बनेकी हुन् । ३२ वर्षकी उनको श्रीमान बितेको ११ वर्ष भइसकेको छ । यो बीचमा कहालीलाग्दो जीवनको यात्रा गरेकी छन् अमिशाले ।

    ‘हिजोसम्मका भाउजु श्रीमानको मृत्युपछि म्याडममा रुपान्तरण हुन्छन्,’ यो अमिशाले एकल भएपछि भोगेको यथार्थ हो । श्रीमानको मृत्युपछि हामीलाई मान्छेका रुपमा यो समाजले कहिल्यै नहेर्ने रहेछ । आफ्नो काममा घर बाहिर निस्किए आफ्नैले पहिले चरित्रमा प्रश्न उठाउँछन् भन्ने अमिशाको अनुभव आम एकल महिलाको साझा पीडा पनि हो ।

    अमिशा र दीपिका दुबैजनालाई विवाहको सोच नआउने पनि होइन । घरका सदस्य आफन्तले केही नभने पनि माइती पक्षले विवाह गर्न सुझाउँछन् पनि । विवाह गर्ने उमेर भर्खर सुरु भएको अवस्थामा एकल बनेका उनीहरु जस्ता महिलालाई लिली थापाले भनेझैं शारीरिक सम्बन्धको आवश्यकता पनि हुन्छ ।

    २०६८ सालको जनगणना अनुसार देशभरमा महिलाको कुल जनसंख्याको ६ प्रतिशत एकल महिला छन् । त्यसमा पनि दीपिका, अमिशा जस्ता ३५ वर्षमूनी एकल हुने महिलाको संख्या ६७ प्रतिशत छ ।

    माथिको तथ्यांकले पनि भन्छ, भविष्य निर्माण गर्ने क्रममै एकल बनेपछि अधिकांश महिला विवाह नगरी बस्छन् । एकल महिलाको अधिकारको अभियान सुरु गरेकी लीली थापा भन्छिन्, ‘एकल महिला पुर्नविवाहको लागि तयार हुन अझै पनि सामाजिक परिवेशले दिँदैन, मृत्यु भएको श्रीमानसँग जोडिएको उनको भावनामा खेलेर एक्लै बस्न समाजले बाध्य बनाउँछ ।’

    हुन त अमिशा र दीपिका दुबैजनालाई विवाहको सोच नआउने पनि होइन । घरका सदस्य आफन्तले केही नभने पनि माइती पक्षले विवाह गर्न सुझाउँछन् पनि । विवाह गर्ने उमेर भर्खर सुरु भएको अवस्थामा एकल बनेका उनीहरु जस्ता महिलालाई लिली थापाले भनेझैं शारीरिक सम्बन्धको आवश्यकता पनि हुन्छ ।

    तर, उनीहरु आफ्नो चाहनालाई गौण ठान्छन् । ‘अर्को विवाह त गरौंला तर, मलाई स्वीकार गर्ने केटाले मेरो छोरी स्वीकार्छ ? ’ अमिसा थप्छिन्, ‘अब त म भन्दा अगाडि छोरी छे ।’

    अमिशाको मात्रै होइन श्रीमानको मृत्युपछि एकल बनेका सबैजसो एकल महिलाका लागि सन्तान पहिलो प्राथमिकता हो । त्यसैले उनीहरु आफूलाई सन्तानको भविष्यसँग जोड्छन् ।

    २० वर्षमा श्रीमान गुमाएकी ४० वर्षीया उमा रुपाखेतीले एकल जीवनको एकांकीपन हिजोआज महसुस गर्न थालेकी छिन् । उनले उमेर छँदा दुई सन्तानको लागि संघर्ष गरिरहिन् । एक्लो अभिभावक बनेपछि सन्तानभन्दा दोस्रो जीवन नै छैन जस्तो लाग्थ्यो उनलाई । अहिले दुबै छोराको विवाह भयो । उनीहरु काम गर्न बाहिर जान्छन् ।

    उमा घरमा एक्लै पर्छिन् । ‘सकुञ्जेल समाज र आफ्नै गाँससँग संघर्ष गर्दैमा बित्यो । जीवनको एक्लोपनले अहिले पो सताउने रहेछ ।’ उमाले अनुभव सुनाइन्, ‘बिरामी हुँदा कहिलेकाँही पानी तताएर दिने, मनको बात गर्ने आफ्नै मान्छे चाहिँ चाहिने रहेछ ।’

    एकल महिलाहरुले संगठित हुनैको लागि बीस वर्षबढी संघर्ष गरे । सुरुमा आलोचित हुँदै पनि रातो रंगको अभियान थालेर समाजमा एकललाई बेरंगी हुनुपर्ने सोच पनि परिवर्तन गर्न सफल भइसकेका छन् ।

    लगातारको अभियानले सम्बोधनको सम्मानजनक शब्द एकल महिललाई राज्यले परिभाषित गरिदिएको छ । जीवन निर्वाहमा सहजता बनाउन सामाजिक सुरक्षा भत्ता पनि एकल महिलाले पाउँछन् ।

    एकल महिलाको पुर्नविवाह भने अझै पनि स्थापित भइसकेको छैन । यसअघि एकल महिलाहरुको समूहले नै राज्यले पुर्नविवाहमा गरेको प्रोत्साहनको बहिस्कार पनि गरेको थियो । सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा उनले एकल महिलाको पुर्नविवाहमा प्रोत्साहन स्वरुप सरकारले व्यवस्था गरेको ५० हजार रुपैयाँ रकमको चर्को बिरोध भएको थियो ।

    पछिल्लो समय भने मानवअधिकारका लागि महिला एकल महिला समूह नै महिलाको पुर्नविवाहको प्रोत्साहनमा छन् । बागमती प्रदेश अध्यक्ष विष्णुमाया पाण्डे भन्छिन्, ‘हामीलाई विवाहभन्दा सम्पत्तीको अधिकार पहिलो प्राथमिकतामा थियो ।’ अब महिलाको अर्को विवाहमा गर्ने विभेद हटाउनुपर्छ भन्ने हाम्रो धारणा हो ।

    पछिल्लो समय बनेको मूलुकी देवानी संहिताले एकल महिलाले पुर्नविवाह गर्दा आफ्नो भागको सम्पत्ती छाड्नुपर्ने व्यवस्था हटाएको छ । लिली थापा थप्छिन्, ‘विवाहपछि पनि एकल महिलाहरुले अरु अप्ठ्यारो नपाउन भनेर हामीले त्यतिबेला बिरोध गरेका थियौं । अहिले त्यो अवस्थाको अन्त्य भइसकेको छ ।’

    कानूनी अवरोधका पाटा हटे पनि सामाजिक रुपमा एकल महिलाको पुर्नविवाह सहज छ त ? थापाले एक अन्तवार्ताका क्रममा अनुभव सुनाएकी थिइन्, ‘२९ वर्षमा एकल हुँदा पुर्नविवाहको प्रस्ताव ठाडै अस्वीकार गरेको थिएँ । त्यतिबेला मलाई पनि अरु दिदीबहिनीलाई जस्तै आफ्नै र सन्तानको भविष्य महत्वपूर्ण थियो ।’

    अहिले भने उनलाई पनि उमा रुपाखेतीको जस्तै अनुभव हुन्छ । तीनै छोराको विवाह भइसक्यो । उनीहरु आआफ्नै जिम्मेवारीमा व्यस्त हुन्छन् । उनले भनिन्, ‘आफ्नो एकांकीपन हटाउन पनि साथी चाहिने रहेछ भन्ने महसुस हिजोआज हुन्छ । आफ्नो कुरा शेयर गर्ने मानिस चाहिँदो रहेछ झैं लाग्छ ।’

  • नख्खु जेल ब्रेकको कथा : अनि ६ वटा खरायो ढालेर भोज खायौं‍‍…

    नख्खु जेल ब्रेकको कथा : अनि ६ वटा खरायो ढालेर भोज खायौं‍‍…

    चालिसौं वर्ष पाइला टेकेछ । दशकौं पुराना पाइलाहरू हिजोझैं, आजझैं लाग्ने । त्यो एउटा अँध्यारो रात, सम्झनामा सल्बलायो । कतिऔं दिन, कतिऔं रात बिते । एउटा मानिसको जीवनको उर्वर वर्ष ।

    वर्षेनि आँउथ्यो, जान्थ्यो- त्यो चैत्र महिना । सम्झना हुन्थ्यो- त्यस रातको, अनि विस्तारै विलीन हुन्थ्यो । लोकले चर्चा गर्थ्यो, कथाहरू बुनिन्थ्यो, अनि फेरि ओझेल पर्दै जान्थ्यो ।

    स्मरण हुने, अझ नयाँ चेतमा स्मरण हुने, लोक–चर्चा थपिँदै जाने, त्यसरी नै गोधूली पर्दै विलीन पनि हुने । त्यो बेलाको अर्कै संसार, थियो अर्कै नेपाल । कति जोर भोटा–कछाड फाटे, कतिऔँ क्युसेक पानी बहे । र अहिलेको यो संसार, यो नेपाल । इतिहास रहेछ यो त, बिर्संदै नबिर्सने ऐतिहासिक । वर्षहरू थपिँदै जान्छन्, पत्रपत्र भएर थपिँदै नै जान्छन् ।

    यो वर्ष– २०७३ साल चैत्र १२ भने केही भिन्न भएरै आयो । कताकति केही लिएरै आयो । ‘ओल्ड इज गोल्ड’ भने जस्तो जति पुरानो उति चमक लिएर आयो । ४० वर्ष भएछ है कमरेडहरू नख्खु जेल ब्रेक…!’ घडीको सुई देखाउँदै हुनुहुन्थ्यो कमरेडहरु । धन्य–धन्य कमरेडहरू उहाँहरू मेरो मनमा छपक्कै बस्नुभयो ।

    कौतुहल मनले भन्न मन पनि लाग्यो । यो चालिसौं वार्षिकोत्सव मेरा जीवनका अनन्त पाइलाहरू.., वर्षहरूका लामा–लामा मालाहरू र मेरी श्रीमतीकै उमेर पछ्याउदै आएका आगामी पाइलाहरूले नयाँ सन्देश दिएरै जाओस् ।

    नक्खु जेल- राजनीतिक बन्दीगृह । जहाँ हामी झापाली कम्युनिष्टहरूलाई थुनिएको थियो । झापालीहरूलाई थुन्न पाउँदा शासकहरू हाइसञ्चोमा थिए ।

    र, झापा विद्रोह सधैंका लागि दमन गर्यौं भनी सोचेका थिए । तर शासकहरूलाई यो मालुमै भएन कि हामी अर्कै तत्वका मानिस हौं । हामी जेल–ब्रेकको अनुकूल समय पर्खिरहेका थियौं । त्यो समय पनि अनेकौं गौंडा छिचोल्दै लुक्तै—छिप्तै आयो । त्यस समय नक्खु जेल कमिटी (कोके) को सचिव म थिएँ । जेल–ब्रेकको छलफल चल्दा–चल्दै एकदिन हाम्रो पंक्तिमा नियास्रो छायो । यसकारण कि जेल प्रशासनले अन्यायपूर्वक कमरेडहरू एमसी, आरके र केपीलाई जेल सरुवा गर्‍यो ।

    र पनि हाम्रो योजनालाई मूर्तरूप दिन हामी लागिरह्यौं । एउटा थाती रहेको काम थियो– पार्टी सदस्यता प्रदान । कमरेडहरू सूर्य कन्दब्वा, धर्म घिमिरे, भीष्म धिमाल र नारद वाग्लेलाई पार्टी सदस्यता प्रदान र मुस्लो समूहका कमरेडहरू गोपाल शाक्य, प्रदीप नेपाल, माधव पौडेल र वीरबहादुर लामाको पार्टी सदस्यता नवीकरणका साथ सामूहिक सपथ ग्रहण भयो ।

    चौकिदार-नाइके र जेल प्रशासनले भेउ पाउने हो कि ? एक-एक सास र एक-एक मुटुको चालमा निगरानी गर्नुपर्थ्यो । जेलको वातावरण सहज बनाउन, दैनन्दिनकै रुटिङले सरल बनाउन सबै कमरेडहरू रत्तिभर चुक्नुभएन ।

    त्यसपछि जेलब्रेकको प्रस्तावमाथि केन्द्रित भयौं । ब्रेकका अनेकौं बाटाहरूको छलफल संगसंगै कमरेड वीरबहादुर र माधवले सुरुङको आइडिया पेस गर्नुभयो । यो बाटो सफल भए कम क्षति हुने वा पूर्ण सफल हुने देखियो । अन्य बाटाहरूलाई तपसिलमा राख्दै सुरुङको अभ्यासमा जाने मत पास गरियो । अभ्यासमा जाँदा असम्भव हुने भए अन्य बाटाहरूलाई मध्यनजर दिने टुंगो भयो । तुरुन्तै जेल कमिटीले सुरुङ खन्ने योजना बनायो र चार नम्बर ब्लकबाट खन्ने निर्णय भयो ।

    कार्य नेतृत्वको निम्ति मैले सचिवको कार्यभार कमरेड सीपीलाई हस्तान्तरण गरेँ । अब ठोस निर्णय भएपछि ठोस कार्यमा जुट्नु थियो । हामी कोही पनि इन्जिनियर पढेका थिएनौं । सुरुङबारे हाम्रो प्राविधिक ज्ञान पनि थिएन । न त कसैलाई सुरुङ खनेको अनुभव थियो । चिनियाँ क्रान्तिमा सुरुङ युद्धको कथा पढेका–सुनेका चाहिँ थियौं । हामीले सुरुङको खाका तयार गर्‍यौं र आफ्नै अभ्यासमा खन्ने निधो गर्‍यौं । सुरुङ खन्ने कोठामा आँखा छल्न खरायो पाल्नुपर्थ्यो ।

    एक गोठ खरायो र सुरुङ खन्न लाग्ने जिन्सी सामानहरूको जोरजाम कमरेड हर्कले गर्नुभयो । तीनवटा खरायोको खोर बनिसकेको थियो र दसवटा खरायो खेल्न थालिसकेको थियो । अब झट्टै कमरेड सीपी, हर्क, वीरबहादुर र म कोठामा छिर्यौं । एउटा खोरबाट सुरुङको ढोका निर्माण गर्नु थियो । कमरेड हर्क र वीरबहादुर किसान चरित्रका व्यावहारिक मान्छे । उहाँहरूले तीन फिट खनी सुरुङको मुख बनाउनुभयो । सुरुङमा घर्राको ढोका पनि निर्माण गर्नुभयो । यो काम हाम्रो पंक्तिभित्र पनि अत्यन्त उच्च गोपनीयताका साथ भएको थियो । यो थियो– फागुन १० गतेको दिन, जहा सुरुङको शिलान्यास भयो- जेल विद्रोह जिन्दावाद ! मुठ्ठी कस्दै एक स्वरमा गुञ्जियो ।

    त्यो योजना ।मेलम्चीको सुरुङ जस्तो कथैकथा पनि थिएन । अनि ठेकेदार र इन्जिनियरको जस्तो ढिलासुस्ती गर्नु पनि थिएन । वैज्ञानिक उपकरणहरू, मेसिनहरू, औजारहरू हाम्रा हातमा थिएनन् । थियो त सिर्फ एउटा खेलौनाजत्रो सानो कुटो, एउटा फलामे सानो बूढो पुन्यु र एउटा सानो कसैले फालेको थोत्रे छाताको डन्ठी ।

    पन्युँ त फेरि बिहान-बेलुकी भात पकाउन पनि प्रयोग गर्नुपर्ने । हाम्रा हातमा यिनै तीन सामान मात्र थिए । यिनै तीन हतियार पुज्य बन्यो, महादेवले तथास्तु भनी पठाए जस्तो । मेलम्चीको सुरुङबारे हामीले सुनेकै छौं । यो चाहिँ जेलको सुरुङ बारेको कथा हो । त्यो र यो सुरुङ दुवै सुरुङ नै हो । अब यहा त्यो मेलम्चीको होइन, अर्कै मेलम्चीको सुरुङ बन्दै थियो । पानी लैजाने होइन, मान्छे लैजाने सुरुङ । अब सुरुङले तेर्सो बाटो हिँड्न थालेको थियो । एवं रितले एक रात दुई रात, एक दिन दुई दिन गर्दै सुरुङ परपर पुग्दै थियो । हाम्रो इन्जिनियरिङ मेल खाँदै थियो, जेलको पहरा फेल खाँदै थियो । निरन्तर खन्नेमा कमरेड जीवन, वीरबहादुर, माधव, भीष्म र गोपाल हुनुहुन्थ्यो । अन्य कमरेडहरूले पनि आंशिक रूपमा खन्नुभयो ।

    खन्ने टिमको नेतृत्व जेल कमिटीले मलाई दिएको थियो । सुरुङ धस्सिएर ज्यान जाने, ज्यानकै बाजी थियो । नक्खु खोला छेउको जेल, बालुवा–ढुंगा मिसिएको गेग्रान माटो, जति–जति खन्यो, सुरुङ भास्सिने हो कि नजर लाइरहनुपर्ने । भास्सिएमा जिब्रो टोक्नुपर्ने, जीवित फर्किने कुनै उपाय थिएन । कडा जोखिम मोलेर खन्नुपर्थ्यो । एक-एक घडी, एक-एक पाइला, एक-एक सास ज्यानको खतरा थियो ।

    हंस कोठामै छाडेर, मृत्यु पातमा राखेर खन्नुपर्थ्यो । सुरुङ जति लामो हुँदै गयो, उति अक्सिजन कम हुने र निस्सासिनुपर्ने । एक पटक सुरुङ धस्सिन थाल्यो । अब के होला ? के गर्ने ? तुरुन्तै बैठक बस्यो । समाधान निकालियो- सुरुङको दुवै छेउ ईंटाको गारो लगाई, छतमा दाउराको चाङ लगाई, थोत्रा लत्ता-कपडा कोची रोकथाम गरियो । सुरुङ खन्दा होसियारी राख्नुपर्ने, गोलाकार खन्नुपर्ने, लेबल हेर्नुपर्ने र एक मान्छे लामो खनेपछि घुमफिर गर्ने सेल्टर बनाइन्थ्यो ।

    कहिलेकाहीँ पानी उम्रिन्थ्यो र ढुंगा छापी बुजो लगाइन्थ्यो । हाम्रो हातमा कमसल औजार ! रातोदिन खन्दा पनि एक हात मात्र । एक हात खन्दा पनि माटा-रोडाको थुप्रो, एउटा ढिस्को नै बन्ने । ती टनका टन माटा-ढुंगा छुमन्तरमै गायव गरिन्थ्यो ।

    चौकिदार-नाइके र जेल प्रशासनले भेउ पाउने हो कि ? एक-एक सास र एक-एक मुटुको चालमा निगरानी गर्नुपर्थ्यो । जेलको वातावरण सहज बनाउन, दैनन्दिनकै रुटिङले सरल बनाउन सबै कमरेडहरू रत्तिभर चुक्नुभएन ।

    बन्दीहरूसँग गफगाफ गर्ने कमरेड हर्क-धर्मको टोलीले आकाश-पातालको गफ लडाएरै मख्ख पार्ने, भलिबल-टेबलटेनिस-चेस खेल्ने कमरेड घनेन्द्र-नरेशको टोलीले खेलेरै ढुक्क पार्ने र कमरेड प्रदीपको टोलीले गीति कार्यक्रम गरेरै छक्क पार्ने । उनीहरुलाई लाग्यो- झापाली कमरेडहरू गफमा, खेलमा, गानाबजानामा मख्खै छन्, मस्तै छन् । अनि उनीहरूलाई विश्वास भयो– कम खाना, गम रहना, चटपट न करना, धुसा ओढना, मस्त सोना, तब कटेगा जेलखाना’ (यी पंम्ति जेलका कहावत हुन्)मै चुर्लुम्म डुबेका छन्, मज्जाले रत्तिएका छन् ।

    त्यहाँ हामीले नाटक खेलेका थियौं, उनीहरूले हाम्रो नाटकको मूलकथा बुझ्नै सकेनन् । उता शनैः शनैः सुरुङ झन् लामो, झन् लामो हुँदै थियो । योजनाले राम्रो लक्षण देखाउँदै थियो ।

    जेल साविकझैं चलिरहेथ्यो । कुनै हलचल थिएन । हामी खुसीले उफ्रिदै थियौं । एकदिन त आम्मै हौ हुरुरुरु…पुलिस र नाइकेहरू आए, सुरुङ खनेको कोठा र बाहिर सुरुङ खनेको जमिनमाथि ढ्यापढ्यापेले । ढ्याप-ढ्याप, ढ्याप-ढ्याप’ पारी त हाल्यो । लौ सत्यानाश भो ! हामी असिना-पसिन भयौं । हामी त्यस्ता मान्छे हुदै होइनौं, हामीले क्यै गरेकै छैनौं, शंका लिनै पर्दैन’ भन्न बाध्य भयौं । (मनमनै चाहि औंलाले देखाउँदै ! त्यहाँ हामीले सुरुङ खनेकै छैनौं, तर सुरुङ खनेको त हो है !) अनि उनीहरूका ढ्यापढ्यापेले नि फेल खायो, बेकामे साबित भयो । (डीएसपीले कुकुर ल्याको भे चाहिँ हाम्रो दाल गल्थ्यो होला, कञ्चटबाट महाकाली तेल चुहिन्थ्यो होला !) उनीहरू फुस्रो भएर फर्केपछि हामीले सञ्चले लामो सास तान्यौं । यो अचानकको जाचपडतालले ढ्यांग्रो बजाइसकेको थियो । अब अरु उच्च सतर्कताको खाँचो भयो । हाम्रो एकता र सहकार्य झन् बलियो भयो । दुई दिन सुरुङ खन्न बन्द गर्‍यौं ।

    शंकाको तुष हट्यो र फेरि खन्न थाल्यौं । खन्दै- खन्दै सुरुङ बाहिरी पर्खालमा ठोक्कियो । जग रहेछ ढुंगै-ढुंगाको, सुरुङ ठोक्कियो सुरुङकै मुखजत्रो ढुंगामा । फेरि दुर्भाग्य आइलाग्यो । समाधानका लागि बैठक बस्यो । भरसक ढुंगा निकाल्ने, नत्र छेउबाट सुरुङ घुमाउने । म पसे सुरुङमा । ढुंगाको चारैतिरको नक-नक र कोर खोतल्नुपर्थ्यो खोस्रिँदै गए । त्यस रात आधामात्रै नक खोलियो । भोलिपल्ट फेरि सुरु गरे । रात भरिमा नक र कोर खोले । अब ढुंगा तान्नुपर्ने, तान्दा घ्याच्च पर्खाल धस्सिने हो कि ! मनमा गहिरा कुरा खेल्यो । हंस कोठामा टाँसेर आएकै थिए, ज्यान कर्कलोको पातमा चढाएकै थिए । भएभरको बलले ताने ढुंगा, अहो खुल्यो भाग्य ! बडेमानको ढुंगा- बाहिर ल्याउनु सम्भव थिएन र मनासिव पनि थिएन, त्यहींभित्र चिहान खनेर दफ्नायौं ।

    म जेल विद्रोहपछि झापा पार्टी सम्पर्क गरी पुनः भूमिगत भएँ । म सर्वस्वहरणसहित जन्मकैदको कैदी थिएँ । पछि नाबालक भनी अर्ध–कैद सुनायो । दुई वर्षअघि जन्मेको भए सुखानीतिर डोहोर्‍याउने रहेछन् । क्रान्तिमा गोली भनेको के हो, छातीमा अनुभव हुन्थ्यो होला । त्यसबाट बचियो । अर्को इतिहास रच्ने अवसर मिल्यो । आजका दिनसम्म विगतको त्यो विश्वास र आस्थालाई संगालेरै जीवन अगाडि बढ्दो छ ।

    अब सुरुङले जेल बाहिरको सररर… यात्रा थाल्यो । हाम्रो इन्जिनियरिङले सुरुङ बयरको झ्याङमुनि पुग्यो । एकदम सही निसानामा सुरुङ टुंगियो । बाहिरी स्थिति ज्ञातका लागि सुरुङको सानो आँखी-प्वाल बनाइयो र दुर्बिनलेझैं हेरियो । अहा ! क्या राम्रो लहलह….आलुबारी ! सुरुङ उद्घाटनदेखि समापनसम्मको यात्राले बत्तिसौं दिन खाएछ।

    ढिलो गर्नु र शूली चढ्नु एउटै अर्थ हुन्थ्यो । बिहान झटपट बैठक बस्यो । त्यसै रात अर्को संसार टेक्ने निर्णय भयो । त्यसदिन ६ वटा खरायो ढाली भोज खाइयो । भएको रुपैयाँ दामासाहीले बाडियो । जिन्सी पनि बाँडफाँड भयो । मेरो घरबाट आएको, मायाले नलाई-नलाई राखेको रातो ज्याकेट कमरेड प्रदीपले पहिरिनुभयो । भलिबल, टेबल टेनिस खेल्न किनेको मेरो नयाँ स्पोर्ट जुत्ता कमरेड नारदले लाउनुभयो । अन्य कमरेडहरूलाई के के भाग पर्‍यो, मलाई चाहिँ पर्‍यो- कमरेड अशोकको थोत्रो, औंलामा प्वाल परेको, साँघुरो जुत्ता ।

    आफ्नो होइन, अरुको सेवा गर ! भन्ने नीति नै थियो । छोटो दिन हो कि लामो दिन हो, घाम पनि ढल्किँदै-ढल्किँदै पर झन् पर पुग्दै थियो । त्यो दिन, अन्तिम जेल बसाइ हुँदै थियो । त्यसै रातदेखि जेल सम्झना र बिर्सनाको तरेलीमा पुग्दै थियो । दिनै खप्टिएर लामो भ’को महसुस भइरहेथ्यो । अनि अन्तिम पलसम्म के कसो होला । विजय-पराजय के होला । कस्ता समस्या आइपर्ला । के-के भोग्नुपर्ला । घामले पनि फर्पिङ डाँडा छिचोल्यो । हामीले पनि नेटो काट्नु थियो ।

    खासमा सुरुङ खन्ने कमरेडहरूको बलिदानी आत्मत्याग, चौकिदारचाहिँ खलनायक’, कमरेड हर्कचाहिँ चौकिदारको भूमिकामा र कमरेड सीपीको सबल वैचारिक नेतृत्वले यो सम्भव हुँदै थियो । मेहेनतले खनेको सुरुङ पनि संग्रहालयमा परिणत हुँदै थियो । अब केही मिनेटमै जेल प्रशासन थाङ्नामा सुकला हुँदै थिए । र कांग्रेस मित्रहरू पनि नराम्ररी भुस बन्दै थिए । अनि भोलिका दिन राज्यसत्ताका राजाहरूलाई फिलिम हेर्‍याझैं लाग्ने…! चारैतिर झमक्कै रात परिसकेको थियो, विद्रोहको समय सामुन्ने आउँदै थियो । र हामी मैदानमा फुटबल खेलाडीझैँ आ-आफ्नो पोजिसनमा सल्बलाउन थाल्यौं ।

    ‘डढ्याम्म….!’ छत्तीस नम्बरको ग्रिने पड्किएझैं आवाज आयो जेल अत्याउने गरी । खैलाबैला भयो र गल्याङ– मल्याङको आवाज आउन थाल्यो । माफ गर्नुहोला, यो पड्केको ग्रिनेड थिएन । यो बिजुलीको मेन ट्रान्समिटर बक्स पड्किएको थियो, ग्रिनेड जसरी । जेल झ्याप्प कालो-नीलो रङमा अँध्यारो भयो । अँधेरी रातमा झन् अँध्यारो खप्टिएको थियो ।

    अगाडिको आकृति अकिञ्चन ठम्याउन नसकिने मुस्लो अन्धकार छायो । केही मिनेटको खलबल पनि विस्तारै हावामा हराउँदै गयो । नाइकेहरू भोलि मात्र बिजुली आउने भन्दै थिए । जेलै कालो भएपछि नाइके–प्रहरीहरू हाइ–अलर्ट ड्युटीमा थिए । मान्छेका स्वरहरू पनि दबिसकेका थिए र सन्नाटा छायो ।

    शान्त र चकमन्न रात दोहोरियो । वास्तवमा त्यहाँ, त्यसबेला, खतराको पल र जटिल समयमा हामीलाई प्राकृतिक चिठ्ठा परेको थियो । प्रकृतिले हामीलाई अनुकूलता प्रदान गरेको थियो । योजना त थियो बिजुली सर्ट-अफ गर्ने । त्यस टोलीमा कमरेड नारद, अशोक, गोपाल लागिरहनुभएको थियो ।

    उहाँहरूले शौचालयबाट रडले सर्ट गर्नुभयो । तर शौचालयदेखि अघिको कनेक्सनमा मात्र सीमित ठाउँमा बिजुली गयो । चार दिवार पर्खालको चार ठाउँको पाच सय वाटसहित अन्य ठाउँमा बत्ती गएन । जेल झलमल्ल थियो । हामी समस्यामा फसिरहेका थियौं । यत्तिकैमा एउटा चमत्कारै भयो । हाम्रो लागि प्राकृतिक शक्ति बलवान भएर आयो । हाम्रो पक्षमा हावापानी, आँधी-बतास, हुरी-हुन्डरी आइदियो ।

    चार दिवारको नाङ्गो तार झ्याम-झ्याम जुध्न थाल्यो, बत्ती झिलिप-झिलिप हुन थाल्यो र चटट-चटट आगोका झिल्काहरू फाल्न थाल्यो । तुरुन्तै करेन्ट सर्ट भई ट्रान्समिटर ग्रिनेडझैं पड्कियो । जेललाई अँध्यारो कालले घ्याप्प छोप्यो । पहिले पहिले पनि त्यहाँ आँधी–हुरी–हुन्डरी आउँदा लाइन जान्थ्यो र भोलिपल्ट मात्र बत्ती आउँथ्यो ।

    अहिले पनि हामी देख्छौं, आँधी-हुरी-हुन्डरी आउँदा लाइन सर्ट हुन्छ नै, बत्ती जान्छ नै । संसारमा प्राकृतिक शक्ति दिग्विजयी छ । यहाँ यस्तै भएको थियो प्रकृतिसँग जेलले हार्यो र कैदीले जित्यो । प्रकृतिले हामीलाई शुभ साइत दिलायो । जेल विद्रोहको खेल अँध्यारो मैदानमा खेल्नु थियो । अँध्यारोमै छक्याएर गोल हान्नु थियो । बल हाम्रो खुट्टामा थियो । पास खेल्दै नेटमा छिराउनु थियो ।

    चैत्र १२ गतेको त्यो रात । अग्ला-अग्ला चार दिवार । दिवारमाथि नाङ्गो तारको झन्झनाहट । नाइकेहरू कराउँदै थिए- खबरदार! खबरदार !! प्रहरीहरू चिच्याउँदै थिए- होशियार ! होशियार !!

    दिवार बाहिर राइफलधारीहरू ‘लेफ्ट-राइट, लेफ्ट-राइट’ फन्को लाउँदै थिए । अग्लो-अग्लो चार बुर्जाका सेन्ट्रीहरू हतियार ठ्याक–ठ्याक, ठुक–ठुक पार्दै ’ठिक छ, ठिक छ’ भन्दै थिए ।

    रात परेपछि उनीहरूको बेग्लै फुर्तीफार्ती देखिन्थ्यो । लडाइँमा मार्चपास गरे जस्तो, लडाइँ लड्न तयार भए जस्तो, लडाइँ नै लडिरहे जस्तो । त्यहाँ थियौं हामी झापा विद्रोह गर्ने झापाली विद्रोही कम्युनिष्टहरू । जमिनमाथि उनीहरूको सतर्कता, जमिनमुनि के सतर्कता ? जमिनमाथि शक्ति देखाएर त नाँचेकै थिए । हाम्रो योजनाको गोपनीयता र जमिनमुनिको चक्रव्यूहको के भेउ नि ? यो जमिनमुनिको लडाइँ थियो । हो, सुरुङ विद्रोहबाट शासक परास्त गर्नु थियो ।

    त्यो १० बजेको कालो रात । १५ जनाको हाम्रो पल्टन अब अगाडि बढ्यो, सामनेको मृत्यु त्यान्द्रोसरी वरण गर्दै । सामूहिक त्यागले सफलता प्राप्त गर्नु थियो । जेल कमिटीको आपतकालीन बैठक बस्यो । सबै कमरेडहरू आफैं छिटो निस्किने ध्याउन्नमा थिए । सबैलाई अघि पठाइ आफूलाई कमरेड सीपीले अन्तिम लिस्टमा राख्नुभयो । मैले त्यो लिस्ट अनुचित ठानेँ र काटेँ । सबै मूल्यांकन गरेर चार समूहको लिस्ट बनाए । त्यो प्रस्ताव अनुमोदन भयो । सुरुङ पार गर्न अब चार समूह तम्तयार थियो । एक-दुई-तीन समूह पालो–पालो गर्दै सुरुङतिर लम्कियो । क्रान्तिलाई, पार्टीलाई सलाम गर्दै कमरेड सीपीको समूह पार भयो ।

    लगत्तै कमरडे नरेशको समूह पार भयो । तुरुन्तै कमरेड हर्कको समूहले सुरुङ पार गर्‍यो । र अन्तिम मेरो समूह थियो । मेरो समूहका कमरेडहरूले पनि निमेष भरमै सुरुङ पार गर्नुभयो । बाहिर भूमिगत पार्टीमा–केन्द्रमा कमरेड सीपीको महत्व थियो र अन्य बौद्धिक कमरेडहरूको । सबै कमरेडलाई अघि लगाएँ । म अन्तिममा– जे सहुँला, भोगुँला, सहीछाप ठोकेँ । अनि म पनि लम्किएँ सुरुङतिर, सबै कमरेडको तर्फबाट जेललाई बिदा गर्दै ।

    सुरुङभित्र पसे । सुरुङको घर्रामा झ्यासझुस राखे र घर्रा लगाए । सुरुङको भित्तामा कमरेड माओत्सेतुङको फोटो टाँसें । चार पाउ घस्रिँदै बाहिरी मुखमा पुगेँ, टाउको निकालेर आँखा डुलाएँ र कान थापेँ । सब ठीक पाएँ । प्रहरी आफ्नै तालमा, म आफ्नै सुरमा । गुरिल्ला चालमा फुत्त निस्किए । कुइनाले आलुबारी घस्रिए ।

    नक्खु खोला पार गरेँ र डिलमा पुगेँ, जहा कमरेडहरूलाई मेरो प्रतीक्षा थियो । म पुग्नासाथ सफलताको खुसी हामीमा छायो । हाम्रो योजनाले चरण–चरणको खुड्किलो चढ्दै, संगीन जोखिम मोल्दै विजय पाउन सफल भयो । त्यो क्षण राज्यसत्ताको जेलनेल, ऐन–कानुन कागजको खोस्टो भएको थियो । हामीलाई खुला आकाशले स्वागत गर्दै थियो । हामी मुक्त जमिन टेक्दै थियौं । र जनताको काखमा पुग्न आतुर थियौं । बाइ– बाइ नक्खु जेल ! हामीले छिटो–छिटो कदम अगाडि बढायौं ।

    जेल विद्रोह त भयो, तर खुसीले उफ्रनु थिएन । अब पाइला–पाइला दु्खकष्ट र संकट आइलाग्दै थियो । कहाँ खानु– पिउनु, कहाँ आराम गर्नु, कता हिँड्नु, कता पुग्नु, के भन्नु, के गर्नु, बडो विरोधाभास । समूह, जोडा र एक्ला–एक्लै खतरा पन्छाउदै हिड्यौं ।

    म दायाँ–बायाँ छलिँदै, भावभंगिमा बदल्दै, हाउभाउ फेर्दै झापा पुगेँ र पार्टीको सम्पर्कमा रहेँ । जनताको न्यानो पाउँदा हर्षित भएँ । दुश्मनलाई छकाउँदा र मुर्ख बनाउँदा रोमाञ्चित भएको थिएँ । जब जेलभित्रको बन्दी जीवन होइन, बाहिरी संसारी जीवन, पार्टी र जनताको जीवन जिउन सुरु भयो । जसै मेरो खुसी क्षणभर टिकेन, तसै पानी–पानी भयो । हामी १५ जना विद्रोहीमध्ये ५ जना विद्रोही नरेश, घनेन्द्र, धर्म, भीष्म र नारद पुनः पक्राउ परेको खबरले दुःखी भए ।

    मन जलन भयो । के जेल विद्रोह असफल भएको हो ? भन्ने दोमन भयो । संघर्ष हो जीवन, जीवन संघर्ष हो ! चन्द्रमा नि आफ्नो कक्षमा घुम्दा–घुम्दै खुँडो पर्छ, संघर्षमा नि क्षतिको भाग रहेकै हुन्छ । हो त नि ! मन बुझाएँ ।

    जे गरियो, जो भयो, जस्तो भइपरी आयो । भनौं नक्खु जेल विद्रोह सफल रह्यो । नेपाली जनताले अनुमोदन गर्‍यो । श्रेय पार्टी को–अर्डिनेसन केन्द्रलाई गयो । बस् ! जेल विद्रोह गरेर टाउकोको नाम्लो बिसाइएको थियो, मनमा जेलका केही तर्कनाहरू आए । नक्खु जेलमा (अन्य जेलमा हुँदाको प्रयासपछि) हामीले यस्तो कदम चालिरहेका थियौँ, जसमा राजशाही– तानाशाही पञ्चायती सरकारलाई एउटा कडा टक्करको चुनौती दिइरहेका थियौँ- जेलब्रेक मार्फत् ।

    कम्युनिष्ट आन्दोलनमा विरलै हुने, पार्टीको जीवनमा दुर्लभ घट्ने घटना हुँदै थियो । झापा विद्रोहपछि अर्को विद्रोह– जेल विद्रोह रचियो । प्रतिक्रियावादीका सामु झापालीहरूको अदम्य साहस पोखियो । देश र जनताको निम्ति जीवित रहने कि बलिदान दिने संगिन मोड रहेको थियो ।

    अन्त्यमा हामीले दायाँ–बायाँ, अघि–पछिका विघ्नबाधा परास्त गर्दै विजय प्राप्त गरेका थियौं । होइन हौ, यो हर्क खड्काले १० जना जिमदारको टाउकाको माला लाको रे ! खतरै मान्छे हो है ! जेलभित्र कसै–कसैले गाइगुइँ कुरा गरेको सुनिन्थ्यो । हुन पनि हो, अग्ला हट्टाकट्टा ज्यानको, झापा सब्घर्षका कमाण्डरै हुन् । किन विश्वास नहुदमे हो ? यो सीपी मैनाली भन्नेको टाउको (दिमाग !) त ५ जनाको टाउको बराबर ऊ एक्लैको छ रे, वाफ रे ! जेलभित्र एक कान, दुई कान चर्चा गरेको सुनियो ।

    विश्वास पनि किन नहोस् ? कमरेड ‘सीपी’ नाम किंवदन्ती भइसकेको थियो । यो जेलमा कति कम्युनिष्ट आए–गए, वास्तै भएन । तर यी झापाली कम्युनिष्टहरु फरक खालको देखिए । दिलदेखिको कम्युनिष्ट भावनाले जेलब्रेक सम्भव भएको थियो । जहाँ कम्युनिष्ट बन्दी, त्यहीं जेल विद्रोहको तानाबाना । क्रान्तिको सदावहार अभिन्न अंग । जेल विद्रोहको झापाली लाइन, कम्युनिष्ट पार्टीको लाइन, पार्टी केन्द्रको निर्देशन थियो । नक्खु जेल यो चिन्तनबाट अछुतो रहने कुरै भएन ।

    म जेल विद्रोहपछि झापा पार्टी सम्पर्क गरी पुनः भूमिगत भएँ । म सर्वस्वहरणसहित जन्मकैदको कैदी थिएँ । पछि नाबालक भनी अर्ध–कैद सुनायो । दुई वर्षअघि जन्मेको भए सुखानीतिर डोहोर्‍याउने रहेछन् । क्रान्तिमा गोली भनेको के हो, छातीमा अनुभव हुन्थ्यो होला । त्यसबाट बचियो । अर्को इतिहास रच्ने अवसर मिल्यो । आजका दिनसम्म विगतको त्यो विश्वास र आस्थालाई संगालेरै जीवन अगाडि बढ्दो छ ।

    (झापा क्रान्तिका योद्धा जीवन मगरको सोमबार निधन भएको छ । सीपी मैनाली,प्रदीप नेपालहरूसहित नख्खु जेल ब्रेक गरेर गौरवगाथा बनाएका जीवनको गुमनाम मृत्यु भयो । उनीसँगैका झापा क्रान्तिका योद्धाहरू केपी शर्मा ओली,सीपी मैनाली,प्रदीप नेपाल, राधाकृष्ण मैनालीहरू राज्यसत्ताको नेतृत्वमा पुगे । मगरले लेखेको जेलब्रेकको कथाको यो अंश उनको श्रद्धाञ्जलीमा समर्पित)

    साभार- नख्खु जेल विद्रोह

  • किन चाहियो बस्ती बगाउने विकास ?

    किन चाहियो बस्ती बगाउने विकास ?

    नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । मनसुन सुरुवातसँगै देशका विभिन्न भुगोलमा बाढी, पहिरोसँगै डुबान भएको छ । बाढी तथा पहिरोका कारण धेरैको मृत्यु भयो भने सयौं घरवारविहीन भएका छन् । वर्सेनि नै बर्षायाम सुरु भएसँगै यो प्रकारको समस्या नेपालीले झेल्दै आएका छन् ।

    हुनतः प्राकृतिक विपत्तिलाई मान्छेले रोक्न सक्ने कुरा होइन, तर सावधानी अपनाउने हो भने क्षतिलाई कम गर्न सकिन्छ ।

    नेपालको भूबानोटका कारण पनि बर्षातको समयमा धेरै बाढी, पहिरो र डुबानको प्रकोप हुने गरेको छ । यहाँको अधिकांश भूगोल भिरालो भएकाले बर्षायाममा जमिन गल्ने पहिरो जाने गर्छ ।

    बर्षायामको सुरु र मध्येतिर जमिन गल्ने र अन्त्यतिर झन् धेरै पहिलो जाने जोखिम हुन्छ । पहाडमा गएको पहिरोले नदीहरु थुनिन्छन् र ठूलो बाढीका रुपमा तराईमा पुग्छ । जसकारण तराई क्षेत्र डुबानमा पर्छ ।

    पछिल्ला वर्षहरुमा बर्षायाम सुरु हुनेबित्तिकै बाढी पहिरो जान थालेको छ । यसको प्रमुख कारण देशको पहाडी भुगोलमा मनलाग्दी खनिएको सडक र पूर्वाधार विकास गर्दा वातावरणीय प्रभावको सही मूल्यांकन नहुनु नै हो ।

    देशमा अहिले सडकसँग धेरै भौतिक पूर्वाधारहरु निर्माण भइरहेका छन् । एक हिसाबमा यसलाई विकास पनि मान्न सकिन्छ । तर यस्ता विकासले प्राकृतिक विपद् बढाइरहेको सत्यालाई नकार्न सकिँदैन ।

    अहिले वर्सेनि तीनै तहका सरकारले देखिने विकासका नाममा मनलाग्दी सडक खनेका छन् । डोजर अपेटर नै इन्जिनियर भएर पहाड फोरिएको छ । जथाभावी डोजरको प्रयोगले जमिन थिलथिलो पारिएको छ । सडक खनेको माटो मनलाग्दी जंगलमा फालिएको छ ।

    जसोतसो सडक खनिन्छ, तर न नाला काटिन्छ, न आवश्यक ठाउँमा पर्खाल लगाइन्छ । अनि जब बर्षा लाग्छ, पानीले माटो बगाउँछ, सडकमा पहिरो खस्छ । पहिरो र बाढीले खेतीयोज्य जमिन पुर्छ, बगाउँछ । बस्तीहरु नै खतरामा पर्छन् ।

    जसकारण नदीमा बाढी आउँछ । बाढीपछि झन् ठूला पहिरो जान्छन् । नदी थुनिन्छन्, खोलिन्छन् । अनि समथर भूगागको जमिन र बस्ती डुबानमा पर्छ । आमनेपालीले वर्सेनि भोगिरहेको नियति हो यो ।

    नेपालमा सडक निर्माणका लागि सय वर्षअघि भित्र्याइएको प्रविधिकै प्रयोग भइरहेको छ । त्यतिबेलाको परिस्थिति र अहिलको जमिनको स्थिति फरक छ । तर, सडक खन्ने प्रविधि र शैली उस्तै छ । अब नेपालले अहिलेको परिस्थिति सुहाउँदो प्रवधि र शैली अपनाउनु पर्छन । नत्र विकासका नाममा झन् धेरै विनाश हुने निश्चित छ ।

    मान्छेहरु अनेक सुविधाका लागि पहाड छाडेर बेसी वा तराईतिर बसाई सर्ने क्रम बढ्दो छ । बसाई सर्दा नदी आसपासका क्षेत्रलाई अबरजस्त आवादी बनाइएको छ । नदी अतिक्रमण गरी घर बनाउनु वा बस्ती बनाउनुलाई उपलब्धी मानिन्छ । र, जब बर्षायाम सुरु हुन्छ, तब त्यहीं क्षेत्र डुबानमा पर्छ । नदी बस्तीमा भन्दा पनि बस्ती नदीमा पसेका कारण समस्या बढेको तर्क पनि भइरहेकै छ, जसमा धेरै हद सत्यता छ । नदीलाई आफ्नै बहावमा बग्न नदिएका कारण पनि समस्या भएको छ ।

    बस्ती बसाउँदा वा सडकलगायत भौतिक पूर्वाधार निर्माण गर्दा धरातल एवम् वातावरणमैत्री हुनु आवश्यक छ । यसका लागि राज्यस्तरबाट नीति नियम बनाएर नियमन हुन जरुरी छ । सँगै नागरिक पनि सचेत हुनु पर्दछ । नत्र बाढी, पहिरो र डुबानको समस्या झन्पछि झन् बढ्नेछ ।

  • कुरा समाजवादको, काम पुँजीवादी

    कुरा समाजवादको, काम पुँजीवादी

    कुनै पनि मुलुकको नेतृत्व सबल, स्थिर र दूरदर्शी नभए मुलुक र नागरिकले धेरै दुःख पाउँछन् । त्यस्तै नियति भोगिरहेको छ, नेपालले ।

    नेपालमा अनेक विचार, दर्शन र आदर्शका राजनीतिक दल छन् । सबैले देश र जनताको पक्षमा व्यापक काम गरेको र गर्ने बताइरहेका छन् । तर समाजवादी एवम् जनवादी नीतिसँगै कार्यक्रम, योजना र कार्यान्वयन नहुँदा देशले समृद्धिको दिशा पकड्न सकेको छैन ।

    आज देशमा जे भइरहेको छ, त्यसको वस्तुष्टि समीक्षा जरुरी छ । हामीले सधैं नेता वा नेतृत्वलाई दोष दिइरहेका छौं । तर, ती नेता निर्माण गर्ने जनताले नै हो । जनता नै स्थिर छैनौं । त्यसको परिणाम देशको राजनीति पनि स्थिर हुन सकेको छैन ।
    २००४ सालयता धेरै वटा व्यवस्था परिवर्तन भयो ।

    क्रान्तिको माध्यमबाट राणाकालपछि प्रजातन्त्र आयो । २०४६ सालमा बहुदल आयो । २०६२–६३ सालको जनआन्दोलनको बलमा देशमा गणतन्त्र आयो । संविधानसभाबाट संविधान पनि बन्यो । तर पनि राजनीति स्थिर हुन सकेन । देश विकासको मार्गमा अघि बढ्न सकेन । अब सोच्नुपर्ने बेला आएको छ कि, खास समस्या के हो ? नेता, नीति वा नेतृत्व कि व्यवस्था वा प्रणालीमै खोट छ ? विश्लेषण गर्न आवश्यक छ ।

    कतिपय अवस्थामा परिवर्तनलाई स्वकार्नसमेत कठिन भएको पाइन्छ । यो परिस्थितिबीच केही गम्भीर र ज्वलन्त राजनीतिक विषयउपर बहस, छलफल र समीक्षा जरुरी छ ।

    पुँजीवादी व्यवस्था भएका शक्तिशाली भनिने देशमा पनि धनी र गरिबबीचको खाडल झन् बढ्दैछ । जात, धर्म, रंग, लिंगका आधारमा विभेद छ । विभेदले वर्ग निर्माणलाई सघाइरहेको छ ।

    थोरबहुत समाजवादी अभ्यास गरेका मुलुकका नागरिक तुलनात्मक रुपमा सुखी र खुसी छन् । जहाँ राजनीति स्थिर र नेतृत्वले सही नीति लिएका छन् । समाजवाद उन्मुख समाजमा वर्गीय विभेद कम हुने गरी शासन प्रणाली सञ्चालन भएको हुन्छ । जहाँ राष्ट्र , राज्य, देश र प्रान्तको साझा विकास नै सरकारको एक मात्र उद्देश्य हुन्छ । व्यक्ति र समूह कमजोर हुन्छन् र राज्य महत्वाकांक्षी ।

    नेपालको अहिलेको अभ्यास उल्लेखित विषयसँग मेल खाँदैनन्, अर्थात् नेपालमा समाजवादी अभ्यास हुनै सकेको छैन । जसकारण हामीमा विभेद र वर्गाको खाडल बढ्दो छ, राजनीति अस्थिर छ, सरकारभन्दा जनता कमजोर छन् ।

    तुलनात्मक रुपमा अहिलेको सरकार परिवर्तनकारी छ । तर, पाँच वर्ष चलाउन म्यान्डेट पाएको अहिलेको सरकारलाई हटाउन अनेक चलखेल भइरेका छन् । यो नेपाल र नेपालीका लागि दलुर्भाग्यपूर्ण सत्य हो ।

    अब हामीले विगतबाट पाठ सिकेर अबल, स्थिर दूरदर्शी सरकार बनाउनु पर्छ, भएकोलाई टिकाउन र चल्न दिनुपर्छ ।
    अबको यात्रा समाजवादको नै हो भने जनताले आफ्नो सरकार चयन गर्ने लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्नै पर्छ । जनताले चुनेर पाँच वर्ष चलाउन पठाएको सरकारविरुद्ध बीचैमा अनेक चलखेल हुनु गलत छ ।

  • बलात्कृतको इज्जत जाने, बलात्कारीको जोगिने ?

    बलात्कृतको इज्जत जाने, बलात्कारीको जोगिने ?

    आँखा खुल्नेबित्तिकै सिरानीमुनिबाट मोबाइल झिकेर हेरें । ट्वीटर खोलें । स्क्रोल गर्दै जाँदा एउटा न्यूजको लिंकमा पुगेर आँखा अडिए । न्यूजको हेडलाइन थियो– बढ्दै बलात्कार, बालिकादेखि वृद्धासम्म पीडित !

    समाचारमा बलात्कारका विभिन्न घटनाहरुलाई उल्लेख गरिएको रहेछ । राजधानीको तीनकुनेमा सात वर्षीया बालिका बलात्कृत भएकोदेखि डोटीमा ७४ वर्षीया वृद्धा बलात्कार भएकोसम्म ।

    समाचार पढ्दा आँखा रसायो, औंला काप्यो । अनि एकैछिनमा आक्रोश भाव पैदा भयो । जिउ नै काप्न थाल्यो । मनमा अनेक प्रश्न उठ्यो– मान्छे किन यति निर्मम हुँदैछ ? केले मान्छेलाई यति निकृष्ट बनाउँदैछ ?

    अलि शान्त भएपछि राजेन्द्र थापाले उपन्यासमा लेखेको एक अंशको याद आयो । उनले लेखेका छन्– पुरुषको गिदीमै योनि हुन्छ । समाचारहरु पढ्दा त्यस्तै लाग्छ, ‘साँच्चै पुरुषहरु गिदीमा योनि बोकेर हिँड्छन् कि क्यो हो !’

    अनि सँगैसँगै मलाई मेरा बुवाको याद आयो । अनि लाग्यो, मेरो बुवा त त्यस्तो हुनुहुन्थेन । त्यसपछि लाग्यो, सबै पुरुषहरु उस्तै हुँदैनन्, सबै पुरुषहरु बलात्कारी हुँदैनन् ।

    भनेपछि एउटा पुरुषलाई के कुराले बलात्कारी बनाउँछ ? कसरी अन्त्य हुन्छ बलात्कार ? बलात्कार बढ्नुमा पुरुmष मात्रै दोषी छन् कि महिला पनि ? वा, हाम्रो समाज नै त्यस्तै छ ?

    कतिपयले बलात्कारीलाई फाँसीको सजायँ दिनु पर्छ अनि बलात्कार कम हुन्छ भन्ने तर्क गर्छन् । कोही कोही ‘रेड लाइट’ एरिया नभएका कारण बलात्कार बढेको कुरा गर्छन् । के खासमा कारवाही नभएर वा रेड लाइट एरिया नभएरै बलाकार बढेको हो त ?

    रेड लाइट एरिया नभएर बलात्कार बढेको हो भने घरमा श्रीमती भएको पुरुषले किन बलात्कार गर्छ ? कारवाहीको डरले मात्रै बलात्कार नहुने भन्ने कुरामा पनि खास दम छैन । कतिपयले महिलाले छोटा कपडा लगाएकाका कारण बालात्कार बढेको भन्ने गरेका छन् । के ती बालिका र वृद्ध महिलाले पनि छोटा कपडा लगाएकै कारण बलात्कार भएको हो त ?
    खासमा बलात्कारलाई मनस्थितिले निर्माण गर्छ । र, बलात्कार गर्ने मनस्थिति चाहिँ के कुराले निर्माण गर्छ ? एउटा पुरुषलाई बलात्कारी बनाउने हाम्रो समाज, सँस्कृति र परम्परा हो । यौन र नारीलाई हेर्ने र बुझ्ने नजर हो ।

    परम्परादेखि नै महिलालाई यौन साधनका रुपमा बुझियो । त्यसको असरस्वरुप जुनसुकै उमेर, पद र व्यक्तित्वका पुरुष बलात्कारी भइरहेका छन् ।

    तथ्यांकअनुसार पछिल्लो समय औसत दैनिक ६ वटा बलात्कारका घटना भइरहेका छन् । तीमध्ये अधिकांश असमान उमेरका पुरुषले बलात्कार गरेका छन् ।

    यससँगै एउटा प्रश्न उठेको छ । जब बलात्कारको घटना हुन्छ तब, महिलाको इज्जत र अस्मितामाथि प्रश्न उठाइन्छ । जो पीडित छ, उसैको इज्जत गएको भनिन्छ । जो पुरुष बलात्कारी छ, उसको इज्जत नजाने, जो बलात्कृत हुन्छ उसको इज्जत जाने भन्ने गरी हाम्रो सामाजिक धारणा निर्माण भएको छ । जुन एकदमै गलत हो ।

    खासमा यौनलाई नै इज्जतसँग जोड्नु वा जोड्न खोज्नु गलत हो । किनकि, यौन शारीरिक कुरा हो, जैविक कुरा हो ।
    बलात्कारका मामलामा महिलाको कमजोरी नै छैन भन्ने होइन । पहिला सहमतिमा शारीरिक सम्पर्क राखेर पछि बलात्कारको आरोप लगाउने पनि छन् ।

    महिलामै गडेको पुरुषसत्तावादी सोच पनि बलात्कारको एउटा कारण हुन सक्छ । आफूलाई कमजोर र पुरुषबाट भोगिनुपर्ने अर्थमा बुझिदिनले पनि बलात्कार बढिरहेको छ । त्यसकै परिणामस्वरुप बलात्कृत हुनपरेको घटनालाई पनि महिलाले लुकाएका छन् ।

    हो,  हाम्रो समाज व्यवस्थामा पुरुषसत्ता हाबी छ । धर्मका नाममा पुरुषले सधैं महिलामाथि राज गर्ने नीति बनाइएको छ । संस्कार या परम्पराको हवला दिएर श्रम, पारिश्रमिक, लवाइखवाइदेखि सम्पूर्ण जीवनशैली नै पुरुषभक्त हुनुपर्ने गरी नियम बनाइएको छ ।

    पुरुषले बनाएको नियम मान्न महिलालाई बाध्य बनाइएको छ । नमाने अश्लील, चरित्रहीनको संज्ञा दिइन्छ । तर, बलात्कार बढ्नुको यीमात्रै कारण होइनन् ।

    हाम्रो समाजले यौनलाई जबरजस्त अतिरहस्यमयी बनाउन खोजेको छ । जहाँ बढी रहस्य हुन्छ, त्यसलाई खोतल्ने प्रयास धेरै हुन्छ । यो मानवीय स्वभाव हो । यसले पनि बलात्कार बढाउन सहयोग गरेको छ ।

    यौन स्वभाविक जैविक प्रक्रिया हुँदाहुँदै पनि चरित्र र अनुशासनसँग जोडिने विषय बनाइएको छ । विवाहलाई यौनसम्पर्क गर्ने अनुमतिका रूपमा लिन बाध्य बनाइएको छ ।

    भनिन्छ, ‘ताल्चा चोरका लागि होइन, सज्जनका लागि हो ।’ हो पनि, चोरलाई चोर्नका लागि एउटा स्यानो ताल्चा बाधक हुँदैन । मुख्य कुरा उसलाई चोर्नपर्ने परिस्थितिको निर्माण कसले गरिदियो ?

    जनावरमध्येको एक हो, मान्छे । तर, मान्छेबाहेक अरु जातिका जनावरले बलात्कार गर्दैनन् होला । कुनै–कुनै जनावरमा बलात्कार हुन पनि सक्ला ! तर हामीले बढी हिमचिम गरेका जनावरले बलात्कार गरेको देखेको छैन । जैविक आवश्यकताका आधारमा जनावरले सहमतिमै यौनसम्पर्क गर्छन् ।

    तर मान्छेले बलात्कार गर्छ । किनकि, मान्छेलाई आफू सर्वश्रेष्ठ प्राणी भएको भ्रम छ । त्यही भ्रमका आधारमा अनेक नियम बनाएको छ । नियमभित्र आफूलाई, आफ्नो चाहनालाई, मनलाई, विवेकलाई कैद गरेको छ । सीमित कुराभित्र राख्न खोज्दा मान्छेले धेरै कुरा बाहिर राखेको छ । आफूले बनाएको दायरा भन्दा बाहिरको कुरालाई मान्छेले स्वीकार्नै सक्दैन । त्यही स्वीकार्न नसकेको, तर गुम्सिएको भावना तथा चाहनाको उपज हो, बलात्कार ।

    विवाहपूर्वको यौन वा विवाहइतर दम्पतीबाहेकको यौनलाई अपराध मानेकै कारण पनि बलात्कार जस्तो जघन्य अपराध भइरहेको छ ।

    चेतनशील एवम् विवेकशीलको नाममा मान्छे प्रकृतिविरुद्ध जान्छ । संसारमा मान्छेभन्दा प्रकृतिविरोधी अरु जनावर पनि छैन होला । प्राकृतिक चाहनालाई नियमको जन्जीरले बाँधेर मान्छे आफैं दुःखी छ, पीडित छ । त्यही दुःख र पीडाको परिणाम पनि हो, बलात्कार ।

    संसारमा सदुपयोग गर्ने हो भने केही पनि नराम्रो चिज छैन, दुरुपयोग गर्ने हो भने केही पनि राम्रो चिज छैन । त्यसैले यौनलाई शारीरिक आवश्यकता, जैविक तथा प्रजनन प्रक्रियासित मात्रै जोडेर हेर्ने हो भने बलात्कारमुक्त समाज निर्माण गर्न सम्भव छ ।

  • महाशय, तपाईं ‘बलात्कार संस्कृति’लाई प्रोत्साहन गर्दै हुनुहुन्छ !

    महाशय, तपाईं ‘बलात्कार संस्कृति’लाई प्रोत्साहन गर्दै हुनुहुन्छ !

    केहीदिनअघि एकजना साथीले ‘क्लबहाउस’मा भएको एक अन्तर्क्रियाको टाइटल स्क्रिनसट पठाउनुभयो । मेरो म्यासेन्जरमा खसेको स्क्रिनसटमा लेखिएको थियो- ‘छाउपडी गलत वा सही, विकल्प के ?’

    शीर्षक देख्नेबित्तिकै अवाक् भएँ । युवाहरूको चेतनास्तर यति कमजोर कसरी ? एक त छाउपडी गैरकानुनी कुरा हो । छाउपडीलाई प्रश्रय दिने गरी शीर्षक राखेर यसमाथि कस्तो बहस चलाउन खोजिएको हो ? त्यसमाथि आफूलाई बहसकर्ताका रुपमा उभ्याइएकाहरू क्लबहाउसमै ‘दाइजो कति लिने ?’ भनेर प्रवचन छाँट्दै थिए ।

    हुन त क्लबहाउस नयाँ एप हो । यहाँ बोल्न र सुन्न मिल्छ । विशेषगरी युवावर्ग यसका प्रयोगकर्ता छन् । यद्यपि, यहाँ राम्रा र सान्दर्भिक विषयमा बहस गर्नेमात्र जोडिएका छैनन् । बेतुकका गफ गरेर समय कटाउने ‘गफाडी’हरू पनि क्लबहाउसमा भेटिन्छन् । यही एपमा त्यसको केहीदिनपछि ‘बलात्कार किन हुन्छ ?’ भन्ने शीर्षकमा अर्को बहस देखेँ । यसले त झन् विस्मित तुल्यायो ।

    बलात्कारका घटना प्रतिदिन अकल्पनीय ढंगले बढिरहेका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् जब यस्तो घटनाबारे थाहा पाउँछु, मन भारी भइरहेको हुन्छ । केही लेख्न मन लाग्छ, र बोल्न पनि । तर, कतै आवेगमा आएर गलत बोलिरहेको त छैन ! मनमा तर्कना खेल्छन् । यो संवेदनशील विषयमा विचार नगरी बोल्दा उल्टै पीडित नै अन्यायमा पर्लान् कि भन्ने लाग्छ ! र निकै विचार गरेर मात्र बोल्छु ।

    तर आफूलाई बौद्धिक खेमामा उभ्याउन खोज्न तत्पर कतिपय युवाहरूको विचार कहाँ अडिएको रहेछ ? यो संवेदनशील विषयमा यस्तो असंवेदनशील भएर तर्कहरूको पेश गर्नु कतिको जायज हो ? यस्ता ‘गफ’ले पीडितहरू झन् पीडित हुन्छन् भन्ने सोच उनीहरूमा रत्तिभर देखिनँ । यतिमात्र होइन रजस्वला, महिला हिंसा, यौन दुव्र्यवहारका विषयमा पुरुषहरू आफ्नो विद्धता छाँटिरहेको सुन्दा आक्रोश पैदा हुन्छ ।

    आफूलाई बौद्धिक खेमामा उभ्याउन खोज्न तत्पर कतिपय युवाहरूको विचार कहाँ अडिएको रहेछ ? यो संवेदनशील विषयमा यस्तो असंवेदनशील भएर तर्कहरूको पेश गर्नु कतिको जायज हो ?

    मैले अनुभव गरेको कुरा हो । जब कोही महिला आफूले कुनै पुरुषबाट भोगेको हिंसा र दुर्व्यवहारबारे भनिरहेकी हुन्छिन्, तब केही पुरुष उनको कुरामा विमति राख्न तम्सिहाल्छन् । ‘तपाईंले भनेजस्तो सबै पुरुष त्यस्ता छैनन्’ आफूलाई चोख्याउन आफ्नो तर्क पेश गर्न हतार हुन्छ । उनीहरू महिलालाई बुझ्छौं भन्ने गतिलो उदाहरण दिन भ्याइहाल्छन्, ‘महिलाको समस्या पनि बुझ्छौं । किनकि हाम्रो घरमा दिदी, बहिनी र आमा हुनुहुन्छ ।’

    मलाई ताजुबचाहिँ यहाँनिर लाग्छ कि के उनीहरूका घरमा दिदी, बहिनी वा आमा नभएको भए बुझ्दैन थिए यी कुरा ? एउटा छलफलको क्रममा म भन्दै थिएँ, ‘अहिले बलात्कारका घटना बढिरहेका छन् ।’ छलफलमा सहभागी एक पुरुष साथीले ‘डिसएग्री’ गर्न हतारो गरिहाले । उनले ‘रेप’ बढेको छैन, घटेको छ भनेर तथ्यबिनाका तर्क दिन थाले । के यो ‘बलात्कार संस्कृति’ हो ?

    जब दुर्व्यवहारलाई प्रश्रय दिने खालका हर्कत हाम्रै समाजमा भइरहेका देख्छु, ‘रेप कल्चर’बारे मैले गरिरहेको अध्ययन सम्झन्छु ।

    के हो त ‘बलात्कार संस्कृति’ ?

    हुन त यो शब्द नै कतिपयको लागि आक्रोशको विषय हुनसक्छ । कतिले भन्नुहोला- ‘संस्कृति बिगार्ने यस्तै लेख्नेले हुन् ।’ किनकि संस्कृति भन्ने शब्द हेर्ने हाम्रो दृष्टिकोण भावनासँग जोडिएको छ । यसकारण आवेगमा आउनु स्वाभाविक हो ।

    एक वर्षयता म ‘बलात्कार संस्कृति’बारे विभिन्न लेखहरू पढिरहेको छु । दुई वर्षअघि सामाजिक सञ्जालमा ‘रेप कल्चर’ भन्ने शब्द प्रयोग भएको पहिलोपटक देखेको थिएँ । यसबाट कसरी महिलाको उत्पीडन हुँदैछ भनेर एकजनाले फेसबुकमा प्रस्ट्याउन खोजेका थिए ।

    त्यो शब्दले मलाई अन्योलमा पार्‍यो । मनमनै सोचेँ- रेप कल्चर ? अर्थात् बलात्कार संस्कृति ? मैले त्यो शब्द बुझ्न नसक्नुमा मेरो अध्ययनको कमी हुनसक्थ्यो । वा त मेरो हुर्काइको वातावरण नै कारक हुनसक्थ्यो । संस्कृतिजस्तो शब्दलाई बलात्कार जस्तो अपराधजन्य शब्दसँग जोड्न सकिन्छ र ? मलाई यो शब्दले कल्चर अर्थात् संस्कृतिको परिभाषा खोज्न बाध्य बनायो ।

    संस्कृति र परम्परा

    मैले ७ कक्षामा ‘संस्कृति हाम्रो धरातल हो, यसले हामीलाई पहिचान दिन्छ’ भनेर लेखेको याद छ । अहिले सम्झँदा लाग्छ, त्यो लेखाइ र वर्षौंपछिको मेरो बुझाइसँग विरोधाभास हुन जान्छ ।

    अंग्रेजीमा एउटा शब्द छ- अनलर्निङ । यसको अर्थ हो आफूले सिकेकोे कुरा बिर्सनु ।

    यो शब्दलाई व्यवहारमा परिणत गर्न सके कति सहज हुन्थ्यो होला ! संस्कृतिसँग जोडिएका यस्ता भावनात्मक बुझाइ (जुन कक्षा ७ मा पढ्दाको चेतना थियो) म पनि बिर्सिने प्रयास गर्दैछु ।

    कक्षा ८ मा हुँदा समाजका कुरीति हटाउनुपर्छ भनेर लेख्थेँ । त्यहीबेला मलाई पहिलोपटक रजस्वला भयो । त्यसपछि मलाई आफ्नै कोठाभित्र लुकाइयो । मलाई घाम र आफ्नै परिवारमा भएका पुरुषको मुख हेर्न बन्देज थियो । कति दिनसम्म विद्यालय पनि जानबाट बञ्चित भएँ ।

    यही क्षण मेरा लागि त कहालीलाग्दो थियो भने सुदूर गाउँको छाउगोठमा एक्लै बिताउने नारीहरूलाई कस्तो हुँदो हो ? सर्याकसुरुक गरिरहने सर्प र भय बोकेर आउने अन्धकार ! कति कष्टपूर्ण हुँदो हो त्यो बसाइ । छाउपडीकै कारण वर्षेनि महिलाहरूले ज्यान गुमाइरहेका छन् । नयाँ पुस्तामा यो चिन्ताको विषय हुनुपर्ने थियो । तर यहाँ चिन्ता भन्दा पनि ‘छाउपडी सही कि गलत’ भनेर अन्तर्क्रिया गरिरहेका छन् युवाहरू ।

    मैले बुझेअनुसार परम्पराले एक समूहको विश्वास र आचरणको वर्णन गर्छ । जुन एक पुस्ताबाट अर्को पुस्तामा जान्छ । कति सन्दर्भमा अन्धविश्वास र कुरीति पनि धेरै जोडिएका हुन्छन् । जस्तो कि सति प्रथा वा एक अर्को समूहबीच ल्याउने विभेद ।

    हुन त हामीले कति परम्परा नकारिसक्यौं । केही भने नकार्न बाँकी छ । कति नियालेर स्वीकार्यौं/स्वीकारेनौं । कति अझै नियाल्न बाँकी छ । संस्कृति कुनै समुदाय वा कुनै पनि समूहको स्थान, काल, परिवेश, जीवनशैली र जीवन पद्धतिसँग जोडिएको हुन्छ । जसमा भाषा , लवज, समाजका फेरबदल आदि पर्छन् । यो युगअनुसार फेरबदल हुँदै गर्छ ।

    तीज पहिले विरहका गीत गाउँदै मनाइन्थ्यो भने अहिले धेरैजसो खुसी उल्लासपूर्व पर्वमा परिणत भएको छ । पिटर रिचार्सन र रबर्ट बोइडको परिभाषाअनुसार संस्कृति भनेको यस्तो सूचना हो, जसले समाजको हरेक व्यक्तिलाई प्रभाव पार्छ । ‘यो यस्तो व्यवहार हो, जुन मानिसले समाजका अरु सदस्यबाट पढेर, नक्कल गरेर वा भिन्न प्रकारले सिक्छन्,’ पिटर र रोबेर्टले भनेका छन् । सामाजिक सञ्जाल र टेलिभिजनले मानिसहरूलाई पपुलर कल्चर अर्थात् प्रख्यात संस्कृतितर्फ आकर्षित पारेको छ ।

    हामीले बोल्ने चलन चल्तीको भाषा, लगाउने कपडा, सुन्ने र गाउने गीत र खाने खाना यी सबै संस्कृतिका उत्पादन हुन् ।

    कसरी सामान्यीकरण भयो बलात्कार संस्कृति ?

    अमेरिकामा सन् १९७० मा नारीवादीहरूले ‘रेप कल्चर’ भन्ने शब्द प्रयोग गरे । यो यस्तो संस्कृति हो, जसले महिलाप्रति हुने यौन दुर्व्यवहारलाई नकारी सामान्यीकरण गर्छ । बलात्कार संस्कृतिमा सबैले यौन हिंसा जीवनको एक तथ्य हो भनेर महिलाविरुद्धको आतंकवादलाई सामान्य मानिसकेका हुन्छन् ।

    यो त्यस्तो पद्धति हो, जहाँ महिलामाथि बलात्कार भएको छ भने सत्य र तथ्य भन्दा पनि उनले के लगाएकी थिइन्, कहाँ गएकी थिइन्, कुन समयमा थिइन् भन्ने टिप्पणी हुन्छ ।

    तपाईं यहाँ पीडितलाई साथ दिनुभन्दा पनि उसलाई दोषीको नजरले हेर्नुहुन्छ । जब महिलाले घरमा आफूमाथि भएको यौन दुर्व्यवहार खुलेर भन्न खोज्छिन्, हाम्रा आफन्त र समाजले यसरी पीडितमाथि नै प्रहार गर्छन्, ‘कसले केटासँग एक्लै जानु भन्या थियो त ? अनि राति निस्केपछि त्यस्तो त भैहाल्छ नि, त्यो बाटोमा केटाहरूले पछ्यौंछन् भन्ने थाहा पाएर पनि किन त्यहाँबाट आएको ?’

    ‘छोरी भएपछि अब अलि अलि यस्ता जिस्काउने कुरालाई सामान्य लिनुपर्छ । भयो, धन्नले केही ठूलो भएन, थाहा भै हाल्यो कस्तो मान्छे रहेछ । अब आफू टाढा बस्ने त्यो बाट । उजुरी किन गर्नुपर्यो बेक्कार बदनामी…।’

    अब उहाँलाई ‘म्यारिटल रेप’ अर्थात् बिहेभित्र हुने बलात्कार त बलात्कार नै होइन भन्ने लाग्दो हो । यस्ता व्यक्ति र विचार जबसम्म हाम्रो समाजमा हुन्छन् तबसम्म यो ‘बलात्कार संस्कृति’ अझै जरा गाडेर बस्छ । यो समाज ‘बलात्कारी समाज’ रहिरहन्छ ।

    बलात्कार संस्कृतिमा संवेदनशीलताको निम्ति ठाउँ नै हुँदैन । समस्याको रूपमा हेर्नुको सट्टा ‘बलात्कार संस्कृति’मा मानिसहरू समाज यस्तै त हो भन्ने कोणबाट हेर्छन् । बलात्कार संस्कृतिमा दुर्व्यवहारपूर्ण भाषा, महिलाको शरीर र यौन हिंसालाई ग्ल्यामरको रुप दिइएको हुन्छ, जसले गर्दा समाजले महिलाको अधिकार र सुरक्षालाई बेवास्ता गर्दछ ।

    अब यो संस्कृतिलाई सिर्जनाका रुपमा लिइने गीतहरूले पनि प्रश्रय दिएका छन् । जस्तै याद गर्नुभएको छ, केही नेपाली गीतका शब्दहरू । ‘घाँटी भन्दा तल राम्री छे’

    ‘हेर्छन् ती आँखाले अंग छानी छानी’, ‘छुनलाई होइन हेर्नचाहिँ पाइन्छ, आँखालाई सेक्न जति नि पाइन्छ,’ ‘ए ससुरा बा मलाई साली मनपर‍्यो…।’ यिनै गीतमा हामी रमाउँदै हुँदै ताली पिट्छौं, नाच्छौं, ठूलो आवाजमा गाउँछौं ।

    समाजमा साली भेनाका प्रसंग झिकेर प्रशस्त जिस्क्याइन्छन् । त्यसकारण भेनाबाट जिस्क्याइने सालीले यी सहिदिनुपर्छ । ‘साली भेना जिस्किने त हाम्रो चलन नै हो नि’ भनेर जोड दिनेहरू नै यही समाजका पुरुष हुन् । ‘साली मनपर्‍यो’ भन्ने भेनाहरूलाई अघिल्लो पालिको ‘अबको तीज नो व्रत प्लिज’ले निद हराम गराएकै हो ।

    गीतमात्र होइन, उखान टुक्का र चुट्किलाहरूमा मजाकका पात्र महिला नै हुन्छन् । महिलाको चरित्र हत्या गरेर रमाइलो गर्ने जमात यही समाजमा छ ।

    ‘गुन्द्रुक पकाउनु र साली फकाउनु पर्दैन’
    ‘दूध उम्ले अँगेनामा, छोरी उम्ले खाल्डोमा’
    ‘आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष’

    यस्ता अपमानजनक उखानले महिलालाई कति हानि पुगेको छ ? नारीहरूलाई हामी कुन दर्जामा राखिरहेका छौं । विचार गरौं त ?

    चलचित्रमा देखाइने दृश्यकै कुरा गरौं । बलात्कारका दृश्य कति असंवेदनशील हुन्छन् । यस्ता कुराले पीडितलाई थपिने पीडाको उत्तरदायी को हुने ? अनि बलात्कारका दृश्यअगाडि महिलालाई देखाइने तरिका र आइटम डान्समा महिलालाई यौनको प्रतिबिम्बका रुपमा देखाउने मानसिकता । यो सबै ‘बलात्कार संस्कृति’को पाटो हो । यसलाई प्रोत्साहन गरिँदैछ ।

    केही महिनाअघि एउटा दिग्गज मानिने नेताले एउटा अन्तर्वार्तामा ‘महिला पुरुष पहिले मिल्ने अनि झगडापछि रेप भन्ने’ भन्ने प्रतिक्रिया दिनुभयो । के यसले पीडितलाई झन् उत्पीडन गरेन र ?

    अब उहाँलाई ‘म्यारिटल रेप’ अर्थात् बिहेभित्र हुने बलात्कार त बलात्कार नै होइन भन्ने लाग्दो हो । यस्ता व्यक्ति र विचार जबसम्म हाम्रो समाजमा हुन्छन्  तबसम्म यो बलात्कार संस्कृति अझै जरा गाडेर बस्छ । यो समाज ‘बलात्कारी समाज’ रहिरहन्छ ।

    जब यौन गतिविधिहरूको कुरा आउँछ, एक व्यक्तिको सहमतिको अभाव छ भने त्यो बलात्कार नै हो । ‘सहमतिमा भएको यौनसम्पर्क’ र ‘सहमति बेगरको यौन सम्पर्क’ भन्नै मिल्दैन । सहमति छैन भने त त्यो सिधै बलात्कार हो । बुझ्नुपर्ने के हो भने सबैभन्दा प्रमुख कुरा यही ‘सहमति’ हो । यो नभई हुँदै हुँदैन । र सहमति विवाहित जोडीमा पनि सधैं हुन्छ भन्ने जरुरी छैन ।

    कतिपय बेलामा श्रीमान् श्रीमतीबीचमै पनि जबर्जस्ती भएको हुन्छ । त्यसैले वैवाहिक बलात्कार अर्थात् ‘म्यारिटल रेप’ पनि समाजमा अवस्थित छ भन्ने कुरा हामीले नकार्नु हुँदैन । यदि हामीले यसलाई नकारीरह्यौं भने कहिल्यै पनि नैतिक हिसाबले गलत क्रियाकलापमाथि औंला उठाउन सक्दैनाै‌। बलात्कारीलाई उत्तरदायी बनाउन सक्दैनौं । यस्ता गतिविधिले बलात्कार संस्कृतिको अस्तित्वलाई झन् दह्रो बनाउँछ ।

    असहज लाग्छ होला सुन्दा, तर बलात्कार संस्कृति भन्ने शब्द सहज लाग्न बनाइएको पनि हैन । यो त समाजमा भएको ‘हिपोक्रेसी’ कति धेरै छ स्पष्ट देखाउने शब्द हो । महिलालाई भएको उत्पीडन कतिको गहिरो छ भनेर दर्शाउने शब्द हो ।

    जब तपाईं कुनै महिलाले यौन दुर्व्यवहार भएकाे सुनाउँदा ‘नट अल मेन’ भन्नुहुन्छ । तब तपाइँ त्यो एक पुरुषको दुर्व्यवहारलाई पनि नकार्दै हुनुहुुन्छ । अनि जब तपाईं मेरो घरमा दिदी बहिनी भएका कारण म महिलालाई सम्मान गर्छु भन्नुहुन्छ तब तपाईं महिलाई फेरि सम्मानको लागि पुरुषसँग जोड्दै हुनुहुन्छ ।

    महिला आफैंमा सम्मानका लागि लायक छन् । उनीहरूलाई सम्मान गर्न तपाईंले सम्बन्धहरू याद गरिराख्नु पर्दैन । यस्तै घटनाहरूलाई अगाडि ल्याएर समाजमा भएका निकृष्ट गतिविधि रोक्न यो शब्द प्रयोग हुनु जरूरी छ । यसले आवाज ‘एमप्लिफाई’ गर्छ, समाजको चित्रण जस्तो हो त्यस्तै देखाउँछ । न कि त्यसलाई ढाकछोप गर्न खोज्छ ।

    समाजमा प्रयोग हुने भाषा ‘छोरी मान्छे भएर यस्तो गर्नुहुन्न’देखि महिलालाई सम्बोधन गर्ने शब्द, चलचित्र, चुट्किला र उखानमा प्रयोग हुने अपमानजनक शैलीले ‘बलात्कार संस्कृति’को एउटा अंग बनाएको छ ।

    यदि तपाईं भिक्टिम सेमिङ गर्नुहुन्छ, गीत र चुट्किलामा महिलालाई वस्तु मानेर मनोरञ्जन लिनुहुन्छ । ‘महिला भएपछि सहनुपर्छ, सम्हालिनुपर्छ, अनि पुरुष भनेका त्यस्तै त हुन्, ‘मेन विल बि मेन’ भनेर भन्दै हुनुहुन्छ भने बुझ्नुस् कि तपाईं ‘बलात्कार संस्कृति’लाई प्रोत्साहन गर्दै हुनुहुन्छ । यसलाई बढावा दिँदै हुनुहुन्छ ।

  • कविता : हामी बौलौं

    कविता : हामी बौलौं

    गर्ने इच्छा भएदेखि आँखा खोलिदेऊ
    एकताको स्वर मिलाइ अब बोलिदेऊ
    गालीगलौज यति धेरै गर्न छाडिदेऊ
    सबैको मन खुशी हुने बोली बोलिदेऊ

    कुरा घोच्ने मन घोच्ने कसले जित्या छ ?
    आज भन्यो भोलि भन्यो सबले जित्याछ
    परीक्षाका केन्द्रहरू सबै खाली छन्
    जाँच दिन चाहनेलाई छिर्न जाली छन्

    कति समय खेर गए अब दिनु हुन्न
    हिँड्ने बाटो गलत भए दोहोर्‍याउनु हुन्न
    धमिरोले खाइसक्यो कति दिन टिक्ने
    आफ्नै घरको चिज रोजौं कति दिन बिक्ने ?

  • सलमानको ‘राधे’: स्टारडमको नाममा ठगी

    सलमानको ‘राधे’: स्टारडमको नाममा ठगी

    कोरोना महामारीका कारण नेपालसँगै भारतको सिनेमा बजार ठप्पप्रायः छ । यद्यपि, विभिन्न माध्यमबाट सिनेमा हेरेर दर्शकले निषेधाज्ञाको समय सदुपयोगसँगै मनोरञ्जन ग्रहण गरिरहेका छन् । यसबीचमा सुपरस्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘राधे’ रिलिज भयो । उक्त चलचित्रलाई सबै टेलिभिजन सेवा प्रदायकले अतिरिक्त शुल्क लिएर प्रसारण गरे । जसकारण निषेधाज्ञाकै समयमा पनि ‘राधे’ हेर्ने अवसर मिल्यो ।

    दर्शकलाई सयौंको संख्यामा फिल्म दिइसकेका सुपरस्टार खानले दिने फिल्मबारे दर्शकको आफ्नै अपेक्षा र अनुमान हुन्छन् । तर, राधेमा उनले दर्शकमाथि खासै न्याय गर्न नसकेको टिप्पणी भइरहेको छ । कतिपय भारतीय समीक्षकले उनको पछिल्लो दवंग– ३ भन्दा असफल फिल्मको सूचीमा राखेका छन्, राधेलाई ।

    सामान्यतया समीक्षकहरुले भन्ने र आमदर्शकले चाहने विषय फरक हुन्छन भन्ने मान्यता राखिन्थ्यो, तर पछिल्लो चरणमा त्यस्तो हुन छाडेको छ, किनभने समीक्षकले केही न केही तारिफ गरेको चलचित्र नै आमदर्शकले रुचाउने गरेको देखिन्छ । त्यसको उदाहरणको रुपमा सलमान खानको बजरंगी भाइजान, सुल्तान आदीलाई लिन सकिन्छ । बजरंगी भाइजानले त भारतीय बक्स अफिसमा सबैभन्दा धेरै अर्थात् ३०० करोड माथिको कलेक्सनको रेकर्ड राखेको थियो, जसलाई अन्य फिल्मले भेट्टाउन सकेका छैनन् ।

    फिल्म राधेलाई कोरियन फिल्म आउटलजको रिमेक भनिएको छ तर आउटलज हेर्न पाइएको छैन, तर उनकै फिल्म वान्टेडको रिमेक जस्तो चाहिँ देखिन्छ । किनभने घटना, संवाद र प्रस्तुतिमा त्यसकै विषयलाई धेरै हदसम्म नक्कल गरिएको छ ।

    राधे फिल्मको कथावस्तुमा मुम्बईमा दुई वटा अन्डरवल्र्डले ड्रग्सबाहेकको आफ्नो धन्दा उत्कर्षमा पुर्याएको हुन्छ । अर्को एक अत्यन्तै क्रुर समूहले त्यसमा प्रवेश गर्छ । त्यो समूहको नेतृत्व अत्यन्त राम्रा कलाकारमध्येका एक रणदीप हुँडाले गरेका हुन्छन् । उनले कलेज तथा स्कूलहरुमा ड्रग्सको धन्दा चलाउंछन् । त्यसले गर्दा युवाहरुमा आत्महत्याको दर एक्कासी वढ्छ र यो मुम्बई पुलिसका लागि टाउको दुखाइको विषय हुन्छ ।

    यस्तो अपराधलाई सामान्य ढंगवाट तह लगनउज नसकिने निष्कर्षमा पुग्दै विशेष अफिसर सलमान खानलाई प्रवेश गराइन्छ, जसले २९ इन्काउन्टर र १७ सरुवा भोगीसकेका हुन्छन् । वान्टेडमा उनलाई पुलिसको अन्डर कभर अफिसरको रुपमा देखाइएएको छ भने यसमा प्रत्यक्ष तर उनको प्रसिद्ध संवाद ‘मैले जव एकपटक कमिट्मेन्ट गर्छु, त्यसलाई फेरि आफ्नै अनुरोधलाई पनि सुन्दिनँ ।’

    यति मात्रै नभइ उनको स्टारडमअन्तर्गत जे–जे बिक्छ, त्यसलाई नै यहाँं बेच्ने प्रयास गरिएको छ । सलमान खानले लगाउने निलो रंगको युं जडित चांदीको ब्रासलेटलाई यहां पटक–पटक देखाइन्छ । र, उनको धेरैजसो फिल्म इदको बेलामा रिलिज हुन्छ, यहाँ पनि उनले सबैलाई इद मुवारक भन्न भ्याउँंछन् ।

    राधेमा उनको लकी चार्मको रुपमा रहेका उनका बावु सलिमखानको घर ग्यालक्सी अपार्टमेन्टलाईसमेत देखाइन्छ, जुन फिल्मको परिघटनामा कुनै तालमेल खाँदैन । मोडलिङमार्फत उनको शरीरलाई पनि देखाइएको छ । समग्रमा भन्नुपर्दा उनका सबै बिकाउका चिजलाई फिल्ममा देखाइएको छ । पुलिस डिपार्टमेन्टमा उनको सिनियर अफिसरको रुपमा जेकीस्रोफलाई देखाइएको छ, जसको भूमिकालाई उतिसारो प्रभावकारी ढंगमा प्रसतुत गरिएको छैन । उनलाई एकातफ हिरोइनको दाजुको रुपमा देखाइएको छ, जसको चलचित्रमा केही पनि भूमिका वा प्रभाव छैन ।

    सलमान र जेकी श्रोफबीच एउटा यस्तो घिनलाग्दो दृश्य देखाइएको छ, त्यसलाई फिल्मको क्रियटिभ टिमले कसरी हाल्यो ? भनेर प्रश्न गर्न सकिन्छ । किनभने आफ्नी प्रेमिकाको जन्मदिनको पार्टीमा जेकी श्रोफलाई विकिनीमा देखाइन्छ र उनले सलमान खानमाथि समलिंगीले गर्ने हर्कत गर्छन् । यो दृश्यले चलचित्रलाई सबैभन्दा कुरुप वनाएको छ ।

    कथावस्तुलाई हेर्दा सलमान एक स्पेशल अफिसरको रुपमा दुईवटा अपराधी समूहलाई मिलाएर रणदीप हँुडाको समूहसंग जुध्ने प्रयास गर्छन्, त्यति मात्र नभइ कलेजका विद्यार्थीहरुलाई इन्फर्मरको रुपमा उनीहरुले चलाउने सामाजिक संजालमार्फत प्रयोग गर्छन्, यसलाई चलचित्रमा देखाइएको केही नयाँपनको रुपमा लिन सकिन्छ ।

    अन्त्यमा रणदीप हँुडाको ग्यांङलाई उनले अन्य फिल्ममा भिलेनहरुसंग प्रतिवाद गरेकै शैलीमा समाप्त पार्छन् । यी सबै कथा, घटना तथा शृङ्खलामा कुनै नयाँपन छैन । यो चलचित्रको एक्सन करोडौं खर्च गरिएको हुनुपर्छ तर पनि दर्शकलाई केही नौलो कुराको प्रस्तुति छैन ।

    बलिउडले स्थापित गरेको फिल्म चल्ने सुत्र भनेको तीन वटा ‘एस’ हो– स्टारडम, स्टोरी र संग्स । या सुत्रलाई आधार मान्ने हो भने सलमान खानको स्टारडममा प्रश्न गर्ने ठाउं छैन तर फिल्म उनको स्टारडमले मात्रै नचल्ने कुरा त उनका ट्युवलाईट, रेस ३ तथा दवंग ३ ले सावित गरिसकेका छन् ।

    स्टोरीको कुरा गर्दा यो चलचित्रमा नयाँपन तथा आममान्छेलाई अपिल गर्ने कुनै कुरा छैन, त्यहीं मुम्बइको घिसिपिटी अन्डरवल्र्डको अपराधको कथा । संगीत अथवा संग्सको कुरा गर्दा यसअघिका सलमानका चलिचत्रहरुका गीतहरु कर्णप्रिय, औसतभन्दा माथि तथा कतिपय चल्तीका आईटम गीतहरु हुने गर्थे ।

    फिल्म चलाउनको लागि उनले हिरोइन ज्याकलिन फर्नान्डिसलाई आईटम सङमा राखेका छन् तर किक फिल्ममा उनले ज्यकलिनको म्याक्सीलाई दांतले च्यापेर गरेको नृत्यलाई आइकोनिक दृश्यको रुपमा लिइन्छ । यो फिल्ममा त्यो पनि छैन । कुनै पनि गीतहरु न कर्णप्रिय छन् न त चल्तीका । यसो त यो फिल्मका निर्देशक प्रभु देवाले आफू एक अब्बल दर्जाको कोरियोग्राफर भए पनि निर्देशकीय क्षमतामा त्यसको कुनै झलक छैन ।

    विगतमा जस्तै यो फिल्म फ्लप भएकै कारण सलमानले वितरकलाई क्षतिपूर्ती दिन नपरोस् !

  • कथा- पश्चाताप

    कथा- पश्चाताप

    रातभर परेको मुसलधारे झरीपछि आकाश खुलेको थियो । क्षितीजबाट सुनौला उषाकिरणसँगै मन्द चिसो हावाले अनुहार स्पर्श गरेसँगै अध्याय स्वप्नसंसारबाट बाहिरियो । र मन्द, मधुर मुस्कानसाथ प्रभातकालीन आनन्द लिन थाल्यो ।

    छतमा बसेर तातो चियासँगै चुरोटको आनन्द लिइरहेको छ । घरी चियाको चुस्की लिँदै त घरी मुखमा अटाइनअटाइ चुरोटको धुँवा तानेर आकाशमा फाल्छ । यतिकैमा मोबाइलमा कल आउँछ, मिल्ने साथी दिवसकी बहिनीको रहेछ । सोध्यो, ‘एकाबिहानै फोन गर्यौं, घरतिर सबैलाई ठीकै त छ नि !’

    दिवसकी बहिनी अरु केही नबोली एकोहोरो रुन थाली । उसको मनमा चिसो पस्यो । अलिपछि बहिनीले भनिन्, ‘दाइ एकदमै सिकिस्त हुनुहुन्छ…।’

    त्यसपछि अध्याय हतारहतार दिवसको घरतिर लाग्यो । घर बाहिरै चित्कार सुनियो । गेट खोल्नेबित्तिकै उसले अनुमान गरेभन्दा दर्दनाक दृश्य देख्यो । उसको साथी एक मुठी स्वासको लागि छट्पटाइरहेको रहेछ । गेटभित्र छिर्नेबित्तिकै उसलाई प्राङ्गणमा राकिराखेको एम्बुलेन्सका चालकले भने, ‘ए भाइ, मास्क खै ?’ त्यसपछि अध्याय झस्कियो । यसले साथी गम्भीर विरामी परेको घटनाले ऊ कति बेचैन भएछ भन्ने पुष्टि हुन्छ ।

    आफ्नो पाइन्टको खल्तीमा हात हाल्यो । धन्न हिजो किनेको एउटा मास्क त्यही रहेछ । त्यो निकाल्दै उसले एक नजर दिवसतिर लगायो ।

    दुईजना पिपिइ लगाएका मान्छेहरु दिवसलाई समातेर एम्बुलेन्समा राख्ने प्रयास गर्दै थिए । तर ऊ एक पाइला पनि सार्न सक्ने अवस्थामा थिएन ।

    स्वास फेर्नका लागिदिवस प्रत्येक पल आफूसँग नै लडाइँ लडिरहेको थियो । उसको मुटुको चाल बढेर बाहिरबाटै देखिने, महसुस हुने हालमा पुगेको थियो । आफ्नो छोराको त्यो अवस्था देखेर दिवसकी आमा मुर्छित हुनुभएको थियो । बहिनी रुँदै ‘आमा–आमा’ भन्दै कुनैबेला आमालाई सुम्सुमाउँदैै त कुनैबेला दाइ भन्दै चिच्याएर रुँदै थिइ ।

    आफ्नो विवसता अनि लाचारीतामा दिवसको बुवा आफ्नो टाउकोमा पिटी–पिटी बलिन्द्र आँशुका धारा झार्दै थिए । ओहो, यो सबै देखेर अध्याय भवहीन हुन पुग्यो । अध्याय कुद्दै दिवस छेउमा जान लाग्यो । पिपिइ लगाएका एक व्यक्तिले भने, ‘भाइ, यो मान्छेलाई कोरोना लागे जस्तो छ, परै बस्नुस् ।’

    आफ्नो सद्भावपूर्ण बढाएको सहयोगी हात अनि अघि सरेका पाइलालाई पछाडि सार्नुबाहेक उसँग केही विकल्प रहेन । आफूलाई एकदम निरीह र कमजोर भएको महसुस गर्दै, ऊ मुख छोपेर रुन थाल्यो । मनै त हो, कहाँ समालिन्छ र !

    ऊ भक्कानिएर रोयो, साहै्र भावुक भएर । त्यत्तिकैमा एम्बुलेन्सको ढोका खुलेको आवाजले उसको ध्यान तान्यो । बल्लतल्ल उठाएर दिवसलाई एम्बुलेन्समा राखियो र ढोका लगाइयो अनि दिवसको बुवा आफ्नो बाइकमा एम्बुलेन्सको पछिपछि लागे । छट्पटाइरहेको दिवस सबैको आँखाबाट एकैछिनमा टाढा गयो । अब एम्बुलेन्सको पछिपछि जान कडा लकडाउनको समय, नगइ त्यहीं बस्न फिटक्कै नमानेको मन ।

    पीडादायक रोदनलाई सम्हाल्दै अध्यायले जसो–तसो हिम्मत बटुलेर दिवसको बहिनीलाई दिवसको हालत कसरी त्यस्तो भयो ? भनेर सोध्यो ।

    जवाफमा उसले थाहा पायो कि, दुई दिन अघिदेखि सामान्य रुघाखोकी लागेको थियो । हिजो साँझदेखि बेस्सरी ज्वरो आयो । बिहान उसकी आमा छोराको हालचाल सोध्न जाँदा उसको त्यस्तो अवस्था देखेर मुर्छित पर्नुभएको रहेछ । अनि बहिनीले थाहा पाएर बुवा र अस्पतालमा फोन गरिछिन् र एम्बुलेन्स आएको रहेछ । बल्लतल्ल आधा घण्टामा दिवसकी आमाको होस आयो, आफ्नो छोरालाई हेर्न उहाँका आँखा आतुर देखिन्थे ।

    उहाँले हतार–हतार सोध्नुभयो, ‘दिवसलाई कस्तो छ ? कहाँ लग्यो मेरो बाबुलाई ?’ त्यसभन्दा धेरै उहाँले केही बोल्न सक्नुभएन ।

    बहिनीले बुबा दाइलाई लिएर अस्पताल जानु भएको छ, प्राथमिक उपचार त सुरु भयो रे तर दाइलाई कोरोना एन्टिजेन टेष्टमा पोजिटिभ देखायो रे । अब पिसिआर रिपोर्ट आएपछि राम्रो उपचार सुरु हुन्छ रे भनिन् । त्यो खबरले अत्तालिएको आमाको मन झन् अत्तालियो । अध्याय त्यति बेलासम्म त्यही नै थियो ।

    दिवसको रिपोर्ट नआउँदासम्म अध्यायले पनि त्यही बस्ने निधो गर्यो । उसलाई एकोहोरो दिवस र दिवससँग विताएका हर सम्झनाले सताइरह्यो ।
    अपराह्न चार बजेतिर अस्पतालबाट दिवसको बुवाको फोन आयो र सबैले जे रिपोर्ट नआओस्् भनेर प्रार्थना गरेका थिए, आखिर त्यही आयो ।

    दिवसलाई कोरोना संक्रमण भएको पुष्टि भएछ । फोक्सोसमेत धेरै खराब भएछ ।

    दिवसको हालत बिहानको भन्दा नाजुक रहेको र फोक्सोको एक्स–रे हुँदै गरेको खबर पनि दिए बुवाले । साथै पीडामा रहेको आफ्नो परिवारजनको ख्याल राख्न अध्यायलाई अनुरोध गरे । उसले जतिहिम्मत जुटाए पनि सत्य कुरा दिवसकी आमा र बहिनीलाई भन्न सकेन ।

    दिवसको हालत निकै सुधार भएको छ रे तर कोरोनाको रिपोर्ट चाहिँ पोजेटिभ नै आएछ भनी आधा सत्य बोल्यो अध्यायले । अत्याससंगै केही आशाका किरण देखिएको आमाको त्यो आँखामा नजर मिलाउन सकेन उसले ।

    एकछिनपछि फेरि दिवसका बुवाको फोन आयो । भने, ‘डाक्टरले त दिवसले चुरोट तानेर धेरै समस्या भएको बताए । उसले चुरोट नपिउने कुरा फोनमा भनिदेऊ न !’ अध्याय अफ्ठेरोमा पर्यो । किनकि, दिवसलाई चुरोट पिउन उसले नै सिकाएको थियो ।

    दिवसलाई झन् गाह्रो भयो । चुरोट फोक्सो कमजोर भइसकेकाले स्वास फेर्न झन् गाह्रो भयो । अक्सिजन लेभल पनि ह्वात्तै घट्यो । डाक्टरले बँचाउन नसक्ने बताए । दिवसका बुवाले रुँदै बताए । पीडा भुलाउन चुरोट पिउने अध्यायलाई चुरोटकै कारण औधी पीडाबोध भयो । दिवसलाई चुरोट पिउन सिकाएको ग्लानीले उसलाई नराम्ररी पोल्यो ।

    एकछिनपछि खबर आयो, दिवसको मृत्यु भयो । उक्त खबरले अध्याय विक्षिप्त भयो । आफैंलाई धिक्कार्यो । सोच्यो, ‘मैले चुरोट पिउन नसिकाएको भए दिवसले यतिछिटै मृत्युवरण गर्दैनथ्यो होला !’

    अलिपछि दिवसका बुवाको पनि हृदयघातका कारण मृत्यु भयो । उसलाई चुरोट पिउने आफ्नो लत र साथीलाई जबरजस्ती चुरोट खुवाएप्रतिको ग्लानीले झन् कमजोर बनायो । र, धिक्कारी रहेछ आफूलाई !

  • बजेटमा चुरे बेच्ने भनिएको छ र ?

    बजेटमा चुरे बेच्ने भनिएको छ र ?

    आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजित बजेटको १९९ औं बुँदा अहिले चर्चासँगै विवादमा छ । विरोधको चुरो बनाइएको उक्त बुँदामा उल्लेख छ, ‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकास गरी व्यापार घाटा न्यू्नीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाइएको छ ।’

    पूर्वप्रधानमन्त्रीहरुदेखि तराईका नेता, विज्ञ कहलाइएकाहरु तथा केही नगरे पनि सामाजिक सञ्जालमा अधिक हल्ला मच्चाउनेहरु यसको विरोधमा ओइरिएका छन् । सरकारलाई हान्ने अर्को एक झटारो भेटे जस्तो गरी जाइलागेका छन् । उक्त बुँदाका अनुसार सरकारले चुरे क्षेत्रको विनास गर्न लागेको भन्दै कोकोहोलो मच्चाइएको छ । के सरकारले चुरे क्षेत्र सखाप पार्न नै खोजेको हो त ? वा ढुंगा गिटी र बालुवा जस्ता कुराको उत्खनन् गर्नै नहुने हो ? यसबारे गहन ढंगमा बुझ्नुभन्दा पनि सरकारको विरोध गर्न खजना भेटेसरह मान्छेहरु आक्रामक ढंगमा प्रस्तुत भइरहेका छन् ।

    खानीजन्य पदार्थ उत्खनन् गर्ने उक्त बुँदामा ‘चुरे’ भन्ने शब्द नै छैन । बरु विभिन्न बुँदामा चुरे संरक्षणका विषय प्रष्ट रुपमा उल्लेख गरिएको छ । अहिले भइरहेको टिप्पणी सुन्दा, पढ्दा र हेर्दा बजेटका अन्य बुँदाप्रति टिप्पणीकारले आँखा चिम्लिएका छन् ।

    बजेटको बुँदा नम्बर १३३ मा भनिएको छ– झापादेखि कञ्चनपुरसम्मको चुरे पहाडको भावर क्षेत्रमा कोशी, गण्डकी, कर्णाली एवम् तिनका सहायक नदी प्रणालीलाई अन्तरआवद्ध गरी नहर निर्माण गर्न सम्भाव्यता अध्ययनको लागि बजेट व्यवस्था गरेको छु । यसबाट तराईको सिँचाई प्रणालीलाई व्यवस्थित गर्न, जलचक्रलाई निरन्तरता दिन, जलयात्रा एवम् पर्यटन प्रवर्धन गर्न तथा तराईमा हुने बाढी, डुवान र नदीकटानका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छु ।

    बुँदा नम्बर १५२ मा ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत शिवालिक तथा महाभारत क्षेत्रमा दुई सय पोखरी निर्माण गरी भूमिगत जलपुनर्भरण गरिनेछ । चुरे क्षेत्रका एक सय ६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमका लागि रु. एक अर्ब ५३ करोड विनियोजन गरेको छु ?’ भन्ने उल्लेख छ ।

    त्यस्तै अर्को एक बुँदामा भनिएको छ– चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख वृक्षारोपण गरिनेछ । सहरी क्षेत्रका सडक किनारा, आवास क्षेत्र र खुला क्षेत्रमा फलफूलका विरुवा रोपी हरित सहर विकास गरिनेछ । वृक्षारोपण र संरक्षण कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतलाई परिचालन गरिनेछ ।

    बुँदा १६७ को एक अंश यस्तो छ– चुरे तथा महाभारत शृंखलाका सम्भाव्य स्थानमा होटल, रिसोर्टलगायत शितल आवास निर्माण गरी पर्यटन प्रवर्धन गर्न निजी क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराइने छ’ यसबाट प्रष्ट हुन्छ कि, सरकारले चुरे विनास गर्न नभइ संरक्षण नै गर्न खोजेको छ ।
    अब प्रश्न उठ्छ, ‘नेपालले ढुंगा, बालुवा र गिटी निकास गर्न चाहिँ नहुने हो त ? लामो समय भूगर्भशास्त्रको अध्यापन गराएका तारामणि भट्टराईका अनुसार देशको विकास र समृद्धिका लागि बालुवा, गिटी, ढुंगा जस्ता प्राकृतिक सम्पदा उपयोग गर्नै पर्छ । उनी भन्छन्, ‘यस्तो उपयोग वातावरण प्रभाव मूल्यांकन गरी सकेपछि विज्ञहरुको राय, कानुनको पूर्णपालना र अनुगमनमा रहेर यस्ता वस्तुको उत्खनन् र निर्यात गर्न सकिन्छ ।’

    जहाँसुकैबाट जथाभावी उत्खनन् गरिएका कारण अहिलेको विवादलाई बल पुगेको भनाइ उनको छ । कतै नदीले बढी मात्रामा थुपारेका ग्राभेल र बालुवा उत्खनन् गर्न सकिन्छ तर जति थुपारेको हो, त्यति मात्रै र कहिलेकाहीँ त्यसमा पनि केही प्रतिशत छोडेर मात्रै उत्खनन् गर्नुपर्ने हुन्छ ।
    वातावरण संरक्षणको हबला दिएर कतिपयले जमिन र जंगल छुनै नहुने तर्क गरिरहेको उनको भनाइ छ । ‘भोलि चुरेमा पेट्रोलियम पदार्थ फेला परे के गर्ने ? पेट्रोल चाहिँदैन रुख चाहीँ बँचाउनु पर्छ भन्ने ?’, उहाँको प्रश्न छ ।

    विवादित बुँदाले भने चुरे त परै जाओस्, नदीजन्य पदार्थको निर्यातको समेत कुरा गरेको छैन । यो बुँदालाई हेर्दा खानीजन्य पदार्थ भनिएको छ, जसलाई चुरे नै हो भन्ने अर्थ लगाउने आधार कतै भेटिँदैन ।

    सञ्चारमाध्यम र सामाजिक संजालमा भने बजेटको सोही बुँदाका कारण आज भोलिबाट चुरे पहाड भत्काउन सुरु भएको सन्देश जाने गरी समाचार लेखिएको छ । तर, त्यहाँ भनेजस्तै वातावरणीय प्रभाव मूल्यांकनका आधारमा उत्खनन् गरेर त्यसलाई रोप वेमार्फत् ढुवानी गर्दासम्म धेरै लामो समय लाग्ने पनि प्राध्यापक भट्टराई बताउनुहुन्छ ।

    देशका कतिपय स्थानमा नदीले बहाव क्षेत्रका दुई किनारमा थुपारेका ग्राभेल समयमै नहटाउँदा नदीको बहावक्षेत्र बढ्न गइ वरिपरिका मानवबस्ती र खेतीपातीमा समेत असर पुर्याइरहेको तथ्यतर्फ अझ धेरैको ध्यान गएकै छैन । केही साताअघि मुस्ताङबाट आएको समाचारअनुसार कालीगण्डकीले थुपारेका ग्राभेललगायतका नदीजन्य पदार्थ व्यवस्थित नहुँदा बालालुङ मुक्तिक्षेत्र ३ छुसाङदेखि थासाङ गाउँपालिका ३ सम्मका एक दर्जन बस्ती जोखिममा परेका छन् । यस्तो अवस्थामा के गर्ने ? भन्ने नीति नभएको र कतिपय व्यवहारिक अन्योलले गर्दा त्यसको समुचित व्यवस्थापन हुन सकेको छैन ।

    नीतिगत र व्यवहारिक अन्योलका कारण देश भित्रै पनि यस्ता पदार्थको उपयोग समस्याको विषय बन्ने गरेको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछिका केही वर्ष नदीमा भएको दोहनमा रोक्दा भूकम्पले आवासविहीन भएका जनताले निर्माण सामग्री नपाउने मात्र होइन्, विगतमा भन्दा शतप्रतिशत महंगो मोलमा सामग्री किन्नुपर्ने अवस्था आयो । पूर्वाधारको पनि पूर्वाधार मानिएको सडक निर्माण, ग्राभेल वन्यो । यसर्थ, बजेटमा भएको व्यवस्था राम्रोसँग नबुझी विरोधका लागि विरोध गर्नुको कुनै अर्थ छैन ।

  • इतिहास मोड्ने दुष्प्रयास

    इतिहास मोड्ने दुष्प्रयास

    कुनै पनि देश वा समाजका आफ्नै विशिष्ठता हुन्छन् । कुनै पनि देश आफ्नै विशिष्ठता अनि पहिचानका आधारमा अघि बढेका हुन्छन् ।

    जुनसुकै समाज, टोल, गाउँ वा देश निर्माणका क्रममा राम्रा र नराम्रा काम भएका हुन्छन् । नराम्रालाई पुनरावृत्ति हुन नदिइ नयाँ संरचनासँगै व्यवस्थाबाट देश अघि बढेको हुन्छ ।

    नेपालको पनि आफ्नै बेग्लै विशेष पहिचान छ । त्यस्तै हाम्रा दुई छिमेकी देशः चीन र भारतको पनि विशेष राजनीतिक, सामाजिक अनि साँस्कृतिक पहिचानहरु छन् ।

    सन् १९४९ मा निरंकुशतन्त्रबाट मुक्त भएको देश चीन र १९४७ मा अंग्रेजको गुलामीबाट मुक्त भएको देश हो, भारत । त्यसको तुलनामा भने नेपाल एक स्वतन्त्र र अभिभाज्य देशका रुपमा आफ्नो पहिचान बनाउन सफल छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङले चिनियाँ जनतालाई स्वतन्त्र र सार्वभौम चीनका जनता बन्नका लागि ठूलो मिहेनत गरे, खुन पसिना बगाए । भारतलाई अंग्रेजहरुको दमनचक्रबाट स्वतन्त्र बनाउनका लागि महात्मा गान्धीको महत्वपूर्ण भूमिका निर्बाह गरे ।

    नेपाल स्वतन्त्र नै भए पनि बाइसे र चौबिसे टुक्रामा विभक्त राज्यलाई पृथ्वीनारायण शाहले एउटै मालामा उनेर सिङ्गो देश बनाए । अहिले नेपाल पनि एक स्वतन्त्र, स्वाधीन र सार्वभौमसत्ता सम्पन्न देश हो । नेपाल एकीकरण पूर्व विभिन्न राज्य रजौटाहरु थिए । तर अहिले सुगौली सन्धिपछि नेपालको राजनीतिक अनि भौगोलिक अवस्थिति फरक छ ।

    यद्यपि, त्यतिबेला नेपालमा शासन गरेका विभिन्न राजा रजौटा, राज्य र कोटहरुको पहिचान आज पनि यथावत् छन् । मल्ल एवम् लिच्छवीकाल, निरंकुश राणा शासनहुँदै राजतन्त्र अनि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालमा धेरै उतार चढाव आएका छन् ।

    नेपालको इतिहासमा कोतपर्व, भण्डारखालपर्व, प्रजातान्त्रिक लडाई, मदन आश्रित मृत्यु प्रकरण, माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्व, दरवार हत्याकाण्डलगाय थुप्रै आन्दोलन तथा प्रकरणहरु भइसकेका छन् ।

    मूलतः राजनीतिक घटनाक्रमले नै कुनै पनि देशको इतिहासलाई दर्शाउँछ । इतिहासमा घटेका सबै घटनाको आफ्नै पहिचान छन् । तर इतिहासकारले तथ्य र प्रमाणका आधारमा भन्दा पनि जित र शक्तिका आधारमा लिपिवद्ध गरे ।

    हरेक कालखण्ड वा दशकको अवधिमा नेपालमा विभिन्न खालका राजनीतिक, आर्थिक अनि सामाजिक परिवर्तनको सामना नेपाली जनताले गरिसकेका छन् । देश भित्र हुने राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनदेखि नेपालको राजनीतिलाई अन्तरर्राष्ट्रिस्तरमा पुर्याउने काम राज्य वा गैरराज्यबाट भइरहेको छ ।

    देशभित्र हुने सानातिना अन्दोलन, चक्काजाम हड्तालबाहेक अन्य ठूला राजनीतिक घटनाक्रमले ल्याउने परिवर्तन वा स्थापित कुनै पनि मान्यतानै किन नहोस्, त्यसको विशिष्ठ पहिचान हुने गर्दछ । त्यही पहिचानको आधारमा मानिसहरुले अन्य सामाजिक र राजनीतिक गतिविधि अघि बढेको हुन्छ । नेपालको सामाजिक, आर्थिक अवस्थालाई विगतले प्रभाव पारेकै हुन्छ ।

    हामीले विगतमा माध्यामिक तहसम्म पढेको नैतिक र सामाजिक शिक्षा अनि तीं पाठ्क्रमहरु आज सबै मेटाइएका छन् । नेपालमा पढाइने संस्कृत र नैतिक शिक्षासमेत दुई दुई दशकयता लगभग पाठ्य पुस्तकबाट हटाउने काम भयो ।

    विगतको सामाजिक शिक्षामा कतिपय अनुत्तरित जिज्ञाशाहरु भए पनि राज संस्था भित्रको कोतपर्व, निरंकुश जहानियाँ राणाशाहीका पालामा भएका विभिन्न निरंकुशताका इतिहासहरु क्रमबद्ध रुपले सामाजिक शिक्षामा पढ्न पाइने भए पनि ती पाठहरु नै अब इतिहास बन्दैछ ।

    २०५० साल जेठ ३ गतेको दासढुंगा जीप दुर्घटना, २०५८ साल जेठ १९ गतेको दरवार हत्या काण्ड, २०६० सालमा किर्तीपुरमा अमर लामाको गोली हानेर भएको हत्या प्रमाण लुकाउन गरिएका प्रयासका रुपमा बुझ्न सकिन्छ ।

    नेपालका यी ठूला दुई हत्या काण्डमा देशीसँगै विदेशी शक्तिको पनि हात हुन सक्छ । एक सार्वभौम देशका नागरिकबीचको एकता र आपसी सद्भावलाई देख्न नसक्ने केही शक्तिले उक्त दुर्घटना गराएका हुनसक्छन् । चीर र भारतविरोधी शक्तिले खेल्नका लागि पनि नेपाल अनेक घटना गराउने र राजनीतिक अस्थिरता निम्त्याउने गरेको कुरा प्रष्ट नै छ ।

    नेपालमा युद्ध चलाउने, आपसमा द्वन्द्व मच्चाउने, साम्प्रदायिक दंगा भड्काउन प्रयास गर्ने र नेपाललाई सधैं पछाडि पार्न केही विदेशी शक्ति लागेको भन्न डराउनु पर्दैन । त्यसकै परिणाम हो, मदन–आश्रित हत्याकाण्ड, दरवार हत्याकाण्ड, माओवादी द्वन्द्वलगायत विभिन्न आन्दोलनहरु पनि ।

    नेपालमा अवैज्ञानिक र अपत्यारिला इतिहास कायम गर्न स्वर्णीम घटनालाई कालो इतिहास बनाउने कुचेष्टा पनि भइरहेकै छ । यसबाट पनि सचेत नागरिक सजग हुन जरुरी छ ।

  • विभेदले गिज्याइरहेको समृद्धि !

    विभेदले गिज्याइरहेको समृद्धि !

    न्याय, स्वतन्त्रता र समानताका लागि नेपालमा धेरै आन्दोलन र क्रान्ति भए । क्रान्तिमा धेरै नेपालीले ज्यानको आहुति दिए । परिणामतः व्यवस्था परिवर्तन भयो, तर देश र नागरिकको अवस्था उस्तै छ ।

    नेपालमा बलिदानीको इतिहास लामो छ । योगमायालगायत ५८ जनाले समानता र स्वतन्त्रताकै लागि जलसमाधि गरे । २००७, ३६, ४६ र ६२/६३मा भएको जनआन्दोलनसँगै माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा हजारौ नेपाली सपुतले ज्यानको आहुति दिए । रै पनि समाजमा विभेद उस्तै छ, न नागरिकले स्वतन्त्रताको अनुभूति गर्न पाएका छन् । न त मुलुक समृद्ध नै भयो ।

    महिला भएकै कारण धेरैले सास्तीसँग जीवन बाँचिरहेका छन् । कथित दलित भएकै कारण कतिले मृत्युवरहण गर्नुपरेको छ । सधैं समाजमा हेंलामा, उपेक्षामा बाँच्नुपरेको छ ।

    यो समाजमा अझै यस्तो जर्जर स्थिति कायम छ कि, बोक्सीको आरोपमा एउटी महिलालाई मलमुत्र खुवाइन्छ, कुटपिट गरिन्छ, बालिका बलात्कार बढ्दो छ । अन्तरजातीय प्रेमकै कारण नवराज विकसँगै धेरैको ज्यान गएको छ ।

    सूचना प्रविधिसँगै सञ्चार क्षेत्रको व्यापक विकास भएको छ । तर मान्छेले मान्छेमाथि गर्ने अन्याय, अत्याचार र विभेद कम भएको छैन । भएका अन्यायपूर्ण घटनाको आवश्यक छानविनसमेत भएको छैन, कारवाहीको कुरा त धेरै परको भयो । अझै यस्तै अन्याय, विभेद र अत्याचार सहेर कतिन्जेल बाँच्ने ? कहिले अन्त्य हुन्छ, असमानता र अत्याचार । के त्यसका लागि फेरि युद्ध गर्नपर्ने हो ?

    यो धरतीमा हरेक प्राणीको बराबर अधिकार छ । अरु प्राणी जस्तै मान्छे पनि एक प्रजाति हो । मान्छे जन्मने बेला ऊ निर्दोष हुन्छ । उसको कुनै जात, भाषा, धर्म हुँदैन । पछि मान्छेले जात तथा धर्मको नामा विभेद गर्ने अनेक नियम बनाएका छन् । मान्छेले मान्छेले शासन गर्न बनाएका त्यस्ता मान्यताको अन्त्य हुनैपर्छ ।

    समाजमा जबरजस्त वर्ग निर्माण गरिएको छ । उच्च वर्ग निम्न वर्गमाथि शासन गर्न अनेक नियम बनाएको छ । त्यो जातको नाममा होस् या धर्मको नाममा । विभेदमा पर्नेहरुले पनि नियति ठानेर चुपचाप बसिरहेका छन् ।

    नेपालमा बनेका कानुन तथा ऐनमा जातीय तथा लैंगिक विभेद गर्न नहुने र गरेमा कडाभन्दा कडा कारवाही हुने कुरा उल्लेख छ । तर, त्यो कागजमा मात्रै सीमित छ । व्यवहारमा लागू हुन सकेको छैन ।

    अब हामीले जो जहाँ छौं, त्यहींबाट फेरि पनि समानता र स्वतन्त्रताका लागि लड्नुपर्ने बेला आएको छ । वर्षौदेखि जकडिएको विभेद एवम् अत्याचार अन्त्य गर्नु सजिलो सवाल हुँदै होइन । यहाँ शिक्षित भनिने वर्ग नै विभेदकारी छ ।

    भाषण र गफमा जातीय विभेद हुन नहुने बताउनेहरु नै आफ्नो परिवार र समाजमा विभेद गरिरहेका छन् । उनीहरु अन्तरजातीय प्रेम तथा विवाहलाई स्वीकार्न सक्दैनन् । घरमा महिलामाथि अनेक हिंसा गरिरहन्छन् । त्यसैले अब गफमा होइन, व्यवहारमै विभेद अन्त्यका लागि थप संघर्ष गर्न जरुरी छ ।

    समाजमा प्रगतिशीलको बिल्ला भिर्नेहरु नै विभेदका मतियार हुनु हाम्रो समाजको दुर्भाग्यपूर्ण सत्य हो । स्वातन्त्रता र समानताकै लागि भन्दै च्याउनसरी एनजिओ–आइएनजिओ सक्रिय छन् । तर, समस्या घटेको छैन ।

    सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा भजाएको भजाएकै छ । सरकारको बुझाइमा भौतिक विकास मात्रै विकास हो । तर समाजमा हुने असमानता अन्त्य नभएसम्म समाज समृद्ध बन्न सक्दैन ।

  • विभेदले पोलेको मन र छुटेको सम्बन्ध

    विभेदले पोलेको मन र छुटेको सम्बन्ध

    रामेछापको एक औसत गाउँमा जन्मिएँ । हिन्दू धर्मावलम्बी नेवार समुदायको निम्नमध्यम वर्गाीय परिवारमा जन्मिएर प्रवेशिका परीक्षासम्म गाउँमै पढें । जुन समयमा हिन्दू सँस्कार, परम्परा र सभ्यता सिक्ने बुझ्ने मौका पाएँ ।

    मेरो परिवारसँगै गाउँमा कृष्ण प्रणामी धर्म मान्ने धेरै छन् । हाम्रो घर नजिकै ठूलो कृष्ण मन्दिर पनि छ, जहाँ बेलामौकामा विभिन्न धार्मिक कार्यक्रम भइरहन्थ्यो । ती कार्यक्रम तथा अनुष्ठानहरुमा हामी पनि जान्थ्यौं, जसले मलाई हिन्दू धर्मबारे झन् राम्ररी बुझ्न सहज बनायो ।

    पाँच कक्षासम्म पढ्दा केही दलित साथीहरुसाग संगत भयो । त्यसमध्ये एकजनासँग अलि बढी नजिक थिएँ । म नेवार नभएर बाहुन भएको भए दलितलाई साथी बनाउन कठिन हुन्थ्यो होला । गदाल थरकी ती साथीसँग म सँगै बस्थें, खान्थें, खेल्थें ।

    ६ कक्षापछि हामी फरक-फरक विद्यालयमा पढ्न थाल्यौं । यद्यपि, भेटघाट भइरहन्थ्यो । पानीपधेंरो, अर्मपर्म र गाइबाख्रा चराउने चरनक्षेत्र एउटै थियो । हामी मिल्ने साथी भएकामा परिवारको आपत्ति थिएन । त्यसैले त हामी आपसमा खुब मिल्थ्यौं, दुःखसुख साट्थ्यौं, भविष्यका योजना बनाउँदै घण्टौं कुरा गरेर बस्थ्यौं ।

    तर बिडम्बना, गाउँमा हुने विहे, व्रतबन्ध तथा सामाजिक कर्ममा हामी छुटिनुपर्थ्याे । हामी बेग्लाबेग्लै बसेर भोज खान वाध्य हुन्थ्यौं । म घरभित्र बसेर खान्थें, उनी बाहिर अलग्गै पर बसेर । त्यस्तै म सजिलै मन्दिरभित्र पस्न पाउँथे, उनलाई दिइदैनथ्यो । त्यस्तो विभेदले मेरो मन दुख्थ्यो, उनलाई झन् कति नरमाइलो लाग्दो हो । तर न उनी केही भन्न सक्थिन्, न म उनलाई घरभित्र वा मन्दिरभित्र आउन आग्रह गर्न सक्थें !

    लाग्थ्यो, दलित नै भए पनि हामी एउटै जातको हुन पाएको भए पनि हुने नि ! तर त्यो भावनात्मक कुरा रहेछ । दुखद सत्य त यो रहेछ कि, हाम्रो समाजमा एउटा मान्छे जन्मनेवित्तिकै किन छुत, अछुतमा विभाजित हुन्छ वा गराइन्छ ? किन मान्छे-मान्छेबीच विभेद निर्माण गरिन्छ ? जे होस्, सामाजिक विभेद भए पनि हामीले मनबाट आपसमा विभेद गरेनौं । यस्तैबीच हामीले प्रवेशिका उतीर्ण गर्यौं ।

    प्रवेशिकापछि थप अध्ययनका लागि काठमाडौं आएपछि हामीले सँगै पढ्ने, सँगै काम गर्ने सपना देखेका थियौं, अर्थात् योजना बनाएका थियौं । तर परिस्थिति अलग बन्यो । हामी फरक-फरक कलेज भर्ना भयौं । एकै सहर भए पनि हाम्रो बस्ने ठाउँ र हिँड्ने बाटो फरक पर्यो । दूरी क्रमशः कम भयो । १२ कक्षा पनि पास नगरी उसको विहे भयो । विहेपछि उसँगको सम्पर्क, सम्बन्ध टुट्यो । सायद, ऊ परिवारमा व्यस्त भइ । जहाँ पनि ऊ सुखी र खुसी होस् भन्ने कामना छ ।

    त्यसपछि काठमाडौं बसेको झण्डै दश वर्ष बित्यो । मैले व्यवस्थापन संकायमा स्नात्तोकोतरसम्मको पढाइ पूरा गरे । यद्यपि, पढ्न सहज भने थिएन, पढाइसँगै काम गर्नुको दुःख आफ्नै थिए । काठमाडौं बसाइँको यो अवधिमा पढाइ मात्र सिकिएन सहरीया समाज र यसको मनोविज्ञान नजिकबाट बुझ्ने अवसर पनि मिल्यो । जिल्लाकै क्याम्पस पढेको भए सहरीया परिवेश बुझ्ने अवसर कहाँ पाउँथे र ! यसर्थ, संघर्षपूर्ण नै भए पनि काठमाडौं बसाइँ उपलब्धिमूलक नै भएको महसुस हुन्छ । तर, सहर नै किन नहोस्, यदि म दलित भएको भए, आज म जहाँ छु र जति अवसर पाइरहेको छु, त्यो सम्भव थिएन ।

    खैर, यतिका समयको अन्तरालमा मेरो बालसखा गदाल साथीसँग कुनै पनि माध्यमबाट जोडिन सकेकी छैन । तर, त्यो बेला हामीबीच हुने अन्तरंग कुराकानी भने सधै मिस गरिरहन्छु । काठमाडौं पढ्न आउने बेला हामीले केही थान सपना र योजना सँगै बुनेका थियौं, जुन सँगै पूरा गर्न त पाएनौं नै, आज ऊ के गर्दैछे समेत बेखबर छु । कस्ती भइ होला ?

    यस्तो लाग्छ, ऊ आज जहाँ भए पनि एक दलित परिवारमा समाजको विभेद सहेर हिनताबोधसहित बाँचिरहेकी होली ! किनकि, हाम्रो समाज यस्तै छ, हाम्रो चेतना उस्तै पुरातन र रुढीवादले ग्रस्त छ ।

    उसको ठाँउमा म भएको भए, समाजले मलाई गर्ने व्यवहारमा उसलाई भन्दा भिन्न हुने थिएन । ऊ जस्तै म पनि अछुत हुन्थें, कति त मेरो जात सुन्दै दश हात पर भाग्थे होलान् । आज हामी जुन घरमा बसिरहेका छौं, यो घरमा बस्न दिँदैनथे होला । दलित हुनुको मूल्य पलपलमा चुकाउनु पथ्र्यो । यस्तो उपेक्षा सम्झँदा मात्रै पनि असैह्य र, छटपटी हुन्छ, भोग्नेलाई झन् कस्तो होला ?

    नेपालमा २०२० सालमै छुवाछुतविरुद्धको कानुन बनेको हो । पछिल्लो समय संविधानसभाबाट बनेको संविधानमा पनि जातीय विभेद र छुवाछुतलाई दण्डनीय भनिएको छ । तर व्यवहार उस्तै छ । जंगबहादुरकालीन समयजतिकै निर्मम छ, जातीय विभेद ! यो दुखद सत्य हो ।

    बालमस्तिष्कमै विभेदको विष घोलेपछि कोही मानिस युवा वा प्रौढ हुँदासम्म उसले सोच्ने र गर्ने व्यवहार परिवर्तन हुन कठिन हुन्छ । विभेदकारी मानसिकताको परिणाम नवराज वि.क. जस्ता होनाहार युवाको सपना भेरी नदीको छालसँगै बगिरहेको छ भने कतिको खरानी र धँुवामा उडिरहेको छ ।

    समाजमा अझै कति समय जातीय विभेद रहिरहने हो ? कथित दलितले कहिलेसम्म अछुत भइरहनु पर्ने हो ? अन्तरजातीय प्रेम सम्बन्ध र विवाहकै कारण कतिले कुटाई खानु पर्ने हो र कतिले काटिनु-मारिनु पर्ने हो ? मारिने र घाइते हुनेका परिवारले कहिलेसम्म सन्तान वियोगमा तड्पिएर बाँच्नु पर्ने हो ? यावत् सवालले दिमाग रन्थनिन्छ ।

    आजकै दिन अर्थात् २१ जेठ २०६३ मा राज्यले जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । उक्त घोषणा भएको पनि १४ वर्ष पूरा भयो । तर पनि समाजमा जातीय भेदभाव र छुवाछुत अन्त्य हुन सकेको छैन । यसरी नै समाजमा जात व्यवस्था कायम रहिरहने र यसविरुद्ध युवाले आवाज बुलन्द नगर्ने हो भने विभेदको अन्त्य असम्भवप्रायः छ । अतः धर्मको आडमा रचिएको जातीय विभेद अन्त्यका लागि मूलतः आफूलाई सचेत ठान्ने युवा पुस्ताले पहल लिन ढिलो गर्नु हुँदैन । युवाले आँट गरे मात्र समाजको अग्रगति सुनिश्चत हुन्छ ।

    २१ औं शताब्दिका हामी युवाले समाजमा स्थापित मूल्य मान्यतामाथि चुनौती खडा गर्नै पर्दछ । त्यसका लागि नेपाली समाज निर्माणको सैद्धान्तिक धरातलका विषयमा अध्ययन-अनुसन्धान गरी यथार्थ ज्ञान हासिल गर्न जरुरी हुन्छ । हिजोको चेतना र ज्ञानले आज र भोलिलाई हेरियो भने समाज र सामाजिक मूल्यमाथि फरक मत राख्नु विल्कुल गाह्रो काम हो ।

    तर, हामीले चाहेमा त्यो फेरि विल्कुलै सामान्य हुनेछ । चिनियाँ दार्शनिक तथा लेखक लाओ ताजुले ‘हजारौ माइलको यात्रा, एक पाइलाबाट सुरु हुन्छ’ भनेजस्तो जात व्यवस्था अन्त्यका लागि हामीले सुरुवात गर्नैपर्छ । सामाजिक रुपान्तरणमा प्रत्येक व्यक्तिको सोच परिवर्तनले योगदान पुग्दछ । समाजमा स्थापित जात व्यवस्थाका बारेमा आफूले आफैंलाई प्रश्न गर्न ढिला भइसकेको छ । अतः आउनुस्, कुरुप सामाजिक विभेद अन्त्य र समतामूलक समाज निर्माणमा सामूहिक संकल्पसहित हातेमालो गरौं ।

  • कोरोना कहरः घरभित्रै परदेशीझैँ हुनुको पीडा

    कोरोना कहरः घरभित्रै परदेशीझैँ हुनुको पीडा

    भान्सामा खाना पस्किँदै थिएँ । ‘ऐया गाह्रो भयो,’ भन्दै एक्कासी दाइ रोइकराई गर्न थाल्नुभयो । भाउजू आँत्तिदै ‘के भयो’ भन्दै आँसु खसाल्न थाल्नुभयो । म पनि किचेनबाट अत्तालिँदै दाइ सामुन्ने गएँ । ‘दाइ के भयो ?’ भन्दै थम्थमाएँ । अनि, चिच्याउँदै, कहालिँदै माथिल्लो कोठामा गएर अंकल आन्टिसँग गुहार मागेँ, ‘अंकल, दाइलाई गाह्रो भयो रे ?’ यो सुन्नासाथ अंकल आन्टी आत्तिदैँ तल्लो कोठामा झर्नुभयो ।

    बेलुकादेखि दाइलाई १०३ डिग्री ज्वरो आएको रहेछ । ज्यान दुखेर फतक्कै गलेको रहेछ । राति सुत्न नसकेर छटपटाउनु भएको रहेछ । बिहान पो थाहा भयो ।

    हामीलाई शंका लाग्यो, ‘कतै दाइलाई कोरोनाले त आक्रमण गरेन ? सिम्टमस् पनि ठ्याक्कै मिल्यो ।’ त्यसपछि अंकलले झटपट दाइलाई आइसोलेसनमा राखिहाल्नुभयो । दाइ बसेको ठाउँमा किटाणु मार्न कोठाभरी जताततै अंकलले औषधि छर्नुभयो । घरमा सबैजनाले मास्क र फेस सिल्ड लगाएर बस्यौँ । कोरोनाको त्रास घरभित्रै फैलिन थाल्यो ।

    ०००

    केही साताअघि मात्र ठूलो बुवा कोरोना भाइरसको संक्रमित हुनुभएको थियो । बुवा आइसोलेट भएर बस्नुभएको १५ दिन बितिसकेको थियो । स-परिवार नै सर्तक थियौँ । अहिले उहाँ रिकभर स्टेजमा हुनुहुन्छ । अंकललाई थप टेन्सन भयो । ‘बुवाबाट कोरोना कन्ट्रोल गर्न खोजिरा फेरि भतिजलाई नि कोरोना भयो,’ भन्दै सबैजना आइसोलेट भएर बस्न भन्नुभयो । ९ जनाको परिवार । अरु त हट्टाकट्टा नै छन् । मूख्यतः हजुरबुवा आमालाई सुरक्षित राख्नुपर्ने भयो । उहाँहरुलाई पनि आफ्नो कोठाबाहेक केही दिन यताउता गर्न अंकलले रोक लगाउनुभयो ।

    एक दिनपछि घरमै स्वास्थ्यकर्मी बोलाएर दाइको कोरोना टेस्ट गरायौं । रिपोर्ट नआएसम्म छटपटि भयो । दिउँसो १ बजे गराएको कोरोना टेस्टको रिपोर्ट साँझ छ बजेतिर आयो । शंका यथार्थमा बदलियो । अन्तत: दाइलाई कोरोना ‘पोजेटिभ’ देखियो ।

    दिमागले काम गर्नै छोड्यो । रिँगटा लागेजस्तो भयो, मलाई । कोरोनाको आतंकले स-परिवारलाई नै घेर्‍यो । भयभीत भयौँ । कोरोनाको अनुभव गरिसक्नुभएको बुवाले भने सम्झाउनुभयो । ‘डराउनुपर्दैन, आत्तिनु हुँदैन, निको भइहाल्छ नि !’ उहाँले भन्नुभयो ।

    त्यो दिन अंकलले दाइलाई भिटामिन ट्याबलेट र ज्वरोको औषधी दिनुभयो । तैपनि अन्य बेलाजस्तो शान्त मन कहाँ हुन सक्छ र ? हाछ्छिऊँ आए पनि कोरोना पो हो कि ? घाँटी खसखस भए पनि कोरोना पो होकी ? जिऊ तातो भएनि कतै कोरोना भाइरसको सिम्टम त होइन यो ? अनेक तर्कनाले मन पिरोल्न थाल्यो ।

    घरको परिवारले नै सावधानी अपनायौँ । पानीको बाफ लिने, काडा पानी, अन्य झोलिलो खाने कुरामा जोड दिन थाल्यौं । एकअर्कासँग आइसोलेट जस्तै भएर बस्यौँ ।

    एक त घरमा कसैले पनि कोरोनाको खोप लगाएका छैनौं । कोरोनाको आतंक त मच्चिनेनै भयो । त्यसमाथि दाइको कोरोनाको लेभल अर्थात् सिटी भ्यालू १६/१७ को रहेछ । झन् सावधानी अपनाएर बस्नुपर्ने भयो ।

    दाइ माथि तलामा । भाउजू र म तल्लो तल्लामा । त्यो रात राम्रोसित निद्रा परेन । घरीघरी दाइलाई कतै गाह्रो त भएन । केही हुने त होइन ? भ्रमित स्वप्न आउन थाल्यो । त्यो रात दाइलाई ज्वरो घटबढ हुने भइरहेको थियो । बेलाबेलामा फोन गरेर हालखबर बुझिराखेकी थिएँ । मनले मानेन । एकपटक दाइलाई नहेरी चित्त बुझेन, मेरो ।

    ०००

    भोलिपल्ट बिहान चार बजे उठेँ । फेस सिल्ड र मास्क लगाएर दाइ बस्नुभएको कोठामा गएँ । ‘कस्तो छ दाइ अहिले तपाईँलाई ?’ भनेर सोधेँ । दाइ सुत्न नसकेर यताउती हिँड्दै छटपटाइरहनु भएको थियो । दाइले मलिन स्वरमा ‘ठिकै छ’ भन्नुभयो । दाइको अनुहारमा प्रस्ट देखिन्थ्यो, कोरोनाले दिएको कष्टकर शारीरिक अनि मानसिक पीडा । दुखाइले दाइको शरीर कमजोर बनाइसकेको थियो । उहाँको अवस्था देखेर यता मेरो मन झन् भावविह्वल भयो । उता भाउजू पनि चिन्तित हुनुहुन्थ्यो ।

    तर, अब परिस्थितिको सामाना गर्नैपर्छ । अरु विकल्प पनि त छैन । दाइलाई कोरोना पोजेटिभ भएपनि हरेस खाएनौँ । बुवालाई कोरोनाले त्यति असर गरेको थिएन । तर दाइलाई भने अलि बढी असर गरेको देखेर कुन बेला के आपत आइलाग्ने हो भन्ने डर, चिन्ताले सताइरहेको थियो । हामी एकैछिन अगाडि नभएको बेलामा दाइलाई कतै सास फेर्न गाह्रो त हुने होइन । यस्तै यस्तै सोचले डेरा जमाउन थाल्यो ।

    ‘फ्रि काउन्सिलिङ’को लागि एकजना दिदीले चिकित्सक ‘रिफर’ गर्नुभएको थियो । उहाँलाई फोन गरेँ । एकदम राम्रोसँग ‘काउन्सिलिङ’ गर्नुभयो । झोलिलो खाने कुरा खाने, हाई प्रोटिन भएको खाने कुरा खाने दिनमा मनतातो पानी नापेरै चार लिटर पिउने, दिनमा चारवटा अन्डा खाने पोजेटिभ कुरा हेर्ने, सुन्ने, कोठामै यताउती हिँड्ने, व्यायाम गर्ने जस्ता उपाय सुझाउनुभयो । ‘केही अप्ठेरो परेमा ‘भाइबर’मा मेसेज गर्दा पनि हुन्छ । आत्तिनुपर्दैन, निको हुन्छ भनेर उहाँले हौस्याउनुभयो ।

    डाक्टरसँगको कुराकानीपछि एककिसिमको ऊर्जा थपिए जस्तै भयो । खुशी लाग्यो । हलुका महसुस गरेँ । कोरोनाको कहरको लहरले छोइएला भन्ने पीरले घरभित्र बाँधिएका थियौँ । अब त घरभित्रै कोरोनासँग दैनिकी रुपमा सामना गरिरहेका छौँ, बुवा अनि दाइसँगै । रोग नलागुन्जेल कति डर थियो । तर प्रत्यक्ष सामना गरेपछि डर भाग्दो रहेछ ।

    ०००

    वरपर छिमेकतिर पनि प्रायलाई कोरोना भाइरसले छोइसकेको छ । कोठा-कोठामा बस्नेले पनि मास्क लगाएको देखिन्छ । कोठाभित्र बस्दा चौबिसै घण्टा कोरोना भाइरसको ख्याल आउँछ । त्यसमाथि घरभित्रै दुईजना संक्रमित थपिइसके ।

    साँझपख कौसीमा एकैछिन उफ्रेर, एक्सरसाइज गरेर मन टोलाउँछु । वरपरका मान्छे पनि प्रायः कौसीमा आएर व्यायाम गर्ने, उफ्रिने, नाच्ने, रमाइलो गर्ने गर्छन् । स्किपिङ खेल्नेको त कम्पिटिसन नै चल्छ । एकैछिन कौसीमा हो-हल्ला गर्दा पनि कोरोना भाइरसको त्यति वास्ता लाग्दैन । तर, जब कोठाभित्र पसिन्छ दाइ र बुवालाई देख्दा उही खिन्नताले पिरोल्न थाल्छ ।

    अचेल उठबस गर्ने दैनिकी नै बदिलिएको छ । बुवा र दाइलाई माथि तलामा खाना/खाजा पुर्‍याउन जानुपर्छ । खाना दिने बेलामा सुरक्षित रहन हरेक दिन फेस सिल्ड, मास्क लगाउँछु । ‘बुवा’ दाइ भनेर टाढैबाट आवाज दिन्छु । ‘खाना ल्याएको छु है थाल र कचौरा सार्दिनु ल’ मेरो हरेक दिन बोल्ने शब्दै नै यही भएको छ, हिजोआज । बुवा वल्लो कोठामा । दाइ पल्लो कोठामा । दुवैजनाले थाल र कचौरा सररर सारेर राख्दिनुहुन्छ । उहाँहरुले प्रयोग गर्नुभएको थाल, कचौरालाई नछोइ खानेकुरा राखिदिन्छु । कहिले त खाने कुरा नै फुत्त फालेजस्तो गर्नुपर्ने हुन्छ । अचम्म लाग्छ ! हैट कस्तो रोग हो यो ? आफ्नै बुवा, दाइलाई पक्षपात गरेजस्तो ‘फिल’ हुन्छ ।उहाँहरुलाई खाना/खाजा दिँदैपिच्छे सायद दिनमा सयपटकभन्दा बढी साबुनपानीले हात पखालिन्छ होला ।

    ०००

    दाइ कोरोना भाइरससँग लड्दै हुनुहुन्छ । एक साता बितिसक्यो । ‘डेन्जर जोन’बाट मुक्त हुनुहुन्छ । चार/पाँच दिन ज्वरो उतारचढाव हुँदा निकै त्रसित थिएँ । बेलाबेलामा अत्याउँदो रहेछ, यो रोगले । कहिले एकदम कमजोर बनाउने, कहिले रुघा लागेर ग्रस्त बनाउने । तर, अहिले स्वास्थ्यमा बिस्तारै सुधार हुँदै छ । बुवा अनि दाइ दुवै एउटै कोठाको चक्कर लगाउँदै बस्नुहुन्छ । उहाँहरुलाई त्यसरी कोठाभित्रै थुनिएर बसेको देख्दा मन खिन्न हुन्छ । दाइ बेलाबेलामा पीडा पोख्दै भन्नुहुन्छ ,‘कस्तो जेल जस्तो लाग्न थालिसक्यो, दिक्क लाग्छ ।’ उहाँ थप्नुहुन्छ,’ यस्तो रोग त शत्रुलाई पनि नलागोस् ।’

    त्यसैले बिहान/बेलुकी खाना खाले बेलामा भर्चुअलबाटै दाइसँग जोडिन्छौँ, भाउजू र म । भिडियो कल गर्दै सँगै खाना खान्छौँ । गीत गाउने, हँसाउने, खुशी बनाउने कुरा गरेर उहाँको एक्लोपनलाई साथ दिइरहेका छौँ । बुवालाई सुधार भएजस्तै घरमै दाइले पनि कोरोनालाई जित्नुहुन्छ भन्ने विश्वास लिएकी छु ।

    संसारलाई नै त्रसित बनाएको छ, कोराना भाइरसले । छिमेकी मुलुक भारतमा यसको कहर डरलाग्दो छ । अहिले नेपालमा पनि अवस्था अझै असामान्यै छ । आखिर कोरोनाको भय कहिले सम्मका लागि ? जब कोरोना भाइरसको प्रत्यक्ष सामना गरिन्छ, यसले दिएको मानसिक तथा शारीरिक पीडा भयभीत छ । त्यसैले कोरोना लागिहाले पनि हेलचेक्र्याँइ नगरौँ, नआँत्तिऔँ । आत्मबल उच्च बनाए यो रोगसँग हामीले लड्न सक्छौँ । कोरोना भाइरस सक्रिय त छ नै । भाइरसभन्दा बढी सक्रिय, सजक र सतर्क हामी हुन आवश्यक छ ।

  • ‘पहल’ पत्रकारिता कि ‘भक्तिकारिता ?’

    ‘पहल’ पत्रकारिता कि ‘भक्तिकारिता ?’

    ९ जेठ २०७८ मा एउटा समाचारले देशका ठूलादेखि साना मिडियासम्म चर्चा पायो । प्रायः प्रकाशन प्रशारण भएका समाचारको शीर्षक थियो ‘कोभिडविरुद्ध लड्न सभामुखको पहल’ । यसै विषयलाई लिएर भोलिपल्ट सिन्धुपाल्चोकका पनि विभिन्न सञ्चारमाध्यमले आफ्नो अनुकुलता र भाषा प्रयोग गरेर थप विवरणसहितको समाचार प्रकाशन प्रशारण गरे । त्यसको मूल शीर्षक थियो– सभामुख सापकोटाको विशेष पहलमा चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना । लगत्तै सोही समय अर्को समाचार पनि प्रकाशन÷प्रशारण भयो ‘पूर्वमन्त्री तामाङको पहलमा जडान हुने भयो अक्सिजन प्लान्ट’ ।

    सभामुख अग्निप्रसाद सापकोटातर्फको समाचारको मूलभूत आशय छ– ‘सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । सभामुख सापकोटाको बिशेष पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि ७५ लाख बिनियोजनको लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । मन्त्रालयले आइतबार अर्थ मन्त्रालयलाई स्रोत सुनिश्चितताको लागि पत्र काटिसकेको छ ।’

    त्यस्तै पूर्व कानुन मन्त्री शेरबहादुर तामाङतर्फको समाचारको मूलभूत आसय छ– ‘पूर्वमन्त्री शेरबहादुर तामाङको पहलकदमीपछि जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लाण्ट जडानका लागि आवश्यक उपकरण र सामग्री खरीद प्रक्रियामा गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्लाण्ट जडान गर्न विभिन्न ५ जिल्लाका अस्पताल छनोट गरेको र पूर्वमन्त्री तामाङको पहल र प्रस्तावमा जिल्ला अस्पताल चौतारा पनि छनौटमा परेको हो ।’

    सिन्धुपाल्चोकबाट निर्वाचित भइ संघ र प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको सूची लामै छ । सभामुखदेखि मन्त्री, पूर्वमन्त्री, सांसदको रुपमा थुप्रैलाई सिन्धुपाल्चोकले जन्माएको छ । तर सिन्धुपाल्चोकमा कोरोना दोस्रो लहरको कहरकाबीच १४ बढीको मृत्यु भइसकेको र १६ सय भन्दा बढी संक्रमित रहेको अवस्थामा एउटा पनि अक्सिजन प्लान्ट नहुनु र उपचारको लागि अन्यत्र लैजानुपर्ने बिडम्वना छ ।

    यसलाई मध्यनजर गर्दै अघिपछि ‘पहल’ मात्रै गर्ने सभामुख अग्निप्रसाद सापकोटाले ‘विशेष पहल’ गर्दै मिति २०७८÷०२÷०६ मा ‘आवश्यक अक्सिजन उपलब्ध गराउन र अक्सिजन प्लान्ट स्थापनाका लागि समन्वय गर्न, तत्कालका लागि १ सय थान भरिएको अक्सिजन सिलिण्डर, २ हजार थान एन्टिजेन किट उपलब्ध गराउन’ स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको पत्रसमेत राखि स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई पत्र पठायो ।

    यता प्रतिनिधिसभा सदस्य एवम् पूर्वकानुन मन्त्री शेरबहादुर तामाङले ‘विशेष पहल’ गरेरै मिति २०७८/०१/२५ मा ‘कोरोनाको उपचारमा अक्सिजनको अति आवश्यक भएकाले जिल्लाले नै अक्सिजन सिलिण्डरको व्यवस्थापन विविध तरिकाले भैरहेको तर अक्सिजन भर्ने व्यवस्था नहुँदा जिल्लामा धेरै समस्या परिरहेकोले जिल्ला अस्पताल चौतारामा एउटा अक्सिजन प्लान्ट निर्माण जरुरी भएकोले सो को व्यवस्थापनका लागि अनुरोध छ’ भन्दै स्वास्थ्य मन्त्रीलाई पत्र लेखे ।

    अन्ततः कोरोनाको महामारीलाई ध्यानमा राख्दै मिति २०७८/०२/०९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ७ वटा अस्पतालमा अक्सिजन प्लान्ट जगान गर्न स्रोत सुनिश्चितताको लागि अर्थ मन्त्रालयलाई पत्र पठायो । लगत्तै १० गते अर्थ मन्त्रालयले अन्य ६ अस्पतालसहित चौतारा अस्पताललाई अक्सिजन ट्याङ्क खरिद र जडानको लागि ७५ लाख विनियोजन भएको जानकारी स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई दियो ।

    यसपछि सुरु भयो राजनीति र मिडियाबाजी । अब आमनागरिकमा दुविधा देखियो कि कस्ले र कस्का कारण अक्सिजन प्लान्ट स्थापना हुने भयो । कुनै मिडियामा सभामुखको ‘विशेष पहल’ मा भनियो, कुनै मिडियामा पूर्व मन्त्रीको ‘पहल’ मा भनियो । यसले आम नागरिकमा भ्रम मात्र पैदा गरेन, मिडियाको विश्वसनीयता माथी समेत प्रश्न खडा गर्यो ।

    मूख्यतः संकटमा नागरिकको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व हो । सोहि दायित्व अनुरुप अक्सिजन प्लान्ट स्थापनाको लागि बजेट विनियोजन भएको हो । नेपाल सरकारको ढुकुटी र नेपालीले तिरेको करबाटै स्वस्थ्य मन्त्रालयको सिफारीसमा अर्थ मन्त्रालयले आवश्यक्ताअनुसार बजेट विनियोजन गरेको भन्ने माथिको कुराले प्रस्ट्याउँछ । यसमा राजनीति गर्नुपर्ने र मिडियाबाजी गर्नुपर्ने कुरै छैन ।

    जो ‘पहल’ को विषय छ । नागरिकले मतदान गरेर निर्वाचित गरेका प्रतिनिधिहरुको मूख्य कर्तव्य भनेकै नागरिकको ‘सुख दुःखको सारथि’ बन्नु हो । संकटमा नागरिकको पक्षमा लागि पर्नु नौलो कुरा होइन । यो उनीहरुको कर्तव्य नै हो, मतको सम्मानका लागि पनि निर्वाचित प्रतिनिधिहरुले नागरिकको सुख दुःखमा साथ दिनैपर्छ ।

    ‘पहल’ पत्रकारिताको पराकाष्ठा

    पत्रकारिता पेशा हो, व्यवसाय होइन । यो मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो । कानुन व्यवसायीले गर्ने वकालतजस्तो कानुनी व्यवसाय होइन । उद्योगी व्यवसायीले गरेजस्तो उद्योग व्यवसाय पनि होइन । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धता हो ।

    तर अहिले ‘पहल’ पत्रकारिताले पत्रकारिताको सर्वोच्चतालाई खस्काइदिएको छ । माथिको अक्सिजन प्लान्ट स्थापनाकै कुरालाई हेर्ने हो भने ‘पहल’ पत्रकारिताले समाजलाई दुई क्षेत्रमा फाटो गराईदिएको प्रष्ट देखिन्छ । एकातर्फले सभामुख नै सर्वेसर्वा हो र उनकै कारण अक्सिजन प्लान्ट स्थापना भएको भन्ने अफवाह फैलाउन मद्धत पुर्याएको छ भने अर्कोतर्फ पूर्व मन्त्रीकै कारण यो सम्भव भएको हो र उनै महान हुन भन्ने दर्शाउन सफल भएको छ ।

    त्यसो त कुनै उच्चपदस्थ व्यक्तिहरुले गर्ने ‘पहल’ ले समाजलाई फाईदा पुर्याउँदैन । नागरिक र समुदायलाई तबमात्र फाईदा पुग्छ जब ‘पहल’ हैन काम गरिन्छ । उदाहरणको लागि १७ साउन २०७१ मा सिन्धुपाल्चोकको जुरेमा भीषण पहिरो गयो ।

    लगत्तै पहिरो स्थल पुगि जिल्लाबाट प्रतिनिधित्व गरेका तत्कालीन सभासदहरु अग्निप्रसाद सापकोटा, मोहनबहादुर बस्नेत, अमृतकुमार बोहोरा, शेरबहादुर तामाङ, रमेश लामाले पीडितको उद्दार, व्यवस्थापन र आवासको लागि ‘पहल’ गर्ने प्रतिबद्धता जनाए । मिडियाहरुले ‘…को पहलमा यस्तो हुने’ भनेर प्रचार गरे । जो जुन खेमाको पत्रकार छ उहि अनुरुप ‘पहल’ का समाचार बनाए । पहलकारिता गरे । तर उनीहरुले ‘पहल’ पीडितहरुको मल्हम बन्न सकेन । स्वस्फूर्त रुपमा पीडितहरुलाई देश विदेशबाट सहायता जम्मा भयो ।

    तीन महिना पुग्दा नपुग्दै कोषमा २ करोड २४ लाख रुपैयाँ जम्मा भयो । तर पहिरो गएको झण्डै ७ वर्ष पुग्न लाग्दासमेत पीडितहरुले सो रकम पाउन सकेका छैनन् । उनीहरु अझै टहरामै जीवन गुजारिरहेका छन् । जसले पहिरो लगत्तै उद्दार, व्यवस्थापन र आवासको लागि ‘पहल’ गर्ने प्रतिबद्धता जनाएका थिए उनीहरु अहिले पनि साहयता रकम बाँड्न ‘पहल’ गरिरहेका छौं भन्दै आईरहेका छन् ।

    त्यस्तै सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लिदीमा २०७७ साउन ३० गते भीषण पहिरो गयो । मर्ने त मरिगए बाँचेकाहरु अहिले बाँसखर्कमा अस्थायी टेन्टमा बसिरहेका छन् । यो बीचमा सो अस्थायी टेण्टमा सभामुख अग्निप्रसाद सापकोटा ७ पटक पुगिसकेका छन् । उनी जतिपटक जाँदा पनि स्थायी आवास, जीविकोपार्जन सहितको व्यवस्थापनको लागि आपूmले ‘पहल’ गरिरहेको बताउँदै आएका छन् । मिडियाहरुले ‘सभामुखको पहलमा’ भन्न छोडेका छैनन् । यता पीडित भने हुरी बतास, भोक प्याससँग संघर्ष गरिरहेका छन् । सभामुखको ‘पहल’ले त्यहाँका भोकाहरुको पेट भरिएको छैन न त ‘पहल’ पत्रकारिताले ।

    यस्ता थुप्रै उदाहरण छन् ‘पहल’ पत्रकारिताका । यस्तोखाले पत्रकारिताले समाजको हित गर्दैन । यसकारण पत्रकारिता पेशालाई थप मर्यादित बनाउन जरुरी देखिन्छ ।

    सञ्चारकर्मी कुन दिशातर्फ हिँड्दैछौं ?

    पत्रकारितामा प्रचलित एउटा भनाइ छ, ‘सरकार बिनाको राज्यको कल्पना गर्न सकिन्छ तर पत्रकारिता बिनाको राज्यको कल्पना पनि सकिँदैन’ । कुनै पनि समाज र मुलुकमा पत्रकारिता कति अपरिहार्य छ भन्ने दर्शाउन यति एउटा भनाइ काफी छ । अझ संकटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ । मुलुक स्वास्थ्य संकटबाट गुज्रिरहेको छ । यस्तो समयमा पत्रकारिता क्षेत्रको भूमिका झनै महत्वपूर्ण रहन्छ ।

    पत्रकारिता यस्तो पेसा हो, जसमा इमान, आदर्श र नैतिकताको अन्य पेसामा भन्दा बढी महत्व र अर्थ रहन्छ । पत्रकार समाजको विशिष्ट व्यक्ति हो, कारण, ऊसँग समाज र राज्यका धेरैजसो विषयको ज्ञान हुन्छ, सूचना हुन्छ । उक्त सूचनाको दुरूपयोग भएमा राज्य र समाजमा हिंसा, द्वन्द्व र अराजकता फैलिन सक्छ । समाज विखण्डन हुन सक्छ यस कारण पनि पत्रकार समाज, राज्य र समाजका वा राज्यका मानिसप्रति सदैव सचेत, संवेदनशील र जिम्मेवार हुन जरुरी छ ।

    तर यहाँ त्यसो भएको पाईदैन । पत्रकारिताको मर्ममाथिनै प्रहार भइहेको देखिन्छ । राजनीतिक दल, व्यापारी, अभियानकर्ता, अन्य केही समूहहरुले पत्रकारितालाई आफ्नो पक्षमा प्रयोग गरेको पाइन्छ । त्यसमा पत्रकारहरु मौन रहनु र ‘पहल’कारितामा रमाउनु संवेदनशील विषय हो । ‘प्रलोभन’मा परेर पत्रकारहरु पत्रकारिता कम र ‘पहल’कारिता, ‘पार्टी’कारितामा लाग्नु नेपाली सञ्चार क्षेत्रको विडम्बना हो ।

    पत्रकारितालाई ‘पार्टी’कारितामा ढाल्ने काम राजनीतिक दलबाट भइरहेको भनेर प्रचार गरिँदै आइएको छ । कुनै हदसम्म त त्यो सत्य नै होला वास्तवमा त्यसो होइन, राजनीतिक दलहरुको भक्ति गाउनेहरुले आफूलाई पत्रकार भनेर चिनाउँदा समस्या उत्पन्न भएको हो । उनीहरुले पार्टीको प्रचार गर्ने काम मात्र गरेका हुन् तर आफूलाई पार्टीको कार्यकर्ता भन्दा उनीहरुलाई अप्ठ्यारो परेकाले उनीहरुले आफूलाई पत्रकार भनेर भनिरहँदा साँच्चिकै पत्रकारिता गर्नेहरुलाई भने समस्या उत्पन्न भएको हो ।

    अहिलेका पत्रकारमा अध्ययन छैन, न त शैक्षिक, न त व्यवहारिक । आफूलाई पत्रकार भनेर चिनाएपछि केही बार्गेनिङ गर्न पाइने, केहीको भोजमा सम्मिलत भएर पेट भर्न पाइने भएपछि आफूलाई पत्रकारको लाइनमा राख्नेहरु अधिकांश भेटिन्छन् । आजका हरेकजसो मिडिया र प्रायः पत्रकार कुनै न कुनै राजनीतिक दल, दलका नेता, व्यापारी, माफिया आदिका अघोषित समर्थन र नियन्त्रणमा छन् ।

    यी र यस्ता गतिविधिले अब पत्रकारिताको भविष्य कता जादैछ ? भन्ने प्रश्न खडा गरेको छ । तसर्थ अब आपूmलाई सञ्चारकर्मी हुँ भन्नेहरुले आपूm कुन दिशातर्फ हिँडिरहेको छु भन्ने पूर्णतः ख्याल गर्न जरुरी छ । तब मात्र सञ्चार क्षेत्रमा भएका यावत समस्याहरुलाई न्यूनिकरण गर्न सकिन्छ । यो सँगै सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न र बदनाम हुनबाट रोक्न सरकार, प्रेस काउन्सिल, सूचना विभाग, पत्रकार महासंघजस्ता निकायले महत्वपूर्ण भूमिका खेल्न जरुरी छ । र, पत्रकारिता पेसा बदनाम हुनबाट जोगाउनु जरुरी छ ।

  • प्रधानमन्त्री ओली ‘राजनेता’ हुन् ?

    प्रधानमन्त्री ओली ‘राजनेता’ हुन् ?

    सानै छँदा बुवाले सुनाउनु भएको एक सत्य घटना याद आयो । बुवा धार्मिक प्रकृतिको व्यक्ति हुनुहुन्छ । बुवा त्यो बेला ईलाम नगरपञ्चायतमा काम गर्नुहुन्थ्यो । लामो समयसम्म काम गर्नुभएकोले बजारक्षेत्रका प्रायः सबैले चिन्ने गर्थे ।

    ईलाम बजार र आसपासका क्षेत्रमा भएका कुनै पनि धार्मिक कार्य तथा प्रवचनमा उहाँको प्रायः उपस्थिति हुन्थ्यो । त्यो बेला स्वामी प्रपन्नाचार्य ईलाम पुग्नु भएको रहेछ । ईलामका केही धार्मिक व्यक्तिहरूले उहाँलाई एक प्रवचनको लागि आग्रह गरेछन् । प्रवचनको लागि ईलामको जिल्ला पञ्चायतको परिसरमा रहेको सभाहल तय भयो ।

    उहाँले आफ्ना केही बाल्यकालका कहानी र अध्ययन गर्न बनारससम्म पुगेका कुराहरू सुनाएर प्रवचन समाप्त गरिदिनु भएछ । त्यसपछि त्यहाँलाई इलामको एक क्याम्पसमा पढाउने विद्वान प्राध्यापकले अनुरोध गर्नु भएछ– स्वामी ज्यू, यहाँ त वेदान्तमा विद्यावारिधि गर्नुभएको हामीलाई वेदान्तको बारेमा केही सुनाउनुहुन्छ भन्ने आशा थियो ।

    उहाँले प्रतिप्रश्न गर्नुभएछ– तिमी के गर्छौं ? म प्राध्यापक हुँ दुई विषयमा एमए गरेको छु । आदि इत्यादि‍…

    स्वामी जीले त्यो बेला ‘तिमी वेदान्त बुझ्दैनौं, सुनाएर केही हुन्न । पहिला केही अध्ययन गर’ भन्नुभएछ । पछि फेरि उहाँहरूको संवाद भयो, भएन उहाँले वेदान्त श्रवण गर्नुभयो, भएन ? ती सबै कुरा समयले साथ दियो भने पछि उहाँसँग बसेर सोधौंला तर यहाँ भने प्रसंग अर्कै छ ।

    किनकि हामी धेरै पढेर जानेर पनि धोका खाइरहेका हुन्छौं । बुझ्न चाहेर पनि पार्टीको, समाजको, जातिको, धर्मको पर्दा लगाएर बसेको हुनाले हामी वास्तविकतासम्म पुग्न सक्दैनौं।

    हिजो मात्र एक जना व्यक्तिले मलाई सोध्नु भयो, ‘राजनेता भनेको के हो ?’

    हरेक शब्दको अर्थ हुन्छ । कति शब्दहरू हामीले अर्थ नजानेर नै पनि प्रयोग गरिरहेका हुन्छौं । सायद धेरैले नेता भनेको नै के हो भनेर बुझेका हुँदैनन् भने म उहाँलाई राजनेता भनेको के हो भनेर कसरी भनौं ? भन्ने सोचेर चुपचाप लागें । यसको मतलब म सर्वज्ञानी भन्ने होइन । तर मेरो अरूलाई बुझाउने कला कम भएकोले पनि म पछि सर्ने गरेको हुँ ।

    नेता शब्द संस्कृतबाट हुबहु आएको शब्द हो अर्थात् तत्सम त्यसको सम्मान भन्नाले संस्कृतको सम्मान हो । नी धातुबाट तृच् प्रत्यय लागेर बनेको हुन्छ जसको विभिन्न अर्थमा प्रयोग भएको पाइन्छ । सामान्य अर्थ “नयति इति नेता” जो लैजानेवाला अर्थात् मार्गदर्शन गर्ने वाला छ भने त्यो नेता हो । मार्गदर्शक भनेको जहिले पनि श्रेय मार्गतिर लानेलाई नै भन्ने गरिन्छ ।

    नेता शब्द ऋग्वेदमा पनि प्रयोग भएको देखिन्छ

    नेतार ऊ षु णस्तिरो वरुणो मित्रो अर्यमा ।
    अति विश्वानि दुरिता राजानश्चर्षणीनामति द्विषः ॥
    — ऋग्वेदः सूक्तं १०।१२६।६॥

    भावार्थस् वरुण, मित्र अर्यमा जो सबै जीवहरूका राजा हुनुहुन्छ, हामीलाई कष्ट र शत्रुहरूबाट दूर सुरक्षातर्फ लैजान नेतृत्व गर्नुहुन्छ ।

    यस्तै अन्य धेरै प्राचीन ग्रन्थहरूमा नेताको प्रयोग भएको पाइन्छ । समय सन्दर्भअनुसार तिनीहरूलाई कोट्याउँदै जाउँला ।
    अब रह्यो राजनेताको कुरा । नेता र राज शब्दको समास भएर राजनेता बनेको हुन्छ । नेताहरूमा पनि जो राजा अर्थात् श्रेष्ठ हुन्छ त्यो नै राजनेता नेता हो । तस्तै मार्गहरूमा श्रेष्ठ राजमार्ग । विद्याहरूमा श्रेष्ठ राजविद्या इत्यादि ।

    यहाँ भ्रमित नहुनुहोला, राजा महेन्द्रले बनाएकोले पूर्व(पश्चिम राजमार्गलाई केही व्यक्तिहरूले लोकमार्ग भन्न पनि लागाएका छन् । किनभने जसलाई अहिले हामी नेता भनेर मानेका छौं उहाँहरूले यस्तै यस्तै तोडमोड गर्ने र भ्रमित पार्ने कार्य मात्र गरेको पाइन्छ ।

    अब हामीले पहिले त नेता शब्द र राजनेता शब्द जसमा प्रयोग गरिरहेका छौं । के ती सार्थक छन् कि छैनन् भनेर सोच्ने बेला आएको छ ।

    एक हुन्छ वस्तु र एक हुन्छ वस्तुभाष । जस्तो पानी समुद्रमा, नदीनाला तलाउमा देखिन्छ । तर कहिले काही मरुभूमीमा पनि देखिन्छ । त्यसलाई भनिन्छ वस्तुभाष । अर्थात् जो छैन् त्यो देखिनु । त्यसैले अहिले हामीले नेता र नेताभाष छुट्याउने बेला आएको छ । के यी पक्कै नेता हुन् या नेताभाष ? यदि मरुभूमिमा देखिने पानी जस्ता हुन् भने अब हाम्रो तिर्खा मेटिँदैन, हामीले नदी या समुद्रतिर नै आफ्नो बाटो परिवर्तन गर्नुपर्छ ।

    अहिले कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेता भन्ने गरेका छन् । उनलाई पनि माथिकै आधारमा विवेचना गरेर बुझ्न आवश्यक छ ।

     

  • गणतन्त्र, तिमीलाई स्वागत छ !

    गणतन्त्र, तिमीलाई स्वागत छ !

    गणतन्त्र तिमीलाई स्वागत छ !
    तिमीलाई शुभकामना र आशिर्वादले चुम्नु छ।

    तर नियती कस्तो !
    फक्रन नपाउँदै कोपिलामै टुसुक्क बस्नुको पीडा छ,
    ओहो, कसले सुन्ने, कसले बुझ्ने

    मैले तिमी आएको बाटो टुँढिखेलबाट हेर्दा
    कति सुनगाभा फुलेका थिए
    बाटोरि ढकमक्क गुलाबका फुलहरू स्वागत गर्दै थिए
    तिमी आयौ वसन्तसँगै, शिशिरको न्यानो बोकेर

    मेरो घरसम्म तिम्रो पाइला चलेन
    तिमी कति स्वार्थी र निष्ठुर
    यति धेरै माया दिँदा,
    महलको रंगिन सपनामै हरायौ तिमी
    ‘ म’ बाट शासित हुनुको मज्जा,
    तिमीले अनुभव गर्नै सकेनौ।

    अझै सुँघेर अनुभव गर त
    मेरो पाखुरीको पसिनाको सुगन्ध
    तिमीभित्र महक बनेर बसेको छ
    तिमी ‘जिम्मा’मा थियौ रंगहरू भर्न
    विचित्रको ‘क्यानभास’ मा धाँजा फाटेको छ

    कमजोर जग भएको महल जस्तो
    हरेक चोटी परीभाषा र व्याख्या खोज्दा
    म मेरा छिमेकीसँग लज्जित हुनु परेको छ

    तिमी आयौ
    मैले तिम्रो स्वागतमा पटका पडकाइनँ कि
    रंगिन बत्तीहरूका दियो सजाइनँ कि
    नाचगानले सडक तताइनँ कि
    वस्ती वस्तीमा मीठो पकवान पकाइनँ कि
    तर खोई,
    तिमी गरिबको वस्ती वस्तीमा छाएनौ

    हो
    क्यानभासमा तिमीलाई उतार्ने अनुहारहरू
    तिमीसँगै अदालतको कठघरामा छन्
    आफ्नै लेखाइको, आफैं व्याख्या खोज्दैछन्

    आ-आफ्नो तर्कले आफूतिर तान्दैछन्
    गरिबको झुपडीबाट उठेको आवाज

    गणतन्त्र ! तिमी न्यायको कठघरामा छौ
    तिमी ईर्श्या र जुगांको लडाइँबाट जोगिनुपर्छ
    अहंकार र आडम्बरको भासबाट निस्कनुपर्छ
    तिमी स्वतन्त्रता र समानताले विभुषित हुनुपर्छ
    अधिकार र कर्तव्यले सुशोभित बन्नुपर्छ
    न्यायले निष्कलंकित तराजु बन्नुपर्छ

    गणतन्त्र,
    तिमी आऊ गरिबको वस्तीमा छाउ
    न्याय र समानताको देवता बनेर आऊ
    गणतन्त्र तिमीलाई स्वागत छ

    महाराजगन्ज नर्सिङ क्याम्पस, स्ववियु कोषाध्यक्ष

  • आइसोलेट हुँदा उब्जेको प्रश्नः छाउगोठमा कसरी बस्दा हुन् चेली ?

    आइसोलेट हुँदा उब्जेको प्रश्नः छाउगोठमा कसरी बस्दा हुन् चेली ?

    शरीरमा अनायासै अस्वभाविक असहज स्थिति आएपछि पिसिआर परीक्षण गराउने निधो गरें । गाउँकै ‘चुंगी चोर्ने साथी’ रामशरणलाई फोन गरेर टेकुस्थित प्रयोगशालासम्म पुर्याइदिन अनुरोध गरें । हामी गयौं, दुवैले परीक्षण गरायौं । रिपोर्ट नआएसम्म हामी सँगै बस्यौं ।

    भोलिपल्ट एकसाथ दुवैको मोबाइलमा म्यासेज आयो । रिपोर्ट रहेछ– उसको नेगेटिभ आयो, मेरो पोजेटिभ । तनाव भयो ।
    परीक्षण गर्न दिएको थाहा हुने सबैले फोन गरेर सोधेकासोध्यै छन्, ‘रिपोर्ट के आयो ?’ सबैलाई जवाफ दिँदैको हैरान ।

    घरबाट बुवा, ममी, श्रीमती, बैनीहरु सबैले फोन गरेर घरमै आउन आग्रह गरे । ‘काठमाडौंको डेरामा एक्लै बस्दा झन् गाह्रो हुन्छ, घरबेटीले थाहा पाए भने राम्रो मान्दैनन्’ भन्दै कर गरे । मेरो नि मन पग्लियो । मानवता हराउँदै गएको घरहरुको जंगलमा बस्नुभन्दा गाउँमै जानु ठीक लाग्यो । घरबेटीलाई ‘कोरोना लागेको’ भन्दै नभनी घर गयौं हामी ।

    हाम्रो गाउँ पुग्ने धेरैवटा बाटो छ । त्योमध्ये सबैभन्दा कम मान्छेको हिँडडुल र चहलपहल हुने बाटो हुँदै हामी गाउँ गयौं । किनकि, कारोना लागेको मान्छे आएको थाहा पाए भने गाउँमा झन् आतंक बढ्ने निश्चित थियो । विरामी भन्दा पनि हामी आतंककारी जस्ता भएका थियौं ।

    घरमाथिको डाँडामा मलाई छाडेर रामशरण उस्कै घरतिर लाग्यो । मोटरसाइकलबाट झर्नेवित्तिकै एकजना काकी पर्ने मान्छेले मलाई देख्नुभो । उहाँ कहाँ जान लाग्नु भएको थियो, थाहा भएन । तर मलाई देख्नेवित्तिकै उहाँले बाटो मोड्नुभयो । सायद उहाँलाई थाहा भैसकेको रहेछ, मलाई काेराेना लाग्यो भनेर । देख्नेवित्तिकै ‘मोटाइछस् या दुब्लाइछस्’ भन्ने काकी नदेखेजस्तो गरी तर्केपछि औधी खल्लो अनुभूति भयो ।

    घर पुग्दा श्रीमती सुमित्रा, भाइ–बुहारी र छोरी आँगनको पल्लो डिलमा बसेर बाटो हेरिरहेका रहेछन् । देख्नेवित्तिकै गम्ल्याङ्ग अंगालो मार्दै ‘के ल्याइदिनुभा’छ बाबी ?’ भन्दै लाडे पल्टिने छोरी म जति नजिक जान्छु, उति परपर भाग्न थाली ।

    पिँडीको खाटमा बसेर खेलिरहेको छोरोले हात दिँदै मतिर आउँन खोजेको इशारा गर्दै थियो । निकैबेर नबोकेपछि केटो रुन थाल्यो । अनि सुमित्राले खाटमा गएर छोरो बोक्दै भनिन्, ‘बाबा विरामी हुनुहुन्छ, बाबासँग जान हुँदैन ल !’ छोरोले बुझेन, रोयो मात्रै ।

    एकछिनपछि सुमित्राले भनिन्, ‘पल्लोघरको छिँडीको उतापट्टि कोठा ठिक पार्देको छ, त्यतै गएर कपडा फेर्नु !’ त्यसै गरें ।
    घर पुग्नेवित्तिकै चुल्होमा गएर खानेकुरा खोज्ने बानी थियो । दराज खोतलेर दही–मही जे छ, सारेर पिइहाल्ने गरेको थिएँ ।

    तर, त्यसो गर्न कहाँ पाइयो ? बाहिर निस्किएर ‘लास्टै भोक लाग्या छ, खाजा केही छैन ?’ भनेर सोधें । बुहारी रञ्जुले भनिन्, ‘खाजा त चाम्रे छ, दाइ कोठाभित्रै बसिस्यो, त्यहीं ल्याइदिन्छौं ।’

    सुमित्राले एउटा प्लेटमा चाम्रे र भुटेको आलु, एउटा कचौरामा दही र एक गिलास पानी ल्याएर कोठाको ढोकाबाहिरै अर्थात् डोरम्याट भन्दा पनि पर राखेर भनिन्, ‘अब १४ दिनलाई यही भाडा हो, माझ्ने ठाउँ घरपछाडि गोठको कुनापट्टि बनाइदिएको छ ।’ सुमित्रा अलि पर पुगेपछि प्लेट तानेर चाम्रे खान थालें, मज्जा आएन । कस्तो कस्तो विरस अनुभूति भो ।

    खाजा खाइसकेपछि पिसाब लाग्यो । बाहिर निस्केर ‘ट्वाइलेट कता त ?’ भनेर सोधें । ‘भाइले तल्लो पाटोमा बनाइदिँदै हुनुहुन्छ’ सुमित्राले भनिन् । हेरें, भाइ धमाधम बाँसको खाँबोमा त्रिपाल हाल्दै रहेछ ।

    साँझ बेसीबाट बुबा आउनुभो । पिँडीबाट छिर्नेवित्तिकै सोध्नुभो, ‘कस्तो छ जेठा ?’  भित्रैबाट भनें, ‘ठिकै छ’ पछि मेरा लागि छुट्टै एउटा कुर्चीको व्यवस्था भो । बाहिर–भित्र गर्दा आफैंले ल्याउने लैजाने, बाहिर अलग्गै पर्खालभन्दा उतातिर बस्नुपर्ने नियम बनाइयो ।

    साँझबिहान हाम्रो घरमा मान्छे आइरहन्थे । टिभी हेर्न, बुवासँग राजनीतिक कुरा गर्न, विभिन्न सामाजिक विषयमा छलफल गर्न आउने मान्छे खाली हुँदैनथे । तर म घर गएपछि गाउँका त के, टोलकै मान्छे पनि आएनन् । यतिसम्म कि, विभिन्न कामले बुवा गाउँतिर जाँदा पनि मान्छे भागाभाग गर्न थालेछन् ।

    सुमित्राले रातिसमेत दुई–तीनपटक फोन गरेर ‘कस्तो छ अहिले ?’ भनेर सोधिरहिन् । तागतिलो खानेकुरा खोजेर, तुल्याएर दिइरहिन्– सुमित्रा र बुहारीले । भाइ र बुवा गाउँगाउँमा गएर कहिले बुर्जो र कहिले खसीको खुट्टादेखि ट्राउट माछा खोजेर ल्याउथें । काम नै यति भयो कि, खाने–सुत्ने, सुत्ने–खाने ! तै पनि कमजोरी कम नहुने ।

    सुरुका दुई दिन बेस्सरी ज्वरो आयो । ज्वरो कम भएपछि डायरिया भयो । त्यसपछि जिउ यति दुख्यो कि, त्यो लेखिसाध्ये छैन । कहिले स्वास लिन गाह्रो भएजस्तो, कहिले मुटुको धड्कन एकदमै छिटोछिटो धड्कने । कहिलेकाहीं त ‘अब बाँच्दिनँ कि क्या हो !’ जस्तो लाग्यो । तर पनि घरका मान्छेलाई औधी गाह्रो भएको कुरा भनिनँ– आत्तिएलान्, पीडा होला भनेर ।

    त्यसपछि १४ दिन यसरी विताइयो कि, जहिल्यै उस्तै दैनिकी । धुम्धुम्ती कोठामा एक्लै । काठमाडौंबाट कुनै राम्रा किताब वा सिनेमा लैजान नि भुलेछु । घर गहिरोमा भएकाले मोबाइलमा डाटा पनि राम्ररी नचल्ने । दिक्क लाग्दो दैनिकी । एक मनले सोचें– व्यथा विसेक भयो भने र अरुलाई सरेन भने त यसरी बस्नु के ठूलो कुरा भयो र ?

    यद्यपि, योबीचमा धेरैले फोन तथा म्यासेजबाट स्वास्थ्यबारे चासो, चिन्ता व्यक्त गरे । कोही सोच्दैनसोचेका मान्छेले निरन्तर चासोसँगै शुभकामना दिए । कोही आस गरेका मान्छेले नि वास्ता गरेनन् । यस्तो बेला कसले साँच्चिकै शुभ चाहन्छ र कसले नजिक भएको नाटक मात्रै गर्छ ? भन्ने पनि बुझिने रहेछ ।

    लाग्यो– मलाई त अहिले के छ र ? छाउगोठमा हाम्री चेली कसरी बस्छन् होला ? त्यो कल्पना नै पनि दर्दनाक लाग्यो ।

    घरभित्रै राम्रो ओच्छ्यानमा सुत्न पाएकै छु । मीठोमीठो, तागतिलो खानेकुरा पटक–पटक खान पाएकै छु । छुन नपाए पनि परिवारको माया पाएकै छु । त्यै आफूले खाएको भाँडा अलग्गै माझ्न र बेग्लै चर्पी जानुपर्यो भन्ने त हो नि ! घाम पनि नछिर्ने छाउगोठमा महिनैपिच्छे हेँला र घृणा सहेर हाम्री चेली कसरी बस्दा हुन् ? छाउगोठमा निसासिएर मृत्युको मुखमा पुगेका चेलीका दर्दको कल्पनाले विक्षिप्त बनायो ।

    कहिलेकाहीं आफूलाई दलित वा अछुत जस्तो पनि अनुभूति भयो । विरामी भएर केही दिन अलि अलग्गै बस्दा त यति नमीठो अनुभूति भयो, जिन्दगीभर समाजकै नजरमा अछुतोको सामना गर्न ती दलितलाई कति कठिन भएको होला ?

    अनि, आफन्तको मृत्युपछि कोरामा बस्नेहरुको कष्ट झन् भयानक हुँदो हो । सारमा हाम्रा सामाजिक मान्यताहरुमाथि निरन्तर प्रश्न खेलिरह्यो । त्यो छाउप्रथा होस् या दलितका नाममा भरिने विभेद वा किरिया प्रथा । किन मान्छेले मान्छेलाई नै यतिविघ्न कठिन हुने नियम बनाएको होला ? कुरीति एवम् कुप्रथा हो भन्ने जान्दाजान्दै पनि मान्छेहरु किन त्यसलाई संस्थागत र दरिलो बनाउन अभीषप्त छन् ? कोरोनाबारेको बहस, यसले पारेको सास्ती र भोगाइभन्दा हाम्रो सामाजिक मान्यता र नियम झन् खतरनाक लाग्यो ।

    र अन्तिममा, कोरोना रिपोर्ट नेभेटिभ आयो । व्यथा विसेक भयो तर नातागतले गाँजेको छ, लास्टै ! यति अनुरोध छ कि, कोरोनालाई ख्यालख्याल नसोचौं । सरकारका लागि होइन, आफ्नै लागि सावधानी र सुरक्षा अपनाऔं । धन्यवाद !

  • कोरोना होइन कुर्सीको संक्रमणमा देश

    कोरोना होइन कुर्सीको संक्रमणमा देश

    मलाई राजनीति गर्नु छैन तर राजनीतिका खबरहरुबाट म बेखबर छैन । कोरोनाको यतिविघ्न कहरका बेला पनि देशको राजनीतिमा ‘रस्साकस्सी’ चर्को छ । जति नै वेवास्ता गरौं भनेपनि देश दुखेका खबर र देश दुखाउनेका भाषणबाट अलग हुन नसकिने रहेछ ।

    टेलिभिजनको पर्दामा दलका नेताहरुको संसद भवन,सिंहदरबार , बालुवाटार , शीतलनिवास र सर्वोच्च अदालतसम्मको दौड जत्ति निरस भएपनि हामी हेर्दैछौं । कुर्सी केन्द्रीत राजनीतिको बिजेता जो भएपनि हाम्रो पीडा यथावत नै रहनेछ । सर्वसाधारण जनता यतिबेला कोरोनाको रोगसंगै भोक र शोकबाट पनि गुज्रिरहेका छन् । एक सिलिण्डन अक्सिजन वा एउटा आइसीयुको पर्खाइमा मृत्युवरण गर्न बाध्य छौं । अस्पतालमा बेड नपाएर छटपटिएको बिरामीभन्दा देश अझ बढी छटपटिएको छ । मेरो देश नै यतिबेला संक्रमणमा छ, कोरोनाको होइन कुर्सीको ।

    २०७४ सालको चुनावमा दलका घोषणा पत्र र उम्मेदवारका प्रतिबद्धता पढी नसक्नुका थिए । खासमा ती त आम जनताको भोट तान्नका लागि देखाइएको ‘ललिपप’ पो रहेछन् ।

    कोरोनाको दोस्रो लहरपछि नेपालमा सक्रमणको दरमात्रै बढेन मृतकको संख्यापनि बढ्यो । संक्रमितको उपचारमै असहजता उत्पन्न हुँदासमेत नेपालका राजनीतिक दलहरुको प्राथमिकतामा जनताको जीवन पर्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संसद विघटन र निर्वाचनमा जाने निर्णय लिएका छन् । राजनीतिक रुपमा यस्ता निर्णय कसरी कार्यान्वयन हुन्छन् त्यो अलग विषय हो । तर कोरोनाको खोप पर्खिरहेका जनताको हातमा मतपत्र थमाउनका लागि यो उपयुक्त समय होइन । सत्तापक्ष होस् या प्रतिपक्ष राजनीतिक खिचातानी र प्रहसनका लागि यो समय उपयुक्त छैन । यतिबेला सरकार बनाउन वा गिराउन यता वा उता हस्ताक्षर गर्दै हिडेका माननीयहरु आफ्नो निर्वाचन क्षेत्रका जनताको दुःख निवारणमा देख्न चाहन्छन् जनता । कोरोनाविरुद्ध लड्न लकडाउन गरिएको छ । तर हजारौं श्रमजीवी जनताको गाँस खोसिने स्थिति बनेको छ । सरकारले बनाएको नयाँ धरहराबाट अस्पताल देखिएको छैन । देशभरका डाडाँमा ठडिएका भ्यू टावरबाट जनताको शोकबाहेक के नै देखिएको छ र ? त्यसैले क्रमशः नेपालका राजनीतिक दल र नेताहरुप्रति आम जनताको भरोसा गुम्दैछ । आफ्ना हरेक राजनीतिक भाषण र दस्तावेजमा ‘जनताका लागि’ भन्न नछुटाउने नेताहरुले जनता समस्यामा परेका बेला ‘कुर्सीका लागि’ सबथोक गरे तर ‘जनताका लागि’ केही गरेनन् ।

    एकातिर कोरोनाको कहर, अर्कोतिर कुर्सीको कहर । संविधान निर्माणसंगै राजनीतिक स्थायित्वको अपेक्षा पूरा भएको सबैको बुझाई थियो । घरघर पुगेर दलका नेताहरुले नै अब स्थायित्वसंगै समृद्धि पनि आउनेछ भनेकै थिए । अझ २०७४ सालको चुनावमा दलका घोषणा पत्र र उम्मेदवारका प्रतिबद्धता पढी नसक्नुका थिए । खासमा ती त आम जनताको भोट तान्नका लागि देखाइएको ‘ललिपप’ पो रहेछन् । जनताले वामगठबन्धनलाई झण्डै दुई तिहाई दिएकै थिए । देशको मुहार फेर्छौ भन्ने कम्युनिष्टहरुलाई शासनको बागडोर सुम्पिएकै थिए । आज तीन वर्षमै न कम्युनिष्ट पार्टी सग्लो रह्यो न जनताको विश्वास । सामाजिक सञ्जालमा कोही जनता केपी ओलीको पक्षमा होलान्, कोही शेरबहादुर देउवा वा प्रचण्डको पक्षमा होलान् । तर आम जनता यी सबैको विरुद्धमा छन् । दुःखको बेला देश बिगार्ने कुनैपनि दलका कुनैपनि नेता अहिले हाम्रो भरोसा बन्न सकेनन् ।

    राजनीतिको सुरुवात नै जनताबाट हुनुपर्छ र अन्त्यपनि जनताबाट । जनताको सरोकारलाई वास्ता नगर्ने राजनीतिले मुलुकलाई दुर्घटनातर्फ लैजान्छ । त्यस्तो दुर्घटनाबाट देश जोगाउने नेतृत्व यतिबेला मुलुकले खोजिरहेको छ । विपक्षी दलदेखि प्रधानमन्त्रीसम्म, सभामुखदेखि राष्ट्रपतिसम्म एकले अर्कालाई ‘सिध्याउने राजनीति’ को अन्त्य मुलुकले चाहेको छ । म जुन पुस्तालाई प्रतिनिधित्व गर्छ त्यो पुस्तामा राजनीतिप्रति तीव्र घृणाभाव छ । राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा जनताले नै बलिदानी दिएको इतिहास छ । नेता भन्नेहरुले सत्ता र शक्तिबाट आर्जन मात्रै गरेका छन् । संकटको यो घडीमा अक्सीजन र आइसीयु नपाएर छटपटिएका र राजनीतिप्रति ‘प्रश्न’ गरिरहेका मेरो पुस्ताका साथीहरुको दह्रो खबरदारी अब जरुरी छ ।

  • मेरो स्मृतिमा पशुपति दाइ !

    मेरो स्मृतिमा पशुपति दाइ !

    भनिन्छ- मुत्यु दुई प्रकारका हुन्छन् । पहाड भन्दा गह्रुंगो र प्वाँख भन्दा हलुङ्गो । सिंगो जीवन नेपाली वाम आन्दोलनप्रति समर्पित गर्नुभएका पशुपति चौलागाईं दाइको महाप्रस्थान साँच्चिकै पहाड भन्दा गह्रुंगो सावित भयो । उहाँको अवसानबाट हजारौं हजार मनहरु शोकाकुल बने । फेसबुक, ट्वीटर लगायतका सामाजिक सन्जालहरु सम्मान र श्रद्धाका शब्दहरुले रंगिए । मिडियामा शोक सन्तप्त समाचारहरु छाए ।

    दोलखाली मात्रै हैन, उहाँ नेपाली राजनीतिको पछिल्लो छिमलमा समेत लोकप्रिय हुनुहुन्थ्यो । त्यही भएर उहाँको दुखद अवसानमा अनगिन्ती मनहरु पहाडजत्तिकै गह्रुंगो बने ।

    नेपाली बाम आन्दोलनका एक अथक नायक पशुपति दाइ हामीबीचबाट सदाका लागि विदा हुनु भएको १३ दिन बितिसकेको छ । संस्कार अनुसार १३ औं पूण्यतिथिका कार्य भने हिजो नै सम्पन्न भएको छ । अत्यन्तै दुखित वनाइरहेको यो क्षणमा उहाँप्रति गहिरो श्रद्धान्जलीका शब्दहरु अर्पण गर्दछु ।

    उहाँको निधनबाट म साँच्चिकै निःसब्द छु, भावविह्रवल छु । मनले पत्याउनै मानिरहेको छैन कि, पशुपति दाइ हामीमाझ हुनुहुन्न, उहाँ नफिर्ने अनन्त यात्रामा गइसक्नु भएको छ । अस्पतालका शय्यामा कोरोना जिवाणुसँग लडिरहँदाका अन्तिम क्षणहरुमा उहाँले फेर्नुभएका सकसका श्वास मैले फोनवार्ताबाट अनूभुत गरेको थिएँ । सकसपूर्ण त्यो अवस्थाबाट पशुपति दाइलाई सहज बनाउन सकिन्छ भन्ने लागेर मैले अर्को राम्रो कोरोना केयर अस्पतालमा सर्न आग्रह गर्दा उहाँले भन्नुभएको थियो– ‘यहाँ नै ठीक हुँदै गएको छ । छिट्टै हाम्रो भेट हुनेछ ।’ ती आशा जगाउने उहाँका अन्तिम शब्दहरु फोन सम्पर्कबाट सुन्दासुन्दै अन्ततः उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा चढाएर अन्तिम सलाम अर्पण गर्ने दुःखद क्षण आइलाग्यो । पशुपति आर्यघाटमा उहाँको अन्तिम दाहसंस्कार भइरहँदा सिंगो परिवेश रोइरहेको मलाई महशुस भयो ।

    सलाम छ, पशुपति दाइ ! तपाईँले नेपाल र नेपालीका मुक्तीका हरेक आन्दोलनहरु जित्नुभयो । विद्यार्थी, युवा, मजदूर, किसानलगायत पार्टीका हर मोर्चाहरु इमानपूर्वक सम्हाल्नु भयो र जित्दै अगाडी वढ्दै जानुभयो । म र म जस्ता थुप्रै नेता कार्यकर्ताहरुलाई नेपाल कम्युनिष्ट आन्दोलनका झण्डामुनी गोलवन्द गर्नुभयो । नेतृत्व गर्नुभयो र नेतृत्व गर्ने सक्षम जनशक्ति निर्माण गर्दै परिवर्तनका हरेक लडाइँहरुमा विजय प्राप्त गर्दै जानुभयो । तर, निर्दयी कोरोना जिवाणुले भने तपाईलाई झुक्याएर हरायो । उहाँलाई बचाउन नसकिएकामा केहीदिन मेरो मथिङ्गलभित्र प्रश्नहरु घुमिरह्यो । सहज हुँदाहुँदै झुक्याएर मृत्युवरणको अवस्थामा पुग्नुभएको केहीदिनसम्म उहाँको नामको अगाडी स्वर्गीय भन्न र लेख्नै सकिनँ । अझै आँट आइरहेको छैन ।

    उहाँले उपचार गराइरहेको मनमोहन अस्पतालबाट सैनिक अस्पतालमा सार्न सुस्वास्थ हस्पिटलका सुदर्शन वस्नेतजी लगायतको सल्लाह वमोजिम प्रधान सेनापतिलाई सम्पर्क गरेँ । उहाँले केही समयपछि सैनिक अस्पतालबाट वेड खाली भएको जानकारी आएपछि सुदर्शन र छोरा सुमनलाई बताएँ । तर, दाइले ठीकै उपचार भैरहेको र थप केही आवश्यकता परे छोरा सुमन र छोरीको नम्वर दिनुहुँदै सम्पर्कमा रहन वताउनुभयो ।

    त्यसपछि मैले हरेकदिन विहान र वेलुकी सुमनसँग पशुपति दाइको स्वास्थ्य अवस्थाबारे अपडेट भैरहेँ । अस्पतालका डा. राजनसँग पनि नियमित सम्पर्क गरेर जानकारी लिइरहन्थे । अचानक, वैशाख २७ गते पशुपति दाइ आफैंले सम्पर्क गरेर ‘पार्वत मलाई अप्ठरो हुँदै गयो, मलाई हस्पिटल चेन्ज गरिदिनु’ भन्नु भयो । तत्काल पुनः प्रधानसेनापतिसँग आग्रह गरेँ । सैनिक अस्पतालबाट डा. भगवती प्रधानले फोन गरेर ‘माननीय पशुपति चौलागाईँलाई लिएर आउनु होला’ भन्नुभयो । तर दोस्रो पटक पनि मनमोहन अस्पतालबाट अर्को अस्पताल सर्ने कुरा हुन सकेन । मनमोहन अस्पतालले ‘कोरानाको औषधि उही हो, उपचार एउटै हो,’ भन्ने सल्लाह भएपछि हामी त्यही भरमा पर्‍यौं । अस्पतालको माग वमोजिम स्वास्थ्य मन्त्रीसँग आग्रह गरी कोरोनाको सिकिस्त विरामीलाई प्रयोग गरिँदै आएको रेम्डेसिविर पनि उपलब्ध गराएका थियौं । उक्त सन्दर्भमा उहाँको भाइ हेमन्तसँग पनि सम्पर्क भईरहेको थियो ।

    वैशाख २७ गतेको दिन । म अत्यन्तै व्यस्त थिएँ । प्रतिनिधिसभामा सम्माननीय प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने दिन थियो । त्यो दिन पनि अर्को अस्पताल सर्ने नसर्ने निर्णय हुन नसकेपछि सुमनलाई डा. प्रधानसँग समन्वय गर्नका लागि नम्बर दिएँ । प्रतिनिधिसभामा मतदान सकेपछि दाइको स्वास्थ्यस्थितिबारे सुमनसँग जानकारी लिइरहेको थिए । वैशाख २८ गते विहानै सम्पर्क गर्दा पनि दाइको स्वास्थ्य राम्रो थियो । वेलुकी ५ बजेसम्म अवस्था ठीक रहेको जानकारी सुमनले गराउनुभयो ।

    ७ वजेसम्म ठीक भएको खवर आइरहेकै थियो । तर अचानक ८ वजेतिर सुमनले रुदै बुबाको अवस्था गम्भीर भएको भन्दै फोन गर्नुभयो ।

    त्यसलगत्तै वागमती प्रदेशसभा सदस्य रचना खड्कालाई जानकारी गराउँदै म अस्पताल पुुगें । म पुगेको आधाघण्टापछि चिकित्सकले आफन्तको रोहवरमा मृत घोषणा गरे । त्यो दुखद क्षण मनभित्र भयानक ठूलो पहाडले थिचेजस्तै भयो, आँशु थाम्नै सकिएन । भयङ्कर शोकको अनुभूति भयो । त्यहाँ उपस्थिति सवै रुन कराउन थाले ।

    दोलखाको माटोमा जीवनको पहिलो पाइला टेकेर, हुर्केर राजनीति चेत भरिनेवित्तिकै कम्युनिष्ट अन्दोलनमा समाहित भएर पशुपति दाइ त्यहीँ आन्दोलनको नेताकै हैसियतमा अस्ताउनु भयो । कोरोनाको निर्दयी जिवाणुले उहाँको प्राण हरण गरे पनि उहाँले दोलखा र सिंगो मुलुकप्रति गरेको योगदान सदा जीवित रहिरहने छ । उहाँले वनाउनु भएको आस्थाको धरोहर, निर्माण गर्नु भएको राजनीतिक छवि र देखाउनु भएको नैतिक चरित्रको असल राजनीतिक संस्कार भने कहिल्यै मर्ने छैन र एकजना उहाँको अनुयायीको नाताले मर्न दिइने पनि छैन । उहाँले देखाउनु भएको बाटो बिराउने पनि छैन ।

    दोलखाको परिवेशमा वसेर नियाल्दा पशुपति दाइले धेरै जिम्मेवारी यो पुस्तालाई छाडेर जानु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना पश्चात दोलखामा कम्युनिष्टको विऊ रोप्ने वेलादेखि नै उहाँको योगदान छ । २०३६/३७ सालमा उहाँ तत्कालीन पञ्चायविरुद्धको आन्दोलनमा समाहित हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा वरपर पञ्चायतको समर्थकहरुले घेरेको दोलखाको नाम्दूस्थित स्कुलको सभापतिको जिम्मेवारीमा वसेर उहाँले निरङ्कुश पञ्चायती शासन पतन गराउन जेहाद छेड्ने हिम्मत देखाउनु भयो । सानैमा अनेरास्ववियु एकताको पाँचौको जिल्ला कमिटिमा रहेर नेतृत्व गर्दै २०३८ मंसिर ८ गते कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो ।

    वाम आन्दोलनमा अविचलित योद्धा पशुपति दाइलाई राजनीतिमा एक इमानन्दार नेताको रुपमा दोलखाली जनताले चिन्दछन् । असल चरित्र उहाँको पहिचान हो । कसैप्रति इश्र्याभाव नराख्ने, सवैलाई समान ढंगले व्यवहार गर्ने उहाँको स्वभाव थियो । गुटगत स्वार्थभन्दा माथि उठेर सोच्ने उहाँकै संगतबाट मैले राजनीतिक इमान सिकेको छु । आफुले त्याग गरेर भए पनि कतिपय अवसरहरु क्षमता र सम्भावनाको अध्ययन गरी अरुलाई नेतृत्व हस्तान्तरण गर्ने आचरण नै उहाँको कुशल नेतृत्वको खास विशेषता हो भन्ने मेरो ठम्याइ छ ।

    पशुपति दाइसँगको मेरो संगत पञ्चायत कालदेखि नै हो । २०३७ साल चैत १४ गते पञ्चायतविरोधी आन्दोलनको क्रममा उहाँसित भेट भएको थियो, त्यस दिनबाट संगत घनिष्ट हुँदै गयो । त्यो वेला म कक्षा ६ मा पढ्दै थिएँ । अनेरास्ववियुको जिल्ला कमिटि पहिलो अध्यक्ष भएको रोहितचन्द्र खत्रीको कमिटीमा म पनि सदस्य थिएँ । पशुपति दाइ उपाध्यक्ष हुनुहुन्थ्यो । त्यहीक्रममा उहाँ शिक्षक जागिरमा प्रवेश गर्नुभयो ।

    संयोगवस मेरो जन्मथलो दोलखाको सुरीस्थिति मेरै घरमा वसेर शिक्षण कार्यमा संलग्न हुनुभयो । त्यो वेला एउटै घरमा साथसाथै बसेर धेरैकुरा सिक्ने मौका मिल्यो । त्यो वाल्यकाल सँधैका लागि सम्झिरहने घटना वन्यो । त्यही सेरोफेरो मेरो पनि सक्रिय राजनीतिको प्रवेशविन्दू थियो, उहाँसँग प्रभावित हुँदै गएँ । म उहाँका धेरै पक्षहरुसँग प्रभावित थिएँ, उहाँले पनि मेरा धेरै पक्षहरुको प्रसंशा गर्नुहुन्थ्यो, हमेशा मलाई उत्पेरित गरिरहनु हुन्थ्यो । मेरो राजनीतिक जीवनका घुम्तीहरुमा सही दिशा र सही गति दिन उहाँले मिलाइदिनुभएको सन्तुलन मैले भुलेको छैन । र, कहिल्यै भुल्ने छैन । राजनीतिक जीवनको यो मोडसम्मको हर सफलतामा उहाँको प्रत्यक्ष अप्रत्यक्ष हात छ ।

    मैले पार्टीभित्रबाट प्राप्त गर्ने हर अवसरहरुमा उहाँको स्वीकृति र समर्थन हुन्थ्यो । एमाले दोलखाको पार्टी अध्यक्ष हुँदा होस या संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्यको टिकटको सन्दर्भमा मैले उहाँकै स्वीकृति र सहयोगमा प्राप्त गरेँ । कतिपय सवालमा उहाँले नै मलाई जिम्मेवारी लिन प्रस्ताव गर्नुहुन्थ्यो भने कतिपय छलफलबाट जिम्मेवारी पाउँथें । म मन्त्री हुँदा पनि उहाँ निकै खुसी हुनुभयो, मलाई उक्त जिम्मेवारीमा वहन गर्न निकै सुझावहरु दिनुभयो । उहाँले विभिन्न प्रसंगमा अरुसँग मेरो सन्दर्भको कुरा निकाल्दा प्रशंसा र हौसला वढाउने वर्णन गर्ने गर्नुभएको बारे मैले धेरैबाट सुनेको छुँ । उहाँको मप्रतिको हेर्ने दृष्टिकोणबाट मलाई धेरै प्रेरणा र खुसी मिलेको अनुभूति छ ।

    दोलखाका पहिलो पुस्ताका वाम आन्दोलनका नायकहरुको सूचीमा पर्ने उहाँको जीवन कठीन, दुःखदायी र संर्घषका कथाहरुले भरिएका छन् ।

    निम्न मध्यमवर्गीय परिवारमा जन्मिनु भएका उहाँले पार्टीको पूर्णकालीन सदस्य भै सक्रिय हुँदा आइपर्ने हरेक कठीन वाटोहरु सजिलैसँग पार गर्नुहुन्थ्यो । तत्कालीन पञ्चायती सिडिओको कुटाइको असरले उहाँलाई निकै समयसम्म विरामी पारेको कुरा उहाँले वताइरहनु हुन्थ्यो । पञ्चायती शासकले उहाँप्रति सधै निगरानी राख्थ्यो र पटकपटक गिरफ्तारी गथ्र्यो, यातना दिइरहन्थ्यो । जस्तोसुकै कठीन परिस्थितिमा इमान र आन्दोलनबाट उहाँ कहिल्यै बिचलित हुनुु भएन ।

    २०४६ सालमा शिक्षकको जागिर छाडेर उहाँलाई पार्टीले पूर्णकालीन सदस्य बनायो । उहाँ नेकपा माले दोलखाको सचिव बन्नुभएपछि पार्टीले नयाँ गतिमा उचाई लिएको स्मरण ताजै छ । २०५४ साल युवा संघको केन्द्रीय अध्यक्षसमेतको जिम्मेवारी पाएपछि उहाँको राजनीतिक यात्राले केन्द्रीयस्तरमा प्रवेश ग¥यो । २०५६ सालमा दोलखा क्षेत्र नम्बर १ को सांसद र २०७० मा समानुपातिक सांसद बन्नुभयो । पार्टीको पोलिटव्युरो सदस्य वन्नुभयो । हाल बागमती प्रदेश सभा सदस्य भएकै वेला पार्टीभित्रको किचलोले उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । नेकपाभित्र राजनीतिक गुटउपगुटको खेल हुन थालेपछि पनि उहाँ र म विविध कोणबाट छलफलमा सहभागी भयौ । निकै चिन्तन मनन गर्‍यौं– खासगरी दोलखा र समग्र देशको राजनीतिका बारेमा । एकदिन म, पशुपति दाइ र दोलखाका नेताहरुसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कक्षमा बस्यौ । २०७७ पुस ५ गते संसद विगठनपछि विकसित पार्टीभित्रका खेमाका बारे छलफल गर्‍यौं । हामीले उहाँलाई दोलखाको राजनीतिक परिस्थिति हेरेर एकै ठाउँमा वस्न अनुनय गर्‍यौं ।

    त्यसवेला उहाँले खासगरी मेरा सन्दर्भमा भन्नुभएको थियो, ‘करिब ४० बर्ष सक्रिय राजनीति जीवनमा पार्वतको राजनीतिक इमान्दारिता, आर्थिक इमान्दारिता र नैतिक चारित्रिक इमान्दारिताबाट म प्रभावित छु । वैचारिक सवालमा लामो यात्रा गरेका हामी अव एक ठाउँमा उभिन सकेनौ र फरक भएरै जानुपर्ने भयो ।’ उहाँले त्यसो भनिरहँदा हामी सबै भावुक थियौ । दुखित हुँदै राजनीतिमा फरक वाटाहरु पक्रन पर्ने अवस्थामा आइपुगेकाप्रति भावविह्ल भएको त्यो क्षण स्मरणमा सदा रहिरहने छ । त्यसपछिका दिनहरुमा पनि हामी वारम्बार अन्तरसम्वादमै हुन्थ्यौ । कोरोना महामारीका कारण भौतिक रुपमा भेट नहुँदा पनि फोनवार्ता चलिनै रहे । महामारीको चपेटामा विश्व नै आक्रान्त भएका वेला पशुपति दाइ पनि त्यसैको चपेटामा पर्नुभयो । एउटा जित्न सकिने कोरोनाविरुद्धको लडाइँमा उहाँ हार्नुभयो ।

    भौतिक रुपमा उहाँको अवसान भए पनि नेपाली वाम आन्दोलनप्रतिको उहाँको योगदानको अवसान कहिल्यै हुनेछैन । एउटा इमान्दार राजनीतिकर्मीको रुपमा, समाजसेवीको रुपमा, अँध्यारोबाट उज्यालोतिरको परिवर्तनकारी यात्राको योद्धाको रुपमा, सामाज परिवर्तनको नेतृत्वकर्ताको रुपमा उहाँप्रतिको सच्चा श्रद्धा मनभित्र सदैव जीवित रहिरहने छ । हिँडदाहिँड्दैका उहाँका अधुरा पाइलाहरुलाई, देख्दादेख्दैका उहाँका अपुरा सपनाहरुलाई निरन्तर–निरन्तर पछ्याउँदै अघि बढ्नुपर्छ भन्ने मैले ठानेको छु । उहाँका योगदानहरुको सदा संरक्षण गर्नपर्नेु दायित्व पनि पार्टी र हाम्रो हो । र त्यसप्रति म सदैव समर्पित रहनेछु । यसका लागि उहाँका नाममा परिवारका साथ–सहयोगबाट प्रतिष्ठान स्थापना गर्नुपर्छ भन्ने मेरो सोच रहेको छ । त्यो प्रतिष्ठान परोपकारी संस्थाको रुपमा सञ्चालित हुने छ र त्यसमा पार्टी र मेरो हरसंभव सहयोग रहनेछ ।

    प्रिय पशुपति दाइ, माफ गर्नुहोला– तपाईँलाई बचाउन त सकेनाैं । तर, तपाईले निर्माण गर्नुभएको बाटोलाई गन्तव्यसम्म पुर्याउन अहोरात्र हिँडिरहनेछु । तपाईले रोप्नु भएको राजनीति र समाज परिर्वतनको विरुवालाई मलजल गर्दै फक्राउन, फुलाउन निरन्तर लागिरहनेछु । तपाईप्रति भावपूर्ण श्रद्धासुमन !

    (गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री हुन् ।)

     

  • माफ गर्नुहोस् तपाईंको सुन्दरताले मलाई ‘इम्पावर’ गर्दैन

    माफ गर्नुहोस् तपाईंको सुन्दरताले मलाई ‘इम्पावर’ गर्दैन

    सामाजिक सञ्जाल चलाउँदै थिएँ । एकदिन फ्याट्ट आँखा एउटा पोस्टमा गयो । त्यो पोस्टमा यस वर्षकी मिस नेपाल युनिवर्स अन्शिका शर्माले पर्वत आरोहीले लगाउने सेतो युनिफर्म पहिरिएकी थिइन् । प्राय: मिस नेपालले लगाउने लुगा भन्दा बेग्लै लुगा देखेपछि मेरो ध्यान झट्ट आकर्षित भयो ।

    सेतो ज्याकेट, सेतो सुरुवाल, खैरो मास्क, खैरो पन्जा र मोटो बुटले उनलाई निकै सुहाएको थियो । त्यो पहिरन उनले नेपालको प्रतिनिधित्व गरेर फ्लोरिडामा भएको मिस युनिवर्सको एक राउण्डमा पहिरिएकी थिइन् ।

    त्यो तस्बिरले उनलाई सामाजिक सञ्जालभरि ‘वाहवाही’ दिलायो । अरु बेला निकै सजिलोसँग क्याट वाक गर्ने युवती विस्तारै , केही भारी भए जसरी हिँड्दै थिइन् । कि त उनले त्यही प्रस्तुति दिएको थिइन् , कि त मैले भिडियो हेरेर हल्का उनलाई अप्ठ्यारो भएको जस्तो महसुस गरेको हुनुपर्छ ।

    अन्शिका आफ्नो प्रस्तुतिप्रति गौरान्वित देखिन्थिन् । पछाडिबाट अंग्रेजीमा उनले लगाएको पहिरनले नेपालको हिमाल र नेपाली शेर्पालाई सम्मान दिने कोसिस गरेको भन्ने तर्क आयो ।

    उनको यो प्रयासबाट शेर्पाहरू खुसी भएकी भएनन्, थाहा भएन । तर सामाजिक सञ्जाल प्रयोगकर्ता भने मैले दुई भागमा विभाजित देखें । कोही उनको यो प्रयास , टिम र नेपालको गौरव बढाएकोमा बधाई दिँदै थिए भने कोही उनले शेर्पाको संस्कृति इतिहास नबुझी झण्डा फहराएर त्यसको अपमान गरेको भन्दै थिए ।

    म सानैदेखि सौन्दर्य प्रतियोगिता हेरेर हुर्केकी । अझै याद छ, मैले पहिलोचोटि नेपाल टेलिभिजनमा मिस नेपाल हेर्दा मिस नेपाल प्रिति सिटौला भएकी थिइन् । यो सन् २००३ तिरको कुरा हो। त्यसपछि मैले निरन्तर केही वर्ष मिस नेपाल हेरिरहेँ । ती राम्री सुन्दरी जोस जाँगरका साथ नमस्ते जसरी भन्थिन् , म आफू ऐनाअगाडि एक्लै हुँदा त्यसैगरी ठूलो स्वरमा लय मिलाउँदै ‘नमस्ते एभ्रिवान’ भन्नेर नक्कल गर्थें ।

    त्यतिबेला कहाँ सोचेकी थिएँ र, बालापनमा मिस नेपाल जस्तै हात हल्लाएर नक्कल गर्ने चञ्चले केटी अहिले मिस नेपालले कसरी महिलाको मनोबल घटाउँछ भन्ने कुरामा जोड दिन्छे भनेर ।

    पछिल्ला समयका बुझाइसँगै मेरो धारणा मिस नेपालप्रति परिवर्तन हुँदै गयो । नहोस् पनि कसरी ? महिलाले चाहेमा मात्र मिस नेपाल कहाँ बन्न पाइँदो रहेछ र ! जस्तोकी म । मेरो लम्बाई ५ फिट १ इन्च छ । सुन्दरताको पहिलो मापदण्डमा नै म असफल भै’हालेँ नि ।

    सौन्दर्य प्रतियोगिता, समावेशीकरण र महिला सशक्तीकरण

    जब जब सौन्दर्य प्रतियोगिताको कुरा आउँछ , एउटा शब्द प्रतियोगीदेखि लिएर उद्घोषक र निर्णायक मण्डल सबैले दोहोर्‍याउँछन्- महिला सशक्तीकरण अर्थात ‘वुमेन इम्पावरमेन्ट । मलाई लाग्छ, यस्ता किसिमका प्रतिस्पर्धामा शब्दकै पो अपमान हुन्छ । यो शब्द प्रयोगमा मेरो आपत्ति छ ।

    भलै तीता लागुन्, यी प्रतियोगिताले महिलालाई इम्पावर गराउँछन् भन्ने व्यक्तिहरूलाई मेरा प्रश्न छन् : तपाईंको पेजेन्टले सशक्त गर्ने महिला के समावेशी नेपालको प्रतिनिधित्व गर्छन् ? उनीहरू नेपालका कुन भूगोलबाट आउँछन् ? कुन आर्थिक वर्गका हुन् ? के यिनलाई ‘इम्पावर ’ हुन ब्युटी पेजेन्ट चाहिन्छ ?

    सुन्दा खरो लाग्ला तर अष्ट्रेलिया लण्डन अमेरिकाबाट पढेर अनि काम गरेर आउनुभएको नेपाली महिलालाई विश्व सामु प्रतिस्पर्धा कसरी गराउने र त्यो मिस युनिवर्सको ताज कसरी देश भित्र्याउने भनेर सोच्नु, ट्रेनिङ दिनु पर्सनल वा इन्डिभिजुअल इम्पावरमेन्ट हुन सक्ला तर त्यसलाई ‘वुमेन इम्पावरमेन्ट’ भन्न मिल्दैन ।

    जहाँ ग्ल्यामर प्राथमिक छ त्यहाँ इम्पावरमेन्ट भन्ने शब्द प्रयोग गर्नु कत्तिको उचित हो ?

    तपाईं सायद धेरै वर्गलाई यो शब्द प्रयोग गरेर गिज्ज्याउँदै हुनुन्छ । किनकि हामीलाई प्रष्ट थाहा छ, कर्णालीको युवती तपाईंको सुन्दरताको मापदण्डमा परे पनि आर्थिक कारणले प्रतिस्पर्धामा भाग लिन सक्दिनन् ।

    हामीलाई थाहा छ प्रवल बौद्धिक क्षमता भएकी व्यक्तिलाई पनि हामी मिस नेपाल बन्ने सपना देख्ने हैसियत राख भन्न सक्दैनौं ।

    आखिर यो सशक्तीकरण के का लागि र मुख्य: कसका लागि ? जसमा समावेशी नेपाल नै छैन । जसमा हरेक वर्गलाई अटाउने स्पेस नै छैन ? जसमा मानिस को लबाइ र हिँडाइलाई सुरुवाती क्रममा जज गरिन्छ । तर बौद्धिक क्षमता प्राथमिक हुँदैन ।

    मेरो विचारमा प्रतिस्पर्धा यहाँ एम्बेसेडर अफ ’ब्यूटी स्ट्याण्डर्ड ’ बन्न गरिदैछ । जहाँ चिटिक्क परेर मीठा कुरा गर्न सिकाइन्छ देश समाज र समाजमा चेतना फ़ैलाउछु भन्ने मन्तव्यका साथ ताज को गन्तव्य मा पुग्ने सपना देखाइन्।

    तपाईंको व्यक्तित्व एक प्रोडक्ट र तपाईं आफ्नो व्यक्तित्वलाईं एउटा रङमा ढालेर बेचिराख्नुभएको छ ।

    सिमोन डि विभर ले ‘द सेकेन्ड सेक्स ‘मा एउटा व्याख्या गरेकी छन, ‘आइडल फेमिनिटी’ अर्थात् आदर्श स्त्रीत्वले कसरी एक महिलालाई उसको विचार , स्वतन्त्रता र बौद्धिक क्षमता एक्सरसाइज गर्न बाट उसलाई बन्जेद गर्छ । तपाईं एक प्रकारले बोल्नुस् एक प्रकारले हिँड्नुहोस अनि प्रश्नको उत्तरचाहिँ यसरी दिने हो है भनेर अह्राउनु रेस्ट्रिक्सन हैन र ?

    समावेशी र सशक्तीकरण प्रयोग तब मात्र गर्नुस् जब तपाईं ग्ल्यामरलाई हैन अन्य कुरालाई प्राथमिकतामा राख्नुहुन्छ । बिन्ती छ, तपाईंको रंगिन दुनियामा यो गम्भीर कुरालाई ट्यागलाइन नबनाउनुहोस् ।

    पहिचान गौरव र प्रतिनिधित्व

    जब जब कुनै पनि प्रतियोगिता विश्वसामू हुन्छ तब नेपालीहरू आफ्नो आशा , जोश, जाँगर , प्रेम नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिमा राख्नुहुन्छ । कतिपय सन्दर्भमा मानिसले यो कुरा देश ,समाज र पहिचानसँग जोड्छन् । यस्ता भावनासँग जब जब यस्तो कार्यक्रम जोडिन्छ मानिसले यसलाई पूर्वाग्रह बिना हेर्न सक्दैनन् ।

    जब हामी आफ्नो संस्कृति, देश र भाषासँग नजिक भएको व्यक्तिलाई त्यो ट्रफी, ताज या कुनै पनि टोकनको नजिक देख्छौं हामीमा ठूलो आश पलाउँछ र सोचेजस्तो फल नपाउँदा त्यो आश निराशामा परिणत हुन्छ ।

    हामी भोट गर्न लागिपरेका समय, चाहे प्रशान्त तामाङलाई इन्डियन आइडल बनाउन होस् या तेरिया मगरलाइ भारतकाे को नृत्य प्रतियोगितामा जिताउन हामी लागिरहन्छौं । आफ्नो पहिचान उनीहरूमाझ खोज्छौं वा हामीमा पनि योग्यता छ है भनेर उनीहरूमार्फत् प्रमाणीकरण गर्ने प्रयास गर्छौ । प्रमाणीकरण यस्ता प्लेटफर्ममामा जवसम्म खोज्छौं तबसम्म समाजमा हामीलाई अघि बढाउने अरु पाटो नकारिरहनछौं ।

    यसपालि पनि प्लिज भोट फर अन्शिका भन्ने होड चल्यो । यसलाई गलत वा सही भनेर म भन्दिनँ । तर यो ब्युटी ट्रेडमा आबद्ध हुन पनि चाहन्न ।

    ७ वर्षकी छँदा मैले केही गर्न मिस नेपाल हुनुपर्छ भन्ने बुझेँ होला । तर अहिले यसलाई ग्ल्यामरको खेलको रूपमा हेर्छु । मोडलिङ भन्दा केही फरक पनि त छैन यो प्रतियोगिता । म त्यहाँ आफूजस्ता वा मेरा वरिपरी भएका जस्ता कोही देख्दै देख्दिनँ ।

    मैले अहिले बुझिसकेँ ‘नमस्ते एभ्रिवान’ भन्न त्यो चम्किला राम्रा लुगा अब चाहिँदैनन् । आत्मविश्वासले भरिएकी महिला व्यक्तित्व मिडियामा देख्न सायद अब नेपाल टेलिभिजनको त्यो मिस नेपालको प्रत्यक्ष प्रसारण हेर्नु जरूरी छैन ।

    ब्यूटी प्रोडक्ट, स्पोन्सर र मार्केट

    जब सुष्मिता सेन र ऐश्वर्य रायले मिस युनिभर्स र मिस वर्ल्डको ताज उनीहरूको देश भित्र्याए, इन्डिया कस्मेटिक प्रोडक्टको लागि अझ ठूलो मार्केट बन्न पुग्यो । प्राय: देशमा हुने पेजेन्टदेखि विदेशमा हुने फाइनल प्रतियोगितामा स्पोन्सरहरूको निहित स्वार्थ जोडिएको हुन्छ ।

    नेपाल जस्तो सानो देशले कतिको कस्मेटिक मार्केट दिन सक्ला त ? सायद हाम्रो मा यो विषयमा खासै विश्लेषण भएको छैन । प्राय: हामी यस्ता छलफल गर्दा खासै आर्थिक पाटोहरू नियालिरहेका पनि छैनौं ।

    सायद नेपालले ती लगानीकर्ताको स्वार्थ पूरा गर्न सक्छ सक्दैन भनेर हामी खुलेर कैले भन्न सक्दैनौं।

    सोच्छु, अन्शिकाले कति प्रयास गरिन् होला यस्तो प्रश्न आउँछन् भनेर वा त्यस्ता उत्तर दिन्छु भनेर । तर उनी त्यहाँसम्म पुग्ने अवसर नै पाइनन् ।

    हो मैले भन्न खोजेको यही हो
    यो तास जुवा जस्तो खेल हो

    यो व्यापार हो, सुन्दरताको ! आत्मविश्वास , मनोबल, सक्षमता , गौरव ,सशक्तीकरण र पहिचान जस्ता शब्द नजोडिदिनुस्, बिन्ती ! जोडेको सुहाउन्न रत्तिभर ।  अनि माफ गर्नुहोस् तपाइको सुन्दरताले मलाई ‘इम्पावर’ गर्दैन ।

    उही तपाईंको झिलिकमिलिक रंगिन दुनियाँको मापदण्ड भित्र पर्न नसकेकी एक स्त्री !

    आर्ट : शिवानी मगर

  • कविता- अब त आउन

    कविता- अब त आउन

    प्रिय एनि !
    मनसुन शुरु हुँदै छ
    भूँईं कुहिरो आउँदै छ
    चिमाल फुलेर रात्तै भएथ्यो – लिपेमा
    तिमी आइनौं।
    अब
    हरियो हुँदैछ ।
    चेपेबाट उकालिएको सिरेटो
    जोर्ने भञ्ज्याङ कटेर पारी – फोर्जुङ्तिर पो डुल्दैछ ।
    कोइली उसै गरी गाउँदै छ – चक्चेतिर
    सोरठीको जोर मादल बजेकै छ – तस्यो नाँसातिर*
    लैवरीपनि पनि सुनिन्छ – टोँ नाँसातिर
    खै त
    तिमी छैनौं ?
    एनी
    फूलको डालीडाली नाची उड्ने जुरेलीपनि आउन छोडी
    विहानै उठाउन आउने चिवेपनि छैन– गाउँमा
    जसरी छैनौं
    तिमी – गाउँमा , भञ्ज्याङमा र चौतारीमा
    एनी !
    सम्झिरहन्छु – म
    सिमसिम पानी
    इलिमपोखरीबजार
    बैशाखे पूर्णिमा
    तिम्रो गोठ खोज्दै
    चेर्ने* तिर उकालिएको – म
    चौतारी मै भेटिएकी – तिमी
    टिपेर कुसुम तिमीलाईं दिंदा
    केशमा सजाउँदा – अलिकति लजाएकी तिमी
    एनी !
    तिम्रा लामा केशराशी
    मन्द मुस्कान
    गाजलु नयन
    सिमसिमपानी
    सेताम्मे भूँईकुहिरोबीच
    सम्झिहरेछु – तिमीलाई
    क्या रमाइला थिए– ती दिन !
    फुलगैं पुगेर
    *मथेकहाँ मही र मकै खाँदै
    पिरतीका कथा बुन्दै इलिमपोखरी डुलेको
    देउराली साक्षी राखी
    इलिमदेवी भाकेको
    जौ र फापर पिसेर रु
    बाटोमा फर्कंदा भेटिएका – मृगका बथान
    चराको चिरबिर
    ऐंसेलु र गुयेंलीको स्वाद
    माटोको वासना
    तिमीसँगको पहिलो – प्रेम
    प्रिय एनी १
    थाह छ – तिमीलाई
    हरेक बर्ष – म
    मनसुनको सिमसिमपानीमा – रुझ्दै
    मनमुग्ध पार्ने भूँईंकुहिरोमा – लुक्दै
    तिम्रोबाटो हेरिरहन्छु ।
    सत्ये सत्ये एनी
    म तिमीलाई नै कुरिरहछु ।
    अब त… आउ… न
    मनसुन शुरु हुँदैछ ।

    * शब्दार्थ गुरुङ भाषा
    गाउँ, घुम्ती, ठूली आमा

    पोखरा, जेठ ५, २०७८

  • लालटिन काकाको सपना र हाम्रो बौद्धिक जमातको कुण्ठा

    लालटिन काकाको सपना र हाम्रो बौद्धिक जमातको कुण्ठा

    अहिले संजालमा छिर्दा यस्तो लाग्छ कि मान्छेहरू कतिबेला के आउछ र त्यसको प्रतिक्रिया दिउँ भनेर कुरेर बसिरहेका छन् झै लाग्छ । अनि एउटा केही कुरा पस्कियो कि गिद्दले सिनो लुछे जसरी उनीहरू हो र होइन भनेर त्यसलाई तत्कालै ठुँगेर झुत्रो बनाउन तयार भएर बसेका छन् झै लाग्छ ।

    सरकारले विकासको काम ल्यायो झम्टेकै छ । कोभिडको सुइ ल्यायो झम्टेकै छ । अर्को केही भयो झम्टेकै छ । यो देखेर यस्तो लाग्छ कि सरकार चुप बस्नुपर्ने थियो, सायद ।

    स्वाभाविकै होला अहिलेको सञ्चारको प्रविधियुक्त अवस्थामा आइपुग्न मान्छेलाई लामो समय लागेको थियो । विकासको पनि चरण हुन्छ होला । विस्तारै चढ्दै जाने होला । तर, यहाँ त जान्ने बुझ्नेहरू नै १० वर्षमा पनि नसकिने काम देखाएर किन गरिनस् भनेर झम्टेको देख्छु ।

    हामीमा सुझ-बुझ किन घटेको होला ? केही दिन अघि काठमाडौंमा मेलम्ची आउँदा भएको विरोधले त म जस्ता धेरैलाई चकितै बनायो । कति धेरैको खुसीको खबरले धेरैलाई किन निन्द्रा नै नलाग्ने बनायो ? यो दृष्यले मलाई एउटा ‘लालटिनको कथा’ याद आयो ।

    ०००

    एकपटक श्याम नाम गरेका एक जना कामको सिलशिलामा देश बाहिर थिए । उनले उतैबाट आउदा लालटिन किनेर ल्याए । त्यो बेला लालटिन किनेर ल्याउनलाई बजारमा पाइने चिज थिएन । त्यसैले गाउँमा कसैकोमा लालटिन थिएन । त्यसैले गाउँमा उनी त लालटि नै नामबाट बोलाइन थालिए । उनलाई कसैले लालटिन काका, लालटिन मामा जस्ता नाम बाट बोलाउँथे । गाउँमा उनको लालटिनको चर्चा चुलिउको थियो ।

    बत्ति त हावाले पनि निभ्थ्यो, बाहिर राख्न सकिँदैनथ्यो, अनि उति चहकिलो पनि बल्दैनथ्यो । लालटिन कहिले बाहिर, कहिले पालीमा, कहिले भान्साकोठामा त कहिले सिकुवामा लगेर बाल्थ्यो । लालटिनले उनको घर धपक्कै बलेको देख्थे गाउलेहरू । साँझ परेपछि गाउँका सबैका आँखा तिनै लालटिन बाको घर तिर हुन्थ्यो ।

    गाउँमा भएका पञ्च भलद्मी भन्दा यी लालटिन बाल्ने मान्छेको चर्चा धेरै हुन थाल्यो । यो देखेर सबैलाई डाहा लागेको थियो । गाउँका पञ्च भलाद्मी पनि यति कुण्ठित भए, तैले कसरी कहाँबाट ल्याइस भनेर सोध्ने र ल्याउने पहल गर्न पनि सकेका थिएनन् । बस्, लालटिन बलेको देखेर मुर्मुरिने मात्र थिए ।

    यसैबीच एक दिन पञ्च भलाद्मी सहित गाउँका सबै एकठाउँ भेला भए । गाउँका सबै मान्छे एकै ठाउँ जोडिदा पनि श्यामबहादुर या लालटिन काका भने बोलाइएका थिएनन् । यसले उनीहरू श्यामबहादुरको लालटिनले कति जलेका थिए भनेर प्रष्ट देख्न सकिन्थ्यो ।

    बिस्तारै त उनीहरू पनि लालटिन ल्याउन सक्थे तर त्यो धैर्यता कति पनि थिएन, उनीहरूमा । बस, उनीहरू उसको घरको लालटिनमै जलेर खाक भएका थिए । साँझमा भएको त्यो भेलामा लालटिन काकाको घरमा जब लालटिन बल्यो तब सबै जुरुक्क उठे ।

    अनि त्यो बीचबाट एक्कासी मुखिया चिच्याए- हाम्रोमा लालटिन ल्याउन सक्ने कोही छ ? छेउमै उभिएका युवाले भने लालटिन ल्याउन नसकेर के भो त्यसको लालटिन नै हाम्रो समाजको समस्या भएपछि त्यसको लालटिन त फुटाउन सकिन्छ नी ।

    अन्तत भेलाको निस्कर्ष नै त्यही हुन्छ र पञ्चभलाद्मी सहितको टोली लालटीन काकाको घर पुग्छन् र बलिरहेको लालटिन पालीबाट तानेर लात्तीले हानी-हानी फुटाउँछन् । लालटिन फुटाएर समाजमा क्रान्ति भएको घोषणा पनि गर्छन् ।

    यो सबै हेरिरहेका श्यामबहादुर अर्थात् लालटिन काकाले भन्छन्- यो एउटा लालटिन मात्र फुटेको होइन गाउँको हरेक मान्छेको आशा पनि फुट्यो । यहि लालटिन बालेर भोलि गाउँ उज्यालो पार्ने योजनामा थिएँ ।

    लालटिन फुटाउनु भन्दा गाउँभरीका छोरीलाई पढ्न सक्ने ठूलो लालटिन कसरी बनाउने भन्ने मेरो योजना सुन्न मलाई पनि भेलामा बोलाउनु भएको भए हुन्थ्यो नि । उनले यसो भन्दा सबै के गर्ने के गर्ने भनेर हेरिरहन्छन् । र, कोही केही नभनी सेलाएको जस्तो गर्दै फर्कन्छन् ।

    जाँदै गरेका पञ्च भलाद्मीलाई लालटिन काकाले भन्छन्- तपाईंहरू त गाउँको विकासमा लाग्नु भएको होइन ? एउटा कुरा थाहा रहेनछ तपाईहरुलाई, निभाएर होइन बालेर मात्र उज्यालो हुन्छ । एक पछि अर्को थप्दै जाँदा गाउँ भरी लालटिन हुन्छ । फुटाउनु, उडाउनु, भत्काउनु, विरोध गर्नु समाधान होइन नि । लालटिन थप्दै जाउँ बरू, तर, बलेको लालटिन निभाउने होइन । तर, कोही केही नबोली फर्कन्छन् ।

    मलाई यो कथाले काठमाडौंमा मेलम्ची आउँदा, घरहरा बन्दा, ठूला विकासका संरचनाहरू बन्दा, एयरर्पोट बन्न लाग्दा विरोधमा उत्रेको तिनै बौद्धिक जमातको याद आउछ । यिनीहरू बल्ल-बल्ल गाउँमा ल्याइएको एउटा बत्ति पनि निभाउने प्रयासमा छन्, यतिबेला ।

    किनकि उनीहरूलाई यो सह्य भएको छैन । त्यसैले त म भन्छु गाउँमा बल्दै गरेका एउटा-एउटा उज्यालालाई निभाउँन नलागौं बरु थपौं र गाउँ नै उज्यालो बनाऔं ।

  • आन्दोलनको इतिहास : द्धारिक दासदेखि केपी ओलीसम्मको कनेक्सन

    आन्दोलनको इतिहास : द्धारिक दासदेखि केपी ओलीसम्मको कनेक्सन

    नेपालमा युवाको हक र अधिकारको निम्ति काम गर्न थुप्रै राजनीतिक र यसभन्दा बाहिर युवा संगठनहरु स्थापना भएका छन् र समाजमा तिनको भूमिका र प्रभाव अतुलनीय छ। पछिल्लो समयमा युवा सम्बद्ध सरकारी निकाय पनि विद्यमान छ ।

    ती मध्य एक प्रभावशाली र लोकप्रिय युवा संगठन हो राष्ट्रिय युवा संघ नेपाल। इतिहासको अध्ययन गर्ने हो भने यसको जग सत्तरी वर्ष पुरानो छ । नेपालमा पहिलो पटक २००८ सालको जेठ महीनामा द्वारिकादास श्रेष्ठको अध्यक्षतामा कम्युनिस्ट र कांग्रेसको सामिप्यतामा नेपाल युवक संगठनको स्थापना भएको थियो।

    पछि गएर नेपाल युवक संगठन नेपाल कम्युनिष्ट पार्टीसँग निकट हुन थाल्यो। त्यसपश्चात २०१० कार्तिक १० गते सिँहध्वज खड्काको नेतृत्वमामा बीपी कोइरालाले अर्धसैनिक दस्ताको रुपमा नेपाल तरुण दलको स्थापना गरे । तत्कालीन राजा त्रिभुवन र उनका छोरा महेन्द्रले नेपाली कांग्रेस माथि लिएको आक्रमण नीतिको प्रतिकार गर्न तरुणदलको स्थापना गरिएको थियो।

    २०१२ सालसम्म आइपुग्दा नेपाल युवक संगठनले आफूलाई कम्युनिस्ट पार्टीसँग पूर्ण निकट हुने गरी योङ कम्युनिस्ट लिगमा रुपान्तरण गरिसकेको थियो। तर, २०१९ सालदेखि कम्युनिस्ट पार्टी भित्र भएको फुट र विभाजनका कारण योङ कम्युनिस्ट लिग प्रभावकारी काम गर्न नसक्ने अवस्थामा पुग्यो। यता २०१७ पुष १ गते तरुण दलको महाधिवेशनको उद्घाटन समारोहबाट बीपी कोइराला लगायत नेतालाई जेल हालेपछि त्यसदिनदेखि तरुण दल ३७ वर्ष सम्म अस्तायो।

    जब २०१७ साल पुष २२ गतेबाट राजा महेन्द्रले निर्दलीय पंचायती व्यवस्था सुरु गरे नेपाली युवा आन्दोलन प्रजातान्त्र प्राप्तिको निम्ति पुनः आन्दोलनको मैदानमा होमिएको थियो र त्यसले २०३६ सालमा विशाल जन आन्दोलनको रुप लियो। फलस्वरुप २०३६ जेठ १० गते पंचायती व्यवस्था र वहुदलीय व्यवस्था विच जनमत संग्रहको घोषणा भयो। २०३७ वैशाख २० गते सम्पन्न संग्रहको नतिजा २०३७ जेठ १ गते आयो र उक्त नतिजा पंचायती व्यवस्थाको पक्षमा थियो।

    त्यसबखत अनेरास्ववियु पाँचौँले जनान्दोलनमा प्रभावकारी भूमिका खेल्न सक्यो तर अनेरास्ववियु छैटौंले यथेष्ट भूमिका खेल्न नसकेको निष्कर्ष निकाल्दै युवा संगठनको खाँचो महसुस गरि नेकपा चौथो महाधिवेशन समूहले २०३८ मंसिरमा कमरेड पुष्पकमल दाहालको अध्यक्षतामा अखिल नेपाल जनवादी युवा लिग गठन गरी पार्टीको सहायक संगठनका रुपमा युवा संगठनलाई क्रियाशील गराउन थाल्यो ।

    युवा संघको कमिटी मुलुकभर विस्तार भैसकेको संगठनले सामाजिक सरोकारका मुद्दामा आफूलाई बलियो साबित गराउँदै गयो, भनिन्छ त्यसताका पार्टीको कुनै पनि संगठित सदस्य प्राप्त युवालाई पार्टी र प्ररायुसंघ मध्ये कुन संगठनमा जिमेवारी लिने भनि रोज्न लगाउदा प्ररायुसंघ रोज्थे रे ! यो बाट के बुझ्न सकिन्छ भने पार्टीको भन्दा प्ररायुसंघ संघको आकर्षण समाजमा धेरै थियो ।

    २०४६ सालको संयुक्त जनान्दोलनको वाममोर्चामा युवाको सर्वाधिक भूमिका थियो, १६ देखि ४० वर्षे युवाको सहभागिताले नै जनान्दोलन सफल हुन सकेको थियो। अनेरास्ववियुले २६ वर्षसम्मको युवाको नेतृत्वमा दाई भूमिका खेल्ने र २६ देखि ४० बर्ष समुहका युवाहरुलाई समेट्नु पर्ने वाञ्छन्य भएकाले नेकपा (माले)ले युवालाई छुट्टै संगठनका रुपमा क्रियाशील गराउने नीति अख्तियार गर्‍यो । ठीक यही बेला युवा आन्दोलनलाई भने पुनर्गठित गर्ने सोच गरि तत्कालीन माले महासचिव जननेता भण्डारीको प्रस्तावमा २०४७ जेठ १ गते केपी शर्मा ओलीको नेतृत्वमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल गठन गरियो।

    त्यतिबेला, कम्युनिस्ट भनेका प्रजातान्त्रिक होइनन् भन्ने भ्रमलाई चिर्नु नै पहिलो आवश्यकता ठानेर युवा संगठनको दायरा फराकिलो बनाउने सोचका साथ कम्युनिस्ट समर्थक र स्वतन्त्र युवालाई समेत समेट्ने गरि ‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल’ नाम राखिएको थियो । युवा शक्तिलाई राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणमा परिचालन गराउने उद्देश्य साथ प्ररायुसंघ नेपालको स्थापना भएको थियो ।

    दोस्रो महाधिवेशनबाट केशव स्थापित अध्यक्ष भए। युवा संघको कमिटी मुलुकभर विस्तार भैसकेको संगठनले सामाजिक सरोकारका मुद्दामा आफूलाई बलियो साबित गराउँदै गयो, भनिन्छ त्यसताका पार्टीको कुनै पनि संगठित सदस्य प्राप्त युवालाई पार्टी र प्ररायुसंघ मध्ये कुन संगठनमा जिमेवारी लिने भनि रोज्न लगाउदा प्ररायुसंघ रोज्थे रे ! यो बाट के बुझ्न सकिन्छ भने पार्टीको भन्दा प्ररायुसंघ संघको आकर्षण समाजमा धेरै थियो ।

    यस संगठनले स्थापनाको केहि वर्षमा नै उद्देश्यअनुसार प्रभावकारी काम गर्न सक्यो र समाजमा भ्रम चिर्न सफल भयो। तेस्रो महाधिवेशनबाट स्व. पशुपति चौलागाई यस संगठनको अध्यक्ष हुन पुग्नु भयो । प्ररायुसंघ नेपालले निरन्तर र सक्रिय रुपले समाजमा प्रभाब जमाउँदै आवश्यकता अनुरूप आफ्नो मुद्दा थप्दै गयो। युवा हकहितको लागि काम गर्न सरकारी स्तरबाट मन्त्रालय गठन हुनुपर्छ भन्ने मुद्दा पशुपति चौलागाईँको नेतृत्वबाट उठाउने काम सुरु भयो। यसरी संगठनले उद्देश्य अनुसार प्रभावकारी काम गर्न सक्यो र समाजमा भ्रम चिर्न सफल भयो।

    यसैको प्रभावमा रहेर नेपाली कांग्रेसले २०५४ कार्तिक ५, ६ र ७ गते नेपालगञ्ज मा भएको बैठकबाट नेपाल तरुण दलको पुनस्थापना गर्यो । २०५४ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) आएको विभाजन पश्चात मूल धार अर्थात् एमाले निकट प्ररायुसंघको अध्यक्ष पशुपति चौलागाईँ नै भए भने नेकपा माले निकट युवा संगठनको अध्यक्ष उदयराज पाण्डे हुन पुगे।

    तत्कालिन अवस्थामा योङ कम्युनिस्ट लिग नेपालको अराजक, अराजनीतिक र हिंसात्मक गतिविधिको प्रतिकारात्मक आन्दोलन गर्ने निर्णय गरि प्ररायुसंघले संघका कोषाध्यक्ष महेश बस्नेतलाई युथफोर्स बिभाग प्रमुखको जिम्मेवारी प्रदान गर्‍यो । विभागले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गर्दै गर्दा प्ररायुसंघ भन्दा संघको विभाग प्रख्यात हुन पुग्यो ।

    चौथो महाधिवेशनबाट गोकर्ण विष्ट प्ररायुसंघको नेतृत्वमा पुगे। संगठनको पुराना मुद्दाहरुलाई निरन्तरता दिँदै रचनात्मक ढंगले काम गर्न थाल्यो। पाँचौ महाधिवेशनबाट पनि गोकर्ण विष्ट पुनः दोस्रो पटक अध्यक्षमा निर्वाचित भए। २०६२–६३को जनान्दोलनमा प्ररायुसंघ नेपालले बिष्टको नेतृत्वमा रचनात्मक भूमिका खेल्यो ।

    जनान्दोलनमा उल्लेख्य युवाको सहभागिता र ऐतिहासिक भूमिका खेल्ने काममा सफलता हासिल गर्‍यो छैटौं महाधिवेशनबाट प्ररायुसंघको नेतृत्वमा अजम्बर राई काङमाङ पुगे। प्ररायुसंघको गतिविधिबाट प्रभावमा रहेको नेपाली समाजमा नेकपा (माओवादी)ले २०६४ सालमा पुनः कमरेड गणेशमान पुनको नेतृत्वमा योङ कम्युनिस्ट लिग नेपालको पुनर्गठन गर्‍यो ।

    राज्यले प्ररायुसंघ नेपालको मुद्दा सम्वोधन गरि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय र मन्त्रालयको मातहतमा रहने गरि युवा तथा साना व्यावसायी कोषको स्थापना गर्‍यो । देशमै पूँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल कोषको स्थापना गरिएको हो।

    तत्कालिन अवस्थामा योङ कम्युनिस्ट लिग नेपालको अराजक, अराजनीतिक र हिंसात्मक गतिविधिको प्रतिकारात्मक आन्दोलन गर्ने निर्णय गरि प्ररायुसंघले संघका कोषाध्यक्ष महेश बस्नेतलाई युथफोर्स बिभाग प्रमुखको जिम्मेवारी प्रदान गर्‍यो । विभागले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गर्दै गर्दा प्ररायुसंघ भन्दा संघको विभाग प्रख्यात हुन पुग्यो ।

    लहानमा सम्पन्न सातौं महाधिवेशनबाट संघको नेतृत्वमा महेश बस्नेत आए र सोहि महाधिवेशनबाट सम्पूर्ण युवाहरुको हक र हितको निम्ति कम गर्ने संगठन भनेको प्ररायुसंघ हो भनि मुलुकभर सन्देश दिन संगठनको नाम परिवर्तन गरि युवा संघ नेपाल नाम राखियो। लहान महाधिवेशनबाट संगठनले विधानमा उल्लेखित गरि रोजगारको मुद्दा उत्थान गर्न थाल्यो।

    अनेरास्ववियुले आफ्नो विद्यार्थी हक र हितको निम्ति काम गर्ने र कार्य क्षमता स्ववियुमार्फत प्रदर्शन गर्ने ठाउँ भए जस्तै युवाहरुले पनि युवा काम गर्न राष्ट्रिय युवा परिषदको स्थापना हुनुपर्ने माग राख्न थाल्यो। अन्य सामाजिक सरोकार, संगठन निर्माण र राजनीतिक क्षेत्रमा गरेको कामले मुलुक “युवा संघ भनेकै महेश वस्नेत हो, महेश बस्नेत भनेकै युवा संघ हो” जस्तो हुन पुग्यो र पुनः २०६९ सालमा बुटवलमा सम्पन्न संघको आठौं महाधिवेशनबाट आफ्नो कार्य कुशलताका साथ निर्वाह गरेकाले महेश बस्नेत पुनः अध्यक्ष हुन पुगे।

    हाल संगठनले “तीन स” को अभियान लिएर मुलुकभर जाँदै थियो । पहिलो “स” अर्थात् संगठन निर्माण, विस्तार र परिचालन, दोस्रो “स” अर्थात् सम्वृद्धिमा युवा , तेस्रो “स” अर्थात् सचेतनतामा युवा हो ।

    संगठनले थप उचाई लिँदै थियो, २०७१ भदौमा पार्टीले संगठनका अध्यक्ष महेश बस्नेतलाई उद्योग मन्त्रीको रुपमा मन्त्रालयको जिम्मेवारी प्रदान गर्‍यो । संगठनको काम प्रभावकारी बनाउन महाधिवेशन अघि नै नेतृत्व हस्तान्तरण गर्नुपर्ने सिर्जित अवस्थाका कारण सुदूरपश्चिमकी निरुदेवी पाल प्रथम महिला अध्यक्ष हुन पुगिन। पालले २०७२ सालमा गएको महाभूकम्पबाट प्रभावितहरुको जनसमुदायलाई संगठनको हजारौ युवाहरुलाई स्वयम्सेवकको रुपमा परिचालन गरि अस्थायी घर, टहरा र विद्यालय निर्माण गरि हस्तान्तरण गर्ने ऐतिहासिक काम गर्न सफल भईन।

    २०७२ मा संगठनको आन्तरिक विवादका कारण संघका महासचिब राजिब पहारी अध्यक्ष हुन पुगे। युवा संघलाई चलायमान र गतिशिल बनाए। नेपाल सरकारले २०७२ सालमा युवा संघ नेपालको मुद्दा सम्वोधन गरि युवा विकासका लागि नीतिगत पहल गर्न राष्ट्रिय युवा परिषद ऐन, २०७२ पारित गरि, राष्ट्रिय युवा परिषद गठन प्रकिया आघि बढायो । पहारीले साम्राज्यवादी भारतीयबाट संरक्षीत कथित मधेशी दल प्रतिगामीहरुले संबिधानप्रति भ्रम फैलाउँदै गरेको आन्दोलनको राँकोमा मधेश छिरी संबिधानप्रति छरिएको भ्रम चिर्न मधेश जागरण अभियान चलाए। हजारौंको उपस्थितिमा सभा सम्मेलन आयोजना र युवाहरुको मार्च पास गराए ।

    एमाले सम्बद्ध मदेशी नेताको घरमा बम विस्फोट गर्ने, दिउँसै गोली चलाउने, नेता मर्ने जस्तो हिँसात्मक गतिबिधि हुने मधेशमा त्यसबखत मधेश छिर्ने आँट कुनै शक्तिले पनि गरेका थिएनन । स्थापना दिवसको अवसरमा प्रथम दशौँ हजार युवाहरुको सहभागितामा प्रथम युवा महोत्सव आयोजना गरे । बढी पीडित र आगलागी भएकाको दैलोमा पुगी मल्हम लगाउने कामगरी आफ्नो कार्य क्षमता प्रदर्शन गरे। पहारीले प्रदेश सभामा निर्वाचित भएपछि संगठन महाधिवेशनका लागि हस्तान्तरण गर्नुपर्ने भयो।

    २०७५ वैशाखमा युवा संघको नेतृत्वमा रमेश पौडेल आए । संगठनले विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा काठमाडौँमा सम्पन्न गर्‍यो । तर, पार्टी एकता प्रक्रियामा गएका कारण एकता प्रक्रिया पुरा नभएकाले अपेक्षा अनुरुप काम गर्न नसक्ने स्तिथिति सृजना भयो। संगठन एकता भयो युवासंघका बहुमत केन्द्रिय सदस्यले संगठनको नाम परिवर्तन गरि राष्ट्रिय युवा संघ नेपाल नाम राखियो तर, पूर्ण एकता हुन नसकेको संगठनले एउटा बैठक वस्ने बाहेक अरु काम गर्न सकेन । एकता प्रक्रिया पुरा हुन नपाउँदै सर्वोच्च आदालतले नेकपा पार्टी पूर्ववत अवस्थामा फर्कायो तर राष्ट्रिय युवा संघ नेपाल पार्टी संघ सम्बद्ध तर स्वायत्त संगठन भएको हुनाले संगठनको नाम राष्ट्रिय युवा संघ नेपाल कायम रहन गयो।

    २०७७ माघबाट राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष बचनबहादुर सिंह भए । लामो समयसम्म परिस्थितिको कारण थाँती बसेको संगठन निर्माणको काम, संगठित सदस्य वितरणको काम संचालन भइरहेको छ । हाल संगठनले “तीन स” को अभियान लिएर मुलुकभर जाँदै थियो । पहिलो “स” अर्थात् संगठन निर्माण, विस्तार र परिचालन, दोस्रो “स” अर्थात् सम्वृद्धिमा युवा , तेस्रो “स” अर्थात् सचेतनतामा युवा हो ।

    यो अभियानकै क्रममा नयाँ भेरिएन्टको कोभिड-१९ ले महामारीको रुप लिएपछि अहिले काठमाडौँको प्रमुख ठाउँमा अस्थायी हेल्प डेस्कको स्थापना गरि सेनिटाजर, माक्स, बढ्ने र महामारीविरुद्ध जनचेतना फैलाउने काम गरिरहेको छ ।

    लेखक राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुन् ।

  • आर्थिक विकास र परिवेश

    आर्थिक विकास र परिवेश

    विश्वका जुन कुनै पनि राष्ट्रआत्मनिर्भर रहेका छैनन्, जुन कुरा सामान्य नै हो । कुनै पनि राष्ट्रमा सम्पूर्ण स्रोत साधनको उपलब्धता हुन त्यति सजिलो पनि छैन । कुनै राष्ट्र आफूसँग रहेका प्राकृतिक स्रोत साधनले धनी छन् त, कुनै राष्ट्र प्रविधिको विकास र दक्ष जनशक्तिमा धनी छन्, कुनै राष्ट्र कृषिको विकास धनी छन् तर त्यस कृषिबाट उत्पादित वस्तुलाई उद्योगसम्म पुर्याउन सकिरहेका छैनन् भने कतिपय राष्ट्रहरु उद्योग धन्दाको विकास गरेता पनी कच्चा पदार्थको अभावमा ती उद्योगधन्दालाई यथासक्यो तीव्र रुपमा संचालन गर्न सकिरहेका छैनन् आदि।

    यस्ता बिषयलाई हेर्दा कतिपय देशहरूमा प्रशस्त मात्रामा रोजगारीका अवसर उपलब्ध छन् तर त्यहाँका जनता त्यो देशमा रहेर कार्य गर्न असमर्थ हुन्छन् किनकी उनिहरुलाई त्यहाँको सरकारले वा कम्पनीले दिने पारिश्रमिकमा चित्त नबुझ्ने हो या बुझाउन सकिएको हुन्न, उता फेरि अन्य बिदेशी राष्ट्रमा गएर काम गर्न भने ईच्छुक हुन्छन्, अझ वास्तव भन्ने हो भने त आफ्नो देशमा पाउने पारिश्रमिक र बिदेशी राष्ट्र मा प्राप्त गर्ने पारिश्रमिक एउटै हुदाँ पनि कतिपय देशका जनता वैदेशिक राष्ट्रमा रोजगारीका लागि जाने गर्दछन खास किन ?

    यस्तै विविध कारणले गर्दा विश्वमा रहेका अधिकांश अल्पविकसित राष्ट्र विकासोन्मुख राष्ट्र बन्न सकेका छैनन् भने विकासोन्मुख राष्ट्र विकसित राष्ट्र बन्न सकिरहेका छैनन्। विकसित राष्ट्रहरुले विकासोन्मुख राष्ट्रको विकास नचाहने र विकासोन्मुख राष्ट्रले अल्पविकसित राष्ट्रको विकास नचाहने गर्दछ्न् । जुन कार्य फलस्वरूप विकासोन्मुख र अल्पविकसित राष्ट्रहरु एउटै वृत्तमा घुमिरहन्छ्न् भने विकसित राष्ट्रले जसबाट फाइदा लिएका हुनछ्न् ।

    यो अवस्था विश्वमा जब सम्म कायम रहन्छ त्यस अवस्था सम्म विकास कार्यले गति नलिने कुरामा दुइमत छैन जुन कुनै पनि देशमा ल्याईएका वार्षिक नीति तथा कार्यक्रमहरु दस्ताबेजमा मात्र सिमित रहन्छन् भने ठुलो माछाले सानो माछो खाने कार्य निरन्तर नै रहन्छ । फलस्वरूप देशको विकास हुन सक्दैन । त्यसैले जुन कुनै पनि देशले ल्याएका नीति तथा कार्यक्रमहरु यथासक्यो लागू हुने र जनप्रतिनिधिहरु जनता प्रती उत्तरदायी हुने र भ्रष्टाचारजन्य कार्यहरु शून्य हुने र देशमा रहेका स्रोत साधनको अधिकतम उपयोग गर्ने यसरी उपयोग गर्दा दीर्घकालीन अवस्था बारेपनि सोच बिचार राख्ने हो भने जुन कुनै पनि राष्ट्रको विकास सजिलैसँग हुने कुरामा दुई मत छैन ।

    सन्  २०१९ को तथ्यांकलाई हेर्न हो भने विश्वमा सबै भन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया हो भने सबै भन्दा कम भ्रष्टाचार हुने  देश न्युजिल्यान्ड  हो । भ्रष्टाचार ब्याप्त हुने देशहरूको सूचीमा सोमालिया, दक्षिणी सुडान, सिरिया, यमन, सुडान, अफगानिस्तान, भेनेजुवेला, उत्तर कोरिया, लिबिया लगाएतका राष्ट्रहरुमा उच्च भ्रष्टाचार रहेको पाउन सकिन्छ भने अति नगन्य भ्रष्टाचार वा भ्रष्टाचार नै नहुने राष्ट्र अन्तर्गत न्युजिल्यान्ड, डेन्मार्क, फिनल्यान्ड, स्विडेन, स्विजर्ल्याण्ड, सिङगापुर, नर्बे, नेदरल्यान्ड लगाएतका राष्ट्रहरुलाई लिन सकिन्छ ।

    सार्क तिर हेर्ने हो भने सबै भन्दा कम भ्रष्टाचार हुने राष्ट्र भुटान हो भने सबै भन्दा बढी भ्रष्टाचार हुने  देश अफगानिस्तान हो भने नेपालको सन् २०१९ को तथ्यांक लाई हेर्दा नेपाल ११३ औ स्थानमा रहेको पाउन सकिन्छ । भने नेपाल सार्क राष्ट्रमा चौथो स्थान मा रहेको पाउँन सकिन्छ । जुन कुनै पनि देशमा रहेका विभिन्न गतिविधिलाई हेर्दा अधिकांश देशमा भ्रष्टाचारले जरो गाडेको देख्न सकिन्छ भने राजनैतिक भ्रष्टाचार व्यापक रुपमा बढेको सजिलै देख्न सकिन्छ । यस्ता गतिविधि अगाडि बढ्नु भनेको देशको आर्थिक विकास अधोगति तर्फ अगाडि बढनु हो। नेपालको परिप्रेक्ष्यलाई हेर्दा भ्रष्टाचार व्यापक रुपमा बढेको कुरा सजिलै आंकलन गर्न सकिन्छ ।

    विश्वमा फैलिएको यस माहामारीको बेला यस दु:खद अवस्थामा यहाँका उच्च ओहादाका ब्यक्तिहरु भ्रष्टाचारमा लुप्त हुनु दु:खद हो नेपालको हालको अवस्था यथावत रहने हो भने हाम्रो  जीवनकालमा नेपाल विकसित राष्ट्र बन्ने कुरा सपना हुने कुरा मा दुई मत छैन । यहाँको शिक्षा, स्वास्थ, यातायात, सञ्चार लगाएत विकासका पुर्वाधारको विकास उपर्युक्त रुपमा नहुनु भनेको ती क्षेत्रका लागि छुट्याइएको रकम उपर्युक्त तरिकाले खर्च नहुनु हो । यस्तो अवस्था नेपालमा मात्र नभई बिश्वका अधिकांश अल्पबिकसित तथा बिकासोन्मुख राष्ट्रमा कायम छ।

    जुन कुनै पनि राष्ट्र सबल र सक्षम बन्नका लागि उपर्युक्त, पारदर्शी सुशासन नीति आवश्यक पर्दछ । सरकारले “भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न” भन्ने अभिव्यक्ति जुन कुनै पनि राष्ट्रसेवक र सरकार बनाउनका लागि आफ्नो अमूल्य मत प्रदान गर्न जनताले पनि त्यो अभिव्यक्तिलाई सफल बनाउन सहयोग गर्नुपर्दछ भने सरकारले यो कार्यलाई सफल बनाउन निकै कसरत गर्नुपर्छ । जुन कुनै पनि देशका सरकारले आय तथा व्यय सम्बन्धि बिवरण स्पष्ट रुपमा सरकारी वेवसाइट खोली जसका माध्यमबाट जनतालाई जानकारी गराउनु पर्दछ ।

    जसले गर्दा सरकारको आर्थिक पार्दर्शितामा कसैले प्रश्न गर्न पाउदैन भने खर्च गर्दा उपर्युक्त क्षेत्रमा मात्र खर्च गर्नुपर्दछ जसले गर्दा भ्रष्टाचार शुन्यमा झर्न सकिन्छ । यो कार्य केन्द्र देखि स्थानीय स्तरसम्म कायम गराउन सक्नुपर्छ । जसले गर्दा आर्थिक विकास कार्यलाई सजिलै अगाडि बढाउन सकिन्छ भने देशमा रहेका प्राकृतिक स्रोत साधनको उपर्युक्त प्रयोग हुन जान्छ भने मानव संसाधनको पनि जसका माध्यमबाट उत्पादनमुखी कार्यलाई अगाडि बढाउन सजिलो हुन्छ । जुन सरकार भन्दा बलियो कर्मचारीतन्त्रलाई सरकारले उपर्युक्त रुपमा नीति ल्याई त्यसलाई कार्यान्यन गराउनु सक्नुपर्दछ । फलस्वरूप देशको आर्थिक विकास अगाडि बढाउन सजिलो हुन्छ ।

    सरकारले देशमा रहेको स्रोत साधन जसमा लगानी वढाउदा त्यसबाट सरकारलाई तथा आमजनतालाई फाईदा हुने क्षेत्रमा लगानी बढाउनु पर्दछ। जसका माध्यमबाट पुर्वाधारको विकासमा पनि टेवा पुगोस, गरिबी कम हुँदै जाओस रोजगारीका अवसर वृद्धि  हुँदै जाउन् जहाँकी उत्पादनमुखी कार्य अगाडि बढोस, यस्ता कार्यबाट वैदेशिक रोजगारीमा जाने आम जनतालाई देशमा रोजगारी सिर्जना गर्न कार्य अगाडि बढाई देशलाई केही हदसम्म आत्मनिर्भर बन्ने प्रयत्न तर्फ लागौं जसका माध्यमबाट देशमा आयतको तुलनामा निर्यातलाई अगाडि बढाई वैदेशिक मुद्रा आर्जन गरि त्यो मुद्रका माध्यमबाट देशको अर्थतन्त्रलाई टेवा पुग्ने कार्यमा खर्च गरौं, देशको दक्ष जनशक्तिलाई आफ्नो देशमा नै प्रयोग गरौं ।

    विश्वमा रहेका अधिकांश देशहरुले आर्थिक बिकासको गतिलाई अगाडि बढाउन नसक्नुको प्रमुख कारण भनेको आर्थिक पारदर्शिता नहुनू हो । नेपाली एक उखानलाई एक चरितार्थ छ “धन देखे पछि महादेवका पनि तीन नेत्र खुल्छ्न्” यस उखान विश्वमा रहेका सबै देशमा कायम छ। मेरो अध्ययन र मेरो बुझाई अनुसार जुन कुनै पनि देशको आर्थिक विकासलाई अगाडि बढाउनको लागि त्यो देशमा रहेका स्रोत साधन र लगानी के मा गर्दा ठिक हुन्छ त्यो बिषयमा पहिला अध्ययन हुन आवश्यक छ ।

    सरकारले ती क्षेत्रगत अध्ययन गराई सकेपछि प्रभावकारी नीति तथा कार्यक्रमको सञ्चालन गर्नुपर्छ यसरी सञ्चालन गर्दा आर्थिक पारदर्शिता भने कायम नै राख्नुपर्ने हुन्छ । देशको भूगोललाई अध्ययन गरि त्यो भूगोल सुहाउँदो कृषि कार्य लगायत उद्योगधन्दाको विकास गर्न आवश्यक हुन्छ । यस्ता क्षेत्रको विकास गर्नका लागि सरकारले देशमा पुर्वाधारको विकास भने यथासक्यो छिटो निर्माण गर्न सक्नुपर्छ । जुनकुनै पनि राष्ट्र सबल बन्नका लागि वा बनाउनको लागि पुर्वाधारको विकास अपरिहार्य रहेको हुन्छ ।

    विभिन्न क्षेत्रको विकास गर्नको लागि दक्ष जनशक्तिको आवश्यक पर्न भएकाले  यस्तो जनशक्ति आफ्नो देशमा सम्भव भए देशको प्रयोग गर्ने र यदि असम्भव भए छिमेकी राष्ट्रको सहयोग लिने र त्यो सहयोगबाट आफ्नो देशमा दक्ष जनशक्ति तयार गर्ने कार्यलाई अगाडि बढाउन सक्नुपर्छ । यसरी देश विकास गर्नका लागि एक क्षेत्रको विकासले मात्र सम्भव नहुने हुँदा सबै क्षेत्रको विकास आवश्यक हुन्छ तर सबै क्षेत्रको विकासलाई एकै पटक अगाडि बढाउन पनि नसकिने हुँदा प्राथमिकताका आधारमा ती क्षेत्रको विकास र प्रयोगलाई अगाडि बढाउन सक्नुपर्दछ ।

    राष्ट्रलाई संघीयतातर्फ लैजाने क्रम विश्वमा बढ्दो छ जुन कार्य त्यति सजिलो र आर्थिक पारदर्शिता कायम गराउन भने निकै कठिनता बढ्दै गएको सजिलै आंकलन गर्न  सकिन्छ। “अरुको देखासिकी गरौ तर रिसारिस नगरौं” भने जस्तै जुन कुनै पनि राष्ट्रले संघीयता अपनाउदा आवश्यक पर्न स्रोत साधन बारे आवश्यक जानकारी भने हुनुपर्छ हैन भने देशको बजेट खर्च गर्न र राजनीतिक छत्र छाँयामा हुने आर्थिक अनियमिताले देशको अर्थतन्त्रलाई खतम बनाउने काम गर्दछ । विश्मा भइरहेको विविध गतिविधिमा ७०%  राजनीति छ भने ३०% मात्र नीति नियममा सञ्चालित छन् । यस्तो छ भन्नुको मतलब विश्वमा भ्रष्टाचार व्यापक छ भन्नू हो ।

    जुन कुनैपनि देशको आर्थिक विकास अगाडि बढाउनका लागि होस या आर्थिक विकास भइसकेको देशले आर्थिक वृद्धिको दर अगाडि बढाउनको लागि देशमा रहेका आवश्यक सम्पुर्ण संयन्त्र सञ्चालन गर्न सक्नुपर्दछ यसरी  सञ्चालन गर्दा देशमा रहेको मानव संसाधनलाई उपर्युक्त तरिकाले सञ्चालन गर्न सकेमा मात्र देश अगाडि बढ्न सक्दछ । हाम्रो देश नेपालको परिप्रेक्ष्यलाई हेर्ने हो भने धेरै कमी कमजोरी देखा परेको पाउन सकिन्छ । किनकि यहाँको परिवेश पूर्ण रुपमा अध्ययन, अनुसन्धान विना नै विभिन्न कार्य अगाडि बढिरहेको पाउन सकिन्छ । यहाँ म अहिलेको सरकारलाई मात्र दोष दिने कार्य प्रती असमर्थ छु। किनकी विगतका विभिन्न सरकारले गर्ने कार्य र अहिलेको सरकारले गर्ने कार्य बिच त्यति फरक भने मैले देख्दिन ।

    २०७७ साललाई हेर्दा महामारीको प्रभावले सरकारलाई गतिशील बन्न दिएन भने २०७८ मा पनि यस महामारीले पनि आर्थिक विकास त्यति गतिशील चाहिँ हुन नसक्ने कुरा पक्का नै छ, हुनत पार्टी उनै हुन् भने राजनीतिज्ञ पनि, त्यसैले समग्र पक्षलाई अध्ययन गर्दा हामी पुराना कार्यप्रति नै अग्रता बढाएकै छौ जुन कार्य फलस्वरूप न हामी विकासको गतिलाई अगाडी बढाउन सकेका छौ न त कुनै अनुसन्धान गरेर त्यो अध्ययनपछि हामी लाग्छौ ।

    जसले गर्दा अल्पविकसित देशको विकास हुन सकिरहेको छैन। हामीले देशमा भइरहेका खराब कार्यको आलोचना सहित बहिष्कार र राम्रो कार्यको सम्मान सहित समर्थन गरौं । त्यसैले हामी सबैको विकास सँगै देशको पनि विकास गरौं विभिन्न समयमा देखा पर्ने महामारीबाट बचौं कहिले स्वास्थ महामारी त कहिले आर्थिक अनियमितताको महामारी यी दुबै कार्य हामी सबैका लागि राम्रा छैनन् । त्यसैले सबैले आ-आफ्नो क्षेत्रबाट सरलता, मितव्यतता अपनाउ र देशको आर्थिक विकास गरी आत्मनिर्भर बन्ने कोसिस गरौं ।

    खनाल फलेवास नगरपालिका ०५ पर्वतका हुन्।

     

  • राष्ट्रिय जनमोर्चाभित्र २७ वर्षमा देखिएका गम्भीर घटना

    राष्ट्रिय जनमोर्चाभित्र २७ वर्षमा देखिएका गम्भीर घटना

    राष्ट्रिय जनमोर्चाको २७ वर्ष लामो संसदीय इतिहासमा केही यस्ता जघन्य घटना घटेका छन्, जसको गम्भीर समीक्षा हुनु पर्ने आवस्यकता छ। ती घटनाहरूमा कुनै सामान्य आलोचना गरेर चोख्याउने काम गरिएको छ भने कुनैमा त्यसो पनि गरिएको छैन। राष्ट्रिय जनमोर्चामा देखिएका केहि राजनीतिक घटनाको यहाँ चर्चा गरिएको छ :

    • २०६३ मंसिर १० गते राष्ट्रघाती नागरिकता विधेयकको पक्षमा राष्ट्रिय जनमोर्चाका तात्कालीन संसदीय दलका नेता चित्रबहादुर केसीको नेतृत्वमा डिलाराम आचार्य र हरि आचार्यले मतदान गरे । पार्टीले राष्ट्रघाती नागरिकता विधेयकको विरुद्धमा मतदान गर्ने निर्णय गरेको थियो । हामी सडकमा उक्त विधेयकको बिरुद्धमा नाराजुलुस गर्दै थियौं । संसदभित्र हाम्रा सांसदहरुले पक्षमा मतदान गर्नुभयो। उहाँहरुले त्यसो किन गर्नु भयो ? कसको निर्देशनमा गर्नु भयो ? के उहाँहरुले त्यो विधेयकको बारेमा बुझ्नु भएको थिएन ? यसप्रकारका प्रश्नहरुको जवाफ हामीले उहाँहरुसँग गर्यौं कि गरेनौं ? सिङ्गो पार्टीपंक्तिलाई यो बिषयमा अनविज्ञ बनाएर पार्टीले उहाँहरुलाई सामान्य आलोचना गरेर मात्र उन्मुक्ति दिने काम गर्यो।
    •  २०७५ र ०७६ मा सरकारले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सांसद् दुर्गा पौडेलले संसोधन प्रस्ताव पेश गर्ने निर्णय पार्टीले गरेको थियो। तर सरकारको नीति तथा कार्यक्रममा उहाँले संसोधन प्रस्ताव पेश गर्नु भएन। पार्टीको निर्णय विपरित उहाँले संसदमा किन संसोधन प्रस्ताव दर्ता गर्नु भएन ? बिषय निकै गम्भीर थियो । तर पार्टीमा यो बिषयमा कुनै कुरा उठाउने काम गरिएन । छलफलको बिषय समेत बनेन ।
    •  पछिल्लो समयमा संसदीय अभ्यासको घिनलाग्दो अभ्यास गण्डकी प्रदेशमा देखिएको छ। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मत दिने र हस्ताक्षर गर्ने पार्टीको निर्णय बिरुद्धमा राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाले हस्ताक्षर गर्नुभएको छैन। सांसद कृष्ण थापाले पार्टीको निर्णयविपरीत २०७८ बैशाख २९ गते तटस्थ बस्ने निधो गर्नुभयो। उहाँको तटस्थ बस्ने निर्णय सार्वजनिक भएपछि राष्ट्रिय जनमोर्चाको बैठकले संसदीय दलको नेताबाट हटाई सकेको छ भने पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सांसद कृष्ण थापाले दामको प्रलोभनमा परेर पार्टीको निर्णय विरुद्धमा गएको मत सार्वजनिक गर्नु भएको छ। तर सांसद थापाले दामको प्रलोभनमा परेर त्यसो गरे नगरेको प्रमाणित भने भइसकेको छैन ।

    संसदीय आहालमा डुबेर राष्ट्रिय जनमोर्चामा देखिएका यसप्रकारका भूमिकाको बिषयमा गम्भीर समीक्षा तथा छलफल हुन आवश्यक छ।

    -सुनार नेकपा मसाल प्युठानका नेता हुन् ।

  • जनताको जीवनभन्दा ठूलो राजनीति हुँदैन

    जनताको जीवनभन्दा ठूलो राजनीति हुँदैन

    ‘मेरा पिताजीका डायलासिस कराना हे, लेकिन अस्पताल नही कर रहा है, मेरी मा कोभिड पोजेटिभ हे, वो अक्सिजन के लिए लडप रही हे, लेकिन अक्सिजन नही मिल रहा हे, मे अठार सालकी अकेली लड्की हु, मे क्या करु ?’

    ‘मेरे पिताका अस्पातलमे अक्सिजन नपाने से देहान्त होगया, अगर एक सिलिण्डर भी अक्सिजन मिलता तो वो जिन्दा रह सक्ता था ।’

    ‘मेरे पति स्वास लेनेके लिए अस्पतालमे तडप रहा हे । लेकिन वहां उनके लिए अक्सिजन नही है । मै क्या करु ?’

    ‘मेरी बुढी माँ और बाप दोनो मे कोभिड पोजेटिभ हे, वो दोनो उपचार के लिए लडप रहे हे, लेकिन किसि भि अस्पताल उनको भर्ना लेनेके लिए तैयार नही है । मै क्या करु ?’

    यी माथिका पंक्ति भारतीय टेलिभिजनका चर्चित हस्ती रजत शर्माले पढेर सुनाएका केही प्रतिनिधि सन्देश मात्रै हुन् । उनले यी र यस्ता दुःख र दर्दले भरिएका हजारौ म्यासेजहरू दिन प्रतिदिन प्राप्त गरिरहेका छन् । उनले समाचारमा भनेका यी सन्देश र देखाएका हृदय विदारक दृश्यहरुले भारतमा कोरोनाले कुन हद सम्मको दुर्दशा निम्ताईरहेको छ भन्ने कुराको सहज अनुमान गर्न सकिन्छ ।

    चाहे एउटा श्रीमतीले अक्सिजनको अभावले आफैंले मुखबाट श्वास दिदै गरेको तर उनको श्रीमानको मृत्यु भएको दृश्य होस् । अक्सिजन अभावमा जीवन र मरणको दोसाँधमा संघर्ष गरिरहेको बिरामी होस् वा परिवारका प्यारो सदस्य गुमाएको पीडाले छाति पिटेर रोइरहेको दृश्य होस् । यी सबै भावविव्हल र स्तब्ध बनाउने खालका छन् । परिवारका सम्पूर्ण सदस्यहरुको मृत्यु भएर दाहसंस्कार गर्ने एकजना पनि जीवित नभएको खबर पनि आफैमा एउटा मनै रुवाउने परिघटना हो । वास्तवमा म ती दुःखद समाचारहरु टेलिभिजनमा हेरेर म सुत्नको निम्ती बिछ्यौनमा त गए, तर निदाउन सकिन ।

    मेरा मन मस्तिष्कमा अनन्त कुराहरु खेले र म धेरै बेरसम्म भावनाको अथाह सागरमा टोलाईरहे । मैले सोचें, भोलिका दिनमा नेपालमा पनि भारतमा जस्तै परिस्थिति भए के होला ? कसरी हाम्रो देशले त्यस्तो महासंकटको सामना गर्ला ? हाम्रो देशको अस्पताल, स्वास्थ्यकर्मी, अक्सिजन, औषधी तथा अन्य साधन स्रोतले त्यो भयावह अवस्थालाई थेग्न सक्ला ? कि कतै नेपालमा पनि भारतमा जस्तै अस्पतालमा शैया, अक्सिजन, औषधी नपाएर मानिसहरुकले अकाल मृत्युवरण गर्न पर्ने त होईन ? भन्ने अनेकन प्रश्नहरुले मलाई लगातार घोचिरहे ।

    मैले नेपालमा रहेका आफ्ना परिवार, नातागोता, ईष्टमित्र र समग्र नेपाली आमा बुवा, दाजु भाई, दिदी बहिनी र बाल बालिकाहरुलाई सम्झे । निकट भविश्यमा आउन सक्ने विकराल परिस्थितिको कल्पनाले भित्रभित्रै निकै चिन्तित बने ।

    म सबैलाई यो कुरा गहिरोसँग मनन गर्न अनुरोध पनि गर्दछु । हामी सबै नागरिकले स्वास्थ्य नियम पालना गर्यौ भने सरकारलाई पनि यस रोग नियन्त्रणको लागि सहयोग पुग्छ ।

    जीवनको उत्तरार्द्धमा बाचिरहेका बुवाआमाको अनुहार लगातार मानसपटलमा नाचिरह्यो र कथं कदाचित उहाँहरुलाई कोरोना भयो भने उपचार गर्न लैजाने परिस्थिति पनि नबन्ने हो कि भन्ने चिन्ताले ठूलो तनाव दियो । छोराछोरी सबैजसो विदेशमा भएको र नेपालमा भएका आफन्तजन तथा छर छिमेकले चाहेर पनि केहि गर्न नसकि कतै बृद्ध बुवा आमाको बेहाल त हुने होईन भन्ने डरले असाध्यै पीडाबोध भयो । अन्तर्राष्ट्रिय उडानको समस्याले तत्काल नेपाल आउजाउ गर्न पनि सम्भव नहुने कुराले त झन् पर्नुसम्म पीर पर्‍यो ।

    मेरो मात्र होइन हजारौ वृद्ध बुवा आमाहरू,उनीहरूका छोराछोरीहरू विदेशिएकोले नेपालमा एक्लै बस्न बाध्य छन् । यो हाम्रो अहिलेको नेपाली समाजको तितो यथार्थ हो । छोराछोरीहरु पनि नेपालमा उपयुक्त अवसरको अभावले गर्दा जीवनयापन र परिवारको सुख र समृद्धिको लागि विदेशिनु परेको कुरा पनि कटु सत्य हो । सामान्य अवस्थामा संसारको कुनैपनि कुनाबाट बढीमा २४ घण्टाभित्रै आफ्नो देशमा पुगेर जस्तोपनि सहयोग गर्न सक्ने प्रवासी नेपालीहरु अहिले चाहेर पनि स्वदेश फर्कन सक्दैनन् । उनीहरू केबल आफन्तहरुलाई स्वास्थ्य लाभको कामना गर्दै कठिक दिनहरु व्यतित गर्न विवश भएका छन् ।

    हालमा विश्व मानव जीवनले भोग्नु परिरहेको कोरोनाको त्रासदी वास्तवमै अत्यन्त दुःखदायी छ । संसारभर लाखौं मानिसको ज्यान लिईरहेको यो महामारीले हामीलाई कहिले सम्म सताई रहने हो ? केही ठेगान छैन । ठूला-ठूला स्वास्थ्य विज्ञहरुले पनि यो रोग कसरी र कहिले पूर्णरुपमा हराएर जान्छ, भन्न सक्ने अवस्था छैन । वास्तवमा यो समय हामी सबैको लागि अत्यन्त चुनौतिपूर्ण र कठिन समय हो । यसमा हामी सबैले साहस र धैर्यका साथ अगाडि बढ्नुको विकल्प छैन । सबैले स्वास्थ्य सम्बन्धी नियम पालना गर्दै यस रोगबाट बच्नको निम्ति हरसम्भव उपाय अपनाउनु नै आजको आवश्यकता हो । सकेसम्म रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमत्तापूर्ण काम हो ।

    म सबैलाई यो कुरा गहिरोसँग मनन गर्न अनुरोध पनि गर्दछु । हामी सबै नागरिकले स्वास्थ्य नियम पालना गर्यौ भने सरकारलाई पनि यस रोग नियन्त्रणको लागि सहयोग पुग्छ । सरकारले पनि यस कोभिडको नियन्त्रण, रोकथाम र बिरामीको उपचारको लागि यथाशिघ्र बढी भन्दा बढी पहल गर्नुपर्दछ । नागरिकलाई सचेत गराउने, आईशोलेशन र क्वारेन्टीनलाई व्यवस्थित गर्ने, बढी भन्दा बढी कोभिड जाँच गर्ने, संभावित औषधी र अक्सिजन अभाव हुन नदिन उपायहरु खोज्ने, अस्पातालमा आवश्यक शैयाहरुको व्यवस्था मिलाउने, खोप दिने कामलाई अझै प्रभावकारी बनाउने कुरामा सम्पूर्ण रुपमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।

    यी सबै कुराको मुख्य नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्दछ । उहाँको कुशल नेतृत्व र निर्णय क्षमताबाट नै यो रोगको महामारी नियन्त्रणमा तात्विक योगदान पुग्न सक्दछ । आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायसँग संयोजन र आवश्यक सरसहयोग जुटाउने कुरामा पनि उहाँ स्वयंको अग्रसरता नै बढी लाभदायी र परिणाममुखी हुन सक्दछ । देश र जनतालाई अप्ठेरो परेको बेलामा कुशल नेतृत्व दिन सक्नु नै नेताको क्षमता हो । मलाई आशा छ यस कुरामा हाम्रा प्रधानमन्त्रीज्यू खरो उत्रनुहुनेछ । कतै यसमा चुक्नुभयो भने र सयौं नेपालीले अकालमा उपचारबिना मर्नुपर्ने भारतको नियति दोहोरियो भने यसले उहाँको नेतृत्व क्षमतामा ठुलो प्रश्न चिन्ह खडा गर्ने नै छ ।

    अन्त्यमा, देशमा जनताको जीवन रहेमात्रै राजनीति रहन्छ । जनता र जीवन नै नरहे के को राजनीति र कस्को लागि राजनीति ? त्यसैले अहिले कुनैपनि पार्टीका नेता तथा कार्यकर्ता जुनसुकै सिद्धान्त र वादमा विश्वास गरेपनि त्यो सबैकुरा भन्दा धेरै माथि उठेर सम्पूर्ण रुपमा मानवीय सम्वेदनालाई बोकेर यस रोगसँग लड्नको निम्ति एकताबद्ध हुनुपर्छ । अनेक प्रकारका राजनितिक चलखेललाई बन्द गर्ने, राजनितिक असहमति र विवादलाई थाति राख्दै व्यक्तिगत स्वार्थ भन्दा धेरै माथि उठी यो मानवीय संकटबाट पार पाउन सबैले आ-आफ्नो तर्फबाट हातेमालो गरौं । यसैमा सबैको कल्याण छ, चेतना भया ।

    (लेखक अष्ट्रेलियाको क्यनबेरा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, क्यानबेराका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत  हुन् । )

  • कविता : रुवाइ

    कविता : रुवाइ

    मसँग फूलले भन्यो-

    म तिम्रै लागि फुलेको

    खोलाले भन्यो –

    म तिम्रै लागि बगेको

    हावाले भन्यो-

    म तिम्रै लागि उडेको

    पहाडले भन्यो-

    म तिम्रै लागि उभिएको

    गहिराइले भन्यो-

    म तिम्रै लागि बसेको।

    मैले फूललाई भनेँ-

    ए फूल !

    तिमी एकपटक

    मेरो चुल्ठोमा आएर बसिदेऊ

    केवल मेरा लागि

    मैले खोलालाई भनेँ-

    ए खोला !

    तिमी एकपटक पहाड चढिदेऊ

    केवल मेरा लागि

    मैले हावालाई भनेँ-

    ए हावा !

    तिमी एकफेरा रोकिइदेऊ

    मेरा लागि

    मैले पहाडलाई भनेँ-

    ए पहाड !

    तिमी एकपटक झुकिदेऊ

    केवल मेरा लागि

    मैले गहिराइलाई भनेँ-

    गहिराइ ! तिमी उठिदेऊ

    एकपटक मेरा लागि

    अपसोच !

    फूलले बैँश छ झर्दिन भन्यो

    खोलाले खोलैसँग बग्न भन्यो

    हावाले हावासँगै उड्न भन्यो

    पहाडले उसैसँग उभिन भन्यो

    गहिराइले उसैसँग डुब्न भन्यो

    म रोएँ

    फूलले झुक्याएर रोएँ

    खोलासँग बग्न नसकेर रोएँ

    हावासँग उड्न नसकेर रोएँ

    पहाडसँग थिग्रिन नसकेर रोएँ

    गहिराइसँग भासिन नसकेर रोएँ

    रोएँ अनि रोइरहेँ।।

    मलाई मनले भन्यो

    किन रुन्छौ ? म छु नि !

    मलाई पाइतलाले भन्यो

    कहाँ जाने ? म पुर्‍याउछु नि !

    मलाई हत्केलाले भन्यो

    के गर्ने ? म समाउँछु नि !

    वा ! मेरा लागि

    मेरा लागि मजस्तै भइदिने मनसँग रोएँ

    आफैँसँग हिँडिदिने पाइतलासँग रोएँ

    आफ्नै गन्ध ओकल्ने निश्वाससँग रोएँ

    अनि आफैँसँग रोएँ

    रोएँ अनि रोइरहेँ ।।

     

    लेखर्क, भोजपुर

  • लुम्बिनी प्रदेशमा एक दिनको राजनीतिक भिडन्त–छिन छिनमा दर्जनौं समाचारको मृत्यु

    लुम्बिनी प्रदेशमा एक दिनको राजनीतिक भिडन्त–छिन छिनमा दर्जनौं समाचारको मृत्यु

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावलाई छलफल गर्न आइतवार दिउँसो १ बजे विशेष अधिवेशन आव्हान गरिएको थियो । बैशाख ६ गते एमालेबाहेकका ४ दलको गठबन्धनको सहकार्यमा प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित ४ जना जनता समाजवादी पार्टीबाट विद्रोह गराएर आफ्नो नेतृत्वको सरकारमा सहभागी गराएपछि मुख्यमन्त्री पोखरेलको उनका समर्थकले निकै प्रशंसा गरेका थिए ।

    आइतबार विहान पनि पोखरेलले यस्तै आश्चर्यजनक शैलीमा आफ्नो राजीनामा बुझाए । प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश हुँदा आफूलाई समर्थन गरिरहेका केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएसँगै उनले यो प्रकृया अगाडि सारेको सुनसक्ने विश्लेषण गरियो ।

    बिहान एमाले संसदीय दलको बैठक अगाबै उनले बुझाएको राजीनामाका विषयमा धेरै पत्रकारलाई संकेतसम्म हुन सकेन । पोखरेलले एक्कासी मुख्यमन्त्री पदबाट राजीनामा दिएलगतै स्वीकृत हुनु, विशेष अधिवेशन स्थगित हुनु, एमालेको संसदीय दलले एकल बहुमतको सरकारमा जाने निर्णय गर्नु सिलसिलेवार भए ।

    त्यस्तै मन्त्रीपरिषद बैठकले संसद अन्त्य गर्न गरेको निर्णय प्रदेशसभामा आएपछि सचिवालय आश्यर्यमा पर्नु, सभामुख पूर्णबहादुर घर्ती तथा प्रदेशसभा सचिव दुर्लभकुमार पुन विकल्पका विषयमा प्रदेश प्रमुख धर्मनाथ यादवको पुग्नु दिउसो १ बजेसम्मका घटनाक्रम थिए ।  यी घटनाक्रमको विषयमा न त कुनै दलको नेताले अनुमान गरेको थिए न त कुनै पत्रकारले सहज ढंगले फलो गर्न सकेका थिए । सबैलाई एकै किसिमको अन्यौल परिरहेको थियो अब के हुन्छ ?

    आइतबार लुम्बिनी प्रदेशको राजनीति एकपछि अर्को गर्दै पेचिलो बन्दै गयो र छिनछिनमा समाचारको मृत्यु हुँदै गयो । अनलाइन पेपरका लागि त दिनभर आच्छु आच्छु नै बनायो अब के हुन्छ भनेर ? एकैपटक तीनजना एमाले सांसदले राजिनामा दिएका समाचार केही मिडियामा आए । लगत्तै नेपाल प्रेससँग कुरा गर्दै अजय शाहीले आफूहरुले राजिनामा नदिएको बताए । सूचना भेरिफाइ गर्दा नगदै समाचारको मृत्यु भइसकेको हुन्थ्यो ।

    सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरि धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएका थिए । मुख्यमन्त्रीको राजिनामापछि लुम्बिनीको राजनीतिक जोडघटाउ छिनछिनमै फेरिएको थियो ।

    प्रदेशमा कायम रहेको ८१ जना प्रदेशसभा सदस्यमध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेश गरेपछि थप अन्यौलता बढेको थियो ।

    ४१ जना सांसदको हस्ताक्षर पेश गरेका पोखरेललाई प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले फेरी ४२ सांसदको हस्ताक्षरसहित केसीको पक्षमा प्रदेश प्रमुख समक्ष निवेदन पेश मात्र गरेन कार्यालयमै गएर धर्ना बसेपछि राजनीतिक घटनाक्रम थप पेचिलो बन्यो ।

    नेपाली कांग्रेसका सचेतक फकरुद्धिन खान, माओवादी सचेतक तुलाराम घर्तीमगरले लुम्बिनी प्रदेशसभामा ४२ जनाको हस्ताक्षरसहित कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुखसमक्ष दावी पेश गरेको बताउँदै हामीहरुको पक्षमा ४२ जना सांसदको हस्ताक्षर छ, बहुमत सदस्यको हस्ताक्षर एकातर्फ हुँदाहुँदै कसरी पोखरेल मुख्यमन्त्री नियुक्त हुन सक्नुहुन्छ ? भन्ने प्रश्न पत्रकारहरुलाई गरेका थिए ।

    किन छाडे ४ सांसदले एमालेको साथ

    आइतबार प्रदेश प्रमुखकोमा बुझाइएको ४१ जनाको हस्ताक्षर गरेकै सांसदहरुले पनि पछि एमालेको साथ छाड्ने निर्णय गरेका छन् । एमालेको संसदीय दलको बैठकमा सहभागी कपिलवस्तुका दीर्घनारायण पाण्डेले एमाले र सांसद पदबाटै राजीनामा दिए भने दाङबाट निर्वाचित दाङ ३(२) बाट निर्वाचित एमालेकी विमला वली पनि माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छन् ।

    यसअघि आइतवार बसेको एमाले संसदीय दलको बैठकमा सहभागी भएका उनीहरु दुवैजनाले शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने निर्णयमा हस्ताक्षर गरेका थिए ।

    यसैगरी सूर्य चिन्ह लिएर कपिलवस्तु २(२) बाट निर्वाचित धर्मबहादुर लाल श्रीवास्तव र पश्चिमनवलपरासी १(२) बाट निर्वाचित अजय शाहीले पनि विपक्षी गठबन्धनमा हस्ताक्षर गरेका छन् । यो विषयले सत्ता केन्द्रीत राजनीति कहाँबाट कहाँसम्म पुग्नेरहेछ भन्ने प्रष्ट भएको छ ।

    विमला वली,धर्मवहादुर लाल र अजय शाही सूर्य चिन्हबाटै जितेका र एमालेका संसदीय दलका बैठकमा भाग लिदै आएकाले उनीहरुमाथि दल त्याग ऐन अनुसार कारवाही हुने बताइएको छ । जे भए पनि ४१ सिटसहित बहुमतमा रहेका पोखरेल एकै दिनमा ३७ सिटमा झरेका छन् ।

    उनी मुख्यमन्त्री नियुक्त हुँदासम्म बहुमतमै रहेकाले सोही आधारमा सपथग्रहण भए पनि अब प्राबिधिक र कानुनी दुवै हिसाबले नैतिक संकटमा परेका छन् ।

  • जब हामीले अस्पतालको इमर्जेन्सीमा बिरामी ‘सरेन्डर’ गरेर हिँड्यौं

    जब हामीले अस्पतालको इमर्जेन्सीमा बिरामी ‘सरेन्डर’ गरेर हिँड्यौं

    स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग मेरो सम्बन्ध पत्रकार र नेताभन्दा अलि फरक र अनौपचारिक छ । पचासको मध्य दशकमा त्रिपाठी संसदको सार्वजनिक लेखा समितिको सभापति हुँदा म संसदीय मामिलाको रिपोर्टिङ गर्न अभ्यस्त हुँदै थिएँ ।

    यसबीचमा त्रिपाठीका पार्टी परिवर्तन र मेरा सञ्चारगृह परिवर्तन उस्तै रफ्तारमा चले जस्तै सम्बन्ध पनि ‘दाजु भाइ’ कै तहमा रह्यो । मलाई तिमी भनेर सम्बोधन गर्ने र त्यो सम्बोधनलाई ‘कम्फरटेबल’ लाग्ने सीमित नेतामा पर्छन् त्रिपाठी ।

    तीन दिनअघि नेपाल प्रेसमा स्वास्थ्य तथा कूटनीति सम्बन्धी बिटको संयोजन गर्ने मित्र बिष्णु शर्माले ‘यो बेलामा स्वास्थ्य मन्त्रीसँग खोप आपूर्ति,कोभिड संकट व्यवस्थापनमा सरकारको तयारीबारे अन्तर्वार्ता गर्नुपर्यो’ भनेपछि मैले उनकै सामुन्नेबाट मन्त्री त्रिपाठीलाई फोन गरेँ ।

    सदाझै उनले अनौपचारिक शैलीमै कुरा गर्दै अन्तर्वार्ता गर्ने सम्बन्धी मेरो आग्रहलाई यसरी जवाफ दिए कि म अवाक् भएँ ।

    उनले भने, ‘अब भेटघाट बन्द । तिम्रो फुर्तिफार्ती पनि मैले हेरिरहेको छु । अब फुर्ति नगरी जोगिएर घरमै वा अफिसमा प्रोटोकलसहित बस । यसपालिको भेरियन्ट डेन्जर छ, तिमीलाई भाइ भनेर मैले सल्लाह दिएको ।’

    त्यसको ठीक दुई दिनपछि त्रिपाठीको मन्त्रालयले भन्यो, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनु हुन हार्दिक अपील छ ।’

    यी दुई आग्रहसँग मेरो आफ्नै संयोग कसरी मिल्यो ? यो ब्लगमा छोटकरीमा जानकारी दिन गइरहेको छु । यदि तपाईंहरूले केही मिनेट लगाएर पढ्नुभयो र सुन्नुभयो भने काठमाडौंमात्र होइन समग्र नेपालको अवस्था अहिले कुन मोडमा पुगेको छ भनेर निचोडमा पुग्न सकिन्छ ।

    यो ब्लग लेखुन्जेल पनि अस्पतालमा बेड पाइएको छैन र ती मित्र मलाई तारन्तार फोन गरेर भन्दैछन्- ‘के अब मेरी आमाले उपचार नपाएरै मर्नु पर्ने हो त ? यत्रो धन सम्पत्ति र इष्टमित्र अनि वैभव भनेको मेरो सुखका साथीमात्र हुन् त ?’

    शुक्रबार साँझ ६ बजे मलाई एकजना मेरा अनन्य मित्रले फोनमार्फत् आमा सिकिस्त बिरामी भएकाले ह्याम्स अस्पतालमा बेड उपलब्ध गराउन पहुँच पुर्‍याइदिनुपर्यो भनेर आग्रह गरे । मैले उनलाई इमरजेन्सीमा लैजाँदै गर्नुस्,बेडको व्यवस्था म मिलाउँला भन्ने आश्वासन दिएँ ।

    मेरो आश्वासनपछि उनीहरूले आमालाई इमरजेन्सीमा लगेछन् । अस्पतालका अध्यक्ष आरएस भण्डारीलाई फोन  गरेर ‘हेलो’ भन्न नपाउँदै उनले उताबाट भने, ‘मामा अस्पतालहरूमा बेड छैनन्,सुरक्षित भएर बस्नु होला है ।’

    जुन कामका लागि फोन गरेको थिएँ,त्यो भन्न नपाउँदै अस्पतालका अध्यक्षले यस्तो भनेपछि मात्र काठमाडौं विकराल अवस्थामा पुगिसकेको अनुभूति भयो । नभन्दै उनले मेरो आग्रहमा पनि अस्पतालमा बेड निकाल्न सकेनन् ।

    इमरजेन्सीबाट चाँडो आइसियु बेड भएको अस्पतालमा लैजान ताकेता गरिरहेका थिए । म आफैं अस्पताल पुगिसकेको थिएँ । एउटा कुनामा बसेर मेडिसिटीदेखि ग्रीनसिटीसम्म,मनमोहनदेखि महेन्द्रनारायण निधी अस्पतालसम्मका साथीहरूलाई फोन गर्दा ‘सरी बेड त छैन’ भन्ने निरीह जवाफबाहेक केही पाइएन ।

    एउटासम्म बेड निकाल्न तयार भएका केही अस्पताल एकाएक पछि हट्न थाले । सरकारी कोभिड अस्पतालमा बेड त के इमजरजेन्सीमा पनि ठाउँ पाउने अवस्था देखिएन । अस्पताल नामका साइनबोर्डमात्र झुण्ड्याएर बसेका मुग्लिङका भोजनालय शैलीले बिरामी तान्ने ठाउँमा समेत हामीले एउटा बेड पाउन सकेनौं ।

    काठमाडौं उपत्यकाभित्रका कुनै पनि अस्पतालमा बेड नपाइने भएपछि हामीले झापा र मोरङका अस्पतालमा पनि खोज्यौं । बेड भेटियो भने रातारात अक्सिजनसहितको एम्बुलेन्सबाट वा बिहानै हेलिकोप्टरबाट बिरामी लैजाने साेचमा ।

    तर नेपालभरकै अस्पतालमा आइसियु र भेन्टिलेटर मात्र होइन, सामान्य बेडको समेत हाहाकार भइसकेको रहेछ । मेरो मित्र, जो राम्रो व्यापार व्यवसाय गर्छन् र आफ्नो क्षेत्रमा इमानका कारण प्रतिष्ठित छन् । उनी आमाको जीवन जोगाउन जति पनि पैसा खर्च गर्न तयार थिए ।

    तर पैसा पनि सामान्य अवस्थामा मात्र काम लाग्ने रहेछ । आज उनीसँग भएको पैसा पाँचतारे होटल सरह सुविधा र शुल्क लिने अस्पतालका लागि पनि प्रयोजनविहीन भयो ।

    अस्पताल खोज्दा खोज्दै रााति साढे १२ बज्यो । त्यसपछि त सबैका फोन अफ । काेही त उठाउन पनि छाडे । म हारेको सिपाही जस्तै भएर  साथी र उनका परिवारसँग माफी मागेर घर फर्किएँ । ‘भोलि बिहान फेरि प्रयास गरौंला’ भन्ने फुको आश्वासनसहित म हिँडें ।

    अस्पतालको प्रांगणमा एम्बुलेन्स रोकिएका छन् । चार घण्टादेखि बिरामी एम्बुलेन्सभित्र राखेर आफन्तले एउटा बेडको याचना गरिरहेका छन् तर कुनै पनि अस्पतालसँग ‘सरी हामीकहाँ बेड छैन,हेर्न सक्नुहुन्छ’ भन्ने बाहेक कुनै पनि जवाफ छैन ।

    इमरजेन्सीबाट स्वास्थ्यकर्मीले बिरामीलाई आइसियु बेड भएको अस्पताल लैजान दबाब दिइरहेका थिए । केहीबेर नोकझोक पनि चल्यो । तर त्यसको कुनै अर्थ थिएन । यसमा न हाम्रो दोष थियो न त ती फ्रन्टलाइनर स्वास्थ्यकर्मीको ।

    हामी अस्पताल नपाइ इमरजेन्सीमा कम्तिमा अक्सिजनको सहाराले बाँचरिहेकी आमालाई सडकमा मृत्युवरण गराउनुभन्दा अस्पतालमै ‘सरेण्डर’ गर्ने निष्कर्षमा पुग्यौं । बिरामीलाई छाडेर हामी एक प्रकारले छलिएर हिड्यौं ।

    बिहान ६ बजेदेखि फेरि अस्पताल खोज्न थालियो । हिजो बेड दिन सकिएन भन्दै ग्लानीभावका साथ कतिपय अस्पतालका सञ्चालक मित्रहरूले फोन गरेर माफी मागे । तर मैले खोजेको माफी होइन जीवन बचाउने एउटा आइसियु बेड थियो । जुन उनीहरूको पनि बुता बाहिर पुगिसकेको रहेछ ।

    केही अस्पतालमा बेड खोज्न जाने क्रममा जे देखियो र भोगियो त्यसले हामीकहाँ अहिले टेलिभिजनमा देखिने भारतका हृदयविदारक दृष्यहरु नजिकै आइसकेको बुझियो । मान्छे आफैंलाई नपरी र आफैंले नभोगी कोभिडबाट डराउने प्राणी होइन भन्ने कुरा हाम्रा आफ्नै गतिविधिले पुष्टि गरिसकेका छन् ।

    अस्पतालको प्रांगणमा एम्बुलेन्स रोकिएका छन् । चार घण्टादेखि बिरामी एम्बुलेन्सभित्र राखेर आफन्तले एउटा बेडको याचना गरिरहेका छन् तर कुनै पनि अस्पतालसँग ‘सरी हामीकहाँ बेड छैन,हेर्न सक्नुहुन्छ’ भन्ने बाहेक कुनै पनि जवाफ छैन ।

    यो ब्लग लेखुन्जेल पनि अस्पतालमा बेड पाइएको छैन र ती मित्र मलाई तारन्तार फोन गरेर भन्दैछन्- ‘के अब मेरी आमाले उपचार नपाएरै मर्नु पर्ने हो त ? यत्रो धन सम्पत्ति र इष्टमित्र अनि वैभव भनेको मेरो सुखका साथीमात्र हुन् त ?’

    मसँग मेरा मित्रलाई दिने जवाफ छैन,६ वर्षअघि भूकम्पले मेरो भत्काएर ७२ वर्षको बुबालाई खुला आकासमुनि सुताउँदा मैले आफूलाई जति निरीह महसुस गरेको थिएँ त्यो भन्दा फरक छैन अहिले । त्यो महाविपत्ति आकस्मिक थियो,यो चाहिँ हाम्रो लापरवाही पनि ।

    तपाईंहरू जो जहाँ हुनुहुन्छ सकेसम्म बाहिर ननिस्कनुस् । मलाई पनि लाग्थ्यो लकडाउन समाधान होइन । तर जब म आफैंले अस्पतालहरूका  दृष्य देखेँ र भोगेँ । त्यसपछि यो निष्कर्षमा पुगेको छु कि जो लापरवाही ढंगले बाहिर निस्कन्छ उसले अस्पतालभित्र ठाउँ पनि पाउने अवस्था छैन ।

    त्यो भूकम्प र यो महामारीबीच मैले पाएको एउटै समानता के हो भने,त्यसबेला धनी र गरिब सबै घरबाहिर खुला आकासमुनि पालभित्र आइपुगेका थिए,अहिले धनी र गरीब सबै अस्पताल बाहिर आइपुगेका छन् । राज्यसँग पर्याप्त पूर्वाधार नहुँदा व्यक्ति जति धनी भए पनि त्यो धन आफ्नै ज्यान जोगाउन काम लाग्ने रहेनछ भन्ने यो महामारीले बुझाउँदैछ ।

    म स्वास्थ्य क्षेत्रको विज्ञ होइन । के गर्दा यो महामारी नियन्त्रण तथा जनजीवनको कम क्षतिमा यो विपत्तिबाट जोगिन सकिन्छ भन्ने मौसमी टिप्स मसँग छैनन् । सामाजिक सञ्जालबाट निन्दा,कुण्ठा र गाली ओकलेर यो विपत्तिलाई जितिन्छ भन्ने भ्रममा पनि छैन ।

    तर दुई दिनको आफ्नै अनुभवले यति चाहिँ सरकारलाई सुझाव दिन सक्ने भएको छु,तत्काल स्वास्थ्य संकटकाल घोषणा गरौं । सरकारी, निजी सबै स्वास्थ्य संस्थाहरू राज्यले सञ्चालन गरौं ।

    एक दुई दिनमै पार्टी प्यालेस,रंगशाला लगायतका ठूला पुर्वाधारयुक्त ठाउँमा अक्सिजनसहितका आइसोलेसन वार्ड तयार पारिहालौं  ।

    देशभित्र कति भेन्टिलेटर छन्,कति आइसियु बेड छन् ? आइसियु बेड थप्न कसरी सकिन्छ ? त्यसको आँकलन गरेर सबै शक्ति लगाएर चीन लगायत देशहरुबाट भेन्टिलेटर ल्याउन नपाल बायुसेवा निगमलाई तयारी हालतमा राखौं ।

    एकपटक राज्यको,सरकारको सबै शक्ति यो विपत्तिसँग जुध्न प्रयोग गरौं । तर सरकारले जति गरे पनि नागरिक नै यो विपत्तिबाट जोगिन सावधान हुनुको विकल्प देखिएन । आफू र आफ्नै आफन्तलाई नपरेसम्म कोभिड केही होइन भन्ने अति विश्वास नै सन्निकट संकटको कारक हुनेछ ।

    यति भनिसकेपछि अर्ति मात्र दिन्छस् कि आफैंबाट सुरुवात  गर्छस् भन्ने प्रश्न पनि आउन सक्छ । मेरो नेतृत्वको सञ्चारगृहका केही खबरकर्मी दोस्रो भेरियन्टको सिकार भइसकेका छन् । आज हरेक न्युजरुममा संक्रमण पसिसकेको छ ।

    सरकारले लकडाउनको बेला सञ्चारकर्मीलाई छुट दिएको छ सडकमा निस्कन । तर हामीलाई थाहा छ,प्रेस भिरेर हिँडेपछि कोरोना भाग्दैन बरु त्यसले पछ्याउँछ । अधिकतम मापदण्डभित्र रहेर हामी खबरकर्ममा संलग्न भएका छौं ।

    तपाईंहरू जो जहाँ हुनुहुन्छ सकेसम्म बाहिर ननिस्कनुस् । मलाई पनि लाग्थ्यो लकडाउन समाधान होइन । तर जब म आफैंले अस्पतालहरूका  दृष्य देखेँ र भोगेँ । त्यसपछि यो निष्कर्षमा पुगेको छु कि जो लापरवाही ढंगले बाहिर निस्कन्छ उसले अस्पतालभित्र ठाउँ पनि पाउने अवस्था छैन ।

    यो कुरा मैले कसैलाई अत्याउन वा अवस्था भयावह भएको देखाउनलाई लेखिरहेको छैन । देखेको र भोगेको अनि सम्भातिव परिदृष्यबारे विज्ञहरूसँगको कुराकानीपछि लेखेको यो ब्लगमा आचारसंहिताका कारण भवितब्यका कतिपय कुरा त सेल्फ सेन्सरसिपमा परेका छन् ।

  • सम्झनामा महाभूकम्प : शव कुल्चिँदै तातोपानीदेखि काठमाडौंसम्मको त्यो यात्रा

    सम्झनामा महाभूकम्प : शव कुल्चिँदै तातोपानीदेखि काठमाडौंसम्मको त्यो यात्रा

    हरेक वर्ष क्यालेन्डरमा वैशाख १२ नजिकिँदै गर्दा ६ वर्षअघिको महाभूकम्प र त्यसले निम्त्याएको त्रासदीपूर्ण क्षण आँखै अगाडि आउँछ । १२ वैशाख २०७२ को महाभूकम्पका सम्झना हरेकका आफ्ना-आफ्नै होलान् । धेरैले आफन्त गुमाउनुपरेको पीडा ताजै छ । कति घाइते भए । हजारौंका घर भत्किए । उनीहरू सबैका कथा-व्यथा आफ्नै छ । र, छ मेरो पनि । सम्झिँदा आङ नै जिरिंग हुने ।

    भुइचालोपछि हतासमा सँगैका साथी गुमाउँदै शव टेक्दै सिन्धुपाल्चोकको तातोपानीदेखि काठमाडौं घरसम्म पुनर्जन्म लिएर आइपुग्दाको त्यो यात्रा सम्झिँदा कुनै ‘एड्भेन्चर’ फिल्मको दृश्य जस्तै लाग्छ ।

    ०००

    २०७२ वैशाख १२ बिहान सवा ११ बजे तातोपानीस्थित मानसरोवर वोर्डिङ्ग स्कूलमा फिस्टेल एअरको हेलिकप्टर ल्याण्ड गर्‍यो । लोकेसन विराएको त्यो हेलिको पाईलटले मलाई सोधे- ‘ह्वेयर इज कोदारी ?’

    म त्यही हेलिकप्टर चढेर उनीहरूलाई कोदारी पुर्‍याउन गएँ ।

    मित्र सरोजको कैलाश होटलमा खाना खान शुरू के गरेका थियौँ । सरोजकी श्रीमती चिच्याईन्- भुँइचालो गयो । सरोजजीले मलाई भान्छाको स्ल्याबमुनि छिराए। श्रीमती र छोरीसहित आफू पनि स्ल्याबमुनि पसे । हामी त्यहीँभित्र लुकेर धेरैबेर बस्यौं । केही बेरपछि साम्य भयो । सरोजजीसँगै ढोकासम्म निस्कँदा पीच बाटोमा हर्न बजिरहेका र साइड लाइट बलिरहेका गाडीहरू कुच्चिएका थिए ।

    अगाडिको पीच बाटोमा पहिरो खसेको मात्र देखिन्थ्यो । देब्रेपट्टी खरानी रंगको गाडीमा च्यापिएकी एक महिला सहायता मागिरखेकी थिइन् । गाडीमाथिको ठूलो ढुंगा तीनजनाले निकाल्न लाख कोसिक गरे, सकेनन् । टुलुटुलु हेर्नु शिवाय त्यहाँ कसैको दिमागमा केही उपाय आइरहेको थिएन ।

    सरोजजीको श्रीमतीसँग भएको एनसेलको सीमबाट मैले काठमाडौंमा परिवारसँग सम्पर्क गर्न खोजें । फोन लागेन । मित्र सुदर्शनसँग चाहिँ सम्पर्क भएपछि म सुरक्षित छु, घरमा त्यही भन्दिनु भनें । करिब पौने घण्टापछि हामी बाहिर निस्क्यौं । अघिको गाडीमा च्यापिएका मानिसहरू मरिसकेका देखिन्थे । भौगोलिक बनावटका कारण त्यो ठाउँमा पहिरोको त्रास भने रही नै रह्यो । कालिमाटी घर बताउने एकजना आफ्नो बुबाको खुट्टा भाँचिएपछि बोकेर सजिलो ठाउँमा ल्याइदिन प्रहरी गुहार्दै थिए ।

    ०००

    सबैजना चिलबिल र हतास थिए । म पनि हतासैहतासमा कसरी हुन्छ काठमाडौंमा परिवारसँग भेट्न आतुर थिएँ । तर, जताततै पहिरोले बाटो अवरुद्ध भएको र क्षण-क्षणमा कम्पन आइरहेकाले सजिलो भने थिएन । एकजना महिला र पाँच पुरुषसहित हामी कोदारीतिर भीरको बाटो लाग्यौं । पछि एकजना साथी मेघ पनि थपिएपछि तातोपानी लाग्यौं । कच्याककुचुक भएको रातो आइ टेन गाडी बाटोमा रगताम्मे अवस्थामा भेटियो । दगुर्दै स्कूलमा आईपुग्दा तातोपानीका धेरै मान्छे जम्मा भएर त्यहीँ बसेका थिए ।
    काठमाडौंबाट मसँगै गएका पाँच शिक्षक आत्तिइरहेका थिए । सुदेश सरले म फर्केर आइपुग्ने प्रति आशा मारेको सुनाए । पटक-पटकको कम्पनका बीच रातभर क्यान्टिनको पेटीमा भोकै आँखा झिमिक्कै नपारी बित्यो । पारिपट्टी खासामा भने रातभरी उद्धार गरेको प्रष्टै देखिन्थ्यो । भोलिपल्ट बिहान दौडदै गएर नमस्ते होटलमा राखेको मेरो ब्याग र मोवाईल लिएर आएँ ।

    ०००

    म, राम, हरि, पवन, कमल र सुनिता हिँडेरै काठमाडौं जाने निधो गर्‍यौं । तर यशु, कविता र सुदेश जान मानेनन् । स्कूल तलबाट भोटेकोसीको किनार हुँदै दश किलो आइपुग्यौं । त्यहीँ भेटिएका विशेष प्रहरीका रिटायर्ड एसएसपी राईले पनि सासु र छोराछोरी लिएर हिँडेरै जाने भनेपछि हामीमा साहस आयो । म, सुनिता मिस, राई सरको श्रीमती, छोराछोरी र ड्राइभर अघिअघि बीचमा हरि सर र पछाडी राई सर, सासु र राम सर हुनुहुन्थ्यो । लार्चा चौकीनेर आइपुग्दा बीचमा ठूला दुईवटा पहिरो र क्षतविक्षत गाडीहरू पार गरियो । लार्चा चौकी ध्वस्त थियो । माथिपट्टि अजङ्गको भीर थियो भने तल धमीलो भोटेकोशी ।

    खकुण्डोलमा पनि सबै घरहरू भत्किएका देखिन्थे । सुनिता मिस र ममात्रै अगाडी भयौं । अरु बाटोमै छोडिए । घरको झ्यालमा शरीरभित्रै र टाउको बाहिर निस्केको एकजनाको शव देखें । बीचमा कुनै घरहरू सग्ला थिएनन् । शवहरू त्रिपालमुनि यत्रतत्र थिए । एकठाउँ श्रीमानश्रीमतीलाई बाइकसहित पहिरोले पुरेको थियो । म त्यसैमाथि टेक्दै दगुरें । चाकुका घरहरु सबै भत्किएका थिए । पुलको बीचमा एउटा शव थियो । अलि वर आएपछि ३० जनाजति मानिसहरू बसिरहेका थिए । अघिअघि हिँडेका कमल र पवन सर पनि त्यहीँ भेटिए ।

    कोही वञ्जी जम्पको बाटो जाने भए भने कोही उकालो चढ्ने भए । म उकालो चढ्नेमा परें ।

    ०००

    अगाडि ८/१० जना थिए । पछाडि १२/१३ जना । म बीचमाा । त्यहीबेला भूकम्प आइदियो । आँखै अगाडि पहिरोले पछाडिका सबैलाई लग्यो । म बारीतिर भागेँ । धर्ती हल्लिरहेको थियो । हामी माटोको ढिस्कोको छेउमा आड लागेर बस्यौँ । एक्लै भएको म फेरि २०/२५ कान्ला उक्लेँ । चाकुमा जलिरहेको शवको धुवाँ आइरहेको थियो । मास्तिर जाँदा सुरक्षित महसुस हुन्थ्यो । साँझ परिसकेको थियो । त्यहाँ भेटिएका दुई गाउँलेले पहिरोले अगाडि जान नसक्ने भन्दै आफूहरूकैतिर बस्न भनें ।

    करिब ९ बजे उनीहरू त्रिपाल टाँगेर बसेको ठाउँमा पुगियो । भूकम्पले आफैं चिलबिल भएको पीडा विर्सिएर पाहुनाप्रति देखाएको ती गाउँलेको सत्कारले नेपाली समाजमा सहयोगी भावना जीवित भएको प्रष्ट झल्कन्थ्यो । भत्किएका घरमा पुरिएको अन्न पनि खोतल्न नपाएका उनीहरूले ऐंचो-पैंचो गरेरै भए पनि बडो प्रेमपूर्वक हामीलाई सत्कार गरे । हामीलाई ‘भगवान’ भेटेजत्तिकै भएको थियो । भोलिपल्ट एकजना वृद्धले हामीलाई डाँडैडाँडा जान सुझाए ।

    ०००

    भूकम्पको तीन दिनका दिन बल्ल घरमा सम्पर्क भयो । मन त हल्का भयो तर, परिवारसँग भेट्न पुग्छु कि पुग्दिन भन्ने कुराले चाहिँ उत्तिकै पिरोलिरह्यो । बिजुली-पानी केही छैन होला र घर चिराचिरा परेको होला भन्ने पीर मात्र लाग्यो । आफू सुरक्षित रहेको मात्र बताएँ । अरु केही बोल्न सकिन । मसँगैकाहरूले पनि आफन्तलाई फोन गरे । काठमाडौंमा रहनुभएका कुमार श्रेष्ठ र समीर नेपाल काकालाई फोन गरेर तत्कालीन गाधी गाविसको वडा नं. ६ लोकेसन बनाउँदै बालहित प्राविको माथि डाँडामा हेलिकप्टर पठाइदिन याचना गरेँ । तर, हेलिकप्टर पठाउन सम्भव नभएको जवाफपछि त्यो रात त्यहीँ छटपटाहटमा बित्यो ।

    मंगलबार बिहान करिब साढे ६ बजे हामी बाह्रविसेतिर लाग्यौं । भीरैभीर पहिरैपहिरो सिंगार्ची मन्दिरनेर पुग्यौं । कुनै घर सग्लो थिएन । मानिसहरू घरबाट झिक्न सक्ने जति सामान झिक्दै थिए । सिंगार्चीमाथि ठूलो भीर थियो । करिब २ घण्टा भीरको बाटो हुँदै खागदल पारि आइपुग्यौं । पर बाह्रविसे देखेपछि लामो स्वास तानियो । खेतखेतै तल रोडमा झरियो । सेनाको समूहले एउटा घरमा पुरिएका मान्छे खोज्दै थिए । स्थानीय एक व्यक्तिले १५० भन्दा बढी मानिस मरेको बताए ।

    ०००

    हामी फटाफट बाह्रविसेको पुलनेर आइपुग्यौं । सेनाले खनेको बाटो हुँदै सुनकोशी तरेपछि भने सुरक्षित महसुस भयो । लामोसाँघु आएर आएर श्रीमती एलिनाको नम्बरमा ट्राइ गर्दा फोन लाग्यो । दुवैजना फोनमा वेस्कन रोइयो । छोरी र आमासँग पनि बोलें ।

    करीब आधा घण्टापछि हामी एक किलो पुगेर सुनिता मिसको घर ८ किलोमा पुग्यौँ । केहीबेरमै माथिबाट आएको गाडी रोकेर हामी खाडीचौर हुँदै काठमाडौं लाग्यौं । धुलिखेल बनेपाका सग्ला घरहरू देख्दा यता त केही नै नभएजस्तो आभास भयो ।

    जडीबुटीमा उत्रिएर गोठाटार आएँ । बुबाआमा, एलिना, छोरी, भतिज श्याम/एन्जिला र नाती यमन सबै त्रिपालमुनी थिए । म परिवारसँगै रोएँ । परिवारको मुख हेर्न पलपलको मृत्युलाई जितेर आएको त्यो क्षण मानसपटलमा आजसम्म ताजै छ ।

  • राधिका शाक्यको अनुभूतिमा ओलीलाई नियाल्दा

    राधिका शाक्यको अनुभूतिमा ओलीलाई नियाल्दा

    मेरा औंलाहरू यतिबेला किबोर्डका बटनमा अडिएका छन् । सामुन्नेमा छ एउटा पुस्तक, जसलाई हेरेर दुविधाजन्य मोडमा टोलाइरहेको छु । भर्खरै पढिसिध्याएको त्यो पुस्तकले घोत्लिन बाध्य बनाएको छ । राजनीतिमा ‘रुचि नराख्ने’ तर वर्तमान राजनीतिक घटनाक्रम नजिकबाट नियालिरहेकी एक महिला, जसले आफ्ना जीवनका उर्जाशील समय त्याग र समर्पणमा बिताइन् ।

    तीनै महिला हुन्, राधिका शाक्य । प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनसंगिनी शाक्यले भर्खरै आफ्नो संस्मरणात्मक पुस्तक ‘मेरा अनुभूति’ प्रकाशन गरिन् । हुन त यसमा उनका निजी अनुभूति निकै कम पाइन्छन् । प्रत्येक अनुभूति केपी शर्मा ओलीसँग सम्बन्धित छन् । पुस्तककी लेखक राधिका शाक्य भए पनि यसमा समेटिएका अनुभूति ओली र शाक्यका संयुक्त हुन् भन्दा अतिशयोक्ति नहोला ।

    द्धिविधा यसअर्थमा कि, लेखनका शिल्पबारे प्रशस्त प्रश्न छन् मसँग । निर्धक्कसँग भन्दा एउटा पुस्तकप्रेमी पाठकलाई यो पुस्तक पढ्दा भाषा ‘टर्रो’ लाग्न सक्छ ।

    पुस्तकको रुपमा लेखकको सफलता, असफलता वा प्रयासबारे मापन गर्ने एउटा पाटो त छ नै । यद्यपि, एउटा महिलाको त्याग र संघर्षलाई नजरअन्दाज गर्नचाहिँ कदापी मिल्दैन । आजका प्रधानमन्त्री ओली यो स्थानसम्म आइपुग्न राधिका शाक्यको त्यागलाई इतिहासले बिर्सनुहुँदैन ।

    प्रधानमन्त्री ओलीका केही कदमसँग वैचारिक असहमति पक्कै छन् । यसमा एकपक्षीय दृष्टिकोण हुन पनि सक्लान् । अथवा देशको कार्यकारीसँग असन्तुष्टि र गुनासाहरू हुनु स्वभाविक पनि हो । तर, कठोर जेल यातना र स्वास्थ्य संघर्षका बाबजुद नेपालको राजनीतिमा उनले पुर्‍याएका योगदान इतिहासका गर्तमा पुरिन दिनुहुन्न ।

    कतिपयलाई सन्देह छ- ओलीलाई ‘हिरो बनाउन’ शाक्यले पुस्तक लेखेकी हुन् । पुस्तकमा कतै शाक्य पूर्वाग्राही पनि देखिन सक्छिन् । तर, उनको निजी जीवनका सन्निकट पात्र हुन्, ओली । उनको ज्ञान र चेतनालाई अन्तस्करणबाट नियाल्ने उनै शाक्य हुन् । आफूले देखेको, भोगेको र साक्षी बसेको क्षणलाई अनुभूतिमा साट्दा संस्मरणका ‘ओली’ पात्रमा नायकत्व देखिनु स्वभाविक हो ।

    उसो त उनी ओलीको ज्ञान र बौद्धिकताबाट प्रभावित छिन् । ओलीका ज्ञान र बौद्धिकतकाबारे बेला-बेलामा टिका–टिप्पणी पनि हुने गर्छन् । सार्वजनिक समारोह वा अन्तर्वार्तामा उनी केही न केही नयाँ तथ्य र विषयबारे बोलिरहेका हुन्छन् ।

    शाक्य ओलीको विद्धताको मुक्तकण्ठले प्रशंसा गर्छिन् । ‘उहाँसँग आज कागजमा लेखिएको प्रमाणपत्र त छैन, तर मै हुँ भन्ने व्यक्तिसँग उहाँले विभिन्न विषयमा गरेका विमर्शले ज्ञान कागजमा हुनु र मतिष्कमा हुनुको भेद महसुस गर्न पाइन्छ । हरेक विषयमा गहिराइसम्म उहाँको पकड मैले महसुस गरेकी छु । उहाँसँग हरेक विषयमा ज्ञानको अपार भण्डार छ,’ पृष्ठ ३ मा उनले लेखेकी छन् ।

    महिलाको त्याग र संघर्षको बिम्ब
    राधिका शाक्यका त्याग त्यसदिनबाट सुरु हुन्छ, जुन दिन उनी केपी ओलीसँग वैवाहिक जीवनमा बाँधिइन् । जतिबेला ओली स्वयम्‌को भविष्य अन्धकार थियो । तर, दृढ संकल्पका साथ उनले ओलीसँग बिहे गरिन् २०४४, फागुनमा ।

    उनले यसलाई आफूले लिएको जीवनकै साहसिक निर्णय मान्छिन् । ‘शैशवास्थामा मातृवियोगले, किशोरावस्थामा अन्याय र अत्याचार विरोधी संघर्षले जीवनका आधार समयहरू त्रासद् यातनाले जर्जर बनेको एउटा कुपोषित मानिसलाई प्रेमले पोषित गरेर हुर्काउने संकल्प मैले गरेँ,’ पृष्ठ १३ मा उनले लेखेकी छन् ।

    केपी ओली धेरैपटक मृत्यु शय्याबाट फर्किएका छन् । कयौंपटक अस्पतालमा बेडहरूमा उनलाई आशा मारिएका कथा शाक्यका स्मृतिमा जीवित छन् । ‘म काठमाडौं खाल्डोमा जन्मी हुर्किएकी एक साधारण मानिस हुँ । विवाहपछि उहाँको स्वास्थ्योपचारका लागि देश बाहिरका धेरै ठाउँमा पुगें । ती अञ्जान ठाउँमा त्यस क्रममा कैयन् पटक रोएकी छु, कैयन् पटक उहाँलाई माया मारेकी छु । आफ्ना बेदनाका पहिरोहरू थाम्दै उहाँको जीवन र मृत्युको पातलो दोसाँधमा उभिएकी छु,’ उनले पुस्तकमा लेखेकी छन् । ओली रोगग्रस्तमा हुनु, १४ वर्षको जेल बसाइ र त्यतिबेलाका कष्टकर यातना जिम्मेवार छन् ।

    निरंकुश पञ्चायतविरुद्ध उनीहरूले झापा विद्रोह सुरु गरेका थिए । झापा विद्रोहको क्रममा ओली २०३० साल असोज २३ गते रौतहटबाट गिरफ्तारीमा परे । २०३० साल असोज २३ गतेदेखि मंसिर ३ सम्म पर्सा जिल्लाको गौर चौकी र गुल्ममा राखी उनलाई शारीरिक र मानसिक यातना दिइयो । महिनौसम्म चिसो जेलमा राखिएका उनले काठमाडौंको भद्रगोल जेलमा पनि महिनौंसम्म यातना झेले ।

    गौर थानाबाट वीरगञ्ज जेल सार्ने क्रममा ओलीलाई मार्ने योजना समेत बनेको थियो । जंगलमा भाग्न खोजेको अभियोगमा उनलाई मार्ने षड्यन्त्र थियो । तर, जेल सार्ने जिम्मेवारी दिएर पठाइएको उक्त टोलीको नेतृत्वकर्ता सई मोहनप्रसाद अधिकारीको मनमा दया पलायो । र उनले आफूलाई मर्नबाट जोगाएको कुरा शाक्यलाई एक रात ओलीले सुनाएका थिए । (पृष्ठ, ७)

    जेल बसाइको क्रममा ओलीका कष्टकर भोगाइ दर्दनाक थिए । ‘१४ वर्षको जेल बसाइमा मैले एक वर्षको जति पनि खाना खाएको छैन होला,’ ओलीलाई शाक्यलाई भनेका थिए । त्यही क्रममा ओलीलाई अल्सर, टीबी, पायल्स जस्ता अनेक रोग लागेको उनले लेखेकी छन् ।

    राधिका ३२ वर्षअघि फर्किन्छिन् । विवाहपश्चात् केपी ओलीका सामाजिक र राजनीतिक जीवनले आफ्नो दाम्पत्य जविनमा उति विमर्श हुन नपाएको उनी लेख्छिन् ।

    यी बीचमा शाक्यका धेरै रहर ओलीका उपचार र राजनीतिक जीवनका सहयोगी मात्र बन्दैमा मारिएका हुनसक्छन् । एउटी गृहणी र असल पत्नीको भूमिका निभाउँदैमा उनका जीवनका महत्वपूर्ण हिस्सा गुमेका हुनसक्छन् ।

    अस्पतालका कष्टकर यात्रा
    स्वास्थ्य उपचारको क्रममा ओली नेपालका त्रि.वि शिक्षण अस्पताल महाराजगञ्ज, ब्ल्यु बर्ड क्लिनिक, नर्भिक अस्पताल थापाथली र ग्राण्डी अस्पताल टोखामा गरी करिब ६० दिनजस्तो अस्पताल बसेको कुरा शाक्यले आफ्नो पुस्तकमा उल्लेख गरेकी छन् ।

    त्यसैगरी विदेशी अस्पतालमा पनि ओलीले थुप्रै दिन कटाएका छन् । ‘विदेशको एपोलो अस्पताल, मेदान्त अस्पताल, म्याक्स अस्पताल, अमेरिकाको न्यूयोर्कस्थित लेनोक्स हिल हस्पिटल, थाइल्याण्डको बैंककस्थित समिति भेज अस्पताल र बुमरुङगार्ड अस्पताल र सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा गरी करिब एक सय ५० दिन अस्पतालमा बस्नुभएको छ,’ शाक्यले लेखेकी छन् ।

    ओलीलाई १० पटकको अन्तरालमा दुई पटक मिर्गौला प्रत्यारोपण गर्नुपर्‍यो । दुवै पटक प्रत्यारोपण सफल भयो । यी अवधिमा ओलीका स्वास्थ्यउपचारको लागि शाक्यले जति हण्डर खेप्नुपरेको छ, त्यो कम दुःखदायी छैन । २०६४ साल साउनमा दिल्लीको एपोलो अस्पतालमा डा अनन्तकुमार नेतृत्वको टोलीले किड्नी प्रत्यारोपण गरेको थियो ।

    मिर्गौला ओलीको भाइबुहारी अञ्जना ओलीले दिएकी थिइन् । त्यतिबेला ओलीको उपचारमा दूतावासले गरेको नमीठो व्यवहार शाक्यको सम्झनामा आइरहन्छ । त्यतिबेला कोठा खोज्दै गर्नुको पीडा र ओलीको स्वास्थ्यलाई लिएर गर्नुपरेको संघर्ष उनी भुल्न सक्दिनन् ।

    एकपटक बिमारी भएर अस्पताल बस्दा ओलीमा विस्मृतिको समस्या देखियो । त्यतिबेला शाक्यले बिताएका क्षण निकै पीडादायी थिए । ओली बिमारी भएकै कारण मआधिवेशनताका उनको स्वास्थ्यलाई एजेण्डा बनाउँदा पनि शाक्य दुःखी भएकी थिइन् । स्वास्थ्यमा राजनीति गर्ने समूहहरूले ‘आर्यघाटमा जाने मान्छेलाई अध्यक्ष बनाउने’ भन्ने खालका प्रश्न गर्दा उनको मन दुखेको थियो ।

    दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने क्रममा पनि ओलीको स्वास्थ्यमाथि राजनीति गरेको उनी लेख्छिन् ।

    २०७६ फागुन २० गते दोस्रो पटक मिर्गौला प्रत्यारोपणमा ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् । त्यसताका पनि ओलीको स्वास्थ्यमा आएको समस्याले आफू रातो दिन ननिदएको कुरा शाक्यको पुस्तकमा उल्लेख छ ।

    शाक्यका कमजोरी : आवेगका प्रसंग
    शाक्यले आफ्ना स्मृतिहरू लेख्दा कतै स्वभाविक देखिएकी छिन् त कतै दम्भ पनि देखाएकी छन् । शाक्य आवेगलाई थाम्न सक्दिनन् भन्ने कुरा एक दुई प्रसंगबाट भन्न सकिन्छ ।

    २०६४ सालतरि केपी ओलीलाई दिल्ली पठाएको बेला बालकोटस्थित तत्कालीन एआइजी कृष्ण बस्नेतको घरमा वाइसियलका कार्यकताले घेरेका थिए । त्यहाँ प्रहरीहरू हुँदा पनि उनीहरू मूकदर्शक बनिरहेका थिए । त्यतिबेला उनले उनका सुरक्षार्थ प्रहरीलाई कठोर आदेश दिएकी थिइन्-‘यदि हाम्रो घरमा पनि उनीहरू आएमा गोली ठोक्नु, आदेश चाहिए अहिले नै लिइराख्नु ।’ (पृष्ठ ४६)

    पुस्तक लेखिरहँदा पनि उनले पटक-पटक आवेगबारे खुलाएकी छन् । केपी ओलीले २०६४ सालको चुनाव हार्दा माओवादीका विश्वदीप लिङ्देनले चुनाव जितेको प्रसंगमा उनले लेखेकी छन्, ‘२०६५ वैशाख १ मा चुनावको परिमाण घोषणा हुनासाथ मेरो मन-मस्तिष्कबाट एउटा उद्गार निस्क्यो- धन्य छ झापाली जनता जसले केपी ओलीलाई हराएर एक जना दुष्ट मतिको मानिसलाई जितायो…।(पृष्ठ ५१)

    अर्कोचाहिँ पार्टीको नवौं महाधिवेशनको उद्घाटनबाट अध्यक्षमा निर्वाचित भइसकेपछि ओलीसँग उनी भृकुटीमण्डप राष्ट्रिय सभागृहतर्फ गएकी थिइन् । ओली भृकुटीपण्डपतिर गए । एक छिनपछि सभागृहको पर्खालमा बसेका एक जना २०-२२ वर्षका युवक कराए- केपी ओलीलाई हामीले नेता बनाएका हौं । अहिले के फूर्ति गर्नु ?

    यति सुन्नासाथ राधिका शाक्यलाई झनक्क रिस उठ्यो । ‘सरासर त्यो केटा कराइरहेको ठाउँतिर लागेँ । म त्यसरी अगाडि बढेको वरपर मलाई चिनेका साथीभाइले देखेछन् । उनीहरूले ममलाई अगाडि आएर रोके ।’ यहाँ उनको आवेग झल्किएको प्रष्ट हुन्छ । उनले थप्दै लेखेकी छन्, ‘केपी ओलीले राजनीति गर्दा र नेता हुँदा त्यो केटाका बा-आमासमेत जन्मेका थिए कि थिएनन् । तर, आज ऊ यसरी सतही रुपमा केपी ओलीमाथि जज गर्छ ।’

    कतै कतै देखिएको यो आवेगले लेखकका स्वभावलाई भने दर्शाइहाल्दैनन् । किनकि, दुःख र दर्दले कहिलेकाहीँ व्यक्तिलाई कठोर बनाउँछ पनि । बरु लेखकले आफ्ना अनुभूतिलाई नढाँटिकन लेख्न सफल भइन् ।

    सहानुभूति र प्रश्न
    शाक्यले ओली गृहमन्त्री हुँदा होस् वा परराष्ट्रमन्त्री । त्यतिबेला गरेको काम प्रशंसायोग्य भएको ठान्छिन् । प्रधानमन्त्री हुँदा ओलीले गरेका कामबारे उनी मुक्तकण्ठले प्रशंसा गर्छिन् । बरु, ओलीका राजनीतिक सहयोद्धा माधव नेपाल र झलनाथ खनालले भने निकै अवरोध पुर्‍याएको कुरा पुस्तकमा उल्लेख गरेकी छन् ।

    आफू राजनीतिक चासो राख्दिनँ भनेकी छन् शाक्यले । माधव नेपालले पार्टीको नेतृत्व गरिरहेको बेला केपी ओलीमाथि पूर्वाग्रह राखेको र अपमान गरेको उल्लेख गरेकी छन् । ०६४ सालमा ओली पार्टीको नेतृत्वमा नहुँदा पनि, संसदमा नहुँदा पनि उनको भूमिका सबैभन्दा निर्णायक भएको उनले उल्लेख गरेकी छन् ।

    पुस्तकमा सुरुदेखि अन्तिम पन्नाको अनुच्छेदसम्म ओली जोडिएका छन् । पुस्तकमा केन्द्रीय पात्र नै ओली हुन् । शाक्यका अरु अनुभूति (जो नितान्त उनको होस्) आउने अपेक्षा गर्दागर्दै पन्ना सकिएपछि भने केही निराशा जागेका छन् । ओलीको राजनीति र सामाजिक जीवनमा शाक्यको निकै सहयोगी भूमिका रह्यो । तर, शाक्यको जीवनमा ओलीका भूमिका भने गौण देखिए । दम्पतीबीचको प्रेम झल्किए पनि शाक्यका सपनाबारे विमर्श भएको देखिएन । शाक्यका अनुभूतिमा धेरै कुरा छुटेको पाएपछि मलाई भने लागिरहेको छ- वियज मल्लको एकांकी ‘सत्ताको खोजी’ र आहुतिको उपन्यास ‘स्खलन’का पात्रहरू कहिलेबाट ‘एकादेश’का बन्लान् ?

  • देउवा ज्यू, देश दाऊमा नराखी राजनीति गर्न मिल्दैन ?

    देउवा ज्यू, देश दाऊमा नराखी राजनीति गर्न मिल्दैन ?

    आदरणीय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ज्यू,

    मलाई नेपालको नागरिक हुनुमा गर्व छ । प्राकृतिक छँटाले सुसज्जित, धार्मिक, साँस्कृतिक एवम् ऐतिहासिक धरोहरले सुसम्पन्न, विभिन्न, जात, भाषा, धर्म, सँस्कृति र मौलिक परम्पराले भरिपूर्ण देशको नागरिक गौरव महसुस नहुने कुरै भएन । हाम्रा पुर्खाको वीरताको गाथाले मन गद्गद् हुन्छ । बलभद्र कुँवर र भक्ति थापाले देशको रक्षार्थ लौरो टेकेर लडेको वीरताले छाती चौडा भएको महसुस हुन्छ । तर, देशको अहिलेको परिस्थिति, राजनीतिक दाउपेचले उठेको शीर निहुरिन्छ, छाती खुम्चन्छ ।

    अझ देशमा बढ्दो विदेशी हस्तक्षेप र परनिर्भर नेताका कारण भोग्नु परेको सास्तीले मन चस्किन्छ । मुटु भकानिन्छ ।

    कहिलेकाहीं हरेक राष्ट्रको जीवनमा अप्ठयारो आइलाग्छ । महासंकट आइलाग्छ, महासंकटबाट बँचेको समाजले नवीन सपना बुन्छ । संकटबाट पाठ सिक्दै देश बनाउने र बचाउने अर्जुनदृष्टि असल राजनेतामा हुनुपर्छ । राज्यको रुपान्तरण गर्नु, राज्यका नागरिकको सुखभोग, उन्नति, प्रगति, समुन्नती र समृद्धिको खाका कोर्नु असल राजनेताको पहिचान हो ।

    हामी संगैका राष्ट्रहरुले उन्नतिको शिखर चुमिसकेका छन् । नेपाली कांग्रेसका सभापति तपाईंको उमेर समूहका नेताले विश्वका धेरै देशमा धेरै प्रगति गरिसके । उनीहरु हाइहाइ भएका छन् । तर तपाईंलगायत हाम्रा शीर्ष नेता विदेशीको इसारामा नाच्नाले देश अहिले पनि यो गतिमा छ ।

    पछिल्लो समय खुब चर्चामा छ, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषय । यसबारे केही प्रश्न छन्, जुन म तपाईंलाई गर्न चाहन्छु ।

    के हाम्रो देश एमसीसी नआएकै कारण पछि परेको हो ? हामीसंग यसबाकेह अरु विकल्प छैनन् ? हाम्रो प्राकृतिक स्रोतसाधनको प्रयोगबाट हामी समृद्ध हुन सक्दैनौं । हाम्रो देश मरुभूमी हो ? मरुभूमीमा भएका देशहरुले त कति हो कति प्रगति गरिसके, हामी चाहिँ अमेरिक सहयोगबिना केही गर्नै नसक्ने भएका हौं ?

    कुनैबेला चीन, सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया र नेपालको अवस्था उस्तै थियो । तर, पछिल्लो आधा सताब्दीमै अरु देशहरुले विकास र समृद्धिको नयाँ उचाइ प्राप्त गरे । उनीहरुले चमत्कार गरे । तर, हामी अभावान फसिरह्यौं । किन यस्तो भयो ? यो सब हुनुमा कसको दोष छ ? कि भन्नुप¥यो –हाम्रो जमिनै खराब छ । या त हामी गरिब हुनका लागि श्रापित छौं । अन्यथा गडबडी कहाँ छ ?

    मैले देखेको गडबडी राजनीतिमा छ । राजनीतिक दर्शन, राजनीतिक कार्यक्रम, राजनीतिक संरचनामा र राजनीतिक नेतृत्वमा छ ।

    शीर्ष नेताले एमसीसी लागू गर्न मरिहत्ते गरेको देखेर या त हामीसंग कुनै अन्य विकल्प नै छैन या त त्यहाँ नेताहरुको स्वार्थ लुकेको छ भन्नेमा शंका छैन । आफ्नै देशमा भएको बजेटको सदुपयोग गर्न नसक्ने, बजेटमाथि कुदृष्टि लाउने, भ्रष्टाचार गरेर काठमाण्डौंमा आलिशान महल बनाएर भारदारहरुलाईसम्म भ्याउने गरी नवउदीयमान धनाड्यका रुपमा उदाउनु पर्ने, आफ्नो देशको आर्थिक मितव्यीता र अनुशासन कायम गर्न नसक्ने अहिले आएर एमसीसी नभए ज्यानै फाल्नुपर्छ ?

    एमसीसी संसदबाट पास गराउने पराधीन मानसिकताले कांग्रेसको आर्दश वाक्य ‘राष्ट्रियता’माथि नै प्रहार भएको छ । र, नेपाली कांग्रेस समग्र राष्ट्रको अहित हुने काममा लागिरहेकोप्रति गम्भीर चिन्ता लागिरहेको छ । एमसीसी सम्झौता गरी समृद्धिको सपना बुनेका थुप्रै राष्ट्रहरुको कहालीलाग्दो अवस्था हामीले देखिसकेका छौं । यो हाम्रो राष्ट्रको सर्वपक्षीय हितका लागि छैन, यो ठूलो धोका हो ।

    संयुक्त राष्ट्रसंघमा १९३ देश सदस्य छन्, जसमध्ये ४८ देश गरिबको सूचीमा पर्छन् । हामी पनि त्यही सूचीमा छौं, जसले नेपाललाई अल्पविकसित राष्ट्रको परिचय दिएको छ । सन् १९७१ को प्रकाशित सूचीमा रहेका थुप्रै राष्ट्रहरुले विकास र समृद्धिको उचाइ चढिसके तर हामी गरिबीको कुवामा फसेका छौं ।

    विकसित राष्ट्रहरुले सिकाएको एउटै कुरा छ– विकासका लागि असाधारण प्रयत्न गर । सचेत मिसन र त्यसलाई सफल गर्ने परिणाममुखी लिडरसिप विकासका आधारस्तम्भ हुन् । ए.पी.जे. अब्दुल कलामका आशयमा देश बनाउने यस्तो सपना चाहिन्छ, जसले न नेताहरुलाई निदाउन दिनेछ, न त जनतालाई नै ।

    नेता र जनताको सपना जुन दिन एउटै हुन्छ, त्यो दिन समृद्धिको यात्रालाई कसैले रोक्न सक्दैन । अहिले ठीकविपरीत भैरहेकोछ । नेता उत्तर, दक्षिण र युरोपको गहिरो प्रभावमा फसिरहँदा जनता निरीह बनेका छन् । जनतालाई नेपाली माटो सुहाउँदो विकास र समृद्धि चाहेको छ, नेता आफूलाई शक्ति राष्ट्रहरुबाट बच्ने ओखती चाहेको छ ।

    जबसम्म विकास र समृद्धिको शिखर टेक्न राजनीतिक सुधार, रणनीतिक क्षेत्रमा लगानी र आधारभूत सेवासुविधाको न्यायपूर्ण वितरण हुनैपर्छ । यस्तो स्थितिमा ५६ अर्बको मिलेनियम च्यालेन्स कर्पोरेसनको अनुदान आएपनि देश समृद्ध बन्न सक्दैन ।

    विकासको नियम हुन्छ, यो नियम अग्लो सिंढी जस्तै हो, टेक्ने ठाउँमा समात्यो भनेपनि लडिन्छ, समात्ने ठाउँमा टेके पनि लडिन्छ । त्यसैले ठीक ठाउँमा टेक्ने र ठीक ठाउँमा समात्ने अभ्यास तपाईंले गर्नुपर्छ । अहिले नेपाली काँग्रेसले समात्ने ठाउँ भनेको एमसीसी अनुदान होइन । अहिले समात्ने ठाँउ भनेको नेपालको जल, जमिन र जंगलबाटै समृद्धिको खाका कोर्नु हाम्रो उत्तम बाटो हो ।

    हामीसंग थुप्रै सम्भावनाहरु छन् । जस्तो फिजी जस्तो सानो देशले उच्च कोटीको ‘फिजी वाटर’ उत्पादन गरेर उच्च मूल्यमा बिक्री गरिरहेको छ । फिजी राष्ट्रले आफ्नो समृद्धि फिजी वाटरमा देख्यो । हामीले हाम्रा हिमालहरुबाट बग्ने कञ्चन पानीको बान्डिङ ‘सागरमाथा वाटर’ गर्न सक्यो भने पनि समृद्धि आउनसक्थ्यो ।

    सागरमाथाले हाम्रो देशको पहिचान उच्च बनाइरहँदा विश्व बजारमा ‘सगरमाथा वाटर’ उच्चमूल्यमा बिक्रि गर्न लाग्दा हाम्रो शान पनि उँचो हुने थियो ।

    यस्तै हामीसंग लुकेका स–साना कुराले देशले समृद्धिको उचाइ समात्न सक्छ । पर्यापर्यटन, उत्पादनशील उद्योगको पुनर्जागरण, कृषिमा आधुनिकीकरण गर्न सक्यौं भने मुलुक समृद्ध बन्न धेरै समय लाग्दैन । मुख्य कुरा स्रोत परिचालन, सुशासन र सामाजिक न्यायको हो ।

    बेलायत र फ्रान्सबीच भएका युद्धले युरोप तहसनहस पारेको थियो । दोस्रो विश्वयुद्ध पहिलोभन्दा अझ भयङ्कर थियो । आफ्ना कयौं प्रियजनहरु गुमाएको युरोपले शोकलाई शक्तिमा बदल्यो र समृद्धि खोज्यो । युरोपको समृद्धि रगत र आसुको पोखरीमा फुलेको कमल जस्तै हो ।

    इतिहासमा हामीले पनि निकै रगत र आँशु बगायौं तर हाम्रो पोखरीमा कमल किन फुल्न सकेन ? किन समृद्धिको चाहना पूरा हुन सकेन ? यी तमाम प्रश्नहरु नेपाली राजनीतिका शीर्ष नेतृत्वहरुसंग रहिआएको छ ।

    एसीयामा जपान सवैभन्दा कमजोर प्राकृतिक स्रोतसाधन भएको देश हो तर जापानले उच्च समृद्धि हासिल गरिसयो । हामीसंग एसीयामा सवैभन्दा बढी स्रोत र साधनहरु छन् तर हामी गरिब छौं । कुनै बेला हाम्रो निर्यात अब्बल थियो । तर, अहिले कमजोर छ । यो सवथोक गर्न असल राजनीति चाहिन्छ, मानवस्रोत र असल व्यवस्थापन चाहिन्छ । यो सबै परिचालन गर्न असल नेता चाहिन्छ । किन यति गर्न सक्ने नेता तपाईं हुनु भएन ? कांग्रेसमा भएनन् ? अहिले किन एससीसीको साहना खोज्नुपर्यो ? निर्मम समीक्षा जरुरी छ ।

    आदरणीय सभापति ज्यू,

    कम्युनिष्ट नेतृत्वको सरकारले चौतर्फी निराशा छाएको छ, देशमा अन्याय अत्याचार बढेको छ, देशमा न्याय मरेको छ, जताततै भ्रष्टाचारले जरा गाडेको छ, आर्थिक रुपमा संकट चुलिएको छ, आम नागरिकमा निराशा छाएको छ ।

    देशमा हरेक प्रकारले संकट होइन महासंकट चुलिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धहरुमा आएको उतारचढावले महासंकट चुलिएको छ । यो महासंकटका बेला नवीनतम सपना बुनेर समग्र राष्ट्रहितको लागि तपाईको दृढ संकल्प, चट्टानी अडान, राजनैतिक रुपमा निष्ठा र इमान्दारीताको खाँचो छ । त्यसैले राष्ट्रघाती एमसीसीको पक्षमा होइन, नेपाल र नेपालीको हितमा सोच्न आग्रह गर्दछु ।

    (लेखक नेपाल तरुण दल बैतडीका उपाध्यक्ष हुन्)

     

  • कर्णालीमा कतै नभएको ‘राजनीतिक जात्रा’

    कर्णालीमा कतै नभएको ‘राजनीतिक जात्रा’

    संघीयतापछि मात्रै कर्णाली धेरै नागरिकले सरकार, संसद देख्न पाए, पायौं । यससँगै हामीले सत्ता र शक्तिका लागि हुने लुछाचुडीलाई नजिकबाट नियाल्न पायौं । सत्ताको स्वाद चाख्न सांसदहरुले गर्ने घटिया व्यवहारदेखि केही सत्प्रयासलाई पनि देख्न पायौं, भोग्न पायौं ।

    भूगोल विकास र जनताको खुसीका लागि भन्दा नेताहरुले पद पाउन र जोगाउन गरेका हर्कतले कर्णालीबासी निराश भएका छन् । उनीहरुमा संघीयताप्रति नै घृणा जागेको छ । अझ पछिल्लो समय सरकार ढाल्न तथा जोगाउन भएका चलखेलले नेता तथा सांसदको निहीत स्वार्थलाई सहतमै छताछुल्ल बनाइदिएको छ ।

    संसदीय अभ्यासमा सबैभन्दा ठूलो कुरा दलीय व्यवस्था नै हो । संसदमा छिर्नु भन्दा पहिले नै दलले आफ्ना एजेण्डा तयार गर्छन् । संसदीय दलमा बहस गर्ने, छलफल गर्ने काम गर्दछन् र दलमा भएको निर्णयअनुसार नै सदनमा सांसदहरु प्रस्तुत हुने गर्दछन् । तर वैशाख तीन गते बसेको कर्णाली प्रदेशसभाको वैठकले यो व्यवस्थाको खिल्ली उडाएको छ । दलीय ह्वीपको उपहास भएको छ ।

    उक्त दिन बिहनभर नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेललगायतको टिम एमाले सांसदहरुसँग बसिरहेको थियो । वैशाख तीन गते १२ सांसद भएको माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची थियो ।

    कार्यसूचीअन्र्तगत एमालेका २० सांसदले नै आफूहरु एकै स्थानमा भएको र दलको ह्वीप मान्ने प्रतिक्रिया दिइरहेका थिए । माधव नेपाल पक्षमा रहेका भनिएका ९ जना सांसदले दलको ह्वीप मान्दैनन् कि अथवा उनीहरुले फ्लोरक्रस गरेर विश्वासको मत दिन्छन् कि शंका थियो ।

    शंकाबीच बिहान साडे ११ बजे एमाले संसदीय दलको वैठक बस्यो । उक्त बैठकपछि एमालेका सांसदहरु मुस्कानका साथ बाहिरिए । दुई बजे बोलाइएको संसद बैठक सुरु भयो ।

    संसद वैठक सुरु भएको केही समयपश्चात विश्वासको मत लिने कार्यसूची थियो । त्यो समयमा एमाले र माओवादीका सयौं कार्यकर्ता प्रदेशसभा बाहिर भेला भएका थिए । एमालेका कार्यकर्ताहरु मुख्यमन्त्री यामलाल कंडेल बन्ने बाटो खुल्ने आशमा थिए भने माओवादी कार्यकर्ताहरु मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही नै दोहोरिने लख काट्दै थिए ।

    जब साडे तीन बज्यो, सुरु भयो मतदान । एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाको नेतृत्वमा सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा र देवी ओली फ्लोरक्रस गर्न गए । सरकारको पक्षमा मतदान गरे । आफ्नै दलले आफ्नै सहमतिमा जारी भएको ह्वीप आफैले अस्विकार गरे । आफू बसेको बैठकले गरेका निर्णय आफैले उल्लंघन गरेर उनले दलको दलको खिल्ली उडाए । शाहीको सरकार जोगाइदिए ।

    प्रमुख प्रतिपक्षको सरकारलाई मत

    हामीले सुन्ने गरेका थियौं, सदनमा प्रमुख प्रतिपक्षी दल भनेको ‘वेटिङ गर्भनमेन्ट’ हो भनेर । हामीले अनुमान लगाएका थियौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य र मान्यताअनुसार सरकारविरुद्ध मतदान गर्नेछ । सरकार ढाल्न सहयोग गर्नेछ । किनभने यस दलका नेता जीवनबहादुर शाहीले यसअघि बारम्बार सदनमै ‘वडा सरकार भन्दा निरीह सरकार’ भनेका थिए ।

    कर्णाली सरकार ‘भ्रष्टाचारी, कार्यकर्ता पाल्ने, कामै गर्न नसक्ने’ भनेर निरन्तर आलोचना गर्ने प्रमुख प्रतिपक्षी दल एकाएक सरकारको सहयोगी बन्यो । वैशाख तीन गते सदनमा नेता शाही संविधान पढाउँदै भाषण गर्दै थिए । उनले प्रमुख प्रतिपक्षी दललाई हेपिएकोे, आफ्नो मर्यादा बाँकी रहेको तर प्रदेशसभा सचिवालयले एमालेलाई प्रमुख प्रतिपक्षी भनेको भनेर खण्डनसमेत गरे । तर केही समयमै उनी सरकारको रक्षा कवचका रुपमा परिणत भए ।

    कर्णालीमा तीन मन्त्रीले सपथग्रहण समारोहमा सभामुख राजबहादुर शाहीले भने उपस्थित भएर राजनीतिक सहिष्णुताको सन्देश दिए ।
    यसरी कर्णालीबासीले संघीयता अध्यासको तीन वर्षमा अनेक अस्वभाविक लाग्ने चलखेल देखे । यसैलाई उनीहरुले ‘संघीयताको उपलब्धी’ मान्नुपर्ने स्थिति छ ।

    (थापा संसदीय मामिला पत्रकार समाज कर्णालीका  अध्यक्ष हुन् ।)