Category: साहित्य / ब्लग

  • सेनिटरी प्याडः कुरा बुझ्नु पर्छ !

    सेनिटरी प्याडः कुरा बुझ्नु पर्छ !

    हालै गायक प्रकाश सपुतको एउटा गीतले निकै चर्चा पायो । महिला सशक्तीकरणको अवधारणामा बनाइएको गीतको बोल छ– कुरा बुझ्न पर्च ।

    उक्त गीतको भिडियोमा समावेश एउटा दृष्यले मजस्ता धेरै युवतीहरुको मन लोभ्याएको छ । त्यसमा देखाइएको छ, प्रेमिका महिनावारी हुँदा उनको ब्वाइफ्रेन्ड सेनिटर प्याड बोकेर भेट्न आइरहेको ।

    यो एउटा काल्पनिक दृष्य हो । वास्तविकतामा के कुनै प्रेमी आफ्नो प्रेमिकालाई सेनिटरी प्याड बोकेर भेट्न जान्छ होला ? हाम्रो समाजमा महिनाबारीलाई लिएर जस्तो दृष्टिकोण अद्यापी कायम छ, त्यसका आधारमा भन्नुपर्दा यस्तो दुर्लभ नै हुन सक्छ । पुरुषहरु पसलमा गएर सेनिटरी प्याड माग्न नै धक मान्छन् ।

    सेनिटरी प्याडलाई महिलाको नितान्त निजी र गोप्य सामानका रुपमा लिने गरिएको छ । घरमा सबैले देख्ने ठाउँमा राख्नसमेत उचित ठानिँदैन । महिलासँग सम्वन्धित यस्ता चिजहरु किन्न जाँदा पुरुषको त मानौं पुरुषत्व नै धरापमा पर्छ । एउटी श्रीमतीले श्रीमानका मोजादेखि कट्टुसम्म आफैं किनेर ल्याउँछिन् र त्यसमा आश्चर्य मानिँदैन । तर कुनै श्रीमानले श्रीमतीका ब्रा, अन्डरवेयर किनिदिएको देख्नुभएको छ ? सायदै होला । सेनिटरी प्याड पनि लगभग त्यस्तै हो ।

    धेरै पुरुषका नजरमा महिलाले प्रयोग गर्ने अति सामान्य वस्तु हो सेनिटरी प्याड । यसमा बहसको तुक नै देख्दैनन् उनीहरु । यो कति महत्वपूर्ण र अत्यावश्यक सामान हो भन्ने बुझ्दैनन् उनीहरु, किनभने उनीहरुको याैनाङ्गबाट महिनैपिच्छे रगत बग्दैन

    सम्भवतः पहिलोपटक हुनुपर्छ, सेनिटरी प्याडको विषय यतिबेला बहसमा छ । तर, धेरैले सिरियसली लिएका छैनन् । गत साता माइतीघरमा केही युवतीहरुले प्याडमा लगाइएको कर हटाउन माग गर्दै सडकमा सुतेर प्रदर्शन गरे । त्यसलाई कतिपयले ‘महिलावादीको नौंटङ्की’ भनको पनि सुनियो । प्याडलाई सर्वसुलभ बनाउन माग गर्दा आक्षेप लाग्छ– १० हजारको लिपिस्टिक लगाउनेहरुलाई प्याड निशुल्क चाहिने ?

    धेरै पुरुषका नजरमा महिलाले प्रयोग गर्ने अति सामान्य वस्तु हो सेनिटरी प्याड । यसमा बहसको तुक नै देख्दैनन् उनीहरु । यो कति महत्वपूर्ण र अत्यावश्यक सामान हो भन्ने बुझ्दैनन् उनीहरु, किनभने उनीहरुको याैनाङ्गबाट महिनैपिच्छे रगत बग्दैन । उनीहरुका अन्डरवेयर कहिल्यै रातो पदार्थले भिज्दैनन् । यसले उत्पन्न गर्ने स्वास्थ्य र व्यवहारिक समस्या अनि झिँझोपन उनीहरुले भोग्नु परेको हुँदैन ।

    ०००

    छोरी भएर जन्मपछि भोग्नैपर्ने एउटा प्राकृतिक क्रिया हो रजश्वला, जसलाई चलनचल्तिको भाषामा ‘महिनावारी’ भन्ने गरिन्छ । शारीरिक विकास एउटा चरणमा पुगेपछि महिलाको रजस्वला सुरु हुन्छ । किशोरी अवस्थामा सुरु हुने रजश्वलाको प्रक्रिया औसत ३८ वर्षसम्म जारी रहने अध्ययनले देखाएका छन् । यस प्रक्रियामा गर्भाशयले बनाएको रगतको तह योनीमार्ग हुँदै शरीरबाट बाहिर निस्कन्छ । सामान्यतया २८ दिनको चक्रमा यो दोहोरिने गर्छ ।

    महिनावारी सुरु हुनुलाई महिला शारीरिक रुपमा परिपक्व भएको प्राकृतिक संकेतका रुपमा पनि बुझिन्छ । छोरी भएर जन्मलिइसकेपछि उमेरको एउटा सीमा पार गरेपश्चात यो महिनावारीको चक्रमा प्रवेश गर्छिन् । ठूली भएको महसुस गर्छिन् ।

    महिनावारी हुँदा महिलाहरुमा अनेक स्वास्थ्य समस्या देखिन्छन् । कतिपयका हकमा यो गम्भीर प्रकृतिको समेत हुन्छ । पेट दुख्ने, हातखुट्टा कटकट खाने, मूड अस्थिर हुने, जिउ दुख्ने जस्ता समस्याहरु आमरुपमा देखिने गर्छन् । यस्तो बेलामा स्याहार र आरामको निकै महत्व हुन्छ ।

    महिनावारीलाई अपवित्र मान्ने पुरातन सोच आजपर्यन्त कायम छ । गाउँमा मात्र होइन सहरमै पनि महिलाहरुले महिनावारी हुँदा चुलौचौको गर्न पाउँदैनन् । संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् सम्बन्धी हक दिएको छ । महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य गर्न रोक लगाएको छ । तर बिडम्वना मान्नुपर्छ, महिनावारी भएका बेलामा अरुलाई छोएर गरेको पापबाट मुक्ति मिल्ने अन्धविश्वासमा महिला दिदीबहिनीहरु ऋषिपञ्चमीको व्रत बस्छन् । यस्तो व्रत बस्न, सरकारले नै उनीहरुलाई बिदा दिन्छ । यो भनेको राज्यको मूल संविधानमा महिलालाई सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी हक हुनेछ भनि गरिएको कानुनी व्यवस्थाको खिल्ली उडाउनु हो । अबुझ समाजले यसलाई अछुत, पर सर्ने र फोहोरी भनेर नाम दिएको छ । यो अज्ञानताको पराकाष्टा हो ।

    महिनावारी हुँदा महिलाहरुमा अनेक स्वास्थ्य समस्या देखिन्छन् । कतिपयका हकमा यो गम्भीर प्रकृतिको समेत हुन्छ । पेट दुख्ने, हातखुट्टा कटकट खाने, मूड अस्थिर हुने, जिउ दुख्ने जस्ता समस्याहरु आमरुपमा देखिने गर्छन् । यस्तो बेलामा स्याहार र आरामको निकै महत्व हुन्छ । यो समयमा तातोपानी पिउन र टेन्सनमुक्त भएर आराम गर्न डाक्टरहरुले सुझाउने गर्छन् । तर, महिलाहरुले आराम पाउँछन् नै कहाँ ? गाउँघरमा महिनाबारी भएका बेला खाना पकाउनु हुँदैन भनेर घाँस–दाउराजस्ता झन् भारी काम गर्नुपर्ने अवस्था छ ।

    सबैतिर सबैका लागि प्याड निशूल्क गर्न आवश्यक छैन र अनिवार्य पनि छैन । तर, ग्रामिण भेगका महिला र स्कुल पढ्ने छात्राहरुका हकमा चाहिँ निशूल्क गर्नु अत्यावश्यक छ । यो असम्भव कुरा पनि होइन ।

    महिनावारीमा स्वास्थ्यजत्तिकै महत्वपूर्ण कुरा हो सरसफाइ । चिकित्सकका अनुसार सरसफाइको कमिका कारण योनी चिलाउने, पोल्ने, इन्फेक्सन हुने, पिसाब पोल्ने र क्यान्सरसमेत गराउने किटाणु पैदा हुनेलगायत खतरा उत्पन्न हुन्छन् । यस्तो बेलामा महिनावारीको समयमा प्रयोग गरिने प्याडको ठूलो महत्व हुन्छ । तर, नेपालमा दूरदराजका महिला दिदीबहिनीहरुमा अझै पनि सेनिटरी प्याडको पहुँच छैन । उनीहरु टालोले काम चलाउन वाध्य छन् । सेनिटरी प्याड उनीहरुका लागि विलासीताको वस्तु जस्तै हो ।

    तर हरेक महिलाका लागि अत्यावश्यक र आधारभूत सामग्री हो सनिटरी प्याड । यसलाई प्रत्यक महिलाको पहुँचमा पुर्याउनु सरकारको दायित्वमा पर्छ । शहरी क्षेत्रका हुनेखाने महिलाहरुको हकमा सरकारले टाउको दुखाइरहनु परेन । तर, दुरदराजमा बस्ने विपन्न महिला र छात्राहरुको हकमा यसलाई निशूल्क गर्नैपर्छ । तर, उल्टो बजारमा यसको भाउ बढेको छ । व्यवसायीहरुले विभिन्न बहानामा मूल्यवृद्धि गर्दा सरकारले कुनै चासो दिएको छैन । मूल्यवृद्धिविरुद्ध आवाज उठ्दा सरकार चाहिँ ‘हामीले एक पैसा राजश्व बढाएका छैनौं’ भनेर पन्छिन खोज्यो । यदि लोककल्याणकारी सरकार हो भने यसमा हस्तक्षेप गर्नुपर्छ कि पर्दैन ?

    सेनिटरी प्याड वास्तवमा भन्नुपर्दा एउटा स्वास्थ्य सामग्री नै हो । तर, यसलाई कस्मेटिक सामग्रीको रुपमा लिने गरिएको छ । आगामी दिनमा सरकारले सेनिटरी प्याडलाई स्वास्थ्य सामग्रीकै सूचीमा राखेर सहुलियतमा विक्री–वितरण गर्नु उचित हुन्छ ।

    हो, सबैतिर सबैका लागि प्याड निशूल्क गर्न आवश्यक छैन र अनिवार्य पनि छैन । तर, ग्रामिण भेगका महिला र स्कुल पढ्ने छात्राहरुका हकमा चाहिँ निशूल्क गर्नु अत्यावश्यक छ । यो असम्भव कुरा पनि होइन । दुई वर्षअगाडि तत्कालीन सरकारले छात्राहरुलाई निशूल्क सेनिटरी प्याड वितरणको कार्यक्रम ल्यायो र बजेट पनि छुट्याएको थियो । त्यसबेला सबैले सरकारको प्रशंसा गरेका थिए । तर सरकारी ढिलासुस्तीले कार्यक्रमका कार्यान्वयन प्रभावकारी हुन सकेन । सुरुमा केही विद्यालयहरुमा वितरण भयो तर सबैतिर पुग्न सकेन । अहिले त बजेटबाटै यो कार्यक्रम हटाइएको छ ।

    जहाँसम्म भन्सारको प्रसंग छ, स्वदेशमा नै सेनिटरी प्याड उत्पादन हुने भएकाले विदेशबाट आयात गर्दा भन्साररहित बनाउन सम्भव नहोला । यसले स्वदेशी उत्पादनहरु प्रतिस्पर्धामा टिक्न नसकेर समस्यामा पर्छन् भन्ने तर्क पनि जायज नै हो । तर, स्वदेशी उत्पादनलाई प्रश्रय दिने हो भने सेनिटरी प्याड बनाउन प्रयोग हुने कच्चा पदार्थमा भन्सार छुट दिँदा भयो । यसको विक्री वितरणमा भ्याट छुट दिन सकियो । त्यसो भएको खण्डमा नै नेपालमा नै सस्तोमा पर्याप्त उत्पादन भएर विदेशबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुन सक्छ । गएको आर्थिक वर्षमा मात्रै नेपालमा १ खर्ब १७ करोडको प्याड आयात भएको थियो । यति आयात प्रतिस्थापन भयो भने यो रकम स्वदेशमै बस्ने छ ।

    कम पढेका र विकट ठाउँका दिदीबहिनीहरूलाई कस्तो प्याड प्रयोग गर्नुपर्छ भन्ने ज्ञान पनि हुँदैन । त्यसैले जस्तो भट्यो त्यस्तै लगाउने गर्छन् । त्यसकारण सरकारले नै प्रभावकारी बजार अनुगमन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

    सेनिटरी प्याड वास्तवमा भन्नुपर्दा एउटा स्वास्थ्य सामग्री नै हो । तर, यसलाई कस्मेटिक सामग्रीको रुपमा लिने गरिएको छ । आगामी दिनमा सरकारले सेनिटरी प्याडलाई स्वास्थ्य सामग्रीकै सूचीमा राखेर सहुलियतमा विक्री–वितरण गर्नु उचित हुन्छ ।

    प्याडको गुणस्तरीयता पनि उत्तकै महत्वपूर्ण पक्ष हो । यदि सेनिटरी प्याड गुणस्तरीय भएन भने यही क्यान्सरको कारण बन्न सक्ने समेत कतिपय अध्ययनबाट देखिएका छन् । योनी महिलाको शरीरको सबैभन्दा संवेदनशील अंग भएकाले यसको स्वास्थ्य र सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन । त्यसैले स्वदेशी उत्पादनको प्रभावकारी सुपरीवेक्षण र मूल्यांकन सरकारी निकायहरुले नियमितरुपमा गर्नुपर्ने हुन्छ ।

    सेनेटरी प्याड कटन र पीभीसी मेस सामग्रीबाट बनेका हुन्छन् । कुनै महिलालाई नरम खालका सामग्री प्रयोग गर्दा सहज हुन्छ त केहीलाई नेटलेड लेयर सामग्री प्रयोग गर्दा । आफ्नो छाला कस्तो प्रकारको हो सोही अनुसार सेनेटरी प्याडको प्रयोग गर्नुपर्ने डाक्टरहरुले सुझाएका छन् ।

    कतिपय ठाउँमा स्याम्पल देखाउँदा एकदमै राम्रो देखाउने तर बेच्ने बेला कमसल खालको दिने गरिएको पनि पाइन्छ । हामी पो पढेलेखेका, बुझेका छौ र धेरै कमाउने नभए पनि सकेसम्म राम्रो प्याड खोजी गर्छौ । कम पढेका र विकट ठाउँका दिदीबहिनीहरूलाई कस्तो प्याड प्रयोग गर्नुपर्छ भन्ने ज्ञान पनि हुँदैन । त्यसैले जस्तो भट्यो त्यस्तै लगाउने गर्छन् । त्यसकारण सरकारले नै प्रभावकारी बजार अनुगमन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

    अन्त्यमा भारतीय अभिनेता अक्षयकुमारको एउटा विज्ञापनको संवाद यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु । त्यसमा उनी भन्छन्, ‘मर्नको लागि त सबैसँग पैसा छ, तर श्रीमतीको ज्यान जोगाउन पैसा छैन ?’

    ‘किन ?’ भनेर सोध्दा उनी जवाफ दिन्छन्, ‘चुरोटको डब्बामा मृत्यु भनेर लेखेको हुन्छ, अनि सेनिटरी प्याडको डब्बामा जीवन भनेर लेखेको हुन्छ । आफ्नो ज्यान जोखिमा राखेर यो दुईवटा चुरोट खाने पैसाले त आफ्नो श्रीमतीलाई सेनिटरी प्याड किनेर दिन सकिन्छ, किनभने उसले प्रयोग गरेको पुरानो प्याडले महामारीको समयमा के–कस्ता बिमारी निम्त्याउन सक्छन् त्यो त कल्पनाभन्दा पनि बाहिर छ ।’

  • माधवको एमाले सिध्याउने अर्को असफल प्रयास

    माधवको एमाले सिध्याउने अर्को असफल प्रयास

    अब यो निष्कर्ष निकाल्न सजिलो छ कि एमाले सिध्याउने माधव नेपालको सारा प्रयास ब्यर्थ हुने छ । सिर्जनाभन्दा विनासका लागि जन्मिएको उनको दलले गर्नैसक्ने जति विनास गरिसकेको छ । अब त्यो दल ‘रन वे’मै हराउनेछ । यसले राजनीतिक उडान भर्ने सम्भावना लगभग सकिएको छ ।

    करिब ७० बर्षको उमेरमा माधब नेपालले मञ्चन गरेको कुरूप राजनीतिक दृश्य धेरैलाई रुचेको छैन । सार्वजनिक स्थलमा उनको जुन मुखाकृति देखिन्छ, त्यो पश्चातापको प्रतिबिम्ब हो ।

    चार वर्षदेखि उनका हरेक कदमले एमाले र एमालेका शुभचिन्तक एवम् सहयोगीहरुलाई दुःखी बनाएको छ भने उसका दुश्मनहरुलाई हर्षित । करिब ९५ प्रतिशत एमाले समर्थक उनको कदमलाई रुचाउँदैनन् ।

    पदको लोभमा गरिएको विभाजन औचित्यहीन छ । माधव नेपाल देउवा र प्रचण्डबाहेक सबका अगाडि रक्षात्मक स्थितिमा छन् । र सशंकीत पनि छन् । किनकि, देउवा–प्रचण्डले जुनकुनै बेला माधव नेपालको साथ छाड्न सक्छन् ।

    कसैकसैले उनको पार्टीलाई ‘कुण्ठा समाजवादी’को नाम दिएका छन् । उनको दलप्रति एमालेबाट निर्वाचित प्रतिनिधि र अन्य सार्वजनिक व्यक्तित्वले देखाएको उदासिनता देखाएका छन् ।

    यसले उक्त दलका लागि भविष्यमा दरिद्र स्थितिमा पुर्याउने निश्चित छ । एमालेले विगतका विभाजनबाट धेरै सिकेको छ । पार्टी फुटाउनेहरुको स्थिति सबैलाई थाहा छ ।

    करिब १७ हजार निर्दोष नेपालीको हाताहतीको कालो धब्बा लागेको माओवादी अझै उदण्ड छ । उसले एमाले एकताको भर्याङ चढेर धेरै सर्वाजनिक पदको मर्यादा स्खलित गरेको छ । माओवादीलाई भविष्यको चिन्ता छैन, किनभने ऊ डिलमा पुगिसकेको छ । त्यसले माओवादी जसरी पनि एमाले सिध्याउने दाउमा छ ।

    अतिस्वार्थी प्रचण्ड नेतृत्वको माओवादीसँग एमालेले एकता नै गर्नु हुँदैनथ्यो । त्यसैले त माओवादीसँगको एकता भंग हुँदा धेरै एमालेले खुसी मनाए ।

    सर्वसत्तावादी कांग्रेसको व्यवहारबाट पनि एमाले कार्यकर्ता प्रडाडित छन् । अबको चुनावमा एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै हुने हो । अब फेरि पनि कांग्रेसले एमालेलाई दुख दिनेछ । त्यस्तो कांग्रेससँग माधव नेपालले घाँटी जोड्नु स्वभाविक होइन ।

    अहिले नेपालको राजनीतिक दुई ध्रुवमा विभाजित छ । एक, एमाले, अर्को एमालेइतर । अरु सम्पूर्ण शक्ति एमालेलाई कमजोर बनाउन लाग्नेछन् । यस्तो एमाले एकढिक्का हुनुको विकल्प छैन ।

    आवेश वा उत्तेजनामा एमाले छाडेकाहरु पनि एमालेमै फर्कनु बुद्धिमानी हुनेछ । माधव नेपाल र केही सीमित मान्छेहरु जसरी पनि एमाले सिध्याउनै लागेका थिए । विगतमा पार्टीको नेतृत्व गर्दा पनि माधव नेपालले एमालेलाई निकै कमजोर बनाएकै हुन् ।

    निर्वाचित जनप्रतिनिधि र अधिकांश कार्यकर्ता एकताकै पक्षमा हुँदा पनि माधव नेपालले पार्टी फुटाएरै छाड्ने नीति लिनु गलत थियो । अहिले उनलाई पार्टी फुटाउनुपर्ने औचित्य पुष्टि गर्न निकै कठिन छ ।

    कुनै विचार, सिद्दान्त नमिलेर पार्टी फुटाउने निर्णयमा पुगेका होइनन्, माधव नेपाल । मात्रै पदीय भागबण्ड र पार्टी अध्यक्ष ओलीप्रतिको इगोबाहेक उनीसँग कुनै त्यस्तो कारण छैन ।

    माधव नेपालले कुनै पनि कार्यक्रममा भाषण गर्दा विकासको, समृद्धिको कुरा गर्दैनन् । आफूहरुलाई भाग दिइएन, अपमान गरियो भन्दाबाहेक केही भन्दैनन् ।

    महाधिवेशनबाट निश्चित समयका लागि चुनिएका अध्यक्षलाई स्वीकार्नै नसक्नु उनको ठूलो कमजोरी थियो । एमाले सिध्याउन खोजेमा माओवादी अध्यक्ष प्रचण्डसँगको साँठगाँठ निश्चय नै अस्वभाविक थियो । वास्तवमा प्रचण्ड र माधव नेपालको मिसन एउटै थियो, एमालेको नामोनिसान मेटाउने । तर, उनीहरुको त्यो मिसन असफल भइसकेको छ ।

    नीति, पद्धति, र सिद्धान्तको रोमाञ्चकारी बखान गर्ने माधव मण्डली ओलीलाई शक्तिबाट हटाएर आफ्नो सत्ता मजबुत गर्न प्रचण्ड र देउवाको चरणमा पुगेसँगै उनीहरुको पाखण्डपन मुखरित आयो ।

    संसदले कामै गर्न नसक्ने भएपछि ताजा जनादेशमा जाने कुरा स्वभाविक थियो । तर त्यहीं निहुँमा माधव–प्रचण्ड देउवा शरणमा गए । त्यो ठीक थिएन ।

  • के छ युरोपमा ?, जहाँ जान ज्यानै जोखिममा राख्छन् नेपाली युवा

    के छ युरोपमा ?, जहाँ जान ज्यानै जोखिममा राख्छन् नेपाली युवा

    ‘क्रोएसियाको सीमा पार गरी स्लोभानिया छिर्ने क्रममा कैयौंपटक मैले मृत्यु संग मुकाविला गरेको छु । प्यासले स्वास रोकिनै लाग्दा खाल्डाखुल्डीमा जमेको पानी पिएको छु । कयौं रात आँशु पिएर सुतेको छु’, उनी युरोप पस्दाको दुःखबारे भन्दै थिए, ‘जंगली जनावरको त्रास उतिकै, सम्झँदा पनि आङ जिरिङ्ग हुन्छ ।’

    उनको यात्रानुभूतिले मलाई धेरैपटक भावुक बनायो । अनेक दुख गरेर युरोप आए पनि उनको दुःख सकिएन । इटली, स्पेन, फ्रान्सहुँदै पोर्चुगल आउनु थियो उनलाई ।

    उनी अर्थात् लमजुङका दयाराम थापा । केही दिनको इटली बसाइँका क्रममा बँचेखुचेको पैसा पनि सकियो । फ्रान्स छिर्नका लागि दलाल दिन घरसँग पैसा मागे । नेपालबाट पैसा पठाए पनि फ्रान्स छिर्न सजिलो थिएन ।

    कोरोना कहरले थिलथिलो भएको युरोपका हरेक देशले सीमा नाकाहरु कडाइ गरेका थिए । त्यसमा पनि अवैद्यरुपमा अर्को देश छिर्न आप्रावासीलाई फलामको चिउरा चपाएसरह थियो ।

    ‘इटली आएपछि कहिले अफ्रिकन त कहिले पाकिस्तानी दलालको पछि लागेर फ्रान्स छिर्ने बाटो खोज्यौं । कहिले पहाडको उकाली चढ्यौं त कहिले लुकिछिपी कन्टेनर छिरेर सीमा पार गर्ने कोसिस गर्यौं’, उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘बस या रेल मार्गबाट सीमा पार गर्न खोज्दा प्रहरीको फन्दामा परिने त्रास थियो । हामी अघिका केही साथीहरुलाई फ्रान्सेली प्रहरीले भेटेर फर्काएको थियो । हामी सकेसम्म प्रहरीको आँखा छल्न चाहन्थ्यौं ।’

    उनले थप्दै गए–  यही लुकामारीबीच एक दिन भाग्य या दुर्भाग्य के भनौं, इटलीको बोर्डर पार गर्न दलालहरुले कन्टेनरभित्र त छिराए, तर त्यहाँ पनि फेरि अर्को पटक मृत्युसँग मुकाविला गर्नुको विकल्प रहेन । आवाज निकाल्दा कन्टेनर चालकले थाहा पाउने हो कि भन्ने त्रास । खोक्न पनि नपाइने । विनाहावा हामीले त्यो समय कसरी पार गर्यौं, सम्झँदासमेत अत्यास लागेर आउँछ । तुलनात्मक रुपमा पेरिसदेखि लिस्वनसम्मको यात्रा भने सहज नै थियो । किनकि फ्रान्स, स्पेन र पोर्चुगलका सीमा केही खकुलो थियो ।

    सम्झँदा नै डर लागेर आउँछ । यसरी यात्रा गर्दा हिँड्न नसकेर, बिरामी परेर अलपत्र पर्नेहरु धेरै हुन्छन् । कतिको बाटोमै मृत्यु हुन्छ । कति लुटिन्छन । कोही बिरामी वा घाइते भए छाडेर हिँड्नुको विकल्प हुँदैन यो त मृत्युलाई साथसाथै लिएर गर्ने यात्रा रहेछ ।

    उनका भनाइ सुन्दा लाग्थ्यो– त्यसरी यात्रा गर्नेहरुलाई जीवनको कुनै प्रवाह नहुने रहेछ । सुन्दर भविष्यको सपना साँचेर ज्यानबाजी राखेर यात्रा गर्ने उनीहरुको कथा दर्दनाक छ ।

    युरोप, अमेरिका छिर्ने नाममा निकारगुवा र हण्डुरसका जंगल, कालम्बीयाको समुन्द्र र मेक्सिकोको सीमामा कतिको इहलिला समाप्त भएको रहेछ । कति इरान, इराक पार गरेर युरोप आउन खोज्दा लुटेरा र आतंककारीहरुको सिकार बनेका छन् ।

    उनी नेपालमा फार्मेसी व्यवसाय गर्ने रहेछन् । मासिक ६०–७० हजार कमाइ हुने रहेछ । तीनजनाको परिवार राम्रै चलिरहेको रहेछ । छिटै धेरै कमाउने लोभले उनी अवैध बाटो हुँदै युरोप आएका रहेका रहेछन् । ‘यस्तो दुख पाइन्छ भन्ने थाहा भएको भए म युरोप आउनै चाहन्नथें’ उनले भने, ‘बल्ल बल्ल आइयो । आएपछि पनि दुख उस्तै, कमाइ कम ! अहिले त ब्यर्थै यता आइएछ जस्तो लागिरहेको छ ।’

    नैराश्यता र पीडाको बोझ बोकेर असिमित सपनाका साथ युरोप र अमेरिका भासिएका धेरै दयारामहरु दयाको पात्र बनिरहेका छन् । न्युयोर्क र बोस्टनका गल्लीहरु अनि युरोपका पार्कहरु र अष्ट्रेलियाका चोकहरुमा जान–अन्जानमा धेरै दयारामहरु कृत्रिम हासिरहेका छन् ।

    पोर्चुगलका पार्कहरुमा दैनिकजसो यस्तै पीडाको पोको बोकेर अनेक सास्ती र हण्डर खाएर युरोप छिरेका नेपाली, बंगालादेशी तथा इण्डियनहरुको कहानी यसअघि नै धेरैपटक सुनिसकेकाले मलाई नौलो भने लागेन ।

    प्रश्न यो हो कि, स्वदेशमा राम्रै जीवन चल्दाचल्दै युवाहरु किन यसरी विदेशिन चाहन्छन् ? स्वादेशका अवसरलाई कम आँकेर विदेश नै ताक्नुपर्ने कारण के हो ?

    दयाराम भन्छन्– यति दुख र मेहनत नेपालमै गरेको भए जीवन सुखमय हुने रहेछ । विदेशको भूतले नराम्ररी सतायो । खासमा मलाई अहिले पनि यहाँ बस्न मन छैन । तर, परिवारको दबाबले फर्कन पनि सकेको छैन । किनकि, परिवारको ऋण स्वादेश गएर तिर्न नसकिने सबैलाई लागेको छ ।

    जीवनको ऊर्जाशील समय विदेशमा श्रम गरेर बिताउनु परेकामा उनी दुखी छन् । उमेर, जोश, जाँगर र पसिना युरोपमा बगाएर बुढेसकालमा देश फर्कनुपर्ने बाध्यता छ । देशलाई वृद्धाश्रम बनाएर कहिले पो समृद्धि आउला र ?

    फरक देश, संस्कृति, भाषा, परिवेशका कारण युरोप आएका धेरै नेपालमा मानसिक समस्या समेत छ । कतिले यतै आत्महत्या गरिरहेका छन् । भौतिकरुपमा युरोप अमेरिका विकसित होला, तर यहाँको आफ्नै दुःख छ ।

    स्वदेशका सुन्दर अवसर नदेखेर विदेशिएका धेरै नेपाली अहिले पछुताइरहेका छन् । ज्यानै जोखिममा राखेर श्रम गर्नकै लागि विदेश आउनुको कुनै अर्थ छैन ।

    नेपालबाट जति सुन्दर देखिन्छ युरोप अमेरिका, यहाँको खास स्थिति त्यस्तो छैन । त्यसैले सकेसम्म स्वदेशमै संघर्ष गरौं ।

  • मृत्युलोकबाट समृद्ध कांग्रेसी मित्रहरूमा…

    मृत्युलोकबाट समृद्ध कांग्रेसी मित्रहरूमा…

    नेपाली राष्ट्रिय कांग्रेसको कुरा नगरौं । वि.सं २००७ पछि मातृकाप्रसाद कोइरालाको सभापतित्वकाललाई अपवाद मान्ने हो भने नेपाली कांग्रेसमा सभापति पदको हस्तान्तरणको प्रकृया उदाहरणीय रहेको छ ।

    नेपाली कांग्रेसका चार चाणक्य कहलिएका विपी कोइराला, सूवर्णशम्सेर जबरा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायमध्ये सभापति पदका लागि एकाध पटक बाहेक कहिल्यै एकापसका विरूद्ध दावी र हानथाप रहेन । कयौं विषयमा यी चारका बीच गम्भीर मतभिन्नताहरू रहेको थियो । तर, सभापतित्व विवादरहित रहेको थियो । एकर्कालाई पराजयको तहसम्म पुर्‍याउने खेल भएन ।

    नेका सभापतिको रूपमा बीपी कोइराला २०१७ पौष १ गतेपछि जेल पर्नु भएपछि प्रवासमा रहनु भएका सूवर्णशम्सेर अनेकौं शक्ति केन्द्रहरूको उक्साहटका बाबजूद सभापति पदको दावी गर्नु भएन। उहाँले झण्डै दुई वर्षसम्म बीपी, गणेशमानजीहरूको रिहाइको प्रयास गर्नु भयो । रिहाइको आशा नदेखिएपछि २०१८ सालमा भारतको पटनामा बोलाइएको सम्मेलनपछि राजा महेन्द्रको तानाशाहीको विरूद्ध सशस्त्र प्रतिरोध संचालन गर्नका लागि सूवर्णजीलाई कार्यवाहक सभापति बनाइएको थियो । त्यसबखत, यस बाहेक कुनै विकल्प नरहेको अवस्था थियो।

    लामो समयपश्चात, विपी कोइराला अमेरिकामा उपचार गराएर सन् १९७७ नोभेम्बरमा स्वदेश फर्किने क्रममा कलकत्तामा सूवर्ण जीलाई भेटन जानुभएको थियो । अतिशय रूग्ण सूवर्ण शम्सेर विपीको हात समाएर “तपाईंको नासो नेपाली कांग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईंलाई फिर्ता बुझाउँदछु” भन्दै सभापतित्व हस्तान्तरण गर्नुभयो । कलकत्ताबाट फर्किएर बीपी पटनाको “आर ब्लक” स्थित “एमएलए क्लब” मा आयोजित सभामा यो जानकारी गराउनु हुदाँ म स्वयं पनि साक्षी रहेको हुँ । सायद यसको भोलि वा पर्सिकै दिन सूवर्ण शम्सेर जीको देहावसान भएको थियो । वा, एकाध सप्ताह भित्र । नेतृत्व हस्तान्तरणको यो एक अनुपम उदाहरण थियो ।

    पटनाको त्यस सभामा किसुन जी पनि हुनुहुन्थो । यसको साता नवित्दै विपी पटनाबाट नेपाल फर्किनु भयो । राजा वीरेन्द्रसँग उहाँले तेस्तै वचनबद्धता गर्नुभएको थियो । नेपाल फर्किनुअघि पटनाको सोही “एमएलए क्लब” को सभामा आफू नेपाल फर्किएपछि अवश्य पनि पक्राउ परिने भन्नु हुँदै “आफू जेल परेपछि साथीहरू हाम्रा प्रिय साथी किसुन जी (कृष्ण प्रसाद भट्टराई) बाट निर्देशन पाइ रहनु हुनेछ भन्नु भयो । यतिमात्र भन्नु भयो । पटनाबाट काठमाडौं फर्किन लाग्दा शानेवानीको विमानमा उहाँले “योजनाबद्ध” रूपमा सहयात्री बनाउनु भएको एक सहयोगी, जस्को नेपाल फर्केपछि गिरफ्तार हुने संभावना थिएन; उहाँलाई काठमाडौंमा सार्वजनिक गर्ने गरी एक खामबन्दी पत्र दिनु भयो । यो पत्र सार्वजनिक गरिएपछि सबैले थाहा पाए विपीले किसुन जीलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति र परशुनारायण चौधरी एवं गिरिजाप्रसाद कोइरालालाई महामन्त्री तोक्नुभएको हो ।

    यहाँ मैले यदि यो सत्य उल्लेख गरिन भने इतिहासप्रतिको बेइमानी हुनेछ कि विपीले यो निर्णय सायद शाब्दीकरूपमा नै सत्य “महान उदारमना निस्पृह मानव गणेशमान जी” को सहमतिबाट गर्नु भएको थियो । यो नेपाली कांग्रेसमा सभापतित्व हस्तान्तरणको अर्को अतुलनीय उदाहरण थियो ।

    विश्वास, सद्भाव र सहकार्यको यो परम्परा कलवलगुडीमा आइपुग्यो, जहाँ विराटरूपधारी गणेशमानजीको सदिच्छाबाट र गिरिजा बाबुको प्रसन्नताबाट किसुनजी पार्टीको निर्विरोध सभापति हुनुभयो । यो पछिल्लो अतुलनीय उदाहरण थियो, त्यस दिनका समारोहमा, जहाँ आजका धेरै “भगवानहरू” भावातीत भएर मात्र ताली पड्काइरहेका थिए । भावातीत भएर! तीमध्येका केही आज भन्दै गरेको सुनिन्छ कि उ बेगर कांग्रेस जीवित रहन सक्दैन ।

    हो, यो सत्य हो। किसुन जी पछि गिरिजा बाबु सभापति हुने बेलामा नेपाली कांग्रेसको “अतुलनीय सहमतिको उदाहरण” को इतिहासमा प्रतिस्पर्धाले प्रवेश पायो । तर पनि त्यो शिष्ट थियो । शिष्ट यस कारणले कि किसुन जीले मन नपराए पनि आफूलाई गिरिजाबाबुको विरूद्ध उम्मेदवार बनाउनु भएन । उहाँले चिरञ्जिवी वाग्लेलाई नेकाको सभापतिमा समर्थन गर्नुभयो । यो पनि संसारमा विरलै पाइने उदाहरण थियो । “मानिस मन त परेको छैन, तर मानिस गैरनेपाली कांग्रेस होइन ।” नीलकण्ठ हुनुहुन्थ्यो किसुन जी, सत्यमा “नीलकण्ठ”! अद्वीतीय, एकल र अद्वैत !

    गिरिजाबाबुपछि नेकामा नेतृत्व हस्तान्तरण प्रकृयाको कुरा नगरौं । सायद मलाई थाहा नभएर पनि होला । किन कि त्येस समयमा मेरो मृत्यु भैसकेको थियो । म त्यस सुन्दर लोकमा रहिन । तर, आज नर्कबाट कांग्रेसको त्यस स्वर्गतिर हेर्दछु। अचम्भ लाग्दछ ! सोध्छु.. प्रभू के भैरहेको छ मेरो पुरानो कांग्रेसमा ?

    बडो आराधनापछि म जवाफ पाउँछु । मलाई कसैले एउटा शास्वत कुरो भन्छ । त्यो हो…” ठूला र सिद्ध योगीहरूको मृ्त्यु भएपछि योगीलाई पंचतत्वमा विलीन गराइएपछि अन्यन्‌न शिष्यहरूले गुरू योगीको कुटीलाई आगो लगाई भष्म गर्दछन् ।” यस्तो चलन छ । यो कथन म सप्तरीको मेरो वनकुटीमा सुन्दछु । अनि तन्द्रामा सोध्छु किन नि ? कुटी किन जलाउने नि ? जवाफ आउँछ..” हेर त्यस कुटीमा मृत्युपर्यन्त पनि सिद्ध योगीको आत्माको बास रहेको हुन्छ । तसर्थ, नयाँ योगीले कुटी डढाउने गर्छन् पूर्ववर्ती प्रतापी योगीको प्रभावबाट मुक्त हुन् । स्वच्छन्द हुनका लागि ।”

    (लेखकको सामाजिक सञ्जालमा प्रस्तुत विचारबाट)

  • तुँवालो लागेको बाल-सपना

    तुँवालो लागेको बाल-सपना

    दिनभर कामको थकानबाट विश्राम लिँदाको क्षण, ठूलो झ्यालको कुनाबाट चिहाएर बाहिर हेर्दै थिएँ म । सन्ध्याकालीन झिलिमिली, प्रकृतिको मनोरम दृष्य सबैको मन छुने नै भयो, म पनि अछुतो रहिनँ । पहाडका टापुमा आधुनिक प्रविधको रमझम, बेहुली सिँगारिएझैँ सुन्दर, मन त्यहीँ, सबै थकान हराएर जाने । ओहो ! कति सुन्दर देश, यस्तो सुन्दर देशमा कठिन प्रसव पीडा पछि जन्मिएका हाम्रा सन्तति । हाम्रा आँखाका रोशनी । देशलाई असल मार्गमा धकेल्ने यी सुन्दर मुनाहरु ।

    मन झसङ्ग भयो । अहिले सबै मानिसका एक एक सन्तान वा बढीमा दुई । अनि धेरै सन्तान जन्माएमा राम्रो शिक्षा दिक्षा दिन नसकिने डर वा समाजसँगको लाज । सबै मानिसलाई आफ्ना सन्तान उत्कृष्ट बनाउने रहरले छपक्कै छोपेको छ । पहिले जस्तो जेठो, माइलो, अन्तरे…..जन्तरे, जन्तरी आदि हँुदै कान्छो कान्छी रहने अवस्था पनि रहेन । त्यही एउटै सन्तानलाई डाक्टर, इन्जिनियर, पाइलट, चित्रकार, गायक, नायक, वक्ता, शिक्षक के के हो के के बनाउने रहर छ । अर्थात् बहुमूखी प्रतिभाशाली बनाउनु छ । स्कूलमा म्यामले पनि सधैँ क्रियएटिभ बनाउनुपर्छ भन्नुहुन्छ, त्यसैले आफ्नो एक सन्तानलाई सबै थोक बनाउने सपना र चाहना बोकेका हामी । तर हजुरबाको जस्तो समय पनि त रहेन अब । संसारमै प्रतिस्पर्धा गराउनु छ, जिताउनु छ ।

    आमा बा आधा पेट खाएर पनि राम्रो शिक्षाका लागि त्यस्तै विद्यालयको रोजाइमा हुन्छन् । यस्ता हाम्रा बाआमा, दिदीबहिनी र दाजुभाइका सपना पूरा गर्ने क्रममा म पनि अनायास नराम्रो सपनाबाट ब्यूँझिदाको पल सम्झन्छु ।

    कक्षामा पढाइरहेको बेला बालबालिकालाई सिर्जनशील बनाउने मेरो पनि चाहना पूरा गर्न तम्सन्छु । अनि यतिका मानिसहरुको चाहना पूरा गर्ने जिम्मेबारी पाएको शक्तिशाली म आफैँ पनि गजक्क पर्न थाल्छु र विषयलाई अगाडि बढाउन अबोध बालबालिकासँग अनुमति माग्छु । हेर नानीबाबु हो, राम्रो मान्छे बन्न समाचारहरु सुन्नुपर्छ, सिर्जनशील हुन टि.भी. हेर्ने रेडियो सुन्ने बानी बसाउनु पर्छ । म्याम पनि सधँै हेर्ने गर्छु भन्दै निरन्तर पृष्ठपोषण गरिरहेँ ।

    मलाई यत्तिकैमा एक दिन एक जना विद्यार्थीले ‘घरमा पापाले नेटको लाइन काटिदिएको छ’ भनी आफ्नो गुनासो सुनाए । अर्काले भने, आमाबाले टी.भी. हेर्न दिनुहुन्न, म एकछिन अवाक भएँ । मलाई ढुङ्गेयुगमा प्रवेश भएझैँ लाग्यो । पुनः प्रतिप्रश्नहरु गर्दै समय मिलाएर हेर न, म्यामले भन्नुभएको भन्नु भनी पुनः दोहो¥याएँ ।

    रोल मोडलको भूमिका निभाउँदै मुसुक्क मुस्कुराउँदै आज बेलुका कान्तिपुर, शान्तिपुर, एन.टी.भी., इमेज सिमेज जे जे आफ्नो घरमा आउँछ हेरेर आउनु भन्दै गर्दा अर्को एकजनाले बिचबाट नै म सधैँ हेर्छु तर केही नबुझेको जिकिर गरे । म पनि म्याम भई बालबालिकालाई राम्रो र असल मानिस बनाउने ठेक्का बोकेको ठेकेदार न परेँ ।

    फेरि समाचार सुन्दा हेर्दा तिमीहरुको चौतर्फी विकास हुन्छ, संसारको सबैभन्दा धनी मानिस नै सूचनाको धनी मानिस हो, पैसा भएको मानिसभन्दा सूचना भएको मानिस धनी हुन्छ, आदि इत्यादि,….आफूले जाने जति सबै कुरा भन्दै गएँ, सुनाउँदै गएँ । नजाने ती अबोध बाल बालिकाले कति बुझे कति बुझेनन् मैले त्यसको पत्तो पाइनँ । तर पनि उनीहरु खुसी देखिन्थे, जे होस् आज टि.भी. मज्जाले हेर्न पाइने भइयो, म्यामले भनेको …..।

    आफू पनि शिष्यहरुलाई रचनात्मक बनाउन जुटेको सबैको प्यारो रोल मोडेल । अर्को दिन, कक्षाकोठामा पुनः मुस्कान पस्कँदै समाचारबाट सिकेका कुरा वा शब्दहरु पालैपालौ भन्न लगाएँ । विद्यार्थीहरु गृहकार्यको बोझबाट मुक्त भएको रमाइलो पलको अनुभवका साथमा आफ्ना उत्तर दिन तम्सिए ।

    एक जनाले ठट्यौली गर्दै भने, छ्या ! म्याम, समाचारमा केही त हुँदोरहेनछ । ‘हो र ?’ भन्दै मैले फेरि अरु विद्यार्थीतर्फ इसारा गरेँ । उनीहरु क्रमशः भन्दै गए, कांग्रेस,… अर्कोले एमाले,… विघटन,… माओवादी,…. अदालत, .. संविधान, कोरोना, …भन्दै गए । म पनि प्रसन्न हुँदै केही शब्दहरु भएपनि सिकेछन्, उच्चारण पनि सही छ भनी मख्ख परेँ ।

    रमाउँदै ती ससाना बालबालिकासँग नयाँ–नयाँ शब्दहरु सिकेछौ भनी तिनलाई हौसला प्रदान गर्दैै थिएँ, बिचैमा एक बालिकाले नेता भनेर बोलिन्, मैले पनि हत्त न पत्त वाक्य बनाऊ भनेँ । मेरो कुरा पूरा नहुँदै नेताहरु राम्रा शब्द बोल्दैनन् भनेको नेपथ्यबाट सुनेँ । त्यसपछि अर्को बच्चाले डराउँदै मलाई हेर्यो । मैले पनि पुलुक्क हेरेँ र भने डराउनु पर्दैन म नेता होइन । म तिमीहरुको साथी । म पनि बच्चालाई असाध्यै माया गर्ने मान्छे ….।

    त्यसपछि निर्धक्कका साथ ऊ भन्दै गयो । टि.भीमा आपसमा गाली गलौज गरेको घटना बताउन थाल्यो, कुकुर बिराला मिलेर बसेको देखेको छु, यी नेताहरु त सधैँ झगडा गर्दा रहेछन्’ ऊ थप्दै गयो, हाम्रो घरमा त कसैले भ्याक्सिन लगाउन पाउनु भएन । म सिर्जनशील बन्न चाहन्न, अबदेखि कहिल्यै पनि समाचार नहेर्ने बाचा गरेको छु भनी बरबराउन थाल्यो ।

    म पनि पक्राउ परेको कालोबजारीझैँ भएँ । ती कलिला निर्मल मस्तिष्कको उपचार गर्न नसकी शीर निहुर्‍याइ, लज्जाका साथ आज चाहीँ कृषि कार्यक्रम हेर्नु भनी म कक्षाकोठाबाट बाहिरिएँ । निशब्द र लज्जित रोल मोडल म …..! मलाई एकसाथ स्मरण भयो, लोकतन्त्र अनि गणतन्त्र स्थापना भएको दिन, सर्वत्र हर्षोल्लास छाएको त्यो दिन । मानिसको सोच विचार जहाँको त्यहीँ, छ्या !

    बालबालिका देशका निर्माता र राष्ट्रका गहना हुन् भन्ने कागजी कुरा । घर, विद्यालय सबैतिर तिनलाई राम्रो बोल्न र शिष्टाचारका कुरा सिकाउँछौँ हामी । मानिससँग भेट हुँदा नमस्कार अनि छुट्टिँदा हवस् त बिदा पाऊँ है भनी शिर निहुर्याएर बोल्न सिकाउँछौँ ।

    यस्ता व्यावहारिक कुराहरु घोकाएर सिकाएकोभन्दा अग्रज व्यक्तित्वको आचरणको नक्कल गरी नानीबाबुहरुले बढी सिकिरहेका हुन्छन् । बाल बालिकाहरु काँचो माटो हुन् हामी जस्तो बनाउन चाहन्छौँ त्यस्तै बन्छन् । हामीले प्रयोग गरेका अपशब्द, खराब आचरणहरुको सुधार गरी आजका बाल बालिकालाई भविष्यका देश निर्माता बनाउन सकिन्छ कि ? सभ्य र सौम्य समाजको निर्माणमा हामी सबै जुट्न सक्छौँ कि ? बालबालिकाहरुलाई राष्ट्रियस्तरबाट महत्वपूर्ण सुविधा उपलब्ध गराउन नसके पनि राम्रा शब्दहरुको प्रयोगमा कन्जुस्याइँ नगर्ने कि ? अन्यथा तुँवालो लागेको बालसपनामा उज्यालो छर्न ढिलो हुनेछ ।

  • एक्काइसौं शताब्दीको जनवाद र समाजवाद

    एक्काइसौं शताब्दीको जनवाद र समाजवाद

    माओवादी सशस्त्र द्वन्द्व अवतरणको रुपमा भएको शान्ति प्रक्रिया अझै टुंगोमा पुगेको छैन । द्वन्द्वपछि स्थापित भएको २१ औं शताब्दीको जनवादलाई स्थापित गर्न नसकेकै कारण माओवादी कमजोर भएको छ ।

    द्वन्द्वको बलमा धेरैखाले राजनीतिक उपलब्धी भए, तर ती उपलब्धीलाई जनतासँग जोड्न नसकेकै कारण माओवादी कमजोर भएको हो । कुनैबेला जनताको अपेक्षाको केन्द्र बनेको माओवादी आन्दोलन अहिले धराशायी हुनुका पछाडि धेरै कारण छन् ।

    अहिलेको आवश्यकता एक्काइसौं शताब्दीको जनवाद हो । पुरानो मोडलको जनवादले जनताको समस्या सामाधान गर्न सक्दैन । समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ दस्तावेजलाई विकसित गर्नुपर्छ ।

    समाजवादको रक्षा मान्छेले मात्र गर्न सक्छ । यसको रक्षा पुँजी र हतियारले हुन सक्दैन । यद्यपि तात्कालीन नेकपा माओवादीले २०५७ सालको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनबाट एक्काइसौं शताब्दीको जनवादसम्बन्धी कार्यदिशा पारित गर्यो । जहाँ माक्र्सवादको आधारभूत मान्यतालाई आत्मसात गर्दै देश, काल परिस्थितिअनुरूप यसको सिर्जनात्मक विकास र प्रयोगमा जोड गरिएको छ ।

    यसमा दुनियाँमा भइरहेको प्रतिक्रान्तिकारी घटनाबाट गम्भीर पाठ सिक्दै यसलाई परास्त गर्ने विधि र तरिकाहरू उल्लेख छ । कम्युनिस्ट आन्दोलनको पराजयका कारणहरू खोतल्ने प्रयत्न गर्नुको साथै यसमाथि भइरहेको भीषण वर्गीय हमलाविरुद्ध लड्ने, छल्ने र ढाल्ने रणनीतिक पद्धति पनि विकास गरिएको छ ।

    २१ औं शताब्दीको जनवादमा सर्वहारा वर्गीय सेनाको अपरिहार्यतामा जोड गरिएको छ । यसको आधार त नेपालमा प्रशस्त छन् तर विकसित अघि बढ्नुपर्छ ।

    राज्यसत्ता प्राप्तिपछिको भौतिक परिवेशमा पार्टीको सर्वहारा वर्गीय चरित्रको रक्षा, विकास र रूपान्तरण कसरी गर्ने भन्ने अहम् सवालमा जोड दिइएको छ ।

    नेपालमा २१ औं शताब्दीको जनवादी क्रान्तिका लागि वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय उत्पीडनबाट जनसमुदायहरूलाई मुक्त गर्ने नीति रहेको छ । आत्मनिर्णयको अधिकारसहितको जातीय तथा क्षेत्रीय स्वशासन साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको सवाल पनि उल्लेख छ ।

    यसरी पार्टी, सेना र राज्यसत्ता वा संयुक्त मोर्चाको वर्गीय अभ्यासमार्फत नै जनवादी क्रान्तिलाई पूर्णता दिनुको साथै प्रतिक्रान्तिलाई रोक्दै निरन्तर संघर्षको ऐतिहासिक प्रक्रियाको माध्यमबाट समाजवाद हुँदै साम्यवादसम्म पुग्ने स्पष्ट कार्यदिशा नै २१ औं शताब्दीको जनवाद हो ।

    पूर्णरुपमा समाजवादमा पुग्न २१ औं शताब्दीको जनवादी क्रान्तिलाई सफल बनाउन आवश्यक छ । आजभोलि समाजवादको नारा प्रायजस्तो पार्टीमा गुञ्जिरहेको छ तर सामाजवादमा पुग्न सर्वहारा वर्गीय चरित्रलाई बढी प्रोत्साहनको साथ अगाडि लैजानु पर्छ । तर सबैजसोमा पुँजीवादीलाई बढी प्रोत्साहन दिएकोले सामाजवाद ‘मुखमा राम, राम बगलमा छुरा’ जस्तो भएको छ ।

    अहिले कम्युनिस्टको नाममा सत्ता संचालन गर्दै जनतालाई ढाँट्ने काम भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा टुट–फुटको असरले कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको छ । तर अझै सबै एकजुट भएर कम्युनिस्ट आन्दोलन अघि बढाउने हो भने समाजवादमा पुग्न सम्भव छ ।

    तसर्थ कम्युनिस्ट आन्दोलनको आगामी कार्यदिशा २१ औं शताब्दीको जनवादी क्रान्ति हुनुपर्दछ ।

  • बोक्सी आरोपमा महिला हिंसा विश्वव्यापी, बालबालिकासमेत पीडित

    बोक्सी आरोपमा महिला हिंसा विश्वव्यापी, बालबालिकासमेत पीडित

    बोक्सी प्रथा नेपाल र भारतमा मात्र नभइ विश्वभर नै रहेको पाइन्छ, जसका कारण अबोध महिलाले बोक्सीको आरोपमा प्रताडित हुनु परेको छ । विश्वभर बोक्सी तथा अलौलिक शक्तिको अस्तित्व स्वीकार गर्ने ठूलो जमात छ । रूप–स्वरूपमा विविधता भए तापनि संसारभर नै बोक्सी विद्याबारे विश्वास राखिएको पाइन्छ ।

    केही देशमा पुरुषलाई पनि बोक्सी आरोप छिटपुट रूपमा नलगाइएको होइन । तर यस कुप्रथाबाट मुख्यतः महिलानै प्रभावित हुने गरेका छन् । अफ्रिकाका केही देशमा महिलाका साथै बालबालिकालाई पनि बोक्सीको आरोप लगाइ यातना दिनु तथा हत्या गरिनु अत्यन्त दुःखदायी कुरा हो ।

    सन् १९९८ मा इण्डोनेसियाको बन्युवान्गी जिल्लामा मात्र बोक्सी आरोपमा लगभग सय जनाको हत्या भयो । सन् २००३ मा कम्बोडियामा आठजना बोक्सी आरोपित मारिए । उक्त घटनामा मानिसका हुलले बोक्सी आरोपितलाई सामूहिक रूपमा हत्या गरेका थिए ।

    थाइल्याण्डमा बोक्सी आरोपितलाई बहिष्कार र गाउँ निकाला गरिएका धेरै घटना छन् । बंगालादेशमा छोरा वा पति विदेशमा काम गरिरहेको परिवारमा बुहारीलाई बोक्सी आरोप लगाउने गरेको पाइन्छ । ‘विच् एन्ड विच् हन्ट्ः अ ग्लोवल हिस्ट्री’का अनुसार मध्य तथा लेटिन अमेरिका बिसौँ शताब्दीमा बोक्सी आरोप लगाउनेको केन्द्र बिन्दु नै थियो ।

    बोलिभियामा बोक्सी आरोपमा जिउँदै जलाउने, जिउँदै पुर्ने जस्ता घटनाहरूको प्रतिवेदन पाइन्छन् । त्यस्ता घटना विशेष गरी आदिवासी समुदाय बसोबास गरेको स्थान जहाँ सरकारको न्यून उपस्थिति रहेको ठाउँमा हुने गरेको पाइन्छ ।

    पपुवा न्यूगिनीमा एकै वर्ष एउटै प्रान्तमा लगभग २०० महिलाहरू बोक्सीको आरोपमा मारिएका प्रमाण छन् । बोक्सी आरोपितलाई यातना दिइन्छ, भीर तथा चट्टानबाट फ्याँकिन्छ, कार वा गाडीको पछाडि घिसारिन्छ, जलाइन्छ वा जिउँदै गाडिन्छ ।

    ग्वाटिमाला र हाइटीमा पनि बोक्सी आरोपमा धेरै हत्या भएका छन् । सन् १९६० मा मेक्सिकोको एक जापोटक गाउँमा मात्र बोक्सी आरोपका ८० घटनाहरू दस्तावेजीकरण भएको पाइन्छ । सन् १९५६ देखि १९८४ सम्मका पत्रपत्रिकाका अनुसार पोल्याण्डमा बोक्सी आरोपमा धेरै हिंसा (हत्यालगायत) भएको देखिन्छ ।

    युरोपमा सन् १४५० देखि १७५० सम्म बोक्सी आरोपका घटना अत्यधिक भए । त्यस अवधिमा एक लाख बोक्सी आरोपितलाई कारवाही गरिएको र आधा जतिलाई ज्यान सजायँ दिइएको थियो । जसमध्ये तीन चौथाइ जति महिला थिए ।

    केन्याको लुग्बारा जातिमा महिलाभन्दा पुरुषलाई बोक्सीको आरोप लगाउने गरेको पाइन्छ । तर केन्याको किसी जनजाति क्षेत्रमा भने महिलालाई नै बोक्सीको आरोप लगाउने गरिन्छ । केन्याको उक्त क्षेत्रमा मे २००८ मा १५ महिलालाई बोक्सी आरोपमा हत्या गरिएको थियो ।

    २००७ को सुरुआततिर गाडी दुर्घटना गराएको भन्दै चार महिलालाई बोक्सी आरोपमा मारिएको थियो । निक स्क्वीरिस्का अनुसार पपुवा न्यूगिनीमा एकै वर्ष एउटै प्रान्तमा लगभग २०० महिलाहरू बोक्सीको आरोपमा मारिएका प्रमाण छन् । बोक्सी आरोपितलाई यातना दिइन्छ, भीर तथा चट्टानबाट फ्याँकिन्छ, कार वा गाडीको पछाडि घिसारिन्छ, जलाइन्छ वा जिउँदै गाडिन्छ ।

    जाम्बियामा त झन् बोक्सी आरोपका घटना नाटकीय रूपमा बढेको पाइन्छ । एड्सको चिकित्सा विज्ञानसम्बन्धी कुनै उपचार नभएको कारण बिरामीको मृत्युको कारण स्वतः ‘बोक्सी’माथि थोपरिन्थ्यो ।

    मानव अधिकारकर्मी सारह गरपका अनुसार त्यस्ता घटनामा ९५ प्रतिशत आरोपित महिला हुने गर्छन्, जसलाई अमानवीय यातना तथा हत्या गरिन्छ । साथै उक्त घटनाक्रममा जसले हस्तक्षेप गर्छ, उसलाई बोक्सी आरोप लगाइ हत्या गर्ने जोखिम रहन्छ ।

    तान्जेनियामा पनि बोक्सी आरोपका घटनाहरू धेरै हुने गरेका छन् । ती घटनाका आरोपित अथवा पीडित महिलाहरू नै बढी हुने गर्छन्, त्यसमा पनि वृद्ध महिलाहरू बढी प्रताडित हुने गरेका छन् । तान्जेनियाको एक सरकारी तथ्याङ्कअनुसार सन् १९९८ देखि २००१ सम्म १७ हजार २२० महिलालाई बोक्सी आरोप लगाइएको थियो, जसमा दश प्रतिशत जति मारिएका थिए । त्यस्तै अर्को एक सरकारी तथ्याङ्कअनुसार सन् १९७० देखि १९८४ सम्म ३ हजार ६९३ जना बोक्सी आरोपमा मारिएका थिए ।

    सामान्यतया अपाङ्ग, बिरामी, उद्दण्ड वा खराब आचरण भएका बालबालिकालाई यस्ता आरोप लाग्ने जोखिम हुने गर्छ । प्राय आरोपित बालबालिकाका आफ्ना बा, आमा वा दुवै नभएका र आर्थिक समस्यासँग जुधिरहेका सौतेनी अभिभावक वा संयुक्त परिवारसँग बसोबास गरेको देखिन्छ ।

    एंगोलाका बालबालिकालाई पनि यस्ता आरोपहरू लाग्ने गरेको पाइन्छ । यस्ता घटना नाइजेरियामा विद्यमान छ, जहाँ बोक्सीको आरोपमा बालबालिकालाई निर्घात कुटपिट गरिन्छ, विष पिलाइन्छ वा जिउँदै जलाउने समेत गरिन्छ । बालबालिकालाई बोक्सीको आरोप लगाइ यातना दिइ घर निकाला गर्नुको पछाडि परिवारको अत्यन्त कमजोर आर्थिक अवस्था नै प्रधान कारण रहेको देखिन्छ । नइच्छाएको बालबालिकालाई निष्कासित गर्नका लागि पनि बोक्सी आरोपलाई औचित्य साबित गर्ने हतियारको रूपमा प्रयोग गरेको पाइन्छ ।

    अफ्रिकामा विगतमा भएका स्वास्थ्य संकट (जस्तो बेनिन्मा टिटेनस्को महामारी, पपुवा न्यूगिनीमा मलेरियाको महामारी, घानामा मेनिन्जाइटिस्को उत्पात)का कारण पनि बोक्सी आरोपका घटना बढेको पाइन्छ । कङ्गो, पपुवा न्यूगिनी, तान्जियालगायतका देशमा एच्आइभी–एड्सलाई बोक्सीको शक्तिसँग जोडिन थालियो, जसका कारण बोक्सी आरोपका घटना बढेको देखिन्छ ।

    जाम्बियामा त झन् बोक्सी आरोपका घटना नाटकीय रूपमा बढेको पाइन्छ । एड्सको चिकित्सा विज्ञानसम्बन्धी कुनै उपचार नभएको कारण बिरामीको मृत्युको कारण स्वतः ‘बोक्सी’माथि थोपरिन्थ्यो ।

    भारत र नेपालमा हुने बोक्सी आरोपित घटनाका आयाम तथा स्वरूपमा धेरै एकरूपता पाइन्छ । भारतको तुलनामा नेपालमा बोक्सीको आरोपमा ज्यान गुमाउने घटना न्यून रहे पनि बोक्सी आरोपमा हुने क्रूर तथा अमानविय हिंसा भने उल्लेखनीय मात्रामा हुने गरेको पाइन्छ ।

    छिमेकी मुलुक भारतमा बोक्सीमाथिको विश्वास र यसको नाममा महिलामाथि गरिने हिंसा कहालीलाग्दो छ । भारतको राष्ट्रिय अपराध ब्यूरोका अनुसार सन् १९९१ देखि २०१० सम्म १ हजार ७०० महिलाहरूले बोक्सीको आरोपमा ज्यान गुमाइसकेका छन् भने सन् २००० देखि २०१४ सालभित्र २ हजार ५०० महिलाहरूले बोक्सीको आरोपमा ज्यान गुमाइसकेका छन् ।

    यसैगरी सन् २००१ देखि २००८ सम्म १ हजार २६१ जना महिलाले बोक्सीको आरोपमा ज्यान गुमाएका छन् । संयुक्त राष्ट्र संघको रिपोर्टअनुसार भारतमा सन् १९८७ देखि २००३ सम्म २ हजार ५५६ जना महिलाको बोक्सीको आरोपमा ज्यान गयो ।

    भारतको राष्ट्रिय अपराध ब्यूरोको तथ्याङ्कको आधारमा वर्षमा १५० देखि २०० जना महिला बोक्सीको आरोपमा मारिन्छन् । साथै भारतको झारखण्ड, हरयाणा, छत्तिसगढ, ओरिसा, पश्चिम बंगाल, मध्य प्रदेश, राजस्थान, आन्द्र प्रदेश, गुजरात, महाराष्ट्र, असाम र विहारसहित बाह्रवटा राज्यमा बोक्सी आरोपित हिंसाहरू बढी हुने गरेको पाइन्छ । बोक्सीको आरोपमा ज्यान गुमाउने घटनामा झारखण्ड पहिलो पङ्क्तिमा रहने गरको छ ।

    भारत र नेपालमा हुने बोक्सी आरोपित घटनाका आयाम तथा स्वरूपमा धेरै एकरूपता पाइन्छ । भारतको तुलनामा नेपालमा बोक्सीको आरोपमा ज्यान गुमाउने घटना न्यून रहे पनि बोक्सी आरोपमा हुने क्रूर तथा अमानविय हिंसा भने उल्लेखनीय मात्रामा हुने गरेको पाइन्छ ।

    यस्ता घटनासम्बन्धी तथ्याङ्क विभिन्न निकाय (सरकारी तथा गैर सरकारी)मा फरक फरक पाउने गरिन्छ । यस्ता धेरै घटनाहरू डर–धम्की, न्यायिक पहुँचको अभाव, मेलमिलाप आदिका कारण प्रहरीमा दर्ता हुने गरेको पाइँदैन । यही कारण पनि तथ्याङ्कमा फरकपना देखिएको हुुनसक्छ । नेपालमा पछिल्लो २४ वर्षमा (२०५३ देखि २०७७ साउन १० गतेसम्म) नेपाल प्रहरी अपराध अनुसन्धान विभागका अनुसार बोक्सी आरोपमा ३ सय ६८ जनाले यातना पाएका छन् ।

    (बोक्सीप्रथा केन्द्रित पुस्तक ‘शल्यक्रिया’बाट । उक्त पुस्तक आज सार्वजनिक हुँदैछ ।)

  • श्रीमानको गोडाको पानी, नखाँदा के हानि ?

    श्रीमानको गोडाको पानी, नखाँदा के हानि ?

    युगौ‌देखि मनाइँदै आएको तीज फेरि हाम्रो घर–आँगनमा आइसकेको छ । आज राति अबेरसम्म ‘दर’को रुपमा मीठो–मसिनो परिकार खाने र भोलि पतिको दीर्घायूको कामनासहित ब्रत बस्ने चलन छ ।

    पतिलाई परमेश्वर मान्ने र पितृसत्ताको जयजयकार गरिने यो पर्व विगतदेखि वर्तमानसम्म उस्तै छ । रुप बदलिए पनि सार बदलिएको छैन । समय धेरै पर पुगे पनि चिन्तन बदलिँदो रहेनछ ।

    बाहिर जतिसुकै समानताको चर्को–चर्को आवाज उठे पनि मन र मस्तिष्कभित्र बसेका चिन्तनहरु अनेक बहानामा बाहिर छरपस्ट हुँदा रहेछन् ।

    तीजमा श्रीमानको गोडा धोएर पानी पिउने चलन अझसम्म जिउँदै छ । हिन्दू धर्ममा यो त सामान्य कुरा हो भन्ने गरिन्छ । श्रीमान–श्रीमतीबीच आपसमा प्रेम तथा आत्मीयता प्रदर्शन गर्न गोडा धोएर जल खाने प्रचलन रहेछ ।

    यो परम्परा सायद हिन्दूको पनि आर्य खस जातिमा मात्र हुन्छ कि जस्तो लाग्छ । स्तम्भकारले आफ्नो परिवारमा न हजुरआमाले यस्तो गरेको देख्नुपर्यो, न आमाले ।

    आमाले न आफुले त्यस्तो गरिन् न छोरीलाई यस्तो संस्कार सिकाइन् । न छुइ हुँदा छोइछिटो गरिन् न छोरीलाई छोइछिटो गर्न सिकाइन् । मात्र सफा हुन र आराम गर्न सिकाइन् ।

    कसैले नुहाएको पानी शीरमा छर्केको र गोडाको पानीले नुहाउने गरेको पनि देखिन्छ, सामाजिक सञ्जालहरुमा । यो एउटा आस्था र परम्परा नै हो भनिन्छ । श्रीमानको गोडा धोएर पानी खाने परम्परा सदियौंदेखिको भएकाले धेरैलाई स्वीकार्य भएको हु्न सक्छ । तीजपछि गोडा धोएको पानी खानु श्रीमानप्रतिको उच्च सम्मान हो र विरोध गर्नेहरु संस्कारविरोधी हुन् भनेर चित्रण गर्ने गरिएको छ । तर त्यो होइन ।

    हामीले हाम्रा पितृसत्तात्मक चिन्तनहरु हरेक क्षेत्रमा पाउने गर्छौं । घर भित्रदेखि घर बाहिरका धेरै क्षेत्रहरुमा र यो संस्कारले पुरुष बर्चस्वको जयजयकार हुन्छ । अहिले त झन् मज्जाले आरती नै भएको देखिन थालेको छ ।

    तीजमा गोडा धुने सन्दर्भमा हामीकहाँ चार प्रकारका पुरुषहरु भेटिन्छन् । पहिलो– हाम्रो सदियौंदेखि चलिआएको संस्कार हो, खाउ न त भनेर गोडा तेर्साउने । दोस्रोे, गोडाको पानी पनि खान्छन् ? अहिलेको युगमा पनि कहाँ यस्तो गर्न मिल्छ भन्दै पन्छिने । तेस्रो– व्रत बसे पनि फलाहार खाएर बस, व्रत बसेर मेरो आयु लम्बिने होइन, स्वास्थ्य बिग्रेर तिम्रो चाहिँ आयु छोटिन सक्छ भनेर सम्झाउने । र, चौंथो– व्रत नबसे पनि सदियौंदेखि चलिआएको चलन हो, रातो सारी चाहिँ लगाउ है भन्ने ।

    यसरी चार प्रकारको चिन्तन भएका पुरुषहरु पाइन्छन् । अहिले सामाजिक संजाल फेसबुकमै पनि दुईखाले पुरुषहरु देखिन्छन् । पहिलो– आफू बिवाहित हो कि अबिवाहित भन्ने जानकारी दिन नै हिच्किचाउने, श्रीमतीको फोटो सार्वजनिक नगर्ने । दोस्रो– श्रीमतीलाई खुशी राख्न बेलाबखत फोटो सार्वजनिक गर्ने ।

    कसलाई कस्तो सहज लाग्छ त्यही गर्ने हो र गरिरहेका छन् । कति मानिसहरु वैवाहिक जीवनलाई नै विसर्जन गरेर एकल बसेका हुन्छन् । कोही पनि ब्यक्तिले आफ्नो हुँदाहुँदैको दाम्पत्य जीवन छुटाएर एकल हुन चाहेको हुँदैनन् । तर, कोही पनि व्यक्ति रहरले बेघर हुँदैनन् ।

    गोडा धोएरै बसेका पनि कतिको दाम्पत्य जीवन टुक्रिएको देखिन्छ । गोडा नधोएका कतिको जीवन सरल र राम्रो पनि देखिन्छ । यसर्थ, श्रीमानको गोडाको पानी नखाँदैमा दाम्पत्य सम्वन्धमा केही हानि होला भन्ने लाग्दैन ।

    हामी यो पितृसत्तात्मक समाजमा महिलामाथि मात्र हिंसा हुन्छ र त्यो पनि पुरुषले नै गर्छन् भन्ने मानसिकतामा छौं । यहाँ महिलाहरु हिंसामा परे भने समाचार बन्छ, तर पुरुषहरु पनि महिला हिंसामा परेका थुप्रै घटना भेटिन्छन् । तर ती सार्वजनिक हुँदैनन् ।

    किनकि श्रीमतीको दबदबा सहेर बस्ने श्रीमानलाई समाजले हेयका दृष्टिले हेर्छ । जोइटिङ्ग्रेको संज्ञा दिन्छ । तर, श्रीमानको दबदबा सहेर बस्ने श्रीमतीलाई ‘पोइटिङ्ग्रे’ भनिँदैन । बरु, संस्कारी बुहारी, संस्कारी श्रीमती भनिन्छ ।

    हामीले एकाइसौं सताब्दीको युगलाई समानताको युग बनाउनै पर्छ । यो पुरुषले महिलालाई र महिलाले पुरुषलाई हेप्ने, हिंसा गर्ने युग होइन ।

    तसर्थ एकले अर्कालाई देखावटी मात्र होइन, पर्वमा मात्र होइन, सधैंभरी सम्मान गर्न सकौं । कसैलाई देखाउनको लागि आडम्बरी होइन, हृदयबाट नै प्रेम गरौं । अनि बन्ने छ समतामूलक समाज ।

  • विद्या: भ्रम र यथार्थ

    विद्या: भ्रम र यथार्थ

    विद्याको अर्थ हुन्छ, ज्ञान, विज्ञान, शिक्षा, तथा तत्वज्ञान (समस्त ब्रह्माण्डमा भएका तत्वहरुको संरचना, गुण तथा तिनीहरुको कार्य)माथि तर्क गर्नु । कुनै पनि पदार्थमाथि सही या गलत छुट्याउने कलाको विकास गर्नु नै शिक्षा वा विद्या हो ।

    आधुनिक युगमा विद्यालाई शिक्षा पनि भनेर बुझ्ने गरिएको छ । शिक्षा कुनै पनि व्यक्तिको आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने एक सशक्त माध्यम हो, जसले व्यक्तिपिच्छे फरक कल्पना शक्तिको विकास गर्दछ ।

    कल्पना शक्तिको विकासले नै संसारमा नयाँ–नयाँ कुराको विकास हुन पुगेको छ । भौतिक, आर्थिक, संचार, मानवीय तथा सामाजिक तथा सांस्कृतिक रुपान्तरणलगायतका विकास भइ एकीकृत विश्वको निर्माण हुनपुग्छ ।

    विद्याले जहिले पनि वैद्य ज्ञानको अपेक्षा गरेको हुन्छ, यसले नकारात्मक प्रयोगको अस्वीकार गरेको हुन्छ । विद्याको माध्यमबाट नयाँ विषयमा कल्पना शक्तिको विकास हुन गइ नौलो कुरा पत्ता लगाउन सकेको अवस्था नै वास्तविक विद्या प्राप्तिको अवस्था हो ।

    विद्या प्राप्तिले मानिसको स्वभाव नरम बनाउनुका साथै सोचनशील व्यक्तित्व निर्माण गर्दछ । तर कतिपय मानिसहरु विद्या आर्जन गर्नेबितिकै आफूलाइ विद्वान् वा ज्ञानी भएको भन्ने ठान्छन्, त्यस्तो अवस्थामा मानिसलाइ आत्मकेन्द्रित र अहंकारी बनाउँछ ।

    पूर्वीय दर्शनमा विद्या दिने गुरुलाई उच्च स्थानमा राखिएको छ । जसअनुसार जन्म दिने बाबु–आमा र गुरुलाइ समान दर्जा दिइएको छ र विद्यादानलाई सबैभन्दा उत्तम दान मानिएको छ ।

    तसर्थ विद्या दिने गुरु ज्ञानी हुनुपर्छ, कुनै पनि विषयमा नयाँ मार्गदर्शन गर्न विद्यार्थीलाई उत्प्रेरित गर्न सक्ने हुनुपर्दछ, नयाँ खोजको शुरुवात गर्नसक्ने व्यक्तित्व निर्माणको आधार तयार गर्नसक्ने किसिमको, कुनै लोभलालच नभएको हुनुपर्दछ ।

    वर्तमान शिक्षा कस्तो छ ?

    वर्तमान शिक्षा निश्चित पाठ्यक्रममा आधारित भएर सर्कसमा कुनै प्राणीलाई तालिमप्राप्त बनाएजस्तो रटान लगाउने खालको छ । वैज्ञानिकका सिद्दान्तहरुको व्यवहारिक अभ्यास तथा नयाँ कुराको अनुसन्धान गर्न प्रेरित गर्ने किसिमको शिक्षा देखिँदैन ।

    शिक्षा दिने काममा वर्गीय विभाजन स्पष्ट देखिन्छ । एउटै विद्यालयमा हुने–नहुने, विविध जातजाति, संस्कृति, पेशाका अभिभावकका छोरोछोरीको उपस्थितिमा सप्तरंगी फूल फुल्नुपर्ने हो, तर सो हुन नसकी शिक्षा लिने कार्य समेत भेदभावयुक्त भएको छ ।

    शिक्षाले कुनै पनि विद्यार्थीको बहुआयामिक विकास गर्न सकेको देखिँदैन । हरेक व्यक्तिको फरक क्षमता, दक्षता तथा कल्पनाशक्ति रहेको हुन्छ । उक्त रुचिअनुसारको शिक्षा वर्तमान समयमा हुनसकेको देखिँदैन । शिक्षा व्यापार गर्ने एक विधाको रुपभन्दा माथि उठ्न सकेको देखिँदैन ।

    हाम्रो वैदिक परम्पराअनुसार जीवनको पहिलो चरणमा गुरुकुलमा बसेर ब्रह्मचर्यमा रही नीतिशास्त्र, खगोलशास्त्र, गणितशास्त्र, राज्यरक्षा लगायतका विभिन्न शास्त्रको अध्ययन पश्चात् एक सुसंस्कृत सभ्य तथा आदर्शतम् व्यक्ति बनेर व्यवहारिक जीवन (अध्ययन, अनुसन्धान तथा शिक्षाको व्यवहारिक प्रयोग)मा प्रवेश गर्ने गर्दथे ।

    तर हालको शिक्षा एक आयामिक मात्र देखिएको छ, सुसंकृत, सभ्य तथा कल्पनाशील व्यक्तिको उत्पादन गर्न सकेको देखिँदैन तथा अनुसन्धानमूलक र पूर्ण व्यवस्थित प्रयोगशाला पनि छैनन् ।

    गुरुहरु पनि अस्थायी रुपले भञ्ज्याङ्को पाटीमा आएर एकछिन सुस्ताएर जाने बटुवा जस्ता देखिन्छन् । शिक्षा पनि व्यापारमा सीमित जस्तो देखिएको छ । शिक्षालय व्यक्तिको सर्वाङ्गीण विकास गर्ने किसिमका नभइ किराना पसल खोलेका व्यापारी प्रकृतिका छन्, जसले स्पष्ट रुपमा वर्गीय विभेदको सृजना गरेको छ ।

    शिक्षालय कस्तो हुनुपर्छ ?

    शिक्षालयका सम्बन्धमा विचार गर्दा केही पक्षहरुलाइ ध्यान दिनुपर्ने हुन्छ । शिक्षाप्रतिको राजनैतिक विचारधारा, राज्यले शिक्षालयमा गर्ने आर्थिक लगानी, शिक्षालय वरिपरिको वातावरण, गुरु–विद्यार्थी सम्बन्ध तथा भौतिक पक्ष लगायतका विषयवस्तु पर्दछन् ।

    शिक्षालय शताब्दीयौदेखि ज्ञानको मन्दिरको रुपमा विकसित भएको छ । शिक्षा लिने मुख्य आधार शिक्षालय नै हो । तसर्थ यो राजनीतिक उपस्थिति विनाको, जाति, धर्म,सम्प्रदायबाट परै राखी हुने–नहुने, उच–नीचलगायतका कुनै पनि विभेदको झल्को नआउने किसिमको समानता तथा समतामा आधारित हुनुपर्दछ ।

    हालको हाम्रो अवस्था मद्यनजर गर्दा शिक्षा दिने गुरुहरु धेरैजसो अन्य क्षेत्रमा असफलता हासिल गरेपछि शिक्षण पेशा अपनाएको देखिन्छ । कोही मेडिकलका परीक्षामा असफलता मिलेपछि त कोही इन्जिनियरिङ् भने कोही युरोप तथा अमेरिका लगायतका विकसित देशका वैदेशिक यात्रा असफल भएपछि र अन्य पेशामा आवद्द हुन नसक्दा गुरु बन्ने प्रवृत्ति देखिन्छ ।

    यसको अलावा राजनीतिक संगठनका झण्डा बोकेर हिँड्ने गुरुहरु । जुन कुरा विद्या लिने र विद्या प्रदान गर्ने कामको उपहास हो । तसर्थ शिक्षालयमा उच्च दक्षता हाँसिल गरेका अनुभवी तथा अनुसन्धानकेन्द्रित र विद्यार्थीलाई उच्च मनोबलयुक्त बनाउने गुरु हुन जरुरी छ ।

    शिक्षालय शहरको भीडभाडभन्दा पर शान्त वातावरणमा अवस्थित हुनुपर्दछ । ठूलो क्षेत्रफल, चराको चिरविर, वरिपरि बगैँचा, प्रशस्त खेल मैदान, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, कम्प्युटर प्रशिक्षण, सभाकक्ष, स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै गुरुहरुको मायालु वातावरणमा गुरुको वरिपरि बसाएर सानो घरमा राखेर थोरै संख्याका विद्यार्थीबिच अध्ययन–अध्यापन गर्नु–गराउनु पर्दछ ।

    यसको अतिरिक्त आवासीय भयो भने त झन् हाम्रो पूर्वीय दर्शनले राखेको मान्यताअनुरुपको शिक्षालय निर्माण गर्न सकिन्छ, जहाँबाट अपार ज्ञान प्राप्त हुन्छ ।

    विद्वानहरुको विचार के छ ?

    रुसो– रुसोले शिक्षामा बालकको अन्तरनिहीत शक्ति, सामाजिक वातावरण र भौतिक वातावरण गरी तीन चीज महत्वपूर्ण हुनेकुरा उल्लेख गरेका छन् । यी तीन कुराको समन्वय भयो भने आदर्श शिक्षा प्राप्त हुने उनको भनाइ रहेको छ ।

    शिक्षामा सरकारले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने उनको जोड रहेको छ । नैतिक शिक्षा, शारीरिक शिक्षा, भुगोल, इतिहास, यौन शिक्षा सीपको शिक्षा, ओद्योगिक एवं यान्त्रिक कलालगायतका शिक्षा स्वतन्त्र रुपले दिनुपर्ने, जसले गर्दा बालकको सर्वाङ्गीण विकास हुनपुग्दछ भन्ने उनको धारणा रहेको छ । अनुभवद्वारा सिक्नुलाई नै सिकाइको महत्वपूर्ण विधि मानेका छन् ।

    महात्मा गान्धी– शोषणविहीन समाजको निर्माण गर्न सबै व्यक्ति शिक्षित हुनुपर्ने कुरामा महात्मा गान्धी आफ्नो विचार राख्छन् । बालकको शरीर, मन र आत्माको विकास गर्ने मुख्य तत्वको रुपमा शिक्षालाई लिएका छन् ।

    उनले अंकहरुको ज्ञान तथा बालककको शारीरिक, मानसिक तथा बौद्दिक विकास गर्नेखालको शिक्षा हुनपर्छ तथा विद्यार्थीले अनुशासन तथा ब्रह्मचर्यमा रहेर ज्ञान हाँसिल गर्नसक्ने कुरा बताएका छन् ।

    यसका अतिरिक्त प्रौढ शिक्षा, साक्षरता, महिला शिक्षाबारे समेत उल्लेख गरेका छन् । शारीरिक विकास, मानसिक तथा बौद्दिक विकास, व्यक्तिगत एवं सामाजिक विकास, सांस्कृतिक विकास, नैतिक र चारित्रिक विकास, व्यावसायिक विकास, आध्यात्मिक विकास शिक्षाको लक्ष्य हुनुपर्ने उनको राय रहेको छ ।

    शिक्षा कस्तो हुनुपर्छ ?

    शिक्षाको मतलब बालकलाई सारा किताबका ठेली बोकाएर उसको मस्तिष्कमा लाद्ने नभएर जीवनका बाधा तथा मुस्किल हटाउने क्षमता विस्तार गरी अनुसन्धानात्मक बनाउनु हो । भोक त हरेक प्राणीलाई लाग्छ, खाने भोकको अतिरिक्त विद्यार्थीलाई ज्ञानको भोक जगाउन सक्नु पर्दछ, शिक्षाले । तालिम त जनावरले पनि लिएर मानिसका केही कामहरु गरेको देखिन्छ ।

    यसको अलावा मानिसले त नयाँ कुराको खोज गर्नसक्ने तथा समाजमा आफ्नो अधिकार र कर्तव्य बोध गर्न सक्ने बन्नु आवश्यक हुन्छ । मानिसको सबल शरीर, स्वच्छ तथा प्रपंच रहित परोपकारी बुद्दिमान मनको विकास गराउने खालको शिक्षा हुनु पर्दछ जसले गर्दा राष्ट्रको उत्थान हुनगइ सुसंस्कृत तथा भेदभावरहित एकीकृत समाजको निर्माण हुनपुग्छ ।

    पूर्वीय दर्शनको आध्यात्मिक शिक्षालाई सिकाइको एकपाटो बनाउनु आजको प्रमुख आवश्यकता बनेको छ । जसले गर्दा नैतिकवान्, राष्ट्रप्रेमी, आत्मसम्मानयुक्त बनाउन सहयोग गर्दछ । चरणबद्द रुपले विभिन्न तहका विद्यार्थीलाई समयानुकुल शिक्षालाई सुधार गरी लैजानु आजको आवश्यकता हो ।

    एउटा बालक भनेको अनन्त सम्भावना बोकेको कुनैपनि फलको विउ जस्तै हो, जो एउटा सानो दलबाट ठूलो रुखको रुपमा विकास भएर धेरै फल दिन्छ । त्यसका लागि उपयुक्त मलजलको आवश्यकता रहन्छ ।

    विद्यार्थीको शारीरिक र मानसिक विकास गरी आत्मालाई गति प्रदान गर्ने र मानवताको प्रसार गर्नुका साथै नयाँ कुराको खोज र आविष्कार गर्नसक्ने आधार प्रदान गर्नुपर्दछ शिक्षाले ।

  • निर्मल पुर्जाको पाकिस्तान डायरीः तालिवान छल्न टेन्टमा बास

    निर्मल पुर्जाको पाकिस्तान डायरीः तालिवान छल्न टेन्टमा बास

    तालिवानी हमला र उसले अफगानिस्तान कब्जा गर्न गरेका हरसैन्य अभ्यासका कारण धेरै नेपाली प्रताडित भए ।

    अफगानिस्तानमा मात्रै होइन, विगतमा पाकिस्तानी तालिवानका कारण पनि नेपालीले ज्यान गुमाए, सास्ती भोगे ।

    पाकिस्तानी तालिवानका कारण तनाव झेल्ने धेरै नेपालीमध्येका एक हुन्, कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा ।

    चितवनबाट बेलायती गोर्खा सैनिक र बेलायतको स्पेशल फोर्सहुँदै आरोहणमा आएका पुर्जाले तालिवानी तनाव छल्न अपनाएका केही तरिका रोचक छन् ।

    बेलायती फौजी पृष्ठभूमीका र विश्वभर चर्चा पाएका आरोही पुर्जालाई तालिवानले मार्न सक्थे । किनकि, उनीहरुले बेलायती फौजीलाई मन पराउँदैनथे । उनले मारिनबाट जोगिन अपनाएका तरिकबारे आत्मकथा ‘बियोन्ड पोसिबल’मा सविस्तार बयान गरेका छन्, जुन सन् २०२० मा प्रकाशित भएको छ ।

    पुर्जा ती आरोही हुन्, जसले सन् २०१९ मा ६ महिना ६ दिनमा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला १४ चुचुरामा पाइला टेकेका थिए । सुरुमा सन् २०१९ को अप्रिल २३ मा अन्नपूर्ण चुचुरो चढेका पुर्जाले अन्तिममा सन् २०१९ कै अक्टोबरमा चीनको सिसापाङ्मा चुचुरो चढेर कीर्तिमानी कायम गरे ।

    सन् २०२१ को जनवरी १६ मा १० नेपालीले पहिलोपटक ८६११ मिटर अग्लो विश्वको दोस्रंो शिखर माउन्ट के टु विन्टर सिजनमा चढेर बनाएको रेकर्डका एक सदस्य पनि हुन्, पुर्जा । पुर्जाले आफ्नो पुस्तकमा सन् २०१९ मा तालिवानको तनावबारे रोचक प्रशंगहरु उल्लेख गरेका छन् ।

    १९७ पृष्ठमा पुर्जा लेख्छन्, ‘समग्रमा पाकिस्तानको नांगा पर्वतमा चढ्नुको मेरो सबैभन्दा ठुलो तनाव चाहि मेरो टीम तालिवानको आतंकवादी आक्रमणले बढारिने हैन भन्नेमा थियो । पाकिस्तानी साथीहरुसँग मेरो धेरै मज्जाको अनुभव थियो । तर, तालिवानको आक्रमण बास्तविक सरोकारको बिषय प्रोजेक्ट पोसिबलको योजना बन्दैबाट बनेको थियो ।’

    पृष्ठ २०१ मा उनी लेख्छन, ‘संभावित कुनै आतंककारी हमला छल्नलाई मैले जुलाइभर पाकिस्तान जाने तीन फरक उडानको टिकट काटें ।’

    यस्तै पृष्ठ २१५ मा पुर्जाले आफूहरुले तालिवानी आक्रमण नहोस् भन्नलाई होटल तथा लजमा नबसेर टेन्ट टाँगेर बसेको बताएका छन् ।

    अन्ततः सन् २०१९ को जुलाई ३ मा पुर्जाले सफलतापूर्वक नांगा पर्वत आरोहण गरेका थिए ।

    तालिवानसँग पुर्जा सशंकित हुनुको कारण

    पुर्जाले सन् २०१३ मा आरोहीहरुलाई तालिवानले गरेको आक्रामणको प्रसंग पृष्ठ १९८ मा निकालेका छन् । सन् २०१३ को जुन २२ मा अर्धसैनिक बलको पोशाकमा एके–४७ र चक्कुहरु लिएर आएका तालिवान आधार शिविर पसेका थिए । उनीहरुले १२ आरोहीलाई टेन्टबाट घिसारेर निकालेका थिए ।

    उनीहरुको पासपोर्ट खोसिएको थियो । स्पार्ट फोन र ल्यापटपहरु ढुंगामा बजारेर फुटाइएको थियो । सोही रात चिनियाँ आरोही झाङ जिङचुवानबाहेक सबैलाइ हत्या गरियो । झाङ भने गोली हान्न सुरु गरेपछि डोरी चुडाएर खाली खुट्टा भाग्न सफल भएका थिए ।

    मर्नेहरुमा अमेरिकी, चिनियाँ, युक्रेनियन, लिथुआनियन, स्लोभाकियन, पाकिस्तानी र नेपाली थिए । तालिवानले आरोहीको विभत्स हत्या गरेको उक्त घटनालाई ‘२०१३ नांगा पर्वत नरसंहार’ भनेर चिनिन्छ । ८१२५ मिटर उचाइको नांगा पर्वत पाकिस्तानको दोस्रो ठूलो चुचुरो हो । विश्वको भने नवौँ अग्लो हिमाल हो ।

    सन् २०१३ को जुन २४ को बीबीसी अनलाइनको एक सामग्रीअनुसार पाकिस्तानी तालिवानका दोस्रो कमान्डर वालिउर रेहमान अमेरिकी ड्रोन आक्रमणमा मारिएको बदलामा तालिवानले आतंक मच्चाएका थिए ।

    आक्रमणमा ‘के टु’ चुचुरो चढिसकेका नेपाली सोर्ना शेर्पा भने मारिएका थिए ।

  • चौथाइवालेको कम्फर्टेवल परिभ्रमणः कमरेड रक्तरमणदेखि बार्दली बासम्म

    चौथाइवालेको कम्फर्टेवल परिभ्रमणः कमरेड रक्तरमणदेखि बार्दली बासम्म

    देउपाटनमा राखी बाँधेपछि चौथाइवालेजी सोझै रक्तरमण कुञ्‍जमा प्रस्थान गर्नु भयो ।

    कमरेड रक्तरमण आफ्‍ना महान्‌ आतपी कमरेडहरूका साथ उहाँको प्रतीक्षा गरिरहनु भएको थियो । बैठकका लागि नेपालको नक्सा बैठक कक्षबाट हटाइयो । पृष्ठभागमा बुद्धका मूर्तीहरू सजाइयो । कमरेड रक्तरमणको पोशाक र शृंगारको अन्तिम निरीक्षण गरी मिलाइयो । अरु कमरेडहरूले पनि ऐनामा आ-आफ्नो व्यक्तित्व निख्खर पार्नुभयो ।

    चौथाइवालेजीको आगमनले कमरेड रक्तरमणलाई आफू नोएडा सेक्टरमा बस्दाका सम्झना ताजा भए । उहाँ पुलकित हुनु भयो । तुरुन्तै क्रमभंग गरेर भावुक हुनु भयो । तत्क्षणमै क्रमभंग गरी फेरि उत्साही हुनु भयो ।

    ‘मने भारतमा मलाई धेरैले चिन्छन्,’ कुम हल्लाउँदै भन्नुभयो र रिसिभ गर्न दौडिनु भयो ।

    ‘चौथाइवाले आउँदा त यस्तो उत्साह छ । पूरै मानोवाला आए वातावरण कति रमाइलो हुँदो हो’ काटमारविज्ञ खामले टेबलमा राखेका फलफूलमा आँखा डुलाउँदै मनमनै भन्नु भयो ।

    शर्माजीले उतिबेला भारतसँग लड्न भन्दै रुकुम, रोल्पामा खनाएका ‘सुरङ’ याद गर्नुभयो । हरेकका मनमा भित्रभित्रै क्रमभंग भैरहेको थियो ।

    यत्तिकैमा चौथाइवाले र रक्तरमणको बैठककक्षमा प्रवेश भयो । कुम हल्लाउँदै, कोट मिलाउँदै भावभङ्गीमा स्वागत अभिवादन भयो । माहोल एकदमै हार्दिक बन्यो ।

    सञ्‍चो विसञ्चो सोधेपछि एकछिन मौनता ।

    ‘कुछ लेङ्गे’ मौनताको क्रमभंग गर्दै रक्तरमणले सोध्‍नुभयो । ‘अभि राखी बाँधके आया हुँ ।’ चौथाइवालेले जवाफ दिनुभयो । ‘नेपालके साथ हमारेबीच रोटीबेटीका सम्बन्ध हे ना ।’

    ‘हमारी रिस्तेदारी भि कम नही । हम तो नोएडाके किरायदार थे ।’ रक्तरमणले आफ्‍ना ज्वाईचेला र अन्यसम्बन्धी भारतीय भएकोतर्फ इंकित गर्नुभयो ।

    भलाकुसारी राजनीतिमा प्रवेश गर्यो । रक्तरमणको सफलताको प्रशंसा गर्दै चौथाइवालेले भन्नु भयो । ‘आपने जो ओलीको ठेकान लगाया । उसका उच्च मूल्यांकन होना चाहिये । हमे ऐसा लगता है ।’ यति सुनेपछि सबै झन् उत्साही भए ।

    रक्तरमणले भन्नु भयो । ‘अब कम्फोर्टेबल हो गया । हम तो कम्फोर्टेबल थे हि । अब सरकार अदालत और मिडियामें भि आपके कृपा से कब्जा हो गया ।’

    ‘हमने ये सब वहीँ से दिया हुवा तालिम में सिखा है ।’ शर्माजीले भन्नु भयो ।

    ‘आप ने तो नेपालके पार्टीयोंमे सर्जिकल स्ट्राइक करदिए । कांग्रेस से वोट लिए । एमालेमें जाइके ठक्कर दिया और उसके दो टुक्रा करदिये ।’ चौथाइवालेले भन्नु भयो ।

    हौसिँदै रक्तरमणले भन्नुभयो, ‘ये स्टार वार था । हम जाइके पुछ्रे ताराकि तरह टकराए और एमाले से एक चाँद बाहर निकाला । अब हम वो चाँदको हमारे इर्दगिर्द घुमादेङ्गे ।’

    ‘जी हाँ, अब तो बहुत कम्फोर्टेबल हुवा ।’ चौथाइवालेले भन्नु भयो । सबैमा विजयीभाव देखियो ।

    एम सरले आफूले गरेका सर्जिकल स्ट्राइक सम्झनु भयो । ‘तर किन भन्नु, फरगेट यस्टर्डे’ मनमनै भन्नु भयो ।

    एम सरको भाव बुझेर रक्तरमणले भन्नु भयो । ‘मने हाम्रा कमरेडहरूले अहिले पनि सर्जिकल स्ट्राइक गरेकै छन् । सैनिक युद्ध होस् वा दैनिक युद्ध होस्‌, दाङ हाम्रो सर्जिकल स्ट्राइकको केन्द्र हो । हामी त नाम पुष्पकमल भए काम रक्तपात गर्दिन्छौं, थर बस्नेत भए काम उठ्नेत गर्दिन्छौं । क्रमभंगमा संसारले हामीसँग सिक्न सक्छ ।’

    ‘मधेसको स्वायत्त प्रदेश बनानेका मिशन अभि बाँकि है ना ।’ चौथाइवालेले छलफलको क्रमभंग गर्दै पुरानो योजना याद गराउनु भयो ।

    ‘जी जी, वो पुरा होवे । जो जातीय स्वायत्त राज्य बनानेका लक्ष्य मिला था वो नही भुला हुँ ।’ रक्तरमणले आफ्‍नो वचनमा पक्का रहेको आश्वस्त पार्नु भयो । ‘हम फिर क्रमभंग करेङ्गे । अब हम उपेन्दर से मिलके देउवाको चक्मा देङ्गे । हम कम्फोर्टेबल है । हम कुछ भि कर सक्ता है । कुछ कर दिखाया है । और करेङ्गे’, रक्तरमणले भन्नु भयो ।

    चौथाइवाले प्रफुल्ल हुनु भयो । लामो सास तान्दै भन्नु भयो ‘और कहिए ।’

    ‘सबकुछ मने कम्फोर्टेबल हो गया अब । हमने बहुत लोगोंको अच्छे से सफाया किया । जिसके नाम पे लडाइ कहा था उन्हीको मारडाला और उन्ही लोगों से अपना जरुरत पूरा किया । लोगोंको मालुम हि नहि हुवा’, रक्तरमणले भन्नु भयो ।

    ‘वो कैसे ?’ चौथाइवालेले जिज्ञासा राख्‍नु भयो ।

    ‘जैसे कि एक घडि के लिए हमारे तामसालिङ जनसरकार इन्चार्ज कञ्‍चनने तामाङका हि सफाया कर दिया । और व घडि हासिल कि । आजकल वो घडि ‘समय तीन मिनेट‘ करने में काम आ रहा है। हमे भि एक स्वीस घडि दिला दिया’, रक्तरमणले हात र कुम हल्लाउँदै भन्नु भयो ।

    ‘बाबुराम से भि मिलिङ्गे’ कमरेड अनन्तले जिज्ञासा राख्‍नु भयो ।

    ‘वो लालध्वज बाबु । घरका हि आदमी हे । दिल्ली में हि पला बडा है ।’ यो सुनेर रक्तरमण अलि गम्भीर हुनु भयो । भाव बुझेर शर्माजीले दुःखी हुँदै सोध्‍नु भयो ‘आप हमे अपना नहि समझते ?’

    ‘ये क्या बात हुई, हम कब आपके नहिँ थे ! चौथाइवालेले आश्चर्य प्रकट गर्नु भयो । ‘पर्सों तक तो लालबाबु आपके साथ थे, कल बाहर गए तो फिर आएङ्गे आपके पास। बात हो रही हे न आप सबको फिर मिलाने के लिए’, भरोषा दिलाउनु भयो ।

    ‘यही तो द्वन्दात्मक भौतिकवाद है’, काजीले प्रकाश पार्नुभयो ।

    ‘फर्गेट यस्टर्डे’ एम सरले भन्नु भयो ।

    ‘कभि कभि मने थोडा क्रमभङ्ग हुवा था’ रक्तरमणले कुम हल्लाउँदै भन्नु भयो, ‘अब सबकुछ कम्फोर्टेवल हो गया ।’

    ‘हमारी दोस्ती बरकरार रहेगा ।’ चौथाईवालेले भन्नुभयो ।

    यसपछि चौथाइवाले सोझै बालकोट आश्रममा जानु भयो ।

    बालकोट आश्रमको दृष्य बडा मार्मिक छ । ‘बा’ले बार्दलीबाट प्रवचन दिँदै हुनुहुन्छ । शायद ‘भक्तहरू सुन्न चाहन्छन्’ कार्यक्रम लाइभ भैरहेको छ । आँगनमा भक्तहरू घरिघरि थपडी बजाइरहेका छन् ।

    गेटमा गाले हर्न बजाएपछि ‘बा’ले बार्दलीबाट हात हल्लाउँदै अभिवादन गर्नु भयो । मनमनै एक कविता गुन्नु भयो,

    ‘कसैलाई भेट्न गइन्नँ ।

    आफैं बार्दलीमा आउनु पर्छ ।

    श्रीरामको कृपा होउञ्‍जेल ।

    कसैसँग डराइन्नँ ।’

    भलाकुसारी शुरु भयो ।

    ‘आपके धार्मिक ज्ञान से मेँ बहुत प्राभावित हुँ ।’ चौथाइवालेले भन्नु भयो ।

    ‘राम तो सर्वव्यापी हे, उनका जन्म जहाँ भि हो सकता है । मुझे लगाता है हम सबके हृदयमे श्रीराम प्रभुका निवास हे ना ।’

    यो सुनेर बा प्रफुल्ल हुनुभयो । ‘जब भक्तको कोइ संकट आए तो प्रभु राम उसकी आत्मामे प्रवेश करते है’, बाले भन्नुभयो, ‘उस वख्त श्रीराम मेरे आत्मामें प्रवेश किये थे ।’

    ‘जि हाँ राम तो अयोध्या, अयोध्यापुरी, रामनगर, रामपुर, रामगढ जहाँ भि जन्म ले सकते है। हनुमानजी ने कहा था, वो तो सर्वव्यापी है ।’ चौथाइवालेले भन्नु भयो ।

    बालकोटको रामाश्रम हाँसोले गुञ्जियो ।

    ‘क्युँ कि उस वख्त पार्टी में मेरा कोही नहीँ था । सब राम भरोसे चलरहा था। और रामका खयाल आया’, बाले भन्नुभयो, ‘हमे लगा इस युग में हमारे सत्ता रक्षाके लिए अयोध्यापुरी में रामका जन्म हो गया ।’

    चौथाइवालेले भन्नु भयो, ‘रामका जन्म हर युगमा होता है । श्रीरामके बारेमें आपकी ज्ञानने तो सबका छक्का छुडा दी । हम तो आपके फैन हो गये ।’

    प्रशंसा सुनेर मख्ख पर्नु भएका बाले धामीको हत्याबारेमा सोध्‍न भुसुक्कै बिर्सनु भएछ । चौथाइवाले बालकोटबाट फर्केपछि पो बा झसङ्ग हुनु भो ।

    ‘केटाले प्रशंसा गरिराथ्यो, प्वाक्क लात्ताले हानेर पो गएछ ।’ बाले महेशसँग भन्नु भयो ।

  • कम्फोर्टेबल पार्टीको पहिलो बैठकः प्रतिगमनकारीले जस्तो कमरेड नभन्ने !

    कम्फोर्टेबल पार्टीको पहिलो बैठकः प्रतिगमनकारीले जस्तो कमरेड नभन्ने !

    ‘वर्तमान परिप्रेक्षमा हामी हात बाँधेर बस्न सक्दैनौं । खुट्टा कमाउने कुरा छैन ।’ पार्टीका अध्यक्ष एवं अन्तर्राष्ट्रिय ईन्चार्ज कमरेडले गर्जदैँ भन्नुभयो । ‘गठबन्धनको माध्यमबाट अब हामी यस पार्टीलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउँछौं । प्रतिगनकारी, अहंकारी शक्तिहरूलाई निमिट्यान्न पार्दै हामी अघि बढ्छौं । सच्चिएर आए भने, माफी मागेर आए भने, हाम्रा अगाडि घुँडा टेके भने, होलि वाइन पिए भने, हामीले जे गरे पनि चुपचाऽप बस्ने भए भनेऽऽऽ सोचौंला ।’

    पानी पिएर भन्नु भयो, ‘अहिले हामी गठबन्धनमा छौं । हामी क्रान्तिकारी धार, गठबन्धनलाई छोड्न सक्दैनौं । जसजसले यसलाई साथ दिन्छन्, आगामी चुनावमा जिताउने जिम्मा, आकर्षक पदमा नियुक्ति दिलाउने जिम्मा मेरो भो ।’
    अझै थप्नु भयो, ‘वर्तमान परिप्रेक्षमा यो गठबन्धन भनेको, क्रान्तिकारी, संघर्षको मैदानमा जित्ने र कथंकदाचित हारियो भने हराउनेहरूलाई देखाइदिने हो ।’

    थप जोशिदैँ भन्नु भयो, ‘हराए भने, अपमाऽन गरे भने, तिनीहरूलाई हामीले सवक सिकाउने छौं । इतिहासबाट सिक्न नसक्नेहरू प्रगति गर्न सक्दैऽनन् । मलाई दुई–दुई ठाउँबाट हराएको होइन ? प्रचण्डजीलाई हराएको होइन ? आज हेर्नुहोस् त ! ती हराउनेको हविगत के भयो । ती जितेकाहरू कहाँ छन् ? अहंकार गर्नेहरूऽऽऽ गर्ल्याम्म्म ढले । हामी यहाँ छौं । हामी देखाउँछौं । हामीले देखाएको हेर्न जनता छन् । हामी कम्फोर्टेबल छौं । कम्फोर्टेबल भएपछि अरुसँग गर्न सजिलो हुन्छ । अरुका मान्छे पनि आफ्नै हुन्छन् । हामी अरुकै भोटमा जित्न सक्छौं । अरुका भोटमा कसरी जित्ने भन्ने हामीले प्रचण्डजीसँग सिकेका छौं । वर्तमान परिप्रेक्षमा देउवाजीले सहयोग गर्ने वचन दिनु भएकोछ । अनि हामी अघि बढ्छौं । हामीलाई कम्फोर्टेबल हुनु छ, प्रतिगमनको मतियार बन्नु छैऽऽन । कम्फोर्टेबल भएपछि स्वदेशीसँग मात्र हैऽन, विदेशीसँग पनि सजिलो हुन्छ । वर्तमान परिप्रेक्षमा हामी अघि बढिसक्यौं । हामी विदेशमा पनि अघि बढ्छौं ।’

    अघि बढेर कता जाने, कहाँ पुग्ने भन्ने चाहिँ बैठकमा भएका कसैलाई थाहा छैन । तैपनि नयाँ पार्टीका सबै कमरेडहरू उत्साही छन् । विदेश भन्ने शब्दले कमरेड खतिवाला बढी नै रोमाञ्चित हुनुभयो । कोखामा बसेका कमरेड फार्मेसी पाण्डेतिर झुक्दै भन्नु भयो, ‘अमेरिका जानुपर्ला । नानी उतै छ, उतै कम्फोर्टेबल हुन्छ ।’

    ‘पहिले पेरिस(डाँडा) जाने अनि त्यहाँ रक्तरमण–कुञ्जको छतमा भुटेको भुटनसँग होलीवाइन खाने, अनि थप गन्तव्य निश्चत् गर्ने कुरा छ ।’ पछाडिबाट कमरेड उज्वालाले आफूले भावी योजनाको अलिकति भेउ पाएझैं गरी भन्नु भयो, ‘तैपनि मेरो गन्तव्य निश्चत छ । त्यो खान्छु, यो (कम्युनिष्ट, समाजवादी भनी चिनिने) वस्त्र उतारेर साकालारालाम्वा लगाउँछु । त्यहाँबाट उतै जान्छु, अलि लामो बाटो भए पनि ।’ जसरी पनि मुनुचिन्ते गन्तव्यमा पुगिनेमा कमरेड खतिवाला आशावादी हुनु भयो ।

    अघि बढेर कता जाने, कहाँ पुग्ने भन्ने चाहिँ बैठकमा भएका कसैलाई थाहा छैन । तैपनि नयाँ पार्टीका सबै कमरेडहरू उत्साही छन् । विदेश भन्ने शब्दले कमरेड खतिवाला बढी नै रोमाञ्चित हुनुभयो ।

    ‘अब बैठक शुरु गरौं । हामीले सायड टाऽक पनि गरिसक्यौं । खुट्टा कमाउने कुरा छैऽन ।’ कमरेड अध्यक्षले बैठक शुरू गर्नुभयो । ‘कसैको अपमाऽन गर्नु हुँदैन ।’ अध्यक्षले भन्नुभयो, र कमरेड नागदेव र कमरेड सुनदेवलाई वरिष्ठ नेताको आसनमा बस्न अह्राउनु भयो ।

    सुनदेवलाई आफ्नो समकक्षी बनाएकोमा नागदेव कमरेडलाई कत्ति चित्त बुझेको छैन । तैपनि आफ्नो दायाँ हातको फँडा उठाउँदै बैठकलाई अभिवादन गर्नुभयो । कमरेड सुनदेव चाहिँ भत्केको पार्टीमा उखान–टुक्का सुन्न जानु भएकोले आइपुग्नु भएको छैन ।

    आसन ग्रहणलाई निरन्तरता दिँदै भन्नु भयो, ‘कमरेड सम्धी, कमरेड साडु, कमरेड बर्बरिक, कमरेड फार्मेसी, कमरेड फुट, कमरेड मेटलगायतका सबै कमरेडहरू वर्तमान परिप्रेक्षमा आ–आफ्नो सिटमा बस्नुहोस् ।’

    आसन ग्रहण सकिएपछि अध्यक्ष कमरेडको आदेशमा कृष्णपट्टिधारिणी कमरेड उग्रचण्डीले स्वागत मन्तव्य शुरु गर्नु भयो । अनुहार छोपेको कालोपट्टी हटाउँदै भन्नु भयो, ‘अफकोर्स अब हामी यस अग्रगामी क्रान्तिकारी समाजवादी पार्टीलाई हाँक्ने हो । अहिले हामी अग्रगमनको यात्रामा छौं । म कमरेड अध्यक्षलाई हात समातेरै प्रचण्डपथमा डोर्याउँछु । अफकोर्स म उहाँलाई भगवानपाउसम्मै पुर्याउँछु ।’

    सबै कमरेडहरूले भगवानपाउका बारेमा आ–आफ्नै अर्थ निकाले । कसैले अमेरिका, युरोप सम्झे । कसैले सिक्किम सम्झे । कसैले दक्षिण कोरिया सम्झे । कसैले पेरिसडाँडा सम्झे । कसैले अध्यक्ष कमरेडले पुरानो कम्पनीमा हुँदा नगएका कुनै देश बाँकी छन् कि, त्यहाँ पो लैजाने हो कि भनेर सम्झे ।

    ‘यहाँहरूलाई यो यात्रामा स्वागत छ ।’ कमरेड उग्रचण्डीले सम्बोधन पुनर्चालु गर्नु भयो । ‘हामी छिट्टै गन्तव्यमा पुग्छौं । गन्तव्यमा पुगेर मात्रै हामी बिसाउने छौ ।’

    तो पहिला पडाव पेरिसडाँडामा मै हुन्छ ।’ कमरेड मेट कौन बनेगा करोडपति स्टाइलमा गुनगुनाउनु भयो ।

    हात उठाएर मुट्ठी कस्दै शरीरमा कम्पन पैदा गरेर कमरेड उग्रचण्डीले भन्नु भयो, ‘हामी सबक सिकाउँछौं । हामी दुनियाँलाई देखाइदिन्छौं । म सबैलाई फेरि स्वागत गर्छु ।’ कमरेडले मन्तव्य समाप्त गर्नुभयो । तासघरमा ताली बजिरह्यो ।

    दुनियाँलाई देखाइदिने कुराले बैठकमा भित्रभित्र तरङ्ग पैदा भयो । कुनै कमरेडहरूले एम सर सम्झे, कसैले कमरेड रक्तरमणपुत्र त्रिपत्नीवान सम्झे, कसैले ६० को दशकमा सांसद हुँदा सरकारलाई विश्वासको मत दिन होटलमा बस्दा हेरेका कथानक भिडियो सम्झे, कसैले हालसालैको बस्नेतसँग उठ्नेत गरेको तस्बिर सम्झे ।

    यस्तो क्षणमा कमरेड तिघ्रादृष्टि पन्त त्यो बैठकमा नहुनु भएकोमा सबैले पछुतो माने ।

    आसन ग्रहण सकिएपछि अध्यक्ष कमरेडको आदेशमा कृष्णपट्टिधारिणी कमरेड उग्रचण्डीले स्वागत मन्तव्य शुरु गर्नु भयो । अनुहार छोपेको कालोपट्टी हटाउँदै भन्नु भयो, ‘अफकोर्स अब हामी यस अग्रगामी क्रान्तिकारी समाजवादी पार्टीलाई हाँक्ने हो । अहिले हामी अग्रगमनको यात्रामा छौं । म कमरेड अध्यक्षलाई हात समातेरै प्रचण्डपथमा डोर्याउँछु । अफकोर्स म उहाँलाई भगवानपाउसम्मै पुर्याउँछु ।’

    कमरेड तिघ्रादृष्टिलगायतका केही किंकर्तव्यविमुढ कमरेडहरू चाहिँ नयाँ कम्पनीको शेयरमा नाफा बढी होला कि पुरानै कम्पनी राम्रो चल्ला भन्ने द्विविधामा सोचमग्न र विचारविमर्शमा हुनुहुन्छ ।

    अध्यक्ष कमरेडले बैठक अगाडि बढाउँदै वर्तमान परिप्रेक्षमा पार्टी र कमरेडहरूको भूमिकाका विषयमा बोल्न कमरेड बर्बरिकलाई समय दिनु भयो । कमरेड बर्बरिक नयाँ पार्टीको महासचिव हुने हल्ला छ । कलियुगी द्रोणमा पैदा भएका दैवी र आसुरी शक्तिबीच भएको घर्षणबाट कमरेड बर्बरिक उत्पन्न हुनु भएको हो ।

    देवासुर संग्रामको प्रचण्ड अग्निबाट उत्पन्न भएकाले कतिपय नगर–जन उहाँलाई आधुनिक धृष्टद्युम्न भन्दछन् भने कसैले द्रोणपुत्र भएकाले विधि पद्धति अनुसार अवश्वस्थामा भन्नुपर्छ पनि भन्दछन् । देवासुरसंग्रामको फल भएकाले बर्बरिक नै उपयुक्त हो भन्ने श्रीमानको अन्तरिम आदेश छ ।

    हस्तिनापुरमा मन्त्री हुँदा पिता द्रोणले पाएको व्याजधेनु नामको गाईको दुध पिएर हुर्केका हुनाले कमरेड बर्बरिकमा दूरदर्शन क्षमता रहेको छ । अनेकानेक अलौकिक गुण छन् । वर्तमान परिप्रेक्षमा समयले कमरेड बर्बरिकलाई स्वजनबीच मारकाट गराइ ती सबै नष्ट भएपछि तिनको अस्तु लगेर देउपाटन र सत्र हजारे घाटमा विसर्जन गर्ने महत्वपूर्ण परमादेश दिएको छ ।

    कमरेड बर्बरिकले भाषण गर्न ऽऽऽख्हँ गर्दै हुनुहुन्थ्यो । यत्तिकैमा शीरमा रातो वस्त्र बाँधेको एक नर हतारहतार मञ्चमा प्रवेश गर्यो । कमरेड उग्रचण्डीले उसलाई इँटा ताकेर अघि बढ्न रोक्नु भयो । आफै उसको नजिक जानु भयो । उसले खुसुक्क के भन्यो कुन्नि उग्रचण्डी कमरेडले हात समातेर तान्दै उसलाई अध्यक्षको नजिक लैजानु भयो ।

    अब बैठकमा सन्नाटा छ । कमरेड बर्बरिक बोल्न तम्तयार हुनुहुन्छ ।

    त्यो नर अखिल फोर्स र वाइसियल मिलेर बनेको फोर्सियलको सदस्य रहेछ । उसले रक्तरमण–कुञ्जबाट सदाध्यक्ष कमरेडको मने सन्देश लिएर आएको रहेछ । त्यसले के भन्यो भन्ने अध्यक्ष र कमरेड उग्रचण्डी बाहेक अरुले सुन्न सकेनन्। उसका कुरा सुनेपछि अध्यक्ष कमरेडले बर्बरिकलाई भाषण नगरी बस्न आदेश दिनु भयो ।

    ‘अब बैठक स्थगित गर्नुपर्ने भयो । प्रतिगमनकारीलाई छिट्टै समाप्त गर्न गठबन्धनमा छलफल गर्नुपर्ने भयो । वर्तमान परिप्रेक्षमा समन्वय गरेर, सहकार्य गरेर, समझदारी गरेर, सबैलाई मिलाएर, कसैलाई अपमाऽन नहुने गरी अघि बढ्नुपर्ने भयो ।’ अध्यक्षले भन्नु भयो । ‘तर वर्तमान परिप्रेक्षमा यो पहिलो बैठक छ । एउटा निर्णय त गर्नै पर्छ । खुट्टा कमाउनु पर्ने कुनै कारण छैन ।’

    अध्यक्षले यो बैठकले निर्णय गर्ने प्रस्ताव अघि सार्नु भयो । ‘हामी परिवर्तनकारी, अग्रगमनकारी शक्तिहरू प्रतिगमनकारी जस्तो छैऽनौं । अब हामी नेक्पा समाजवाऽदी भयौं । पुरानो हुँदा कमरेड हुन्थ्यो अब समाजवादी भएपछि पनि प्रतिगमनकारीले भन्ने जस्तो कमरेड भन्न हुन्छ ? हुँदैऽन ।’

    नयाँ नामशीर्ष प्रस्ताव गर्दै भन्नु भयो, ‘अब हाम्रो पार्टीमा समरेड हुन्छ कि हामी दम भएका हुनाले दमरेड हुन्छ कि हामी पदका लागि दाम्लो पनि चुँडाल्न पछि नपर्ने हुनाले दामरेड हुन्छ ।’ अध्यक्ष कमरेडले प्रस्ताव थप स्पष्ट पार्नु भयो । ‘हामीसँग भन्ने विकल्प छन् । हामी कसैसँग झुक्दैऽनौं । हामीले प्रतिगमन परास्त गरेका छौं । हामीले अब कमरेड परास्त गर्छौं । कसैलाई कमरेड भन्दैनौं । कसैले भनेको पनि सहनेवाला छैनौं । हामी अग्रगमनकारी हौं । पहिलो निर्णय यहीं गरौं । बाँकी गठबन्धनमा सल्लाह गरे पछि गरौंला ।’

    अध्यक्षलाई सहयोग गर्न बर्बरिकले समरेड शब्दको महत्ताका विषयमा प्रष्ट पार्दै भन्नु भयो । ‘बुवाले भन्नु भएको, समको अर्थ बराबर हुन्छ । अर्थात् हामी बराबर रेड । हामी कोही कम रेड छैनौं ।’

    दमरेड र दामरेडमा त्यति उत्साह देखिएन । बरु कसैले कामरेड भन्ने प्रस्ताव राख्यो । तर यहीं विवादमा गुट बन्ला र फुट होला भनेर यी संसोधन प्रस्तावमाथि थप छलफल गरिएन ।

    ‘प्रतिगमनकारीहरूले आफूलाई बढी रेड देखाउन हामीलाई कमरेड भनेर बोलाउन्या हुन्, हामी त कहाँ तेइठो हो त !’ कमरेड बमले भन्नुभयो ।
    सम्धी र साडु कमरेडले एउटा संयुक्त पूरक प्रस्ताव राख्दै भन्नु भयो, ‘प्रतिगमनकारीले अध्यक्ष भन्छन् । त्यसैका कारण यत्रो दुःख पाइयो । अब हाम्रो पार्टीमा सध्यक्ष पद हुने, अध्यक्ष नहुने व्यवस्था गरौं ।’

    पूरक प्रस्तावमा विचार राख्दै कमरेड बर्बरिकले भन्नु भयो, ‘बुवाले भन्नु भएको, सद्धे अध्यक्षलाई वास्तवमा सध्यक्ष नै भन्नु एप्रोपिरियट हुन्छ ।’
    ‘अफकोर्स यही ठीक हुन्छ ।’ कमरेड उग्रचण्डीले चोर औंला ठड्याएर जोडदार समर्थन गर्नुभयो ।

    ‘विधि पद्धति बमोजिम नै हुन्छ ।’ कमरेड उर्वशी, मन्दोधरी, तारा, उषा, रमा, गङ्गा, भाग्य, जगन्नाथ, काशी, गोरख, नारद आदि कमरेडहरूले पालैपालो समर्थन गर्नु भयो ।

    आइन्दा कमरेडलाई समरेड र अध्यक्षलाई सध्यक्ष भन्ने प्रस्ताव सर्वसम्मत पारित भयो ।

    बैठकको माइन्युट गठबन्धनसँग समन्वय गरी लेख्न समरेड बेदुरामलाई अह्राउँदै बैठक भोलि सम्मका लागि स्थगित गरेर सध्यक्ष समरेड पेरिडाँडातिर सुइकुँच्चा ठोक्नु भयो ।

    ईति माधवारत कथा प्रथम बैठकध्याय अस्तु !

  • सौन्दर्यको आवरणमा लुकेको बाजुरेली व्यथा

    सौन्दर्यको आवरणमा लुकेको बाजुरेली व्यथा

    गगनचुम्बी हिमाल अनि विशाल पाखा-पखेरा ! यस्तो लाग्छ- नेपालका अधिकांश जमिनले त आकाशले नै ओगटेको छ ! अनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैं भन्न मन लाग्छ- के नेपाल सानो छ ?

    ०००

    रातिको ८–९ बजेतिर दाहिने खुट्टाको कुर्कुच्चातिर आँखा गएछन् । खुट्टामा नयाँ रातो कोठी पलाएछ । खुसी हुनपर्ने कुरा त थिएन तर रमाइलो लाग्यो ।

    बिहानको ३ बजे ब्युँझिएछु । खुट्टा चिलाएर हैरान ! उज्यालो भएपछि थाहा पाएँ, सबै साथीहरु खुट्टा चिलाएर निदाउन सकेका रहेनछन् । खुट्टाभरि खटिरा उठेछन् । हिजो देखेर मख्ख परेको कोठी पनि फुटेछ ।

    बुझ्दै जाँदा कालाजार गराउने स्यान्डफ्लाइको टोकाइले यतिबिघ्न भएको रहेछ । स्थानीयले यसलाई ठाउँअनुसार भुसुना, चल्ला, गाँडे किरालगायत नामले चिन्दा रहेछन् ।

    डाँडापाखामा प्रशस्त हुने भएकाले यसको टोकाइबाट बँच्न जुत्तामोजासहित हिँड्नुपर्ने रहेछ । नयाँ ठाउँ गएपछि त्यहाँका विशेष कुरा केही छन् कि भन्ने बुझेर मात्र हिँड्नुपर्छ भन्ने पहिलो सिकाइबाट बाजुराको यात्रा सुरु भयो ।

    सधैंभरी आफूलाई एउटा नर्स भनेर सम्बाेधन गर्न रुचाउने म आज एक फिरन्तेको रूपमा चिनाउन चाहन्छु । त्यो फिरन्ते जसले काठमाडौं उपत्यका बाहिर बिरलै खुट्टा राखेको थियो ।

    पहिलो दिन बडिमालिकाको मना भन्ने ठाउँ जाँदै गर्दा एक अत्यन्तै मिजासिला बासँग गफिँदै बुढीगंगा खोलादेखि उँभो लागियो । उहाँको एउटै वाक्यले मनलाई छेड्यो नै । ‘तपाईंहरु काठमाडौदेखि आउनुभएको रहेछ, तपाईंहरुलाई त हामीले भगवान झैँ मान्नुपर्छ ।’

    बाजुरा हेरिकन सुगम ठाउँमा बस्नेहरुलाई यसरी देवत्वकरण गरिनुका थुप्रै कारण होलान् तर मलाई व्यक्तिगत रूपमा भने त्यो दुर्गम गाउँमा अन्धविश्वासको भुमरीमा बसेर पनि बस्तुपालनको आडमा छोराहरु र आफ्नी बुहारीसमेतलाई पढाउनुभएका ती बुवा वास्तवमा भगवान झैँ लाग्यो ।

    भोलिपल्ट रजालीको यात्रा थियो । बाटोमा गाडी फसेपछि टन्टलापुर घाम सहँदै सुन्दर गन्तव्य पुग्दा त्यहाँका स्वास्थ्यकर्मीले अबीर र लालीगुराँसको मालाले स्वागत गर्नुभयो । कोदोको हलुवा र त्यहाँको लोकल सिमीको तरकारीको स्वाद सम्झिँदा अझै पनि मुख रसाएर आउँछ । पश्चिमतिर पाइने सिमी साँच्चै निकै स्वादिलो हुन्छ । त्यसअघि जुम्लाको सिमी चाख्न पाएकी थिएँ ।

    बडिमालिकाकै पाटा भन्ने ठाउँ निकै मनोरम रहेछ । धुलो मैलोरहित स्वच्छ वातावरण, त्यसमाथि सडक विस्तार गर्दा ताछिएका पाखामा प्याजी रंङका ढुंगाको दृश्यले रङ्गीन संसारको आनन्द महसुस गराउँदै थियो । त्यहाँबाट फर्कदँै गर्दा पानीघट्टले निकालेको फोहोराको छेउमा केही बालबालिका ढुंगा कुट्दै थिए ।

    स्कुल सकिएपछि जीविकोपार्जनकै लागि उनीहरु केही पारिश्रमिकका लागि ढुङ्गा कुट्न जाँदा रहेछन् । दूरदराजमा जीविकोपार्जनका लागि हुने यस्ता अन्तरसंघर्षका तितामीठा कथाहरु त पृष्ठभूमिमै सेलाइरहेका छन् । यस्तै अन्तरसंघर्षबाटै अनेकौं प्रतिभाले जन्म पनि लिन्छन्, केहीले संघर्षको फल प्राप्त गर्छन् अनि धेरैले भने आफूभित्र कस्तो प्रतिभा छ भन्ने तथ्य नै थाहै नपाइ जीवन व्यतीत गर्दछन् ।

    सौन्दर्यका अनेकन रूपः एउटा जीवन्त उदाहरण बाजुरा पनि हो । बाजुराका हरेक कुनाले मौलिक सुन्दरताको आभुषणमा आफूलाई बेरेका छन् । बाजुरा गएपछि घुम्न छुटाउनै नहुने ठाउँ बडिमालिका मन्दिर हो । यद्यपि बाजुराकै बूढीनन्दा मन्दिर क्षेत्र पनि उतिकै सुन्दर र रमणीय छ भन्ने जानकारी पाउँदा पाउँदै पनि यी दुवै ठाउँ जाने अवसर भने जुराउन सकिएन । ती स्थलका तस्बिरहरु हेर्दा र प्रत्यक्षदर्शीको कुरा सुन्दा मात्र पनि स्वर्गानुभूति हुन्छ ।

    चैत वैशाखको समय, मार्तडीबाट कोल्टी जाँदा बाटोमा पर्ने पोरेखेको लालीगुराँसको पाखा निकै रमणीय देखिन्छ । उचाइ बढ्दै जाँदा राताबाट सेतामा परिवर्तित हुँदै गएका गुराँस, बाँझका आकारप्रकारका रुख, ठाउँठाउँमा देखिने हिमालका चुचुराले प्राकृतिक परिदृश्यलाई मनमोहक बनाएको थियो । सेतो गुराँसलाई चिमलो भनिँदोरहेछ अनि यसको फूल नखानु भन्दा रहेछन् ।

    बूढीनन्दा नगरपालिकाको कोल्टीमा एयरपोर्ट छ । एयरपोर्ट क्षेत्र भएर पनि उक्त ठाउँको विकासले अग्रगति चाहिँ नपाएको हो कि जस्तो लाग्छ ।

    कोल्टीबाट १५–२० किलोमिटर पर हिमाली गाउँपालिकाको धुलाचौर भन्ने ठाउँ निकै रमाइलो लाग्यो । निलो कर्णाली खोलामा रहेको मुगु र बाजुरा जोड्ने झोलुङ्गे पुलमाथि बसेर सरर बहिरहने हावाको शितलता महसुस गर्नुको आनन्द अवर्णनीय हुन्छ; त्यहाँबाट देखिने प्रकृतिको रंगीन परिदृश्य झनै मनमोहक ।

    पर्यावरणको हिसाबले धुलाचौर निकै रमाइलो लागेको थियो (वर्षायाममा बाजुराका माथिल्ला भेगहरुमा बाढी पहिरोको उच्च जोखिम हुन्छन्, छुट्टै कुरा) । स्थानीय एउटी नानीलाई सोधेकी थिएँ, ‘नानी तिमीलाई यो ठाउँ कतिको मन पर्छ ?’ उनले जवाफमा ‘यो ठाउँ मन नै पर्दैन’ भनेकी थिइन् ।

    सुगमका मान्छे सुविधा छोडेर खाली समय विचरण गर्न सुन्दर ठाउँहरु जान्छन् र मन भुलाएर आउँछन् । तर उनीजस्ता हजारौँ–लाखौँ बालबालिका रमणीय ठाउँको बासिन्दा भएर पनि खासै सन्तुष्ट छैनन् । किनकि उनीहरु पनि आफ्नो क्षमता र दक्षता निखार्ने अवसर प्राप्त गर्न चाहन्छन्, प्रविधिका उपलब्धीसँग आफूलाई जोडेर सन्तुष्टि लिन लालायित छन् तर यी अवसरहरुको चरम अभाव धुलाचौर मात्र नभइ नेपालका थुप्रै ठाउँले अझै पनि व्यहोर्नुपरेको छ । सुखसयल, खुसी अनि सन्तुष्टिको कुनै निश्चित स्रोत हुँदैन, यी त सम्पूर्णरूपमा व्यक्ति र परिस्थितिअनुरुप सापेक्ष हुन्छन् ।

    बाजुरा यात्राको सबैभन्दा महत्वपूर्ण भ्रमण हिमाली गाउँपालिकाको बिच्छ्याँ भन्ने ठाउँ रह्यो । धुलाचौरबाट बिच्छ्याँ जाने दुईवटा बाटा पत्ता लगायौं । एउटा हुम्लाको जिमानासम्म बोलेरो यात्रापछि ७–८ घण्टा पैदल यात्रा (हिँड्ने बानी नपरेकाको लागि) र अर्को धुलाचौरदेखि कवाडीसम्म बोलेरो यात्रापछि ९ घण्टा जति पैदल यात्रा । छिटो–छिटो हिँड्ने त्यहाँका बासिन्दालाई भने ती यात्राहरु हाम्रा लागिभन्दा ठ्याक्कै आधा समय कम लाग्ने रहेछ ।

    हामी हुम्ला हुँदै गयौं । जिमाना ओर्लेर त्यो दिनसम्मको सबैभन्दा लामो पैदलयात्रा सुरु गरेकी थिएँ । यात्रा गर्दैगर्दा त्यहाँको परिवेश मनमनै गम्न थालें । घरहरु एक अर्काबाट कति टाढा टाढा । न त सुरक्षाको नाममा सुरक्षाकर्मी, न त केही भवितव्य परिआएमा छिमेकी । न त टाढा टाढासम्म स्कुल, न त घना बस्ती ! फोनमा नेटवर्क पनि बल्ल बल्ल भेटिन्थ्यो । महिला अधिकार, मानव अधिकार, सुरक्षा, यिनको तात्पर्य यहाँ साबित भएको होला त ? के यी शब्दावलीसँग मात्र पनि यहाँका मानिस साक्षात्कार छन् त ?

    मलाई पढ्दै गर्दाको एउटा घटना याद आयो । दुर्गमकी एउटी १८–१९ वर्षीया युवती आफन्तद्वारा बलात्कृत भएपछि गर्भपतनका लागि ल्याइएको थियो । तर उनलाई न त त्यो प्रकृया यौन सम्पर्क हो भन्ने थाहा थियो न त त्यसले गर्भ निम्त्याउँछ भन्ने नै । महिनावारी रोकिएपछि पिसाब जाँच गर्दा गर्भ रहेछ भन्ने थाहा पाएपछि बल्ल वास्तविकताको पर्दा उघारिएको रहेछ । त्यो पातलो बस्तीमा हिंसा भैहाले पनि कसले चाल पाउँछ होला र ?

    महिला हिंसाका किस्साहरु बाहिरिनेबित्तिकै माइतीघरमा धेरैले नारा लगाउछन्, धेरै भाइरल पनि हुन्छन् । तर दुर्गममा हुने हिंसाका कारण कतिले खोजेका छन् ? फाँसीको सजायँबारे धेरैले बोले, कतिले हिंसा न्यूनीकरणका लागि रचनात्मक सुझाव दिएका छन् ? कतिले सामाजिक बनोटबारे रिसर्चमा आधारित अध्ययन गरेका छन् ? जेल र फाँसी त हिंसापछिका कुरा हुन्, हिंसाको मूल जड खोजेर त्यो फाटोलाई कसरी भर्ने, महिला सशक्तीकरण कहाँ कहाँ गर्ने, शान्ति र सुरक्षा सहरमा मात्र सीमित नगरेर एक–एक भइ छरिएर बसेका दुर्गमका घरमा पुर्याउने कि नपुर्याउने ? सोच्न आवश्यक छ ।

    गन्तव्य त्यतिबेला सुन्दर लाग्छ, जतिबेला तपाईंको यात्रा निकै कष्टकर हुन्छ । ८ घण्टाजतिको पैदल यात्रापछि बिच्छ्याँ गाउँ पुग्दा संसारकै सुन्दर ठाउँ पुगेझैँ महसुस भएको थियो । बिच्छ्याँमै काम गर्ने एक अत्यन्तै जुझारु स्वास्थ्यकर्मीसँग हामी उनकै घर धुलाचौरदेखि विच्छ्याँ (उनको कार्यक्षेत्र) गएका थियौं ।

    उनी तिनै बाटो हुँदै घर जाने–आउने, धुलाचौरबाट खोप, औषधिलगायत स्वास्थ्य सामग्री ल्याउने, रिपोर्टिङ गर्न जाने आदि गर्छिन् । बाटो यति एकलासको छ कि, केही समयअघि डडेल्धुराको दुर्गम गाउँको यस्तै ठाउँमा खोप लिन हिँडेकी स्वास्थ्यकर्मीको अप्रत्याशित मृत्यु (हत्या) भएको कुरा झल्झली याद आउँछ । दुर्गममा स्वास्थ्यकर्मी कति असुरक्षित छन्, तर पनि कर्तव्यपथमा भने डटिरहन्छन् । हरेक महिना बिच्छ्याँबाट हिँडेर दुई दिनमा पुगिने गाउँहरुमा गएर बालबालिका तथा गर्भवतीहरुलाई खोप तथा स्वास्थ्य जाँचको सुविधा दिएर पुनः दुई दिनको यात्रा गरेर त्यहाँका स्वास्थ्यकर्मीहरु आफ्नो कार्यक्षेत्र फर्किन्छन् ।

    यिनै स्वास्थ्यकर्मीहरुको यो कठोर योगदानबापत हिमाली गाउँपालिका ‘पूर्ण खोप पालिका’ घोषित छ । यसरी उच्च जोखिम मोलेर पनि गर्भवती, सुत्केरी, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य संरक्षण गरी रोग तथा मृत्युदर घटाउने हरेक स्वास्थ्यकर्मीको उचित मूल्यांकन राज्यले गरेको छ त ? स्वास्थ्यकर्मीलाई अवहेलना गर्ने जनताले बुझेका छन् त ?

    एकरात बिच्छ्याँमा बिताएको दिन अवस्मरणीय छ । फोनको नेटवर्क भेटिने एक दुई ठाउँलाई खोजेर तोकिएको छ । दायाँबायाँ फोन हल्लिएपछि नेटवर्क हराउने । धेरै टाढादेखि ल्याइएका पसलका सामान त्यहाँ पुग्दैनथ्यो, किन्न पनि मनले मानेन ।

    फर्किँदा कवाडी झर्ने बाटो फर्कियौं । धेरै टाढा एउटा मात्र झुपडी भएको ठाउँ पुगेपछि एउटी महिलाले हामीलाई देख्नेबित्तिकै झुकेर नमस्कार गर्नुभयो । फेरि पनि ‘नमस्कार’ कुनै टिप्पणी गर्ने कुरा त होइन तर बाटो हिँडिरहेको सहरियाजस्तो देखिने बटुवाले कुनै कर्मबिना नै नमस्कार–सम्मान पाउनुभित्र धेरै भाव लुकेका छन् । उनको भाव निकै निश्चल थियो तर म कुनै तवरले त्यो अभिवादनको हकदार थिइनँ (आगन्तुकलाई अभिवादन गरिनु हाम्रो संस्कार हो, छुट्टै कुरा) । अभिवादनलाई उनले आफ्नो क्षेत्रको पनि समानता र समतामूलक विकास होस भनेर झिनो आशासहित झकझक्याइरहेको आवाजको रूपमा स्वीकार्न चाहें । त्यो समानताको अधिकार प्राप्त भएमा सायद उनीजस्ता हजारौं जनता सधैं शीर उँचो पारेरै बस्नेछन् ।

    बिहान ६ः३० देखिको लामो यात्रा, पसिनाले छिनमै निथ्रुक्क भइन्थ्यो । साथमा लगेको बोटलको पानी रित्तियो । बाटामा भेटिनु भएका यात्रुहरुलाई सोधेपछि थाहा भयो, पर-परसम्म पानीको स्रोत छैन । नभन्दै प्यासले अत्यास लागेको शरीर लगभग ५ घण्टा हिँडेपछि कवाडी खोलाको पानी पिएर बल्ल तृप्त हुन पायो । पानी त सफा नै देखिन्थ्यो तर शुद्ध जरुर थिएन । परिस्थितिबाट हारेपछि यो पनि स्वीकार्नै पर्ने भयो । पिउनको लागि प्यास अनि खानको लागि भोकभन्दा मीठो अरु केही होइनन्, गज्जबकै पाठ सिकियो ।

    फर्कदैँ गर्दा हाम्री साथी बिरामी परिन् । उनलाई बेस्सरी पेट दुख्न थाल्यो । सकिनसकी बल्लबल्ल एउटा टिनले बारेको पसलमा पुगियो । साउनीले मरिच, नुन हालेर पानी तताएर ल्याइदिनुभयो । त्यहाँबाट कवाडी पुग्न अझै ५–६ किमी बाटो बाँकी नै थियो । वरिपरिका मान्छेहरु साथी बिरामी भएकोबारे स्थानीय भाषामा बोल्दै थिए । पसलकी साउनीले कालो भटमास र अक्षताले पन्छाउँदै भन्नुभो, ‘पक्कै दोबाटोको भूत लागेको हो, फुकेपछि निको हुन्छ, झाँक्रीकोमा लैजानुपर्छ, दुईवटा कुखुरा बली चढाउनुपर्छ, झाँक्रीले दुईचार थप्पड लगाएपछि बल्ल निको हुन्छ ।’

    यति सुनेपछि एकछिन त मैले आफू स्वास्थ्यकर्मी हुँ भन्ने नै बिर्सिएँ । मनमनै हाँसो पनि लाग्यो, अनि झारफुकको पासोमा पनि परियो । तर वर्षौँदेखि उहाँहरुले गर्दै आएको विश्वासरूपी अन्धविश्वासलाई मेरो २–४ मिनेटको प्रतिवादले पक्कै टुटाउन सक्दैन थियो । बहाना पारेर त्यहाँबाट टाप कस्यौं । जसोतसो कवाडी पुगेर एम्बुलेन्स बोलाएर कोल्टी पुग्यौं ।

    बिच्छ्याँजस्तै गौमुल गाउँपालिकाको अम्लिसको यात्रा पनि उत्तिकै रमाइलो रह्यो । एउटा भ्याली जस्तै देखिने बिचमा अम्लिस गाउँ र वरिपरि डाँडाको दृश्य रमाइलो थियो । मार्तडीबाट घटमुनासम्म गाडीमा अनि ७ घण्टा जति पैदलयात्रा गरेर हामी अम्लिस पुगेका थियौं ।

    बाजुरा यात्राको एउटा घटना याद आइरहन्छ । एउटा सुन्दर गाउँ (नाम नखुलाएको)मा काठमाडौंदेखि स्वास्थ्यकर्मीको टोली आइपुगेको सुनेपछि बिरामी बच्चा बोकेर बच्चाको आमा र हजुरआमा त्यहाँको सामुदायिक स्वास्थ्य केन्द्र आइपुग्नुभयो । बच्चालाई जाँच्दा अत्यधिक झाडापखालाले जलवियोजन भइ लल्याकलुलुक अवस्थामा भिटियो । न त रुन सक्थ्यो, न त आमाको दुध खान ।

    त्यहाँका ईन्चार्ज विदामा काठमाडौं जानुभएको थियो । हामीसँग स्वास्थ्य संस्था गएर कसैको उपचार गर्ने अनुमति त थिएन तर आकस्मिक अवस्थामा भने कर्तव्य निभाउने छूट थियो । बच्चाको अवस्था निकै नाजुक भएकाले मैले उसको परिवार, त्यहाँका जनप्रतिनिधि तथा बालरोग विशेषज्ञसँग छलफल गरें । हाम्रो टोली मिलेर बच्चालाई सुइबाट दिन मिल्ने, संस्थामा भएसम्मको औषधिहरु चलायौं । सोधपुछ गर्दै जाँदा बच्चालाई एक हप्ता जिल्ला अस्पतालमा भर्ना गरेर ल्याइएको रहेछ अनि फेरि समस्या देखिएपछि धामीले बच्चा बाँच्दैन भनेकाले जँचाउन नलगिएको उनीहरुले बताए ।

    हामी नगएको भए बच्चाले उपचार नपाउने रहेछ । दिनभर औषधि चलाएपछि राति ८ बजेतिर बच्चा रुन थाल्यो र आमाको दूध चुस्न सक्ने भयो, चलमलाउन थाल्यो । म राति १० बजेसम्म बच्चा कुरेरै बसें । जलवियोजन पनि केही हदसम्म घट्यो । तर पनि बच्चालाई अस्पतालको उपचार आवश्यक थियो । परामर्श गरेर भोलि बिहानै जिल्ला अस्पताल लैजानु भनेर सम्झाएर पठायौं । काठमाडौं आएपछि खबर लिएको थिएँं, बच्चालाई निको भएछ ।

    ‘सबैका लागि स्वास्थ्य’ भनेर नारा लगाउँदै गर्दा २१ औँ शताब्दीको उपलब्धीबीच नेपालमा झाडापखालाले बालबालिकाहरुको मृत्यु हुने दुर्भाग्य अझै पनि उस्तै छ । धामीझाँक्रीको भरमा कसैको जीवन र मरणको रेखा कोरिने अन्धविश्वास अझै जीवित छ । कमसेकम सामान्य स्वास्थ्य समस्याको उपचारका लागि दक्ष जनशक्तिबाट एउटा अस्पतालमा उपचार पाउने दूरदराजका जनताको अधिकार आखिर कहिलेसम्म कुण्ठित भइरहन्छ ?

    समस्याबीच पनि खुसी अनि असन्तुष्टिबीच पनि सुखका लागि संघर्ष; उकाली–ओरालीको कथा, माया र सम्मानका गाथा; मौलिक प्राकृतिक सौन्दर्यको खानी बाजुरा; जीवनको एक पर्याय हो । धेरैको घुम्ने उद्देश्य प्रकृतिसँग रमाउनु हुन्छ । कति सर्वेक्षणका लागि पनि जान्छन् । तर त्यो माटोलाई माया गर्ने उद्देश्यसहितको भ्रमण रह्यो भने पक्कै पनि जीवनको वास्तविक रंगसँग घुल्न पाइन्छ, अधिकांशको मात्र नभएर अल्पसंख्यकका पीडासँग साक्षातकार हुन पाइन्छ ।

    बाजुरामा जस्तै देशभर टेलफोनको नेटवर्क नटिप्ने कति ठाउँ होलान्, नुन तेल किन्न दिनभरको यात्रा गर्नुपर्ने कति होलान् ? गुणस्तरीय शिक्षाको आशामा कति भविष्यहरु बाटो हेरिरहेका होलान् । जब कसैले यिनै कष्टकर दिनचर्या मनन गरी राष्ट्रको नेतृत्व सम्हाल्न प्रतिनिधित्व गर्लान्, अनि बल्ल समानता र समतामूलक समाजको परिकल्पनाले एउटा मूर्तरूप पाउला ।

    पहाडी र हिमाली क्षेत्रमा विकास साच्चिकै एउटा चुनौती नै हो । पोहोर सालको बाढीले अम्लिसबाट मार्तडी फर्कने मुख्य बाटोको धेरै ठाउँ बगाएको रहेछ । कतैकतैको अप्ठ्यारो बाटो सम्झिँदा त आङ नै जिरिङ्ग हुन्छ । माइतीघरमा बसेर विरोध दर्साउनुभन्दा यस्ता भौगोलिक बनोट भएका क्षेत्रको पूर्वाधार विकासलाई कसरी दीगो बनाउने भन्ने विषयमा बौद्धिक बहस , छलफल र रचनात्मक विरोधमा बढी समय खर्चिन पाए सायद देश र जनता दुवैको महत्वपूर्ण समय फलदायी काममा समर्पित हुन्थ्यो होला ।

    जे होस अम्लिसका मिहिनेती गाउँपालिका अध्यक्षज्यूले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत लिनुभएको नेतृत्वमा बन्दै गरेको गोरेटो बाटोले आधा बाटो भने राहत नै दियो । दुई तीन वर्षयता बाजुराका धेरै ठाउँमा स्थानीय सरकारको नेतृत्वमा बाटाघाटा भने धेरै बनेका रहेछन् , यातायात पनि सहज हुने हो भने विकासले पनि अग्रता पक्कै पाउनेछ ।

    जीवन सधैं सोचेजस्तो सजिलो हुँदैन, संघर्ष पनि गर्नुपर्छ ताकि जिन्दगीमा आउने चुनौतीसँग सहजै सामना गर्न जानिन्छ, आफू तयार भइन्छ । जीवनको मर्म सिकाउने बाजुराजस्तै भूमिको दर्शन गर्न म त फेरि पनि लालायित छु ।

  • ‘माओवादीका हतियार बेच्ने योजनामा थिए प्रचण्ड’

    ‘माओवादीका हतियार बेच्ने योजनामा थिए प्रचण्ड’

    २०५२ सालदेखि एक दशक चलेको हिंसात्मक माओवादी युद्धको एक पक्षबाट दानवीकरण र अर्को पक्षबाट देवत्वकरण हुँदै आएको छ । माओवादी हिंसात्मक युद्धलाई माओवादीहरु ‘जनयुद्ध’ भन्छन् । त्यहि ‘जनयुद्ध’ मा सहभागी र समर्थकहरु देवत्व पक्ष समात्छन् । फरक मत राख्नेहरु दानवत्वको लाइमा लाग्छन् ।

    पूर्व माओवादी नेतृ हिसिला यमीले भने आफ्नो पुस्तकमा जनयुद्धको देवत्वकरण गरेकी छैनन । दानवत्वकरण पनि गरेकी छैनन् । उनले एक हिसाबले भूमध्यरेखामा लेख्ने प्रयास गरेकी छन् । यो कोणमा उनको पुस्तक ‘हिसिला: फ्रम रिभोलुसनरी टु फर्स्ट लेडी’ एकपक्षीय छैन । तर, उनले जनयुद्धका विभिन्न परिघटनाहरु केलाउने क्रममा प्रचण्डको दानवीकरण र आफ्ना श्रीमान डा. बाबुराम भट्टराईको देवत्वकरण गर्ने यथेष्ट प्रयास गरेकी छन् ।

    विश्वप्रसिद्ध प्रकाशनगृह पेन्गुइन बुक्सले प्रकाशन गरेको पुस्तकको नेपाली नाम ‘हिसिला यमीः क्रान्तिकारीदेखि प्रथम महिलासम्म’ मान्न सकिन्छ । पुस्तक ३४६ पृष्ठ र ३८ अध्यायमा बाँडिएको छ । पुस्तकमा उनले आफ्नो भारतमा भएको आर्टिकेक्चर अध्ययन, बाबुरामसँगको भेट, विवाह, बेलायत अध्ययन, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको प्राध्यापन, महिला अधिकार क्षेत्रको सक्रियता हुँदै उनको विभिन्न राजनीतिक घटनाक्रमहरु समेटिएका छन् । खासगरि कोटेश्वरमा बनाएको घर बेचेर ‘जनयुद्ध’मा पूर्णकालीन कार्यकर्ता भएर गएदेखि शान्ति प्रक्रिया सुरु भएपछि मन्त्री हुँदै नयाँ शक्ति पार्टीदेखि जनता समाजवादी पार्टीसम्मको यात्रा उनले पुस्तकमा समेटेकी छन् ।

    हिसिला भन्ने बित्तिकै माओवादी युद्धमा होमिएकी हाइप्रोफाइल महिला नेतृ । त्यही हाइप्रोफाइलकै कारण उनको पुस्तकमा माओवादी युद्धका अन्तरकुन्तरसम्वन्धी धेरै खुराक पाइन्छन् । माओवादी नेतृत्वमा अहिलेसम्म शिर्ष नेतृत्वबाट लेखिएको र विश्वप्रसिद्ध प्रकाशनगृहले छापेको पुस्तक पनि यही नै हो । त्यसैले यो पुस्तक माओवादी युद्धको इन्साइड स्टोरीटेलर हो । यसमा आजसम्म नभनिएका वा कम मात्रै भनिएका केही रोचक कुराहरु समेत छन् । हेरौँ केही उदाहरणः

    प्रचण्ड माओवादी लडकुका हतियार बेच्न चाहन्थे

    सुन्दा रोचक लाग्ने कुरा माओवादी सुप्रिमो प्रचण्डले माओवादीका लडाकुले प्रयोग गरेको हतियार बेच्न तयारी गरेका रहेछन् । पृष्ठ २४० मा यमीले यस्तो लेखेकी छन् । बाबुराम भट्टराईको अडानले माओवादीका हतियारहरु बिदेशी एजेन्सीलाई नबेचिएको उनको दावी छ ।

    प्रचण्डको अन्तर्राष्ट्रिय बेइजत हुनबाट बाबुरामले जोगाएको भन्दै यमी लेख्छिन्, ‘कल्पना गर्नुस्, माओवादीका सर्वोच्च नेताले विदेशी एजेन्सीलाई हतियार बेचे भन्ने समाचारको परिणाम कस्तो हुन्थ्यो ?’ बाबुरामले सम्झाएर मात्रै नेपाली सेनालाई हतियार बुझाउन प्रचण्ड तयार भएको यमीले उल्लेख गरेकी छिन् । वृहत् शान्ति सम्झौतापछि माओवादीले ३४०० पेस्तोल, गन लगायतका हतियारहरु सरकारलाई बुझाएका थिए । तर, धेरैले भने देशभरका सात शिविरमा रहेका १९ हजार माओवादी लडाकुका त्यति मात्रै हतियार नहुने भन्दै प्रश्न गरेका थिए ।

    भ्रष्टाचारी कमरेड प्रचण्ड क्याम्पमा छिरेपछि सुरक्षित

    हिसिला यमीले भ्रष्टाचार लगायतका कान्डमा परेका माओवादी कार्यकर्ताहरु प्रचण्ड क्याम्पमा गएपछि सुरक्षित भएको लेखेकी छन् । पृष्ठ २७३ मा उनले लेखेअनुसार प्रचण्ड पक्षले पटकपटक भ्रष्टाचारको आरोप लगाएकी एक महिला कमरेडलाई एक दिन हिसिलाले रंगेहात पक्राउ गर्छिन् । कारबाही गर्छिन् ।

    कारबाहीपछि ती महिला प्रचण्ड क्याम्पमा गइन् । प्रचण्ड क्याम्पमा पुगेपछि उनले संरक्षण पाएको हिसिलाको भनाइ छ । माओवादीमा बाबुराम र बैद्यको दुई र प्रचण्डको एक गरेर तीन क्याम्प रहेको भन्दै उनले प्रचण्ड भने आफूलाई जता हुँदा बहुमत र दबदबा हुन्छ उतै गएर आफ्नो शक्ति जोगाउने ठाउँठाउँमा उल्लेख गरेकी छन् । प्रचण्डको त्यही आदतलाई उनले ‘लेफ्टिस्ट’ नभएर ‘सेन्ट्रिस्ट’ भएको बताएकी थिइन् ।

    शिविरमा नक्कली लडाकू, बालबालिकाको प्रयोग

    २०६८ चैत्र २८ गते बाबुराम प्रधानमन्त्री हुँदा माओवादीका लडाकूहरुको सेना समायोजनको प्रक्रिया सकिएको थियो । त्यो प्रक्रिया सुरु हुँदै धेरैले माओवादी शिविरमा नक्कली लडाकू भएको आरोप लगाउँथे । हिसिलाले यो आरोप सही भएको लेखेकी छन् ।

    पृष्ठ २९७ मा उनले प्रारम्भिक चरणमा माओवादी शिविरका ३२ हजार २ सय ५० लडाकूमा अधिकांश नक्कली भएको उल्लेख गरेकी छन् । आफु नेवाः प्रदेशको इन्चार्ज भएको समयमा औद्योगीक मजदुर मोर्चाका धेरै सदस्यहरु जनमुक्ति सेना भएर शिविरमा बसेको पाएको उनको स्वीकारोक्ति छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादलाई पनि माओवादीले बढाएका लडाकूका बारेमा जानकारी भएको हिसिलाले पृष्ठ २२० मा उल्लेख गरेकी छन् । अन्ततः १ हजार ४ सय २२ माओवादी लडाकू मात्रै सेनामा समायोजन भएका थिए ।

    लडाकू शिविरका कमान्डरहरुले कनिष्ठ लडाकूबाट पैसा असुलेको र भ्रष्टाचार गरेको समेत यमीले पृष्ठ २३९ र २४० मा उल्लेख गरेकी छन् । तर, बाबुरामले माओवादी पार्टी छोडेर जानासाथ सार्वजनिक भाषणमा प्रचण्डले लडाकू शिविरबाट अर्बौ भ्रष्टाचार गरेको भनि गरेको दावी यमीले कोट्याएकी छैनन् ।

    यस्तै, लेनिन बिष्ट लगायतका पूर्व माओवादीका बाल लडाकुदेखि विभिन्न आईएनजीओका आरोपलाई पुष्टी गर्ने गरी बालबालिकालाई माओवादीले प्रयोग गरेको यमीले स्वीकारेकी छन् । उनले पृष्ठ २९७ मै ४ हजार ९ लडाकुहरु बालबालिका भएकै कारण अवैध भएको संयुक्त राष्ट्रसंघको आँकडा उल्लेख गरेकी छन् । यतिमात्रै हैन, माओवादीमा १५ बर्ष सम्मका बालबालिकाहरुसमेत जनमिलिसियाको रुपमा प्रयोग भएको यमीले पृष्ठ १८३ मा लेखेकी छन् ।

    बाबुराम हिन्दी फिल्म हेर्ने, प्रचण्ड रक्सी खाने

    माओवादी नेताहरु कसरी आफैले बनाएको नियम आफै तोड्ने गर्थे भन्ने उदाहरण पुस्तकमा छ । उदाहरणको लागी, संयुक्त जनमोर्चा नेपालको नाममा बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५२ माघ २१ मा ४० बुँदे माग राखेका थिए । ती माग पूरा नभएको बहानामा माओवादी जंगल पसेको थियो । ४० बुँदे मागको ८ नम्बर बुँदामा भारतीय सिनेमालाई ‘साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमण’ भन्दै नियन्त्रण गर्न भनिएको छ ।

    उनै बाबुराम हिन्दी फिल्मका पारखी रहेको हिसिलाले पुस्तकमा लेखेकी छन् । यमीले पृष्ठ ९५ मा बाबुरामसँगै ‘मुन्नाभाई एमबीबीएस’ हेरेको उल्लेख गरेकी छन् ।

    यस्तै, माओवादीले गाउँघरमा जाँडरक्सी खान रोक लगाउने गर्थे । माओवादी नेता–कार्यकर्तामा निषेध नै थियो । प्रचण्ड स्वयं भने राती आठ बजेपछि रक्सी खाएर मात्ने गरेको यमीको दावी छ । पृष्ठ २७१ मा उनले माओवादीका शीर्ष पुरुष नेताहरुमा बाबुरामले मात्रै रक्सी नपिएको बताएकी छन् ।

    रक्सीमात्रै होइन, उपभोक्तावादमा लिप्त प्रचण्डलाई महँगा घडी र गाडीहरु चाहिने कुरा यमीले पृष्ठ २६७ मा लेखेकी छन् । यस्तै पृष्ठ २५६ मा उनले प्रचण्डलाई सत्ता, शक्ति र सम्पत्ति नै सबैथोक भएको आरोप लगाएकी छन् ।

    शिविरबाहिर माओवादीका ४०० अत्याधुनिक हतियार

    सरकारलाई बुझाइएका र सार्वजनिक रुपमा देखाइएका हतियारभन्दा अरु हतियार पनि माओवादीसँग भएको हिसिला पुस्तकबाट थाहा हुन्छ । उनले पृष्ठ २२० मा माओवादीका ४०० अत्याधुनिक हतियारहरु लडाकु शिविर बाहिरै भएको लेखेकी छिन् ।

    बाहिर भएका हतियार बारेमा गिरिजाप्रसाद कोइराला र प्रचण्डको भद्र सहमती भएको उनले लेखेकी छन् । तर, सेना समायोजनपछि ती हतियार कहाँ गए भन्ने बारेमा भने उनी मौन छिन् ।

    बाबुराम गुटलाई नजरबन्द, यातना र घटुवा

    प्रचण्ड क्याम्पले कत्तिसम्म बाबुरामलाई तनाव दिन्थे भन्ने रोचक किस्साहरु यमीले पुस्तकमा उल्लेख गरेकी छन् । २०६१ कात्तिक २६ मा बाबुरामले चार बुँदे असहमति दर्ज गरे । फेरि, मंसिर १५ मा १२ बुँदा अगाडि सारे ।

    माओवादीको सबै शक्ति अध्यक्षमा खन्याउन आतुर प्रचण्ड क्याम्पलाई यो निको लागेन । उनीहरुले बाबुरामलाई माओवादी लडाकुको नजरबन्दमा राखे । स्याटेलाइट फोन र रिभल्बर खोसे । बाबुरामको श्रीमती भएकैले आफूलाई पनि कारबाही भएको यमीले पृष्ठ १६१ मा लेखेकी छन् ।

    राजतन्त्रभन्दा गणतन्त्र पक्षमा हुनुपर्छ र पार्टीमा लोकतान्त्रिकरणको पक्षमा वकालत गर्दा कारबाही भएको यमीले पृष्ठ १६२ मा लेखेकी छिन् ।

    ‘अरु त अरु, बाबुरामको जिल्ला गोर्खाकै भएकाले ठाकुर देवकोटाले बाबुरामलाई किन कारबाही भएको भन्ने प्रश्न गरेकै आधारमा जबरजस्ती आत्मालोचना लेख्न लगाइयो,’ हिसिलाको पुस्तकमा भनिएको छ ।

    हिसिलाको दावीअनुसार बाबुरामको अवस्था बारेमा प्रश्न मात्र गर्ने नेता–कार्यकर्ताहरुलाई पनि प्रचण्ड क्याम्पले कि त दुर्गम क्षेत्रमा सरुवा कि त अनुशासनको कारबाही भएको थियो । देबेन्द्र पराजुली र कल्पना धमलालाई त यातना नै दिइएको उनी लेख्छिन् । धमलालाई उदयपुमा मानसिक यातना दिइएको तथा पराजुलीलाई भने भोजपुरमा चरम यातना दिइएको उनको दावी छ ।

    यति मात्रै हैन, माओवादीको मुखपत्र ‘जन आह्वान’ का सम्पादक ओम शर्माले बाबुरामको दरबार हत्याकाण्डछिको आलेख छापेकै नाममा उनलाई पत्रिका बन्दै हुनेगरि तनाव दिइएको तथा सोही पत्रिकामा काम गर्ने माओवादी पत्रकार मनऋषि धिताललाई समेत तनाव दिइएको यमीले लेखेकी छन् । क्यान्सरले बितेका माओवादी नेता भक्ति पाण्डेका छोरा विश्वदीप पान्डेलाई समेत बाबुराम निकट भएकोले सताइएको उनले बताएकी छन् । यी प्रसंग पृष्ठ १६१ देखी १६९ सम्म पुस्तकमा लेखिएका छन् ।

    बाबुराम प्रधानमन्त्री हुँदा समेत प्रचण्डले धेरै असहयोग गरेको हिसिलाको आरोप छ । प्रचण्ड दम्पत्तिलाई बालुवाटारमा दुईपटक भोजनको लागी बोलाउँदा पनि नगएको उनले पृष्ठ २३४ मा लेखेकी छन् ।

    बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आफूलाई एसियाकै सबैभन्दा भ्रष्ट महिला भन्ने समाचार लेखाउन प्रचण्डको तत्कालीन निवास लाजिम्पाटबाटै अभियान चलेको यमीले दावी गरेकी छन् । क्याइम टुडे नामक पत्रिकाले लेखेको समाचारको मुद्धा भने आफूले जितेको उनले पृष्ठ २४५ मा उल्लेख गरेकी छन् ।

    यस्तै बाबुरामको पछाडि उनलाई भारतीय विस्तारवादी भन्ने प्रचण्डले बाबुरामसँग भेट्दा भने आफूलाई पनि भारतीय नेताहरुसँग चिनजान गराइदिन भन्ने गरेको यमीले पृष्ठ २७२ मा लेखेकी छन् ।

    शान्ति प्रकृया अगाडि नै संयुक्त रास्ट्र संघसँग सम्पर्क

    २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड बीचमा बृहत् शान्ति सम्झौता भएको थियो । त्यसको दुई महिनापछि माघ ९ गते नेपालमा संयुक्त राष्ट्रसंघको नेपाल मिसन ‘अनमिन’ आएको थियो । झट्ट हेर्दा संयुक्त राष्ट्रसंघको माओवादी शान्ति प्रकृयामा प्रवेश बृहत् शान्ति सम्झौतापछि मात्रै भएको देखिन्छ । तर, यमीले त्यो भन्दा अगाडि संयुक्त रास्ट्रसंघसँग सम्बन्ध भएको खुलाएकी छन् ।

    २०६२ मंसिर ७ गते भएको सात राजनीतिक दल र माओवादी बीच भएको १२ बुँदे दिल्ली सम्झौताको तयारी अगाडि नै भेट भएको देखिन्छ । यमीले पृष्ठ १७० मा संयुक्त राष्ट्रसंघका नेपाल प्रतिनिधि तम्राट साम्युएलसँग भेटघाट भएको लेखेकी छन् ।

    उनी लेख्छिन्, ‘उनी नेपालको द्वन्द्वको शान्तिपूर्ण निष्कर्षको बारेमा छलफल गर्न आएका थिए ।’

    माओवादी बिघटन गर्न बाबुरामको प्रचण्डलाई प्रस्ताव

    बाबुराम भट्टराईले प्रचण्डलाई माओवादी पार्टी बिघटन गर्न प्रस्ताव गरेको यमीले लेखेकी छन् । २०७२ असोज ८ गते प्रचण्डको तत्कालीन निवास लाजिम्पाटमा भेटेर बाबुरामले माओवादी पार्टी बिघटन गर्न प्रस्ताव गरेका थिए । प्रचण्ड तयार भएनन् । र, उनले २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी खोलेको यमीले पृष्ठ ३१५ मा उल्लेख गरेकी छन् ।

  • चिफसा’ब तस्बिर सार्वजनिक भयो है !

    चिफसा’ब तस्बिर सार्वजनिक भयो है !

    जंगी अड्डाका प्रधानसेनापतिको कक्षमा तस्बिर खिचियो । गत माघ २ गते तस्बिर खिचेपछि पोस्ट गर्न आतुर थिएँ । तर, तस्बिर खिचेलगत्तै प्रधानसेतापति पूर्णचन्द्र थापाले भने- यो तस्बिर पोस्ट नगर्नु होला ।

    तस्बिर खिच्न हुने । पोस्ट गर्न नहुने । अचम्म भयो । मैले ‘किन यस्तो नियम’ भनेर प्रश्न गरें । उनले थपे, ‘मेरो कार्यकालभर पोस्ट नगर्नु होला । कतिपयले नकरात्मक अर्थमा लिन सक्छन् ।’

    ०००

    इटहरीस्थित नेपाली सेनाको पूर्व पृतनाको मुख्यगेट र मेरो घर लगभग आमने–सामनेभन्दा पनि हुन्छ । तर, त्यहीं गेट पार गरेर पृतनाभित्र म व्यक्तिगत रुपमा छिरेको छैनँ । जम्मा दुइपटक मात्रै छिरेको छु । एक पटक, पत्रकार सम्मेलनमा आमन्त्रण भएपछि छिरे । अर्कोपटक, नेपाली सेनाले बनाएको प्रदेश १ कै पहिलो फिल्ड अस्पताल उद्घाटनमा । २०७६ फागुन १६ मा ५० बेडको अस्पतालको उद्घाटनमा प्रधानसेनापति थापा आएका थिए ।

    प्रधानसेनापति आउनु । सेनाको फिल्ड अस्पताल उद्घाटन गर्नु । यि सामान्य कुरै हुन् । तर, प्रधानसेनापति थापाको आगमन र जेस्चर भने असामान्य लागे । पृतनाभित्र बनेको दक्षिणतर्फ फर्किएको आकर्षक अस्पताल अगाडि दुई लहर थिए । एक लहरमा इटहरीका तथा आसापासमा गन्यमान्य जनप्रतिनिधि, नेता, व्यापारी, पत्रकारलगायत सेनाका अधिकारीहरु थिए । त्यसको ठीक पारिको अर्को लहरमा सिपाहीहरु ड्युटीमा खडा थिए ।

    प्रधानसेनापति थापा पश्चिमतर्फबाट प्रवेश गरे । उनी भिआइपी लहरमा हात मिलाउँदै आएनन् । उनी त सिपाहीहरुसँग हात मिलाएर अस्पताल प्रवेश गरे । अस्पतालको गेटबाट भित्र छिरे । उद्घाटन गरे । सामुहिक तस्बिर लिए । उद्घाटन अगाडि र पछाडि भाषण गरेनन् । उद्घाटन सकिएपछि चियानास्ता खाने टेन्टमा सबैसँगै प्रधानसेनापति थापा पनि पुगे । उनलाइ केही बोल्न आग्रह गरेपछि मात्रै चियापान समारोहमै छोटो बोले । सैनिक कल्याण कोषले बनाएको काठमाडौं बाहिरको तेस्रो सैनिक अस्पताल भएको जानकारी दिए ।

    इटहरीमा बनेको प्रथम ५० बेडको अस्पताल थियो त्यो । त्यहीं भएर सबैको चासो थियो । छोटो कार्यक्रम सकिएर निस्कनै लाग्दा सेनापति थाापले हात मिलाएका एक सैनिकसँग जम्काभेट भयो । मैले सोधे, ‘चिफसाबसँग हात मिलाउँदा कस्तो अनुभव रह्यो ?’ ती सैनिकले भावुक उत्तर दिए । भने, ‘चिफसाबसँग हात मिलाउन पाँउदा खुशी लाग्यो । सबै सिपाहीले चिपसाबसँग जिन्दगीभर हात मिलाउन पाउँदैनन् । सबै चिफसाबले पनि सिपाहीसँग हात मिलाउँदैनन् ।’

    ‘सर्वहारा’ हात मिलाइ, पर्यटनमार्ग र भक्ति थापा कनेक्सन

    अस्पताल उद्घााटन गर्न आएर सिपाहीसँग ‘सर्वहारा’ हात मिलाएका प्रधानसेनापति थापाले ध्यान ताने । बरु सर्वहाराको वकालत गर्ने कुनै नेता आएको भए उनीहरुले सिपाही र पार्टी कार्यकर्तासँग हात मिलाउदैन थिए ।

    कथित भिआईपीसँग उनीहरुको हात पहिले सोझिन्थे । बरु, प्रोटोकल र कडा सिनियिर जुनियरको अनुशासन हुने फौजी संस्था प्रमुखले सिपाहीसँग हात मिलाए । हात मिलाएको गज्जब कुरालाई झन् गज्जब त सिपाहीको सुन्दर प्रतिकृयाले बनाएको थियो ।

    सर्वहारा हात मिलाइको कुराभन्दा प्रधानसेनापति थापासँग भेट गर्ने खास कुरा चाहिँ पर्यटन र कूटनीतिक प्रसंग थिए । नेपाली सेनाले २०७६ माघ २ गतेबाट ‘बृहत् एकीकरण मार्ग कार्यक्रम–२०७६’ शुभारम्भ गर्यो ।

    प्रधानसेनापति थापाले उद्घाट गरेको यो कार्यक्रम ट्रेकिङ लाइसेन्स प्राप्त मलाई मन नपर्ने कुरै भएन । नेपाली सेना जस्तो संगठन पर्यटनमा लाग्दा तत्काल देखिने पर्यटन पूर्वाधार बनाउन सकिने भएकोले एउटा प्रस्ताव लिएर म प्रधानसेनापतिको कार्यालयमा पुगेको थिएँ । प्रदेश १ का कंचनजंगा वा मकालु आधार शिविरसम्मको ट्रेकिङ मार्गलाई ह्विलचेयरमैत्री बनाउन सेनाले नेतृत्व लिए राम्रो हुन्छ भन्ने मेरो प्रस्ताव थियो ।

    प्रधानसेनापति थापाले प्रस्तावमा सकरात्मक जेस्चर दिए । बृहत् एकीकरण मार्गको अनुभव भएकोले यस्तै काम ह्विलचेयरमैत्री नेपालको पहिलो हिमालयन ट्रेकिङ मार्ग बनाउन सकिने मेरो तर्क थियो । स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर विश्वभरका ह्विलचेयर प्रयोगकर्तालाई तान्न यो परियोजना विश्वस्तरीय हुने मेरो कुरामा प्रधानसेनापति थापाले सकरात्मक प्रतिक्रिया दिए । सायद सेनाले विस्तृत परियोजना प्रतिवेदनको काम थालेको हुनुपर्छ ।

    नेपाली सेनाले संयुक्त राष्ट्र संघको शान्ति सेनामा गरेको योगदान नेपाली कूटनीतिको एक बलियो आधारशीला हो । प्रधानसेनापति थापाका अनुसार नेपाली सेना विश्वको चौथो ठूलो शान्ती सेना थियो । सन् २०१५ फेबु्रअरी ८ देखि एक वर्ष शान्ति सेनाको फोर्स कमान्डर भएर गोलान हाइट्समा नेतृत्व गरेका थापासँग शान्ति सेना बढाउने विषयमा पनि कुरा भयो ।

    उनले नेपाली सेनाको व्यावसायिकताका कारण आगामी दिनमा शान्ति सेनाको हैसियत अझ अगाडि बढ्ने संकेत गरेका थिए । नभन्दै उनी सेनाको परम्पराअनुसार अवकाश हुनुभन्दा एक महिना अगाडि बिदा बस्ने चरणमा पुग्नु अगाडि नै नेपाली शान्ति सेनाको हैसियत बढ्यो ।

    जुलाईदेखि नेपाली सेना विश्वको दोसो ठूलो शान्ति सेना भएको छ । शान्ति सेनामा जान सबैको सहज पहुँच पुर्याउन उनैले सहज योजनाहरु ल्याएका थिए । उनकै कार्यकालमा पूर्वमाओवादी लडाकुले शान्ति सेनामा काम गरेको हेडलाइन बन्न पायो ।

    त्यतिबेला मैले सोधेको थिएँ, सन् १९५८ देखि नेपाली सेना संयुक्त रास्ट्रसंघको शान्ति सेनामा सक्रिय छ । के नेपाली सेनाले कुनै सार्वभौम देशले पनि यस्तै शान्ति सेना मागेको खण्डमा दिन सक्छ ?’ उनको जवाफ थियो, ‘यो संभव छैन । नेपालको परराष्ट्र नीतिका उद्देश्यहरुले यस्तो प्रस्तावको पक्ष लिँदैन ।’

    नेपाली सेनामा दश पुस्ता बिताएको थापा खलकका सन्तान हुन् प्रधानसेनापति थापा । दश पुस्तामा पाँच पुस्ता अधिकृत तहमै थिए । अझ रोचक कुरा, उनकै पुर्खा थिए अंग्रेजसँगको युद्धमा वीरगति पाएका सरदार भक्ति थापा । थापाले आफ्नो छोराबाट भने सैन्य पेसाको शृङ्खला ब्रेक भएको सुनाए ।

    नेपाली सेनामा पहिलोपटक ‘युनिटी’ नामक रिसर्च जर्नलमा आफ्नो सम्पत्ति सार्वजनिक गरेका प्रधानसेनापति दीर्घकालीन सोचका बुझिन्छन् । हुन त उनले नेपाली सेनाको ‘भिजन २०३०’ ल्याएर मन्त्रिपरिषद्बाट पास गरेर त्यो छनक पनि दिएका हुन् ।

    अझ रोचक संयोग– दश पुस्ता सेनामा बिताएको प्रधानसेनापति थापापछिको पुस्ता अर्थात् उनका छोरा नेपाली सेनामा छैनन् । तर, उनकै कार्यकालमा भक्ति थापा विभूती घोषणा भए । केपी शर्मा ओली क्याबिनेटले २०७८ असार १४ गते सोमबार सरदार भक्ति थापालाई विभूति घोषणा गर्यो ।

    थापा डाउन टु अर्थ प्रधानसेनापति हुन् । नागरिक–सेना सम्बन्धलाई रेस्पोन्स गर्ने प्रधानसेनापति हुन् ।

    अमेरिका बसेर आफैं जहाज बनाएर उडाएका प्रमोद रेग्मीले नेपाली सेनाले मात्रै राम्रोसँग उक्त जहाज ह्यान्डल गर्ने भन्दै सेनालाई उपहार दिन तयार भएको सुनाएका थिए । त्यसपछि प्रधानसेनापति लगायत नेपाली सेनाको उच्चस्तरीय टीमले चासो मात्रै राखेन, तत्काल रेग्मीसँग काठमाडौंमा कुराकानी भयो । सायद जहाज नेपाल आउने तयारी हुँदै होला ।

    र फेरि पनि अन्तिममा, कार्यकालभर तस्बिर सार्वजनिक नगर्ने शर्त थियो । अब त हुन्छझैं लागेर सार्वजनिक गरें ल !

  • श्रमाटनभित्रको सोमकित

    श्रमाटनभित्रको सोमकित

    केही दिनपछिको आउजाउले समस्याका चाङहरूका बीच पनि यो बिरानो मुलुकमा एउटा नम्बरी अग्राखको खाँबो मिलेको आभास भैरहेछ । सहर, बजार, समुद्रीतट हँुदै लहसिएको हाम्रो मिलनले थप नयाँ गन्तव्यको खोजी गरिरहेको छ ।

    गएको रात अबेरसम्म खाओसन बजारको रात्रिकालीन जीवनसँग आत्मसात् गर्दै गर्दा प्राकृतिक रूपमा जसरी बरालिएको प्रथम लहर चुम्बनले फक्रेको यौवनको भण्डारको द्वार खोलिदिएको छ । जतिबेला लाग्थ्यो, सबै–सबै चीजहरू… मेरै अधीनमा छन् । समय मेरो वशमा छ, अर्थात् हामी दुईको वशमा छ । प्रत्येक क्षणमा भैरहेका गतिविधि मेरा लागि सबै जीवनकै प्रथम थिए । त्यसो भएर त म आफू अगाडि अदृश्य शक्तिको खटन भएको पाउँछु ।

    मरुभूमि कति उजाड हुन्छ ? देखेको भरमा हामी यति नै भन्न सक्छौँ । त्यहाँ पसारिएका कणहरू त्यसका भुक्तभोगी साक्षी हुन्, जो तीव्र गतिमा चल्ने हावाको वेगले सुकुम्बासी बनाइदिन्छ । मानिसको अन्दाज केवल नजरअन्दाजमै सीमित रहन्छ । अपवाद कठिन संघर्षबाट यदाकदा खडा भएका झुप्पेली बिरुवाहरू चुपचाप प्यासी बनेर सही बसेका छन् । जहाँ मात्र एक जोडी लामघाँटी सजीव प्राणी ऊँट छ महिनाका लागि काँधमाथि जुरोमा पानी सञ्चय गरेर बसेको छ । मानौँ, तड्पिएर बसेको छ । प्रेम त कत्ति गरेको छ, गरेको छ तिनले । र, पनि सुखानुभूति प्राप्त गर्न सकेको छैन ।

    ती दुईको प्रेम टेनिस स्टार आन्द्रे आगासी र स्टेफी ग्राफको जस्तो पनि हैन । जो महत्वपूर्ण प्रतियोगिता खेल्नु अघिल्लो रातसम्म पनि समागममा लिप्त बनेर थप स्फूर्तिको मजा प्राप्त गरोस् । त्यो उनैले जानून् । तर, ऊँटका आफ्नै शारीरिक समस्या छन् । तिनको प्रेमले त सहारा खोजेको छ, मात्र समागमका लागि । मन त उनका पनि अवश्य हुँदो हो । मानिसले जसरी, तसरी, कसरी पो सन्तुष्टि लिन सक्थे र तिनले । तसर्थ नयनमुखी र अन्तर्मुखीमा समाहित भएरै पनि प्यास बुझाइरहेका छन् । देख्ने मनुवाहरूलाई तिनको समागम हाँस्यास्पद र रोचक लाग्न सक्छ । तर पनि उनीहरूले तत्पश्चात् खुसीको संकेत दर्शाउँछ, लामो घाँटीमाथि उछिट्टिएको शीर हल्लाएर बोका मन्साए जसरी ।

    पाँचै भित्ता सिसाको ऐनाले चम्केको छ खाओसनस्थित एक घरको पहिलो तलाको एक गुँड । हरेक चीजको मैले प्रथम अनुभव जो गर्दै थिएँ । सोमकित र म आफूलाई पाँच–पाँच ठाउँमा जो देख्दैछु । विरलै मिल्ने फरक अनुभव । आँखा त दुई–दुईवटा नै छन् फेरि ?

    कतै म भव्य सिसमहलभित्र त छैन ?

    कतै म मधुर निद्रामा देखिने मानसिक दृश्यसँग त छुइनँ ?

    अलमलमा पर्छु ।

    समयले पर्खिबसेको छैन, यो पनि थाहा छ मलाई । चौकुनाको भित्तामा हेर्छु, सपाट देखिन्छन् । त्यो एउटा घटना, परिघटना जे थियो मेरो उर्भराउँदो २२ वर्षीय उन्मादपूर्ण जीवनमा पहिलो पटक हुँदै थियो । अझ भनाँै, म आफैँले आफँैलाई पहिलोचोटि पूर्ण देख्दै थिएँ । ती पाँचभित्ते ऐनाले मेरा अनि उनका शरीरका अंगहरूको प्रत्येक नापजाँच लिँदै थियो । म मस्तै घोत्लिरहेको थिएँ । समीपमा विपरीत ध्रुवको एक्सरे जो हुँदै थियो । जीवनलाई बोध गरेर सम्मतिमै सकारेका छौँ र त यो सब सम्भव भएको छ । रतिमा रमिरहँदा लाठे भने रतन्धोले ग्रसित बनेको छ ।

    हो, म दुनियाँकै सर्वोत्कृष्ट रंगमहलभित्र समाहित भएर रसास्वादन लिँदैछु । अनुभव बटुल्दैछु जीवनमै पहिलोपटक । समयको प्रवाहसँगै यौवनबाट उम्लिएका ती झोकाहरू समयनुकूल हावासँग खेल्दै गर्दा खिया लागेको जस्ताबाट ओभानो माटो फुसफुसिए जसरी मक्किएको छ । पल–पल तप्किइरहेको छ ।

    मानौँ स्खलित भएको छ ।

    हो, जिन्दगी यही रहेछ ।

    किरण र म लजबाहिरको सडक पसलमा कुर्चीमा बसी चिया पिउँदै थियौँ, कसैले दुई हातले मेरा दुई आँखा छोपिदियो । एकाबिहानैको यस घटनाले मेरो शरीरमा उम भरिएको र स्फूर्तिपनाको आभास दिन्छ । म उनका कोमल हात हटाउन खोज्छु । तर, नाम नलिँदासम्म उनले हटाइनन् । मलाई नाम लिन गाह्रो भएको होइन । बैंककको अपरिचित ठाउँमा मप्रति यस्तो व्यवहार गर्ने सोमकित सिवाय अरू कोही हुनै सक्थेन । चाहेर पनि नचाहेजस्तै गरी नाम लिन पुगँे । जसको कारण पहिलो पटक यस्ता परिदृश्यहरू देखा पर्दै थियो मेरो जीवनका असहज घडीहरूमा । म खुसी र अलमल दुवै हँुदै थिएँ ।

    ‘सोमकित हौ, अरू कोही हुन सक्दनौ ।’

    उनको अनुहार चन्द्रमाजस्तै उज्यालो देखेँ, मैले हात हटाउनासाथै । सायद, मेरो शब्दले उनलाई प्रभाव पारेछ क्यारे । मेरो आँखाबाट उनका कोमल हात हट्नासाथ मैले आज उनलाई फरक नै देखँे । अनायासै निस्केका यस्ता शब्दहरू भित्र कति शक्ति हुँदो रहेछ भन्ने कुरा यतिबेला उनको अनुहारले देखाउँदै थियो ।

    किरणले उनलाई पहिल्यै देखिसकेको रहेछ । तर, उसैको इसाराले रोकिएको संकेत पछि दुवैको हाँसोबाट पनि झल्किन्थ्यो ।

    “यति बिहानै कताबाट तिमी ?”

    “दिदीको अफिसमा काम थियो, त्यसैले सँगै आएकी थिएँ ।”

    “ए,… यता बस न !” कुर्सी सार्दै मैले अनुरोध गरेँ । किरणले थाई भाषामै चिया पिउँछौ भन्यो र उनले स्वीकार गर्दै टाउको हल्लाइन् ।

    चिया पिउँदै थियौँ, माथि कोठाबाट ऋषव दाजु र जीवन चिया पिउनकै लागि तल ओर्लिए ।

    “तिम्रो साथी उही हो ?” ऋषव दाजुले सोमकिततिर देखाउँदै सोधे मलाई ।

    “हो,” मात्र भनेँ मैले ।

    उनी अलिकति लजाइन् । हामीले लगभग चिया पिइसकेथ्यौँ । त्यसैले मैले उनलाई एकछिन माथि कोठामा बस्न जाऊँ भनँे । उनलाई पनि त्यहाँ अप्ठेरो लागिरहेकाले नमान्ने कुरै थिएन, सहर्ष स्वीकार गरिन् ।

    किरणलाई जाऊँ भने मैले तर मानेन । ‘तिमीहरू गएर बस्दै गर, म दाइहरूसँग आउँछु’ भन्यो ।

    “ल हुन्छ,” भन्दै मैले ऋषव दाजुको हातदेखि साँचो लिई सोमकितलाई अगाडि बढाएँ ।

    ढोका खोलेर पुनः ढ्याप्न नपाउँदै उनले मलाई अँगालोमा बाँध्दै कुनाको सोफामा बसाइन् अनि अनुहार बिगारेर मतिर आँखा जुधाउँदै भनिन्, “मैले सुनेको, तिमी नेपाल जाँदै छौ रे !”

    उनको शब्दले स्तब्ध पार्‍यो उल्टै मलाई । मैले उनलाई कुरा लुकाएजस्तो भयो । मेरो सोचाइलाई रोक्दै पुनः उनले आँखा रसिलो बनाउँदै फेरि सोधिन् ।

    “किन जवाफ नदिएको ?”

    “सधैँ म यहाँ यसरी कहाँ बस्न सक्छु त नि ?”

    मेरो जवाफले उल्टो असर पार्‍यो उनलाई र त मुन्टो अर्कोतर्फ फर्काइन् । मैले टाउकोमा हात राखी तान्दै भनेँ, “सोमकित तिमी रिसाएकी ?”

    “अनि के गरुँ त ?” उनको ठुस्केको आवाजले मलाई झनै आकर्षित गरायो ।

    “म के गरुँ त ? तिमीलाई लान पनि सक्दिनँ । आफँै त अलपत्र परेको छु ।”

    “यहीँ हामीसँग मिलेर बसे पनि त हुन्छ । फेरि, किरण लामो समयदेखि यतै बसिरहेको छ । खै त उसलाई भएकै छ ।”

    म चाहेर पनि जवाफ दिन सक्दिनथेँ, किरण र मेरो व्यथाका बारेमा । फरक किसिमका बाध्यताहरू थिए । तै मैले सम्झाउने प्रयत्न गरँे ।

    “अहिल्यै मेरो जाने निश्चित भा’को छैन । अर्को कुरा, मेरो भिसा नसकिँदै गयो भने पछि फर्कन सजिलो हुन्छ नि !”

    मैले सम्झाएको ठानिन् सायद । उनले लामो सास फेर्दै भनिन्, “गएपछि त के थाहा, बिर्सिहाल्छौ नि ! मैले त्यस्तो नराम्रो त केही गरेकी छैन, किन यस्तो निर्णय गर्छौ ?”

    “यी सब बाध्यता हुन् के, सोमकित ! तिमी बुझ न ।”

    “अन्तर्राष्ट्रिय सीमाले यस्तो कुरामा बन्धन गराउँछ, मायाको सीमा नहुँदानहुँदै पनि,”

    उनी अलिक भावुक हुँदै मलाई शब्दले झटारो हान्छिन् ।

    भनिन्छ, छोटो समयमा लगाएको प्रीत छोटै समयसम्मका लागि रहन्छ रे, सायद यी सब त्यसैको प्रतिफल होला !

    उनको हृदयमा गौर भावनात्मक आवेग थियो, जुन उनले बाध्यतावश पोखिन् । यही सोच्यो मेरो मनले र म यतिबेला नकार्न पनि सक्दिनथेँ ।

    नकनकको आवाजसँगै ढोका घर्‍याक्क खुल्यो र हामीले सतर्कताका साथ अनुहारलाई यथास्थितिमा ल्याउने प्रयत्न गर्‍यौँ ।

    ऋषव, जीवन र किरणको साथमा अर्को एक झोला भिरेको नौलो व्यक्ति भित्र छिर्‍यो । छिर्नासाथ ऋषव दाइले ‘यही भाइ हो ल’ भन्दै मतिर हात ठड्याएपछि मेरो फर्कने दिन अझै नजिक आएछ भन्ने ठानेँ । मनभित्र बेजोडसँग हर्ष र विस्मात् दुवैको मिश्रण घोलियो ।

    “ल भाइ, यो पच्चीस सय भाट अहिले राख्नू, बाँकी पाँच सय पर्सि दिउँला, टिकट चैँ मलाई दिइराख्नू ।” समय अनुकूलको सम्झौता मेरो बाध्यता थियो । त्यसैले पुलुक्क सोमकितको अनुहार हेर्दै एक हातले लिएँ र अर्को हातले दिन पुगेँ ।

    “सकभर पर्सिको फ्लाइटमा सिट पायो भने जानुपर्छ है !”

    कस्तो दबाबजस्तो लाग्यो उसको भनाइ । तर पनि मैले सहर्ष स्वीकार्नु थियो, जो स्वीकारेँ ।

    ऋषव दाइसँग पनि हात मिलाएर ती व्यक्ति बिदा भए । लाग्यो, यिनीहरूको दोस्ती पुरानै रहेछ ।

    “ठीक छ नि होइन भाइ ?”

    ऋषव दाइको प्रतिक्रियाले सोमकितप्रति टोलाइरहेको मेरो मगज झस्कियो । हतारमा ‘ठीकै छ दाइ’ भन्न पुगेँ । उता नाजुक बनेको सोमकितको अनुहारले बेठीक भन्न खोज्दैथ्यो ।

    कस्तो सम्झौता ? अनौठो लाग्यो मलाई । हुन त मेरा हरेक क्षणहरूमा यस्तै एकपछि अर्को अनौठा अकल्पनीय घटनाहरू भइरहेका थिए ।

    जीवनमा पहिलोचोटि कसैसँग यति गाढा मित्रता गाँसिएको थियो । त्यो पनि विदेशी भूमिमा, त्यसमाथि कठिन अवस्थामा । बाँच्नु मात्र पर्दोरहेछ, मानिसको जीवनमा अनेक खालका दिनहरू देखा पर्ने रहेछन् । किरणले फुत्काएका कुराहरू दिदीमार्फत सुनिसकेकामा सोमकित आज आँखा अगाडि भाषा नबुझे पनि दृश्यहरूमार्फत लगभग स्पष्ट भइन् । सुनेका सबै सही ठहरिएको देखिन् र के–के सोचेर निकै कर गरेर उनको कोठामा लगिन् !

    “खाना के खाने ?” मलिन आवाजका साथ सोधिन् उनले ।

    “जे छ, त्यही खाने,” छोटो जवाफ दिएँ मैले ।

    “केही त भन्नूस् ?”

    “मलाई खानेकुराको नाम थाहा छैन अनि के भन्नू त ? उही कोला, भात र कुतिहाउ त हो नि !”

    “त्यति त थाहा रै’छ नि !” छड्के सट हानिन् मलाई ।

    उनी पकाउन भान्सातिर लागिन् । म भने टीभीमा भुलेँ । टीभीमा आँखा गए पनि मेरो ध्यान भान्सातिरै थियो । उनी पनि घरिघरि के–के निहुँ पारेर मेरो सामुन्ने आइपुग्थिन् ।

    मलाई पनि औडाहा हुन थालेपछि ‘के पकाउँदै हो नि’ भन्दै भान्साभित्र छिरेँ । बिस्तारै उनको मलिन अनुहारलाई केलाउँथे । वास्तवमै कसैको मायामा यसरी प्रभावित बनेको मेरो यो पहिलो पटकको अनुभव थियो । त्यो पनि फरक भाषी अनि भिन्न देशको परिवेशमा । सात समुद्रपारि भए पनि प्रेमको कुनै रङ र सीमा हुँदैन रहेछ । मलाई जस्तै उनलाई पनि त्यस्तै लाग्दो हो । बिल्कुलै फरक किसिमको प्रेमको स्वरूपका बारेमा मैले कहिल्यै कतै सुनेको पनि थिइनँ र सिनेमामा हेरेको पनि थिइनँ । इसारा र आपसी सद्भावले प्रगाढ बनाएका ती क्षण मेरो विचारमा भाषा त मात्र औपचारिकतामा सीमित थिए ।

    मध्याह्न भइसकेर पनि होला, भोक दुवैलाई लागेको थियो । त्यसैले कचौराभरि खानेकुरा राखी यता म बसेकोनिर टीभी हेरेको ठाउँमै ओसारिन् । संसार विचित्र छ । मानिसको सोचाइ र मन पनि विचित्रकै हुन्छ । उनी हिजो कस्ती थिइन्, आज कस्ती छन् ! भोलि कस्तो होलिन् ? ती सब समयले नपर्खीकनै पनि प्रस्तुत गर्दाे रहे । त्यसैले होला, सोमकितलाई आज मैले भिन्न देखेको छु । हुन त उनले मलाई कस्तो ठानेकी छन् ? शब्दमा व्यक्त गरेकी छैनन् ।

    “यसरी जति बस्यो, त्यति नै हामी छुट्न नसकिने गरी नजिक बन्दै थियौँ । त्यसैले सतर्क बन्नु नै राम्रो होला हैन र ?”

    मेरो लामो मौनतापछिको सुझावले अँगालोदेखि अलग भएर मलाई हेरेर भन्छिन्,

    “तपाईं किन यसो भन्नुहुन्छ ?”

    “मैले जे भन्दैछु, ती यथार्थ हुन् ।”

    “जे जस्तो भए पनि तपार्इं नजानुस् ल ?”

    मेरो रोकिने अवस्था छैन भन्ने थाहा हुँदाहुँदै पनि उनी सायद मन–पेट लिँदै थिइन्, या त मनको सन्तोषका लागि औपचारिकता पूरा गर्दै थिइन् । मेरा जाने प्रक्रियाहरू सबै उनले ध्यानपूर्वक नियालिरहेकै थिइन् । त्यसैले अब उनी त्यति जोड गर्न पनि सक्दैनथिन् ।

    “समय र परिस्थितिले साथ दिएमा पुनः हाम्रो भेट हुने नै छ । यति ठूलो संसारमा बाँच्ने आधार र भेट हुने उपायहरू अवश्य भेटिने छन्,” ढाडस दिँदै थिएँ म ।

    “कुन आधारमा म आशा गरुँ ?” लामो सास फाल्छिन् उनी ।

    “माया नै सबैभन्दा ठूलो र शक्तिशाली आधारशिला हो । विचार जस्तै व्यवहार पनि यसरी नै महान् बनिदिए उफ् …?” बीचैमा मुख फुलाएर उनले रोक्न पुगिन् ।

    “किन मेरो विश्वास लागेन ?”

    “लागेरै त अहिले साथमा छौँ ।”

    “सोमकित ! अब म लाग्नुपर्छ । तिम्री दिदी पनि अफिसबाट आउने बेला भइसक्यो ।”

    “सधैँ बस्ने भए त सायद रोक्थँे । तर, आज एकछिनका लागि म के रोकूँ ?”

    निराशापन प्रचुर रहेर पनि सम्हालिएर धैर्यमा अडिग रहनु आफैँमा प्रेमको महानता थियो ।

    “पर्सि के हुन्छ, थाहा छैन । भोलि उतै लजमा आऊ न ल ?”

    “जाने निश्चित त भा’को छैन नि ?” शंका व्यक्त गरिन् ।

    “त्यही त, भोलि बिहान त्यो मेरो टिकट लाने मानिस आइपुग्छ । अनि थाहा हुन्छ भनेको ।”

    “कतै भोलि नै अन्तिम भेट त हुँदैन ?” मलाई पनि उनको शब्दले मुस्किल पारेकोे थियो ।

    “त्यस्तो कुरा नगर न सोमकित, चोट मलाई पनि त पर्छ नि हैन र ?”

    दुई थोपा आँसु चुहाउन कञ्जुस्याइँ गरिनन् ।

    “एकछिन ल ! म ढोका लगाउँछु अनि बस स्टेसनसम्म जान्छु ।”

    “ठीकै छ म गइहाल्छु नि, नजिकै छ,” मैले नचाहेरै पनि औपचारिकता पूरा गरेँ ।

    मेरो औपचारिकता उनले बुझिछन् क्यारे ! हतारहतार ढोकामा ताल्चा मारी छन्द्रयाङ्ग, छन्द्रयाङ्ग चाबीको झुत्ता बजाएर दौडँदै मलाई भेटाउन आइपुगिन् । पाँच मिनेटको भित्री गल्ली पैदल यात्रा भए पनि उनले हातमाथि हात राख्दै अगाडि बढ्न छाडिनन् । म बसमा चढेर अगाडि बढिरहँदा पीडाको पोकोलाई बाँधेर मन्द मुस्कानका साथ असहज बिदाइ गरिन् ।

    पुस्तक ‘श्रमाटान’बाट

  • अन्जना भट्टराईका छ हाइकु

    अन्जना भट्टराईका छ हाइकु

    तुफानी बेग
    निर्मल त्यो भोरमा
    कुर्सीमा जोड ।

    समर आज
    यहाँ कोरोनाको छ
    मानाको चिन्ता ।

    स्मृति छैन रे
    बाढीमा पर्नेलाई
    खै त नेता ज्यू ?

    समानता यहाँ
    अपवादको कुरा
    भ्रष्टाचार रे ।

    प्रश्रय छैन
    पीडितलाई यहाँ
    दृष्टता बढी ।

    चिन्तक सबै
    निशब्द छन् जहाँ
    वाक्पटु अघि ।

     

     

  • धामीले दाँतले टोकेर तुइन चुडाएको वारिपारिकाको निष्कर्ष !

    धामीले दाँतले टोकेर तुइन चुडाएको वारिपारिकाको निष्कर्ष !

    स्थानः सीमाना बग्ने नदीको किनार ।

    ‘सा’ब हम एक बात पुछ सकता है ?’ वारिबाट भन्नु भयो । ‘हाँ पुछो’ सूर्ती मोल्दै गरेका बीएसएफले जवाफ दिनुभयो ।

    ‘सा’ब वो कटाहुवा तुइनका जगह निरीक्षण करने हेतु हमें भेजे हें । हम वहाँ जा सकते हें ना ?’ वारिबाट सन्देश गयो । ‘किसने भेजा ? हमने सेण्ट्रल गभर्नमेण्टके तरफ से करचुके थे तो फिर तुमको किसने भेजा ?’ बीएसएफ गर्जियो । ‘जी सा’ब इधरवाले गभर्नमेण्ट ने । वो जो तुइन से एक गिर के लापता हे ना, इसी मामले मेँ’। वारिकाले अलि विनम्र भएर भन्नु भयो ।

    एकछिन वारिपारि कुनै सन्देश प्रवाह भएन ।

    ‘हाँ हाँ । अच्छा उधर अभि भि गभर्नमेण्ट है ? हमने तो सुना था वहाँ सब कम्फोर्टेबल हो गए ।’ पारिबाट आवाज आयो । वारिका सबै गम्भीर हुनु भयो । बायाँ हात निलो कोटको गोजीमा राखी दायाँ हातले मास्क मिलाउँदै सोचमग्न हुनुभयो ।

    केही बेरको सन्नाटा चिर्दै पारिबाट आवाज आयो– ‘हाँ, तो तुमको क्यूँ जाना है उहाँ पे’? ‘जी, वो कटाहुवा तुइनका जगह देखने ।’ यताको उत्तर । ‘कटाहुवा क्युँ बोल रहे हो बे ? टुटाहुवा, सडाहुवा, गिराहुवा नही बोल सकते थे ?’ ‘क्षमा करें साब। हमारी कहनेका मतलव वही है ।’ फेरि मौनता ।

    ‘और कहो’ दरोगाले भन्यो । ‘आप कैसे है साब ?’ परिस्थिति सम्हाल्न वारिका अर्का सदस्य अघि सर्नु भयो । ‘ठीक हि चलरहा है’ दरोगा केही नरम भयो । ‘क्या करना होगा ?’ सूर्ती च्याप्दै बिएसएफले सोध्यो । ‘वर्षा भएकाले हम इधर से नही जा सकते । इसलिए हम उधर होकर वहाँ जाना है । मिलेगा न साब ।’ वारिका अर्का सदस्यले भन्नु भयो । फेरि सन्नाटा ।

    ‘सरले कडा दिनु भयो ।’ वारिका कनिष्ट सदस्यले भन्नु भयो । सीआईबी फोनमा कतै कुरा गरिरहेको थियो । ‘रुको, अभि साहव बात कर रहे है’, दरोगाले भन्यो । ‘हाँ ठीक है ।’ वारिकाले भन्नुभयो । एकछिन महाकाली बगेको आवाज मात्र सुनियो ।

    ‘हाँ, तो उधर इस बारेमे कुछ लफडा चल रहा हे क्या ?’ फोन गोजीमा राख्‍दै बीएसएफ बोल्यो । यसपटक उसको स्वर अलि नरम जस्तो थियो । ‘जी हाँ साब ।’ वारिकाले भन्नु भयो । बीएसएफ फेरि आपसमा कुरा गर्न लागे ।

    वारि पनि आपसी संवाद छ । टोली नेताले भन्नु भयो ‘निजामतिमा नबोलेरै धेरै भन्न सकिन्छ, नगरेरै धेरै पाउन सकिन्छ’ भन्ने सिद्धान्त छ नि ! यहाँ मैले त्यही प्रयोग गरेको अघि । ‘हो हजुर’ सदस्यले भन्नु भयो । ‘हजुर कूटनीतिक क्षेत्रमा पनि राम्रो दख्खल राख्‍नु हुँदो रहेछ ।’ टोलीका शक्तिशाली सदस्यले भन्नु भयो । अरु सदस्यले ‘हो हजुर’ भने ।

    ‘ए सुनो’ पारिबाट आवाज आयो ‘इधर से हि जावोगे’? ‘जी हाँ । इधर तो बाटो भत्केका हे । हिउँद नभै नही बनता है ।’ वारिबाट स्पष्ट पारियो । ‘इधर आइए’ बिएसएफले पारि बोलायो ।

    स्थानः पारि

    ‘हमारा एक टोली आपके साथ में भेज देङ्गे । वो आपको रास्ता देखादेङ्गे और सारे बात बतादेङ्गे ।’ ‘साब हमको इधर से फिर उधर पार करना होगा, वहाँ पे मिलेगा न’, वारिका बोल्नु भयो । ‘हाँ हाँ, क्युँ नहि ।’ बिएसएफ बोल्यो । ‘लेकिन वहाँ नदी कैसे पार करेङ्गे?’ विस्तारै भन्यो । वारिकाको शालीनताबाट प्रभावित हुँदै गएको बिएसएफ नरम भए जस्तो देखिन्थ्यो ।

    ‘नदी पार करना मुश्किल होगा । जो करना होगा, हमारे आद्मी करदेँगे । आप इधर से अच्छे तरह से देख सकते है । जरुरत हो तो आप हमारी दूरविन से नेपालके तरफ देख सकते है । हमारे कैमेरा से तस्विर ले सकते हैं’। डिपुटि डिएमले भन्नु भयो । ‘जी हाँ’ टोलीका बाठा सदस्यले भन्नु भयो । वारिको टोलीले गम्भीर भएर सोच्यो । हुन पनि हो, तुइन नभै नदी तर्न सकिने भए त धामी केटो नै तर्दो हो । पारिको नजरबाट नेपाल हेर्ने कौतुहलताले टोलीको मन चञ्चल भयो ।

    ‘अगले बार आइएगा तो पूर्णागिरी जानेका वक्त ले के के आइएगा । हम सारा प्रवन्ध करेङ्गे ‍और हम साथ जाएँगे ।’ डेपुटी डीएमले भन्नु भयो । ‘जरूर साब’ वारिकाको जवाफ थियो । वारिकाको आफूप्रतिको भरोसा देखेर डेपुटी डिएम प्रफुल्ल देखिनु भयो । ‘आपके काठमाण्डु में हमारे एम्बसीमें एक अफसर है, मिश्रा । में उनको बोलदुँगा । आप यहाँ से लौटके उनसे मिलिएगा ।’ डिपुटी डिएमले थप विनम्र भएर भन्नु भयो । ‘जरूर साब’ वारिकाले भन्नु भयो ।

    केही हप्तापछि काठमाडौंका पत्रिकामा विज्ञापनको साइडमा यस्ता शीर्षकमा खबर छापियो । ‘पारिले हुलाकी सडक निर्माणमा दिने सहयोग जारी राख्‍ने ।’ ‘छात्रवृत्ति संख्या बढाउने ।’ ‘तुइन हटाउने पूर्ववर्ती सरकारको निर्णयका कारण तुइन चुँडेको हुनसक्ने समितिको निष्कर्ष, उच्तस्तरीय आयोग गठन गर्न सुझाव ।’ ‘धामीले नै नदीको बीचमा पुगेर तुइन दाँतले टोकेर चुँडाएको देख्‍ने प्रत्यक्षदर्शी भेटिए ।’ ‘धामीको सानैदेखि टोक्ने बानी भएको खुलासा ।’ ‘तुइन हटाउने अभियान सफल पार्न तुइन टोकेर चुँडाएको हुनसक्ने ।’

    कतिपय पत्रिकामा ‘सानामा टोक्ने बानी भएकालाई लठ्ठा भएका पुल, तुइनमा जान दिन नहुने’ भन्ने समन्वयात्मक सम्पादकीय छापिए । ‘टोक्ने बानीले सुवारेजका फ्यान घटे, तुइन तर्ने साहसिक खेललाई फुटबलको शिक्षा’ भन्ने टाइपका विद्वत विश्लेषण प्रकाशन भए ।

    स्थानः लैनचौर

    सन्दर्भ मिश्राजीसँगको भेट । ‘साब अब वो सब कम्फोर्टेवल हो गया ।’ वारिकाले भन्नु भयो। ‘बधाई हो आपका मिशन सफल हुवा ।’ मिश्राजी बोल्नु भयो । ‘सफल तो हमने बना दी । देखिए मिडियाका तागत ।’ सम्पादकले जोडदार तर्क राख्‍नु भयो । ‘त्यो सरकारले तुइन हटाउन हात हाल्नुअघि सम्पादक र नागरिक समाजसँग सोध्नुपर्ने थियो ।’ नागरिक समाजका अगुवा र सम्पादकले एकै स्वरमा भन्नु भयो ।

    एकछिन सन्नाटा ।

    ‘जेएनयु में स्कालार्सिप मिलेगा क्या सा’ब !’ कसैले एक्कासी बोल्यो ।

    ‘लालध्वज बनोगें क्या ?’ मिश्राजीले हाँस्दै भन्नु भयो । मिश्राजीसँगै सबै हाँस्नु भयो ।

  • राजनीतिमा युवाको हस्तक्षेपकारी भूमिकाको खाँचो

    राजनीतिमा युवाको हस्तक्षेपकारी भूमिकाको खाँचो

    युवा भनेको लक्का जवान, शारीरिक, मानसिक वौद्धिकरुपमा दरिलो मान्छे मात्रै होइन । युवा त बिचार हो, दृष्टिकोण पनि हो । युवालाई सशक्त चिन्तनको प्रबाह पनि हो भनेर बुझ्न जरुरी छ ।

    युवाको सोच तथा दृष्ट्रिकोण तुलनात्मक रुपमा प्रगतिशील हुन्छ, उन्नत हुन्छ । त्यसैले युवा उमेर मात्रै होइन ।

    उमेरको दृष्टिले पनि युवालाई फरक–फरक समूहमा राखेर परिभाषित गरिएको पाइन्छ । संयुक्त राष्ट्र संघले एउटा उमेर समूहलाई युवा मान्छ भने भारतले फरक उमेर समूहलाई ।

    नेपालको पनि आफ्नै परिभाषा छ । नेपालले १६ देखि ४० वर्षका मानिसलाई युवा भनेर परिभाषित गरेको छ । यो परिभाषाअन्तर्गत आमा र छोरी, बाबु र छोरा एकैचोटि युवामा पर्न सक्छन् ।

    भोलि राज्य नीति निर्माण गर्दा छोरालाई हेरेर काम गर्ने कि बाबुलाई हेरेर ? यसरी हेर्दा हाम्रो परिभाषा वैज्ञानिक देखिएन । खास खास उमेर समूहका किशोर किशोरी तथा युवाहरुको चासोलाई उचित रुपले सम्बोधन गर्ने प्रयत्नमा हामी सधैं कमजोर सावित हुँदै आएका छौं ।

    दुनियाँको सबैखाले राजनीतिक एवं सामाजिक परिवर्तन युवाको सहभागिता र उनीहरुकै महत्वपूर्ण भूमिकाबिना सम्भब भएको छैन । हर कुनै घटना र मुद्दामा युवाको लगनशील भूमिकाले गर्दा संसारको प्रायः सबै परिवर्तन सफल भएका हुन् ।

    राजनीतिक व्यवस्था परिवर्तनको क्रान्ति र आन्दोलनहरुमा युवा शक्तिको सहभागिता उल्लेख्य रह्यो ।अझै भनौं हस्तक्षेपकारी नै रह्यो ।

    समाजको आर्थिक, सामाजिक एवं राजनीतिक अभियानमा युवाले अत्यन्तै उत्कृष्ट भूमिका निर्वाह गरेको दृष्टान्त संसारसामू जगजाहेर छ ।

    दुनियाँलाई परिवर्तन गर्नसक्ने, संसारलाइ उलटपुलट गर्नसक्ने युवा भविष्यको कर्णधार मात्रै बनिरहेको तर अझै पनि वर्तमानमा साझेदार बन्न नसकिरहेको परिस्थिति छ ।

    युवालाई केवल देखाउने, लडाउने, विद्रोह गर्न मात्रै लगाउने अनि सत्ता र शक्तिमा, नीति निर्माण र कार्वान्वयनको तहमा सहभागिता भने नगराउने रोग समाजमा व्याप्त छ ।

    युवाले अरु सबैले गर्नसक्ने जति सबै क्षेत्रका काम कारवाही गर्न सक्छन् तर यो या त्यो कारण र रुप देखाएर उनीहरुलाई भूमिका दिइँदैन । अब युवाले आफ्नो अर्गानिक क्षमताको भूमिकाको निमित्त आवाज उठाउनै पर्छ ।

    युवाले आफ्नो क्षमताअनुसारको काम आफैंले गर्न पाउने व्यवस्थाको निमित्त हस्तक्षेपकारी दायित्वलाई सम्झिएर लाग्नैपर्ने बेला आएको छ ।

    एक युवा समाजको सबैखाले जिम्मेवारी लिएर वर्तमानको जिम्मेवार भूमरीमा निर्वाह गर्दै भविष्यको निमित्त थप परिपक्वता प्रदर्शन गर्न सक्षम हुन्छ । तर यसको लागि युवाले पनि विचार, चेतना र ज्ञानको दायरा अभिवृद्धि गर्न जरुरी छ ।

    एउटा युवा सक्षम हुन राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिकरुपमा सबै पक्षको थोरबहुत विषयमा जानकार हुनुपर्छ र शिक्षा हासिल गर्नु पर्छ । औपचारिक शिक्षा मात्रै होइन, अनौपचारिक शिक्षामा पनि युवा समुदायले विशेष चाख राख्नु पर्दछ ।

    अध्ययनको दायरालाई अझै फराकिलो बनाउनु पर्दछ । विश्वविद्यालयबाट औपचारिक शिक्षा लिनु त अनिवार्य नै छ तर युवा शक्तिले अझै परिपक्व र उत्कृष्ट बन्नका लागि समाज, देश, दुनियाँ र संसारलाई नजिकबाट चिन्नु जरुरी छ । यसरी समाजलाई चिन्न बुझ्न समूह, संगठन र राजनीतिक मोर्चाहरुमा अझै हस्तक्षेपकारी भूमिकामा युवाले आफूलाइ उभ्याउन आवश्यक छ ।

    २०६२/६३ सालको शान्तिपूर्ण जनक्रान्तिपछि नेपाली राजनीतिमा केही हदसम्म युवा शक्तिको भूमिका बढेको छ । यद्यपि यो पर्याप्त र उचित स्थानसम्म भने अझै पुग्न सकेको छैन ।

    नेपाली राजनीतिमा एकज युवा कुनै राजनीतिक पार्टीमा छिरिसकेपछि नेता बन्नको लागि पार गर्नुपर्ने चरणहरु धेरै छन् । ठूला भनिने पार्टीहरु, जस्तो कि नेपाली कांग्रेस, एमाले र माओवादीमा अझै पनि साधारण सदस्य बनेको निश्चित वर्षपछि मात्रै केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाइन्छ । यसरी हेर्दा कुनै पनि मानिसले आफ्नो प्रतिभा र क्षमताले नेतृत्व गर्ने होइन कि, पार्टी प्रवेश गरेपछि पार्टी जस्तो छ त्यस्तै बनिसकेपछि मात्रै नेतृत्वमा आउने सम्भावना रहन्छ ।

    हाम्रा राजनीतिक पार्टी भित्रका संरचनाहरु युवामैत्री पटक्कै छैनन् । समाजको परिवर्तन गर्ने मुख्य शक्ति राजनीतिक पार्टी नै भएकोले युवा समुदायले राजनीतिक पार्टीमा नै आफ्नो भूमिका खोज्ने, राजनीतिक रुपमा नै दृष्टिकोण निर्माण गर्ने र राजनीतिक सिद्धान्तकै आधारमा सामाजिक रुपान्तरणको अभियानहरु संचालन गर्नुपर्दछ ।

    युवाहरुले तत्कालको नाफा–घाटा र स्वार्थलाई भुलेर स्वावलम्बी, दक्ष र व्यवसायिक बन्नु पर्दछ । युवामा कुनै पनि नेताको फेर नसमातिकन अघि बढ्ने क्षमता र आँट चाहिन्छ । अनिमात्रै नेताहरुसँग प्रश्न गर्न सकिन्छ र नयाँ एजेन्डा स्थापित गर्न सकिन्छ । वैचारिक रुपले प्रष्ट र पारदर्शी बनाउन सकिन्छ ।

    यसबाट आन्तरिक लोकतन्त्र बलियो बनाउन सक्ने आत्मविश्वास पनि युवाहरुमा विकास हुन्छ । यसरी, पहिला युवाहरु नै एजेण्डामा स्पष्ट, विचार प्रष्ट हुनु पर्दछ ।

    त्यसैले युवाहरुले समाजलाई फेर्ने ऐतिहासिक दायित्वलाई कहिल्यै भुल्नु हुँदैन । अन्तर्राष्ट्रिय युवा दिवसको दिनमा मात्रै हामीले यस युगीन दायित्वलाई सम्झने होइन, सधैं हामीमा जिम्मवारबोध हुन आवश्यक छ ।

    (लेखक अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य हुन्)

  • फेरिएको छ

    फेरिएको छ

    क्यालेन्डरको रंग र मसी

    कागज र साइज फेरिएको छ

    अक्षरको फन्ट फेरिएको छ

    फेरिएका छन् पातै पिच्छेका

    सानदार विज्ञापनहरू

    फेरिइहरेको छ कर्पोरेट जगतको

    विज्ञापनको स्टाइल

    फेरिइरहेका आमाका अनुहारका

    चाउरीएका रेखा र कपालको रंग

    फेरिएका कुरा धेरै छन्

    हाम्रो देशको सरकार

    टेलिभिजनको मुख, रेडियोको धुन

    ठूला कम्पाउन्डभित्रका भित्ताका रंगहरू

    त्यही रंगमा सुहाउने गाडीको रंग र ब्रान्ड

    चिल्ला गाडीका ड्राइभर र उसका युनिफर्म

    अरू पनि थुप्रै कुरा फेरिएको छ

    साहुको गेटमा सधैँ भुकिरहने कुकुरको आवाज

    सेठानीकी नोकर्नी

    सिमानाको आयतन

    अदालतको कान र दिमाग

    स्कूल र अस्पतालको बिलको अंक

    फेरिएका छन् अरू पनि थुप्रै कुराहरू

    तर, कहाँ फेरियो र युवाको सपना ?

    खाडीको विकल्प ?

    गाउँको गोरेटो ?

    भत्केको पुल र मिचिएको सिमाना ?

    जस्ताको तस्तै छ

    सुन्तली मुसहरको काखी टालेको मैलो चोली

    बिर्खे सार्कीको निधारको नाम्लो

    कर्णालीवासीको कलेँटी परेको ओठ

    तराइँका डुबेका बस्तीहरू

    बिनाकारण जेल परेको छोराको रिहाइको मागमा

    अदालतको ढोकामा

    सधैँ देखिने निरिह पिताको आँशु

    ओ नयाँ वर्ष !

    सक्ने भए फेरिदे

    सरकारको काम गर्ने ताल

    न्याय र अदालतको चाल

    भूकम्प पीडितको त्रिपाल

    कोरोनाको काल

    लोकतन्त्र र गणतन्त्रको बेहाल !

  • किरण गजमेर र इन्टरनेटले जोडेका नेपाली मनहरु

    किरण गजमेर र इन्टरनेटले जोडेका नेपाली मनहरु

    सन २०१७ को फेब्रुअरी अन्तिम साता म दिल्लीमा थिएँ । दिल्लीमा भएको दक्षिण एसियाली साहित्य उत्सवमा सहभागी हुन त्यहाँ पुगेको थिएँ । फेब्रअरी २४, २५ र २६ मा भएको कार्यक्रमको उद्घाटन इन्डिया इन्टरनेसनल सेन्टरमा भएको थियो ।

    नेपाल र भारतका केही सहर मात्रै घुमेको मेरो पहिलोपटक दक्षिण एसियाका पाकिस्तान बाहेकका सबै देशका नागरिकसँग भेट हुँदै थियो । रोचक कुरा, धेरैले मलाइ ‘अफगानी’ भएको लख काटे । अफगानीबाहेक भारत, बंगलादेश, श्रीलंकादेखि भुटानसम्मका कवि-साहित्यकारले ‘तपाईं अफगानिस्तानबाट हो ?’ भनेर पटक-पटक सोधिरहे । मलाइ रोचक अनुभव भइरह्यो ।

    नेपाल बाहेकका सबै देशका प्रतिनिधिसँग आ-आफ्नो तरिकाले व्याक्तिगत कुराकानी भयो । अनुभव आदानप्रदान भयो । मलाइ धेरै चासो भने भुटानी टीमसँग थियो । चार जनाको थियो भुटानी प्रतिनिधिमन्डल । तीन जना भुटानको अन्य भाषा बोल्ने । एक जना नेपाली भाषा बोल्ने । अचम्म चाहिँ नेपाली मातृभाषा हुने कविले खासै बोल्न चाहेनन् । औपचारिकता मात्रै निभाए । तर, अन्य भुटानी कवि साहित्यकार भने खुलेर बोले । बोल्ने क्रममा धेरै निकट भयौं कवि छादोर वाङमो र म ।

    मलाइ लाग्थ्यो, भुटानमा नेपाली भाषा, नेपालीभाषी समुदायले मात्रै बोल्छन् र बुझ्छन् । तर होइन रहेछ । छादोर वाङमोलाई नि फरर नेपाली आउँदोरहेछ । नेपाली आउने मात्रै हैन नेपाली चलचित्रहरु बाल्यकालमै हेरेकी रैछिन् उनले । सन् १९९० को दशकमा शरणार्थी समस्या हुनुभन्दा अगाडि भुटानमा नेपाली चलचित्र मज्जाले चल्थे । त्यही पुस्ताकी सदस्य हुन् वाङ्मो । उनको फेबरेट हिरो राजेश हमाल । कतिपय चलचित्रका डाइलगसमेत उनलाइ याद रहेछ ।

    शरणार्थी समस्या सुरु भएपछि भुटानमा नेपालमा बनेका फिल्म चल्न छोडे । नेपाल–भुटान नागरिक स्तरको सम्बन्धमा तनाव आयो । कुटनीतिक र सामाजिक समस्या बढ्यो । एक हिसाबले भन्ने हो भने सामाजिक सम्पर्कसुत्रमा पूर्णबिराम लाग्यो । करिब दुई दशकपछि इन्टरनेटले गाउँगाउँमा पहुँच पुर्याउन थाल्यो । इन्टरनेट पुगेसँगै युट्युबबाट नेपाली गीत, फिल्म र संगीत पुनः भुटानका घरघरमा पुग्न थाले ।

    हामीले कुराकानी गर्दा वाङ्मा भन्दै थिइन्, भुटानमा धेरै युवायुवतीहरुलाई आस्था राउतको ‘चौबन्दीमा पटुकी..’ गीत कन्ठै छ । वाङमोले यस्तो भन्दा लाग्यो-राजनीतिले बिगारेको सम्बन्ध इन्टरनेटले सुधार्यो ।

    भुटान त शरणार्थि समस्याले गाँजिएर सम्वन्ध बिग्रेको देशको कुरा भयो । भारत, म्यानमारदेखि थाइल्यान्ड लगायतका नेपालीभाषी स्थानिय नागरिकहरुलाई इन्टरनेटले जोडेको छ । केही हप्ता अगाडि विद्या चापागाईंको ‘हेर्ने कथा’ को ‘भादाको कथा’ मा भारतको आसामका यु्वा नकुल शर्माले भावुक कमेन्ट गरेका छन् ।

    उनले लेखेका छन्, ‘आसाममा नि आउनुस न दिदी । हामी नि आसाममा ५० लाख नेपाली छौँ ।’ यस्तै आफुलाई भारतीय गोर्खाली भन्ने पवन राईले पनि सोही भिडियोमा कमेन्ट गर्दै तारिफ गरेका छन् । अर्थात विद्याको ‘हेर्ने कथा’ नेपालीहरुको मात्रै कथा रहेनछ । यो त नेपाली भाषी विभिन्न देशका नागरिकको पनि रोजाइ रहेछ ।

    केही समय अगाडि एपिवानको ‘तमसोमा ज्योतिर्गमय’ कार्यक्रममा बंगलादेशका नेपालीभाषी ‘मनोजबहादुर गोर्खा’ को कथा आयो । त्यो कथाले बंगलादेशमा समेत नेपालीभाषी रहेको देखिन्छ । थाइल्यान्डमा नेपाली भाषा सिक्दा भावुक भएका युवतीहरुको कथा थाइ नेपाली असोसिएसनको नाममा युट्युबमा अपलोड भएका तीज कार्यक्रमले देखाउँछ । म्यानमारका नेपाली गाउँका कथाहरु धेरैले जानिसकेका छौँ । म्यानमारका नेपालीभाषीका विभिन्न गीतहरु युटय्बुमा हेर्न सकिन्छ ।

    किरण गजमेर र नेपाली भाषाको कार्यक्रमको फैलावट

    भुटानी कवि छादोर वाङमो, भारतीय नेपालीभाषी नागरिक नकुल शर्मा अनि पवन राई, बंगलादेशका नेपालीभाषी मनोजबहादुर गोर्खा हुँदै थाइल्यान्डका नेपालीहरुको उदाहरणले नेपाली भाषाको सामथ्र्य देखाउँछ । म्यानमारका गाउँगाउँमा भएका नेपाली बस्ती र नेपाली संस्कृतिले नेपालीपन देखाउँछ ।

    तर, यो नेपालीपन भनेको नेपाली नागरिकता, चुच्चे नक्सा र नेपाल देशको भूगोलको कुरा हैन । नेपाली भाषाले जोडेको आत्मियताको कुरा हो । त्यही कुराको भावको गीत ग्रान्ड फिनालेमा गाएरै किरण गजमेर बिजयी भए । उनले गाएका थिए, ‘जसो गर जे भन जता सुकै लैजाउ मलाइ । यो मन त मेरो नेपाली हो…।’

    किरणको जितसँगै नेपाली भाषाको रियालिटी शो भ्वाइस अफ नेपालको आयतन बढेको छ । नेपालका नेपालीको मात्रै होइन, यो दुनियाभरका नेपालीको शो भएको छ । आगामी दिनमा नागरिकताबिनाका नेपालीहरुको हौसलाको लागी यो एक कोसेढुंगा भएको छ ।

    शनिबार मध्यरातमा द भ्वाइस अफ नेपालको बिजेता बनेका किरण गजमेरको जित लाख बढी नेपालीभाषी भुटानी शरणार्थीको गौरव हो । संसारभर छरिएर रहेका नेपालीभाषीको खुशी हो । नेपाली रियालिटी शोहरुलाई दशगजा पारी लैजान चाहनेहरुको जित हो । वैश्विक नेपाली मनको सान्त्वना हो ।

    सन् १९९३ मा भुटानबाट लखेटिएर किरणका हजुरबुबादेखि बुबाहरु नेपाल आए । झापाको खुदुनाबारी शिविरमा बस्दाबस्दै किरण २०५४ सालमा जन्मे । सन् २०११ मा भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासअन्तर्गत अमेरिका उडे । भोइस अफ नेपालकै लागी भनेर उनी आठ महिनादेखि नेपालमा छन् ।

    आफ्ना सहयोगीसँगै उनी नेपाल आएर आठ महिना बस्नु, भोटिङ गर्नु र नेपाल-अमेरिका हवाई यात्रा गर्नु, भ्वाइस अफ नेपालको २५ लाख पुरस्कार भन्दा कयौँ महँगो छ । अझ आठ महिना नेपाल बसेका किरण र अरु सहयोगीले अमेरिकामा काम गरेर कमाउने पैशा त कहाँ हो कहाँ धेरै हुन्थ्यो । नेपाली गीत-संगीतको मायाले नेपाली रियालिटी शोको लागि उनीहरुले त्याग गरे । त्यो त्यागभित्रै नेपालीपनको सुगन्ध छ ।

    किरणको जितसँगै नेपाली भाषाको रियालिटी शो भ्वाइस अफ नेपालको आयतन बढेको छ । नेपालका नेपालीको मात्रै होइन, यो दुनियाभरका नेपालीको शो भएको छ । आगामी दिनमा नागरिकताबिनाका नेपालीहरुको हौसलाको लागी यो एक कोसेढुंगा भएको छ ।

    रियालिटी शो, नेपाली पब्लिक डिप्लोमेसी र सफ्ट पावर

    २०७७ मंसिर २१ गते नेपालको पहिलो लिखित परराष्ट्र नीति सार्वजनिक भयो । नीतिले पब्लिक डिप्लोमेसीदेखि सफ्टपावरसम्मको कुरा गरेको छ । पब्लिक डिप्लोमेसी र सफ्ट पावरमा रियालिटी शोहरु पनि एक गज्जब माध्यम बन्ने देखिएको छ ।

    भ्वाइसअफ नेपालदेखि अहिले चलिरहेको कमेडी च्याम्पियनसम्ममा नेपाल बाहिरका नेपाली भाषीहरुको आकर्षण देखिन्छ । आगामी दिनमा आउने अरु विश्वस्तरीय रियालिटी शोहरुमा यो सिलसिला दोहोरिनेछ । यसलाई नेपाल सरकारले पब्लिक डिप्लोमेसी र सफ्टपावर प्रबद्र्धन गर्न सदुपयोग गर्न सक्छ ।

    नेपाली कार्यक्रमहरुमा नेपालीभाषी सहभागी गराउने प्रक्रियामा सरकारले सहयोग गर्न सक्छ । जस्तै भुटान, बंगलादेश, म्यानमार, थाइल्यान्ड लगायत देशमा पुस्तौँदेखि बसेका नेपालीभाषी सहभागीहरु कार्यक्रममा आए उनीहरुको हवाइ टिकट र भिजा शुल्कमा सरकारले सहुलियत दिन सक्छ । भारत र नेपाल खुल्ला सिमाना र सस्तो यातायात भएकोले भारतबाट आउने आफैं सहजै आउन सक्छन । भारत बाहेकका क्षेत्रबाट आउनेहरुलाई सरकारले हौसला दिनसक्छ ।

    सरकारले ल्याउन लागेको अंग्रेजी भाषाको विश्व च्यानल एनटिभी वर्ल्डले पनि यस्तै रचनात्मक कार्यक्रमहरु गरेर विश्वभरका नेपालीहरुका नयाँ पुस्तालाई समेटेर कार्यक्रम ल्याउन सक्छ । नेपाली पब्लिक डिप्लोमेसी र सफ्ट पावरको अभ्यास गर्न सक्छ ।

    भाषा र संस्कृतिको विकासको नाममा कोठे बैठकहरुमा लाखौँ सक्नुभन्दा यस्ता कार्यक्रमको प्रभावकारिता र क्षेत्रफल ठुलो हुन्छ । नेपाली भाषाको मात्रै हैन भविष्यमा नेपालका अन्य भाषाहरु मैथिली, भोजपुरी लागायतका कार्यक्रम हुँदा पनि सरकारले यसैगरी सहयोग गर्न सक्छ ।

    रियालिटि शोहरुले डिजिटल अडिसन मात्रै हैन, फिजिकल अडिसन सम्भव भएसम्म नेपाल बाहिरका विभिन्न देशहरुमा गर्दा अझ राम्रो हुन्छ । छनौट गर्दा पनि टप १० मा नेपाल बाहिरका सहभागीलाई कोटा छुट्याउन पनि सकिन्छ । यसले त्यी देशका नेपालीभाषीलाई आकर्षित गर्न सकिन्छ । युट्युब स्ट्रिमिङमार्फत जहाँबाट पनि हेर्न सकिने भएकोले सहज छ ।

    आज हलिउडदेखि मिस वर्ल्ड हुँदै मिस युनिभर्ससम्मले विभिन्न बजारमा पुग्न त्यहाँका सहभागीलाई ल्याएको देखिन्छ । नेपाली रियालिटी शोहरुले त्यही सुत्र प्रयोगमा ल्याउन सक्छन् । सरकारले ल्याउन लागेको अंग्रेजी भाषाको विश्व च्यानल एनटिभी वर्ल्डले पनि यस्तै रचनात्मक कार्यक्रमहरु गरेर विश्वभरका नेपालीहरुका नयाँ पुस्तालाई समेटेर कार्यक्रम ल्याउन सक्छ । नेपाली पब्लिक डिप्लोमेसी र सफ्ट पावरको अभ्यास गर्न सक्छ ।

  • ‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्न निषेध हो ?

    ‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्न निषेध हो ?

    गर्न नसकिने र हुँदै नभएका आकाश–जमिनका गफ चुटेर जनतालाई रनभुल्लमा पार्ने नेपाली राजनीतिको बाह्रमासे रोगै हो । केपी ओली सरकारले नै यो कुरालाई पुष्टि गरिसकेको छ ।

    केपी समूह मात्र होइन, आफ्नो सस्तो लोकप्रियताका लागि भए–नभएका कथा उनेर प्रचार गरेर नथाक्ने र अरुको दुष्प्रचार गर्ने प्रवृत्तिले राजनीति ग्रसित छ । एकाथरी जमात समाज र राष्ट्रका लागि ‘यीनै पो हुन् कि क्या हो’ भन्ने भ्रम छर्न एक हदसम्म सफल पनि छन् । अर्काथरी साँच्चै गर्नेहरु भने गरेका कामको पनि प्रचार नपाएर केही पनि नगरे जस्तो पात्रका रुपमा प्रचारित भइरहेका छन् । अर्थात् उनीहरु छायाँमा परेका छन् ।

    अवसर पाएका बेला देश, जनता, लोकतन्त्र र जनजिविकाको सवालमा उभिने नेता को हुन्, को होइनन् ? भन्नेमा ठूलै भ्रम पनि छ । सामान्य रुपमा सत्य चिज के हो भन्ने जानकारी नहुँदा आम जनमानस रनभुल्लमा छ । हुन त भ्रमको खेती गर्नेहरु हिरो हुने तर वास्तवमै काम गरेकाहरु गुमनाममा पारिने संसारकै रीत हो ।

    सूचना र प्रविधिमा आएको क्रान्तिका कारण विश्व नै एउटा ग्राम भइसकेको आजको दुनियाँमा झन् को भन्दा को बढी ? भन्ने होड नै चलेको छ । तर भए गरेका कामको यथोचित प्रचार नभएर वास्तविक पात्र ओझेलमा परिरहेको छ । एक हिसाबले यस्ता सत्पात्रमाथि न्याय भइरहेको छैन । कामको यथोचित प्रचार नहुँदा ‘गर्ने भन्ने हनुमान, पगरी गुथ्ने ढेडु’ को अवस्था छ ।

    आजको नयाँ जमानामा सामाजिक संजालको विकासले सिटिजन पत्रकारिताको समेत विकास भएको छ । मूलधारका राष्ट्रिय मिडियाभन्दा सामाजिक संजालमार्फत् आममानिसहरु सूचना र संचारको पहुंचमा सजिलै जोडिन पाएका छन् ।

    अनलाइन माध्यमलाई छिटो र सजिलो सूचना प्राप्तिको मुख्य माध्यमका रुपमा लिइन्छ । फेसबुक, ट्वीटरमार्फत् मिडियाको पेजबाट तथा भाइबर, ह्वाट्सएप मार्फत् पनि पाठकको पहुँचमा पुर्याउन सकिने भएका कारण सहज पनि भएको छ । यो ज्यादै सकारात्मक पक्ष हो । सँगसँगै पुष्टि नभएका झुट विवरणहरुको माध्यमवाट आमजनसमूहलाई ‘कुसुचित’ गर्ने काम पनि सामाजिक संजाल मार्फत् नै भइरहेको छ । सामाजिक संजालको प्रयोग सबैले एकैढंगले गर्छन् भन्ने पनि होइन ।

    निजी र सार्वजनिक रुपमा सामाजिक संजालको प्रयोग भइरहेको देखिन्छ । आफ्नो व्यक्तिगत जीवनका विभिन्न सामग्रीहरु सामाजिक संजालमा पोष्ट गरेर परिचितहरुसँग निरन्तर सम्पर्कमा रहने माध्यमका रुपमा सामाजिक संजालको प्रयोग गर्ने त सामान्य कुरा नै भयो । सार्वजनिक जीवन, सामाजिक, राजनीतिक तथा समसामयिक बिषयमा बहस या सूचना प्रवाहका लागि सामाजिक संजालको प्रयोगले क्रान्तिकारी छलाङ नै मारेको छ ।

    पछिल्लो समय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बिषयमा पनि सामाजिक सञ्जालमा आएका सामग्रीलाई लिएर फेसबुक र ट्वीटरमा विभिन्न ढंगले सकरात्मक र नकारात्मक दुवै खालका टिकाटिप्पणी चलेका छन् ।

    विगतका कामकारबाही, गतिविधिको विषयलाई लिएर खिसीटिउरी भए । विगतमा गरेका राम्रा कामहरुको सामाजिक संजालमार्फत प्रचारप्रसार गर्ने प्रयास शुरुभएको मात्र के थियो, अरिङ्गालकै गतिमा एकैसाथ झम्टिने काममा मिडियाहरु पनि प्रयोग भएका छन् ।

    यस्तै काम कुनै विदेशीले गर्दा प्रशंसा गर्ने हाम्रा मिडिया आफ्नै प्रधानमन्त्रीले विगतका गरेका कामलाई सार्वजनिक गर्दा र कसैले उहाँको यो काम मन पर्छ भन्दा प्रपोगाण्डको रुपमा नियतवश टिप्पणी भइरहेको छ ।

    प्रधानमन्त्रीका बिषयमा ‘के तपाइलाई थाहा छ ?’ र ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने…’ भन्ने दुई डिजिटल सामग्री सार्वजनिक भएका छन् । शीर्षकमा देउवाका महत्वपूर्ण घोषणा, भनाइ र विगतका कामकारवाहीको सूचना आम जनमानसमा प्रेषित गरिएको छ ।

    जहाँ यसअघि चार पटकसम्म प्रधानमन्त्रीको हैसियतमा देउवाले गरेका राम्रा काम के थिए ? आम जनमानसले देउवाको विगतलाई कसरी सम्झेका छन् ? ती विषयवस्तुलाई आमजनताकै शब्दमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

    जसको उद्देश्य देउवाको सार्वजनिक जीवनसँगै उनले गरेका कामबारे सर्वसाधारणलाई जानकारी होस् भन्ने नै होला । यी सामग्री हेर्दा देउवाविरुद्ध प्रचारित भ्रम निवारणका लागि पवित्र उद्देश्य राखेर नै यो काम शुरु भएको आभास हुन्छ । सँगसँगै असंख्य व्यक्तिले सामाजिक संजालमा राम्रो मानेर प्रतिकृया जनाइरहेका छन् ।

    तर पाँचपल्ट प्रधानमन्त्री भइसकेका व्यक्तिको विगतका पाटाहरुलाई थाहा दिलाएर सुसूचित गर्ने कामको पनि किन यो हदसम्मको निम्छरो विरोध चलिरहेको छ ? प्रधानमन्त्रीको विगत नागरिकले थाहा पाउनै नहुने हो र ?

    विरोधका लागि विरोध र गालीका लागि गाली गर्ने हो भने त यसको उपचार छैन ।

    हुन त देउवा राजनीतिमा स्थापित भएको देखिनसहनेहरु कांग्रेसभित्रै छन् । राम्रा काम भए भने राति निद्रा पर्ने औषधि खानुपर्ने जमात पार्टीभित्रै पनि बाक्लै छ । राम्रा पक्षको उजागर हुँदा चैनको निद्रा नपर्नेलाई सम्झाइबुझाइ गरेर पनि पार लाग्ने कुरा छैन । देउवाको पुनरोदयमा आफ्नो भविष्य असुरक्षित देख्ने स्वार्थी समूह नतिलमिलाएको होला भन्ठान्न पनि सकिँदैन । यसको उपाय पनि केही देखिँदैन । बाह्रमासे खटिरासरी बेला न कुबेला चिलाइरहने तत्व हुन् यी । यस्ता तत्वको पिछा गरेर या खण्डन गरेर हुनेवाला पनि केही छैन । फेरि स्यालहुईयाँमा बहकिएर भाका मिलाउने र आफू फोकटको टट्टु बनेको थाहा नपाउने अर्को जमातको पनि यहाँ कमी छैन ।

    सामाजिक संजालमा प्रधानमन्त्रीले विगतमा गरेकै कुरालाई प्रचारै गर्न नहुने कारण के ? आम नागरिकले भनेका कुरा सामाजिक संजालमा राख्दा किन टाउको दुखाई ? कोही नागरिकले शेरबहादुर देउवालाई किन मन पराउन नपाउने ? अहिले सार्वजनिक भएको भिडियो र अन्य सामग्री कुनै प्रपोगाण्डा होइन, यो वास्तविकता हो । गलत भए फ्याक्ट चेक गरे भैहाल्यो नि !

    फेरि आकाशै खसेझैं गरी स्याल हुइँया मच्चाउनेहरुलाई यतिसम्म मात्र भन्न सकिन्छ – कठै विचरा !

    हुनलाई सतहमा हेर्दा सामाजिक सञ्जालको टिकाटिप्पणी जस्तो देखिए पनि गहिरिएर हेर्दा अन्तर्यमा यो विरोधको पछाडि एउटा मात्र कारण देखिन्छ
    देउवालाई विभिन्न आरोप लगाएर पटक–पटक अवसर पाउँदा पनि कामै गर्न नसकेको भन्ने मिथक स्थापित गर्ने र जनमानसमा भ्रम फिंजाउने तत्वहरु अहिले फेरि सक्रिय भएको देखिन्छ ।

    देउवाको देवत्वकरण गर्ने कुरा यहाँ भएकै होइन, तर उहाँले गरेका कामहरु जनतालाई सम्झाउने काम भने भएको हो । इतिहासका कतिपय तथ्यहरुलाई जस्ताको तस्तै राख्ने सकारात्मक प्रयास मात्र भएको छ । अनि देउवालाई अक्षम सावित गर्न भइरहेका दुस्प्रचारलाई रोक्न यस्ता प्रयासले साँच्चै सकारात्मक सन्देश दिने नै उद्देश्य देखिन्छ ।

    पार्टीभित्रकै केही नेताहरु देउवाको व्यवस्थित सचिवालय र मिडिया टिम भएको हेर्न नचाहने छन् । केही नेताहरुलाई देउवाले विगतमा गरेका कामहरु फेरि आउन थाले भने आफ्नो राजनीतिक भविष्य नदेख्ने पनि छन् । अहिलेको डिजिटल दुनियाँमा प्रचारप्रसार गर्ने शैली यस्तै नै हो। आक्रमक, प्रभावकारी र व्यावसायिक रुपमा मिडिया टिमले काम गरेपछि त्यसलाई निस्तेज पार्न सक्रिय पार्टीभित्र र बाहिरको प्रभावमा मिडिया पर्नु हुँदैन । कसैले कसैलाई राम्रो भन्छ भने त्यसको विरोध गर्न मिडियालाई पनि सुहाउँदैन ।

    यो प्रसङग चल्दै गर्दा इतिहासको एउटा प्रसंग उल्लेख गर्नु सान्दर्भिक नै होला । जब २०५९ सालमा जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम भनेर पदमुक्त गरे । जननिर्वाचित प्रधानमन्त्रीलाई राजाले यसरी बर्खास्त गर्नेमा वीपीपछि देउवा थिए । यो घटनाको सामान्य सत्य बुझ्दै नबुझी शेरबहादुर देउवालाई प्रजातन्त्र दरवारमा बुझायो भन्ने भ्रम र अफवाहको ठूलै खेती चल्यो । भित्र र बाहिरबाट यी सब चिज भए ।

    जतिबेला देश तत्कालीन माओवादीको सशस्त्र विद्रोहका कारण व्याकुल थियो । संसद विघटन भइ नयाँ चुनावको मिति तोकिइसकेको अवस्था थियो । तर सबै राजनीतिक दल हिंसा र अशान्तिबीच चुनाव हुन सक्दैन भन्नेमा एकमत थिए । यहीं बेला सर्वदलीय बैठकले चुनाव सार्नुपर्ने निर्णय गरेर प्रधानमन्त्रीलाई चुनाव सार्न आग्रह गर्यो । नेपाली कांग्रेसवाट शुशील कोइराला र गोविन्दराज जोशी सर्वदलीय बैठकमा उपस्थित भए र कुनै पनि हालतमा चुनाव हुन नसक्ने भएकाले चुनाव सार्नुपर्ने भन्दै गिरिजाबाबु र त्यतिखेरको कांग्रेस संस्थापनको दूतको रुपमा कुरा राखे ।

    त्यसपछि सर्वदलीय बैठकको निष्कर्षका आधारमा चुनाव हुन नसक्ने भन्दै देउवाले राजा समक्ष सार्नुपर्ने प्रस्ताव गरे । त्यसपछि ‘देउवाले लोकतन्त्र दरवारमा बुझायो’ भन्ने मिथक स्थापित गर्न पार्टीभित्रकै एउटा समूह ज्यान छाडेर लाग्यो । जबकि देउवालाई वित्थैमा बदनाम गराउने खेल भयो । देउवालाई घानमा हालेर पानीमाथिको ओभानो देखिने तिकडमहरु चले । र, आज पनि निरन्तर चलिरहेकै छ ।

    के यी र यस्ता भ्रम निवारण गरेर देउवालाई न्याय दिनु जरुरी छैन ? देउवाले सबै विगारेको भनेर प्रायोजित रुपमा थोपरिएका मिथ्या आरोप आजिवन बोकेर हिंडिरहनुपर्ने हो ? यस्ता लाञ्छनाको वस्तुनिष्ट जवाफ, भ्रम र वास्तविकताको रहस्योद्घाटन अनि इतिहासप्रति न्याय त जरुर आवश्यक छ । सामाजिक सञ्जालमा दिन खोजिएको सन्देश यति मात्रै हो ।

    नेपाली समाजमा अहिले यस्तो नकरात्मकता फैलाइएको छ कि, कसैको राम्रो वा भलो त देख्नै नसक्ने एउटा सानो जमात छ । जसले हाम्रा नेताहरु, समाजका राम्रा मान्छेहरुको राम्रो काम आएको देख्नै सक्दैनन् । तर देउवाले नपाली समाजमा केही सकरात्मक पनि भैरहेको छ भन्ने सन्देश डिजिटल माध्यामबाट दिन खोज्नु भएको छ, त्यो निकै सकरात्मक पहल हो । कसैको नियोजित विरोधमा तर्सिनुपर्ने कुनै कारण छैन।

  • सरकार परिवर्तनमा एमसीसीको भूमिका

    सरकार परिवर्तनमा एमसीसीको भूमिका

    वर्तमान नेपाली राजनीतिमा इतिहास निर्माण गर्ने अवसरप्राप्त इतिहासकै ठूलो कम्युनिष्ट पार्टीका सुप्रिमो एवम् लगभग दुईतिहाइ जनमतसहितको प्रधानमन्त्रीका रुपमा रहेका केपी शर्मा ओलीको पछिल्लो ‘राजनीतिक बहिर्गमन’ टिठलाग्दो छ ।

    लामो राजनीतिक अस्थिरताले आजित नेपाली जनताले विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि नेकपा एमाले र माओवादी केन्द्रको एकताको म्यान्डेटलाई मत दिएका थिए । नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न यो एउटा सुनौलो अवसर थियो ।

    तर यो कम्युनिष्ट एकता, दुईतिहाइको जनमत क्षतविक्षत भएको छ । न त इतिहासको ठूलो कम्युनिष्ट पार्टी नै रह्यो, न त दुईतिहाइको जनमत । जसको सम्पूर्ण दोष शक्ति उन्मादमा मातिँदै तानाशाह प्रवृत्ति लाद्न खोज्ने अहंकारी शासक भन्दै केपी शर्मा ओलीलाई लगाइएको छ ।

    पुस ५ गते संविधानका कुनै पनि धारामा निर्दिष्ट नरही जनमतको अपमान गर्दै पहिलोचोटि प्रतिनिधिसभा विघटन हुनु प्रतिगमन भन्दै चर्को आलोचना भयो । त्यो कदमलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतबाट प्रतिनिधिसभाको पुनःस्थापना गरिदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताको म्यान्डेटले बनेको नेपाल कम्युनिस्ट पार्टीलाइ बदर गरिदियो ।

    पुरानै पार्टीगत संरचनामा फर्काइदिएपछि लामो राजनीतिक अस्थिरताबाट रुमल्लिएको मुलुक फेरि उहीं पुरानै दिशामा पुग्यो । नेपाल कम्युनिष्ट पार्टी एमालेमा चरम विवाद भयो । पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षधर पार्टी निर्णय, विधान अनि पार्टी हितविपरीत गतिविधि गर्दै आफ्नै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई हटाउन लागि परे ।

    ओलीमा झन् सत्तामोह र अहंकार तीव्र बढ्दै गयो । जसकारण उनले दोस्रोचोटि संसद विघटन गरेर चुनाव घोषणा गरे । जुन कदमको चौतर्फी विरोध भयो ।

    माधव नेपाल पक्षका २६ सांसदसहित कांग्रेस, माओवादी केन्द्र र जसपा (उपेन्द्र यादव समूह)ले हस्ताक्षरसहित स्वयं उपस्थित अदालतमा संसद विघटनविरुद्ध र संविधानको धारा ७६ (५) का आधारमा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति गरियोस् भनेर मुद्दा हाले ।
    आन्तरिक कारण कयौं होलान् तर दुईतिहाइका प्रधानमन्त्री ओलीको सडकयात्रा स्वभाविक होइन । अहिले उनलाई पनि संसद विघटन गरेर गल्ती गरेको अनुभूत भएको होला ।

    पहिलोचोटिको प्रतिनिधिसभा विघटनपछि पुनस्थापित भएको प्रतिनिधिसभाको त्यो परिदृश्यबाट पनि दोस्रोचोटि प्रतिनिधिसभा विघटन गर्नुअघि ओलीले पक्कै केही न केही हेक्का राखेकै होलान् । नेपालीमा एउटा उखान छ नि ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सन्छ’ भन्ने । तर ओली किन तर्सिएनन् ? यो जटिल प्रश्न हो ।

    इतिहासमा नै प्रधानमन्त्री परमादेशबाट भएको घटना नभएको अवस्थामा नेपालमा कसरी हुनपुग्यो ? सर्वोच्च अदालतलाई प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार संसदको हो भन्ने सामान्य ज्ञान पनि थिएन होला र ? यसको दोष ओलीलाई मात्रै जाँदैन ।

    नेपालको सानोदेखि ठूला राजनीतिक परिवर्तनका पछाडि विदेशी शक्तिको चलखेल र षड्यन्त्र हुने गरेको सबैलाई थाहा छ । नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बीहरु भएको मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्दै सानो मुलुकलाई पनि संघीयताको गोलचक्रमा पुर्याइयो ।यसका फाइदा तथा बेफाइदा कयौं होलान् त्यो बहसका पाटा हुनसक्छन् । तर प्रश्न एजेन्डा कसको र किन भन्नेनै प्रधान देखिन्छ ।

    बाहिरबाट हेर्दा प्रतिनिधिसभा विघटन अल्पमतमा परेको देखिन्छ । तर सत्ता परिवर्तनमा यस्ता सतही कारण पक्कै हुनै सक्दैनन् । प्रतिगमनको हार र अग्रगमनको जितका माध्यमबाट विष्लेषण गर्नु भनेको जालीको कपडा लगाएर आफ्नो शरीरको लाज छोपेको छु भनेर भ्रममा पर्नु जतिकै हो ।

    मुलुकमा राजसंस्था जीवितै रहँदा प्रत्यक्ष रूपमा विदेशी चलखेल नदेखिएता पनि मुलुकको यथावत परिवर्तनमा कहीं न कतै अप्रत्यक्षरुपमा विदेशीहरूको चलखेल रहेको पाइन्थ्यो । २०६२÷६३ यता अर्थात् गणतन्त्र आएपछि मुलुकको सम्पूर्ण राजनीतिक, आर्थिक अनि सामाजिक परिवर्तनको रिमोर्ट विदेशीको हातमा रहेको पाइन्छ । त्यसपछि विदेशीहरुले मुलुकमा खुलेर हस्तक्षेप गर्न थाले । हिजो केही मात्रामा उत्तर र दक्षिणको मात्र हस्तक्षेप देखिन्थ्यो । आज विश्वका सानादेखि ठूला शक्तिहरुले नेपालमा खुलेर हस्तक्षेप गरिरहेका कयौं घटनाहरू हामी देख्न सक्छौं ।

    हिजो कम्युनिष्ट भन्नेबित्तिकै उत्तरबाट प्रशिक्षित, जसले उत्तर केन्द्रित अवधारणामा आफूलाई केन्द्रीकृत गराएका हुन्छन् भन्ने सामान्य बुझाइ थियो । दक्षिण भनेर आफूलाई प्रजातान्त्रिक मोडलका रुपमा केन्द्रित गराउने शक्तिलाई लिइन्थ्यो । तर आज के उत्तर के दक्षिण सम्पूर्ण पार्टीमा सबैको प्रभाव अनि दबाब पाउँछौ ।

    मुलुक विदेशीहरूको चंगुलमा यसरी नाच्छ कि, यहाँ रातारात कसैलाई राष्ट्रवादी बनाइन्छ भने कोही कसैलाई राष्ट्रघाती । २०१५ सालतिर नेपालको नक्सामा रहेका ती लिपुलेख, लिम्पियाधुरा, कालापानी एक्कासी हराउँछ अनि हराएको ७ दशकपछि नक्साका विषयमा लालमोहररुपी उभिन्छन्, एक पात्र केपी शर्मा ओली र फेरि बनाइन्छ रातारात उनलाई राष्ट्रवादी नेता ।

    राष्ट्रियता मजाकको विषय पक्कै होइन । राष्ट्रिय अखण्डताको विषयमा बालीसकेपछि शीर काटियोस्, त्यो विषयबाट पछि हट्नु भनेको राष्ट्रियतालाई कमजोर बनाउनु हो । रातारात जारी गरिएको चुच्चे नक्सा कार्यान्वयन नगराउनको लागि विदेशी डेलिकेशनअघि हाम्रो नेतृत्व झुकेको भुल्न सकिन्नँ ।

    लिम्पियाधुरा, लिपुलेख अनि कालापानी हाम्रो हो भन्नसक्नु चाहिँ महान् कुरा हो । नेपालजस्तो भू– राजनीतिले असर अनि प्रभाव पार्ने मुलुकमा यस्ता कुरा सामान्य नै मान्नुपर्छ । हिजो रातारात अग्रगमनका पक्षधर देशभक्त अनि राष्ट्रवादी नेता केपी शर्मा ओली कसरी अग्रगमनविरोधी भए ? किन रातारात उनका सम्पूर्ण कदम प्रतिगामी कदम हुन गए । जसको सुक्ष्म विश्लेषण नेपालको बदलिँदो राजनीतिक र भविष्यसँग जोडिएको हामी पाउँछौ । एकताका इतिहासकै शक्तिशाली बनाइएको पात्रलाई इतिहासकै कमजोर बनाएर खरानीमा परिणत गराउने लक्ष्यमा लागेका छन् केही ।

    अरुबाट इतिहासका कालखण्डदेखि निर्देशित र परिचालित, जतिखेर पनि दुर्घटना पर्ने आँकलन परिचालित हुनेलाई मात्र थाहा हुन्छ । जसको पात्र आज केपी शर्मा ओली देखिए , जुन सतही नै किन नहोस् तर वास्तविकता हो । ओलीलाई रातारात नायक बनाएर ल्याउनेबाट रातारात खलनायकको बिल्ला भिराउनुलाई तमाम बुद्धिजीवी सर्कलले गम्भीरताका साथ लिएका छन् । पछिल्लो समय एमसीसी, धर्मनिरपेक्ष र संघीयताको विषय नै ओली सरकारको बहिर्गमनसँग अन्तरसम्बन्धित देखिन्छ ।

    प्रतिनिधिसभाबाट एमसिसि पास हुने सम्भावना नदेखेपछि, ओलीबाट कहीँकतैबाट निर्देशित तवरमानै त्यसको विघटन गरिएको र अध्यादेशबाट एमसीसी अनुमोदन गर्ने पूर्वतयारीको डिजाइन पनि हुन सक्छ । एमसिसी पास गर्ने विषयमा लगभग शीर्षस्थ नेतृत्वहरु सबै एकैठाउँमा छन् ।

    नेतृत्वबाट पनि सबैभन्दा उपयुक्त पात्रका रुपमा केपी शर्मा ओलीलाई चयन गरिएको थियो । जसको परिणाम रातारात ओलिलाई दिलाइदिएको राष्ट्रबादी छविसँग अन्तरसम्बन्धित देखिन्छ । जब ओली सरकारको पहलमा अर्थमन्त्रालयको डेलिगेसनले अमेरिका गएर हामी संसदबाट एमसिसि पास गर्न सक्दैनौ भनेर विश्वास गराएका घटनादेखि पछि फेरि अर्थमन्त्री युवराज खतिवडाले हामी जसरी भएपनि पास गराउँछु भनेर चिठी लेख्नु कहीँ न कही ओलिको बहिर्गमनको यात्रा सँग जोडिएको छ ।

    पछिल्लो समय अमेरिकाका राजदूतका रुपमा पूर्वअर्थमन्त्री युवराज खतिवडालाई नियुक्ति जस्ता कुरा सामान्यतया एमसीसी प्रकरणसँग अन्तरसम्बन्धित छ ।

    हिजो एमसीसी नेपाल र नेपालीको हितमा रहेको भन्दै तत्कालीन नेपाल सरकारका तर्फबाट मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता अनुमोदनका लागि हस्ताक्षर गरेको सर्वविधितै छ । र आज सोही पात्रलाई देउवाको सरकारमा ल्याउनु संयोग मात्रै होइन ।

    पछिल्लो घटनाक्रमले एमसीसी पास गराउनकै लागि ओली सरकार ढालेर देउवाको सरकार बनाएको छनक मिल्छ । माधव नेपाल र ओलीको इगोको सिकार पनि देशको राजनीति भएकै हो ।

    हिजो तत्कालीन सभामुख कृष्णबहादुर महरा पनि एमसीसी विरोधी देखिएका थिए । जसकाकारण एमसीसी संसदमा टेवल हुनसक्ने सम्भावना नभएपछि महरालाई अनेक आरोप लगाएको पनि कुरा पनि चर्चामा छ ।

    सामान्य बुझाइमा एमसीसी अमेरिकाबाट प्रदान गरिने सहयोग हो । वास्तवमा उक्त सहयोग अत्यधिक रकम पनि होइन । यदि नेपाल सरकारले एक वर्षको भष्टाचार नियन्त्रण गर्ने हो भने उक्त सहयोगभन्दा दोब्बर रकम जम्मा हुनेमा कुनै शंका छैन । यस्तो परियोजना पास गर्न मात्रै ओली सरकार ढालेको हो भने गर्व गर्नुपर्ने विषय छैन ।

  • ‘एकलव्यको देब्रेहात’को शल्यक्रिया

    ‘एकलव्यको देब्रेहात’को शल्यक्रिया

    युवा कवि गिरी श्रीसको एकलव्यको देब्रेहात मदन पुरस्कार छनौट सूचीमा परेको कृति हो ।

    मदन पुरस्कार गुठीले ’मदन पुरस्कार–२०७७’ का लागि छनौटमा परेको ९ पुस्तकहरुको सूचीमा छ यो कृति । गुठीलाई प्राप्त २२२ पुस्तकहरूमध्ये ९ वटा पुस्तकलाई श्रेष्ठ सूचीमा समेटिएको जनाइएको छ ।

    रुपन्देहीको बुटवलमा स्थायी बसोबास गर्ने उनी आफ्नो जीवन निर्वाहका लागि प्राविधिक क्षेत्रमा काम गर्छन् तर यो बीचमा उनले आफ्नो लेखनशैलीलाई रोकेका छैनन् ।

    गिरी श्रीस मगर समसामयिक काव्य मनिषीहरुका बीचमा चहकिलो पहिचान बनाएका राष्ट्रियस्तरका कवि हुन् । उनले ंयसभन्दा अघि नेपालीय साहित्यमा ‘पसिनाको संगीत र जीवनको गीत’ नामक काव्य संग्रह प्रस्तुत गरिसकेका छन् ।

    काव्य शिल्पका धनी गिरी श्रीस मगरले दोस्रो कृतिको रुपमा ‘एकलव्यको देब्रेहात’ लिएर नेपालीय साहित्य भण्डारमा हाजिर भएका छन् ।

    उनको कालीगडी परिस्कृत शैली र शिल्पले पाठकलाई लोभ्याउँछ । उनी हतारिएका छैनन् । धेरै कृति लेखेर प्रथम हुने होडमा भन्दा थोरै तर परिस्कृत र प्रभावकारी कृति दिएर अमर बनेका छन् ।

    गतवर्ष २०७७ फागुन ८ गते पाठक मञ्च बुटवलको आयोजनामा दीपनगरमा गिरी श्रीस मगरको ‘एकलव्यको देब्रेहात’ विमोचन भएको थियो ।

    यो पुस्तकको विषयमा प्रतिक्रिया दिँदै प्रगतिशील साहित्यकार शीत बिन्दुले कवि गिरी श्रीस मगरलाई अक्षरका कालिगड भन्दै नयाँ कविता संग्रह ‘एकलव्यको देब्रेहात’ कृतिको महत्व निकै माथि रहेको बताएका छन् । उनले मुलुकको हजारौं वर्ष पुरानो साँस्कृतिक भूगोल पछ्याउँदै कविले गगनी, सिस्ने, रोल्पा, आदि ठाउँका ढुङ्गा टिपेर आफ्नो कव्यिक शिल्पको छिनोले कविता कुँदेर टल्काएको बताएका छन् ।

    सामान्य पाठकको हिसाबमा उनले शीर्ष कवितासँगै नक्सा, धूलोमा खेलिरहेका नानीहरु, होडिङ्गबोर्डहरु, हात रोल्पा, महानगरमा, गाउँको फूल, सल्लाको धरमरको घर, इच्छा, ईश्वरको जन्मपछि, तिमी छुटेपछि, बोई बिनाको घर, सपना देख्ने दाजैलाई र सागरछेऊ उभिएर कविताले भित्रैसम्म छोएको बताएका छन् ।

    कविताहरु विभिन्न माध्यमबाट प्रकट हुन्छन् । गीत, गजल, मुक्तक, शास्त्रीय छन्द, गद्य छन्द कविताका माध्यम हुन् । यो कृतिमा गद्यलयको प्रयोग गरिएको छ । गद्य कविता स्वतन्त्र लयमा लेखिन्छ । यसलाई रबर छन्द भनिन्छ । यो कृति विमोचन गर्ने वरिष्ठ आख्यानकार जङ्गबहादुर शाहले गडौला छन्द भन्छन् ।

    गद्य कवितामा एक वा अन्य अनुच्छेदहरु पनि हुन्छन् । बिम्व प्रतीक र अलङ्कारहरुको यथोचित प्रयोग हुन्छ । अनुप्राशको प्रयोग गरी अन्तरलयात्मक बनाइन्छ । यस्तो गद्य छन्दमा लेखिएको कृति पढ्दा आनन्दको झङ्कार उत्पन्न हुन्छ ।

    एकलव्यको देब्रेहात कृति ६ खण्डमा विभाजित छ । पहिलो पिंधका मान्छेहरु खण्डमा १० वटा कविताहरु छन् । दोस्रो प्रश्नको श्वासप्रश्वास खण्डमा १० कविताहरु छन् । तेस्रो सहर सम्झदा कृतिमा ६ वटा कविताहरु छन् ।

    चौथो आत्मबोध खण्डमा ९ वटा कविताहरु छन् । पाँचौं गाउँको गोरेटो खण्डमा ६ वटा कविताहरु छन् । छैटौं उडान खण्डमा ५ वटा कविताहरु छन् । कविताहरु ४० देखि ९० पंक्तिसम्मका छन् । हरेक कविताहरुमा एक नभई अलग अलग अनुच्छेदमा रचिएका छन् । यो कृति १४० पृष्ठमा फैलिएको छ ।

    यस कृतिको शीर्ष कविता ‘एकलव्यको देब्रे हात’ हो । धनुर्धारी एकलव्य धनुर्विद्यामा पारंगत भएपछि उसले कसैलाई जित्न नसकोस् भनेर द्रोणचार्यले दाहिने हातको बुढी औला नै छिनालिदिएका थिए । तर एकलव्यले दाहिने हातले धुनु समातेर देब्रेहातले तीर चलाउन सिके । उनको सामथ्र्य निकै बढ्यो । मालिकलाई चक्रवर्ती सम्राट बनाउन द्रोणचार्यहरु अनवरत षडयन्त्रको मन्त्रोच्चारण गर्दै अश्वमेध यज्ञ र नरमेध यज्ञ चलाएर महाराधिराजको जय भन्दै हिंड्नेहरुका अगाडि औला छिनालिदिए पनि एकलव्यको देब्रै हात अरु शक्तिशाली बन्दै गई रहेको कुरा कविले बताएका छन् ।

    कविले यसलाई वाम आन्दोलनको प्रतीकको रुपमा लिएका छन् । उनले यो आन्दोलन कसैले हराउन नसक्ने बताएका छन् । यो पौराणिक बिम्ब वा मिथक प्रयोग गरी लेखिएको बेजोड कविता हो । यो कविता सौन्दर्यशास्त्रका दृष्टिले उच्च छ ।

    कविले यसलाई देब्रे हातलाई वाम आन्दोलनको प्रतीक र दाहिने हातलाई पूँजीवादी साम्राज्यवादीको प्रतीक ठानेका छन् ।

    कवि भन्छन्—

    देब्रे हातबाट दाहिने हातमा सरेको त्यो
    धनु हो कि इतिहासको नयाँ बाटो
    भत्काएर राजगुरुकुलको नियम देब्रे हातले
    ताँदोमा तानिरहेको
    तीर हो कि गन्तव्योन्मूख नयाँ बाटो ?
    द्रोणचार्यको सोंचभन्दा धेरै पर
    शक्तिशाली
    बेहद शक्तिशाली
    र झनझन शक्तिशाली हुँदै गइरहेको छ
    एकलव्यको देब्रेहात ।
    दााहिने हातका चार औंलाहरुले
    चरप्प समातेर धनु भव्य,
    द्रेणाचार्य दीक्षाको ठीक विपरीत
    देब्रेहातले
    ताँदोमा तीर तानिरहेछ
    किरात पुत्र एकलव्य ।

    उनको पहिलो कविता मौनव्रतको सीमा हो । यसमा कवि गिरी श्रीसले थातथलो जरोकिलोको कुरा उठाएका छन् । विभिन्न बहानामा भाषा, कला, संस्कृति समाप्त पारेर पहिचान खान खोज्नेहरु विरुद्ध धावा बोलेका छन् ।

    उनले भन्छन्—

    जहाँ मेरो बाटो सकिएको ठान्छ शासक
    त्यहीबाट शुरु हुन्छ मेरो यात्रा
    त्यहीबाट सकिन्छ मेरो मौनव्रत ।

    ‘पिंधको मान्छे’ कवितामा कविले भूइँमान्छेहरुको पक्षमा लेख्छन् । भुइँमान्छेहरु लड्छन्, बलिदान गर्छन्, जित्छन्, जिताउँछन् र केहीलाई शिखरमा पठाउँछन् तर उनीहरुको दस्ताबेजमा पिंधको मान्छेको नाम निसाना हुँदैन । उनीहरुको विषयमा शिखरमा चढेकाहरुले केही लेख्दैनन् । जीवन मूल्यहीन बनाउँछन् ।

    पिंधका मान्छेहरुका विषयमा कवि लेख्छन् —

    फेरि पनि किन सल्बलाउँछ ऐठनजस्तै
    पिंधको मान्छेको शरीरभरि
    उज्यालो दिनको सानासाना सपनाहरु
    पिंधको मान्छेको बारेमा उठिबस्छन् मनमा
    अनेकौं प्रश्नहरुको उच्छवास
    मौन बस्छ
    तर शिखरमा बस्नेले लेखेको इतिहास ।

    कवि ‘रोल्पा’ कवितामा जनयुद्धमा सबैभन्दा ज्यादा साहदत गरेका वीर रोल्पालीहरुको गौरवगाथा गाएका छन् । रोल्पा परिवर्तनको प्रतीक हो । अहिले गोर्खाको गौरव गाथामा रोल्पा, गौर र टिकापुर जोडिएका छन् । एकात्मक सत्ताको प्रतीक बनेको गोर्खा आज संघीय राज्यमा समावेशी भएर रोल्पा, गौर र टिकापुरसँग भावनात्मक एकीकरण जोडेर साझा राज्य बनेको छ ।

    वास्तवमा सहिदहरुको त्याग र बलिदानले नेपालमा युगान्तर आयो । एकात्मक सत्ता संघीय समावेशी सत्तामा बदलियो । राजतन्त्र समाप्त भएर गणतन्त्र आयो ।

    एउटा वंशभित्रमा कैद भएको सार्वभौम सत्ता नेपाली जनताको हातमा आयो । जनता सम्प्रभू भए । सबै विचार र आस्थाहरु स्वतन्त्र भए । आत्म सम्मान र पहिचानको जग बन्दै गयो । त्यो परिवर्तनप्रति कविले गर्व गर्न सक्नु पर्छ ।

    कवि उनीहरुका सपनाहरु मुर्झाउन थालेकोमा दुखित हुँदै भन्छन्—

    त्यही टुँडीखेलमा आज
    गुन्जिरहेछन् नव जर्नेलका गीतहरु
    अवाक छ, टुँडीखेलको एउटा
    कुनामा बैसाखी टेकेर उभिएको
    उपेक्षित भूतपूर्व छापामार ।

    कवि ‘भित्ताका नाराहरु’ कवितामा सहरको विद्रुप अवस्थाको चित्र गरेका छन् । यो प्रारम्भिक अवस्थाका अव्यस्थित सहरहरुको चित्रण हो । यो बुटवलकै चित्र कुँदेका हुन् कि झै प्रतीत हुन्छ । तर सहर सभ्यता पनि हो । लाखौको जीवन धान्ने श्रोत पनि हो । यसको वर्तमानको विद्रुप रुप बदल्नु पर्छ ।

    कवि भन्छन—

    व्यस्त ट्राफिकयुक्त सहरमा
    रिक्सा तानिरहेछ बालक
    द्रुत गतिमा कुँदिरहेछ टिप्पर,
    नाङ्गै दौडिरहेछ पागल,
    नगरप्रहरीसँग सन्त्रस्त वृद्धा
    सडकछेऊ पोलिरहेकी छन् मकै
    बसभित्र कोचाकोच उभिरहेका छन् वृद्धहरु
    कुटाइ खाइरहेछ पकेटमार
    ट्वाइलेट गन्हाउने साँघुरो गल्लीमा
    पालो कुरिहेछन् विरामीहरु
    चियाको कपमा
    आँधी उठाइरहेछन् बुद्धिजीवीहरु
    थापेर रेमिटान्स
    प्रेमी कुरिरहेकी छे युवती ।

    ‘धरमर घर’ कवितामा कवितामा संक्रमणकालीन अवस्थाको चित्रण छ । गाउँबाट सहरतिर बसाई सराईको क्रमसँग लागेको नयाँ नसा, त्यसले पारेको मनोवैज्ञानिक प्रभाव र गाउँको धरमर अवस्थाको चित्रण छ ।

    कृषि निर्भर अर्थतन्त्र उद्योग वाणिज्य अर्थतन्त्रतिर संक्रमण हुँदा सहरतिर बसाई सराईको क्रममा देखिएको चित्र हो । यो समयमा गाउँ उजाड र सहर गुल्जार बन्दै जान्छ । यो विकासको नियम हो । त्यो समयमा देखिएका विकृतिहरु यस कविताबाट प्रकट भएका छन् ।

    कवि लेख्छन् —

    यो पसेपछि घरभित्र
    बाहिरियो
    पितृका किंवदन्ती र झाँक्रीबाजेका कथा,
    पुर्खाले पुजेको भरोसा र आस्था
    निकालिए घर बाहिर
    आमाबाबा र बाजैबजै
    तामाका गाग्री र चरेसका थाल
    पुरानो सन्दर पुरानो चाल ।

    ‘ईश्वरको जन्मपछि’ दार्शनिक कविता हो । पृथ्वीको स्वचालित गति थियो । मानिस पनि स्वचालित थियो । आफ्नो भाग्य आफै बनाउँथ्यो । तर जब मनिसको सम्प्रभूता खोसेर ईश्वर आफू शक्तिशाली हुँदै गयो तब मानिस झनझन कमजोर र मगन्ते बन्दै गयो ।

    ईश्वर थपिएपछि दासत्वको शुरुआत भयो । ईश्वरको अवतार भन्दै सम्प्रभू बनेर राजतन्त्र जागे । ईश्वरले मन्छेलाई कर्म गर्न हैन कि भाग्य, ग्रह दशाको शिकारमा पा¥यो । आत्म निर्भर मानिस ईश्वरको नाममा मगन्ते भयो ।

    कवि भन्छन्—

    ईश्वर जन्मेपछि
    मानिस मगन्ते बन्यो
    र भयो झनझन कमजोर
    ईश्वर नि ऊ त भैगयो बलियो घनघोर ।

    कवि ‘बोई बिनाको घर’ कवितामा बोई नहुँदा मन र तन उजाडिएको ठान्छन् । सम्भवतः कविको बोइप्रतिको श्रद्धा र आस्था अलि बढी छ । उनले बोइको सम्झनामा कविता पनि लेखेका छन् । अन्य कतिपय प्रसङ्गहरुमा उनले बोइको सन्दर्भ गाँसेका छन् ।

    कवि लेख्छन्—

    धरतीजस्ती बोई थिइन्
    र त रहर थियो रहरजस्तो
    घर थियो घरजस्तो ।

    अन्त्यमा ‘कहर’ कथा छ । यो बेरोजगारले थलिएको नेपाली युवाहरुको चित्रण हो । जहानको टिकी, तिलहरी र खोरिया बेचेर भिसा लगाएर विदेश पुगी नेपालमा फर्कदाको चित्रण गरेका छन् ।

    कवि भन्छन् —

    कलंकीको छेउछाउँ सडक पेटीमा कतै
    किनेर पठाएथ्यो गाउँको गोरेसँगै
    बाबालाई छाता
    आमालाई मुजेत्रो
    भाइले रहर गरेको घुँडामा फाटेको पाइन्ट
    बहिनीलाई नोकिया ११००मोबाइल
    नानीहरुलाई काठमाण्डौं पुष्टकारी
    जहानलाई एक दर्जन रातो चुरा ।

    अन्त्यमा समाजमा सौन्दर्य छ । त्यो कच्चा पदार्थको रुपमा छ । कवि गिरी श्रीस मगरले त्यसलाई टिपेर कालिगढी शिल्प र शैलीले भव्य र दिव्य बनाएका छन् । कविका कथाहरु अभिँदा, लक्षणा तहमा मात्र छैनन् व्यन्जना तहमा पुगेका छन् ।

    समीक्षकले कविताको भावार्थलाई भिन्दाभिन्दै तहमा आआफ्नो क्षमताअनुसार अथ्र्याउन र बुझ्न सक्छन् । सरल भाषामा रमरम वौद्धिकता मिसिएको छ । विचार र भावनाको मिश्रण छ । तथापि कवितामा ज्यादा भावना हुनु स्वभाविकै हो । भावनाले कविता सिर्जन्छ । आवरणमा देखिने धनुर्धारी र शीर्षकको तालमेल छ ।

    लेआउट राम्रो छ । कविका कविताहरु स्तरीय छन् । कुनै कुनै कविताले वौद्धिक पाठक खोज्छन् । लामो कालीगढी साधना र परिस्कार र निखारबाट माझिएका कविताहरु पढूँ पढूँ लाग्छन् । कविले स्वानुभूति, परानुभूति र सामाजिक यथार्थलाई बडो कलात्मक रुपमा उतारेका छन् । कविलाई साधुवाद ।

     

     

     

     

  • जय अग्रगमन

    जय अग्रगमन

    छोड्नु हुन्न

    ओलीको गन्ध आउने

    अवशेष पनि छोड्नु हुन्न

    मेट्नुपर्छ

    नक्सामा थपिएको लिम्पियाधुराको चुच्चो

    ढाल्नुपर्छ

    स्वाभिमानका साथ उभिएको धरहरा

    पुर्नुपर्छ

    निशानी नरहनेगरि रानीपोखरी

    थुन्नुपर्छ

    देशैभर सुरूङ्ग मार्गका मुखहरू

    भत्काउनुपर्छ

    देशैभरका रङ्गशालाहरू

    काट्नुपर्छ

    पेट्रोलको पाइपलाइन

    उधार्नुपर्छ

    सिउँदै गरेको रेलको लिग

    चुँडाउनुपर्छ

    सयौं पुलका लाठा र बाँध्नुपर्छ तुइनका डोरीहरू

    फुटाल्नुपर्छ

    अयोध्यापुरी को राम मूर्ति

    बेच्नुपर्छ

    फेरि पशुपतिनाथको गजुर

    चलाउँ डोजर

    हजारौं किलोमिटर पिच बाटाहरूमा

    बन्द गरौँ

    चलिरहेको महिला उद्यमी कर्जा

    खुल्ला गरौँ

    बन्द भएका व्यवसायहरूमा सिन्डिकेट

    अझै गरौँ खारेज्

    कुनकुन बाँकी छन् संस्थाहरू

    र, बोकौँ

    संविधानको किताब

    र भनौं

    जय अग्रगमन ।

    विवेक देवकोटा – पोखरा

  • महिलाका पाठेघरमा पनि तिम्रै नियन्त्रण ?

    महिलाका पाठेघरमा पनि तिम्रै नियन्त्रण ?

    कैलालीकी उनी कमाएर बुवाआमालाई सुख दिने सपना साँचेर कुबेत उडिन् । छोरी कमाउन कुबेत जाँदा बाबुआमा खुसी थिए । छोरीको कमाइले परिवारको गरिबी घट्ने आशा थियो उनीहरुलाई । परिवारका अरु भाइबहिनीलाई पनि उनले पढाउँछिन् भन्ने आशा पालेर बसेका थिए ।

    कुबेत गएको वर्षदिनसम्म त उनी ठिकै थिइन् । घरमा पैसा पनि पठाइरहन्थिन् । पछि एक वर्ष गुमनाम जस्तै भएकी छोरी भारी जिउ लिएर नेपाल आइन् । छोरी विदेसिँदा फुरुङ्ग बाबुआमा अविवाहित छोरी गर्भवती भएर फर्किएको देखेर आत्तिए , हतासिए । त्यसपछि उनीहरुलाई छोरीभन्दा ‘इज्जत’ ठूलो लाग्यो ।

    पीडामा हुँदा सन्तानले आमाबुवाको साथ खोज्छन् । काख रोज्छन् । तर, नेपाली समाजमा पाठेघरसँग जोडिएको ‘चरित्र’ नामको कुनै अप्ठ्यारोमा परिन्, उनी । घर, नातसम्बन्ध अनि समाजबाटै परित्यक्त हुन पुगिन् । र कुनै संस्थाले सञ्चालन गरेको आश्रयगृहमा पुगिन् । त्यहीं सन्तान जन्माइन् । सन्तान आश्रयगृहकै जिम्मामा छाडेर केही महिनापछि उनी एक्लै घर फर्किइन् ।

    ०००

    चितवनकी एक किशोरी सामूहिक बलात्कारमा परिन् । बलात्कारपछि गर्भवती बनेकी उनलाई परिवारबाट पर एक आश्रयगृहमा राखियो । गर्भ फाल्न नमिल्ने अवस्था थाहा भएकाले उनलाई आश्रयगृहमै सन्तान जन्माउने व्यवस्था मिलाइयो । दुःख–सुख नौ महिना कोखमा गर्भ हुर्काइन् । तर, विवाहअघि त्यो पनि विनाइच्छाको सन्तान परिवारले कहाँ स्वीकार गर्नु ! एक भेटमा उनले भनेकी थिइन्, ‘नौ महिना कोखमा राखेको बच्चाको माया त लाग्छ नि ! विवाहअघि जन्मिएको यसलाई समाजले कहाँ स्वीकार्छ र !’

    उनको बच्चा पनि आश्रयगृहकै सहारामा छ । उनी अर्कै आश्रयगृहमा बस्छिन् । अनिच्छा नै सही, विवाहअघि भरिएको कोख आफ्नो भन्नसक्ने उनको अवस्था छैन ।

    ०००

    माथिका दुई घटना नेपाली समाजमा दोहोरिरहने प्रकृतिका हिंसाका हुन् । बलात्कार, अनिच्छाको सम्बन्धपछि गर्भ रह्यो भने आफ्नो कोखमा हुर्किरहेको भ्रुणलाई ती आमाले आफ्नो भन्न सक्दिनन् । एक त सामाजिक बहिस्कार, अर्को पहिचानको लागि बावु देखाउनुपर्ने हाम्रा सामाजिक र सरकारी संयन्त्रहरुको जञ्जालले पनि महिलालाई सन्तानको एकल अभिभावक भन्नसक्ने आत्मविश्वाससमेत प्रदान गरेको छैन ।

    ‘मेरो शरीर, मेरो अधिकार’को अभियान पनि पछिल्ला समय चलिरहेको छ । सुरक्षित मातृत्व तथा प्रजनन् अधिकारसम्बन्धी ऐनले पनि महिलालाई प्रजनन् अधिकारको हक दिएको छ । तर, आममहिलाका लागि यी हक नाम मात्रैको लेखोट जस्तै हो ।

    आम्दानी र सामाजिक हैसियतको हिसाबले आममहिलाभन्दा केही माथि उठेका महिलाले एकल आमा बन्नको लागि इच्छुक रहेको अभिव्यक्ति पनि दिँदै आएका छन् । केही समयअघि नायिका तथा मोडल नम्रता सापकोटाले विवाह नगरी बच्चा जन्माउन अथात् ‘सिंगल मदर’ बन्न चाहन्छु भनेर सञ्चारमाध्यममा अभिव्यक्ति दिएकी थिइन् । समाजिक सञ्जालमा उनको अभिव्यक्तिलाई नाना तरहले ट्रोल बनाइयो । उनलाई बाबुविनाकोे सन्तानको परिकल्पना गरेको भनेर हाइफाई व्यक्तिहरुले नै टिप्पणी गरे, गरिरहेका छन् । उनले आफ्नै शरीरमा रहेको एक अंगलाई आफ्नो तरिकाले उपयोग गर्छु भन्दा भद्दा टिप्पणी सहनुपर्यो ।

    हुन त सर्वोच्च अदालतले आजभन्दा २३ वर्षअघि अर्थात् २०५५ साल मंसिरमा अन्नपूर्ण राणाको मुद्धाको फैसलामा महिलालाई एकल आमा बन्न सक्ने गरी नजिर स्थापित गरिदिएको छ । ‘केटीले आफूखुसी कतै सकैसँग यौन सम्पर्क राख्न पुगी र त्यसबाट बच्चा पैदा भयो भन्दैमा त्यो केटीले त्यो केटासँग विवाह गरेको हो भनी स्वतः भन्न मिल्ने होइन’ भनी फैसलामा व्याख्या गरिएको थियो ।

    सर्वोच्चले थप व्याख्या गर्दै भनेको छ, ‘विवाह नभएकन पनि यौन सम्पर्क तथा बच्चा हुनसक्ने वास्तविकतालाई समेत लिएर मूलुकी ऐन अंश्वण्डाको ७ नं मा कुनै खास लोग्ने नतुल्याई बसेकी स्वास्नीबाट जन्मेको सन्तानले बावुको ठेगाना नलागेमा आमाको सम्पत्तिमा मात्र अंश पाउँछन् भन्ने व्यवस्था भएको हुनुपर्छ ।’

    सर्वोच्च अदालतले एकल आमालाई स्वीकार गर्ने नजिर स्थापित गरेको फैसलाको १७ वर्षपछि बनेको नेपालको लोकतान्त्रिक संविधानले व्यवस्था गरेको नागरिकतासम्बन्धी व्यवस्थाले नेपाली महिलाको एकल पहिचान स्वीकार नगर्ने निरंकुशतापूर्ण व्यवस्था गरेको छ । विदेशीसँग विवाह गरेकी नेपाली महिलाले आफ्नो सन्तानलाई वंशजको नागरिकता दिन नसक्ने व्यवस्था संविधानले नै गरेको छ । जसमा हाम्रा राजनीतिज्ञहरुको महिलाप्रतिको विभेदपूर्ण व्यवहार छर्लङ्ग देखिन्छ ।

    सुरक्षित मातृत्व तथा प्रजनन् अधिकारसम्बन्धी ऐनले भने स्वास्थ्य संस्थामा जन्म भएका सन्तानको हकमा बावु वा आमाको नाम राखी जन्मको प्रमाणपत्र दिनसक्ने व्यवस्था गरेको छ । यौनसँग सम्बन्धित हिंसामा परे ती महिलालाई जबरजस्त भएपनि त्यही पुरुषको जिम्मा लगाउने हाम्रा सामाजिक प्रवृत्तिलाई झल्को दिनेगरी केही कानूनी व्यवस्था भएका छन् । जसले महिलाको एकल कोखलाई स्वीकार गर्दैन । त्यहीमध्ये एक हो, घटनादर्ता सम्बन्धी व्यवस्था । जहाँ बालबालिकाको जन्मदर्ता हुँदा उनीहरुको ठेगाना बावुकै ठेगाना हुने व्यवस्था छ । यसले पनि आमाको एकल कोख स्वीकार नगरेको देखिन्छ ।

    मथिका केही उदाहरण र कानूनी व्यवस्थाले के प्रतिबिम्बित गर्छ भने नेपाली समाज, यहाँको कानून अझै पनि महिलाका हकमा निरंकुश नै छन् । ढुंगे युगको समाज परिवर्तन हुँदै उत्तरआधुनिक युगमा आइपुग्दा समेत महिलाको एकल पहिचान स्वीकार नगर्ने अवस्थामा नै छ नेपाली समाज । कानून बनाउने तहमा रहेका यहाँका राजनीतिज्ञहरु महिलाको यौनिकतामा अंकुश लगाउनुलाई गौरव ठान्छन् ।

    परिवारका सदस्यहरु महिलाका पहिचान आफूबिना अपुरो रहेको भन्ने स्थापित गर्नुमा उँचो महसुस गर्छन् । सबै प्रवृत्तिका एकीकृत स्वरुप हो, बाबुको पहिचानबिना सन्तान जन्माउन महिलालाई रोक लगाउने प्रवृत्ति । पितृसत्ताको एउटा विशेषता नै हो, महिलाको शरीरमाथि प्रभुत्व जमाइरहनु । पितृसत्ताका हिमायतीहरु विभिन्न नाममा महिलालाई ‘कठै’का पात्र बनाइरहन पाउनुमा गर्वबोध गर्छन्, आफ्नो पुरुषत्व स्थापित हुने ठान्छन् र महिलाका शरीर आफ्नो नियन्त्रणमा राखिरहन चाहन्छन् । अनि महिलाका पाठेघरमाथि नियन्त्रण जमाएर त्यही पाठेघर भएकै कारण महिलालाई कमजोर करार गरिरहन चाहन्छन् ।

  • बहुआयामिक लाभका लागि ‘सिद्धबाबा कृत्रिम पठार परियोजना’

    बहुआयामिक लाभका लागि ‘सिद्धबाबा कृत्रिम पठार परियोजना’

    नेपालको भूबनोट हिमाल, उच्च पहाड, मध्य पहाड, उपत्यका, भित्री मधेस, चुरे पहाड र तराईको समथर भाग गरी उत्तरदेखि दक्षिणतर्फ ढल्किएको छ । संसारकै सर्वोच्च शिखर सगरमाथासहितका उच्च हिमशृंखला पूर्वदेखि पश्चिमसम्म फैलिएका छन् र ती चुचुरा बाह्रै महिना हिउँले ढाकिएका हुन्छन् ।

    हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रमा धेरै चिसोका कारण मानिसको बसोबास पातलो भए पनि त्यहाँ धेरै महत्वपूर्ण दुर्लभ वनस्पती, जडीबुटी र खनिजहरु रहेका छन् । हिमालदेखि अबिरल बग्ने असंख्य खोलाहरू मिसिँदै ठूला नदीहरूको रुपमा भारतको गंगा नदी भएर बंगालको खाडी हिन्द महासागरमा पुग्छन् ।

    मध्यपहाडमा बाह्रै महिना न धेरै चिसो न धेरै गर्मी, राम्रो हावापानी, उर्वर खेतीयोग्य जमिन (खेतबारी) भएकोले मानिसको घना बसोबास छ । यहाँको पूर्वदेखि पश्चिमसम्म फैलिएको महाभारत पर्वत शृंखलामा प्रशस्त खनिज छ । उपत्यका र भित्री मधेस उर्वर खाद्यान्नका भण्डार हुन्, प्राचीन सभ्यताका धरोहर हुन्, अहिले आधुनिक सहरमा रुपान्तरण हुँदैछन् ।

    महाभारत पर्वतबाट दक्षिणतर्फ तराईमा आएर सकिने होचा पहाडलाई चुरे पहाड भनिन्छ । चुरे पहाड बलौटे माटो र कच्चा ढुंगा भएको, सुख्खा, भिरालो रुखो (कम उर्वर), घना जंगलले ढाकिएको, धेरै गर्मी हुने कच्चा पहाड हो ।

    भिरालो जमिन, धेरै गर्मी र भूस्खलन भैरहने, असुरक्षित भएकोले पनि यहाँ बसोबास न्यून छ । उत्तरबाट बगेर आउने खोलाहरू र चुरेबाटै उत्पत्ति हुने खोला खोल्सीहरूले बर्सादको समयमा चुरेलाई क्षतिग्रस्त बनाउँदै आएका छन् । चुरेबाट बगेर आउने गेग्रेटोले तराईको समथर जमिन पुरेर बगरमा परिणत हुने र बाढीले जमिन कटान हुने ठूलो समस्या छ ।

    तराई सुगम र उर्वर छ, घना आवादी छ, सबैतिरबाट बसाई सरेर आउने क्रम तीव्र भएकोले जनसंख्याको चाप अत्यधिक छ । बर्सादमा बाढीले जमिन कटान र डुबान, हिउँदमा सुख्खा तराईको मुख्य समस्या हो । चुरे संरक्षण र व्यस्थित गर्ने, हिउँदमा सिंचाई सुविधाको व्यवस्था गर्ने र आधुनिक व्यवसायिक कृषितर्फ लाग्ने हो भने हाम्रो तराईले आत्मनिर्भर मात्र होइन कृषि उपज निर्यात गर्न सक्ने सम्भावना छ । एकातिर पानी बगेर खेर गइरहेको छ, अर्कोतर्फ अन्नको भण्डार तराई सुख्खाग्रस्त छ । प्रकृतिले दिएर मात्र के गर्ने ? सदुपयोग गर्न नजानेपछि दुःख पाइँदो रहेछ ।

    पूर्वाधार विकासका लागि ढुंगा, गिट्टी, बालुवा, माटो अत्यधिक मात्रामा आवश्यक पर्दछ । यसको आपूर्ति चुरे भावर क्षेत्रमा खोलाहरुको जथाभावी उत्खनन गरेर गरिएको छ, जसले गर्दा चुरेमा झन् धेरै पहिरो जाने, तराईमा जमिन कटान र बगर बन्ने स्थिति बनेको छ ।

    तराईबाट उत्तरतर्फ जाने सडकहरू चुरे क्षेत्र भएर जानुको अर्को विकल्प छैन । चुरेमा पहिरो गएर हरेक वर्ष धेरै धनजनको क्षति भइरहेको छ । चुरेलाई संरक्षण नगर्ने हो भने भविष्यमा झन् ठूला विपत्तिहरू निम्तिन सक्छन् । यसमा दुई मत छैन ।

    चुरेको संरक्षणका निम्ति ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ मार्फत् सरकारले ठूलो धनराशी खर्च गर्दै पनि आएको छ । राष्ट्रको आवश्यकता र जनताको जिउधनको सुरक्षा र पूर्वाधार विकासका लागि आफ्नो प्राकृतिक स्रोत माटो, बालुवा, गिट्टी, ढुंगा आदिको माग आपूर्तिसँगै जोडेर एकीकृत रुपमा संरक्षण गर्ने नीति र कार्यक्रम नहुँदा जथाभावी दोहन भइरहेको छ, विनाश पनि जारी छ । अवैध कारोबार फस्टाएको छ, सीमित व्यक्तिले फाइदा लिएका छन्, जनता महंगोमा खरिद गर्न बाध्य छन्, राज्यकोषमा न्यून आम्दानी जम्मा भएको छ, समाजमा विकृति ल्याएको छ ।

    लुम्बिनी प्रदेश सरकारले बुटवल उपमहानगरपालिकाको उत्तरतर्फ ४ किलोमिटर सिद्धार्थ सडकखण्ड पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा पर्ने ऐतिहासिक सिद्धबाबाको पहिरो (कुहिरे भिर) क्षेत्रमा पर्दछ । त्यहाँ बाह्रै महिना पहिरो जाने, ठूलाठूला ढुंगा खसेर धनजनको क्षति र सडक अवरुद्ध भइरहने हुँदा जोखिम मोलेर आऊजाऊ गर्नुपर्ने बाध्यता छ ।

    पहिरो नियन्त्रण गर्न अहिलेसम्म गरिएका प्रयत्नहरु सफल हुन सकेका छैनन् । धेरै खर्च भयो, पहिरो जाने क्रम यथावत् छ । धेरै अध्ययन गरेर यसको विकल्पमा बेल्बास–झुम्सा र चरंगे–झुम्सा २ वटा वैकल्पिक सडक निर्माण भइरहेका छन् । संघीय सरकारले सुरुङमार्ग निर्माण गर्ने कार्यक्रम अघि बढाएको छ ।

    लुम्बिनी प्रदेश योजना आयोगले अध्ययन गरेर सिद्धबाबा क्षेत्रको चुरे संरक्षणको एउटा नयाँ अवधारणा ल्याएको छ । जोखिमयुक्त पहिरो गइरहने भिरालो २१४ हेक्टर जमिनलाई काँटछाट गरेर प्राकृतिक विपत्ति, जिउधनको रक्षा र वातावरणको विनाशलाई रोक्नका निम्ति ‘सिद्धबाबा कृत्रिम पठार परियोजना’ राम्रो प्रस्ताव हो । यसलाई कार्यान्वयन गर्दा अहिलेसम्म अभिशाप भएको कुहिरे भिर बरदानमा बदलिने, वन वातावरणको संरक्षणका साथै अन्य धेरै फाइदा हुने देखिएको छ, त्यो पनि शून्य लागतमा ।

    सिद्धबाबा कृत्रिम पठार परियोजना अहिलेको सिद्धबाबा मन्दिर र त्यसको परिसर क्षेत्रलाई कुनै असर नगरी मन्दिरको १०० मिटर माथिबाट सुरु गरेर ५ वटा समथर मुख्य सुर्कामा काँटछाट गरिनेछ । यी मुख्य ५ तहलाई वन क्षेत्र, मनोरञ्जन क्षेत्र, शैक्षिक क्षेत्र, व्यवसायिक क्षेत्र र आवास क्षेत्रमा उपयोग हुने गरी वर्गीकरण गरिएको छ ।

    एकदेखि अर्को सुर्काको बीचमा अनेकौँ खुट्किलाहरू निर्माण गरिनेछ, जसले गर्दा भविष्यमा कहिल्यै पहिरो जाने अवस्था आउने छैन । सुरु देखिनै ५ वटा मुख्य सुर्कालाई जोड्ने एउटा सडक निर्माण गरिने छ । यो सडकबाट निर्माण अवधिमा काँटछाट गर्दा निस्केको ‘माल’ ढुवानी गर्न सहयोग हुनेछ । पछि मुख्य सडकको रुपमा प्रयोग हुनेछ । यस प्रस्तावको अर्को सुन्दर पक्ष वर्षादको पानी संकलन गरेर लिफ्टमार्फत् पानीको आपूर्ति गर्ने योजना छ ।

    मुख्य पाँच तहमध्ये सबैभन्दा माथि २ तह ७८.१ हेक्टर समथर जमिन खुला वन क्षेत्र रहनेछ । यो शितल हावापानी भएको प्राकृतिक मनोरम वन र वन्यजन्तु चरण क्षेत्र हुनेछ, जुन पर्यटकको आकर्षणको केन्द्र हुनेछ । यसले यस क्षेत्रको पर्यटन विकासमा ठूलो सहयोग गर्नेछ । सबैभन्दा तलको भागमा ११.३९ हेक्टर समथर जमिन आमोद प्रमोद क्षेत्र रहनेछ ।

    यो क्षेत्रमा राम्रो पार्क विकास गरेर सिद्धबाबा मन्दिरमा आउने दर्शनार्थीहरू, बिहान घुम्ने, योगा ध्यान गर्नेहरूका लागि उपयुक्त स्थल र घुम्न आउने अन्य सबैलाई मनोरञ्जन स्थल हुनेछ । यसले व्यवसायिक, आवास र शैक्षिक क्षेत्रको बीचको सीमाको काम गर्नेछ । त्यसपछिको व्यवसायिक क्षेत्र १५.९८ हेक्टर समथर जमिन सिद्धार्थ राजमार्ग नजिक रहेकोले ज्यादै उपयोगी हुनेछ ।

    ५८.०१ हेक्टर समथर जमिन भविष्यमा शैक्षिक संस्था अनुसन्धान केन्द्र आदि खोल्नका लागि ज्यादै उपयोगी हुनेछ । आवास क्षेत्र २२.६५ हेक्टर समथर जमिन स्तरीय सुविधा सम्पन्न होटल, आवासीय कम्प्लेक्स वा अन्य व्यक्तिगत आवासीय घरहरुको रुपमा विकास गर्न सकिने प्रस्ताव गरिएको छ ।

    यो परियोजना सम्पन्न गर्न पहिरो काँटछाट गर्न लागत ८३ अर्ब २ करोड, सरकारलाई रोयल्टी १३ अर्ब ३२ करोड गरी जम्मा ९६ अर्ब ३४ करोड रुपैयाँ र १० वर्ष समय लाग्ने अनुमान गरिएको छ । यो रकम पहिरो काँटछाट गर्दा निस्कने ‘माल’ बिक्री गरेर व्यवस्था हुनेछ ।

    सरकारले यसका यस कामका लागि अतिरिक्त कुनै बजेट व्यवस्था गर्नुपर्ने छैन । सरकारले टेन्डर गरेर प्रतिस्पर्धामा प्राइभेट कम्पनीलाई दिए १ खर्ब १५ अर्ब रुपैयाँ प्राप्त हुनेछ । लागत खर्च घटाउँदा १८ अर्ब ८७ करोड ग्रास मार्जिन बचत हुने अनुमान गरिएको छ ।

    यसरी लगानी नगरीकन सिद्धबाबाको पहिरोको स्थायी समाधान हुने, निर्माण सामग्रीको अभाव घटाउने, चुरे पहाडको संरक्षण हुने, पूर्वाधार विकास भएको नयाँ जमिन प्राप्त हुने, हाम्रो ऐतिहासिक पुरातात्विक र धार्मिक सम्पदा रामापिथेकस पार्क र सिद्धबाबा मन्दिर राम्रो बन्ने, अतिरिक्त पानी उपलब्ध हुने, पर्यटनको विकास र नयाँ मनोरञ्जन क्षेत्र प्राप्त हुने आदि फाइदै फाइदा भएको यो ‘सिद्धबाबा कृत्रिम पठार परियोजना’ छिटो सुरु होस् भन्ने कामना गर्दछु ।

  • खीर: मीठो स्वाद, स्वास्थ्यवर्द्धक र मौलिक साँस्कृतिक खाना

    खीर: मीठो स्वाद, स्वास्थ्यवर्द्धक र मौलिक साँस्कृतिक खाना

    ‘असार १५ दही–चिउरा खानू, साउनको १५ खीर’ यो नेपाली समाजको छुट्टै र सामूहिक पहिचान हो । नेपाली समाजमा मात्र विद्यमान यो प्रचलनले नेपालीलाई एकताको सुत्रमा बाध्न महत्वपूर्ण भूमिका निभाएको छ ।

    हरेक बर्ष साउन १५ गतेका दिनलाई खीर खाएर रमाइलो गर्दै सांस्कृति पर्वकै रुपमा मनाउने गरिन्छ । आज साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ ।

    साउन १५ मा खीर खाने परम्परा कुनै धार्मिक महत्वको नभएर सांस्कृतिकरुपमा चलनमा ल्याइएको हो । सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन हाम्रो समाजमा रहेको छ ।

    दूधको एक परिकार भएका कारण थोरै खाएर धेरै पोषण प्राप्त गर्ने हुदा स्वास्थ्यको लागी एकदमै लाभदायक रहेको चिकित्सकहरुको भनाइ छ ।

    नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्पराको विकास भएको हो । यो कुनै धार्मीक पर्व होइन । यसको साँस्कृतिक संगै वैज्ञानिक महत्व पनि बोकेको छ ।

    साउन महिना वर्षात समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको पोषिलो खीरले धेरै मद्दत गर्दछ भन्ने कुरा वैज्ञानिक रुपमा प्रमाणित भएको छ ।

    खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । वर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खीर खाने गरेको पाइन्छ ।

    नेपाली समाजमा वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई खाने चलन रहेको छ । आयुर्वेद शास्त्रमा खिरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुणका छन् ।

    खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा मानव स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।

    अर्कोतर्फ हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपूजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । त्यसले पनि खीरको महत्व बढेको हो ।

    उता साउन महिना गर्मी पनि महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ ।

    यसप्रकार सामाजिक प्रचलनले हाम्रो सांस्कृतिक महत्वलाई मात्र दर्शाउँदैन, पारिवारिक जमघट र आफन्तहरुबीचको सामीप्यतालाई अझ प्रगाढ बनाउँछ । यसले देशको फरक पहिचान बढाउनुका साथै पर्यटन क्षेत्रको विकासमा समेत टेवा पु¥याउँछ ।

    विभिन्न सांस्कृतिक परम्परा नै हाम्रो देशको मौलिक पहिचान हो । यस्तो संस्कृति कतै पनि छैनन् । हाम्रा मौलिक पहिचानको जर्गेना गर्नु सबैको कर्तव्य हो तर पछिल्ला दिनमा यो कार्य ठूलो चुनौती बन्दै गएको छ ।

    यसमा आमजनताको चासो रहन आवश्यक छ । हाम्रा समाजका सबै सांस्कृतिक परम्पराको जर्गेना र पहिचान रक्षामा सबैले हातेमालो गर्नु जरुरी छ ।

     

  • प्रियंका ! गर्भावस्था तिम्रो गर्व हो, तर राष्ट्रिय पर्व होइन

    प्रियंका ! गर्भावस्था तिम्रो गर्व हो, तर राष्ट्रिय पर्व होइन

    कुनै–कुनै विषय यस्ता हुन्छन्, जसमा दिगमिग लागी–लागी पनि कलम चलाउनैपर्ने वाध्यता आइपर्छ । एक महिलाको गर्भावस्थाजस्तो नितान्त निजी विषयमा सार्वजनिक टिप्पणी लेख्दै गर्दा यस्तै सकस भइरहेको छ । नायिका प्रियंका कार्कीको भुँडी प्रदर्शनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘नयाँ जनवादी क्रान्ति’ सरह मानेर महिमामण्डन नगरिदिएको भए सायद यो ब्लग लेखिने थिएन ।

    कुनै समय यस पङ्तिकारको फेभरेट लिस्टमा थिइन् प्रियंका । अभिनयमा अब्बल, नाच्न पारंगत, रुप–जिउडाल चट्ट मिलेकी, सबै हिसाबले एक परिपूर्ण नायिका । चलचित्रबाहिर पनि उत्तिकै सशक्त प्रस्तुति दिनसक्ने उनको क्षमताले थप प्रभावित थिएँ । आफ्नै बलबुतामा उनले नेपाली चलचित्रमा उच्च स्थान बनाइन् । लामो समय नम्बर एक नायिकाको ताज भिरिन् ।

    तर, प्रियंकाप्रति मेरो मनमस्तिष्कमा रहेको पुरानो छवि अहिले नराम्ररी केरमेट भइसकेको छ । जसै उनी आयूष्मान देशराज जोशीसँग प्रेममा परिन्, पचाउनै नसकिने उत्ताउला हर्कतहरु देखाउन थालिन् । प्रियंका र आयूष्मानको जोडीले प्रेम प्रदर्शन गर्ने नाममा सार्वजनिक स्थानहरुमै उछृङ्खलता र अश्लिलताको भरपुर प्रसार गर्यो । सामाजिक सञ्जालमा झन् बढी प्रदूषण फैलाए उनीहरुले । त्यहीँबाट प्रियंकाको करिअरमा पनि डाउनफल सुरु भयो ।

    जसै प्रियंका गर्भवती भइन्, त्यसपछि सुरु भयो उत्ताउलोपन र उछृङ्खलताको अर्को चक्रवात् । आफ्ना डाइ हार्ड फ्यानहरुलाई समेत दिक्क पार्ने गरी उनले आफ्नो ‘बेबी बम्प’ को भद्दा प्रदर्शनी सुरु गरिन् ।

    खैर, अब उनीहरु अब वैधानिकरुपमै श्रीमान–श्रीमती भइसकेका छन् । पहिलो विवाह छोटो समयमा असफल भएको चोट प्रियंकाले सायद भुलिन् होला । उनको निजी जीवनले नयाँ लय समात्यो । तर, लयभंग भएको करिअर भने लिकमा फर्किन सकेन । केही वर्षदेखि  उनलाई ठूलीआमा, फुपू टाइपका रोलहरुमा बढी अफर आउन थालेका छन् ।

    प्रियंका–आयूष्मान विवाहपछि सामाजिक सञ्जालमा अलिकति अमनचयन कायम भएको थियो ! केही समय उनीहरु आफ्नै दुनियाँमा रमाए । विवाहलगत्तै देशव्यापी लकडाउन भएकाले घरमै हनिमुन मनाए उनीहरुले । नतिजास्वरुप प्रियंका दुई जिउकी भइन् । देशराज परिवारमा नयाँ सदस्य थपिने तय भयो ।

    जसै प्रियंका गर्भवती भइन्, त्यसपछि सुरु भयो उत्ताउलोपन र उछृङ्खलताको अर्को चक्रवात् । आफ्ना डाइ हार्ड फ्यानहरुलाई समेत दिक्क पार्ने गरी उनले आफ्नो ‘बेबी बम्प’ को भद्दा प्रदर्शनी सुरु गरिन् । आफ्नो भुँडीलाई उनले सामाजिक सञ्जालमा यत्रतत्र छताछुल्लै पारिन् ।

    प्रियंकाले पहिलोपटक सुखद खबर बाँड्ने क्रममा ‘वी आर प्रिग्नेन्ट’ (हामी गर्भवती भयौं) लेखेर केही अनौठो गर्ने छनक दिइसकेकी थिइन् । केही दिनपछि उनले नाइटोबाट जुस पिएको भद्दा तस्वीर पोष्ट गर्दै आफ्नो गर्भावस्थामाथि आफैंले मजाक सुरु गरिन् । यही बीचमा प्रियंकाको अत्याउने खालको अन्तरवार्ता आयो, जसमा उनले आफू कसरी गर्भवती भएँ भनेर सप्रसंग व्याख्या गरेकी छन् । सम्भवत यस्तो अभिव्यक्ति तपाईंले दुनियाँका बोल्डभन्दा बोल्ड अभिनेत्रीहरुको मुखबाट पनि सुन्न पाउनुभएको थिएन ।

    प्रियंकाले यस्तो भनेकी थिइन्ः

    ‘आयूष्मानले के भने भने, ल ठीक छ । अब डिसेम्बरमा बेबी पाउने हो भने अप्रिल–मेतिर ट्राइ गर्नुपर्यो नि त । तर, अप्रिल–मेमै फर्स्ट ट्राइ नगरौं । अगाडि पनि ट्राइ गर्दै जाउँ न । अप्रिल मेमा ट्राइ गर्नेवित्तिकै प्रेग्नेन्ट हुन्छ भन्ने त छैन । सो लेट्स ट्राइ कपल अफ टाइम्स भनेर, हाम्रो चैं फर्स्ट ट्राइ थियो क्या यो, जुन हामीले ट्राइ गर्यौं । ल अब चाहिँ ट्राइ गर्न स्टार्ट गर्ने, विस्तारै ट्राइ गर्दै जाने, डिसेम्बरमा बेबी पाउने गरी । त्यो केसमा चाहिँ हामी यस्तो लक्की भयौं कि फस्ट ट्राइमै प्रेग्नेन्ट भयौं क्या ।’

    प्रियंकाले भनेको ‘ट्राइ’ को तात्पर्य श्रीमानसँगको यौनसम्पर्क हो । कुनै पनि पुरुष महिलाबीचको यौनसम्पर्कभन्दा निजी विषय संसारमा अरु के होला ? अनि पहिलो यौनसम्पर्कमै सफल भयौं भनेर सञ्चारमाध्यममा छाती पिट्नु्भन्दा हाँस्यास्पद संसारमा अरु के होला ?

    दुनियाँलाई मनोरञ्जन दिने अर्को अन्तरवार्ता पनि आयो प्रियंकाको:

    ‘अस्ति एकचोटि मलाई एकजनाले भन्नुभयो, खाटमा पल्टेर सबैतिर छाम । अनि जहाँ कडा पार्ट छ, त्यो चाहिँ टाउको हो भनेर सिकाउनुभाकोथ्यो । आयूष र म खाटमा पल्टेर छामेर कहाँ कडा भेट्टाउँछ भनेर ट्राइ गर्‍यौं क्या‘ ।’

    प्रियंकाका तस्वीर र अन्तरवार्ताहरुमा नकारात्मक प्रतिक्रिया र गालीगलौजको जति वर्षा भए पनि उनी रोकिइनन् । उल्टो झन्–झन् हौसिँदै गइन् । तरह–तरहले भुँडी फिँजाएर दिनदिनै सार्वजनिक प्रदर्शन गर्दै आफ्नो मातृत्वमाथि मजाक गरिरहिन् ।

    सम्भवतः अब केही दिनभित्रमै यो सिलसिला टुंगिने छ । प्रियंका पहिलो बच्चा जन्माउने संघारमा छिन् । उनलाई अग्रिम शुभकामना ।

    ०००

    प्रियंकाको भुँडी अहिलेसम्म सञ्चारमाध्यमको पेज थ्रिका गसीप मात्रै बनिरहेका थिए । तर, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनको प्रशंसामा ट्विट गर्दै यसलाई मूलधारकै बहसमा तानिदिएका छन् । सामाजिक सञ्जालमा अनेक तर्कका बिस्कुन लगाएर पक्ष र विपक्षमा माथापच्ची जारी छ ।

    एकथरिले प्रियंकाको भुँडी प्रदर्शनलाई नेपालमा माओवादी समस्यापछिकै ठूलो राष्ट्रिय समस्याझैं मानेर टाउको दुखाइरहेका छन् । अर्काथरिले चाहिँ माओवादीले गरेको १० वर्षे जनयुद्धभन्दा ठूलो क्रान्ति प्रियंकाले गरेजसरी उनको जयजयकार गरिरहेका छन् । जे होस, सामाजिक सञ्जाल प्रयोगकर्तालाई राजनीतिबाहेक कुनै विषयले ध्यान खिचेको छ भने त्यो प्रियंकाको भुँडीले नै हो ।

    गर्भावस्थामा ठूलो भुँडी देखाएर यसअघि पनि थुप्रै सेलिब्रिटीहरुले प्रिग्नेन्सी फोटोसुट गरेकै थिए । तर, प्रियंकाजति विवादमा उनीहरु यसकारण आएनन् कि उनीहरुले यसरी ‘अत्याएका’ चाहिँ थिएनन् । अहिले अर्की नायिका ऋचा शर्मा पनि गर्भवती छन् । तर उनले आफ्नो भुँडीलाई बारम्बार सार्वजनिक स्थानमा तेर्स्याएर भाइरल बन्ने चेष्टा गरेकी छैनन् ।

    भुँडी प्रदर्शनलाई आधुनिकता र महिला सशक्तीकरणको बिम्बका रुपमा ब्याख्या गर्नेहरुप्रति चाहिँ टिठ लागेर आउँछ । यो सोच र समझको न्यूनताको परिणाम हो ।

    नेपाली महिलाको सबैभन्दा ठूलो गहना नै हो लज्जा । यसो भन्दा कतिपय क्रान्तिकारी, महिलावादीलाई पारो तात्छ । तर, यथार्थ यही हो कि कुनै चिजलाई जब लुकाएर राखिन्छ, त्यसप्रतिको कौतुहल र महत्व बढ्छ । जब उदांगो बनाइन्छ, महत्व स्वतः घट्छ । कुनै युवतीलाई विकिनीमा भन्दा सारीचालोमा बढी ग्ल्यामरस किन देखिन्छ ?

    अहिले प्रियंकाका समर्थकहरुको जोडदार तर्क छ, आफ्नो शरीर आफ्नो अधिकार । आफूलाई मन लागेको कामकुरा गर्दा अरुले टाउको दुखाउनु आवश्यक छैन भन्ने पाठ पढाइरहेका छन् उनीहरु । तर, उनीहरुले बुझ पचाएको कुरा के हो भने आफ्नै सम्पत्तिको गलत प्रयोग गर्यो भने पनि कानून लाग्छ । अस्ति भर्खरै आफ्नो घरको कोठा भाडामा दिन नमान्दा एक घरबेटी पक्राउ परिन् । शरीर पनि त्यही हो ।

    शरीर आफ्नो हो भनेर तपाईंले यसलाई सार्वजनिक स्थानमा जथाभावि प्रदर्शन गर्न सक्नुहुन्न । सडकमा कोही नांगै हिँड्यो भने पुलिसले समात्छ । त्यहाँ किन व्यक्तिगत स्वतन्त्रताको कुरा आउँदैन ? किनकी सार्वजनिक स्थानमा नग्नता फैलाउन नपाइने कानून छ । सामाजिक सञ्जाल पनि सार्वजनिक प्लेटफर्म हो । यहाँ पनि व्यक्तिगत स्वतन्त्रताका नाममा जथाभावी पोस्ट गर्न मिल्दैन । देशको कानून विपरीतका मात्र होइन, सामाजिक मूल्य–मान्यता विपरितका, अश्लिलता एवं विकृति फैलाउने सामग्रीहरु सेन्सर हुन्छन् र हुनुपर्छ ।

    भुँडी प्रदर्शनलाई आधुनिकता र महिला सशक्तीकरणको बिम्बका रुपमा ब्याख्या गर्नेहरुप्रति चाहिँ टिठ लागेर आउँछ । यो सोच र समझको न्यूनताको परिणाम हो । उदेकलाग्दो के छ भने जुन तप्का महिलाको शरीर बिकाउ माल होइन भन्दै आजको विज्ञापन बजारदेखि मनोरञ्जन उद्योगसम्मको खेदो गर्छ, त्यही तप्का भुँडी देखाउँदा महिलाको सशक्तीकरण हुने लाजमर्दो बकवास गरिरहेको छ ।

    भुँडी प्रदर्शन गर्दा महिला सशक्तीकरण हुने भए, मातृत्वको सेलिब्रेसन हुने भए, स्तन/योनि पनि त देखाए भयो । त्यसो गर्दा मातृत्व सेलिब्रेसन र महिला सशक्तिकरणले झन् सगरमाथाको उचाइ नै छुन्थ्यो कि ? यही तरिकाले हौस्याउँदै जाने हो भने केही वर्षमै त्यस्तो ‘क्रान्ति’ पनि देख्न नपाइएला भन्न सकिन्न ।

    ०००

    गर्भावस्था भनेको कुनै पनि महिलाका लागि जीवनको अविस्मरणीय कालखण्ड हो । आफूभित्र नयाँ जीवन हुर्किरहेको अनुभूतिमा प्राप्त हुने असीम आनन्दलाई एउटी आमाले मात्रै महसुस गर्न सक्छिन् । साथै, यो एउटा चुनौतिपूर्ण उपक्रम पनि हो । ९ महिनासम्म एउटा जीवनलाई पेटभित्र जोगाएर, हुर्काएर सुरक्षित जमिनमा अवतरण गराउने क्रममा हरेक आमाले कम्तिमा एकपटक मृत्युवोध गरेका हुन्छन् । त्यसैले त आमालाई जीवनदाता भनिन्छ ।

    मातृत्वको पुनित खुशीलाई विभिन्न तरिकाले सेलिब्रेसन गर्ने गरिन्छ । यसमा संसारभर आ–आफ्नै संस्कृति–संस्कार छन् । नेपालीहरुका पनि आफ्नै मौलिक संस्कार छन् । बच्चा जन्माउनुअघि आमालाई दहीच्यूरा खुवाउने, बच्चा जन्मिएपछि न्वारन, पास्नी गर्ने कुराहरुका धार्मिक–सांस्कृतिक महत्व आफ्नो ठाउँमा भए पनि ती अन्ततः ‘सेलिब्रेसन’ नै हुन् ।

    गर्भवती हुनु गौरव हो, तर कुनै अद्भूत आश्चर्य होइन । प्रियंकाले आफ्नो मातृत्वमा जति पनि गर्व गर्न सक्छिन् । उनले एकाधपटक तस्वीर हाल्दा ठूलो कुरा थिएन ।

    तर, आज आफ्नो संस्कृतिमा चित्त नबुझाएर शहरीया समाजको एउटा तप्का विदेशीहरुको अन्धानुकरणमा निमग्न छ । पैसा कहाँ फालुँ भनेजस्तो अवस्थामा रहेको यो मुठ्ठीभरको जमातले जब कुनै रिवाजलाई अंगाल्छ, अरु पनि त्यसको सिको गरेर पछिपछि दौडिन थाल्छन् । अझ सेलिब्रिटीहरुले त्यसलाई पछ्याएपछि त विजुली गतिमा तलसम्म प्रसार हुन्छ । परिणामस्वरुप आज विश्वमा भएभरका रीतिरिवाजको भारी नेपालीले बोकेर हिँड्नपरेको छ । देशकै रीतिरिवाजहरु खर्चिला भएर आमजनतालाई धान्न गाह्रो परिरहेका बेला आयातित पनि थोपरिएपछि मध्यमवर्गीय नेपालीलाई थेग्नै नसक्ने बोझ सिर्जना भएको छ ।

    प्रेग्नेन्सी फोटोसुट र बेबी सावर त्यस्तै आयातित संस्कृति हुन्, जो अहिले नेपालको शहरीया जमातमा फेसन बनिरहेको छ । नेपाली मौलिकता र सस्कृतिसँग ठ्याम्मै मेल नखाने सेलिब्रेसन हुन् यी । आमरुपमा आज पनि हाम्रा दिदीबहिनीहरु गर्भावस्थाको पेटलाई छोपेरै हिँड्न रुचाउँछन् । गर्भवती महिलाको ठूलो भुँडीमा साथीभाइदेखि सासु–ससुरासम्मले पालैपालो छाम्दै, चुम्मा खाँदै गरेको दृष्य हाम्रा लागि सुपाच्य छैनन् । तर, पचाउन नसक्दा नसक्दै पनि सामाजिक सञ्जालमा ‘वाउ’, ‘लभ्ली’ भन्दै कमेन्ट गर्नुपरेको छ ।

    हाम्रो आफ्नै सामाजिक, सांस्कृतिक मूल्यमान्यताहरु छन् । आधुनिकताको बर्को ओढेर आफ्ना मूल्य–मान्यताहरुलाई भत्काउँदै, आयातित संस्कृतिका पछि कुद्दै हामी आफ्नो देशलाई विदेशी मालवस्तुको बजारमा परिणत गरिरहेका छौ । विदेशबाट संस्कृति भित्रिँदा त्यससँग सम्वन्धित भौतिक वस्तुहरु पनि भित्रिन्छन् । नेपाली पैसा विदेशिन्छ । त्यसकारण देशको अर्थव्यवस्थाका लागि पनि यो प्रवृत्ति हानीकारक छ ।

    ०००

    गर्भवती हुनु गौरव हो, तर कुनै अद्भूत आश्चर्य होइन । प्रियंकाले आफ्नो मातृत्वमा जति पनि गर्व गर्न सक्छिन् । उनले एकाधपटक तस्वीर हाल्दा ठूलो कुरा थिएन । तर, उनको प्रस्तुति यस्तो छ मानौं, मानव इतिहासमै पहिलोपटक उनले यो काम गर्दैछिन् । मानौं, उनले सामान्य बच्चा होइन, आफ्नो कोखबाट ‘एलियन’ नै पैदा गर्न गइरहेकी छन् । मानौं, उनको गर्भावस्था राष्ट्रिय उत्सवको विषय हो ।

    प्रियंकाजी, भुँडी तपाईंको हो । यसलाई आफूले चाहेजसरी प्रयोगमा ल्याउन सक्नुहुन्छ । तर, यति सस्तो तरिकाले सामाजिक सञ्जालमा यसलाई फिँजाएर आफैंलाई र आफ्नो गर्भमा रहेको बच्चालाई मजाक नबनाउनुस, प्लिज । तपाईंको बच्चा भोलि बुझ्ने भएपछि आफ्ना आमाबुवाका हर्कतहरु हेरे लज्जित बन्नु नपरोस ।

  • देउवालाई ‘दाग मेट्ने’ अवसर

    देउवालाई ‘दाग मेट्ने’ अवसर

    पाँच वर्ष सरकार चलाउने म्यान्डेट पाएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले करिब आधा कार्यकालभन्दा बढी सरकार चलाउन पाएनन् ।

    अनेक राजनीतिक खिचातानी र दाउपेचको परिणामस्वरुप प्रधानमन्त्रीबाट केपी शर्मा ओली हटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आए ।

    राजनीतिमा के–के भयो ? थाहा छैन । तर, परिणाममा ओली हटे, देउवा आए । हामीले अब एकाध वर्षमै सरकार परिवर्तन हुने रोगबाट कहिले मुक्ति पाउने ? यो प्रश्न गम्भीर छ ।

    अब देउवा प्रधानमन्त्री हुने पनि बढीमा डेढ वर्ष हो । विगतमा बदनाम छवि बनाएको उनको यो कार्यकाल पनि कार्यकर्ता पोस्न र फेरि चुनाव जित्ने दाउमा मात्रै सीमित नहोओस् भन्ने आमचाहना छ ।

    देउवा नेपालको राजनीतिमा नयाँ नाम होइन । यसअघि चारपटक प्रधानमन्त्री भइसकेका देउवाले खासै उन्नत काम गर्लान् भन्ने आश कमै छ । ओली हटेर देउवा आउनु ‘नयाँ बोतलमा पुरानो रक्सी’ जस्तो मात्रै नहोस् ।

    देउवा २०५२ सालमा पहिलोचोटि प्रधानमन्त्री हुँदा म ६ वर्षको थिएँ, अहिले पाँचौपटक देउवा प्रधानमन्त्री हुँदा मेरो छोरा ६ वर्षको भएको छ । योबीचमा धेरै मान्छे प्रधानमन्त्री भए । तर परिणाम उस्तै छ । अब मेरो छोराले यो देशको राजनीतिक नेतृत्वबाट के सिक्ने, के पाउने ?

    हिजो संसदको करिब दुईतिहाई मत पाएर प्रधानमन्त्री भएका ओली अल्पमतमा परेर बाहिरिनु पर्यो । अहिले देउवाले पनि उल्लेख्य मत पाएका छन् । हिजो ओलीलाई प्रधानमन्त्री बनाउने बेला प्रचण्डले खुबै ओलीको गुणगान गाएका थिए । अहिले निकाल्ने बेला उछितो काडे ।

    हिजो आफ्नौ टाउकाको मूल्यका तोकेका देउवालाई प्रधानमन्त्री बनाउनुलाई प्रचण्डले जित ठानेका छन् । हिजो राजाको पाउमा संसद बुझाएका र राजाले चुनाव गर्न नसकेर असक्षम घोषणा गरेका देउवा अहिले प्रचण्डको नजरमा सक्षम र निर्विकल्प भएका छन् । यो नेपाली राजनीतिको रोचक सत्य हो ।

    देउवा प्रधानमन्त्री हुनेवित्तिकै औधी फुर्कनुपर्ने कारण छैन । किनकि, उनी प्रधामन्त्री बनेको जग दह्रो देखिए पनि निकै कमजोर छ । गठबन्धनका पाँच दल र आफ्नै पार्टीभित्रको गुट मिलाएर अघि बढ्न देउवालाई कम्ति चुनौती छैन ।

    कोरोना महामारीले ग्रस्त देशको अर्थतन्त्र र नागरिकको जीवनलाई लयमा फर्कउन देउवाले निकै कसरत गर्नुपर्ने छ । हिजो ओलीलाई गाली गर्न जस्तो सजिलो काम गर्न हुँदैन ।

    राजनीतिका कुरा छाड्ने हो भने ओलीले राम्रो कति गरे एउटा कुरा हो, तर देशमा नराम्रो गरेका थिएनन् । कुनै गम्भीर राष्ट्रघाती सम्झौता गरेनन् । विषम परिस्थितिका बाबजुत पनि ओलीले देशमा विकासको तरंग ल्याएकै हुन् । विकास बहस चलेकै हो । नेपाली सीमा फराकिलो भएको नक्सा जारी गरेकै हुन्, चीनसँग पारबहन सन्धी गरेकै हुन् । यस्ता केही उल्लेख्य काम गरेका ओलीलाई हटाउनैपर्ने कारण अर्कोलाई प्रधानमन्त्री बन्ने वा बनाउने लोभभन्दा अरु केही हो जस्तो लाग्दैन ।

    संसद विघटन गर्नु गलत भए पनि त्यो उनको बाध्यता जस्तो पनि थियो । चारैतिरबाट आक्रमण भएपछि शक्ति हुनेले आफ्नो अस्त्र प्रयोग गर्नु वा गर्न खोज्नु स्वभाविक नै थियो ।

    विगतमा कहिल्यै केही राम्रो नगरेरका देउवाबाट धेरै आश नगरेका कारण निराश पनि कम हुनुपर्ला । तर, ओलीको अभाव देउवाले पूर्ती गर्न सक्दैनन् । आफ्नै पार्टीको सरकार ढालेर विपक्षीको पोल्टामा सुम्पने प्रचण्ड र माधव नेपालले देउवालाई पनि जुनकुनै बेला धोका दिन सक्छन् ।

    जनता रोग, भोकको चपेटामा छन् । देशको स्वास्थ्य, शिक्षालगायत सबै क्षेत्र तहसनहस छ । जताततै बेथिति नै बेथिति छ । योबेला देउवाले जनताले सोचे वा चाहेभन्दा राम्रो काम गर्ने हो भने उनलाई हेर्ने आमनजर परिवर्तन हुनसक्छ ।

    देउवासँग काम गर्न चुनौतीसँगै केही सुन्दर अवसर पनि छ । विगतका आरोप र अहिलेका शंकालाई चिर्दै देउवाले देश र जनताका हितमा व्यापक काम गर्न सकुन् । विगतमा लागेका सबै दाग मेट्नका लागि उनको यो कार्यकार सफल होस्, शुभकामना ।

  • सैं पनि एमाले,खै कता एमाले ?

    सैं पनि एमाले,खै कता एमाले ?

    सत्तामा एमाले

    प्रतिपक्षमा एमाले

    पक्षमा एमाले

    विपक्षमा एमाले

    भोटमा एमाले

    नोभोटमा एमाले

    फ्लोरमा एमाले,

    क्रसमा एमाले

    संसदमा एमाले

    संसद बाहिर एमाले

    यता नि एमाले, उता नि एमाले

    बा नि एमाले, काका नि एमाले

    अक्सिजन, कार्बनडाईअक्साईड दुबै एमाले

    २१ र ८३ र १६५ जता पनि एमाले

    लोकतन्त्रमा एमाले

    जवजमा एमाले

    सै पनि एमाले, खै कता एमाले ?

    हाय भद्रगोल एमाले

  • कविता: धर्तीमा स्वर्गको बास

    कविता: धर्तीमा स्वर्गको बास

    धर्तीमा स्वर्गको बास हुन्छ
    यदि तिमी माटो प्रेमी भए
    धर्तीमा स्वर्गको राज हुन्छ
    यदि तिमी देशभक्त भए ।

    मातृभूमीको नदी नशा–नशामा सल्बलाउँछ
    यदि तिमी कञ्चन हृदयको भए
    रगत रगतमा इतिहास बग्छ
    यदि वीरताको गाथा भिरे ।

    चट्टान सरी शीर उँचो हुन्छ
    यदि हार नखाए
    तेजदृष्टि राख्नु पर्छ
    यदि पाइला भूमिमै अडिग रहे ।

    पालो अर्को सपूतहरुको हुन्छ
    यदि गर्वसाथ आँटिलो बने
    रक्षक तिमी यो देशको हुन्छ
    यदि राष्ट्रघातको हतियार नबोके ।

    फडानी आफ्नो आफ्नै हुन्छ
    यदि मार्ग सही नचाले
    माटो हो देशको चिन्नु पर्छ
    यदि मनमा अहंकार नभिरे ।।

  • भानुजयन्ती विशेष बाल कविता– सम्मान

    भानुजयन्ती विशेष बाल कविता– सम्मान

    भानुभक्त हो नाम बनी

    चिनिन्छन् नेपालका आदिकवि भनी

    विश्वभर प्रसिद्ध भए

    रामायणको अनुवाद लेखी

    सधैं राखे सकारात्मक र उच्च सोच

    कहिल्यै खोजेनन् केहीमा खोट

    अशिक्षितलाई शिक्षित बनाउने थियो उनको चाहना

    घाँसीबाटै पाए उनले प्रेरणा

    नेपाली साहित्यलाई दिए नयाँ पहिचान

    कुनै भाषा साहित्यको गरेनन् अपमान

    त्यसैले त पाए सबैतर्फबाट सम्मान ।

    (बालकवि पौडेल जेभियर इन्टरनेशनल स्कूल बौद्ध टुसालमा सात कक्षामा अध्ययनरत छिन्)

     

  • आरक्षण दिएको विभेद गर्न हो ?

    आरक्षण दिएको विभेद गर्न हो ?

    पछिल्लो समय ‘कोटा र कोठा’को बहस चर्को छ । सञ्चारकर्मी रुपा सुनारले दलित भएकै कारण कोठा नपाएको भन्दै प्रहरीमा उजुरी दिएपछि कतिपयले गैरदलित भएकै कारण कोटा नपाएको भन्दै अनेक तर्क गरेका छन् । तर यो तुलनायोग्य विषय होइन ।

    २०६८ सालको जातीय छुवाछुत तथा विभेद ऐनअन्तर्गत रुपा सुनारले प्रहरीमा उजुरी दिइन् । तर, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायत केहीले मुद्दालाई झिसमिस्याउने प्रयास गरे । परिणामतः कोठा नदिने घरबेटी सरस्वती प्रधान रिहा भइन् ।

    पछिल्लो समय जातीय व्यवस्थामाथि प्रश्न उठ्दा आरक्षण प्रणालीकोमाथि पनि प्रश्न उठ्ने गरेको छ । प्राय गैरदलितबाट उठ्ने गरेको प्रश्न हो, ‘दलित भनेर कोटा पाउँदा चाहीँ अपमान नहुने, दलितलाई दलित भन्दा चाहीँ अपमान हुने ? विभेद हुने ?’

    आरक्षणमा प्रणाली आफैंमा सकरात्मक विभेदयुक्त प्रणाली हो भन्ने कुरा थाहा नै नपाइ उठाइने यस्ता प्रश्न असंवेदनशील र असामाजिक हुन् ।

    जात र आरक्षण

    वर्तमान नेपाली समाजको मनोविज्ञान दुई धारमा विभाजित छ । आरक्षण पाउने जाति–समुदाय एक धारमा र नपाउने जाति समुदाय अर्को धारमा । आरक्षणको सिद्धान्त, उद्देश्य र आवश्यकताको ऐतिहासिक, सामाजिक संरचनाको अन्तरसम्बन्ध नबुझी उठाइने धेरै प्रश्नमध्येको एक हो, कोटा र कोठाको विषय ।

    कोटा अर्थात् आरक्षणः दोस्रो जनआन्दोलनपछि बनेको नेपालको अन्तरिम संविधान– २०६३ को समावेशी नीतिअन्तर्गत राज्यको मूलधारबाट नै पछाडि पारिएका सीमान्तकृत, अल्पविकसित जाति, समुदाय तथा लिङ्ग, दलित, जनजाति, मधेसी, महिलालाई मूलधारमा ल्याउने उद्देश्यका साथ लागू गरिएको हो ।

    नेपालमा आरक्षण प्रणाली सुरु भएको १४ वर्ष भयो । तर कोठासँग जोडिएको जातीय व्यवस्था सयौं वर्षौ पुरानो हो । यो नेपाली समाजमा नराम्ररी जकडिएको छ ।

    जातीय व्यवस्थाः इतिहास र यथार्थ

    १४ औं शताब्दीमा तत्कालीन राजा जयस्थिती मल्लले जातीय व्यवस्था र संरचनालाई वैधानिकता दिए, कानून नै बनाए । तत्कालीन नेपाली समाजलाई पेसाको आधारमा जात विभाजन गरिएको भनिए पनि जातीय व्यवस्थालाई वैधानिक रुपमै संस्थागत विभेद सुरु भयो । जाति विशेषलाई औपचारिक रुपमै माथिल्लो र तल्लो वा अछुत भनी व्यख्या गरियो ।

    निश्चित जात भएकै कारण सुनको गहना लगाउन नपाउने, फुसले छाएको घरमा बस्न नपाउने, साँझ परेपछि सहर बस्न नपाउने, ठूला जात भनाउँदासँग दोहोरो प्रश्न गर्न नपाउने र गरेमा अपराधीसरह दण्ड, सजायँ पाउने कानून लादियो ।
    जस्तैः ब्राह्मणः पूजापाठ गर्ने, लेखपढ गर्ने ।

    क्षत्रीयः राजकाज चलाउने, प्रशासक हुने र प्रहरी, सेनाको नेतृत्व गर्ने ।
    वैश्यः व्यापार तथा खेती किसानी गर्ने ।
    शुद्रः माथिका जातको सेवा र शारीरिक श्रम गर्ने ।

    यी जातिगत पेसा कानून लागू गरी पुस्तातरण गरियो र नमानेको खण्डमा दण्ड, सजायँको व्यवस्था गरियो । जस्तै शुद्रले तोकिएको जातिगत पेसाबाहेक पढ्ने लेख्ने, प्रहरी, सेना बन्नेकुरा गैरकानूनी थियो । गरेको खण्डमा सजायँको भागेदार हुनुपर्ने थियो ।

    जातीय व्यवस्थाको वैधानिकता पृथ्वीनारायण शाहको चार जात, छत्तीस वर्णहुँदै राणाकालमा लेखिएको पहिलो मुलुकी ऐनदेखि पञ्चायतकालको मुलुकी ऐन संसोधन नहुन्जेलसम्म जातीय व्यवस्था, संरचना र जातिगत पेसा औपचारिक रुपमै लागू भइरह्यो ।

    ५०० बर्ष बढीको इतिहासमा निश्चित समुदायलाई जातकै आधारमा राज्यको राजनैतिक, आर्थिकलगायत राज्यको हरेक तह, तप्कामा औपचारिक बर्चस्व कायम गराइयो । र निश्चित जातिलाई तल्लो भनी व्याख्या गरियो ।

    समाज र राज्य तहबाट जातका आधारमा भएको विभेदको परिणामलाई मूल्यांकन गरौं–

     

    यो तथ्यांकले जातीय व्यवस्थाबाट दलित, जनजाति पछि परेको प्रष्ट हुन्छ । र, उनीहरुलाई समान स्थितिमा ल्याउन आरक्षण अपरिहार्य छ । आरक्षणप्रति कुण्ठा व्यक्त गर्नुभन्दा सीमान्तकृत समुदायलाई कसरी मूलधारमा ल्याउन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ ।

  • नाता टुटेपछि पनि तिम्रै हैकम ?

    नाता टुटेपछि पनि तिम्रै हैकम ?

    केही समयअघि अमेरिकी धनाड्य बिल गेट्स र उनकी पत्नी मिलिण्डाबीच सम्बन्धविच्छेद भयो । उनीहरूले सार्वजनिक वक्तव्यमार्फत्‌ सम्बन्धविच्छेदबारे दिएको जानकारीले न्यूज पोर्टलहरूमा निकै स्थान पायो । संयुक्त वक्तव्यमा उनीहरूले पतिपत्नीको सम्बन्ध टुटे पनि संयुक्तरुपमा स्थापना गरेको फाउण्डेशन मिलेर नै सञ्चालन गर्ने अभिव्यक्ति पनि दिए ।

    बिल गेट्स दम्पतीको खबर पढिरहँदा मैले ती साथीलाई सम्झिरहेको थिएँ, जो सम्बन्धविच्छेदको पाँच वर्षपछि पनि सार्वजनिक स्थलमा पूर्वपत्नीलाई ‘मेरी श्रीमती’ भन्दै हिँड्छन् ।

    अझ बच्चाको विद्यालय, कार्यालय जहाँ पुगेर अनावश्यक टिप्पणी गर्दा पूर्वपत्नीको बेइज्जत हुन्छ, त्यहीँ पुगेर जथाभावी टिप्पणी गर्दै हिँड्छन्, दुःख दिन्छन् । पूर्वपत्नीका साथीहरू जो छन्, उनीहरूको समेत नकारात्मक टिप्पणी गर्छन् ।

    पूर्वपतिले दिएको हैरानीबाट आजित भएपछि उनले पटक-पटक प्रहरीको ढोका समेत ढक्ढक्याएकी थिइन् ।

    ती साथीसँगै स्मृतिमा आइन् तनहुँकी साहिरा खातुन । २०६६ सालमा विहे गरेलगत्तै उनका श्रीमान रोजगारीका लागि कतार गए ।

    साढे दुई वर्ष कतार बसेर काम गरे । कतार बसुन्जेल उनले फोनबाट साहिराको चरित्रमा टिप्पणी गरिरहे । तर, जब नेपाल घर फर्किए, उनले नै चत्रिहीन व्यवहार प्रस्तुत गरे ।

    साहिराले सुनाएकी थिइन् । घर फर्किँदा श्रीमान्‌ले अर्की केटी लिएर आए । तिनैलाई मेरी श्रीमती हो भन्दै साहिरालाई थप पीडा दिन थाले । त्यसपछि साहिराले सम्बन्धबिच्छेदका लागि जिल्ला अदालत तनहुँमा निवेदन दिइन् ।

    २०७१ सालमा अदालतले उनीहरूको सम्बन्धविच्छेद गरिदियो । श्रीमान्‌ इमान्दार नभएपछि मक्किएको सम्बन्धको कानूनी बाटोबाट नै टुंगिएपछि ढुक्कले श्रम गरेर बाँच्छु अनि आफ्नो जीवन जिउँछु भन्ने साहिरालाई लागेको थियो । सम्बन्ध नै टुंगिएपछि उसँगै हिँडेको त्यो पीडादायी यात्रा बिर्सिन चाहन्थिन् साहिरा ।

    तर, पूर्वपतिले भने उनीमाथि हैकम जमाउन चाहिरहे । साहिराले तीनवर्षअघि तनहुँमा भेट्दा भनेकी थिइन् ‘सम्बन्धविच्छेद भइसक्यो तर अझै अर्को विवाह गरे म र मैले विवाह गर्ने पुरुषलाई मारिदिने धम्की दिइरहन्छन् ।’

    उनी थप्छिन्, ‘त्यससँको सम्बन्ध टुटिसकेपछि पनि मैले कसैसँग विवाह गर्न नपाउने कस्तो व्यवस्था हो ?’

    विवाह सम्झौताको सम्बन्ध हो । जसले महिला र पुरुषलाई (केही देशले समलैंगिक सम्बन्धलाई पनि विवाह मानेका छन्) सार्वजनिक रुपमा संयुक्त जीवन बाँच्ने, सन्तान उत्पादन गर्ने कानूनी र सामाजिक स्वीकृति प्रदान गर्छ ।

    फरक परिवेश र वातावरणमा हुर्किएका दुई विपरीत लिंगीबीच भावनात्मक सम्बन्ध कायम रहँदा वैवाहिक सम्बन्ध कायम रहन्छ । जब दुईबीच नै सम्बन्ध चिसो हुन्छ तब वैवाहिक सम्बन्धको कुनै अर्थ रहँदैन । भावनामा फरक रहेर, सौहार्दता कायम नरहेर पनि सम्बन्ध रहिरहने हो भने दुवैजनाले तनाव र अनुत्पादनक जीवन बिताउने अवस्था आउँछ नै ।

    कमजोर सम्बन्धको तनावले अनुत्पादन रहनुभन्दा वैवाहिक सम्बन्ध टुंगाएकै वेश । जसरी बिल गेट्स दम्पतीले खुलेर सम्बन्ध टुंगाउने निर्णय गरे । यसो हुँदा कम्तिमा एकअर्काले आफ्नो स्वतन्त्र जीवन अघि बढाउन त सक्छन् ।

    हामीकहाँ चाहिँ विवाहित महिलाको एक्लो जीवन सहज छैन । हुन त पछिल्लो समय बढ्दै गएका सम्बन्धविच्छेदको तथ्यांकले हामीलाई सामान्य जस्तो पनि लाग्न सक्छ । महिलाहरू सम्बन्ध टिकाउन खोज्दैनन् भन्ने सार्वजनिक भनाइहरू पनि आइरन्छन् ।

    तर, नेपाली समाजमा आज पनि ‘बिना पारिश्रमिकको श्रमिक’ ठानिने बुहारीको अस्तित्व छैन । जब छोरीकोे सम्बन्धबाट फराकिलो श्रीमती, बुहारी, भाउजू… यस्तै सम्बन्ध थपिन्छन् तब आफ्नो पहिचान श्रीमान्‌बाट लिएर फेरि शुन्यबाट जीउनुपर्ने बाध्यतामा छन् महिलाहरू । कुनै कानून वा ऐनले निर्धारण नगरिदिए पनि समाजले तोकिदिएका परिभाषित बोझले सधैं थिचिरन्छ उनलाई ।

    भावनाले जोडेको सम्बन्ध टुटाउन त्यति सजिलो त छैन । म अनुमान गर्छु, बिल गेट्स दम्पतीले सम्बन्ध टुटाउने वक्तव्य निकाल्नुअघि पक्कै सुझबुझपूर्ण ढंगमा सल्लाह गरे होलान् । सम्बन्ध अघि बढाउन नसक्ने बुझेर नै एकअर्काको स्वतन्त्र अस्तित्व स्वीकार गर्न दुवै तयार भए ।

    हामीकहाँ विवाह नामक संस्था भावनात्मक र समझदारीको सम्बन्ध मात्रै होइन, महिलालाई अधीनमा राखिरहने बन्धन हो । देशका प्रतिष्ठित र सार्वजनिक ओहोदाका व्यक्तिको परिवारमा पनि श्रीमानको चरम बेवास्तालाई चुपचाप सहेर महिलाहरु बसिरहेको पनि सार्वजनिक वृत्तबाट छिपेको छैन ।

    सम्बन्धबिच्छेदका घटनासम्म आइपुग्नुअघि मेरी साथी र साहिरालेझैं सम्बन्ध टिकाउन महिलाले आफ्नो सबै बुताले भ्याएसम्म गर्छन् । हिंसा सहन्छन्, कुटपिट खेप्छन्, बेइज्जतीलाई सहजै पचाउँछन् । २४ घण्टे दिनमा १४ घण्टा हाराहारी बिनापारिश्रमिकको श्रममा बिताउँछिन् । हदै भएपछि सम्बन्ध टुंग्याउन चाहेमा उनैले खेप्छन् चारैतिरबाट ‘पोइ रिझाउन नजानेकी, घर गरिखान नसक्ने…’ जस्ता अनगिन्ती टिप्पणी ।

    मेरो नजिकमा एकजना बहिनी छिन् । जसले विवाहपछि एक छोरी जन्माइन् । त्यसपछि परिवार र श्रीमान्‌ले उनलाई मतलब गर्नै छाडे । जति कोसिस गरेपनि श्रीमान्‌को मन फर्काउन सकिनन् । न त परिवारले नै आड दियो ।

    माइतीको आश्रयमा पुगिन् । त्यहीबीच सिलाइकटाइ सिकिन् । आफैं कमाउन सक्ने भइन् । तर, श्रीमान्‌सँगको सम्बन्ध भने त्याग्न तयार भइनन् । उनले एकपटक भनेकी थिइन्, ‘श्रीमान्‌ले मतलब नगर्दा त बाँच्न गाह्रो छ । अझ सम्बन्धविच्छेद नै गरेर त बाँच्नै सकिँदैन, यो छोरीलाई पनि कसरी हुर्काउनु दिदी ।’

    सिलाइ कटाइ सिकेर कमाउन सक्ने भएपछि उनी श्रीमान्‌कै आश्रयमा फर्किएकी छन् । विवाहपछि डेढ वर्ष माइतीमा बिताएकी उनी पुनः श्रीमान्‌सँग सम्बन्ध अघि बढाउन आइन् । उनलाई वैवाहिक सम्बन्ध टुंग्याएर एकल पहिचानमा बाँच्नभन्दा आफ्नै परिश्रमले सही वैवाहिक जीवन नै उपयुक्त लागेको छ । अहिलेको हिंसा भन्दा भयंकर अप्ठ्यारो सम्बन्धबिच्छेदपछि आउने उनको बुझाइले पीडासहितको वैवाहिक सम्बन्ध स्वीकार गरेको हो ।

    हिन्दू सम्प्रदायमा विवाहपछि महिलाको स्वतः पूरा अस्तित्व, पहिचान श्रीमान्‌सँग गाँसिन्छ । गोत्र नै सरेर अर्काकोमा गएपछि उनको बासस्थान स्वतः श्रीमान्‌को घर हुन्छ । नयाँ बनेको मुलुकी देवानी संहिताले नै विवाहित महिलाको हकमा श्रीमान्‌को घर नै स्वतः उनको घर कायम रहने व्यवस्था गरिदिएको छ ।

    यसको अर्थ सकेसम्म सम्बन्ध टुंगाएर एकल अस्तित्वमा बाँच्न पाउने परिकल्पना हाम्रा व्यवहार, पारिवारिक सामाजिक संरचनाले गरेको छैन । रामायणमा त आफ्नो चरित्रको शुद्धता प्रमाणित गर्ने चुनौतीमा सफल भएपनि रामबिनाको अस्तित्व धारण नगरी सीताले आफूलाई धर्तीमा समाहित गराउँछिन् ।

    यस्तै मिथहरुको अनुशरणबाट अघि बढेको हिन्दू आर्य समाजमा विस्तारै महिलाले विहेपछिको जीवन पनि आफ्नो हुन्छ भनेर सोच्ने स्थिति आएपनि स्थापित भइसकेको छैन ।

    जस्तोसकै व्यवस्था भए पनि व्यवहार परिवर्तन नभएसम्म समानताको परिकल्पना सम्भव हुँदैन । पढेलेखेका, देश विदेशका परिवर्तित समाज बुझेकाहरु पनि अझै विवाहपछि श्रीमतीको स्वतन्त्र पहिचानलाई सम्मान गर्नुलाई पुरुषत्वमाथिको प्रहार ठान्छन् ।

    सम्बन्ध सहज अघि नबढ्ने भएपछि वैवाहिक जीवनको लहरोबाट बाहिर निस्किन्छु भन्न महिलाका निम्ति सकस छ । हुन त विवाह पनि वस्तु छनौट गरेझैं गुण-दोष जाँचीजाँची गरिने समाजमा महिलाले एकल अस्तित्व स्थापित गर्न निकै गाह्रो त छँदैछ, अब त्यस्ता पुरुषहरुलाई महिला स्वयंले नाता टुटेपछि पनि तिम्रो हैकम स्वीकार्य छैन भन्न सक्नुपर्छ ।