Category: साहित्य / ब्लग

  • अञ्जुको गीत रचनाले गाइन्, के बिराइन् ?

    अञ्जुको गीत रचनाले गाइन्, के बिराइन् ?

    दुःखमा, सुखमा, नृत्य-मुडमा गीतको तलतल लाग्यो भने साथ दिने विशेष गीतहरु बजिरहँदा अन्जु पन्तका गीतहरु छुट्दैनन् । उनका गीतहरुसँगै प्रितहरु आइपुग्छन्, अतीतहरु आइपुग्छन् । उनका गीतहरुसँगै सम्झना-बिर्सनाहरु सामुन्ने उभिन्छन् । कसैप्रतिको प्रार्थना–कामनाहरु अगरबत्ती बन्छन्, वरिपरि मगमगाउँछन् ।

    त्यस्तै एउटा कालजयी गीत हो– नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई, जुन अहिले चर्चा र गसिपको केन्द्रमा छ ।

    कुनैबेला धेरैको जिब्रोमा झुण्डिएको यो गीत भर्खरै पुनः रेकर्डिङ भएर युट्युबमा सार्वजनिक भयो । स्वर दिइन् रचना रिमालले । कतिले यसलाई नयाँ भर्सन भने, कतिले नयाँ गीतकै दर्जा दिए । सर्जकले चाहिँ ‘रचना भर्सन’ भनेर सार्वजनिक गरेका थिए । नयाँ प्रयोग ?

    तर, न मेलोडी परिवर्तन, न शब्दमा तलमाथि । स्वर मात्रै परिवर्तन भएको छ, सिर्फ पुनः रेकर्डिङ भएको छ । आम प्रतिक्रिया देखिन्छ- रचनाले अन्जुले जस्तो राम्रो गाइनन् ।

    पक्कै पनि उनले अन्जुले जस्तो गाइनन् । किनभने रचना अन्जुको युवा भर्सन होइनन् । रचनाको स्वरको आफ्नै शैली, मधुरता र हस्ताक्षर छ, जसरी अन्जुको छ । हामीलाई त एउटा अन्जु नै काफी छ ।

    हामीलाई काठमाडौंका स्टुडियोहरुमा बग्रेल्ती गीत रेकर्ड गराइरहेका राजेश पायल राईहरु चाहिएको छैन । हामीलाई एउटा ओरिजिनल राजेश पायल नै काफी छ ।

    डेढ दशकअघि रेकर्ड भएको ‘नबिर्सें तिमीलाई’ गीत जसरी हाम्रो मनमस्तिष्कमा बसेको छ, त्यस हिसाबले हामीले यो गीत बज्दा अन्जुलाई नै खोज्छौँ । अन्जुकै मधुर स्वर चाहिन्छ हामीलाई । हामी त्यही स्वरमा अभ्यस्त भइसकेका छौं । डेढ दशकपछि त्यही गीत पुनः अर्को स्वरमा बज्दा अन्जुको धङधङी खोजिनु स्वभाविक हो ।

    मलाई लाग्छ, यो गीत बज्दा स्रोताहरुले अञ्जुकै स्वर बढी खोजी गर्छन् भन्ने विषयमा रचना अनभीज्ञ थिइनन् । करियरको मीठो लयमा रहेकी, आफूलाई संगीतप्रेमीमाझ फैलाउँदै लगेकी रचनाले पक्कै पनि यो बुझेरै जोखिम मोलेकी होलिन् । कसैको उक्साहटमा नलागी स्वविवेकले नै निर्णय गरेकी होलिन् ।

    सबै गीतले पुनः रेकर्ड हुने सौभाग्य पाउँदैन । जुनजुन गीत दर्शक स्रोताले मिस गरिरहेका छन्, त्यस्तै गीतहरु पुनः रेकर्ड भइरहेका छन् । कत्ति गीतले ओरिजिनल स्रष्टाहरुलाई फाइदा नै भएको छ । दर्शक स्रोताले सम्झिरहेको, तर अनेक बाध्यताले दृश्यमा नदेखिएका स्रष्टालाई पुनः देखाइदिएका छन् ।

    उनलाई पक्कै थाहा थियो होला, आफूभन्दा जेठी पुस्ताकी सम्मानित गायिका अन्जु पन्तको स्वर रहेको गीत पुनः गाउनु खुद्रा जोखिम अवश्य होइन ।

    तर, जोखिमबारे थाहा थिएन भने पनि रचनाले लिएको जोखिम वा अपनाएको बाटोबाट पक्कै केही सिक्नेछिन् । आफूलाई अझैं म्याच्युर्ड बनाएर लैजानेछिन्, अझै तिखारेर लैजानेछिन् । यसको थप प्रमाण त रियालिटी शोदेखिको यहाँसम्मको उनको यात्रालाई हेरे पनि पुग्छ, धेरै टाउको दुखाउन आवश्यक नै छैन ।

    ‘गीत पुनः अर्कैको स्वरमा रेकर्ड हुँदा अन्जुलाई अन्याय भयो ।’

    सलह किरा जसरी नेपाल आइपुगेको थियो, त्यसैगरी यस्ता प्रतिक्रियाहरु छ्यापछ्याप्ती छन् । अन्जुलाई कसरी अन्याय भयो ? उनको गीत नवोदित गायिकाले गाइदिँदा यसै विराट क्षेत्रमा फैलिएकी अन्जु झनै फैलिइन् । उनको स्वर झनै विस्तार भयो । अन्जुलाई सम्झिरहेका हामीलाई झनै सम्झनुपर्ने बनाइन् रचनाले ।

    अन्जुको स्वरको ओज, मादकता उस्तै छ । त्यसमा अझै थप गरिदिइन् रचनाले ।

    ०००

    पुराना गीतहरु पुनः रेकर्डिङ गर्ने लहरै चलेको छ पछिल्लो समय । चाहे ‘फुलबुट्टे सारी’ होस् या ‘तिमी तारे भीर’ । वा बजारमा आएका अन्य गीतहरु !

    सबै गीतले पुनः रेकर्ड हुने सौभाग्य पाउँदैन । जुनजुन गीत दर्शक स्रोताले मिस गरिरहेका छन्, त्यस्तै गीतहरु पुनः रेकर्ड भइरहेका छन् । कत्ति गीतले ओरिजिनल स्रष्टाहरुलाई फाइदा नै भएको छ । दर्शक स्रोताले सम्झिरहेको, तर अनेक बाध्यताले दृश्यमा नदेखिएका स्रष्टालाई पुनः देखाइदिएका छन् ।

    नयाँ गीत सृजना गर्न नसकेर पुरानैलाई पुनः रेकर्ड गराइएका आलोचनात्मक टिप्पणीहरु पनि बेलाबेला सुनिन्छ । त्यसो हो भने चाहिँ ईश्वरले कृपा गरुन्, हामी स्रोताले त माया मात्रै दिने हो ।

    तर, पुराना गीतहरु पुनः रेकर्ड हुनु आफैंमा नराम्रो कुरा होइन । यसले अन्ततः स्रष्टालाई नै फाइदामा पुर्याउँछ । यसको जल्दोबल्दो उदाहरण अन्जु स्वयं हुन् । ‘हाँस्नलाई ओठ खोले’ गीत पहिल्यै रेकर्ड भएको थियो । तर, चाहेजति स्रोतामाझ पुग्न सकेन, जब अन्जुले गाइन्, तब गीत दूरदूरसम्म फैलियो ।

    ०००

    कसरी, कुन सर्तमा रेकर्ड भयो गीत ? प्रथम प्रश्न यो होला ।

    ‘किरण’ एल्बममा समावेश यो गीतलगायत एल्बममा समावेश गीतहरु गीतकार विपिन किरणले लगानी गरेका थिए । रन्जना क्यासेटले बजारमा ल्याएको यो एल्बमबाट किरणले कति रोयल्टी पाए लगानीकर्ताको हैसियतमा, यो उनैलाई थाहा होला ।

    अन्जुले गाएको गीत ‘म्युजिक नेपाल’मार्फत् सार्वजनिक भएको छ । त्यहाँबाट प्राप्त भ्युजमार्फत् स्रष्टाहरुले कति रोयल्टी पाए, छलफलको अर्को विषय होला । रोयल्टीको लडाइँमा किरण स्वयं, संगीतकार पारस मुकारुङ, लक्ष्मण शेष, सुदाम थापा, सुरेश अधिकारी, महेश खड्का, सत्य-स्वरुपराज आचार्यलगायत लडिरहेकै छन् । रोयल्टीकै लडाइँमा लड्दालड्दै न्याय नपाइ प्रेमध्वज प्रधानहरुले संसार छाडेर गइसके ।

    अहिलेको नेपाली संगीत प्रवासमा बस्ने गीतकारहरुले धानेको देखिन्छ । अरबमा बालुवा छानेर वा युरोप-अमेरिकाका मार्टमा १६ घण्टासम्म हड्डी घोटेर कमाएको पैसाले अहिलेको संगीत बजार चलायमान बनाएको देखिन्छ । दैनिक दर्जनौँ संख्यामा सार्वजनिक भइरहेका गीतहरु हेर्ने हो भने ७५ प्रतिशतभन्दा ज्यादा लगानी प्रवासमा रहेका नेपालीहरुको छ, जो आफैंमा गीतकार पनि हुन् ।

    रेडियो नेपालमा रेकर्डित गीतहरु कहाँ कसको कब्जामा छ, त्यसमार्फत् कसले फाइदा लिइरहेको छ ? ती गीतका स्रष्टाहरुले सृजनाको हकअन्तर्गत रोयल्टी त पाइरहेका छन् ? जसको सुनिश्चितता प्रतिलिपि अधिकार ऐन ०५९ ले तय गरेको छ । ०५९ को त्यो ऐन संशोधनको प्रक्रियामा पनि छ अहिले ।

    लहरो तान्दा पहरो थर्किएझैं हामीले हेर्नुपर्ने विषय यी पनि त हुन् ! कतै विपिनले आफ्ना सृजनाहरु आफ्नै बनाउनका लागि आफ्नै च्यानलबाट सार्वजनिक गर्न पारिश्रमिक दिएर रचनाको स्वरमा पो रेकर्ड गराएका हुन् कि ! किनभने व्यवसायिक भनिएका म्युजिक कम्पनीहरुले ९९ वर्षसम्मको समयावधिका लागि प्रतिलिपि अधिकार लिएका उदाहरण प्रशस्त छन् । यो भनेको चार पुस्तासम्मका लागि कसैको सृजना कब्जा गर्नु हो । अनि स्रष्टा बितेको पचास वर्षपछि रोयल्टी फ्री भइहाल्छ । यस्तो सम्झौता खारेज नगर्ने हो भने स्रष्टाको हालत के होला ?

    हामीले सामाजिक संजालमा गीतमाथि मात्रै छलफल चलाउनुभन्दा यी र यस्ता अन्यायपूर्ण सवालहरुमाथि छलफल चलायौँ भने स्रष्टाहरुलाई त्यसले बल दिनसक्छ ।

    कानूनसम्मत जाने हो भने लगानीकर्ताको अनुमति लिएर मात्रै कलाकारले स्टेजमा गीत गाउन सक्छन् । त्यसमा गीतकार, संगीतकारहरु जोडिन्छन् । गीतकार, संगीतकारले पनि सृजनाको रोयल्टी पाउनुपर्छ ।

    ‘अन्जुको गीत रचनाले गाइ’ भनेर कोकोहोलो मात्रै गरिरहनुको कुनै अर्थ छैन । प्रतिक्रियाको बाढी ल्याएर मात्रै सबै समस्याको समाधान हुन्न ।

    ०००

    महेश खड्काको संगीतमा रहेको गीतलाई विपिन किरणले आफैं लगानी गरेर ल्याए रचनाको स्वरमा । एउटा गीतकारलाई किन यत्रो दुःख गर्नुपर्यो ? किन आफैं लगानी गरेर, आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुपर्यो ? गायिकामाथि मात्रै बर्खाको भ्यागुता जसरी कराइरहनुभन्दा यतातिर पनि सोच्नु जरुरी छ ।

    अहिलेको नेपाली संगीत प्रवासमा बस्ने गीतकारहरुले धानेको देखिन्छ । अरबमा बालुवा छानेर वा युरोप-अमेरिकाका मार्टमा १६ घण्टासम्म हड्डी घोटेर कमाएको पैसाले अहिलेको संगीत बजार चलायमान बनाएको देखिन्छ । दैनिक दर्जनौँ संख्यामा सार्वजनिक भइरहेका गीतहरु हेर्ने हो भने ७५ प्रतिशतभन्दा ज्यादा लगानी प्रवासमा रहेका नेपालीहरुको छ, जो आफैंमा गीतकार पनि हुन् ।

    उनीहरुले १६ घण्टासम्म पसिना बगाएर खाजा खाने र सुत्ने समयबाट फुर्सद निकालेर पसिनाले नै लेखेका शब्दहरुलाई झारो टार्ने तरिकाले भरिएका संगीतका थुप्राको उचाइ त सगरमाथाको भन्दा अग्लो छ । संगीतको नाममा संगत भर्यो, घरको चुल्होचौको बाल्यो । चुल्होचौको बाल्ने अभिप्रायले ती प्रवासीहरुको गीतमाथि सृजना गरिएका गीतको हालत के होला ?

    पाँच लाख, सात लाख रेमिट्यान्सबाट पठाइमागेर डेढ लाखमा सकाइएका म्युजिक भिडियोका अवस्था के होला ? उनीहरु बेल्चाले बालुवा होइन, पैसा उघाउँछन्झैं सोचेर यहाँ गरिएका कामचलाउ कामहरुको औचित्य के होला ? त्यत्रो लगानीको फिर्तास्वरुप उनीहरुले के पाउँछन् ? केही पनि प्राप्त नहोस् भनेर त पक्कै लगानी गरेका हुँदैनन् होलान् !

    हामीले त यता पनि छलफल गरौँ न !

    ०००

    अन्त्यमा, रचना जस्ती प्रतिभावान गायिकालाई अनेक तरहले प्रहार गरेर मनोवैज्ञानिक रुपमा कमजोर बनाउनु न्यायसंगत होइन । गाउने उनको कर्म हो, पेशा हो, उनले गाइन् । भोलिका दिनमा पनि गाइरहनेछिन् । सायद, रचनालाई लगानीकर्ताको हैसियतमा विपिन किरणले नै प्रस्ताव गरेका हुन सक्छन् ।

    अन्जुको स्वरमा रहेको गीत पुनः गाउँदैमा रचनाले जघन्य अपराध गरेकी होइनन् । हजारौँ गीत गाएकी अन्जुको एउटा गीत रचनाले गाउँदैमा अन्जुको सबैथोक पनि सकिँदैन । अन्जुमाथि कुनै पहाड खस्दैन । हामीमाझ अन्जुको जुन खालको छवि छ, अन्जुलाई हाम्रो जुन खालको माया छ, त्यो सदासर्वदा रहिरहने छ ।

  • रेखामा कोरिएको भविष्य 

    रेखामा कोरिएको भविष्य 

    काठमाडौंको संरचना, कमिलासरी आफ्नै रफ्तारमा गुडिरहेका मोटरहरु धुवाँ धुलो उफ् ! मानिसहरुको भिडभाडमा आफूलाई व्यस्त बनाइरहेको राजधानी कति नतमस्तक छ, कृत्रिम दुनियाँमा ।

    मानिसहरु पनि त्यस्तै सोचाइमा व्यस्त छन् । यो जिन्दगीमा अझै संघर्षको समायावधि कति होला भन्नेमा कौतुहल जम्माइरहेका छन् । भविष्यमा सुखी र खुशी बन्ने अभिलाशा बोकेर आफ्नै तरिकाले दगुरिरहेका छन् म जस्तै मान्छेहरु ।

    हत्तेरीका ¤ कति अभावको जिन्दगी बाँच्नु परिरहेको होला मैले पनि, कहिँ कतै दुःख बिसाउने ठाउँ पनि भेट्दिनँ । फेरि सडकको किनारमा कति निस्फिक्री बसिरहेका होलान्, जोतिषहरु– धुँवा धुलोको केही पर्बाह नै छैन ।

    यता नगर प्रहरी पनि आफ्नो ड्युटी पूरा गर्न दर्गुर्दै छन् । भने जसरी आनन्दले बस्न पनि मिलेन ! तैपनि आफू चिसो भुर्इँमा ओठ कलेटी पारेर बसिरहेका छन् दुनियाँको भविष्य बताउन । खै खाने मेसो हो कि क्या हो ? जे होस् जोतिषलाई भ्याइनभ्याइ छ । त्यसैले काठमाडौंको सडकझैँ व्यस्त छन् उनीहरु पनि ।

    हस्तरेखाको नक्सा फिँजाएर भविष्यवाणी गरिरहेका छन् । उनीहरु जस्तै सडक पेटीमा आफूलाई लमतन्न पारेर चिसो भुईँमा ओच्छाइरहेका ती अपाङ्गता भएका मानिसहरु । जसको हात छैन, कति जिज्ञासु छन् तिनीहरु पनि, भाग्यको अनुमान गर्न । हात नहुनेको भाग्य हेर्न मिल्दैन र ? तर विदुरले यसरी त मनोवाद मात्रै गरेको हो ।

    अकल्पनीय अभावमा जीवन गुजारिरहेको पहाडको ठिटो विदुर कति जिज्ञासु बनेको होला, आफ्नो भाग्य जान्न । विगतको दर्दनाक पीडा, वर्तमानमा पनि मन थिरमा छैन । यतिबेला अभावले अचेडिरहेको छ । कति पीडाग्रस्त छ जीवन । मन बोझिलो भाको छ उस्तै ।

    तर उज्जवल भविष्यको केही झिनो आशा बोकेर राजधानी छिरेको विदुर हेर्दै कति भरोसा योग्य देखिन्छ । पाखुरीमा बल, मनमा आँट, काँधमा साहस बोकेर आफ्नो भविष्यको संकेत कस्तो छ ? पहिल्याउन नाम चलेकै ज्योतिषकोमा पस्न अलिकति मोडिन्छ ।

    ओहो ! ज्योतिष कति व्यस्त रहेछन् फेरि, मेरो पालो कति बेला आउने होला ! विदुर मनमनै सोच्दै थियो । भित्तामा ठूलो अक्षरले लेखिएको नियमतिर आँखा ठोकिन्छ विदुरको, आफ्नो समयमा मात्र प्रवेश गर्नुहोला ।

    थुप्रै जना हुनुहँुदो रहेछ पालो कति खेर आउने हो कुन्नी ? कतिबेर भो आमा आउनुभएको ? लाइनमा उभिएकी अधबैसे महिलासँग सोध्यो विदुरले । सवालले आक्रोशित भइन्, ती अधबैशे कड्किँदै भनिन्– आमा हैन हजुरआमा भनन, कति न छोरो पल्टिनुपर्ने ।

    कति नमज्जाको जवाफ, विदुरले सोचेको पनि थिएन त्यस्तो त । ती महिलालाई कति न जवानी चढेको फेरि एकै क्षणको सम्बोधन त हो नि विचरा विदुर सोझो मान्छे अक्क न बक्क पर्यो । थुप्रै मानिसहरु जस्तै लामबद्ध भएर आफ्नो पालोका लागि नाम लेखायो विदुरले पनि । कल्पना दिदी लाइनको व्यवस्थापक हुनुहँुदोरहेछ ।

    विदुरले सोध्यो– दिदी साह्रै प्यास लागेको छ, पानी छ होला त ?

    कल्पना दिदी पनि कति रुखेर बोल्न सकेकी होलिन– ए भाइ ! काठमाण्डौँमा पनि पानी मागेर पाइन्छ र ? एक जार पानी किन्न ५० रुपैयाँ तिर्नु पर्छ तिमी जस्ता मान्छे दिनमा सय जना आउछन् के साध्ये हुन्थ्यो र भाइ पानी बाँडेर । काठमाडौंमा मेलम्ची बगेको छैन क्यारे !
    हा…हा..हा दिदी । लाइनमा बसेकाहरु विदुरलाई दया देखाउदै हाँसे । विदुर लज्जित भयो, पश्चताप गर्यो पानी मागेकोमा ।

    काठमाण्डौका मान्छेहरु हाम्रो गाउँमा आए भने त पानीको छालमै सुत्थे होलान्, के गर्नु पानीको छाँगा र स्वच्छ हावामा भुलेर भएन बाध्यताले डो¥याए पछि– विदुरले आफ्नै मनसँग बात मार्यो ।

    हातमा गोल्डेन घडी बाँधेको विदुर समयको हेक्का राख्दै आँखातिर आफ्नो दाहिने हात बटारी रहेको थियो । ज्योतिषकी छोरी पवित्रा भर्खर बजारबाट कोठामा आइपुगी ।

    चञ्चले स्वभावकी पवित्रा त्यो लस्करलाई नियाल्दै बोलिन्– आज त थुप्रैजना हुनुभएछ पालो कुर्दा दिक्क लाग्ने भयो नि !

    पवित्रालाई नियाल्दै लाइनमा बसेको एकजना बोले– ए बहिनी बाबासँग कुरा मिलाइदिनुस न मलाई साह्रै हतार छ ।

    पवित्रा आफ्नो शक्तिको दुरुपायोग गर्न कति पनि चाहान्न । भन्दिहालिन्– हेर्नुस् दाइ सबैजना हतारमै हुनुहुन्छ मलाई नियम मिचेर एक जनालाई खुशी पार्नु छैन ।

    विस्तारै घाम डुब्दै थियो । अलि मान्छेको भीड कम हुँदै गर्दा ज्योतीषकी छोरी पवित्राले भनिन्– आउनुहोस् भित्र बसाँै जाडो छ बाहिर । हुन्छ हुन्छ नानी– एक जना बुढी आमा बोलिन् ।

    नानी बाहिर जान पनि गाह्रो भाको छ, एक गिलास तातो पानी दिनु हुन्छ ?– ती आमैले पानीको अपेक्षा गरिन् ।

    पवित्रा नाम जस्तै पवित्र छिन् । भुँइमा शब्द खस्न नपाउँदै भनिहालिन्– आमा थर्मसमा जति खाए पनि छ ।

    एक्कै छिन है त । पवित्रा गिलास लिन किचेनतिर छिरी । यो बीचमा विदुरले पवित्रालाई नजाने जसरी नियालिरहेको थियो । पवित्राले भित्र पसेर बुढी आमालाई पानी थमाइ दिइन् ।

    बुढी आमा विदुरको नजिकै थिइन् । घुटुक्क तातो पानी निल्दै भनिन्– बाबु के गर्नु यी अपराधीहरुले बस्न नदिने भए । सिरानीमुनि बुढाको पेन्सन झिकेर पैसा राखेको थिएँ, दराजको सुन पनि छैन, पैसा पनि छैन । म बुढी मान्छेलाई यो कस्तो दशा आइलाग्यो, दिक्क लागेको छ । पवित्रा अलि कुनामा पत्रिकामा मस्त भएझैँ गरी बुढी आमालाई सुनिरहेकी थिइ । विदुर ध्यान दिएर सुनिरहेको जस्तो गरी मनलाई अन्तै घुमाउँदै थियो ।

    ज्योतिष बा कति खट्न सकेका होलान् । मान्छे पनि कति हुन् कति ?–चारैतिर आँखा घुमाउँछ विदुरले आफ्नै मनसंग सवाल गर्यो ।

    आफ्नो आफ्नो पीडाको बोझ लिएर आएका ती मानिसहरुको भीडमा खुलेरै आपूm–आफूमा पीडा साट्दै थिए । जिज्ञासा र अभाव सबैको कहाँ एउटै हृुन्थ्यो र ? व्यापार, व्यवसाय, अध्ययन, वैदेशिक रोजगार, वैवाहिक जीवन र सम्बन्ध, लभ अफेयर, धन दौलत, स्वास्थ्य ,रोजगार यिनै विषयवस्तु भविष्यमा कस्तो रहन्छ ? भन्ने जिज्ञासा लिएर आएका सबै जिज्ञासुको मुहारमा कौतुहल्ताले प्रश्न जन्माइरहेको थियो । विदुरले भकानिँदै आफ्नो आमा जस्तै सम्झिएर ती बुढी आमासँग आफ्नो अतीत बाँड्दै समय छोट्याउने मेसो गर्यो ।

    ०००

    विदुरको अतीत–

    एक दिनको कुरा हो । एकाबिहानै बुवाले भने– तँ किन अँध्यारो मुख लागउँछस् छोरा ? तँैले पनि यस्तो व्यवहार गरिस् भने म कस्को सहारमा बाँचु भन् त ? समयमै भात खाएर स्कुल जानू, मैले किनारमा बल्छी थापेको छु, माछा पर्यो कि हेर्न जानु छ ।

    विदुर बाबुको कुरा ध्यान दिएर सुनिरहेको थियो । बाबुले फेरि भने– अनि सुन, ठूला घरका मुखियाको मिलमा पिठो पिन्न लानु छ रे छिटै फर्कनु है । बुबा यति भन्दै ओरालो झर्नु भयो ।

    विदुरले मनमनै सोच्यो– स्कुल त जानु नि कति धेरै गृहकार्य छ । कपि पनि छैन, डट्पेनमा पनि मसी सकिएको छ स्कुल जाने बितिक्कै होमओर्क हेर्नुहुन्छ मास्टर साहेवले । होमओर्क देखाएन भने कति नमज्जाले पिट्नुहुन्छ अनि म पिटाइ खाउँ ?

    बुबा निक्कै तल पुिगसके पछि मैले सोधेँ– बुबा अनि तपाईँ नखाइ जाने ?

    खान्नँ, खान्नँ खाऊ तिमी, मलाई खान मन नै छैन– बुवाले तल झर्दै जवाफ दिनु भयो ।

    आमाले क्यान्सरबाट थलिएर मृत्युवरण गरेको एक वसन्त पनि पार गरेको थिएन । आमाको उपचारमा खर्च जुटाउन नसकेर खेत पनि साहुकोमा बन्धक राखिएको थियो । आम्दानीको केही स्रोत पनि थिएन । म पनि साह्रै पढ्न मन गर्थें, तर खर्च गर्ने हैसियत थिएन । गरिबीको निकटताले हाम्रो परिवारलाई हैरानी कटाएको थियो ।

    बुवा, आमाको सम्झना र उहाँसँग बिताएका पलहरुको स्मरण गर्दै गहभरि आँशु टिल्पिल्याएर खोलाको नजिकै पुग्नु भएछ । तिनै झुत्रो स्टकोट, धुजाधुजा परेको मैलो पोटुका अनि घुँडा टालेको सुरुवाल कमिज । मन पनि थिरमा छैन, रहोस पनि कसरी ! बल्छी तान्न खोज्दा शिथिल बन्नुभएछ । तै पनि सकिनसकी बल्छी तान्दा चारवटा ठूलाठूला माछा परेछन् ।

    माछा बोकेर उकालो लाग्दै गर्दा सम्नीमा दिदीले बोलाउनु भयो – ए वीरे दाइ माछा त राम्रै परे जस्तो छ आज । दाइ, माच्छा बेच्ने त होला नि ! यतै छोडेर जानुस् भरे घरमा पैसा पठाइदिउँला ।

    ‘हुन्छ’ भनेर तीनवटा माछा जोखेर छोड्नु भयो । बुवा, आमा बितेपछि सुर्ती असाध्यै बढी खानुहुन्थ्यो । गोजीमा भएको धुलो सुर्ती काँचो पातमा बेरेर खाँदै एउटा माछा च्यापेर घर आउनु भयो ।

    ए विदुर विदुर, कता छस् ?– आँगनबाट बुबाले आवाज दिनु भयो ।

    मैले भने– बुवा म होमवर्क गर्दैछु ।

    ए ल ल अहिले गर्नु पहिले बाहिर आइज त– बुवाले भन्नु भयो ।

    म बाहिर निस्कँदै ठूलाघरेले दिएको ५० रुपैयाँ भनि बावुलाई सुम्पिदिएँ । बुबाले सोध्नु भयो– किन दिएको पैसा ?

    मैले भने– स्कुलबाट छिटै आएर मेलामा पिठो पिन्न लगिदिएको थिएँ । खाजा खा भनेर पैसा दिनु भो, छिटो गरेर मेलमा गएँ, उतैबाट कपी कलम किनेर ल्याएँ । बुवा हिजो कपी नभएर होमवर्क गरेको थिएन । मास्टर साहेवले अगाडि लगेर सबै साथीको अगाडि पिरियडैभरि कुखुरा बन्न लागाउनु भयो ।

    अनि मसंग माग्नु पर्दैन त ?– बुबाले हप्काउँदै भन्नुभयो ।

    बुवा तपाईसँग पनि त पैसा थिएन हैन ?– मैले भनेँ ।

    हिजो तल्ला घरको ठूलीआमा पैसा लिन आउँदा भाउजू एक दुई दिन पर्खनुस् है भन्नु भएको थियो अनि म कसरी तपाईसँग पैसा माग्नु ।

    बुबासंगको संवादसंगै म चुल्होमा बसेँ । बुवा पनि चुह्लोकै छेउमा बसेर मेरो कलिलो अनुहारलाई नियाँल्दै भविष्यप्रति गहिरिँदै सोचाइ भित्रै हराउनु भएछ क्यारे मलाई त्यस्तै लाग्यो । कति बुझ्ने मेरो छोरो मेरो भविष्यको सहारा यहीं हुन्छ, बुवा मप्रति खुशीनै रहनुहुन्थ्यो । मलाई धेरै विश्वास गर्नुहुन्थ्यो । खानाको मेसो सकिएर बावु छोरा एक प्रहर अँधेरी रातलाई पन्छाउन ओच्छयानतिर पस्यौं । तर भने जस्तो निद्रा कहाँ पथ्र्यो र । बुबाको मनमा सायद गरिबीले आमालाई बेलैमा उपचार गर्न नसकेर आमा गुमाउन परेको । भाको जेथो साहुको कब्जामा परेको, एउटा भएको छोराको ईच्छा पूरा गर्न पनि नसकेको पीडा थियो ।

    पीडा जेसुकै होस् समय जसरी नै अगाडि बढोस् र न नियतिलाई रोक्न सकिने न सामाजिक निरन्तरता रोकिने । आमा बितेको ४ वर्षपछि मैले पनि प्रवेशिका परीक्षा उतीर्ण गरेँ । अनि लागेँ उच्च शिक्षाको लागि राजधानी काठमाडौं ।

    ०००

    उच्च शिक्षा हासिल गर्न राजधानी छिरेको आज ६ वर्ष पूरा भइसक्यो । दश जोड दुई त होटलको भाँडा माझेर पढँे । काठमाडौँमा कहिलेकाहीँ होटलमा आउने पाहुनाले बक्सिस दिन्थे । गुजारा यसैगरी चलिरहेको छ । अतीतबाट पन्छदै विदुरले भन्यो–आमा भगवान् कस्का लागि हुन कुन्नी म त सधँै रोएरै वाँच्नु पर्छ क्यारे !

    आमाले भनिन्– बाबु हरेस खानुहँुदैन पढेलेखेका मान्छेको दिन आउँछ आत्तिनुहुन्न । तिम्रो जस्तो पीडा मसँग पनि थुप्रै छन् ।

    पवित्रा पनि मज्जाले सुनिरहेकी थिइ विदुरका कुरा । पवित्राले भनी– अनि दाइ तपाई कति धेरै अभिलाशा लिएर यहाँ आउनु भएछ है मलाई त साह्रै दुख लाग्यो ।

    विदुरले भन्यो– अँ त बहिनी ।

    विवाह भाको छ कि छैन ?

    पवित्राले गहभरि आँसु पार्दै भनिन्– आमा विहे भयो भनौ कि छैन भनौ । विवाह गरेको छ महिना नबित्दै संकटकालको बेलामा गोली लागेर श्रीमान बित्नु भयो ।

    यस्तै छ आमा सुख दुख बुवा र भाईलाई भात पकाएर वसेको छु माइतैमा ।

    अनि विदुरले हतारिदै सोध्यो– आमा नि ?

    आमाको त मलाई अलिअलि अनुहार मात्र याद छ साह्रै दुख पाएर बित्नु भो । बुवा सानैदेखि ज्योतिषी काम गर्नु हुन्थ्यो घरमा एकछिन वास हुँदैनथ्यो । आमा पहेँले रोगले थलिएर विजोगले बित्नु भो । हामी काठमाडौं आएको १५ वर्ष जति भयो बुवाको यहीं व्यवसायले गुजारा चलाइरहेका छौं ।

    यति भन्न नपाउँदै वुढी आमाले भनिन्– घरै पिँडालु वनै पिँडालु माइत जाँदा बाह्र हातको पिँडालु भने जस्तै यस्तै हो जिन्दगी नानी ।

    विदुरले मनमनै मनन् गर्यो पवित्राको कुरा– जस्लाई म आफ्नो भविष्यको बारेमा सोध्न आएँ, उ नै यति धेरै पीडित रहेछ । सबै कुरा जान्दथ्यो भने उसको परिवारमा आउने दुख कष्टलाई किन पन्छाउन सकेन त ? एक ना पछि विदुरको पालो थियो तर जुरुक्क उठ्यो र भन्योे– आमा बस्नुस् है म लागेँ । सबैको पीडा सुनेर मैले मेरो भविष्य बुझे जस्तो लाग्यो ।

  • सेलिब्रेटीहरुको भीडमा फरक देखिएकी श्रृंखला

    सेलिब्रेटीहरुको भीडमा फरक देखिएकी श्रृंखला

    गुगलमा ‘सेलिब्रेटी’को अर्थ खोज्नसाथ एक लाइन भेटिन्छ,– सबैले चिन्ने अवस्थामा पुग्नु !

    जब कोही मानिस सबैले चिन्ने अवस्थामा पुग्दछन्, स्वभाविक हो,– उसका धारणा, बुझाइ, जीवनशैलीले मानिसहरुको जीवनमा असर गर्न थाल्दछ । ‘प्रसिद्ध’ बनेका त्यही व्यक्तिलाई पछ्याएर मानिसहरु आफूलाई बदल्न चाहन्छन् । उनीहरुलाई ‘आइडल’ मानेर हिँड्न थाल्दछन् ।

    तर, त्यही ‘आइडल’ व्यक्ति आम मानिसले अपेक्षा गरेअनुसार भइदिएन भने ? त्यहीँबाट दुःखको श्रंखला सुरु हुन्छ ।

    प्रविधिले दुनियाँलाई साँघुरो बनाइदिएको यो समयमा अनेक हत्कण्डा मच्याएर ‘चर्चित’ बनेका मानिसहरु छ्यापछ्याप्ती भेटिन्छन् । आफूलाई ‘सेलिब्रेटी’ दाबी गरिरहेका भेटिन्छन् । जे गरेर होस्, संजालमा फलोअर्स बढेपछि सेलिब्रेटी भइगयो ।

    आफू सेलिब्रेटी भएपछि जे गरे पनि भयो, जे बोले पनि भयो ।

    तर, यस्ता च्याउसरी उम्रिएका सेलिब्रेटीले आममानिसको मानसिकतामा कस्तो उथलपुथल ल्याउला ? उनीहरुमा हुर्कंदै गरेको चेतनामा कस्तो घन ठोक्किएला ? सम्झिँदा मात्रै पनि आङ सिरिंग हुन्छ ।

    जनयुद्धमा ग्रिनेड फालेर, समायोजनमा अयोग्य लडाकु बनेर पनि संसाभरका पहाड–खोँचहरुमा दौडेर आफूलाई चम्काएकी अल्ट्रा धाविका मिरा राईहरुभन्दा ‘थानकोटदेखि बानेश्वरसम्म केटाहरुको लाइन’ लगाएकी सिलु पोखरेलहरुको हाइहाइ छ । जीवनको अँध्यारो सुरुङबाट घस्रँदै उज्यालो मैदानमा आइपुगेर ‘जीवनलाई सृष्टिकै सुन्दर फूल’ भनिदिने झमक घिमिरेहरुभन्दा टिकटकमा लाइभ बसेर ‘ट्याप–ट्याप’ भनिहिँड्नेहरुको बोलवाला छ । चप्पल र हाफ पाइन्टमा हिँडेर आजीवन मानिसहरुको सेवामा लागिपरेका महावीर पुनहरुभन्दा ‘कथित’ समाजसेवी ज्ञानेन्द्र शाही, पूण्य गौतमहरुको चर्को बजार छ ।

    यस्ता परिदृश्यले अन्ततः हाम्रो चेतनाको तहलाई पर्दाफास गरिदिइहाल्छ !

    हाम्रो समाज कहाँ छ ? र समाजलाई डोर्‍याइरहेका मानिसहरु कस्ता छन् ? प्रष्टै छ । हामी कस्ता चिजहरुमा रमाइरहेका छौं ? कस्ता चिजहरुले हामीलाई प्रभावित पारिरहेका छन् ? स्पष्टै छ । १५ सेकेण्डको भिडियो हेरेर हामी खगेन्द्र संग्रौलाहरुप्रति धारणा बनाउँछौं । भिडियोको एउटा क्लिप्स् हेरेर कसैलाई गाली गर्न तम्सिन्छौं ।

    जो-जो सेलिब्रेटी भनाउँदा छन्, उनीहरुको चेतना र विवेकमाथि प्रश्न गर्दैनौं । ‘भारतीय साथीहरुसँग कसरी कुरा गर्नु’ भनेर कुनै नायिकाले दिएको अभिव्यक्तिमा हाम्रो राष्ट्रवाद उम्लिन्छ । र धारे हात लगाउँदै त्यता कुद्छौं । तर, यता राजनीतिक नेतृत्वले हाम्रै आँखामा छारो हान्दै लिएको ‘राष्ट्रघाती’ निर्णयप्रति अनभिज्ञ बन्छौं ।

    कोही सेलिब्रेटी भनिहिँड्नेले साविकको अन्चल, अहिलेका जिल्ला, प्रदेशको संख्या जस्ता प्राथमिक ज्ञानसम्म नलिइकन हिँड्दिन्छन् । आफूले ‘जान्दिनँ’ वा ‘थाहा छैन’ भन्न उनीहरुको ‘सेलिब्रेटी अहम्’ले दिँदैन । ठूलै कुरा गर्नुपर्छ । ज्ञानी, बुद्धिमान भएकै देखिनुपर्छ । त्यही मानसिकताले प्रस्तुत पनि हुन्छन् ।

    आफ्ना सस्ता अभिव्यक्ति, प्रस्तुतिले आफूलाई फलो गर्ने मानिसमा कस्तो प्रकारको मनोवैज्ञानिक असर गरिररहेको हुन्छ, अलिकति पनि ख्याल गर्दैनन् । मनलाग्दी बोल्छन्, मनलाग्दी गर्छन् । घरि पत्रकारहरुसँग स्वीमिङ पुलमा खिचेको टिकटकमा भेटिन्छन्, घरि टिकटक लाइभमा आएर आफ्नो कुकुरलाई ‘चश्मा’ मागिरहेका भेटिन्छन् ।

    सामान्य आवेगलाई आफ्नै काबुमा राख्न सक्दैनन् । सुरक्षाकर्मीले चेकजाँच गर्‍यो भनेर डण्डी मलद्वारबाट घुसारेर मुखमा निकालिदिने लज्जास्पद अभिव्यक्ति निर्धक्क दिइरहेका हुन्छन् ।

    मानिसहरु त उनीहरुको प्रत्येक पाइला-पाइलालाई नियालिरहेका हुन्छन् । उनीहरुले चाल्ने प्रत्येक कदमले आफूलाई उत्प्रेरित गरिरहेका हुन्छन् । तर, उनीहरुबाट केका लागि उत्प्रेरित हुने ?

    कसैलाई ‘महानायक’ हुने चटारो छ । कसैलाई ‘महानायिका’ हुने हतारो छ । कसैलाई ‘मेगास्टार’ पदवी चाहिएको छ । कसैलाई ‘स्टारडम’ देखाउनु छ । कोहीलाई ‘बडी गार्ड’ देखाउनु छ ।

    यस्ता हर्कतहरुको न कुनै औचित्य देखिन्छ न अर्थ नै । तैपनि कुन प्रकारको चेतनाको असरले हो, लागिपरेकै छन् ।

    आफ्नै ब्राण्ड भ्यालु बुझ्न नसकेका सेलिब्रिटीहरुको जमातमा केही अपवाद पनि छन् । जसमध्ये एक हुन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा । एक साताअघि मात्रै युट्युबमा सार्वजनिक भएको उनको पोडकास्ट हेरें । झण्डै साढे तीन घण्टाको पोडकास्ट जति हेर्दै गएँ, उनले उत्ति तान्दै गइन् । उनका अभिव्यक्तिले छुँदै गए ।

    हामीले अहिलेसम्म दुई दर्जन ज्यादा मिस नेपाल पाइसक्यौं । सबै मिस नेपालले कुनै न कुनै रुपमा फिल्म क्षेत्रलाई छोएरै गएका छन् । कति सफल भए, कति असफल भए, समीक्षाको पाटो रह्यो ।

    ब्युटी कन्टेस्टमा प्रतिस्पर्धी सुन्दरीहरुलाई उत्तर घोकाउनेदेखि एक वर्षसम्म वस्तुलाई जसरी आयोजकले टसमस हुन नदिने अवस्था पनि देखिएकै हो । मिडियामा अन्तर्वार्तासम्मका लागि आयोजकको अपोइन्टमेन्ट लिनुपर्ने दुःखलाग्दो अवस्था ज्युँकात्युँ छ । चार्म रहेसम्म उसको सौन्दर्यलाई लिलाम गर्नेहरुसहरका गल्लीहरुमा भेटिइरहन्छन् । सम्भवतः भेटिइरहने नै छन् ।

    नयाँ मिस नेपाल आएपछि अघिल्लो वर्षका मिस नेपालहरु करिब-करिब गुमनाम भइदिन्छन् । तर, खतिवडाले मिस वर्ल्डमा भिड्दा होस् या त्यसपछिका दिनहरुमा, आफूलाई छायामा राखिनन् । उनको यही छवि र उनले दिने गरेका अभिव्यक्तिले मलाई खिचिरहेकै थियो ।

    हार्वर्ड विश्वविद्यालयमा सहरी विकास पढिरहेकी उनले दिएका विचारहरु हावादरी थिएनन् । एउटा सुन्दर सहर हुनका लागि आवश्यक योजना, नीति, पूर्वाधारमाथिका उनका बुझाइहरु हुन् या एउटा सहर विस्तार गर्दैगर्दा त्यहाँ पाँचौं पुस्तासम्म बस्दै आएका मानिसहरु, उनीहरुको संस्कृति, ऐतिहासिकता जोगाउने विषय हुन्, खतिवडाले खिचिरहिन् ।

    पूर्वंप्रधानमन्त्री बाबुराम भट्टराईको सरकार हुँदा धुमधडका गरेर रिङ रोड विस्तार गरिएको थियो । त्यस समयमा एकातिर भट्टराईको प्रशंसा भइरहेको थियो भने एकातिर तीसौं वर्षदेखि बस्दै आएका मानिसहरु आन्दोलित भइरहेका थिए, उनीहरु सडकमा आइरहेका थिए ।

    तर, काठमाडौंको जाम हटाउने सही उपाय त्यही थियो र ?

    खतिवडाले भनेकी छन्, ‘रोड बढाउनुपर्छ भने कति बढाउने ? जति लेनको बनाए पनि जाम हुन्छ । सडक विस्तारले नै जाम हटाउँछ भन्ने ग्यारेन्टी छैन । सहर त धनी–गरीब दुवैका लागि बराबर हुनुपर्छ । कार चढ्ने र १० रुपैयाँमा गाडी चढ्नेका लागि बराबर हो सहर । १५ मिनेटबीचमा सार्वजनिक यातायत राम्रोसँग चलिरहने भयो भने कार निकालेर हिँड्ने झण्झट कसैले गर्दैन । कारले भन्दा पब्लिक गाडीले चाँडो पुर्‍याउँछ भने कसले चढ्छ र कार ?’

    जाम हटाउने उपयुक्त उपाय रोड विस्तार नभएर व्यवस्थापनको पाटोमा उनको जोड छ ।

    अहिले बाहिरी रिङ रोड पनि विस्तार गर्ने योजनामा छ सरकार । तर, रिङ रोड विस्तार गरेर मात्रै जाम समाधान होला र ? असनको गल्ली भत्काएर गाडी कुदाउने हो र ? रोड विस्तारका लागि पाँच पुस्ता बसेको घर भत्काउने हो र ? खतिवडाले अमेरिकाको सहर म्यानहटनको उदाहरण दिँदै यसलाई प्रष्ट पारेकी छन् ।

    सामाजिक उत्तरदायित्व अन्तर्गत आन्दानीको थोरै प्रतिशत कर्पोरेट हाउसले खर्च गर्नुपर्छ । त्यस अनुसार उनीहरुले पार्क बनाउने भए भने कस्तो बनाउने ? पार्क हुनलाई के के चाहिन्छ ?

    पार्कमा रुखहरु हुनुपर्‍यो, हरियो हुनुपर्‍यो । कस्तो खालको रुख रोप्ने, प्रावधान हुनुपर्‍यो । एकदमै पानी चाहिने, झारहरु उम्रिन नदिने, किराफटिंग्रा बाँच्नै नपाउने चाइनिज दुबो हालेर बनाउन जैविक हिसाबले मिल्दैन । सहर त चराचुरुंगीहरुको पनि हो, उनीहरुले पनि बास पाउनुपर्‍यो ।

    पार्कमा ताल्चा केका लागि लगाउने ? घरविहीन मान्छेका लागि पनि हो सहर । घर भएकाहरु घरमा सुत्लान्, नभएकाहरु कहाँ सुत्ने ? अनि पार्कमा मान्छे सुतिदिन्छ भनेर ताल्चा लगाउने ? मान्छेले फोहोर गर्दा उनीहरुलाई नियन्त्रण गर्ने निति, नियम ल्याउन सकियो बरु ।

    यस्तै अनेकन विषयमा आफ्नो विचार राखेकी छन् उनले । राजनीतिमाथि राखेकी छन्, समाजमाथि राखेकी छन्, विकासमाथि राखेकी छन् । आफूले पढिरहेको विषयभन्दा अन्य विषयमा पनि मस्त बोलेकी छन् ।

    हुन त सहरी विकासमाथि खतिवडाभन्दा धेरै अनुभव र विज्ञता भएका विज्ञहरु छन् । उहाँहरुको विचार, अभिव्यक्ति हामीले सुनेर, पढेर पनि आएको हो । तर, खतिवडा जत्तिको व्यक्तित्वले गम्भीर विषयमा धारणा राखिँदिँदा त्यो धेरैभन्दा धेरै मानिसमा पुग्ने नै भयो । धेरैभन्दा धेरै मानिसले थाहा पाउने भए ।

    सेलिब्रेटी अभिव्यक्तिको असर पनि यही त हो – आठ दिनमै १० लाख ज्यादाले हेरिसकेका छन् ।

    काण्डहरुमा रमाउने, फलोअर्स देखेर मख्ख पर्ने हाम्रा सेलिब्रेटीहरु भने अफेयर-ब्रेकअपहरुमा अल्झिरहेका छन् । अनेक हत्कण्डा र फण्डा गरेर रमाइरहेका छन् । उनीहरुबाट न कुनै अपेक्षा छ, न कुनै भरोसा नै छ । तर, उनीहरुलाई सुन्न, हेर्न विवस छौं हामी ।

    कुनै पनि समाज रुपान्तरणका लागि यस्ता ‘सेलिब्रेटी’हरु आवश्यक नहुन सक्छ, जति खतिवडाहरु आवश्यक भइदिन्छन् । कमसल सोच, चिन्तन, चेतना भएका सेलिब्रेटीहरु त हामीलाई किन चाहियो र ! त्यस्ता सेलिब्रेटीलाई ‘सेलिब्रेटी’ नामक त्यति ठूलो क्यानभास नै किन चाहियो र ! टिकटक लाइभमै रमाइरहे पनि कुनै क्षति हुँदैन समाजलाई ।

  • स्यानी:  करुण रसमा माता-पुत्र प्रेमको उत्कृष्ट सिर्जना

    स्यानी:  करुण रसमा माता-पुत्र प्रेमको उत्कृष्ट सिर्जना

    नेपालका एक शिक्षाकर्मी र प्रशासकका साथै सिद्धहस्त लेखक खगराज बरालबाट आफ्नी आमाको काजकिरिया कर्ममा विताएका १३ दिनको समयलाई ‘स्यानी’ उपन्यासका रूपमा प्रस्तुत गरिएको छ । यसलाई साङ्ग्रिला पुस्तक प्रालिले प्रकाशन गरी २०७७ चैतबाट बजारमा ल्याएको छ ।

    निकै लामो प्रयासपछि १३ दिनमा १३ च्याप्टरकाे यो उपन्यास तयार भएको तथ्य लेखकले विभिन्न अन्तरक्रियामा स्वीकार्ने गर्नु भएको छ । उहाँले आफैँ पात्र भएर लेखेको यो उपन्यास वियोगान्त धारबाट अभिप्रेरित छ । आफ्ना सन्तानप्रति बाबुआमाबाट अतुलनीय माया ममता र मार्गदर्शन रहेको हुन्छ । यसैगरी सन्तानबाट पनि आफ्ना बाबुआमाप्रति अगाध ममता र श्रद्धा रहेको हुन्छ नै । लेखक खगराज बरालबाट यो सच्चाइलाई आफ्नो मौलिक सिर्जनाबाट पाठक समक्ष उद्घाटन गरिएको छ । चुन्नीको बोट चाहिँ उपन्यासको केन्द्रबिन्दुमा रहेको पाइन्छ ।

    आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति सुन्दैन त्यो… आखिर मान्छे एकदिन विलाउँछ । तर अमरत्व उसको सन्तती र कर्ममा जोगिएको हुन्छ । यस अर्थमा लेखकबाट आफ्नी आमालाई अमर बनाइएको छ । यहाँ यस उपन्यासका विविध पक्षको संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

    कथानक: पूर्वीय हिन्दू परम्पराको तेह्रदिने मृत्युसंस्कार र गरुड पुराण वाचनको परिवेशमा कथानक बगेको छ । एउटा उत्सुक र जिज्ञासु बालकको आफ्नी आमासँगको अन्तरङ्ग सम्बन्ध र सिकाइलाई वस्तुगत रूपमा कथानकमा बुनिएको छ । यसका साथै नेपाली ग्रामीण परिवेशमा हुर्किने बालापनलाई ‌विद्यालय शिक्षा, स्वास्थ्य र यातायातको सुविधासँगै भित्रिदै गरेको आधुनिकताको सेरोफेरोमा साथसाथै अघि बढाइएको छ ।

    पात्रहरू: उपन्यासमा कास्कीको पुम्दी र आसपासका वास्तविक र काल्पनिक पात्रहरू रहेका छन् । त्यही भएर लेखकबाट गोपनीयताप्रति आँच नआउने गरी वास्तविक पात्रका नाम नै प्रयोग भएको स्वीकारिएको छ । लेखकका पितामाता, दाजुभाइ, छरछिमेक आफन्त र प्रसंगवस कथानकमा आउने अन्यपात्रहरू रहेका छन् । तसर्थ पात्र, परिवेश र कथानकका आधारमा यो कृति उपन्यासभन्दा बढी लेखकको आत्मकथा जस्तो लाग्दछ ।

    प्रकृति वर्णन: यस उपन्यासमा चिन्नेको बुटो केन्द्रीय स्थानका रूपमा रहेको छ । सायद लेखककलाई आफ्नी आमाको देहावसान घर नजिकको यही स्थानमा भएको विस्वास छ र बाल्यकालका धेरै सन्दर्भ यससँग जोडिएका छन् । ‘बिहान उजेलो हुनी बेलाँ तीन तारा दक्खिनतिर देखिन्चन्,’ आमा भन्ने गर्थिन् सधैँ । म स्कुल पढ्दा तीन तारा हेरेर उठ्थेँ । हिजो पनि तीन तारा त्यही आकाशमा थिए, हाम्री आमा पनि हामीसँगै थिइन् । आमा बोल्थिन्, हाँस्थिन् । अहिले आमा बोल्दिनन्, हाँस्तिनन्, केही हलचल नै गर्दिनन् तर तारा जहाँको तहीँ छन् ।’ प्रकृतिसँग निकै मर्मस्पर्शी सानिध्य जोडिएको छ यसरी ।

    भाषाशैली:  यस कृतिमा काव्यमय भाषा र सहज प्रस्तुतिशैली प्रयोग भएको छ । ‘छोरो मुन्चे भर कस्तो रोइहाल्च यो त । भोलि कुनै दिन म पनि मर्चु … त्यो भैँसी जस्तै सास फेर्दिन । आँखाका परेला चल्दैनन् । … मलाई पहेँला कपडाले बेरेर हरिया बाँसमा बाँधेर गण्डकीमा लैजानु पर्च तिमोर्ले काँधमा बोकेर । मलाई दागबत्ती दिएर जलाम्नुपर्च ।’ निकै सहज भाषा शैलीमा आमाले एकैपटक भैसी मर्दाको पिडा र भविश्यमा घट्ने मृत्यु घटनाप्रति आफ्ना सन्तानलाई अभ्यस्त बनाएको मिठो संयोजन रहेको छ । यसका साथै बालसुलभ जिज्ञासा, डर र समझदारीको उजागर जताततै रहेको छ । आफूलाई ‘कान्छो’ भन्ने गरिएको भए पनि माहिलो भएको सन्दर्भमा हरिश्चन्द्र कथाको एक ब्राह्मण पात्र शुनःशेपलाई सम्झिनुहुन्छ लेखक। म पनि माइलो भएकाले यो कथा सम्झन्थेँ । म उहाँलाई व्यासशैलीका लेखकका रूपमा बुझ्ने गर्दथेँ । तर यसपटक मलाई त्यस्तो लागेन ।

    आञ्चलिकता र स्थानीय शब्दहरू: यस उपन्यासको अर्को महत्वपूर्ण पक्ष आञ्चलिकताको प्रयोग रहेको छ । कथानकमा धेरै यस्ता शब्दहरू छन् जुन अन्यत्रका नेपालीभाषी समुदायलाई बुझ्न कठिन पर्छ । म सङ्खुवासभाको मान्छे मलाई थर्कटी, टुवो, बेडुलाका पात, ब्याम्ती, ढुम्री, दाइँमाडो, कसला, खोतिया, थुर्मी, बान्ना, चिन्नेको बोट, टौवा, दर्कुना, जस्ता शब्दहरू बुझ्न कठिक लागे । मुन्चे, रच, रुन्च, बड (बाट) , खाबाँआँ, घर्सने, हलीपरेली, भगमान्, उम्रो, नाङ्लाँ जस्ता शब्दहरू आञ्चलिकताका प्रतिविम्ब रहेका छन् । मुस्ताङमा इष्ट बनाउने र बटौलीबाट नुन ल्याउने कथा र हाम्रो पूर्वतिर धरानबाट बुबा हजुरबाहरूले ढाकरमा नुन बोकेको कथा नेपाली परिवेशको तत्कालीन सामाजिक यथार्थ उस्तै लाग्दछन् ।

    सामाजिक विश्वास: गाउँमा धागोले बाँधेको चिठी त मरेको मान्छेको हुन्च भन्थे । बालक बचाउन जोगिनीलाई दिएको, दमिनीलाई दिएको, सुनारलाई दिएको, मुन्द्रो लगाएर खुनी बनाइको, बिरालोले बाटो काटेको, कात्तिकमा लामकिरो भन्नुपर्ने, ब्रात बस्ने, रोटी वा नयाँ पक्वान्न, अन्न, फल विधिपूर्वक चढाउनुपर्ने जस्ता सामाजिक विश्वास उल्लेख गरिएको छ । अन्यत्र पनि सुन्ने गरिएको साँझमा ढुङ्गा हानेको सन्त्रास र नागपूजापछि विसाएको घटना र सह ल्याउने गोलसिमल, कर्याङ्कुरङ र काँक्राफर्सी रोप्ने चलन हाम्रो जनविश्वासका कडी नै हुन् । गौरीपुरान अर्थात् गरुड पुराणका कथालाई युगानुकुल कालक्रमिक बनाएर बुझ्नुपर्ने लेखकको सन्देश उपयुक्त लाग्दछ ।

    लेखकीय: मान्छे मृत्युदण्ड सुनाएको कैदी हो । मलाई यो वाक्य यस पुस्तकको मुख्य जीवनदर्शन हो भन्ने लाग्दछ । लेखकबाट आफ्नी आमालाई प्रेरणाकी स्रोत मान्दै ‘समाख्याता मात्र होइन म, पात्र हुँ यसभित्रको ।’ भनेर यथार्थपरक अर्थात् सत्य घटनामा आधारित कथानक भएको तथ्य उजागर गरिएको छ । यसअर्थमा यो कृति लेखकको बाल्यकाल र आमाको मृत्युपर्यन्तको आत्मकथा जस्तै हो भन्न पनि सकिन्छ ।

    सुधारका पक्षहरू: गाउँमा धागोले बाँधेको चिठी त मरेको मान्छेको हुन्च भन्थे । (पृ.२५) यसमा अन्यत्र मुन्चे प्रयोग हुने गरेको र यही वाक्यमा पनि हुन्च भन्ने शब्द रहेको छ, तर मान्छे भनेर मानक शब्द पनि प्रयोग भएको छ । पृष्ठ १०५ मा ’… बेलुकी बालहरू तीनै जना… भन्ने‘ छ सायद यो बाहरू हुनुपर्छ । पृष्ठ ७५ मा ‘… यस संसारमा कामै हुदैनथे’ मा ‘गलत कामै हुदैनथे ‘ हुनुपर्ने जस्तो लाग्छ ।

    म लेखक भए यस कृतिको शीर्षक आमाको माया, चिन्नेको बुटो, आमाको अवसान, मेरी आमा,  वा यस्तै केही राख्थेँ कि भन्ने लाग्छ । तर पनि ‘स्यानी’ राखेर सेतीखोला बाँटारीका गौतमकी भाञ्जी र बाआमाले तीन वर्षमै मावलमा छोडेर त्यही हुर्किएकी सबैकी प्यारी लीलावतीको बालापनलाई लेखककले सजीवता प्रदान गरेकोमा खुशी लागेको छ । यति हुँदाहुदै पनि समर्पण ‘मेरी आमालाई’ गरेको भए र त्यति सघर्षशील र मायालु आमाको वास्तविक मुखाकृति पनि समेटिएको भए श्रध्दापूर्वक नमन गर्न म चुक्ने थिइन भन्ने लाग्दछ ।

    यस कृतिले पाठकलाई धेरैपटक रुवाउँछ र आफ्नो बालापनमा जबर्जस्त हुर्याउँछ । गाउँमा जन्मिएर त्यही हुर्किएका पाठकलाई गाउँमै पुर्याउँछ र सहरमा हुर्किएकालाई गाउँबाट आएकाको विगत बोध गराउँछ । हामीले आफ्नो विगत, प्रथा र परम्परासँगै सन्ततीको कर्तव्य तथा सामाजिक एवम् पारिवारिक मूल्य, मान्यतालाई जगेर्ना गर्ने र समयसान्दर्भिक बनाउनु पर्ने दायित्वलाई पनि यस उपन्यासले सम्झाएको छ । अत: यो ‘स्यानी’ सामाजिक यथार्थवादी उपन्यास मनछुने सन्देशमूलक र पठनीय दुवै रहेको छ ।

  • एक फुलटाइमर लेखकको ‘वासलात’

    एक फुलटाइमर लेखकको ‘वासलात’

    ८० वर्षीया आमा छिन्, ट्रमा सेन्टरको बेड नम्बर ४४३ मा । गफ गरिरहन्छिन् । आफ्नो खबर बुझ्न आएकाहरुको खबर सोधिरहन्छिन् ।

    आमासँग वात गर्न अल्लि ठूलो आवाजमा बोल्नुपर्छ । कान अलि सुन्दिनन् । नयाँ-नयाँ मान्छेहरुसँग उनले सोध्ने नियमित प्रश्न हो, ‘घर कहाँ हो ? के थरी हो ? पहाड घर कहाँ हो ?’

    दुई महिना मात्रै भयो, आमा काठमाडौं आएकी । पोहोर साल तिलगंगा अस्पतालमा दुवै आँखाको उपचार गरेर भोजपुर फिरेकी थिइन् । एक वर्षअघि आउँदा जेठो छोरो श्रवण मुकारुङसँग बसेकी उनी एक वर्षपछि आँखामा जालो परेर फेरि काठमाडौं आउँदा भने कान्छो छोरो राजन मुकारुङसँग बसिन् । खै कसो परेर हो, बेडबाट झर्दा चिप्लिएकी थिइन् । उनको कम्मरमा र खुट्टाको गेडीमा समस्या भयो । र, आधा महिनादेखि ट्रमा सेन्टरमा उपचाररत छिन् ।

    आमा अस्पताल भर्ना हुँदै गर्दा श्रवण मुकारुङ साहित्य महोत्सवमा वक्ता बनेर रोल्पा पुगेका थिए । महोत्सवमै हुँदा खबर आयो, ‘आमालाई ट्रमा सेन्टरमा राखिएको छ ।’ चलिरहेको महोत्सव छोडेर मुकारुङ भने काठमाडौं चले । गाडीको जाम, मनभित्रको उकुसमुकुस, नेटवर्क समस्या, खबरको अपडेट सँगसँगै मुकारुङ काठमाडौं आइपुगे ।

    वार्डको बेडमा विरामी खुट्टोलाई बेडमै बाँधेर सुत्न सहज बनाइएकी आमालाई हेरेर केहीबेर भावुक बनेका थिए श्रवण । खोटाङ-उदयपुर-भोजपुरका पहाडको शीर-फेद टेकेका खुट्टा र धमिलो हुँदै गएको आमासँगको बाल्यकालीन स्मृति आलो भएर मुकारुङको आँखाअघि सोहोरिएर आए ।

    उनको स्मृतिमा आमाको पहिलो चित्र छ- श्रीमानको दौरासुरुवाल लगाएर उदयपुरको सिरवानीमा झोडा फाँडिरहेकी पुरुषजस्तो देखिने एक महिला ! झोडा फाँड्ने अन्य मानिसले हेपेर आफूले फाँडेको जमिन नखोसुन् भनेर टोपी पनि श्रीमान्कै लगाएर हलो जोतिरहेकी हुन्थिन् उनी !

    रत्नपार्कभित्र हरियो चौरमा खुट्टो तन्काउँदै मुकारुङ सुनाउँछन्, ‘मेरी आमासँगको स्मृति त्यहीँबाट सुरु हुन्छ ।’

    ‘बुवा गीत गाउने, डुलिहिँड्ने यायावरी भएकाले आमाले लडाकु जसरी लड्नुपर्‍यो,’ मुकारुङ थप्छन् ।

    मुकारुङकी आमाको माइती खोटाङ थियो । बिहे हुँदा आमा १९ वर्षकी थिइन् भने बुवा १४ वर्षका थिए । अलि खरो स्वभावकी आमा र खरै स्वभावकी सासुबीच खटपट भएपछि उदयपुरतिर झाडी फाँड्न गएका थिए । पछि सरकारले हात्ती लगाएर झाडी फाँड्नेहरुलाई लखेटेपछि मुकारुङका बुवाआमा फेरि गाउँ फिरे ।

    गाउँ फिर्दाताका सुनकोसी नदी तरेको सम्झना अझैं ताजा छ मुकारुङलाई ।

    ‘गाउँ फिरेपछि बुवाले कान्छी आमा ल्याउनुभयो, आमा मुद्दा मामिलामा लाग्नुभयो,’ मुकारुङ स्मृतिको पर्दा उघार्छन्, ‘त्यसले हामी बालबच्चालाई दुःख त हुने नै भयो । पछि म चाहिँ बोजुसँग हुर्किएँ ।’

    अलि पछि मुकारुङकी आमा माइती फिरिन्, खोटाङको लामाखु ।

    पात्रोहरु बदलिँदै गए, वर्षहरु फेरिँदै गए । बुहारीसँग खटपट भइरहने बोजुले नै मुकारुङलाई भने, ‘जा, गएर आमालाई लिएर आइजा ।’

    अनि मावलीबाट आमालाई लिएर आफू भोजपुर घर आए मुकारुङ ।

    मुकारुङ हुर्किए, भाइहरु हुर्किए । काठमाडौं आए ।

    ‘म काठमाडौं आएपछि आमासँग एउटा ग्यापजस्तो रह्यो । पोहोर आउनुभएको थियो, दश महिना बसेर जानुभएथ्यो,’ उनले भने ।

    ०००

    काठमाडौं आएपछि मुकारुङले पहिलो जागिर ललितपुरको सीडीओ कार्यालयमा गरेका थिए, ०४५ सालमा । कारारको खरदारमा नियुक्त भएका उनले नागरिकता बाँड्ने काम गरे, फिल्डमा गए ।

    उनले जागिर पाउनुको कारण थियो, सीडिीओ उनकै बडा प्रेमकुमार वान्तवा थिए ।

    मुकारुङले एक वर्ष त्यहाँ काम गरे । लगत्तै ०४६ सालको परिवर्तन भयो । ०४७ सालमा ‘नयाँ चुल्हो’ नामक जापानी प्रोजेक्टमा काम गरे । प्राविधिक भएर गाउँतिर गएर सात, आठ महिना चुल्हो बनाउन सिकाए ।

    पछि एकेडेमीमा मोहन कोइरालाको सहयोगी भएर काम गरे एक वर्ष । मुकारुङ सुनाउँछन्, ‘प्राज्ञले एकजना सहयोगी राख्न पाउने रहेछ, त्यो अवसर पाएँ । उहाँ काव्य विभाग प्रमुख हुनुहुन्थ्यो । मैले कविताहरु मागिदिनुपर्ने, उहाँले लेखेका निवेदनहरु टाइप गरिदिनुपर्ने । मेरो खासै काम थिएन, कविहरु आएको वेला स्वागत गर्थें । तलब पनि खासै धेरै थिएन ।’

    मोहन कोइराला गएपछि वैरागी काइँला आए । त्यसवेला पनि एक वर्ष काम गरे उनले एकेडेमीमा ।

    मुकारुङले जीवनमा अहिलेसम्म गरेको जागिर यत्ति हुन् । ०७१ सालमा प्राज्ञ भएका उनी एकेडेमीबाट निस्किएको पनि तीन वर्ष भइसक्यो । श्रीमती, दुई छोरी छन् घरमा । जेठी छोरी १२ कक्षामा पढिरहेकी छिन् भने कान्छी ६ कक्षामा ।

    घर चाहिँ कसरी चलिरहेछ मुकारुङको ?

    ०४९/५० सालतिर किताब निकाले । आफैंले ‘पुस–सेल’ गर्दै बेचे । विदेशतिर पनि पठाए । मुकारुङका अनुसार किताब विक्री भएर आएको पैसाले टालटुल हुँदै गयो त्यसबेला ।

    एनजीओहरुका सानातिना प्रोजेक्टहरु लिएर काम पनि गर्दै गए ।

    ०६२/०६३ मा ‘बीसे नगर्चीको बयान’ कविता हिट भएपछि कन्सर्टहरु गरे । कतार, हङकङ लगायत मुलुक गए । नेपालकै विभिन्न जिल्लाहरुमा पुगे ।

    ‘कन्सर्टहरुबाट पैसा आउँथ्यो । कहिले पुरस्कार आउँथ्यो । त्यो वेला सजिलो थियो, अहिले पो महँगी बढ्यो र,’ मुकारुङ सुनाउँछन् ।

    अढाए वर्ष ‘मितीनी’ नाटक लेखे मुकारुङले । त्यहाँबाट उनलाई महिनाको ४० हजार आउथ्यो, त्यसले पनि धेरै सहज बनाएको बताउँछन् । अहिले पनि जेनतेन सबै राम्रैसँग चलिरहेको बताउँछन् ।

    भन्छन्, ‘म त्यति खर्चालु स्वभावको छैन । वाहियात खर्च गर्दिनँ । नुनतेल त खात्राकखुत्रुक गरेर चलिरहेकै छ ।’

    तर, कहिलेसम्म चल्ला ?

    ‘म जुन ठाउँबाट आएँ, जुन सडक संघर्ष छ, त्यसले गर्दा मलाई सानातिना दुःख, अप्ठ्याराले छुँदैन,’ मुकारुङ भन्छन्, ‘मानिसले सर्भाइभ गर्न सिक्नुपर्छ । मेरो साधारण जीवनशैली छ । एकेडेमीमा हुँदासम्म पनि हामी चारजनाको परिवार कोठामै बस्यौं । प्राज्ञ भएकैले फ्ल्याट खोजेर बसिनँ ।’

    घर, परिवारको व्यवस्थापन भनेको मानिसको ‘सिम्प्लीसिटी’ मा भर पर्ने बताउँछन् मुकारुङ । उनी सार्वजनिक सवारी चढ्छन्, ट्रमा सेन्टरबाट २० मिनेटमा कोठा सामाखुसी पुग्छन् ।

    भन्छन्, ‘गीता (श्रीमती) मा पनि म्यानेजरियल क्वालिटी एकदमै धेरै छ । मेकअप, गरगहना लगायतका खर्चहरुमा उसको पनि कुनै रुचि छैन । यसले पनि धेरै सहयोग गर्छ ।’

    पुस्तक सम्पादन गर्दा थोरै आउँछ, गीत लेखिदिँदा थोरै आउँछ ! यस्तैगरी जीवन चलिरहेको बताउँछन् मुकारुङ । यस्तो अवस्थामा सृजनाको यात्रा भने निकै जटिल हुने अनुभव छ उनको ।

    ‘लामो संरचनामा हुने उपन्यास लेख्न नसक्ने होइन नि ! त्यसका लागि एक वर्ष लाग्छ । तर, सर्भाइभलको यात्रामा हामीलाई तत्काल पैसा चाहिएको छ । मेरो जिन्दगी त आम मानिसको जिन्दगी हो नि त, त्यसैगरी बाँच्न सिक्नु पनि पर्छ,’ मुकारुङ हाँस्दै सुनाउँछन्, ‘आठ लाइनको गीत लेख्यो, थोरै आउँछ । बीस लाइनको कविता लेख्यो थोरै आउँछ । कसैले ‘यो हेरिदिनू’ भनेर पाण्डुलिपि दिन्छन्, त्यहाँबाट थोरबहुत आउँछ । अब यो टाइपको हो नि हामी त ! यही होइन र फुलटाइमर लेखक भनेको ?’

    ०००

    व्यहारिक र परिवारिक आयामहरुमा अल्झँदा अल्झँदै मुकारुङले ५३ हिउँद खेपिसके । जीवनको वासलात मिलाउँदा मिलाउँदै उनका कपाल फुलिसके । गीत, कवितालाई केरमेट गर्दा गर्दै छोरीहरु जन्मिएर पनि हुर्किसके । विस्तारै आफूमा सिथिलता आउन थालेको स्वयम् महसुस गरेका छन् ।

    मुकारुङले भने, ‘उमेरले गर्दा जीवनको उत्तराद्र्ध सुरु भएको हो कि जस्तो लाग्न थालेको छ ।’

    मुकारुङ, पहिले किताब भेट्नासाथ फरफर पढिहाल्थे । कसैले नयाँ पुस्तक दिनासाथ पढेर सकाइहाल्थे । कुनै नयाँ घटना अथवा समाचारप्रति अपडेट भइहाल्थे । अहिले अलि अल्छि गर्छन् ।

    ‘उमेरले पनि होला, पछिल्लो समय आँखा कमजोर छन्, चश्मा लगाउनुपर्छ । अलि अल्छे पनि भएको छु,’ मुकारुङ सुनाउँछन्, ‘अचेल कसैले दिएको किताब एक-डेढ महिना यत्तिकै पनि थन्किन्छन् । ‘पढ्यौ ?’ भन्दा ‘पढ्दैछु’ भन्यो, सकियो ! सृजना र अध्ययनले मानिसलाई ताजगी महसुस गराउने भए पनि अचेल अलि सुस्त भएको छु ।’

    तर, नयाँ कविता, गीतले दिने ताजगी र ऊर्जा भने अहिले पनि यथावत रहेको अनुभव उनको छ । लेख्ने गति कम हुँदा एक प्रकारको सकस र छटपटी महसुस गर्छन् ।

    भन्छन्, ‘कुनै विषयप्रति एकोहोरिएँ भने त्यो भइहाल्छ । अहिले चाहिँ आमाजीले गर्दा लेखाइप्रति ध्यान हुँदैन । आमाजी ठीक हुनुभएपछि तनाव सुरु भइहाल्छ ।’

    भनेजस्तो सृजना नहुँदाको छटपटाहटलाई सृजनासँगकै प्रसंगहरुमा जोडिएर, होहल्ला गरेर भए पनि कम गर्छन् उनी । तर, लेख्न नसकेकोमा भने पहिलाको तुलनामा कम सकस हुन्छ मुकारुङलाई ।

    ‘अहिले त नलेखे पनि केही जाँदैन भन्ने लाचारीपनजस्तो हुन्छ, पहिले चाहिँ लेख्न नसक्दा असाध्यै औडाहा हुन्थ्यो,’ उनले भने ।

    एउटा गजबको उपन्यास लेख्ने योजनामा छन् । कतै जाँदा नयाँ-नयाँ प्लटहरु दिमागमा कुँदिरहेका हुन्छन् । बजारमा नयाँ उपन्यास आउँदा भने आफूले सोचेको पो लेखिसक्यो कि भन्ने भयले चाहिँ छटपटी दिने बताउँछन् ।

    अर्को भय पनि छ मुकारुङलाई- ‘मलाई लाग्छ, म समयसँगै छु, नयाँ नै छु । तर, नयाँ पुस्ताको कवि, कलाकार आएको देखेपछि, आफ्नै बच्चाहरु हुर्कँदै गएको देखेपछि अलि बूढो भएँ कि लाग्छ । मेरो यति नै हो कि भन्ने सन्त्रास मनमा आउँछ ।’

    पहिले आफूले जत्तिको अरु कसैले लेखेको छैन, आज चाहिने सृजना नै आफ्नो हो जस्तो लाग्थ्यो उनलाई । अहिले भने ‘अलि पछि परेँ कि, कला, सृजना धेरै अगाडि बढिसक्यो’ झैं लाग्छ उनलाई । जीवनप्रतिको बुझाइ बदलिँदै जाने, परिपक्व हुँदै जाने र अध्ययन–अनुभवले मानिसलाई जता पनि लैजाने उनको अनुभव छ । सुरुको यात्राबाट ठीक विपरीत पनि लैजाने दाबी छ उनको ।

    भन्छन्, ‘मेरो वैचारिक, दार्शनिक हिँडाइमा पनि त्यो देख्छु । वामपन्थी स्कुलिङबाट प्रभावित भएर आएको म पछिल्लो समय डेमोक्रेटिक चिजहरु मनपराउने अवस्थामा आइपुगेँ ।’

    मैले सोधेँ, ‘तर तपाईंको राजनीतिक–वैचारिक यात्रालाई वैचारिक स्खलन भन्नेहरु पनि छन् !’

    मुकारुङ फिस्स हाँसेर जवाफ दिन्छन्, ‘त्यो अवुझहरुले गर्ने कुरा हो । जीवनको यात्रा नागबेली हुन्छ, सरल रेखामा हुँदैन ।’

    ‘तपाईंलाई वामपन्थीहरुले आफ्नो कवि भन्दै गर्दा अचानक नेपाली कांग्रेसको झण्डामुनि पुग्नुभएकाले ‘वैचारिक स्खलन’ भनेका होलान् कि !’

    ‘संसारलाई हेर्ने, जीवनलाई हेर्ने, परिस्थितिलाई हेर्ने पहिलो त म नै हो । र मसँग जोडिएर आउने चिजले त्यसलाई गाइड गर्दै लैजान्छ । डेमोक्रेट मान्छेले मदन भण्डारी पढ्न सक्छ, लेफ्टिस्टले पनि विपी पढ्न सक्छ नि !’

    ‘तर, तपाईंलाई अवसर खोज्दै त्यता पुगेको भन्नेहरु पनि छन् !’

    ‘फाइदा, अवसर दोस्रो कुरा हो । हामी दिमागले चल्छौं, अवसरले होइन । अवसरको पछि लाग्ने हो भने मम पसल चलाइन्थ्यो होला । कपडा पसल खोलिन्थ्यो होला । हामी ‘कम्युनिस्ट हौं, यो दिन्छु’ भनेर कम्युनिस्ट हुँदैनौँ, पहिला कन्भिन्स हुनुपर्छ । कुनै पनि वैचारिकी, दार्शनिकी संश्लेषण गर्छौं र धारणा बनाउँछौं । त्यो दिमागले हो, अवसरले होइन ।’

    ‘कांग्रेस त बन्नुभयो, तर लेखनमा भने उस्तो उल्लेख्य परिवर्तन देखिँदैन !’

    ‘हिजो मैले राम्रा गीत, कविताहरु कम्युनिस्ट भएर लेखेको होइन, श्रवण मुकारुङले आफ्नो दृष्टिकोणले लेखेको हो । माओको दृष्टिकोणले होइन । उनीहरुको दर्शन, विचार मनपराएँ हुँला, तर लेख्दा त आफ्नै दृष्टिकोणले लेखेँ ।’

    ‘डेमोक्रेट हुन सघाउने दृष्टिकोण चाहिँ कस्तो थियो ?’

    ‘आफ्नै खाले दृष्टिकोण थियो नि ! अर्को कुरो, हिजो पनि मेरो लेखन कम्युनिस्ट लेखन होइन । आम मानिसको मुक्तिको कुरा गर्न कम्युनिस्ट नै हुनुपर्छ भन्ने छैन । यो त झनै बलियोसँग डेमोक्रेटहरुले भनेको हो । मेरो लेखनमा वामपन्थी लेखनको प्रभाव मात्रै हो । सुरुआती कालमा गोर्की, लुसुनहरु पढियो, त्यसको प्रभाव पर्ने नै भयो । अर्को कुरा, वामपन्थी लेखन भने कम्युनिस्टको मात्रै पेवा होइन । वामपन्थी त कांग्रेस पनि हुन्छ । अहिलेको कम्युनिस्ट संसदीय अभ्यासमा आउनु भनेको उनीहरु डेमोक्रेटिक कम्युनिस्ट हुनु हो । डेमोक्रेटहरुले पनि समाजवादी कुरा गरेका छन्, माक्र्सको कतिपय तर्कलाई एप्रिसियट गरेका छन् ।

    अहिले संसार नै आइडियोलोजीहरुको फ्युजनको संघारमा आइपुगेको छ । एउटा आइडियोलोजीको पक्षपोषण गर्नु एउटा पाटो हो, तर संसार त हजारौँ आइडियोलोजीहरुले चलाउने हो । एक्लो आइडियोलोजीले मात्रै चल्दैन । सबै आइडियोलोजीको राम्रो चिज ज-जसले टिपेर जान्छ, ऊ टिक्दै जान्छ । टिप्न नसक्ने सकिँदै जान्छ ।’

  • हजुरआमाको ऊर्जावान् हाँसो र लोभलाग्दो अनुभूति

    हजुरआमाको ऊर्जावान् हाँसो र लोभलाग्दो अनुभूति

    काकी वस्तुलाई पानी दिन आँगनबाट गोठतिर लस्किँदै हुनुहुन्थ्यो । पट्पटि फुटेको पाइताला, रातोमाटोले लिपेको चिल्लो आँगनमा टेकेको पैताला सफेद कागजमा कोरिएको चित्र झैं लाग्ने । काम गर्दा जुत्ता–चप्पल बिरलै लगाइन्छ गाँउघरमा ।

    परालको गुन्द्री पर्खालमा । ‘बस् बस् यता आइज’, हजुरआमाको आतिथ्यता । कति मीठो न्यानो घाम, करेसामा हरियोे निबुवाको दाना, आँगनभरि कुखुराको चल्ला ।

    कुखुराको चल्ला लखेट्दै काकीकी नातिनी कापी समातेर आँगनमा दौडिँदै आइ हजुरआमा र म नजिक । दसैंैको चहलपहल सुरु भएको थियो । किनमेल सबै हिजै सकेको सुनाउँदै हुनुहुन्थ्यो काकी ।
    ‘दुध खाएर जा है आज’, गोठबाट काकी भन्दै हुनुहुन्थ्यो मलाई । एक्कैछिन अगाडि काकीकी नातिनी दिपिका नयाँ लुगा लगाएर चरिकोट जाने भनेर झगडा गर्दै थिइ रे, काकी भन्दै हुनुहुन्थ्योे ।

    काकीको सासु मेरो हजुरआमा, आँगनको डिलमा सुर्तीको सर्कोसँगै सम्झनाको धुँवा उडाउँदै हुनुहुन्थ्यो । वास्तविक गाउँ लाग्ने, सालको पातमा सुर्ती बेरर हजुरआमाले सर्को तान्दा । चुरोट पनि पाइन्छ गाँउमा तर चोलीको खल्तीबाट सुर्तीको धुलो माडेर बेर्ने आदत हजुरआमको पुरानै हो ।

    ‘आँखा देख्दिनँ बाइ, तलाई झन्डै चिनिनँ अघि’, मसंग गफिँदै हुनुहुन्छ उहाँ । तर ध्यान फेरि पलातिनीतिर । ‘चल्ला किल्चेलिस यता आइज’, पनातिनीलाई हुजुरआमा कराउँदै हुनुहुन्थ्यो ।

    उमेरले ८ दशक पार गर्नु भएकी हजुरआमा । ‘अहिलेका केटाकेटीले कति सुविधा पाए, उहिले त…’, हजुरआमाले सम्झानाले मेलो पैट्याउनुभयो । मैले त्यो लयमा मेलो मिलाउनु थियो ।

    हजुरआमाको छेउमा पलातिनी आइ । उसले च्यापेको कलम–कापी देखेर अघिका कुरा भन्दै स्मृतिको पाना पल्टाउनु भयो । मलाई रङ्गीन पर्दामा हेरेको चलचित्रभन्दा हजुर आमाको कहानी भन्ने शैलीले धेरै तान्छ ।

    धेरै हाँस्नु पर्छ हजुरआमालाई । बुढ्यौलीले छोएपछि स्मरण शक्ति कम हुँदै जान्छ भन्ने सुनेको थिएँ तर हजुरआमाले कहानीभन्दा पुरानो मान्छेहरुको स्मरण शक्ति अब्बल हुने रैछ जस्तो लाग्यो ।

    त्यो दिन हजुरआमाको गफ, ‘हाम्रा पालामा क्या, तेरा माइला हजुरबुवा…।’ यति भनेपछि अब कति हँसाउनु हुन्छ होला भनेर मैले अड्कल काट्न सकिनँ । बातैपिच्छे अघिदेखि खित्का छोडेर हाँसेकै हो । हजुरआमाको प्रस्तुतिमा यति मिठास र हँसिलोपन भेटिन्छ, भनीसाध्य छैन ।

    हजुरआमा आफै पनि आँशु काड्ने गरी हाँस्नु हुन्छ, त्यसको बयान गर्ने कुनै शब्द नै छैन मसँग । ‘तेरा माइला हजुबुवा उता देश गर आका (राजधानी), कता गाउँ–गाउँ घुम्न पनि ग’का रे । एकदिन म कोदो टिप्दै थेँ, भाउजू भन्दै आए, मैले फर्केर हेरेँ ।

    माइला नानीले सुनाएछन्, ‘भाउजू अब त के दिन आयो–आयो, छोरीलाई पनि पढाउनु पर्छ रे, नत्र बाटो देख्दैनन् रे’, देवरको कुराले हजुरआमालाई रातभरि निदाउनै दिएनछ । हजुरआमा भन्दै हुनुहुन्थ्यो, ‘बाटैै नदेख्ने भनेपछि कस्तो रोग होला भन्ने पो भयो । घरमा सासु ससुरालाई सोधौं भने नचाहिने कुरा गर्छे भनेर गाली गर्लान्, बरु आफ्नी सखी माहिली बोजुलाई भन्न जान्छु भन्ने लाग्यो । र बिहानसम्म कुरे । बिहानै पनि गइहाल्न कहाँ पाउनु ? घरधन्दा, पानी पधेँरो भ्याउनै पर्यो ।’ त्यतिबेलाका बुहारीले ज्यादै सास्ती खेपेको कुरा सुने पनि हजुरआमाको सासुले चाहिँ छोरीजतिकै माया गर्नुहुन्थ्यो रे ।

    हजुरआमाको आफ्नी सखी हाम्री गाउँ (बिरुवा)की स्वर्गीय माइली बोजुसँग खुब कुरा मिल्थ्यो रे । समय मिल्लेबित्तिकै पुग्नु भएछ, ‘ए माइली, हाम्रा माइला नानीले के भनेका होलान् ! छोरीलाई पढ्न पठाउनु पर्छ रे, नत्र बाटो देख्दैनन् रे !’

    माइली बोजु पनि कता पढाइलाई जोडेर कुरा बुझ्नु ! सोझो– सरल जवाफ दिनुभएछ– के कुरा गछ्र्यौ, जसरी नि पुगिन्छ जानु परेपछि, त्यो नाथे बाटो न हो नदेखे सोध्दै गए भै गो !

    माइली हजुरआमाको कुरा सही लागेछ हजुरआमालाई । अनि फर्केर घर आउनुभयो । ‘हो त है बाटो त हो, सोधे भयो नि । हाम्रा माइला नानीका कुरा पनि !’ यस्तै सोच्नुभयो हजुरआमाले । माइली हजुरआमाको जवाफले रातभरको जिज्ञासा सजिलै मेटाइदिए छ । र पो उहाँ खास मनको साथी लाग्दोरहेछ ।

    पनातिनीको हातमा भएको कापीको पाना सुम्सुम्याउँदै हजुरआमा भन्दै हुनुहुन्थ्यो, ‘पढाइ भनेको बाटो देख्नका लागि, अक्षर चिने कसैले नहेप्ने रछन् हगी । यो कुरा त पछि थाहा पा’को, हो नि कतै जानु पर्यो भने बस आउँछ अगाडि त लेखेको हुन्छ नि ! पढेको भए बाटो देखिने र’छ, अघि हाम्रा पालामा कसले बुझाउने ? तै नि छोराहरुलाई पढ्न पठाउँथे, गाउँको भतिजो थियो, सँगै पढ्न जाने ।’

    ‘हात ठहराएर पानी खान झरेछ मैना
    पानी जति सुकेर केही छैन’

    हजुर आमाले भाखा हालेरै गाउनुभो गीत । भन्दै हुनुहुन्थ्योे– त्यो वर्ष अरु सबै किलास चढे, त्यो फेल भयो ।

    हजुरआमाले प्रसङ्ग बदल्नुभो । फस्कुको मान्छेले त चट्टी (चप्पल) लाएर आको छ रे भनेपछि हेर्नका लागि दिन माया मारेर जानु भको थियो रे । हजुरआमाले सुनाएको कालो फोटोको कहानी पनि मीठो थियो । कहाँबाट देख्नु हजुरआमाले त्यो बेला फोटो । ‘अनि हगी है, तेरा माइला हजुरबा देशमा ग’का थिए, फोटो खिचेर पठाएछन्, मलाई त्यो फोटो भन्ने के थाहा ? कहिल्यै सुनेको पनि थिइनँ, ‘ए भाउजू’ भन्दै तेरा हजुबुवा आए, म करेसामा घाँस काट्दै थिए, ‘हजुर’ भनेँ ।

    ‘भाउजू ठूटो हेर्छौ ?’ ‘के भनेको भनेर फेरि सोधे– ठूटो हेर्छौ ? जवाफ उहीं । मैले केको ठूटो भनेर सोधें । भरे उसले फोटो भनेको र’छ । तेरा बाजेले बिर्से होला, मलाई त अहिले पनि हाँसो उठ्छ सम्झिएर । अनि फोटो देखाए । फोटो भनेको रैछ मैले ठूटो बुझेर कति हाँसें । धेरै हाँस्छे भनेर होला हगी, गाउँका मान्छे जो पनि मलाई नै कुरा सुनाउन आउने’, कुरा पहिल्याउँदै हजूरआमाले फेरि सुर्तीको पात चोलोको खल्तीबाट निकाल्नुभो ।

    दोलखाको भीमेश्वर नगरपालिका– ५ बिरुवामा रहनुभएकी हजुरआमा कृष्णमाया दैनिकी अहिले पनि फेरिएको छैन । उहाँसँग भलाकुसारी गर्न पुग्ने जोकोहीसँग अहिले पनि त्यसैगरी हाँस्नु हुन्छ, जसरी आजभन्दा ६० वर्ष अगाडि हाँस्नु हुन्थ्यो ।

  • विवेकशील-साझामा जुट–फुटको अन्तरकथा

    विवेकशील-साझामा जुट–फुटको अन्तरकथा

    पहिलो संविधानसभाबाट संविधान नबनी विघटन भएपछि नेपाली राजनीति अत्यन्त तरल र संक्रमणको स्थितिमा पुगेको थियो  ।आमनागरिकसँगै युवा समूहमा अन्योल बढिरहेको थियो । त्यहीं बेला सिर्जनशी युवा उज्ज्वल थापा नेतृत्वको एउटा समूहले ‘विवेकशील दल’को अवधारणा ल्यायो । र उक्त दलले दोस्रो संविधानसभा निर्वाचनमा कुकुर चिह्न लिएर चुनावी प्रतिस्पर्धा गर्यो ।

    नवीन राजनीतिका लागि साविक दलबाट सम्भव नभएको विश्लेषणसहित उक्त समूह अगाडि बढेको थियो । २०७३ सालको स्थानीय तहको चुनावमा काठमाडौंको मेयर पदमा २१ वर्षीया रञ्जु दर्शनाले ल्याएको मतले विवेकशीललाई वैकल्पिक दलको रुपमा जनताले अनुमोदन गरेको प्रष्ट हुन्छ । दर्शनाले त्यतिबेला २४ हजार मत ल्याएकी थिइन् ।

    स्थानीय तहको चुनावअगावै पनि बाबुराम भट्टराई, रवीन्द्र मिश्रलगायत विभिन्न व्यक्ति, समूहहरुसँग सहकार्य–एकताको निम्ति विवेकशीलले वार्ता गरेको थियो । रवीन्द्र मिश्रले विवेकशीलसँग वार्तामा छँदै साझा पार्टी दर्ता गरेर स्थानीय निकायको चुनावमा होमिए । तर नतिजा उनले सोचेअनुसार नआएपछि मात्रै पुनः विवेकशीलसँग वार्ता गर्न अग्रसर भएका थिए ।

    जनताको व्यापक आशा अनि दबाबपछि साझा र विवेकशील मिलेर दल एक भए । यी दुई पार्टीको विचारधारा पनि धेरै हदसम्म समान नै थियो । विभिन्न चरणको वार्तापछि दुई पार्टीबीच एकता भएर विवेकशील साझा बन्यो ।

    संविधानसभाबाट संविधान जारी भएपछि २०७४ को पहिलो प्रादेशिक तथा संघीय चुनावमा तराजु चिह्नबाट यस पार्टी प्रतिस्पर्धामा उत्रियो । रवीन्द्र मिश्र काठमाडौं– १ बाट प्रकाशमान सिंहसँग झिनो मतले पराजित भए भने अन्य स्थानमा पनि पार्टीले सम्मानजनक मत ल्याउन सफल भयो ।

    दुई लाख बढी मत ल्याएर राष्ट्रिय पार्टी बन्न ल्याउनु पर्ने कुल सदर मतको ३% मत र प्रत्यक्षमा १ सिटनिकट पुगेको थियो । ३ सांसद समानुपातिक मतमार्फत् वागमती प्रदेशमा जित्न भए ।

    त्यसपछि विवेकशीलको जोस र साझाको होसले पार्टी झन् विस्तार हुने अपेक्षा थियो । अनि चुनावअघि हतार–हतार गरिएको एकीकरणको व्यवस्थापन गर्नुपर्ने चरणमा पुग्यो, तब सुरु भयो खटपट । एकीकृत पार्टीमा महाधिवेशन नहुन्जेल समान ढंगले पार्टीका विभिन्न संरचनाहरूमा मनोनयन हुन पर्ने हो, तर भएन ।

    रवीन्द्र मिश्रका कोटका खल्तीबाट नाम निस्किन थाले । कांग्रेसका राधेश्याम अधिकारलाई विवेकशील साझाले राष्ट्रिय चुनावमा समर्थन गर्ने कुराले व्यापक हंगामा भयो । त्यसको पूर्वविवेकशीलहरु विरोध गरे ।

    विशेषतः अधिकारीले कुनै व्यक्ति भ्रष्टाचारी किटान भइ जेल सजाय भुक्तान गरेपश्चात सामान्य नागरिकसरह फेरि राजनीतिक अधिकारको प्रयोग गर्न पाउनुपर्ने भन्ने उनको अडानसँग अधिकांश विवेकशील साझा सदस्यहरूको असहमति थियो । विरोधका बाबजुत निर्णय भयो । सचिवालयको यस निर्णयबाट केन्द्रीय कमिटी पछि हट्यो । रवीन्द्र मिश्र र सांसद रमेश पौड्यालले पदबाट राजीनामा दिने भनेर केन्द्रीय कमिटीमा धारणा राखे । यसरी अधिकारीलाई समर्थन गर्ने निर्णय पारित गर्न केन्द्रीय कमिटीलाई बाध्य पारियो ।

    यसपछि शृङ्खलाबद्ध तरिकाले साझा पट्टिका मान्छेहरू धमाधम पार्टीका निकायहरुमा मनोनयनमा पर्ने तर विवेकशील पट्टिका कोही नपर्ने हुन थाल्यो । केन्द्रीय कमिटीका बैठकको निर्णयबारेमा सदस्यहरुलाई जानकारीबाट टाढा राख्न थालियो ।

    हुँदाहुँदै रवीन्द्र मिश्रको कोटको खल्तीबाट पार्टी चल्न थाल्यो । ‘बानेश्वर काण्ड’ भनेर पार्टी भित्र चर्चित घटनामा तात्कालीन विवेकशील साझाको वागमती प्रदेश कमिटीको मनोनयनमा भएको मिश्र पक्षको एकलौटीको व्यापक विरोध भयो । कार्यक्रममा पुलिस नै आउनपर्ने स्थिति बनेको थियो ।

    मिश्र समूहको यस प्रवृत्तिको विरोधस्वरुप पार्टी फुट्नु अगाडि स्वर्गीय उज्वल थापा देश दौडाहामा गए । १८ बुँदे असहमतिको दस्तावेज पार्टीमा बुझाए । छलफलको माग गरे । तर, छलफल हुने भनेर डाकिएको बैठकको एजेण्डाहरुमा थापाको दस्तावेज परेन । यसरी घुमाउरो तरिकाले उक्त बैठकबाट उज्वल थापालाई कारबाही गरेपश्चात उनको दस्तावेजमाथि छलफल हुने देखिएको थियो ।

    केन्द्रीय कमिटी बैठकमा उज्वल थापा सामेल भएमा पार्टी फुटाउन चाहिने ४० प्रतिशत र दुई सांसद आफूसँग नपुग्ने सम्भावना देखेपछि र विषेशगरी विवेकशीलबाट नै गएको तर मिश्र पक्षमा रहेका केही केन्द्रिय सदस्यहरू केन्द्रीय कमिटी बैठक कुरुन्जेल आफ्नो पक्षमा बहुमत नपुग्ने थापाले छनक पाएका थिए ।

    एकीकृत हुँदा ५०–५० प्रतिशत बराबर केन्द्रीय सदस्य दुवै पक्षको रहे पनि विवेकशीलबाट सामेल गरिएका केन्द्रिय सदस्य मिलन पाण्डे विवेकशील नेपाली दलमा कारबाही भोगेर ६ महिनाको निलम्बनमा थिए । सोही समयमा भने विवेकशीलबाट गएका कतिपयले रवीन्द्र मिश्रको कार्यशैलीको तीव्र अन्तरविरोधले गर्दा एकताको सुरुवाती कालमा नै पार्टी छाडिसकेका थिए । त्यसमाथि उज्वल थापा पनि कारबाहीमा परे भने पार्टी फुटाउँदा ४० प्रतिशत पुर्याउन असम्भवप्रायः थियो ।

    त्यसैले, केन्द्रीय कमिटी बैठक हुनुअगावै हतार हतार निर्वाचन आयोगमा दल फुटेको भनेर विवेकशीलपट्टिका १६ जना केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित विवेकशील नेपाली दल दर्ताको लागि निवेदन दिइयो ।

    निर्वाचन आयोगले ४० प्रतिशत नपुगेको भनेर विवेकशील नेपाली दल दर्ता हुन नसक्ने जानकारी दियो । निर्वाचन आयोगको यस निर्णयविरुद्ध उज्वल थापा सर्वोच्च गए । उनीद्वारा दायर मुद्धा आजसम्म सर्वोच्च अदालतमा विचाराधीन छ ।

    फुटपछिको चरण

    फुटपछि सदस्यहरुसँगको पहिलो छलफल काठमाडौंको सिफल चौरमा भयो थियो, जहाँ विवेकशील नेपाली दललाई अगाडि बढाउने बारेमा छलफल भएको थियो । साझाले पत्रकार सम्मेलन गरेर अप्रत्यासित घटना भनेको थियो । पत्रकार सम्मेलनमा डा. सूर्यराज आचार्य रोएको भिडियो त भाइरल नै भएको थियो । यता विवेकशील आफ्नो सबै सम्पत्ति साझामा रहेकाले सडकमा पुगेको थियो ।

    साझासँग फुटेपछि विवेकशीलको एक पक्ष फुट्नु गल्ती थियो भन्ने बुझाइमा थियो । उनीहरु अन्तिममा साझासँग मिल्नै पर्छ भन्ने लाइनमा थिए । अर्को पक्ष विवेकशीललाई नै अब सशक्त ढंगले अगाडि बढाउन पर्छ भन्नेमा थियो ।

    फेरि मिल्न पर्छ भन्ने स्वर तत्कालको लागि मलिनो थियो । अधिकांश सदस्यहरुमा विवेकशीललाई फेरि पुनर्जागृत गरौँ भन्ने भावना थियो । फुटको करिब एक वर्षपश्चात विवेकशीलले नीति सम्मेलन रोल्पामा गर्यो भने त्यसको ३ महिनापछि जनकपुरमा महाधिवेशन गर्यो । महाधिवेसनबाट मिलन पाण्डे विवेकशील नेपाली दलको अध्यक्षमा चुनिए भने, उज्वल थापाले उम्मेदवारी दर्ता गरेनन् ।
    उता साझाले पनि लुम्बिनीमा राष्ट्रिय कार्यकर्ता भेला गर्यो । भेलाबाट धर्मनिरपेक्षता र संघीयतामा जनमत संग्रह पार्टीको मुख्य एजेण्डा पारित गर्यो ।

    लगत्तै स्थानीय तहदेखि केन्द्रसम्म दोस्रो चरणको निर्वाचन थियो । मुख्यगरी कास्कीको पोखरा क्षेत्र, जहाँ रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि खाली रहेको निर्वाचन क्षेत्रमा उनकी श्रीमती विद्या भट्टराई एमालेबाट उठेकी थिइन् । त्यहाँ साझाबाट रजनी केसी र विवेकशीलबाट जमुना शर्माले चुनावमा भाग लिएका थिए । सबैको ध्यान त्यही चुनावी क्षेत्रमा केन्द्रित थियो । साझाको करिब ९०० मत आएको थियो भने विवेकशीलको १०० । यो नतिजाले दुवै वैकल्पिक भनेको दललाई गम्भीर ढंगले धक्का दियो ।

    विवेकशील नेपाली दलमा निर्वाचित केन्द्रीय कमिटी आएपश्चात जुन रफ्तारमा पार्टी अगाडि बढ्छ भन्ने सोचिएको थियो, त्यो भएन । पार्टी नेतृत्वलाई केन्द्रीय कार्यालयको भाडा जुटाउनै हम्मेहम्मे परिरहेको थियो ।

    त्यहीबेला विवेकशीलमा अन्य पार्टीसँग संवाद गर्न भनेर संवाद कमिटी बनाइयो, जसमा तत्कालीन विवेकशील नेपाली दलका महासचिव निर्देश सिलवाल, सांसद रमेश पौड्याल र नेतृ रञ्जु दर्शना सदस्य थिए । त्यतिबेला साझासँग फुट्नु गलत थियो भन्ने आवाज विस्तारै उठ्दै थियो । साझा पार्टीमा पनि वार्ता समूह बन्यो ।

    सोही समयमा मुमाराम खनाल र सूर्यराज आचार्यले साझा पार्टीबाट राजीनामा दिए । राजीनामा पछि दिएको अन्तर्वार्तामा सूर्यराज आचार्यले रवीन्द्र मिश्रप्रति कुनै आग्रह नरहेको तर विवेकशीलमा रहेर मिडियामा छाउने नेतृत्वहरु प्रति सचेत हुनुपर्ने बताएका थिए । ‘विवेकशीलको हालको नेतृत्वलाई सिंहदरबार पुर्याउन आफू राजनीतिमा आएको होइन’ भन्ने उनको भनाइ विभिन्न सञ्चारमाध्यममा आएका थिए ।

    ‘स्याल कराउनु र बाख्रा हराउनु सँगै’ भनेजस्तै सूर्यराजहरूको राजीनामा आएलगत्तै विवेकशीलतिरका मिलन पाण्डेसहितको समूह व्यापकरूपमा साझासँग एकताको लागि परिचालित हुन पुग्यो ।

    विवेकशीललाई नै अगाडि बढाउँछु भनेको नेतृत्व एकाएक साझासँग एकता गर्न भएभरको बल लगाएको जस्तो देखियो । र त्यसकै लागि लागिपर्यो ।

    साझा पार्टीको विधानले केन्द्रीय समितिलाई कुनै पनि दलसँग एकीकरणको लागि अधिकार दिएको थियो भने विवेकशीलमा दुईतिहाइ सदस्यको मतलाई अधिकार थियो । मिलन पाण्डेले विवेकशीलको विधानको यस प्रावधानलाई पहिला नै परविर्तन गर्न खोजेका थिए । तर केन्द्रीय कमिटीबाट उक्त संशोधन पास हुने नदेखिएपछि उनी रोकिएका थिए । मतबाट छिनोफानो हुने भएपछि एकीकरण पक्षधर पाण्डे समूह र हाल साझासँग एकीकरण गर्ने उपयुक्त समय होइन भन्ने कर्मा तामाङ समूहबीच तीव्र अन्तरविरोध हुन थाल्यो ।

    साझा र विवेकशीलको एकीकरण दस्तावेज आएपछि भने घोषित रूपमा नै दुई समुह देखिए । ३४ मध्येको १३ जना केन्द्रीय सदस्यहरूले संयुक्त विज्ञप्तिमार्फत् नै साझासँग विवेकशीलको एकीकरण हुन नहुने बताएका थिए ।
    त्यतिबेला उनीहरुको बुँदागत तर्क यस्तो थियो–

    – साझा पार्टीसँग हाल सहकार्य गर्न सकिने, तर एकीकरण हुन नसक्ने ।
    – एकीकरण पूर्व, साझा पार्टीले महाधिवेसन गरेर निर्वाचित कमिटीको रूपमा आउनपर्ने ।
    – साझाले विवेकशीलतर्फको एकीकरण पश्चात भोगचलन गर्दै आएको सम्पत्तिको बारेमा स्पष्ट धारणा दिनपर्ने ।
    – साझाले लुम्बिनी राष्ट्रिय भेलाबाट धर्मनिरपेक्षता र संघीयतामा जनमत संग्रह गर्नुपर्ने भनेर पारित गरेको एजेन्डाबाट पछि हट्नु पर्ने । एकीकरण दस्तावेजमा यस बारेमा प्रष्ट उल्लेख हुनपर्ने । हालको एकीकरण दस्तावेजमा संविधानको रक्षा गर्दै अघि बढ्ने भन्ने भाषा लेखिएको हुँदा यसलाई जसरी पनि बुझ्न मिल्ने हुनाले साझा पार्टीको प्रष्ट विचार आउन पर्ने ।
    – विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता नभएको, निर्वाचन आयोगविरुद्धको मुद्धा हाल पनि सर्वोच्च अदालतमा विचाराधीन रहेकोले, दल दर्तापश्चात मात्रै एकता हुनसक्ने ।

    त्यसैगरी तत्काल एकता गर्न पर्दछ भन्ने समूहको मुख्य दलील भनेको चुनावमा प्राप्त दुई लाख बढी मतको सम्मान, पार्टीभन्दा माथि देश, साझासँग नमिलेको राजनीतिक मुद्धाहरु एकीकरण पश्चात ६ महिना भित्र हुने महाधिवेसनसम्ममा मिलाइसक्ने भन्ने थियो ।

    एकीकरण दस्तावेज सार्वजनिक गरेपश्चात विवेकशील नेपाली दलका संस्थापक महासचिव गोविन्द नारायणले सदस्यहरूलाई सम्बोधन गर्दै साझासँगको पुनः गर्ने भनेको एकीकरणप्रति तीव्र असन्तुष्टि जनाएका थिए । संस्थापक अध्यक्ष स्वर्गीय उज्वल थापा त्यसबखत विवेकशील नेपाली दलको सदस्य थिएनन् र उनले मतदानमा भाग पनि लिएका थिएनन् ।

    मतदान भयो, । ४ मत बढीसहित एकता प्रस्ताव पारित भयो । विवेकशील भित्र त्यो बेलामा साझासँग मिल्न हुन्न भन्नेमा पनि दुई लाईन थियो । एक पक्ष एकीकरण प्रस्ताव पास गर्नेमा भोट हाल्ने, ताकि साझासँग जसरी पनि मिल्न पर्छ भन्ने समूह साझामा नै मिसिन जाउन् अनि बाँकी रहेकाले विवेकशीललाई अगाडि बढाउने । अर्को एकीकरण प्रस्ताव फेल गर्ने अनि नेतृत्वलाई राजीनामा दिन बाध्य पारेर वा विराटसभाबाट हटाएर नयाँ नेतृत्व ल्याउने ।

    एकीकरण पश्चात विवेकशील साझा गठन भयो । यता कर्मा तमाङसहितको साझासँगको एकीकरणमा नजाने समूह व्यापक छलफलमा जुटेर विवेकशील पार्टी बनाउने निचोडमा पुग्यो । हालै उनीहरूले नेपाल विवेकशील पार्टी भनेर निर्वाचन आयोगमा दर्ता गरेका छन् । पार्टी अध्यक्षमा कर्मा तमाङ रहेकी छिन् भने उपाध्यक्षमा अजिता राई (तत्कालीन विवेकशील नेपाली दलकी उपाध्यक्ष) छिन् ।

    एकीकरण पछिको ६ महिनामा विवेकशील साझामा महाधिवेसन हुन सकेन । तसर्थ पार्टीको संरचनामा आफ्नो मान्छे नियुक्त गर्नेमा विभिन्न पक्षबीचमा प्रतिस्पर्धा चल्न थाल्यो । विवेकशील साझाको युवा संघमा मिलन समूहको नियुक्ति गरे, जसमा निर्देश सिलवाल समूहलाई बाईपास गरिएको थियो । त्यस निर्णयबाट रुष्ट बनेका थिए, सिलवाल । सिलवाल र पाण्डेबीचमा रवीन्द्र मिश्र पछिको नेतृत्व कुन समूहले हत्याउने भन्ने प्रतिस्पर्धा थियो । मिलन समूहको विवेकशील साझाबाट बहिर्गमन र उनलाई साधारण सदस्य समेत नरहने गरी गरिएको कारबाही टकराबको अन्तिम रुप थियो ।

    सतहमा मिलन समूहले संविधानको रक्षा, धर्मनिरपेक्ष, संघीयता, गणतन्त्रको मुद्धा नमिलेपछि तीव्र अन्तरविरोध सुरु भएको भनेर भाष्य निर्माणको प्रयास गरे पनि तत्कालीन विवेकशीलमा यही मुद्धामा नै अन्तरविरोध भएर साझासँग मिल्नु अघि नै विवेकशील दल दुई चिरा परेको थियो । तत्कालीन समयमा सोही मुद्दालाई नजरअन्दाज गर्ने मिलन समूह नै अहिले ‘पानी माथिको ओभानो’ हुन खोजेको देखिन्छ ।

    रवीन्द्र मिश्रको केही समयअघि आएको मार्ग परिवर्तन ‘विचारभन्दा माथि देश’ तत्कालीन साझा पार्टीको लुम्बिनी राष्ट्रिय भेलाबाट पारित एजेण्डाको विस्तारित दस्तावेज मात्रै हो । विवेकशील अभियानका पुराना साराथीहरुमाझ एउटा भनाइ एकदम प्रचलित छ । र एउटा प्रश्न छ– विवेकशील अभियानलाई रवीन्द्र मिश्र समूह वा मिलन समूह, कुनबाट ज्यादा क्षति भयो ?

    (लेखक तत्कालीन विवेकशील नेपाली दलका प्रवास सचिव हुन् ।)

  • पिस्कर विद्रोहबाट हामीले के सिक्यौं ?

    पिस्कर विद्रोहबाट हामीले के सिक्यौं ?

    आज माघे संक्रान्ति अर्थात् मकर संक्रन्ति । आजदेखि दिन लम्बिने र रात छोट्टिने पर्वका रुपमा पनि यसलाई विशेषरुपमा मनाइन्छ । हो, पंचायती निरंकुशताका रातहरु छोट्याउन जनताले गरेको बलिदानीपूर्ण संघर्षलाई पनि स्मरण गर्ने दिन हो, आज ।

    सिन्धुपाल्चोकको पिस्करमा तत्कालीन पञ्चायती शासकले सहिद ईले थामी र वीरबहादुर थामीको पासविक हत्या गरेको र जगतबहादुर बोहोरा, पल्कमाया थामी, सोना तामाङहरुले गोली खाएर पनि हिम्मतकासाथ लडेको दिन हो । हामी जब माघी आउँछ अनि पिस्करको प्रतिरोधी इतिहास र बलिदानले थपेको संघर्षका पहाडहरु सम्झन्छौ । आन्दोलनको विश्वविद्यालयले सिकाएका पाठहरु सम्झन्छौ ।

    पिस्कर दमनको सबैभन्दा ठूलो पासविक रुप २०४० साल माघ १ गते बिहान ३ बजे देखियो । ३८ वर्षपछि पनि हामीले सहिद स्मृति दिवस मनाइरहेका छौं ।

    पुरानो पिस्करमा अवस्थित महादेवथानमा प्रायः सबै धर्मावलम्बीहरुले आफ्ना परिवारका दिवंगत सदस्यहरुको नाममा बत्ती बाल्छन् । नाचगान गरेरै रात बिताउँछन् । खरिढुंगाको चिसो सिरेटो जलजलेहुँदै तौथलीका भित्ताहरुमा ठोक्किएर दाबी खोलासम्म पुग्थ्यो । जात्रालुहरु सुस्ताउने समय पारेर सयौं प्रहरीहरु जनसाँस्कृतिक कार्यक्रमस्थललाई घेरा हालिरहेका थिए ।

    पिस्कर नदेख्ने र नटेक्नेहरु पनि दमनको शिकार भए । काठमाडौंको ताहाचल क्याम्पसमा पढ्दै नेपाल विद्युत् प्राधिकरणमा जागिर खाइरहेको म पनि तीन वर्ष नजरबन्दमा परें । पिस्कर दमनको समाचार सम्प्रेषण गरेकै कारण मैले जेल जीवन भोग्नुपर्यो ।

    बर्सेनि हुने नाचगान त्योबेला अलि व्यापक गर्ने योजना थियो । पार्टीका नेता माधव पौड्यालले भूमिगत ढंगले नै संयोजन गर्दै हुनुहुथ्यो, कार्यक्रमको । उक्त साँस्कृतिक कार्यक्रमको उद्घोषण गर्न कर्थलीबाट बमबहादुर पौड्याललाई बोलाइएको थियो ।

    कार्यक्रम सकिएपछि मञ्चमा पेट्रोलम्याँसको उज्यालो फैलिएकै थियो । प्रहरी एक्कासी मञ्चमै पस्यो । बत्ती निभ्यो । डाङडुङको आवाज आयो । महिला केटाकेटीको चिच्याहट सुरु भयो । प्रहरीको लाठी बज्रेको र अबोध नानीबाबुसहित सबैलाई अन्धाधुन्ध आक्रमण भएको सहन नसकी किसानहरु प्रतिरोधमा उत्रिए ।

    वीरबहादुर थामीलाई टाउकोमै गोली हानी मारे । ईले थामीको पेटमा गोली लागेर रगतको आहालमा छटपटाउँदै गर्दा प्रहरीले नै डोरीले बाँधेर दाबी खोलातिर घिसार्दै लगे । सुनियो– घिटघिटो बाँकी हुँदै संगीनले रोपेर मारियो । खाल्डो खनेर गाडियो र स्याउलाले पुरेर हिँडे ।

    गोली लागेका जगतबहादुर बोहोरा, पल्कमायाँ थामी, सोना तामाङलाई प्रहरीले समातेर डोरीले बाँधेर लामोसाँघु झारे । ५० भन्दा बढी पक्राउ परे । गाउँमा प्रहरी अपरेसन सुरु भयो । धेरै गाउलेहरु खरिढुगा, सैलुङ, कालिन्चोकका हिउँ छल्दै ओडारतिर लुक्न पुगे ।

    बाख्रा, गाई, भैंसी दाम्लामै भोकै मरे । राति आएर घर बस्छन् भनेर घरै जलाइ दिए । पिस्करका थामबहादुर थामी पनि ज्यान जोगाउन भागे । हप्तौ फर्कन सकेनन् । उनकी गर्भवती श्रीमती खान नपाएर, पानी दिनेसम्म मान्छे नपाएर बितिन् । उनले जन्माएको बच्चा पनि जन्मनेबित्तिकै बित्यो । यस्ता दमनका फेहरिस्त लामो छ ।

    पिस्कर नदेख्ने र नटेक्नेहरु पनि दमनको शिकार भए । काठमाडौंको ताहाचल क्याम्पसमा पढ्दै नेपाल विद्युत् प्राधिकरणमा जागिर खाइरहेको म पनि तीन वर्ष नजरबन्दमा परें । पिस्कर दमनको समाचार सम्प्रेषण गरेकै कारण मैले जेल जीवन भोग्नुपर्यो ।

    छलफल साप्ताहिकका सम्पादक गोपाल थपलियाले यातनासहित जेल सजायँ भोग्नुपर्यो । अरुण नेपाल, मेघनाथ पौड्याल, क्षत्रबहादुर बोहोरा, कृष्णबहादुर बोहोरा, सावित्री बोहोरा, बेत्रावती पौड्याल, मानबहादुर थामी, सुनकुमार थामी, श्रीमान तामाङ, दिलबहादुर पौड्याल, दलबहादुर बोहोरा, पदम बोहरा, भोला बोहोरालगायत धेरै जेल परे ।

    वीरबहादुर थामीलाई टाउकोमै गोली हानी मारे । ईले थामीको पेटमा गोली लागेर रगतको आहलमा छटपटाउँदै गर्दा प्रहरीले नै डोरीले बाँधेर दाबी खोलातिर घिसार्दै लगे । सुनियो– घिटघिटो बाँकी हुँदै संगीनले रोपेर मारियो । खाल्डो खनेर गाडियो र स्याउलाले पुरेर हिँडे ।

    ४–५ वर्षसम्मको जेलयातना, वारेण्टको कारण फरार हुनुपर्ने अवस्था र भाग्दै ज्यान जोगाउन हिँडेका सर्वसाधारणले पाएको दुःख, पिडाबाट नै सामन्तवाद कति क्रुर छ, प्रतिकृयावादीहरु कम्युनिष्टप्रति कति आतंकित छन् भन्ने कुराको हेक्का राख्न सकिन्छ ।

    उक्त घटना सामन्तीसत्ताले परिवर्तनका पक्षधरमाथि गरिएको मध्ययुगीन बर्बरताको उदाहरण पनि हो । संघर्षमा जीवनको बाजी थाप्ने योद्धहरुले पार्टीको नीति निर्माणको तहमा पहुँच पर्याउन सकेनन् होला । तर के उनीहरुको आवाज नै थिएन र ? पार्टी संगठन निर्माण र जनसरोकारका मुद्दामा कैयौं लडाकु कार्यकर्ताको योगदान बिर्सने छुट कसैलाई छ र ?

    नेपाली कम्युनिष्ट आन्दोलनको वर्गीय लडाइँमा यो आन्दोलनलाई नजरअन्दाज गर्नु जस्तो ठूलो भुल अरु हुन सक्दैन । पञ्चायती निरंकुशता विरुद्धको बलियो उदाहरण बनेको यो संघर्षले दिएको शिक्षा दूरगामी महत्वको छ ।

    उक्तदमन र प्रतिरोधको इतिहासबाट प्राप्त शिक्षालाई नेपाली समाजको राजनीतिक मात्र होइन– आर्थिक, समाजिक रुपान्तरणको केन्द्र बनाउन सकिन्थ्यो । र फेरि पनि संभावनाहरु टरिसकेका छैनन् । जनताले निक्कै कष्टसाध्य मेहनतबाट बनाएको पार्टीलाई फुटाउन कांग्रेस माओवादीको सहयोग लिने जुन हर्कत भयो, त्यो स्वभाविक छैन ।

    वर्गीय भावनाबाट च्युत हुने, आन्दोलनको मर्म बिर्सेर अवसरको पछि मात्रै कुद्ने, पद भनेजस्तो पाइएन भनेर पार्टी नै छाड्ने, नेतृत्वलाई गाली गरेर धम्क्याएर, घुर्क्याएर अवसर लिने संस्कार भएकाहरुले पिस्कर आन्दोलनबाट सिक्ने कुरा धेरै छन् ।

    पिस्कर विद्रोहबाट पार्टी नेतृत्वले पनि सिक्नु पर्छ । पार्टी भावना भनेको के हो ? अवसर खोज्ने तर जनतामा नजोडिने, जनशैलीलाई बेवास्ता गर्ने, निर्णय गर्दा श्रमजीवी वर्गको हितलाई केन्द्रमा नराख्ने, गलत स्वार्थ भएकाहरुको घेरामा रहने, सूचनाको स्रोत नै गलत हुने जस्ता थुप्रै समस्याहरु भएरै जनतामा कम्युनिष्ट पार्टीप्रतिको भरोसा र विश्वासमा समस्या आउने हो ।

    निस्वार्थ भावनाले सबैभन्दा पीडित वर्गले उठाएको बिद्रोह हो, पिस्कर आन्दोलन । समयको हिसाबले बितेका ३८ बर्ष थोरै होइन । तर उक्त आन्दोलनबाट हामीले अनुसरण गरेका र सिकेका कुरा भने असाध्यै थोरै हुन् ।

    श्रद्वाञ्जलि महान शहिदहरुप्रति ! हार्दिक सम्मान– यो कष्टसाध्य आन्दोलनका अग्रजहरुमा !

     

  • लिपुलेक र कालापानीमा लड्दा ‘ब्ल्याकलिस्ट’ मा परेका सांसदको बकपत्र

    लिपुलेक र कालापानीमा लड्दा ‘ब्ल्याकलिस्ट’ मा परेका सांसदको बकपत्र

    लिपुलेक अहिले पुनः चर्चामा छ । नेपाल सरकार बोल्न सकेको छैन वा चाहेको छैन । प्रमुख विपक्षी नेकपा एमालेले सरकारको मौनतामाथि प्रश्न उठाएर वक्तव्य दिएको छ ।

    आखिर पटक-पटक नेपाललाई दुख्ने लिपुलेक के हो ? लिपुलेकको ऐतिहासिक वास्तविकता के हो ? यी केही विषयमा त्यहाँको वास्तविकता बुझ्न जरुरी छ । पहिले थिए दार्चुलाका नेता प्रेमसिंह धामी जसले कालापानी र लिपुलेकको प्रसंग नेपालको संसदसम्म ल्याए ।

    उनको निधन भए पनि उनै धामीका राजनीतिक उत्तराधिकारी गणेशसिंह ठगुन्नासँग लिपुलेकका लागि लड्दा भारतबाट भोग्नुपरेको भुक्तमानको अलग्गै कहानी छ । पूर्वमन्त्री तथा दार्चुलाबाट निर्वाचित सांसद एमाले केता ठगुन्नाकै मुखबाट लिपुलेकबारे बुझौं ।

    भारतले कसरी कब्जा गर्‍यो ?

    लिपुलेक हामीलाई चहराइरहने घाउ बनेको छ । भारतले हामीमाथि गरेको हस्तक्षेपको यो चरम रूप हो । पहिले लिपुलेकबारे बताउँ । लिपुलेक खासमा निकै ठूलो भन्ज्याङ हो । त्यहाँ मानव बस्ती चाहिँ छैन । हाम्रो दार्चुला जिल्लाको उत्तर पश्चिमको अन्तिम सिमाना हो लिपुलेक ।

    त्यहाँ मान्छे बस्ने अवस्था छैन,प्रायः सधै हिउँ परिरहन्छ । त्यो पास गरेर हाम्रो माथिल्लो क्षेत्रका मान्छेहरू तिब्बतमा ब्यापार गर्न पनि जान्छन् । निकै उचाइमा रहेको त्यो ठाउँबाट उत्तरतिर तल झरेपछि तिब्बतको ताक्लोकोट पुगिन्छ । दक्षिणतिर लाग्यो भने कुटी, गुन्जी, नाबी लगायतका गाउँ पुगिन्छ । हुन त ती गाउँ नेपालका थिए तर लामो समयदेखि भारतले आफ्नो बनाएको छ । अहिले नेपालतिर हाम्रो अन्तिम गाउँ भनेको टिंकर हो । जहाँ मान्छे बस्छन् ।

    जतिबेला प्रेमसिंह धामी सांसद हुनुहुन्थ्यो म २०५४ सालमा दार्चुलाको जिल्ला विकास समिति सभापति भएँ । त्यसबेला त हामीले कालापानीसम्म मार्चपास नै गरेका हौं । दुईपटक मार्चापासको संयोजन मैले गर्दा भारतले मलाई उसको भू-भागमा जानका लागि निषेधमात्र गरेन कालोसूचीमै राख्यो ।

    लिपुलेकबाट तिब्बत जाने धेरै नाका छन् । लिपुलेकमा चीनले पनि आफ्नोतिरबाट सडक बनाएको छ । तर, त्यहाँ हाम्रो सिमा विवाद छैन । अहिले पनि लिपुलेकबाट दुईवटा नाका संचालनमा छन् । एउटा हामी नेपालीले तिब्बततिर जान प्रयोग गरिरहेको नाका हो । अर्को भारतले कालापानीसँगै कब्जा गरेको भन्ज्याङ नाका पर्छ ।

    सन् १९६२ सम्म कालापानी र लिपुलेक नेपालको भू-भाग थिए । चीनसँग भारतको युद्ध भएका बेला भारतीय फौजले चीनतर्फ अघि बढ्ने सजिलो नाका खोज्ने क्रममा हाम्रो भन्ज्याङ कब्जा गर्‍यो । त्यो चीन र भारतको अन्तिम युद्ध पनि भनिन्छ अहिलेसम्म ।

    चीनियाँ फौज आफ्नोतिरबाट सजिलै तल झर्ने र तर भारतीय फौजले माथि जान नसक्ने भएकाले उनीहरूले पहिले हाम्रो कालापानी कब्जा गरे । कालापानीमा अस्थायी अवधिका लागि भनेर सेना राखे तर फर्केर गएनन् ।

    पछि त उल्टो उनीहरूले महाकाली नदीको मुहान नै अर्को बनाए । महाकाली भन्दा वारी नेपालतिर रहेको एउटा खोल्सोलाई यही हो महाकाली भनेर सिमाना तोक्यो भारतले । नक्कली महाकाली नदी खडा गरेर उनीहरूले हाम्रो लिपुलेक र कालापानी कब्जा गरेका हुन् । त्यसबेलाका शासकले दिए भनौं ।

    महाकालीको मुहानको विवाद आज पनि कायमै छ । नेपालले कुटीबाट बगेर आउने नदीलाई नै महाकाली भनेको छ । यो भूमि र नदीको मुहान विवादित छ भनेर भारतले पनि स्वीकार गरेकै कुरा हो । यसबारेमा दुई देशका विभिन्न समितिहरूले काम गरे पनि अहिलेसम्म यो पेचिलो बन्यो ।

    हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला पहिलोपटक नेपालले लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको हाम्रो अतिक्रमित भू-भाग समेटेर चुच्चे नक्सा पारित गरेपछि यो विषय अन्तर्राष्ट्रियकरण भएको छ । म आफैंले पहल गरेँ, हाम्रो पार्टीको प्रधानमन्त्रीले त्यो काम गर्नुभयो ।

    सन् १९६२ सम्म कालापानी र लिपुलेक नेपालको भू-भाग थिए । चीनसँग भारतको युद्ध भएका बेला भारतीय फौजले चीनतर्फ अघि बढ्ने सजिलो नाका खोज्ने क्रममा हाम्रो भन्ज्याङ कब्जा गर्‍यो । त्यो चीन र भारतको अन्तिम युद्ध पनि भनिन्छ अहिलेसम्म । चीनियाँ फौज आफ्नोतिरबाट सजिलै तल झर्ने र तर भारतीय फौजले माथि जान नसक्ने भएकाले उनीहरूले पहिले हाम्रो कालापानी कब्जा गरे ।

    राष्ट्रवादी सरकारले आफ्नो भू-भाग दाबी गरेपछि भारतले हाम्रो सरकार ढाल्ने र नेकपा विभाजन गर्ने षडयन्त्र थाल्यो । नेकपाभित्रकै प्रचण्ड-माधव जस्ता व्यक्तिहरूलाई प्रयोग गरेर अस्थिरता सिर्जना गर्ने तर कुटनीतिक संवादसमेत बन्द गरेर चुच्चे नक्साको बदला लिनेतिर भारत लाग्यो ।

    लिपुलेकमा चीन पनि

    लिपुलेकको सन्दर्भमा चीन र भारत दुवै जोडिएका छन् । उनीहरूले सन् २०१४ मा लिपुलेकको सन्दर्भमा एउटा सम्झौता गरेपछि नेपालमा हामीले नै हो त्यसको विरोध गरेको । त्यहाँको जनप्रतिनिधिको हिसाबले मैले नै यो विषय उठाएँ र हाम्रो पार्टीले संसदमा पनि कुरा उठायो ।

    लिपुलेकको एउटा भन्ज्याङ भारततले जबर्जस्ती कब्जा गरेको छ, अर्काको जमिन कब्जा गर्ने र तेस्रो पक्षले सम्झौता गर्ने कुरा अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरीत भयो भनेर हामीले भन्यौं । पछि केपी ओली नेतृत्वको सरकार बनेपछि हाम्रो सरकारले कालापानीनजिकै छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राखेर जनतालाई हाम्रो सरकार छ भन्ने अनुभूति गरायो । त्यसबेला पनि हामीले निकै संघर्ष गर्नुपरेको हो । यदि ओली नेतृत्वको सरकार थिएन भने त्यहाँ हाम्रो उपस्थिति हुने थिएन ।

    अहिले नेपालले भोग चलन गरेको नाकामा हाम्रो पुलिस चौकी र भन्सार छ । त्यो ठाउँलाई टिंकर चेकपोष्ट भन्छ । सशस्त्र प्रहरीको बीओपी पछि छाङरुमा थपेर राज्यको उपस्थिति देखायौं । अहिलेको कम्फरटेबल सरकारले लिपुलेकमा भारतले सडक बनाउँदा बोल्नु त परे जावस चेकपोष्ट फिर्ता गर्ने कुरा सुनिँदैछ ।

    लिपुलेकमा लड्दा

    लिपुलेक र कालापानीका सन्दर्भमा बोल्ने र लड्ने पार्टी एमालेमात्र देखियो । दार्चुला जिल्लाबाट अरु धेरै नेता निस्किए तर उनीहरू बोलेनन् । पहिलो नेता हाम्रो पार्टीको प्रेमसिंह धामीले यसलाई संसदमा ल्याएर २०५१ पछि राष्ट्रिय चर्चामा ल्याउनुभयो । उहाँको निधन भएपनि हामीले त्यो एजेण्डा बोकिरह्यौं ।

    हामीसँग तथ्य र प्रमाणहरू छन् लिपुलेक हाम्रो हो भन्ने । ऐतिहासिक दस्तावेजहरू पनि छन् । त्यसका आधारमा भारत र चीन दुवैसँग कुरा गर्न सकिन्छ । मेरो राजनीतिक जीवनको सुरूआत नै लिपुलेक र कालापानीको मुद्दा उठाएर भएको भन्दा पनि हुन्छ ।

    जतिबेला प्रेमसिंह धामी सांसद हुनुहुन्थ्यो म २०५४ सालमा दार्चुलाको जिल्ला विकास समिति सभापति भएँ । त्यसबेला त हामीले कालापानीसम्म मार्चपास नै गरेका हौं । दुईपटक मार्चापासको संयोजन मैले गर्दा भारतले मलाई उसको भू-भागमा जानका लागि निषेधमात्र गरेन कालोसूचीमै राख्यो ।

    त्यो निषेधको अर्थ थियो । किनकी त्यसबेला हामी नेपालतर्फबाट राष्ट्रिय सडकमा जोडिएका थिएनौं । काठमाडौं जानुपर्दा हाम्रोतिर सडक नभएकाले पारी भारततिरको धार्चुला हुँदै आउनुपर्थ्यो । त्यसैले उनीहरूलाई मलाई भारत प्रवेशमा रोक लगाएका थिए । त्यो भनेको कालापानी र लिपुलेक दाबी नगर्न एकप्रकारको मनोवैज्ञानिक दबाब थियो ।

    त्यसबेला मलाई भारतीय सीमा फौजले ‘आपके लिए भारतका सिमाना बन्द है’ भन्दै फर्काएका थिए । त्यसपछि धेरै वर्ष म भारततर्फ धार्चुला जान पाइन । भारततर्फ जान नपाएपछि डेढ/दुई दिन हिँडेर बैतडी हुँदै गाडी चढेर काठमाडौं आउने गर्थेँ म त्यसबेला ।

    भारतको भू-भागमा पनि नेपाली मूलकै जनजाति आदिवासीको बसोबास छ । उनीहरू अहिले त भारतीय नै भए तर पनि लिपुलेक नेपालको हो भन्नेमा उनीहरूलाई पनि छ । दुवैतर्फका जनताको भाषा, भेष, संस्कृति, सामाजिक प्रचलन एउटै छ । त्यहाँका जनताले दुवै देशका कानूनभन्दा पनि आफ्नै प्रथाजन्य कानून मान्छन् । बिहेवारीको सम्बन्ध छ ।

    एकपटक त मलाई कालापानीमा भारतीय सेनाले बन्दूक सोझ्याएर अघि बढ्लास भन्दै रोकेको थियो । यस्ता धम्कीहरू त कति पाइयो कति । हाम्रो भूमि छाड् भनेर नांगो हात गएको मलाई भारतीय फौजले पटक-पटक यातना दिए । उनीहरूले भारत प्रवेशमा निषेध गर्दै कालोसूचीमा राखे । तर, माटोको लडाइँ छाडिन ।

    आफ्नो माटोमा विदेशीका बुट बज्रिँदा कति पीडा हुन्छ भन्ने त भोग्नेलाई मात्र थाहा हुन्छ । त्यो भोगाइ मैले व्यक्तिगतरूपमा भोगेको छु । दार्चुलाले भोगेको छ, त्यही भएर हामीले हाम्रो अध्यक्ष प्रधानमन्त्री भएका बेला नक्सामा हाम्रो भू-भाग समेट्यौं र भूमि फिर्ताको लागि पहल गर्छौं भनिरहेका बेला सत्ताबाट परमादेशको सहारा लिएर हटाए ।

    बिहेवारी र रोटीबेटी

    हाम्रो भूमि भारतले कब्जा गरेपछि त्यहाँका जनतासँग भारतकै आधार कार्ड, रासन कार्ड हुने नै भयो । लिपुलेकभन्दा केही तल भारत र नेपाल दुवैतिर आदिवासी समुदायको बसोबास छ । नेपालतर्फ टिंकरमा ब्याँसी सौका समुदायका आदिवासी बस्छन् । अहिले भारततर्फ रहेको कुटी, गुन्जी, नाबीमा पनि यही समुदायका मान्छे बस्छन् । भारतको भू-भागमा पनि नेपाली मूलकै जनजाति आदिवासीको बसोबास छ । उनीहरू अहिले त भारतीय नै भए तर पनि लिपुलेक नेपालको हो भन्नेमा उनीहरूलाई पनि छ । दुवैतर्फका जनताको भाषा, भेष, संस्कृति, सामाजिक प्रचलन एउटै छ । त्यहाँका जनताले दुवै देशका कानूनभन्दा पनि आफ्नै प्रथाजन्य कानून मान्छन् । बिहेवारीको सम्बन्ध छ ।

    त्यहाँका ब्याँसी सौका समुदायले पन्चायत प्रणालीबाट समाज चलाउछन् । एकजा सरपन्चले निर्णय गरेपछि दुवैतिरका जनतालाई त्यो कानूनसरह मान्नपर्ने हुन्छ । सरकारी सुविधाका लागि आ-आफ्नो देशका कानून मान्छन् नत्र अरु कुरामा आफ्नै कानून मान्छन् ।

  • नेता बन्ने कि नेतृत्व गर्ने ?

    नेता बन्ने कि नेतृत्व गर्ने ?

    मार्टिन लुथर किङले भनेका छन्– म सँग सपना छ । नेतामा सपना देख्ने क्षमता चाहिन्छ । उनले भनेझै देश र जनताको हित हुने सपना नदेख्ने नेता, जनताको नेता हुन सक्दैनन् । तर नेता मात्रै चाहिँ हुन सक्छन् । कस्तो खाले भने– देशबाट मस्त लिने, आफू, परिवार अनि आफन्तलाई पोस्ने खालको।

    नेता हुनु र नेतृत्व गर्नु अलग कुरा हो। नेता मात्रैले नेतृत्व नगर्न सक्छन् तर जसले नेतृत्व गर्छ, उ खास नेता हो। असल नेता हुन अझ नेतृत्व गर्न त्यति सहज छैन । तर अहिले पछिल्लो समय जो पनि नेता भएका छन्।

    असली नेता त्यो हो, जसले भिडलाई पछि लगाउन सक्छ। भिडको पछि लाग्ने त नेता नै होइन । तर बिडम्बना नेपालमा भिडलाई पछि लगाउनेभन्दा भिडको पछि लाग्ने ‘कथित नेता’हरूको संख्या अधिक छ।

    आजको मुल प्रश्न नै यही हो कि, नेता हुने कि नेतृत्व गर्ने त ? कुनै पनि सामाजिक, आर्थिक, साँस्कृतिक आदि पक्षको वृत्ति–विकासको लागि नेता नै हुनुपर्छ भन्ने छैन । काम गर्ने आँट, दृढ विश्वास अनि समाज रुपान्तरणको सपना देखियो भने नेता हुन जरुरत नै पर्दैन । नेतृत्व स्वतः आइपुग्छ।

    कहिलेकाहीँ मान्छेको कर्मले नै पद खोज्दै आइपुग्छ। तर जसले बढी पद खोज्छ, कामभन्दा पदमा अनि लाभमा ध्यान दिन्छ, त्यस्ता प्रवृत्ति भएका व्यक्ति नेता मात्रै चाहिँ हुनसक्छ । तर नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दैनन् । अर्थात् नेतृत्व गर्न सक्दैनन् ।

    पार्टी–आन्दोलनलाई उचाइमा लाने कि आफू नेता बन्ने ?

    अहिलेको मुख्य समस्या नै यहीं हो कि, पार्टी–आन्दोलनलाई उचाइमा लाने कि आफू नेता बन्ने ? भन्ने । पार्टी र आन्दोलन कमजोर किन नहोस्, कुनै प्रवाह छैन तर जसरी पनि आफू नेता बन्न पर्यो। नेपालमा पछिल्लो समयमा च्याउसरी पार्टी निर्माण हुनुमा यो पनि एक प्रमुख कारण हो।

    नेता भएपछि जतासुकै आफ्नो मान बढ्ने सम्झने, प्रहरी–प्रशासन, कर्मचारीमा सरुवा–बढुवा आदिमा ‘नेता’ भन्ने चिजको ग्लामर देखाउन पनि आन्दोलनको वास्ता नगरी पदको लागि मरिहत्ते गरेका छन् । विभिन्न पार्टी परित्याग गरेर शानको साथ एउटा आन्दोलनमा सहभागी भएकाहरुको अपवित्र गठबन्धन अनि सिद्धान्त नै नमिल्ने पार्टीमा प्रवेश। यस्ता उदाहरण हेर्ने हो भने बग्रेल्ती भेटिन्छन्।

    भोलि नेकपा एमालेको जिल्ला अधिवेशन देशभर हुँदैछ । जसअनुसार सिन्धुपाल्चोकको पनि अधिवेशन हुँदैछ । यो अधिवेशका केही महत्वपूर्ण कार्यभार छन् । ती यस प्रकार छन्–

    १. एमालेको संगठन लय पुरानै स्थितिमा पुर्याउन चुनौती छ।
    २. नवयुवाहरू पार्टीमा ल्याउनुपर्ने चुनौती छ।
    ३. संगठनलाई स्पातिलो बनाउनुपर्ने छ ।
    ४. कार्यकर्ताहरुलाई फलामे अनुशासनमा राख्नुपर्ने चुनौती छ।
    ५. कम्युनिस्ट आन्दोलन, मार्क्सवाद, जबज, एमालेले गरेको काम, प्रशिक्षण दिएर अघि बढ्नुपर्ने चुनौती छ।
    ६. पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने छ।
    ७. नेता, कार्यकर्ताहरुको उचित व्यवस्थापन गर्नुपर्ने छ।
    ८. नेतृत्वको जाम खुलाउने चुनौती छ।
    ९. पार्टीमा युवापुस्ता र पार्टीलाई यहाँसम्म ल्याउने पुस्ता मिलाएर नेतृत्व स्थापित गर्ने मुख्य चुनौती छ।
    १०. पार्टीविरुद्ध सम्पूर्ण शक्ति लागेको हुँदा पार्टीलाई एकढिक्का बनाएर जनतामाझ जान झनै चुनौती छ।

    यस्तै चुनौती सामना गर्ने नेतृत्वको खाँचो छ।

    अन्त्यमा, पार्टी अध्यक्ष केपी ओलीको सपना एमालेको नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’लाई साकार पार्नुछ । नेपाललाई विकास गर्नुछ। नेपालीको जीवनस्तर सुधार्नु छ। आधारभूत चिजहरु सर्वसुलभ गर्नुपर्छ छ। शिक्षा, स्वास्थ्य आममानिसको पहुँचमा पुग्ने बनाउनु छ। र मुख्य अभिभारा, समातामूलक समाज निर्माण गर्नुछ।

  • अब एक दशकका लागि निर्बिकल्प ओली !

    अब एक दशकका लागि निर्बिकल्प ओली !

    २०६२–६३ को जनआन्दोलनपछि आमनेपालीले बीपी, पुष्पलाल गणेशमान, मनमोहन जस्ता नेता खोजेका थिए, जसले हिमाल, पहाड र मधेसका जनतालाई हृदयमा राखेर देशहितमा काम गरुन्, मुलुकलाई सुशासनसँगै आर्थिक समृद्धिको दिशामा अघि बढाउन् ।

    उक्त आन्दोलनको बलमा व्यवस्था परिवर्तन भयो, तर नागरिकको जीवनस्तर र देशको अवस्थामा खासै परिवर्तन आएन । संविधानसभाबाट संविधान बन्यो, देशमा संघीय गणतन्त्र आयो । तर शासनसत्ता चलाउनेहरुले संविधानसभालाई समेत समानुपातिकका नाममा आफ्नाहरुलाई सांसद बनाउने काम गरे ।

    सत्तामा हुनेहरुले देश र नागरिकको हितमा काम गरेनन् । देशका प्राकृतिक स्रोत बेचिए, नदीनालामा चलखेल भयो । पहिलो संविधानसभामा तत्कालीन विद्रोही नेकपा माओवादी पहिलो पार्टी भयो । उक्त पार्टीप्रति धेरैको आशा थियो । तर, माओवादीले पनि जनताको हितमा केही काम गर्न सकेन ।

    नेपालको संविधान आफूमैत्री नभएको भन्दै भारतले अघोषित नाकाबन्दी लगायो । नाकाबन्दीका विरुद्ध त्यतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडानले आमनेपालीको शीर ठडियो ।

    त्यतिमात्रै होइन, त्यतिबेलाको ओली सरकारले लिएका मुलुक समृद्धिका मुद्दाले निराश नेपालीमा आशाको सञ्चार गरायो । युवापुस्तालाई आफ्नै पालामा मुलुक समृद्ध भएको हेर्न आतुर बनायो । तर, देशी विदेशी शक्तिले ओलीको मुलुक समृद्ध बनाउने सपना साकार पार्न दिएन ।

    संविधानसभाबाट संविधान जारी भएपछि भएको पहिलो आमनिर्वाचनमा एमाले र माओवादीको गठबन्धनले करिब दुईतिहाई बहुमत ल्यायो । एकबेला तेस्रो भएको एमाले देशको पहिलो ठूलो पार्टी बन्यो ।

    पछि एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बन्यो । नेकपाको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे । ओलीले पहिलोचोटि प्रधानमन्त्री हुँदा राष्ट्रियताको सबालमा बहस चलाए । भारतको नाकाबन्दीविरुद्ध चीनसँग पारबहन सम्झौता गरे । त्यसले नेपाललाई भारतको मात्रै भर पर्नुपर्ने परिस्थितिको अन्त्य गरिदियो ।

    लेखक

    दोस्रोचोटि शक्तिशाली प्रधानमन्त्री भएका ओलीले भारतले दाबी गर्दै आएको कालापानी, लिपुलेकसहितको नक्सा संसदबाटै परित गरे । यसले ओलीसँगै आमनेपालीको उचाइ झन् बढ्यो ।

    नेपाललाई आफ्नो स्वार्थको खेलौना बनाउने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले उनका विरुद्ध अनेक थरी चलखेल गरे । तर ओलीलाई परास्त गर्न नसकेपछि पार्टी भित्रबाट ओलीलाई पराजित गर्न खोजियो । तर त्यस्तो षडयन्त्रका बाहकहरुसँग ओलीले कुनै सम्झौता गरेनन् ।

    त्यसपछि उनी सोझै जनताका बीचमा गएर फैसला गर्न चाहन्थे । तर देशी विदेशी प्रतिक्रियावादीहरुले अदालतबाट परमादेशको नाटक गरेर नेपालको संविधानमाथि घात गर्दै ओलीलाई जनतामा जानबाट रोकियो । विपक्षमा र सडकमा भए पनि लाखौं कम्युनिष्ट क्रान्तीकारीहरुबीच नारायणी किनारमा विश्वव्यापी रुपमा साम्यवादी दलकै इतिहासमा अमरत्व प्राप्त गर्ने गरी अति नै विशिष्ट खालको शान्तिपूर्ण जनभेला गरेर नेपालको भावी राजनीति अब नेकपा एमालेले हाँक्ने छ भन्ने प्रमाणित गरिदिए ।

    आज नेपालका सबै साम्यवादीहरुलाई एकीकरण गर्ने कुरामा भइरहेको कूटनैतिक चहलपहल र मित्र राष्ट्रहरुसंग भइरहेका आर्थिक राजनीतिक लेनदेनका कुरासमेत ओलीबिना असम्भव हुने निश्चित भइसकेको छ ।

    ओलीको जस्तो उचाइ भएको, राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा परिपक्व नेता अर्को छैन भन्ने कुरा विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ ।

    राप्रपाका कमल थापा आफ्नै कार्यकर्ताबाट पराजित भए । शेरबहादुर देउवा दश थरी गुटहरुसंग सम्झौता गरेर अनेकौं तिकडमपछि फेरि कांग्रेस सभापति भए । माओवादी अध्यक्ष प्रचण्डमाथि त पार्टीलाई तानाशाही तरिकाले चलाएको र विरोध गरे आफ्नै दौतरीहरुको टाउको गिँड्न सक्ने हत्यारा राजनीति चलाएको आरोप छ । अन्य दलहरुमा पनि एकचोटि नेता भए कहिले पद नछोड्ने र भनेको जस्तो पद नपाए डा. बाबुराम भट्टराई जस्ताले दश खोलाको पानि चाख्दै हिँडेको दुःखद स्थिति पनि सबैले बुझेका छन् ।

    नेताहरुमध्ये कार्यकर्ताको मन बुझ्ने मात्र होइन, सही नीतिमा आफ्नो दललाई हिँडाउने काम गर्न एमाले अध्यक्ष ओली सफल भएकोले नै जनता र कार्यकर्ताहरुले उनलाई ‘बा’ भनेर सम्मान गर्छन् । मुठीभरका देशघाती दलालहरुले तिललाई ताड बनाएर उनको व्यक्तित्वमाथि हमला गरिरहेका छन् ।

    नेकपा एमाले नै हो, जसले वृद्ध तथा सामाजिक सुरक्षा भत्ता प्रदान गर्यो । सुकुम्बासीलाई पुर्जा र राष्ट्रलाई तुइनमुक्त गर्ने जस्ता कार्यक्रम ल्यायो । नेपाली आकाशमा धेरै विशिष्ट राजनीतिक नेता हुनुहुन्छ, आजको युगअनुसारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को दूरदर्शी नारा केपी ओलीले नै प्रस्तुत गरेका हुन् । नेतृत्वमा पुरुषलाई मात्र महत्व दिने परम्परालाई तोडेर राष्ट्रप्रमुखमा विद्यादेवी भण्डारी जस्तो युगद्रष्टा सहिद क. मदन भण्डारीकी पत्नीलाई ल्याउनुमा ओलीको भूमिका महत्वपूर्ण छ ।

    अहिले अरु दलहरुले महिलालाई बढार्न लागि रहेको बेला क. ओलीको नेतृत्वमा एमाले पार्टीमा एकतिहाई महिला नेतृहरुलाई स्थापित गरिएको छ । यो अग्रगामी सोचलाई ओलीले व्यवहारमै उतारे ।

    एमालेका लाखौं कार्यकर्ता मात्र होइन, आम जनसमुदायले भावी एक दशक ओली जस्तै देशभक्त, जनवादी र बहुलवादी विचार भएको नेताको नेतृत्वलाई सहर्ष स्वीकार गर्दा विपक्षीको मनमा चिसो पसेको छ ।

    एमालेविरोधीहरु जनतामा जानको लागि अर्थात् निर्वाचन लड्न डराइरहेका छन् । र उनीहरु अदालतले परमादेश दिए जस्तै कुनै षडयन्त्रकारी तानाबाना बुन्न लागि परेका छन् । नेपाली जनता भने ओली जस्तो लोकप्रिय जननेतालाई फेरि पनि सिंहदरवारमा स्थापित गरेर समृद्ध नेपाल बनाउने र आफू सुखी हुने सपना साकार पार्न लालायित छन् ।

    (लेखक नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् ।)

  • महामहिमलाई महाप्रसाद, महारानीलाई सलाम

    महामहिमलाई महाप्रसाद, महारानीलाई सलाम

    बल्लबल्ल बडामहारानी प्रकट भइन् । हत्तपत्त दाहिने हातको कान्छी औंला दोबार्दै सलाम ठोकेँ ।

    बडामहारानीले बनावटी मुस्कान छरिन् । त्यो हेर्दाहेर्दै केही सिपाहीले हुत्तिँदै छालले फालेको माछालाई झैं मलाई भीडमा मिसाइदियो । महारानी लिस्टोल, पुरान्छेँ, भीमसेनडोबरहँुदै अघिअघि भीमेश्वर मन्दिरतिर बिलप भइन् । केहीबेरपछि म माथि हुँदै हेलिकोप्टर उड्यो । टोपीलाई तालुतिर धकेल्दै अकाशतिर हेरें । ‘महारानी माथिमाथि उडिबक्स्यो,’ बाल दिमागले सोच्यो ।

    हेलिकोप्टरले डाँडा काटेपछि सिपाहीहरुले हामीलाई हलचल गर्न दिए । भिड भित्रभित्रै सकसपूर्वक दोलखा सहरको सेङस्थित स्वयम्भू छुन पुगेँ । स्वयम्भूका आँखाले हेरिहरेझैं लाग्यो । म किन त्यहाँ उभिन पुगेँ भनेर अहिले पनि सोच्छु ।

    शीरमा भादगाउँले टोपी, शरीरमा खाकीको खैरो बर्दी, खुट्टामा सिउरिएका खैरो जुत्ताको आडमा गोडा फाटेर घण्टौ उभिँदा खुबै थाकिएको थियो । त्यो बर्दीमा केटोले आफूले आफैंलाई खुबै सुन्दरताको प्रशंसा गरिरहेकाले थकानको वास्ता गरिएन । हरियो कपडाको धरोलाई दाम्लोझैं घाँटीमा बेरिएको सुर्केनो सुमसुम्याउँदै स्यम्भूको आडमा उभिएर उतायता हेरेँ । प्राचीनकालीन सीप र शैलीका घरका बार्दलीबाट रमिता हेरिरहेकोतिर आँखा दौडियो । केही दौंतरीहरुसँग आँखा जुध्यो । टाढैबाट मुस्कान ‘अभिवान’ प्रकट गरेँ ।

    परम्परागत महत्वका डबली, आँगन, दोबाटा, गल्लीका मूर्ति र मन्दिरहरुमा मानिसहरु यतायता गर्दै थिए । चरिकोट फर्कने हतारोले सबैतिर घुमघामलाई रहरमै सन्तोष मानेँ । सेङबाट डोक्छेँ, प्वाकल्चाको बाटो उकालिँदै पाखलती पुग्दा स्कुलका सर र साथीहरु कुरिरहेका रहेछन् । स्कुले साथीहरुसँग आपसमा गफिँदै, जिस्किँदै, धेकेलाधकल गर्दै हतारहतार चरिकोटतिर कुलेलाम ठोकियो ।

    त्यो बेला स्काउट राजसंस्थाको निकै प्यारो थियो । राजसंस्थाको छत्रछायामा विस्तार गरिएको स्काउटको ठूलो सञ्जाल देशव्यापी विस्तारित थियो । हामी स्काउटेले पनि लामबद्ध भएर रानीको चाकडी गरेका रहेछौं । त्यसको उपहार दोलखाली केही पञ्चहरुका छातीमा राजबाहुलीबाट प्राप्त तक्मा झुण्डिएको खबर पइयो । एउटा बाउ भने छोरालाई किनिदिएको त्यो खाकीको बर्दीको पैसा तिर्न पसलेबाट तर्कर्दै हिँड्थे ।

    ०००

    अध्याँरो अतीतसँग केटोलाई कुनै चिन्ता थिएन । दोलखा सरहको सेङ क्षेत्रमा लिच्छवीकालतिरको स्वयम्भूलाई दाहिने पारेर भीमेश्वरको राजपूजा हेर्न प्रायः पुग्थे । केहीअघिसम्म सेङ क्षेत्रमा दोलखा राजकाजमा सघाउन मन्त्रीहरुका निवास थिए । तीन–चार सय वर्ष पहिलेका ती संरचनाका भग्नावशेषहरु हाल भेटिँदैनन् ।

    चरिकोटको मुख्य व्यापारिक केन्द्र टुटेपानी बजार छिचोल्दै पूर्वी मोहडाबाट तार्थली पुगेपछि प्राचीन ढुङ्गेधारा पानीमा पिइन्थ्यो । सापकोटा थरका पुरोहितहरुको थातथलोको त्यो धारामा अनुहार आकाशतिर फर्काउँदै मुखभित्र कलकल झरिरहेको पानी छिराएर प्यास मेटाइन्थ्यो ।

    तेर्सिएको गोरोटोमा घट्टेखोला र मरिङखोला तर्नु बर्षातका बेला त्राही हुन्थ्यो । भर्खरै एकजना सचिवको मृत्यु भएकाले घट्टेखोलालाई हामी केटाकेटी सचेत पार्न सचिव बगाउने खोलामा बँच्नु पनि भनिन्थ्यो । दुवैखोला तरेर दोलखा सहर जाँदा प्रायः लप्टनको चौतारोमा आराम गरिन्थ्यो । जोगी गाउँको चौतारोमा केहीबेर विश्राम गर्दै बाटैबाटो अघि लागिन्थ्यो ।

    कलिलो घाममा दोलखा सहरको चहलपहल बाक्लो भैसकेको हुन्थ्यो । भीमेश्वरमा पूजापाठ गर्नेको ठेलमठेल हुन्थ्यो । बोका, भालेहरु एकपछि अर्को बलीमा चढिरहेका हुन्थ्थे । मन्दिर घुमेपछि दक्षिणतिरको मुख्य द्वारको एक चौथाइ भाग छेकिएको बार नाघेर प्रवेश गर्थेँ । अरुलेझैं आस्थाको पत्थरका अगाडि दुई हात टेक्थे । घुँडा टेकेर शरीरलाई ढल्काउदै निधारले छुन्थे ।

    मन्दिरबाट फर्केपछि स्वयम्भू छेउका पसलबाट नाङ्गालमा डोरी बाटे जस्तै बेरेर बनाइएका बेरुवा मिठाइ किन्थेँ । मुखलाई एकसुकाको त्यो मिठाइले बढो स्वादिलो बनाउँथ्यो । एक रुपैयाँमा दुई, तीन छटाक जिलेभी आउँथ्यो । बजारको मुख्य भाग स्वयम्भूमा अडेस मार्दै रसिला जिलेभी झिकेर टोक्थे । ओठमा बगेर आएकोे गुलियोलाई समेत जिब्रोले चाटेर स्वाद लिन्थे ।

    ०००

    सरहको सेङमा उभिएर २०४२ सालमा महारानीलाई सलाम ठोक्ने त्यो केटो तन्नेरीमा महामहिम भेट्न राष्ट्रपति निवास छिर्छ ।

    भीमेश्वरको महाप्रसाद बोकेर गएका हामीहरुमध्ये गुठियारका हातमा रातो मखमली रुमालले छोपिएको किस्ती छ । किस्तीमा चाँदीको करुवामा भीमेश्वरको जल भरिएको छ । केही राता सेता फूलमालाहरुले किस्तीलाई सुन्दर बगैचा जस्तै बनाएको छ । किस्तीको मध्यभागमा चाँदीको दानीमा कपास छ । त्यो कपासले भीमेश्वरमा आएको ‘पसिना’ पुछेको हो । त्यो कपास भीमेश्वरको ‘महाप्रसाद’ हो ।

    शाहबंशको शासनकालसम्म कपास र बोकाको मासु महाप्रसादको रुपमा राजदरवार छिथ्र्यो । राजाका बाहुलीबाट ग्रहण हुन्थ्यो । विधिवत् गरिनुपर्ने क्षमापूजा राजाबाट बक्सिस भएको दक्षिणाबाट हुन्थ्यो । कर्नेलको नेतृत्वको फौजले जोरबोकाहरु दरबारबाट लगिन्थे । बलीमा चढेको बोकाका फिलाहरु राजभोजनमा ज्युनार हुन्थ्यो ।

    अहिले महाप्रसाद राष्ट्रपति निवास छिर्छ । महामहिमको निवास क्षेत्र छिर्ने पहिलो द्वारमा सुरक्षा जाँच भयो । भीमेश्वर गुठियारसहतिको हाम्रो समूहलाई फूलहरु वीचको सडकबाट मूल निवासतर्फ लगियो । समूहमा गुठियार, जनप्रतिनिधि, प्रशासन प्रतिनिधि र केही भद्रभलाद्मीहरु थिए ।

    मूल निवासभित्र छिर्ने बेला द्ववारपालेले फेरि शरीर जाँच गरे । क्यामेरा, मोबाइल उपकरणहरु एउटा टोकरीमा थन्क्याउन लगाइयो । एक सुरक्षा गार्डको सहायतामा निवास भित्रभित्रै लाग्यौं । निवासका लबीहरु छिचोल्दै अघि बढ्दा महिला सुसारेहरु यताउता गरिरहेका थिए । ठाउँठाउँमा द्ववारेहरु निगरानीमा थिए । पटाङ्गिनीमा विभिन्न बहुरङ्गी फूलहरु देखिन्थे । तिनै दृष्यमा रमाउदै अघि बढ्दै बैठक कक्षमा छिरियो ।

    बैठक कक्ष सफा र मिलाइएका थिए तर सामान्य थियो । महामहिम बस्ने कुर्ची उत्तरबाट पश्चिम फर्काएर सजाइएको थियोे । कुर्चीको सामुन्ने केही दूरीको फरकमा पूर्व र पश्चिम फर्केर बस्न मिल्नेगरी आसनहरु राखिएका थिए । दुवैतिरका आसनहरुमा मिलेर हामी प्रतिक्षारत बस्यौ । प्रतीक्षाकै घडीमा हामीलाई चिया टक्र्याइयो । हामी सबैले महत्वसाथ स्वाद लिँदै पियौं ।

    त्यसै क्रममा सुसारेहरु ढोकाबाट छिरे । सवारी हुँदै छ भन्ने सूचना पाएपछि हामी सबै सचेत भएर उठ्यौं । अघि नै प्रतीक्षरत महामहिमका सल्लाहकार सञ्चारकर्मी, तस्बिर खिच्ने व्यक्तिहरु पनि उठेँ ।

    पूर्वसूचना अनुसार महामहिमको सवारी भयो । हामी सबैले अभिवादन गर्यौ । मुस्कुराउँदै महामहिम कुर्चीमा बसिन् । कुर्चीमा उडेस मारेर दुवै हातलाई कुर्चीका दायाँवायाँका बारमाथि राखिन् । टाउको हल्लाउँदै मुस्कुराएपछि केही भन्ने बाटो खुल्यो । गुठियारमध्ये एक जना उठ्दै महामहिमलाई भीमेश्वरमा पसिना आएको जाहेर गरे ।

    ‘महामहिम राष्ट्रपतिज्यू दोलखा भीमेश्वर महाराजको शीलामा पसिना आयो । पसिनाले देश र दरवारमा केही अप्रिय घटना हुने पूर्वसूचना दिने मन्यता छ । यसबाट जोगाउन क्षेमापूजा गर्नुपर्छ ।’

    महामिहमले टाउको हल्लाउँदै बुझे सुनेको संकेत गरिन् ।

    ‘रीति परम्पराअनुसार नै महाप्रसाद ल्यायौं हजुर,’ गुठियारले जाहेर गर्दै गए, ‘यहाँबाट पठाइएको भेटी दक्षिणाले जोरबोका बली हुन्छ । स्थानीय प्रशासनको रोहबरमा क्षमापूजा गरिनुपर्छ ।’

    त्यति जाहेर गराइसकेपछि अर्को गुठियार किस्ती लिएर उठे । सुस्तरी महामहिम छेउमा उभिए । महामहिम आसनबाट उठिन् । किस्तीबाट कपास झिकिन् । श्रद्धापूर्वक निधारमा छुवाइन् । माला उठाएर गलामा लगाइन् । फूलपाती पनि हातमा लिइन् । चाँदीको करुवा उचालेर जल छर्किन् । कपास र फूलप्रसाद पुरोहितको हतमा थमाइन् । कुनै एक कर्मचारीले नगद भरिएका खाम महामहिमलाई समाउन दियो । त्यसलाई निधारमा छुवाउँदै किस्तीमा राखिदिइन् । राष्ट्रप्रमुखले प्राचीन दोलखा राज्यसँग जोडिँदै आएको ‘शीलामा पसिनाको अटल विश्वास’लाई निरन्तरता दिएकामा हामी सबै गद्गद् भयौं ।

    सबैको आसनग्रहणपछि केही जानकारी लिने संकेत महामहिमबाट भयो ।

    मसँगै जोडिएर बसेका इतिहासमा दखल राख्ने एकजनाले केही बोल्ने अनुमति लिए, ‘यो महाप्रसाद साथै राख्दा फलिफाप हुन्छ महामहिमज्यू ।’

    महामहिमले सही थाप्दै भनिन, ‘कपासलाई म साथै राख्छु ।’

    महामहिम गफिन मन पराएजस्तो मुद्रामा देखिइन् । दोलखा र भीमेश्वरसम्बन्धका केही जिज्ञासाहरु बारे चर्चा हुन थाल्यो । गुठियारले बताउँदै गए । जाने सुनेकाहरुले कुरामा कुरा थप्दै गए । परम्पराअनुसार बली दिइएको बोकाको फिलासहित पुनः महाप्रसाद लिएर पुनः भेट्ने गुठियारले व्यक्त गरे । भेट गर्ने सहमति जनाउँदै महामहिम उठिन् ।

    उनी बाहिरिएपछि हामी पनि बाहिरियौ । महामहिम र हामी सबैले मुख्य निवासलाई पृष्टभूमि पारेर बस्यौ । क्यामेरा बोकेर फोटो खिच्दै गरेका व्यक्तिले साझा तस्बिर लिए । संयोगबश तस्बिर लिने व्यक्ति पत्रकारिता अध्ययनका सहपाठी रहेछन् । त्यो नाताले चाँडै तस्बिरहरु मेरा इमेल ठेगानामा झर्यो । सबैलाई तस्बिरहरु फेसबुकको सन्देश ठेगानमा हुत्याइदिएँ । आफ्ना आफ्ना फेसबुक वालबाट केहीबेरमै तस्बिरहरु भाइरल हुँदै गए ।

    हाम्री महामहिम र झण्डै चार दशकअघि भीमेश्वर स्वयम्भूनजिक देखिएकी शाह वंशका बडामहारानीको तुलना गरेँ । निरङ्कुश महारानीलाई बालापनले खासै अनुभूति गर्न सकेन ।

    महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई उहाँको सक्रिय राजनीतिक जीवनमा चिनेको हुँ । पटकपटक भेट भएकै हो । चरिकोटबाट काठमाडौंसम्म बिरामी छोरासहित म र श्रीमती उहाँ सवार गाडीमा यात्रा गरेकै हो । महामहिमको रुपमा पनि उस्तै रुप र शैलीमा अनि प्रस्तुत व्यवहारले म पुलकित पाएँ । पहिले राजनीतिले भेटघाट जुरायो । अहिले भीमेश्वरको आस्थाले उनका नजिक पुर्यायो ।

    क्रमश…

  • ‘सुन्दरी सुनिता’को अनौठो ठगीधन्दा

    ‘सुन्दरी सुनिता’को अनौठो ठगीधन्दा

    काठमाडौं । फेसबुकमा नाम– सुनिता खत्री । इन्ट्रोमा लेखिएको छ– नेपाली चलचित्र उद्योग, जय माया प्रेम । फेसबुकका आधारमा उनी नेपाली चलचित्र उद्योगको कोरियाग्राफर । फेसबुककै आधारमा नै उनी जीएस स्कुल कालिमाटीमा अध्ययन गरेकी र काठमाडौंमा नै बस्दै आएकी एक युवती ।

    २०७७ साल मंसिर १२ गते उनले ‘के छ कता ?’ भन्ने म्यासेज फेसबुकमा पठाएकी रहिछन् । केही दिनअघि मात्रै उनले म्यासेन्जरमा थम्स पठाइन । तर, मैले कुनै मतलब गरिनँ ।

    त्यसपछि उनले फेरि ‘कता हो ?’ भन्दै प्रश्न गरिन् । राति साढे तीन बजे म्यासेज गरेकी रहिछन् । बिहानपख जवाफ फर्काएँ– म त काठमाडौं मै छु । अनि तिमी ?’

    उताबाट जवाफ आयो– सेम केटिएम नै ।

    ‘अनि केटिएम कता नि !’

    ‘बानेश्वर अनि तिमी चाहीँ ?’

    ‘पेप्सीकोला ।’

    ‘अनि खाना खानुभयो ?’

    ‘भर्खरै ।’

    ‘अनि अरु के छ ?’

    ‘सबै ठीक छ । तिम्राे ?’

    ‘के गर्दै होइसिन्छ नि अनि ?’ उत्तर आएन, प्रश्नै ठडियो ।

    ‘म यतिकै बसिराछु अनि तिमी ?’

    ‘सेम, अनि अरु के छ नि ?’ फेरि उस्तै प्रकृतिको प्रश्न ।

    ‘सबै राम्रो छ । आफ्नो के छ ?’

    ‘सेम, अनि फ्यामीली नै हो कि बस्ने यता ?’

    ‘हो ।’

    ‘अँ, यता आउनु न त खाना खानलाई अहिले ?’

    ‘कता हो नि ?’

    ‘पेप्सीकोला । म एक्लै हो ।’

    ‘किन आउनुपर्ने हाे नि ?’ मैले भनें ।

    ‘आउनु अहिले ९ बजे तिर । ९८………..६ मा कल गर्नुस् यहाँ आएर । तपाईंको नम्बर ?’

    मैले नम्बर दिन चाहिनँ । उनले सनसिटी अपार्टमेन्ट छेउमा बोलाइन् ।

    मैले कल गरे । मलाई एकोहोरो तारन्तार आउन जोड दिइन् । फोन राखेपछि म्यासेजमा उतिकै सताइन् । ‘कहाँ आइपुग्नुभो ? कतिबेला आइपुग्नुहुन्छ ? छिटो आइस्यो । म खाना बनाउँछु, खाउँला, बसौंला, रमाइलो गरौंला ।’

    म जाने नै निष्कर्षमा पुगें । म्यासेज गरें, ‘म यहाँबाट हिँडे ।’

    सनसिटी छेउ पुगेपछि आइपुगेको जानकारी गराएँ । उनले फोनमा भनिन्, ‘भएदेखि दुई तीन हजार पैसा लिएर आइस्यो ल । मेरो एक ठाउँमा तिर्नु छ ।’ मैले ‘पैसा त छैन’ भनें ।

    म उनले भने अनुसारकै लोकेशनमा पुगें । उनलाई ठम्याएँ । अनुहारमा मास्क थियो । २० वर्ष हाराहारीकी देखिन्थिन् । सामान्य टाउजर र चप्पल लगाएकी । टाउकामा टोपी थियो ।

    भेट्ने बित्तिकैको उनको पहिलो प्रश्न– केमा आउनुभो ?

    म बोलिनँ ।

    उनी भन्दै हिँड्दै गरिन्– चिसो कस्तो बढेको है !

    म बोलिनँ ।

    फेरि भनिन्– मैले भनेको थिएँ नि ! दुई–तीन हजार रुपैयाँ, ल्याउनुभयो ? म रुम पुगेर दिन्छु । अहिले मलाई खाँचो छ ।

    ‘पैसा त छैन’, मैले भनें ।

    ‘इसेवा वा मोबाइल बैंकिङ होला नि !’

    ‘मसँग नेट छैन ।’

    ‘म हटस्पट छाडिदिन्छु ।’

    अति नै सताएपछि मैले दुई हजार रुपैयाँ ट्रान्सफर गरिदिन खोजें । उनले तीन हजार नै चाहिने बताइन् ।

    मैले ‘छैन’ भन्ने जवाफ दिएँ । ‘कार्ड होला नि हजुरसँग’। उनले प्रश्न गरिन् । मैले छैन भन्ने जवाफ दिए । त्यसपछि उनले इसेवामा पठाइदिनु न त भन्दै आग्रह गरिन् । मैले सुन्दै नसुने गरे पनि उनले धेरै जिद्धि गरेपछि मसँग इन्टरनेट छैन भन्ने जवाफ दिए । उनले म हटस्पट चलाउछु नि है भन्दै हटस्पट नै खोलिन् ।

    त्यसपछि मैले बाध्य भएर २ हजार हाल्न खोजे । तर उनले ३ हजार नै चाहिएको हो । त्यसैले ३ हजार नै हालिदिनु न है भन्दै जिद्धि गरिन् । मैले इसेवा आईडी मागे । उनले इसेवा आईडीको दिएको नम्बर हो ९८……….५२ । पैसा इसेवामा पठाइसकेपछि उनले त्यसको स्कृन सट पनि आफूलाई पठाउन भनिन् । मैले च्याट बक्समा उनलाई स्कृन सट पनि पठाएँ । उक्त प्रमाण मसँग अहिले पनि छ ।

    पैसा प्राप्त गरेपछि उनले कसलाई हो थाहा भएन, फोन गरिन् र भनिन्, ‘दिदी मैले पैसा पठाइदिएको छु । ३५ सय त होइन, तीन हजार पठाइदिएको छु । अहिले यसैले म्यानेज गर्नु न है । म एकै छिनमा आउछु ।’ त्यति भनिसकेपछि उनले मेरो घर सोधिन् । मैले आफ्नो ठेगाना बताएन् । अनि ‘तिम्रो घर कता भनेर प्रश्न गरे ?’ उनले भनिन्, ‘मेरो घर त पूर्व हो ।’

    मैले प्रतिप्रश्न गरे, ‘पूर्व कता हो नि ?’ उनले जवाफ नदिदैँ कसको हो खै फोन रिसिभ गरिन् । उताबाट कतिबेला अफिस आउने हो भन्ने प्रश्न थियो वा उनी आफैले प्रश्न बनाएर जवाफ दिइन् थाहा भएन । तर उनले फोनमा भनिन्, ‘म आज चार बजेसम्म मात्र अफिस आउँछु । आज समाचार पढ्ने कसको पालो हो ? श्री पाण्डे कै त हो नि ।’ उताबाट ‘हो’ भन्ने नै जवाफ आएको जस्तोगरी बोलिन् । त्यसपछि मैले कहाँ हो काम गर्ने ? भनें । उनले ‘टिभीमा हो’ भन्दै जवाफ दिइन् । टिभी भनेपछि र श्री पाण्डेको नाम लिएपछि पक्कै कान्तिपुर नै होला भन्ने अनुमान गरे ।

    त्यसपछि उनले डोर्याउदै आफ्नो कोठातिर लान खोजिन् । उनले फेरि पाँच सय रुपैयाँ मागिन् । मैले दिन मानिनँ । उनले जरुरी सामान ल्याउनुपर्ने भन्दै कर गरिन् । अति नै कर गरेपछि एक हजारको नोट दिएँ, मसँग पाँच सयको बेग्लै नोट रहेनछ ।

    मलाई एकछिन त्यहीं पर्खन भन्दै उनी नेक्सस स्कुलतिर लागिन् । १५ मिनेटसम्म आइनन् । कल गरें । फेरि १० मिनेटपछि कल गर्दा ‘एकछिन कुर्नुस सरी है त ढिलाे भएमाेमा, म आइहालें’ भनिन् ।

    त्यसपछि फोन उठ्नै छाड्यो । मलाई थाहा थियो, ठगिँदै छु भनेर । किनकि म ठगिनकै लागि त्यहाँ गएको थिएँ ।

     

    त्यसपछि ठगिनकै लागि गएको थिएँ म

    सात जनाले सुनिता खत्रीबाट आफू ठगिएको मलाई जानकारी गराएका थिए । उनीहरुले समाचार लेखिदिन पनि मलाई आग्रह गरे । तर समाचारका लागि कुनै प्रमाण थिएन । त्यसैले प्रमाण जुटाउनकै लागि म सुनितालाई भेट्न पेप्सीकोला गएको थिएँ ।

    उनलाई भेट्न जानुअघि कुनै खतरा हुन्छ कि भनेर महानगरीय प्रहरी वृत कोटेश्वरका प्रहरी अधिकारीको समन्वयमा म त्यहाँ पुगेको थिए । प्रहरी अधिकारीलाई सबै कुरा त जानकारी गराएको थिएन, तर ‘म एउटा स्थलगत रिपोर्टिङमा जाँदैछु, कुनै पनि बेला मलाई अफ्ट्यारो पर्नसक्छ, अलर्ट भएर बस्नुहोला’ भनेको थिएँ ।

    सुनिताको प्रोफाइल

    उनलाई फेसबुकमा एक हजार नौ सय ९३ जनाले फलो गरेका छन् । हाम्रा म्युचियल फ्रेन्ड पनि एक सय ८४ जना  छन् । उनको फेसबुक साथीको सूचीमा छन्, सामान्य मान्छेदेखि चर्चित सेलिब्रेटीसम्म । हाम्रा संयुक्त साथीलाई मैले उनको फोटो पठाएर सोधें, ‘यो मान्छेलाई चिन्नुहुन्छ ?’ सबैले नचिन्ने बताए । मलाई पनि उनी कहिले मेरो साथी बनिन् पत्तो छैन ।

    तर एउटा कुरा प्रमाणित भयो कि उनले मलाई जस्तै गरी ठग्ने धन्दा नै चलाएकी रहिछन् । फेसबुकमा साथी भएका व्यक्ति र फेरि साथी बन्नेलाई पनि सचेत गराउनका लागि यो ब्लग लेखिएको हो । यदि कसैले कुनै खालको प्रलोभनमा परेर सुनिता खत्री लगायतका पात्रलाई भेट्नुभयो भने जुनसुकै बेला ठगीमा पर्न सक्नुहुन्छ । प्रहरीले पनि यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारवाही गर्नुपर्दछ ।

  • मेरो स्पष्टीकरण

    मेरो स्पष्टीकरण

    म एलिसा पौड्याल, समाजशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयकाे विद्यार्थी । अहिले भन्नुपर्दा ४७ औं दिक्षान्त समारोहमा सुमन रिजाल पदकका लागि छनौट भएकी विद्यार्थी, जुन पदक समाजशास्त्र/मानवशास्त्रमा सर्वप्रथम भएका विद्यार्थीलाई दिइने गरिन्छ।

    मङ्सिर २८ गतेको गोरखापत्रमा मेरो नाम सो पदकका लागि प्रकाशित भएको खवर बेलुका साथीमार्फत् थाहा पाएँ। यो मेरो लागि खुसीको कुरा थियो। जो कुनै विद्यार्थीको सपना हुन्छ, पढाइमा उच्च स्थान हासिल गर्ने। मैले पनि सपना देखेकी थिएँ, आफ्नो सपनालाई भेट्न रातदिन मेहनत गरेकी थिएँ। गोरखापत्रमा नाम प्रकाशित भएसँगै ममाथि नातावादका आधारमा कसैले काखी च्यापेर सफलताको सिँढी चढाएको आरोप आइलाग्यो । कारण मसँगै पढेका मेरो साथी आमिर राजाको सिजिपिए ३.९४  थियो भने मेरो सिजिपिए ३.९३ थियाे।

    मैले अवार्ड मलाई दिइयोस् भनेर कतै निवेदन दिएकी थिइनँ । कसैको सोर्सफोर्स लगाएकी थिइनँ। म विद्यार्थी हुँ र विद्यार्थी भएरै दिक्षान्त समारोहको लागि अनलाइन फर्म भर्न लगाएकी थिएँ । त्यसको लागि चाहिने डकुमेन्टहरु बुझाएकी थिएँ। यसर्थ गोरखापत्रमा मेरो नाम निस्किनुसँग मेरो कुनै नातागत, कृपागत, राजनीतिक कुनै सम्बन्ध छैन। यो मात्र विश्वविद्यालय र विद्यार्थीको सम्बन्ध हो।

    समाजशास्त्रमा पहिलो सेमेस्टरमा ३.९४ ल्याउँदै म प्रथम भएकी थिएँ । त्रिवि समाजशास्त्र विभागले ‘Erasmus Programme’ को लागि समाजशास्त्रको पहिलो सेमेस्टरमा प्रथम हुने विद्यार्थीलाई एक सेमेस्टरका लागि जर्मनी पढ्न पढाउँथ्यो । मेरो पालामा थर्ड सेमेस्टरको रिजल्ट आइसकेपछि त्यो प्रोग्राम आयो । तत्कालीन डिपार्टमेन्ट हेड डा. टिकाराम गौतमले आमिर र म दुवैलाई कसको जिपिए बढी छ अहिलेसम्ममा ? भनेर सोध्नुभएको थियो । जसको जवाफमा आमिरले एलिसाले थोरै पोइन्टले मलाई जितेकी छिन् भन्ने जवाफ दिनुभयो । सो अनुसार नै मैले ‘एरास्मस ग्रान्ट’ पाएर फागुन २८, २०७६ मा जर्मनीको बेलिफिल्ड गएकी थिएँ ।

    त्रिविको नियमअनुसार अवार्डमा क्लेम गर्ने विद्यार्थीले रिजल्ट भएको ९० दिनभित्र थेसिसको भाइबा सक्नुपर्ने थियो । जर्मनी जान पाउने अवसर पाएको कारणले मैले ९० दिन नपुग्दै भाइबा सकाएकी थिएँ। स्मरण रहोस्, भाइबा थेसिस नसकिकन हुँदैन । अपूर्ण थेसिसको भाइबा गरिएको भनेर जुन फेसबुक पोस्ट र समाचारहरुमा आएको थियो, यो गलत हो । प्रमाणका लागि, समाजशास्त्र विभागमा मैले थेसिसको भाइबाका लागि बुझाएको प्रिन्ट सुरक्षित छ । हेर्न सक्नुहुन्छ ।

    कोरोनाकालमा एउटा विद्यार्थीको थेसिस भाइबा गरियो, अरुलाई कोरोनाको बहानामा मौका दिइएन भन्ने जुन आरोप नाम तोकेर ममाथि र त्रिवि समाजशास्त्र विभागमाथि लगाइएको छ, त्यो आरोप झुटो हो । किनकि नेपालमा चैत ११ गतेबाट लकडाउन सुरु भएको थियो । मैले फागुनमै भाइबा सकेर जर्मनी गएकी थिएँ । कोरोनाको समय अगावै मेरो भाइवा सकिएको थियो । प्रमाणका लागि मैले डिपार्टमेन्टसँग ‘अफिसियल लेटर’ मागेकी छु । भाइबाको प्रति डिपार्टमेन्टमा सुरक्षित नै होला ।

    एलिसा पदकको लायक छैन, उसको सिजिपिए गोरखापत्रमा ३.८७ र ३.९३ दुइवटा आएको छ भन्नेमा पनि मेरो ध्यान गएको छ । गोरखापत्रमा आफ्नो नाममा भएको जिपिएभन्दा कम देखेपछि म परीक्षा नियन्त्रण कार्यालयमा गएकी थिएँ । त्यहाँ रजनी महर्जन म्यामसँग कुरा गर्दा यसले फरक नपार्ने धारणा पाएपछि म दिक्षान्तको गाउन, टोपी र मेडलिस्टको पास लिएर फर्किएकी हुँ । पछि फेसबुकमा एकजना दाइमार्फत् पाएको सूचनामा आफ्नो सही सिजिपिए ३.९३ देखें ।

    तपाईं मङ्सिर २८ गते प्रकाशित र पुस २ गते प्रकाशित भएको गोरखापत्रको सूचना हेर्नुस् । त्यहाँ दुइथरि सिजिपिए भएका अरु विद्यार्थी पनि छन् । म नाम लिन चाहन्न । यसर्थ यो गल्ती डिन कार्यालयको हो वा गोरखापत्रमा प्रिन्ट मिस्टेक हो मलाई थाहा हुने कुरा भएन ।

    यो पनि पढ्नुहोस् :

     त्रिविको जालझेल : सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी स्वर्णपदकबाट वञ्चित

    अन्नपूर्ण पोस्टमा प्रकाशित “पदकमा टियुको बदमासी” शिर्षकको न्युजमा भनिएको छ – टियु मानविकी तथा सामाजिक शास्त्र शंकायका डीन प्रा.डा. कुसुम शाक्यले भने समयमा भाइवा नबुझाएका कारण समस्या भएको बताइन्। ‘समयभित्र भाइवा नबुझाएका कारण पदकमा नपरेको हुनसक्छ । त्यहि समाचारमा भनिएको छ । मानविकी तथा समाजशास्त्रीय संकाय डीन कार्यालयले भने तीन महिना अवधिको निर्णय फेर्न नसक्ने भन्दै जिम्मेवारीबाट पञ्छियो । ३ महिनाभित्र थेसिस बुझाउन नसकेको कारण कोरोनाको समयलाई ध्यानमा राख्नुपर्ने भन्ने आशयको पत्र डिपार्टमेन्टले असोज १३ मै मेरो साथीलाइ दिइएको थियो । यसबाटै स्पस्ट हुन्छ कि पदक दाबी गरिने कुरा नभै त्रिबिको आन्तरिक निर्णयबाट दिइने कुरा हो ।

    यो सबै विवादमा एलिसा पौड्यालको स्थान र भूमिका के ? पढेकै कारण, त्रिविले समयमा भाइबा गरेर पदकको लायक ठानेकै कारण मैले किन सजाय भोग्नुपर्ने ? समाचार लेख्दा एउटा पक्षको मात्र कुरा सुनेर अर्को विद्यार्थीलाई खेदो खन्ने अधिकार कसले दियो नेपालको पत्रकारिता क्षेत्रलाई ? मेरो फेसबुकमा पब्लिक गरिएको फोटोलाई समाचारमा मलाई नसोधि राख्ने अधिकार कसले दियो ‘नेपाल प्रेस’ र यसका सम्पादकलाई ?

    पढेकै कारण एउटी विद्यार्थीलाई ‘टर्चर’ दिने अधिकार नेपालको पत्रकारिता क्षेत्रलाई छ ? त्रिविले पदक नदिएकोमा लडाइँ कोसँग ? एलिसा पौडेलसँग कि त्रिवि प्रशासन, व्यवस्थासँग ? मलाई जवाफ चाहियो । कसैले बताइदेओस् मास्टर्सको समाजशास्त्र सर्वोत्कृष्ट हुनुसँग एमफिलको इन्ट्रान्समा नवौं स्थानमा नाम निस्किनुको सम्बन्ध के रहेछ ? लडाइँ त्रिविसँग हो भने एलिसाको एमफिल इन्ट्रान्समा नाम नवौं स्थानमा निस्कियो भन्ने ‘लजिक’ के हो ?

  • मेरो सहरकी महारानी

    मेरो सहरकी महारानी

    हरेक बिहानीका मिर्मिरेमै घण्टका मधुरधुनले निन्द्रा खुल्छ । पूर्वतिरको झ्याल उघार्छु । मधुरो प्रकाशमा मुस्कुराइरहेको गौरीशंकर हिमाल चुम्छु ।

    यो हिमालका आधारमा नेपाली समयको सुई चल्छ, २०४२ सालको नयाँ वर्षको शुभारम्भदेखि यसरी नै नेपालको समय मामन हुँदै आएको छ । सूर्यको उज्यालो पोखिदै गएको गाउँवस्तीतिर आँखा तन्काउँछु ।

    शरद्कालिन एकाविहानीमा भीमेश्वरसँग आखाँ जुधाउँछु । त्यहाँबाट घण्टका धुनहरु हावामा गुञ्जिरहन्छ । हरिया रुखहरुको छहारीमा भीमेश्वरसँग मेरो गहिरो आस्था छ । वरपर फूलहरु आफ्नै गतिमा फक्रिरहेको छ । भीमेश्वर र मेरोबीचको बसाईँ फूलहरुको राजमार्गले जोडिएको छ ।

    भीमेश्वरको बास रहेको दोलखा सहर र चरिकोट बजार एकआपसमा सुमधुर सम्बन्धमा सम्पर्कित छन् ।

    परापूर्व नेपालको एउटा साम्रज्यभित्रको दोलखा र चरिकोटको सम्बन्ध आज पनि उस्तै छ । घनिभूत हुदै गरेको जनघनत्वले यी दुई शहरलाई झनै नजिक्याइरहेको छ ।

    एकिकरणपूर्व दोलखा राज्य सञ्चालनमा चरिकोटले ऐतिहासिक महत्व राख्छ । ऐतिहासिक कथाहरुमा दोलखाका खेतहरुका लागि अकासबाट पानी पार्न वा असिना रोक्न लामाका मन्त्रहरु प्रयोग हुन्थे ।

    चरिकोट चरिघ्याङ गुम्बाबाट शक्तिप्राप्त लामा र राजाका सम्बन्धका प्रगाढ थियो । त्यसका केही निसानाहरु अझै छन् । पाँच शताब्दीको इतिहास जिवित रहेको चरिकोटस्थित चरिघ्याङ गुम्बानजिकै भीमेश्वरको मूर्ति छ ।

    गुम्बाको दक्षिणी मोहडामा स्थापित मूर्तिले आपसी सम्बन्धलाई थप रहस्यमयी वनाएको छ । बौद्ध र हिन्दु देवतालाई साथसाथै राखेर पुजापाठ गरिनु प्रचीन सहिष्णुता मानकको रुपमा हेरिन्छ ।

    जनविश्वास अनुसार चरिकोट चरिघ्याङ, चोथाङ, मकैबारी र विगुका लामाहरुले तन्त्रमन्त्र विधिमार्फत दोलखा सहरमा आसिना आउनबाट रोक्थे ।

    त्यो कार्यका लागि राज्यका तर्फबाट गुम्बाका लागि लाँबु (खेत) हरु छुट्याइएको थियो । वाली रक्षा गरेबापत प्रत्येक खेतबाट एकपाथी धान र एकपाथी गहुँ आउथ्यो ।

    ०००

    प्रायः भीमेश्वर मन्दिर पुग्दा चहलपहल बाक्लो भैसक्थ्यो । हरेक बिहान स्नानपछि दोलखा सहरका नरनारीका पाइला भीमेश्वरतिर लम्कन्छ । नारीका कोमल हातमा भीमसेनपातीको फुलले भरिएका थाली हुन्छन् ।

    धुप, नैवेद, रंगहरु र चामल गेडाहरुले हुन्छन् । अर्को हातमा पित्तलका करुवा झुण्डिएका हुन्छन् । राज्य अस्तित्वमा रहदा दोलखा राज्यका महारानीको हरेक दिन भीमेश्वरतर्फ सवारी चल्थ्योे । राजकुमारीहरु पनि साथै हुन्थिन । महारानीकी सवारी चल्दा रैतीहरुले श्रद्धापूर्वक बाटोको दायाँबायाँ उभिएर झुक्थे । दशैं तिहारका बेला राजसवारी विशेष हुन्थ्यो । दशैका वेला महारानीले रैतीलाई वक्सिसहरु दिन्थे । बोका र रागाका मासुका प्रसाद ग्रहण गर्न देश परदेशदेखि आएका नरनारी दरबार पुग्थे । आफैले भोज बाँडेर महारानीले प्रजालाई आकर्षण भर्थिन ।

    हरेक दिन भीमेश्वरमा राजपुजा गर्न राजाको सवारी चल्थ्यो । ढुङ्गा छापिएका वाटा र खुड्कीलाहरुमा राज परिवारको सवारी अवधिमा शहरमा सुरक्षा कडा हुन्थ्यो ।

    श्रद्धाभक्तिपूर्वक पुजापाठका क्रममा भीमेश्वरमा गहनाहरु राजाले आफै पहिर्‍याइदिन्थे । पुजापाठ सकेर दरबार फिर्तिसवारी भएपछि राजभोजन खुल्थ्यो ।

    भोजनपछि केहीसमय कोठीमा सुस्तापछि मात्र राजकाजको काम शुरु हुन्थ्यो । राज्यको चारैदिशाबाट आउनुपर्ने विर्ता बुझाउने हिसावकिताब हुन्थ्यो । घिऊ, तोरीको तेल, अनाज, बोका, रागाँहरुको संख्या गनिन्थ्यो ।

    राजाले हिसाब सुनेपछि महारानीको आदेशमा भण्डारेले सामान एकएक गन्ती गर्दै राख्थे । बोका र रागाँहरु गोठमा बाधिन्थे । कुनै बडा दशै त कुनै चैत्ये दशैका लागि भाकल गर्दै राखिन्थ्यो । खड्गजात्राका रागाँका लागि छुठ्टै गोठमा राखिन्थ्यो ।

    त्यसैबाट दोलखा राज्यभरीका देवदेवीको पुजापाठ चल्थ्यो । जात्रा, पर्व धानिन्थ्यो । गुठीका विधिपूर्वक हुने बली र भोजभत्यर खर्च गरिन्थ्यो । राज्य सञ्चालनका लागि खर्चपर्चको बन्दोवस्त त्यसैबाट हुन्थ्यो । बचेखुचेका वस्तुहरु रैतीलाई वक्सिस दिने गरिन्थ्यो । केही द्रव्य अन्य राज्यहरुसँग विनिमय हुन्थ्यो ।

    ढुङ्गाका मन्दिर, देवता, बाटाहरु, घरहरुसहितको प्राचीन सभ्यताका कलाकौशलको यो सरहमा तिब्बतका यात्रुहरु आउथे । कुथिर उठ्तीका अड्डाहरु चारैदिशामा थिए ।

    तामाकोसीका किनारैकिनार तिब्बतदेखि भारतसम्मका व्यापारिक मार्गबाट उठने कुथिर पनि आम्दानीका स्रोत थिए । विनियमयका राजा जयइन्द्रसिंह देवले टक निष्कान सुरु गरे । चाँदीका पैसा टक्सार घरबाट निष्कान हुन्थ्यो । राजाको हुकुमबाट त्यसलाई तिब्ततसँगको विनियम गरिन्थ्यो ।

    राज्यको ढुकुटी बलियो बनाउन खर्कहरुको छुट्टै कर निर्धारण थियो । वरपरका गाउँहरु रैतीहरुका हातमा सुम्पिएका थिए । उत्पादनअनुसार करको व्यवस्था थियो । चारैदिशाबाट रैतीहरु शहरमा आउने भएकाले मनोरञ्जनका लागि विभिन्न जात्राहरु चलाइएका थिए ।

    रातमा भैरबकुमारी, दिनमा खड्गजात्रालाई विशेष व्यवस्थापन गरिन्थ्यो । बर्षभरी जात्रामात्रा सञ्चालन गरेर दोलखा शहरलाई गुल्जार बनाउने योजना राजा आफैबाट हुन्थ्यो । राजा रानी र राजकुमारीहरु हरेक जात्रामा सहभागी हुन्थे ।

     

    ०००

     

    नेपाल एकीकरणका क्रममा राजाका अस्तित्व समाप्त भयो । भीमेश्वरमा राजपुजा गर्न दोलखा शहरभित्र निकै अन्यौल र हल्लीखल्ली मच्चियो । राजपुजा कसबाट चलाउने भन्ने सहरका गल्लीगल्लीमा कचहरी मच्चियो । हरेक दिन पुजा रोकिनु नहुने धार्मिक विश्वासलाई कायम गर्नै पर्ने बाध्यता छदैथियो ।

    नेपाल एकीकरणको क्रममा दोलखा राज्यको तालसाँचो केन्द्रीय सत्तामा हस्तान्तरण भयो । राजखलकलाई केन्द्रीय सत्ताका मातहातमा राखियो । मुख्यमन्त्री प्रधान खलकलाई केन्द्रीय सत्ता अन्तर्गत कामकाज तोकियोे । टक्सारघरका मुलगेटका पहरेदार फेरिए । राजाले गद्दी छाडे । राजा र महारानी दुवैले श्रीपेच फुकाले । श्रीपेचलाई ढुकुटीमा थन्क्याउन आदेश भयो । सवै सम्पत्तिको लगत केन्द्रमा हुकुम अनुसार मुख्यमन्त्रीसहितका दरवारिया कर्मचारीले तयार पारी पठाए ।

    भीमेश्वरमा राजाको बाहुलीबाट विधिपूर्वक हुने पुजापाठ गुठियारहरुबाट हुने हुकुम लिखत आयोे । सोही बमोजिम भीमेश्वरको भण्डारमा तीन ताला ठोकिए । एउटा ताला गुठियारको जिम्मा लगाइयो । अर्को वडाहाकीमको जिम्मा लगायो । अर्को ताला केन्द्रीय सत्तामा बुझाउने कागजात बन्यो । राजा र महारानीले दुवैले प्रजासरह वसेर राज्यलाई विशाल नेपालमा एकिकरण गर्ने बाचापत्र तयार भयो । मुख्यमन्त्रीले हाडीमा लागेको कालो खुर्केर झिके । त्यसलाई तेलमा मिसाएर बनाएको रंगमा राजारानी दुवैले वुढी औला थिचे । बाचापत्रका तलमाथी औठाछाप गरी केन्द्रीय सत्तामा पठाइयो ।

    भीमेश्वरमा मूख्य पुजा प्रत्येक दिन राजाका बाहुलीबाट हुन्थ्यो । राज्य एकिकरणपश्चता शाहावंशका राजाहरु भीमेश्वरमा सवारी भएन । समकक्षी देवताका रुपमा राजाले भीमेश्वरसँग दाज्थे । वडा महारानीहरुका भने दर्शनका लागि सवारी भैरहन्थ्यो । वडा महारानी हुँदा ऐश्वर्याको सवारी चल्दा मलाई पनि लामबद्ध स्वागतका लागि उभ्याइयो ।

    दोलखा सहरको स्वयम्भूनिर स्काउटको पोशाकमा म उभिने ठाउँ तोकिएको थियो । सानै छदा स्कुलबाट वडा महारानीलाई स्वागत चाकडी पुर्‍याउन उभ्याइएको रहेछ भनेर धेरै पछि मात्र बुझेँ । म लगिएँ र मेरो भूमिका के हुन्थ्यो मेरो विवेकले जान्दैन थियो । मैले केवल स्काउटको सलाम गरेँ ।

    क्रमश…

  • विवादै विवादमा नेपाल स्काउट र उम्किने बाटो

    विवादै विवादमा नेपाल स्काउट र उम्किने बाटो

    संस्था जन्मनु मात्रै पनि सफलता होइन । संस्था एक पल्ट हिँड्नु मात्रै पनि सफलताको मानक होइन । कुनै पनि संस्था आफ्नै गतिमा हिँडिरहनु चैँ विशेष कुरा रहेछ । कुनै संस्था जन्मन्छन् तर स्थिर रहन्छन् । कतिपय निष्प्राण प्रायः रहन्छन् ।

    कुनै कुनै संस्थामात्रै गतिशील बनिरहन सक्छन् । नेपाल स्काउट ७० वर्षदेखि अनवरत हिडिरहेको संस्था हो । यसो त, स्काउट यति धेरै बर्षदेखि चल्न सकेको छ भन्ने थाहा पाउन पात्रो पल्टाउनु पर्दैन । उमेर बताइराख्नु पर्दैन । एउटा गौरवपूर्ण विगतको फेहरिस्त स्काउटको नाममा नै जोडिन्छ । हरेक स्काउटलाई यस्तो गौरवपूर्ण संस्थाको सदस्य हुँ भन्नु घमण्डभन्दा पनि पुर्णतः आत्मविश्वासको प्रतित हुन्छ ।

    राजतन्त्रसहितको प्रजातन्त्रमा स्थापना भएर संघीय गणतन्त्रसम्मको यात्रा गर्दा स्काउटले एउटा संस्थाको रुपमा रोचक आरोह अवरोह छिचोलेको छ । धेरै कठिन अवस्थाहरु झेलेको छ । यसको आधार स्थापनाकालदेखि नै तयार भएको थियो । त्यसमा पछि थपिएका अग्रजहरुको लगन, पसिना र उमेर पनि थप भएकाले पछाडि फर्केर हेर्दा जो कसैलाई पनि उर्जा मिल्छ, सन्तुष्टि मिल्छ ।

    तर, अहिलेको अवस्था हेर्दा लाग्छ, स्काउटले पहिले कहिलै भोग्नु नपरेको अफ्ठ्यारोमा छ । निस्कन गाह्रो दलदलमा फस्न गइरहेको छ । यसबाट सबैजसो सच्चा स्काउटहरुको उर्जामा प्रश्नचिन्ह लागेको छ ।

    विगतको यत्रो लामो कालखण्ड भोगेर, ठूला ठूला राजनीतिक आन्दोलन र परिवर्तनहरु भोगेर परिपक्क भएको स्काउट यो अवस्थामा किन छ ? जवाफ प्रष्ट छ – नेपाल स्काउटमा भएको चरम राजनीतिले स्काउटको यो अवस्था हुदै गएको हो । अझ भनौँ, राजनीतिले संरक्षण गरेको माफियारुपी धमिराले स्काउटलाई संस्थाकारुपबाट, स्काउट हुनुको आत्मविश्वासबाट क्षयीकरण गर्दै लगेको छ । यही कारणले गर्दा अनुशासित भनेर प्रशिद्धी कमाएको संस्था एकाएक विवाद चर्किएको अवस्थामा छ ।

     

    आखिर माफिया को हुन् ?

    नेपालमा धेरैको मुखबाट सुनिन्छ – माफियाले देश बिगारे । देश माफियाले चलाए । सबैले महसुस गरेको कुरा हो, माफियाहरू राज्य सञ्चालनमा सक्रिय छन् । राज्यका विभिन्न अंग र तहमा छन् । त्यसरी नै स्काउटमा पनि माफिया छन् ।

    माफिया भन्नाले फिल्ममा देखिने जस्तो खलनायक होइन, बरु एउटा समूहको निहित स्वार्थलाई ध्यानमा राखेर गर्ने व्यवस्थित अपराधी, अनैतिक र भ्रष्टाचारी चैँ हो । माफियाहरु आफ्नो शक्ति आर्जन दलबलबाट मात्र गर्दैनन्, कानून र व्यवस्थाका छिद्रहरु खोतलेर मुसा झैँ प्रवेश गर्छन् र संस्था वा समाजमा टाल्न गाह्रो पार्ने गरेर भ्वाङ बनाउँछन्, दुख दिन्छन् ।

     

    यिनीहरुले आफूलाई सहि सावित गर्न जुनसुकै किसिमका झुटा जालझेलपूर्ण काम गर्ने, नागरिक र राज्यलाई ढाट्ने, छल्ने, राज्यको साधन स्रोतको असीमित दुरुपयोग गर्दै आफ्नो व्यक्तिगत र आफ्नो सञ्जालको फाइदाका लागि प्रयोग गर्ने गर्छन् । माफियाहरूले राज्यको कमजोरी तथा कानुनी छिद्रहरूको फाइदा लिँदै आफ्नो साम्राज्य विस्तार गर्छन् ।

    यस्तै छिद्रको प्रयोग गरेर स्काउटमा माफियाराज चल्न लाग्दै थियो । देशैभर ’स्युडो स्काउट’ बनाइएको थियो ।  अभीष्ट नै स्काउटको स्रोत प्रयोग गरेर आफू बलियो र झन् बलियो हुनु थियो । यो बाटोले स्काउट सकियोस् वा रहोस्, उनीहरुलाई मतलब हुने कुरा भएन ।

    सकिनुभन्दा अगाडिसम्म पनि तिनले आफू सही बाटोमा नै हिँडेको जस्तो भ्रम दिन पनि ति सक्षम बन्न सक्छन् । तर बुझ्नु पर्ने कुरा चै, बाटो मलामीको पनि हो, जन्तीको पनि हो । गन्तव्य कहाँ बनाएको छ भन्ने चै फरक कुरा हुन्छ ।

    त्यसै भनिएको होइन – अति सर्वत्र बर्जयते । अति सुन्दरी हुँदा सीता हरिनु पर्यो । घमण्डले खस्रे भ्यागुतो जस्तो फुल्दा रावण नासिनु पर्यो । अति दानी हुँदा कर्ण काटिनु पर्यो । अति बलशाली हुँदा हनुमानले आफ्नो शक्ति अरुबाट थाहा पाउनुपर्ने अवस्था आइलाग्यो । माफियाराजको परिस्थिति नेपाल स्काउटमा अतिकै अवस्थामा छ । तर, परिस्थितिलाई स्विकार नगरि पोकर फेसको भावमा माफिया पुनः सक्रिय हुन खोज्दै छन् ।

    ‘पोकर फेस’ स्थिर भावको एउटा सङ्केत हो । जुन अनुहारमा व्यक्तिभित्रको भाव झल्किँदैन । जुवाघरमा जुवा खेलाउने व्यक्तिलाई ‘पोकर’ भनिन्छ । र, जुवा खेलाउँदै गर्दा आफ्नो अनुहारको भाव पढेर कुनै जुवाडेले बाजी थाप्ने या नथाप्ने निणर्य नगरुन् भनेर तिनले आफ्नो मनको भाव अनुहारमा प्रतिबिम्वित हुन दिँदैनन् । तिनको अनुहार बडो स्थिर र गम्भीर देखिन्छ । ‘पोकर’हरूको अनुहार शान्त र भावरहीत देखिन्छ, तर ती भित्रबाट सधैं उद्वेलित र तनावग्रस्त हुन्छन् । हो, नेपाल स्काउटका कथित संयोजक ठ्याक्कै यस्तै ’पोकर फेस’ भएका व्यक्ति हुन् ।

    दृश्यमा जे देखिए पनि तिनीहरुमा अहंकारको राग बढी छ । त्यो रागले उनीहरुलाई नै सबै भन्दा धेरै व्याकुल बनाएको छ ।

    हामीले खोजेको परिवर्तन भनेको ठूला गाडीहरु लैनचौरभित्र पसुन् । गाडीको अघिल्लो सिटमा प्रमुख मर्यादाक्रममा बसुन् । कार्यालयमा आज सम्पादन हुने कामको बैठक त्यहीँ सकियोस् । एकले अर्कालाई हाकिम हैन, साथी हो भन्ने हार्दिक भावना विकास होस् । तर, त्यतातिर जाने त परै जाओस्, सोच्नु पनि अपराध जस्तो ठान्दैछन् माफियाहरु । मालिक र नोकर जस्तो सम्बन्ध, स्वामी र दास जस्तो भक्ति स्काउटको सिद्धान्तको बर्खिलाप हो भन्ने सम्म हेक्का राख्दैनन् ।

    एक पटक कन्फ्युसियसलाई सोधियो – ‘‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो – ‘‘निसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’’

    आफ्नो आशय थप प्रष्ट पार्दै उनले भनेका थिए – ‘‘भाषा ठीक भएन भने जे भन्न खोजिएको हो, ठीक अर्थ लाग्दैन । अर्थ नखुलेपछि त्यो काम पनि हुन पाउँदैन । गरिनुपर्ने काम हुन नसकेपछि नैतिक मान्यता र कला अधोगतिमा जान्छ । यसको परिणाम न्याय व्यवस्थाको स्थिति बिग्रन्छ । यसबाट मानिस भयावह अन्योलमा पर्छन् । त्यसो हुँदा जे भनिने हो, त्यसमा स्वेच्छाचारिता अपनाइनु हुँदैन । सबै भन्दा यो महत्वपुर्ण विषय हो ।’’ विद्यमान नेपाल स्काउटका ऐन, नियम र निर्देशिका हेरौँ । तिनका भाषा र आशय हेरौँ । लाग्छ, कन्फ्युसियसले हाम्रै ऐन, नियम र निर्देशिका हेरेर प्रतिक्रिया दिएका थिए ।

    गर्नुपर्ने धेरै छन् तर प्राथमिकता व्यक्तिपिच्छे फरक छन् । एउटाले भनेको अर्कोलाई चित्त बुझ्दैन । सबैलाई चित्त बुझ्ने वस्तु त संसारमा सृष्टि भएकै छैन । प्रत्येकका कुरा सुन्दा लाग्छ ऊनै सर्वोत्कृष्ट हो । हिजोका हुक्के, चम्चे, धुपौरे, नन्दी, भृङ्गी सबैका मठाधीशका कुरा सुन्यो भने उनीहरूले गरेको त्यागको उत्कर्षले ऊबेला नेपाल स्काउट स्वर्ग थियो भन्ने बनाइदिन्छन् ।

    यी भ्रमहरु भन्दा माथि उठेर छातीमा हात राखेर आफूले आफैँलाई सोधौँ – नेपाल स्काउट समयसापेक्ष अघि नबढ्ने र सबैको पहुँचमा पुग्न नदिने दुष्प्रयास गर्दै गर्दा आफ्नो स्थान कहाँ पुग्ला भनेर गरिएको हो ? आफ्नो अनुकूलतामा व्यक्तिलाई देवत्वको उपाधि दिने र प्रतिकूलताको कालान्तरमा खुइल्याउने प्रवृत्ति स्काउटको नियम बन्दै आएको छ । त्यो प्रवृत्तिको मतियारको भूमिका निर्वाह केही माफियाका अरौटेभरौटेले गर्दै आएका छन् ।

    स्काउटमा खालखालको समूह छ । स्काउट बिग्रिएको चिन्ता तातो चियामा पोख्ने अनि सत्ताको अगाडि पुगेपछि सियाको तेल छर्किएर चितामा विर्सजन गर्नेको संख्या कम छैन ।

    मानवीय कर्म नभएर राजनीतिको कार्डले पनि नभ्याएर जातजाति र क्षेत्रीयतालाई पनि गोटी बनाइयो । कार्पेट माथिको फोहोर मिल्काउने चेष्टा कसैले गरेन, बरु कार्पेटमुनिको फोहोर निकालेर आँखामा हाल्ने दुष्प्रयास गरियो ।

    जेलमा बसेको एउटा कैदीलाई सिर्कनो र खुर्सानीमध्ये एक रोज्न लगाइएछ । खुर्सानीले राल सिंगान भएपछि उ भन्दो रहेछ, यो भन्दा त सिर्कनो बेस । अनि सिर्कनोले तिघ्राबाट छर्छरी रगत आएर पोल्न थालेपछि उसलाई फेरि लाग्दो रहेछ, यो भन्दा त खुर्सानी जाति । स्काउटमा भएको परिवर्तनको प्राप्ति यो सत्यभन्दा पर हुने अवस्था नै रहेन । मैमात्र ठीकको अन्त्य नै सुशासनको प्राप्ति हो । एउटा सपना भाँचिएसँगै अरु अनन्त सपना जोडिन्छन् । जसले मानिसलाई आशामुखी हुन प्रेरित गर्छ । एउटा सपना टुक्रिने अरु नजोडिने हो भने मानव सभ्यता उहिल्यै डाइनासोर भइसक्ने थियो । सुखद् भविष्यको त्यान्द्रोले मानिसलाई सत्कर्ममा डोर्याउने त हो ।

    लैनो गाईको फाँचोमा पुगे पनि किर्नोले खाने रगत नै हो, दूध हैन । कानुन मान्ने र नमान्नेको भिन्नता पनि यही नै हो । प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घर अगाडिको तगारो नाघेर अघि बढ्ने हिम्मत गर्न सक्दैनन् । स्काउटहरुले सो हिम्मत गर्ने दिन गर्वका साथ भन्नैपर्छ – नेपाल स्काउट नयाँ कोर्समा प्रवेश गर्छ । हिम्मत गरेर स्काउटका माफियाहरुलाई परास्त गर्नै पर्छ ।

    पोखरीमा पानी हुन्जेल माछाले कमिला सिध्याउँछ । जब पोखरीको पानी सुक्,छ त्यही कमिलाले माछा सिध्याउँछ । पर्खन सक्नुपर्छ । समयअनुसार पालो सबैको आउँछ । सत्तालाई पनि सिकारको बिलो ठानियो भने हविगत उही दोहोरिन्छ । पात खाइयो भने त अर्को वर्ष पिपिरा पिपिरी पलाउला तर जरै ढालियो भने ‘न रहे बाँस न बजे बाँसुरी’ हुन बेर लाग्दैन । स्काउटको जरो भन्नु नै अनुशासन र बिधि हो ।  स्काउटको जरै ढाल्दैछन् ।

    आलोचना गर्न ज्ञान फराकिलो चाहिन्छ । प्रशंसा गर्न मन फराकिलो चाहिन्छ । तर नेपाल स्काउटमा पछिल्लो निणर्य आलोचनाको नाममा जे भइरहेको छ, त्यो ईष्याले भैरहेको छ । प्रशंसाको नाममा जे भइरहेको छ, त्यो चाकडीले भइरहेको छ । अनावश्यक बखेडा नगरी असाँचो नयाँ विकल्पहरुलाई छोड्नु पर्छ । संस्था युवाको हातमा पुग्नु जरुरी छ । त्यसको सम्भावना चाँदनीको घेरा देखिन थालेको छ । म नभए केही हुँदैन भन्ने मानसिकता र दम्भ अब कसैले नपाले हुन्छ । भाले नबासे पनि उज्यालो भएरै छाड्छ ।

    भनाइ छ-

    जो जान्दैन र जान्दिन भन्ने पनि जान्दैन, उ मूर्ख हो ! उसलाई छुट्याउ ।
    जो जान्दछ तर जान्दछु भन्ने जान्दैन, ऊ सुषुप्त हो ! उसलाई ब्युँझाउ ।
    जो जान्दैन तर जान्दिन भन्ने जान्दछ, ऊ साधारण हो ! उसलाई सिकाउ ।
    जो जान्दछ र जान्दछु भन्ने पनि जान्दछ, ऊ विद्वान हो ! उसलाई पछ्याउ ।

    – लेखक नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक हुन् ।

  • जीवन-मरणको दोसाँधमा छट्पटाइरहेको विश्वविद्यालय

    जीवन-मरणको दोसाँधमा छट्पटाइरहेको विश्वविद्यालय

    गत वर्ष त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विश्वविद्यालय मृत हुन लागेको भनेर दिएको अभिव्यक्तिले धेरैको माथिङ्गल हल्लियो । त्यसपछि शिक्षामा चासो राख्नेले विश्वविद्यालयप्रति चासो राखे, चिन्ता व्यक्त गरे ।

    धेरैले विश्वविद्यालय धराशायी हुने कारणबारे अनेक कोणबाट व्यख्या विश्लेषण गरे । कतिपयले विश्वविद्यालयको प्राज्ञिक जगत नै स्खलित भएको र प्राज्ञिक कर्म शिथिल बन्दै गएको टिप्पणी गरे । कतिले विश्वविद्यालय मृत अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

    केही प्राध्यापकले काम गर्ने मान्छे बाँकी नै रहेकाले विश्वविद्यालय बचाउन सकिने तर्क गरे । यी तर्कवितर्कले के संकेत गर्छ भने केदारभक्त माथेमा जस्तो व्यक्तित्वबाट उक्त कथन आउनु स्वभाविक होइन । यसले विश्वविद्यालय क्रमशः धराशायी हुँदै गएको नै संकेत गर्छ ।

    तर उक्त कुराले जसलाई बढी यसले तताउनु पथ्र्यो, तताएन । जसको माथिंगल रन्काउनु पथ्र्यो, रन्काएन । तिनले यस विषयलाई कति गम्भीरतापूर्वक लिए भन्नेमा नै प्रश्न छ ।

    कुनै पनि राजनीतिक दलका बैठकमा विश्वविद्यालयको गुणस्तर सुधारको बारेमा छलफल भएको सुनेका छैनौं । कुनै सभामा कुनै नेताले यसबारे चासो, चिन्ता व्यक्त गरेको पाइँदैन । न त युवा विद्यार्थीले नै विश्वविद्यालय सुधारका लागि जोडदार आवाज उठाए । अरु मुद्दमा सडक तताउने युवा विद्यार्थी यसबारे खासै बोल्दैनन्, जाग्दैनन् । र, सबैभन्दा महत्वपूर्ण कुरा, जो सरोकारवाला हो, उसले त चासै नभएजस्तो गरिरहेको छ ।

    जसले विश्वविद्यालय सुधारका लागि आवाज उठाउँथे, उनीहरु कमजोर थिए । पहुँचवाला थिएनन् । सरोकारालाले मौनता साँध्दा विश्वविद्यालयको जीवनमाथि नै प्रश्न उठेको छ । एउटा गीतमा भनेजस्तो– मौनतामा अल्झिरहेछ त्रिभुवन विश्वविद्यालयको जीवन ।

    के माथेमा सरले भनेको जस्तै विश्वविद्यालय मर्दैछ ? के विश्वविद्यालय गुणस्तरीय हुनुपर्दछ भन्ने आवाज कमजोर भएको हो ? गरिब जनताका छोराछोरीहरुको अन्तिम शैक्षिकस्थल त्रिभुवन विश्वविद्यालयको छवि किन यति कमजोर बन्दैछ ? यी पक्कै पनि विचरणीय प्रश्न हो । यसले हाम्रो माथिङ्गल हल्लाउन आवश्यक छ ।

    त्रिभुवन विश्वविद्यालय अहिले समस्यामा छ र यो समस्या एकाएक प्रकट भएको होइन । हिजोका गलत निर्णय, गलत नेतृत्व, गलत नीति र राजनीतिका नाममा गरिएका गलत हस्तक्षेपको प्रभाव अहिले सघन रुपमा देखा परेको मात्र हो ।

    अहिले विश्वविद्यालयमा कार्यरत करार प्राध्यापकहरुलाई स्वत स्थायी गर्ने निर्णयका विरुद्द आन्दोलन उठेको छ । विश्वविद्यालयका कुलपति अर्थात् प्रधानमन्त्रीको ठाडो आदेशमा मेरिट बाहिरबाट विगतका परीक्षाहरुमा असफल प्राध्यापकहरु करिब ४५० जतिको संख्यामा विश्वविद्यालयमा स्थायी हुँदा गुणस्तर कस्तो होला ?

    नयाँ, योग्य र काबिलहरु प्राध्यापकबाट विश्वविद्यालयलाई बञ्चित गराउँदा हुने प्राज्ञिक क्षतिको असर कति होला ? अचेल दिनहुँ करार नियुक्तिको माग गर्दै आन्दोलन गरिरहेका आंशिक शिक्षकको व्यवस्थापन कसरी गर्ने ? रोकिएका सेवा आयोगका परीक्षा किन नियमित हुन सक्दैनन् ? यस्ता अनेक समस्याको चंगुलमा विश्वविद्यालय फसेको छ ।

    विदेशका विश्वविद्यालयहरु कोभिड संकट समाधान गर्न रातदिन तल्लीन भएर नयाँनयाँ आविष्कारमा केन्द्रित हुँदा हाम्रा विश्वविद्यालय आन्दोलन, नारा जुलुश, भागबन्डाको चंगुलमा फसेको छ । माथेमाले भनेजस्तो कतै विश्वविद्यालयको जीवनै सकिएको त होइन ? नभए पनि गम्भीर प्रकृतिका रोगको लक्षण चाहिँ अवश्य देखिएको छ । यसको निदान अपरिहार्य छ । सामान्य उपचार विधिबाट नभए अपरेशनै गर्नुपर्ने अवस्था आएको छ ।

    तर कसले गर्ने सर्जरी ? को हो विश्वविद्यालयको सर्जन ? हजारौं जनताको आवाज नै अहिले विश्वविद्यालयको सर्जरी हो । राजनीतिको नाममा गरिने ठाडो गैरप्राज्ञिक हस्तक्षेपको प्रतिरोध नै सर्जरी हो । अहिले कमजोर जस्तो देखिएको विद्यार्थी आन्दोलनलाई जुरुक्क उठाउनु र रचनात्मक आन्दोलनमार्फत आवाज बुलन्द गर्नु नै अहिलेको प्राथमिकता हो । अबको हाम्रो आन्दोलनको गन्तव्य सार्वजनिक शिक्षा सुधारको अभियान हुनुपर्छ ।

    माथेमा सर, विश्वविधालय मर्ने छैन । तर हाम्रो जागरुकता र रचनात्मक कृयाशीलता जरुरी छ । त्यसको नेतृत्व सचेत नयाँ पुस्ताले गर्नेछ, गर्नु पर्दछ ।

    विश्वविद्यालय जीवन्त र प्रगतिशील हुन्छ । किनकि ज्ञानको उत्पादन गर्ने कारखाना सधै अपडेटेड र गतिशील हुनुपर्दछ, यसमा दुईमत छैन।

    आममान्छेको जिन्दगीमा विश्वविद्यालय राम्रो बन्दा या बिग्रँदा के असर पर्दछ ? के गरिखाने मान्छे, जसले जीवनको कुनै पलमा पनि विश्वविद्यालयको ढोकासम्म देख्न पाएका छैनन्, उनीहरुलाई के सरोकार ?

    समग्रमा विश्वविद्यालयहरु देशका लाइफलाइन हुन्, जसले हजारौं मानिसको जीवनलाइ जोडेका हुन्छ । देशको समग्र विकासको खाका बनाउने नेता कर्मचारीदेखि देशको भुगोलको रक्षा गर्ने सिपाही या भनौं, जनताको जीवन रक्षा गर्ने प्रहरी अथवा जनताका छोराछोरीलाई विद्यालयमा पढाउने शिक्षक– कुनै न कुनै रुपमा तिनै विश्वविद्यालयले दिएको शिक्षा र ज्ञानबाट परिचालित हुने गर्दछन् ।

    हामी जिन्दगीका तमाम भारहरुले थिचिएका भुँइमान्छेहरुको जिन्दगीमा परिवर्तन ल्याउने गफ गर्छौ भने त्यो परिवर्तनका संवाहक विश्वविद्यालय नै हो । यसलाई तन्दुरुस्त राख्नैपर्छ ।

    तसर्थ विश्वविद्यालय जिउँदो या मृत भन्ने बहस पनि भुँइमान्छे र सीमान्तकृतहरुको बहस हो । भनिन्छ– ज्ञान सबैलाई चाहिन्छ तर गरिबहरुलाई अझ धेरै चाहिन्छ । किनकि, गरिबीबाट उम्कने हतियार नै ज्ञान हो ।

    मुलुकको परिवर्तन शिक्षाको माध्यमबाट मात्रै सम्भव छ । गुणस्तरीय शिक्षामा सबैको समान पहुँच हाम्रो मौलिक हक हो । यसको कार्यान्वयनको पहिलो शर्त सार्वजनिक विश्वविद्यालयको क्षमता विस्तार र गुणस्तर अभिवृद्धि नै हो । त्यसमा पनि हजारौं विद्यार्थीको केन्द्र विश्वविद्यालय नै हो ।

    त्रिभुवन विश्वविद्यालयको गरिमा र गुणस्तर कायम राख्न नसक्दा यहाँ ज्ञानको उत्पादन र वितरण ठप्प हुनेछ । ज्ञान उत्पादन गर्न नसक्ने विश्वविद्यालय मृतसरह नै हो । तर, अझै हाम्रो विश्वविद्यालय मरिसकेको छैन, यसलाई बँचाउन सकिन्छ । बँचाउनु पर्छ । यसतर्फ हामी सबै लागौं ।

    (लेखक अनेरास्ववियुका महासचिव हुन्)

  • विवाहः उत्सवलाई बन्धन बनाइएको एक परम्परा

    विवाहः उत्सवलाई बन्धन बनाइएको एक परम्परा

    मंसिरलाई विवाहको महिना पनि भनिन्छ । किनकि, यो महिनामा विवाहका धेरै लग्न हुन्छन् र विवाह हुन्छन् ।

    मंसिरसँगै सुरु हुन्छ, केटालाई केटी र केटीलाई केटा खोज्ने चटारो । बाआमालाई हतार हुन्छ, लगन छोप्न । यस्तो लाग्छ कि, कुनै ठूलो होडबाजी चलिरहेको छ ।

    अझ धेरै केटीका बाबुआमाहरू यहीं कुरामा बढी सावधान हुन्छन् कि आफ्नी छोरीमा कुनै खोट नदेखियोस्; सकभर पहिलोपटक हेरेको केटाले नै विवाहको लागि ‘हुन्छ’ भनिदियोस् । पहिलो केटाले नै छोरीलाई मन पराइदियोस् । किनकि पहिलो केटाबाट अस्वीकार हुनु भएको केटी र केटीको परिवारको लागि बढो हीनताबोधको कुरा हुन्छ । पहिलो केटाबाट अस्वीकार भएकी केटी र केटीको परिवारलाई हेर्ने हाम्रो समाजको दृष्टिकोणमा अझै परिवर्तन आएको छैन ।

    त्यसैले पनि आमाबाबु यो कुरामा बढी सजग देखिन्छन् । साथै ‘आफ्नो क्षमतामाभन्दा माथि गएर’ छोरीको विवाह गरिदिन बाबुआमा तयार हुन्छन् । केटो कति शिक्षित, क्षमतावान् वा समझदार छ भन्नेमा केटीको परिवारको ध्यान जाँदैन । केटो र केटाको परिवारको मर्जी भए पुगिहाल्यो । त्यहाँ केटीको रहर, चाहना वा भावनाको कुनै कदर हुँदैन । आफ्ना हरकुरा मनमै दबाएर परिवारको निर्णयमा मुन्टो हल्लाउन अभीषप्त हुन्छिन्, केटी ।

    अक्सर मंसिर महिनामा धेरैजसोको विवाह हुन्छ । कतिको प्रेम सम्बन्ध छुट्छ, कतिको प्रेम सम्बन्धले पूर्णता पाउँछ । जे हो होस्, मंसिरमा रुने र रुवाउने खेल राम्रै चल्छ ।

    अनि केटीहरु पनि यसरी उपस्थित हुन्छन् कि, मानौँ उनीहरु कतै सजाएर राखेका सुन्दर खेलौना हुन् । जसलाई भर्खर दराजबाट बाहिर निकालिँदैछ । र फेरि दुःख त कहाँ लाग्छ भने केटीहरू पनि बिनाविरोध, बिनासवाल–जवाफ गुडिया बन्न तयार भइदिन्छन् ? र गुडिया बनेर उपस्थित पनि भइदिन्छन् । यो पितृसत्ताको सोच कतिसम्म हाबी हुन सकेको होला, महिलाहरुको जिन्दगीमा । अझ कहिलेसम्म होला महिलाहरु पितृसत्ताको सिकार भइरहने ?

    अक्सर मंसिर महिनामा धेरैजसोको विवाह हुन्छ । कतिको प्रेम सम्बन्ध छुट्छ, कतिको प्रेम सम्बन्धले पूर्णता पाउँछ । जे हो होस्, मंसिरमा रुने र रुवाउने खेल राम्रै चल्छ । कतिको विवाह गर्ने सपना हुन्छ, कतिले घरकाको करले विवाह गरेका हुन्छन् । कतिलाई बाबुआमालाई मर्न सजिलो बनाइदिनलाई पनि विवाह गर्नुपर्ने हुन्छ । अनेकौं कारणसहित एउटा केटीले विवाह मण्डपदेखि केटाको घरसम्मको दूरी तय गर्छे ।

    राजीखुसिले बिहे गर्नेको लागि त ठीक छ बिहे । तर हाम्रो समाजमा विवाहको लागि यस्तो मापदण्ड तय गरिएको छ, जसलाई पूरा नगर्नु ठूलै पापसरह मानिन्छ । केटीले, केटीका परिवारले समाजका अनेकौं कुराहरु सुन्नुपर्ने हुन्छ । कहिलेकाहीँ त स्थिति यतिसम्म बन्न जान्छ कि सुन्नसक्ने क्षमता पनि सकिएर जान्छ ।

    अझ अलिकति उमेर पुगेका केटीहरुका लागि मंसिर महिना सकसपूर्ण नै हो । जसले पाइला–पाइलामा एउटै सवाल खेप्नुपर्ने हुन्छ । ‘मंसिर लाग्यो त भोज कहिले खुवाउने हो ? योपालिको मंसिर पनि जाला जस्तो छ’ यस्तै यस्तै ।

    मलाई विवाहसँग समस्या होइन, विवाहलाई लिएर हाम्रो समाजले तोकेको मापदण्डसँग हो । विवाह आफैँमा समस्या नभए पनि यसैसँगै समाजले तोकेको मापदंडमा प्रचुर समस्याहरू छन्, जसमा केटीको उमेर, केटीको संस्कार, केटीको कपाल र केटीको पहिरन आदिआदि प्रमुख कुरा हुन आइदिन्छ ।

    एकपल त यस्तो लाग्छ– हाम्रो समाजले ‘केटी पनि मान्छे नै हो’ भनेर सोच्नै बिर्सन्छ । उसलाई मान्छेको दृष्टिकोणले हेर्नै चाहन्नन् । बस् हेर्छ त लिंगको रूपमा– ‘ऊ छोरी हो, ऊ केटी हो । बीस वर्ष पुगेपछि विवाह गर्नै पर्छ, नभए विवाहको उमेर सकिएर जान्छ । यो उमेरमा विवाह भएन भने समाजको हिस्सा बन्न सुहाउँदिन ।

    अझ अलिकति उमेर पुगेका केटीहरुका लागि मंसिर महिना सकसपूर्ण नै हो । जसले पाइला–पाइलामा एउटै सवाल खेप्नुपर्ने हुन्छ । ‘मंसिर लाग्यो त भोज कहिले खुवाउने हो ? योपालिको मंसिर पनि जाला जस्तो छ’ यस्तै यस्तै ।

    केटाहरुलाई अर्कै सोचले प्रताडित बनाइरहेको हुन्छ– प्रेमिकालाई कुन चाहिँ पिआरवालाले उडाउँने हो ! जब जब यस्ता स्टाटस, ट्वीटहरू प्रकाशित भएका भेटिन्छन्, अनि केटा मान्छेहरुका यस्ता सोचहरू सुनिन्छन्, तिनले अचम्मित पार्छन् ।

    किनकि जुन प्रेम सम्बन्धमा विश्वासको डोरी नै कायम भएको हुँदैन, यस्तो प्रेमबाट कस्तो अपेक्षा राख्ने ? अनि केटीहरुले आफ्नो भविष्य सोच्नै नपाउने यो कस्तो दासत्व हो ? विवाहपछि अधिकांश केटीहरु श्रीमानको अधिनमा हुन्छन्, यो कुरा भन्नै पर्दैन । अब कि विवाहअघि प्रेमीको अधिनमा पनि हुनै पर्ने । अझ दुईचार दिन भेटेर बोलेको मान्छेको अधिनमा हुनैपर्ने सोचको उपज केटीको जीवनलाई नै नियन्त्रित हुने गरेको छ ।

    अघिपछि छोरीको कपडा, संस्कार र कपालको कुरालाई नजरअन्दाज गरिरहेका बाबुआमालाई विहेको कुरा चलेसँगै सबै कुराको चासो हुन्छ । हिजोसम्म पाइन्ट टिसर्ट लगाइरहेकी छोरीलाई आमाको उर्दी जारी हुन्छ– कुर्ता लगाऊ, सल ओड, आफूलाई छोपेर हिँड, कपाल नकाट, उता केटाहरुलाई मन पर्दैन । खाना बनाउन सिक, तिमीलाई हेर्न केटाहरु आउँदैछन् । चिटिक्क परेर बस । धेरै नबोल । बेस्सरी नहाँस । उपरखुट्टी हालेर नबस । ओहो ! यस्तो कुरा कति हो कति ! त्यतिबेला लाग्छ विश्वविद्यालयको प्रमाणपत्र फिक्का पार्दैछ । बरु भान्साको, घरको अनि केटाको अगाडि कसरी प्रस्तुत हुने भनेर कक्षा लिएको भए हुन्थ्यो होला ।

    विवाहले किन एउटी केटीको लागि यति धेरै बारहरु, मापदण्डहरु निर्माण गरिदिन्छन् होला ? आफ्नो जिन्दगी, सोच, निर्णय, फैसला, अनुभूतितहरु पनि त हुन्छन् होला । आफ्नो लागि के सही, के गलत भनेर आफैँ पनि सोच्नसक्ने भएको हुनैपर्छ ।

    बाबु–आमाको त छँदै थियो, दाइ–भाइको पनि राम्रै प्रभुत्व हुन्छ केटीको जिन्दगीमा । कहिलेकाहीँ सोच्छु यतिका मान्छेले प्रभुत्व राखिरहँदा कहाँ हुन्छे स्वयम् एउटी केटी मान्छे ? कहाँ छ उसको स्वतन्त्रता, उसको सोचको सम्मान ? कहाँ छ उसको भावनाको कदर ? कहाँ छे ऊ स्वयम् ? कहिलेकाही यी र यस्ता प्रश्नले खुब रन्थल्याउँछ ।

    विवाहको आफ्नै ठाउँ होला हरेकको जिन्दगीमा । तर कयौंपटक असहमति जनाउँदा जनाउँदै पनि कयौं केटीहरूले आफ्नै केटा साथीहरुबाट दुर्व्यवहार सहनु परेको हुन्छ । प्रेम सम्बन्धलाई अस्वीकार गरेकै कारण जल्नु र जलाइनु परेको हुन्छ, तीब्र मानसिक पीडा वा एसिड आक्रमणसम्मका अपराधको सिकार बन्नुपर्छ । योभन्दा निकृष्ट सोच वा स्थिति के होला ?

    विवाहलाई नै जिन्दगी मान्नेको ठूलै संख्या छ हाम्रो वरपर । अधिकांश केटीहरू विवाहको सपना देखेर विवाहकै सिकार हुन्छन्, हाम्रो समाजमा । विवाहलाई जिन्दगीको एउटा सुन्दर पक्ष मानेर अगाडि बढ्ने हो, न कि विवाहलाई जिन्दगी बनाएर जिन्दगी नै दाउमा राख्न नपरोस् ! यो कुरा बुझ्न केटीहरुलाई अझ कति समय लाग्ने हो, भन्न गाह्रो छ । र पितृसत्ताको यो जरोले कहिलेसम्म हामीलाई सताइरहने हो ?

    विवाहको सकारात्मक र नकारात्मक पक्षलाई नकेलाइक पाइला चाल्नेहरूको समूह एकातिर छ भने विवाहको नकारात्मक पक्षलाई मात्र हेरर यसको आलोचना गर्ने समूह पनि कम छैन हाम्रो समाजमा ।

    छोरीलाई पढाउन सक्ने, उनीहरुलाई हिम्मत र उडान भर्न सपना देखाउने सक्ने बाबुआमाले किन छोरीको आत्मनिर्भर बन्ने चाहनालाई नजरअन्दाज गरिदिन्छन् ? छोराको आत्मनिर्भरतालाई खुसीका साथ स्वीकार गर्ने बाबुआमाले बुहारी घरेलु नै किन खोज्छन् ?

    बदलिँदै गरेको समाज, बदलिँदै गरेको समय अनि यो समयसँग जुध्न नसकेका कतिपय युवाहरु– विवाह जति केटीको लागि असहज र हाउगुजीको विषय बनेको छ, त्यति नै केटाको लागि पनि असहज विषय हो । प्रेम विवाह आफ्नो ठाउँमा छ तर आज पनि हाम्रो समाजले, हाम्रा आमाबाबुले चाहने, खोज्ने र रोज्ने भनेको मागी विवाह नै हो ।

    मागी विवाहको महत्व नै छुट्टै हुन्छ हाम्रो समाजमा । प्रेम विवाहलाई आज पनि हाम्रो समाजमा पूर्णतया राम्रो नजरले हेरिँदैन । न पाउनु पर्ने जति इज्जत प्रेम विवाहले पाउँछ । त्यसैले विवाह केटा पक्षको लागि पनि त्यति नै नयाँ, कौतुहलता र असहजताको विषय हो जति एउटा केटीको निम्ति हो । तर विहेकै नाममा केटाभन्दा केटीहरु बढी सिकार हुन पुग्छन् हाम्रो समाजमा ।

    छोरीलाई पढाउन सक्ने, उनीहरुलाई हिम्मत र उडान भर्न सपना देखाउने सक्ने बाबुआमाले किन छोरीको आत्मनिर्भर बन्ने चाहनालाई नजरअन्दाज गरिदिन्छन् ? छोराको आत्मनिर्भरतालाई खुसीका साथ स्वीकार गर्ने बाबुआमाले बुहारी घरेलु नै किन खोज्छन् ?

    मैले आफ्नो जिन्दगीमा परिपक्वतासँगै स्वतन्त्रतासँग केही चुनौतीपूर्ण वसन्तहरू पार गरिरहँदा जसरी मंसिर र भोजलाई लिएर प्रश्नहरू सुनेँ, तिनको सामना गरेँ, ती कुराले मलाई केही फरक तरिकाले सोच्न सिकायो । जुन म आफ्नो उपलब्धी मान्छु । मलाई यी दिनहरुमा विवाहसँग समस्या होइन, तर मलाई जहिले पनि स्वतन्त्रता, आत्मनिर्भरता र आफ्नोपनसँग प्रेम रहिरह्यो र रहिरहने छ– यो सत्य हो ।

    केटीले आफ्नो निम्ति श्रीमानभन्दा बढी एउटा साथी चाहन्छे, जसले उसका सारा कुरालाई सहजै बुझिदियोस् । उसका खुसी, उमंग सहजै बुझिदियोस्, बाँडिदियोस् वा ग्रहण गरिदियाेस् ।

    दुःख त कसको जिन्दगीमा हुँदैन र, संघर्ष कसले गर्दैन र ? बश उसका खुसीमा ऊजत्तिकै खुसी र उत्साही हुने साथी होस्, जीवनसाथी ।

    जुन दिन हाम्रो समाजले छोरीलाई एउटी पूर्ण मान्छेको व्यवहार गर्छ, श्रीमानले श्रीमती मात्रै भन्दा पनि साथी सोच्छ, त्यसदिनदेखि बाआमालाई पनि छोरीको विहे गरिदिन हतार हुँदैन । अनि, आफन्तले पनि हरेक वर्ष सोध्ने छैनन्– मंसिर लाग्यो, भोज खुवाउने हैन त !

  • काठमाडौंको ट्राफिक जाम कम गर्न जापानबाट सिक्ने कि !

    काठमाडौंको ट्राफिक जाम कम गर्न जापानबाट सिक्ने कि !

    काठमाडौंमा अहिले निश्चित समयमा पुग्नैपर्ने कुनै कामका लागि निस्कँदा सडकमा कति सवारी जाम छ ? भन्ने विचार गरेर सोहीअनुसार एक–डेढ घण्टा समय पहिले नै निस्कनुपर्ने बाध्यता छ ।

    अझ सार्वजनिक सवारीसाधनमा यात्रा गर्नुपर्नेहरुका लागि झन् सास्ती छ । समयमा साधन नपाइने र पाउदा पनि अत्यन्तै भिडभाडमा थिचिएर, किचिएर यात्रा गर्नुपर्ने अर्को बाध्यता पनि छ ।

    सार्वजनिक सवारीसाधन प्रयोग गर्नेलाई समयमै कार्यालय पुग्न कठिन छ । कोरोनासँगै अन्य रोग संक्रमणको जोखिम पनि बढी छ । यसर्थ काठमाडौंमा बस्ने भनेर अनुमान गरिएका करिब चालीस लाख मानिसमध्ये सामान्य हैसियत भएकाहरुले समेत सार्वजनिक सवारी साधन प्रयोग गर्नुको साटो ऋण गरेरै भए पनि निजी सवारीसाधन प्रयोग गरिरहेका छन् ।

    काठमाडौंमा दिनप्रतिदिन निजी सवारीसाधन बढिरहेका छन् । तर, उहीं पुरानो र साँघुरो सडकका कारण ट्राफिक जाम भन्भन्दा झन् बढिरहेको छ ।

    जापानबाट सिक्नुपर्ने पाठ

    जापानमा प्रायः सामान्य र गाउँमा बस्ने गरिब, मजदुर र तिनीहरुका परिवारले बढी निजी सवारीसान प्रयोग गर्छन् । सहरमा बस्ने हैसियत भएका र सम्पन्नहरुले सुरक्षित, भरपर्दो र समयमा पुग्न सकिने भएकोले प्रायः रेलयात्रा गर्छन् । धेरैले सार्वजनिक सवारीसाधन नै प्रयोग गर्छन् ।

    त्यहाँ सार्वजनिक सवारीसाधन भरपर्दो, आरामदायी र विश्वसनीय मानिन्छ । दुर्गम गाउँमा बस्ने, आर्थिक हैसियत कमजोर भएकाहरु गुजाराका लागि श्रम गर्न दैनिक रुपमा समयमै सहर पुग्नका लागि त्यहाँ निजी सवारीसाधनको प्रयोग गरिन्छ ।

    तर नेपालमा भने त्यसको ठीक विपरीत देखिन्छ । हाम्रा सार्वजनिक सवारीहरु समग्रमा भरपर्दा छैनन् । सार्वजनिक सवारीको रुपमा प्रयोग हुने बस, माइक्रो र टेम्पोमा यात्रा गर्दा समयमा गन्तव्यमा पुग्न नसकिने, भीडभाडमा च्यापिनु वा किचिनुपर्ने स्थिति छ ।

    सामान हराउने र पकेट मारिने जोखिम पनि उतिकै हुन्छ । अहिले कोरोना महामारीका कारण सार्वजनिक सवारीसाधनको यात्रा झन् जोखिमपूर्ण छ । जसकारण यहाँ सकेसम्म निजी सवारीसाधन नै चढ्ने चलन बढेको छ ।

    पछिल्लो समय निजी सवारीसाधनमा पनि मोटरसाइकल, जिप, कार, भ्यानहरुको बिक्री बढिरहेको छ । धेरैजना अट्ने ठूला सार्वजनिक बसभन्दा पनि एकजनाका लागि एउटा सानो गाडी हुनु भनेको सडकका लागि थप भार हो । जसकारण ट्राफिक जाम ज्यादा हुने गरेको छ ।

    निजी सवारीसाधन बढ्नुका फाइदा

    हाम्रो जस्तो आन्तरिक उत्पादन नहुने र सवै साधनहरु विदेशबाट पैठारी गर्नुपर्ने मुलुकमा निजी सवारीसाधनको बढोत्तरी हुनुका फाइदा केही फाइदा पनि छन् ।

    सवारीसाधन आयातबाट राज्यको राजस्व बढ्छ । आर्थिक क्षेत्रमा चहलपहल बढ्छ । नागरिकको काममा सहज हुन्छ । नेपालमा अहिले सवारीसाधन आयातबाट राम्रो राजस्व संकलन भइरहेको छ ।

    सवारीसाधन बढेसँगै इन्धन, त्यसको पाटपुर्जाको व्यापारिक कारोबार पनि बढिरहेको छ । यसबाट अर्थक्षेत्र चलायमान हुन्छ । यो सकारात्मक पाटो हो ।

    निजी सवारीसाधन बढ्नुका बेफाइदा

    देशभित्र कुनैपनि सवारीसाधन उत्पादन नहुने र सबै विदेशबाट नै आयात गर्नुपर्ने नेपालजस्तो मुलुकको यथार्थ हो । नागरिकका आधारभूत अत्यावश्यकता र स्वास्थ सेवाका लागि नभइ नहुने वस्तुको खरिदका लागि विदेशी मुद्राको अभाव झेल्नुपरेको छ ।

    राजगारीका लागि विदेश गएका युवाले ल्याएको विदेशी मुद्रा पनि उत्पादनशील काममा खर्च भएको छैन । उक्त रकम सवारीसाधनलगायत विलासीका सामानमा खर्च भइरहेको छ । यसले व्यापार घाटा बढाइरहेको छ ।

    यसरी उत्पादनशील क्षेत्रमा गर्नुपर्ने लगानी घट्ने अनि अनुत्पादक र अनावश्यक ठाउँमा खर्च हुँदा समाजमा आर्थिक असमानता बढ्ने निश्चित छ । त्यस्तै प्रदूषण बढ्ने र मानव स्वास्थ्यमा नकरात्मक गर्ने गर्ने जोखिम पनि उतिकै हुन्छ ।

    कसरी गर्ने समस्या समाधान ?

    बढ्दो जनसंख्या र सोही आधारमा बढ्दो अव्यवस्थित सहरीकरणरका कारण बढ्दै गरेका नीजि सवारीसाधनका लागि आवश्यक सडकलगायतका भौतिक पूर्वाधार बढाउन नसक्नु नै सवारी जामको मुख्य कारण हो ।

    सार्वजनिक सवारीका रुपमा चिनिने भाडामा चल्ने बसलगायतका ठूला सवारीसाधन अपेक्षित रुपमा बढाउन तथा भरपर्दो, सुरक्षित र नियमित तथा विश्वसनीय बनाउन नसक्नुका कारण पनि निजी सवारीसाधनको चाप बढेको छ ।

    समस्या समाधानका लागि सवारी चापअनुसार भौतिक पूर्वाधार, सडक, पुल आदिको व्यवस्था गर्नु जरुरी छ । उपलब्ध भौतिक पूर्वाधारको क्षमताभन्दा बढी सवारी साधन नहुने गरी उपयुक्त नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयनमा ल्याउनु पर्दछ ।

    यसो गर्न गर्न विदेशी मुद्रालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ । सकेसम्म नेपालमै सवारीसाधन उत्पादन गर्ने नीतिगत तयारी गर्न ढिला भइसक्यो । सवारीसाधन उत्पादनमा लगानी आकर्षित गर्न सके धेरैले निजी साधन चढ्दा पनि मुलुकलाई धेरै हानि हुँदैन ।

    त्यस्तै अहिलेकै व्यवस्थापनमा पनि सडकमा एकैचोटि सवारी चाप नपर्ने गरी सरकारी, निजी कार्यालय र विद्यालय तथा क्याम्पस सञ्चालन हुने समय तालिका फरक पार्न सके पनि ट्राफिक जामको समस्या एक हद कम हुनसक्छ ।

  • पीडा भुलाउने कपुचेको सौन्दर्य

    पीडा भुलाउने कपुचेको सौन्दर्य

    घुमफिरमा सौखिन म । नयाँ ठाउँ घुम्दा देखिने दृश्य मात्रै होइन, भेटिएका पात्र र परिवेशले धेरै कुरा सिकाउँछ । कतिपय यात्रा कष्टप्रद पनि हुन्छ, तर ती कष्टले सुन्दर शिक्षा दिन्छन् ।

    हो, घुम्ने रहर पूरा गर्न हामीले दसैं बिदालाई सदुपयोग गर्ने योजना बनायौं । मन मिल्ने सातजनाको समूह दसैंको टीका लगाएर ९ दिनका लागि कोरीको यात्रामा निस्कियौं ।

    काठमाडौं र अन्य भूगोलबाट आएका सबै साथीको भेट पोखरामा भयो । हामी एक दिन पोखरा कोरी यात्राका लागि निस्कियौं । मौसम बिग्रिएको थियो । मौसमका कारण यात्रा खलबलिने खतराबीच हामी बिहान सात बजे पोखराको सिर्जना चोकबाट जिप चढेर काउखोला र विजय खोला हुँदै सिक्लेसतिर लाग्यौं ।

    पहाडको भिरालो अनि कच्ची सडक । अलिअलि डरबीच साथीभाइसँग हाँसखेल, ठट्टा, मजाक गर्दै यात्रा गर्नुको आनन्द बेग्लै थियो ।

    ६ घण्टाको यात्रापछि सिक्लेस पुग्यौं । सिक्लेसपछिको हाम्रो यात्रा पैदल थियो । मौसममा आएको खराबी हाम्रो चिन्ताको विषय थियो ।

    एकजना स्थानीयले हामीलाई ताङतिङहुँदै कोरी जान छिटो र सहज हुने सुझाव दिए । तर एकजना साथीले कोरी जान मौसमले साथ नदिने खतरा भएकाले कपुचे जाने योजना सुनाए । मौसममा सुधार आए फेरि फर्किएर कोरी जान सकिने उनको तर्क थियो ।

    त्यसैअनुसार हामी कपुचेका लागि अघि बढ्यौं । सिक्लेसबाट उता मोबाइलको नेटवर्क नटिप्ने रहेछ । हामी सबैले घरमा फोन गरेर स्थितिको बारेमा बतायौं । र, लाग्यौं, कपुचेतिर ।

    पानी परिरहेको छ । सबैले प्लास्टिक आडेका छौं । बाटो चिप्लो छ । जुका लागिरहेछ, उतिकै । तर त्यसबीच पनि हरियाली जंगल, छङछङ झरेका झरना, चराको चिरबिरले अफ्ठेरो यात्रा पनि रोमाञ्चक लागिरहेको थियो ।

    बाटोमा कपुचे पुगेर फर्केकाहरु भेटिन्थे । उनीहरु भन्थे– बाटो एकदमै अफ्ठेरो छ । हुगुमा नपुगी बास बस्ने ठाउँ छैन । हुगुमा पनि बास बस्नका लागि एउटा गोठ मात्रै छ । त्यहाँ बास मागेर बस्न सकिन्छ ।

    हिँडिरहेका छौं, निरन्तर । पानी रोकिने छाँट छैन । रै त पनि भाइरल गीत ‘मे पानी पानी होगयी’ गाउँदै हिँडिरह्यौं । करिब तीन घण्टाको हिँडाइपछि हामीले बास बस्ने गोठ देख्यौं, र गयौं गोठसम्म ।

    त्यहाँ हामीभन्दा अघि नै अरु दुईजनाले बास मागिसक्नु भएको छ । अब उक्त गोठमा बस्ने नौजना हुने भयौं । नौजनाका लागि ठाउँ नपुग्ने बताए, गोठधनीले । हामीले निकै आग्रह गरेपछि जसोतसो त्यहीं बास बस्ने निधो भयो ।

    घना जंगलबीचको गोठ । जुका आतंक उतिकै । निथ्रुक्क भिजेको शरीर । जे भए पनि हामी त्यसभित्रै आनन्द खोजिरहेका थियौं । खुसी कसैले दिँदैन, आफैंले लिनुपर्छ भन्ने मान्यताका साथ हामी जस्तो छ, त्यस्तै वातावरणमा घुलमिल हुने प्रयास गरिरहेका थियौं ।

    अँगेनुमा आगो ताप्दै गर्दा थाहा भयो, ती दुईजना साथी छुटेर उक्त गोठमा बसेका रहेछन् । उनीहरु चिन्तित थिए । उनीहरुलाई हामीले सान्तोना दियौं । उनीहरुबाट छुटेको साथी केटी रहिछन् । यस्तो घना जंगलको बाटोमा एउटी केटी एक्लै कसरी हिँडिरहेकी होलिन् ? भन्ने चिन्ता हामीलाई पनि भयो ।

    गोठमा शौचालय थिएन । बाहिर निस्कनेबित्तिकै जुकाले आक्रमण गर्ने निश्चित थियो । कम्तिमा दिशापिसाब नलागोस् भन्ने कामना गर्दै बस्यौं । ग

    गोठका दाइले हामीलाई दाल, भात र लेकाली सीमीको तरकार बनाएर खुवाउनु भयो । खाना खान पाइन्छ भन्ने आशै नगरेका हामी खान पाउँदा निकै खुसी भयौं । दाइ अत्यन्तै दयालु र मिजासिलो हुनुहुँदो रहेछ ।

    तातो खाना खाएर हामी खर र म्याट विच्छ्याएर ढल्यौं । निद्राभन्दा डर बढी लागिरहेको थियो ।

    एकबेला झुपुक्क निदाएछौं । बिहानीपख चिसो सिरेटोले हामीलाई ब्युझायो । फेरि अँगेनातिर आगो ताप्न थाल्यौं । गोठका दाइले चिया पकाउनु भयो । चिया पिएर ती दाइप्रति आभार प्रकट गर्दै हामी कपुचेको यात्रामा निस्कियौं ।

    पानी पर्न रोकिएको थियो । मौसम खुल्दै थियो । हामी थोरै भए पनि खुसी भयौं । तर बाटोको चिप्लोपन घटेको थिएन । तर सुन्दर प्राकृतिक छँटाको दृश्यावलोकनले कठिन यात्रा पनि रोचक थियो । यस्तो लाग्थ्यो, प्राकिृतक सुन्दरता फोटोमा हेर्नु र आफैंले अनुभव गर्नुमा आकाश पातालको फरक हुने रहेछ । त्यसैले त भन्ने गरिन्छ, ‘घुमेका दुई खुट्टाले सयौँ किताब पढेका आँखालाई हराइदिन्छ ।’

    बाटो चिप्लो भनेर हुगुबाटै फर्किएका धेरै भेट्यौँ । मनमा एकतिर पुग्न सकिँदैन कि भन्ने पनि भयो तर जे होस् आधि बाटोबाट नफर्किने हाम्रो अठोट थियो । हामीले फर्किनेको हुलमा हाम्रो गोठमा बसेका अर्को टोलीको साथीलाई पनि भेट्यौँ । हामीले उसलाई फेरि आधि बाटोबाट फर्काएर कपुचेतिरै लिएर गयौँ । हुगु पुग्नै लाग्दा मौसम थोरै खुल्यो र अलिकति हिमाल देखियो । हामी कति खुसी भयौं, त्यो शब्दमा बयान गर्न कठिन छ ।

    त्यहाँबाट करिब ५ घण्टा हिँडेर हुगु पुग्यौँ । मौसम बिग्रिने खुल्ने क्रम जारी थियो । चिसो मौसममा तातो खाना । अरुबेला खानेभन्दा दोब्बर खाएर हामी कपुचेमा बास बस्न पुग्ने योजनामा हिड्यौँ । हामी थकित भैसकेका थियौँ

    फेरि पानी पर्यो । प्लास्किट आडयौं । करिब ३ घण्टा चिप्लो उकालो बाटो हिँडेपछि हामी कपुचे लेक नजिकै बस्ने ठाउँमा पुग्यौँ ।

    इदीको गोठभन्दा व्यवस्थित थियो त्ययहाँ । ठूलो कुरा जुका लाग्दैन थियो । हामी फेरि चिसो लुगा फेरेर आगो भएतिरै लाग्यौँ । लगभग साँझ परेको थियो । होटलका दाइले चिया दिनुभयो । चिया खाँदै भिजेका जुत्ता, कपडा, झोला आगोमा सेकाउन थाल्यौँ ।

    हामी कपुचे पुगेको रात पूर्णिमा थियो । आकाश अलि उघ्रिएको थियो । तारा देखिन थालेका थिया । पूर्णिमाको जुनको प्रकाश हिमालमा ठोक्किएको थियो । जुन दृश्य अवर्णनीय सुन्दर थियो । त्यसपछि हामी बाटोमा पाएका सबै दुख विर्सिएर नाच्न थाल्यौं ।

    बाटोमा भेटिएका अर्को टोलीका तीनजना हाम्रो टोलीका सात जना । हामी इदी गोठबाट त्यहाँ पुग्दा एउटा परिवार जस्तै भएका थियौँ । खाना खाएर दुखेका खुट्टामा तेल लगाउँदै रमाइलो गफ गर्र्दै हामी आगो तापेर केहीबेर बस्यौँ । हामी त्यहाँपुग्दा कोरी नजानेनै भइसकेका थियौँ र अन्तिम गन्तव्य कपुचे हिमताललाई बनाइसकेका थियौँ ।

    हामी बसेको ठाउँबाट कपुचे करिब पाँच मिनेटको दूरिमा थियो । बिहानै उठ्दा मौसम खुलेको थियो । हिमाल छर्लङ्ग देखिएको थियो तर हिँउ थिएन । मौसम जतिबेला पनि बिग्रिन सक्थ्यो । हतार हतार उठेर हामी कोही नेपालको झण्डा बोकेर, कोही सारी र गाउन बोकेर कपुचेतिर लाग्यौँ । सारी, गाउन लगाएर फोटो खिच्ने हाम्रो टोलीका केही साथीको रहर थियो । केहीको झण्डा फरफराएर फोटो खिच्ने रहर ।

    हामी गन्तव्यमा पुग्यौं । नीलो ताल हेर्ने हाम्रो रहर चाहिँ पूरा हुन सकेन । किनकि लगातार पानि परेकाले ताल धमिलो भएको थियो । तर त्यहाँ पुग्दा तालको पानी जति धमिलो भएपनि यात्राको थकान मेटिने आनन्द मिलेको थियो । हामी असाध्यै रमायौँ । फोटो खिच्यौँ, अहिलेको ट्रेन्ड टिकटक बनाउनै पर्यो ।

    हामी पुगेको १०–१५ मिनेट खुलेको मौसम फेरि हिमालमा बादल लागेर बिग्रिन थाल्यो । १५ मिनेट भएपनि मज्जाले त्यहाँ बसेर आनन्द लियौँ र हामी ‘बाईबाई’ कपुचे भन्दै होटल फर्कियौँ ।

    बाटोमा पाएको दुख सबै मेटिइसकेको थियो । हामी होटलमा चिया खएर फेरि हुगुतिर झर्यौँ । चिप्लो ओरालो बाटो, धन्न पानी परेको थिएन । बाटो आसपासका बिरुवा समात्दै र लठ्ठी टेक्दै, कहिँकतै लड्दै हामी हुगु पुग्यौँ । त्यहाँ खाना खाएर फेरि हामी सिकलेसतिर अघि बड्यौँ ।

    फकिँदै गर्दा मनमा छुट्टै आनन्द थियो । हाम्रो हिँड्ने गति अलि कम भएको थियो । किनकि, हामी सबै थाकेका थियौँ ।

    फर्कँदा पनि हामीले इदि गोठका दाइलाई ‘धन्यवाद’ भन्यौं । झरी रोकिएको थिएन । प्लास्टिक ओडेरै रातको आठ बजेतिर सिकलेस पुग्यौँ ।तीन दिनदेखि अफ भएको मोबाइल अन गरेर सबैले घरमा फोन गर्यौं । त्यो रात सिकलेस नै बसेर हामी भोलिपल्ट जिपमार्फत् पोखरा आयौं ।
    लगातारको झरीले बाटोमा पहिरो खसेको रहेछ । दुईओटा गाडी फेरेर पोखरा पुग्यौँ । त्यसपछि हामी आ–आफ्नो घरतर्फ लाग्यौं । म काठमाडौं आएँ ।

    कपुचेसम्मको त्यो यात्रा जिन्दगीभर स्मरणीय हुनेछ ।

  • ‘ढुङ्गाको प्रेम’ले बढाएको ऊर्जा

    ‘ढुङ्गाको प्रेम’ले बढाएको ऊर्जा

    यो समीक्षा होइन । समालोचना पनि होइन । साथीले लेखेको पुस्तक पढेपछिको प्रतिक्रियात्मक अभिव्यक्ति मात्रै हो ।

    पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बास्कोटालाई सुन्दर रचना सर्जक हुन् । पाँचथरका कुना कन्दरताका समाचार राष्ट्रिय मिडियामा ल्याउने बास्कोटा पाँचथरको साधुटारदेखि चिवाभन्ज्याङहुँदै तिम्बुङ पोखरीका पर्यटन खुराकलाई व्यापक बनाउने पत्रकार हुन् । नागरिक दैनिकमा उनका प्रायः सामग्री पढ्दै आएको छु ।

    झण्डै दुई वर्षअगाडि धरानबाट प्रदान गरिने ‘सेछ पर्यटन पत्रकारिता पुरास्कार’ प्रदान कार्यक्रममा एकै स्टेज सेयर गरेको मलाई उनका लेखनका धेरै पक्षबारे जानकारी भएको भ्रम थियो । उनी त कविता पनि लेख्दा रहेछन् ।

    उनका फिचरदेखि सामाजिक संजालको पोस्टमा काव्य चेत वा भनौं कवितापन बेलाबेला आएकै हो । त्यत्तिमात्रैले उनी कवितै लेख्छन् भन्ने चाहिँ थाहा थिएन । न त उनले सामाजिक सञ्जालमा धेरै कविता नै पोस्ट गर्थे ।
    पछिल्ला केही महिनामा भने उनले सरप्राइज दिए । काठमाडौंको शिखा बुक्स्ले आफ्नो कविता संग्रह प्रकाशन गर्न लागेको सूचना सामाजिक संजालबाट थाहा पाउँदा अचम्म लाग्यो । कविता लेख्छु भनेर हल्लै नगरी एकैचोटि कविता संग्रहको कभर सार्वजनिक गर्ने उनको कला यूनिक लाग्यो ।

    काठमाडौंमा प्रकाशन गरेको कृति आफ्नो गृहनगरमै विमोचन गर्ने उनको अर्को स्टाइल तारिफ पनि तारिफयोग्य लाग्यो ।

    केही दिनअगाडि केन्जोखबर डटकमकी सम्पादक तथा कुनै बेला धरानको स्टार एफएमकी स्टार आरजे सरला रेग्मीले इटहरी–४ बाघमारे घरमै कविता संग्रह ल्याइदिएर पढ्ने वातावरण बन्यो । संग्रह पाउनेबित्तिकै मेरो पहिलो प्रतिक्रिया थियो– आमामा कत्ति सानो !

    ७२ पृष्ठको संग्रहमा २७ कविता रहेछन् । अझ उनले कुनै चिनिएका कवि, लेखक, साहित्यकारहरुको भनाइ नराखी कवितामात्रैको संग्रह बनाएका छन् । यो स्टाइल पनि दामी लाग्यो ।
    कवितामा आँखा डुलाएपछि कविताले तान्यो । पाँचथरका कवि भएको छनक उनले आफ्नो ठेगाना र विमोचन भेन्यूबाट मात्रै होइन, कविताबाट पनि दिएका छन् । उनले पाँचथरको भूगोल तमोर नदी, सुम्हालुङ सम्झिएका छन् । लिम्बुवान क्षेत्रमा लोकप्रिय तोङ्वाको चाँदीवाला पिपालाई कवितामा जोडेका छन् ।

    उनका कवितामा शक्तिशाली रहेछन् । ‘समाजवादको यो यात्रा’ शीर्षक कवितामा उनी लेख्छन्ः

    ‘भोका, नांगा र रित्ता छौँ
    त्यहीं भएर त हामी जनता हौँ ।’

    सत्ता, शक्तिभन्दा पर परेका वा पारिएका जनतालाई जनाउन योभन्दा राम्रो अभिव्यक्ति के होला ?

    यस्तै ‘कथाहरुको संवाद’ शीर्षक कवितामा एकलाइन छः

    ‘महानायक हुने सपना देखिएन क्यारे
    भाग्यरेखासँगै सीमारेखा उभिएका छन् ।’

    नायक हुने दक्षता भएर पनि सामाजिक राजनीतिक र आर्थिक सिमानाले जकडेर मान्छेलाई नायक बन्न कसरी रोक्छ ? भन्ने संकेतको एक सुन्दर अभिव्यक्ति हो यो ।

    अन्य केही कवितांश हेरौँ

    ‘स्टेजबाट हराएको संगीत
    कविताबाट हराएको बान्की
    आगोबाट हराएको ताप
    के फरक भयो सपनाहरु भन्दा’ (सपनाहरु हो, हार्दिक श्रद्धान्जली)

    ‘चम्किँदै लुक्दै, लुक्दै चम्किँदै
    भुँइकुहिरो त कहिले हुस्सु बनेर बहन्छ याद
    चिमोटिन्छ मुटुको दिलद्वार
    ओ क्षितिजपारिको मान्छे
    भुलिसक्यौँ या सम्झिरहन्छौँ?’ (क्षितिजपारिको मान्छे)

    सबैभन्दा रोचक लागेको कविता हो, ‘तिम्रो जन्मदिनमा’ यो कवितामा उनले भ्यालेन्टाइन डेलाई आफ्नो प्रेमिकाको जन्मदिन मानेर कविता कोरेका छन्

    ‘नयनहरु कोमल हुन्छन्
    भोगाइहरु तृत्व हुन्छन्
    सम्झनाको फराकिलो चित्रभित्र यो दिल मगमगाएर हाँस्छ
    यो दिन मगमगाएर बाँच्छ
    फेब्रअरी १४ अर्थात् तिम्रो जन्मदिन ।’

    नेपाली कविता क्षेत्रमा यो संग्रहको उपस्थिति कस्तो हुन्छ ? समालोचकीय आँखामा के हुन्छ ? थाहा छैन । तर मलाई मन छोएको सिर्जना संग्रह हो, यो ।

  • न्यायका लागि तड्पिरहेको न्यायालय

    न्यायका लागि तड्पिरहेको न्यायालय

    सबै विषयहरू गम्भीर हुँदैनन्। आफ्नै अगाडि देखापर्ने धेरैजसो गम्भीर विषयहरू सामान्य लाग्छन्। तर, सबै सामान्य विषयले मान्छेलाई गम्भीर बनाउँछ। त्यसैले धेरैजसो आम मानिसहरू सामान्य र गम्भीर विषयबीच रुमल्लिएका हुन्छन्। पछिल्लो समय चर्चामा रहेका अदालत, राजनीति, राजीनामा, महाअभियोग र आन्दोलन जस्ता शब्दहरूले आममानिसलाई रनभुल्लमा पारेको देखिन्छ।

    तपाईंले सास फेरिरहेको कुरा तपाईं आफैँलाई गम्भीर नलाग्न सक्छ। त्यसैगरी न्यायापालिका र कार्यपालिकाबीच भागबन्डा चल्नु गम्भीर विषय नलाग्न सक्छ। एउटा भवनमा परेवाले गुँड लगाउनु गम्भीर विषय होइन, न्यायमूर्तिले त्यो गुँड भत्काउने आदेश गर्नु गम्भीर कुरा हो। मुलुकमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु गम्भीर विषय होइन, अदालतको परमादेशबाट प्रधानमन्त्री बन्नु गम्भीर विषय हो।

    मन्त्रिपरिषद्मा कुनै पनि मन्त्री नियुक्त हुनु गम्भीर विषय होइन, न्यायालयको कोटामा मन्त्री नियुक्ति गर्नु गम्भीर विषय हो। प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच समधुर सम्बन्ध हुनु गम्भीर विषय होइन, भागबन्डाको सम्बन्ध हुनु गम्भीर विषय हो। न्यायालयले कार्यपालिकालाई संविधान कार्यन्वयन गराउनु गम्भीर विषय होइन, संविधान छल्न उस्काउनु गम्भीर विषय हो। न्यायमूर्तिमाथि प्रश्न उठ्नु गम्भीर विषय होइन, प्रश्न उठ्नुको कारण गम्भीर विषय हो।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जमरामाथि प्रश्न उठिरहेको छ। यसरी प्रश्न उठ्नुको प्रमुख कारकका रुपमा देखा पर्‍यो, अहिलेको सत्ता गठबन्धन। जब २८ असार २०७८ मा प्रतिनिधि पुनर्स्थापना भयो त्यसपछि जबरामाथि लगातार तीन प्रश्न उठिरहेका छन्।

    पहिलो, किन परमादेशबाट प्रधानमन्त्री बनाएको ? दोस्रो, किन सत्ता गठबन्धनसँग भागबन्डा खोजेको ? र तेस्रो प्रश्न, किन न्यायालयलाई अन्यायको बाटोमा हिँडाएको ?

    कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री तोकेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतमाथि आम संचार माध्यमले शंकाको नजरले हेर्न थालेको देखिन्छ। जबराका जेठान नाता पर्ने गजेन्द्र हमाल देउवाको मन्त्रिपरिषद्मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेपछि उक्त शंका यथार्थमा परिणत भयो।

    प्रश्न उठिरहेका बेला हमाललाई कांग्रेसको कोटाबाट मन्त्री नियुक्ति दिइएको भनेर बाहिर हल्ला फैलाइयो। तर, उठिरहेका प्रश्नहरू रोकिएनन्। जसको कारण हमालले मन्त्री पदबाट राजिनामा दिनुपर्‍यो। नैतिकता हतियार बनाउँदै भागबन्डामा नियुक्त भएका मन्त्री हमालले राजिनामा दिएपछि न्यायालय र सत्ता गठबन्धनबीचको ‘सेटिङ’ छताछुल्ल भयो।

    सुरुमै उठेको प्रश्न ‘किन देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाएकोरु’ भन्ने प्रश्नको उत्तर प्रधानन्यायाधीश जबराले पाएको मन्त्री पदले दिन्छ। प्रष्ट छ, परमादेशबाट प्रधानमन्त्री बनाइदिएकै कारण प्रधानन्यायाधीश जबराले देउवासँग मन्त्रिपरिषद्मा आफ्नो हिस्सेदारी खोजेका थिए।

    भागबन्डामा मन्त्री बनेका हमालले प्रश्न खेप्न नसकेर राजिनामा दिएपछि सत्ता गठबन्धन र प्रधानन्यायाधीशबीचको सेटिङ छताछुल्ल भयो। यसरी प्रधानन्यायाधीशले भागबन्डा खोज्नु र सत्ता गठबन्धनले न्यायामूर्तिलाई आफ्नो प्रलोभनमा पार्न खोज्नु साँच्चिकै सोचनीय र गम्भीर कुरा हो।

    जसरी देउवा सरकारको मन्त्रीपरिषद्मा हमाल नियुक्त भए त्यो आफैँमा राजनीतिक अन्याय पनि हो। के सत्ता गठबन्धनमा मन्त्रीका लागि अरु नेताहरू योग्य थिएनन् ? हमाल जिल्ला तहका एक गुमनाम पुराना नेता हुन्। हमाललाई मन्त्री पद दिनु, न्यायालयको साख बिगार्नु मात्र थिएन, लामो संघर्ष गरेका नेताहरूलाई अन्यायमा थियो।

    भन्नुपरोइन, पछिल्लो संकटमय परिस्थितिमा न्यायालयमा भइरहेको चरम भागबन्डा र किचलोले भयंकर दुर्घटनाको संकेत गर्छ। यही परिदृश्यलाई हेर्दा राजनीतिक व्यवस्थाकै विरुद्ध गम्भीर षड्यन्त्र हुन लागेको आँकलन गर्न ढिला गर्न हुन्न। न्यायालयभित्रको भइरहेको राजनीतिले यसको साख मात्र गिर्ने होइन, यसमाथि रहेको आम जनआस्था नै डगमगाउन सक्छ।

    कार्यपालिका, न्यायापालिका र व्यवस्थापिका संविधानतस् स्वतन्त्र हुनुपर्छ। तर, न्यायापालिका आफैँ राजनीतिमा होमिनु र राजनीतिक भागबन्डा खोज्नुले यहाँ कार्यपालिकाको नाङ्गो हस्तक्षेप भएको महसुस हुन्छ। अहिले महाअभियोगको फोहोरी खेल सुरु भएको छ। यो खेललाई आम मानिसहरूले गम्भीर विषयको रुपमा लिनुपर्छ।

    यसपटकको घटनाक्रमहरुको सरसर्ती अध्ययन गर्दा दोस्रो संसद् विघटनमाथिको मुद्दाबाट सर्बोच्च अदालत र प्रधानन्यायाधीश विवादित बनेको देखिन्छ। त्यो विवाद कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी भएपछि सतहमा आइपुग्यो। मन्त्रीपरिषदमा सत्ता गठबन्धन र न्यायालयको भागवन्डापछि त झनै न्यायक्षेत्र नै धरापमा परेको देखियो। अनि चारैतिर विरोधसमेत भयो।

    यस अर्थमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशहरु पनि यो संकटको हिस्सेदार हुन्। त्यसैले प्रधानन्यायाधीश जबराले मात्र होइन, परमादेश दिने संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले पनि राजीनामा गर्दै न्यायलय शुद्धत्ताको अभियान चालाउनु पर्दछ। यसो गरेमात्र न्यायालयमा सुधार हुनसक्छ।

  • के नेपाल सानो छ ?

    के नेपाल सानो छ ?

    नेपाल !

    सुन्दर, शान्त विशाल ! म भन्न सक्तिनँ ।

    भूमण्डलका नक्शा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ । यो सानो बुँद महासागरमा त्यसै बिलाएजस्तो देखिन्छ । यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठा जस्तो लाग्दछ । कति देश र जातिले यसको नामै सुनेका होओइनन् । यो शान्तिको हरियो आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ । त्यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा पसीना काढी हिस्सा लिनुभन्दा ध्यान र जानको गङ्गातिर र हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ ।

    जिज्ञासा राखे तापनि यो प्राचीनको पुजारी हो । आजसम्म लुकामारी खेलेर, हिजोको सुनौला प्रभातको सपना देख्न चाहन्छ । सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफैं विश्व छ, दूर छ तर दूरताको दिव्य जादू । यो भारतमाताको मुटु फेला पार्ने थोरै छन्, किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ ।

    हीरा सानो हुन्छ, मोती सानो हुन्छ मणि सानो हुन्छ, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ओकारको बिन्दु झै परमानन्द घनीभूत छ । सानो भनेको के, ठूलो भनेको के ? यो दुनियाँमा तारालाई ठूलो भनौ भने अनन्त आकाश जूनकीरी जस्ता देखिन्छन् । बालुवाका दानालाई सानो भनौं भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली जादूगरी दर्शाइरहेछन् । संसारमा सानो र ठूलोका दुई दृष्टिकोणका भेद छन् एक भौतिक, एक आध्यात्मिक ।

    नेपालभन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन लागेजस्तो लाग्छ । माटोको परिमाणले खेत ठूलो म गन्दिनँ, त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश कालिदासको शकुन्तला धेरै जस्तो ठूलो लाग्छ । ‘धत्, नेपाली पनि पढ्नु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन् ।’ भनी नाकठाडे मिजासको अंग्रेजीवाज चश्मा झल्काएर भन्दछ । उल्टो पाखण्डीपन हेर्न मन लाग्छ ।

    यहाँ के छैन ? मलाई आश्चर्य लाग्छ, के छैन ? स्वर्ग यसैमाथि छ, नरक यसैतल छ । परमेश्वर यही दिनभरिभरि र मानवअगाडि जूनकिरीझैं नाचिरहेका छैनन् ? तब म फेरि दोहोर्याउँछु, ‘यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ? रेखाहरू, रंग र छायाँ र फाहरू, शिखरलहरका झलमलाहट, पृथ्वी त्यसै मिठास र मोहनी मैदानमा पाइन्न ।

    अंग्रेजी लवजहरूउपर सूर्य नअस्ताऊन्, तापनि म नेपाली शब्दमा त्यो जादू पाउँछु, जो ग्रीष्म गरम विदेशबाट फर्कदा शीतल झरनादार पहिलो चढाउको पहाडी वनमा प्रथम स्वागतवासी मधुर हावाको लहरसँग ‘को हो ! को हो’ को सौन्दर्य महाकाव्यहरूभन्दा मलाई नेपाल पहाडको सरल भाव–वाहिनी व्याकरणविरोधी हृदयनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ । ‘गाइनेको रानीवनैमा’ सुन्न चाहन्छु ।

    विदेशले कति घिच्याएको छ हामीलाई हामी अरूको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो भोक्कामा रवाफ देखाउन चाहन्छौं, यद्यपि हामीलाई प्रकृतिले यस्तो संगीत–सरल मुख र नासिका दिएको छ, जो अरूको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अंग्रेजीका लवज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङ्गमिरिङ्ग गर्दछ ।

    कोही हिन्दी भन्दछन्, कोही बङ्गाली, म भन्दछु, नीला पहाडहरूको पसेका शब्द, अमरवल्लरीहरू ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र बोल्ने अक्षरहरू । मेरो भाषा ज्यादा नफैलेको होस्, तर मेरो इन्द्राणीको भतना यही हो । हो नेपाल १ यहाँ वाग्नर कोदाली खनिरहेछन्, शेक्सपियर हलो जोत्ता हुन्, टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान् । मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ ।

    नालाहरूका प्राकृतिक वेद बुझने आजकल कति हृदय होलान् ! यहाँका सूर्योदयका सुनौला दृश्य कान्तिपुरीमा के जान्ने छैनन् ! के साना चराहरू हृदयाकाशमा अमर वेलीकुञ्ज बोल्दैनन् ? के गुलाबको छातीमा टप्केका रजनीघनीभूत मोतीदाने शीतलव जस्ता प्रेमका कणहरू जो मभित्र खाँदलो भइरहेछन्, के ती साना छन् ? सच्चा आर्यभावना जसलाई भनिन्छ त्यस्ता मानवभावनाहरू उत्पादन गर्न सक्ने र हरहमेशा हृदयमा देवसंस्कार जागरण गर्ने वाग्मती शान्त तरल भाव–प्रवाहमा खेलाएर राख्ने भूमि यदि संसारमा कुनै छ भने नेपाल छ । किनकि यहाँ कारखानाको धूवाले दूषित वायुमण्डलमा सभ्य माकुराको जालोजस्ता तरंगहरू खेल्न पाउँदैनन् ।

    यहाँ प्रशस्त शैशव नवीन खोज र त्यसको जादू नेपाली हृदय नेपाली आबहवाको र खानपीनका असरले गर्दा सच्चा आर्यभावहरूको स्पन्दन र आयसपनाले सजीव छ र अरू देशमा मैले कहिले पनि भावुक नैर्मल्य र सरलता जन्तुलाई हेरेझै हेर्दछ । जो नेपाली होइन र नक्कलपन चाहन्छ, उसलाई ताता मगजहरू खालि असन्तोषमा उम्लिरहेछन् । जहाँ नेपाली नजर देखेर स्वदेशी हृदय गद्गदाउँछ, त्यहाँ विदेशी खालि विज्ञानको अंध्यारो भूलभुलैयाभित्र पस्तछ ।

    यहाँ ईश्वरका झल्काझल्की जताततै छरिएका छन्, ज्ञान विवेकको अंधेरीमा पाइन्न । विज्ञानभन्दा ज्ञान मूल्यवान् छ, मान्छे जडमा अन्धयन्त्र लगाएर अन्धो विवेकले बोक्रे नियम पत्ता लगाउनमा आफ्नो गौरव सम्झदैन, अन्धविश्वास भन्नेले आफ्नो अन्धविश्वासउपर आँखा चिम्लिरहेछ, तर हाइ ! हाइ ! नेपाली हृदय ! तभन्दा सुन्दर, शान्त सजीव कुरा संसारमा के होला ? म त्यहाँ सब चीज पाउँछ, जहाँ जीव पाएथे, उहां मेरो आत्मा जागरित भएर मानवजीवनको जादूका निमित्त आँखा खोलेर उठयो । म त्यही मानवसंसारको सम्पूर्णता देख्दछु म केही सौन्दर्यको चीज देख्तिनँ, जो म नेपाल संसारमा पाउन्नँ ।

    यो हिमालयको पवित्र जादू भने नेपाली माटोको मूर्ति जो मै हुँ– जो स्वर्गको झिल्काले घिच्किएर जीवन भन्ने ज्योतिले सजीव भएर जागेथ्यो–यो मनुष्यलाई नेपालमा अनन्तता छ । यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चीजहरूको सूक्ष्म प्रतिबिम्ब टनाटन छ । हिउँदको दृश्यमा ध्रुवप्रदेशको नमूना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरूको नमूना यहीँ नजरसामुन्ने छ । यहीँ सब आबहवा पाइन्छन्, यहीँ छन् बेबिलोनका ह्यांगिड गार्डेन्स–भूलन बाग, यहीँ छन् तीन सय नायगरा फल्स, चीनको पर्खाल सात आश्चर्यमा नहुनुको अन्धता हो । चाँदीको झल्झलाउँदो गौरीशंकर महल नजरसामुन्ने नै छदै छ ।

    यहाँ के छैन ? मलाई आश्चर्य लाग्छ, के छैन ? स्वर्ग यसैमाथि छ नरक यसैतल छ । परमेश्वर यही दिनभरिभरि र मानवअगाडि जूनकोरीझैं नाचिरहेका छेनन् ? तब म फेरि दोहोर्याउँछु, ‘यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ? रेखाहरू, रंग र छायाँ र फाहरू, शिखरलहरका झलमलाहट, पृथ्वी त्यसै मिठास र मोहनी मैदानमा पाइन्न ।

    मैदान बोधो छ एकनासे लाटोजस्तो, तस्वीर झिकिदिएको छ, तर पहाडी देशको दृश्यमा विभिन्नताको माधुरी छ, यहाँका रंग गाढा र रसिला छन्, यहाँ सूचनात्मकता छ, जो कविता र संगीतको मुटु हो, यहाँ जीवन एकोहोरो गाढा सडकजस्तो देखिन्न । शेखीसम्म गर्दछ तर रित्तो पट बिछयाएजस्तो मात्र छ, यहाँ हरएक पटमा सच्चा चित्रकारी छ ।

    एक पहाडका कुनामा बसेर हेर्नु, दुई–तीनतर्फ दृष्टि दिँदा, उही ठाउँबाट दुई–तीन संसार देखिन्छन् । म घाम, सिमसिमे पानी र कुहिरो । जुन पृथ्वी यस्ती शस्यशालिनी छन्, जसमा यस्ता सौन्दर्यका विभिन्नताहरू रंगदार छन्, जहाँ एक पहाड एउटा सजीव दुनियाँ छ, चरा, मृग र बाघहरूले परिपूर्ण संसार, जसलाई हेर्दा मानवमुटु विचित्र त्रासले जहाँ नालामा दिव्य भाषण, जहाँ पत्रहरू सजीव दुनियाँका हलचल भौ कल्पनामा बालरेखा चित्र र कार्यहरू बनिरहेका होओइनन् ? नजिक रहेको जति तिनको गौरव र तिनको उच्चतासँग भित्रभित्र गाँसिएको हुन्छ, शस्याढध भूमिका पुत्रहरूका मगजमा उब्जनी–प्रतिभा हुन्छ र उनका कल्पनाचित्रहरू विपिनप्रचुर हुन्छन्, ज्यादाजसो कविहरू फूलबारीको नजीक जन्मन्छन्, महापुरुषहरू पहाडको नजीक । दूधमुखे शावकहरूका चेहराहरूले मान्छे धेरैजसो साधु बन्छन्, बाघ पाल्ने वनका चराहरू बोल्दो देशसँग म कविताको सम्बन्ध देख्तछु । वनका गम्भीर रहने भावनाहरू व्यक्त हुदै आउँदछन् ।

    म नेपालमा हुँदा वनकालीमा आनन्द पाउन सक्तछु तर कलकत्ता जादा बिर्सन्छु । पहाड र गानाको नित्य सम्बन्ध छ, जस्तो वाक र अर्थको । स्वर्ग बर्सन्छ त्यही, पहाडी अविरल भरभोरको संगीतद्वारा भावनादोष सुधार हुन सक्तछ, किनकि संघर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दैछन्, यी सरसर हृदयमा दगुर्दैछन् ।

    मातृभूमिप्रेम, नेपालको महत्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए ‘तँ को होस् ?’ भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्तर दिन्थे – ‘नेपाल’ ।

    तब म विशाल किन नलेखू ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरूको नीलो रंगमा प्रकृतिको प्रचुर उदारतामा अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म कलिलो चैतन्य ! जब पहाडको पीपलको गानादार बोटमनि म बसूँ, तब मलाई विशालताको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोहलाउँछु, तब म साथीलाई भन्दछु, ‘आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेयो विशालभन्दा ज्यादा टडकारो नेपालमा केही पनि चैन ।’ जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चीज दुनियामा केही घामको स्वभाव छ । जति क्षेत्रफल बढायो उति पतलाउन् प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिमा सिक्तछु, न कि विश्वमा ।

    मातृभूमिप्रेम, नेपालको महत्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए ‘तँ को होस् ?’ भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्तर दिन्थे – ‘नेपाल’ । मृत्यु स्वर्गबाट ओर्लदा ‘त के चाहन्छस् ?’ को प्रश्नलाई पनि म प्रत्युत्तर दिन्थे, – ‘नेपालको भलाई ।’ अरू मुक्ति खोजून्, स्वर्गपछि दौडुन्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरू देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ । मेरो हीरा कहाँ छ र उसको भलक कस्तो छ ! हस्सी उडाउने हस्सी उडाउँछन् । तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पु¥याउन सक्तछ । अरूका श्रीपेच शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।

    विदेश भनेको सपना हो, एउटा कता–कताको कथा हो, नदेखेकै झिलिमिली हो, अस्पष्ट अग्राह्य बाहिरी कुरा हो, जो मेरो क्षितिजभित्र पर्दैन, त्यससँग मेरो नजरको के नाता १ कति थोरै नेपालवासी सम्झँदा हुन् कि यो नेपाली तारामण्डले अद्र्धगोलाबाहिर कुनै दुनियाँ छ रु वास्तवमा साधारण मनुष्यका निमित्त शिरमाथिको आकाशगोलाभन्दा ठूलो चीज केही हुँदैन, र उसले सम्झदैन कि यो खालि विशालको एक अल्प खण्ड बुझ्नमा नै के फाइदा रु सम्पूर्ण अनन्त विश्व देख्ने नजरले सूर्यलाई कस्तो सानो सेतो कनिको भन्दो होला, तर पृथ्वीवासीलाई सूर्य सेतो रापको जीवनदाता भगवान् नै ठहरिन्छन् । मेरो स्वदेश नै मेरो विश्व हो, विपना हो, मेरो सत्य हो, एउटै खाँदिलो अस्तित्व हो ।

    जब म विदेशमा हुन्छु तब बोलचित्र र नाटक हेरिरहेको हुन्छु, जब म स्वदेशमा हुन्छ, म जीवन अनुभव गरिरहन्छु । स्वदेशप्रेम संकुचित गुण हो भन्ने लेखकहरूले आजकालको साङ्ग्रोपनादेखि वाक्क भएर कलम लिएका हुन् । तर ठाकुरबाबाको देखासिकी गर्ने सबै सिकारु चीज स्वदेशमै विकासिन्छ र जसले आफ्नो जाति, आफ्नो राष्ट्रको प्रेम जान्ने हुनु मात्रै हो, बालुवामाथि घर बनाउनु भनेको त्यही हो । मेरा बादलभन्दा बेकम्मा हुन्छन् । सजीव अनुभवहरूको कलात्मक प्रकाशन साहित्य हो भने जो सच्चा नेपाली छैन, त्यसले नेपाली साहित्य लेख्न सक्तैन । नेपालको हरएक दृश्य र अनुभूत वस्तु मभित्र मिलान लिएर विचार, भाव र सम्झनाका स्वरूपमा अनेक क्रियाहरूद्वारा आत्मप्रकाशन लिइरहेछन् ।

    सार्वजनिक विश्रवसत्यात्मक जातिकल्याणकारी तत्वहरूका सम्बन्धको आधारमा म लेखितनँ, लेख्ने नेपाल हो, म बोल्दिन, बोल्ने नेपाल हो, मेरा विचार होइनन्, नेपालका अनुभूतिगम्य दृश्य र श्रव्य सामग्रीका प्रभावहरू हुन् खालि मभित्रको अमर तत्व । यी सामग्रीहरूद्वारा नवीन–नवीन झल्का र सन्देश पाउँदै, आफ्नो सेवाको मार्गमा चलिरहन्छ ।

  • अलौकिक मार्दी हिमालसम्मको अविस्मरणीय पदयात्रा

    अलौकिक मार्दी हिमालसम्मको अविस्मरणीय पदयात्रा

    करिब डेढ वर्षसम्म कोरोना कहरका कारण हाम्रो दैनिकी निरस र त्रासबीच बित्यो । घरभित्रै थन्किएर बस्नुपर्यो । बाहिरी दुनियाँको रमाइलो देख्न मुस्किल थियो ।

    तर अहिले परिवेश परिवर्तन भएको छ । कोरोना संक्रमण कम भएसँगै चहलपहल बढेको छ । अरु क्षेत्र जस्तै आन्तरिक पर्यटनको क्षेत्रमा पनि आशाको किरण देखिएको छ ।

    यसपालिको दसैंलाई सार्थक बनाउन र विदाको सदुपयोग गर्न हाम्रो परिवारले मार्दी हिमालको पदयात्रा गर्ने निर्णय गर्‍याे । लामो समयदेखि यस्तो यात्रामा जान नपाएकी म निकै खुसी भएँ ।

    १० मिनेटको छलफलपछि नै मेरा श्रीमान र दुई छोरासँग म पनि पदयात्रामा जाने निष्कर्ष निस्किएको थियो ।

    फुलपातिको राति १० बजे योजना बन्यो । राति नै हामीले यात्राका लागि आवश्यक सामग्री प्याकिङ गर्यौं । अष्टमीको दिन बिहान ९ बजे हामी निजी गाडीमार्फत घरबाट निस्कियौं । सडकमा खासै सवारी जाम थिएन । साँझ ५ बजे त हामी पोखरा पुगिसकेका थियौं ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरबाट भए पनि सुक्ष्म अवलोकन गर्दै हामीले लेकसाइडको रिसोर्टमा पहिलो रात बितायौँ । अर्को दिन बिहान साढे ८ बजे आफ्नो गाडी होटलमै पार्क गरेर ट्याक्सीमा धुम्पुसतिर डोहोरियौं ।

    दायाँबाँया मनोरम दृश्य नियाल्दै करिब दुई घण्टामा हामी धम्पुस पुग्यौं । खुलेका अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य मन र क्यामेरामा कैद गर्दै पदयात्रामा लम्कियौं ।

    करिब साढे १२ बजेतिर हामी खाना खान पोथनाको एउटा होटलमा पुगेर सुस्तायौं । होटल सञ्चालिकाको आतिथ्यता र मीठो परिकारले हामी सबैको मनमा सकारात्मक ऊर्जा भर्यो ।

    ढिलै भए पनि केही तंग्रिन थालेको होटल व्यवसाय देखेर मन रमाइरहेको थियो ।

    रात झमक्क परेको थियो । हाम्रो त्यो दिनको बास फोरेस्ट क्याम्पमा अवस्थित एउटा होटलमा भयो । त्यहाँ पनि थरिथरीका परिकारहरु खान पाउँदा दसैं मनाउन नपाएको दुख बिर्सियौं ।

    यात्राको दोस्रो दिनलाई स्वागत गर्दै थोरै चिया खाजापछि हामी सुनसान र घना जंगलको बाटो हुँदै अगाडि बढ्यौं । कयौं आन्तरिक पर्यटकहरु फर्कदैँ थिए र केही विदेशी पर्यटकहरु पनि आफ्ना भरिया र गाइडहरुसँगै ओरालो झर्दै थिए ।

    कोककत्ताबाट आएका कयौं पदयात्रीसँग हाम्रो वार्तालाप भयो र केही त अन्नपूर्ण पदयात्रालाई टुङ्गो लगाएर पुनः यो पदयात्रामा अगाडि बढिरहेका थिए ।

    पदमार्ग सफा र प्रष्ट थियो । रुखहरुमा रंगाइएको सेतो र निलो रंगले हामीलाई दिशानिर्देश गरिरह्यो । बादलडाँडा भन्ने ठाउँमा दिउँसोको खानापछि केही सुस्तायौं ।

    करिब ३ बजे हामी हाइक्याम्पमा पुग्यौँ र त्यहाँबाट देखिने सुन्दर हिमालहरुको रमणीय दृश्य र सूर्यास्तको सुन्दरताले मन पुलकित भयो ।

    पहिलेको तुलनामा यहाँ होटेलको संख्या बढेको रहेछ । र पछिल्ला दिनमा होटलमा ग्राहकको चाप पनि बढेको व्यवसायीहरुले बताए । सबै वस्तुहरु खच्चड र भरियामार्फत ढुवानी गर्नुपर्ने वाध्यता छ।

    त्यस ठाँउमा रातको खानापछि हामी चाडैँ आफ्नो ओछ्यानतिर गयौं । किनकि अर्को दिन सबेरै भ्यू प्वाइन्ट पुगेर सूर्योदयको किरण हिमालमा परेको हेर्नुथियो । कति लोभलाग्दो होला त्यो दृश्य भन्ने कौतुहलता थियो ।

    बिहान ४ बजे मोबाइल टर्चको उज्यालोमा हामी खुड्किला चढ्दै उकालो लाग्यौं । करिब पौने २ ‍घण्टामा हामी भ्यू प्वाइन्ट पुग्यौं । सूर्योदय र सूर्योदयको किरण हिमालमा परेको मनमोहक दृश्य शब्दमा वर्णन गर्न कठिन छ । उक्त दृश्यलाई आँखा र क्यामेरामा कैद गरेपछि पोखरा फर्कियौं । त्यहाँबाट अझै दुई घण्टा हिँडेमा बेस क्याम्प पुगिने रहेछ । तर हामीलाई पोखरा फर्कनु थियो ।

    बिहानको खाजापछि हामी त्यहाँबाट हिँड्यौ । ‘लो क्याम्प’सम्म पहिले गएकै मार्ग हुँदै छोटो बाटो जाने लोभले सिदिङ मार्ग रोज्यौं । वर्षातको पानीले बाटो अत्यन्तै बिग्रेको रहेछ । पाँच घण्टाको हिँडाइपछि हामी सिदिङ पुग्यौं ।

    सिदिङको ओरालो यात्रा अत्यन्तै कष्टकर रह्यो, जसबाट हामीले केही पाठ पनि सिक्यौं– हतारमा अप्ठेरो बाटो रोज्न नहुने रहेछ । पहिले गएकै गोरेटो हुँदै फर्किएको भए यो पदयात्रा सोचेभन्दा अझ रमणीय हुने थियो होला । समग्रमा अचानक तय भएको हाम्रो यात्रा निकै रोमाञ्चक रह्यो ।

  • नीरोकै लाइनमा ‘प्रचण्ड यात्रा’

    नीरोकै लाइनमा ‘प्रचण्ड यात्रा’

    परिष्कानहीन, संस्कारहीन, कल्पनाहीन मान्छेको हातमा शक्ति आयो भने उसको आत्मा र विवेक शक्तिमादकतामा ध्वस्त हुँदै जान्छ ।

    सम्राट् नीरो रोमन सम्राटहरुमा क्रुरतम् शासकहरूमध्ये एक थिए– करिब दुई हजार वर्ष पहिले ।शक्तिको उन्मादमा सामान्यतया मान्छे आफ्नो सिमानालाई अतिक्रमण गरेर आसुरी, दानवीय प्रवृत्तिमा सजिलैसँग प्रवेश गर्दछ ।
    लाग्छ, सबै ‘कु’ संस्कृति र बुद्धिहीनहरूको अचेतन गन्तव्य आदर्श नीरो नै हो ।

    शक्तिको उन्माद र काउकुतीमा नीरोलाई एक बिहान सनक चढ्यो ‘परापूर्व कालमा ट्रायको दश वर्षे युद्धमा ट्राय नगर जलेको थियो । त्यस्तो सम्पन्न र सांस्कृतिक रूपले अति समृद्ध राज्य कसरी जलिरहेको थियो होला ? म आज उत्तेजित छु, त्यो जलनको झलकको अनुकृत हेर्न । म महामन्त्री, मन्त्री, भारदार र सेनालाई रोम नगर जलाउन आदेश दिन्छु ।’ शक्तिशाली सम्राट्को आदेश अक्षरशः पालना गरियो । ऐश्वर्यशाली रोम जल्न थाल्यो प्रचण्ड रूपले ।

    सम्राट् नीरोले आफ्नो सबैभन्दा बढी मन पर्ने बाँसुरी निकाल्यो र बजाउँदै नाच्न थाल्यो आगोको वरिपरि । हाम्रो पौराणिक ताण्डव नृत्यको एक बिभत्स पश्चिमेली अवतरण थियो त्यो नृत्य र सङ्गीत ।

    इतिहासकारहरूका थरीथरीका बयानहरू छन्, एक थरी भन्छ– केही वर्षपछि नीरोले त्यो प्रचण्ड ज्वालामा आत्मदाह ग¥यो, दोस्रो थरी भन्छ– नीरोले आत्महत्या गर्यो, तेस्रो थरी भन्छ– नीरो पागलपनको अन्तिम सीमामा पुगिसकेको थियो र पागलपनमै उसको मृत्यु भयो ।

    यहाँ नीरोले के गर्यो भन्ने बखान गर्न खोजिएको होइन । नीरो प्रवृत्तिको विश्लेषण गर्न खोजिएको हो । हिजो रोममा देखिएका नीरो र आज नेपालमा उदाएका प्रचण्ड उस्तै–उस्तै हुन् भन्दा फरक नपर्ला ।

    गत आइतबारबाट बेमौसमी झरीले मुलुक आक्रान्त बनेको छ । भीषण बाढी र पहिरोबाट हजारौँ प्रभावित भएका छन् । सयौँ विस्थापित भएका छन् । कयौँ सहाराविहीन भएका छन् ।

    बाढी पहिरो तथा प्राकृतिक विपत्तिबाट आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा मात्रै मृत्यु हुनेको संख्या ३७ पुगेको छ । वर्षाले भित्र्याउन तयार अर्बौँको धान बाली नष्ट भएको छ । किसानहरूको आँसु थामी नसक्नु भएको छ ।

    यता किसानमा पिरमा छन् । उता दलका नेता उत्साहमा छन्, उमङ्गमा छन् ।

    शुक्रबार पारिवारिक भ्रमणका रहेका पुष्पकमल दाहाल प्रचण्ड धुलिखेल पुगेर जिप लाइनको मज्जा लिए । त्यहीबेला यता किसान भित्र्याउनै लागेको बालीमा बाढीले पुराएको क्षतिले विक्षिप्त थिए ।

    वर्तमान सरकारको महत्वपूर्ण घटक हो माओवादी । माओवादीका अध्यक्ष हुन् प्रचण्ड । शुक्रबारको उनको गतिविधिले त्यो सङ्केत गरेन । देश रोइरहेको बेला, देशवासी पीडाले भक्कानिइरहेको बेला प्रचण्डको जिप लाइनको मज्जाले रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहन्छ भनेजस्तो भएको छ ।

    गणतान्त्रिक मुलुकको पहिलो प्रधानमन्त्री प्रचण्ड हिजोका दिनसम्म सीमान्तकृत समुदायका नेताका रूपमा परिचित थिए । उनकै मुद्दामा सहमत भएर हजारौँ नेपालीले हाँसीहाँसी बलिदानी दिए । तर, आज उनले त जिते, उनको मुद्दामा प्राण त्याग गर्नेहरूले के पाए ?

    बाढीका कारण विक्षिप्त भएको किसानको मनमा मल्हम लगाउनु पर्ने, राहत, क्षतिपूर्ति र उद्धारमा खटिन निर्देशन दिनुपर्ने र आफैं पनि दूरदराजसम्म पुगेर अवस्था बुझ्नु पर्ने प्रचण्ड मस्तीमा छन्, आफै रमाइरहेका छन् ।

    कल्पनाहीन मान्छेको हातमा शक्ति आयो भने उसको आत्मा र विवेक शक्तिमादकतामा ध्वस्त हुँदै जान्छ र साथै उसले शक्ति प्रदर्शन गर्ने सानो वा ठूलो शासन क्षेत्र पनि ध्वस्त हुन्छ ।

    सानो संस्था होस् कि सम्पूर्ण साम्राज्य होस् । मानव जाति नीरोको उदाहरणको बाबजुद त्यहीँ गल्ती पटक–पटक बिभत्स रूपमा दोहोराइरहेको छ ।

    नीरोको आगो लगाइले रोमको त्यति हानि भएन जति नीरो अरू धेरै वर्ष बाँचेर शासन चलाएको भए हुन्थ्यो । रोम त केही वर्षभित्र पुन निर्मित हुनसक्छ तर बौहुलठ्ठी शासनको छाप मेटाउन धेरै समय लाग्छ ।

    प्रचण्ड मात्रै होइन देशका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सुदूरपश्चिम पुगे । तर, पीडितसम्म पुग्न सकेनन् । राहतको प्याकेज दिन्छु भने तर, पीडित तङ्ग्रिन लाग्दा पनि आश्वासनबाहेक केही पाएका छैनन् । उनी पीडितलाई भेट्नभन्दा पनि महाधिवेशनको माहौल तयार गर्न आएको प्रस्ट हुन्थ्यो । त्यो खर्च र तामझामले एउटा बस्तीको उद्धार हुन्थ्यो तर, त्यहाँ कसैको चासो पुगेन ।

    देउवा गएको अर्को दिन रामचन्द्र पौडेल कैलाली र कञ्चनपुर पुगे । उनले पनि पीडितका विषयमा भन्दा नेता कार्यकर्ताको विषयमा बढी छलफल केन्द्रित गरे । पीडित आँसु पुछिरहेका थिए, नेताहरू महँगा सवारीमा हुइँकिरहेका थिए । त्यही सडक हुँदौ जहाँ हिलोले लतपतिएका धानका बालाहरू सुकाइएको थियो, त्यो कुल्चिँदै ।

    यी दृश्यले हाम्रै मुलुकमा नीरोहरु बढिरहेका मान्न सकिन्छ । रोम खतरामा परेको बुझ्न सकिन्छ ।

    यहाँ पनि अदृश्य रूपमा रोम जलिरहेको छ, नीरो बाँसुरी बजाइरहेको छ ।

  • मृगतृष्णा

    मृगतृष्णा

    ‘अर्काको बाछो चाटी मुखभरि रौँ । तँलाई थारी, कसले बस्न भन्याथ्यो । अनि किन चाट्नु के अर्काको बच्चो ? बच्चो चाट्ने रहर भए आफूले पाउनु नि ! ४ वर्ष भैसक्यो । तेरा कारणले मैले अनेक कुरा सुन्नुपर्छ । कुन दिन कसाईलाई दिने हुन् थाहा छैन । खाइस् बल्ल । हेर रगत बगेको ? कसले ओखती लाइदिन्छ तँलाई ? त्यसै त थारी भनेर घरकाले तेरो रिस मलाई पोख्छन् । अब झन् सिङ भाँचिस् !’ थोरेका खुट्टामा लौरीले हान्दै रिस पोखिरहेकी थिई ऊ । मानौँ, थोरे मान्छे हो र उसका कुरा सुनिरहेको छ ।

    थोरेको भर्खरै मुनाएको सिङ भाँचिएर रगत बगिरहेको थियो । अर्को भैँसीको लैनो पाडोलाई चाट्न गइछ । आफ्नो पाडीको संरक्षणमा लैनो भैँसी जाइलाग्यो । लैनो भैँसी र थोरेको निकै बेर घम्साघम्सी पर्यो । थोरेकी धनीले माटाका डल्ला, ससाना ढुङ्गा हानेर बल्लतल्ल छुट्याएकी थिई । त्यति बेलासम्म थोरेको दाहिने सिङ फुक्लिइसकेको थियो ।

    उत्पलाले अलि परैबाट भैँसी जुधेको देखेकी थिई । भैँसी र थोरेको घम्साघम्सीले उसको बाल्यकाल सम्झायो । सम्झनाले उसलाई चौरीतिर तान्यो । गाउँभरिका गाई, गोरु, भैँसी, भेडा, बाख्रा आआफ्नै सुरमा चरिहेका थिए ।

    एउटी अधबैँसे महिला दाम्लो हातमा लिएर पाडो डोर्याइरहेकी थिई । त्यही पाडोलाई थोरेले चाटेको निहुँमा केही बेरअघि भैँसी र थोरेको घम्साघम्सी परेको थियो । भर्खरै ब्याएको लैनो भैँसी आफ्नो पाडोबिना चर्न आउँदैनथ्यो सायद ।

    उत्पलाकै अगाडिपट्टिबाट थोरेलाई लौरीले हान्दै घरतिर लगी थोरेकी धनीले । गुनगुनाउँदै थिई ऊ— ‘तेरो कम्ता माया लाग्दैन । मेरो कन्यादानसँगै तेरो पनि दान गरेका थिए बाउले । चार वर्ष भैसक्यो । मेरा दुइटा भैसके । तँ थारी छस् । सधैँ टोक्छन् मलाई । ‘थारी पालेर तँलाई घ्युभात’ भन्छन् । अरूका पाडी चौरीमा चर्दाचर्दै बाली जान्छन् । तँलाई भने १० पटक राँगो भा’ठाममा लगिसकेँ । झन् ‘राम्रो बिउ’ भनेर बाउले देका । तैँले मलाई दिक्क पारिसकिस् ।’

    उत्पलाले थोरेलाई हेरिरही । साह्रै राम्री थिई थोरे— हिस्सी परेकी, काली । छेउकुना टपक्क मिलेका । कल्चौँडो अलि नदेखिएर मात्रै, नत्र दोस्रा बेते जस्तै थिई । ‘ठ्याक्कै कुँडुली जस्तै छे मोरी ! तर किन बाँझै बसेकी होली !’ उत्पलाको मुखबाट अनायासै निस्कियो उछ्वास ।

    ‘कोसँग बोलेको ? के भयो ? को बाँझो भयो ?’ अलि परै छोडेका साथीहरू नजिक आइसकेका रहेछन् । उत्पलाको ‘थोरे प्रसङ्ग’ टुट्यो ।

    “अर्काको कुरा के गरेको ? अब बिहे गर्ने होइन तिमीले ? दौँतरीहरु सम्धीसम्धीनी भैसके !” अर्कीले घ्यु थपी ।

    “तिमीहरुले कति भोट थप्यौ ? हामीले त झन्डै २ सय मत तानेर आयौँ ।” मान्छेको झुन्डबाट घरदैलोको रिपोर्टिङ गरी एउटीले । चुनाव प्रचारमा हिँडेको दुई समूह एकै ठाउँमा मिसिइसकेको थियो ।

    घरदैलोको रिपोर्टिङले ओभरल्याप गरेपछि उत्पलालाई जबाफै दिनु परेन— हाइसन्चो ! सबैले आआफ्ना कुरा सुनाए उत्पलालाई । मौन रहे पनि उत्पलाको मुहारमा मन्द मुस्कान छायो । उसको मस्तिष्कमा भने थोरे, थोरेकी धनी अनि कुँडुली घुमिरहेका थिए । चुनावी प्रचारको बेलीविस्तारपछि ‘भोलि सबेरै भेट्ने’ गरी सबै आआफ्नो घर लागे ।

    ०००

    घरको आँगन टेक्तै गर्दा मोबाइलमा डाटा खोली । टुङ टुङ बज्न थाले दिनभरिका खबरहरू—

    ‘सीमिति व्यक्तिसँग मात्रै मन्त्रीको भेटघाट’

    ‘क्वाटरमा दिनभर पर्खंदा पनि भेट्न पाएनन् जिल्लाबासीले’

    ‘किचन क्याबिनेटकाले पनि भेट्न पाएनन् मन्त्रीलाई’

    अनलाइनमा आएका समाचारका हेडलाइनले उसको मन चसक्क भयो ।

    सोच्थी, उसको सचिवालयको सम्पूर्ण जिम्मेवारी आफैं समालुँ । कसैले कुनै प्रकारको गुनासो र टीकाटिप्पणी नगरुन् । ‘दुईजना मिलेर गर्न पाए नमूना काम गर्न सकिन्छ !’ दृढ विश्वास थियो उत्पलाको । आफ्ना लागिभन्दा पनि उमङ्ग राजनीतिमा माथि उठेको हेर्न चाहन्थी ऊ । कुशल राजनीतिज्ञको रूपमा छबि बनोस् भन्ने कामना गर्थी ।

    हुन त उत्पलाले सचिवालय हेर्ने भनेर मिडियामा समाचार नआएका होइनन् तर त्यसबारे ऊ आफैं अनभिज्ञ थिई । उमङ्गसँग भेट नभएको पनि हप्तौँ भइसकेको थियो ।

    म्यासेन्जरमा पोस्टिएका उसका कैयौँ जिज्ञासाको जवाफ नआएको मात्र होइन, ती म्यासेज उमङ्गले हेरेको पनि छैन । हेरेका म्यासेजको पनि रेस्पोन्स छैन । त्यसरी रेस्पोन्स नआउँदा साह्रै अपमानित भएको महसुस गरी उसले ।

    सम्झी, आफूले रेस्पोन्स नगरेका सयौँ म्यासेजलाई । प्रत्यक्ष भेटेका बेला शुभचिन्तक, साथीभाइ, नातेदार, इष्टमित्र सबैले गुनासो गर्थे म्यासेज रेस्पोन्स नगरेकोमा । हाँसी हाँसी भन्ने गर्थी— ‘फेसबुक, ट्वीटर, इमेल, मोबाइललगायत सामाजिक सञ्जाल सहजताका लागि हुन् । आवश्यकताअनुसार प्रयोग गर्नुपर्छ ।’

    उनीहरू चुप रहन्थे । बुझेर बस्थे वा ओठे जबाफबाट चित्त दुखाएर !

    जति गुनासो आए पनि ऊ आफ्नै सुरमा चल्थी । एउटै व्यक्ति थियो, जसको म्यासेजको घण्टी टुङ्ङ हुनासाथ जवाफका लागि औँला मोबाइलको स्क्रिनमा पुगिहाल्थे स्वचालित रूपमा । कहिलेकाहीँ त निद्रामै उमङ्गसँग कुरा गरिरहेकी हुन्थी । ‘त्यही व्यक्तिबाट यत्रो अपमान !’ बेला बेला उत्पलाको चित्त यसरी दुख्थ्यो कि त्यो दुखाइ निको गराउने कुनै औषधि थिएन ।

    ‘कोही त रहेछ मर्द जो मेरो म्यासेजलाई बेपर्वाह गर्न सक्ने ?’ दुखाइभित्रको भिन्न अनुभूतिमा मुस्कुराउँथी ऊ घरी घरी । दङ्ग पर्थी । अनि सम्झन्थी ती व्यक्तिलाई, जो उसको रेस्पोन्स नपाएकोमा चर्को गुनासो गर्थे ।

    कम्तीमा ‘बिजी छु’ भन । ‘पछि कुरा गर्छु’ भन । केही त भन । हेर्दै नहेर्ने, हेरेर पनि रिप्लाई नगर्ने बानी साह्रै नराम्रो ! तिम्रो बानीले मलाई ह्युमिलिएट गराउँछ । यस्ता धेरै गुनासामा ऊ हाँसिरहन्थी । वास्तवमा भन्ने हो भने उसलाई यी शब्दले छुँदैनथ्यो किनकि ती पात्र उत्पलाको मनभित्रका थिएनन् ।

    मनभित्र एउटै पात्र बसेको थियो— उमङ्ग । ऊसँगको कुराकानीका लागि उत्पलाले कैयौँ महत्त्वपूर्ण समय चोरेकी छ । आफैलाई ढाँटेकी छ । कैयौँ रातको निद्रा माया मारेकी छ ।

    राजनीतिक घटनाक्रम पातलो भएका बेला घाम र जून जस्तै केही पलको भेटघाट हुन्थ्यो उनीहरूबिच आक्कलझुक्कल । तर, कुनै पनि क्षण सम्झना सञ्चारबाट अलग हुन पाउँदैनथ्यो उमङ्ग । एक्लो हुँदा उमङ्गसँग बिताएका ती पल मात्रका स्मरणले पनि कैयौँ दिनको यात्रामा साथ दिने गरेका थिए उत्पलालाई ।

    ०००

    “तिमी इमान्दार रहिछौ ।” छुट्टिने बेलामा भन्यो उमङ्गले ।

    “तिमीसँग चाहिँ कहिलेकाहीँ बेइमान हुन सकिन्छ ।” उत्पलाले सान्निध्य दर्साई ।

    पीएसओले गाडीको ढोका खोलिसकेको थियो । गाडीमा बस्दै उमङ्गले भन्यो— “प्रस्तुतिमा परिपक्वता र समझदारी कायम गर्नू !”

    पीएसओ चालकसँगैको सिटमा गएर बस्यो । चालकले गाडी हुइँक्यायो ।

    उत्पला धेरै कुरा भन्न चाहन्थी ।

    छातीमा कहीँ, कतै अट्टहास भयो ।

    मीठो दुखाइ थियो त्यो सुखको ।

    दुखाइ ? अनि मीठो ?

    परस्पर विरोधाभास अनुभूति कसरी एकसाथ हुन सक्छ ?

    आँखाले देखुन्जेल गाडी गएतिर हेरिरही, अनि मुस्कुराई ।

    ०००

    साँझको समय, चोक व्यस्त थियो । तरकारी किन्ने, कार्यालयबाट घर फर्कने, कार्यालय सकेर साथीभाइसँग बाहिरफेर निस्केका विभिन्न थरका मान्छेहरुको घुँईचोबीच उत्पला फुलिरहेकी थिई अन्तरमनबाटै । भित्र भित्रै कुत्कुतियो उसको मन । मीठो आभास पाएको थियो मनले ।

    ‘म परिपक्व ? त्यो पनि तिमीसँग ?’ आफैलाई प्रश्न गरी अनि आफै मक्ख परी ।

    ‘तिमीसँग जिस्किन मन छ । तिम्रा अगाडि केटौले भएर छिल्लिन मन छ । जिस्क्याउँदा तिमी लजाउँछौ । साह्रै आनन्द आउँछ तिमी लजाएको हेर्न । अचम्मको चाहना भन्दा हौ तिमी । अथवा, आफ्नो लजालु स्वभावलाई परिपक्वताको बिल्ला पनि भिराउन सक्छौ । मनभित्र शान्त तलाउ छ कि आँधी, बाहिर त्यसको कुनै छनक नदिने अद्भूत शक्ति छ तिमीभित्र । त्यही शक्तिका कारण सधैँ प्रतिक्रियाविहीन हुन्छौ तिमी । शून्यमा बस्छौ । सन्तुलनमा सन्तुष्टि तिम्रा वास्तविक गुण हुन् । तिम्रो व्यक्तित्व साँच्चै जटिल छ । म त्यही जटिलतालाई खोस्रिन चाहन्छु । सायद आममहिलाजन्य स्वभावभन्दा जब्बर छ मेरो सोच । अक्सर मान्छेहरू सरल स्वभावका व्यक्तिसँग सङ्गत गर्न रुचाउँछन् तर मेरो मन तिम्रो जटिलतासँग नजिकिन्छ । अचम्मको स्वभाव छ मेरो ।

    कहिलेकाहीँ म आफ्नै मनका चाहनासँग दङ्ग पर्छु । अस्पष्ट, अदृश्य अनि धुमिल छायाभित्र प्रेमानुभूति गर्नुमा पनि कम्ती आनन्द छ र ? के गर्छौ ? मलाई यस्तै मन पर्छ । अनिश्चित समयको छोटो जीवनमा केको परिपक्वता ? केमा समझदारी ? मेरो यो स्वभावलाई तिमी विद्रोही चेतको संज्ञा दिन्छौ । मलाई स्वीकार्य छ । थोरै विद्रोही चेत जन्मजात थियो होला, त्यसलाई हुर्काउन उत्प्रेरणाको काम गर्ने तिमी नै हौ ।’ उत्पला आफैसँगको प्रश्नोत्तरमा घुमिरही ।

    छुट्टिनुअघिको वार्तालापमा उसले भनेको थियो— “सायद अब विस्तार हुने मन्त्रीपरिषद्मा म पनि पर्छु होला !”

    अनुहारभरि खुसीका तरङ्गसाथ उत्पलाले भनी— “साह्रै खुसी भएँ ।”

    “मन कि मान्छे ?”

    उमङ्गको व्यङ्ग्यात्मक जिज्ञासामा प्रतिप्रश्न गरी— “किन यस्तो प्रश्न ? मान्छे नि ।”

    “मान्छे खुसी हुन धेरै कुरा चाहिन्छ । मनचाहिँ केही समयका लागि अनायासै खुसी हुन सक्छ ।”

    हरेक विषयलाई क्लिष्ट बनाउने उमङ्गको स्वभावबारे भलीभाँती जानकार थिई उत्पला । त्यसैले सामान्य ढङ्गमा प्रस्तुत भई— “तिमी जस्तो मान्छे नेतृत्वमा आउनुपर्छ । राजनीतिमा आफ्नो छबि उत्कृष्ट प्रमाणित गर भन्ने चाहना हो मेरो ।”

    “चाहना र व्यवहारिकता भिन्न विषय हुन् । चाहना स्वरैकल्पना हो भने व्यावहारिकता जीवन र जगत्को यथार्थ ।” उमङ्गले फेरि विषयवस्तुमा क्लिष्टता भर्‍यो ।

    “जेसुकै भन । तिमी मन्त्रिमण्डलमा सहभागी भएको दिन सबैभन्दा बढी खुसी मै हुन्छु ।”

    “केका लागि ? बिनाप्राप्ति ? म मन्त्री बन्दैमा तिमीलाई के फाइदा ?”

    “सबै विषयलाई लाभहानि र प्राप्तिको नजरले हेरिँदैन ।” सामान्य भावमा जबाफ दिई उत्पलाले ।

    “केही त अवश्य पाउनुपर्ला नि ?”

    “तिम्रो कुशल नेतृत्व मुलुकले पाउनेछ ।”

    “तिमीले ?” उमङ्गले उधिनिरह्यो उत्पलाको अन्तरमन ।

    “सन्तुष्टि, आत्मसन्तुष्टि नै सबैभन्दा ठुलो प्राप्ति हो मान्छेको ।”

    “भौतिक प्राप्तिबिना ?”

    “आत्मानुभूति !” उत्पलाको संक्षिप्त जबाफ ।

    उत्पलाको एकशब्दे जबाफभित्र प्रेम, स्नेह, समर्पण र सहकार्यको अपेक्षा थियो सायद । उसको मन यी सबै कुरा अनुभूत गर्न चाहन्थ्यो ।

    वार्तालापलाई यही बिन्दुमा बिट मारेर उमङ्ग बाहिरिएको थियो । अनि, जाँदाजाँदै उत्पलाप्रतिको आफ्नो मूल्याङ्कन सुनाएको थियो उसले— “तिमी इमान्दार रहिछौ ।”

    ०००

    आपसी मित्रतामा उत्पलाको बुझाइ, संयम अनि शालीन व्यक्तित्वलाई उमङ्गले ‘इमानदार’ को संज्ञा दिएको थियो, जुन उसलाई पटक्कै मन परेन । उमङ्गसँग इमानदार बन्नु नै छैन उसलाई । तर, नचाहेरै पनि जबरजस्त स्वीकारी उसले इमानदारीको पगरी ।

    एक दिन उसले भनेको थियो— “हरेक विषयवस्तुलाई तिमी अंशमा हेछ्र्यौ, म समग्रता र बहुआयामिक ढङ्गले हेर्छु । तिमी मेरा कुरा ध्यानपूर्वक सुन्ने र ग्रहण गर्ने गर । मेरा सहयोगी भावनाका उदाहरणहरूलाई परख गर !”

    “मलाई कक्षाकोठाको गुरु होइन, खेल मैदानको साथी आवश्यक छ, जो प्रतिस्पर्धा पनि गरोस् । लड्न लाग्दा समालेर अङ्कमाल गरोस् ।”

    अभिव्यक्तिमा नआए पनि उत्पलाका नयनले यस्ता कैयौँ कुरा इसारा गरिरहेका थिए तर सुनाउने हिम्मत जुटाउन सकिन उसले । मनले अनेक आकाङ्क्षा राखे तर मनको स्वीकृतिबिनै उत्पलाले उमङ्गका ती कुरा ग्रहण गरी र स्वीकृतिको अल्प सूचना दिई— ‘हस्’ ।

    त्यस दिन ऊ गम्भीर ढङ्गले प्रस्तुत भएको थियो । उत्पलाको मनले त्यस दिन पनि वार्तालाप सीमान्त उचाइमा पुग्न पाएन । हरेक पटक रोक्ने उही थियो ।

    ०००

    “जिन्दगी छोटो छ यसलाई परिपक्व र इमान्दारीको नाममा बोझिलो नबनाऊ । जीवनको सत्य तिमी राख, प्रेम मलाई देऊ । तिमीले भनेको शाश्वत सत्यलाई आत्मसात् गरेर जीवन बोझिलो बनाउन चाहन्नँ म ।” साहस बटुलेर एक दिन उसले भनेकी उत्पलाले ।

    “एउटा कुशल राजनीतिज्ञले प्रेमको भारी बोक्न सक्तैन, बिसाउन पनि सक्तैन । ऊ सधैँ जनताको सरोकारका मुद्दालाई प्रेम गरिरहन्छ । व्यक्तिगत प्रेम सधैँ ओझेलमा पर्छ । त्यसैले व्यावहारिक पक्ष तिमीले सोचे जस्तो सहज छैन उत्पला ।”

    एक्कासी बादल लाग्यो, चट्याङ पर्‍यो । पृथ्वी के थर्कियो होला र ? उत्पलाको हृदयमा बेजोड कम्पन आयो उमङ्गको कुरा सुनेर ।

    “याद छ तिमीलाई, मैले तिमीलाई सम्झनुभन्दा पहिले नै तिमीले मेरो मनको ढोका ढकढक्याएको ? तिनै यादहरूले मलाई अशान्त बनाउँछन् । बिनाअनुमति मस्तिष्कमा परेड खेल्छन् । ती यादहरूलाई न पुरस्कार दिन सक्छु न त दण्ड । यादहरूको भारीले थिचिएकी छु । साँच्चै तिमीले विश्वास गर्न नसक्ने गरी कमजोर बनाएका छन् मलाई ती अविस्मरीणय पलहरूले । जति बेला अन्जानमै पनि तिम्रो सामीप्यलाई निशब्द स्विकारेकी थिएँ । आत्मीय अनभूति भएको थियो । अवचेतनले तिम्रो साथ रोजेको निकै पछि मात्र मेरो चेतनाले स्विकारेको थियो ।” उत्पला सबै कुरा सुनाउन चाहन्थी तर हिम्मत जुटेन ।

    ‘सान्निध्यतामा पनि डर !’ अचम्म थियो । उसको व्यक्तित्व नै त्यस्तै थियो । प्रतिक्रियाविहीन उसको स्वभावले पनि उत्पला मनमा आएका सबै कुरा भन्न सक्तिनथी— डराउँथी सायद । सर्तक हुन्थी ।

    ‘मृग घाइते भएको खबर आएको थियो मसँग, जति बेला पहिलोपटक विदेश विभागको कार्यक्रममा हाम्रो भेट भएको थियो ।’ उमङ्गलाई प्रेमाक्षापूर्ण नजरले हेरी उसले ।

    मुटुको ढोका खोलेको दिन थियो त्यो सायद प्रेमले । देखिने गरी खोल्ने समय थिएन । उसको अवचेतनले थोरै चर बाँकी नै राखेर ढोका अस्थायी रूपमा बन्द गरेको थियो किनकि चेतन मन भनिरहेथ्यो— प्रेम र गृहस्थी होइन, पूर्णकालीन राजनीतिमा लाग्नुपर्छ ।

    जबाफमा उमङ्गले भन्यो— “त्यो सन्दर्भ बिर्सिएँछु ।”

    उत्पलाका स्मृतिपटलमा अङ्कित मीठा अनुभूतिहरू उमङ्ग सधैँ बिर्सन्थ्यो । उत्पला प्राथमिकतामा थिइन तर यसलाई ऊ जबरस्त मान्दिनथी ।

    उमङ्गसँगका भेटघाट सन्दर्भ र वार्तालापहरू सबै ताजा छन् उसको मानसपटलमा । समय, प्रसङ्ग अनि तात्कालिक परिवेशमा अभिव्यक्त शब्दहरू ।

    ‘किन यसरी ससाना, झिनामसिना प्रसङ्ग र भेटघाटका विषय पनि यति सम्झनायुक्त भएका ? महत्त्वपूर्ण भएर ?’ परीक्षाका नमुना प्रश्न र उत्तर जस्तो, जसलाई कण्ठस्थ गर्नुपर्ने बाध्यता हुन्थ्यो ।

    उत्पला कहिलेकाहीँ सोच्थी— एसएलसी दिने बेला किन ज्यामितिका सिद्धान्तहरू यसरी स्मृतिमा बसेनन् ?

    ज्यामितिको वृत्तचित्रभन्दा पनि कच्याककुच्चुक परेका मोड र घुम्तीहरु अनि ओरालो र भिरालोका प्रसङ्ग किन निरन्तर आइरहन्छन् स्मृतिपटलमा । मन परेका अनि मन नपरेका, खुसीका अनि दुखका, चित्त बुझेका अनि चित्त दुखेका सबै कुरा सम्झनामा खात परेर बसेका छन् ।

    ‘मुलुकका राजनीतिक घटना क्रम, विपक्षी पार्टी र नेताका कर्तुतहरू, उनीहरूका नराम्रा कुराहरू यसरी नै फटाफट सम्झने गरेर दिमागमा बस्नु नि ? अनि न विपक्षीलाई ठाउँका ठाउँ ठहरै पार्ने गरी भाषण ठोकिन्थ्यो ।’ कहिलेकाँही आफैसँग रिसाउँथी ऊ ।

    प्रेम गर्ने बेलामा राजनीति गरी । राजनीति गर्ने बेलामा प्रेम गर्ने मन छ । १३ वर्षकी किशोरी राजनीतिमा होमिएकी थिई । जवानीसँगै आएका अनेक प्रेम प्रस्तावहरू पर राखेर गृहस्थी अस्वीकार गर्दै राजनीतिलाई काखी च्यापी । प्रेरणाको स्रोत थियो उमङ्ग । राजनीतिको आदर्श कति बेला प्रेममा परिणत भयो, पत्तोसम्म पाइन उसले । सायद पहिलो भेटमै उसको अवचेतनमा उमङ्गप्रतिको प्रेम अङ्कुराएको हुनुपर्छ । तर, ऊ यो कुरा पटक्कै स्वीकार्दिन ।

    महिलालाई राजनीति गर्न कम्ता गाह्रो थिएन । कति बेला, कसको, के माग आउने हो ? कति बेला कसका पछाडि आफ्नो नाम जोडिने हो ? अनि कति बेला प्रतिस्पर्धी र विरोधीको चक्रव्यूहमा परिने हो ? राजनीतिक व्यक्तित्व भएकाले सबैसँग समदूरीमा बस्नुपर्ने बाध्यता भए पनि उसको मनले कुनै पुरुषलाई यति नजिक अनुभूत गर्न दिएको थिएन, जति उमङ्गलाई छुट थियो ।

    हाँसेर बोलिदिँदैमा आफूलाई अधिनायकत्वको रूपमा अघिसार्ने पुरुषहरूको जमातभन्दा भिन्न थियो उमङ्ग । आममहिलालाई हेर्ने उसको दृष्टिकोण र व्यक्त सम्मानबाट उत्पला निकै प्रभावित थिई— कोही पुरुष महिलालाई यतिबिघ्न सम्मानको नजरले हेर्न सक्छ ?

    सुरु सुरुमा उसलाई पनि विश्वास लागेन । अनुभवी माझी रहेछ भन्ने पनि सोची तर ऊ बिस्तारै फरक निस्कियो । आमपुरुषभन्दा भिन्न स्वभावकै कारण उमङ्ग उत्पलाको नजरमा आदर्श व्यक्तिमा परेको थियो ।

    लामो राजनीतिक यात्रामा उसले कहिल्यै आफू अपमानित भएको, हेपिएको महसुस गरिनँ । सहयोगी भावले उद्वेलित उमङ्गसँगको राजनीतिक यात्राको भविष्य सुनौलो अनि थप सुरक्षित महसुस गर्न थालेकी थिई । वडादेखि केन्द्रीय तहसम्म आउँदा आपसी मित्रता र सहकार्यको गोरेटो विस्तार हुँदै थियो । तर, कुनै पनि विषयमा तत्काल प्रतिक्रिया नदिने उमङ्गको अन्तरमुखी स्वभावले उत्पलालाई कहिलेकाहीँ निकै दुखी बनाउँथ्यो । कैयौँ रात आँखा झिमिक्क नगरीकनै कटाएकी छे उसले । जब उमङ्ग अगाडि आइपुग्थ्यो, ऊ सम्पूर्ण असन्तुष्टि र गुनासाहरू बिर्सन्थी ।

    ०००

    ‘मलाई समय दिने भनेको कति दिन भो ?’ दुई दिनसम्म रेस्पोन्स नआएपछि उत्पलाले फेरि म्यासेज गरी ।

    ‘बाँकी दश दिन छ । मात्रै दुई दिन भयो ।’

    ‘त्यतिन्जेल कोरोना नलागी बाँचिएला ?’

    ‘बाँच्नुपर्छ ।’

    ‘गाह्रो छ ।’

    उत्पला केही दिनदेखि ज्वरोले थलिएकी थिई । आत्मविश्वास कमजोर हुँदै थियो । खोकी पनि त्यस्तै । सासै फुस्केला जस्तो निरन्तर खोकी तर वार्तालापलाई निरन्तरता दिइरहेका थिए उसका औँलाहरूले । मोबाइलको किप्याड थिचिरहे स्वचालित रूपमा ।

    ‘ईश्वरले भनेको, अब कोरोनालाई लिभिङ टुगेदरमा लैजानु रे !’ उमङ्गले व्यङ्ग्य गर्‍यो ।

    ‘कम्युनिस्टको ईश्वर फेक हो । जहाँ कम्युनिस्ट शासन छ, त्यहाँ ईश्वर छैन । तर, तिमीले मेरो म्यासेजको रिप्लाई गर्न किन यतिका समय लाएको ? एक महिनामा रिप्लाई आउँछ यार !’ दिक्दारी पोखी उत्पलाले ।

    ‘मान्छेहरू ६ महिनासम्म रिप्लाई पाउँदैनन् उमङ्गको । तिमीले अहिलेसम्म तत्काल पाएकी छौ ।’

    ‘है ? कस्तो लभ्ली मान्छे !’ अन्तरस्करणमा सुषुप्त चाहनाको थोरै पोयो फुकाई उसले ।

    ‘यस्तो भन्दा त कस्तो आफ्नो जस्तो लाग्ने !’ उमङ्ग पनि मुडमा थियो क्यारे । रोमान्टिक शैलीमा जबाफ दियो ।

    ‘लाग्ने मात्रै । होचाँहि होइन । केयरफुल !’ उत्पलाले व्यङ्ग्य हानी । प्रतिक्रिया शून्य, उसको स्वभावका अगाडि यस पटक पनि उत्पलाले मज्जाको घुर्की तेछ्र्याई ।

    ‘आई नो, फेक न्युज जस्तो । न्युज जस्तो तर होइन….’ उमङ्गले हाँसेको इमोजी पठायो ।

    उमङ्गले तुरुन्तै एक–दुइटा समाचारका लिङ्क पठायो— ‘२१ औँ शताब्दीका समाचार यस्ता हुन्छन् । तिमी जस्तै ।’

    ‘म फेक ?’ उत्पलाले प्रश्नवाचक इमोजी पठाई ।

    ‘होइन, तिमीलाई आफ्नो जस्तै लाग्नु फेक ।’

    ‘तिम्रो कुराले आज मै जिल खाएँ ।’ उमङ्गसँगको कुराकानीमा ऊ सक्रिय हुँदै गएकी थिई । पूरै स्वस्थ भएको अनुभूति गरी ।

    ‘पर्खिनुपर्छ, यस्ता समय अझै धेरै आउँछन् । अझै कैयौँ पटक तिमीले जिल खानुपर्छ ।’ जबाफसँगै उमङ्ग अफलाइन भयो ।

    केही बेअघि पूरै स्वस्थ भएको अनुभूति गरेकी उत्पलाको टाउको अचानक टनटनी दुख्न थाल्यो । ज्वरो पनि ह्वात्तै बढ्यो । एकछिन विश्राम लिएको खोकीले फेरि आफ्नो रूप देखाउन थाल्यो ।

    झन्डै दुई साता थला परेकी उत्पला अलि तङ्ग्रिएकी छ । कमजोर भए पनि चुनाव हो, गाउँ त आउनै पर्‍यो । त्यस दिनदेखि उमङ्गसँग कुराकानी पनि भएको छैन । प्रत्यक्ष भेट त के, भर्चुअल संवाद पनि टुटेको थियो ।

    ऊ आफ्नो क्षेत्रमा आउँदा पनि जानकारी गराउन पाएकी थिइन । पछि थाहा भयो— उमङ्ग पनि गाउँ आउँदै छ । ‘भोलि गाउँमा ठूलो सभा छ, सभालाई उमङ्गले सम्बोधन गर्दै छ’ भन्ने खबरले ऊ त्यसै त्यसै दङ्ग परेकी थिई । तर आज पनि उसका कैयौँ म्यासेजहरूले उमङ्गको सम्बोधन कुरिरहेका थिए ।

    ‘पर्खिनुपर्छ यस्ता समय अझै धेरै आउँछन् । अझै कैयौँ पटक तिमीले जिल खानुपर्छ !’ उमङ्गको अन्तिम जबाफले उसलाई बिथोलिरहन्छ घरी घरी । तर, हृदयमा घर बनाइसकेको उमङ्गको छायाले उसलाई कहीँ गए पनि छोड्न सकेको छैन । आफ्ना म्यासेजको जबाफ नआउँदा हिनताबोध भयो उसलाई — यस्तो अपमान कसैले गरेको थिएन । हुन त ऊ सामाजिक सञ्जाललाई आफ्नो अनुकूलतामा प्रयोग गर्थी । कैयौँ म्यासेजहरूको वर्षौंसम्म पनि जबाफ दिन्नथी । वास्तवमा आफ्नो आवश्यकता र सरोकारवालाको म्यासेज मात्रै सम्बोधन गर्ने गर्थी ऊ ।

    ‘सामाजिक सञ्जाल मेरो सहजताका लागि हो, अरूको चासो र जिज्ञासा सम्बोधनका लागि होइन ।’ उसको बुझाइ यही थियो तर उमङ्गको म्यासेजको तत्काल रिप्लाई गर्थी जतिसुकै व्यस्त भए पनि ।

    एकपटक पार्टीको विदेश विभागको कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गरिरहँदा पनि अलिकति समय चोरेर उससँगको च्याटलाई निरन्तरता दिएकी थिई । कार्यक्रमको बिचमा चोरेको समयमा भएको वार्तालापले उसलाई बिथोलेको थिएन बरु ऊर्जा थपेको थियो । उत्साह र ऊर्जाका साथ उसले कार्यक्रम सम्पन्न गरेकी थिई । उमङ्ग उत्पलाबाट सबै गोप्य सूचना, जानकारी लिन्थ्यो तर आफू भने केही फुत्किन दिँदैनथ्यो । आफ्ना कुरा लिनका लागि ऊ घण्टौँ कुरा गथ्र्यो उत्पलासँग । विषय र प्रसङ्गहरू कोट्याइरहन्थ्यो, जबसम्म आफूले खोजेको कुरा पाउँदैन्थ्यो । तर, उत्पलाको सरोकारलाई भने कहिल्यै वास्ता गर्दैनथ्यो ।

    ०००

    सम्बोधन सकेर उमङ्गको लावालस्कर उत्पलाको अगिल्तिरैबाट बाहिरियो ।

    वरपरकाहरू कानेखुसी गर्न थाले—

    ‘उत्पलासँग त बोल्दै नबोली गए त मन्त्री !’

    ‘मञ्चमा पनि बोलेको देखिएन ।’

    ‘हो त, उत्पलातिर छड्के नजरसम्म पुर्‍याएनन् ।’

    ठूलो सभामा भएको कानेखुसी कानकानमा मात्र सीमित रहेन । हावामार्पmत ठोक्कियो उत्पलाको कानसम्म ।

    अनायासै उत्पलाको मनमा पहिरो खस्यो, जब उसका नजर उमङ्गका ओठमा परे । जरोले थलिएको बिरामीका जस्ता उसका ओठमा गएर उत्पलाका आँखा अडिए । सुक्खा, पूरै शुष्क । कतै पाप्रा उप्किएका त कतै बाक्ला पाप्रा बसेको । त्यस्ता कलकलाउँदा ओठ किन यसरी सुक्खा ? पानीको अभावमा धान रोपेको खेत बिच बिचमा चर्किए जस्तो देखी उसले । विक्षिप्त मन चिसियो अनि एकैछिनमा जम्यो हिउँजसरी ।

    उमङ्गका ओठ सधैँ रसिला देख्थी ऊ । चिस्यान र आद्र्रता महसुस गर्न भने पाएकी थिइन ।

    ‘दुनियाँ जितौला तर मलाई जित्न सक्तैनौ किनकि तिम्रो जितका लागि म सधैँ हार स्वीकार्न उद्यत छु ।’ भित्रभित्रै फुसफुसाई ऊ— ‘पतिपत्नीको प्रेममा साहित्य लेखिएन । पतिपत्नीको प्रेममा गाथा रचिएन । साहित्य सिर्जना हुन्छ गोप्य प्रेमबारे । प्रेम वियोग अमर गाथा बन्छ ।’

    बेपरवाह उमङ्ग गएको दिशामा हेर्दै मन्द मुस्कुराई रही उत्पला ।

    ‘पार्टीले दिने टिकट होइन मेरो प्रेम, जहाँ तिम्रो स्वीकृति आवश्यक परोेस् । औपचारिक बन्धन छैन । जसलाई प्रेम गर्छु, उही अनभिज्ञ छ । न प्राप्तिको लालसा छ, न त सम्बोधन र प्रतिक्रियाको नै । सायद यसैलाई प्रेम भनिन्छ । लुकीछिपी गर्ने प्रेमले कम्ती आनन्द दिन्छ र ! मेरो प्रेम, मेरो ऊर्जा, मेरो उत्साह, मेरो प्रेरणा, सब थोक हौ तिमी । फेरि पनि मेरो प्रेम आत्मनिर्भर छ अनि शक्तिशाली पनि । मेरो प्रेमबारे तिमी जानकार भएको भए यति आनन्द कहाँ आउँथ्यो ? सूर्यलाई कहाँ थाहा हुन्छ र उसको न्यानो स्पर्शको महत्त्व । ऊ सधैँ सोचिरहन्छ— मेरो तापले मानिस र पृथ्वीलाई पोल्छ, सबै प्राणी आत्तिन्छन्, छटपटाउँछन् । तर, सत्य यो पनि हो कि सूर्यको न्यायो स्पर्शका लागि मानिसहरू तड्पिरहेका हुन्छन्, छटपटाइरहन्छन् ।’

    सुनसान सभास्थलमा उत्पलाको हृदय भने आँधीबेहरीमा लपेटिन थाल्यो । वरपर कोही थिएन तर उत्पलाको मन भने मन्त्री उमङ्गलाई होइन, घाइते मृगलाई खोजिरहेको थियो ।

  • एक घुट्को पानीले दिएको खुसी

    एक घुट्को पानीले दिएको खुसी

    ‘कहाँ हुनुहुन्छ ?’ बिहानै एक मित्रले टेलिफोनमा सोध्नुभयो ।

    ‘अफिस जाँदै छु’ मोटरसाइकल हाँकिरहेकाले संक्षिप्त जवाफ दिए र फोन राखे ।

    केही समयपछि फेरि फोन आयो । त्यतिबेला अफिस पुगिसकेको थिएँ ।

    ‘भेटौँ न’ मित्रको प्रस्ताव ।

    ‘हुन्छ । तर, कता ?’

    ‘यतै आउनु होस् न । एक दुईजना साथी छौँ । अनि सल्लाह गरौँला ।’

    म पुगें । त्यहाँ केही नेता, कार्यकर्ता र शुभचिन्तकहरू पनि थिए ।

    ‘कैलालीमा बाढी प्रभावित क्षेत्रहरूमा तत्काल राहत र उद्धारमा खटिनु पर्ने भयो’ त्यहाँ पुगेलगत्तै कुरा चल्यो ।

    ‘यो काम त तत्काल नै गर्नु पर्छ । तर, चन्दा उठाउनु हुँदैन है’ हल भित्र सकारात्मक सन्देश पनि सुनियो ।

    यसअघि कुनै पनि समाजसेवाको नाममा गरिने काममा कुन–कुन व्यक्तिसँग कति रकम माग्ने ? भन्ने कुरा मात्रै सुन्दै आइरहेको मलाई त्यहाँ रहेका युवाहरूको सकारात्मक सोचले मन जित्यो ।

    ‘चन्दा संकलन नगरी ठूलो मात्रामा राहत कसरी दिने ?’ कसैले प्रश्न गर्यो ।

    ‘हामी आफैं उठाउँ न ! ल मेरो तर्फबाट १० हजार भयो’ सुरुमै एक युवाले घोषणा गरे ।

    त्यसपछि केहीबेर सन्नाटा छायो ।

    ‘मेरो तर्फबाट ५० हजार’ अर्का युवाले भने ।

    त्यसपछि त एकपछि अर्को गर्दै गक्षअनुसार सहयोग घोषणा हुन थाल्यो ।

    ‘मैले चार हजार दिन्छु’ मेरो छेउमै रहेकी एक किशोरीले भनिन् । उनले ब्याग खोलेर चारवटा हात्ती चित्र भएका नोट झिकिन् र दिइन् ।

    पैसामा अबीर रंगिरहेको थियो । सायद दसैंमा दक्षिणास्वरुप आएको पैसा हो । पछि थाहा भयो, सौराहा जाने खर्च काटेर उनले बाढी पीडितको राहतका लागि रकम दिएकी रहिछिन् ।

    क्षणभरमै तत्कालको लागि पर्याप्त रकम उठ्यो । त्यहीं रकमले पानी, चाउचाउ, चिउरा, बिस्कुट र भुजासहितको एक ट्रक सामान बोकेर एउटा ट्रक बुधवार कैलालीको क्षतिग्रस्तस्थल टिकापुर हुइँकियो ।

    नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुको नेतृत्वमा गएको राहत सामग्री वास्तविक पीडितसम्म पुर्याउनु चुनौतीपूर्ण थियो । यसअघि पनि कसैले पटक–पटक राहत बुझेको त कसैले पाउँदै नपाएको समाचार कयौँ पल्ट लेखेको थिएँ । त्यस्तै समाचार लेख्न नपरोस् भन्ने मनमा थियो ।

    यता आफ्नै पैसाले खरिद गरेका सामग्री छिटो वास्तविक पीडितहरुलाई बुझाउन युवाहरू आतुर थिए ।

    बाढीग्रस्त क्षेत्र कैलालीको धनगढीबाट करिब एक सय किलोमिटर टाढा थियो । तर, ठाउँठाउँका सडकमा पनि बाढीले क्षति पुर्याएपछि बुधबार राति मात्रै पीडित भएको स्थानमा पुगियो ।

    ‘राति वितरण गर्दा समस्या हुन्छ होला । सबैले नपाउन पनि सक्छन्’ अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले भने ‘भोलि बिहानै वितरण गरौँ ।’

    युवा संघ कैलालीका अध्यक्ष गणेश महराले पनि त्यसै भने । उनी पनि वास्तविक पीडितले राहत पाउनु पर्छ भन्नेमा दृढ थिए । बाढी प्रभावित क्षेत्रको माउन्टेन होटलमा सबै सामान झारियो ।

    हुलाकी सडक कर्णालीको भंगालो फुटेर आएको पानीले बगाइसकेको थियो । हामी वारि थियौँ । पारि पीडितहरू थिए । तत्काल त्यहाँ जान सम्भव थिएन ।

    ‘यो त अजिङ्गरको वासस्थान हो ।’ एक स्थानीयले सुनाए । मेरो शरीरमा काँडा उम्रियो ।

    ‘अजिङ्गर बस्ने स्थानमा अरू पनि विषालु सर्प हुन सक्छन् । जो बाढीले बगाएर जहाँ पनि पुर्याएको हुन सक्छ’ उनले थपे । म सचेत बनें ।

    स्थानीयले परिबाट राति अबेरसम्म चम्किला लाइट बालिहरेका थिए । सडकमा कर्णाली बगिरहेको थियो । सडकमै नदीको भेल बगिरहेका बेला बस्तीको अवस्था कस्तो होला ? अनुमान मात्रै गर्न सकिन्थ्यो ।

    ‘सायद उनीहरूले हामीलाई उद्धार गर्नुहोस् भन्ने इसारा दिएका हुन सक्छन्’ मैले अरूलाई सुनाएँ ।

    ‘त्यहाँ त अहिले कोही पनि जान सक्दैनन् सर । यो त अजिङ्गरको बासस्थान हो’ ती व्यक्तिले फेरि भने । मनमा चिसो पस्यो ।

    मैले इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटासँग सम्पर्क गरे ।

    डिएसपीले उनीहरू सुरक्षित छन् । त्यहाँ प्रहरी पुगिसकेका छन् भनेपछि हामीलाई केही राहत भयो ।

    बिहीबार बिहान त्यही भेट्ने भन्दै बुधबार केही युवा धनगढी फर्किए । हामी त्यही बस्यौँ ।

    बिहीबार बिहानै पत्रकार महासंघ प्रदेशका अध्यक्ष योगेश रावल र अर्का पत्रकार एकेन्द्र तिमिल्सेनासँग भेट भयो ।

    उहाँहरूले पनि बाढी पीडितहरूको अवस्था दर्दनाक भएको बताउनु भयो ।

    त्यो बेलासम्म पनि राति चम्किला बत्तीको इसारा आँखै अघि घुमिरहेको थियो । फेरि डिएसपीको भनाइले मन शान्त हुन्थ्यो ।

    बिहीबार बिहान ९ बजे त्यहीं स्थानमा सबै भेला भयौँ ।

    धन्न, बिहानसम्म हुलाकी सडक बगाएको ठाउँमा कर्णालीको बेग कम भएको थियो । तर रोकिएको थिएन ।

    पर्याप्त युवा तथा विद्यार्थी भएको हुँदा केहीबेरमै एक ट्रक राहत पारिको बस्ती पुग्यो । हामी केही सामानसँगै सडकमा उर्लिरहेको कर्णाली तर्न नसकेका महिला तथा बालबालिकाहरूलाई बोकेर वारपार गराइरहेका थियौँ ।

    बेगमै कर्णाली तर्दा राति अजिङ्गर को बासस्थान हो भन्ने कुराले मनमा चिसो पारिरहेको थियो । त्यहीं बेला खुट्टामा ठोकिन आउने साना, मसिना ढुङ्गा र पात पतिङ्गरहरूले जिउँ नै सिरिङ्ग हुन्थ्यो ।

    एक ट्रक राहत पारि पुग्यो । त्यो बेलासम्म त्यहाँ दर्जनौँ परिवारहरू राहतको आसमा पुगिसकेका थिए । उनीहरूले पानीसमेत पिउन नपाएको पीडा पोख्दै थिए ।

    ‘मेरो सानो बच्चा छ । मैले र यसले केही खाएका छैनौँ’ ओठ सुकाएरै राहतको आसमा बसेकी महिलाको बोलीले मन कटक्क खायो । एउटा काखे बालक बोक्दै र अर्कोलाई हातमा डोहोर्याउँदै आएकी ती महिला भन्दै थिइन् ‘धन्न बच्चा त बचाएँ । समान केही रहेन ।’

    उनी बोल्दाबोल्दै रोकिइन् । अनि ‘सुक्क… सुकक..’ गर्न थालिन् ।

    ‘भयो नरुनुहोस्’ युवाहरूले सान्त्वना दिँदै भने । सबैभन्दा पहिले उनले राहत पाइन् । पलभरमै उनको मुहारमा बदलाव आयो ।

    ‘भोको पेटले चारो पायो । हजुरहरूको धन्य होस्’ उनी बोलिन् र लागिन् आफ्नै बाटो ।

    त्यसपछि फरक–फरक स्थानमा फसेका र विस्थापित भएकाहरूलाई राहत पुग्न थाल्यो । भोको पेटमा तत्कालका लागि चाउचाउ, भुजा, बिस्कुट र पानी परेपछि केही राहत पक्कै भयो होला । अनुमान गरिरहेका थियौँ ।

    स्वासै नबिराइ घटघट आवाज आउने गरी पुरै बोतलको पानी सक्दा र त्यसपछि मलिन मुहारमा मन्द मन्द मुस्कान देखिँदा युद्ध जितेर गन्तव्यमा पुगेकोभन्दा बढी सन्तुष्टि, सुख र आनन्द आएको हुँदो हो ।

    महिना दिन पनि नपुगेका शिशुलाई काखमा च्यापेर अनि दुई दिनसम्म भोकै रहेका आमा–बुवाका मलिन मुहारले मन पोल्थ्यो ।

    पानीको सतह केही कम भएपछि बस्तीमा देखेको पीडाले हामीलाई पनि गालेको थियो । दुई दिनसम्म खेपेको डर, त्रास र पीडा पीडितको मुहारमा झल्किरहेको थियो ।

    ‘मेरो छोराले हिजोदेखि पानी खान पाएको छैन’ स्थानीय गीता चौधरी राहत बुझ्दै गर्दा भन्दै थिइन् ‘हिजो पनि यहाँ राहत लिएर आएका थिए । तर हामीलाई पानी पनि दिएनन् ।’

    उनी जस्ता कयौँ थिए । सयौँ घरबारविहीन भएका छन् । हजारौँले लगाएको बाली नष्ट भएको छ । कोही बासी खाएर बसेका छन् । कोही केही नखाएरै रात काटिरहेका छन् । कसैको घर बगाएको छ । कसैको भत्किएको छ ।

    घरबारविहीन भएर पशु चौपायासहित सडकमा आश्रित भएकाहरू अधिकांश भोकै छन् । उनीहरूले चाउचाउ, चिउरा, भुजा र पानी पाउँदा पनि ठूलै कुरा भएको जसरी खुसी व्यक्त गरिरहेका थिए ।

    केही बेरलाई भए पनि भोक मार्न पाउँदाको आनन्द उनीहरूको बोलीमा नभइ मुहारमा झल्किरहेको थियो ।
    करिब २ सय परिवारलाई दिनभरि राहत वितरण गर्दा पनि थकानको कुनै महसुस भएन । कारण उनीहरूको पीडाको अघि हाम्रो थकाइको केही अर्थ थिएन ।

    त्यो राहतले एउटा बस्तीका नागरिकलाई तत्कालको भोक मेटाएको हो । उनीहरूको दैनिकी त्यसपछि पनि उस्तै छ ।

    अहिले पनि घर फर्किन सकेका छैनन् । एकातर्फ भोकले सताइरहेको छ अर्कोतर्फ विभिन्न रोगको संक्रमणको डर छ ।

    कैलालीको टिकापुर क्षेत्र मात्रै होइन । भजनी जानकी, र कैलारी गाउँपालिकामा पनि बाढीले वितण्डा मच्चाएको छ ।

    धान काटेर भित्र्याउन नपाउँदै बाढीले सखाप पारेपछि यसवर्ष कसरी गर्जो टार्ने भन्ने चिन्ताले पनि किसान पिल्सिरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । दुई मन्त्री र पार्टीका नेतासहित लाखौँको हेलिकप्टर सवारमा खर्च गर्ने सरकारले त्यहाँका पीडितहरूको गाँस, बास र कपासका लागि के गर्छ ? त्यो हेर्न बाँकी नै छ ।

    यहाँ सरकारले केही गर्ला भनेर चुप बस्नुभन्दा आफैं अघि सरेर केही राम्रो कामको सुरुवात गर्नु पर्छ भन्ने सोच भएका युवाप्रति यो ब्लग समर्पित छ ।

  • ‘बा’संस्कृति, ओली र ‘गोकुल–महेशधन्दा’

    ‘बा’संस्कृति, ओली र ‘गोकुल–महेशधन्दा’

    अहिले नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई शक्तिशाली बनाउने निहुँमा गैरमाक्र्सवादी चिन्तन मौलाउन थालेको छ । पार्टीमा बीच–बीचमा यस्ता गैरमाक्र्सवादी चिन्तनहरु निरन्तर बिजाङ्कुर भइरहने र विकृत ऐंजरु बनेर दक्षिणपन्थतिर लैजाने काम काम भइरहन्छ ।

    यसर्थ बिजाङ्कुर भइरहेको समयमा यसलाई सानो कुरा भनेर नजरअन्दाज गर्न मिल्दैन । पार्टीभित्र उम्रिरहने यस्ता झारपातहरु हामीले समय समयमा गोडमेल गर्नुपर्छ । यसबाट पार्टीमा असल पक्ष शक्तिमा रहिरहने र कमसल पक्ष सुषुप्त अवस्थामा रहने हुुन्छ र पार्टी बलियो हुन्छ ।

    पार्टीमा सकारात्मक पक्ष शक्तिमा रह्यो र नकारात्मक पक्ष सुषुप्त रह्यो भने पार्टी अग्रगमनतिर जान्छ । सुषुप्त पक्ष जाग्रित भएर सकारात्मक पक्षलाई थकेल्दै आफू शक्तिशाली बन्दै गयो भने पार्टी ‘अधगमन’तिर जान्छ । जसरी शरीरमा मरणशील पक्ष र जीवनशील पक्ष एकै ठाउँमा आपसमा भिडिरहेका हुन्छन्, त्यसरी नै एउटै पार्टीमा दुवै पक्ष हुन्छ । दुवै पक्ष भिडिरहन्छन् । यही नै द्वन्द्ववादको नियम हो ।

    ओली द्वन्द्ववाद मन पराउँदैनन् । उनले फरक पक्षसँग वाद, प्रतिवाद, संवाद होइन कि, प्रतिपक्षलाई सिधै निषेध गरिदिन्छन् । प्रतिपक्षलाई एकता र संघर्षको आधारमा व्यवस्थित गरी वाद प्रतिवाद संवाद हुँदै अघि जानु पर्छ । वाद, प्रतिवाद, संवादले सकारात्मक दिशातिर अभिमूख बनाउँछ । त्यसले प्रतिपक्षसँग एकता र संघर्षको विधिबाट अघि बढ्न सिकाउँछ । तर आश्चर्य ओली प्रतिपक्ष बीचको संघर्षमा जान चाहन्नन् ।

    प्रतिपक्षविहीनको अवस्थामा गएर आफूलाई शक्तिशाली बनाउँछन् । केही समय व्यक्ति शक्तिलशाली बन्ला कालान्तरमा व्यक्तिको आधार पार्टी कमजोर बन्दै जान्छ । यसको लागि धैर्यता आवश्यक छ । त्यो धैर्यता ओलीसँग छैन । यदि प्रतिपक्षलाई निषेध नगरिदिएका भए र धैर्यतापूर्वक वाद, प्रतिवाद, संवादमा गएको भए दुईतिहाईको बहुमत कायम रहने थियो ।

    द्वन्द्ववाद लागू गर्ने सवालमा त ओली परिपक्व देखिएनन् । बरु नेपाली कांग्रेस अरु परिपक्व देखियो । २०३६ सालदेखि अहिलेसम्म फरक मत रहिरहने वाद, प्रतिवाद, संवाद पनि कायम रहिरहने तर नफुटेको अवस्था कांगे्रसमा देखिएको छ । शेरबहादुर देउवाको कारण एकपटक समस्या देखिए पनि त्यो अहिले छैन । यस विषयमा रामचन्द्र पौडेल धेरै अघि रहेछन् ।

    एमिवाले टुक्रिएर संख्या बढाउँछ । अरुले जन्माएर बढाउँछन् । मोहन विक्रम सिंह पनि द्वन्द्ववादी हैनन् । उनी व्यक्तिवादी हुन् । उनी पनि एमिबाइक सिष्टममा छन् । ओली पनि त्यही पुगेका छन् । जन्माएर हैन कि टुक्रिएर फुट्ने सिस्टम एमिबाइक सिष्टम हो ।

    अब पार्टीमा परक मत राख्नेहरुलाई ओलीले समाप्त पारिदिन्छन् । निषेध नै गरिदिन्छन् । १० बुँदे सम्झौता गरेर अडिएका नौ भाइमध्ये घनश्याम भुसालले जसको विचार उसको नेतृत्व भन्ने नैतिक नाराका साथ आफूले केन्द्रीय अध्यक्षमा दाबी गर्ने कुरो सुन्दा अहिले घनश्यामले पार्टी फुटाल्न थाल्यो भन्दै कोकोहोलो मच्याउन थालिसकिएको छ ।

    महाधिवेशनमा जित्न त ओलीले जित्छन् । त्यसमा द्विविधा छैन तर फरक मत खेल्न दिनु पर्छ । त्यसलाई गुटको रुपमा नभइ विचारको रुपमा एकता र संघर्षको विधिबाट अघि लैजानु पर्छ । त्यस्तो गरिएन भने भोलि फेरि पनि एमिबा चोइटिएर नयाँ एमिबा भएझैं नयाँ दल जन्मन्छ । यो क्रम फेरि फेरि पनि चलिरहन्छ । पार्टी कमजोर बन्दै जान्छ । यो कुरा मोहन विक्रम सिंहबाट सिक्नु पर्छ ।

    अहिले एमालेमा ‘गोकुलधन्दा’ चलेको छ । पार्टीमा अनुशासनको नाममा अराजकता आएको छ । गोकुल ओलीका ‘पोष्यपुत्र’ सरह हुन् । उनले बालकोटमा ओलीका घरमा डेरा बस्दा उनलाई ‘बा’ भन्न थाले । त्यो अभियानमा महेश बस्नेतसँग जोडियो । महेश बस्नेत र गोकुलले अरु नेतालाई निष्क्रिय र तटस्थ बनाउँदै सहरका युवाहरु, विद्यार्थीहरु, किशोर किशोरीहरुमा ‘बा’ संस्कार भरे ।

    धेरैले ओलीलाई श्रद्धापूर्वक ‘बा’ भने । केन्द्रीय कमिटीका समकालीन कमरेडहरुले ‘बा’ भन्दा के फरक पर्ला र भन्ने गरी हल्का–हल्का मुस्कुराउँदै तटस्थ बने । उनीहरुले यो ‘बा’ संस्कृतिलाई नजरअन्दाज गरिदिए । बालकोटमा ओलीलाई साना साना बच्चा लगेर ‘बा’ भन्न सिकाइयो । काठमाडौंमा ठूलै संख्यामा ‘बा’ संस्कृतिको जग बसालियो । केही भाटहरुले ‘बा’ कविता लेखे । कोही झोलेहरुले ‘बा’ लेख लेखेर प्रचार गरे । उता ओली खुसीले भुइँमा टेकेनन् । काठमाडौंमा ‘बा’ संस्कृतिको जग बसाल्न सकेकोमा गोकुल, महेशहरु खुसीले उफ्रे ।

    अहिले ‘बा’ संस्कृति माक्र्सवाद भित्र ठीक हो कि हैन भन्ने बहस चलाइँदै छ । काठमाडौंमा विधान अधिवेशन भएपछिको एमाले अलि संगठित देखियो । उनीहरु ‘बा’ संस्कृतिको पक्षमा पूरै बंकर खनेर युद्धको तयारीमा जुटेजस्तै देखिए ।
    ‘बा’विरुद्ध बोल्यो कि एक भएर स्याल हुइँया चलाए । आश्चर्य यो बहसमा जिम्मेवार नेताहरु पनि ‘बा’ संस्कृतिको पक्षमा देखिए । उनीले ओलीलाई लोकप्रिय र शक्तिशाली नेता बनाउनु पर्छ भन्न थालेका छन् । एकपटक मोहन विक्रमले पनि एक्लै क्रान्ति गर्छु भनेर फरक विचारलाई विस्थापन गरेका थिए । तर उनी झन् कमजोर भए ।

    त्यसैले ‘बा’ संस्कृति वास्तवमा सही हो त ? पिता, बा, बाबा, बुवा आदि शब्दहरु पर्यायवाची शब्द हुन् । पिता, बुबा, बा बुवा जन्मदातालाई भनिन्छ । पिता माताका भाइहरु, दाजुहरु, देवर जेठाजुहरुलाई पनि ‘बा’ जोडेर सम्बोधन गरिन्छ । माहिला बा, काहिला बा, ठूला बा पनि भनिन्छ । आमाका भिनाजु र बैनी ज्वाइँलाई पनि साना बा ठूला बा भनिन्छ । त्यो भन्दा पर ‘बा’ भने पनि ‘बा’ भन्ने नातो हैन । जन्मदाता बाको आनुवांशिक सम्बन्धलाई ख्याल नगरी सबैलाई सम्बोधन गर्न हुँदैन । बाको सम्बन्ध सिधै आमासँग हुन्छ । यो आनुवांशिक सम्बन्ध हो । अरु बाको सम्बन्ध पनि आमा र बाको सम्बन्धबाट नै हुन्छ । त्यसैले ‘बा’ शब्द कसैलाई नभन्दा राम्रो हुन्छ ।

    नाताहरु धेरै छन् । बादेखि सोल्टीसम्म, भिनादेखि सैनासम्मका नाताहरु बनेका छन् । हरेकलाई नातासम्बन्धबाटै सम्बोधन गरिन्छ । यस्तो अवस्थामा कमरेड शब्द विस्थापन गर्नका लागि अहिले एमालेमा ‘बा’ संस्कृति ल्याइएको छ ।
    एमालेमा ओलीलार्ई मात्र ‘बा’ हैन, पचास वर्ष माथिका सबै नेतालाई नयाँ पंक्तिले सहजै ‘बा’ भन्छ । अब एक दशकभित्र ‘बा’ शब्द राम्रोसँग स्थापित हुन्छ । हुँदाहुँदै यो ‘बा पार्टी’ बन्छ । नयाँ किशोर किशोरीहरुले ओलीलाई मात्र हैन, त्यो उमेरका सबैलाई ‘बा’ भन्छन् । ‘बा’ नभन भनेर विज्ञाप्ति जारी गर्नु पनि भएन, मन परेको पनि छैन ।

    हाम्रा केही बसका सहचालकहरुले भाडा असुल्दा ‘बा–आमा’ भन्छन् । उनलाई त्यो भन्न राम्रो लाग्छ होला । तर सबै यात्रुले आफूलाई बा–आमा भनेको राम्रो ठान्दैनन् । त्यसको ठाउँमा अंकल, दाजु, दिदी, बहिनी, सर मेडम आदिभन्दा अलि सहज ठान्छन् । बा भनेर प्रचार गर्नेहरु पनि सहचालक जस्तै हुन् । जसले न त राम्रोसँग शिष्टाचार जानेको छ न त समाजशास्त्र नै जानेको छ । स्वमनोविज्ञान थाहा छ तर परामनोविज्ञान थाहा छैन ।

    अनि माक्र्सवादीहरुलाई बा सँस्कृति कति राम्रो होला ? यो त गैरमाक्र्सवादी क्याम्पबाट आएको हो । नेपालमा ओलीको वरिपरि घुम्ने र उनलाई प्रभाव र विश्वासमा पारेर राज्य धुत्नेहरुको फौजको रणनीति हो । यसले उट्पट्याङ गर्छ । कहिले बाँदर जुलुस निकाल्छ । कहिले जयजयकार गर्दै ओलीलाई बालकोट पुराउँछ र बार्दलीबाट भाषण गर्न लगाउँछ ।

    विपक्षीहरुलाई गाली गरेको छ, सरापेको छ । गाली संस्कृतिमा मलजाल गरेको छ । यसले ओम्नी काण्डमा नजरअन्दाज गर्न बाध्य बनायो । सत्तरी करोडको हल्ला चलायो । यस समूहले नागरिकमा नेताप्रति विश्वास घटायो ।

    ओलीले पनि मच्ची मच्ची गाली गर्छन् । उनका भाषणहरु गालीका कारण चोपिला हुन्छन् । हल्का ठट्टा प्रहसन गालीको कारण भाषण नयाँ नयाँ युवाहरु, किशोर किशोरीहरुले ठीक ठान्छन् । तर समाजमा त्यसको गम्भीर प्रभाव पर्छ । ओलीले आफै पनि गाली बन्द गर्नुपर्छ । ओली पनि आफ्नो प्रशंसा गर्नेहरुलाई मात्र ठीक ठान्छन् । आलोचना खप्नै सक्दैनन् । बा शब्दले उनलाई हल्का र उपहासको पात्र बनाएको छ । यो उनलाई थाहा छैन । बा गरिममामय शब्द हो ।

    ओली आफैं राजनेता बन्न सकेका छैनन् । राजनेता बन्नको लागि मधेस, थारु, जनजाति, कर्णाली, दलित, मुस्लिम, महिला अपाङ्गता, अल्पसंख्यक यौनिक समुदाय, विपन्न सबैले स्वीकार गर्नुपर्छ । आफू सत्तामा आउँदा सत्ता टिकाउन विश्वास दिएर मधेस फुटाल्ने उता आफू प्रतिपक्षी बन्दा संसद जाम गरेर नागरिकता विधेयक पारित गर्न दिएनन् ।

    संविधान दिवसको दिन मधेसलाई कटाक्ष गरे । ओली खुराफात र ट्रिकमा चल्छन् । यसले समाजलाई राम्रो गर्दैन । उनी आरक्षणको विषयमा पनि स्पष्ट छैनन् । संघीयताप्रति पनि उनको सकारात्मक भावना छैन ।

    यसर्थ उनी हल्का उत्ताउला र अपरिपक्व आसेपासेको घेराबाट मुक्त हुनु पर्छ । बा शब्दको प्रयोगले आफ्नो वजन घटाएको बुझ्न सक्नु पर्छ ।

  • मदन भण्डारीलाई भरतशमशेरको धाकः म तिमीभन्दा चौबर क्रान्तिकारी !

    मदन भण्डारीलाई भरतशमशेरको धाकः म तिमीभन्दा चौबर क्रान्तिकारी !

    इटहरी । २०१५ सालको चुनावमा दोश्रो ठुलो दल थियो गोरखा परिषद् । १९ सिट ल्याएको गोरखा परिषद् प्रमुख प्रतिपक्षी दल थियो । प्रमुख प्रतिपक्षी दलका नेता थिए भरतशमसेर ।

    २०४८ सालमा नेपालमा दोश्रो संसदीय चुनाव भयो । चुनावबाट एमाले ६९ सिटसहित दोश्रो ठुलो दल भयो । दलका नेता एमाले अध्यक्ष मनमोहन अधिकारी चुनिए । तर, डिफ्याक्टो अध्यक्षजस्तै थिए मदन भण्डारी ।

    भरतशमशेर र भण्डारी जोडेर सार्वजनिक डोमेनमा त्यति चर्चा हुँदैन । हालसालै बजारमा आएको मदन भण्डारीको जीवनी ‘श्वेतशार्दूल’ मा भने यसको चर्चा गरिएको छ । लेखक रमेश रुछेन राईले यसको चर्चा गरेका छन् ।

    कलकत्ता यात्राको क्रममा भएको रोचक भेट

    भर्खरै दोश्रो संसदीय निर्वाचत सकिएको थियो । एमालेको जबज अस्तित्वमा आउनुभन्दा करिब एक महिना अगाडिको कुरा हो । भारतीय कम्युनिस्ट पार्टी (माले–लिबरेसन) को पाँचै महाधिवेसन हुँदै थियो । त्यहि महाधिवेसनमा नेपालबाट नेकपा एमालेको महासचिवको हैसियतले सहभागी हुन काठमाडौंबाट कलकत्ता उडे मदन भण्डारी ।

    २०४९ पुष ११ गते भण्डारी पत्रकार राजेन्द्र स्थापितको साथ कलकत्ता पुगेका थिए । एयर इन्डियाको जहाजमा यात्रा गरेका उनको सिट सस्तो मुल्य पर्ने इकोनमिक क्लासको थियो । सोही प्लेनको महँगो र सुविधासम्पन्न बिजनेस क्लासमा परे भरतशमशेर ।

    भरतशमशेरसँग स्थापितको चिनापर्ची थियो । तर, मदन भण्डारीको थिएन । मदनलाई भरतले अनुहारबाटै चिन्थे । तर भरतशमशेरलाई मदन भण्डारीले अनुहारले चिन्दैन थिए ।

    भरतशमशेर मदन नजिकै आए । अनि धाक दिन थाले, ‘तिमी के क्रान्तिकारी ? म तिमी भन्दा चौबर क्रान्तिकारी । हेर, तिमी त मेरो बच्चा हौ बच्चा । तिमीभन्दा चर्को र क्रान्तिकारी भाषण गर्थे म ।’

    चुपचाप सुनिरहेका भण्डारीले कुनै प्रतिक्रिया जनाएनन्। केहीबेरमा भरतशमशेर आफ्नो सिटमा पुगेपछि स्थापितले मदनलाई भरतशमशेरको परिचय दिए ।

    एक राउण्ड धक्कु दिएर हिँडेका भरतशमशेर फेरि फर्केर आए । आफू बसेको बिजनेस क्लासको सिट स्थापितलाई दिएर आफू मदनसँगै बस्ने प्रस्ताव गरे । स्थापित सहजै तयार भए । कलकलत्ताससम्म सँगै यात्रा गरे भरतशमशेर र मदन भण्डारीले । आधा घण्टा सँगै बसेर दुवैले कुराकानी गरेको भण्डारीको जीवनी लेखक राईले उल्लेख गरेका छन् ।

    पुष १३ गते भाकपा (माले–लिबरेसन)को महाधिवेसनको घोषणासभामा मदन भण्डारीले भाषण गरे । भाषण गर्दै गर्दा मदनलाई चिट आयो । चिट उनै भरतशमशेरको थियो । चिटमा उनी आफू मञ्चको पछाडी बायाँ साइडमा भएको लेखेका थिए । क्रान्तिकारी नेताले कलकत्तामा भरतशमशेरसँग भेटेको कुरा बिरोधीले थाहा पाएमा अनर्थ लाग्ने भन्दै मदनहरु तर्कन खोजे ।

    भरतशमशेरले चिटमा लेखेविपरित उनीहरु दायाँ छेउबाट निस्कन खोजे । तर, त्यहीँ पो भेटिए भरतशमशेर । उनी आफू भएको ठाउँ देखाउँदा छल्छन् भनेर ठीकविपरित ठाउँमा आएका हुन सक्छन् । वा मदनले भाषण गरेदेखि मञ्चबाट आएको हरेर पाइलाको फलोअप गरेर बसेका हुन सक्छन् । खैर, मदनले भरतशमशेरलाई छल्न सकेनन् ।

    अन्ततः मदन भण्डारी स्थापित सहितका तीन जनालाई आफ्नो गाडीमा हालेर भरतशमशेरले आफ्नो विशाल बंगलामा लगे । ‘चितान्जली’ नामक फिल्म निर्माण कम्पनीका मालिक भरतशमशेरले घरमै स्टुडियो बनाएका थिए । बंगाली भाषाका ३२ फिल्म बनाएको र केही राष्ट्रिय अवार्डसमेत पाएको थियो कम्पनीको उत्पादनले ।

    मदन भण्डारीहरुलाई घरमै लिएर गएका भरतशमशेरले घरमा पनि धाक दिन छोडेनन् । घरी पुसअप गर्ने, घरि कोठामै दौडने र घरि गहकिला सामान उचालेर आफू युवा भएको र क्रान्तिकारी भएको तुजुक देखाइरहे । रक्सीको अफर मदनहरुले अस्विकार गरे । रातको एक बजेसम्म भरत शमशेरकै धाक र रवाफका दर्शक भइरहे उनीहरु ।

    एक बजे खाना समय सुरु भयो । खाना खाने चारजना, तर खानाको काममा सक्रियहरु भने २५ जना । एक कोणमा त्यो भरत शमशेरको घर थिएन, दरबार थियो । र दरबारकै रवाफ झल्कन्थ्यो उनको प्रस्तुतिमा । मदनहरुले रातभर ओच्छ्यानमा समेत भरत शमशेरकै कुरा काटे । बिहान उज्यालोसँगै निस्किएर हिँडे । लेखकले ‘कैद जस्तै आतिथ्य मानेर’ मदनहरु बिहानै विदा भएको लेखेका छन् ।

    चन्द्र शमशेरका पनाती, वीपीलाई खुकुरी प्रहारका आरोपी

    राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा हुन् बबरशमशेर । बबरशमशेरका छोरा मृगेन्द्रशमशेर । उनै मृगेन्द्रका छोरा हुन् भरतशमशेर ।

    २००८ सालमा वीपी कोइराला गृहमन्त्री थिए । त्यो समयमा भरतशमशेरको नेतृत्वमा रहेको खुकुरी दल चर्चामा थियो । खुकुरी दलले वीपीको हत्या प्रयास भएको मानिन्छ । तर, हिमाल खबरपत्रिकाका शेखर खरेलसँग कलकत्ताको बालिगञ्जमा कुराकानी हुँदा ‘त्यो हन्ड्रेड पर्सेन्ट झुट’ भनेको खरेलले लेखेका छन् । भरतशमशेरका भाई तथा अक्सफोर्ड विश्वविद्यालयबाट पहिलोपटक स्नातक गर्ने सागरशमशेरले पनि त्यो झुटो कथा भएको खरेलसँग बताएका छन् ।

    २०१५ सालको चुनावमा गोरखा परिषदबाट भरतशमशेर र उनका बाबु मृगेन्द्रशमशेर दुवै थिए । तर, प्रमुख प्रतिपक्षि दलका नेता भने बाबुलाई पछि पारेर भरतशमशेर भएका थिए । यस्तो गर्नमा वीपीले सहयोग गरेको हाल नेपाली कांग्रेसकै नेता रहेका सागरशमशेरले बताएका छन् ।

    सागरशमशेरले २०१७ असार १५ मा मुस्लाङमा चिनियाँ सुरक्षाकर्मीबाट नेपाली सुवेदार बमप्रसाद मारिएको घटनामा समेत वीपी र भरतशमशेरले साझा धारणा बनाएर कडा आपत्ति जनाउँदै पचास हजार क्षतिपुर्ति तिराएको अंग्रेजी भाषाको नेपाली टाइम्स साप्ताहिकमा लेखेका छन् ।

    प्रमुख प्रतिपक्षी दलको नेता हुन वीपीले सहयोग गरेको गुन भरतशमशेरले आफ्नो पार्टी गोरखा परिषद नेपाली कांग्रेसमै बिलाएर तिरे । महेन्द्रले २०१७ मा गरेको सत्ता कब्जामा थुनिएका उनी राजालाई सहयोग गर्ने नाममा एक वर्षपछि छुटे । कलकत्तामा आफ्नो आवासमा पुग्ने बित्तिकै उनले नेपाली कांग्रेससँग एकीकरण गरे ।

    भरत शमशेरका भाई सागरशमशेरका छोरा उदयशमशेर अहिले नेपाली कांग्रेसका चिनिएका युवा नेता हुन् । राज्यमन्त्रीसमेत भइसकेका उनी पछिल्लो चुनावमा भने एमालेका नवराज सिलवालसँग पराजित भए । २०१५ सालको चुनावमा प्रमुख प्रतिपक्षी दलको नेता भएका भरतशमशेररले २०४८ को दोश्रो संसदिय चुनावमा कांग्रेसको चुनावी प्रचारमा खटे । तर, २०१५ सालमा जस्तो सक्रिय संसदीय राजनीतिमा भने सक्रिय भएनन् ।

    २०७५ साउन २५ गते शुक्रबार राति भरतशमशेरको कलकत्ताको आफ्नै निवासमा मृत्यु भयो । ८९ वर्षको उमेरमा मृत्यु भएका उनको शरीर उनकै इच्छाअनुसार अस्पताललाई दिइयो ।

  • दसैं गजल

    दसैं गजल

    साँच्चै सुख, शान्ति र समृद्धिको गीत गाउन पाइयोस्,
    हर्ष, खुशी साटासाट सँगैको उन्मादमा रमाउन पाइयोस् ।।।

    भेटिउन् टाढिएका आफन्त अनि छुटिएका मनहरु,
    न्यास्रीएका आमा बा अनि सन्तानहरुसँग मनाउन पाइयोस् ।।।

    हाम्रो सान हो, पहिचान हो चाडपर्व अनि संस्कृति,
    शिष्ट र सभ्य हुँदै दशैँको मर्म बचाउन पाइयोस्।।।

    मान्यजनबाट आशीर्वाद, साथी संगीहरुमाझ शुभकामना,
    आपसमा आदर सम्मान र प्रेम भाव जगाउन पाइयोस्।।।

    भाषा,जातजाति, भेषभुषा र भुगोल हाम्रा गहना हुन्,
    सामाजिक बिकृती र बिसङ्गती सदाका लागी हटाउन पाइयोस्।।।

    पबित्र माटोमा उमारिएका जमरा र राता अक्षताहरु जस्तै,
    सुन्दर रहोस् बाँकी जीवन, जसलाई मनमा सजाउन पाइयोस् ।।।

    सूर्य न्यौपाने
    उत्तरगया-४, रसुवा 
    हालस् प्रभु बैंक लिमिटेड
    शाखा कार्यालय, बट्टार नुवाकोट ।

  • अनि उसले आत्महत्या गरी

    अनि उसले आत्महत्या गरी

    लजताको आँखाभरी आँसु छ । शरीर थरर काँपेको छ । ऊ पश्चातापको भावमा मलाई नियालिरहेकी छे । मेरो उसलाई मौन समर्थन छ । तर, शब्दमार्फत माफी भने दिन सक्दिनँ ।

    श्रीमान्बाट पाएका चोटहरु उसले नदेखाए पनि उसका आँखाले संकेत गरिरहेका छन् । एकदिन लजताले फोन गरेर भनेकी थिई, ‘उसले मलाई धेरै कुट्छ अविरल ।’

    ‘तिमीले मेरो मनलाई कुट्यौँ, उसले तिम्रो शरीरलाई । कुट्नेहरु कुटिन्छन् पनि लजता’ मैले यत्ति भनेर फोन राखिदिएँ ।

    उसले केही दिनपछि फोन गरेर फेरि भनी, ‘उसले मलाई चुरोटको ठूटाले डोबिदिन्छ अविरल ।’

    ‘तिमीले मलाई प्रेमको ठूटाले डोब्यौ, उसले तिमीलाई चुरोटको । डोब्नेहरु डोबिन्छन् लजता’ मैले उत्तर फर्काएँ ।

    फेरि उसले एक दिन फोन गरेर भनी, ‘उसले मेरो हात तातो पानीमा डुबाइदियो अविरल ।’

    ‘तिमीले मेरो मन डुबाइदियौ, उसले तिम्रो हात । डुबाउनेहरु डुबिन्छन् लजता’ मैले फोन राखिदिएँ ।

    ‘आज त उसले मलाई शरीरभर नीलडाम हुनेगरी कुट्यो अविरल’ एक सातापछि फोन गरेर लजताले भनी ।

    मैले जवाफ फर्काएँ ‘तिमीले मेरो मुटुमा हिर्कायौ, उसले तिम्रो शरीरमा । चोट त तिमीलाई भन्दा मलाई नै बढी लागेको छ लजता ।’

    त्यसपछि उसले लामो समय मलाई फोन गरिन । एक महिनापछि फोन गरेर भनी, ‘उसले मलाई यसरी पिट्यो कि म बेहोस भएछु । दुई साता अस्पताल बसेर आएकी ।’

    अब भने मसँग उसलाई दिने कुनै उत्तर थिएन । किन कि उसले मलाई जति चोट दिए पनि म भट्टी भने पुगेको थिइन । नत्र भनिदिन्थेँ होला, ‘उसले दिएको चोट पखाल्न तिमी अस्पताल पुग्यौ, म भट्टी पुगेँ लजता ।’

    ‘एक पटक तिमी मलाई भेट’ मैले यत्ति भनेर फोन राखेँ ।

    हो, यस्तै फोन संवादपछि अहिले हाम्रो भेट भइरहेको छ । म उसलाई नियालिरहेको छु । ऊ मसँग आँखा जुधाउन सकिरहेकी छैन ।

    सकोस् पनि कसरी । चार वर्षदेखिको प्रेम जो टुक्राएकी थिई । मेरो प्रेम टुक्राएर हिँड्न उसलाई सिसाको गिलास टुक्राएजत्तिकै सहज लाग्यो । टुक्रियो सकियो ।

    अन्तिम पटक उसले मलाई मेसेज गरी ‘म परिवारको दबाबमा परेँ । मेरो बिहे हुने भयो । तिमी अब मलाई डिस्टर्ब नगर्नु ।’

    उसले यति भन्दा एक पटक मलाई आफ्नो राम्रो ख्याल गर्नु भनिन । तिमीलाई सम्झना छ भनिन । अरु त अरु एक पटक सरी मिस यू, आई लभ यू भन्नसमेत आवश्यक ठानिन ।

    यदि यो उसको परिवारको निर्णय वा दबाब थियो भने उसले प्रेमका लागि संघर्ष गर्नुपर्ने । मैले कैयौँ पटक उसलाई ‘हामी भागेर कतै जाऔँ’ भनेर मेसेज नगरेको होइन । तर उसले मेरा मेसेजलाई नजरअन्दाज गरिदिई । यसको अर्थ, त्यो निर्णय उसकै थियो । मैले योभन्दा अरु के बुझ्ने ?

    ०००

    ऊ आज मेरो अगाडी बसेर गल्तीको प्रयाश्चित गर्दैछे । मेरो मन बहकाउँदै छे । के उसको चाहना म फेरि उसलाई अपनाऊँ भन्ने हो ? हो भने ऊ किन बोल्दिन । किन खोल्दिन मनको भावना ।

    उसले भन्दैमा म उसलाई अपनाउन सक्छु त ? म किन यसरी उसलाई अझै उत्तिकै प्रेम गर्छु !

    ‘अविरल’ लामो मौनतापछि आँखाभरी आँसुसँगै उसको आवाज आउँछ । म उसलाई नियाल्छु । ऊ झन् आँसु झार्दै जान्छे । कस्सो मान्छेहरु छैनन्, वरिपरी ।

    ‘मैले ठूलो गल्ती गरेँ । म तिमीसँग माफी माग्न लायक त छैन तर, म अब बाँच्न चाहन्न । अन्तिमपटक तिमीलाई भेट्न मन थियो । यत्ति हो’ उसको आँसुले मलाई पगाल्दै लगिरहेको छ ।

    म उसको हात समाउँछु । र, भन्छु्, ‘हिँड तिमी र म धेरै टाढा जाऊँ ।’ यतिभन्दा मेरा आँखा पनि रसाइसकेका छन् । मसँग प्रेमको परिभाषा त छैन तर, मलाई थाहा छ प्रेमको अन्त्य प्रेम नै हो । र, मेरो अन्त्य लजता ।

    ‘मलाई माफ गरिदेऊ अविरल । मैले तिमीलाई धोका दिएँ । तर बिहे मेरो बाध्यता थियो । बुबाले त्यो केटासँग बिहे नगरे परिवारसँग तेरो सबै सम्बन्ध सकिन्छ भन्नुभयो । मैले मलाई जीवन दिने परिवार गुमाउन चाहिन’ ऊ आँसु पुछ्छे ।

    ‘प्रेममा धोका हुँदैन लजता । न हार या जित नै हुन्छ । यो सम्बन्ध त केवल विश्वासले टिकेको हुन्छ । तिमीले विश्वास तोड्यौ, प्रेम तोड्यौ’ म पनि आँसु पुछ्छु ।

    ऊ मेरो अङ्गालोमा बेरिन्छे । पालैपालो मेरा गाला चुम्छे र मुस्कुराउँछे, ‘दुई वर्षपछि बल्ल आज हाँस्न पाएँ । तिमीबिना त मेरो खुसी पनि गायब हुँदोरहेछ ।’ निकैबेर ऊ मेरो अङ्गालोमा बेरिन्छे । दुवै मौन हुन्छौँ ।

    झन्डै २० मिनेटपछि अङ्गालोबाट छुटिएर ऊ झोलामा केही खोजेजस्तो गर्छे । तत्काल मेरो हातमा एउटा खाम थमाइदिन्छे । म खाम खोल्न खोज्छु । ऊ रोक्छे । भन्छे, ‘अहिले होइन, घरमा गएर पढ्नु ।’

    म खाम पाइन्टको गोजिमा राख्छु अनि उसलाई नियाल्छु । कुनै दिन हामी आँखाको मिलनबाट प्रेम साट्थ्यौँ । हाम्रा ओठ जोडिदा भन्दा आँखा जोडिदा बडो आनन्द आउँथ्यो । यतिबेला म त्यहि अनुभूत गरिरहेको छु । म फेरि त्यो मिठास गुमाउन चाहन्न । भन्छु, ‘हामी भोलि बिहान ४ बजे भेटौँ । कहाँ जाने, के गर्ने म योजना बनाउँछु ।’

    ‘पशुपतिमा भेटौँ ल’ यति भनेर ऊ उठ्छे । आँसु सँगै उसका पाइला पनि छुट्दै जान्छन् । पछाडि फर्किएर मलाई हेर्छे भन्ने आशमा धेरै टाढा पुग्दासम्म म उसलाई नियाल्छु । तर, ऊ त्यसो गर्दिन । बरु एकैछिनमा मेरो दृश्यबाट हराइदिन्छे ।

    ०००

    बिहान ४ बजे म पशुपति पुग्छु । उसलाई फोन गर्छु । फोन स्वीच अफ छ । तारन्तार फोन गर्दा पनि सम्पर्क हुन सक्दैन । समयले नेटो काटेर ५ बजाउँछ । ६ पनि बज्छ । ७ बज्छ । ८ बज्छ । तर न उसले फोन गर्छे न लाग्छ नै ।

    म उसको खोजिमा पशुपतिका हरेक गल्ली, पाटीपौवा र मन्दिर चहार्छु । तर, उसलाई भेट्दिन । निराश भएर अघिल्लो दिन भेटेकै ठाउँमा आएर बस्छु । उसले मलाई फेरि धोका दिई, मनले भन्छ । ऊ किन मलाई यसरी तड्पाउँछे, पटक–पटक किन मेरो विश्वास तोड्छे । मनले मनसँग अनेक सवाल गर्छ । जसको मसँग एउटै जवाफ छ– उसलाई पुनः विश्वास गर्नु नै मेरो गल्ती थियो ।

    मनमा उठेका अनेक प्रश्न र जिज्ञासासँगै मेरा पाइला घरतर्फ अघि बढ्छन् । वागमति किनारमा जलिरहेका लाशले मलाई गिज्याइरहेझै लाग्छ । पुकारिरहेझै पनि लाग्छ । लाश बोल्न सक्दो हो त पक्कै मलाई भन्दो हो– सास फेर्नु र नफेर्नुबाहेक तँ र ममा के नै फरक छ र आखिर ।

    आँखाबाट आँसुका थोपा चुहिन थालिहाले । मैले आँखालाई चस्मा र मुखलाई मास्कले छोपेँ । अनुहार त छोपेँ तर, आँसु रोक्न सकिन । मास्कको चेप हुँदै मुखसम्म पुगेका आँसुका थोपाको स्वाद नुनिलो लाग्यो । मन अमिलो छ । आँखा पिरो । अमिलो, नुनिलो र पिरो, लजतालाई मनपर्ने स्वाद । जसले यतिबेला मलाई पिरोलिरहेको छ ।

    आर्यघाटमा रोइरहेको, चिच्याइरहेको आवाजले मेरो ध्यान तान्यो । मैले लजताको बुबाआमालाई चिने । उनीहरु भए ठाउँमा पुगेँ । त्यहाँको दृश्यले मेरो होस हबास उड्छ ।

    भूँइमा लजता सुतिरहेकी छ । तर, म उसलाई बोलाएर उठाउन सक्दिन, उठाएर लान सक्दिन । ऊ आफै बोल्दिन, दुई हातले बल गरेर नउठाई उठ्दिन । उठे पनि हिँड्न सक्दिनँ । मैले बोकेरै लगे पनि बोल्न सक्दिनँ । हो, ऊ सास फेर्न सक्दिनँ ।

    ऊ मसँगै नभए पनि संसारमा त थिई । ऊ छे भन्ने त थियो । म उसँग जति रिसाए पनि कुनै दिन उसलाई आफ्ना खुसी र दुःखहरु त साट्न सक्थेँ । तर, अब म नितान्त एक्लो भएको छु ।

    हातखुट्टा लल्याकलुलुक हुन्छन् । उसको शरीरमा आगोको राप ठोसिन्छ । म ऊ जलिरहेको हेर्न सक्दिनँ । न आफ्नो जलिरहेको मनलाई सम्हाल्न नै सक्छु ।

    ***

    आँखा खुल्छ । अगाडि बुबा देखिनुहुन्छ । बुबाको छेउँमा दिदी पनि छ । उनीहरु मलाई किन यसरी हेरिरहेका छन्, मनमा प्रश्न खेल्छ । कोल्टे फेर्न खोज्छु, शरीर दुखेको आभास हुन्छ । ‘विस्तारै है’ अपरिचित आवाज आउँछ । उतिर हेर्छु । नर्स रहिछ । म चारैतिर आँखा डुलाउँछु । अस्पतालको क्याविन पो रहेछ !

    ‘म यहाँ कसरी ?’ कसैप्रति इङ्कित नगरी प्रश्न गर्छु ।

    ‘तँ चढेको मोटरसाइकल बानेश्वर सडक छेउँमा दुर्घटना भएछ । एक घण्टापछि बल्ल तेरो होस खुल्यो’ दिदीले उत्तर फर्काउँछे ।

    बिहान के भयो सम्झन खोज्छु । पशुपतिबाट संसद भवन आउँदासम्म याद छ । त्यसपछि के भयो भन्ने याद नै आउँदैन । आफू सकुशल छु या छैन भनेर शरीरका प्रत्येक अङ्ग चलाउँछु । सबै चल्छन् । त्यति जोडको दुखाई पनि छैन ।

    मेरो होस खुल्नासाथ नर्सले डाक्टरलाई बोलाइसकेकी हुन्छे । ‘कतै दुखेको अनुभव भएको छ ?’ डाक्टर प्रश्न गर्छन् । म फेरि शरीरका सबै अङ्ग चलाएर दुखाई महसुस गर्न खोज्छु । सलाईन निकालेर डाक्टर मलाई उठ्न लगाउँछन् । शरीरको कुनै अङ्ग दुख्दैन । तर, मन भने दुखिरहेको छ । मनको दुखाई डाक्टरलाई भनेर नि के गर्नु । उनीसँग यसको कुनै उपचार पद्धति भए पो ।

    ‘रगत पनि बगेको छैन र कतै गहिरो चोट पनि देखिएको छैन । त्यसैले डराउनुपर्ने केही छैन । तर, एक पटक शरीरको दाहिने भागको एक्सरे गरेर हेरौँ’ डाक्टर पर्चीमा केही लेखेर दिदीलाई दिन्छन् । उनले भनेपछि बल्ल दाहिने भाग केही दुखेको हो कि भन्ने लाग्छ । सायद मोटरसाइकल दाहिनेतर्फ पल्टिएको हुनुपर्छ ।

    एक्सरे गरेर फर्कदै गर्दा बाथरुम देख्छु । दिदीलाई कान्छी औँला देखाउँछु । पिसाब फेर्ने त केवल एक बहाना थियो, खासमा मन हलुका गर्ने चाहना थियो । भित्र छिर्नासाथ आँखा रसाइहाल्छ । लजता जलिरहेको दृश्य आँखै अगाडि देखिन्छ । एकछिन मन हलुका पारेपछि मुख धोएर बाहिर निस्कन्छु । दिदी मलाई मज्जैले नियाल्छे । तर, केही बोल्दिन ।

    एक्सरेमा पनि सबै राम्रै देखिन्छ । डाक्टरले केही औषधि लेखिदिन्छन् । केही दिन आराम गर्ने सल्लाहसहित हामी साँझ ७ बजे अस्पतालबाट निस्कन्छौँ ।

    बुबा मसँग केही बोल्नुभएको छैन । मेरो पीडालाई उहाँको मौनताले झनै बढाइरहेको छ । ‘बुबा मेरो मोटरसाइकल कहाँ रहेछ’ म उहाँको मौनता चिर्न खोज्छु । त्यै पनि उहाँ केही बोल्नुहुन्न । उहाँको ध्यान गाडीको स्टेरिङभन्दा अन्यन्त्र भड्किएको छैन । मन भने मलाई थाहा भएन । उहाँको एक शब्द नसुनी घर पुग्छौँ ।

    बुबा हातमा मसरुम सुप बोकेर कोठामा छिर्नुहुन्छ । म खान मान्दिन । चम्चाले आफै खुवाइदिनुहुन्छ । तर, मौन हुनुहुन्छ । किन मलाई थाहा छैन ।

    एकछिनपछि मेसेज खोलिएको मोबाइल मेरो हातमा थमाउनुहुन्छ । ‘लजता म तिमीलाई पशुपतिमा कुरिरहेको छु’, ‘लजता किन तिम्रो फोन अफ छ’, ‘फेरि मलाई नतड्पाऊ लजता’, ‘लजता मैले तिम्रो लागि आफ्नो बुबालाई समेत छाडेर आएको छु, तिमी किन आउँदैनौ ।’ फुटेको स्क्रीनमा उहाँले सबै मेसेज पढ्नुभएछ । मोबाइल किन फुटेन ? म आफैसँग प्रश्न गर्छु ।

    उहाँ रिसाउनुको कारण सही थियो । मैले जीवनमा फेरि लजतालाई कहिल्यै नभेट्ने र उसँग सम्पर्कमा समेत नरहने कसम खाएको थिएँ ।

    ‘सरी बुबा’ आँखाभरी आँसु पारेर म उहाँलाई अङ्गाल्छु । ‘ऊ अब यो संसारमा छैने’ म भक्कानिन्छु ।

    ‘फेरि तँलाई धोका दिई होइन । मैले कति सम्झाएको थिएँ त्यो केटी तेरो लागि बनेकी होइन भनेर’ बुबा मलिन स्वरमा भन्नुहुन्छ ।

    ‘होइन बुबा, उसले आत्महत्या गरेर संसार छाडी । उसले मलाई धोका दिएकी होइन । अझै प्रेम गर्थी । समयले उसलाई धाकेवाज बनायो अनि समयले नै लगिगयो’ आँसु बग्न कम भएको छैन । उसको मृत्युको खबरले बुबाको आँखा पनि रसाउँछन् ।

    कुनै समय ऊ बुबाको पनि प्रिय थिई । बुबा मेरो साथी अनि ऊ बुबाको । प्राय हाम्रो घर आउँथी । बुबालाई मिठा–मिठा खानाका परिकार बनाएर खुवाउँथी । कहिलेकाहीँ बुबाले उसलाई । बुहारी बनाएर भित्र्याउने अनि छोरीजस्तै माया दिने बुबाको सपना उसले तोडेकी थिई । सपना सँगै मन पनि ।

    त्यसपछि न हो बुबाले मलाई कसम खुवाएको । उहाँसँग खाएको कसम तोड्दा कति पीडा भयो होला । तर, कसमभन्दा ठूलो प्रेम हो । कसम बचाउने नाममा मैले उसलाई गुमाउन चाहिन । उसले गल्ती गरी । मैले माफी दिएँ । किन कि म उसलाई प्रेम गर्थेँ ।

    म एक्कासी उसले मलाई दिएको खाम सम्झन्छु । पाइन्टको गोजीमा राखेको थिएँ, पढ्नै बिर्सिएछु । जुरुक्क उठ्छु र अघिल्लो दिन लगाएको पाइन्ट खोज्न थाल्छु । पाइन्टको गोजीमा रहेको खाम निकाल्छु । र, पढ्न थाल्छु ।

    (केही दिनअघि  बजारमा आएको पुस्तक ब्लु  डायरीको एक अंश )

  • उपनिवेशविरुद्धका शरणार्थी लेखकलाई साहित्यतर्फको नोबेल

    उपनिवेशविरुद्धका शरणार्थी लेखकलाई साहित्यतर्फको नोबेल

    काठमाडौं । तान्जानियामा जन्मिएका उपन्यासकार अब्दुलरजाक गुरनाहले यसवर्ष नोबेल साहित्य पुरस्कार जितेका छन् ।

    उनले आफ्नो लेखनमार्फत उपनिवेशका प्रभाव तथा संस्कृति र महादेशको भिन्नताले शरणार्थीको भाग्य कसरी लेखिन्छ भनेर यथार्थ चित्रण गरेको भन्दै उनलाई पुरस्कृत गरिएको नोबेल समितिले जनाएको छ ।

    १० उपन्यास र केही छोटा कथा प्रकाशित गरेका गुरनाहले आफ्ना लेखनीहरुमा शरणार्थीको पीडालाई दर्शाएको जनाइएको छ । उनी स्वयम तान्जानियामा जन्मिएर इङ्ल्यान्डमा शरणार्थीको रुपमा हुर्किएका थिए ।

    शरणार्थीको रुपमा इङ्ल्यान्ड आएपछि उनले २१ वर्षको उमेरदेखि उपन्यास लेख्न थालेका थिए । स्वाहिली उनको पहिलो लेखकीय भाषा हो । अंग्रेजी भने उनको माध्यम भाषा हो ।

    जन्जिबार टापुमा सन् १९४८ मा जन्मिएका उनी शरणार्थीको रुपमा बेलायत पुगेका थिए । सन् १९६३ डिसेम्बरमा तान्जानियामा चलेको आन्दोलनलाई राष्ट्रपति अबेइद कुरुमीले दमन गरेपछि उनी त्यहाँबाट परिवारसहित इङ्ल्यान्डमा निर्वासनमा गएका थिए ।

    उक्त चलेको आन्दोलनमा अरब मुलका नागरिकलाई दमन गरिएको थियो । यो दमनबाट मुक्त हुन उनको परिवारले देश छाडेको थियो । उनले स्कुल पनि बीचमै छाड्नुपरेको थियो । त्यो आन्दोलनपछि तान्जानिया निर्माण भएको थियो ।

    कुरानमा वर्णित सुराजस्तै उनीद्वारा रचित अरविक र पर्सियन कविता ‘द अरबियन नाइट्स’लाई निकै चर्चित मानिन्छ । नोबेल समितले कुरानको सुराजस्तै उनको उक्त कविता चर्चित भएको जनाएको छ ।

    सन् २००५ मा प्रकाशित भएको उनको उपन्यास ‘डिजर्सन’ले उपनिवेश कालिन प्रेमकथा प्रस्तुत गर्छ । यो वियोगान्त कथालाई उनले उपनिवेशको रोमान्स समेत भन्ने गरेका छन् । उनको लेखनीमा आफू हुर्किएको र जन्मिएको इन्डियन महासागर क्षेत्रको दासत्व र दमनका चक्रहरुको अनुभव झल्किन्छ । पोर्चुगिज, इन्डियन, अरब, जर्मन र ब्रिटिस उपनिवेशको चक्रमा तान्जानिया टापु चेपिएको थियो ।

    गुनराहको लेखनीमा उनको निर्वासनकालको पीडा महसुस गर्न पाइन्छ तर, उनको आफ्नो भूगोलसँगको सम्बन्धलाई पनि देख्न पाइन्छ । उनको कामको सबैभन्दा महत्वपूर्ण कुरा भनेको उनको स्मरण हो । सन् १९८७ मा उनीद्वारा लिखित मेमोरी अफ डिपार्चरले अफ्रिका महादेशमा भएको असफल विद्रोहको कथा भन्छ ।

    गुनराहको पछिल्लो पुस्तक आफ्टरलाइभ्स सन् २०२० मा प्रकाशित भएको थियो जसले स्वर्गको अन्त्यको कथा भन्छ । सन् १९१९ मा अफ्रिकामा पूर्वी जर्मनीको उपनिवेश अन्त्य भएको सेटिङमा यसलाई लेखिएको छ ।

    सत्य र सरलताप्रति उनको समर्पण निकै लोभलाग्दो रहेको नोबेल समितिले लेखेको छ ।

  • हराएको प्रेमपत्र र नमेटिएका यादहरु

    हराएको प्रेमपत्र र नमेटिएका यादहरु

    फेसबुक स्क्रोल गर्दै थिए । वालमा ‘सेयर योर मेमोरी’ भनेर फेसबुकले सुझाएको एउटा फोटो देखियो । फोटो थियो– एसएलसी पास भएपछि स्कुलले राखेको विदाइ कार्यक्रमको । उक्त फोटोले मलाई एकैचोटि स्कुलजीवनतिर धकेल्यो, स्कुलसँगै त्योबेलाका केही रोचक घटनाहरु मानसपटलमा घुम्न थाल्यो ।

    टाउको वरिपरि माहुरी भुनभुनाएजसरी त्यो बेलाका मसिनादेखि मोटा सम्झनाहरु तँछाडमछाड गर्दै घुम्न थाले । बार्दलीमा लुकाएका ती प्रेमपत्रहरुको यादले चिमोट्यो । ब्ल्याकबोर्डमा शिक्षकलाई गाली गर्दै अनेक लेखेको, अरुलाई नै दोष थोपरेको, अरुले नै सरबाट पिटाइ खाँदा आफू भित्रभित्रै गद्गदिएको सम्झनाले नै पुलकित बनायो ।

    घरमाथिको सरकारी स्कुल । आमाले काखीमा च्यापेर स्कुल पुर्याएको, आमा घर फर्कन लाग्दा डाँको छाडी रोएको, सरमिसले फकाएको, साथीहरुले जिस्क्याएको । त्यतिबेला त्यो पीडा नै थियो होला, तर ती पीडाको स्मरण मात्रै पनि अहिले स्वादिलो लागिरहेछ ।

    एक बजे हाफ टाइमको घण्टी बज्न थाल्नेबित्तिकै हतारहतार खाजा खान घरतिर दगुरेको, आमाले बिहानको भात पस्केर दिएको, कहिलेकाहिँ खाजा नहुँदै भाँडा ठटाउँदै, रुँदै स्कुल फर्केको । आहा ! त्यो मसिना कुरामा पनि खुसी हुने, दुखी हुने र फकिने निर्दोष मन फिर्ता ल्याउन पाए म जे पनि गर्थें होला ।

    आकाशे रंगको सर्ट र नीलो फ्रक । आमाले माया गरेर सपक्क पारी कोरिदिएको कपाल, रातो रिबनको फुर्का, कसैको आँखा नलागोस् भनेर आमाले गाला वा च्यापुमा लगाइदिएको कालो टीको । मुसुमुसु हाँस्दै, फुर्कदै सुर्केनो पार्ने झोलामा किताब बोकेर घर–स्कुल गर्दाको त्यो खुसीको मूल्य कति अर्ब पर्ला ?

    सबैले कति राम्री भन्थे । कति ज्ञानी भन्थे । पढाइ पनि राम्रो थियो । अनुशासनको पुरस्कार पाउथेंँ । अतिरिक्त क्रियाकलापहरुमा पनि कहिल्यै दोस्रो हुन परेन । टोल–छिमेकका काका–काकी भन्थे– छोरी होस् त अनिशा जस्ती । पाँच रुपैयाँ पर्ने मयूर कापी पुरस्कार पाउँदा ब्रम्हाण्डकै सबैभन्दा ठूलो खुसी मिलेको अनुभूत गर्ने मेरो मनस्थिति केले बिगार्यो होला ? आज किन पाएका ठूलाठूला कुराले पनि मलाई खुसी दिन सक्दैन ? खुसी मबाट टाढा भयो कि म खुसीबाट टाढा भएँ ? आँखा रसायो ।

    सबैको प्रशंसाबाट फुर्कन्थें । तर फुर्किएको कसैले थाहा नपाओस् भनेर निहुरिन्थें । आज त्यसरी प्रशंसा गर्नेहरुले मलाई के सोच्दा हुन् ?

    घरमा पनि सबैको प्यारी थिएँ । हाम्रा तीन दिदीबहिनीमध्ये पनि म नै सबसे प्यारी थिएँ । तै पनि हामीलाई बाहिरफेर हिँड्न र घुम्न जान पारिवारिक अनुमति हुँदैनथ्यो । घरपछाडिको झ्याङमा वनमाराको मुन्टा टिपेर चुंगी बनाएर खेल्थ्यौं, थोत्रा मोजामा कोदोको भुस भरेर बल खेल्थ्यौं । त्यो वनमाराको पात र कोदोको भुससँग खेल्दाको आनन्द आज हजरौं पर्ने मोबाइलमा क्याण्डीक्रस खेल्दा पनि आउँदैन ।

    काठमाडौं बस्नुहुने बुवालाई एक कल फोन गर्न भोगेको सास्ती र बुवासँग बोलेपछि मिलेको खुसी शब्दमा वर्णन गर्न सक्दिनँ । आज सबैको हातमा मोबाइल छ, कुराकानी भइरहन्छ । तर, त्यो बेलाको जति खुसी केही गर्दा पनि अनुभूति गर्न सक्दिनँ ।

    कक्षा आठ पढेपछि गाउँमा पढ्ने अर्को स्कुल थिएन । माध्यमिक तहको शिक्षा हासिल गर्न एक घण्टा हिँड्नु पर्ने बाध्यता थियो । घरको काम सकेर स्कुल जान ढिला भयो भन्दै हाम फाल्दै हिँड्नु पर्ने । गर्मीमा अगांलोभरिका किताब बोकेर पसिना पुस्दै फर्कन पर्ने, त्यो उकालो । एक मुठी चिउरा र मकै झोलामा राखेर त्यो घना जंगलमा लुकाएर राख्ने हामी साथीभाइ । साह्रै कठिनका साथ पढाइलाई निरन्तरता दिँदै गएँ ।

    कक्षाकोठामा सबैभन्दा सानो छात्रा थिए म । साथीहरुले हो– हल्ला गर्दै कागजका डल्लाले हिर्काएका ती दृश्यहरु आँखामा आइरहन्छ ।

    एक्कासी एउटा घटनाको याद आयो । कक्षाकोठाको झ्यालमा बसेर बाहिरका दृश्य नियाल्ने गर्थे । एकजना मान्छेले मलाई एकोहोरो हेरिरहेको देखें ।

    एकदिन होइन, दुई दिन होइन । ऊ प्रायः उसैगरी मलाई एकोहोरो हेर्न थाल्यो । उसले हेरेको देखेर साथीहरुले पनि मलाई जिस्क्याउन थाले ।

    एकदिन एकजना साथीले मलाई एउटा कागजको चिर्कटो थमाइदियो । उसले उक्त कागज दिँदै भन्यो– ‘मेरो साथीले दिएको लभलेटर हो । पढ है !’ यति भनेर ऊ गयो ।

    म आत्तिएँ । मैले एउटी मिल्ने साथीलाई लभलेटर आएको सुनाएँ । घर फर्कदाँ जंगलमा लुकेर हामीले त्यो पत्र पढ्यौं । पत्र पढ्दा एकहिसाब डरसँगै उत्सुकता बढेको प्रष्टै याद छ । लेखेका अक्षरहरु याद नभए पनि भाव सम्झँदा अहिले पनि मन फुरुङ्ग हुन्छ ।

    त्यो पत्र च्यात्न मन लागेन । घर लगेर बार्दलीको कठ्पलमा घुसारें । बेलाबेलामा कसैले नदेख्ने गरी खुसुक्क पढेर फेरि त्यहीं राख्न थाले । पत्र पढ्दापढ्दै म पनि भावुक भएछु । प्रतिक्रिया दिनु पर्छ लाग्यो । लेखें– यो हाम्रो पढ्ने बेला हो, लभ गर्ने होइन । म तिमीलाई साथीको हिसाबमा मात्रै सोच्छु ।

    मेरो जवाफले ऊ निरास भयो । झ्यालबाट हेर्न पनि छाड्यो । हेर्छ कि भन्ने आश लाग्थ्यो, तर हेर्दैनथ्यो ।

    ऊ पहिलाको भन्दा बेग्लै भएको थियो । पहिला जस्तो साथीभाइसँग खेल्न छाड्यो । एकोहोरो हुन थाल्यो । सायद मैलाई नै सम्झिएर टोल्हाउँथ्यो ।

    यस्तैमा एसएलसी आयो । नतीजा आयो । हामी दुवै पास भएछौं । त्यसपछि ऊ कता गयो कता ? तर, उसको याद अझै ताजै छ । एकचोटि राम्रोसँग बोल्नै नपाइ ऊ टाढा भयो । सायद, आज पनि मलाई सम्झँदै छ, मैले जस्तै ।

    ऊ टाढिए पनि उसको त्यो पत्र मैले सुरक्षितसाथ बार्दलीमा राखेको थिएँ । २०७२ सालमा भूकम्पले घर भत्काउँदा मेरो प्रेमपत्र कहाँ पुग्यो होला ! तर अहिले पनि पहिला घर भएको ठाउँमा पुग्दा त्यहीं पत्र र त्यहीं  यादले गिजोल्छ ।

    आज लाग्छ, अहिले प्रविधिको यो जमानामा कहिँकतैबाट उसले यो मेरो ब्लग पढ्नेछ भन्ने आश छ ।

  • कुलमान सर, तपाईंलाई इन्टरनेटको तार काट्न प्राधिकरण पठाएको हो ?

    कुलमान सर, तपाईंलाई इन्टरनेटको तार काट्न प्राधिकरण पठाएको हो ?

    कार्यालयको कामको सिलसिलामा एक जना साथी गत शुक्रबार पोखराबाट काठमाडौं पुग्नुभयो । कामकै विषयमा कुराकानी भयो । मैले इमेलबाट केही सामग्री प्रेषण गर्नुपर्ने थियो, गरें ।

    शनिबार यसमा खासै ध्यान पुगेन । उक्त इमेल साथीले चितवन पठाउन पर्ने अवस्था आएछ । तर आज बिहानसम्म प्रतिउत्तर नआएपछि फोनमा कुराकानी भयो । कारण थाहा भयो, इन्टरनेटको तार काटेका कारण समयमा इमेल हेर्न पाइएन ।

    मोबाइल डाटामार्फत तत्कालका लागि समस्या समाधान भयो । उता चितवनतिरको कुरा पनि सुनियो । कथा एउटै परेछ । कारण उहीं तार काटिएको । अनि मनमा अनेक प्रश्न खेल्न थाले– हामी कति सवेदनशील छौं, हाम्रा सरोकारवाला निकाय कति जवाफदेही र उत्तरदायी छन् भनेर ।

    अहिलेको हाम्रो दैनिकी अत्यधिक इन्टरनेटमा निर्भर हुन पुगेको छ । साथै दैनिकीलाई सहज पनि बनाइदिएको छ । नेपाल टेलिकमका अतिरिक्त निजी सेवा प्रदायक संस्थाहरुले इन्टरनेटको पहुँच बढाउनमा ठूलो योगदान पुर्याएका छन् ।

    तर अहिले प्राधिकरणको पोल भाडा, उसले पाउने भुक्तानी अनि तार काटेपछि मारमा परेका उपभोक्ताको निरीहताले हाम्रो समाज र राज्य प्रणालीलाई नै गिज्याइरहेको छ । सरकार विस्तारमै अल्झेको सरकार र सरकारलाई गाली गर्नमै व्यस्त–मस्त प्रतिपक्षलाई यस्ता झिनामसिना कुरामा ध्यान दिन समय नै छैन । उनीहरुबाट त के आश गरिरहनु ? ठूलो जनअपेक्षाका माझ प्राधिकरण आउनुभएका कुलमान सरसँग जनताका धेरै आशा–अपेक्षा हुनु त स्वभाविक नै हो । तर कतै हामीले ती अपेक्षाका भारी ठूलो बनाइदिएर कुलमान सरलाई झन् बोझ थपिदिएनौं ?

    नेपाल विद्युत् प्राधिकरणले प्रवर्द्धन गरेका र निजी कम्पनीबाट उत्पादित बिजुलीले नपुगेर भारतबाट बिजुली खरिद गर्दा भुक्तानी महङ्गो हुन गइ बल्लतल्ल नाफामा गएको कम्पनीको नाफाको ग्राफ घट्दोक्रममा छ ।

    माथिल्लो तामाकोशीको व्यवसायिक उत्पादन शुरुसँगै जडित क्षमता १९ सय मेगावाट पुग्ने भएको छ तर माग भने सरदर १३५० मेगावाट मात्र हुनेहुँदा ५५० मेगावट विद्युत्को उच्चतम व्यवस्थापन हुनु जरुरी छ ।

    हाल हिउँदयाममा विद्युत् भारतबाट नै आयात हुँदै आएको छ । साथै प्रसारणलाइनका ठाउँ–ठाउँका विवाद र अपुरा कामले निजी ऊर्जा उत्पादकसँग सम्झौता गरेर पनि विद्युत् लाइ प्रसारणलाइनमा जोड्न नसक्दा ‘हर्जानामा’ प्राधिकरण फस्न थालेको छ ।

    प्राधिकरणले सबै निजी क्षेत्रको विद्युत खरिद् सम्झौता ‘टेक अर पे’ अनुसार गर्दै आएको छ । केही वर्षअघि ‘टेक एण्ड पे’को मोडल अपनाइए आए पनि हाल सम्झौताबमोजिमको विद्युत् लिए पनि, नलिए पनि भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैले बर्खायाममा प्राधिकरणले निजी प्लाण्ट बन्द गरेर भए पनि बिजुली खरिद गर्नुपर्ने बाध्यता छ । यहीं व्यवस्थालाई टेकेर खानीखोला जलविद्युत् आयोजनाको वित्तीय विवरण र कम्पनीको शेयर मूल्यको कथा हाम्रोसामू ताजै छ ।

    फेरि कोभिडका कारण औद्योगिक माग सोचेअनुरुप हुन नसक्दा विद्युत् खपत खासै बढेको छैन । ठूला–पुराना बक्यौताको उल्झन नियमन आयोगदेखि मन्त्रालय अनि सर्वोच्च अदालतसम्म पुगेको देखिन्छ । कुलमान सरलाई अघिल्लो कार्यकाल भन्दा सकेसम्म राम्रो, नभए त्यसलाई जोगाउने गरी काम गर्नुपर्ने ‘नैतिक दबाब’ छ ।

    प्राधिकरणको नाफामा बढोत्तरी गर्नुपर्ने, निर्देशक ज्यू र उहाँलाई पुनः नियुक्ति गर्नेहरुको ईज्जत पनि धान्नैपर्ने अनि सके भारततर्फ बिजुली बेच्ने, नसके किन्ने कुरालाई घटाउने चुनौतीका बीचमा एउटा आइडिया फुरेछ ‘पोल भाडामा’ ३५०% को वृद्दि !

    अरुको सामान प्रयोग गरेपछि सर्तअनुसारको भुक्तानी अनिवार्य छ भन्नलाई कानूनको ज्ञाता हुनु पर्दैन । तर टेलिभिजन र ईन्टरनेट व्यवसायी अर्को घाँनमा फस्न आए । उपभोक्ता रकम बुझाउन एकदिन ढिला हुँदा ईन्टरनेटको ‘कनेक्शन’ कटाइदिएर कयौं दिनसम्म दुख दिने, एउटा गतिको ईन्टरनेट दिने सम्झौता गरेर त्योभन्दा कम गतिको बेच्ने अनि अरुको सामान प्रयोग गरेपछि भाडा पनि नतिरी ठूलो कुरा गर्ने, जुलुस निकाल्ने र मिडियाबाजीमा रमाउने सेवा प्रदायक पनि कम्तिका छैनन् । तर त्यसको सजायँ तार काटेर हुँदैन ।

    प्रसारणलाइन बनाउँदा एक व्यक्तिले आफ्नो निजी जग्गाको बारेमा र सुरक्षाको बारेमा प्रश्न उठाएर कुलमान सरहरुले तार काटे जसरी ती ठूला पोल ढलाउन सर्वसाधारण लागे भने समस्याको हल कसरी होला ? ऊ बेलामा माननीय मन्त्री गोकर्ण विष्टले तार काटे जसरी सबै बेलामा सबै खालको तार काटेर न राजनीति सप्रन्छ न त आयमा नै वृद्धि हुनेछ ।

    तसर्थ पोलभाडा समय सापेक्ष होस् । सबै निकाय उत्तरदायी र पारदर्शी बनुन् । पोल भाडा बढेको कारण देखाएर यही गति र गुणस्तरको इन्टरनेटको मूल्य बढाएर बेच्ने दुस्साहस सेवा प्रदायकहरुले नगरुन् ।

    उपभोक्ता हकहित भनेर विभिन्न नाममा रोइलो गर्नेहरु सचेत बनुन् । तत् निकायका राजनीतिमा आमउपभोक्तालाई मारमा नपारियोस् । काटिएका ईन्टरनेट र टेलिभिजनका तारहरु तुरुन्त जोड्ने व्यवस्था होस् । हामीले हाम्रा निकायबाट गरेका धेरै अपेक्षा तपाईंहरुले पूरा नगरेपनि केही गुनासो छैन तर कानून र नियमले न्यूनतमरुपमा गर्नू भनेर राखेका व्यवस्थालाई कार्यान्वयन गरिदिए हामी धन्य हुने थियौं ।

    ट्वीटरः @seabaji

  • किन अचेल मर्ने कुरा मात्रै गर्छन् प्रचण्ड ?

    किन अचेल मर्ने कुरा मात्रै गर्छन् प्रचण्ड ?

    बिहीबार काठमाडौंमा अखिल क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावुक एवम् पीडित मुद्रामा भने– अब आत्महत्या गर्ने कि फेरि उठ्ने भन्ने दोसाँधमा पुगेको छु ।

    उनी भावुक मात्रै भएनन्, भाषणका क्रममा पटक-पटक उत्तेजित र आक्रोशित पनि भए ।

    केही साताअघि अर्को एक कार्यक्रममा उनले चिन्ता व्यक्त गरेका थिए– माओको जस्तै मर्नेबेलामा आफूसँग कोही नहुने पो हुन् कि !

    यो मात्रै होइन, उनका पछिल्ला भाषण कि त अतिउत्तेजित कि अतिभावुक हुने गरेका छन् । कुनैबेलामा क्रान्तिकारी नेतामा आएको यो अस्थिर मनस्थिति स्वभाविक होइन ।

    प्रगतिशील पत्रकार दीपेन्द्र रोकायाले आफ्नो पुस्तक ‘नाफाको जीवन’मा प्रचण्डका सम्भावित चार अवसानबारे विश्लेषणसहित अनुमान गरेका छन् । जहाँ उनले प्रचण्डले आत्महत्या गर्नसक्ने सम्भाबना प्रबल भएको लेखेका छन् ।

    माओवादी सशस्त्र द्वन्द्वमा प्रत्यक्ष सहभागी भएका पत्रकार रोकायाले पुस्तकमा लेखेका छन्– प्रचण्डका चार विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेतामात्र हुन्छन् । दुई, हेग पुर्याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन् ।’

    रोकायाले त्यतिकै यस्तो आँकलन गरेनन् । प्रचण्डसँग प्रत्यक्ष सम्बन्ध र उठबस भएका उनले बुझबुझपूर्ण ढंगमै पुस्तकमा प्रचण्डको अवसानबारे लेखेका होलान् । रोकायाले त्यस्तो लेख्नु र प्रचण्डले अचेल निरन्तर ‘मृत्यु चिन्तन’ गर्नु संयोग मात्रै नहुन सक्छ ।

    एमालेभित्र छिरेर ठूलै भाग खान खोजेका प्रचण्डको सपना पूरा भएन । ठूलै भाग लुछेर निस्कने महत्वकांक्षा पूरा नभएपछि उनी नराम्ररी पीडामा परे ।

    प्रष्टै छ कि, प्रचण्ड एक अतिमहत्वाकांक्षी नेता हुन् । शिक्षण छाडेर देशको व्यवस्था परिवर्तन गर्ने हिम्मतका साथ युद्धमा होमिनु र नेतृत्व गर्नु चानचुने कुरा थिएन ।

    ‘बन्दुकको नालबाट सत्ता कब्जा गर्ने’ चरम महत्वकांक्षा बोकेका प्रचण्डले युद्धको नाममा धेरैलाई बलि चढाए । अर्बौंको विकासे संरचना ध्वस्त बनाए । बन्दुकको नालबाट सत्ता कब्जा सम्भव नभएपछि सम्झौतामार्फत् शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डले संसदलाई हतियार बनाउने चाल चाले । उनी भन्थे– क्रान्तिको स्वरुप मात्रै परिवर्तन भएको हो, सत्ता कब्जाको नीति उहीं छ ।

    उनको लहैलहैमा धेरै समयसम्म नेता–कार्यकर्ता लागिरहे । २०६४ सालको संविधानसभा निर्वाचनमा उनको दल सबैभन्दा ठूलो भयो । त्यसपछि उनको महत्वाकांक्षा झन् बढ्यो । भन्थे– अब १० वर्ष कसैले पनि माओवादीलाई नचिहाए हुन्छ । तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी नराम्ररी खुम्चियो । त्यसले प्रचण्डलाई ठूलै धक्का दियो ।

    त्यसपछि माओवादी कमजोर हुने क्रम झन् बढ्यो । युद्धका सारथि मोहन वैद्य, बाबुराम भट्टराई लगायतका प्रभावशाली नेता माओवादीमा रहन सकेनन् । कुरा समाजवादी गरे पनि तानाशाही स्वभावका प्रचण्डले आफ्नै सहयोद्धालाई टिकाउन नसक्नुको एउटै कारण हो– जहाँ पनि आफैं हाबी हुने, अरुलाई नगन्ने !

    २०७४ सालको चुनावमा एमाले र माओवादी गठबन्धन भएपछि धेरै ठाउँमा माओवादीका उम्मेदवारले चुनाव जिते । नत्र, माओवादीले चुनाव जित्ने सुनिश्चित निर्वाचन क्षेत्र नै थिएन भन्दा पनि हुन्छ ।

    गठबन्धनबाट धेरै सिट जितेपछि हौसिएका प्रचण्डले एमालेसँग पार्टी एकता नै गरे । कतिले माओवादीलाई एमालेमा मिसाएको भनेर आलोचना गरे । सारमा त्यहीं भए पनि प्राविधिक रुपमा त्यस्तो थिएन । तर, एमालेसँगको एकता प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्तास्वार्थबाट नै प्रेरित थियो । त्यहाँ कुनै विचार, सिद्दान्तको कुरा थिएन ।

    एमालेभित्र छिरेर ठूलै भाग खान खोजेका प्रचण्डको सपना पूरा भएन । ठूलै भाग लुछेर निस्कने महत्वकांक्षा पूरा नभएपछि उनी नराम्ररी पीडामा परे ।

    यसरी सबैले साथ छाड्दै जाँदा अन्तिममा आफू एक्लै परिने पो हो कि भन्ने चिन्ता प्रचण्डलाई हुनु नौलो होइन ।

    माधव नेपालहरुलाई माओवादीमा ल्याउने उद्देश्य त पूरा भएन, भएन– माओवादीका बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट जस्ता नेताले पनि उनको साथ छाडे । अहिले गाउँगाउँमा माओवादीका कार्यकर्ता एकपछि अर्को गर्दै एमालेतिर लागिरहेका छन् ।

    यसरी सबैले साथ छाड्दै जाँदा अन्तिममा आफू एक्लै परिने पो हो कि भन्ने चिन्ता प्रचण्डलाई हुनु नौलो होइन ।

    परिवारिक रुपमा पनि उनको स्थिति गतिलो छैन । श्रीमती सीताको स्वास्थ्यस्थिति जटिल छ । अल्पायूमै छोराको मृत्यु भयो । न घर–परिवार स्वस्थ्य, न राजनीतिमा सहयोद्धाहरुको साथ ! उनमा दिक्कपना बढ्नु स्वभाविकै हो ।

    अतिमहत्वाकांक्षा राखेर, त्यो पूरा नभएपछि मानिसमा निराशा जाग्ने कुरा चिकित्सकहरुले पनि बताउँदै आएका छन् ।

    निरन्तर असफल भएको मानसिकताले मनस्थिति अस्थिर बनाउँछ, र चिडचिडाहट बढाउँछ भन्ने गरिन्छ । त्यसैले प्रचण्ड उत्तोजित र भावुक हुनुभन्दा संयमित हुन बढी आवश्यक छ ।