Category: साहित्य / ब्लग

  • पैसामा किन्न सक्छौ पारिवारिक मिलनको आभास ?

    पैसामा किन्न सक्छौ पारिवारिक मिलनको आभास ?

    करिब १५ महिनाअघिदेखि हो, सानो छोराको बोली प्रस्ट नै थिएन त्यसबेला । ऊ मलाई बाबासँग लग्दिनु भन्दै जिद्दी गथ्र्यो । अहिले ऊ नै झन्डै पाँच वर्ष हुन लागिसक्यो । उसको जापान जाने तथा बाबा र ममीको हात समातेर घुम्ने सपना झन् धान्नै नसकिने तेज भएको छ । ठूलो छोरो पनि बाबा भएको ठाउँमा जान हतारिएको छ । पहिले त म उसको बालहठलाई सम्झाउन भन्ने गर्थे, ‘पख सानु, जापान खुल्छ अनि जानी हस् ।’

    विस्तारै कोरोना आतंक सेलाउँदै गएपछि जापान खुलेको पनि दुई महिना बित्न लागिसक्यो । तर नेपालस्थित जापान एम्बेसीले अन्धभक्त भएर जिम्मेवारी सुम्पेको भीएफएसको काम गर्नै शैली, ढिलासुस्ती र अस्तव्यस्तताले हामी डिपेन्डेन्टले जति कोसिस गरे पनि यो अपोइन्टमेन्ट नामको अनलाइन सिस्टम पूरा गर्न सकेका छैनौं । महङ्गो पैसा लिएर अपोइन्टमेन्ट लिइदिनेको व्यवसाय चौपटै मौलाएको छ । जति चोटि जहाँ कम्प्लेन गरे पनि न त एम्बेसीले चित्तबुझ्दो जवाफ दिन्छ न कि भीएफएसले ।

    पारिवारिक मिलनको प्रतीक्षाको वेगलाई धान्न नसक्नेहरू महङ्गो पैसा तिरेर जापान पुगिसके । सुरक्षा र डरको कारण पैसा तिरे पनि कोही आफ्नो मुख खोल्न चाहँदैनन् । जसोतसो जापान पुगिसकियो अब किन बेकारको तनाव लिने भनेर मुखमा बुझो लाएर बसेका छन्, लुटेराहरूलाई लुटाएर जापान जान तयारीमा भएका र जापान पुगिसकेकाहरू । पत्रकारहरूलाई भन्दा यस्ता लुटतन्त्र धैरै छन् के साध्य भनेर पन्छिन्छन् मात्रै ।

    प्रमाणहरू प्रशस्त छन् र पनि हेरेर बस्नु पर्ने यो देश, यहाँ न्याय पाइन्न बरु उल्टै पीडामाथि पीडा थपिन्छ । त्यही भएर पैसाकै चलखेलमा दुई महिनाअघि सिओइ आउनेहरूले भिसा पाइसके तर पन्ध्र महिनाअघि सिओइ आएर त्यही एउटा अपोइन्टमेन्ट नामको के अनलाइन प्रक्रिया पूरा गर्न नसकेर धेरै आत्माहरू विक्षिप्त बनिसकेका छन् ।

    डिपेन्डेन्टका लागि अझै गारो छ भन्ने जवाफ दिने भीएफएसमा एउटा अनलाइन अपोइन्टमेन्ट लिएको ५० हजारसम्म खानेहरूको कसरी ४० देखि ५० वटासम्म संख्या दर्ता हुन्छ । अनि वास्तविक पीडितका लागि जहिल्यै नो सलट अभाएलेबल भन्छ । यो त सीधै लुटतन्त्र होइन र ? सञ्जालभरि जहाँसुकै रोइलो आइरहँदा, पैसा खानेहरू फस्टाइरहँदा किन वास्तविक पीडितको पीडा सम्बोधन गर्न अर्काे विकल्पको खोजी गर्न सक्दैन यो भीएफएस र एम्बेसी ? किन रहस्यमय बनाएर पारिवारिक मिलनका लागि तड्पिएकाहरूलाई पीडामाथि पीडा थपिरहेको छ ? यो लुटतन्त्र कहिलेसम्म हाबी हुने हो ? लुटेराहरू सञ्जालभरि अपोइन्टमेन्ट अभाइलेबल भनेर विज्ञापन गरेर खुलेआम लुटिरहेका छन् । यस्ता लुटेराहरू छ्यापछ्याप्ती छन् ।

    ४० दिन ल्यापटप अगाडि राखेर सयौँ घण्टा त्यही अपोइन्टमेन्ट नामको सिस्टम पूरा गर्न बसेकाहरू ओठ–तालु सुकाएर बसिरहँदा धैर्यताको बाँध टुटेर फुट्ने बेला भैसकेको छ । सम्बन्धित निकायमा फोन गरे उठ्दैन । गुनासो गरे सुनिँदैन । दलालहरूले आफूलाई लुट्नका लागि अन्तिम विकल्प बनाइरहँदा पनि न पत्रकार न त सरोकार राख्ने निकायको ध्यान जान्छ ?

    हुन त यो आम चासोको विषय नहोला तर जो पीडित छन् उनीहरूका लागि यो महत्वको विषय हो । अब भन दलालहरू ? तिमीहरूले भीएफएसको साइट नै ह्याक गरेर सयौं संख्यामा बुक गरेर राखेको अपोइन्टमेन्टले परिवारसँग भेट्नका लागि तड्पिएका आत्मालाई कति आघात पुर्याएको छ ? ती आत्माहरूको श्रापले भोलि तिमीहरु पनि आफ्ना परिवारसँग बिछोडिनु प¥यो भने अहिले लुटेको सम्पत्तिले खुसी दिन्छ ?

    अनि प्लेन टिकट काट्ने दलालहरू सुन, ७० हजारमा पाइने प्लेन टिकट एक लाख ५० हजारसम्म मनलाग्दी भाउमा बेचेर जति सक्छौ लुट यो देश लुटेराहरूकै देश हो भनेर गायक पशुपति शर्माले पहिले गीतमा गाइसकेका छन् । कानुन निरीह, खबरदारी गर्ने निकाय निरीह, सबै निरीह देखेर खुलेआम लुटेका होलान् । एक दिन अवश्य भरिन्छ तिमीहरूको पापको झोली । पृथ्वी गोलो छ । अरुलाई पीडामा पारेर लुटेको धन तिमीहरूका लागि अभिसाप नबनोस् । जय डिपेन्डेन्टहरू ! जय पीडित आत्माहरू !

    दुई वर्ष धैर्य ग¥यौं । अब एक वर्ष गरौं । कसैले हतारिएर ती लुटेराहरूलाई पैसा नबुझाऔं । एकदिन भेट हुन लेखेको रहेछ भने हुन्छ अवश्य । जापानले आफ्नो सीमा नाका मार्च १ तारिखबाट खोल्यो तर ४४ दिन कम्प्युटरमा लगातार बस्दा पनि सिओइ लिएर जापानका लागि प्रतिक्षा गरिरहेका डिपेन्डेन्ट र वर्किङका लागि सिओइ पाएकाले अपोइन्टमेन्ट पाएका छैनन् । कारण भीएफएसमा काम गर्ने कर्मचारीको मिलेमतोमा सिस्टम ह्याक गरेर सित्तैमा पाउने अपोइन्टमेन्ट प्रतिगोटा ३० देखि ३५ हजारसम्म खुलेआम बेचिरहेका प्रमाणहरू सञ्जालभरि छन् ।

    यो विषयमा मेलमार्फत रिपोर्ट गर्दा हालै एउटा विज्ञप्ति निकालेर पन्छिएको छ एम्बेसी । भीएफएसमा गुनासो राख्दा स्टुडेन्ट धेरै भएकाले नसकेको भन्ने जवाफ दिन्छ । सुरुमा कसल्टेन्सीहरूले चौतर्फी दबाब नदिउञ्जेल स्टुडेन्टबाट पनि धेरै रकम यसरी नै असुले । तर अहिले कन्सल्टेन्सीले स्टुडेन्ट नरोकिऊन् भनेर कडा गरेपछि डिपेन्डेन्ट र कुकबाट असुलिरहेका छन् । तर हाम्रो भीएफएससँग भित्री लिन्क छ भन्दै अपोइन्टमेन्ट लिने दलालहरू अपोइन्टमेन्ट अभाइलेबल भन्दै विज्ञापन गरेका गरेयै छन् ।

    यो कारण महिनौंदेखि प्रतिक्षामा रहेकाहरू पैसा तिर्न बाध्य हुँदै गएका छन् । मसँग थुप्रै प्रमाण छन् । हजारौंलाई धरधरी रुवाएर सित्तैमा पाइने अपोइन्टमेन्टलाई मुस्किल बनाएर बेच्ने दलालहरू छ्याप्छ्याप्ती छन् । पैसा तिर्नेले अपोइन्टमेन्ट पाउने तर पैसा नतिर्ने दुई वर्षदेखि जापानको सिओइ लिएर छटपटाएर बस्नुपर्ने ? आखिर कहिलेसम्म ? कहिलेसम्म ? नेपालको जापानी एम्बेसी र भीएफएसले जवाफ देओस् ।

  • जीवनको अन्तिम क्षणमा सूर्यबहादुरले सुनिललाई सुनाएका केही प्रसंग

    जीवनको अन्तिम क्षणमा सूर्यबहादुरले सुनिललाई सुनाएका केही प्रसंग

    काठमाडौं । २०७१ चैत ५ गते बिहीबार सूर्यबहादुर थापाले आफ्नो ८८ औं ‘जन्मदिन’ मनाए । जन्मदिनको शुभकामना दिन पूर्वप्रधानमन्त्रीहरू सुशील कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), केपी शर्मा ओली, बाबुराम भट्टराईलगायत थापा निवास पुगेका थिए । थापालाई शुभकामना दिन सबै पार्टीका प्रमुख नेता र विभिन्न देशका राजदूत पनि थापा निवास गएका थिए ।

    शुभकामना दिन गएका सबै नेताहरूलाई थापाले एउटै प्रश्न गरे- ‘६२/६३ को राजनीतिक परिवर्तनपछि मंसिर ४ गते जनतालाई दिने भनिएको संविधान किन दिन सकिएन ? नयाँ बन्ने संविधानले जनजाति, मधेसी, दलित र महिलालाई समान अधिकार दिएन भने मुलुकमा स्थायित्व र विकास हुन सक्छ ?

    तत्कालीन राजनीतिका पाका नेता सूर्यबहादुर थापाको त्यो ८८औं जन्मदिन र राजनीतिक भेटघाट नै उनको जीवनको अन्तिम भेटघाट र मुलुकको राजनीतिप्रतिको अन्तिम सुझाव बन्न पुग्यो ।

    पञ्चायतकालमै थापाको बारेमा एउटा निकै चर्चित कहावत थियो- मुलुकमा संकट पर्‍यो भने सूर्यबहादुरलाई सम्झिनू । राजाहरूले भनेको मानिने यो भनाइ बेलाबेला पुष्टी पनि भएकै हो । तत्कालीन राजा महेन्द्र र वीरेन्द्रले मात्र होइन ज्ञानेन्द्रले पनि संकटको बेला सूर्यबहादुरलाई देशको बागडोर जिम्मा लगाए । तर, उनी राजाका सदाबहार प्रियपात्र भने कहिल्यै बन्न सकेनन् वा खोजेनन् ।

    बरु उनले पञ्चायतको दबदबाका बेला कहिले ‘दरबारभित्रको भूमिगत गिरोह’ को विरोध गरे भने कहिले काँचो वायुको कुरा गरे । अर्थात उनी पञ्चायतभित्रकै पनि विद्रोही थिए । भूमिगत गिरोह भनेर उनले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र महारानी ऐश्वर्याप्रति कटाक्ष गरेका थिए ।

    थापा नेपाली राजनीतिका कहिल्यै नबिर्सने पात्र त हुन् नै,उनले जीवनको अन्तिम क्षणसम्म पनि राजनीतिप्रति सक्रियता देखाए । उनको अन्तिम जन्मदिनका अवसरमा राखेको चासो र सुझाव अहिले पनि प्रकट हुने गर्छ । उनले संविधानप्रति आउन सक्ने असन्तुष्टिका स्वरलाई पहिले नै संकेत गरेका थिए ।

    आज सूर्यबहादुर थापाको निधनको ७औं स्मृति दिवसका अवसरमा उनको जीवनका अन्तिम क्षणको बारेमा छोरा सुनिल थापाको स्मृतिसहित केही प्रसंगहरू आज पनि उल्लेख्य छन् ।

    सूर्यबहादुरबारे सम्झना

    वि.सं. १९८४ सालमा धनकुटाको मुगामा जन्मिएका सूर्यबहादुर थापा राजा महेन्द्र, बीरेन्द्र र ज्ञानेन्द्र गरी तीन राजाहरूको शासनकालमा पाँचपटक नेपालको प्रधानमन्त्री भए । राजनीतिक जीवनमा मान्छेले अनेक प्रकारका उतार चढावहरू व्यहोर्नुपर्छ भन्ने उदारण हुन् सूर्यबहादुर थापा । पञ्चायती व्यवस्थामा दरबारसँग पटक-पटक संघर्ष गरी जेल जिवन बिताएका थापा जीवनको उत्तरार्द्धमा गणतन्त्रवादी भए ।

    पूर्वपञ्चहरूले अझै पनि गणतन्त्र स्वीकार गरेका छैनन्,बल्ल कमल थापा राप्रपा अध्यक्षमा हारेपछि गणतन्त्रवादी बन्दैछन् । तर सूर्यवहादुर थापाले भने जनआन्दोलन लगत्तै नेपालमा राजतन्त्रको युग सकिएका बताएका थिए । उनी दोस्रो संविधानसभाको पहिलो बैठकमा पनि जेष्ठ सदस्यको हैसियतले अध्यक्षको कुर्सीमा बसेर गणतन्त्र घोषणा गरे ।

    विसं २०१५ सालमा ३१ वर्षको उमेरमा थापा पहिलो संसदीय चुनावमा धनकुटाबाट स्वतन्त्र उमेदवारका रूपमा चुनाव लडे । त्यो चुनावमा थापा नेपाली कांग्रेसका उमेदवार लीलानाथ पाध्यासँग ९ सय ९ मतले पराजित भएका थिए । यो निर्वाचनपछि गठित विपी कोइरालाको सरकारलाई तत्कालीन राजा महेन्द्रले दुई वर्षमै ‘कू’ गरका थिए ।

    महेन्द्रले कू गरेको ३ वर्षपछि नै सूर्यबहादुर थापाले देशको बागडोर सम्हाल्ने मौका पाए । २०२१ सालमा ३७ वर्षको उमेरमै नेपालको प्रधानमन्त्री बनेका थापा त्यसपछि पटकपटक गरी अन्तिमपटक ७६ वर्षको उमेरसम्म प्रधानमन्त्री बने ।

    राजा महेन्द्रको निधनपछि सूर्यबहादुर थापा दरबारको विरोधमा उत्रिए । दरबारले उनलाई जेल हाल्यो । जेलमा पनि थापाले भोक हड्तालको आन्दोलन जारी राखे । संघर्ष र जेल सजायको जीवन बिताउँदै आएका सूर्यबहादुर थापा सबैभन्दा कान्छो उमेरमा प्रधानमन्त्री बन्ने नेपालका नेतामा उनी पहिलो हुन् ।

    २०३६ सालमा वहुदल कि निर्दल भन्ने बारेमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला जनमत संग्रह गरियो । जनमत संग्रहमा पञ्चायत जिताउन थापाले शक्तिको दुरूपयोग गरेको आरोप पनि लाग्यो । राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राख्थे ।

    २०३६ सालको जनमत संग्रहअघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गरेका थिए । जनमत संग्रहमा बहुदल हारेपछि ०३८ सालमा भएको संसदीय चुनावमा सूर्यबहादुर थापाले धनकुटाबाट कुल खसेको ४६ हजार मत मध्ये ४० हजार ५ सय ल्याएर विजयी भएका थिए ।

    विजयपछि उनी फेरि देशको प्रधानमन्त्री बने । तर, त्यातिबेला थापा र दरबारवीच दुरी बढ्यो । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह नेतृत्वको ‘भूमिगत गिरोह’ले प्रधानमन्त्रीबाट बर्खास्त गर्न खोजेपछि सूर्यबहादुर थापाले पाँचवर्षे कार्यकाल पूरा नहुँदै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि पञ्चायतकाल रहुञ्जेल दरबारले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बन्न दिएन ।

    प्रजातन्त्र पुनःस्थापना पछि पनि २०५४ सालमा नेपाली कांग्रेसको समर्थनमा थापा प्रधानमन्त्री बनेका बनेका थिए । राजा ज्ञानेन्द्रको शासनकालमा पनि उनी प्रधानमन्त्री बने । छर-छिमेककी र विदेशीहरूसँग पनि राजनीतिमा सुझबुझ गरी समझदारी राख्ने, मुलुकमा भएको राजनीतिक परिवर्तनलाई स्वीकार्नेमा थापा नेपालका केही परिपक्व राजनीतिज्ञ मध्ये एक मानिन्छन् ।

    पाँचपटक प्रधानमन्त्री

    शेरबहादुर देउवा ज्योतिषीले आफूलाई सातपटक प्रधामन्त्री बन्ने भविष्यवाणी गरेको सुनाउँछन् । उनी पाँचौ कार्यकालमा छन् । गिरिजाप्रसाद कोइराला पनि पाँचपटक प्रधानमन्त्री बनेका थिए ।

    सूर्यबहादुर वि.सं. २०२१-२०२३, २०२३-२०२५, २०३६-२०४०, २०५४-२०५४ र वि.सं. २०६०-२०६१ गरी पाँचपटक नेपालको कार्यकारी तथा प्रधानमन्त्री बनेका थिए । थापाले नेपाली राजनीतिमा विभिन्न युगहरूलाई एक्लै प्रतिनिधित्व गर्दै करिब ६० वर्ष सक्रिय राजनीति गरे । ८८ वर्षको उमेरमा पनि उनी जल्दोबल्दो, गहुँगोरो, अग्लो र बोल्दा प्रस्ट बोल्ने र कसैसँग नडराउने, अनुहार जुधाएर बोल्थे र त्यही स्वरूपमा बिदा भए ।

    थापा नेपाली राजनीतिका सधै चर्चामा रहे । कहिले सकारात्मक कामले कहिले नकारात्मक । अनुदारीवादी शासक,छिन्ताङ हत्याकाण्डजस्ता विषय उनीमाथिका नकारात्मक बिम्ब हुन् । तर, पूर्वाञ्चलको विकासमा उनी स्मरणीय छ । उनले गृह जिल्ला धनकुटालाई पूर्वाञ्चलको सदरमुकाम बनाएका थिए ।

    कोइराला परिवारको सान्निध्यमा हुर्किए पनि थापा कांग्रेस बनेनन् तर छोरा सुनिल थापा अहिले कांग्रेस नेतृत्वमा छन् । कांग्रेस नबने पनि सूर्यबहादुर थापाले वीपी कोइरालादेखि गिरिजाप्रसादसम्म सबैको मान मर्यादा कायम राखे र पारिवारिक सम्बन्ध बिगारेनन् ।

    थापाले २०३८ सालमा धरान-धनकुटा सडक बनाए । हाल राजारानीबाट पाँचथर जाने सडक पनि यसमै जोडिएर निर्माण कै कार्यमा छ । धनकुटामा बिजुली, सडक, सिँचाइको कुलो, स्वास्थ्य, शिक्षाको लागि उनले धेरै काम गरेका छन् । ०३८ सालमै धनकुटाका अधिकांश स्कूलमा फुसको छाना विस्थापित गरी टिनको छाना लगाउने काम उनैले गरे ।

    त्यो बेलाका पूर्वाधार हाल यथावत नै छन् । त्यतिबेला बनाएका खानेपानीका ट्यांकी, धारा यथावत छन् । हाल धेरैको मर्मत पनि हुन सकेको छैन । धनकुटा बजार, महालक्ष्मी नगरपालिका, आले, कुरेला जस्ता ठाउँमा अहिले पनि त्यही पानी आउँछ ।

    ३० को दशकमा धनकुटामा भोकमारी लागेको लाग्यो । त्यो बेलाको भोकमारीमा सूर्यबहादुर थापाले आँटा, दूध, खाध्यान्न लिएर धनकुटाको गाउँ र बस्तीमा घुमेर भोकमारीबाट बचाएका थिए ।

    बहुदलपछि धनकुटा एमालेको गढ बन्यो । पञ्चायतकालको दबदबा सकिएकाले सूर्यबहादुरले २०४८ को पहिलो चुनाव हारे । यद्यपि सूर्यबहादुर थापा धनकुटा जाँदा एमालेका कार्यकर्ताले लुकेर भेट्ने गर्थे भन्ने किस्सा प्रचलित छन् । जिल्लामा पार्टीले कारबाही गर्ने डरले उनलाई भेट्न एमालेका प्रभावशाली नेताहरू काठमाडौं आएर मालिगाउँमा भेट्न जान्थे ।

    बिरामी भएर काठमाडौंमा उपचार गराउन आएका जुनसुकै पार्टीका कार्यकर्ता तथा नेता भए पनि उनले निःशुल्क उपचार गरी गाडी भाडा दिएर पठाउँथे । बिरामी भइ काठमाडौं आएका वृद्धाहरूलाई उपचार गराएर पशुपति दर्शनसमेत गराएर घर पठाउँथे ।

    गृहजिल्ला जाँदा थापा कहिले लठ्ठी टेकेर हिँड्दै पुग्थे, कहिले सेतो घोडामा त कहिले हेलिकोप्टरमा पुग्थे । जनताको घर-घरमा पुग्ने उनी कृषकको गोठमा गएर कसले कति गाइबस्तु पालेका छन् नियाल्थे । सकेसम्म गाउँमा घुलमिल गर्ने उनको बानी थियो । जनताको घरमा गई गुनासो सुन्ने उनको अचम्मको तरिका थियो । उनी गुनासो र सुझाव लेखेर दिन लगाउँथे । बुढा-बुढी र लेख्न नजान्नेहरूको गुनासो आफ्नो स्वकीय सचिवलाई टिप्न लगाउँथे र कसको के गुनासो छ मालिगाउँमा आएर गुनासोको पोको खोतल्थे ।

    सूर्यबहादुर थापाको निधनपछि धनकुटाको राजनीति अहिले उनका छोरा सुनिलबहादुर थापाले सम्हालेका छन् । धनकुटाबाट एकपटक जितेर उनी मन्त्री पनि बने । सुनिलको बुवाको निधन भएको आज ७ वर्ष पुग्यो । २०७१ चैतमा बिरामी भएर उपचार गराउन भारत लगेका छोराले बुबालाई जीवित फर्काउन सकेनन् । २०७२ वैशाख २ उनले आफ्नो अभिभावक बुबालाई सधैँका लागि गुमाएका थिए ।

    जीवनको अन्तिम क्षणमा सूर्यबहादुरले छोरासँग के भनेका थिए ? सुनिलले यसरी सुनाए ।

    अन्तिम क्षणमा बाबुछोरा वार्तालाप

    २०७१ चैत २७ गते । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा पेटको सफल शल्यक्रियापछि ‘अब्जर्बेसन’ मा बस्नुभएका पिताजी (सूर्यबहादुर थापा) लाई मतर्फ इसारा गर्दै नर्सले सोधिन्,- ‘डु यु नो हिम’? ।

    बुबाको मुखमा अक्सिजन र बाफ लगाइएको थियो । त्यसैले उहाँले तत्कालै उत्तर फर्काउन सक्नुभएन । तर, एकछिन पछि परिचित मुद्रामा टाउको हल्लाएर मलाई हेर्दै जवाफ दिनुभयो- चिन्छु ।

    बुबाको त्यो अवस्थाले म केहि समय उहाँको अनुहार हेरर भावुक बनेको थिएँ । भोलिपट उहाँको स्वास्थ्यमा केही सुधार देखें । शल्यक्रियाको तेस्रो दिन ‘स्पेसल केयर’ मा बुबालाई अर्को क्याबिनमा सारिँदै थियो ।

    उहाँले भन्नुभयो, ‘तँ केही चिन्ता नगर्, म ठीकै छु । अलिअलि पेट दुखेको छ, अरु केहि समस्या छैन ।’

    पाँचौं दिन उहाँलाई पुनः आफ्नो क्याबिनमा फर्काउँदा बुबाको अनुहारमा चमक आएको थियो । उहाँ उज्यालो देखिनु भयो । मेरो पिताजीको एउटा बानी थियो, सधैँ दाह्रीजुँगा काट्ने । त्यो दिन उहाँ दाह्रीजुँगा काटी चिटिक्क हुनुभयो ।

    बुबाले केही बेरपछि मसँग राजनीतिक कुरा गर्न सुरू गर्नुभयो । मलाई निर्देशन दिँदै भन्नुभयो, ‘हेर सुनिल तँ अब राजनीतिमा आइसकिस् । राजनीतिमा सधैँ हारजित हुन्छ । म पनि हार्दै जित्दै गरेर यहाँसम्म आइपुगेको हुँ । त्यसैले हारमा कहिल्यै निरास नहुनू । लाज पनि नमान्नू । जितमा हाँसेर पनि नहिँड्नू । राजनीतिमा आफ्नो बाटो कहिल्यै नछाड्नू र उद्देश्य प्राप्तिको मार्गमा हिँड्दा आफ्ना लागि पूर्वाधार र बाटो आफैं तयार पारेर अगाडि बढ्नू ।’

    बुबाले त्यसपछि मलाई आफूले चुनाव हार्दाको अनुभव सुनाउदै भन्नुभयो ‘मैले नेपाली कांग्रेसका लीलानाथ पाध्यासँग धनकुटामा चुनाव हारेको थिएँ । म आफूलाई पढलेखेको, जान्ने सुन्ने मान्छे हुँ भनेर सम्झिन्थें । चुनाव हार्नेबारे मैले सोचेको पनि थिइनँ । मुगाको सम्पन्न परिवारको मानिस भएकैले मेरो दिमागमा यस्तो कुरा पलाएको थियो । तर, त्यो निर्वाचनमा मैले हारेँ । मैले चुनाव हारेपछि म एक महिना घरबाट बाहिर निस्किन सकिन लाजले । एक महिनापछि धुलाम्मे भइसकेको कोट टक्टक्याउँदै फेरि घरबाहिर निस्केँ ।

    बुबा भन्नुहुन्थ्यो, ‘पराजय स्वीकार गर्न नसक्ने व्यक्तिले कसरी राजनीति गर्छ ?’ बुबाले दुईवटा हारको अनुभव सुनाउनु भयो । उहाँले भन्नुभयो ‘मैले जिन्दगीमा दुईपटक हारेको छु । पहिलो हार लीलानाथ पाध्यासँग हो र अर्को हारेको भनेको २०६२/६३ को परिवर्तनपछि भएको संविधानसभाको पहिलो चुनावमा । ती दुई पराजयभन्दा पनि संविधानसभाको निर्वाचनपछि मंसिर ४ गते घोषणा गर्ने भनिएको संविधान त्यतिबेला जनतालाई दिन नसक्नुलाई मेरो जीवनको अहिलेसम्मकै सबैभन्दा ठूलो हार हो ।’

    ०००

    २ वैशाख, २०७२ । शल्यक्रियाको १०औू दिन, बिहान । पिताजी आफ्नो नातिनी बुहारीको स्वास्थ्यलाई लिएर केही चिन्तित देखिनुहुन्थ्यो । यद्यपि त्यस दिन उहाँ आफ्नो पेटमा रहेको १२ वटा टाँकामध्ये पाँचवटा टाँका खोलेर भर्खरै बेडमा फर्किनुभएको थियो । एक्कासी मलाई सोध्नुभयो, ‘सिद्धार्थ (नाति) को बच्चा हुनेवाला थियो । के भयो ?

    बच्चा आज कि भोलि भन्ने अवस्था थियो । तर, मेरो छोरा सिद्धार्थ पनि हजुरबुबाको उपचारका लागि मसँगै मेदान्त अस्पतालमै थियो ।

    त्यस दिन बुबाले आफ्ना चिकित्सकसँग दुई घण्टा नेपाल र भारतको समसामयिक राजनीतिक विषयमा कुराकानी गर्नुभएको थियो । त्यतिबेलै चिकित्सकले तपाईंलाई राम्रो हुँदैछ, अब सात दिनपछि पूरै निको हुन्छ, त्यसपछि तपाईं घर जान सक्नुहुन्छ भनेका थिए । यो सुनेपछि हामी दिउँसो २ बजे खाना खान बाहिर निस्किएका थियौं ।

    तर, ४ बजे एक्कासी अस्पतालबाट फोन आयो, तुरुन्त आउनुपर्‍यो । हामी अस्पताल पुग्नासाथ उहाँलाई आईसीयूमा राख्न निर्देशन दिइयो । आईसीयूमा लैजानुअघि दुईजनाले उहाँलाई भेट्ने अवसर पाएका थिए । ती थिए हिमालयन बैंकका अध्यक्ष मनोज श्रेष्ठ र गुरु रिम्पोचे ।

    मनोजलाई देख्नेबित्तिकै पिताजीले सोध्नुभयो, ‘मनोज कता हिँडेको ? केटाकेटीको हालखबर के छ ?’ रिम्पोचेले बाबुले छोरालाई गर्ने व्यवहारजस्तै देखाएर पिताजीको मुख सुम्सुम्याएर बोधिचित्तको माला पहिर्याउँदै आशीर्वाद दिएर भन्नुभयो, ‘तिमीलाई ठीक हुन्छ ।’

    नर्सहरूले पिताजीलाई आईसीयूमा लैजाने क्रममा उहाँ रिम्पोचे गुरुलाई नमस्कार गरिरहनुभएको थियो । तर, एक्कासि बेलुका साढे ९ बजे खबर आयो पिताजी रहनुभएन । भोलिपल्ट काठमाडौं ल्याइयो । श्रद्धान्जली सकाएर बुवालाई सधैँका लागि मैले गुमाएको छु । मैले मात्र हैन यो देशले पनि अभिभावक गुमाएको छ ।

    ०००

    मेरो राजनीति र बुबासँगको सम्बन्ध

    २०७१ सालसम्म मैले बुबाकै सल्लाहअनुसार राजनीति गर्ने अवसर पाएँ । राजनीतिमा आउनुअघि २२ वर्ष शरणार्थी विकास र मानवीय सहायताका लागि राष्ट्र संघीय उच्च आयोग काम काम गर्ने अवसर मिलेको थियो । त्यसबेला मैले ११ वटा द्वन्द्वग्रस्त देशमा पुगेर सेवा गर्ने अवसर पाएको थिएँ ।

    सन् २०११ मा राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसीआर) अन्तर्गत सुडानमा कार्यरत रहेको बेला देशको सेवा गर्न राष्ट्र संघअन्तर्गतको आकर्षक जागिर छोडेर राजनीतिमा प्रवेश गरेको हुँ ।

    राजनीतिमा प्रवेश गरी धनकुटाबाट चुनावमा विजयी भएर स्वर्गीय पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको सरकारमा वाणिज्ज तथा आपूर्तिमन्त्री भै काम गरिसकेको छु । त्यसपछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदापनि उद्योग मन्त्रीका रूपमा काम गर्ने अवसर पाएको थिएँ ।

    म बुबासँग सानोमा असाध्यै डराउँथे । मेरो बिहेपछि मात्र उहाँसँग दोहोरो कुरा हुन थालेको हो । त्यसअघि बुबासँग केही कुरा गर्नुपर्‍यो भने फुपू र आमालाई गुहार्नुपर्थ्यो । एसएलसी पास गरेपछि बुवाले मलाई ‘तँ कानून विषय लिएर पढ्’ भन्नुभयो । तर, कानुन क्षेत्रमा मलाई त्याति रुचि थिएन । मैले सरस्वती क्याम्पसमा कमर्स विषय लिएर पढेँ । कानून पढेको भए धेरै सजिलो हुने रहेछ भन्ने पछि जागिरको सिलसिलामा आएका बाधा अड्चनपछि मात्र थाहा पाएँ ।

    दोस्रो संविधानसभा चुनावपछि ज्येष्ठ सदस्यको हैसियतले मेरो बुबा संविधानसभाको सभामुख हुनुभयो । त्यस बेला म धनकुटाबाट चुनाव जितेर सभासद् भएको थिएँ । बुबासँगै पार्लियामेन्टमा छिर्दा म अत्यन्तै खुसी भएको थिएँ । त्यतिबेला म बाणिज्य तथा आपूर्ति मन्त्री हुँदा बुबाकै हातबाट सपथ लिनु मेरो लागि कहिल्यै नबिर्सने समय थियो ।

    म मन्त्री भएर घर आउँदा बुबाको अनुहार एकदम उज्यालो र चम्किलो भएको थियो । बुबाले मलाई भन्नुभयो- ‘राष्ट्रले अब ठूलो जिम्मेवारी अब तँलाई दिएको छ । त्यो जिम्मेवारी इमानदार भएर निभाउने काम तेरो हो । मन्त्री पद सदाका लागि हुँदैन । यो पद केही दिनमै पनि खुस्किन सक्छ । भोलि त्यही ठाउँमा पुग्न आफ्नो जिम्मेवारी पूरा गर्नू । राम्रो तरिकाले आफ्नो जिम्मेवारी निर्वाह गरिस् भने फेरि मन्त्रीको मौका पाइन्छ ।’

    ०००

    बुबा जेल पर्दा साझा बसमा चढेर खाना लान्थेँ

    बुबा २०२९ सालमा जेल पर्दा हप्ताको पाँच दिन साझा बस चढेर म बुवालाई खाना पुयाउन जान्थेँ । बसबाट जावलाखेलमा ओर्लेर नख्खु जेलसम्म म हिँडेर जान्थें । जेलमा खाना दिने बेलामा विष हालेर ल्याएको छ कि भनेर पुलिसले पहिले मलाई नै खुवाउँथे ।

    २०३० सालमा बुबाले २१ दिनको भोक हडताल गरेको बेला म विराटनगरमा थिएँ । त्यति बेला यस्तो सञ्चारको सुविधा थिएन । हडताल तोड्न धेरैले बुवालाई सम्झाए । तर, उहाँले ‘मैले निर्णय लिइसकँे अब हडताल तोडदिन्न’ भन्नुभयो । त्यस बेला केहीले राजालाई सूर्यबहादुर अब भोक हडतालले मर्ने भयो भनी सुनाएछन् ।

    राजाले ‘सूर्यबहादुर मरे के भयो त ?’ भने रे । पछि राजाले माग पूरा गर्ने शर्तमा बुबाको हड्ताल तोडाइने भएपछि म पनि सेन्ट्रल जेल गएको थिएँ । सबै भित्र पसे । म बाहिरै रहेछु । म रुन थालेँ । पछि मलाई पनि भित्र छिराइयो । बुबा कालो र लामो कोठामा हुनुहुन्थ्यो । मोटो र हट्टाकट्टा मेरो बुबा त्यो बेला एकदम दुब्लाउनुभएको थियो ।

    बुबाको हड्डीमात्रको ज्यान र लामो दाह्री देखेपछि मलाई लाग्यो- राजनीति एकदम दुःखको काम रहेछ । हड्ताल तोडाइएपछि बुबालाई आर्मी अस्पताल लगेर उपचार गराइयो । बुबा लामो समय जेल पर्दा हाम्रो परिवारमा कसैले पनि विवाह, व्रतबन्धजस्ता शुभकार्य गरेनन् । आफन्तहरू भन्थे, ‘काइँला बा जेलबाट नछुटुन्जेल हामी कुनै शुभ कार्य गर्दैनौं ।’

    बुबाको सपना पूरा गर्न राजनीतिमा प्रवेश गरेँ

    बुबाले मलाई धनकुटाको जनतालाई आपत पर्दा कहिल्यै साथ नछाड्नु भन्नभएको छ । धनकुटालाई बनाउने अभियानमा बुबाले पूरा नगरेका काम म पूरा गर्नेछु । भूकम्प र कोरोनाको महामारीमा म ढुक्कै धनकुटाको जनताको सेवामा खटेँ । अहिले फुसको छाना हटाएर जस्ता हाल्ने अभियानअन्तर्गत काम गरिरहेको छु ।

    चुनाव हारियोस् या जितियोस् म सधैँ धनकुटेलीसँग हुनेछु । धनकुटालाई प्रदेश एकको सबैभन्दा विकसित जिल्ला बनाउने छु । म वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा नेपाल आयल निगममा ‘अटो प्राइसिङ’ र भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनको सम्झौता गरी काम गरेँ ।

    एनओसीमा मूल्य स्थिरिकरणका लागि कोषको व्यवस्था, स्वचालित मूल्य प्रणाली लागू गरेँ । भुकम्पपीडित जनतालाई राहतको व्यवस्था गरेँ । पेट्रोलमा निजी क्षेत्रको पनि प्रवेश दिनुपर्छ भनी ऐन तयार गरी आईओसीसँगको ऋणबाट मुक्त गरेको छु । आगामी दिन पनि देश र धनकुटेलीको जीवनमा बिताउने छु ।

  • ‘हाइ प्रोफाइल’ राधिका शाक्यको ‘लो प्रोफाइल’ जीवनशैली

    ‘हाइ प्रोफाइल’ राधिका शाक्यको ‘लो प्रोफाइल’ जीवनशैली

    सत्ता र शक्तिको भोक र उन्माद कस्तो हुन्छ भन्ने थाहा पाउन केही प्रतिनिधि पात्रहरूलाई हेरे हुन्छ । जसले सत्ता र शक्तिको नशामा लठ्ठ भएर कहिल्यै नमेटिने दागहरू बोकेर हिँडिरहेका छन् । जायज/नाजायज हर्कतहरू गरेर आफूलाई रसातलमा पुर्‍याएका छन् ।

    सत्ता र शक्तिको दुरुपयोग गरेर इतिहासमा कालो धब्बाको विम्ब बनेकाहरू बग्रेल्ती भेटिन्छन् । तर, सत्ता र शक्तिको उन्मादमा नपरेर सुन्दर र कलात्मक जीवन बाँच्नेहरू पनि छन् । यसरी स्वतन्त्र र तटस्थ रूपमा आफूलाई शुद्ध बनाइरहने अपवाद मानिसहरू हाम्रै समाजमा छन् ।

    यस्तै एक पात्र हुन्, राधिका शाक्य । जसले सत्ता र शक्तिको केन्द्रमा रहेर पनि आफूलाई विवादको घेरोभित्र कहिल्यै पारिनन् । श्रीमान् तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका नाममा अनेक आक्षेप र लान्छनाहरूको फेहरिस्त नै छ । तर, शाक्य भने यस्ता आरोप-प्रत्यारोपभन्दा धेरै पर बेदाग छिन् ।

    शाक्यको यही स्वभाव र आचरणले सधैँ सधैँ खिचिरहन्थ्यो । यदाकदा हाम्रो सम्पर्क भए पनि भेटघाटको साइत जुरेको थिएन । तर, अचानक संयोग जुर्‍यो । मित्र उदय पोखरेलको संयोजनमा भानु नेपालसँग ओली निवास पुग्दा शाक्यसँग अन्तरंग कुराकानी गर्ने साइत जुर्‍यो ।

    जसले पदलाई होइन, पदचापलाई पछ्याउँछ । जसले आफ्नो काम र सेवालाई समर्पण ठान्छ । निष्ठा र आर्दशलाई आफ्ने गन्तव्य बनाउँछ । जसका कारण नै आज पनि ओलीपत्नीको रूपमा भन्दा राधिका शाक्यको रुपमा परिचयको विराट क्षेत्र बनाएकी छन् । उनको परिचय पूर्वफस्ट लेडीको रूपमा छैन, बेदाग व्यक्तिको रूपमा छ ।

    शाक्यबारे लेख्ने योजना थिएन । तर, उनको जीवनशैली, सरलता र मीठासपूर्ण व्यवहारले नलेखी नहुने बनाइदियो मलाई । शाक्यमाथि जिज्ञसाहरू थुप्रो थिए । सार्वजनिक चासो र चर्चा समेटिएका सवालहरू थिए । निजी र पारिवारिक सम्पत्ति, राजनीतिक सम्पति र व्यक्तिगत स्वभावहरू जान्ने उत्सुकता खुब थियो ।

    १४ वर्षसम्म जेलमा बिताएका ओली, राज्यको नजरमा देशद्रोही थिए । कुनै पनि बेला मारिन सक्थे । घरमा जायजेथा नभएका मान्छे थिए । आयआर्जन थिएन । स्वास्थ्य अवस्था कमजोर थियो । राज्यले दिएको यातनाले दुब्लो, पातलो बनेका ओलीसँग भविष्य पनि सुरक्षित थिएन । तर, शाक्य फरक थिइन् । सुरक्षित भविष्य थियो । सबल र सक्षम थिइन् । पाटनकी रैथाने नेवारकी छोरी, स्नातकोत्तर पास गरिसकेकी ।

    तर, उनले झापाका ओलीसँग विवाह गरिन् ०४४ सालमा । राजनीतिबाहेक अर्को नभएका ओलीसँग विवाह गरेर भविष्यलाई खतरामा मोलेकी थिइन् शाक्यले । त्यसबेला ओलीसँग विवाह गर्नु चानचुने जोखिम थिएन शाक्यका लागि । तर, पनि विवाह गरिन् । उनको प्रेमले जित्यो । उनको भावनाले जित्यो । र सम्पूर्ण जीवन ओलीसँग बिताउने निधो गरिन् ।

    शाक्यले लिएको यही जोखिमपूर्ण निर्णयका कारण पनि सायद ओली अनुगृहित छन् । शाक्यकै ढाडस र हौसलाले पनि ओली ऊर्जायुक्त बनेका हुनसक्छन् । शाक्यले साढे तीन दशकदेखि अविचलित आत्मविश्वार दिएर पनि ओली ठिंग उभिएका होलान् । शाक्यको वेगाद छवि र हिम्मतले नै ओलीले राजनेताको छवि बनाएका होलान् है ?

    शाक्य विगततिर फर्कँदै भन्छिन्, ‘ मलाई कोही पनि असहाय मान्छे देख्दा माया लाग्छ । त्यसवेला म पनि कम्युनिष्ट पार्टीको सदस्य थिएँ । कमरेडहरूले विवाहको प्रस्ताव गर्नुभयो । ओलीको बारे सुनेँ, मन पग्लियो । विवाह गर्न मन्जुरी दिएँ ।’

    शाक्य थप बोल्छिन्, ‘मेरा कोही पनि प्रेमी थिएनन् । प्रेम गर्ने जमाना पनि थिएन । म त विवाह नगरी बस्ने सोचमा थिएँ ।’

    १४ वर्षसम्म जेलमा बिताएका ओली, राज्यको नजरमा देशद्रोही थिए । कुनै पनि बेला मारिन सक्थे । घरमा जायजेथा नभएका मान्छे थिए । आयआर्जन थिएन । स्वास्थ्य अवस्था कमजोर थियो । राज्यले दिएको यातनाले दुब्लो, पातलो बनेका ओलीसँग भविष्य पनि सुरक्षित थिएन । तर, शाक्य फरक थिइन् । सुरक्षित भविष्य थियो । सबल र सक्षम थिइन् । पाटनकी रैथाने नेवारकी छोरी, स्नातकोत्तर पास गरिसकेकी ।

    तर, शाक्यको जीवनमा ओली आइदिए । ओलीसँग जीवनको रथ अगाडि बढ्यो । अहिलेसम्म बढिरहेकै छ । तर, सन्तान छैन दुवैको । र पनि कुनै दुखेसो छैन । शाक्य सुनाउँछिन्, ‘सन्तान नहुनुको कुनै दुःख छैन । थुप्रो सन्तानलाई आश्रयको छहारी दिएकी छु ।’

    शाक्य त्यो विम्ब हुने, जसले कमजोरलाई बलियो बनाउन मात्रै लागिपरिन् । पुरुषको संरक्षकत्वमा रम्ने र आफूलाई सुरक्षित सम्झने महिलाहरूभन्दा धेरै पर पुरुषको अभिभारा लिएर पूरातन बुझाइ भत्काउने महिला हुन् । जसले पदलाई होइन, पदचापलाई पछ्याउँछ । जसले आफ्नो काम र सेवालाई समर्पण ठान्छ । निष्ठा र आर्दशलाई आफ्ने गन्तव्य बनाउँछ ।

    जसका कारण नै आज पनि ओली पत्नीको रूपमा भन्दा राधिका शाक्यको रुपमा परिचयको विराट क्षेत्र बनाएकी छन् । उनको परिचय पूर्वफस्ट लेडीको रूपमा छैन, बेदाग व्यक्तिको रूपमा छ ।

    कतिपय महिला नै सत्ता र शक्तिको नशामा बदनामी र कुख्यातीको चरमोत्कर्षमा छन् । तर, शाक्य सबै सबैका जवाफ हुन्, पद आफैंमा सम्मान र मर्यादा होइन, त्यहाँ पुगेर निर्वाह गरिने दायित्व र भूमिकाले पदलाई सम्मानित बनाउँछ ।

    ओलीका लागि शाक्य एक नर्स र अभिभावक पनि हुन् । तर, लामो समय सँगै रहँदा झगडा र ठाकठुक त अवश्य पनि होला । उनी सुनाउँछिन्, ‘कहिलेकाहीँ सामान्य ठाकठुक हुन्छ । तर, हात उठाउने काम भएको छैन ।’

    शाक्य जुन तहमा छिन्, जस्तो राजनीतिक परिवेशमा छिन्, उनले चाहँदा नहुने केही छैन । शिक्षित भएकी कारण उनले सबै चलखेलको संरचना बुझेकी हुनसक्छिन् । तर, ती चलखेलभन्दा पर एउटा भद्र जीवनमा बाँचिरहेकी छन् ।

    त्यस्तो राजनीतिक परिवेशमा रहेर पनि शक्तिको अभ्यास गर्न मन छैन उनलाई । शाक्तिको सांगापांगो खेलभन्दा पर आफूलाई सफेल कपडाजस्तै राखिरहेकी छन् । लोभलालचभन्दा पर निर्विवाद छिन् ।

    शक्ति र सत्ताले स्वाभिमान, विनयशीलतता र अनुशासनको मार्गचित्र कोर्नुपर्ने हो् । विडम्बना, यसले धेरैलाई अभिमानको हिमाल चढाएको छ । उनी सुनाउँछिन्, ‘म मेरो धरातल भुल्ने मान्छे होइन । पाटनको साधारण कपडा सिलाउने पसलेकी छोरी हुँद । धरातल छाडेको दिन म आज जे छु, त्यो रहन्नँ । सांसदपत्नी, प्रधानमन्त्रीपत्नी र शक्तिशाली राजनीतिक नेताको पत्नीको दम्भ र अभिमानभन्दा पर राधिका शाक्य नै बनेर आफ्नो स्वअस्तित्वमा रम्न चाहन्छु ।’

    ओलीका लागि शाक्य एक नर्स र अभिभावक पनि हुन् । तर, लामो समय सँगै रहँदा झगडा र ठाकठुक त अवश्य पनि होला । उनी सुनाउँछिन्, ‘कहिलेकाहीँ सामान्य ठाकठुक हुन्छ । तर, हात उठाउने काम भएको छैन ।’

    ओली रोगसँग जुधिरहँदा शाक्य सँगै हुन्छिन् । मिर्गौला रोगबारे शाक्यलाई धेरै थाहा छ । ओलीको पीडा र वेदना नजिकबाट नियालेकी पनि छिन् । तर, ओली बढी आत्मविश्वासी बनेर पीडाहरूलाई करिब नदेखाउने गरेको सुनाउँछिन् । तर, जति लुकाए पनि पीडा छोपिन्छ र ? शाक्य भन्छिन्, ‘उहाँ ज्याद्रो र जिद्दी मान्छे हो । राजनीतिक सल्लाहलगायत कुनै कुरा घरमा सुनाउने बानी छैन उहाँको ।’

    दुवैपटक संसद विघटन गर्दा पनि शाक्यलाई केही जानकारी नदिएका रहेछन् ओलीले । साथै ओलीले कम पढेको भनेर जहिल्यै आलोचनाको सिकार हुनुपर्छ । तर, शाक्यलाई पढ्ने कागजमा होइन, मस्तिष्कमा हो भन्ने थाहा छ ।

    भन्छिन्, ‘उहाँसँग ज्ञान र सूचनाको अपार भण्डार छ । राजनीति गर्ने मान्छेले जान्नु स्वाभाविकै हो । ओलीले आफूलाई साहित्य, इतिहास, विज्ञन, दर्शन, धर्म, संस्कृति भूगोललगायत विषयमा आफूलाई अपडेट राख्नुभएको छ ।’

    लामो लामो हवाई उडानमा जाँदा ओली झिमिक्क नसुत्ने बताउँछिन् शाक्य । बरु हिमाल, पहाड, तराईबारे जनाकारी लिने र दिने गर्छन् । ओलीले जसलाई भेटे पनि मख्ख पर्ने गरी कुरा गर्ने सामथ्र्य भएको बताउँछिन् ।

    शाक्य सुनाउँछिन्, ‘मैले बैंकमा जागिर गरेकी थिएँ । पैसा जम्मा गगरेर ऋण लिएर घर पूरा गरेकी हुँ । ०५८ सालमा जग्गा लिँदा त्यति महँगो थिएन यहाँ । मेरो आफ्नै परिश्रम र मेहनतले बनाएको हुँ ।’ उक्त घर र जग्गा पनि ट्रस्ट बनाएर राख्ने र पति पत्नीको शेषपछि राष्ट्रको सम्पत्तिमा परिणत गर्ने योजना छ शाक्यको ।

    शाक्यलाई पनि राजनीतिमा चासो छ । तर, राजनीतिको जटिल खेल मन पर्दैन उनलाई । सोर्स फोर्स पनि उनलाई कसैले लगाउँदैनन् । सबैले शाक्यको स्वभाव चिनेका छन् । पहिला पहिला भने भन्ने गर्थे, तर, स्वभाव थाहा पाइसकेपछि कसैले भन्दैनन् ।

    शाक्यको स्वभाव छ, अनावश्यक मान्छे नभेट्ने र आफ्नै काममा व्यस्त हुने । यसैले पनि उनलाई अरुको कुरा सुनेर बस्ने फुर्सद हुँदैन । कहिलेकाहीँ ओलीको भेटघाट रातको एक बजेसम्म हुन्छ । त्यसवेला ड्राइभर, गार्ड र कर्मचारीका लागि खानपानको व्यवस्थापन गर्नु र ओलीलाई त्यसरी ढिलासम्म नबस्नु भनेर सम्झाउने उनको बानी छ । उनले सम्झाउँदा ओली पनि फिस्स हाँसेर बसिदिन्छन्, केही भन्दैनन् ।

    शाक्य लामो समय बालुवाटार बसेर बालकोटको आफ्नै घरमा फिरिन् । उनलाई बढी आनन्द पनि आफ्नै घरमा लाग्दोरहेछ । भन्छिन्, ‘यहाँ नै बढी आनन्द आउँछ । यो घर मैले सानोतिनो दुःखले बनाएको छैन । यो घरको प्रत्येक इँटामा मेरो परिश्रम र पसिनाको मूल्य छ ।’

    ओलीले दुःख नपाउन् भनेरै शाक्यले यो घर बनाएकी रे । आफू तलमाथि भइहालेमा ओलीलाई बस्न र आफ्नो पेन्सनको आधा रकमले भात खान पुगोस् भनेर नै घर बनाएको बताउँछिन् ।

    ०५८ सालमा जग्गा किनेकी थिइन् । त्यसपछि ०६० सालमा एउटा घर बनाइन् । अनि ०७० मा अर्को घर बनाइन् । यत्रो दुई दुईवटा घर बनाउने पैसा कहाँबाट आयो ?

    शाक्य सुनाउँछिन्, ‘मैले बैंकमा जागिर गरेकी थिएँ । पैसा जम्मा गगरेर ऋण लिएर घर पूरा गरेकी हुँ । ०५८ सालमा जग्गा लिँदा त्यति महँगो थिएन यहाँ । मेरो आफ्नै परिश्रम र मेहनतले बनाएको हुँ ।’

    उक्त घर र जग्गा पनि ट्रस्ट बनाएर राख्ने र पति पत्नीको शेषपछि राष्ट्रको सम्पत्तिमा परिणत गर्ने योजना छ शाक्यको । तर, ओलीले राज्यको सम्पत्ति लिएर उपचार गर्ने भन्नेहरूलाई उनको जवाफ छ, ‘भएको सम्पति राज्यको नाममा दिएपछि अरु भन्नुपर्छ र ? घर बनाउन पनि ओली कमरेडले सहयोग गर्नुभएन । उहाँको कमाइ कति हुन्छ के ? कमाइ कसलाई दिनुहुन्छ, त्यो म जान्दिनँ र खोज्दिनँ पनि । म आफ्नै खुट्टामा उभिएकी मान्छे हुँ ।’

    शाक्य लामो समय बालुवाटार बसेर बालकोटको आफ्नै घरमा फिरिन् । उनलाई बढी आनन्द पनि आफ्नै घरमा लाग्दोरहेछ । भन्छिन्, ‘यहाँ नै बढी आनन्द आउँछ । यो घर मैले सानोतिनो दुःखले बनाएको छैन । यो घरको प्रत्येक इँटामा मेरो परिश्रम र पसिनाको मूल्य छ ।’

    तर, ओली प्रधानमन्त्री भएपछि भने ओलीको बैंकमा भएको केही रकम चाहिँ चलाएको बताउँछिन् ।

    शाक्यसँगै कुरा हुँदै गर्दा ओली भित्र छिरे । प्रकाश सपूतको ‘तिम्रो मयाले मलाई पीर’ दियो गीत मोबाइलमा बजाएर चुड्की बजाउँदै आएका ओलीलाई मैले सोधेँ, ‘गीत गाउन मात्रै आउँछ कि नाच्न पनि आउँछ ?’

    एउटा कार्यक्रममा निस्कन लागेका उनले कम्मर भाँचेर हाँसीमजाक गरे, ‘गीत र नाच दुवै जान्दछु ।’

    मैले मौका छोपेँ, ‘बालुवाटारबाट बालकोटको बार्दली विम्ब कस्तो लाग्या छ ?’

    उनले जवाफ दिए, ‘फेरि चुनाव जितेर बालुवाटार जान्छु । बालकोट, बार्दली र बालुवाटार फगत संयोग मात्रै होइनन् । एक अर्काका परिपूरक हुन्, यो लेखेर राख्नुस् । कहिले यता कहिले उता भइरहन्छ, यो राजनीति हो । बालुवाटार कसैको स्थायी घर होइन ।’

    यसो भनेर ओली फोटो खिचाएर बाहिरिए ।

    मानव सेवा आश्रमकी संरक्षक शाक्यको त्यस दिन आश्रममा आश्रित नानीहरूलाई बेलुकाको खाना खुवाउने कार्यक्रम रहेछ । जाँदाजाँदै शाक्यले एउटा पुस्तक पनि उपहार दिइन्, ‘मेरो अनुभूति’ ।

    र भनिन्, ‘यो पुस्तक मैले बिताएको एउटा कालखण्डको वेदना हो । सन्ताप हो । त्यसवेला झरेको आँसु हो । र जीवनको अनिश्चयवोधमा व्यथित भएर व्यतित गरेको समयको मोन्टाज हो ।’

  • सत्य बोल्ने शशांक : अंक होइन, आशय महत्वपूर्ण

    सत्य बोल्ने शशांक : अंक होइन, आशय महत्वपूर्ण

    भनिन्छ, सत्य तीतो हुन्छ । सायद सत्य तीतो हुने भएकै कारण मान्छेहरू ‘तीतो सत्य’ भन्दा ‘मिठो भ्रम’ मै सन्तुष्ट हुन्छन् । नेपालमा राजनीतिप्रति आम नागरिकको बुझाई एकदमै सतही छ । अधिकांश सार्वजनिक बहसहरूमा राजनीतिक दल र नेताहरूप्रति ‘गम्भीर असन्तुष्टी’ व्यक्त हुने गरेका पाइन्छ ।

    त्यस्तो असन्तुष्टीको मुख्य जड नेताको भनाइ र गराइमा देखिने भिन्नता हो । नेताहरूले ‘सत्यलाई पर्दा हाल्ने र झूठलाई सामुन्ने राख्ने’ गरेको आरोप लाग्दै आएको छ । सबैजसो राजनीतिक दलका नेताको बोली र व्यवहारमा समानता नदेख्दा आम नागरिकमा राजनीतिप्रति नै ‘वितृष्णा’ बढ्नु स्वाभाविक हो ।

    यद्यपि नेपाली समाजको मनोविज्ञान अत्यन्तै ‘द्वन्द्वात्मक’ देखिन्छ । समान विषयमा पनि असमान धारणा बनाउन यसको विशेषता हो । एकातिर राजनीति गर्नेहरू झूठो बोल्छन् भन्ने मान्यताले जरो गाडेको छ भने अर्कोतिर सत्य बोल्नेहरूप्रति ‘स्वीकारोक्ति’ को अभाव छ । यसको पछिल्लो उदाहरण हुन् , कांग्रेस नेता डा. शशांक कोइराला । नेपाली राजनीतिको भागदौड र रस्साकस्सीका बीच शशांक एक शालीन नेताका रूपमा स्थापित छन् । उनी नेपाली कांग्रेसको महामन्त्री भइसकेका छन् र पार्टी नेतृत्वका लागि आकांक्षा पनि राख्दछन् । नवलपरासीबाट ३ पटक निर्वाचन जितेका शशांक संसदमा खरो अभिव्यक्ति दिदैनन् तर सार्वजनिक रूपमा जब बोल्छन्, तरंग पैदा गर्छन् ।

    कांग्रेस नेता शशांकले निर्वाचन खर्च बढेर ६ करोडसम्म पुगेको बताएका छन् । अंकका हिसाबले एउटा संसदीय निर्वाचनमा ६ करोड खर्च हुनु चानचुने कुरा होइन । यद्यपि आजसम्म कुनै नेताले यो सत्य बोलेका थिएनन् । शशांकको भनाइलाई अंकमा भन्दा आशयमा गएर बुझ्नु आवश्यक छ ।

    नेपालमा निर्वाचन महँगो हुँदै गइरहेको तथ्य कुनै लुकाउनुपर्ने विषय होइन । निर्वाचन आयोगले नै हालै गरेको अन्तरक्रियामा सबैजसो दलका नेताले चुनावका लागि आयोगले तोक्ने खर्चको सिलिङ ‘अव्यवहारिक’ भएको टिप्पणी गरेका थिए । निर्वाचनका लागि परिचालन र प्रचारप्रसारमा हुने खर्च केही लाखभित्र सीमित गर्न व्यवहारिक कठिनाइ पक्कै छन् । त्यहीकारण निर्वाचन आयोगसँग राजनीति दलका प्रतिनिधिहरूले नै खर्चको सीमा व्यवहारिक बनाउन माग गर्दै आएका थिए ।

    हालै नेपाल विद्यार्थी संघ इलाम-काठमाडौं सम्पर्क समितिको कार्यक्रममा कांग्रेसका निवर्तमान महामन्त्री शशांकले दिएको अभिव्यक्तिले सार्वजनिक चर्चा पाएको छ । विद्यार्थीहरूलाई राजनीतिमा बढ्दो विकृतिबारे अवगत गराउँदै चुनाव खर्च अस्वाभाविक बन्दै गएको उदाहरण शशांकले प्रस्तुत गरेका थिए । आफैंलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै हरेक निर्वाचनमा खर्च बढ्ने र करोडौं रूपैयाँ खर्च गरेर चुनाव लड्नुपर्ने बाध्यता रहेको तथ्य विद्यार्थीसामु शशांकले पेस गरे ।

    शशांकको अभिव्यक्ति तीतो छ तर सत्य छ । कानूनी दृष्टिले शशांक वा अरु कोही पनि नेताले निर्वाचनमा करोडौं रूपैयाँ खर्च गरेका छैनन् । यद्यपि व्यवहारिक दृष्टिले हेर्दा ‘करोड घटी वडाअध्यक्ष लड्न पनि गार्‍हो हुने’ सबैले बुझेका छन् । हालै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत निर्वाचनमा करोडौ खर्च हुने बताएका थिए ।

    अंक होइन आशय महत्वपूर्ण

    कांग्रेस नेता शशांकले निर्वाचन खर्च बढेर ६ करोडसम्म पुगेको बताएका छन् । अंकका हिसाबले एउटा संसदीय निर्वाचनमा ६ करोड खर्च हुनु चानचुने कुरा होइन । यद्यपि आजसम्म कुनै नेताले यो सत्य बोलेका थिएनन् । शशांकको भनाइलाई अंकमा भन्दा आशयमा गएर बुझ्नु आवश्यक छ ।

    एक निर्वाचन क्षेत्रमा उम्मेदवारले व्यक्तिगत रूपमा खर्च गर्न पाउने रकम निर्वाचन आयोगले तोकिदिएको हुन्छ । तर, निर्वाचन अभियानका लागि पार्टी र शुभचिन्तकहरूले गर्ने खर्चको सीमा तोकिएको हुँदैन । निर्वाचनका दौरान हुने घरदैलो, कोणसभा, आमसभालगायतका कार्यक्रममा उम्मेदवारले मात्रै नभइ पार्टी पंक्तिले नै खर्च गरेको हुन्छ । त्यस्ता खर्चको आँकडा करोड नाघ्नु अस्वाभाविक होइन ।

    अर्कोतिर कांग्रेस महामन्त्रीका रूपमा शंशाक आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित थिएनन् । देशका ४० भन्दा बढी जिल्लामा पुगेर उनले पार्टीका उम्मेदवारको पक्षमा मत मागेका थिए । यसरी पार्टीको शीर्ष नेताले देश दौडाहा गर्ने क्रममा व्यक्तिगत, संस्थागत वा शुभचिन्तकको तहबाट हुने खर्च विगतमा भन्दा बढेकै छ ।

    निर्वाचन अभियानका लागि पार्टी र शुभचिन्तकहरूले गर्ने खर्चको सीमा तोकिएको हुँदैन । निर्वाचनका दौरान हुने घरदैलो, कोणसभा, आमसभालगायतका कार्यक्रममा उम्मेदवारले मात्रै नभइ पार्टी पंक्तिले नै खर्च गरेको हुन्छ । त्यस्ता खर्चको आँकडा करोड नाघ्नु अस्वाभाविक होइन ।

    लोकतन्त्रमा निर्वाचन अपरिहार्य छ । यद्यपि निर्वाचन कम खर्चिलो र पारदर्शी हुनु जरुरी छ । शशांकको अभिव्यक्तिले पारदर्शी र कम खर्चिलो निर्वाचनकै पक्षमा आह्वान गरेको छ ।

    युवा विद्यार्थीहरूलाई राजनीतिमा बढ्दो विकृतिबारे जानकारी गराउँदै सचेत रहन आफैंलाई उदाहरण दिँदै शशाकंले व्यक्त गरेका विषयको अंकमा नभएर आशयमा जानु लोकतन्त्र र निर्वाचन प्रणालीलाई परिस्कृत गर्ने दिशामा उपयुक्त हुन्छ ।

    शशांकको अभिव्यक्तिलाई बहसको थालनीका रूपमा स्वीकार गरेर लोकतान्त्रिक अभ्यासलाई पैसाकेन्द्रित नभएर सिद्धान्त, विचार र जनताकेन्द्रित बनाउन जरुरी छ ।

  • एक स्वप्निल, हजारौँ स्मृति

    एक स्वप्निल, हजारौँ स्मृति

    जाने ठाउँ ठ्याक्कै नभएकाको पनि कतै न कतै जाने ठाउँ हुन्छ । तर, उसले हिँड्नुपर्छ । उसले बग्नुपर्छ । उसले चलमलाउनुपर्छ । जमेर बस्यो भने जहाँ बस्यो, त्यहीँ उसको ठाउँ हो । तर, मान्छेलाई जमेर बस्ने छुट छ त ?

    कवि स्वप्निल स्मृतिको एक शब्दे जवाफ छ, ‘छैन ।’

    र पनि स्मृतिको जाने ठाउँ ठ्याक्कै छैन । ताल्छिखेलको कोठादेखि बालुवाटारको अफिस र ताल्छिखेलदेखि बागबजारसम्म भेटिने साथीभाइ छन् । अनि ‘बाडुली र सुदूर सम्झना’ कवितासंग्रह र मनमै कुँदिरहेका नयाँ कविताहरू खेस्राहरू छन् । उनको सबै थोक यही हो । यतै कतै हराइरहेका भेटिन्छन् ।

    र भन्छन्, ‘अहिले त मेरो ठ्याक्कै जाने ठाउँ छैन । बुवा आमा नभएपछि सम्झाउने मान्छे छैनन् । आफैँले आफैँलाई सम्झाउनुपर्छ । आफैँ बच्चाजस्तो हुन्छु । बच्चाजस्तो आफैं बाचा गर्छु, आफैँ तोड्छु । दार्शनिकहरूले आफ्नै मनलाई जित्न सक्नुपर्छ भने पनि मैले सकेको छैन ।’

    १४ वर्ष भयो, स्वप्निल स्मृति ताल्छिखेल बस्न थालेको । त्यही अँध्यारो कोठा, त्यही चारकुना र त्यही सिमेन्टको चिसो भित्ता । कोठाको कुनै स्वरूप बदलिएको छैन । तर, उनको भने धेरै थोक बदलिएको छ । त्यहीँ जन्मिएको छोरो नै १४ वर्षको भइसकेको छ । उनको जीवनको इकोसिस्टममै फेरबदल भएको छ ।

    स्वप्निल स्मृतिको छोरा सात वर्षको मात्रै थिए, आमाले छाडेर अन्तै गइन् । स्वप्निल स्मृतिको आमा थिइन्, उनले पनि छाडेर सदाको लागि गइन् । बाँकी जिम्दा बा थिए, बा पनि सदाका लागि आमासँगै गए । ्

    र त उनी भन्छन्, ‘मेरो त ठ्याक्कै जाने ठाउँ नै कतै छैन ।’

    बच्चा हुनु पनि आफैँ, अभिभावक हुनु पनि आफैँ । यही दोसाँधको बीचमा स्वप्निल स्मृति सम्झनाहरुसितै बाँचिरहेका छन् ।

    जिन्दगी यसरी नै जाला या नजाला, तर उनलाई अहिले बाँचिरहेको जीवनशैली पनि रमाइलै लाग्छ । समस्याहरू खासै धेरै छैनन् । ठूलो महत्वकांक्षा खासै केही छैन ।

    ‘छोरो हुर्किएकाले अलि तनाव हुन्छ । नत्र त दिनभर काम ग¥यो, खायो, हिँड्यो । अब कोही भएको भए माया गरेको नाममा नियन्त्रणमा होइन्थ्यो होला । कसैले नियन्त्रणमा लिएको जीवन गाह्रो हुन्छ । कि कसैको बसमा छु भनेर थाहा हुनुभएन । थाहा भयो भने गाह्रो हुन्छ,’ उनी भन्छन् ।

    तर, जिन्दगी सधैँ यसरी एकलकाँटे भएर मात्रै त नजाला ! यही लय र रफ्तारमा मात्रै जिन्दगी अगाडि नजाला । लय फेरिएला, रफ्तार फेरिएला । यात्रा र बाटो पनि फेरिएला !

    उनलाई पनि डर लाग्छ, कतै यसरी नै पो जीवन जाला कि !

    फेरि सहयात्राप्रति संशय पनि प्रकट गर्छन्, ‘सहयात्रा गर्ने सोच्दा पनि डर लाग्छ फेरि । अहिलेसम्म ठिकै छ, एक शोक, एक भोगले हिँडेको मान्छे ।’

    अहिलेसम्म स्वप्निल स्मृति मिडलाइफमा आइपुगिसके, ४० टेकिसके । भनिन्छ, खास जीवन यही उमेरबाट सुरु हुन्छ । यो उमेरमा आइसकेपछि एक खालको अस्तित्वको संकटमा पनि पर्छ रे मान्छे ! उपलब्धि के भयो त जीवनमा ? समीक्षा गर्न थाल्छ रे मान्छेले । अस्तित्ववोधको गह्रौँ भारीले थिचेपछि ठोस उत्तरको खोजीमा भौँतारिन्छ रे मान्छे !

    खैर, कवि स्वप्निल स्मृतिलाई यस्ता खोजीमा उस्तो चासो छैन । उनलाई जीवनका उत्ति धेरै प्रश्नको उत्तर खोजिबस्नु पनि छैन । त्यस्तो अग्लो उचाइमा पुगेर जीवनलाई अर्थ्याउनु पनि छैन । तर, ४० वरिपरि पुगेपछि एक खाले संकट चाहिँ महसुस गरेका रहेछन् । कता कता के के नपुगेजस्तो, कता कता के के छुटेजस्तो !

    तर, भन्छन्, ‘मान्छेले बाँच्नु चाहिँ खासमा एक दिन रहेछ । आज एक दिन बाँच्नु प¥यो । अनि भोलि फेरि एक दिन बाँच्नु प¥यो । एक दिन एक दिन ठेल्दै ठेल्दै जानुपर्ने रहेछ हामीले ।’

    चालीस वरिपरि आएपछि उनको अनुभव छ, सृजनशीलता चाहिँ पहिलाभन्दा कम हुँदो रहेछ ।

    पहिला त नामकै भोकले पनि कति कविता लेखे होलान् उनले । कति कविता कथे होलान् पत्रपत्रिकामा छपाउनकै लागि । कति दौडधुप थियो होला । तर, अब त्यस्तो गर्न त्यति साह्रो मनै नलाग्ने अवस्थामा आइपुगेका छन् ।

    ‘लेख्नुभन्दा बरु बढी जसो पढ्न मन लाग्छ । अरूलाई हेरेर बाँच्ने हो नि हामी त । कसैलाई पनि पुगिसरी छैन,’ उनको भनाइ छ ।

    तर, बाँच्नका लागि चाहिँ माथि माथि होइन, तलतल भुईँतिर हेरेर बाँच्न सुझाउँछन् । धेरै माथिमाथि मात्रै हे¥यो भने बाँच्न गाह्रो हुने बताउँछन् । माथिलाई चाहिँ प्रेरणा मात्रै लिनुपर्ने बताउँदै चालीसे गफ गर्छन् स्वप्निल स्मृति, ‘यो उमेरमा आइपुगेपछि अलिकति आत्मिक हुँदै गइने रहेछ । आफैँलाई बढी कोट्याउँदै गइँदो रहेछ ।’

    आफैँलाई कोट्याउँदा कोट्याउँदै कहिलेकाहीँ सिरानी निथ्रुक्क भिजिदिन्छ उनको । सम्झना र स्मृतिहरूले कहिलेकाहीँ बढी चिमोट्छन् उनलाई । कहिलेकाहीँ अनिँदै बसिदिएर सकाइदिन्छन् रातहरूलाई । कहिलेकाहीँ आँखाहरू रसाइदिन्छन् उनका । आफैँ झरिरहेको हुन्छ उनको आँखामा आँसु । दुवै आँखाबाट झरेर दुवै कानको छेवै भएर सिरानीमा गएर सोसिन्छन् आँसुहरू ।

    उनी सुनाउँछन्, ‘अनेक कुरा सोच्दासोच्दै तह–तहमा पुगिन्छ । एउटा तहमा पुगेपछि जुरुक्क उठिन्छ । विशेष गरेर चाडबाडमा सम्झनाहरूले साह्रै सताउँछन् ।’

    कहिलेकाहीँ एक्लो महसुस पनि गर्छन् । एकदमै धेरै एक्लोपनले सताएको वेला कोठाबाट फुत्त बाहिर निस्कन्छन् । र अन्य मान्छेहरूलाई हेर्छन् ।

    ‘बाहिर निस्केर अरूलाई हेरेर बाँच्ने हो । मान्छेहरू बाटोमा हिँडिरहेका हुन्छन् । कोही बाटो खनिरहेका हुन्छन् । कोही गाडी कुदाइरहेका छन् । उनीहरूलाई देखेपछि जीवन यस्तै रहेछ भनेर आफैँले आफैँलाई सम्झाउँछु,’ उनी हाँस्दै सुनाउँछन् ।

    अहिलेको उमेरमा आइपुग्दा कति सम्बन्धहरू बने होलान् स्वप्निल स्मृतिको ? कति साथीभाइ र इष्टमित्र बने होलान् ! पक्कै धेरै नै बने ।

    ती सम्बन्धहरूले पनि अबका बाँकी जीवन बाँच्न उस्तो कठिन नहुने बुझाइ छ उनको । संसारको धेरै ठाउँ देखेपछि, साथीभाइ भएपछि, छोराछोरी, परिवार भएपछि बाँकी जीवन यसै पनि जाने बताउँछन् ।

    ‘धेरै अनुभव प्राप्त गरिसकिएको हुन्छ । बाँच्ने आँट अथवा कला सिकिसकिएको हुन्छ । त्यसैले बाँकी जीवन त्यति गाह्रो हुँदैन,’ भन्छन्, ‘कोही मान्छे बच्चामै मर्छ । कोही युवा कालमै मर्छ । कोही धेरै बाँचेर मर्छ । बाँच्नु भनेको संयोग मात्रै हो ।’

    उनलाई यति ठूलो र ठोस परिचय पनि चाहिएको छैन । एउटा कविको परिचय छ, त्यति नै काफी छ ।

    ‘यो–यो पुगेन’ अथवा ‘भएन’ भन्ने त्यस्तो कुनै कुरा छैन उनका लागि, जसले गहिरो गरी छोओस् । बरु ठिकै छ, चलिरहेकै छ भन्ने सोच्छन् । धेरै बलेर अचानक निभ्न आवश्यक पनि छैन उनलाई । ठिक्क टाइपको जीवन भए पुग्ने बताउँछन् ।

    स्वप्निल स्मृतिको भनाइ छ, ‘कसैको मृत्यु हुन्छ, त्यसलाई जलाउँछौँ । ऊ खरानीमा रूपान्तरण हुन्छ । हिजो भएको मान्छे आज छैन । त्यसपछि कोही मान्छे स्मृति, सम्झनाहरूमा रहला । वास्तवमा हुनु भनेको हुनु नै हो लाग्छ अचेल मलाई ।’

    अचेल कविता लेखन चाहिँ कम गरेका छन् स्वप्निल स्मृतिले । बरु यो बीचमा गीतहरू लेखिरहेका छन् ।

    ‘सम्पादनको कामहरू खत्र्याकखुत्रुक गर्‍यो । १०–५ जागिर ग¥यो । यो रुटिनले चोयाले पाता कसेको जस्तो हुँदो रहेछ । थकित भइन्छ । अनप्रोडक्टिभ पनि भइँदो रहेछ जागिरले । त्यही भएर सृजना होइन, सेवा गर्ने बढी भइँदो रहेछ,’ उनी हाँस्दै सुनाउँछन् ।

    उनी पनि सेवाभन्दा सृजना गर्न नै खोज्छन्, तर भनेजस्तो भइरहेकै छैन । लगभग सेवा गर्ने जस्तै बनिसके । हाँस्दै भन्छन्, ‘अब चालीस काटेपछि वैदेशिक रोजगारीमा पनि लाँदैन । गाउँ जानु पनि यत्रो वर्ष हराएर गाउँ फिर्दा समाजले हामीलाई राम्रो मान्दैन । त्यहाँ पनि स्थापित हुन गाह्रो छ । यस्तो रे, उस्तो रे भन्ने हुन्छ ।’

    तर, अहिलेसम्म कवि भएर सहरमा बाँचिरहेका स्वप्निल स्मृतिले आफ्नै कविता कर्मको निर्मम भएर समीक्षा गर्दा कस्तो देख्छन् आफ्ना कविताहरू ?

    ‘कस्तो पनि लाग्दैन । मलाई आफ्नो कविताभन्दा अरूको कविता नै बढी मन पर्छ । तर, लेख्न चाहिँ लेखिरहेको हुन्छु । ढाँटेर लेख्न मन लाग्दैन । मान्छेहरूले धेरै जातीय, राजनीतिक मुखर आयो भन्ने टिप्पणी गर्छन् । तर, मलाई जे आयो, त्यही लेखिदिएँ । मैले लेखेको कवितालाई अलिकति चलाउनुपर्छ भन्ने पनि लाग्दैन । कुन शब्द कसरी तौलेर राख्नुपर्छ, मलाई थाहा छ । कतिपय शान्त भएर लेख्नुपर्ने छ भने शान्तै भएर लेख्ने हो । उग्र भएर लेख्नुपर्ने छ भने उग्रै भएर लेख्ने हो ।’

    ०००

  • यस कारण मिडिया र श्रमजीवि पत्रकारको हितमा छैन प्रदेश १ को सञ्चार विधेयक

    यस कारण मिडिया र श्रमजीवि पत्रकारको हितमा छैन प्रदेश १ को सञ्चार विधेयक

    प्रदेश सरकारले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको छ । प्रदेश स्वायत्त ऐनमा टेकेर बनाइएको प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश सरकारले खारेज गरेपछि आफूलाई लोकतन्त्रको हिमायती ठान्ने गठबन्धन सरकारले राम्रो कानुन ल्याउला भन्ने अपेक्षा थियो । तर, त्यो अपेक्षा यो विधेयकले पूरा गर्न सक्दैन । यसका कतिपय प्रावधानका विषयमा संसदीय समितिमा पत्रकारहरूको प्रतिनिधिसहितको उपस्थितिमा छलफल गरेर यसलाई श्रमजीवि पत्रकार र साना लगानीका मिडिया प्रवर्द्धन गर्ने र पत्रकारिता क्षेत्रमा सुधार गर्दै अझ उन्नत बनाउनतर्फ ध्यान जानु जरुरी छ । यस विधेयकप्रतिका मेरा केही धारणाहरू यहाँ राखेको छु ।

    १) प्रदेशमा सञ्चारमाध्यमसँग जोडेर यस अघि बनाइएको प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारणसम्बन्धी ऐनलाई खारेज गर्ने गरी संसदमा पेस गरिएको प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशमा कुनै पनि मिडियासम्बन्धी कानुन नभइरहेको अवस्थामा सामान्यरूपमा सकारात्मकरूपमा ग्रहण गर्न सकिन्छ ।

    २) यो विधेयक कानुन भएर लागू गर्दा मूलतः यसले आमरूपमा मिडियाको प्रवर्द्धन र संरक्षण साथै श्रमजिवी पत्रकारहरूको हित हुने देखिँदैन ।

    ३) संविधानतः ५ सय वाटसम्मको एफएम रेडियो दर्ता गर्न अधिकार प्रदेशलाई छ । तर, सोलुखुम्बु र ताप्लेजुङको रेडियो दर्ता नवीकरण विराटनगर आउनु पर्ने व्यवस्थामा ऐनले कुनै सरलीकृत गरेको छैन । यसले संघीयताको मर्मलाई आत्मसाथ गर्दैन ।

    ४) प्रसारण संस्थाले कुनै कार्यक्रम प्रसारण वा वितरण गरेबापत शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसले भोलि नियमावली बन्दा कुनै एउटा निश्चित कार्यक्रम प्रसारण गरेबापत सरकारलाई पैसा दिनु पर्ने अवस्था आएमा भएका सञ्चार माध्यम झन् धराशायी हुने छन् ।

    ५) मूलतः काउन्सिल बनाउने र काउन्सिलमा जागिर खुवाउने नियत मात्रै ऐनमा देखिन्छ । किनकी त्यो विधेयकअनुसार बन्ने मिडिया काउन्सिलको क्षेत्राधिकार फराकिलो र पत्रकारमैत्री हुने देखिन्न । यसको कार्यक्षेत्र फराकिलो बनाउनु पर्छ ।

    ६) काउन्सिलको अध्यक्ष मन्त्रीको नेतृत्वमा बनेको समितिले सिफारिस गर्ने भन्ने प्रावधानले काउन्सिल स्वायत्त हुने देखिन्न । यस्तो सिफारिस समिति न्यायिक क्षेत्र र सभामुखको नेतृत्वमा बनाउनु उपयुक्त हुन्छ । काउन्सिलमा प्रदेश भित्र लामो समयदेखि मिडिया क्षेत्रमा काम गर्ने र यही दुःख गरेका र यही प्रदेशको कुरा बुझ्न सक्ने तथा यही प्रदेशमा बसोबास गरिरहेकालाई अध्यक्ष बनाउने प्रावधान राखिनु पर्छ ।

    ७) प्रदेशमा श्रमजीवि पत्रकारका रूपमा क्रियाशील भइरहेकाहरूको लागि ठोस र उनीहरूको जीवनमा योगदान पुग्ने कुनै प्रावधान छैन । त्यसैले प्रदेशमा रहेका सयौँ श्रमजीवि पत्रकारहरू मैत्री कानून बन्न सक्ने देखिँदैन ।

    ८) प्रदेशमा रेडियो, एफएम, अनलाइन, पत्रपत्रिका, टेलिभिजन र पत्रकारले नै दुःख गरेर सञ्चालन गरेका स्वरोजगार मिडियाको प्रवर्द्धन र तिनीहरूलाई उकास्ने खालको नीति ऐनमा देखिँदैन ।

    ९) कुनै पनि प्रकारको विद्युतीय नेटवर्किङमार्फत कार्यक्रम अपलोड वा प्रसारण तथा डाउनलिंक गर्नु परेमा तोकिए बमोजिमको प्रकृया अपनाइ इजाजत लिनु पर्ने कुरा झण्झटिलो मात्रै नभई यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खुम्चाउने गर्छ ।

    १०) विज्ञापनसम्बन्धी व्यवस्था भनेर लोक कल्याणकारी सूचनामूलक, सन्देशमूलक सबै प्रकारका सरकारी विज्ञापन कानुनको अधिनमा रही समानुपातिक वितरण गरिने र काउन्सिलका सदस्य पदाधिकारी मध्येबाट विज्ञापन बोर्ड गठन गर्ने कुरा गर्नुले स्वरोजगार तथा साना लगानीका मिडियाहरुलाई प्रवर्द्धन गर्न सक्दैन । यसका लागि प्रदेश सरकारले सञ्चालन गरेका योजना र कार्यक्रमहरूका विज्ञापन स्थानीय मिडियालाई नै दिने बाध्यकारी प्रावधान राख्न सकेमात्र मोफसलका मिडियालाई राहत पुग्छ । नत्र लेख्नका लागि लेखे जस्तो मात्रै हुन्छ ।

    ११) धेरैजसो मिडियासम्बन्धी कामहरू कसले कसरी गर्ने भन्ने स्पष्ट छैन । तथापि यी कुराहरू नियमावलीमार्फत आउला तर कानूनमा राख्न सकिने विषयहरू सहजताका साथ राख्न सके राम्रो हुन्छ ।

    १२) अनलाइन दर्ता, प्रेस कार्ड वितरणजस्ता केही कुरा नयाँ ल्याउन खोजेपनि यस्ता कामहरू काउन्सिलले गर्ने या मन्त्रालयले गर्ने यस्ता कतिपय क्षेत्राधिकार स्पष्ट र किटान छैन । प्रदेशमा दर्ता भएको अनलाइन केन्द्रमा दर्ता गर्नु पर्ने कि नपर्ने, प्रेस कार्ड केन्द्रबाट दिने र प्रदेशले दिने एकै हो भिन्दै हुने यसमा समन्वय कसरी गर्ने ऐनले बोलेको छैन ।

    (लुईटेल प्रेस चौतारी नेपालका सचिव एवं नेपाल पत्रकार महासंघ प्रदेश १ का निवर्तमान अध्यक्ष हुन् ।)

  • सरकारी अड्डा त्यागेर गाउँ बस्ती डुल्दा जे देखियो

    सरकारी अड्डा त्यागेर गाउँ बस्ती डुल्दा जे देखियो

    एक वर्षअघि प्रचण्ड–माधव समूहले नेकपा विभाजन गरेर हिँडेपछि म पनि राजधानी काठमाडौं केन्द्रित विद्यार्थी राजनीतिलाई विस्तार गर्दै गृहजिल्ला ओखलढुंगा फर्किन थालेकी थिएँ । एक वर्षयता राजनीतिमा धेरै ठूला उथलपुथल भइसकेका छन् र मैले पनि ओखलढुंगाका धेरै गाउँ बस्तीको यात्रा गरेर धेरै अनुभव अनि थोरै चेतना विकास गरेको अनुभव भएको छ ।

    ‘गाउँ फर्क’ अभियानसँगै सरकारी अड्डाको जागिर छाडियो । ६ वर्षसम्मको सरकारी जागिरको अनुभवभन्दा ६ दिनको गाउँघरका आमा बुवाहरुसँगको संवाद र संगतले धेरै कुरा सिकाएको छ । समाजको प्रगति तथा विकास र समृद्धिको यात्रा कसरी सम्भव छ भन्ने स्थलगत शिक्षा मिलेको छ । सहरबाट सोचेको र देखेको जस्तो छैन गाउँ, आज गाउँ सहरलाई सिकाउन सक्षम छ ।

    पछिल्लो एक महिना ओखलढुंगा सदरमुकामदेखि चम्पादेवी, लिखु र खिजिदेम्बा गाउँपालिकाका विभिन्न वडाहरुमा पुग्दा चुनावको चर्चाभन्दा बढी एमसीसीको चासो थियो । एमसीसीबारे मूलधारका मिडिया र राजनीतिक दलका शीर्ष नेताले बोलेका कुराभन्दा युट्युबमा भाइरल अन्तर्वार्ताबाट जनताको ठूलो तप्का प्रभावित थियो । अझ प्रचण्ड–माधव समूहले एमसीसीका नाममा सोझासिधा जनताबीच राजनीति गरिरहेका थिए ।

    तर कथित व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पारित भएसँगै गाउँमा माओवादी र नेकपा एसले चलाएको भ्रम उनीहरुकै लागि घातक बनेको पनि आँखैले देखियो । चिनेजानेका र वडा तथा जिल्ला तहका प्रभावशाली नेता कार्यकर्ताले एमसीसी पारितसँगै प्रचण्ड माधवका पार्टी परित्याग गर्ने लहर पनि आँखैले देखियो र कतिपयलाई एमालेमा स्वागत पनि गरियो ।

    पूर्वाधारको विकास गाउँमा गर्ने हो भने एउटा गाउँमा एउटा गुणस्तरीय र बाह्रै महिना सबै प्रकारका साधन चल्ने सडक भए पुग्छ । बर्सेनि डोजरे विकासमा लगाउने बजेट त्यहीं एउटा सडकलाई स्तरोन्नति र कालोपत्रेमा लगाउन सकिन्छ । कृषि र पशुपालनलाई रोजगारीमूलक व्यवसायिक बनाउन सक्ने नेतृत्व अब गाउँमा प्रतिस्पर्धामा जानुपर्छ ।

    यी त राजनीतिक कुरा भए । सरकारी अड्डाको जागिर छाडेर जनताको घरदैलोमा पुग्ने क्रममा देखेका र भोगेका कुराहरुले हाम्रो विकासको मोडलमाथि समीक्षा गर्नुपर्ने देखियो । कृषि र पर्यटनलाई नेपालको विकासको मुख्य आधार बनाउने हो भने अब स्थानीय चुनावका उम्मेदवार तथा पार्टीहरुले आफनो घोषणापत्रमा ठोस कार्यक्रम ल्याउनुपर्छ ।

    यसपटक ओखलढुंगाका गाउँ–गाउँ घुम्ने क्रममा प्रचार नभएका तर अत्यन्तै मनमोहक पर्यटकीय सम्पदाहरु देखियो, घुमियो र सकेसम्म जिल्लाभित्रै भने पनि आन्तरिक पर्यटकीय चहलपहलको प्रयास गरियो । रामेछाप र ओखलढुंगाकै अग्लोमध्येको थोलेदेम्बादेखि पत्ताले, पोकली झरना र ककनीले आन्तरिक तथा बाह्य पर्यटकलाई बोलाइरहेका छन् । अब त्यहाँसम्म सहज पूर्वाधार र पर्यटक जाँदा बस्ने आधारभूत सुविधा भए पुग्छ ।

    देम्बा डाँडामा करोड लगानी गरेर त्यहिँका एक राजनीतिमा समेत सक्रिय युवक तेम्बा शेर्पाले चलाएको एउटैमात्र रिसोर्टले सुविधा दिएको छ, आन्तरिक पर्यटकलाई । ओखलढुंगा पर्यटन विकाास समितिका दाजुहरु ङावा ङिमा शेर्पा, पेम्बा शेर्पाहरुको पहलमा भइरहेको अल्ट्रा म्याराथनले जसरी थोलेदेम्बा चिनाएको छ, यो कामको अगुवाइ स्थानीय सरकारले गर्ने हो भने कति फलदायी हुन्छ ? रोजगारी र उद्यमशीलताको लागि अरु केही गर्नै पर्दैन ।

    गाउँमा युवा जनशक्ति कि त पलायन भइरहेको छ, कि बेकामे बनेको छ । स्थानीय सरकारले पाँच वर्षमा विकासका आधारहरु कति तय गरे ? त्यो आउने चुनावमा जनताले पनि मूल्यांकन गर्लान् तर कृषि तथा पर्यटनको विकास र रोजगारीमा हामी कहाँ चुक्यौं ? नीतिगत र व्यवहारिक ढंगले अब स्थानीय सरकारहरु यता केन्द्रित नहुने हो पाखा फोरेर कच्ची सडक बनाउने र बाढी पहिरोको कहर निम्त्याउने पूर्वाधार विकासको कुनै औचित्य देखिन्न ।

    गाउँमा विकास भनेकै बारीका कान्ला भत्काएर बनाइने हिउँदे सडक हुन् भन्ने मान्यता पूरै परिवर्तन गर्न आवश्यक देखिन्छ । स्थानीय सरकारहरुले केन्द्र र प्रदेशसँग समन्वय गरेर हुन्छ कि आफ्नै साधन स्रोतले हुन्छ, सीमित तर बाह्रैमास चल्ने दीर्घकालीन सडकको विकासमा अब केन्द्रित नहुने हो भने राज्यको अर्बौ बजेट खेर जानेबाहेक कुनै उपलब्धि देखिएन ।

    विकास भनेको यस्तो होस्, त्यहाँका जनताले आफ्नो दैनिक जीवनमा फाइदा लिन सकुन् । बिनायोजना र इन्जिनियरिङका डोजरे सडकमा करोडौं खर्च गर्नुभन्दा एउटा पालिका वा वडा कार्यालयले उत्पादनमूलक काममा लगानी गर्ने हो भने रोजगारी पनि गाउँमै सिर्जना हुन्छ । गाउँ घुम्ने क्रममा महसुस गरेको कुरा के हो भने अब स्थानीय सरकारले कामको क्षेत्र र सोच बदल्नुपर्छ ।

    हामीसँग साधन स्रोत छ, तर त्यसको सही ठाउँमा सदुपयोग भयो कि भएन ? यसको समीक्षा गर्दै दीगो विकास र रोजगारी सिर्जनाको उपायमा सोचौं, बहस गरौं र छलफल गरौं । गाउँले बोलाउँदैछ हामीलाई । किनकी आज गाउँमा जो बसेका छन् उनीहरु त्यस्तो भिजन लिएर जाने युवालाई साथ दिन तयार छन् । आखिर सबै सुविधा र अवसर गाउँमै पाइन्छ भने कोही किन बिरानो सहरमा दुःखको जीवन जिउन संघर्ष गर्छ र ?

    शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायसहितको विकासको लागि गाउँमा त्यस्तै सोच र सपना बोकेको नेतृत्व आवश्यक छ । गाउँका विद्यालयका शिक्षकले आफ्ना छोराछोरी शहरमा पढाउँछन् भने तीनले दिने शिक्षाको गुणस्तर कस्तो होला ? त्यसैले शिक्षालाई गुणस्तरीय बनाउन कडाइ गर्ने, स्वास्थ्य सुविधा थप्ने र रोजगारी सिर्जना गर्ने खालका उत्पादनमूलक काम स्थानीय सरकारको अगुवाइमा हुन सक्छन् ।

    पूर्वाधारको विकास गाउँमा गर्ने हो भने एउटा गाउँमा एउटा गुणस्तरीय र बाह्रै महिना सबै प्रकारका साधन चल्ने सडक भए पुग्छ । बर्सेनि डोजरे विकासमा लगाउने बजेट त्यहीं एउटा सडकलाई स्तरोन्नति र कालोपत्रेमा लगाउन सकिन्छ । कृषि र पशुपालनलाई रोजगारीमूलक व्यवसायिक बनाउन सक्ने नेतृत्व अब गाउँमा प्रतिस्पर्धामा जानुपर्छ । युवालाई गाउँमै इंगेज गर्ने योजना हुने हो भने बजेट र स्रोत साधन स्थानीय तहमै छन् ।

    अचेल गाउँमा मोही होइन कोक र ड्यूले पाहुनालाई स्वागत गरिन्छ । खेतबारी बाँझो छन्, मान्छेहरु बजारमा चामल किनेर खान्छन् । यो किन भयो ? दोष कसलाई दिने ? तर खोरिया बाँझो राखेर कोही किन कोरिया जान रातभर लाइनमा बस्छ ? गम्भीर समीक्षाको विषय हो । त्यसैले अब गाउँको मान्छे गाउँमै राख्ने र त्यसका लागि अवसरको सिर्जना गर्ने कुरा हाम्रो प्राथमिकता बन्नुपर्छ ।

    हिजो मोही र मकै खाँदै पैदल हिँडेर राजनीतिक पार्टीको संगठन गरेका अग्रजहरुसँग कतै गाडीमा, कतै मोटरसाइकलमा त कतै पैदल यात्रा गरियो । उहाँहरुको बेलाको दुःख र अहिलेको दुःख फरक छ । अमिलो मोही र सातु खाएर दुई घण्टा उकाले चढेर यसपटक हामी पनि हिँडियो । यी त अनुभवजन्य कुरा भए तर अब जागरण चाहिँ उत्पादन र रोजगारीमा जरुरी छ ।

    त्यसका लागि युवा पुस्ता गाउँ फर्किनुपर्छ र फर्किने वातावरण बनाइनुपर्छ । एउटा पढेलेखेको र रोजगारीको लागि योग्य भएर भौंतारिएको युवाले जहाँ अवसर पाउँछ त्यहाँ जान्छ । स्थानीय चुनाव आउँदैछ । अब हरेक राजनीतिक पार्टी र उम्मेदवारले ती युवालाई गाउँको विकासमा लगाउने र उनीहरुको वृत्ति विकासमा सघाउने योजना बनाउन सक्छन् ? आजको मूल प्रश्न यो हो ।

    देशको नेतृत्व गर्छु भनेर राजनीतिमा लागेका युवाले स्थानीय सरकारबाट आफ्ना योजनाहरु लागू गर्दै आफ्नो वडा र गाउँपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्र्दै कृषि र पर्यटनको विकासमा साँच्चिकै रोलमोडल बन्न सके भने समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन धेरै वर्ष लाग्दैन ।

    हामीसँग साधन स्रोत छ, तर त्यसको सही ठाउँमा सदुपयोग भयो कि भएन ? यसको समीक्षा गर्दै दीगो विकास र रोजगारी सिर्जनाको उपायमा सोचौं, बहस गरौं र छलफल गरौं । गाउँले बोलाउँदैछ हामीलाई । किनकी आज गाउँमा जो बसेका छन् उनीहरु त्यस्तो भिजन लिएर जाने युवालाई साथ दिन तयार छन् । आखिर सबै सुविधा र अवसर गाउँमै पाइन्छ भने कोही किन बिरानो सहरमा दुःखको जीवन जिउन संघर्ष गर्छ र ?

    (थापा एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य हुन्)

  • शिरीषको फूल- भएका, नभएका र खोजिएका

    शिरीषको फूल- भएका, नभएका र खोजिएका

    ‘उपन्यासमाथि नाटक आउँदैछ रे !’ भनेकै दिनदेखि एक किसिमको अधैर्य हृदयमा पैदा भइसकेको थियो । त्यस अधैर्यका बीच पनि नाटक लागेको शुरूकै दिन पुग्न सकिएन । दोस्रो दिनको पहिलो शो हेर्न म शिरीषको फूल नै बोकेर पुगेँ । त्यस व्यग्रता र औत्सुक्यको साथ लाग्दै पछिपछि भय पनि आउँदै थियो । म डराइरहेकी थिएँ, कतै मैले आफ्नो मस्तिष्कभित्र देखेकी बरी र नाटककी बरी उस्तै रहिन भने मेरी बरीलाई नाटककी बरीले न्याय गर्न सकिन भने ! मलाई लाग्छ (उपन्यास पढिसकेका) हरेक दर्शक यही डरकासाथ थिएटरको अँध्यारो माहोलमा जम्दो थिए ।

    इमानदार भएर भन्नुपर्दा यहाँनेर म पक्षपाति हुँ शायद, यत्तिको डर मेरो हृदयमा अन्य पात्रका लागि पलाएको थिएन । अँ, सुयोगविरका लागि पनि डराएकी त थिएँ, तर यो हदसम्म होइन। खैर, अब नाटकतिरै लागौँ ।

    अँ, उपन्यासमा नपाइने एउटा कुरा नाटकमा शुरूमै पाइयो। उपन्यासमा पात्रहरू मात्र छन् । तिनै पात्रहरूभित्र पारिजात कतै गौण छिन् । तर, नाटकले पारिजातलाई शिरीषको फूलमूनि सग्लो उभ्याइदिएको छ । प्रोलगमा पारिजात देखापर्छिन् कालो फ्रेम भएको चस्माका साथ र भन्छिन्, ‘दर्शन भनेको चस्माजस्तै हो। एउटै मान्छेले जीवनमा अनेकानेक चस्मा फेरिरहन सक्छ। र हरेकले संसारलाई या जीवनलाई आ-आफ्नै चस्माबाट हेर्छन् ।’ प्रोलगको अन्त्यसँगै पारिजात चस्मा खोलेर टेबलमा राख्छिन्, जसलाई केहीक्षणपछि बरीले लगाउँछे ।

    खैर, अहिलेलाई भने सुयोगविरको कुरा गरौँ ।

    दोस्रो विश्वयुद्धबाट फर्किएको सुयोगविर आफ्नो फौजी कोटभित्र केही खोज्दै हुन्छ। यो खोजाइ दुःखद र शनशनीपूर्ण भएको ब्यागग्राउण्डमा बजिरहेको धुनले हामीलाई पूर्वसूचित गर्छ। त्योसँगै हामी सुयोगविरका आहतपूर्ण भावनाहरूसँग एकाकार हुनसक्छौँ। हामी बुझ्नसक्छौँ विश्वयुद्धबाट फर्किेएर आउँदा उसले आफूसँग कुनै गौरवकाबिल इतिहास बोकेर ल्याएको छैन। उसका पछि लागेर आएका छन् त केहीथान तिक्त विगतहरू, बस् ! उसको विक्षिप्तता र त्यसबाट पन्छिन उसले रोजेको पलायनको बाटो हामी छर्लंग देख्न र टड्कारो महसुस गर्नसक्छौँ।

    यो विक्षिप्त सिपाही आफ्नो रक्स्याहा साथी शिवराजसँग उसको घर पुग्छ। शिवराज सुयोगविरसँग आफ्नी जेठी बहिनी मुजुराको परिचय गराउँछ। मुजुरा यतिबेला लजावती झारजस्तै देखिन्छे।

    मुजुराको कुरा एकछिनमा फेरि गरौँला।

    अँ, अनि कान्छि बहिनी सानुसँग पनि सुयोगको भेट हुन्छ। तब पालो आउँछ सकमबरीको। बरी, जसले पारिजातले टेबलमा छोडिराखेको चस्मा लगाएकी छे। बरी, जो किताबहरूसँगै मस्तै भुलिदिन्छे । बरी, जो फूलहरूसँग मग्न खेलिदिन्छे । बरी, जो चुरोटका धुँवाहरूसँग मुक्त उडिदिन्छे । उपन्यासमा जस्तै बरी आफ्नो परिचय आफै दिन्छे सुयोगविरलाई, उस्तै बन्दुक पड्किएजस्तै आवाजमा । अनि, दाजु शिव र दाजुका साथीले पिउँदै गरेको ठाउँबाट दुई खिल्ली चुरोट टिप्छे र जान्छे । बरी बरण्डामा पुगी त्यसलाई आफ्ना ओठहरूबीचमा च्यापेर सल्काउँछे। आगो, चुरोटमा मात्र नसल्किएर अन्त कतै पनि सल्किएको स्पष्ट हुन्छ दर्शकका नजरमा । यस अर्थमा, नाटकमा हुनुपर्ने दम छ भन्न हिचकिचाउन पर्दैन ।

    नाटक उपन्यासकै सादृश्य भर्जनझैं बगेको छ । यस दौरानमा सुयोगविरको अह्मलाई बरी उसैगरी प्रहार गरिरहन्छे । विश्वयुद्धमा आफ्नो सम्पूर्ण जवानी लुटाएर एक्लो र रित्तो फर्किएको सुयोगविरलाई बरी मुखैअघि बुढो भनिदिन्छे, अपराधी भनिदिन्छे। हरेकपटक अपमानबोध गरी फर्किएको सुयोगविर तर, बरीको बारे नसोचिरहन सक्दैन । उपन्यासमा जस्तै ऊ बरीलाई आफूले दयनीय अवस्थामा प्रेम गरेको स्वीकार गर्छ र दुखिरहन्छ। केहीलाई छोडेर यावत कुराहरू उपन्यासमा पढेझैं नाटकमा हेर्न मिलिरहेकै छन् ।

    सुयोगविरलाई नाटकको शुरूदेखि अन्त्यसम्म हामी विक्षिप्त देख्न पाउँछौँ । उसको विक्षिप्तता समय घर्किँदै जाँदा बढ्दो छ। विश्वयुद्धमा होमिएर जीवनको अनिश्चितता र विसंगतिलाई नजिकबाट छामेको सुयोगविर हरेक कुरालाई निस्सार देख्छ । विश्वयुद्धकालीन समयमा मृत्युलाई प्रतिसेकेण्ड अंगालेर बाँच्नुले सुयोगविरलाई जीवन र मृत्युबीचको भिन्नताबाट नै विमुख गराइदिएको हुन्छ । दुःख र सुख, भोग र प्रेम, सभ्यता र जंगलीपना, नारी र वस्तु, प्रकृति र विध्वंश, यी र यस्ता यावतबीच सुयोगविर कुनै भिन्नता महसुस गर्दैन । विश्वयुद्धबाट फर्किसकेपछिको बाह्य संसार पृथक त हुन्छ तर ऊभित्र भने अझै उही संसार र उही मनस्थिति जिउँदो हुन्छ । यसरी ऊ सांसारिक युद्धबाट फर्किसकेर पनि पुनः आफूभित्रको युद्धमा होमिन पुगेको छ । उसलाई विगतले आगतमा हिँडनबाट रोक्छन्, खुट्टा तान्छन्, बाटो छेक्छन् । ऊ विक्षिप्त छ ।

    तर, छोटो गरी केश काटेकी बरीलाई व्यक्तिगत रूपमा भने मैले सारीमा कल्पिएकी थिइनँ । जति जति बरी पुरानी हुँदै जान्छे उति उति मेरी दिमागकी बरी मेरो मगजभित्र आधुनिक हुलियामा पेश आउने गर्छे। तसर्थ, वर्तमान युगको नजरबाट नै बरी पेश आउली भन्ने मौन अपेक्षा बरीलाई मञ्चमा सारीमा देख्नासाथै भत्किएर गएको थियो। खैर, बरीको चरित्र निर्माणमा नाटकको टिमले गरेको मिहेनत नाटक हेरिरहँदा दर्शकलाई अवश्य महसुस हुन्छ। बरीलाई पुरानै समयपटमा चित्रण गरिए पनि उसको व्यक्तित्वमा उसको आधुनिक मानसको झलक काफी पाउन सकिन्छ । पारिजातले वर्णन गरेजस्तै बिरालाका जस्त चंख आँखा, जिस्क्यााउने हेराइ र साथसाथै एउटा निर्भीक, गम्भीर र चिन्तनमुखी व्यक्तित्व । बरीको हिँडाइ, बरीको हेराइ, उसका भावभंगिमा, उसको बोल्ने लवज र नाटकभरि लोभ्यााइरहने उसको विशेष प्रकारको अदा उपन्यासकी बरीको भन्दा कत्ति पनि कम छैन । बिन्दास र बौद्धिक एकैसाथ हुनसक्ने पारिजातकी बरीलाई नाटककी बरीले यसरी निभाएकी छे लाग्छ, ऊ ‘वर्षौंदेखि र त्यस मञ्चबाहिर पनि’ उस्तै छे । जे होस्, दर्शकलाई बरीले असन्तुष्ट छोड्नेछैन ।

    अब मुजुराको कुरा गरौँ । उपन्यासमा वर्णन गरिएभन्दा मुजुरा अलिकति फरक हुलियामा छे। सेतो सारीमा नभएर ऊ गाढा रातो सारीमा छे। केश खुला नभएर बाटिएको छ। दुई बहिनीका लागि दिदीले आमासमेत आफै हुन खोजेको आशय यस रंग छनोटले दिन खोजेको प्रतित हुन्छ जब उसले बहिनीहरूको बडो प्रेमले ख्याल राखेको देखाइन्छ। तर, मुजुराको विषयमा नाटक हेरिसक्दा पनि एउटा खड्किरहने कुरा के छ भने, शुरूमा सुयोगविरलाई भेट्दा लजावती झारजस्तै लजाएकी मुजुरा नाटक बग्दै गर्दा उसलाई खुलेरै जिस्काइदिन्छे। मुजुराको यस दुई किसिमको व्यक्तित्व नाटकमा देखिनु उति स्वभाविक लाग्दैन । ‘बरी र मुजराबीच टडकारो पृथकता देखाउनुपर्छ है’ भन्ने चेतका कारण शायद प्रारम्भमा मुजुराको चरित्रमाथि चाप ज्यादा पर्न गएको पो हो कि ! खैर, चरित्र निर्माणमा बरीमाथि जति मिहेनत मुजुरामाथि नगरिएको हो कि भन्ने शंका यहाँनेर दर्शकलाई हुनसक्छ । सानुको चरित्र भने उपन्यासमा भनिएजस्तै नै देख्न पाइन्छ। पानीको फोकाजस्तै उसको तपसिलको उपस्थितिमाथि चर्चा गर्नु उस्तो जरुरी त लाग्दैन तर उसको चरित्र निर्वहनले उपन्यासलाई न्याय गर्दै नाटकमा नजाँनिदो गरी प्राण भरेको पनि नकार्न सकिँदैन।

    नाटकमा लगभग उपन्यासमा वर्णित दृश्यहरूलाई नै देखाउने कोसिस गरिएको छ। पारिजातको सग्लो उपस्थिति नाटकमा नयाँ लाग्छ। र उपन्यासभित्रैबाट लिइएको भए पनि भिन्न तरिकाले कोरसमा देखिएका मटिनची, हेडहन्टरकी छोरी, भैँसी गोठाल्नी र आदिवासी युवतीको चित्रणले उपन्यासमाभन्दा गाढा रंगमा आफ्नो अस्तित्व नाटकमा जताएका छन्। उनीहरू सुयोगविरसँग आफ्ना गुनासो र सवाल राखिरहन्छन्। उपन्यासमा गौण देखिने यी पात्रहरू नाटकमा भने सक्रिय देखिन्छन्। आफूहरूसँग गरेको अपराध सुयोगविरले सकमबरीसँग नदोहोर्याओस् भन्ने आशय र चेतले उनीहरू सुयोगविरलाई विगतका यादहरू पठाएर आक्रमण गरिरहन्छन् र उसलाई विक्षिप्त बनाइरहन्छन्। उपन्यासका गौण पात्रहरूको प्रयोग गरी नाटकमा यसरी जीवन्तता थप्नु दर्शकहरूका लागि मननयोग्य कुरा बनिदिएको छ।

    उपन्यासमा बरीको मृत्युको खबर शब्दहरूमार्फत् नै थाहा पाइन्छ। तर, नाटकमा त्यही कुरालाई बिम्बात्मक शैलीमा देखाइएको छ। सुयोगविरको चुम्बनपछि बरी बगैँचाबाट घरभित्र छिर्छे र अविलम्ब बगैँचामा उभ्याइएको शिरीषको बोटबाट फूलहरू झर्न थाल्छन्। रूख रित्तो हुन्छ र भुइँ निलो ! त्यसपछि इपीलगमा पुनः पारिजात देखापर्छिन् । उनका अनुसार मरेर जानेको मृत्यु बाँचेकाहरूमा बाँचिरहन्छ।

    उपन्यासमा नभएका तर नाटकमा समेटिएका दृश्यहरू त यी भए । अब उपन्यासमा भएका तर नाटकमा नभएका दृश्यहरूका कुरा गरौँ । त्यसो त उपन्यासमा उल्लिखित हरेक घटना एवं उपघटनाहरूलाई नाटकमा सादृश्य गराउनु सम्भव नहोला । तर, केही दृश्यहरू नछुटेका भए सुन पनि सौगन्धिय हुनसक्थ्यो कि भन्ने एक जिज्ञासा ।

    नाटकको क्लाइमेकसमा सुयोगविर जब द्वन्द्वात्मक मनस्थितिकाबीच बरीलाई चुम्बन गर्छ तब ऊ बिना कुनै प्रतिक्रिया नै घरभित्र छिर्छे। तब एउटा सन्नाटा छाउँछ र त्यो सन्नाटासँगसँगै शिरीषका फूलहरू बरीको मृत्युको प्रतिकात्मक भुइँभरि झर्छन्। यहाँनेर, बरीको अचानकको मृत्युको खबरले दर्शकको हृदयमा झट्का पुर्याउन त खोजिएको छ तर त्यतै कतै अर्को महत्वपूर्ण कुरा छुटिरहेको पो छ कि भन्ने दर्शकको मनमा झस्को पस्छ।

    शिरीष फूल
    भ्रमर चुम्बनमै
    ओइली झर्छ

    शिरीषको फूलमाथि यो हाइकू हामी किताबभित्रै पढ्न पाउँछौँ। इाइकूमा जस्तै उपन्यासमा पनि शिरीषको फूल चुम्बनपछि झरिहालेको छैन। झर्नुअघि पाठक हृदयलाई के होला कसो होला भन्ने व्यग्र हुटहुटीमा पार्दै शिरीष फूल ओइलिएको छ। यो फूलको ओइलिनु किन पनि यति महत्त्वपूर्ण छ भने त्यो ओइलिरहँदा भवँरासँग दँजाइएको पात्र सुयोगविरको मनस्थितिको चरम हुलिया पाठकहरूमाझमा प्रस्फुटित हुन्छ। के मैरै कारणले बरीलाई सञ्चो छैन ? या बरी उसको पुरानो रोगका कारण बिसञ्चो छे ? यी दुई प्रश्नहरूकाबीचमा पिल्सिएर सुयोगविरले बाँचेको पीडा र छटपटीको पराकाष्ठा उसको विक्षिप्तताको चरमबिन्दू हो। र नाटकमा कतै ९शिरीष ओइलाउँदै गर्दा भवँरा टोलाउँदै, बहुलाउँदै गरेको० यही विशेष दृश्य पो छुटेको हो कि भन्ने दर्शकलाई लाग्नसक्छ।

    नाटकमार्फत् नाटकको टोलीले दर्शकहरूबाट केही कुराको अपेक्षा गरेको पाइन्छ। सकमबरीको मृत्युलाई उसबेलादेखि आजसम्म व्याख्या गरिँदै आएको निस्सारवादी एवं शुन्यवादी चस्माबाट मात्र नहेरेर हरेक दर्शक एवं पाठकले यसलाई आफ्नै चस्माबाट पनि हेरोस् र हरेकले यस मृत्युमाथि नयाँ र मौलिक आयाम पस्किउन् भन्ने आशय नाटकको देखिन्छ।

    र त्यस्तैमा यता पाठकहरू जो उपन्यासलाई सादृश्य हेरेर दर्शक पनि बन्न गइरहेका छन्, उनीहरू पनि नाटकसँग केही अपेक्षा बोकी हलसम्म पुगेका देखिन्छन् । (उपन्यास पढिसकेका अधिकांश) दर्शकहरू भने नाटकबाट बरीको मृत्यु आखिर किन भयो ? चुम्बनकै कारण या त रोगका कारण ! भन्ने द्विविधा अर्को शब्दमा भन्नुपर्दा सुयोगविरको द्वन्द्वात्मक स्थितिको समाधान, सवालको जवाफ खोज्दै नाटकघर पुगेका छन्।

    नाटकको टोली र दर्शकको खोजले विरोधाभास व्यक्त गरिरहेको हुँदाहुँदै पनि दुईबीचको समन्वय सुखद रहेको छ। किनभने, नाटकको टोली र दर्शकको भीड दुवैले आखिर खोजेको कुरा एउटै हो।

    नाटकभित्र एउटा समालोचकीय चेत खोज्दै दर्शकहरू नाटकघरसम्म पुगेको पाइन्छ। दर्शकहरूलाई शायद अपेक्षा थियो, मृत्युशय्यामा छटपटाइरहेकी बरी आत्मालाप गर्नेछे, आफूभित्रका रहस्यहरू दर्शकसामू खुलस्त पार्नेछे। उपन्यासकी अह्म् पात्र बरीले आफ्नो अहंपछाडिको आदर्श दर्शकहरूसमक्ष कुनै सलिलकीमार्फत् हस्तान्तरण गर्नेछे। या त फेरि सुयोगविरले नै उपन्यासमाभन्दा आफूलाई नाटकमा गहिरो बगाएर बरीको मृत्युमाथि, नारी र प्रेममाथिको आफ्नो अन्तिम समझलाई छताछुल्ल पोखिदिनेछ रक्सीको नशामा। तर, त्यो समालोचकीय चस्मा पारिजातकामार्फत् नाटकले दर्शक स्वयंलाई नै पहिर्याइदियो।

    लेखकले लेखेर पाठकलाई सुम्पिसकेपछि त्यो किताब अब पाठकको हो। त्यसमाथि लेखक वा जो कसैको कुनै एउटा निश्चित दर्शनलाई एकलौटी हावी हुन दिनुभन्दा अनेकानेक कोणबाट त्यसमाथि पाठक स्वयंले विवेचना एवं समालोचना गर्नुपर्छ। साहित्यमा समृद्धि शायद यसै अभ्यासले भित्रिँदो हो। मञ्चमा पारिजातलाई उभ्याएर चस्मा र मृत्युमाथि बोल्न लगाउनु नाटकले ‘शिरीषको फूल’ नाटकमार्फत् ‘शिरीषको फूल’ उपन्यासलाई एउटा प्रतिनिधि साहित्यका रूपमा लिँदै दर्शक एवं पाठकहरूबाट यो अपेक्षा गरेको पाइन्छ कि उनीहरू आफ्नो समालोचकीय चेतलाई साहित्यमा प्रयोग गरून्।

    यो त भयो, नाटक र दर्शकले खोजेका कुरा । तटस्थ उभिएर हेर्नुपर्दा मैले के खोजिरहेछु त ! मैले शायद दुवै खोजिरहेकी छु । समालोचकीय चेत नाटक र पाठक दुवै पक्षले प्रयोग गरिदिए हाम्रो साहित्य र रंगमञ्च दुवै एकसाथ पो समृद्ध हुने थिए कि ! मेरो तटस्थ दृष्टिले यही निष्कर्ष निकालेको छ ।

    अँ, एउटा कुरा त कुरैकुरामा झण्डै भुलेको । उपन्यास जति गम्भिर छ नि ! त्यो गाम्भीर्यलाई नमारीकन पनि रमणीयता र रोचकपन उपन्यासका पाठकले भन्दा ज्यादा नाटकका दर्शकले प्राप्त गर्ने थप कुरा हुन् । उपन्यासमा नपाइने ह्युमर नाटकमा प्रशस्त पाउन सकिन्छ । तन्मयताकासाथ हेर्ने हो भने उपन्यासमा नपाइएको तर, कथाको बहावमा बडो सुहाउँदो (सानु पोइल गएको थाहा पाएपछि सकमबरीले दिएको प्रतिक्रियाले निम्त्याएको) मार्मिक क्षण पनि नाटकमा देख्न पाइन्छ । यस्ता सुक्ष्म कामहरूले नाटकमा प्राण भरेका छन् । यस अर्थमा ‘शिरीषको फूल’को ‘पाठक मात्र’ हुनुभन्दा ‘दर्शक पनि’ हुनुमा सार्थकता महसुस हुनेछ ।

  • मनसरा… !

    मनसरा… !

    हाम्री छोरी आभा अहिले पाँचौँ वर्षमा हिँड्दै छिन् । सामान्य नेपाली र अङ्ग्रेजीका शब्द र अंकहरू उप्काउन सक्ने भएकी छन् । अफिसले राजीनामा स्वीकृत गरेपछि म घरैमा सानो व्यवसाय गर्दै उनीसँगै हाँसेर, बोलेर दिन काटिरहेको छु ।

    मेरो घरको एउटा कोठामा केही किताब र केही पत्रपत्रिका छन् । उमेर छँदा लेखिएका गीत, गजल, सायरी र मुक्तकका डायरीहरू पनि तिनै किताबहरूको बिचमा कहिँकतै छन् । कुनै डायरीमा मनसराका सुन्दर अक्षरहरूले सजिएका केही पानाहरू छन् । प्रायः डायरीहरू मेरै अक्षरले कुरूप भएर थन्किएका छन् ।

    नानीकी आमा गाउँकै एउटा विद्यालयमा नेपाली पढाउँछिन् । आमा छोरीसँगै स्कुल जान्छिन्, सँगै फर्किन्छन् । आमा निकै कमजोर हुँदै जानुभएको छ । बुवाका आँखाले भर दिन छाडेको धेरै भइसक्यो ।

    छोरी जन्मिएपछि घरमा केही कुराहरू परिवर्तन भए । आमाबुवा निकै हर्षित हुनुभयो । म छोरीलाई हेरेर, उनीसँगै खेलेर घण्टौँ हराइदिन सक्ने भएछु । नानीकी आमा पनि यी सबै कुराहरू देखेर खुसी छिन् ।

    उनले मलाई धेरै माया गर्छिन् ।

    आभा, नानिकी आमाले आफ्नो इच्छाले राखेकी हुन् छोरीको नाम । आभालाई लेख्न र पढ्नमा खुब रुचि छ । स्कुलमा थाकेर आएर पनि उनमा पढाई प्रति विशेष रुचि देखेर म अचम्मित हुन्छु । आभा अहिले कक्षा एकमा पढ्छिन् ।

    उनका झोलामा भएका किताबहरूको नाउँ उनलाई कण्ठ छ । उनी दिनानुदिन नयाँ नयाँ शब्दहरू सिक्न उद्धत देखिन्छिन् । मैले राखेका र्‍याकबाट नयाँ नयाँ किताबहरू झिकेर ल्याउँछिन्, शब्दहरू पढ्न खोज्छिन् र नसकेको कुरा मलाई ल्याएर सोध्छिन् । शब्द सिकाइको भोकले आकुल भएकी आभालाई त्यस शब्दको अर्थ पनि भनिदिनु अनिवार्य झैँ हुन्छ- सकेसम्म सजिलो र उनले बुझ्ने तरीकाले ।

    एक दिन छोरीले एउटा डायरी झिकेर लिएर आइन् । डायरीको अघिल्लो पृष्ठमै मोटा र ठुला अक्षरले ’मनसरा’ लेखिएको थियो ।

    आभाले बाहिरको कुर्सीमा बसेर डायरी पल्टाइन् । अगाडि शीर्षक झैँ लेखिएको ‘मनसरा’ सहजै पढिन् ।

    नानीकी आमाले भान्छाबाट सोधिन्, ‘आज कुन सब्जेक्ट पढेकी छोरी ?’

    आभाले भनिन् ,’मनसरा मामु !’

    ‘मनसरा मामु ?’, कस्तो विरोधाभासपूर्ण जवाफ छोरीको । व्याकरणीय संयोग हो यो, ‘मनसरा मामु ?’

    म फेरि एक पटक झसङ्ग भएँ । आभाको ‘मनसरा मामु’ लाई मैले ‘मनसरा, मामु !’ गरेर सुनेँ ।

    म मोबाइलमा केही समाचार हेर्दैछु । आभा दौडिएर हातमा डायरी च्यापेरै मतिर आइन् ।

    ‘होमवर्क सक्यौ छोरी?’

    ‘आज मनसरा पढ्ने बाबा ।’

    ‘तिम्रो बेला भएको छैन आभा । जाऊ बाबाको डायरी लगेर राख ।’

    ‘मनसरा भनेको के हो बाबा ?’

    आभा साह्रै जिद्दी बच्ची हो । अब मैले नबोली धर छैन ।

    ‘समयले भेटाएर नियतिले छुटाएको एक टुक्रो जिन्दगी हो छोरी ।’
    ……

    ‘बुझ्यौ ?’

    आभाले बुझिन भन्ने भावमा टाउको दायाँबायाँ हल्लाइन् । उनले बुझिनन् भन्ने कुरा मैले बुझेँ । हातको डायरी भुईँमा पछारेर उनी आमा भएतिर दौडिइन् ।

    जम्मा पाँच वर्षकी मान्छेलाई दिएको जवाफ सम्झिएर म आफैसँग रिसाएँ एक पटक । मैले मनसरालाई के बुझेँ यत्तिका वर्षमा ? अनि किन सकिनँ बुझाउन एउटा बाल सुलभलाई ?

    सायद मनसरा यस्तै केही हो, जसलाई न मैले न अरू कसैले कहिल्यै बुझ्न सक्यो । यस्तै केही सोचमा निकै बेर हराएँ म ।

    भुईँमा पछारिएको डायरी सरक्क टिपेर जतनसाथ लगेर भित्र किताबहरूको चेपमा घुसारेर बाहिर निस्किएँ ।

    छोरीलाई बोलाउन खोज्छु, ‘आभा…., छोरी…!’

    भित्री कोठामा हजुरमाको छेउमा आभा निदाई रहेकी छ । आमाले आफ्नो हातले आभाको गाला र आँखाको डिलतिर पुछिदिए झैँ गर्दै हुनुहुन्छ । गहभरि आँसु बनाएर निदाएकी आभाको आँखा पुछ्दै हुनुहुन्थ्यो, सायद ।

    नानीकी आमा भान्छामा खाना तयार गरिरहेकिछिन् । म आफ्नो काममा लाग्छु ।

    ‘बालखलाई साँझमा रुवाएर, बिचरा भोकै निदाई।,’ आमा भनिरहनुभएको थियो ।

    म सुनेको नसुन्यै गर्छु ।

    मनसरा, तिमी रुवाउनकै लागि भेटिएकी थियौ ? अनि रुवाउनकै लागि छुट्टिएकी हौ त ?

    धेरैपछि आज आफूलाई हेरेर भित्रभित्रै रोएँ, अरूलाई हेरेर बाहिरबाहिरै खुसी हुने बानी भएछ ।

    मनसरा…!

    २०७१ कार्तिक ९, पीपल चौक, गाईघाट । म नजिकैको उदयपुर अङ्ग्रेजी माध्यमिक विद्यालयमा अङ्ग्रेजी पढाउँथेँ । तर एउटा अन्तिम कक्षा मेरो कक्षा ७ को सेक्सन ‘बि’ मा सामाजिक विषय थियो । अन्तिम कक्षा सकेर निस्कँदै गर्दा पाइन्टको खल्तीमा भएको मोबाइलले भाइब्रेसनको सङ्केत दियो ।

    ‘हेप्पी बर्थ डे सर, विश् यु अ हेप्पी लाइफ एण्ड मेनि मोर !’ मनसराको मेसेज थियो ।

    एक रुपैयाँ पच्चिस पैसा खर्च गरेर ‘थ्यांक यु !’ मात्र रिप्लाएँ ।

    ‘आईएम् एक्पेक्टिङ् सम् क्वालिटी टाइम विद् यु, क्यान वि…?,’ लगत्तै आयो अर्को मेसेज ।

    ‘आर यु किडिङ् ? हाव इज इट् पसिबल ?’, मैले पनि जवाफ फर्किएँ ।

    ‘मिट मी एट टेबल नम्बर थ्री, भ्यु पाइन्ट रेस्टुरेन्ट, इफ् योर क्लासेज् आर ओभर ।’

    मनसरा गाईघाट आउने कुरा त थियो । किनकि दसैँ नजिकिँदै थियो । गाईघाटमा मनसराका मावलीहरू छन् । तर यति चाँडो त उ किन आउँथी र गाईघाट ? मनमा कुरा खेलाउँदै म विद्यालय हाताबाट बाहिरिएँ ।

    पीपल चौक पुगेँ, अगाडि नै छ, भ्यु पाइन्ट रेस्टुरेन्ट ।

    ‘टेबल नम्बर थ्री !’ सम्झिँदै लागेँ उकालो । मुटु सामान्य अवस्थाभन्दा जोडले धड्किएको थियो । यदि मनसरा आएकी हो भने यो मेरो जीवनको सबैभन्दा अपत्यारिलो र भयङ्कर सर्प्राइज हुने थियो ।

    टेबल नम्बर थ्री ! पाखुरा देखिने निलो टी- शर्ट र निलै जिन्स लगाएकी एउटी महिला कुर्सीमा विपरीत दिशातिर फर्किएर बसिरहेकी छ । यो संयोग हो कि सर्प्राइज ? अनि यो हतार ? यो कौतुहलता ?

    हत्तपत्त भित्र पसेर टेबल नम्बर थ्री नजिकै पुगेँ । केटी मोबाइलमा केही हेर्दै थिई ।

    ‘हेल्लो !’, आवाज दिएँ । टाउको उठाएर हेरी मतिर । बसेको ठाउँबाट उठी र एउटा सानो रातो झोला मतिर सार्दै भनी ‘हेप्पी बर्थ डे, डियर !’

    ‘ह्वाट् अ सर्प्राइज !’, म अकमक्क परेँ ।

    ‘प्लिज सिट् डाउन !’, नजिकैको कुर्सीतर्फ देखाएर उनले आँखीभुइँको सहायताले बस्न इशारा गरिन् । म बसेँ ।

    ‘थ्यांक यु पनि छैन ?’

    ‘आइएम् सरी ! थ्यांक यु !’

    ‘नो सरी, नो थ्यांक यु’, उनले भनिन् ।

    गाईघाटमा मनसरा र मेरो यो दोस्रो भेट हो ।

    ‘अनि घर नगई ?’, मैले सोधेँ ।

    ‘घरमा ममि बुवालाई जुठो छ । म मामाहरूसँग यतै आएँ ।’

    ‘ए ए ! ठिक छ ।’, म मुस्कुराएँ ।

    ‘यु लुक् सो जेन्टल् !’, उ मेरो तारिफ गर्न खोज्छे ।

    ‘आइ थिंक् आइ अलरेडी वाज, !’ मजाकमा हामी कौन सा पछाडि छौँ र ?

    ऊ मज्जाले हाँसी । वरपरका टेबलका केही टाउका हामीतिर फर्किए । हामी लजायौँ ।

    ‘के खान्छौ?’

    ‘समथिङ भेज् ! के छ यहाँको स्पेसल ?’

    ‘भेज् किन?’

    ‘सन्डे!’

    छिः म कति बुद्दु छु । मलाई केही कुराको हेक्का रहँदैन । मनसराले आइतबार र मङ्गलवार नन् भेज् खाँदिन थिइन् ।

    ‘सरी!’

    ‘नो सरी, नो थ्यांक यु!’

    ‘डाइलग रिपिट भयो ।’

    ‘मामाहरू कुरिरहनुभएको छ, खाजा खान घरै पुगिएला । अहिलेलाई कफी मात्र गरौँ है !’

    ‘ओके !’

    मेनु हेरेर लास्टमा दुई वटा कफि अर्डर भयो ।

    ‘घरतिर के छ ?’, मैले सन्नाटा चिर्ने यत्न गरेँ ।

    ‘ठिक छ । यता ?’

    ‘यता पनि ठिक छ । घर आउने होला नि !’

    ‘नाइँ आउँदिन होला । अलि छिट्टै फर्किनु छ।’

    ‘एक दिन एक छिन आए हुन्छ नि ! ममिले कति सम्झिरहनुहुन्छ ।’

    ‘मलाई ममीको नम्बर दिनु न ! फोन गर्छु, आउन नभ्याए पनि ।’

    मैले नम्बर भनिदिएँ, उनले मोबाइलमा सेभ गरिन् ।

    कफि आयो । कफिको चुस्की लगाउँदै केही कुराकानी भए, दैनिकीका, पढाईका र अगाडिका दिनका ।

    कफि सकेर हामी उठ्यौँ । काउण्टरमा गएर मैले १८० रुपैयाँ तिरेँ । हामी बाहिर निस्कियौँ ।

    ढोकाबाट बाहिर निस्किएपछि अघिको रातो झोला उनले मेरो हातमा थमाईदिइन् । मैले लिएर आफ्नो काँधमा बोकेको अर्को झोलामा राखेँ ।

    मोटरसाइकलको पछाडी राखेर मैले उनलाई सेतो पुल नजिकै लगेर छोडिदिएँ । र घरतिर लागेँ ।

    घर पुग्दा अरू दिनभन्दा अलि अबेर नै भइसकेको थियो । बाइक आँगनमा राखेर आफ्नो कोठामा पसेँ । आमा भान्सामा आगो फुक्दै हुनुहुन्थ्यो ।आएको चाल पाएर बाहिर निस्किनुभयो । झोला खाटमा राखेर म पनि बाहिर निस्किएँ ।

    ‘हेप्पी बर्थ डे विरोध सर !’ ममिले भन्नुभयो । म बिहान घरबाट निस्किँदा ममि उठ्नुभएकै हुँदैन । म आफ्नो क्याम्पस पढेर बिहानको खाना बजार तिरै खाएर स्कुल सकेर साँझमा मात्र घर आउँथेँ ।

    ‘यो धरतिमा जन्म दिनु भएकोमा थ्यांक यु आमै !’ यति भनेर गोजिबाट एउटा चोकोपन् झिकेर ममिलाई दिएँ ।

    ‘खान्न म त ! तैँ खा !’ भनेर भान्सामा पस्नुभयो ।

    म कपडा फेर्न थालें । कपडा फेरेर झोला खोल्नै लाग्दा फेरी ममिले बोलाउनुभयो र म बाहिर निस्किएँ ।

    ‘बुहारीको फोन आएको थियो । यतै आएकी रैछन त !’

    ‘अँ भेट भएको थियो ।’

    अरुदिन एक छिन ढिलो हुँदा आत्तिएर फोन गर्ने अनेक प्रश्न गर्ने मान्छे आज निकै अबेर हुँदा पनि चुप बस्नुको रहस्य मनसराको फोन पो रहेछ ।
    ‘के भनिन् त ?’

    ‘केही नाइँ ! सामान्य हाइ हेल्लो मात्र ।’

    यत्तिकैमा मोबाइलको मेसेजको घण्टी को सङ्केत आयो ।

    भित्र पसेँ, मोबाइल झिकेर हेरेँ । मनसराकै मेसेज थियो, ‘भोलि बिहान आउँछु आमालाई भेट्न । लिन आउनु ल ?’

    ‘मेरो लागि छोरो जन्माइदिनुभएकोमा हजुरलाई धन्यवाद !’ मनसराले फोनमा भनेको कुरा आमाले एक छिनमा सुनाउनुभयो ।

    ‘त्यति नजिक आएर पनि घरसम्म आउँदिनौ ?’ भनेर आमाले सोध्नुभएकोले घरसम्म आउन लागेकी रहिछन् ।

    जन्मदिनको दिनमा मनसरा भेटिनु र भोलि घरैमा आउने कुरा नै मेरो लागि ठूलो कुरा थियो । तैपनि म उनको कोसेली हेर्न आतुर थिएँ । म भित्र पसेँ र झोलाबाट उनले दिएको रातो झोला हातमा लिएर बडो जतनले खोलेँ ।

    त्यहाँ एक डायरी थियो ।

    ०००

    पारिलो घाम लागेको छ। असोजको दिन, दसैँलाई स्वागत गर्न तम्तयार छ गाउँ । घरका भित्ताहरूले मुहार फेरेका छन्, बाटोघाटो, चौतारो सबै सुकिला भएका छन् ।

    यस्तै एउटा दिनमा बुवा र म बाख्राको टाट्नो सुधार्दै थियौँ, आमा र बहिनी करेसाबारीमा तोरी बेड्याउंदै हुनुहुन्थ्यो- एउटा महिला आकृति सानो हाते ब्याग च्यापेर हाम्रो घरतिर उक्लियो ।

    ‘को आयो घरमा  ?’, आश्चर्य मान्नुभयो बुवाले ।

    ‘खै ! राम्ररी देखिएन ।’, मैले भनेँ ।

    ‘मान्छे त चिनेकै जस्तो लाग्यो ।’

    ‘होलिन् कोही शाहिखोलातिरको । बजारबाट फर्किएकी होलिन्, पानी पिउन पसेकी हुन कि !’

    ‘जा घर पुगेर आइज । आउँदा एक जग चिसो पानी पनि ले।’, बुवाले यति भनेर बाँसको चोया तिखार्न थाल्नुभयो । म घरतिर लागेँ ।
    बुवाको अनुमान सहि रहेछ । अञ्जान नौलो मान्छे थिएन घरमा आएको, मनसरा थिइन् ।

    ‘मान्छेहरूले बाटो बिराएजस्तो छ नि !’, अलिकति बनावटी हाँसे म ।

    ‘बाटो बिराएको मान्छे हराउँछ, यसरी आउनुपर्ने ठाउँमा आइपुग्दैन ।’, मनसरा पनि हाँसिन्, सायद त्यो पनि बनावटी नै थियो ।

    यति धेरै समयपछि मनसरा घरसम्मै आइपुग्दा पनि ममा उत्साह र खुसी देखिएन, किनकि त्यो दसैँपछि मनसराको फ्लाइट थियो ।

    मैले एक गिलास पानी लिएर आएँ, त्यो पानी उसलाई दिँदै सोधेँ, ‘अनि के कति कामले ?’

    ‘बिना काम आउन नहुने भइसक्यो यो घर अब ?’ उनले यसरी भनिन् कि मानौँ उनी त्यही घरकी एक सदस्य हुन् ।

    ‘काम विशेष नभै आएको थाहा थिएन, त्यही भएर ।’, म त बोल्न पनि जान्दिन यस्तो बेला ।

    ‘अब चाडहरूले घेर्न लागेपछि समय मिल्ला नमिल्ला, एक पटक बुवा ममिलाई पनि भेटौँ, आशीर्वाद लिऔँ भनेर ।,’ उनले आउनुको उद्देश्य बताइन् ।

    बुवाआमालाई पनि भनेपछि म पहिलो प्राथमिकतामा परेँ भन्ने सम्झिएर फिस्स हासे, केही बोलिनँ ।

    ‘ममिहरु खै त ?’

    ‘बारीमा हुनुहुन्छ, बोलाउँ ?’

    ‘नाइँ पर्दैन, मै जान्छु ।’ यति भनेर उनी घर पछाडी आमा र सान्नानी भएतिर लागिन्, म पानी लिएर बुवासँग लागेँ ।

    ‘को रहेछ केटा ?’, बुवाले सोध्नुभयो ।

    म त्यसै गरी हासे जसरी अरुबेला घरमा मनसराको कुरा चल्दा हास्थें ।

    बुवाले बुझ्नुभयो ।

    हाम्रो घरमा मनसरा आएको यो पहिलो पटक थिएन, हुनेवाला बुहारीको हैसियतमा उनी पहिला पनि धेरै पटक मसँग आएकी थिइन्। त्यसैले यो कुरा बुवालाई पनि नौलो लागेन । हामी आफ्नो काममा लाग्यौँ ।

    ०००

    ‘बिहे गर्नुभा हो ?’, धेरै पछि मनसराको म्यासेज आयो मेसेन्जरमा ।

    ‘खै ! सबैले त्यसै भन्छन् !’, मैले फर्काएँ ।

    ‘कोसँग ?’, कुराकानी थपिइहाल्यो ।

    ‘केटीसँग ।’, रिस उठाइदिनु थ्यो ।

    ‘छ्या ! अनि बिहे केटीसँग त हुन्छ नि !’, उसले पनि रिस देखाई ।

    ‘लौ हो र ! मेरो बहिनीको त केटासँग भयो त !’, मैले झन जिस्काएँ ।

    मज्जाले हाँसिन् र भनिन्, ‘तपाईं सुध्रिनुहुन्न ।’

    ‘बिगार्ने मान्छे अलि कडा परेर होला  !’

    ‘इडियट! साँच्ची भन्नू न !’

    ‘साँच्ची !’

    ‘राँची जानुस् !’

    ‘आएर लैजाऊ !’

    ‘म किन आउनु ?’

    ‘तिमी आउजाउ गरिरहन्छ्यौ क्यारे त्यता । बाटो देखाउँछ्यौ कि भनेर ।’

    ‘हे प्रभु !’

    ‘हजुर ?’

    ‘छ्या तपाईं त !’

    ‘छ्या तिमी त !’

    ‘म गएँ ।’

    ‘शुभ यात्रा ।’

    ‘नो थ्यांक्स !’

    ‘आइ डन्ट केयर!’

    यो अन्तिम संवादपछि मनसरासँग मेरो कुराकानी भएको छैन । मनसरा मनभित्रै मात्रै छे । मनसँगै बोल्छिन् मनसरा । मनसँगै कुरा गर्छिन् । आज अचानक छोरीले मनसरालाई सम्झाइदिइन् । मनसरालाई डायरीबाट निकालेर मेरो अगाडि ठिङ्ग राखिदिइन् ।

    ०००

  • मनमौजी कवि, एक वनफुल !

    मनमौजी कवि, एक वनफुल !

    ह्विस्किको एउटा चारित्रिक विशेषता हुन्छ,– जति पुरानो भयो उति नै महँगो !

    तर, जति उमेर बढ्यो उति युवा हुन्छ कि हुन्न मानिस ? बलिउड अभिनेता देव आनन्दलाई एक पटक कुनै पत्रकारले सोधे, ‘तपाईं आफूभन्दा निक्कै कम उमेरकी नायिकासँग रोमाान्टिक गीत गाउँदै सिनेमामा नाच्नुहुन्छ । त्यसका लागि तपाईँ बुढो हुनुभएन र ?’

    देव आनन्दले तुरुन्तै जवाफ फर्काएका थिए, ‘आई एम नट ओल्ड, बट म्याच्युर्ड बाई एज ।’

    कवि विप्लव प्रतीकलाई देव आनन्दको जवाफ घत लाग्छ ।

    सेतै फुलेको कपाल छ । ती सेता कपाललाई सम्हालेर एक ठाउँमा बिटा बनाएको सानो क्लिप छ । हिउँले छोपिएको धुपीको रुखजस्तो टाउको बोकेर साइकल कुदाइरहेका प्रतीक सहरका गल्लीहरुमा भेटिइरहन्छन् । सानो झोलामा टिटी बल र ब्याट बोकेर कुदिरहेका भेटिन्छन् । टेनिस बोर्डमा चेक सट हानिरहेका भेटिन्छन् ।

    प्रतीकको सेतै फुलेको कपाललाई मात्रै आधार मान्ने हो भने बूढो भइसके । प्रतीकको सक्रियतालाई आधार मान्ने हो भने युवा नै छन् । भर्खरै मात्र साइक्लिङ गर्दै काठमाडौंबाट चितवन पुगे एकजना भाइसँग । बाटाका उकाली–ओरालीहरुमा साइकलको पाइडल चालाउँदै चितवन पुगे । रिफ्रेस भए । अनि काठमाडौं फिरे ।

    ‘तपाईंको उमेर सोध्दा त विच्किनुहुन्छ होला है दाइ ?,’ कुराकानीको सुरुवात नै उमेरबाट गरेँ ।

    ‘पहिला त विच्किन्थेँ, अचेल ठाउँ हेरी जवाफ दिन्छु । मान्छेसँग त्यही उमेर, घर, ठेगानाको खुलदुली हुनेरहेछ । उनीहरुको जिज्ञासा पनि जायज छ । समाज त्यस्तै हो । प्रायः मैले दिने जवाफ भनेको, ‘आइ एम एज ओल्ड एज दिस युनिभर्स एण्ड आइ एम एज योङ एज दिस अर्थ’ हो ।’

    कहिलेकाहीँ मान्छेहरुले चित्त नबुझाउन सक्छन् प्रतीकको यो रेडिमेड जवाफसँग । भन्छन् नि, ‘तन बूढो भए पनि मन बूढो हुँदैन’ ।

    प्रतीकलाई भने ‘तन…मन’ को जवाफ उछृंखल लाग्छ, ‘मलाई उछृंखल लाग्नुमा मेरो नजरिया पनि हुनसक्छ । त्यसभित्रको अर्थ नबुझेको हुनसक्छु ।’

    उमेरको जुन अंक हुन्छ, त्यसलाई सम्झन चाहँदैनन् प्रतीक । उमेरको अंकगणितको हिसाबकिताब गरिराख्नु पनि छैन उनलाई । अंकगणितको वासलात मिलाइराख्नु पनि छैन उनलाई ।

    गम खाएर बोल्छन्, ‘उमेर पुगेपछि कुन वेला जाने लेखिएको छ, म जान्छु । तर, जानेवेला मलाई रिमाइण्ड गर्ने त्यो अंक मैले याद गरेको छैन । बिर्सिएको छु । सम्झिएँ भने त्यसले मलाई मिडलाइफ क्राइसिस ल्याउनसक्छ । यौन कुण्ठित भएर नचाहिने काम गर्नसक्छु । अथवा उमेरको अंकले तर्सायो भने म भ्रष्ट पनि हुनसक्छु ।’

    अंक नसम्झिएको भन्दा मान्छेले ‘पाखण्डी’ भन्ला कि भन्ने भय पनि छ प्रतीकलाई । तर, त्यो भयभन्दा धेरै पर अंकले केही फरक नपार्ने अवस्थामा आफू पुगिसकेको बताउँछन् । उमेरलाई ‘सिर्फ अंक’ मानेर टारिदिन्छन् । दिमागमा ‘अंक’लाई आउँनै दिँदैनन् । ऊर्जालाई कम हुनै दिँदैनन् ।

    साइकल लिएर चितवन जाँदा साथीभाइले प्रतीकलाई भनेका थिए, ‘यस्तो लहडी काम किन गरेको ?’

    यी सवालभन्दा निकै पर प्रतीक साइकल कुदाइरहेका थिए । सवाललाई काठमाडौंमै छाडेर गिफ्ट स्वरुप पाएको साइकलसँग चितवन पुगिसकेका थिए ।

    फेरि जाने योजनामा पनि छन् जनकपुर या मधेशका कुनै गाउँमा ।
    आफूमा भएको ऊर्जालाई बाधा हुने ‘उमेरको सोच’ दिमागमै ल्याउन दिँदैनन् ।

    उमेरलाई दिमागमा नल्याए पनि कहिलेकाहीँ अवचेतनमा ‘उमेर आतंक’को घनले हिर्काउन सक्छ नि ! सधैंभरि चेतनाले मात्रै मानिसलाई डो¥याउन सक्दैन ।

    प्रतीकको जवाफ छ,– ‘त्यस्तो भए त कुनामा लुकेर खिन्न भएर उदास रहन्थेँ नि ! मेरो चेतन र अवेचतनले एकै काम गर्छ । त्यसको उदाहरणबारे अरु कुनै बेला कुरा गरुँला ।’

    ‘त्यस्तो पनि सम्भव रहेछ है ?,’ शंशयपूर्ण सवाल थियो प्रतीकलाई ।

    त्यसका लागि सोचको साधना आवश्यक भएको बताउँछन् उनी ।

    ०००

    ‘लेखान्त, भाग्यमा विस्वास गर्नुहुन्छ ?’

    हिन्दुस्तानका एक अज्ञेय नामक लेखकले भनेका छन्, ‘हरेक क्रान्तिकारी अन्तमा गएर नियतीमा विस्वास गर्न थाल्छ ।’

    अज्ञेयबाट प्रेरित भएको त आफूलाई ठान्दैनन् प्रतीक । तर, आफ्नै जीवनको चक्र हेर्दा कताकता विस्वास गर्छन् । कवि बन्नका लागि हिँडेका थिएनन्, कवि भए । घर खोजेका थिएनन, वर्षौं कोठाभाडामा बसेका थिए, घर भयो । असल साथीहरु होस् भन्ने लालसा पालेका थिएनन्, तर थुप्रो ‘क्लोज टु माइ हर्ट’ बने ।

    प्रतीक सुनाउँछन्, ‘मैले सबै पाएको छु । मन पर्ने साथी पाएको छु । मन हर्ने कुरा पाएको छु ।’

    केही समयअघि उनलाई एउटा साइकल किन्न मन थियो । त्यसैताका उनले एउटा संस्मरण लेखेका थिए । त्यही संस्मरण प्यांक बाइकका तिरेक मानन्धरले पढेर उनलाई साइकल नै गिफ्ट दिए । कसैले त्यही गिफ्ट गरिरहेका हुन्छन् उनलाई, जुन उनले चाहेका हुन्छन् । तर, गिफ्टै पर्खाइमा पनि बस्दैनन् । गिफ्टकै तिर्खामा पनि बस्दैनन् । तैपनि कसोकसो पाइरहेका हुन्छन् ।

    ‘मान्छेहरुले यो धनी छ, यसले साइकल चढ्छ भन्छन् । तर त्यसो होइन,’ प्रतीक सुनाउँछन्, ‘मलाई त कस्मसले केयर गरिरहेको रहेछ । खाली मैले गर्नुपर्ने चाहिँ म जुन बाटोलाई सही ठान्छु, त्यही बाटोमा हिँडिरहनुपर्ने रहेछ । तर, मैले हिँडिरहेको बाटो अरु कसैलाई गलत पनि लाग्न सक्छ ।’

    प्रतीक आफूलाई ‘वनफूल’ भन्ठान्छन् । जसको कुनै माली हुँदैन । बीउ कसले छ¥यो, कसैलाई थाहा हुँदैन । त्यस ठाउँमा बाहेक अन्य ठाउँमा कतै पाइँदैन । त्यो फूलको नाम पनि कसैलाई थाहा हुँदैन । जो उम्रन्छ मालीविना, फक्रिन्छ र ओइलिएर झर्छ । माटोबाट आएको थियो, माटोमै मिल्छ । जसको सौन्दर्यको व्याख्या गर्ने कविहरु त्यहाँ पुगेका हुँदैनन् ।

    प्रतीक भन्छन्, ‘त्यो चाहिँ म हो भन्ने महसुस हुन्छ मलाई । कुनै कुराको अपेक्षा राख्दिन म त्यस बनफूललेझैँ । जानेर कसैको चित्त दुखाउन जान्दिनँ म । शायद त्यसैले अनपेक्षित रुपमा मैले खुशी मिल्ने कुरा पाइरहेको हो कि ?’

    चित्त नदुखाएजस्तो लागे पनि चित्त दुखाएका त होलान् प्रतीकले । कसैलाई ‘हर्ट’ गरेका पनि होलान् । प्रतीकसँग दुःखी हुने मान्छे पनि होलान् । तैपनि उनलाई लाग्छ, जानेर कसैेको चित्त दुखाएको छैन ।

    आनी छोइङले गाएको गीत जस्तो, ‘मेरो पैतालाले किरै नमरोस् ।’

    ०००

    संस्मरण लेखेर साइकल गिफ्ट पाउने प्रतीकसँग शुभचिन्तक कति होलान् ? साथीभाइ कति होलान् ? जुन सम्बन्धबाटै अनपेक्षित रुपमा खुसी मिलिरहेको हुन्छ प्रतीकलाई । कसैको मन दुखाउन नचाहने प्रतीकका नजरमा सम्बन्ध भनेको के होला ? सम्बन्धलाई कसरी हेर्लान् ? सहरमा त सम्बन्धलाई जोगाउन र बचाउन नसकेर दुःखी भएका धेरै मानिस भेटिन्छन् ।

    प्रतीकको जोसँग सम्बन्ध छ, उसँग इन्टिमेसी हुन्छ । र, एउटासँग जुन कारणले इन्टिमेसी भएको छ अर्कोसँग अर्कै कारण हुन्छ । त्यसैले उनी हरेक कारणलाई जतनले चलाउँछन् । भन्छन्, ‘जोसँग मेरो दोहोरो चिनजान छ, सबैसँग इन्टिमेट रिलेसन छ, कमसेकम मेरो तर्फबाट ।’
    सम्बन्धलाई कसरी मेनटेन र छाँटकाँट गर्ने भनेर पहिला मान्छेको आँखामा हेर्छन् ।

    सुनाउँछन्, ‘मप्रति कसैको हृदयमा प्रेमभाव छ, त्यो उसको आँखाले थाहै नपाइकन भनिदिन्छ । मप्रति कसैको सम्मान छ, त्यो पनि आँखाले नै भनिदिन्छ ।’

    सम्बन्धलाई ग्रान्टेडको रुपमा पनि लिँदैनन् । बरु त्यसलाई कसरी जोगाउने, कसरी अझैं स्नेहपूर्ण बनाउने भनेर लाग्छन् ।

    प्रतीकको सम्बन्धलाई सन्तुलनमा राख्ने आफ्नै दृष्टिकोण छ,– ‘कोही मान्छेबाट मप्रति स्नेह हुने काम हुँदा त्यो मान्छेलाई टेकन फर ग्राण्टेड लिएँ भने मेरो सम्बन्ध टुट्दै जान्छ । कसैको स्नेहलाई कसरी कदर गर्ने भन्ने तरिका हुन्छ । उसले थाहै नपाइकन मन परेको उपहार दिने अथवा के गरिदिँदा ऊ खुसी हुन्छ भनेर ख्याल राख्न जान्नुपर्छ । तर, त्यसको बदलामा केही अपेक्षा नराख्ने । साथै सम्बन्धलाई कदर गर्ने । तर, मैले कदर गरिरहेको छु, त्यसैले यो सम्बन्ध टिकेको छ भनेर सोचियो भने त्यस्तो सोच्ने बित्तिकै सम्बन्ध भत्किसकेको हुन्छ ।’

    प्रतीकको सम्बन्धहरु विस्तारित छन् । उनले व्यक्तिगत रुपमा सम्बन्धलाई हेर्ने आयाम छन् । कतिपय सम्बन्धमा भने सहज महसुस नगरेर, रमाइलो नमानेर, अन्जानवश कसैले सम्बन्धलाई ठेस पु¥याएर उनले दुरी पनि बनाएका होलान् !

    भन्छन्, ‘जोसँग मैले सम्बन्ध राखिरहेको छु, उसले निजी उद्देश्य पूर्तिका लागि राखिरहेको छ भने त्यहाँ बस्दिनँ । मलाई लागेको कुरा उसलाई भन्छु । दोस्रोपटक भन्छु । किनभने मलाई एकपटक गाँसिसकेको सम्बन्ध तोड्न मन लाग्दैन । त्यसमा मेरो समय लगानी भएको हुन्छ । तेस्रोपटक पनि त्यस्तै हर्कत भयो भने जति कोमल छु, उत्ति नै बज्र भएर निस्कन्छु । त्यसपछि लाखौंपटक कोसिस गरे पनि म जोडिन सक्दिनँ । मेरो हृदय टुटिसकेको हुन्छ ।’

    त्यसरी हृदयको तारै टुटाएर जाने मान्छे एक जना छन् प्रतीकको । अर्का एकजना पनि थिए, तर समयले फेरि जोडाईदिएको छ उनलाई ।

    प्रतीक थप्छन्, ‘केटीहरुसँगको सम्बन्धलाई लिएर चाहिँ मैले जीवनमा धेरै दर्द व्यहोरेको छु । मेरो कसैप्रति नराम्रो भावना छैन । सकेजति उनीहरुका निम्ती काम लागुँ, के दिन सक्छु भनेर सोच्छु । त्यो सोचले मलाई धेरै नै दर्द पनि भएको होला । त्यही कारण पनि होला, एउटा विन्दुमा पुगेर चटक्क भएपछि मेरो हृदयको तार चुडिँदो रहेछ । त्यसले मलाई पटकपटक धेरै गाह्रो भएको छ ।’

    आफू दर्दको यात्रामा अझैं पनि भएको बताउँछन् । कहिलेसम्म दर्दको चपेटामा पर्नुपर्ने हो, उनैलाई थाहा छैन । कहिलेकाहीँ नियती यस्तै रहेछ भनेर चित्त बुझाउँछन् ।

    भन्छन्, ‘कहिलेकाहीँ त ल सुसाइड गरिदिउँ न त लाग्छ । जिन्दगी के छ र भन्ने लाग्छ । सबै चिजबाट मुक्त भइदिउँ न त लाग्छ । तर, सबैले थाहा पाउने गरी किन मर्नुप¥यो ? डोरबहादुर विष्ट जसरी कसैले थाहा नपाउने गरी लापत्ता भइदिउँ लाग्छ ।’

    प्रतीक एटा कविता पनि लेखेका छन्:–
    मलाई मन छ म भएको कसैलाई थाहै नहोस्
    मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस्

    तर, त्यसो गरेर पाइला पाइलामा जीवनको परीक्षा दिन आएको मान्छे किन लापत्ता हुने ? आफैंलाई प्रश्न गर्छन् । आफ्नो आगमनको केही न केही अर्थ त होला नि !

    प्रतीक फेरि सोच्छन्, ‘यो संसारमा मैले नखोजीकन आएको मेरो भौतिक उपस्थितिलाई खोस्ने अधिकार ममा छैन । चाहे सबैभन्दा असह्य पीडा नै भोग्न किन नपरोस् । जसरी मैले भोगेका पीडाहरु निश्चित समयमा बिलाएर गए, त्यसैगरी नयाँ आउने पीडाहरुको पनि म्याद हुन्छ, त्यो पनि गुज्रेर जानेछ ।’

    ०००

  • नागरिकको दैलोमा पुग्दा कांग्रेसले गर्नैपर्ने १० काम

    नागरिकको दैलोमा पुग्दा कांग्रेसले गर्नैपर्ने १० काम

    नेपाली कांग्रेस यतिबेला स्थानीय निर्वाचनको १ महिने अभियानमा होमिएको छ । बैशाख ३० गते हुने निर्वाचनमा जित हासिल गर्ने लक्ष्य लिएर कांग्रेसका नेता कार्यकर्ताहरु जिल्लादेखि वडासम्म पुगेका छन् । हरेक निर्वाचनको बेला नागरिकको घर–घर जाने कार्यक्रमलाई कांग्रेसले मात्रै होइन अरु दलहरुले पनि निरन्तरता दिएकै हुन्छन् । नागरिकको घर–घर पुग्ने, प्रचारप्रसार गर्ने, प्रशिक्षण दिने लगायतका कार्यक्रमहरुको प्रभावकारिताबारे भने कहिल्यै समिक्षा हुने गरेको पाइँदैन । अझ कांग्रेसमा त विगतदेखि नै कार्यक्रमका लागि कार्यक्रम गर्ने र उपलब्धी शून्य देखिने परम्परा नै रहेको छ । यस्तो सन्दर्भमा कांग्रेसले आफ्नो चुनावी अभियानलाई प्रभावकारी बनाउन केही कामहरु गर्नैपर्ने देखिन्छ । कांग्रेसको शुभचिन्तकका हिसाबले नेपाली कांग्रेसले आफूलाई प्रभावकारी बनाउन गर्नैपर्ने कामहरु भूमिका नबाँधीकन सुझाउन चाहन्छु ।

    १) नागरिकको घरघरमा पुगेका नेता कार्यकर्ताहरुले सबैभन्दा पहिले नागरिकले सोध्ने सम्भावित सबै प्रश्नको जवाफ दिन सक्षम छु कि छैन भनेर आत्ममूल्यांकन गर्नुपर्छ ।

    २) कांग्रेसका नेता पुगेका कारण नागरिकको दैनिकीमा असर पर्नुहुँदैन । त्यसैले घर–घरमा पुग्दा उनीहरुको नियमित कामलाई असर नपर्ने बेलामा पुग्नुपर्छ । मिलेसम्म उनीहरुको काममा पनि सघाउनुपर्छ ।

    ३) औपचारिक कार्यक्रमका लागि अत्यधिक खर्च र तामझाम गर्नुभन्दा अनौपचारिक ढंगले टोल–टोलमा पुगेर आम मतदाताबीच पार्टीका प्रष्ट कुराहरु राख्नुपर्छ ।

    ४) विगतमा सरकारमा रहँदा कांग्रेसबाट भएका कमजोरीले नागरिकमा नकरात्मक प्रभाव परेको हुनसक्छ । त्यसबारे प्रसंगमा संयमताका साथ आफ्नो कुरा राख्ने, गल्ती भएका विषयमा आत्मालोचना गर्ने र नागरिकको नजरमा कमजोरी ठहरिएका विषयहरु फेरी दोहोरिने छैनन् भनेर प्रतिवद्धता जनाउनुपर्छ ।

    ५) कांग्रेस सरकारमा हुँदा मुलुकले हासिल गरेका महत्वपूर्ण उपलब्धी, त्यसबाट आजसम्म समाजमा परेको सकरात्मक प्रभावका बारे मतदातालाई बुझाउनुपर्छ । कांग्रेसको नेतृत्वमा कार्यान्वयन भएका सफल आयोजनाहरुबारे मतदातालाई अपडेट गराउनुपर्छ ।

    ६) पार्टी सरकारमा हुँदा परिचालन भएकोे वैदेशिक सहायता वा अनुदानले पारेको सकरात्मक प्रभावलाई सही ढंगले बुझाउन सक्नुपर्छ । एमसीसी लगायतका वैदेशिक सहायताबारे छरिएको भ्रम चिर्न मतदातासँग अत्यधिक संवाद गर्नुपर्छ ।

    ७) विगतमा कम्युनिष्ट पार्टीहरुले विभिन्न बाहनामा कार्यान्वयन हुन नदिएका ठूला विकास परियोजनाहरु बन्न नसक्दा परेको असर र विकासमा पुगेको बाधाबारे हरेक मतदातालाई अवगत गराउनुपर्छ ।

    ८) कांग्रेस नेतृत्वका स्थानीय तहले गरेका राम्रो कामको प्रचारसँगै कतिपय पूरा गर्न नसकिएका योजनाबारे नागरिकलाई पारदर्शी कुरा राख्नुपर्छ । कांग्रेसले प्रतिवद्धता गरेको कुनै काम गर्न बाँकी रहेछ भने त्यसमा आत्मालोचना गरेर सम्बन्धित जनप्रतिनिधिकै रोहबरमा आगामि दिनमा ती प्रतिवद्धता कार्यान्वयन गर्ने सुनिश्चितता गर्नुपर्छ ।

    ९) अघिल्लो निर्वाचनमा पार्टीले तयार पारेको घोषणा पत्र अनुसार भएका काम र हुन नसकेका कामको सूची बनाएर अध्ययन गर्नुपर्छ । अब घोषणापत्र बनाउँदा विगतमा हुन नसकेका आवश्यक कामहरुप्रति थप प्रतिवद्धता देखाउनुपर्छ । त्यस्तै घोषणा पत्र अनुसार काम गर्न नसकेका विपक्षी दलका जनप्रतिनिधिरुबारे मतदातालाई थाहा दिनुपर्छ ।

    १०) कांग्रेसले नै नेपालीलाई प्रजाबाट नागरिक बनाएको हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको उपस्थिति आन्दोलनको मात्रै अगुवाई गर्ने नभएर विकास र सुशासनको अग्रसरता लिनपनि महत्वपूर्ण छ । आम नेपालीलाई रैती, प्रजा वा जनता नभएर सार्वभौम नेपाली नागरिकका रुपमा सम्बोधन गरेर कांग्रेसले अभियानलाई प्रभावकारी बनाउनुपर्छ ।

    माथि उल्लेखित काम गर्न सकेमा कांग्रेसको घरदैलो अभियान अझ बढी प्रभावकारी हुनसक्छ । आजको विश्वमा राजनीतिक दलहरुले नागरिकसँग जति बढी संवाद गर्नसक्छन् त्यति नै बढी सफलता हासिल गर्नसक्छन् । नागरिकको घरघरमा पुग्ने तर कुनै तार्किक परिणाम नआउने क्रम अब रोकिनुपर्छ । घरदैलोमा पुग्दा नागरिकहरुले दिएका सुझावलाई सही ढंगले केलाएर समिक्षा गर्नुपर्छ । औपचारिकताका लागि मात्रै मतदातासँग अन्तरक्रिया गर्नुको अर्थ हुँदैन । त्यसैले जारी अभियानमा कांग्रेसले आम नागरिकका अपेक्षाको सम्बोधन, भ्रमको निवारण र चाहना पूरा गर्ने सशक्त प्रतिवद्धता गर्न जरुरी देखिन्छ । तब मात्रै कांग्रेसको अभियान र विजय यात्रा सार्थक हुनेछ । जय नेपाल ।

     

  • पुस्तकबाट निस्केर रंगमञ्चमा झुल्किएकी सकमबरी !

    पुस्तकबाट निस्केर रंगमञ्चमा झुल्किएकी सकमबरी !

    ‘तपाईं सकमबरी हो ?,’ पारिजात जीवित थिइन् भने उनलाई पक्कै सोधिने थियो ।

    कसैले नसोधे पनि ती पाठकले सोध्ने थिए, जो सकमबरीसित हायलकायल हुन्छन् । जो शान्त नदीको गतिमा सुस्त–सुस्त बहिरहेको प्रसाद बोकेको टपरी झैं सकमबरीको अदासँगै बहिदिन्छन् । जो सकमबरीको मुडुलो टाउकोमा धपधप बलिरहेको अहम्को राँकोसँगै आफ्नै अस्तित्वको भोकमा सहरका गल्ली–गल्ली भौतारिन्छन् । जो निकोटिनले खिइएका सकमबरीका पहेँला औंलामा च्यापिएको चुरोटझैं लगालग सल्किइरहन्छन् ।

    तिनीहरुले पक्कै पारिजातलाई भन्ने थिए, ‘पक्कै तपाईं नै हुनुपर्छ सकमबरी ।’

    खिरिलो शरीर, मुडुलो टाउको, निकोटिनले पहेँलिएका मसिना औंला, त्यही औंला च्यापिएर समाधीस्थ भइरहेको चुरोट, पर्खालमा झुण्डाइएका ‘इन्सेक्ट किलर’ सुनगाभामा मरेका किरा हेर्दै एक्लै रोमाञ्चित भइरहेकी २४ वर्षीया युवती ! ‘शीरिषको फूल’ पढ्ने पाठकका लागि सकमबरीको यो आकृति नौलो होइन । उपन्यास सकिँदै गर्दा आँखाअघि ठिंग उभिने त्यो खिरिलो ज्यान भएकी युवतीसँग पाठक हरेक कदममा ठोक्किन्छन् ।

    पारिजातले सकमबरीलाई अक्षरहरुले कुन मुडमा उपन्यासमा कुँदिन्, रहस्यकै गर्भमा रह्यो । पारिजातको जीवनको कस्ता हिस्साहरु सकमबरीमा समेटिए, अनुत्तरित नै रह्यो । तर, समीक्षकहरु भन्ने गर्छन्, ‘हरेक पात्रसँग लेखकको अनुभूति र हिस्सा भेटिन्छ ।’

    पारिजात जीवित थिइन् भने पाठकले जरुर सोध्ने थिए, ‘सकमबरीमा तपाईंको जीवनको कति हिस्सा समेटिएको छ ? त्यो हिस्सालाई सर्लक्कै बाहिर निकालेर विशुद्ध सकमबरीलाई मात्रै म लैजान चाहन्छु ।’

    सकमबरी जीवनबाट हारेकी विसंगत युवती हो या आदर्श युवती ? निस्सार जीवन बाँचिरहेकी युवती हो या जीवनप्रतिको कुनै जीजीविषा नभेटिने युवती हो ? जीवनलाई हेर्ने दृष्टिकोण उल्टो भएकी युवती हो या सुल्टो भएकी ? विद्रोही हो या अराजक ? प्रश्नहरुका चाङ बन्छन् । त्यो चाङबाट प्रश्नहरुलाई त्यतै छाडेर सकमबरीलाई फुत्त बाहिर निकाल्ने हो भने जीवन र जगतलाई हेर्ने आफ्नै आँखा लिएर अस्तित्वको मसाल बोकिरहेकी युवती हो सकमबरी ।

    उपन्यासमा पात्र सुयोगवीरले सकमबरीको लामो कपाल मन पर्छ भनेकैले भोलिपल्ट कपाल सफाचट पार्छिन् । टाउको चिल्लो अनि मुडुलो बनाउँछिन् । त्यस्ती बलियी सकमबरी अन्ततः सुयोगवीरको एक चुम्बनले मर्छिन् । कस्तो विरोधाभाष ! कस्तो अलमल ! कस्तो कमसल मृत्यु सकमबरीको ! कस्तो नमीठो समाप्ती !

    यही उपन्यास ‘शिरिषको फूल’मा आधारित अन्जान प्रदीप निर्देशित नाटक शिरिषकै फूल थिएटर मल, कीर्तिपूरमा मन्चन भइरहेको छ । नाटक हेरिसकेर मण्डला थिएटर फिर्दा कवि विप्लव प्रतीकसँग भेट भयो । मैले भनेँ, ‘चुम्बनले नै मर्ने कस्तो कमजोर मृत्यु है दाइ सकमबरीको ? उसले विद्रोह गर्न पनि सक्थिन् नि ! एक चुम्बनमै मारिदिइन् पारिजातले सकमबरीलाई ।’

    विप्लव प्रतीकको जवाफ आयो, ‘त्यो मृत्युलाई हामीले ‘प्रतीक’मा बुझ्नुपर्छ । त्यो बेलाको समाज कस्तो थियो, त्यसलाई हेर्नुपर्छ । अहिले पो चुम्बन सामान्य भइदियो, त्यो बेला सामान्य थिएन । फेरि पारिजातले ‘चुम्बन’ नै भनिदिनुमा कारण होला । हामीले ‘मेटाफर’मा बुझ्नुपर्छ त्यो ‘चुम्बन’लाई ।’

    मन्चन भइरहेको नाटकको समाप्ती पनि सुयोगवीरको विषाक्त चुम्बनले मरेकी सकमबरीसँगै भएको छ । एकातिर ‘इन्सेक्ट किलर’ सुनगाभा फूल पालेर राख्ने सकमबरी आफैं भने सुयोगवीरको ‘इन्सेक्ट किस’ ले मर्छिन् । शंकर लामिछानेले लेखे झैं, ‘शीरिष फूल एक भ्रमर चुम्बनमै ओइली झर्छ ।’

    सकमबरी ‘इन्सेक्ट किलर’ सुनगाभा होकि एक भ्रमर चुम्बनमै ओइली झर्ने ‘शिरिष फूल’ ?

    विश्वयुद्धमा बमभन्दा बढी पड्किएको मानिसको अमानवीयता र क्रुरताले लखेटिरहेका ४५ वर्षीय सुयोगवीरको मनोदशालाई नाटकमा फैलाएर स्पेस दिइएको छ । अर्कातिर स्वच्छन्दताको खोजी गर्दै आफ्नै बुझाइहरुको कारागारभित्र कैद भएकी २४ वर्षीया सकमबरीको मनोदशालाई पनि स्पेस दिइएको छ । यी दुई पात्रबीचको द्वन्द्व र त्यसमा होमिएको अहम्को लडाइँ नै नाटकको मूल खुराक हो ।

    सुयोगवीरले वर्माको युद्धमा नाबालिगहरुलाई गरेको यौनशोषणको दर्दनाक दृश्यहरुलाई मानसपटलबाट हटाउन सकेको छैन ।

    ‘शीरिषको फूल’को रङसँग मिल्ने कपडा लगाएका स–साना चारजना बालिकाहरुले सुयोगवीरको अवचेतनमा प्रश्नहरु गरिरहन्छन् । ती प्रश्नबाट भाग्न सहज छैन सुयोगवीरलाई । भनिन्छ नि, मान्छेले आफ्नै आत्मालाई ढाँट्न सक्दैन !

    प्रश्नहरुबाट भाग्न् सुयोगवीरको सहारा हुन्छ, चुरोट र रक्सी । त्यसमा साथ पाउँछ सकमबरीकी दाइ शिवराजको । शिवराजसँगको संगत र रक्सी अनि चुरोटसँगै सुयोगवीरको फ्रस्टेसन र कुण्ठित मनोदशा शिवराजको घर पुग्छ । सकमबरीको मनमौजी जीवन र निस्सारताहरुमा ठोक्किन्छ । त्यो ठोक्काइबाट निस्कने म्याग्निच्युड नै नाटकको केन्द्रीय विषय हो । नाटकको मात्रै होइन, उपन्यासको पनि हो ।

    सम्भवतः शिरिषको फूल पढेका पाठकहरु नै नाटक हेर्न पुग्लान् । तर, सकमबरीको आकृति पहिल्यै उनीहरुको मस्तिष्कमा फिक्स्ड छ । सुयोगवीरको आकृति पनि फिक्स्ड छ । यस्तो आकृति बोकेर थिएटरभित्र छिरेका दर्शकहरु नाटकका सकमबरी र सुयोगवीरसँग कन्भिन्स्ड हुन समय लाग्छ । यो स्वभाविक पनि हो । तर, पाठकको दिमागमा बनेको सुयोगवीर र सकमबरीको चित्र र नाटकमा देखाइएको सुयोगवीर र सकमबरी उस्तै लाग्छन् त ? नाटक हेरेका, उपन्यास पढेका दर्शक÷पाठक नै जानुन् ।

    ‘सकमबरी’ नेपाली आख्यानको बहुचर्चित पात्र हो, सेलिब्रेटी पात्र हो । नेपाली आख्यानमा थोरै मात्रै सेलिब्रेटी पात्र छन् । जस्तोः ‘घामका पाइलाहरु’ को पवन, ‘उलार’ को प्रेमललवा, ‘लू’को इलैया, दोषी चश्माको ‘केशवराज’ जस्ता पात्रहरु उपन्यास, कथाभन्दा प्रसिद्ध छन् । यस्ता पात्र पाठकको मन÷मस्तिष्कमा पहिल्यै जरा गाडेर बसेका हुन्छन् । त्यसलाई नाट्यकरण गर्नु आफैंमा चुनौतीपूर्ण मात्रै हुँदैन, न्याय दिलाउनु झनै ठूलो चुनौती भइदिन्छ । यही जोखिम मोलेका छन्, निर्देशक अन्जान प्रदीपले आफ्नो डेब्यु नाटकमा ।

    उपन्यास पढेर मात्रै नाटक हेर्दा मजा आउँछ । उपन्यास पढ्दा सकमबरी र सुयोगवीरको जुन आकृति निर्माण हुन्छ, त्यो अविस्मरणीय छ । त्यसलाई थप रंगरोगन गर्न नाटकले सहयोग पुर्‍याउँछ ।

    नाटकमा प्रयोग गरिएको लाइटलाई अझैं थोरै मधुरो बनाउन सकेको भए ती विसंगत पात्रहरु झनै बलिया बन्न सक्थे । उनीहरुको विसंगत व्यवहार र अनुहार झनै समृद्ध देखिन्थ्यो । ब्याकग्राउण्ड स्कोरमा पियानोको रुमानी धुनले पात्रहरुलाई बलियो बनाउँदै लैजान्छ । दोस्रो विश्ययुद्धले दिएको ट्रमा र युद्धले ध्वस्त भएको सहर अनि मानवीयतालाई महसुस गराउँछ । तर, अचानक ६० साल वरिपरिको गीत गाउँदै ऐना हेरिदिने सकमबरीकी कान्छी बहिनीले एक गतिमा चलिरहेको मुडलाई थचक्क पछारिदिन्छ ।

    समग्रमा नाटक ठीकठाकै छ । अन्जान प्रदीपको प्रयास पनि ठिकठाकै छ । कलाकारको अभिनय पनि ठिकै छ । सकमबरीको भूमिका निभाएकी समृद्धि नेपाल, सुयोगवीरको भूमिका निभाएका संजय विश्वकर्मा, शिवराजको भूमिका निभाएका हाङ ओ हाङ राई, मुजुराको भूमिका निभाएकी सविना गोपाली, सानुको भूमिकाकी मन्जु महर्जन, हेड हन्टरकी छोरी अन्जु महर्जन, आदिवासी युवती अस्मिता भारती, मटिनची रेजी बस्नेत, पारिजातको भूमिका निभाएकी जेनी सुनुवार सबै कलाकारको अभिनयले नाटकलाई सुन्दर बनाएको छ ।

    नाटकको परिकल्पना गरेका केदार श्रेष्ठले गरेका हुन् । नाटक आउँदो चैत १२ गतेसम्म नियमित मन्चन हुनेछ ।

  • प्रकाश सपुतले देखाएको यथार्थ चित्र र नेतागणका चरित्र

    प्रकाश सपुतले देखाएको यथार्थ चित्र र नेतागणका चरित्र

    युद्ध शब्द आफैँमा भयानक लाग्छ । साह्रै अप्रिय र कर्णकटु लाग्छ । तर बिडम्बना, मानव सभ्यताको अधिकांश इतिहास युद्धले भरिएको छ । नेपालको इतिहास पनि त्यसको अपवाद छैन । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरणको अभियान भनौं वा राणा शासनविरूद्ध नेपाली कांग्रेसको लडाईं वा पञ्चायतविरूद्ध अहिलेका नेताहरूको संघर्ष वा पछिल्लोचोटि माओवादीको नेतृत्वमा भएको जनयुद्ध । ती सबै विभिन्न रुपका युद्ध थिए ।

    प्रचण्ड÷बाबुरामको नेतृत्वमा भएको जनयुद्ध नेपालका लागि ऐतिहासिक आवश्यकता थियो कि जबर्जस्ति थोपरिएको प्रताडना ? यसको फैसला समयले गर्दै जाला । स्वार्थअनुसार गणितको सूत्रलाई नबंग्याई भन्ने हो भने यो देशमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा उहाँहरुको भूमिका अकाट्य छ । संघीयता, धर्मनिरपेक्षता र समावेशी÷समानुपातिकता संविधानमा लेखिनुमा पनि मुख्य योगदान उहाँहरुको छ ।

    पछिल्लोचोटि माओवादीको नेतृत्वमा भएको जनयुद्ध र विभिन्न आन्दोलनहरूमा हजारौं हजार मानिसहरूको ज्यान गयो । लाखौं लाखको अंगभंग भए । नानीहरू टुहुरा भए । आमाहरूको काख रित्तियो । चेलीहरूको सिन्दुर पुछियो । घरबारबिहीन भई बिस्थापित हुनेहरूको त कुरै नगरौं । तर पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् । यी सबै देशको लागि, परिवर्तनका लागि भनेर स्वीकारिएको थियो । तर, के देशले खोजेको, जनताले चाहेको परिवर्तन आयो त भन्ने प्रश्न ज्वलन्त छ ।

    पछिल्लो समय १० बर्षे जनयुद्धलाई आधार बनाई गायक प्रकाश सपुतले ल्याएको संगीतरुपी सिर्जना अहिले चर्चामा छ । बैदेशिक रोजगारी, बेरोजगारी, राजनितिज्ञको उपेक्षा र देशप्रतिको मायालाई एउटा सर्जकले १६ मिनेटको गीतमार्फत चित्रण गर्दै ऐना जसरी देखाइदिएका छन् । मेरो बुझाइमा त्यस गीतको उद्देश्य कसैलाई पनि चोट थप्नु नभएर पिडितहरुलाई थोरै भए पनि सान्त्वना दिनु हो । यस गीतको रुप र सारसँग म सतप्रतिशत सहमत छु । गीतको माध्यमद्धारा लाखौं यौद्धाहरुको भावना पोख्ने प्रयास गरिएको छ ।

    व्यक्तिगतरूपमा म यस गीतलाई लिएर आक्रोशित र आलोचनात्मक विचारसँग म सहमत हुन सक्दिनँ । म कुनै पार्टीको कार्यकर्ता पनि होइन । पार्टीगत रूपमा म आफूलाई स्वतन्त्र राख्न चाहन्छु । यसको अर्थ म विचारबिहीन मान्छे पनि होइन । म अग्रगामी हूँ, लोकतन्त्रवादी हूँ । म परिबर्तनमा बिश्वास राख्छु, प्रतिस्पर्धामा विश्वास गर्छु । कुनै पनि प्रकारको अधिनायकवाद मेरो लागि स्वीकार्य छैन । र, आजको विश्वमा त्यो सम्भव पनि हुँदैन ।

    प्रकाश सरको सिर्जना त प्रतिबिम्बन मात्रै हो । आजकल वैदेशिक रोजगारीमा गएका महिलाहरू अपमानित भएको, लुटिएको, बलात्कृत भएको, मारिएको खबरहरू सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमहरूमा दिनहुँजसो आइरहन्छ । हुन त आफ्नै देशमा पनि हामी महिलाहरू कहाँ सुरक्षित छौं र ? लैंगिक विभेद र त्यसले निम्त्याउने विविध असुरक्षाहरू कदमैपिच्छे भोगि त रहेका छौं ।

    नेता गतिला भएका भए देश गतिलो हुन्थ्यो, देश गतिलो भएको भए न त यस्ता ‘पिर’ गीत बन्थें न त लाखौ युवाहरू बिदेशिनु पथ्र्यो । दल र नेताहरूको ताल देखेर जनतामा भित्रैदेखि ‘फ्रस्टेसन’ सुरू भएको छ । दलहरूको चुनावी घोषणापत्र पढ्दा सपनाको पुलिन्दा जस्तो लाग्थो । तर, बिडम्बना ५० लाख युवाहरू आज पनि विदेशमा रगत–पसिना बगाइरहेका छन् । प्रत्येक दिन ५–७ वटा शव कफिन बक्समा पोको पारेर नेपाल भित्रिरहेको छ । कहिले रोकिन्छ नेतागण, नेपाली नारीको सिउँदो पखालिने यो क्रम ? अनि कहिले तोडिन्छ बिदेशमा युवाहरू बेचेर प्राप्त विप्रेषणबाट धनी भएको भ्रम ?

    अहिले ५० लाख युवा मतदातालाई बिदेशमा बेचेर प्राप्त बिप्रेषणबाट देश चलिरहेको छ । ती ५० लाख मतदाताको बिप्रेषण आउन बन्द भएको भोलिपल्ट देशको हालत के होला ? सोचेका छन् नेताहरूले ?

    नेताहरुको कुन आदेश मानेनौं र हामीले ? राणाविरूद्ध लड्न बोलाउनुभयो । राणाशाही अन्त्य नहुञ्जेल लड्यौं । पञ्चायतविरूद्ध लड्न बोलाउनु भयो । पञ्चायत नढलुन्जेल लड्यौं । जनयुद्ध लड्ने आदेश दिनुभयो । जनयुद्ध पनि लड्यौं । कृपया भनिदिनुस् नेतागण, हामीले तपाईंहरूको कुन आदेश मानेनौं ? हामीले तपाईहरूमाथि के अन्याय गर्यौं ? के अपराध गर्यौं ? के पाप गर्यौं ? जसको सजाय हामी जनतालाई यति निर्ममतापूर्वक दिइरहनुभएको छ ?

    कर्णालीको नागरिकले सुन मागेको छैन नेतागण ! अहिले पनि केवल नुन मागिरहेको छ । मधेसका मुसहर, चमारहरूले दरबार मागेका छैनन् सरकार ! अहिले पनि केवल घरबार मागिरहेका छन् । दलितहरूले मान्छे हुनुको अधिकार मागिरहेका छन् । युवाहरूले आफ्नै देशमा स्वरोजगार÷रोजगार मागिरहेका छन् । महिलाले समानता र सुरक्षा खोजिरहेका छन् । हो नेतागण ! हो सरकार ! हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो ?

    नेतागण ! तपाईहरूको भ¥याङ अब कति वर्ष बन्नुपर्छ हामीले ? अनि तपाईहरूको दासत्वबाट कहिले मुक्त हुन्छौं हामी ? चुनावको कुरा गर्दै हुनुहुन्छ । चुनाव त पक्कै गराउनुहुन्छ होला । लोकतन्त्र भन्नुहुन्छ हगि तपाईहरू चुनावलाई ? मेरो जिज्ञासा छ तपाईंहरूलाई– ‘लोकतन्त्र भनेको दिनु मात्र हो कि लिनु पनि हो ? कि नागरिकले सँधै दिइरहने तन्त्रको नाम नै लोकतन्त्र हो ?

    कि नागरिकले भोट दिएवापत नेताले दिने चोट नागरिकले सही रहनुपर्ने तन्त्रको नाम नै लोकतन्त्र हो ? के हो नेतागण लोकतन्त्र भनेको ?’

    तपाईंहरूको व्यक्तिगत अहम् तुष्टीका लागि हामी नागरिक तपाईहरूका विचारको शिकार कति दिन भइरहने ? अनि कति समय तपाईहरूको वादको बन्दी बनिरहने ? तपाईहरू आफूलाई भगवान पनि घोषणा गर्न सक्नुहुन्छ । तर, यथार्थमा तपाईंहरू रंग फेरिरहने रंगीन छेपारो हो । तपाईंहरूको कुरा पत्याइसाध्ये छैन ।

    धरोधर्म नेतागण ! हजुरहरू हजार जिब्रो भएको शेष नागभन्दा कम हुनुहुन्न । रिसानी माफ होस्, तपाईहरू साह्रै साँढे बन्नुभयो । सधैं कुकुर–बिरालाको खेल खेलिरहन तपाईंहरूलाई भोट दिएका होइनौं हामीले ।

    नेतागण ! अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहियो । कृपया ! राष्ट्रवाद, राष्ट्रघात, पुँजिवाद, समाजवाद, साम्यवाद विभिन्न वादका नाममा आरोप–प्रत्यारोप र झगडा गर्न बन्द गर्नुस् । पार्टीका नाममा जन्मजात कांग्रेस र कम्युनिस्टमा नागरिकलाई कित्ताबन्दी गर्न छाडिदिनुस् । कम्तिमा नागरिकको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्न सिक्नुस् । देश र जनताको पक्षमा काम गर्नुस् । हामी तपाईहरूकै साथमा हुनेछौं ।

    अन्त्यमा,

    आदरणीय नेतागण ! हरेक वस्तुको आफ्नो सहने सीमा हुन्छ । हामी नागरिक अहिले निशब्द सीमामा उभिएका छौं । निशब्द उभिनुको अर्थ हामी निम्छरो होइनौं । आजसम्मको इतिहास अत्याचारी शासकहरूका बिरूद्ध जनताले बिद्रोह गरेको इतिहास छ । तर, अब भ्रष्ट र अयोग्य नेताहरूका विरूद्ध प्रकाश सपुतले जस्तै गरी आ–आफ्नो ठाउँबाट नेपाली नागरिकले विद्रोह गरे भने अनौठो मान्नु पर्दैन ।

  • प्रकाश सपुतको गीतलाई समर्थन गर्दा आएको ‘धम्की’

    प्रकाश सपुतको गीतलाई समर्थन गर्दा आएको ‘धम्की’

    म कुनै राजनीतिक कार्यकर्ताको सूचीभित्र समावेश छैन । म त आफूलाई साधारण नागरिक भन्न रुचाउने मान्छे । ‘यो काम गर्छु’ वा ‘त्यो काम गर्छु’ भन्दा मान्छेका भ्रमित झुटा आरोपले आफू सम्बद्ध संस्थालाई नै राजनीतिकरण गर्न पछि पर्दैनन् मान्छेहरु । केही धारणा राख्नसाथ कुन पार्टीको हो, कसको मान्छे हो भनेर कुण्डली खोज्न थालिन्छ ।

    शनिबार साँझ ९ः३० तिर मेरो फेसबुकको म्यासेन्जरमा एक अपरिचित व्यक्तिको म्यासेज आयो ।

    मलाई सीधै सोधियो, ‘तपाईं कुन पार्टीको ?’

    ‘म त स्वतन्त्र नागरिक हुँ, किन ?’ मैले रिप्लाइ दिएँ ।

    ‘तपाईं अलि बुझेर मात्रै बोल्नुस् है !’ अचानक धम्कीपूर्ण जवाफ आएपछि म आत्तिएँ । किन रहेछ भनेर जान्न मन लाग्यो । सोधेँ, ‘किन ?’

    उताबाट जवाफ आयो, तपाईं प्रकाश सपूतको ‘पिर’ गीतको पक्षमा बोलिरहनुभएको छ । त्यस्तो गलत, भ्रम फैलाउने गीतको पक्षमा बोल्नुभएको छ । तपाईं कुनै पार्टीमा आबद्ध हुनुहुन्छ । त्यो गीत हामी बहिष्कार गर्छौं । देश परिवर्तनका लागि गरिएको हाम्रो जनयुद्धको अपमान गर्ने गीत युट्युबबाट हटाउन लगाउँछौं । यस्ता यावत् कुरा लेखिएको म्यासेज एकोहोरो आयो ।

    पछि बुझेँ, सपूतको पीर गीतविरुद्ध लेखिएको उसको स्टाटसमा मैले गरेको कमेन्ट देखेर ऊ ममाथि खनिएको रहेछ । अनि मैले भनिदिएँ, ‘गीत त गलत होला, तर युद्धले क्षत्विक्षत् भएको लडाकुहरुको शरीर त पक्कै गलत होइन होला नि !’

    यसपछि म बोल्न छाडेँ । लाग्यो, देश परिवर्तनका लागि भनेर बम र बन्दुकको छर्रा सहनेले मनोरञ्जनसँगै यथार्थलाई समेटिएको गीतलाई किन सहन सकिरहेका छैनन् होलान् ? त्यो लडाईं परिवर्तनका लागि नभएर आफ्नै रजाईका लागि त थिएन ?

    मलाई त सिर्फ गीत मन परेको थियो । यो गीत सामान्य गीत नभएर राजनीतिक र वैचारिक रुपमा स्खलित भएको माओवादीलाई आफ्नो विगत र वर्तमानको यथार्थ सम्झाउने गीत हो ।

    गीत सार्वजनिक भएपछि माओवादी जनयुद्धको लाभांस प्राप्त गरेका नेता, कार्यकर्ताहरु विरोधमा लागेका छन् । गीत नै हटाउने नभए कारबाही गर्ने चेतावनी दिइरहेका छन् । एउटा सर्जकको एउटा सृजनाले सिंगो आन्दोलनकै जरासम्म दख्खल दिन सक्दो रहेछ, आजका दिनमा सपूतले प्रमाणित गरिदिएका छन् ।

    व्यवस्था फेरियो, तर भूइँमान्छेको अवस्था उस्तै छ । व्यवस्था मात्रै होइन, अन्य चिज पनि परिवर्तन भएको छ । हिजो परिवर्तनका लागि गरीब जनतालाई मुक्तिको नारा बोकेर बन्दुक पड्काउन निर्देशन दिनेको जीवन परिवर्तन भएको छ । हिजो युद्ध मैदानबाट कमाण्डरको छातीमा आएको गोली आफू थाप्नेहरु अहिले पनि छ्याप्छ्याप्ती भेटिन्छन् । जसको न्याय प्राप्तिको लडाइँ अझैं सकिएको छैन, निरन्तर रणमैदानमै छन् ।

    परिवर्तनका लागि लालाबाला, बाआमालाई छाडेर क्रान्तिमा होमिएका त तमाम नारीहरु कहाँ छन् अहिले ? बाँच्नका लागि हिजोका लडाकु महिलाहरु अहिले खाडीतिर धकेलिन बाध्य छन् । एउटी महिलालाई बाँच्नकै लागि कति अवरोधको सामना गर्नुपर्छ, भोग्नेलाई मात्रै थाहा हुन्छ ।

    तर, यी प्रश्नहरुभन्दा निकै पर आफूलाई चोख्याउन संजालमा धम्की दिने दस्ता तयार गरेर बसेका छन्, कम्रेडहरु । अचेल बन्दुक बोकेर युद्ध जिताएका लडाकुहरु होइन, संजालमा हामी जस्तालाई धम्की दिने आसेपासेहरु भए पुग्छ । यस्ताहरुका लागि एउटा प्रकाश सपूत होइन, सयौं प्रकाश सपूतहरु चाहिएको छ, जसले न्यायको पक्षमा बुलन्द सृजनाहरु गरुन् ।

  • झाँक्री ज्यू, जन्मदिने ट्वीट हैन शहर विकासको ट्रिक चोर्नुपर्‍यो !

    झाँक्री ज्यू, जन्मदिने ट्वीट हैन शहर विकासको ट्रिक चोर्नुपर्‍यो !

    काठमाडौं । यो ब्लगको शीर्षक हेर्नेहरूले रामकुमारी झाँक्रीले अर्काको शब्द चोरेर जन्मदिनको शुमकामना दिएको आलोचना गरेको भन्ने अनुमान नगर्नु होला । यो त्यस्तो ब्लग हैन । चोरी नेपाली लेखन र पठनको मुलधार हो । प्रधानमन्त्रीको नाम घोषणा र सपथको मिति नै तोकेर संसद पुःनस्थापना गर्दा जारी भएको २०७८ असार २८ को सर्वोच्चको फैसला लेख्ने न्यायधीश ईश्वरप्रासद खतिवडाले विकिपिडिया कन्टेन्ट चोरेको बजारमा आइसकेको छ ।

    त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा २०७२ भदौ ७ गते नियुक्ति पाएका तीर्थ खनियाँले टर्कीका भाषा क्षेत्रका विज्ञ फेरिट किलिच्कायाको रिसर्च पेपरबाट ५३ पंक्ति चोरेको अझै लुकेको छैन । २००४ जुलाईमा क्यानडाको टीइएसएल जर्नलमा प्रकाशन भएको सामाग्री खनियाँले २००६ डिसेम्बरमा प्रकाशन भएको नेल्टा जर्नलमा सारेको पाइएको थियो ।

    चोरीचकारीको डरलाग्दो दृष्य त नेपाली मिडियामा छ । नेपाली कार्टुनिस्टहरूले चोरेका क्याप्सनदेखि पत्रकारहरूले चोरेका समाचार कन्टेन्ट गन्न र भन्न एउटा बेग्लै ग्रन्थ तयार हुन्छ । अदालतदेखि विश्वविद्यालय हुँदै पत्रकारितामा चोरीचकारी हुने देशमा अंग्रेजीमा कमजोर मन्त्री रामकुमारी झाँक्रीको माधव नेपाललाई गरेको जन्मोत्सवको ट्वीट चोरी हुनु नौलो हैन ।

    तपाईंले ट्वीट चोर्न जुन मेहेनत लाउनु भएको छ, त्यही मेहेनत तपाईं मन्त्री भएको शहरी विकास मन्त्रालयको काममा लाउनु भएको हेर्न म आतुर छु ।

    एकछिन ट्वीट चोरीको चर्चा गरौँ । मार्च ७ (फागुन २३) मा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उनका अध्यक्ष अर्थात् नेकपा एस अध्यक्ष माधवकुमार नेपाललाई जन्मदिनको शुभकामना दिइन् । शुभकामना नेपालीमै लेखेको भए पनि हुन्थ्यो, तर, विशेष बनाउन उनले अंग्रेजी भाषा प्रयोग गरिन् । ४६ शब्दको जन्मदिने ट्वीट सुन्दर छ । तर, उनले लेखेको ‘कमरेड’ शब्दले शंका गर्ने ठाउँ दियो । सीओएमआरएडीई हुनुपर्ने कमरेडको हिज्जेमा उनले सीओएमआरईडी लेखेकी छिन् ।

    ४६ शब्दको ट्वीटमा दुईपटक दोहोरिएको कमरेडको मात्रै गलत स्पेलिङ भएपछि बाँकी सबै चोरीको अनुमान जो कोहीले गर्न सक्छ । धेरैले गरेको जस्तै अनुमान मैले पनि गरेँ । अनि खोजेँ । खोजेपछि भेटियो सन् २०२१ सेप्टेम्बर २८ मा एक वेबसाइटमा राखिएको जन्मोसवको शुभकामना, जुन दुरस्तै झाँक्रीले चोरेकी रैछिन् ।

    रोचक कुराचाहिँ उक्त वेबसाइटमा राखिएको शुभकामनामा उल्लेखित ‘बोस’ लाई सच्याएर ‘कमरेड’ राखेर उनले पोस्ट गरेकी रैछिन् । त्यसमै गल्ती भइदियो ।

    नजान्दानजान्दै अंग्रेजी घुसाउनुपर्ने प्रवृत्ति आम नागरिकदेखि नेतासम्ममा छ । त्यही भीडमा झाँक्री थपिएकी हुन् । मैले अगाडिनै भनेको छु, यो चोरीको विरोधमा लेखिएको ब्लग हैन । मेरो आशय त चोर्ने नै हो भने जन्मदिने ट्वीट हैन, अरु देशबाट शहरी विकासको ट्रिक चोरौँ भन्ने बारेमा हो ।

    झाँक्री ज्यू, मैले सम्बोधनमा ‘जी’ प्रयोग गर्ने सोचेको थिएँ । हाम्रो नयाँ पुस्ताको नेतृत्व भनेर ‘जी’ उपयुक्त सोचेको थिएँ । तर, पिर्के सलामीको बचाउमा पत्रकार अरुण बरालसँग पिर्के सलामी दिनु ‘रेस्पेक्ट्’ हो भन्ने हेरेपछि त्यही ‘रेस्पेक्ट्’ दिँदै ‘ज्यू’ प्रयोग गरेको छुँ ।

    तपाईंले ट्वीट चोर्न जुन मेहेनत लाउनु भएको छ, त्यही मेहेनत तपाईं मन्त्री भएको शहरी विकास मन्त्रालयको काममा लाउनु भएको हेर्न म आतुर छु । सिंगापुर एसियाको सबैभन्दा उत्कृष्ट पहुँचयोग्य गन्तव्य हो । आँखा नदेख्ने, आवाज नआउनेदेखि शारीरिक अशक्तता भएकाहरूलाई सहयोग हुने शहरी पूर्वाधारमा सिंगापुर विश्वकै एक नमुना शहर हो । सिंगापुर सरकारको पर्यटन पोर्टलका अनुसार सिंगापुरको ९५ प्रतिशत पैदलपथ अपांगतामैत्री छन् । रेल, बसदेखी ट्याक्सीमा अपांगता हुनेहरूलाई एकदम सहज छ ।

    अदालतदेखि विश्वविद्यालय हुँदै पत्रकारितामा चोरीचकारी हुने देशमा अंग्रेजीमा कमजोर मन्त्री रामकुमारी झाँक्रीको माधव नेपाललाई गरेको जन्मोत्सवको ट्वीट चोरी हुनु नौलो हैन ।

    नेपालमा आजको भोलि त्यस्तो गर्न सकिँदैन । सबै शहरमा त्यस्तो गर्न सकिँदैन । तर, कम्तीमा कुनै शहरबाट डीपीआर बनाएर यस्तै कामको तरिका चोरी गरे कसो होला ? शारीरिक अशक्तता मान्छेलाई विभिन्न कारणले हुनसक्छ । कोहीको जन्मजात होला । कोहीको दुर्घटनाले होला । कोहीको बिरामी वा बुढ्यौलीको कारणले होला । त्यो जमातमा सबै कुनै न कुनै दिनमा पर्छन् नै । त्यो जमातलाई शहर उनीहरूको पनि हो भनेर सार्वजनिक शौचालय, सार्वजनिक यातायात, सार्वजनिक भवन, पार्क, खेलमैदान, होटलदेखी पैदलमार्ग अपांगतामैत्री बनाउन सिंगापुरे तरिका चोरी गरेर नेपालाई दक्षिण एसियाकै उत्कृष्ट पहुँचयोग्य गन्तव्य बनाउनेतर्फ आइडिया चोरी गरे हुन्न ?

    अमेरिकी पर्यटन म्यागजिन ट्राभल एण्ड लिजरमा इभि क्यारिकले तयार गरेको एक सामग्रिअनुसार, डेनमार्कमा हरेक दशजनामा नाैंजनाले साइकल प्रयोग गर्छन् । पाँच किलोमिटरभन्दा थोरै दूरीको यात्रामा २५ प्रशितले साइकल नै प्रयोग गर्नेदेखि राजधानी कोपनहेगनसँग देशका अरु २५ नगरपालीकाहरू साइकल सुपर हाइवेमा जोडिएका छन् ।

    यो तरिका चोरी गरेर नेपाललाई दक्षिण एसियाको सबैभन्दा उत्कृष्ट साइकलमैत्री मुलुक बनाए हुन्न ? अहिले नेपालमा आएको वातावरणीय चेत, स्वाथ्य सजगता, पेट्रोलको बढ्दो भाउदेखि साइकल अभियानको कारण शहर जोड्ने यस्ता ‘गेमचेन्जर’ काम शहरी विकास मन्त्रालयले गर्न सक्छ । ठूल-ठूला हाइवे बनाएजस्तो खर्चिलो पनि हैन साइकल वे निर्माण । डेनमार्कका मन्त्रीहरूजस्तै काठमाडौंको पाँच किलोमिटर क्षेत्रमा झाँक्री ज्यू आफैं र आफ्नो मन्त्रालयको टीमलाई साइकल चलाउन प्रेरित गरे हुन्न ?

    झाँक्री ज्यूको राजनीतिक जरा विद्यार्थी राजनीति हो । वैचारिक झुकाव तल्लो तहको श्रमजिवीको पक्षमा पैरवी गर्ने वामपन्थी विचार हो । र, अहिलेको मन्त्रालय हो शहरी विकास मन्त्रालय । यी तीनै कुराको फ्यूजन गरेर हरेक शहरको आन्तरिक आम्दानीको पाँच दश प्रतिशत रकम विपन्नको विज्ञान तथा प्रविधि पढ्ने छात्रवृत्तिमा अनिवार्य गरे हुन्न ?

    युरोपको भूपरिवेष्ठित मुलुक अस्ट्रियाको राजधानी भियना संसारको सबैभन्दा हरित शहर मानिन्छ । भियना कन्भेन्सनको वेबसाइटका अनुसार शहरको ५० प्रतिशत भाग हरित क्षेत्रले ओगटेको छ । शहरका ९६ प्रतिशतले घरमै फोहोर व्यवस्थापन गर्ने सस्टेनेबल जंगल डटकमको तथ्यांक छ । प्लास्टिक प्रतिबन्ध छ । पुनः प्रयोग हुने झोला बोकेर मात्रै भियनामा किनमेल गर्न पाइन्छ । भियनाले यो आफ्नो हरित उचाइलाई ब्रान्ड गर्न भियनामा हुने सभा, भेला, गोष्ठीलाई हरित क्षेत्रको पक्षको अभियानको जनाउने प्रमाणपत्र दिइन्छ ।

    ‘अस्ट्रियन इको लेभल’ भन्ने हरित प्रमाणपत्र पाउन धेरै आयोजकहरु भियना पुग्छन् । भियनाको पर्यटन प्रवर्द्धनमा यसले धेरै ठूलो योगदान गरेको छ ।

    शहरलाई कसरी मौलिक बनाउने ? कसरी सार्वजनिक पार्क र हरियालीमैत्री बनाउने ? कसरी गरिब र धनीको बराबरको शहर बनाउने ? यी कुराको आइडियामा भने झाँक्रीज्यूले पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आइडिया चोरी गरे हुन्न ? जनवरी २५ मा शिशन बानियाँसँग ३ घन्टा २३ मिनेट ५८ सेकेण्डको खतिवडाको पडकास्टको आइडिया चोरी गर्न लायक छन् ।

    भियना मोडल चोरेर नेपालले दक्षिण एसियामा यस्तै नेतृत्व गर्न सक्छ । नेपालको संघीय राजधानी वा कुनै अर्को ठूलो शहरलाई यस्तो गन्तव्य बनाउने तौरतरिकाहरू शहरी विकास मन्त्रालयले काम गर्न सक्छ । नेपालमा वन विश्वविद्यालय छ । वनका प्राध्यापक, अन्वेषक र विज्ञहरू छन् । विद्यार्थीहरू छन् । उनीहरूको सबैको दक्षताको प्रयोग गरेर शहरी विकास मन्त्रालयले नेतृत्व लिन सक्छ । शहरी जंगलमा विश्वमा चलेका मोडेलमा काम गर्न सकिन्छ ।

    शहरलाई कसरी मौलिक बनाउने ? कसरी सार्वजनिक पार्क र हरियालीमैत्री बनाउने ? कसरी गरिब र धनीको बराबरको शहर बनाउने ? यी कुराको आइडियामा भने झाँक्रीज्यूले पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आइडिया चोरी गरे हुन्न ? जनवरी २५ मा शिशन बानियाँसँग ३ घन्टा २३ मिनेट ५८ सेकेण्डको खतिवडाको पडकास्टको आइडिया चोरी गर्न लायक छन् ।

    झाँक्री ज्यूको राजनीतिक जरा विद्यार्थी राजनीति हो । वैचारिक झुकाव तल्लो तहको श्रमजिवीको पक्षमा पैरवी गर्ने वामपन्थी विचार हो । र, अहिलेको मन्त्रालय हो शहरी विकास मन्त्रालय । यी तीनै कुराको फ्यूजन गरेर हरेक शहरको आन्तरिक आम्दानीको पाँच दश प्रतिशत रकम विपन्नको विज्ञान तथा प्रविधि पढ्ने छात्रवृत्तिमा अनिवार्य गरे हुन्न ? मेडिकल, इन्जिनियरिङ नि:शुल्क पढ्न जाने सजिलो खुट्किलो प्रमाणपत्र तह खारेज गरेर निजी क्षेत्रलाई सुम्पिएर गरिबलाई विज्ञान र प्रविधि पढ्ने बाटो बन्द गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णयमा अनेरास्ववियू अध्यक्षको रूपमा ‘ओके’ गरेको अपजस यो त्यो निर्णयले जसमा परिवर्तन गर्ने थियो ।

    यी त केही शहरी विकासमा नेपालले चोरी गर्नलायक केही मोडेल मात्रै हुन् । यस्ता अन्य थुप्रै मोडेलहरू छन् । ती सबैलाई चोर्नतर्फ झाँक्रीज्यूले मेहेनत गर्ने हो भने कार्यकाल सफल मात्रै हुँदैन, जनताले सुख पाउँछन् । शहरले सुन्दरता पाँउछ । देशले पहिचान पाउँछ ।

    तर, यी चोर्दैगर्दा नेपाली मौलिकताहरू भने हुनुपर्छ झाँक्री ज्यू । जस्तो जन्मदिने ट्वीटमा ‘बोस’ को ठाँउमा ‘कमरेड’ प्रयोग गरेर त्यसको अभ्यास गरिसक्नुभएको छ । तर, जन्मदिने ट्वीटलाई नेपाली मौलिकता दिँदा ‘कमरेड’ को हिज्जे गल्ती भएको जस्तै शहरी विकासको ट्रिकलाई नेपाली मौलिकता दिने कामको हिज्जे भने गल्ती हुनुहुन्न है !

  • राजेन्द्रमान डङ्गोलकाे नियात्राकृति ‘पैतालामा हिउँ, आँखामा हिमाल’ बजारमा

    राजेन्द्रमान डङ्गोलकाे नियात्राकृति ‘पैतालामा हिउँ, आँखामा हिमाल’ बजारमा

    काठमाडौं । राजेन्द्रमान डङ्गोलको नियात्राकृति ‘पैतालामा हिउँ,आँखामा हिमाल’ लोर्कापण भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार राजधानीको सोह्रखुट्टेस्थित एक होटलमा नियात्राकृति लोर्कापण गरिएको हो ।

    वरिष्ठ नियात्राकार दामोदर पुडासैनी ‘किशोर’,प्रगतिशील साहित्यकार तथा समालोचक तेजविलाश अधिकारीले नियात्राकृति संग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

    टिप्पणी गर्ने क्रममा प्रगतिवादी साहित्यकार तथा राजनीतिकर्मी केशव पुडासैनी ‘बिमल’ले कलात्मकरुपमा कृति उत्कृष्ट भएको बताएका छन् ।
    उनले कृतिले समसामयिक समाजको अनुहार देखाउँदै परिवर्तनको सार्थकता प्रस्ट्याउनुपर्ने धारणा राखे ।

    प्रगतिशील साहित्यकार तथा समालोचक तेजविलाश अधिकारीले नियात्रा लेखनले स्थान विशेषको संस्कृति र अर्थतन्त्र उत्थानमा भूमिका खेल्नुपर्ने बताए।

    निबन्धकार एवं चर्चित समालोचक कुमारी लामाले कृतिकार राजेन्द्रमान डङ्गोलमा प्रश्न गर्ने सामर्थ्य भएको जिकिर गरिन्।  उनले कृतिमा प्रयुक्त केही शब्दप्रति खरो विमति राख्दै कृतिकारलाई आगामी दिनमा सच्याउन आग्रह समेत गरिन् ।

    अखिल नेपाल लेखक सङ्घका अध्यक्ष, सह(प्राध्यापक तथा बहुआयामिक प्रगतिशील साहित्यकार डा. धनप्रसाद सुवेदीले अधिकांश नियात्रा भ्रमण प्रतिवेदनभन्दा माथि उठ्न नसकेको यथार्थता औँल्याउँदै यो कृति त्यसभन्दा माथि उठेको जिकिर गरे ।

    लोर्कापण कार्यक्रममा सहभागीहरुले कृतिले सूचना प्रदान मात्र नगरी प्रशोधन र व्यवस्थापनसमेत गर्ने धारण राखेका थिए ।

  • कांग्रेस छाडेका वडाध्यक्षको बयानः राणाशासनभन्दा मोहन बस्नेतको शासन बढी निरंकुश

    कांग्रेस छाडेका वडाध्यक्षको बयानः राणाशासनभन्दा मोहन बस्नेतको शासन बढी निरंकुश

    ४० वर्षसम्म म नेपाली कांग्रेसको झण्डा बोकेर हिँडे, तपाईंहरुलाई नौलो लाग्ला, मलाई पनि नौलो लागिरहेको छ । म नेपाली कांग्रेस पार्टीमा १५ वर्षको उमेरदेखि लागें, तर आज विशेष अवस्थाले गर्दा म पार्टी छाड्दै छु । मरेर सात पुस्तासम्म भुल्न नसक्ने साथीहरु अहिले पनि कांग्रेसमा छन् ।

    खासगरी मेरो नेता मोहनबहादुर बस्नेतसँग ४० वर्षदेखि सँगै हिँडेको नेताका कारण म आज यो परिस्थितिमा छु । पञ्चायती शासनकालमा गाउँमा पुलिस आउँदा गाउँका सबै भाग्थे, कालो दौरा सुरुवाल लगाएको कोही मान्छे गाउँमा आउँदा पनि पुलिस आयो भनेर सबै भाग्थे तर म त्यस्तो अवस्थामा पनि ऊ सँगसँगै हिँडे । उसलाई सार्वजनिक मुद्दा लागेको थियो । बस्नेतलाई गोली हान्ने आदेश थियो ।

    उसको घर बाह्रविसेको क्षमादेवी मन्दिर नजिकै थियो । प्रहरीले बस्नेतलाई खोजिरहेको थियो । बस्नेतलाई प्रहरीबाट पक्राउ हुनबाट जसरी पनि हामीले बचाउनु थियो, यो २०४४ सालको कुरा थियो । त्यसैले मैले राति १२ बजे उसको कपडा लगाएर बाह्रविसे बजारमा झरे । मोहन बस्नेत भोलिपल्ट बिहान बाह्रविसेमा स्थानीय नेता हरिशरण श्रेष्ठको घरमा आएर लुकेर बसेका थिए । भेलिपल्ट बिहान ऊ सार्वजनिक हुनुपर्ने थियो, तर प्रहरीले व्यापक घेरा हालेको थियो । युवा विद्यार्थी धेरै थिए । सार्वजनिक हुन नसक्ने भएपछि मैले हिजो उसैको लगाएको लुगा लगाएर निस्कें ।

    मलाई सबैले फुलमाला लगाएर स्वागत गरे । प्रहरीले मोहनबहादुर बस्नेत आएछ भनेर मलाई झण्डै २ सयको संख्यामा आएका प्रहरीहरुले फक्राउ गरेर चौकीतर्फ लग्यो । तर खुर्सानीबारीमा पुगेपछि मात्रै यो मोहन बस्नेत होइन रहेछ भनेर प्रहरीले थाहा पायो, अनि मलाई छाड्यो । मलाई प्रहरीले लगेपछि बस्नेत सार्वजनिक भएर भाषण गरेर त्यहाँबाट भागे । म त्यति सानो उमेरको मान्छे, कति आँटिलो रहेछु त !

    ४० वर्षदेखिको पीडा सात दिनमा पनि सुनाउन सक्दिनँ । उहाँलाई मैले के गरें, उसको घरमा चामल बोकिनँ कि, घर छेउछाउको काम गरिनँ कि, काठ बोकिनँ कि ! सबै काम गरे मैले ।

    चुनावको बेला मेलम्ची क्षेत्रको बाहुनेपाटीमा माओवादीहरुले लखेटेपछि मैले नै बोकेर कुदाएको थिएँ । त्यतिबेला बाटो थिएन, कास लागेर हिँड्न सक्ने अवस्था थिएन, उसलाई बोकेर हिँड्नुपर्ने थियो ।

    पहिला त त्यस्तो थिएन, तर पछि राणाको छोरी विवाह गरेपछि विस्तारै सामन्ती सोच बस्नेतमा बढी देखिन थाल्यो । आजभन्दा भोलिभन्दा उसमा सामन्ती सोच आउँदै गयो । हामीले कमाएको पैसा मात्रै दिएर नपुग्ने, बल मात्रै दिएर नपुग्ने, भोट मात्रै दिएर नपुग्ने । उहाँको सबै जिम्मेवारी हामीले बोक्नु पर्ने, भोट माग्नु पर्ने ।

    मलाई २०५९ सालमा माओवादीले गोली हान्यो । गाउँबाट म दौडेर आएँ, क्षमादेवीसम्म आउँदा म ठिकै थिएँ ।तर त्यहाँबाट म बेहोस भएछु । दाजुभाइहरुले बोकेर काठमाडौं लगेछन् । आर्मीको जिम्मा लगाएर काठमाडौ लगेपछि त्यलिबेलाको सिडीओसाबले थाहा पाएर मोहन बस्नेतलाई फोन गरेछन् तर उसले ऊ मेरो कार्यकर्ता होइन भन्दै फोन राखेछन् ।

    केही दिनपछि मलाई भेट्न टिचिङ अस्पतालमा आएछन् । ‘ओहो, यस्तो गोली लागेको मान्छे धन्न बाँचेछ है !’ भन्दै उनी हिँडे । मलाई दुई गोली लागेको थियो तर आठ पाउण्ड रगत दिएपछि म अस्पतालबाट डिस्चार्ज भएर बाहिर आएँ । कता बस्ने के खाने समस्या भयो । एक जना साथीले कपनमा कोठा खोजिदिए छन् । कोठा त भयो तर आ्ेड्ने ओछयाउने केही थिएन, बालबच्चाहरु सानै थिए ।

    भोलिपल्ट म बत्तीसपुतलीमा रहेको मोहन बस्नेतको घरमा गएँ । उनी भर्खर राज्यमन्त्री भएका थिए । ‘मोहन दाइ, मलाई आर्थिक समस्या भयो, घरमा जाउँ भने मारिहाल्छ’ भनें । तर उनले ‘मेरो मन्त्री पद पनि गयो, बत्तीको पैसा तिरेको छैन, घरभाडा तिरेको छैन । पानीको पैसा पनि तिरेको छैन । म आफैं समस्यामा छु ,कहाँबाट तिम्लाई पैसा दिनु ?’ भने ।

    म सोझो मान्छे ‘होला त’ भनेर विश्वास गरे । त्यहाँ प्रहरीहरु बसेको कोठामा ओड्ने कपडा र केही भाँडाकुडाहरु रहेछन् । ‘दाई मलाई यही दिनुहोस् न त भनेर भने तर उहाँले ‘म भोलि पनि मन्त्री हुने मान्छे, फेरि चाहिन्छ’ भनेर दिएनन् । सधै उहाँलाई साथ दिएको मान्छे, यस्तो अपत पर्दा पनि मलाई केही सहयोग गरेनन् । उहाँ त्यस्ता सामन्ती मान्छे । यस्तो दुःख र पीडामा मैले काठमाडौंमा ६ महिना बिताएँ । शान्तिकाल आयो अनि घर आएँ । अनि बिस्तारै उसँग टाढा भएँ । पार्टी छाडु कि जस्तो पनि लाग्यो तर उसको कारण किन पार्टी छाड्नु भनेर छाडिनँ ।

    लामो समय पार्टीमा अपमान सहेर बसें । स्थानीय तहको चुनावमा मैले वडा अध्यक्षको टिकट दाबी गरे । मलाई कहिले भपुेन्द्र, कहिले शेखरको मान्छे भनेर टिकट दिन मानेन् । पछि सबैले भनेपछि मलाई रातको १२ बजे वडाको टिकट दिए ।

    कांग्रेसबाट चुनाव जिते पनि मैले कसैलाई पक्षपात गरिनँ । मलाई युद्धकालमा गोली हान्ने माओवादी कार्यकर्ताको घरमा धारो बनाइदिएँ । मलाई धेरै अप्ठ्यारो पनि लागेको छ । मलाई साथीहरुले अहिले पनि फोन गरेर पार्टी नछाड्न आग्रह गरिरहेका छन् । तर म एउटै मात्रै समस्याले मैले पार्टी छाडे– त्यो हो सेतो हात्ती जस्तो, त्यो हात्तीलाई पाल्न नसक्ने, स्याहार गर्न नसक्ने, उसले जे गर्दा पनि हुने, कुट्दा पनि हुने, थिच्दा पनि हुने, जे गर्दा पनि हुने । उसले भन्दा अरुले राम्रो गाडी चढ्न नहुने, सबैभन्दा राम्रो घर उसलाई चाहिने, राम्रो उसले मात्रै खानुपर्ने अवस्थाबाट मुक्ति पाउनका लागि मैले कांग्रेस छाड्ने निर्णय गरेको हुँ ।

    अहिले नेपाली कांग्रेस छाडेर एमालेमा आइरहँदा धेरै साथीहरुलाई डर होला । एमालेमा आउन पनि मन छ, डर पनि छ भने म सबै साथीहरुलाई डर नमानेर एमालेमा आउन अनुरोध गर्दछु । यो वडामा मेरो सास हुँदासम्म म तपाईंहरुलाई माया गर्छु, सहयोग गर्छु । अहिले एउटै व्यक्तिको पीडा सहन नसकेर मात्रै मैले पार्टी छाडेको हुँ । मैले यत्रो दुःख गर्दा त मलाई वास्ता गरेन भने तपाईं युवा साथीहरुले त दोहोरो कुरा राख्न पनि सक्नु हुन्न ।

    सेतो हात्ती जस्तो यत्रो टोपी लगाएर ‘कांग्रेस भनेको म हुँ’ भनेजस्तो गर्छन् । उनी अहिलेसम्म पाँचपटक चुनाव लडिसेके अब लड्दा ६ पटक हुन्छ । अरु कोही लड्न नहुने, वडा पनि उसैले चलाउने, नगरपालिका पनि उसैले चलाउने ? पानी सदस्यसमेतको लिस्ट आफंैले बाँढ्ने, यतिसम्म निरंकुश छन् बस्नेत ।

    तपाईंहरु कोही वडा अध्यक्ष उठ्छु, विकास गर्छु भन्नुहुन्छ भने त्यो मोहन बस्नेत हुँदासम्म केही गर्न सकिँदैन । वडाको बजेटसम्म तैले बाँढ्ने होइन, मैले बाढ्ने हो भन्दै सबै योजना उसैले बाँड्छन् ।

    बाह्रविसेमा चुनाव जितेपछि कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुलाई घरमा बोलाए । माथिबाट राजा झरेको जस्तै गरेर झरे । भाइलाई घरमा वेटर राखेको छ, हामीलाई एक कप कालो चिया दिए अनि कुरा सुरु गरे । ‘तिमीहरु त वडा अध्यक्ष जितेको, मोटरसाइकल किन्ने कुरा छ रे, तिमीहरुको अहिले मोटरसाइकल चढ्ने हैसियत भएको छैन । किन्नु हुँदैन’ भनेर हामीलाई सुरुमा नै निर्देशन दिए । हामीलाई मोटरसाइकल नचढ्नु भने पनि नगरपालिकासँग समन्वय गरेर मोटरसाइकल चढ्न थाल्यौं ।

    नगरपालिकाको नगरसभा बिथोल्न हामीलाई निर्देशन दिएका थिए । ‘मेयरले मानेन भने तिमी त बलियो छ, मेयरलाई कुटे पनि हुन्छ’ भनेर हामीलाई भनेका थिए । तर म उहाँको त्यस्तो कुर मा सहमत हुन सकिनँ ।

    उहाँले भनेको काम नमानेपछि मलाई स्पष्टीकरण सोधियो । मलाई डर लाग्यो । बल्लबल्ल वडा अध्यक्षमा जितेको पद नै जान्छ कि जस्तो भयो । अनि स्पष्टीकरण लेखेर काठमाडौंमा गएर नेताहरुलाई भेटें तर नेताहरुले त्यो ‘फटाहा’को कुरा नसुन्नू, केही हुँदैन भनेपछि म फर्केर आएँ ।

    नेपाली कांग्रेसमा मोहन बस्नेतको दम्भ हुँदासम्म त्यहाँ बस्न सक्ने अवस्था छैन । मैले ४० वर्षपछि मात्रै उसलाई छाड्ने निर्णय गरें । मेरो आफन्तहरुलाई उसको पीडाबाट छुटाउनका लागि पनि एमालेमा आएको हुँ । तपाईं कांग्रेसमा भएका सबैको लागि मैले बाटो खुलाइ दिएको हो । सिन्धुपाल्चोकमा पुराना कांग्रेसका सबैले बिस्तारै बस्नेतलाई साथ छाडिसकेका छन् ।

    तातोपानी नाकामा सामन्य झोलेपोके व्यापार गर्थें तर त्यहाँ पनि मोहन बस्नेतले मागेको जति पैसा नदिएपछि मेरो सबै सामान प्रहरीलाई भनेर पक्राउ गर्न लगाए । विद्युत्को काम गरें, त्यहाँ पनि पैसा नदिएपछि मेरो काम गर्न नै रोक लगाए । यति धेरै दुःख पीडा त कसैले पनि दिएका छैनन् ।

    त्यसैले मैले कांग्रेस छाडें । कांग्रेसमा भएका सबै साथीहरुलाई यस्तो अन्याय नसहनका लागि म अनुरोध गर्दछु । मैले ४० वर्षसम्म त सकेको सहयोग गरे, तर मैले अब पाल्न नसक्ने भएँ, उसले भनेको जस्तो गर्न नसक्ने भए, मेरा सन्तानहरुका लागि पनि मैले कांग्रेसबाट मुक्त गराए ।

    (बाह्रविसे नगरपालिका–२ का वडाध्यक्ष तामाङले नेपाली कांग्रेस त्यागेको घोषणा गर्दा भनेका कुरा । उनी अहिले नेकपा एमालेमा प्रवेश गरेका छन् ।)

  • मुसहर बस्तीकी सरल र साहसी सलिता सदा

    मुसहर बस्तीकी सरल र साहसी सलिता सदा

    बालबालिकाको निमित्त गैरसरकारी संस्थाहरुको महासंघले स्थानीयस्तरमा बालअधिकारको क्षेत्रमा काम गर्ने स्वयसेवीहरुको समूह बनाउँदै थियो । म महासंघको अध्यक्षको रुपमा कार्यरत थिएँ । सप्तरीकी सलिता कुमारी सदा समाजिक संन्जालमार्फत हामीसँग जोडिइन् ।

    सलिता आफैं मुसहर महिला भएकीले पनि मुसहर महिला र बालबालिकाको अवस्थाबारे संवाद गर्न सहज भयो ।

    मेरो जिज्ञासा धेरै भएपछि भनिन्, ‘तपाई बस्तीमै आउनुहोस् । आफ्नै आँखाले देख्नु हुनेछ । प्रत्यक्ष भेटेर कुरा गर्दा झनै यथार्थ सूचनाहरु पाउनुहुनेछ र नयाँ अनुभव पनि गर्न सक्नुहुनेछ ।’

    माघी नजिकिँदै थियो । माघीमा सहभागी हुने इच्छा सुनाएँ । उनले निम्ता दिइन् ।

    विपी राजमार्गको नागबेली सडक, सडक किनाराका सुनौला तोरी बारी अनि कोशी किनाराको रमणीय दृश्यसँगै गाडीमा हुइँकिएँ । म सात घन्टाको ड्राइभमा अमाहा पुग्दा सलिता बाटोमा कुरिरहेकी थिइन् ।

    उनले भनिन्, ‘समाजिक संन्जालमा चिनेको, प्रत्यक्ष भेट नभएको, शहरमा बस्ने व्यक्ति झुपडीमा बस्न आउनेछन् भन्ने विश्वास नै थिएन । तर पनि थोरै विस्वासको साथ कुरिरहेकी थिएँ ।’

    उनलाई घर जाने बाटो देखाउन अनुरोध गरेँ । उनी थोरै लजाइन् । हिस्सी परेको अनुहारमा सेतो दाँत हिम श्रृखला जस्तो मनमोहक देखिन्थ्यो उनको ।

    झण्डै १० मिनेटमा हामी उनको घरमा पुग्यौं ।

    बस्तीका ६-७ जना मानिसहरु मेरो कार घरसम्म पुर्याउन बाटो बनाइरहेका रहेछन् । मैले कार बाटोमै राख्दा हुने बताउँदा उनीहरुले मानेनन् ।

    मलाई सलिताको साहस, त्यो खुल्ला व्यवहारले खिच्यो । समाजिक संन्जालबाट चिनेको व्यक्तिलाई निमन्त्रणा दिएर घर लगेकी थिइन् । उनको परिवार पनि सहज रहेछन् ।

    सलिताको अनुरोध थियो ‘माटाको झुप्रो, झुप्रो भित्र गाई, सुंगुरहरुको गोठ, यताउता छरिएको गाई भैसीको मल र गुईठाहरुको बीचमासुत्छौं । तपाईलाई शौचालय असहज हुनसक्छ । बेलुका होटेलमै सुत्नुहोला ।’

    ३ वर्ष भएछ यो वस्तीमा शौचालय घरघरमा बनाएको तर, शौचालय न सफा थियो न उचित प्रयोग । शौचालय नै रोग सर्ने माध्यम हुने हो कि भन्ने भय थियो । तर शौच खुल्ला चौरबाट शौचालयसम्म आउनु आफैंमा उदाहरणीय थियो ।

    मैले सलितालाई समुदायमै रात बिताउन पाएमा मात्रै आउँछु भन्ने अड्डी कसेको थिएँ ।

    सलिताले परिवारसँग परिचय गराइन् । उनको बुबा भने माघीको लागि समान जुटाउन बिहानै निस्केका रहेछन् । उनको घरमा परिवारकै जेठी सन्तान उनी, बुबा, मुमा, चार बहिनीहरु, माइली बहिनीको सानो छोरा र एक भाइ रहेछन् ।

    सलिताले मेरो सुत्ने कोठा देखाइन् । उनको बुबा र म त्यही कोठामा सुत्ने जानकारी दिइन् । रातको झण्डै ८ बजेको थियो । सलिताको बहिनी शर्मिलाले भनिन्, ‘भन्सा बैनगेलई खाईला आबू ।’
    जाडोबाट बाँच्नका प्रत्येक घरमा बिहान बेलुका आँगनको बीचमा घुर बालेर ताप्ने दैनिकी । पराल र दाउरा बालेर घुर ताप्दा धुवाँको मुस्लो निस्किएको हुन्थ्यो ।

    सलिताको आमा बोल्न लजाउनु भयो, सायद म मैथिली बोल्न नसक्ने र नयाँ भएर होला । अगेनाको छेउमा सबै परिवारसँगै खाना खाएँ ।

    भोलिपल्ट माघी थियो । माघीको लागि विभिन्न प्रकारको लड्डुको तयारी हँुदै थियो । म पनि लड्डु बनाउन सहभागी भएँ ।

    सलिताको भान्सासँग जोडिएको अर्को घरबाट झगडाको आवाज आइरहेको थियो । ‘सर यस्तै हो पुरुषहरु रक्सी धोकेर आउने अनि घरमा श्रीमतीसँग झगडा गर्ने, दुःख दिने आजसम्म पनि निरन्तर छ,’ सलिताले दुःख मनाउ गरिन् ।

    सलिताले उनीहरुलाई मैथिलीमा ‘हमरा घर पुगैको छै यहाँ सब झगडा नैकरु न’ भनिन् ।

    घरपरिवारको पुरै जिम्मेदारी बोकेर होला, सलिता गम्भीर, परिपक्व, साहसी, कामकाजी रहिछन् ।
    उनको आँगनमा मोटरसाइकल राखेको थियो । मैले उक्त मोटरसाइकलबारे सोधेँ ।

    ‘मेरो हो नि सर, भोली म तपाईलाई राखेर कुदाउला नी हुन्छ ?’

    ‘सबै केटीहरुले स्कुटी चलाउछन् तर, तपाईको त बाइक रहेछ ?’

    मेरो यो प्रश्नमा भनिन्, ‘पुरुषभन्दा महिला केही कुरामा कम हुँदैनन् सर ।’

    उनी सर्ट पाइन्ट लगाउने, मोटरसाइकल कुदाउने, २६ वर्षसम्म पनि विवाह नगरी परिवारको जिम्मेदारी बोकेकी केटा जस्तो देखिने साहसी महिला देखिन्थिन् ।

    ३५ घरधुरी रहेको अमाह बस्तीमा कुल १८२ मुसहरहरु बस्दा रहेछन् । महिला ८०, पुरुष ४९ र बालबालिकाहरु ५३ रहेछन् । दुःख त त्यसवेला लाग्यो, वस्तीमा ६० कटेका बूढाबूढी नै रहेनछन् ।

    चरम गरिबीले रोग लाग्दा समयमा उपचार गर्न नसक्नु, कुपोषण, सरसफाईको लापरबाही, छिटो विवाह गरी सन्तान जन्माउने र पुरुषहरुको अत्यधिक रक्सी सेवनले अकालमै मृत्यु हहुँ रहेछन् ।
    पुरुषहरु नागकिता बनाएपछि र पढाइ बीचमै छाडेर पैसा कमाउन ऋण काढ्न सक्नेहरु खाडी मुलुक जाने र पैसाको जोहो गर्न नसक्नेहरु भने भारतमा श्रमको लागि जाने रहेछन् । त्यहाँको औसत महिलाको विवाहको उमेर १६ र पुरुषको २० वर्ष रहेछ ।

    १८ वर्षसम्म पनि विवाह नगरी बस्ने केटीहरु एकाध मात्र रहेछन् ।

    ‘जम्मा ३ जना केटीहरु मात्र छन सर यहाँ १८ वर्ष काटेका तर, विवाह नगरी बसेका,’ सलिताको जवाफ थियो ।

    म्ुख्यतः उमेर ढिला भएपछि विवाह गर्ने केटा नपाउने र दाइजो झन् बढी लाग्ने हुनाले १६–१७ वर्षभित्रै परिवारले विवाह गरिदिने रहेछन् ।

    समाजिक संन्जालबाट १४–१५ वर्षमै प्रेम गरी स्कूल नै छोडेर विवाह गर्ने घटना अत्यधिक बढेको रहेछ । समाजिक सन्जालले झन् कम उमेरमा विवाह गर्ने चलनलाई बढाएको रहेछ ।

    रातको १० बज्दासम्म सलिताको बुबा आउनु भएको थिएन ।

    ‘यस्तै हो सर, बुबा ढिला नै आउनु हुन्छ र पिएर पनि,’ सलिताको जवाफ थियो ।
    परिवारसँग विदा लिएर सुत्ने कोठातिर गएँ ।

    भोलि माघी मनाउने, मुसहरको अन्तर्राष्ट्रिय भुइँया दिवसमा सहभागी हुने योजना सलिताले सुनाएकी थिइन् । म उत्साहित थिएँ, नयाँ अनुभवका लागि ।

    ०००

    बिहान आठ बजे ब्युँझिएँ । सलिताको बुवा नजिकै सुत्नुभएको रहेछ । हिजो कुन वेला कामबाट फर्केर सुत्नुभएको थियो, थाहा पाइनँ ।

    मुसहर बस्तीको त्यो मेरो निद्रा अद्भूत रह्यो ।

    भान्साबाट आएको बास्नाले घरमा माघीको स्पेसल परिकारहरु तयार भएको महसुस भइरहेको थियो ।

    पहिलो दिनमै सलिता कुन छिमेकीको घरको शौचालय सफा होला भनेर दगुर्दै थिइन् । मैले उनलाई जे जस्तो छ घरकै शौचालय प्रयोग गर्छु भनेँ ।

    सलिताले समाजिक र राजनितीक रुपमा सक्रिय केही व्यक्तिहरुलाई बोलाउनु भएको रहेछ, मसँग परिचय गराउनका लागी । दोश्रो दिनको सूूुरुवात समुदायका तिनै व्यक्तीहरुसँगको भलाकुसारीबाट भयो ।

    मुसहर समुदायबारे छलफल भयो । अशिक्षा समस्याको जड भएको उहाँहरुको मत थियो । पुराना पुस्ता मात्र होइन, नयाँ पुस्ताहरुको पनि चेतानस्तर उठाउन गाह्रो भएको निष्कर्ष थियो – स्कूल शिक्षाले चेतनास्तरको विकासमा भुमिका हुन्छ नै तर, शिक्षाको पहिलो पाठशाला घर, समुदाय र संस्कृती हो ।

    यो समुदायमा न त स्कूल शिक्षा राम्रो न समाजिक शिक्षा । त्यसकारण पनि नयाँ–पुराना दुबै पुस्तामा चेतनास्तर उकास्न गाह्रो । आधुनिकताले ल्याएको नयाँ प्रविधी र विचारहरुको सही प्रयोग नहुदाँ समाजमा झन् विकृती, विभाजन र असहिष्णुता बढेको देखिन्छ ।

    प्रदेश नम्बर १ र २ को समथर जिल्लाहरूमा बसोबास गर्ने मुसहर जातीहरु झण्डै बाह्र लाख रहेको नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताउनु भयो ।

    मैले सोधेँ, ‘पछिल्लो राष्ट्रिय जनगननाले त मुसहरहरुको जनसंख्या दूई लाख पचास हजार भन्दा कम देखाउछ त ?’
    उहाँले त्यो तथ्यांकलाई अस्विकार गर्नु भयो र नेपालभरी १२ लाख बढी मुसहर भएको जानकारी दिनु भयो ।

    मुसहर जातिभित्र पनि थुप्रै थरहरु हुने हुनाले जनगननामा सहि तथ्यांक नआएको उहाँको दावी थियो । चन्देश्वर सदाले मलाई नेपाल राष्ट्रिय मुसहर संघको अवधारणा तथा धोषणापत्र दिनु भयो र जोड दिँदै भन्नु भयो ‘सर, मुसहर जाती १२ लाख भन्दा बढी छौं ।’

    मुसहरहरू झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी ,कपिलवस्तु जिल्ला लगायत २४ जिल्लामा छरिएर रहेको तथ्यांकले देखाउँदछ ।

    मुसहर जातिभित्र सदा, माझी, सदाय, भुइँया, क्रषि, क्रषिदेव, मुसहर थरहरु रहेछन् । चन्देश्वर सदाको यी तथ्यांक गहन रुपमा हेर्दा पुरानो जनगणनाले देखाएको तथ्यांकमा विश्वास गर्ने आधार भेटिँदैन ।

    माघीभन्दा पनि मलाई भुईया उत्सबमा लान र मुसहर जातीबारे बढी भन्दा बढी ज्ञान दिने प्रायासमा थिइन् सलिता । ११ बजेबाट भुईया उत्सब सुरु हुने हुदाँ छिट्टै हिँडनु पर्ने जानकारी दिइन् ।

    कार्यक्रमस्थल झण्डै पचास किलोमिटर टाढा थियो अमाहाबाट सकरदही । महिलाहरुको कलस यात्राबाट सुरु हुने भनिएको त्यो भुईयाँ उत्सवमा कलस यात्रा नछुटोस् भन्ने उनको चाहना थियो र मलाई पनि छुटाउन मन थिएन ।

    १० बजे सलिताको आमा र बहिनीले बनाएको स्वादिष्ट खानालाई थाती राखेर उत्सवतिर अगाडि बढ्यौँं ।

    सलिताले फोनमा कुरा गरिन् । फोन राख्दै भनिन्, ‘विशेष कारणले उत्सव एक बजे मात्र सुरु हुने भएछ । अब हामी फर्केने हो कि सर खानाको लागि ?’

    ‘फर्कने भन्दा यहाँको घुम्ने स्थलहरुमा घुमौं न, हुन्छ ?’

    ‘अँ सर, तपाई भोकै पनि हुनुहुन्छ, आज शनिबार पनि हो । यहाँको प्रख्यात शनिको मन्दिर छ । तपाई देवदेबताप्रति विश्वास गर्नुहुन्छ भने म लान्छु ।’

    म धार्मिकभन्दा बढी आध्यात्मिक हुँ । तर, पनि शनिको पूजा दर्शन गर्न मैले सहर्ष स्वीकार गरे । हाम्रो यात्रा शनिको मन्दिर तर्पm मोडियो ।

    ‘सर, तपाईले खाजा नखाएको पनि राम्रो भयो नि ।’

    ‘किन र सलिता जी ?’

    ‘यो शनिको मन्दिर धेरै प्रख्यात छ नि सर । धेरै टाढाटाढाबाट दर्शनको लागी आउँछन् । तपाई भाग्यमानी हुनुहुँदो रहेछ । कुनै योजनाविना नै तपाईलाई खालीपेटमा शनिले डाक्नु भयो, सोच्नुहोस त ।’

    ‘साच्चै सलिता जि त्यस्तै भयो । तिमीलाई धन्यबाद ।’

    मुस्कुराउदै उनले हस् मात्र भनिन् ।

    ‘सलिता जी तपाईको बारेमा अलि भन्नुहोस न । जागिरबाहेक अरु के गर्नु हुन्छ ? के गर्न तपाईलाई मन पर्छ ?,’ बाटो काट्नु पनि थियो र उत्सुक्ता पनि थियो ।

    अलि बढी नै लजाउँदै भनिन्, ‘म नि सर, सानोतिनो राजनिती नि गर्दछु नि ।’

    प्रत्येक संवादबीच उनको मुस्कुराहट अद्भूत थियो ।

    ‘सर तपाई किन हाँस्नु हुन्न ? हाँस्नुहोस् न ! हाँस्दा तपाई झन राम्रो देखिनु हुन्छ,’ पहिलो चोटी उनले जिस्काइन् ।

    ‘खै सलिता जी, म मनले बढी हाँसिरहेको हुन्छु । तर किन हो मनको हाँसोलाई बाहिर निकाल्न सक्दिनँ । सबैको मेरोबारे यही गुनासो छ ।’

    मैले फेरि कोट्याएँ ‘कुन पार्टीको राजनीती गर्नु हुन्छ तपाई ?’

    ‘खै के भन्ने ? एमाले समाजवादीमा छु अहिले । पहिला त एमालेमा थिएँ ।’

    ‘राम्रो हो त नि । मुसहर समुदाय यसै पनि राजनितीमा कमजोर छ । सत्ता र शक्तिबाट टाढा पनि छ । तपाई जस्तो महिला यसरी राजनितीमा लाग्नु त धेरै राम्रो हो तर, किन निराश देखिनु हुन्छ ?,’ प्रतिप्रश्न थियो मेरो ।

    ‘खै के भन्ने सर, गरीबका लागि कम्युनिष्टको राजनिती भनेर लागियो तर, सोचे जस्तो देखिएन । पार्टी र सिद्धान्त टाठाबाठा, पैसावालाको रहेछ । हामी त भोटका लागि मोहोरा मात्र ।’

    यो निराशा उनको मात्र लागेन । उनले पुरै समुदायको प्रतिनिधित्व गरेकी थिइन् ।

    ‘एमाले समाजवादीमा कुन पदमा के जिम्मेदारी लिएर काम गर्दै हुनुहुन्छ त सलिता जी ?’

    ‘म दलितको कोटाबाट सप्तरीको जिल्ला सदस्य छु तर, मलाई निरन्तरता दिन मन छैन सर ।’

    ‘किन र त्यस्तो ?’

    ‘खै सर, कसरी भनुँ, होस् पछि कुरा गरुँला यो बारेमा । हजुरको बारेमा भन्नुहोस् न । तपाई पनि राजनिती गर्नु हुन्छ कि हुदैन ?’

    हामी मन्दिर नजिक पुग्दै थियौँ । बाटो अलि बिग्रेको थियो । मेरो सानो गाडीलाई दुःख भने भइरहेको थियो । विस्तारै गुडाउन उनको अनुरोध थियो मलाई ।

    मैले फेरि कोट्याएँ, ‘किन त सलिता जि राजनीति छोड्न मन लागेको ?’

    ‘आफू त गरीब परिवारमा हुर्केको । पैसा छैन । आफ्ना छैनन् । दलितको कोटामा जिल्लास्तरमा छु । हेर्नु न सर कसरी भनँु ?’

    ‘केही फरक पदैन मसँग कुरा गर्दा,’ उनलाई अलि सहज बनाउने प्रयास गरेँ ।

    उनले एक सासमा भनिन्, ‘सबैले गिद्धे दृष्टिले हेर्ने, डर पो लाग्छ सर ।’

    उनले मेरो अनुहार हेरिन् । मेरो कार एक्कासी रोकियो । सलिता अगाडि ठोकिन पुगिन तर, उनले हातले आफूलाई बचाइन् ।

    ‘सर के भयो ? कार ठोक्किएको त छ छैन नि सर ?’

    ‘छैन छैन । अब कति समयमा पुगिन्छ शनिको मन्दिर ?’

    ‘पाँच मिनेटमा पुगिन्छ सर ।’

    ०००

    अनकन्टार जंगलको बीचमा बगेको खहरे खोलामा कार पार्किङ गरेँ । झण्डै २० भन्दा बढी मोटरबाइक, ६ वटा गाडीहरु अनि मानिसको भिड देखेर छक्क परेँ ।

    ‘आज शनिबार हो सर, अझ कोरोनाको कारणले हो, नत्र यहाँ कार राख्ने ठाँउ हुँदैन ।’

    बगरमा पूजा समग्री बेच्ने पसल आठवटा जति थिए । नास्ताको पसल, सेल पकाउनेहरु, झण्डै सानोतिनो मेला जस्तो भिडभाड ।

    ‘बजार नै पो लाग्दो रे छ त ?’

    ‘शनिबार मात्र हो सर, अरु बार यत्रो भिड हुँदैन ।’

    पूजा समग्री पसलमध्ये एक पसल सलिताले रोजिन् । पसलको भाइले भने, ‘दाजु यो लोटामा पानी लिएर आउनु होला, जुत्ता यहीँ राख्नुहोस् ।’

    खोलाको बगरमा थापेको पसलको छेवैमा पानी बगिरहेको थियो । मैले त्यही पानी भर्न खोजेँ ।

    ‘दाइ यो पानी होइन, माथि धारा छ त्यहाँबाट ल्याउनुपर्छ ।’

    ‘ए हो र भाइ ?,’ मेरो स्वीकारोक्ती थियो ।

    सलिताले बाटो देखाइन् । हातखुट्टा पखालेर चोखो पानी लिएँ । पसलको भाइले पुजाको सामाग्री दिए ।

    झण्डै ५ मिनेटको उकालो पछि शनिदेवको मन्दिर पुगियो ।

    ‘तेल, कालो धागो शनिदेवको प्यारो हो नि सर !’

    ‘पहिला जल चढाउनुहोस् अनि तेलले मालिस गर्नुहोला । त्यसपछि कालो धागोले शनीको मन्दिर घुमेर बेर्नुहोला । अन्तमा फूलपातीले पूजा गर्नु है सर !’

    सलिताको निर्देशन बमोजिम पूजा गरेँ । उनले मेरो फोटोहरु खिचिदिइन् । पूजा सकेर हामी बगरको पहिलो नास्ता पसलमै बस्यौंँ । झण्डै १२ बजेको थियो । बिहान चियाबाहेक खाएका थिएनौं, दुवै भोकाएका थियौं ।

    सेल, तरकारी, जेरी, पुरी मागाएँ । सलिताले चाट मगाइन् ।

    हामी भुइयाँ उत्सवमा पुग्न हतारिएका थियौं । सकरदहीतिर अगाडि बढ्यौं ।

    झण्डै एक घन्टाको यात्राकै बीचमा सलितालाई फोन आयो ।

    ‘सर कार्यक्रम त अझ ढिला पो होला जस्तो छ । हतार गर्नु पर्दैन, विस्तारै कार चलाउनुहोस् ।’

    ‘मेरो साथी ममता पनि बसमा आउँदैछिन् । उसलाई पनि हामी सँगै लैजाउँ है सर ?’

    ‘हुन्छ नि, कति समय लाग्छ साथी आउन ?,’ मैले जिज्ञासा राखेँ ।

    ‘३० मिनेटभन्दा बढी लाग्छ । सुन्नु न सर, हामी कुर्नुभन्दा यहीँ नजिकै माँ कंकालिनीको मन्दिर छ, तपाई दर्शन गर्न चाहनुहुन्छ भने म लिएर जान्छु ।’

    हामी माँ कंकालिनीको मन्दिरतिर अगाडि बढ्यौं ।

    ‘सर यो मन्दिर गायक उदित नारायाण झाले बनाएका हुन् । त्यही भएर लोकप्रिय छ । उदित नारायणको पुख्र्यौली घर पनि यहीँ हो ।’

    ‘उदित नारायणको परिवार कोही बस्छ त यता ?’

    ‘पुरानो घर छ रे तर, कोही बस्दैनन् । तपाई जाने भए लान्छु नि ! यहाँबाट ३–४ किलोमिटर होला सर ।’

    ‘खाना खाएको छ, पूजा त नगर्ने होला नि होइन सर ?,’ पूजा नगर्ने निर्णय सलिताले नै सुनाइन् । माँ कंकालिनीको दर्शन ग¥यौँ, केही फोटोहरु खिचेर भुइया उत्सवस्थलतिर अघि बढ्यौं ।

    मुसहर माटो काट्ने, सम्याउने र भर्ने काममा पोख्त मानिने जाती, कूलदेवता पनि ‘भुँइयाँ’ महाराज अर्थात भूइँ देवता (माटोलाई नै देउता मान्ने) । यसकारण पनि मुसहरहरु आफूलाई भूइँको नाताले परिचय गराउँदा रहेछन् ।

    मुसहरहरुको जीवन गुजाराको पुख्र्यौली पेशा कृषि, मजदूरी र आज पनि त्यही । तराईमा एक ठाउँको माटो काटेर अर्को ठाउँमा भर्न टाला (काँधमा बोक्ने) बोक्ने खास जातिको रुपमा आज पनि उनीहरु प्रख्यात रहेछन् ।

    मुख्यतः घरमूली र वयस्क पुरुष बिहान उज्यालो हुनसाथ ‘गिरहत’ (आफूले काम गर्न जाने घरधनी)को घरमा मजदुरी गर्न जाने दिनचर्या । हिजो आज भने युवाहरु विदेश जाने क्रम बढेको रहेछ ।

    मुसहरका सात आठ वर्ष नाघेका नानीहरु खुर्पी र कोदालो बोकेर कतै मुसाको दुलो देख्नसाथ त्यसलाई पहिल्याउँदै खन्दै गएर मुसा मारेर घर फर्कनु दैनिकी रहेछ । आज पनि मुसा मार्न मुसहर जाती माहिर मानिन्छन् ।

    हिजोआज केही हदसम्म बालबालिकाहरुलाई स्कूल पठाउने क्रम बढेको देखिन्छ तर, स्कुल ड्रप आउट भने अध्यधिक रहेछ । मुख्यतया गरिबीको कारण घर धान्न समस्या हुने हुदाँ कलिलै उमेरमा मजदुरी गर्नुपर्ने बाध्यता रहेछ ।

    घरका वयस्क महिला भने छोरीचेली लिएर घुँगी (हिलो पानीमा पाइने शंखे किरा प्रजातिको किरा) मार्न जाने रहेछन् । मुसा पोलेर बनाइने चटनी र घुँगीको झोल मुसहरले खाने विशिष्ट परिकार रहेछ ।

    माटोसँगको अटुट नाता भएको मुसहरहरुको माघ महिना भुँइयाँ महाराजको पूजा आराधनाको साथ उत्सव मनाउने महिना ।

    नेपाल राष्ट्रिय मुसहर संघले विभिन्न मुसहर संघ संस्थाहरुसँग मिलेर मुसहर जातिको हकहित र संस्कृतीको संरक्षणको प्रमुख उदेश्यसहित प्रत्येक वर्ष भिन्नभिन्न जिल्लाका सबै मुसहरहरु जम्मा भएर एकसाथ भुइया पर्व मनाउन सुरुवात गरेको तीन वर्ष भएछ ।

    तेश्रो अन्तर्राष्ट्रिय भुइयाँ दिवसको नारा ‘अपन संस्कृती अपन स्वाभिमान, तोडु विभेद के जनजीर देखु वीर पुर्खा के नजीर’ का साथ हनुमान नगर कंकालिनी नगरपालिका, वाड न.ं २ सकरदहीमा मनाउने तय भएको रहेछ ।

    हामी झण्ढै एक घन्टामा अन्तराष्ट्रिय भुईयाँ दिवस मनाउन बनाइएको मन्चमा पुग्यौं । उत्सवलाई औपचारिकता दिन मन्च, माइकहरु, भुईया उत्सवमा मुसहर जातीको इस्ट देवता दिनाभद्रीको गीत, भजनको लागि कलाकारहरु समेतको व्यवस्था भएको रहेछ ।

    मन्चको अगाडि दिनाभद्री मुसहरहरुको कुल देवताको पूजाको लागि पूजास्थल थियो । तातोतातो दूधले पुजारीहरुले देहशुद्धिको लागि नुहाउने परम्परालाई जोगाउन पूजास्थलमा माटोको भाँडामा दूध तातिरहेको थियो ।

    नेपाल राष्ट्रिय मुसहर संघको आयोजनामा जय श्री दिनाराम भद्री सदा सेवा समाज, अन्तराष्ट्रिय मुसहर भुईयाँ विकास समिति, दिनाभद्री बास्केट फन्ड नेपाल र हनुमान नगर कंकालिनी नपा वाड न.ं २ सकरदहीको सहयोग रहेको भुईया उत्सवमा धेरै जिल्लाबाट मुसहरहरुका प्रतिनिधिहरुको उपस्थिती थियो ।

    बस्तीका झण्डै ५० भन्दा बढी महिलाहरुबाट नजिकैको नहरबाट कलसमा पानी लिएर कलस यात्राबाट उत्सव सुरु भयो । उत्सवमा कुल देवता दिनाभद्रीको भजन गीतहरु बजिरहेको थियो । कलसलाई पूजास्थलमा स्थापित गरेपछि औपचारिक कार्यक्रम सुरु भयो ।

    मलाई पनि उक्त दिवसको सभामा अतिथिको रुपमा निमन्त्रण गरियो र मन्चमा राखियो । मलाई मन्चमा बस्न मन नहँुदानहुदै पनि विशेष आग्रहमा कार्यक्रममा सहभागी भएँ ।

    तर, विडम्बना नै भन्नु पर्छ, जन्मिदै माटोको टीका लगाइने, काम माटोकै गर्ने र ‘भुइँ’ सँगै नाता जुटेका ‘भुइयाँ महाराज’ पुज्ने, माटोलाई देवता मान्ने र कृर्षि कर्मलाई नै मुख्य पेशा बनाएका तराईका आदिवासी दलित कुल मुहसरमध्ये २३.७ प्रतिशतसँग मात्रै आफ्नो जमीन रहेको छ । बाँकी सबै मुसहरहरु भुमिहीन ।

    मुसहरहरुमा भुँइयाँ महाराजका नाउँले चिनिने मुसहर जातीको कूलदेवता दिनाभद्रीको वीरगाथा गाउने, दिनाभद्रीका जीवनसँग सम्बन्धित नाटक खेल्ने, पूजा अनुष्ठान गर्ने र सामूहिक भोज खाएर भुईया उत्सव मुख्य चाडको रुपमा मनाउने परम्परा रहेछ ।

    पूजा अनुष्ठानमा दिनाभद्रीको आराधनाका लागि ‘देहशुद्धि’ गर्नुपर्ने र देहशुद्धीका लागि पूजा अनुष्ठान गर्ने व्यक्तिले उम्लेको दूधले नुहाउनु पर्ने रहेछ । यस विधिलाई मुसहरहरुले ‘अपटनी’ भन्दा रहेछन् ।

    विभिन्न वक्ताहरुको वक्तव्यसहितको एक घन्टाको औपचाकि कार्यक्रमपछि तरबारहरुसहित एक हुल पुजारीहरु बाहिरबाट पुजास्थलमा प्रवेश गरे । मौलिक बाजासहित पूजास्थलमा उम्लिएको दूधलाई जिउमा हाल्दै ‘अपटनी’ सुरु भयो ।

    तान्त्रिक विधिबाट उम्लिएको दूघबाट गरिने स्नान मुसहर जातिको मौलिक संस्कृति हो ।

    ‘चरम गरिबी र अशिक्षाको भुमरीमा जोतिएका हाम्रा पुर्खाले हाम्रो इतिहास लेख्न नसके पनि वर्षौदेखि वंश परम्पराबाट सर्दै आएको भुइयाँ महाराज दिनाभद्री दाजुभाइको पूजा उत्सव नै हाम्रो जातिको विशेष सांस्कृतिक उत्सव हो,’ नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्द्रेश्वर सदाले उत्सवलाई सम्बोधन गर्दै भने ।

    भुइयाँ महाराजको पूजा आराधनामा तातो दूधले नुहाउँदा फोका उठ्ने वा कुनै स्वास्थ्य समस्या कहिल्यै थाहा नपाइएको समेत चन्देश्वरले बताए ।

    झण्डै आधा घन्टा दूध स्नानसँगै दिनाभद्रीको पूजा आराधाना भयो । मौलिक बाजा, संगीत र नाचसँगै पुजारीहरुले दूध स्नान गरिरहेका थिए र सहभागी सबैले दिनाभद्रीको भजनमा ताली बजाइरहेका थिए ।

    पूजा आराधानापश्चात् नजिकै बस्तीमा तयारी गरेको समुहिक भोजमा सबै सहभागीहरु सहभागी भएर कुलदेवता दिनाभद्रीलाई सम्झना गर्ने यो ‘भूईयाँ उत्सव’ले मुसहरहरुलाई एकताको सुत्रमा बाँधिरहेको थियो ।

    म फोटो खिच्नमै व्यस्त थिएँ ।

    ‘सर भोक लागेको छैन र ? हामीलाई घरमा कुरिरहेका होलान, अब जाने कि ?’

    हामी ‘भुइँया उत्सब’को त्यो समूहिक भोज छोडेर अमाहतिर फर्कियौँ ।

  • ‘घोस्ट राइटिङ’ को बगैंचामा फुलेका कमल ! १० हजार मानिसको जीवनी उधिन्ने लक्ष्य (भिडिओ)

    ‘घोस्ट राइटिङ’ को बगैंचामा फुलेका कमल ! १० हजार मानिसको जीवनी उधिन्ने लक्ष्य (भिडिओ)

    आजभन्दा १२ वर्षअघि कमल ढकालको दिमागमा एउटा सपनाको भ्रुण छिर्‍याे, अरुको कथा लेखिदिने र पुस्तकको आकार दिने । घोस्ट राइटिङ गर्ने, पारिश्रमिक लिने ।

    कोही मान्छे कथा लिएर आउनेछन्, कमलहरुले त्यो कथालाई हिलोमा फुलाउनेछन् । कोही मान्छे जीवनको आरोह-अवरोह लिएर आउनेछन्, कमलहरुले पुस्तकका बास्नादार पानामा सिलसिलेबर बनाइदिनेछन् । कोही मान्छेको जिन्दगी आउनेछ, उक्त जिन्दगी रेकर्ड हुनेछ, वर्ड फाइलमा उतारिनेछ, सम्पादन हुनेछ र त्यो जिन्दगीको पोट्रेट अक्षरहरुमा उतारिनेछ ।

    १२ वर्षअघि कमलको दिमागमा खसेको सपनाको भ्रुणको विशेषता ठ्याक्कै यही थियो ।

    त्यो भ्रुण अहिले आइपुग्दा जन्मिएर पनि वयस्क भइसकेको छ । एक सय ६७ मानिसका जिन्दगीको कथाले त छापखाना पुगेर पुस्तकको आकार लिइसकेको छ । अहिलेसम्म पाँच सय ६७ जिन्दगीका दुःखम्/सुखम्, सफलता/असफलताका कथा लेखिरहेका छन् कमलहरु । कति कथाहरु रेकर्डलाई उतारिरहेको चरणमा छन् । कतिपय कथाहरु सम्पादनका चरणमा छन् । कतिपय कथाहरु प्रेसको मेसिनमा पिसिइरहेका छन् । कतिपय कथाहरु पाठकहरुको हातहातमा पुग्न तम्तयार छन् । एक सय ६७ कथा त पाठक र पुस्तकालयमा पुगिसके ।

    कमलको सपना छ, ‘मेरो एउटा मानव चोला दश हजार मानिसहरुको कथा लेखिसकेपछि पूरा हुनेछ ।’

    कमललाई एउटा जिग्दगीमा धेरैथोक गर्नुछैन । एउटा सपनाको सफरमा छन् । दश हजार पुस्तक लेख्ने रफ्तारमा छन् । कमलहरु गाउँ-गाउँमा छन्, सहर-सहरमा छन् । जहाँ जहाँ कथा छन्, त्यहाँ त्यहाँ छन् कमलहरु ।

    कमलको भनाइ छ, ‘एउटा मानिस सभ्यता हो । एउटा मानिस सपना हो । एउटा मानिस संघर्ष, दुःख, प्रयत्नहरु हो । एउटा मानिस संस्कृति, कला, इतिहास होे । र ती मानिसहरुलाई दस्तावेजीकरण गर्न लागिपरेको छु ।’

    कथा लिएर मान्छे आउँछन् घोस्ट राइटिङको अफिसमा । कथा सुनाउँछन् । जान्छन् । अलि पछि पुस्तक पाउँछन् । सम्झौता अनुसारको पैसा तिर्छन् र जान्छन् । कति मानिसहरुबारे भने घोस्ट राइटिङले आफैं पुस्तक लेखिदिन्छ, लगानी गरिदिन्छ । कति पुस्तकहरु लेखाउन एड्भान्स दिन्छ र लेख्न सुरु गर्छ ।

    ०७१ सालबाट कमलले नेपालमा घोस्ट राइटिङ सुरु गरे । घोस्ट राइटिङकै इतिहास कोट्याउँदा पौने तीन सय वर्षअघिदेखि नै संसारमा सुरु भइसकेको पाइन्छ । नेपालमा कमलले सात वर्षअघिदेखि औपचारिक सुरुआत गरे । साथमा क्रियिटभ राइटिङ र थिएटर राइटिङ पनि सुरु गरे ।

    सानो र साँघुरो कोठाबाट सुरु भएको कमलको भूत लेखन अभियान अहिले थापागाउँमा साढे चार रोपनी जग्गामा फैलिएको छ ।

    घोस्ट राइटिङ सुरु गर्दाताका कमलमाथि प्रश्नहरु तेर्सिन्थे, ‘अर्काको पुस्तक लेखेर पैसो लिनु साहित्य हो र ?’ क्रियटिभ राइटिङ सुरु गरे । प्रश्न आयो, ‘साहित्य पनि पढाएर पढिने विषय हो र ?’ प्रश्नहरुको तत्काल जवाफ दिएनन्। कुण्ठाहरुबाट निस्किएका प्रश्नलाई कामले जवाफ दिए । क्रियटिभ राइटिङमाथि विश्वविद्यालयमै पढाइ हुन्छ । संसारका कतिपय विश्वविद्यालयले क्रियटिभ लेखनको कार्यशाला र छुट्टै विषय बनाएर पढाउँछन् ।

    कमल सुनाउँछन्, ‘मान्छेले गाली गरे, मैले मतलव गरिनँ । थाहा नभएपछि गाली गरिहाल्छन् नि । तर, मलाई थाहा थियो मैले के गरिरहेको थिएँ भनेर ।’

    ‘अर्काको पुस्तक पैसो लिएर लेख्छ’ भनेर मान्छेले गाली गरिरहे । कमलले आफ्नो तजबिजले तिरन्तर काम गरिरहे । शब्दको सतबिज छरिरहे ।

    कथा लिएर मान्छे आउँछन् घोस्ट राइटिङको अफिसमा । कथा सुनाउँछन् । जान्छन् । अलि पछि पुस्तक पाउँछन् । सम्झौता अनुसारको पैसा तिर्छन् र जान्छन् । कति मानिसहरुबारे भने घोस्ट राइटिङले आफैं पुस्तक लेखिदिन्छ, लगानी गरिदिन्छ । कति पुस्तकहरु लेखाउन एड्भान्स दिन्छ र लेख्न सुरु गर्छ ।

    ‘पृथ्वीमा मान्छे एकपटक आउँछ । उसको कथा भन्नुपर्छ । हरेक मान्छे नलेखिएको पुस्तक र इतिहास हो । त्यो दस्तावेज हो । मान्छे आफैंमा धेरै कुरा हो । धेरैथोक गर्दैजाँदा अन्तिममा मान्छे एकथोक भएको हुन्छ । एकथोक भएको उसको कथा नलेखकिन पृथ्वीबाट जानुहुन्न,’ कमल सुनाउँछन्, ‘मैले मेरो बुवाको पुस्तक लेखिनँ, उहाँ चाँडै जानुभयो । तर, अरुको बुवाको पुस्तक लेखिनुपर्छ । हाम्रा बाउआमाले धेरै गरेका छन् । उनीहरुले गरेको त्यो कथा लेखिदिन पाएमा मपछि आउने पुस्तालाई त्यसले ठूलो असर गर्छ । उनीहरु दस्तावेजीकरण भएर मात्रै धरतीबाट बिदा हुनुपर्छ ।’

    कमलहरुले अहिलेसम्म राजनीतिज्ञ भरतमोहन अधिकारी, रामहरि जोशी, राजेश्वर देवकोटा, सुजाता कोइराला, कलाकार मनोजबाबु मिश्र, अभियान्ता सुनिता दनुवार, भूमिका श्रेष्ठ, कलाकार भुवन केसी, करिश्मा मानन्धर, सांसद सुदन किराती, विकासानन्द, कवि दुर्गालाल श्रेष्ठ, साहित्यकार मदनमणि दिक्षित, कमलमणि दिक्षित लगायत सयौं मानिसहरुको कथा लेखिसकेका छन् । साथै सयौंको संख्यामा आम मान्छेहरुको कथा पनि उस्तै लेखेका छन् ।

    कमल सुनाउँछन्, ‘म अझैं गति बढाइरहेको छु । दश हजार पुस्तक लेख्ने धोको जीवनकालभरि पूरा गरेरै छाड्छु । हरेक मान्छेको पुस्तक लेखिनुपर्छ, दस्तावेजीकरण हुनुपर्छ । लेखिनेको पो लेखिन्छ, नलेखिनेको पनि लेखिनुपर्छ ।’

    कमल जहाँ जान्छन्, त्यहीँ कथा देख्छन् । जहाँ पुग्छन्, त्यहीँ पुस्तक देख्छन् । बिहान मर्निङवाकमा पशुपति आर्यघाट वरिपरि पुग्छन् । त्यहाँ मान्छे जलिरहेका देख्छन् । ‘जलिरहेको मान्छे देख्दा मलाई सिंगो सभ्यता नै पोलेको जस्तो लाग्छ । सभ्यता धुवाँ बनिरहेको जस्तो लाग्छ । त्यहाँ मान्छे जस्ता पुस्तक पोले जस्तो लाग्छ,’ कमल दुःखी हुँदै सुनाउँछन् ।

    लेखेरै पचास साठी लाख कमाउने लेखक छन् कमलसँग । पाँच दश लाख कमाउने त कति छ कति । यस हिसाबले पनि अनुभवको आधारमा सम्भावना अत्यधिक देख्छन् लेखकहरुको ।

    कमलले घोस्ट राइटिङ सुरु गर्दा उनको कामप्रति नै संशय प्रकट गर्नेहरुको कमी थिएन । अनेक संशयबीच लेखेरै पैसा कमाउने कुरा पनि बहसको विषय हुन्थ्यो साहित्य क्षेत्रमा । नेपाली भाषाको जुन बजार छ, जति पाठक छन्, त्यस अनुसारले लेखकको आर्थिक अवस्था सबल हुने पाटोमा अहिले पनि संशय उत्पन्न हुन्छ ।

    तर, कमल भने यस्ता संशय यथार्थ नभएको प्रष्ट्याउँछन् । ‘लेखनमा किन पैसा छैन ?,’ जंगिन्छन् कमल र भन्छन्, ‘लेखक गरिब हुन्छ, । कोट लगाएर हिँड्दैन, गाडी चढ्दैन भनिन्छ । दाह्री पालेको, झोला भिरेको, पातलो बिम्बको माध्यम बनाइएको छ लेखकलाई । यो लेखक स्वयंले बनाएको भाष्य हो । सम्भावना नदेखेर, प्रयत्न नगरेर दुःखी भएपछि बनाएका भाष्य हुन् । उनीहरुलाई नै विस्वास छैन, म गर्न सक्छु भनेर । अनि कसरी सम्भव छ त त्यो ?’

    लेखेरै पचास साठी लाख कमाउने लेखक छन् कमलसँग । पाँच दश लाख कमाउने त कति छ कति । यस हिसाबले पनि अनुभवको आधारमा सम्भावना अत्यधिक देख्छन् लेखकहरुको ।

    ‘एउटा डाक्टरले बीस वर्ष काम गरेपछि नाडी छामेको भरमा महिनाको तीन लाख कमाउँछ । नक्सा बनाउने इन्जिनियरले पनि सट्ट कोरेको भरमा त्यस्तै कमाउँछ । गमला मात्रै बनाउने मान्छेले पनि काम गरेको बीस वर्षपछि त्यस्तै कमाउँछ । तर, पत्रकारिता र लेखनमा जहिल्यै त्यही पारिश्रमिक हुन्छ,’ कमल जोसिँदै भन्छन्, ‘डाक्टर, पाइलट, फूल व्यापारीले पैसा लिन हुने । अनि लेखनमा चाहिँ हुनुपरेन ? उनीहरुसँग कथा छ, हामीसँग कला छ । हामी लेखिदिन्छौं, निर्धक्क पैसा माग्छौं । लेखकले घोस्ट राइटिङ नगरेर आफ्नै पुस्तक लेख्दा पनि प्रेस मात्रै धनी हुने भन्ने हुन्छ ? लेखक चाहिँ धनी हुन परेन ?’

    बानेश्वरको थापागाउँको साढे चार रोपनी जग्गाबाट घोस्ट राइटिङ ४० रोपनी जग्गामा विस्तार हुँदैछ काभ्रेमा । त्यो घरभित्र लेखकका पुस्तकहरु मात्रै होइन, लेखकहरु पनि सुरक्षित रहनेछन् । बायोग्राफीलाई एन्थ्रोपोलोजीको रुपमा विकसित गर्ने योजनामा छन् कमल । तर, कहिलेबाट सुरु हुन्छ नि ?

    कमल सुनाउँछन्, ‘२०८० सालपछि लेखक ग्राम सुरु गर्दैछु ।’

  • शैलुङ, एमाले अध्यक्ष ओलीको आगमन र सम्भावनाका ढोकाहरु

    शैलुङ, एमाले अध्यक्ष ओलीको आगमन र सम्भावनाका ढोकाहरु

    पर्यटकीय गन्तव्य शैलुङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आगमनलाई लिएर विभिन्न माध्यममार्फत खुसी प्रकट भइरहेका छन् ।

    शैलुङका सयौं थुम्कामध्ये एउटा थुम्काको हिउँमाथि अध्यक्ष ओली फागुन २० गते बिहान हेलिकप्टरबाट ओर्लने कार्यक्रम छ । उहाँले मदन भण्डारी कला साहित्य प्रतिष्ठान नेपालको आयोजनामा हुने ‘शैलुङ साहित्यिक–साँस्कृतिक महोत्सव–२०७८’को उद्घाटन गर्नुहुनेछ । शैलुङका थुम्काहरुमा जमेका हिउँका थुप्राहरुमाथि बसेर सयौं स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन्, कलाकर्मीहरुले मनोरञ्जन गराउने छन् ।

    दोलखा जिल्लाको शैलुङ र मेलुङ गाउँपालिका तथा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको सीमामा पर्ने शैलुङको भूमिमा अध्यक्ष ओलीको आगमनले उक्त क्षेत्रको विविध सम्भावनाका ढोका उघारिने ठानिएको छ । मनमोहक शैलुङभित्र लुकेका प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक पर्यावरण र आध्यात्मिक विविधताको थप उजागर हुने विश्वास लिइएको छ । तीनवटै पालिकाले पूर्वतयारीलाई प्राथमिकतामा राखेका छन् । यहाँका स्थानीय भव्य स्वागत गर्न प्रातीक्षारत छन् ।

    तामाङ भाषामा लुङको अर्थ थुम्का हुने र एकसय वटा थुम्का भएकाले उक्त क्षेत्रलाई शैलुङ भनिएको विश्वास स्थानीयको छ । एक–एक गरी गन्ती गर्दा कम्तिमा एकसय वटा थुम्का रहेको र प्रत्येक थुम्कासँग आध्यात्मिक महत्व रहेको विश्वास गरिन्छ । यसै अवसरमा बृहत्तर विकास कोषको स्थापना गरेर शैलुङको समग्र विकासमा जुट्न तीन वटा गाउँपालिकाले साझा अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।

    शैलुङभित्रका सयौं साना–साना पहाडहरु एकपछि अर्को उक्लँदै ओर्लँदै गर्दा सगरमाथा, अन्नपूर्ण, गणेश, गौरीशंकर हिमाल र श्रृङ्खलाहरु आँखाअघि आइपुग्छन् । समुन्द्री सतहबाट तीन हजार एक सय ४६ मिटर उचाइमा पुग्दा देखिने अद्भूत दृश्य र चारैतिर आँखा लगाउँदा प्राप्त हुने आत्मानुभूति नै शैलुङको पहिलो आकर्षण हो ।

    शिशिर ऋतुभरी थुम्काहरु अर्धढाक्ने गरी हिउँले भरिनु शैलुङको दोस्रो आकर्षण हो । डाँडालाई घेरो हालेर तीन सय जति प्रजातिका जडिबुटीको वनजंगल प्राकृतिक रुपमा रहनु तेस्रो आकर्षण हो । हिन्दू र बौद्धका समान आस्था र अस्तित्वका तीर्थस्थलहरु हुनु चौथो महत्व हो ।

    राजधानी काठमाडौंबाट लामोसाँघु जिरी सडकहुँदै सिन्धुपाल्चोकको मुढेबाट करिब २० किलोमिटरमा कालापानी पुग्न सकिन्छ । कालापानी शैलुङको आधार शिविर हो । यहाँबाट सडक सुविधा नभएकाले बढीमा एक घण्टाको पैदलयात्रामा शैलुङ पुग्न सकिन्छ । दोलखाको विभिन्न स्थानबाट कालापानीसम्म सडक सम्पर्क छ । रामेछापको विभिन्न ठाउँबाट आधार शिविर खोलाखर्कसम्म सडकले जोडेको छ । ढुङ्गे, कालापानी, खोलाखर्कका आधार शिविरहरुमा पर्यटकले सामान्य सुविधाका खाना र बासका सुविधा पाउँछन् ।

    अध्यक्ष ओलीले शैलुङको पेरिफेरीमा हुर्किएका आदीवासी समुदाय तामाङ र शेर्पाका सांस्कृतिक झाँकीहरु अवलोकन गर्नु हुनेछ । महोत्सवमा उपस्थित हुने आदीवासीका भाषा, भेषभुषा, वाजा, सांगीतिक धुन र शब्दशैलीलाई अध्यक्ष ओली र आगन्तुक कलाकार, लेखक, साहित्यकार र पत्रकारले हेर्न र सुन्न पाउनु हुनेछ ।

    उहाँ दोलखाको कालिञ्चोकमा केही समय बसेर शैलुङ आउने कार्यक्रम छ । शैलुङ र कालिञ्चोक आमनेसामनेका दुई पहाड हुन् । दुवै प्राकृतिक र धार्मिक महत्वले चर्चित छन् । कुनै बेला उचाइ नाप्ने उपकरणहरु नभएका बेला कालिञ्चोक र शैलुङ कुन अग्लो भन्ने छलफल हुने गथ्र्यो रे ! त्यसको आँकलन डाँफे चराका बेग र उडाइका आधार कालिञ्चोक नै अग्लो भन्ने निष्कर्ष निकालिन्थ्यो रे ।

    बुढापाकाका भनाइअनुसार एउटै उचाइमा बेग हानेर उड्दै डाँफे कालिञ्चोकको गणेशथुम्की र शैलुङमा वारापार गर्दथ्यो । गणेश थुम्कीभन्दा माथिको कालिञ्चोकमा डाँफे पुग्न नसकेकाले कालिञ्चोकको थुम्की नै अग्लो भन्ने गरिन्थ्यो ।

    शैलुङ भन्दा सात सय मिटर अग्लो कालिञ्चोकको हिउँमाथि अध्यक्ष ओली केहीबेर रहुन हुनेछ । चार बर्षअघि कालिञ्चोक चौरी महोत्सवमा अध्यक्ष ओली प्रमुख अतिथि भएर पुग्ने कुरा अधुरै रहेकाले उहाँ त्यहाँ पुग्न लाग्नु भएको हो । कालिञ्चोकका गाउँपालिकाको आतिथ्यमा बिहानीको भोजन ग्रहण गरेपछि शैलुङतर्फ उहाँको उडान हुनेछ ।
    अध्यक्षको आगमन र शैलुङको विविध महत्वलाई मध्यनजर गरेर दुवै जिल्ला दोलखा र रामेछापका नेकपा एमालेका पूरै पार्टी र संगठनहरु शैलुङकेन्द्रित भइ काम गरिरहेका छौं । साथै, दुवै जिल्लाका शैलुङ, मेलुङ र दोरम्बा गाउँपालिकाहरुको सिंगो ध्यान शैलुङकेन्द्रित छ । हाम्रो पार्टीले शैलुङको बृहत्तर विकासका लागि यो अति नै महत्वपूर्ण अवसरका रुपमा लिँदै तयारीमा जुटेका छौं ।

    अध्यक्ष ओलीको आगमनमा हुने कार्यक्रमपछि शैलुङ क्षेत्रवासीले नयाँ ढंगको अनूभुति प्राप्त गर्नुहुने हामीले आशा गरेका छौं । पहिलो, शैलुङको समग्र आधुनिक विकासको ढोका खुल्ने क्रमको सुरुवात हुनेछ । डाँडाका आधार शिविरहरुसम्म आधुनिक सुविधाहरु स्थापना हुँदै जानेछन् । दोस्रो, प्रचारप्रसारका दृष्टिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा एकैपटक शैलुङको नाम र विशेषताहरु फैलने छ । मिडियाहरु शैलुङबाट सन्देश लिएर जाने छन् र निकै सयमसम्म प्रचार भैरहने छन् ।

    तेस्रो, शैलुङका बारेमा साहित्यकारहरुले कथा, कविता, संस्मरणका विवरणहरु लेख्नेछन् । पत्रकारहरुले मनग्ये दृश्यहरु कैद गर्नेछन् । समाचार, लेख, फिचरहरु प्रकाशन र प्रसारण गर्नेछन् । शैलुङले सहित्य सिर्जनाका अमूल्य दस्तावेज प्राप्त गर्नेछन् । चौथो, शैलुङबारे विभिन्न भ्रम र पूर्वाग्रहरु समाप्त हुनेछन् । सीमानाका समस्याहरु स्थगन गरेर साझा थलोको रुपमा बुझाइ बन्ने छ र एकीकृत विकासका लागि सहअस्तित्व र सहिष्णुताका धारणा स्थापित हुने छ ।

    पाँचौ, यो अवसरलाई इतिहास मानेर प्रत्येक वर्ष शैलुङमा वार्षिक पर्वका रुपमा महोत्सवहरु भैरहने छन् । परापूर्वदेखि मानव समाजको अभिन्न सांस्कृतिक अंगको रुपमा शैलुङमा हुने लोपोउन्मुख जात्राहरुको संरक्षण अझ व्यवस्थित हुने छ ।

    छैटौं, महत्वपूर्ण पक्षका रुपमा शैलुङको पर्यावरणीय पक्षलाई जोगाउने विशेष योजनाहरु बन्नेछन् । शैलुङको जैविक विविधताको रक्षा चुनौतीपूर्ण बन्दै गएको छ । विकासका होडबाजीले शैलुङको कुमारित्वमा दाग लाग्न थालेको छ । शैलुङको चौघेरोलाई आधार मानेर गुरुयोजना निर्माणपछि मात्र विकासको कामहरु थालनी गर्नुपर्ने सन्देश महोत्सवले दिनेछ ।

    शैलुङको फेदको सेरोफोरामा कृषिकर्ममा रमाइरहेका अनुहारहरु श्रममा विश्वास गर्छन् । उनीहरुका श्रमबाट उत्पादित आलु, काउली, बन्दाकोभीहरु शैलुङको ब्राण्ड बोकेर राजधानीका भन्साहरुमा पुग्छन् । कृषिकर्मबाट आम्दानीका स्रोत बनाइरहेका नागरिकहरु कहिले ढुवानीका चपेटामा पर्छन् त कहिले मलको समस्यामा पर्छन् । सडकको समस्याले उत्पादनहरु बारीमा कुहिने समस्याबाट अहिले पनि कृषकहरु पीडामा छन् । मलको अभावले उत्पादनको पहिलो चरणमै कृषकहरु आहत हुन्छन् ।

    परापूर्वदेखि शैलुङका डाँडा र वनपाखाहरु चौरी, घोडा र गाईवस्तु र वाख्राका चरिचरण क्षेत्र हुन् । पुख्र्यौली पेशाका रुपमा चौपायालाई सहज चहाहर्न र खान्कीका लागि उक्त क्षेत्र सुरक्षित हुनुपर्छ । बढ्दो शैलुङ आक्रमणको सिकारमा चौपाया र जंगली जनवार पनि असुरिक्षत बन्दै छ । शैलुङ साहित्यिक-साँस्कृतिक महोत्सवले यी र यस्ता ताजा विषयलाई गहिरोसँग आगन्तुकलाई जानकारी गराउने छ । र, सयौंका संख्यामा हुने प्राज्ञहरुको जमघटबाट शैलुङले चर्चित गन्तव्यको आधारहरु तय गर्नेछ ।

    (मानन्धर नेकपा एमाले दोलखाका उपाध्यक्ष हुन्)

  • एमसीसी प्रकरणः देश दुर्घटनाबाट जोगियो कि दुर्घटनातिर मोडियो ?

    एमसीसी प्रकरणः देश दुर्घटनाबाट जोगियो कि दुर्घटनातिर मोडियो ?

    व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकै खुशी देखिए । एमसीसी पारित भएकोमा खुशी देखाउन सोमबार पत्रकार सम्मेलन नै गरेर दाहालले भने, ‘देश दुर्घटनाबाट जोगियो’ । दिनभर बानेश्वर चोकमा आफ्ना भ्रातृसंगठनहरुलाई ढुङ्गा हान्न लगाएर ‘नो एमसीसी’ भन्न लगाउने दाहाल एमसीसी पारित गर्दा खुशी किन भएँ ? भन्ने कुरा पत्रकार सम्मेलनमा ओकलेनन् ।

    एकातिर कार्यकर्ताहरुलाई एमसीसीको विरोध गर्न लगाउने अर्कोतिर संसदमा त्यही कुरा पारित गराएर खुशी व्यक्त गर्ने प्रचण्डको बोलीलाई कसरी बुझ्ने ? एमसीसी मध्यरातमा पारित भएकै कारण मुलुक ‘देश दुर्घटनाबाट जोगियो’ भन्ने कमरेड दाहाल एमसीसी पारित नहुँदा देश कसरी ‘दुर्घटनाबाट हुनबाट जोगियो’ ? एमसीसी पारित नहुँदा मुलुक युक्रेन बन्दै थियो कि प्लायलेस्टाइन, भन्नु पर्दैन ?

    पूर्वप्रधानमन्त्री, तपाइँकै भाषामा महान् गौरवशाली पार्टी हाँक्ने अध्यक्ष जस्तो व्यक्तिले यस्ता हावादारी गफ दिएर जनतालाई उल्लु बनाउन मिल्ला ? तीन दिनअघिसम्म ‘एमसीसी मुर्दावाद’ भन्दै कलेजका विद्यार्थीहरुलाई बवबरमहल–बानेश्वर सडक खण्डमा उतारेको होइन ? त्यसबेला मुलुक कुन संसारमा थियो । छिमेकी भारतले पेल्दै थियो कि चीनले ? कमरेड प्रचण्ड गणतन्त्र स्थापना हुन अघि तपाईँको नेतृत्वमा जनयुद्ध भइरहँदा ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ भनेर कोरिएका भित्ते लेखनले अझै पनि गिज्याइरहको छ भन्ने महसुस हुँदैन ।

    पत्रकार सम्मेलन गरेरै ‘देश दुर्घटनाबाट जोगियो’ भनिरहँदा किन र के कारणले भनेर जवाफ दिनु पर्दैन ? गोर्खाली नारायणकाजीलाई विपक्षमा उभ्याएर आफू पक्षमा उभिन अलिकति शरम मान्नु पर्ने थियो होला नि कमरेड प्रचण्ड ! सायद ऊ बेला ५० लाख टाउकोको मूल्य तोक्ने तात्कालीन अनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग कुम जोडर सत्ताको रसस्वाद गर्दा आनन्द लागिरहेको होला ।

    २०५२ सालतिर फर्कँदा सायद साम्यवाद र तानाशाहको तानावानाविरुद्ध वर्गसंघर्षको मोर्चामा उभिने प्रचण्ड र अहिले टाउकोको मूल्य तोक्नेसँग घाँटी जोडेर हिँड्ने पुष्पकमल दाहालको तन एउटै भएपनि मन फरक भयो कि भएन ? जनताले चाहेको जनयुद्ध र जनसंघर्षपछिको उपलब्धी अनि अमेरिकन साम्राज्यवाद विरुद्धको लडाइँ भनेको एमसीसी सहर्ष स्वीकार थियो ? कि २६ वर्ष अघि यहाँले चाल्नु भएको जनयुद्ध पाखण्ड थियो ? त्यसो होइन भने तपाईका माओवादी कार्यकर्ताहरु सडकमा एमसीसी विरोध गरिरहँदा तपाईँसमेत संलग्न सरकारले अश्रुग्याँस, लाठी बजार्नु पर्ने कारण के थियो त ? त्यही हो तपाईँले भन्नु भएको ‘देश दुर्घटनाबाट जोगियो’ । होइन भने कमरेड प्रचण्ड एमसीसीको ५० अर्बले विकासको गति लिन्छ वा मुलुकको आमूल परिवर्तन हुन्छ भन्नु साँच्चै नै तपाईले भने जस्तो ‘देश दुर्घटनाबाट जोगियो’ होइन ‘अब देश दुर्घटनतर्फ अगाडि बढ्यो’ ।

    राष्ट्र, राष्ट्रियतालाई तिलाञ्जलि दिएर अमेरिकी साम्राज्यवादको अघि घुँडा टेक्ने पुष्पकमल दाहाल र नेपालमा राजतन्त्र अन्त्य गर्न हिँड्ने प्रचण्डको विचारमा के फरक आयो र ? आफ्नो स्वार्थपूर्ति गर्नका लागि हरियो रुखमा भोट हाल्न सक्ने तपाईँ, करिब दुईतिहाईको ऐतिहासिक कम्युनिष्ट सरकारलाई कमाउननिष्ट बनाउने तपाईँ अनि तपाईकै टाउकाको मूल्य तोक्ने शेरबहादुरसँग अंकमाल गर्ने तपाईमा फरक के–के छ, छुट्याउन आम नागरिक मात्र होइन तपाईकै जनयुद्धमा होमिएका कार्यकर्ताहरुलाई कठिन भएको छ ।

    १० वर्षे जनयुद्ध अनि करीव १५ वर्षको लोकतान्त्रिक गणतन्त्रबाट आमनेपाली जनताले के पाए ? कमरेड प्रचण्डलाई सत्ताको स्वाद निकै मिठो लाग्न थालिसकेकाले होला– आफ्नैलाई पनि पराई ठान्छन् । बुहारीको रिसले छोरी कुट्ने उखान जस्तै जसरी हुन्छ ओलीलाई सिध्याउनु पर्दछ भन्ने सोच प्रचण्डमा पलाएको हो कि भन्न आंशका पनि पैदा भइरहेको छ । ओलीले समर्थन गरे त्यसको विपक्षमा अनि ओलीले विरोध गरे त्यसको समर्थनमा प्रचण्ड उभिने हो भने नेपालको कम्युनिष्टहरुले आफूलाई कसरी कम्युनिष्ट भएको स्वीकार गर्न स्कलान त ?

    पुनः कमरेड उर्फ प्रचण्डलाई एउटै प्रश्न– एमसीसी पारित नभएको भए देश कस्तो दुर्घटनामा जाँदै थियो ?

  • जलवायु परिवर्तनमा नेपाल पहिलो भल्नरेबल, राष्ट्रसंघमा प्रमाण पेस गरिने !

    जलवायु परिवर्तनमा नेपाल पहिलो भल्नरेबल, राष्ट्रसंघमा प्रमाण पेस गरिने !

    वन मन्त्रालयमा स्ट्राटेजिक मिटिङ बस्यो । नेपाललाई जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेको ‘पहिलो मुलुक’ बनाउने निर्णय भयो । यसबाट वन मन्त्रालयका अधिकारीहरू निकै उत्साही भए । अनवरत ‘सेवा’ गरेर मुलुकलाई प्रथम बनाउन सफल हुन लागिएकोमा खुशी भए, एक–आपसमा बधाई साटे । ‘अलार्मिङ (सनसनीपूर्ण)’ र ‘वन्डरफुल’ आइडियाका लागि मालपानीदाता श्वेतचर्मदेव पालितपोषित नेपाली फण्डितगण, गोष्ठीजिवी र ‘कोप’यात्रीहरूलाई धन्यवाद गरे।

    मन्त्रालयका उच्च अधिकारीहरूको टोलीले मन्त्रिपरिषद्‍मा  जलवायु परिवर्तन ‘मालदार’ बिषय भएको र ‘मोष्ट भल्नरेबल’ भनेपछि बर्सेनि अर्बौं डलर आउँछ भनी ‘ब्रिफिङ्ग’ गरे । सिङ्गो मन्त्रिपरिषद् हर्षले पुलकित भयो।

    राष्ट्रसंघबाट ‘जलवायु जोखिममा प्रथम’ घोषणा गराउन अकाट्य प्रमाण जुटाउने निर्णय भयो ।

    मन्त्रालयले प्रमाण जुटाउन गोष्ठि गर्ने निधो गर्यो । कोपयात्री र गोष्ठीजिवीको उत्साहको सीमा रहेन । वैज्ञानिक समुदायमा आफ्नो फेस भ्यालिडिटि भएको दाबी गर्ने फण्डितहरूको डनले गोष्ठिमा प्रमाणहरूको ‘केस स्टडि रिपोर्ट’ प्रस्तुत गर्ने भयो।

    काठमाण्डौंको एक रिसोर्टमा ‘एभिडेन्स् शेयरिङ्ग एण्ड सिन्थेसिस साइन्टिफिक वर्कशप’ आयोजना गरियो ।

    ०००

    डेढ घण्टा लामो ब्रेकफाष्ट सेसनपछि सबै सहभागी वातानुकुलित हलमा जम्मा भए । सहभागीलाई ‘वैज्ञानिक फिलिङ’ दिन हललाई बैंककबाट झिकाइएका फूलहरूले सजाइएको थियो । सबैलाई सजाइएका गोलो टेबल वरिपरीका मेचमा बसाइयो । हरेक टेवलमा युरोपबाट मगाइएका चकलेट, ड्राइ फ्रुटस्, नटस्, जुस आदि राखिएको थियो ।

    सबैलाई कन्सन्ट्रेट हुन भन्दै डनफण्डितले हलको भित्तामा केस स्टडी बेस्ड एभिडेन्स डिस्प्ले गर्यो ।

    ‘… जलवायु परिवर्तनका कारण वनमा डढेलो लाग्यो । डढेलोमा परेर सत्यदेवी घाइते भइन् । उनको उपचार संभव भएन। डा. धन्वन्तरीले पनि निको पार्न सकेनन् । सत्यदेवीको लाइफ लस भयो । विश्वको पहिलो जलवायु शहिद !’ डनफण्डितले विजयी भावमा भन्यो ।

    कसैले होइन भनेर भेरिफाइ गर्न नसक्ने प्रमाणले कोपयात्रीको खुशीको सीमा रहेन । अनि एक्कासी हलमा सन्नाटा छायो, अर्थात् सर्पराइज साइलेन्स !

    नेपाली जलवायु फण्डित विपद्का घटनाबाट औधी खुशी हुन्छन् । विपद्का रङ्गीचङ्गी कहानी बनाएर विश्वयात्रामा जान पाइन्छ नि ! एकपल्ट हवाइजहाज चढेर उता जान पाए सोझै विज्ञ, वैज्ञानिक जो भइन्छ ! वनमा लागेको डढेलो निभाउनु हुँदैन, त्यसको डकुमेण्ट्री बनाएर कोपयात्रामा जानु पर्छ भन्ने वन मन्त्रालयको मान्यता छ ।

    केही बेरको सन्नाटापछि प्रस्तुति कन्टिन्यु भयो । ‘वाइफ लसको पीडा, सुख्खाका कारण भएको अनिकाल, खाने बस्ने ठाउँको अभावमा सत्यदेवीका हस्बेण्ड शिव आकुलव्याकुल भए । एडभर्स कलाइमेटको इम्प्याक्टका कारण उनी ७० वर्षको बुढो शिव भट्टमा चेञ्ज भए’, डनले भन्यो ।

    सहभागीले त्यसपछि के भयो होला भन्ने सोच्दै थिए, ‘… शिव भट्ट आफ्नो ओरिजिनल ठाउँमा बस्न नसकेर लावण्य देशमा ‘माइग्रेट’ भए । ‘कलाइमेट माइग्रेशन’! फस्र्ट कलाइमेट रेफुजी इन द वर्ल्ड ! आइ मिनऽ नेपालका शिव भट्ट सन्सारको पहिलो जलवायु शरणार्थी !’ डनफण्डितले जोड दिएर भन्यो ।

    अकाट्य प्रमाण पाउँदा वन मन्त्रालयका अधिकारीहरूको खुशीको सिमा रहेन । हलमा फेरि ताली बज्यो ।
    डनफण्डितले अगाडि भन्यो, ‘… एक दिन शिव भट्ट भिक्षा माग्दै गोमाको घरमा पुगे। गोमाका बाबुसँग ‘इन्ट्रोडक्सन’ पछि शिव भट्ट ‘सिङ्गल’ भएको थाहा भयो । अनिकालमा परेको गोमाको बाउले ‘यसले मागेर भए पनि मेरी छोरी पाल्छ।’ भन्ने सोचेर गोमालाई शिव भट्टको जिम्मा लगाई पठाए। यसरी ७ वर्षकी गोमाको बालबिवाह भएको थियो, ७० वर्षका शिव भट्टसँग ।’

    ‘गोमाको बाल विवाह जलवायु परिवर्तनको कारण भएको थियो। त्यो टाइमदेखी नेपालमा बाल विवाह बढेको हो’, डनफण्डितले निष्कर्ष सुनायो ।

    ‘सो साइन्टिफिक, सो लजिकल, सो स्ट्रोङ्ग एभिडेन्स् बेस्ड !’ सरकारी फण्डितले भने ।

    ‘एकछिन ब्रेक गरौं डाक्साब ?’, गोष्ठीजीविले सोधे ।

    ०००

    ‘विवाहपछि शिव भट्टले गोमालाई शाली नदी पारि लगे । ससुराली गाउँमा मागेर खान हुँदैन भन्ने इन्डिजिनस प्राक्टिस हो हाम्रो । शिव भट्ट साँखुतिर माग्न आएनन् । जसोतसो गरेर ‘लाइफ’ चलाए ।’ डनफण्डितले लामो सास तान्दै भन्यो । ‘… जलवायुजन्य रोगका कारण एक दिन शिव भट्टको मृत्यु भयो ।’

    हलमा फेरि सन्नाटा, अर्थात् माउर्निङ साइलेन्स ।

    “वाउऽऽऽ ! सेकेण्ड ‘कलाइमेट मार्टिर’ अल्सो नेपाली !” कोपयात्री खुशीले एक्कासी चिच्याया े।

    “…एनि वे, गोमाले ‘लाइफ रन’ गरिन् ।” डनफण्डितले भन्यो, “लोकल अड्याप्टेसन !”, डनफण्डितले भन्यो ।

    “सो नाइस एक्जाम्पल! बेस्ट अफर टु द वर्ल्ड !” सरकारी कोपयात्रीले हर्ष प्रकट ग¥यो।

    ०००

    डनफण्डितले प्रस्तुती निरन्तर गर्यो । “… केही वर्षपछि लावण्य देशमा फेरि जलवायु परिवर्तनको इम्याक्ट पर्यो । लामो समयसम्म खडेरी परेर पानीका मुहान सुके । शाली नदी सुकेर बगरै बगर भयो ।”

    “एक दिन क्विन चन्द्रावती पाल्कीमा बसेर शाली नदीको बगरको बाटो माइत जाँदै थिइन्। एक्कासी ठुलो ‘टोर्नाडो’ आयो। ‘इक्स्ट्रिम इभेण्ट’!” डनफण्डित रोकियो।

    “यस्ता इभेण्ट अझै बढ्ने छन्।” सरकारी फण्डितले भने ।

    डनफण्डितले भन्यो, “टोर्नाडोले क्विन चन्द्रावतीको पाल्की उडाइदियो, बगरको रकमा ठोकिएर त्यो ड्यामेज भयो। पाल्की बोक्नेहरू अत्तालिएर दौडे। उनीहरू हावाले उडाएको बालुवाले पुरिए। तिनीहरूको लाइफ लस भयो।

    त्यो टोर्नाडोमा साँखु एरियामा कैयौंको लाइफ लस भयो। कैयौंका घर, अन्नपात, खेतिपाति ड्यामेज भयो।”

    “सो दिस इज लस एण्ड ड्यामेज।” डनफण्डितले आफ्नो कार्यपत्र सकिएको सङ्केत गर्यो।

    “सो मच प्रुफ इन इम्प्याक्ट! वोन्डरफुल लस एण्ड ड्यामेज!” कोपयात्रीले भने।

    “अब नेपालले यी एभिडेन्स् सहित कोपमा नेगोसिएसन लीड गर्छऽऽऽ!” वन मन्त्रालयका सचिवले घोषणा गरे।
    गोष्ठीका सहभागीहरूमा हर्षोल्लास फैलियो । हलमा ताली बजिरह्यो।

    ईतिश्री फण्डित पुराणे, श्वेतचर्मदेव माहत्मे, कलाइमेट चेञ्ज प्रुफ खण्डे, डनफण्डितस्य अनन्तगम्य फत्तुर प्रवचने, गोष्ठि अध्याय नमः।

  • यसरी पत्ता लागेको थियो लुम्बिनी

    यसरी पत्ता लागेको थियो लुम्बिनी

    सन् १८९६ को नोभेम्बर महिनाको अन्त्यतिर तत्कालीन पाल्पा गौंडाका बडाहाकिम खड्गशमशेरले रुम्मिनदेई (लुम्बिनी) जंगलमा ढुंगाको ठूलो खम्बा जमिनमुनि गाडिएको अवस्थामा भेटिएको जानकारी पाए । उनी त्यहाँ पुगेर खम्बाको निरीक्षण गरे र खन्न लगाए ।

    नजिकै मुकाम खडा गरी आफू पनि त्यहीं बसे । उत्खनन्को काम धमाधम भइरहेको थियो । सन् १८९६ डिसेम्बर १ तारिकका दिन ३ फिट जति खन्न बाँकी थियो । त्यतिकैमा एकजना विदेशी पुरातत्वविद् डा. फुहरर त्यहाँ आए । कपिलवस्तु क्षेत्रको उत्खननका लागि नेपाल सरकारसँग अनुमति मागेका फुहररलाई पाल्पा क्षेत्रका बडाहामिकसँग सम्पर्क गर्न लगाइएकाले तानसेन पुगेका थिए । पाल्पा पुगेपछि बडाहाकिम रुम्मिनदेही जंगलमा ढुंगाको खम्बा खनिरहेका छन् भन्ने थाहा पाएर उनी तानसेनबाट बाटो सोध्दै त्यहीं पुगे । फुहररको खड्गशमशेरसंग भएको पहिलो भेट नै त्यहीं थियो ।

    खड्गशमशेरको पालामा उत्खनन हुँदै गरेको अशोक स्तम्भः सन् १८९६

    यसरी फुहररले उत्खनन हुँदै गरेको खम्बा र त्यसमा उल्लेखित अभिलेखको तस्वीर खिचे । पुरातात्विक क्षेत्रको यसरी उत्खनन गर्न नहुने सुझाव दिए । उल्लेखित अभिलेखको ब्राम्ही लिपिविज्ञहरुले अर्थ लगाएपछि गौतम बुद्धको जन्मस्थल तथा प्राचीन लुम्बिनी सोही ठाउँ हो भन्ने स्पष्ट भयो ।

    खड्शमशेर पुरातत्वका विशेषज्ञ थिएनन् । लुम्बिनी पत्ता लाग्नुअघि उनलाई बुद्ध र बुद्धधर्मका सम्बन्धमा खासै ज्ञानसमेत थिएन भन्ने गरिन्छ । यद्यपि, उनी जिज्ञासु थिए र त्यसको उत्खनन गनए रुचि देखाए । संयोगबश फुहरर आए र लुम्बिनी पत्ता लाग्यो ।

    यसरी लुम्बिनी पत्ता लगाउने व्यक्तिका रुपमा फुहरर र खड्गशशमशेर चिनिए । त्यसो त डा. फुहरर त्यसअघि पनि नेपाल आएका थिए । सन् १८९५ को मार्चमा निग्लिहवासम्म आएर उनले ढलिरहेको अशोक स्तम्भमा कुँदिएको अभिलेख उतारेर फर्केका थिए । त्यहीं पाठको अर्थ ठम्याएपछि भारतीय पुरातत्व सर्वेक्षण विभागले नेपालभित्र अरु पनि स्तम्भहरु हुनसक्ने सम्भावना देखेर दोस्रोपटक पनि फुहररलाई नेपाल पठाएको थियो । फुहरर तेस्रोपटक पनि नेपाल आएर कपिलवस्तु क्षेत्रको उत्खनन गरेका अभिलेखहरु छन् ।

    पत्ता लागेको दुई वर्षपछि सन् १८९८ मा लुम्बिनीको अध्ययन तथा उत्खनन गर्न अर्का पुरातत्वविद् पी.सी मुखर्जी आए । मुखर्जीले अशोक स्तम्भ वरिपरी उत्खनन गरेर हेरे । विभिन्न कालखण्डमा बनाइएका प्राचीन इँटाका पर्खालहरु उनले भेटे । विभिन्न आकारका भग्वावशेषहरु भेटेपछि उनले तिनलाई स्तुप वा विहार रहेको हुनसक्ने अनुमान गरे । मुखर्जीले अशोक स्तम्भको उत्खनन गरिरहेको तस्वीरको पछाडि दुईवटा साना तर जिवित भौतिक संरचना देखिन्छन् । तीमध्ये एउटा स्थानीयले वनदेवीको रुपमा पूजा गर्ने रुम्मिनदेहीको मन्दिर थियो भने अर्को मठ थियो । ती दुवै संरचनाको पनि उनले उत्खनन गरेका थिए ।

    पहिलो वनदेवीको रुपमा स्थानीयले पूजापाठ गर्ने रुम्मिनदेहीको मन्दिर थियो । यद्यपि, त्यसबेलासम्म मन्दिर भन्ने प्रचलन थिएन भन्ने मान्यता इतिहासविद्हरुको छ । जुन भत्केको र छानो खसेको जीर्ण अवस्थामा थियो । कालान्तरमा यसै मन्दिरलाई रुपान्तरण गर्दै हालको मायादेवी मन्दिर बनाइएको हो ।

    त्यहींबाट मुखर्जीले मायादेवीले शिशुलाई जन्म दिइहेको सबैभन्दा पुरानो मूर्ति भेटेका थिए । शीर भाँचिएको अवस्थामा रहेको सो मूर्तिको पछाडि शीर भेटेर जोड्दा उक्त मूर्तिको तल्लो भागसँग ठ्याक्कै मिलेको थियो । लुम्बिनीमा भेटिएको सबैभन्दा महत्वपूर्ण र पुरातात्विक मूर्तिको रुपमा यसलाई लिइन्छ । नजिकै रहेको दोस्रो मठ एक सन्यासीले केही वर्षअघि मात्र स्थापना गरेको भनिएको छ । उक्त मठमा ताला लागेको तस्वीर मुखर्जीको तस्वीरसंग प्रष्ट देख्न सकिन्छ । मुखर्जीले त्यसको पनि उत्खनन गरेर केही मूर्ति र भाँडाकुँडा भेटेका थिए ।

    सन् १८९८ मै थाइल्याण्डका राजकुमार भिक्षु दीपंकर वंशजलाई साथमा लिएर आएका अनागरिक धम्मपालले पनि लुम्बिनीमा एककोठे भवन देखेका थिए । उक्त कोठाभित्र कपडाले छोपिएको मूर्ति राखिएको आफूले देखेको उनले बताएका छन् । तर त्यहाँ सुरक्षा गार्डले मूर्ति हेर्न पाल्पाबाट स्वीकृति लिएर आउनुपर्ने बताएपछि उनले पैसा दिएर मूर्ति हेरेको र मूर्तिको टाउको र खुट्टा नदेखेको उल्लेख गरेका छन् ।

    त्यसपछि लुम्बिनी भेटिएको चर्चा संसारभर फैलिएको थियो । सन् १९३३ मा केशरशमशेरको नेतृत्वमा लुम्बिनीको विस्तृत उत्खनन सुरु भयो । उनको उत्खनन वैज्ञानिक नभएको आरोप लाग्ने गरे पनि उनले थुप्रै संरचनाहरुको संरक्षण गर्दै पिसी मुखर्जीले उत्खनन गरेको त्यही पुरानो वनदेवीको मन्दिरलाई छोपेर पुरानो मायादेवी मन्दिर निर्माण गरेका थिए ।

    केशरशमशेरले निर्माण गरेको मायादेवी मन्दिरः सन् १९९०

    अशोक स्तम्भदेखि पूर्वको माटोको ढिस्कोमाथि रोमन शैलीमा सेतो चुना लगाएर निर्माण गरेको त्यतिबेलाको संरचना नै हालको मायादेवी मन्दिर हो । मौर्य सम्राट अशोकले लुम्बिनीमा अशोकका बृक्षमुनि सात तहको इँटामाथि हिफाजतसाथ राखेको जन्मस्मारक शिलामाथि पछि विभिन्न कालहरुमा संरचनाहरु निर्माण भएको पुरातत्वविद्हरुको मान्यता छ । त्यहाँ गुप्तकालमा शिखरशैलीमा सप्तरथ निर्माण गरिएको थियो भनिन्छ ।

    तर पछि लुम्बिनी ओझेलमा पर्दा मन्दिर जीर्ण भइ माटोको ढिस्कोमा परिणत भएको मान्यता छ । कालान्तरमा त्यसलाई वनदेवीको कल्पना गरी रुम्मिनदेई वा रुम्मिनमाई भनिएको थियो । पी.सी मुखर्जी आउँदासम्म पनि यसलाई मायादेवी मन्दिर भनिएको थिएन । उनले मायादेवीको मूर्ति भेटिएको कोठा मात्र भनेका छन् । त्यो कोठा कसले बनायो भन्ने पत्ता लागेको छैन ।

    सेतो रंग लगाइएको र झट्ट हेर्दा रोमनशैलीमा बनेको देखिएकाले खड्गशमशेरले नै उक्त कोठा बनाएका हुन् कि भन्ने अनुमान छ । तीनै खड्गशमशेरले पाल्पामा रानी महलसमेत निर्माण गरेका छन् । उनैले बनाएको अड्कल काटिएको कोठालाई छोपेर केशरशमशेरले मायादेवी मन्दिर बनाए । त्यसबाहेक उनले पुष्करणी पोखरीलाई समेत संरक्षण गरे ।

    पीसी मुखर्जीले उत्खनन गर्दाको एक कोठे मायादेवी मन्दिरः सन् १९३३

    पछि उक्त मन्दिरसमेत जीर्ण हुँदै गएपछि थप उत्खनन गर्नुपर्ने आवश्यकता ठानी लुम्बिनी विकास कोष र जापानी बौद्ध संस्थाको संयुक्त उत्खनन कार्य सन् १९९३ देखि १९९६ सम्म जारी रह्यो । त्यतिबेला पुरानो मायादेवी मन्दिर भत्काइयो । सोही समय मार्कर स्टोन, पन्ध्र वटा च्याम्वर, गुप्त, कुषाण, शुंग र मौर्यकालीन इँटा र वास्तु अवशेषहरुसहित थुप्रै महत्वपूर्ण सामग्री भेटिए । जसले लुम्बिनीलाई बुद्ध जन्मस्थलको रुपमा पुष्टि गर्न थप सहयोग मिल्यो ।

    सन् १९९७ मा लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भयो । त्यसपछि युनेस्कोको सहयोगमा मायादेवी मन्दिरको डिजाइन पास गरेर २०५८ सालमा हालको मायादेवी मन्दिर निर्माण गरियो । पुनःनिर्मित मायादेवी मन्दिरको बाह्य आवरण केशरसमशेरले १९३३–३९ सालसम्मको अवधिमा निर्माण गरेको अर्धरोमन शैलीमा निर्मित मायादेवी मन्दिरकै पुनरावृत्ति जस्तो देखिन्छ ।

    स्रोत: लुम्बिनी विकास कोषबाट प्राप्त लिखतहरु /बसन्त विडारीको लुम्विनीः विगत, वर्तमान र भविष्य/डा. गितु गिरीको लुम्बिनी क्षेत्रका सांस्कृतिक सम्पदाहरु/वसन्त महर्जनको लुम्बिनी, ऐतिहासिक तथा पुरातात्विक अध्यनन/बाबुकृष्ण रिजालको लुम्बिनीका पुरातात्विक संरचना ।

     

     

  • विद्यार्थी आन्दोलनमा गण्डकीबाट उदाएको ‘प्रकाश’

    विद्यार्थी आन्दोलनमा गण्डकीबाट उदाएको ‘प्रकाश’

    नेपालमा राजनैतिक दलहरुसँगै उनीहरुले आफ्नो प्रभाव र संगठन विस्तारका निमित्त विभिन्न जनवर्गीय संगठन निर्माण गरेको इतिहास छ । हरेक दलले युवा, विद्यार्थी, मजदुर, महिला आदिलाई विशेष प्राथमिकता दिएर जनवर्गीय संगठनको विकास, परिचालन गरी आफ्ना राजनैतिक एवं सांगठनिक गतिविधि गरिरहेको पाइन्छ ।

    मूल राजनीतिक पार्टीको स्थापना तथा निर्माण सँगसँगै हरेक क्षेत्रमा आफ्नो प्रभाव विस्तार तथा एजेण्डाहरुलाई जनमानससम्म पुर्याउने एक भरपर्दो माध्यम पार्टीका जनवर्गीय संगठनहरु हुने गर्दछन् भन्ने मान्यता नेपाली राजनीतिमा स्थापित भइसकेको छ ।

    जहानिँया राणाशासन अन्त्यको बेलासम्म आइपुग्दा उतिसारो राजनीतिक दलको जन्म भइसकेको थिएन । नेपाल प्रजा परिषद् तथा कांग्रेसको जन्म भएर अगाडि बढ्दै थियो भने राणा शासनको अन्त्यतिर नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।

    २००७ सालको प्रजातन्त्र प्राप्तीमा राजनीतिक दल सँगै त्यसमा आबद्ध मजदुर संगठनको विशेष योगदान रहेको इतिहास छ । प्रजातन्त्र स्थापनापश्चात राजनीतिक गतिविधिहरु अलिक सहज तथा द्रुत रुपमा अगाडि बढे । राणाकालमा आममानिसलाई शिक्षाको पहुँचमा पुर्याउन हुन्न भन्ने मान्यतामा रहेको समाजमा शैक्षिक गतिविधि हुन थाले ।

    २०१७ सालमा राजा महेन्द्रको ‘कु’पश्चात निर्दलीय व्यवस्था सुरुवात भयो राजनैतिक पार्टीको गतिविधिमा प्रतिबन्ध नै लगाइयो । जसबाट राजनीतिक दलका गतिविधिहरु अवैध हुन् भन्न थालियो । जसले दलहरुमा शिथिलताको स्थिति पैदा भयो ।

    २००४ सालको ‘जयतु सँस्कृतम्’ आन्दोलनले विद्यार्थीको शक्ति वा भनौं सबल पक्षहरुबारे तत्कालीन सत्ता र राजनीतिक दल सचेत नै थिए । त्यो बेलाको सत्तालाई गतिलो, संगठित र सुविचारित ढंगले विरोध प्रदर्शन गर्न उक्त आन्दोलन प्रभावशाली भएको पाइन्छ ।

    विद्यार्थी संगठनको विकास एवम् विस्तार

    अखिल नेपाल विद्यार्थी फेडरेशन २००७ साल असारमा स्थापना भएको थियो । यसलाइ केही समय विद्यार्थी फेडरेशन भन्न थालियो । पञ्चायती व्यवस्था सुरु भएपछि क्याम्पस क्याम्पसमा सरकारको विरोधका स्वरहरु विस्तारै सुनिन थाल्यो ।

    खास यो वा त्यो राजनीतिक दलभन्दा पनि सबै मिलेर संयुक्तरुपमा पञ्चायतको विरोधमा लाग्ने उनीहरुको अन्तिम लक्ष्य देखिन्थ्यो । २०२२ सालताका विद्यार्थीले देशभरका क्याम्पसहरुमा विद्यार्थी यूनियनको माग गरे । चुनाव भयो र तत्पश्चात स्वतन्त्र विद्यार्थी युनियन गठन भयो ।

    स्ववियु गठनपछि नेपाल कम्युनिस्ट पार्टीले त्यसका नेताहरु सम्मिलित गराएर विद्यार्थीलाई संगठित गरी आफ्ना राजनैतिक, वैचारिक र सांगठनिक गतिविधि बढाउने भित्री उद्देश्य एवम् गुणस्तरीयर व्यवहारिक शिक्षा तथा शिक्षाको बदलीकरणमार्फत् समाज परिवर्तनको मूल उद्देश्यसहित २०२२ साल जेठ १ गते अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)को स्थापना भयो ।

    त्यस समयमा नेकपा चौमको अ.ने.रा.स्व.वि.यु थियो । नेकपा मालेको अनेरास्वियु थियो । पुष्पलालको नेपाल प्रगतिशील विद्यार्थी युनियन भयो । मनमोहनको मास्र्कवादी विद्यार्थी संगठन पनि बन्यो । यसरी कम्युनिस्ट पार्टी सँगसँगै विद्यार्थी स्रगठनहरु पनि टुटफुट भइरहे ।

    २०२२ सालमा अनेरास्ववियुको स्थापना भयो । जसको संयोजकमा ९ कक्षामा पढ्दै गरेका सुजन खरेल चुनिए । मूलत वामपन्थी विद्यार्थीको संख्या बढी र हरेकजसो विषयमा हावी भएपछि २०२७ सालमा कांग्रेसनिकट विद्यार्थीहरुले नेविसंघको स्थापना गरे । जसको सस्थापक सभापति शेरबहादुर देउवा चयन भए । उक्त समितिमा रामचन्द्र पोडेल विमलेन्द्र निधिलगायत थिए ।

    पछिल्लो समय नेकपा एमालेबाट माधव नेपालहरु बाहिरिएपछि पनि त्यो श्रृंखला रोकिएन । अनेरास्ववियु स्थापनाको करिब पाँच वर्षपश्चात् मात्रै नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको स्थापना गरेको थियो । स्थापना कालमा शेरबहादुर देउवा यसको प्रमुख पात्र थिए । पछि उनले ०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन गर्दा पनि नेपाल विद्यार्थी संघ विभाजित बनेको थियो । तसर्थ नयाँ दल स्थापना सँगै वा मूल दलबाट छुट्टिएर नयाँ दल बन्नासाथ विद्यार्थी संगठन निर्माण गरिनुले पनि यस संगठनलाई दलहरुले दिने महत्व प्रष्टै बुझ्न सकिन्छ ।

    स्थापनाको कुरा होस् वा स्ववियु निर्वाचनमा प्राप्त मतलाई आधार मानेर के भन्न सकिन्छ भने देशकै पहिलो विद्यार्थी संगठन अनेरास्वियुले स्थापना कालदेखि नै निरन्तररुपमा आफ्ना गतिविधिलाई प्रभावकारी ढंगले अगाडि बढाएको थियो ।

    कम्युनिस्ट पार्टीका टुटफुट सँगसँगै विभिन्न आरोह र अवरोहलाई पार गर्दै आए पनि यसको मूल हाँगो हालको नेकपा एमाले र विगतमा यो सँगै जोडिएर आएको पार्टीसँग रहेको पाइन्छ । र यसकारण आजसम्म पनि गहिरो ओज र गरिमा राख्न अनेरास्ववियु सफल भएको छ ।

    विद्यार्थी परिचयपत्रको आधारमा सार्वजनिक सवारीमा ३३ प्रतिशत छुटपछि हालको ४५ प्रतिशत छुट कायम गराउन, भारतीय हस्तक्षेपविरुद्ध सीमानाकामा कालापानी मार्च गरी राष्ट्रिय झण्डा फहराउन सफल, २०६२–६३ सालको आन्दोलनमा अग्रभूमिकामा रहेर अखिलले आफूलाई बलियो गरी स्थापित गरेको छ । आन्दोलनमा अनेरास्ववियुकै पहलमा देशका सरकारी क्याम्पसमा नमूना जनमत संग्रहसमेत भएको थियो । गणतन्त्र, सक्रिय राजतन्त्र कि संवैधानिक राजतन्त्र विकल्प राखेर भएको नमून जनमत संग्रहमा ९९ प्रतिशत मत गणतन्त्रको पक्षमा खसेको थियो ।

    तत्कालीन समयमा दलहरुलाई गणतन्त्रको एजेण्डामा लैजान अनेरास्वरियुसँगै अन्य विद्यार्थी संगठनको महत्वपूर्ण भूमिका सुनौलो अक्षरले लेख्नुपर्छ ।

    सँगसगै विद्यार्थीका कलेज तथा विश्वविद्यालय स्तरीय समस्या समाधान गर्नमा पनि अग्रणी भूमिका खेल्यो । विद्यार्थी संगठनको क्षमता तथा शक्ति जाँच गर्ने वा परीक्षण गर्ने आधार भनेको स्ववियु निर्वाचन पनि हो । यस कार्यमा अनेरास्ववियुले आफूलाई सदैव अब्बल र एक नम्बरको विद्यार्थी सङ्गठनको रुपमा स्थापित गरेको थियो । तर जब २०६२–६३ सालको आन्दोलन सफल भयो, ततपश्चात विद्यार्थी सङ्गठनमा केही दुविधा, अवसरवादिता तथा चाकरीबाजले प्रश्रय पाउन थालेको देखियो ।

    जब त्रिभुवन विश्विद्यालयको शैक्षिक सुधारको नाममा प्रवीणता प्रमाणपत्र तह हटाउने निर्णय गर्यो । तत् समयमा विद्यार्थी सङ्गठनका नेतृत्वकर्ताहरु कुनै विदेश सयर गरे । कोहीले आफ्ना केही व्यक्तिगत आकांक्षा पूरा गराएर यस निर्णयलाई पूर्ण सहमति जनाए । यो बेलाको अनेरास्वियुको नेतृत्वकर्ता हालकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री थिइन् ।

    दोस्रो जनआन्दोलनपछि व्यवस्था परिवर्तन नै भयो । मूलतः राजनीतिक आन्दोलनमा दलहरुको सारथि बनेका विद्यार्थी सङ्गठनहरु अलमलमा परे । राजनीतिक मुद्दामा होमिँदा विद्यार्थी सङ्गठनहरु विद्यार्थीका खास सवालबाट निकै पर पुगे ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा विरोधको उपस्थिति जनाउने र लुसुक्क सम्झौतामा रमाउने, निजी विद्यालयले शुल्क बढाउँदा बार्गेनिङमा त्यसलाई लगेर पिस्ने तथा माउ पार्टीका नेताका वरिपरी घुमेर काठमाडौमै बसेर आफ्नो पद र प्रतिष्ठा सुरक्षित गर्नेमा लिप्त हुनपुग्यो । त्रिभुवन विश्वविद्यालयले २१ महिना सम्म परीक्षा नलिइ विद्यार्थीमा अत्याचार थोपर्दा पनि उनीहरु बोल्न सकेनन् ।

    नेकपा एमालेनिकट अनेरास्ववियु तथा कांग्रेसनिकट नेविसंघलाई नेता उत्पादनका कारखाना मानिन्थे तर अहिले यिनमा नेता त छन् तर समयले माग गरेबमोजिम विद्यार्थी आन्दोलनलाइ निष्कर्ष पुर्याउन सक्लान त ? भन्ने प्रश्न उठेको छ ।

    कुनै बेला अखिल पाँचौ हालको अनेरास्वियुमा आबद्ध व्यक्तिसँग गर्दा छोरीले दुःख पाउँदिनन् भन्ने मान्यता थियो । अहिले त्यो कुरा मिथक जस्तो लाग्ने भएको छ ।

    अहिले विद्यार्थी संकगठनका नेतृत्वकर्ता दिशाहीन, गतिहीन जस्तै भएका छन् । नेविसंघ पार्टी सभापतिको निगाहमा चल्ने भएको छ । माओवादीमा पनि त्यस्तै छ । एमालेनिकट संगठनको महाधिवेशनको मिति त तोकिएको छ, तर सोही मितिमा हुने नहुने निश्चित छैन ।

    यसै परिवेशबीच अनेरास्ववियुमा एउटा आशाको किरण देखिएको छ । ती हुन्, गण्डकी प्रदेशका अनेरास्ववियुका संयोजक प्रकाश पौडेल । भदौ १८ गते चुनिएको ४३ सदस्यीय प्रदेश कमिटीका संयोजक पौडेलले केही शैक्षिक र पूर्वाधार विकासँगै शैक्षिक अनुशासनका मुद्दा उठाएका छन् । ‘विभेदमा विद्रोह तथा विपत्तिमा सहारा, म अनेरास्वियु’ भन्ने मूल नाराका साथ उनले विभिन्न गतिविधि अघि बढाएका छन् ।

    उनको पहलमा वर्षातमा विद्यालय जान पुलको अभाव भएको बाग्लुङका विभिन्न ठाउँमा अस्थायी पुल हालियो । पछि स्थानीय तहले स्थायी झोलुङ्गे पुल बनाउन थाल्यो । कतै बाढी पहिरो गयो र उद्दार तथा राहतको अवस्था आयो, जहाँ पौडेलले आफूलाई उभ्याए ।

    अखिल केन्द्रका नेताहरु माउ पार्टीका नेताको दैलोमा परिक्रमा गरिरहँदा, काठमाडौंको विभिन्न क्याफे र होटलमा गुटबन्दी गर्दै विभिन्न कार्यक्रमको बहानामा हुँदै नभएको चन्दाको धन्दा गरिरहँदा एउटा योद्धा जो ‘कोमा’मा पुगेको विद्यार्थी आन्दोलन जोगाउन हरतरहले लागिरहेको छ । प्रकाशबाट केन्द्रका नेताहरुले सिक्दा राम्रो हुन्छ ।

    यसै क्रममा मणिपाल मेडिकल कलेजले अध्ययनरत विद्यार्थीमाथि चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा धेरै शुल्क असुलेको, विभिन्न शीर्षकमा थप शुल्क जबरजस्ती लिएको बारेमा विद्यार्थीका गुनासाहरुप्रति अखिल गण्डकी गम्भीर भएको प्रष्ट छ ।

    अखिल गण्डकीले कलेज प्रशासनसँग वार्ता गर्ने, जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउने गर्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भयो ।

    आन्दोलनको ३१ औं दिनमा कलेज विद्यार्थीको माग सम्बोधन गर्न राजी भयो । थप लिएको अतिरिक्त शुल्क अर्को वर्षको वार्षिक शिक्षण शुल्कमा मिलान गर्न कलेज तयार भयो ।

    सत्ताधारी कुनै संठनको साथ सहयोगबिना अखिल गण्डकी यो काम पूरा गर्न सफल भयो । ठीक यही समयमा काठमाडौं मेडिकल कलेज तथा विराट मेडिकल कलेजका यही खाले विषय बाहिर आए तर सत्ताधारी विद्यार्थी सङ्गठन र विभागीय मन्त्री नै लाग्दा पनि कलेज सञ्चालकले थप शुल्क फिर्ता नगर्ने सावर्जनिक अभिव्यक्ति दिइरहे ।

    हिजोआज त्यो विषय ओझेलमा परिसकेको छ । यी दुईलाई हेर्दा पनि के देखिन्छ भने अखिलले नेतृत्व गरेको आन्दोलन अन्यको तुलनामा बढी सफल भएका छन् । हिजोका दिनमा विद्यार्थी सहुलियतको नेतृत्वकर्ता पनि अखिल नै थियो, कालापानी मार्च गर्ने पनि अखिल नै थियो । गायक प्रवीण गुरुङको हत्याको विरोधमा तत्कालीन राजपरिवार विरुद्द उनीहरुको सवारीमा ढुङ्गा हान्ने पनि अखिल नै थियो ।

    विद्यार्थी जीवनमा राजनीति समावेश हुनुहुन्न वा लाग्नुहुन्न वा यसले करियर बिगार्छ भनेर आरोप लगाउनेहरु पनि नभएका होइनन् तर एउटा सोचनीय विषय भनेको के हो भने जुन व्यक्ति वा विद्यार्थी राजनीतिक रुपले सचेत छ, राज्यको वर्तमान परिवेशबारे जानकार छ, उसले समाजलाई सही ढंगले बुझ्न सक्दछ ।

    विभेदमा परेकालाई न्यायको पहुँचमा लैजान सक्नेछ भने विपत्तिमा परेकालाई साथ सहयोग गर्न सक्नेछ । साथै चेतनाको विकासले व्यक्तिलाई सामाजिक बनाउन पनि सघाउने गर्दछ । यही मान्यतालाइ अङ्गीकार गर्दै अनेरास्वियु गण्डकीले हालसम्म ५ सय वटा माध्यमिक तथा उच्चमाध्यमिक विद्यालयहरुमा कमिटी निर्माण गरिसकेको छ । जसमा औसतमा ३५ जनाको कमिटी बनेको अवस्थामा पनि १७ हजार ५ सय विद्यार्थी यसमा जोडिएका छन् । विभेदमा विद्रोह तथा विपत्तिमा सहारा बनेर ती व्यक्तिहरु प्रदेशभर परिचालित हुनेछन् । यो क्रमलाई अझै विस्तार गर्ने योजना रहेको अखिल गण्डकीले सार्वजनिक नै गरेको छ ।

    गण्डकी अहिलले अघि अर्को विषय छ– बच्चा जन्मिनासाथ उसको निशुल्क स्वास्थ्य तथा शिक्षा बीमा । यसका लागि सरकारले कोष खडा गर्ने, गरिबीको अवस्थामा रहेकाहरुको प्रिमियम सरकारले तिरिदिने, सक्नेले आफैं तिर्ने, त्यही रकम परिचालन गरी उनीहरुको स्वास्थ्य उपचार तथा कम्तिमा १२ कक्षासम्मको शिक्षा राज्यले जिम्मा लिने, यसलाई नै आधार मानेर सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान थाल्ने ।

    यसरी आगामी बीस वर्षमा स्वास्थ्य र शिक्षामा आमूल परिवर्तनको महसुस गराउने गरी कार्यक्रम तय गर्ने तयारीमा रहेको छ । उसले अगाडि सारेको यस कार्यक्रमलाई प्रभावकारी बनाउन सकेको खण्डमा धेरै जनताले राहतको सास फेर्न सक्ने थिए ।

    विद्यार्थी सिक्ने जान्ने तथा आफ्नो क्षमता पहिचान गरी निखारतामा लैजाने उमेर पनि हो । हामी जे सिक्दछौ वा जे सिकाइन्छ त्यो नै हाम्रो जीवनकालमा लागू हुने हो । कुनै बेला अखिल पाँचौमा हुनेलाई छोरी विवाह गरिदिँदा ढुक्क हुने समाजबाट हुर्केका हामी विद्यार्थी राजनीति गर्नेसग किन समाजले आशा गर्न सकेको छैन त भन्ने नै आजको मूल प्रश्न हो ।

    पूर्णरुपमा राजनैतिक भन्दा पनि शैक्षिक गुणस्तर सुधार, रोजगारी सिर्जना, उद्यम विकास जस्ता सवालमा विद्यार्थीलाई जोड्नसक्ने गरी माउ पार्टीहरुसँग कार्यक्रम निर्माण गर्न बहस गर्नसक्ने तथा आम विद्यार्थीलाई त्यसमा जोड्ने गरी आफूलाइ परिमार्जित र परिचालित गर्नु आजको आवश्यकता हो । गण्डकीमा देखिएको आशा निराशामा परिणत नहोस् र अन्यत्र अन्य विद्यार्थी सङ्घ सङ्गठनहरुबाट पनि आशा सञ्चार भएको देख्न सुन्न पाइयोस् । यो नै साँचो अर्थमा हिजोका अग्रज नेताको बलिदानको कदर तथा हालका भुइँ मान्छेका आवश्यकतामाथि न्याय हुन जानेछ ।

  • बालक अपरहण, प्रहरीको सफलता र सन्देश

    बालक अपरहण, प्रहरीको सफलता र सन्देश

    रुपन्देहीमा घरबाट विद्यालय जान स्कुलबसमा हिँडेका बालबालिका झोलासहित बीच बाटोबाटै अपहरणमा परे । साँझ बालबच्चा घर नफर्केपछि अभिभावकले सोधखोज गर्दा विद्यालय नपुग्दै बीच बाटोबाटै हराएको पत्ता लाग्यो । विद्यालय प्रशासन, बसमा रहेका विद्यालयका कर्मचारी, शिक्षक तथा अन्य विद्यार्थीलाई उनीहरु अपहरणमा परेपछि मात्रै थाहा भयो ।

    फागुन ५ गते बिहानै दुई छोराछोरीलाई विद्यालय पठाएकी रुपन्देहीको सैनामैना नगरपालिका– ६ की पुष्पा दाहाललाई यस्तै विपत्ति आइलाग्यो । तर उनको विपत्तिमा रुपन्देही प्रहरीले साथ दियो ।

    घटना सार्वजनिक भएको २४ घन्टा नबित्दै प्रहरीले अपहरणमा परेका ती दुई बालबालिकालाई पूर्वी नेपालको झापाबाट सकुशल उद्दार मात्र गरेको छैन, अपहरणकारीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । विद्यालय हिंडेका दाहाल दाजुबहिनीलाई २४ घण्टा नबित्दै झापाबाट सकुशल उद्दार गरी अपहरणकारीलाई पक्राउ गरी अनुसन्धान सुरु प्रहरीको यो सफलतालाई सम्मान गर्नुपर्दछ ।

    हाम्रो समाजमा सधैं नकारात्मक विषयलाई मात्र प्राथमिकताका साथ दिने र गरेका सफल कामलाई उत्साह, प्रेरणा दिने, साथ दिने कमै भएको छ । यस्ता काम गर्नेलाई स्यावासी दिन सकिएन भने उनीहरुको ऊर्जा कमजोर हुन्छ, गलत काम गर्नेहरुको मनोबल बढ्छ ।

    त्यसो त यो प्रहरीको दायित्व नै हो भनेर पनि बहस हुनसक्छ । तर यो विषय अन्य विषयजस्तो सामान्य छँदै थिएन । अपहरणकारीले प्रहरीको पहिलो मोबाइल सम्पर्कमै आफू मार्न र मर्न तयार भएकाले यस्तो काम गरेको बताएकाले पनि प्रहरी अधिकृतहरुलाई ती बच्चालाई सकुशल उद्दार कसरी गर्न सकिएला भन्ने चिन्ताले पोलेको अनुभव सुनाउँदा पनि झसंग बनाउँछ ।

    फागुन ५ गते बिहीबार बिहान ८ः४० बजेको स्कुल समयमा सैनामैना ४ मुर्गियामा रहेको प्रभात आवासीय बोर्डिङ स्कुलमा अध्ययनका लागि लु १ ख ६५८६ नम्बरको बसमा पठाइएका आफ्ना छोराछोरी साँझ अबेरसम्म घर नआएपछि आमा पुष्पा दाहालले तत्काल खोजकार्य पाउँ भन्दै मुर्गियास्थित इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएपछि प्रहरी तत्काल यसमा खटिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मनोजकुमार केसी आफै यस्तो घटना यो क्षेत्रमा धेरै नभएकाले बडो जटिलताका साथ अनुसन्धान थालिएको बताउँछन् । कम उमेरमा पीएचडी अध्ययन गरेका सफल प्रहरी अधिकृतमा नाम दर्ज गराएका केसीलाई अपहरणकारीले बच्चा आफ्नो कब्जामा लिएपछि खोजिएका सिसिटिभीमा ठूलो सुटकेस गुडाएर हिंडेको तर बच्चा साथमा नभएको भिडियो देखेपछि धेरै शंका उत्पन्न भएको उनी बताउँछन् ।

    घटनाको सूचना पाएपछि प्रहरीले तत्काल आफ्नो संयन्त्रमा यो सूचना पुर्यायो र करिब २ सय प्रहरीलाई संभावित क्षेत्रमा खटायो । साँझ अबेर सूचना पाएपछि रातभर जंगल, होटल सबै स्थानमा खोजियो, नाका सबैमा उच्च कतर्कता अपनाइयो । ‘हाम्रो पहिलो ध्यान नै बच्चाहरुलाई सकुशल उद्दार गर्नु थियो, सैनामैना, बुटवलका जंगल, होटलमा राती ३ बजेसम्म हामी खटियौं’, प्रहरी प्रमुख केसीका यी भनाइले पनि प्रहरीको संवेदनशीलतालाई प्रष्ट पार्दछ ।

    अहिले अपहरणमुक्त १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीय प्रशन्न दाहाल प्रहरीको संरक्षणमा रहेको र अभियुक्त खिमबहादुर पौडेल पनि प्रहरीको नियन्त्रणमा छन् । त्यसो त अपहरणका मुख्य अभियुक्त पौडेल नाताले ती बालबालिकाका फुपाजु हुन् । बालबालिकाकी आमा पुष्पा दाहालले बच्चाहरु बसबाटै हराएपछि उनीमाथि शंका गरेको प्रहरीलाई जानकारी दिएकी थिइन् ।

    अभियुक्त पौडेललाई खोज्न उनकै बुवाले पनि साथ दिएकाले प्रहरीलाई सजिलो भएको थियो । भारतको दार्जिलिङमा लामो समय बसेका अभियुक्त पौडेलले नेपालबाट भारत पुर्याएको भए बच्चाहरुलाई उद्दार गर्न समस्या हुने थियो । उनले आफूलाई उतै सहज हुने भएकाले भारत जाने नजिकका नाका प्रयोग नगरी बसबाट झापा पुर्याएका थिए ती बच्चालाई । प्रहरी सुनौली, कृष्णनगरका नाकामा एलर्ट बसे पनि उनले पूर्वबाट आफूले जानेको बाटो लगेर छलेका थिए ।

    प्रहरीले खेमबहादुर पौडेल क्षेत्रीले अन्तिम पटक सम्पर्क गरेका व्यक्तिको सम्पर्कबाट अपहरणकारीलाई पक्राउ गर्न र दाजुबहिनीलाई सकुशल उद्दार गर्न सकिएको बताएको छ । खेमले ५ गते बिहान भाइ गुप्तबहादुर पौडेललाई फोन गरी बुटवलमा सुटकेश ल्याइदिन भनेका थिए । त्यहीं अन्तिम फोनबाट अनुसन्धान गर्दै जाँदा अभियुक्तलाई पक्राउ गर्न सकिएको प्रहरीले जानकारी दिएको छ ।

    अभियुक्त सैनामैना वडा नं. ५ घमाहा खोला बस्ने खिमबहादुर पौडेलले पारिवारिक रिसइवीका कारण अपरहण गरेको प्रारम्भिक अनुसन्धानमा प्रहरीले भेटाए पनि यस्तो वास्तविकता सार्वजनिक गरी सबै अभिभावक तथा विद्यार्थीलाई सचेत बनाउनुपर्दछ । यसमा विद्यालय प्रशासनको पनि गम्भीर लापरबाही प्रष्ट देखिएकाले सचेत बनाउँदै अन्य विद्यालय प्रशासनले पनि यो विषयमा सजगता अपनाउनु पर्दछ ।

    बिहान विद्यालय आउने बसबाट अपहरणमा परेका दुई विद्यार्थीका बारेमा विद्यालयले समयमा जानकारी नदिएको प्रहरीको गुनासो र अभिभावकको गुनासोलाई सामान्य मान्न सकिँदैन । बीच बाटोमा झारिएका बच्चाका विषयमा विद्यालयले समयमै चासो नराखेर गरेको गल्तीको क्षमायाचना गर्दै यसबाट आगामी दिनमा सजगता अपनाउनुपर्ने छ ।

  • प्रजातन्त्रसँग जोडिएको राष्ट्रिय भावना

    प्रजातन्त्रसँग जोडिएको राष्ट्रिय भावना

    मूलतः लोकतन्त्र जीवन्त जीवनशैलीको एक अनुपम उपहार हो । लोकतन्त्र एउटा चम्किलो तारा हो । जसले आफ्नो भूगोललाई सधैभरि चमक प्रदान गरिरहन्छ । अझ भनौँ लोकतन्त्र खुल्ला आकाशमा निष्फिक्री उडिरहेको बादल पनि हो । जसले कसैलाई पनि विभेद, अन्याय र अत्याचारको भुमरीमा लैजाँदैन । बरु समान दृष्टिकोण, समान हेराइ र समावेशीकरणलाई आत्मसात गर्दछ । यो नै लोकतन्त्र भित्रको आत्मा हो । आवधिक निर्वाचन, कुशल जनप्रतिनिधिमूलक संस्थाहरु नै लोकतन्त्रको स्वाभिमानी मेरुदण्ड हुन् ।

    लोकतान्त्रिक अभ्यास र त्यसको प्रयोगका आफ्ना–आफ्नै विधि, पद्धति र चरण छन् तर सबैको साझा उद्देश्य भनेको जनउत्तरदायी हुने र जनता केन्द्रित रहनु हो । लोकतन्त्रको अर्थ जनताद्वारा अनुमोदित हुने शासन व्यवस्था हो । प्रजातन्त्र शासनको त्यो स्वरुप हो, जसमा कुनै पनि देशको शासनसत्ता जनताको हातमा रहन्छ ।

    मानव जीवन प्रणालीको एउटा अभिन्न पाटो चेतना हो । सही र असल चेतनाले मात्र मानिसलाई सत्मार्ग र सत्कर्ममा हिड्न अभिप्रेरित गर्दछ । असल समाज निर्माण, दीगो विकास, समावेशीता, स्वतन्त्रता लगायत अन्य विविध लोकतान्त्रिक मूल्य मान्यतालाई सही गन्तव्यमा पु¥याएर त्यसको अनुभूत प्रदान गर्ने कुरा असल चेतनाले मात्र प्रदान गर्दछ । त्यसैले पनि असल चेतनाको निर्माण गर्नको लागि लोकतान्त्रिक शिक्षा र उपयुक्त ज्ञानको सर्कुलेसन अपरिहार्य रहन सक्छ ।

    हामी नेपालीको लोकतन्त्रप्रतिको आस्था, विश्वास र भरोसा एक अदम्य शाहस, त्याग, बलिदान एवम् योगदानबाट प्राप्त भएको उपलब्धि हो, जसलाई निरन्तरता दिँदै अझै उन्नत, सुदृढ, विकसित र विश्व परिवेश सुहाउँदो परिस्कृत गर्नु हामी सारा नेपालीको कर्तव्य हो ।

    हरेक नेपाली जब लोकतन्त्रप्रति कटिबद्ध भएर अगाडि देखिन थाल्छन्, तब लोकतन्त्र अझ बलियो र समय सापेक्षित हुँदै गएको भान हुन्छ । लोकतन्त्र त्यो पूर्ण व्यवस्था हो जसमा कुनै कुराको समस्या देखिएको छैन, मात्र यसको असल र सुव्यवस्थित प्रयोग आवश्यक रहन्छ ।

    हरेक कुराको प्रयोगले नै त्यसको परिणाम लेखाजोखा गर्दछ । हामीले जुन किसिमको लोकतन्त्रलाई प्रयोग गर्दछौँ, सोही अनुरुप हाम्रो देशको विकास, भविष्य र सुनिश्चितताको निर्धारण हुन्छ । नेपालमा प्रजातान्त्रिक अभ्यासको इतिहास खासै लामो देखिँदैन । राणाशासनको क्रुरता र बर्बरताबाट २००७ साल फागुन ७ गते प्रजातन्त्रको प्राप्तिपछि नेपाल विभिन्न कालखण्डमा अनेक आरोह, अवरोह पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आइपुगेको छ । यो एउटा नपालीहरुको स्वतन्त्रताको निमित्त स्वर्ण कालखण्ड हो ।

    हामी नेपालीको लोकतन्त्रप्रतिको आस्था, विश्वास र भरोसा एक अदम्य साहस, त्याग, बलिदान एवम् योगदानबाट प्राप्त भएको उपलब्धि हो, जसलाई निरन्तरता दिँदै अझै उन्नत, सुदृढ, विकसित र विश्व परिवेश सुहाउँदो परिस्कृत गर्नु हामी सारा नेपालीको कर्तव्य हो ।

    कहिले राजाको दमन, कहिले कु जस्ता गैरसंवैधानिक हमलाले पनि नेपालीहरुको मनमनमा बसेको लोकतन्त्रप्रतिको निर्भिक चेतनालाई दबाउन सकेन । अन्ततः वि.सं. २०६३ वैशाख ११ गते देशमा लोकतन्त्र प्राप्त भएरै छाड्यो । यो महान् उपलब्धीका निमित्त धेरै नेपालीहरु शहीद हुनुप¥यो, कयौँ अंग–भंग, घाइते भएर पीडादायक जीवन बिताइरहेका छन् । उनीहरुप्रति राज्यले उचित र न्यायपूर्ण व्यवहार गरेको देखिँदैन । जुन लोकतन्त्रप्रतिको घात हो, जनताको बलिदान र योगदानप्रतिको अवज्ञा हो भन्दा फरक नपर्न सक्ला ।

    लोकतान्त्रिक आन्दोलनको निमित्त कतिको काँख रित्तिय, कतिको सिन्दुर पुछिए, कतिको सधैंको लागि पारिवारिक सम्मिलन, माया, मोह र स्नेहको अभाव प्रकट भइरह्यो । तैपनि यो एउटा आन्दोलनको माग हो भन्दै होमिएको नेपाली समाज आज गणतान्त्रिक भएको छ । जुन एउटा गौरव र आत्मशानको विषय पनि हो । लोकतन्त्रको प्राप्ति र त्यसको अभ्यासले संविधानसभाको निर्वाचन र संविधानसभा मार्फत् नेपालको संविधान २०७२ जारी भएको छ । जसलाई एउटा लोकतन्त्रप्रतिको सुन्दर सफलता र नेपाली जनताको भाग्य भविष्यको फाष्टट्र्याकको रुपमा ग्रहण गर्न सकिन्छ ।

    लोकतन्त्र र संघीयता

    नेपालको संविधान २०७२ ले नेपाललाई संघीय मुलुकको रुपमा परिभाषित गरिसकेको छ । संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको निर्धारण गरिसकेको अवस्था छ । सात प्रदेश मार्फत् देशलाई संघीयता तर्फ मोडिदिएको छ । विकेन्द्रिकृत स्थानीय तहको निर्माण भएको छ । पर्याप्त अधिकारसहित स्वावलम्ब स्थानीय तहको आकांक्षा संविधानले संघीयतालाई आत्माको रुपमा स्वीकार गरेको छ । यी हरेक कोण र आयामबाट नियाल्दा संघीयता र लोकतन्त्र एक आमाका दुई सन्तानको रुपमा हुर्कदैँ, बढ्दै परिपक्व हुने चरणमा पुगेका छन् ।

    लोकतन्त्र र समावेशीताले सम्पन्नता र सुखीपनको अपनत्व प्रदान गर्नेछन् । जुन कुराको प्राप्ति असल लोकतान्त्रिक चेतना र राष्ट्रिय भावनाबाट मात्र प्राप्त भएको छ । संविधानद्वारा प्रद्धत्त हक, अधिकारको सही पालना र अभ्यासले संघीयतालाई अझ दीगो, भरपर्दो, सरल र समय सापेक्षित बनाउन सकिन्छ । जसरी एउटा घर बलियो बनाउनका निमित्त उपयुक्त जमीनसहित उपयुक्त कच्चा पदार्थको सन्तुलित मिश्रण र दक्ष प्राविधिकको सही मार्गनिर्देशन आवश्यक छ त्यसैगरी संघीयता र लोकतन्त्रलाई सही बाटो र मार्गमा हिडाउन नागरिक खबरदारी, सचेतना, छलफल, बहस, विमर्श र परामर्शका अनेकन विधि, पद्धतिलाई अवलम्बन गर्न आवश्यक छ ।

    जति धेरै विचार र चेतनाको मन्थन हुन्छ, त्यति नै धेरै मात्रामा लोकतन्त्र सुन्दर र जनअपेक्षित हुँदै जान्छ । फलस्वरुवः लोकतन्त्र सबै नेपाली जनताको जीवनचक्रको रुपमा विकास हुन्छ । जसले निश्चित समय पार गर्दै हर उमेर समूहलाई आत्मसम्मान र स्वाभिमानको आवाज गुञ्जायस गर्न अभिप्रेरित गर्दछ ।

    लोकतन्त्र र त्यसको आयाम

    समावेशीता, समानता, स्वतन्त्रता, आवधिक निर्वाचन, बालिग मताधिकार, पूर्ण प्रेस स्वतन्त्रता जस्ता मानव अधिकारको साझा अधिकार नै लोकतन्त्रको असल आयाम हुन् । यी हरेक आयाममा लोकतन्त्रको स्वरुप वा आस्था देखिनुपर्छ । अनि मात्र लोकतन्त्र सरल, सहज र सहस बन्न पुग्दछ ।

    कागजी लोकतन्त्रलाई साँच्चै व्यवहारिक र व्यवहारवादी बनाउने हो भने यसको प्रयोग र त्यसपश्चात् प्राप्त हुने उपलब्धीलाई सही किसिमले जनता माझ लैजान आवश्यक रहन्छ । जनताको आवाजलाई आवश्यक अधिकारमार्फत् प्रतिउत्तर दिन लोकतन्त्र र लोकतान्त्रिक शासन व्यवस्था तयार हुनुपर्दछ । लोकतन्त्रको आयाम मार्फत् निर्वाचित भएका जनप्रतिनिधि त अझ जनताको समस्या, माग र आवश्यकता प्रति कटिबद्ध हुँदै अगाडि बढ्नुपर्दछ ।

    लोकतन्त्र र नागरिक चेतना

    नागरिक चेतना नागरिकलाई अधिकार, कर्तव्य र जिम्मेवारीप्रति सजग गराउने प्रक्रिया हो । यो एउटा स्वशासनको शिक्षा पनि हो । नागरिक चेतनाको लोकतन्त्रसँग घनिष्टतम् सम्बन्ध रहन्छ । देशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक क्षेत्रमा नेतृत्व प्रदान गर्न र आदर्श नागरिक तयार गर्न नागरिक चेतनाको स्तर अब्बल रहन आवश्यक हुन्छ । एक असल नागरिकमा चाहिने ज्ञान, सीप, दक्षता, उर्जा, शाहस, त्याग, धैर्यता, सेवाभाव लगायतका विचारले नागरिक चेतना निर्धारित हुन्छ । समग्रमा असल नागरिक निर्माण गरी लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रताको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा नागरिक चेतना चाहिएको हो ।

    नागरिक शिक्षाले आफू, आफ्नो समाज र राज्यप्रति प्रत्येक व्यक्तिको अधिकार र कर्तव्यको कुरा गर्दछ । सर्वप्रथम व्यक्तिले आफ्नो अधिकार, जिम्मेवारी, उत्तरदायित्व, कर्तव्य, आचरण र जवाफदेहीता बुझ्नु आवश्यक हुन्छ । दोश्रो अन्य व्यक्तिको सम्मान, हित, सद्भाव, नैतिकता, अनुशासन, आपसी विविधता लगायतका कर्तव्यको विषय पनि बुझ्नुपर्छ । त्यसैगरी तेश्रो राज्यप्रति रहने कर्तव्यहरु जस्तो राष्ट्रियता, राष्ट्रिय एकता प्रति गौरववोध, कानुन निर्माणमा सहभागिता र सोको पालना, लोकतन्त्रप्रतिको निष्ठा, कला, साहित्य, संस्कृति संरक्षण आदि लगायतका विषयले स्थान पाउँछन् । अतः यिनै अधिकार र कर्तव्यको वोध गराउने विषय नागरिक चेतना हो ।

    जति धेरै विचार र चेतनाको मन्थन हुन्छ, त्यति नै धेरै मात्रामा लोकतन्त्र सुन्दर र जनअपेक्षित हुँदै जान्छ । फलस्वरुवः लोकतन्त्र सबै नेपाली जनताको जीवनचक्रको रुपमा विकास हुन्छ । जसले निश्चित समय पार गर्दै हर उमेर समूहलाई आत्मसम्मान र स्वाभिमानको आवाज गुञ्जायस गर्न अभिप्रेरित गर्दछ ।

    प्रविधिको तीव्र विकासले समाजमा जागरण ल्याएको छ । नागरिक चेतनास्तर तीव्र वृद्धि भएको छ । तर आज कताकता बहकिन थालेको छ । यसले समाज र समग्र राज्य प्रणालीमा नै नकारात्मक प्रभाव पारेको आभास मिल्दछ । आज सचेत नागरिक राज्यले अवलम्बन गरेको संविधान ऐन, कानुनको पालना नगरी किन कानुनको अपव्याख्या गर्न तल्लीन छ ? किन राज्यप्रति नै विष वमन गरिरहेको छ ? के नागरिकले अधिकारको प्राप्ति र उपयोगसँगै राज्यप्रतिको अपनत्व वोध गर्नु पर्दैन ? विधि र कानुनको शासन, नागरिक स्वतन्त्रता, मानव अधिकारको प्रत्याभूतिसहित कानुनी सर्वोच्चताबाट सञ्चालित हाम्रो राज्य प्रणाली र संविधानको यही मार्गनिर्देशलाई स्वीकार गर्न हामी किन हिच्किचाउँदै छौँ ?

    कमजोर देखिएका विषयहरु जस्तै इमान्दारिता र नैतिकताको विषय, अधिकारमुखी प्रवृत्ति, कसैको अन्यायमा मौन रहने प्रवृति, मताधिकारको महत्ववोध नहुनु, सभ्य संस्कार विकास नहुनु, राज्य दोहोन र कमाउ प्रवृत्तिमा सुधार ल्याउनका निमित्त पनि नागरिक चेतना एक अचुक सूत्रको रुपमा रहन सक्छ ।

    लोकतन्त्र कहाँ खोज्ने ?

    हामीले माथिल्लो अग्रभागबाट लोकतन्त्र र लोकतान्त्रिक चरित्रको प्रसंग व्याख्या गर्दै त आयौँ तर लोकतन्त्र कहाँ छ ? कहाँ खोज्ने ? यो एउटा गम्भीर सवालको रुपमा रहन सक्छ । हाम्रो प्रत्येक जीवनशैलीमा लोकतन्त्र हुनु आवश्यक छ । लोकतन्त्र केवल एउटा नीति मात्र नभएर हामीलाई नियन्त्रित गर्दै अनुशासनमा हिडाउने पथप्रदर्शक हो । त्यसैले पनि दैनिक जीवनमा लोकतन्त्रलाई पछ्याउन आवश्यक छ । हाम्रा क्रियाकलाप, व्यवहार र कर्म जति धेरै पारदर्शी र खुल्ला रहन्छ ,त्यति नै हामी गौरवका साथ निर्भिक भएर अगाडि बढ्न सक्छौँ ।

    लोकतन्त्र हामीले हाम्रा जनप्रतिनिधिमा, कर्मचारीतन्त्रमा, सरकारमा, अदालतमा, विकासमा, समृद्धिमा, समुन्नतीमा खोज्नु आवश्यक छ । जसले कोही कतै प्रभावित हुने वा बाटो बिराउने विरासतबाट मुक्त भएर जनताको आशा, अपेक्षा पुरा गर्न तल्लीन हुन सक्छन् । लोकतन्त्र हाम्रो राज्य व्यवस्थाको मुटु हो । यसलाई उचित श्वास दिएर गतिशिल बनाउनु हरेक नेपाली नागरिकको प्राथमिक दायित्व हो । यसमा हामीले विकल्प खोज्न थाल्यौँ भने हामी आफै अभाव, पीडा, गरिबी, पछौटेपन र उत्पीडित हुने बाटोतर्फ लाग्नेछौँ । जुन अत्यन्तै दुखद र वियोगान्त हुनेछ ।

    फलस्वरुपः सबैको मेहनत, त्याग, बलिदाबाट प्राप्त लोकतन्त्रको बचावट,सञ्चालन र त्यसको लाभ प्राप्त गर्ने कुरामा सबै अग्रसर भएर अगाडि बढ्नु आवश्यक छ ।

    शासन व्यवस्था र राष्ट्रिय भावना

    मानिसहरुले जे भोग गर्छन्, त्यसलाई आत्मसात गर्छन् र त्यसैलाई आफ्नोपन ठान्छन् । यो नै एउटा मानव चक्रको सुन्दर पक्ष हो । देशको शासन व्यवस्था र स्वरुप अनुरुप देशका नागरिकले व्यवहार र आफ्ना क्रियाकलापको निरन्तरता राख्दछन् ।

    हिजो जहानियाँ राणाशासन, पञ्चायती व्यवस्था र आज लोकतान्त्रिक शासन व्यवस्था हुँदा फरक फरक कालखण्डमा नागरिकको भूमिका भिन्न भिन्न देखिए तापनि देशप्रतिको माया, मोह, स्नेह सदैव अब्बल रह्यो । राष्ट्र एउटा निश्चित भुगोल, सीमाना र परिधिमा नियन्त्रित हुने भए तापनि राष्ट्रियता मन–मनमा जागृत हुने कुरा हो । राष्ट्र प्रेम हरेक नागरिकको अविच्छिन्न अनुभूति हो । यो वृहत अनुभूतिबाट अलि पर सर्ने प्रयास सायद कुनै नागरिकबाट हुन सक्दैन । लोकतान्त्रिक परिपाटी मार्फत् समावेशीता, समावेशीकरण गर्दै राष्ट्रिय भावनालाई अझ बढी वृहत् बनाउन सकिन्छ ।

    राष्ट्रियता एउटा आन्तरिक भावना हो । जसले मानिसलाई एउटा सुत्रमा बाँध्ने काम गर्दछ । यसको पछाडि भावनात्मक तत्त्वको भूमिका रहन्छ । भावनात्मक तत्व भित्र भाषा, रीतिरिवाज, सभ्यता, रहनसहन, संस्कृति आदि पर्दछन् । राष्ट्रियता एउटा राजनीतिक प्रश्न मात्र नभएर आध्यात्मिक प्रश्न हो ।

    राष्ट्रियता धर्म जस्तै आन्तरिक भावना हो । सबै देशको आफ्नो आफ्नो इतिहास हुन्छन् । नेपाल एक अविच्छिन्न रुपमा स्वतन्त्र राष्ट्रको रुपमा अस्तित्व जोगाएको मुलुक हो । हाम्रो इतिहास गौरवमय छ । यसलाई कसैले तोड्न खोज्दा हामी सबै नेपाली एक भई आवाज उठाएको मात्र होइन लडेका पनि छौँ । जुन देशको जनतामा राष्ट्रवादको भावनामा कमी आउँछ त्यस्ता देश कहिल्यै शान्त रहँदैनन् र अन्ततः गृहयुद्धमा फस्छन् ।

    जहाँ–जहाँ गृहयुद्ध भएको छ त्यहाँ राष्ट्रियताको कारणले नै भएको छ साथै अहंकारले जरा गाडेको छ । नेपालमा जनताबाट चुनिएका प्रतिनिधि नै शासक रहन्छन् । जनप्रतिनिधि राष्ट्रवादको भावनाले एकताबद्ध छन् । देशभित्र भिन्न भिन्न भौगोलिक, सामाजिक, सांस्कृतिक तथा परम्परागत समूहमा बसे पनि राष्ट्रको बारेमा एउटै स्वर देखिन्छ ।

    देशको सीमा थिचोमिचो पर्दा नेपालले देखाउने गरेको व्यवहार एउटा सर्वोत्तम उदाहरण हो । त्यसैगरी राष्ट्रवादको एउटा ठूलो उदाहरण प्रतिनिधिसभामा पनि प्रकट भयो । नेपालको भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय हस्तक्षेप हुँदा संसदमा एकमतले चुच्चे नक्सा पारित भएको थियो । यसले राष्ट्रवादलाई प्रखर रुपले व्यवहारमा प्रमाणित गर्दछ ।

    अन्त्यमा लोकतन्त्र समग्र रुपमा एउटा यस्तो मानवीय सभ्यता पनि हो, जसको सामाजिक व्यवस्थाको जग, मानवता, समानता, न्याय र स्वतन्त्रता जस्ता मूल्य मान्यताले बनेको हुन्छ । जहाँ हरेक नागरिकले स्वतन्त्रताको श्वास फेर्छन्, सम्मानको जिन्दगी जिउँछन् र समानताको अनुभूति गर्दछन् ।

    जब अवला, अबोध र निर्दोषको रक्षा गर्न सकिदैन तब लोकतन्त्र अर्थहीन बन्न पुग्छ । विशेषतः लोकतन्त्र भनेको जनताको लागि केन्द्रीत हुने शासन व्यवस्था भएकोले यसले आफ्नो मार्गमा कहीकतै जनतालाई त्यागेर हिड्न, डुल्न र सञ्चालन हुन सक्दैन ।

    लोकतन्त्रको छाती तथा हृदय नै जनताको लागि बनेको हुन्छ । लोकतन्त्रको मुटु भनेको जनताको हाँसो र खुसी हो । लोकतन्त्रको रगत भनेको जनताको इच्छा, आकांक्षा, सपना र कल्पना हो । जसको पूर्ण अंग अर्थात् सिंगो रुप भनेको नै जनताको खुसी, सुख, सम्पन्नता, सम्वृद्धि र वैभवता हो भन्दा अत्युक्ति नहोला ।

  • तारानाथले लेखनाथलाई दिएको एक अधुरो वाचा

    तारानाथले लेखनाथलाई दिएको एक अधुरो वाचा

    २०६९ सालको माघ महिना । चावहिलस्थित घरमा पुग्दा तारानाथ शर्मा घाम तापिरहेका थिए । शरीर बुढ्यौली हुँदै जाँदा जाडोमा पारिलो घाम जति प्यारो के होला ! म पुगेपछि घाम छोडे, उनले । बैठक कोठातिर अघि लागे, पछि लागें म । बैठक कोठाको भित्तामा पुराना तस्बिरहरू लहरै झुण्डिएका थिए ।

    अघिल्लो लाइनका तीन तस्बिरमा माला पहिर्‍याइएको थियो । तस्बिरमा जीवन्त थिए, ‘लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र लेखनाथ पौड्याल ।’

    तारानाथ शर्मा तस्बिर हेर्दै बोले- जो छन्, मेरा ब्रम्हा, विष्णु अनि महेश्वर ।

    रसिलो मिजासका शर्मा भावुक भए । अनि भित्तामा तस्वीर राखिनुको व्याख्या गर्दै गए, ‘उहाँहरूलाई भित्तामा मात्रै होइन, मनमा पनि राखेको छु । जब उहाँहरूलाई देख्छु, म केही गर्ने उत्साहले भरिन्छु । जब एक्लै हुन्छु अनि उहाँहरूकै स्मृतिमा डुबिरहन्छु ।’

    देवकोटा, सम र पौड्यालसँग संगत गरेका डा. तारानाथ शर्माको बैठक कोठामा केहीबेर उनीहरूबारे कुरा गरेपछि उनले जिन्दगीमा आफूले गरेको एउटा अठोट सुनाए- देवकोटा, सम र पौड्यालबारे केही लेखेर मात्रै मर्ने । केही अठोट पूरा गरे उनले । तर जिन्दगीको अन्तिम दिनसम्म आइपुग्दा आफैंले गरेका केही वाचा पूरा भएनन् । वाचा, अठोट सबै पूरा भइदिए मानवले जीवनमा अपूर्णता अनि असफलताको अनुभव पनि कसरी गर्थे होला र !

    उनले देवकोटाबारे पनि लेखे । समबारे लेखिएको कृतिले त साझा पुरस्कार नै पायो । तर, लेखनाथबारेको टिपोट हरायो । हरायो पनि के भन्नु ! तुरुन्तै फर्काइदिने वाचा गरेर लगेका पीएचडी शोधार्थीले उनको टिपोट ल्याइदिएनन् । त्यसै कारण उनले लेखनाथलाई खुसी पार्न गरेको वाचा हरायो, अब त तारानाथ शर्मा नै हराए ।

    उनले कविशिरोमणि लेखनाथ पौड्यालसँग गरेको वाचाबारे अनि आफूले पूरा गर्न नसकेको कारणबारे नौ वर्षअघि यसरी सुनाएका थिए-

    मैले २००९ सालमै कविशिरोमणि लेखनाथ पौड्यालको बारेमा पनि पुस्तक लेख्ने अठोट गरेको थिएँ । उनका छोरा अनन्त मेरा साथी थिए । उनलाई बुबासँग भेटाइमागेँ । तर, कविशिरोमणि बिरामी भएका कारण समय पाउन सकिनँ । एकदिन अनन्तलाई नभनी उनको घर गएँ ।

    सुनेँ, लेखनाथ माथिल्लो तलामा खोकिरहेका । घरका अरुसँग आफ्नो परिचय दिएर कविजीको दर्शन गर्न आएको बताएँ । कविजीले मेरो कुरा माथिबाट सुनिरहेका रहेछन् । ‘को हो ?’ माथिबाटै भने उनले र माथि बोलाए । म गएँ । खाटमा सुतिरहेका कविजी नराम्रोसँग रोए ।

    केदारमान व्यथितबारे लेखेर कृष्णचन्द्रसिंह प्रधानले मदन पुरस्कार पाएका थिए । कविजीलाई पनि आफू बेवास्तामा परेकोमा निकै चित्त दुखेको रहेछ । मैले भनेँ, ‘म लेख्छु कविज्यू ।’

    उनका आँखा रसाए र भने, ‘म जन्मेको सार हुने भयो बाबु ।’ त्यसपछि लेखनाथका पुराना कृति लिएर म फर्कँे । तीन चार दिन लगाएर कविजीसँग मैले कुराकानी पनि सकें । मैले कुराकानी गरेको थाहा पाएर एकजना विद्यार्थीले पिएचडीका लागि सहयोग माग्न आए । फोटोकपी गर्छु भनेर लेखनाथका सबै दस्तावेज लगे । तर, आजसम्म फिर्ता गरेका छैनन् । कतिपट मागें, दिन्छु भन्छन्, तर, फिर्ता गरेनन् । अझै पनि मागिरहेकै छु । मैले कविशिरोमणि पौड्यालको जन्मको सार पूरा गर्ने ऋण अझै चुक्ता गरेको छैन ।

    ०००

    देवकोटा, सम र लेखनाथ आजको पुस्ताका लागि किम्बदन्ती भइसकेका छन् । हुन त यथार्थ चरित्रका पात्रहरू इतिहासको परिधिभित्र मात्र सीमित हुन सक्दैनन् । किम्बदन्तीको सहारामा फैलिन्छन् । देवकोटा कोट फुकालेर माग्नेलाई दिन्थे रे । लेखनाथ रुखको फेदमा बसेर लेख्थे रे । यी आजको पुस्ताका लागि किम्बदन्ती हुन् ।

    नेपाली साहित्यको आजको पुस्ता र किम्बदन्तीबीचको पातलो सीमारेखा थिए तारानाथ । उनले त्यसबेलाको समयलाई अनुभूतिको तीब्रतामा कति उतार्न सके बेग्लै कुरा हो । धरणीधर कोइरालाको आँगनमा बाटो पहिल्याउन उभिएका देवकोटा, सम र लेखनाथलाई बाटो देखाएका जीवित पात्र थिए तारानाथ, जुन आजको पुस्ताका लागि पनि उपलब्ध थिए । अब उनी उपलब्ध हुँदैनन् । किनकि उनको शरीर हामीसँग छैन अर्थात्, उनी अब रहेनन् ।

    त्यो भेटको सुरूआतमै तारानाथले महाकवि लक्ष्मीप्रसाद देवकोटासँगको सामीप्यताको चर्चा गरेका थिए । जहाँ कक्षा पढ्ने किशोरको साहित्यप्रतिको मोह र नेपाली साहित्यका धु्रवताराबीचको मिठो संवादको प्रसंग थियो । सायद त्यही प्रेरणाले नेपाली साहित्यमा नयाँ आयामको बहस चलाउन सके तारानाथले ।

    उनले महाकवि लक्ष्मीप्रसाद देवकोटासँगको पहिलो भेट अनि सामीप्यताको चर्चा सुनाएका थिए-

    २००८ सालको सुरूतिर दार्जलिङमा नेपाली साहित्यको प्रभाव राम्रो थियो । समय समयमा साहित्यक सम्मेलन भइरहन्थ्यो । मैले पनि ‘इलाम’ निबन्ध साथी पत्रिकामा छपाइसकेको थिएँ । कविता, निवन्ध लेखनमा चासो बढ्न थालिसकेको थियो । हामी साहित्यिक भित्तेपत्रिका निकाल्ने गथ्र्यौँ । नेपाली भाषा प्रचारक संघले साहित्य सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रमका अगुवा नरेन्द्रनाथ बास्तोला थिए ।

    त्यो कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र लेखनाथ पौडेल पनि आउने भन्ने थाहा पाएँ । म खर्साङको क्रिश्चियन स्कूलमा पढेको थिएँ । फादरले बिनाकारण होस्टलबाट निस्केको थाहा पायो भने कारबाही गर्थ्यो । मलाई भने देवकोटासँग कतिबेला भेटौँ भइरहेको थियो । होस्टलको रुम पार्टनरलाई फादरले सोध्यो भने इलामबाट आफन्त बिरामी भएर ल्याएकोले दार्जलिङ गयो भनिदिनू भनेर लगाएँ र बिहानै उठेर लागेँ दार्जिलिङ ।

    छ आनाको टिकट काटेर बिहान छ बजे खर्साङबाट हिँडेको थिएँ, साढे छ बजे दार्जलिङ पुगेँ । सरासर, बास्तोलाको घरतिर गएँ, देवकोटा त्यही बसेको थाहा पाएको थिएँ । तर, आँगनमा कोही थिएनन् । सुनसान घर, मान्छे कोही नदेख्दा एकमनले म भूलमा परेछु झैं पनि भयो । आँगनमा पुगेर एकैछिन अडिएँ, यसो माथि हेरेको तलामा खासखुस गरेको सुनेँ । आँगनबाटै भर्याङ थियो । म विरालो चालमा लुसुलुसु भर्‍याङ चढेँ । माथि पुग्न नभ्याउँदै भिमबहादुर ओर्लिए । मलाई देखेर हप्काएको शैलीमा भने, ‘किन आ’को एकाबिहानै ?’ भनेँ, ‘महाकविको दर्शन गर्न ।’

    ‘महाकविलाई त्यसै कहाँ भेट्न पाइन्छ ?’ भीमबहादुरसँग मेरो कुरा नसकिँदै मेरा देवता ओर्लिए । ‘कसलाई खोजेको ?’ महाकविले नै सोधेपछि मलाई अलि शक्ति आयो । भनेँ, ‘महाकविलाई खोजेको, दर्शन गरुँ भनेर ।’ जवाफमा मैले प्रयोग गरेको दर्शन शब्दले म दार्जलिङको होइन भनेर महाकविले ठम्याए । भने, ‘ओहो बाबु, तिमी त यहाँका होइनौ ।’

    काँधमा तौलिया राखेर हातमा ब्रस र एक लोटा पानी बोकेर ओर्लिएका थिए देवकोटा । उहाँको हातको लोटा समाउँदै इलाम घर बताएँ । कहाँ पढ्ने, अहिले कहाँ बस्दै गरेको सोध्न थाले । म बताउँदै थिएँ, भिमबहादुरले फेरी हकारे, ‘महाकवि ज्यू, सिन्चेल लेक जान ढिला भइसक्यो । आधा घण्टादेखि सबैजनाले हजुरलाई नै कुरिरहेका छन् ।’

    ऊतिर फर्केर देवकोटाले भने- ‘ज्ञवाली जी, तपाईंलाई हतार छ भने जानुस्, म भोलिको नेपालसँग कुरा गर्छु ।’ मलाई अँगालो मार्दै पकेटमा भएको कागजतिर हेरेर देवकोटाले सोधे- ‘तपाईं पनि कविता लेख्नुहुन्छ हो ?’ मैले हो भनेर कापी निकालेँ, देवकोटाले मेरो कापी हातमा लिए अनि लेखे-

    ‘कविता सविता मेरी ल, विता ल, विता भनेँ
    त्यसैको प्रेमले जल्दै आगो आँशु दुवै बनेँ ।’
    लक्ष्मीप्रसाद देवकोटा, १२ मार्च १९५४ ।

    लेखेपछि उनले हरफको व्याख्या गरे ‘नदीजस्तो छङछङ बग्ने कविताले मलाई डुबायो । त्यसको प्रेमले वेदना र पीडा पाएँ । त्यसैले बाबु कविता नलेख्नू ।’ मलाई अझै भन्न मन लागेको थियो भनेँ, ‘म कविता मात्रै होइन, तपाईंले लेख्नुभएको निन्द्राजस्तै निबन्ध पनि लेख्छु ।’

    देवकोटा मलाई अर्कै बाटो देखाउन लागे, ‘ल ठिक छ त्यसो भए । तर, तिमी भोलि गएर इन्जिनियर बन्नुपर्छ, हेर, हाम्रो देशमा खोला छन्, साँघु कतै छैन । बर्खामा एक गाउँबाट अर्कोमा जान मिल्दैन । स्कूल बनेका छैनन् । तिमीले त इन्जिनियर बन्नुपर्छ ।’ यति भनेर उनी गए म लाटिएर देवकोटा गएको हेरिरहें ।

    संयोगले महाकवि भएको साहित्य सम्मेलनमा म पनि स्वयंसेवकको रुपमा सहभागी हुने मौका पाएँ । तर, कार्यक्रममा व्यक्तिगत कुरा गर्ने मौका मिलेन । कार्यक्रम सकिएपछि भोलिपल्ट बिहान उनीहरू बसेको होटेल थाहा पाएर गएँ । खाना खाने बेला रहेछ । देवकोटा र सम भुइँमा राडी ओच्छ्याएर खाना खाइरहेका । लेखनाथ पौड्याल चाँही धोती फेरेर कसैलाई नछोइ कुर्सीमा बसेर खाँदै थिए । म हेरिरहेको थिएँ, महाकविको थालमा भात सकियो, तैपनि उनी थाल चाटिरहेका ।

    उनको चाला देखेर समले भने ‘महाकविज्यू, खानेकुरा सकियो ।’ जवाफमा देवकोटा बोले, ‘यस्तो मिठो फेरि कहाँ पाइन्छ ।’ उनी अझै थाल चाटिरहेका थिए । म भने तीनजना साहित्यकारहरूको त्यो व्यवहारबाट प्रभावित भएँ । त्यतिबेला मनमनै अठोट गरेँ, ‘तीनैजनाको बारेमा एउटा-एउटा किताब लेखेर मात्रै मर्छु ।’

    ०००

    आजको साहित्यको जीवन कण्ठस्थ (घाँटीमा मात्रै सीमित) मात्रै छ । एकपटक पढेपछि त्यसको गहिराइ भेटिन्छ । अथवा सतहभन्दा केही मात्रै भित्र छिरेका हुन्छन् । तर, हिजोको त्यो सिर्जनाकालमा साहित्यको जीवन हृदयस्थ ९मुटुमा गढ्ने खालको० हुन्थ्यो । त्यो हृदयको गहिराइमा प्रवेश गर्थ्यो, त्यसैले त्यसको प्रभाव आज पनि छ । त्यसले उत्पन्न गर्ने भावनात्मक उद्वेलन अझ पछिल्लो कालसम्म बाँच्ने छ । जुन गहिराइमा देवकोटा, सम अनि पौड्यालहरू बाँचे । उनीहरूका जिवन्त सिर्जनाले तारानाथहरूलाई साहित्यको पदचाप पछ्याउन प्रेरित गरिरह्यो ।

    तिनै हृदयस्थ सिर्जनामध्ये सम र समका कृति पनि हुन् । जसले तारानाथ शर्मालाई साझा पुरस्कार दिलायो । अझ नजिक त समसँग बनायो । उनले बालकृष्ण समसँगको निकटता पनि बाँडेका थिए-

    काठमाडौं आएपछि केही समालोचना लेख्न थालिसकेको थिएँ । त्यही बेला बालकृष्ण समको चिसो चुह्लोमाथि ‘चिसो चुह्लो, झुसिल डकार’ शीर्षकमा समालोचना लेखें । समले त्यसलाई प्रशंसा गरे, ‘तपाईँले एकदमै सही समालोचना गर्नुभयो । अब म पाठकको स्तर हेरेर मात्रै लेख्छु ।’ मैले उनको बारेमा पुस्तक निकाल्ने अठोट विद्यार्थी अवस्थामै गरेको पनि बताएँ । त्यसपछि समले घर बोलाए । लगातार चार महिनाजति उनको घर गएँ अनि ‘सम र समका कृति’लेखेँ । पछि त्यही कृतिले नै २०२९ सालमा साझा पुरस्कार पाएँ ।

    ०००

    अस्तिसम्म तारानाथ शर्मा वर्तमान थिए । आज, केही पूरा र केही अधुरा वाचासहित विगत भइसके । तर, उनले ल्याएका झर्रो लेखन अभ्यास, उनले नेपाली समालोचनामा दिएका योगदान र साहित्यको दरिलो सिर्जनात्मक झंकारले अबको पुस्तालाई झक्झक्याइ रहने छन् ।

    नेपाली समाजमा ‘एन्टीकरेन्ट’ भएर स्थापित हुन निकै कठिन छ । अझ साहित्य वाहीवाही गरिदिनेबाट स्थापित हुने ट्रेण्ड सेट भइसकेको छ ।

    तारानाथ शर्माले आफ्नो समय आलोचनालाई सिर्जनाले चिर्दै नेपाली साहित्यमा नयाँ प्रयोग स्थापित गरिदिए । आज हामीमाझ छैनन् । तर, उनले दिएका यिनै फरक सिर्जनाका साथ सामीसँगै जनजीवनमा छन् ।

  • महिनावारी कप: नारीलाई चार दिनको अछुतबाट मुक्त गराउने भाँडो हुन सक्ला ?

    महिनावारी कप: नारीलाई चार दिनको अछुतबाट मुक्त गराउने भाँडो हुन सक्ला ?

    स्कुलबाट फर्कँदै गर्दा एक्कासी शरीरमा असहज महसुस भयो । हतार–हतार घर पुगेर ट्वाइलेट गएपछि थाहा भयो, मिन्स भएको रहेछु ।

    पहिलोपटक मिन्स भएपछि छुट्टै कोठामा बस्नुपर्ने कुरा थाहा पाउन हामीलाई आफैं मिन्स हुन पर्दैनथ्यो । छिमेकका दिदीहरु पहिलोपटक मिन्स भएपछि अरुको घरको छुट्टै कोठामा बस्ने गरेको देखेका थियौँ । त्यसैले होला पहिलो रजस्वलामा अरुको घरको कोठामा लुक्नुपर्छ भन्ने कुरामा मानसिक रुपले नै तयार थिएँ । अरुको घरमा बस्ने थाहा भए पनि कस्को घरमा बस्न पाउने हो, त्यसको निधो भने रजस्वला भएकै दिन मात्र थाहा हुन्थ्यो ।

    उमेरले सानै भएर होला, यो चलनको विरोध गर्नुपर्छ भन्ने हामीलाई थाहा भएन । या त हामीभन्दा अग्रज दिदीहरुले त्यहीं परम्परा धानेर बसेकोले होला हामीले पनि चुप लागेर नै छोरा मान्छेको (विशेषगरी बुबा, काका, दाजुभाइ र मामा)को मुख हेर्न नहुने कुरा पत्याइरह्यौं ।

    मलाई कोठामा थुनिएको चौथो दिन थियो । सबैजना हतार–हतार घरधन्दा छिनेर चिटिक्क पर्न थाले, नजिकैको गाउँमा विहेमा जानको लागि । मलाई थाहा थियो, घरका छोरा मान्छेको अनुहार हेर्न हुन्न भनेर । कोठामा थुनिएकी म त्यो विहेमा सहभागी हुन पाउँदिन तर पनि मनमा झिनो आस बोकेर मैले सोधीटोपले, ‘म पनि विहेमा जान्छु नि, बरु हजुरहरु गएपछि आउँछु अनि टाढा बसेर हेर्छु ।’ ‘हुन्छ’ भन्नु त परको कुरा सबैले मेरो खिल्ली पो उडाए । चिटिक्क परेर सिँगारिएका ती अनुहारले मभित्रको उराठपन देख्न सकेनन् ।

    महिना सकिनै लागेको थियो तर अब मलाई अर्को महिनाले पिरोल्न थालिसक्यो । कसरी चाहिँ थाहा नदिने होला, म मिन्स भएको कुरा । मलाई ‘बार्नु’ नै छैन । आफूलाई जान मन लागेको, खान मन लागेको र गर्न मन लागेको सबै कुरा रोकिदिने यो रजस्वलालाई म आफैंले रोकिदिउँ जस्तो लागिरहेको थियो । परिवर्तन गर्न सकिने मेरो समाज त मेरो बसमा थिएन म भने प्रकृतिलाई ‘च्यालेन्ज’ दिनेबारे सोच्दै थिएँ ।

    त्यो दिन मैले महसुस गरे, यो महिनावारि भन्नेले त कति पारि पो पुर्याउँने रहेछ । मनका इच्छा मारिदिँदो रहेछ अनि सबैबाट एक्लो पारिदिँदो रहेछ । भर्खरै मात्र सुरु भएको महिनावारि रोकिने दिन कहिले आउला जस्तो भयो मलाई ।

    अहँ ! मलाई यो महिनावारि पटक्कै मन परेन । त्यो दिन मेरो अगाडि आएर जो–जो रमाउँदै थिए, उनीहरु सबैसंग रिस उठ्यो । ‘अब अर्को महिना मिन्स हुँदा त म कसैलाई पनि भन्दिनँ, सबैसँग बसेर खाइदिन्छु । मिन्स हुँदा जे–जे नगर्नु पर्ने काम हो, त्यो सबै गरिदिन्छु । कसले के गर्दो रै’छ हेरुम् न !’ आफैसँग मुर्मुरिँदै ढोकालाई रिस पोखेँ । मेरो आवाज नसुने पनि सुने होलान्, ढोकाको आवाज त !

    ११ दिनपछि यो महिनाको लागि चोखिएँ अरे । मैले सबैको स्वीकृति पाएँ बाहिर खुलेर हिँड्न । त्योभन्दा पहिला त केटा मान्छेले चाहिँ म वरिपरि छु भन्ने वास्ता नगर्दा पनि उल्टै मैले परैबाट कोही आउँदैछ भनेर लुकिदिनु पर्ने रे ! भोकाएको शेर देखेर बाख्रा लुकेको जसरी ।

    महिना सकिनै लागेको थियो तर अब मलाई अर्को महिनाले पिरोल्न थालिसक्यो । कसरी चाहिँ थाहा नदिने होला, म मिन्स भएको कुरा । मलाई ‘बार्नु’ नै छैन । आफूलाई जान मन लागेको, खान मन लागेको र गर्न मन लागेको सबै कुरा रोकिदिने यो रजस्वलालाई म आफैंले रोकिदिउँ जस्तो लागिरहेको थियो । परिवर्तन गर्न सकिने मेरो समाज त मेरो बसमा थिएन म भने प्रकृतिलाई ‘च्यालेन्ज’ दिनेबारे सोच्दै थिएँ ।

    अर्को महिनाको रजस्वलाई पनि कपडाको पारदर्शिताले कहाँ पो छेक्न सक्यो र ! म वरिपरि नभए पनि वा मैले कसैलाई नभने पनि सुकाउन भनेर टाँगिएको कपडाले आउने–जाने सबैलाई भनिसकेको हुन्थ्यो, म मिन्स भएको खबर ।

    स्कुलमा ४–५ घण्टा एउटै कपडाको भरमा बस्नु पर्ने, प्रत्येक कक्षा सकिँदैपिच्छे ‘ओई, मेरो स्कटको पछाडि रगत लागेको छ कि हेर्दे ल’ भनेर कुनै न कुनै साथीलाई ड्युटीमा खटाएका हुन्थ्यौँ । यो ड्युटी हामी एकअर्काको पालामा मिलिजुली गर्थौं । यदि स्कटमा रगत लागेको छैन भने उसले निर्धक्कसँग भन्थी ‘छैन छैन हिँड्, ट्वाइलेट गएर कपडा मिला ।’ यदि रगत लागेको रै’छ मात्र भने उसले बरु स्कटमा लागेको रगत किन त्यति रातो होला र, त्योभन्दा रातो अनुहार बनाउँदै भन्थी, ‘ओई तेरो त रगत लागेछ हेर न, बेन्चमा पनि पो लागेछ ।’

    ‘ला अब के गर्ने ? कापीको पाना च्यातेर पहिला बेन्च पुछपाछ गर्थौँ । साथीले आफू पछिपछि बसेर मलाई ट्वाईलेटसम्म पुर्याउँथी ।

    सुन्नेको लागि कथा लाग्ने कपडाका कुरा भोग्नेहरुका लागि भने पीडा नै थियो । महिनावारिको समयमा शरीरमा हुने चिडचिडाहट त छँदैछ, यस्ता खालका मानसिक पीडासमेत भोग्नुपर्ने बाध्यता थियो ।

    प्रत्येक कक्षा सकिँदैपिच्छे ‘ओई, मेरो स्कटको पछाडि रगत लागेको छ कि हेर्दे ल’ भनेर कुनै न कुनै साथीलाई ड्युटीमा खटाएका हुन्थ्यौँ । यो ड्युटी हामी एकअर्काको पालामा मिलिजुली गर्थौं । यदि स्कटमा रगत लागेको छैन भने उसले निर्धक्कसँग भन्थी ‘छैन छैन हिँड्, ट्वाइलेट गएर कपडा मिला ।’

    यस्ता समस्या धेरै ठाउँमा अझै उस्तै होलान् । हाम्रो समाजमा अझै यस्ता प्रशस्तै ठाउँहरु छन्, जहाँ कपडाले झन्झटिलो बनाएको महिनावारिलाई छोईछिटो र छाउपडीले झन् धेरै बोझिलो बनाएको छ ।

    मिन्स भएको केही वर्षपछि थाहा पाएँ, कपडाभन्दा सजिलो र राम्रो प्याड पाइन्छ तर पैसा लाग्छ । समय समयमा फेर्न पाइने, धुन पनि नपर्ने, लगाउन पनि सजिलो, खाजाको पैसा बँचाएर भए पनि प्याड लागाउने भयौं हामी । प्याड किन्नको लागि पैसाको जोहो गर्न केही गाह्रो भए पनि कपडाको प्रयोगबाट मुक्ति पाउनेमा निकै खुसी थियौं ।

    अझ त्यसमा पनि महिनावारि बार्नेको विरोधमा लागेकी म भने मिन्स भएको खबर दिने कपडाबाट छुटकारा पाएकोमा निकै रमाएकी थिएँ । तर प्याड लगाउँदा पनि घर परिवारले थाहा नपाउने भन्ने त कहाँ हुन्थ्यो र ? घरमा पैसा माग्दा ‘किन चाहियो’को उत्तरमा आफैं आउँथ्यो म मिन्स भएको कुरा ।

    तर जब आफैसँग बचाएर राखेको पैसा हुन थाल्यो तब भने मैले आवश्यकता अनुसार मिन्स भएको कुरा कसैलाई नभनी विभिन्न कर्यक्रमहरुमा सहभागी पनि भएकी छु । प्याडले अलिकति भए पनि महिनावारि छोईछिटोको विरोध गर्न पाउने अवसर दिएकोमा खुसी थिएँ ।

    सायद यो पढिरहने धेरैलाई लाग्नसक्छ, प्याड लगाएर वा मिन्स भएको बेलामा छोईछाई गर्नु पाप हो । तर मलाई लाग्छ– मिन्स हुनु नै एउटा पवित्र काम हो । अनि त्यो पवित्र भएको समयमा कुनै काम गर्न म अपवित्र भएँ भन्दै पर सर्नु चाहिँ पाप हो ।

    कपडाको प्रयोगले हैरान भएको बेलामा प्याडले साथ दियो अनि प्याडभन्दा पनि सजिलो हुने थाहा पाएपछि मैले केही समय अघिदेखि ‘मेन्सुरेसन कप’ प्रयोग गर्न थालेकी छु । कपको प्रयोगले एउटा छुट्टै अनुभव त गरें नै, साथमा कपडाको कारणले नहटेको महिनावारि बार्ने कु–संस्कारलाई अब कपले पो हटाउन सक्छ कि ! भन्ने झिनो आश पनि पलाएको छ । कारण– रगत व्यवस्थापन ।

    मिन्स भएको केही वर्षपछि थाहा पाएँ, कपडाभन्दा सजिलो र राम्रो प्याड पाइन्छ तर पैसा लाग्छ । समय समयमा फेर्न पाइने, धुन पनि नपर्ने, लगाउन पनि सजिलो, खाजाको पैसा बँचाएर भए पनि प्याड लागाउने भयौं हामी । प्याड किन्नको लागि पैसाको जोहो गर्न केही गाह्रो भए पनि कपडाको प्रयोगबाट मुक्ति पाउनेमा निकै खुसी थियौं ।

    योनिभित्र नै कप रहने भएकोले रगत बगेको महसुस नै भएन । जसले गर्दा सिकसिको लाग्ने, झर्को लाग्ने, शरीर भारी भएको महसुस हुने, झिँजो लाग्ने जस्ता मानसिक तनावबाट पूर्णरुपले छुटकारा मिल्यो । सायद रगतसँगै मानसिक पीडा पनि कपमा जम्मा भयो होला । त्यसो त अझै पनि मानसिक पीडाको सबैभन्दा ठूलो जरो महिनावारि छोईछाई भाँचिन त बाँकी नै छ ।

    थाहा छैन त्यति दरिलो जरोलाई कपले भाँच्ला– नभाँच्ला ! तर मेरो समाजले मलाई बुझाएअनुसार जब प्रत्येक महिना एउटी महिलाको पाठेघरबाट रगत बाहिरिन्छ तब त्यो रगतका करणले ऊ महिनाको ४–५ दिन अछुत हुनु नपर्ने हो ।

    यदि पाठेघरभित्र हुन्जेल चोखो भएको रगत योनिबाट बाहिर निस्किँदैमा अछुतो हुने हो भने वा रगत बाहिर निस्केकै कारण बार्नु पर्ने, पर बस्नु पर्ने हो भने कप त नेपाली नारीहरुको लागि बरदान सावित हुने रै’छ ।

    मिन्स भइरहेको महसुस नै हुन नदिन कपले शारीरिक पीडा जस्तै थकान, ढाड, पेट दुख्ने समस्या त कम नगर्ला तर मानसिक चिडचिडाहट भने पक्कै कम गर्छ ।

    वर्षमा कम्तिमा पनि पाँच हजारको प्याड प्रयोग गर्ने हाम्रा लागि पाँच सयदेखि हजार रुपैयाँको कपले १० वर्षसम्म साथ दिन्छ । प्याड व्यवस्थापनको झन्झट पनि नहुने र मिन्स भएको महसुस पनि नहुने भएपछि के थाहा समाजले अछुतो पनि बनाउँदैन कि !

     

  • कविता- गुड बाई

    कविता- गुड बाई

    तिमीलाई बिदा गर्न
    कुनै रोमान्टिक कविको
    कविताले नै
    काम चल्ने हो ।

    दुर्भाग्य !
    म फरक तरिकाले सोच्छु
    जुन मेरो आदत हो ।

    कुनै डाँकु होस् या सन्त
    उसको अन्तिम सहारा
    कविता हो
    बिदाइको यो शुन्य घडीमा
    म कविता लेखिरहेछु ।

    मलाई प्रेम गर्नुमा बारबार अपराध
    बोध हुन्छ
    क्वाँक्वाँ रुन नसकेर यो ‘कन्फेसन’
    लेखिरहेछु ।

    च्यात्दै सेन्डोभेष्ट
    सडकमा चिच्याउँदै
    निस्कन नसकेर
    कुनै बौलाही आमाले झैं
    आफ्नै नाबालाक छोराको
    घाँटी थिच्न नसकेर
    पूरै म सत्य लेखिरहेछु ।

    तिम्रो नाममा यो अन्तिम
    तर
    पहिलो कविता हो ।

    प्रथम रजस्वलाको
    रगत जस्तो
    यो कविता विल्कुल काँचो कविता हो ।

    म यो कवितालाई संसोधन
    गर्ने छैन
    म यो कवितामा कुनै फूलबुट्टा भर्ने
    छैन
    म यो कविता कुनै
    समालोचकलाई छुन
    दिने छैन ।

    मलाई आज सा¥है रिस
    उठेको छ

    कविता लेखिरहेछु ।

    यो कविता–
    कुनै क्रान्तिकारी कविले
    धार्नी र बिसौलीमा
    विम्ब
    जोखी जोखी लेखेको
    कविता होइन ।

    यो कविता
    कुनै कृष्णभक्ति
    धाराको कविले
    बिहानै गङ्गा–स्नानपछि
    पवित्र चन्दन धसेर
    पलेंटी मारेर
    सोचेको कविता पनि होइन ।

    यो कविता मध्यरातमा
    सर्वाङ्ग
    नाङ्गो भएर लेखिएको
    कविता हो ।

    यो कविता
    लड्दै छट्पटाउँदै उठ्दै
    मर्दै बाँच्दै लेखिएको
    यो समयकै जिउँदो
    कविता हो ।

    मैले यो कविता लेखिरहँदा
    निद्रामा मस्त
    मेरो बच्चासमेत
    दुईपटक हाँस्यो ।

    म जे लेख्दैछु साँचो– सही–सलामत
    लेख्दैछु
    हुन त यावत्
    व्यहोरा नलेखे पनि हुने
    थियो ।

    तर, लेखेँ–
    यति लामो कवितामा
    मैले भन्नु पर्ने
    त एउटा सरल वाक्य न हो
    जुन संसारकै जटिल भाषा हो ।

    त्यो अब म लेख्छु–
    ‘‘म तिमीलाई प्रेम गर्छु !’’

    म यसलाई हजारौंपटक
    लेख्न चाहन्छु ।

    तर, जिन्दगीमा यति यथेष्ट ‘टाइम’
    र ‘स्पेस’ हुन्न
    वश् १ एकैखेप दोहो¥याउँछु !
    ‘‘म तिमीलाई प्रेम गर्छु !’

    यो कविता
    मेरो एकतर्फी प्रेमको
    चिहान हो
    अब म तिमीलाई चक्कु हान्छु !

  • हो, हामीलाई धेरै दुःख छ बरै !

    हो, हामीलाई धेरै दुःख छ बरै !

    १. जनयुद्धमा १७ हजार नागरिकको संहार गरेर त आएको हो। करिब तीन करोडमा यो कुन ठूलो संख्या हो ? मैले ५ हजारको जिम्मजमानी लिइसकें। तैपनि  मैले शान्तिका कुरा गर्दा मानिसहरू किन हाँस्ने ? यसपालि फागुन १ गतेको जनयुद्ध दिवस म, देउवाजी र माधवजीले न्यायालयमाथि छापामार हमला गरेर मनाएको संकेत बुझ्नुपर्ने होइन ?

    २. म केवल ३३ वर्षदेखि महामन्त्री र अध्यक्ष भइ पार्टीको मूल नेतृत्वमा बिराजमान छु। शाहहरूले २४० बर्ष राष्ट्रप्रमुख, राणाहरूले १०४ वर्ष सरकारप्रमुख  र मोहनविक्रमजीले  ‘सामाजिक शिक्षा’ विषयमा कारबाही पर्दासमेत गरी ४७ वर्षदेखि निरन्तर कम्युनिस्ट पार्टीको महामन्त्री सम्हालिरहनु भएको छ । मैले त अध्यक्ष, महामन्त्री र महासचिव गरी जम्मा जम्मी ३३ वर्ष मात्रै त हो । अनि मैले जनवाद र लोकतन्त्रका भाषण गर्दा नपत्याउनु ? अस्ति भर्खर आठौं महाधिवेशनमा लोकतन्त्रको सुन्दर अभ्यास गरेर फेरि आफै सर्वसम्मत भएको छु । ओली चितवनमा सर्वसम्मत हुनसके ? सकेनन् नि ! म त सम्मेलन भन्दै भन्दै झ्याप्प महाधिवेशन गरेर सर्वसम्मत भएँ। यो महान् छलाङसम्म नबुझ्ने कस्ता साथीहरू ?

    ३. अहिले ठेकेदार शारदाप्रसादको रामझुपडीमा र यसअघि सुमार्गीजीका आफन्तको सौजन्यमा निःशुल्क भाडामा बसेर सादा जीवन बिताएको छु। मैले उच्च क्रान्तिकारी भाषण गर्दै हिँड्दा किन कर्णप्रिय मानेर नसुनी नुवाकोट र नगरकोटको बाटोको ठेक्का लिएर काम नगर्ने ठेकेदारको डेरावाला भनेर उडाउने ? यसो गर्न मिल्छ ?

    ४. मेरो परिवारका सबै सदस्य (छोरी, ज्वाइँ र बुहारी)लाई एकएक वटा राजकीय नियुक्ति र जिम्मेवारी मात्रै त दिएको हो, विरोधीहरूले त्यसलाई दाहालतन्त्र भनी बेकारमा खेदो खन्ने गर्छन्, जनयुद्ध मेरो नेतृत्वमा भएको हो, जसको नीति उसको नेतृत्व र मौरी काढ्नेले नै मह चाट्छ भन्ने पनि नबुझ्ने ? उत्तर कोरियामा किम इल सुङले क्रान्तिको नेतृत्व  गर्नुभयो, आज नातिले राष्ट्रपति र महान् नेता भएर नेतृत्व गरिरहेका छन्। प्रकाश गइहाले, नत्र यहाँ पार्टीको भावी नेतृत्व उनैले सम्हाल्नसक्ने प्रचूर संभावना देखिरहेको थिएँ।हामीले राजतन्त्र फालेर स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रमा बिना मन्त्री नभएर हिमानी त हुने होइन नि ! हाम्रो यति सुन्दर अभ्यासको पनि साथीहरूले प्रशंसा नगर्ने ?

    ५. एमसीसी संझौता २०७४ मा देउवाजीलाई मैले प्रधानमन्त्री बनाएपछि महराले वार्ता गरी टुंग्याएर हाम्रै सल्लाहमा ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा सही गरेको हो। अहिले फेरि ओलीलाई हटाएर मैले देउवाजीलाई नै  प्रधानमन्त्री बनाएपछि ४–५ महिनाभित्र संसदबाट अनुमोदन गराउने भनी लिखित कबुलियतनामा पठाएको हो । मने, त्यसबापत हामीले के पाउने हो ? यतिका समय लिंदा पनि कुरा प्रष्ट नभनिदिएपछि यहाँ राँके जुलुश निकाल्न र विरोध गर्न त मैले नै लगाएको हो ! जनताको भावनालाई बुझ्ने म जस्तो अत्यन्त भावुक र विशेष संवेदनशील नेतृत्वलाई उल्टै प्रहार गर्ने ? युद्ध अपराधमा कारबाही नगर्ने भनी अमेरिकीहरूले हामीलाई लिखित कबुल गर्नुपर्दैन त ?

    ६. सर्वोच्च अदालत र त्यसका प्रधानन्यायाधीशले त गठबन्धनको लाचारछायाँजस्तै बनेर पो काम गर्नुपर्छ। हामीले जेजे भन्छौं, परमादेशजस्तै सोसो पो फैसला गरिदिनुपर्छ। ‘मैले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने र माधवजीले आफ्ना मावली ईश्वर खतिवडा’लाई भावी प्रधानन्यायाधीशको लाइनमा राख्ने, त्यसको लागि चोलेन्द्र श्रीमानले राजीनामा दिने वा घरबिदामा बस्ने मात्र त भनेको हो, त्यति पनि नमानेपछि अदालतमा अराजकता, विकृति र बेथिति बढाएको दोषमा उनीमाथि महाअभियोग दर्ता गर्नु परेन ? यसका निम्ति देउवाजीलाई शनिबार कुन दुःखले मनाइएको छ भनेर नबुझिदिने ?

    ७. हामी (मोहनजीसमेत)ले जीवनभरि कम्युनिष्ट पार्टीको पसल थापेर अहिले देउवाजीको नेतृत्वमा समाजवादको आधार तयार गर्ने क्रान्तिकारी काम गरिरहेको सामान्य कुरा समेत नबुझ्ने हो त ? यति कुरा पनि नबुझेकाहरूले के राजनीति गर्नु ? कति मेहेनतले यसमा माधवजी, झलजी, विक्रमजी, केसीजी र दुर्गाजीहरूलाई समेत सहमत गराइएको छ । हामीले सकेनौं र सक्दैनौं, ओलीलाई त दिनै भएन, उनी हामीले भनेभन्दा भिन्न देश बनाउने प्रतिगमनको बाटोमा पो लागे ! अब तपाईंले हाम्रो नेतृत्व गरेर कम्युनिस्ट सत्ता र समाजवादचाहिं ल्याउनैपर्यो भनेर देउवाजीलाई सहमत गराएर सात महिनादेखि उहाँको छत्रछाँयामा हामी छौं ! यस तथ्यको आधारमा सत्यमा पुग्न नसक्ने पनि वामपन्थीहरू हुन्छन् ?

    ८. अब अग्निप्रसादजीले एमसीसी प्रतिनिधिसभामा टेबुल गर्नुपर्छ। ओलीलाई सताउन र असफल बनाउन उहाँहरू (महरा र अग्निजी)ले विशेष जिम्मेवारी पूरा गरिसक्नु भयो। देउवाजीलाई तर्साएर महाअभियोग दर्ता गर्ने ठाउँमा ल्याउन पनि सफल भूमिका खेलिसक्नुभयो, यसको पार्टीले उच्च मूल्यांकन गर्दै दीपक कार्की नेतृत्वको सर्वोच्चबाट युद्धकालीन विचाराधीन मुद्दामा उन्मुक्ति र सफाइ दिलाउने फैसला छिटोभन्दा छिटो गराइने छ।

    तर अब एमसीसी ओलीले भोट हालेर पारित गराइदिनुपर्छ, त्यसका निम्ति म सानो बनेर बालकोट जान पनि तयारै छु । राजनीतिमा यस्तो गर्न सक्नुपर्छ। अनि देउवाजीले उहाँको नेतृत्वको गठबन्धन कायम राखी चुनावमा लगेर हामीलाई जिताउने जिम्मेवारी पनि पूरा गर्नुपर्छ। नत्र त हामी न क्रान्तिकारी रहन्छौ न त चुनाव जितेर संसदमा आउनसक्ने अवस्थामै छौं । उहाँहरू दुवैजनाले त्यसो नगरे त हामी चुनावमा जाँदैनौं, फेरि जंगल जान्छौं।

    यसपालि जंगल जाँदा माधवजी र विक्रमजीसहित उहाँहरूका सबैलाई साथमै लैजाने कोशिस गर्छौं ! अनि हेर्नुहोला !

  • ‘झरनाजस्तो कलकल बग्नुपर्छ प्रेम’

    ‘झरनाजस्तो कलकल बग्नुपर्छ प्रेम’

    आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस । आफ्ना प्रेमी–प्रेमिकासँग घुम्ने, डुल्ने, प्रेमालाप गर्ने दिनको रुपमा आजको दिनलाई बुझ्ने गरिन्छ । भनिन्छ, प्रेम गर्नेहरुका लागि न कुनै पर्वको आवश्यकता छ, न कुनै उत्सवकै । प्रेम गर्नेहरुले सधैं, हरेक दिन, हरेक पल प्रेम गरिरहन्छन् । तैपनि आजको दिन प्रेमी–प्रेमीकाका लागि प्रेमिल, स्वप्नील दिन हो ।

    भनिन्छ, प्रेम भन्ने चिज प्रेम गर्नेहरुका लागि मात्रै भव्य होइन, लेख्ने, बोल्ने, कोर्ने, खिच्ने स्रष्टाहरुका लागि झनै ठूलो विषय हो । कतिपय स्रष्टाहरु प्रेम गर्नुभन्दा पर रहेर प्रेमकै विषयमा पेन्टिङ कोरेर, प्रेमकै विषयमा सिनेमा बनाएर पनि स्थापित भएका छन् । आख्यानकार सुविन भट्टराई पनि प्रेमका कथा लेखेरै स्थापित लेखक भए ।

    भट्टराई यसरी शब्दहरु बुन्छन् कि पठकहरु यसैयसै मदहोश भइजान्छन् । उनका पुस्तकको पहिलो पाना पल्टाएका पाठक अन्तिम पाना पल्टाएपछि मात्रै किताबलाई बन्द गर्छन् । यसैकारण पनि सुविन पाठकमाझ लोकप्रिय छन् । पाठकका प्रिय छन् ।

    भट्टराई लेख्न मात्रै होइन, अफूले लेखेका प्रेमकथाहरुमा जिउन पनि रुचाउँछन् । हरेक अक्षरहरुलाई प्रेमले किबोर्डमा थिच्छन् । जतिजति अक्षर थिच्दै जान्छन्, उतिउति शब्द बन्दै जान्छन् । जतिजति शब्द बन्दै जान्छन्, उतिउति ती शब्दहरु प्रेमिल बन्दै जान्छन् । साहित्यप्रति कुनै रुचि अथवा चासो नभएका पाठकका लागि पनि भट्टराई यस्ता लेखक हुन्, जसको लेखनीको आकर्षणले उनीहरु तानिँदै जान्छन् । सुविनका शब्दजालमा उनिँदै जान्छन् ।

    भट्टराई यसरी शब्दहरु बुन्छन् कि पठकहरु यसैयसै मदहोश भइजान्छन् । उनका पुस्तकको पहिलो पाना पल्टाएका पाठक अन्तिम पाना पल्टाएपछि मात्रै किताबलाई बन्द गर्छन् । यसैकारण पनि सुविन पाठकमाझ लोकप्रिय छन् । पाठकका प्रिय छन् ।

    अक्षरमा मात्रै नभएर वास्तविक जीवनमा पनि प्रेमिल स्वभाव छ सुविनको । ‘प्रेम’ नामक शब्दको व्याख्या जति गरे पनि थाक्दैनन् । प्रेममाथिका सवालमा उनले एकै जवाफ छ,– ‘प्रेमको जवाफ दिनु मुस्किल काम हो ।’

    सुविनलाई सानैदेखि लेखनमा रुचि थियो । कलेज पढ्दाताका धेरै प्रेम पत्रहरु लेखे । कत्ति आफ्ना लागि लेखे, कत्ति अरुका लागि लेखे । प्रेम पत्रहरु लेख्दै जाँदा कथा पनि लेख्न थाले । र अन्ततः उनले लेखेका कथाहरुले पुस्तकको आकार लियो– कथाकी पात्र ।

    पहिलो कथा संग्रहबाट राम्रो प्रतिक्रिया पाएका सुविनको दोस्रो पुस्तक आयो, – समर लभ । यो पुस्तक ब्लकबस्टर मात्रै भएन, यसले उनलाई सेलिब्रेटी लेखक पनि बनायो । कुनै सरकारी जागिरमा कोसिस गरिरहेका सुविन यही पुस्तकमार्फत् फुलटाइमर लेखक भए ।
    लेख्दै जाँदा उनका अहिलेसम्म त उनका पाँच पुस्तक प्रकाशन भइसकेका छन्, ‘कथाकी पात्र’, ‘समभर लभ’, ‘साया’, ‘मनसुन’, ‘प्रिय सुफी’ । ‘समर लभ’माथि त फिल्म नै बन्यो ।

    ०००

    सुविनका हरेक पुस्तक पढ्दा पाठकलाई लाग्दो हो, ‘यो पात्र चाहिँ म नै हो ।’ सुविनको शब्द बुनोट छ नै यस्तै । तर, उनले लेखेका हरेक अक्षरहरुमा उनै सुविनलाई जहीँतहीँ भेट्न सकिन्छ ।

    सुविन स्वीकार्छन्– उनी प्रेमको अभिव्यक्ति दिएरभन्दा पनि कथाको तानाबाना बुनेर पाठकमाझ आफ्ना कथा पस्किन्छन् । कथा, उपन्यास मात्रै होइन, सामाजिक सञ्जालमा उनले लेख्ने गरेका स्टाटसहरु पनि पाठकका लागि उत्तिकै प्रिय बनिदिन्छन् ।

    तर, चर्चाभन्दा पर अथवा लोकप्रियताभन्दा पर पाठककोे प्रेम उनीहरुको आँखामा खोज्ने बताउँदै सुविन सुनाउँछन्, ‘‘मेरो नजरमा म चर्चित पनि होइन, लोकप्रिय पनि होइन । सामाजिक सञ्जालमा आउने प्रतिक्रियाभन्दा पनि म कुनै कार्यक्रममा जाँदा पाठकहरुको आँखामा, बोलीमा जुन खालको सद्भाव, आदर प्रेम देखेको बेला चाहिँ लाग्छ, मैले साँच्चिकै पाठकको प्रेम पाएको छु । त्यसकारण पनि खसी छु ।’

    लोकप्रियताको मापदण्ड के हो ? यसका सीमा र फैलावट के हो ? के भएमा अथवा कस्तो मापदण्ड पूरा गरे लोकप्रिय भइन्छ ? यस्ता विषयहरुमा अल्झँदैनन् सुविन । बरु उनको बढिजसो समय अध्ययनमै सकिन्छ । उनी आफैं स्वीकार्छन्, ‘म सुपरस्टारजस्तो चर्चित बनेर बाटोमा हिँड्दा भिड जम्मा गरिहाल्ने खालको चर्चित पनि होइन । जे होस्, पाठकहरुको माया र सद्भाव चाहिँ पाएको छु ।’

    सुविनलाई पाठकले किन यत्ति धेरै माया गरे ? उनको अनुमान छ, ‘सुन्दर किताब लेखेर, पाठकलाई मन छुने लेखेर नै पाठकले यत्ति धेरै माया दिएका हुन् ।’

    लोकप्रियताको मापदण्ड के हो ? यसका सीमा र फैलावट के हो ? के भएमा अथवा कस्तो मापदण्ड पूरा गरे लोकप्रिय भइन्छ ? यस्ता विषयहरुमा अल्झँदैनन् सुविन ।

    उनको पुस्तक पढिसकेपछि ‘यो अनुभूति अथवा प्रेम सुविन स्वयंको त होइन ?’ भनेर प्रश्न गर्ने पाठकहरु सयौं छन् । सुविनले सयौंँपटक जवाफ पनि दिएका छन् । तैपनि यो प्रश्न सोध्ने प्रिय पाठकको संख्या अझै पनि उस्तै छ ।

    सुविनलाई ‘प्रेम के हो ?’ भनेर प्रश्न गर्ने पाठकहरु पनि उत्तिकै छन् । तर, पुस्तकमा जति प्रेमबारे लेखे पनि सुविन भन्छन्, ‘प्रेम के हो भनेर परिभाषित गर्न म आफैंमा ल्याकत पुग्दैनझैं लाग्छ । प्रेमको परिभाषा आफैंमा बृहत छ ।’

    तर पनि सुविनले हरेक कृतिमा प्रेम पस्किएका छन् । उनले युवा युवतीको प्रेमको कथा मात्रै नभइ अन्य विषयमा पनि कथाहरु लेखेका छन् । तर, उनको परिचय भनेको प्रेम कथा लेख्ने अब्बल लेखक नै हो । प्रिय सुफिमै पनि दिदि बहीनीबिचको प्रेम मात्रै होइन अरु सम्बन्धहरुलाई पनि समेटिएको छ ।

    नयाँ पुस्तकको तयारीमा रहेका सुविन अहिले भने सामाजिक विषयवस्तुमा आधारित रहेर लेखिरहेका छन् । उनी भन्छन्, ‘समर लभ, मनसुन, सायाले सम्पूर्ण कृतिको विश्लेषण हुन सक्दैन । फरक फरक खालको प्रेम सम्बन्धहरुको आयाममा काम गरिराखेको छु र काम गरिरहने छु ।’

    ०००

    पछिल्लो समय एउटा संस्कृति बनेको छ , भ्यालेन्टाइन डे । युवायुवतीका लागि यो पर्व नै बनेको छ । प्रेमीप्रेमीकाहरु यो दिनका लागि वर्षदिन कुरेर बस्छन् । सुविन भन्छन्, ‘प्रेम गर्नेहरुको लागि भ्यालेन्टाइन डे नै चाहिन्छ भन्ने छैन । प्रेम हरेक दिन गर्नुपर्छ । प्रेम हरेक क्षण गर्नुपर्छ । जुनसुकै बेला पनि हृदयबाट प्रेम बगिरहोस् ।’

    सुविनको मान्यता छ, प्रेम एउटा सिमित दिनमा सिमित अवसरमा सिमित चाड बनाउनु, प्रेमदिवसमा मात्र चकलेट, गुलाव दिनु प्रेम होइन । प्रेम सधैभरि दिइराख्ने हुनुपर्छ । अर्कोले प्रेम गरिराखोस् वा नगरोस् तर, आफ्नो हृदयबाट प्रेम झरना जसरी बगिरहनुपर्छ । बगिसकेको झरना फर्कँदैन, अन्त्यमा सागरमा पुग्छ, प्रेम पनि त्यस्तै हुनुपर्छ । आफूबाट प्रेम बगेर जाओस् । आफूमा आउँछ र आउँदैन भन्ने लोभमा बस्नु हुँदैन ।

    सुविन भन्छन्, ‘प्रेम हरेक मान्छेभित्र हुन्छ । समाजमा घुलमिल हुन, बोल्नको लागि, बाच्नको लागि प्रेम चाहिन्छ । प्रेमले मान्छेलाई जिवित राख्छ । युवयुवतिको मात्रै प्रेम होइन । यदि लाइब्रेरीबाट एउटा किताब झिकेर त्यसलाई पढेर त्यहीँ राखीन्छ भने त्यो पनि किताबलाई गरिएको प्रेम हो ।’

    एकैचोटि एकभन्दा बढीसँग प्रेम सम्बन्ध सम्भव छ ?

    तर्क गर्न चाहिँ सकिन्छ, यो सुविनको जवाफ हो । तर, हामी कस्तो समाजमा छौं, कस्तो परिवेश छ, कस्तो संस्कृति छ, यी सबैले सरोकार राख्ने सुविनको बुझाइ छ । तर, प्रेम र यौनबीच प्रगाढ सम्बन्ध हुन्छ भन्छन् उनी । सुविनको तर्क छ, ‘यो भनेको हार्मेनको खेल हो । प्रेम र यौनको अनुभव शरीर मा आउने हार्मोनमा केन्द्रित हुने भएकाले पनि एक आपसमा अन्तरसम्बन्धित भएको हो ।’

    तर, प्रेममा यौन हुनका लागि सुविनको एउटा सर्त छ । आकर्षणमा आधरित प्रेम हो भने त्यहाँ स्वभाविक रुपमा यौन हुन्छ । तर, कतिपय प्रेम यौनभन्दा पनि धेरै माथि हुृृुन्छन् । विपरीत लिङ्गी आकर्षण होस् वा समलिङ्गी आकर्षण, यसमा पनि हर्मोनले भूमिका खेलेको हुन्छ । त्यहाँ प्रेम पनि हुन्छ । यौन पनि हुन्छ । सुविन भन्छन्, ‘मान्छे शारिरिक रुपमा बढी आकर्षित हुन्छ कि भावनात्मक रुपमा बढी आकर्षित हुन्छ, कसले कसलाई कति प्राथमिकता दिने, त्यसमा भर पर्छ ।’

    तर, केटा र केटीमा हुने प्रेममा धेरै अन्तर हुने बताउँछन् सुविन । केटाले गर्ने र केटीले गर्ने प्रेमको धारणा फरक हुन्छ तर, पनि प्रेम दुवैले बराबर नै गर्नसक्ने तर्कमा विश्वस्थ छन् उनी । हामी पितृसतात्मक समाजबाट प्रभावित भएकाले पनि समाजमा यसको भूमिका रहेको उनको विश्लेषण छ ।

    यौनको मामलामा महिलालाई बढी नै संकुचनमा राखिने गरिन्छ । यसमा पुरुषलाई भन्दा महिलालाई समाजले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । प्रेममा र शारिरिक यौनतर्फ समाजले पुरुषलाई बढी छुट दिएको छ । प्रेम अभिव्यक्त गर्ने कुरामा पनि महिलाहरु संकुचित नै हुन्छन् । सुविन सुनाउँछन्, ‘तर अहिले समाज परिवर्तनको संघारमा छ । महिलाहरु पनि पुरुषभन्दा के कम भनेर अगाडी बढीरहेका छन् । र सधैं समाज उस्तै जमेर बसिरहँदैन, यो परिवर्तनशील छ । मलाई हेर्ने दृष्टिकोण बदलिँदै गइरहेको पनि देख्छु ।’

    अन्त्यमा सुविन भन्छन्, ‘प्रेम भनेको लिनुदिनु मात्र होइन, प्रेम भनेको केही समय बिताउनु मात्र होइन, यसको जिम्मेवारी र कर्तव्य पनि हुन्छ ।’

  • धुम्रपान छाड्ने शक्तिशाली उपाय नै प्रतिवद्धता

    धुम्रपान छाड्ने शक्तिशाली उपाय नै प्रतिवद्धता

    ‘हुन्न भेना धुम्रपान गर्नलाई, क्यान्सर लागि पर्ला नि मर्नलाई’ चर्चित लोकगायक शिला आले र बद्री पंगेनीको आवाज रहेको यो गीत निक्कै लोकप्रिय बनेको थियो कुनै समयमा ।

    स्वास्थ्य सचेतनाको निम्ति धुम्रपान नगर्न सर्वसाधरणको हितको लागि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेका यी र यस्ता थुप्रै चेतनामूलक विज्ञापन तथा कार्यक्रम रेडियो, टेलिभिजन, पत्रपत्रिकामा हेर्न, सुन्न, पढ्न नपाइएका होइनन् । तर व्यवहारमा परिवर्तन ल्याउन नसक्दा धुम्रपानको कारणले उत्पन्न हुने विभिन्न २५ भन्दा बढी रोगबाट नेपालमा वार्षिक झण्डै १६ हजार मानिसको ज्यान जाने गरेको बिभिन्न अध्ययनले देखाएको छ ।

    यसरी प्रत्येक दिन ४२ जना र प्रत्येक ३० मिनेटमा १ जनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ । सन् २००६ को एक सर्वेक्षण अनुसार नेपालमा ५६ दशमलब ५ प्रतिशत पुरुष र १९ दशमलब ६ प्रतिशत महिलाले सूर्तिजन्य पर्दाथ सेवन गर्ने गरेका छन् ।

    सोही सर्वेक्षण अनुसार १२ प्रतिशत नेपाली किशोर–किशोरीले धुम्रपान तथा सुर्तिजन्य पर्दाथ सेवन गर्ने गरेका छन् भने ३५ प्रतिशत किशोर–किशोरी घरमा अरुले गर्ने धुम्रपानबाट पीडित हुने गरेका छन् । त्यस्तै नेपाल अर्वुद रोग निवारण संस्थाले सूर्तिजन्य पदार्थको सेवनवाट बर्षभरी विश्वका ६० लाख मानिसको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

    नियन्त्रणको लागि कानूनी व्यवस्था

    सरकारले धुम्रपान नियन्त्रणका लागि सार्वजनिक स्थलमा धुम्रपान गर्न रोक लगाएकोे छ । सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार चुरोट बिक्रेताले गर्भवती तथा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई चुरोट तथा सुर्ति बिक्रि गरिएको पाइएमा कानूनबमोजिम दश हजार जरिवाना तथा कैद गर्न सकिने प्रावधान नेपाल सरकारको छ ।

    त्यसैगरी ऐनको परिच्छेद ५ को १७ ‘क’मा सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइएमा त्यस्ता व्यक्तिलाई उक्त स्थलबाट हटाउने, एक सय रुपैयाँ जरिवाना गर्ने वा दुबै सजाय गर्न सकिने छ । सार्वजनिक व्यक्तिले त्यसरी सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइए कानुनअनुसार सचेत गराउने, स्पष्टीकरण लिनेलगायत सजायको व्यवस्था गरिएको छ ।

    अगुवा नै धुम्रपानमा अग्रसर

    नियम र कानूनको एउटा पाटो छ । व्यवहार भने फरक देखिन्छ । धुम्रपानबाट लाग्ने रोग र यसको असरबारे जानकारी दिने, उपचार गर्ने र चेतना जागृत गराउने समाजका प्रतिनिधि तथा विश्वासिलो पात्र भनेको स्वास्थ्यकर्मीहरु हुन् । तर उनीहरु आफै धुम्रपान सेवनमा अग्रसर देखिन्छन्् ।

    अरुलाई नगर्न भनेर सुझाउने अनि आफू भने बिरामीकै अगाडिसमेत धुम्रपान गर्न नहिच्किचाउने कतिपय स्वास्थ्यकर्मीहरुको व्यवहारले धुम्रपान नियन्त्रणमा जटिलता थपिदिएको छ ।

    त्यस्तै धुम्रपान नियन्त्रणका लागि सरकारले बनाएको नीतिको कार्यान्वयन गराउने प्रशासकहरु समेत अरुलाई कानूनको दायरामा ल्याउन खोज्ने तर आफू स्वयमले भने सार्वजनिक स्थलमै धुम्रपान गरिदिने कारण पनि समस्या देखिएको छ ।

    आफ्नो स्वास्थ्यको ख्याल आफैले गर्नुपर्ने होे । धुम्रपानले मानिसको मुटु सम्बन्धी रोग, क्यान्सर, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने सम्भावना ४ देखि १५ गुणा बढी हुन्छ । यो तथ्यलाई प्रायः सबै नेपालीले बुझेका पनि छन् ।

    यस्तो अवस्थामा कानूनमा के व्यवस्था छ भनेर हेर्नुभन्दा पनि आफू, आफ्नो परिवार तथा समाजका हरेक व्यक्तिलाई धुम्रपानको कुलतमा फस्न नदिन र फसेकालाई बाहिर ल्याउन सबैले आफ्नो जिम्मेवारी ठानेर लाग्नु पर्ने हो ।

    समस्या समाधानको लागि नियम कानून ठूलो कुरा हैन । प्रतिवद्धता प्रमुख कुरा हो । हामीले व्यवहार परिर्वतन गरेनौ भने कानूनमा जतिसुकै बढी सजायको व्यवस्था गरिए पनि समस्या निराकरण हुन सक्दैन ।

    त्यसैले पहिलो कुरा त धुम्रपान जस्तो कुलतमा लाग्दै नलागौ, लागेका छौ भने मनदेखिकै प्रतिवद्धतासहित धुम्रपान त्याग्ने प्रण गरौ र कसैले सार्वजनिक स्थलमा धुम्रपान गरेको देखिन्छ भने त्यस्तो व्यक्तिलाई सम्झाइ बुझाइ गर्ने, कानूनी प्रावधानको बारेमा जानकारी गराउने र भएन भने सार्वजनिक रुपमा बहिष्कार गर्ने अभियान सुरु गरौं । अनि स्वास्थ्यकर्मी र कानून कार्यान्वयन गर्ने व्यक्तिहरुले पनि मन देखिनै धुम्रपानको कुलतलाई छोड्नै पर्छ ।

    मिडियाको भूमिका

    धुम्रपान नियन्त्रणको लागि चेतनामूलक अभियान एउटा प्रमुख उपाय हो । यो अभियानले हरेक मानिसलाई आफू पनि धुम्रपान नगर्ने र अरुलाई पनि धुम्रपान गर्नबाट रोक्ने कुरामा प्रतिवद्ध गराउन सक्छ । र यसको लागि मिडिया मुख्य माध्यम हुनसक्छ ।

    सरकारले मिडियामा धुम्रपानसम्बन्धी विज्ञापन दिन नहुने व्यवस्थासंगै चेतनामूलक सन्देश प्रकाशन–प्रशारणको लागि समेत ठूलो रकम खर्च गर्दै आएको छ ।

    सरकारले मिडियाहरुलाई विज्ञापनको रुपमा उपलब्ध गराउने सन्देश एउटा पक्ष भयो । मिडियाहरु स्वयमले पनि सन्देशमूलक सूचनाहरु प्रकाशन–प्रशारण गर्ने, धुम्रपानसंग सम्बन्धित चेतनामूलक रिर्पोट, समाचार, फिचरलाई प्राथामिकताका साथ प्रकाशन–प्रशारण गर्ने र धुम्रपानविरुद्ध क्रियाशील अभियन्ताहरुलाई प्रोत्साहित गर्न उनीहरुको कामलाई आफ्नो मिडियामा आवश्यक स्पेश दिने काम गर्नु जरुरी छ ।

    अन्त्यमा,

    नेपाल अर्वुद रोग निवारण संस्थाले धुम्रपानका कारण सन्. २०३० सम्म प्रतिवर्ष विश्वमा १ करोड मानिसको ज्यान जाने तथ्याङ्क सार्वजनिक गरेको छ । यो मानव जातिको लागि ठूलो चुनौती को विषय हो ।

    यसको नियन्त्रण र सचेतताको लागि सरकारले कानून निर्माण गर्न, चेतनामूलक अभियान सञ्चालन गर्ने काम गर्दै आएको छ । कानून कार्यान्वयनको पाटो फितलो भएपनि सरकारको प्रयास सकारात्मक छ ।

    मिडियाहरुले पनि चेतनामूलक सन्देश प्रकाशन–प्रशारण र धुम्रपानविरुद्धको अभियानका गतिविधिहरुलाई प्राथामिकता दिएका छन्, दिन्छन् पनि । तर यो नै धुम्रपान नियन्त्रणको अचुक उपाए हैन । यसको लागि मानिस स्वयम् सचेत र प्रतिवद्ध हुनु जरुरी छ ।

    धुम्रपानको कारण हुने अकालको मृत्युबाट बच्न धुम्रपान नियन्त्रणका लागि कानूनी दायराभन्दा पनि व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ । हरेक व्यक्तिमा धुम्रपान आफू पनि गर्दिन र अरुलाई पनि सचेत गराउछु भन्ने प्रतिवद्धता आवश्यक छ । त्यसैले आउनुहोस्, तपाई हामी सबैले धुम्रपान नगर्ने प्रतिवद्धता गरौ ।

  • कर्णाली प्रदेशसभाको चार वर्षः के भयो, के भएन ?

    कर्णाली प्रदेशसभाको चार वर्षः के भयो, के भएन ?

    देश संघीयतामा गएपश्चात् कर्णालीमा पनि प्रदेशसभा स्थापना भयो । कर्णालीका दूरदराजका नागरिकले नजिकबाट हेर्न नपाएको संसद स्थापना भएको चार वर्ष पुगेको छ । चारवर्षे प्रदेशसभाको यो कार्यकालमा कर्णालीले ‘सिंहदरबारको अभ्यास’ नजिकबाट महसुस गरेको छ । जनताका गुनासा सुनाउन काठमाडौं जानुपर्ने बाध्यताको करिब अन्त्य भएको छ ।

    जनताका दैननदिनका समस्यालाई समाधान गर्न, सार्वभौम संसदमा जनताका आवाज बुलन्द गर्ने र जनताका पक्षमा काम गर्न सरकारलाई दबाब दिने कामको सुरुवात भएको छ । रोग, भोक र अभावको प्रदेशको रूपमा चित्रित कर्णाली पछिल्लो समयमा रुपान्तरित हुँदै गइरहेको छ । जनताका घर आँगनमै सरकार आएका छन् । यी सरकारले जनताको पक्षमा के कति काम गरे ? भन्ने कुराको समीक्षा ढिलो चाँडो त होला नै, यहाँ कर्णालीको संसदमा चार वर्षमा भए गरेका केही मुख्य कामहरूलाई प्रस्तुत गरिएको छ ।

    देशमा संघीयता प्रारम्भ भएलगत्तै कर्णाली प्रदेशसभाले प्रदेशको नामाकरण गर्ने र राजधानी तोक्ने ऐतिहासिक काम गरेको थियो । देशमा नै सबैभन्दा पछि परेको भनेर चित्रित हुँदै गएको कर्णालीले प्रगति र समुन्नतिका लागि सबैभन्दा पहिले साझारूपमा निर्णय गर्न सक्छ भन्ने यो प्रसंगले पुष्टि गरेको थियो ।

    ४० सदस्यीय प्रदेशसभाका प्रदेशको नामाकरणमा कसैको पनि असहमति भएन । सबैले कर्णालीको दुश्मन भनेकै रोग, भोक र अभाव अनि पछ्यौटेपन भएको भन्दै सदनमा आवाज पनि उठाए। सदनमा प्रमुख प्रतिपक्षीदेखि सत्तारुढ दलले एकै स्वरमा कर्णालीको गरिबीविरुद्ध ‘जेहाद’ छेड्ने भनेर गरेको घोषणाले आमजनमानसमा एक खालको सकारात्मक उmर्जा पैदा गरेको थियो ।

    कर्णाली प्रदेशसभामा रहेका राजनीतिक दलहरूले फागुन १२ गते बसेको ऐतिहाकि बैठकले सो निर्णय गरेसँगै कर्णाली प्रदेशसभाले वाहवाही कमाएको थियो । अन्य केही प्रदेशले हालसम्म पनि राजधानीको टुंगो त लगाउन सकेका छैनन् ।

    सत्ता प्राप्तिको खेलमा सदन

    प्रदेशसभालाई सरकार बनाउने र हटाउने अधिकार सुरक्षित नै छ । तर पनि कर्णालीका नेताहरूले पहिलो बैठकमा गरेको सम्बोधनलाई दुई वर्ष पनि टिकाउन सकेनन् ।

    २०७६ असोजमा तत्कालीन नेकपाका १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दलको नेताबाट हटाउने भन्दै हस्ताक्षर अभियान सुरु गरे । तत्कालीन एमाले र माओवादीको बीचमा पार्टी एकता भएको र कर्णाली सरकारको नेतृत्व माओवादीले गर्ने भन्ने सहमतिअनुसार मुख्यमन्त्रीमा शाही नियुक्त भएका थिए । तर तत्कालीन एमाले नेता यामलाल कंडेलको नेतृत्वमा सरकार हटाउने गतिविधि भएपछि तत्कालीन सत्ता सञ्चालकामा थप अविश्वासको वातावरण तयार पार्यो । कर्णालीको विवादले नेकपाको शीर्ष तहमा थप ‘आगोमा घ्यू’ थप्ने काम भयो । जसका कारण केपी शर्मा ओलीले दुर्इपटक संसद विघटन गरे । दुई पार्टी बीचको एकता नै भंग हुने अवस्था सिर्जना भयो ।

    पार्टी विभाजनपश्चात नेकपा एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही कारण वैशाख तीन गते प्रदेशसभामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । सोही बैठकमा तत्कालीन एमालेका प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले फ्लोरकसगरेका थिए ।

    चारजनाले फ्लोरक्रस गरेपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको थियो भने एमाले सबैभन्दा ठूलो दल भए पनि सडकमा बस्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको थियो । यति मात्रै होइन, त्यसपछि पनि सरकारलाई असफल पार्नेदेखि सदनलाई अनिर्णयको बन्दी गराउने काम भयो । जसले सदन भनेको सत्ता प्राप्तिको साधानको रूपमा मात्रै लिने काम भयो । यसले पहिलो गाँसमै सदनलाई ढुंगा लागेको थियो ।

    निष्प्रभावी संसदीय समिति, मन्त्री बन्न हानाथाप

    कर्णाली प्रदेशसभामा विभिन्न चारवटा समिति छन् । चारवटा समितिले सुरुका तीन वर्षमा राम्रो काम गर्न प्रयास गरेपनि पछिल्लो समयमा भने समितिका काम कारवाहीहरू निष्प्रभावी बन्दै गइरहेका छन् । सबैभन्दा बढी सामाजिक विकास समिति सक्रिय भएको पाइएपनि अन्य समितिहरूको पछिल्लो समयमा बैठक नै बस्न सकेका छैनन् । बैठक नै बस्न नसके पछि सरकारलाई समितिले निर्देशन दिने कुरा पनि भएन ।

    रारा पर्यटन भ्रमण वर्षदेखि सरकारी रकम दुरूपयोग भएको भन्ने समाचार बारम्बार आइरहँदा पनि सार्वजनिक लेखा समिति कुनैपनि देखिने काम गर्न सकेन । कोरोना महामारी नियन्त्रणको तयारीका बारेमा सरकारको बारम्बार ध्यानाकर्षण गराइ उचित स्वास्थ्य सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिनु पर्ने थियो तर त्यो काममा समितिहरूको ध्यान नै जान सकेन ।

    गएको वैशाख तीनमा सदनमा भएको फ्लोरकस घटनापछि समितिका बैठकहरू नियमितरूपमा बस्न सकेका छैनन् । जसका कारण सरकार प्रदेशसभाको नियन्त्रण बाहिर गइरहेको छ । मिनी संसद भनेर चिनिएका यी समितिहरू राजनीतिक कोपभाजनमा परेर बेकामे बन्दै जानु किमार्थ राम्रो कुरा होइन । यसलाई थप क्रियाशील बनाउँदै जनताको कामलाई चुस्त दुरुस्त बनाउनका लागि प्रदेशसभाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ ।

    घतलाग्दो कुरा त के छ भने अहिले भएका समितिका अध्यक्षहरू मन्त्री बन्न खुट्टा उचालेर बसेका छन् । सामाजिक विकास समितिका अध्यक्ष देवी ओली, सार्वजनिक लेखा समितिका अध्यक्ष पदमबहादुर रोकाया भनौं वा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंह भनौँ उहाँहरू तीनैजनाको ध्यान मन्त्री बन्नेबाहेक अन्यत्र गएको छैन । त्यसैको फलस्वरूप समितिका काम कारबाही ठप्प छन् ।

    संसद भनेर चिनिएका यी समितिहरू राजनीतिक कोपभाजनमा परेर बेकामे बन्दै जानु किमार्थ राम्रो कुरा होइन । यसलाई थप क्रियाशील बनाउँदै जनताको कामलाई चुस्त दुरुस्त बनाउनका लागि प्रदेशसभाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी छ ।

    कानून निर्माणमा तीन वर्ष उत्कृष्ट, एक वर्ष खेर

    कर्णाली प्रदेशसभाले हालसम्म ३६ वटा कानून निर्माण सम्पन्न गरेको छ । ३ वटा विधेयकहरू समितिमा दफावार छलफलकै क्रममा छन् । गैरसरकारी विधेयकको रूपमा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले दुर्इ ओटा विधेयक सदनमा दर्ता गराएका छन् ।

    बारम्बार हुने सदन अवरोधले कानून निर्माण प्रक्रियालाई लथालिङ्ग बनाएको छ भने सरकारले सदनलाई आवश्यक ‘विजनेश’ पनि दिन सकेको छैन । यस अर्थमा सदन पछिल्लो एक वर्ष बेकामे बनेको छ। अर्थात प्रदेशसभा स्थापनाको चौथो वर्षमा सदनले सम्झनलायक कुनै पनि काम गर्न सकेन । यो वर्ष सदनका लागि खेर गएको भन्दा फरक पर्दैन ।

    संरचना निर्माणमा तीव्रता, व्यवस्थित बन्ने बाटोमा प्रदेशसभा

    कर्णाली प्रदेशसभा पछिल्लो समयमा भौतिक संरचनागत विकासका हिसाबमा अब्बल बन्दै गइरहेको छ । डिजिटल बोर्डको व्यवस्था, बगैँचा निर्माणदेखि सभाहल र समितिका बैठक कक्षहरू, विभिन्न दलका कार्यालयहरू सुव्यवस्थित भएका छन् । अन्य भौतिक संरचनागत सुधारको काम पनि तीव्ररूपमा भइरहेको छ । यसले भौगोलिक रूपमा विकट कर्णालीले देशभरमै नमूना प्रदेशसभा सञ्चालन गर्न सफल भएको मेरो निष्कर्ष छ ।

    अन्त्यमा, कर्णाली प्रदेशसभाबाट हामीले अपेक्षा गरेका त धेरै कुराहरू थिए । पहिलो अभ्यास भएको र नजिकबाट प्रदेशसभा नियाल्न पाइएको एक महत्त्वपूर्ण अवसरलाई सकेसम्म प्रयोग र गर्ने गरिएको छ । सभा तथा समितिका बैठकमा सञ्चारकर्मीलाई बोलाउने, सदनमा सञ्चारकर्मीलाई प्रवेश गर्न दिइने जस्ता कुरामा प्रदेश सभा सधै सचेत र सजग रहेको पाइएको छ ।

    प्रदेशसभामा भए गरेका कानून निर्माणदेखि अन्य विषयमा आवश्यक पर्ने सूचनाहरू सहजै उपलब्ध गराउने प्रचलन सुरु भएको र सभाको वेभसाइट व्यवस्थापन पनि चुस्तदुरुस्त रहेकोले यसमा थप मद्दत पुगेको छ । यो अत्यन्त महत्त्वपूर्ण कार्य हो । यस्ता कार्यलाई आगामी दिनमा निरन्तरता दिइरहन आवश्यक छ।

  • शेरबहादुर दाइलाई कालापानी किन दुख्दैन ?

    शेरबहादुर दाइलाई कालापानी किन दुख्दैन ?

    केही समयअघि एमाले नेता स्व. प्रेमसिंह धामीको ‘कालापानी काठमाडौंलाई किन दुख्दैन’ शीर्षकमा जनआस्था साप्ताहिकमा एउटा लेख प्रकाशित भएको थियो । लेख प्रकाशित भएपछि दार्चुला जिल्लाको कालापनी क्षेत्रबारे सर्वसाधारण नेपालीमा सोधखोजको विषय बनेको थियो ।

    भौगालिक रुपमा दुर्गम तथा नेपाल सरकारको ध्यान नगएको कालापानीबारे धामीको सो आलेखपछि नेपाल सरकारको पनि ध्यानाकर्षण भएको थियो । त्यसपछि पनि कालापानीबारे दार्चुलाका नेकपा एमालेका तत्कालीन नेता स्व. वीरबहादुर ठगुन्नाले पनि पटकपटक आवाज उठाउँदै आउनु भएको थियो ।

    हाल प्रतिनिधिसभामा दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाले पनि प्रतिनिधिसभामा कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल सरकारले फिर्ता ल्याउन, भारतीय सुरक्षा बल फिर्ता गर्न तथा उसको प्रशासनिक हस्तक्षेप बन्द गर्न आवाज उठाइरहनु भएको छ ।

    २०४८ सालदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिमको डडेल्धुराबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा लगातार जित्दै आउनु भएको छ । देउवा २०४८ सालमा गृहमन्त्री हुँदै पाँचपटक प्रधानमन्त्री भइसक्नु भयो । नेपाली कांग्रेसको पनि सधैं मुख्य भूमिकामा रहँदै आउनु भएको छ । तर, सुदूरपश्चिम प्रदेश अशिक्षा, गरिबी, विकासमा पिछडिएको क्षेत्रको पर्यायको रुपमा आजसम्म पनि यथावत छ ।

    नेपाली कांग्रेसका नेता, कार्यकर्ता देउवालाई ‘शेरबहादुर दाइ’ भनेर सम्बोधन गर्छन् । शेरबहादुर दाइले अत्तरियादेखि डडेल्धुरासम्मको भिमदत्त राजमार्ग, कर्णाली चिसापानीपारिका २२ पुलहरु बनाउन पहल गर्ने कामबाहेक सुदूरपश्चिम प्रदेशको विकासका पूर्वाधारहरुमा त्यस्तो चर्चा गर्न लायक केही गरेको देखिँदैन ।

    जतिपटक प्रधानमन्त्री हुनुभयो शेरबहादुर दाइले सुदूरपश्चिम प्रदेशमा भारतले गर्दै आएको दादागिरीको नतमस्तक भएर त्वमशरणम् गर्नुबाहेक केही गरेको देखिँदैन । चाहे त्यो महाकाली सम्झौता होस् वा टनकपुर सम्झौता होस् अथवा कालापानी क्षेत्रबारे नै । उहाँले कहिल्यै पनि चासो राख्नुभएन ।

    करिब ७५ प्रतिशत सुदूरपश्चिमवासीहरु भारतका विभिन्न शहरहरुमा न्यून पारिश्रमिकमा तल्लो दर्जाको मजदुरी गर्न बाध्य भए पनि शेरबहादुर दाइले यस क्षेत्रमा रोजगारीका अवसरहरु सृजना गर्ने कुनै काम गर्नुभएन । भारतको थिचोमिचो सहेर बस्न बाध्य यस प्रदेशका जनताका लागि शेरबहादुर दाइ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ मात्रै हो ।

    सुदूरपश्चिमेली जनताको एउटा प्रश्न छ, ‘शेरबहादुर दाइलाई सुदूरपश्चिम प्रदेश किन दुख्दैन ? शेरबहादुर दाइलाई कालापानी लिपुलेक लिम्पियाधुरा किन दुख्दैन ?’ सुदूरपश्चिम प्रदेशका जनताले शेरबहादुर दाइलाई कहिल्यै पनि असहयोग गरेनन् । तर, शेरबहादुर दाइ काठमाडौंको भीडमा काठमाडौकै शासकहरुसँग हातेमालो गर्दै रमाउने, ज्योतिष हेराउने र ज्योतिषको भनाइमा रमाउँँदै आउनु भयो ।

    अहिले उहाँ प्रधानमन्त्री भएको छ महिनाभन्दा बढी भइसक्दा पनि कतिपय सीमित नेपाली कांग्रेसका नेता कार्यकर्ताबाहेक समग्र सुदूरपश्चिम प्रदेशवासीका लागि वा समग्र राष्ट्रका लागि गौरव गर्न लायक काम गर्न सक्नु भएको छैन । अर्थात् अझै पनि शेरबहादुर दाइलाई सुदूरपश्चिम दुखेको देखिँदैन, राष्ट्र दुखेको देखिँदैन ।

    शेरबहादुर दाइ जतिपटक प्रधानमन्त्री बन्नुहुन्छ, सुदूरपश्चिमेली जनताका लागि प्रधानमन्त्रीको जिल्ला, प्रधानमन्त्रीको क्षेत्र भनेर चित्त बुझाउनुबाहेक केही उपलब्धी देखिँदैन । सुदूरपश्चिमका नेपाली कांग्रेस तथा वर्तमान सरकारको गठबन्धन सम्बद्ध नेता कार्यकर्ताहरुले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई जतिसुकै गाली गरे पनि वास्तवमा कालापानी ओलीलाई दुखेको प्रमाणित भएको छ ।

    सरकारको नेतृत्व गर्दा होस् वा प्रतिपक्षमा रहँदा पनि ओलीले पटकपटक भन्दै आउनु भएको छ कि, नेकपा एमालेले कालापानी लिपुलेक लिम्पियाधुरा फिर्ता गरेरै छाड्छ । तर, शेरबहादुर दाइले कालापानीबारे झारा टार्ने काम गर्दै आउनु भएको छ । प्रतिपक्षमा रहँदा पनि शेरबहादुर दाइले अन्तिम समयमा राष्ट्रिय सहमति हुँदै गर्दा कालापानी लिपुलेक लिम्पियाधुराबारे तत्कालीन प्रधानमन्त्री ओलीलाई समर्थन जनाउनु भएको पक्कै थियो । तर, आफू सरकारमा गइसकेपछि उहाँले बिर्सनुभयो ।

    उहाँलाई सुदूरपश्चिमेलीले सधैं आदर गरे, नेता माने, उच्च सम्मान दिए । तर, केवल सत्ता साझेदारी, सत्तालिप्सा, प्रजातन्त्र धरापमा पार्ने काममा बाहेक सुदूरपश्चिमका लागि कहिल्यै उहाँको ध्यान गएको देखिएन । उहाँका कारण हामीलाई शिर ठाडो हुने अवस्था कहिल्यै आएन ।

    देउवा दाइकै कार्यकालमा अर्थात् २०५० सालमा महाकाली भारतलाई बेच्ने काम भयो । २०५३ सालमा पजेरो काण्ड, जम्बो मन्त्रिमण्डल, सांसद खरिदबिक्री, सांसदका लागि सुरासुन्दरी जस्ता कार्य उहाँका पर्याय रहे । उहाँले नै २०५८ सालमा प्रजातन्त्र दरबारमा बुझाउनु भयो । २०५८ सालमा स्थानीय निकायको निर्वाचन नगरी स्थानीय निकाय प्रतिनिधिविहीन बनाउनमा उहाँकै हात रह्यो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रमा सडक विस्तार भइरहेको भन्दै गर्दा उहाँ चुप बस्नु भएको छ । जयसिंह धामीलाई दिनदहाडै महाकाली नदीमा तुइन तर्दै गर्दा तुइन काटेर बेपत्ता पार्ने भारतीय दादागिरीबारे झारा टार्ने गरी एउटा छानबिन समिति गठन गर्नुहुन्छ, समितिको प्रतिवेदन सार्वजनिक गर्नुहुन्न र भारतलाई खुशी पार्ने खालको प्रतिवेदन ल्याउनुहुन्छ । भारतलाई खुशी पार्नका लागि मृतकका परिवारलाई केही रकम दिएर घटना ढाकछोप गर्ने प्रयास गर्नुहुन्छ ।

    शेरबहादुर दाइ ! उठ्नुहोस् एकपटक, अहिले तपाईँ शक्तिशाली ओहोदामा हुनुहुन्छ, विकासमा निकै धेरै पछाडि परेको सुदूरपश्चिमलाई देशको मूलधारमा ल्याउनका लागि केही गर्नुहोस् ।

    (लेखक नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका अध्यक्ष हुन्)

  • विहे कहिले गर्ने ? कृपया अब यस्तो ‘बुलिङ’ नगरौं ल

    विहे कहिले गर्ने ? कृपया अब यस्तो ‘बुलिङ’ नगरौं ल

    बिहेको मौसम शुरु भएपछि आफन्त, छरछिमेक, साथीभाइको एउटै प्रश्न हुन्छ- बिहे कहिले गर्ने ? ढिला भएन र ? अब उमेर पुगिसक्यो छिटो भोज खुवाउनुपर्‍यो है ।

    मेरो एउटै उत्तर- उमेर भनेको एउटा अंक मात्र हो, आफूलाई जहिले परिपक्व महशुस हुन्छ त्यही समय गर्ने हो विवाह । समाजको लागि, अरुलाई भोज खुवाउनको लागि मैले बिहे गर्ने होइन ।

    विवाहको लागि समाजले तोकेको उमेर कति ? २०, २५, २८ वा ३० ? यो उमेरमा विहे नगरे त्यो नारीले सधै यस्तै प्रश्नको सामना गर्नुपर्ने हो ? वा यो उमेरमा विवाह नगरेपछि त्यो नारीको कहिल्यै विवाह हुदैन कि ? वा विवाह नगरी बस्ने अधिकार नारीलाई हुदैन ?

    हाम्रो सामाजिक मान्यता कस्तो, यहि उमेरमा छोराले विवाह नगरी बसेको छ भने आमरुपम उमेरको प्रश्न उठ्दैन । तर एउटा छोरी मान्छे, जसले छोरा जसरी आफ्नो कर्तव्य, जिम्मेवारी बहन गर्न बिहेनगरी काम गरिरहेको छ, तर पनि अनेक प्रश्न उठ्न थाल्छ ।

    धेरै वर्षदेखि सुन्नु परेका शब्दहरु- छोरी भनेको त अर्काको घर जाने जात नै हो, त्यसैले समयमा उमेर छँदैन बिहे गर्नुपर्छ । अझै तिमी त मास्टर्स गरिसकेकी छौ, जागिर पनि राम्रो छ, अब पनि बिहे गरिनौ भने,भनेजस्तो अविवाहित केटा पाउन पनि मुस्किल पर्छ है । उमेर गएपछि त कि सम्बन्ध विच्छेद भएको मानिस, कि त विदुर केटा मात्र पाइन्छ ।

    यस्तो कुरा सुन्दा लाग्छ, छोरी मान्छे सयममा विहे नगरी आत्मनिर्भर भएर आफ्नो जिन्दगी चलाइरहेको छ भने त्यसको सजाय यस्तै मानिससँग बिहे गरेर चुकाउनपर्छ । विवाह व्यक्तिको नितान्त निजी मामिला हो भनेर बुझाउन नसक्नु नै हामीले प्रश्नहरुको सामना गर्नुपर्ने नियति हो ।

    विवाहको लागि कानूनले एउटा उमेर तोकेको छ । अर्थात कानूनले तोकेको उमेरभन्दा कम उमेरमा विहे गर्नु दण्डनीय हुन्छ । तर छोरी मान्छेका लागि २० वर्ष नै विहे गर्ने डेडलाइन अवश्यक होइन । ३० वर्षभित्र विहे गरिसक्नुपर्ने कुनै कानूनी वा धार्मिक बन्देज पनि छैन ।

    यो कुरा लेखिरहँदा म विवाहको विरोधी पक्कै हैन । जीवनचक्रको लागि, समाज निर्माण र परिवार सञ्चालनको लागि विवाह आवश्यक कुरा हो भन्ने विषयमा म स्पष्ट छु । तर बिवाह भन्ने कुरा कसैको करकाप र समाजको लागि सम्झौता गर्ने विषय हैन भन्ने कुरामा नानाथरी प्रश्न गर्ने भद्र महिला तथा सज्जन बृन्दलाई ज्ञात हुन जरुरी छ ।

    उमेर पुगे पनि आफू मानसिक रुपमा तयार भैसकको छैन भने कसैको करकाप र बाध्यताले विवाह गर्नुपर्छ भन्ने जरुरी छैन । उमेरसँगै आफू मानसिक रुपमा तयार भएको हो भनेमात्र विवाहको बारेमा सोच्ने विषय हो । अर्को कुरा विवाह कतिपय परिस्थितिजन्य वाध्यताको परिधीभित्र पनि रहने गर्छ ।

    विवाहको लागि कानूनले एउटा उमेर तोकेको छ । अर्थात कानूनले तोकेको उमेरभन्दा कम उमेरमा विहे गर्नु दण्डनीय हुन्छ । तर छोरी मान्छेका लागि २० वर्ष नै विहे गर्ने डेडलाइन अवश्यक होइन । ३० वर्षभित्र विहे गरिसक्नुपर्ने कुनै कानूनी वा धार्मिक बन्देज पनि छैन ।

    कतिपय समाजले पनि विवाहका लागि आफ्नै ढङ्गले उमेर तोकेको पाइन्छ । तर विवाहको उचित समय भनेको उमेरभन्दा पनि आफ्नो जिम्मेवारी र विवाहपछि आउने हरेक समस्यालाई समाधान गर्ने, हरेक कुरा बुझन् सक्ने आत्मविश्वास भएपछि मात्र हो भन्ने लाग्छ ।

    नारी र पुरुष भनेको एउटा रथको दुई पाङ्ग्रा हो । अर्थात एउटा गतिशील समाज निर्माणको लागि नारी र पुरुषको भूमिका तथा जिम्मेवारी बराबरी हुन्छ । त्यसैले समाजमा नारीको विवाहको सवालमा उठ्ने प्रश्नहरु भन्दा महत्वपूर्ण कुरा एउटा नारीले समाज निर्माणको लागि, परिवारको सवलताको लागि पुरुषले जसरी नै काम गरेको छ कि छैन भनेर उठ्ने प्रश्न मुख्य हुन्छ ।

    विवाहलाई छोरी मान्छेको उमेर,चरीत्र वा सामाजिक परिवेशसँग जोडेर बारम्बार प्रश्न गर्नु पनि एक प्रकारको हिंसा नै हो । विहे कहिले गर्ने ? बुढीकन्या भन्लान् है । अब त केटा नपाइएला नि ? तिम्रो कोही छैन भने हामी खोजिदिउँला है ? कि लिभिङ टुगेदर हो ? ३० वर्षभित्रै बच्चा जन्माउनु राम्रो नि । जानेर वा नजानेर गरिने यस्ता प्रश्न वा दबाब ‘बुलिङ’ नै हुन् ।

    विवाह कहिले गर्ने, विवाहको उमेर ढल्कीसक्यो या उमेर गएपछि उपयुक्त केटा पाइँदैन भनेर प्रश्न गर्ने समाजका बुज्रुकहरुले नारी र पुरुषको भूमिका र जिम्मेवारी बराबरी हुन्छ त्यसैले नारीले पनि पुरुषले जसरी नै वा पुरुषले भन्दा बढी जिम्मेवार भएर समाज तथा परिवारको लागि काम गर्नु पर्छ भनेर बारम्वार प्रश्न गर्नु चाहि एउटा सभ्य नागरिकको परिचय हुन सक्छ ।

    त्यसैले अब विवाह कहिले गर्ने भनेर सोधिने प्रश्नको सट्टा समाजमा के योगदान गर्ने भन्ने वहस हुनुपर्छ । पारिवारिक सदस्यहरुले चिन्ता गरेर विवाहका लागि दिने दबाब वा सुझावलाई एक ढंगले सामना गर्न सकिएला तर समाजले प्रश्न गर्ने विषयवस्तु विवाह होइन ।

    विवाहलाई छोरी मान्छेको उमेर,चरीत्र वा सामाजिक परिवेशसँग जोडेर बारम्बार प्रश्न गर्नु पनि एक प्रकारको हिंसा नै हो । विहे कहिले गर्ने ? बुढीकन्या भन्लान् है । अब त केटा नपाइएला नि ? तिम्रो कोही छैन भने हामी खोजिदिउँला है ? कि लिभिङ टुगेदर हो ? ३० वर्षभित्रै बच्चा जन्माउनु राम्रो नि । जानेर वा नजानेर गरिने यस्ता प्रश्न वा दबाब ‘बुलिङ’ नै हुन् ।

    प्रेम,विवाह र यौन जस्ता विषय उमेरको अंकसँग थोपर्ने भन्दा पनि नितान्त व्यक्तिगत जीवन हुन् भन्ने बुझौं न कि व्यक्तिको चरित्रसँग । त्यसैले कृपया विवाहलाई व्यक्तिको निजत्वसँग छाडिदिउँ न हुँदैन ?