Category: साहित्य / ब्लग

  • ‘जनै’ उत्पीडनको प्रतीक !

    ‘जनै’ उत्पीडनको प्रतीक !

    आज जनै लगाउने दिन भएकाले पनि सामाजिक सञ्जालमा यो देखिएको छ, यसबारे लेखिएको छ । कसैले लगाउँदाको गर्व प्रदर्शन गरिरहेका छन्, कसैले जनैमाथिको विचार राखिरहेका छन् । कोही जनै लाएर फेसबुकमा आए जस्तै म जनैबारेको विचार लिएर आएको छु । मेरो विचार तपाईंलाई मन नपर्नसक्छ, रिस उठ्नसक्छ । तैपनि विचार बुझ्दा त केही बिग्रिँदैन, पढ्नोस् । पढेपछि गाली गर्न मन लागे गर्दा भैहाल्छ ।

    जनै लगाउनेहरुले यो त हाम्रो पहिचान हो भनिरहेका छन् । अब पहिचान के हो र कुरीति के हो भन्नेमा केही भन्छु । जुन परम्परा, भेषभुषा वा संस्कृतिले अरुमाथि उत्पीडन गर्दैन, त्यो चाहिँ पहिचान हो । यदि त्यसले अर्को माथि उत्पीडन गर्छ भने त्यो पहिचान होइन, कुरीति हो ।

    छुवाछूत गर्न पाउँदा आनन्द लाग्नसक्छ कसैलाई । तर, त्यो पहिचान होइन, कुरीति हो । सती प्रथाअन्तर्गत सती जान पाउँदा पनि आनन्द लाग्थ्यो कतिलाई । तर, के सती प्रथा पहिचान हो त ? हैन, त्यो कुरीति हो । किनभने त्यो प्रथाले मानव जातिमाथि नै असर गर्थ्यो । कतिले अझै पनि बोक्सी प्रथा मानिरहेका हुनसक्छन्, अर्कोलाई बोक्सीको आरोप लगाउन पाउँदा उसलाई आनन्द लागिरहेको हुनसक्छ । त्यसो भए के बोक्सी प्रथा मान्नु उसको पहिचान भन्न मिल्छ त ? मिल्दैन, त्यो कुरीति हो ।

    जंगबहादुर राणाले १९१० को मुलुकी ऐन जारी गर्ने बेलामा तागाधारी (जनै लगाउने) र मतवाली भनेर छुट्याए, तागाधारीलाई विशेष अधिकारको व्यवस्था गरे, जुन व्यवस्थाबाट जनजाति पनि उत्पीडनमा परे ।

    कतिपयलाई अझै पनि छाउपडी प्रथा ठीकै लागिरहेको छ । तर, त्यो पहिचान हुन सक्दैन, त्यो कुरीति हो । किनभने त्यसले महिलामाथि उत्पीडन गरिराखेको छ । त्यसैले कसैलाई गर्व लाग्ने वा त्यो गर्न पाउँदा आनन्द लाग्ने कुराले मात्रै त्यो पहिचान हो भन्न मिल्दैन । त्यसले अर्कोमाथि उत्पीडन गर्दैन भने मात्रै त्यो पहिचान हो, गर्छ भने कुरीति हो ।

    कुनै ठाउँमा २ जना पुरुष छन्, एउटाले जनै लगाएको छ र अर्कोले लगाएको छैन भने, जनै लगाउने चाहिँ माथिल्लो जातको रैछ भन्ने स्वतः दिमागमा आइहाल्छ । यसरी जनैले स्वतः त्यो नलगाउनेलाई तलको भन्ने पुष्टि गरिदिन्छ । भनेको, यसले त सीधासीधा उत्पीडन नै त गर्छ, उत्पीडनभन्दा बाहेक के गर्छ र ?

    कतिपयले यस्तो पनि तर्क गर्छन् कि, ‘मलाई इच्छा छ म लगाउँछु, मैले लगाएको जनैले अरुलाई के हानी गरेको छ र ?’ तर, बुझ्नुपर्ने कुरा चाहिँ जनैले हानी नै त गरेको छ । हानीभन्दा बाहेक के गरेको छ र ? जनै लगाउनेभन्दा नलगाउने चाहिँ स्वतः तल्लो दर्जाको ठहरिन्छ, त्योभन्दा बढी हानी के गर्नुपर्‍यो र ? यदि अर्कोलाई हानी गर्दैन भने उसलाई चाहिँ त्यो लगाउँदा गर्व महसुस किन भाको त ? त्यो लगाउँदा म त्यो नलगाउनेभन्दा ठूलो देखिन्छु, विशेष देखिन्छु भन्ने मनोविज्ञानको आनन्द नै त हो त्यो ।

    जनै तहगत संरचनालाई व्यवस्थित गर्न बनाइएको एक प्रकारको सर्टिफिकेट हो । क्षेत्रीले लगाउने जनैमा ब्राह्मणले लगाउनेमा भन्दा कम डोरो हुन्छ । ब्राह्मणभन्दा क्षेत्री तलको भन्ने संकेत नै त हो त्यो ।

    नेपालमा चाहिँ जनै जनजातिको लागि उत्पीडनको विषय नहुनुपर्ने हो किनभने जनजाति हिन्दू धर्मभित्रका होइनन् । तर, भइदियो के भने जंगबहादुर राणाले १९१० को मुलुकी ऐन जारी गर्ने बेलामा तागाधारी (जनै लगाउने) र मतवाली भनेर छुट्याए, तागाधारीलाई विशेष अधिकारको व्यवस्था गरे, जुन व्यवस्थाबाट जनजाति पनि उत्पीडनमा परे । तागाधारी भएकै कारण जनजातिमाथि शोषण गर्न पाउने अधिकारको व्यवस्था गरियो मुलुकी ऐनमा । त्यसकारण जुनै जनजातिको पनि सरोकारको विषय हो ।

    जनै तहगत संरचनालाई व्यवस्थित गर्न बनाइएको एक प्रकारको सर्टिफिकेट हो । क्षेत्रीले लगाउने जनैमा ब्राह्मणले लगाउनेमा भन्दा कम डोरो हुन्छ । ब्राह्मणभन्दा क्षेत्री तलको भन्ने संकेत नै त हो त्यो । तसर्थ, कसैलाई यो कुरा मनपर्छ या मनपर्दैन, त्यो अलग कुरा भयो । तर, जनै उत्पीडनको प्रतीक नै हो । यसो भनिरहँदा जनैबारे बहस गरिरहेकाले ख्याल गर्नुपर्ने एउटा कुरा चाहिँ के छ भने, जसरी डाक्टरले रोगीलाई घृणा नगरेर उपचार गर्छ, त्यसरी नै जनै जस्तो विकृतिको निरन्तरमा फसिरहेकाप्रति पनि घृणा गर्नु हुँदैन । क्रमशः त्यो कुरीतिबाट बाहिर निस्किएर विज्ञानसम्मत जीवन अपनाउन सहयोग गर्नुपर्ने हुन्छ । ल मैले आफ्नो कुरा राखेँ, अब गाली गर्न मन भए गर्दा भयो ।

    (लेखक विश्वकर्मा ‘आहुती’ ले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवम् जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव हुन् ।)

  • क‍हिले भएकाे थियाे नेपालको आन्तरिक मामिलामा पहिलाे वैदेशिक हस्तक्षेप ?

    क‍हिले भएकाे थियाे नेपालको आन्तरिक मामिलामा पहिलाे वैदेशिक हस्तक्षेप ?

    हालै दुवै सदनबाट पारित नागरिकता विधेयकमा वैदेशिक स्वार्थ घुसेको भनी प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र केही नागरिक समाज भनिने समूहहरुले आन्दोलन गरिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजु देउवाको भारत भ्रमणले वैदेशिक हस्तक्षेप भित्र्याउन मद्दत पुगी नागरिकता विधेयक फास्ट ट्याकबाट पास गरियो भन्ने आन्दोलनकारीहरुको आरोप छ ।

    नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपको सवाल नयाँ भने पटक्कै होइन । वर्तमान संविधान निर्माणताका गणतन्त्रको सवालमा भारत र धर्मनिरपेक्षताको सवालमा ईयूले प्रत्यक्ष हस्तक्षेप गरेको थियो भन्ने आरोप लागेको छ । संघीयताको विषयमा भारतलाई चित्त नबुझ्दा ६ महिना लामो नाकाबन्दीको सामना गर्नुपर्‍यो नेपालले ।

    माओवादीले गरेको दस वर्षे जनयुद्धमा भारतीय स्वार्थको विषयमा बहसहरु भइरहेका छन् । २०४६ सालको जनआन्दोलनमा भारतको प्रत्यक्ष चासो र सहयोग थियो । तत्कालीन पञ्चायती व्यवस्था ढाल्न भारतले त्यो बेला पनि नाकाबन्दी गरेको थियो । २०४६ सालपछिको हर सरकार गठनमा भारतको प्रत्यक्ष/परोक्ष हस्तक्षेप हुने गरेका तथ्य नेपाली जनतामाझ जगजाहेर नै छ ।

    नेपालको राजनीतिमा सबभन्दा बढी भारतीय हस्तक्षेप रहँदै आएको छ । २००७ सालपछि बीपी कोइराला प्रधानमन्त्री हुँदासम्म नेपाल सरकारको मन्त्रिपरिषदको बैठकमा भारतीय राजदूत उपस्थित हुनुपर्ने चलन थियो । यो निर्लज्ज कूटनैतिक आचरणको अन्त्य बीपी कोइरालाले गरेका थिए । इतिहास हेर्ने हो भने वि.सं २००७ सालपछि नेपालको आन्तरिक मामिलामा सबैभन्दा बढी भारतीय हस्तक्षेप देखिन्छ । राणाकालको अवधिभर इष्ट इन्डिया कम्पनी सरकारको प्रभुत्व देखिन्छ ।

    वर्तमान संविधान निर्माणताका गणतन्त्रको सवालमा भारत र धर्मनिरपेक्षताको सवालमा ईयूले प्रत्यक्ष हस्तक्षेप गरेको थियो भन्ने आरोप लागेको छ । संघीयताको विषयमा भारतलाई चित्त नबुझ्दा ६ महिना लामो नाकाबन्दीको सामना गर्नुपर्‍यो नेपालले ।

    यसरी नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपको सुरुवात कहिलेदेखि सुरु भयो भन्नेबारे इतिहास हेर्दा आजभन्दा १८० वर्ष पहिले भएको देखिन्छ । तत्कालीन मुख्तियार (प्रधानमन्त्री) चौतारा पुष्कर शाहलाई कम्पनी सरकारको ठाडो निर्देशनमा बर्खास्त गरिएको थियो । यो नै आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपको पहिलो घटना देखिन आउँछ । यस घटनाको सविस्तार वर्णन इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ र ‘भीमसेन थापाको उत्थान र पतन’ मा गरेका छन् ।

    सुगौली सन्धिपश्चात काठमाडौंमा इष्ट इन्डिया कम्पनी सरकारको राजदूतावास बस्ने व्यवस्था भयो । सन्धिको धारा ८ मा दुबै देशमा एक-अर्काको वकिल (राजदूत)हरु राख्न सहमत व्यक्त गर्छ भन्ने व्यवस्था गरिएअनुरुप वि.सं १८७३ साल बैशाख ६ गतेबाट नेपालमा कम्पनी सरकारको राजदूत बस्न थालेका थिए । नेपाल-अंग्रेज युद्धमा नेपालको हार भएको कारण राजदूतावासले नेपालको शासन प्रणालीमा निगरानीको नीति लिएका थिए ।

    भीमसेन थापाको अन्त्यपछि छोटो समयका लागि रणजंग पाण्डे मुख्तियार (प्रधानमन्त्री) भएका थिए । त्यसपछि चौतारा पुष्कर शाह मुख्तियार भए । पुष्कर शाह भीमसेन थापा जस्तो अंग्रेजहरुको कट्टर विरोधी त थिएनन् । तर, अंग्रेजहरुसँग सजग र सचेत रहनुपर्छ भन्ने सिद्धान्त भएको मान्छे थिए । जुन कुरा अंग्रेज राजदूतलाई मन परिरहेको थिएन । त्यही भएर उनले नेपालको मुख्तियारको विरुद्धमा अनर्गल रिपोर्ट लेखेर कम्पनी सरकारको राजधानी कलकत्तामा पठाइरहन्थे । कम्पनी सरकारका तत्कालीन गभर्नर पुष्कर शाहप्रति नकारात्मक देखिन पुगे ।

    त्यही समयमा नेपाल-अंग्रेजको सिमानामा एउटा सामान्य विवादित घटना घट्यो । पर्सा जिल्लाको सीमावर्ती इलाकामा १८ वटा मौजाको स्वामित्वलाई लिएर दुबै पक्षले दावी गर्न थाले । तीमध्ये ‘सहोदरा’ भन्ने मौजामा नियमित लाग्ने हाटबजारमा त्यस क्षेत्रका तत्कालिक प्रशासक सुब्बा बख्तबारसिंह खड्काले महसुल उठाउन भनी आफ्ना कर्मचारीलाई त्यसतर्फ पठाइदिएका थिए ।

    इतिहास हेर्ने हो भने वि.सं २००७ सालपछि नेपालको आन्तरिक मामिलामा सबैभन्दा बढी भारतीय हस्तक्षेप देखिन्छ । राणाकालको अवधिभर इष्ट इन्डिया कम्पनी सरकारको प्रभुत्व देखिन्छ ।

    यो घटनाले काठमाडौंबाट बारम्बार आइरहेको नकारात्मक रिपोर्टलाई थप पुष्टि गर्न मद्दत पुग्यो । कम्पनी सरकार मुख्तियार पुष्कर शाहसँग थप चिडिए । कम्पनी सरकारले नेपाल सरकारलाई धम्क्याउन कर्नेल ओलिभरको नेतृत्वमा केही कम्पनी सेना नेपाली सिमानातर्फ पठाइदिए । यो कुराले मुख्तियार पुष्कर शाहको सातोपुत्लो उडिहाल्यो । उनले महसुलबाट उठेको रकम अंग्रेज राजदूत बीएच हजसनको जिम्मामा दिने र दुबैतर्फबाट जाँचबुझ आयोग बनाई घटनाको छानबिन गर्ने निर्णय गरे ।

    ठीक त्यही समयमा काठमाडौंमा एउटा अप्रत्याशित घटना घट्यो । खान्कीको विषय लिएर सैनिकहरुले विद्रोह गरे । त्यो वेला सैनिक तथा निजामती कर्मचारीलाई आजभोलि जस्तो मासिक तलब नदिएर वार्षिक खान्कीको रुपमा धान, चामल, कोदो आदि जिन्सी वस्तु नै दिने चलन थियो । त्यसको लागि उनीहरुकाई ‘तिर्जा’ अर्थात बाली उठाउन पाउने अधिकारपत्र दिइन्थ्यो । उनीहरु आफ्नो खान्की आफै उठाउँथे ।

    तर, नेपाल युद्धको कारण देशको आर्थिक अवस्था नाजुक भएको कारण यस खान्कीको बारेमा पुनर्विचार गर्न राज राजेन्द्रविक्रम शाहले राजगुरु रंगनाथ पण्डितलाई जिम्मा दिएका थिए । रंगनाथ पण्डितले खान्कीको रुपमा दिइएको जग्गा जमिन झिकेर सैनिक र निजामती कर्मचारीलाई नगदी तलब दिने भन्ने योजना बनाएका थिए । यसो गर्दा राज्यकोषमा बढी रकम जम्मा हुने थियो । तर, ‘तिर्जा’वालाहरुलाई भने नोक्सान नै हुन्थ्यो । उनीहरुले तिर्जाबाट उठाएको अन्नपात आफ्नो मनखुशीले बेचेर बढी रकम आम्दानी गर्थे ।

    तत्कालीन मुख्तियार (प्रधानमन्त्री) चौतारा पुष्कर शाहलाई कम्पनी सरकारको ठाडो निर्देशनमा बर्खास्त गरिएको थियो । यो नै आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपको पहिलो घटना देखिन आउँछ ।

    राजगुरुको यो योजना लगभग राजाले पनि स्वीकार गरिसकेका थिए । यो कुरा सैनिकहरुले थाहा पाएपछि उनीहरुले विद्रोह गरे । एकदिन कम्पु पल्टनका सैनिकहरु टुँडिखेलमा जम्मा भए । आफ्ना सबै हातहतियार र खरखजाना त्यही अलपत्र छाडेर रंगनाथ पण्डितलगायत खान्कीको विषयमा निर्णय गर्ने मुख्य भारदारहरुको घरमा तोडफोड गर्न पुगे ।

    सैनिकहरुको विद्रोहबाट डराएर राजा राजेन्द्र र रानी साम्राज्यलक्ष्मीले अंग्रेज राजदूत बीएच हजसनलाई दरबारमा बोलाई कुरैकुरामा रातभर त्यही राखे । राजारानीको उद्देश्य के थियो भने सैनिकहरुले राजभवनमा हमला गरेमा अंग्रेज राजदूतको कारण बच्न सकिन्छ । भोलिपल्ट बिहान राजा राजेन्द्रले टुँडिखेलमा सैनिकहरुलाई सम्बोधन गर्न बाध्य भए । उनले आफ्नो सम्बोधनमा सैनिक तथा कर्मचारीहरुले खाइपाइ आएको खान्की यथावत रहेको घोषणा गरे ।

    अंग्रेज राजदूत बीएच हजसनले यही सैनिक विद्रोहलाई मौकाको रुपमा लिने विचार गरे । उनले नेपालका राजाले टँुडिखेलमा सैनिक जम्मा गरी कम्पनी सरकारको विरुद्धमा बोले भनेर झूटो सन्देश कलकत्तास्थित कम्पनी सरकारको गभर्नर अक्ल्याण्डलाई पठाए । पहिलेदेखि नै रुष्ट गभर्नरलाई के खोज्छ कानो आँखो भयो । उनले तुरुन्त नेपाल सरकारको नाममा चेतावनीपत्र पठाइहाले ।

    अंग्रेज राजदूत बीएच हजसनले यही सैनिक विद्रोहलाई मौकाको रुपमा लिने विचार गरे । उनले नेपालका राजाले टुँडिखेलमा सैनिक जम्मा गरी कम्पनी सरकारको विरुद्धमा बोले भनेर झूटो सन्देश कलकत्तास्थित कम्पनी सरकारको गभर्नर अक्ल्याण्डलाई पठाए ।

    पत्रमा वर्तमान मन्त्रिमण्डल खारेज गरेर नयाँ मन्त्रिमण्डल नियुक्ति गर्नुपर्ने सुझाव पनि थियो । केही दिन त राजाले कम्पनी सरकारको पत्रलाई वेवास्ता गरे । तर, पुनः अर्को चेतावनी आएपछि भने उनी मुख्यियारबाट पुष्कर शाहलाई बर्खास्त गर्न बाध्य भए । त्यो दिन थियो वि.सं १८९७ कार्तिक १८ गते । नयाँ मुख्तियार (प्रधानमन्त्री) को रुपमा चौतारा फत्यजंग शाहलाई नियुक्त गरियो ।

    आफ्नो अनुकूलको मन्त्रिमण्डल गठन भएपछि अंग्रेज राजदूत खुशी नहुने कुरै थिएन । तर, महारानी साम्राज्यलक्ष्मीदेवीले भने आफ्नो महत्वाकांक्षामा ठेस लागेको र अपमान भएको महसुस गरिन् । आफ्नो इच्छाविपरीतको मान्छे मुख्तियार भएकोमा आफ्नो शक्ति क्षीण भएको ठानी उनी दरबार त्यागेर हिँडिन् । राजा राजेन्द्र जोइटिङ्ग्रे थिए । अब म यहाँ नेपालमा बस्दिनँ, काशीबास जान्छु भनी रानी आफ्ना दलबलसहित तराईतिर लागिन् । राजा भने किंकर्तव्यविमुढ र स्तब्ध बन्न पुगे । केही उपाय नदेखेपछि रानीलाई फर्काउन भनी राजाले पनि दरबार छाडे । तर, महारानीलाई भने नेपाल भारतको सिमानामा नै अंग्रेज सेनाले रोकिदिएपछि बाध्य भएर काठमाडौं फर्किए ।

  • आइफोन पठाउन सकिनँ साथी, सन्देश पठाएँ ल !

    आइफोन पठाउन सकिनँ साथी, सन्देश पठाएँ ल !

    स्वदेश हुँदा लाथ्यो– विदेश त विशेष हो । विदेशमा सुखको सागर छ, खुसीको पहाड अनि सम्पत्तिको जंगल छ । र, त्यहाँ पुग्न पाए स्वदेशमा भोगेका सबै कष्टले एकसाथ मुक्ति पाउने छन् अनि जिन्दगी हराभरा हुनेछ ।

    अझ अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता विश्वका विकसित भनिएका देशमा त पाइला मात्रै टेक्न पाए पनि स्वर्गानुभूत हुन्छ जस्तो लाग्थ्यो । मलाई मात्रै होइन, स्वदेशमा रोजगारी र उच्च शिक्षा नपाएर तड्पिरहेका हज्जारौं युवालाई लाग्ने यस्तै हो । देशको बिडम्बना हो या हाम्रो चिन्तनमै समस्या ! तर, जुनसुकै देश भए पनि विदेशलाई विशेष दृष्टिले हेर्ने र स्वदेशलाई धिक्कार्ने गरी आमयुवाको चेतना निर्माण हुनु दुखद सत्य हो ।

    भर्खर प्लस टू सकेका हुन् या स्नातकोत्तर सकेर नेपालमा रोजगारी नपाएपछि निराश भएका सबैले विदेशिनुलाई नै सफलता ठान्नुपर्ने स्थिति छ । अझ लोकसेवा आयोगमा नाम निकाले पनि इमानदारपूर्वक काम गर्दा पाइने पारिश्रमिकले घर धान्न नसकेकाहरु पनि विदेशकै लाइनमा लाग्ने गरेका छन् ।

    यहाँका मान्छेको बोल्ने तरिका पनि गजबको लाग्यो । आफूलाई चित्त नबुझेका कुरालाई नम्र तरिकाले सम्बन्धित ठाउँमा जाहेर गर्ने । मनमा रिस नै उठेको भएपनि एक अर्कोमा भनाभनको अवस्था सिर्जना नगरी सभ्यरुपमा त्यसको जवाफ दिने पराम्पराले यहाँको सामाजिक वातावरण पनि उत्तिकै स्वच्छ बनाएको पाएँ ।

    तर विदेशको जीवन र संघर्ष स्वदेशमा बसेर कल्पना गरेजस्तो सुन्दर नहुने रहेछ । अनेक परिस्थितिपछि अध्ययनका लागि केही महिनाअघि बेलायत आएकी मैले छोटो समयमा आमनेपालीको स्थिति जस्तो पाएँ, त्यो नेपाल हुँदा कल्पना गरेभन्दा फरक रहेछ । अझ खासगरी स्टुडेन्ट भिसामा यहाँ आउने कतिपयको अवस्था दयालाग्दो छ ।

    केही दिनअघि ड्यूटी जाँदै गर्दा एकजना नेपाली साथीले फोनमा गरेको कुराकानी सुनें । उनी रुँदै भन्दै थिएँ, ‘आमा, सोचेर आएजस्तो रहेनछ विदेश । म त अब यहाँ टिक्नै नसक्ने भइसकें । काम पनि पाएको छैनँ । बाँच्नु न मर्नु जस्तो भएर भौंतारिनु परेको छ । यहाँभन्दा त बरु नेपालै ठीक थियो ।’

    उनको पीडाले मेरो मन पनि अमिलो भयो । अझ छोराको रुवाइले स्वदेशमा भएकी आमाको मन कति रोयो होला ?

    मैलेपछि उनीसँग कुरा गरें । थाहा भयो कि, उनी नेपालमा लोकसेवा आयोगबाट नाम निकालेर खाएको सरकारी जागिर छाडेर धेरै कमाउने लोभमा स्टुडेन्ट भिसामा बेलायत आएका रहेछन् ।

    ‘स्टुटेन्ट भिसामा युके आएका छिमेकी दाइले राम्रो आम्दानी गरेपछि मलाई परिवारले धेरै कमाउन ऋण गरेर विदेश पठाए’, उनी भकानिँदै भन्दै थिए, ‘स्वदेशमै भएको सरकारी जागिर छाडेर परदेश आइयो, अहिले दुख पाइयो ।’

    कलेजमा छ महिनाको फी तिरी एक महिनाका लागि खर्च बोकेर उनी बेलायत आएका रहेछन् । उनी भन्छन्– नेपाल हुँदासम्म छिमेकी दाइले यहाँ रमाइलो छ, पढाइअनुसारको काम पाउछस्, यता काम मिलाउने म छँदै छु भन्नु भयो । तर म यहाँ आएको छ महिना भयो । कमाएको पैसाले खाना बस्न मात्रै पुग्छ । फी तिर्न नसकेपछि कलेजबाट निकालिएँ ।

    पीडा सुनाउँदा उनका आँखा रसाएका थिए । गला अबरुद्ध होला जस्तो भइरहेको थियो । तै पनि सम्हालिँदै उनी भन्दै थिए, ‘घरबाट ऋण तिर्न फोन आउन थालिसक्यो । मति बिरारेर नकमाएको पो हो कि भनेर अनेक शंका गर्न थालिसके । छिमेकी दाइले नचाइने फुर्ती लगाइदिँदा आज मैले दुख पाएँ ।’

    छिकेमी दाइले देखावटी शान छाँटेका रहेछनन् । आफू होटलमा सामन्य जागिर गर्दै रहेछन् । उसको पारिवारिक अवस्था बलियो हुनाले कलेज फीसमेत नेपालबाटै तिराउने गरेका रहेछन् । उनले आफूले कमाएको पैसाले यहाँ खाने, रमाउने मात्रै गरेको रहेछ ।

    ‘नेपालमा हुनेलाई यहाँ होटलमा काम गर्छु, फी बुझाउने पैसासम्म कमाउन सक्दिनँ भन्दा त लाज भइहाल्छ नि भाइ, अब यहाँको जीवनशैली यस्तै हो, जे काम पाइन्छ गर्ने हो । फुर्सदको बेला यसो समुन्द्रमा रमाएको फोटो सामाजिक सञ्जालमा हालेर शान देखाउने हो’, छिमेकी दाइले आफूलाई भनेको उदृत गर्दै उनले भने, ‘म नराम्रोसँग झुक्किए, अब बाआमाको अपेक्षा कसरी पूरा गर्ने ?’

    केही दिनअघि ड्यूटी जाँदै गर्दा एकजना नेपाली साथीले फोनमा गरेको कुराकानी सुनें । उनी रुँदै भन्दै थिएँ, ‘आमा, सोचेर आएजस्तो रहेनछ विदेश । म त अब यहाँ टिक्नै नसक्ने भइसकें । काम पनि पाएको छैनँ । बाँच्नु न मर्नु जस्तो भएर भौंतारिनु परेको छ । यहाँभन्दा त बरु नेपालै ठीक थियो ।’

    उनको पीडाले म पनि दुखी भएको थिएँ । सान्तोनाका शब्द पनि निस्किरहेको थिएन । र, उनी त यहाँका एक प्रतिनिधि पात्र मात्रै हुन् । यहाँ उनी जस्ता हजारौं भाइ–बहिनी बिनायोजना, लहैलहैमा विदेशमा हाम फालेका छन् । अनि सानै उमेरमा डिप्रेसन र फ्रस्टेशनको सिकार बनेका छन् । मानसिक तनावले कसैसँग बोल्न पनि रुचाउँदैनन्, कोही । घरमा फोन गर्दा लेनदेनकै हिसाब बढी हुने हुँदा आफूलाई एक्लै राख्न खोज्छन् उनीहरु ।

    हो, विदेशमा कमाइ हुन्छ तर कमाइअनुसारको खर्च हुन्छ । सुरुसुरुमा जतिसुकै पढेलेखेको मान्छेले पनि आफ्नो स्तरअनुसारको जागिर पाउँदैनन् । निम्नस्तरको जागिरबाट परदेशी जिन्दगी सुरु गर्नुपर्छ ।

    विदेशमा पैसाको बोट हुने, जादुमय तारिकाले पैसा कमाइने, हात थापेर पैसा पाइने, पैसाको वर्षा नै हुने जस्तो मानसिकता राख्छन्, धेरै नेपाली । साथीभाइहरु विदेशको भिसा लाग्यो भन्ने थाहा भएको दिनदेखि एयरपोर्टमा विदाइ गर्न जाँदासम्म ‘मलाई आइफोन पठाइ दे है’ भन्छन् ।

    विचरा मान्छे टाउकोमा लाखौँको ऋणको बोझ बोकेर गइरहेको हुन्छ । नयाँ ठाउँ, नयाँ परिवेशको यात्रा कति डर लागेको होला भन्ने बुझ्ने कोही हुन्नन् । विदेश आएपछि दिनरात नभनी गधाझैं दौडिरहेको हुन्छौं । दिनभरी पढाइ, रातभरि काम गरेर सयौं दिनहरु खाइ–नखाइ अहोरात्र खटेका हुन्छौं ।

    स्वदेशबाट साथीभाइ आफन्तले म्यासेज पठाउँछन्, ‘अहो ! विदेश पुगेर ठूलो भइस् कि हामीलाई बिर्सिइस् ।’ कामबाट थाकेर आएको एउटा परदेशीलाई यस्ता म्यासेजले कति रुवाउँछ होला ? कसैले सन्चो, विसन्चो, गाह्रोसाह्रो के छ ? भनेर सध्दैनन् । परदेशको बसाइँ कस्तो छ भनेर कसैको चासो हुँदैन । त्यतिबेला असाध्यै नरमाइलो हुनेरहेछ । सबै स्वार्थी त रहेछन् नि जस्तो लाग्दो रहेछ ।

    वास्तवमा विदेशमा केही जादु छैन । बस् ! यहाँका नागरिकको मेहेनतले देशलाई बलियो बनाएका रहेछन् । यहाँ हरेक क्षेत्रमा सिस्टम छ । मेहेनतको कदर छ । त्यसैले विदेश विकसित भएको रहेछ ।

    यहाँ महंगो फोन बोक्न, गाडी चढ्न, घर किन्न एकैचोटि मनग्गे पैसा बुझाउन नपर्ने रहेछ । किस्ता–किस्तामा पैसा बुझाएर आफ्ना आकांक्षाहरु मान्छेले पूरा गर्नेरहेछन् । त्यसैले गाडी कुदाएको देख्दा विदेशमा पैसा रुखमै फल्छ जस्तो सोच्नु मुर्खता हो ।

    हामी कतिपय नेपालीको देखावटीपन हुन्छ । विदेशको सत्यता नेपालमा देखाउन लाज मानेर खोक्रो फुर्ती लगाउने गर्नाले घरपरिवारको मनमा विदेशीसँग अलगै लेभलको आशा हुन्छ । केही व्यक्तिहरुले यथार्थतालाई लुकाएर आफूलाई प्रस्तुत गर्दा धेरैलाई असर गरेको छ, प्रत्यक्ष अप्रत्यक्ष रुपमा । मलाई पनि मेरा साथीभाइहरुले भनिरहेका हुन्छन्, ‘तिमीलाई त मस्ती छ है !’ हो, यस्तै किसिमको मस्ती हुन्छ विदेशमा । तसर्थ विदेशलाई रहर मान्नुभन्दा राम्रा नराम्रा पक्षलाई केलाएर विदेशमा बेच्न सकिने सीप बोकेर आउँदा मात्र भविष्य निर्माणको राम्रो आधार बन्न सक्छ । विदेश र स्वदेशमा त्यस्तो धेरै फरक छैन । हाम्रो मेहेनतसँगको मानसिकता र कामप्रतिको लाज या सम्मान मात्र फरक हो ।

    केही महिना अगाडि विदेशिएको मलाई यहाँका कतिपय कुराहरु थाहा हुनै बाँकी छ । तर पनि आजसम्म विदेश किन स्वदेशभन्दा फरक भन्ने कुरालाई यसरी नै सम्झिन सक्छु कि, विदेशमा पैसाको बोट छैन तर मेहेनतको मलले फलेको राम्रो आम्दानीरुपी फल भने पक्कै छ ।

    विदेशमा सबै कामको आधारभूत मूल्य लगभग उस्तै छ । यहाँ कुर्सीमा घुमेर खानेले कमाउने दैनिक पैसा र सामान्य काम गरेर खाने मान्छेले कमाउने दैनिक कमाइ झण्डैझण्डै उस्तै हुन्छ । त्यसैले सबै मान्छेको आधारभूत जीवनशैली समान प्रकारको हुन्छ ।

    हाम्रो देशमा मान्छेको तहअनुसार आम्दानीमा आकाश–पातलको फरक छ । यहाँ पदलाई होइन, मेहेनत र समयलाई पैसा दिइने रहेछ । यहाँ कुनै काम ठूलो–सानो हुँदैन । सबैले सबै कामको सम्मान गर्छन् । यहाँको मान्छेको मानसिकतामा ‘यो काम ठूलो, यो काम सानो, यो काम गरे अरुले के भन्लान्’ भन्ने छैन । बस् ! मेहेनत गर्न जानेका छन् ।

    यहाँका हाकिमहरु आवश्यकता परेको बेला हाँसीहाँसी कुचो लिएर भुइँ सफा गर्न अघि सर्छन् । हाम्रो देशमा एकैछिनमा चर्चित खबर बन्छ कि– फलानो कुचो लिएर भुइँ सफा गर्दै । यहाँको अतिउत्कृष्ट पक्ष नै यो हो कि, यहाँका सबै मान्छे आफैंमा निर्भर हुन मन पराउँछन् । १६ वर्ष कटेका हरेक युवादेखि खुट्टामा बल भएसम्मका ज्येष्ठ नागरिकहरु आफ्ना लागि आफैं कमाउँन मन पराउछन् ।

    कुनै रोग वा अन्य कारणवश अरुमा भर पर्नुपर्ने अवस्था आए नराम्रो मान्छन् । नेपालमा मान्छेहरु ४५–५० वर्ष लाग्न नपाउँदै ‘ओहो ! बुढेसकाल लाग्यो, अब छोराछोरीको पालो’ भनेर आरामले थन्किछन् । छोराछोरी पनि ब्याचलर , मास्टर्स पढ्ने बेलासम्म पनि आफ्नो फीलगायत अन्य आवश्यकताका लागि आमाबुबामा भर पर्छन् । यस कारण पनि धेरै नेपालीको जीवनस्तर प्रायः उस्तै रहन्छ ।
    यहाँका बालबालिका बोल्न जान्ने भएदेखि नै एकदमै आत्मविश्वासी हुने रहेछन् । आफ्नो निर्णय आफैं लिनसक्ने, आफ्ना सबल र दुर्बल पक्षका बारेमा बुझी भविष्य खाका दिमागमा तयार पारेर सोहीअनुसार अघि बढ्नसक्ने हुँदा रहेछन् । यहाँका बालबालिका खुल्ला विचारका, सही र गलतको पक्षमा खुलेर बोल्नसक्ने, सबै नियम र कानूनबारे सानैदेखि जानकार र पालना गर्ने हुँदा रहेछन् । हामीलाई योस्तरको आत्मविश्वास सिक्न कम्तिमा पनि २४–२५ वर्ष लाग्छ ।

    यहाँका मान्छेको बोल्ने तरिका पनि गजबको लाग्यो । आफूलाई चित्त नबुझेका कुरालाई नम्र तरिकाले सम्बन्धित ठाउँमा जाहेर गर्ने । मनमा रिस नै उठेको भएपनि एक अर्कोमा भनाभनको अवस्था सिर्जना नगरी सभ्यरुपमा त्यसको जवाफ दिने पराम्पराले यहाँको सामाजिक वातावरण पनि उत्तिकै स्वच्छ बनाएको पाएँ ।

    मलाई बच्चा हुँदा आमाबाले भनेको याद छ, ‘कसैले नदेखे पनि भगवान्ले देखेका हुन्छन्, त्यसैले गल्ती गर्नु हुँदैन ।’ हो त्यस्तै यहाँ ‘केही गल्ती गर्नु हुँदैन, सीसी क्यामेराले देखेको छ’ भन्ने हुँदो रहेछ । त्यस्तै केही काम गर्नुअघि त्यसबाट प्राप्त हुने नतिजाबारे सोचेर मात्र व्यवहार गर्ने यहाँको बलियो पक्ष हो । यहाँ नियम कानूनको विरुद्ध गएर बँच्नसक्ने अवस्था छैन । नेपालमा नियम कानूनको उचित पालना नहुँदा भद्रगोल भएको रहेछ भन्ने कुरा बुझ्न् यहाँ आएपछि धेरै दिन लागेन ।

    स्वदेशबाट साथीभाइ आफन्तले म्यासेज पठाउँछन्, ‘अहो ! विदेश पुगेर ठूलो भइस् कि हामीलाई बिर्सिइस् ।’ कामबाट थाकेर आएको एउटा परदेशीलाई यस्ता म्यासेजले कति रुवाउँछ होला ? कसैले सन्चो, विसन्चो, गाह्रोसाह्रो के छ ? भनेर सध्दैनन् । परदेशको बसाइँ कस्तो छ भनेर कसैको चासो हुँदैन । त्यतिबेला असाध्यै नरमाइलो हुनेरहेछ । सबै स्वार्थी त रहेछन् नि जस्तो लाग्दो रहेछ ।

    कानुनको फितलो कार्यावन्यनले गर्दा नै हामीमा मनोमानी गर्ने हिम्मत आउँदो रहेछ । यहाँ मान्छेको प्रतिस्पर्धा आफूसँग हुन्छ । ‘आज म यहाँ छु, भोलि त्यहाँ पुग्छु’ भनेर योजनासहित हिजोको आफू र भोलि हूने आफूबीच प्रतिस्पर्धा हुनेरहेछ । जीवनका हरेक कठिनाइलाई सिकाइको अवसरको रुपमा लिन्छन्, यहाँ ।

    नेपालमा हामीलाई अरुको जीवन र जीवनशैलीका बारेमा व्याख्या गर्दैमा फुर्सद हुँदैन । यहाँ आएपछि हामीले अपनाइँदै आएको जीवनशैली र यहाँबाट सिक्नुपर्ने धेरै कुराबारे मैले बुझ्ने अवसर पाएँ । विदेशको माटोले छोटो समयमै मलाई नियम कानूनको परिधिमा बसेर आफ्नो मेहेनत र परिश्रम गरे मात्र जीवन सफल बनाउन सकिने रहेछ भन्ने कुराको अनुभुति गराएको छ ।

    त्यसैले कुनै पनि देश विकसित वा अविकसित हुनुसँग त्यहाँको भूगोल र जनसंख्यासँगै समाज व्यवस्था, प्रणाली र श्रमलाई हेर्ने दृष्ट्रिकोणले फरक पार्छ । विदेश भन्नेवित्तिकै विकसित हुन्छ र त्यहाँ सजिलै मनग्ये कमाउन सकिन्छ भन्ने भ्रमलाई चिर्न जरुरी छ । इमानदारपूर्वक सबैले काम गर्ने र पूर्णतः नियम कानूनका आधारमा चल्ने हो भने नेपाल पनि छिटै समृद्ध बन्न सक्छ । विदेशमा गर्ने श्रम स्वदेशमै गर्न सकिने वातावरण बनाउन राज्यस्तरबाट पहल हुन आवश्यक छ । र नागरिकप्रति त्यसप्रति सचेत र जागरुक हुन आवश्यक छ ।

    (लेखक लण्डनस्थित रोयल ब्रोम्प्टन अस्पालमा कार्यरत नर्स हुन् ।)

  • बसाइसराइ वेदना : छोराछोरीलाई दिने उदाहरण छैन गाउँमा

    बसाइसराइ वेदना : छोराछोरीलाई दिने उदाहरण छैन गाउँमा

    अहिले देशका धेरै गाउँ ‘नगर’ अर्थात शहर भएका छन् । ‘नगर’ सुविधाको आधारमा छैन, सरकारी कागजातको आधारमा छ । जथाभावी घोषणाले गाउँहरु जबरजस्त नगर हुन पाएका छन् । सरकारले नगर घोषणा गर्न नसकेर गाउँ नै भएर रहन पाएको गाउँ हो मेरो गाउँ । मेरो गाउँ तेह्रथुमको मोराहाङ हो ।

    मेन्छ्यायेम गाउँपालिकाको मुकाम मेरो गाउँ अहिले गाउँलेहरुकै मुकाम बन्न सकेको छैन । गाउँलेकै के कुरा मेरै मुकाम बन्नसकेको छैन । नागरिकतामा गाउँकै ठेगाना बोकेर देश-दुनियाँ डुल्ने म, गाउँ डुल्न धेरै वर्षपछि मात्रै गाउँ पुगे । साउन पहिलो हप्ताको पहिलो दिन म गाउँमा गएँ । गाउँमा पहिलोपटक सवारीमा पुगेको त्यही साउन १ गते नै हो । धरानबाट मोराहाङ ट्याक्सीमा ११ सय रुपैयाँ तिरेर पुग्दा सित्तै पुगेको अनुभव भयो । गाउँ छोड्नु अगाडि तीन घण्टा हिँडेर जिरिखिम्तीबाट मात्रै गाडी पाउने युगको भुक्तभोगीलाई गाउँमै गाडीमा जान पाउने कुरा सम्झिँदामात्रै सन्तुष्टि हुन्छ । त्यो सन्तुष्टिको अगाडि जतिसुकै शुल्क सानै हुन्छ । मलाई सानै भयो ११ सय रुपैयाँ ।

    अरुबेला घरको कामले गाउँ गएको थिएँ । यो पटक आफ्नै कामले गाउँ गएको थिएँ । आफ्नै कामले पनि के भन्नु, खास कामै नभई गाउँ गएको थिएँ । राँके मेलाको पन्ध्र वर्ष अगाडिकै नोस्टाल्जिया खोज्दै गाउँ पुगेको थिएँ । गाउँमा राँकेको पुरानो अनुहार दिएन । राँके भर्न आउने लामा-लामा ताँतीहरु थिएनन् । राँकेमा हुने भीडभाड थिएन । राँकेको अवसरमा हुने फूटबल प्रतियोगिताको मैदान ठूलो थियो । तर, दर्शक दीर्घा ठूलो थिएन । राँकेलाई राँके जस्तो देखिने कुनै झल्को दिएन ।

    राँकेमा भेटिने साथीहरु थिएनन्, साथीहरुको सम्झनामात्रै थियो । राँकेलाई गाउँ छोडिजाने साथीहरुले सम्झे सम्झेनन्, थाहा छैन । राँकेले साथीहरुलाई सम्झियो पक्कै । राँकेमा मोराहाङ, श्रीजुङ, पौंठाकदेखि टाढा-टाढाका धान नाच्न आउने सोल्टीसोल्टिनीले राँके सम्झे सम्झेनन्, थाहा छैन । राँकेले धान नाच्ने सोल्टीसोल्टिनीहरुलाई सम्झियो पक्कै । भीडविनाको राँके के राँके ? साथीहरुविनाको राँके के राँके ? धान नाँचविनाको राँके के राँके ?

    खासमा गाउँबाट गाउँ हराउँदै गएको बुझ्न गाउँमा घरदैलो गर्नै नपर्ने रहेछ । हरेक वर्ष लाग्ने राँकेको अनुहार एक झल्को हेरे पुग्ने रहेछ । राँकेमा नदेखिएको गाउँलाई घर–घरमा पुगेर देख्ने कुरै आएन । हो, यस्तै भयो गाउँमा डुल्दा । गाउँमा घर छन् । घरमा मान्छे कम छन् । कोही वैदेशिक रोजगारमा छन्, कोही शहरमा गएका छन्, कोही जिल्ला सदरमुकामा गएका छन् । कतै न कतै गएका छन् । तर, गाउँबाट गाउँमै गएका छैनन् । गाउँ नछोडी इलम गर्न बाहिरिएकाहरु गाउँमै आउने कुनै ग्यारेन्टी छैन ।

    वैदेशिक रोजगारमा गएकाहरुलाई गौंडा-गौंडामा बसेर लोभ्याएर घडेरीमा लाखौं खन्याउन लाउने जदहरु छन् । जदहरुले उनीहरुलाई गाउँसम्म फर्कन दिने सम्भावना कम छ । जद अर्थात् जग्गा दलालले गाउँमा केही लाखमै इलम गर्न सकिने सम्भावना देखाउँदैनन् । ठूलो सम्भावना घडेरीमा हालेर लाखौं पैसा कमाउने सपना देखाउँछन् । सामान्य आम्दानी भएको मान्छे मख्ख पर्छन् । केही पैसा घडेरीमा हाल्छ । केही वर्षपछि घर बनाउँछ । घरले आम्दानी दिँदैन । फेरि घर चलाउन विदेशै जान्छ । विदेशदेखि विदेशसम्मको चक्रव्यूहले यस्तो बनाउँछ कि उसले ‘चालीसपछि रमाउन’ पनि पाउँदैन । यस्तो नपाउने लाखौं अनुहारहरुको आँकडा सरकारसँग छैन, गाउँसँग छ । गाउँको तीतो सम्झनासँग छ ।

    बजार गएका वा तराई गएका अथवा सदरमुकाम गएकाहरुको समेत गाउँसँग संवाद कम हुन्छ । उनीहरु आफू बसेकै माटोमा टाँसिन्छन् । टाँसिन बाध्य हुन्छन् । र, उनीहरु गाउँ जाँदैनन् । त्यसको एक उदाहरण म आफैं हुँ ।

    घरमा मान्छे छैनन् । घर खाली छन्, अस्थिपञ्जरमात्रै छ । घरको प्राण छैन । प्राणविहीन घरहरु भएका गाउँ एक संग्रहालय जस्तै भएको छ ।

    बसाइसराइको तथ्यांक कहालीलाग्दो छ । २०७४ सालदेखि अहिलेसम्म गाउँका २४४ परिवारको ७३० जना बसाइ सरेर गएका छन् । पालिकाको तथ्यांकमा गाउँबाट औपचारिक रुपमा बसाइसराइ गर्नेमात्रै अटाएका छन् । हाम्रो परिवार जस्तो गाउँमा घर भएर पनि हाल तराईमा बस्नेहरुको आँकडा यो तथ्यांकमा आउँदैन ।

    ६ वटा वडा भएको गाउँपालिकामा १ र २ वडा साबिकको पौठाका गाविस, ३ र ४ श्रीजुङ गाविस तथा ५ र ६ वडा साविक मोराहाङ गाविसका वडा हुन् । वडा नम्बर १ मा साविक पौठाकका वडा नम्बरहरु १-४ पर्छन् । वडा नम्बर २ मा साविक पौठाककै ५-९ वडा नम्बर पर्छन् । वडा नम्बर ३ ले साविक श्रीजुङका ७-९ वडा समेट्छ । वडा नम्बर ४ ले श्रीजुङकै साविक १-६ वडा समेट्छ । वडा नम्बर ५ मा मोराहाङका साविक वडाहरु १, २, ३, ७ र ८ पर्छन् । वडा नम्बर ६ मा मोराहाङकै साविक ४, ५, ६ र ९ पर्छन् ।

    सबैभन्दा धेरै बसाइसराइ हुने वडा नम्बर ५ र ६ नै पर्छन् । वडा नम्बर ५ का ५१ घरका १५९ र वडा नम्बर ६ का ४६ घरका १६१ जना बसाइ सरेका छन् । वडा नम्बर २ र ४ का समान ४३ परिवारका क्रमशः १३९ र ९२ जना बसाइ सरेका छन् । वडा नम्बर ३ का ३२ घरका ९९ जना र वडा नम्बर १ का २९ घरका ८० जनाले बसाइ सरेको मेन्छ्यायेम गाउँपालिकाको तथ्यांक छ ।

    मेन्छ्यायेम गाउँपालिका जस्तो थोरै जनसंख्या भएको पालिकामा यो डरलाग्दो तथ्यांक हो । जनगणना २०७८ अनुसार गाउँपालिकाको जनसंख्या ६ हजार ६९८ जना देखिन्छ । यो तथ्यांक १० वर्ष अगाडिको भन्दा कम हो । जनगणना २०६८ अनुसार यहाँकोे जनसंख्या ८ हजार ७८ थियो । दश वर्षमा गाउँको जनसंख्या १ हजार ३८० घट्नुमा बसाइसराइकै प्रमुख कारण योगदान छ ।

    गाउँमा मान्छे हुँदै नभएको हैन । मान्छेहरु छन् । जस्तो कि ५० नाघेका धेरै मान्छे गाउँमा छन् । विद्यालय पढ्दै गरेकाहरु गाउँमा छन् । बुढाबुढी त गाउँमा धेरै नै छन् । भएकाहरु गाउँमा खुशी छैनन् । खुशी भएको अभिनयमा छन् । खुशी राजनीति गर्नेहरु होलान् ।

    खुशी सरकारी जागिर खाएर गाउँमै बसेकाहरु होलान् । खुशी गाउँघर भ्याएर शिक्षण गर्नेहरु पनि होलान् । तर, उनीहरु पनि खुशी छैनन् । खुशी भएको भए उनीहरुले आफ्नो कमाइको लाखौं रकम गाउँ बाहिर लगानी गर्दैनथे । बुढेसकालमा गाउँमै अडिने सम्भावना कम देख्दैनथे ।

    गाउँमा दुःखी हुनेहरु सुविधा नभएर भएका हैनन् । गरिब भएर दुःखी भएका हैनन् । गाउँमा सुविधा छ । पहिले तीनचार घण्टामा पुगिने गाडीको बाटो गाउँमै आएको छ । धेरैको त आँगनमै आएको छ । एमबीबीएस गरेका डाक्टर गाउँमै आएका छन् । पहिले जस्तो सदरमुकाम पुगेरमात्रै एमबीबीएस डाक्टर हेर्ने अवस्था अन्त्य भएको छ । हातहातमा मोबाइल छ । बजार-बजारमा इन्टरनेट छ । गाउँमा तेह्रथुम पावर कम्पनीको जलविद्युत योजनासमेत आएको छ । योजनासँगै धेरैले सेयरधनी हुने मौका पाएका छन् । गाउँका चौपाया, अन्नबालीदेखी रुख-बुट्यानसम्मको दाम बढेको छ । बजार गाउँ खोज्दै आएको छ । यतिका कुरा गाउँमा आएर पनि गाउँ गाउँबाटै किन गयल छ ?

    यसबारेमा कुरा गर्दा राँके बजार भर्न आएकी लिम्बूनी बोज्यू साथीसँग भन्दै थिइन्, ‘पहिले गाउँमा सुविधा थिएन, मान्छे थिए । अहिले सुविधा छ, मान्छे छैनन् ।’

    गाउँमा गाउँ छोड्ने या भनौं गाउँको विकल्प शहरमा घरघडेरी जोड्ने यस्तो ट्रेन्ड छ कि त्यो ट्रेन्डमा नपर्नु ‘पछि’ परेको जस्तो सामाजिक मनोविज्ञान निर्माण भएको छ । पहिले-पहिले विद्यालय शिक्षासम्म गाउँमै पढाउनेहरु अहिले त्यसो गर्न झन्झट मान्छन् । कममात्रै गाउँका भीआईपीहरुका सन्तान गाउँका विद्यालयमा पढ्छन् । एक दशक अगाडिसम्मको दृश्यमा पूरापूर बदलिएको छ ।

    मेरै उदाहरण दिउँ, म कक्षा ९ सम्म पढेको गौखुरी स्कुलमा मेरा सहपाठी गाउँका भीआईपीकै छोराछोरीहरु थिए । जस्तै स्कुलका प्रधानाध्यापक विश्वराज खापुङका छोरा लावण्यविक्रम सिंह लिम्बू (राजु) मेरा सहपाठी थिए । स्कुलका पुराना सर सत्यनारायणका नाति राजकुमार गुप्ता मेरै सहपाठी थिए । गाउँमै बसेर पौंठाक स्कुल पढाउने शिक्षक डेनु गौतमका छोरा विवेक गौतम मेरै कक्षासाथी थिए । शिक्षक बद्री गौतम पुत्री सीता गौतमदेखि पूर्व गाविस उपाध्यक्ष केशव गौतम पुत्री निलम गौतमसम्म मेरै कक्षाका साथी थिए । अहिले यस्ता सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्वका छोराछोरीहरु गाउँकै विद्यालयमा पढ्ने नजीर दुर्लभ देखिए ।

    पहिले पो सशस्त्र द्वन्द्व थियो । द्वन्द्वको भयले तराई अनि शहर सर्न एउटा कारण हुन सक्थ्यो । अहिले त देशमा द्वन्द्व र युद्ध केही छैन । तर, गाउँ छोड्ने गति युद्धस्तरको छ । यो गतिका पीडित धेरै छन् । मसँग गाउँकी एक भाउजू भन्दै थिइन्, ‘छोराछोरीलाई यस्तो बन भन्ने उदाहरण गाउँमा छैनन् ।’

    गाउँमा प्रभावशाली जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक, प्रहरी र ठेकेदार तथा नेताहरुमात्रै छन् । प्रभावशाली नागरिकहरु छैनन् । जस्तो भूपू गोर्खा सैनिकदेखि शिक्षकहरु गाउँमा कमै छन् । गाउँकै लब्ध प्रतिष्ठित व्यापारीदेखि सामाजिक अगुवाहरु छैनन् । आम सर्वसाधारणमात्रै गाउँमा छन् । तेजिला पढ्दै गरेका विद्यार्थीहरु कम छन् गाउँमा । पढेर गाउँमै केही गरेकाहरु झन कम छन् । कुनै प्रतिष्ठित पेशाबाट अवकाश भएर गाउँ बसेका त झनै छैनन् भन्दा हुन्छ । त्यसको असर गाउँको आम मनोविज्ञानमै परेको छ । जसको उदाहरण भाउजूले भनेको मार्मिक कुरा ‘छोराछोरीलाई यस्तो बन भन्ने उदाहरण गाउँमा छैनन्’ आफै हो ।

    श्रीजुङका विष्णु भण्डारीले बसाइसराइ गाउँकै टाउको दुःखाइ भएको सुनाए । २०१० सालमै गौखुरी स्कुल स्थापना गरेको गाउँ कमजोर पक्कै हैन । अहिलेका संघीय स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रदेश प्रमुख परशुराम खापुङ, त्रिभुवन विश्वविद्यालयका चिनिएका प्राध्यापक डाक्टर राजकुमार भट्टराईलगायत दिग्गज जन्माएको गाउँ हो मेरो गाउँ । यही स्तरको शैक्षिक, राजनीतिक, प्राज्ञिक ओज गाउँले बोक्ने भविष्यलाई बसाइसराइको लर्कोले चुनौती थपिदिएको छ ।

    हुन त बसाइसराइ हुनु नराम्रो हैन । तर, जानेकै हाराहारीमा आउनेहरु हुनुपर्छ । मेरो गाउँमा यो अवस्था छैन । जस्तै, २०७४ सालदेखि हालसम्म २२ घरका ५७ सदस्यमात्रै गाउँमा फर्केका छन् । २४४ घरका ७३० जनाले बसाइ सरेको गाउँमा यो नगन्य संख्या छ । पालिकाका ६ वटा वडामा बसाई सरेर आउनेको संख्या थोरबहुत छ ।

    वडा नम्बर २ मा पछिल्लो ६ वर्षमा ४३ घरका १३९ सदस्यले बसाइ सरेर गाउँ छाडे । गाउँमा बसाइ सरेर भने एकजना पनि नआएको तथ्यांक छ । यो वडा नम्बर २ को लागि मात्रै हैन, सिंगो गाउँपालिकाकै डरलाग्दो तथ्यांक हो । यो तथ्यांक मिलाउने पालिकाले सोच्नुपर्ने देखिन्छ । कसो गरे गाउँमा गाउँले कम होलान् भन्नेमा मोराहाङ ५ की मेरी तल्लाघरे ८८ वर्षकी बढेमा रम्भादेवी गौतमको सुझाव मननीय छ । उहाँ भन्नुहुन्छ, ‘बसाइसराइ होस् । तर, घर खाली नहोस् ।’

  • एसईई: अवैध परीक्षा, वैध नतिजा

    एसईई: अवैध परीक्षा, वैध नतिजा

    गत बुधबार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भएपछि एक दिनलाई सामाजिक सञ्जाल बधाई र शुभकामनाले भरियो । अभिभावकहरु आफ्ना बालबच्चाको फोटो हालेर फेसबुकको भित्ता रंगाइरहेका थिए भने विद्यालयहरु पनि बालबालिकाको नतिजा सञ्जालमै प्रकाशन गरिरहेका थिए । उच्च जीपीए ल्याएका विद्यार्थीहरुको खुशीयाली पनि सञ्जालमै देखापरिरहेका थिए । नातेदार, आफन्त र शुभचिन्तक सबैमा एसईईले खुशीयाली ल्याइदिएको थियो । यस्तो लाग्थ्यो कि एसईईको नतिजा कुनै पर्व हो, जसले सम्पूर्ण देशवासीमा हर्ष र उल्लास ल्याइदिएको छ ।

    यति धेरै खुशीयाली दिने एसईई आफैं चाहि गैरकानुनी हो भन्ने कुरामा भने आम जनता पूर्णतः अनभिज्ञ छन् । वर्तमान ऐन, कानुन, नियम, विनियमका आधरमा हाल सञ्चालन भइरहेको एसईई परीक्षा अवैधानिक छ भन्ने कुरा यदाकदा शिक्षाविद्हरुले सेमिनार र गोष्ठीहरुमा आफ्ना तर्क राख्नेबाहेक यसको वैधानिकताबारे अहिलेसम्म कसैले कुरा उठाएका छैनन् ।

    कानुनले के भन्छ ?

    समग्र शिक्षाको नियामक कानुनको रुपमा रहेको शिक्षा ऐन २०२८ (नवौं संशोधन) ले माध्यमिक शिक्षा भनेको कक्षा ९-१२ सम्म दिइने शिक्षा भनेर परिभाषित गरेको छ । ऐनको दफा ४ (ट) को उपदफा २ ले कक्षा १० अन्त्यमा हुने परीक्षा क्षेत्रीयस्तरमा हुनेछ भनी उल्लेख गरेको छ । सोही दफाको ४ (ड) ले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मान्यता प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह उत्तीर्ण गरेसरह हुनेछ भन्ने व्यवस्था गरेको छ । शिक्षा ऐनमा भएको व्यवस्थालाई हेर्ने हो भने कक्षा १० लागि एसईई परीक्षा क्षेत्रीयस्तरमा सञ्चालन गरिनुपर्छ अथवा कक्षा १२ को अन्त्यमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन गरिनुपर्छ ।

    शिक्षा ऐन २०२८ (नवौं संशोधन) ले माध्यमिक शिक्षा भनेको कक्षा ९-१२ सम्म दिइने शिक्षा भनेर परिभाषित गरेको छ । ऐनको दफा ४ (ट) को उपदफा २ ले कक्षा १० अन्त्यमा हुने परीक्षा क्षेत्रीयस्तरमा हुनेछ भनी उल्लेख गरेको छ ।

    शिक्षा नियमावली २०५९ (१०ौं संशोधन) को नियम ४७ (क) ले कक्षा १२ मा कम्तिमा ७५ प्रतिशत हाजिरी भई नियमित रुपमा अध्ययन गरेको विद्यार्थीमात्र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन पाउने भनी व्यवस्था गरेको छ । नियमावलीको नियम ४२ ले शिक्षा सचिवको अध्यक्षमा १० सदस्यीय माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समिति गठन गर्ने प्रावधान राखेको छ । शिक्षा नियमावलीले कहीं पनि कक्षा १० को अन्त्यमा राष्ट्रियस्तरको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन हुने नियमको व्यवस्था गरेको छैन ।

    राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ को दफा ६ को उपदफा ५ को खण्ड ‘ख’ मा कक्षा १० को अन्त्यमा प्रदेशस्तरीय माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने र खण्ड ‘ग’ मा कक्षा ११ र १२ को अन्तिम परीक्षा, माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) राष्ट्रिय परीक्षा बोर्डले गर्ने स्पष्ट व्यवस्था गरेको छ ।

    विद्यालयस्तरको परीक्षा सञ्चालनसम्बन्धी मौजुदा कुनै पनि ऐन-कानूनले हाल सञ्चालित एसईई परीक्षा केन्द्रीयस्तरमा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने भन्ने व्यवस्था गरेको देखिँदैन । संविधानले त अझ माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई जिम्मा दिएको छ । यसरी हेर्दा अहिले सञ्चालित एसईई परीक्षाको वैधानिकतामाथि गम्भीर कानूनी प्रश्न उठ्नसक्छ । कुन कानूनको आधारमा एसईई परीक्षा भइरहेको छ भन्ने कुरामा न कसैले चासो दिएको छ न त कसैले यसलाई आविस्कार गरेका छन् । यसलाई अवैधानिक घोषणा गर्न कुनै कानूनले छेक्न सक्दैन ।

    शिक्षा नियमावली २०५९ (१०ौं संशोधन) को नियम ४७ (क) ले कक्षा १२ मा कम्तिमा ७५ प्रतिशत हाजिरी भई नियमित रुपमा अध्ययन गरेको विद्यार्थीमात्र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन पाउने भनी व्यवस्था गरेको छ ।

    खेल अर्कै छ

    शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३/३/१३ गते भएको थियो । कानूनतः त्यही मितिदेखि कक्षा १० मा लिइने एसईई (तत्कालीन एसएलसी) परीक्षा खारेज हुनुपर्थ्यो । उक्त संशोधनले उच्च माध्यमिक शिक्षा (१०+२) लाई खारेज गरी कक्षा ९-१२ लाई माध्यमिक शिक्षा भनी परिभाषित गरेको छ । ६ वर्षअघि खारेज हुनुपर्ने परीक्षा अहिलेसम्म कायम हुनुको पछाडि आर्थिक चलखेलको ठूलो हात रहेको छ ।

    एसईई परीक्षाको बहानामा वैधानिक रुपमै परीक्षा दस्तुर र रजिस्ट्रेसन दस्तुर भनेर करोडौं रुपैयाँ विद्यार्थीबाट उठाइन्छ । यस वर्षमात्र २५ करोडभन्दा बढी रकम विद्यार्थीहरुबाट उठाइएको थियो । राज्य स्रोतबाट पनि परीक्षा सञ्चालन र व्यवस्थापन भनेर उत्तिकै रकम लगानी हुन्छ । यो एकमुष्ट रकमको परिचालन मन्त्रालय, विभाग र बोर्डमा रहेका सीमित उच्च तहका कर्मचारीहरुले गर्छन् ।

    प्रश्नपत्र निर्माण र छपाइ, उत्तरपुस्तिका छपाइ, अनुगमन, परीक्षा केन्द्र खर्च, उत्तरपुस्तिका जाँच आदि शीर्षकमा यो रकम खर्च हुन्छ । यसो हुँदा माथिल्लो तहको उच्चतम कर्मचारीदेखि विद्यालयका शिक्षकहरुसमेतले दोहोरो आर्थिक लाभ लिन पाउँछन् । अर्कोतर्फ परीक्षाको नतिजा विभिन्न अनलाइनहरुलाई बिक्री गरेर परीक्षा बोर्डले मनग्गे आम्दानी गर्छ । अनलाइनहरुको एसएमएस व्यापार पनि अचाक्ली चल्ने गर्छ । विद्यार्थीले परीक्षाबापत भनेर मनग्गे शुल्क तिरिसकेपछि पनि नतिजा हेर्न फेरि थप शुल्कको भार बोकाइएको छ । यसबाट हुने आम्दानीले शिक्षा सम्बद्ध कर्मचारीहरुको खल्ती पनि मनग्गे नै भरिने गरेको छ ।

    शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७३/३/१३ गते भएको थियो । कानूनतः त्यही मितिदेखि कक्षा १० मा लिइने एसईई (तत्कालीन एसएलसी) परीक्षा खारेज हुनुपर्थ्यो । उक्त संशोधनले उच्च माध्यमिक शिक्षा (१०+२) लाई खारेज गरी कक्षा ९-१२ लाई माध्यमिक शिक्षा भनी परिभाषित गरेको छ ।

    अर्कोतर्फ निजी विद्यालहरुको व्यथा अर्कै छ । अधिकांश निजी विद्यालयहरु कक्षा १० सम्म मात्र सञ्चालित छन् । उनीहरुको मुख्य व्यापारिक नाका भनेकै एसईईको परीक्षा हो । एसईईमा राम्रो नतिजा देखाउन सके आगामी वर्षको शैक्षिक व्यापार पनि राम्रै हुन्छ । यदि एसईई परीक्षा खारेज भयो भने व्यापारिक नाका नै बन्द हुनजान्छ । त्यसैले निजी विद्यालयका संगठनहरुले शिक्षा मन्त्रालय र विभागलाई यति दबाब दिएका छन् कि सरकारी निकाय लाचार भएका छन् । त्यही कारण शिक्षा ऐनले एसएलसी परीक्षा खारेज गरिदिए पनि त्यही मोडेलमा एसईई नामक अर्को परीक्षा सञ्चालन गर्न मन्त्रालय अग्रसर भएको हो ।

    राष्ट्रिय परीक्षा बोर्डको भताभुंगे ताल

    साविकको उच्च माध्यमिक शिक्षा परिषदअन्तर्गतको परीक्षा बोर्ड र राष्ट्रिय परीक्षा बोर्ड दुबै अहिलेसम्म परिचालित छन् । एकले अर्काको अस्तित्व स्वीकार्न नसक्दा दुबै निकाय अस्तित्वमा छ । त्यसैले कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको सम्पूर्ण काम जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमार्फत गरिन्छ भने कक्षा ११ र १२ को परीक्षासम्बन्धी काम साविकको उच्च माध्यमिक शिक्षा परिषदअन्तर्गतका क्षेत्रीय कार्यालयहरुमार्फत गरिन्छ ।

    परीक्षा बोर्डले एउटै तहमा दुई पटक रजिस्ट्रेसन फारम भर्न लगाएर जात्रा देखाइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ र ११ मा विद्यार्थीहरुलाई रजिष्ट्रेसन फारम भराउने गरेको छ । कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षा भएपछि एउटै तहमा दुई पटक रजिष्ट्रेसन फारम भराउनुको औचित्य के हो ?

    एउटै तहको कक्षापिच्छे फरक कार्यालयमार्फत परीक्षा हुनु लज्जाको विषय हो । अर्कोतर्फ परीक्षा बोर्डले एउटै तहमा दुई पटक रजिस्ट्रेसन फारम भर्न लगाएर जात्रा देखाइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ र ११ मा विद्यार्थीहरुलाई रजिष्ट्रेसन फारम भराउने गरेको छ । कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षा भएपछि एउटै तहमा दुई पटक रजिष्ट्रेसन फारम भराउनुको औचित्य के हो ? संसारमा कहीं पनि एउटै तह र संस्थामा दुई पटक रजिस्ट्रेसन फारम भराउने चलन छैन । यो त सरासर लूटको धन्धा हो ।

    समाधानको उपाय

    कक्षा १० मा लिइने राष्ट्रियस्तरको उच्च माध्यमिक परीक्षालाई तुरुन्त खारेज गरिनुपर्छ । जसरी विद्यार्थीहरु ९ कक्षा उत्तीर्ण गरेका १० कक्षामा जान्छन्, त्यसैगरी १० कक्षा पास गरेर ११ कक्षामा जाने व्यवस्था गरिनुपर्छ । माध्यमिक शिक्षाको अन्तिम तह १२ कक्षा भइसकेपछि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा १२ कक्षाकै अन्त्यमा सञ्चालन गरिनुपर्छ । १२ कक्षाभन्दा मुनिको सबै कक्षाको मूल्यांकन गर्ने जिम्मेवारी विद्यालयलाई सुम्पिनुपर्दछ । विद्यालयले गरेको कक्षा ९ सम्मको मूल्याङ्कनले वैध हुन्छ भने १० कक्षाको लागि गरिने मूल्याङ्कन अवैध हुने भन्ने कुरै आउँदैन । पुरानो एसएलसीको भूतलाई नयाँ पिढीका विद्यार्थीमा सारेर हाउगुजी लगाउने परिपाटीको अन्त्य हुनुपर्छ ।

  • नारीका सपना र सामाजिक यथार्थ

    नारीका सपना र सामाजिक यथार्थ

    मध्यरात ! सुनसान शहर ! यो व्यस्त काठमाडौं ! यतिखेर चीर निन्द्रामा सुतिरहेको बेला म भने पटक्कै सुत्न सकिरहेकी छैन । मेरा खुला आँखाले देखेका ती सपनाहरुको तापले मलाई भित्रभित्रै उकुसमुकुस बनाइरहेको छ । बन्द कोठाभित्र छरपष्ट रहेका किताब र भित्तामा टाँसिएका केही थान प्रमाणपत्रहरुले मलाई प्रश्न गर्दै थिए । तँ किन टोलाउछेस् ? अनुत्तरित म फेरि चुपचाप निदाउने प्रयास गर्छु !

    हो, साँच्चै आजभोलि म शारीरिक थकानभन्दा पनि मानसिक थकानले निकै गलेकी छु । ती खुला आँखाले देखेका हजारौं सपनाहरुले मलाई त्यो सुन्दर गन्तव्यमा पर्खिरहेका छन् भन्ने आशा बोकेर सपनाको रणभूमिमा विक्षिप्त भएर ढलेकी मलाई पूरा गर्न बाँकी ती नै सपनाहरुले झ्वास्स झस्काएर व्युँझाइदिन्छन् ।

    खै हिजोआज म धेरै नै फुर्सदिली भएर पो हो कि ! थुप्रै यादहरु आइरन्छन् । विगत, वर्तमान र भविष्य यस्तै यस्तै …..!

    मलाई जवाफ फर्काउन मन लाग्छ, राजनीति सेवा हो, न कि पैसा कमाउने थलो ! म त राष्ट्रको सेवा गर्न लागेकी हुँ । समाज परिवर्तन गर्न हिँडेकी हुँ न कि सम्पत्ति कमाउन निष्ठाको राजनीति अँगालेकी छु ।

    ती विगतमा मैले गरेका कामहरुको समीक्षा गर्दै अबको वर्तमानलाई कुन दिशातर्फ लैजाने भन्ने विषयमै मेरा दिनरात बितिरहेका छन् । छोटो समयको टेलिभिजन पत्रकारितालाई बिट मारेर सक्रिय विद्यार्थी राजनीतिमा फर्किएकी मलाई थुप्रैले मेरा अगाडि थुप्रै खालका प्रश्नहरु तेस्र्याउँछन् । आखिर राजनीतिमा लागेर के पाउँछौ र ? त्यति राम्रो जागिर छोडेर किन लागेको राजनीतिमा ? केटी मान्छेलाई त गाह्रो हुन्छ नि राजनीति गर्न ? अझ केहीले त राजनीतिमा लागेर धेरैको भविष्य बिग्रिएको उदाहरण दिँदै भन्छन् दिनदिनै पार्टीका कार्यक्रममा हिँडेर आखिर के पाइन्छ ? न तलब आउँछ न त भत्ता, फगत समयको बर्बाद भन्दै नाक खुम्च्याउँछन् ।

    मलाई जवाफ फर्काउन मन लाग्छ, राजनीति सेवा हो, न कि पैसा कमाउने थलो ! म त राष्ट्रको सेवा गर्न लागेकी हुँ । समाज परिवर्तन गर्न हिँडेकी हुँ न कि सम्पत्ति कमाउन निष्ठाको राजनीति अँगालेकी छु । कुनै दिन यसको सम्मान हुनेछ म निष्ठापूर्वक देश र जनताको सेवा गर्नेछु ।

    तर, म मौन बस्छु । जवाफ फर्काउन आवश्यक ठान्दिनँ । यस्ता धेरै प्रश्नहरु झेलेर होला, जवाफ दिनुभन्दा पनि म मौन बस्न रुचाउँछु । मनमनै भन्छु, वस समय आउँछ । समयले नै सबै प्रश्नको उत्तर दिन्छ । मान्छेको सोच, मान्छेको मान्छेप्रतिको धारणा र मान्छेको कामप्रतिको बुझाइलाई अलि फराकिलो तरीकाले बुझिदिऊन् भन्ने पनि लाग्छ । तर, मान्छेका संकुचित सोचलाई परिवर्तन गर्न मुस्किल रहेछ । जति नै आदर्शका गफ गरे पनि हाम्रो सामाजिक प्रवृत्ति यहाँभन्दा माथि उठ्न सकेको छैन ।

    मान्छेका संकुचित सोचलाई परिवर्तन गर्न मुस्किल रहेछ । जति नै आदर्शका गफ गरे पनि हाम्रो सामाजिक प्रवृत्ति यहाँभन्दा माथि उठ्न सकेको छैन ।

    हाम्रो समाजमा अझै पनि महिला र पुरुषबीच असमानताको ठूलो खाडल छ । महिलालाई हेर्ने र बुझ्ने दृष्टिकोण फेरिनसकेको छैन । महिलाहरु समाज र राष्ट्रका महत्वपूर्ण हिस्सा हुन् भन्ने कुरा हाम्रो समाजले बुझ्न सकेको छैन । महिलाहरुलाई घरको कामकाज र परिवारको रेखदेखमै सीमित बनाइन्छ । जति क्षमता पुरुषसँग छ, त्यति क्षमता महिलासँग पनि छ भन्ने कुरामा विश्वास राख्छु म । किनकि प्रकृतिले कसैलाई न्याय अन्याय गरेर धर्तीमा पठाएको छैन । शारीरिक भिन्नतालाई आधार मानेर हाम्रो समाजले महिलालाई कमजोर मानेको हो । महिला र पुरुषको विभाजन गरेको हो । कामको वर्गीकरण गरेको हो ।

    महिलालाई मात्र एउटी गृहिणी र पारिवारिक जिम्मेवारी सम्हाल्ने मेशिनको रुपमा हेर्ने, अनि बाहिरी काम र आर्थिक कुरामा पुरुषको भरपर्ने प्रवृत्तिको विकास भएसँगै महिलाहरुलाई कमजोर शक्तिको रुपमा चित्रण गरिएको हो । जबसम्म महिलाहरु आर्थिक रुपमा सक्षम हुँदैनन् तबसम्म समाजमा कमजोर पात्र बनिरहन्छन्, हेपिइरहन्छन् । आजकल मेरो ब्रह्माले यही भन्छ ।

    अब मलाई त्यो कमजोर पात्र बन्नु छैन । आत्मनिर्भर भएर आफ्नै स्वाभीमानमा बाँच्नु छ । शीर ठाडो बनाएर हिँड्नु छ । जीवनमा आउने सबैखाले चुनौतीलाई स्वीकार्दै, सामना गर्दै अगाडि बढ्नु छ । मेरो परिवारले दिएको यो स्वतन्त्रतालाई सही ठाउँमा प्रयोग गर्नु छ । मैले रोजेको क्षेत्रमा सफलता हासिल गर्नु छ । अनि मेरा रातभर जागेका यी खुला आँखाले देखेका ती हर सपनाहरु पूरा गर्नु छ ।

  • ‘बकवास’ एसईईको हर्कबढाइँ कहिलेसम्म ?

    ‘बकवास’ एसईईको हर्कबढाइँ कहिलेसम्म ?

    म इटहरी- ४ बाघमारेमा बस्छु । बाघमारेको नयाँ नाम आइतबारे हो । मलाई पुरानै नाम प्रिय लाग्छ । बाघमारेमै छ तेह्रथुमे खाजाघर । बाघमारे क्षेत्रको मेरो सबैभन्दा प्रिय अडिने खाजाघर त्यही हो । यो प्रिय खाजाघरमा कहिलेकाहीं अप्रिय कुरा नि सुनिन्छ । खाजाघरका हितैषी सञ्चालक जेबी बस्नेत आफ्ना स्कुले छोराछोरीले नपढ्दा बिच्किन्छन् । गाली गर्छन् । उनको गालीमा दोहोरिने डाइलग छ- यत्रो खर्च गरेर पढाको छ । केही जान्नु छैन ।

    यहाँ बस्नेतले भनेको ‘खर्च’ आर्थिक हो । उनलाई मैले सोध्दा उनी भन्थे- एउटा बच्चाको पोशाक, खाजा, बस भाडा, भर्ना, मासिक, अन्य शुल्कले लाख हाराहारी पुग्छ । दुई छोराका बाबु बस्नेतलाई छोराहरुले नपढ्दा लाग्ने प्रमुख पिर आर्थिक हो । खर्च गरेको छ, नजिता छैन । प्रालिमा दर्ता भएका निजी स्कुल अर्थात् शैक्षिक दोकानमा ग्राहक बनाएर पठाएका छोराहरुको परिणाम राम्रो नहुँदा बिच्किने अभिभावक जेबी बस्नेतमात्रै हैनन् । महँगो शुल्क तिरेर निजी स्कुलमा भर्ना गरेका आम अभिभावकहरु हुन् ।

    यो दुःख निजी स्कुलमा मात्रै छैन । सरकारी तलबभत्ता खाएर झण्डै बीस हजार एकमुष्ठ रकम लिने इटहरीकै नमुना सार्वजनिक विद्यालय अर्थात् सरकारी दोकानका अभिभावकमा समेत उस्तै छ । पढाइको नाममा खर्च हुन्छ, पढाइ राम्रो हुँदैन ।

    आम अभिभावकले गर्ने पढाइका चिन्ता मूलतः दुई कुराको छ । एक, खर्चअनुसारको पढाइ नहुनु । दुई, सोचेअनुसारको परीक्षामा अंक नआउनु ।

    आम अभिभावकले गर्ने पढाइका चिन्ता मूलतः दुई कुराको छ । एक, खर्चअनुसारको पढाइ नहुनु । दुई, सोचेअनुसारको परीक्षामा अंक नआउनु ।

    पहिलो मुद्दामा कुरा गरौं । खर्चअनुसारको पढाइ किन भएन ? किनभने पढ्ने संस्कृति राम्रो छैन । पढाउने जनशक्ति राम्रो छैन । पढाइने खुराक राम्रो छैन । पढ्ने संस्कृति राम्रो भएको भए त सबैले खुरुरु पढ्ने थिए । पढाउने जनशक्ति राम्रो भएको भए ट्युसन आतंक हुँदैन थियो । दश वर्ष पढ्दा पनि अंग्रेजीमा फेल । तर, तीन महिनामा पढेकै आधारमा कोरियाली, जापानी र हिब्रु फरर हुने कुरामा पढाउने जनशक्तिकै समस्या देखिन्छ ।

    पढाइने खुराक राम्रो भएको भए सामाजिक शिक्षाको परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु असामाजिक हुँदैन थिए । पढाउने खुराक नभएकैले दश वर्ष पढ्दा पनि कुनै जिन्दगी जिउने सीप नपाउने तर तीन महिला प्लम्बिङ सिक्दामात्रै जिन्दगीले सीप पाल्ने भएको हो । स्कुले तहको इञ्जिनियरिङलगायतका सीपमूलक कोर्षहरु अपवाद हुन् । त्यो सबै स्कुलमा छैनन् । सबैले पढ्न पाएका छैनन् ।

    नेपाली विद्यालय शिक्षाले अंकको ह्याङओभर यस्तरी हाल्दिएको छ कि अंक सबैथोक हो । अंक नै जिन्दगी हो । जिन्दगीलाई अंकमा कैद गरेर कुख्यात चक्रव्यूह बनाइएको छ ।

    दोस्रो मुद्दाको कुरा गरौं । सोचेअनुसारको अंक नआउनु । नेपाली विद्यालय शिक्षाले अंकको ह्याङओभर यस्तरी हाल्दिएको छ कि अंक सबैथोक हो । अंक नै जिन्दगी हो । जिन्दगीलाई अंकमा कैद गरेर कुख्यात चक्रव्यूह बनाइएको छ । जसको कारणले साविक एलएलसीताका अंक नपुगेर परीक्षामा फेल हुनेहरुले जिन्दगीमा फेल भएको सम्झे, आत्महत्या गरे । अंकमात्रै जिन्दगी हैन भन्नेमात्रै सिकाइएको भए कम्तिमा आत्महत्या गर्नेहरुले आफ्नो रुचिको क्षेत्रमा राम्रो गर्ने थिए । केही नगरे विदेश गएर रेमिट्यान्स पठाउने थिए ।

    अंक थोरै आएकोमात्रै दुःख छैन । धेरै आएकोमा पनि दुःख छ । अंक धेरै आएको भन्दै धेरैले आफूलाई ‘लार्जर द्यान लाइफ’ सम्झेका छन् । र, जिन्दगी त्यही लयमा नहुँदा पछुतो मानेका छन् ।

    एसईईलाई ग्रेडिङमा ल्याएर एसएलसी जस्तो आतंक त छैन । तर, ग्रेडिङको कथित हर्कबढाइँ उस्तै छ । दश वर्ष प्लसको समय र सम्पत्ति लगानीको सही प्रतिफल नदिने एसईई आफैं कमजोर गे्रडिङ भएको परीक्षा प्रणाली हो । दश कक्षाको स्कुले जीवन पार गरेर भोटिङ उमेरउन्मुख भएर कलेजतर्फ यात्रा गर्ने उमेरमा वैश्विक नागरिक हुने आत्मबल आम विद्यार्थीलाई दिन नसक्ने एसईई पाठ्यक्रम आफैं विश्वस्तरीय शिक्षा ग्रेडिङमा तल्लो श्रेणीमा आउने परीक्षा प्रणाली हो ।

    एसईईले शिक्षा दियो, सीप दिएन । अंक दियो, आनन्द दिएन । कागज दियो, कन्फिडेन्स दिएन । अनि यस्तो वकवास एसईईको हर्कबढाइँ गर्ने कहिलेसम्म ? यो घोकन्ते कागजी खोलोमेलोमा भावुक भएर विश्वास गर्ने कहिलेसम्म ?

    दश वर्ष पढेको छु, अब यत्तिमै विश्राम लिए पनि दुनियाँको जुन कुनामा गएर पनि स्कुलले सिकाएको सीपले जिन्दगी चलाउँछु भन्ने आत्मबल दिन नसक्ने एसईई आफैं ग्रेडिङमा फिलतो छ । अति, त्यही ग्रेडिङमा कमजोर एसईईको वकवास ग्रेडलाई लिएर किन हर्कबढाइँ गर्ने ?

    हो, एसईई उच्च शिक्षाको ढोका देखाउने बाटो हो । तर, उच्च शिक्षाको ढोका पुग्दा कुनै वैश्विक सीप नजानी घोकन्ते विद्यामा उभिनु गम्भीर समस्या हो । हो, एसईई एक तहको स्कुले शिक्षा पार गरेको जनाउ दिने मानक हो । तर, त्यो मानक आजको युग सुहाउँदो र विश्वको मानचित्रमा नेपाली शैक्षिक उपस्थिति बलियो बनाउने मानक नहुनु गम्भीर समस्या हो । एसईईले शिक्षा दियो, सीप दिएन । अंक दियो, आनन्द दिएन । कागज दियो, कन्फिडेन्स दिएन । अनि यस्तो वकवास एसईईको हर्कबढाइँ गर्ने कहिलेसम्म ? यो घोकन्ते कागजी खोलोमेलोमा भावुक भएर विश्वास गर्ने कहिलेसम्म ?

  • विद्यार्थी नेतृ मनिषा आचार्यको उपन्यास ‘छोरी’ काे विमोचन

    विद्यार्थी नेतृ मनिषा आचार्यको उपन्यास ‘छोरी’ काे विमोचन

    काठमाडौं । विद्यार्थी नेतृ मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ को विमोचन भएको छ ।

    लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको ‘छोरी’को आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच ऊर्जामन्त्री पम्फा भुषाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले विमोचन गरेका हुन् ।

    विमोचन समारोहमा मन्त्री भुसालले समाजमा अझै पनि नारीमाथि हुने विभेद कामय रहेको भन्दै राजनीति र सहित्यको माध्यमबाट यसरी नै विषय उठान गर्दै विभेद अन्त्यका लागि भूमिका खेल्नुपर्ने धारणा राखिन् ।

    कार्यक्रममा सन्तोष परियार र विमला तुम्खेवाले विमोचित पुस्तकमाथि टिप्पणी गरेका थिए ।

    लेखक आचार्य अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष हुन् । आचार्यको यो पहिलो कृति हो ।

  • आइबी राई दार्जिलिङ नै बस्न हुने, म इलाम बस्न किन नहुने ?

    आइबी राई दार्जिलिङ नै बस्न हुने, म इलाम बस्न किन नहुने ?

    अब बोले मात्रै पुग्ने अवस्थामा म पुगेको छु । हरेक लेखकले एउटा फेज पार गरिसकेपछि उसले सोचेका कुराहरु प्रकाशन गर्नैपर्छ भन्ने जरुरत हुँदैन रहेछ । स्वतस्फूर्त रुपमा हरेक मान्छेले सोचेको हुन्छ । आफूले सोचेको कुरा प्रकाशन गर्नैपर्छ भन्ने हुँदैन । पहिला पहिला मैले सोचेको कुरा प्रकाशन हुनैपर्छ । अरुले थाहा पाउनैपर्छ भन्ने लाग्थ्यो । अहिले चाहिँ मैले सोचेको कुरा आफैंभित्र राख्छु, गम्छु अनि मुसुमुसु मुस्कुराउँछु । हेर्छु, पढ्छु र आनन्द मान्छु ।

    हाम्रो आन्दोलन बीचको बाटोमा हिँड्नुपर्छ । मुन्धुममा पनि दाहिनेतिर गयो, फूलैफूलको बाटो छ, देब्रेतिर गयो काँडैकाँडाको बाटो छ । बीचको बाटोमा हिँड्यौ भने लक्षमा पुग्छौ भनेको छ । त्यो भएर हामी फूलैफूलको बाटो पनि हिँड्नु भएन, काँडैकाँडाको बाटो पनि हिँड्नु भएन । हाम्रो जीवन भनेकै त्यही हो, फूल र काँडाको बीचमा हिँड्नुपर्छ । हाम्रो आन्दोलन पनि त्यसरी नै अगाडि बढेको हो ।
    ०००

    कवि हाङयुग अज्ञात १५ वर्षसम्म हङकङमा रहे । हङकङको व्यस्त जीवनशैलीबाट जुगड भएको समय कवितामा अक्षरहरु उनिरहे । कविताहरु पाठकसम्म पुर्‍याइरहे । नेपालमै हुँदा बखत् राजन मुकारुङ र उपेन्द्र सुब्बासित मिलेर अगाडि बढाएको साहित्यिक आन्दोलन ‘सृजनशील अराजकता’लाई स्थापित गराउन लागिपरे ।

    युवावयमा तीन सर्जकले सुरु गरेको सृजनशील अराजकता आन्दोलन स्थापित मात्रै भएन, तीनैजना सर्जक स्थापित भए । अहिलेको आफूहरुको उपस्थितिलाई आन्दोलन अविचलित भएर हाँक्दाको परिणति ठान्छन् हाङयुग ।

    लेखनीमार्फत् सहअस्तित्व र पहिचानको वकालत गरेर नथाकेका हाङयुगको अहिलेको स्थायी ठेगाना हो, इलाम । अनि इलाममै किन, काठमाडौंमा बसे हुँदैन?हाङयुगको सर्टकट जवाफ छ, ‘हामीले नै संघीयताको पक्षमा, विकेन्द्रिकरणको पक्षमा वकालत गर्‍यौं । अनि अब काठमाडौं बसेर भयो त ? सिद्धान्तलाई व्यवहारिक रुपमा लागु पनि त गर्नुपर्‍यो ।’

    इलाममा कृषि कर्ममा लागेका छन् । बाख्रा, सुँगुर, कुखुरा पालेका छन् । र उतैबाट नयाँ कविताको खेस्रा कोरिरहेका छन् । काठमाडौंबाट हेर्दा थातथलोमा पुगेपछि हाङयुगले एकदमै पातलो लेखिरहेका छन् । छापा तथा अनलाइनहरुमा पनि एकदमै पातालो गरी आएका छन् । पछिल्लो समय त आएकै छैनन् भन्दा पनि फरक पर्दैन । किन त ?

    हाङयुगको प्रतिप्रश्न छ, ‘अनि काठमाडौंले हामीलाई थेग्न सक्छ त ? अब काठमाडौंले हामीलाई बोलाउने होइन, इलामले सिंगो काठमाडौंलाई यहाँ बोलाउँछ ।’

    भन्दा जे भने पनि हाङयुगको लेखन त पातलो भएकै हो ! तर, आफ्नो मौनतालाई पातलो नभनेर ‘शान्त’ चाहिँ भएको बताउँछन् । जस्तोः समुद्र पुग्नुअघिको शान्त नदी । लेखनमा ३ दशक प्लस गुजारिसकेका उनको भनाइ छ, ‘सधैं खहरेजस्तो उर्लिएर हुँदैन । गड्याङगुडुङ गरेर हुँदैन । लेखनको यात्रा नदीको यात्रा जस्तै हो । एक चरणमा पुगेपछि लेखन पनि नदीजस्तै शान्त हुन्छ ।’

    इलामको आफ्नो घरमा भेटिएका हाङयुगले अहिले आएर मौनता र शान्तपनको कार्ड फ्याँके पनि उनी तिनै लेखक हुन्, जो एक समय काठमाडौंको साहित्यिक कार्यक्रमहरुमा चर्को हल्लाखल्ला गरेर आफ्नो उपस्थितिको औचित्य खोज्ने गर्दथे । चर्को हल्लाबीच तीखा प्रश्नहरु गरेर आफ्नो उपस्थितिको दाबी गर्दथे । फूल, नदी, हिमालका विम्ब चलाउने कविहरुलाई आदिवासी सौन्दर्य जबरजस्ती पढाएर हिँड्ने गर्दथे ।

    अहिले आएर उनै हाङयुग समुद्र पुग्नुअघिको नदीको मौनताको कुरा गर्छन् । अलि तालमेल मिलेन हगी ?

    हाङयुगको स्वीकारोक्ती छ, ‘सुरुवाती कालमा त्यसो गरेको हो । जो पनि लेखकले त्यसरी नै सुरु गर्छ । र देशव्यापी रुपमा आन्दोलित हुनसक्छ । आफ्नै जीवनसँग आन्दोलित हुनसक्छ । तर, लेख्दै जाँदा गम्भीरता बुझ्दै, जीवन देख्दै, भोग्दै जान्छ । अनि अन्तिममा एक अवस्थामा आइपुगेपछि ऊ शान्त हुनैपर्छ ।’

    तर पातलो लेखनीको कारण के हो त ?प्रश्न त हाङयुगमाथि कति तेर्सिएलान् !

    ‘अब बोले मात्रै पुग्ने अवस्थामा म पुगेको छु । हरेक लेखकले एउटा फेज पार गरिसकेपछि उसले सोचेका कुराहरु प्रकाशन गर्नैपर्छ भन्ने जरुरत हुँदैन रहेछ । स्वतस्फूर्त रुपमा हरेक मान्छेले सोचेको हुन्छ । आफूले सोचेको कुरा प्रकाशन गर्नैपर्छ भन्ने हुँदैन,’ हाङयुग सुनाउँछन्, ‘पहिला पहिला मैले सोचेको कुरा प्रकाशन हुनैपर्छ । अरुले थाहा पाउनैपर्छ भनने लाग्थ्यो । अहिले चाहिँ मैले सोचेको कुरा आफैंभित्र राख्छु, गम्छु अनि मुसुमुसु मुस्कुराउँछु । हेर्छु, पढ्छु र आनन्द मान्छु ।’

    भन्नुको तात्पर्य अब लेखन पुगिसक्यो हाङयुगलाई ?पुग्यो भन्दा पनि लेखन लेखन मात्रै भनेर लेखनदास हुने रहर नरहेको बताउँछन् उनी ।

    अनि अहिले सृजनशील अराजकता अभियान र यसका अभियान्ताहरु अलि सुस्त हुँदै गएका त होइनन् ?

    ‘होइन, म हाम्रै मुद्दा अनुसार प्रदेश एकमा बसिरहेको छु । हाम्रै मुद्दालाई अगाडि बढाउन इलाममा बसेको हो । हामीले सिद्धान्त मात्रै ओकलेनौं, व्यवहारमा पनि यो संघीयताका लागि सडकमा लड्यौं । विकेन्द्रिकरण भन्यौं । अब हामी नै काठमाडौंमा बस्नुपर्ने जरुरत छैन ।’

    पहिचानको आन्दोलन अहिले कमजोर भएर गएको विश्लेषण हुने गरेका छन् । अहिलेको समयमा आइपुग्दा पहिचानको आन्दोलनलाई कसरी हेर्ने ? कसरी लिने ? कसरी आत्मासात् गरेर अगाडि बढ्ने ?

    हामीले सुरुवातमा खोजेको सहअस्तित्व थियो । पछि नश्लीय चेत जोडियो । त्यससँगै पहिचान जोडियो । यो राजनीतिक रुपमा आएको शब्द हो । पहिचानको राजनीति पश्चिमा मुलुकमा चलिसकेको थियो । नेपालको सन्दर्भमा सृजनशील अराजकताले लिनुपर्ने बाटो पहिचानकै थियो । तर, हामीले लिने बाटो हाम्रैजस्तो हुनुपर्छ भन्नेमा अडिग थियौं । त्यहाँ अतिवाद, उग्रवाद, नश्लवाद हुनु हुँदैन भन्नेमा सचेत थियौं ।

    पहिचानको मुद्दा तर डाक्टर गोपाल गुरुङले धेरै अघि उठाइसक्नुभएको थियो । हामीले साहित्यिक रुपमा उठाउँदा गुरुङकै जस्तो विचार हुनु हुँदैन भनेर लगातार छलफल पनि गरेका थियौं । हामीले पहिचानको लेखनमा हाम्रै कुरा लेख्ने हो । हामीले हाम्रो कुरा लेख्दा अरुलाई किन लखेट्ने ?

    मैले बारम्बार भनिरहेको छु कि गणेश भगवानको फोटो वनारसमा छापिएर आउँछ । त्यो पनि धोती लगाएको फोटो । हामीले त्यही वेला भनेका थियौं, हामी पनि गणेश भगवानलाई मान्छौं । तर, दौरासुरुवाल लगाइदेऊ न । बख्खु लगाइदेऊ न । बख्खु लगाएको महादेव बनाइदेऊ न । यहाँ इलाममा हुँदाहुँदा महादेवको मूर्तिमा जनै लगाइदिएको छ । यो भनेको अतिक्रमण हो । कुनै पनि शास्त्रमा महादेवले जनै लगाएको उल्लेख छैन । ऊ त आदिवासी देउता थियो ।

    अनि हामीले अर्को बाटो तय गरेका थियौं । त्यो हो हाम्रो् आन्दोलन बीचको बाटोमा हिँड्नुपर्छ । मुन्धुममा पनि दाहिनेतिर गयो, फूलैफूलको बाटो छ, देब्रेतिर गयो काँडैकाँडाको बाटो छ । बीचको बाटोमा हिँड्यौ भने लक्षमा पुग्छौ भनेको छ । त्यो भएर हामी फूलैफूलको बाटो पनि हिँड्नु भएन, काँडैकाँडाको बाटो पनि हिँड्नु भएन । हाम्रो जीवन भनेकै त्यही हो, फूल र काँडाको बीचमा हिँड्नुपर्छ । हाम्रो आन्दोलन पनि त्यसरी नै अगाडि बढेको हो ।

    अहिले पनि पहिचानको आन्दोलन कमजोर भएको छैन । यसले स्वरुपहरु फेर्दै गएको छ । उन्मुक्त पुस्ता, रंगवाद, सृजनशील उत्तरवर्तीहरु छन् । सरस्वती प्रतिक्षाले ‘नथिया’ लेखिन्, उनले पनि वादी समुदायको पहिचानलाई स्थापित गर्न खोजेकी हुन् । पछिल्लो समय वसन्त वस्नेतले ‘महाभारा’ ल्यायो, त्यो किताब पनि पहिचानवादी धारमै लेखिएको हो । पहिचानको आन्दोलन कमजोर भएको छैन, झनै जरा गाडेर भित्रभित्र गएको छ ।

    पहिचानको आन्दोलन अलि सम्प्रादायिक चाहिँ भएको हो र ?

    भएजस्तो लाग्दैन, यदि थोरबहुत सम्प्रादायिक हुँदै गएको छ भने सच्चिनुपर्छ हामी । हामीले खोजेको त मान्छेको पहिचान हो । चितवनमा गैँडा मर्दा देशभरि कोकोहोलो मच्चिन्छ । यहाँ सिंगो एउटा जातिको अस्तित्व संकटमा पर्दा कसैलाई मतलव हुँदैन । हामी कुकुरको रेस्क्यु गर्छौं, तर एउटा मान्छे सडकमा बहुलाएर किन हिँडिरहेको छ, उसलाई सोच्दैनौं । त्यसमाथिको आक्रोश उठ्नसक्छ, आक्रोशलाई नै सम्प्रादायिक भन्नु हुँदैन । तर, हामीले आन्दोलनमाथि समीक्षा गर्नुपर्ने वेला चाहिँ भएको अवश्य हो ।

    अब आन्दोलनलाई कसरी कसरी अगाडि बढाउन सकिएला ?

    सृजनशील अराजकता आजभन्दा ३० वर्षअघि सुरु भएको हो । हामीले जे भन्यौं, त्यही नै मुख्य कुरा हो । हामीले त्यसवेला फुकेको आगो अहिले पनि बलिरहेको छ । आगो त फुकिदियौं, त्यहाँ दाउरा हालिरहनुपर्छ भन्ने छैन । नयाँ पुस्ता आउँछन्, दाउरा हाल्दै जान्छन् । अनि आलु पोलेर खाने कि के खाने उनीहरुले नै त्यस अनुसार गर्ने हुन् ।

    हामीले फेरि सडकमा उफ्रिएर गर्नुपर्ने केही छैन । उपेन्दै जी आफ्नै ढंगले लेखिरहनुभएको छ । राजन जीले आफ्नै पाराले लेखिरहनुभएको छ । म आफ्नै ढंगले सोचिरहेको छु ।

    अबका दिनमा तपाईं इलाम नै पक्का जस्तै रहेछ है ?

    यहाँबाट दुई पाइला उता दार्जिलिङ छ । तेस्रो आयामको आन्दोलन इन्द्रबहादुर राई, बैरागी काइँला र इश्वरबल्लभले दार्जिलिङबाटै सुरु गरे । काइँला र बल्लभ काठमाडौं गए । आइबी राई दार्जिलिङ नै बसे । उनलाई नेपाल बोलाउँदा पनि आएनन् । अनि आइबी राई त्यसरी बस्न हुने, म नहुने भन्ने हुँदैन ।

    ०००

  • १५ वर्षपछि तेर्‍हथुमको ‘अर्ध-वार्षिक’ झरनामा पुग्दा…

    १५ वर्षपछि तेर्‍हथुमको ‘अर्ध-वार्षिक’ झरनामा पुग्दा…

    कुरा २०६२ साल अगाडिको हो । प्राविदेखि निम्न माविसम्मको हाजिरीजवाफ प्रतियोगिता हुन्थ्यो । त्यसमा हाजिर हुने तेर्‍हथुम मोराहाङको वशिष्ठ प्राविदेखि गौखुरी माविसम्मको एक नियमित सदस्य म थिएँ । हाम्रो हरेकजसो हाजिरीजवाफमा कुनै न कुनै रुपमा दोहोरिने सबैभन्दा सजिलो प्रश्न हुन्थ्यो- नेपालको सबैभन्दा अग्लो झरना कुन हो ? जोसुकैले सहज उत्तर दिन्थे- ह्यात्रुङ झरना ।

    यो प्रश्नको उत्तर आम तेर्‍हथुमेलीलाई थाहा छ । धेरैलाई उचाइ कन्ठै छ, ३६५ मिटर । एक वर्षमा हुने दिन र ह्यात्रुङको उचाइ समान भएरमात्रै थाहा भएको हैन । तेर्‍हथुमको राष्ट्रिय मानचित्रमा आउने थोरै ल्याण्डमार्कमा एक ह्यात्रुङ भएकोले जिल्लाको पहिचानको लागि सम्झना आएको हुनसक्छ । खैर, यो हाजिरीजवाफमा पटकपटक मिलाएको उत्तर अर्थात् ह्यात्रुङ झरना पुग्न भने मैले निमावि सक्दासम्म सम्भव भएन । इटहरी आएर माध्यमिक तहमा कोशी सेन्ट जेम्स स्कुलमा भर्ना भएपछि मात्रै ह्यात्रुङ पुग्ने साइत जुरेको थियो ।

    दोस्रो जनआन्दोलन सकिएको एक वर्ष पूरा हुँदै थियो । मेरो वार्षिक परीक्षा पनि सकिएको थियो । चैत सकिन लाग्दा म तेर्‍हथुमको मोराहाङ पुगेँ । मेरो ह्यात्रुङ हत्ते जाने पनि अलैंचे इन्द्र दाइले जुक्ति फुराउनुभयो- एक दिन हिँडेर इसिबु पुग्ने । इसिबुमा बस्ने । इसिबुमा चिम्फाङकी शिव दाहाल दिदीको घर तिम्सिना गाउँमा छ । त्यही बास बस्ने । भोलिपल्ट बिहानै झरना हेरेर मोराहाङ (घर) आउने ।

    अलैँचे इन्द्र दाजुकै तरिकाअनुसार योजना बन्यो । एक सिंगो पहाड, केही खोला र थुप्रै खोल्सी नाघेर पुग्नुपर्ने यात्रा छिचोलेर हामी ६ घण्टा हाराहारीमै इबिसु पुग्यौं । मोराहाङबाट लाब्री, लाब्रीको शीर हुँदै सम्दु भएर हामी इसिबु तिम्सिना गाउँ पुग्यौं । त्यो बेला नेपालको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक ‘मेरो मोबाइल’को सिम र सानो नोकिया सेट थियो मसँग । पहाडमा सीडीएमएबाट आएको फोन उठाउन सजिलो होस् भनेर घरबाट दिइएको मोबाइलमा रोचक रिंगटोनहरु थिए । हामी टावरै नटिप्ने बाटोभरि त्यही रिंगटोन बजाँउदै हिँड्यौं । नेटवर्क टिपेको भए धेरैलाई फोन गरेर यात्राको धाँक दिन पाइथ्यो । नटिप्नाले पाइएन । तर, पाइयो यात्रामा प्रत्यक्ष गफ गर्दै लिने मज्जा । स्थानीयसँग बाटो सोध्दै हिँड्नुको छुट्टै आनन्द ।

    २०६४ चैतको कुन दिन हामी इसिबुको तिम्सिना गाउँमा पाहुना लाग्यौं भन्ने अहिले न मलाई सम्झना छ न त इन्द्र दाइलाई । यो ब्लगको तयारीमा मैले कल गर्दा इन्द्र दाइले नि सम्झन सक्नुभएन । तर, हामीले सँगै यात्रा गरेका रोचक पाइलाहरु सम्झियौं । हामीले आँखा र हृदयमा कैद गरेका ह्यात्रुङ यात्रा तस्वीरहरु सम्झियौं । तस्वीर कैद गर्ने मोबाइल बोकेको भए हाम्रो सम्झना ठोस हुन्थ्यो होला । तर, त्यो नभइदिनाले हाम्रा सम्झना तरल भइदिए । कतिपय त क्रमशः उड्दै जाने बाफ भइदिए ।

    १५ वर्ष अगाडि ह्यात्रुङ पुग्दा झरनाको पानी थोरै थियो । तर, हाम्रो झरनाको प्यार धेरै थियो । हाजिरीजवाफमा सोधिने प्रश्नको उत्तरसामु हाजिर हुँदा हामी पुलकित भयाैं । हाम्रो यात्राको कुरा धेरैलाई सुनायौं । आफूमा साटासाटा गर्‍यौं । जे होस् हामी पैदलै १५ वर्ष अगाडि ह्यात्रुङमा हाजिर भएका थियौं ।

    ढाकाको राजधानी घोषणा र ह्यात्रुङ सफरको साइत

    गत असार २० गते तेर्‍हथुम ढाकाको राजधानी घोषणा हुने कार्यक्रम थियो । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा तेर्‍हथुम सदरमुकाम क्षेत्रको म्याङलुङ नगरपालिकाको आयोजनामा राजधानी घोषणा कार्यक्रम हुने भयो ।

    तेर्‍हथुमलाई ‘ढाकाको राजधानी’ बनाउने कार्यक्रममा सहभागी हुन ‘ढाकाको मोफसल’ इटहरीबाट हिँड्यौं म र विकल पौडेल । म तेर्‍हथुमेली नै भएँ । पौडेल तेर्‍हथुमकै पिप्लेका ज्वाइँ । हामीलाई यो कनेक्सनले कार्यक्रममा जाने हुटहुटी भयो । अझ तेर्‍हथुमका स्टेशनैपिच्छे भेटिने हाम्रा स्थानीय हितैषी साथीहरुको कारण हाम्रो यात्रा तयमा अतिरिक्त ऊर्जा मिल्यो । र, हामी लाग्यौं बिहानै पाँच बजे इटहरीबाट धरान, भेडेटार, धनकुटा, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरिखिम्ती हुँदै म्याङलुङ । हामी झण्डै पाँच घण्टामा म्याङलुङ पुग्यौं । भेडेटारमा कवि सुमन पोखरेल र टीभी व्यक्तित्व रुपेश श्रेष्ठसँग चिया र कविता गफ नभएको भए यात्रा अझ छोटो हुन सक्थ्यो । मध्य पहाडी राजमार्गले ठाउँठाउँमा कुहिरोको कम्बल नओढेको भए अझ हाम्रो यात्रा छिटो हुन्थ्यो ।

    लिम्बू भाषामा म्याङ भनेको बिरालो हो । लुङ भनेको ढुंगा । बिरालोले चिथोरेको ढुंगासँग जोडिएको एक मिथकले म्याङलुङ नाम रहेको हो । त्यो नामको ठोस विम्ब अहिले म्याङलुङ प्रवेश गरेपछि देखिने बिरालोको सुन्दर मूर्तिले दिन्छ । बिरालोको अगाडि तस्वीर खिच्दै मैले ठट्टा गरेँ, ‘बिरालोले बाटो काट्नु पो नराम्रो । बिरालोले बाटो छेक्नु त राम्रो हो ।’

    असार २० गतेको ढाकाको राजधानी तोकियो । लालीगुराँसको राजधानीमा तेर्‍हथुमले ढाकाको अतिरिक्त राजधानी पायो । मन्त्रालयका सचिवदेखि सहसचिवसम्मले राजधानीको फुर्को ओडाइदिए । जिल्लाका ६ वटै पालिका प्रमुख उपस्थित भएको कार्यक्रम सुन्दर थियो । तेर्‍हथुम लालीगुराँसदेखि ढाकाको राजधानी भएकोमा हामीले ठट्टा गर्‍यौं, ‘विराटनगर त प्रदेशको एउटा राजधानीमात्रै हो । तेर्‍हथुम त लालीगुराँस र ढाका दुवैको राजधानी बन्यो, विराटनगरभन्दा तेर्‍हथुम कडा हो ।’

    मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलदेखि सहसचिवसम्महरु घोषणा कार्यक्रममा आएका थिए । २०७८ चैत १२ गते पाल्पालाई पनि ढाकाको राजधानी घोषणा गरिएको थियो । एकै प्रकारका दुईखाले राजधानी भन्दै सामाजिक सञ्जालमा ट्रोल बने । मैले ट्रोलको उत्तर ट्रोलकै शैलीमा दिएँ, ‘तेर्‍हथुम र पाल्पा ढाकाका प्रादेशिक राजधानी हुन् । संघीय राजधानी हैनन् ।’

    ढाकाको राजधानी घोषणा सामाजिक सञ्जालमा ट्रोल बने पनि सतहमा भने उत्साह देखिएको थियो । नेपालप्रेससँग कुरा गर्दै तेर्‍हथुमको ढाका उत्पादक समाजका संस्थापक अध्यक्ष भमि ल्वागुनले भनेका थिए, ‘अब तेर्‍हथुमको ढाकाको सम्पर्क सीधै मन्त्रालयमा हुने भयो । यो राम्रो हो । थप हौसला आवश्यक छ । तेर्‍हथुमका ६० दर्ता भएर सञ्चालित ढाका उद्योगबाट वर्षको औसतमा १० करोडको ढाका निर्यात हुने बताएका ल्वागुनले राजधानी घोषणाले थप सजिलो हुने बताए । उनले भने, ‘राजधानी नहुँदै चलेको तेर्‍हथुमे ढाकालाई राजधानी घोषणाले थप फाइदा पुग्नेछ ।’

    rbt

    ढाका राजधानीको उत्साह व्यवसायीमा मात्रै थिएन, स्थानीय सरकारमा पनि थियो । त्यही उत्साहलाई म्याङलुङ नगरपालिकाकी उपमेयर जमुना कार्की सुवेदीले यसरी कवितामा पोखेकी थिइन्ः

    घरघरमा तान
    तेर्‍हथुमको सान
    दाजुभाइ छोरा बढिबा र काका
    सबको शीरमा कति सुहाको तेर्‍हथुमे ढाका
    आमाछोरी दिदीबहिनी सबको एकै बोली
    वानपिस हैन घरमै बुनी लाउँछौं गुन्यु चोली
    लालीगुराँससँगै हाम्रो ढाका पहिचान
    यसैगरी अघि बढोस् तेर्‍हथुमको सान

    तेर्‍हथुमको ढाकाको सान बढाउन सक्रियहरु धेरै देखिए । राजधानी घोषणा कार्यक्रममा ढाकाको साडी-चोलोदेखि कोट अनि टोपी लाउनेहरुको भीड बाक्लो थियो । खुशी बाक्लो थियो । हौसला बाक्लो थियो । हामी आएका थियौं म्याङलुङसम्म । म्याङलुङमा ह्यात्रुङको आकर्षक पानी झरेको हेर्ने साइत यही हो भनेर धेरैले हौस्याएँ । हामी हौसियौं । र, लाग्यौं ह्यात्रुङ यात्रामा ।

    १५ वर्षपछि पुनः ह्यात्रुङ

    १५ वर्ष अगाडि हामी पैदल ६ घण्टा हिँडेर आफ्नै गाउँबाट ह्यात्रुङ पुगेका थियौं । १५ वर्षपछि हामी तीन घण्टामा ह्यात्रुङ क्षेत्र सदरमुकाम म्याङलुङबाट दुई पांग्रे यात्रामा पुग्यौं । १५ वर्ष अगाडि जस्तै हामीसँग अहिले पनि मोबाइल फोन थियो । पहिले नचल्ने टावर चल्नेमात्रै हैन, मोबाइल इन्टरनेटको सुविधा पनि उपयोग गर्न पाइयो । १५ वर्ष अगाडि तस्वीर लिने एउटा पनि मोबाइल थिएन । अहिले तस्वीर लिने दुई मोबाइल थिए हामीसँग । यसरी सडकदेखि सञ्चारसम्म सबै क्षेत्रमा १५ वर्षको अन्तरमा परिवर्तन आएको अनुभव गरियो ।

    मोराहाङकी गाउँले बैनी सविता भण्डारी ढकालले सञ्चालन गरेको म्याङलुङको ह्यात्रुङ होटलमा खानपिन र बसोबास गर्दा ह्यात्रुङ जाने कुनै निधो थिएन । अचानक जाने हुटहुटी आएर हामी झरना क्षेत्र पुग्यौं ।

    म्याङलुङ, हलिमेला, भ्यागुते ढुंगा, बतासे हुँदै हामी सम्दु स्कुल पुग्यौं । त्यहाँबाट सम्दुकै पोयजुङको पहलमान बस्नेतको घरमा बास बस्यौं । तेर्‍हथुममा झरना यात्राको जानकारी दिने नागरिक गाइडहरु र हाम्रो झरना यात्राको अनुभवले हामीलाई भन्न बाध्य बनायो, ‘सोचे झैँ जिन्दगी रैनछ ।’

    सोचे झैँ नहुनुको पहिलो दुःख बाटो । हामीलाई भन्नेले भने, ‘मध्य पहाडीको फिलिली बाटो छ । झरना नजिकैसम्म पुग्छ ।’ सोच्यौं म्याङलुङबाट हलिमेला आएको जस्तै पिच सडक होला । तर, म्याङलुङबाट हलिमेलाबाहेक ह्यात्रुङ यात्राको ३८ किलोमिटर हाराहारीमा सबै बाटो कच्ची । विकल पौडेलको स्तरीय पहाडी हँकाइको अनुभवका बाबजुद धेरैपटक बाइकबाट ओर्लिने उक्लने काम भयो । बाइकले मान्छे बोक्ने र मान्छेले बाइक ठेल्ने दुवै भए । स्थानीयलाई केही सहज भए पनि बाहिरियालाई यो सडकले समस्या पार्ने अनुभव भयो हाम्रो । झरना जाने बाटोका संकेतहरु नभएकाले हाम्रो यात्रा घरदैलो कार्यक्रम जस्तै भयो । घरमा पुग्दै बाटो सोध्ने अनि मोडिने कार्यले रोचक र कठिन अनुभव भयो ।

    सोचे झैँ नहुनुको दोस्रो दुःख बत्ती र बासस्थान । हामीलाई भन्नेहरुले केही राम्रा होटल भएको सुनाए । बिजुली बत्ती र वाइफाई दुवै सुविधा छ भने । हामीले होटल त परै जाओस्, व्यवस्थित होमस्टे भेटेनौं । होमस्टे तयारीको घर चैँ भेट्यौं । पहलमान खत्री परिवारको सत्कार र खानपानमात्रै मीठो थिएन, त्यो गाउँका एक-एक स्थानीय मिजासिला देखिए । सत्कारमा सोचेभन्दा धेरै कुरा पाइयो ।

    तर, त्यहाँको यात्राको एक-एक तस्वीर कैद गर्ने मोबाइल चार्जको वातावरण सिंगो पोयजुङ गाउँमा मिलेन । जिरिखिम्तीबाट तानिएको लाइनमा विगत तीन दिनदेखि बिजुली नआएको स्थानीय गुनासो गर्दै थिए । लाइन नआएर एउटा कुरा चैँ १५ वर्ष अगाडिको यात्रा र अहिलेको यात्रामा मिल्यो । त्यो हो- कुपि बालेर भोजन । फरक यतिमात्रै थियो १५ वर्ष अगाडि हामीले इसिबुको तिम्सिनाको घरमा रातको कुपिको उज्यालोमा खाना खाएका थियौं । १५ वर्षपछि सम्दुको खत्रीको घरमा खायौं । ह्यात्रुङलाई बीचमा राखेर बसेका यी दुई गाउँको सुन्दरता बन्द बत्तीले रातमा बन्दै गरेको थियो ।

    बत्ती नहुनाले चार्ज जोहो नगरेको मेरो मोबाइल अफ भयो । मित्र विकल पौडेलको ४० प्रतिशत हाराहारी थियो । हामीले जुक्ति लगायौं- भोलि झरना पुग्नु अगाडिसम्म अब त्यो पनि मोबाइल अफ गर्ने । र, तस्वीर/भिडियो लिनमात्रै अन गर्ने । हामीले त्यसै गर्‍यौं ।

    हामीले मोबाइल अफ गरेर जोहो गरेको चार्जले भोलिपल्ट झन्डै आधी घण्टा पैदल ओरालो यात्रामा ह्यात्रुङ पुग्दा चाहिने तस्वीर र भिडियो लिन पुग्यो । झरनामा स्नान गरेकोदेखि टिकटकका भिडियो टुक्रा खिच्नसम्म भ्याइयो । झरनाबाट आएर हामी बास बसेको घरै माथिको दिव्य दाइको ससुराली घर जान पाइएन । दिव्य दाइलाई धरानमा लगेर ससुराली घर पुगेको प्रमाण देखाउने तस्वीर र भिडियो लिन पुगेन । ह्यात्रुङमा बिहान दुई घण्टा बिताएर गाउँ डुल्दै पुनः बाइकमा पोक्लवाङ आएपछि मात्रै हाम्रा मोबाइलले चार्ज पाए । वाइफाई पाए । यही कुरा ह्यात्रुङ क्षेत्रमा पाएको भए हाम्रा ह्यात्रुङ खुराक धेरै हुने थिए । हाम्रा ह्यात्रुङका ठोस सम्झना धेरै हुने थिए ।

    ह्यात्रुङ झरनाः अर्धवार्षिक भर्सेस चौमासिक !

    ह्यात्रुङ शीरका रैथाने पहलपान खत्री ९८ वर्षका भए । उनी आफ्नो बाल्यकालमा ह्यात्रुङलाई फुसफुसे छाँगो भनेको सम्झन्छन् । कतिपयले छरछरे छाँगो भनेको उनी बताउँछन् । झरनाको नाप लिनु अगाडि गाउँलेसमेत झरनामा पुग्दैनथे । झरनाको नापपछि बाहिरका मान्छेहरु ओइरिन थाले । ‘पहिले पहिले त सिस्नो घारी थियो । झरनासम्म पुग्ने त कोही हुन्थेन’, पहलमानले विगत सुनाए ।

    खत्रीका अनुसार झरनाले २०३८ सालताका भएको नापीपछि नयाँ नाम पायो- ह्यात्रुङ । स्थानीय लिम्बू भाषाको मिथकले हात्ती पल्टेको ठाउँको रुपमा मानेको ‘हेत्रेयेङ’बाटै अप्रभंश भएर ह्यात्रुङ भएको बताउँछन् स्थानीय तेजप्रसाद लिम्बू । पञ्चायकालका जनप्रतिनिधिका छोरा लिम्बूले झरनाको नाम धेरै भए पनि पानी थोरै भएको गुनासो गरे । ‘अस्ति इलामबाट गाडीमा आएकाहरुले मेरो श्रीमतीलाई प्लिज पानी खसालिदिनु न भनेर रोइकराइ गरेछन्’, पानी नहुने सिजनका दुःखित यात्रुको उदाहरण दिँदै लिम्बूले भने, ‘आधा वर्ष त पानी नै हुँदैन भन्दा हुन्छ । बाँदर र मृगहरु पो कुदिबस्छन् ।’

    लिम्बूका अनुसार जेठदेखि कात्तिकमा सामान्य पानी हुन्छ । अरु समय लगभग सुख्खा । ह्यात्रुङ देशको नामी झरना भएर पनि आधा वर्ष पानी नहुनुको कारण मैले ह्यात्रुङ झरना भएको पालिका फेदाप गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठलाई जिस्क्याउँदै भनें, ‘हामी तपाईंको पालिकाको अर्धवार्षिक झरना पुगेर आयौं ।’ उनले मेरो जिस्क्याइको तर्कलाई सम्पादन गर्दै ठट्टा गरे, ‘अर्धवार्षिक हैन, चौमासिक पो होला । असारदेखि असोजसम्म मात्रै राम्रो पानी हुन्छ । अरु बेला हुन्न ।’

    २०७४ साल अगाडिसम्म नेपालकै सबैभन्दा अग्लो झरना ह्यात्रुङ अहिले नेपालकै सबैभन्दा अग्लोमा दोस्रो भएको छ । पहिलो झरना ३८१ मिटर उचाइको कालीकोटको पचाल झरना हो । ह्यात्रुङले २०७४ पछि पहिलोको उपाधि गुमाएको छ । ९८ वर्षका पहलमान खत्रीको समय जस्तो पानीको मात्रै नदेखिएपछि पानी पनि ह्यात्रुङले धेरै गुमाइसकेको छ ।

    घट्दो पानीको मात्रा र बढ्दो पूर्वाधार विकास हेर्दा अचम्म लाग्छ । जस्तै झरनाको मुखमा ट्रस ब्रिज बनाइएको छ । झरनाको मुखमा पुग्न फेदाप गाउँपालिका ४ को सम्दु र वडा नम्बर ५ इसिबु दुवैतर्फबाट कंक्रिट सडक र रेलिङ बनाइएको छ । पिकनिक स्पट बनेका छन् । झरना हेर्ने स्थानमा लिम्बू शैलीको एक आकर्षक घर बनाइएको छ । अब लामो झोलुङ्गे पुलको निर्माण पनि हुने क्रममा भएको स्थानीय जनप्रतिनिधिहरुले सुनाए ।

    झरनाको मुख्य प्राण पानी नै नभएपछि यस्ता पूर्वाधारहरुको के काम ? घर नै बलियो छैन भने घरको बगैँचा र कम्पाउण्डमात्रै बनाउनको औचित्य के ? यस्ता प्रश्नहरु पूर्वाधारको विकासमा बढेको लगानी, पानीको सतह बढाउने र बार्‍है महिना भारी पानी झार्नेतर्फ नगएको व्यवस्थापकीय ध्यानले जन्माउँछन् । यी प्रश्नहरु सायद स्वयं ह्यात्रुङको हुनुपर्छ । असारे झरीको समयमा पनि शीरबाट सीधै फेदमा हाम फाल्न नपाएर ठाउँ-ठाउँमा ठोक्किँदै झर्दा पक्कै ह्यात्रुङलाई दुःख भएको छ । १२ महिनामा ६ महिना सुलसुल पानीको धर्कामा सीमित भएर देशको सबैभन्दा दोस्रो अग्लो झरना हुन पक्कै ह्यात्रुङलाई निको लागेको छैन ।

    तेर्‍हथुमलाई ह्यात्रुङले पहिचान दिएको छ । सम्दु र इसिबु सिमानामा रहेको फेदाप गाउँपालिकालाई पनि ह्यात्रुङले पहिचान दिएको छ । आज ह्यात्रुङ आफ्नो पहिचान गुम्ने डरमा छ । ह्यात्रुङबाट आफ्नो भूगोलको पहिचान दिनेहरुले अब ह्यात्रुङको असली पहिचान दिन आवश्यक छ ।

  • ऐया ! माया : काव्यिक धुनमा, रातो छाता र डायरीसँग मनसुनमा

    ऐया ! माया : काव्यिक धुनमा, रातो छाता र डायरीसँग मनसुनमा

    खाना खाँदा पनि तरकारीका चानाहरूलाई मसिनो पारेर खानुपर्ने मान्छे म । त्यसैले लाग्छ, छामेर मात्रै नपुग्दो रहेछ मलाई । खोस्रिन, केलााउन पर्ने रहेछ । जेलाई पनि मिहीन बनाएर हेर्नपर्ने रहेछ । खैर यो आदतले मलाई खानेबेला मात्र होइन सोच्न, हेर्न वा लेख्न बस्दा पनि छोडेन ।

    अँ, एउटा नाटक हेरिसकेपछि केही लेखूँ न त भन्ने लागेर यतिबेला मैले आफूलाई पदमासनमा बसालेकी छु । नाटक फरक छ त मञ्चन अघिदेखि नै भनिँदै आएको हो । त्यसैले कसरी फरक छ भन्नेबारे पो चर्चा गरूँ !

    नाटकको शुरूदेखि अन्त्यसम्म संगीत र संवेदनाको तालमा पात्रहरू नृत्य गरिरहन्छन् । संवेदना ठिक त्यसैगरी पोखिएको छ जसरी तपाईं पोख्नुहुन्छ । ऊ पोख्छ या फेरि म पोख्छु, जब हामी सम्पूर्ण रूपमा केवल आफैसँग हुने गर्छौं । प्रायः नाटकमा देखिइरहने जस्तो फगत अनुहारबाट मात्र होइन, शरीरबाट मात्र पनि होइन, आवाजबाट पनि संवेदना अभिव्यक्त गर्छन् ‘ऐया ! माया’का पाात्रहरूले ।

    ‘त्यो रातो छाता बोकेर, रातै गलबन्दी उनेर, रातै डायरी पल्टाएर, रातै खरबुजा बाँडिहिँड्ने पात्र को पो होला ?’

    त्यसो त पात्रहरू संवाद थोरै बोलेर पनि धेरैथोक भन्न सक्षम छन् । यी नामविहीन पात्रहरूलाई दर्शकले अझैं नजिकबाट चिन्ने सुविधा पाएका छन् । यिनै अनाम पात्रलाई कौसीको मञ्चमा देखेपछि बोध भएको हो कि हामी नामधारी पात्रलाई भन्दा गहिरो गरी अनाम पात्रहरूलाई चिन्दा रहेछौँ ।

    ‘ऐया ! माया’मा त्यो रातो छाता बोकेर, रातै गलबन्दी उनेर, रातै डायरी पल्टाएर, रातै खरबुजा बाँडिहिँड्ने, हिँडेको हिँड्यै गरिरहने, केही खोजेझैं भौंतारिरहने, घरी आफैलाई खोज्न दौडिएजस्तो गर्ने, घरी दुनियाँलाई बुझ्न कुदेजस्तै गर्ने त्यो पात्रको नाम भइदिएको भए ! त्यही नामको आडमा कतै हामी उसको हुलियाको, हाउभाउको सतही छाँयालाई मात्रै पो मस्तिष्कमा टिपेर हिँड्थ्यौँ कि !

    तर, उसको नाम नहुँदा उसलाई चिन्न हामीले उसैलाई चिन्न परेको छ या आफैलाई चिन्न परेको छ । उही पात्रसँग एकाकार हुनुपरेको छ पात्रलाई चिन्न ! उसको हाउभाउ र हुलिया मात्रलाई चिनेर पुगेको छैन । अवचेतनमै हामी उसको परिचय आफैसँग मागिसक्छौँ ।

    ‘त्यो रातो छाता बोकेर, रातै गलबन्दी उनेर, रातै डायरी पल्टाएर, रातै खरबुजा बाँडिहिँड्ने पात्र को पो होला ?’

    ‘प्रेम ! प्रेमको प्रतीक ! हो, ऊ मनुष्यको संसारबाट बिलाउँदै गइरहेको प्रेमको प्रतीक हो !’

    हामी यसरी आफैंभित्र ऊसँग परिचित हुन्छौँ । उसको नाम हुन्थ्यो त हामी ऊ के गर्छ, के बोल्छ, के खान्छ, के लगाउँछ मात्र हेथ्र्याै सायद । खैर, ऊ नामविहीन भएकै हुँदा ऊ को हो भन्ने सवाल हाम्रो मगजमा नजाँनिदो गरी चलपलाइदियो ।

    अहो ! पदमासनमा बस्दाबस्दा पनि गाह्रै भो । एउटा स्टडी टेबल नकिनी भएको छैन । खैर, अहिलेलाई भने यही पुन्टे टुलले काम चलाउनुपर्ला ! खासमा यो टुल मैले पानीको जार राख्न किनेकी थिएँ पोहोर साल । तर अहिले किचेन स्ल्याब भएको कोठामा सरेयता यसलाई मैले अरू अरू कामको लागि प्रयोग गर्न थालेकी छु । दिउँसोभरि यसमाथि एक गमला बिरुवा राखिदिन्छु । राति भएपछि गमलालाई भुइँमा ठाउँ दिएर यसमाथि तातोपानीको थर्मस र एउटा काँचको गिलास राखिदिन्छु । अनि, कहिलेकाहीँ यसैगरी ल्यापटपलाई बेडमा राखेर यही टुलमा बसेर के–के जाति लेख्न थालिदिन्छु ।

    टुलको प्रयोग कतिसम्म कलात्मक हुनसक्ने रहेछ मलाई ‘ऐया ! माया’ हेर्नुअघि थाहा थिएन । अहो ! त्यो अँध्यारो मञ्चमा सेता टुल लहरै उत्तानो पारेर तिनमा टेक्दै हिँड्दा कलकल खोलामाथिको पुल तरेजस्तो ! अनि फेरि तिनै टुल सुल्टयाएर तिनमाथि टेक्दै हिँड्दा अग्ला अग्ला पहाड छिचोलेजस्तो !

    सानो छँदा चचहुई गर्दै पिङ खेल्दा देख्ने गर्थेँ त्यस्ता मोटा डोरी । खैर, तिनका रङ प्राय खैरो हुने गथ्र्यो । तर, त्यस्तै मोटो डोरी ‘ऐया ! माया’मा पुनः देख्ने अवसर मिल्यो । रातो रङको मोटो डोरी जब मञ्चका दुई विकर्ण कुनामा बसेर दुई पात्रले तलमाथि गरेर हल्लाउन थाल्छन्, थिएटरको कलात्मक माहोलले छुन्छ । कालो पृष्ठभूमिमा एउटा मनमोहक रातो वक्र रेखा निरन्तर चलमलाउन थाल्छ । आँखा तिर्मिर्याए पनि मन लोभ्याउने त्यो चलायमान रेखामुनि वारिबाट छिरेर एउटा पात्र पारि तर्छ । तर, जीवनयात्रामा आइपर्ने जंघाररूपी त्यस वक्र रेखा छिचोल्न दोस्रो पात्र असमर्थ हुन्छ र ऊ जेलिन्छ त्यही डोरीमा । लड्छ, थिचिइन्छ, कुल्चिइन्छ र दुःख पाउँछ ।

    अब उसले सुख पाउँछ कि पाउँदैन ? त्यो डोरीको के हुन्छ ? यो कथा नाटकले भनेको छैन । किनभने यो कथाभन्दा पनि कविता बोकेको नाटक हो । अर्थात्, पहिलो दृश्यलाई दोस्रो दृश्यले पछयाएको छैन, दोस्रोलाई न त तेस्रोले नै पछ्याएको छ । दृश्यपिच्छे पात्रको पात्रत्व फेरिएको छ । एउटा घाइते आम युवा भर्खरै एउटा लोकप्रिय नेता बनिदिन्छ र छिनमै बनिदिन्छ एउटा निराश, सामन्ती शासक । र भर्खरै, जीवनयात्राका जंघार र संघर्षको बिम्ब बनेको रातो डोरी अब कुनै प्रतिनिधि नेताको विजयमाला बनिदिन्छ ।

    सीमित जनशक्तिको प्रयोगले अनेकौं पात्रको कथा अनि सीमित प्रप्सले अनेकौं बिम्ब ! नाटकले कविताको भाषामा बोलेको छ । बिम्ब र प्रतीकमा बोलेको छ । अलंकारमा बोलेको छ । दैनिक भागदौडका बीच बेलामौका निकालेर केही पल आँखा चिम्लेर आफ्नै साथमा बस्ने गरेको दर्शक ऊ होइन भने उसलाई नाटक बुझ्न हम्मे पर्नेछ । किनभने कविताको भाषा छिचोल्न उसमा ध्यान चाहिन्छ । उसका मनमगजमा गहिरिन सक्ने कान चाहिन्छ ।

    यदि कविता चलायमान हुनसक्थ्यो वा कविताका संवेदनाले ध्वनी निकाल्न सक्थ्यो भने कवितामा प्राण केहीकथम भर्न सकिन्थ्यो भने त्यो मञ्चमा पुगेर ‘ऐया ! माया’ भएरै पोखिनेथ्यो ।

    नाटकको शीर्षकमै ‘ऐया ! माया’ भएपछि थोरै चीत्कारका कुरा पनि गरिहालूँ । अँ, तल टिकट काउन्टर नजिकै कोही श्वासैश्वासले भन्दै थियो, ‘२०–२५ जना जति त चिनेकै अनुहार रहेछन् । हामी सँगै आएको कसैले थाहा पायो भने ?’

    म निर्धक्क भन्न सक्छु नाटकमा जब पात्रहरू ‘हामीलाई कसैले सुन्यो भने, हामीलाई कसैले देख्यो भने, हामीलाई कसैले रोक्यो भने, हामीलाई कसैले छेक्यो भने’ भन्दै त्रासको चरम अभिव्यक्ति दिँदै थिए, तब त्यो जोडीको श्वास छातिमुनि ढक्क फुलेको हुनुपर्छ, पाखुरा र पिठ्युँमा काँडा पक्का उठेको हुनुपर्छ !

    यस अर्थमा नाटकले दर्शकलाई नै आफ्नो पात्र बनाएको छ । तबलाको धूनसँगै शुरू भएको नाट्य माहोलमा नृत्यको भाषामार्फत् दुई जोडी पात्र एकापसमा केही खोज्छन्, कहिले जोडी साटिन्छन् त कहिले चारैजना चारतिर बाँडिन्छन् । कहिले एकापसमा प्रेम खोजेजस्तो, कहिले आफैसँग आफ्नै अस्तित्व खोजेजस्तो त कहिले अचानक प्रेमीसँग विछोडिए जस्तो, कहिले आफैबाट हराएजस्तो पनि । काहिले प्रेममा मग्नमस्त, कहिले सशंकित–त्रस्त । कहिले लाग्छ यो समलिङ्गी अस्तित्वको अभिव्यक्ति हो, कहिले लाग्छ अन्तर्जातीय प्रेमको वकालत ।

    खैर, यस तौरले दर्शकको चित्तशुद्धीका लागि पनि ‘ऐया ! माया’का चीत्कार सहयोगी ठहरिनु नेपाली रंगमञ्चको वर्तमान र भविष्यको शुभसंकेत समेत हो ।

    झाँक्न जान्यो भने एउटै मान्छेभित्र ब्रह्माण्ड भेटिन्छ भनेजस्तै ‘ऐया ! माया’का एउटै पात्रहरूमा अनेकौं पात्रत्व पाइन्छ । र तिनले उजागर गरेका अनेकौं संवेदनाले दर्शकले आफूभित्र बोकेर हिँडेका हरसम्भव मनोदशाहरूलाई त्यही एउटै मञ्चमा छताछुल्ल पारिदिन्छन् । कौसीको त्यो मञ्च र दर्शकका मन सबैतिर एकसाथ सन्नाटा छाउँछ भने एकसाथ स्वर मचिन्छ ।

    ‘ऐया ! माया’ले अलंकार सँगसँगै सामाजिक विकृति र विभेदविरुद्धसमेत मुठ्ठी कसेको छ । कलात्मक अन्दाजमा विरोध गरेको छ । अन्तर्जातीय प्रेम गरेकै कारण जिन्दगीको यात्रामा भेटिने डाँडा–खोला, सजिलो–अप्ठयारो सँगसँगै पार गर्ने वाचा गरेर एकापसमा मन्दमग्न जोडीलाई छुटाउन सिङ्गो गाउँ खनिन्छ । खाली प्रेम गरेको कसुरमा एउटा तथाकथित दलितलाई तथाकथित उपल्लो जातीको बस्ती नै लागेर लखेटी लखेटी निर्ममसँग कुटपिट गरी मारेको कहालीलाग्दो त्यो रुकुम घटनाविरुद्ध ‘ऐया ! माया’ले साच्चै नै ‘ऐया !’ हुनेगरी न्याय मागेको छ ।

    सडकमा उत्रिएर सरकारसँग मागिएको न्यायभन्दा नाटकका टोलीलाई लाग्यो होला थिएटरको मञ्चबाट मागिएको न्याय अझै प्रभावशाली हुन्छ । लाग्यो होला, घटना घटिसकेपछि सडकमा उत्रिनुभन्दा घटना नै हुन नदिनु बढी न्यायपूर्ण हो । ‘ऐया ! माया’ले आफूसम्म आइपुगेका दर्शकहरूलाई पक्कै यो विश्वास गरेर अभिभारा सुम्पिएको हुनुपर्छ कि जातीय विभेदको उन्मुलनका लागि बौद्धिक भनिने समाजले नै अग्रसरता देखाउनेछ । अपेक्षा गरूँ, ‘ऐया ! माया’को यो विश्वास बौद्धिक सचेत समाजले निभाउनेछ ।

    नाटकमा दृश्य हेरिरहँदा म निचोरिएकी हुँ भित्रैदेखि । त्यहाँबाट निस्किएर कोठासम्म आइपुग्दा केही प्रश्न मेरो अमिलो हृदयमा तप्किएका हुन् । म कुनै पनि मान्छेसँग उसको जात नसोधी साथी हुन सक्छु कि सक्दिनँ ? जात जे सुकै भए पनि थाहा पाएपछि त्यस मित्रतामा मेरोतर्फबाट कुनै पनि किसिमको फरक पर्छ कि पर्दैन ? पहिलोमा सकारात्मक र दोस्रोमा नकारात्मक भावको जवाफ पाएपछि बल्ल मैले आफैलाई आफ्नै मनको कठघराबाट मुक्त गरेँ । एउटा भारी निश्वास बिसाएसँगै तब मात्र मैले महसुस गरेँ कि मेरो त श्वाससमेत नाटकको बीचतिरैदेखि दबिएको रहेछ ! मलाई तब निकै हलुका महसुस भयो ।

    खैर, यस तौरले दर्शकको चित्तशुद्धीका लागि पनि ‘ऐया ! माया’का चीत्कार सहयोगी ठहरिनु नेपाली रंगमञ्चको वर्तमान र भविष्यको शुभसंकेत समेत हो ।

    नाटकले अन्य धेरै मुद्दालाई उठाएको छ । लगातार बिग्रँदो देशको राजनीति, जनतामाथि सत्ताले गरेको ज्यादति, महिलाहरूमाथि दिनदिनै घटिरहेका बलात्कार र यौन दुव्र्यवहारका घटना, ती घटनामाथि हुने गरेका लज्जास्पद टीकाटिप्पणी र त्यस्ता टीकाटिप्पणीले निम्त्याएका सामाजिक–मानसिक द्वन्द्व–दुर्घटना ! नाटकले थोरै समयमा थोरै जनशक्तिको प्रयोग गरी धेरैथोक भनेको छ ।

    नाटकले सामान्य लाग्ने सामग्रीको प्रयोगले गहन विचार र संवेदनाको उजागर गरेको छ ।

    काल्यकालमा सुनिएको एक गीत छ, ‘कुखुरी काँ ! बासी भात खा !’ यो बाल गीत नसुनी सायदै कसैको बाल्यकाल घर्कियो होला ! तर, कसले कल्पना गरेको थियो होला कि यो बच्चा फकाउन गाइने गरेको एउटा मामुली सुनिने गीत कुनै दिन न्यायको आवाज बन्न पनि सक्नेछ, आन्दोलन बन्न पनि सक्नेछ ! इमानदार भएर भन्दा मैले ‘ऐया ! माया’ हेर्न छुटाउँथे भने मेरो बाल्यकाल मभित्र अज्ञानी नै मर्ने थियो । हामी हरेक नेपालीको बचपन कति सचेत र विद्रोही रहेछ, हामीले कहिल्यै चालै पाएनछौँ ।

    समाज र देशमा आजसम्म हुँदै आइरहेका समस्त विकृतिलाई ‘कुखरी काँ ! बासी भात खा !’ ले दुरुस्तै चित्रण गरेको पठन–लेखनमै लागेर पनि आजसम्म बुझ्न सकेकी रहिनछु । यो एउटा उपहासको उदाहरण मात्रै नभएर ‘ऐया ! माया’को अथाह सिर्जनशीलताको प्रमाणसमेत हो ।

    सबै किसिमका सामाजिक विकृति एवं मानसिक द्वन्द्वको हल पनि ‘ऐया ! माया’ले बडो बिम्बात्मक शैलीमा सुझाएको छ । त्यो गलामा रातो गलबन्दी उनी रातै छाता बोकेर जतिबेलै केही खोज्दै भौँतारिई हिँड्ने पात्रले आखिरमा सबै समस्याको एउटै हल फेला पार्छ– प्रेम ! ऊ सबैलाई रातै खरबुजा खुवाउँछे, प्रेम बाँडी हिँड्छे ।

    खरबुजा बाँडिहिँडेकी उसले खरबुजाका बोक्राहरू आफै फिर्ता लिन्छ । चाहे त्यो नेताले जनतालाई दिएको प्रतिबद्धता होस्, चाहे राज्यले दिएको आश्वासन या परिवार, आफन्त वा इष्टमित्रले दिलाएको भरोसा होस् । या चाहे त्यो प्रेम गर्नेहरूले जगाएको प्रेम नै किन नहोस्, मानवीयता बाँचिरहनका लागि, समानता कायम रहनका लागि, शान्ति र सन्तुलन बनिरहनका लागि हरेक ठाउँमा जवाफदेहीताको महत्ता त अवश्य नै हुन्छ । शहरमा फोहर व्यवस्थापनको विषयले व्यापक चर्चा पाइरहँदा आफूले खुवाएको खरबुजाको बोक्रा आफैले समेटेर ‘ऐया ! माया’को त्यस रातो पात्रले जिम्मेवारी, कर्तव्य र दायित्वबोधको महत्व दर्शाएको छ ।

    नाटकमा प्रकाश र धुवाँलाई सम्पूर्ण नाटकभरि यसरी चलाइएको छ कि संवेदनाको बहावमा दर्शकहरू पात्रको समानान्तर बगिरहन्छन् र उनीहरूको भावदशाका अघि नत भइदिन्छन् । त्यो काइदाले दर्शक आकर्षित होइन सम्मोहित भइदिन्छन् ।

    ‘ऐया ! माया’ नाटक हुँदाहुँदै एउटा यस्तो कविता हो, जसका अक्षरहरू रंगमञ्चमा उत्रिएर नृत्य गरिरहेका छन्, साधना गरिरहेका छन् । अनुभूतिलाई वर्णन गर्ने दुस्साहस हो यो, सहज त किन हुन्थ्यो ? तर, आज मञ्चनको अन्तिम दिन, ‘प्रिमियर शो’ हेरेदेखिको हयाङओभर अझै उत्रिनसक्दा ‘क्लोजर’मा यसरी बिसाउन पुगेछ । ‘ऐया ! माया’ यथार्थमै शराबी ! बिम्बको मात, विचारको नशा, विद्रोहको मदहोसी, प्रेमको नतमग्नता, कलात्मकताको पराकाष्ठा !

    ०००

    तस्बिर : उमेश सापकाेटा

  • अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ?

    अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ?

    गत वर्षको असार र अहिलेको असार बीचमा खासै केही फरक छैन । मौसम उस्तै छ, बेलाबेला झरी परिरहेको छ । गत वर्षको जस्तो बाढीले वितण्डा मच्चाएको खबर भने आएको छैन । जब गम्भीर भएर सोच्छु, मजस्तो आम मानिसका लागि त्यो असार र यो असारबीचमा यति धेरै फरक छ कि जसको कुनै हिसाबकिताब छैन ।

    मजस्तो सामान्य जागिर गरेर जीविकोपार्जन गर्ने मानिसका लागि १२ महिनापछि आएको असार त्यति सहज छैन, जति सहज १२ महिनाअघिको असारमा थियो । यो असारमा मेरो चुल्होमा बल्ने एलपी ग्यासलाई १८ सय तिर्नुपर्छ । अघिल्लो असारमा १४५० मात्रै पर्थ्यो ।

    यही असारमा ६० रुपैयाँ किलो पर्ने चामलको पिठो १३० पुग्यो । यही असारले ९० रुपैयाँ पर्ने ताइचिन चामललाई १५० पुर्‍याइदियो । २३० पर्ने सनफ्लावर तेललाई ३५० पुर्‍याइदियो । १४० पर्ने मुसुरो दाललाई १७५ पुर्‍याइदियो । २१० पर्ने डाल्डाको घिउ ३३० पुर्‍याइदियो ।

    २४० पर्ने काँचो तोरीको तेल ३८० पुर्‍याइदियो यही असारले । अघिल्लो असारमा यति बेला केपी शर्मा ओली प्रधानमन्त्री थिए, अहिले शेरबहादुर देउवा हुनुसँग मेरो कुनै साइनो छैन। तर ओलीले छाडेर गएको बजार मूल्य एक वर्षमै यति सारो किन आकासियो ? नागरिकले देउवासँग प्रश्न गर्न पाउने कि नपाउने ? कि प्रश्न गर्दा प्रतिगमनको पक्षधर भइन्छ ?

    जो पहुँचमा छ, जोसँग खर्च गर्न प्रशस्त पैसा छ, उनीहरूका लागि यी माथि उल्लेख गरेका मसिना सामानहरूको दर रेटले खासै फरक नपार्ला । लाखौँ, करोडौँको व्यापार व्यवसाय गर्नेहरूलाई यस्ता झिना मसिना दर रेटको उतारचढावले खास अर्थ नराख्ला । जो शक्ति र सत्ताको पहुँचमा छन्, उनीहरूलाई पनि फरक नपार्ला । तर, हामीजस्ता मजदुरका लागि ? पक्कै पनि आकासिएको खाद्यान्नको यो रेटले जरुर फरक पार्छ ।

    तरकारीहरू छुनै सकिन्न । फलफूललाई किन्नै सकिन्न । हरियो धनियाँको पत्ती मात्रै १००० रुपैयाँ किलोभन्दा महँगो पर्छ । काउली, च्याउहरूलाई छुनै सकिन्न । पसलमा गएर रेट सोधेर मात्रै फर्कनुपर्ने स्थिति छ ।

    मैतीदेवीमा तनहुँका एक मगर दाइको परिवार बस्छन् । उनी रिक्सा चलाउँछन् । परिवारको आयस्रोत नै त्यही तीन पाङ्ग्रे रिक्सा हो । जसमा दैनिक पाइडल नचलाए उनको परिवार भोकै पर्छ । पाइडल चलाउन पाउनका लागि पनि उसले काम पाउनुपर्‍यो ! म कोठा सर्दा तिनै दाइले सामानहरू रिक्सामा हालेर नयाँ कोठामा पुर्‍याइदिएका थिए ।

    दुई जना छोरीहरूलाई मध्यबानेश्वरको रत्नराज्यलक्ष्मी स्कुलमा पढाइरहेका ती दाइ केही दिनअघिको एक साँझ किराना पसलमा भेटिए । पसलमा साहुजीसित बार्गेनिङ गरिरहेका थिए, ‘दाइ, अहिले काम भइरहेको छैन । भागेर कतै जाने होइन । चामल चाहिँ दिइराख्नु न । अर्को सातासम्म आधा पैसा तिर्छु ।’

    तेल र मसला किन्न पुगेको मलाई ती मगर दाइको साहुजीसँगको याचनाले तीतो महसुस गरायो । म पनि ती दाइभन्दा फरक कहाँ छु र ! भलै साहुजीले ती दाइलाई भन्दा मलाई अलि बढी विश्वास गर्छन् । मलाई उधारो दिन हिचकिचाउँदैनन् । सहरमा कतै जागिरे छ भन्ने बुझाइ छ उनको । ती साहुजीलाई मेरो तलब आउने दिन पनि थाहा छ । उक्त दिन कटेको तीनचार दिनसम्म पनि पसल छिरिनँ भने मलाई घुरेर हेर्न थाल्छन् ।

    सानो सपना, साना रहर र साधारण जीवन जिउन रुचाउने हामीजस्ताका लागि यो महँगीले नराम्रोसँग ढाड सेकाइरहेको छ । उकुसमुकुस बनाइरहेको छ । तर, यसको जिम्मा कसले लिन्छ ? कसका कारण आमनागरिककोे जीवन दिनप्रतिदिन यसरी जटिल बनेर गइरहेको छ । कसका कारण एउटा सामान्य नागरिकलाई किराना पसलेले पत्याइरहेको छैन ? किराना पसलको उधारो तिर्न सकिरहेका छैनन् ।

    माइतीघरको सडकबाट सिंहदरबार छिरेको सरकारले शताब्दीऔंदेखि सडकमै रहेका नागरिकका जीवनलाई कति असहज बनाएका छन् भनेर बुझ्नलाई तपाईँ पेट्रोलपम्पअघि एक घण्टा मात्रै उभिनुहोस् । ११० पर्ने डिजेललाई १९२ तिरिरहेका नागरिकलाई हेर्नुहोस् जीवन कति असहज बनिरहेको छ । १२७ प्रतिलिटर तिरिरहेको पेट्रोललाई १९९ तिरिरहेका नागरिकलाई सोध्नुहोस्, महँगीले कहाँ कहाँ हिर्काएर थला पारेको छ ।

    उत्तर सहज छैन । तर, त्यति जटिल पनि छैन कि जसको ठोस उत्तर पाउनका लागि रिसर्च नै गर्न परोस् । गत वर्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे । उक्त विघटन गैर संवैधानिक भयो भनेर उनको चर्को विरोध भयो । वृहत् नागरिक आन्दोलनले सडक सङ्घर्ष सुरु गर्‍यो ।

    यही बीचमा नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको नेतृत्वमा पार्टीका आधा नेताहरू सडकमा आए । ‘हामी यहाँ छौँ’ भनेर सडकमा आएका नेताहरूको मूल उद्देश्य प्रतिनिधिसभा विघटन भन्दा पनि विघटनलाई कारण देखाएर सडकमा छरपस्ट पारिएको पार्टीको आन्तरिक अन्तरसंघर्ष थियो ।

    जसको परिणति पाँच वर्षका लागि जनताको मत पाएको नेकपा तीन टुक्रामा विभाजित मात्रै बनेन, बहुमतको जनमत पाएको सरकार ढल्यो । ओली पदबाट पदच्युत भए । इतिहासकै विशाल पार्टी एकता गरेका नेताहरू एमाले, माओवादीमै फर्किए । एमालेभित्रकै नेपाल, झलनाथ खनाल लगायतले २३ जना प्रतिनिधसभा सांसद लिएर नेकपा समाजवादी पार्टी गठन गरे ।

    पाँच वर्षसम्म सरकारमा जाने कल्पना पनि नगरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो । मधेस प्रदेशमा बाहेक सबै प्रदेशहरूमा सरकार बदलिए । यसपछि बदलिएको राजनीतिक कोर्सले आम नागरिकको जीवनमा कति प्रभाव पार्दै गयो, जम्मा किराना पसलमा एक घण्टा उभिएर हेरे पुग्छ । उधारोका लागि याचना गरिरहेका निमुखा नागरिकको सुकेको ओठलाई हेरे पुग्छ । उनीहरूको निन्याउरो अनुहारलाई हेरे पुग्छ ।

    मेरो अफिसको गेटैमा एक जना काभ्रे तेमालका ६६ वर्षीय वृद्ध तामाङ गाडामा काठ, आगो र हरियो मकै लिएर बस्छन् । उसको साथमा श्रीमती पनि सँगै हुन्छिन्, सधैं । दुवैको काम बिहादेखि साँझसम्म मकै पोलेर बेच्नु छ । त्यसपछि कोठामा फर्किनु छ । र भोलिपल्ट त्यही दैनिकी सुरु गर्नु छ ।

    अफिस ओहोरदोहोर गर्दा र बेलाबेला पोलेको मकै खान जाँदा ती तामाङ जोडीसित बातचित हुन थाल्यो । ती वृद्ध तामाङ बेलाबेला भन्छन्, ‘महँगीले साह्रै गाह्रो बनायो । कहिलेकाहीँ त हामी बूढाबूढी मकै नै खाएर सुतिदिन्छौ । चामलभन्दा मकै नै अलि सस्तो पर्छ । तरकारी पनि चाहिँदैन, नुन खुर्सानी भए हुन्छ ।’

    ती तामाङ बूढाबूढीको नियति अहिलेको महँगीको सग्लो उदाहरण न हो । जो ३० रुपैयाँ घोगा मकै बेचेर कठिन जीवन निर्वाह गरिरहेका छन् । उनीलाई त थाहा पनि छैन कि उनीहरूले बाँचिरहेको त्यो कठिन जीवनको कारक हो को ? राज्य सञ्चालन गरिरहेकाहरूको रवैया नै आफूहरूले पाइरहेको सास्तीको प्रमुख कारक हो भनेर यी आम नागरिकलाई थाहा भएको दिन के होला ?

    माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । सरकारी सूचना चुहाएको कथित आरोपमा गभर्नरलाई बर्खास्त गर्ने प्रयत्न गरेर नेपाललाई श्रीलंका बनाउन अर्थमन्त्री प्रयासरत छन् । कर्मचारीलाई कुटपिट र अश्लील गाली गलाैजबाट फुर्सदै नपाएका पर्यटनमन्त्री छन् । गृहमन्त्रीले प्रहरी प्रशासनमा आफ्नालाई काखी च्याप्नबाट फुर्सद पाएका छैनन् । मनलाग्दी बढुवा, घटुवा, सरुवा गरिरहेका छन् । उनलाई रात्रिकालीन व्यवसाय सञ्चालन गरिरहेका दरबारमार्ग र ठमेलका व्यवसायीले प्रहरी प्रशासनलाई कति रकम बुझाउँछन् भनेर निगरानी गर्ने फुर्सद छैन ।

    दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

    आफ्नो पदको ओज र महत्त्वको लेस सम्म ज्ञान नभएको प्रदेश मन्त्री विवाहेत्तर सम्बन्धमा रहेको प्रेमीको घरमा बडी गार्डसहित गएर निर्दोष श्रीमती र छोरीमाथि कुटपिटमा उत्रिन्छिन् । उनको चोलो च्यातेर दुर्व्यवहार गर्छिन् ।

    माइतीघरको सडकबाट सिंहदरबार छिरेको सरकारले शताब्दीऔंदेखि सडकमै रहेका नागरिकका जीवनलाई कति असहज बनाएका छन् भनेर बुझ्नलाई तपाईँ पेट्रोलपम्पअघि एक घण्टा मात्रै उभिनुहोस् । ११० पर्ने डिजेललाई १९२ तिरिरहेका नागरिकलाई हेर्नुहोस् जीवन कति असहज बनिरहेको छ । १२७ प्रतिलिटर तिरिरहेको पेट्रोललाई १९९ तिरिरहेका नागरिकलाई सोध्नुहोस्, महँगीले कहाँ कहाँ हिर्काएर थला पारेको छ ।

    श्रीलंका टाट पल्टिएको अवस्था छ । विदेशी मुद्रास्फीति शून्यमा छ । महँगीले त्यहाँ जनता आकुल व्याकुल मात्रै छैनन्, भोक भोकै मर्ने अवस्थामा पुगेका छन् । हाम्रो मुलुक पनि यही अवस्था निरन्तर रहिरहेमा श्रीलंका हुन बेर छैन भनेर अर्थशास्त्रीहरूले भनिरहेका छन् । तर, सत्तामा रहेका राजनीतिक पार्टी र नेताहरूलाई सत्ता संघर्षको किचालोबाट मुक्ति मिलिरहेको छैन । नेकपा एसमा मन्त्री सहितका १० सांसदले अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । साथै पार्टीमा विद्रोह गर्ने संकेत गरेका छन् । यसको आन्तर्य भनेकै जम्माजम्मी पदको लोलुपता मात्रै हो भनेर बुझ्न गाह्रो छैन ।

    दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?

    माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?

    फेरि उनीहरू माइतीघरमा आएर ‘हामी यहाँ छौँ’ भन्नका लागि के नयाँ सरकार गठनकै प्रक्रिया सुरु हुनुपर्ने हो ? यस वेला उनीहरूलाई आम नागरिक एकै प्रश्न सोधिरहेका छन्, ‘तपाईँहरू कहाँ हुनुहुन्छ ?’ जवाफ दिनु पर्छ कि पर्दैन ?

    ०००

  • संविधान र शासकीय नेतृत्वको शक्ति

    संविधान र शासकीय नेतृत्वको शक्ति

    नेपाल एउटा यस्तो देश हो, जसले स्वतन्त्रता दिवस मनाउँदैन । नेपाल सार्वभौम मुलुक हो । इतिहासमा कसैको गुलाम भएको देखिँदैन । नेपालमा बाइसे चौबीसे राज्यले ओगटेका क्षेत्रफलमा आआफ्नै परम्परागत शासन चलेको देखियो । राजनीतिक विकासको चेतनाले राज्यसत्ताको उपरिसंरचनामा टकराब उत्पन्न हुन्छ तब मौलिक रुपमा शासितहरुको अधिकारको प्रस्फुटन हुन थाल्दछ । जरा गाडेर बसेको शासकीय स्वरुप धर्मराउन थाल्दछ । आफ्नो वर्गीय स्वार्थका लागि शासकहरुले छेपारो प्रवृत्तिका सुधार पस्किन्छन् । तर, रुप र सार बदलिएको देखिँदैन ।

    नेपालको उत्पत्तिसँगै गोपाल, महिषपाल, किराँत, लिच्छवी र मल्ल हुँदै शाहवंशीय राजाहरुको शासन चल्यो । प्राचीनदेखि आधुनिक कालपूर्वका शासनसत्ता शासककै वरिपरि घुम्यो । तर, राज्य व्यवस्था सञ्चालनको मूल कानून बनेर र सत्ता शासककै विवेकमा रह्यो ।

    देशको मूल कानून अर्थात संविधानको इतिहास हेर्दा सन् १७८७ को अमेरिकी पहिलो संविधान, बेलायतको अलिखित संविधानको अभ्यास, पोल्यान्डमा सन् १७९१, फ्रान्समा सन् १७९१, क्यानाडामा सन् १८६७, एसियाली मुलुक जापानमा सन् १८८९, अस्ट्रेलियामा सन् १९००, भारतमा सन् १९५० मा संविधान निर्माण भए ।

    खासगरी बीसौं शताब्दीको अन्तिम एक्काइसौं शताब्दीको प्रारम्भको समयलाई संविधान निर्माणको युगका रुपमा हेर्न सकिन्छ । हुन त भेनेजुयलाले २७ पटकभन्दा बढी, हाइटी २०, इक्वेडर र बोलिभियाले २० पटकसम्म संविधान निर्माण र फेरबदल गरेको पनि देखिन्छ । संविधान अजम्बरी पात्रो होइन । समय र परिस्थिति अनुकूल शासनसत्ता अघि नबढ्दा पटक-पटक संविधान संशोधन र पुनर्लेखन हुन्छन् र भएका छन् । यो शासक र शासितबीच अधिकारका लागि भएको द्वन्द्वहरुको परिणाम हो ।

    समय र परिस्थिति अनुकूल शासनसत्ता अघि नबढ्दा पटक-पटक संविधान संशोधन र पुनर्लेखन हुन्छन् र भएका छन् ।

    संविधानभन्दा माथि कोही नरहने, संविधानमा व्यवस्था भएअनुसार राज्य सञ्चालन गरिने, संविधानलाई मुलुकको मागअनुसार परिमार्जन गर्दै लाने, सरकारको काम-कारबाहीलाई वैधता प्रदान गर्ने तथा ऐन-कानून अनुरुप सरकार चल्नु लोकतन्त्र हो । राष्ट्र र राष्ट्रियताको संरक्षण एवं प्रवर्द्धन गर्नु, जनताको जिउधनको सुरक्षा गर्नु, राज्यको अर्थतन्त्र, स्रोतसाधनको बाँडफाँट आदिको व्यवस्थापन गर्नु, मुलुकमा राजनीतिक पद्धति प्रदान गर्नु, शासन पद्धतिको स्थापना गर्नु, नागरिक र सरकारको सम्बन्धलाई परिभाषित गर्नु, नागरिकको हक-अधिकारको रक्षा गर्ने संस्थाको सृजना गर्नु संविधानको उद्देश्य हो ।

    संविधानले राज्य सञ्चालनको संरचना निर्माण गर्ने, निर्माण गरेको संरचनाको काम, कर्तव्य र अधिकार तय गर्ने, तिनको नियन्त्रण गर्ने आधार तयार पार्ने, तिनीहरुको काम गर्ने क्षेत्रको सीमांकन गर्ने काम संविधानको हो । जनतामा निहित सार्वभौमसत्ता, जनउत्तरदायी सरकार, प्रतिनिधिमूलक लोकतन्त्र, संवैधानिक रुपमा प्रत्येक नागरिक स्वतन्त्र, मानव अधिकारको रक्षा, स्वतन्त्र न्यायपालिका, सवल विपक्ष दल, शक्ति पृथकीकरण सन्तुलन र नियन्त्रण, कानूनी शासनको पालना र सम्मान, न्यायिक पुनरावलोकन, कानूनी दायराभित्र अधिकारको प्रयोग, निर्वाचित

    प्रतिनिधि, खुला र उदारी अर्थतन्त्र, प्रेस स्वतन्त्रता र स्वतन्त्र नागरिक समाज भनेको संविधानका विशेषताहरु हुन् ।
    सुगौली (सन् १८१६) र सन् १९५० को सन्धिले नेपालको सार्वभौमसत्ताको भूमिकालाई गिजोल्यो । नेपालले विजय गरेका भौगोलिक क्षेत्रफललाई साँघुरो पार्दै नेपाल सरहदभित्र रहेका भूभागहरुको स्वामित्वलाई संकुचित बनाइयो । शाहवंशीय राजाहरु र राणाकालीन शासनको अन्त्यसम्म संवैधानिक शासनको आवश्यकता नै ठानिएन ।

    आजको विश्व राजनीतिमा भूगोललाई अधिनमा राखेर गौरव र बहादुरी देखाउने विस्तारवादी नीति बदलिएको छ । विज्ञान र प्रविधिको उच्च विकासले मानिसहरुलाई नियन्त्रित र नियन्त्रण गर्न सम्भव भएको छ ।

    राणाविरोधी अभियानलाई रोक्न राणा प्रधानमन्त्री पद्मशमशेरले नेपालको इतिहासमा पहिलोपल्ट नेपाल सरकारको वैधानिक कानून, २००४ लिखित रुपमा जारी गरे भने अन्तरिम शासन विधान, २००७ राजा त्रिभुवनबाट, नेपाल अधिराज्यको संविधान, २०१५ र नेपालको संविधान, २०१९ राजा महेन्द्रबाट जारी भएका संविधान हुन् । २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापनापछि मन्त्रिपरिषद्को सिफारिसमा राजा वीरेन्द्रबाट घोषणा गरी लागू गरिएको नेपाल अधिराज्यको संविधान, २०४७ र सशस्त्र जनयुद्ध र संयुक्त आन्दोलनको परिणामस्वरुप नेपाली जनताको तर्फबाट राजनीतिक सहमतिका आधारमा संविधानसभाबाट संविधान नबनेसम्मका लागि जारी भएको अन्तरिम संविधान, २०६३ र संविधानसभाको निर्वाचनबाट आएका जनप्रतिनिधिहरुद्वारा संविधान निर्माण गरी २०७२ सालबाट लागू भैरहेको छ ।

    यसरी हेर्दा नेपालका पाँच वटा संविधान निर्माणका ऐतिहासिक पक्षहरुमा भिन्नता रहेको पाइन्छ किनकि शासनसत्ताको उपरिसंरचनामा रहेका शासकहरुले परिवर्तित समयमा समेत आफूलाई सत्तामा टिकाइराख्न देशको मूल कानूनलाई पटक-पटक फेरबदल र प्रयोग गरेको देखियो । संविधान निर्माणमा सहयोग गर्ने पात्रहरुले आफ्नो विवेकवाट नभई शासकको इच्छा र चाहनालाई संविधानमा लेपन गरे । बाँकी दुई संविधान नेपालको परम्परागत शासकीय स्वरुपलाई पूर्ण रुपमा परिवर्तन गर्न १० वर्षे सशस्त्र जनयुद्धको माध्यमले पुरानो सत्ताको अन्त नयाँ सविधानसभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा निर्माण भएको संविधान हाल कार्यान्वयनमा रहेको छ ।

    आजको विश्व राजनीतिमा भूगोललाई अधिनमा राखेर गौरव र बहादुरी देखाउने विस्तारवादी नीति बदलिएको छ । विज्ञान र प्रविधिको उच्च विकासले मानिसहरुलाई नियन्त्रित र नियन्त्रण गर्न सम्भव भएको छ । बलिया र निमुखा राष्ट्रहरुको स्वार्थ विभाजित छ । आफ्नै नियन्त्रण र स्वार्थमा कमजोर राष्ट्रहरुलाई गिजोल्ने र अनुकूल हुँदा पगाल्न आर्थिक उपनिवेश फैलाउने रणनीति स्वार्थभित्र राष्ट्रिय कानूनहरु बाँधिएका छन् । धन र दौलतले मानिसलाई समृद्ध बनाउँदैन । चिन्ता र पीडाभित्रको सुखसुविधाले मानिसको जीवन आनन्दित हुँदैन । त्यस्तै स्वतन्त्र र सार्वभौमभित्रको उकुसमुकुसले विश्व राजनीति सङ्लिन सक्दैन । तसर्थ एक्काइसौं सहश्राब्दीको राष्ट्रिय राजनीतिमा रम्ने स्वचालित नेतृत्वले आमूल परिवर्तनको दृष्टि राख्नै सक्दैन । नेपालमा यसको प्रयोग समय-समयमा आएको संविधान र शासकीय नेतृत्व नै उदाहरणीय पात्र बनेको देखिन्छ ।

  • मिरुना मगरलाई खुल्ला पत्र

    मिरुना मगरलाई खुल्ला पत्र

    प्यारी मिरुना बहिनी,

    आफ्नै बहिनी सम्झेर यो पत्र लेख्दैछु । यति बेला तिम्रो मन अशान्त होला । छिट्टै नै यो अशान्तिहरू हटेर जाओस् ।

    चलचित्र हेरिसकेर हलबाट बाहिरिने क्रममा जुन घटना घट्न पुग्यो, त्यो भइसक्यो, बितिसक्यो । एकान्तमा एक्लाएक्लै हुँदा भएको होइन । भीडभाडमा यस्तो कहिलेकाहीँ हुन पुग्छ । लामा भाइको गल्ती भयो । त्यसबापत उसले त्यही स्थानमा गाली खायो, थप्पड खायो । तिम्रो पछि–पछि पछ्याउने ठिटोको दुर्व्यवहार पनि सह्यो ।

    जे जस्तो तिमीले भन्यौ, उसले चुपचाप त्यही मान्यो । कान समायो, उठबस गर्‍यो । सबैको अगाडि माफी माग्यो । अनि कुनै रिसराग नराखी त्यहाँबाट आफ्नो बाटो लागेकोमा तिमीले भाइलाई हिरासतमा पठायौ । यति हुँदा पनि भाइले तिमीसँग कुनै बदलाको भावना राखेको छैन । अहिले हिरासतबाट छुटेर गुम्बामा फर्की आफनै दैनिक ध्यानपाठमा रहेको छ ।

    खासमा चलचित्र हेरिसकेपछि अरु दर्शकहरूले जस्तै त्यो भाइले पनि तिमिसँग फोटो खिचेर खुशी मानुँ, गर्व गरूँ भन्ने सोचेको तर, उल्टो भयो । कहिलेकाँही समय परिस्थिति पनि यस्तो उल्टो भइदिन्छ जसको कारण यो सबै हुन पुग्छ । यति कुरामा चाहिँ ढुक्क हुनु कि त्यो भाइ आफू दुःखी भए पनि, पीर र चिन्तामा भए पनि आउँदा दिनहरूमा तिम्रो जीवनमा उसबाट कुनै किसिमको बाधा अवरोध र विरोध हुने छैन । किनकि ऊ सबैको सफलता अनि भलो चाहने, आफ्नो जीवन नै शान्तिको मार्गमा अर्पण गरेको एक शान्तिप्रेमी व्यक्ति हो ।

    लामा भाइले नै पछाडिबाट कसरी छोयो त्यसको सत्यता तिमीलाई मात्र थाहा छ । किनकि पछाडी त कसैले देख्न सक्दैन । भीडमा फर्केर हेर्दा लामा भाइ पर्न गयो, तिमीले उसैलाई दोष लगायौ । पक्का ऊ नै हो भनिदियौ । थप्पड पनि लगायौ ।

    हो नानी, यसपछि १००% नै तिम्रो पक्षमा हुने समर्थक, दर्शकलाई आफ्नो विपक्षमा उभ्याएको । लामालाई दोष लगाउनु, पछि प्रहरीमा बुझाउनु ठीकै थियो । यसमा कसैले पनि तिमीलाई गलत भनिरहेको छैन । बरु प्रहरीमा गएर राम्रै भयो । भाइले पनि नाइँ नास्ती केही नगरी तिम्रै कुरामा सहमत भइदियो ।

    तिमी उदाउँदो तारा हौ । सबै माझ परिचित हुँदै गरेको सबैको साझा व्यक्तित्व हौ । दर्शक, मिडिया, पत्रकार, समर्थकहरूको भीडभाड आउने दिनमा अझ बढी तिमीलाई नै जरुरी छ, बरु लामालाई यस्ता कुराहरूको कुनै आवश्यकता छैन ।

    आममानिसहरू तिम्रो विपक्षमा हुँदा पनि चलचित्रले व्यापार राम्रो गरेको छ, मुनाफा राम्रो छ । म त सफल नै भएको छु भन्ने मनमा लागेको भए तिमी गलत छौ । चलचित्रको व्यापार, मुनाफा, सफलता त निर्माता, निर्देशकहरूको कारण हो । हो, पर्दामा तिमी अगाडि छौ, दर्शकले चिन्ने तिमीलाई पनि हो । तिम्रो यही चिनारीलाई अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा तिमीले सकारात्मक बनाउनु जरुरी छ । सम्पूर्ण दर्शक समुदायलाई खुशी पार्नु जरुरी छ ।

    नानु, तिम्रो ममतामयी आमाले पनि तिमीलाई प्रतिकारमा उत्रिनु भनेर हौसला दिनुभएको रहेछ । कुरा सही हो, गलत मनसायले, गलत स्थानमा, गलत व्यक्तिबाट आक्रमणमा परेको खण्डमा आमाको यो हौसला आवश्यक छ । त्यति बेला हाम्रो आवाज अवश्य पनि तिम्रै पक्षमा हुनेछ । तर, अहिले गुम्बाको लामा गुरुको मन कति धेरै रोएको छ, कति धेरै अशान्ति भइरहेको छ ।

    देश बाहिर सिक्किममा समेत यस घटनालाई पूर्ण प्राथमिकता साथ त्यहाँका गुम्बाका लामाहरू अत्यन्त दुखित भएको खबरहरू पनि हामीले पायौं । थाइल्याण्ड, भियतनाम र अन्य देशहरूमा समेत तिम्रो यस दुःखद घटनाप्रति आवाजहरू उठेका छन् । हाम्रो देशभित्र भएको सानो सोचिएको यस घटनाको यसरी अन्तर्राष्ट्रियस्तरमै चर्चा चल्नु हाम्रो लागि राम्रो कुरा होइन । यसले भोलिका दिनहरूमा विकराल रूप लिएर जान पनि सक्छ । यसमा हामी मिलेर गम्भीर हुनु जरुरी छ ।

    हजारौँ लामाहरूको मनमा ठूलो चोट लागेको कारणले गर्दा सिक्किमका लामाहरूको अनुरोधलाई सम्बोधन गर्दै त्यहाँको सरकारले चलचित्र प्रदर्शनीमा प्रतिबन्ध लगायो । तिमीलाई त यसको असर पनि पर्दैन, असर त उही निर्मातालाई पर्ने हो ।

    बहिनी मिरुना, अहिले त तिम्रो उमेर पनि सानो छ । बिस्तारै उमेर पाको भएसँगै तिम्रो ज्ञानको ज्योतिले अन्तरमनको आँखा पनि एक दिन त खुलेर जाला । सल्लाह सबैको सुन्नु पर्छ तर, निर्णय चाहिँ सत्य नमर्ने गरेर आफ्नै स्वतन्त्र विवेकले गर्नुपर्छ ।

    नानू, तिमी जीवनमा सफल त बनौला तर, जीवनको कुनै पनि घडीमा त्यस्तै अशान्ति र चिन्ताको रापले तिम्रो मन पनि जल्न सक्छ । त्यसबेला त्यो जलन एक्लै सहनुपर्छ । संसारमा जति दुःख कष्ट आफुले भोग्नु छ, त्यो सबैले एक्लै नै भोग्ने हो । त्यस कठिन अवस्थामा पनि तिमीलाई सल्लाह हौसला दिने त हुन्छन्, तर तिम्रो मनको पीडा भाग लगाएर कसैले लिने अवस्था हुँदैन ।

    तिमी उदाउँदो तारा हौ । सबै माझ परिचित हुँदै गरेको सबैको साझा व्यक्तित्व हौ । दर्शक, मिडिया, पत्रकार, समर्थकहरूको भीडभाड आउने दिनमा अझ बढी तिमीलाई नै जरुरी छ, बरु लामालाई यस्ता कुराहरूको कुनै आवश्यकता छैन ।

    लामा भाइको तर्फबाट जे जस्तो भए पनि उसले कति पनि ढिला नगरी सार्वजनिक रूपमा नै माफी मागिसक्यो । माफी मागेर कोही पनि सानो हुँदैन । माफी माग्नु त गुरुबाट सिकेको असल शिक्षा हो । सुसंस्कार र अनुशासनको पालना गर्नु हो । भाइले तिमीलाई देखाएको आदर, सम्मान हो । एक मित्रवत व्यवहारको निरन्तरता हो ।

    यही महान गुणलाई आत्मसाथ गरेर त्यो लामा भाइसँग तिम्रो तर्फबाट पनि मित्रवत व्यवहार गरिदिए सम्पूर्ण लामाहरू तथा दर्शकहरू सबै सन्तुष्ट हुनेछन् । अहिले तिम्रो आलोचना विरोध गरिरहेको सम्पूर्ण दर्शक तिम्रै पक्षमा एक ढिक्का भएर उभिनेछन् ।

    अब अन्त्यमा, एउटै मालाबाट चुँडिएर छरिएका फुलहरूलाई फेरी एउटै मालामा गाँसेर एक सुन्दर माला बनाए जसरी आफ्नो फराकिलो मन र खुल्ला हृदयले सबै दर्शकहरूलाई एउटै मालामा गाँसेर सुन्दर माला बनाउन म विनम्र अनुरोध गर्दछु ।

    हजारौंको भीडबाट तिम्रो एक शुभचिन्तक दाजु

    छिरिङ शेर्पा, सिन्धुपाल्चोक

  • ‘ताल्चा’ भित्र दोस्रो विश्वयुद्धदेखि माओवादी युद्धसम्मका मौलिक कथा

    ‘ताल्चा’ भित्र दोस्रो विश्वयुद्धदेखि माओवादी युद्धसम्मका मौलिक कथा

    सुनसरीको चतरामा जेटबोट चलेदेखि मैले दक्षिणी भोजपुरको हतुवागढीको बारेमा जान्ने मौका पाएँ किनभने जेटबोट चतरादेखि हतुवागढीको सिम्लेसम्म चल्छ । र, मैले त्यो जलयात्रा रुटमा प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राईको टिमसँगै यात्रा गरेको छु । हतुवागढी जाने बराह क्षेत्रको अक्कले भीरको बाटो साथीहरुसँग बराह क्षेत्र जाँदा टेकेको छु । हतुवागढीको मुकाम घोडेटार पुगेर बास बसेको छु । हतुवागढीमै पुगेर साहित्यकार श्रवण मुकारुङलगायतसँग सेल्फी खिच्ने मौका पाएको छु ।

    त्यहाँको सैन्य ब्यारेक भएको हतुवागढी क्षेत्रदेखि त्यहाँको नामी सगरमाथा विद्यालय हेरेको छु । त्यहाँको पोखरी पुगेको छु । हतुवागढीको हाट भर्न पनि पाएको छु । यो अर्थमा मूलतः हतुवागढी नै इपिसेन्टर भएको ११ कथाको संगालो ‘ताल्चा’ पढिसक्दा मलाई आफूले जाने बुझेकै ठाउँको कथा पढेको महसुस भयो ।

    ११ कथामा ११ खालकै कथा छन् । जस्तै पहिलो कथा ‘सातौँ इमोजी’मा माओवादी लडाकु पार्टी र परिवारबाट विरत्तिएर दुबई गएको कथा हो । दोस्रो कथा ‘कैदी नम्बर ३५४’ भोजपुरको महिला जेलको कथा हो । जहाँ नमारेको बच्चा मारेको अभियोगमा जेल पर्ने पात्रको कथा छ । तेस्रो कथा ‘हल्लावा’ गाउँका जिम्मावालको छोराको बहुविवाहदेखि लाहुरको जापान–बेलायत युद्ध र त्यहाँ बेलायती पक्षबाट जोडिएको गोर्खा सिपाहीको कथा हो । चौंथो ‘नागरिक’ नामक कथा चैं तीन पुस्ते एकल आमाको कथा हो । जहाँ नातिनीले नागरिकता लिन गार्‍हो भएको कथा छ । बाहुन कर्मचारीले असहयोग तर विश्वकर्मा गाविस सचिव र राई सीडीओले चै सहयोग गरेको भन्ने कथा हो ।

    ‘श्रद्धा’ पाँचौं कथा हो । त्यो कथा त्रिवि कीर्तिपुर पढ्दाको प्रेम कहानी हो । प्रेमिकाको भूकम्पमा परेर मृत्यु हुन्छ । छैटौं कथा ‘रामप्रसाद’ गाउँको मुखिया र काजीको मिटर ब्याज आतंक र घरबारी लिलामीको पञ्चायती कथा हो । सातौं कथा ‘आमूल’ प्रधानपञ्चको हैरानीदेखि माओवादी युद्धसम्म जोडिएको कथा हो । आठौं कथा ‘चिनो’ दलितसँग जोडिएकाले जात काडेको कथा हो । नवौं कथा ‘स्कुल’ राई भाषी विद्यार्थीलाई खस नेपाली भाषी शिक्षकको पेलपालको कथा हो ।

    शीर्षक कथा अर्थात् दशौं कथा ‘ताल्चा’ एक स्वार्थी प्रेमीको प्रेमिकालाई धोका पछि आत्महत्या गरेको कथा हो । यो कथा काठमाडौंदेखि उर्लाबारी, दमक हुँदै कोरियासँग पुग्छ । प्रेमको बाँध्ने चाबीको लकको दक्षिण कोरियाली सउल टावरको प्रसंग छ । एघारौं कथा ‘खास कथा’ लेखकको आफ्नै कथा हो । हतुवागढीमा गोरखाली फौजले सत्ता लिएपछिको ढिलो विकास, ढिलो स्कुल आगमन र त्यसको प्रभावको कथा छ । कथाको सार भन्दा महत्वपूर्ण कथाको प्रस्तुति हो । कथाका मुख्य पात्रभन्दा महत्वपूर्ण उनीहरुको बोली र विचार हो । त्यो कोणमा लेखक सफल छन् । उनले पात्रहरुलाई राम्रोसँग स्थापित गर्न सफल भएका छन् ।

    सबैभन्दा रोचक कुरा चैं कथामा लेखकले विदेशलाई धेरै जोडेका छन् । पहिलो कथा ‘सातौं इमोजी’कि पात्र रमिला दुबई छिन् । तेस्रो कथा ‘हल्लावा’ गोरखा भर्ती जान्छन् । आठौं कथा ‘चबुङ’ आसाम जान्छन् । नवौं कथा ‘स्कुल’को पात्र तीर्थलाल विश्वकर्मा पनि विदेश जान्छ । दशौं कथा ‘ताल्चा’की पात्र रीमा पनि विदेश जान्छिन् ।

    एघारौं कथा ‘खास कथा’ त विदेशमै भएका लेखकको कथा भैहाल्यो । कथाको प्रस्तुतिले पनि कथा विदेशबाटै लेखिएको भन्ने देखाउँछ । जस्तै ‘ताल्चा’ कथाको पृष्ठ १९६ मा लेखक लेख्छन्, ‘रीमा चार वर्ष दश महिनापछि नेपाल पुगिन्…. चार महिनापछि कोरिया फर्किइन् ।’
    यसरी ‘नेपाल पुगिन’ र ‘कोरिया फर्किइन्’ भन्नाले कथा नेपाल हैन कोरियाबाटै भनिएको देखिन्छ ।

    पुस्तकको अर्को रोचक पक्ष पनि छ । त्यो हो प्रायः लेखकले पात्रको मृत्यु भीरबाट खसालेर गराएका छन् । जस्तै ‘स्कुल’ कथाको पात्र मोटे अर्थात् खिमहाङ राईको बाउ आसामको जंगलमा रुख काट्दा भीरबाट खसेर मर्छ । ‘नागरिक’ कथाको पात्र ताप्लेजुङको बलिहाङ सुब्बा पनि भीरबाटै लडेर मर्छ । हतुवागढीको भीरमा हिँडेको अनुभवी र विदेशमा लामो समय बसेकाले लेखकमा भीर र मृत्यु अनि रोजगार र विदेश अवधारणा बनेको हुनसक्छ । उसो त हाम्रो देशको अधिकांश भूगोल भीर, पाखा, पहाडकै छ । त्यसको रिफ्लेक्सन पनि हुनसक्छ । हाम्रो देशका ५० लाख प्लस नागरिक विदेशमा छन् । त्यसको रिफ्लेक्सन पनि हुन सक्छ ।

    समग्रमा कथासंग्रहका कथाहरु धेरै सुन्दर छन् । हतुवागढी गाउँपालिकाबाट भोजपुरले राष्ट्रिय प्रकाशनबाट छापिने कथाकार पहिलोपटक दिलीप बान्तवालाई पाएको छ । त्यो पाउने सामथ्र्य दिलीपका कथामा देखिन्छ । भव्य बधाई । २०२ पृष्ठमा फिँजिएका ११ कथाको पुस्तक रु ३५० मा किन्नेलाई कुनै पछुतो हुने छैन ।

    कथाले दोस्रो विश्व युद्धदेखि माओवादी युद्धसम्म, पञ्चायतदेखि गणतन्त्रसम्मको कथा भनेको छ । कथाको मेरुदण्ड चै हतुवाली भूगोल र किराँती सांस्कृतिक धरालत हो । यसले कथालाई बलियो बनाएको छ । आफ्नो इलम गर्न कोरिया पुगेर पनि त्यही समयमा यता नेपालमा राम्रो कथा संग्रह छपाएर पाठकको कोठा–कोठा र मन–मनमा पुग्न सफल भएकोमा दिलीप बान्तवालाई बधाई छ ।

  • कोलकाताको सडकमा नेपाली युवालाई प्रश्न- भाइ आप काश्मिर से हो ?

    कोलकाताको सडकमा नेपाली युवालाई प्रश्न- भाइ आप काश्मिर से हो ?

    भारतको कोलकाता र नेपालको इटहरीबीच स्थलमार्गको दूरी १३ घन्टा हाराहारी हो । इटहरीदेखि जोगबनी सार्वजनिक सवारीमा एक घन्टाभन्दा छिटो पुगिन्छ । जोगबनीबाट कोलकाता पुग्न रेलमा १२ घन्टा हाराहारी लाग्छ । यो कोणमा इटहरीबाट काठमाडाैं पुगेकोभन्दा केही घण्टामात्रै बढी समय हो कोलकाता पुग्न । प्रदेश १ को संधियारी तीन भारतीय प्रदेशमा सिक्किमको राजधानी गान्तोक पुगे पनि बिहारको पटना र पश्चिम बंगालको कोलकाता पुग्ने मौका मिलेको थिएन । जान तयार साथीहरु भएका थिएनन् ।

    कोलकाता पुग्ने मेरो क्रेज भने धेरै पुरानो हो । राजनीतिक, आर्थिक र पर्यटकीय साइनोमा नेपाल र कोलकाताको धेरै पुरानो इतिहास छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना कोलकातामा भएको थियो । बीपी/मात्रिकाको नेपाली राष्ट्रिय कांग्रेससँग मिसिएर नेपाली कांग्रेस बनाउने सुवर्ण शमशेर/महावीर शमशेरको नेपाली प्रजातान्त्रिक कांग्रेसको जन्मभूमि पनि कोलकाता नै हो । नेपालको महावाणिज्य दूतावास कोलकातामा सञ्चालन हुनु अगाडि खोलिएको राणाकालीन अलैंची कोठा हुने दुई ठाउँ पटना र कोलकाता थिए । नेपालमा मनसुन ल्याउने बंगालको खाडी र नेपालको समुन्द्र व्यापारको पहिलो मुकाम कोलकाता नै हो ।

    अझ रोचक कुरा काठमाडौंसँग कोलकाता दिल्लीभन्दा पहिले जोडिएको थिया । सन् १९११ डिसेम्बर १२ मा बेलायती उपनिवेशी सत्ताले भारतको राजधानी दिल्ली सार्ने औपचारिक निर्णय गरेर राजधानीको औपचारिक उद्घाटन सन् १९३१ को फेब्रुअरी १३ मा मात्रै गरेको थियो । यी दुई घटनाक्रमभन्दा अगाडि नेपाल–दिल्ली सीधा र सक्रिय साइनो थिएन, नेपाल–कोलकाता भने थियो ।

    नेपालमा सन् १९५५ मा रोयल होटल खोलेर होटल क्षेत्रमा क्रान्ति गरेका रुसी नागरिक बोरिस लिसानेभिच कोलकाताबाटै नेपालसँग जोडिएका थिए । यी र यस्ता थुप्रै किस्साहरु छन्, जसले नेपाल र कोलकाताको सीधा र ऐतिहासिक सम्बन्ध देखाउँछ । यही कुराले ममा कोलकाता क्रेज थियो । टेलिग्राफ, द स्टेट्सम्यान जस्ता भारतको संघीय राजधानीभन्दा बाहिरका चलेका अखबारको मुख्यालय भएको, एसियाका प्रथम नोवेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको होमटाउन भएकाले थप क्रेज थियो नै ।

    यस्तो भावुक सम्बन्ध भएको कोलकाता जाने चार दिने प्रस्ताव मित्र उमेश भण्डारीले ल्याउँदा मैले तत्काल ‘ओके’ गरिहालेँ । मेरो ओकेको अर्को आकर्षण थिए मित्र सुरज अग्रवाल । सुरजले कोलकातामै सीए पढेका हुन् । उनका आफन्तहरु कोलकाताका गिनेचुनेका व्यक्तित्व हुन् । यी कुराले मेरो कोलकाता जाने तीन सदस्य समूहमा कुनै बिमति भएन ।

    हाम्रो टु-वे रेल टिकट बुक भयो । जेठ २६ गते दिउँसो नेपाली समयअनुसार ३ बजे हामी जोगबनी स्टेसनबाट चितपुर एक्सप्रेसको बी ३ डब्बामा बसेर चार दिने यात्रामा निस्कियौँ । जोगबनी दिल्ली रेल यात्राको अनुभव आधा दशक अगाडि गर्दा मैले पुलकित भएर योजना बनाएको थिएँ– अबको अर्को यात्रा मेरो जोगबनी कोलकाता हुनेछ । त्यही वर्ष योजना पूरा त भएन । तर, ढिलै भए पनि अहिले पूरा भयो ।

    मैले यो योजना ल्याउने मित्रहरु उमेश भण्डारी र सुरज अग्रवाललाई धन्यवाद भनेँ । मुखले भनिनँ । मनमनै भनेँ । मनमनै धन्यवाद मैले मात्रिका/बीपी/गिरिजा कोइरालाका पिता कृष्णप्रसाद कोइरालालाई पनि भनेँ । उनै कोइरालाको जोडबलमा भारतीय रेल विराटनगरको सिमानासम्म ‘नेपालजञ्ग एक्सटेन्सन’ को नाममा आएको थियो । मात्रिकाप्रसाद कोइरालाको पुस्तक ‘कोशीको कथा’मा यसको व्याख्या छ । कृष्णप्रसाद कोइरालाकै कारण हामीले दसजगा काट्नासाथ रेलमा चढेर सीधै कोलकाता जान पाएका थियौं । आधा दशक अगाडि यस्तै यात्रामा मैले कृष्णप्रसाद कोइरालालाई धन्यवाद भन्न पाइँन किनभने मलाई त्यो समयमा उनको यो कामको जानकारी थिएन । ‘धन्यवाद’ र ‘जानकारी’को सम्बन्ध कस्तो सीधा हुँदोरहेछ ! धन्यवाद छ ‘जानकारी’लाई ।

    चार वटा शताब्दीसँगै बाँचिरहेको एक्लो सहर

    बिहान साढे ३ बज्न लाग्दा रेल चितपुर स्टेसन पुग्यो । स्टेसनमा राखिएको वातानुकूलित आरामगृहमा प्रतिघन्टा प्रतिव्याक्ति तीस रुपैयाँ भारु तिरेर हामी एक घण्टा बस्यौं । स्टेसन परिसरको सित्तैमा बस्ने सुन्दर ठाउँ छोडेर त्यही परिसरको सःशुल्कमा छिर्ने तीन कारण थिए । एक, कोलकाताको गर्मी छल्न । दुई, स्वच्छ शौचालय प्रयोग गर्न र तीन, राम्रोसँग मोबाइल चार्ज गरेर वाइफाई चलाउन ।

    एक घन्टा बढी आराम गरेर हामी श्यामबजारतर्फ पैदल लाग्यौं । बाटैभरि देखिए धेरै अगाडिका एम्बासडर कार । सन् १९५८ मा भारतमै पहिलोपटक बनेको कार हो एम्बासडर कार । हिन्दूस्तान मोटर्सले बनाएको यो कारको उत्पादन सन् २०१४ बाटै बन्द भएको थियो । तर, कोलकाताका सडकमा पहेँलो रंगमा यो कारले आफ्नो भव्य उपस्थिति जनाइरहेको छ । बीसौँ शताब्दीको कोलकाताको बिम्ब हो यो कार र यसको क्रेज ।

    यस्तै उन्नाइसौं शताब्दीको कोलकाताको बिम्ब बोक्ने अर्को यातायात देखियो हाते रिक्सा । उन्नाइसौं शताब्दीमा कोलकाता भित्रिएको बंगाली भाषामा ‘ताना रिक्सा’ भनिएको यो रिक्साको अझै गज्जब उपस्थिति देखियो कोलकाताको सडकमा । सडकभरि छरिएर रहेका यस्ता हाते रिक्साले चढेको तस्बिर खिचेको एक सयभन्दा कम लिन मानेनन् । उनीहरुको भाडा अरु रिक्सा र टेम्पोको तुलनामा धेरै महँगो छ । तर पनि यसको व्यापार राम्रो छ । चढ्नेहरु खुसी छन् । चढाएर कमाउनेहरु खुसी छन् ।

    कोलकाताका चर्चित फोटोग्राफर सौम्य शंकर घोसलले सन् २०१९ डिसेम्बर ९ मा सहपेडिया डटओआरजी ब्लगमा लेखेअनुसार कोलकातामा पाँच हजार यस्ता रिक्साहरु लाइसेन्स लिएर सञ्चालनमा छन् । उन्नाइसौं शताब्दीकै विद्युतीय ट्राम पनि कोलकातामा छन् । सडकमा ट्रामवे ट्रयाकहरु धेरै ठाउँमा देखिन्छन् ।

    एक्काइसौं शताब्दीको विकासको बिम्ब बोक्ने मेट्रो रेल चलाउने कोलकाता त भारतकै नेतृत्व गर्ने सहर हो । भारतको संघीय राजधानीभन्दा पहिले मेट्रो कोलकाताले चलाएको हो । भारतीय रेलवेको आधिकारिक पोर्टलअनुसार सन् १९६९ मा मेट्रो निर्माणको योजनाले संस्थागत रुप लियो । पहिलो मेट्रोको सञ्चालन सन् १९८४ बाटै भएको हो ।

    अहिले कोलकाताको मेट्रोले सहिद खुदीरामदेखि रामकृृण परमहंशले साधना गरेको दक्षिणेश्वरसम्म सेवा दिन्छ । हामीले शुक्रबार र शनिबार मेट्रोको भरपुर आनन्द लियौं । मेट्रोको भीड थामिनसक्नुको थियो । बस्न नपाइने भीड । तर, त्यो भीड आफैमा कम भएको कोलकाताका अखबारले लेखेका थिए । कोभिड १९ आएपछि दैनिक सात लाखको मेट्रो यात्रु घटेर चार लाख ७० हजार हाराहारी पुगेको मिलेनियम पोस्ट नामक दैनिक अखबारले लेखेको थियो । हामी चढ्नुभन्दा एक दिन अगाडि बिहीबार चार लाख ५१ हजार यात्रुले यात्रा गरेको लेखिएको थियो । हामीलाई भीड लागेको मेट्रो त आधा भीडको मात्रै पो रहेछ । आधा भीड नै धेरै लाग्ने हामीलाई पूरा भीड देख्या भए कस्तो हुन्थ्यो होला ?

    कोलकाताले बाइसौं शताब्दीको समेत झल्को देखाइसकेको छ । सिंगापुरलाई धेरैले ‘सिटी अफ फ्युचर’ अर्थात् भविष्यको सहर भन्छन् । त्यसो भन्नुमा आधुनिकता र प्रकृति दुवैको संयोजन गर्नुले काम गरेको छ ।

    ‘सिटी अफ फ्युचरः सिंगापुर’ नामक नेसनल जियोग्राफिक च्यानलले बनाएर तीन वर्ष अगाडि युट्युबमा अपलोड गरेको डकुमेन्ट्री ढेड करोड बढीले हेरेका छन् । सिंगापुरले सुरु गरेको भर्टिकल फरेस्टलाई बाइसौं शताब्दीको विकास भनेर धेरैले भन्ने गर्छन् । यस्तै काममा कोलकाताले नेतृत्व गरेको छ । फोर्टिटु स्ट्रिटको ६५ तले भवनदेखि जेसर रोडको इमामी सिटीसम्मले यसको प्रयोग गरेका छन् अर्थात् कोलकाताले एकै समयमा उन्नाइस, बीस, एक्काइस र बाइसौं शताब्दी बोकेर बसेको छ ।

    कोलकाता यी सबै बोकेर थाकेको र बिरक्तिएको देखिएन । बरु यसैमा रमेको पो देखियो । दुनियाँले जस्तो लय लियोस् कोलकातालाई ‘बाल’ छैन । दुनियासँग हिँड्न मन लागेको कुरामा कोलकातासँगै हिँड्छ । दुनियाँले हिँड्न छोडेको बाटो भन्दैमा कोलकाताले बेवास्ता गर्दैन । ऊ आफ्नै लयमा हिँड्छ । सहरहरुलाई दिल्ली हुन त सजिलो छ । गोआ हुन नि सजिलो छ । कोलकाता हुन गाह्रो छ, धेरै गाह्रो छ ।

    दिदीको ब्रान्ड र मोदीको महिमा

    हामीले रेलका डिब्बामा भेटिएकालाई प्रश्न गर्‍यौं । सडकमा भेटिएकालाई प्रश्न गर्‍यौं । बस, मेट्रो, ट्याक्सीमा यात्रा गर्दा पनि प्रश्न गर्‍यौं । प्रश्न दिदीबारेमा थियो । दिदी अर्थात् दिदी नामले चर्चित कोलकाता राजधानी भएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी । बेनर्जीका विरोधी भेटिएनन् । खासगरी महिलाहरु र तल्लो तहका श्रमिकहरुले ममता मन पराएको पाइयो । महिलाहरुले ममताले गर्दा महिलाको आत्मबल बढाएको भने ।

    कोलकाताको कलेज स्ट्रिटको न्यू योर्क टाइम्स, धेरै माध्यमबाट चर्चामा आएको कोलकाताको लिजेन्ड्री कफी सपमा भेटिएकी न्युरोसाइन्सकी रिसर्चर सोमुना रोय भन्दै थिइन्, ‘मलाई भारतकै सबैभन्दा धेरै मनपर्ने नेता दिदी हो ।’

    सुरज अग्रवाललाई एक खिल्ली चुरोट मागिदिने मेरो जिम्मेवारीअन्तर्गत रोयसँग कुरा गर्ने बहाना बनेको थियो । उनी भन्दै गइन्, ‘महिलालाई ममता मुख्यमन्त्री भएकाले धेरै आनन्द महसुस भएको छ ।’

    सोमुना रोयको तर्क र उनीसँग कफी गफ भएकै दिन आएको कोलकाता डेटलाइनका भारतीय हेडलाइनहरुले पनि त्यो पुष्टि गरेको थियो । समाचारअनुसार रेनु खातुन नर्स बन्न चाहन्थिन् । उनका श्रीमानलाई कुरा पचेन । उनले दुई साथीको सहयोगमा उनको हत्केला काटे । यो सूचना मुख्यमन्त्री ममता बेनर्जीकहाँ पुग्यो । बेनर्जीले तत्काल नर्सिङकै जागिर दिने घोषणा गरिन् । दुई दिनभित्रै उनको नियुक्तिपत्र आयो । हत्केला नभएकोमा गैरनर्सिङ क्षेत्रमै रेनुले काम पाउने भइन् ।

    मोदीबारेमा हामीले कुरा गरेका धेरै नकारात्मक थिएनन् । पश्चिम बंगालको प्रमुख प्रतिपक्षी दल बीजेपीका समर्थकले समेत दिदीको गुनगान गाए । दिदीका समर्थक हिन्दूहरुले मोदीको पक्षमा नरम कुरा गरे । दिदीको वितरणमुखी राजनीति र मोदीको धर्मको राजनीति दुवैलाई फापेको देखियो । इमामी सिटीको छैटौं तलामा हामीसँग गफिएकी सुधा अग्रवाल मोदी र दिदी दुवैका समर्थक भएको भन्दै थिइन् । मित्र सुरज अग्रवालकी ठूलोममी उनी भन्दै थिइन्, ‘म त बीजेपीको समर्थनमा छु । मलाई बीजेपी नै मनपर्छ । तर, मेरो घरमा काम गर्नेहरु सबै दिदीका फ्यान छन् ।’

    हामीले भेटेकाहरुलाई आम आदमी पार्टी, कम्युनिस्ट पार्टीको बारेमा पनि प्रश्न गरेका थियौं । कांग्रेसका बारेमा पनि गरेका थियौँ । तर, ती दलहरुका समर्थकहरु हाम्रो यात्राको दौरानमा एक जना पनि भेटिएनन् ।

    उसो त हामी हिँडेका सडक नजिकै थियो पश्चिम बंगालको प्रदेशसभा भवन । त्यो सभामा समेत छैनन् एक जना पनि कांग्रेस, आम आदमी र कम्युनिस्ट पार्टीका सदस्यहरु । सडकमा हाम्रो अनुभवकै कुराको छायाँ रहेछ संसदीय गणितमा पनि । कस्तो मिलेको !

    प्रादेशिक मिडियाको वैश्विक सम्पादकीय

    भारत विश्वको जनसंख्या, आर्थिक, सैन्य क्षेत्रको एक प्रमुख शक्ति हो । उसका दृष्टिकोणहरु क्रमशः वैश्विक बन्दै गएको देखिन्छ । त्यसको झल्को सडकमा हुने कुराकानी, मिडियाका सम्पादकीयमा पाइन्छ । नेपालबाट आएको भनेपछि गफिएका कोलकाता रनर्समा जोडिएका धावक उज्ज्वल अग्रवाल भन्दै थिए, ‘नेपालको राजनीति बिग्रेर होला नेपालले प्रगति गर्न सकेन । बंगलादेशले धेरै गरेको छ ।’

    अग्रवालले जसरी छिमेकीबाट आफ्नो विश्व धारणा दिए त्यस्तै धारणा स्थानीय पत्रिकाका सम्पादकीयमा समेत देखियो । जस्तै शनिबारकाे द टेलिग्राफमा सम्पादकीय बेलायती महारानीको जोकलाई बिम्ब बनाएर अब राजतन्त्र पनि जोक नै भएको तर्क गरेको छ । यस्तै मिलेनियम पोस्टले सुडानको लोकतन्त्र बलियो बनाउनुपर्नेबारेमा शनिबारकै सम्पादकीय छापेको छ । इस्टर्न क्रोनिकल नामक अर्को प्रादेशिक दैनिकले बेलायती प्रधानमन्त्रीको संसदीय संकटबारेमा प्रमुख आलेख छापेको छ । यो पनि शनिबारकै अंकको कुरा हो ।

    भारतको सबैभन्दा धेरै बिक्ने अंग्रेजी अखबार द टाइम्स अफ इन्डियाको शनिबारको कोलकाताबाट प्रकाशित संस्करणको एक सम्पादकीयमा थाइल्याण्डले खुला गरेको गाँजाको बारेमा लेख्दै भारतमा पनि खुला हुनुपर्ने तर्क गरेको छ । सन् १९८० को दशकमा अमेरिकी दबाबमा भारतमा गाँजा अवैधानिक बनाइएको भन्दै सम्पादकीयले थाइल्याण्डबाट सिक्न सुझाएको छ ।

    हिन्दू-मुसलमान राजनीतिले जकडिएको सामाजिक मनोविज्ञान !

    हामी जाँदै थियौं कोलकाताको चर्चित कलेज स्ट्रिटतर्फ । बाटैमा भेटिए एक युवा जुस ज्यामी । अरुको जुस पसलमा आफू काम गरेको बताउने उनी मुसलमान थिए । मेरो ब्रोकन हिन्दी सुनेपछि उनले सोधिहाले, ‘भाइ आप काश्मिर से हो ?’ कसरी ठ्याक्कै मिलाउनु भएको भनेर मित्रहरु उमेश भण्डारी र सुरज अग्रवालले प्रश्न गरेपछि उनले दाह्री र ज्यानतर्फ संकेत गरे । हामी उनको अनभिज्ञता सम्झेर हाँस्यौं । उनी आफूले सही अनुमान गरेछु भन्ने सम्झेर हाँसे । जे होस् हामी हाँस्यौं । जुसवालाले मलाई मुसलमान सम्झेर जस्तो प्यार देखाए ठीक त्यसविपरीत सोचेकी रहेछ्नि इमामी सिटीकी रैथाने सुधा अग्रवालले । पूजा गरेर हाउरा ब्रिजमा रहेको मन्दिरबाट लामो यात्रा गरेर आएकी उनी घरमा मुसलमान आएको सम्झेर अचम्म भइछिन् । कुरा गर्दै जाने क्रममा म मुसलमान नभएको प्रस्ट भएपछि उनले यो रहस्य खोलिन् ।

    सडकका जुसवाला, महलकी सुधाको धार्मिक धारणा प्रमुख भएर आउनुमा राजनीतिले काम गरेको छ । हिन्दू र मुसलमान धर्मको कुरामा यस्तो सक्रिय चासो सडकदेखि महलसम्ममा मात्रै थिएन । मैले जोगबनीबाट मालदाह पुगेर खरिद गरेको मे अंकको आउट लुकको कभर स्टोरी, टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेसको शुक्रबारका प्रमुख आलेख धर्मकै थिए । आउटलुकले ‘ल एन्ड फेथ’ अर्थात् कानुन र आस्था विषयमा कभर स्टोरी बनाएर अयोध्याको राम मन्दिरको समस्या समाधान भए पनि मथुरादेखि काशीसम्म यस्तै समस्याहरु बढेको चर्चा गरिएको थियो ।

    टाइम्स अफ इन्डियामा रोहित सरनले ‘हिन्दू–मुस्लिमः फ्याक्टस् एन्ड फियर’ अर्थात् हिन्दु मुसलमानः तथ्यहरु र डर विषयमा लामो लेख लेखेर हिन्दूहरुको संख्या घट्ने र मुसलमानको मात्रै बढेको हल्लामात्रै भएको भन्दै दुवै समुदाय मिल्नुको विकल्प नभएको तर्क गरिएको छ । यस्तै इन्डियन एक्सप्रेसमा मौवा मैत्राले बीजेपी सबैभन्दा ठूलो दल भएर पनि एक जना मुसलमान सांसद प्रदेशदेखि केन्द्रसम्म नभएको भन्दै उनीहरुलाई समेट्न बीजेपी असफल र अनिच्छुक भएको तर्क गरेकी छन् ।

    यसरी सडकदेखि सञ्चारसम्म हिन्दू–मुसलमान विभाजनका रेखाहरुले कोलकातामा डाम छाडिसकेका रहेका छन् । त्यो डाममा हामी पनि पर्‍यौं । यसलाई रोक्न पश्चिम बंगाल र भारत सरकारले के गर्दैछन्, त्यो उनीहरुको कुरा हो । तर, धर्मको नाममा यस्ता सामाजिक मनोवैज्ञानिक अनि राजनीतिक विभाजनका डामहरु दशगजा कटेर नेपाल आउन नदिन हामी सबै नेपाली उत्तिकै चनाखो हुनुपर्छ ।

    बोरिस, सुवर्ण, महावीर र जयपृथ्वीको भव्य सम्झना !

    कोलकाता उत्रेकै दिन हाम्रो बसाइ होटल हिन्दूस्तान इन्टरनेशनलमा भयो । पार्क स्ट्रिटमा रहेको गोबल रिच नामक संस्थामा मित्र उमेश भण्डारीको सानो छलफल भएकाले हाम्रो मुकाम त्यहाँ हुन गयो । रोचक संयोग यो रहेछ कि नेपालमा सन् १९५५ मा पहिलोपटक पर्यटकस्तरीय होटल ‘रोयल’का सञ्चालक बोरिस लिसानेभिचले राणाकालमै कोलकातामा खोलेको ‘३०० क्लब’ यही क्षेत्रमा थियो । बोरिसले कामले कोलाकाता आएका नेपालका तत्कालीन राजा महेन्द्रलाई महावीर, सुवर्ण भेट्न सहयोग गर्ने मुकाम त्यही क्लब थियो ।

    बोरिसको आत्मकथा ‘टाइगर फर ब्रेकफास्ट’मा लेखक माइकल पिसाईले त नेपालको राणा शासन फाल्ने छलफल राजा र सुवर्ण महावीरलगायतको त्यही भएको लेखेका छन् । उसो त न अहिले कोलकातामा बोरिसको क्लबको कुनै देखिने अवशेष छ न त उनको हालको निर्वाचन आयोगको भवन भएको कार्यालयमा रहेको रोयल होटलकै कुनै रहलपहल चिनारी छ । केही छ त सम्झना छ । म त्यही सम्झना बोकेर रातभर गमे । बोरिसलाई मिस गर्दै सुतेँ ।

    बोरिससँगै मिस गरेको अर्का व्यक्ति थिए महावीर शमशेर । उनी कोलकातामै टाइगर सिनेमा चलाउँथे । उनीसमेतको अगुवाइमा नेपाली प्रजातान्त्रिक कांग्रेस खोलिएको थियो । उनी बोरिसका मिल्ने साथी थिए । काठमाडौंको गौचरनमा अवतरण भएको पहिलो जहाज कम्पनी हिमालय एभिएसनका एक मालिक महावीर पनि भएको पिसाईले लेखेका छन् । उनै महावीर मात्रिका कोइरालाको प्रधानमन्त्रीत्वकालमा मन्त्रीसमेत भएका थिए । भारतसँगको कोशी सम्झौताको हस्ताक्षरकर्ता भएकाले उनको बारेमा सोच्दा झोंक त चल्यो नै । उनको राणा सत्ता ढाल्ने सक्रिय नेतृत्व र उद्योग खोल्ने अभियान सम्झेर खुसी पनि लाग्यो ।

    पार्क स्ट्रिट नजिकै छ क्यामेक स्ट्रिट भन्ने बुझेर म औधी खुसी भएको थिएँ । बिहान पुग्नेबित्तिकै होटल अगाडि नै रहेको क्यामेक स्ट्रिट पुगेँ । त्यो स्ट्रिटमै बस्थे सुवर्ण शमशेर । उनले त्यही मुकाम बनाएर नेपाली कांग्रेस स्थापनामा सहयोग गरे । आर्थिक, भौतिक सहयोग छँदै थियो, सैन्य सहयोगमा समेत सुवर्णविनाको २००७ सालको नेपाली कांग्रेसको क्रान्ति अपूरो हुने थियो । सुवर्णले यो स्ट्रिटमा हजारौँ नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुलाई पालेका थिए, चन्दा दिएका थिए । अहिले क्यामेक स्ट्रिटको नाम परिवर्तन भएर अवनिन्द्रनाथ ठाकुर शरनी भएको छ । तर, सुवर्णको नेपाली क्रान्ति र कांग्रेसको राजनीतिको योगदानमा कुनै परिवर्तन भएको छैन । उही छ । सुवर्णविनाको नेपाली कांग्रेस, २००७ को क्रान्ति र नेपाली राणा सत्ता हटाउने अभियान अपूरो हुन्छ ।

    पार्क स्ट्रिटको बसाइ सकेर हामीले कोलकाताका प्लानेटोरियस आसपास, भिक्टोरिया पार्क हुँदै हाउरा बिज्र आदि सबै भ्यायौं । हामी एसियाका प्रथम नोवेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको जन्मघर ठाकुरबाडी पुग्यौं । हाल विश्वविद्यालय बनेको टैगोरका कोठा कोठामा प्रवेश गर्न हामी सफल भएनौं । १० बजेपछि मात्रै आउने गार्डको उर्दी पनि हाम्रो यात्रा तालिका खलबलिने स्तरको थियो । त्यसैले हामीले टैगोरको जन्मघर बाहिरबाटै हेर्‍यौं । टैगोरको भूमि टेक्नु नै हाम्रो मुख्य खुसीको क्षण हो । टैगोर मुकाम पुग्दा मैले नेपालका जयपृथ्वी बहादुर सिंह सम्झिएँ ।

    सिंहले सन् १९३१ मा प्रकाशन भएको गोल्डेन बुक अफ टैगोरमा शुभकामना दिएका थिए । शुभकामना दिने उनी एक्ला नेपाली थिए । साहित्य र कलाका हस्ती टैगोर र मानवतावादी दार्शनिक सिंह आज यो धर्तीमा छैनन् । मेरो हातमा सिंहको ‘मानतावाद’ भन्ने पुस्तक थियो । सामुन्ने थियो टैगोरको जन्मघर ।

  • ‘ब्याड टच’ प्रकरण : सामाजिक सञ्जालको अदालतमा अभिनेत्रीकाे ‘चीरहरण’

    ‘ब्याड टच’ प्रकरण : सामाजिक सञ्जालको अदालतमा अभिनेत्रीकाे ‘चीरहरण’

    काठमाडौं । नायिका मिरुना मगरमाथिको दुर्व्यवहार प्रकरणले सामाजिक सञ्जाल तातियो । सञ्जालमा पक्ष–विपक्षमा घगडान बहस भए । कतिपयले जातीय र धार्मिक रंग दिन खाजे । यौन हिंसालाई हेर्ने मानिसहरुको दृष्टिकोण पनि छरपस्ट भयो ।

    मिरुनाको सवालमा एक भाष्य भने टड्कारो देखियो, ‘भीडमा हुँदा छोइन्छ, त्यसलाई उनले त्यति सेन्सेसनल बनाउन आवश्यक थिएन ।’ मिरुनालाई कम्मरमुनि पछाडिको भागमा तीनपटकसम्म ‘ब्याड टच’ गर्ने फुर्वा लामाले सहानुभूति बटुले । सामाजिक सञ्जाल बडो विद्रुप ढंगले प्रस्तुत भयो ।

    घटना हुनु अगाडि नै मान्छेहरुले खिचेको भिडियोलाई ‘सीसीटीभी फुटेज’ भनेर प्रचार गरियो, जहाँ वास्तविक घटनाको दृश्य नै समेटिएको थिएन । त्यही हेरेर सञ्जालका ‘न्यायाधीश’ हरुले फैसला सुनाए– अभिनेत्रीलाई आरोपीले छोएकै थिएनन् । नायिकाले निर्दोषलाई फसाउन खोजिन् । आदि । मिरुनामाथि एकोहोरो ‘रिप’ को वर्षा नै भयो । सडकमा पनि उग्र प्रदर्शन भए । केही मानिसले उनको पुतला बनाएर लात्ती हान्दै आफ्नो वीरता प्रदर्शन गरे । महिलाहरुले नै मिरुनाको दोहोलो काढे ।

    सिभिल मलको सातौं तलामा गत १५ गते भएको घटनाको साक्षी सम्भवतः मिरुनामात्रै थिइन् । कमन सेन्स लगाएर सोच्न सकिन्छ, यदि त्यस्तो घटना भएकै थिएन भने नायिकाले आफ्नै चलचित्र हेर्न आएका दर्शकलाई केको रिस फेर्न प्रहरी हिरासतमा पठाइन् होला ? त्यो पनि एउटा भिक्षु पोशाकमा रहेका बुद्धमार्गीलाई । आरोपीलाई ठाउँको ठाउँ थप्पड हान्ने हिम्मत कसरी जुटाइन् होला ? अनि आरोपीले तत्काल कान समातेर माफी किन मागे होला ?

    मिरुनाले ‘रिप’जस्तो दुःखलाग्दो गालीमात्रै भेटिरहेकी थिइनन् । केएल टावरअघि ‘कबड्डी’ फिल्मको पोस्टर जलाइएको थियो । आन्दोलन चर्काइएको थियो । मिरुनालाई ‘मुर्दावाद’ र फुर्वालाई ‘जिन्दावाद’को चर्को कर्कस नारा लगाइएको थियो । फुर्वाको न्यायका लागि उत्रिएका जमातले घटनालाई राजनीतीकरण गर्दै लैजाँदा मिरुनाले पाइरहेको अन्यायमाथि चाहिँ कोही संवेदनशील देखिएनन् । यद्यपि जसले यस्तै खालको दुर्व्यवहार भोगेका छन्, उनीहरुलाई मिरुनाले चालेको कदमले पक्कै केही न केही हौसला दियो ।

    मिरुना–भिक्षु प्रकरणपछि सामाजिक सञ्जालमा अरु केही महिलाहरुले आफ्ना अनुभूति पनि सेयर गर्न थाले । सार्वजनिक यातायातमा सवार हुँदा होस् या कुनै भीडमा हुँदा होस्, गलत नियतले ‘टच’ गरेका घटनाहरु पनि धेरैले सार्वजनिक गरे । विशेषतः छोएर, हेरेर, पछ्याएर गरिने यौन हिंसाबारे सबैले बोले ।

    तर, लामा भने चोख्खिए । उनी त सांसारिक सुख, भोग विलास त्यागेर गुम्बामा पुगेका थिए । बौद्ध धर्मवलम्बीहरुको बौद्ध धर्मप्रति एक प्रकारको आस्था छ । उनीहरुले आफ्नै विश्वास पद्धति छ । आफ्नै बौद्ध दर्शन छ । तर बौद्ध धर्म र दर्शनलाई भुलेर लामाले गलत हर्कत त गरेकै थिए । नत्र मिरुनाले प्रहरी नै बोलाएर पठाउनुपर्ने कुनै जरुरी थिएन । निकै संघर्षपछि बल्ल सफलताको स्वाद चाखेकी उनलाई दर्शकसँग खाली खुसी साट्नु थियो । लामो संघर्षपछि दर्शकको अथाह माया पाएकी थिइन्, जसको सेलिब्रेसन गर्नु थियो ।

    फिल्मबाट पाइरहेको अटेन्सन र चर्चा नै काफी थियो मिरुनालाई । अनेक लफडा गरेर लाइमलाइटमा आउनुपर्ने कुनै बाध्यता थिएन । झनै आफ्नै दर्शकलाई प्रहरीको जिम्मा लगाउनुपर्छ भनेर सोचेकी पनि थिइनन् होला अथवा यसपछि उति उग्र रुप लिन्छ भनेर कल्पेकी पनि थिइनन् होला । तर, भनिन्छ नि, जे सोचिँदैन त्यो भइदिन्छ, जे सोचिन्छ, त्यो भइदिँदैन ।

    जो पीडित उसैलाई निशाना बनाएर प्रहार सुरु गरियो । प्रश्न गर्न थालियो, ‘केही भएकै छैन । महिलाले पुरुषलाई अनाहकमा फसाउँछन् ।’

    यसरी प्रहार गर्दैगर्दा के चाहिँ देखियो भने सामाजिक सञ्जाल एउटा भीड हो, जसको कुनै चेतना हुँदैन । नेटफ्लिक्समा ‘१००’ नामक सिरिजमा एउटा संवाद छ । जहाँ एक पात्रले भन्छ, ‘भीडसित कुनै चेतना हुँदैन । भीडसित कुनै विवेक हुँदैन । भीडलाई जता लग्यो, त्यो उतै जान्छ । त्यसैले भीडलाई सही दिशा निर्देश गर्न सही नेतृत्व आवश्यक हुने हो ।’ सञ्जालको यस्ता भिडलाई नेतृत्व गर्नेहरु पनि हामीले देखिआएकै छौं । जसको परिणति नै मिरुना–लामा प्रकरणको क्लाइमेक्स हो ।

    आफ्नो कुण्ठा अरुमाथि लाद्नेदेखि धमिलो पानीमा माछा मार्नेहरु सलबलाउने नै यस्तै घटनाहरुमा हो भनेर धेरै घटनामा प्रमाणित भइसकेको छ । सामाजिक सञ्जाललाई ‘क्राइम कोर्ट’ जसरी प्रमाणित गरेर न्याय–अन्यायको फैसला गर्नेहरुले यस्ता गम्भीर मुद्दाहरुलाई गहिराइमा जान नदिई बोक्रोमात्रै उप्काएर आफ्नो स्वार्थको खिचडी पकाउने प्रवृत्ति व्याप्त छ । यस्तै भीडले सामाजिक सञ्जालमा मात्रै होइन, न्याय सम्पादनमा पनि झिँजो सृजना गर्छ । यस्तै भीडले प्रहरीको अनुसन्धान बिथोलेर सत्यतथ्य छानबिनलाई अलमलमा पार्छ ।

    भीडको चर्को हल्लालाई हेरेर अदालतले फैसला गर्ने होइन । तर, यस्तै भीडलाई लाग्छ कि सुप्रिम कोर्टभन्दा धेरै माथि छन् उनीहरु । उनीहरु नै फैसला गर्छन् सञ्जालमा । न्याय र अन्याय छ्टयाउने विवेक अदालतसँग होइन, यिनीहरुको बिग्रिएको मगजमा छ । मिरुना प्रकरणलाई पनि यस्तै भीडले दिग्भ्रमित गरिदियो ।

    यसरी गम्भीर मुद्दाहरु भीडले गर्ने फैसलामा पुग्नु भनेको सही मान्छेको मौनता प्रमुख कारक हो अथवा हामीले जसलाई सही मान्छे भनिरहेका छौं, उनीहरुलाई सही देख्नु हाम्रो दृष्टिदोष हो । यस प्रकरणमा लामाको कार्ड फ्यालेर आफ्नो स्वार्थको छक्का दाउ हान्नेहरुको बिगबिगी पनि सामाजिक सञ्जालमै देखियो । यस प्रकरणमा मात्रै होइन, जति पनि सामाजिक सञ्जालमा आइपुगेका इस्युहरु छन्, त्यहाँ कार्ड फालेर आफ्नो दाउ हान्नेहरु छ्यापछ्याप्ती भेटिएकै हुन् । यो भेटिँदै जानेछन् । यिनीहरुलाई चिन्न सक्ने चेतना र विवेक भीडसँग हुन्थ्यो भने अवस्था अर्कै हुने थियो ।

    अहिले मिरुना–लामा प्रकरणको किनारा लागेको छ । प्रहरीमा पुगिसकेको र मुद्दा चलिरहेको संवेदनशील विषयमा बाहिर सडकमा मिलापत्र गराइएको छ । सामाजिक सञ्जाल र सडकको दोहोरो दबाबका कारण मिरुना आरोपीसँग सम्झौता गर्न बाध्य भइन् । लामाले गल्ती स्वीकार्दै माफी मागेका छन् भने मिरुनाले पनि माफी दिएकी छन् ।

    माफी दिनु आफैमा एउटा महानता हो । आरोपी व्यक्ति आपराधिक प्रवृत्तिको भन्दा पनि यौनकुण्ठाले ग्रस्तजस्तो देखिन्छन् । उनले आफूले गरेको गल्तीका लागि सबैका सामुन्ने कान समातेरै माफी मागेका थिए । एक थप्पड पनि खाए । यो पनि एउटा ठूलो सजाय हो । मिरुनाले उनलाई भाइ सम्झेर माफी दिएको बताएकी छन् । यद्यपि यो घटनामाथि जिल्ला प्रशासनमा मुद्दा भने यथावत छ । आरोपी युवाले तारेख त बोक्नैपर्छ । पीडित र पीडकले आपसी मेलमिलाप गर्दैमा प्रहरी प्रशासनले यस्ता संवेदनशील मुद्दाहरुलाई डिसमिस गर्न पक्कै मिल्दैन । आरोपीले गल्ती स्वीकारिसकेका छन् ।

    जुन घटना मिरुनाले भोगिन्, धेरै महिला दिदीबहिनीहरुले दैनन्दिन भोग्दै आएका छन् । समाज जति आधुनिक र सुशिक्षित भएको भनिए पनि भीडभाडमा महिलाहरुले आफूलाई जोगाउन निकै सकस पर्ने गरेको छ । तर, यस्ता घटनामा सार्वजनिक रुपमा बोल्न लेख्न सहज छैन । सबैले मिरुनाजस्तो एक्सन लिइहाल्न सक्दैनन् । मिरुना र लामाबीच जसरी समझदारी भयो, त्यसले यस्तो खालको हिंसा भोग्ने महिलाहरुलाई थप निरुत्साहित तुल्याउला कि भन्ने चिन्ता उत्पन्न भएको छ ।

  • कबड्डी: लोकल कथाको ‘ब्रान्डेड कलेक्सन’

    कबड्डी: लोकल कथाको ‘ब्रान्डेड कलेक्सन’

    नेपाली सिनेमाको बजार सानो छ । छिमेकी भारतीय चलचित्रले नेपालमा करोडौंको ब्यापार गर्दा हाम्रा सिनेमा भने पोस्टर टाँस्न प्रयोग हुने गमको रकम समेत ‘कलेक्सन’ गर्न असमर्थ बनेको तितो यथार्थबीच केही सिनेमाले रहरलाग्दो व्यापार गरेका छन् ।

    गत शुक्रबारबाट नेपाली सिनेमाघरमा प्रर्दशनमा आएको कबड्डी सिरिजको चौथो श्रृङ्खला कबड्डी –४ ले रहरलाग्दो व्यापार गर्ने चलचित्रमा आफूलाई दर्ज गर्न सफल भएको छ । प्रर्दशनको एक साता नपुग्दै १३ करोड व्यापारनजिक पुग्नु नेपाली सिनेमाको लागि एउटा उत्साहजनक समाचार हो । रामबाबु गुरुङद्वारा लिखित तथा निर्देशित कबड्डी–४ को व्यापारले कथा र पात्रको संयोजनलाई सही ढंगले प्रयोग गर्न सके नेपाली चलचित्र पनि अब्बल बन्छ भन्ने प्रमाणित गरेको छ ।

    २०–२५ रुपैयाँमा पाइने एक ग्लास लोकल तीनपाने रक्सीको स्वाद जत्तिको मीठो हजारौं रुपैयाँ पर्ने ‘ह्स्किी’मा पनि हुन्न भन्ने सराबीहरुको मान्यतालाई ठ्याक्कै प्रमाणित गर्दै ‘लोकल स्टोरी’ समावेश भएका, विनातामझामका चलचित्रले ‘ब्राण्डेड कलेक्सन’ गरेका छन् ।

    पछिल्लो केही वर्षदेखि नेपालमा रिलिज भएका छक्कापञ्जा सिरिज, कबड्डी सिरिजले एउटा सानो गाउँको कथालाई समावेश गरेर सहरीया अर्थात आफूहरुलाई ‘ब्राण्डेड सोसाईटी’मा रहेको बताउने दर्शकहरुको ध्यान खिच्न सफल भएको छ । नेपाली मल्टीप्लेक्समा धेरै शोहरु पाउने विदेशी चलचित्रलाई समेत विस्थापित गर्दै लोकल कथा समावेश भएका नेपाली सिनेमाले ‘ब्राण्डेड’ कलेक्सन गर्न थालेका छन् ।

    छक्का पञ्जा तथा कबड्डीले नेपालको एउटा गाउँको समसमयिक कथालाई केन्द्रमा राखेर सहरीया दर्शकबाट करोडौं कमाउन सफल बन्नुले नेपाली गाउँले समाजमा रहेको विविधतालाई दर्शकले रुचाउने रैछन भन्ने सोचलाई अझ अघि बढाएको छ । नेपालको ७० प्रतिशतभन्दा धेरै क्षेत्र ग्रामीण छ । त्यहाँको जीवनशैलीलाई मीठो ढंगबाट उठान गर्नसके नेपाली ‘अग्र्यानिक’ सिनेमाले करोडौं क्लबमा आफूलाई सहजै उभ्याउन सक्छन भन्ने मान्यता पछिल्लो समय सफल भएका चलचित्रबाट बुझ्न सकिन्छ ।

    कथा सामान्य गाउँले भएपनि त्यसलाई प्रस्तुत गर्ने निर्देशकीय क्षमता, त्यसमा अभिनय गर्ने कलाकारको कौशलताले ती चलचित्रलाई भव्य बनाउछ भन्ने मानक स्थापित भएको छ । करोडौं लगानी गरेर निर्माण भएका सेट, लाखौँ रुपैँया खर्च गरेर विदेशमा छायाङ्कन हुने गीतका भिडिओे र चलचित्रलाई भव्य देखाउन सहरको पाँचतारे होटल भाडामा लिनु पर्छ भन्ने मान्यतालाई पछिल्लो समय सफल भएका गाउँले चलचित्रले खारेज गरिदिएको छ ।

    अझ नेपाली दर्शकहरुले सहरीया वातावरणमानै निर्माण गरिएको गाउँले चरित्र, संघर्षरत मानिसहरुको जीवनशैली भएका चलचित्रलाई समेत मन पराएको पाइएको छ । जात्रा सिरिज र पशुपतिप्रसाद यसको उदाहरण हुन् । आधुनिक जीवनशैलीमा आधारित भएर करोडौंको लगानीमा निर्माण भएका चलचित्र असफल भैरहेको अवस्थामा गाउँले कथाका चलचित्र सफल मात्र भएका छैनन्, नाफामा पनि गएका छन् ।

    विभिन्न गाउँबाट सहर छिरेर आफूलाई सफल बनाउन अनेक क्रियाकलाप गर्ने, फस्ने, फसाउने युवाहरुको कथालाई मीठो ढंगबाट प्रस्तुत गर्दै निश्चल बस्नेतले निर्देशन गरेको ‘लुट’ सफल भएपछि सुरु भएको भएको नेपाली चलचित्रको ‘न्यू ट्रेन्ड’ले नयाँ कथा र सुहाउँदो तथा जीवन्त अभिनय गर्ने कलाकार भए चलचित्र सफल हुन एउटा खाईलाख्दो ‘हिरो’ चाहिँदैनरैछ भन्ने धारणा स्थापित गर्न सफल बनेको छ ।

  • बालेन कि विधि ?

    बालेन कि विधि ?

    भनिन्छ शक्तिमा भएको व्यक्तिभन्दा व्यक्तिमा भएको शक्ति नै लोकतन्त्रमा बलवान् हुन्छ । यसपटक स्थानीय तहको निर्वाचनमा काठमाडौंका जनताले व्यक्तिमा निहित त्यही शक्तिको पहिचान गरे । लामो राजनीतिक विरासत र संगठनको तागत बोकेकाहरुलाई ‘व्यक्तिको तागत’ ले पराजित गरिदियो । अर्थात्, काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र युवा उम्मेदवार बालेन्द्र साह उर्फ बालेन निर्वाचित भए ।

    निर्वाचन अभियानका दौरान बालेन सबैभन्दा धेरै सुनिए, सबैभन्दा धेरै हेरिए । पृष्ठभूमिमा बलिदान चलचित्रको ‘गरिबको बोलदिने कोही छैन कोही छैन’ गीत घन्काउँदै बालेनले आफूलाई निमुखाहरुको आवाजका रुपमा परिचित गराए ।

    काठमाडौंबासीले दिनहुँ भोगेका स–साना समस्यासमेतको समाधानका सुत्रहरु पस्किए । जनमतले त्यसलाई सदर गर्यो । बालेनले उठाएका प्रश्नहरुको जवाफ दिने ठाउँमा काठमाडौंबासीले बालेनलाई नै पठाइदिए । अब बालेन प्रश्न गर्ने ठाउँमा रहेनन्, जवाफ दिनु नै उनको दायित्व हो ।

    काठमाडौंका जनतामा निहित शक्तिको समग्रता नै बालेनको जित हो । यसर्थ निर्वाचनअघि दललाई, नेतालाई, कर्मचारीलाई, व्यवस्थालाई प्रश्न गर्दै गरेको बालेन अब हाम्रा सामु रहेनन् । महानगर प्रमुखका रुपमा हिजो आफैले तेस्र्याएका प्रश्नहरुको उत्तर खोज्ने ठाउँमा बालेन पुगेका छन् ।

    बालेन जितको अर्थ

    स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगर प्रमुखमा बालेनले कसरी जिते ? दशकौ लामो इतिहास बोकेका राजनीतिक दल, तिनका संगठन र नेताहरु कसरी बालेन हराउन असफल रहे ? कतिपयले बालेनको जितलाई ‘दलीय व्यवस्था’को असफलतासँग जोडिसकेका छन् ।

    चुनावकै दौरान विपक्षीहरुले बालेनलाई ‘निर्दलीय उम्मेदवार’ को संज्ञा दिएकै थिए । यद्यपि बालेन निर्दलका प्रतीक होइनन् । उनी त बहुदलीय लोकतान्त्रिक व्यवस्थाभित्रै उदाएका हुन् । लोकतन्त्रको सौन्दर्य भनेकै उपलब्धहरुमध्ये भरपर्दोलाई शासनको जिम्मेवारी दिनु हो । काठमाडौंका हकमा यहाँका मतदाताले बालेनलाई भरपर्दो मानेर मत दिए ।

    बालेनलाई दिइएको मत विश्वासको हो, भरोसाको हो, आशाको हो अनि अपेक्षाको पनि हो तर लोकतान्त्रिक व्यवस्थाविरुद्धको कदापि होइन । राजनीतिक दलका उम्मेदवारविरुद्ध जितेपनि बालेनको जित लोकतान्त्रिक बहुदलीय व्यवस्थाको मैदानभित्र सम्भव भएको हो । यसर्थ उनी लोकतान्त्रिक विधि र प्रक्रियाको मैदानबाहिर रहनेछैनन् भन्ने विश्वास गर्नुपर्छ ।

    बालेनले काम गर्लान् त ?

    स्वतन्त्र उम्मेदवारका रुपमा जितेकाले बालेनसँग वा धरानका हर्क साङपाङसँग मात्रै होइन दलबाट जितेका देशैभरीका जनप्रतिनिधिबारे यो प्रश्न सोधिनुपर्छ । उम्मेदवारका रुपमा स्वतन्त्र र दलीय उम्मेदवारका बीच भिन्नता थियो होला तर जनप्रतिनिधिका रुपमा बालेन वा हर्क वा कुनैपनि दलबाट जितेको प्रतिनिधिसँग समानता खोजिनुपर्छ । यसर्थ बालेनले मात्रै होइन देशैभरका जनप्रतिनिधिले काम गर्लान् त ? भन्ने प्रश्नमार्फत् सामाजिक खबरदारी यथावत राखिनुपर्छ ।

    काठमाडौंको सन्दर्भमा चर्चा गर्दा महानगर प्रमुखमा निर्वाचित भएलगत्तै बालेनले कसरी काम गर्लान् ? प्रतिवद्धताहरु पूरा गर्न सक्लान् वा नसक्लान् ? भन्ने चासो स्वभाविक हिसाबले बढेको छ । यहीस्तरको चासो र खबरदारी २०४८ यताका सबै जनप्रतिनिधिसँग गरिएको भए सायद आज बालेनमाथि यति धेरै बहस गर्नुनै पदैनथ्यो ।

    खैर बालेनले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दासम्म आफ्नो जितको ‘खुसीसमेत नमनाउने’ उद्घोष गरेका छन् । उनी आफैंले आफ्नो प्राथमिकताको घोषणा गरिसकेपछि अन्य धेरै समस्याहरुको चाङमाथि बालेनको काम खोज्न जरुरी छैन । तत्कालका लागि काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरिने प्रयत्न र परिणामले नै बालेनको मूल्यांकन गर्न सहज हुनेछ ।

    उम्मेदवारका रुपमा उनले फोहोरको वर्गीकरण घरमै गराउने, नियमित फोहोर संकलन गर्ने, गल्ने फोहोरलाई मल बनाउने, प्लास्टिकजन्य फोहोरबाट सडक पिच गर्ने केमिकल निर्माण गर्ने लगायतका योजना सुनाएका थिए । त्यसलाई कार्यान्वयन गर्न महानगरको पहिलो कार्यपालिका बैठकमा उनले प्रस्तावपनि पेश गरे । यतिन्जेल बालेनको प्रयत्नमा खोट लगाउने ठाउँ छैन । यद्यपि कार्यपालिका बैठकको निर्णय प्रक्रियामा केही वडा अध्यक्षहरुले प्रश्न उठाएका छन् ।

    बालेनलाई विधि सिकेर आउन उनीहरुले आग्रह पनि गरेका छन् । त्यसउप्रान्त बहस मोडिएको छ । सामाजिक सञ्जालमा बालेनका समर्थकहरुको असन्तुष्टी चर्को छ । विधिको विषय उठाउने वडा अध्यक्षहरुमाथि गालीको वर्षा भइरहेको छ । यही विन्दूदेखि बालेनमाथि प्रश्न तेर्सिएको छ ।

    बालेन की विधि ?

    आवरणमा जे देखिएपनि काठमाडौं महानगरमा यतिबेला ‘बालेन की विधि ?’ भन्ने प्रश्नकै जवाफ खोजिदैछ । मूलधारको राजनीतिमा खासै चासो नराख्ने हजारौं युवाहरुको साथ बालेनलाई छ । निर्वाचन जिताउन कस्सिएकामध्ये अधिकांशको प्रस्तुति ‘विधि होइन बालेन’ भन्नेतर्फ लक्षित छ । यतिबेला मोही माग्नु ढुंग्रो लुकाउनको अर्थ छैन । प्रष्ट भाषामा भन्नैपर्ने हुन्छ- बालेन होइन विधि ।

    बालेनका लागि विधिको बलि स्वीकार छैन । विधिलाई औपचारिक मानेर बालेनलाई सबैथोक मान्ने दृष्टिकोणले जनमतको सम्मान गर्दैन । महानगरको अव्यवस्थालाई बालेनले सोधेको प्रश्नको उत्तर काठमाडौंका जनताले जनमतमार्फत सदर गरिसकेका छन् । अब महानगरलाई व्यवस्थित र विधिसम्मत ढंगले सञ्चालन गर्ने दायित्व बालेनको हो ।

    जसरी बालेन जननिर्वाचित हुन्, त्यसरी नै उपमेयर र ३२ वटै वडाका अध्यक्षहरु पनि जननिर्वाचित हुन् । निर्वाचनमा राजनीतिक आवद्धता वा चुनाव चिन्ह जुनसुकै बोकेको भएपनि काठमाडौं । महानगरको कार्यपालिकामा उनीहरुले विशुद्ध जनप्रतिनिधिको भूमिका निर्वाह गर्नुपर्छ । आफ्ना अभिव्यक्तिहरुमा ‘इञ्जिनियर हुँ नि’ भनेर बालेनले जुन आत्मविश्वास देखाउने गरेका थिए, प्रमुखका रुपमा पहिलो कार्यपालिका सञ्चालनमा उनको आत्मविश्वास देखिएन ।

    महानगर बैठक सञ्चालनको विधि र प्रक्रियाबारे जानकारी नहुँदा उनी सम्पूर्ण रुपमा ‘कर्मचारी’ प्रति निर्भर देखिए । हाम्रो संवैधानिक अभ्यासले स्थानीय कार्यपालिकालाई ‘स्थानीय सरकार’ सरहकै मान्यता दिएको छ । सरकार सञ्चालनका निश्चित वैधानिक प्रक्रिया हुन्छ । जति नै जनपक्षीय र लोककल्याणकारी प्रस्ताव भएपनि विधि र प्रक्रिया त्यसको शर्त हो ।

    हामीकहाँ राजनीतिक दल वा राजनीतिक व्यक्तिको ईच्छाशक्ति मात्रै विसंगतिको कारण होइन । विधिलाई संस्थागत गर्न नसक्ने प्रवृत्तिपनि हाम्रो असफलताको कारक हो । यसर्थ विधिलाई बलियो बनाउने प्रयत्नले नै बालेनलाई बलियो बनाउनेछ । उनका समर्थकहरुले ‘विधिभन्दा माथि बालेन’ भन्ने भाष्य निर्माण नगर्दा नै काठमाडौं महानगरको भविष्य सुध्रन्छ । राजनीतिक र शासकीय अभ्यासमा नयाँ भएकाले प्रारम्भिक दिनहरु बालेनका लागि पक्कै सहज हुनेछैनन् ।

    यद्यपि हरेक सफल व्यक्तिका लागि सिकाई एक निरन्तर प्रक्रिया हो । बालेनले अघि सारेका योजनाहरु निश्चय नै महानगरको मुहार फेर्न योग्य देखिन्छन् । ती योग्य योजनाहरुलाई हतार वा हतास मनस्थितिबाट नभएर विधि, प्रक्रिया र अन्य जनप्रतिनिधिहरुसँगको सहकार्यबाटै बालेनले पार लगाउनुपर्नेछ ।

  • आन्दोलनमा हर्क साम्पाङलाई कुटेको कांग्रेस चुनावमा साम्पाङकै ‘लौरो’बाट कुटियो !

    आन्दोलनमा हर्क साम्पाङलाई कुटेको कांग्रेस चुनावमा साम्पाङकै ‘लौरो’बाट कुटियो !

    इटहरी । मतदान सकिएपछि प्रारम्भिक नतिजा आउँदै थियो । धरानमा धेरैले नपत्याएका हर्क साम्पाङले राम्रो मत ल्याउन थाले । त्यही समयमा इटहरीमा भएको एक बसाइमा उद्योग वाणिज्य संघ इटहरी अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी २ का महाधिवेशन प्रतिनिधि भीम पौडेलले भनिहाले, ‘हाम्रो कुटाइ खाएको मान्छे हो ।’ त्यहाँ रहेका कतिपय युवा नेताहरुले त्यसको अर्थ बुझेनन् ।

    जोसुकैले सजिलोसँग बुझ्न नसकिने त्यो प्रसंग स्वयं हर्क साम्पाङले भने राम्रोसँग बुझेका छन् । धरानका धेरै पत्रकारदेखि जानकारहरुले बुझेका छन् ।

    कांग्रेसले हर्क साम्पाङ कुटेको प्रसंग धरानको अव्यवस्थित खोला दोहनसँग जोडिएको छ । खोला दोहन गरेर खोलाका गिटी बालुवा लाने ठेकेदार थिए भीम पौडेल । खोलाकै ठेकेदारीले उनको कमाइधमाई राम्रो छ । उनको राजनीति बलियो भएको छ । मोरङ र सुनसरीमात्रै हैन प्रदेश १ का धेरै खोला उत्खनन्मा सक्रियहरुले सहजै चिन्ने नाम भीम पौडेल नै हो ।

    उनै पौडेल जोडिएको प्रकरणमा हर्क साम्पाङ कुटिएका थिए । नेपाली कांग्रेसका नेता तथा धराने मेयर तिलक राईको आडबलमा स्थानीयको खबरदारीका बाबजुद धरानमा खोला दोहन भएको थियो । स्थानीयको कुरा कसैले सुनेन । वनरक्षकहरु दोहोन रोक्न पुगे । धरानका नगर प्रहरीले खेदेर पठाए । धरानको प्रहरी मूकदर्शक बन्यो ।

    नागरिकस्तरमा व्यापक माग भयो, ‘दोहोन रोक्न हर्क साम्पाङको समूह लाग्नुपर्‍यो ।’ बस्तीलाई असर गर्ने गरी भइरहेको सर्दु खोला दोहन रोक्न साम्पाङको समूह पुग्यो । प्रहरी र गुण्डाहरुले साम्पाङको समूहमाथि हमला गरे । २०७८ जेठ २६ गते दिउँसो पौने २ बजे भएको हमलामा साम्पाङको समूहका राजेश खिम्दुङलाई गहिरो चोट लाग्यो ।

    सुरक्षाकर्मी र गुण्डाको दोहोरो मारमा परेका साम्पाङ समूहले आफै पीडित हुँदा पनि पीडक भएको जस्तो गरियो । उल्टै उनीहरुविरुद्ध मुद्दा लगाइयो । साम्पाङ समूहका ७ जना पक्राउ परे । साम्पाङविरुद्ध पनि मुद्दा लगाइयो । झूटो मुद्दाको मारमा परेका साम्पाङ धेरै दिन भूमिगत बसे । अवस्था सामान्य भएपछि मात्रै उनी सार्वजनिक भए ।

    चुनावअगाडि पङ्क्तिकारसँग धरानमा कुरा गर्दा साम्पाङले २०७८ जेठ २६ को घटनामा तीनजनाको मिलेमतो भएको बताएका थिए । धरानका मेयर तिलक राई, धरानका तत्कालीन डीएसपी ज्ञानेन्द्र बस्नेत र खोला ठेकेदार भीम पौडेल । तिलक राई खोला दोहनमा मात्रै होइन सखुवा काठ काटेको विषयमा पनि विवादित मेयर हुन् ।

    धरानमा एमाले किल्ला भत्काएर २०७६ को चुनावमा कांग्रेसको शीर उठाएका तिलकले सखुवाको रुख काटेर कांग्रेसको शीर गिराउने काम गरे । २०७७ भदौ १३ मा को १ ज ६४० नम्बरको स्कोर्पियोमा मान्छे पठाएर तिलक राईले धरान २० भालुडुंगा सामुदायिक वनको रुख कटाएका थिए । त्यसको असर धरान कांग्रेसमा धेरै प¥यो । प्राइम टीभीसँगको एक सार्वजनिक कार्यक्रममा मेयर उम्मेदवार किशोर राईले खुलेरै भने, ‘म मेयर भएपछि तिलक राईको छानबिन हुन्छ ।’

    हर्क साम्पाङको अभियानको बाधक कांग्रेसमात्रै हैन । धरानमा एमालेका मेयर तारा सुब्बादेखि कार्यबाहक मेयर मञ्जु भण्डारीको नेतृत्व हुँदा पनि साम्पाङ समूहलाई उपेक्षा गरिएको थियो । आफूले पटकपटक ज्ञापनपत्र बुझाउन जाँदा प्रहरी लगाएर मेयर र उपमेयर गायब भएको साम्पाङले चुनाव अगाडि सुनाएका थिए ।

    धरानको खानेपानी संकटको आवाज बुलन्द गर्ने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज ओकल्ने, खोला दोहनको विरोध गर्नेदेखि सूचनाको हक र भ्रष्टाचारविरोधी आन्दोलनमा सक्रिय साम्पाङले अहिले सबै दलहरुलाई सरप्राइज दिएका छन् । जितको दाबी गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसलाई सहजै जित नहुने देखाइसकेका छन् । एमालेलाई त घरी दोस्रो र घरी तेस्रोमा पार्न साम्पाङको जनमतले काम गरिसकेको छ । राप्रापा प्रतिस्पर्धामा आएकै छैन ।

    धरानका सबै दलहरुले सडकका आधारभूत मुद्दा बिर्सेर सत्तामा कुनै न कुनै रुपमा जोडिएपछिको रिक्ततामा हर्क साम्पाङ देखिनेगरी आएका थिए । उनको आगमनमा मुद्दा जायज भए पनि कतिपय अराजकता पनि नदेखिएका हैनन् । उनले आन्दोलनको क्रममा धरानको खानेपानीको पाइप तोडफोड गरे, आक्रोश पोखे । तर, उनका जायज मुद्दामा भन्दा अराजकतालाई स्थानीय मिडियादेखि सत्ताले मुख्य भाष्य बनायो । त्यही भाष्यकै असर काठमाडौंका बालेन साहदेखि धनगढीका गोपी हमाल हाराहारीको स्तरमा मिडियामा सकारात्मक चर्चा हर्क साम्पाङको हुन पाएन ।

    मिडिया र सत्ता भाष्यमा राम्रो नदेखाइए पनि हर्क साम्पाङलाई धराने मतपत्रहरुले साथ दिइरहेका छन् । मिडियाले आफ्नो अभियानमा साथ नदिएकोमा उनले एकताका मोबाइलको लाइट दिउँसै बालेर धरानमा ‘गैरदलीय पत्रकार’ खोजेको भन्दै हिँडेका थिए ।

    साम्पाङले मेयरको रुपमा जित्छन् वा हार्छन्, त्यो अन्तिम नजिताले भन्छ । अहिले यसै भन्न सकिन्न । तर, धरानको सडकको खास आवाजको रुपमा भने साम्पाङकोे स्वरले जितिसकेको छ । अहिलेसम्मको चुनावी गणितले उनले सबैभन्दा धेरै तनाव कांग्रेसलाई दिएका छन् । शतप्रतिशत जित्ने आत्मबलले चुनावमा होमिएका कांग्रेस नेतृत्वको गठबन्धन मेयर उम्मेदवारलाई आच्छु आच्छु पार्नुमा साम्पाङको नागरिक आन्दोलनको जराले काम गरेको छ ।

    यति चैं सहजै भन्न सकिन्छ – सडकमा आन्दोलन गर्दा साम्पाङलाई कांग्रेस नेतृत्वले राज्य र गुन्डा लगाएर कुट्यो । अहिले चुनावी आन्दोलनमा कांग्रेसलाई साम्पाङको ‘लौरो’ चिन्हले कुटिरहेको छ ।

  • बालकृष्ण दाइ ! रामचन्द्रको गाउँमा मलाई मार्न खोज्दा तपाईं असल दाइ बन्न सक्नुभएन

    बालकृष्ण दाइ ! रामचन्द्रको गाउँमा मलाई मार्न खोज्दा तपाईं असल दाइ बन्न सक्नुभएन

    आदरणीय बालकृष्ण दाइ,

    तपाईं सन्चै हुनुहुन्छ होला । तर म यतिबेला फ्रन्टलाइन अस्पतालको आईसीयु बेड नम्बर १ मा छु । तपाईंलाई गृहमन्त्री भनेर सम्बोधन गर्न मन लागेन किनकि मैले तपाईंलाई दाइको नाताले चिनेको हुँ र गृहमन्त्री भनेर सम्बोधन गर्दा दाइको नाता फितलो हुन्छ जस्तो लाग्यो । र, अर्को कुरा सायद तपाईं दाइ नै भएको भए मेरो हत्या हुन लाग्दा बचाउने कोसिस गर्नुहुन्थ्यो होला । तर गृहमन्त्रीको हैसियतलाई दाइको नाताले जित्न नसक्ने रहेछ। म सायद भाग्यमानी थिएँ, त्यसैले आज तपाईंलाई यो पत्र लेख्न सक्षम नै छु। मैले राजनितीमा प्रवेश गर्नुमा तपाईंको ठूलो हात छ किनकि एउटा स्वच्छ छवि भएको राजनीतिज्ञ भनेर मैले सम्झने नामहरुमा तपाईंको नाम सदैव आउँथ्यो । तर, आज दाइको राजनीति अलि फरक भएको महसुस गरेको छु ।

    यो तपाईंले शान्ति सुरक्षा धानिरहेको व्यवस्था हो र यही व्यवस्थामा तपाईंको भाइमात्र नभएर एउटा स्वतन्त्र रुपमा राजनीतिमा प्रवेश गर्न लागेको युवाको हत्या प्रयास भएको छ । जुन कुरा कतिको जायज हो ? कतिको न्यायोचित हो र कतिको बर्बरतापूर्ण समयको प्रतिनिधि घटना हो ? तपाईं आफै बुझ्नुहुन्छ ।

    रामचन्द्र पौडेलको गाउँमा मेरो हत्या प्रयास हुँदासम्म न त्यो रोकियो न त मलाई त्यहाँबाट छिटो निकाल्ने प्रयास नै भयो । उल्टो सीडीओ, पुलिसलगायतका विपक्षका थुप्रै मिलेर दीपकराज जोशीले मतपत्र च्यात्यो भन्ने जस्तो गम्भीर आरोप मलाई लाग्यो‌ ।

    म एउटा स्वतन्त्र उम्मेदवार न हुँ । के नै फरक पर्थ्यो र मैले चुनाव जित्दैमा या हार्दैमा रु मैले सम्पूर्ण बुथमा आफ्नो उपस्थिति जनाउने मनसायले अन्य बुथमा गएसरह उक्त बुथमा अर्थात् व्यास नगरपालिकाको रिस्तीमा पनि सामान्य तवरले नै उपस्थिति जनाउनमात्र गएको थिएँ । झगडाकै मनसायले गएको भए आइलाग्नेमाथि जाइलाग्ने भन्ने कुराको हेक्का राखेरै जान्थेँ होला । हुन त म बदलामा विश्वास नगर्ने मान्छे हुँ । तर पनि आफ्नो सुरक्षा व्यवस्था गरेर जानसम्म सोच्थेँ होला । त्यहाँ पुगेर पनि मैले भनेको यतिमात्र हो कि बुथमा सबै पार्टीको एजेन्ट हुनुपर्छ ।
    यो कुन शासनकाल हो र यहाँ कसले कसले मात्रै बोल्न मिल्छ रु स्पष्ट पारिदिनुभयो भने त्यहीअनुसारको अनुशरण गर्दै जान्छन् जनताले । होइन भने जायज कुरा बोल्नेबित्तिकै कुटपिट गर्ने र ज्यान मार्ने योजनासहितको आक्रमणले जनमानसमा कुन युगको आभास दिँदैछ ?

    दाइ, एउटा कुरामा ढुक्क हुनुस् । म यसकारण राजनीतिमा उदाउँदो तारा बनेर होमिएको हुँ कि मलाई थुप्रै बेथितिले पोलेको छ । हुन त म राजनीति गरेर कुनै पदमा पुग्छु या पुग्दिनँ बेग्लै विषय हो । तर यदि म त्यहाँ पुगेँ भने त्यो समयसम्म तपाईं पूर्वगृहमन्त्री बनिसक्नु हुनेछ । त्यो बेला आज जस्तो घटना हुने छैनन् । तपाईंको सवारीसाधन तोडफोड हुने वातावरण बन्ने छैन । तपाईका छोरीचेली बलात्कारको शिकार हुने छैनन् । तपाईंका छोरानातिको हत्या प्रयास हुने छैन । यो ग्यारेन्टी मेरो भयो । जसरी मेरो उपस्थिति नै मेटाउने दुष्प्रयास हुँदासम्म पनि यो देशको शान्ति सुरक्षामाथि प्रश्न गरिएको छैन, यो स्थिति हामीले अभ्यास गरिरहेको व्यवस्थामा भद्दा मजाकबाहेक केही होइन । हो, हदैसम्मको हिप्पोक्रेसी हो‌ ।

    तपाईं सक्षम गृहमन्त्री बन्न सक्नु भयो या भएन, इतिहासले बताउने छ । तर दाइ तपाईं एउटा असल दाइ बन्न सक्नु भएन । भाइको रक्षा गर्न सक्नु भएन । हुन त हामी हिन्दू धर्मको अभ्यास गरेर हुर्केका मान्छे हौँ । कतै न कतै त यसको लेखाजोखा पक्कै हुन्छ होला ।
    यतिबेला मेरो स्वास्थ्य अवस्था ठीक छैन, मेरो देशका धरै दाजुभाइको स्वास्थ्य ठीक छैन‌ । तर पनि भाइको नाताले यहाँको सुस्वास्थ्यको कामना गर्दछु ।

    दाइ तपाईंलाई तपाईंका बाआमाले बालकृष्ण भनेर नाम दिनु भयो । कृष्णले त केबल मखन चोरेका थिए । बाँकी त उनले जे गरे लोककल्याणकारी काम नै गरे । तर तपाईं गृहमन्त्री हुँदै गर्दा तपाईंकै पार्टीका मान्छेले एउटा वृद्ध बाआमाको कोख रित्याउने प्रयास गर्दासमेत तपाईं कुन मुटु लिएर आनन्दले निदाएर बस्नु भएको थियो ?

    जवाफ दिन सक्नुहुन्छ ?

    मलाई तपाईंप्रति कुनै आग्रह पूर्वाग्रह छैन र रहँदैन पनि । तर, यतिबेला मभित्र यति धेरै प्रश्नहरु सवाल गरिरहेका छन् कि जसको उत्तर खोज्ने प्रयास गर्दैछु ।

    कुनै पनि राज्य व्यवस्थामा पदीय जिम्मेवारी बहन गरिसकेपश्चात मान्छे पदको हुन्छ, मान्छे जनताको हुन्छ न कि पार्टीको । तर तपाईं किन पार्टीको मान्छे बनिरहनु भयो ? तपाईंले बहन गर्ने दायित्वभित्र के तपाईंले टेकेर माथि पुगेको जमिनमात्रै हो ? तपाईंमाथि भएको शान्ति सुरक्षाको जिम्मा क–कसको हकमा लागू हुने हो प्रस्ट पारिदिनु भयो भने मलगायत सम्पूर्ण जनताको कौतुहलता मेटिनेछ ।
    उही तपाईंलाई दाइ सम्बोधन गर्ने

    दीपकराज जोशी
    व्यास नगरपालिका, तनहुँ ।

  • एमालेले भनेको राष्ट्रिय शक्ति के हो ?

    एमालेले भनेको राष्ट्रिय शक्ति के हो ?

    भर्खरै एपीवान टेलिभिजनको तमसोमा ज्योतिर्गमय कार्यक्रमलाई दिएको अन्तर्वार्तामा प्रमुख प्रतिपक्ष दलका महासचिव शंकर पोखरेलले एमालेले अब कहिल्यै गठबन्धन गर्दैन भनेर ठोकुवा गरे । एमाले अब राष्ट्रिय शक्ति निर्माण गर्दैछ भने । राष्ट्रिय शक्तिको निर्माण गठबन्धनबाट हुँदैन भनेर पोखरेलले प्रष्ट्याए । त्यसो भए के हो त राष्ट्रिय शक्ति रु यो विषय चुनावमा चाखको विषय बन्यो ।

    सरकारमा बहुमतमा रहेको पार्टीले चाहेर पनि कतिपय काम जुन जनताका लागि आवश्यक छ र चुनावी एजेन्डामा समेत जन आवश्यकताका रूपमा स्थापित पनि छ, तर त्यो कार्यान्वयन गर्न सक्दैन । यसमा पार्टी खराब भएर वा नेता काम नलाग्ने भएरमात्र होइन भन्ने केही अन्य देशका पनि उदाहरणहरू छन् । यसको मूल कारण भनेको सत्तारूढ पार्टीको एजेन्डा राष्ट्रिय शक्तिको अनुकूल नभएर हो ।

    उदाहरणका लागि बाराक ओबामाले क्यानडाको जस्तै जनताको स्वास्थ्य, सर्लक्कै राज्यको जिम्मा हुने व्यवस्था गर्न थाल्दा त्यहाँको सर्वोच्च अदालतले त्यसो गर्नु असंवैधानिक हुन्छ भनेर फैसला गरिदियो । ओबामाले त्यसो गर्न पाएनन् । पछि न्यून आय भएका जनताका लागि ओबामा केयर भन्ने कार्यक्रम ल्याए । तर, क्यानडाको जस्तो धेरै सुविधा सबै जनतालाई दिने व्यवस्था ल्याउन पाएनन् । औषधि भन्ने कुरा हतियारपछिको सबैभन्दा ठूलो निजी व्यापारको क्षेत्र हो । त्यसैकारणले कर्पोरेट जाइन्ट र अदालत सेटिङका कारणले मात्र रोकेको होइन । नेपालमा जस्तो अदालतले नै प्रधानमन्त्री बनाइदिने खाले सेटिङ अमेरिकामा हुँदैन । किन गर्न सकेनन् त ओबामाले त्यसो भए रु किन रोक्यो त अदालतले रु किनकि अमेरिकाको राष्ट्रिय शक्ति मजदुर र तल्लो वर्गका जनता होइनन् । त्यहाँको राष्ट्रिय शक्ति भनेको सुविशाल पूँजीका अधिपतिहरू हुन्, कर्पोरेट जाइन्टहरू हुन् । संविधान भनेको त्यही शक्तिको वर्ग आधारमा त्यसैको शक्ति सन्तुलनको दस्तावेजको रूपमा रहेको हुन्छ । अमेरिकामा पनि त्यही छ ।

    त्यसैगरी नेपालमा पनि कृषिले गार्हस्थ उत्पादनमा ठूलो भूमिका राख्छ । किसानको शक्ति मुख्य राष्ट्रिय शक्तिको रूपमा स्थापित भएन । कृषिमा पनि हालिमुहाली बिचौलिया रूपी दलाल पूँजीवादकै रह्यो । श्रमिक क्षेत्रको उस्तै योगदान पनि निकै छ नेपालको अर्थतन्त्रमा । तर, नेपालको राष्ट्रिय शक्ति दलाल पूँजीवादको हातमा छ । सरकार जोसुकै बनोस्, कांग्रेसको बनोस् कि एमालेको । तर, राष्ट्रिय संस्कृति निर्माण गर्न सक्दैनन् किनकि राष्ट्रिय शक्तिको रूपमा दुवै पार्टी छैनन्, राष्ट्रिय शक्ति नबनेपछि पार्टीले नचाहेर पनि राष्ट्रिय शक्तिअनुरूप चल्न पर्‍यो ।

    अर्को उदाहरण क्यानडाको पनि छ । पश्चिम क्यानडाको अल्बर्टा राज्यको राज्य सरकारमा प्रोग्रेसिभ-कन्सरभेटिभ पार्टीले कर्पोरेट कम्पनीको फाइदा कम भयो भनेर अघिल्लो सरकार नौलो जनवादी पार्टी ९न्यु डेमोक्रेटिक पार्टी, एनडीपी०ले बढाइदिएको मजदुरको न्यूनतम पारिश्रमिक पनि घटाउने एजेन्डा लिएर आयो । कन्सरभेटिभ पार्टीले दुईतिहाइ जित्यो पनि । तर, त्यो लागू गर्न नसकेर अध्ययन गर्ने भनेर पन्छियो । किनकि क्यानडाको राष्ट्रिय शक्ति भनेको मजदुर वर्ग हो । मजदुर वर्गको हितको विपरीत जान जुनसुकै पार्टीले प्रयास गरे पनि प्रायस् सफल हुँदैन ।

    राज्य शक्तिको रूपमा मजदुर स्थापित हुन कसरी सम्भव भयो त रु क्यानडाको स्रोत र साधनहरूमा कच्चा तेल, काठ, फर्टिलाइजर र मेसिनरी समान हुन् । क्यानडाको राज्यको आयको आधाभन्दा बढी सामान्य श्रमिक ९बौद्धिक र शारीरिक श्रम दुवै०ले तिरेको करबाट उठ्छ । यसको अर्थ जागिर गरेर कमाउने वर्गको योगदान राष्ट्रिय आयको सबैभन्दा ठूलो हिस्सा हो । एक त श्रमिक वर्ग जुन उत्पादनको महत्वपूर्ण र समाजको परिवर्तनको निर्णायक वर्ग हो । त्यसमाथि राष्ट्रिय आयमा ठूलो योगदान भएपछि राज्य सत्तामा त्यसको वर्चश्व हुनु स्वाभाविक हुन्छ । सबैजसो पराजित उम्मेदवारलाई अब जित्न के मा फोकस गर्छ तिम्रो पार्टीले भन्दा, म आप्रवासी मजदुरमा फोकस गर्छु भन्ने उत्तर स्वाभाविक मानिन्छ क्यानडामा ।

    त्यसैगरी नेपालमा पनि कृषिले गार्हस्थ उत्पादनमा ठूलो भूमिका राख्छ । किसानको शक्ति मुख्य राष्ट्रिय शक्तिको रूपमा स्थापित भएन । कृषिमा पनि हालिमुहाली बिचौलिया रूपी दलाल पूँजीवादकै रह्यो । श्रमिक क्षेत्रको उस्तै योगदान पनि निकै छ नेपालको अर्थतन्त्रमा । तर, नेपालको राष्ट्रिय शक्ति दलाल पूँजीवादको हातमा छ । सरकार जोसुकै बनोस्, कांग्रेसको बनोस् कि एमालेको । तर, राष्ट्रिय संस्कृति निर्माण गर्न सक्दैनन् किनकि राष्ट्रिय शक्तिको रूपमा दुवै पार्टी छैनन्, राष्ट्रिय शक्ति नबनेपछि पार्टीले नचाहेर पनि राष्ट्रिय शक्तिअनुरूप चल्न पर्‍यो । राजतन्त्रको बेला सामन्तवादले बोकेको दलाल पूँजीवाद राष्ट्रिय शक्तिको रूपमा थियो । त्यसका विरुद्ध लड्न गाह्रो थियो । नेकपा एमालेले गणतन्त्रको पक्षमा शान्तिपूर्ण आन्दोलनको उभारले गणतन्त्रको जग बन्यो । नेपालमा परिवर्तनको मुख्य शक्ति नेपाली कांग्रेस र एमालेमात्र हुन् । सशस्त्र द्वन्द्व त दलाल पूँजीवादलाई सहयोग पुराउन प्रायोजित रूपमा आएको थियो । दलाल पूँजीवादका हतियार, रासन पानी र उनैका सेल्टरमा गरिएको सशस्त्र द्वन्द्वले राष्ट्रिय पूँजी विकासमा व्यवधानमात्र खडा गरिरह्यो । नेपाली अर्थतन्त्रको विकासमा सधैँ अफ्ठेरा तेर्स्याउनेमात्र काम गरिरह्यो । यसले कहिल्यै समाजवादी विचार र श्रमिक वर्गलाई राष्ट्रिय शक्ति बनाउने चेष्टा गरेन । नत्र छातीमा सशस्त्र द्वन्द्वको घाउ बोकेर कष्टकर जीवन बिताउन बाध्यहरूको एउटा सांगीतिक अभिव्यक्तिले भागाभाग गरेर कलाकारलाई धम्क्याएर कलामाथि प्रतिबन्ध लगाउन पर्दैनथ्यो । सशस्त्र द्वन्द्व लड्ने लडाकुहरूमा श्रमिक वर्गलाई राष्ट्रिय शक्ति बनाउने योजना र सपना थियो । त्यसैकारण ती योद्धाहरू परित्यक्त भए, अपहेलित भए । दलाल पूँजीवादले गर्ने भनेको त जम्माजम्मीमा युज एण्ड थ्रो हो । तर राष्ट्रिय शक्ति निर्माणमा ती सबै मुर्छित सपनाहरूले फक्रने अवसर पाउँछन् ।

    भए जतिका पार्टी मिल्ने बाँडिचुँडी खाने, चेक एन्ड ब्यालेन्स शून्य पार्ने अभ्यास लोकतन्त्रको अभ्यासको विपरीत कुरा हो । साठी दशकमा यो अभ्यास खुबै मौलायो, यसले भष्ट्राचार र राष्ट्रिय संस्कृतिलाई पनि अपूरणीय क्षति गरेको थियो । लुटेराहरू नै समाजमा सम्मानित हुने संस्कृति निर्माण भयो ।

    दुखका साथ भन्नुपर्छ- नेपालमा जनपक्षीय शक्तिलाई राष्ट्रिय शक्तिको रूपमा विकसित हुन दिइएन । दलाल पूँजीवाद राष्ट्रिय शक्ति भएकै कारण झन्डै दुईतिहाइको सरकारलाई अदालतको सहारामा विस्थापन गर्न सम्भव भयो । राष्ट्रिय शक्ति निर्माण भैसकेको भए अदालतका केही न्यायाधीशहरूको त्यत्रो हैसियत हुँदैनथ्यो ताकि दुईतिहाइको सरकारलाई अदालतबाट फ्याकेर अकर्मन्य र दलाल पूँजीवादको कम्फरटेबल सरकार बन्न सकोस् । प्रम देउवाले धेरै लामो समयसम्म त्यो कम्फरटेवल सरकार बनाउन अस्वीकार गरिरहे तर एउटा शक्तिको सामु पार्टी टिक्न सकेन । राष्ट्रिय शक्ति बेलैमा नबनाउनुको कारण नेपाली कांग्रेस जस्तो पार्टी दलाल पूँजीवादको धाकधम्कीको अगाडि झुक्न परिरहेको छ ।

    अचम्म मान्नुपरेन, त्यही दलाल पूँजीवादकै कारण नेपाली कांग्रेस चारतारे झन्डा बोक्छु र रूखमा भोट हाल्छु भन्ने आधा शताब्दी बढी इतिहास बोकेका कार्यकर्तालाई कारबाही गर्ने बाध्यतामा छ । यो बाध्यतामा नेपाली कांग्रेसका प्रबुद्ध वर्ग खुसीले गदगद किमार्थ छैनन् । नेपाली कांग्रेसप्रति निष्ठावान धेरै प्राध्यापक मित्रहरूसँग अन्तरङ्ग कुराकानीमा उहाँहरूले प्रष्टसँग राष्ट्रिय शक्तिको रूपमा समाजवादी विचार बोकेको शक्तिलाई स्थापित गर्नुपर्ने आवश्यकतामा जोड दिनुहुन्छ। तर, बिरालोको घाटीमा घन्टी कसले बाँध्ने रु कसैले त रिस्क लिनै पर्थ्यो । कसैले त यो साहसी कदम उठाउनै पर्थ्यो, सधैँ झैं यो जिम्मेवारी पनि नेकपा एमालेले बोक्यो ।

    यदि समाजवादी शक्ति राष्ट्रिय शक्तिको रूपमा स्थापित भयो भने एमाले र कांग्रेसको विदेश नीति खासै फरक हुने छैन, समृद्धिका लक्ष्य र यात्रा मिल्दाजुल्दा हुनेछन् । विधि र पद्धति स्थापनामा सहकार्य हुनेछ । यसले राजनैतिक स्थायित्वको जग बस्नेछ । चुनाव यति महंगा र अराजनैतिक कर्तुतका भित्री खेल हुने छैनन् । यही जगमा समृद्ध नेपाल बन्ने महाअभियान अगाडि बढ्न सक्नेछ । दलाल पूँजीवादले पालेर हुर्काएर बढाएर उचालेको नाङ्ले राजनैतिक पसलहरूले समृद्ध नेपालको बाटो विथोल्न पाउने छैनन् । जसरी गणतन्त्रको यात्रामा एमालेले पहलकदमी गरेको थियो, पछि नेपाली कांग्रेसले साथ दिएपछि सफल भयो । नेपालको मिचिएको जमिनको हकदाबीमा एमालेले पहलकदमी लिएको थियो, कांग्रेसले साथ दिएर सफल भएको थियो । यसैगरी यसपल्ट एमालेले राष्ट्रिय शक्तिको रूपमा समाजवादी श्रमिक वर्गलाई स्थापित गर्न खोज्दैछ यस चुनावबाट । एमालेको यो बहुतै महत्वपूर्ण कदमको प्रारम्भिक सफलताको परिदृष्य बैशाख ३० को चुनावको परिणामले देखाउने छ र त्यसमा नेपाली कांग्रेसले संघीय र प्रदेशको चुनावमा साथ दिनेछ । यो वर्षको समग्र चुनावले मुलुकको भाग्य भविष्यको एउटा फरक र जरूरी दिशा निर्देश गर्नेछ ।

    राष्ट्रिय शक्ति निर्माणमा कांग्रेसले साथ दिनेछ एमालेलाई भनेको एमाले-कांग्रेस गठबन्धन बन्नेछ भन्ने किमार्थ होइन । कांग्रेस र एमालेले मात्र आआफ्ना कानमा झुण्डिन खोज्ने चमेराहरूलाई धपाउने छ र लोकतान्त्रिक मूल्य-मान्यताअनुसारको स्वस्थ र उन्नत निर्वाचनको अभ्यास गर्नेछ । गठबन्धन भनेको पनि दलाल पूँजीवादकै एक प्रकारको अभ्यास हो । यसले लोकतन्त्रको अभ्यासलाई अवरूद्ध गर्छ । भए जतिका पार्टी मिल्ने बाँडिचुँडी खाने, चेक एन्ड ब्यालेन्स शून्य पार्ने अभ्यास लोकतन्त्रको अभ्यासको विपरीत कुरा हो । साठी दशकमा यो अभ्यास खुबै मौलायो, यसले भष्ट्राचार र राष्ट्रिय संस्कृतिलाई पनि अपूरणीय क्षति गरेको थियो । लुटेराहरू नै समाजमा सम्मानित हुने संस्कृति निर्माण भयो । यो दु:खद इतिहास दोहोरिन खोज्दैछ र लोकतन्त्रको यो विपरीत काम किन हुन खोज्दासमेत समाजवादी वर्ग शक्तिलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न एमाले पनि समुचित प्रयास गरेको थिएन । दुर्भाग्य एमालेको तात्कालिन नेतृत्व त्यसका लागि जिम्मेवार छ । तर, अब त्यस्तो अवस्था रहेन । अब एमालेले राष्ट्रिय शक्तिको रूपमा स्थापना गर्न पहलकदमी गरिसकेको छ । यो एमालेको लागि तात्कालिन रूपमा धेरै फाइदाजनक नदेखिन सक्छ तर एमालेले त्यसो गर्न हिच्किचाउँदैन भन्ने कुराको प्रमाण दुईतिहाइको सरकारको कुर्बानी गरेर पनि दलाल पूँजीवादको बाँडिचुँडी खाने प्रवृत्तिको विरूद्ध उभियो । धेरै पत्रकारले सोधे पनि एमालेका नेतालाई हुँदा-खाँदाको सरकार गयो, एमालेले कम्प्रमाइज नगरेर गल्ती गर्‍यो । तर, चुरो कुरो भने एमाले राष्ट्रिय शक्तिको निर्माण गर्न चाहन्थ्यो, मिलेर खानुमात्र एमालेको लक्ष्य थिएन र होइन पनि । राष्ट्रिय शक्ति निर्माण गर्दा आफूसँगै रहेका त्यसका अवशेषहरूलाई काटेर फाल्न हिचकिचाउनु हुँदैनथ्यो र फेरि त्यही दलाल पूँजीवादी शक्तिको ब्याकअपमा अडिएका पार्टीको टेको लाग्ने गल्ती गर्नु हुँदैनथ्यो । त्यसैले अहिले एमालेले कसैसँग गठबन्धन गरेन केन्द्रीय रूपमा ।

    राष्ट्रिय शक्ति निर्माणको पहलकदमीको रिस्क एमालेले किन लियो यो पनि रोचक कुरा छ । एमालेले अधिवेशनका क्रममा वडा–वडासम्म पुगेर ग्रासरूटदेखिका समस्या केलाउने र विश्लेषण निफन्न चाहन्थ्यो, त्यही योजनाबद्ध अभियानका लागि छुट्टै विचारको अधिवेशन नै आयोजना गरेको थियो । यो नेपालको इतिहासमा पहिलो प्रयोग थियो । यो प्रयोगले दिएका प्रारम्भिक परिणामले एमाले उत्साहित भयो । र, अहिले कार्यकर्ताको चाहनाअनुसार केही स्थानीय आवश्यकताबाहेक एमालेले बाम-एकता भन्ने सुन्दा राम्रो तर सारमा दलाल पूँजीवादका स्पोन्सरर्ड पार्टीलाई जीवनदान दिने भुल गल्ती गरेन । बाम-एकता निकै सुन्दर नाराको पर्दाभित्र बसेर दलाल पूँजीवादलाई सघाउने शिखण्डीहरू त्यागेकै कारण एमाले अहिले स्थानीय सरकारमा नेताका श्रीमती, नेताका छोरीरबुहारी, नेताका छोरारज्वाइँ, नेताका भाइरभतिजाले भरिभराउ जम्वोरी बोकेर घोसेमुन्टो लगाएर लज्जित हुँदै जनतामा जानु परेन । तर्क गर्नुको सट्टामा धाकधम्कीको भाषा बोल्दै त्रासको राजनीति गर्नु परेन ।

    राष्ट्रिय शक्ति निर्माणको अभियानको जग यसरी बसाल्दै छ एमालेले । यसपल्ट सर्वसम्मत हुन नसकेका अवस्थामा जिल्ला वा नगर समितिभित्र चुनाव गराएर विधिसम्मत ढंगले उम्मेदवार टुङ्ग्यायो र सबै कार्यकर्तालाई सूर्यमा भोट हाल्न सात सूर्य सात छापको राष्ट्रिय आह्वान गर्न सक्षम भयो । भोलि लेवी तिर्ने सम्बन्धित भूगोलका सबै कार्यकर्ताले छानेको नेतृत्वले विभिन्न तहको चुनावको टिकट र पार्टी नेतृत्व हाक्ने अवस्था सृजना हुनेछ । त्यसले एमालेका सबै नेताहरूलाई भूगोलमा, वार्डमा र मूलतस् श्रमिक वर्गमा केन्द्रित गर्नेछ । एमालेको यो प्रयासले एमालेमात्रैलाई जनमुखी बनाउने छैन, नेपाली कांग्रेसलाई पनि दलाल पूँजीवादको माखेसाङ्लोबाट उम्कने बाटो देखाइदिनेछ । एमालेको प्रयोग र परिणामले सिद्ध गरेपछि कांग्रेसले त्यसलाई अंगीकार गर्नेछ । जसरी राजतन्त्र वा अधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गर्ने अभ्यासको अंगीकार काग्रेसले पनि गरेको थियो । दुवै पार्टी आ-आफ्ना एजेन्डासहित राष्ट्रिय शक्ति निर्माणमा जुटेपछि जनताको जीत अवस्य हुनेछ । यसरी लोकतन्त्रको जग बसेपछि नेताले व्यक्तिगत पदलाई लिएर आफूलाई अपमान भएको भनेर गाइने एउटा अश्लील लयको गीतको पनि लज्जाजनक अवसान हुनेछ । नेताले आफू र आफ्ना आफन्तलाई भाग पाइन्न भनेर गरिने निकृष्ट चलखेल र तिकडमको पनि अध्याय समाप्त हुनेछ ।

    एकपटक राष्ट्रिय शक्तिको रूपमा समाजवादी विचार, संकल्प र सचेतनासहितको श्रमिक वर्ग देखापर्छ, त्यसको नेतृत्व एमालेले गर्छ, त्यसले उत्पादन प्रणालीहरूमा निर्णायक हस्तक्षेप गर्छ । यसले राष्ट्रिय पूँजीको विकासमात्र गर्दैन, समाजवादतर्फ जान ठूलो भूमिका खेल्छ । मुलुकको समृद्धिको यात्रा सुरू हुन्छ, लोकतन्त्रले स्वाभाविक गति लिन थाल्छ । एमालेको यसपल्ट राष्ट्रिय शक्ति निर्माणको पहलले एउटा नयाँ क्षितिजतर्फ मुलुकलाई अभिमुख गरेको छ ।

    (लेखक ज्ञवाली हाल क्यानडामा रहेका छन् । -सं.)

  • पाँचखाल समृद्धिका लागि ‘कञ्चन सपना’

    पाँचखाल समृद्धिका लागि ‘कञ्चन सपना’

    स्वाभाविकरुपमा यतिखेर अन्य स्थानीय तहमा जस्तै पाँचखाल नगरपालिका पनि चुनावी सरगर्मी बढेको छ । कृषि र पर्यटनको प्रशस्तै सम्भावना भएको पाँचखालको समृद्धि कसले जितेमा हासिल गर्न सम्भव छ ? भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

    त्यसैक्रममा मेयर पदमा नेकपा एमालेको तर्फबाट मैदानमा छन्, कन्चन अधिकारी । आफ्नो सशक्त टीमसहित प्रतिस्पर्धामा आएका अधिकारीको मूल मर्म छ– यसै माटोमा जन्मेर, हुर्केर यहीं माटोका लागि केही गर्न खोज्ने लोभ, लालच र कपटविनाको नेतृत्व ।

    स्पष्ट, निष्कलंक, यहीं भूमीमा हुर्केका कारण भूगोल, जनचाहना सबै बुझेको, विकासको दृष्टिकोण भएको समूह खोजिरहेको पाँचखालमा कञ्चनको टीम मात्र एक त्यस्तो समूह भएको विभिन्न उदाहरणबाट स्पष्ट देखिन्छ ।

    विद्यार्थी, युवा राजनीति, पत्रकारिता जस्ता अनुभव अब आफ्नै भूमिमा पस्कदैँ समृद्धिको सपना पूरा गर्ने बाटोमा कञ्चन अग्रसर देखिन्छन् । जसकारण युवाहरुमा थप जाँगर पलाएको देख्न सकिन्छ ।

    यसै क्षेत्रका संघीय सांसद गोकुल बास्कोटाले पाँचखालको विकासको निम्ति साना–ठूला सबै योजनाका लागि प्रशस्त बजेट पार्न सफल भएका थिए । जस्तै– मदन भण्डारी विश्वविद्यालय, सवा दुई अर्बको खानेपानी योजना, स्मार्ट सिटी, भक्तपुर–पाँचखाल सुरुङ मार्गलगायत ।

    बाटोघाटो निर्माणमा पनि पाँचखाल नमूना बनेको छ, जुन कुरा हामी भूगोलमा स्पष्ट देख्न सक्छौँ । तर बिडम्बना पाँचखालका निर्वमान मेयरले ती काम आफूले गरेको भन्दै क्रेडिट लिने गरेका छन् । तर कामको नाममा सिन्को नभाँचेको गुनासो आमजनताको छ ।

    त्यसैले त पाँचखालबासी भन्छन्, ‘हामीलाई कालो चस्मा लगाएर काठमाडौंबाट कहिलेकाहीँ आउने अनि आश्वासन र गफको खेती गर्ने ‘पर्यटक’ मेयर होइन, यहीँ बसेर हाम्रा दुःख सुख बुझ्ने र पाँचखालको साँच्चै चिन्ता गर्ने मेयर चाहिन्छ । र त्यो गर्न सक्ने क्षमता कञ्चनको टीमसंग छ ।’

    उनीहरु भन्छन्, ‘गोकुल बास्कोटाले मन्त्री हुँदा पनि र नहुँदा पनि समग्र जिल्लासहित पाँचखालमा पनि प्रशस्तै बजेट ल्याएर धेरै काम गर्न खोजे । तर क्रेडिट लिने पूर्वमेयर भए । त्यसमाथि पनि सरकार परिर्वतनसंगै धेरै योजनाहरु अधुरा रहे ।

    हो, तिनै अधुरा सपना पूरा गर्न र पाँचखाललाई देशकै नमूना नगर बनाउन हामीलाई सशक्त समूह चाहिन्छ । जसले विकास पाँचखाल र पाँचखालबासीको लागि गरोस्, फेसबुकका लागि हैन । बास्कोटाले प्रदेश र संघबाट बजेट पठाउने तर त्यहीं बजेटले खन्दै गरेको डोजरमाथि बसेर उल्टै बास्कोटालाई गाली गर्ने चटकी मेयर अब हामीलाई काम छैन ।’

    तीन हजारलाई रोजगारी दिन्छु भनेर चुनावको समयमा पूर्वमेयरले दिएको आश्वासन पनि गफैमा सीमित भयो । सोझा जनतालाई भ्रममा राख्न सिपालु उनको आफ्नै समूहका व्यक्तिहरु भित्रभित्रै निकै असन्तुष्ट रहेको पाइन्छ । साथै पाँचखालबाट इँट्टाभट्टा हटाउने प्रतिबद्धता पूरा गर्नु त कुरै छोडौँ, अप्रत्यक्षरुपमा थप मलजल गर्न सहयोग गरेका कारण जनताको स्वास्थ्यमा उनी कति बेपरबाह छन् भन्ने प्रष्ट देखिन्छ ।

    सबै अध्ययनपछि एउटा प्रश्न उब्जियो, कञ्चनको समूहलाई भोट किन ?

    – पाँचखालको विकास फेसबुक र टिभीमा हैन, पाँचखालमा नै गर्न ।
    – कृषि, पर्यटनलगायतमा फड्को मारेर स्वरोजगारीको सिजैना गर्न ।
    – चौविसै घण्टा उपलब्ध हुने नेतृत्व पाउन ।
    – ‘कुरा ज्यादा, काम शून्य’ प्रवृत्तिलाई अन्त्य गर्दै ‘कुरा कम र काम ज्यादा’ गर्ने संस्कार बनाउन ।
    – अधुरा रहेका ठूला आयोजना सम्पन्न गर्न ।
    – विकासका नयाँ–नयाँ मोडेल भित्र्याउन ।
    – व्यवसायका लागि १ प्रतिशत ब्याजदरमा ऋण, बिउ, आलु भण्डारमा अनुदान, सांस्कृतिकक संग्राहालय निर्माण, बस्ती विकास योजना, रिबन सिटी, सामुदायिक आवासलगायतका सिर्जनात्मक अभियान सफल बनाउन ।
    – समग्रमा पाँचखाललाई देशकै नमूना नगर बनाउन ।

  • कालिम्पोङका कवि, जो काठमाडौंमा भेटिए

    कालिम्पोङका कवि, जो काठमाडौंमा भेटिए

    काठमाडाैं । कवि मनोज बोगटी कालिम्पोङमा बस्छन् । त्यतैका माटोको सुगन्धमा कविताको बीउ रोप्छन् । त्यतैका मानिसका अनुहारमा कविताको रङ र उज्यालो खोज्छन् । त्यतैका खोँचहरुबाट दुःखका अनन्त सुस्केराहरु जम्मा पार्छन् । त्यतैका पहाडहरुबाट संघर्षका चमचमाउँदा विम्ब र प्रतीकहरु कवितामा उन्छन् । त्यतैका गोरेटाहरुमा जीवनको सहजता र असहजताका पदचापहरु पहिल्याउँछन् ।

    बेलाबेला दार्जिलिङ आइपुग्छन् केही थान कविताका पंक्तिहरु बोकेर । त्यतैका स्रोताहरुलाई सुनाउँछन् । बेलाबेला काठमाडौं आइपुग्छन्, काठमाडौंका स्रोताहरुलाई कविताको कोसेली पस्कन्छन् । बेलाबेला पत्रिका र अनलाइनमा झुल्कन्छन्, त्यहाँ पनि कवितै बोकेर झुल्किन्छन् अथवा कला साहित्यको विमर्शसित आइपुग्छन् ।

    बोगटीले कोहीसँग सबैभन्दा कलात्मक र सुन्दर तवरले संवाद गर्छन् भने त्यो कविता नै हो । कुनै भूगोलको नक्सा निकाल्नुपर्‍यो, उनलाई कविताबाटै सहज लाग्छ । कुनै फरक संस्कृतिबारे थाहा पाउनुपर्‍यो, उनलाई कवितै सहज लाग्छ । कुनै क्रान्तिले ओतप्रोत भएको मान्छेको अनुहार पढ्नुपर्‍यो या कुनै युद्धले विभत्स बनाएको मानिसको सपनालाई छाम्नुपर्‍यो, सबैभन्दा पहिला कविता नै खोज्छन् बोगटी ।

    कविताकै माध्यमबाट उथलपुथल, जीवन संकट पढ्छन् । भूमि, इतिहास, संस्कृति, भाषा, समाज कवितामा कसरी रिफ्लेक्ट भएर आयो, कवितामार्फत् नै बुझ्ने यत्न गर्छन् ।

    इराकका एक कवि छन्, सिनान अन्तानु । ती कविको एक कविता छ,

    रगतमा चोबिरहेको ब्रस उठाएँ
    र बनाएँ भित्तामा खिड्की
    खिड्कीबाट दुईवटा दृश्य देखेँ
    एउटा – युद्ध
    अर्को – आमा

    आमा कफन बुनिरहेकी थिइन्
    पेटको बच्चाको निम्ति ।

    बोगटी भन्छन्, ‘त्यहाँ युद्ध भयो । युद्धले समाजलाई कुन दिशातिर लग्यो, यो कविताले भन्छ । आमालाई जसरी पोट्रेट गरेको छ, त्यसले भन्छ, सन्तान जन्माएर पनि के काम युद्धको बीचमा ! युद्धले त विध्वंसमात्रै गर्छ । बाँच्नलायक समाज निर्माणका लागि युद्ध बाधक बनिरहेको छ । यो कवितामार्फत् मैले बगदाद देखेँ, नेपाल पनि कवितामार्फत् यसरी नै हेर्छु ।’

    पाठकसम्म पुग्न अथवा पाठकसँग संवाद गर्न बोगटीसँग ‘विम्ब गोष्टी’, ‘गीतको रिस’, ‘काफरे अमेरिका’ लगायत कविता संग्रह छन् । ‘लाइफ अफ बटरफ्लाइ’ कथा संग्रह छ । भेटै नभएका पाठकहरु ती पुस्तकमार्फत् नै बोगटीसँग भेटिन्छन् ।

    अहिले नेपालमा स्थानीय तह चुनावको सरगर्मी छ । नेताहरुबीच आरोप–प्रत्यारोपको श्रृंखला जारी छ । जित–हारको हिसाबकिताब जारी छ । अनुमान, आँकलन, भविष्यवाणीहरु नेपालको हरेक चिया–पसलदेखि दारु–पसलसम्म छ्यापछ्याप्ती छन् । उता बोगटीको दार्जिलिङ–कालिम्पोङतिर पनि चुनाव आउँदैछ । त्यहाँ पनि चुनावको सरदर परिवेश यस्तै नै हुने बोगटीको भनाइ छ ।

    बोगटी स्वयं सामाजिक सञ्जालमा राजनीतिक टिप्पणीहरु राखिरहेका हुन्छन् । सञ्जालमा बोगटीले राख्ने राजनीतिक टिप्पणीहरुसँगै उनको सृजनात्मक लेखन पनि चलिरहेकै छ । मुम्बईका लेखक अनिल यादवको ‘गौसेवक’ नामक पुस्तकको अनुवाद ‘धामा चेरो’ सकेका छन् । आफ्नै निबन्ध संग्रहको तयारीमा जुटेका छन् । तर भन्छन्, ‘मैले कविता लेख्न चाहिँ छाडेँ । कविता लेख्न छाडेको ६÷७ वर्ष नै भयो ।’

    कविताकै माध्यमबाट पाठकहरुमा चिनिएका बोगटीले कविता लेख्न छाडेँ भन्दा एकदमै असुहाउँदो लाग्ने ! नयाँ कविता लेख्न नसकिरहेका कविहरु आफू हराइने डरले ‘नयाँ लेखिरहेको छु’ भनेर ढाँट्न छाड्दैनन् । तर, बोगटी भने हाकाहाकी भनिदिन्छन्, ‘लेख्न छाडेँ ।’

    कविता लेख्न छाड्नुमा बोगटीको आफ्नै खाले तर्क छन् । भन्छन्, ‘लेख्न छाडेँ भनेको चाहिँ मेरै लेखनमा विषयवस्तुको उठानप्रति नयाँ केही आएन । अहिले त कविता नै म¥यो भन्ने लागिरहेको छ । विम्बको उही पुनरावृत्ति, ब्याकग्राउण्ड पनि उस्तै, शैली र लय पनि त्यही । अनि एउटै कुरा अनेक कवितामा घरिघरि किन दिइरहने ? नयाँ कुरा आएपछि लेख्ने हो नि !’

    बोगटीले यसो भनिरहँदा उनी स्वयं भने कुनै समय हरेक दुई–दुई वर्षमा नयाँ कविता संग्रह ल्याउने कविमा पर्थे । सुरुमा ‘विम्ब गोष्टी’ ल्याए । त्यो कविता संग्रह दार्जिलिङमा चलेका कविहरुको कविता पढेर सिकेका कविताहरुको किताब भनेर स्वीकार्छन् ।

    अर्को कविता संग्रह ल्याए ‘गीतको रिस’ । अघिल्लो कविता संग्रहभन्दा फरक थियो । योबीचमा अन्य कविता–किताब पनि ल्याए । र अन्तमा ल्याए, ‘काफरे अमेरिका’ । यस किताबपछि बोगटीले कविता संग्रह ल्याएका छैनन् ।

    कवि बोगटी कुराकानीका क्रममा खुल्दै जान्छन्, ‘पहिलो संग्रह निकालेपछि अर्को संग्रहमा जान अलि गम्भीर हुनुपर्ने रहेछ । अन्य कविहरुले कस्तो लेखिरहेका छन् भनेर पढ्नुपर्ने उत्तरदायित्व बढ्नेरहेछ । हरेक कविता संग्रह फरक–फरक हुनुपर्दोरहेछ । मैले कविता लेखेपछि अरुकै जस्तो लेख्ने कि मेरै जस्तो लेख्ने ? विम्ब, विषय उठान, दृष्टिकोणमा फरक हुनुप¥यो । यतातिर मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारीहरु बलिया कविहरु हुन्, उनीहरुको फरक पहिचान यसै बनेको छैन । अलिकति फरक हुने कसरत कविले गर्दोरहेछ । अनि त्यसको अनुसन्धानमा लागिँदोरहेछ ।’

    बोगटी स्वयंले भने झैं उनले आफ्ना कविता संग्रहमा पनि फरक–फरक तौरतरिकाले आफूलाई अभिव्यक्त गरे । अन्तमा ‘काफरे अमेरिका’मा आइपुगेपछि भने त्यसको दायरा बढेको बताउँछन् । यही कविता–किताबमै बोगटीले राष्ट्रिय÷अन्तर्राष्ट्रिय मुद्दाहरुलाई छोए । जीवन र समाजको बनोटहरुलाई छोए । विभेद र अन्यायमा पारिएका भूइँमान्छेहरुलाई छोए । अन्य विविध विषयलाई समेटे । अब यहाँ आइसकेपछि के गर्ने ? कसरी फरक तरिकाले लेख्ने ?

    बोगटी भन्छन्, ‘मैले फेरि त्यस्तै कविता लेखिरहने कि ? कविता कनीकनी लेख्ने कुरा पनि होइन होला । जब कुनै विषयबाट उद्वेलित होइँदैन, सम्भवतः कविता लेख्ने कुरै आउँदैन होला । लेख्दै जाँदा विषयवस्तुलाई बुझ्ने प्रणालीमा, दृष्टिकोणमा फरक आउँदोरहेछ । अलि अध्ययनशील हुने परिवेश बन्दोरहेछ ।’

    यसपछि बोगटीले अध्ययनलाई पनि बढाए । नेपाली र हिन्दी भाषी कविहरुलाई पढे । झारखण्डका कवि जेसिन्ता केरकेटालाई बोगटीले सोधे, ‘तिमी कवितामा आदिवासीदेखि बाहिरै जाँदैनौं, किन ?’
    भर्खरै ‘ईश्वर और बजार’ नामक कविता संग्रह ल्याएकी उसले बोगटीलाई भनेका थिए, ‘म जे हुँ, त्यो दायरादेखि बाहिर गएर मान्छेलाई किन अलमल्याउने ? हामीले हाम्रै विषयवस्तु लेखिसकेका छैनौं । उत्खनन् गरिरहेका छौं । कविता भन्ने पारम्परिक शैलीबाट बाहिर निस्केर नयाँ शैलीको खोजी गरिरहेका छौं । मैले कविता लिएर मूलधारमा जाँदा मेरो माटोकै गन्धसितको कविता लिएर गइनँ भने ढाँटेको जस्तो लाग्छ ।’

    केरकेटाको प्रसंगपछि बोगटी भन्छन्, ‘हामीले चाहिँ के गरिरहेका छौं होला त ? हाम्रो अनुहारलाई कवितामा ल्यायौं कि ल्याएनौं ? पुनव्र्याख्या पनि गर्नुपर्छ होला । इतिहासलाई खोतल्नुपर्छ । नत्र लेखेरमात्रै के गर्ने र ?’

    तर, जसरी लेखे पनि फरक तरिकाले लेख्नुपर्ने तर्कबाट टसमस छैनन् बोगटी । प्रभावकारी तवरले भन्न फरक लेख्नैपर्ने अडान राख्छन् । भन्छन्, ‘प्रभावकारी तरिकाले भन्न नसकिने चिजलाई कवितामा किन प्रयोग गरिरहने ? कविहरु सानो सानो चिजबाट बढी प्रभावित बन्छन् । तर, भन्दाखेरि चाहिँ फरक तरिकाले नै भन्ने होला । मनप्रसाद सुब्बाले एउटा समयलाई लेख्दै गर्दा त्यस्तै तरिकाले लेखेर कविताको नाममा कविता गरेर हुँदैन । कविहरु अलग किसिमले अगाडि जानुपर्छ ।’

    पछिल्लो समय मुद्दाहरुको थाक छन् । चाहे अदालतमा होऊन् । चाहे कुनै नेताको मुखमा होऊन् । चाहे एनजीओ, आईएनजीओमा दौडेर घरको चुल्हो बाल्नेहरुको एजेन्डामा होऊन् अथवा चाहे कविहरुको कवितामै किन नहोऊन्, मुद्दाहरुको थाक छन् । मुद्दासँगै प्रोजेक्टहरुको लर्को छ । कमाउनेले कमाएका छन्, बनाउनेले बनाएका छन् । तर, कविहरुले चाहिँ कवितामा प्रोजेक्ट लेख्ने कि कविता ?

    बोगटी जिज्ञासा राख्छन्, ‘कविहरु प्रोजेक्ट बेस्ड काम गरिरहेका छन् । कविता प्रोजेक्ट हो कि होइन होला !’

    ‘प्रोजेक्ट’ भनेर भनिरहे पनि बोगटीले कविता नलेखी त बस्न नसक्लान् !
    बोगटी सुनाउँछन्, ‘कविता नलेखी त बस्न सकिँदैन । तर, कविता लेखिसकेपछि अघिल्ला कविताजस्तै अर्को कविताको उत्पादन के गरिरहने ? वस्तु बनाएजस्तो कसरी गरिरहने ? म त भन्छु, जबरजस्ती कनेर नलेखौं, आएन भने छाडौं । मलाई चाहिँ सधैं कवि भइरहनु छैन । कवि त्यस्तो कुनै जागिर पनि होइन, सधैं गरिरहनुपर्ने । मलाई लाग्छ, कुनै नयाँ चिज आयो, छोयो र नयाँ तरिकाले भन्न सकियो भने लेखुँ । अभिव्यक्तिको नयाँ शैली र भाष्यको खोजी गरुँ ।’

    – तर, सधैं सृजनशील भइरहन पनि सकिँदैन होला नि ? सृजनशीलता, उर्बरताको पनि समय हुन्छ होला नि ?

    ‘गाडी हुनासाथ कुदिहाल्नुपर्छ भन्ने हुँदैन । त्यस्तै सृजना पनि सकेकोसम्म गर्ने भन्ने हुँदोरहेछ । आखिरमा सृजना भनेको माइन्डसेटकै कुरा हो । अध्ययन, विचार गर्ने शैली, तरिका, अब्जर्भ गर्ने क्षमताले सृजनालाई बलियो बनाउने हो । एक समय सुुरुवातमा लेखकहरुले धेरैकुरा लेखिरहेका हुन्छन् । धेरै बूढाहरुले पनि लेखिरहेका हुन्छन् । तर, सधैं उर्बर अथवा सृजनशील अवस्थामात्रै खोजिरहनु हुँदैन । गृष्म ऋतुमा पनि वसन्त ऋतु खोजिरहने होइन होला । सृजना भनेको लेखिरहनुपर्छ भन्ने हुँदैन । मैले ग्याप गर्न सक्छु । यसो गर्दा मेरो सृजनाभूमि उर्बर हुँदैन भन्ने होइन । खेती गर्ने अझै राम्रो प्रणालीको खोजी हो । लेखनका लागि बिज उमार्न बनाइरहेको भूमि हो । त्यसले कुनै न कुनै दिन त फल दिन्छ नै ।’

    बोगटी पहिलाबाटै कथा लेख्थे । ‘लाइफ अफ बटरफ्लाइ’ कथा संग्रह ल्याए । कविता लेख्नुभन्दा अघि नै सिलगुडीबाट छापिने पत्रिका ‘आजभोलि’मा उनको कथा छापिएको थियो । तर, दार्जिलिङमा भने कविताको माहोल थियो । कुनै कार्यक्रम वा सांस्कृतिक माहोलमा कविहरुले कविता भनेकै हुन्थे । त्यही माहोलको प्रभावले कवितामा तानिएको बताउँछन् बोगटी ।

    पछिल्लो समय आख्यान लेखिरहेका थिए । तर, लेखनलाई स्थगित गरिदिए । कारण भन्छन्, ‘पछिल्लो समय सबै गोर्खा आन्दोलनतिर लागे । फातसुङ, फुलांगेलगायत थुप्रो किताबहरु आए । सबैको पृष्ठभूमि आन्दोलनमै छ । अनि त्यही किसिमको कथा बढी होला कि भनेर आख्यानलाई स्थगित गरेको छु ।’

    – आफूलाई अभिव्यक्त गर्न फिक्सन कि कविता सहज ?

    सजिलो त कविता हुन्छ । कवितामार्फत् नै सबैथोक चाहिँ भन्न सकिँदैन । कवितामार्फत् भन्न नसकेको कुरा कथामार्फत् भन्छु । विषयवस्तुको मागको कुरा पनि आउँछ । कविताले माग्ने विषयवस्तु छ भने त्यहीअनुसार, छैन भने कथामार्फत् ।

    – अनि दार्जिलिङतिरबाट हेर्दा नेपालको समकालीन कविता कस्तो देखिन्छ ?

    नेपालको दश वर्षे क्रान्तिको प्रभावले एकजना कविलाई मात्रै छोएन होला । सबैलाई छोयो होला । त्यो समयलाई जब लेख्नुपर्ने हुन्छ, सबैले आ–आफ्नै तरिकाले लेख्ने हो । स्वप्नील स्मृतिले अभिव्यक्त गरिरहेको तरिकाभन्दा अर्को कविले छुट्टै तरिकाले भन्नुपर्ने कुरा महत्वपूर्ण हुँदोरहेछ कवितामा ।

    द्वन्द्वकालमा लेखिएका कविताहरु एक समय धेरै प्रभावकारी भए । जब द्वन्द्वकाल सकिएर केही समय बित्यो, कविहरुले अनुभूति गर्ने, समाजलाई हेर्ने दृष्टिकोण अर्कोतिर गयो । अब कविता त्यही ढंगको आउनुपर्ने हो, त्यो आइरहेको छैन । सबैभन्दा पहिला कविलाई समाजले प्रभाव पार्नुपर्ने रहेछ । प्रभाव पारेपछि त्यसको तरंगलाई कसरी अभिव्यक्त गर्ने भन्ने हो ।

    द्वन्द्वकालपछि त्यसको प्रभावमा संकटलाई सम्बोधन गर्न सबै कवि लागिपरेका थिए । नेपालका कविहरुले विषयवस्तुलाई बेजोडसँग उठाइरहेको लाग्थ्यो ।

    पछिल्लो समय चाहिँ समाज त्यही रहेन । लोकतन्त्र र जीवनको बीचमा तारतम्य भयो कि भएन ! जीवन, समाजलाई हेर्ने दृष्टिकोण कस्तो बन्यो ! यी विषयलाई परख गर्ने खालको कविता आएका छैनन् । कविहरु स्लो धारमा बगिरहेका छन् । लोकतन्त्र मजाले संस्थागत भएपछि आउँछ होला । अहिले दार्जिलिङतिर पनि नयाँ कविहरु फरक ढंगले जानुपर्छ भन्ने विस्तारै भइरहेको छ ।

  • कुस्माको बन्जीसम्मको उबडखाबड

    कुस्माको बन्जीसम्मको उबडखाबड

    क्लिफ नेपालका राजु कार्कीले फोनमा भन्नुभयो, ‘बहिनी अस्ति बिजी भएर तपाईको कल रेस्पोन्स गर्न पाइनँ, अब कहिले समय मिल्छ होला ?’

    ‘म भोलि भ्याउदिनँ, पर्सी आउछु नि है ?,’ फोन राखेँ ।

    स्विंग गर्न जाने विषयमा गम्भीर थिएँ म । तर, धेरै पटक जानेबारे सोचे पनि अनेक काम परेर जान पाइरहेकी थिइनँ । राति सुत्ने बेला यसो सोचेँ,– ‘समय मिलाउन थाल्यो भने कहिल्यै मिल्दैन । बरू भोलि नै जान्छु ।’

    बिहान उठेर सानो ब्यागमा एक्स्ट्रा लुगा कोचेँ । कसैलाई नभनी घरबाट निस्किएँ । कलंकीबाट पोखराको माइक्रोको टिकेट लिएँ । मेरो सोलो ट्राभलको पहिलो अनुभव भने होइन यो । सोलो ट्राभलमा गइरहने मलाई बाटामा भेटिने अपरिचत मान्छेहरु बडा गज्जबका लाग्छन्, जो पछि गएर परिचित बन्छन् । जो पछि गएर प्रिय बन्छन् । अघिल्ला सोलो ट्राभलमा कहाँ जाने र कहाँ बस्ने, अगाडि नै फिक्स भएको हुन्थ्यो । यो यात्रामा भने कहाँसम्म जान्छु र कहाँसम्म पुग्छु, थाहा थिएन । यो मेरो पहिलो गन्तव्यविहीन यात्रा थियो यो । पहिलो अनिश्चित यात्रा थियो यो । यसैले मनमा एक किसिमको रोमान्चकता र अलिकति भय पनि थियो ।

    कलंकीमा माइक्रो चढ्नु अगाडि चालक दाइले सोधे, ‘बहिनी, खाना खाएर आएको हो ?’

    अपरिचित मान्छेले एकैपटक यस्तो प्रस्ताव गर्दा असहज महसुस भयो । तर, मैले जिस्किँदै भनेँ, ‘दाइले बहिनीलाई खाना खुवाउन लाग्नुभयो कि क्या हो ! अहिले भोक छैन दाइ, भोक लाग्यो भने बाटोमै खाउँला ।’

    एकैछिनपछि दाइले एउटा ग्लासमा मिक्स जुस ल्याए । मलाई दिँदै भने, ‘अगाडि सिटमा बस, आज बाटो बिग्रिएको छ । गाडी धेरै जाँदैन । भिड हुन्छ पछाडि ।’

    चिन्नु न जान्नु केको माया देखाइरा होला ! तैपनि अगाडि सिटको झ्याल छेउमा गएर बसेँ । एकैछिनमा माइक्रो पुरै भरियो । अगाडिको सिटमा पनि ड्राइभर लगायत चारजना बस्नुपर्ने रहेछ । मलाई झ्यालको सिटबाट बोलाउँदै चालक दाइले भने, ‘बहिनी यता मेरो छेउमा आउ । केही पनि अप्ठ्यारो मान्नु पर्दैन । आफ्नै दाइ सोचेर बसे हुन्छ ।
    ‘ चालकको कुराले मलाई झस्कायो । थोरै सचेत र सतर्क भएँ । सिटमा तीनजना बस्न निकै सकस भइरहेको थियो । म छटपटाइरहेकी थिएँ । चालक दाइले आफ्नो सिटबाट सर्दै भने, ‘नानी बस्न अप्ठ्यारो भयो होला अलि यता सर । केही गाह्रो नमान ।’

    गाह्रो त लागिरहेको थियो । तर, पनि नलागेको झैं अभिनय गरेँ । उसको सिट छेउमा बसेँ । मनमा लाग्यो, ‘आजकाल पनि सिटमा बस्न दिँदैमा, मिक्स जुस खुवाउँदैमा केटी पट्टिन्छन् होला त !’

    ‘ नौबिसेको ओरालोबाट झर्दै गर्दा फेरि चालकले भने, ‘तिमी त कति सोझी रहिछौ । कहाँ जान लागेको, केही प्रोगाम छ ?’

    ‘मलाई उत्तर दिनै मन लागेन । चुपचाप बसेँ ।  मुग्लिन पुग्नु अगाडि फेरि चालकले सोधे, ‘बहिनी रिसायौ कि क्या हो ?’

    ‘छैन, म यात्रामा खासै बोल्न मन नपराउने मान्छे हुँ ।’

    अलिकति अगाडि गाडी रोकियो । अरूसँगै म पनि बाथरूमबाट फर्किदै थिएँ ।

    ‘बहिनी चना–अण्डा खाउ, यतिबेलासम्म खाना खा’को छैन । भोक लाग्छ,’ चालकले चनाअण्डा दिँदै भने ।

    ‘खान मन छैन’ भन्दै गाडीमा बसेँ । उनले त्यो चना अण्डा गाडीमै ल्याएर दिए । भोक अलिअलि थियो, चना अण्डाको प्लेट समाएँ । तर, खाँदै गर्दा परपरी भुटेको चना नमिठो लाग्यो । खानै सकिनँ, फालिदिएँ ।

    चालकले यो सब हेरिरहेका थिए । भोको पेटमा जे खाए पनि मीठो लाग्छ भन्छन् मान्छेहरु । तर, भोक लागेर पनि मनलाई जबरजस्ती मनाउन खोज्दा गाह्रो हुँदोरहेछ । भोक र मन दुवै सन्तुलित छ भने मात्रै घाँटीबाट निलिँदोरहेछ खानेकुरा ।

    टाउको भारी भएको थियो । साइडको क्याफेमा लस्सी बनिरहेको देखेँ । टाउको हल्का होला कि भनेर लस्सी मगाएर खाँदै थिएँ । चालक दाइसहित अगाडि सिटमा हामीसँगै बस्ने आन्टी र उहाँको छोरी आए । उनीहरूले पनि लस्सी लिए । चालकले आफुले लस्सी खाएको पैसा र मैले खाएको पैसा तिरे । उनले पैसा तिरेको देखेर आन्टीले मेरो मुखमा पुलुक्क हेरिन् । र फरक्क फिरेर गइन् । मलाई असहज महसुस भयो । कतिबेला पोखरा पग्नु जस्तो भयो । माइक्रो नै चेन्ज गरौं कि जस्तो पनि लाग्यो । तर, तीन चार घण्टा त हो भनेर चित्त बुझाएँ ।

    गाडीमार्फत् पोखरा यात्रा पहिलोपटक थियो मेरो । गाडी बाहिरका दृष्यहरू सुन्दर थिए । संसारको सबैभन्दा खुसी व्यक्ति नै मै हुँ जस्तो लागिरहेको थियो । नयाँ ऊर्जा र जोसले प्रफुल्लित थिएँ । म आफू भएर बाँच्न पाइरहेकी थिएँ ।

    अलि अगाडि पुगेपछि फेरि गाडी रोकियो । बाटो बन्दै गरेको कारण जाम भएको रहेछ । बाटो खुल्न आधा घण्टा लाग्ने भएपछि गाडीबाट ओर्लिएँ । साँझको चिसो मौसम । गाडीको लहर । यात्रुहरूको भिड।मलाइ रमाइलो लागीरहेको थियो। चालकले फेरि बोलाए,  ‘बहिनीलाई यो आइसक्रिम चैं पक्कै मनपर्छ, भेनेल्ला फ्लेवर ।’

    अचम्म लाग्यो, मेरो फेवरेट फ्लेवर यसलाई कसरी थाहा भयो ! तर, पनि मन पर्दैन भनेर खान मानिनँ ।

    ‘मन नपरे पनि खाउ । बिहानदेखि खाना खा’को छैन । धेरै जिद्दी नगर है ! मलाई यस्तो जिद्दी गरेको मन पर्दैन ।’

    अरे वा, गाली पो गरे ! छक्क परेँ । मान्छे अजिव लाग्यो । रिस पनि उठ्यो । अनि अलिकति माया पनि लाग्यो । यसरी गाली गर्दै खुवाउने मेरो हजुरआमा र बुवा बाहेक कोही पनि छैन । यो अपरिचित मान्छेले मलाई किन यसो गरिरहेछ भनेर कौतुहल भएँ ।

    उसले आइसक्रिम बोकेर मलाई हेरिरहेथ्यो ।

    ‘खासै मन त पर्दैनथ्यो । ल्याइदिनु भयो, खाइदिन्छु ।  तपाईंको घर चै कता ?,’ मैले वास्तै नगरे जसरी वास्ता गरेँ ।

    ‘मेरो घर लमजुङ हो । अरूको गाडी चलाएरै पोखरामा घर बनाएँ । अहिले मेरो दुईवटा गाडी छ । एउटाको पन्ध्र लाख लोन तिर्न बाँकी छ ।’
    मैले घर मात्रै सोधेको थिएँ । उनले आफ्नो हैसियत पनि बताउन भ्याए । मलाई उसको मुखबाट ‘लमजुङ’ बाहेक अरु जवाफ सुन्नै थिएन, सुनिदिएँ ।

    ‘अनि उमेर कति भयो ?’

    ‘यही बैशाख सोह्र गते तेतीस वर्ष पुग्छु ।’

    ‘गाडी चलाउन थालेको कति भयो ?’

    ‘पन्ध्र वर्ष भयो ।’

    ‘भनेपछि अठार वर्षको उमेरदेखि गाडी चलाउनु भएको ?’

    ‘हो । पहिला धेरै खर्च गर्थें । आजकाल खर्च गर्न डर लाग्छ ।’

    यहाँ पनि उसले एउटा प्रश्नको तीनटा उत्तर दिए । मलाई प्रायः एक प्रश्नको एकै उत्तर दिएको मनपर्छ । एउटा प्रश्नको धेरैवटा उत्तर दिनेहरु खासै मन पर्दैन । अनि मैले जिस्किँदै भनेँ, ‘त्यही खर्च गर्ने डरले होला, कहिले चनाअण्डा, कहिले मिक्स जुस अनि कहिले आइसक्रिम बोक्दै युवतीहरुको पछिपछि लाग्नु हुँदो रहेछ ।’

    ‘त्यस्तो हैन नि बहिनी । मेरो विवाह भइसकेको छ । छोरी पनि छिन् । तपाईं आफ्नै बहिनी जस्तो लागेर पो । बाटो खुल्यो जस्तो छ । जाऔं बहिनी ।’

    मलाई बस्न एकदमै असजिलो भइरहेको थियो । यात्रा लामो लागिरहेको थियो । साँझको सात बज्दा पनि पोखरा पुगेका थिएनौं । मैले चालकतिर हेरेर सोधेँ, ‘दाइ अझै कति समय लाग्छ ?’

    ‘ए बहिनी । घुम्न हिँड्या मान्छे त्यो पनि पोखरा । पोखरा त मान्छे डेटिङमा जान्छन् । तपाईंको यति बेलासम्म कसैको फोन आएको छैन । आज त ढिलो हुन्छ । मेरै घरमा बस्नुपर्छ ।’

    मैले सुनेनसुनै गरे। तर चालकको कुरा सुनेर झ्याल छेउको दिदीले फेरि मेरो मुखमा हेर्नुभयो।मलाइ असहज महसुस भयो। नराम्रो लाग्यो। ती दिदीले गलत नजरले हेर्नुहोला भन्ने चिन्ता लाग्यो । कति ठाउँमा हामी गलत नहुँदानहँुदै पनि अरूको नजरमा गलत भइन्छ कि भन्ने डर हुने रहेछ । जीवनमा डर पनि कतिधेरै कुराको ! एउटा डरलाई जित्यो, अर्को डर सुरू हुने ! नयाँ नयाँ डरहरू थपिँदै जाने । डरैडरले जीवन जिउन असजिलो बनाउने ।

    पन्ध्र मिनेटपछि हामी पोखराको बुद्ध चोक पुग्यौं । चालकले गाडी रोकेर भने, ‘मेरो छोरी तपाईको ठुलो फ्यान हो । तपाईले माइ फेवरेट भनेर ‘भेनेल्ला फ्लेवर‘को आइसक्रिमको फोटो फेसबुक पेजको स्टोरीमा राख्नु भएको थियो रे ! आज उनको जन्मदिन हो ।’

    चालकले थपे, ‘मेरी बुढी र छोरी तपाईंलाई उ त्यहा कुरेर बसिरहेको छन् । तपाईंको लागि घरमा खाना पनि पाकिसकेको छ । सक्नुहुन्छ भने आजको रात मेरी छोरीसँग बसिदिनुस् न ।’

    यात्राको बीचमा उसले कहिले छोरी र श्रीमतीलाई खबर ग¥यो, केही थाहा थिएन।कताकता डर पनि लाग्यो।छोरी र स्रिमती लिन आएको देखेर विश्वस्त भए। म उनीहरुको घर गएँ । खाना खाएर राति सुत्ने बेला ‘बर्थ डे गर्ल’ मसँगै सुत्न जिद्दी गरिन् । निदाउनु अगाडि वेडमा पल्टिएको थियौ।फुच्चिले विस्तारै छोउ कि नछोउ गरेर मेरो पेटमा आफ्नो हात ल्याइन।सात कक्षामा पढिरहेकी नानीले प्रश्न गरिन्, ‘दिदी हजुर भोली नै जाने हो ?’

    ‘हो,’ भैले भनेँ ।

    ‘दिदी एउटा कुरा भन्छु भन्छु, माइण्ड नगर्नु ल ?’

    मैले मायालु पारामा ‘के कुरा नानु’ भनेँ ।

    ‘तपाईं यहाँबाट गएपछि मलाइ नबिर्सिनुस् है ?’

    मैले हुन्छ त भनेँ, तर  नमज्जा लाग्यो । यात्रामा भेटिएकाहरुलाई सम्झिरहने भन्ने नै हुँदैन । कति मान्छे भेटिन्छन्, कति मान्छे छुटिन्छन् । बिर्सने मन नहुँदानहँुदै पनि सम्झनाबाट यादहरू परपर पुगिदिन्छन् । साइनो भएकाहरूसँग माया हुन्छ जस्तो लाग्थ्यो । साइनो जोडिनै नपाइ माया लाग्ने रहेछ । कतिबेला माया लाग्यो भन्ने महसुस नै नभइ माया लाग्ने रहेछ । ‘हामी छिट्टै मुस्ताङ घुम्न जानुपर्छ है नानु । म फेरि आउँछु ।’

    भोलिपल्ट कुस्मा जाउँ जस्तो लाग्यो । ‘द क्लिफ नेपाल’ को राजु दाइलाई टेक्स्ट गरेँ, ‘दाइ म पोखरा आएको छु । के गरौं ?’

    रेस्पोन्स आएन । मैले कल गरेँ । फोन उठ्ने बित्तिकै भन्नुभयो, ‘सरी बहिनी, म त सुतिरहेको थिएँ । बिहानै मेसेज गर्नु भएको रहेछ । मैले थाहा पाइनँ । तपाईं पोखरा आउनु भएछ । म त तपाईं आउनु हुन्न होला जस्तो लागेर काठमाडौं फर्किएँ । आउँछु भन्नु भएको भए म बस्थेँ नि ।’

    ‘ठिकै छ दाइ । त्यसो भए म के गरौं त ?’

    ‘केही फरक पर्दैन बहिनी । जाँदा हुन्छ नि, जानुस् न । म त्यहाँ कल गर्दिउँ त ?’

    ‘हुन्छ दाइ ।’

    एकैछिनमा ट्याक्सिवाला दाइले कल गर्नु भयो । बुद्ध चोकमा ट्याक्सी आइपुग्यो । अलि पर पुगेपछि मेरो छेउमा बस्नु भएको एकजना अंकलले सोध्नुभयो, ‘सानु चैं कुस्मा जान लाग्नु भएको ?’

    ‘बोली मिठो लाग्यो । चिन्दै नचिनेको मान्छे फेरि आत्मीय लाग्यो । र भनेँ, ‘हो बुवा, हजुर चैं कहाँबाट आउनु भयो ?’

    ‘म छोरीको घरबाट आएको, नाती केटोलाई भेटेर । मेरा एक भाइ छोरा, दुइटी छोरी । म शिक्षक हुँ । प्रिन्सिपल पनि भएँ । तर चैं के भने नि छोरी एक पटक मरौला जस्तो विरामी भएर हस्पिटल गएको थिएँ । यसपछि लाग्यो, मान्छे मान्छे बचाउने मान्छे चैं डाक्टर पो रहेछ । यसपछि छोरोलाई डाक्टर पढाएँ । अहिले पोखराको हस्पिटलमा काम गर्दैछ । दुखिया छ जिन्दगी । एउटी छोरी नर्स छिन् । कान्छी चैं बाहिर गई । नजा भनेको मानिन । खै के छ कुन्नी विदेशमा ।’

    ‘कहाँबाट आउनुभएको’ भन्ने प्रश्नमा चालकले झैं बुवाले पनि सारंशमा आफ्नो आत्मकथा नै सुनाए । उनी बोलिरहे, म सुनिरहेँ । पर्वतको लवज चाखलाग्दो थियो । भाषै सुन्नलाई मात्र म लठ्ठ भएँ । उनी बोल्दै गए, म सुन्दै गएँ । उनले कुरा रोकेर एक्कासी सोधे, ‘छोरीको पर्वतमा को छ ?’

    ‘मलाई उनले छोरी, नानु भनेको एकदमै मनप¥यो । बोली नै त रहेछ सबथोक ! अनि बोलीले नै त बनाउने रहेछ आ्त्मीय सम्बन्धहरू । मैले मुसुक्क हाँसेर जवाफ दिएँ, ‘म स्विंग गर्न आएकी बुबा, कुस्मा जान लागेकी ।’

    आश्चर्य मान्दै सोधे, ’काठमाडौंबाट स्विग गर्न मात्रै आउनु भएको ?’

    ‘हो नि बुवा, मलाई यसपटक एक्लै हिँड्न मन लाग्यो ।’

    ‘हैन होला, नानुले कुरा लुकाउनु भयो । कोही नभइ यति टाढा देखी त यहा कोही आउदैन।’

    ‘हिँड्नुस् न बुवा बरू, मसँग साथी हुन्छ ।’

    ‘मेरा बाबा । मेरो सानु, कसरी गर्छौ तिमीले स्विंग। म पनि एउटा साथिसँग गएको थिएँ । हकानिएर मरिएला कि भनेर गर्न सकिनँ बाबा मैले । मेरी छोरी, मेरी नानु कसरी गर्छौ तिमीले। म छोरो मान्छे भएर गर्न सकिनँ । मेरो साथीले म पैसा तिर्दिन्छु भन्दा मैले आठ आठ हजार तिरेर मलाई गर्नु छैन भनेँ ।’

    म मुर्छा परेर हाँस्न थालेँ । मलाइ आफु गर्न सक्छु भन्नेमा पुरै विस्वास थियो । पहिला पनि एक पटक भोटेकोशीमा हानिसकेकी थिएँ ।

    म क्लिफ नेपाल पुगेँ । एक जना सरले म बस्ने कोठासम्म पुर्याउँदै भने, ‘हामीसँग स्काइ साइक्लिङ, स्काइ क्याफे, ब्रेभ विङ बन्जी, स्विङ, जिप लाइन, हर्स राइडिङ, क्रेजी ब्रिज अरू थुप्रै चिजहरू छन् । तपाई सुरूमा के गर्न चाहनु हुन्छ म्याम ?’

    ‘म स्काइ साइकलिङ र स्विङ गर्छु, अरू भोलि गर्छु ।’

    साइक्लिङ सजिलै गरेँ । थोरै थोरै डर लागेको थियो । तर, डर नलागेको जस्तो गरेँ । त्यसपछि सरले भने, ‘म्याम अब स्विङतिर जाउँ ।’
    म खुसी हुँदै स्विङ गर्न गएँ । सरले नपत्याए जसरी सोधे, ‘सक्नुहुन्छ म्याम ?’
    ‘पहिला बन्जी त हानेँ । जाबो यो स्विङ सक्दिनँ होला त !’
    ‘म्याम त कडा हुनुहुँदो रहेछ ।’
    ‘हो त, बच्चैबेलादेखि ।’
    झोलुंगे पुलमा हिँड्दै गर्दा परपरका दृश्यहरू हेर्दै सरलाई सोधेँ, ’हजुरलाई डर लाग्छ कि लाग्दैन ?’
    ‘डर कसलाई लाग्दैन होला र म्याम !’
    ‘लास्ट डरपोक पो हुनुहुँदो रहेछ सर त !’

    सर हाँसे । हामी हाँस्दै स्विङ गर्ने कोठामा पुग्यौँ । एक्कासी मुटु सिरिंग भयो । मलाई कसैले फाँसीमा झुन्डाइरहेको छ जस्तो महसुस भयो । म अताल्लिएँ । एक जनाले भने, ‘म पनि कार्की हो । कार्कीहरू यसरी डराउनु हुन्न ।’

    ‘म डरपोक कार्कीमा पर्छु नि त दाइ ।’

    मलाइ सेफ्टी बेल्ट लगाउने अर्को एक जनाले भने, ‘यो ठाउ नै यस्तै हो, यहाँ जसलाई पनि डर लाग्छ । डर लागीलागी स्विङ गर्ने हो नि । डर नै भएन भने के मजा ।’

    ‘जति मोटिभेट गरे पनि म आज गर्दिनँ है दाइ । मलाई सेल्फ मोटिभेसन पुगेकै छैन ।’

    एक जना दाइले नपत्याए जसरी सोधे, ‘सेल्फ मोटीभेसन कसरी गर्नु हुन्छ ? सुनौं त हामी ।

    ‘दुनियाँले गर्या छन् । केही भाको छैन, मलाइ चै के डर  हुन्छ र भनेर नि दाइ ।’

    उनले खुसी हुँदै भने, ‘हो, त्यही हो नि सोच्ने ! ल आउनुस् त यता ।’

    ‘नाइँ दाइ, मलाई सेल्फ मोटिभेसन पुगेन ।’

    सेल्फ मोटिभेसन त यहाँ जति बसेनी पुग्दैन । बरू तल झरेर आएपछि झन् बढ्छ । यता आउनुस् ।’

    ‘नाइँ, म आज सक्दिनँ के दाइ ।’

    ‘यो नसकि नसकि गर्ने काम हो, ल आउनुस ।’

    ‘दाइ जिद्दी नगर्नु न ।’

    ‘जिद्दी तपाईं गरिरहनु भएको छ ।’

    दाइ रिसाए झैं लाग्यो । उनलाई खुसी बनाउन भए पनि गर्नुपर्यो जस्तो लाग्यो । आफु डराइ डराइ अरूलाई खुसी बनाउने कुरामा मैले आफुलाई कन्भिन्स गर्न सकिनँ । बरू दाइलाई खुसी बनाउन एउटा झुट बोलेँ, ‘दाइ अघि भर्खर एउटा साथीले फोन गरेको थ्यो । डोरी चुँडिन सक्छ रे नि त !’

    ‘ग्यारेन्टी दिन्छु, यो चुँडिदैन । ल बस्नुस त । साँझ परिसक्यो, अहिले फेरि हावा चल्छ ।’

    मलाई स्विङ नगर्न अर्को निहँु थपियो । ‘हावा चल्यो भने के हुन्छ दाइ ?,’ मैले मायालु पारामा आफ्नो जिज्ञासा राखेँ ।

    ‘डोरी हल्लिन्छ नि !’

    ‘डोरी हल्लियो भने चैं के हुन्छ नि !’

    ‘तपाईंलाई झन डर लाग्छ, आउनुस् न ।’

    ‘नाइँ, म आज गर्दिनँ दाइ । डोरी हल्लिन्छ भन्नु भएको हैन ?’

    एउटा भाइले क्यामेरा तेस्र्याउँदै भन्यो, ’केही भन्न चाहनुहुन्छ ?’

    ‘मलाइ अहिले केही पनि बोल्नु छैन भाइ ।’

    मैले सबैलाई दिक्क पारिरहेकी थिएँ । सबैले मलाई लिएर आउने सरको अनुहारमा हेरे । सरले छोड्दिनु भन्ने संकेत दिए । मैले सरलाई बिस्तारै हेरेँर सोधेँ, ‘सर म के गरौं ?’

    सरले ‘सक्नुहुन्न भने नगर्नुस् त’ भने । ठुलो युद्ध जिते जस्तो भयो । सरको माया लाग्यो । अरू सबै मेरा शत्रुहरू हुन् जस्तो लाग्यो । नौलो ठाउँमा आफ्नो भन्नु यही एउटा सर हो भन्ने लाग्यो । आमाको छेउमा पुगे जसरी सर नजिकै गएर सोधेँ, ‘सरको नाम चै के हो ?’

    ‘ईस्वर । तपाईंलाई यो नाम मन पर्दैन होला ।’

    नाम पनि मन पर्ने र नपर्ने हुन्न नि सर । मान्छे कति ज्ञानी हुनुहँुदो रहेछ, इस्वर जस्तै । म क्या आत्तिएकी थिएँ ।’

    हामी कुरा गर्दै रिसेप्सन पुग्यौं । रिसेप्सनको बहिनीले स्विङ कस्तो भयो भनेर सोध्नुभयो । मैले बोल्नु अगाडि सरले भन्नुभयो भयो, ‘आज हावा चलेर गरिएन नि !’

    म खुसी हुँदै रूमतिर लागेँ । रूममा बसिरहँदा आफुलाई काँतर रहेछु भन्ने लाग्यो । खानेबेला फोन आयो, ‘आज खादिनँ’ भनेँ । मनमा छटपटाहट सुरू भयो । एक पटक बन्जी हानिसकेको मान्छेले पनि नसक्नु लाजमर्दो कुरा हो जस्तो लाग्यो । मैले आफुले आफुलाई खुब घृणा गरेँ । बेडरूम नै झोलुंगे पुल जसरी हल्लिए जस्तो हुन थाल्यो । ईस्वर सरलाई कल गर्न मोबाइल झिकेँ, रातिको १ः३३ भएको रहेछ । निन्द्रा डिस्टर्ब होला भनेर गरिनँ ।

    ‘जीवनमा कति काम गर्नु छ, जाबो खोलामा हाम्फालेर के क्रान्ति गर्नु हौ’ भनेर आफुलाई मोटिभेट गर्दै थिएँ । निदाएँछु ।  बिहानै ईस्वर सरको कल आयो, ‘खाजा रेडी भयो हजुर, स्काइ क्याफे जाने हैन ?’

    स्काइ क्याफे सकेर सरले भन्नुभयो, ‘ब्रेभ वीङमा स्वीङको अनुभव गर्न पाइन्छ । अब यही मात्र गर्दा हुन्छ ।’

    सानातिना कुराहरू सब सकेर म बेडरूममा रेस्ट गर्न पुगेँ । स्वीङ गर्न नस्कने मान्छे किन बस्नु भनेर ब्याग बोकेर काठमाडौं फर्किन तयार भएँ । ईस्वर सरले मलाई खाना खाएर जान अनुरोध गरे ।  तर, म मानिनँ । झोलुंगे पुल क्रस गर्दै गर्दा सरलाई सोधेँ, ’सर हजुरलाई मैले स्वीङ गरे हुन्थ्यो जस्तो लागेको छ कि नगरे पनि हुन्छ जस्तो भा’को छ ?’

    ‘तपाईंलाई मन लाग्दैन भने मलाई केही फरक पर्दैन इष्टु जी । किन यति धेरै सोच्नुभा’को ।’

    ‘हैन सर, एक पटक त गर्नैपर्छ । यति टाढा आएर नगर्नु भनेको अवसर गुमाउनु हो । म एक पटक गर्छु ।’

    झोलुंगे पुलको बीचमा पुगेका थियौं । हामी स्विङ रूमभित्र छिर्यौ । सबैले मलाई हेरे । एकजनाले सोधे, ‘आज मोटिभेट गरेर आउनु भयो ?’ मैले हाँस्दै जवाफ दिएँ, ‘आज त सरक्क झर्ने हो  ।’

    म रेडी भएँ । भाइले क्यामेरा ल्याए । बोल्नु पर्ने कुरा पनि बोलेँ । बिस्तारै स्वीङको डोरीमा झुण्डिएँ । सबैको अनुहार पालैपालो हेरेँ र मुसुक्क हाँसेँ । त्यहाँ सबै पराइ मान्छेहरू थिए । सबै मैले स्विङ गरेको हेर्न आतुर थिए । ‘कार्की रक्स’ भन्नेहरू पनि मलाई आफ्ना लागेनन् । एक्लो महसुस भएको बेला पराइ मान्छेहरूको भिडमा अलिकति कम पराइ मान्छेलाई आँखाले खोज्दो रहेछ । ईस्वर सरको अनुहार मलाई त्यस्तै लाग्यो । मैले ईस्वर सरलाई भनेँ, ‘सर डर लाग्यो ।’

    ‘डर लाग्छ, तर केही हुन्न । डर लाग्नु नर्मल हो ।’

    ‘सात सेकेण्डको डर त हो नि है सर ?’

    सरले टाउको हल्लाएर हो भन्ने संकेत गरे । म हाँस्दै डोरी छोड्दिनुस् भेनेर चिच्याएँ । अनि म खसेँ । केही सेकेण्डपछि होस आए जस्तो भयो । जिउँदै रहेछु जस्तो लाग्यो । केही सेकेण्डको डरले यो अनुभव गर्न नपाएको भए पछुतो हुने रहेछ जस्तो लाग्यो । कुनै पनि कुरा सफल या विफल हुन त्यतिबेलाको मानसिक अवस्था कस्तो छ भन्ने कुराले निकै महत्वपूर्ण भूमिका खेल्ने रहेछ ।

    ०००

     

  • ‘माफ गर्नुस् मित्र, स्वाभिमान बेचेर कांग्रेसमा रहिरहन सकिनँ’

    ‘माफ गर्नुस् मित्र, स्वाभिमान बेचेर कांग्रेसमा रहिरहन सकिनँ’

    स्थानीय निर्वाचन २०७९ को पूर्वसध्यामा मैले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण पदबाट राजीनामा गरें । किन गरें, के कारणले गरें, र त्यो अवस्था कसरी आयो ? यसको विश्लेषण र यथार्थता मेरा साथी र शुभचिन्तक अनि नेताज्यूहरुले पछि थाहा पाउनु हुनेछ ।

    वर्तमान अवस्थामा पार्टीका नेता तथा साथीहरुले बुझ्नुपर्ने कुरा के हो भने, बीपीको भनाइ कोड गर्दै भन्न मन लागेको छ, ‘पार्टीभित्र अन्याय सहने जो कोही होस् त्यो कार्यकर्ता हैन, दास हो’ । म एउटा पार्टीको इमान्दार, निष्ठावान कार्यकर्ता थिएँ । आफ्नो भएको सम्पति खर्चेर पार्टी बचाउन लागेको थिएँ । पार्टीको नाममा एक रुपैयाँ चन्दा मागेर जीवन निर्वाह गरेको थिइन् ।

    फट्याइँ, बेइमानी र चाकडी गर्ने मेरो स्वभाव र स्वाभिमानले दिएन । मैले बुझेको बीपीको सिद्धान्त र आदर्श, उहाँले गरेको मार्गनिर्देश, अनि उहाँको व्यवहारिक समाजवाद नै म नेपाली कांग्रेसप्रति आबद्ध हुने मन्त्र थिए । मैले बीपीलाई चिन्दै नचिन्दा पनि उहाँका आदर्श र सिद्धान्त अध्ययन गरें, त्यसैबाट प्रभावित भएर कांगेस भएको हुँ ।

    २०४३ सालमा नेपाली कांग्रेसले आउटपोष्ट कब्जा गर्ने नीति लिएर आन्तरिक रूपमा देशभरका स्थानीय निकायमा कांग्रेस सम्बद्ध व्यक्तिहरुलाई निर्वाचनमा भाग लिन आह्वान गर्यो । त्यो अवस्थामा समेत कांग्रेसको प्रतिनिधित्व गर्दै स्याङ्जा सदरमुकामको तत्कालीन वाडा नं. ३ र हाल वाडा नं. १ को वडाअध्यक्षमा उम्मेदवारी दिएर अत्यधिक मतले विजयी भएको थिएँ ।

    त्यसपश्चात् २०४६ सालको जनआन्दोलनको उद्घोष भएलगतै उक्त जनआन्दोलनमा सहभागी हुने भन्दै वाडा अध्यक्ष पदबाट राजीनामा गरेर बुटवल झरेको हुँ । त्यसपछि बुटवलमा व्यवसाय र पत्रकारितालाई अगाडि बढाउँदै गइरहेको अवस्थामा व्यवसायभन्दा पत्रकारितालाई मुख्य पेशा बनाइ अगाडि बढ्ने प्रण गरेर पत्रकारितालाई नै प्राथमिकता दिएँ ।

    २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि उहाँका स्व. प्रेस सल्लाहकार रहनुभएका जेपी गुप्ता (जयप्रकाश आनन्द)ले फोन गरेर हामी प्रजातन्त्रवादी पत्रकारहरुको छुट्टै संस्था निर्माण गर्न पर्यो काठमाडौं आउनुस् र छलफल गरांै भन्नुभयो । म गएँ तर यो मोफसलमा बस्ने मान्छे बैठकहरुमा पनि आउन गाह्रो हुन्छ, म कमिटीमा बस्दिनँ, पछि हेरौला भनें र संस्थापक सदस्य भइनँ । त्यसपछि केन्द्रीय सदस्य, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष भएर पार्टीको लाइनप्रति बफादार रूपमा काम गर्दै गएँ ।

    फट्याइँ, बेइमानी र चाकडी गर्न मेरो स्वभाव र स्वाभिमानले दिएन । मैले बुझेको बीपीको सिद्धान्त र आदर्श, उहाँले गरेको मार्गनिर्देश, अनि उहाँको व्यवहारिक समाजवाद नै म नेपाली कांग्रेसप्रति आबद्ध हुने मन्त्र थिए । मैले बीपीलाई चिन्दै नचिन्दा पनि उहाँका आदर्श र सिद्धान्त अध्ययन गरें, त्यसैबाट प्रभावित भएर कांगेस भएको हुँ ।

    विश्वास गरेरै होला २०४९ सालको बुटवल नगरपालिकाको निर्वाचनमा विजयी भैसकेपछि मेरा अत्यन्तै आदरणीय र सम्मानित व्यक्तित्व सूर्यप्रसाद प्रधानले तपाईँ मेरो सल्लाहकार भैदिन पर्यो भनेर आग्रह गर्नुभयो । त्यसो भए पत्रकार हुँ हजुरको प्रेस सल्लाहकार भएर बस्छु भने र तुरुन्त नियुक्ति पनि दिनुभयो । त्यो कार्यकाल इमान्दार र निष्ठापूर्वक विताएको मेरो परीक्षामा सायद पास भएको छु । त्यसपछिको संसदीय निर्वाचनमा विजय भैसकेपछि फेरि उहाँले मलाई तपाईँ मेरो स्वकीय सचिव बस्दिन पर्यो भन्नुभयो । मैले उहाँको आग्रह अस्वीकार गर्न सकिनँ ।

    किनकि उहाँ म जस्तै सरल, इमान्दार र सोझो व्यक्ति हुनुहुन्थ्यो । उहाँको स्वकीय सचिव हुँदाको पीडा केही मेरा नजिकका साथीहरुलाई थाहा होला कि, मलाई नै थाहा छ । २०५६ सालमा सांसदको स्वकीय सचिवको तलब ४ हजार थियो ।

    जबकि म बस्ने होटलको कोठाको दिनको ३ सयका दरले मासिक ९ हजार तिर्नु पर्दथ्यो । अनि विहान बेलुकाको खाना र नास्ता खर्च पनि आफैंले तिनुपर्दथ्यो । त्यस्तो अवस्थामा पनि बेइमान फटाहाहरूले सोझो मान्छेलाई बिगार्नसक्ने ठानेर आफ्नो फोकटो बेचेर पनि काम गरेको र कहिल्यै पद, प्रतिष्ठाको लोभ नगरेको कुरा आज लेख्न बाध्य भएको छु ।

    अहिले बुटवलमा मेराविरुद्ध फैलाइएको भ्रम

    साथीहरू जानकार हुनुपर्छ भन्ने मलाई लागेको छ । टिकट नपाएर पार्टी छोड्यो भन्ने कुरालाई केही घटिया, फुटपाथे व्यक्तिहरुले आफ्नो सामाजिक संजालमा लेखेको मैले पनि पढ्ने मौका पाएँ । तिनीहरूलाई के थाहा, पार्टी भनेको के हो ? पार्टी कसरी चल्छ ? पार्टी र कार्यकर्ताको मर्म र भावना के हो ? पार्टीको विधान पद्धति र प्रक्रिया के हो ?

    विचरा, कहिलेकाँही दया लागेर आउँछ त्यस्ता मान्छेसंग जसले माथिका कुरासंग कुनै सरोकार र जिम्मेवारी सम्झदैनन्, र आक्रोश पनि हुन्छ पार्टी नेतृत्वप्रति । जो जतिबेला पनि कांग्रेसको क्रियाशील सदस्य बन्न विधान नै संशोधन गर्यो । प्रश्न गर्न चाहन्छु पार्टीको नेतृत्वप्रति– के यही रमिताले कांग्रेसले आफ्नो गन्तव्य र बीपीले कल्पना गरेको देश बन्नसक्छ ?

    मैले पार्टी किन छोडें ?

    अघि नै उल्लेख गरिसकें कि म स्याङ्जामा जन्मेको, हुर्केको, वडा अध्यक्षसम्म भएको र २०४५–४६ को जनआन्दोलनलाई साथ दिँदै बुटवल झरेको । अरू कुरा माथि नै लेखिसकें ।

    २०७४ सालको स्थानीय निर्वाचनको बेला म नेपाली कांग्रेसको क्षेत्र नं. ४ को सभापति निर्वाचित भएको थिएँ । त्यतिबेलाको हाम्रो नेपाली कांग्रेसको विधानअनुसार क्षेत्रीय समितिले मेयर र उपमेयर सिफारिस गर्ने व्यवस्था गरेको थियो । त्यो बेला आज नगर समितिले जस्तै निरंकुश र अप्रजातान्त्रिक अनि अवैधानिक तरिकाले सिफारिस गर्न खोजेको भए मैले मेरो एकल नाम सिफारिस गर्न सक्थें र टिकट पनि मैले ल्याउन सक्थें तर म एउटा निष्ठावान, प्रजातान्त्रिक र संवैधानिक हिसाबले चल्नुपर्छ भन्ने सोच भएको व्यक्तिले त्यो हरकत र अपराध गर्न सकिनँ ।

    मेयर–उपमेयर सबैका आकांक्षीहरुको आह्वान गरेर नाम मागियो । मेयरमा मात्र १३ जना साथीहरूले नाम टिपाउनु भयो र सोहीअनुसार १३ जनाकै सिफारिस गरी पठाएको इतिहास साक्षी छ ।

    अहिले….. ?

    अहिले के भयो । यो कुरामा अधिकांश साथीहरू भ्रममा हुनुहुन्छ । विधानले के भन्छ–

    अहिलेको विधानले नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिफारिस नगर वा उपमहानगर समितिले गर्छ । त्यसो गर्दा कम्तिमा एक महिलासहित ३ जनाको सिफारिस गनुपर्नेछ । त्यो सिफारिस गरेको निर्णयसहित जानकारी प्रदेशसभा र सम्बन्धित क्षेत्रीय समितिमा दिनु पर्दछ ।

    त्यसको विपरीत बुटवल उपमहानगर समितिको बैठकका नाममा घर–घरमा माइन्यूट डुलाएर सही गराउँदै नगर सभापतिको एकल सिफारिस भन्ने निर्णय भएछ र सो निर्णय हतार हतारमा जिल्ला समितिमा बुझाउन र जिल्ला समितिले पनि विधानत रीत नपुगेको अवैधानिक निर्णयलाई स्वीकार गरी आफ्नो रायसहित लुम्बिनी प्रदेश समितिमा सिफारिस गर्ने तयारीमा रहेछ ।

    त्यस निरंकुश एवं अप्रजातान्त्रिक कार्यको विरोध स्वरूप प्रदेश लुम्बिनी प्रदेश कार्यसमितिमा ध्यानाकर्षण पत्र बुझाई विरोध जनाइयो, साथै जिल्ला एवं केन्द्रीय नेतृत्वलाई समेत त्यो ज्यादतीको विरुद्धमा मौखिक जानकारी गर्दासमेत कुनै सुनावाइ भएन । जबकि सिफारिसको क्रममा अन्य नगरपालिकाहरुले इच्छुक सबैको नाम सिफारिस गरेर पठाएका थिए ।

    टिकट नपाएर पार्टी छोड्यो भन्ने अबुझ मुर्खहरूलाई भन्नैपर्ने भयो कि, टिकट दिने निकाय अर्कै छ । सिफारिस गर्ने प्रारम्भिक निकायले नै गुपचुप कसैलाई थाहा नदिइ गरेको निर्णय मान्न कमसेकम म जस्तो स्वाभिमानी मान्छेलाई सैह्य भएन । नेका एवं सम्बन्धित निकायले पनि कुनै चासो नदिएपछि मेरो आत्मस्वाभिमानमा ठेस लाग्यो ।

    अनि म अन्तिम निष्कर्षमा पुगें कि यो राजनीति भन्ने चिज मेरो सामथ्र्यको कुरा रहेनछ । इमान्दारिता र निष्ठाको वर्तमान अवस्थामा कुनै मूल्य र मान्यता रहेनछ । यो राजनीति गर्ने भनेको त वेइमान, फटाहा, अवसरवादी र भुइँफुट्टाले रहेछ, त्यो मेरो बसमा छैन भन्ने निष्कर्ष निकालेर राजीनामा दिएको हुँ ।

    यसक्रममा मलाई मेरो राजनीतिक यात्रमा साथ सहयोग र शुभेच्छा राखेर १४ आंै महाधिवेशनमा अत्याधिक मतले विजयी गराउनुभएका सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूप्रति शिर निउराउँदै मेरो यो अप्रत्यासित निर्णयप्रति क्षमा दिनुहुनेछ भन्ने आशाका साथ अन्तरहृदयले नै माफी माग्न चाहन्छु । आगामी दिनमा राजनीतिकबाहेक अन्य काममा हरहमेसा हजुरहरूकै साथमा रहने प्रतिबद्धता पनि म बबुरोले गर्दछु ।

    निरंकुश एवं अप्रजातान्त्रिक कार्यको विरोध स्वरूप प्रदेश लुम्बिनी प्रदेश कार्यसमितिमा ध्यानाकर्षण पत्र बुझाई विरोध जनाइयो, साथै जिल्ला एवं केन्द्रीय नेतृत्वलाई समेत त्यो ज्यादतीको विरुद्धमा मौखिक जानकारी गर्दासमेत कुनै सुनावाइ भएन । जबकि सिफारिसको क्रममा अन्य नगरपालिकाहरुले इच्छुक सबैको नाम सिफारिस गरेर पठाएका थिए ।

    साथीहरू, गणेशमान सिंह र किसुनजीजस्ता नेताहरू त अटाउन नसकेको पार्टीमा म जस्तो बबुरो कार्यकर्ता अटाउनसक्ने त कुरै भएन । म आफ्नो निष्ठा बेच्न सक्दिनथें, आफ्नो इमान बन्धक राख्न सक्दिनथें अनि फट्याइँ र चाकरी गर्न सक्दिनथें । मलाई थाहा भयो कि यी कुराहरु गर्न र सम्झौता गर्न नसक्ने कुनै पनि व्यक्ति नेपाली कांग्रेसमा बस्न सक्दैनन् ।

    मैले राजीनामा दिएपछि सयौं मेरा मित्रहरू र शुभचिन्तकहरु मेरो घरमै आएर अथवा टेलिफोन गरेर फिर्ता लिन र पार्टीमा रहिरहन आग्रह गर्न थाल्नुभयो । मैले माथि सबै कुरा लेखिसकें, राजीनामा फिर्ता गर्न अथवा कुनै पदको बार्गेनिङ गर्नको लागि दिएको थिइनँ ।

    त्यो दौरानमा साथीहरूको त्यो आग्रह र मेरो निर्णयमा मेल नखाँदा अत्यन्तै तनाव भयो र भोलिपल्ट ४ बजे बिहाने उठेर काठमाडौतिर हिँडें ।

    मोबाइलको स्वीच अफ गरेर सम्पर्कविहीन भएर केही दिन बिताएँ । अब तनाव केही शान्त भएको छ । साथीहरूको राजीनामा फिर्ता लिनुपर्ने आग्रह त यथावत नै छ । तर मैले भोगेको पीडा र अपमानले मलाई थिचिरहेको छ । साथी एवं शुभचिन्तकहरुलाई फेरि पनि भन्न चाहन्छु । यो फोहोरी एवं गन्धा राजनीतिको भुमरी, भित्र घुम्दाघुग्दै थाकिसकें, मैले हात उठाएँ, माफ पाउँ ।

    यही दौरानमा ममाथि अर्को एउटा नभएको आरोप पनि लगाइएको थाहा पाएँ । वाडाहरूमा गठबन्धनको निर्णय मैले गरेर गएको भन्ने हल्ला चलाइएको पाएँ । त्यो हल्ला चलाउने अपराधी जोसुकै किन नहोस् म चुनौती दिन चाहन्छु । गठबन्धनको कुनै पनि निर्णयमा मेरो उपस्थिति र मैले गरेको सही सार्वजनिक गरियोस् । त्यो अवस्थामा म जे सजायँ पनि भोग्न तयार छु ।

    पाँच दलीय केन्द्रीय गठबन्धनले निर्णय गरेअनुसार जिल्लामा गठबन्धन गर्न जिल्ला स्तरीय गठबन्धन र पालिकामा गठबन्धन गर्न नगरस्तरीय गठबन्धनलाई निर्देशन र अधिकार दिएको छ । प्रदेशसभा र क्षेत्रीय समितिलाई गठबन्धन गर्नेसम्बन्धी कुनै पनि अधिकार र क्षेत्राधिकार नभएको ठाउँमा म क्षेत्रीय सभापतिको हैसियतले कोही कसैसँग सम्झौता र सहमति गर्ने प्रश्न नै उठ्दैन । नगर संयन्त्रको संयोजक स्वयं सभापति हुने र उनीहरुकै निर्णय र सहमतिअनुसार अहिलेको गठबन्धन भएको हो । कोही साथीहरू भ्रममा नपरौं ।

    अन्त्यमा,

    मेरा केही सहयात्री मित्रहरू जसलाई मैले राम्रोसंग चिनेको छु, जानेको छु । उहाँहरूको निम्ति म राजनीतिमा घाँडो भएको रहेछु । मेरो राजनीतिक जीवन सिध्याउन दिलोज्यान दिएर लाग्नुभयो, तपाईँहरूको इच्छा आकांक्षा पूरा भयो । तपाईँहरुलाई बधाई छ । तपाईँहरूको राजनीतिक जीवनले सफलता चुम्दै जाओस् । कोही मेयर, कोही प्रदेशसभा, सांसद र मन्त्री अनि कोही प्रतिनिधिसभाको सांसद र मन्त्री भएको चांँडै देख्न पाउँ । म बबुरोको यही कामना छ । अस्तु ।

  • परिवर्तनकामी शक्ति एकगठ हुँदा के बिग्रेला र ?

    परिवर्तनकामी शक्ति एकगठ हुँदा के बिग्रेला र ?

    म सानैदेखि केही गरौं भन्ने स्वभावको मान्छे थिएँ । त्यसैले होला, १४ वर्षको उमेरमै मैले गाउँमा क्लवको नेतृत्व गर्ने अवसर पाएँ । सामाजिक संस्थाको मेरो नेतृत्व त्यहीबाट प्रारम्भ हुन्छ । समय क्रमसँगै आजसम्म आइपुग्दा आधा दर्जन जति राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका संस्था, महासंघ र महाअभियानको नेतृत्व गर्ने अवसर पाएँ । हाल म वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगका क्षेत्रमा काम गर्ने एक फाउण्डेसनको पनि नेतृत्व गरिरहेको छु ।

    म यहाँसम्म आइपुग्दा सरकारका नीति निर्माणदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेको छु । पछिल्लो समय म राजनीतिका अलावा लेखन कार्यमा पनि क्रियाशील छु । ‘देश किन बनेन’ र ‘समृद्धिको रोडम्याप’ नामक मेरा दुईवटा पुस्तक आएका छन् । छिट्टै अर्को पुस्तक पाठकमाझ ल्याउने तयारीमा छु ।

    मेरो नेतृत्वमा भएका रिसर्च र परियोजनाका झण्डै दर्जन रिपोर्टसमेत प्रकाशित छन् । बाल्यकालमा जसलाई देख्यो त्यस्तै बन्ने चाहना हुन्थ्यो । भलै, समय क्रमसँगै आजसम्म आइपुग्दा मैले आफ्नो जीवनको स्पष्ट गन्तव्य निर्धारण गरिसकेको छु । वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्रयोगबाट आएको निष्कर्षलाई पुस्तक, लेख–रचनामार्फत् पाठकमा पुर्याउने र राजनीतिक पार्टीमार्फत् आम नागरिक र देशको पक्षमा तीव्र गतिमा काम गर्ने मेरो जीवनको अन्तिम गन्तव्य वैज्ञानिक संस्कार र समाज निर्माणमार्फत् मानव जातिको समान अग्रगतिमा योगदान गर्नु हो ।

    उल्लेखित मुद्दा र गन्तव्य हासिल गर्न म अध्ययन–अनुसन्धान, लेखन र राजनीतिलाई साधनका रुपमा उपयोग गर्ने निष्कर्षमा पुगेको हो । यो निष्कर्षले मलाई गन्तव्यमा पु¥याउने दृढ आत्मविश्वास छ ।

    मलाई थाहा भयो, हाम्रो समाजमा कट्टर धार्मिक र संस्कारी हुनु भनेको महिला, गरिब, दलितमाथि विभेद गर्नु रहेछ । अन्याय र असमानताको अमानवीय र अवैज्ञानिक इतिहासप्रति गौरव गर्नु रहेछ !

    मेरो आफ्नै नीति–नियम छ । मैले आफ्नो गन्तव्यसहितको मास्टरप्लान तयार गरेको छु । के गर्ने, के नगर्ने, कहिले गर्ने, कसरी गर्ने आदि कुरा स्पष्ट निर्धारित छन् । त्यसकारण जीवन, जगत र समाज इत्यादिलाई बुझ्न मैले कुनै सामाजिक मूल्य–मान्यता, परम्परा, श्रुति वा शास्त्रको सहारा लिइरहनु पर्दैन र लिदिनँ पनि किनकि मेरो आफ्नै दृष्टिकोण छ । विगत १० वर्षदेखि प्रकृति र विज्ञानको कसीमा सही सावित हुनेबाहेकका काम गर्न म फिटिक्कै चाहन्न ।

    ‘जीवन अप्रकाशित पुस्तक हो, निरन्तर सम्पादन गर्नुपर्छ’, यो मेरो पुस्तक लेखनका दौरानमा सिर्जित भनाइ हो । मैलेमात्र हैन, सबै लेखकले पुस्तक वा लेख–रचनाको मस्यौदा तयार भएपछि आफै पटक–पटक काटछाँट गर्छन् । प्रकाशकले फेरि सम्पादन गर्छ । यो सबै गर्नुको उद्देश्य त्रुटिरहित, राम्रो, पठनीय र उत्कृष्ट पुस्तक पाठकमाझ पस्कने हो ।

    त्यही भएर मैले आत्मानुभूतिबाट यो भनाइ निर्माण गरेको हुँ । एकपटक हामी आफूले आफ्नै जीवन हेरौं त ! हामीले कहिले आफ्नो बुझाइ, चेतना र जीवन–व्यवहारको सम्पादन गर्ने कोसिस ग¥यौं ? कि हामीले समाजबाट पाएको र सुनेको ज्ञानलाई नै चेतनाको अन्तिम स्रोत बनायौं ? के हजारौं वर्ष पहिले निर्माण भएको ज्ञानलाई आजको पुस्ताले पनि बोकिरहेर सम्पादित पुस्तक जस्तो उत्कृष्ट जीवन पाइएला वा पाइएको छ ? मलाई लाग्दैन, पाएका छौं !

    त्यसकारण, उत्कृष्ट जीवनका लागि पुरानो चेतनामा कैची चलाउनु पर्छ । गलत चेतनाले भरिएका पानाहरुलाई जलाइदिनुपर्छ । जीवनलाई जहाँको त्यही राखिराख्ने मूल्य–मान्यता र परम्परामाथि निर्मम जाइलाग्नु पर्छ । बल्ल नयाँ, सफल र उत्कृष्ट जीवन पाइन्छ, अनिमात्र मानव भएर जन्मनुको सार्थकता हुन्छ । त्यही भएर मैले समाज निर्मित मेरो पुरानो चेतनालाई भत्काउने आँट गरेको हुँ । मलाई सिकाइएको गलत मूल्य–मान्यतामाथि निर्मम सम्पादन गरेको हुँ । त्यही भएर आज म ऊर्जा, उत्साह र उमंगले भरिएको नयाँ जीवन बाँचिरहेको छु ।

    म पनि कट्टर धार्मिक परिवारमा जन्मिएको मान्छे हुनुका नाताले कुनै बेला म पनि धार्मिक थिएँ । आफ्नो धर्म–संस्कारलाई अति सम्मान गर्थेँ । सोहीअनुसारको जीवन–व्यवहार थियो । आफ्नो धर्म–संस्कृतिका विरुद्ध बोल्नेमाथि जाइलाग्थे । मान्छेका दुःख, सामाजिक विभेद र अन्याय, लैगिंक हिंसा आदि कुरा मेरो नजरमा पर्दैनथ्यो । पथ्र्यो त केवल धर्म–संस्कृति, परम्परा, रीतिरिवाज र मूल्यहरु ।

    त्यसकारण मलाई परिवर्तनको प्राकृतिक नियम, सामाजिक न्यायको अनिवार्यता, नेपाली समाज निर्माणको ज्ञानको स्रोतलगायत इत्यादि कुरा बुझ्न झण्डै १५ वर्ष लाग्यो । ‘देश किन बनेन’ पुस्तक लेखनमा अग्रसर भएसँगै सामाजिक, आर्थिक र राजनीतिलगायत विविध क्षेत्रको अध्ययनमा लाग्दैगर्दा मलाई थाहा भयो, हाम्रो समाजमा कट्टर धार्मिक र संस्कारी हुनु भनेको महिला, गरिब, दलितमाथि विभेद गर्नु रहेछ । अन्याय र असमानताको अमानवीय र अवैज्ञानिक इतिहासप्रति गौरव गर्नु रहेछ !

    बोक्सीका नाममा महिलालाई मलमुत्र खुवाउँदा गद्गद हुँदै ताली पिट्नु रहेछ । कथित माता र धामी–झाँक्रीको पाउमा पर्नु रहेछ किनकि हाम्रो बाल मस्तिष्कको ज्ञानको मुख्य स्रोत समाज र परिवारले यही सिकायो । मलाई आज पनि याद छ, हाम्रो गाउँघरमा अलिक झुत्रोमुत्रो लगाएर जुङ्रुङ्ग भएर हिँड्न बाध्य गरिब महिलालाई कथित बोक्सीको आरोप लगाएको । म पनि त्यस्ता महिलालाई त्यसबेला बोक्सी नै देख्थेँ ।

    शास्त्रीय चेतबाट निर्देशित भएपछि माओवादी त के बुद्धलाई समेत महामानव हैन परिवारलाई धोखा दिने धोखेबाज देख्न पुगिन्छ ! ग्यालिलियो ग्यालिली र चाल्स डार्बिन जस्ता वैज्ञानिकलाई मानव जातिलाई अतुलनीय योगदान गर्ने असामान्य मान्छे हैन समाजको विश्वासविरुद्ध बोल्ने समाज भँडुवा देख्छ !

    यसकारण कि मलाई मेरो समाजले बोक्सीको हुलिया त्यस्तै बताएको थियो । फेरि यसमा समाजको के दोष, समाजले पनि शास्त्रमा बोक्सीको हुलिया ठ्याक्कै त्यस्तै पढेको र सुनेको थियो !

    खैर, पुस्तक लेखन कार्यले मेरो चेतनामा आमूल परिवर्तन ल्याइदियो । म कट्टर धार्मिक र परम्परावादी मान्छे, क्रान्तिकारी हुन पुगे । क्रान्तिकारी हुनु भनेको मूलतः परिवर्तनकारी अर्थात् अग्रगमनकारी हुनु हो । परिवर्तनकारी हुनु भनेको अर्को अर्थमा परम्परा, रुढिवादी र अन्धविश्वासी नहुनु हो । तर, हामीकहाँ परिवर्तनकारी हुनु भनेको हत्यारो हुनु हो जस्तो जबरजस्त भाष्य निर्माण गर्न खोजिन्छ ।

    परिवर्तनकारी हुनुको अर्थ आजभन्दा भोलि, भोलिभन्दा पर्सि एकपछि अर्को राम्रो अवस्था निर्माणमा समर्पित हुनु हो । परिवर्तनकारी हुनुको अर्थ समानता र बराबरीको पक्षमा दृढतापूर्वक उभिनु हो । समानता र बराबरीको मुद्दा माओवादी आन्दोलनले स्थापित गरेको हो ।

    त्यसकारण म माओवादी हुन पुगेँ । माओवादी भएकोमा मलाई गर्व छ किनकि वैज्ञानिक दृष्टिकोण, परिवर्तन, मानव जातिको अग्रगतिको अर्को नाम नै माओवादी हो । मेरो जीवनमा यहाँ विश्वविख्यात प्रगतिशील तथा महिलावादी लेखिका सिमोनको भनाइ ठ्याक्कै मेल खाएको पाउँछु ।

    उनी भन्छिन्, ‘जीवनलाई सहज बनाएर हैन, बरु जोखिम मोलेर मानिस जनावरको स्तरबाट माथि उठ्न सक्छ ।’ तर, पुरानो चेतनाले नयाँ कुरालाई हेर्दा यहाँ कतिपय मानिस माओवादी आन्दोलनलाई दुत्कार्छन्, जुन ठूलो दृष्टिदोष हो ।

    एकैछिन माओवादीलगायत केही परिवर्तनकारी आन्दोलनलाई अर्को ढंगले हेरौं त ! मानौं, प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलन नभएको भए अहिले के हुन्थ्यो होला ? स्पष्ट छ, देशमा हिन्दू राजतन्त्र भैरहन्थ्यो । महिला, मधेसी, दलित, थारु, अल्पसंख्यक, गरिब आदिले हीनताको जीवन बाँचिरहेका हुन्थे । स्वतन्त्रपूर्वक बोल्न, लेख्न, अधिकार माग्न पाइँदैनथ्यो ।

    यस्तै बीपी र पुष्पलालको नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन नभएको भए के हुन्थ्यो होला ? स्पष्ट छ, राणाहरुले मोजमस्तीका साथ शासन गरिरहेका हुन्थे । सतीप्रथाका नाममा महिला ज्युँदै जल्न बाध्य भइरहेका हुन्थे । तर, चन्द्रशमशेर राणा जस्ता केही मानवताका पक्षधर मानिसको जन्मले महिला ज्युँदै जल्नुपर्ने कारुणिकताको अन्त्य भयो ।

    बीपी र पुष्पलाल जस्ता परिवर्तनकारी मानिसको जन्मले अत्याचारी राणा शासनको अन्त्य भयो भने प्रचण्ड जस्ता नेताको जन्मले सामन्ती राजतन्त्रको मात्र अन्त्य गरेन, हजारौं वर्षदेखि जनावरस्तरको जीवन बाँचिरहेका नागरिकलाई बोल्न र अधिकार माग्न सक्ने बनायो । अतः आफूले आफैलाई एकपटक प्रश्न गरौं, परिवर्तनकारीहरु हत्यारा हुन् वा मानव जातिको अग्रगतिका लागि अपरिहार्य मान्छे ?

    शास्त्रीय चेतबाट निर्देशित भएपछि माओवादी त के बुद्धलाई समेत महामानव हैन परिवारलाई धोखा दिने धोखेबाज देख्न पुगिन्छ ! ग्यालिलियो ग्यालिली र चाल्स डार्बिन जस्ता वैज्ञानिकलाई मानव जातिलाई अतुलनीय योगदान गर्ने असामान्य मान्छे हैन समाजको विश्वासविरुद्ध बोल्ने समाज भँडुवा देख्छ !

    परिवर्तनकारीलाई दुत्कार्ने मानिस गन्तव्य (लक्ष्य) विहीन हुन्छ । उसको जीवनको गन्तव्य नै हुँदैन । गन्तव्य नभएपछि गति हुने कुरै भएन । त्यसकारण उसको दुर्गति हुन्छ अर्थात् आम मानिसको भन्दा फरक प्रगति हुँदैन । भलै, त्यस्ता मानिसको पनि एउटा लक्ष्य चाहिँ हुन्छ । त्यो हो, मरेपछि कथित स्वर्ग पुग्ने ! त्यही भएर ऊ पशुपतिका जोगीको लिङ्ग पखालेको पानीलाई शिव लिङ्गको पानी ठानेर पिउने र बाँदरबाट आशीर्वाद लिन टाउको थाप्ने ठाउँमा पुग्छ वा त्यस्ता कुरामा विश्वास गर्छ ।

    पुष्टीकरण पूर्वाग्रहलाई नभत्काएसम्म मानिसले नयाँ कुरा स्वीकार्न, सोच्न, प्रयोग गर्न र जीवनको सार्थकता अर्थात् गन्तव्य पैल्याउनै सक्दैन । यो मनोविज्ञानलाई नभत्काएसम्म कुनै पनि मानिस सफलताको हकदार बन्नै सक्दैन । पुष्टीकरण पूर्वाग्रबाट मुक्त नभएसम्म मानिसले क्रान्तिकारीलाई परिवर्तनकारी हैन हत्यारो नै देख्छ ।

    यो प्रजातिका मानिसले तथ्य (सत्य) लाई अस्वीकार गर्छ र मानी आएको कुरा छोड्न सक्दैन । त्यस्ता मानिस अपडेट हुन चाहँदैन । यस्तो मनोविज्ञानलाई मनोवैज्ञानिकले ‘पुष्टीकरण पूर्वाग्रह’ भएको मानिस भन्दछन् । यो मनोविज्ञान नै प्रायः मानिसको दुर्गतिको कारण हो ।

    पुष्टीकरण पूर्वाग्रहलाई नभत्काएसम्म मानिसले नयाँ कुरा स्वीकार्न, सोच्न, प्रयोग गर्न र जीवनको सार्थकता अर्थात् गन्तव्य पैल्याउनै सक्दैन । यो मनोविज्ञानलाई नभत्काएसम्म कुनै पनि मानिस सफलताको हकदार बन्नै सक्दैन । पुष्टीकरण पूर्वाग्रबाट मुक्त नभएसम्म मानिसले क्रान्तिकारीलाई परिवर्तनकारी हैन हत्यारो नै देख्छ ।

    जो हामी परिवर्तनकारी मानिसको विरोध गर्छौं, यसको अर्थ तपाईं महिलाले पुरुष बराबर अधिकार पाउनै हुँदैन भन्ने मान्छे हो ? के तपाईं मधेसीलाई भारतीय देख्ने मान्छे हो ? के तपाईं दलित कुनै फरक प्रजातिको मानिस नभएर हिन्दू धर्मको उपज हो भन्ने थाहा नपाएको मानिस हो ? के तपाईं मानवताको पक्षधर हैन ? तपाईं स्थायी शान्ति र देश विकास हुनुपर्छ भन्ने मान्छे हैन ? यदि हैन भने तपाईं यो धर्तीका लागि आवश्यक मान्छे नै हैन । यदि त्यसो हैन भने तपाईं पनि क्रान्तिकारी अर्थात् परिवर्तनकारी मान्छे नै हो । तसर्थ तपाईंले परिवर्तनकारी मान्छेलाई दुत्कार्न सुहाउँदैन ।

    अन्तमा, मानव जातिको अग्रगतिका लागि हरेक नागरिक आफै परिवर्तनकारी हुनुपर्छ । परिवर्तनकारी हुन नसके पनि परिवर्तनकारीलाई मलजल गर्नु पर्छ, उत्साहित र प्रोत्साहित गर्नुपर्छ । परिवर्तनकारीलाई दुत्कारेर परिवर्तन रोकिन्छ वा रोकियो ? रोकिएको भए आजको भव्य र सानदार जीवन हामीले देख्न पाउँन्थ्यौं ? हाम्रो हातमा स्मार्ट फोन हुन्थ्यो ? हुँदैनथ्योे नि ! यति हो, परिवर्तन ढिलो हुन्थ्यो । तर, हुन चाहिँ हुन्थ्यो ।

    तपाईं हामी सबै परिवर्तनकारी हुने हो भने पर्सि हुने परिवर्तन भोलि नै हुन्छ, भोलि हुने आजै हुन्छ, आज हुने अहिल्यै हुन्छ । यो सबै हुँदा तपाईं हाम्रो के जान्छ ? बरु हाम्रा नातिनातिनाको समयसम्म मात्र देख्न र भोग्न पाउने परिवर्तन र उपलब्धि हामीले नै देख्न र भोग्न पाउँछौं । यसमा थप प्रस्ट हुन, हामी नेपालबाट लोडसेडिङ सदाका लागि हटेको उदाहरणलाई हेर्न सक्छौं । कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनबाट रोक्न एउटा तप्काले कति धेरै तागत लगाएको थियो ? तर, प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा तमाम विरोधलाई छिचोल्दै अन्ततः कुलमानलाई कार्यकारी निर्देशक बनाइयो । फलतः नेपालबाट लोडसेडिङ सदाका लागि अन्त्य भयो ।

    कुलमानलाई निर्देशक बन्नबाट जसरी पनि रोकेको भए के हुन्थ्यो ? के नेपालबाट कहिल्यै लोडसेडिङको अन्त्य हुँदैनथ्यो ? हैन, हुन्थ्यो तर यति चाँडो हुँदैनथ्यो । ठीक त्यस्तै हो, परिवर्तनको कुरा पनि । त्यसकारण हामी सबै परिवर्तनकारी भएर हाम्रा सन्ततिको उज्ज्वल भविष्यका लागि योगदान गर्ने कि ?

     

  • माइली काकीको अवसानपछि उजाडिएका माइला बा

    माइली काकीको अवसानपछि उजाडिएका माइला बा

    माइला बाबै भन्नुहुन्छ, ‘कोहिनुर हिरा खोज्न बेलायत र अमेरिका जानुपर्दैना । पुलिक खोज्न चिहानघारितिर हरेक रात राँको बालेर लुकिलुकी हिँड्नुपर्दैन । जाडोयाममा थरर काम्दै पारी गाउँमा ठूलो आगो बलेको देखेर खाली खुट्टै दौडिनुपर्दैन । केबल घुर्यान बारिमा तोरि छर्नलाई ठुलो कोदालो छानेर दुईचार चपरा हानेमा जाडो त्यसै भाग्छ । बादल पानीमा परिणत भए जस्तो चिसो जाडो एक्कासी पसिना बन्छ ।

    वनभरिको पत्कर सोहोर्दै, स्याउला काट्दै, घाँस काट्दै गाइवस्तुको ओछ्यानसम्म पुर्याए अथाह मल निस्कन्छ । अनि घिमिरे गाउँको मात्रै ठुल्ठुलो घोगा मकैको बखान गर्नुपर्दैन । न त महाअनिकाल लागेर औंसी र पुर्णेमा मानेभञ्ज्याङमा लाग्ने बजारमा बेसाहा खोज्नु नै जानुपर्छ ।’

    यति भनिसकेर माइला बाबै त्यही मकैको थाक्रोमुनि चोयाले दाँत कोट्याउँदै बसेर आफ्नो भोगाइ सुनाइरहनुभएको छ ।

    ‘गाउँघरको बिहेमा सारा गाउँले छमछम नाचिरहेको बेला पिँढीमा बसेर हेरिरहेकी काकीले नमान्दा पनि तानेर ‘आ …..कराए गीतै भो ! उफ्रे नाचै भो । नाच्नु अप्ठ्यारो नमानी दुईदिने चोलामा’ भन्दै जबर्जस्ती नचाएजस्तै हलुको छैन जिन्दगी,’ बाबै थप्नुहुन्छ ।

    माइला बाबै हातमा खैनी माड्दै त्यो समयमा पुगेर छलाङ मार्न थाल्नुभयो ।

    बुबा–आमा बेलैमा बितेपछि एक श्रीमती र दुई छोराहरुलाई लिएर ४० औं वसन्त पुगेसकेका माइला बाबै खोटाङको माटोमा अनवरत रूपमा हिँडिरहनु भएको थियो । वर्षभरी खान पुग्दैन थियो । बेलाबेला श्रीमतीसहित गाउँमा सघाउन जाँदा छोराहरु भने गोठमा बाँधेको साना पाडा र दुई माउ खुकुरालाई घाँसपानी दिएर बस्थे ।

    दिनभर सघाएर बेलुकी खाना खाने प्रस्ताव अस्वीकार गर्नुहुन्थ्यो । गाउँको परम्पराअनुसार कसैकोमा खेताला गए खाना अनिवार्य खुवाउनुपर्छ, नत्र खाना नखाए चामल भए पनि दिनुपर्छ । त्यही चामल लिएर स–परिवार खाना बनाएर खाने गर्थे बाबै । माइली काकीले घाँस काट्न जाँदा, दाउरा काट्न जाँदा, मल बोक्न जाँदा, छोराहरूलाई कहिले ऐँसेलु, कहिले किम्भु त कहिले कटुस टिपेर ल्याइदिनुहुन्थ्यो ।

    ‘गाउँघरको बिहेमा सारा गाउँले छमछम नाचिरहेको बेला पिँढीमा बसेर हेरिरहेकी काकीले नमान्दा पनि तानेर ‘आ …..कराए गीतै भो ! उफ्रे नाचै भो । नाच्नु अप्ठ्यारो नमानी दुईदिने चोलामा’ भन्दै जबर्जस्ती नचाएजस्तै हलुको छैन जिन्दगी,’ बाबै थप्नुहुन्छ ।

    माइली काकी घरमा आएर छोराहरूलाई कटुस दिइसकेपछि घाममा चोया कातिरहेको माइला बाबैलाई एक डबको जाँड छानेर लगिदिनुहुन्थ्यो । बाबैले जाँड एकै सासमा टनटनटन पारेर स्वाट्टै पारिरहँदा काकीले ‘फेरि ल्याँऊ’ भनेर सोध्नुहुन्थ्यो । बाबै भन्नुहुन्थ्यो, ‘पर्दैन ।’ अनि फेरि चोया काढ्न सुरु गर्नुहुन्थ्यो ।

    एकदिन दशैंको बेला थियो । गाउँभरिको मान्छे बिहानै डोकोमा मकैको सातु र सुठुनीको गुलियो जाँड बोकेर ३तीनचार घण्टाको बाटो कमेरो लिन गएइ । माइली काकी पनि जानुभयो । घरलाई बेहुली जस्तै सिंगारेर सेतो बनाउनु छ । सुन्दर बनाउनु छ । सबै गाउँले लहरै लामबद्ध भएर खेतको डिलैडिल हिँडे ।

    त्यो मनमोहक र आनन्दित दृश्यलाई रुपाकोट डाँडा र ट्याम्के डाँडाले पनि हेरिरहेको थियो । पहाडको भित्ताहरुमा सजिएका फूलहरुले पनि देखेको थियो कमेरो लिन हिँडेका गाउँलेहरुलाई । अनि बाटोखेत को सिरानमा धान गोड्ने एक हुल खेतालाहरुले पनि हेरेकै हो ।

    घर रंगाउने उमंग र उत्साहले कमेरो बोकेको डोकोहरु पिंधमात्र भरिएर फर्किएको थियो साँझतिर ।

    घर आएर काकीले कमेरोलाई आँगनको छेउमा मात्रै के राख्नुभएको थियो, उनलाई एक्कासी पेट दुख्यो । रिंगटा लाग्यो । बमिट गरिन् । बाबै भने काममा जानुभएको थियो । अलि ढिला गरेर बाबै घर आइपुग्नुभयो । घर आइपुग्दा त दुई छोराहरुको आमा, आफ्नी श्रीमती यो संसारबाट बिदा भइसकेकी छे । साससहितको, भावनासहितको यात्रालाई पूर्णविराम लगाइछे । पाँच र छ कक्षामा पढ्ने अवोध सन्तानलाई बाबैको जिम्मा लगाएर दुनियाँबाट बिदा भइसकेकी छे ।

    डेढ वर्षअघि मात्रै काकीको पेटको उपचार गरिएको थियो । डाक्टरले त्यसवेला भनेका थिए, ‘गह्रौं कामहरु नगर्नू, तागतिलो खानेकुराहरु खानू ।’

    डक्टरको सल्लाह सायद बिर्सिइन् काकीले ।

    उपचारमा २० हजार रुपैयाँ खर्च भएको थियो । छिमेकहरुसँग ऋण काढेर उपचार गरिएको थियो ।

    काकीको मृत्यु भएको केही समयपछि नै बाबैको घरको जिम्मेवारीहरु हेरफेर भयो । घरको काम जेठा छोराले जानी नजानी, सकिनसकी सम्हाल्नुपर्यो । कान्छा छोराले भने जेठाले गर्दै आएको आगो फुक्ने काम स्वतः जान्यो । माइला बाबै भने सधैं छोराहरूको अघि जबर्जस्ती मुस्कुराउन, रमाउन, भुलाउन खोजिरहनुभयो । बेलाबेला एक्लै बुइकलमा पस्नुहुन्थ्यो । अथवा परको खेतमा जानुहुन्थ्यो । एक्लै आँसु सिद्धिनेगरी रुनुहुन्थ्यो । छोरा मान्छेहरु सकभर रुँदैनन्, रुनैपरे एकान्तमा गएर बोल्नै गाह्रो हुनेगरी रुन्छन् ।

    काकीको उपचारका लागि लिएको ऋणको भाका पनि सकियो । साहुहरु दिनदिनै बाबैको घरमा धाउन थाले । छिनछिनमै हकार्न थाले । गाली गर्न मिल्ने, नमिले सबै गाली गरे । भनिन्छ नि, संसारमा दुई चिजले कहिल्यै माफ गर्दैन, ऋण र मृत्यु । जुन समय पुगेपछि कसैको केही लाग्दैन ।

    विस्तारै माइला बाबै मैखी माड्ने (मडुवा खैनी)को लतमा परे । पीडालाई बिर्सन हो या मनलाई हलुको बनाउन, वेलावेला खैनी माडेर खान्छन् । गाउँमा कसैको घरमा काम परे बाबैलाई नै बोलाउँछन् । गाउँभरिको परेको काम गरिदिने उनको एकलौटी ठेक्का छ । जोतिदिए वापत् दुई सय पचास, दाइँ गर्न सघाए वापत् एक भारी पराल, र एक सय रुपैयाँ ल्याएर छोराहरुका लागि खर्चिनुहुन्थ्यो ।

    दुई छोराहरुको उज्वल भविष्यको कल्पना गरेर, हड्डी खियाएर, पसिना बगाएर र वेलावेला थकाइलाई भुलाउन कट्टुको गोजीबाट खैनी झिकेर माडेर एकोहोरो सोच्दै समय बितेर जाँदै थियो बाबैको ।

    तर, काकीको उपचारका लागि लिएको ऋणको भाका पनि सकियो । साहुहरु दिनदिनै बाबैको घरमा धाउन थाले । छिनछिनमै हकार्न थाले । गाली गर्न मिल्ने, नमिले सबै गाली गरे । भनिन्छ नि, संसारमा दुई चिजले कहिल्यै माफ गर्दैन, ऋण र मृत्यु । जुन समय पुगेपछि कसैको केही लाग्दैन ।

    दिनेसेम्पाको गोठ बाँध्न सघाउन जाँदा होस् या रुपेसेम्पाको घर भत्काउन जाँदा होस् या धनेम्पाको घरमा काठ बोक्न जाँदा, बाबैको पछि लाग्न साहुले छाडेन । पछिपछि त भन्न थाले, ‘माइला बाबैले सघाएको पैसा कसैले त्यसलाई नदेऊ है, मलाई देऊ ।’

    तर, गाउँलेले साहुको कुरा मान्दैनन् । मजदुरी गर्नेकै हातमा दिए मात्रै हामीलाई आनन्द आउँछ भनेर बाबैसँग पैसा माग्नु भनेर भनिदिन्छन् । एक दिन मनेम्पाको घरमा सघाएर एक सय रुपैया बाबैले लिन के लागेका थिए, साहु त्यहीँ आएर थर्कायो, ‘त्यो सौ पैसा यहाँ ले ।’

    तथानाम गाली गर्न पनि थाले । अनि बाबै खान लागेको जाँड छेउमा सार्दै थुचुक्क बसे । खैनी माड्दै माफ मागेर भने, ‘दाजै म पैसा दिन्छु जसरी पनि । तर, यसै दिन चाहिँ भन्दिनँ ।’

    यसपछि साहु नबुझिने गरी गाली गर्दै उकालो लाग्यो ।

    पैसा माग्दा माग्दा हत्तु भएर अब घरमा जे छ, त्यही उठाउने निर्णयमा पुगे । एक दिन बिहानै तीनजना मान्छे लिएर बाबैको आँगनमा आइपुगे । हिसाब गर्न थाले । र अन्तमा केही नबोली बिहानको घाँस खाइरहेको भैंसीको पाडोलाई खोलेर दुईजना हिँडे । दुईजनाले कुनामा लडाएर राखेको सखुवाको थाम बोकेर हिँडे । साहुले भने, ‘ल माइला, हिसाबकिताब राफसाफ भयो । गरिखा ।’

    बाबै केही बोल्न सकेनन् । सखुवाको थाम राखेको ठाउँ र पाडो बाँधेको किला हेर्दै फेरि खैनी माड्न थाले ।

    १६–१७ वर्षपछि घडीको सूई लाखौंपटक घुम्यो । गाउँमा धेरै पुर्खाहरु बितेर गए । कत्ति बच्चाहरु हुर्किसके । कयौंपटक ट्याम्के डाँडाको हिँउ पग्लिँदै भरिँदै गरिसक्यो । आँगनको शिरिषको फूल कयौंपटक फुल्दै झर्दै गरिसक्यो । त्यो वेलाको मूलबाटो चोरबाटो बनिसक्यो । त्यो वेलाको चोरबाटो मुलबाटो बनिसक्यो । बाबैको दैनिकी र जीवनशैली पनि बदलियो । मेवा खोलाको पानीको आवाज मात्रै उस्तै छ ।

    बाबैको छोराहरु ठूला भइसकेका छन् । जेठो छोरो गाउँकै स्कुलमा शिक्षक भइसकेको छ । कान्छोले खरिदार पदमा भर्खरै नाम निकालेर पोस्टिङ भएको छ ।

    अस्ति भर्खरै मात्रै गाउँमा बाबैसँग भेट भयो । बाबैको त्यो वेलाको अनुहार र अहिलेको अनुहारमा धेरै बदलाव भइसकेको छ । अनुहारमा चाउरी पर्दैै गएछ । दाँतहरु बिस्तारै झर्दै गएछन् । कपाल सेतो हुँदै गएछ ।

    बाबैले लामो सास तानेर भन्नुभयो, ‘केटा हो, मैले जीवनमा धेरैथोक भोगेँ । तर, कहिल्यै हिम्मत हारिनँ । आफ्नो मनलाई कहिल्यै कमजोर बनाइनँ । जीउ छाडिनँ । सधैं आत्मबललाई बलियो बनाएर अगाडि बढेँ । दुई केटाहरुलाई नांगो बनाइनँ । भोकै बनाइनँ । गरिखान सक्ने बनाएँ । जिन्दगीमा कुनै पनि कुरासँग गुनासो छैन । तर, माइलीलाई चाहिँ बेलै नभइ गुमाएँ । उसको सम्झनाले वेलावेला पिरोल्छ । सधैं सपनामा आउँछ, जाँड छानेर दिन्छ । छोराहरुलाई ख्याल गर है भन्छ । अनि त्यो तिमी र मैले एक दिन खन्नु सघाएर ल्याएको पैसा र ४ वटा भाले बेचेर किनेको पाडा कत्रो भयो भने सोध्छ । म यत्तिकैमा ब्युँझन्छु ।’

    बाबैको आँखाभरि आँसु जम्मा हुन्छ । आँसुलाई चुहिन नदिन शिरबाट ढाकाटोपी फुकालेर आँसु पुछ्नुहुन्छ । अनि लौरो टिपेर भोटोको गोजीबाट खैनी झिकेर माड्दै भन्नुहुन्छ, ‘म खेततिर लागेँ है केटा हो । भरै भोलि फेरि गफ गरुमला ।’

  • स्वप्नील स्मृतिको कविता: पुरानो मजदुर

    स्वप्नील स्मृतिको कविता: पुरानो मजदुर

    जदौ हजुर !
    म पुरानो मजदुर
    उहिले–उहिले
    धेरै जोर जुत्ता सिलाएको थिएँ मैले ।

    सुन्ना नम्बरको
    एकजोर जुत्ता
    सुनको सिलाएको थिएँ सुनको,
    ठ्याक्क मिल्यो ईश्वरको बैगुनी खुट्टामा
    सुकुलगुण्डा भएर त्यही जुत्तामा
    ईश्वर भित्र पस्यो
    र मेरो लागि सदैव बन्द भयो मन्दिरको दैलो ।

    पाँच नम्बरको
    अर्कोजोर जुत्ता
    आप्mनै छाला सिलाएको थिएँ आफ्नै छाला,
    त्यो चाहिँ बादशाहको खुनी खुट्टामा मिल्यो
    त्यही जुत्ताले राजमार्ग बनाउँदै मेरो छाती
    अभैm पनि दरबार सवार हुन्छन् उसका दरसन्तान ।

    चुक्ता गरेन बादशाहले जुत्ताको निमेक
    उसको छोराले
    उसको बाबुले
    उसको बाजेले
    उसको बराजुले
    उसको सारा साखा सन्तानले
    बर्बर कुल्चेका छन्
    सित्तैमा मेरो मूल्यवान् जिन्दगी ।

    म पनि मान्छे न हुँ
    भोक लाग्छ,
    श्रीमतीलाई फुरुङ्ग पार्न मन लाग्छ
    मजबुरी सम्झायो कि
    उल्टै जुत्ताको तलुवा चाट्ने
    हुकुम छ हराम बादशाहको ।

    हजुर जदौ !
    अब मेरो शरीरको देशमा
    बाँकी छैन कुनै छाला
    छ त चट्टानजस्तो कङ्कालमात्र बाँकी छ
    तैपनि,
    श्रीमतीको, छोरा–छोरीको
    स–परिवारको छाला उधारेर
    केही जोर जुत्ता सिलाएको छु भर्खरै
    जो, तुरुन्तै मिलेको छ ब्वाँसाहरुको खुट्टामा ।

    ब्वाँसाहरु–
    तिनै चमकदार जुत्तामा
    हेर्दै आफ्नो अनुवाङ्शिक कुरुपता
    खुब् फूर्तीसाथ छिरेका छन् सिंहदरबार
    र आपराधिक ठट्टा गरिरहेछन्
    ‘खुट्टा भएपछि जुत्ता जति पनि पाइन्छ’

    तकिया हालेर एक अर्काका दुर्गन्धित खुट्टा
    देखिरहेका छन् तिनीहरु
    बाघ पालेर छाला उद्योग सञ्चालन गर्ने दिवा–स्वप्न
    र खेलिरहेका छन् त्यही जुत्ताले
    सहिदका टाउकालाई भकुण्डो ।

    हजुर जदौ !
    म पुरानो मजदुर
    जिन्दगीमा
    टेकिएर जुत्तामुनि जति जुत्ता सिलाए पनि
    सबै जुत्ता तिनीहरुकै खुट्टामा मिल्यो
    जसले मलाई निरङ्कुश पदचापले टेके
    जसले मलाई अछुत भनेर
    जुत्तैजुत्ताले हिर्काएर घरबाट लखेटे
    ईः हेर्नोस्, नेपालको नक्साजस्तो मेरो पाइताला
    सियोभन्दा तीखो इतिहास बिझेको घाइते खुट्टा
    सोभियत रुसजस्तो चिरा–चिरा हाड–छाला
    हेर्नोस्, सिम्टाजस्तो सुख्खा–सुख्खा कुर्कुच्चा

    म अब,
    भाग्न सक्दिन योभन्दा प…र
    टेक्न सक्दिन नाङ्गो खुट्टाले धारिलो हिउँ
    भर्खरै मात्र डढेलो निभेको
    मेरो स्वप्न यात्राको उकाली ओरालीमा
    खाली पाइतालाले
    कति कुल्चिउँ आगोको भुङ्ग्रो
    कि यो मर्नेबेला
    म मेरो सीप देखाउन चाहन्छु
    एकजोर नयाँ जुत्ता सिलाउन चाहन्छु
    त्यो एकजोर जुत्ता चाहिँ
    म आफैँ लगाउन चाहन्छु
    खोई कहाँ छ बादशाहको छाला ?
    खोई कहाँ छ बादशाह ?
    खोई कहाँ छ ? खोई कहाँ ? खोई ?

  • कविता: असल नेताको खाँचो

    कविता: असल नेताको खाँचो

    युगीन बँच्ने अनि बचाउने
    असल नेताको छ खाँचो ।

    स्वधीन अनि गौरवमय बनाउने
    असल नेताको छ खाँचो ।

    नेपाल भूमिमा नेपालीपन जगाउने
    असल नेताको छ खाँचो ।

    मनमा सधैं राष्ट्र जोगाउने
    असल नेताको छ खाँचो ।

    पूर्खाको वीरतालाई गाँसिरहने
    असल नेताको छ खाँचो ।

    मेरो होइन हाम्रो बोली बोल्ने
    असल नेताको छ खाँचो ।

    गङ्गाको मुहान रसाइ रहन दिने (नसुकाउने )
    असल नेताको छ खाँचो ।

    फलदायी, दूरदृष्टि बाटो लम्काइरहने
    असल नेताको छ खाँचो ।

    समृद्धि पुस्तौपुस्ता डोहोर्याइने
    असल नेताको छ खाँचो ।

    जीवनदृष्टि साक्षात बनाउने
    असल नेताको छ खाँचो ।

    यो देशको भूमिलाई चिनाइरहने
    असल नेताको छ खाँचो ।

    चन्द्र र सूर्यको त्रिकोणात्मक झण्डा फहराउने
    असल नेताको छ खाँचो ।

    सुनौला अक्षर शिलामा चम्काइरहने
    असल नेताको छ खाँचो ।

    देश, देशबासीको सारथि बन्ने
    असल नेताको छ खाँचो ।

    रणभुल्लमा दास बनाउने होइन, रक्षक बन्ने
    असल नेताको छ खाँचो ।

    इतिहासको डोबमा नयाँ डोब बनाउने
    असल नेताको छ खाँचो ।

  • बालेनलाई खुल्लापत्र : राजनीतिको ग्ल्यामर छोड्नुस्, पार्टी खोलेर आउनुस्

    बालेनलाई खुल्लापत्र : राजनीतिको ग्ल्यामर छोड्नुस्, पार्टी खोलेर आउनुस्

    प्रिय बालेन जी ! नमस्ते । पछिल्लो करिब महिना दिन यता सामाजिक सञ्जालमा अधिक चर्चामा रहेको पात्र भएकाले तपाईँप्रति मेरो पनि स्वाभाविक चासो रहेको हो । यसर्थ पनि यो पत्र लेख्दै छु । हुनतः म एउटा राजनीतिक संगठनको सदस्य पनि भएको हुँदा चिठीमा लेखिएका सबै विषय तपाईँ र तपाईँका समर्थकका निम्ति रुचिकर नहुन पनि सक्ला । तर, साँच्चै तपाईँ राजनीतिक नेतृत्वमार्फत मुलुक रूपान्तरणको यात्रामा लाग्नुभएको हो भने यो पत्र पढ्ने समय निकाल्नुहुनेछ भन्ने विश्वास छ ।

    काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा भएसँगै एकाएक तपाईँको चर्चा बढ्यो । र्यापर तथा इन्जिनियरको पृष्ठभूमि भएको व्यक्तिले काठमाडौं महानगरलाई विकासको नयाँ उचाइमा लैजाने घोषणा सहित मैदानमा उत्रिएपछि धेरैको आँखा तपाईँमा पर्‍यो । सामाजिक सञ्जाल र त्यहाँ क्रियाशील युवा र किशोर किशोरीमाझ त तपाईँ देश बनाउने ‘नायक’का रूपमा नै उदाउनुभयो । कतिपय राजनीतिक दल र तिनका सदस्यले पनि खुलेर तपाईँलाई समर्थन गर्नुपर्ने धारणाहरू अभिव्यक्त गर्न थाले । एक दृष्टिकोणबाट हेर्दा यो साँच्चै रोचक र उत्साहप्रद पनि देखिएको छ ।

    बालेन जी, तपाईँले चुनावमा कस्तो नतिजा ल्याउनुहुन्छ भन्ने त चुनाव पछि नै थाहा होला । तपाईँप्रति व्यक्तिगत रूपमा अधिकांशको झैँ मेरो पनि शुभेच्छा नै छ । तर, यहाँ प्रश्न बालेनको मात्र होइन । प्रश्न त राजनीतिले नै थिलथिलो बनाएको समाज र त्यसबाट मुक्ति दिलाउने सत्प्रयास र सत्मार्ग कसरी पहिल्याउने भन्ने हो ।

    राजनीतिक अकर्मण्यता, भ्रष्टाचार र गैरजिम्मेवारीपनले जर्जर बनाएको हाम्रो देश र समाजलाई के एउटा व्यक्तिको प्रयासबाट सुधार गर्न सकिएला ? बालेनले राजधानी नै कायापलट गर्न सक्छन् भन्ने सदिच्छा वा भ्रम राख्ने नागरिक र बुद्धिजीवीहरूलाई मेरो जिज्ञासा छ, के संस्थागत, संरचनागत भ्रष्टाचार र अकर्मण्यताका कारण तन्नम भएको व्यवस्था सुधार गर्न एउटा गैर राजनीतिक व्यक्ति काफी छन् त ? होला, बालेन जी व्यक्तिगत रूपमा इमानदार, दूरदर्शी र सक्षम पनि हुनुहोला । तर, के महानगरपालिकामा रूपान्तरण ल्याउन मेयर एउटाको इमानदारिताबाट मात्र सम्भव होला ? राजनीतिक आरोह अवरोहका जानकारहरूले पनि संगठनमा नभई व्यक्तिप्रति यति धेरै अपेक्षा गर्नुले कि त उनीहरूको बुझाई सतही देखिन्छ । या त उनीहरू पनि राजनीतिक समस्याको पिँधमा नपुगी ‘ग्ल्यामर’को पछाडि मात्र लागेका छन् ।

    बालेन जी तपाईँले अहिले काठमाडौं महानगरको सुधार गर्ने जस्ता प्रतिवद्धताहरु गर्नुभएको छ । त्योसँगै महानगर के कारणले गर्दा बिग्रियो भन्ने विषयमा ठोस विश्लेषण गरेको पाइएन । सायद, तपाईँलाई थाहा छ राजधानी सधैँ परिवर्तनको भोको छ । मानिसहरू सपना देख्न र सुन्न रुचाउँछन् । सपना बाँड्न सजिलो पनि हुन्छ । व्यालेटबाट हुने परिवर्तनलाई जहिले पनि आसपासले नभै केन्द्रले नेतृत्व गर्छ ।

    कुनै पनि क्षेत्र, भूगोल वा समग्र समाजको सुधार गर्न पहिले त्यसलाई बिगार्ने कारक तत्त्वहरूका बारेमा विश्लेषण गर्नु श्रेयष्कर हुन्छ । समस्याको पहिचान बिना समाधान सम्भव छैन । तर, बालेन जी तपाईँले अहिले काठमाडौं महानगरको सुधार गर्ने जस्ता प्रतिवद्धताहरु गर्नुभएको छ । त्योसँगै महानगर के कारणले गर्दा बिग्रियो भन्ने विषयमा ठोस विश्लेषण गरेको पाइएन । सायद, तपाईँलाई थाहा छ राजधानी सधैँ परिवर्तनको भोको छ । मानिसहरू सपना देख्न र सुन्न रुचाउँछन् । सपना बाँड्न सजिलो पनि हुन्छ । व्यालेटबाट हुने परिवर्तनलाई जहिले पनि आसपासले नभै केन्द्रले नेतृत्व गर्छ । दैनिक जीवनका अनगिन्ती समस्याहरूले निस्सासिएको राजधानी धेरै पहिलेदेखि नै विकल्पको खोजीमा छ । राजधानी यथास्थितिबाट यथाशीघ्र मुक्ति चाहन्छ ।

    डेढ दशकयता कै चुनावको विश्लेषण गर्ने हो भने पनि २०६४ मा माओवादीले गरेको क्लिनस्विप हेर्न सकिन्छ । त्यसको ६ वर्षमै राप्रपा नेपालले ल्याएको भोट र २०७४ को स्थानीय निर्वाचनमा रञ्जु दर्शना र किशोर थापाको भोटले पनि राजधानीवासी एकपछि अर्को विकल्पका निम्ति उद्धत देखिन्छन् । तर, त्यो चाहना कुनै एउटा अमुक व्यक्तिको जीतले पुरा हुनै सक्दैन । होला, केही लोकप्रिय कदमहरू चाल्न सकिएला । तर, हाम्रो मात्रात्मक अव्यवस्थालाई सुधार्न त्यो खासै सहयोगी हुन सक्दैन ।

    बालेन जी, तपाईँ राजनीतिक ‘ग्ल्यामर’ मात्र चाहनुहुन्छ भने तपाईँको अहिलेको यात्रा गज्जब छ । तर, व्यवस्थागत त्रुटिहरू सुधार गरेर समाज रूपान्तरण नै गर्न चाहनुहुन्छ भने तपाईँले संगठनात्मक अभ्यास गर्नै पर्छ । ढिलो वा चाँडो । सबै वडाका अध्यक्ष, सदस्य, नगरका उपप्रमुख र कर्मचारीतन्त्र उही पृष्ठभूमि र उही चरित्रको हुँदासम्म तपाईँका सदिक्षाहरु पूरा गर्न त परै जाओस् तपाईँले सुरुवातसमेत गर्न गाह्रो छ ।

    हाल देशको समस्या भनेको संरचनागत र प्रणालीगत असक्षमता हो । जस्तै, भ्रष्ट राजनीतिक नेतृत्व, व्यक्तिवादी र आत्म केन्द्रित बुद्धिजीवी, दलीय आग्रहमा काम गर्ने पत्रकार, वकिलजस्ता पेसाकर्मी र दलीय खेताला बनेका कर्मचारीतन्त्र रूपान्तरणका मूल बाधक हुन् । हाम्रो सामाजिक मनोविज्ञान र चरित्र पनि यस्तै व्यक्तिवादी र स्वार्थी छ । पूर्वजहरूले समाजको हितका निम्ति काम गर्थे, सदाचारको पालना गर्थे तर पत्रकार विजयकुमारले भन्ने गरेझैँ अहिले समाज वैश्य युगमा छ । राजनीतिक, आर्थिक स्वतन्त्रता र विकृत पुँजीवादले मानिसलाई हदैसम्मको आत्म केन्द्रित बनाइदिएको छ । पैसा बिना बाँच्नै नसक्ने अवस्था बन्दा मानिसहरू आफू र आफ्नो परिवारको आर्थिक र भौतिक सुरक्षणमा मात्र केन्द्रित हुनुपर्ने बाध्यता छ । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाजस्ता मौलिक र आधारभूत विषय पैसामा मोलमोलाइ हुँदा भ्रष्टाचार नै गरेर भए पनि यथेष्ट पैसा कमाउनुपर्ने बाध्यता नागरिकमा छ । राज्य पनि उत्पादनमा केन्द्रित नभएर वितरणमा केन्द्रित छ । युवा जनशक्ति निर्यात गर्ने र बसेर खाने उपभोक्तामुखी समाज निर्माण भएको छ । उत्पादन गर्नमा त न राज्यको भूमिका र हौसला छ न त समाज नै यसका लागि सकारात्मक छ । यो सबै अहिलेका मूल समस्याका जड हुन् । विद्यासुन्दर, केपी ओली र शेरबहादुरजस्ता व्यक्तिहरू मात्र देश विकासका बाधक होइनन् । बरु, उनीहरूले निर्माण गरेको संगठन, त्यसको पृष्ठभूमि, स्वरूप र चरित्र विकासका बाधक हुन् ।

    हुन त कतिपय राजनीतिक पार्टीकै कार्यकर्ताहरू पनि बालेनकै पक्षमा बोलेको देखिन्छ । सायद, त्यो उनीहरूको राजनीतिक निराशाको प्रकटीकरण होला वा आफ्नो पार्टीमा पद वा चुनावी टिकट नपाउनुको कुण्ठित अभिव्यक्ति होला । त्यो जेसुकै होस् । आफ्नो ठाउँमा छ । तर, बालेनबाट अपेक्षा गर्ने नागरिकहरूप्रति मेरो सम्मान छ । यो अवस्थामा उनीहरूलाई पुर्‍याउने राजनीतिक दलहरू नै हुन् ।

    यी समस्या समाधानका निम्ति एउटा व्यक्तिको लगावबाट असम्भव प्रायः छ । संस्थागत कमजोरीलाई सुधार गर्न संस्थागत प्रयास नै आवश्यक छ । बहुलवादी राजनीतिक व्यवस्था भएको मुलुकमा राजनीतिले बिगारेका कुरा सुधार्न राजनीतिक संगठन नै आवश्यक छ । राजनीति ग्ल्यामर होइन यो त एउटा संस्थागत र संरचनागत इमानदारिता र दृढताको संगठित स्वरूप हो । लामो संघर्ष र मिहेनतबाट प्राप्त इमानदार र जबाफदेही राजनीतिक नेतृत्वबाट मात्र अहिलेका तमाम समस्याको समाधान हुनसक्छ ।

    बालेन जी, तपाईँ राजनीतिक ‘ग्ल्यामर’ मात्र चाहनुहुन्छ भने तपाईँको अहिलेको यात्रा गज्जब छ । तर, व्यवस्थागत त्रुटिहरू सुधार गरेर समाज रूपान्तरण नै गर्न चाहनुहुन्छ भने तपाईँले संगठनात्मक अभ्यास गर्नै पर्छ । ढिलो वा चाँडो । सबै वडाका अध्यक्ष, सदस्य, नगरका उपप्रमुख र कर्मचारीतन्त्र उही पृष्ठभूमि र उही चरित्रको हुँदासम्म तपाईँका सदिक्षाहरु पूरा गर्न त परै जाओस् तपाईँले सुरुवातसमेत गर्न गाह्रो छ । राजधानीका समस्या राजधानीको मात्र सापेक्ष समस्या होइन । यो त समग्र देशकै समस्या हो । जनघनत्व बढी भएका कारणले राजधानीका समस्या बढीमात्रामा प्रकट भएको मात्र हो । यसर्थ सामूहिक र संस्थागत इमानदारिता र प्रयत्नबाट मात्र यो समस्याको समाधान हुनसक्छ ।

    हुन त कतिपय राजनीतिक पार्टीकै कार्यकर्ताहरू पनि बालेनकै पक्षमा बोलेको देखिन्छ । सायद, त्यो उनीहरूको राजनीतिक निराशाको प्रकटीकरण होला वा आफ्नो पार्टीमा पद वा चुनावी टिकट नपाउनुको कुण्ठित अभिव्यक्ति होला । त्यो जेसुकै होस् । आफ्नो ठाउँमा छ । तर, बालेनबाट अपेक्षा गर्ने नागरिकहरूप्रति मेरो सम्मान छ । यो अवस्थामा उनीहरूलाई पुर्‍याउने राजनीतिक दलहरू नै हुन् । जनतालाई तमाम सपना देखाएर धोखा दिने राजनीतिक नेतृत्वप्रतिको चरम असन्तुष्टि र निराशाका कारण नागरिकहरू बालेनजीबाट अपेक्षा गर्नुपर्ने अवस्थामा पुगेका हुन् । यो नागरिकहरूको कमजोरी होइन बरु राजनीतिकर्मीहरूको असफलताको स्पष्ट द्योतक हो ।

    बालेन जी, तपाईँको राजनीतिक परिवर्तनको हुटहुटी सम्मानजनक छ । तपाईँले यसलाई व्यक्तिगत तहबाट माथि उठाएर संस्थागत र संगठनात्मक स्वरूपमा लैजानुभयो र समाज सुधारका लागि इमानदार अभ्यास गर्नुभयो भने कुनै बिन्दुमा हाम्रो सहकार्य पक्कै हुनेछ । म फेरी पनि दोहोर्‍याउँछु राजनीतिक संगठनले क्षतविक्षत बनाएको समाज सुधार गर्न असल र इमानदार राजनीतिक संगठननै आवश्यक छ । नत्र विश्वका विकसित मुलुकहरूमा त पार्टीहरू नै चाहिँदैनथ्यो होला नि होइन र ?

    अन्त्यमा, बालेन जी तपाईँलाई उज्ज्वल राजनीतिक जीवनको लागि हार्दिक शुभकामना ।

    भेटुवाल विवेकशील साझा पार्टीका नेता हुन् ।

  • झापा आन्दोलनका चौथो नेता मनकुमारसँगको त्यो भेट

    झापा आन्दोलनका चौथो नेता मनकुमारसँगको त्यो भेट

    म पूर्व मेचीको यात्रामा थिएँ । यात्राको क्रममा झापा पुगेँ । झापाको बिर्तामोड पुगेपछि सुखानी नपुग्ने कुरै भएन । सुखानी पुगेपछि एउटा नाममा चर्चा भयो, उहाँ हुनुहुन्थ्यो, झापा आन्दोलनका चौथो नेता मनकुमार तामाङ ।

    सुखानीबाट पूर्व केही किलोमिटर टाढा उनको घर रहेको हामीलार्ई सहजीकरण गर्ने स्थानीय जीवन खतिवडाले बताए । मलाई लाग्यो अब उनलाई पनि भेट्न पर्छ । हामी यात्रामै रहेको बेला त्यस दिन झापाको अर्जुनधारा नगरपालिकाको वडा नं. १ मा बस्यौं ।

    भोलिपल्ट बिहान अर्जुनधारा नगरपलिका वडा नं १ सिस्नेमा पुग्दा मनकुमार तामाङ जंगलबाट दाउरा बोेकेर घर फर्कँदै थिए । उनको दैनिकी यसरी नै बितिरहेको छ । दैनिक जंगल अनि घाँस, दाउरा र खेतीपाती ।

    इलामको चिसापानी गाविसमा २००४ सालमा जन्मिएका थिए तामाङ । मध्यम परिवारको भए पनि पहाडमा बस्न मन नलागेपछि झापा झरेको उनले सुनाए । राजनीतिक रुपमा पञ्चको परिवार भए पनि बाल्यकालदेखि नै विद्रोही स्वभावका थिए उनी । झट्ट देख्दा सोझा देखिने तामाङको छोरा मनकुमार अरुले शोषण र दमन गरेको देख्नै नसक्ने बताउँछन् । यही कारण पहाडमा परिवारसँग उनको व्यवहार मिलेन र तराई झरे । ‘तराई झरेपछि जमिनदारको खेत अधियाँ गरेर बसेँ । परिवारमा दुई छोरी एक छोरा र श्रीमती गरी पाँचजना भए पनि अहिले दुई बुढाबुढीमात्र छौं’, निराश हुँदै मनकुमारले भने, ‘छोरीहरुको विवाह भयो । बिहे गरिदिएका छोरा पनि भिन्नै बसे । अहिले बुढेसकालमा बुढाको साथी बुढी र बुढीको साथी बुढो भएका छौं ।’

    परिवारिक वातावरणकै कारण राजनीतिमा लागेका उनी इलाम छँदा पञ्चहरुको किसान संघका जिल्ला सदस्य भएका थिए । २०२१ सालमा राजा महेन्द्रले भूमिसुधार लागू गरेपछि जमिनदारहरुले मोही हटाउन सुरु गरे । सोझासीधाहरु त लुरुक्क मोही छाड्दै पहाड फर्कंदै गरे । तर, निडर र आत्मविश्वासी मोहीहरु जमिनदारसँग स्वःस्फुर्त संघर्ष गर्नतर्फ लागे । यही संघर्ष नै झापा आन्दोलनको सुरुवाती स्वरुप भएको उनी स्पष्ट पार्छन् ।

    जमिनदारहरुसँग लड्दै गर्दा ७० प्रतिशतभन्दा बढी मोहीहरुलाई छोरीबुहारी ताकेको आरोप लगाउँदै झूटा मुद्दामा फसाउन थालेपछि झापामा किसानहरु संगठित भए । मनकुमार पनि यसबाट अछुतो रहेनन् । स्वःस्फुर्त भएको किसान आन्दोलनमा उनी पनि लामबद्ध भए ।

    ‘सुखानी हत्याकाण्डका नाइकेलाई त्यही लगेर मारेर सहयोद्धा पाँच जनाको बदला लिने मेरो सपना २०४६ सालको जनआन्दोलनपछिको परिवर्तनले तुहाइदियो’

    ‘जमिनदारहरुले किसानहरुलाई झूटा मुद्दा लगाउँदै फसाउन थालेपछि झापामा किसानहरु संगठित भयौं’, उनले थपे, ‘२०२५ सालमा अघोषित रुपमा किसान संघको जन्म भए पनि संघर्षका कार्यक्रम भने केही थिएन ।’

    उनका अनुसार किसान संघको स्थापनापछि किसानहरु संगठित भए । ‘२०२६ सालमा हरिराज आङ्हाम्बे लिम्बूले धान भित्र्याउन नदिँदा किसानहरु अगाडि बढेर उनको बाली भित्र्याए’, उनले भने, ‘बाली भित्र्याउन लागेका किसानहरुलाई लिम्बूले दमन गरे । अनि सुरु भयो झापा आन्दोलनको छइनछुट्टा अभियान ।’

    झापा आन्दोलनको बीउ नै छइनछुट्टा अभियान भएको उनी बताउँछन् । २०२६ को मंसिरमा धान भित्र्याउँदै गर्दा आफूहरुलाई दमन गरेका लिम्बूलाई पछि किसानहरुले कारबाही गरेका थिए । ‘लिम्बूलाई कारबाही गरेपछि झापामा राज्यले पनि दमन गर्यो । फलस्वरुप तिलविक्रम ढकालको नेतृत्वमा सशस्त्र किसान समूह गठन भयो’, मनकुमारले स्मरण गरे ।
    २०२७ मा गठित सशस्त्र किसान समूहका अध्यक्ष ढकाल थिए । उपाध्यक्ष राधाकृष्ण मैनाली र सचिव नरेश खरेल थिए । मनकुमारले आफू उक्त समूहको चौथो लिडर भएर संघर्ष अघि बढाएको बताउँछन् । २०२७ सालमा आफ्नै कमाण्डमा सशस्त्र आन्दोलनमार्फत जमिनदारहरुको भकारी फोरिएको उनले सुनाए ।

    उसबेलाको आन्दोलनको स्मरण गर्दै उनी थप्छन्, ‘फटाहाहरुलाई सफाया गरेको स्मरण ताजै छ । नमार–नमार भन्दा पनि जनताको लडाइँमा जनताविरोधी सुराकी र फटाहाहरुलाई छाड्ने कुरै भएन । आफ्नै अगाडि किसानहरुलाई कोर्रा लगाएर मरणासन्न पार्नेहरुलाई पनि त्यही अवस्थामा सफाया गरेका थियौं ।’

    नेत्र घिमिरे र रामनाथ दाहालको संगतमा नेपाल कम्युनिस्ट पार्टी नजिक पुगेको स्मरण गर्दै मनकुमार भन्छन्, ‘त्यसबेला हामी माक्र्सवाद, लेलिनवाद र माओ विचारले ओतप्रोत भई कम्युनिष्ट पार्टीमा लागेका थियौं । जनताको पक्षमा लडेका थियौं । तर, सोचे जस्तो भएन ।’

    त्यसबेला लक्ष्य पूरा नभएकोमा नेताहरुप्रति आक्रोश पोख्दै उनले थपे, ‘हिजोको हाम्रो लडाइँ केही टाठाबाठा बाहुनहरुलाई मात्रै फाप्यो ।’

    १७ वर्षे जेल जीवन

    झापामा किसान आन्दोलनले उग्र रुप लिइरहेको बेला नेकपाका कार्यकर्ता तथा किसान आन्दोलनका अगुवाहरुलाई पञ्चायतले गिरफ्तार गर्न थाल्यो ।
    मनकुमार पनि २०२९ साल फागुनको पहिलो साता झापाबाट प्रहरीको फन्दामा परे । गाउँमै किसानहरुबीच काम गरिरहेका बेला उनलाई प्रहरीले समात्यो ।

    उनी समातिनुअघि नै मंसिरमा झापाकै चन्द्रगढीबाट विरेनसिं राजवंशी, चारपानेबाट रामनाथ दाहाल, पुस १३ गते गरामनीबाट नेत्र घिमिरे र माघ १ गते तोपगाछीबाट कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई प्रहरीले समातिसकेको थियो । प्रहरीले समातेका सबैलाई झापा जेलमा राखिएको थियो । झापा जेलमा क्षमताभन्दा बढी कैदी भएको बहानामा ६ जनालाई २०२९ साल फागुन २१ गते इलाम जेल सरुवा गर्ने भनियो ।

    मनकुमारले आफ्ना सहयोद्धाहरुलाई सम्झे, ‘साथीहरु सबैले अब को बाँच्ने, को मर्ने केही थाहा छैन, बाँच्नेहरुले देश र जनताको पक्षमा आवाज उठाउन नछाड्ने प्रतिबद्धता गरेका थियौं । तर, जल्लादहरुले मबाहेक सबैलाई सुखानीको जंगलमा लगेर हत्या गरे । त्यो दिन म स्मरण गर्न पनि सक्दिनँ । मेरै अगाडि सबैको निर्मम हत्या गरियो । मेरो हातखुट्टामा नेल–हत्कडी लगाइएका थिए । मलाई जंजिरले बाँधेको थियो । बदलाको भावना आउँदा पनि म केही गर्न सक्ने अवस्थामा थिइँन ।’

     ‘हिजोका सहयोद्धाहरु झापा आउँदा भेटमात्रै गरे पनि खसी हुने थिएँ । तर, मलाई भेट्ने फुर्सद उनीहरुलाई के हुन्थ्यो, राज्यको सम्पत्तिमा दाइँ गर्न र ढुकुटी सक्न पल्केकाहरु ।’

    सुखानी हत्याकाण्डलाई सम्झँदै उनले निरन्तर भनिरहे, ‘म पनि भित्रभित्र डराइरहेको थिएँ । म लगलग काँपिरहेको थिएँ । अब मलाई पनि मार्छन् भन्ने डरसँगै आक्रोशित थिएँ । रगत भलभल उम्लिरहेको थियो । तर, म केही गर्न सक्ने अवस्थामा थिइँन ।’

    झापाबाट इलाम सरुवा गरिएका ६ जनामध्ये मनकुमारलाई मात्रै सशरीर इलाम पु¥याइएको थियो । इलाम जेलमा रहँदा आफू कसरी बाहिर निस्कने भन्ने योजनामा लागेको उनले बताए । ‘तर सोचे जस्तो भएन । मलाई इलामबाट फेरि वीरगञ्ज जेल सरुवा गरियो । यति बेला पनि मलाई मार्ने षड्यन्त्र रचिएको रहेछ तर पूरा हुन पाएन’, मनकुमारले सम्झे, ‘वीरगञ्जबाट काठमाडौंको नख्खु जेल हुँदै भद्रगोल जेलमा लगियो । २०४६ सालमा जेलमुक्त हुने बेला केन्द्रीय कारागारबाट भएँ ।’

    २०२९ देखि ०४६ सालसम्म १७ वर्ष जेल बस्दा पनि आफ्नो मनमा सुखानी हत्याको बदला कसरी लिने भन्ने कुरामात्रै खेलिरहेको उनी बताउँछन् । छइनछुट्टा अभियानका आफ्ना सहयोद्धाहरुलाई आफ्नै अगाडि मार्न कसैले योजना बनाएको र ती योजनाकारको खोजीमा आफू लागिपरेको उनले बताए । तर, ०४६ सालको आन्दोलनपछिको परिवर्तनले आफ्नो खोजी पूरा नभएको उनको भनाइ छ । ‘सुखानी हत्याकाण्डका नाइकेलाई त्यही लगेर मारेर सहयोद्धा पाँच जनाको बदला लिने मेरो सपना २०४६ सालको जनआन्दोलनपछिको परिवर्तनले तुहाइदियो’, मनकुमारले निराशा पोखे ।

    जेल बस्दा नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवाहरु कृष्णप्रसाद भट्टराई, ओखलढुंगेली कम्युनिष्ट आन्दोलनका अगुवा लोककृष्ण भट्टराई, झापा आन्दोलनका सहयोद्धा खड्गप्रसाद (केपी) शर्मा ओली, राधाकृण मैनाली, झलनाथ खनाल, मनमोहन अधिकारीलगायतका नेताहरु साथी जस्तो भएको उनले बताए । त्यसबेला सँगै जेल जीवन बिताएका नेताहरुले अहिले नचिन्ने गरेको उनले गुनासो गरे ।

    तत्कालीन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री मनमोहन अधिकारीप्रति आक्रोश पोख्दै मनकुमारले भने, ‘२०५१ सालको निर्वाचनपछि काम माग्न जाँदा मेरो खिसी गरेपछि प्रधानमन्त्री मनमोहन अधिकारीलाई पार्टी कार्यालय बल्खुमै हात हालेको थिएँ । प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष रहेका मनमोहनलाई ‘कामरेड मलाई एउटा काम दिनुस्’ भनेको थिएँ । उहाँले ‘के काम दिन परो कामरेड ?’ भनेर सोधेका थिए । मैले मलाई नेपालमा चिनी आयात गर्न लाइसेन्स दिनुस् भनेँ । मनमोहनले मलाई बच्चालाई जस्तो जिस्काए । ‘कामरेड, ट्रकमा बालुवा हालेझैं चिनी हाल्न सकिन्न । उखु रोप्नुस्, चिनी हुन्छ’ भनेर खिल्ली उडाउँदा मलाई सारै रिस उठ्यो । त्यही कारण मैले मनमोहनलाई कार्यकक्षमै हात हालेर हिँडेको थिएँ ।’

    पार्टी अध्यक्षलाई नै हात हालेका कारण तत्कालीन नेकपा एमालेका कार्यकर्ताहरुले उनलाई मार्न खोजी गरेको मनकुमार बताउँछन् । आफू भागेर १५ दिनसम्म काठमाडौं काभ्रे र सिन्धुपाल्चोकमा भूमिगत हुन परेको उनले सुनाए । ‘अखिलका रुपनारायण श्रेष्ठको टीमले मलाई सक्न खोज्दा १५ दिन भूमिगत भई झापा आएको थिएँ’, मनकुमार भन्छन्, ‘त्यसपछि मैले अब यी नेताहरु सबै काम नलाग्ने भए भनेर अड्कल गरेको थिएँ । अहिले सही साबित हुँदैछ ।’

    ‘मैले नेपालमा चिनी आयात गर्न लाइसेन्स दिनुस् भनेँ । मनमोहनले मलाई बच्चालाई जस्तो जिस्काए । ‘कामरेड, ट्रकमा बालुवा हालेझैं चिनी हाल्न सकिन्न । उखु रोप्नुस्, चिनी हुन्छ’ भनेर खिल्ली उडाउँदा मलाई सारै रिस उठ्यो । त्यही कारण मैले मनमोहनलाई कार्यकक्षमै हात हालेर हिँडेको थिएँ ।’

    उनका अनुसार देशमा ठूलो परिवर्तन भयो तर जनताका लागि केही भएन । उनीसँगै किसान आन्दोलनमा लडेका सहयोद्धाहरु आज कोही मन्त्री भए, कोही प्रधानमन्त्री । यसमा खुसी लाग्ने भए पनि आफू घरको न घाटको हुँदा र कसैले वास्ता नगर्दा दुःख लाग्ने गरेको मनकुमारको भनाइ छ । ‘चुनाव आयो भने के छ मनकुमार कामरेड भन्दै चुनाव प्रचारमा लगाउँछन् । तर, अघि पछि चिन्दैनन्’, उनले गुनासो गरे ।

    नेताहरुले आफ्नो गुनासो कहिल्यै नसुनेकोमा असन्तुष्ट मनकुमार अगाडि भन्छन्, ‘चुनावका समय चिनेर आउनेहरु अरु बेला पनि आएर सुखदुःखका कुरा गरे र मेरा समस्या बुझे हुने जस्तो लाग्छ । तर, अरु समय कसैले चिन्दैनन् मलाई । चुनावमा धर्मशीला बहिनी पनि आइन् । दाइ भन्नु भयो तर चुनावपछि उनको पनि मुख देखेको छैन ।’
    धर्मशीला चापागाईंले २०६४ सालमा झापा क्षेत्र नं ४ बाट संविधानसभा सदस्यमा निर्वाचन जितेकी थिइन् । ‘माथि पुगेकाहरुले दिन केही पर्दैन । कहिलेकाहीं भेटघाटमात्रै गरे पनि चित्त बुझ्ने थियो । तर, त्योप नि छैन । मन दुख्छ’, उनले भने, ‘हिजोका सहयोद्धाहरु झापा आउँदा भेटमात्रै गरे पनि खसी हुने थिएँ । तर, मलाई भेट्ने फुर्सद उनीहरुलाई के हुन्थ्यो, राज्यको सम्पत्तिमा दाइँ गर्न र ढुकुटी सक्न पल्केकाहरु ।’

    पछिल्लो समयका कार्यकर्ताहरु कम्युनिष्टको पार्टी सदस्यता नवीकरण गर्नुपर्यो भन्दै आउँदा रिस उठ्ने गरेको मनकुमार भनाइ छ । ‘हिजो मैले हतियार उठाउँदा नजन्मेकाहरु अहिले पार्टी सदस्यता रिन्यु गर्नुपर्यो भन्दै आँउछन् । कति न उनीहरुले नै मलाई कम्युनिष्ट पार्टीको सदस्यता दिए जसरी’, उनले भने ।
    हालसम्म राज्यको तर्फबाट केही नपाउँदा दुःख लाग्ने गरेको उनको गुनासो छ ।

    माओवादी पनि बने मनकुमार

    २०५१ मा मनमोहन अधिकारी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री हुँदा अधिकारीले योजनाबद्ध तरिकाले आफूलाई मार्ने षड्यन्त्र गरेपछि तत्कालीन एमालेबाट आफू विरक्तिएको उनी बताउँछन् ।

    ‘यदि मनमोहनका कार्यकर्ताले मलाई मार्ने षड्यन्त्र नगरेका भए, म एमालेकै सल्लाहकारसम्म भएर बस्थे होला । तर, रुपनारायणको टीमले मार्न खोज्दा म किन एमालेमै रहने भनेर बाबुराम भट्टराई र पुुष्पकमल दाहाल ‘प्रचण्ड’ नजिक पुगेँ’, मनकुमारले थपे ।

    तत्कालीन एकता केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त जनमोर्चाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेर पार्टीको हरेक कार्यलाई नजिकबाट नियालेका तामाङले भने, ‘त्योबेला अब देशमा केही गर्छ भने माओवादीले गर्र्छ, अरु कसैले गर्दैन भनेर माओवादीको झापा–इलाम संयुक्त जिल्ला संयोजक बनेको थिएँ ।

    पार्टीको कार्यनीति यसरी निर्माण गर्नुपर्छ भनेर भटट्राई र दाहाललाई सल्लाह दिएबमोजिम धेरै काम पनि भएको सुनाउँदै मनकुमारले सशस्त्र जनयुद्ध सुरु नहुँदै यदि पार्टीले हतियार नै उठाउने हो भने पहिले जनताविरोधी सुराकीहरुलाई सक्नुपर्ने सल्लाह दिएको स्मरण गरे । माओवादी जनयुद्धको बेला पूर्वका धरै कारबाहीहरु आफ्नो सल्लाहमा भएको र झापामा धरै कामहरु आफ्नै सल्लाहमा गरिएको उनले दावी गरे ।

    ‘कतिपय मान्छेहरुलाई मैले सुध्रिन सल्लाह दिएँ । तर, कुनै हालतमा नसुध्रेपछि मात्रै कारबाहीस्वरुप सफाया गरेका थियौँ’, उनले भने, ‘जनयुद्ध ०६२÷०६३ को आन्दोलनपछि सकियो । तर, जनयुद्धले पनि आम नेपालीको भने जस्तो परिवर्तन गरेन । जनयुद्ध र जनआन्दोलनमा हजारौं सहिद भए, सयौंै बेपत्ता छन् । हजारौं घाइते तथा अपांग भए । तर, हिजो जे सोचेको थियोे, त्यस्तो भएन ।’

    विप्लव पनि फटाहा भइसके !

    अहिले विप्लवले जनताका आँखामा छारोमात्रै हालेको मनकुमारको बुझाइ छ । पछिल्लो समय सस्तो लोकप्रियताका लागि मात्रै विभिन्न आन्दोेलन भन्ने गरेको उनको बुझाइ छ । ‘लोकप्रियताका लागि मात्रै गरिने आन्दोलनले नेपालमा केही नहुने मैले बुझेको छु’, उनले भने, ‘किनभने यी सब फटाहा भइसकेका छन् । राजनीतिक परिवर्तन जति भए पनि जनताका लागि नहुँदो रहेछ । यी नै फटाहाहरुलाई मात्रै फाइदा हुँदो रहेछ ।’

    मनकुमारलाई अहिले पनि राजनीतिमा धेरै चासो छ । देशमा के भइरहेको छ भने छरछिमेकसँग छलफल गर्छन्, राजनीतिक विचारविमर्श गर्छन् । तत्कालीन एमाले र माओवादीको व्यवहार देखेभोगेका उनको निष्कर्ष छ, ‘नेपालमा साँचो कम्युनिष्ट पार्टी नै छैन ।’

  • नाग्दोङ नदीमा तैरिरहेका प्रवासी सपनाहरू

    नाग्दोङ नदीमा तैरिरहेका प्रवासी सपनाहरू

    बुसान, थेगुजस्ता दक्षिण कोरियाका मुख्य सहरलाई छुँदै बगेको नाग्दोङ, नदीमात्रै होइन उत्तर र दक्षिण कोरियाको सिमाना कुल्चेर शताब्दीऔंदेखि बगिरहेको सांस्कृतिक मिथक पनि हो । आजका दिनमा प्रवासी श्रमिकहरूको पसिनाको साक्षी पनि यही नदी हो । प्रवासी श्रमिकको सपनाको साक्षी पनि यही नाग्दोङ हो ।

    नाग्दोङको काखमा बसेका थुप्रै सहरहरूमा आफ्ना श्रम, पौरख र पसिना बगाउने श्रमिकका आँसु, रोदन, क्रन्दन, खुसी, उत्साह, विवशताहरू यही नदीको स्थिर देखिने पानीजस्तै सनैसनै बगिरहेको छ ।

    परबाट बग्दैबग्दै आइरहेको नाग्दोङ नदीले हामान र नाम्जीलाई अलग बनाएको छ । त्यही आसपास हरेकजसो शनिबार साँझ रेस्टुरेन्ट, पब्लिक पार्क, २४ घन्टे पसल/क्याफेमा प्रवासी श्रमिकहरू भेट हुन्छन् ।

    सधैँ झैं शनिबारे साइतमा नेपालीहरूको एउटा टोली सीयु (२४ घन्टे पसल) बाहिरको टेबलमा जम्काभेट भएको छ । केही समय भयो, यो ठाउँ उनीहरूको नियमित भेटघाट जंक्सन बनेको ।

    क्यास बियर(मेग्जु)को क्यान बोतलहरूले भरिएको कालो प्लाष्टिक लिएर आयो पर्वत । राउण्ड टेबललाई घेरो लगाएका साथीहरूको अगाडि एकएक क्यान राखिदियो । अन्त्यमा आफ्नो भागको क्यान छुस्स पार्दै ऊ पनि बस्यो ।

    चौडा सडकमा ओहरदोहोर गर्ने चिल्ला कार, ठूला ट्रक, विदेशी कामदारहरू चढ्ने नं प्लेटविनाको स्कुटी, बाइकहरू, ट्याक्सी र कम मात्रामा गुड्ने सार्वजनिक यातायातले सधैँ व्यस्त चौबाटो (सागरी)को एकछेउमा छ सीयु । दाहिनेतिर सिरक डसना पसल छ । देब्रेतिर कम्पनीमा काम गर्दा श्रमिकले लगाउने पोसाक, जुत्ताहरूको पसल छ । सडकपारि एउटा बिल्डिङ छ । उक्त बिल्डिङको पहिलो तलाको फरकफरक कोठाहरूमा दुई छुट्टाछुट्टै बैंक र तेस्रो तलामा फिटनेस हलको बोर्ड झुण्डिएको छ । ठ्याक्कै त्यहीँ बसस्टप छ ।

    सयौं कम्पनीहरूको आडमा रहेको यो २४ घण्टे पसलका ग्राहकहरू धेरैजसो विदेशीहरू नै हुन्छन् । कोरियनहरू हप्ताको पाँच दिन काम गरेर आफ्नै अपार्टमेन्टमा फर्किने भएकाले खासै भेटिँदैनन् ।

    नेपाली र ईपीएस प्रणाली लागू भएका अन्य १४ मुलुकका कामदार यो क्षेत्रका कम्पनीहरूमा कार्यरत छन् ।

    ‘जेनतेन कोरिया आउन पाउने भएपछि सपनाको आकाश र खुसीको उन्माद छुट्टै थियो । पढाइ छोडियो । यहाँ आएपछि पहिलो कम्पनी खास राम्रो नभए पनि त्यसपछिका कम्पनीहरू भाग्य भनौं या त आफ्नै परिश्रम, आजसम्म कमाई राम्रै छ । ४ वर्ष कमाएको सबै घरमै पठाइयो । हिसाबकिताब खोज्ने कुरा पनि भएन आफ्नै बाआमासँग । कोरोना भिषा नथपी घर जाउँ लागेर बाँकी रहेको १० महिनाको कमाई चैं आफै राखम्ला भनेर घरमा कुरा गरेको त अझै ऋण छ भन्छ यार !’

    टेबलदेखि अलि पर (स्मोकिङ जोनमा) गएर समीप र ‘हाक्तुरे’ उर्फ मिलनबाहेक सबैजना गफिँदै अफ्रिका रूला चुरोट(थाम्बे)का खिल्लीहरू च्याप्छन् । उनीहरू बियरको चुस्की र चुरोटको धूवाँ उडाउनमात्रै यहाँ आइपुग्दैनन् । छुटेका सम्झनाहरूलाई बियरको चुस्कीमा भुलाउन आइपुग्छन् । आइपुग्छन् दबिएका रहरहरूलाई धुवाँसँगै शून्यतामा अलप बनाउन ।

    शनिबारको दिन ८ घण्टामात्रै ड्युटी हुन्छ । कम्पनीको क्यान्टिन (सिक्ताङ)मा बेलुका(छन्यग्)को खाना पाक्दैन । आइतबार छुट्टी हुन्छ । त्यसैले कामबाट आउनासाथ फ्रेस भएर हुत्तिँदै सीयु पुग्छन् । हप्ताभरको कामको थकान र भोकले अर्को क्यान नफोर्दै कसै–कसैलाई त लागिसकेको हुन्छ । अल्लारेहरू हुन्, घरी मजाक त घरी गम्भीर सवाल प्रसंगवस निकालिरहन्छन् ।

    ‘कोरोनाले पनि गर्नुगर्यो यार’, उदय अलि गम्भीर मुद्रामा प्रस्तुत हुँदै बोल्यो ।

    ‘जे भए पनि एक वर्ष बढी कमाउन पाएका छौं मूला । हामीलाई त फाइदै छ नि’, समीपले थप्यो ।

    अन्य जम्काभेटमा भन्दा आज अलि गम्भीरतापूर्वक प्रस्तुत भइरहेका छन् उदय अर्थात कान्छा । ऊ साथीहरूमध्ये सबैभन्दा कम उमेरको छ । त्यसैले सबैले प्रेमले कान्छा उपनाम दिएका छन् । ‘कान्छा’ सधैँ झैं बुटवले लवजमा बोल्छ, ‘प्लस टु पढ्दापढ्दै १७ वर्षमै कोरियन भाषा पढ्ने भूत चढेर पढियो, पास गरियो । घर जेनतेन थामिरहेका बाको दुःख देखेर रूप्याँ आफै कमाउने भूत चढ्यो । खोल्टीमा सुक्को नाई !’

    कान्छाको यो बोली निकैपटक दोहोरिएकाले अरूले खासै चासो दिँदैनन् । ऊ भने फेरि मेक्जु एक स्वाट्ट तानेर मुख बिगार्दै थप्न थाल्छ, ‘जेनतेन कोरिया आउन पाउने भएपछि सपनाको आकाश र खुसीको उन्माद छुट्टै थियो । पढाइ छोडियो । यहाँ आएपछि पहिलो कम्पनी खास राम्रो नभए पनि त्यसपछिका कम्पनीहरू भाग्य भनौं या त आफ्नै परिश्रम, आजसम्म कमाई राम्रै छ । ४ वर्ष कमाएको सबै घरमै पठाइयो । हिसाबकिताब खोज्ने कुरा पनि भएन आफ्नै बाआमासँग । कोरोना भिषा नथपी घर जाउँ लागेर बाँकी रहेको १० महिनाको कमाई चैं आफै राखम्ला भनेर घरमा कुरा गरेको त अझै ऋण छ भन्छ यार !’

    अलिकति रून्चे तर, अलि कडा सुनियो कान्छाको आवाज । अरू बोली दोहोरिए पनि कान्छाले यसपटक मनको पुरानो कुनामा गुम्सिएको नयाँ कुरा बोले । कान्छाको दुःखेसोले अरूको कानलाई पनि अलि चनाखो बनाइदियो ।

    कान्छाले थप्दै गयो, ‘जग्गा त ऋणमा पो किनेको अरे ! खासमा यो थप भिषामा बस्न मन थिएन । बरू गएर अलि पछि फेरि आउने सोच थियो । हुन्छ नि यार ! एक वर्ष थप बसेर कमाइएला रे ! तर, त्यतिञ्जेलको अवधिमा कोही आफन्त गुम्यो भने या आफैलाई केही भइहाल्यो भने त्यसको क्षतिपूर्ति पैसाले व्याहोर्छ ?’

    क्यानको अन्तिम घुट्की मुखमा लियो । अनि रित्तो बोतलसँगै अर्कोतिर फर्कियो ।

    रमाइलो गर्न भेला भएका सबै निःशब्द बने । एकछिन सन्नाटा छायो ।

    उदयले कोरियन एयरलाइन्सको जहाज चढ्नुअघि क्षेत्रीकै छोरा भए पनि जुँगाको रेखी बसेको थिएन । कम्पनीमा कान्छो(माङ्ने) भएकैले उमेर बढी भएका नेपालीहरूबाटै अप्रत्यक्ष पेलानमा परेका थिए ।

    कोरियामा उमेरले खुब महत्व राख्छ । आफूभन्दा ६ महिना, वर्ष दिनदेखि माथिका व्यक्तिलाई सम्मान गर्नुपर्ने संस्कार छ । तर, पद र उमेर दुवैमा साना भएका कामदारहरू भए भने शारीरिक तथा मानसिक रूपमा यातना दिनेहरू पनि कम हुँदैनन् ।

    ‘बूढा काम सकियो ? यो महिना खर्च पठाउनु भएको खै ?’, पर्वतको फोनको स्क्रिनमा मेसेज डिस्प्ले भएपछि ऊ झस्क्यो ।

    ‘ल्या झ्याक्ने ! नेट त अन नै रहेछ, हि हि !’, हतारमा हुर्रिएर सीयु आउने हुँदा मोबाइलतिर ध्यानै दिएनछ उसले ।

    ‘अस्ति भनेको हैन ? न छुट्टी मिलाएर घर आउनु हुन्छ, न रहर आवश्यकताहरू भनेको बेला पूरा गरिदिनु हुन्छ ।’

    पर्वत श्रीमतीको मेसेज सिन गर्छ । र फतफताउँछ, ‘आफू कोरोनाले थलिएर काममा लागेको हप्तादिन भएको छैन । कसरी काम गरिरहेको छ, कहिल्यै बुझ्न चाहन्नन् परिवार पनि ।’

    उसले कोरोना संक्रमित भएको खबर परिवारलाई बताएको थिएन । क्षितिजको घाम भएका बाआमा र जीवनसाथीलाई पीर होला भनेर सुनाएको थिएन ।

    ‘समस्या सबैको हुन्छ हौ ! मलाई हेरेर बाँच्नु नि सम्धी’, एउटा क्यानलाई रित्तो बनाउनसाथ साथीहरूको गफ सुनेर बसेको नयन बोल्यो’, आफू भिषा अवधि नसकिँदै विनाभिषा बस्नुपरेको व्यथा यो (नाम्जी)नाग्दोङ नदीले बगाएर लान सक्दैन । यो नदी कता बगिरहेको छ भनेर हामीले खुट्याउन नसके पनि आखिर बग्न त बगिरहेकै छ ।’

    भनिन्छ नि, बिग्रेको घडीको काँटाले पनि दिनमा दुईपटक सही समय देखाउँछ । तर, हामी त नबिग्रेको घडीलाई हेरेर चल्नुपर्छ, जो प्रत्येक पल आफ्नै गतिमा चलिरहन्छ । हामी पनि घडीसँगै चल्नुपर्ने बनाइदिन्छ । सोमबारबाट शनिबार साँझसम्म कम्पनीको खटनमा चल्छौं । शनिबारको ड्युटीपछि आइतबार रातिसम्म आफ्नै खटनमा रमाउँछौं ।

    हत्तपत्त नबोल्ने स्वभावका नयन उर्फ पत्तुर अचानक बोल्यो । अलि पर कुनामा गएर चुरोट सल्कायो । नाक र मुख दुवैतिरबाट धूवाँ उडायो । सायद, भन्न सकिने जति साथीहरूका अघि भन्यो, भन्न नसकिने उकुसमुकुसलाई धूवाँको धमिलो अँध्यारोमा उडायो ।

    सन् २०१५ मा ईपीएस उत्तीर्ण गरेका नयन गाउँमै जन्मिए, हुर्किए । मावि तहको पढाइ मावलीमा बसेर पूरा गरे । एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न, बाआमाको रहर (लाहुरमा भर्ती हुन) पूरा गर्न सहर झरेका थिए । ब्याचलर पढ्दापढ्दै विदेशको चक्करमा कलेजको पढाइ छाड्यो । र, ईपीएस पास गरे ।

    पास भएर लामो प्रतीक्षापश्चात् कोरियाको उत्तरी भेग ‘याङ्जु’बाट एक कम्पनीको साहुले श्रम सम्झौतापत्र पठायो नयनलाई । रोष्टर म्याद सकिन लाग्दामात्रै साढे ६ घण्टा आकाशमा उडेर कोरिया टेकेका थिए, सन् २०१७ मा । आधुनिक र विकसित एयरपोर्टमा जसरी हुस्सु मडारिइरहेको थियो, त्यसरी नै नयन भने आफैभित्र कौतुहल, न्यास्रोपनसँगै खुसी, उमंगले मडारिइरहेका थिए ।

    नयनको नयनमा सपना थियो । त्यो सपना नयनमै थन्किएको थियो । कोरिया आएको वर्ष दिन पनि भएको थिएन । घरको ऋणको हिसाब लामो थियो । तर, उनले साथीभाइको वचन काट्न सकेनन् । र, अवैधानिक भएर त्रासदीपूर्ण दिनहरू गुजारे । अहिले पनि गुजारिरहेकै छन् ।

    त्यसबेलाको भावनात्मक निर्णयले थकथकाउँछ नयन अचेल पनि । नयनको नयन पोखिन खोज्छन् । तर, पुरूष हुनुको अहंले उसको नयनलाई भिज्न दिँदैन, पोखिन दिँदैन । साथमा साथीभाइको ढाडसले पनि आँसुलाई नयनमै छेकिदिन्छ । र पनि आफूलाई काबुमा राखिरहेकै छन् । टापु र समुद्रको साम्राज्य छेदुजो पुग्नु, खुलमखुला सहर घुम्नु नयनका लागि फगत कल्पना हो । र पनि ऊभित्र सपनाको ज्वारभाटा आइरहेकै छ ।
    अरूबेला खासै पिउँदैन हाक्तुरे ऊर्फ मिलन । साथीभाइसँग बस्दा एक क्यान पिउँछ । धेरै नपिए पनि साथीभाइसँगै धेरैजसो समय बिताउँछ । निकनेमले चर्चित ऊ साथीहरूको तुलनामा यस क्षेत्रमा आएको धेरै भएको छैन । बोल्ने शैली, मिलनसार व्यवहार र हाँसोमजाक गरिरहने आदतले जहाँ पुगे पनि साथीहरूसित घुलमिल भइहाल्छ ।

    कोरिया आएको ५ वर्ष पूरा भइसकेको छ मिलनको । ताप्लेजुङबाट पुख्र्यौली विरासतस्वरूप टिपेर ल्याएको लवजमा लिम्बूवान झल्कन्छ । हरेक बोलीलाई ‘नि’ले टुंग्याउने उसको आदतले सुरूमा साथीहरू अचम्म मानेर खूब हाँस्थे ।

    भनिन्छ नि, बिग्रेको घडीको काँटाले पनि दिनमा दुईपटक सही समय देखाउँछ । तर, हामी त नबिग्रेको घडीलाई हेरेर चल्नुपर्छ, जो प्रत्येक पल आफ्नै गतिमा चलिरहन्छ । हामी पनि घडीसँगै चल्नुपर्ने बनाइदिन्छ । सोमबारबाट शनिबार साँझसम्म कम्पनीको खटनमा चल्छौं । शनिबारको ड्युटीपछि आइतबार रातिसम्म आफ्नै खटनमा रमाउँछौं ।

    रमाउँछौं पनि के भन्नु, शनिबारको हर्षोल्लासलाई आइतबार बेलुकादेखि नै भोलिबाट ड्युटी छ भन्ने सोचाइले खल्लो बनाइदिन्छ । कसैको त हप्तैभरि काम हुन्छ । काम भएपछि माम र दाम पनि हुने भयो । कतिलाई त आइतबारसमेत काम गरेर पैसा कमाउन मन लाग्छ । कतिपयलाई भने हप्ताको एकदिन त आराम गर्नुपर्छ भन्ने पनि हुन्छ ।

    हत्तपत्त फेसबुकमा केही पोष्ट नगर्ने, अरूको पोष्ट हेर्ने । तर, लाइकसमेत नगर्ने समीपको आदत छ । उसकी आमाले केही महिनाअघि मात्रै कोभिडका कारण संसार त्यागिन् । समीप अन्तिम संस्कारमा नेपाल जान पाएन । त्यो भयावह दुःख र मनको उकुसमुकुसले गर्दा सीयु र साथीहरूसँग रमाउन थालेको छ । बियरको मात्रा बढेको छ उसको । साथीहरूको सहानुभूति छ । तर, आमाको स्मृति उसको आँखामा सधैँसधैँ फरफर नाचिरहन्छ ।

    उसले कल्पना पनि गरेको थिएन, आमालाई यति चाँडै गुमाउँछु ।

    ‘हुने भनेकै नसोचेको रहेछ साथी हो ! तिमीहरू पैसामा मात्रै मरिहत्ते नगर्नु । परिवारलाई भेट्न कञ्जुस नगर्नु । दर्जन छोराछोरी पाएर, अनेक दुःखकष्ट गरेर आमाले हामीलाई हुर्काउनु भयो । गाउँबाट सदरमुकाम, सदरमुकामबाट सहरमा घर बनाउने, छोराछोरीहरूको कमाई सही ठाउँमा लगानी गरी दिनुहुने आमा हुनुहुन्थ्यो । हामीलाई लामो बाटो हिँड्न सिकाउनु भएर छोटो बाटो जानुभयो । अफसोस यही कुरामा छ ! अन्तिम पटक भेट्न सकिनँ’, बोल्दाबोल्दै समीपको गला अवरूद्ध भइसकेको हुन्छ ।

    आमा बिरामी भएको खबर पाउनासाथ ऊ जान नचाहेको पनि होइन । तर कोरोनाकै कारण जान पाएन । अब त देश पुग्नासाथ उसले अब आमालाई आमाकै घर (चेहिम), चारकोसे जङ्गलमा भेट्नेछ ।

    ‘अर्को अप्ता छुट्टीमा किम्हे(ख्यङ्साङनाम्दो प्रान्तको प्रख्यात सहर जहाँ नेपालीहरूको बाक्लो उपस्थिति छ) जानुपर्छ है ! नयाँ बैंक खाता खोल्नु छ’, एकजनाले साथीलाई आग्रह गर्दै थिई ।

    ‘एउटा सानो काम पर्यो भने किम्हे नै जानुपर्छ । सउल एरिया नै ठीक लाग्छ मलाई त । यो ठाउँ कति विकट जस्तो लाग्ने घरीघरी’, अकीले सहरतिर जस्तो सुविधा नभएकोमा आफू बसेको एरियाप्रति असन्तुष्टि प्रकट गरिन् । केटीहरू नेपाली भाषामा बोल्दै सीयुतिरै आइरहेको देखेर उनीहरू एकछिन शान्त हुन्छन् ।

    परिबुङ र चेतना कोरिया आएपछिका (जमेका दोस्ती) साथीहरू हुन् । उनीहरूको कोरिया प्रवेशको भिषामात्रै फरक थिएन । ठेगाना, रूचि, परिवेशसमेत फरक थिए । तर, यहाँ आएपश्चात् अपरिचितहरूलाई परिस्थितिले परिचित गराइदियो । कति चिरपरिचित आफ्नासँगको सम्बन्ध पनि यतै आएर टुंगिएका छन् कतिका ।

    परिबुङ उच्च शिक्षा हासिल गर्न विद्यार्थी भिषामा आएकी थिइन् । केही महिना युनिभर्सिटी गएपछि चर्को फि र घरको आर्थिक स्थितिले झोक्राएर पार्टटाइम जबमा लाग्न बाध्य भइन् । काम र पढाइको तालमेलमात्रै नमिलेको भए ठिक्कै थियो । एकपछि अर्को समस्याहरू थपिँदै गएपछि उच्च शिक्षा अध्ययनपश्चातका सपना सपनामै सीमित भइदियो । युनिभर्सिटीबाट भागेर चेतना भएको कम्पनीमा काम गर्न आइपुगिन् ।

    चेतना भने ईपीएस प्रणालीअन्तर्गत आएकी थिइन् । ७ वर्षअघि कोरिया आएकी चेतनाको लागि सातौं कम्पनीमा भेट भएको थियो परिबुङसँग ।
    ईपीएस प्रणालीअन्तर्गत तीन पटकभन्दा बढी पटक कम्पनी बदल्ने नियम छैन । तर, परिस्थितिले अवैधानिक बनेपछि चार पटक थप कम्पनीमात्रै बदलिन, आफै बदलिन बाध्य भई । आफूलाई कायर सावित गर्न नचाहँदा चेतनाको चेतले धेरैपटक सोच्नुपर्यो । कठिनाइ र चुनौतीहरूको सामना गरिन् । त्यै पनि हिम्मत हारेकी छैन ।

    कोरिया आएका सुरूवाती दिनहरूमा परिवेश, उमंग, साथीहरू सबै नयाँ थिए । कम्पनीको काम सजिलो थिएन । कमाइ पनि सम्झौतामा भनिएअनुसारको थिएन । तर पनि काम गर्नु थियो । आफूले भोगिरहेको दुःखबारे कसैलाई सुनाउन चाहन्थी । तर, परदेशमा कसले सुनिदिने ? परिवारमा सुनाएर पिर दिन मन थिएन । आमाबुवासँग मोबाइल नभएकाले छिमेकीलाई फोन गर्नुपर्ने अवस्था थियो ।

    एकोहोरिने, राति निन्द्रा नलाग्ने, एकान्तमा मात्रै बस्न मन लाग्ने । जसोतसो निदाइहाले पनि निन्द्रामा झस्किरहने लक्षणहरू देखापर्न थालेपछि कामबाट बिदा मागेर हस्पिटल गइन् । डिप्रेसनको पहिलो स्टेजमा भएको डाक्टरको भाषा बल्लतल्ल ठम्याउन सकिन् । त्यसपछि औषधि र साथीहरूको ढाडससँगै युट्युबमा मोटिभेसनल सामग्रीहरू हेरेर सेल्फ कण्ट्रोल गरिरही । आफ्नो सपना र स–साना भाइबहिनी सम्झेर आत्मबल दह्रो बनाइरही ।

    समय विस्तारै बित्दै गयो । नेपालीहरूसँग घुलमिल हुँदै गयो । कोरिया आएको वर्षदिनपछि एकजना केटाले पठाएको फ्रेण्ड रिक्वेस्टले उसको जीवनमा नयाँ मोड लियो । फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरेपछि केही महिना सामान्य कुराहरू भए । अनि विस्तारै सम्बन्ध अगाडि बढ्यो । च्याटबाट कल, कलबाट भेटघाटसम्म पुगे उनीहरू । यो क्रम निरन्तर चल्यो ।

    आइतबारको दिन कहिले कुनै पार्क त कहिले कुनै कफी सपमा भेटेर दुवैले भविष्यको योजना बुन्थे । मीठो कल्पना साटासाट गर्थे । चेतनालाई जीवनप्रति थप मोह जाग्न थालेको थियो । तर, सम्बन्ध धेरै टिक्न सकेन । कार्यावधि सकिन लाग्दा चेतनालाई पनि सँगै देश फर्कौं भनेका थिए उसको मान्छेले । तर, उसको भिषा बाँकी नै थियो ।

    बाँकी भिषा अवधिभरि काम गरेर आफ्ना लागि बन्दोबस्त गर्ने सोच रहेको बताइन् । त्यस अघिसम्मका कमाई परिवारलाई र ऋण तिर्दै सकियो । केही समयपछि नेपालमा भेट्ने वाचासहित उनीहरू छुट्टिए । कहिलेकाहीँ सम्पर्क भने भइरहन्थ्यो । परदेश र घरदेशको समय नमिलेर सुरूसुरूमा उनीहरू चाहेर पनि बोल्न पाएनन् । पछि विस्तारै चेतनाको ब्वाइफ्रेण्डको मन बदलिन थाल्यो । उसको अफेयर एकजना सम्पन्न परिवारको केटीसँग चल्न थालेछ । कहाँको दुःखमा हुर्किएर आफ्नै श्रमले परिवार सिंचाइरहेको चेतनाको जीवन ।

    अन्ततः विवाह बन्धनमा बाँधिएको प्रमाणस्वरूप फोटोहरू फेसबुकको वालभरि छरपस्टियो । यो सब देखेर चेतना पुनः नराम्ररी बिथोलिइन् । आफैलाई धिक्कारिन् । कस्तो मान्छेलाई विश्वास गरँे ? कस्तो मान्छेसँग भविष्यको सपना बुनेँ ? उसको मनमा अनेक कुरा ओहोरदोहोर गरिरह्यो ।

    यसपछि चेतनाको सोच बदलियो । भिषा सकिएपछि पनि घर जाने संकल्प त्यागेर आफ्नो भाग्यसँगै कोरियामै लगेज गुडाइरहिन् ।

    निम्न मध्यम परिवारको जेठी छोरी थिइन् चेतना । एसएलसीपछि कलेज पढ्ने इच्छा भए पनि स–साना भाइबहिनीहरू र पारिवारिक अवस्थाप्रति चिन्तित भइरहिन् । अधुरो रहेको पढेर पूरा गर्ने सपना भाइबहिनीमा देखिन् । र, विदेशिने सोचिन् । चेतनाको बाबाले चाहेको भए ऋण गरेरै भए पनि उनलाई पढाउन नसक्ने भन्ने थिएन । तर, माझ किरातमा जन्मे हुर्के पनि पितृसत्ताले गालेको समाज थियो । चेतनाको ठाउँमा उसको भाइ थियो भने बाबाले अवश्य पढाउने थिए । यो विभेद चेतनाको मस्तिष्कले महसुस गर्न सक्ने भए पनि बाबाआमासित प्रतिवाद गर्न सक्ने आँट हुर्किसकेको थिएन । छोरीमान्छे विदेश जाने कुरा पनि उतिबेला खासै मनासिव थिएन । तर, सहरमा आफन्तकहाँ बसेर केही काम गर्ने बताएर परिवारकै अनुमतिमा पहिलोपटक गाउँ छोडिन् ।

    त्यो समय उमेरले भर्खरै १५ औं बसन्तमा हिँडिरहेकी थिइन् । नफस्टाएकी सानी केटी थिइन् । सहरमा पनि आफन्तकहाँ बसेर काम गर्न त्यति सहज थिएन नै । तर, सहरमै उसले शब्दले त छुराले भन्दा बढी बिझाउँदोरहेछ भन्ने बुझिन् । अन्ततः कोरियन भाषा पढ्न थालिन् । कोरियामा हजारौंको संख्यामा चेतनाहरू भेटिन्छन्, नयनहरू भेटिन्छन्, कान्छाहरू भेटिन्छन् ।

    शिशिर ऋतुबाहेकका प्रायजसोः आइतबारका दिन चेतना, नयन, कान्छाहरू काम गर्ने, बस्ने ठाउँबाट लगभग ३÷४ किलोमिटरको दूरीमा बगिरहेको नाग्दोङ नदीको किनारा छेउछाउका बाटो, पार्क र नदीमाथिको पुलमा टहलिन पुग्छन् । पुगेकामध्ये कोही गोधुली साँझमा गितार च्यापिरहेका हुन्छन् भने कोही जबरजस्ती मुस्कुराएर सेल्फी खिचिरहेका हुन्छन् । कोही पुलबाट तलतिर एकोहोरो हेरिरहेका हुन्छन् । लाग्छ, नसुसाएर विनाछलाङ एकतमास बगिरहेको नदीमा आफ्ना सपनाहरू पनि तैरिरहेझैं हेरिरहेका छन् उनीहरू । लाग्छ, कोरियाको यो औद्योगिक सहरको कथा बोकेर युगौंदेखि बगिरहेको नाग्दोङ नदीले असंख्य प्रवासी मजदुरहरूको सपना पनि बगाइरहेको छ चुपचाप–चुपचाप, निरन्तर–निरन्तर ।

  • पर्यटनलाई समृद्धिको सारथि बनाएको एक सहर

    पर्यटनलाई समृद्धिको सारथि बनाएको एक सहर

    हाइलाइटस्

    १) टेलिचलचित्र फुल हाउसमा बाहिरबाट खिचिएको केबल केही सेकेण्डको दृश्यकै भरमा पेन्टेड लेडिज नामक सात घर हेर्न मानिसको ताँती लाग्ने गर्छ । भिक्टोरियन शैलीमा निर्माण गरिएका पंक्तिबद्ध यी घरहरुलाई सात दिदीबहिनी पनि भन्ने गरिन्छ । र, यी नै घर अगाडि उभिएर तस्विर लिन विश्वका थुपैै्र कुनाबाट मानिस यहाँ आउने गर्छन् ।

    २) विश्वको सबैभन्दा घुमाउरो वा भनौं नागबेली भनिएको सडक, लम्बार्ड सडकमा । करिब ६ सय फिट लामो नागबेली परेको सडकमा मानिस उभिएर तस्विर कैद गर्न युरोपदेखि अस्ट्रेलिया, अफ्रिकादेखि एसिया हरेक महादेशका मानिस आउने गर्छन् ।

    ३) थुप्रैलाई नेपाल केवल सगरमाथाको देश हो, केवल अग्ला चुचुरा हुन् र बलियाका निम्तिमात्रै हो भन्ने लाग्छ । कतिलाई त नेपाल कहाँ छ र कस्तो छ, योसम्म पनि थाहा छैन । नेपालमा लुकेका र भएका सम्भावना सबै उमेर समूहका पर्यटकका निम्ति हुन् भन्ने पूर्वाधार न हामीले निर्माण गर्न चासो दिएका छौं न त त्यसको प्रवर्द्धनमा नै जोड दिएका छौं ।

    कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि…..कवि शिरोमणि लेखनाथ पौड्यालले यो कविता रचना गर्दा सायद नेपालको यस्तो दिनको कल्पना गरेका थिएनन् होला । जहाँ हामी सुनको भण्डाररुपी प्रकृतिको थुप्रोमा बस्दासमेत चाल नपाएर मगन्ते जीवन बिताइरहेका छौं ।

    विश्व इतिहासमा पुरानो अनि गर्विलो इतिहास बोकेको नेपाल र त्यहाँका बासिन्दा हामी नेपाली अहिले सुन ओछ्याएर भोको पेट सुत्न बाध्य छौं । लेखकले सुनको कुरा गर्दा थुप्रैलाई लाग्न सक्छ, खानी उत्खनन् नगरेर हामी गरिब भएका हौं । होइन, यसको पूर्ण आसय त्यति गाह्रो पनि होइन । हामी त भएका कलासम्पदा, भएका प्राकृतिक सुन्दरताको प्रवर्द्धन, संरक्षण अनि त्यसको सदुपयोग गर्न नसकेर गरिब अझ भनौं हरिप भएका हौं ।

    सामान्य रुपमा आज म एउटा सानो सहरको उदाहरण दिँदैछु, जसले ७ वटा घर, ६ सय फिटको नागबेली बाटो, पुलको दृश्य यस्तै बेचेर वर्सेनि करोडौं पर्यटक भित्र्याउने गरेको छ । यो भन्दै गर्दा सान फ्रान्सिस्कोमा अन्य पर्यटकीय क्षेत्र छैनन् भन्न भने खोजिएको होइन । सुन्दर समुन्द्री तट, डाँडाकाँडा, विश्व प्रख्यात गोल्डेन गेट पुल जस्ता अन्य स्थान पनि यस सहरका मुख्य पर्यटकीय सहरहरु हुन् ।

    हो, विकसित देशको सोचाइ ,गराइ अनि बुझाइ नै अलग । त्यहाँका नेता अनि कर्मचारीतन्त्र पारदर्शी अनि दूरदर्शी, देश सम्पन्न र सुखी । कुरा गरौं संयुक्त राज्य अमेरिकाको एक राज्य क्यालिफोर्नियाको प्रख्यात सहर सान फ्रान्सिस्कोको । हुन त सान फ्रान्सिस्को विश्व अर्थतन्त्रमा यदि अमेरिकाबाट छुट्टिएर आफ्नै देश बनाउने हो भने पाँचौं धनी देश बन्नेछ । विश्व प्रविधिमा एकछत्र राज गरेका हरेक कम्पनीको मुख्यालय यही छ । तर पनि योभन्दा फरक विषयमा केबल घुम्नमात्र आउने पर्यटकहरु भने यहाँ रहेका दर्जनभन्दा कम संख्यामा रहेका अचम्म तर सुन्दा पनि सामान्य लाग्ने विषयले आकर्षित भएर आउने गर्छन् ।

    करिब १२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस सहर तीन भागमा पानीले घेरिएको छ । जसले गर्दा १२ महिना नै मौसम चिसो र आनन्दित रहने गर्छ । भेडेटारमा लुटपुटिने हुस्सु जस्तो त कहिले ककनीमा पर्ने पानीको सिमसिम शितजस्तो । काठमाडौं जस्तै भूकम्पको जोखिम भए पनि वैज्ञानिक तवरले निर्माण गरिएका दन्तपंक्ति जस्ता लहरबद्ध घरहरु अनि स–साना घुमाउरा बाटो उकाली र ओरालीहरु ।

    करिब ९ लाख मानिसको बसोबास रहेको यो सहरमा १२ महिनै पर्यटकको आवागमन हुन्छ । कोरोनाको प्रकोप अगाडिको तथ्यांक हेर्ने हो भने सन् २०१८ मा करिब ३ करोड मानिसले यस सानो सहरको भ्रमण गरेका थिए । यो सहर काठमाडौं जिल्लाभन्दा ४ गुणा सानो हो ।

    मुख्य सहरबाट करिब २० किलोमिटरको दूरीमा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट मानिसहरु यहाँ भित्रिने गर्छन् । रेललगायत अन्य विकल्पबाट पनि पर्यटकहरु भित्रने गर्छन् । नेपालको असन जस्तै २ वटा गाडी पनि मुस्किलले छिर्ने स–साना बाटोमा यहाँ जमिनबाट गुड्ने केबलकार चढ्न मान्छे घन्टौं लाइनमा बस्छन् । त्यही बाटोमै अन्य सवारीसाधनहरु निर्बाध गुड्ने गर्छन् ।

    केवलकारको फोटो …

    केबलकारको लाइनमा २ देखि ३ घन्टा बसेर पर्यटकहरु अन्त्यमा स–सानो गल्लीबाट यस सहरको ऐतिहासिक र कलात्मक घरका तस्विरहरु कैद गर्न लालायित भएको देख्न सकिन्छ । कल्पना गर्नुहोस् त नेपालको काठमाडौंका विश्व सम्पदा सूचीमा रहेकादेखि अन्य वास्तुकला, शिल्पकलाले भरिपूर्ण हाम्रा गल्लीहरुमा पर्यटक यसैगरी घुमाउन सक्दा छेवैमा रहेको लाखमरी पसलमा पर्यटक ज्यापु भेषमा सजिएका स्थानीयसँग हाँस्दै गर्दाको दृश्य । फगत यो कल्पना हो । तर कल्पना किन गरिएको भन्दा हाम्रा कलात्मक शैलीहरुको छुट्टै इतिहास छ । हाम्रा ती हस्तनिर्मित सिर्जनाहरुको आफ्नै महत्व छ । तर, हामी चुकेका छौं ।

    केबलकार जमिनमा गुड्नेभन्दा कतिलाई अचम्म पनि लागेको होला । तस्विरमा देखिएको सानो रेललाई यहाँ केबलकार भनिन्छ । रेलकै लिगजस्तो भए तापनि मुनि रहने केवल अर्थात फलामको डोरी घुमेर यो साधन गुड्ने गर्दछ । यी केबलकारको सुरुवात आजभन्दा १४९ वर्ष अगाडि भएको हो । १४९ वर्ष पुराना यी सम्पदा अझ पनि लाखौं पर्यटकको पहिलो कारण हो यस सहर घुम्न आउने ।

    अब लागौं अर्को स्थानतिर, केबलकारबाट ओर्लिने पर्यटक कोही कता लाग्छन् त कोही कता । तर अचम्म त थुपै्र पर्यटक केबल कुनै टेलिश्रृंखला र चलचित्रमा कैद भएका भवनको तस्विर लिन लाग्छन् । त्यसमध्ये केही हुन् फुल हाउस र पेन्टेड लेडिज, सन् १९८० र १९९० को दशकमा प्रस्तुत गरिएको टेलिचलचित्र फुल हाउसमा बाहिरबाट खिचिएको केबल केही सेकेण्डको दृश्यकै भरमा पेन्टेड लेडिज नामक सात घर हेर्न मानिसको ताँती लाग्ने गर्छ । भिक्टोरियन शैलीमा निर्माण गरिएका पंक्तिबद्ध यी घरहरुलाई सात दिदीबहिनी पनि भन्ने गरिन्छ । र, यी नै घर अगाडि उभिएर तस्विर लिन विश्वका थुपैै्र कुनाबाट मानिस यहाँ आउने गर्छन् ।

    यो टेलिचलचित्र हेर्दै नहेरेका युवाहरु पनि यसको अगाडि उभिएर तस्विर लिन भनेरै यहाँ पुग्छन् । त्यसमध्ये एक हुन्, इटालीबाट आएका पर्यटक, पेरिल । आफ्नो साथीसँग आएका पेरिल यस भवनको तस्विर लिन कौतुहल रहेको बताउँछन् । यस सहर आउनुअगाडि धेरैले चर्चा गरेको भएकाले टेलिचलचित्र नहेरे पनि घरको कलात्मक र आकर्षक निर्माण शैलीले आफूलाई तानेको उनी बताउँछन् । यी घरहरु सरकारी होइनन्, निजी घरहरु हुन् र बाहिरबाट केवल तस्विर लिन र भिडिओ कैद गर्न पाइन्छ । भित्र पस्न भने मनाही छ । तर यसै घरहरुले पनि लाखौं पर्यटक विश्वका विभिन्न कुनाबाट तान्ने गरेको छ ।

    सहरका यस्तै अचम्मलाग्दा कारणले पर्यटक तानिन्छन् अनि कोही लाग्छन् विश्वको सबैभन्दा घुमाउरो वा भनौं नागबेली भनिएको सडक, लम्बार्ड सडकमा । करिब ६ सय फिट लामो नागबेली परेको सडकमा मानिस उभिएर तस्विर कैद गर्न युरोपदेखि अस्ट्रेलिया, अफ्रिकादेखि एसिया हरेक महादेशका मानिस आउने गर्छन् । छेउछेउमा रहेका फूलका बगैंचा र बीचमा रहेको बाटो यहाँबाट गाडी गुडाउने र उभिएर तस्विर लिने मानव निर्मित ६ सय फिट लामो सडकले यस सहरको अर्थतन्त्रमा पुर्याएको योगदान हामी कल्पना पनि गर्न सक्दैनौं ।

    यस्ता सामान्य कुरा भन्दै गर्दा सोच्नुहोस् त हाम्रो नेपालको त्यो अग्ला हिमश्रृंखला र चुचुराहरु, ती मनमोहक छाँगा, झरना र ताल–तलैयाहरु । ती बन्यजन्तु, चराचुरुंगी ती धार्मिक अनि सांस्कृतिक धरोहरहरु । अचम्मको तथ्य म भनिहाल्छु, यहाँको नामकरण, उदाहरणका लागि नेपालको चुरे पहाड होस् वा चन्द्रागिरि, हामी हिमाल भन्दैनम् । तर, यहाँ केवल २ हजार फिट अग्ला डाँडाको नामको अगाडि माउन्ट अर्थात् हिमाल भनिन्छ जस्तै माउन्ट ट्यामलपाइस, माउन्ट डियाब्लो आदि आदि । तर, यी नाममात्रकै हिमाल भए पनि हजारौं पर्यटक विभिन्न देशबाट झोला टुम्लेट बोकर हाइकिङ गर्न आउँछन् । महंगा साइकल लिएर पाखा पखेरा झर्छन् ।

    हिँड्न सक्नेका लागि एक पूर्वाधार छ भने गाडी रोज्नेका लागि अर्को । आफ्नो क्षमता, उमेरअनुसारको सुविधा । यस्ता पर्यटकबाट मात्रै यस सहरले करिब १ लाखभन्दा बढीलाई रोजगारी दिएको छ भने करिब ११ खर्ब रुपैयाँ बराबरको आर्थिक योगदान । अब यी सबै सोच्दा हामी नेपाली के सुनमाथि सिरानी हालेर भोकै सुतेको होइन रहेछ त ? दूरदर्शी सोच भएका नेता छान्न नसक्दा हामी पिछडिएका होइनौं त ? माथि दिइएको सामान्य उदाहरण हो एउटा सानो सहरको, जसले पर्यटनबाट मनग्य आम्दानी गरिरहेको छ । केवल एक सहर घुम्न आउने पर्यटकले हाम्रो जस्तो सुन्दरता र इतिहासले धनी देशको नाम पनि सुनेका छैनन् ।

    यहाँ आउने अर्जेन्टिनाका पेद्रो हुन् वा बेलायतका जोन, चीनका सि हुन् वा भारतका राहुल । थुप्रैलाई नेपाल केवल सगरमाथाको देश हो, केवल अग्ला चुचुरा हुन् र बलियाका निम्तिमात्रै हो भन्ने लाग्छ । कतिलाई त नेपाल कहाँ छ र कस्तो छ, योसम्म पनि थाहा छैन । नेपालमा लुकेका र भएका सम्भावना सबै उमेर समूहका पर्यटकका निम्ति हुन् भन्ने पूर्वाधार न हामीले निर्माण गर्न चासो दिएका छौं न त त्यसको प्रवर्द्धनमा नै जोड दिएका छौं ।

    पर्यटकका नाममा चर्को शुल्क त असुलेका छौं, विमानस्थल अध्यागमनमा दुःख त दिएका छौं तर न केवल एउटा राम्रो शौचालय बनाउन सकेका छौं न त हरेक उमेर समूहका पर्यटकमैत्री पूर्वाधार बनाएर अथिति देवोः भवः नै भन्न सकेका छौं । केवल चुनावी नारा र व्यक्तिवादी सोचमै मस्त अनि मग्न । अनि भएन त कवि शिरोमणिको कविताको अंश जस्तो ।

    (हाल संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा रहेका लेखक पूर्वटेलिभिजन पत्रकार हुन् ।)

  • जेपी पथमा इमानसिंह- यसकारण बन्यो राप्ती नमूना नगरपालिका

    जेपी पथमा इमानसिंह- यसकारण बन्यो राप्ती नमूना नगरपालिका

    स्वर्गीय जागृत प्रसाद भेटवाल (जेपी) भनेपछि चितवनमा एउटा ब्राण्ड नै थियो । पञ्चायतकालमा जनपक्षीय उम्मेदवार बनेर राष्ट्रिय पञ्चायत सदस्य बनेदेखि उनले २०५६ सालसम्म अपराजित यात्रा गरे । नेकपा एमालेका लोकप्रिय नेता जेपी भेटवालको पहिचान भनेकै हरेक जनताको समस्यामा पुग्ने र समाधान खोज्ने नेताको रूपमा थियो ।

    क्यान्सरबाट जेपीको निधन भइसकेको छ । पछिल्लो समय पूर्वी चितवनमा जेपीको चर्चा पुनः चलेको छ र जेपी पथमा छन् राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा । स्थानीय तहका जनप्रतिनिधिहरू सबै औसत मात्र छैनन्, अब्बल पनि छन् भन्ने उदाहरण बन्न सफल भएर ५ वर्षे कार्यकाल पूरा गर्दै छन् इमानसिंह ।

    नाम जस्तै कामले पनि इमान देखाएकै कारण राप्तीमा उनको लोकप्रियता ५ वर्षअघि चुनाव जित्दाको भन्दा बढेको छ । प्रायः जनप्रतिनिधि ५ वर्षपछि लोकप्रियताको कसीमा कमजोर बन्ने गरेकोमा इमानसिंह त्यसमा अपवाद देखिएकाले एउटा मतदाताको हिसाबमा उनको प्रशंसा गरिएन भने काम गर्ने जनप्रतिनिधिको सही मूल्याङ्कन नहुन सक्छ ।

    को हुन् इमानसिंह ?

    इमानसिंह लामाको जन्म बि.स २०३० सालमा मकवानपुर जिल्लाको खैराङ भन्ने ठाउँमा भएको थियो । बसाइसराइको क्रममा उनी आठ वर्षको उमेरमै चितवन जिल्लाको पहाडी भेग कोराकमा पुगे । पहाडी जीवन अत्यन्त कष्टकर थियो । त्यति बेला गाउँमा पढेलेखेका मान्छे कम थिए । त्यस बेला पनि लामा कोराक गा.बि.स भरी नै एसएलसी पास गर्ने दोस्रो व्यक्ति थिए । बौद्ध दर्शनमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका लामाले स्कुल र कलेजमा शिक्षण पनि गरे ।

    जनप्रतिनिधिका रूपमा निर्विरोध वडाध्यक्षदेखि जिविस उपसभापतिसम्म भएका लामा अहिले राप्ती नगरपालिकाको उपमेयर छन् । बौद्ध दर्शनका पिएचडी डा. लामा केही समय लुम्बिनी विकास कोषको कार्यकारी प्रमुख पनि भएका थिए । २०५४ सालको निर्वाचनमा उनी कोरकबाट वडाध्यक्षमा निर्विरोध भएका थिए ।

    चितवन जिल्लाका सात पालिकाको प्रमुख,उप–प्रमुखमध्ये जिल्लाभर नै सबैभन्दा बढी मत–अन्तरले विजयी हुनेमा पनि लामा नै भए । प्रायः स्थानीय तहका उपप्रमुख महिला छन् तर राप्तीमा प्रमुख महिला र उपप्रमुख पुरुष छन् । मेयर प्रभा बराल र उपमेयर इमानसिंहको टिमको कामकै कारण देशभरकै उत्कृष्ट नगरपालिकामा राप्ती पर्न सफल भयो ।

    जेपी भेटवाल जस्तै इमानसिंह असहाय, अपांगता भएका, बिरामी तथा ज्येष्ठ नागरिकको सेवामा तल्लीन रहेकै कारण उनको लोकप्रियताको ग्राफ उकालो लागेको हो । न्यायिक समितिको प्रमुखको हिसाबले न्याय सम्पादनमा निष्पक्षता र भौतिक पूर्वाधार विकासमा पारदर्शिताकै कारण राप्ती नमुना नगरपालिका बनेको हो ।

    विश्वभरिनै कोरोना भाइरस महामारी फैलिरहेका बेला २०७६ साल फागुन देखि देश लकडाउनले ठप्प रह्यो । एक परिवारका सदस्यले अर्को परिवारका सदस्यलाई छुन डराउने अवस्था थियो । छोराले बुवालाई, छोरीले आमालाई, श्रीमानले श्रीमतीलाई समेत छुन डराउने बेला इमानसिंहले आफ्नो फरक रूप देखाए ।

    त्यो जोखिममा आफ्नो पर्बाह नगरी उनले आफैँ चालक बनेर कोरोना संक्रमितलाई उपचारमा लैजाने, अस्पतालबाट घर ल्याउने, शव व्यवस्थापन गर्ने जस्ता काम देखाए । विपतमा जो आफ्नो सहयोगी बनेर आउँछ जनताले उसलाई कहिल्यै भुल्दैनन्,त्यसैले इमानसिंह यहाँ प्रिय बने ।

    राज्यबाट प्राप्त हुने सेवा सुविधा उनले जनताको सेवामा लगाएका छन् । राज्यबाट प्राप्त हुने तलब रकमबाट प्रत्येक वर्ष अति विपन्न , एकल महिला, अशक्त, अपांग, असहायहरुको घर निर्माणमा खर्च गर्ने गरेका छन् । उनले लकडाउनको समयमा अति विपन्न अशक्त अपांगहरुको घर–घरमै आफैले खाद्य सामग्रीहरू पुर्‍याएका थिए ।

    न्यायिक समितिको प्रमुख भएर उनले राप्ती नगरपालिकामा गरेका फैसला विरुद्ध कुनै एक–जनाले पनि पुनरावलोकन गरेको केश छैन र सरकारको मूल्याङ्कन पनि सयमा सय मत प्राप्त गर्ने नगरपालिका देशभरिमै राप्ती नगरपालिका रहेको छ ।

    इमानसिंहले विभिन्न कारणले नेपाली नागरिकता बनाउन नसक्ने र राज्यको सेवा–सुविधाबाट समेत वञ्चित भएका अशक्तहरूलाई घर घरमै पुगेर आफैँ सनाखत बसेर सो अधिकार दिलाए । असल काम गर्नेको मूल्याङ्कन हुनुपर्छ, इमानसिंह जस्ता जनप्रतिनिधिहरूलाई हौसला दिन र अरू धेरैलाई इमानसिंह बन्न प्रेरित गरौँ ।

    राम्रोलाई राम्रो भन्न सकियो भने मात्र राम्रो काम गर्न अरूहरूलाई हौसला मिल्नेछ । उपमेयरका रूपमा उनले जे गरे सम्भवतः मेयरको जिम्मेवारीमा पुगेर अझ धेरै गर्न सकुन् र देशमा राम्रो काम गर्नेहरू छन् भन्ने उदाहरण बन्न सकुन् ।