Category: साहित्य / ब्लग

  • मण्डलामा बागी कविको फिराद !

    मण्डलामा बागी कविको फिराद !

    काठमाडौं । कवि विनोदविक्रम भन्ने गर्छन्, ‘कहिले कविता आक्रोशले लेखाउँछ, कहिले लेख्नैपर्छ भन्ने आवश्यकताले लेखाउँछ । अनि कहिलेकाहीँ साथीभाइको आग्रहले पनि लेखाउँछ ।’

    एक समय विनोदविक्रम साथी पत्रकार दीपक सापकोटालाई सान्त्वना दिन अस्पताल पुगेका थिए । हात भाँचिएर बेडमा सुतिरहेका सापकोटाको सान्त्वनामा दुई चार शब्द खर्च गरे । र अस्पतालबाट एक सग्लो कविताको सानो भ्रूण लिएर फिरे ।
    राज्य र नागरिकको सपनामाथि ‘लुटपाट’ चलिरहेको ठाउँमा सीसीटिभी क्यामेरा छैन । जाबो निरीह नागरिक बिरामी पर्दा अस्पताल जाने बाटोमा, दुई गाँस जोहो गर्न श्रमस्थलमा क्यामेरा टाँगिएको छ । र भनिएको छ, ‘तपाईं सीसीटिभीको निगरानीमा हुनुहुन्छ ।’

    बिरामी साथी छेवैमा टुलमा बसेका कवि केसीलाई एक वाक्यले हृदय र दिमागमा एकैपटक मुक्का बर्साएर गयो, ‘म त कति ठूलो अपराधी रहेछु ।’

    अनि लेखे:

    फुक्काफाल हिँडिरहेछन् चोरहरु
    खुलेआम घुमिरहेछन् हत्याराहरु
    पुलिसचौकीकै छायामुन्तिर
    निष्फिक्री चुरोट फुकिरहेछन् लुटेराहरु
    निर्धक्क सिकारमा निस्किरहेछन् बलात्कारीहरु
    हाकाहाकी हप्ता उठाइरहेछन् गुन्डाहरु
    अलमस्त घुस खाइरहेछन् कर्मचारीहरु
    र यता
    तपाईं सीसीटिभीको निगरानीमा हुनुहुन्छ

    तपाईं अस्पतालमा विरामी कुरिरहनुभएको छ
    खाडीबाट नआइपुगेको, सदगत गर्न बाँकी
    आफन्तको लास कुरिरहनुभएको छ
    चढ्न नसकेर चारवटा बस छोडेपछि
    पाँचौ बस कुरिरहनुभएको छ
    बजेट भाषणसँगै महँगी घट्ने असम्भव शुभ खबर कुरिरहनुभएको छ
    कहिल्यै नआउने सुदिन कुरिरहनुभएको छ
    यत्तिकै कसैलाई कुरिरहनुभएको छ
    यति मामुली गतिविधिमा संलग्न हुनुहुन्छ र पनि
    तपाईं सीसीटिभीको निगरानीमा हुनुहुन्छ

    000

    केही समयअघि एक अन्तर्वातामा कविता किन लेख्नुहुन्छ भन्ने सवालमा केसीले जवाफ दिएका थिए, ‘जीवनवादी आन्दोलनमा सरिक हुन । मेरा निम्ति कविता कुनै भव्य, दिव्य, अलौकिक चिज होइन । बस् न्याय, स्वतन्त्रता र समानताका आन्दोलनमा सहभागी हुने एउटा माध्यम हो । मभित्र एउटा विद्रोही छ र एउटा प्रेमी पनि छ । यी दुईलाई प्रकट हुन एउटा मन्च चाहिन्छ । सायद म त्यही मन्च बनाउन कविता लेख्छु ।’

    सोमबार कवि केसीको एकल कविता वाचन कार्यक्रम भयो, मण्डला थिएटर, थापागाउँमा । कविता पारखीहरु केसीका कविता परख गर्न भेला भए । केसीका कवितासँग सम्बन्ध, प्रेम, माया, स्नेह भएकाहरुको सामुन्ने उभिएर कविता सुनाउन सुरु गरे, ‘प्रेमः एक भोजन’ ।

    केसीले सस्वर कविता वाचन सुरु गर्नुअघि वरिष्ठ कवि विमल निभाले केसीको कविता ‘भोकको क्षेत्रफल’ वाचन गरे । कविता सुनाउनुअघि निभा बोले, ‘एउटा शब्द छ बागी । त्यही शब्द सापटी लिएर के भन्छु भने विनोदविक्रम केसी असली बागी हुन् ।’
    कवि निभाले बोलेको एक शब्द ‘बागी’ नै सरदर काफी हो केसीका लागि । सीमान्तमा बाँचेका, राज्यको प्रिभिलेज्डमा नपरेका, युगौंदेखि शोषण र दमनमा परेकाहरु नै केसीका कविताका विषय भइदिन्छन् । मुखर रुपमा तिनैका आवाजलाई कवितामा उन्छन् ।

    केसीको कवितामा उनिएका एक प्रेमी हुन्, नवराज बिक । रुकुम हत्याकाण्डको नामले चर्चित यस हत्याकाण्डमा दलितहरुलाई भेरी नदीमा बगाइएको थियो । प्रेमको बदलामा नवराज बिकहरुले दलित भएकैले मारिनु परेको थियो ।

    केसीले उक्त हत्याकाण्ड सम्झिए, ‘रुकुमको नृशंस हत्याका कारण म अत्यन्त घोर निराशामा पुगेको थिएँ । सबै मानव सभ्यता नै लज्जित हुने घटना थियो त्यो । म प्रिभिलेज्ड जातको मान्छे हो । जात व्यवस्थाले लादेको उतिदिनको बोझ मसँग पनि छ । त्यसैले पनि त्यसवेला हताश, निराश मनोदशामा थिएँ म । हाम्रो आन्दोलनहरुको समीक्षा गर्न मन लाग्यो । मलगायत लाखौं मान्छे आन्दोलनमा थियौं । त्यति पनि हामीले कस्तो समाज निर्माण गरेछौं ! यद्यपी, आन्दोलन हुँदाहुँदै त त्यस्तो नृशंंस हत्याकाण भयो भने यदि आन्दोलन हुँदैन थियो भने के हालत हुन्थ्यो ?’

    अनि केसीले एक कविता सुनाए, ‘मृतक प्रेमीको फिराद’ ।

    केसीका कविताहरु कतै कतै, कुनै न कुनै घटनासँग जोडिएका हुन्छन् प्रायः । उनी एकदमै कम स्टाटस, ट्वीट लेख्छन् । बरु आफूले बोल्नुपर्ने वा राख्नुपर्ने विचारका लागि कविताको सहारा लिन्छन् । अलिअलि विम्ब र प्रतीकहरु चलाएर एक कवितामार्फत् आफ्नो सिंगो विचार पाठकलाई पस्कन्छन् ।

    केसीले पहिलो चरणमा चार प्रेम कविताहरु सुनाए ।

    सुसेलाको सांगितिक समूहले केसीको एक गीत गाएर सुनायो । यसपछि कवि शान्तिप्रिय बन्दनाले केसीको एक कविता सुनाइन्, ‘गिटार भिरिहिँड्ने युवती’ ।

    कार्यक्रमको दोस्रो चरणमा केसीले ‘गोल्ड मेडल’ सुनाए ।

    000

    कमसेकम
    बोक्सीलाई दिसा खुवाउने खेल होस् एउटा
    दाइजो कम ल्याउने बुहारी जलाउने खेल होस् एउटा
    कमजोरमाथि जोरजुलुम गर्ने खेल होस् एउटा

    त्यस्ता नाथे दुईचार गोल्ड मेडल त
    हामी पनि ल्याउँथ्यौं ।

    केसीले ‘डेन्जर जोन’ सुनाए । ‘आज सरको क्लास लिन्छ विद्यार्थी’ सुनाए । ‘जण्ड वेश्याको वक्तव्य’ सुनाए । ‘शुभकामना फोहोरको नयाँ प्रजाति’ सुनाए । ‘भुमण्डलीकरण’ सुनाए । केसीले दर्जन हाराहारी कविता सुनाए ।

    अनि वरिष्ठ कवि भूपाल राई केसीको एक कविता वाचन गर्न आए, ‘नेपाल सानै छ देवकोटाजी’ । कविता वाचन गर्नुअघि राईले भने, ‘विनोदविक्रमको एउटा कवितामा सयौं अरु कविताहरु हुन्छन् । ऊ पोखराको कविता लेख्दैछ भने पोखरा पुगिन्जेल सयौं पोखरा आउँछन् उसका कवितामा । सयौं ल्याण्डस्केप आउँछन् । त्यसैले ऊ कविताको पदयात्री हो ।’

     

  • ‘गोट’ को हातमा ट्रफी ! अभूतपूर्व विश्वकप फाइनलको साक्षी बन्दा…

    ‘गोट’ को हातमा ट्रफी ! अभूतपूर्व विश्वकप फाइनलको साक्षी बन्दा…

    काठमाडौं । नेपाली समयअनुसार आइतबार राति पौने ९ देखि करिब साढे ११ बजेसम्म संसारभरका करिब डेढ अर्ब मानिसले काँचको पर्दामा जे हेरे, त्यो फगत ‘फुटबल’ थिएन । तथापि त्यो फुटबल नै थियो ।

    सृष्टिकर्ता ब्रम्हाले यो ब्रम्हाण्डको रचना गर्दा सायदै कल्पना गरेका थिए, कि करिब आधा किलोको एउटा गोलाकार वस्तुले संसारभरका मानिसलाई एकसाथ आलसतालस पार्नेछ । तर, ब्रम्हाजी स्वयम् भेष बदलेर (दाह्रीसारी खौरिएर अर्जेन्टिनाको जर्सी लगाएका ब्रम्हाजी कस्ता देखिएलान् ?) पृथ्वीलोकमा ओर्लिकन हिजोको म्याच दृष्टिगोचर गरेको भए सायद उनी पनि एकछिन आलसतालस पर्न सक्थे । म्याचपछि मिडियालाई ‘बाइट’ दिँदै भन्ने थिए होलान्, ‘यो गोलाकार सुक्ष्मपिण्डले मकन मन जितिगयो । अब म मर्त्यलोक गइकन देवता र दैत्यबीच एउटा ‘स्वर्गकप फुटबल’ को आयोजना गर्न्या छु ।’

    खैर, अब यथार्थको धरातलमा ओर्लिउँ । फुटबल पारखीहरूका लागि हिजोको विश्वकप फाइनल वास्तवमा एउटा ‘लाइफटाइम एड्भेञ्चर’ भन्दा कम भएन, खासकन मेस्सीका ‘पंखा’ हरूका निम्ति । खेलको उत्तरार्द्धमा आफ्नो मुटु-कलेजो शरीरबाट फुत्त बाहिर निस्किएर छरपस्ट नबनेकोमा सन्तोष मानिरहेका होलान्, मेसीका डाइ हार्ड फ्यानहरू (म पनि एक) । यति रोमाञ्चकारी वर्ल्डकप फाइनल इतिहासमा सायदै भएको थियो, जसका हामी साक्षी भएम् ।

    मैले फुटबल हेर्न थालेको १९९८ देखि हो । अहिलेसम्मका कुनै पनि फाइनलमा यो स्तरको रोमाञ्चकताको अनुभव भएको थिएन । यति धेरै लगाव दिएर कुनै टीमलाई समर्थन गरिएको पनि थिएन । पहिलोपटक विश्वकपमा एउटा टीमको समर्थनमा दह्रोसँग चिच्याइयो । मेरो त्यही चिच्याई र कडा पक्षधरताले पनि अर्जेन्टिनाका खेलाडीमा नैतिक बल मिलेको हुन सक्छ भन्ने आत्मरतिमा छु अहिले !

    मेस्सीसँग रोनाल्डोको जस्तो हाइटको एड्भान्टेज छैन । रोनाल्डोजस्तो आफैंले गोल हान्नुपर्छ भन्ने मान्यताका साथ उनी विपक्षी पोस्ट वरिपरी बल ढुकेर बस्दैनन् । उनी अरु खेलाडीका लागि अवसर सिर्जना गरिदिन्छन् । आफैंले निश्चित गोल गर्न सक्ने अवस्थामा पनि उनले टिममेटलाई पास दिएका उदाहरण क्लब फुटबलमा थुप्रै छन् ।

    त्यसो त फाइनल खेलको आधाभन्दा बढी हिस्सा एकपक्षीय थियो । पहिलो हाफमा अर्जेन्टिना पूर्णरूपमा खेलमा हाबी भइरहँदा फ्रान्सेली खेलाडीहरू बलको खोजीमा अन्धाधुन्द भौतारिए झैं देखिन्थे । दोस्रो हाफमा पनि ३० मिनेटसम्म उस्तै अवस्था । यस्तो प्रतीत हुन्थ्यो कि मानौं फ्रान्सले मेस्सीलाई उपाधि सुम्पिने निधो गरिसकेको छ र खेलाडीहरू औपचारिकताका लागि मात्रै मैदानमा ‘इदरउदर’ कुदिरहेका छन् ।

    अर्जेन्टिनाले फ्रान्सको गोलपोस्ट ताकेर एक दर्जन चार्ज गरिसक्दा फ्रान्सको तर्फबाट चार्ज शून्य थियो । अर्जेन्टिनाका गोलकिपर मानौं गोलपोस्ट छोडेर एकछिन चिया-चुरोट खाएर फर्किएको भए पनि सायद केही बिग्रिनेवाला थिएन । खेल सकिन १० मिनेटमात्र बाँकी छँदासम्म अर्जेन्टिनाले २-० को आरामदायी अग्रता लिइरहँदा यसपालिको विश्वकप फाइनल निरस भयो भन्ने निष्कर्षमा पुगिसकेका थिएम् हामी । मसँगै फुटबल हेरिरहेको एकजना साथी त धेरैपटक उँघिसकेको थियो ।

    तर, खेलको उत्तरार्द्धमा आएर किलियन एम्बाप्पेले डरलाग्दो ढंगले फ्रान्सलाई कमब्याक गराए । उनले ८० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेपछि अर्जेन्टिनी समर्थकको मुटुमा ढ्याङ्ग्रो ठोकियो । अनि, त्यसको ९० सेकेन्डपछि उनै एम्बाप्पेले आफ्नो शक्ति देखाउँदै दोस्रोपटक बललाई जाली चुमाए । उनको दोस्रो गोल बन्दुकबाट निस्किएको गोलीभन्दा कम्ति शक्तिशाली थिएन ।

    यसरी डेढ मिनेटको अन्तरालमा फ्रान्सले दुई गोल दागेपछि खेलमा जबरजस्त ट्वीस्ट आइगयो । त्यतिञ्जेलसम्म निस्प्रभावी देखिएका र सामाजिक सञ्जालमा ट्रोल हुन थालिसकेका एम्बापे एकाएक खतरनाक अवतारमा प्रकट भए । उनको खुट्टामा बल पर्‍यो कि डर लाग्न थाल्यो । फ्रान्सेली टीमको मनोबल बढ्यो भने अर्जेन्टिनी खेलाडीहरू आत्तिन थाले ।

    ९० मिनेटको खेल बराबरीमा सकियो र त्यसपछि थपिएको अतिरिक्त ३० मिनेट कुनै हरर फिल्मभन्दा कम भएन । १०८ औं मिनेटमा प्यारा मेस्सीले ‘गैरपेनाल्टी’ बललाई जाली चुमाए । ‘अब चाहिँ जितियो’ भन्दै अर्जेन्टिनी समर्थक खुशीमा झुमे । (म पनि एकछिन छोरासँग कोठाभित्रै उफ्रिएँ) । तर, खेलमा अर्को ट्वीस्ट बाँकी नै थियो । फ्रान्सले दोस्रोपटक पेनाल्टी पायो । उनै एम्बापेले हाने । उनको खुट्टाबाट तेस्रोपटक बल अर्जेन्टिनाको जालीमा छिर्‍यो । तर, ह्याट्रिक गोल गर्दा पनि टीमलाई जिताउन नसक्ने अभागीमा दरिए उनी । टाइब्रेकरमा सहित उनले ४ गोल गरे, तर पनि निराश बने ।

    म फुटबलमा ‘पेनाल्टी प्रथा’ आलोचक हुँ । पेनाल्टीले वास्तवमा फुटबललाई न्याय गर्छ जस्तो लाग्दैन । पेनाल्टीमा गोल छिराएर सेलिब्रेसन गरेको त झन् फिटिक्कै मन पर्दैन । यो एकप्रकारले भन्नुपर्दा ‘फ्रि गोल’ हो । डि-बक्सभित्र जान-अञ्जानमा भएको सानोतिनो गल्तीमा पनि पेनाल्टी दिने गरिन्छ, जुन प्रायः विवादित हुन्छन् । खेलले भन्दा झेलले जित्ने, उत्कृष्टता भन्दा भाग्य प्रधान हुने मनोभावनालाई पेनाल्टीले प्रश्रय दिए झैं लाग्छ ।

    (म यसै लेखमार्फत फिफाको ध्यानाकर्षण गराउन चाहन्छु कि फुटबलमा पेनाल्टी र टाइब्रेकरको नियम संसोधन गरियोस । तर मेरो कुरा फिफासम्म कसले पुर्याइदेला र ? फेरि म कहाँको फुटबलविज्ञ हुम् र ?)

    खैर । मैले आज स्वीकार्नैपर्छ कि एम्बाप्पे हिजो मेस्सीभन्दा खतरनाक देखिए । मलाई लाग्छ हिजोको खेलमार्फत किलियन एम्बाप्पेका संसारभर मिलियन फ्यानहरू थपिए । आज उनको दिन हो कि भन्ने भएको थियो । तर, अहिल्यै उनलाई मेस्सीसँग दाँजिहाल्नु चाहीँ उचित नहोला । उनीसँग गति छ, शक्ति छ, कला छ र पनि मेस्सीको जस्तो जादू चाहीँ छैन । एम्बाप्पेको उमेरमा मेस्सी सर्वोत्कृष्ट खेलाडीको रूपमा दरिइसकेका थिए । एम्बाप्पले अझै धेरै स्तरमा आफूलाई प्रुफ गर्न बाँकी छ । विश्वकपमा चाहीँ उनले अभूतपूर्व रेकर्ड बनाइरेहका छन् । भोलि गएर एम्बाप्पे रोनाल्डोसम्म बन्न सक्छन् । रोनाल्डोका फ्यान उनको शैली पनि रोनाल्डोसँग मिल्छ ।

    अर्जेन्टिनाले फ्रान्सको गोलपोस्ट ताकेर एक दर्जन चार्ज गरिसक्दा फ्रान्सको तर्फबाट चार्ज शून्य थियो । अर्जेन्टिनाका गोलकिपर मानौं गोलपोस्ट छोडेर एकछिन चिया-चुरोट खाएर फर्किएको भए पनि सायद केही बिग्रिनेवाला थिएन । खेल सकिन १० मिनेटमात्र बाँकी छँदासम्म अर्जेन्टिनाले २-० को आरामदायी अग्रता लिइरहँदा यसपालिको विश्वकप फाइनल निरस भयो भन्ने निष्कर्षमा पुगिसकेका थिएम् हामी ।

    फाइनल हारे पनि एम्बाप्पेमाथि न्याय भएको महसुस भएको छ । किनकी उनले सर्वाधिक गोल स्कोररका रूपमा गोल्डेन बुट जिते, जसका उनी हकदार थिए । उनको व्यक्तिगत योगदानको कदर भयो । टीमको हिसाबमा चाहीँ अर्जेन्टिना नै जितको हकदार थियो । कम्तीमा लियोनल मेस्सी एकपटक विश्वकप उपाधि डिजर्भ गर्थे । मेस्सीप्रतिको व्यक्तिगत सहानुभूतिले गर्दा नै हिजोको फाइनलमा संसारका अधिकतम मानिसहरूको समर्थन अर्जेन्टिनालाई थियो ।

    नेपाल वर्ल्डकपमा थिएन र हिजो फाइनल खेलिरहेका दुई देशप्रति हाम्रो कुनै भावनात्मक सम्बन्ध पनि होइन । तर, पनि ती देशकै नागरिकको स्तरमा नर्भस बनेम् हामी । त्यसो त वर्ल्डकप सुरू भएदेखि नै सामाजिक सञ्जालमा नेपाली समर्थकहरूको चुरीफुरी यति धेरै थियो कि मानौं, हामी आफैं उपाधिका दाबेदार हुम् । हामीलाई वर्ल्डकप फाइनल खेलिरहेका देशका जनताको भन्दा कम्ता आतुरी थिएन । सायद ‘विश्व एक गाउँ’ भनेको यही होला ।

    संसारभरमा जस्तै नेपालमा पनि अधिकतर फुटबलप्रेमीहरू मेस्सीले ट्रफी उचालेको हेर्न व्यग्र थिए । मेस्सीले नेपाल भन्ने देशलाई चिन्छन्-चिन्दैनन्, थाहा छैन । उनले वर्ल्डकप जितुन् भनेर नेपाली समर्थकले ग्रहशान्ति समेत गरिदिएको पनि उनलाई कसैले सुनाएको छैन होला । त्यही ग्रहशान्तिको बलले अर्जेन्टिनाको ‘लक लागेको’ गोप्य रहस्य युट्यूवबाट पुण्य गौतमले खुलासा गर्नै बाँकी छ ।

    अँ, यतिबेला मेस्सीका आलोचकहरू पनि नेपालमा उपस्थिति नभएको होइन । उनीहरू इतिहासका विभिन्न प्रसंग कोट्याएर अर्जेन्टिनालाई नेपालीहरूले समर्थन गर्नु नहुने दलिल गरिरहेका थिए । तर, बुझ्नुपर्ने कुरा के हो खेलमा कुनै पनि टिम वा खेलाडीको समर्थन क्याल्कुलेटर थिचेर हिसाबकिताब निकालिकन गरिन्न । खेललाई युद्धसँग दाँज्नु पनि हुँदैन ।

    खैर । विश्वकपको दिग्विजयपश्चात सर्वकालीन महान खेलाडी को हो भन्ने बहस सायद अन्त्य भयो । म यही आलेखमार्फत घोषणा गर्न चाहन्छु कि मेस्सी नै ‘गोट’ हुन् । पेले र म्याराडोनासँग समानान्तर लिजेन्डका रूपमा अब फुटबल जगतले मेस्सीलाई चिन्ने छ । त्यसो त विश्वकपअघि पनि मेस्सी सर्वश्रेष्ठ हुन् भन्नेमा आशंका थिएन । तर, गोलसंख्याको हिसाब निकालेर पोर्चुगिज स्टार रोनाल्डोलाई मेस्सीको समानान्तर ठान्ने गर्थे केही फुटबल पण्डितहरूले ।

    मैले आज स्वीकार्नैपर्छ कि एम्बाप्पे हिजो मेस्सीभन्दा खतरनाक देखिए । मलाई लाग्छ हिजोको खेलमार्फत किलियन एम्बाप्पेका संसारभर मिलियन फ्यानहरू थपिए । आज उनको दिन हो कि भन्ने भएको थियो । तर, अहिल्यै उनलाई मेस्सीसँग दाँजिहाल्नु चाहीँ उचित नहोला । उनीसँग गति छ, शक्ति छ, कला छ र पनि मेस्सीको जस्तो जादू चाहीँ छैन ।

    आज मैले यो भनिरहँदा रोनाल्डोलाई चोट पुग्न सक्छ (लोल), तर यथार्थ यही हो कि उनी मेस्सीको हाराहारी थिएनन् । रोनाल्डो शारीरिक उचाइमा मेस्सीभन्दा निकै अग्ला भए पनि प्रतिभामा मेस्सीको कुमसम्म मात्रै आउँछन् । रोनाल्डो एक गोल मेसिन हुन् । मेस्सी जादुगर हुन् । फरक यही हो । समकालीन खेलाडीमा मेस्सीपछि को सर्वोत्कृष्ट भन्नेमा चाहीँ पक्कै रोनाल्डोको नाम निर्विकल्प आउँछ ।

    मेस्सी खेल कौशल मात्र होइन, व्यक्तिगत स्वभावले गर्दा पनि चरम लोकप्रिय छन् । उनलाई मानिसहरूले यतिविघ्न माया गर्नुको कारण उनको शालिनता र सौहार्द व्यवहार हो । उनी आम फुटबलरभन्दा धेरै अर्थमा भिन्न छन्, मैदानभित्र पनि र बाहिर पनि । फुटबलजस्तो आक्रामकताको खेलमा उनी सधैँ सौम्य र शान्त देखिन्छन् । हतपति संयम् गुमाउँदैनन् । अरु खेलाडीजस्तो फल पाउनका लागि मैदानमा भुक्लुक-भुक्लुक लड्ने र चोटको अभिनय गर्ने गरेको पाइँदैन । फाउल निकै कम खेलेको देखिन्छ उनले ।

    मेस्सीसँग रोनाल्डोको जस्तो हाइटको एड्भान्टेज छैन । रोनाल्डोजस्तो आफैंले गोल हान्नुपर्छ भन्ने मान्यताका साथ उनी विपक्षी पोस्ट वरिपरी बल ढुकेर बस्दैनन् । उनी अरु खेलाडीका लागि अवसर सिर्जना गरिदिन्छन् । आफैंले निश्चित गोल गर्न सक्ने अवस्थामा पनि उनले टिममेटलाई पास दिएका उदाहरण क्लब फुटबलमा थुप्रै छन् ।

    मेस्सीले आफ्नो अन्तिम विश्वकप खेले । अर्को विश्वकपमा उनी हुने छैनन् । ३५ वर्षको उमेरमा उनको करिअर सर्वोच्च बिन्दुमा पुगेको छ । सायद केही समयपछि सन्‍न्‍यास लेलान् । सायद मेस्सीबिनाका आगामी विश्वकपहरू यत्तिकै तन्मयका साथ नहेरिएला । वा हेरिएला । तर, यो विश्वकप चाहीँ सदा स्मरणीय रहने छ । बधाई मेस्सी ।

  • मेस्सीको अभूतपूर्व सफलता र सन्निकट दिग्विजय

    मेस्सीको अभूतपूर्व सफलता र सन्निकट दिग्विजय

    अर्जेन्टाइन स्टार स्ट्राइकर लियोनेल मेस्सी आफ्नो खेल जीवनको उत्तरार्धमा छन् । अन्तर्राष्ट्रिय फुटबल करियरबाट विश्राम लिनु पूर्व कतार विश्वकपमा मेस्सीको प्रदर्शन अहिलेसम्मकै उत्कृष्ट विश्वकप प्रदर्शन हो भन्दा अन्यथा हुनेछैन, त्यो पनि ३५ वर्षको बढ्दो उमेरमा ! आफ्नो करिअरको अन्तिम विश्वकप खेलिरहेका मेस्सी जति दबाबमा छन्, त्यति नै दुनियाँभरका फुटबल प्रेमीहरूको समर्थन र प्रशंसा पाइरहेका छन् । एकजना खेलाडीका लागि सफलता र सद्भावको धेरै ठूलो अर्थ र मूल्य हुन्छ, जुन मेस्सीले प्राप्त गरिसकेका छन्, गरिरहनेछन् !

    विश्व विजेता बनेर संसारलाई हाँक दिने मृगतृष्णा बोकेर मेस्सी-अर्जेन्टिनी समर्थक बाँचेको पनि आज ३८ वर्ष भएको छ । आफ्नै नायकत्वमा करिअरको अन्तिम विश्वकपको अन्तिम खेल खेल्न मैदा प्रवेश गर्न लागेका मेस्सीसँग विश्वस्तरको डिफेन्ससहित युवा खेलाडी, अनुभवी सहकर्मी, पेनाल्टी विज्ञ गोलकिपरको साथ छ । र, त्यसलाई साथ दिइरहेका मुख्य तीनवटा पक्ष छन्, उत्कृष्ट प्रशिक्षक, एकताबद्ध टोली र आत्मविश्वास सहितको जितको भोक । मेस्सीको अर्जेन्टिनालाई रोकेर विश्वकप जित्न फ्रान्सेली टोलीलाई कठिन मात्रै होइन नै असम्भव जस्तै छ ।

    यो स्मरण छ कि मेस्सी अर्जेन्टिनालाई विश्व विजेता बनाउने यात्राको धेरै नजिक पुगेका थिए, तर, त्यसमा युरोपेली टिम जर्मन भिलेन बन्यो र सन् २०१४ मा अर्जेन्टिना विश्व विजेता बन्नबाट धेरै नजिक पुगेरपनि वञ्चित हुनुपर्‍यो । विश्व विजेता, त्यो पनि आधुनिक फुटबलको, यो सजिलो कुरा भने पक्कै होइन ! कठोर लडाइँ पछिको दिग्विजयी हासिल गर्न अहिलेको अर्जेन्टिना सबल छ, योग्य छ ! उसका पछिल्ला ४२ मध्ये १ खेल मात्रै हारेको छ । ब्राजिल, इटाली, नेदरल्यान्डस्, क्रोएसिया, पोल्यान्ड र मेक्सीको जस्ता बलिया टोलीमाथि अर्जेन्टिना हावी हुँदै आएको छ । यो तथ्यले अर्जेन्टिना फ्रान्स भन्दा पनि राम्रो र विश्व विजेता बन्न लायक टिम हो भन्नेमा दुबिधा हुनेछैन ।

    सातौँ पटकका बालोन डि’ओर विजेता, सातै पटकका फिफा वर्ष खेलाडी, ६ पटकका युरोपियन गोल्डेन बुट बिजेता, ४ पटकको च्याम्पियनसिप लिग विजेता र अन्तर्राष्ट्रिय उपाधि तर्फ कोपा अमेरिका र कमनबेल यूईएफए कप च्याम्पियनसीप विजेता मेसीले सब थोक जितेका छन् !

    बार्सिलोनाबाट मात्रै ३५ बढी उपाधी विजेता मेस्सीले फुटबलमा जित्न बाँकी नै केही छैन, बाहेक फिफा विश्वकप ! आफ्नै कप्तानी र मुख्य प्रदर्शनमा उत्कृष्ट व्यक्तिगत तथ्यांक सहित कतार विश्वकपको फाइनलमा पुगेका मेस्सी २२ औं संस्करणको अरब विश्वकप जितेर आफूलाई Greatest Of All Time, अर्थात् GOAT प्रमाणित गर्न चाहन्छन् । शताब्दी फुटबलरको उत्कृष्ट पहिचान सहित आजीवन आफूमाथिको दबाब र आलोचनालाई साम्य पार्दै आफ्नो विशिष्ट खेल यात्राको ग्रेटफुल एक्जिट गर्न उद्धत मेस्सी आठौं पटकको बालोन डिओर अवार्डका समेत एक्ला हकदार बन्नेछन् ।

    ४ वर्षे उमेरदेखि फुटबल खेल्न सुरु गरेका मेस्सी १३ वर्षको उमेरमा स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए । झन्डै १७ वर्ष बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेका मेस्सीले ३५ वटा उपाधि हात पारे । अघिल्लो सिजन, अर्थात् सन् २०२१ मा फ्रान्सेली क्लब पिएसजी पुगेका मेस्सीले पहिलो सिजन नै लिग वानका विजेता बन्न सफल भए ।

    तथ्याङ्कमा हेर्दा मेस्सी साँच्चिकै असाधारण छन्, अविश्वसनीय छन् ! जारी विश्वकपको सेमिफाइनलमा क्रोएसियासँगको खेलसँगै मेस्सीले आफ्नो १००२ औँ खेलको आँकडा पुरा गरेका छन् । त्यस क्रममा उनले ७९१ गोल सहित ३४० गोलका लागि अवसर सिर्जना गर्न सफल छन् । ३५ वर्षीय स्टार स्ट्राइकर मेस्सीले यी सबै सफलता र कीर्तिमान आफ्नो उत्कृष्ट खेल शैली र असाधारण क्षमताले सम्भव भएको हो ।त्यसैले त उनी संसारभर जादुयी, अर्थात् म्याजिक मेस्सीको उपनामले विख्यात छन् ।

    १८ वर्षको उमेरमा हंगेरीविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेव्यू गरेका सुपरस्टारको नाममा ९६ गोलको रेकर्ड कायम छ । जारी विश्वकपमा साउदी विरुद्ध पेनाल्टीमा पहिलो गोल गरेका मेस्सीले फाइनल खेलसम्म आउँदा ६ खेलबाट ५ गोल र तीन असिस्ट पुरा गरिसकेका छन् । सन् २००६ को विश्वकपदेखि सुरु भएको उनको यो ५ औँ संस्करण विश्वकप हो । अन्तिम विश्वकपका लागि अर्जेन्टिनाबाट खेलिरहेका मेस्सीले सर्वाधिक ११ गोलको कीर्तिमान कायम गरेका छन् । उनी यसपटकको विश्वकप फुटबलमा गोल्डेन बुटका प्रमुख दाबेदार पनि हुन् !

    फुटबलमा हरेक सफलताको स्वाद चाखेका मेस्सीलाई विश्वकपको भोकले कहिल्यै छाडेन । मैले अगाडि पनि उल्लेख गरेँ कि मेस्सी ब्राजिलमा जारी विश्वकपको धेरै नजिक पुगेर पराजित हुनुपर्‍यो । त्यसबाट मेस्सीले यतिधेरै आलोचना र अपमान हुनुपर्‍यो कि मेस्सीले आफ्नै देशका समर्थकबाट आफ्नो जर्सीमा आगो लगाइएको हेर्नुपर्‍यो । उनको पुत्ला जलाइयो । त्यसबाट विक्षिप्त हुँदै फुटबलबाट संन्यासको घोषणा नै गरे । तर, अर्जेन्टिनाका तत्कालीन राष्ट्रप्रमुखदेखि संसारभरका फुटबल प्रेमीको सद्भाव र दबाबले उनलाई पुनः राष्ट्रिय टिममा फर्किन बाध्य पार्‍यो । हुनसक्छ, उनले आफ्नो अन्तिम विश्वकप अरब विश्वकप जित्नकै लागि उनी फुटबलमा फर्किएका त थिएनन् ? एउटा सिंगो रातको प्रतीक्षापछि यो कुरा थप पुष्टि हुनेछ !

    अतः अनेकौँ सफलता र कीर्तिमानले सुसज्जित मेस्सीको फुटबल करिअर साँच्चिकै असाधारण छ । तर, अन्तर्राष्ट्रिय करिअर भने अपेक्षित राम्रो हुन नसकेको साँचो हो । अघिल्लो वर्ष ब्राजिललाई उसकै भूमिमा हराएर दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिका जित्यो । मेस्सीको मुख्य प्रदर्शन र कप्तानीमा अर्जेन्टिनालाई २८ वर्षदेखिको उपाधि विहीन यात्रामा पूर्णविराम लगाउँदै मेस्सीलाई समेत अन्तर्राष्ट्रिय उपाधि दिलायो । त्यही खेल, त्यही उपाधिको ऊर्जामा टेकेर अर्जेन्टिना विश्व विजेता बन्ने सपनालाई पुनर्जीवित गर्‍यो । र, आज त्यही ऊर्जा र प्रेरणाले अर्जेन्टिनालाई विश्वविजेताको सफलता नजिक पुर्‍याएको छ ।

    र, अरबमा मात्रै होइन, आज दुनियाँ नै मेस्सीमय बनेको छ । अर्जेन्टिनालाई ३६ वर्षपछि पुनः विश्व विजेता बनाएर फुटबल जगतमा पेले र म्याराडोनाको भन्दा फराकिलो पहिचान बनाउने ऐतिहासिक अवसर मेस्सीले जुनसुकै मूल्यमा पनि खेर फाल्न चाहँदैनन् । यसका अघि फ्रान्सेली टिम निष्प्रभावी हुने निश्चित जस्तै छ । अन्तर्राष्ट्रिय फुटबल करिअरको अन्त्यको एक कदम मात्रै बाँकी रहँदा आधा धर्ती मेस्सीको ग्रेटफुल एक्जिटका लागि प्रार्थना गरिरहेको छ !

  • स्वप्नशील मनोकांक्षा

    स्वप्नशील मनोकांक्षा

    निर्ममताभित्र पनि गन्धले अन्ततः उही निराशाको बादल छायो । प्राप्तिमा खुशी र उमंगित हुने आत्मा भने वातावरणको त्यान्द्रोले उडाइदिने रहेछ । सधैं उही उस्तै नहुने गतिमा पनि सधैं समानता र अनुकूलता खोज्ने दुष्प्रयास जब सफल हुँदैन, कञ्चन लागेको मौसममा पनि बादल लाग्ने रहेछ । यहीभित्र नै संसारको आवश्यकता धुमिल बन्ने रहेछ ।

    अकिञ्चित सोचहरु पनि अस्थिर, सामान्य नियममा पनि वैरागिने र खुशीको उन्माद छाउने । एक गर्न नसकिने आत्मालाई कसले नियन्त्रण गर्ला ? आफैंमा अद्भूत लाग्ने सोचमा पनि एकाधिकार गर्न नसकिने चञ्चलताहरु । लाग्दो हो, मानसिकताको यो दुष्परिणाम । यही असोचनीय र अकल्पनीय भाष्यहरु जीवनका अंगहरु हुन् । जुन अंग हाम्रा अभिन्नताभित्र जोडिएर यो जीवनका सारथी बनिरहेका छन् । जसलाई हामीले नचाहेर पनि अंगालिरहेका छौं । यही र यस्तै, यतै र कतै ।

    सोचको विकास कसले गराउँछ ? जीवनको अनुत्तरित प्रश्नहरुको उत्तर खोज्दैमा भौतारिरहें । दिनको उज्यालो र रातको अन्धकार नियमित प्रक्रिया भए तापनि यसमा मेल गराउन नसक्दा मस्तिकमा भएको अचेतन सोचले जरा गाडिदिँदा अन्तत्वगत्वा धर्तीको गतिशीलता पनि बुझ्न नसक्ने अर्धचेत हावी हुने रहेछ । यो आवश्यकताको निरन्तरता हो कि निरन्तरताको आवश्यकता ? मस्तिष्कमा सञ्चार हुने गति पनि कति सक्रिय, जसले पलमा अनेकौं सोचलाई एकैचोटि प्रवाह गरिदिने । त्यही प्रवाहित धाराले हेर्ने दृृष्टिकोण र सोच्ने गतिशीलतालाई नै तरंगित बनाइदिने ।

    गन्तव्य फरक तर, गन्तव्यका यात्रामा सोचिने सोचहरु पनि कता कता ? उकुसमुकुस सरलताको पर्याय भए तापनि एकाकार हुन नसक्ने सजीव जीतको कमजोरी हो क्यारे ! भर्खर पुलकित भएको सोचले एक्कासि फन्को मार्दासमेत शारीरिक रुपमा सरल भए तापनि सोचको दृष्टिकोणमा भने असमानताले यो वातावरणको महत्व पुष्टि गरेको हुने रहेछ ।

    घडीको सुई निरन्तर घुमिरहे जस्तो पृथ्वी पनि निरन्तरताको गतिमा अभ्यस्त छ । तर, सधैं उही सोच्ने हाम्रो दरिद्र मानसिकता भने सोचको बन्धक बनिरहेको छ । यथार्थको कसीलाई छोप्न खोज्ने हाम्रा कर्महरु अन्तत्वगत्वा सत्यसँग हार मान्नुको विकल्प छैन ।

    बिहानको त्यो चिसो उन्माद, समयको घडीपलासँगै विस्तारै धुमिल हुँदै शिथिलतातर्फ उन्मुख भएको छ । लाग्दो हो, त्यो उत्साहमा सत्यता थियो कि थिएन । जो-जाँगरको त्यो पराकम्प नै भासिए जस्तो । थकानले चिर निद्रामा पारे जस्तो । लाग्दछ, भोलिको पालुवा फेरि फुल्ने छैन । यही ओइलाएको फूलले अनादिकालसम्म मानव मस्तिष्कमा छाप छोड्नेछ ।

    कम्पन र घर्षणको महत्व यही नै हो क्यारे ! क्रियाशीलतामा तापक्रम बढ्ने र यथास्थितिमा घट्ने । त्यही घट्ने क्रियाशीलताले जन्माएको असीमित इच्छा र आकांक्षाको पहाडले पुनः कल्पनाको दियो बाल्ला जस्तो । त्यही दियोको उज्यालोले दिनको रोशनीमा सफलताको पहाड चढुँला जस्तो । तर, त्यो फगत महत्वाकांक्षाको उपज शिवाय केही थिएन । मानव जातिको सोच नै दुःख र चिन्ताको उपज हो । जसले जीवनमा दुःख र कष्ट शिवाय केही नदिने ।

    आवश्यकताको पनि सीमा हुने यथार्थभन्दा बाहिर जाने हाम्रो सोच नै दरिद्र । जुन दरिद्रतालाई जीवनभर बोकेर हिँड्नमा नै अभ्यस्त हुने हाम्रो सफलता । घडीको सुई निरन्तर घुमिरहे जस्तो पृथ्वी पनि निरन्तरताको गतिमा अभ्यस्त छ । तर, सधैं उही सोच्ने हाम्रो दरिद्र मानसिकता भने सोचको बन्धक बनिरहेको छ । यथार्थको कसीलाई छोप्न खोज्ने हाम्रा कर्महरुसामु अन्तत्वगत्वा सत्यसँग हार मान्नुको विकल्प छैन । तर पनि सत्यसँगको सिंगौरीले अस्तित्वविहीन हुन सक्ने मानव आत्माहरु झुक्न भने नसक्ने रहेछ । यहीभित्र धर्तीका समग्र जीवहरु एकाकार बाँचिरहेका छन्, आफूले बुझेका विषयलाई मात्र सत्य सोचेर ।

    देख्ने नजरहरु पनि धर्मराए जस्तो । त्यही धर्मराएको आँखामा पनि स्वार्थ, त्यही स्वार्थले धर्मराएको नजरको अनुभूति नै नहुने रहेछ । सोचको बन्धनभित्र रम्नेहरु धर्तीमा असीमित हुने रहेछ । यथार्थलाई आत्मसात गर्नेहरुलाई त्यही असीमित भीडले उम्कन नसक्ने बनाउँदो रहेछ । यही नै सत्यको एउटा अंश रहेछ । बन्धन पनि सोचको कि वातावरणको ? वातावरणले सोचको विकास गर्ने कुरा सत्य हो । तर, त्यो सोचको विकासमा सत्यको खोजी भने दुर्लभ रहेछ । जुन सत्यको खोजीलाई आत्मसात गर्न सहज सोच साधक नबन्ने रहेछ । विश्वास र सोच पनि एकअर्काका पूरक बन्न सक्दैन क्यारे ! फगत महत्वाकांक्षा अर्धचेतनाको धृष्टतामात्र रहेछ । पाइलाले टेकिने धर्तीमा पनि जब प्रश्नको ज्वारभाटा निस्कन्छ, जीवन ऊर्जाशील बने तापनि त्यसको उचित व्यवस्थापन नहुँदा थप घातक बन्ने रहेछ ।

    साधन र चिन्तन पनि एकान्तमा सम्भव हुने रहेछ । धर्तीको यो कोलाहलमा जीवनको यथार्थ बुझ्न खोज्नेहरुले थप जी­वनलाई कष्टकर बनाइरहेका छन् । यही कष्टकर जीवन व्यतित गर्न म न्वारनदेखिको बल लगाएर कुदिरहेको छु ।

    बिहानीको मिर्मिरेमा उज्जाएका पातहरु सूर्य अस्ताउँदै गर्दा विस्तारै ओइलिइन्छन् । लाग्दछ, यसमा धर्तीको नियमन लागू भएको छ । गतिको चक्रमा ऊ समाहित भएको छ । भोलिको त्यो पुलकित वातावरणमा फेरि तेजिलो बन्ने सोच सायद त्यो बिरुवामा पनि भए जस्तो । नियमनलाई आत्मसम्मान गरे जस्तो । सृष्टिको निरन्तरतामा चुपचाप साथ दिए जस्तो । यथार्थलाई आत्मसात गरे जस्तो । सोच्दो हो, यो निष्पट अँध्यारोलाई भोलिको उज्यालोले चिर्नेछ र पुनः क्रियाशीलतामा अभ्यस्त हुनेछ । महत्वाकांक्षाको यो पहाडले सिङ्गो जीवन नै गहुङ्गो बनाउने हाम्रो सक्रियता जारी छ । पाउने र प्राप्तिमा नै सफल जीवन प्राप्त हुने अन्देखा सपनाले अन्ततः निराशाको पहाडभित्र विलीन हुन हामी व्यग्रका साथ तँछाडमछाड गरिरहेका छौं ।

    सोच र वातावरणको यो बन्धनमा चेतनाको यो अद्वैत रुपहरु विभिन्न बहानामा सतहमा देखिने रहेछन् । स्वार्थ र लोभको ती बहानाहरु अन्तत्वगत्वा जीवनका दुःखका कारकहरु बन्ने रहेछन् । महत्वाकांक्षाको त्यो असीमित चाहनाले ती कारकहरु क्षणमा प्रिय हुने रहेछ । हामी त्यही प्रियतमालाई सफल जीवनको कडी सम्झेर मानसिक रुपमा कमजोर बनिरहेका हुने रहेछौं ।

    जीवनमा दुःख र चिन्ताका कारण नै हामीमा देखिएका महत्वाकांक्षाहरु रहेछन् । आवश्यकताको नियमविपरीत स्वार्थ र लोभलाई आत्मसात गर्नेहरुका भीडबाट आफूलाई निकाल्न नसक्दा त्यसमा नै समाहित भएर जीवनका उत्तरार्द्धमा गएर आत्मबोध गर्नेहरुले सायद जीवनको वास्तविक अर्थ खोजे होलान् । तर, त्यो वास्तविक जीवनका अंशलाई आत्मसात गर्ने वयस्क मस्तिष्कहरुले त्यो सत्मार्गमा हिँड्ने प्रयत्न कदापि गरेनन् अथवा सकेनन् । यही नै एकमात्र सत्य रहेछ ।

    साधन र चिन्तन पनि एकान्तमा सम्भव हुने रहेछ । धर्तीको यो कोलाहलमा जीवनको यथार्थ बुझ्न खोज्नेहरुले थप जी­वनलाई कष्टकर बनाइरहेका छन् । यही कष्टकर जीवन व्यतित गर्न म न्वारनदेखिको बल लगाएर कुदिरहेको छु ।

  • छायाँमा बौद्धिक अपाङ्गता भएकाहरुको मुद्दा

    छायाँमा बौद्धिक अपाङ्गता भएकाहरुको मुद्दा

    सरकारको परिभाषाअनुसार विभिन्न १० प्रकारका अपाङ्गतामध्ये बौद्धिक अपाङ्गता पनि एक हो । अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन २०७४ अनुसार उमेरको वृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकेकाले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति जस्तोः डाउन्स सिन्ड्रोमसमेत अथवा उमेरअनुसार सिक्न वा गर्नुपर्ने क्रियाकलापहरु गर्न कठिनाइ हुने, उमेर बढ्दै गए पनि व्यवहार सानै बच्चाको जस्तो रहने, सिक्न सके पनि सिकाइमा ढिलाइ हुने अवस्थालाई बौद्धिक अपाङ्गता भनिन्छ ।

    बौद्धिक अपाङ्गता भएका बालबालिकालाई बोल्न, हिँड्न र लुगा लगाउन वा खाने जस्ता व्यक्तिगत आवश्यकताहरू पूरा गर्न सिक्न धेरै समय लाग्नसक्छ । उनीहरूलाई विद्यालयमा सिक्न समस्या हुने भए पनि सिक्नै नसक्ने भन्ने चाहिँ हुँदैन । चिकित्सकहरुले बौद्धिक अपाङ्गता हुनुका धेरै कारणहरू फेला पारेका छन् । मूलतः गर्भावस्थाको समयमा हुने समस्या, जन्म अवस्था र जन्मपश्चात बौद्धिक अपाङ्गता हुने गर्दछ ।

    २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्याको करिब २ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुको रहेको छ । त्यसमा सबैभन्दा बढी ३६ प्रतिशत शारीरिक अपाङ्गता भएका व्यक्तिहरु छन् । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु २.९ प्रतिशत रहेको छ । तथ्याङ्कमा अपाङ्गता भएका व्यक्तिहरु धेरै पाइए बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका समस्या जटिल देखिन्छन् । तर, विडम्बना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका समस्या अन्य अपाङ्गताको तुलनामा छायाँमा परेको छ ।

    २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्याको करिब २ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुको रहेको छ । त्यसमा सबैभन्दा बढी ३६ प्रतिशत शारीरिक अपाङ्गता भएका व्यक्तिहरु छन् । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु २.९ प्रतिशत रहेको छ ।

    अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि अन्तर्राष्ट्रिय बाध्यकारी कानून हो । महासन्धिको धारा १२ मा हरेक अपाङ्गता भएका व्यक्तिको कानूनमा समान मान्यता हुने उल्लेख छ । यस धाराअनुसार अन्य व्यक्तिहरूसरह समान आधारमा जीवनका सबै पक्षहरूमा अपाङ्गता भएका व्यक्तिहरूले कानूनी क्षमता उपभोग गर्न पाउने, अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो कानूनी क्षमता प्रयोग गर्न आवश्यक पर्ने सहयोगमा पहुँच प्रदान गर्न पक्ष राष्ट्रहरूले उपयुक्त तथा सम्पूर्ण उपायहरू अवलम्बन गर्नुपर्छ । तर नेपालमा बौद्धिक अपाङ्गतासम्बन्धी कानूनी तथा नीतिगत व्यवस्थाको कार्यान्वयन र समस्या सम्बोधनको अवस्था असाध्यै निराशाजनक पाइन्छ ।

    नेपालमा बौद्धिक अपाङ्गताको सम्बन्धमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले सशक्त रुपमा आवाज उठाइरहेको छ । महासंघ बौद्धिक अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरुद्वारा स्थापित एक गैरसरकारी संस्था हो । संस्था वि.सं २०६८ सालमा काठमाडौंमा स्थापना गरिएको हो । संस्थाले स्थापना कालदेखि नै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको हक-हित र अधिकारको लागि आवाज उठाउँदै आएको छ । अध्यक्ष राजु बस्नेतका अनुसार महासंघले स्थापना कालदेखि नै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको हकहित एवं अधिकार सुनिश्चित गर्न काम गर्दै आएको छ ।

    महासंघले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण गर्नुका साथै सदस्य संस्थाको क्षमता विकास, बौद्धिक अपाङ्गताको सवाललाई थप प्रभावकारी र सशक्त बनाउँदै आएको छ । बौद्धिक अपाङ्गता भई लामो समयदेखि घरभित्रै कष्टकर जीवन बिताइरहेका सयौं व्यक्तिहरुलाई संस्थाले आफ्ना दैनिक क्रियाकलाप कसरी सम्पन्न गर्ने भन्ने सीपदेखि स्वःवकालत तथा पैरवीसम्बन्धी तालिम दिँदै आएको छ । महासंघमा आवद्ध हुनु पहिले आफ्ना दैनिक क्रियाकलापदेखि अरु कुनै पनि कार्य गर्न नसक्ने थुप्रै बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु अहिले महासंघले सञ्चालन गरेका विभिन्न तालिम तथा कार्यक्रममा सहभागी भएर आफ्नो काम आफैं गर्न सक्ने भएका छन् । त्यस्तै धेरै बोल्न सक्ने भएका छन् । अध्यक्ष बस्नेतका अनुसार काठमाडौंमा मात्र नभएर देशका ४० जिल्लामा ४२ वटा सदस्य संस्था स्थापना गरी महासंघले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको स्वःवकालत, पैरवी र आफ्नो हक-हित तथा अधिकारका लागि उनीहरुका अभिभावकहरुलाई सिकाउँदै आएको छ ।

    अन्य व्यक्तिहरुको तुलनामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहको बौद्धिक विकास ढिलो हुन्छ । उनीहरु हेर्दा सामान्य देखिन्छन् । तर, केही कुराहरु सम्झन कठिन हुने, बोल्न कठिन हुने, घरपरिवार तथा समाजमा घुलमिल हुन कठिनाइ हुने हुन्छ । आफू कहाँ छु, के गरिरहेको छु भन्ने कुराको उनीहरुलाई ख्याल हुँदैन ।

    महासंघ स्थापना कालमा २४ जिल्लाका ३६ वटा संस्था आवद्ध थिए । हाल ४२ वटा सदस्य संस्थाले जिल्लाजिल्लामा दिवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु थप सशक्त रुपमा उठाउन सांगठनिक एकता आवश्यक छ । अध्यक्ष बस्नेतका अनुसार थप दर्जनौं संस्था महासंघको सदस्य बन्ने प्रक्रियामा छन् । महासंघले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको लागि मात्र नभई उनीहरुका अभिभावकहरुका लागि पनि विभिन्न कार्यक्रम सञ्चाल गर्दै आएको छ ।

    महासंघले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको स्याहारसुसार कसरी गर्ने, उनीहरुसँग कस्तो व्यवहार गर्ने, उनीहरुका लागि राज्यले के कस्ता सेवा-सुविधाहरु प्रदान गरेकोलगायतबारे जानकारीसमेत दिँदै आएको छ । त्यस्तै महासंघले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाको लागि सरकारसँग मिलेर सरल भाषा अध्ययन सामग्री निर्माण, दिवा सेवा केन्द्र सञ्चालन, स्वःवकालत, पैरवीलगायतमा काम गर्दै आएको छ ।

    अन्य व्यक्तिहरुको तुलनामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहको बौद्धिक विकास ढिलो हुन्छ । उनीहरु हेर्दा सामान्य देखिन्छन् । तर, केही कुराहरु सम्झन कठिन हुने, बोल्न कठिन हुने, घरपरिवार तथा समाजमा घुलमिल हुन कठिनाइ हुने हुन्छ । आफू कहाँ छु, के गरिरहेको छु भन्ने कुराको उनीहरुलाई ख्याल हुँदैन । कतिपय यस्ता व्यक्तिहरुलाई आफ्नो दैनिक क्रियाकलाप सम्पन्न गर्नै कठिन हुन्छ । जुन अभिभावकहरुले गरिदिनु पर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुले आफ्नो हक अधिकारको लागि आफैं आवाज उठाउन सक्दैनन् । त्यसैले उनीहरुको हक-हित र अधिकार स्थापित गर्न बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले काम गर्दै आएको छ । महासंघले उनीहरुको शिक्षा, स्वास्थ्य, क्षमताअनुसारको तालिम र रोजगार, पहुँचयुक्त भौतिक संरचना, स्वःवकालत, दिवा सेवा केन्द्र सञ्चालन, क्षमताअनुसारको सीपलगायतका सवालमा सरोकारवाला निकायहरुसँग पैरवी गर्दै आएको छ ।

    बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा अन्य नागरिकसरह सम्मानित र भेदभावमुक्त जीवन बिताउन उनीहरुलाई रोजगारीसँग जोड्ने महासंघको कार्ययोजना रहेको छ । त्यसको लागि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको क्षमताको वस्तुगत यथार्थ विश्लेषण गरी विभिन्न निजी रोजगारदातासँग सहकार्य एवं समन्वन्य गर्ने काम भइरहेको महासंघका अध्यक्ष बस्नेत बताउँछन् । उनका अनुसार इजी टु रिड चेकिङ्ग ग्रुप परिचालन गरी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको क्षमता र दक्षताअनुसारको कामको प्रत्याभूति दिलाउने बाटोमा महासंघ अघि बढिरहेको छ ।

    अपाङ्गतामध्ये जटिल र सामाजिक तथा आर्थिक रुपमा असाध्यै समस्या भोगिरहेका बौद्धिक अपाङ्गता भएकाहरुले पनि अन्य वर्ग समुदायको भन्दा बढी राज्यको सेवा सुविधामा ध्यान दिनुपर्ने देखिन्छ ।

    नेपालको संविधान २०७२ को धारा ३१ ले शिक्षा पाउने अधिकारको सुनिश्चित गरे पनि शिक्षण सिकाइ विधि र सहजीकरणको अभावमा बौद्धिक अपाङ्गता भएका बालबालिका गुणस्तरीय शिक्षाबाट बञ्चित छन् । यो अवस्था बदल्न बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि अर्थपूर्ण समावेशी शिक्षामा पनि महासंघले काम गरिरहेको छ । महासंघले बौद्धिक अपाङ्गता भएका बालबालिकाको स्रोत कक्षा निर्माण गरी उनीहरु अनुकूल पाठ्यपुस्तक विकास गरिरहेको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकाले पनि अरु बालबालिकासरह गुणस्तरीय शिक्षा हासिल गर्न पाउने बनाउन शिक्षण सिकाइ विधि र पठनपाठनमा सहजीकरण आवश्यक रहेको निष्कर्षसहित बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि पाठ्यपुस्तक निर्माण गर्ने कार्य गर्दै आएको छ ।

    महासंघले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मस्यौदा संविधानमा अपाङ्गता भएका व्यक्तिहरूका लागि धारा १८ समानताको हक, धारा २४ छुवाछुत तथा विभेदविरुद्धको हक, धारा ३१ शिक्षासम्बन्धी हक, धारा ३९ बालबालिकाको हक, धारा ४२ सामाजिक न्यायको हक, धारा ४३ सामाजिक सुरक्षाको हक, धारा ५१ राज्यका नीतिहरू, धारा ८४ प्रतिनिधिसभाको गठन, धारा ८६ राष्ट्रियसभाको गठन र सदस्यहरूको पदावधि तथा धारा १७६ प्रदेशसभाको गठन, धारा २५८ राष्ट्रिय समावेशी आयोग, धारा २५९ राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकारका साथै संविधानको अनुसूची ८ स्थानीय तह अधिकारको सुचीमा अधिकारहरूलाई परिमार्जित विधेयकमा समावेश गराउन सफल भइसकेको छ । यी सवाललाई नीतिमा पार्न शिक्षा विभागमा स्मरणपत्र बुझाएर सेवाकालीन शिक्षक तालिम सञ्चालन गर्ने निकायलाई दिशानिर्देश गराउन र तालिमलाई व्यवस्थित गर्न महासंघ समेतको पहलमा शैक्षिक जनशक्ति विकास केन्द्रबाट विशेष आवश्यकतासम्बन्धी दृष्टि, सुनाइसम्बन्धी अपाङ्गता र बौद्धिक अपाङ्गताका तालिम मोड्युल विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

    एक गैरसरकारीस्तरबाट जतिसुकै पैरवी, वकालत एवं कार्यहरु गरे पनि समग्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सवालमा राज्यस्तरबाटै सम्बोधन हुन जरुरी हुन्छ । सम्बन्धित सरोकारवाला निकायहरुले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका मुद्दाहरु आफ्नै हुन् भन्ने महसुस गरी उनीहरु अनुकूलका नीति-नियम तथा ऐन-कानून निर्माण गरी सशक्त कार्यान्वयनको तहमा लानु नै आजको आवश्यकता हो ।

    अपाङ्गतामध्ये जटिल र सामाजिक तथा आर्थिक रुपमा असाध्यै समस्या भोगिरहेका बौद्धिक अपाङ्गता भएकाहरुले पनि अन्य वर्ग समुदायको भन्दा बढी राज्यको सेवा सुविधामा ध्यान दिनुपर्ने देखिन्छ । नागरिकस्तरबाट पनि बौद्धिक अपाङ्गताको सवाल अर्थात हामी सबैको सवाल बुझेर हातेमालो गरी लाग्नुपर्दछ । सम्बन्धित सरोकारवाला निकायहरुले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका मुद्दाहरु आफ्नै हुन् भन्ने महसुस गरी उनीहरु अनुकूलका नीति-नियम तथा ऐन-कानून निर्माण गरी सशक्त कार्यान्वयनको तहमा लानु नै आजको आवश्यकता हो ।

  • यसरी बनाउन सकिन्छ सामुदायिक स्कुललाई अब्बल

    यसरी बनाउन सकिन्छ सामुदायिक स्कुललाई अब्बल

    सामुदायिक स्कुल भन्नेबित्तिकै मानिसहरुमा पढाइ गुणस्तरहीन हुन्छ भन्ने सोच छ । तर, नेपालमा यस्ता थुप्रै सामुदायिक स्कुल छन्, जुन निजी स्कुललाई पनि पछि पार्न सफल भएका छन् । यी स्कुलका विद्यार्थीले निजीको भन्दा राम्रो अंक ल्याएर आफूलाई अब्बल सावित गरेका छन् ।

    काठमाडौंमा २८९ वटा सामुदायिक स्कुल छन् । जसमध्ये केही सामुदायिक स्कुलका विद्यार्थीले एसईईको परीक्षामा राम्रो अंक ल्याएर शत प्रतिशत उत्तीर्ण गरेका छन् । यस्ता स्कुलहरुमा ज्ञानोदय माध्यमिक स्कुलको नाम पहिलो नम्बरमा आउँछ ।

    ज्ञानोदय माध्यमिक स्कुल एक उत्कृष्ट सामुदायिक स्कुल हो । ज्ञानोदयका प्राचार्य नातिकाजी महजर्नका अनुसार स्कुल राम्रो बनाउन सर्वप्रथम त स्कुलको पढाइ गुणस्तरीय हुन जरुरी छ । यसमा स्कुलका शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षकहरुले विद्यार्थीलाई किताबीबाहेक अन्य ज्ञान पनि दिन जरुरी छ । जसले उनीहरुलाई भविष्यमा मद्दत गर्नेछ । यस्तो व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने प्रधानाध्यपक महर्जनको भनाइ छ ।

    व्यवस्थापन समिति र समुदायले स्कुललाई गुणस्तरीय तथा बालमैत्री बनाउन निकै सहयोग गरेको उनी बताँउछन् । स्कुलमा नर्सरीदेखि नै अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ । जसले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सघाउने प्राचार्य महर्जन बताँउछन् । उनका अनुसार स्कुलमा अङ्ग्रेजी माध्यमबाट पढाउन सुरु गरिएको करिब ८ वर्ष भयो । सुरु–सुरुमा त विद्यार्थीहरुलाई असहज भएको तर, अहिले बानी परेको उनी बताउँछन् ।

    ज्ञानेदयबाट २०७४ सालमा ३ जना विद्यार्थीले ३.९५ ग्रेड ल्याएका थिए । अन्य धेरै विद्यार्थी ३.६ भन्दा माथिको ग्रेड ल्याउन सफल भएका थिए । स्कुलमा प्रत्येक वर्ष १५० को दरले विद्यार्थी पढ्ने प्राचार्य महर्जनको भनाइ छ । यस वर्ष स्कुलमा २ हजार ६०० विद्यार्थी अध्यननरत छन् । स्कुलमा कम्प्युटरको माध्यमबाट पनि पढाइन्छ । स्कुलमा पर्याप्त खुला मैदान नभएको हुदा खेलकुद कार्यक्रम बढी हुँदैन । स्कुलमा सरकारले तोकेकोबाहेक अन्य पुस्तक पनि पढाइन्छ ।

    सामुदायिक स्कुलमा पढ्ने रेमन लामाको पढाइ राम्रो छ । उनकी आमा सीमा लामाका अनुसार सामुदायिक स्कुलमा पढाए पनि गुणस्तर नराम्रो छैन । कक्षा ६ मा पढ्ने रेमन पहिले निजी स्कुलमा पढ्थे । सामुदायिक स्कुलमा पढेपछि पढाइ बिग्रिने र साथीहरुको सङ्गत पनि राम्रो नहुने धारणा उनको थियो । तर, अहिले सामुदायिक स्कुल पनि निजीभन्दा कम छैन भन्ने उनी आफैंले अनुभूति गरेका छन् ।

    स्कुल राम्रो बनाउन सर्वप्रथम त स्कुलको पढाइ गुणस्तरीय हुन जरुरी छ । यसमा स्कुलका शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षकहरुले विद्यार्थीलाई किताबीबाहेक अन्य ज्ञान पनि दिन जरुरी छ । जसले उनीहरुलाई भविष्यमा मद्दत गर्नेछ ।

    सामुदायिक स्कुल भन्दैमा पढाइ नराम्रो, खराब वातावरण हुन्छ भन्ने हुँदैन । स्कुलको व्यवस्थापन समितिमा पनि भर पर्ने कुरा हो । जुन स्कुलको व्यवस्थापन चुस्त, शिक्षकशिक्षिका दक्ष र योग्य तथा भौतिक पूर्वाधार राम्रो छ भने शिक्षा त्यहीअनुसार गुणस्तरीय हुन्छ नै । त्यसमाथि विद्यार्थीहरुले पनि मेहनत गर्ने हो भने पढाइको गुणस्तरमा निजी र सामुदायिक स्कुलले कुनै फरक पार्दैन ।

    काठमाडौंकै नीलबाराही पनि उत्कृष्ट सामुदायिक स्कुलमध्येमै पर्छ । यो स्कुलमा १ हजार विद्यार्थी अध्ययनरत छन् । स्कुलकी प्राचार्य जानुका नेपालका अनुसार स्कुलमा विद्यार्थीलाई घोकन्ते विद्याभन्दा पनि बुझाएर पढाइन्छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराइन्छ । विद्यार्थीको रुचिअनुसार डान्स, गीत-संगीत, खेलकुद जस्ता क्रियाकलापमा संलग्न गराइन्छ । स्कुलले आधुनिक शिक्षण पद्धति अपनाएको छ । स्कुलमा इन्टनेट र कम्प्युटरको माध्यमबाट पढाइ भइरहेको छ । विद्यार्थीलाई प्रविधिसँग एकाकार गराएर पढाउने स्कुलको चलन नै रहेछ ।

    स्कुलले बिहान एसेम्लीका वेलामा व्यक्तिगत क्षमता वृद्धि गर्न विद्यार्थीहरुलाई उनीहरुको क्षमता र रुचिअनुसारका क्रियाकलापमा सहभागी गराइँदै आएको छ । प्राचार्य नेपाल भन्छिन्, ‘हाम्रो स्कुलमा पढ्ने विद्यार्थीहरुले विभिन्न ठाउँबाट विभिन्न पेशामा सफलता हासिल गरेका छन् । विद्यार्थीहरुले यहाँ दुवै माध्यमबाट पढ्न पाउँछन् । अङ्ग्रेजी सजिलो लाग्नेलाई अङ्ग्रेजी र नेपालीबाट पढ्नेलाई यसै किसिमबाट स्कुलले पढाउँछ ।’

    स्कुल राम्रो बनाउन सर्वप्रथम त स्कुलको पढाइ गुणस्तरीय हुन जरुरी छ । यसमा स्कुलका शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षकहरुले विद्यार्थीलाई किताबीबाहेक अन्य ज्ञान पनि दिन जरुरी छ । जसले उनीहरुलाई भविष्यमा मद्दत गर्नेछ ।

    स्कुलमा कम्प्युटर ल्याब, साइन्स ल्याब तथा पुस्तकालयको राम्रो व्यवस्था छ । स्कुलमा स्मार्ट ल्याब पनि रहेको छ । यसबाट विद्यार्थीहरुले आधुनिक किसिमबाट पढ्ने मौका पाउँछन् । प्राचार्य नेपालका अनुसार स्कुल विद्यार्थीहरुको आकर्षणले पछिल्लो समय सीमित विद्यार्थीहरुमात्र भर्ना लिने गरिएको छ ।

    यस्तै विद्यार्थीको चाप रहेको अर्को स्कुल हो रत्नराज्य माध्यमिक स्कुल । यहाँ भर्ना नपाएर हरेक वर्ष धेरै विद्यार्थीहरु फर्किने गर्छन् । स्कुलमा करिब २ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । स्कुलकी प्रधानाध्यापक गीता खरेलका अनुसार विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षाको व्यवस्था गरिएको छ । परीक्षामा आएको परिणामको आधारमा विद्यार्थी छनोट गरी भर्ना गरिने उनी बताउँछिन् ।

    राम्रो स्कुलले विद्यार्थीलाई सबै कुराको सुविधा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । पढाइ गुणस्तरीय भएको स्कुलमा विद्यार्थीबीच निकै प्रतिस्पर्धा हुन्छ । शिक्षकमा मात्र भर नपरेर विद्यार्थीले पनि स्वअध्ययन गर्ने र मेहनत गर्ने बानी बसाल्न सके निजी वा सामुदायिक जुनसुकै स्कुलम अध्ययन गरे पनि सफलता हासिल गर्न सकिन्छ ।

  • रन्जु दर्शनाको जमानत जफत सन्देश : मतदाताले सबैकाे निगरानी गर्छन्

    रन्जु दर्शनाको जमानत जफत सन्देश : मतदाताले सबैकाे निगरानी गर्छन्

    काठमाडौंकी रन्जु न्यौपाने उर्फ रन्जु दर्शना चुनावी सरप्राइज दिलाउन खप्पिस छिन् । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र बनेपछिको पहिलो स्थानीय चुनावमा उनले काठमाडौंमा तेस्रो शक्ति भएर सरप्राइज दिएकी थिइन् । २०७४ सालको चुनावमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । उमेरमा सबैभन्दा कान्छी तर मतमा उनी धेरै दलहरुभन्दा माथि देखिएकी थिइन् उक्त चुनावी गणितमा । विवेकशील पार्टीको तर्फबाट उनले स्थानीय चुनावमा पाएको इस्टकोट चिह्नले धेरै इस्टहरु बनेका थिए । उनको क्रेज राम्रो थियो । उनको भाषण र सामाजिक सञ्जालका खाताहरु चर्चित बनेका थिए । गत बैशाखमा भएको चुनावमा काठमाडौंमा बालेनले स्वतन्त्र मेयरको इतिहास बनाउने एक आधार रन्जुको भव्य मतको गणित पनि हो ।

    अहिलेको संघीय चुनावमा फेरि रन्जुले सरप्राइज दिएकी छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा उनी आठौं स्थानमा आइन् । उनले युट्युबमा उत्तेजक भाषण दिएर चर्चामा आएका हेमराज थापाभन्दा चार गुणा कम मत ल्याएकी छन् । थापाको २ हजार ४४६ मत आउँदा रन्जुको मत ६०० मात्रै आयो । स्थानीय चुनावमा इस्टकोटले तानेको मतको एकछेउ मत पनि रन्जुको यो पटकको सेलरोटीले तान्न सकेन । अझ रोचक कुरा त रन्जुले जमानत जोगाउन सकिनन् । हुन त यो चुनावमा स्वतन्त्र भनेर उठेका मिलन पाण्डे, गंगा चौधरीदेखि युग पाठकसम्म सबैको जमानत जफत भयो । तर, यस अगाडि चुनावमा रन्जु जस्तो सुन्दर विगत नभएकाले यहाँ चर्चा रन्जुको जमानत जफतकै सान्दर्भिक हुन्छ ।

    स्थानीय चुनावमा इस्टकोटले तानेको मतको एकछेउ मत पनि रन्जुको यो पटकको सेलरोटीले तान्न सकेन । अझ रोचक कुरा त रन्जुले जमानत जोगाउन सकिनन् । हुन त यो चुनावमा स्वतन्त्र भनेर उठेका मिलन पाण्डे, गंगा चौधरीदेखि युग पाठकसम्म सबैको जमानत जफत भयो ।

    नेपालमा कुनै पनि चुनावी क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउने उम्मेदवारको मात्रै धरौटी फिर्ता हुन्छ । उम्मेदवार मनोनयन गर्दा तिरेको १० हजार रकम १० प्रतिशत मत कट्दा फिर्ता हुन्छ । १० प्रतिशत नकट्दा फिर्ता हुन्न ।. त्यसैलाई जमानत जफत भएको भनिन्छ । यो कानूनमै भएको कुरा हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा यसको व्यवस्था गरिएको छ । त्यहाँ भनिएको छ, ‘पहिलो हुने निर्वाचित प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत ल्याउने उम्मेदवारको धरौटी जफत हुनेछ ।’ यही कानूनी प्रावधानले रन्जुको जमानत जफत भएको हो ।

    रन्जुको जमानत जफत नहुन ४४ हजार २४९ मतको १० प्रतिशत अर्थात् ४ हजार ४२५ मत ल्याउनु पर्ने थियो । दर्शनाले उक्त मतभन्दा सात गुणाभन्दा कम मतमात्रै ल्याइन् । यसरी पाँच वर्ष अगाडि एमाले र कांग्रेस बाहेकका स्थापित दलहरुलाई हराएर चुनावी सरप्राइज दिएकी रन्जुले यो चुनावमा धेरै नचिनिएका श्रीराम गुरुङ (२,७६१ मत) देखि सुशान्त श्रेष्ठ (१,१२२ मत) सम्म भन्दा धेरै पछि परेर नयाँ सरप्राइज दिएकी छन् । हजारौं खर्च हुने चुनावमा रन्जुको जमानत जफत हुँदा दश हजार फिर्ता नहुनु आर्थिक रुपमा त कुनै ठूलो अर्थ राख्दैन । तर, जनअभिमतको गणितमा र अगामी राजनीतिक जीवनमा भने यसले धेरै ठूलो अर्थ राख्छ ।

    बितेका पाँच वर्षमा रन्जुको पहिलो सानदार सरप्राइजदेखि अहिलेको दिकदार सरप्राइजसम्मको पेटबोली एकै छ । त्यो हो- मतदाताले नयाँ अनुहारको पनि निगरानी गर्छन् । रन्जुले काठमाडौंको मेयर पदमा उठेर पाएको तेस्रो सम्मानजनक मतको कदर गर्ने काम गरेको भए उनको मत बढ्न सक्थ्यो । उनले मेयर विद्यासुन्दर शाक्यका खराब कदमको एक-एक निगरानी गरेर खबरदारी गरेको र राम्रा कामको तारिफ गरेको भए रन्जुको राजनीतिक परिपक्वता देखिने थियो । उनले त्यसो गरिनन् । उनले त चुनावलाई कविता प्रतियोगितामा वा कुनै रियालिटी सोमा भाग लिने पेशेवर प्रतिस्पर्धी जस्तो गरिन् । ठूला दलहरुको राम्रो माहोल नभएको समयमा उनले नयाँ सानो दलबाट चुनाव लडिन् ।

    जनताले विजेताहरुले विजय भएपछि राज्यसत्तामा खेलेको भूमिकामात्रै हैन, विजेता हुन नसकेका उम्मेदवारहरुले सडक र समुदायमा खेलेको भूमिका पनि निगरानी गर्ने सन्देश हो रन्जुको जमानत जफत ।

    जब काठमाडौंमा र आसपासमा स्वतन्त्रहरुको माहोल आयो उनी पनि ‘स्वतन्त्र’ भन्दै संसदीय चुनावी मैदानमा नयाँ अवतारमा आइन् । यो सबै हेरिरहेका मतदाताले उनलाई पत्याएनन् । र, आठौं स्थानमा आउने गरी जमानत जफत गरिदिए । गर्न त दर्शनाले मत ल्याउन सकेको गरेकी हुन् । उनले बालेनले जस्तै चुनावी अभियानमा बढो छिटोछिटो हिँडेर प्रचार गरिन् । उनले नेवाः समुदायको मत तान्न समाचार पढे जस्तै भए पनि नेवारीमा मत मागिन् । टिकटकमा भिडियोहरु हालिन् । राष्ट्रिय मिडियाहरुमा अन्तर्वार्ता दिइन् । यी सबै तरिकाहरुलाई मतदाताले पत्याएनन् । किनभने पाँच वर्ष अगाडि मेयर पद ताकेर आएकी दर्शना हारेपछि हराइन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले हराएको कारणबारे सोधिएको प्रश्नको जवाफमा पढ्न गएको र झन परिपक्व भएर आएको तर्क गरेकी थिइन् । राजनीतिमा आउनेले यो वा त्यो बहानामा जनताभन्दा पर हुनै पाउँदैन । जनताभन्दा पर हुनेहरुले राजनीति नै गर्ने हैन । राजनीतिमा निजी कारण देखाएर जनताभन्दा पर हुने बहाना चल्दैन । रन्जुले चलाउन खोजिन् । पत्याएनन् मतदाताले ।

    रन्जुको बिजोग चुनावी गणितले दिएको सन्देश रन्जुलाई मात्रै हैन । अहिले राम्रो मत पाएका सबै स्वतन्त्र उम्मेदवारहरुलाई हो । अहिले आकार बढाएका सबै दलहरुलाई हो । अहिले राम्रो जनमत ल्याएका सबै उम्मेदवारहरुलाई हो । परिवर्तनको पक्षमा मत पाएका सबै उम्मेदवारहरुलाई हो । जनताले ठूला दलहरुलाई मात्रै होइन साना दलहरु र उनका उम्मेदवारहरुलाई पनि निगरानीमा राख्ने गरेको प्रमाण रन्जु दर्शनाको जमानत जफतको सन्देश हो । जनताले विजेताहरुले विजय भएपछि राज्यसत्तामा खेलेको भूमिकामात्रै हैन, विजेता हुन नसकेका उम्मेदवारहरुले सडक र समुदायमा खेलेको भूमिका पनि निगरानी गर्ने सन्देश हो रन्जुको जमानत जफत ।

  • दोलखाबाट गृहमन्त्रीलाई खुलापत्र- बुथ कब्जाका दृश्य हेर्नुस् र पढ्नुस् तर राजीनामा चाहिँ नदिनुस्

    दोलखाबाट गृहमन्त्रीलाई खुलापत्र- बुथ कब्जाका दृश्य हेर्नुस् र पढ्नुस् तर राजीनामा चाहिँ नदिनुस्

    गृहमन्त्रीज्यू, जय नेपाल अनि लालसलाम । प्रतिनिधिसभा निर्वाचनमा पराजय भैसकेपछि तपाईंको राजीनामा आउला कि भनेर चिन्तित थिएँ । त्यसो नभए पनि केही स्टेटमेन्ट आउला भन्दै डराइरहेको थिएँ । अथवा सीडीओ र प्रहरी चलाउने गृहमन्त्रीको हैसियतबाट टाढा रहें भन्नुहोला कि भन्ने चिन्तामा थिएँ ।

    त्यस्तो कुनै पनि भनाइहरु नआएपछि खुशी भएर यो पत्र लेख्दैछु । गएको बैशाखमा सम्पन्न स्थानीय निर्वाचनका दिन दोलखाको बैत्यश्वर– १ गैरीमुदीमा तपाईंले लगाएको गुण ताजै छ । त्यो गुण सम्झेर पनि तपाईं अझै गृहमन्त्री रहिरहनुपर्छ भनेर अनुरोघ गर्न हतारहतार पत्र लेखिहालें । त्यो स्थानीय निर्वाचनमा तपाईंको आदेश हुनेबित्तिकै काठमाडौंबाट हेलिकप्टरले पुलिस लिएर आयो । गैरीमुदी झर्नेवित्तिकै तिनै पुलिसहरुले सबै मतदाता लखेटे । त्यहाँको मतदाता संख्याभन्दा आठ दश मत कम करिब दुई हजार वटा मतपत्र तपाईंको सहयोगमा प्राप्त भयो ।

    तपाईंको त्यति गुणले उक्त पालिकाको अध्यक्षमा तपाईंकै निकै नजिकको नेता चुनिनुभयो । उहाँ अध्यक्ष हुन उहाँकै गाउँ गैरीमुदीका मतदाताले चर्को घाममा लाइनमा बस्नै परेन । तपाईंले नै पठाएको पुलिसले मत हाल्न वातावरण मिलाइदिनु भयो । जिल्लाको प्रशासन र पुलिसले त्यस्तो काम गर्न नसकेपछि तपाईंले हेलिकप्टरबाट पाहुना पुलिस पठाइदिएर कत्रो गुण लगाइदिनु भयो । मंसिर ४ को निर्वाचनमा भने प्रशासन र प्रहरीबाट राम्रै सहयोग मिलाइदिनु भएकोमा तपाईंलाई मुरीमुरी धन्यवाद टक्र्याउँछु ।

    स्थानीय निर्वाचनमा तपाईंले गैरीमुदीमा विकृतिको बीऊ रोपिदिनु भयो । लोकतन्त्रको सबैभन्दा खतरा दुर्गुण पक्षको वृक्ष फैलँदै मंसिर ४ गते दोलखाको १३ ठाउँमा झाँगियो । दोलखामा तपाईंले रोपिदिएको लोकतन्त्रको विषवृक्षले यसपटक निकै काम गरेकाले पनि गृहमन्त्रीबाट राजीनामा नगर्न अनुरोधपत्र सम्प्रेशन गरेको हुँ ।

    तपाईंकै अमूल्य सहयोगले दोलखाको प्रदेशसभा २ कालिञ्चोक गाउँपालिका- १ मा प्रहरी इन्चार्ज पुलिसलाई नेताको मुक्का उपहार मिल्यो । कमाण्डर घाइते पारिएपछि गठबन्धनलाई भोट हाल्ने वातावरण मिल्यो । पुलिसहरु निर्वाचन अवधिभर घायल कमाण्डरसँग बुथ कब्जाको साछी बसिदिए । अन्यथा नमान्नु होला, म यसै पत्रमार्फत गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु, ‘तपाईंको घाइते प्रहरीको स्वास्थ्य अवस्था कस्तो छ ?’

    दोलखा प्रदेशसभा २ कै शैलुङ गाउँपालिका- २ नवीन प्राविमा मस्त निद्रामा परेको अभिनय सुरक्षाकर्मीले गरेपछि मतदाता संख्याको ९० प्रतिशत माथि भोट हालेर पठाउन सहयोग मिल्यो । यसअघि इतिहासमै नभएको जनताको मत लुट्ने अपराधलाई यसै पटकबाट तपाईंले दोलखा प्रदेशसभा २ मा पनि छिराइदिनु भएकोमा कसरी तपाईं गृहमन्त्रीबाट बहिर्गमण भएको हेरुँ ।

    मन्त्रीज्यू, दोलखा प्रदेशसभा १ मा त झन जीवनभर तिर्न नसकिने गुण लगाइदिनुभयो । तामाकोसी गाउँपालिका जामुने र कालापानीको चुनाव युद्ध जस्तै भयो । गठबन्धन दलका प्रदेशसभाका उम्मेदवारले नै नेपाली सेनाको टाउको फुटाइदिए । भिडियो फुटेजमा देखिएअनुसार ती राष्ट्रसेवकले टाउकाको रगत पुछे । उनको टाउकामा कसैले व्यान्डेज लगाइदिए । फुटेज बाहिर सामाजिक सञ्जालमा आयो तर बिचरो निर्दोष घाइते सेना गठबन्धनको भोटको लागि गुमनाम भए । तपाईंले सेनापतिज्यूलाई भन्नुहोला, सुरक्षाकर्मीमाथि कुटपीट भैरहँदा थप केही गर्ने आदेश नपाएपछि फुटेको टाउको लिएर व्यारेक छिरेको जवानको ख्याल गर्नुहोला ?’

    म यसै पत्रमार्फत कर्तव्य निर्वाहको क्रममा दोलखा जिल्लाका नेताज्यूबाट आक्रमणमा पर्नुभएका दुवैजना घाइते सुरक्षाकर्मीप्रति क्षमायाचना गर्न चाहन्छु । सुरक्षाकर्मीमाथि आक्रमण भैरहँदा पनि केही नगर्न, सहेर बस्नु भन्ने आदेश दिइरहने महोदयहरुमा पनि कृतज्ञता प्रकट गर्दछु । तामाकोसीकै मालुमा अर्को असई आक्रमणमा परे । असईको दोष बुथ कब्जा रोक्ने प्रयास थियो । गठबन्धनलाई त्यो मन नपरेपछि हटाउन चर्को धम्की आयो । पछि ऊभन्दा माथिको कमाण्ड इन्स्पेक्टर खटाइयो । इन्स्पेक्टरले सत्ताको आदेश राम्रैसँग पालना गरे । मतदाता भगाएर मनग्गे भोट गठबन्धनलाई पठाउने वातावरण मिलाइदिए ।

    जब उक्त पालिकाको झुलेको बुथमा गठबन्धनको उम्मेदवार पुगे । सुरक्षाकर्मी निरीह भैहाले । त्यहाँ पनि गठबन्धनलाई केही भोट थप्न सघाउ पुगिहाल्यो । मेलुङको जुकेमा पनि तपाईंको पुलिसले सजिलो पारिदिए । हाल्न जति भोट हाल्न दिएर गुण लगाइदिए ।

    यो पटक पनि गैरीमुदीको पीपलबोटमा गठबन्धन दललाई सुविस्ताले भोट हाल्न सुरक्षा व्यवस्था मिलाइदिनु भएकोमा गृहमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु । गैरीमुदीकै पुतलीकाठमा भने मध्यान्हमै बाकस बन्द भए । विचरा मतदाता लाइनमा बसेर भोट नहाली फर्किए । मध्यान्हदेखि नै पुलिस र सेनाले कडा सुरक्षा पारिदिनुभयो । जसको आडले तपाईंको कर्मचारी मतदान अधिकृतले लाइन बसेका जनतालाई भोट हाल्न नदिइकन मतदान कार्य सके ।

    गृहमन्त्रीज्यू, तपाईं झन खुशी हुने कुरा सुनाउँछु । गैरीमुदीकै कालीढुङ्गा माविबाट झण्डै ९३ प्रतिशत भोट गठबन्धनलाई हालेर पठाइएको छ । त्यहाँ ठेलीका ठेली मतपत्रमा छाप लगाउँदा तपाईंका पुलिसले कति सहज ढंगले सुरक्षा दिए । अझ भुल्नै नसकिने गुण त नाम्दूस्थित वैत्यश्वर माविमा लागेको छ । बुथमा गाईजात्रा भैसक्दा पनि राम्रो रिर्पोट दिएर दिनभरि चुनाव गराउने पुलिस कमाण्डरलाई तत्कालै फुली थपिदिनु होला । उहाँकै सहयोगमा ठेलीबाट नच्यातिकन पहिलो रुख र हसियाँ हथौडामा छाप लगाएको मतपत्रको भिडियो फुटेज बाहिर आएको छ । मतपत्र च्यातिँदा, भूईंमा खसेर खोसाखोस भएको दृश्य सामाजिक सञ्जालमा आएको छ । मतदाताले भोट हाल्न नपाएपछि तीन-तीन पटक मतपेटिकालाई फुटबल खेलेर लथालिङ्ग पारिएको छ । त्यस्तो हुँदा पनि सबै ठीक छ भनेर सुरक्षित पेटिका ल्याउने कमाण्डरलाई तत्कालै प्रमोसनको व्यवस्था मिलाइदिन मन्त्रीज्यूसमक्ष अनुरोध गर्दछु ।

    उता गौरीशंकर गाउँपालिकाको जुगुको खबर पनि तपाईंलाई सुनाउँदा खुशी नै हुनुहोला । त्यहाँको भिडियो हेर्नुभयो भने चाहिं कतै आफ्नो आमामाथि अपमान भएको हो कि जस्तो पनि लाग्ला । त्यहाँ गठबन्धनका एक पुरुषले एक जना आमा जस्तो महिलामाथि हातपात गरेको दृश्य भाइरल भैरहेको छ । बुथ कब्जा गर्न सबैलाई भगाइसकेपछि मतदाताले भोट हाल्न पाउनुपर्ने जिद्दी गरेर बस्ने महिलामाथि कुटपिट गर्न पुलिसले सुरक्षा दिइरहेको झैं लाग्छ । महिला कुटिएपछि त्यो बुथमा गठबन्धनलाई भोट हाल्न निकै सजिलो बनाइदिनु भएको गुण पनि कसरी बिर्सन सकिन्छ र !

    अन्त्यमा, जिरी- ९ ठूलोपातलमा पनि तपाईंको निर्देशनले विपक्षी एजेन्ट भगाएर केही न केही भोट थप्न सजिलो भएको छ । यस्तो हर्कत गर्न सबैतिरबाट साथ मिलेकाले ढुक्क हुने स्थिति पनि छ । कता कता यत्रो कर्तुत कसरी लुकाउने भन्ने कुराले मनमा ढुकढुकी पनि छ । कानुनबमोजिम हुँदा पुनः मतदान हुने नै भयो । अब के गर्ने तपाईंकै शरणमा पर्नुपर्ने स्थिति फेरि आयो । तपाईं गृहमन्त्री नै भैरहँदा हामीलाई सत्ताको आडभरोसा हुन्थ्यो । तपाईं चुनावमा हार्नु भएपछि हामी थप तनावमा छौं । अझ गठबन्धन फेरि सरकार जान नसक्ने नतिजा देख्दा हामीलाई भोकतिर्खा छैन । गृहमन्त्रीज्यू जस्तोसुकै नैतिकताको प्रश्न उठे पनि दोलखाको निर्वाचन नसकिएसम्म राजीनामा दिने चाहिं कुरै नगर्नुहोला ।

    उही तपाईंको प्रिय गठबन्धन ।

    (मानन्धर नेकपा एमाले दाेलखा जिल्ला उपाध्यक्ष हुन् ।)

  • ब्यालेट विद्रोह : मन्दिर बाहिर किन बज्यो घण्टी ?

    ब्यालेट विद्रोह : मन्दिर बाहिर किन बज्यो घण्टी ?

    चुनावको मौन अवधि सुरु हुने चरणमा लेखक तथा सम्पादक सुधीर शर्माले छोटो ट्विट गरे । उनले लेखे, ‘यस पटकको चुनावमा चितवनबाट बगेको तातो हावाले ठूला दलहरुको समानुपातिक समीकरणमा कति र कस्तो प्रभाव पार्दैछ, अबको रोचक प्रतीक्षा हुनेछ ।’

    चितवन क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सभाको विशाल जनलहर र देशभर त्यही पार्टीको बलियो समानुपातिक मतको सम्भावनाको संकेत थियो शर्माको । अहिलेको चुनावी दिनको बुथहरुमा देखिएको दृश्यले यो लहरलाई केही संकेत गरेको छ । संकेत मेलै मतदान गरेको केन्द्रमा पनि देखियो ।

    इटहरी वडा नम्बर ४ को मतदान केन्द्रमा म बिहान पुग्दा चुनावी भीड धेरै लामो थिएन । यस अगाडि इटहरी वडा नम्बर ४ मै चार पटक मतदान गरिसकेको मलाई आइतबारको चुनावी भीड अत्यन्तै सानो लाग्यो । सरासर गएर आफ्नो लाइनमा जाने । क्रम संख्या हेर्ने । पालो कुर्ने । आएपछि चार मतपेटिकाका क्रमशः संघ र प्रदेशका प्रत्यक्ष र समानुपातिक मत दर्ज गर्ने । यत्ति गर्न अघिल्लो चुनावमा बढो चर्को भएको थियो । यो चुनावमा हाइसन्चो भयो ।

    चुनावी भीडभाड कम भए पनि घण्टी चुनाव चिह्नको भने रोचक भीड देखियो । मपछि मत हाल्न आएका मैले नामले नचिनेका तर आँखाले नियमित चिन्दै आएका एक भाइले प्रदेशसभाको मतपत्र देखाउँदै कानमा सोधे, ‘दाइ यो मतपत्र त नक्कली जस्तोे छ ।’

    मैले ‘किन’ भनेर सोध्न नपाउँदै उनले भने, ‘यसमा घण्टी छैन । अगाडिका दुवैमा थियो ।’ मैले हाँस्दै भने, ‘प्रदेशमा प्रत्यक्ष र समानुपातिक दुवैमा घण्टीले मान्छे उठाएकै छैन ।’

    मैले यत्ति भनेर हाँसेपछि भाइ पनि हाँसे ।

    लामो समय काम गरेकाहरुलाई ठूला पार्टीले मूल्यांकन गरेको छैन । आफूभन्दा पछि आएकाहरुलाई धेरै अवसर दिइएकोमा ती दलका नेता-कार्यकर्ताहरु रुष्ट छन् । उनीहरुले आफ्नो असन्तुष्टिको अभिमत घण्टीमार्फत बजाएका छन् ।

    हिजो सुनसरी क्षेत्र नम्बर २ (१) को यो माहोलमा ती भाइ जस्ता मतदाताहरु सबै थिएनन् । उनीहरु प्रदेशमा आआफ्नो दलमा भोट गरेर समानुपातिकमा घण्टीलाई दिन खोज्नेहरु भेटिए । इटहरी वडा नम्बर ६ जुन सुनसरी क्षेत्र नम्बर ३ मा पर्छ, त्यहाँ भेटिएका कांग्रेसका चिनिएका एक अगुवा कार्यकर्ताले समानुपातिकमा घण्टीलाई मत हालेको खुलेर भने । सार्वजनिक मिडियामा छाप्न भने नमानेका उनले समानुपातिकमा मत हाल्नुको कारण भने, ‘चुनाव जित्न आँट नभएका दाजुभाउजूहरुलाई जिताउने हाम्रो जिम्मा हैन नि, चेत्नुपर्‍यो नि !’

    इटहरी वडा नम्बर ५ को मतदानस्थल बाहिर भेटिएका इटहरी एमालेका एक चिनिएका नेता भन्दै थिए, ‘धन्न प्रदेशमा घण्टीले उम्मेदवार बनाएन । नत्र प्रदेशमा हामीलाई धेरै तनाव हुनेरहेछ । मैले आफ्नै श्रीमतीलाई घण्टीमा हाल्नबाट रोक्न सकिनँ ।’

    सुनसरी क्षेत्र नम्बर २ र ३ का चुनावी केन्द्रहरुमा भएका यस्ता कुराका मिल्दाजुल्दा कुराहरु देशभरबाट आएका छन् । कुनै वेला रवि लामिछानेले पार्टी बनाएर पार लाग्दैन भन्नेहरुले अहिले लामिछानेकै पार्टीले समानुपातिकमा राम्रो मत ल्याउने अनुमान गर्न थालेका छन् । सामाजिक सञ्जालका पोस्टहरुलाई केही आधार मान्ने हो र चुनावी केन्द्रमा मैले देखेका दृश्य र संवादहरुलाई मथ्ने हो भने यत्ति चै भन्न सकिन्छ घण्टीले समानुपातिकमा सम्मानजनक मत ल्याउनेछ ।

    धेरैले २०७० सालमा राप्रपा नेपालले ल्याएको समानुपातिक मतसँग अहिलेको घण्टीको तुलना गरेका छन् । तर, राप्रपा र स्वतन्त्र पार्टीको मत परिपाटीमा धेरै फरक छ । राप्रपालाई हिन्दू देश बनाउन हार्डलाइनरहरुले मतदान गरेका थिए । युवाहरुमा खासगरी प्रगतिशील भन्न चाहनेहरुले राप्रपालाई मतदान गरेका थिएनन् । सानो आयतनमा रहेको हार्डलाइनर हिन्दू जमातलाई बाहेक २०७० को राप्रपा मत तान्ने खास कारण थिएन ।

    इटहरी एमालेका एक चिनिएका नेता भन्दै थिए, ‘धन्न प्रदेशमा घण्टीले उम्मेदवार बनाएन । नत्र प्रदेशमा हामीलाई धेरै तनाव हुनेरहेछ । मैले आफ्नै श्रीमतीलाई घण्टीमा हाल्नबाट रोक्न सकिनँ ।’

    यद्यपि, राप्रपा सरकारदेखि संविधान निर्माणसम्म एक महत्वपूर्ण शक्ति बनेको थियो । त्यसैको बलमा कमल थापाले उपप्रधानमन्त्रीसम्म हुन पाएका थिए । अझ रोचक त कट्टर राजावादी मुद्दा बोकेको दलका अध्यक्ष थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सांविधान बनाउन सक्रिय सरकारको उपप्रधानमन्त्री बन्न पाएका थिए ।

    मूलधारका दलहरुबाट वाक्कदिक्क भएका मतदाता तथा कार्यकर्ताहरुले अहिले घण्टीलाई गरेको मतको अनुमान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी अबको सत्ता मेकिङ र ब्रेकिङ खेलमा एक महत्वपूर्ण शक्ति हुने अनुमान गर्न सकिन्छ । घण्टीले नसोचेको मत ल्याउने सम्भावनाका मूलतः चार कारण छन् ।

    एक, मूलधारका दलहरुमा आएको मतदाताको विकर्षण । कम्युनिष्ट र कांग्रेस नै नेपालका मूलधारका दल हुन् । उनीहरुकै राज्यसत्तामा बलियो पकड छ । उनीहरुसँग रुष्ट विशाल जमात पनि छ । जो मूलधारका दलहरुले समाजका हरेक अवयवहरुमा लादेको दलतन्त्रबाट आजित छन् । दलको झुण्डमा नमिलेकैले जागिर खान अयोग्य भएकाहरु त्यसमा पर्छन् । दलहरुको लोगो मिलेकै आधारमा खराबलाई पनि राम्रो भनेकोमा आजितहरु त्यसमा पर्छन् । त्यसमा पर्नेहरुले गणतन्त्र आएपछि दलहरुले देखाएका थोक सपनाहरु खुद्रामा पनि पूरा नभएकोमा आजित भएकाहरु पर्छन् ।

    दलतन्त्रमा तनाव मान्नेहरुलाई थप तनाव नेताका श्रीमानश्रीमतीहरु विभिन्न कोटाहरुमा अन्य योग्यलाई पाखा लाएर शीर्ष स्थानमा देख्दा भएको छ । दललाई चन्दा दिएका वा दलका खास नेताको वरिपरि भएकैमा पार्टी सत्ता र राज्यसत्तामा हालिमुहाली हेर्दा भएको छ । यी सबै देखेर उनीहरुले गरेको ब्यालेट विद्रोह हो घण्टीमा मतदान ।

    दललाई चन्दा दिएका वा दलका खास नेताको वरिपरि भएकैमा पार्टी सत्ता र राज्यसत्तामा हालिमुहाली हेर्दा भएको छ । यी सबै देखेर उनीहरुले गरेको ब्यालेट विद्रोह हो घण्टीमा मतदान ।

    दुई, लामो समय काम गरेकाहरुलाई ठूला पार्टीले मूल्यांकन गरेको छैन । आफूभन्दा पछि आएकाहरुलाई धेरै अवसर दिइएकोमा ती दलका नेता-कार्यकर्ताहरु रुष्ट छन् । उनीहरुले आफ्नो असन्तुष्टिको अभिमत घण्टीमार्फत बजाएका छन् । कतिसम्म देखिएको छ भने त्यसलाई दिनुभन्दा बरु घण्टीलाई दिनु भनेर घरदैलो हुँदा पनि घण्टीको प्रचार बढेको थियो ।

    तीन, राष्ट्रिय स्वतन्त्र पार्टीले गरेका दुई अभ्यासले युवाहरुलाई तानेको छ । उसले उम्मेदवार बनाउनु अगाडि आन्तरिक चुनाव गरेको छ । प्रत्यक्षका तोसिमा कार्कीदेखि सोबिता गौतमसम्म आन्तरिक पार्टी मत र सामाजिक सञ्जालमा धेरै मत पाएर मात्रै उम्मेदवार भएका हुन् । अमेरिकी दलहरुको जस्तो अभ्यास नेपालमा भएकोमा धेरैले मन पराएका छन् । पार्टीमा आलेकप्रिय तर नेताको आसपास भएकाले टिकट पाउने अवस्था राष्ट्रिय स्वतन्त्र पार्टीमा नभएको भन्दै युवाहरुमा त्यसले तानेको छ । पाका नेताहरुलाई भन्दा युवाहरुलाई प्रत्यक्षदेखि समानुपातिकका सबै क्लस्टरमा राखिएकाले धेरैलाई मन परेको छ । जसको अभिमत घण्टीमा परेको छ ।

    चार, अध्यक्ष लामिछानेको क्रेज र सामाजिक सञ्जालको प्रयोग पनि घण्टीको मत राम्रो आउने सम्भावना भएको एक कारण हो । लामिछानेलाई मन नपराउनेको एक ताँती छ । मन पराउनेको पनि छ । मन नपराउनेको भन्दा पराउनेको संख्या ज्यादै धेरै छ । उनले आफ्ना टेलिभिजन कार्यक्रममा जनजीविकाका विभिन्न मुद्दामा खरो बोलेकाले उनले केही गर्लान् भन्ने धेरैलाई लागेको छ । त्यसैको कारण रविको क्षेत्रमा नपरेका उनका डाइहार्ड समर्थकहरुले समानुपातिकबाट मत दिएर रविलाई समर्थन गर्ने अवस्था देखिएको छ । रविबाहेकका तोसिमा कार्कीदेखि सोविता गौतमसम्मको चर्चाले थप माहोल बनाएको देखिन्छ ।

    कतिपय देशमा जस्तो नेपालमा पनि विदेशका नेपालीलाई मतदान अधिकार भएको भए यो आकार झन बढेर जान्थ्यो । सामाजिक सञ्जाल प्रयोगमा अन्य दलहरुभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीको सक्रियता ज्यादा देखिएको छ । गत चुनावमा स्वतन्त्रलाई भोट गरेका तर अहिले राम्रो स्वतन्त्र उम्मेदवार नदेखेकाहरुले समेत घण्टी दल नै भए पनि मत गरेको देखिएको छ । जसले समानुपातिक मत बढाउन धेरै सहयोग गरेको छ ।

  • तीन चुनावी मुक्तक

    तीन चुनावी मुक्तक

    तिमी भन्छौ देश बनाउ, म शालिक बनाउँछु

    साथमात्र देउ, हुनेखाने मालिक बनाउँछु

    अन्धभक्त जनता देख्दा खुशी लाग्छ मलाई

    दक्ष शक्ति चाहिँदैन, भोट दिने बालिग बनाउँछु ।

    दङ्ग छौं हामी चोरले किन ढाँट्यो भनेर

    पानीमा नोट चोबल्दै सोध्छौ किन फाट्यो भनेर

    हामी वृक्षहरु बन्चरोलाई भोट दिन्छौ

    अनि ग्ुनासो बिसाउँछौ किन काट्यो भनेर ।

    ऊ राष्ट्रवादी, विकासवादी, इमानदार भन्दा

    चुनाव आउँछ पाउ पर्छ, मख्ख छन् जनता

    भुट्ने खेल, लुट्ने खेल, अपराधका खेलै खेल

    कार्यकर्ता रिजाउने हुन्छ मात्र खास धन्दा ।

    माधव खनाल

    लमजुङ

  • मुगल सम्राटको हात्ती, गगन थापा र आसन्न सरकार

    मुगल सम्राटको हात्ती, गगन थापा र आसन्न सरकार

    अचानक एक दिन मुगल सम्राट अकबरले औधी मन पराएको हात्ती मर्‍यो । तर, अकबरसामु पुगेर हात्ती मरेको खबर सुनाउने आँट हात्तीसारका कसैमा भएन । माहुते भन्छ, ‘सरकार हात्तीले नखाएको धेरै भयो ।’

    अर्का कर्मचारी भन्छन्, ‘सरकार हात्तीले खुट्टाको त कुरै छाडौं, पुच्छरसमेत हल्लाउँदैन ।’

    ‘सरकार नरिसाइबक्सियोस्, हजुरको मन पर्ने हात्ती त सास फेर्नसमेत मान्दैन’, पशु चिकित्सक मलीन स्वरमा भन्छन् ।

    सम्राट जंगिन्छन् र भन्छन्, ‘हात्ती त मरिसक्यो कि क्या हो ?’

    ‘अवस्था त त्यस्तै देखिन्छ सरकार’, थरर्र काँप्दै माहुते जवाफ दिन्छन्, ‘तर, सरकार यो अशुभ समाचार सुनाउने मेरो आँट भएन !’

    अकबरको प्यारो हात्तीकै अवस्थामा आजका राष्ट्रिय राजनीतिमा देखापरेका नेताहरु पुगिसकेका छन् । अझै नेपाली कांग्रेसका केही नेताहरु ‘नो नट अगेन’ वाला पुस्तालाई नै भावी प्रधानमन्त्रीको रुपमा आश्चर्यजनक रुपमा चर्चा गर्दैछन् । कांग्रेसका प्रवक्ता एक कदम अघि बढेर प्रधानमन्त्रीको बाजा नबजाउन चेतावनीकै भाषा बोल्छन् । तर, त्यो ‘नो नट अगेन’ वाला प्रौढ पुस्तासामु अब देश चलाउने ‘सीट’मा म बस्ने हो र भिजनसहित देश म र मेरो पुस्ताले चलाउने हो भन्ने आँट केवल कांग्रेस महामन्त्री तथा युवा नेता गगनकुमार थापाले मात्र गरे ।

    ऋषि सुनक बेलायती प्रधानमन्त्री भएलगत्तै विश्वभरकै युवा राजनीतिकर्मी कार्यकारी पदमा पुगेरै ‘मुलुक बदल्ने’ सपना देख्नैपर्ने दबाबमा पर्न पुगे । नीतिगत कच्चापन, कुशासन तथा हवाई सपनामात्र बाँड्दै निर्वाचनमा जाने र निर्वाचनपश्चातका पाँच वर्ष सत्तारुपी ‘म्युजिकल चियर’मै रमाउँदै तथा कतै ठेस लाग्यो कि संसद नै भंग गर्नेसम्मका ‘हर्कत’कै कारण नेपालका सन्दर्भमा प्रौढ तथा परम्परागत राजनीतिकर्मीप्रति वितृष्णासँगै ‘भिजनरी’ युवा पुस्ताप्रति आशाको नजर अडिन पुगेको छ ।

    ‘समृद्धि र सुशासन’का स्पष्ट एजेण्डासहितको भोलिको सरकारले ल्याउने ‘खाका’मा मात्र जनविश्वास बढ्ने हो । हिजोका मितिसम्मका सरकार र राजनीतिक दलबाट नेपाली जनताले पाएको भनेकै ‘हवाई सपना’ मात्रै हो ।

    संसदीय व्यवस्थारुपी गणतन्त्रका प्रति नै असन्तुष्टि चुलिएका बेला सम्पन्न हुन गएको आसन्न निर्वाचनपूर्व- ‘म यो पटक सांसद भएर गएपश्चात नेपाली कांग्रेसको संसदीय नेता लड्नेछु । कांग्रेस संसदीय दलको नेता चयन भएसँग कांग्रेसको बहुमत भए वा गठबन्धनले बहुमत ल्याए, कांग्रेसको तर्फबाट देश सञ्चालनको ‘ड्राइभिङ सीट’मा बसेर ‘भिजन’सहित देश सञ्चालन गर्नेछु’ भन्ने काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रत्यासी कांग्रेस युवा नेता गगनकुमार थापाको अभिव्यक्तिले राष्ट्रिय राजनीति तरंगित बन्न त पुगेको छ नै, एकपटक फेरि गणतन्त्रप्रति जनताको आशासमेत पलाउन पुगेको छ ।

    सतहमा हेर्दा ठीकठाक देखिए तापनि मुलुकको अवस्था समाल्नै कठिनउन्मुख छ । कटौती गरिनुपर्ने चालु खर्चको अंक बढेको बढेयै छ । संघीयताको मर्मविपरीत केन्द्रले जिम्मेवारी विकेन्द्रित गर्न चाहेको छैन । भएको अर्थतन्त्रको अनुपातमा बजेटको आकार अस्वाभाविक रुपमा बढाइएको छ । सरकारमा फेरबदल हुनासाथ बजेटको आकार बढाउने प्रतिस्पर्धाको अस्वस्थ खेल रोकिएको छैन । बजेट निर्माणमै निर्लज्ज रुपले अनधिकृत व्यक्तिको प्रवेशले दुनियाँलाई नै आश्चर्यचकित बनाइदिएको छ ।

    मुद्रास्फीति, घरजग्गाको भाउ अस्वाभाविक वृद्धि, अनुत्पादक क्षेत्रमा कर्जाको अन्धाधुन्ध लगानी जस्ता विषय सरकारको लागि सामान्य बन्दै गए । चालु खाताको घाटालाई ‘रेमिट्यान्स’ले धान्ने अवस्था कतिञ्जेल रहला ? निर्यातमा बढोत्तरी नहुँदा विदेशी मुद्राको सञ्चिती घट्न पुगेको छ । हाम्रो विदेशी मुद्रा आर्जन र सञ्चितीको स्रोत केवल ‘रेमिट्यान्स’मा मात्र सीमित बन्न पुग्यो ! यसरी समग्रमा हेर्दा हाम्रो अर्थतन्त्रले परनिर्भर देखिएको छ । आसन्न निर्वाचनपश्चात निर्मित सरकारको कार्यसूचीमा यिनै विषय राख्ने ‘भिजनरी’ नेतृत्व मुलुकलाई चाहिएको छ ।

    सानो-ठूलो गठबन्धन सत्ता-प्रतिपक्ष दुवैतिर छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठबन्धनले हिजोको केपी ओली सरकारलाई लगाइँदै आएका संविधानको स्थायित्वको संशयदेखि सुशासनसम्मका विषय अब पुराना भए । हिजोको सरकारको कामको मूल्यांकनतिर भन्दा पनि जनताको ध्यान भोलिको सरकारले ल्याउने ‘समृद्धिको नीति’मा छ । दुवैतिरका गठबन्धनसँगै निर्वाचनमा होमिएका राजनीतिक दलले आ-आफ्नो घोषणापत्र रुपी ‘प्रतिबद्धता-पत्र’ सार्वजनिक गरिसकेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सत्तारुढ गठबन्धनले हिजोको केपी ओली सरकारलाई लगाइँदै आएका संविधानको स्थायित्वको संशयदेखि सुशासनसम्मका विषय अब पुराना भए । हिजोको सरकारको कामको मूल्यांकनतिर भन्दा पनि जनताको ध्यान भोलिको सरकारले ल्याउने ‘समृद्धिको नीति’मा छ ।

    त्यतिले मात्र पुग्दैन । ‘समृद्धि र सुशासन’का स्पष्ट एजेण्डासहितको भोलिको सरकारले ल्याउने ‘खाका’मा मात्र जनविश्वास बढ्ने हो । हिजोका मितिसम्मका सरकार र राजनीतिक दलबाट नेपाली जनताले पाएको भनेकै ‘हवाई सपना’ मात्रै हो । खासगरी भोलि निर्माण हुने सरकारको ध्यान अन्तर्राष्ट्रिय सम्बन्ध र मुलुकको समृद्धिका लागि दूरगामी योजना निर्माणमा जानु जरुरी छ । आजका मितिसम्मका केवल परम्परा धान्ने खाले सरकारबाट अपेक्षा राखिनु नै समय खेर फाल्नु सिवाय केही मान्न सकिन्न ।

    कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझैं कांग्रेस महामन्त्री थापाले उनको पार्टीको केन्द्रीय समिति बैठकमा अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धबारे लामो कार्यपत्र पेश गर्दै विदेश नीतिलाई हेर्ने साझा दृष्टिकोण नेपालका दलहरुले निर्माण गर्नुपर्नेमा जोड दिइएबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धका बारे आशावादी हुने ठाउँ देखिएको छ । सरकारको फेरबदलसँगै वैदेशिक नीतिमा देखा पर्दै आएको बद्लावले दातासमेत नेपालप्रति निश्चित हुन नसकेको यथार्थ महामन्त्री थापाले बुझेरै उक्त प्रस्ताव गरिएको अनुमान लगाउन कठिन छैन ।

    २०३३ सालमा सिन्धुपाल्चोकको लामोसाँघु (नेपाल विद्युत प्राधिकरण)मा जन्मिएर विद्यार्थी राजनीति हुँदै गणतन्त्रको आन्दोलनबाट राष्ट्रिय राजनीतिमा स्थापित थापाले २०७० मा काठमाडौं ४ बाट संविधानसभा सदस्यमा विजयी भएर संविधान निर्माणमा र २०७४ मा सोही निर्वाचन क्षेत्रबाट निर्वाचन जितेर ९ महिनाको छोटै अवधि स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा सुधारका लागि जे–जति रणनीतिक योजना अगाडि बढाए, ती नै विषयको जगमा उनी भिजनसहित भोलिको प्रधानमन्त्रीको रुपमा आफूलाई अगाडि बढाउँदैछन् ।

    उनको ‘संघर्ष’ र ‘भिजन’ अध्ययन गर्नेहरुका लागि उनी ‘कार्यकारी सीट’मा बसेर देश हाँक्न लायक प्रतिनिधिका रुपमा नेपाली जनतालाई चिनाउने बाटोमा उनी छन् । स्पष्ट विचार, वाक् पटुता र समयको वेग बुझ्नसक्ने क्षमता राख्ने नेता भएकैले समकालीन राजनीतिमा उनी सानै उमेरमा ‘अग्ला व्यक्ति’का रुपमा आफूलाई स्थापित गरे । ‘नो नट अगेन’ कार्यान्वयनमा जाँदा उनी सजिलै र घटनाक्रमले उक्त अभियानले यसै पटक सार्थकता नपाउँदै गर्दा ‘हस्तक्षेपकारी’ भूमिकाबाट ‘कार्यकारी सीट’मा पुग्न सक्दामात्र देशले समृद्धिको यात्रामा पाइला अगाडि बढाउन सम्भव छ ।

    बेलायतमा प्रधानमन्त्रीका रुपमा कलिला उमेरका सुनकको उदयपश्चात नेपालमा पनि चर्चाको उत्कर्षमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै युवा नेता प्रदीप पौडेल, एमालेका ठाकुर गैरे, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आदि छन् । चर्चा उमेर समूहले भन्दा पनि ‘भिजन’का आधारमा हुने हो ।

    बेलायतमा प्रधानमन्त्रीका रुपमा कलिला उमेरका सुनकको उदयपश्चात नेपालमा पनि चर्चाको उत्कर्षमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै युवा नेता प्रदीप पौडेल, एमालेका ठाकुर गैरे, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आदि छन् । चर्चा उमेर समूहले भन्दा पनि ‘भिजन’का आधारमा हुने हो ।

    भोलिका मितिमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने, आर्थिक संकटमा देश नफस्दै समृद्धिका निम्ति विभिन्न नीतिगत निर्णयहरु लिने, जनताको भाषा बुझ्ने र बोल्ने, मुद्रा सञ्चिती बढाउने योजना ल्याउने, अनुत्पादक क्षेत्रमा अस्वाभाविक रुपमा गरिँदै आएको लगानी कटौती गर्ने तथा अनुत्तरदायी शासकीय अभ्यासबाट जनउत्तरदायी बन्ने जस्ता विषयलाई आफ्नो कार्यसूची बनाएर ‘भिजनरी’ -‘गगन-विश्वप्रकाश-रामकुमारी’ पुस्ताले काम गर्ने विश्वास लिन सकिन्छ । तबमात्र ‘युवा नेता’को औचित्य सावित हुनेछ ।

    ठूलो संख्यामा मतदाता भएर आएका ‘सचेत पुस्ता’ले हर क्षेत्रमा परिर्वतन चाहेको छ । काठमाडौं ४ का प्रत्यासी गगन थापाको मात्र नभई युवा नेताहरु विश्वप्रकाश शर्मा, प्रदीप पौडेल तथा रामकुमारी झाँक्रीलगायतको प्रचार अभियानमा सयौंको संख्यामा चोक-चोकमा उपस्थित युवाहरुले गरेको स्वागतबाट पनि थाहा हुन्छ- सचेत पुस्ता परिर्वतनको पक्षमा मात्र नभई गगन थापा वा उनको पुस्ता नेपालमा प्रधानमन्त्री भएको हेर्न चाहन्छ ।

    ‘कोभिड’ पछिको विश्वले कोल्टे फेर्दै गरेको भेउ नै नपाउने ‘नो नट अगेन’ वाला प्रौढबाट फेरि पनि राष्ट्र चलाउनु भनेको नेपाललाई दशकौं पछाडि धकेल्नु नै हो भन्ने बुझाइ सचेत तथा नयाँ मतदाताको छ । तर, यसको कार्यान्वयनका निम्ति ७० कटेका प्रौढ नेता नै ‘बाधक’रुपी ‘पर्खाल’ बनेर उभिने स्थिति देखिँदैछ ।

    तसर्थ पनि ‘वाम वा गैरवाम’ आस्था र विचारले जो जता रहे पनि ‘भिजनरी’ युवा पुस्ताका खातिर राज्य सञ्चालनको मैदान खाली गरिदिँदामात्र देउवादेखि दाहाल हुँदै ओलीदेखि नेपाल-खनालसम्मको ‘हाइट’ पनि बढ्ने निश्चित प्रायः छ । पुनः ‘टाउको गनेर’ प्रधानमन्त्रीको ‘कुर्सी’मा आफैं बस्ने सपना ‘नो नट अगेन’ वालाले नै देख्ने हो भने नेपाल र नेपालीको अधोगतिको दिन टाढा रहनेछैन ।

    ‘गर्न नसक्ने, गर्ने भिजन नहुने र आफूसँग भिजन छैन र गर्न पनि सक्दिनँ’ भन्ने पनि थाहा नहुने प्रौढ पुस्ताले लामो समय शासन गरेकै कारण गणतन्त्रले समेत छोटै अवधिमा बदनामी व्यहोर्नुपर्‍यो । भनिन्छ, ‘सिस्टम’ आफैंमा खराब हुँदैन, सिस्टम सञ्चालनमा देखिएको त्रुटिको मारमा गणतन्त्रसमेत पर्ने स्थिति देखिँदैछ । भूकम्पको रापले मुलुक थिलथिलो भएकै मौका पारेर असन्तुष्टिका बाछिटा देखिँदा देखिँदै पनि सर्वदलीय सहमतिमा हिजो संविधान जारी भएको थियो ।

    अब एक पटक पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटा र पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले झैं समयको वेग बुझेर ‘त्याग’रुपी आफ्नो स्थान आफैं निर्धारण गरे झैं ‘नो नट अगेन’ वाला प्रौढ नेताले पनि भिजनरी पुस्ताका लागि सरकार सञ्चालनको ‘मैदान’ खाली गर्दा नै ‘प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री’हरुको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ । अन्यथा इतिहासमा ‘लोकमान’ झैं बन्ने हो भने उहाँहरुका निम्ति ‘राम-राम’ भनिदिनेको समेत खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

  • बदलिँदो काभ्रेको मुहार र गोकुल बास्कोटा

    बदलिँदो काभ्रेको मुहार र गोकुल बास्कोटा

    ‘घर अगाडिको पिच भएको बाटो हेर्ने झ्याप झ्याप सूर्यमा भोट हाल्ने’ काभ्रेपलाञ्चोकमा अचेल यो डाइलग चर्चित छ । गोकुल बास्कोटा हेर्नुपर्र्दैन, उनले गरेका विकास निर्माण र थालिएका विकास आयोजनाहरु हेरेर भोट हाले हुन्छ भन्नेहरु धेरै देखिएका छन् ।

    विकासको नेताका रुपमा परिचित गोकुल बास्कोटा २०७४ सालको निर्वाचनमा काभ्रे २ बाट कूल सदर मतको ५७.२ प्रतिशत अर्थात् ५५ हजार ५२६ मतले विजयी भएका थिए । केपी ओलीपछि सर्वाधिक मत ल्याउने उनै थिए ।

    ५ वर्षपछि बास्कोटा पुनः काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । आसन्न निर्वाचनका लागि भोट माग्न उनी यतिवेला काभ्रेली जनताको घरदैलोमा छन् । बास्कोटाले सांसद रहँदा समृद्ध काभ्रे र पूर्वाधार विकासमा उल्लेखनीय कामहरु गरेका थिए, जसलाई मतदाताले कहिल्यै बिर्सने छैनन् ।

    २०७४ सालको निर्वाचनपछि दुईतिहाइ मतसहित बनेको केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिले राज्यमन्त्री बनेका बास्कोटा उत्कृष्ट कार्यसम्पादनकै कारण मन्त्री बनेका थिए । उनले एकैपटक दुई मन्त्रालय (सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय) सम्हाल्ने मौका पाए । सरकारको प्रवक्ताको जिम्मेवारी पनि उनकै काँधमा थियो ।

    जसकारण शक्तिशाली मन्त्री भएर पनि उनी सरकारको बचाउमा आफैं मैदानमा उत्रिए । विपक्षीले गरेका गलत प्रचारबाजी र तर्कविरूद्ध उनी सतिशाल जसरी उभिए । यसो गर्दा उनी विरोधीहरुको निशानामा परेपनि मैदान छाडेनन् । सरकारमा बसेर पार्टीका नेताहरुको पनि प्रतिरक्षा गरे ।

    २०७४ सालको निर्वाचनपछि दुईतिहाइ मतसहित बनेको केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिले राज्यमन्त्री बनेका बास्कोटा उत्कृष्ट कार्यसम्पादनकै कारण मन्त्री बनेका थिए ।

    खरो रुपमा सरकारको प्रतिरक्षाका निम्ति अग्रपंक्तिमा उभिएकै कारण कुभलो सोच्ने राजनीतिक विरोधी र केही स्वार्थ समूह बास्कोटाबाट चिढिन थाले । फलस्वरुप उनले विभिन्न आरोप खेप्नुपर्‍यो । बास्कोटा राजनीतिक रुपमा यति नैतिकवान र इमानदार देखिए कि आफूमाथि कसैले प्रश्न उठाएकै भरमा उनले आफूले मन्त्री पदबाट राजीनामा दिए ।

    आफूमाथि लगाइएको आरोपबारे छानबिन गर्न पनि उनले खुला चुनौती दिएका थिए । तर, उनीविरुद्ध लगाइएका कुनै पनि आरोप पुष्टि हुन सकेनन् । यसैबाट प्रस्ट हुन्छ कि उनीविरुद्ध झूटा आरोप लगाइएको थियो । मन्त्री छँदा पनि विलासी जीवन नभएर सरल जीवन उनको रोजाइमा थियो । जसकारण उनको छवि एउटा कर्मठ र भिजनरी नेताको रूपमा छ ।

    बास्कोटाले आफूलाई काभ्रेका कुन जनताले मत दिए र कसले दिएनन् भन्ने कुरालाई कहिल्यै प्राथमिकतामा राखेनन् । बरु विनाभेदभाव जिल्लाका दुवै निर्वाचन क्षेत्रमा विकास योजनाको ओइरो लगाइदिए । ओली सरकारमा रहँदा बास्कोटाले गरेका कामहरु काभ्रेली जनताको मनमनमा बसेका छन् ।

    काभ्रेली जनताको नजरमा उनी एक विकासप्रेमी नेताको रुपमा परिचित छन् । काभ्रे २ मा भएको विकासलाई विपक्षी नेताहरुले समेत विरोध गर्न सकेका छैनन् । बनेपा, पनौती, धुलिखेल र पाँचखालमा खानेपानीका ठूला आयोजना, सूर्यविनायक धुलिखेल राजमार्ग विस्तार, ग्वार्को-कुशादेवी-पनौती सडकलाई राजमार्गको रूपमा विकासजस्ता कामले बाँस्कोटा काभ्रेमा विकासप्रेमी नेताका रूपमा परिचित छन् । मदन भण्डारी प्राविधिक विश्वविद्यालय र प्रतिरक्षा विश्वविद्यालय काभ्रेमा लैजान गरेको पहल उनका अन्य सम्झनलायक काम हुन् ।

    बास्कोटा राजनीतिक रुपमा यति नैतिकवान र इमानदार देखिए कि आफूमाथि कसैले प्रश्न उठाएकै भरमा उनले आफूले मन्त्री पदबाट राजीनामा दिए ।

    अहिले काभ्रेमा सयौं विकासका योजना चलिरहेका छन् । केपी ओलीले तीन वर्ष सरकार चलाउँदा जिल्लामा ठूला लगानीका आयोजनाहरुले प्रवेश पाए र काभ्रेमा विकास भित्र्याउने कामको अगुवाइ बास्कोटाले नै गरे । जिल्लामा सडक, पुल, खानेपानी, कृषि, सिंचाइ, सहरी पूर्वाधार, सहायक राजमार्ग निर्माणका कामहरु द्रुत गतिमा भइरहेका छन् ।

    यतिमात्र होइन, पर्यटन पूर्वाधार, ठूला र मध्यम विद्युत योजना, करिडोर निर्माण, छापाखाना निर्माण, मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी युनिभर्सिटी, मदन भण्डारी औद्योगिक विश्वविद्यालय र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना, बेथानचोक नारायणथान ट्रेल रुट, दुई राजमार्गको स्तरोन्नति जस्ता कैयौं योजनाहरु अघि बढिरहेका छन् ।

    पछिल्लो केही वर्षदेखि समृद्ध काभ्रेको परिकल्पनासँगै यसका सूचकका रुपमा राष्ट्रिय महत्वका दीर्घकालीन आयोजनाले प्राथमिकता पाउँदै गएको छ । अन्य पूर्वाधार विकासका योजनाले स्थानीयवासीलाई उत्साहित बनाउँदै लगेको छ । यसको नेतृत्व बास्कोटाले नै गरेका छन् ।

    बास्कोटा मन्त्री हुँदा काभ्रेमा ३ वटा विश्वविद्यालय निर्माणका लागि केन्द्रीय बजेटबाटै काम अगाडि बढाइएको थियो । मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी युनिभर्सिटी (पाँचखाल), राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (बनेपा) र मदन भण्डारी औद्योगिक विश्वविद्यालय (पनौती)मा काम अगाडि बढिसकेको छ । त्यस्तै रोशी खोलाबाट पनौती, बनेपा र धुलिखेलमा पानी ल्याउनेगरी सुरु भएको काभ्रे उपत्यका खानेपानीको काम पनि अन्तिम चरणमा छ ।

    पछिल्लो केही वर्षदेखि समृद्ध काभ्रेको परिकल्पनासँगै यसका सूचकका रुपमा राष्ट्रिय महत्वका दीर्घकालीन आयोजनाले प्राथमिकता पाउँदै गएको छ । अन्य पूर्वाधार विकासका योजनाले स्थानीयवासीलाई उत्साहित बनाउँदै लगेको छ ।

    गोकुल बास्कोटाको सक्रियतामा भएका कामहरुको सूची बनाउने हो भने लामै हुन्छ । विशेष आर्थिक सेज (पाँचखाल), बृहत पाँचखाल खानेपानी (सुनकोसी नदीबाट लिफ्टिङ गरेर) ल्याइँदैछ । तेमाल खानेपानी आयोजना, भुम्लु एकघर एक धारा, धुलिखेल वातावरणीय शहर, भूकम्पपछिको पुनर्निर्माण, पुराना पाटीपौवा, सत्तल, धारा, ऐतिहासिक मठमन्दिर गुम्बाको जगेर्ना, किसानलाई अनुदानमार्फत रोजगारी सिर्जनाको काम, पर्यटकीय विकासमा ठूलो परिवर्तन, दर्जनौं सडकको स्तरोन्नति र कालोपत्रे, मण्डन भ्याली बृहत खानेपानी योजना, सुनकोसी तेस्रो जलविद्युत आयोजनाको काम, विद्यालयहरुमा प्रविधिको विकाससँगै कम्प्युटर ल्याब, डाँडापारि क्षेत्रमा सञ्चारको विकास, सडक सञ्जालको विकास, सुकुटेमा निर्माणाधीन पुल, विद्युत विस्तार, ६ लेनको सडकको काम अगाडि बढेको छ ।

    स्वास्थ्यको भवन निर्माण, बर्थिङ सेन्टर निर्माण, धुलिखेलमा प्रयोगशाला सञ्चालन, सबै स्थानीय तहमा व्यवस्थित स्वास्थ्य केन्द्रहरु (स्थापनाको क्रममा रहेको), निर्माणाधीन चौंरीदेउराली खानेपानी, बेथान्चोक, दाप्चा, साँगा पाँचखाल भमरकोट खानेपानी योजना, जनागालमा फिल्म सुटिङ स्टुडियो निर्माणका लागि बजेट विनियोजन, सुरक्षित मुद्रण केन्द्रको पूर्वाधार निर्माणलगायत काम पनि भइरहेको छ ।

    यी सबै काममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बास्कोटा नै जोडिएका छन् । त्यसैले बदलिँदो काभ्रेको मुहार हेरिरहेका मतदाताहरू यस परिवर्तनका संवाहक बास्कोटालाई सूर्य चिह्नमा मत खसाल्न आतुर देखिएका छन् ।

    (तिमल्सिना नेकपा एमाले निकट युवा संघका नेता हुन् ।)

  • आश्वासनको पुलिन्दा : चुनावी घोषणापत्र पत्याउने किन ?

    आश्वासनको पुलिन्दा : चुनावी घोषणापत्र पत्याउने किन ?

    मंसिर ४ मा हुने चुनावी सरगर्मी निकै बढ्दैछ । दलहरु तीव्र महत्वाकांक्षी बनिरहेका छन् । कार्यकर्ताहरु तिनकै महत्वाकांक्षीलाई हो मा हो थप्दैछन् । त्यसो त चुनावअघि विभिन्न झूटा आश्वासन बाँड्नु त हाम्रो राजनीतिको नियमित अभ्यास नै हो । प्रतिनिधिसभा र प्रदेशसभाको लागि मनोनयन दर्ता गरिएको करिब ३ सातापछि जुर्मुराएका दलहरुको घोषणासभा र घोषणापत्र सार्वजनिक गर्ने गरमागरम माहोल र पुलिन्दाहरु हेर्दा लाग्छ नेपाल अब नेपाल रहेन, समृद्धिले आकाश छुँदै स्वर्गको एक टुक्रा बनिसक्यो । तर, अफसोच यी त सबै संकल्प वा ग्यारेन्टीभन्दा पनि सपना र मनोगत भ्रमको लामो फेहरिस्तमात्र बनिदिन्छ । विगतमा पनि यस्तै आकर्षक पुलिन्दाको फेहरिस्त भरपुर आए । आलोपालो सबै सरकारमा पनि पुगे । तर, ती घोषणापत्रमा संलग्न कुनै पनि बुँदाले सार्थक परिणाम दिन सकेन ।

    रेलदेखि तेलसम्म, नूनदेखि सुनसम्म, बेस क्याम्पदेखि सगरमाथाको शीरसम्म अनि आकाशदेखि समुद्रको गहिराइसम्म दलहरुको घोषणापत्रले नछोएको सायदै कुनै पक्ष होला ! शिक्षाले सबैलाई उछिनिसक्यो, समृद्धिले चुचुरो चुमिसक्यो । जनता सबै सक्षम भैसके । धनी भए सबै । गरिब कोही रहेनन् । साँच्चै नेपाल त आधुनिकीकरणको चरम रुपमा पुगिसक्यो । ओहो क्या गज्जब ! के यी सुन्दर सपना विगतमा पूरा भए ? के महत्वाकांक्षी योजनाहरुले अपेक्षाकृत परिणाम दिए ? कदापि दिएन ।

    दलहरुको घोषणापत्र हेर्दै गर्दा अनि सुन्दै गर्दा लक्ष्मीप्रसाद देवकोटाको एउटा उक्ति याद आयो- ‘उद्देश्य के लिनु, उडी छुनु चन्द एक । देवकोटाको यो उक्तिले महान उद्देश्य र त्यसको प्राप्तिको लागि हरदम प्रयासलाई जोड दिन्छ । तर, हाम्रा दलहरुको घोषणापत्रले प्रयासलाई होइन मात्र यथास्थितिमा उडेरै एकैपटक चन्द्रमा छुने कल्पना गर्छ । साँच्चै भन्ने हो भने उनीहरुले चन्द्रमा धेरै पटक छोइसके । अनि नेपाललाई चन्द्रमामा पुर्‍याइसके ।

    विगतमा सार्वजनिक परीक्षण भैसकेका बुँदाहरु, त्यसमा केही नयाँ थप, थोरै सुधार तर प्रवृत्ति शून्यतामै सीमित । आखिर यसअघि प्रतिबद्धता देखाएका ठूला र आकर्षक पुलिन्दाहरु लागू गर्नतर्फ शून्य तदारुकता देखाएको यथार्थ हुँदाहुँदै फेरि उही आश्वासन, उही मनोगत सपनाहरु जनतासामु बाँड्नुले लाग्छ, दलहरु झूटको खेती गर्न एक स्टेप अगाडि नै हुने रहेछन् ।

    दलहरुको घोषणासभा र घोषणापत्र सार्वजनिक गर्ने गरमागरम माहोल र पुलिन्दाहरु हेर्दा लाग्छ नेपाल अब नेपाल रहेन, समृद्धिले आकाश छुँदै स्वर्गको एक टुक्रा बनिसक्यो ।

    विगत तीन दशकको राजनीतिक कोर्स हेर्ने हो भने ठूला दल एमाले र कांग्रेस आलोपालो सत्तामा पुगिरहेका छन् । उता डेढ दशकदेखि माओवादीले पनि आफूलाई त्यही लयमा स्थापित गराएको छ । तर, के उनीहरुले नेतृत्वले गर्नुपर्ने वास्तविक काम गरेका छन् ? दलहरुले विगतदेखि नै प्रत्येक चुनावको घोषणापत्रलाई आफ्नो पार्टीको मार्गचित्रको दस्तावेज भने पनि त्यो यथार्थ नभई महत्वाकांक्षी सपनाका ठेलीमात्र हुन् । जुन उनीहरुको कार्यान्वयन क्षमता र तदारुकताले देखाइसकेको छ ।

    पाँच वर्षे कार्य अवधिमा गर्न सकिने काम समेटिनुपर्ने घोषणापत्रमा धरातलीय सम्भाव्यताको अध्ययनविना ठूल्ठूला सपना बाँडिएको छ । सबै ठूला दलले शैक्षिक गुणस्तर उकास्न १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्ने प्रतिबद्धता यसअघिका चुनावताका समेत समेटिएका थिए । संविधानले नै प्रदत्त गरेको यो अधिकार आजसम्म कार्यन्वयन हुनसकेको छैन । १५ महिनादेखि सरकारको नेतृत्व गरेको कांग्रेसले एक वर्षभित्र संघीय शिक्षा ऐन ल्याउने कुरा समेटेको छ । जब कि विश्व विद्यालयमा शैक्षिक अराजकता उत्पन्न गर्नेमा उनीहरु नै अगाडि छन् ।

    वार्षिक ५ लाखभन्दा बढी श्रम बजारमा भित्रिने र त्यति नै मात्रामा विदेशिने परिप्रेक्ष्यमा कांग्रेसले ५ वर्षभित्र १२ लाख नयाँ जनशक्तिलाई रोजगारी दिने कुरा समेटेको छ । जुन सम्भावनाभन्दा निकै पर छ । भएका योजनाहरुलाई कार्यान्वयन नगर्नु, सक्षम नेतृत्वको अभावमा संरचनागत सुधार हुन नसक्नु जस्ता कुरालाई मनन गर्न छोडेर हठात मानसिकताबाट तयार गरिएको यस्ता पुलिन्दाहरुले जनताका आशा छुने कुरै आउँदैन ।

    अझ हास्यास्पद कुरा त भ्रष्टाचारी, सामाजिक विचलन, अनियमितता, फौजदारी, अन्य जघन्य अपराधमा दोषी देखिएका सार्वजनिक पद धारणा गरेका व्यक्तिहरुलाई तत्काल पदमुक्त गरी कारबाही गर्ने कुरा समेटेको कांग्रेसले यी सबै आरोप लागेकाहरुलाई नै ससम्मान चुनावमा उठाइरहेको छ। त्यसो त आफैंले घोषणा गरेको सार्वजनिक पदधारण गरेकाको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने घोषणालाई लत्याउँदै आफ्नै सरकारका मन्त्रीहरुको सम्पत्ति विवरणसमेत सार्वजनिक गर्न सकेको छैन ।

    पाँच वर्षे कार्य अवधिमा गर्न सकिने काम समेटिनुपर्ने घोषणापत्रमा धरातलीय सम्भाव्यताको अध्ययनविना ठूल्ठूला सपना बाँडिएको छ ।

    त्यसो त गठबन्धनको अर्काे मुख्य दल माओवादीले ५ वर्षभित्र अधिकार सम्पन्न रोजगार प्राधिकरण स्थापना गरी १० लाख युवालाई रोजगारी दिने सपना बाँडेको छ । जब कि युवाहरुको सपना तुहाउने मामलामा अन्य दलभन्दा माओवादी नै अग्रपंक्तिमामा आउँछ ।

    उता एमालेको घोषणापत्र हेर्ने हो भने पनि उस्तै अवस्था छ । ५ वर्षअघि माओवादी र एमालेको संयुक्त घोषणापत्रले ५ वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने लक्ष्य राखेको थियो तर, ३ वर्षभन्दा बढी सरकारको नेतृत्व गरेको नेकपाले लक्ष्यको आसपास पनि आफूलाई पु¥याउन सकेन । अहिले नेपालीको प्रतिव्यक्ति आय करिब १ हजार २ सय छ ।

    फेरि पनि एमालेले आगामी ५ वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ४ सय पुर्‍याउने बताएको छ । जुन विगतको कार्यकाल र वर्तमान अवस्थालाई हेर्दा हास्यास्पद लाग्दो छ । अझ दोहोरो अंकको आर्थिक वृद्धि गर्ने उसको घोषणाले त आफैंलाई गिज्याउँछ । शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, रोजगारी सिर्जना जस्ता केही आशालाग्दा कुराहरु सकारात्मक देखिए पनि अन्य यावत घोषणा भने स्वयम् पार्टीलाई नै गिज्याउने खालका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नयाँ दलहरुले पनि आफ्नै तरिकाका आकर्षक घोषणापत्र जारी गरेका छन् । फरक यति हो, उनीहरु पुरानाभन्दा केही अपेक्षाकृत फरक विशेषतासहित देखापरेका छन् । उनीहरु परीक्षण नभैसकेकाले अहिले नै बोलिहाल्नु सान्दर्भिक नहोला । तर, नयाँपनले मतदाता आकर्षित गर्ने चाहिँ देखिन्छ ।

    अर्काे पाटो दृढ इच्छा शक्तिका साथ काम गर्ने हो भने ५ वर्षमा धेरै लक्ष्य हासिल गर्न सकिने विषय पनि घोषणापत्रहरुमा समेटिएका छन् । तर, एक दलको बहुमत असम्भव रहेको हाम्रो राजनीतिमा नीति र सिद्धान्त बाहिर गएर विभिन्न दलहरु मिलेर स्वार्थ केन्द्रित रुपमा सरकार फेरबदल भैरहने हुँदा ती विषयहरु लगभग सम्बोधन नहुने लाइनमै पर्छन् ।

    भएका योजनाहरुलाई कार्यान्वयन नगर्नु, सक्षम नेतृत्वको अभावमा संरचनागत सुधार हुन नसक्नु जस्ता कुरालाई मनन गर्न छोडेर हठात मानसिकताबाट तयार गरिएको यस्ता पुलिन्दाहरुले जनताका आशा छुने कुरै आउँदैन ।

    चुनावी मुखमा दलहरुले जति नै आकर्षक घोषणापत्र तयार गरे पनि कार्यान्वयनको ठोस आधारको अभाव र दृढ इच्छा शक्तिको कमीले भन्न्नैपर्छ, उनीहरुको घोषणापत्र केवल परम्परा धान्ने अभ्यासमात्र हो । पुरानै वाचाहरु अलपत्र राखेर ल्याइएका यस्ता घोषणाले अबका जनता आकर्षित हुँदैनन् र घोषणापत्रकै आधारमा भोट हाल्न पनि तम्सिँदैनन् ।

    दैनिक अर्थतन्त्र खस्कँदो छ । ऋण लिएर अर्थतन्त्र धान्नुपर्ने अवस्था छ । उब्जनीले बजार पाउन सकेको छैन । तर, आयातले महँगीलाई उच्च विन्दुमा पुर्‍याएको छ । भएका कलकारखाना बन्द गरिए । नयाँ खोल्ने कुनै गुन्जायस छैन । स्वास्थ्य र शैक्षिक माफियाको रजगज छ । भ्रष्टाचार र कुशासनले गाँजेको छ । राजनीतिको आडमा अपराध मौलाइरहेकै छ । शैक्षिक गुणस्तर आशातीत हुन सकेको छैन । श्रम बेचिने दर ह्वात्तै बढेको छ । विकासका पूर्वाधार जीर्ण छन् । राजनीतिले पहँुचवालालाई राजा बनाइदिएको छ, जनतालाई कमजोर रैती । यी यावत पक्षको सूक्ष्म अध्ययन र ठोस कार्यनीतिविना जारी गरिने दलहरुका खोक्रा आकर्षक पुलिन्दाहरु के जनताले विश्वास गर्न लायक छन् ?

    दलहरुको भनाइ र काम गराइमा आकाश-जमिनको अन्तरको उपज जनता आजित भैसके । त्यसैले अब राजनीतिले आफ्नो धार परिवर्तन गर्नैपर्छ, जनताको अभिमतको सम्मान गर्नैपर्छ । आफ्नो घोषणामा प्रतिबद्ध रहनैपर्छ । अनि सोहीअनुरुप कार्यगत योजना तय गर्नैपर्छ । घोषणाप्रतिको अविश्वासकै कारण चुनावी नतिजामा फरक पर्ने गरेको छ । अझ भनौं जीत-हारमा जनताको सचेतनाभन्दा पनि क्षणिक फाइदा मुख्य तत्व बन्ने गरेको छ । जुन लोकतान्त्रिक व्यवस्थाको लागि राम्रो संकेत होइन ।

    एक दलको बहुमत असम्भव रहेको हाम्रो राजनीतिमा नीति र सिद्धान्त बाहिर गएर विभिन्न दलहरु मिलेर स्वार्थ केन्द्रित रुपमा सरकार फेरबदल भैरहने हुँदा ती विषयहरु लगभग सम्बोधन नहुने लाइनमै पर्छन् ।

    त्यसैले अब दलहरुले साँच्चैको घोषणापत्र बनाउन थाल्नुपर्छ । जसमा उल्लेख होस् कि सत्तामा गैसकेपछि घोषणापत्र शतप्रतिशत कार्यान्वयनको लागि के कसरी काम गर्ने र जनतालाई कस्तो परिणाम दिने ? समग्रमा भन्नु पर्दा दलहरुका अहिलेका घोषणापत्र सबै काम नलाग्ने भन्ने होइन । केही यस्ता कुराहरु छन्, जुन साँचो मानेमै कार्यान्वयनयोग्य छन् । ती कुराहरुलाई तदारुकताका साथ कार्यान्वयन गर्न आवश्यक ऐन बनाउने वा जरुरत बाहिरका खारेज गर्ने, योग्य र सक्षमलाई सम्पूर्ण जिम्मेवारी दिने, राजनीतिले अनावश्य हस्तक्षप नगर्ने र इच्छा शक्तिलाई शतप्रतिशत सत्यतामा बदल्ने साहस भने राख्नैपर्छ । यी पाटाहरुलाई सूक्ष्म ध्यान दिएर घोषणाअनुसार हरेक विषयमा प्रतिबद्ध भएर लागेमा धेरै नहोला, केही त पक्कै हुन्छ । तर, दलहरु आआफ्नो ठाउँबाट इमानदार भने बन्नैपर्छ ।

    अन्तमा, आगामी चुनाव नजिकिँदो छ । पहिला जस्तै घोषणापत्रको फेहरिस्त बुन्दै प्रत्येक दलहरु घरघरमा आकर्षक सपना बाँड्न आउँदैछन् । त्यसैले अबको भोट घोषणापत्र र सपना हेरेर होइन विगतमा उनीहरुले गरेको कामको फेहरिस्त हेरेर दिने प्रण गरौं । ताकि फेरि अर्काे पूरा ५ वर्ष हाम्रो मतको अवमूल्यन नहोस् ।

  • सम्झनामा ५० वर्षअघिको तिहार

    सम्झनामा ५० वर्षअघिको तिहार

    ५० वर्ष पहिला अर्थात् म केटो उमेरको हुँदा, त्यो समयको सामाजिक, भौतिक, सांस्कृतिक परिवेश आजभन्दा धेरै फरक थियो । समाज कृषिमा आधारित थियो, जीवनशैली पनि प्रकृतिसम्मत थियो । यातायात, सञ्चार र अन्य आधुनिकीकरणले गाउँ-ठाउँको जीवनलाई छोएको थिएन । तर, जनघनत्वका दृष्टिले पहाडका गाउँघरहरु भरिभराउ थिए । आज टीठलाग्दो र रोएजस्तो पहाडका गाउँबस्ती त्यो समयमा हाँसेको थियो । उत्पादन र सामाजिक ,सांस्कृतिक दृष्टिले पनि त्यतिखेरको पहाडी समाज समृद्वि थियो ।

    समाजद्वारा विकसित, संरक्षित र निरन्तरता दिइँदै आएका चाडपर्वहरूको वर्तमानको तुलनामा धेरै गुणा महत्त्व हुने गर्थ्यो । सांस्कृतिक चाडपर्वहरू कृत्रिम थिएन । विदेशी संस्कृतिको मिसावट पनि थिएन । मौलिक र शुद्ध थियो । अति थोरै र अनिवार्य बाध्यात्मक उपभोग्य वस्तुबाहेकका उत्पादन समाजले नै गर्थ्यो । धर्म संस्कृतिहरू पनि समाजकै उत्पादन, सृजना र ज्ञान, सीपको जगमा आधारित थिए । त्यो जमानाका प्रत्येक चाडबाड मानसपटलमा ताजै छ ।

    अघिका तिहारको कुरा गरौं – तिहार हरेक हिसाबले अनुकूल परिस्थिति मिलेको समयमा रमझम बोकेर आउँछ । वर्षायामको प्रकोपबाट सुरक्षित र बाँचिएको खुसी, बारीमा फलेको मकैबाली टन्न घरमा भित्र्याएर ढुक्क भएको अवस्था, खेतमा धान पाकेको, गोठमा प्रायः दुहुना गाईभैँसी भएको, घरहरू दसैँमै लिपेर सजाइएको र सफासुघर हुन्थे । घर वरपर तिहारका लागि रोपिएका ढकमक्क फुलेका सयपत्रीलगायतका फूलहरूले मनमा उमङ्ग ल्याउँथ्यो । वर्षाले बिगारेका बाटाघाटाह गाउँलेले नवरात्रदेखि नै खनीखोस्री गरी सजिलो पारेका हुन्थे । गोरेटो र मूलबाटो चिटिक्क हुन्थ्यो । यी र यस्ता कतिपय कामको नेतृत्व वडा सदस्य, अध्यक्षले गर्थे ।

    यतिमात्र होइन, दसैँ बिदा लिएर घर आएका र तिहार पर्खेका परदेशी र लाहुरेहरूको चहलपहलले पनि रौनकता आउँथ्यो, लाहुरेले ल्याएका पैसाले गाउँमा आर्थिक गतिविधिलाई गतिशील बनाउन सहयोग पुग्थ्यो । चिउरीका पात टिपेर टपरी खुट्ने, तिहारलाई साँचेर राखेका खर्सी परेका काँक्रोको अचार साँधेर राख्ने, केरा पकाउन राख्ने, ठाउँ र उपलब्धता अनुसार जंगलबाट ओखर टिपेर ल्याउने वा किन्ने, टीकाको केही सर्जाम (सामग्री) दोकानबाट ल्याएर साता दिनअघिबाटै तिहारलाई निम्तो दिइन्थ्यो ।

    रोटीहरूमा आजकालजस्तै सर्वप्रथम चार-छ दिन पहिलादेखि नै फिनी पकाउन सुरू गरिन्थ्यो। गाउँटोलमा जता गएपनि, जसकोमा गएपनि ढिकी-जाँतोका आवाज गुञ्जिथे । बाटोमा हिँड्दा रोटीका सुगन्थ नाकले परैबाट थाहा पाउँथ्यो ।

    यमपञ्चक सुरू भएपछि क्रमशः काग तिहार, नर्के फाल्ने र कुकुर तिहार , गाईतिहार ,गोवर्द्वन पूजा र गोरु पूजाजस्ता प्रकृतिप्रति सम्मान र आभार प्रकट गर्ने ४ दिन घरमै पालेका र आँखा वरिपरीको दृश्यमा देखिने उड्ने, हिँड्ने जीव जन्तुको पूजा गर्दा पनि मन मष्तिस्कमा आनन्दको अलगै भाव पैदा हुन्थ्यो । पाँचौं दिनमा पर्ने भाइटीकामा घरको दलानमा पूजा सामग्री सजाएर दिदीबहिनीहरूले टीका लगाइदिएर आफ्नै घरमा फूलेका सयपत्री फूलको माला लगाउँदा त्यसको सुगन्धले पनि मनोविज्ञानमा तिहारको अनुभूति हुन्थ्यो ।

    गाउँघर डुलेर देउसीभैलो खेल्ने र कात्तिके दानस्वरूप देउसे-भैलेले पाएको पैसा, चामल, मकैको घोगा, रोटी र दक्षिणा सबै संकलन गरेर आपसमा भाग लगाउने वा पछि वनभोज (पिक्निक) चलन पनि हुन्थ्यो । यो सबै उमेर समूह अनुसार पनि हुन्थ्यो । खासगरी जनजाति र दलित समुदायद्वारा तिहारमा र तिहारपछिसम्म गरिने सोरठी नाचागान त झनै रोचक र चित्ताकर्षक हुने गर्थ्यो । आफ्नो घरमा नाच्न आधारातमै आएपनि उत्साहित हुँदै उनीहरूको सम्मान र सत्कार गर्दै नाच हेर्न लालयीत भइँन्थ्यो ।

    त्यो समयमा तिहारको नाचगान र देउसी-भैलोमा प्रयोग गरिने बाजागाजा मजुरा, मुरली, हार्मोनियम, खइजडु, मादल हुने गर्द थिए । आफैँ बजाउने र आफैँ गाएर देउसीभैलीको रचना गरिन्थ्यो । केही परम्परागत चल्दै आएका र केही समयानुकूल सृजना गरिएका गीत हुन्थे ।

    यसरी भन्नुपर्दा त्यो समयमा मनाइने तिहार पर्वमा आफ्नै मौलिकता, आफ्नै सृजनशीलता र आत्मनिर्भरता थियो । संस्कृतिमा प्राकृतिक र शुद्वता पनि थियो, त्यसै कारण यसको महत्व ज्यादा थियो ।

    समय गतिशील छ । उस्तैखाले चाडपर्व अब खोज्न असम्भव छ । तर, हाम्रा पर्वहरूलाई आधुनिकताको नाममा जुन विकृतियुक्त, भड्किलो र आयातित संस्कृतिको मिसावटसमेत गरी मनाइने गरिन्छ । यसलाई युगसापेक्ष परिस्कृत गर्दै, शुद्वीकरण गर्ने भने अवश्य सकिन्छ । हाम्रा पर्वहरूलाई आफ्नोपन, मौलिकता जोगाएर परिस्कृत गर्दै अघि बढौं ।

    तिहारको सबैमा शुभकामना !

  • गान्धीबारे देवकोटाका ६५ कविता- सुवर्णशमशेरले खर्च दिँदा पनि छापिएन किन ?

    गान्धीबारे देवकोटाका ६५ कविता- सुवर्णशमशेरले खर्च दिँदा पनि छापिएन किन ?

    इटहरी । वैदिक सनातनी ज्योतिषीहरुको समूहमा एउटा कुरा चल्छ । उनीहरु भन्छन्, नेपालमा तिथिको आधारमा जन्मदिन हुने महाकवि लक्ष्मीप्रसाद देवकोटामात्रै होलान् ।

    जन्मदिन मनाउन गतेलाई मात्रै प्राथमिकता दिइने गरेकोमा महाकवि देवकोटाकोमा भने लक्ष्मीपूजाकै दिन जुन गते परे पनि जन्म दिन मनाइन्छ । उनको जन्म दिनलाई बारमा नहेरेर तिथिमै हेरिन्छ । वर्षअनुसार कात्तिकका विभिन्न हप्तामा आउने लक्ष्मीपूजामै देवकोटाको जन्म दिन हुन्छ । आज देवकोटाको जन्म दिन ।

    देवकोटाका नेपाली प्रकाशित ग्रन्थका बारेमा धेरै जानकार छन् । तर, देवकोटाले भारतीय स्वतन्त्रता र प्रजातन्त्रका नायक महात्मा गान्धीको बारेमा कविता लेखेको कुरा धेरैको जानकारीमा छैन । देवकोटाले गान्धीको बारेमा समेत कविता लेखेका थिए । चार हरफका ६५ कविता देवकोटाले गान्धीको बारेमा लेखेका थिए । उनले कविताको शीर्षक ‘बापुजी’ बनाएका थिए । यो सन् १९४८ को सुरुवाती चरणको कुरा हो ।

    देवकोटाले लेखेको गान्धीबारेको कविता छाप्न आर्थिक सहयोग नेपाली कांग्रेसका नेता सुवर्णशमशेरले गरेका थिए । उनले प्रजातन्त्र आउनुभन्दा अगाडिको देवकोटाको उक्त प्रकाशनको लागि आठ सय रुपैयाँ तत्काल सहयोग गरेका थिए । तर, प्रेसको गडबडीले कवितासंग्रह बजारमा आउन पाएन ।

    देवकोटाले गान्धीको बारेमा कविता संग्रह ल्याउन लागेको कुरा माथवरसिंह बस्नेतले प्रकाशन तथा सम्पादन गरेको २०४१ सालको नेपाली कांग्रेससँग निकट अखबार ‘पुनर्जागरण’ मा नेपाली कांग्रेसका प्रथम पुस्ताका नेता रामहरि जोशीले उल्लेख गरेका छन् । यो प्रसंग सुवर्ण स्मृति परिषदले २०७४ मा प्रकाशन गरेको ‘सुवर्ण स्मृति ग्रन्थ’ मा समेत उल्लेख छ ।

    देवकोटाको गान्धी कविता संग्रहबारेमा जोशीले भनेका छन्, ‘लक्ष्मीप्रसाद देवकोटाज्यूले कलकत्तामा बस्दा ‘बापुजी’ शीर्षकमा ६५ वटा चतुर्दशीय पदहरु लेख्नुभएको रहेछ- महात्मा गान्धिका बारेमा । ‘बापुजी’ छपाउन पाए भारतीय बौद्धिक तथा साहित्यिक समाजले पनि नेपाली प्रतिभाको एक झलक हेर्ने मौका पाउँथे भन्ने लागेकाले सुवर्णशमशेरज्यूलाई भेटेर यो कुरा भनें । उहाँले स्वयं पनि बापुजी पढ्नुभयो र तुरुन्तै त्यसलाई छाप्न भनी आठ सय भारु दिनुभयो । तर, दुर्भाग्यबस प्रेसको गडबडीले गर्दा त्यो पुस्तक प्रकाशन हुन सकेन ।’

    देवकोटाले कविता प्रकाशन गर्न लागेकै वर्ष गान्धीलाई नाथुराम गोड्सेले बन्दुक हानेर हत्या गरे । तर, देवकोटाको संग्रह त्यसपछि पनि छापिन सकेन । किन छापिएन ? देवकोटाकै कारण कि अरु प्राविधिक कारण ? त्योबारेमा भने देवकोटाको अनुसन्धान गर्नेहरुलाई बाटो खुलै छ ।

  • आज ‍‌ऊ नछुनी भएकी छे !

    आज ‍‌ऊ नछुनी भएकी छे !

    हिजो सम्म मन चन्चल, फुरुङ भएकी ऊ
    आज मौन छे
    १२ औं वसन्त पारगरी १३ मा भर्खर टेकेकी
    मात्र थिई
    आज उसकाे मन डर र लाजले भरिएको छ
    आज उ घर छेउ पर्न पनि डराउँदै छे ।
    आज उ नछुनी भएकी छे ।

    इजोरिया जस्तो मुहार आज औँसीको रात जस्तो देखिन्छ
    हिजो सम्म पंख फिजाउने ऊ,

    आज बर्षातमा भिजेको चरी जस्तै लगलगाइ रहेकी छे
    आज अँध्यारो कोठाको शरणमा छे
    चुपचाप बेखबर एकदम एक्लिएकी छे
    आज उ नछुनी भएकी छे ।

    सबैसँग हिजो सम्म हातोमालो गर्ने उ
    आज उस्ले कसैलाई छुन मिल्दैन रे !
    बुबाकी प्यारी छोरीले आजबाट बुबाको मुख समेत हेर्न मिल्दैन रे
    भाइ बहिनीसँग खेल्ने उ , आज मनको बाघलाई झेल्ने भएकी छे
    आज उ नछुनी भएकी छे ।

    हिजो सम्मको कलिलो पालुवा
    आजबाट ढकमक्कै फुल्दै थियो
    यो रोग हो ?
    वा
    के हो ?
    ऊ अझै छुट्टाउन सक्ने भैसकेकी छैन
    उसका योनाङ्ग रगताम्य छ्न् मानौ कसैले छुरा रोपेको हो
    पेट कट कट खाइ रहेको छ , मानौ कसैले आरा चलाएको हो
    ऊ निकै आत्तिएकी छे, हतासिएकी छे
    आज ऊ नछुनी भएकी छे

    यो उसलाई मात्रै भएको हो कि सबैलाइै हुन्छ ?
    ऊ अझै यो प्रश्न मनमा डुलाइ रहेकी छे
    आमाले ‘त नछुने भईस , आजबाट ठुली भैइस’ भन्दा
    ऊ आफ्नो बालापन सम्झेर रोइ
    ‘तैले कसैलाइै छुनु हुदैन’ भन्दा त्यो परिबन्ध
    सम्झेर रोइ
    पीडाले रोइ , बेचैनी ले रोइ , सबै भन्दा धेरै त उसमा देखिएको एकाएक परिवर्तनले रोइ
    आज ऊ नछुनी भएर रोई

    सुन न !
    उसलाई बालापनको नदि तरेर बैसको किनारा लागेको
    सुन्दर कुरा कसैले भनि देउ न हो
    सृष्टि गर्ने अद्भुत शक्ति उ भित्र पनि भएको कुरा
    कसैले सुनाइ देउ न हो
    बैसको दलिन टेकेर सौन्दर्यको पर्दा उघारेको दुर्लभ क्षण
    कसैले बुझाइ देउ न हो
    कुनै कुराको समाधी केही कुराको उदय हो भनेर सम्झाइ देउ न हो
    ऊ अब उर्बर बनी, उसको उर्बरताको उत्सब सबैले मनाइ देउ न हो
    यो उसको पहिलो महिनावारी हौसला, उत्साह, ढाढस र स्नेहले सजाइ देउन हो
    ऊ नछुनी भएकी हैन कसैले बुझाई देउ न हो ।

  • कविता : जित्नुपर्छ

    कविता : जित्नुपर्छ

    चुनाव लागेको छ बेस्सरी
    दलहरूलाई
    नेताहरूलाई, कार्यकर्ता त भ्याई नभ्याईमा छन् कोही फेसबुकमा कोही ट्वीटरमा
    कोही अखबारका पानामा
    अचेल टेलिभिजनका भित्ताहरूमा
    विचार पोख्नेहरू लाइन लागेका छन्
    मानौं दसैँ-तिहारपछि मंसिरको मुरी भित्रयाउनेजस्तै गरी लागिपरेका छन् ।

    लेखकहरू लडिरहेछन्
    पत्रकार भिडिरहेछन्
    उद्योगी अनि व्यवसायीहरू मरिमेटी रहेछन्
    शिक्षक, कर्मचारीहरू उफ्रेका उफ्र्यै छन्
    सेना गुपचुप लागेकै छन्,
    श्रीमान्‌हरू ढोका थुनेर, साउती गरेर खासखुस गर्दै छन्
    डाक्टरहरू एस्थेथेस्कोप झुण्ड्याउँदै
    लागिपरेका छन् ।

    भारत, चीन अनि महाशक्तिहरू पनि भिडिरहेछन्
    उनीहरूलाई जिताउनु छ कुनै अमुक दललाई,
    हराउनु छ कुनै अमुक दललाई
    तर यहाँ हार्न उठेकै छैनन् कोही पनि
    मात्र कोही हराउनै भए पनि उठेका छन्
    कोही भने जीत्नै उठेका छन्
    त्यसैले कोही टाउकोको मूल्य तोक्नेहरू
    कोही गोली ठोक्नेहरू
    कोही हलो जोत्नेहरू
    कोही पार्टी फोड्नेहरू उठेका छन् ।

    यो निर्वाचनमा फेरि एक पटक
    कसै न कसैले अवश्य जित्नेछ
    अबिरको माला लाउनेछ
    बधाई खानेछ र ऊ माननीय हुनेछ
    अनि ऊ मन्त्री पनि हुनेछ
    सायद प्रधानमन्त्री पनि बन्नेछ होला !

    तर, म भन्छु
    यस पटकको निर्वाचनमा
    नेपालको मिचिएको सिमानाले जित्नुपर्छ
    सिमानामा भत्किएको पुलले जित्नुपर्छ
    सिमानामा गोली खाएको सपूतले जित्नुपर्छ
    यो देशको स्वाभिमानले जित्नुपर्छ
    चुच्चे नक्साले जित्नुपर्नेछ
    नाकाबन्दीमा रोएको मेरो देशले जित्नुपर्छ ।

    मैले यस निर्वाचनमा
    त्यस्ता कोही कसैले हारेको देख्नु नपरोस्
    एक गाँस खानको लागि
    एक पेट पाल्नैका लागि
    साहुको ऋण तीर्नैका लागि
    एउटा झुपडी बनाउनैका लागि
    साउदी, कतार र मलेसिया
    भासिनेहरूले यसपटक हार्न नपरोस् ।

    म ठोकुवा गरेरै भन्छु यसपटक
    देशमा अशान्ति मच्चाउनेहरू
    गोली-बारुद पड्काउनेहरू
    बाँदरमुढेमा नरसंहार मच्चाउनेहरू
    पार्टी फोडुवाहरू
    डलरका खेती गर्नेहरू
    परमादेशीहरू,
    गठबन्धनेहरू
    एमसीसीहरू
    नागरिकता बेच्नेहरू
    देशको स्वाभिमान र सम्प्रभुता बन्धकी राख्नेहरूलाई
    जिताउने हैन, धुलो पीठो पार्नुछ
    तिनीहरूलाई हराउनुछ
    पछार्नु छ कहिल्यै उठ्न नसक्ने गरी
    लडाउनु छ ।

    र, यस पटक
    ठेलागाडामा पानीपुरी बेच्नेहरू
    सडकमा मकै पोल्नेहरू
    थाप्लोमा भारी बोक्नेहरू
    रातो दिन पसिना बगाउनेहरू
    तराईको बाढीमा बग्नेहरू
    पहाडको पहिरोमा पर्नेहरू
    मेरा देश भक्तहरू
    अनि स्वभिमानीहरूले मात्र हैन
    मेरा वृद्ध बा-आमाहरूले
    मज्जाले जित्नुपर्छ
    सुखी नेपाली समृद्ध नेपालको सपना देख्नेहरूले
    जित्नुपर्नेछ
    उनीहरूलाई नै जिताउनु छ ।

  • २० पूर्वराजदूतका अनुभव: ‘वीरेन्द्र पाकिस्तानबाट मिसाइल किन्न खोज्दै थिए, बहुदल आयो’

    २० पूर्वराजदूतका अनुभव: ‘वीरेन्द्र पाकिस्तानबाट मिसाइल किन्न खोज्दै थिए, बहुदल आयो’

    नेपालको राज्य सत्ताको संस्थागत स्मृतिको बिजोग छ । राज्य सत्ताका उच्च ओहोदामा बस्नेहरुले शक्ति केन्द्रसँग भेट्दा के बोले? के तर्क वितर्क भयो ? के कुरा मिल्यो ? यी र यस्ता संस्थागत स्मृति राज्य सत्तासँग छैन । अरु त अरु बेलायतसँग भएको सुगौली सन्धिदेखि चीनसँग भएको बेत्रावती सन्धिसम्मका सक्कल प्रति पनि नेपालसँग छैनन् भन्ने कुरा आम जानकारीमै छ ।

    संस्थागत स्मृति बिजोग भएको देशमा व्यक्तिगत स्मृतिको पनि अर्थ हुन्छ । जब व्यक्ति खासखास समयमा राज्य सत्ताको अंग भएर बसेको छ भने त त्यो झन् सुन्दर कुरा भइहाल्यो । नेपालका २० पूर्वराजदूतसँग कुराकानी गरेर विष्णु रिजालले सम्पादन गरेको पुस्तक ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ले यो मेसोमा केही राहत दिएको छ ।

    कूटनीतिक क्षेत्रमा पञ्चायतदेखि लोकतान्त्रिक गणतन्त्रसम्म जोडिएका २० राजदूतहरुको अनुभवले देशका रोचक कूटनीतिक कथाहरु समेटेको छ । नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्रसचिव शङ्करदास बैरागीको पालामा छापिएको पुस्तकमा धेरै रोचक कूटनीतिक प्रसंगहरु छन् । यहाँ केहीको चर्चा गरिएको छ ।

    बेलायतसँग भएको सुगौली सन्धिदेखि चीनसँग भएको बेत्रावती सन्धिसम्मका सक्कल प्रति पनि नेपालसँग छैनन् भन्ने कुरा आम जानकारीमै छ ।

    राजा वीरेन्द्र पाकिस्तानबाट मिसाइल किन्न खोज्दै थिए, बहुदल आयो

    २०४६ सालमा भारतले नेपाललाई नाकाबन्दी लाएको थियो । चीनबाट विमान खसाउने बन्दुक खरिद गरेकोलगायतका मुद्दामा भारतले नाकाबन्दी लाएको थियो । सन् १९९८ देखि २००३ सम्म फ्रान्सका राजदूत भएका तथा इजिप्ट तथा फ्रान्समा परराष्ट्र अधिकारीका रुपमा काम गरेका इन्द्रबहादुर सिंहले यो कुरा गरेका छन् ।

    उनका अनुसार पाकिस्तानबाट मिसाइल किन्नेबारेमा पूर्वप्रधानसेनापति एवं पाकिस्तानका लागि नेपाली राजदूत अर्जुननरसिंह राणाको पालामा खरिदको कुरा अगाडि बढेको थियो । पाकिस्तानबाट खरिद गरिएको मिसाइल चीनको बाटो भएर ल्हासाबाट काठमाडौं ल्याउने तयारी भएको थियो । तर, यो सबै योजना तब तुहियो जब काठमाडौंमा जनआन्दोलन चर्कियो ।

    यो प्रसंगमा सिंहले भनेका छन्, ‘काठमाडौंमा जनआन्दोलनले उग्र रुप लिइसकेको कुरालाई मध्यनजर गरी दरबारले आफ्नो नीतिमा परिवर्तन गरेछ । एक बिहान राजाका सैनिक सचिव शान्तकुमार मल्लले राजदूत राणालाई फोन गरी अहिले त्यो डिल रद्द गर्ने सूचना दिनुभयो ।’

    पाकिस्तानबाट खरिद गरिएको मिसाइल चीनको बाटो भएर ल्हासाबाट काठमाडौं ल्याउने तयारी भएको थियो । तर, यो सबै योजना तब तुहियो जब काठमाडौंमा जनआन्दोलन चर्कियो ।

    अरुण तेस्रो नेपाली नेता होइन, छिमेकी देशको दबाबले रद्द

    नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले विश्व बैंकलाई लेखेको पत्रकै कारणले विश्व बैंकले अरुण तेस्रोबाट हात झिकेको तर्क नेपालमा बिक्ने गर्छ । तर, पूर्वराजदूत इन्द्रबहादुर सिंहले भेटेका स्रोत व्यक्तिले भने त्यसो नभएको बताएका थिए । सन् १९८० देखि चिनजानका जोन होल्म्स् बेलायतको राजदूत भएर पेरिस पुग्दा उनैबाट त्यो कुरा सुनेको सिंहले भनेका छन् ।

    बेलायतको प्रतिनिधि भएर विश्व बैंकमा समेत पुगेका होल्म्स्ले अरुण तेस्रोको सिंहले गरेको प्रश्नमा भनेका थिए, ‘म आफैं त्यसमा संलग्न छु । मलाई सबै थाहा छ । कहाँ त्यो नेपालको राजनीतिक दलको चिट्ठीले गर्दा हो र ? त्यो त तिम्रो छिमेकी देशको दबाबले गर्दा रद्द भएको हो ।’ होल्म्स्ले संकेत गरेको छिमेकी भारत हो । अहिले भारतकै कम्पनीले अरुण तेस्रो बनाइरहेको छ ।

    एक पत्र, जसले बुद्ध नेपालमा जन्मेको सूचना कोरियाली पाठ्यक्रममा सच्चियो

    नेपालका प्रथम नागरिक प्रधानमन्त्री मात्रृकाप्रसाद कोइरालापुत्र कमलप्रसाद कोइराला सन् २००७ देखि २०११ सम्म दक्षिण कोरियाका प्रथम आवासीय राजदूत भए । उनले कोरियाली विद्यालयको पाठ्यक्रममा बुद्ध भारतमा जन्मेको लेखेको पाए । त्यसमा कडा आपत्ति जनाउँदै उनले कोरियाली राष्ट्रपति ली म्युङ बकलाई लामो पत्र लेखे । पत्रको प्रभाव देखियो । पाठ्यक्रम सच्चियो । कोइरालाको पत्र कोरियाको अखबार कोरिया हेराल्डमा हेडलाइन बनेको थियो ।

    होल्म्स्ले संकेत गरेको छिमेकी भारत हो । अहिले भारतकै कम्पनीले अरुण तेस्रो बनाइरहेको छ ।

    दुई महिनामा तयार भएको सार्क सचिवालय

    नेपाललाई दक्षिण एसियाको ब्रसेल्स भन्ने तर्क पनि गरिन्छ । युरोपेली संघको मुख्यालय बेल्जियमको राजधानी ब्रसेल्समा भएजस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को राजधानी काठमाडौं भएकाले यस्तो भनिएको हो । सार्कको सचिवालय स्थापनाको कथा हतारोबाट सुरु भएर हतारोमै सकिएको देखिन्छ । पूर्वराजदूत तथा सार्कका नेपालका तर्फबाट नियुक्त प्रथम निर्देशक केदारभक्त श्रेष्ठका अनुसार सार्क सचिवालय दुई महिनामै तयार भएको थियो ।

    सन् १९८६ नोभेम्बर १६ र १७ मा भारतको बैंगलोरमा भएको दोस्रो शिखर सम्मेलनमा सचिवालय नेपालमा हुने निर्णय भयो । सचिवालय खोज्ने मेसोमा पर्यटन विभागका लागि भनेर तयार भएको ठमेल क्षेत्रको भवनमा राख्ने निर्णय भएको श्रेष्ठले बताएका छन् । उनका अनुसार तोडफोड, रंगरोगन, फर्निचर व्यवस्थापनलगायतका काममा दुई महिना लागेर सन् १९८७ को जनवरी १७ मा औपचारिक रुपमा उद्घाटन भएको थियो । उद्घाटनको लागि प्रथम नेपाली राजदूत महिला विन्देश्वरी शाह र श्रेष्ठले नेतृत्वदायी रुपमा रातदिन खटेको श्रेष्ठले बताएका छन् ।

    रेगनकी निजी सहयोगीको हिमाल प्रेमले जोडेको राजकीय भ्रमण

    सन् १९८० को अमेरिकी राष्ट्रपतीय चुनावमा रोनाल्ड रेगन विजयी भएपछि उनको निजी सहयोगीको रुपमा हेलन भन डाम आइन् । डाम अस्ट्रियाको शरणार्थीबाट राष्ट्रपतिको निजी सहयोगीसम्म भएकाले उनको चर्चा मिडियामा व्यापकै थियो । मिडियाले उनलाई सोधे, ‘तपाईं शरणार्थीबाट राष्ट्रपतिको निजी सहयोगी भइसक्नुभयो, तपाईंको निजी इच्छा के छ ?’ उत्तरमा डामले भनिन्, ‘एकपटक नेपालका हिमालय चढ्ने इच्छा छ ।’

    यो एक सानो जानकारीले नेपाली राजदूतलाई ठूलो फाइदा भयो । तत्कालीन राजदूत भेषबहादुर थापाकी श्रीमतीले यही हिमाल प्रसंग लिएर राष्ट्रपति कार्यालयमा सोझो सम्बन्ध बनाइन् । त्यही सम्बन्धले राजदूत थापाको सम्बन्ध पनि बलियो भयो । यत्तिसम्म बलियो भयो कि रेगनकै सत्ताकालमा नेपालका राजा वीरेन्द्रको अमेरिकाको राजकीय भ्रमण गराउनेसम्म पुग्यो । भेषबहादुर थापाले यो भ्रमणको कथामा हिमाल जोडेर पुस्तकमा बताएका छन् ।

    मनमोहन अधिकारीको फरर अंग्रेजी भाषणले लोभिए बेलायती

    नेपालका प्रथम जननिर्वाचित कम्युुनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ को मार्च १५ देखि १७ सम्म बेलायतको औपचारिक भ्रमण गरेका थिए । भ्रमणमा उनले लण्डन विश्वविद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजमा आयोजित कार्यक्रममा एक भाषण गरे । संवैधानिक राजतन्त्र र कम्युनिष्ट पार्टीबीचको अन्तरसम्बन्ध शीर्षकमा अधिकारीले बोलेको कुरा बिकेको थियो । यो कुरा तत्कालीन राजदूत सूर्यप्रसाद श्रेष्ठले समेत पुस्तकमा खुलाएका छन् ।

    उनले भनेका छन्, ‘प्रधानमन्त्री अधिकारीले धाराप्रवाह यति राम्रोसँग बोल्नुभयो, त्यसबाट उनीहरु निकै प्रभावित भए र पछिसम्म पनि मसँग हाम्रा प्रधानमन्त्रीको प्रशंसा गरिरहे ।’

  • स्वतन्त्र शब्दकै गरिमामा आँच ल्याउने ‘स्वतन्त्र’हरु

    स्वतन्त्र शब्दकै गरिमामा आँच ल्याउने ‘स्वतन्त्र’हरु

    इटहरीको पछिल्लो स्थानीय चुनावमा विभिन्न बहस कार्यक्रम भए । राष्ट्रिय टेलिभिजनहरुले गरेका बहसहरुमा दलका उम्मेदवारहरुभन्दा गजब प्रस्तुति गैरदलीय उम्मेदवारी दिएका पदम अधिकारीको थियो । धारा चुनाव चिन्ह लिएर उठेका अधिकारीको धारा प्रवाह प्रस्तुतिले पहिलोपटक सुन्नेहरुले उनको दक्षताको तारिफ गरेका थिए । उनले उठाएको ‘दलतन्त्र’ विरुद्धको उम्मेदवारी आकर्षक पनि थियो । यत्ति हुँदाहुँदै अधिकारीले सय मत कटाउन सकेनन् ।

    देशभर स्वतन्त्रहरुको माहोल आइरहँदा इटहरीमा भने अधिकारीको मत आएन । उनका मुद्दा कमजोर भएर कम मत आएको हैन । उनको प्रचार नपुगेर पनि कम मत आएको हैन । मूलतः उनी गैरदलीय उम्मेदवार भएर पनि मतदाताले स्वतन्त्र उम्मेदवार नमान्दा पछि परेका हुन् ।

    एमाले, माले, माओवादी, लिम्बूवान, समाजवादीदेखि लोकतान्त्रिक समाजवादीसम्म विभिन्न समयमा आबद्ध भएर राजनीतिमा सक्रिय अधिकारीलाई मतदाताले ‘स्वतन्त’ अनुहार नै मानिदिएनन् । उनलाई विभिन्न दलहरुमा डुलेर आएको एक स्वतन्त्र व्यानरमा उभिएको राजनीतिक पर्यटकमात्रै माने । त्यही मनाइको झल्को मतपत्रमा आयो । र, अधिकारीले जित्न वा भनौं सानदार मत ल्याउन सकेनन् ।

    निर्वाचन आयोगमा दर्ता भएका दलहरुबाहेकको उम्मेदवारीलाई कानूनले स्वतन्त्र माने पनि मतदाताले मान्न आवश्यक छैन । उनीहरुलाई गैरदलीय उम्मेदवार भन्न मिल्यो । तर, स्वतन्त्र भन्न मिलेन ।

    इटहरीमा जसरी गैरदलीय उम्मेदवार भएकै कोणमा अधिकारीलाई मतदाताले स्वतन्त्रको मान्यता दिएनन्, त्यस्तो सबैतिर भएन । नभएरै जनकपुरदेखि धनगढीसम्म चुनाव अगाडि विभिन्न राजनीतिक दलमा आबद्ध भएका नेताहरुले गैरदलीय उम्मेदवार भएर चुनाव जिते । प्रदेश १ कै भोजपुरको सिल्पासिलिचोमा पहिले दलीय राजनीति गरेका गैरदलीय उम्मेदवारले चुनाव जिते । अन्त धेरै क्षेत्रमा पनि यस्तो भएका छन् ।

    निर्वाचन आयोगमा दर्ता भएका दलहरुबाहेकको उम्मेदवारीलाई कानूनले स्वतन्त्र माने पनि मतदाताले मान्न आवश्यक छैन । उनीहरुलाई गैरदलीय उम्मेदवार भन्न मिल्यो । तर, स्वतन्त्र भन्न मिलेन । पहिले पहिले विभिन्न दलमा आवद्ध भएर राजनीति गरे पनि कम्तिमा एक-दुई चुनावमा कुनै दल विशेष आबद्धता नभएकालाई समेत स्वतन्त्र भन्न सकिन्छ । तर, यहाँ त आज एउटा दल छोडेर बागी उम्मेदवारी दिनेलाई स्वतन्त्र भनेर हैरान छ । हिजोसम्म एउटा दलमा आबद्ध भएर वा कुनै खास विचारको पक्षमा सार्वजनिक पैरवी गरेकाहरुलाई स्वतन्त्र भनेर हैरान छ । २०७४ सालमा काठमाडौं महानगरको मेयर चुनावमा सेकेन्ड रनरअप भएकी रञ्जु दर्शना अहिले पाँच वर्षलगत्तै काठमाडौं क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवार भन्दै भोट माग्दैछिन् । एक चुनाव अगाडि मात्रै विवेकशील पार्टीको मेयर उम्मेदवार अर्को चुनावमा एकाएक स्वतन्त्र कसरी भयो ?

    यस्तै उन्नत लोकतन्त्र पार्टी नेपाल दर्ता गरेर अध्यक्ष भएका स्वागत नेपाल अहिले झापा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी भन्दै कुद्दैछन् । एमाले, कांग्रेस हुँदै विभिन्न दलबाट आफूले सोचे जस्तो टिकट नपाएकाहरुसमेत स्वतन्त्र भन्दै हिँड्दैछन् । माओवादी बुद्धिजीवीको पहिचान बनाएका युग पाठक अहिले झापा क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार भन्दै प्रचारमा छन् । यस्तो लाग्छ कि स्वतन्त्र हुन कुनै खास गुण आवश्यकतै छैन । गैरदलीय चुनावमा भिड्नासाथ स्वतन्त्र भइहाल्यो ।

    स्वतन्त्र हुन दल छोडेको भोलिपल्ट योग्यता पुग्ने वा दर्ता भएका दलका चुनावभन्दा भिन्न चुनावबाट उठ्नु नै गैरदलीय भएको जस्तो देखाउन थालिएको छ । राजनीति हो, राजनीतिमा विभिन्न तौरतरिका अपनाएर मान्छेहरु स्वतन्त्र दाबी गर्न सक्छन् ।

    निर्वाचन आयोगको कानूनी भाषामा स्वतन्त्र भनिए पनि खास दलमा बसेका, खास विचारका पैरवी गर्नेहरु, एक–दुई चुनाव पनि गैरदलीय हुन नसकेकाहरुलाई स्वतन्त्र भन्न हुन्न । यसले स्वतन्त्रहरुको मानमर्दन गरेको छ । स्वतन्त्र हुन दल छोडेको भोलिपल्ट योग्यता पुग्ने वा दर्ता भएका दलका चुनावभन्दा भिन्न चुनावबाट उठ्नु नै गैरदलीय भएको जस्तो देखाउन थालिएको छ । राजनीति हो, राजनीतिमा विभिन्न तौरतरिका अपनाएर मान्छेहरु स्वतन्त्र दाबी गर्न सक्छन् । तर, मतदाताहरुले स्वतन्त्रहरुको स्वतन्त्रताको सीभी हेर्न आवश्यक छ ।

    पछिल्लो समयमा हर्क साम्पाङदेखि बालेन्द्र शाह बालेनसम्मको स्वतन्त्रको मनमोहक प्रस्तुति देखेर स्वतन्त्र नाममा चुनावी दोकान थाप्नेहरु बढेका छन् । मतदाताले त्यस्ता दोकानेहरुलाई पहिचान गर्न आवश्यक छ । बालेन र हर्कले लौरो लिएर जितेकाले त्यही चुनाव चिन्ह लिएर दर्ता भएको दल ‘हाम्रो नेपाली पार्टी’ले अहिले स्वतन्त्र उम्मेदवारहरु जस्तै गरेर आफ्ना उम्मेदवारहरुको प्रचार पनि उत्तिकै लाजमर्दो छ । घन्टी चुनाव चिन्ह भए पनि रवि लामिछानेको दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले पनि स्वतन्त्र ब्रान्डकै लोकप्रियतालाई क्यास गर्न खोजेको देखिन्छ । लौरो चुनाव चिन्ह वा स्वतन्त्र उपमा हुनासाथ जितिन्छ भनेर यस्तो सस्तो उम्मेदवारीको पनि मतदाताले स्क्रिनिङ गर्न आवश्यक छ । स्वतन्त्र शब्दकै मानमर्दन गर्ने स्वतन्त्रहरुलाई चुनावी मैदानबाट स्वतन्त्र गर्न आवश्यक छ ।

    उसो त स्वतन्त्र उम्मेदवारहरुको विजयी यात्रा पछिल्लो चुनावबाट मात्रै भएको हैन । नेपालको चुनावी इतिहाससँगै स्वतन्त्रहरुको उदय भएको थियो । २०१५ सालको प्रथम बहुदलीय आम निर्वाचनमा हरिलाल चौधरी, रामदुलार राय यादव, भीमप्रसाद श्रेष्ठ र जयबहादुर महत स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए । २०४८ सालको दोस्रो आम निर्वाचनमा राजदेव गोइत, गोविन्द चौधरी र ओमकारप्रसाद गौचन विजयी भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा त स्वतन्त्रहरुको बाढी नै आएको थियो । सात स्वतन्त्र उम्मेदवारी दिएर जित्नेहरुमा शरदसिंह भण्डारी, पाल्तेन गुरुङ, ज्योतेन्द्रमोहन चौधरी, परि थापा, नवराज सुवेदी, मोतीप्रसाद पहाडी र नरेशबहादुर सिंह थिए ।

    बालेन र हर्कले लौरो लिएर जितेकाले त्यही चुनाव चिन्ह लिएर दर्ता भएको दल ‘हाम्रो नेपाली पार्टी’ले अहिले स्वतन्त्र उम्मेदवारहरु जस्तै गरेर आफ्ना उम्मेदवारहरुको प्रचार पनि उत्तिकै लाजमर्दो छ ।

    २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा बबन सिंह र सदरुल मिया हक तथा दोस्रो संविधानसभामा चन्द्रेश्वर झा र अतहर कमाल मुसलमान स्वतन्त्र उम्मेदवारी दिएरै विजयी भएका थिए । पछिल्लो २०७४ सालको चुनावमा पनि छक्कबहादुर लामा स्वतन्त्र उम्मेदवारी दिएरै विजयी भएका थिए ।

    यसरी २०१५ सालको चुनावदेखि २०७४ सम्मको चुनावमै स्वतन्त्र उम्मेदवारीको नाममा विजयी हुनेहरु छन् । यसरी विजयी भएकाहरुले नेपालको संसदीय इतिहासमा खेलेको भूमिका र जीतपछिको उनीहरुको प्रस्तुतिको जानकारी मतदातासँगै छ । इतिहासले पनि संसदीय चुनावमा स्वतन्त्रलाई जित्न सजिलो छ । तर, चुनावी मुद्दा लागु गर्न गाह्रो भएको नजिर आइसकेको छ । स्थानीय तहमा स्वतन्त्र भएर जितेपछि ऐन–कानून निर्माणदेखि नगर प्रहरी भर्तीसम्मका अधिकार छन् । प्रतिनिधिसभामा दलहरुै दबदबा चल्नाले अहिलेसम्म स्वतन्त्रहरुले सत्ता निर्माण र भत्काइमा च्याँखे थाप्नेबाहेक देखिने परिवर्तन गरेका छैनन् ।

    यसको मतलब यो हैन कि स्वतन्त्रहरु प्रतिनिधिसभामा जानै हुन्न । लोकप्रिय स्वतन्त्रहरु प्रतिनिधिसभामा जानुपर्छ । उनीहरुको शक्तिशाली उपस्थितिले संसदीय परम्परामा प्रगतिशील परिवर्तन सम्भव छ । दलहरुलाई मतदाता आफ्नो पेवा ठान्ने विकृतिलाई यसले चेक पनि दिन्छ । स्वतन्त्रको नाममा प्रतिनिधिसभामा जितेकाहरुको अहिलेसम्मको विगत खराब भयो भन्दैमा आगत पनि खराब नै हुन्छ भन्ने हैन । यत्ति चै हो स्वतन्त्रको नाममा चुनाव लड्न आएकाहरु साँच्चिकै स्वतन्त्र हुनुपर्छ । गैरदलीयमात्रै भएर पुग्दैन ।

  • रहर कहाँ गए ?

    रहर कहाँ गए ?

    शरद आ’को सन्देश दिने बादल कहाँ गए ?
    औंशी रातमा घिनघिन गर्ने मादल कहाँ गए  ?

    डोरी बाट्न जान्ने दाइ कतारमा छन् अचेल,
    लिङ्गे पिङ्ग मच्चाउदाको हलचल कहाँ गए ?

    सयपत्री आँगन ढाक्दै फुलिसके पनि,
    चाडपर्वमा रमझम गर्ने रहर कहाँ गए ?

    केही पैसा चामल पाएँ मख्खै पर्थ्यौँ हामी,
    देउसी जाने इस्टमित्र दलबल कहाँ गए ?

    – आमोद खतिवडा
    ग्रामथान-२, झोराहाट मोरङ (हाल बोस्टन, अमेरिका)

  • जब म दशैंघरभित्र जानबाट रोकिएँ

    जब म दशैंघरभित्र जानबाट रोकिएँ

    नेपालमा मनाइने सबै चाडबाड मलाई उत्तिकै प्रिय लाग्छ । तीभित्रका मूल्य-मान्यतालाई म अन्तरहृदयबाट सम्मान गर्छु । हुन त म धार्मिक अतिवाद रुचाउँदिनँ । तर पनि हाम्रा धर्म सस्कृतिसँग सम्बन्धित विश्वास, मान्यताहरुलाई विज्ञानले समेत पुस्टि गर्दा साँच्चै नै गौरवान्वित महसुस हुन्छ । प्रत्येक पर्व, उत्सव मनाउँदा त्यसभित्रका जातीय, धार्मिक, लैङ्गिक, क्षेत्रीय र साम्प्रदायिक परिधिलाई जति चिर्न सक्यो, त्यति नै तीप्रति प्रत्येकले महसुस गर्ने आदर र अपनत्व पनि बढेर जान्छ जस्तो लाग्छ । ती मूर्त, अमूर्त संस्कार, संस्कृतिको महिमा, आवश्यकता अझ विराट बनिदिन्छ । नेपालीहरुको महान चाड दसैंका विविध पक्षहरू निकै सरसपूर्ण छन् । धर्म, इतिहास, समाज र प्रकृतिसँग पनि यसको पृष्ठभूमि जोडिएकाले यो चाड निकै बृहत् छ । यद्यपि यो सुन्दर चाडसँग जोडिएको अन्धविश्वासको कालो मैलोले केही खिन्न बनाएको छ ।

    बडादसैंको पहिलो दिन सोमबार विधिपूर्वक घटस्थापना गरिएको छ । विजया दशमीका दिन लगाइने जमरा घटस्थापनाका दिन राखिन्छ । पत्रकारिता पेशामा आवद्ध भएकाले घटस्थापनाका दिन हनुमानढोकाको दसैंघरबाट प्रत्यक्ष खबर सम्प्रेषण गर्ने अवसर जुर्‍यो । दसैंघरमा जमरा राखेको यसअघि नदेखेकाले पनि सम्भावित माहोलको कल्पना गर्दा ममा उत्साह छाएथ्यो । साइतमा जमरा राख्नुअघि के कस्तो तयारी हुन्छ त्यो हेर्न पनि म साइतअगावै दसैंघरमा पुगें ।

    उक्त खबर सम्प्रेषण गर्न पुगेका अन्य पत्रकार मित्रहरुसँगै दसैंघरको प्राङ्गणमा पुग्यौं । अधिकांश पुरुषहरु हुनुहुन्थ्यो । सबैजना जुत्ता चप्पल खोलेर सरासर घटस्थापना गरिने स्थानतर्फ अघि बढेको देखेर मैले नि त्यसै गर्न खोजें । तर, म भित्र पस्न खोजेको देखेर चिनेको अर्को दाइले, के गर्छेउ केटीमान्छेलाई भित्र जान दिँदैनन्, भन्नुभयो । उहाँको कुरा नबुझेको जस्तो भयो । फेरि सोध्दा केटीहरुलाई घटस्थापना गरेको हेर्न दिइँदैन भन्ने थाहा पाएँ । दसैंघरमा के के हुँदो रहेछ भनेर हेर्न गएको म, चुपचाप बाहिरै बस्न बाध्य भएँ । पूजास्थलबाट पुरुष मित्रहरु आफ्नो काम सकाएर फर्किंदा ममाथि सबैले दयाभावले हेरेझैँ लाग्यो, बिचरा भनेझैं लाग्यो ।

    हनुमानढोका दरवार क्षेत्रका एकजना पुजारीसँग उक्त प्रश्न राख्दा जौभित्रको अदृश्य शक्ति नारी शक्ति भएको र उक्त शक्तिलाई नारीले हेर्न नहुने जवाफ दिए । यदि हेरेको खण्डमा दशमीको दिन ग्रहण गरिने टीका र मान्यजनको आशीर्वाद प्रभावहीन हुन्छ रे !

    जान मिल्दैन भन्नेहरुलाई कारण पनि सोधें । कसैले परम्परा भने त कसैले केटीहरु महिनावारी भएको हुन सक्छन् भनेर जान रोकिएको बताए । पहिलो कारणमा कुनै तुक भेटिनँ । दोस्रो कारण पनि फिट्टिकै चित्तबुझ्दो थिएन । जुन पर्वमा देवीको पुजन हुन्छ, नारी शक्तिको महिमा गाइन्छ, त्यही पर्वका विधि-विधानलाई महिलाको दृष्टिबाट लुकाएर राख्नुपर्ने तर्कमा कुनै दम छ र ?

    जमरा राखेको हेर्न हुँदैन भन्नेहरुसँग उत्तर खोजें । तर, सबैले यस्तै तर्कहीन जवाफले टारे । हनुमानढोका दरवार क्षेत्रका एकजना पुजारीसँग उक्त प्रश्न राख्दा जौभित्रको अदृश्य शक्ति नारी शक्ति भएको र उक्त शक्तिलाई नारीले हेर्न नहुने जवाफ दिए । यदि हेरेको खण्डमा दशमीको दिन ग्रहण गरिने टीका र मान्यजनको आशीर्वाद प्रभावहीन हुन्छ रे !

    उनका अनुसार विज्ञानमा समान ध्रुव विकर्सित हुन्छन् भन्ने युक्ति यहाँ लागू हुनेरहेछ । उनको भनाइलाई पुष्टि गर्न माटोमा जौ पर्दा कस्तो ऊर्जा पैदा हुन्छ र त्यो ऊर्जा महिलाहरुको सम्पर्कमा आउँदा कस्तो किसिमको प्रभाव सिर्जना हुन्छ, त्यस विषयमा यथेष्ट आधारहरु स्थापित हुनु आवश्यक छ । यदि त्यही विज्ञान लागू हुने हो भने रोप्दा हेर्न नमिल्ने जमरा कसरी दशौँ दिनमा लगाउन चाहिँ मिल्यो ? समान ध्रुव विकर्षित हुने सिद्धान्तले काम गर्ने भए नारीहरुले देवी शक्तिको पूजा गर्न पनि वर्जित हुनुपर्ने हैन र ?

    सानैदेखि घरमा हुने घटस्थापना हेरेर हुर्किएकी मलाई अहिलेसम्म त्यस्तो अनिष्ट भएको थाहा छैन । त्यसैले पनि ती तर्क-वितर्कमा विश्वास नै लागेन ।

    माथिका कारणहरुमा विश्वास गरिहाल्न सक्ने बलियो आधार मैले पाइनँ । त्यसमाथि सानैदेखि घरमा हुने घटस्थापना हेरेर हुर्किएकी मलाई अहिलेसम्म त्यस्तो अनिष्ट भएको थाहा छैन । त्यसैले पनि ती तर्क-वितर्कमा विश्वास नै लागेन ।

    वडादसैं नारी शक्तिसँग सम्बन्धित छ । यसो भन्दैमा मैले लैङ्गिकताको वकालत गरिरहेको छैन । हरेक जीवसँग आफ्नै किसिमको ओज, तेज, ऊर्जा हुन्छ भन्ने तथ्य प्रमाणित पनि भएको छ । यही सत्यका आधारमा सामाजिक मूल्य, मान्यता, चालचलन पनि फेरिँदै गएका छन् । बनेका नियम-कानूनहरु, त्यहीअनुरुप परिस्कृत हुँदैछन् । समानताको आवाज जोडदार रुपमा उठ्न थालेको छ । हामी आफूलाई आधुनिक हुँ भन्न थालिसकेका छौं ।

    तर, परम्पराका नाममा कतिपय मान्यताहरुले जन्माएका सामाजिक विभेदलाई हामीले नदेखे झैं गरेर पछ्याइरहेका छौं । सामाजिक विवेधलाई प्रश्रय दिने यस्ता आधारहीन परम्परालाई संस्कृतिको खोल ओढाउनु कत्तिको जायज हो ? के लैङ्गिक पृथकताकै आधारमा कुनै पनि चालचलनमा स्वच्छन्द रुपमा सरिक हुन पाउने अधिकारलाई कुन्ठित गरिनु नै हाम्रा चाडवाडका विशेषता हुन् ?

     

    ममता थापा एभिन्युज टेलिभिजनमा आबद्ध छिन्

  • हामीचाहिँ जान्दो गर्छौँ

    हामीचाहिँ जान्दो गर्छौँ

    कुरा २०५४–५५ सालतिरको हुनुपर्छ । देशमा माओवादीले हतियारसहितको आन्दोलन सुरु गरे रे भन्ने सुनिन्थ्यो । गोल्मेश्वर स्कुल, डाँडागाउँ, महादेवस्थानको पीपलबोटलगायतका स्थानमा हातमै अट्नेखालका राता र नीला पन्नामा छापिएका पर्चा भेटिन्थे । माओवादी जिन्दाबाद, राजतन्त्र मुर्दावाद हरेक पर्चामा लेखिएका हुन्थे । सामन्ती, शोषण, मार्क्सवाद, लेनिनवाद, माओवाद, दमन अनि अत्याचारको अन्त्य जस्ता शब्द बग्रेल्ती भेटिन्थे– सानो पर्चामा पनि । म भर्खर ६ बाट ७ कक्षामा गएको थिएँ । ती पर्चाहरूमा लेखिएका कुरामा चासोचाहिँ थियो तर डर पनि त्यत्तिकै ।

    भाइ उत्तम त्यही ५ वर्षको हुँदो हो । साउनको पहिलो साता हुनुपर्छ– द्वादशे खोला उर्लेको थियो । यता भाइ बिरामी थियो । ज्वरोले निस्लोट । साउनको त्यो रात हामी सबै आत्तियौँ भाइको अवस्था देखेर । आँखै हेर्दैन त । अन्दाजी रातको १ बजेको छ । आरी घोप्टाएजस्तो छ पानीको दर्काइ । सिटामोल धरि छैन ।

    अलिक पानी कम भएको मौका पारेर बुबा निस्कनुभयो- बाबुराम दाइकोमा । जडीबुटी केही छ कि वा सिटामोल जगेडा गरेको छ कि भनेर ? बाबुराम दाइ, बिरामी हुँदा सबैलाई आँट दिने मान्छे ।

    हामीले हाम्री ममतामयी हजुरआमा सावित्रा पोखरेल गुमाएको वर्ष त्यो । बुबा सेतो कपडामा हुनुहुन्थ्यो । टक्की सेतो कमिज, सुरुवाल अनि हवाई चप्पल । औँसीको रात हो वा पानी परेको रात भएर हो, जूनको नामोनिशान थिएन ।

    बाबुराम दाइको घरमा जान द्वादशे खोला तर्नुपर्ने तर खोलाको आवाज सुन्दा ढुङ्गा र मुढाहरू पनि ल्याएजस्तो सुनिने । खोला वारपार ढाकेर आएकाले फड्केर पारि जान सक्ने अवस्था पनि थिएन । तैपनि जे त होला भनेर बुबा खोलातर्फ अगाडि बढ्नुभयो ।

    ‘खोलाको छेउमा पुग्छु त एक महिला लौरोजस्तो वस्तु टेकेर खोलाको छेउमा बडो निर्भयका साथ उभिएकी छिन् । लाग्यो– ‘किचकन्न्याको कथा खुब सुनिन्थ्यो, आज आफैँले भेटेँ । छोराको चिन्ताले थिचेकाले मलाई त्यो आकृतिसँग डरचाहिँ लागेन । बरु खूब गाली गरेँ त्यसलाई ।’ बुबाको भनाइ मेरो स्मृतिमा अझै ताजा छ –’किन यसरी बाटो छेकेर बसेको, आफ्नो बाटो लाग्नु । हैन भने मैले जान्दो गर्नुपर्ला ।’

    त्यो आकृति हल्का डग्मगाएछ । अनि लुसुक्क माथ्लो कान्लोतिर अर्थात् तीनचोसे गरातिर लागेछ । बुबाचाहिँ खोलैखोला अलिक माथि पुगेर खोलो अलिक गहिरिएर बगेको स्थानबाट फड्केर पारी पुग्नुभएछ ।

    बाबुराम दाइको घरबाट फर्किएर खोलामा आउनुहुन्छ त, पहिलेकै स्थानमा १ जना मात्र हैन । ४–५ जना उसै गरी छोटो छोटो मोटो मोटो लौरोजस्तो वस्तु लिएर उभिएका । अलिक परैबाट देख्नुभएछ । बुबालाई लागेछ- प्रेतात्माहरू एकबाट धेरै भएछन् तर पनि पछाडि फर्किनुभएन । अगाडि नै बढ्नुभयो ।

    ती आकृतिहरूको लगभग सामुन्ने जस्तोमा पुगेर भन्नुभएछ– ‘मैले तिमेरुलाई भनेको हैन, आफ्नो बाटो लाग भनेर । अझ घेरेर पो बसेका छौ । मैले जान्दो गर्नुपर्ने भो ।’

    त्यसपछि त्यो आकृतिमध्ये एउटा पुरुष आकृतिले भनेछ– ‘दाइ हामी माओवादी हौँ । सेन्ट्री बसेकी कमरेडले सेतो कपडा लगाएको मानव आकृतिले जान्दो गर्छु भन्यो अनि खोलैखोला माथितिर गएर विलय भयो भन्ने खबर गरेपछि वास्तविकता बुझ्न हामी यहाँ भेला भएका हौँ । हामी यतैतिर कसैका घरमा बसेका छौँ । हामी यहाँ बसेको बारेमा कसैसँग केही नभन्नुहोला । भन्नुभयो भने हामीचाहिँ जान्दो गर्छौँ ।’

    बुबाले हस् भन्नुभएछ । अनि घरमा आएर भाइको उपचारमा लाग्नुभएछ ।

    पछि थाहा लाग्यो– त्यो रात करिब २५ जना माओवादी पल्लाघर नरहरि ठूलो बुबाकोमा बसेका रहेछन् । रीतबहादुर र विज्ञान नेतृत्वको टोली ।

    बुइगलभरि माओवादी हुन्थे

    माओवादीहरू टोलीमा हिँड्न थालेपछि हाम्रो गाउँ मालुमा समूहमै र हतियारसहित माओवादी आएको शायद त्यो पहिलो वा दोस्रो घटना हुनुपर्छ ।

    त्यसअघि रीतबहादुर खड्का, गङ्गा कार्की, देवी खड्का र अन्यहरू आउँथे । तर एक्ला–एक्लै । झोला भिरेर । बक्स पाइन्ट लगाउँथे । बक्स पाइन्टलाई अड्याउन ठूलो पेटी लगाउँथेँ । पेटीको साइडपट्टिको भाग भुक्क परेको हुन्थ्यो ।

    उनीहरू पल्लाघर देवी दाइ (देबीप्रसाद पोखरेल) सँग भेट्ने गर्थे । देवी दाइ माओवादीमा लाग्नुभयो या भएन, मलाई त्यति यकिन छैन । तर ३० जना भन्दा बढी प्रहरी आएर उहाँको घर खानतलासी गरेको भने मलाई याद छ । पछि थाहा लाग्यो– जिल्ला प्रहरी कार्यालयकी डिएसपी कविता निरौलाको नेतृत्वको टोली आएको रे १ तर धन्न उहाँ त्यही दिन काठमाडौँ जानुभएको थियो ।

    माओवादीका नेताहरू उहाँलाई भेट्न आइरहन्थे । माथिल्लो तलामा बस्थे । बेलाबेलामा बाहिर खाटमा पनि बस्थे । डायरीमा के के लेखिरहन्थे । बेलाबेलामा कविता पनि लेख्थे । गीत लेख्थे, अनि गुन्गुनाउँथे पनि । म लुकीलुकी चियाउन जान्थेँ । अनि देख्थेँ– देवी दाइ दाइ र त्यो मान्छे हात हल्लाई हल्लाइ डायरी हेरेर गीत गाउँदै गर्नुभएको ।

    पछि त माओवादीहरू समूहमा नै हिँड्न लागे । मध्य रातमा कसैले ढोका ढ्याक ढ्याक गर्यो अनि आमा भनी बोलायो भने बुझे हुन्थ्यो– माओवादीको डफ्फा घरमा आयो । हामीले धेरै पटक माओवादीको टोलीलाई घरमा राखेका छौँ । हामी केटाकेटीलाई चाहिँ माओवादीको टोलीले दिनको एक पटक गर्ने कवाज अनि बेलाबेलामा गर्ने हतियार सरसफाइको काम रमाइलो लाग्थ्यो । उनीहरूले हाम्रो ममी बुबालाई आमा र बा भन्थे । कसै कसैले बुबालाई माधव दाइ भन्थे । त्यसैले उनीहरू पनि घरकै मान्छेजस्तो लाग्थ्यो । अनि हामी माओवादीसँग डराउँदैनथ्यौँ पनि ।

    तर पनि बेला–बेलामा नेपाली सैनिकको गस्ती आउँदा भने हाम्रो सातो उड्थ्यो– अब भिडन्त हुने भो र हामी पनि मारिने भयौँ भनेर । गस्ती आउँदाको बेला भने उनीहरूलाई बुइँगलमै कोपाराको व्यवस्था गरिदिनुपर्थ्यो । गस्ती आएको सुइँको पाएपछि कोही जङ्गलतिर लाग्थे । केही घरभित्रै बस्थे । अनि कोही गाउँका मान्छेका पुराना कपडा लगाएर घाँस, दाउरा गर्न र खेतीपातीतिर लाग्थे– भेष बदलेर ।

    रितबहादुरले सहादत प्राप्त गरेछन्-

    एसएलसी पास नगरुन्जेल त म पनि विज्ञान, रीतबहादुर अनि किरणहरूका बारेमा अवगत भइरहन्थेँ । किनकि उनीहरू महिनाको कम्तीमा पनि एकपटक हाम्रो घरमा आउँथे । प्रायः मध्यरातमा उसै गरी ‘आमा’ भन्दै । तर काठमाडौँमा छिरेपछि भने उनीहरूको बारेमा जानकारी थिएन । चिठीमा नै उल्लेख गर्नुपर्ने गरी उनीहरूसँग मनको साइनो जोडिएको रहेनछ ।

    करिब ८–१० वर्षपछि थाहा भयो– रीतबहादुरले जनयुद्धमा सहादत प्राप्त गरेछन् ।

    (बुबा पुस्तकबाट)

  • बेनामे प्रदेशको कथा र व्यथा

    बेनामे प्रदेशको कथा र व्यथा

    यही असोज १ गतेदेखि प्रतिनिधिसभा र प्रदेशसभाको म्याद समाप्त भयो । यी दुई सभाबाट जनताले के पाए के पाएनन् भन्ने कुरा जनताले नै मूल्यांकन गर्लान् । तर, प्रदेश नम्बर १ ले चाहिँ जनतालाई आफ्नो नाम पनि दिन सकेन । १४ जिल्लाका करिब ५० लाख जनतालाई बेनामे प्रदेशको नागरिक बनाएर ९३ जना प्रदेशसभा सदस्यहरु बिदा भए ।

    संघीयता खारेजको माग उठिरहेको बेला प्रदेशको नामसमेत राख्न नसक्नुले खारेजीको मागलाई थप बल मिलेको छ । पहिलो पटक गठन गरिएको प्रदेशसभाले बितेको पाँच वर्षमा आशाभन्दा बढी निराशा नै दिएर गयो । जनताका समस्या र जनचासोको विषयमा प्रदेश सरकारले एउटा वार्ड अध्यक्षले जति पनि प्रभावकारी काम गर्न नसकेको छर्लङ्गै छ । झ्याल-झ्यालमा मन्त्रालय राख्नेदेखि महिनैपिच्छे मन्त्री फेर्नेसम्मका हर्कतहरु भए । भलै बाँकी ६ प्रदेशले आफ्नो न्वारानसम्म गर्न सफल भए । तर, प्रदेश नम्बर १ ले त्यो काम गर्न पनि सकेन । आफ्नो नामसमेत जुराउन नसक्ने प्रदेशसभाले देश र जनताको लागि ठूलै काम गरे होला भनेर कसैले पनि पत्याउन सक्दैन ।

    यहाँ उठाउन खोजिएको सवाल प्रदेशको औचित्यबारे होइन, नामकरणबारे हो । संविधानको धारा २९५ को उपधारा २ ले प्रदेशको नामकरण सम्बन्धमा व्यवस्था गरेको छ । प्रदेशसभालाई सम्पुर्ण सदस्यको दुईतिहाइ बहुमतबाट नामकरण गर्ने अधिकार दिइएको छ । तर, नामकरणको बाध्यकारी समयसीमाबारे संविधान मौन भएको कारण प्रदेश नम्बर १ को नामकरणले मूर्त रुप लिन सकेन । तीन जना मुख्यमन्त्री फेरिए । तर, कसैले पनि नामकरणको चुनौती उठाउन चाहेनन् । राजनीतिक दाउपेच र मुख्यमन्त्रीहरुको अकर्मण्यताको कारण प्रदेश नम्बर १ बेनामे रह्यो ।

    संघीयता खारेजको माग उठिरहेको बेला प्रदेशको नामसमेत राख्न नसक्नुले खारेजीको मागलाई थप बल मिलेको छ । पहिलो पटक गठन गरिएको प्रदेशसभाले बितेको पाँच वर्षमा आशाभन्दा बढी निराशा नै दिएर गयो ।

    कथा यस्तो छ

    संघीय संरचनाअनुसार राज्य व्यवस्था कायम गर्न २०७४ मंसिर १० र २१ गते दुई चरणमा आम निर्वाचन सम्पन्न भयो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएकाले परिणाम पनि सहज रुपमा उतै गयो ।

    प्रदेश नम्बर १ मा प्रत्यक्ष र समानुपातिक गरी एमालेको पोल्टामा ५१ सीट र माकेको पोल्टामा १५ सीट पर्‍यो । चुनावपछि लगत्तै पार्टी एकीकरण भई गठन भएको नेकपाको सीट संख्या ६५ रह्यो । कुल ९३ सदस्य रहेको प्रदेशसभामा दुईतिहाइको दुर्लभ मतको नेतृत्व गर्दै २०७४ फागुन ३ गते शेरधन राई मुख्यमन्त्री बने । नेकपाको अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्रका रुपमा चिनिएका राई निकै शक्तिशाली मुख्यमन्त्रीका रुपमा हेरिए ।

    संघीयताको अभ्यास पहिलो चोटि भएकोले प्रदेश सरकारबाट जनताले न उति धेरै आशा गरेका थिए न त भरोसा नै । पहिलो वर्ष प्रदेश सरकारलाई आफ्नो कार्यालय व्यवस्थापन गर्न नै धौ धौ पर्‍यो । कुर्सी, मेच र सवारीको चाँजोपाँजो मिलाउँदामिलाउँदै पहिलो आर्थिक वर्ष बितिहाल्यो । मुख्यमन्त्री राई पनि सम्मान र बधाई थाप्दाथाप्दै पहिलो वर्ष लखतरान भए । दोस्रो वर्षदेखि राजधानी कायम गर्ने छलफल सुरु भयो । पार्टीभित्र स्पष्ट दुईतिहाइको मत भएकोले निर्णय गराउन सहज भए तापनि विराटनगर र धनकुटाको हानथापले जनता प्रस्ट रुपमा दुई समूहमा विभाजित भए । त्यही मौकामा धरान र इटहरी पनि च्याखे दाउ थाप्न आइपुग्यो ।

    विराटनगर र धनकुटामा प्रदेश राजधानीको विषयमा उर्लिरहेको आन्दोलनलाई मत्थर पार्नु मुख्यमन्त्री राईको ठूलो चुनौती थियो । उनले मध्यमार्गी उपाय रोजे । च्याखे दाउ खेल्न आएको इटहरीलाई प्रदेशको केही मन्त्रालय र सरकारी कार्यालय दिने सम्झौता गरेर २०७६ बैशाख २३ गते विराटनगरलाई राजधानी तोक्न सफल भए । यसमा उनको मात्रै बलबुताले काम गरेको थिएन । केन्द्रबाट अप्रत्यक्ष हस्तक्षेपको कारण उनलाई यति गर्न सजिलो भयो ।

    त्यसपछि प्रदेश नामकरणको छलफल अगाडि बढाउन पर्ने समय आएको थियो । त्यही बेला सत्तारुढ नेकपामा विग्रह सुरु भयो । पार्टी विभाजन नभइहाले पनि स्पष्ट दुई गुट खडा भए । पहिले एमाले पार्टी समीकरणमा ओली पक्षमा २६ र नेपाल पक्षमा २४ प्रदेशसभा सदस्य थिए । माओवादीसँग पार्टी एकीकरण भएपछि माधव-प्रचण्डको गुट तयार हुँदा १५ सदस्य थपिएपछि मुख्यमन्त्री राई पार्टीभित्रै अल्पमतमा परे । यस्तो अवस्थामा नामकरण जस्तो विषय अगाडि बढाउनु आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु जस्तै थियो ।

    तीन जना मुख्यमन्त्री फेरिए । तर, कसैले पनि नामकरणको चुनौती उठाउन चाहेनन् । राजनीतिक दाउपेच र मुख्यमन्त्रीहरुको अकर्मण्यताको कारण प्रदेश नम्बर १ बेनामे रह्यो ।

    नेकपाको आन्तरिक कलहले चुचुरो नाघेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ पुस ५ गते संसद विघटन गरिदिए । त्यसपछि त नेकपाको दुई गुट एउटै नामका दुई पार्टी जस्तै भए । यसको असर प्रदेश सरकारमा पनि पर्‍यो ।

    माधव-प्रचण्ड गुटका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि मुख्यमन्त्री राई एक्लिए । त्यही वेला ५१ वर्षे ढल्कँदो उमेरमा राईले बिहे गर्ने सुर कसे । प्रदेशको नामकरण नगरी बिहे नगर्ने घोषणा गरेका राई २०७७ माघ ११ गते संखुवासभाका २२ वर्षीय जङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिए । सायद प्रदेशको नामाङ्कन असम्भव देखेरै होला उनले आफ्नो बाचा आफैं तोडे । उनलाई त्यो वर्ष विवाहको बधाई र शुभकामना ग्रहण गर्नमै बित्यो । नामकरणको विषय अगाडि बढाउने अवस्था पनि थिएन, चाहना पनि भएन ।

    नेकपाको विग्रहलाई सर्वोच्च अदालतको फैसलाले टुंगो लगाइदियो । सर्वोच्चले २०७६ फागुन २३ गते ऋषि कट्टेलले दायर गरेको रिटमा फैसला गर्दै एमाले र माओवादीलाई अलगऔअलग हुन आदेश दियो । एमाले पुरानै अवस्था फर्किए पनि अन्तरकलहले डाँडा काटिसकेको थियो । अनेकौं प्रयास गर्दा पनि ओली पक्ष र नेपाल पक्ष एउटै पार्टीमा रहने अवस्था आएन । अन्ततः २०७८ भदौ २ गते एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको जन्म भयो । पार्टी विभाजनको असर प्रदेशमा पनि पर्ने नै भयो । त्यसपछि पार्टीको आन्तरिक एकतालाई कायम राख्न भन्दै २०७८ भदौ १० गते मुख्यमन्त्री राईले राजीनामा दिए भने नयाँ मुख्यमन्त्रीको रुपमा एमालेको विद्रोही समूहबाट भीम आचार्य नियुक्ति भए । आचार्य मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले आफ्नो पहिलो काम प्रदेशको नामकरण हुने नै बताए ।

    कमजोर धरातलमा मुख्यमन्त्री नियुक्त आचार्यले पुग नपुग दुई महिना कुर्सीमा बस्न पाए । यो अवधिमा उनले आफ्नो मन्त्रिपरिषदलाई राम्ररी व्यवस्थापन गर्न समेत भ्याएनन् । नामकरणको विषयमा छलफल चलाउने त कुरै भएन । गठबन्धनको तर्फबाट नेकपा एसका संसदीय दलका नेता राजेन्द्रकुमार राईले २०७८ कार्तिक १६ गते तेस्रो मुख्यमन्त्रीको रुपमा सपथ लिए । चानचुन एक वर्षमात्र कार्यवधि बाँकी भएकाले नयाँ मुख्यमन्त्रीलाई प्रदेश नामकरणको दबाब तीव्र थियो । त्यही भएर पदभार ग्रहण गरेकै दिन उनले नामकरणको विषय उठाए । त्यसपछिका हरेक सार्वजनिक कार्यक्रममा बोल्दा उनले प्रदेश नामकरण विषय छुटाउँदैन थिए ।

    नवनियुक्त मुख्यमन्त्री राईलाई आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिन नै लगभग चार महिना लागेको थियो । गठबन्धनका दलहरुबीच धार्नी-बिसौलीको नापतौल मिलाउँदामिलाउँदै स्थानीय चुनाबको चटारो आइलागीहाल्यो । चुनावको मुखमा नामकरण जस्तो विषयमा छलफल सुरु गर्नु आफैमा प्रत्युत्पादक थियो ।

    प्रदेश नामकरण हुन नसक्नुमा पहिचानवादी जातीय संस्थाहरुको मतभेद पनि एक कारण हो । प्रदेश नम्बर १ मा मुख्य दबाब समूहका रुपमा रहेका राई र लिम्बूहरु एउटै मञ्चमा उभिएर पहिचानसहितको नामकरणको लागि आवाज उठाउने अवस्था भएन ।

    स्थानीय निर्वाचन सकिएलगत्तै प्रदेश नामकरणको चर्चा सुरु भयो । तर, पहिचानवादी र गैर-पहिचानवादीबीचको वाक युद्धबीच मुख्यमन्त्री राईले प्रदेश नामकरणको विषय औपचारिक रुपमा अगाडि बढाउन सकेनन् । अर्काेतर्फ विभिन्न जातीय संस्थाहरुको जुलुस, धर्ना र घेराउले मुख्यमन्त्रीको कार्यालय करीब दुई महिना जति मेला लागे जस्तै भयो । त्यसपछि असोज १ गतेलाई प्रदेशसभाको डेडलाइन तोकियो र प्रदेश नं १ लाई बेनामे प्रदेश बनाएर प्रदेशसभाको आयु सकियो ।

    व्यथा अर्कै छ

    प्रदेशको नामकरण हुन नसक्नुको प्राविधिक कारण जे-जस्तो भए तापनि मुख्य कारण अर्कै छ । २०६४ सालदेखि पेचिलो बन्दै आएको पहिचानसहितको नामकरण नै मुख्य व्यथा हो । प्रदेश नं १ लाई प्रत्यक्ष वा परोक्ष किराँत प्रदेश भनेर नामकरण गर्नेहरुको जमात निकै ठूलो छ । माओवादीले त यही नाम भजाएर पहिलो संविधानसभाको निर्वाचनमा अनपेक्षित सफलता पनि हात पार्‍यो । अहिले पनि माओवादीका अधिकांश नेताहरु यही लाइनमा उभिएका छन् । पूर्वमाओवादी नेता गोपाल किराँती त अहिले पनि यही नामलाई केन्द्रविन्दुमा राखेर नयाँ दल खोली राजनीति गरिरहेका छन् । जनता समाजवादी पार्टी पनि यही नामको सेरोफेरोमा रहेर आफ्नो राजनीतिलाई पहाडी जिल्लाहरुमा अगाडि बढाइरहेको छ ।

    पहिचानको आधारलाई फ्याट्टै बाइपास गरेर नामकरण गर्ने कुरा पनि त्यति सजिलो थिएन । चर्चामा आए जस्तो कोसी वा सगरमाथा प्रदेश भनेर प्रस्ताव अघि बढाउन प्रदेशसभालाई फलामकै चिउरा चपाउनुसरह थियो । जम्मा ९३ मध्ये ५५ जना आदिवासी जनजाति समुदायका सदस्य थिए । उनीहरुले आफ्नो समुदायको आस्थामा चोट पुग्ने गरी नामकरणमा सजिलै सहमति जनाउने अवस्था थिएन । तीमध्ये पनि २९ जना सदस्य राई-लिम्बू समुदायका थिए । उनीहरु किराँत प्रदेशभन्दा तल झरेर नामकरण गर्न सक्दैन थिए । उनीहरुको राजनीति गर्ने थातथलो भनेको किराँती समुदायको सघन बस्ती भएका क्षेत्रहरु नै थिए । भोलि जनताले प्रश्न गर्दा निरुत्तर भइने भयले किराँत प्रदेशको पक्षमा प्रत्यक्ष/परोक्ष लागेका थिए । उनीहरु आफ्नो समुदाय भएको सार्वजनिक कार्यक्रममा किराँत प्रदेशको वकालत गर्न छुटाउँदैन थिए ।

    पहिलो मुख्यमन्त्री शेरधन राई पनि नामकरणको विषयमा पहिचानमा आधारित नामको पक्षमा नै थिए । यो कुरा उनले सार्वजनिक रुपमा व्यक्त नगरे पनि जनताको अपेक्षा उनीमाथि निकै ठूलो थियो । किनकि उनी आफै किराँती समुदायका मान्छे हुन् । उनले राजनीति गर्ने क्षेत्र र राजनीतिमा उनलाई साथ दिने समुदाय किराँती हो । यो समुदायले उनलाई नामकरणको विषयमा ठूलै भरोसा गरेका पनि थिए । उनीहरुको आशा के थियो भने किराँत समुदायबाट नै मुख्यमन्त्री भएपछि प्रदेशको नामकरण पनि किराँत प्रदेश नै हुन्छ । तर, उनी पार्टीभित्र ओली पक्षका नेता थिए । पहिचानको सवालमा सधैं अनुदार रहने ओलीबाट पहिचानको आधारमा नामकरण गर्ने विषयमा राईलाई सहयोग प्राप्त हुने कुरै थिएन । त्यसैले राईले नामकरणको प्रस्ताव अघि सारेर केन्द्रको हस्तक्षेप सहनुभन्दा प्रस्ताव नै अघि नसार्ने नीति लिए । फलतः उनको कार्यकाल नामकरणविहीन भएर बित्यो ।

    दोस्रो मुख्यमन्त्री भीम आचार्यले नामकरण प्रस्ताव अघि सार्ने समय र अवस्था नभए पनि सार्वजनिक कार्यक्रममा पहिचानकै आधारमा नामकरण हुने कुरा बताउने गर्थे । तेस्रो मुख्यमन्त्री राजेन्द्रकुमार राईबाट नामकरणको प्रस्ताव अघि बढ्ने कुरा धेरैले अपेक्षा गरेका थिए । राईले आफू मुख्यमन्त्रीमा नियुक्त भएदेखि नै यही विषयलाई पहिलो प्राथमिकतामा राखेको बताउने गर्थे । तर, उनले औपचारिक रुपमा विषय समितिमार्फत नामकरणको प्रस्ताव सदनमा अघि बढाउनुको साटो आफै प्रचारबाजीमा लागे । उनी खुलेरै किराँत प्रदेशको पक्षमा बहस गर्न थाले ।

    एकदिन राईहरु ‘सोइ ढोले सोइ’ भन्दै ढोल बजाउँदै मुख्यमन्त्रीको कार्यालय घेर्न आउथे । अर्काे दिन लिम्बूहरु च्याब्रुङ बजाउँदै उस्तैगरी घेराउ गर्न आउँथे । कसले बढी मान्छे उतार्ने भनेर राई र लिम्बूको महिना दिनसम्म प्रतिस्पर्धा चल्यो । तर, त्यसले नामकरणमा न कुनै दबाब दिन सक्यो न त कुनै सार्थकता पायो ।

    २०७८ फागुन २ गते धरानमा आयोजित ‘किराँत राई चाम्लिङ खाम्बातिम’ को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले किराँत प्रदेश नामकरण गर्न नसके आफूले राजनीति नै त्याग्ने उद्घोष गर्नसम्म भ्याए । त्यतिमात्र होइन २०७९ साउन २ गते किराँत राई यायोख्खाको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले पहिचानको आधारमा नामकरण हुन नसके ठूलो लडाइँ हुन सक्ने र देश विखण्डनतिर जान सक्ने भविष्यवाणी पनि गरे । उनको भनाइको राजनीतिक रुपमा चौतर्फी विरोध पनि भयो । तैपनि उनले नामकरण विषय प्रदेशसभामा प्रवेश गराउन सकेनन् । उनको ठूलो बाधक भनेको प्रतिपक्षी दल एमाले नै थियो । एमालेको बटमलाइन कोसी प्रदेश थियो भने सत्ता साझेदार दल कांग्रेस पनि सप्तकोसी प्रदेश भन्दै अर्कै दिशातिर मोडिन थाल्यो । अन्त्यमा मुख्यमन्त्री राईले अघिल्लो सरकारले नामकरण गर्न नसकेर अहिले आफ्नो काँधमा बन्दुक राखेर पड्काउन खोजेको आरोप लगाउँदै जिम्मेवारीबाट पन्छिए ।

    विभक्त पहिचानवादीहरु

    प्रदेश नामकरण हुन नसक्नुमा पहिचानवादी जातीय संस्थाहरुको मतभेद पनि एक कारण हो । प्रदेश नम्बर १ मा मुख्य दबाब समूहका रुपमा रहेका राई र लिम्बूहरु एउटै मञ्चमा उभिएर पहिचानसहितको नामकरणको लागि आवाज उठाउने अवस्था भएन । राईहरुको नेतृत्व गर्दै किराँत राई यायोख्खाले किराँत प्रदेशको वकालत गर्ने र लिम्बूहरुको नेतृत्व गर्दै किराँत थाक्थुम चुम्लुङले लिम्बूवान प्रदेशको माग गर्ने प्रतिस्पर्धा चल्यो । इतिहासले दुवै जाति एकै किराँत सभ्यताभित्रका जाति भनेर लाखौं पटक प्रमाणित गरे तापनि राई र लिम्बू दुबैले एकै किराँत प्रदेशमा सहमति जनाउन सकेनन् ।

    प्रदेश नामकरणको समय सीमा घर्कंदै जान थालेपछि लिम्बूहरु ‘लिम्बूवान किराँत’ प्रदेशसम्म सहमतिमा आए । तर, राईहरु किराँत प्रदेशभन्दा एक इन्च नचल्ने भएपछि एकै समुदायका मान्छेहरु दुई खेमामा विभक्त भए । साउन महिनाभरि विराटनगरमा राई र लिम्बूहरुको प्रतिस्पर्धा हेर्न लायक थियो । एकदिन राईहरु ‘सोइ ढोले सोइ’ भन्दै ढोल बजाउँदै मुख्यमन्त्रीको कार्यालय घेर्न आउथे । अर्काे दिन लिम्बूहरु च्याब्रुङ बजाउँदै उस्तैगरी घेराउ गर्न आउँथे । कसले बढी मान्छे उतार्ने भनेर राई र लिम्बूको महिना दिनसम्म प्रतिस्पर्धा चल्यो । तर, त्यसले नामकरणमा न कुनै दबाब दिन सक्यो न त कुनै सार्थकता पायो ।

    आशा गरौं, आगमी प्रदेशसभाले प्रदेशको न्वारान गर्न सक्नेछ । तर, न्वारान गर्ने पण्डित फेरिए पनि विधि-विधान त उहीँ नै हुनेछ । अर्थात पहिचानको कथा र व्यथाले नयाँ प्रदेशसभालाई पनि छोड्ने छैन ।

  • सामाजिक सञ्जाल तताउनेमात्रै हाम्राे जिम्मेवारी हाे त ?

    सामाजिक सञ्जाल तताउनेमात्रै हाम्राे जिम्मेवारी हाे त ?

    #…justicefor…

    यसरी जुनसुकै घटना र हिंसामा कोही कसैबाट पीडा खेपेकी वा खेपेको र कुनै घटनाको शिकार भएकी वा भएको पीडितको न्यायका लागि ह्यास ट्याग जस्टिस (#…justicefor…) ले सामाजिक सञ्जाल निकै तात्ने गर्छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक खोल्नासाथ सबैले कसैका लागि बारम्बार न्यायको ढोका ढकढकाएको देखिन्छ ।

    हामी जस्ता सामान्य व्यक्तिदेखि समाज अनि देश-विदेशमै नाम चलेका समाजसेवी, कलाकार, मोडल, स्वास्थ्यकर्मी, पत्रकार, शिक्षक वा अन्य कर्मचारी जोसुकैले यसरी आवाज उठाएको देखिन्छ कि मानौं पीडित र पीडितका परिवारले कानूनी प्रक्रियाबाट भोलि नै न्याय पाइहाल्छन् । अनि पीडकले आफ्नो कर्तुतअनुसारको सजाय पाउँछन् । तर, के यस्तो भएको छ त ?

    फेरि प्रश्न उठ्नसक्छ सामाजिक सञ्जालमा आवाज उठाउनु गलत हो ?

    सामाजिक सञ्जाल निकै राम्रो माध्यम हो । यहाँ धेरैका आवाज सुनिन्छन् । साँच्चै भनौं त आजको दिनमा बोल्ने माध्यम नै सामाजिक सञ्जाल हो । यहाँ धेरै घटनाहरुको पर्दाफास सामाजिक सञ्जालबाटै पनि भएका छन् । यसकै सहयोगबाट धेरै राम्रा कामहरु नभएका अनि नहुने पनि होइनन् । तर, के यो पीडित र उसको पीडाका लागि सामाजिक सञ्जालमा उठाइएका आवाज वास्तवमै सुन्नुपर्नेले सुनेका हुन्छन् त ?

    आजको दिनमा बोल्ने माध्यम नै सामाजिक सञ्जाल हो । यहाँ धेरै घटनाहरुको पर्दाफास सामाजिक सञ्जालबाटै पनि भएका छन् ।

    सुन्नुपर्ने कसले हो ?

    यदि कुनै पनि घटना वा हिंसाको शिकार कोही हुन्छन् भने उसले सबैभन्दा पहिलो साथ न्याय र कानुनविद्हरुको पाउनुपर्छ । तर, न्यायकर्मीहरुले साँच्चै न्याय दिन सकिरहेका हुँदैनन् । किनकि साँच्चै न्याय दिन चाहनेलाई कानूनी प्रक्रियाका लागि बारम्बार झुलाएको देखिन्छ । सजिलै हुने समाधानमा पनि अनेकौं समस्या निम्त्याइएको पाइन्छ । अब सोचौं, समाधान गर्ने निकायले समाधान गर्नसक्ने अनेक बाटो हुँदाहुँदै पनि सामाजिक सञ्जालका आवाज नजरअन्दाज गरेर अनेकौं बहानाको फाइलमात्रै किन थुपारिरहेको छ ?

    यदि एक महिला साँच्चै पीडित छन् भने महिलाका लागि यहाँ धेरै निकाय छन्, आयोग छन्, संघसंस्था छन् । संसदमा अनि कुर्सीमा महिलाहरु छन् । अझ भनौं हामी अनि देशकै अभिभावक छन् महिला राष्ट्रपति । तर, उनीहरुलाई देखेर लाग्छ कि सामाजिक सञ्जाल उनीहरुबाट निकै टाढा छ । या त देशमा दिनदिनै हिँडडुल गर्ने हरेक महिला सुरक्षित छिन् ।

    आजसम्म बोल्नुपर्ने निकायले न्यायका नाममा भाषण ठोकेका छन् । प्रेस मिटबाट पहल गरेर बाटो देखाएका छन् । अनि विज्ञप्तिबाट काम गरिरहेको र गर्नेमात्रै बताएका छन् ।

    यदि पहल नै गरिएको हुँदो हो त वर्षौंदेखि न्याय नपाएका फाइलहरु पेन्डिङमा हुँदैनथे होला । सबै युवायुवती हिँड्दा एउटा डर बोकेर हिँड्नुपर्दैनथ्यो होला । पीडा पाए तापनि न्यायका लागि बारम्बार छटपटिनुपर्दैनथ्यो होला । हाम्रो आवाज साँच्चै हरेक कुर्सीले सुन्थे पनि होला । तर, यो आजसम्म नभएको अनि हुन नसकेको कुरा हो ।

    सामाजिक सञ्जालमा आवाज उठाउने केबल सामान्य तथा आम जनतामात्रै हुँदैनन् । ठूलै पहुँच भएकाले पनि हरेक दिन कहीकतै कोहीकसैको लागि बोलिरहेका हुन्छन् । तर, यो सामाजिक सञ्जालमा मात्रै सीमित छ कि अन्यत्र पनि केही पहल गरिएको होला ?

    सामाजिक सञ्जालमा आवाज उठाउने केबल सामान्य तथा आम जनतामात्रै हुँदैनन् । ठूलै पहुँच भएकाले पनि हरेक दिन कहीकतै कोहीकसैको लागि बोलिरहेका हुन्छन् ।

    वास्तविक पीडितलाई भेटेर यथार्थ जानेर र बुझेर आफू स्वयंले उनको न्यायको लागि केही पहल गरे कि गरेनन् ?

    कुनै बेला पीडितले पीडाका बावजुद समाजले दिइरहेको नराम्रा उपनामलाई सामाजिक सञ्जालमा मात्रै नभई समाजकै अगाडि गएर यसलाई चिर्न खोजे कि खोजेनन ?

    मनोपरामर्श जोकोहीले चाहन्छ । यस्तो अवस्थामा राम्रो परामर्श दिने व्यवस्था गरियो कि गरिएन ?

    नियम, कानून बुझेको, पब्लिक फिगर भएको, जसको आवाज देश-विदेश जता नि सजिलै पुग्नसक्छ, उनले कानूनी रुपमा अनेक फाइल र विज्ञप्तिहरु दिन वा पहल गराउने प्रयास गरे कि गरेनन् ? आदि प्रश्न महत्वपूर्ण छन् ।

    यदि वास्तवमै कोहीबाट यस्तो पहल गरिएको छ भने त्यो पहल सम्मानजनक अनि सराहनीय हो । यति गर्दागर्दै पनि न्याय नपाइनु र न्याय नदिनु कसैको आवाज र पहलको सरासर अपमान हो, न्यायको अपमान हो, स्वयं कानूनको अपमान हो । तर, केबल सामाजिक सञ्जालका अक्षर अक्षरमै सीमित हुने हो भने त्यो आवाजको अनि उनीहरु जस्ता व्यक्ति बोल्नु जायज हो कि होइन ?

    नत्र लेख्नमात्रै भए त हामी सामाजिक सञ्जालमा ‘न्याय’ सजिलै लेखिदिन्छौं । तर, न्यायले पनि निसाफ पाउँदैन यहाँ ।

    लेख्नु, बोल्नु र भोग्नुमा निकै फरक हुन्छ । लेख्नु र बोल्नु अगाडि हामी पनि मनन गरौं न । हामीले लेखेपछि कसको लागि के पहल गर्‍यौं, हाम्रो आफ्नै घर अनि हामी रहने समाजका मान्छेको दृष्टिकोण कस्तो छ ? उनीहरुले सबैलाई सुरक्षित महसुस गराएका छन् कि छैनन्, हाम्रै साथी, हाम्रै दाजुभाइ, दिदीबहिनी अझै भनौं स्वयं आफूले मलाई अनि तपाईं स्वयंलाई हेर्ने नजर जस्तै गरी सबैलाई एउटै नजरले हेर्छन् कि हेर्दैनन् ? हामी आफैं हेर्छौं कि हेर्दैनौं ?

    नत्र लेख्नमात्रै भए त हामी सामाजिक सञ्जालमा ‘न्याय’ सजिलै लेखिदिन्छौं । तर, न्यायले पनि निसाफ पाउँदैन यहाँ । एक दिन, एक हप्ता, एक महिना या त दुई महिना ‘न्याय’ले केबल सामाजिक सञ्जाल रङ्गाउँछन् । थुप्रै समाचारका हेडलाइन बन्छन् । हाम्रा कन्टेन्ट बन्छन् । चियादेखि कुर्सीसम्मका छलफलका एजेन्डा बन्छन् । हाम्रो खाजाको समयको छलफलको विषय एउटा पीडित बन्छ, पीडक बन्छ । हाम्रो क्लासमा टिचरहरुको एउटा लेसन बन्छ ।

    तर, सामाजिक सञ्जालमात्रै तात्छन् । हामी यतिकै तात्छौं । तात्नुपर्ने निकाय मौन हुन्छन् । बोल्नुपर्ने, न्याय दिने न्यायालय शून्य हुन्छन् । पीडितले हाम्रो दैनिकीमा धेरथोर ठाउँ लिन्छन् । तर, केही समयपछि सामाजिक सञ्जाल सेलाउँछ । हाम्रा फेसबुक र इन्स्टाका स्टोरी हराउँछन् । लेखिएका अक्षरहरु मेटिन्छन् या त अन्य नयाँ अक्षरले त्यो ‘न्याय’ पछाडि धकेलिन्छ । हामीले पनि पीडित बिर्सन्छौं ।

    हाम्रा २-४ दिनका न्यायको माग र न्यायका हेडलाइन हराउँछन् भने लेख्नु र बोल्नुको अर्थ रहन्न । किनकि हामी लेख्छौं र बोल्छौं । तर, वास्तवमै लेख्नुपर्ने लेख्नलाई कलम देख्दैन र बोल्नुपर्नेले बोल्नलाई ठाउँ खोज्दैन । या त खोज्नै चाहँदैन । यदि खोजिहाले पनि अनेकौं झन्झट खेप्छ ।

    अन्ततः हाम्रो परिवर्तन हुन नसकेको समाज त्यस्तै, न्याय पाउन नसकेको पीडित उस्तै ।

  • लोक गायक स्व. खेमराज गुरुङमाथि लागेको ज्यान मुद्दा र जेल जीवन

    लोक गायक स्व. खेमराज गुरुङमाथि लागेको ज्यान मुद्दा र जेल जीवन

    हरेक भाद्र कृष्णा जन्माष्टमी संखुवासभालीहरुको लागि पीडादायक हुने गरेको छ । संखुवासभालीहरुले ‘दोस्रो मकालु’ उपनामबाट सम्मान गरेका सुप्रसिद्ध लोक गायक खेमराज गुरुङले यही दिन ४२ वर्षे अल्पायुमै ६ वर्षअघि महाप्रस्थान गरेका थिए । उनको लोकप्रियता साँच्चै मकालु हिमाल जत्तिकै उच्च थियो । स्व. खेमराज गुरुङको अभावमा सिंगो मुलुकको लोक संगीत नै अपूरो जस्तो भएको छ ।

    उनको सदाबहार गीत ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ ले लगभग एक दशक नेपाली सांगीतिक बजारमा एकछत्र शासन गरेको थियो । यो गीत समेटिएको एल्बम ‘जीवन भाग- २’ को बिक्री रेकर्ड अहिलेसम्म पनि कुनै एल्बमले तोड्न सकेको छैन । उनले आफ्नो २० वर्षे सांगीतिक जीवनमा ८ एल्बम निकालेका थिए । उनलाई लोक संगीतको यो उचाइमा पु¥याउन एउटा अत्यन्त अप्रिय घटनाले मुख्य भूमिका खेलेको थियो । त्यो घटना हो, उनीमाथि लागेको ज्यान मुद्दा र ३ वर्षे कारागारको बन्दी जीवन । धेरै जानकारले भन्ने गरेका छन्- खेमराज गुरुङ जेल नपरेका भए सायदै गायक बन्ने थिए ।

    यस्तो थियो घटना

    विसं २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपश्चात मुलुकमा लगातार दुईवटा निर्वाचन सम्पन्न भए । प्रतिनिधिसभाको निर्वाचन २०४८ बैशाख २९ गते भएको थियो । स्थानीय निकायको निर्वाचन २०४९ साल जेठ १५ र १८ गते दुई चरणमा भएको थियो । संखुवासभा जिल्लाको तत्कालीन पांमा गाउँ विकास समिति (हाल खाँदबारी नगरपालिका वडा नं ३) का लागि दोस्रो चरणमा चुनाव भइरहेको थियो । त्यो बेला प्रमुख दुईवटा दलहरु नेकपा एमाले र नेपाली कांग्रेसको सघन प्रतिस्पर्धा थियो । उक्त गाविसमा एमाले उम्मेदवारले जित्ने लगभग पक्कापक्की जस्तै थियो । त्यही कारण नेपाली कांग्रेसका कार्यकर्ताहरु किचलो गरिरहेका थिए ।

    उनको सदाबहार गीत ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ ले लगभग एक दशक नेपाली सांगीतिक बजारमा एकछत्र शासन गरेको थियो ।

    मतदानको अन्तिम समयतिर एक जना वृद्ध महिलाको मत कसले खसाउने भन्नेबारेमा विवाद भयो । विवाद भएपछि नियमानुसार मतदान अधिकृतले आफैंले वृद्ध महिलाको तर्फबाट मत खसाए । यही विषयमा एमाले र कांग्रेस कार्यकर्ताबीच चर्को विवाद भयो । उक्त स्थान एमाले बाहुल्य भएको ठाउँ थियो । वरिपरिका गाविसहरुमा कांग्रेस बाहुल्य थियो । विवाद चर्कंदै गएपछि वरिपरिबाट कांग्रेस कार्यकर्ताहरु जुलुुसहित मतदान स्थलमा आउन थाले । बुथ कब्जा गर्ने भन्ने खालको हल्ला आउन थाल्यो । दुई दलको ठूलो झडप हुने अवस्था आएपछि थप सुरक्षाकर्मी मगाएर मतपेटिकालाई सदरमुकाम खाँदबारीतर्फ लैजाने तयारी भयो । मतदान स्थलबाट खाँदबारी पुग्न लगभग पौने घण्टाको पैदल दुरी थियो । तर, साँझ पर्न लागेकाले सुरक्षाकर्मीहरुले हतार गरिरहेका थिए ।

    मतपेटिकालाई सुरक्षित रुपमा सदरमुकाम लैजान भन्दै दुबै दलका कार्यकर्ताहरुले पनि प्रहरीलाई पछ्याइरहेका थिए । सदरमुकाम खाँदबारी नजिकै मंगलादेवीथान भन्ने ठाउँमा पुगेपछि अचानक हुलदंगा भयो । साँझ परिसकेकाले कसले कसलाई आक्रमण गरेको भन्ने कुरा प्रस्ट देख्न सकिँदैन थियो । मतपेटिका बोकेका प्रहरीहरुमाथि ढुंगामुढा भयो । प्रहरीले अश्रुग्यास र लाठी चार्ज गरेर भीड तितरबितर पार्ने प्रयास गरे । त्यसपछि प्रहरीहरु मतपेटिका लिएर अगाडि बढे ।

    हुलदंगा भएको स्थानमा एउटा मन्दिर र केही घरहरु थिए । हुलदंगा साम्य भएपछि त्यहाँ एक जना मान्छे बेहोस अवस्थामा लडिरहेको भेटियो । उनी थिए भूपू प्रधानपञ्च तथा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता डिल्लीराम चौहान । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई एमालेका कार्यकर्ताहरुले रातको समय भए पनि स्टेचरमा बोकेर जिल्ला अस्पताल पुर्‍याए । भोलि बिहान चौहानको मृत्यु भएको घोषणा गरियो । उनलाई बोकेर लैजाने सबैलाई प्रहरीले पक्राउ गरे । त्यसपछि नेपाली कांग्रेसले उक्त हत्याकण्डमा संलग्न भन्दै १९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दियो । त्यो जाहेरीमा खेमराज गुरुङको पनि नाम समावेश थियो । घटना स्थलबाट उनको घर ५ मिनेटको पैदल दूरीमा थियो ।

    उक्त हत्याकाण्डका आरोपितहरु धमाधम पक्राउ पर्न थाले । कोही भागेर बेपत्ता भए । खेमराज गुरुङ पनि पक्राउ परे । त्यो बेला उनको उमेर १८ वर्षको मात्र थियो र उनी दस कक्षामा पढ्दै थिए ।

    खेमराज गुरुङ पनि पक्राउ परे । त्यो बेला उनको उमेर १८ वर्षको मात्र थियो र उनी दस कक्षामा पढ्दै थिए ।

    जेल जीवन र सांगीतिक यात्रा

    लामो अनुसन्धान र बहस पैरवीपछि खेमराज गुरुङ दोषी करार भए । उनीसँगै शान्तिकुमार ढुंगाना र ढेडराज खड्का (विसं २०५१ को मध्यावधि चुनावमा प्रतिनिधिसभा सदस्यमा विजयी एमाले सांसद) पनि दोषी करार भई पुर्पक्षका लागि जेल चलान भए । उक्त हत्याकाण्डमा काराबासको सजाय हुने गरी नै उनको संलग्नता थियो कि थिएन भन्ने कुरा रहस्यको गर्भमै थियो । तर, त्यही कारागारको कठिन कैदी जीवनले खेमराजलाई भने सांगीतिक आकाशमा उड्ने नयाँ गोरेटो देखाइदियो ।

    कारागारमा उनको दैनिकी गितार बजाउनु र गीत गाउनु हुन थाल्यो । उनी कारागार चलान हुनुअघि नै एउटा सांस्कृतिक परिवारका अध्यक्ष थिए । पञ्चायती व्यवस्था समाप्त भएपश्चात खेमराज गुरुङ र केही युवाहरु मिलेर आफ्नो टोलमा ‘एकता साँस्कृतिक परिवार’ गठन गरी चार्डपर्व र विभिन्न उत्सवहरुमा नाटक, गीत, नृत्यहरु प्रस्तुत गर्ने गर्थे । त्यही समयमा संखुवासभा जिल्लाका पहिलो जनवादी गायक हेमराज खड्काले राजनीतिक रुपमा प्रशिक्षित ‘जनसेवा जनसाँस्कृतिक परिवार’ को नेतृत्व गरिरहेका थिए । दुवै साँस्कृतिक परिवार स्थापित भएको कारण पहिलो संसदीय निर्वाचनताका एकीकरण गरी ‘एकता जनसांस्कृतिक परिवार’ गठन भयो र यसको अध्यक्ष खेमराज गुरुङलाई बनाइयो । सांगीतिक मोहका कारण अल्लारे खेमराज गुरुङ वामपन्थी राजनीतिमा होमिए ।

    खेमराज गुरुङको पहिलो सांगीतिक गुरुको रुपमा उनै जनवादी गायक हेमराज खड्का थिए । खड्काले नै गुरुङलाई गितारको पहिलो प्रशिक्षण दिएका थिए । खड्काले अहिले पनि सम्झन्छन्- खेमराज गुरुङ भयंकर ब्रेक डान्सर थियो । जब मैले उनलाई गितारको तार समाउन र धुन बजाउन सिकाएँ तब उनमा डान्सको कलाभन्दा गायनको कला मौलाएर आयो । यसप्रकार खेमराज गुरुङ वामपन्थी धारको संगीतमा प्रवेश गरेका थिए ।

    कारागारको बसाइमा उनले आफूमा भएको त्यही सांगीतिक ज्ञान र सीपलाई तिखार्ने सुनौलो मौका पाए । जेलभित्रै उनलाई परिवारले वाद्यवादनका साधनहरु उपलब्ध गराइदिएका थिए । जेलभित्र पाएको त्यो सम्पूर्ण स्वच्छन्द समय उनले संगीत साधनामा लगाए । आफूलाई भेट्न आउने आफन्तहरुसँग उनी संगीतसम्बन्धी सामग्री नै मगाउँथे । उनले करीब तीन वर्षे जेल बसाइमा संगीतको आधारभूत ज्ञान आफैं प्राप्त गरेका थिए । यतिमात्र होइन उनले जेलबाटै एलएलसी परीक्षा दिएर उत्तीर्ण पनि गरेका थिए ।

    उनले करीब तीन वर्षे जेल बसाइमा संगीतको आधारभूत ज्ञान आफैं प्राप्त गरेका थिए । यतिमात्र होइन उनले जेलबाटै एलएलसी परीक्षा दिएर उत्तीर्ण पनि गरेका थिए ।

    उक्त हत्याकण्डको विषयमा इन्सेकको नेतृत्वमा आठ वटा मानव अधिकारवादी संस्थाले अध्ययन गरेका थिए । मानव अधिकारवादी संस्थाहरुको निचोड उक्त घटना नियोजित हत्या नभई हुलदंगामा भवितव्य भएको भन्ने थियो । प्रहरी प्रशासनकै अगाडि दुईवटा दलका कार्यकर्ताहरुबीचको हुलदंगामा भएको घटना भएकाले कुनै व्यक्ति विशेषलाई मात्र हत्यारा करार गर्नु अन्याय हुने मानव अधिकारवादी संस्थाहरुले निचोड निकालेका थिए ।

    सोही घटनाको अनुसन्धान गर्न तत्कालीन सरकार पक्षबाट अर्जुननरसिंह केसी र प्रतिपक्षबाट राधाकृष्ण मैनाली सम्मिलित छानबिन समिति पनि बनेको थियो । सो समितिले पनि उक्त घटना हुलदंगा नै भएको ठहर गरी खेमराज गुरुङलगायत तीन जनालाई लगाइएको ज्यान मुद्दा खारेज गर्न सरकारलाई सिफारिस गरेको थियो । विसं २०५१ सालको मध्यावधि निर्वाचनपश्चात देशमा नेकपा एमालेको अल्पमतको सरकार गठन भयो । एमालेको सरकारले उक्त छानबिन समितिको सिफारिसको आधारमा ज्यान मुद्दा खारेज गर्ने निर्णय गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत जिल्ला अदालत चैनपुर संखुवासभाले उक्त घटनाका आरोपितहरुको कर्तव्य ज्यान मुद्दा खारेज गर्‍यो ।

    जेलबाट छुट्नेबित्तिकै उनले ‘जीवन भाग १’ एल्बम निकाले । जेलको बसाइमा सृजना गरेका गीतहरुको सँगालो थियो त्यो एल्बम । उनको पहिलो प्रस्तुति भएकाले उक्त एल्बम उति चलेन । त्यसपछि उनले ‘जीवन भाग २’ एल्बम निकाले । त्यही एल्बमको एक नम्बर ट्र्याक थियो ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना’ । यो गीत बजारमा आएपछि खेमराज गुरुङले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । देश, विदेशमा यही गीतले करीब एक दशक एकछत्र शासन जमायो ।

    करीब दुई दशकको सांगीतिक यात्रामा उनले जीवन भाग १ र २, अनमोल, ढाक्रे, धरान पोखरा, घुमफिर, सोल्टी, आलुतामा गरी ८ वटा एल्बम बजारमा ल्याएका थिए । उनले केही चलचित्रमा पार्श्र्व गायन पनि गरे । उनी निकै व्यस्त गायकहरुमध्येमा पर्थे । आफ्नो गृह जिल्लाबाट आउने नयाँ कलाकारहरुलाई उत्तिकै मन लगाएर सहयोग गर्थे । उनकै प्रेरणा र सहयोगमा संखुवासभाबाट कमलीकान्त भेटवाल जस्ता प्रखर लोकगायक, भबिन ढुंगाना जस्ता संगीत साधकहरुको उदय भयो ।

    उनकै प्रेरणा र सहयोगमा संखुवासभाबाट कमलीकान्त भेटवाल जस्ता प्रखर लोकगायक, भबिन ढुंगाना जस्ता संगीत साधकहरुको उदय भयो ।

    मदिरापान र अल्पायुको मृत्यु

    खेमराज गुरुङको सबभन्दा ठूलो कमजोरी मदिरापान थियो । उनी मदिरा पिउने सवालमा कुनै सम्झौता नै गर्दैन थिए । एक समय उनी उच्च आम्दानी गर्ने कलाकारमध्येमा पर्थे । तर, उनी जहाँ कार्यक्रम गर्न जान्थे, त्यही नै सबै पैसा सक्थे । प्रायः उनी साथीभाइसँग खाएको पिएको पैसा आफैं तिर्थे । स्टेज कार्यक्रम गरेर आएको पारिश्रमिक उनी रातभर साथीभाइसँग रमाइलो गरेर सक्थे ।

    उनका मिल्ने साथी हास्यकलाकार मनोज गजुरेलले एउटा घटना अहिले पनि सम्झन्छन् । पोखराको कार्यक्रम सकेर फर्कंदा खेमराजले रातभर साथीभाइलाई मदिरापान र रमाइलो गराएर कार्यक्रमबाट पाएको पारिश्रमिक सके । गजुरेलले उनलाई सम्झाउँदै भने, ‘हाम्रो पेशा भनेकै यही हो, यसरी खर्च गरियो भने परिवार कसरी पाल्ने ?’ गुरुङले सटिक जवाफ दिएका थिए, ‘मन सफा हुनुपर्छ, पैसाको पछि लाग्यौं भने कहिल्यै त्यसलाई भेट्दैनौं । तर, कर्म गरिरह्यौं भने पैसा आफै हाम्रो पछिपछि आउँछ ।’

    उनको त्यही मनमौजी मदिरापान गर्ने बानी उनको काल बनेर आयो । विंसं २०७२ सालको अन्त्यतिर उनी जण्डिसका कारण एक्कासि बिरामी परे । उनको कलेजो नराम्ररी बिग्रेको कारण डाक्टरले उनलाई मदिरापान नगर्न अन्तिम चेतावनी नै दिएका थिए । हुन त उनलाई परिवार र साथीभाइले धेरै पहिलादेखि नै रक्सीबाट छुटाउन ठूलै कोसिस गरेका थिए । डाक्टरको चेतावनीको बाबजुद पनि उनले रक्सीसँग सम्बन्ध तोड्न सकेनन् र विसं २०७३ को साउन महिनामा सिकिस्त बिरामी परे । काठमाडौंको मेडिकेयर अस्पतालमा सघन उपचार कक्षमा उपचार हुँदाहुँदै उनले भाद्र कृष्ण जन्माष्टमीको दिन प्राणत्याग गरे । नेपाली लोकसंगीतको एउटा चम्किलो तारा यसरी अस्ताए ।

  • सरकारी डाक्टरको व्यवहार कहिलेसम्म यस्तो ?

    सरकारी डाक्टरको व्यवहार कहिलेसम्म यस्तो ?

    कुरो केही दिन अगाडिको हो । मलाई एउटा सिफारिस बनाउनु थियो । त्यो पनि विराटनगरको कोसी अस्पतालकै । सम्बन्धित चिकित्सकलाई भेट्नुपर्ने भयो । नेपालको अघिल्लो वर्ष र यसपालिको बजेट भाषणमा पनि क्यान्सर, मृगौला पीडित, मेरुदण्ड पक्षघातलगायतका केही बिरामीका लागि महिनाको ५ हजार भत्ता दिने विषय समेटिएको थियो । रकम सानो भए पनि मेरो लागि त्यो रकमले औषधि किन्न थोरै भए पनि राहत मिल्थ्यो ।

    म सीधै कोसी अस्पताल क्यान्सर विभागको ओपीडी पुगें । त्यहाँ मैले अन्कोलोजिस्ट डा. रगिन कठेतलाई भेटे र भनें- मलाई तपाईंको एउटा सिफारिस चाहिएको थियो । उहाँले डकुमेन्ट देखाउन भन्नुभयो । मैले डा. विशेष पौडेल, जो हेमाटोलोजीका प्रोफेसर हुनुहुन्छ, उहाँले दिएको सिफाारिसपत्र देखाएँँ । निजामती कर्मचारी अस्पतालको लेटरहेडमा उहाँको दस्तखत भएको पत्र थियो त्यो । उहाँले अरु पनि डकुमेन्ट देखाउन भन्नुभयो । मैले भर्खरै फलोअपमा गएर आएको सिभिल अस्पतालको ओपीडी पुर्जा पनि देखाएँँ । अरु केही प्रमाणहरु पनि लगेको थिएँ, ती सबै देखाएँँ ।

    तर, उहाँले तपाईंको बोनम्यारो परीक्षणको रिपोर्ट देखाउनुहोस् भनेर जिद्धी गर्नुभयो । मैले भनें- म स्वयं प्रमाण हुँ । मेरो बोनम्यारो प्रत्यारोपण गरेको एक वर्ष भयो । कुनै व्यक्तिले मलाई क्यान्सर भएको थियो भनेर भन्छ भने ऊ स्वयं प्रमाण हैन ? मैले प्रतिप्रश्न गरे । उहाँले मान्नुभएन । मैले मास्क लगाएको थिएँ । मास्क खोलिनँ । मास्क खोलेको भए मलाई चिन्नुहुन्थ्यो कि त्यो पनि थाहा छैन ।

    मैले आफूले ल्याएका भएभरका प्रमाणहरु एकएक गर्दै देखाएँँ । त्यसपछि उहाँले झर्किंदै भन्नुभयो- तपाईंलाई यो पेपरमा आफैं बाठो भएर भर्न कसले सिकायो ।

    अनि तपाईंले एक वर्षअघि स्वास्थ्य बीमाका लागि सिफारिस गरेको व्यक्ति पनि मै हो भन्दै त्यसको प्रमाण पनि देखाएँ । अहँ उहाँ अझै मान्नुभएन । एक मनले मेसुलाई भन्न लगाउँ कि भन्ने सोचेँ । त्यहाँका मेसु डा. यज्ञराज खरेल (दुई दिनअघि मात्र ६ महिनामै हटाइयो) लाई म राम्ररी चिन्दथें । उहाँसँँग दोहोरो चिनजान नै थियो । फेरि सुशीला पाठकलाई भन्न लगाउँ कि जो कान्तिपुर टेलिभिजनकी संवाददाता थिइन् । सुशीलासँग ती चिकित्सकको राम्रो चिनजान भएको मलाई थाहा थियो । सुशीलालाई भन्न पनि मन लागेन ।

    म मकालु टेलिभिजनको समाचार प्रमुख हुँ भनौं कि भन्ने पनि सोचें । त्यो पनि भन्न मनले मानेन । किनभने मलाई सितिमिति संस्थालाई भजाउन मन लाग्दैन । म त्यत्तिकै घर फर्किएँ ।

    भएभरका प्रमाणहरु लिएर फेरि त्यही पुगे । पहिलेको कोठामा उहाँ भेटिनुभएन । सोध्दैखोज्दै गएपछि उहाँलाई केमोथेरापी दिइरहेको कोठाको काउण्टरमा फेला पारें । मैले आफूले ल्याएका भएभरका प्रमाणहरु एकएक गर्दै देखाएँँ । त्यसपछि उहाँले झर्किंदै भन्नुभयो- तपाईंलाई यो पेपरमा आफैं बाठो भएर भर्न कसले सिकायो । मैले भनें- वडा कार्यालयमा मैले यो फारम लिँदा आफैं भर्न भनिएको भएर भरेको हो, तपाईं हस्ताक्षर गर्दिनु न भनें ।

    तर, उहाँ मान्नुभएन । उहाँले हकार्दै काउण्टरबाट एउटा नबुझिने फोटो कपि पेपर निकालेर आफैं भर्न थाल्नुभयो, जो उहाँसँग पनि रहेछ । अनि नबोली मलाई दिनुभयो । त्यसपछि म नरमाइलो मान्दै वडा कार्यालयमा आएर त्यो सिफारिसपत्र बुझाएँ । पटकपटक मरेर बाँचेको म क्यान्सर सर्भाइभर, मैले त यथेष्ठ प्रमाण हुँदाहुँदै एउटा सरकारी डाक्टरबाट यस्तो भुक्तमान खेप्नुपर्‍यो भने सर्वसाधारणको के हविगत होला कल्पना गरौं ।

  • आसन्न चुनाव : एमालेलाई चुनौती कि अवसर ?

    आसन्न चुनाव : एमालेलाई चुनौती कि अवसर ?

    २०७४ सलको संघीय एवम् प्रदेशसभा निर्वाचनमा देशका दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरे । नतिजा वामगठबन्धनकै पक्षमा आयो र पछि दुवै पार्टीबीच एकीकरण भएर नेकपा बन्यो ।

    यसले विश्वमा नै एउटा हलचल ल्यायो । र नेपालको सन्र्दभमा नयाँ शीराबाट नेपाली कम्युनिष्ट आन्दोलन उठाउने उद्घोष गरे, नेताहरुले । जसले दुवै पार्टीका कार्यकर्तासँगै आमनेपाली जनतामा नयाँ आशाको दीयो बल्यो । नागरिकले खुसीयाली मनाए ।

    नेकपा एमालले संविधान निर्माणताका खेलेको महत्वपूर्ण भूमिका, नाकाबन्दीमा देखाएको राष्ट्रवादी अडान, एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक नौ महिना प्रधानमन्त्री हुँदा गरेको महत्वपूर्ण कामहरु- जस्तैः तुइन विस्थापन र झोलुङ्गे पुलको निर्माणले पनि एमालेप्रतिको आकर्षण बढेको थियो । जसकारण २०७४ निर्वाचनमा नेकपाले राम्रो नतिजा ल्यायो ।

    एमाले अध्यक्ष ओली दोस्रोपटक प्रधानमन्त्री भए । त्यसपछि नै एमाले र माओवादीबीच पार्टी एकता भएको थियो । तर दुर्भाग्य नै भन्नुपर्छ, एकतापछि पार्टीको संगठन, जनसंगठनहरु भद्रगोल भए । पार्टीभित्र अन्तरसंघर्ष बढ्न थाल्यो । मन्त्री बनाउँदा असल मान्छेभन्दा गुटको छान्नपर्ने परिस्थिति बन्यो । परिणामतः मन्त्रीहरुले राम्रो काम गर्न सकेनन् । कठिन परिस्थितिबीच पनि प्रधानमन्त्री ओलीले भने देश र जनताका पक्षमा सत्प्रयासहरु गरिनै रहे ।

    के गरे ओलीले ?

    तत्कालीन प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर (चुच्चे) नक्सा जारी गर्ने हिम्मत गरे, जुन चानचुने कुरा होइन । त्यस्तै, नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित मुलुकमा परिवर्तन गर्न ओलीको भूमिका महत्वपूर्ण रह्यो । उनले चीनसँग पारवहन–सन्धि गरेर नेपाललाई बहुआयामिक फाइदा पुग्ने काम गरे ।

    पृथकतावादी आन्दोलन चलाइरहेका सिके राउत र गृहयुद्ध सुरु गरेर देशलाई अशान्त बनाउन लागेका विप्लव समूहसँग वार्ता गरी शान्तिपूर्ण बाटोमा ल्याउन सम्झौता गर्न सफल भए, केपी ओली ।

    यातायात क्षेत्रमा रहेको सिण्डिकेट तोडियो र केही समयका लागि भए पनि दलालहरुको बिगबीगी अन्त्य भयो । देशभर लगभग ९५ प्रतिशत तुइन विस्थापित भयो र झोलुङ्गे पुल निर्माण गरेर यात्रामा सहजता कायम भयो । विकास पूर्वाधारमा छलाङ मार्यो र देशले विकासको गति लियो ।

    २०७२ सालमा आएको विनाशकारी भूकम्पबाट ढलेका घर टहराको पुनर्निर्माणसँगै धरहरा, रानीपोखरी, दरवार हाइस्कुल, काष्ठमण्डप, हनुमानढोका परिसर, सिंहदरबार, गुम्बा, मठमन्दिरलगायत ५६५ वटा सम्पदाहरू पुनःनिर्माण सम्पन्न भएका थिए । प्रधानमन्त्री ओलीकै पालामा अधिकांश विद्यालय, स्वास्थ्यचौकी र सरकारी भवनहरु पुनर्निर्माण भएका हुन् ।

    काठमाडौंको चक्रपथ विस्तार, काठमाडौं–तराई द्रुतमार्ग, पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति सुरु, मुग्लिङ–पोखरा र काठमाडौं–मुग्लिङ सडक विस्तार सुरु, सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरु भए । मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा भयो । हुलाकी सडक आयोजना सम्पन्न हुने चरणमा रहेको छ ।

    आर्थिक कोरिडोरका रूपमा कोशी, गण्डकी, कर्णाली र गल्छी–त्रिशुली रसुवागढी सडक निर्माण, नागढुंगा–नौविसे सुरूङ मार्गको निर्माण आरम्भ भयो, जसको काम लकडाउनमा समेत रोकिएन । तर केपी ओली सरकारबाट बाहिरिएपछि अर्थात् एक वर्ष यता जसरी केपी ओली प्रधानमन्त्री हुँदा काम भएको थियो । अहिले उक्त काम सुस्त गतिमा झारा टार्ने किसिमबाट भइरहेको छ ।

    ललितपुरको गोदावरीमा ३ हजार क्षमताको आधुनिक (सनराईज) सभाहल निर्माण भएको छ । बुटवलमा १२०० क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण कार्य आरम्भ भयो । लुम्बिनीमा पाँच हजार अट्ने सम्भावनाको हल निर्माण अन्तिम चरणमा पुगेको थियो । काठमाडौंको चोभारमा सुख्खा बन्दरगाहको निमार्ण कार्य सम्पन्न भयो तर उद्घाटन गर्ने मौका भने शेरबहादुर देउवाले पाए । ओलीले गरेका धेरै कामको जश भने देउवाले पाइरहेका छन् ।

    ७५३ स्थानीय तहमा १५ देखि २५ बेडको आधारभूत अस्पताल घोषणा र निर्माण प्रारम्भ तीव्र गतिमा अघि बढेको थियो । ७५३ वटै पालिकामा अपाङ्गमैत्री प्रशासनिक भवन निर्माण भएको छ । प्रत्येक पालिका केन्द्र जोड्न पक्की सडक निर्माणको सुरुवात भएको थियो । निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक, तराइ–मधेसमा खरको छाना विस्थापन र सहरी आवासमार्फत दलितहरुलाई घरको मालिक बनाउने कार्यक्रम सुरु भएका थिए ।

    प्रत्येक वडा कार्यालय निर्माणको काम थालनी भइ अधिकांश ठाउँमा भवन बने, एकघर एकधाराको अवधारणासहित नागरिकले स्वछ खानेपानीको अवसर पाएर कैयौं ठाउँमा योजना अगाडि बढ्यो । हजारौं किलोमिटर बाटो कालोपत्रे भयो । ग्रामीण विद्युतीकरण, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा पुग्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति र अरू धेरै विमानस्थलहरूको निर्माण तीव्र भयो ।

    मेलम्ची खानेपानी आयोजना सम्पन्न गरी काठमाडौंंमा पानी पुर्याउने काम सम्पन्न भयो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भयो । मुजफ्फरपुर ढल्केबर विद्युत् ट्रान्मिसन लाइन निर्माण सम्पन्न गरी विद्युतमा नेपाल आत्मनिर्भर भयो ।

    अन्य थप ३३३ मेघावाट विद्युत् उत्पादन भइ मुख्य प्रसारण लाइनमा जोडियो । समृद्धिको सपनालाई यथार्थमा साकार पार्न लगानी सम्मेलन गरी ठूला–ठूला विद्युत्, सडक आयोजना निर्माणको काम अघि बढ्यो । पर्यटन र अन्य औद्योगिक क्षेत्र निर्माणमा सम्झौता र लागनी सुनिश्चित गर्ने काम भयो ।

    तत्कालीन प्रधानमन्त्री ओलीले आँटेका कतिपय काम भने पूरा हुन सकेनन् । कोरोना महामारीसँगै आफ्नै दलभित्रको किचलो एवम् असहयोगका कारण उनले चाहेका केही काम अधुरै रहे । आमनागरिक अत्यधिक आश गरिएका प्रधानमन्त्री ओलीलाई पाँच वर्ष काम गर्न नै नदिइ सरकारबाट हटाउने खेल भयो । जनताको म्यान्डेटविरुद्ध गएर ओलीलाई परमादेशको बलमा हटाउनुको परिणाम अहिले देशले भोगिरहेको छ । त्यसैले अबको चुनावबाट मुलुकमा ओली नै प्रधानमन्त्री भएको हेर्न आतुर छन् धेरै नेपाली ।

     

  • रवि दाइ ! घण्टीको समर्थन गर्नलाई लौरोको विरोध गर्नैपर्ने हो र ?

    रवि दाइ ! घण्टीको समर्थन गर्नलाई लौरोको विरोध गर्नैपर्ने हो र ?

    अब पुराना दल र तिनका नेताभन्दा खराब अनि घाँडो भकै हो त घण्टीको लागि लौरो ? हामीले कहिले पनि घण्टी र घण्टीको नेतृत्वको विरोध गरेका छैनौं किनकी नयाँ तथा वैकल्पिक शक्तिहरू एकअर्कोमा भिड्नु हुन्न आरोप-प्रत्यारोपमा उत्रिन हुन्न भन्नेमा हामी सचेत छौं र यो हाम्रो संस्कार पनि हैन । यसपटक हामी सबै स्वतन्त्र र वैकल्पिक शक्ति मिलेर पुराना बाहरूलाई स-सम्मान विस्थापित गर्नुछ भने देशमा व्याप्त भ्रष्टाचार, अराजकता, नातावाद, कुशासन र फोहोरी राजनीतिलाई पन्छाउनु छ ।

    हामी प्रस्ट छौ पटक-पटक मौका पाएर असफल भएका नेतृत्वबाहेक अरु ऊर्जावान, इमान्दार, रास्ट्रप्रेमी स्वतन्त्र तथा वैकल्पिक शक्ति र नयाँ घण्टीजस्ता दलहरू समेत एक भएर सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन । हामी स्वतन्त्र, सक्षम र इमान्दार साथीहरूलाई मात्र समेट्ने गरी भर्खर जन्मिदै गरेको र वामे सर्न तर्खर गर्दै गरेको शक्तिलाई अर्को नयाँ दलकै केही परिचालित व्यक्ति र कार्यकर्ताहरूबाट निरन्तर आक्रमण हुनु दु:खद कुरा हो ।

    अहिले पनि निरन्तर घनिभूतरूपमा सबै स्वतन्त्र र नयाँ वैकल्पिक शक्तिहरू एकठाउँमा आउनैपर्छ भनेर हामी लौरो अभियानको टिम इमान्दारिपूर्वक लागिरहेको अवस्थामा हुँदै नभएको गलत आरोपसहित हामीलाई घेराबन्दी गर्न खोज्नुले कतै पुरानै शक्तिको निरन्तरतामा रमाउन खोजेको हो कि भन्ने शंका जन्माएको छ ।

    लौरोमा कुनै दलका सदस्यले भाग लिन बन्देज लगाएको र पूर्णरूपमा स्वतन्त्र र सक्षमले मात्र उम्मेदवार हुन पाउनेमा स्पष्ट छ । विद्यमान कानुन र निर्वाचन प्रणालीलाई बुझेर साझा चिन्ह, साझा उम्मेद्वार, साझा घोषणापत्र र सहकार्यको लागि कागजीरूपमा दल स्थापना गर्नु हामी स्वतन्त्रहरूको बाध्यता हो । यस्को कुनै अरु दलजस्तो कार्यकर्ता र तल्लो कमिटी छैनन् । जनता र स्वतन्त्र उम्मेदवार नै लौरोका शक्ति हुन् । भविश्यमा नयाँ शक्तिको रूपमा प्रतिनिधिसभा तथा प्रदेशसभामा विजय भएर आएका स्वतन्त्रहरूले नै स्वतन्त्र र वैकल्पिक धारको दल निर्माण गर्ने बाटोसमेत लौरोले खुल्ला गरिदिएको छ ।

    आरोप लगाउने र अर्काको नराम्रो भन्नुभन्दा पनि विचार र मुद्दा मिल्नेहरू सहकार्यको टड्कारो आवश्यक छ ।

    पुरानो राजनैतिक दलजस्तो एक अर्कालाई भक्कु खेदो र गाली गर्ने संस्कार हामी नयाँ स्वतन्त्र युवा तथा वैकल्पिक शक्ति र नयाँ दलमा आस्था राख्नेहरूले त गर्नै हुँदैन ।

    देश र जनताको चाहना अनुकूल विकास निर्माणसँगै हामीले फोहोरी राजनीतिलाई पनि सफा गर्नुछ त्यसैले अरु दलकै शैलीमा घण्टीलगायतका नयाँ दलले अपनाउनु हुन्न । आदरणीय रवि लामिछाने दाइ र उहाँको अन्य राम्रो उम्मेदवारको जितको लागी हामी पनि सकेको सहयोग गर्न चाहन्छौं गर्ने नै छौं । बाहिरबाट विरोध गरेरभन्दा भित्र छलफल गरेर सहकार्य र एकताको पहल गरौं त्यसका लागि हरदम हामी खुला छौं ।

    जय लौरो । जय मातृभूमि ।

    (लेखक कार्कीले काठमाडौं- २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।)

  • तीज व्रत त्याग कि तपस्या ?

    तीज व्रत त्याग कि तपस्या ?

    पूर्वीय वैदिक सनातन धर्म परम्परागत रुपमा पौराणिक कथनअनुसार राजा हिमालयले आफ्नी पुत्री गौरी (पार्वती)को विवाह भगवान विष्णुसँग गरिदिने मनसाय राखेपछि गौरीलाई साथीहरुले विकट स्थानमा पुर्‍याए । त्यसपश्चात महादेवलाई प्रेम प्रस्ताव राख्न नसकेकी गौरीले महादेव स्वामी पाउँ भनी तपस्या गरेकी थिइन् । फलस्वरुप भाद्र शुक्ल पक्षको तृतीया तिथि हस्ता नक्षत्रका दिन महादेव स्वयं प्रकट भई गौरीको मनको पुकारलाई स्वीकारेको भन्ने पौराणिक विश्वासका आधारमा हरेक वर्ष भाद्र शुक्ल पक्षको तृतीयाका दिन तीज पर्व मनाइन्छ ।

    त्यसलाई विवाहित र अविवाहित महिलाले अनुशरण गर्दै आएका छन् । अविवाहित महिलाले महादेव जस्तै पति पाउँ भन्दै व्रत बस्छन् भने विवाहित महिलाले पतिको आयुको लागि । तीजको दिन निराहार व्रत बस्छन् । तीजको अघिल्लो मध्यरातसम्म दर खाएर महिलाहरु हर्षोल्लासका साथ मनाउँछन् । जसलाई दरखाने दिन पनि भनिन्छ । यसरी पार्वतीले महादेव नै पाउँ भनेर गरेको तपस्या एकातिर स्वतन्त्र प्रेमको लागि जायज जस्तो देखिन्छ भने अर्कोतिर असल पति पाउन महिलाले तपस्या गर्नैपर्छ भन्ने सन्देश पनि दिएको छ । जसले गर्दा हरेक वर्ष लाखौं महिला तीजको दिन निराहार व्रत बस्ने गरेको पाइन्छ ।

    प्रेम प्राप्त गर्न तपस्या कि त्याग ?

    यो युगमा पनि अधिकांश महिला पुरातन चिन्तनको भ्रममा छन् । जतिसुकै परिवर्तनको कुरा गरे पनि महिलामा पौराणिक कथनको छाप परिरहेको छ । जसले प्रेम सम्बन्धमा तपस्या होइन त्याग हुनुपर्छ भन्ने कुरालाई बुझ्न सकेको छैन । त्यसैले हुनसक्छ अधिकांश महिला आफूलाई पार्वती जस्तै बनाउन चाहन्छन् र श्रीमान महादेव जस्तै होस् भन्ने कामना गर्छन् । महिलाहरुमा उही पुरानै शैलीमा व्रत बसेर असल पति प्राप्त गर्न सकिन्छ भन्ने भ्रम छ । आखिर कहिलेसम्म यो रित चलिरहने हो ?

    तीजमा जति पार्वतीको चर्चा हुन्छ, महिला समानता र न्यायको निम्ति अनवरत आफ्नो जीवन खर्चेका नेपाली महिला नेतृहरु जीवनबारे चासो र चर्चा हुनुपर्छ । उनीहरुको जीवन कति प्रेरणादायी छ तीजमा विचार विमर्श हुनुपर्छ ।

    तीज महिला आन्दोलन र उपलब्धिको उपज हो । त्यसैले पौराणिक पात्र पार्वतीको बारेमा जति चासो देखाइन्छ, त्यस्तै चासो नेपाली आन्दोलनमा अग्रणी महिला हस्तीहरु सहाना प्रधान, साधना अधिकारी, मंगलादेवी सिंहलगायतबारे राख्नुपर्ने पर्ने हो । यतातिर आम महिलाको चासो देखिँदैन । उनीहरुको योगदान र संघर्षको नेपाली समाजमा त्यति चर्चा भएको पाइँदैन । नेपाली महिला मुक्तिका लागि उनीहरुले गरेको कठिन संघर्ष कति महत्वपूर्ण र न्यायोचित छ, त्यसबारे चासो दिएर विश्लेषण गरेको कहीकतै पाइँदैन ।

    तीजमा जति पार्वतीको चर्चा हुन्छ, महिला समानता र न्यायको निम्ति अनवरत आफ्नो जीवन खर्चेका नेपाली महिला नेतृहरु जीवनबारे चासो र चर्चा हुनुपर्छ । उनीहरुको जीवन कति प्रेरणादायी छ तीजमा विचार विमर्श हुनुपर्छ । जसले आम नेपाली महिलालाई गौरवान्वित महसुस गराओस् । सत्ता परिवर्तन र महिला अधिकारका निम्ति खर्चिएको जीवनको मूल्याङ्कन शब्दमा गर्न सकिँदैन । त्यसका साथै उनीहरुले पतिसँगै सहकार्य गर्दै नेपाली आन्दोलनमा पु¥याएको योगदान कम महत्वपूर्ण छैन । त्यो आँट सबै महिलामा हुँदैन । नेपाली आन्दोलनलाई सफल बनाउँदै पतिपत्नीको सम्बन्धलाई मजबुत बनाउन उनीहरुको भूमिका उत्तिकै महत्वको विषय छ ।

    तीज र नेपाली महिला आन्दोलन

    नेपाली आन्दोलनमा महिला मुक्तिको लागि गरेको आन्दोलन समानता र न्यायका लागि नै थियो । नेपाली समाजमा रहेको पितृसत्तात्मक व्यवस्था भत्काउन र महिलालाई राजनीतिक, शैक्षिक, आर्थिक, सामाजिक मूलधारमा ल्याउन नेपाली आन्दोलनमा महिलाको अर्थपूर्ण योगदान छ । महिलामाथिको असमानता, अन्याय, अत्याचार, शोषण, दमनका विरुद्धमा नेपाली महिलाले २००७ सालभन्दा अघिको राणाविरोधी आन्दोलनदेखि २०४६/०४७ को आन्दोलन, माओवादी सशस्त्र जनयुद्ध, २०६२/०६३ को दोस्रो जनआन्दोलनसम्म सहभागिता जनाएका थिए ।

    पितृसत्तामा आधारित सामाजिक कुरीति र कुसंस्कारलाई चिरफार गर्न योगमाया न्यौपाने, मंगलादेवी सिंह, कामाक्षादेवी, साधना प्रधान, द्वारिकादेवी ठकुरानी, सहाना प्रधान, शैलजा आचार्यलगायतका हस्तीले गरेको संघर्ष र योगदान नेपाली समाजमा महिलाको सामाजिक, आर्थिक, राजनितिक र शैक्षिक अधिकार स्थापना गर्नकै लागि समर्पित भएको थियो । जसकारण महिलाले चुनावमा मत दिन पाउने अधिकार स्थापित गरेको थियो । पछिल्लो समय चुनावमा लड्ने अधिकारसमेत स्थापना गर्न हजारौं महिलाले बलिदानको कोटा चुक्ता गर्नुपर्‍यो । कम्तिमा पनि महिला आफूमाथि भएका जति पनि हिंसा, विभेद र अन्यायबारे खुलेर बोल्नसक्ने भएका छन् । विडम्बना अधिक महिला अझै पनि पितृसत्तालाई प्रश्रय दिइरहेका छन् ।

    पतिको आयु लामो होस् भन्ने चाहना भन्ने महिलाले पति देवत्वकरण गर्नुको साटो पतिसँग सहकार्य गरेर पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक रुपमा अघि बढ्ने आँट गर्नुपर्छ ।

    संस्कार र संस्कृतिको नाममा कतै न कतै महिला स्वयं कुसंस्कारको संकुचित घेराभित्र आफूलाई राखिरहेका छन् । केही न केही बहानामा महिला पितृसत्ताको चङ्गुलमा अल्झिरहेका छन् । चाहे त्यो तीजको व्रत होस् या साउन महिनाको सोमबारे व्रत । यसको अर्थ व्रतको विरोध गर्न खोजिएको होइन । यथार्थमा कुसंस्कार अंगाल्ने पुरुष देवत्वकरण गर्न व्रत बस्ने चलनले नेपाली महिला आन्दोलनको औचित्य फेरि पनि कुसंस्कारको घेराभित्र राख्न खोजिएको हो कि भन्ने विषयलाई उठाउन खोजिएकोमात्रै हो । तीज हाम्रो राष्ट्रिय पर्व हो । यसले सामाजिक सद्भाव, पारिवारिक जमघट र महिला एक ठाउँ भेला भएर मनाइने पर्वको रुपमा त्यतिकै महत्व बोकेको छ । तर, नेपाली महिला आन्दोलनले चिर्न खोजेको कुसंस्कारलाई फेरि संरक्षण गर्नु हुँदैन भन्ने यो लेखको मुख्य आशय हो ।

    प्रेम, तीज र महिला आन्दोलन औचित्य

    पतिको आयु लामो होस् भन्ने चाहना भन्ने महिलाले पति देवत्वकरण गर्नुको साटो पतिसँग सहकार्य गरेर पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक रुपमा अघि बढ्ने आँट गर्नुपर्छ । पति प्राप्ति या श्रीमानको दीर्घायुको लागि महिलाले तपस्या गर्नैपर्छ भन्ने रित आम महिलाले नै तोड्नुपर्छ । यदि महिलाले पतिको देवत्वकरण गर्दै जाने हो भने महिला समानता र अधिकारको कुरा घरभित्र पनि स्थापना गर्न सकिँदैन ।

    त्यसैकारण हाम्रो सामाजिक परम्परा, संस्कार र संस्कृतिमा भएका सकारात्मक कुरालाई आत्मसात गरौं । न कि संस्कारको रुपमा कुसंस्कार अंगालेर त्यसकै जालमा महिला नपरौं । कुनै श्रीमती आफ्नो श्रीमानसँग सहकार्य गरेर पारिवारिक र सामाजिक रुपमा अघि बढ्नसक्छन् भन्ने समाजलाई उदाहरण दिन सक्नुपर्छ । महिलाले पुरुषकै देवत्वकरण गर्नेमात्र हो भन्ने भन्दा पनि महिला पनि पुरुषसरह हो भन्ने गराउन सक्नुपर्छ ।

    त्यसकारण प्रत्येक वर्ष मनाइने तीजले रुपान्तरित नेपाली समाजमा महिला आन्दोलन र यसको औचित्य, समानता र महिला अधिकारको सवाललाई स्थापित गर्न सक्नुपर्छ । बदलिँदो परिवेशमा पितृसत्तात्मक सोच, विचार र चिन्तनलाई अन्त्य गर्न सकियो भने मात्र सुन्दर परिवार, समाज र राष्ट्रको अनुभूति गर्न सक्छौं । यसले महिला आन्दोलनको औचित्यले सार्थकता पनि पाउनेछ ।

  • तीजकाे विद्रुपीकरण !

    तीजकाे विद्रुपीकरण !

    नारी मुक्तिको गीत गाउने दिन भने पनि, स्वतन्त्रताको चाड भने पनि, विलौना गाउने इतिहासको दिन भने पनि नेपाली हिन्दू महिलाहरुको तीज पर्व घरदैलोमा आइपुगेको छ । यो पर्व कहिले सुरू भयो भन्ने यथार्थ नभेटिए पनि पौराणिक कथाअनुसार पार्वतीले शिवलाई पतिको रूपमा पाउन अन्न-जल नखाई उपवास बसेपछि उनले शिवलाई प्राप्त गरिन् । त्यही पौराणिक कथा अनुसरण गर्दै हिन्दू महिलाहरुले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै निराहर व्रत बस्ने चलन चलिआएको पाइन्छ ।

    माइतीबाट छोरी-चेलीलाई लिन जाने, माइतीघरमा आफ्नो गच्छेअनुसारको मीठो-मसिनो खाने-खुवाउने, एक दिन भए पनि आराम गर्ने गरिन्छ । यो पर्वमा कतै व्रत बस्ने अघिल्लो दिन माइतीघर पुगेर उज्यालो हुनु अघिसम्म दरको रुपमा खीर, ढकने, चाम्रे इत्यादि खाने प्रचलन रहेको पाइन्छ । हरितालिका तीज पर्व तृतीयाको दिन व्रत बस्नुभन्दा अगाडि गरिने भेटघाट र मीठो-मसिनो खानपिन हिजोआज साउने सङ्क्रान्तिकै दिन सुरू हुन थालेको छ । हिजोआज झन्डै दुइ महिनासम्म मनाइने तीजमा सामाजिक सञ्जालका भित्ताहरु रङ्गिन थालेका छन् । गर्वका साथ धक फुकाएर मेरो चौधौं तीज भनेर तडकभडकसहित फोटोहरु प्रदर्शन गरेको पाइन्छ । यस्ता तडकभडक र उपभोक्तावादी संस्कृतिले तीजलाइ फेशन शोमा परिणत गर्दै लगेको छ । कहिले तीज आउँछ र साडी-गहना देखाऊँ जस्तो भएको छ । कसको साडी कति महङ्गो ? कसको गहना कति भनेर देखाउने प्रतिस्पर्धा भएको छ ।

    हिन्दू धर्मग्रन्थमा पतिलाई परमेश्वरका रुपमा मान्नुपर्ने उल्लेख छ । अझ महिलालाई मानवको रुपमा नस्वीकार्ने मनु स्मृतिले महिलाले पतिभक्ति र जयजयकार गर्नुपर्ने, पतिलाई जवाफ फर्काउन नहुने, सधैं पतिको नियन्त्रणमा रहनुपर्ने, पतिको मृत्युपछि राम्रो हुन नहुने, मिठो पौष्टिक खाना खान नहुने उल्लेख गरेको पाइन्छ । तिनै धर्मग्रन्थलाई पक्षपोषण गर्दै आएको हाम्रो संस्कृति–रीतिरिवाज पितृसत्तात्मक सामन्ती चिन्तनले जकडिएको छ । समाज परिवर्तनको क्रममा मातृसत्तात्मक परिवारबाट पितृसत्तात्मक परिवारमा पुग्दा पुरुषले महिलामाथि शासनको सुरूआतमा महिलालाई बन्दीको रुपमा हातखुट्टा बाँध्न प्रयोग गरिएका नेलकडी र सिक्रीहरु अहिले गहनाका रुपमा प्रयोग भइरहेका छन् ।

    अहिले अविवाहित युवा महिलाले असल पति प्राप्त गर्न शिवजीको पूजा–आराधना गरेर व्रत बस्छन् भने विवाहित महिलाहरुले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्छन् । तर, कुनै पुरुषले पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर व्रत बस्ने गरेको आजसम्म कहिल्यै पनि सुनिएको छैन । बरु एउटी पत्नी घरमा हुँदाहुँदै श्रीमतीहरु बटुल्दै हिँड्ने, धेरैवटी श्रीमती राख्ने व्यभिचारी पुरुषहरु भेटिन्छन् । पत्नीले व्रत बस्दा आयु लम्बिने भए धेरैवटी पत्नीका पतिको आयु कति लामो हुँदो हो ?

    त्यसो त सबै पुरुष व्यभिचारी हुन्छन् भन्ने पनि होइन । हाम्रो समाजमा अधिकांश महिला हिंसाको कुरा उठ्ने गरेको पाइन्छ । महिलाले पुरुषमाथि पनि हिंसा गर्ने गरेको पाइन्छ । हिजोआज चित्त नबुझे पतिको गालामा थप्पड बजार्ने पत्नीहरु पनि पाइन्छन्, तर तिनको चर्चा कहीँ गरिँदैन । यस्तो चर्चा गरिएमा विचरा ती पुरुषहरु जोईटिङ्ग्रेको दर्जामा पर्छन् । हाम्रो समाजको हेराइमा सधैं पोइटिङ्ग्री भएर सहनशिला सुशिला हुँदै पुरुषको हरेक यातनालाई सहँदै घर गरिखाने महिलालाई असल ठानिन्छ । समाज बर्बर युगबाट सामन्ती युगमा रुपान्तरण भइसकेपछि महिलालाई नियन्त्रणमा राख्न नितान्त दासी र बच्चा जन्माउने साधनको रुपमा प्रयोग गर्न खोजिएको छ ।

    यस्तै पुरुष चिन्तनलाई सामन्तवादी पितृसत्तात्मक समाजमा वैधता प्रदान गर्ने चाड तीज हो । यो पर्व पुरुषको प्रभुत्वलाई संस्कारिक गर्ने, पतिबाहेक अरुलाई श्रेष्ठ नठान्ने, पतिलाई पूजा गर्ने, अलौकिक देवता होइन प्रत्यक्ष देवता मानिने पुरुष प्रभुत्वको पूजा गर्ने परम्परागत चाड हो यो । हाम्रो समाज अभैm पनि सामन्तवादी पितृसत्तात्मक सोचबाट ओतप्रोत छ । हामीभित्रै पितृसत्तात्मक चिन्तन हावी छ । युगौंदेखि महिलालाई दासीको रुपमा प्रयोग गर्दै आएको पुरुष चिन्तन पुरुषमा मात्र होइन, यो समाजको आधा हिस्सा महिलाभित्र पनि पाइन्छ । यो चिन्तनले सांस्कृतिक रीतिरिवाजमा मात्र नभई सामाजिक, आर्थिक, राजनैतिक हरेक पाटोमा छाएको पाइन्छ । समाज विकासको रुप आजको स्थितिमा आइपुग्दा हामीकहाँ दुई खाले पुरुष चिन्तन भेटिन्छन् ।

    एकले तीजको व्रत बस्दा मेरो स्वास्थ्य राम्रो हुने होइन, तिम्रै स्वास्थ्य चाहिँ बिग्रन्छ । त्यसैले व्रत नबस । तिम्रो व्रतले मेरो आयु लम्बिने होइन, तिम्रो आयु छोट्टिन सक्छ भन्छ । अर्का थरी पुरुष भने के गर्ने ? हाम्रो संस्कृति हो, चलिआएको परम्परा हो । गोडा धोएर पानी खाऊ भनेर गोडा तेस्र्याउँछन् भने उनीहरु व्रतै नबसे पनि रातो साडी चाहिँ लाउनू है भन्छन् । व्रत बसेको दिन श्रीमान ले साँझ खाऊ नभनी खान नहुने, टाढा छ भने श्रीमान्ले फोनबाट खाऊ नभनेकाले भोकै बस्नु परेको गुनासो सुन्न पाइन्छ । हामीकहाँ सबै पुरुषहरु पितृसत्तात्मक सोचले ग्रस्त छन् भन्ने होइन । महिलावादी सोच राख्ने, महिला र पुरुष समान हुन् भन्ने धारणा राख्ने पुरुषहरु पनि पाइन्छन् । महिलाले महिलालाई हिंसा गर्ने, दुव्र्यवहार गर्ने तीतो सत्य छँदैछ । सासू–बुहारी, नन्द–भाउजूबीच न्यानोभन्दा चिसो सम्बन्ध, एउटी महिला अर्की महिलालाई विस्थापित गरेर सौता बन्ने, महिलाले नै महिलाको चियोचर्चा महिलाले नै गरेको पाइन्छ । त्यसैले यस्ता प्रवृत्तिलाई हटाउन सामन्तवादी पितृसत्तात्मक चिन्तनलाई हटाउन सामन्तवादको जरो कहाँ छ, खोजी गरिनुपर्छ र उखेल्नुपर्छ ।

    हिजोआज परम्परागत रुपमा हिन्दू महिलाहरुले महान् चाडको रुपमा मनाउने गरेको तीज तडकभडकसहित महिना दिनअघि नै मनाउन थालिएको छ । कोरोना महामारीको आतंकले तीज भोज होटलका हलहरूमा केही कम भए पनि तीजको रौनक उत्साहमा कमी भएको छैन ।

    तीजमा खाइने खीर, चाम्रेहरु परिवर्तन भएर अरु खाद्यपदार्थ पनि भेटिन थालेका छन् । धैरै गहना, रातो साडी र तडकभडक जहाँ छ, त्यहाँ मिडियाको पनि बाक्लो उपस्थिति पाइन्छ । प्रचारप्रसार त्यहाँ पाइन्छ । सासू, नन्द-आमाजूले दिएका दुःख र पीडा साटासाट गर्ने, गुनासा पोख्ने महान चाड मानिएको तीज आज कसको साडी कति महँगो, कसको गहना कति भनेर प्रदर्शन गर्ने पर्वको रुपमा स्थापित हुँदै गएको छ ।

    यसरी हैसियत प्रदर्शनले सम्पन्न परिवारमा त रमाइलै होला । तर, विपन्न परिवारमा झैझगडा र आत्म हीनताबोध गराउन सक्छ । अझ यो सालको तीज गीत नृत्यमा कुकुर जस्तो नृत्य गरेर पशुको रुप देखाउने छाडा प्रवृत्ति पो भित्रियो । कसैले त्यस्तो कुकुरे नाच नाच्यो भनेर आलोचना हुँदाहुँदै अहिले धेरैजसो त्यस्तै नाच नाची भिडियो प्रचारप्रसार गर्न लालायित छन् । कमसेकम संस्कृति त बचाऔं । संस्कृतिमाथि नै यस्तो नांगो छाडा प्रहार त नगरौं न दिदीबहिनीहरु । अबको तीजलाई समाज रुपान्तरण गर्ने, मुलुक समृद्ध बनाउने योजनामा केन्द्रित गराउनु पर्छ ।

    यो सालको तीज गीत नृत्यमा कुकुर जस्तो नृत्य गरेर पशुको रुप देखाउने छाडा प्रवृत्ति पो भित्रियो । कसैले त्यस्तो कुकुरे नाच नाच्यो भनेर आलोचना हुँदाहुँदै अहिले धेरैजसो त्यस्तै नाच नाची भिडियो प्रचारप्रसार गर्न लालायित छन् ।

    तीजको अवसर पारेर एकैदिनमा ४-५ ठाउँमा आधुनिक परिकार खान छड्के तीलहरी र गहनाले झ्याप्प भएर जाने प्रवृत्ति हटाउनु अहिलेको आवश्यकता हो । विकृतिउन्मुख तडकभडकपूर्ण तीजको अन्त्य गर्दै सकारात्मक सोचको विकास गर्नुपर्छ । हुँदा खाने र हुने खानेबीचको खाडललाई पुर्नुपर्छ । परिवर्तन हुँदै आएको तीज पर्वलाई विश्वास, भरोसा र प्रेमको पर्व बनाउनु पर्छ ।

    सधैं पुरुषले महिलामाथि हिंसा गरेको समाचार सुनिने हाम्रो समाजलाई पितृसत्तात्मक जञ्जालबाट मुक्त गराउनु पर्छ भनिरहँदा हिजोआज महिलाले पुरुषमाथि गर्दै आएका हिंसा पनि बाहिर आउन थालेका छन् । पितृसत्तात्मक समाजको सोचको अन्त्य गर्नुपर्छ भन्नुको तात्पर्य पुरुषमाथि हिंसा गरेर दुःख दिनु, नियन्त्रणमा राख्नु होइन । समतामूलक समाजको निर्माण गर्न लाग्नुपर्छ । एकले अर्कालाई हेप्ने र दमन गर्ने समाज होइन, खुला आकाश र खुला धर्तीमा रम्ने समाज निर्माण गर्नुपर्छ । अनि मात्र जीवन सार्थक हुन्छ । आफ्नो स्वास्थ्यको ख्याल गर्दै व्रत बसौं । प्रेम र आत्मीयता साटौं । तीजको सकारात्मक खुशी प्रेमिल शुभकामना बाँडौं ।

  • योगेश भट्टराईज्यू, पाथिभरा जाने भत्केको सडकले मन रुँदैन ?

    योगेश भट्टराईज्यू, पाथिभरा जाने भत्केको सडकले मन रुँदैन ?

    योगेश भट्टराईज्यू नमस्कार !

    तपाईंलाई निर्वाचित गराउने ताप्लेजुङ जिल्लाको पाथिभरा पुग्नु अगाडिसम्म म पाथिभरा यात्रा ब्लग लेख्ने योजनामा थिएँ । सदरमुकामको तोक्मेदेखि काफ्लेपाटी सडक यात्रा गरेपछि मैले यात्रा ब्लगभन्दा तपाईंलाई नै चिठी लेख्ने निर्णयमा पुगेँ ।

    उसो त मैले यो चिठी ताप्लेजुङकै बहालवाला प्रदेश १ का मन्त्री प्रतापप्रकाश हाङगाम वा विष्णुमाया तुम्बाहाम्फेलाई लेख्न सक्थे । प्रदेश १ कै पूर्वसामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङदेखि अर्थमन्त्री टंकबहादुर आङ्बोहाङसम्मलाई लेख्न सक्थेँ । जिल्लाबाट केन्द्रमा मन्त्री भइसकेका कुलबहादुर लिम्बू, चन्द्रबहादुर पालुङ्वा, विजय प्रकाश थेवे, विष्णु मादेन, अम्बिका साँवा, सूर्यमान गुरुङ, मणि लामा, ओङ्दी शेर्पालगायतका नाममा पनि लेख्न सक्थेँ ।

    तर, पाथिभरा यात्राको सवाल हो यो । मैले तपाईंकै नाममा चिठी लेख्नुपर्छ । किनभने तपाईं नै हो पाथिभराको सबैभन्दा ठूलो प्रमोटर । मैले तपाईंकै नाममा चिठी लेख्नुपर्छ । किनभने तपाईं नै हो पर्यटनमन्त्री भएर पाथिभरा विकास अवधारणा ल्याउने । मैले तपाईंकै नाममा चिठी लेख्नुपर्छ । किनभने तपाईं नै हो पाथिभरा सद्भावना दूतदेखि पाथिभरा म्याराथुनसम्मको सबैभन्दा ठूलो चर्चा गर्ने नेता ।

    २०५४ सालमा तेह्रथुमबाट आमाबुबाको हात समाएर ताप्लेजुङ पाथिभरा पुगेको म २०६५ सालमा दाजुभाउजूसँगै पुगेको थिएँ । दुवै रुट तेह्रथुमको मोराहाङबाटै सुरु भएको थियो । पैदलयात्रा भएकाले हिँड्न कुनै तनाव थिएन । गत भदौ ६ गतेको पाथिभरा यात्रा भिन्न थियो । सदरमुकामको तोक्मेबाट पाथिभरा यात्रा जुनस्तरमा सोचिएको थियो, त्यो पाइएन । जुन शुल्क भनिएको थियो, त्योस्तरको पाइएन ।

    देउराली, छातेढुंगा, भालुगौडे हुँदै काफ्लेपाटीसम्मको सडक यात्रामा जत्ति पटक गाडीले घच्याक्क गर्‍यो, त्यत्ति पटक मैले तपाईंलाई सम्झिएँ ।

    पाथिभरा सिजनमा तोक्मेबाट काफ्लेपाटीसम्मको एकोहोरो रुटको ४०० रुपैयाँ तोकिएको छ । दोहोरो ८०० हुनजान्छ । काफ्लेपाटीबाट उकालो हाइकिङ सुरु हुन्छ । हामीलाई काफ्लेपाटीबाट उकालो पैदल यात्रा बरु सजिलो भयो । तोक्मेदेखि काफ्लेपाटी यात्रा अत्यन्तै झूर भयो । सिजन नहुँदा बोलेरो र अटोले प्रतिव्याक्ति ४०० मा नलैँजादा रहेछन् । तिनीहरुले ८ देखि ९ हजारसम्म रिजर्भ शुल्क भन्ने रहेछ । त्यसो हुनुको एक प्रमुख कारण बाटो रहेछ । मे १ ज ३३१५ मा हामीलाई रिजर्भ यात्रामा हुँइक्याएका चालक महेन्द्र तामाङ भन्दै थिए, ‘बाटो फिलिली पिच भएको भए आधा पैसा कम हुन्थ्यो ।’

    इटहरीदेखि ताप्लेजुङसम्म पूर्वपश्चिम र मेची राजमार्ग हुँदै लागेको भाडाभन्दा दोब्बर भाडा तोक्मेबाट काफ्लेपाटीसम्मको यात्रामा लाग्यो । हाम्रो समूह तीन जनाको नभएर दुई जनाको वा एक्लै भएको भए त्यो तेब्बर वा चौबर हुने रहेछ । बाटैको कारण अत्यन्तै धेरै महँगो शुल्क तिर्नुपर्दा मैले तपाईंलाई सम्झिएँ ।

    सुकेटारबाट देउरालीसम्म यात्रामा जाँदा एक पाका व्यक्ति भेटिए । हाम्रो रिजर्भ गाडी जबरजस्त रोके । उनी भन्दै थिए, ‘भाउजू बित्नुभएर हिँडेको जसरी पनि देउरालीसम्म लगिदिनू ।’ बाटो सहज भएको भए अटो रिजर्भ गर्न सजिलो हुनेमा बाटो राम्रो नभएकाले अचाक्ली महँगो भएको दुःख ती पाकाले पनि सुनाए । त्यो सुन्दा मैले तपाईंलाई सम्झिएँ ।

    मलाई तपाईंले दिने पाथिभरा पक्की सडकको महत्व सुन्नु छैन । मलाई त सुकेटारदेखि पाथिभरातर्फ जाने पक्की सडकमा यात्रा गर्नुछ ।

    देउराली, छातेढुंगा, भालुगौडे हुँदै काफ्लेपाटीसम्मको सडक यात्रामा जत्ति पटक गाडीले घच्याक्क गर्‍यो, त्यत्ति पटक मैले तपाईंलाई सम्झिएँ । सडक पूर्वाधार नबनेकै कारण पहिरोले बाटो पुरेपछि चालकहरुले निस्केर सडक बढार्ने श्रमिक हुनुपरेको विजोग दृश्य हेर्दा पनि मैले तपाईंलाई नै सम्झिएँ ।

    हामीले सुकेटार कटेपछिको काफ्लेपाटीसम्मको कच्ची सडकबाटै देख्यौं, सुकेटार विमानस्थल कालोपत्रे भएछ । धनीहरु चढ्ने विमानस्थलको धावनमार्ग कालोपत्रे अनि आम मान्छेहरु चढ्ने सडकमार्ग भने कच्ची नै छ । यो सबै देख्दा मैले तपाईंलाई नै सम्झेँ । सुकेटार ओर्लेर आउनेहरु सडकमुकामसम्म मात्रै आउँदैनन् होला । सदरमुकामसम्म पक्की नै बाटो छ । उनीहरु त पाथिभरा पनि जान्छन् होला । त्यो बाटो कच्ची छ । ताप्लेजुङको गन्तव्य सदरमुकाम हो कि पाथिभरा हो ? पाथिभरा भएको भए त सुकेटार-सदरमुकामको ८ किलोमिटरभन्दा पहिलो सुकेटार-काफ्लेपाटीको झन्डै दश किलोमिटर सडक पक्की हुनुपर्ने हो । त्यो भएको रै’नछ । यो हेर्दा पनि मैले तपाईंलाई सम्झेँ ।

    तपाईं हजारौं पाथिभरादूत बनाएर लाखौं आगन्तुकहरु ल्याउन चाहनुहुन्छ । त्यो सुन्दर कुरा हो । तर, सडक विजोग बनाएर यात्रालाई कष्टकर बनाउने चाहना पनि तपाईंकै हो ? तपाईं पाथिभरामा विश्वभरका आस्थावानहरु ल्याएर पर्यटकीय चहलपहल बढाउन चाहनुहुन्छ । तर, जब पाथिभराको रियल रुट सुरु हुन्छ तब बाटो कच्ची भएको देखाउने तपाईंको चाहना हो ? तपाईंले जस्तै सबैले हेलिकप्टर सफरको सौजन्य गर्ने मौका पाउँदैनन् । सबैले तपाईं जस्तै आफ्नै निजी नम्बर प्लेटका सवारीमा सहज यात्राको सौभाग्य पाउँदैनन् । उनीहरुलाई ताप्लेजुङ बजारसम्मको यात्राभन्दा त्यहाँबाट पाथिभरासम्मको यात्रा महँगो बनाएर पाथिभरालाई महँगो गन्तव्य भनेर बेच्न खोज्नुभएको हो ? कि पाथिभरामा ‘ब्याकप्याकर’ नभएर ‘एलिट’हरु मात्रै ल्याउने लक्ष्य हो ?

    मलाई पाथिभरा सडक बनाउन भएका पहलहरुको अपूरा कथा सुन्नु छैन । मलाई देशमा मध्य पहाडी राजमार्ग, तमोर करिडोरदेखि चुरे राजमार्गहरु बनिसक्दा तपाईं जस्तो नेता भएको जिल्लाको विशाल धाममा किन अहिलेसम्म सडक पुगेन ? त्यसमा मात्रै आक्रोश छ । मलाई तपाईंले दिने पाथिभरा पक्की सडकको महत्व सुन्नु छैन । मलाई त सुकेटारदेखि पाथिभरातर्फ जाने पक्की सडकमा यात्रा गर्नुछ ।

    पाथिभरा वैदिक सनातनी, किराँतीदेखि याक्थुङबाहरुको धार्मिक सांस्कृतिक गन्तव्यमात्रै हैन, विश्वभरका शाक्त सम्प्रदायका करोडौं हिन्दूहरुको पनि गन्तव्य हो । पाथिभरा प्रदेश १ का हिमालहरु हेर्ने विश्वस्तरीय आध्यात्मिक भ्यू प्वाइन्ट हो ।

    हो, तपाईं सत्तामा धेरै बस्नुभएन । तर, राष्ट्रिय राजनीतिको मूलधारभन्दा पर तपाईं कहिले बस्नुभयो ? हो, तपाईं लामो समय मन्त्री हुनुभएन र हुँदा सडक बनाउने विभागीय मन्त्री पनि हुनुभएन । तर, मन्त्री भएपछिको देशी-विदेशी सम्पर्क र राज्य सत्ताको पहुँचलाई सदुपयोग गरेर पाथिभरा सडक बनाउन कहिले लाग्नुभयो ? हो, तपाईंको पार्टी सत्ता बाहिर छ अहिले । तर, जिल्लाका सबै सत्ताधारी दलका प्रभावशाली नेताहरुमा पाथिभरा सडकलाई प्रमुख प्राथमिकतामा पार्न कहिले लबिङ गर्नुभयो ? पर्यटनमन्त्री हुँदा परराष्ट्र मन्त्रालयले भेला गर्न नसकेका राजदूतहरुलाई पर्यटन मन्त्रालयमा भेला गरेर नेपाल भ्रमण वर्षको विमर्श गर्न सक्नुभयो तपाईंले । पाथिभरा सडक बनाउन यस्तै राष्ट्रिय विमर्श गर्न केले रोक्यो ? यी प्रश्नहरुले तपाईंलाई गिज्याइरहेका छन् ।

    तपाईंसँग देशको सबैभन्दा ठूलो दलको सचिव भएको लिगेसी छ । तपाईंसँग संसदको सबैभन्दा ठूलो दलको धेरै चिनिएकामध्येको एक सांसद भएको लिगेसी छ । तपाईंसँग विद्यार्थी राजनीतिदेखि पर्यटनमन्त्रीसम्म हुँदा जोडिएका विशाल विज्ञहरुको व्यक्तिगत सम्पर्क सूत्र छ । देशी-विदेशी उच्च अधिकारीसँगको सीधा सम्पर्क छ । दाताहरुसँग उत्तिकै चिनापर्ची छ । फरक पार्टीका नेताहरुको तपाईंप्रतिको धारणा पनि नकारात्मक छैन । साढे तीन लाख बढी फेसबुक फलोअर छन् । साढे चार लाख बढी ट्विटर फओअर छन् । तपाईंसँग एउटा नेतामा हुनुपर्ने सबै शक्ति छ । तर, यी सबै शक्ति भएर पनि पाथिभरा जाने सडक पक्की बनाउने शक्ति तपाईंमा किन आएन ? यो प्रश्नले तपाईंलाई प्रश्न गरिरहेको छ ।

    अहिलेको पाथिभरा जाने बाटो पक्की, सहज र खुला हुन आवश्यक छ । त्यसमा तपाईंको योगदान खुल्न आवश्यक छ । चिठी अन्त्य गर्नु अगाडि अन्तिम प्रश्न, योगेश भट्टराईज्यू, पाथिभरा जाने भत्केको सडकले तपाईंको मन रुँदैन ?

    पाथिभरा वैदिक सनातनी, किराँतीदेखि याक्थुङबाहरुको धार्मिक सांस्कृतिक गन्तव्यमात्रै हैन, विश्वभरका शाक्त सम्प्रदायका करोडौं हिन्दूहरुको पनि गन्तव्य हो । पाथिभरा प्रदेश १ का हिमालहरु हेर्ने विश्वस्तरीय आध्यात्मिक भ्यू प्वाइन्ट हो । पाथिभरा रेड पाण्डादेखि गुराँससम्म हेर्नेहरुको एक प्याकेज गन्तव्य हो । कञ्चनजंगा संरक्षण क्षेत्रसँग एकीकृत योजना ल्याएर राष्ट्रिय निकुञ्ज बनाउने बाटो खुला छ । विश्वको सर्वोच्च शिखर सगरमाथा राष्ट्रिय निकुञ्जपछिको तेस्रो चुचुरो कञ्चनजंगा प्लस पाथिभरा प्याकेज क्षेत्रलाई पनि युनेस्कोले विश्व सम्पदा सूचीमा लाने तयारीको बाटो खुला छ ।

    भारतको सीमावर्ती राज्यहरु पश्चिम बंगाल, सिक्किमदेखि बिहारका पर्यटकहरुलाई ल्याउने त्यही राज्यमै पाथिभरा ल्याउने सवारी व्यवस्थापन र प्रचारको बाटो खुला छ । शाक्त सम्प्रदायका विश्वभरका हिन्दूहरुलाई पाथिभरा एकचोटि पुग्नैपर्ने गन्तव्यको रुपमा विकास गर्ने बाटो खुला छ । पाथिभरा म्याराथुनलाई दक्षिण एसियाको नम्बर वान बनाउने बाटो खुला छ ।

    तर, यी सबै बाटो खुला हुनुअगाडि अहिलेको पाथिभरा जाने बाटो पक्की, सहज र खुला हुन आवश्यक छ । त्यसमा तपाईंको योगदान खुल्न आवश्यक छ । चिठी अन्त्य गर्नु अगाडि अन्तिम प्रश्न, योगेश भट्टराईज्यू, पाथिभरा जाने भत्केको सडकले तपाईंको मन रुँदैन ?

  • नेपाली राजनीतिलाई विनिर्माण गर्दै हर्क साम्पाङ

    नेपाली राजनीतिलाई विनिर्माण गर्दै हर्क साम्पाङ

    सन् १९६० को दशकमा फ्रान्सेली चिन्तक ज्याक्स डेरिडाले विनिर्माणवादको सिद्धान्त विश्वसामु ल्याए । यो सिद्धान्तले ७० र ८० दशकमा पाश्चात्य साहित्य, समालोचना र भाषा अध्ययनलाई महत्त्वपूर्ण प्रभाव पार्‍यो । विरोधाभाषी पदबाट सिर्जित परम्परागत केन्द्रीकृत सत्यतालाई विघटन गर्दै अर्थहरुको निरन्तर चिप्लाइमा सत्यता खोज्नु नै विनिर्माणवादको मुख्य ध्येय थियो । आजभन्दा ५० वर्षअघि पश्चिमी जगतमा विनिर्माणवादले भाषा, साहित्य, कलामात्र होइन सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा पनि ठूलो परिवर्तन ल्याएको थियो । पुराना संरचनाहरु क्रमशः भत्काउँदै लगियो र नयाँ संरचनाहरु निर्माण गरिँदै लगियो । यो क्रम अहिले पनि जारी छ ।

    नेपालमा विनिर्माणवादको प्रभाव भाषा, साहित्य र कला क्षेत्रमा केही मात्रामा देखिए पनि समाजका अन्य पाटाहरुमा खास देखिएन । राजनीति त झन अलग्गै रहँदै आएको छ । पुरानै शैलीको राजनीति र राज्य सञ्चालन चलिरहेको छ । रुपमा शासकीय व्यवस्था फेरिए पनि सारमा शासकीय अवस्था एउटै छ । जुनसुकै शासन व्यवस्था आए पनि शासक र शासितबीचको विभेदीकरण एउटै छ । शासकमा हुने व्यवहारमा कुनै परिवर्तन आएन, शासितको सामाजिक र आर्थिक अवस्थामा कुनै परिवर्तन छैन । तर, आज पूर्वेली शहर धरानमा एक जना यस्तो शासक उदाएका छन्, जसले नेपाली राजनीतिको मूलभूत मान्यतालाई विनिर्माण गर्ने प्रयास गरिरहेका छन् । उनी हुन धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङ ।

    उनको विजयले तडकभडक, भड्किलो र खर्चिलो चुनावी प्रचारको फेसनलाई गलत सावित गरिदियो । एउटा भूईमान्छेले पनि हेभीवेट प्रतिस्पर्धीलाई पछार्नसक्छ भन्ने थप गतिलो उदाहरण देखाइदिए । एक हिसाबले परम्परागत चुनावी गतिविधि, नीति र रणनीतिको विनिर्माण गरिदिए ।

    साम्पाङको विनिर्माणवादी सिद्धान्त

    गत बैशाख ३० गतेको दोस्रो स्थानीय निर्वाचनमा धरानमा गठबन्धन र एमालेबीच कडा टक्कर हुने चर्चा चलिरहेको थियो । दलहरु धुमधामसँग सभा, सम्मेलन, र्‍याली गरिरहेका थिए । बाजागाजा र नाचगानसहित घरदैलो कार्यक्रममा नगर परिक्रमा गरिरहेका थिए । दलबल र बाइक, गाडीको लस्कर हेर्न लायक थियो । पार्टीको झण्डा, पोस्टर र ब्यानरले शहर झकिझकाउ थियो । भोजभतेर खाइनसक्नु अचाक्ली थियो ।

    ठीक त्यही बेला हर्क साम्पाङ भने बेग्लै ढंगले भोट मागिरहेका थिए । उनी धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका थिए । तर, उनीसँग न दलबल थियो न त उनले भोजभतेरको नै आयोजना गर्थे । एक्लै प्रचार सामग्री बाड्दै हिँड्थे, हाते माइक बोकेर एक्लै चोकचोकमा भाषण गर्दै हिँड्थे । दैनिक एउटा टेम्पो रिजर्भ गरेर उनी घरघर डुलिरहेका हुन्थे । उनी चोकमा बसेर भाषण गरिरहँदा स्रोता कोही हुन्नथ्यो । त्यसैले उनी भन्थे, ‘कृपया झ्याल र कान चाहिँ बन्द नगरिदिनु होला ।’

    नेता भएपछि चिल्लो गाडी चढ्ने, दलबल लिएर हिँड्ने, कार्यकर्तालाई लाइन लगाएर दर्शनभेट दिने, कार्यक्रममा घाँटीभरी माला पहिरिने, काम नगर्ने, गफमात्र दिने परम्परावादी शैलीलाई उनले भत्काइदिए ।

    उनले एउटा उपमहानगरपालिको मेयर जस्तो शक्तिशाली पदमा चुनाव जित्न सक्छन् भनेर विश्वास गर्ने मान्छे सायदैमात्र थिए । उनको चुनावी प्रतिस्पर्धामा भाग लिने तरिका अरुको भन्दा ठीकविपरीत थियो । उनी राजनीतिक व्यक्तिभन्दा पनि सामाजिक अभियन्ता भनेर चिनिने गरेका थिए । तर, जब चुनावी परिणाम आउन थाल्यो, उनले जादुमय ढंगले अग्रता लिन थाले ।

    चुनाव जित्ने अनुमान गरिएको गठबन्धन र एमालेका उम्मेदवारलाई हेर्दाहेर्दै हजारौं मतले पछि पार्न थाले । आफ्नो निकटत्तम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार किशोर राईभन्दा ४ हजार ८ सय बढी मत ल्याएर उनी विजयी बने । उनको विजयले तडकभडक, भड्किलो र खर्चिलो चुनावी प्रचारको फेसनलाई गलत सावित गरिदियो । एउटा भूईमान्छेले पनि हेभीवेट प्रतिस्पर्धीलाई पछार्नसक्छ भन्ने थप गतिलो उदाहरण देखाइदिए । एक हिसाबले परम्परागत चुनावी गतिविधि, नीति र रणनीतिको विनिर्माण गरिदिए ।

    चुनाव जितेपछि हर्क साम्पाङले के गर्लान् भन्ने चासो सबैमा थियो । उनको काम गर्ने शैली पनि नितान्त फरक हुन थाल्यो । परम्परागत रुपमा एउटा नेताले गर्ने कार्यगत शैली उनीमा पटक्कै देखिएन । सर्वप्रथम उनले सरकारी सुविधाको गाडी नचढ्ने र उक्त गाडी बेचेर ब्रुमर किन्ने घोषणा गरे । कार्यापालिकाको बैठक लाइभ प्रसारण गर्ने व्यवस्था गरे । हरेक सार्वजनिक बिदाको दिन श्रमदान गर्ने घोषणा गरे । साथै श्रमदानको लागि आम जनतालाई आह्वान पनि गरे । शहर सफा राख्न झाडु लिएर आफैं चोकचोकमा निस्के । खानेपानीको मुहान, सार्वजनिक स्थल, मुख्य चोकहरुमा नगर प्रहरीको बिट राखे ।

    सफल नेता त्यो हो, जसले आफ्नो विरोधीलाई समेत मिलाएर सँगै लैजानसक्छ । तर, साम्पाङ भने आफ्ना विरोधी र विपक्षीहरुसँग हातेमालो गर्न ज्यादै कञ्जुस्याइँ गरिरहेको देखिन्छ । एक स्वतन्त्र मेयरको लागि बाँकी सबै सदस्यहरु प्रतिपक्षी हुन् ।

    उनको लवाइखवाइ पनि बेग्लै ढंगको छ । ढाकाटोपी उनको पहिचान हो । अफिसियल समयमा दौरा, सुरुवाल, स्टकोट लगाउँछन् । अरु समयमा सामान्य टिसर्ट र पेन्ट लगाएर हिँड्छन् । छोटो दूरीमा साइकल चढ्छन् । नगरपालिकाभित्र आवतजावत गर्न आफ्नै पुरानो मोटरसाइकल चढ्छन् । मेयर भएपछि पनि उनको जीवनशैली पहिले जस्तै छ । आम मान्छेभन्दा एउटा नेता फरक होइन भन्ने उनको मान्यता छ ।

    वर्तमान राजनीतिक खिचातानी, नेताहरुको स्खलित आचरण, भ्रष्टाचारको अभेद्य जालोदेखि वाक्कदिक्क भएका जनताको लागि हर्क साम्पाङले अपनाएको राजनीतिक शैली मरुभूमिबीचको मरुद्यान जस्तै भयो । उनी रोल मोडल नेताको रुपमा उदाउन थाले । विशेषगरी सामाजिक सञ्जालमा हर्क साम्पाङले शतप्रतिशत स्थान ओगट्न थाले । उनको लोकप्रियता कति छ भन्ने हरेक शनिबार सर्दु खोलाको किनारमा श्रमदान गर्न आउने हजारौंको भीड हेर्दामात्र पनि पुग्छ । उनले आम भूईमान्छेदेखि सेलिब्रेटी सबैलाई स्वैच्छिक श्रमदान गराएका छन् । कहिले गिटी कुटाउँछन्, कहिले ढुंगा बोकाउँछन्, कहिले रुख रोपाउँछन् । धरानबाट मात्र होइन झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुरबाट प्रत्येक हप्ता उनको श्रम शिविरमा श्रमदान गर्न हजारौं मान्छे ओइरिन्छन् ।

    साम्पाङको यो किसिमको कार्यशैलीले नेतृत्वको परिभाषा नै परिवर्तन गरिदिएको छ । नेता भएपछि चिल्लो गाडी चढ्ने, दलबल लिएर हिँड्ने, कार्यकर्तालाई लाइन लगाएर दर्शनभेट दिने, कार्यक्रममा घाँटीभरी माला पहिरिने, काम नगर्ने, गफमात्र दिने परम्परावादी शैलीलाई उनले भत्काइदिए । दलगत राजनीतिबाट मात्र विकास, निर्माण सम्भव छ भन्ने सोचलाई पनि तोडिदिए । एक हिसाबले उनले नेपाली राजनीतिलाई विनिर्माण गर्ने प्रयत्न गरेका छन् ।

    चुनौतीको पहाड र कमजोरीको खाल्डो

    साम्पाङ जति चर्चित छन्, उनीसँग उति नै अग्लो चुनौतीको पहाड छ । अनि उति नै गहिरो कमजोरीको खाडल पनि । उनको सबैभन्दा ठूलो चुनौती भनेको प्रतिपक्ष हो । धरान उपमहानगरपालिकाको जम्मा २० मध्ये १० जना वडा अध्यक्ष नेकपा एमाले, ७ जना नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रका १/१ जना छन् । आफूले चाहेको काम गर्न र निर्णय गराउन कम्तिमा बहुमत सदस्यहरुको समर्थन चाहिन्छ ।

    प्रदेश सरकार, संघीय सरकार, अन्तर्राष्ट्रिय दातृ निकाय आदि सबै दलहरुको कब्जामा छन् । दलहरुले आफू तल परेर स्रोतसाधनको बाँडफाँट कदापी गर्दैनन् । तर, हर्क साम्पाङ भने दलहरुको अस्तित्वलाई सहजै स्वीकार्ने अवस्थामा छैनन् ।

    तर, उनी दलका प्रतिनिधि भन्ने बित्तिकै दलाल, घुसखोर, भ्रष्टाचारी नै हुन्छन् भन्ने खालको धारणा राख्छन् । जसले गर्दा दलका प्रतिनिधिहरु उनीसँग सकारात्मक छैनन् । यसैबीच एमालेका नेत्री तथा मेयर पदमा पराजित उम्मेदवार मञ्जु भण्डारीसँग एउटा नक्कली फेसबुक स्टाटसको विषयलाई लिएर साइबर अपराधमा मुद्दा हालाहालसमेत भइसकेको छ । यो फेसबुक काण्डले एमालेका कार्यकर्ता र हर्क साम्पाङलाई भिडन्तको लागि आमनेसामने उभिने अवस्थासम्म पुर्‍यायो ।

    यही बेला उनले आफ्नो विरोध गर्ने व्यक्तिमात्र होइन दलसमेत सिद्धिनसक्छ भन्ने विवादास्पद अभिव्यक्ति पनि दिए । उनले अप्रत्यक्ष रुपमा नेकपा एमालेका कार्यकर्तालाई इंगित गरेर यसो भनेका थिए । यसले झन दल र मेयरबीचको खाल्डो बढी गहिरो बनाउन भूमिका खेल्यो । त्यही भएर एमालेका वडा अध्यक्षहरुले पटक-पटक कार्यपालिका बैठक बहिस्कार गर्दै आइरहेका छन् । कांग्रेसका वडा अध्यक्षहरु पनि मेयरले आफूहरुलाई बाइपास गर्ने गरेको भनेर असन्तुष्ट छन् ।

    सफल नेता त्यो हो, जसले आफ्नो विरोधीलाई समेत मिलाएर सँगै लैजानसक्छ । तर, साम्पाङ भने आफ्ना विरोधी र विपक्षीहरुसँग हातेमालो गर्न ज्यादै कञ्जुस्याइँ गरिरहेको देखिन्छ । एक स्वतन्त्र मेयरको लागि बाँकी सबै सदस्यहरु प्रतिपक्षी हुन् । उनीहरुलाई आफ्नो एजेन्डामा सहमत गराई सँगै लिएर जानु नै साम्पाङको मुख्य चुनौती हो ।

    सामाजिक सञ्जालको प्रयोगमा उनी दिनदिनै विवादित बन्दै गइरहेका छन् । पछिल्लो समयमा काठमाडौंका मेयर बालेन साहसँग चलेको फेसबुक जुहारीले सदनमा समेत चर्चा पायो ।

    साम्पाङको अर्को चुनौती भनेको दलीय व्यवस्था हो । राज्यको हरेक अंग दलीय व्यवस्थामा आधारित छ । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सुरक्षा निकायदेखि विभिन्न आयोग, नियोगसम्म दलीय राजनीतिबाट प्रभावितमात्र होइन निर्देशित हुने र संगठित हुने कानूनी व्यवस्था नै छ । एउटा उपमहानगरपालिकाको चौतर्फी विकासको लागि अथाह स्रोतसाधन आवश्यक पर्छ । ती स्रोतसाधन परिचालनको मुख्य चाबी दलहरुको हातमा छ ।

    प्रदेश सरकार, संघीय सरकार, अन्तर्राष्ट्रिय दातृ निकाय आदि सबै दलहरुको कब्जामा छन् । दलहरुले आफू तल परेर स्रोतसाधनको बाँडफाँट कदापी गर्दैनन् । तर, हर्क साम्पाङ भने दलहरुको अस्तित्वलाई सहजै स्वीकार्ने अवस्थामा छैनन् । दलीय व्यवस्थाले निर्दलीय साम्पाङलाई सजिलै काम गर्न दिने अवस्था छैन । सर्दु खोलामा गिटी कुटेर वा भानु चोकमा झाडु लगाएरमात्र धरानको समृद्धि सम्भव छैन । त्यसको लागि व्यापक स्रोतसाधनको मुहान पहिल्याउन आवश्यक छ ।

    उनले चुनावअघि भानु चोकमा उभिएर धराने जनतालाई सप्तकोसीको पानी खुवाउने वाचा गरेका थिए । पानी खुवाउन नसके आफू धरानमै नबस्ने घोषणा पनि गरेका थिए । सप्तकोसीको पानी धरानसम्म ल्याउन चाहिने स्रोतसाधनको लागि दलीय सरकारकै भर पर्नुपर्ने बाध्यता छ । तर, दल र दलगत राजनीति भन्नेबित्तिकै नाक खुम्चाइहाल्ने उनको प्रवृत्तिको कारण उनी समस्यामा पर्नसक्छन् ।

    अर्कोतर्फ साम्पाङको अत्यधिक सामाजिक सञ्जाल प्रयोग गर्ने बानीका कारण उनी आफैं कमजोरीको खाडल खन्दैछन् । उनी मेयर हुनुभन्दा पहिला लगभग १० वर्षदेखि अभियन्ताको रुपमा धरानमा गतिविधि गरिरहेका थिए । उनले आफ्ना गतिविधिहरु ‘हर्क साम्पाङ अ रिभोलुसन’ नामक फेसबुक पेजमार्फत सार्वजनिक गर्दै आइरहेका थिए । यो पेजमा अहिलेसम्म ४ लाख ३७ हजारभन्दा बढी फलोअर्स छन् । मेयर भइसकेपछि पनि उनले यही पेजमार्फत आफ्ना भनाइ र गतिविधिहरु सार्वजनिक गरिरहेका छन् ।

    हर्क साम्पाङ सफल होलान् या नहोलान् त्यो अहिले नै मूल्यांकन गर्ने समय होइन । तर, साम्पाङ नेपाली राजनीतिको पूरा ध्यान तान्न सफल भएका छन् । नेपाली नेताहरुको परम्परागत कार्यशैलीलाई भत्काउँदै उनले नेतृत्वको नयाँ आयाम देखाइदिएका छन् ।

    तर, छिनछिनमा आइरहने उनको स्टाटसहरु विरोधीहरुको लागि आलोचनाको मसला बनिरहेको छ । कुनै बेला त उनका स्टाटस एउटा सामान्य मान्छेले बोल्नेभन्दा पनि तल्लोस्तरमा गिरेर लेखिएका हुन्छन् । प्रायःजसो उनले आफ्ना विरोधीहरु लक्षित तिखो गालीका शब्दहरु लेख्छन् । कहिले आफ्नो विरोधीलाई ‘हा…थु….’ भनेर लेख्छन्, कहिले ‘तिमीहरु झारपात’ भनेर लेख्छन् । कहिले ‘तिमीहरुले मेरो विरोध गरेको मेरो पाद जति हो’ लेख्छन् । उनको यस्तो लेखाइमा आउने हजारौं लाइक, कमेन्ट र शेयरमा उनी रमाइरहेको जस्तो देखिन्छ । तर, उनका बौद्धिक समर्थकहरु भने उनलाई सम्झाउनमा हैरान देखिन्छन् ।

    सामाजिक सञ्जालको प्रयोगमा उनी दिनदिनै विवादित बन्दै गइरहेका छन् । पछिल्लो समयमा काठमाडौंका मेयर बालेन साहसँग चलेको फेसबुक जुहारीले सदनमा समेत चर्चा पायो । उनले बालेन साहलाई इंगित गर्दै ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन, मुख बजाउन छाडेर पाखुरा बजाउ नालायक हो’ भन्दै स्टाटस लेखेका थिए ।

    यतिमात्र होइन उनी फेसबुक लाइभमा आएर आफ्ना विरोधीहरुलाई सक्दो गाली पनि गर्छन् । दिनभरि जति जनासँग उनको वादविवाद हुन्छ, साँझमा उनीहरु साम्पाङको फेसबुक लाइभको शिकार भइहाल्छन् । उनले सञ्जालमा बोल्ने र लेख्ने भाषाले उनकै कतिपय समर्थकहरुको चित्त दुःखिरहेको छ । मेयर जस्तो व्यक्तिले प्रयोग गर्ने भाषा स्तरीय र सम्मानित हुनुपर्नेमा उनले ठीक विपरीत व्यवहार देखाउँदा बौद्धिक जमातहरु दिनदिनै उनीदेखि टाढा गइरहेका छन् ।

    हर्क साम्पाङ सफल होलान् या नहोलान् त्यो अहिले नै मूल्यांकन गर्ने समय होइन । तर, साम्पाङ नेपाली राजनीतिको पूरा ध्यान तान्न सफल भएका छन् । नेपाली नेताहरुको परम्परागत कार्यशैलीलाई भत्काउँदै उनले नेतृत्वको नयाँ आयाम देखाइदिएका छन् ।

  • किन बढ्दैछ आत्महत्या ?

    किन बढ्दैछ आत्महत्या ?

    २०७९ जेठ महिनाको पहिलो साता लहान नगरपालिका- ६ मा रहेको लहान मेरी चिल्ड्रेन एकेडेमीमा अध्ययन गर्ने १४ वर्षीय बालिकाको शव विद्यालयमै झुन्डिएको अवस्थामा फेला पर्‍यो । उनी कक्षा ७ मा अध्ययन गर्थिन् । उनका अभिभावक छैनन् । ती बालिकालाई अनाथ आश्रमबाट शैक्षिक जिम्मेवारी लिने भन्दै बिद्यालयका सञ्चालकले चार वर्ष अगाडिदेखि पढाउँदै आएका थिए ।

    बालिकाको मृत्यु रहस्यमय भएको टिप्पणी पनि भयो । तर, प्रहरीले आत्महत्या ठहर गर्‍यो । अहिले प्रहरीले आत्महत्या दुरुत्साहन गरेको भन्दै एक जनालाई पक्राउ गरेको छ । आश्रमबाट गएका अरु चार जना बालिका पनि त्यही स्कुलमा अध्ययन गर्छन् ।

    बढ्दो तथ्याङ्क

    सिरहामा आत्महत्याको दर बढेको छ । यो समस्या सिरहा र मधेस प्रदेशमा मात्रै नभई देशैभरि विकराल बन्दै गएको छ । यो समस्या प्रदेश १ पछि मधेसमा बढी छ । १२-१४ वर्षका बालबालिका, किशोरकिशोरी, युवा देखि ८०-८५ वर्षका ज्येष्ठ नागरिकले पनि आत्महत्या गरेका धेरै उदाहरण छन् ।

    सिरहामा आर्थिक वर्ष २०७६/०७७ मा १४६, २०७७/०७८ मा १३५ र २०७८/०७९ मा १८९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवास खतिवडाले जानकारी दिए । यी तीन वर्षको अवधिमा सिरहामा आत्महत्या दुरुत्साहनका ४ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।

    सिरहामा मात्रै होइन मधेस प्रदेशमा पनि ३ वर्षको अवधिमा आत्महत्याका घटना बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको वार्षिक रिपोर्टअनुसार आर्थिक वर्ष ०७६/७७ मा ८१३, २०७७/०७८ मा ९५९ र २०७८/०७९ मा १ हजार १८ जनाले आत्महत्या गरेका छन् ।

    त्यसैगरी प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २४१, २०७७/०७८ मा ७ हजार ११७ र २०७८/०७९ मा ६ हजार ७९२ जनाले आत्महत्या गरेको विकराल तथ्याङ्क छ । २०७८/०७९ को आत्महत्याको दरलाई मात्र हेर्ने हो भने नेपालमा अहिले दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क देखिन्छ ।

    के कारणले बढिरहेछ आत्महत्या ?

    बेरोजगारी, गरिबी, व्यापार बिजनेसमा हुने घाटा, वैदेशिक रोजगार र त्यसले पारेका पारिवारिक, आर्थिक, सामाजिक प्रभाव, लेनदेन, देशको राजनीतिक परिस्थिति, महिलामाथि हुने हिंसा, दाइजो, तिलकको भार, व्यस्त जीवनशैली र एक्लोपन, पारिवारिक कलह, बलात्कार तथा यौन हिंसा, प्रेमविवाह परिवारले स्वीकार नगर्नु, मादकपदार्थ सेवन गर्ने, कुलत, सामाजिक सन्जालको बढ्दो प्रयोग, मोबाइल स्पोर्टस-अनलाइन गेमको लत जस्ता कारणले आत्महत्याको दर बढाएको छ ।

    अर्कोतिर समाजका विभिन्न पक्षले दुरुत्साहन गरेका कारण पनि आत्महत्या गर्ने गरेको पाइएको छ । सिरहामा तीन वर्षको अवधिमा ४७० जनाले आत्महत्या गर्दा दुरुत्साहनका ४ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

    दुरुत्साहन र कानुनी व्यवस्था

    मुलुकी अपराध संहिता २०७४ ले आत्महत्या दुरुत्साहन गर्ने, आत्महत्या गर्ने परिस्थितिसम्म पुर्‍याउने काम दण्डनीय हुने उल्लेख छ । संहिताको उपदफा २ मा आत्महत्याको दुरुत्साहन गर्नेलाई पाँच वर्ष कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

    दाइजो, तिलक, बाल विवाह र आत्महत्याको सम्बन्ध

    मधेस प्रदेशमा दाइजो, बाल विवाह जस्तै अन्य हानिकारक परम्पराले पनि आत्महत्याका घटना बढाएकोे ओरेक नेपाल सिरहा परियोजना संयोजक शर्मिला निरौला बताउँछिन् ।

    जति उमेर र शिक्षा बढ्दै जान्छ, त्यति नै दाइजो बढी दिनुपर्ने भएर सानैमा विवाह गरिदिने प्रचलन मधेसमा व्याप्त छ । माग गरे जति दाइजो दिनुपर्ने र नदिए विवाहपछि महिलामाथि शारीरिक र मानसिक हिंसा गर्ने, दाइजो चुक्ता गर्न नसकेका कारण धेरैजनाको हत्यासमेत हुने गरेको छ ।

    सानै उमेरमा विवाह गरिदिए दहेज-दाइजो कम लाग्ने भन्दै शारीरिक र मानसिक रुपमा परिपक्व नभई विवाह गरिदिएका कारण पनि किशोरीले आत्महत्या गर्ने गरेका छन् ।

    सानै उमेरमा विवाह गर्दा घर कसरी चलाउने, के काम गर्ने, परिवारमा कस्तो व्यवहार गर्ने भन्ने जानकारी नै हुँदैन । श्रीमान् बाहिर कमाउन जाने र त्यो अवस्थामा परिवारले सकारात्मक व्यवहार नगर्ने कारण पनि आत्महत्याका घटना धेरै हुने गरेको निरौलाको ठम्याइ छ ।

    परिवारभित्रै हुने यौन हिंसा, घरेलु हिंसा, दाइजो नल्याएको भनेर यातना दिने जस्ता व्यवहारको शिकार हुन पुग्दा उनीहरु अगाडिको बाटो देख्दैनन् र आत्महत्याको बाटो रोज्ने गरेका थुप्रै उदाहरण रहेको उनले बताइन् । महिलामाथि हुने यौन हिंसा बलात्कार जस्ता घटना पञ्चायतबाट मिलाइने कारणले पनि मधेसका धेरै किशोरी र महिलाहरुले आत्महत्या गरिरहेका छन् ।

    अभियानका बाबजुद उकालो ग्राफ

    आत्महत्या न्यूनीकरणका लागि प्रहरीले विभिन्न अभियान चलाउँदै आएको छ । ‘प्रहरी मेरो साथी’ समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतना अभियान पनि चलाइएको छ । सामाजिक संघसंस्थाहरुले पनि समाजमा विभिन्न काम गरिरहेका छन् । तर, आत्महत्यादर घट्नुको साटो बढिरहेको छ ।

    प्रहरी अभियानमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसा, आत्महत्या न्यूनीकरणका जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी नायब उपरीक्षक सुवास खतिवडाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्र्रमअन्तर्गत ६३३ वटा सचेतनामूलक कार्यक्रम समुदायस्तरमा भएका छन् । ती कार्यक्रममा ६९ हजार नागरिक तथा विद्यार्थी सहभागी भएको उनले बताए । त्यसैगरी सामाजिक संघसंस्थाहरुको कार्यक्रमहरुमा जाँदा समेत आत्महत्यासम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गर्ने गरेको खतिवडाले जानकारी गराए ।

    त्यसैगरी प्रहरीले सडक नाटक, रेडियो सन्देश, अन्तरक्रिया जस्ता सचेतनामूलक कार्यक्रमहरु अभियानकै रुपमा सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

    आत्महत्या न्यूनीकरणका लागि सामाजिक संघसंस्थाहरुले काम गरिरहेका छन् । ओरेक नेपाल, मुक्ति नेपाललगायतका संघसंस्थाले पनि मानसिक तनाव र हिंसामा परेकाहरुलाई मनो-सामाजिक परामर्श प्रदान गर्दै आएका छन् । विभिन्न घरेलु हिंसा अथवा अन्य हिंसा पीडित महिलाहरुलाई पनि मनो-सामाजिक परामर्श प्रदान गरिरहेको मुक्ति नेपाल सरहाका अध्यक्ष श्याम शाहले बताए ।

    आरेक नेपाल सिरहाकी संयोजक निरौला मनो-सामाजिक परामर्शका कारण धेरै महिलाहरुको जीबन बचाएको बताउँछिन् । दुःखसुख सबैको जीवनमा आइपर्छ । दुःख परेकोबेला तिमी एक्लै छैनाैं। हामी तिम्रो पछाडि छौं भनेर आँट, हौसला, हिम्मत दिन सक्यो भने आत्महत्याका घटना कम हुने निरौलाको अनुभव छ ।

    ‘दुःख पर्दा आतिने, निराश हुने जिन्दगी नै सकियो भनेर बसेकाहरुलाई दुःखसुख नै जीवन हो । संघर्ष गर्नुपर्छ । जीवनमा ममाथि आइपरेको दुख अनुभव गरें । यसबाट बाहिर आएपछि मेरो जीवन फेरि सामान्य हुनेछ भन्ने कुरा पीडामा परेकाहरुलाई बुझाउन सकियो भने थुप्रै जीबन बचाउन सकिन्छ’, उनले भनिन् ।

    न्यूनीकरण कसरी गर्ने ?

    मानिसले आफ्नो अगाडि आउने विभिन्न परिस्थितिको सामना गर्न सकेन भने आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ । अहिले सामाजिक अभियानहरु पनि विशेषगरी सचेतना, शिक्षा, स्वास्थ्य र जिविकोपार्जनमा केन्द्रित भएका छन् । तर, मानसिक स्वास्थ्यबारे अभियान चलाउने र मानसिक रुपमा कमजोर भएका नागरिकहरुलाई समय-समयमा मनो-सामाजिक परामर्श दिनसके धेरैको जीवन बचाउन सकिने निरौला बताउँछिन् ।

  • हजार प्रति पुस्तक छापेर बाँड्दै हिँड्नु चाहिँ साहित्यिक ओज हो र ?

    हजार प्रति पुस्तक छापेर बाँड्दै हिँड्नु चाहिँ साहित्यिक ओज हो र ?

    काठमाडौं । ‘लेखनमा करियर’ ! साहित्यिक वृत्तमा यो चर्चित विषय हुँदै हो । सँगै नेपाली मिडियाका लागि पनि प्रायः खुराकको रुपमा आइरहने शब्द । ‘लेखनमा करियर’ एंगल दियो, दुईचार लेखक-प्रकाशकको बाइट लियो, बेस्ट सेलिङ भनिएका पुस्तकहरुको विवरण थप गर्‍यो । यत्ति भए रिपोर्टिङका लागि सरदरको कोरम पुगी गो !

    पंक्तिकार स्वयंले झण्डै आधा दर्जन हाराहारीको संख्यामा रिपोर्टिङ भ्याइसकेको छ । रिपोर्टिङका लागि रिपोर्टिङ गरिएका त्यस्ता शब्दका थुप्रोहरु उस्तो प्रभावकारी भएको अनुभूत चाहिँ भएको छैन । तर पनि लेखनमा करियर छ !

    बुद्धिसागर, सुविन भट्टराई, राजन मुकारुङ, उपेन्द्र सुब्बा, कुमार नगरकोटी, अमर न्यौपानेले लेखेरै जीवन-जीविका चलाइरहेकै छन् । न्यूनत्तम १० हजार कपी पुस्तकलाई आधार मान्ने हो भने पनि पाँच-सात लाखको रोयल्टी बुझेकै छन् । सँगै अग्रीम भुक्तानी पनि लिइरहेकै छन् । तर, करियर छ भन्दैमा ‘लेखनदास शैली’मा अनेकानेक ढड्डा लेखिरहेका लेखकहरुमाथि निर्मम समीक्षा बाँकी नै होला !

    रहरपहरमा लेखिएका पुस्तकहरुलाई एक कुनामा थन्काएर बाँकी लेखकका पुस्तकलाई हेर्ने हो भने लेखनमा करियर त छ । करियर नै देखेर लेखनमा आइपुगेका एक लेखक हुन्, सुरेश बडाल । पहिलो कथा संग्रह ‘रहर’ ल्याएर पाठकबाट ‘वार्म वेलकम’ पाएका बडालको नयाँ उपन्यास आउँदैछ, ‘मायाका मसिना अक्षर’ ।

    विशेषतः युवा पुस्ताको सम्बन्ध, प्रेम, मनोविज्ञानमाथि बडालले लेखेका कथाहरु खुबै रुचाइए । अहिले उपन्यासमा पनि आफ्नै दौंतारीहरुको कथालाई पस्किने प्रयास गरेका छन् । तर, कथा संग्रहभन्दा थोरै फरक, शिल्प र शैलीका हिसाबले उपन्यासमा चाहिँ थोरबहुत इम्प्रुभमेन्ट भएको बताउँछन् उपन्यासकार ।

    नयाँ उपन्यासलाई प्रेमकै पात्र वरिपरि घुमाएका छन् बडालले । तर, ठ्याक्कै प्रेमकथा भनिहाल्दैनन् । भन्छन्, ‘प्रेमको कथाभन्दा पनि प्रेम बुझाउने कथा भन्छु म । अहिलेको समयको कथा लेखेको हो । कतिपय लेखकले सस्तो विषय भनेर लेख्ने आँट गर्दैनन् । कतिपयलाई यो समयसँग त्यति धेरै तादात्म्य पनि छैन । तर, म यो पुस्ताको भएर कथा लेख्न सक्छु भन्ने लागेर लेखेको हुँ ।’

    प्रेम त बुझाउने भन्दा पनि मान्छेको वैयक्तिक बुझाइ होइन र ?

    ‘जस्तो मैले कथा भन्छु, मेरो दृष्टिकोणबाट भन्छु । मेरो कथामा पात्रहरुको प्रेम हुन्छ ।’

    बडाललाई लाग्छ, यहाँ प्रेमलाई मान्छेहरुले एकदमै हल्का रुपमा लिए । चिप कन्टेन्ट बनाएर बुझ्छन् । प्रेम त बुढाबुढीको हुन्छ, पशुसँगको हुन्छ, ईश्वरसँगको हुन्छ । तर, जब युवाको कथा लेखिन्छ, त्यहाँ युवाकै भाषा चाहियो । उसकै गतिविधि र पात्र चाहियो ।

    अहिलेको समाजमा मान्छेले धेरै थोक देख्छ । तर, उसले तत्काल अपेक्षा गरेको पाउँदैन । त्यसैले सम्बन्धमा धोका, ढाँट्ने, छल्ने र अप्ठ्यारा आउँछन् ।

    ‘युवाको कथामा बेरोजगारी, फ्रस्टेसन आउँछन् । प्रेम पनि आउँछ । तर, प्रेमलाई केन्द्रमा राखियो भने मिठास आउँछ’, बडाल भन्छन्, ‘अहिले बुढाहरुले देश चलाइरहेका छन् । युवाले चुनौती दिन्छु भन्छन् । तर, यहाँ बालेनलाई नै स्वीकार्न गाह्रो छ । उनीहरु झिँजो मान्छन्, युवालाई अन्डरस्टिमेट गर्छन् । र त साहित्यमा युवालाई निषेध गरिन्छ ।’

    भनिन्छ, युवा भनेको चेतना र विचारमाथिको परिपक्वताले हुन्छ ।

    यसको तात्पर्य युवालाई साइड लगाउन ग्रान्ट खोजेको बताउँछन् बडाल । थप्छन्, ‘४५/५० पुग्दा पनि उसले पाउने सफलता पाएन भने विचार पनि युवा हुनुपर्छ भन्छन् । अहिलेको डिजिटल युगलाई दैनिक उपयोग गर्न राम्रोसँग जान्दैन । ढंगले फोटो हाल्न सक्दैन । म्यासेन्जरमा जताततै कल गर्दिन्छ । टिकटकसम्म बनाउन जान्दैन । युवा भनेको त सक्रियताले, दैनिक प्रस्तुतिले हुने हो ।’

    युवालाई लिएर प्रेमको कथा पस्किन लागेका बडालले उपन्यासमा मीठा कथा भन्न खोजेका छन् । सँगै विषाक्त बनेका कथाहरुलाई भन्न खोजेका छन् । जे चिजलाई अहिलेका युवाले प्रेम भनिरहेका छन्, त्यो होइन भन्न पनि खोजेका छन् ।

    बडाल भन्न चाहन्छन्, सबैको भावना हुन्छ । सँगै जिउन नसकिने अवस्था भए साथीको रुपमा भावनात्मक सम्बन्ध अगाडि बढाउन सकिएला नि ! तर, लाइन क्रस गरेर कसैको भावनामाथि खेलवाड गर्नु, आफ्नो स्वार्थपूर्ति गर्नु गलत हो ।

    – सम्बन्धहरु किन यसरी विषाक्त बनिरहेका छन् ?

    बडाल भन्छन्, ‘संसार साँघुरो छ । हिजोको मान्छेले जति दुनियाँ देख्थ्यो, त्योभन्दा बढी देख्छ । त्यहीअनुसार महत्वाकांक्षा बढ्छ । चाहना बढ्छ । कोहीसँग सम्बन्धमा खटपट हुँदा त्योभन्दा बेटर लगत्तै खोज्छ । हिजोको समयमा त्यस्तो थिएन । चेतना, प्रविधि थिएन । साँघुरो समाज थियो । अहिलेको समाजमा मान्छेले धेरै थोक देख्छ । तर, उसले तत्काल अपेक्षा गरेको पाउँदैन । त्यसैले सम्बन्धमा धोका, ढाँट्ने, छल्ने र अप्ठ्यारा आउँछन् ।’

    – अरुलाई प्रेम बुझाउन पुस्तक लेख्नुभयो । तर, आफ्नै प्रेम चाहिँ कस्तो छ ?

    म केही सम्बन्धमा रहेँ । तर, मैले उपन्यासमा लेखेजस्तो चाहिँ भएको होइन, मेरो फरक हो । मेरो सम्बन्धको आधारभूत चरणमा के थाहा भयो भने त्यो प्रेम होइन । मसँग जोडिएको मान्छे र म दुवैलाई जबरजस्ती प्रेम गर्नु गाह्रो कुरा हो । यो निरन्तर भयो भने यसले पछि दुःखाउन सक्छ । यदि हामी आ-आफ्नो बाटो लाग्यौं भने पछुतो हुँदैन ।

    मैले अर्को मान्छेलाई बुझाउन सकेँ । यदि मैले बुझाउन नसकेको भए, टक्सिक रिलेसनलाई लिएर गएको भए अर्कै अवस्था हुन्थ्यो । म छुट्टिए पनि उसको माया लागेर आयो । उसँग छुट्नु नै मेरो प्रेम हो ।

    – पाठकलाई प्रेम बुझाउने मान्छे तपाईं त ! आफ्नो सम्बन्धलाई पनि रिफ्रेस बनाउँदै लैजान सक्नुहुन्थ्यो होला नि !

    संसारमा चप्पलको त उस्तै साइजको अर्को जोडा हुन्छ । उसको पृष्ठभूमि फरक होला, चाहना र सपना फरक होलान् । हामी संयोगले भेटियौं । जरुरी छैन नि सँगै जानु ! गन्तव्य अर्कै थियो होला । ऊ जानु अन्तै थियो होला । जब हामी फरक छौं भन्ने चिज सुरुको पाइला चाल्नेवेला थाहा हुन्छ, जहाँबाट हात समाएर हिँड्ने वेला थाहा हुन्छ, त्यसपछि सँगै हिँड्नु हुँदैन ।

    हरेक मान्छेसँग हरेक मान्छेको सम्बन्ध बन्दैन । मान्छेहरु फरक फरक बाटो हिँड्छन् । प्रेम भनेको जिन्दगी बिताउने मान्छेसँग मात्रै गर्न सकिन्छ ।

    – वेलावेला नेपालका वामपन्थीहरु प्रेममाथि बहसमा उत्रिएका देखिन्छन् । मार्क्सवादको एंगलबाट हेरिरहेका भेटिन्छन् । प्रेमलाई सिद्धान्तको चस्मा कति आवश्यक हो ?

    त्यसरी हेर्न नपर्ने हो । जब वादको चस्मा लगाएर हेर्छ, त्यो मान्छे विरोधाभाषमा बाँच्छ । यदि मार्क्सवादी कोणबाट हेर्ने हो भने विवाह संस्थामा वर्ग छ । यदि त्यसरी कसैले हेर्छ भने त्यो मान्छे फस्छ । वैवाहिक संस्था त प्रेमको गलत प्रयोग हो । मान्छेलाई प्रकृतिको सामान्य कम्पोनेन्ट मानेर हेर्ने हो भने त्यहाँ विवाह संस्था, हिंसा, विवाहेत्तर सम्बन्ध आउँछन् । यी सब चिज त समाजले बनाएका हुन् । त्योभन्दा पृथक हो प्रेम भनेको ।

    – तर, प्रेममा वर्ग हुन्छ नि ?

    प्रेममा वर्ग हुन्छ । मेरै किताबमा पनि कतै न कतै बहस हुन्छ । प्रेममात्रै हुँदा प्रेम सम्भव छ । तर, जब त्यसलाई सामाजिक स्वीकारोक्तिसहितको अवस्था बनाउनतिर लागियो भने प्रेम ध्वस्त भएर जान्छ । यहाँ त प्रेममा जात पनि हुन्छ । रुकुम घटनामा प्रेममात्रै भएको भए त्यो घटना नै हुँदैन थियो । हाम्रो बाध्यता के हुन्छ भने प्रेमलाई सामाजिक स्वीकारोक्तिमा लानुपर्ने हुन्छ । त्यहाँ जात र वर्ग बाधक भइदिन्छ ।

    – मार्क्सवादीहरुले त विवाहेत्तर सम्बन्धलाई पनि इन्कार गरिदिन्छन् । तर, गाइँगुइँ त विवाहेत्तर सम्बन्धकै चलिरहेको हुन्छ नि ?

    त्यो अवधारणाले विवाहलाई मान्दैन । जोइपोइ भनेर बस्दैनन् । तर, विरोधाभास छन् । यही समाजमा कार्य-व्यवहार धानेर बसेका छन् । तर, सिद्धान्त जड बोक्नु परेको छ भने त्यस्तो आइहाल्छ । तर, यो विषयलाई कसरी सामान्यीकरण गर्न सकियो भने ‘हामी माक्र्सवादी हौं, प्रेम जतिसँग पनि हुनसक्छ ।’ यहाँ विवाह एकजनासँग हुन्छ । तर, प्रेम अरुसँग पनि हुनसक्छ भनेर आफूलाई ढाकछेप गर्ने सुविधा उनीहरुलाई नै छ । हामीलाई चाहिँ छैन ।

    प्रेममात्रै हुँदा प्रेम सम्भव छ । तर, जब त्यसलाई सामाजिक स्वीकारोक्तिसहितको अवस्था बनाउनतिर लागियो भने प्रेम ध्वस्त भएर जान्छ । यहाँ त प्रेममा जात पनि हुन्छ ।

    समाजमा बस्ने हो भने अनुशासन चाहिन्छ, हुन्छ । अनुशासन मानिएन भने फाल्तु भइन्छ । मलाई पनि असामाजिक हुन कत्ति मनपर्छ । दुईतीन जनासँग प्रेम हुन्छ कि हुँदैन भनेर पुस्तकमा पनि लखेको छु । हिजोका दिनमा चेतना हुँदा पनि सम्बन्ध थियो मान्छेको । पछि समाज आयो, मर्यादा आयो, इज्जत आयो । यो सबै मान्छेले बनाए, यी सबै चिजमा बाँच्ने हो मान्छे । मैले भन्ने गरेको छु, मान्छेहरु नांगिन त्यतिवेला सुरु गरे, जब लुगा लगाउन थाले ।

    – संसारभर असफल प्रेमहरुलाई आदर्श मानिएको छ । सफल प्रेम नभएका त छैनन् होला नि ?

    सफल प्रेमलाई पनि आदर्शीकरण गरिएका छन् । तर, त्यो एउटा फेजबाट टुंगिन्छ । सफल भयो, टुंगियो । कथामा त हामीलाई भावनात्मक उद्वेलन चाहिन्छ । ट्राजेडी भएर खिन्नताको विन्दुमा गएको कथाले जिन्दगीभर सम्झना दिन्छ ।

    रुकुमको घटनाले मान्छेको दिल दुःखायो । तर, कति ठाउँमा अन्तरजातीय विवाह सुन्दर ढंगले भएका छन् । त्यो कथा भोलिबाट सकिन्छ । त्यसले लामो समयसम्म हन्ट गर्दैन, नाइटमेयर दिँदैन । तर, रिक्तताले मान्छेलाई पछिसम्म पिरोल्छ । त्यसैले होला कि !

    – प्रेमकै कथा लेख्दा पनि समाज, राजनीति आउनुपर्छ भनिन्छ । यी चिज आएन भने प्रेम हल्का हुन्छ भनेर भन्छन् । तपाईंलाई कस्तो लाग्छ ?

    कुरा ठीक हो । कुनै व्यक्ति समाजले बनाएको हुन्छ । उसको दृष्टिकोण धरातलले बनाउँछ । मैले किताबमा मान्छेको मानसिक अवस्थामात्रै लेखेको छु । कोही मानसिक रुपमा दोसाँधमा उभिँदा कुन निर्णय गर्छ, कस्तो अवस्थामा छ ।

    हामी आजभोलि प्रेममात्रै डिफाइन गर्नलाई प्रेमबारे लेखिरहेका छैनौं । प्रेमलाई समाजले कसरी बुझिरहेको छ, गलत बुझाइले के निम्त्याएको छ भनेर लेखिरहेका छौं । तँलाई मार्छु, म पनि मर्छु भन्ने अवस्थामा किन पुगेका छन् । धेरै विरोधाभाष छ । उसको आचरणले अरुलाई तनाव दिएको छ । कसैले भ्रम फैलाइदिएको होला ! उसको महत्वाकांक्षाले अर्कोतिर आकर्षित भयो होला । यस्ता चिजहरु लेख्नुपर्ने भएकाले मेरो प्रयास पनि त्यही हो ।

    – किशोरकिशोरीले गर्ने प्रेमका कथाको कुरा गर्दा प्रकाश कोविद, युधिर थापा शीर्ष स्थानमा आउँछन् । ती लेखकहरुले नितान्त व्यक्तिगत प्रेम सम्बन्धमाथि कलम चलाए । तर, उनीहरुलाई साहित्यिक वृत्तमा एकदमै हल्का रुपमा लिइन्छ । यस्तो किन भएको हो ?

    ती लेखकको लेखकीय शैली वा कन्टेन्टमाथि बहस भएको मान्दिनँ । कुरा विशुद्ध व्यापारको हो । उनीहरुका पुस्तक व्यवसायिक रुपमा सफल पुस्तक हुन् । हरेक पुस्तालाई पुस्तक पढाउन बाध्य बनाउने लेखकहरु हो थापा, कोविद । असल पाठक बनाउने नर्सरी हो । तर, उनीहरुलाई जसरी प्रश्न गरिन्छ, त्यो सर्टेन कुण्ठाहरु हुन् ।

    कोही लेखकले जुन पुस्ताको कथा लेख्दैछ, त्यही पुस्ताको बोलीचालीमा लेख्ने हो । भारी, गम्भीर र दार्शनिक शब्द राखेर टीनएजरको कथा लेख्दा राम्रोसँग सम्प्रेषण नहुन सक्ला । उनीहरुको शैली सरल भयो होला । तर, लेखक नै नमान्ने भन्ने त हुँदैन नि !

    – व्यवसायिक रुपमा सफल हुनुमात्रै लेखकीय ओज हो र ?

    अनि हजार प्रति पुस्तक छापेर बाँड्दै हिँड्नु चाहिँ ओज हो र ? अहिलेको कर्पोरेट दुनियाँमा सामाचार पनि रुचिपूर्ण तवरले लेख्नुपर्छ । आफ्नो विचारलाई कुन तरीकाले भन्दा सफल भइन्छ, त्यसरी भन्नुपर्छ ।

    कति हजार र लाख जना पाठकसम्म पुस्तक पुग्यो भन्नेले अर्थ राख्छ । जति वजनदार साहित्य भयो, त्यति मान्छेले किनेर पढ्ने हो । त्यो चिजलाई अन्डरस्टिमेड गर्न सकिन्छ र ?

  • गठबन्धनको सत्तास्वार्थ र एमालेका चुनौती

    गठबन्धनको सत्तास्वार्थ र एमालेका चुनौती

    अहिले देशको राजनीति प्रस्ट दुई ध्रुवमा ध्रुवीकृत छ । एकातिर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ भने अर्कोतिर ७–८ दलीय सत्ता गठबन्धन । सत्ता गठबन्धनमा आबद्ध दलबीच न राजनीतिक, सैद्धान्तिक कुरा मिल्न मिल्छ न रणनीति नै । उनीहरुबीच एक मात्र स्वार्थ मिल्छ– त्यो भनेको सत्तास्वार्थ हो ।

    निर्वाचनपछि पनि सत्ताको चाबी छाड्न चाहँदैनन्, गठबन्धनमा आबद्ध दलहरू । त्यसैले अहिले चुनावमा सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल नै बनाएको छ । र, कार्यदलले भागबण्डा मिलाउने प्रयास गरिरहेको छ । यसलाई भन्छन्– माछा समात्न जाल फ्याँक्दा भ्यागुतो आए पनि आखिर नदीमा बस्ने चिज नै त हो भनेर तरकारी मान्ने ।

    हाल सरकारमा भएका दलहरू अरू काम छाडेर आगामी निर्वाचनमा मात्र केन्द्रित भएको जस्तो देखिन्छ । नेपाली कांग्रेस चुनावपछि पनि सत्ताको नेतृत्व कसरी गर्ने भन्ने सोचिरहेको छ । गठबन्धनको नाममा फेरि पाँच वर्ष सत्ता आफ्नै पोल्टामा पार्न कांग्रेसले अनेक तिकडम अपनाइरहेको छ ।

    गठबन्धनभित्र रहेका सबै राजनीति दलहरू बढी सिट कसरी लिने भन्ने ध्याउन्नमा देखिन्छन् । सिट बाँडफाँटमा नै अहिलेको गठबन्धनभित्र रहेका दलहरूले एक अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने स्थिति देखिन्छ ।

    कांग्रेसले आफू ठुलो दल भएको हैसियतले स्वाभाविक धेरै सिट चाहन्छ । तर माओवादी पनि के कम ! हिजो नेकपा एमालेको बुई चढेर प्रतिनिधिसभाको तेस्रो ठूलो दलको हैसियत र अहिले सरकारको काँध थामेको हिसाबले सकेसम्म अधिकतम सिट लिने ध्यानमा छ ।

    यी दुई दलबाहेक एकीकृत समाजवादी र मधेसका दल पनि सकेसम्म धेरै सिटका लागि बार्गेनिङ गरिरहेका छन् ।

    सिट बाँडफाँटका विषयमा कसरी सहमति जुट्छ ? त्यो त हेर्न बाँकी छ । तर निर्वाचनपछि सरकारको नेतृत्व गर्ने, सरकार सञ्चालन गर्ने कुरा बढी महत्त्वको भएकोले अहिले सिट बाँड्दा नै बढी लिनुपर्छ भन्ने कुरामा माओवादी सचेत छ । माओवादी सचेत हुनु स्वाभाविक पनि हो । उसलाई लाग्दो हो– कति अर्काको पछि लागेर सरकारको पुच्छर मात्रै हुने ? तर कांग्रेस अहिले जितेको स्थानीय तहलाई आधार बनाएर भए पनि आफू बढी सिट लिने कुरामा प्रस्ट छ ।

    हिजो एमालेसँग निर्वाचनमा तालमेल गर्दा जसरी माओवादीले फाइदा लिएर धोका दियो, कांग्रेसलाई पनि त्यस्तै हुन्छ कि भनेर कांग्रेस सचेत होला । माओवादीलाई जसरी नेकपा एमालेले काँध थापेर यहाँसम्म ल्यायो, त्यसरी नै काँध अरूले थाप्ने स्थिति छैन ।

    हिजो माओवादीले जसरी नेकपा एमालेसँग फाइदा लिएर पछि एमालेको काँधमा बन्चरो हान्यो, अब कांग्रेसलगायतका पार्टीहरुसँगको चुनावी तालमेलमा त्यस्तो नहुन सक्छ । त्यसैले माओवादी अवसरका लागि विचार नमिल्दासँग चुनावी तालमेल गर्दै छ । त्योभन्दा बढी बठ्याइँ कांग्रेसले गर्दै छ । जसले सम्पूर्ण सिटमध्ये ६० प्रतिशतको दाबी गरेको छ । यसलाई हेर्दा संघमा कांग्रेसको भागमा १६५ सिटमध्ये ९९ सिट, प्रदेशमा ६० प्रतिशत भन्दा १ सय ९८ सिटको लागी कांग्रेसले गठबन्धनलाई विकल्प मानेको छ । जुन अवसरले पाँच वर्ष सरकार सञ्चालनमा कांग्रेसको महत्त्वपूर्ण भूमिका रहन्छ । माओवादी, समाजवादीलगायतका पार्टीहरू पुनः कांग्रेसको पुच्छर मात्रै हुने सम्भावना छ । अवसरका लागि विचारभन्दा फरक पार्टीसँग घाँटी जोड्नेहरूको आखिरमा बेहाल नै हुने देखिन्छ ।

    गठबन्धनकर्ताहरूको अहिलेको योजना हेर्दा लाग्छ– निर्वाचनबाहेक अरू योजना नबनाउने र नागरिकलाई न्याय र विकासको आभास गर्न नदिने खालको छ । गठबन्धन गर्ने, निर्वाचनमा जित हासिल गर्ने, बढी सिट ल्याउने र सरकारमा पाँच वर्ष मस्ती गर्ने योजना नै अहिलेको गठबन्धनको पहिलो प्राथमिकतामा देखिन्छ ।

    कांग्रेस केही वर्ष सरकार बाहिर बस्यो । हिजो सरकारमा हुँदा जे सुख सुविधा भोग गरेको थियो, सरकार बाहिर रहँदा त्यो अवस्था रहेन । देशको ढुकुटी रित्याउन पाएन, आज त्यसको खोजीमा छ । त्यसैले जसरी हुन्छ बढी सिट प्राप्त गर्ने र पुनः सरकारको नेतृत्व हत्याउने सुरमा छ कांग्रेस ।

    यता माओवादी अर्काको खुट्टामा उभिएर भए पनि केही सिट प्राप्त गर्ने र सरकारमा जाने कोसिसमा देखिन्छ । समाजवादी आफू एउटा टुक्रा किन नहोस् एमालेलाई देखाउन भए पनि गठबन्धनमा सामेल छ । मधेसी दलहरू पनि आफ्नो स्वार्थका लागि गठबन्धनमा सामेल हुन्छन् नै ।

    स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारले जितेका ठाउँमा नागरिकले सास्ती भोगिरहेका छन् । मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा नागरिकले यो गठबन्धनलाई विश्वास गरेर मत दिन्छन् वा दिँदैनन् भोलिको कुरा हो । तर गठबन्धनले उठाउने उम्मेदवारको हर्कत गतिलो नहुने निश्चित छ ।

    गठबन्धनसँग कुनै गतिलो, नवीन एजेण्डा नै छैन । त्यसैले मतदाताले विचार गरेर मात्रै मतदान गर्नुपर्दछ– स्वार्थका लागि गठबन्धन गर्नेलाई रोज्ने कि देशको हितमा काम गर्नेलाई भनेर ।

    शक्तिशालीहरू अहिले पनि एक्लै निर्वाचनमा जान तम्तयार छन् । जो कमजोर छन्– उनीहरूलाई गठबन्धन नगरी जनताले मत दिन्छन् भन्नेमा विश्वास छैन । र उनीहरू एक्लै चुनाव लड्ने हिम्मत नै गर्दैनन् । विकासका योजनाभन्दा पनि पैसाको भारी बोकेर मतदाता प्रभाव पार्ने खतरा पनि उतिकै छ । त्यसैले आउँदै गरेको निर्वाचनमा खास चनाखो बन्न आवश्यक छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गठबन्धनविरुद्ध एक्लै चुनाव लड्दैछ । अहिले नेकपा एमाले कम सिट जित्न तयार छ तर राष्ट्रिय हितको विपक्षमा जान कदापि तयार छैन । त्यसैले राष्ट्रिय आवश्यकता बुझेर सबैले विवेकपूर्ण मतदान गर्न आवश्यक छ ।