Category: विश्व प्रेस

  • खतरनाक आँधी फ्लोरिडा पस्दै:  घर छोड्न अमेरिकी राष्ट्रपतिको अपिल, मानिसहरु भागाभाग

    खतरनाक आँधी फ्लोरिडा पस्दै: घर छोड्न अमेरिकी राष्ट्रपतिको अपिल, मानिसहरु भागाभाग

    काठमाडौं । भीषण आँधीको त्राशले अमेरिकाको फ्लोरिडा राज्य अस्तव्यस्त बनेको छ । मानिसहरु आँधीबाट बच्न भागाभाग गरिरहेका छन् ।
    हेलेन नामक आँधीले हिर्काएको दुई हप्ता नबित्दै अर्को आँधीले फ्लोरिडालाई अत्याएको हो ।

    ‘मिल्टन’ नाम दिइएको यो आँधीलाई अहिले क्याटेगोरी ५ मा राखिएको छ, जहाँ हावाको बेग १६५ माइल प्रतिघन्टासम्म हुन्छ । बुधबार राति आँधी उत्कर्षमा पुग्ने अधिकारीहरुले बताएका छन् ।

    राष्ट्रपति जोइ बाइडेनले मंगलबार फ्लोरिडाका मानिसहरुले उनीहरुको जीवन मरणको अवस्था रहेको भन्दै घर छोड्न चेतावनी दिएका थिए । उक्त चेतावनीलगत्तै फ्लोरिडाका मानिसहरु कुम्लो कुटुरो बोकेर सुरक्षित स्थानतर्फ लागिरहेका छन् । राज्यले समेत मानिसहरुलाई भगाउन सहयोग गरिरहेको छ । यसअघिका आँधीमा यस्तो भागाभाग भएको थिएन ।

    गभर्नर रोन डेसान्टिसले मंगलबार एक सम्बोधन गर्दै आँधीबाट जोगिन भागेकाहरुका लागि शहरबाहिर दर्जनौं सेल्टरहरु बनाइएको जानकारी दिए ।

    शहरमा इन्धनको समेत अभाव सुरु भएको छ । पेट्रोल स्टेसनहरुमा लामा लामा लाइनहरु छन् । केही पेट्रो स्टेसन बन्द भइसकेका छन् ।


    ह्वाइट हाउसबाट मंगलबार सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यो आँधी शताब्दीकै ठूलो हुन सक्ने चेतावनी दिए ।
    ‘तुरुन्तै आफ्नो बासस्थान छोडिहाल्नुस,’ उनले फ्लोरिडावासीलाई भने ।

    आँधीको सामनामा जुट्नुपर्ने भएकाले ह्वाइट हाउसले बाइडेनको आसन्न जर्मनी र एंगोलाको भ्रमणसमेत रद्द गरेको छ । करिब दुई हप्ता अगाडिको हेलेन आँधीमा २२५ जनाको ज्यान गएको थियो भने सयौं हराइरहेका छन् ।

    नेसनल हुरेकेन सेन्टरले हेलेनभन्दा मिल्टन आँधी भयानक हुन सक्ने जनाएको छ । हेलिन आँधीले सडकमा थुपारेका वस्तुहरु मिल्टनले हावामा उडाउन सक्ने र मानिसहरुलाई चोटपट लाग्न सक्ने सेन्टरको चेतावनी छ ।

    आँधीहरुलाई हावाको बेगका आधारमा वर्गीकरण गरिन्छ । क्याटेगोरी ३ र त्योभन्दा माथिका आँधीहरु गम्भीर र खतरनाक प्रकृतिका मानिन्छ । तिनीहरुले ठूलो जनधनको क्षति गर्न सक्ने नेसनल वेदर सर्भिस बताउँछ ।

    थुप्रै काउन्टीहरुमा मंगलबारदेखि नै भागदौड सुरु भएको थियो । वेस्टर्न र सेन्ट्रल फ्लोरिडामा पुल क्रस गर्दा लाग्ने दस्तुर मिनाहा गरिएको छ । मंगलबारबाट अधिकांस काउन्टीहरुमा स्कुलहरु बन्द गरिएका छन् । टान्पा र ओर्लान्डोमाले आँधी नसकिएसम्म उडान स्थगित गर्ने घोषणा गरेका छन् ।

    नेसनल हुरिकेन सेन्टरले मिल्टन आँधी बुधबार राति अति नै खतरनाक हुने बताएको छ । यसले टाम्पा शहरको नजिक हान्नेछ जहाँको नगर क्षेत्रमा ३० लाखभन्दा बढी जनसंख्या छ । मौसमी भविष्यवाणी गर्नेहरुले भारी वर्षात र बाढीको समेत अनुमान गरेका छन् ।

  • जम्मु कास्मिर चुनावमा कंग्रेसको गठबन्धनको बहुमत, बीजेपीलाई राहत

    जम्मु कास्मिर चुनावमा कंग्रेसको गठबन्धनको बहुमत, बीजेपीलाई राहत

    काठमाडौं । भारतको जम्मु र कास्मिर क्षेत्रको चुनावी नतिजामा भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्वको गठबन्धनको ४९ सिट आएको छ । एकल बहुमत पुग्न ४६ सिट आवश्यक हुन्छ ।

    भारतीय सत्ताधारी दल बीजेपीलाई राहत भएको छ । ९० स्थानमा भएको चुनावमा बीजेपीले २९ सिट जितेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

    हिन्दुस्तान टाइम्सका अनुसार सन २०१४ यताको यो पहिलो राज्य चुनाव हो ।

    भारतको संविधानको धारा ३७० सन २०१९ मा खारेज गरेर कास्मिरको स्वायत्तता कमजोर पारिएको तथा जम्मु कास्मिर र लद्दाक तीन क्षेत्रमा भाग लगाइएकोमा धेरै विरोध भएको थियो।

    तर, बीजेपीले जम्मु क्षेत्रका हिन्दु मतदातालाई रिझाएर मत ल्याएको छ ।

    जम्मु र कास्मिर क्षेत्रमा तीन चरणको चुनाव भएको थियो।पहिलो चुनाव सेप्टेम्बर १८, दोस्रो सेप्टेम्बर २५ र तेस्रो अक्टोबर १ मा भएको थियो ।

    दलको एकल सिटको आधारमा बीजेपी जम्मु कास्मिरको दोस्रो ठूलो दल भएको छ ।

    बेजीपी २९ सिट ल्याएर दोस्रो हुँदा जम्मु कास्मिरको क्षेत्रीय दल जम्मु एण्ड कास्मिर नेसनल कन्फरेन्स्को एकल ४२ सिट छ ।

    यो दल नेतृत्वको गठबन्धनमा जोडिएको कंग्रेसको भने ६ सिट आएको भारतीय निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

  • भारतीय एक्जिट पोल फेरि फ्लप: हरियाणा चुनाव जित्यो बिजेपीले

    भारतीय एक्जिट पोल फेरि फ्लप: हरियाणा चुनाव जित्यो बिजेपीले

    काठमाडौं । केन्द्रको चुनावको एक्जिट पोल जस्तै राज्यको चुनावको एक्जिट पोलमा पनि भारतीय मिडियाहरू असफल भएका छन्।

    भारतीय राष्ट्रिय कांग्रेसले जित्ने र बिजेपीले हार्ने भनिएकोमा नतिजा ठीक उल्टो देखिएको छ । भारतीय मिडिया लाइभ मिन्टका अनुसार हरियाणामा बिजेपीको ४८ सिट आउँदा काङ्ग्रेस ३७ सिट आएको छ ।

    सन २०१९ को चुनावमा एकल बहुमत आउन आवश्यक ४० सिट नपुगेको बीजेपीलाई यो ‘ऐतिहासिक’ सफलता भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी जितपछि भनेका छन्, ‘पहिलो पटक दुई कार्यकाल सकेर हरियाणामा सरकार बनेको छ ।’

    भारतीय मिडिया तथा सोसल मिडियामा भने कांग्रेसले गठबन्धनमा राम्रो मिल्न नसकेर नतिजा कमजोर भएको भन्न थालिएको छ ।

    हरियाणा चुनावको सानदार विजयले गठबन्धनबाट सरकार टिकाउन बाध्य बीजेपीलाई राहत दिएको बताइएको छ ।

  • कम्बोडियामा चिनियाँ सैन्य शिविर हुनसक्ने भन्दै अमेरिकी चिन्ता

    कम्बोडियामा चिनियाँ सैन्य शिविर हुनसक्ने भन्दै अमेरिकी चिन्ता

    काठमाडौं । दक्षिणपूर्वी एसियाली देश कम्बोडियामा चिनियाँ सैन्य शिविर हुन सक्ने भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।

    बीबीसीका अनुसार दक्षिण चीन सागरमा मात्र नभएर कम्बोडियामा सैन्य शिविर हुनुलाई अमेरिकाले चिन्ताको रूपमा लिएको छ ।

    सेटेलाइट तस्बिर हेरेर बीबीसीले चिनियाँ सैन्य शिविर भएको अनुमान गरेको हो । तिनलाई हेर्दा चिनियाँ जल सेनाको शिविर हुन सक्ने बीबीसीले अनुमान गरेको छ । तर कम्बोडिया सरकारले भने आफ्नो बन्दरगाह सबै मित्रवत् देशहरूले प्रयोग गर्न सक्ने बताउँदै स्थायी शिविर भने नभएको जिकिर गरेको पनि बीबीसीले लेखेको छ ।

    विश्वको सबैभन्दा ठूलो जलशक्ति चीनको छ । तर, चीनको सैनिक शिविर चीन बाहिर जिबुटीमा मात्र छ । जिबुटी अफ्रिकी देश हो । सन २०१६ मा त्यो शिविर सुरु भएको थियो। कम्बोडियामा शिविर राखिएको पुष्टि भएमा यो दोस्रो हुनेछ ।

  • भारतको टिप्पणी- संयुक्त राष्ट्र संघ स्थान मात्र ओगट्ने, काम नगर्ने पुरानो कम्पनी

    भारतको टिप्पणी- संयुक्त राष्ट्र संघ स्थान मात्र ओगट्ने, काम नगर्ने पुरानो कम्पनी

    काठमाडौं । भारतले संयुक्त राष्ट्र संघलाई स्थान ओगट्ने पुरानो कम्पनी भनेर टिप्पणी गरेको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतको राजधानीमा आयोजना भएको कौटिल्य इकोनिमिक कन्क्लेभमा बोल्दै यस्तो बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    जयशंकरले अरब र युरोपमा भएको युद्ध र कोभिड–१९ महामारीमा सम्युक्त राष्ट्र संघले केही गर्न नसकेको भन्दै यस्तो बताएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हालसालै संयुक्त राष्ट्र संघले आयोजना गरेको ‘समिट अफ द फ्युचर’मा बोल्दा विश्व शान्ति र सुरक्षाको लागि सम्युक्त रास्ट्रसघको स्वरुप पुनर्गठन हुनुपर्ने बताएका थिए ।

    भारतले पछिल्लो समयमा सुरक्षा परिसदमा स्थायि सदस्यता माग गरिरहेको छ । विश्वका विभिन्न बिग्यहरुले पनि भारतलाई स्थान दिन आग्रह गरेका छन् । यसमा एक हुन सिङापुरका पूर्वकूटनीतिज्ञ तथा चर्चित लेखक किशोर माबुबानीले बेलायतले आफ्नो स्थान छोडेर भारतलाई सुरक्षा परिषदमा स्थान दिनुपर्ने माग गरेका थिए ।

     

     

  • माओवादी प्रभावित आठ राज्यका मुख्यमन्त्रीसँग बैठक गर्दै भारतीय गृहमन्त्री

    माओवादी प्रभावित आठ राज्यका मुख्यमन्त्रीसँग बैठक गर्दै भारतीय गृहमन्त्री

    काठमाडौं । भारतका माओवादी प्रभावित आठ राज्यका मुख्यमन्त्रीसँग भारतीय गृहमन्त्री अमित शाहले बैठक गर्ने भएका छन् ।

    भारतीय मिडियाहरूका अनुसार छत्तिसगढ, आन्ध्र प्रदेश, बिहार, मध्यप्रदेश, महाराष्ट्र, झारखण्ड, ओडिसा र तेलङ्गना राज्यका मुख्यमन्त्रीहरूसँग दिल्लीमा सोमबार बैठक गर्ने भएका छन् ।

    भारतको माओवादी प्रभावित छत्तिसगढमा एकै कारबाहीमा ३१ माओवादी नेताकार्यकर्ताहरुको ज्यान गएपछि यस्तो बैठक हुन लागेको हो । त्यो घटना २४ वर्षको छत्तिसगढको इतिहासमा सबैभन्दा ठूलो माओवादीलाई भएको क्षति थियो ।

    वामपन्थी अतिवादको नाम दिइएर भारतले माअ‍ोवादी विरुद्ध कारबाही गर्न थालेको हो ।

    भारत सरकारको दाबी अनुसार भारतमा वामपन्थी अतिवादका घटना मोदी सरकार आएपछि ७२ प्रतिसतले घटेको छ भने सन २०२३ मा मृत्युदर पनि ८६ प्रतिसतले घटेको छ ।

    अहिले भारतीय माओवादीहरूले अन्तिम लडाइ लड्दै आएको बताइन्छ ।

    भारत सरकारले माओवादी प्रभावित क्षेत्रहरूमा सडक तथा मोबाइल सञ्चार बिस्तार गरिरहेको छ ।

    भारतीय मिडियाहरूका अनुसार त्यस अन्तर्गत १४ हजार ४०० किलोमिटर सडक तथा ६ हजार मोबाइल टावरहरू बनाइएका छन् ।

    भारतका ८०० जिल्लाहरूमा अहिले ३८ जिल्लामा मात्रै माओवादी समस्या भएको बताइएको छ ।

  • डोनाल्ड ट्रम्पको राजनीतिक सभामा एलन मस्क, गरे ट्रम्पको तारिफ

    डोनाल्ड ट्रम्पको राजनीतिक सभामा एलन मस्क, गरे ट्रम्पको तारिफ

    काठमार्डां । खर्बपति उद्यमी तथा सामाजिक संसाल एक्स (साविकको ट्विटर)का मालिक एलन मस्क रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेद्वार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभामा देखिएका छन् । उनले ट्रम्पको तारिफ गरेर उनीबाट मात्रै अमेरिकी लोकतन्त्र र संविधानको रक्षा हुने बताएकाे रसियन न्यूज आरटीले उल्लेख गरेकाे छ ।

    यस अगाडिको चुनावी सभामा गोली प्रहार गरिएको पेन्सिलभेनियाको बट्लरमा आयोजना भएको कार्यक्रममा उनले मेक अमेरिका ग्रेट अगेन भन्ने नामा लेखिएको टोपी लाएर बोलेका थिए । यो पटक ट्रम्पको पोडियम अगाडि गोली छेक्ने सिसा लगाइएको थियो ।

    गत जुलाई १३ मा बट्लरमा भएको सभामा ट्रम्पलाई गोली हानिएको थियो । उनको कानमा गोली लागेको थियो । त्यहि गोली प्रहारपछि मस्कले खुलेर ट्रम्पको समर्थन गर्न सुरु गरेका थिए ।

     

  • सत्तामा आएको दश महिनापछि भारत भ्रमणमा माल्दिभ्सका राष्ट्रपति मैजु

    सत्तामा आएको दश महिनापछि भारत भ्रमणमा माल्दिभ्सका राष्ट्रपति मैजु

    काठमाडौं । दश महिना अगाडि चुनाव जितेर आएका राष्ट्रपति महोमद मैजु भारत भ्रमणमा गएका छन् । उनको आज सुरु भएको भारत भ्रमण यसकारण महत्वपूर्ण छ कि उनले भारत पहिले भ्रमण गर्ने प्रचलन तोडेर पहिलो औपचारिक भ्रमणमा टर्की र पहिलो राजकीय भ्रमणमा चीन पुगेका थिए ।

    भारतीय समकक्षी द्रौपदी मुर्मुको निमन्त्रणामा मैजु भारत भ्रमणमा गएका हुन् । माल्दिभ्समा रहेका भारतीय सैनिक फिर्ता गर्ने इण्डिया आउट मुद्दा लिएर चुनाव जितेका उनले भारतसँगको हाइड्रोग्राफिक सर्वे भने नवीकरण नगर्ने बेलायती विश्व च्यानल बीबीसीसँग बताएका छन् ।

    पाँच दिने भारत भ्रमणमा उनले समकक्षी मुर्मुका साथै प्रधानमन्त्री मोदी र अरु उच्च अधिकारीहरु भेट्ने कार्यक्रम तय भएको माल्दिभ्सको मिडिया सनले उल्लेख गरेको छ । मैजु र मोदीबीच यसअगाडि दुई पटक भेट भइसकेको छ । दुबईमा भएको कोप २८ र मोदीको शपथग्रहण कार्यक्रममा उनीहरुको भेट भएको थियो । भारतको राजकीय भ्रमण भने यो पहिलो हो ।

  • प्रान्तीय चुनावमा भाजपालाई धक्का, हरियाणामा कांग्रेसको कमब्याक हुने एक्जिट पोलको नतिजा

    प्रान्तीय चुनावमा भाजपालाई धक्का, हरियाणामा कांग्रेसको कमब्याक हुने एक्जिट पोलको नतिजा

    काठमाडौं । भारतमा आम निर्वाचनबाट तेस्रो पटक नरेन्द्र मोदी नेतृत्वको गठबन्धन सरकार बनेपछि भएको प्रान्तीय निर्वाचनमा सत्तारुढ भाजपालाई धक्का लागेको छ ।

    हरियाणा राज्यमा शनिवार सम्पन्न भएको मतदानपछि जारी भएका एक्जिट पोलमा १० वर्षदेखि सरकार चलाइरहेको भाजपा पराजित हुने आँकडा सार्वजनिक भएका छन् ।

    ९० सीटको विधान सभामा विपक्षी कांग्रेस पार्टीले स्पष्ट बहुमत ल्याउने एक्जिट पोल सार्वजनिक भएका हुन् । हरियाणामा विगत १० वर्षदेखि लगातार बिजेपीले सरकार चलाइरहेको छ । यहाँ बिजेपी यस पटक पराजित हुने सर्वेक्षण सार्वजनिक भएको छ ।

    त्यस्तै जम्मु कश्मिरमा भएको निर्वाचनमा कांग्रेससहितको गठबन्धनले बहुमत ल्याउने एक्जिट पोलहरुले जनाएका छन् । गत लोकसभा निर्वाचनमा पनि बिजेपी लगातार दुई पटकको बहुमत जोगाउन असफल भएको थियो ।

    ४ सय सीट कटाएर दुई तिहाइ बहुमतको लागि निर्वाचनमा गएको भाजपा अन्ततः गठबन्धन सरकार बनाउने ठाउँमा पुगेको थियो । ४८ सीटबाट एक सय सीट कटाउन सफल भएको विपक्षी कांग्रेस पार्टीले प्रादेशिक निर्वाचनमा उत्साहजनक सफलता पाउन थालेको हो ।

     

  • प्रदर्शनका कारण इस्लामावादको जनजीवन प्रभावित

    प्रदर्शनका कारण इस्लामावादको जनजीवन प्रभावित

    इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकले प्रदर्शनका क्रममा सडक कब्जा गर्ने प्रयास गरेपछि शनिबार पाकिस्तानको राजधानी इस्लामावादको सामान्य जनजीवन प्रभावित बनेको छ ।

    पाकिस्तानको सत्तारूढ गठबन्धनमाथि धाँधलीको आरोप लागेको फेब्रुअरीको चुनावमा खानलाई उम्मेदवारी दिनबाट रोक लगाइएको थियो ।

    निर्वाचनपछि खानविरूद्ध लगाइएका दर्जनौं कानूनी अभियोगहरूमा अदालतले खानलाई सफाइ दिएको छ, तर पूर्वप्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले नियमित प्रदर्शनका साथ सरकारको प्रदर्शनमाथि रोक लगाउने निर्देशनको अवज्ञा गरेको छ ।

    उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको उनको पावरबेसबाट पीटीआई कार्यकर्ताहरू शुक्रबार इस्लामावादतर्फ जान थालेका छन्, तर उनीहरूलाई कन्टेनर अवरोध र अश्रुग्याँसको झोंकाको सामना गर्नुपरेको छ ।

    अक्टोबर १५ मा सुरु हुने साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनअघि सुरक्षाको प्रत्याभूति गर्नुपर्ने आवश्यकता औंल्याउँदै शनिबार साना र छरिएर रहेका काफिलाहरूले इस्लामावादमाथि दबाब दिएका थिए ।

    ‘मलाई हाम्रा सबै जनताप्रति गर्व छ’, खानले शनिबार दिउँसो सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको सन्देशमा भनिएको छ, ‘हिजो बाहिर (सडकमा) निस्कँदा र अविश्वसनीय बाधाहरू पार गर्दै तपाईंले अविचलित लचिलोपन र साहस देखाउनुभयो ।’

    लाहोरमा शनिबार पनि विरोध प्रदर्शन भएको थियो, तर पूर्वी मेगासिटीलाई राजधानीसँग जोड्ने मुख्य मोटरमार्ग अवरुद्ध गरिएको थियो ।

    यसैबीच एम्नेस्टी इन्टरनेसनलले सञ्चार कटौती र सडक अवरोधले जनताको अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, शान्तिपूर्ण भेला हुने र हिँडडुल गर्ने अधिकारको हनन गरेको जनाएको छ ।

    ‘यो प्रतिबन्ध पाकिस्तानमा विरोध प्रदर्शन गर्ने अधिकारमाथिको चिन्ताजनक दमनको एक हिस्सा हो’, अधिकारवादी समूहले भनेको छ ।

    सामाजिक सञ्जाल एक्सलाई पनि चुनावपछि पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । मतदानको दिन मोबाइल इन्टरनेट पनि काटिएको थियो र पीटीआईले निर्वाचनमा व्यापक रूपमा अनियमितता भएको आरोप लगाएको थियो ।

    खानले सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्रीका रूपमा पाकिस्तानको नेतृत्व गरेका थिए । उनलाई पाकिस्तानको राजनीतिक ‘किङमेकर’ मानिएको शक्तिशाली सैन्य संस्थापनसँग सम्बन्ध विच्छेद भएपछि संसदमा अविश्वासको प्रस्ताव ल्याई अपदस्थ गरिएको थियो ।

    यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र सशस्त्र लडाकू समूहबीच भएको झडपमा ६ सैनिक र त्यति नै सङ्ख्यामा सशस्त्र आक्रमणकारीको मृत्यु भएको सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    उक्त घटना प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको र त्यहाँ दुई पक्षबीच गोली हानाहान भएको इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) नामक सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । -रासस/एएफपी

  • बीबीसी र सीएनएन पत्रकारहरुले आफ्नो मिडिया इजरायल पक्षधर भएको गुनासो गरेका छन्: अलजजिरा

    बीबीसी र सीएनएन पत्रकारहरुले आफ्नो मिडिया इजरायल पक्षधर भएको गुनासो गरेका छन्: अलजजिरा

    काठमाडौं । इजरायल र गाजाको युद्ध रिपोर्ट गरेका बीबीसी तथा सीएनएन च्यानलका पत्रकारहरुले आफ्नो मिडिया इजरायल पक्षधर भएको बताएका छन् । बेलायती विश्व च्यानल बीबीसी र अमेरिकी विश्व च्यानल सीएनएनले अलजजिराको लिसनिङ पोस्ट कार्यक्रममा यस्तो बताएका हुन् ।

    अलजजिराका अनुसार समाचार कक्षका उपल्लो ओहोदाका अनुहारहरुले इजरायलको पक्षधरता दिने र पुष्टि नहुने कुरालाई पनि इजरायली पक्षको छ भने प्रशारण गर्ने उनीहरुले बताएका छन् । अरबी भाषामा लेखिएका दिन तथा हप्तालाई हमासले लेखेको कुरा भन्दै इजरायली सैन्य अधिकारीले गरेको दाबीलाई एक प्यालेस्टाइनी कर्मचारीले गलत हो भन्दाभन्दै सीएनएनले प्रशारण गरेको बताइएको छ ।

    ४० हजारको ज्यान गएको समाचारलाई ठूलो नबनाएर हमासलाई उत्तरदायी बनाउने कोणमा समाचार बनाउन सीएनएनमा दबाब दिइने पत्रकारहरुले गुनासो गरेका छन् । बीबीसीले अन्तर्वार्ता लिँदा पक्षधरता देखाउने पत्रकारहरुले बताएका छन् ।

    इजरायली पक्षलाई सोध्ने प्रश्न नरम हुने उनीहरुको भनाइ छ । इजरायली अतिथिले बालबालिकालाई आगोमा हालिएको, बालबालिकालाई टाउकोमा गोली हानिएको जस्ता झूटा कुरा भन्दा पनि कुनै प्रतिप्रश्न नगरिने उनीहरुले गुनासो गरेका छन् ।

    प्यालेस्टाइनीहरुलाई भने जायोनिस्ट भन्ने शब्द लेखेकै भरमा पनि कडाइ गरिने बताइएको छ । युक्रेन र रुस युद्धमा रुसलाई खलनायक र युक्रेनलाई पीडितको रुपमा चित्रित गरेका बीबीसी र सीएनएनले इजरायली हमलामा निर्दोष मान्छेहरु हजारौं मारिँदा पनि इजरायलको प्रतिरक्षा अधिकार भन्दै बचाउन गरेको कुरा अहिले विश्वभर आलोचित छ ।

    इजरायल गाजा युद्धले बीबीसी र सीएनएनले आफ्नो विश्वास गुमाएको चर्चा धेरैले गर्दै आएका छन् । मूलधारका मिडियाहरु मात्रै होइन, सोसल मिडिया मेटालगायतले पनि इजरायली पक्षधरता लिएको आरोप छ । टर्कीलगायतका युद्धमा नजोडिएका देशहरुले पनि त्यो आरोप लगाउँदै आएका छन् ।

  • भारतकाे सरकारी अनुसन्धानकाे निष्कर्ष- अक्सफामलगायतका एनजीओ विकास रोक्न सक्रिय

    भारतकाे सरकारी अनुसन्धानकाे निष्कर्ष- अक्सफामलगायतका एनजीओ विकास रोक्न सक्रिय

    काठमाडौं । भारत सरकारले गरेको एक अध्ययनले विदेशी पैसा लिएर सञ्चालित एनजीओहरुले विकासलाई रोक्न सक्रिय भएको देखाएको छ ।

    भारत सरकारले अमेरिकी खर्बपति जर्ज सोरसको लगानी भएका एनजीओहरुमा गरेको अध्ययनले ती एनजीओहरु विकास तथा आर्थिक क्रियाकलाप रोक्न सक्रिय भएको पाइएको छ ।

    भारत सरकारको आन्तरिक राजस्व विभागले गरेको अध्ययनले यस्तो देखाएको हो । रुसी विश्व च्यानल आरटीका अनुसार अक्सफामलगायतका ६ एनजीओमा गरेको अध्ययनले त्यो देखाएको छ ।

    खोजका क्रममा अध्ययन गरिएको वक्तव्य, इमेल, सम्झौता, बोर्ड बैठकका माइन्युट सबैको अध्ययन गर्दा यस्तो देखिएको पाइएको छ । अध्ययन गरिएका एनजीओहरुले ७५ प्रतिशतभन्दा धेरै रकम विदेशबाट आएको पाइएको छ । भारतले अक्सफामलाई सन् २०२२ मै बन्द गराइसकेको छ ।

  • युक्रेन र इजरायलमा हतियार पठाएको विरोधमा जर्मनीमा सडक प्रदर्शन 

    युक्रेन र इजरायलमा हतियार पठाएको विरोधमा जर्मनीमा सडक प्रदर्शन 

    काठमाडौं । युक्रेन र इजरायललाई हतियार दिएको विरोधमा जर्मनीको सडक तातेको छ । प्रदर्शनकारीहरुले त्यसको विरोध गरेर आन्दोलन गरेका छन् ।

    आन्दोलनको खबरलाई अमेरिकी तथा युरोपेली मिडियामा खासै स्थान दिइएको छैन, तर यो प्रदर्शनलाई रुसी विश्व च्यानल आरटीले ठूलो स्थान दिएको छ ।

    आरटीका अनुसार बर्लिनको सडकमा हजारौंको प्रदर्शनी भएको छ । आणविक युद्धको जोखिम भएको भन्दै उनीहरुले त्यस्तो प्रदर्शन गरेका हुन् ।

    पूर्व र पश्चिम जर्मनीको एकता दिवसको अवसर पारेर आन्दोलन भएको आरटीले उल्लेख गरेको छ । धेरै प्रदर्शनकारीहरुले रुस र प्यालेस्टानको झण्डा बोकेका थिए । आयोजकहरुले प्रदर्शनमा ४० हजारको सहभागिता भएको दाबी गरेका छन् ।

  • तालिवानलाई आतंककारी सूचीबाट हटाउँदै रुस

    तालिवानलाई आतंककारी सूचीबाट हटाउँदै रुस

    काठमाडौं । रुसले तालिवानलाई आतंककारी सूचीबाट हटाउने भएको छ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार रुसी राष्ट्रपति भ्यादिमिर पुटिनका विशेष दूतका रुपमा काबुल पुगेका जमिर काबुलोभले यस्तो बताएका हुन् ।

    उनले शुक्रबार पत्रकारसँग कुराकानी गर्दै आइएससँग लड्नको लागि तालिवानसँग सहकार्य हुने बताएका छन् । रुसी बाह्य गुप्तचरी निकाय (एफएसबी)का प्रमुख अलेक्सान्डर बोर्तनिकोभले पनि यो खबरको पुष्टि गरेका छन् ।

    उसो त सन २०२१ मा २० वर्ष अफगानिस्तान कब्जा गरेर बसेको अमेरिका फिर्ता भएको दिन काबुल कब्जा गरेका तालिवानसँग सबैभन्दा पहिलो चरणमा सम्बन्ध बनाउने देश नै रुस थियो । रुसले तालिवानसँग व्यवहारगत सहकार्य गर्ने बताएको छ ।

  • लेबनान,यमन र प्यालेस्टाइनमा भीषण बमबारी, इजरायल र अमेरिकी हमलाको प्रतिकारमा के गर्दैछ इरान ?

    लेबनान,यमन र प्यालेस्टाइनमा भीषण बमबारी, इजरायल र अमेरिकी हमलाको प्रतिकारमा के गर्दैछ इरान ?

    काठमाडौं । इजरायलले गाजालगायत प्यालेस्टाइनी भूमि र लेबनानमा निरन्तर हमला जारी राख्दा पश्चिम एशियामा ठूलो युद्धको दुन्दुभी बज्न थालेको छ ।

    शनिवार विहानैदेखि इजरायल र लेबनानमा ठूला हमला भएका छन् । इजरायलको आक्रमणमा हालसम्म २ हजारभन्दा बढी निर्दोष मानिस मारिएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मृत्यु हुनेमा १२७ बालबालिका र २६१ जना महिला छन् । यसैबीच इजरायलले एकोहोरो आक्रमण गरिरहेको लेबनानबाट शनिवार विहान काउन्टर हमला भएको छ ।

    लेबनानबाट उत्तरी इजरायलमा ५ वटा रकेट हमला भएको छ । इजरायली सेनाले हमलाबाट मानवीय क्षतिको विवरण नआएको जनाएको छ ।
    उता यमनमा हुती विद्रोहीलाई निशाना बनाउँदै अमेरिकी सेनाले गोलाबारी गरेको छ । अमेरिकी सेनाले राजधानी सानासहित यमनका मुख्य शहरमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध हमला गरेको हो ।

    हुथी बिद्रोहीले गत सोमवार अमेरिकी रिपर ट्रोड खसालेका थिए । त्यसपछि अमेरिका बमबारीमा उत्रिएको हो ।इजरायलले हमास लडाकु कमाण्डर हसन नसरल्लाहको हत्या गरेपछि इरानले करिब २ सय ब्यालेस्टिक मिसाइल इजरायलाई निशाना बनाएर प्रहार गरेको थियो ।

    इरानका सर्वाेच्च नेता अयातुल्लाह खमेनीले सो प्रहारलाई जायज भनेर शुक्रवार नमाजका क्रममा भाषण गरेपछि मध्यपूर्व र पश्चिम एशिया ठूलो युद्धमा फस्ने संकेत देखिएको छ ।

    इरानले पश्चिम एशियामा अमेरिकाबाट युद्ध थोपरिएको भन्दै यसको मुस्लिम देशहरुले मिलेर प्रतिकार गर्ने चेतावनी दिएको छ । यसबारे छलफल गर्न इरानी विदेशमन्त्री अब्बास सिरियाको राजधानी दमास्कास पुगेका छन् ।

  • हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु, संयुक्त राष्ट्रसङ्घ आतङ्कित

    हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु, संयुक्त राष्ट्रसङ्घ आतङ्कित

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट “आतङ्कित” भएको बताएको छ ।

    संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र सवारीसाधन आगलागी भएको बताएको छ।

    अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ ।

    “हाइटीको पोन्ट सोन्डे सहरमा बिहीबार भएको गिरोहको आक्रमणबाट हामी आतङ्कित भएका छौं”, संयुक्त राष्ट्र मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले एक विज्ञप्तिमा भने।

    “ग्रान ग्रिफ गिरोहका सदस्यले गोली चलाउन स्वचालित राइफलहरू प्रयोग गर्दा कम्तिमा ७० जनाको मृत्यु भएको छ, जसमध्ये करिब १० जना महिला र तीन शिशुहरू थिए ।”

    “हाइटी प्रहरीसँगको गोली हानाहानमा दुई गिरोहका सदस्यसहित कम्तीमा १६ जना गम्भीर घाइते भएका छन्। आक्रमणमा गिरोहका सदस्यहरूले कम्तिमा ४५ वटा घर र ३४ वटा गाडीमा आगो लगाएको बताइएको छ ।”

    “अधिकारीहरूले यस आक्रमणको द्रुत र गहन अनुसन्धान गर्नु, जिम्मेवारहरूलाई जवाफदेही बनाउनु र पीडित र उनीहरूका परिवारलाई क्षतिपूर्तिको ग्यारेन्टी गर्नु महत्त्वपूर्ण छ”, विज्ञप्तीमा भनिएको छ ।

    गत हप्ता संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा बढी मानिस मारिएको जनाएको थियो ।

  • छैटौं एसियाली जनसंख्या सम्मेलन मङ्सिरमा हुने

    छैटौं एसियाली जनसंख्या सम्मेलन मङ्सिरमा हुने

    ललितपुर । छैटौं एसियाली जनसङ्ख्या सम्मेलन आगामी मङ्सिर १२ गतेदेखि १५ गतेसम्म काठमाडौँमा हुनेभएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय जनसङ्ख्या तथा तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ५० देशका करिब ८०० प्रतिनिधिको सहभागिता रहने बनाइएको छ ।

    त्रिवि केन्द्रीय जनसङ्ख्या तथा तथ्याङ्क विभागका प्रमुख प्राडा योगेन्द्रबहादुर गुरुङले चार दिनसम्म चल्ने काठमाडौँ सम्मेलनमा एसियाली मुलुकका जनसङ्ख्याविद्को तर्फबाट १७ विषयमा आधारित ४०० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जानकारी दिए ।

    विश्वको जनसाङ्ख्यिक परिदृष्य र प्रवृति, यसको राजनीतिक, सामाजिक तथा आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसङ्ख्यालाई प्राप्त हुने अवसर र चुनौतीलगायतका विषयमा केन्द्रित भई कार्यपत्र प्रस्तुत हुने उनले बताए । अहिलेसम्म ४०० प्रतिनिधिसहित २६ देशका ३०० भन्दा बढी कार्यपत्र दर्ता भइसकेको सो अवसरमा बताइयो ।

    “आसन्न सम्मेलनमा जनसङ्ख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने विश्वास गरिएको छ । नेपालको विकासका एजेण्डालाई थप प्रवद्र्धन गर्ने तथा प्रमाणमा आधारित विकासमा जोड दिनुपर्ने आवश्यकतालाई बढावा दिने अपेक्षा गरिएको छ ।” प्राडा गुरुङले भने । समग्र विश्वसहित एसियाली क्षेत्रको जनसङ्ख्या व्यवस्थापनका पक्षमा नीति–नियम परिवर्तन गर्न तथा नेपालको जनसङ्ख्या नीतिलाई पुनरावलोकन गर्न आसन्न सम्मेलनले मार्गनिर्देश गर्ने उनले जानकारी गराए ।

    “जनसङ्ख्याको वास्तविक परदृष्यिलाई ध्यान दिन सकिएन भने समस्या निम्तिन सक्छ, यसलाई ख्याल गरेर नीति योजना बनाउनुपर्छ । जनसङ्ख्या संरचनामा भइरहेको स्थानान्तरणले विश्वसँगै नेपालले पनि विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिका बारेमा पुनःविचार गर्न आवश्यक छ । सम्मेलनले सरकारलाई यस विषयमा पनि काफी पृष्ठपोषण गर्ने हाम्रो विश्वास लिएका छौँ ।” प्राडा गुरुङले भने ।

    नेपाल जनसङ्ख्या सङ्घका अध्यक्ष डा पदमप्रसाद खतिवडाले जनसङ्ख्याको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबीच अध्ययन, अनुसन्धान र उत्कृष्ट अभ्यास अन्वेषण गरी साझा अवधारणा तयार गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

    “जनसङ्ख्या वृद्धिदर, स्थानान्तरण तथा व्यवस्थापनसहित दिगो विकासका मुद्दामा आवश्यक नीति, योजना, अनुसन्धान, शिक्षण, अनुगमन तथा मूल्याङ्कन र अन्य समसामयिक विषयवस्तुमाथि सम्बद्ध सरकारी निकाय, विश्वविद्यालय, विकास साझेदार संस्था र अन्य सरोकारवालाको तर्फबाट कार्यपत्र प्रस्तुत हुने सम्मेलन जनसङ्ख्यासम्बन्धि साझा समस्या, चुनौत र देशीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमा पहिचान गर्न केन्द्रित हुने छ ।” डा खतिवडाले भने ।

    सम्मेलनको सचिवालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागमा रहने प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए। व्यवस्थित रुपमा सम्मेलन सम्पन्न गर्न सघाउ पु¥याउने उद्देश्यले प्रचारप्रसारसहित विभिन्न ६ उपसमिति गठन गरिएको जानकारी दिँदै प्रेस संयोजक अधिकारीले सम्मेलन खर्च करिब रु पाँच करोड लाग्ने बताए ।
    रासस

  • नेटो प्रमुख नियुक्त भएको दुई दिनलगत्तै युक्रेन पुगे मार्क

    नेटो प्रमुख नियुक्त भएको दुई दिनलगत्तै युक्रेन पुगे मार्क

    काठमाडौं । अमेरिकी तथा अमेरिकी नेतृत्वका यूरोपेली देशहरुको सैन्य संगठन नेटोको प्रमुख भएको दुई दिनपछि मार्क रट्ट युक्रेन पुगेका छन् । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार ३२ देशको सैन्य सगठनका प्रमुख मार्क रट्टले आजबाट युक्रेनको भ्रमण सुरु गरेका छन् । उनी राजधानी किभमा ओर्र्लिलएका छन् ।

    नेदरल्याण्डका पूर्वप्रधानमन्त्रीसमेत रहेका मार्कले युक्रेन भ्रमणमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् । उनले राजधानी किभमा भेट गर्दा आक्रमणमा हुँदा सजगता अपनाउन बजाइने साइरन बजेको थियो । उनले युक्रेनमा बोल्दै युक्रेन अहिले नेटोसँग सबैभन्दा धेरै नजिक भएको भन्दै यो निकटता युक्रेन पूर्ण सदस्य हुन्जेल हुने बताए ।

    नेटो सदस्य बन्न युक्रेनले कदम चलाउँदा रुसले गरेको आग्रह नटेरेपछि रुसले युक्रेनमा हमला सुरु गरेको थियो । युक्रेन युद्धलाई रुस र युक्रेनको मात्रै नभएर रुस र नेटोको युद्ध भएको धेरैले मान्दै आएका छन् । नेटो सदस्यहरुले धमाधम हतियार, गुप्तचर, भाडाका सिपाही तथा सैन्य प्रशिक्षकहरु दिएर युद्ध भएकोले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले यो युद्ध नेटो र रुसको भएको भन्दै आएका छन् ।

     

  • बर्ड फ्लू आतंकले भियतनामी चिडियाखानाका करिब ५० बाघ र सिंह मरे

    बर्ड फ्लू आतंकले भियतनामी चिडियाखानाका करिब ५० बाघ र सिंह मरे

    काठमाडौं । बर्ड फ्लूको कारणले भियतनामका चिडियाखानाका बाघ र सिंहहरु मरेका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार गत अगस्टबाट ४७ बाघहरुको मृत्यु भइसकेको छ ।

    मृत्यु हुनेमा ती सिंह पनि छन् । होचि मिन्ह र माइ क्विन सफारी पार्कमा भएका चिडियाखानामा यस्तो भएको हो । संक्रमिट कुखुराको मासु खुवाइएका बाघ तथा सिंहहरु मरेको बताइएको छ ।

    भियतनामको स्वाथ्य मन्त्रालयले ल्याएको दुई मृत बाघको नमुना परिक्षण गर्दा उनीहरुमा बर्ड फ्लू पाइएको छ ।

    कुन स्थानमा कुखुराहरु ल्याइएकोले यस्तो भएको हो भनेर उनीहरुको खोजी भइरहेको सरकारी अधिकारीहरुले बताएको बीबीसीले उल्लेख गरेको छ ।

     

  • महंगा उपहार लिएको लगायत कसुरमा सिंगापुरका पूर्वमन्त्रीलाई १२ महिना कैद

    महंगा उपहार लिएको लगायत कसुरमा सिंगापुरका पूर्वमन्त्रीलाई १२ महिना कैद

    काठमाडौं । सिंगापुरका एक मन्त्रीलाई भ्रष्टाचार गरेको आरोपमा १२ महिना कैद सजाय सुनाइएको छ । सिंगापुरमा हुने दुर्लभ घटना भन्दै जर्मनीको विश्व च्यानल डिडब्लूले समाचार बनाएको छ ।

    १३ वर्ष मन्त्री भएका पूर्वमन्त्री एस. इस्वरनलाई सुनाएको फैसलामा उनलाई न्याय सम्पादनमा अवरोध गरेको तथा महंगा उपहार लिएको आरोप लाइएको छ । उनले तीन लाख अमेरिकी डलर अर्थात् चार करोड बढी नेपाली रुपैयाँ बढीको घुस लिएको आरोपमा सजाय पाएको बताइएको छ ।

    व्यापार, संचार र यातायात जस्ता विभिन्न मन्त्रालय सम्हालेका ६२ वर्षका उनलाई सोमबार आत्मसमर्पण गर्न अदालतले आग्रह गरेको बताइएको छ । उनलाई विभिन्न ३५ कसुरमा मुद्धा लगाइएको थियो ।

    अभियोजनकर्ताहरुले माग गरेको छ सात महिनाको कैद भन्दा धेरै सजाय अदालते सुनाएको हो । विश्वको सबैभन्दा राम्रो सुशासन भएको भनिने देश सिंगापुरको यो घटनालाई धेरैले चासोपूर्वक हेरेका छन् र यो विश्व समाचार बनेको छ ।

     

  • चीन, इरान र उत्तर कोरियामा जासुस राख्न सीआईएले माग्यो आवेदन

    चीन, इरान र उत्तर कोरियामा जासुस राख्न सीआईएले माग्यो आवेदन

    काठमाडौं । अमेरिकी गुप्तचरी निकाय सीआईएले चीन, इरान र उत्तर कोरियाका लागि सूचकहरूको आवेदन खुलाएको छ ।

    बेलायती विश्व सेवा बीबीसीका अनुसार चिनियाँ, फारसी र कोरियाली भाषामा सूचना जारी गरेर अमेरिकाको वैदेशिक जासुसी निकायले यस्तो जानकारी माग गरेको हो । बुधबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको सीआईएको जानकारीअनुसार ती देशका सूचकहरूले सुरक्षितरूपमा सीआईएलाई जानकारी दिन सक्नेछन् ।

    सीआईए प्रवक्ताले भनेका छन्, ‘हामी तानाशाही सरकारका मान्छेहरूले हामी खुला छौं भन्नेमा आश्वस्त दिलाउन चाहान्छौं ।’

    सीआईले यो सूचना फेसबुक, एक्स, इन्स्टाग्राम, टेलिग्राम तथा लिन्क्डइनमा सार्वजनिक गरिएको छ । इच्छुक सीआईले सूचकहरूले भीपीएन प्रयोग गरेर जोडिन सक्ने भनिएको छ । यस्तै शैलीमा रूसमा गरिएको सूचक भर्नाबाट राम्रो जानकारी आएको भन्दै सीआईएले चीन, इरान र उत्तर कोरियामा पनि यही नियम लगाउन लागेको बताइएको छ ।

  • इरान हमलाको कडा निन्दा नगरेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेशमा प्रतिबन्ध

    इरान हमलाको कडा निन्दा नगरेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिवलाई इजरायल प्रवेशमा प्रतिबन्ध

    काठमाडौं । मङ्गलवार इरानले इजरायलमा गरेको मिसाइल हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले कडा शब्दमा निन्दा नगरेको भन्दै इजरायलले उनलाई प्रदेश प्रवेशमा निषेध लगाएको छ ।

    यो कुराको सार्वजनिक जनकारी इजरायली परराष्ट्रमन्त्री इजरायल कात्जले दिएका हुन् ।

    आरटीका अनुसार कात्जले भनेका छन्, ‘दुनियाँका धेरै देशहरूले इजरायलमा भएको हमलाको निन्दा गरिरहँदा कसैले स्पष्ट रूपमा निन्दा गर्दैन भने उसले इजरायल प्रवेश गर्न पाउँदैन ।’

    गुतेरेसलाई उनले संयुक्त राष्ट्रसंघको इतिहासको दाग भन्दै उनले चर्को आलोचना गरेका थिए ।

    यद्यपि, गुतेरेसले इजरायलको यो कुरा आएपछि इरानी हमलाको विरोध गरेका थिए । त्यसबारेमा भने इजरायली प्रतिक्रिया आएको छैन ।

    अन्तर्राष्ट्रिय न्यायालय होस् वा गाजामा काम गर्ने कर्मचारीको इजरायली गोला बारुदमा भएको हत्यामा होस्, इजरायल र राष्ट्रसंघको तनाव पटक पटक आइरहेका छन् ।

  • पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् इजरायलमाथि इरानी हमला

    पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् इजरायलमाथि इरानी हमला

    काठमाडौं । मङ्गलबार नेपाली समयअनुसार मध्यरात इरानले इजरायलमाथि हमला गरेको जानकारी सार्वजनिक भयो । इरानले इजरायलमा मिसाइल प्रहार गरेका कारण के के हुन्, इजरायल र इरानी दुस्मनीका जरा के के हुन् भन्नेबारे यस सामग्रीमा चर्चा गरिएको छ ।

    १. इरानले मङ्गलबार किन हमला गर्‍यो ?

    मङ्गलबार इजरायली भूमिमा इरानले हमला गर्ने मूलतः तीन कारण हुन् । एक- इरानी समर्थनका लडाकु समूहहरु हेजबुल्ला, हमास तथा हुथीहरुलाई इजरायलले हमला गर्‍यो ।

    सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेबाट सुरु भएको लफडाले क्षेत्रीय रूप लिएको हो ।

    इजरायलले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा पुग्ने गर बालबालिका, महिला, सर्वसाधारणहर हजारौँको ज्यान लिनेगरि इजरायलको दक्षिणमा रहेको हमास क्षेत्र गाजामा प्रत्याक्रमण गर्‍यो ।

    त्यसलाई उत्तरी सीमा क्षेत्रको लेबनानी लडाकु समूह हेजबुल्ल्लाले आक्रमण गरिरह्यो । गत जुलाई ३१ मा इरानका नयाँ राष्ट्रपतिको कार्यभार ग्रहण समारोहमा कतारबाट इरान पुगेका हमासका राजनीतिक प्रमुख इस्काइल हानिएको इजरायलले हत्या गर्‍यो ।

    उनी बसेको गेष्ट हाउस उडाएर हत्या गर्‍यो । त्यसपछि हेजबुल्लाका प्रमुख हसन नसरल्लालाई पनि इजरायलले सेप्टेम्बर २७ मा लेबनानी राजधानी बेरुतको बङ्करमाथि बम हमला गरेर हत्या गर्‍यो ।

    इरानले हुर्काएका र साथ दिएका दुई लडाकु कमान्डरलाई दुई महिनाको अन्तरमा इजरायलले सफाया गरेपछि इरानलाई केही न केही गर्ने बाध्यता थियो ।

    त्यसमाथि इजरायलले लेबनानमा स्थल हमला गरेका समाचारहरू पनि आए । इरानी सडकमा हमला गर्न जुलुस निस्किसकेका थिए । आन्तरिक दबाब, क्षेत्रीय गुड विल र आफ्नो फेससेभिङ गर्न इरानले इजरायली भूमिमा हमला गरेको बुझ्न सकिन्छ ।

    २. इरानले मङ्गलबार गरेको हमला नै पहिलो हो ?

    होइन यस वर्ष गत अप्रिल १३ मा पनि इरानले इजरायलमा हमला गरेको थियो । त्यो हमलाको तत्कालीन सिधा जरो सिरियामा जोडिएको थियो ।

    अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानी कूटनीतिक नियोगको कन्सुलर भवन इजरायलले हवाई हमला गरेर उडायो । त्यहाँ मारिएका १६ जनामा दुई जना इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सका उच्च ओहोदाका कमान्डर पनि थिए । त्यसकै प्रतिकारमा इरानले हमला गरेको थियो ।

    हमाला अगाडि इरानले अमेरिका, बेलायतलगायतका विभिन्न देशहरूलाई पूर्वसूचना दिएको विभिन्न विश्व मिडियाहरूले लेखेका छन् । मङ्गलबारको हमलामा भने त्यो खालको पूर्वजानकारी नदिएर गुप्तचरी जानकारीबाट पत्ता लगाइएको थियो ।

    ३. मङ्गलबारको हमलामा इजरायली प्रतिक्रिया के छ ? इरानी दाबी के छ ?

    मङ्गलबारको हमलामा इरानले इजरायलको गुप्तचर मोसदको मुख्यालय र इजरायली हवाई सेनाको अड्डामा हमला गरेको जानकारी दिएको छ । इजरायलले भने इरानी मिसाइलहरू धेरै बिचैमा खसालिएकोले धेरै क्षति नभएको बताएको छ ।

    इजरायलले इरानलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । इरानले पनि इजरायलले प्रतिकार गरे झन् ठूलो हमला गर्ने चेतावनी दिएको इरानी मिडिया तेहरानटाइम्स र कतारी च्यानल अलजजिराले उल्लेख गरेका छन् ।

    अमेरिकाले इरानले हानेका २०० मिसाइलहरूमा धेरैजसो झारेको बताएको छ । इरानले आक्रमण गरेपछि इजरायलले लेबनानी राजधानी बेरुतमा हवाई हमला बढाएको समाचारहरू आएका छन् ।

    ४. विश्व नेताहरूले इरानी हमलाबारेमा के भने ?

    अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई पूर्ण साथ हुने बताएका छन् भने संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले मध्यपूर्वमा बढेको द्वन्द्वको वृद्धिलाई भर्त्सना गर्ने बताएका थिए । अरू विश्व नेताहरुमा पश्चिमा इजरायल समर्थक देशहरूले इरानले द्वन्द्व चर्काएको भन्दै आलोचना गरेका छन् भने अरू देशका मुखर नेताहरूले शान्ति कायम गर्न आग्रह गरेका छन् ।

    ५. इरान र इजरायलको शत्रुताको जग के हो ?

    प्यालेस्टाइनीहरु बसेको भूभागलाई कब्जा गरेर बसाइएकाहरूबाट सन् १९४८ को मेमा इजरायल देश जन्मेको हो ।

    इजरायलीहरूले यो हजारौं वर्ष पुरानो आफ्नो भूमि हो भन्दै कब्जा गरेर देश बनाएका हुन् । बसिरहेकाहरूलाई उठाएर, धपाएर र हिंसा गरेर बनाइएको देश भएकोले धेरै देशले इजरायललाई मान्यता अझै दिएका छैनन् । यस्तो नदिनेहरूमा मूलतः मुस्लिम देशहरू छन् । यो ऐतिहासिक कारण हो ।

    जसका बाछिटाहरू अहिले घरी गाजा र घरी अरू प्योलेस्टाइनी क्षेत्रहरूमा देखिइरहेको छ ।

    अर्को कारण भनेको भूराजनीति र शक्ति प्रदर्शन हो । इजरायल पश्चिम एसियाको शक्तिशाली देश हो । उसलाई क्षेत्रीय रूपमा चुनौती दिने इरानमात्रै हो । यी दुवै देशका सीमा जोडिएका छैनन्, तर उनीहरूका स्वार्थहरू जोडिएका छन् ।

    प्रायः इरानले आफैंले हमला नगरेर आफ्ना सहयोगी दस्ताहरू हुथी, हमास र हेजबुल्लालाई प्रयोग गर्ने गरेको थियो, तर पछिल्ला महिनाहरूमा भने उनीहरूको सिधासिधी जस्तै युद्ध भएको छ ।

  • सय वर्ष पुगे जिम्मी कार्टरः शताब्दी बाँच्ने प्रथम अमेरिकी राष्ट्रपतिको बनाए रेकर्ड

    सय वर्ष पुगे जिम्मी कार्टरः शताब्दी बाँच्ने प्रथम अमेरिकी राष्ट्रपतिको बनाए रेकर्ड

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर आज एक सय वर्ष पूरा पुगेका छन् । विश्व मिडियाहरुका अनुसार उनी सय वर्ष बाँच्ने अमेरिकी राष्ट्रपतिहरुमा पहिलो अनुहार भएका छन् ।

    कार्टर सन् १९७७ बाट सन् १९८१ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए । उनी र उनकी श्रीमतिले मिलेर सन् १९८२ मा स्थापना गरेको कार्टर सेन्टरले परोपकारी तथा अभियानकारी कामहरु गर्दै आएको छ ।

    नेपालको शान्ति प्रकृयामा पनि यो सेन्टर सक्रिय थियो । कार्टर आफैँ नेपाल आएका थिए । माओवादीलाई अमेरिकाको आतंककारी सूचीबाट हटाउन उनीमार्फन माओवादी नेता तथा अरु नेपाली नेताहरु आग्रह गरेका थिए । सन् १९२४ अक्टोबर १ मा अमेरिकाको जर्जिया राज्यको कृषक परिवारमा जन्मेका थिए कार्टर ।

    उनी अमेरिकाको वर्तमान सत्ताधारी दल डेमोक्रेटिक पार्टीबाटै राजनीति गरेर सत्ता पुगेका थिए । उनी सय वर्ष पुगेको अवसरमा ह्वाइट हाउसमा शुभ जन्मोत्सवको ब्यानर टाँगिएको छ ।

     

  • नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्वबैंकको प्रक्षेपण

    काठमाडौं । चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण वर्ल्ड बैंकले गरेको छ । गत आर्थिक वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान छ । उच्च पर्यटक आगमन, जलविद्युत र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण वर्ल्ड बैंकले गरेको हो ।

    विश्व बैंकको आज नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव विषयक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वृद्धिदर विस्तार हुने प्रक्षेपण गरेको हो ।

    नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष (२०८२/०८३) भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरूमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने अनुमान गरिएको छ ।

    यद्यपि प्रतिवेदनले बहु जोखिमहरू पनि पहिचान गरेको छ, जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिम सहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरू औँल्याएको छ ।

    “नेपालको अर्थतन्त्र क्रमिक सुधारको मार्गमा छ”,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने “बजेटरी प्रक्रियामा सुधार ल्याउँदै पूरा हुने चरणमा रहेका परियोजनाहरूलाई सम्पन्न गरेर पुँजीगत खर्च बढाउने हाम्रो प्राथमिकताले बृहत् अर्थतन्त्रको स्थायित्व सुदृढ गर्नेछ, आन्तरिक उत्पादन बढाउनेछ र धेरै रोजगारी सिर्जना हुनेछन् ।”

    आप्रवासी श्रमिक प्राप्त गर्ने गल्फ मुलुकहरू र मलेसियामा आएका झट्काहरूले पनि वृद्धिलाई धिमा गर्न सक्छ, खास गरी घरपरिवारको उपभोग, गरिबी निवारण र मानव पुँजी विकासमा भूमिका खेल्ने अन्तर्राष्ट्रिय विप्रेषणमा यसले असर पुर्‍याउनेछ ।

    तथापि, नेपालको आप्रवासन अत्यन्त महँगो, असमान अवसरहरू र धेरैका लागि प्रक्रिया नै चुनौतीपूर्ण रहेको प्रतिवेदनमा भनिएको छ ।

    प्रतिवेदनले नेपालको आप्रवासनको फाइदा र लागतका पछिल्ला तथ्यहरू प्रस्तुत गर्दै दिगोपन र प्रतिफल विस्तारको सुनिश्चितता गर्ने उद्देश्यले समावेशी आप्रवासन व्यवस्थापन प्रणाली निर्माणका लागि आवश्यक प्रमुख नीतिगत हस्तक्षेपहरूलाई प्राथमिकताका साथ उल्लेख गरेको छ ।

    “वृद्धिको गतिलाई कायम राख्नु नेपालको विकासका लागि महत्त्वपूर्ण छ । यसका लागि प्रमुख क्षेत्रहरू जस्तै पूर्वाधार, सुशासन, मानवपुँजीविकास र निजी क्षेत्रमा निरन्तर सुधारको आवश्यकता पर्दछ”,विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भने “नेपालले विदेशी कामदारहरूबाट रेमिट्यान्सबाट धेरै फाइदा हासिल गरेको छ र यी प्रवाहहरूको व्यवस्थापनमा सुधार, विदेशमा काम खोज्ने नेपालीहरूलाई राम्रोसँग सहयोग गर्न र नेपालमा दक्ष नेपालीहरूलाई उत्पादनशील बनाउन वातावरण सिर्जना गर्ने जीवन्त घरेलु अर्थतन्त्रको निर्माण नेपालको भविष्यको लागि महत्त्वपूर्ण छ ।

    सुदृढ र थप समावेशी आप्रवासन व्यवस्थापन प्रणालीले पारदर्शी भर्ना प्रक्रिया स्थापित गर्नेछ, श्रमिकलाई विदेश जान राम्रो तयारी गराउनेछ, श्रम बजारमा आप्रवासीहरूको सुरक्षा र आवतजावतलाई सुनिश्चित गर्नेछ, दीर्घकालका सीप र गन्तव्य विविधीकरणका लागि योजना बनाउनेछ र फर्किएका श्रमिकहरूको पुँजी र सिपलाई प्रभावकारी उपयोग गर्नका लागि सहयोगी वातावरण निर्माण गर्नेछ, प्रतिवेदनमा भनिएको छ ।

    अर्धवार्षिक रूपमा प्रकाशित हुने नेपाल डेभलपमेन्ट अपडेटले दीर्घकालीन र विश्वव्यापी दृष्टिकोणसँग सान्दर्भिक गराउँदै पछिल्ला वर्षका आर्थिक विकास सम्बन्धी गहनतम विश्लेषण गर्दै आएको छ ।

  • इजरायलमा फेरि इरानी मिसाइल हमला, इजरायलभर बज्यो आपतकालिन साइरन

    इजरायलमा फेरि इरानी मिसाइल हमला, इजरायलभर बज्यो आपतकालिन साइरन

    काठमाडौं । इरानले इजरायलमा मिसाइल हमला गरेको छ । इजरायली भूमिमा इरानले हानेको मिसाइल इजरायलले लेबनानमा स्थल हमला र हेजबुल्ला प्रमुख हसन नसरल्लालाई हत्या गरेपछि भएको हो ।

    बीबीसीका अनुसार इरानले प्रहार गरेका केहि मिसाइल इजरायलले रोकेको छ । इजरायलभरि साइरन बीबीसीले उल्लेख गरेको छ । सामाजिक सञ्जालमा आएका फुटेजमा इरानी हाइपरसोनिक मिसाइल ११० मिनेटमा इजरायल पुगेको तथा लेबनानमा खुशी मनाइएको देखाइएको छ ।

    अलजजिराका अनुसार अरब क्षेत्रमा भएका अमेरिकी सैन्य शिविरमा भने इरानले हमला गरेको छैन्। गत अप्रील १३ मा पनि इरानले इजरायली भुमीमा आफ्ना सैन्य कमाण्डर मारेपछि आक्रमण गरेको थियो ।

    यसैबिच अमेरिकी रास्ट्रपति जो बाइडेनले इजरायलमा प्रहार भएका मिसाइल रोक्न सेनालाई आदेश दिएका छन् । यो अगाडिको इरानी हमलाका कैयौ ड्रोन र मिसाइल मध्य बाटैमा बेलायत र अमेरिकाले सुट गरेका थिए ।

  • कास्मिर क्षेत्रको स्थानीय चुनावमा उम्मेदवारको खुट्टामा सरकारी जीपीएस

    कास्मिर क्षेत्रको स्थानीय चुनावमा उम्मेदवारको खुट्टामा सरकारी जीपीएस

    काठमाडौं । भारततर्फको कास्मिरमा स्थानीय चुनावमा आज अन्तिम दिन भएको छ । अक्टोबर ८ अर्थात अबको एक हप्ता पुगेपछि नतिजा सार्वजनिक हुनेछ । भारतले संविधानको धारा ३७० हटाएर कास्मिरको स्वायत्तताका केही आधार अन्त्य गरेको थियो । त्यसपछि भएको यो प्रथम चुनाव हो ।

    चुनावमा एक उम्मेदवारको खुट्टामा जीपीएस ट्र्याकर राखिएको छ । उनी हुन् महोमद सिकन्दर मलिक । कास्मिरको बन्दिपुरा जिल्लाका स्वतन्त्र उम्मेदवार उनले राजनीतिक सभाहरुमा आफ्नो खुट्टामा लगाइएको जीपीएस देखाएर उनी भोट माग्ने गर्छन् ।

    तुर्किएको विश्व च्यानल टीआरटी वर्ल्डका अनुसार ३७ वर्षका मलिक कास्मिरको चुनावमा भाग लिएका ८७० उम्मेदवारहरुमा एक हुन् । उनलाई जमात इ इस्लामी नामक इस्लामिक संगठनसँग जोडिएको आरोपमा त्यस्तो गरिएको बताइएको छ ।

    उनलाई जीपीएस जोडिएको बारेमा उनले टीआरटी वर्ल्डलाई भनेका छन्, ‘मेरो निजी स्वतन्त्रता हरण गरिएको छ । यसले मेरो जीवनमा धेरै असर गरेको छ ।’

     

  • लेबनानी भूमिमा इजरायलको स्थल हमला सुरु

    लेबनानी भूमिमा इजरायलको स्थल हमला सुरु

    काठमाडौं । इजरायलले लेबनानी भूमिमा स्थल हमला सुरु गरेको छ । यस अगाडि हवाई हमलामात्रै गर्दै आएको इजरायलले लेबनानी लडाकु समूह हेजबुल्लालाई लक्षित गरेर हमला सुरु गरेको छ । बेलायती विश्व सेवा बीबीसीका अनुसार इजरायलले ‘सीमित, स्थानीय र लक्षित’ हमला गर्ने बताएको छ ।

    इजरायली सेनाको हवाई हमलामा परेर लेबनानी राजधानी बेरुतमा हेजबुल्लाका प्रमुख हसन नसरल्लाको ज्यान गएको थियो । नसरल्लाबाहेक अरु धेरै हेजबुल्लाका कमान्डरहरुको पनि ज्यान गएको छ । नसरल्लालाई हमला गर्नुभन्दा अगाडि इजरायलले हेजबुल्लाले प्रयोग गर्ने पेजर र वाकीटाकीहरुमा विस्फोटक पदार्थ राखेर पड्काएको थियो ।

    लेबनानी सरकारी अधिकारीहरुले इजरायली हमलामा हजारभन्दा धेरैको ज्यान गएको तथा १० लाख मान्छे विस्थापित भएको बताएका छन् ।

    गत वर्षको अक्टोबर ७ मा हमासले हमला गरेपछि प्रतिकारमा उत्रिएको इजरायलले पछि आक्रमणलाई विस्तार गरेर लेबनान तथा यमनसम्म पु¥याएको हो । लेबनानमा सीमा जोडिएकोले स्थल हमला भएको छ । सीमा नजोडिएको यमनमा हवाई हमला भएको छ । हमलामा धेरै सर्वसाधारणको हताहती भएका समाचारहरु आइरहेका छन् ।

  • रुसका धनी झन धनी बन्दै, यहि वर्ष बढ्यो ३१ अर्ब डलर आम्दानी

    रुसका धनी झन धनी बन्दै, यहि वर्ष बढ्यो ३१ अर्ब डलर आम्दानी

    काठमाडौं । रुसका धनीहरु झन धनी भएको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकी संस्था ब्लुमबर्गका अनुसार यहि वर्षमा मात्रै ३१ अर्ब अमेरिकी डलरको धन रुसी धनाढ्यहरुमा थपिइएको छ ।

    गत सेप्टेम्बर ३० सम्मको आँकडामा विश्वका ५०० शीर्ष खर्बपतिमा २५ जना रुसी खर्बपति छन् । खानी उद्योगी भ्यादिमिर पोतानिन रुसका सबैभन्दा धनाढ्यको रुपमा रहेका छन् ।

    उनको सम्पति ३२ अर्ब ६ करोड अमेरिकी डलर पुगेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    दोस्रो धनाढ्यमा भ्यादिमिर लिसिन रहेका छन् । उनको सम्पति २८ अर्ब २ करोड अमेरिकी डलर रहेको छ । उनी स्टिल उद्यागपति हुन् ।

    रुस युक्रेन युद्ध भएपछि रुसलाई अमेरिका नेतृत्वका पश्चिमा देशहरुले नाकाबन्दी लगाएका छन् ।

    कयौँ अमेरिकी तथा यूरोपेली देशहरुमा रुसी जहाजलाई प्रतिबन्ध लगाइएको छ । यस्तो हुँदा पनि रुसको अर्थतन्त्र र रुसी धनाढ्यहरुको सम्पत्ति बढिरहेको विभिन्न तथ्यांकहरुले देखाइरहेका छन् ।

  • जापानमा संसद विघटन हुँदै, कात्तिक ११ मा चुनाव हुने

    जापानमा संसद विघटन हुँदै, कात्तिक ११ मा चुनाव हुने

    काठमाडौं । जापानका नयाँ प्रधानमन्त्रीले संसद विघटन गरेर चुनाव गराउने भएका छन् ।

    जापानको लामो सत्ताधारी दल उदार लोकतान्त्रिक पार्टी (एलडीपी)का प्रधानमन्त्री सिगेरु इसिबाले आगमी हप्ता सदन विघटन गरेर कार्तिक ११ (अक्टोबर २७) मा चुनाव गर्ने तयारी गरेको जापान टाइम्सले उल्लेख गरेको छ ।

    जापान टाइम्सका अनुसार जापानको ४६५ सिटे सदनमा सत्ताधारी दल एलडीपीको २५५ सांसद छन् । प्रधानमन्त्री इसिबाले मंगलबार कार्यभार सम्हाल्ने बताइएको छ ।

  • कमलाले चुनाव जिते अमेरिकालाई एक दलीय देश बनाउने एलन मस्कको दाबी

    कमलाले चुनाव जिते अमेरिकालाई एक दलीय देश बनाउने एलन मस्कको दाबी

    काठमाडौं । खर्बपति व्यवसायी तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले कमला ह्यारिसले चुनाज जितेमा एक दलीय व्यवस्था हुने जिकिर गरेका छन् । डोनाल्ड ट्रम्पले चुनाव हारे अमेरिकामा फेरि पनि चुनाव नहुने उनको भनाइ छ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार कुनै दल विशेषको पकड नभएका स्विङ स्टेटहरूमा आप्रवासीहरूलाई धमाधम नागरिकता दिएर चुनाव जित्ने डेमोक्रेटिक पार्टीको रणनीति भएको मस्कले बताएका छन् । चुनाव हुन एक महिना मात्रैबाँकी छँदा मस्कको यस्तो बताएका हुन् ।

    एक्समा लेख्दै मस्कले बीस गैरकानुनी आप्रवासीमा एकजनाले मात्रै नागरिकता पाए चार वर्षमा त्यो संख्या २० लाख हुने भन्दै डेमोक्रेटिक पार्टीले त्यसरी चुनाव जित्न लागेको दाबी गरे ।

  • पाकिस्तानमा फेरि गोली चल्यो, सात कामदारको हत्या

    पाकिस्तानमा फेरि गोली चल्यो, सात कामदारको हत्या

    काठमाडौं । पाकिस्तानको बालुचिस्तान प्रान्तमा फेरि पनि गोली चलेको छ ।

    गोली लागेको सात पन्जाबी कामदारहरुको हत्या भएको जर्मनीको विश्व च्यालन डिडब्लूले उल्लेख गरेको छ ।

    डिडब्लूका अनुसार पाकिस्तान प्रहरीले सात जनाको हत्या भएको र एक जना घाइते बताएको आइतबार बताएको छ । छुट्टै राज्यको माग गरिहरेको बालुचिस्तान क्षेत्रमा बिद्रोहीरुले पाकिस्तान सरकार र चीनले आफ्ना स्रोतसाधानहरु चोरिरहेको आरोप लाउँदै आएका छन् ।

    गत अप्रिल, मे र अगस्टमा पनि यस्तै गोली प्रहारका घटनाहरु भएका थिए जसमा क्रमशः ११, ७ र ३९ जनाको हत्या भएको थियो । बालुचिस्तानमा भएको ग्वादर बन्दरगाह र चीनको बेल्ट एण्ड रोड इनिसिएटिबका अरु परियोजनाहरु जोड्ने परियोजनामा लक्षित गरेर यस्ता आक्रमण हुँदै आएको डिडब्लूले उल्लेख गरेको छ ।

  • श्रीलंकाको राजनीतिक वंशभन्दा बाहिरकी प्रथम महिला प्रधानमन्त्री डा. हरिनी को हुन् ?

    श्रीलंकाको राजनीतिक वंशभन्दा बाहिरकी प्रथम महिला प्रधानमन्त्री डा. हरिनी को हुन् ?

    काठमाडौं । गत मंगलबार श्रीलंकाले नयाँ प्रधानमन्त्री पायो । साढे दुई दशकमा श्रीलंकाले पाएको प्रथम महिला प्रधानमन्त्री हुन डा. हरिनी अमरासुरिया । राष्ट्रपतिमा सोमबार शपथ लिएसँगै अनुरा कुमारा दिसानायकेले हरिनी अमरासुरियालाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ५४ वर्षकी हरिनीको बारेमा अहिले धेरैलाई चासो छ ।

    अनुराको गठबन्धन राष्ट्रिय जनशक्ति (एनपीपी) गठबन्धनबाट प्रधानमन्त्री भएकी छन् हरिनी । एनपीपी श्रीलंकाका राजनीतिक तथा गैरराजनीतिक २१ संस्थाको गठजोडमा बनेको गठबन्धन हो । गठबन्धनको आधिकारिक वेबसाइटमा जनाइएअनुसार गठबन्धनमा अनुराको दल जेभीपी, नागरिक समाज, महिला समूह, चिकित्सक समूहलगायत छन् ।

    यो सामग्रीमा मंगलबार प्रधानमन्त्री भएकी हरिनी अमरासुरियाको सामान्य चर्चा गरिएको छ ।

    वंशज राजनीतिभन्दा बाहिरबाट आएकी प्रथम महिला प्रधानमन्त्री

    Pics. srilankamirror.com

    हरिनी श्रीलंकाकी तेस्रो महिला प्रधानमन्त्री हुन् । उनीभन्दा अगाडि विश्वकै प्रथम महिला प्रधानमन्त्री बनेकी थिइन् सिरिमाभो बन्दरानाइके । श्रीलंकाली संसदको तथ्यांकअनुसार उनी सन् १९६० जून २१ बाट सन् १९६५ मार्च २५ सम्म प्रधानमन्त्री भएकी थिइन् । उनका श्रीमान तथा तत्कालीन प्रधानमन्त्री एसडब्ल्यूआरडी बन्दरानाइकेलाई सन् १९५९ सेप्टेम्बरमा हत्या गरिएको थियो । त्यसपछि उनी प्रधानमन्त्री भएकी थिइन् ।

    त्यसपछि उनी सन् १९७० बाट १९७७ सम्म फेरि प्रधानमन्त्री भइन् । यस्तै उनी १९९४ बाट सन् २००० सम्म फेरि प्रधानमन्त्री बनिन् । सन् १९९४ अगस्त १९ बाट नोभेम्बर १२ सम्म प्रधानमन्त्री थिइन् सिरिमाओ बन्दरानाइकेकी छोरी चन्द्रिका कुमारातुङ्गा ।

    बन्दरानाइके वंशबाट दुई आमाछोरी प्रधानमन्त्री भएको रेकर्ड बनेको श्रीलंकामा अहिले पहिलो पटक राजनीतिक वंशभन्दा बाहिरबाट प्रधानमन्त्री बन्न पुगेकी छन् हरिनी । चार सदस्य क्याबिनेट बनाइएकाले उनको जिम्मेवारी धेरै मन्त्रालयहरुमा भएको विभिन्न मिडियाहरुले लेखेका छन् । उनले शिक्षा, न्याय, व्यापार, उद्योग, स्वास्थ्य आदि मन्त्रालयहरु पाएकी छन् ।

    वंशज राजनीतिबाट आएकाहरु म्हिला प्रधानमन्त्री भएको इतिहासमा उनले भने आफैं परिवारको पहिलो राजनीतिक अनुहार भएको उदाहरण पेश गरेकी छन् । श्रीलंकाली समाचार पोर्टल आदादेरानाका अनुसार उनी चिया कृषक पिता तथा गृहिणी माताकी छोरी हुन् ।

    श्रीलंकाली सदनका ११ महिलामा समानुपातिक सांसद हरिनी

    उसो त अहिले श्रीलंकाली नवौं संसद विघटन भएर नयाँ चुनावको घोषण भइसकेको छ, तर त्यही पछिल्लो संसदका ११ महिला सांसदमध्ये एक थिइन् हरिनी । उनी समानुपातिक सांसद थिइन् । समानुपातिक सांसद भएर उनले श्रीलंकाली सदनका काममा २६९ दिन उपस्थित भइन् भने १२० दिन गयल भएको संसदीय रेकर्ड छ ।

    उनी सांसदभन्दा भिन्न अभियानकर्मी पनि हुन् । श्रीलंकाको खुला विश्वविद्यालयको समाज अध्ययन विभागकी लेक्चरर पनि हुन्, तर उनले सन् २०२१ बाट पूर्णकालीन राजनीति सुरु गरेको विमिन फर पलिटिक्सलाई दिएको एक अन्तर्वार्तामा बताएकी छन् ।

    भारत, अस्ट्रेलियादेखि बेलायतसम्म पुगेर उच्च शिक्षा लिएकी हरिनी

    हरिनीले आफ्नो अध्ययनलाई श्रीलंका बाहिर भारत तथा बेलायतसम्म लगेकी छन् । भारतको दिल्ली विश्वविद्यालयबाट समाजशास्त्र अध्ययन गरेकी उनले स्नातकोत्तर कक्षा अस्ट्रेलियाको म्याक्वारी विश्वविद्यालयबाट मानवशास्त्रमा लिइन् । यस्तै विद्यावारिधि मानवशास्त्रमा बेलायतको एडिनबर्ग विश्वविद्यालयबाट गरेकी थिइन् । भारतीय मिडिया हिन्दूस्तान टाइम्सका अनुसार शैक्षिक क्षेत्रबाट प्रधानमन्त्री हुने हरिनी प्रथम श्रीलंकाली प्रधानमन्त्री भएकी छन् ।

    उनलाई भारतको दिल्ली विश्वविद्यालयको हिन्दू कलेजकी प्राचार्यले बधाई दिएकी छन् । भारतीय अखबार इकोनोमिक टाइम्सका अनुसार सन् १९९१ बाट सन् १९९४ सम्म उनले उक्त कलेजमा पढेको भन्दै कलेजकी प्राचार्य अञ्जु श्रीवास्तवले भनेकी छन्, ‘यो हाम्रो सौभाग्य हो कि हिन्दू कलेजकी एक पूर्वविद्यार्थी श्रीलंकाको प्रधानमन्त्री हुनुभएको छ ।’

    श्रीलंकामा के छ हरिनीबारेको बुझाइ ?

    हरिनीलाई श्रीलंकामा सामाजिक न्यायको क्षेत्रमा काम गर्ने अनुहारको रुपमा चिनिन्छ । उनलाई शिक्षा क्षेत्रमा काम गर्ने अनुहारको रुपमा पनि हेरिन्छ । श्रीलंकाली मिडिया आउटलेट न्यूजवायरका अनुसार हरिनीलाई अधिकारकर्मी तथा लेक्चररको रुपमा धेरैले चिन्छन् ।

    श्रीलंकाको १६औं प्रधानमन्त्री भएकी हरिनीबारेमा के छ बुझाइ भन्ने प्रश्नमा श्रीलंकाकी पत्रकार तथा हिरिनीलाई नजिकबाट नियालेकी नभोदया जयविक्रमाले श्रीलंकाको सदनमा पुग्ने महिलाहरुमा सबैजसोले श्रीमान, दाजुभाइ तथा बाबुको प्रभावले जाने गरेकोमा हरिनीले आफ्नै पौरखले पुगेको बताइन् । उनले हरिनी अनुराको दल जेभीपीको सदस्य नभए तापनि सन् २०१९ बाट बनेको एनपीपी गठबन्धनमा उनी सक्रिय भएको र शिक्षा नीति बनाउन सक्रिय भएको बताइन् ।

    सन् २०२० को चुनावबाट ‘राष्ट्रिय सूची’बाट संसदमा पुगेकी हरिनीले महिला, बालबालिका र समाजका मुद्दाहरु उठाएको नभोदया बताउँछिन् । ५२ प्रतिशत महिलाको जनसंख्या भएको श्रीलंकामा बनेको एनपीपी गठबन्धनको कार्यक्रममा महिलाहरुलाई ल्याउन सफल उनै हरिनी भएको नभोदया बताउँछिन् ।

    उनी भन्छिन्, ‘म उनलाई शिक्षा क्षेत्रका पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेर छिटो प्रगति गर्ने महिलाको रुपमा लिन्छु । विश्वविद्यालयको प्राध्यापकको रुपमा राजनीतिमा उनको प्रगति तारिफयोग्य छ ।’

  • अमेरिकी मिडियाको दाबी- इजरायलले लेबनानमा स्थल हमला गर्दैछ

    अमेरिकी मिडियाको दाबी- इजरायलले लेबनानमा स्थल हमला गर्दैछ

    काठमाडौं । इजरायलले लेबनानमा स्थल हमाल गर्न लागेको अमेरिकी मिडियामा खबर आएको छ । अमेरिकाको एबीसी न्यूजले इजरायली सुरक्षा स्रोतबाट आएको जानकारी भन्दै त्यस्तो हमला हुन लागेको बताएको छ ।

    एबीसीले दक्षिणी लेबनानमा इजरायलले हमला गर्न लागेको जानकारी दिएको छ । शुक्रबार लेबनानी लडाकु समुह हेजबुल्लाका प्रमुख हसन नसरल्लालाई मारेको इजरायलले स्थल हमला गर्ने जानकारी त्यो भन्दा अगाडि सार्वजनिक भएको हो ।

    तर, इजरायलले यसबारेमा कुनै औपचारिक जानकारी दिएको छैन । लेबनानी राजधानी बेरुतमा इजरायलले हवाइ हमला भने जारी राखेको छ ।

     

  • भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको अन्तरिम नेता बने प्रकाश कारत

    भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको अन्तरिम नेता बने प्रकाश कारत

    काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीको अर्को महाधिवेशन नभएसम्मका लागि प्रकाश कारत संयोजक तोकिएका छन् । महासचिव सिताराम यचुरीको निधनपछि दिल्लीमा आइतवार बसेको बैठकले कारतलाई पोलिटव्युरो र केन्द्रीय कमिटीको संयोजक तोकिएको हो ।

    पार्टीले यसलाई अन्तरिम नेतृत्व भन्दै आगामी वर्ष हुने २४ औं महाधिवेशनसम्म कारतलाई नेता बनाएको हो । यचुरीभन्दा भन्दा पहिले पनि कारत महासचिव थिए ।

    सिपिआइएमको महाधिवेशन आगामी अप्रिलमा हुँदैछ । कुनै बेला भारतीय सत्ता राजनीतिको निर्णायक शक्ति मानिने यो पार्टी अहिले केरल राज्यको नेतृत्वमा सिमित छ भने संसदमा ५ सीटको मात्र शक्ति छ ।