Category: विश्व प्रेस

  • बेलायती दल ‘टोरिज’ले पायो प्रथम अश्वेत नेता

    बेलायती दल ‘टोरिज’ले पायो प्रथम अश्वेत नेता

    काठमाडौं । साबिकको सत्ताधारी तथा बेलायतको हालको प्रमुख प्रतिपक्षी दल टोरिजले पहिलो पटक अश्वेत नेता पाएको छ ।

    बेलायतको परम्परागत दलले भारतीय मूलका ऋषि सुनाकलाई प्रतिस्थापन गर्ने अश्वेत महिला केमी बादेनोज पाएको छ ।

    बेलायतमा जन्मेर नाइजेरिया र अमेरिकामा हुर्किएकी केमीले शनिवार भएको चुनावमा रोबर्ट जेनरिकलाई पराजित गरेर नेता भएकी हुन्।

    ४४ वर्षकी केमीले टोरिजका पुराना मतदाता फर्काउने प्रण गरेकी छिन । विगत १४ वर्षमा पहिलो पटक सत्ता छाड्न बाध्य भएको थियो टोरिजले यो साल ।

    टोरिज विस्थापन गरेका लेबरका प्रधानमन्त्री केइर स्टार्मरको लोकप्रियता पनि टोरिज नेता ऋषि सुनाकले प्रधानमन्त्री छाड्दाको भन्दा कमजोर भएको समाचार सार्वजनिक भएका छन्।

  • उत्तर कोरियाली विदेशमन्त्री मस्कोमा, भनिन्- युक्रेन युद्धमा हाम्रो साथ ‘रुसी कमरेड’लाई

    उत्तर कोरियाली विदेशमन्त्री मस्कोमा, भनिन्- युक्रेन युद्धमा हाम्रो साथ ‘रुसी कमरेड’लाई

    काठमाडौं । उत्तर कोरियाली विदेशमन्त्री चोइ सोन हुइ मस्को पुगेकी छन् । मस्को पुगेर हुइले युक्रेन युद्धमा ‘रुसी कमरेड’लाई उत्तर कोरियाली साथ हुने र रुसकै जित हुने बताएकी छन् । र कोरियाली दश हजार हाराहारी सैनिकहरु रुस पुगेर रुसको कुरु क्षेत्रमा युक्रेनसँग लडेउताको पश्चिमा मिडियामा समाचार आएको बेला उत्तर कोरियाली विदेशमन्त्रीको मस्को भ्रमण र युक्रेनी युद्दमा साथको कुरा सार्वजनिक भएकोले अर्थपूर्ण मानिएको छ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार रुसी विदेशमन्त्री सेर्गी ल्याभ्रोबले उत्तर कोरियाली समकक्षीसग भेटेर दुई देशको सबै क्षेत्रमा अभूतपूर्व उचाई मिलेको भन्दै दुई देशको सैन्य र गुप्तचरी सबैमा निकट सम्बन्ध भएको बताए ।

    गत जुनमा पुटिनको उत्तर कोरियाको राजकिय भ्रमणको समयमा हस्ताक्षर भएको ’विस्तृत रणनीतिक साझेदारी’ पछि सम्बन्ध बलियो थप बलियो भएको उनले बताए । युक्रेन युद्दमा मिसाइल र गोलीगठ्ठा सहयोग गर्ने उत्तर कोरियाले अहिले सैनिक पनि सहयोग गर्न थालेको बताइन्छ ।

  • मेरो लाखौं पैसा र आधा समय मुद्दामामिलामा गयो : ट्रम्प

    मेरो लाखौं पैसा र आधा समय मुद्दामामिलामा गयो : ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको आधा समय र लाखौं रकम मुद्दामामिलामा गएको बताएका छन् ।

    चुनाव आउन पाँच दिन अगाडि अमेरिकी पत्रकार टकर कार्ल्सनसँग एक विशाल सभामा प्रश्नोत्तरमा भाग लिँदै ट्रम्पले यस्तो बताएका हुन् ।

    राजनीतिक विपक्षीलाइ पेल्ने, मुद्दा लाउने काम अमेरिकामा नसुहाउने भन्दै ट्रम्पले भने, ‘यो बनाना गणतन्त्र र थर्ड वर्ल्डमा मात्र हुन्छ ।’

    ट्रम्पले कार्ल्सनसँग लामो कुरा गर्दै आफू राष्ट्रपति भए ग्यास र तेललाई मान्यता दिने विद्युतलाई कम दिने बताए । उनले भने, ‘ चीनसँग ग्यास र तेल नभएकोले विद्युतको कुरा गर्ने हो । अमेरिकासँग ग्यास र तेल छ । हामीले विद्युतमा लागे त्यो चीनलाई फाइदा हुन्छ ।’

  • ह्वाइट हाउसमा दिपावलीको रमझम, हिन्दू मतदाताको मन जित्ने प्रयास

    ह्वाइट हाउसमा दिपावलीको रमझम, हिन्दू मतदाताको मन जित्ने प्रयास

    काठमाडौं । विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम दौड चलिरहेको बेला ह्वाइट हाउसमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व दिपावलीको अवसरमा दीप प्रज्वलन तथा लक्ष्मी पूजा आयोजना भएको छ ।

    राष्ट्रपति भवनमा आयोजित दिपावलीमा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस पनि सहभागी थिइन् । ह्यारिस हिन्दू धार्मिक परिवारकी हुन् । राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावलीको उत्सव आरम्भ गरेका थिए ।

    दीपावलीमा करिव ६ सय जना दक्षिण एसियाली हिन्दू धर्मावलम्वी पाहुनाहरू सहभागी रहेको एजेन्सीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति चुनावमा हिन्दु मतदाताको पनि ठूलो जनसंख्या रहेकाले ह्वाइट हाउसमा यसपटक हिन्दूको मन जित्न दिपावलीको विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

    दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेन, राष्ट्रपतिका दुबै उम्मेदवार कमला ह्यारिस र डोनल्ड ट्रम्पले पनि अमेरिकामा रहेका सबै हिन्दू धर्मवालम्वीहरूलाई शुभकामना दिएका छन् । दीपावली अमेरिकामा कुनै धर्म भन्दा पनि दक्षिण एसियाली चाडका रूपमा मान्यता दिन थालिएको छ ।

  • स्पेनमा बाढीबाट मृत्यु हुनेको संख्या १५८ पुग्यो

    स्पेनमा बाढीबाट मृत्यु हुनेको संख्या १५८ पुग्यो

    काठमाडौं । स्पेनमा बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा कम्तीमा १५८ जनाको मृत्यु भएको स्पेनी अधिकारीले पुष्टि गरेका छन् ।

    स्पेनले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

    अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन्।

    भूमध्यसागरमा मङ्गलबारदेखि आएको असाधारण आँधीका कारण भारी वर्षा हुनुका साथै माटोले भरिएको पानीको बहाव ९बाढी०ले मानिसहरूलाई बगाएको छ भने घरहरू भत्किएका छन् । बाढीका कारण पूर्वी भ्यालेन्सिया क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

    भ्यालेन्सिया क्षेत्रमा उद्धार कार्यको समन्वय गर्ने निकायले बिहीबार दिउँसोसम्म त्यहाँ १५५ जनाको शव फेला परेको जानकारी गराएको छ ।

    क्यास्टिला–ला मञ्च र अन्डालुसियाका अधिकारीहरूले बुधबारको बाढीका कारण आफ्नो क्षेत्रमा तीन जनाको मृत्यु भएको घोषणा गरेका छन् ।

    अझै धेरै मानिस हराइरहेका र केही क्षेत्र उद्धारकर्ताको पहुँचबाहिर रहेकाले सरकारका मन्त्रीहरूले मृत्युसङ्ख्या अझै बढ्नसक्ने बताएका छन् ।

  • बङ्गलादेशमा हिन्दू र इसाईमाथि भएको आक्रमणको ट्रम्पद्वारा निन्दा

    बङ्गलादेशमा हिन्दू र इसाईमाथि भएको आक्रमणको ट्रम्पद्वारा निन्दा

    काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका अहिलेका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले बङ्गलादेशमा हिन्दू र इसाईमाथि भएको हमलाको बिरोध गरेका छन्।

    अमेरिकी चुनाव आउन केही दिन मात्र बाँकी भएको र हिन्दूहरुको पर्व दीपावली वा दीवालीको समयमा ट्रम्पको यस्तो सन्देश आएको हो ।

    जो बाइडेन र कमला ह्यारिस सत्ताले बङ्गलादेशी हिन्दूमाथिको हमलामा नबोलेको बेला ट्रम्पले बोलेका हुन्।

    आफू सत्तामा भएको भए बङ्गलादेश, अमेरिका र विश्वभर हिन्दूहरुलाई आक्रमण नहुने भन्दै ट्रम्प बाइडेन र कमला तथा उनीहरुको धर्म बिरोधी र अतिवादी वामपन्थको कारण यो सबै भएको आरोप लगाएका छन्।

    यहि २० गते अर्थात नोभेम्बर ५ मा अमेरिकी राष्ट्रपति चुनाव हुँदैछ । जसमा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उमेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस ट्रम्पसग भिड्दैछिन्।

     

  • ‘आतंककारी’ को गोलीले मारिएको भारतीय फौजी कुकुरको सलामीसहित अन्त्येष्टि (भिडिओ)

    ‘आतंककारी’ को गोलीले मारिएको भारतीय फौजी कुकुरको सलामीसहित अन्त्येष्टि (भिडिओ)

    काठमाडौं । भारतको जम्मु र काश्मिर क्षेत्रमा ‘आतंककारी’ को गोली लागेर मरेको भारतीय फौजी कुकुरको औपचारिक अन्त्येष्टि गरिएको छ ।

    सेनाको सलामीसहित कुकुरलाई ‘अल बिदा’ गरिएको भारतीय मिडियालाई उद्धृत गर्दै रुसी विश्व च्यानल आरटीले लेखेको छ ।

    कुकुरलाई सेनाले सलामी दिएको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चित छ । आरटीका अनुसार ‘बेल्जियन प्यान्टम’ नामक ४ वर्षको त्यो कुकुरले धेरै सैन्य कारवाहीमा साथ दिएको थियो ।

    कुकुरलाई बहादुरी र बलिदानको लागि भारतीय सेनाले सम्मान दिएको बताइएको छ । बेल्जियन प्यान्टम सन् २०२२ बाट सेनासँग जोडिएको थियो ।

  • उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो– अमेरिका

    उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठायो– अमेरिका

    काठमाडौं । वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ ।

    सोलले मङ्गलबार चेतावनी दिँदै यो तीव्र तैनाथीले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न गरेको बताएको छ । सोलले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड्न हतियार पठाएको आरोप लगाउँदै आएको छ ।

    उत्तर कोरियाली नेता किम जोङ उनले जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि प्योङयाङले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गर्न थालेको सोलको आरोप छ ।

    उत्तर कोरियाले सैनिक पठाएको अस्वीकार गरेको छ । यद्यपि गत हप्ता सरकारी मिडियामा पहिलो टिप्पणीमा उत्तर कोरियाली उपविदेशमन्त्रीले यस्तो तैनाथी भएमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएका थिए ।

    युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले उत्तर कोरियाले ‘चाँडै’ रुसी भूमिमा १२ हजारसम्म सैनिक पठाउन सक्ने चेतावनी दिएका थिए। जबकि अमेरिकी राष्ट्रपति जो बाइडेनले यस तैनाथीलाई ‘अत्यन्त खतरनाक’ भन्दै आलोचना गरेका छन् ।

    पेन्टागनकी उप प्रेस सचिव साब्रिना सिंहले पत्रकारहरूलाई बताएअनुसार उत्तर कोरियाले पूर्वी रुसमा तालिमका लागि कूल १० हजार सैनिक पठाएको छ र यसले सम्भवतः आगामी केही हप्तामा युक्रेन नजिक रुसी सेनालाई बढाउनेछन् ।

    नाटो प्रमुख मार्क रुटले यो तैनाथी ‘रुसको युद्धको खतरनाक विस्तार’ हो, र यो ‘पुटिनको बढ्दो निराशाको सङ्केत’ हो भने।

    रुटका अनुसार द्वन्द्व सुरु भएयता छ लाखभन्दा बढी रुसी सैनिक मारिएका वा घाइते भएका छन् र क्रेमलिन विदेशी समर्थन बिना आक्रमण जारी राख्न असमर्थ छ ।

    दक्षिण कोरियाली गुप्तचर अधिकारीहरूसँगको ब्रिफिङपछि ब्रसेल्समा उहाँले उत्तर कोरियाली सैन्य एकाइहरू रुसको पश्चिमी कुर्स्क क्षेत्रमा तैनाथ गरिएको बताए ।

     उपग्रह प्रक्षेपण ?

    दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले मङ्गलबार मस्को र प्योङयाङबीचको बढ्दो सैन्य सहयोग ‘अन्तर्राष्ट्रिय समुदायका लागि महत्त्वपूर्ण सुरक्षा खतरा’ भएको उल्लेख गर्दै सोलले ‘प्रतिकार्य’ बारे विचार गरिरहेको चेतावनी दिए ।

    सोलका जासुसी निकायले सांसदहरूलाई दुई देशबीच तीव्र सैन्य सहयोग भइरहेको सङ्केत गर्दै उच्च पदस्थ उत्तर कोरियाली जनरलहरू पनि ‘अग्रपङ्क्तिका क्षेत्रहरूमा जान सक्ने’ बताएको छ ।

    एएफपीले प्राप्त गरेको प्रतिलिपिअनुसार सांसदहरूलाई ब्रिफिङपछि उत्तरले मेमा असफल प्रयासपछि ‘उन्नत घटकहरू र रुसी प्राविधिक सहायता प्रयोग गरेर’ अर्को उपग्रह प्रक्षेपणको तयारी गरिरहेको चेतावनी दिएको सांसद ली सेओङ–क्वेउनले बताए।

    विशेषज्ञहरूका अनुसार सैनिक पठाएबापत उत्तर कोरियाले निगरानी उपग्रहदेखि पनडुब्बीसम्मका सैन्य प्रविधि र मस्कोबाट सम्भावित सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने लक्ष्य राखेको छ ।

    उत्तरले रुस तैनाथीबारे सूचना प्रवाहलाई आन्तरिक रूपमा पनि नियन्त्रण गरिरहेको जासुसी निकायलाई उद्धृत गर्दै लीले ली सेओङ–क्वेउनले बताए । उनले भने, “तैनाथ गरिएका सैनिकका परिवारलाई उनीहरू तालिममा छन् भनेर झुटो जानकारी दिइएको छ ।”

    उत्तर कोरियाको सरकारी कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाका विदेशमन्त्री यस साता मस्को जानुभएको छ । यद्यपि कुनै विवरण दिइएको छैन ।

    बढ्दो खतराहरू

    प्रमुख हतियार निर्यातक दक्षिण कोरियाले युक्रेनलाई सिधै हतियार आपूर्ति गर्ने बारेमा पुनर्विचार गर्ने यसअघि नै बताएको थियो । पुनर्विचार गर्न उसका पश्चिमी सहयोगीहरूले लामो समयदेखि माग गर्दै आएका थिए । सोलले अहिलेसम्म लामो समयदेखिको घरेलु नीतिका कारण यो कदम चाल्न अस्वीकार गर्दै आएको छ ।

    सोलले पहिले नै किएभको एक प्रमुख सहयोगी पोल्यान्डलाई अर्बौँ डलर मूल्यका ट्याङ्क, तोप, आक्रमण विमान र रकेट लन्चर बेचिसकेको छ ।

    युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भोन डेर लेयनले पनि उत्तर कोरियाले पहिलो पटक सैनिक पठाउनु ‘युक्रेनविरुद्धको युद्धको महत्त्वपूर्ण वृद्धि हो र यसले विश्व शान्तिलाई खतरामा पार्छ’ भन्दै चेतावनी दिएकी छन् ।

    उनले दक्षिण कोरियाली राष्ट्रपति युनसँगको टेलिफोन वार्तापछि यस घटनाक्रमप्रति इयुको प्रतिक्रिया दक्षिण कोरिया र अन्य समान विचारधारा भएका साझेदारहरूसँगको सहकार्यमा केन्द्रित हुने भन्दै राष्ट्रपतिलाई आश्वस्त पारिन् ।

    त्यसैगरी संयुक्त राज्य अमेरिकाले मस्को र प्योङयाङ दुवैको सहयोगी चीनलाई ‘आफ्ना दुई छिमेकी रुस र उत्तर कोरियाको यस अस्थिरकारी कार्यप्रति चिन्तित हुनुपर्छ’ भनेको विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई बताए ।

    रासस

  • रेस्लर केन र अन्डरटेकरको साथ ट्रम्पलाई

    रेस्लर केन र अन्डरटेकरको साथ ट्रम्पलाई

    काठमाडौं । यही नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा रेस्लर केन र अन्डरटेकरले पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने भएका छन् ।

    रेस्लिङ दुनियाँमा ‘ब्रदर्स अफ डिस्ट्रक्सन’ भनेर परिचित यी दुई रेस्लरले ट्रम्प टीमको भिडिओमा आएर आफ्नो समर्थन देखाएका हुन् ।

    भिडिओमा अन्डरटेकरले नोभेम्बर ५ लाई ‘इलेक्सन मेनिया’ भन्दै आफ्नो छनोट ट्रम्पलाई बनाउन सक्ने बताएका छन् । १६ सेकेन्डको भिडिओ अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल छ ।

  • इरानमा ‘आतङ्कवादी’ आक्रमण, १० प्रहरीको मृत्यु

    इरानमा ‘आतङ्कवादी’ आक्रमण, १० प्रहरीको मृत्यु

    तेहरान । लामो समयदेखि अशान्तिले ग्रस्त रहेको दक्षिणपूर्वी इरानको एउटा क्षेत्रमा भएको ‘आतङ्कवादी’ आक्रमणमा कम्तीमा १० प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।

    आक्रमण राजधानी तेहरानबाट करिब एक हजार २०० किलोमिटर (७४५ माइल) दक्षिणपूर्वमा सिस्तान-बलुचिस्तान प्रान्तमा भएको उक्त आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन ।

    सिस्तान-बलुचिस्तान प्रान्त पाकिस्तान र अफगानिस्तानको सिमानामा पर्छ र इस्लामिक गणतन्त्रको सबैभन्दा गरिब प्रान्तमध्ये एक हो ।

    यस प्रान्तमा इरानी सुरक्षा बल र बलुच अल्पसङ्ख्यक विद्रोही, कट्टरपन्थी सुन्नी समूह र लागुऔषध तस्करबीच बारम्बार झडपहरू भइरहेका छन् ।

    शनिबारको आक्रमण पछिल्ला महिनाहरूमा यस क्षेत्रमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक थियो ।

    अक्टोबरको सुरुमा दुईवटा छुट्टाछुट्टै आक्रमणमा प्रान्तमा प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको थियो ।

    पाकिस्तानी सुन्नी जिहादी समूह जैश अल-अदल-आर्मी अफ जस्टिस इन अरेबिकले टेलिग्राममा सन्देश पठाउँदै दुई आक्रमणको जिम्मेवारी लिएको छ ।

    सन् २०१२ मा बलुच पृथकतावादीहरूले गठन गरेको समूहलाई इरान र संयुक्त राज्य अमेरिका दुवैले आतङ्कवादी सङ्गठन मान्छन् ।

    मेहर एजेन्सीका अनुसार जनवरीको मध्यमा इरानबाट पाकिस्तानमा आक्रमण भएको थियो । उक्त आक्रमणमा जैश अल-अदल मुख्यालयलाई निशाना बनाएको थियो । -रासस/एएफपी

  • रोक्का गरिएको रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जी ७ को अन्तिम निर्णय

    रोक्का गरिएको रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जी ७ को अन्तिम निर्णय

    वासिङ्टन । संसारका सबैभन्दा धनी राष्ट्रको समूह जी ७ का नेताहरूले रोक्का राखिएको रूसी सम्पत्तिबाट भएको नाफाबाट कियभलाई सहयोगस्वरुप ५० अर्ब डलर दिने अन्तिम निर्णय गरेको एक विज्ञप्तिमार्फत शुक्रबार घोषणा गरेका छन् ।

    सात धनी प्रजातान्त्रिक समूहका नेताहरूले यस वर्षको अन्त्यसम्ममा ऋण वितरण सुरु गर्ने लक्ष्यका साथ लगभग ५० अर्ब डलर ऋण कसरी वितरण गर्ने भन्ने कुरामा सहमति भएको बताएका छन् ।

    ‘युक्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै च्यानलमार्फत ऋण वितरण गरिनेछ’, जी ७ नेताहरूले बताएका छन् ।

    अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको यो घोषणा आएको हो ।

    ‘युक्रेनलाई आवश्यक पर्ने समर्थन दिने हाम्रो संकल्पबाट हामी पछि हट्ने छैनौं’, समूहले प्रतिबद्धता जनाएको छ ।

    उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन् । -रासस/एएफपी

  • इरानमा इजरायली हमला

    इरानमा इजरायली हमला

    काठमाडौं । इजरायलले इरानमा मिसाइल हमला गरेको छ । इरानको राजधानी तेह्रराईनको पश्चिम र दक्षिण पश्चिम क्षेत्रमा आक्रमण भएको हो । इजरायलले गरेको हमलामा सैन्य क्षेत्र छन्।

    आक्रमण प्रभावकारी नभएको इरानले बताएको छ भने इजरायलले आक्रमण सफल भएको बताएको छ । यस अगाडि दुई पटक इजरायलमा हमला गरेको इरानले पनि सैन्य क्षेत्रमै हमला गरेको थियो।

    इजरायलले आणविक र तेल क्षेत्रमा हमला गर्ने धम्कि दिएको थियो। तर, अमेरिकी चेतावनीले उक्त हमला नगरेको बीबीसीले उल्लेख गरेको छ । सिरियाको आफ्नो कूटनीतिक भवनमा बल हानेको तथा हमास र हेजबुल्ला नेता हत्या गरेको प्रतिकारमा इरानले इजरायलमा हमला गरेको थियो।

    इरानले इजरायललाई पछिल्लो आक्रमण गरेको २५ दिन पुग्दा इजरायली हमला भएको हो । इरानले गत अक्टोबर १ र त्यो भन्दा अगाडि अप्रील १३ मा पनि आक्रमण गरेको थियो।

  • बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

    बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

    काठमाडौं । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् ।

    यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजीनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो ।

    राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ ।

    प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् ।
    “राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ”, एकजना प्रदर्शनकारीले भने ।

    मोहम्मद साहाबुद्दिन बङ्गलादेशका १६औँ राष्ट्रपति हुन। उहाँ सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

    भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ ।

    त्यसैगरी विद्यार्थीहरूले अवामी लिगको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

    प्रदर्शनकारीहरुले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई–अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन् ।

    सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको हो ।

    बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बङ्गलादेशमा अन्तरिम सरकारको स्थापना भयो ।

    हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

  • भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच रुसमा भेटवार्ता हुने

    भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच रुसमा भेटवार्ता हुने

    नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय अधिकारीहरूले बताएका छन् । रूसी शहर कजानमा राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको तीन दिने ब्रिक्स बैठकको साइडलाइनमा दुई देशबीच बैठक हुनेछ ।

    ‘ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच द्विपक्षीय बैठक हुनेछ’, भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी विक्रम मिस्रीले भने ।

    सन् २०१९ को अक्टोबरमा सीले भारतीय सहर महाबलीपुरम भ्रमण गर्दा विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देशका नेताबीच अन्तिम पटक आमनेसामने औपचारिक वार्ता भएको थियो ।

    वार्ताको केही महिनापछि सन् २०२० मा हिमालय क्षेत्र लद्दाखको विवादित सीमामा दुई देशबीच भएको झडपपछि उनीहरुको सम्बन्ध बिग्रिएको थियो, जसमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिक मारिएका थिए ।

    चीन र भारतले एकअर्कालाई ‘लाइन अफ एक्चुयल कन्ट्रोल’ भनेर चिनिने आफ्नो अनौपचारिक विभाजनको क्षेत्र कब्जा गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् ।

    मोदी र सीले सन् २०२२ मा इन्डोनेसियाको बालीमा जी-२० नेताहरूको बैठक र सन् २०२३ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा छोटो भेटवार्ता गरेका थिए । तथापि भारतले आफ्नो लद्दाख सीमामा द्वन्द्वपूर्वको यथास्थिति पुनःस्थापित नगरेसम्म सम्बन्ध सामान्य हुन नसक्ने बताएको छ । -रासस/एएफपी

  • राहुल गान्धीले बहिनीका लागि छाडे वायनाड, संसदीय राजनीतिमा प्रियंकाको प्रवेश

    राहुल गान्धीले बहिनीका लागि छाडे वायनाड, संसदीय राजनीतिमा प्रियंकाको प्रवेश

    नयाँ दिल्ली । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको चौथो पुस्ताबाट अर्को सदस्यको संसदीय राजनीतिमा प्रवेश भएको छ । नेहरुकी पनातिनी प्रियंका गान्धी पहिलोपटक लोकसभा सांसद पदका लागि उम्मेदवार बनेकी छन् ।

    गत लोकसभा निर्वाचनमा २ निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका प्रियंकाका दाजु राहुल गान्धीले छाडेको क्षेत्र केरलको वायनाडबाट प्रियंकालाई उम्मेदवार बनाउने निर्णय कांग्रेस आईले गरेको हो । उनले लोकसभा सदस्य पदका लागि उम्मेदवार नामांकन गराउँदैछिन् ।

    राहुल गान्धीले ३ लाखभन्दा बढी मतको अन्तरले जितेको सो क्षेत्रमा प्रियंकालाई सहज जितको अनुमान गरिएको छ । भारतीय मिडियाले गान्धी परिवारबाट नयाँ अनुहार चुनावी राजनीतिमा देखिएको टिप्पणी गरेका छन् ।

    प्रियंका पार्टीको राजनीतिमा क्रियाशील रहे पनि सांसदको रुपमा भने पहिलोपटक देखिनेछिन् । उनी आमा सोनिया गान्धीको चुनावी अभियानका क्रममा ९० को दशकबाटै कांग्रेसमा सक्रिय भएकी थिइन् । बहिनी प्रियंकाको उम्मेदवारी नामांकनका क्रममा राहुल पनि वायनाड पुगेका छन् ।

  • लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा शिशुसहित १३ जनाको मृत्यु

    लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा शिशुसहित १३ जनाको मृत्यु

    काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ ।

    लेबनानको सबैभन्दा ठूलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएअनुसार द्वन्द्वको समयमा जनाहबाट केही मिनेट टाढा रहेको ओजाईमा पहिलोपटक आक्रमण भएको हो ।

    तथापि घना जनसङ्ख्या रहेको रफीक हरिरी अस्पताल वरपरको क्षेत्रका लागि कुनै चेतावनी जारी गरिएको थिएन ।

    लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायल र हिजबुल्लाहबिच जारी लगभग एक महिनाको युद्धले लेबनानमा कम्तिमा १ हजार ४८९ जनाको ज्यान लिएको छ दश लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

  • चीनसँग विवादित सीमामा सैन्य गस्तीसम्बन्धी सम्झौता भएको भारतको दाबी

    चीनसँग विवादित सीमामा सैन्य गस्तीसम्बन्धी सम्झौता भएको भारतको दाबी

    नयाँदिल्ली । भारतले सोमबार छिमेकी चीनसँग अत्यन्त विवादित सीमा क्षेत्रहरूमा सैन्य गस्तीका लागि सम्झौता गरेको बताएको छ । यसले सन् २०२० मा दुवै मुलुकका प्रतिद्वन्द्वी सेना भिडेका बेला उत्पन्न भएका समस्याहरूको समाधान गर्ने लक्ष्य राखेको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको एक दिनअघि यो घोषणा आएको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पनि उपस्थिति हुने अपेक्षा गरिएको छ ।

    विश्वका दुई सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्र चीन र भारत गहन प्रतिद्वन्द्वी हुन् र दुवैले नियमित रूपमा एकअर्कालाई वास्तविक नियन्त्रण रेखा भनिने अनौपचारिक विभाजन रेखा वरिपरि क्षेत्र कब्जा गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् ।

    कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको सन् २०२० को सीमा झडपपछि दुवै पक्षले दशौं हजार सैनिक फिर्ता गरेका थिए र वास्तविक नियन्त्रण रेखा भनिने साँघुरो विभाजनपट्टिमा गस्ती नपठाउने सहमति गरेका थिए ।

    ‘पछिल्ला केही हप्तादेखि भारतीय र चिनियाँ कूटनीतिक र सैन्य वार्ताकारहरू एकअर्कासँग निकट सम्पर्कमा रहेका छन्’, भारतका विदेश मन्त्रालयका शीर्ष अधिकारी विक्रम मिश्रीले पत्रकारहरूलाई भने, ‘यी छलफलहरूको परिणामस्वरूप भारत–चीन सीमा क्षेत्रहरूमा वास्तविक नियन्त्रण रेखामा गस्ती व्यवस्थाबारे सम्झौता भएको छ, जसले २०२० मा यी क्षेत्रहरूमा उत्पन्न भएका समस्याहरूको अन्ततः समाधान र पृथकीकरणतर्फ डोर्‍याउनेछ ।’

    भारत आफ्नो उत्तरी छिमेकीप्रति सतर्क छ । दुवै मुलुकको तीन हजार ५०० किलोमिटर लामो सिमानामा विवादहरू स्थायी तनावका स्रोत हुन् ।

    चीनले भारतको उत्तर-पूर्वी राज्य अरुणाचल प्रदेशलाई तिब्बतको अंश मान्दै सम्पूर्ण दाबी गर्छ । दुई देशबीच सन् १९६२ मा सीमा युद्ध भएको थियो । दुवै मुलुकले दक्षिण एसियाभर व्यापक रणनीतिक प्रभावका लागि पनि कडा प्रतिस्पर्धा गर्छन् । -रासस/एएफपी

  • रिपब्लिकन उम्मेदवार ट्रम्पलाई जिताउन एलन मस्कले साढे ७ करोड डलर दिएको खुलासा

    रिपब्लिकन उम्मेदवार ट्रम्पलाई जिताउन एलन मस्कले साढे ७ करोड डलर दिएको खुलासा

    काठमाडौं । अमेरिकी खर्बपति व्यवसायी एलन मस्कले रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन अमेरिकी डलर चन्दाका रुपमा सहयोग गरेको खुलेको छ ।

    आगामी नोभेम्बर ५ मा हुन लागेको निर्वाचनमा ट्रम्पको समूहलाई मस्कले मात्र साढे ७ करोड डलर दिएको त्यहाँको सार्वजनिक लेखा समितिलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

    अघिल्लो चुनावमा डेमोक्रेटिक पार्टीलाई भोट दिएको दाबी गर्दै आएका मस्क यसपटक रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पको पक्षमा तन, मन र धनसहित संलग्न भएका छन् । उनले कमला ह्यारिसलाई कम्युनिष्ट भन्ने गरेका छन् ।

  • बम राखिएको हल्लापछि भारतीय आकाश एयरको विमान ‘डाइभर्ट’

    बम राखिएको हल्लापछि भारतीय आकाश एयरको विमान ‘डाइभर्ट’

    बेङ्गलोर । भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी बेङ्गलोरका लागि उडेको विमानमा बम राखिएको चेतावनीपछि बुधबार एक भारतीय यात्रुवाहक विमानलाई ‘डाइभर्ट’ गरिएको छ ।

    भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी शहर बेङ्गलोरका लागि उडेको आकाश एयरको विमानलाई ‘सुरक्षा सतर्कता’ प्राप्त भएको र ‘सावधानी’ का रूपमा विमानलाई दिल्ली फर्कन आदेश दिइएको थियो ।

    विमानस्थलको आपतकालीन टोलीले विमानलाई निगरानी गरेको र क्याप्टेनले दिल्लीमा सुरक्षित अवतरणका लागि आवश्यक सबै आपतकालीन प्रक्रियाको पालना गरेको आकाश एयरले जनाएको छ ।

    विमानमा तीन शिशुसहित १८४ जना सवार रहेको एयरलाइन्सले जनाएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । स्थानीय सञ्चारमाध्यम र एयरलाइन्सले यस हप्ता कम्तीमा पनि ६ वटा यस्ता चेतावनी आएको जनाएका छन् ।

    मङ्गलबार पनि एयर इन्डिया एक्सप्रेसको विमानमा बम हुनसक्ने इमेलमार्फत चेतावनी दिएपछि सिङ्गापुरको लडाकु विमानले एयर इन्डिया एक्सप्रेसको विमानलाई सुरक्षा प्रदान गरेको थियो ।

    मङ्गलबार राति चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गर्नुअघि दुई वटा एफ–१५ जेट विमानलाई ‘जनघनत्व भएको स्थानबाट टाढा’ सुरक्षा प्रदान गर्न तैनाथ गरिएको थियो ।

    एयर इन्डियाले नयाँदिल्लीबाट शिकागोका लागि उडेको आफ्नो एउटा विमानलाई क्यानडामा आपतकालीन अवतरण गर्नुपरेको बताएको छ । त्यो विमान पनि सकुशल अवतरण भएको थियो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार साउदी अरबको जेद्दाह र ओमानको मस्कटका लागि उडान भर्ने दुई उडानका बारेमा भारतको कम लागतको अपरेटर इन्डिगोलाई पनि यसै साता यस्तै हल्ला प्राप्त भएको थियो । -रासस/एएफपी

  • लेबनानमा इजरायलको नरसंहार बढ्दै, नगरपालिका भवनमा बम हमला गरेर मेयरको हत्या

    लेबनानमा इजरायलको नरसंहार बढ्दै, नगरपालिका भवनमा बम हमला गरेर मेयरको हत्या

    काठमाडौं । इजरायलको हिंश्रक हमला जारी रहदा लेबनानको नबतिह नगरका मेयर मारिएका छन् । अल जजिराका अनुसार आज विहान भएको बम हमलामा परी मारिने दर्जनौं नागरिकमध्ये मेयर अहमद काहिलसमेत परेका छन् ।

    नबातिह नगरका गभर्नर होवाइद तुर्कका अनुसार इजरायलको नरसंहारका क्रममा नगर कार्यालभित्र काम गरिरहेका बेला मेयर काहिल समेत मारिएका हुन् ।

    यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले नगरपालिका बैठकलाई लक्षित गरेरै इजरायली फौजले आक्रमण गरेको बताएका छन् । इजरायलले आफ्नो देशमा निर्दोष नागरिकको नश्लीय संहार गरिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।

  • इजरायलले पुनः आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने इरानको चेतावनी

    इजरायलले पुनः आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने इरानको चेतावनी

    तेहरान । इरानका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेससमक्ष इजरायलको मिसाइल आक्रमणको बदलामा तेहरान ‘निर्णायक र खेदजनक’ प्रतिक्रियाका लागि तयार रहेको जनाउँदै राष्ट्रसङ्घलाई कारबाही गर्न आग्रह गरेको छ ।

    इरानले आफ्ना नजिकका सहयोगी हमासका नेता इस्माइल हानियाह, हिजबुल्लाह नेता हसन नसरल्लाह र एक इरानी जनरलको हत्याको बदला लिन अक्टोबर १ मा इजरायलमा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

    इजरायली रक्षामन्त्री योव ग्यालान्टले गत हप्ता आफ्नो देशको प्रतिशोधात्मक उपाय ‘घातक, सटिक र आश्चर्यजनक’ हुने बताएका थिए ।

    इरानका विदेशमन्त्री अब्बास अरागचीले गुटेर्रेससँगको फोन वार्तामा इरानले यस क्षेत्रको शान्ति र सुरक्षाको लागि सबै प्रयास गरिरहेको जनाउँदै इजरायलको कुनै पनि कार्यको निर्णायक र खेदजनक प्रतिक्रियाका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

    अरागचीले राष्ट्रसङ्घलाई ‘इजरायली शासनको अपराध र आक्रामकता रोक्न र लेबनान र गाजामा मानवीय सहायता पठाउन’ आफ्ना स्रोतहरू प्रयोग गर्नसमेत अपिल गरेका छन् ।

    पछिल्लो समयमा इरानी विदेशमन्त्रीले तनाव कम गर्ने प्रयासमा लेबनान, सिरिया, साउदी अरब, कतार, इराक र ओमानको भ्रमण गरेका छन् ।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सामाजिक सञ्जाल एक्समा यो घटनाक्रम इजरायल, इरान र हमासबीचको युद्धको पृष्ठभूमिमा आएको र एक वर्षभन्दा लामो समयदेखि उग्र हुँदै लेबनानसम्म विस्तार भएको जनाएका छन् । -रासस/एएफपी

  • रुस शत्रु भएको भन्दै जुध्न थप रकम र शक्ति दिन जर्मनी गुप्तचर प्रमुखको माग

    रुस शत्रु भएको भन्दै जुध्न थप रकम र शक्ति दिन जर्मनी गुप्तचर प्रमुखको माग

    काठमाडौं । जर्मनीका गुप्तचर प्रमुखहरूले रुस शत्रु भएको भन्दै थप रकम र शक्ति दिन माग गरेका छन् । जर्मनीका सांसदहरूलाई उनीहरूले यस्तो माग राखेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    रुसले जर्मनीको एकता कमजोर बनाउन सूचनादेखि साबोटेजसम्मको सबै हतकण्डा प्रयोग गरेको भन्दै यसको मुकाबिला गर्न अतिरिक्त पैसा र शक्ति उनीहरूले जर्मनीको सदन बुन्डेस्टागको कन्ट्रोल कमिटीमा सोमबार यस्तो माग गरेका हुन् ।

    जर्मनीको सोसल डेमोक्रेट पार्टीका सांसद डिर्क विसेले रुसले आरटी र स्पुत्निकबाट मिथ्या सूचनाले जर्मनीलाई कमजोर बनाउन खोजेको बताएका थिए ।

    अमेरिकाले रुसले अमेरिका र यूरोपेली देशमा चुनाव र लोकतन्त्रमा हस्तक्षेप गर्न ३० करोड यूरो बजेट विनियोजन गरेको आरोप लाइसकेको छ ।

  • ३० दिनभित्र गाजामा सहयता गर्न नदिए इजरायललाई अमेरिकाले सैन्य सहयोग बन्द गर्ने

    ३० दिनभित्र गाजामा सहयता गर्न नदिए इजरायललाई अमेरिकाले सैन्य सहयोग बन्द गर्ने

    काठमाडौं । अमेरिकाले इजरायललाई ३० दिन भित्र गाजामा सहायता जान नदिए सैन्य सहयोग बन्द गर्ने चेतावनी दिएको छ ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार आइतबार लेखिएको औपचारिक पत्र अहिलेसम्मको अमेरिकाले इजरायललाई गरेको सबैभन्दा कडा शब्दको चेतावनी हो ।

    उत्तरी गाजामा इजरायली सैन्य हमलामा परेर कयौँ सर्वसाधारण हताहती भएको खबर आएपछि यस्तो चेतावनी आएको बीबीसीले उल्लेख गरेको छ ।

    गाजामा कमजोर बन्दै गरेको मानवीयताको सङ्कट र उत्तर र दक्षिण गाजामा ९०५ आवतजावत अवरोध भएकोमा अमेरिकाले चिन्ता लिएको बताइएको छ ।

    इजरायलले अमेरिकी पत्रलाई गम्भीर रूपमा लिएर अमेरिकी समकक्षीसँग कुरा गर्ने बताएको बीबीसीले लेखेको छ ।

    इजरायलको सबैभन्दा ठूलो सैन्य र गुप्तचरी तथा कूटनीतिक दाता अमेरिकाले इजरायललाई दिएको यो चेतावनी धेरै कोणमा अर्थपूर्ण देखिन्छ ।

  • भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तानमा

    भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तानमा

    इस्लामाबाद । भारतीय विदेशमन्त्री सुबह्मण्यम जयशङ्कर मङ्गलबार साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका लागि पाकिस्तान पुगेका छन् । करिब एक दशकमा आफ्नो प्रतिद्वन्द्वी छिमेकी मुलुकको भ्रमण गर्ने उनी दिल्लीका पहिलो उच्च कूटनीतिज्ञ हुन् ।

    विदेश मन्त्रालयका एक अधिकारीका अनुसार जयशङ्करको विमान स्थानीय समयानुसार अपराह्न ३ः३० बजे राजधानी इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण भएको थियो । सरकारी टेलिभिजनले उनलाई फूलको गुच्छा प्रदान गरिरहेको देखाएको छ, तर स्वागत टोलीमा कुनै वरिष्ठ मन्त्रीहरू संलग्न थिएनन् ।

    आणविक शक्ति सम्पन्न भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी हुन् । दुई मुलुकबीच दीर्घकालीन राजनीतिक तनाव छ । सन् १९४७ मा भारतीय उपमहाद्वीपको विभाजनपछि दुवै मुलुकले तीन वटा युद्ध र अनेकौं साना झडप लडेका छन् ।

    सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत प्रशासित कश्मीरको सीमित स्वायत्तता खारेज गरेपछि सम्बन्धहरू विशेषगरी कटु बनेका छन् । हिमाली क्षेत्र कश्मीर भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले पूर्ण रूपमा दाबी गर्छन् र एकअर्कालाई त्यहाँ उग्रवाद भड्काएको आरोप लगाउँछन् ।

    मोदीको सन् २०१९ को उक्त कदमलाई भारतभर उत्सवका रूपमा मनाइयो, तर पाकिस्तानलाई द्विपक्षीय व्यापार निलम्बन गर्न र नयाँदिल्लीसँगको कूटनीतिक सम्बन्ध घटाउन प्रेरित ग¥यो ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसै महिना जयशङ्करको भ्रमणको एजेन्डा कडाइका साथ एससीओको कार्यतालिकाअनुसार हुने र यसमा व्यापार, मानवीय र सामाजिक मुद्दाहरूमा छलफल गर्ने कार्यक्रम रहेको बताएका थिए ।

    ‘भारतीय विदेशमन्त्रीले द्विपक्षीय बैठकका लागि अनुरोध गर्नुभएको छैन न हामीले उहाँलाई निमन्त्रणा नै दिएका छौं’, पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार भनेका थिए ।

    हालैका सातामा राजधानीमा भएका नागरिक अशान्ति र पाकिस्तानका अन्य स्थानमा भएका आतङ्कवादी आक्रमणहरूपछि सम्मेलनको अवधिमा स्थिरता र सुरक्षाको छवि प्रस्तुत गर्न इस्लामाबाद उत्सुक छ ।

    भारतका पूर्वविदेशमन्त्री सुषमा स्वराज सन् २०१५ मा अफगानिस्तानसम्बन्धी शिखर सम्मेलनका लागि पाकिस्तान भ्रमण गर्ने अन्तिम व्यक्ति थिइन् ।

    मोदीले पनि त्यही वर्ष आफ्नो पहिलो कार्यकालका लागि पद सम्हालेको केही समयपछि पाकिस्तानको आकस्मिक भ्रमण गरेका थिए । उक्त भ्रमणले सम्बन्धमा सुधारको सानो आशा जगाएको थियो ।

    एससीओ चीन र रुसले स्थापना गरेको १० मुलुकको समूह हो । चीन र रुसले यस गठबन्धनलाई मध्य एसियाली मुलुकहरूसँग आफ्नो सम्बन्ध गहिरो बनाउन र क्षेत्रमा प्रभाव विस्तार गर्न प्रयोग गरेका छन् । यद्यपि तिनीहरूले हालै यस सङ्गठनलाई पश्चिमको प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरेका छन् ।

    यस समूहले विश्व जनसङ्ख्याको ४० प्रतिशत र कुल गार्हस्थ उत्पादनको करिब ३० प्रतिशत प्रतिनिधित्व गर्ने दाबी गर्दछ, तर यसका सदस्यहरूको विविध राजनीतक प्रणाली छ र उनीहरूबीच खुला असहमति पनि छ ।

    पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारी गत वर्ष गोवामा भएको एससीओ बैठकमा सहभागी भएका थिए । यो पनि एउटा दुर्लभ भ्रमण थियो । गोवा बैठकमा उनी र जयशङ्कर मौखिक विवादमा संलग्न भएका थिए ।

    यो सन् २०१६ पछि पाकिस्तानी वरिष्ठ अधिकारीको पहिलो आधिकारिक भ्रमण थियो, तर दुई विदेशमन्त्रीले एकअर्कासँग बैठक गरेका थिएनन् । -रासस/एएफपी

  • भारत र क्यानडाको दुस्मनी बढ्दै: के भने क्यानेडेली प्रधानमन्त्री ट्रुडोले ?

    भारत र क्यानडाको दुस्मनी बढ्दै: के भने क्यानेडेली प्रधानमन्त्री ट्रुडोले ?

    काठमाडौं । भारत र क्यानेडालीकाे सम्बन्ध झनै खराब हुँदै गएकाे छ ।  खराबी उच्च राजनीतिक तहमै पुगेको छ । क्यानडाले हालसालै अपराधिक गतिविधी गरेको भन्दै ६ भारतीय कूटनीतिज्ञ निस्काशन गरेको छ । भारतले त्यसै गरेको छ ।

    कूटनीतिक सम्बन्धलाई दुवै देशले केही तहमा कटौती गरेको सार्वजनिक भइसकेको छ । हालसालै प्रधानमन्त्री ट्रुडोले भनेका छन,‘ मलाई लाग्छ भारतले क्यानडाको भूमिमा क्यानेडालीविरुद्ध अपराध गर्न सकिन्छ भन्ने सोच्नु आधारभूत रुपमै गल्ती हो।’

    गत वर्षको जुनमा क्यानडाका शिख नेता हार्दिप सिन्ह निजरको गुरुद्वारा नजिकै हत्या भएको थियो। भारत सरकारको लगानीमा हत्या भएको क्यानेडाली प्रधानमन्त्रीले सार्वजनिक आरोप लगाएका थिए।

    शिखलाई अलग राज्य खालिस्तानको माग गर्ने आन्दोलनमा जोडिएको भन्दै उनको हत्या भएको बताइन्छ । सोही साल हत्या गरिएका शिख सुख्दोल सिंह जिलको हत्यामा पनि भारतकै हात भएको आरोप लाइएको छ ।

    क्यानडामा मात्र होइन अमेरिकामा पनि भारतले शिख नेता मार्न खोजेको सार्वजनिक भएको छ । गत नोभेम्बरमा शिख नागरिकलाई न्यूयोर्कमा हत्या गर्ने योजनामा भारत सरकार लागेको आरोप लागेको छ ।

  • रूसलाई ड्रोन तथा क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा युरोपियन युनियन र बेलायतले लगाएको प्रतिबन्धको इरानद्वारा निन्दा

    रूसलाई ड्रोन तथा क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा युरोपियन युनियन र बेलायतले लगाएको प्रतिबन्धको इरानद्वारा निन्दा

    काठमाडौं । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले इरानले रूसलाई क्षेप्यास्त्र तथा ड्रोन हस्तान्तरण गरेको आरोपमा इरान माथि युरोपेली सङ्घ र बेलायतले लगाएको प्रतिबन्धको कडा निन्दा गरेका छन् ।

    इरानमाथि लगाएको प्रतिवन्धलाई अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानूनी सिद्धान्त र मानव अधिकारको विपरित रहेको आसय व्यक्त गर्दै जारी गरिएको विज्ञप्तिमा बाघाईले प्रतिबन्ध आधारहीन रहेको उल्लेख गरेका छन् ।

    आरोप र प्रतिवन्ध आधारहिन रहेको बताउदै बाघाईले द्वन्द्व सुरु भएदेखि नै इरानले युद्ध र द्वन्द्वको विरोध गर्दै रूस र युक्रेनबीचको मतभेदको कूटनीतिक समाधानका लागि आह्वान गर्दै आएको बताएका छन् ।

    गाजा र लेबनानमा भएको नरसंहारमा इजरायललाई हतियार उपलब्ध गराउन बेलायत र जर्मनी लगायत केही युरोपेली देशहरूको संलग्नतालाई औंल्याउदै उनले ती देशहरू प्यालेस्टिनी र लेबनानी जनताविरुद्ध इजरायलले गरेको “अपराध“ मा सहयोगी रहेको बताए ।

    यसै सन्दर्भमा इरानको राष्ट्रिय हित, सुरक्षा, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न रूस लगायत अन्य देशहरूसँग सैन्य सहयोगमा संलग्न हुने “अपरिहार्य“ अधिकारलाई प्रकाश पार्दै युरोपेली सङ्घको “अवैध र अन्यायपूर्ण“ प्रतिबन्धहरू विरुद्ध जवाबी प्रतिक्रिया दिने अधिकार सुरक्षित रहेकोसमेत बाघाईले उल्लेख गरे ।
    ( ( (

  • ६ महिनामा ७ लाख ४० हजार अफगान शरणार्थी स्वदेश फर्किए

    ६ महिनामा ७ लाख ४० हजार अफगान शरणार्थी स्वदेश फर्किए

    काठमाडौं । शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिब ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताएका छन् ।

    अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा छिमेकी देशहरूबाट झन्डै ७ लाख ४० हजार अफगान शरणार्थी घर फर्किएको बताएका हुन् । करिब ६ लाख ५० हजार शरणार्थीहरू इरानबाट फर्केका छन् । ८० हजार पाकिस्तानबाट र बाँकी १० हजार टर्किएबाट घर फर्केका छन् ।

    गत वर्ष झन्डै २० लाख अफगान शरणार्थी स्वदेश फर्किएका छन् । करिब ७० लाख अफगान शरणार्थी अझै पनि विदेशमा छन् । जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा छन् ।

    – सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपाल

  • रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

    रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको आरोपमा इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध

    लक्सेम्बर्ग । युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाएको छ ।

    युरोपेली आयोगका विदेशमन्त्रीले इरान एयरलगायत सात संस्था र उपरक्षामन्त्री सैयद हम्जेह घलान्डारी र रिभोलुसनरी गार्ड्स कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसहित सात जना व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।

    प्रमुख युरोपेली शक्तिहरू बेलायत, फ्रान्स र जर्मनीले गत महिना रुसमा इरानी क्षेप्यास्त्र हस्तान्तरणलाई लिएर यस्तै प्रतिबन्ध जारी गरेका थिए ।

    युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्पूर्ण ब्लकले अपनाएको प्रतिबन्धलाई स्वागत गर्दै भनिन्, ‘युक्रेनविरुद्ध रुसको आक्रामक युद्धलाई इरानी शासनको समर्थन अस्वीकार्य छ र यो बन्द हुनुपर्छ ।’

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले प्रतिबन्धलाई ‘अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानूनविपरीत’ भन्दै अस्वीकार गरेका छन् । उनले रुसलगायत अन्य देशसँग रक्षा र सैन्य सहयोग गर्ने इरानको अपरिहार्य अधिकारलाई पनि जोड दिएको इरानको आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ ।

    इरानको कट्टर प्रतिद्वन्द्वी इजरायलले पनि आयोगको यस कदमको प्रशंसा गरेको छ ।

    त्यसैगरी प्रतिबन्धले रकेट र मिसाइल प्रक्षेपण गर्न प्रयोग हुने प्रणोदक उत्पादनमा संलग्न दुई कम्पनीलाई पनि लक्षित गरेको छ ।

    इरानले भने युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र हस्तान्तरण गरेको पश्चिमी आरोपलाई अस्वीकार गरेको छ । -रासस/एएफपी

  • इजरायलले राक्षसी नरसंहार गरिरहेको अमेरिकी सांसदको टिप्पणी, सहयोग रोक्न बाइडेनलाई आग्रह

    इजरायलले राक्षसी नरसंहार गरिरहेको अमेरिकी सांसदको टिप्पणी, सहयोग रोक्न बाइडेनलाई आग्रह

    काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचन चलिरहेका बेला सत्तारुढ डेमोक्रेटिक पार्टीकी सांसद तथा युएस डेमोक्रेटिक प्रतिनिधि इल्हान ओमारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई राक्षसको संज्ञा दिएकी छन् ।

    ओमारले अस्पतालहरुमा बम पड्काएर, प्यालेस्टिनी जनतालाई जलाएर र खाद्यान्न तथा औषधी सप्लाइमा अवरोध गरी सहायताकर्मी कार्यकर्ताको समेत हत्या गर्दै नेतान्याहूले पटकपटक मानव अधिकारको हनन गरेको बताएकी छन् ।

    उनले नेतान्याहूबाट भइरहेको राक्षसी नरसंहार अन्त्य हुनै पर्ने भन्दै राष्ट्रपति जो बाइडेनसमक्ष इजरायललाई बल पुग्ने सबै सहायता बन्द गर्न आग्रह गरेकी छन् । यसको शुरुआत सैनिक सहायता कटौतीबाट भएको समेत उनले बताएकी छन् ।

    इजरायलले प्यालेस्टाइन, गाजा र लेबनानलगायत ठाउँमा गरेको बमबारी र हिंस्रक आक्रमणमा परेर ५० हजारभन्दा बढी निर्दोष सर्वसाधारण मारिएका छन् । मर्नेमा धेरैजसो बालबालिका र महिला छन् ।

    पछिल्लो पटक इजरायलले लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको क्याम्पमा समेत हमला गरेको छ । त्यसक्रममा केही सैनिक घाइते भएका छन् ।

    लेबनानमा करिब ८ सय नेपाली सेना समेत शान्ति सैनिकका रुपमा कार्यरत छन् ।

  • ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ

    ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ

    सोल । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ ।

    आणविक हतियार सम्पन उत्तरले सोललाई आफ्नो राजधानीमाथि ड्रोन उडाएर ‘उत्तेजक अफवाह र फोहोर’ भरिएका प्रचार पर्चाहरू खसालेको आरोप लगाउँदै आइतबार यदि अर्को ड्रोन पत्ता लागे यसलाई ‘युद्धको घोषणा’ मानिने चेतावनी दिएको छ ।

    सोलको सेनाले यसअघि नै उडानहरूको पछाडि आफ्नो हात रहेको भन्ने दाबीलाई अस्वीकार गरेको छ । सामान्यतया बेलुनद्वारा लामो समयदेखि प्रचार सामग्री र अमेरिकी मुद्रा उत्तरतर्फ पठाउँदै आएका कार्यकर्ता समूहहरूमा दक्षिणका स्थानीयहरूको अनुमानहरू केन्द्रित छन् ।

    यद्यपि उत्तरले सोललाई आधिकारिकरूपमा दोषी ठहर गर्दै आइतबार राति पहिले नै युद्धको स्थितिमा रहेका आठ तोपखाना ब्रिगेडलाई ‘पूर्ण रूपमा गोली चलाउन तयार रहन’ भनेको छ र प्योङयाङमा हवाई निगरानी चौकीहरू सुदृढ पारेको घोषणा गरेको छ ।

    “हाम्रो सेनाले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ र उत्तरको उक्साहटका लागि पूर्ण रूपमा तयार छ”, दक्षिणको संयुक्त प्रमुखहरूको कार्यालय (जेसिएस) का प्रवक्ता ली सियोङ–जुनले पत्रकार सम्मेलनमा भने ।

    हालैका दिनहरूमा प्रचार ड्रोनहरूले राजधानीको हवाई क्षेत्रमा तीन पटक प्रवेश गरेको प्योङयाङले दाबी गरेको छ । साथै नेता किम जोङ उनकी शक्तिशाली बहिनीले तिनीहरू नरोकिए ‘भयानक विपत्ति’ को धम्की दिएका छन् ।

    सोमबार एक वक्तव्यमा किम यो जोङले भने, “ड्रोन उडानहरू हाम्रो राज्यका लागि क्षमा नहुने दुर्भावनापूर्ण चुनौती थियो ।”

    उनले यस्तै तीनवटा लगातार वक्तव्य जारी गर्दै दक्षिण कोरियाली सेनालाई उत्तर कोरियाली हवाई क्षेत्रको कथित उल्लङ्घनको पुनारवृत्ति रोक्न उपायहरू अपनाउन आग्रह गरेका छन् ।

    जेसिएसले सोमबार सोलका सेना सीमापार पठाउनका लागि जिम्मेबार रहेको न पुष्टि गरेको छ न त अस्वीकार नै गरेको छ बरु उत्तरको दाबीलाई ‘लज्जास्पद’ भनेको छ ।

    “उत्तरले प्योङयाङको आकाशमा ड्रोनको उत्पत्तिसमेत पुष्टि गर्न सक्तैन तर दक्षिणलाई दोष लगाइरहेको छ- त्यसैबेला दक्षिणतर्फ १० पटक ड्रोन पठाएको विषयमा मुख बन्द गरेर बसेको छ”, प्रवक्ता लीले भने, “यो लज्जास्पद दाबीबाहेक केही होइन ।”

    सोलको एकीकरण मन्त्रालयले ड्रोन दाबीहरू उत्तरद्वारा आन्तरिक एकता बढाउने प्रयास हुनसक्ने बताएको छ । मन्त्रालयलका प्रवक्ता कु ब्योङ–सामले उत्तरले ‘उक्साहट गर्न वा हाम्रो समाजमा चिन्ता र भ्रम सिर्जना गर्न’ का लागि बहाना खोजिरहेको हुनसक्ने बताए ।

  • लेबनानमा इजरायली हमला : जोखिममा ८०० बढी नेपाली शान्ति सैनिक

    लेबनानमा इजरायली हमला : जोखिममा ८०० बढी नेपाली शान्ति सैनिक

    काठमाडौं । इजरायल र लेबनानी सीमामा शान्ति सेना छ । त्यो सूचीमा नेपाली सैनिकहरू पनि कार्यरत छन्। तर अहिले तिनको सुरक्षामा प्रश्न खडा भएको छ ।

    हालसालै इजरायली आक्रमणमा परेर १५ शान्ति सैनिक घाइते भएका छन् । शान्ति सेनाको कार्यालय युनिफिलको गेट भत्किएको यूरोन्यूजले उल्लेख गरेको छ ।

    यूरोन्यूजका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शान्ति सेना हटाउन महासचिव एन्तोनिओ गुतेरेसलाई चेतावनी दिएका थिए ।

    उनले भनेका थिए, ‘महासचिव ज्यू यूनिफिलको फौजलाई तत्काल नोक्सान हुने बाटोबाट हटाउनुस्।’

    हालसालै घाइते हुनेहरूमा कति नेपालीहरू परे वा परेनन् भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन। तर, इजरायलले संयुक्त राष्ट्रसङ्घलाई आगमन निषेध गरेको घोषणा गरेको छ भने अहिले शान्ति सेनाको फौज पनि हटाउन चेतावनी दिएको छ ।

    नेपाली सेनाका अवकाश प्राप्त उपरथी पूर्ण सिलवालले लेबनानको शान्ति सेना समस्यामा भएको यस अगाडि नै सार्वजनिक जानकारी दिएका थिए।

    नेपाली सेनाले भने कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। लेबनानमा ८०० बढी नेपाली शान्ति सेना छन् । नेपाल प्रेसले यो विषयमा औपचारिक जानकारी लिन नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीलाई सम्पर्क गर्दा फोन उठेन ।

  • नेता बाबा सिद्धिकीको गोली हानी हत्या, लरेन्स बिश्नोई गिरोहमाथि आशंका

    नेता बाबा सिद्धिकीको गोली हानी हत्या, लरेन्स बिश्नोई गिरोहमाथि आशंका

    काठमाडौं । भारतमा एक पूर्वमन्त्रीको गोली हानी हत्या भएको छ । मुम्बईका पूर्वविधायक बाबा सिद्धिकीको गोली हानी हत्या भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

    सिद्धिकी बान्द्रा (पूर्व) बाट तीन पटक विधायक र राज्य सरकारमा मन्त्री भइसकेका छन्। उनी यस वर्ष फेब्रुअरीमा कांग्रेस छोडेर राष्ट्रवादी कांग्रेस पार्टी (अजित पवार) मा प्रवेश गरेका थिए ।

    उनका छोरा जीशान सिद्धिकी हाल बान्द्रा (पूर्व) सीटबाट विधायक छन्। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बाबा सिद्धिकीको शव पोस्टमार्टमका लागि मुम्बईको कुपर अस्पताल लगिएको छ।

    मोटरसाइकलमा आएका तीन बन्दुकधारीले शनिबार राति करिब साढे ९ बजे छोराको कार्यालय बाहिर बाबा सिद्दिकीमाथि ६ राउण्ड गोली प्रहार गरेका थिए । उनलाई ६ वटा गोली लागेको थियो । प्रहरीले नियन्त्रणमा लिएकाहरु उत्तर प्रदेशका रहेको बताइएको छ ।

    प्रहरीले यो घटनामा लरेन्स विष्णोई गिरोहको आशंका गरेको छ । बाबा सिद्दिकीले आफ्नो सम्पूर्ण राजनीतिक जीवन कांग्रेस पार्टीमा बिताए। तर गत फागुनमा उनी कांग्रेस छोडेर एनसीपी* प्रवेश गरेका थिए ।

    *यसअघि का‌ंग्रेस छाडेर एनसीपी प्रवेश गरेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

  • सौतेनी भाइ बने रतन टाटाको उत्तराधिकारी

    सौतेनी भाइ बने रतन टाटाको उत्तराधिकारी

    काठमाडौं । भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ ।
    बुधबार निधन भएका रतन टाटाको स्थान नोएल टाटाले लिएका छन् । आफ्नो निधन हुँदासम्म रतन टाटा ट्रस्ट्सका अध्यक्ष थिए । ट्रस्ट्सको जटिल स्वामित्व संरचनामार्फत समूहको होल्डिङ कम्पनी टाटा सन्समा करिब ६६ प्रतिशत हिस्सा छ ।
    बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्सजस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल सेयरधारक हो ।
    “टाटा ट्रस्ट्स गठन गर्ने विभिन्न ट्रस्टहरूको अध्यक्षका रूपमा श्री नोएल नवल टाटालाई नियुक्त गर्ने र उहाँलाई अध्यक्षका रूपमा पदनाम दिने सर्वसम्मत निर्णय गरिएको छ”, एक प्रेस विज्ञप्तिमा भनिएको छ, “उहाँको नियुक्ति तत्काल प्रभावकारी हुनेछ ।”
    नोएल टाटाले वक्तव्यमार्फत आफू जिम्मेबारीप्रति गहिरो रूपमा सम्मानित र विनम्र रहेको र आफ्नो सौतेनी दाजुको विरासतलाई निरन्तरता दिन तत्पर रहेको बताउनुभएको छ ।
    नोएल दशकौँदेखि समूहसँग जोडिएका छन् । यद्यपि उनी विशेषगरी समूहको अन्त्यन्त सफल पोशाक खुद्रा व्यवसाय ट्रेन्टको अध्यक्षका रूपमा सार्वजनिक रूपमा चिनिन्छन् ।
    टाटा ट्रस्ट्स सन् १८९२ मा स्थापना भएको थियो । यसले टाटा ब्रान्डअन्तर्गत आउने सूचीबद्ध फर्महरूको दैनिक कार्यमा कुनै भूमिका निर्वाह गर्दैन बरु आवास, स्वास्थ्य सेवा र शिक्षा परोपकारी संस्थाहरूलाई समर्थन गर्दछ ।
  • पश्चिम एसियामा युद्धबाट एक वर्षमै आधा लाखले गुमाए ज्यान : तेस्रो विश्व युद्ध भएको हो ?

    पश्चिम एसियामा युद्धबाट एक वर्षमै आधा लाखले गुमाए ज्यान : तेस्रो विश्व युद्ध भएको हो ?

    काठमाडौं । यही अक्टोबर ७ मा प्यालेस्टाइनी भूमि गाजा पट्टीको हतियारधारी समूह हमासले इजरायली भूमिमा आक्रमण गरेको ठीक एक वर्ष पुग्यो । १२ सयको ज्यान गएको उक्त आक्रमणले इजरायलको गुप्तचरी र सैन्य सुरक्षामा प्रश्न चिन्ह खडा गयो । १२०० मान्छेको ज्यान गएको, २५१ लाई बन्धक बनाइएको र नेपाल तथा अमेरिकासहित ३० देश बढीका मान्छेको हत्या भएको थियो । न्युज विकका अनुसार अझै १०० बन्धकहरूको अत्तोपत्तो छैन ।

    आक्रमणको एक वर्ष पुग्दा अमेरिका, बेलायत तथा इजरायलका कट्टर सहयोगी देशहरूले हमासलाई कडा शब्दमा निन्दा गरे । आतंककारी भने । इरानलाई चेतावनी दिए । अमेरिकी रक्षा सचिव लोएड अस्टिनले इरान र उसका सहयोगी सङ्गठनहरूलाई चेतावनी दिए । चेतावनी दिएर अमेरिकाले इजरायलको रक्षा गर्ने बताए ।

    उता, इरानले भने अक्टोबर ७ को आक्रमणलाई सामान्य रूपमा व्याख्या गरेको छ । टाइम्स अफ इजरायलका अनुसार गत इरानी सर्वोच्च नेता अयोतल्ला अति खामेनीले हमासको सेप्टेम्बर ७ आक्रमणलाई ‘न्यायोचित’ र ‘कानुनी’ कारबाहीको उपमा दिएका छन् । इरानको राजधानी तेह्रराइनको मस्जिदको हजारौँ जोडिएको प्रार्थनामा आएर उनले यस्तो बताएका थिए ।

    अमेरिका र इरानले दिएका अक्टोबर ७ को आक्रमणको सवालमा आएका भिन्न भिन्न धारणा नै अहिलेको पश्चिम एसियाली तनावका कारण हुन् । त्यसका बाछिटाले विश्वभर कुनै न कुनै प्रभाव बनाएको छ ।

    पहिले अरब भर्सेस इजरायल: अहिले इरान भर्सेस इजरायल

    सन १९४८ मे १४ मा प्यालेस्टाइनी बहुसङ्ख्यक बसोबास भएको भूमिमा इजरायल देश बन्यो । त्यो देश बन्ने क्रममा धेरै प्यालेस्टानीहरु शरणार्थी हुन बाध्य भए । घरबारविहीन हुन बाध्य भए । त्यसको प्रतिकार कूटनीतिक लाइनमा मात्रै होइन सैन्य लाइनमा पनि हुँदै आयो । कहीँ किस्ता-किस्तामा इजरायल अरब युद्धहरू भए । सन १९४८ र सन् १९४९ को युद्धमा इजरायललाई आक्रमण गर्न इजिप्ट, इराक, जोर्डन, सिरिया र लेबनन मिलेर इजरायलमा आक्रमण गरे ।

    यस्तै सन् १९६७ मा पनि तीनै पाँच अरब देशहरू मिलेर आक्रमण गरे । सन् १९७३ मा इजिप्ट र सिरियाले फेरि आक्रमण गरे । धेरै देशहरू प्रत्यक्ष जोडिएर इजरायलको स्वतन्त्रता आएपछिका प्रमुख युद्धहरू यिनै थिए । अमेरिकी हतियार तथा गुप्तचरी सबैको साथ पाएको इजरायलले यी सबै युद्धलाई आफ्नो पोल्टामा पार्‍यो । यो कोणमा हेर्दा यी सबै युद्धहरू इजरायल हाबी भएका युद्धहरू थिए ।

    अझ रोचक कुरा ती कुनै युद्धमा इजरायलसँग सिधा भिड्ने देशमा थिएन इरान । उसो त अहिलेको राज्य संरचनाको इरानी जग सन १९७९ मा मात्रै आएको थियो । त्यो भन्दा अगाडि इरानमा राजतन्त्र थियो । राजतन्त्र अमेरिकासँग नरम थियो । अमेरिकी साथ भएको इजरायलसँग आक्रामक थिएन । सन १९७९ मा गणतन्त्र आएपछि इरानी शैली फेरियो । सत्ता फेरियो । क्षेत्रीयता फेरियो । र, अहिलेको इजरायल इरान तनावसम्म पुग्यो कुरा ।

    इरान भर्सेस इरानका पाँच मोर्चा

    अहिले इरान भर्सेस इजरायलका पाँच मोर्चा सिधा युद्धमा छन् । पहिलो मोर्चा हो हमास । हमासको अर्थ उत्साह बताइन्छ । सन १९८७ मा इजरायले कब्जा गरेको प्यालेस्टाइनी भूमिमा प्रतिकार गर्न बनेको थियो हमास । यसलाई इजरायल र यसका कट्टर समर्थक देशहरूले आतंककारी भन्छन् भने बाँकीले प्यालेस्टाइनी लडाकु समूह भन्छन् । इजरायलविरुद्ध सक्रिय मोर्चामा सबैभन्दा खुलेर हमासलाई साथ दिने इरान हो । कतार पनि हो ।

    तर, कतारले कूटनीतिक र समाचारमा मात्रै साथ दिने बताइन्छ । इरानले भने सैन्य र गुप्तचरी सबै साथ दिने बताइन्छ । सायद त्यही भएर होला हमासका राजनीतिक नेता स्माइल हानिएलाई दोहामा हुँदा हत्या भएन । इरानी राजधानी तेहराइमा पुग्दा उनको हत्या भयो । त्यो हत्यामा इजरायलले स्वीकार अस्वीकार केही गरेको छैन । तर, गत जुलाई ३१ को हानिए हत्यामा इजरायली हात भएको बताइन्छ ।

    दोस्रो मोर्चा हो हेजबुल्ला । लेबनानमा आधार बनाएको शक्तिशाली लडाकु दस्ता हो हेजबुल्ला । सन् १९८२ बाट कडा रूपमा आएको हेजबुल्लाको अर्थ भगवानको पार्टी भन्ने गरिएको छ । यो दस्तालाई उत्पादन, तालिम र प्रवर्द्धनमा इरानी हात भएको बताइन्छ । इजरायलले मुठभेड गरेकाहरूमा सबैभन्दा बलियो हतियारधारी दस्ता यही हो ।

    सन् २००६ को लेबनान युद्धमा सिया लडाकु समूह हेजबुल्लाले इरानलाई जित्न नदिएको बताइन्छ । जितको अवस्था नआएपछि इजरायल र लेबनानी सीमामा संयुक्त राष्ट्रसंघका शान्ति सेना बसाइएको थियो । तर, शान्ति सेना आएपछि पनि शान्ति आउन सकेको छैन । गाजा युद्धमा इजरायलले हमला सुरु गरेपछि हेजबुल्लाले रकेट, ड्रोन र मिसाइल हान्न थाल्यो । इजरायलले प्रतिकार गरेर गोलाबारी बढायो । गत सेप्टेम्बर २७ मा हेजबुल्लाका प्रमुख हसन नसरल्लालाई इजरायलले दक्षिण लेबनानमा भीषण बमबारी गरेर बंकरभित्र हत्या गरेको थियो ।

    तेस्रो मोर्चा हुथी हो । यमनको राजधानी सान्नालगायतका धेरै क्षेत्रहरू र लाल सागरको प्रमुख गौडा क्षेत्रमा कब्जा गरेर बसेको यमनी लडाकु समूह हो हुथी । खासमा हुुथीको औपचारिक नाम अन्सर अल्लाह हो जसको अर्थ भगवानका समर्थक भन्ने हुन्छ । यो यमनमा सञ्चालित सिया लडाकु समूह हो । अलजजिराका अनुसार सन् १९९० को दशकबाट सञ्चालनमा आएको हुुथी अभियानले सन २०१४ मा आएर चर्चा पाएको थियो ।

    अहिले इजरायलले गाजामा हमला बढाएर बालबालिका, महिला र सर्वसाधारणको हत्या गरेको विरोधमा भन्दै हुथीले इजरायली भूमिमै पुग्ने ड्रोन तथा मिसाइल हानेको छ । इजरायललाई साथ दिने अमेरिका, बेलायतलगायतका देशहरू तथा इजरायली स्वामित्व भएका जहाजहरूलाई लाल सागरमा आक्रमण गर्न हुथी सक्रिय छन् । प्रतिकारमा इजरायल, अमेरिका, बेलायत लगायतका देशले हुथीलाई आक्रमण गरे पनि उनीहरूको समस्या समाधान भएको छैन ।

    चौथो मोर्चा हो पश्चिम एसिया क्षेत्रका लडाकु दस्ता । यसमा इराक र सिरिया आदिका इरान पक्षधर समूह आउँछन् । यीनले इराक तथा सिरियामा भएका अमेरिकी सैन्य शिविरमा आक्रमण गर्दै आएका छन् । उनीहरूको आक्रमणको एक बाहाना इजरायलको गाजा हमला हो ।

    पाँचौँ र सबैभन्दा शक्तिशाली मोर्चा हो इरान । माथि चर्चा गरिएका सबै मोर्चालाई चलाउने मोर्चा पनि इरानकै हो । हमास मात्रै सुन्नी समूह हो । अरु सिया समूह हुन् जसलाई सिया देश इरानको पूर्ण साथ सहयोग छ । गत अप्रिल १३ र अक्टोबर १ मा इरानले इजरायली भूमिमा आक्रमण गर्‍यो । यो आक्रमण आफ्नो सिरियाको कूटनीतिक नियोगमा इजरायलले गरेको हमला र इजरायलले हमास तथा हेजबुल्ला प्रमुखलाई गरेको हत्याको विरोधमा भएको इरानले बताएको छ ।

    इरानी आक्रमणमा इजरायली सैन्य शिविर र पूर्वाधारमा क्षति पुगेको थियो । केही हताहती भएका थिए । धेरै क्षतिका समाचार नआएता पनि इजरायलले धेरै चर्चा र हल्लाखल्ला गरेको मिसाइल प्रतिरक्षा प्रणाली आइरन डोन भत्काएर इरानी मिसाइल, ड्रोनहरु इजरायली भूमिमा पुग्नु आफैँमा इजरायली सुरक्षा कमजोर भएको संकेत भएको धेरैले तर्क गरेका छन् ।

    करिअर डिप्लोम्याट तथा कुवेत र संयुक्त अरब इमिरेट्समा दूतावास खोल्ने प्रथम पुस्ताका एक अनुसार पूर्वराजदूत मधुवन पौडेल इरान र अरबको राम्रो सम्बन्ध नभएको बताउँछन् । त्यही कारण यो युद्ध अहिले अरब र इजरायलको नभएर इजरायल र इरानको जस्तो भएको बताउँछन् । कतार र बहराइन केहि सकारात्मक भएता पनि अरु गल्फ को-अपरेसन काउन्सिल (जीसीसी)का देशहरू खासै सकारात्मक नभएको पौडेलले बताउँछन् ।

    उनी भन्छन्, ‘त्यही भएर इरानले सुरक्षा परिषद्को चुनावमा सन १९६३ पछि जित्न सकेको छैन ।’

    आधा लाख हाराहारीको ज्यान गइसक्यो

    मृत्यु भएकाहरूको आँकडा हेर्दा आधा लाख हाराहारी एक वर्षमा पुगेको छ । जस्तै १२०० इजरायलमा मारिए । इजरायलले ४१ हजार बढीलाई गाजामै मार्‍यो । जसमा ११ हजार बढी महिला र १६ हजार बढी बालबालिका भएको अलजजिराले उल्लेख गरेको छ । लेबनानमा पनि दुई हजार भन्दा धेरै मारिएका छन् । यमन र अरु हताहती पनि सयौँ छन् । यसले गर्दा गत अक्टोबर ७ को हमास आक्रमण पछिको समयमा झण्डै आधा लाखको ज्यान गएको छ । यसलाई लिएर धेरैले तेस्रो विश्व युद्ध भन्न थालेका छन् । खासगरी भारतीय मिडियाहरूले त खुलेर तेस्रो युद्ध भन्न थालेका छन् । पूर्वराजदूत पौडेल यसलाई तेस्रो विश्व युद्ध मान्दैनन् । यसलाई इजरायल पश्चिम एसिया तनाव अथवा इजरायल इरान तनावको रूपमा व्याख्या गर्छन् ।

    के गर्दै छन् संयुक्त राष्ट्रसंघ र यसका स्थायी सदस्य देश ?

    अहिलेको पश्चिम एसिया तनाव इजरायल बनेसँगै भएको हो । त्यो तनावको विस्तारमात्र भएको हो गत अक्टोबर ७ मा भएको हमास हमलाबाट । यसमा अमेरिका इजरायलको कडा पक्षमा छ । पछिल्लो समयमा निर्दोषहरूको ज्यान धेरै गएको भन्दै इजरायललाई फ्रान्स तथा बेलायतले हतियार दिन बन्द गरेका छन् । बेलायत सरकारले ३० हतियार निर्यातको लाइसेन्स बन्द गरेको छ । भने फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले इजरायलमा हतियार दिन बन्द गरेका छन् । त्यसको जवाफमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, ‘तपाईँ साथमा रहे पनि नरहे पनि हामी युद्ध जित्छौँ ।’

    बीबीसीमा प्रकाशित टिप्पणीअनुसार इजरायल इरानलाई पनि युद्धमा तानेर अमेरिकालाई सिधा जोड्न चाहन्छ । अमेरिका त्यो पक्षमा छैन । इरान पनि सिधासिधा युद्धको पक्षमा छैन । उसले आफ्नो लाज ढाक्न मात्रै इजरायली भूमिमा हमला गरेको हो । नत्र उन प्रोक्सी अर्थात् तेस्रो पक्षबाटै लड्न चाहन्छ ।

    रुस प्यालेस्टानइलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्य बनाउने पक्षमा छ । राष्ट्रपति भ्यादिमिर पुटिनले इजरायलले जनताहरूलाई लक्षित हमला अन्त्य गर्न सुझाएका पनि थिए । आफैँ युक्रेन युद्धमा व्यस्त भएकोले रुसलाई धेरै सक्रियता देखाउन सजिलो छैन । तर, रुसलाई ड्रोन र मिसाइल दिने इरान युद्धमा होमिएमा आफूलाई समस्या हुने रुसी बुझाइ भएको बताइन्छ ।

    चीनले पश्चिम एसियाको समन्वयकर्ता बन्ने प्रयत्न जारी राखेको छ । इरान र साउदी अरबलाई बेइजिङ बेलाएर हात मिलाउन लगाएर तनाव कम गरिदिएको चीनले प्यालेस्टानी मुद्दामा पनि त्यस्तै गर्न खोजेको छ । बेलायत समाचार एजेन्सी रोयटर्सका अनुसार गत जुलाई २१ बाट २३ सम्म बेइजिङमा चीनले प्यालेस्टाइनका सबै गुटहरूलाई बोलायो । हमास, फताह जस्ता कट्टर विपक्षी धार लगायतका १४ गुटलाई बोलाएर प्यालेस्टाइनी मुद्दामा एकमत हुने सम्झौतामा चीनले हस्ताक्षर गरायो । चीन पनि प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यता दिलाउने पक्षमा छ ।

    संयुक्त राष्ट्रसंघको प्रभावशाली सदस्य देश भारतले पश्चिम एयिसाको युद्ध र कोभिड १९ को समयमा राष्ट्रसंघले देखिने भूमिका नदेखाएको भन्दै कडा प्रतिक्रिया दिएको छ । हालसालै भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भएको कार्यक्रममा बोल्दै विदेशमन्त्री एस. जयशंकरले राष्ट्रसंघलाई ‘स्थानमात्रै ओगट्ने पुरानो कम्पनी’ को उपमा दिए । त्यो भन्दा अगाडि भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रसंघको शान्ति र सुरक्षामा काम नभएको संकेत हालसालै महासभाको सम्बोधनमा गरेका थिए ।

  • भारतका उद्योगपति रतन टाटाको निधन

    भारतका उद्योगपति रतन टाटाको निधन

    नयाँ दिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । गए राति मुम्बईस्थित एक अस्पतालमा उनको निधन भएको हो ।

    टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्।

    उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए ।

    उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री लगायतले दुःख व्यक्त गरेका छन् ।

    राष्ट्रपति द्रौपदी मुर्मूले उनको निधनले भारतले कर्पोरेटको विकासलाई देशको विकाससँग जोड्ने तथा उत्कृष्टतालाई नैतिकतासँग जोड्ने एक आइकन गुमाएको टिप्पणी गरेकी छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले टाटा एक भिजनकारी बिजनेस लिडर भएको टिप्पणी गरेका छन् । टाटाले भारतको प्रतिष्ठित औद्योगिक घरानालाई स्थायी नेतृत्व दिएको मोदीले स्मरण गरेका छन् ।

    २८ डिसेम्बर सन् १९३७ मा जन्मिएका टाटाको ९ अक्टोबर २०२४ मा निधन भएको हो । भारत सरकारले उनलाई पद्म विभूषणले सम्मान गरेको थियो ।

    टाटाको पार्थिव शरीरलाई बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा राखिने उनका आफन्तले बताएका छन् । यहाँ मानिसहरूले उनलाई अन्तिम श्रद्धाञ्जली दिन पाउने छन्।