Category: विश्व प्रेस

  • चीनद्वारा हङकङमाथि ब्यापक कडाइ : नयाँ नियमसहितको निर्वाचन कानुन पारित

    चीनद्वारा हङकङमाथि ब्यापक कडाइ : नयाँ नियमसहितको निर्वाचन कानुन पारित

    बेइजिङ । चीनले हङकङमाथि कडा नियन्त्रण गर्ने उद्देश्यले प्रस्तावित एक निर्वाचन कानुनलाई ब्यापक परिवर्तनसहित मंगलबार पारित गरेको छ ।

    नयाँ नियमअनुसार संसदमा प्रत्यक्ष निर्वाचित सिट संख्यालाई आधा कटौती गरिएको छ । नयाँ निर्वाचन कानुनमार्फत आफूप्रति इमान्दार र देशभक्ति सांसद निर्वाचित गर्ने बेइजिङको चाहना छ ।

    देशभक्ति भावनाको सांसद मात्र शक्तिशाली पदमा पुगोस् भन्ने मुख्य चाहना चीनको छ । तर, आलोचकले चीनको यो निर्णयलाई लोकतन्त्रको अन्त्य भएको बताएका छन् । हङकङको संसदबाट प्रतिपक्षीलाई बाहिर निकाल्ने र स्वरलाई दबाइने उनीहरुको डर छ ।

    तर, हङकङकी नेतृ क्यारी लेमले चाहिँ लोकतन्त्रको अभ्यास गर्दा सबैका लागि समान हुन नसक्ने बताएकी छिन् । उनका अनुसार जाँच कमिटीले राजनीतिक आस्थाका आधारमा नभएर देशभक्ति धारणाका आधारमा व्यवहार गर्ने बताएकी छिन् ।

    नेतृ लामाले आधारभूत कानून र राष्ट्रिय सुरक्षाको जाँचपछि मात्र योग्य उम्मेदवारलाई चुनावमा उठ्न अनुमति दिने बताएकी छिन् । चिनियाँ संचारमाध्यमका अनुसार गत मंगलबार चीनको उच्च राजनीतिक निर्णयबाट हङकङ सम्बन्धी निर्वाचन कानुन पारित भएको हो ।

     

  • म्यानमारमा मारिनेको संख्या ५ सय नाघ्यो, ‘असफल राष्ट्र’ बन्नेतर्फ उन्मुख : विश्लेषक

    म्यानमारमा मारिनेको संख्या ५ सय नाघ्यो, ‘असफल राष्ट्र’ बन्नेतर्फ उन्मुख : विश्लेषक

    यांगुन । सेनाविरुद्धको प्रदर्शनमा म्यानमारमा चर्किएको प्रदर्शनमा मारिनेको संख्या ५ सय नाघेको छ । अधिकारवादी समूहका अनुसार मंगलबारसम्म मृतक संख्या ५१० पुगेको हो ।

    ज्यान गुमाउनेको संख्या बढिरहेपनि सर्वसाधारण सेनाविरुद्ध सडकमा उत्रिएका छन् । राजनीतिक बन्दीहरुको समूह (आप)का अनुसार सोमबार मात्र १४ नागरिक मारिएका छन् ।

    शनिबार मात्र १४१ जना मारिएको जनाइएको छ । अमेरिकी राष्ट्रपतिय कार्यालय ह्वाइट हाउसले निहत्था नागरिकमाथिको हिंसाको विरोध गर्दै तत्काल लोकतन्त्र पुनर्वहालीको माग गरेको छ ।

    सोमबार मुख्य सहर यांगुनको साउथ ड्यागनमा मात्र ८ जना मारिएका छन् । सुरक्षाकर्मीले प्रदर्शनकारीको अवरोध हटाउन गहं्रगुा क्यालिबर हतियार प्रयोग गरेको जनाइएको छ । जुन्ता र प्रहरीले चाहिँ पछिल्लो हिंसाबारे केही बोलेका छैनन् ।

    विश्लेषकले म्यानमार असफल राज्यको संघारमा रहेको बताएका छन् । थिंक ट्यांक संस्था लोए इन्स्टिच्युटका निर्देशक हार्भे लेमायुले म्यानमार असफल राष्ट्र बन्नेतर्फ अघि बढेको बताए । म्यानमार संकट समाधानका लागि प्रमुख शक्तिराष्ट्र एकजुट हुनुपर्ने उनले बताए ।

    म्यानमार सेनाले बन्दुकले शासन चलाउँदा त्यहाँको अवस्था जटिल र कठिन भएको उनको भनाई छ ।

    हिंसा चर्किँदै जादा हजारौं म्यानमार शरणार्थी छिमेकी मुलुक थाइल्यान्ड र भारततर्फ प्रवेश गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । म्यानमारले सेनाले थाइल्यान्डको सीमा नजिक करेन आदिवासी समुदायको इलाकामा हवाइ हमला गर्दा उनीहरु छिमेकी मुलुक भागेको जनाइएको छ ।

  • म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित, लोकतान्त्रिक सरकार पुनर्वहाली गर्न माग

    म्यान्मारसँगको अमेरिकी व्यापार सम्झौता स्थगित, लोकतान्त्रिक सरकार पुनर्वहाली गर्न माग

    वासिङ्टन । संयुक्तराज्य अमेरिकाले म्यान्मारमा लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यान्मारसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ ।

    सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङ सान सू की र अन्य नेताहरुलाई नजरबन्दमा राखेको छ ।

    अमेरिकी व्यापार प्रतिनिधि केथेरिन ताईले जारी विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको तत्काल पुनर्वहाली भएको हेर्न चाहन्छ भनिएको छ ।

    संयुक्तराज्य अमेरिका बर्मेली सेनाले निहत्था नागरिकमाथि गरिरहेको हिंस्रक आक्रमणप्रति कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनकारी, विद्यार्थी, कामदार, श्रमिक नेताहरु, स्वास्थ्यकर्मी, र बालबालिकाको हत्याले अन्तर्राष्ट्रिय समुदायलाई हतप्रभ बनाएको छ ।”

    साथै विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले म्यान्मारसँग सन् २०१३ मा गरेको व्यापार तथा लगानी संरचना सम्झौतालाई तत्काल निलम्बन गरेको उल्लेख छ ।

    उक्त सम्झौता बमोजिम दुई मुलुकले म्यान्मारको अर्थतन्त्रलाई विश्व व्यापारसँग एकीकृत गर्ने प्रयास स्वरुप व्यापार र लगानीका विषयमा सहकार्य हुँदै आएको छ । म्यान्मारको सेनाले लोकतान्त्रिक शासन व्यवस्थालाई समर्थन जनाएपछि उक्त सम्झौता गरिएको थियो ।

    तर अमेरिकी व्यापार प्रतिनिधि ताईको सोमबारको घोषणाबाट दुई मुलुकबीचको व्यापार भने तत्काल रोकिने छैन ।

    यही कारण संयुक्तराज्य अमेरिकाले म्यान्मारमाथि अलग्गै प्रतिबन्धहरु लगाउँदैछ । उदाहरणका लागि, संयुक्तराज्य अमेरिका र बेलायतले म्यान्मारको सेनाको नियन्त्रणमा रहेका दुई ठूला व्यापारिक कम्पनीहरु म्यान्मार इकोनोमिक होल्डिङ्स लिमिटेड र म्यान्मार इकोनोमिक कर्पोरेसनमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

    ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यान्मारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको जानकारी दिएकी छिन् ।

    म्यान्मार र संयुक्तराज्य अमेरिकाबीचको व्यापार त्यति ठूलो छैन । गत वर्ष अमेरिकाले म्यान्मारतर्फ करिब ३३ करोड ८० लाख डलरको सामग्री निर्यात गरेको थियो भने करिब एक अर्ब डलर बराबरको आयात गरेको थियो ।

    तर अमेरिका र अन्य विकसित मुलुकहरु म्यान्मारका तयारी पोशाकका प्रमुख खरिदकर्ता रहेका छन् । यी कारखानाहरु अधिकांश विदेशीले खोलेका छन् । यी कारखानाले गरिबीको चपेटामा परेको म्यान्मारमा लाखौंलाई रोजगारी उपलब्ध गराएका थिए ।

  • दिल्लीमा ७६ वर्ष यताकै गर्मी, नेपालको तापक्रम भने घट्यो

    दिल्लीमा ७६ वर्ष यताकै गर्मी, नेपालको तापक्रम भने घट्यो

    दिल्ली । भारतको राजधानी दिल्लीमा ७६ वर्ष यताकै गर्मी महसुस गरिएको छ । भारतीय संचारमाध्यमका अनुसार मंगलबार दिल्ली, महाराष्ट्र, ओडिसा लगायतका ठाउँको तापक्रम ४० डिग्री सेल्सियसको नजिक पुगेको छ ।

    दिल्लीसहित महाराष्ट्रको पुणेमा पनि तापक्रम ४०.१ सेल्सियस मापन गरिएको छ । केही राज्यमा लु चल्न सुरु भएको छ ।

    महाराष्ट्र, ओडिसा, झारखंड, गुजरात, उत्तर प्रदेश, विहार, राजस्थान, हरियाणा लगायतका राज्यको तापक्रम ४० डिग्री रहेको अनुमान गरिएको छ । मौसम विज्ञान विभागले पूर्वी राज्यमा भारी वर्षा हुनसक्ने जनाएको छ ।

    राजधानी दिल्लीमा सन् १९४५ यताकै सर्वाधिक गर्मी भएको जनाइएको छ । २९ मार्चमा होलीको दिनमा सफदरजंग बस स्टेसनमा अधिकतम तापक्रम ४०।१ डिग्री मापन गरिएको थियो । अप्रिल ३ देखि गर्मी अझै बढ्ने अनुमान गरिएको छ ।

    नेपालको तापक्रम भने घट्यो
    प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन ।

    सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए । काठमाडौँमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४ डिग्री सेल्सियस र न्यूनतम १०.८ डिग्री सेल्सियसमा झरेपछि चिसो बढेको जानकारी उनले दिए ।

    मौसमविद् पौडेलले भने –“पानी पर्ने छेकछन्द छैन, त्यसैले तापक्रम अझै घट्न सक्छ ।” पूर्वानुमान महाशाखाका अनुसार सोमबार जुम्लाको अधिकतम तापक्रम २१.९ र न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस पुगेको छ ।

    एक साताअघि ३८ डिग्री सेल्सियस नाघेको नेपालगञ्जको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस आसपासमा झरेको छ । गर्मी हुने भैरहवा, सिमरा र विराटनगरको तापक्रम ३४ डिग्री सेल्सियसकै आसपास छ ।

    पहाडी जिल्ला ताप्लेजुङ, ओखलढुङ्गा, डडेल्धुरालगायतका क्षेत्रमा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।

  • स्वेज नहरबाट हटाइयो विशाल पानीजहाज, युरोप-एसिया जलमार्ग सुचारु

    स्वेज नहरबाट हटाइयो विशाल पानीजहाज, युरोप-एसिया जलमार्ग सुचारु

    एजेन्सी । इजिप्टको स्वेज नहरमा फसेको विशाल पानी जहाजलाई पुरानै अवस्थामा फर्काउन गरिएको प्रयास सफल भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    स्वेज नहर प्राधीकरणका अनुसार ४ सय मिटर लामो एभर गिवेन जहाजलाई सही मार्गमा ल्याउन ८० प्रतिशत काम सकिएको छ ।

    संसारको सबैभन्दा व्यस्त व्यपारिक मार्गमध्येको एक स्वेज नहरलाई यो जहाजले १ सातादेखि अवरोध गरिरहेको थियो । त्यसैले त्यस क्षेत्र भएर गुज्रिने सयौं जहाजले आफ्नो बाटो परिवर्तन गर्नुपरेको थियो र लामो लाइन लागेको थियो ।

    फसेको जहाज निकाल्ने काममा भएको सफलतापछि यहाँ लागेको पानीजहाजको लाइन खुल्ने अपेक्षा गरिएको छ । यो जलमार्गबाट दैनिक करिव साढे ९ अर्व डलरको सामान पार हुने गरेको छ ।

    समाचार संस्था रोएटर्सका अनुसार फसेको जहाज निकाल्नका लागि टगबोट्सको प्रयोग गरिएको थियो । स्वेज नहर प्राधीकरणका अनुसार जहाजको पछिल्लो भाग नहरको बगरदेखि चार मिटरको दूरीमा थियो र अहिले १ सय २ मिटरको दूरीमा पर्‍याइएको छ । जहाज पूर्ण रुपमा तैरिनका लागि तयार भएको बताइएको छ ।

    ४ सय मिटर लामो र ५९ मिटर चौडा जहाजले अघिल्लो मंगलबार तीव्र हावाका कारण स्वेज नहरमा आफ्नो बाटो गुमाएको थियो । त्यसका कारण युरोप र एसियाको बीचमा सबैभन्दा छोटो जलमार्गमा जहाज ट्राफिक जामको स्थिति बनेको थियो ।

  • बेलायती मिडियामा शोभराजको अन्तर्वार्ता आएपछि कारागार व्यवस्थापन विभाग अचम्मित

    बेलायती मिडियामा शोभराजको अन्तर्वार्ता आएपछि कारागार व्यवस्थापन विभाग अचम्मित

    काठमाडौं । अनुमतिबिना विदेशी मिडियालाई अन्तर्वार्ता दिएपछि कारागार व्यवस्थापन विभागले कुख्यात अपराधी चार्ल्स शोभराजमाथि छानविन गर्ने भएको छ । सुन्धारास्थित केन्द्रिय कारागारमा २० वर्षको जेल सजाय भुक्तानी गरिरहेका शोभराजको अन्तरवार्ता बेलायती अखबारहरु डेलीमेलसन्डे मिररमा प्रकाशित भएपछि विभागले छानविन गर्न लागेको हो ।

    नेपाल प्रेससँग कुरा गर्दै विभागका सूचना अधिकारी देवर्षी सापकोटाले विभागले शोभराजसँग अन्तर्वार्ताको अनुमति नदिएको बताए । ‘हामीसँग अन्तर्वार्ताका लागि अनुमति मागिएको थियो तर, हामीले दिएका छैनौं,’ उनले भने, ‘अन्तर्वार्ता आउँदा हामी छक्क छौं । छानविन गर्छौं ।’

    डेली मिररमा प्रकाशित अन्तरवार्तामा शोभराजले चाँडै आफू जेलबाट रिहा हुन लागेको बताएका छन् । रिहा भएपछि हलिउड फिल्म खेल्ने र निर्माण गर्ने समेत उनको दावी छ ।

    शोभराजले अविवाहित धनाढ्य रिचर्ड ब्रान्सन र अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नीमाथि फिल्म बनाउन इच्छा व्यक्त गरेको समाचारमा उल्लेख गरिएको छ । शोभराजले आफू निर्दोष रहेको र गैरन्यायिक हिरासतमा रहेबापत प्रस्ताव गरिएको ७ मिलियन युरो रकमलाई पनि अस्वीकार गरेको दावी गरेका छन् ।

    शोभराजलाई उध्दृत गर्दै सन्डे मिरर लेख्छ- ‘म यो मुद्दामा पूर्णतया निर्दोष छु । म अब तीनदेखि चार सातामा रिहा हुनेछु । यदि तिमी चाहन्छौं भने आऊ र अन्तर्वार्ता लेऊ अनि सोही जहाजमा फर्कलौं ।’

    केही महिना पहिले आफू धनाढ्य रिचर्ड ब्रान्सनसँग सम्पर्कमा रहेको र वासिङ्टनस्थित जेफ बेजोसकी पूर्वपत्नीका नीजि सचिवसँग कुरा गर्न चाहेको शोभराजले भनेको समाचारमा उल्लेख छ ।

    ‘म फिल्मको लागि डिल गर्न चाहन्छु । मेरोबारेको पुस्तक एक महिनामा प्रकाशित हुँदैछ,’ मिररले शोभराजलाई उद्वृत गर्दै लेखेको छ ।

    सन् २०२४ मा आफू रिहा हुनसक्ने भनिए पनि दुई सातामै रिहा हुने दाबी गरेको पनि समाचारमा उल्लेख छ । सन् २००४ मा आफूविरुद्ध भएको सुनुवाइ गलत भएको र राष्ट्रसंघीय मानव अधिकार कमिटीको नीतिविपरित भएको समेत उनले बताएका छन् ।

    ‘म निर्दोष छु । सन् २०१० को जुलाई २७ मा आयोगको १२ सदस्यीय कमिटीले गरेको निर्णयले म निर्दोष छु भन्ने पुष्टि भएको छ । म दोषी छैन,’ सन्डे मिरर लेख्छ ।

    कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सापकोटाले शोभराजले दिएको यो अन्तर्वार्ता मिडिया स्टन्ट भएको बताए ।

    ‘हामीले अन्तर्वार्ताको अनुमति दिएका छैनौं र कुनै पनि विदेशी नागरिकलाई बाँकी कैद मिनाहाको प्रावधान पनि छैन’ उनले भने, ‘रिहा भएपनि हामीले डिपोर्ट गरेर पठाउने हो । तत्काल रिलिज हुने कुरा पनि गलत हो ।’

  • चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास

    चिनियाँ विदेशमन्त्री युएई भ्रमणमा, कोभिड खोपको नयाँ प्लान्ट शिलान्यास

    अबुधाबी । चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले आइतबार युनाइटेड अरब इमिरेट्स (युएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायिद अल-नायिनसँग भेटवार्ता गरेका छन् ।

    दुबै मन्त्रीले संयुक्त रुपमा युएईमा स्थापित चिनियाँ खोपको उत्पादन प्लान्टको भर्चुअल रुपमा शिलान्यास गरेका थिए ।

    त्यस अवसरमा चिनियाँ विदेश मन्त्री वाङले चीन र युएईले संयुक्तरुपमा कोभिड-१९ विरुद्धको खोपको क्लिनिकल ट्रायल गर्न लागेकामा प्रशन्नता व्यक्त गरे । उनले यस कार्यबाट चिनियाँ खोपको विभिन्न देशमा परीक्षण गर्न र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।

    उनले कोभिड महामारी विरुद्ध लड्न चीन र युएईबीचको साझेदारी नयाँ चरणमा प्रवेश गर्ने पनि बताए ।

    युएईका विदेश मन्त्री शेख अब्दुल्लाहले चिनियाँ खोपको तेस्रो चरणको परीक्षण कार्यक्रम र खोप उत्पादनको नयाँ प्लान्ट स्थापनाले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताए ।

    उनले हालसम्म १२० मुलुकभन्दा बढीका ५० हजारभन्दा बढी स्वयंसेवीले चिनियाँ खोपको परीक्षणमा सहभागी भएको जानकारी दिए । उनले चिनियाँ खोपहरु निकै सुरक्षित र प्रभावकारी पनि रहेकाले अन्तर्राष्ट्रिय समुदायले चिनियाँ खोपलाई मान्यता दिइरहेको बताए ।

  • म्यानमारमा रक्तपात : सेनाको गोलीबाट आजै ९१ जना मारिए

    म्यानमारमा रक्तपात : सेनाको गोलीबाट आजै ९१ जना मारिए

    याङ्गुन । सैन्य कू विरोधी शान्तिपूर्ण प्रदर्शनमा म्यानमार सेनाले गोली चलाउँदा शनिबार एकैदिनमा ९० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् । सीएनएनले यसलाई सत्ता विप्लवपछिको सबैभन्दा रक्तपातपूर्ण घटना भनेको छ ।

    यो घातक हिंसा म्यानमारको सैनिक दिवसकै दिनमा भएको छ । जुन्ता (म्यानमार सेना) प्रमुख जनरल मिङ आन हाइङले राजधानी न्यापितामा आयोजित सैन्य परेडलाई सम्बोधन गर्दै सेनाले लोकतन्त्रको रक्षा गर्ने बताएका छन् ।

    राज्य नियन्त्रित टेलिभिजनले शुक्रबार प्रदर्शनकारीको टाउको र ढाडमा गोली चल्न सक्ने बताएको थियो । तर, यो चेतावनीको बाबजुद नागरिकहरु याङ्गुन, माण्डले र अन्य प्रमुख सहरमा सेनाले माघ १९ मा गरेको कू विरुद्ध सडकमा उत्रिएका हुन् ।

    म्यानमारको नाउ न्यूज पोर्टलका अनुसार सुरक्षाकर्मीको गोली लागेर शनिबार ९१ जनाको मृत्यु भएको छ । माण्डलेमा ५ वर्षे बालकसहित २९ जनाको मृत्यु भएको छ । याङ्गुनमा मात्र २४ जना मारिएका छन् ।

    थाइल्यान्डको सीमानेर म्यानमारको सशष्त्र आदिवासी समूह करेन नेसनल युनियनका एक कमाण्डर र लडाकुसहित १० थप मारिएका छन् । सैनिक प्रवक्ताले चाहिँ यो हताहतीबारे कुनै टिप्पणी गरेका छैनन् ।

    सेनाले सत्ता आफ्नो हातमा लिएयता भएको प्रदर्शनमा शनिबारसहित ४ सय जना सर्वसाधारणको ज्यान गएको जनाइएको छ । गत नोभेम्बरको चुनावमा धाँधली भएको भन्दै सेनाले निर्वाचित नेतालाई अपदस्थ गर्दै शक्ति आफ्नो हातमा लिएको हो ।

  • जलवायु परिवर्तनबारे छलफल गर्न बाइडेनद्वारा ४० देशका सरकार प्रमुखलाई निम्तो

    जलवायु परिवर्तनबारे छलफल गर्न बाइडेनद्वारा ४० देशका सरकार प्रमुखलाई निम्तो

    वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको चुनौतिविरुद्ध एकजुट हुनेबारे छलफल गर्न चीन र रुससहित ४० मुलुकका राष्ट्र एवं सरकार प्रमुखलाई निम्तो दिएको छन् ।

    ह्वाइट हाउसद्वारा शनिबार जारी वक्तव्यमा अप्रिल २२-२३ मा भर्चुअल माध्यमबाट उक्त छलफल हुने जनाइएको छ । दुई दिने छलफललाई सर्वसाधारणले पनि हेर्न मिल्ने गरि प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

    ‘यो छलफल आगामी नोभेम्बरमा ग्लास्गोमा आयोजना हुने राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनका लागि महत्वपूर्ण कोशेढुंगा हुनेछ’ ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    वार्तामा चिनियाँ राष्ट्रपति सी जिङपिङ, रुसी राष्ट्रपति भ्लादमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री यासिहिदे सुगा, ब्राजिली राष्ट्रपति जैर बोल्सेनारो, क्यानडेली प्रधानमन्त्री जस्टिन टु्रडो, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, साउदी अरेबियाका राजा सलमान र बेलायती प्रधानमन्त्री बोरिस जोन्सन छन् ।

    बंगालदेशी प्रधानमन्त्री शेख हसिना वाजेद र भुटानी प्रधानमन्त्री लोते छिरिङलाई पनि छलफलमा सहभागि हुँदैछन् । यो छलफल विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नेबारे हुने कोप-२६ सम्मेलनका लागि महत्वपूर्ण हुने जनाइएको छ ।

  • म्यानमारमा आज एकैदिन मारिनेको संख्या १९ पुग्यो

    म्यानमारमा आज एकैदिन मारिनेको संख्या १९ पुग्यो

    याङ्गुन । सेनाविरुद्धको प्रदर्शनमा म्यानमारमा आज एकैदिन मारिनेको संख्या १९ पुगेको छ । समाचार संस्था एएफपीका अनुसार सेनाको गोलीले प्रदर्शनकारी मारिएका हुन् ।

    गत फेब्रुअरी १ मा सेनाले सत्ता आफ्नो हातमा लिए यता ३०० भन्दा बढीको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । शनिबार विहान मारिने प्रदर्शनकारीको टाउको र ढाडमा गोली हानिएको जनाइएको छ ।

    थुनामा राखिएकी लोकतन्त्रवादी नेतृ आङ साङ सू चीको रिहाइ माग गर्दै प्रदर्शनकारी सेनाविरुद्ध सडकमा छन् । सेनाविरुद्ध अहिले राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले दबाब दिइरहेका छन् ।

  • पश्चिम बंगालमा पहिलो चरणको मतदान सुरु, मोदी र बेनर्जीको दलबीच टक्कर

    पश्चिम बंगालमा पहिलो चरणको मतदान सुरु, मोदी र बेनर्जीको दलबीच टक्कर

    भारतको पश्चिम बंगालमा आजदेखि विधान सभाको चुनाव सुरु भएको छ । ३० सिटका लागि पहिलो चरणको मतदान शनिबार बिहानदेखि सुरु भएको छ ।

    बेलुका ६ बजेसम्म मतदाताले भोट गर्ने व्यवस्था गरिएको छ । राज्यमा नयाँ सरकार निर्माणका लागि १.५४ करोड मतदाताले चुनावमा भाग लिँदैछन् ।

    पहिलो चरणमा पश्चिम बंगालमा ३० सिट र आसामको लागि ४७ सिटमा मतदान हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीले उमेर पुगेका मतदातालाई भोट गर्न आग्रह गरेका छन् ।

    आठ चरणमा हुने पश्चिम बंगालको चुनावको नतिजा आगामी मे महिनामा आउने जनाइएको छ । पहिलो चरणमा १९१ उम्मेदवारको छिनोफानो हुनेछ । मोदीको दल बीजेपी र ममता बेनर्जीको तृणमूल कंग्रेसबीच टक्कर हुनेछ ।

  • मोदीविरुद्ध प्रदर्शन चर्किएपछि बंगलादेशमा फेसबुक प्रतिबन्ध

    मोदीविरुद्ध प्रदर्शन चर्किएपछि बंगलादेशमा फेसबुक प्रतिबन्ध

    ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन चर्किएपछि बंगलादेशमा फेसबुक र म्यासेन्जरलाई प्रतिबन्ध लगाइएको छ ।

    चारजनाको ज्यान जाने गरि शुक्रबार हिंसा मच्चिएपनि सरकारले सामाजिक संजाललाई रोकेको हो । फेसबुकका प्रवक्ताले सम्भावित हिंसाहुन नदिन बंगलादेशमा सेवामा रोक लगाइएको बताएको डेलीस्टारले जनाएको छ ।

    शुक्रबार ढाकास्थित मुकाराम राष्ट्रिय चर्चमा बिहानी प्रार्थनापछि मुस्लिम संगठनका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । कट्टरपन्थी इस्लामिक समूह हेफाजत ए इस्लामले शनिबार र आइतबार प्रदर्शनको आयोजना गरेको छ ।

    इस्लामविरोधी भन्दै मोदीविरुद्ध प्रदर्शन भएको जनाइएको छ । बंगलादेशको ५० औं स्वतन्त्रता दिवस मनाउन आयोजित समारोहमा भाग लिन भारतीय प्रधानमन्त्री दुईदिने ढाका भ्रमणमा छन् । शनिबार समकक्षी शेख हसिना वाजेदसँग द्धिपक्षीय वार्ता हुने जनाइएको छ ।

     

  • भारतमा कोरोनाबाट एकै दिनमा ५९ हजार भन्दा बढी सङ्क्रमित

    भारतमा कोरोनाबाट एकै दिनमा ५९ हजार भन्दा बढी सङ्क्रमित

    भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

    गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

    सोही अवधीमा त्यहाँ कूल सङ्क्रमितमध्ये चार लाख २१ हजार ६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ६४ हजार ६३७ जना सङ्क्रमणमुक्त भएका छन् ।

    भारतमा गत जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ५० भन्दा बढीले खोप लगाइसकेका छन् ।

    त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ८६ लाख तीन हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बिहीबार एकै दिनमा ११ लाख ७५६ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।

  • कार्यकालको पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने बाइडेनको बाचा

    कार्यकालको पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने बाइडेनको बाचा

    वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरसको खोप लगाउने बाचा गरेका छन् ।

    आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा ह्वाइट हाउसमा उनले पत्रकार सम्मेलन आयोजना गरेका थिए । उनले सो अवसरमा आफ्ना प्राथमिकताबारे बोले । बाइडेनले आफ्नो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिने प्रतिबद्धता गरे ।

    ‘मलाई थाहा छ यो यो लक्ष्य महत्तवाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रोनजिक पनि आउन सकेका छैनन्। र मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्नसक्छौँ’ उनले भने ।

    अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।

    करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडेनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन् ।

  • चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा

    चीनद्वारा बेलायती नागरिक र संस्थामाथि प्रतिबन्धहरु घोषणा

    बेइजिङ । चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा केही बेलायती नागरिक एवं संस्थामाथि चीनले शुक्रबार प्रतिबन्धहरु घोषणा गरेको छ । खासगरी चीनको मुस्लिम बहुल जिनजियाङ क्षेत्रमा मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै युरोपेली युनियन र बेलायतले केही चिनियाँ पदाधिकारीमाथि प्रतिबन्धहरु लगाएको विरोधमा चीनले यस्तो कदम चालेको हो ।

    चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पश्चिमा राष्ट्रहरुबाट चीनमाथि लगाइएका आरोपहरु झुटा र गलत सूचना रहेको जनाएको छ । विज्ञप्तिमा पश्चिमा मुलुकका कार्यहरुले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको तथा अन्तर्राष्ट्रिय कानुन एवं न्यूनतम मूल्यमान्यतालाई नजरअन्दाज गर्न खोजिएको उल्लेख छ ।

    साथै बेलायतको पछिल्लो निर्णयले चीन–बेलायत सम्बन्धलाई गम्भीर रुपमा असर पार्न सक्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

    चीनका लागि बेलायती राजदूतलाई पनि चिनियाँ विदेश मन्त्रालयले बोलाएर कूटनीतिक विरोध जनाएको मन्त्रालयले जनाएको छ । प्रतिबन्ध लगाइएका बेलायती नागरिक एवं समूहलाई चिनियाँ भूभागको भ्रमणमा रोक लगाइएको छ भने चिनियाँ नागरिक एवं संस्थासँग आर्थिक कारोबारमा प्रतिबन्ध लगाइएको छ ।

    चीनले तयार पारेको प्रारम्भिक विवरणमा तत्कालका लागि नौ जना बेलायती नागरिक र चार वटा संस्थामाथि प्रतिबन्ध घोषणा गरिएको छ जसमा बेलायती सांसद इयान डन्कन र कन्जरभेटिभ पार्टीको मानव अधिकार आयोग समेत छन् ।

    सिनजियाङको विषयलाई लिएर चीन र पश्चिमा राष्ट्रबीच केही समयदेखि तिखा आरोपप्रत्यारोप जारी छन् । पश्चिमा मुलुकहरुले चीनले सिनजियाङका १० लाखभन्दा बढी उइगुर र अन्य मुस्लिम अल्पसंख्यक समूहलाई बन्दी झैं व्यवहार गरेको आरोप लगाइरहेका छन् ।

    चीनले यस क्षेत्रमा मानिसलाई जबर्जस्ती दास बनाएको र जन्मदरलाई जबर्जस्ती नियन्त्रण गरिरहेको पश्चिमा मुलुकको आरोप छ ।

    पछिल्लो समय युरोपेली युनियन, संयुक्तराज्य अमेरिका, बेलायत र क्यानडाले चार जना चिनियाँ अधिकारीमाथि सिनजियाङ मामिलालाई लिएर प्रतिबन्धहरु घोषणा गरेका छन् । पातलो बस्ती रहेको सिनजियाङमा कपास र अन्य कृषिजन्य उत्पादन हुने गर्दछ । पश्चिमा मुलुकहरुले यहाँ उत्पादित सामग्री खरिद नगर्ने पटकपटक धम्की दिइआएका छन् ।

    चीनले प्रतिबन्ध घोषणा गरिएकाहरुमा राजनीतिकर्मीहरु, बुद्धिजीवीहरु र मानव अधिकारवादीहरु टम टुगेनढाट, निल ओब्रायन, नुस्रत घानी, हेलेना केन्नेडी, जियोफ्री निस र जोआना निकोला स्मिथ फिन्ले छन् । साथै चाइना रिसर्च ग्रुप, उइगुर ट्रिबुनल र इसेक्स कोर्ट च्याम्बर्स पनि प्रतिबन्धको सूचीमा समावेश छन् ।

    चीनका विभिन्न सरकारी निकायहरु र राज्य नियन्त्रित संचार माध्यमहरुले पनि पश्चिमा मुलुकका गतिविधिमाथि तिखो आलोचना गरिरहेका छन् ।

    सिनजियाङ सरकारले लामो विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा पछिल्लो समय आर्थिक वृद्धि, राजनीतिक स्थायित्व र जनसंख्या वृद्धि भएको दाबी गरेको छ । विज्ञप्तिमा अमेरिका, बेलायत, क्यानडा र अन्य क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटना भएको उल्लेख गरिएको छ । पश्चिमा राष्ट्रहरुले इराक र लिबियामा सैनिक हस्तक्षेप गरेकै कारण क्षेत्रीय अशान्ति फैलिएको पनि विज्ञप्तिमा दाबी गरिएको छ ।

  • दुईदिने भ्रमणको सिलसिलामा मोदी ढाकामा, मतुआ समुदायका धर्मगुरुलाई भेट्ने

    दुईदिने भ्रमणको सिलसिलामा मोदी ढाकामा, मतुआ समुदायका धर्मगुरुलाई भेट्ने

    ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कोरोना संकटपछिको पहिलो विदेश भ्रमणको सिलसिलामा विहिबार बंगलादेश पुगेका छन् ।

    बंगलादेशको ५० औं स्वतन्त्रता दिवस मनाउन आयोजित समारोहमा भाग लिन मोदी दुई दिने भ्रमणमा ढाका निस्किएका हुन् । मोदीलाई ढाका विमानस्थलमा समकक्षी शेख हसिना वाजेदले स्वागत गरिन् ।

    मोदीको यसपटकको बंगलादेश भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । धेरैले उनको ढाका भ्रमणलाई पश्चिम बंगालको आसन्न विधान सभा चुनावसँग जोडेर हेरेका छन् । उनले ढाका भ्रमणबाट बंगाल चुनावमा त्यहाँको मतुआ समुदायलाई बीजेपीतर्फ आकर्षण गर्ने अपेक्षा गरिएको छ ।

    राजधानी ढाकाभन्दा बाहिर पुगेर मोदीले मतुआ समुदायका धर्मगुरुलाई भेटेर उक्त समुदायका लागि केही सहयोग घोषणा गर्ने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    स्वतन्त्रता दिवसको अवसरमा बंगलादेशले छिमेकी मित्रराष्ट्रलाई निम्तो दिएको छ । नेपाली राष्ट्रपति, श्रीलंकाली र भुटानी प्रधानमन्त्रीले पनि यसैसाता ढाका भ्रमण गरिसकेका छन् ।

  • उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रहार, अन्तर्राष्ट्रिय शान्तिमा खतरा : अमेरिका

    उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक मिसाइल प्रहार, अन्तर्राष्ट्रिय शान्तिमा खतरा : अमेरिका

    प्योङयाङ । उत्तर कोरियाले विहिबार दुई क्षेप्यास्त्र जापानी समुन्द्रमा प्रहार गरेको जापान र अमेरिकाले जनाएका छन् । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएपछि उत्तर कोरियाले पहिलोपटक क्षेप्यास्त्र प्रहार गरेको हो ।

    राष्ट्रसंघीय सुरक्षा परिषदले हतियारबाट चुनौति हुने आशंका गर्दै प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परिक्षणमा रोक लगाएको छ ।

    जापान र दक्षिण कोरिया दुबैले मिसाइल प्रहारको निन्दा गरेका छन् । तर, जापानले आफ्नो सामुन्द्रिक इलाकामा मिसाइलका कारण कुनैपनि चट्टान नखसेको जनाएको छ ।

    एसिया-प्रशान्त क्षेत्रमा सैनिक मामिला हेर्ने अमेरिकाको युएस-प्यासिफिक कमान्डले उत्तर कोरियाको आणविक गतिविधिले छिमेकी र अन्तर्राष्ट्रिय समुदायलाई खतरा उत्पन्न गरेको जनाएको छ ।

    राष्ट्रपति बाइडेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । बीबीसीकी दक्षिण कोरिया संवाददाता लाउरा बाइकरले उत्तरको मिसाइल परिक्षण अमेरिका र उसका साझेदारका लागि चुनौति भएको बताइन् ।

    सन् २०१८ मा उत्तर कोरियाली नेता किम जोङ उन र तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा भएको वार्तामा आणविक हतियार र लामो दूरीको क्षेप्यास्त्र परिक्षण नगर्ने सहमति भएको थियो । तर, आफ्ना साझेदारको रक्षा गर्न अमेरिका प्रतिवद्ध रहने कुरा जो बाइडेनले बताइसकेका छन् ।

  • भारतका १८ राज्यमा कोरोनाको नयाँ प्रजाति फैलियो, ब्राजिलमा एकैदिन ३ हजारको मृत्यु

    भारतका १८ राज्यमा कोरोनाको नयाँ प्रजाति फैलियो, ब्राजिलमा एकैदिन ३ हजारको मृत्यु

    ब्राजिलमा कोरोनाभाइरस संक्रमणबाट एकैदिनमा ३ हजारभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार मंगलबार मात्र त्यसअघिको २४ घन्टा भित्रमा मृत्यु हुनेको संख्या त्यति पुगेको हो ।

    ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको जनाएको छ ।

    मंगलबारसम्ममा ब्राजिलका २ लाख ९८ हजारभन्दा बढी व्यक्तिले यसबाट ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण दुई लाख ९८ हजार ६७६ जनाको मृत्यु भएको छ ।

    ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका हुन् । यसअघि यही मार्चको २८ तारिखका दिन कोरोना भाइरसबाट २ हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो ।

    ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा गत २४ घन्टामा ८० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित बिरामी भेटिएका छन् ।

    मन्त्रालयले जनाएअनुसार केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो । अहिलेसम्ममा एक करोड २१ लाखभन्दा बढी व्यक्ति यसबाट संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    गत सातादेखि नै कोरोना संक्रमितको संख्या ५० हजार नाघेको बताइएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देश पनि ब्राजिल नै हो ।

    पछिल्लो पटक भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा संक्रमित भेटिन थालेको छ । अस्पतालहरुमा निकै ठूलो संख्यामा संक्रमितहरु छन् भने पछिल्ला दिनहरुमा आइसियुमा रहेका नागरिकको संख्या पनि ठूलो भएको बताइएको छ ।

    भारतका १८ राज्यमा कोरोनाको नयाँ प्रजाति फैलिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा मात्र कोरोनाको ७७८ वटा नयाँ भेरिएन्ट भेटिएको जनाइएको छ ।

  • बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

    बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

    बंगलादेश । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भीषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् ।

    आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाहरुले जनाएका छन् । रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविरहरु आगोले डढेर खरानी भएका थिए ।

    संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय ९युएनएचसिआर० का प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताए । उनका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

    शिविर ध्वस्त भएसँगै शरणार्थीहरु आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका साथै अरु कैयौं व्यक्तिको रुवाबासी भएको छ ।

    म्यान्मारको सेनाको दमनबाट भागेका १० लाखभन्दा बढी शरणार्थी बंगलादेशमा निकै साँघुरा शिविरहरुमा रहेका छन् । यी शरणार्थीहरु सन् २०१७ मा बढी मात्रामा बंगलादेश आइपुगेका थिए । हाल बंगलादेशको रोहिङ्ग्या शिविर विश्वकै सबैभन्दा ठूलो हो ।

    बंगलादेशले रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन विगतदेखि नै चाहेको छ । यसका लागि विगतमा म्यान्मार र बंगलादेशबीच सहमति भएपनि रोहि¬ङ्ग्या शरणार्थीहरु म्यान्मारमा सुरक्षाको भरपर्दो स्थिति नरहेको भन्दै फर्कन अस्वीकार गरिरहेका छन् ।

    रोहिङ्ग्या शिविरको आगो नियन्त्रणमा ल्याउन एक हजार भन्दा बढी कर्मचारी, स्वयंसेवक र अग्निनियन्त्रकहरु खटिएका थिए ।

  • म्यानमार कू : सेनाको गोलीले सात वर्षिया बालिकाको मृत्यु

    म्यानमार कू : सेनाको गोलीले सात वर्षिया बालिकाको मृत्यु

    याङ्गुन । म्यानमार सेनाको गोली प्रहारबाट सात वर्षिया बालिकाको बुधबार मृत्यु भएको छ । मारिनेमा माण्डले सहरकी खिन म्यो छिट छिन् ।

    उनका छिमेकीका अनुसार घरमा प्रहरीले छापा हान्ने क्रममा उनी दौडेर बाबुको अँगालोमा जान लागेकी थिइन् । आफूविरुद्ध भएको प्रदर्शनलाई दबाउन सेनाले शक्ति प्रयोग गरिरहेको छ ।

    अधिकारवादी संस्था सेभ द चिल्ड्रेनका अनुसार झन्डै २० बालबालिका हिंसामा मारिएका छन् । सेनाले चाहिँ प्रदर्शनमा मारिनेको संख्या १६४ रहेको जनाएको छ भने अधिकारवादी संस्थाले चाहिँ २६१ मारिएको जनाएका छन् ।

    मंगलबार सेनाले प्रदर्शनकारीको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । सेनामाथि निरंकुशता प्रदर्शन गरेको र हिंसा मच्चाएको आरोप लागिरहेको छ ।

  • २१ वर्षदेखि बिनाबिदा काम गर्दै भारतीय प्रधानमन्त्री मोदी !

    २१ वर्षदेखि बिनाबिदा काम गर्दै भारतीय प्रधानमन्त्री मोदी !

    दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील भएको दाबी गरेका छन् ।

    भारतीय जनता पार्टी (भाजपा)को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उहाँले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बताएका हुन् ।

    उनले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरुलाई पनि निर्देशन दिनुभएको केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले जानकारी दिए ।

    प्रधानमन्त्री मोदीले भने- “मैले कोरोनाभाइरसको महामारीका बेलामा पनि कुनै कमी नगरी लगातार सेवामा लागि रहेँ, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो ।”

    उनले विश्वका ११० देशका नेताहरुले भारतमा कोरोनाभाइरसको महामारीको व्यवस्थापन राम्रो भएको स्वीकार गरेको जानकारी पनि दिएका थिए ।

    उनले देशका करोडौँ जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती नभएको पनि उल्लेख गर्नुभएको मन्त्री मेघवालले बताए ।

    असाधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकेको प्रधानमन्त्री मोदीको भनाइ थियो । प्रधानमन्त्री मोदीले त्यहीअनुसारको क्रियाशीलता र सेवाको भावनाका साथ संसद्मा नियमित उपस्थित हुन र जनताको काम गर्न पटक पटक जोड दिएका थिए ।

  • अमेरिकाको कोलोराडोमा गोलीकाण्ड : १० जनाको मृत्यु

    अमेरिकाको कोलोराडोमा गोलीकाण्ड : १० जनाको मृत्यु

    कोलोराडो । अमेरिकामा भएको पछिल्लोपटक भएको गोलीकाण्डको घटनामा थप १० जनाको मृत्यु भएको छ । सोमबार दिउँसो कोलोराडो राज्यको बोल्डरमा उक्त घटना भएको सीएनएनले जनाएको छ ।

    गोलीकाण्डमा सहभागि एक संदिग्ध आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गतसाता ८ जनाको ज्यान जाने गरि एटलान्टामा भएको घटनापछि यो अर्को हिंसात्मक आक्रमण हो ।

    अधिकारीहरुले पक्राउ गरिएका व्यक्तिबारे थप खुलाएका छैनन् र, उनको उद्देश्यबारे पनि केही बताइएको छैन । उक्त गोलीबारीमा प्रहरी अधिकृत एरिक टेलीको पनि मृत्यु भएको छ ।

    प्रहरीले संदिग्ध आक्रमणकारीलाई सुपरमार्केटबाट हत्कडी लगाएर बाहिर निकालेको थियो । भिडियोमा उनको खुट्टाबाट रगत बगेको देखिन्छ । पछिल्लो समय अमेरिकामा गोलीकाण्ड र एसियाली मूलका अमेरिकीमाथि आक्रमणका घटना बढिरहेका छन् ।

  • बंगलादेशको रोहिंग्या मुसलमान शरणार्थी शिविरमा भीषण आगलागी

    बंगलादेशको रोहिंग्या मुसलमान शरणार्थी शिविरमा भीषण आगलागी

    एजेन्सी । बंगलादेशको कक्सबजार स्थित म्यानमारबाट विस्थापित भएर आएका रोहिंग्या मुसदमानको सबैभन्दा ठूलो शिविरमा भीषण आगलागी भएको छ ।

    आगलागीमा कम्तिमा १ हजार घर टहरा जलेर नष्ट भएको छ । सोमबार दिउँसोदेखि लागेको आगोले शरणार्थी शिविरको ठूलो क्षेत्रमा नोक्सानी पुर्‍याएको हो ।

    अग्नि नियन्त्रक र स्वयम्सेवकको तीव्र प्रयासका बाबजुद आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । शिविरमा धेरैजसो घरहरु बाँस र काठबाट बनेका कारण आगो नियन्त्रणमा कठिनाइ भएको हो ।

    कक्स बजारमा शरणार्थीका लागि राहतको काम गर्दै आएको संस्थाका कार्यकर्ताहरुका अनुसार त्यहाँ लागेको अहिलेसम्मकै ठूलो आगो हो । यसै वर्ष जनवरीमा पनि आगो लागेको थियो ।

    समाचारहरुमा सोमबारको आगोले थुप्रै मानिसको मृत्यु पनि भएको हुनसक्ने अनुमान गरिएका छन् । तर, अहिलेसम्म कुनै मानवीय क्षतिबारे पुष्टि भएको छैन ।

    कक्स बजारको शिविरमा ११ लाख रोहिंग्या शरणार्थी रहन्छन् । तीन वर्षअघि म्यानमार सरकारको मुसलमानमाथिको दमनबाट प्रताडित भएर उनीहरु बंगलादेश आएर बसेका हुन् ।

  • अमेरिकी रक्षामन्त्री अकस्मात अफगानिस्तान भ्रमणमा, तालिवान शान्तिवार्ताबारे छलफल

    अमेरिकी रक्षामन्त्री अकस्मात अफगानिस्तान भ्रमणमा, तालिवान शान्तिवार्ताबारे छलफल

    अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको छ ।

    उनीहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति वार्ता गर्ने विषयमा पनि सो कुराकानी भएको बताइएको छ ।

    सो वार्ताका क्रममा अफगानिस्तानका राष्ट्रपति घानी र अमेरिकी रक्षामन्त्री अस्टिनले अफगानिस्तानमा ताबिलानहरुले गरिरहेका हिंसाका बारेमा चिन्ता व्यक्त गरेका थिए ।

    अमेरिकी रक्षामन्त्री अस्टिन आइतबार बिहान अफगानिस्तान पुग्नुभएको थियो । उनले सो वार्ताका क्रममा अमेरिका अफगानिस्तानको सरकार र तालिबानका बीचमा शान्ति वार्ताका लागि सहजीकरण गर्ने काममा तयार रहेको धारणा राखेका थिए ।

    अफगानिस्तानको सरकार र तालिबानका बीचमा गत वर्षदेखि नै शान्ति वार्ता शुरु भएको भनिएको भए पनि अहिले त्यसले निरन्तरता पाउन सकिरहेको छैन ।

  • १६ सय नेपालीको ज्यान गएको प्रसंगमा एमनेस्टी इन्टरनेसनलले लेख्यो फिफालाई पत्र

    १६ सय नेपालीको ज्यान गएको प्रसंगमा एमनेस्टी इन्टरनेसनलले लेख्यो फिफालाई पत्र

    काठमाडौं । १६ सयभन्दा बढी नेपाली कामदारको ज्यान जाने गरि निर्माण भैरहेको कतारको विश्वकप रंगशालाबारे अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठन एमनेष्टी इन्टरनेसनलले चासो व्यक्त गरेको छ ।

    उक्त संगठनले विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई पत्र लेख्दै रंगशाला निर्माणमा भैरहेको विदेशी कामदारको श्रम शोषण अन्त्य गर्न आग्रह गरेको छ ।

    फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र लेख्दै एमनेस्टी इन्टरनेसनलले कामदारमाथिको शोषणलाई रोक्नको लागि श्रम नीतिको पुनर्संरचना गर्न सार्वजनिक वा नीजिरुपमै कतारलाई दबाब दिनुपर्ने पहल फिफाले लिनुपर्ने आग्रह गरेको हो ।

    सन् २०२२ को नोभेम्बरमा विश्वकप फुटबल आयोजना गर्ने तालिका छ । गत महिना बेलायती अखबार द गार्जियनले एक प्रतिवेदन प्रस्तुत गर्दै १,६४१ नेपालीसहित ६५ सय विदेशी कामदारले रंगशाला बनाउने क्रममा ज्यान गुमाएको उल्लेख गर्दै श्रम शोषण भैरहेको खुलासा गरेको थियो ।

    रंगशाला निर्माण पुरा हुञ्जेलसम्म अझै हजारौंको ज्यान जान सक्ने डरलाग्दो चित्र पनि गार्जियनले प्रस्तुत गरेको थियो । साथै, उक्त प्रतिवेदनमा दक्षिण एसियाली मुलुकका १२ कामदारले प्रत्येक साता ज्यान गुमाउने गरेको पनि उल्लेख थियो ।

    एमनेष्टी इन्टरनेसनलका आर्थिक तथा सामाजिक विभागका प्रमुख स्टिभ ककबनले फुटबल टुर्नामेन्ट आयोजनालाई लिएर हुनसक्ने मानवअधिकार उल्लंघनका मुद्दालाई फिफाले अन्तर्राष्ट्रिय नियमको परिधिमा ल्याउनुपर्ने बताए । ‘यो समस्या प्रतियोगितालाई लिएर हुने आतिथ्य र यातायात क्षेत्रका कामदारमा पनि लागु हुनसक्छ’ उनले भने ।

  • अष्ट्रेलियामा बाढीको वितण्डा : १८ हजार बासिन्दा विस्थापित, सिड्नी डुबानमा

    अष्ट्रेलियामा बाढीको वितण्डा : १८ हजार बासिन्दा विस्थापित, सिड्नी डुबानमा

    अष्ट्रेलियाली राज्य साउथ वेल्सको पूर्वी कोस्टमा आएको भीषण बाढीबाट प्रभावित १८,००० भन्दा मानिसलाई सुरक्षित थलोमा उद्दार गरिएको छ ।

    राज्यको राजधानी सिड्नीसहित दक्षिण-पूर्वी क्वीन्सल्यान्डमा परेको भारी वर्षाले नदीमा बाढी आएको हो । बाढीको कारण बाँधबाट पानी भरिएर सिड्नी वरपरको बस्तीमा पुगेको छ ।

    ५० वर्षमा एकपटक हुने भनिएको यो प्राकृतिक विपत्ति अझै एकसाता कायम रहने र यसबाट सजग हुन सरकारले त्यहाँका बासिन्दालाई आग्रह गरेको छ ।

    प्रधानमन्त्री स्कट मरिसनले विस्थापित हुन बाध्य नागरिकलाई राहतको व्यवस्था गर्ने बताएका छन् । न्यू साउथ वेल्स राज्यका प्रमुख ग्लाडेस बर्जिकिलनका अनुसार सोमबार कुनैपनि मृत्यु भएको छैन ।

    अष्ट्रेलियाको २५ मिलियन जनसंख्या बसोबास गर्ने प्रभावित क्षेत्रको संरचना क्षति पुर्‍याएको बीबीसीले जनाएको छ । अघिल्लो हिउँदमा भएको आगलागी र सुख्खाले प्रभावित बासिन्दालाई बाढीले झनै पीडा दिएको जनाइएको छ ।

  • भारतमा कोरोना संक्रमितको संख्या वर्षकै उच्च, मुम्बईमा सबैको अनिवार्य परीक्षण

    भारतमा कोरोना संक्रमितको संख्या वर्षकै उच्च, मुम्बईमा सबैको अनिवार्य परीक्षण

    एजेन्सी । कोरोना संक्रमतिको संख्या उल्लेख्य रुपमा बढ्न थालेपछि भारतीय शहर मुम्बईका धेरै भीड हुने स्थानमा कोरोना परीक्षण अनिवार्य गर्न थालिएको छ ।

    महाराष्ट्र सरकारले सपिङ सेन्टर र रेल स्टेसनजस्ता भीडभाडयुक्त क्षेत्रमा तीव्र रुपमा सबैको परीक्षण गरिने जनाएको छ । परीक्षण गर्न नमान्नेहरुले ‘एक अपराध’कै रुपमा सजाय ब्यहोर्नुपर्ने महाराष्ट्र सरकारले चेतावनी दिएको छ । तर के कारबाही हुनेछ भन्नेबारे कुनै जानकारी गराइएको छैन ।

    भारतमा शनिबार २४ घण्टाको अवधिमा ४० हजार ९ सय ५३ नयाँ संक्रमित फेला परेका थिए । जुन सन् २०२१ सुरु भएपछि एकैदिनमा देखिएको सबैभन्दा उच्च संख्या हो । कोरोनाका कारण भारतमा १ लाख ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

    भारतमा अहिलेसम्म १ करोड १५ लाखभन्दा बढी संक्रमित देखिएका छन् । पछिल्लो साता भारतमा कोरोना संक्रमणको दर उच्च रुपमा बढेको छ । खोप अभियान जारी भए पनि नयाँ प्रकारको कोरोनालाई खोपले असर नगरेको तथ्य सार्वजनिक भएका छन् ।

    महाराष्ट्रको पश्चिमी शहर मुम्बईमा मात्र शनिबार २४ घण्टाको अवधिमा २ हजार ९ सय ८२ नयाँ संक्रमित देखिएका थिए ।

    मुम्बईका अधिकारीहरुका अनुसार २२ मार्चदेखि तीव्र परीक्षण सुरु हुनेछ । उनीहरुले भनेका छन्, ‘जव स्वास्थ्य कर्मीहरु व्यस्त क्षेत्रमा स्वाप संकलनका लागि पुग्नेछन्, सबैजना परीक्षणका लागि तयार हुनुपर्नेछ ।’ परीक्षण निःशुल्क हुनेछ ।

    मुम्बईको स्थानीय स्वास्थ्य कार्यालयका अनुसार उनीहरुले ¥यापिड एन्टीजेन टेष्ट (आरएटी) गर्न लागेका हुन् । यो परीक्षणले व्यक्तिको शरीरमा कोरोना भाइरसलाई उपयुक्त प्रोटिन छ कि छैन भनेर पत्ता लगाइन्छ । तर बिभिन्न अनुसन्धानले यो परीक्षणलाई कम विश्वसनीय देखाएको छ किनभने यसले कहिले काहीँ गलत परिणाम पनि दिनेछ ।

  • जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    टोक्यो । जापानको मौसम विज्ञान निकायले शनिबार ६.९ म्याग्निच्युडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

    शुरूमा ७.२ म्याग्निच्युडको कम्पनको अनुमान गरिएको भएपनि जापानी अधिकारीले भूकम्पको धक्का ६।९ म्याग्निच्युडको पुष्टि भएको बताएका छन् ।

    अमेरिकी भूगर्व विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० म्याग्निच्युडको रहेको बताएको छ । भूकम्पका कारण तत्काल मानवीय क्षति नभएको तर सुनामी आउनसक्ने अवस्थालाई ध्यानमा राख्न जापानी अधिकारीले नागरिकलाई आग्रह गरेका छन् ।

    स्थानीय समय अनुसार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्रशान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम विज्ञान निकायले बताएको छ । भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरङ्ग निस्किनसक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइएको छ ।

    जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य सङ्केतको महशुस नगरिएको बताइएको छ ।

    जापानमा यस पहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृत्यु भएको वा वेपत्ता भएका थिए ।

    दश वर्ष पहिले जापानमा आएको सुनामीका कारण निम्तिएको विनासलाई सम्झँदै भूकम्पपछि हजारौँ जापानी नागरिक सुरक्षितस्थलतर्फ हतार हतार भागेको जापानी राष्ट्रिय टेलिभिजन एनएचकेद्वारा भिडियोमा देखाइएको छ । सरकारले उच्च सतर्कता अपनाउन भनेपछि आफूहरू पहाडी क्षेत्रमा भागेको इसिनोमाकी शहरका एक स्थानीय ताकासी योकोताले एएफपीलाई बताए ।

    जापानी अधिकारीले सुनामीको सम्भावना क्रमशः कम हुँदै गएको तर सावधानीका लागि अझै केही समय सुरक्षितस्थलमा रहन भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई निर्देशन दिएका छन् ।

  • भारत र अमेरिकाले रक्षा क्षेत्रमा सहकार्य गर्ने, अमेरिकी रक्षामन्त्रीको दिल्ली भ्रमण सकियो

    भारत र अमेरिकाले रक्षा क्षेत्रमा सहकार्य गर्ने, अमेरिकी रक्षामन्त्रीको दिल्ली भ्रमण सकियो

    दिल्ली । भारत र अमेरिकाले रक्षा क्षेत्रमा थप सहकार्य गर्ने समझदारी गरेका छन् । भारत भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री जनरल लोएड अस्टिन र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच दिल्लीमा शनिबार भेटवार्ता भएको थियो ।

    वार्तापछि दुबै मुलुकले जारी गरेको संयुक्त वक्तव्यमा सैनिक र प्रतिरक्षा क्षेत्रमा थप सहकार्य गर्ने उल्लेख छ । दुई समकक्षीबीचको छलफलमा प्रतिरक्षा क्षेत्रमा सहकार्य गर्ने, सूचना आदानप्रदान, दोहोरो उपकरण सहयोग गर्ने कुरामा छलफल केन्द्रित थियो ।

    ‘हामी दुई मुलुकले सेना–सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने कुरामा मतैक्यता भएको छ’ अमेरिकी रक्षामन्त्रीको भ्रमण सफल भएपछि जारी वक्तव्य पढेर सुनाउँदै भारतीय रक्षामन्त्री सिंहले भने ।

    ‘हामी सम्भाव्य विश्वव्यापी बृहत रणनीतिक साझेदारीको मुद्दामा एकजुट हुनुपर्ने महसुस भएको छ’ सिंहले भने । भारतको उदार वैदेशिक लगानीको फाइदा लिनको लागि अमेरिकी रक्षामन्त्री लोएडलाई निम्तो दिएको थिएँ र जुन सफल पनि रह्यो ।

    आफूले राजनाथ सिंहलाई बाइडेन र ह्यारिस प्रशासनले अघि सारेको आफ्ना साझेदार मित्रसँगको बलियो सम्बन्धको सन्देश सुनाएको पनि लोएडले बताएका थिए । जापान र दक्षिण कोरियापछि लोएड भारत भ्रमणमा पुगेका हुन् ।

    दुईदिने भ्रमणको पहिलो दिन लोएडले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गरेका थिए ।

     

  • बेलायती प्रधानमन्त्रीले पनि लगाए नेपालमै प्रयोग गरिएको अक्सफोर्डको खोप

    बेलायती प्रधानमन्त्रीले पनि लगाए नेपालमै प्रयोग गरिएको अक्सफोर्डको खोप

    लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ । युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन् ।

    “मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    उनले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउदै अरुलाई पनि खोप लगाउन आह्वान गरेका छन् । “कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अव त्यस्तो हुनेछैन,” उनले लेखेका छन् ।

    खोप लगाएपछि आफुलाई कुनै असजिलो नभएको जानकारी दिदै उनले खोप लगाउदाँ छिटो र सजिलोसँग भएको बताए ।

    प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना भएका थिए । बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ ।

    कोरोनाविरुद्धको खोपको प्रयोग पनि सवैभन्दा पहिले बेलायतबाटै भएको हो । त्यसपछि मात्रै अन्य देशहरुमा लगाउन थालिएको हो ।

  • तान्जानियाको पहिलो महिला राष्ट्रपतिमा सामिआ सुलुह

    तान्जानियाको पहिलो महिला राष्ट्रपतिमा सामिआ सुलुह

    तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकी छिन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी हुन् ।

    तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति भएकी हुन् । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बनेकी हुन् ।

    हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिएकी छिन् । उनले संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो- चरणको बाँकीे अवधिमा काम गर्नेछिन् । सो अवधि सन् २०२५ सम्म रहनेछ ।

    पूर्वराष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । गतवर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ ।

  • नेदरल्यान्ड्सको प्रधानमन्त्रीमा रुट निर्वाचित, लिबरल पार्टीद्वारा संसदमा स्पष्ट बहुमत

    नेदरल्यान्ड्सको प्रधानमन्त्रीमा रुट निर्वाचित, लिबरल पार्टीद्वारा संसदमा स्पष्ट बहुमत

    हेग । मार्क रुट नेदरल्यान्ड्सको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् । विहिबार सम्पन्न आमनिर्वाचनमा उनको दल लिबरल पार्टीले बहुमत हासिल गर्‍यो ।

    चौंथो कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका प्रधानमन्त्री रुटसामु कोरोनाभाइरस महामारीले ध्वस्त अर्थतन्त्रलाई पुनःउकास्ने चुनौति खडा भएको छ ।

    तीन दिन लामो आमनिर्वाचनको एक्जिट–पोलमा पनि रुटलाई प्रधानमन्त्री चुनिने प्रक्षेपण गरिएको थियो । संसदमा उनको दलले स्पष्ट बहुमत प्राप्त गरेको जनाइएको छ ।

    यो जितसँगै युरोपमा १० वर्ष लामो शासन गर्ने सरकार प्रमुखको रुपमा रुट सूचिकृत भएका छन् । युरोपेली युनियनसँग निकट दल इयू–डी६६ ले रुटको विदेश नीतिलाई चुनौति दिएको थियो र यो दल दोस्रो ठूलो दलको रुपमा उदाएको छ ।

    इस्लाम विरोधी नेताको छवि बनाएका गीर्ट वाइल्डर्सको दल तेस्रो स्थानमा खुम्चिएको छ । ‘अवश्य पनि अबको दश वर्ष कोरोनाबाट प्रभावित मुलुकको निर्माण हुनेछ’ रुटले विजयीपछि भने ।

  • अमेरिका-चीन उच्चस्तरिय वार्ता आज : वार्ता सुरु नहुँदै दुई विदेशमन्त्रीबीच भनाभन

    अमेरिका-चीन उच्चस्तरिय वार्ता आज : वार्ता सुरु नहुँदै दुई विदेशमन्त्रीबीच भनाभन

    काठमाडौं । दुई ठूला महाशक्ति अमेरिका र चीनबीच आज उच्चस्तरिय वार्ता हुँदैछ । जो बाइडेनले राष्ट्रपति कार्यभार सम्हालेपछि दुई मुलुकका विदेशमन्त्रीबीच अमेरिकी राज्य अलास्कामा वार्ता हुन लागेको हो ।

    वार्ता हुनुको एकदिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले वार्ताको प्राथमिकताबारे एउटा मन्तव्य दिएका छन् । यो मन्तव्यले दुबै मुलुकबीच वार्ता सुरु नहुँदै रस्साकस्सी र अविश्वास पुनः सिर्जना हुने संकेत मिलेको छ ।

    ब्लिंकेनको उक्त सुरुआती मन्तव्य सार्वजनिक भएको केही मिनेटमै चीनले कडा प्रतिक्रिया दिँदै आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई भनेको छ । चीनले अमेरिकी विदेशमन्त्रीको अभिव्यक्ति आफूमाथिको आक्रमण भएको उल्लेख गरेको छ ।

    वार्तामा अमेरिकाले सिन्जियाङ प्रान्तमा उइगुरम मुस्लिम समुदायमाथि बेइजिङको दमनलाई उठाउने जनाएको छ । वार्तामा अमेरिकी पक्षबाट विदेशमन्त्री एन्टोनी ब्लिंकेन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान तथा चिनियाँ पक्षबाट विदेशी नीतिका अधिकारी याङ जेइची र विदेशमन्त्री वाङ यी सहभागि हुँदैछन् ।

    वार्ताअघिको सुरुआती मन्तव्यमा ब्लिंकेनले सिन्जियाङ, हङकङ, ताइवान, अमेरिकामाथिको साइबर आक्रमण, आफ्ना साझेदारसँग आर्थिक बदनियत गरेको मुद्दालाई वार्तामा उठाउने जनाएका छन् ।

    ‘चीनका यी कार्यले विश्व स्थायित्व र सुरक्षा गर्ने कानूनी शासनलाई जोखिम पैदा गरेको छ’ ब्लिकेंनले भनेका छन् । अमेरिकी अभिव्यक्तिको जवाफमा याङ जेइचीले वासिङ्टनले अरु मुलुकलाई दबाएर आफ्नो आर्थिक र सैनिक सर्वोच्चता कायम गर्न खोजेको भन्दै आलोचना गरेका छन् ।

    याइचीले अमेरिकामा पनि मानवअधिकारको अवस्था निकै दयनीय रहेको र काला अमेरिकीलाई भेदभाव गरिएको आरोप लगाए । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभानले वासिङ्टनले चीनसँग द्वन्द्व नचाहेको बताउँदै आफ्ना साझेदारको सहयोगका लागि अमेरिका उभिएको बताए ।

  • फ्रान्समा देशव्यापी लकडाउनको घोषणा, भारतका विभिन्न राज्यमा पनि लकडाउन

    फ्रान्समा देशव्यापी लकडाउनको घोषणा, भारतका विभिन्न राज्यमा पनि लकडाउन

    पेरिस । कोरोनाभाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ लागु गर्ने घोषणा फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले घोषणा गरेका छन् ।

    उनले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोनाभाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा सो लकडाउनको घोषणा गरेका हुन् ।

    बढी प्रभाावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियमको घोषणा प्रधानमन्त्रीले गरेका हुन् । भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करिब चार महिनाअघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गरेका थिए ।

    तर, प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र त्यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताएका छन् ।

    पहिलेका लकडाउनमा यहाँ एक किसीमले कफ्र्यु नै लगाएजस्तो हुने गरेकोमा अहिले त्यस्तो नभएर नागरिकहरुले घरमा बस्नुपर्ने मात्र रहेको बताइएको छ ।

    कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।

    पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन् । यो लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । तर एक राज्यबाट अर्कोमा जान यात्रा प्रतिबन्ध गरिएको छ ।

    विद्यालयहरु भने खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्ण रुपमा लागू गरेर मात्र विद्यालय खोल्न सकिने बताइएको छ ।

    उता काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमीटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।

    प्रधानन्त्रीले बिहीबार पत्रकार सम्मेनलमा भनेका छन् –रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु भने खुला हुनेछन् ।

    फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिदै गएका छन् ।

    गएको २४ घन्टायताको अर्थात् बिहीबार मात्रको तथ्यांकमा त्यहाँका ३५ हजार जनामा यो संक्रमण देखिएको छ । यो समयमा मात्र २६८ जनाको यो संक्रमणबाट निधन नै भएको छ ।
    यसरी पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको देखिएको छ ।

    फ्रान्समा अहिलेसम्ममा करिब ४२ लाख जनालाई यो संक्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको संख्या पनि ९१ हजार भन्दा बढी पुगेको बताइएको छ ।

    भारतमा कोरोना संक्रमितको संख्या बढ्दै

    भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् ।

    गत बुधबार एक दिनमा ३६ हजार जना संक्रमित भएका थिए भने बिहीबार ३९ हजार ७२६ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो सङ्ख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी हो ।

    भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १५ लाख १४ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाइएको छ । कूल संक्रमितमध्ये दुई लाख ७१ हजार २८२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १० लाख ८३ हजार ६७९ जना संक्रमणमुक्त भएका छन् ।

    गत २४ घण्टामा कोरोना संक्रमणबाट १५४ जनाको मृत्यु भएपछि यहाँ कोरोना संक्रमणको कारण मृतकको सङ्ख्या एक लाख ५९ हजार ३७० पुगेको शुक्रबार जनाइएको छ । भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म करिब तीन करोड ८० लाखले खोप लगाइसकेका छन् ।

    त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २३ करोड भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।

  • बाइडेनको अभिव्यक्तिपछि रुसले राजदूत फिर्ता बोलायो

    बाइडेनको अभिव्यक्तिपछि रुसले राजदूत फिर्ता बोलायो

    मस्को । एक अमेरिकी संचारमाध्यममा राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादमिर पुटिनलाई ‘निकै खतरनाक व्यक्ति’ बताएपछि दुई देशबीच पुनः विवाद चुलिएको छ ।

    अमेरिकी चुनाव प्रभावित पार्ने प्रयास गरेको गुप्तचर निकायको निष्कर्षसहितको प्रतिवेदनबारे टिप्पणी गर्दै बाइडेनले उक्त कुरा बताएका थिए ।

    बाइडेनको यो अभिव्यक्ति आएलगत्तै रुसले आक्रामक प्रतिक्रिया दिएको छ । रुसले अमेरिकाको लागि आफ्ना राजदूत अनाटोली एन्टोनोभलाई फिर्ता बोलाएको छ ।

    ‘अमेरिकासँगको उल्टाउनै नसक्ने क्षति’ रोक्नका लागि राजदूतलाई फिर्ता बोलाइएको रुसले बताएको छ । अमेरिकी चुनावले रुसले अवरोध गर्ने प्रयास गरेको आरोप चलिरहँदा राष्ट्रपति बाइडेनले रुसले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

    बाइडेनको अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै रुसले ‘वासिङ्टनले दुई देशीय सम्बन्धलाई अँध्यारो गल्लीमा लगेको’ जनाएको छ । राजदूत फिर्ता बोलाइएको बारे रुसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उक्त कुरा उल्लेख छ ।

    गुप्तचर एजेन्सीले तयार पारेको प्रतिवेदनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले भूमिका खेलेको निष्कर्षसमेत निकालिएको छ ।