Category: विश्व प्रेस

  • पूर्ण लकडाउन गर्न भारतीय उच्च अदालतको निर्देशन

    पूर्ण लकडाउन गर्न भारतीय उच्च अदालतको निर्देशन

    दिल्ली । कोभिड संक्रमण भयावहरुपमा बढेको भन्दै भारतको उच्च न्यायलयले केन्द्र र राज्य सरकारलाई पूर्ण लकडाउन गर्न आदेश दिएको छ । विभिन्न चरणको सुनुवाइपछि अदालतको उक्त आदेश आएको हो ।

    ‘दोस्रो लहरको संक्रमण व्यापकरुपमा बढिरहँदा हामी भाइरस फैलने क्रमलाई रोक्न केन्द्र र राज्य सरकारलाई प्रतिबन्ध लगाउनेबारे निर्देशन दिन्छौं’ अदालतको आदेशलाई उध्दृत गर्दै जी-न्यूजले उल्लेख गरेको छ ।

    साथै अदालतले भाइरस फैलाउने खालका जमघट, भीड र सुपर-स्प्रेडर खालका कार्यक्रम रोक्न समेत भनेको छ । साथै, जनकल्याणका लागि लकडाउन लागु गर्नेबारे पनि विचार गर्नको लागि अदालतले सुझाव दिएको छ ।

    लकडाउन लागु गर्नुपूर्व सर्वसाधारणलाई राहत दिने खालका कार्यक्रम ल्याउन पनि अदालतले ध्यानाकर्षण गराएको छ ।

  • दिदी आफू हारेर पनि मोदीलाई रोक्न सफल, केरलामा कम्युनिस्टको बहुमत

    दिदी आफू हारेर पनि मोदीलाई रोक्न सफल, केरलामा कम्युनिस्टको बहुमत

    दिल्ली । भारतको पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा सार्वजनिक हुने क्रममा छ । पश्चिम बंगाल, आसाम, पाण्डुचेरी, तामिलनाडु र केरला राज्यमा विधान सभा चुनाव भएको थियो ।

    सोमबार बिहानसम्म निर्वाचन आयोगको नतिजा हेर्दा ममता बेनर्जीको दल तृणमूल कंग्रेसले भारी बहुमतसहित पश्चिम बंगालमा सत्तामा ह्याट्रिक गर्ने करिब निश्चित भएको छ ।

    आफ्नो निर्वाचन क्षेत्र नन्दीग्राममा पराजित भएपनि ममता बेनर्जीले आफ्नो दल टीएमसीलाई पश्चिम बंगालमा बीजेपीविरुद्ध सानदार जित दिलाइन् । यो जितसँगै बंगालमा तेस्रोपटक टीएमसी शक्तिमा फर्कन लागेको हो ।

    भारतको संविधानको धारा १६४ को उपधारा ४ अनुसार संसदको सदस्य नभएपनि बेनर्जी मुख्यमन्त्री हुन पाउनेछिन् । तर, ६ महिनामा हुने उप-निर्वाचनमा उनले जित्नुपर्ने हुन्छ । उपनिर्वाचन हारेमा उनले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने संवैधानिक बाध्यता छ ।

    सोमबार बिहान साढे ११ बजेसम्मको मतगणनाअनुसार पश्चिम बंगालको २९२ सिटमध्ये टीएमसी २१३ सिटसहित अगाडि छ । बीजेपी ७७ सिटसहित दोस्रो स्थानमा छ ।

    भाजपाले पश्चिम बंगलाको नतिजा आफ्नो पक्षमा पार्न पुरै शक्ति लगाएको थियो । ममताले नन्दीग्रामबाट चुनाव लडेकी थिइन् तर उनी बीजेपीका शुभेन्दु अधिकारीसँग चुनाव हारिन् । चुनावी परिणाम टीएमसीको पक्षमा जाने देखिएपनि भाजपाले पश्चिम बंगालमा राजनीतिक पकड बलियो बनाएको छ ।

    पाँचवर्षअघि ३ सिट जितेको भाजपाले यसपटक ७५ भन्दा बढी सिट जित्ने अपेक्षा गरिएको छ । चुनावी नतिजा हेर्दा सबैभन्दा ठूलो धक्का कांग्रेस र बाम गठबन्धनलाई पर्ने देखिएको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसले १ सिट जितेको छ ।

    कुनै समय ३४ वर्षसम्म बंगालमा एकछत्र शासन गरेको कम्युनिस्ट पार्टी प्रतिस्पर्धामै देखिएन ।

    केरालामा कम्युनिस्ट बहुमत

    कुनै बेलाको लालकिल्ला पश्चिम बंगालमा कमजोर उपस्थिती जनाएको बाम गठबन्धन (एलडीएफ) केरला राज्यमा भने विजय हुने करिब निश्चित भएको छ । केरलाबाट गठबन्धनका पिनारायी विजयन विजय हुने जनाइएको छ । बाम गठबन्धनले यसपटक केरलामा एकल सरकार बनाउने देखिएको छ । यसअघि जस्तो हुने सत्ता आलोपालोको परम्परा यसपटक तोडिने अपेक्षा गरिएको छ ।

    केरलाको १४० वटा सिटमध्ये बाम गठबन्धन ७६ सिटसहित अगाडि छ । युडीएफ ४० सिटसहित दोस्रो स्थानमा छ भने बीजेपीले एक सिट पनि जित्न सकेको छैन । बाम गठबन्धनको जितले केरलमा विगत चार दशकदेखि प्रत्येक पाँच वर्षमा एलडीएफ र यूडीएफबीच सत्ता आलोपालो हुने क्रम यसपटक तोडिने देखिएको छ ।

    दक्षिण भारतको सबैभन्दा ठूलो राज्य तामिलनाडुमा भने एग्जिटपोलहरुको प्रक्षेपणअनुसार नै डीएमके र कांग्रेस गठबन्धनले १५९ सिटमा अग्रता लिइरहेका छन् । पोन्डीचेरीमा भाजपा नेतृत्वको गठबन्धनले राज्यको ३० सिटमध्ये १६ स्थानमा जित हासिल गरेको छ । आसामका १२६ सिटमध्ये ७५ स्थानमा बीजेपी र ५० स्थानमा कांग्रेसले जित हसिल गरेका छन् ।

  • भारतमा सोमबार ३ लाख ६८ हजार संक्रमित, ३४ सयको मृत्यु

    भारतमा सोमबार ३ लाख ६८ हजार संक्रमित, ३४ सयको मृत्यु

    दिल्ली । भारतमा सोमबार ३ लाख ६८ हजार १४७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,४१७ जनाको मृत्यु भएको छ ।

    भारतमा कूल संक्रमित संख्या १ करोड ९९ लाख पुगेको छ । जसमध्ये ३४.१३ लाख सक्रिय संक्रमित छन् । २ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    महाराष्ट्र, कर्नाटका, उत्तर प्रदेश, केरला, राजस्थान, गुजरात, छत्तिसगढ, आन्ध्र प्रदेश, तामिलनाडु र पश्चिम बंगालमा सर्वाधिक संक्रमित भेटिएका छन् ।

    भारतको सर्वोच्च अदालतले आइतबार प्रभावित राज्यमा पूर्ण लकडाउन गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिइसकेको छ ।

  • पश्चिम बंगालमा दिदीको मुख्यमन्त्री ‘ह्याट्रिक’ निश्चितजस्तै !

    पश्चिम बंगालमा दिदीको मुख्यमन्त्री ‘ह्याट्रिक’ निश्चितजस्तै !

    दिल्ली । भारतको पश्चिम बंगालको विधान सभा चुनावमा वर्तमान मुख्यमन्त्री ममता बेनर्जी स्पष्ट जिततर्फ अघि बढेकी छिन् । जारी मतगणनामा उनले २०६ सिटसहित अग्रता हासिल गरिरहेकी छिन् ।

    पश्चिम बंगालको २९२ सिटमा टीएमसीले २०६, बीजेपीसहितको गठबन्धनले ८३ र कांग्रेसले अहिलेसम्म १ सिट प्राप्त गरेका छन् ।

    अहिलेसम्मको मतगणनाको रुझान हेर्दा बेनर्जी तेस्रोपटक मुख्यमन्त्री हुने करिब निश्चितजस्तै भएको छ । नन्दीग्राम चुनावको नतिजा गणनामा उनका निकटतम प्रतिस्पर्धी भारतीय जनता पार्टीका उम्मेदवार शुभेन्दु अधिकारीले ८३ मतसहित पछ्याइरहेका छन् ।

    चौंथोपटकको मतगणनामा तृणमूल कंग्रेसका अन्य हेभिवेट उम्मेदवारहरुले पनि ठूलै अग्रतासहित अघि बढिरहेका छन् । गतवर्षको डिसेम्वरमा बीजेपी प्रवेश गरेका अधिकारीले पाँचौं चरणको मतगणना हुँदा ३४,४३० मत प्राप्त गरेका थिए ।

    यसअघिका दुई विधानसभा चुनाव भवानीपुरबाट लडेकी बेनर्जी यसपटक नन्दीग्रामबाट लडेकी थिइन् । कुनैबेला बेनर्जी मन्त्रिपरिषद्का एक महत्वपूर्ण मन्त्री रहेका अधिकारीले सन् २०१६ को चुनावमा नन्दीग्रामबाट टीएमसीको टिकटमा चुनाव लडेका थिए ।

  • कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छ : पूनावाला

    कोभिसिल्ड खोपको उत्पादन पूर्ण क्षमतामा जारी छ : पूनावाला

    नयाँ दिल्ली । भारतमा अक्सफोर्ड-अस्ट्राजेनिकाको कोभिड-१९ विरुद्धको खोपको उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूट अफ इन्डियाले आफ्नो पुणे प्लान्टबाट पूर्ण क्षमतामा खोप उत्पादन भइरहेको जनाएको छ ।

    ‘कोभिसिल्ड’ नामबाट खोप उत्पादन गरिरहेको सेरमका प्रमुख कार्यकारी अदार पूनावालाले खोप उत्पादनको कार्यमा कुनै व्यवधान नरहेको र यो पूर्ण क्षमतामा जारी रहेको बताएका छन् ।

    सुरक्षा र धम्कीका कारण भारत छाडेको भनिएका पूनावालाले आफूले बेलायतमा साझेदारहरुसँग छलफल गरेको स्पष्ट पारे । उनले ट्वीट गर्दै भनेका छन्, ‘बेलायतमा हाम्रा सबै साझेदारसँग निकै राम्रो छलफल भएको छ । पुणेस्थित प्लान्टमा कोभिसिल्डको उत्पादन पूर्ण क्षमतामा भएकोमा खुशी लागेको छ । केही दिनभित्रै म भारत फर्किएपछि उत्पादनका बारेमा समीक्षा गरिने छ ।”

    यसैबीच, सेरमले बुधबार भारतीय राज्यहरुका लागि कोभिसिल्डको प्रति डोज मूल्यलाई समायोजन गरी भारु ४०० बाट भारु ३०० बनाएको जनाएको छ ।

    भारतको केन्द्रीय गृह मन्त्रालयले पूनावालालाई वाई वर्गीकरणको सुरक्षा दिइएको जनाएको छ ।

    केही अघि प्रमुख कार्यकारी पूनावालाले खोप उत्पादनलाई तिब्रता दिन भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरेका थिए ।

    भारत सरकारले कोभिसिल्ड खोप विदेश निर्यात गर्न रोकेपछि सेरमले भारत सरकार समक्ष आर्थिक सहायता माग गरिरहेको छ भने कोभिसिल्डको खोप विदेश निर्यात गर्न नदिइएको भन्दै सेरमसँग सम्झौता गरिसकेका अन्य मुलुकले पनि आपत्ति जनाएका छन् ।

  • चारजना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

    चारजना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

    वासिङ्टन । स्पेश-एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा)का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् ।

    ती अन्तरिक्ष यात्रीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए । उनीहरु जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गा मार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो । नासाले सबै चार अन्तरिक्ष यात्रीले आफूहरु ठीक रहेको बताएको जनाएको छ ।

    फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरु अवतरण गरेका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ ।

    गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा गएका थिए । उनीहरु अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेश–एक्सबाट प्रस्थान गरेका थिए ।

    सात जना अन्तरिक्ष यात्रीहरु अझै पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा रहेका छन् । उनीहरु गत साता स्पेस–एक्स मार्फत् नै अन्तरिक्षमा पुगेका हुन् ।

  • भारतमा आज झन्डै ४ लाख संक्रमित थपिए, ३,६०० जनाको मृत्यु

    भारतमा आज झन्डै ४ लाख संक्रमित थपिए, ३,६०० जनाको मृत्यु

    दिल्ली । भारतमा आइतबार एकैदिन ३ लाख ९२ हजार ४८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६८९ जना संक्रमितको मृत्यु भएको छ ।

    ३ लाख ७ हजार जना निको भएका छन् ।

    भारतमा कूल संक्रमित संख्या १ करोड ९५ लाख पुगेको छ । कूल मृत्यु संख्या २ लाख १५ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ३३ लाख ४९ हजार पुगेको छ ।

  • विधानसभा चुनाव मतगणना सुरु : केरलाले जोगाउँदैछ भारतमा कम्युनिष्टको साख

    विधानसभा चुनाव मतगणना सुरु : केरलाले जोगाउँदैछ भारतमा कम्युनिष्टको साख

    दिल्ली । भारतका पाँच राज्यमा सम्पन्न विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै ती राज्यको प्रारम्भिक नतिजा आउन सुरु भएको छ ।

    पश्चिम बंगाल, तामिलनाडु, केरला, पाण्डुचेरी र आसममा सम्पन्न चुनावको मत गन्न सुरु भएको हो । भारतीय संचारमाध्यमले आ-आफ्नै ढंगले एक्जिट-पोल सार्वजनिक गरिरहेका छन् ।

    केरलाको १४० सिटमध्ये ९२ सिटसहित कम्युनिष्ट दल एलडीएफले अग्रता हासिल गरिरहेको छ । कांग्रेसले नेतृत्व गरेको युनाइटेड डेमोक्र्याटिक फ्रन्ट (युडीएफ) ४५ सिटसहित दोस्रो स्थानमा पछ्याइरहेको छ ।

    बीजेपी ३ सिटसहित पुछारमा छ केरला राज्यमा । केरलामा चार दशकदेखि कांग्रेसले नेतृत्व गरेको युडीएफ र कम्युनिष्टले नेतृत्व गरेको एलडीएफबीच रस्साकस्सी हुनेगथ्र्यो तर यसपटक कम्युनिष्ट पार्टीले झन्डै दोब्बर मतान्तरले अग्रता हासिल गरिरहेको छ ।

    परम्परागत कम्युनिष्ट प्रभाव रहेको केरलाका १४० सिटमा एलडीएफले बहुमत ल्याउने अपेक्षा गरिएको छ । २०१६ मा एक सिट जितेको बीजेपीले यसपटक भने केही सिट बढाउने अपेक्षा छ ।

    यसपटक केरलामा मुख्यमन्त्री पिनाराय विजयन, ११ जना उनका मन्त्रिपरिषद् सदस्यहरु, प्रतिपक्षी दलका नेता रमेश चेन्नीथाला, बरिष्ठ कांग्रेस नेता ओमन च्यान्डीसहित कूल ९५७ जना उम्मेदवार थिए ।

    पश्चिम बंगालको २९२ सिटमध्ये तृणमूल कंग्रेस १८१ सिटसहित अगाडि छ । बीजेपीले ८६ सिटसहित दोस्रो स्थानमा छ । कंग्रेस ३ सिटसहित पुछारमा छ । यसपटक सबैभन्दा बढी फाइदा बीजेपीलाई भएको छ जसले सिटसंख्या दोब्बर संख्यामा वृद्धि गरेको छ ।

    तामिलनाडुमा डीएमके १३८ र एडीएमके ९५ सिटसहित अगाडि बढेका छन् । केन्द्र शासित राज्य पाण्डुचेरीमा बीजेपी ११ सिटसहित अग्रणी छ । कांग्रेसले पाँच सिटसहित बीजेपीलाई पछ्याइरहेको छ ।

    आसाममा बीजेपी ८३ सिटसहित अगाडि छ । ४१ सिटसहित कांग्रेससहितको गठबन्धनले बीजेपीलाई पछ्याइरहेको छ । मतगणनाको नतिजा आज मध्यरातसम्म आउने अपेक्षा गरिएको छ ।

  • भारतका ५ राज्यमा मतगणना सुरु, पश्चिम बंगालमा ममता बेनर्जीको पार्टीको अग्रता

    भारतका ५ राज्यमा मतगणना सुरु, पश्चिम बंगालमा ममता बेनर्जीको पार्टीको अग्रता

    एजेन्सी । भारतमा हालै विधानसभा मतदान सकिएका पाँच राज्यको ८ सय २२ सिटका लागि मतगणना सुरु भएको छ । पश्चिम बंगाल, आसाम, केरल, तामिलनाडू र पान्डीचेरीमा मतगणना भइरहेको छ ।

    मतगणनाको प्रारम्भिक रुझान अनुसार नेपालसँग सीमाना जोडिएको पश्चिम बंगालमा ममत बेनर्जी नेतृत्वको पार्टी तृणमूल कांग्रेसले अग्रता लिएको छ । पश्चिम बंगालमा १ सय ४३ स्थानमा तृणमूल कांग्रेस र १ सय २२ स्थानमा भारतीय जनता पार्टी (बीजेपी)को अग्रता छ ।

    तामिलनाडूमा डीएमकेको गठबन्धनले १ सय ११ स्थानमा अग्रता बनाएको छ भने एआईए डीएमके पार्टीले ९६ स्थानमा अग्रता लिँदै डीएमकेलाई पछ्याइरहेको छ ।

    केरलमा सत्तारुढ लेफ्ट डेमोक्र्याटिक फ्रन्ट (एलडीएफ)ले भारी अग्रता हासिल गरेको छ । उसले ८२ स्थानमा अग्रत बनाउँदा युनाइटेड डेमोक्र्याटिक फ्रन्ट (यूडीएफ)ले ५० स्थानमा अग्रता हासिल गरेको छ ।

    आसाम र पन्डीचेरीमा भारतीय जनता पार्टीको अग्रता छ । आशाममा भारतीय जनता पार्टीले ८० स्थान र भारतीय कांग्रेसले नेतृत्व गरेको युनाइटेड प्रोग्रेसिभ अलायन्स (यूपीए)ले ३६ स्थानमा अग्रता बनाएको छ । पन्डीचेरीमा भाजपाले १२ र यूपीएले ५ स्थानमा अग्रता बनाइरहेको छ ।

  • दिल्लीमा थप एकसाता लकडाउन लम्बियो

    दिल्लीमा थप एकसाता लकडाउन लम्बियो

    दिल्ली । भारतको राजधानी दिल्लीमा लगाइएको लकडाउन एकसाता लम्बाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् ।

    कोरोनाबाट प्रभावित मध्ये एक भारतीय सहर दिल्लीमा पछिल्लो समय संक्रमित र मृतकको संख्या दुबैमा वृद्धि भैरहेको छ ।

  • शाङ्घाई नजिक आँधीका कारण कम्तिमा ११ को मृत्यु

    शाङ्घाई नजिक आँधीका कारण कम्तिमा ११ को मृत्यु

    चीन । शाङ्घाईको नजिकैको एउटा शहरमा शुक्रबार साँझ आएको घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले शनिबार बताएका छन् ।

    शुक्रबार साँझ माछा मार्न गएका माछा मार्ने डुङ्गामा रहेका ९ जना आँधीपछि सम्पर्कमा आएका छैनन् तर सोही डुङ्गाका अन्य २ जनालाई सकुशल उद्धार गरिएको छ ।

    याङ्जे नदीको उत्तरी किनारमा रहेको ८० लाख जनसङ्ख्या रहेको नान्तोङ शहर र वरपरका क्षेत्रमा ठूला असिनासहित आएको आँधीबेरीमा परी उनीहरूको मृत्यु भएको चिनियाँ वेबसाइट ‘ट्यूटियाओ डटकम’ले जनाएको छ ।

    आँधीपछि कतिपय मृतकहरू रूख र बिजुलीको खम्बाले थिचिएको अवस्थामा भेटिएका थिए भने अन्यलाई बतासले पानीमा फ्याँकिएको अवस्थामा पाइएको स्थानीय अधिकारीहरूले सामाजिक सञ्जाल ओइवोमार्फत् जानकारी गराएका छन् ।

    आँधीका कारण कम्तीमा १०२ जना घाइते भएका छन्, धेरै घरहरू भत्किएका छन् भने करिब तीन हजार स्थानीयलाई सुरक्षितस्थलमा सारिएको छ ।

  • भारतमा तत्काल लकडाउन गर्न बाइडेनका चिकित्सा सल्लाहकारको सुझाव

    भारतमा तत्काल लकडाउन गर्न बाइडेनका चिकित्सा सल्लाहकारको सुझाव

    वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनका चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले भारतमा नियन्त्रण बाहिर पुगेको कोरोना रोकथामका लागि केही साताको लकडाउन जरुरी रहेको बताएका छन् ।

    केही देशले तत्काल बन्द गर्न नचाहेपनि संक्रमणको चक्रलाई रोक्न केही साताको लागि लकडाउन गर्न जरुरी रहेको फाउचीको भनाई छ ।

    जसले गर्दा यो कठिन र निराशजनक स्थितीबाट बाहिर आउन भारतलाई तत्कालिन, मध्यमकालिन र दीर्घकालिन रुपमा फाइदा मिल्ने उनको विश्वास छ ।

    डाक्टर फाउची अमेरिकाका बरिष्ठ संक्रामक रोग विशेषज्ञ समेत हुन् । उनले सात अमेरिकी राष्ट्रपतिसँग मिलेर काम गरिसकेका छन् ।

    अंग्रेजी अखबार द इन्डियन एक्सप्रेससँग उनले भारतको पछिल्लो अवस्थाबारे कुरा गरेका छन् ।

  • भारतबाट अमेरिका र अष्ट्रेलिया जान प्रतिबन्ध

    भारतबाट अमेरिका र अष्ट्रेलिया जान प्रतिबन्ध

    भारतबाट अमेरिका जान अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट जानेहरूलाई अमेरिकामा प्रतिबन्ध लगाइएको हो ।

    भारतबाट अमेरिका जान प्रतिबन्ध लगाउनेसम्बन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबार हस्ताक्षर गर्नुभएको छ ।अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिइनमा बस्नु पर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जनाएका छन् ।

    भारतबाट अमेरिका जान प्रतिबन्ध लगाउने निर्णय मे ४ देखि लागु हुने र यो निर्णय अस्थायी भएको जनाइएको छ । अस्थायी भएपनि कहिलेसम्म लागु हुनेछ भन्ने अनिश्चित नै रहेको छ ।

    भारतमा अहिले कोरोनाभाइरसको महामारी अत्यधिक छ भने दैनिक लाखौँ सङ्क्रमित हुने गरेका छन् । अरु हजारौंको मृत्यु हुने गरेको छ । भारतको महामारी सर्ने डरले अन्य देशहरूले पनि भारतबाट आवागमनका लागि प्रतिवन्ध लगाएका छन् ।

    अष्ट्रेलियाले त आदेश नमान्नेलाई ५ बर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको घोषणा गरेको छ । शनिबार घोषणा गरिएको यात्रा प्रतिवन्धसम्वन्धी निर्णयमा सरकारको निर्णय नमान्नेलाई जेल सजायको व्यवस्था गरिएको उल्लेख छ ।

    कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि भारतलगायतका कोरोनाभाइरसबाट अति प्रभावित मुलुकबाट आउनेहरूलाई जान नदिने निर्णय गर्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ ।

    भारतबाट अष्ट्रेलिया जान नपाइनेसम्न्धीब सरकारी निर्णय कार्यान्वयन भने आगामी सोमबारदेखि मात्रै हुने जनाइएको छ ।

    अत्यावश्यक परेर आएकाहरूलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।

    भारतबाट आएका यात्रुहरूबाट कोरोनाभाइरस सर्न थालेको भन्दै सर्वत्र चासो व्यक्त भएपछि सरकारले भारतबाट अष्ट्रेलिया आउन रोक लगाइएको हो ।

  • भारतमा एकैदिनमा चार लाखभन्दा बढी संक्रमित

    भारतमा एकैदिनमा चार लाखभन्दा बढी संक्रमित

    काठमाडौं । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको संख्या विगत २४ घण्टामा चार लाख नाघेको छ ।

    कोरोनाभाइरसको महामारी सुरु भएदेखि दैनिक संक्रमितको संख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९ सय ९३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

    योसँगै अहिलेसम्म देशभरी कूल संक्रमितको संख्या एक करोड ९१ लाख ६४ हजार ९ सय ६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५ सय २३ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेकोे छ ।

    भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या दुई लाख ११ हजार ८ सय ५३ पुगेको छ ।

    मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरूको संख्या ३२ लाख ६८ हजार १ सय ७० रहेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९ सय ८८ जना कोरोनाभाइरसबाट संक्रमितमुक्त भएका छन् ।

    भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३ सय ८५ जनाको कोरोना परीक्षण गरिएको छ ।

  • जलिरहेका चिताका तस्बिर खिच्ने फोटोग्राफरको अनुभूति

    जलिरहेका चिताका तस्बिर खिच्ने फोटोग्राफरको अनुभूति

    कानपुरको भैरव घाट शवगृहमा खिचिएका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्बिर हेरेर त्रसित भएका मानिसहरूले त्यसलाई आफ्नै ढंगले अनुमान लगाइरहेका छन् ।

    ती तस्बिर पीटीआईका फोटोग्राफर अरुण शर्माले लिएका थिए । शर्माले एउटा भिडियो पनि सेयर गरेका छन् । जुन ट्विटर र इन्स्टाग्राममा भाइरल छ ।

    शर्मा भन्छन्, ‘जब मैले यी तस्बिर लिएँ, घाटमा ३८ चिता जलिरहेका थिए । केही चितामा पानी हालेर चिस्याइँदै थिए ।’

    https://twitter.com/ARUNSHARMAJI/status/1386703957448282112?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1386703957448282112%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fhindi%2Findia-56900952

    घाटमा केवल कोभिड संक्रमितका शव जलाइँदैछन् । यहाँ जलिरहेको चिताको तापले नजिकै रोपिएका रूखहरू पनि जलिरहेकाझैं लाग्छन् ।

    १५ वर्षदेखि फोटो पत्रकारिता गरिरहेका शर्मा भन्छन्, ‘मैले सबैभन्दा ठूला दुःखहरूलाई कैद गरेको छु, तर यस्तो महसुसचाहिँ भएको छैन । यो दृश्य मेरो हृदय र मस्तिष्कमा बसिरहने वाला थियो ।’

    अरुण शर्मा, अप्रिल १६मा दिल्लीबाट कानपुर पुगेका थिए । अस्पताल हुँदै घाटहरूमा फोटो खिच्दै थिए । सहरका अगल अलग ठाउँमा गएर महामारीको व्यापकता आँकलन गर्न कोसिस गर्दै थिए ।

    उनी भन्छन्, ‘म दिउँसो पनि घाटमा गएँ । मलाई लाग्यो- त्यहाँ परिस्थिति नाजुक छ । त्यहाँ दिउँसो लासहरू जलाइन्थे । तर प्रशासनले रातमा पनि लास जलाउने निर्णय गरेछ । मलाई एक स्थानीय पत्रकारले साँझ लास जलाएका भिडियो पठाए ।’

    अरुण त्यो साँझ घाटमा पुग्ने निर्णय गरे। उनी साँझमा घाट पुग्दाम १०/१२ लासहरू बाहिर थिए । र ३८ ओटा चिता जलिरहेका थिए । चिताबाट उडेको धुवाँ निलो आकाशमा मिसिरहेका थिए । त्यो भयावह र हृदयविदारक दृश्य थियो।

    ‘त्यहाँ यति धेरै गर्मी कि उभिन पनि असम्भव थियो । चिताको तापले शरीर तातिरहेको थियो । यस्तो लागिरहेको थियो– हामीभित्र पनि केही जलिरहको छ । शरीरमा क्याल्सियम हुन्छ, जुन जल्दा निकै दुर्गन्ध आउँछ र सेतो धुँवा निस्कन्छ,’ अरुण भन्छन् ।

    अरुणका अनुसार त्यहाँ केवल ती व्यक्ति थिए जसले मृत शरीरलाई दाहसंस्कार स्थलमा ल्याएका थिए । उनीहरूबाहेक कोही थिएन त्यहाँ ।स्थलमा १२ जना काम गरिरहेका थिए, जसमध्ये चार जना चिता जलाइरहेका थिए ।

    अरुण शर्मा लगायत अन्य धेरै पत्रकार जोखिमको बाबजुद बाहिर निस्केर भुइँमान्छेका तस्बिर आम मानिसका सामुन्य ल्याइरहेका छन् ।
    के उनीहरुलाई कोभिडको बखत पत्रकारिता गर्न डर लागिरहेको छ ?

    अरुण भन्छन्, ‘मसँग दुईवटा विकल्प छन्, कि म भाग लिन्छु वा म यहाँबाट भाग्छु । भागेर जानुको सट्टा म भाग लिन्छु । शवहरूको तस्बिर लिनु मेरो लागि फरक अनुभव थियो । सामान्यतयाः यस्तो हुँदैन । यति धेरै मानिसको मृत्यु एक साथ हुँदैन । यो समय तस्बिर लिँदाका क्षण मस्तिष्कमा जे चलिरहेको थियो त्यो बताउन सजिलो थिएन ।’

    अरुण थप्छन्, ‘ अरु बेला हामी प्रदर्शनहरूलाई कभर गर्छौं, प्रेस सम्मेलन गर्छौं, तर यति धेरै लास एकैचोटि देख्दैनौं । यसले त हाम्रो हृदय र दिमागलाई असर गरिरहेको छ । एकै दिनमा दुई सय पचास मानिसहरूको लास देखिन्छ भने यसको असर मस्तिष्कमा अवश्य हुन्छ ।’

    कानपुरका यी तस्बिर भाइरल भएपछि सरकारी तथ्यांकमाथि पनि प्रश्न उठेको छ । स्थानीय अखबारका अनुसार कानपुरको दाहसंस्कार घाटमा ४ सय ७६ चिता जलेका थिए । तर त्यस दिन प्रशासनको आधिकारिक आँकडाले ६ जनाको मात्र मृत्यु भएको सूचना दियो ।
    के वास्तविक तथ्यांकहरू जनताबाट लुकाउन खोजिएको थियो ?

    एक वरिष्ठ अधिकारीले बीबीसीलाई नाम नखुलाउने सर्तमा भने, ‘वास्तविक तस्बिर यति डरलाग्दो छ कि मानिसहरू त्यो देखेर डराउनेछन् ।’
    अरुण भन्छन्, ‘सत्य जति नै विभत्स किन नहोस्, त्यसलाई देखाउनु हाम्रो कर्तब्य हो । हामी इतिहासको यो कालखण्डलाई आफ्नो तस्बिरको माध्यमबाट रेकर्ड गर्दैछौं । हामीले खिचेका तस्बिरहरू तथ्यांकविरुद्ध देख्न सकिन्छ र मानिसहरूले सत्यलाई जान्न सक्छन् ।’

    ‘जबसम्म हामी परिस्थितिको गम्भीरपना र भयावह स्थिति स्वीकार गर्दैनौं तबसम्म त्यसको सामना गर्न सक्दैनौं । मलाई लागेको छ, हाम्रो तस्बिरले जनतामा सत्य उजागर गर्‍यो ,’ उनी भन्छन् ।

    महामारीमा मानिसहरूले जीवन मात्र गुमाइरहेका छैनन्, अनुभव पनि गरिरहेका छन् । मानिससँग मानिसको भरोसा गुम्ने स्थिति छ । अरुण भन्छन्, ‘अस्पताल बाहिर हामी यस्ता धेरै व्यक्ति भेटिरहेका छौं जसले परिवारका मृत शरीर मात्र पाइरहेका छन् भन्ने गुनासो गर्छन् ।’

    उनीहरुका सामान त छैनन् । ‘बिरामीले लगाएको गहनाहरू पनि मृत शरीरमा फेला परेनन्,’ अरुण भन्छन् ।

    अरुण गत हप्तादेखि कानपुरको अस्पताल, ग्यास रिफिल स्टेशनहरू र अन्त्येष्टि स्थलहरूमा गएका थिए। उनी भन्छन्, ‘यो महामारीको पूर्ण सत्य अझै बाहिर आएको छैन । अस्पतालबाहिर मानिसहरू मरेका छन्। मानिसहरूले अक्सिजन पाइरहेका छैनन् ।’

    (बीबीसी हिन्दीमा २८, अप्रिलमा प्रकाशित भएको यो सामग्री नेपाल प्रेसले नेपालीमा अनुवाद गरेको हो ।)

  • भारतका समाचार कक्षमा फैलियो संक्रमण, सहकर्मी गुमाउँदा यसरी रुँदैछन् आजतकका एंकर

    भारतका समाचार कक्षमा फैलियो संक्रमण, सहकर्मी गुमाउँदा यसरी रुँदैछन् आजतकका एंकर

    दिल्ली । हामी यहाँ बसेर सँधै एङ्करिङ गथ्र्यौं । सँधै भेट्थ्यौं । रोहित आइसीयूमा थियो भनेर फोन आउँछ भन्ने थाहा थिएन । आइसीयूमा सबै जान्छन् । हाम्रो साथी पनि गएको थियो । फेरी खबर आयो कि ऊ भेन्टिलेटरमा छ ।

    म बिहानैदेखि बुलेटिन गरिरहेकी थिएँ । डराइरहेकी थिएँ । प्रार्थना गरिरहेकी थिएँ । यस्तो हुन्छ भन्ने कुरा कहिल्यै सोचेकी थिइँन । गएको शनिबार मैले रोहितलाई भेटेकी थिएँ ।

    रोहितले मलाई सेनिटाइज गरेर जान भनेका थिए । मैले भनेकी थिएँ -लाग्यो भने सबैलाई लाग्छ । कोरोना लागेपछि उसले टेक्स्ट गर्दै मलाई भन्यो -म कोरोना पोजेटिभ भएँ, तिमीले पनि टेस्ट गर्नु । मैले भने -म ठीक छु, तिमी ठीक भएर चाँडो फर्कनू ।

    २ मेमा आउला, २९ मेमा आउला वा ३० मेमा आउला । मलाई थाहा छैन, उनको खबर आज आउँछ भनेर । तपाईंहरु दंगल हेर्नुहुन्छ । यहीँ बसेर उसले दंगल गर्छ । म १ बजे जान्थेँ । ऊ आउँथ्यो र मलाई मेकअप उतार्न भन्थ्यो । म छु तिमी घर जाऊ भन्थ्यो ।

    परिवारमा हामी सबै साथ हुन्थ्यौं, बच्चाको जन्मदिन सँगै मनाउँथ्यौं । रोहित १ तिम्रो परिवारका लागि होइन, हाम्रो लागि र मेरो लागि सबैभन्दा ठूलो क्षति हो । मेरो सबैभन्दा प्रिय साथी तिमी गयौ । चित्रा तिमीलाई म के सोधौं, अब त केही पनि छैन तिमीलाई सोध्नका लागि ।

    सहकर्मीको मृत्युको समाचार पढ्दा आफूलाई सम्हाल्न सकिनन् आजतक टेलिभिजनकी कार्यकारी सम्पादक अञ्जना ओम कश्यपले । न्यूजरुममा वर्षौं बिताएको, हाँसखेल गरेको र थुप्रै न्यूजहरु स्कुप हानेको लगायतका स्मरण गर्दै कश्यपले आफ्नै सहकर्मी रोहित सरदानाप्रति श्रद्धासुमन व्यक्त गरिन् । उनको मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहे ती स्मृतिहरु ।

    चर्चित भारतीय टेलिभिजन एंकर रोहित सरदानाको निधन भएपछि यतिबेला भारतीय पत्रकारिता गहिरो शोकमा डुबेको छ । शुक्रबार कोभिड-१९ संक्रमणले निधन भएका सरदानाप्रति राष्ट्रपति, प्रधानमन्त्रीदेखि पत्रकारिता, बलिउड र सर्वसाधारणले दुःख व्यक्त गरेका छन् ।

    क्रिकेट स्कोरिङजस्तै कोरोना संक्रमित एवं मृत्युको तथ्यांक पढ्ने भारतीय टेलिभिजन जगतमा सरदानाको निधन एउटा अंकगणित मात्र हैन, यसले फ्रन्टलाइनर कसरी अग्रणी मोर्चामा खटिएर कोभिडविरुद्ध लडिरहेका छन् भन्ने अवस्थाको दुःखदायी चित्रण पनि गर्छ । कश्यपले भनेजस्तै उनका लागि रोहितको मृत्यु तथ्यांक मात्र हैन बरु समाचार-कक्षका लागि ठूलो क्षति हो ।

    जी-न्यूजमा ‘ताल ठोक के’ सो चलाएर हिट बनेका रोहितले राजनीतिज्ञदेखि सेलेव्रिटीलाई हायल–कायल पार्थे र स्पष्ट दृष्टिकोण प्रस्तुत गर्थे । उनको निधनमा भारतीय राजनीति, कलाकारिता, कर्पोरेट क्षेत्रले व्यक्त गरेको ‘अबिच्यूरी’पूर्ण स्टेटमेन्टहरु यसका प्रमाण हुन् ।

    जी-न्यूज प्रधानसम्पादक सुधीर चौधरी लेख्छन्, ‘थोरै पहिले मलाई हाम्रा क्राइम रिपोर्टरको फोन आयो । उसले भनेको कुरा सुन्दा मेरो हात काँप्यो । हाम्रा मित्र तथा सहयोगी रोहित सरदानाको मृत्यु थियो । यो भाइरसले हामी नजिकको कसैलाई उठाएर लैजान्छ भन्ने कुरा कल्पना बाहिरको थियो । यसका लागि म तयार थिइँन । भगवानको यो अन्याय थियो । ओम शान्ति ।’

    ४१ वर्षिय पत्रकार सरदानालाई कुम्भ मेलामा रिपोर्टिङमा जाँदा कोरोना संक्रमण भएको उनी निकट स्रोतले जनाएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नोएडाको मल्ट्रि–स्पेसालिटी अस्पताल भर्ना गरिएको थियो । उनको अन्तिम संस्कार कुरुक्षेत्रमा गरिने भएको छ ।

  • कोरोना संक्रमणले भारतीय टेलिभिजन पत्रकार रोहित सार्दनाको निधन

    कोरोना संक्रमणले भारतीय टेलिभिजन पत्रकार रोहित सार्दनाको निधन

    दिल्ली । भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सार्दनाको कोरोनाभाइरस संक्रमणले शुक्रबार निधन भएको छ ।

    जी-न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सार्दनाको निधनको पुष्टि गरेका छन् । भारतीय मिडिया क्षेत्रलाई स्तब्ध पार्दै उनले दिल्लीस्थित एक अस्पतालमा अन्तिम सास लिएको जनाइएको छ ।

    उनी पछिल्लो समय आजतक च्यानलमा कार्यरत थिए । जी-न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट उनी निकै चर्चित थिए । उनले सन् २०१७ मा जी-न्यूज छाडेर आजतक ज्वाइन गरेका थिए ।

    आजतकमा उनले ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम संचालन गर्दै आइरहेका थिए । उनको निधनमा सामाजिक संजालमा राजनीतिज्ञ र सेलेव्रिटीहरुले शोक व्यक्त गरिरहेका छन् ।

  • दिल्लीमा दाहसंस्कार गर्ने ठाउँको अभाव, मुम्बईसहितका राज्यमा खोप अभियान स्थगित

    दिल्लीमा दाहसंस्कार गर्ने ठाउँको अभाव, मुम्बईसहितका राज्यमा खोप अभियान स्थगित

    दिल्ली । दिल्ली प्रहरीले कोभिड-१९ बाट मृत्यु भएकाहरुको शवलाई दाहसंस्कार गर्ने स्थानको अभाव भएको भन्दै सोको व्यवस्था गर्न अधिकारीहरुलाई आग्रह गरेको छ ।

    भाइरसको दोस्रो घातक लहरको कारण अहिले भारतका विभिन्न प्रभावित ठाउँहरुमा अस्पताल, शव व्यवस्थापन र दाहसंस्कार गर्ने ठाउँको अभाव भैरहेको छ ।

    भारतमा शुक्रबार मृतक संख्या २ लाख ८ हजार पुगेको छ । भाइरस संक्रमित संख्या १ करोड ८७ लाख ६२ हजार पुगेको छ । शुक्रबार एकैदिनमा संक्रमित र मृत्यु भएको अहिलेसम्मकै सर्वाधिक भएको जनाइएको छ ।

    अक्सिजन र अस्पताल शैय्याको अभाव भएपछि मानिसहरुले सामाजिक संजालमार्फत हारगुहार गरिरहेका छन् । दिल्लीका एक बरिष्ठ प्रहरी अधिकारीले मानिसहरुले कोभिड-१९ मृतकका लागि छुट्याइएको भन्दा अन्य स्थानमा दाहसंस्कार गरिरहेको बताए ।

    ‘यसकारण थप दाहसंस्कार गर्ने ठाउँहरु बनाउनु जरुरी छ’ ती अधिकारीले एनडीटीभी च्यानललाई भने ।

    चुनावी र्‍याली र पर्वजस्ता भीडभाड हुने कार्यक्रमलाई खुला ढंगले गर्न दिएको र महामारी व्यवस्थानमा चुकेको भन्दै भारतको केन्द्रीय सरकारको आलोचना भैरहेको छ ।

    तर, विहिबार केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवद्र्धनले भारतको मृत्युदर विश्वमै कम भएको बताउँदै अक्सिजन आपूर्ति पर्याप्त भएको भन्दै सरकारको बचाउ गरे । उनले अक्सिजन आपूर्ति विभिन्न विदेशीसहित विभिन्न स्रोतबाट व्यवस्थापन भैरहेको बताए । अक्सिजन र भेन्टिलेटरसहित अमेरिकाबाट ल्याइएको अत्यावश्यक चिकित्सा सामाग्रीको पहिलो खेप अहिले दिल्ली आइपुगेको छ ।

    विज्ञहरुले लकडाउन र खोप अभियान नै समस्याको समाधान भैरहेको बताउँदै आइरहेका छन् । शनिबारदेखि भारतमा १८ वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई खोप अभियान चलाइँदैछ ।

    विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुक भएपनि भारतसँग अहिले योग्य उमेर समूह ८०० मिलियन मानिसलाई चाहिने पर्याप्त खोप भण्डारण छैन । केही राज्यहरुमा खोप अभाव भैरहेको समाचार आइरहेको छ ।

    २० मिलियन जनसंख्याको आवाधी रहेको भारतको आर्थिक राजधानी मुम्बईले खोप अभाव भएको भन्दै तीन दिनअघि खोप अभियान रोकेको थियो ।

     

  • इजरायलमा धार्मिक समारोहमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु

    इजरायलमा धार्मिक समारोहमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु

    एजेन्सी । उत्तर पूर्वी इजरायलमा एक धार्मिक समारोहका क्रममा भागदौड मच्चिँदा कम्तिमा ४४ जनाको मृत्यु भएको छ ।

    इजरालयको राष्ट्रिय संकटकालीन सेवा मेगान डेभिड अडोम (एमडीए)ले मृतकको एकिन संख्या उल्लेख नगरे पनि दर्जनौं घाइते भएको बताएको छ । द टाइम्स अफ इजराउलले कम्तिमा ४४ जनाको मृत्यु भएको र घाइतेहरुको उद्दार भइरहेको जनाएको छ ।

    प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘गम्भीर क्षति’ भनेका छन् । उनले घटनामा हताहती भएकाहरुका लागि प्रार्थाना गरिरहेको बताएका छन् ।

    माउन्ट मेरोन पहाडको फेदीमा आयोजित लेग बी’ओमार पर्वका लागि दशौं हजार यहुदीहरु भेला भएका थिए । इजरायलमा कोरोना महामारी सुरु भएयता पहिलोपल्ट सबैभन्दा धेरै मानिस एकै ठाउँमा जम्मा भएका हुन् ।

  • पहिलोपटक चन्द्रमामा पुग्ने अन्तरिक्ष यात्री मध्येका एक माइकल कोलिनको निधन

    पहिलोपटक चन्द्रमामा पुग्ने अन्तरिक्ष यात्री मध्येका एक माइकल कोलिनको निधन

    न्यूयोर्क । चन्द्रमामा पहिलोपटक पुग्ने तीन जना अमेरिकी अन्तरिक्ष यात्री मध्येका एक माइकल कोलिनको ९० वर्षको उमेरमा निधन भएको छ ।

    एपोलो-११ नामक अन्तरिक्ष यानबाट सन् १९६९ मा निल आर्मस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिनले पहिलोपटक अन्तरिक्षको सफल यात्रा गरेका थिए ।

    ‘मार्स मिसन’ अन्तर्गत् चन्द्रमाको यात्रामा गएका तीन जना अन्तरिक्ष यात्री मध्ये निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा हिँडेका थिए । तर माइकल कोलिन भने चन्द्रमाको बाहिर कक्षमा नै बसेका थिए ।

    तीन अन्तरिक्ष यात्री मध्ये कोलिन चन्द्रमाको सतहमा पाइला नटेकी फर्कने अन्तरिक्ष यात्री हुन् ।

    उनको क्यान्सर रोगका कारण निधन भएको हो । तीन अन्तरिक्षयात्री मध्ये ९१ वर्षीय बज एल्ड्रिन एपोलो-११ का एक मात्र जीवित अन्तरिक्ष यात्री छन् । यस अघि नै निल आर्मस्ट्रङको निधन भइसकेको छ ।

  • संयुक्त राष्ट्रसंघले कोभिडविरुद्ध लड्न भारतलाई सघाउने

    संयुक्त राष्ट्रसंघले कोभिडविरुद्ध लड्न भारतलाई सघाउने

    संयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रसंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो ।

    संयुक्त राष्ट्रसंघका विशिष्ठ जनस्वास्थ्य विद्सहितको समूह हाल भारत पुगेको छ । साथै संयुक्त राष्ट्रसंघले पनि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु भारतलाई सहयोग गरिरहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् ।

    त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय विभिन्न निकायले भारतलाई पीपीइ, पीसीआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् ।

    भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ । ती जनशक्तिको माध्यमबाट विशेषगरी महाराष्ट्रमा घुम्ती अस्पतालहरु राखिएका छन् ।

    ती अस्पतालहरुमा पीसस्आर परीक्षणका साथै आवश्यक स्वास्थय उपचार पनि उपलब्ध गराइएको बताइएको छ । भारतमा हाल कोभिडको अवस्था निकै तिब्र गतिमा बृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट संक्रमित हुने गरेका छन् भने कम्तीमा पनि २ हजार जना मानिस यही संक्रमणबाट नै मृत्यु हुने गरेका छन् ।

  • अमेरिकी संसदलाई राष्ट्रपति बाइडेनको सम्बोधन : सामाजिक सुधारका लागि ४ ट्रिलियन डलर खर्च प्रस्ताव

    अमेरिकी संसदलाई राष्ट्रपति बाइडेनको सम्बोधन : सामाजिक सुधारका लागि ४ ट्रिलियन डलर खर्च प्रस्ताव

    वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलोपटक आज अमेरिकी सदनका दुबै सत्रलाई सम्बोधन गरेका छन् । कार्यभार सम्हालेको सयदिन पुगेको पूर्वसन्ध्यामा बाइडेनले सम्बोधन गरेका हुन् ।

    रोजगारी, शिक्षा र सामाजिक कल्याणको क्षेत्रमा वृहत लगानी गर्ने योजनाहरु बाइडनले सार्वजनिक गरेका छन् । विश्लेषकका अनुसार बाइडेनले ४ ट्रिलियन डलरको खर्च प्रस्ताव गरेका हुन् ।

    उनले यसलाई ‘अमेरिकाले आफ्नो पुस्ताका लागि गरेको अहिलेसम्मकै बृहत लगानी’ भनेका छन् । तर, उनको यो प्रस्तावलाई विपक्षी दल रिपब्लिकनले भने विरोध गरेको छ ।

    रिपलिब्कन सांसद टीम स्कटले यसलाई ठूलो सरकारी खर्च दुरुपयोग गर्ने डेमोक्र्याटको चाहना भएको भन्दै विरोध जनाएका छन् । झिनो बहुमतको अन्तर भएको अमेरिकी संसदमा बाइडेनको यो प्रस्तावले कानूनी मान्यता पाउन चाहिँ संसदको सामना गर्नुपर्ने हुन्छ ।

    नेपाली समयानुसार विहिबार विहान भएको उक्त राष्ट्रपति सम्बोधनको क्रममा उपराष्ट्रपति कमला ह्यारिस र सभामुख नेन्सी पेलोसी राष्ट्रपति बाइडेनको पछाडि उभिएका थिए । राष्ट्रपतिले अमेरिकी संसदलाई सम्बोधन गर्ने बेला महिला कार्यकारी उभिएको यो पहिलो क्षण भएको जनाइएको छ ।

    आफूले जनवरीमा सत्ता सम्हाल्नु अगाडि मुलुक ठूलो संकटमा रहेको बाइडेनले बताए । ‘शताब्दीकै खराब महामारी, ग्रेट डिप्रेसन पछाडिको ठूलो आर्थिक संकट र गृहयुद्धपछि लोकतन्त्रमाथिको सबैभन्दा ठूलो आक्रमण यही बेला भयो’ उनले भने ।

    तर, उनले आफ्ना सामु धेरै काम गर्नुपर्ने चुनौति रहेको समेत बताए । बलियो अप्रुभल रेटिङ र दुबै संसदमा डेमोक्र्याट्सको बलियो उपस्थिती भैरहँदा बाइडेनले रोजगारी र पारिवारिक योजना प्रस्तुत गरेका हुन् । ठूला ब्यापारिक संस्थान र धनी अमेरिकीहरुलाई कर वृद्धि गरेर प्राप्त रकमलाई ती योजनामा लगाइने बाइडेनको योजना छ ।

    ‘हामीले लोकतन्त्र र सरकारले काम गर्छ भन्ने प्रमाणित गर्नुपर्नेछ । जसले गर्दा लोकतन्त्रले राम्रो परिणम दिन सकोस्’ उनले भने ।

    तीनदेखि चार वर्षे उमेरका अमेरिकी शिशुलाई निःशुल्क शिक्षा दिने योजना समेटिएको परिवार योजना पनि उनले प्रस्तुत गरे । राष्ट्रपति बाइडेनले सामाजिक सुधारबारे पनि चर्चा गरे । ‘बन्दुकको हिंसा, अध्यागमन र जातिय असमानताबारे पनि सरकार गम्भिर छ’ बाइडेनले उल्लेख गरे ।

    बाइडेन आफ्नो परराष्ट्र नीति केही कडारुपमा प्रस्तुत भए । उनले खासगरि चीन र रुसको नाम लिएरै आफ्ना साझेदार र गठबन्धन मुलुकको हितका लागि अमेरिका अडिग हुने बताए ।

  • अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने

    अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने

    अमेरिका । आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ ।

    अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

    सो विज्ञप्तिका अनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सो खोपलाई भने अझै पनि स्वीकृति दिएको छैन ।

    विश्वका कतिपय देश र संघसंस्थाहरुले अमेरिकाले ठूलो संख्यामा खोप राखेको बताइएको छ । यसकारण पनि अमेरिकाको आलोचना भइरेहको बताइएको छ ।उता अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित नभएको बताएको छ ।

    अघिल्लो महिनामा मात्र राष्ट्रपति बाइडेनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए । यी दुई देशले भने आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन् ।

    अमेरिकाका छिमेकी देशहरु क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशले पनि अमेरिकी खोपको आपूर्तिमा पहुँच पाइयोस भनेर अनुरोध पनि गरिरहेका छन् ।

  • भारतको डरलाग्दो आँकडा: एक सातामै २५ लाख संक्रमित, १७ हजारको मृत्यु

    भारतको डरलाग्दो आँकडा: एक सातामै २५ लाख संक्रमित, १७ हजारको मृत्यु

    एजेन्सी । भारतमा कोरोनाको महामारी दिनदिनै भयावह बन्दै गएको छ । प्रत्येक दिन विश्वमै सबैभन्दा बढी संक्रमित थपिरहेका छन् भने मृत्युदर पनि बढिरहेको छ ।

    भारतीय मिडियाका अनुसार पछिल्लो २४ घन्टाभित्र त्यहाँ ३ लाख २० हजार मानिसहरु संक्रमित भने २ हजार ७ सय ६६ जनाको मृत्यु भयो । तीन लाखभन्दा बढी संक्रमित थपिएको यो लगातार छैठौं दिन हो । यसै गरी २ हजारभन्दा बढी मरेको लगातार सातौं दिन हो ।

    कोरोनाको महामारी सुरु भएयताकै सबैभन्दा डरलाग्दो आँकडा अप्रिलमा देखिएको छ । त्यसमा पनि पछिल्लो सात दिनको आँकडाले झन् अत्याउँछ । अप्रिल महिनामा अहिलेसम्म ३४ हजार ५ सय ९५ जनाले ज्यान गुमाएकोमा तीमध्ये १७ हजार ३ सय ३३ जनाको मृत्यु पछिल्लो सात दिनमा भएको हो ।

    महामारी सुरुभए यता सबैभन्दा बढी मृत्युको रेकर्ड गत वर्षको सेप्टेम्बरमा कायम भएको थियो । तर, त्यसलाई अप्रिलका एक साता बाँकी रहँदै त्यो रेकर्ड तोडिएको छ । यसैगरि, गत मार्च महिनाभन्दा अप्रिलमा ६ गुणा बढीले ज्यान गुमाएका छन् ।

    संक्रमितको संख्या पनि अप्रिलमा उच्च दरले बढेको छ । अप्रिलमा हालसमम ५० लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

    आँकडा लुकाएको आरोप

    कोरोना महामारीले विष्फोटक रुप लिएका शीर्ष तीन देशमा भारत पर्छ । मृत्यु हुनेको संख्याका आधारमा हेर्दा अप्रिलमा ब्राजिलपछि भारत दोस्रो र अमेरिका तेस्रो स्थानमा छन् । सरकारी आँकडा अनुसार ब्राजिलमा अप्रिल महिनामै ७५ हजारले ज्यान गुमाएका छन् ।

    तर, भारतले सरकारले सार्वजनिक गर्ने आँकडामा भने प्रश्न उठ्दै आएको छ । सरकारले संक्रियत र मृतकको संख्या वास्तविकभन्दा थोरै देखाइरहेको त्यहाँकै सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विभिन्न शहरमा पत्रकारहरुले स्थानीय सरकारले सार्वजनिक गरेको संख्या भन्दा १० गुणा बढीको मृत्यु भएको रिपोर्टिङ गरेका छन् ।

    उदाहरणका लागि गत विहीबार कानपुरमा ३२ जनाको मृत्यु भएको आँकडा सरकारले दियो । तर, एक स्थानीय अखबारले शहरका विभिन्न मसानघाटनमा ४ सय ७६ वटा शव जलेको रिपोर्टिङ गरेको थियो, जसमध्ये धेरैजसो कोरोनाबाटै मरेका थिए ।

    अहिल भारतका अस्पतालहरु कोरोनाका बिरामीले भरिभराउ छन् । ती अस्पतालमा बेड र अक्सिजनको हाहाकार उत्पन्न भएको छ ।

  • भाइरस संकटसँग जुधिरहेको भारतलाई अमेरिका, बेलायत, चीन र युरोपले सघाउने

    भाइरस संकटसँग जुधिरहेको भारतलाई अमेरिका, बेलायत, चीन र युरोपले सघाउने

    दिल्ली । दोस्रो वेभका रुपमा आएको कोरोनाभाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताएका छन् । उनले भनेका छन्, “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ ।’

    यसअघि भारतमा कोभिडविरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको बताएको छ । बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन् ।

    भारतीय राजधानी नयाँ दिल्लीका अस्पतालहरू बिरामीले भरिएका छन् । यहाँ आएका विरामीलाई अस्पतालले फर्काउँदैछन् । त्यस्तै पछिल्लो समयमा त्यहाँ लकडाउन पनि लम्ब्याइएको छ । भारत सरकारले अक्सिजनको उत्पादनमा बढाउने योजना थालेको छ । भारतले देशभरमा ५०० वटा अक्सिजन उत्पादनसम्बन्धी कारखाना खोल्न अनुमति दिएको बताइएको छ ।

  • अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः शुरु

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको तयारी पुनः शुरु

    काबुल । अफगानिस्तानमा तैनाथ अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमान्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः शुरु भएको बताएका छन् ।

    उनले अफगानिस्तानमा रहेका विदेशी सेनाका अखडा र उपकरण पनि अफगानी सेनालाई हस्तान्तरण शुरु भइसकेको जानकारी दिएका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णय अनुरुप आफूले सेना फिर्ताको तयारी शुरु गरिसकेको पनि जनरल मिलरले बताए । राष्ट्रपति बाइडेनले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेका थिए ।

    राष्ट्रपति बाइडेनले अफगानिस्तानमा सेना तैनाथ गर्ने कार्य अमेरिकाको तत्काल प्राथमिकतामा नरहेको बताएका थिए । यसै महिनाको शुरुमा राष्ट्रपति बाइडेनले अमेरिकी सेना आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानबाट स्वदेश फर्काइने घोषणा गरेका थिए ।

    अमेरिकाको वल्र्ड ट्रेड टावरमा अफगानिस्तानमा सक्रिय अल-कायदा समूहले आक्रमण गरेलगत्तै अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्नुका साथै सेना तैनाथ गरेको थियो ।

    जनरल मिलरले काबुलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले तालिबान समूहका जिम्मेवार सदस्यहरुलाई देशभित्र हिंसात्मक गतिविधि नगर्न अनुरोध गरेको बताए । यदि हिंसात्मक गतिविधि पुनः शुरु भए त्यो अफगानी जनता र देशकै लागि दुर्भाग्यपूर्ण हुने सन्देश आफूले तालिबानी नेताहरुलाई दिएको पनि जानकारी दिए ।

    तालिबानले अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो । तर सेप्टेम्बर २००१ मा अमेरिकी आक्रमणपछि तालिबानीको सत्ता पतन भएको थियो ।

    सन् २०२० मा तालिबानसँग भएको सम्झौता बमोजिम आगामी मे १ देखि विदेशी सेना फिर्ता हुने पूर्व निर्धारित कार्यसूची रहेको छ ।

    जनरल मिलरले सबै अमेरिकी सैनिक फिर्ता भएसँगै विदेशी सेनाका सैन्य अखडाहरु अफगानी रक्षा मन्त्रालय र अफगान सेनालाई हस्तान्तरण गरिने जानकारी दिए ।

  • परिवारलाई कोरोना देखिएपछि स्पिनर आश्विन आइपीएलबाट बाहिर

    परिवारलाई कोरोना देखिएपछि स्पिनर आश्विन आइपीएलबाट बाहिर

    नयाँदिल्ली । भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेका छन् ।

    परिवारका सदस्यहरु कोभिड-१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन् ।

    स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । आश्विनले गरेको ट्वीटमा ‘अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो’ भनेका छन् ।

    भारतमा कोरोनाभाइरसको महामारी तीव्ररुपमा फैलिएको अवस्थामा आइपीएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ । दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ ।

    यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड–१९ को सङ्क्रमणको कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् ।

  • रक्सी नपाएको झोकमा सेनिटाइजर पिउँदा मुम्बईमा ७ को मृत्यु

    रक्सी नपाएको झोकमा सेनिटाइजर पिउँदा मुम्बईमा ७ को मृत्यु

    मुम्बई । सेनिटाइजर पिउँदा महाराष्ट्रमा शनिबार सातजनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मदिरा नपाउँदा उनीहरुले सेनिटाइजर पिएका थिए ।

    यवतमाल जिल्लाको वानी तहसीलमा कोभिड लकडाउनको कारण मदिरा नपाएको झोकामा उनीहरुले सेनिटाइजर पिएका थिए । ती सबै मृतक मजदूर रहेको बताइएको छ ।

    वानी प्रहरी स्टेसनका अंजय पुजलवारले घटनाबारे छानविन भैरहेको बताए । महाराष्ट्रमा अहिले लकडाउन लागु छ ।

  • जापानमा संकटकालको घोषणापछि थप त्रास

    जापानमा संकटकालको घोषणापछि थप त्रास

    टोकियो । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गरेका छन्।

    प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेका अधिकारीहरूले जानकारी दिएका छन् ।

    उनले जापानको राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकालको घोषणा गरेका थिए ।

    शुरुका महिनाहरुमा यहाँ यो महामारी फैलिएको थिएन । प्रभावकारी रुपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो ।

    तर पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तिब्र बन्दै गएको बताइएको छ । यो महामारी थप नफैलियोस भन्ने उद्देश्यले यहाँ संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री सुगाले अहिले हिजो घोषणा गर्नुभएको सङकटकाल आगामी मे ११ सम्म लागु हुने बताइएको छ ।

    यहाँ संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् ।

    दोस्रो पटक पनि यहाँ संकटकालको घोषणा भएपछि यहाँका मानिसमा थप त्रास फैलिएको बताइएको छ ।

  • भारतमा चुनावी सभामा प्रतिबन्ध

    भारतमा चुनावी सभामा प्रतिबन्ध

    भारत । कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न रोक लगाएको छ ।

    पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका यस अवस्थामा निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो ।

    भारतका राज्यहरूमा यो वर्ष शृङ्गलावद्ध चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेदवारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ ।

    देश सङ्क्रमणको कठोर मारमा परेका देखिएका बेला भइरहेका त्यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्रीको समेत चर्को आलोचना भइरहेको छ ।

  • आइसीयूमा आगलागी हुँदा मुम्बईको एक अस्पतालमा १३ कोरोना बिरामीको मृत्यु

    आइसीयूमा आगलागी हुँदा मुम्बईको एक अस्पतालमा १३ कोरोना बिरामीको मृत्यु

    भारत । कोभिडका बिरामी उपचाररत मुम्बईको एक अस्पतालको सघन उपचार कक्ष, आईसीयूमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार शुक्रबार बिहान लागेको आगो निभाइएको र जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।

    भारतमा कोरोनाको दोस्रो लहर चलिरहँदा यस्तो घटना भएको हो । दोस्रो लहरका कारण अस्पतालमा बिरामीको भीड छ र तिनमा अक्सिजन, आईसीयू शय्या र भेन्टिलेटरको कमी भएको छ।

    शुक्रवार भारतमा तीन लाख ३२ हजार सात सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । यो संक्रमित र मृत्यु संख्या अहिलेसम्मकै सर्वाधिक भएको बताइएको छ ।

    शुक्रबार थप २,२६३ जनाको मृत्यु भएको छ जुन भारतमा हालसम्मको सर्वाधिक दैनिक मृत्यु सङ्ख्या हो।

    महाराष्ट्र राज्यमा पर्ने मुम्बईभन्दा ७० किलोमिटर पर रहेको विरार क्षेत्रको विजय वल्लभ अस्पतालमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । मुख्यमन्त्रीले घटनाबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई दुःखद भनेका छन्। मोदीले बढ्दो संक्रमणले स्वास्थ्य सेवामा दबाब परेपछि प्रभावित राज्यका मुख्यमन्त्रीसँग आज छलफल गरेका छन् ।

    भारतको उच्च न्यायलयले शुक्रवारसम्म अक्सिजन, औषधि र खोप आपूर्ति एवम् उपचारको राष्ट्रिय योजना बुझाउन सरकारलाई आदेश दिएको छ।

    दुई दिनअघि महाराष्ट्रको अर्को अस्पतालमा भेन्टिलेटरमा अक्सिजन रोकिँदा २४ कोभिड बिरामीको मृत्यु भएको बताइएको थियो। नासिकको जाकिर अस्पतालमा अक्सिजन ट्याङ्की भरिँदै गर्दा अक्सिजन फुस्किएर त्यस्तो भएको जनाइएको थियो।

  • क्यानडाले लगायो भारत र पाकिस्तानसँगको उडानमा रोक

    क्यानडाले लगायो भारत र पाकिस्तानसँगको उडानमा रोक

    दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणको अवस्था भयावह बनेपछि क्यानडाले भारतसँगको उडानमा रोक लगाएको छ । क्यानडाको विदेश मन्त्रालयका अनुसार भारत र पाकिस्तानसँगको हवाइ उडानमा अस्थायी रोक लगाइएको हो ।

    खोप, पीपीई र अत्यावश्यक सामाग्रीहरुलाई पनि अनुमति दिइएको छ । विहिबारदेखि भारत र पाकिस्तानसँगका सबै उडानहरु बन्द हुने जनाइएको छ ।

    क्यानडाका यातायातमन्त्री ओमार अल्गाबाराले दुबै देशबाट मानिसहरुको आवतजावत बढेपछि आज मध्यरातदेखि लागु हुने गरि प्रतिबन्धको निर्णय लगाइएको हो ।

    यसअघि अमेरिका, बेलायत, हङकङ र न्यूजिल्यान्डले पनि भारतसँगको उडानमा रोक लगाइसकेका छन् ।

  • टोक्योसहितका तीन सहरमा संकटकाल लगाउने जापानको तयारी, ओलम्पिक प्रभावित हुने चिन्ता

    टोक्योसहितका तीन सहरमा संकटकाल लगाउने जापानको तयारी, ओलम्पिक प्रभावित हुने चिन्ता

    काठमाडौं । टोक्यो ओलम्पिक खेल सुरु हुन तीन महिना बाँकी रहँदा जापानले राजधानी टोक्योसहित ओसाका र ह्योगो सहरमा स्वास्थ्य संकटकाल घोषणा गर्ने भएको छ ।

    कोरोनाभाइरसको नयाँ प्रजाति फैलिएर स्वास्थ्य संरचनामा चुनौति सिर्जिएपछि जापानले यी तीन ठूला सहरमा नयाँ प्रतिबन्धहरु लागु गर्न लागेको हो । ती तीन सहरमा सार्वजनिक स्थानमा कडा प्रतिबन्ध लगाउन लागिएको हो ।

    ओसाकामा महामारी सुरु भएयताकै सर्वाधिक संक्रमण दर देखिएको र तेस्रो स्वास्थ्य आपतकाल लागु गर्न केन्द्रिय सरकारालाई निर्देशन दिइएको त्यहाँका मेयर हिरोफुमी युसिमोराले जानकारी दिए ।

    स्थानीय संचारमाध्यमका अनुसार टोक्यो गभर्नर युरिको कोइकोले पनि राजधानीमा आपतकाल लागु गर्न निर्देशन दिएका छन् । खोप अभियान चलिरहँदा पनि जापानमा नयाँ प्रजातिको भाइरस फैलिएपछि यसले कोरोना रोकथाममा चुनौति खडा गरेको छ ।

    मंगलबारसम्म जापानमा ५ लाख ४२ हजार कूल संक्रमित पुगेका छन् । सोही अवधीसम्म ९ हजार ७०० जनाको कोरोनाले मृत्यु भएको छ । चौंथो लहर आएपछि विज्ञहरुले जापानमा अवस्था भयावह हुन सक्ने चेतावनी दिएका छन् । जसले गर्दा २३ जुलाईबाट सुरु हुने भनिएको टोक्यो ओलम्पिक प्रभावित हुने हो कि भन्ने चिन्ता बढेको छ ।

  • कोरोनाका कारण भारतमा भयावह अवस्था, सहयोग गर्ने चीनको इच्छा

    कोरोनाका कारण भारतमा भयावह अवस्था, सहयोग गर्ने चीनको इच्छा

    एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहरले देशको स्वास्थ्य प्रणालीलाई तहसनहस बनाइदिएको छ । देशभरका अस्पतालमा अक्सिजनको समेत अभाव रहँदा कोरोना संक्रमितहरु उपचार नपाई मृत्युवरण गर्नुपरेका समाचारहरु सार्वजनिक हुन थालेका छन् ।

    विहीबार २४ घण्टामा मात्र भारतमा ३ लाख १४ हजार ८ सय ३५ जना नयाँ संक्रमित पहिचान भएका छन् । त्यही अवधिमा २ हजार १ सय भन्दा बढीको निधन भएको छ । राजधानी दिल्लीसहित देशका मुख्य शहरका अस्पताल विरामीले भरिएका छन् र उनीहरुलाई अत्यावश्यक मेडिकल अक्सिजन पुर्‍याउन सकिएको छैन ।

    भारतमा अहिलेसम्म १ करोड ६० लाखभन्दा धेरै नागरिक कोरोना संक्रमित भएका छन् । एकैदिन सबैभन्दा धेरै पहिचान हुने कीर्तिमानमा पनि भारतले अमेरिकालाई उछिनेको छ । स्थानीय सन्चारमाध्यमले भयावह स्थितिले अझै कति दिन निरन्तरता पाउने हो त्यसबारे अनुमान गर्न नसकिने बताएका छन् ।

    यस्तो अवस्थामा एसियाली पावरहाउस चीनले छिमेकी मुलुकमा कोरोनाको बढ्दो संख्या र मेडिकल अक्सिजनको अभावमा चिन्ता व्यक्त गर्दै आवश्यक सहयोगको इच्छा व्यक्त गरेको भारतीय अखवार टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गत साता मेडिकल अक्सिजनको आयातबारे बिचार गरिरहेको बताएको थियो । तर उनीहरुको प्राथमिकतामा चीन परेको थिएन । भारतले खाडी देश तथा सिंगापुरबाट मेडिकल अक्सिजन ल्याउने योजना बनाइरहेको बताइएको छ ।

    विहीबार चीनको विदेश मन्त्रालयले महामारीसँग लड्नका लागि अत्यावश्यक सामाग्रीको अभाव हुनुजस्तो गम्भीर अवस्थामा सहयोगका लागि हात अगाडि बढाएको बताएको छ । उसले कोभिड-१९ जस्तो सामा मानव सभ्यताको साझा सत्रुबिरुद्ध अन्तर्राष्ट्रिय एकजुटता अपरिहार्य रहने पनि उल्लेख गरेको छ ।

    भारतले गत वर्ष पनि चीनबाट मेडिकल उपकरण आपूर्ति गरेको थियो । दुवै देशले अन्य दक्षिण एसियाली देशहरुमा कोरोना खोप आपूर्ति गर्दै आएका छन् ।

  • आवश्यकताका आधारमा आयोजना छनौट गर्न अर्थमन्त्री पौडेलको निर्देशन

    आवश्यकताका आधारमा आयोजना छनौट गर्न अर्थमन्त्री पौडेलको निर्देशन

    काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् । अन्तरसरकारी वित्त परिषद्को छैठौं बैठकमा उनले आयोजना छनौट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मुल्याङ्कन, स्रोत व्यवस्थापन लगायतका आयोजना तयारीका कार्य पुरा हुन जरुरी रहेको बताए । सामार्थ्य भन्दा बाहिरका आयोजना छनौट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको भन्दै अर्थमन्त्री पौडेलले आयोजना छनौट गर्दा विशेष ध्यान दिन आग्रह गरे ।

    संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै जनतामा विकासका आंकाक्षा पनि बढेको र सिमित साधन स्रोत हुँदा अन्तरविरोध जस्तै देखिए पनि तीन तहका सरकार एकअर्काको विरोधी नभएर परिपुरक भएको उनको भनाइ थियो । वित्तीय संघीयतालाई समृद्ध पार्न आवश्यक भएको भन्दै यसकार्यमा सहयोग गर्न अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहलाई आग्रह गरे ।

    बैठकमा अधुरा तथा वहुवर्षिय आयोजनालाई उच्च प्राथमिकतासाथ सम्पन्न गर्ने, वित्तीय अनुशासन र कानूनको परिपालन एवं मितव्ययिता कायम गर्ने, तीन तहबीचको वित्तीय प्रतिवेदन प्रणालीलाई एकीकृत गरी गर्ने विषयमा छलफल भएको छ । यस्तै, कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा तीन तहबीच समन्वय र सहकार्य गरी स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्ने, योजनाको दोहोरोपन हटाउने, प्रादेशिक र स्थानीय आवश्यकता र प्राथमिकताको क्षेत्रमा स्रोत परिचालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

    बैठकमा प्रदेश र स्थानीय तहका पदाधिकारीले हालको अनुदान वितरण प्रणालीमा सुधार गर्नुपर्ने विषयमा सुझाव दिएका छन् । स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहसँगको समन्वयमा आयोजना छनौट गर्दा त्यस्ता आयोजनाको कार्यान्वयनमा सहजता हुने धारणा राखे ।

    भर्चुअल माध्यमबाट आयोजना गरिएको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री, अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, प्रदेशका सचिव, विज्ञ, स्थानीय तहका जनप्रतिनिधि लगायत सहभागी भएका थिए ।