Category: विश्व प्रेस

  • भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिन ४,२०५ जनाले ज्यान गुमाए

    भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिन ४,२०५ जनाले ज्यान गुमाए

    दिल्ली । कोरोनाभाइरस संक्रमणले पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरैजनाको ज्यान गएको छ ।

    एकैदिन ४ हजार २०५ जनाको मृत्यु भएको छ । ३ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन् ।

    भारतमा भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ५४ हजार पुगेको छ । २ करोड ३३ लाख कूल संक्रमित पुगेका छन् ।

    ३७ लाख सक्रिय संक्रमित छन् ।

  • कोरोनाभाइरसको नयाँ भेरियन्ट विश्वव्यापी चिन्ताको विषय : डब्लुएचओ

    कोरोनाभाइरसको नयाँ भेरियन्ट विश्वव्यापी चिन्ताको विषय : डब्लुएचओ

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड-१९ का प्रकारहरूलाई डब्ल्यूएचओले जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ ।

    डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको बी.१.६१७ को संक्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।

    डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमवार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताए । उनले यो प्रकारका लागि खोपको प्रभावकारीता कम हुनु नै चिन्ताको विषय भएको बताए ।

    भारतमा भेटिएको यो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको डब्ल्यूएचआले जनाएको छ । यसबाहेक बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड-१९ का प्रकारहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ ।

    कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज संक्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गरेको ती अधिकारीले बताए ।

  • जापानले नेपाली यात्रुको आवागमनमा कडाइ गर्ने

    जापानले नेपाली यात्रुको आवागमनमा कडाइ गर्ने

    टोक्यो । जापानले नेपालसहित भारत र पाकिस्तानका यात्रुको आवागमनमा कडाइ गर्ने भएको छ ।

    सोमबारदेखि लागु हुने गरि उक्त निर्णय भएको जापानको क्योदो न्यूज एजेन्सीले जनाएको छ । नेपालबाट जाने यात्रुले जापानको स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड बमोजिम अनिवार्य एक साता क्वारेन्टिन बस्नुपर्नेछ ।

    यी तीन मुलुकबाट जापान जानेले उडानको तीन दिनअघिको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने भएको छ । नेपालबाट अहिले अन्तर्राष्ट्रिय नभएपनि जापानले अर्को सूचना जारी नभएसम्म यो नियम रहने जनाएको छ ।

    जापानले अहिले अन्तर्राष्ट्रिय यात्रुलाई देश प्रवेशमा रोक लगाइरहेको अवस्था छ ।

  • गोली प्रहारबाट रुसी विद्यालयमा विद्यार्थी र शिक्षकसहित ११ जनाको मृत्यु

    गोली प्रहारबाट रुसी विद्यालयमा विद्यार्थी र शिक्षकसहित ११ जनाको मृत्यु

    मस्को । दुई बन्दुकधारीले गोली चलाउँदा रुसको पश्चिममा पर्ने कजान सहरस्थित एक विद्यालयका ११ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा १० जना विद्यार्थी र एक शिक्षक छन् ।

    स्थानीय संचारमाध्यमका अनुसार एक बन्दुकधारी किशोरको पहिचान भएको छ । अर्का बन्दुकधारीको चाहिँ प्रहरीको जवाफी कार्वाहीमा मृत्यु भएको छ ।

    घाइतेहरुलाई अस्पताल लगिएको छ । जारी तस्विरहरुमा घटनापछि प्रहरीले स्कुल घेराउ गरेको देख्न सकिन्छ ।

    प्रत्यक्षदर्शीले बताएअनुसार गोलीबारी हुनुअघि त्यहाँ विस्फोटको आवाज सुनिएको थियो । थुप्रै विद्यार्थीले झ्यालबाट भागेर ज्यान जोगाएका थिए ।

  • कोरोना महामारी र खोपको विश्व राजनीति

    कोरोना महामारी र खोपको विश्व राजनीति

    काठमाडौं । कोभिड-१९ को जीवाणुले विश्वभरिका देशलाई डस्न थालेको ठ्याक्कै डेढ वर्ष भयो । सन् २०२० को डिसेम्बरमा चीनको वुहानबाट उत्पत्ति भएको भनिएको यो विषाक्त जीवाणुले आजसम्म आइपुग्दा विश्व विचरण गरिसकेको छ । यो आलेख तयार पार्दासम्म यसको असरबाट विश्वका कुनाकाप्चाका ३२ लाखभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् । त्यस्तै अहिलेसम्म यसबाट विश्वका १५ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।

    वर्षदिनपछि यो जीवाणुले नयाँ-नयाँ स्वरुप लिएको छ र दोस्रो या तेस्रो लहरका रुपमा कतिपय देशमा प्रवेश गरिरहेको छ । जस्तो कि केही समयअघि मात्र कोरोनाको नयाँ प्रजाति (युके भेरिएन्ट) जन्मिएको प्रमाणित भएको छ । यो अघिल्लो वर्षकोभन्दा झन् बढी संक्रामक र घातक देखिएको वैज्ञानिकहरुले बताएका छन् ।

    यसको प्रवेश दोस्रो लहरका रुपमा भारतमा भएको छ जसले अहिले भारतसहित एसियाका कतिपय देशमा निकै गाह्रो बनाएको छ । पछिल्लो समयमा यो संक्रमण दोस्रो लहरका रुपमा सम्भवतः भारत हुँदै नेपाल पनि छिरेको छ । दोस्रो लहरका रुपमा आएको यो भाइरस अहिले नेपालमा पनि देशव्यापी रुपमा विस्तार भइरहेको देखिएको छ ।

    कोभिड-१९ को खोपको आविश्वकार भएको केही महिनामै यसको वितरण बारेको चासो पनि विश्वव्यापी भएको छ । खोपको उपलब्धताप्रति विश्वका देशहरुका प्रयासहरु पनि बढ्दो छ । अनि नागरिकले एकापसमा सोध्ने गर्छन्– खोप लगाइयो ? मेरो पालो कहिले आउँछ ? कतिपय देशहरुले त आफ्ना सबै नागरिकलाई खोप लगाइसक्ने मिति नै सार्वजनिक गरिसकेका छन् भने केहीलाई यसको पहुँचमा नै अझै आशङ्का छ ।

    कोरोना जीवाणुको विश्वको अर्थराजनीतिसँगै यतिखेर खोपको राजनीति पनि भित्रिएको छ । जसरी चीनबाट कोभिड १९ को जीवाणुले युरोप हुँदै अमेरिका भ्रमण गर्दै थियो त्यतिबेला अमेरिकी नेतृत्वका कतिपय पश्चिमा देशहरुले महामारीको राजनीतिक भाषाको पनि प्रयोग गरेका थिए । यसकारण अमेरिका पुगेको यो जीवाणुको नियन्त्रणका लागि केही ढिला भइसकेको थियो र यसले अमेरिकी भूमिमा पनि आफ्नो रौद्र रुप सजिलै देखायो ।

    त्यस्तै भएको छ यतिखेर पनि । जसका कारण कोरोनाको खोपमा पनि राजनीति घुसेको छ । कतिपय विश्वका शक्ति र पहुँचवाला देशहरुले आफ्ना नागरिकलाई आवश्यक पर्नेजति खोपको जोहो गरिसकेका छन् र तिनको भण्डारण नै गरिएको सुनिएको छ । तर बाँकी विश्वले भने तिनै देशहरु र विश्व स्वास्थ्य संगठनको कोभ्याक्सको मुख हेरेरै बसिरहेको छ । यी देशले खोपको प्राप्ति र यसको उपलब्धताका बारेमा केही गर्न सक्ने अवस्थामा छैनन् । उनीहरु खोप अनुदानको पर्खाइमा छन् ।

    यही मे ५ तारिखसम्म विश्वमा खोपको वितरण र यसको उपलब्धता १ अर्ब २३ करोड मात्रा भन्दा केही बढी मात्र देखिएको छ । यो संख्या मात्र विश्वका देशहरुमा खोप वितरण भएको बीबीसी समाचारले जनाएको छ । यो विश्वका देशहरुमा वितरण मात्र भएको तथ्याङ्क हो, तर मानिसले लगाएको तथ्याङ्क होइन । खोप लगाउने काम विश्वका प्रायः अधिकांश देशमा शुरु भइसकेको छ तर खोप लिने व्यक्तिको संख्या भने यतिधेरै छैन ।

    बीबीसीका अनुसार विश्वका विभिन्न देशमा वितरण गरिएको खोपको मात्रा अनुसार सबैभन्दा धेरै मात्रा चीनमा उपलब्ध छ । त्यहाँ करिब ३० करोड मात्रा खोप उपलब्ध भएको बताइएको छ । चीन विश्वकै सबैभन्दा बढी खोप उपलब्ध भएको देश त हो तर यहाँको जनसङ्ख्याको तुलनामा भने धेरै होइन । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश चीनलाई हेर्दा यहाँ उपलब्ध खोप जनसङ्ख्याको २० प्रतिशत मात्र हुन आउँछ ।

    त्यसो त चीन आफैले पनि खोप उत्पादन गरिरहेको छ तर उसले आफैले मात्र प्रयोग भने गरेको छैन । अफ्रिका, एसियाका विभिन्न देशमा चिनियाँ खोप वितरण भइरहेको छ । कतिपय विकासोन्मुख देशलाई चीनले अनुदानमै उपलब्ध गराएको छ भने कतिपय देशमा बिक्री थालेको छ ।

    त्यसपछिको देश अमेरिकामा यो खोप करिब २६ करोड मात्रा वितरण भएको देखिएको छ । हुनत यो खोपको मात्रा चीनको भन्दा थोरै हो, तर जनसङ्ख्यामा हेर्दा यो मात्राले यहाँको ७५ प्रतिशत जनसङ्ख्यालाई पुग्छ ।

    त्यस्तै भारतमा उपलब्ध खोपको मात्रा १६ करोड मात्र छ । विश्वको दोस्रो ठूलो जनसङ्ख्या भएको देश भारतीय नागरिकमा भने यो खोपको उपलब्धता जम्मा करिब १२ प्रतिशत हुन आउँछ । त्यसो त भारतमा खोप उत्पादन पनि भइरहेको छ तर उसले आफैलाई आवश्यक पर्ने खोप पनि उत्पादन गर्न तथा खोप लगाइदिन पनि सकिरहेको छैन । एकातिर जनसङ्ख्या ठूलो छ अर्कातर्फ भारतमा पछिल्लो समयमा महामारीको बृद्धि तीव्र रुपमा भइरहेको छ ।

    खोपको मात्रालाई जनसङ्ख्यासँग तुलना गरेर हेर्दा विश्वमा सबैभन्दा बढी उपलब्ध बेलायतमा छ । त्यहाँ ५ करोड भन्दा बढी खोप उपलब्ध छ र यहाँको जनसंख्याका हिसाबले ७६ प्रतिशत भन्दा बढी नागरिकलाई लगाउन सहज हुनेछ । यसरी कतिपय पश्चिमा देशहरुले, विशेषगरी युरोपेली देशमा आफूलाई पुग्नेगरी खोपका मात्राहरु भण्डारण गरिराखेका भन्ने गरिएको छ । बेलायतको यो मात्रा हेर्दा त्यसमा विमती राख्नुपर्ने अवस्था छैन । त्यसो त कोरोनाभाइरसको नयाँ प्रजातिले बेलायतलाई नै पछिल्लो समयमा असर पारेकोले पनि खोपको उत्पादनमा बेलायतले ध्यान दिएको पनि हुनसक्छ ।

    त्यसपछि बढी खोप ब्राजिल र जर्मनीमा उपलब्ध छ । ब्राजिलमा ४ करोड ६५ लाख मात्र खोप उपलब्ध रहेको छ भने जर्मनीमा ३ करोड ६५ लाखभन्दा बढी खोप उपलब्ध छ । यसरी जनसङ्ख्याका हिसाबले हेर्दा ब्राजिलमा उपलब्ध खोपले त्यहाँका करिब ३० प्रतिशत नागरिकलाई पुग्छ भने जर्मनीमा ४० प्रतिशतलाई पुग्न सक्नेछ ।

    खोपको आविस्कारले महामारीको अँध्यारोको वर्षदिनमा केही आशाको सञ्चार भएको छ । जनस्वास्थ्यका मापदण्ड अपनाउनु बाहेकको अर्को विकल्प नरहेको अवस्थामा खोप आएकोले नागरिकमा केही आशाको सञ्चार गराउनु स्वभाविकै हो ।

    तर खोप अझै पर्याप्त नभएको अवस्था एकातर्फ छ भने अर्कातर्फ महामारी निवारणको काम खोपले गर्नसक्ने विश्वासिलो आधार छैन । हाल विश्वका कैयौ देशमा खोप पुगिसकेको छ तर यसले के प्रतिशतसम्म काम गर्छ भन्ने बारेमा भने फरक फरक तथ्याङ्क भेटिन्छन् । खोपको आविस्कार वैज्ञानिकहरुको बडो संघर्षपूर्ण प्रयासको एउटा परिणाम हो र यसले यो महामारीको औषधी पनि छ भन्ने सन्देश भने दिन सफल भएको छ ।

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनाम गेब्रियसले हाल देखा परिरहेको विश्वका देशहरु र कोभिड-१९ को खोपका सम्झौताहरुले अहिले तेस्रो विश्वका कतिपय गरिब देशहरुलाई समस्या पर्ने त होइन भन्ने चुनौती बढेको बताए । उनले भने ‘हाल संसारका देशहरु र कोभिडको खोप निर्माताका बीचमा जारी रहेका सम्झौताहरुले यस्तो अवस्थाको सिर्जना भएको छ कि यसले गरिब देशहरुमा खोप उपलब्ध नहुन सक्ने त्रास बढाएको छ । तर खोप अहिलेको संसारका लागि मानिसको जीवन बचाउन सकिने एक आधारभूत आवश्यकता र मानवअधिकार पनि हो, त्यसैले यो खोप सबैका लागि उपलब्ध हुनु आवश्यक छ ।’

    हाल संसारका कैयौं देशमा कोभिडको खोप पुगेको छ, मात्रामा भने थोरै धेरै हुनसक्छ । तीमध्ये धेरै त विश्वका सम्पन्न देशहरु नै पर्दछन् । अनि अर्को महत्वपूर्ण कुरा त के छ भने संसारमा पुगेको कोभिडको खोपमध्ये कम्तीमा पनि ७५ प्रतिशत खोप सम्पन्न देशहरुमा मात्र पुगेको छ । यो अवस्थाले विश्वका गरिब देशहरुको हालत भोलि के होला ? उनीहरुले आवश्यक र पर्याप्त मात्रामा खोप प्राप्त गर्न सक्लान कि नसक्लान ? भन्ने चिन्ता बढाएको छ ।

    महानिर्देशक गेब्रियसले खासमा कोभ्याक्ससँग गरिब देशका लागि भनेर गरिएका कतिपय सहयोग र सम्झौताहरुको नजिकमै विश्वका यी देशहरुले आफूखुशी गरिरहेका सम्झौताले समस्या उत्पन्न गर्ला कि भन्ने लागेको चिन्ता व्यक्त गरे ।

    उनले भने ‘म कुनै देश या खोप निर्माता कम्पनीलाई भन्न चाहन्न, मलाई लाग्छ यो कुनै एक देशको मात्र प्रयासले हुने होइन, यो विश्वव्यापी पहलको परिणामले मात्र हुन्छ । जसरी विश्वका देश महामारीबाट प्रताडित भएको अवस्था थियो आज सबैले अरु देश या गरिब देशहरुलाई पनि आफूलाई जस्तै अप्ठेरो परेको होला भनेर सोचिदिनुपर्छ ।’

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना खोपलाई हालैमात्र आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ । डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो खोप हो । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्ना खोपलाई अनुमति दिएको थियो ।

    सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले चिनियाँ सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् । तर पनि डब्ल्यूएचओले भने शुक्रबार मात्र यो खोपलाई अनुमति दिँदै यसको दुई डोज दिनुपर्ने र यो १८ वर्षभन्दा माथिका व्यक्तिहरुले मात्र प्रयोग गर्नुपर्ने जनाएको छ ।

    यसका साथै विश्व स्वास्थ्य संगठनले अर्को एक चिनियाँ कम्पनी सिनोभ्याक्स र रुसी खोप स्पुतनिक–भी को मूल्याङ्कन पनि गरिरहेकोले ती खोपको स्वीकृतिका बारेमा पनि केही समयमै निर्णय गर्ने जनाइएको छ ।

    करिब एक दर्जन खोपहरु विश्व स्वास्थ्य संगठनको अनुमतिले स्वीकृत भएका छन् । ती खोपहरु बेलायत, अमेरिका, चीन, रुसले निर्माण गरेका छन् । खोप उत्पादनका प्राविधिक कठिनाईहरु त छँदैछन् । त्यस बाहेक पनि खोप राष्ट्रियता, विश्व राजनीति, खोप उत्पादनमा विश्वका शक्ति राष्ट्रहरुबीचको प्रतिस्पर्धा तथा नयाँ स्वरुपका भाइरसको आगमन जस्ता कारणहरुले यो कार्यलाई अझ बढी जटिल बनाइदिएको छ ।

    -रासस

  • राष्ट्रसंघ सुरक्षा परिषदद्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

    राष्ट्रसंघ सुरक्षा परिषदद्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

    संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना एवं निन्दा गरेको छ ।

    विद्रोहीको आक्रमणमा परेर शान्ति सैनिकमा आबद्ध मलावीका एक सैनिकको ज्यान गएको थियो । राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा परिषदका सदस्य राष्ट्रहरुले शान्ति अभियानका सैनिकमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानुन बमोजिम युद्ध अपराधका रुपमा लिइने उल्लेख छ ।

    आक्रमणको अनुसन्धान गर्न र अपराधीलाई न्यायको कठघरामा ल्याउन पनि कङ्गोको सरकारसँग अनुरोध गरिएको छ ।

    मोनुस्को नामको यस शान्ति अभियानलाई तोकिएका जिम्मेवारी पूरा गर्न र राष्ट्रसंघीय शान्ति सैनिकको सुरक्षालाई ध्यान दिन पनि कङ्गो सरकारलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा मोनुस्का अभियानमा सैनिक र प्रहरी पठाएर मद्दत गर्ने राष्ट्रहरुप्रति सुरक्षा परिषदले आभार पनि व्यक्त गरेको जनाइएको छ ।

  • चीनको जनसंख्या वृद्धिदर ओरालो लाग्दै, केहीवर्ष वृद्धिदर स्थिर हुने

    चीनको जनसंख्या वृद्धिदर ओरालो लाग्दै, केहीवर्ष वृद्धिदर स्थिर हुने

    बेइजिङ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ ।

    ब्युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको जनाउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताए ।

    हालैका वर्षका जनसांख्यिक प्रवृत्तिलाई आधार मान्दा चीनको जनसंख्या वृद्धि निरन्तर घट्ने देखिन्छ, उनले भने । उमेरको संरचना, छोराछोरी जन्माउने बारेमा मानिसका धारणा, सरकारको जनसंख्या नीति, बालस्याहारमा हुने खर्च, स्वास्थ्य सेवा र मानिसको स्वास्थ्य अवस्था जस्ता पक्षले पनि जनसंख्या वृद्धिमा असर पर्ने उनले बताए ।

    चीनको जनसंख्या एक अर्ब ४१ करोड पुगिसकेको छ । विगत एक दशकमा चीनको जनसंख्या वार्षिक औसतमा ०.५३ प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक विवरणमा देखिएको तथ्यांक ब्यूरोले जनाएको छ ।

    ब्यूरोका अनुसार सन् २००० देखि २०१० सम्म वार्षिक ०.५७ प्रतिशतको जनसंख्या वृद्धि रहेकामा पछिल्लो दशकमा भने केही कमी आई ०.५३ प्रतिशत रहेको छ ।

    निङका अनुसार चीनको जनसंख्या वृद्धि पछिल्लो दशकमा निरन्तर घट्नेक्रममा देखिएको छ ।

  • गंगा नदीमा कोभिड बिरामीका दर्जनौं शव फेला, खर्च अभावमा शवलाई सोझै नदीमा

    गंगा नदीमा कोभिड बिरामीका दर्जनौं शव फेला, खर्च अभावमा शवलाई सोझै नदीमा

    भारतको उत्तर प्रदेशस्थित गंगा नदीको किनारमा ४० भन्दा बढी शवहरु तैरिएको अवस्थामा भेटिएका छन् । स्थानीय अधिकारीहरुले ती शवहरु कोभिड-१९ का बिरामीको हुनसक्ने अनुमान गरेका छन् ।

    अधिकारीहरुले कसरी ती शव नदीमा पुगे भन्ने घटनाको छानविन गरिरहेका छन् । केही भारतीय संचारमाध्यमले एकसयभन्दा बढी शवहरु नदीमा फेला परेको रिपोर्टिङ गरेका छन् ।

    उत्तर प्रदेश र बिहार राज्यको सीमास्थित नदी किनारमा ती शव फेला परेको जनाइएको छ । बिहारका स्थानीय अधिकारी अशोक कुमारले स्थानीय बासिन्दा सोधपुछ गरेपछि ती शव उत्तर प्रदेशबाट आएको हुनसक्ने बताए ।

    भेटिएका शव फुलेका र केही जलेका पनि छन् । ती शवलाई गाड्ने वा जलाउने तयारी भैरहेको समेत जनाइएको छ । एनडीटीभीले गंगा नदीको किनारमा शव जलाउने परम्परा अन्तर्गत ती शवलाई त्यहाँ पुगेको हुनसक्ने जनाएको छ ।

    दाउराको अभाव तथा अन्तिम संस्कारको बढ्दो खर्चले कतिपय परिवारले शवलाई सोझै नदीमा हालिदिन बाध्य भएको हुनसक्ने बताइएको छ । स्थानीय बासिन्दा चन्द्रमोहनले निजी अस्पताले लुट मच्चाएको र अन्तिम संस्कारमा खर्च बढेकाले शवलाई नदीमा हालेको हुनसक्ने बताए ।

    भारतमा कोभिडको कारण २ लाख ४२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

  • इन्धन पाइपलाइनमा साइवर आक्रमणपछि अमेरिकामा संकटकाल

    इन्धन पाइपलाइनमा साइवर आक्रमणपछि अमेरिकामा संकटकाल

    काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइवर आक्रमण भएपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ ।

    आक्रमणपछि रोकिएको सेवा सुचारु गर्न अधिकारीहरु जुटेका छन् । प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने कोलोनियल पाइपलाइनमा साइवर आक्रमण भएको हो ।

    अमेरिकाको पूर्वीय तटको लागि डिजेल, ग्यासोलिन तथा जेट इन्धनको सबै आपूर्तिको ४५ प्रतिशत हिस्सा उक्त पाइपलाइनले ओगट्छ । साइवर हमलाको कारण शुक्रबारदेखि आपूर्ति रोकिएको छ ।

    घटनापछि अमेरिकामा इन्धनको मूल्य २-३ प्रतिशतले वृद्धि हुने अनुमान छ । यसको प्रभाव लामो समय रह्यो भने यसले मूल्यमा असर पार्ने निश्चित छ ।

    अमेरिकी संचारमाध्यमले उक्त र्‍यान्समवेयर हमला डार्कसाइड नामक साइबर अपराधीको समूहले गरेको जनाएका छन् । कोलोनियलको संजालमा छिरेर उक्त समूहले १०० जीबी डेटामा नियन्त्रण गरेको थियो ।

    उनीहरुले फिरौती नतिरिए सबै डेटा इन्टरनेटमा सार्वजनिक गर्ने धम्की समेत दिएका थिए । कोलोनियल कम्पनीले भने साइवर सुरक्षा विज्ञहरु र ऊर्जा मन्त्रालयसँग मिलेर सेवा पुन:स्थापित गर्न लागिपरेको जनाएका छन् ।

  • भारतमा साेमबार संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु

    भारतमा साेमबार संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु

    नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या अघिल्लो दिनहरुको तुलनामा केही कमी आएको छ ।

    भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार व्यक्ति संक्रमित भएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या २ करोड २६ लाख ६२ हजार पुगेको छ ।

    साथै, विगत २४ घण्टामा तीन हजार ७५४ जनाको मृत्यु भएको छ । भारतमा यो सहित २ लाख ४६ हजार ११६ जनाको कोभिड–१९ को संक्रमणबाट ज्यान गइसकेको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा यो सहित १ करोड ८६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएको पाइएको छ ।

    यसैबीच, गत जनवरीबाट थालिएको कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्तिको संख्या १७ करोड २ लाख पुगेको मन्त्रालयले जनाएको छ । हाल भारतमा १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन थालिएको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा ३० करोड ३७ लाख नमुना परीक्षण गरिएको छ ।

    भारतमा कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य संस्थामाथि ठूलो दबाब आएको छ । अक्सिजन, बेड, औषधि र अस्पतालको अभावमा मानिसहरुले सामान्य उपचार समेत नपाएर अकालमा ज्यान गुमाउनु परेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

    यसैबीच, कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ३३ लाख ६ हजार व्यक्तिको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    विश्वमै सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा ५ लाख ९५ हजार, ब्राजिलमा ४ लाख २२ हजार, भारतमा २ लाख ४६ हजार, मेक्सिकोमा २ लाख १८ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा १ लाख १३ हजार तथा फ्रान्समा १ लाख ६ हजारको कोभिड-१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

    पछिल्लो समय संयुक्तराज्य अमेरिका र युरोपमा कोरोनाभाइरस विरुद्धको खोप व्यापक स्तरमा लगाउन थालिएपछि कोभिड-१९ बाट प्रभावितहरुको संख्यामा उल्लेख कमी आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

  • चिनियाँ रकेटका भग्नावशेष हिन्द महासागरमा खस्यो

    चिनियाँ रकेटका भग्नावशेष हिन्द महासागरमा खस्यो

    बेइजिङ । चीनको लङ मार्च ५-बी रकेटका भग्नावशेष हिन्द महासागरमा आइतबार खसेको चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले जनाएको छ ।

    गत अप्रिलमा प्रक्षेपण गरिएको उक्त रकेटले अन्तरिक्षमा चीनको पहिलो स्टेशन बनाउन मद्दत गर्ने लक्ष्य राखिएको थियो ।

    कार्यालयका अनुसार चाङ झेङ ५-बी नामको रकेट पृथ्वीको वायुमण्डलमा यही मे ९ तारिखको बिहान १० बजेर २९ मिनेटमा पुनः प्रवेश गरेको थियो, र उक्त रकेट हिन्द महासागरमा माल्दिभ्स नजिक खसेको थियो ।

    पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नासाथ उक्त रकेटको अधिकांश भाग आगो लागेर ध्वस्त भइसकेको थियो, कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

    गत बुधबार अमेरिकी रक्षा मन्त्रालयले अनियन्त्रित भएको चिनियाँ रकेटको आफूहरुले ट्र्याकिङ गरिरहेको जनाएको थियो । मन्त्रालयले यही साता उक्त रकेटका अवशेष पृथ्वीमा खस्ने बताएको थियो ।

    शुक्रबार चीनले विज्ञहरुले चासो देखाए पनि अनियन्त्रित रकेटबाट पृथ्वीमा कुनै असर नपर्ने दाबी गरेको थियो ।

  • न्यूजिल्यान्डकी प्रधानमन्त्रीले आउने ग्रीष्म ऋतुमा विहे गर्ने

    न्यूजिल्यान्डकी प्रधानमन्त्रीले आउने ग्रीष्म ऋतुमा विहे गर्ने

    वेलिङ्टन । न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले आउने ग्रीष्म ऋतुमा प्रेमीसँग विहे गर्ने भएकी छिन् ।

    स्थानीय कोस्ट रेडियोको विहानी सेवालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले प्रेमी क्लार्क गेफर्डसँग आफूले लगनगाँठो कस्न लागेको जानकारी दिएकी हुन् ।

    उनीहरुबीच दुईवर्षअघि नै इन्गेजेमन्ट भएको थियो । उनीहरुले विहे अघि नै नीभ नाम गरेकी २ वर्षिया छोरीलाई जन्म दिएका छन् ।

    सन् २०१८ मा प्रधानमन्त्री चुनिएकी आर्डेन आधुनिक राजनीतिमा प्रधानमन्त्रीको कुर्सीमा बहाल रहँदै बच्चालाई जन्म दिने दोस्रो प्रधानमन्त्री बनेकी थिइन् । उनका पे्रमी गेफर्ड टेलिभिजन होस्ट हुन् भने छोरी निभलाई पनि हेरचाहमा सक्रिय छन् ।

  • चीनद्वारा भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका २७० नेतामाथि कारबाही

    चीनद्वारा भड्काउ जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका २७० नेतामाथि कारबाही

    बेइजिङ । भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ ।

    यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    प्रत्येक १० वटा मुद्दामध्ये नौ वटा मुद्दा भड्काउ र सुखभोगसँग सम्बन्धित रहेका छन् । आयोगको वेबसाइटमा प्रकाशित विवरणमा अधिकांश मुद्दामा संलग्न व्यक्तिले महङ्गा सामान, नगद उपहार वा गिफ्ट लिएको उल्लेख छ ।

    प्रकाशित मुद्दाहरुमध्ये ४६.८ प्रतिशत अनुशासन उल्लङ्घनसँग सम्बन्धित छन् । स्प्रिङ फेस्टिवल, ड्रागन बोट फेस्टिवल, मिड–अटम्न डे र नेसनल डे समेतका प्रमुख चिनियाँ पर्वहरुमा पार्टीका नेताहरुबाट अनुशासन उल्लङ्घन भएको पाइएको छ ।

    आयोगले भ्रष्ट अधिकारीहरुमाथि दण्ड सजाय सिफारिस गर्नुका साथै कतिपयलाई चेतावनी दिइएको जनाएको छ । चीनमा पार्टीका नेताहरु नै अधिकांश सरकारी निकायका पदाधिकारी हुने प्रचलन छ ।

  • भारतमा शनिवार चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

    भारतमा शनिवार चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

    नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा ४ लाख नयाँ संक्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या २ करोड १८ लाख ९२ पुगेको छ ।

    भारतमा लगातार तेस्रो दिन ४ लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप ४ हजार १८७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या २ लाख ३८ हजार २७० पुगेको हो ।

    हाल विश्वमै कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा ५ लाख ९४ हजार तथा ब्राजिलमा ४ लाख १९ हजारको ज्यान गइसकेको छ ।

    भारतमा अझै पनि ३७ लाख २३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । मन्त्रालयका अनुसार हालसम्म एक करोड ७९ लाख ३१ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन् ।

    भारतमा कोभिड-१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ ।

    गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ७४ लाख व्यक्तिलाई कोभिड-१९ को खोप दिइसकिएको छ । १८ वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।

    यसैबीच, बिहीबारसम्म भारतमा कोभिड-१९ को ३० करोड नमुना परीक्षण गरिएको छ । शुक्रबार एकै दिन १८ लाख नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

  • इरान आणविक सम्झौतामा अमेरिका फर्कनेबारे उच्चस्तरीय वार्ता पुन : सुरु सङ्केत

    इरान आणविक सम्झौतामा अमेरिका फर्कनेबारे उच्चस्तरीय वार्ता पुन : सुरु सङ्केत

    विश्व शक्ति राष्ट्रहरूले इरानसँगको आणविक सम्झौताबारे अष्ट्रियाको राजधानी भियनामा चौथो चरणको वार्ता शुरू गरेका छन् ।

    शुक्रबार सुरु भएको वार्तामा अमेरिका र इरान दुबैले समाधान सम्भब भएको जनाएपछि संयुक्त राज्य अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फिर्ता ल्याउने लक्ष्य राखिएको यो वार्ता सफल हुने विश्वास लिइएको छ ।

    सन् २०१५मा अमेरिकाको अग्रसरतामा विश्व शक्ति राष्ट्रहरूले इरानसँग गरेको महत्वपूर्ण आणविक सम्झौताले अमेरिकालाई कुनै हित नगर्ने भन्दै बाराक ओबामा अमेरिकी राष्ट्रपति रहेका समय गरेको सम्झौताबाट तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सम्झौताबाट पछि हटेको सन् २०१८ मा घोषणा गरेका थिए । तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता पुनः गर्नु आवश्यक रहेको भन्दैछ इरानमाथि सन् २०१५ भन्दा पहिले लगाइएका प्रतिबन्धहरूलाई पुनः लगाइएको थियो ।

    सम्झौताले इरानलाई आफ्नो आणविक कार्यक्रममा लगाइएको प्रतिबन्धको बदलामा आर्थिक प्रोत्साहनको प्रतिज्ञा गरेको थियो र ट्रम्प प्रशासनले तेहरानलाई नयाँ वार्तामा ल्याउने असफल प्रयासमा इस्लामिक गणतन्त्रमाथि ठूलो प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धले अहिलेसम्म निरन्तरता पाएको छ ।

    अमेरिका सम्झौताबाट फिर्ता भएको बताएपछि इरानले पनि सम्झौताबाट क्रमशः पछि हटेको थियो । देशलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने उद्देश्यले गरिएको सम्झौताबाट फिर्ता हुँदै युरेनियम प्रशोधन तथा उत्पादनलाई अझ व्यापकता दिने काम इरानले गर्दै आएको छ ।

    यसले आर्थिक राहतका लागि फ्रान्स, बेलायत, रसिया र चीनसहितका सम्झौतामा रहेका विश्वशक्तिहरुलाई पनि दबाब दियो ।

    अमेरिकी राष्ट्रपति जो वाइडेनले एक संयुक्त बृहत्तर योजनामार्फत अमेरिका सम्झौतामा पुनः सामिल हुन चाहेको बताएका छन् । सम्झौताका लागि इरानले सम्झौतामा तोकिएका मापदण्डलाई अक्षरश पालना गर्नुपर्ने आवश्यक रहेको उनको धारणा रहेको छ ।

    इरानले पनि आणविक बम उत्पादन गर्न नचाहेको बताएको छ तर यसका लगि वाशिङ्गटनले आणविक सम्झौता बाहेकका ट्रम्पको कार्यकालमा लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउनुपर्ने बताएको छ ।

    वार्ता अगाडि एक वरिष्ठ अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा अमेरिकी स्थितिबारे छलफल गर्न वाशिङ्गटन तयार रहेको र इरान पनि सहमतिहरू स्वीकार्ने राजनीतिक निर्णय गर्नुपर्ने बताए ।

    उक्त अधिकारीले अप्रिलको सुरुमा सुरु भएको वार्ताको चौथो चरणले सफलता हासिल गर्ने हो कि भनेर भविष्यवाणी गर्न अस्वीकार गरेका छन् । तर इरानको जूनको राष्ट्रपति चुनाव अघि कुनै सम्झौतामा पुग्न सम्भव रहेको उनले बताए ।

    अधिकारीले भने, ‘दुबै पक्षले के गर्नुपर्छ भन्ने कुराको रूपरेखा स्पष्ट छ । हामीलाई लाग्छे परिणामलाई परीक्षण पहिले बताउन नसकिने यो रकेट विज्ञान होइन ।’

    अमेरिकी अधिकारीका अनुसार सफलता इरानले सन् २०१५ मा गरिएको मूल सम्झौताको शर्तमा हकदार भएभन्दा बढी माग नगर्नेमा निर्भर गर्दछ ।

    वार्तामा इरानका प्रतिनिधि, उप विदेश मन्त्री अब्बास अरघाचीले बिहीबार आफ्नो देशको सरकारी समाचार संस्था, आइआरएनए, सँग भने, उनको टोलीले चाँडोभन्दा चाँडो कुनै सम्झौतामा पुग्न खोजिरहेको इरानको राष्ट्रिय हितमा कार्य गर्ने तर हतारमा कदम नचाल्ने बताए ।

    उनले भने, ‘सौभाग्यवश सम्झौताहरू हामीमाँझ छन् । मैले पहिले भनेझैं हामी सम्झौताले निर्दिष्ट गरेको बाटोमा छौं । तर त्यहाँ इमान्दार भएर नबढेको खण्डमा गम्भीर अवरोधहरू पनि आउन सक्छन् ।’

    वार्तालाई ध्यानमा राख्दै रूसी प्रतिनिधि मीखाईल उल्यानोभले ट्वीट गर्दै भनेका छन्, ‘इरानी मन्त्रीको भनाइबाट सकारात्मक संकेत दखिएको छ । भियना वार्तामा रहेका इरानी प्रतिनिधिमण्डलका प्रमुखले अमेरिकी प्रतिनिधिमण्डलहरूको मूल्याङ्कनसँग मिल्दोजुल्दो धारणा राखेका छन् । दुबै मुलुक इरान र अमेरिका निराशावादी धारणाबाट टाढा रहेका छन् । यो क्षणले खराब संकेत जस्तो देखिदैन ।’

  • सरकारप्रति ८५ प्रतिशत चिनियाँहरू सन्तुष्ट

    सरकारप्रति ८५ प्रतिशत चिनियाँहरू सन्तुष्ट

    चीन । नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटले ८५ प्रतिशत चिनियाँहरू आफ्नो सरकारप्रति सन्तुष्ट रहेको सार्वजनिक गरेको छ ।

    चीन समस्या विशेषज्ञ जुलियो रियोसको लेखमा अधिकांश चिनियाँ वर्तमान् नेतृत्वप्रति सकारात्मक रहेको बताइएको छ ।

    पश्चिमी मुलुकहरूले चीनलाई बदनाम बनाउने उद्देश्य बोकेको दावी गर्दै उनले आफ्नो स्वार्थलाई संरक्षण गर्न पश्चिमा मुलुकहरूले गरेको प्रचारप्रसारलाई चिनियाँ परिवेशमा नरूचाइने गरेको उल्लेख छ ।

    जुलियो रियोसले चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटलाई उद्धृत गर्दै बिहीबार प्रकाशित लेखमा ८५ प्रतिशत चिनियाँहरु आफ्नो सरकारप्रति सन्तुष्टि व्यक्त गरेको बताए ।

    रियोसका अनुसार ३५ प्रतिशत अमेरिकीहरु मात्रै अमेरिकी सरकारप्रति सन्तुष्ट छन् तर चीनको सार्वजनिक जनमत सरकारद्वारा निरन्तर रुपमा जनताको जीवनलाई सुधार गरिरहेको आधारमा जन्मिएको छ ।

  • एम्स अस्पतालले भन्यो : छोटा राजन जिउँदै छन्

    एम्स अस्पतालले भन्यो : छोटा राजन जिउँदै छन्

    दिल्ली । भारतीय अन्डरवर्ल्डका चर्चित डन छोटा राजनको कोरोनाभाइरस संक्रमणले मृत्यु भएको खबरलाई एम्स अस्पतालले असत्य भनेको छ । केही भारतीय संचारमाध्यमले उनको मृत्युको खबर प्रकाशन गरेका थिए ।

    एम्स अस्पतालका प्रवक्ताले राजन जिउँदै रहेको जनाए ।

    केही भारत संचारमाध्यमले भने राजनको मृत्यु भैसकेको उल्लेख गरेका थिए ।

  • पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा, दुई देशबीचको तिक्तता हटाउन प्रयास हुने

    पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा, दुई देशबीचको तिक्तता हटाउन प्रयास हुने

    इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ ।

    पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुबै पक्षले प्रयास गर्नेछन् ।

    पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गर्न लागेको जनाएको छ ।

    प्रधानमन्त्री खानका साथ विदेश मन्त्री र मन्त्रिमण्डलका अन्य सदस्य समेतको प्रमण्डल रहेको छ ।

    भ्रमणका क्रममा साउदी पक्षसँग आर्थिक, व्यापारिक, लगानी, ऊर्जा, रोजगारीका अवसर समेतका विविध विषयमा छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । साथै बैठकमा दुबै पक्षले आपसी चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि विचार आदानप्रदान गर्ने डनले लेखेको छ ।

    साउदी अरेबियाको भ्रमणका क्रममा प्रधानमन्त्री खानले इस्लामिक सहयोग संगठन (ओआइसी)का महासचिव युसुफ अल-ओथाइमीन, विश्व मुस्लिम लिगका महासचिव मोहम्मद बिन अब्दुलकरिम अल–इसा र मक्का एवं मदिनाका मस्जिदका इमामसँग पनि भेटघाट गर्नेछन् ।

    पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तान र साउदी अरेबियाबीच लामो र ऐतिहासिक भातृत्वपूर्ण सम्बन्ध रहिआएको उल्लेख गरिएको छ । “दुई देशबीचको सम्बन्ध सबै क्षेत्रमा प्रगाढ रहेको तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मामिलामा आपसी समझदारी रहँदै आएको छ,” विज्ञप्तिमा भनिएको छ ।

    यद्यपी पाकिसतान र साउदी अरेबियाबीचको सम्बन्धमा सन् २०१५ देखि तिक्तता आएको छ । खासगरी यमनमा जारी युद्धमा पाकिस्तानी संसदले आफ्ना सेना पठाउन रोक लगाउने निर्णय गरेपछि दुबै देशबीच असमझदारी बढेको हो ।

    साउदी अरेबियाको अग्रसरतामा यमनमाथि आक्रमण हुँदै आएको छ जसबाट ठूलो जनधनको क्षति भइरहेको छ ।

  • शुक्रबार भारतमा ४ लाख १४ हजार संक्रमित, ३,९१५ जनाको मृत्यु

    शुक्रबार भारतमा ४ लाख १४ हजार संक्रमित, ३,९१५ जनाको मृत्यु

    नयाँ दिल्ली । शुक्रबार भारतमा कोरोनाभाइरसका ४ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,९१५ जनाको मृत्यु भएको छ ।

    भारतको कूल संक्रमित संख्या २ करोड १४ लाख ९१ हजार पुगेको छ । १ करोड ७६ लाख जना निको भएका छन् । २ लाख ३४ हजारभन्दा बढीको भाइरसले मृत्यु भएको छ ।

    ३६ लाख ४५ हजार सक्रिय संक्रमित संख्या पुगेको छ । दुईदिन देखि भारतमा लगातार ४ लाखभन्दा माथ संक्रमित थपिएका छन् । भारत अहिले विश्वकै दोस्रो भाइरस प्रभावित मुलुक बनेको छ ।

  • जुलाई ४ सम्म ७० प्रतिशत बयस्कलाई कोरोना खोप लगाउने वाइडेनको लक्ष्य

    जुलाई ४ सम्म ७० प्रतिशत बयस्कलाई कोरोना खोप लगाउने वाइडेनको लक्ष्य

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत बयस्कलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गरेका छन् ।जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवस मनाउने दिनसम्म अमेरिकालाई कोरोनाभाइरसबाट पनि खतरामुक्त बनाउने उनको भनाइ छ ।

    कोरोनाभाइरस विरुद्धको लडाइ जित्नका लागि खोप अभियान नै सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय हुने उनले विश्वास व्यक्त गरेका छन् ।कतिपय मानिसले खोप लगाउन रुची नराखेकाले यो अभियान अपेक्षितरुपमा अगाडि बढ्न नसकेपनि आपूmले तय गरिएको लक्ष्य भने पूरा हुने विश्वास उनको छ ।

    उनका अनुसार अमेरिकामा अहिलेसम्म झण्डै ५६ प्रतिशत बयस्कले खोप लगाइसकेका छन् भने बाँकी झण्डै दुई महिनामा कूल ७० प्रतिशत बयस्कलाई खोप लगाउने लक्ष्य पूरा हुने उनले दावी गरेका घन् ।

    राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भन्नुभयो, ‘सबैले खोप लगाउन अति नै आवश्यक छ, खोप नलगाएकालाई संक्रमणको खतरा बढी हुने भएकाले संक्रमणबाट जोगिन सबैलाई खोप लगाउन म आग्रह गर्दछु ।’

    राष्ट्रपति वाइडेनको प्रशासनले शुरुदेखि नै खोप लगाउने र मास्क लगाउने कार्यलाई उच्च प्राथमिकताका साथ अभियानकैरुपमा जोड दिँदै आएको छ ।

    अमेरिकामा अहिलेसम्म १० करोड ५० लाख मानिसले खोप लगाइसकेका छन् भने दैनिक झन्डै १० लाख मानिसलाई खोप दिने गरिएको अधिकारीरुले जनाएका छन् ।

    खोप लगाउन सहजिकरणका लागि अमेरिकामा खोपसम्बन्धी छुट्टै वेबसाइट सञ्चालन गरिएको छ । सो वेबसाइटमा खोप लगाउन चाहनेले आफूलाई पायक पर्ने खोप केन्द्रमा नाम टिपाउन मिल्ने व्यवस्थासमेत गरिएको जनाइएको छ ।

  • चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगित भएको घोषणा

    चीनद्वारा अस्ट्रेलियासँगको आर्थिक संवाद स्थगित भएको घोषणा

    बेइजिङ । चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ । कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलियाविरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ ।

    साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले अस्ट्रेलियाली सामानको आयातमा एकपछि अर्को प्रतिबन्ध पनि घोषणा गरिरहेको छ ।

    बिहीबारको नयाँ घोषणाले दुबै मुलुकबीचको कूटनीतिक सम्बन्धमा थप चिसोपन ल्याउने सङ्केत गरेको छ । साङ्केतिक भए पनि संवाद स्थगनले विशेष अर्थ राख्ने एसिया-प्रशान्त क्षेत्र सम्बन्धी अस्ट्रेलियाली कुटनीतिका जानकार केटलिन बायर्नले बताए। उनका अनुसार दुबै मुलुकबीच सन् २०१७ यत कुनै छलफल नै भएको छैन ।

    चीनले अस्ट्रेलियाली कोइला, गहुँ र अन्य सामाको आयात रोक्का गरेपछि दुबै देशबीचको सम्बन्ध निकै तल्लो स्तरमा पुगेको छ । चीनले एकपछि अर्को दबाब दिए पनि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनको सरकार टसको मस भएको छैन ।

    अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयकी निर्देशक बायर्नले भने, “यो साँच्चिकै महत्वपूर्ण र साङ्केतिक कदम हो, तर सारभूत रुपमा हेर्दा यसको असर सीमित मात्र छ ।”

    चीन सरकारले अस्ट्रेलियामाथि शीतयुद्धकालीन मानसिकता र वैचारिक विभेदका कारण सम्बन्ध सामान्यीकरणलाई बेवास्ता गरिरहेको आरोप लगाएको छ ।

    चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जारी गरेको विज्ञप्तिमा चीन-अस्ट्रेलिया रणनीतिक आर्थिक संवाद अन्तर्गत सबै कृयाकलापहरु अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख छ ।

    चीनले यस्तै संवादहरु अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका र अन्य कतिपय मुलुकसँग गर्दै आएको छ जसमा व्यापार विवाद र अन्य आर्थिक मुद्दाहरुमाथि छलफल हुने गरेको छ ।

    “यो दुर्भाग्यपूर्ण हो । हामीले चीनसँग संवाद गरेकै राम्रो हो,” अस्ट्रेलियाका विपक्षी नेता एन्थोनी अल्बानेसले सिड्नीमा बताए । “यो चीनको मामिला मात्र होइन, दुबै मुलुकसँग यो सम्बन्धित छ ।”

    चीनको अस्ट्रेलिया, भारत र कतिपय अन्य छिमेकी मुलुकसँगको सम्बन्ध पछिल्ला केही वर्षदेखि समस्याग्रस्त बन्दै गएको छ । चीनले अस्ट्रेलिया र पश्चिमा प्रजातन्त्रवादी मुलुकहरुसँग पनि चीनले आफ्नो राजनीतिक प्रभाव देखाउन खोजेको छ ।

    गत वर्ष चीनले अस्ट्रेलियाबाट हुने अधिकांश वस्तुको आयात रोक्ने घोषणा गरेको थियो । खासगरी कोरोनाभाइरसको उत्पत्तिलाई लिएर चीनमाथि छानबिन गर्नुपर्ने अस्ट्रेलियाले माग गरेपछि विवाद चर्किएको हो ।

    चिनियाँ मन्त्रीहरुले अस्ट्रेलियाली समकक्षीले गरेका फोन समेत लिन अस्वीकार गरेका थिए । अस्ट्रेलियाली व्यापार मन्त्री डान टेहानले एक विज्ञप्ति नै प्रकाशन गरी चिनियाँ रबैयाप्रति निराशा व्यक्त गरेका छन् ।

    उनले भने, “हामी संवादका लागि खुला छौं र मन्त्री स्तरमा छलफल गर्न तयार छौं ।”

    अस्ट्रेलियाली सामानको पहिलो बजार चीन हो, तर प्रतिबन्धहरुले खासै असर नपरेको दुबै देशको भनाई छ । किनभने चीनका स्टिल मिलले अझै पनि अस्ट्रेलियाली फलाम आयात गरिरहेका छन् । अस्ट्रेलियाबाट निकासी हुने सबैभन्दा मूल्यवान धातु पनि फलाम नै हो ।

    गत महिना, अस्ट्रेलिया सरकारले भिक्टोरिया राज्यले चीनको “बेल्ट एन्ड रोड ९बिआरआई०” सँग गरेको दुई वटा सम्झौता रद्द गरिदिएको थियो ।

    अस्ट्रेलियाली विदेश मन्त्रीले अस्ट्रेलियाको उक्त कदम कुनै एक राष्ट्रपति लक्षित नरहेको बताएका थिए , तर चीनले अस्ट्रेलियाको उक्त निर्णयको प्रतिकार गर्ने चेतावनी दिइसकेको छ ।

  • केरलामा कम्युनिष्ट करिश्मा : चार कारणले सम्भव भयो विजयनको लोभलाग्दो विजय

    केरलामा कम्युनिष्ट करिश्मा : चार कारणले सम्भव भयो विजयनको लोभलाग्दो विजय

    काठमाडौं । पछिल्लो ४० वर्षमा केरलामा यस्तो परम्परा थियो- सत्तारुढ दल पाँच वर्षपछि सत्ताबाट बाहिरिन्थ्यो । त्यहाँका जनताले नयाँ कार्यकालमा विपक्षीहरूलाई सत्तामा ल्याउँथे । अर्कोपल्ट फेरि सत्ताबाट पन्छाउँथे । यसपालिबाट त्यो परम्परा तोडिएको छ ।

    केरलाले पुनः पिनरई विजयनको नेतृत्वमा लेफ्ट डेमोक्र्याटिक फ्रन्ट (एलडीएफ) लाई लगातार दोस्रो पटक सरकारका गठनका निम्ति निर्वाचित गरेको छ ।

    २०१६ को विधानसभा चुनावमा एलडीएफले १ सय ४० सदस्यीय सदनमा ९१ सिट सिट जित्दै सरकार गठन गरेको थियो । यस पटक पार्टी ९३ सिट जितेर फेरि सरकार बनाउँदै छ । पश्चिम बंगालबाट बढारिएको कम्युनिस्ट पार्टीले केरलामा के त्यस्तो करिश्मा देखायो ? जसले उसको सानदार बिजय सम्भव भयो ?

    केरलामा के भयो, जसको कारण त्यहाँको चुनावी गणितमा फेरबदल भयो ? बीबीसीले केरलाका केही राजनीतिक विश्लेषकहरूसँग कुराकानी गरेर यसको रहस्य पत्ता लगाउने प्रयास गरेको छ ।

    पिनरई विजयनको छवि

    जे प्रभाष एक राजनीतिक विश्लेषक र केरला विश्वविद्यालयका राजनीति विज्ञानका पूर्व प्रोफेसर हुन् । यसबारे उनी भन्छन्, ‘यो पिनरई विजयनको पक्षमा जनादेश हो । उनले आफैंलाई आपतकालीन व्यवस्थापक र एक सबल नेताको रूपमा स्थापित गरेका छन् । जनताले विजयनलाई राज्यमा संकट आउँदा नेतृत्व गर्न सक्षम नेताका रुपमा देखे ।’

    प्रभाषका अनुसार कांग्रेसले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक मोर्चा वा भारतीय जनता पार्टीसँग पिनरई जस्ता शक्तिशाली नेता थिएनन् । उनका अनुसार विजयनले एक्लै चुनावी अभियान चलाए । प्रभाष भन्छन्, ‘यूडीएफलाई थाहा थिएन ऊ जनतालाई के बताउन चाहान्छ, न उसको सामु बताउन केही थियो । एलडीएफको (कम्युनिष्ट गठबन्धन) बारेमा जनतालाई बताउने काम केवल एक व्यक्ति गर्दै थियो, र त्यो विजयन थियो ।’

    राजनीतिक टिप्पणीकार तथा स्तम्भकार जी प्रमोद कुमारका अनुसार विजयन केरलाका सबैभन्दा शक्तिशाली नेता हुन् । उनी भन्छन्, ‘उनलाई सीपीएमको एकल आवाजका रूपमा प्रस्तुत गर्न समग्र प्रयास गरिएको छ । उनी पार्टीको अनुहार र आवाज हुन् । यो विजयनको जित हो । किनकि उनले अभियानको नेतृत्व गरेका थिए ।’

    ‘विजयन सरकारले प्रशासनिक हिसाबले राम्रो गर्‍यो कि नराम्रो भन्ने फरक सवाल हो । तर धारणा यस्तो बनिदियो कि उनीहरू केरलाको नेतृत्व गर्न सक्षम छन्,’ कुमार थप्छन् । पिनारई विजयनको प्रस्तुतिले पनि निकै प्रभाव पारेको कुमारको विश्वास छ । उनी भन्छन्, ‘यो धेरै हदसम्म विजयनको कार्यक्रम हो । उनले आफैंले सबै उम्मेदवार छनोट गरे । यो धेरै हदसम्म विजयनको विचार हो , जबकि लगातार दुई पटक जित्नेलाई टिकट दिइएन । यो विजयनको डिजाइन हो ।’

    दक्षिण भारतको राजनीतिमा नजर राख्ने वरिष्ठ पत्रकार इमरान कुरेशीका अनुसार राज्यमा जुनसुकै घोटाला भयो, विजयनलाई कहिल्यै आरोप लगाइएन र उनको छवि स्वच्छ थियो । उनका अनुसार, विजयन सरकारको राम्रो प्रदर्शन र उनका प्रतीज्ञाहरू पूरा गर्न काम आए ।

    विपत्ति व्यवस्थापनमा राम्रो कदम

    विश्लेषकहरूको बुझाइ छ- विजयन सरकारले जन-कल्याणकारी नीतिहरू र प्रकोप व्यवस्थापनको कौशिलताका कारण जनताको हृदय जित्यो । प्रमोद कुमार भन्छन्, ‘कोभिड महामाारीको दौरान उनको सरकारले सामाजिक सुरक्षा निवृत्तिभरण बढायो । उनले जनताहरूलाई नयाँ तरिकाले रासन दिए । नीतिअनुरुप महामारीको समयमा पनि गरिबहरूसँग केही पैसा र खाना थियो, त्यसकारण कठिन समयमा उनीहरूले धेरै संघर्ष गर्नुपर्दैनथ्यो ।’

    कुमारका अनुसार विजयन सरकार सामान्यतया एक सक्रिय सरकारको रूपमा देखा पर्‍यो । विश्लेषकहरूका अनुसार राम्रोसँग काम गर्ने सरकार भएको कारण त्यहाँ जनतामा सत्ताविरोधी भावना थिएन । कुमार भन्छन्, ‘समग्रमा यो व्यापक विजय हो । सत्ता पल्टाउन कांग्रेसले केही गर्न सक्ने ल्याकत थिएन ।’

    प्रभाष भन्छन्, ‘कल्याणकारी उपायहरू जस्तै पेन्सन र रासन किटले सरकारका लागि सकारात्मक छवि बनायो र जनताले घोटाला र भ्रष्टाचार सम्बन्धी आरोपहरूको परवाह गरेनन् । वरिष्ठ पत्रकार इमरान कुरेशीका अनुसार विपत् व्यवस्थापनमा विजयन सरकारको कदमको निकै तारिफ भयो ।

    उनी भन्छन्, ‘जब केरलामा कुनै संकट आयो, तब एउटा बलियो सन्देश नागरिकलाई दिइयो कि एक व्यक्तिले राज्यको नेतृत्व लिइरहेको छ । चाहे दुई पटकको बाढी प्रकोप वा कोरोना महामारी होस्, विजयन सरकार सक्रियताका साथ खटेको देखिएको थियो । जबदेखि कोभिड केस सुरु भयो, विजयन प्रत्येक च्यानलमा नागरिकहरूका निम्ति संवाद गरिरहेको देखिन्थ्यो । उनले परिस्थितिलाई आफ्नो नियन्त्रणमा लिएका थिए र जनतालाई आश्वस्त गर्दै थिए ।’

    को हुन् विजयनन्

    ७५ वर्षीय विजयनन् भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का पोलिटव्यूरो सदस्य र केरला राज्य कमिटीका सेक्रेटरी हुन् । १८ वर्षको उमेरमै कम्युनिस्ट पार्टीमा आबद्ध भएका विजयनन् विद्यार्थी र युवा संगठनको सेक्रेटरी हुँदै सन् १९७० देखि विधानसभा सदस्य बनेका हुन् ।

    सन् २००२ मा चदायन गोविन्दन्को निधनपछि केरलाको सिपिआइएम स्टेट सेक्रेटरी बनेका विजयनन्लाई २००७ मा पार्टीले एउटा विवादस्पद भाषणका कारण पोलिटव्यूरोबाट निलम्बन गरेको थियो । उनी केही समयपछि पुनः पोलिटव्युरोमै पुनःस्थापित भए ।

    अल्पसंख्यकको एकीकरण

    प्रमोद कुमारको बुझाइमा मुस्लिम मतदान एलडीएफलाई दिनुपथ्र्यो किनकि त्यस समुदायको मुख्य असुरक्षा भाजपाको उदय हो । उनी भन्छन्, ‘यूडीएफ र एलडीएफबी मुसलमानहरूले सोचेको हुनुपर्छ कि बीजेपीसँग प्रतिस्पर्धा गर्न र उनीहरूको हितको रक्षा गर्न एलडीएफ एक उत्तम पार्टी हो ।’

    कुमार पनि भन्छन्- राज्यमा इसाई भोटलाई पनि ध्रुवीकरण गरिएको छ । केन्द्रीय त्रावणकोर क्षेत्रमा केरला कांग्रेस, जुन धेरै वर्षदेखि कांग्रेसकोे कट्टर सहयोगी रहेको छ र जसले उक्त क्षेत्रमा सिट जित्न यूडीएफ र कांग्रेसलाई मद्दत गरेको थियो ।

    कुमार भन्छन्, ‘यहाँ अल्पसंख्यक समुदायबीच कांग्रेस र यूडीएफको परम्परागत मतदान एलडीएफले ठूलो मात्रामा फेला पारेको छ । २७ प्रतिशत मुसलमानसँगै क्रिष्चियनहरू १७ प्रतिशत छन् । यस्तो लाग्छ कि ४४ प्रतिशत अल्पसंख्यक आवादीले एलडीएफको समर्थन गरे । मुस्लिम र इसाई यूडीएएफको परम्परागत चुनावी रीढ़ थिए, उनीहरूको समर्थन बिना यूडीएएफले चुनाव जित्न सक्दैन थियो ।’

    कुमारका बुझाइअनुसार सीपीएम परम्परागत रूपमा केरलामा हिन्दु पार्टी भएको छ र यसका अधिकांश मतदाता हिन्दु नै थिए । उनी भन्छन्, ‘यूडीएफका उच्च जातिका धेरै मानिस भाजपामा सरेका छन् र अल्पसंख्यकहरू एलडीएफमा सरेका छन्, त्यसैले यूडीएएफको लागि केही बाँकी छैन ।’

    कांग्रेसको आन्तरिक कलह

    प्रभाषका अनुसार केरलाका अधिकांश क्षेत्रमा, विशेषगरी गाउँहरूमा कांग्रेसको संगठनात्मक संरचना बलियो छैन र पार्टीले यसको नतिजा सहनुपर्‍यो ।

    उनी भन्छन्, ‘स्रोतका हिसाबले पनि कांग्रेस राम्रो स्थितिमा छैन । केरलामा पाँच वर्ष र केन्द्रमा सात वर्ष सत्ताबाट बाहिर भएपछि पनि कांग्रेस पार्टीले चुनाव लड्न आवश्यक स्रोत जुटाउन सकेको छैन ।’

    उनी थप्छन्, ‘यूडीएफमा अब कांग्रेस र मुस्लिम लिग बचेका छन् । बाँकी सबै त्यसबाट टुक्रेर बनेका समूह हुन् । अर्कोतर्फ, एलडीएफ एघार दलको गठबन्धन हो जसमा तीनदेखि पाँच दलको ठूलो हिस्सा केरलामा मौजूद छ । त्यसैले यो प्रतिस्पर्धा सुरूदेखि नै एकतर्फी देखिएको थियो ।’

    इमरान कुरेशीका विचरामा एलडीएफले पनि कांग्रेसको आपसी मतभेदबाट फाइदा उठायो । उनी भन्छन्, ‘कांग्रेसको आपसी मतभेद यति बढी भयो कि उनीहरूले चुनाव हारे । ओमन चण्डी र रमेश चेन्नीथलाको गुटबन्दीको कारण हार व्यहोर्नुपर्‍यो । विधानसभाको चुनावको बेला एकजुट भएर काम गर्ने प्रयास भएको थियो । तर फेरि पनि जित्न पाएन ।’

    (यो सामग्री बीबीसी हिन्दीबाट नेपाल प्रेसले भावानुवाद गरेको हो ।)

  • भारतमा विहिबार एकैदिन चार हजारको मृत्यु, चारलाख १२ हजार संक्रमित

    भारतमा विहिबार एकैदिन चार हजारको मृत्यु, चारलाख १२ हजार संक्रमित

    नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो ।

    योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको पाइएको छ ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२ हजार २६२ जना सङ्क्रमित भएको जानकारी दिएको छ । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

    भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार ४१० जना सङ्क्रमित भएका छन् ।

    पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार ११३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड ७२ लाख ८० हजार ८४४ पुगेको छ ।

    भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३९८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भइरहेकै अवस्थामा रहेका छन् ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २०९ कोभिडको नमुना परीक्षण गरिएको छ । ती मध्ये १९ लाख २३ हजार १३१ जनाको बुधबार परीक्षण गरिएको हो ।

    भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ मात्राको कोरोनाभाइरसविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।

    भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

  • इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

    इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

    जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल भएका छन् ।

    नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा तोकिए पनि त्यस अवधिमा उनले गठबन्धन निर्माण गर्न सकेनन् ।

    प्रधानमन्त्री नेतन्याहूले बहुमत जुटाउन नसकेसँगै १२ वर्षयता पहिलो पटक नेतन्याहूको दल लिकुड पार्टी सत्ता बाहिर पुग्ने स्थिति सिर्जना भएको छ ।

    गत मार्च २३ यता प्रधानमन्त्री नेतन्याहूले संसदमा बहुमत हासिल गर्न सङ्घर्ष गरिरहेका छन् । दुई वर्षको अन्तरालमा चौथो पटक सम्पन्न संसदको चुनावबाट पनि कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको छैन ।

    प्रधानमन्त्री नेतन्याहूलाई नयाँ सरकार गठन गरी संसदमा बहुमत सिद्ध गर्न इजरायली राष्ट्रपति रुभेन रिभलिनले चार हप्ताको समयावधि तोकेका थिए ।

    प्रधानमन्त्री नेतन्याहूले त्यसपछि आफ्ना विपक्षी र साना इस्लामिक अरब पार्टीसँग शृंखलाबद्ध छलफल गरे पनि कुनै सहमति जुट्न सकेको छैन ।

    राष्ट्रपति रिभलिनले प्रधानमन्त्री नेतन्याहूलाई दिएको समयसीमा मङ्गलबार मध्यराति समाप्त भएको हो । प्रधानमन्त्रीले बहुमत सिद्ध गर्न नसके राष्ट्रपति रुभेन रिभलिनले नयाँ कदम चाल्नु पर्नेछ ।

    बहुमत सिद्ध गर्न नसके पनि नेतन्याहूको प्रधानमन्त्री पद गइहाल्ने छैन । राष्ट्रपति रिभलिनले नेतन्याहूलाई अरु दुई साताको समय दिन सक्नेछन् । अथवा, राष्ट्रपतिले विपक्षीलाई सरकार बनाउन आमन्त्रण गर्न सक्नेछन् र कुनै गठबन्धनमा सहमति नजुटे उनलाई संसदलाई नै निर्णय गर्न पठाउनेछन् ।

    राष्ट्रपति रिभलिनले बुधबार संसदमा विपक्षीको रुपमा देखिएका १३ दलका नेतालाई सम्भावित गठबन्धनका बारेमा छलफल गर्न आमन्त्रण गरेका थिए । यी दलका नेतामध्ये कसैले सहमति जुटाउन सके उनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछन् ।

    राष्ट्रपतिले संसदलाई नै नयाँ प्रधानमन्त्री छनौटका लागि जिम्मा दिएको अवस्थामा संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ । यदि सबै विकल्पहरु असफल भए फेरि संसदको चुनाव हुनेछ ।

    गत मार्च २३ मा सम्पन्न चुनावमा नेतन्याहूको लिकुड पार्टी संसदमा सबैभन्दा बढी स्थान जितेर पहिलो दल बनेको थियो । लिकुड पार्टीले १२० सदस्यीय संसदमा ३० स्थान जितेको थियो । तर सरकार गठन गर्न कम्तीमा ६१ स्थान आवश्यक पर्दछ ।

    राष्ट्रपति रिभलिनले गत महिना प्रधानमन्त्री नेतन्याहूले संसदमा ५२ जना सांसदको सहमति सहितको हस्ताक्षर प्रस्तुत गरेपछि प्रधानमन्त्रीमा पहिलो अवसर दिएका थिए ।

    तर ४५ सांसदको समर्थन प्राप्त गर्नु भएका याईर लापिडलाई अब राष्ट्रपतिले दोस्रो मौका दिने सम्भावना बढेको छ ।

  • सात औद्योगिक राष्ट्रका विदेश मन्त्रीहरुको लन्डनमा प्रत्यक्ष भेटवार्ता

    सात औद्योगिक राष्ट्रका विदेश मन्त्रीहरुको लन्डनमा प्रत्यक्ष भेटवार्ता

    लन्डन । विश्वका प्रमुख सात धनी औद्योगिक राष्ट्रहरु (जी-७) का विदेश मन्त्रीहरुको दुई वर्षभन्दा बढी समयको अन्तरालपछि मङ्गलबार पहिलो पटक लन्डनमा प्रत्यक्ष भेटवार्ता भएको छ ।

    आयोजक राष्ट्र बेलायतले रसिया, चीन र इरानका पछिल्ला कदमहरुले सबैजसो प्रजातान्त्रिक समाज र अन्तर्राष्ट्रिय कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरिरहेको चेतावनी दिएको छ ।

    बेलायतका विदेश मन्त्री डोमिनिक राबले यस बैठकले कुटनीति पुरानै लयमा फर्किएको भन्दै खुशी व्यक्त गरेका छन् ।

    अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हाले लगत्तै संयुक्तराज्य अमेरिकाका परम्परागत गठबन्धनलाई पुरानै लयमा फर्काइएको बताए ।

    पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकलकाँटे नीतिले अमेरिका नै एक्लिएको निष्कर्षमा बाइडेन प्रशासन पुगेको उनको भनाई थियो ।

    विदेशमन्त्री ब्लिन्केनले जी-७ का मुलुकहरुले चीनसँग प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्नेमा पनि जोड दिए । दुईदिने बैठकमा जी-७ मा आबद्ध मुलुकहरु बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानका विदेश मन्त्रीहरु सहभागी छन् ।

    बैठकमा म्यान्मारमा भएको सैन्य विद्रोह, सिरियाको मानवीय सङ्कट, इथियोपियाको टिग्रीको सङ्कट तथा अफगानिस्तानको मानवीय सङ्कटका बारेमा पनि छलफल हुनेछ ।

    साथै, बेलायती विदेश मन्त्रालयका अनुसार बैठकमा रसियाले युक्रेनको सीमा क्षेत्रमा बढाएको सैन्य गतिविधि र विपक्षी नेता अलेक्सी नाभाल्नीलाई थुनामा राखिएको विषयमा पनि छलफल हुनेछ ।

    सन् २०२१ का लागि जी-७ समूहको अध्यक्षता गरेको बेलायतले बैठकमा अस्ट्रेलिया, दक्षिण कोरिया, भारत र दक्षिण अफ्रिकाका विदेश मन्त्रीहरुलाई पनि आमन्त्रण गरेको थियो ।

    प्रधानमन्त्री बोरिस जोन्सनले आगामी जुन महिनामा हुने जी-७ समूहका नेताहरुको बैठक आयोजना गर्नेछन् ।

  • कोभिड-१९ खोप उत्पादनका अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

    कोभिड-१९ खोप उत्पादनका अवरोध हटाउन विश्व स्वास्थ्य संगठनको आग्रह

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड-१९ संक्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ती अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन् ।

    डब्लुएचओका प्रमुख गेब्रेयससले सोमबार पत्रकार सम्मेलनमा भने, ‘यदि धेरै व्यक्तिलाई खोप लगाई सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्ने हो भने हामीसँग अहिले उपलब्ध खोप भन्दा धेरै बढी खोप चाहिन्छ ।’

    ‘खोपको उत्पादन क्षमता बृद्धि हुनु पर्दछ र यसका निम्ति बौद्धिक सम्पत्ति (आइपी) अधिकारको माफी अति आवश्यक छ,’ उनले के यो परोपकारी मुद्दा होइन भन्दै खोप निर्माणलाई व्यापकता दिनुपर्नेमा जोड दिए ।

    त्यसैगरी बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले भने, ‘अफ्रिका र विश्वका अन्य भागहरूमा खोप उत्पादनको लागि खोपको आइपी अधिकारको अस्थायी रूपमा निलम्बन अत्यावश्यक भइसकेको छ ।’

    दक्षिण अफ्रिका र भारतलगायत धेरै देशहरूले विश्वव्यापी रूपमा उत्पादनका लागि कोभिड-१९ खोपहरूको आइपी अधिकार अस्थायी रूपमा निलम्बन गर्न आग्रह गरेका छन् ।

    गत हप्ता विश्व व्यापार संगठनले आइपी अधिकार माफीको बारेमा छलफल चलाएको थियो तर जेनेभामा यस सम्बन्धी अहिलेसम्म कुनै समाचार प्राप्त भइसकेको छैन ।

    बेलायतले सन् २०२१ मा जी-७ राष्ट्रहरुको समूहको अध्यक्षता गरेको छ । आगामी जुन महिनामा बेलायतले जी-७ राष्ट्रको शिखर सम्मेलनको आयोजना गर्नेछ । टेड्रोस र ब्राउन दुबैले जी-७ सम्मेलनले आइपी अधिकारको अस्थायी माफीलाई कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गरे ।

    ‘अर्को महिना जी-७ देशका नेताहरूको बैठक इतिहासको सबैभन्दा महत्वपूर्ण बैठक हुन सक्नेछ,’ टेड्रोसले भने । जी-७ देशहरू विश्वका आर्थिक र राजनीतिकरूपमा शक्तिशाली मानिन्छन् । उनीहरू विश्वका धेरै खोप उत्पादन गर्ने मुलुकहरू पनि हुन् ।

    ‘यदि हामी अहिले यसलाई प्रयोग गर्न सक्दैनौं भने कहिले सक्छौं र ?’ भन्ने प्रश्न गर्दै डब्ल्यूएचओ प्रमुखले कोभिड-१९ को खोप उत्पादन जतिसक्दो चाँडो बढाउने सबै विकल्प प्रयोग गर्नु पर्नेमा जोड दिए ।

    ‘आइपी अधिकार माफीको प्रावधान यस्तै आपतकालीन अवस्थाका लागि हो र यो अभूतपूर्व उपाय हो,’ उनले भने ।

    बेलायती पूर्व प्रधानमन्त्री ब्राउनले भने, ‘उनीहरूले सामूहिक रूपमा अस्थायी माफीलाई समर्थन गर्ने निर्णय लिन सकेमा कोभिड-१९ महामारी नियन्त्रणमा यो ठूलो उपलब्धि हुनेछ ।

  • बंगालमा ह्याट्रिकपछि दिदीको सपथ, केरलामा कम्युनिस्टको दुई तिहाई

    बंगालमा ह्याट्रिकपछि दिदीको सपथ, केरलामा कम्युनिस्टको दुई तिहाई

    काठमाडौं । पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा ममता बेनर्जीले बुधबार तेस्रोपटक सपथ ग्रहण गरेकी छिन् । तृणमूल कंग्रेस नेतृले राज भवनमा आयोजित एक संक्षिप्त समारोहमा सपथ लिएकी हुन् ।

    कोभिड-१९ महामारीको कारण सीमित व्यक्तिलाई मात्र सपथ समारोहमा आमन्त्रित गरिएको थियो । गभर्नर जगदीप धंकरले बेनर्जीलाई सपथ ग्रहण गराए ।

    सपथ ग्रहणपछि बोल्दै बेनर्जीले पार्टीलाई जिताउन योगदान दिने कार्यकर्तालाई धन्यवाद दिइन् । उनले मुख्यमन्त्री भएपछि आफ्नो पहिलो प्राथमिकता कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्नु रहेको समेत बताइन् ।

    कोरोनाको परिस्थितीबारे छलफल गर्न उनले आजै आपतकालिन बैठक बोलाउने समेत जानकारी दिइन् । भारी बहुमतसाथ तृणमूल कंग्रेस पुनः पश्चिम बंगालको सत्तामा फर्किएको छ ।

    आफ्नो निर्वाचन क्षेत्र नन्दीग्रामबाट पराजित भएपनि ममताले टीएमसीको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीको सपथ लिएकी हुन् । ६ महिनामा उनले संसदबाट विश्वासको मत लिनुपर्छ । लिन नसके उनले मुख्यमन्त्री छाड्नुपर्नेछ ।

    बीजेपीका शुभेन्दु अधिकारीले नन्दीग्रामबाट बेनर्जीलाई हराएका थिए । नरेन्द्र मोदीको बीजेपी दोस्रो दल बनेपनि बंगालको राजनीतिमा उसले राजनीतिक हैसियत आर्जन गरेको छ । पाँचवर्षअघि ३ सिट जितेको बीजेपीले २०२१ को चुनावमा झन्डै ८० सिट प्राप्त गरेको छ ।

    चुनाव पछिको हिंसामा १२ को मृत्यु

    चुनावी मत परिणाम आएपछि भड्किएको हिंसामा पश्चिम बंगालमा मंगलबार बेलुकासम्म १२ जनाको मृत्यु भएको छ । हिंसात्मक परिस्थितीलाई लिएर मुख्यमन्त्री बेनर्जीले मंगलबार मुख्य सचिव र सुरक्षा अधिकारीसँग छलफल गरेकी छिन् ।

    पूर्वी बार्धमन जिल्लामा ५५ वर्षे टीएमसी कार्यकर्ता श्रीनिवास घोषको मंगलबार बेलुका बीजेपी कार्यकर्ताको आक्रमणमा हत्या भएको भन्दै हिंसा मच्चिएको हो । घर फर्किँदै गर्दा आक्रमणमा परेका उनलाई अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    हिंसामा थप दुई टीएमसी कार्यकर्ता र एक बीजेपी कार्यकर्ताको समेत मृत्यु भएको छ ।

    केरलामा कम्युनिष्ट पार्टीले जित्यो ९९ सिट

    सन् १९७७ पछि एकल बहुमतसाथ बामपन्थी दलले केरलामा सरकार बनाउँदैछ । लेफ्टको बहुमतसँगै यसअघि केरलामा हुने आलोपालो सरकार र अस्थिर राजनीतिको अध्याय टुंगिएको छ ।

    कूल १४० सिटमध्ये कम्युनिष्ट गठबन्धनले ९९ सिट जितेको हो । जसमध्ये कम्युनिष्ट पार्टी अफ इन्डियाले ६२ सिट जितेको छ । रोचक कुरा के छ भने, सत्तारुढ भारतीय जनता पार्टीले केरलामा एक सिट पनि जित्न सकेन । सन् २०१६ मा बीजेपी एक सिट जितेको थियो ।

    बामपन्थी गठबन्धनबाट पिनाराय बिजयनन मुख्यमन्त्री बन्दैछन् । बाढी, कोभिड–१९ र निपाह जस्ता महामारी र आपतकालको बीचमा कम्युनिष्ट सत्तामा फर्किएको हो ।

  • अमेरिकाको व्यापार घाटा मार्चमा ७४ अर्ब डलर

    अमेरिकाको व्यापार घाटा मार्चमा ७४ अर्ब डलर

    अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

    गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा ७०.५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५.६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ ।

    आयात ६.३ प्रतिशतले वृद्धि भएर २७४.५ अर्ब डलर पुगेको छ भने निर्यातमा पनि ६.६ प्रतिशतले सुधार आएर २०० अर्ब डलर पुगेको छ । डलर खाताका आधारमा निर्यात भन्दा आयात निकै बढी भएको छ ।

    राजनीतिक रुपमा निकै संवेदनशील मान्ने गरिएको चीनसँगको व्यापार घाटामा सुधार आएको छैन, बरु चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले वृद्धि भएर २७.७ अर्ब डलर भएको छ । स्वाभाविक रुपमा अमेरिकाको चीनसँगको व्यापार घाटा अंक सबैभन्दा बढी छ ।

    यस वर्षका पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनामा अमेरिकी व्यापार घाटा कूल २१३ अर्ब डलर भएको छ जुन गत वर्षको सोही अवधिको भन्दा झण्डै ६४ प्रतिशतले बढी छ । उक्त अवधिमा कोरोनाभाइरस महामारीका कारण अमेरिकाका धेरैजसो स्थानमा कडा प्रतिबन्ध र लकडाउन गरिएका थिए ।

    संयुक्तराज्य अमेरिकाको सन् २०२० मा ६८१ अर्ब डलर व्यापार घाटा थियो । यो अंक सन् २००८ यताकै सबैभन्दा बढी हो ।

  • बेलायत-भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

    बेलायत-भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

    बेलायत । भारतसँग करिब एक अर्ब पाउन्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ ।

    नयाँ व्यापार एवं लगानी सम्झौतामा कोभिड-१९ र अन्य रोग विरुद्धका खोप उत्पादनमा सघाउन भारतस्थित खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटलाई थप मद्दत गर्ने समेत उल्लेख छ ।

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलबार भएको भिडियो कन्फरेन्स बैठक अघि बेलायतका तर्फबाट यस्तो घोषणा गरिएको हो । यस बैठकमा दुई देशबीच स्वतन्त्र व्यापार सम्झौताका लागि सम्झौताहरु हुने अनुमान गरिएको छ ।

    बेलायत सरकारले युरोपेली युनियनबाट अलग भएपछि विभिन्न देशसँग व्यापार बृद्धिका लागि सम्झौताहरु गर्न थालेको छ । सोमबार अबेर घोषणा गरिएको बेलायतको यस घोषणाले बेलायमा ६ हजार ५०० भन्दा बढी रोजगारी सिर्जना हुने बेलायत सरकारको अपेक्षा छ ।

    यस प्याकेज अन्तर्गत सेरमको बेलायतस्थित प्लान्टमा २४ करोड पाउन्ड स्टर्लिङ लगानी गरिने छ जसबाट क्लिनिकल ट्रायल, अनुसन्धान र खोप उत्पादनमा खर्च गरिनेछ । सेरम इन्स्टिच्यूटले कोडाजेनिक्ससँगको साझेदारीमा कोभिड-१९ विरुद्ध एक डोज लगाए पुग्ने खोपको विकास गर्न थालेको छ । नाकबाट दिइने यो खोपको परीक्षण प्रारम्भिक अवस्थामै रहेको छ ।

    प्रधानमन्त्री जोन्सनले विज्ञप्तिमा भनेका छन्, ‘बेलायत-भारत सम्बन्धका विभिन्न आयाम रहेझैं यस लगानीबाट दुई देशका हाम्रा जनतालाई थप बलियो र सुरक्षित बनाउने छ । यस लगानीबाट सिर्जना हुने ६ हजार ५०० नयाँ रोजगारीले बेलायती र भारतीय परिवारलाई लाभ पुग्नेछ ।’

    बेलायत र भारतबीचको वार्षिक व्यापार करिब २३ अर्ब पाउन्डको छ । यो युरोपेली युनियनसँग बेलायतको व्यापारभन्दा ५ प्रतिशत मात्र कमी हो ।

  • अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थी संख्यामा चार गुणा वृद्धि

    अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थी संख्यामा चार गुणा वृद्धि

    अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्यालाई १५ हजारबाट बढाएर ६२ हजार ५ सय बनाएको छ ।

    पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रबासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले बार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था गरिएको थियो ।

    ट्रम्पको उक्त कदमले शरणार्थीलाई दिइने प्रबेशमा गरिएको कडाइका कारण विश्व समुदायले अमेरिकालाई हेर्ने दृष्टिकोण नकारात्मक बनेको भन्दै वर्तमान् अमेरिकी राष्ट्रपति बाइडेन कै ‘डिमोक्र्याटिक पार्टी’का उदारवादी नेताहरूको दवावपछि सोमबार यो निर्णय आएको हो ।

    डिमोक्र्याटिक पार्टी भित्रका प्रगतिशिल तथा शरणार्थी निकायहरूले वार्षिक रूपमा प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्या १५ हजार नै राख्नु अमानवीय रहेको भन्दै तीव्र आलोचना गरेका थिए ।

    बाइडेनले सङ्ख्या बढाउने घोषणा गर्दै भने, ‘न्यूनतम मात्राले अमेरिकी मूल्य-मान्यताको प्रतिनिधित्व गर्दैन ।’ धेरै आप्रवासीलाई प्रवेश दिँदा मेक्सिको-अमेरिका सीमा क्षेत्रमा आप्रवासीहरुको सङ्ख्या बढ्न सक्ने चिन्ता राष्ट्रपति बाइडेनले व्यक्त गरेपनि आफ्नै दलका नेताहरूको दवावपछि बाइडेनले यो निर्णय गनुभएको विभिन्न विज्ञहरूको भनाइलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    सोमबार वार्षिक शरणार्थीको संख्या ६२ हजार ५ सय बनाउने घोषणा गर्दै यसले पूर्व राष्ट्रपति ट्रम्पले तय गरेको इतिहासकै कम संख्याको नीतिलाई मेटाएको बाइडेनले भएको छ ।

    आउँदो वर्ष वार्षिक रुपमा प्रवेश गर्न दिने शरणार्थीको सङ्ख्या एक लाख २५ हजार बनाउने योजना आफ्नो प्रशासनको रहेको पनि बाइडेनले बताए ।

    तर अघिल्लो प्रशासनले शरणार्थीका सम्बन्धमा गरेका खराब निर्णयका कारण भएको क्षति मिलाउने क्रममा यो वर्ष वा अर्को वर्षको लक्ष्य पूरा गर्न भने कठिन भएको र यो तितो यथार्थ रहेको राष्ट्रपति बाइडेनले बताए ।

    अमेरिकाको शरणार्थी व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार गत अक्टोबरदेखि मार्चसम्ममा करिब २ हजार शरणार्थी मात्रै अमेरिका प्रवेश गरेका छन् ।

    बाइडेनले शरणार्थी प्रवेश वृद्धिका लागि सरकारी निर्णयमा हस्ताक्षर गर्नुपूर्व भने, ‘अनुमति विश्वले शरणार्थीहरूको दिमागमा कुनै शङ्का उब्जाउने अवस्था हटाउनको लागि आज यो कदम चाल्नु आफ्नो नयाँ जीवनको लागि पर्खिरहेका आप्रबासी शरणार्थीको लागी महत्वपूर्ण हुनेछ ।’

  • नेपालसँग सीमा जोडिएको विहार १५ मेसम्म पूर्ण लकडाउन

    नेपालसँग सीमा जोडिएको विहार १५ मेसम्म पूर्ण लकडाउन

    पटना । नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा आगामी मे १५ सम्म पूर्ण लकडाउन हुने भएको छ ।

    मुख्यमन्त्री नितिशकुमारले लकडाउन गर्न लागिएको जानकारी दिएका हुन् । मंगलबार बस्ने कोभिड संकट व्यवस्थान समूहको बैठकले यसबारे निर्णय गर्ने उनले जानकारी दिएका छन् ।

    त्यहाँका विज्ञ, चिकित्सक र सीआइटी लगायतले पूर्ण लकडाउन गर्न माग गरिरहेका थिए । पटना उच्च अदालतले सोमबार यो मुद्दाका विषयमा सरकारसँग जवाफ मागेको थियो । मुख्यमन्त्री नितिशकुमारले संकट व्ववस्थापन समूहको बैठक बोलाएका छन् ।

    उक्त बैठकले लकडाउन घोषणा गर्ने तयारी छ । बिहारमा पछिल्ला दिन दैनिक १३ देखि १५ हजार नयाँ संक्रमितहरु थपिएका छन् । नेपालसँग सीमा जोडिएकाले पनि विहारसँग नेपालको चासो छ ।

  • भारतमा कोरोना संक्रमित संख्या २ करोड नाघ्यो, मंगलबार ३४ सयको मृत्यु

    भारतमा कोरोना संक्रमित संख्या २ करोड नाघ्यो, मंगलबार ३४ सयको मृत्यु

    दिल्ली । मंगलबार भारतमा कोरोनाभाइरसका ३ लाख ५७ हजार संक्रमित थपिएका छन् । भारतको कूल संक्रमित संख्या २ करोड नाघेको छ ।

    कोरोनाबाट विश्वमै प्रभावितमध्येको दोस्रो मुलुक भारतमा ३ लाखभन्दा बढी संक्रमित निरन्तर थपिएको यो १३ औं दिन हो । पछिल्लो २४ घण्टामा ३,४४९ संक्रमितको मृत्यु भएको छ ।

    अहिले भारतको कूल संक्रमित संख्या २ करोड २ लाखभन्दा बढी संक्रमित भएका छन् । भारतको कूल संक्रमित संख्या ३४ लाख ४७ हजार पुगेको छ ।

  • माइक्रोसफ्टका संस्थापक विल गेट्सले गरे सम्बन्धविच्छेद

    माइक्रोसफ्टका संस्थापक विल गेट्सले गरे सम्बन्धविच्छेद

    एजेन्सी । माइक्रोसफ्टका संस्थापक विल गेट्स र मेलिन्दा गेट्सले आफ्नो २७ वर्ष लामो वैवाहिक जीवन अन्त्यको घोषणा गरेका छन् । ‘हामीलाई विश्वास हुन छाड्यो कि एक जोडीका रुपमा अब हामी अगाडी बढ्न सक्छौं,’ उनीहरुको वक्तव्यमा भनिएको छ ।

    ‘निकै साचबिचार गरी आफ्नो सम्बन्धका लागि धेरै प्रयास गरेपछि हामी आफ्नो वैवाहिक जीवन अन्त्य गर्ने निर्णयमा पुगेका हौं,’ उनीहरुले ट्वीटरमा लेखेका छन् । यो जोडीको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो, जतिबेला मेलिन्दाले माइक्रोसफ्टमा जागिर सुरु गरेकी थिइन् ।

    उनीहरुका तीन सन्तान छन् । सम्बन्धविच्छेदपछि पनि उनीहरुले संयुक्त रुपमा विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसन सन्चालन गर्नेछन् ।

    फाउण्डेसनले हालै मात्र बालबालिकालाई संक्रामक रोगबाट बचाउन खोप अभियानका लागि अर्बौं डलर सहयोग गरेको थियो । फोब्र्स म्यागाजिनका अनुसार गेट्स विश्वका चौथो धनी व्यक्ति हुन् । उनीसँग १ सय २४ विलियन अमेरिकी डलर सम्पत्ती छ । उनी लामो समयसम्म विश्वकै धनी व्यक्तिका रुपमा थिए ।

    सन् १९७० को दशकमा स्थापना भएको माइक्रोसफ्टका सह–संस्थापक गेट्सले त्यसयता कम्पनीलाई विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी बनाए । त्यही माध्यमबाट धेरै पैसा कमाए ।

  • स्पुतनिक-भी खोप चीनमा उत्पादन गर्ने तयारी

    स्पुतनिक-भी खोप चीनमा उत्पादन गर्ने तयारी

    रासस । रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ ।

    हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने बारेमा तीन वटा सम्झौता भइसकेको रसियाले घोषणा गरेको छ ।

    त्यहाँबाट उत्पादित खोप दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकामा आपूर्ति गरिने छ । यी क्षेत्रका धेरै मुलुकले रसियाली खोपको माग गरेका छन् ।

    अमेरिकी र युरोपेली युनियनले भने आफ्नै मुलुकका खोप अभियानमा केन्द्रित गरेपछि रसियाले अन्य मुलुकका लागि खोप आपूर्तिलाई तिब्रता दिएको छ ।

    विगतमा रसियाको खोपका बारेमा विभिन्न आशंका गरिए पनि सुप्रसिद्ध बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित विवरणले स्पुतनिक भी खोप सुरक्षित रहेको र यसको प्रभावकारिता ९१ प्रतिशतको हाराहारीमा रहेको देखाएको छ ।

    तैपनि, विज्ञहरुले रसियाले विश्वका विभिन्न मुलुकबाट आइरहेको मागलाई पूरा गर्न सक्नेमा आशंका व्यक्त गरेका छन् । दशौं लाख डोज आपूर्ति गर्ने घोषणा र प्रतिबद्धता जनाए पनि रसियाले त्यसको केही अंश मात्र आपूर्ति गरिरहेको छ ।

    रसियाका सरकारी प्रवक्ता दिमित्री पेस्कोभले स्पुतनिक भी को मागलाई पूरा गर्न रसियासँग रहेका प्लान्ट पूरै सक्षम नरहेको बताए ।

    उत्पादन वृद्धि गर्न रसियाको डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले भारत, दक्षिण कोरिया, ब्राजिल, सर्बिया, टर्की, इटाली र अरु मुलुक समेतका अरु मुलुकका औषधि उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ । तर बेलारुस र कजाकस्तान बाहेक अन्य प्लान्टबाट पर्याप्त खोप उत्पादन हुन सकेको छैन ।

    लन्डनस्थित अनुसन्धान संस्था एयरफिनिटीको अनुमानमा रसियाले १०० भन्दा बढी मुलुकलाई ६३ करोड डोज स्पुतनिक भी खोप उपलब्ध गराउन सम्झौता गरेको जनाएको छ तर हालसम्म करिब एक करोड १५ लाख डोज मात्र निर्यात भएको छ ।

    फन्डले अन्य मुलुकमा कति डोज खोप निर्यात भइसक्यो भन्ने खुलाएको छैन । गत अप्रिल २७ सम्ममा स्पुतनिक भी खोप करिब २ करोड ७० लाख डोज मात्र उत्पादन भएको अनुमान गरिएको छ ।

    यसैबीच, फन्डले हुआलान बायोलोजिकल ब्याक्टेरिनसँगको साझेदारीमा १० करोड डोज तथा शेनझेन युआक्सिन जिन टेकबाट ६ करोड डोज उत्पादन गर्ने सम्झौता गरिसकेको जनाएको छ ।

    टिबेट रोडिओला फर्मास्युटिकल्सले स्पुतनिक भी खोप उत्पादन र बिक्री गर्नेगरी रसियासँग ९० लाख अमेरिकी डलरमा सम्झौता गरेको गत नोभेम्बरमै घोषणा गरिएको थियो ।

  • भारतमा २० सहित २३ नेपालीको मृत्यु  : ९३ प्रतिशत संक्रमणमुक्त

    भारतमा २० सहित २३ नेपालीको मृत्यु : ९३ प्रतिशत संक्रमणमुक्त

    दिल्ली । गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोनाभाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

    संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाअनुसार गत साता भारतमा २०, कुवेतमा २ र कतारमा १ नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य तथा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् । यससँगै हालसम्म विश्वका २१ मुलुकमा संक्रमणका कारण ३७२ नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका छन् ।

    अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपाली ६८ हजार ५०६ जना पुगेका छन् । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ संक्रमणमुक्त भएका छन् । गत साता भारत, कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक र पोल्याण्डमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको कोभिड १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

    यसैबीच नेपालमा हालसम्म २ लाख ९७ हजार ८७ संक्रमित पुगेकामा ९३ दशमलव ३ प्रतिशत अर्थात् २ लाख ७७ हजार १२३ संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार सांँझसम्म ३ हजार १३६ जनाको निधन भएको छ ।
    पछिल्लो एक वर्षमा सबैभन्दा बढी मेमा ६८, सेप्टेम्बरमा ६५ र अगष्टमा ३६ नेपालीको निधन भएको थियो । यो वर्ष शुरु भएपछि भने यही अप्रिलमा २३ नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । गत वर्ष जुन, जुलाई, डिसेम्बर र यस वर्ष जनवरीमा सबैभन्दा धेरै नेपाली कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

    यसैबीच गत सोमबार वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले महामारीका दौरान २५० चिकित्सक र नर्स परिचालन गरिएको जानकारी दिए । उनका अनुसार नेपाल बाहिर करीब ५ हजार चिकित्सक र १५ हजार नर्स नेपाली छन् । ती सबै स्वास्थ्यकर्मीलाई एनआरएनमा जोड्ने प्रयास भइरहेको उनले बताए ।

    टेलिहेल्थ सेवा प्रयोगका लागि आग्रह

    एनआरएनएले शुरु गरेको टेलिहेल्थ सेवाले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भए फोनबाट परामर्श लिन सकिने जनाएको छ । समितिले दुई विश्व स्वास्थ्य सम्मेलन आयोजना गरिसकेको र तेस्रो विश्व स्वास्थ्य सम्मेलन सन् २०२१ सेप्टेम्बर १७ देखि १९ मा लण्डनमा आयोजना गरिने जनाइएको छ ।
    डा सापकोटाले संघले ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ शुरु गरेर कोभिड १९ बाट जोगिन र संक्रमित भए कसरी स्वास्थ्य सेवा प्राप्त गर्ने भन्नेबारे नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरेको जानकारी दिए । पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले महामारीकै बीच पनि ५० देशका ३ सय शहरमा २ हजार ५ सय स्वयंसेवक परिचालन गरी सेवा प्रदान गरिएको बताए ।

    उनका अनुसार एनआरएनमार्फत १ लाख ७० हजारलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको थियो । त्यस्तै संघका संरक्षक एवं पूर्वाध्यक्ष जीवा लामिछानेले विगतका अन्य विपद्मा जस्तै कोभिड महामारीका बेला पनि एनआरएनले नेपालीलाई सघाएको बताए ।

    मानसिक स्वास्थ्य समस्यामा वृद्धि

    कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन् । डा. सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुअल माध्यमबाट सहभागी चिकित्सकले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताए । महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्नेलगायत समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए ।

    मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालीम सञ्चालन गरेको डा. सापकोटाले जानकारी दिए । त्यस्तै आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । स्वास्थ्य समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली चिकित्सक सहभागी छन् । विदेशमा रहेका नेपालीको अवस्थाको तथ्यांक संकलनमा युरोपबाट डा. बोधराज सुवेदी, बेलायतबाट डा. दिलीप यादव, कतारबाट डा. नितेश अर्याल, दक्षिण अफ्रिकाबाट डा. सरिता भट्टराई र स्पेनबाट नर्स सांग्रिला लामालगायतको टोलीले सहयोग गरिरहेको छ ।