Category: विश्व प्रेस

  • भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिनमा ४,५०० ले ज्यान गुमाए

    भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिनमा ४,५०० ले ज्यान गुमाए

    दिल्ली । कोरोनाभाइरस संक्रमणको कारण भारतमा अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पछिल्लो ४ हजार ५ सय २९ जनाको मृत्यु भएको छ ।

    दैनिक मृत्यु हुनेको संख्यामा भारतले अमेरिकालाई समेत उछिनेको छ । संक्रमण दर घटेपनि भारतमा मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।

    थप २ लाख ६७ हजार ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ लाख ८९ हजार ८ सय ५१ जना डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म २ करोड ५४ लाख जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड १९ लाख जना संक्रमण मुक्त भएका छन् ।

    मुत्यु हुनेको कूल संख्या २ लाख ८३ हजार २ सय ४८ रहेको छ भने संक्रिय संक्रमित संख्या ३२ लाख २६ हजार ७ सय १९ छ ।

     

  • अमेरिकी राष्ट्रपति दम्पत्तिले गतवर्ष कमाए ६ लाख डलर

    अमेरिकी राष्ट्रपति दम्पत्तिले गतवर्ष कमाए ६ लाख डलर

    वासिङटन् । अमेरिकी राष्ट्रपति जो बाइडेन दम्पत्तिको गतवर्षको आम्दानी विवरण सार्वजनिक भएको छ । कर दर्ता गर्ने समयावधीको अन्तिम दिन बाइडेन र उनकी पत्नी जिल बाइडेनको विवरण सार्वजनिक गरिएको हो ।

    उनीहरुले सन् २०२० मा कूल ६ लाख ७ हजार ३ सय ३६ डलर आम्दानी गरेका छन् । संघीय आयकरबापत १ लाख ५७ हजार ४ सय १४ डलर खर्च गरेका छन् जुन संघीय आयकर दरको २५ दशमलव ९ प्रतिशत हो ।

    बाइडेन दम्पत्तिले २३ औं बर्षपनि आफ्नो आम्दानीको विवरण सार्वजनिक गरेका हुन् । सन् २०१९ मा चुनावी अभियान सुरु भएयता बाइडेन दम्पत्तिको आम्दानीमा गिरावट आएको देखिएको छ ।

    उपराष्ट्रपतिको पदावधि सकिएपछि सन् २०१७ देखि २०१९ सम्ममात्र उनीहरुले १५ मिलियन डलर भन्दा बढी कमाएका थिए । यो आम्दानी अधिकांश पुस्तक बिक्रि र भाषण कार्यक्रमको थियो ।

  • चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

    चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

    मुम्बइ । भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ । मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो । त्यसमा परी कम्तीमा पनि १२७ जना व्यक्ति हराएका बताइएको छ ।

    सो डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीमा जल सैनिकले १४६ जनाको सकुशल उद्धार गरेर निकालेको छ ।

    सो डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका बताइएको छ । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो ।

    मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले सो चक्रवात आएको थियो । त्यो चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ । भारतको गुजरातको समुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ । कतै यस चक्रवातका कारण पहिरो समेत गएको पनि भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

  • कोभिडको कारण जापानको जीडीपी ४.६ प्रतिशतले खुम्चियो

    कोभिडको कारण जापानको जीडीपी ४.६ प्रतिशतले खुम्चियो

    टोकियो । जापानको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ । सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जीडीपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्यांक विभागले जनाएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका क्रममा जापानको अर्थतन्त्र ३.६ प्रतिशतले संकुचित भएको थियो ।

    साथै यस वर्ष सन् २०२१ को जनवरीदेखि मार्चको तीन महिनाको अवधिमा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशको अर्थतन्त्र ५.१ प्रतिशतले घटेको छ । जापानको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा कोरोनाभाइरस संक्रमण रोक्न सरकारले ल्याएको आपतकालीन उपायहरुका कारण अर्थतन्त्रमा मन्दी आएको उल्लेख छ ।

    गत वर्ष नोभेम्बरदेखि कोभिड-१९ को संक्रमण बढेसँगै सरकारले टोकियो महानगर क्षेत्रमा जनवरीको शुरुतिर आपतकालीन स्थितिको घोषणा गरेको थियो । तर मार्चको अन्त्यतिर प्रतिबन्ध हटाउनुअघि जापानमा टोकियो सहित ४७ वटा प्रिफेक्चरमा आपतकाल लगाइएको थियो ।

    आपतकालका दिनहरुमा मानिसलाई घरभित्रै बस्न तथा रेष्टुरेन्ट र बारहरु खुल्ने समय छोट्याइएको थियो जसबाट निजी उपभोगमा १.४ प्रतिशतले गिरावट आएको थियो ।

    सन् २०२० को दोस्रो त्रैमासिक अवधिमा तिब्र रुपमा गिरावट आएको जीडीपीमा अक्टोबर-डिसेम्बरको अवधिमा अर्थतन्त्र पुनः पुरानै लयमा फर्किएको थियो । यस अवधिमा जापानको उपभोग र निर्यात दुबै बढेको थियो ।

    केही विश्लेषकहरुका भनाईमा कोभिड-१९ को आपतकाल घोषणाका कारण जापानको अर्थतन्त्र चालु अप्रिल-जुन अवधिमा पनि केही खुम्चिने छ । जापानमा कोभिड-१९ को खोप लगाउने दर पनि विकसित मुलुकहरुको दाँजोमा न्यून रहेको छ ।

  • विश्व नै खोप विभेदको जोखिममा छ : डब्लुएचओ

    विश्व नै खोप विभेदको जोखिममा छ : डब्लुएचओ

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड-१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । उनले सोमबार भने, पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तिब्र विभेद छ ।

    पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, ‘मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रङ्गभेदी छ । तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरुको जनसंख्या विश्व जनसंख्याको करिब १५ प्रतिशत छन् तर विश्वमा उत्पादित खोपको झण्डै ४५ प्रतिशत त्यहीँ छ । न्यून र मध्यम आय भएका मुलुकहरुमा विश्वको झण्डै आधा जनसंख्या छ, तर खोप भने १७ प्रतिशत मात्र उपलब्ध छ । खोप वितरणमा ज्यादै ठूलो अन्तर प्रष्टै देखिएको छ ।’

    उनले विश्वका १२४ वटा देशमा करिब ६३ लाख डोज खोप पठाइएको छ, तर यो खोप ती देशको कूल जनसंख्याको ०.५ प्रतिशत मात्र रहेको बताए ।

    खोप वितरणमा देखिएको यस किसिमको असमता हटाउन लगानी बढाउनुपर्ने, कोभाक्समा खोप उपलब्ध हुनुपर्ने तथा खोपको उत्पादन बढाउन प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।

    महासचिव घेब्रेससले भने, ‘कतिपय उच्च आय भएका मुलुकहरुले आफ्ना बालबालिका र किशोर किशोरीलाई खोप दिन थालिसकेका छन्, जबकी विश्वका धेरै देशमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अन्य जोखिम समूहमा रहेका व्यक्तिले खोप लगाउनै पाएका छैनन् ।’

    यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आगामी ६ हप्ताभित्रै आफूसँग रहेको ८ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

    राष्ट्रपति बाइडेनले भने, ‘आज, विश्वलाई नै मद्दत गर्न हामी नयाँ उपाय अवलम्बन गर्दैछौं । विश्वभर कोरोनाभाइरस नियन्त्रणमा नआउँदासम्म हामी महामारीबाट सुरक्षित भइहाल्ने अवस्था छैन । जतिसुकै अग्लो पर्खाल बनाए पनि वा जतिसुकै फराकिलो समुद्रले पनि हामीलाई सुरक्षित राख्न सक्दैन ।’

    -रासस

  • अमेरिकाले थप २० मिलियन डोज खोप अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने

    अमेरिकाले थप २० मिलियन डोज खोप अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने

    वासिङ्टन । अमेरिकाले कोभिड-१९ विरुद्धको थप २० मिलियन डोज खोप अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने घोषणा गरेका छन् ।

    अमेरिकामै उत्पादन भएका मोर्डन, फाइजर र जोन्सन एन्ड जोन्सनको उक्त परिमाणको खोप बाँड्ने घोषणा राष्ट्रपति जो बाइडेनले गरेका हुन् ।

    जुन महिनाको अन्त्यसम्म ती भ्याक्सिनलाई विदेशमा वितरण हुने जनाइएको छ । कुनैपनि मुलुकले अन्तर्राष्ट्रिय समुदायलाई दिएको खोपभन्दा यो पाँचगुणाले बढी हो ।

    बाइडेनले यसअघि पनि ६० मिलियन अस्ट्राजेनेका खोप वितरण गर्ने घोषणा गरिसकेका छन् । अमेरिकामा भने अस्ट्राजेनेकाको भ्याक्सिनले प्रयोगको अनुमति प्राप्त गरिसकेको छैन ।

    नेपालले पनि अमेरिकाबाट खोप आपूर्तिका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेको छ । अमेरिकी राजदूत बेरीले पनि नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको र वासिङ्टनमा खबर दिइसकिएको जनाएका छन् ।

    अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई दिने भनेको ८० मिलियन डोज नेपालले प्राप्त गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

  • भारतमा एकैदिन ४३ सयको मृत्यु, २ लाख ६३ हजार संक्रमित

    भारतमा एकैदिन ४३ सयको मृत्यु, २ लाख ६३ हजार संक्रमित

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट भारतमा ४ हजार ३ सय २९ जनाको मृत्यु भएको छ । २ लाख ६३ हजार ५ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् भने ४ लाख २२ हजार ४ सय ३६ जना डिस्चार्ज भएका छन् ।

    भारतमा हालसम्म २ करोड ५२ लाख २८ हजार ९ सय ९६ जना कोभिड-१९ बाट संक्रमित भएका छन् भने २ करोड १५ लाख ९६ हजार ५ सय १२ जना संक्रमण मुक्त भएका छन् ।

    हालसम्म भारतमा मृत्यु हुनेको संख्या २ लाख ७८ हजार ७ सय १९ जना पुगेको छ भने संक्रिय संक्रमितको संख्या ३३ लाख ५३ हजार ७ सय ६५ रहेको छ ।

     

  • चिनियाँ आर्थिक विकासमा स्थिरता

    चिनियाँ आर्थिक विकासमा स्थिरता

    चीन । केन्द्रीय तथ्याङ्क विभागले अप्रिल महिनामा चीनको आर्थिक परिस्थिति स्थिरताका साथ विकास भएको सार्वजनिक गरेको छ ।

    कोरोना महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउन चीनको अथक प्रयासपछि राष्ट्रिय अर्थतन्त्रलाई स्थिरताका साथ अघि बढेको प्रवृति पछिल्लो तथ्याङ्कले देखाएको हो ।

    तथ्याङ्क अनुसार जनवरीदेखि अप्रिलसम्म चीनको अचल सम्पत्ति १४३ खर्ब ८० अर्ब ४० करोड चिनियाँ युआन पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.९ प्रतिशत बढी हो ।

    अप्रिलमा चीनमा बेरोजगारी दर ५.१ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.१ प्रतिशतले कमी हो ।

    त्यसैगरी उपभोग्य बस्तुको विक्री ३३ खर्ब १५ अर्ब ३० करोड युआन पुगेको छ । मालसामानको आयात तथा निर्यातको कुल रकम ३१ खर्ब ४९ अर्ब २० करोड चिनियाँ युआन पुगेको छ ।

    चीनमा यो वर्षको अप्रिलमा इन्टरनेट मार्फत् बिक्री सामानहरूको रकम ३७ खर्ब ६३ अर्ब ८० करोड युआन पुगेको छ । सेवामुलक उत्पादनको सूची गत बर्षको सोही अवधिको तुलनामा १८.२ प्रतिशतले बढेको छ ।

    सन् २०२१ को अप्रिलमा औद्योगिक उत्पादनको थप मूल्य गत बर्षको सोही अवधिको तुलनामा ९.८ प्रतिशतले बढेको छ ।

    यी सबै सूचकाङ्क चीनको समृद्ध अर्थव्यवस्थाका द्योतक मानिएको सरकारी अधिकारीले जनाएका छन् । सन् २०२० मा कोभिड-१९ का कारण सामान्य प्रभावित बनेको चिनियाँ अर्थतन्त्रमा यो बर्षको सुरूदेखि नै सुधार देखिएको छ ।

  • अष्ट्रेलियाले २०२२ को मध्यसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने, विदेशी विद्यार्थी र पर्यटक प्रभावित

    अष्ट्रेलियाले २०२२ को मध्यसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने, विदेशी विद्यार्थी र पर्यटक प्रभावित

    क्यान्बेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै असुरक्षित रहेको बताएका छन् ।

    राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड-१९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारे ।

    अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन् २०२१ र २२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने सङ्केत गरेको छ ।

    प्रधानमन्त्री मोरिसनले सोमबार संवाददाताहरुसँग भने, ‘अहिल्यै कुनै कदम चालिहाल्नु त्यति सुरक्षित छैन । एक दिन सीमा खोल्ने, अर्को दिन बन्द गर्ने कार्य त्यति व्यवहारिक हुँदैन । यसरी हुँदैन ।’

    उनले अगाडि भने, ‘खासमा समग्र सीमा व्यवस्थापन मुख्य कुरा हो, सुरक्षित भएको सुनिश्चित नहुँदासम्म सीमा खोल्न सकिँदैन ।’

    प्रधानमन्त्री मोरिसनले अर्को कदमका रुपमा सबै अस्ट्रेलियाली नागरिकलाई खोप लगाउनुका साथै अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासी कामदारलाई अस्ट्रेलिया फर्काउन सहजीकरण गरिने स्पष्ट गरे ।

    हालै गरिएको जनमत सर्वेक्षणमा अधिकांश व्यक्तिले सीमा सम्बन्धी प्रधानमन्त्री मोरिसनले लिएको कदमको समर्थन गरेलगत्तै प्रधानमन्त्री मोरिसनले उक्त धारणा व्यक्त गरेका हुन् ।

    आइतबार राति सार्वजनिक गरिएको पछिल्लो न्यूजपोलमा ७३ प्रतिशत मतदाताले सरकारको सीमा सम्बन्धी नीतिको समर्थन गरेका थिए । उनीहरुले आगामी सन् २०२२ को मध्यसम्म सीमा बन्द गर्नुपर्ने बारेमा अभिमत राखेका थिए ।

    सिमा नखुल्ने अनिश्चिततासँगै त्यहाँ जान लागेका अन्तर्राष्ट्रिय विद्यार्थी र पर्यटकमा अन्यौल छाएको छ। अस्ट्रेलियाले हाल न्युजिल्यान्डसँगको सीमा मात्र खोलेको छ। दुबै देशका नागरिक एक अर्को देशमा बिना क्वारेन्टाइन भ्रमण गर्न पाएका छन्।

  • कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह

    कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह

    संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी-७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड-१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गरेका छन् ।

    विश्वका न्यून तथा मध्यम आय भएका मुलुकका लागि खोप खरिद एवं वितरण गर्नेगरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मातहत कोभाक्स स्थापना भएको छ । यस कोभाक्समा विभिन्न राष्ट्र, व्यक्ति तथा संस्थाले खोपको व्यवस्था गर्न रकम उपलब्ध गराइरहेका छन् ।

    बेलायतको राजधानी लन्डनमा आगामी जुन महिनामा जी-७ का नेताहरुको शिखर सम्मेलन हुँदैछ ।

    वैज्ञानिक अनुसन्धान सम्बन्धी कार्य गर्ने एयरफिनिटी संस्थाले उपलब्ध गराएको नयाँ विवरणमा जी-७ का राष्ट्र एवं युरोपेली युनियनले आगामी जुन, जुलाई र अगस्टमा आफूसँग उपलब्ध हुने २० प्रतिशत मात्र खोप उपलब्ध गराए १५ करोड ३० लाख डोज कोभाक्समा प्राप्त हुने उल्लेख छ ।

    महानिर्देशक फोरले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई खोप लगाउने लक्ष पूरा गरेरै पनि कोभाक्समा ठूलो परिमाणमा खोप उपलब्ध हुन सक्ने बताए ।

    ‘कतिपय जी-७ का सदस्य मुलुकहरुसँग अन्यको तुलनामा बढी नै आपूर्ति हुँदैछ भने केहीले देशभित्र थप खोप लगाउने अभियान सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा पनि बढी भएको खोप कमजोर राष्ट्रहरुलाई उपलब्ध गराउन सकिन्छ,’ उनले भने ।

    उनले अतिरिक्त खोप तत्कालै उपलब्ध गराउनु न्यूनतम, अत्यावश्यक र आपतकालीन उपाय हो, र यो तत्कालै जरुरी भइसकेको छ भने ।

    भारतमा कोरोनाभाइरस महामारी तिब्र गतिमा फैलिएका कारण पनि कोभाक्समा उपलब्ध हुने खोपमा व्यापक कमी आएको छ । भारतको सेरम इन्स्टिच्यूट कोभाक्सका लागि खोप उपलब्ध गराउने प्रमुख खोप उत्पादक कम्पनी हो ।

    तर भारतमै खोपको माग अत्यधिक रहेका कारण मे महिनाको अन्त्यसम्ममा कोभाक्समा उपलब्ध हुनुपर्ने १४ करोड डोज खोप प्राप्त हुने सम्भावना देखिएको छैन जसका कारण न्युन एवं मध्यम आय भएका मुलुकहरुलाई कोभाक्समार्फत खोप उपलब्ध गराउने योजनामा धक्का लाग्ने निश्चित छ ।

    यतिमात्र होइन, आगामी जुन महिनामा थप पाँच करोड डोज पनि उपलब्ध हुने सम्भावना देखिन्न, महानिर्देशक फोरले भने ।

    कोरोनाभाइरस महामारीबाट उम्किने सबैभन्दा प्रभावशाली उपाय भनेकै खोपको विश्वभर समतामूलक वितरण र उपचार नै हो । कोभाक्सको प्रमुख साझेदार संस्थाका रुपमा युनिसेफ पनि यस अभियानमा सक्रियतापूर्वक लागेको छ, उनले भने ।

  • क्यानडाले अस्ट्राजेनेका खोप अन्य देशलाई बाँड्ने, के नेपालले पाउला ?

    क्यानडाले अस्ट्राजेनेका खोप अन्य देशलाई बाँड्ने, के नेपालले पाउला ?

    काठमाडौं । क्यानडाकी आपूर्तिमन्त्री अनिता आनन्दले आफ्नो देशले आगामी महिना कोभिड-१९ प्रभावित विभिन्न मुलुकलाई अस्ट्राजेनेका खोप वितरण गर्ने बताएकी छिन् ।

    क्यानडाको ग्लोबल न्यूजका अनुसार रगत जम्ने समस्याको देखिएको कारण क्यानडाका केही राज्यले अहिले खोप अभियान स्थगित गरेका छन् । जसले गर्दा उपलब्ध खोप प्रयोगमा नआउने भएपछि अन्य मुलुकमा आपूर्ति गर्ने तयारी भैरहेको उनले बताइन् ।

    विश्वभरबाट खोपको ब्यापक माग भएपछि ती मुलुकलाई खोप आपूर्ति गर्ने तयारी भैरहेको मन्त्री आनन्दले जनाएकी छिन् ।

    ‘यदि खोपहरु प्रयोगमा आउँदैनन् भनेर हामीले तिनीहरुलाई आपूर्ति गर्ने सोच बनाएका छौं र अहिले छलफल जारी छ’ क्यानडाको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले भनिन् ।

    ‘हाम्रा प्रधानमन्त्रीले पनि उल्लेख गर्नुभएको छ कि क्यानडेली नागरिकले प्रयोग नगरेको खोपमा अन्य मुलुकको पहुँच सुनिश्चित तुल्याउनुपर्छ’ उनले जनाएकी छिन् ।

    गतसाता ओन्टारियो र अल्बर्टा राज्यले खोप अभियान स्थगित गरेका थिए । अस्ट्राजेनेका खोपको आपूर्ति प्रभावित बनेको र केहीमा रगत जम्ने समस्या भएकाले ती दुई राज्यले खोप अभियान स्थगित गरेका थिए ।

    क्यानडाले अहिलेसम्म २.३ मिलियन जनसंख्यालाई खोप लगाइसकेको छ ।

  • कोभिड-१९ महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो

    कोभिड-१९ महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो

    दिल्ली । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलि-अलि छोप-छाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

    कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो ।

    जीप र डुङ्गाबाट गस्ती गरिरहेका प्रहरीले लाउडस्पिकरको सहायताले नदीमा जथाभावी शव नफाल्न र नदी किनारामा अव्यवस्थित रुपमा शव नछाड्न आममानिसहरुलाई अनुरोध गर्न थालेका छन् । प्रहरीले लाउडस्पिकरबाट भनिरहेको थियो, ‘हामी तपाइँलाई अन्तिम संस्कारका लागि मद्दत गर्न यहाँ आएका हौ ।’

    शुक्रबार, वर्षाले उत्तर प्रदेश राज्यको प्रयागराज शहरको गङ्गा नदी किनारमा बालुवाले छोपछाप पारेका शव बेरिएका कपडा निकालिदिएको थियो ।

    उत्तर प्रदेश राज्य सरकारका प्रवक्ता नवनीत सेहगलले आइतबार स्थानीय सञ्चार माध्यममा छापिएका समाचारको खण्डन गरेका थिए । समाचारमा कोभिड–१९ का कारण मृत्यु भएका एक हजारभन्दा बढी शव विगत दुई सातामा गङ्गा नदी किनारामा बेवारिसे अवस्थामा भेटिएको उल्लेख थियो । तर सेहगलले दाबीका साथ भने, ‘यी शव कोभिड–१९ बाट पीडित व्यक्तिका होइनन् ।’

    उनले केही मानिसले हिन्दु परम्परा अनुसार गर्नुपर्ने आफ्ना मृतक परिवारजनको दाहसंस्कार यसपटक विभिन्न कारणले विधिपूर्वक नगरेको बताए ।

    एक जना वरिष्ट प्रहरी अधिकृत के.पी. सिंहले कोभिड-१९ का कारण मृत्यु भएकाहरुको दाहसंस्कारका लागि प्रयागराजको नदी किनारामा अलग्ग ठाउँको व्यवस्था गरिएको बताए । कसैलाई पनि नदीको सामुन्ने दाहसंस्कार गर्नबाट रोकिएको छ, उनले भने ।

    उनले प्रचार गरिएजस्तो नभई नदी किनारामा सानो संख्यामा शव भेटिएका बताए, तर उनले वास्तविक संख्या दिन इन्कार गरे ।

    दाहसंस्कारका कार्यमा मद्दत गरिरहेको समाजसेवी संस्था बोन्धु महल समितिका सदस्य रमेश कुमार सिंहले ग्रामीण इलाकामा मृत्यु भएका व्यक्तिको संख्या निकै ठूलो रहेको बताए । उनले दाहसंस्कारको काममा बढी खर्च र काठको अभावका कारण धेरै गरिब परिवारले आफ्ना आफन्तजनलाई नदी किनारामा त्यतिकै गाडिदिने गरेको जानकारी दिए ।

    हालका दिनहरुमा दाहसंस्कारका लागि तीन गुणा मूल्य बढेको छ अर्थात् एक शवको व्यवस्थापनका लागि भारु १५ हजारसम्म पर्न थालेको छ ।

    राज्यका स्वास्थ्य अधिकारीहरुले गत साता गङ्गा नदीले छेउ लगाएका ७१ शव फेला पारेका थिए । अधिकारीहरुले ती शवको पोस्टमर्टम गरेका थिए तर शवहरु सडिसकेकाले मृत्युको ठोस कारण ठम्याउन सकेका थिएनन् ।

    उत्तर प्रदेशकै राजधानी लखनऊबाट करिब ४० किलोमिटर दक्षिणको उन्नाउ जिल्लास्थित गङ्गा नदी तटमा बालुवाले छोपेको अवस्थामा गत साता एक दर्जन शव फेला परेका थिए । जिल्ला मजिस्ट्रेट रवीन्द्र कुमारले मृत्युको कारण पहिल्याउन अनुसन्धान जारी रहेको बताएका छन् ।

    भारतका दुई ठूला राज्यहरु उत्तर प्रदेश र बिहारमा झण्डै ३५ करोड ८० लाख मानिसको बसोबास छ । यी दुई राज्यहरु अहिले कोभिड–१९ बाट सर्वाधिक प्रभावित देखिएका छन् । तुलनात्मक रुपमा गरिब मानिएका यी दुई प्रदेशका मानिसले आफ्ना आफन्तको उपचारका लागि नजिकका शहर, बजारमा लैजाने गरेका छन् । तर धेरैको बाटोमै मृत्यु भइरहेका खबर निरन्तर आइरहेका छन् ।

    केही हप्तादेखि तिब्र गतिमा फैलिएको कोरोनाभाइरस अहिले केही मत्थर हुन लागेको सरकारका स्वास्थ्य सल्लाहकार डा. भि.के. पलले बताए ।

    भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणमा विगत २४ घण्टामा भारतमा तीन लाख ११ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमित भएका उल्लेख छ । यो संख्या अघिल्लो दिनको भन्दा करिब १५ हजारले कमी हो ।

    तर मृत्यु दरमा भने कमी आएको छ । विगत २४ घण्टामा भारतमा चार हजार ७७ जनाको कोभिडको संक्रमणकै कारण मृत्यु भएको छ । योसहित भारतमा कूल मृतकको संख्या दुई लाख ७० हजार २८४ पुगेको छ । कतिपय विज्ञहरुले यो संख्याभन्दा अझ बढी व्यक्तिको मृत्यु भएको दाबी गरेका छन् ।
    -रासस

  • इजरायल-प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या २०० पुग्यो, युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

    इजरायल-प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या २०० पुग्यो, युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

    जेरुसेलेम । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १९७ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व सोमबार आठौं दिनमा प्रवेश गरेको छ ।

    मृत्यु हुनेमा ५८ बालबालिका तथा ३४ महिला रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टिनी घाइते भएको उक्त मन्त्रालयलाई उद्धृत टाइम्स अफ इजरायलले उल्लेख गरेको छ ।

    हालको हिंसाको दौरानमा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ ।

    १२ सय जनाभन्दा धेरै घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।इजरेलका अनुसार दर्जनौँ हमास विद्रोहीहरू मारिएका छन् ।

    इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ । सेनाले प्यालेष्टिनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । शनिबार राति दुबै देशका नेताहरुसँग टेलिफोनमार्फत् संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गरेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।

    बाइडेनले इजरायली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बाससँग एक्लाएक्लै फोन वार्ता गरेका हुन् । इजरायली र प्यालेस्टिनीबिचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा जारी युद्ध मथ्थर पार्न सम्वादले काम गर्ने विश्वास गरिएको छ ।

    पछिल्लो पटक इजरेली सेनाको रकेट आक्रमणमा परी प्यालेस्टाइनको एउटा शरणार्थी शिवरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । यसैगरी प्यालेस्टाइनमा एपी तथा अल जजिरालगायत विदेशी सञ्चारमाध्यमका कार्यालय रहेको टावरलाई पनि इजरायलले निशाना बनाएको छ ।

    आक्रमणमा ती सञ्चारमाध्यमका कार्यालय रहेको भवन ध्वस्त भएको छ । मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि चीनको आग्रहमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आइतबारका लागि बोलाइएको छ ।

  • दिल्ली र ढाकामा थप एकसाता लकडाउन विस्तार

    दिल्ली र ढाकामा थप एकसाता लकडाउन विस्तार

    दिल्ली । भारत र बंगलादेशको राजधानीमा थप एकसाताका लागि लकडाउन विस्तार गरिएको छ । कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै मे २३ सम्म लकडाउन थपिएको हो ।

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनको समायवधी एकसातालाई थप गरिएको बताए । दिल्लीमा संक्रमितको संख्यामा कमी आएपनि मृत्युदर भने घटेको छैन ।

    बंगलादेशको मन्त्रीपरिषद् कार्यालयले आइतबार एक परिपत्र गर्दै पछिल्लो निर्णय घोषणा गरेको हो । दोस्रो लहरको कोभिड-१९ विरूद्ध लड्न बङ्गलादेशले पहिलो पटक अप्रिल १४ देखि अप्रिल २१ सम्म बन्दाबन्दी घोषणा गरेको थियो । आठ दिनको बन्दाबन्दीलाई विभिन्न चरण गरी मे १६ अर्थात् आइतबारसम्म विस्तार गरिएको थियो ।

    पछिल्लो परिपत्र अनुसार राजस्व संकलनसम्बन्धी कार्यालय र संस्थालाई लकडाउनको दायरामा राखिएको छैन । यस अवधिमा होटल र रेष्टुरेन्टहरूले उक्त अवधिमा आफ्ना सेवालाई ग्राहकसम्म पुर्‍याउन वा अनलाइन सेवाहरू प्रदान गर्न पाउने छन् ।

    मार्चदेखि फैलिएको कोभिडको दोस्रो लहरका कारण संक्रमण दरमा थप वृद्धि देखिएपछि शनिबार रातिदेखि बङ्गलादेशले सबै माध्यमिक र उच्च माध्यमिक शिक्षा संस्थानहरू बन्द गर्ने निर्णय गरेको छ ।

    देशको स्वास्थ्य सेवा महानिर्देशालयका अनुसार कोभिडका कारण पछिल्लो २४ घण्टामा ३६३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने २५ संक्रमितको मृत्यु भएको छ । यससँगै बङ्गलादेशमा १२ हजार १४९ कोभिड-१९ संक्रमितको मृत्यु भएको छ भने संक्रमित संख्या सात लाख ८० हजारभन्दा बढी पुगेको छ ।

  • भारतमा संक्रमण ओरालो लाग्दै, सोमबार ४ हजारभन्दा बढीको मृत्यु

    भारतमा संक्रमण ओरालो लाग्दै, सोमबार ४ हजारभन्दा बढीको मृत्यु

    दिल्ली । दैनिक ४ लाखभन्दा बढीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भइरहेको भारतमा केही दिनयता संक्रमणदर ओरालो लागेको देखिएको छ ।

    त्यहाँ पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । २५ दिनपछि पहिलोपटक एक दिनमा ३ लाखभन्दा कममा भाइरस पुष्टि भएको हो ।

    संक्रमण कम भएपनि मृत्यु हुने संख्यामा भने कमी आएको छैन । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ६ जनाको मृत्यु भएको छ भने सोमबार भारतमा ३ लाख ७८ हजार ७ सय ४१ जना संक्रमणबाट निको भएका छन् ।

    भारतमा अहिलेसम्म २ करोड ४९ लाख ६५ हजार ४ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड ११ लाख ७४ हजार ७६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ३ सय ९० पुगेको छ ।

  • न्यू योर्क टाइम्सबाट ओपेडको अवकाश, यस्तो छ कारण

    न्यू योर्क टाइम्सबाट ओपेडको अवकाश, यस्तो छ कारण

    अंग्रेजीमा ‘ओपी–इडी’ भनेर लेखिने शब्दलाई छोटकरीमा ‘ओपेड’ भनेर चिनिन्छ । ओपेड शिर्षक अन्तर्गत विभिन्न खालका आलेख प्रकाशित हुन्छन् ।

    ओपेडको खास अर्थ ‘अपोजिट दि एडिटोरियल पेज’ अर्थात ‘सम्पादकीय पृष्ठको विपरीत’ हो । कतिपयले ‘एडिटोरियल एन्ड ओपिनियन’ अर्थात ‘सम्पादकीय र विचार’ पनि भन्ने गर्छन । नेपालमा आधारभूत पत्रकारिता पढाउने कतिपय अध्यापकले समेत ओपेडलाई ‘ओपिनियन एन्ड एडिटोरियल’ नै भनेर पढाउँछन । डेढ दशकदेखि पत्रकारिताको अनुसन्धान र लेखनमा सक्रिय भानुभक्त आचार्यको बुझाईमा पुस्तकमा वास्तविकता लेखिएपनि नेपालमा अधिकांशले ओपेडको अवास्तविक अर्थ नै प्रयोग गर्ने गरेका छन् । ‘मैले सत्र वर्षदेखि किताबमा अपोजिट दि एडिटोरियल पेज लेख्ने गरेकै छु । तर अचेल मान्छेले नबुझेर एडिटोरियल एन्ड ओपिनियन पनि चलाइदिए । यो नेपालीको मात्रै दोष होइन ।’अचार्यले हालै ट्वीट गरेका छन् ।

    ओपेडबारे जेजस्तो बुझाई विद्यमान भएपनि अब विश्वप्रसिद्ध अमेरिकी अखबार दी न्यू योर्क टाइम्सले भने यसको प्रयोग बन्द गरेको छ । गत अप्रिल २६ मा दी न्यू योर्क टाइम्सले ओपेड शब्दलाई ‘अवकाश’ दिने सार्वजनिक रुपमा बताएको थियो । विचारपृष्ठका सम्पादक क्याथलिन किंङ्गबरीले एक आलेख लेखेरै यसबारे प्रष्टोक्ति दिएकी छिन् । ‘ह्वाई दी न्यू योर्क टाइम्स इज रिटायरिङ दी टर्म ओपेड’ अर्थात दी ‘न्यू योर्क टाइम्सले किन ओपेड पदावलीलाइ अवकाश दिँदैछ ?’ भनेर लेखिएको आलेखमा उनले प्रस्टोक्ति दिएकी छिन् ।

    क्याथलिन किंङ्गबरीको बुझाईमा ओपेड अखबार पत्रकारिताको परम्परागत शब्द हो । अब डिजिटल युग सुुरु भइसकेकोले यसबारे नयाँ शब्द प्रयोग गरिनुपर्ने उनको तर्क छ । उनी लेख्छिन, ‘डिजिटल दुनियाँमा जहाँ टाइम्सका लाखौँ पाठकहरुले अखबारको पत्रकारिता ग्रहण गर्छन् । त्यहाँ कुनै भौगोलिक एडिटोरियल हुन्न जसको विपरीत पृष्ठमा ओपेड होस । यो त एक पुरानो जमानाको अखबारे साजसज्जाको एक अवशेष मात्रै हो ।’

    जसले ओपेड चर्चित बनायो उसैले छोड्यो

    ओपेड शब्दको सुरुवा दी न्यु योर्क टाइम्सले गरेको भने होइन । ओपेड ‘क्वाइन’ गर्ने सम्पादक थिए हर्बट बायर्ड स्वोप । सन १९२० को दशकमा न्यु योर्क वल्र्ड पत्रिकामा सम्पादक हुँदा उनले ओेपेड शब्द प्रचलनमा ल्याएका थिए । स्वोपले ओपेड बारेको भनेको एक भनाइ ज्यादै चर्चित छ । उनले भनेका थिए, ‘नथिङ इज मोर इन्ट्रेस्टिङ देन ओपिनियन, ह्वेन ओपिनियन इज इनट्रेस्टिङ’ अर्थात ‘विचार भन्दा चाखलाग्दो चीज अरु केही हुँदैन जब विचार चाखलाग्दो हुन्छ ।’ ओपेडलाई अवकाश दिन लेखिएको आलेखमा समेत दि न्यु यार्क टाइम्सले भनाई उधृत गरेको छ ।

    हर्बट बायर्ड स्वोपले ‘क्वाइन’ गरेको नाम भएपनि ओपेडको व्यापकतामा उनको उल्लेख्य योगदान भने थिएन । उनले आफ्ना अखबारमा संस्थागत सदस्यहरुलाई मात्रै ओपेड लेख्न लगाएको अमेरिकाको डिजिटल म्यागाजिन स्ेलटमा ज्याक स्याफरले सन २०१० सेप्टेम्बर २७ मा लेखेका छन ।

    आफ्नै अखबारका सदस्यहरुको मात्रै ओपेड छापिने क्रमलाई सन् १९७० सेप्टेम्बर २१ बाट दी न्यु योर्क टाइम्सले आम मान्छेहरुको पहुँचमा पुर्याएर छाप्न थाल्यो । त्यससंगै अखबारको क्रेजमात्रै हैन ओपेडकै महत्व बढेको दी न्योर्क टाइम्सले लेल्लेख गरेको छ । अमेरिकामा मात्रै नभई विश्वभरको मिडियामा ओपेडको व्यापक प्रयोग भयो । दी न्यू योर्क टाइम्सको अवकाश बारेकै आलेखमा लेखिएको छ, ‘ओपेडको दौडाई महान रह्यो । यो बाँकी उद्योगको लागि मानक नै बन्यो र पाठक तथा लेखकहरुका बीचमा अत्यधिक लोकप्रिय बन्यो ।’

    यद्यपि, १९२० को दशकमा ‘क्वाइन’ भएको ओपेडलाई आधा शताब्दीपछि प्रयोगमा ल्याएको दी न्यु योर्क टाइम्सले आधा शताब्दीसम्म प्रयोग गरेर बिट मारेको छ ।

    ‘ओपेड’ आउट ‘गेस्ट एस्से’ इन

    ओपेड शब्दलाई अवकाश दिएको दी न्यु योर्क टाइम्सले नयाँ शब्द ‘क्वाइन’ गरेको छ । त्यो हो- गेस्ट एस्से । यसको सामान्य नेपाली भावार्थ ‘अतिथि निबन्ध’ हुन्छ । अहिले अनलाइन संस्करणमा ओपेड भेटिदैन । गेस्ट एस्से भनेर प्रस्ट भनिएको हुन्छ ।

    ओपेडलाइ अवकास दिनु अगाडि दी न्यू योर्क टाइम्सले यसको प्रयोग आधा शताब्दीसम्म गर्यो । दी न्यु योर्क टाइम्सको प्रथम ओपेडको प्रकाशन सन १९७० को सेप्टेम्बर २१ मा भएको थियो ।

    ओेपेडको पहिलो प्रकाशनमा दी न्यू योर्क टाइम्ले लेखेको थियो, ‘ओपेड पेजको उद्देश्य न त टाइम्सको सम्पादकीयलाइ अझ पृष्ठपोषण गर्नु हो, न त यसको विपरीत धारणा नै दिनु हो ।’ टाइम्सले त्यतिबेलै ओपेडको उद्देश्य आपूmसंग संस्थागत रुपमा नजोडिएका लेखक र चिन्तकहरुको विचारहरु प्रकाशन गर्नु र लोकतन्त्रको स्वास्थ्य सुदृढ पार्नु रहेको जनाएको थियो ।

    विश्वभर पत्रकारिताका माध्यमबाट पाठकहरुमा समेत प्रभाव पार्न सफल ‘ओपेड’ को ‘गेस्ट एस्से’ मा भएका रुपान्तरण नयाँ विश्वले कसरी ग्रहण गर्ला ? चासोकै विषय रहनेछ ।

  • बाल्यकालमै राष्ट्रपति ओबामाको अन्तरवार्ता लिएका वेभरको २३ वर्षमा निधन

    बाल्यकालमै राष्ट्रपति ओबामाको अन्तरवार्ता लिएका वेभरको २३ वर्षमा निधन

    एजेन्सी । सन् २००९ मा ह्वाइटहाउसमा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको अन्तर्वाता लिएर विश्वव्यापी वाहवाही पाएका विद्यार्थी रिपोटर डामोन वेभरको २३ वर्षको उमेरमा निधन भएको छ ।

    प्राकृतिक कारणले वेभरको मे १ मा मृत्यु भएको उनकी दिदी क्यान्डेस हार्डीले जानकारी दिएको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन् । उनको मृत्युबारे थप जानकारी सार्वजनिक गरिएको छैन । उनी पछिल्लो समय अल्बानी स्टेट युनिभर्सिटी जर्जियामा आमसञ्चार अध्ययनरत थिए ।

    वेभरले ११ वर्षको उमेरमा बाराक ओबामासँग ह्वाइटहाउसको ‘डिप्लोम्याटिक’ कक्षमा बसेर १० मिनेट लामो अन्तरवार्ता गरेका थिए । अगस्ट १३, २००९ मा उनले लिएको अन्तरवार्तामा राष्ट्रपति ओबामालाई शिक्षासँग सम्बन्धित प्रश्नहरू सोधेका थिए ।

    त्यो अन्तरवार्तामा विद्यार्थीका लागि खाजा, ‘बुलिइङ’ र विवाद् समाधान लगायतका विषयमा ओबामालाई सोधेका प्रश्नका कारण उनले विश्वब्यापी बाहबाही र प्रशंसा पाएका थिए ।

  • भारतमा शनिबार ३,८९० को मृत्यु, ३ लाख २६ हजार संक्रमित थपिए

    भारतमा शनिबार ३,८९० को मृत्यु, ३ लाख २६ हजार संक्रमित थपिए

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणले शनिवार भारतमा ३ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।

    ३ लाख २६ हजार ९८ जनामा नयाँ संक्रमित थपिएका छन् भने ३ लाख ५३ हजार २ सय ९९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमित संख्या २ करोड ४३ लाख ७२ हजार ९ सय सात पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २ करोड ४ लाख ३२ हजार ८ सय ९८ रहेको छ ।

    भारतमा कोरोनाले अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख ६६ हजार २ सय ७ को मृत्यु भइसकेको छ भने सक्रिय संंक्रमित ३६ लाख ७३ हजार ८ सय २ जना रहेका छन् ।

  • कोरोना संक्रमणले ममता बेनर्जीका भाइको मृत्यु

    कोरोना संक्रमणले ममता बेनर्जीका भाइको मृत्यु

    दिल्ली । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीका कान्छा भाइ असीमको शनिबार कोरोनासंक्रमणले मृत्यु भएको छ ।

    भारतीय संचारमाध्यमका अनुसार उनी कोलकाताको मेडिका सुपरस्पेसिलिटी अस्पतालमा उपचाररत थिए ।

    पारिवारिक स्रोतका अनुसार असीमाको शवलाई कोरोना प्रोटोकल अनुसार दाहसंस्कार गरिने भएको छ ।

    मेडिका अस्पतालका अध्यक्ष आलोक रायले असीमको मृत्यु भएको पुष्टि गरे ।

  • कोभिड-१९ का कारण स्थगित गरिएको अष्ट्रेलिया-भारत उडान पुनः सुरु गरिने

    कोभिड-१९ का कारण स्थगित गरिएको अष्ट्रेलिया-भारत उडान पुनः सुरु गरिने

    भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि सञ्चालनमा आउने प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार बताएका छन् । यसका लागि उडानपूर्व कोभिड-१९ नियनत्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गर्नुपर्नेछ ।

    अष्ट्रेलिया सरकारले व्यवसायिक उडानहरूमा कडाइका साथ नियमको पालना गर्ने शर्तमा उडानहरूलाई सञ्चालनमा ल्याइने भएको हो ।

    अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले फेसबुक पोस्टमार्फत् उक्त जानकारी गराएका छन् । पोष्टमा भनिएको छ, ‘आज मध्यरातदेखि भारतबाट अष्ट्रेलियाको लागि हुने उडानमा लगाइएको अस्थायी विराम अन्त्य भएको छ ।’

    अष्ट्रेलियाली सरकारले भारतलाई कोभिड-१९ सुरक्षाका लागि गरेको आग्रह अनुसार गर्ने भारतीय पक्षको आश्वासनपछि उडानलाई पुनः सञ्चालनमा ल्याइने भएको हो ।

    भारतमा कोभिड-१९ को संक्रमण बढेपछि मे ३ देखि उडानमा प्रतिबन्ध लगाइएको थियो । अष्ट्रेलियाले १४ दिन पहिले भारतमा रहेका आफ्ना नागरिकसमेत सरकारको निर्देशन विपरित अष्ट्रेलिया गएमा उनीहरूले संक्रामण रोग नियन्त्रण नियम अनुसार जेल वा जरिवाना तिर्नुपर्ने बताइएको थियो ।

  • जापानद्वारा थप तीन राज्यमा स्वास्थ्य सङ्कटकाल घाेषणा

    जापानद्वारा थप तीन राज्यमा स्वास्थ्य सङ्कटकाल घाेषणा

    टोकियो । जापानले कोभिड-१९ वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको छ ।

    जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गरेका हुन् ।

    सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य सङ्कटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ र यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ ।

    यसैबीच, सरकारले गुन्मा, इशिकावा र कुमामोटो प्रान्तहरूमा स्वास्थ्य क्षेत्रमा अर्ध-सङ्कटकाल विस्तार गर्ने पनि प्रधानमन्त्री सुगाले बताए ।

    स्वास्थ्य कार्यदलको बैठकमा सुगाले भने, ‘होक्काइडो, ओकायामा र हिरोशिमामा संक्रमण बढेका कारण यहाँ कडा प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ । यहाँ आइतबारदेखि मे ३१ सम्म मद्यपान गर्न र रेष्टुरेन्टहरूमा प्रतिबन्ध लगाइएको थियो ।

  • विश्वका हरेक स्वास्थ्य संकटमा किन अग्रपंक्तिमा छ कम्युनिष्ट देश क्युवा ?

    विश्वका हरेक स्वास्थ्य संकटमा किन अग्रपंक्तिमा छ कम्युनिष्ट देश क्युवा ?

    सन् २०१४देखि २०१६सम्म पश्चिम अफ्रिकालाई इबोला भाइरसले सतायो । भाइरससँग लढ्न धनी देशहरूले पैसा मात्रै सहयोग गरिरहेका थिए । तर, फिल्डमा पैसा हैन स्वास्थ्य सेवा आवश्यक थियो । क्युवाले नेतृत्व लियो । सन् २०१४ को अक्टोबरमा १ सय ६५ स्वास्थ्यकर्मी पठायो । डाक्टर, नर्स र संक्रमण नियन्त्रण विज्ञहरू समेटेर सिरिया लियोनमा क्युवाली टोली छ महिना बसेको सन् २०१४ मै बिबिसीले उल्लेख गरेको थियो ।

    इबोला आतंकको चार वर्षअगाडि हाइटीको हैजा संकटमा उस्तै नाम कमायो क्युवाली मेडिकल मिसनले । सन् २०१० को जनवरी १२ मा हाइटीमा भूकम्प आयो । २ लाख बढी मान्छेको ज्यान गयो । भूकम्प आएको १० महिनापछि अक्टोबर २० मा हैजा देखा पर्‍यो । हैजाले १० हजार बढीको ज्यान लियो । हैजा नियन्त्रणमा क्युवाली मिसन धेरै सफल भयो ।

    ९ सय ८ जनाको क्युवाली मेडिकल मिसनले हाइटीका दुर्गम क्षेत्रहरूका जनताको घरघरमा पुगेर सेवा गरे । हैजाको पहिलो रेस्पोन्स गर्ने देश पनि क्युवा भएको भन्दै बेलायती समाचार एजेन्सी रोयटर्स लेख्छ, ‘हाइटीका ३० देखि ४० प्रतिशत हैजा बिरामी क्युवाली स्वाथ्यकर्मीहरूले उपचार गरेका थिए ।’

    क्युवाको हाइटी सेवाको तारिफ गर्दै रोयटर्सले सन् २०१० को डिसेम्बर ३ मा हेडलाइन बनायो- हाइटी हैजाको अग्रपंङ्तिमा क्युवाली स्वास्थ्यकर्मी एक विशाल शक्ति ।

    कोभिड-१९ महामारीमा पनि क्युवाको स्वास्थ्य सक्रियता उस्तै छ । सन २०२०को अप्रिलसम्ममा मात्रै क्युवाले इटालीदेखि दक्षिण अफ्रिकासम्म १२ सय बढी स्वास्थ्यकर्मीलाई २२ देशको संकट क्षेत्रमा खटाएको बिबिसीले उल्लेख गरेको छ । दक्षिण अफ्रिका सरकारले त क्युवाली डाक्टरलाई सन् २०२१ को नोबेल पुरस्कार दिनुपर्ने प्रस्ताव समेत गरेको थियो ।

    अझ रोचक कुराचाहिँ आफ्नो कट्टर दुश्मन देश अमेरिकालाई संकट पर्दा समेत क्युवाले स्वाथ्य सहायताको प्रस्ताव गरेको थियो । सन् २००५ मा अमेरिकाको गल्फ कोस्टमा हुरिक्यान कट्रिना आउँदा तत्कालीन क्युवान रास्ट्रपति फिडेल क्यास्ट्रोले १ हजार ५ सय ८६ डाक्टर, २७ पाउन्ड औषधि र २६ टन अन्य स्वास्थ्य सहायता प्रस्ताव गरे पनि अमेरिकाले अस्वीकार गरेको सोही वर्ष अमेरिकी च्यानल सिएनएनले समाचार बनाएको थियो ।

    कोरोना संकट : दुई खोप अन्तिम चरणमा, अक्सिजन र भेन्टिलेटरमा आत्मनिर्भर
    दि न्यू योर्क टाइम्सका अनुसार अहिले विश्वमा ९० कोभिड-१९ विरुद्धका खोपहरू बन्दैछन् । त्यसमा पाँच खोप त क्युवाले मात्रै बनाएको छ । क्युवाले विकास गरेका पाँच खोपमा दुई खोप नागरिकहरुलाई लगाउन सुरु भएको छ । खोप विकास गर्ने सबैभन्दा सानो र दुई खोप अन्तिम चरणमा पुर्‍याउने क्युवा एक्लो ल्याटिन अमेरिकी देश हो ।

    ‘सोभेरेन २’ र ‘आब्दाला’ नामक दुई खोप क्युवाले आफ्ना नागरिकहरूलाई दिन थालेको छ ।

    कतिपयले क्लिनिकल ट्रायल नभइकन खोप दिएको भनेर आलोचना गरेका छन् । क्युवाली विज्ञहरूले भने यस अगाडि क्लिनिकल ट्रायल भएका १ लाख ४५ हजारको नजिता राम्रो देखिएकोले दिन थालेको बताएका छन् । क्युवा अगाडि रसिया, चीनले पनि क्लिनिकल ट्रायल गर्नुअघि खोप दिएका थिए । हाल दुवै खोप क्लिनिकल ट्रायल पार गर्दै विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त छन् ।

    क्युवाले आफ्ना एक करोड १३ लाख संख्याका नागरिकलाई आफूले बनाएको खोप लाउने लक्ष्यसाथ यात्रा तय गरेको छ । क्युवाको बायोक्युवाफर्माका सभापति डाक्टर इदुआर्दो मार्तिनेजले दि न्यु योर्क टाइम्सका क्युवा रिपोर्टर इद अगस्टिनसँग भनेका छन्, ‘सम्भवतः आफ्नै खोप सबै नागरिकलाई लगाउने पहिलो देश हामी हौं ।’

    खोप विकासमा क्युवाको अनुभव पुरानो हो । फ्रान्सेली च्यानल फ्रान्स २४ का अनुसार क्युवाले सन् १९८०को दशकपछि आफैं खोप बनाउन थालेको हो । आफूलाइ चाहिने ८० प्रतिशत खोप क्युवाले आफैं उत्पादन गरेको फ्रान्स २४ ले लेखेको छ ।

    कोभिड-१९विरुद्धका खोपहरू मात्रै हैन भेन्टिलेटरदेखि अक्सिजन सिलिन्डर उत्पादनमा पनि क्युवाले आफैं नेतृत्व गरेको छ । सन् २०२० बाट तयार गरेको क्युवाको क्युवान न्युरोसाइन्स सेन्टरका बायोमेडिकल इन्जिनियर, विश्वविद्यालयका अन्वेषकदेखि सरकार तथा निजी क्षेत्रको सहकार्यमा भेन्टिलेटर र अक्सिजन सिलिन्डर उत्पादन भएको चिनियाँ समाचार एजेन्सी सिन्हुवाले उल्लेख गरेको छ ।

    अमेरिकि नाकाबन्दीले ल्याएको क्युवाको स्वाथ्य क्रान्ति
    सन् १९५३ जुलाई २६ बाट क्युवाली क्रान्तीकारी नेता फिडेल क्यास्ट्रोले सैन्य तानाशाह फुल्गेनसियो बाटिस्टाविरुद्ध आफ्ना अर्जेन्टाइन कमरेड चे ग्वेभारासँग मिलेर क्रान्ति छेडे । आधा दशकपछि नै क्रान्ति सफल भयो । सन् १९५९ को जनवरी १ मा बाटिस्टा भागेर डोमिनिकल रिपब्लिक भन्ने देशमा आए । त्यसको ६ दिनपछि राजधानी हवाना आएर सत्तामा आएका क्यास्ट्रोको दल अहिले सम्म सत्तामा छ । क्युवामा क्यास्ट्रो सत्तामा आउँदा नेपालमा भने प्रथम आम निर्वाचनको तयारी हुँदै थियो ।

    अमेरिकी आडका सैन्य तानाशाह बास्टिस्टालाई अपदस्त गरेपछि फिडेल क्यास्ट्रोमाथि अमेरिकाले नाकाबन्दी लायो । नाकाबन्दीले टापुको देश क्युवालाइ धेरै असहज बनायो । स्वास्थ्य क्षेत्रमा झनै समस्या थोपरिएको विभिन्न सञ्चारमाध्यमले लेखेका छन् ।

    क्रान्ति सफल भएपछि यसलाई जोगाउन क्यास्ट्रोले सन् १९६० को सेप्टेम्बर २८ मा क्रान्ति रक्षा कमिटी बनाए । छोटकरीमा सिडिआर भनेर चिनिने कमिटीमा हजारौं मजदुर, किसानदेखि युवा विद्यार्थीहरू समेटिए । क्रान्तिको उपलब्धिमा कसैले धावा बोले नबोलेको नियमन गर्न र काउन्टर गर्न कमिटी बनेको थियो ।

    पछि त्यही कमिटीलाई नै सार्वजनिक स्वास्थ्य क्षेत्रमा परिचालन गरियो । फिडेलको मृत्यु भएको एक महिनापछि सन् २०१६को डिसेम्बर अंकमा भारतको म्यागाजिन डाउन टु अर्थमा लेख्दै भारतिय जनस्वास्थ्य अभियन्ता अभय सुक्लाले क्यास्ट्रोलाई सार्वजनिक स्वास्थ्यका नायक भनेका छन् ।

    उनले क्युवाले स्वास्थ्यकर्मी पठाएर धेरै देशहरूलाई सहयोग गरेको, बालमृत्युदर घटाएको, विकाशील देशहरूको विपत्तिमा सहायता गरेको तथा सन् १९९९ मा ल्याटिन अमेरिकन स्कुल अफ मेडिसिन बनाएर सयौँ स्तरीय डाक्टर उत्पादन गरेकोमा तारिफ गरेका छन् ।

    क्युवाको स्वास्थ्य क्षेत्र राम्रो भएकोले त्यसको प्रतिव्यक्ति आयु अमेरिकी र बालमृत्युदर न्युजिल्याण्ड स्तरको भएको स्पेनको अखबार एल पाइसले उल्लेख गरेको छ । एल पाइसका अनुसार मेनिन्जाइटिस बि विरुद्धको पहिलो खोप क्युवाले सन् १९८५ मै बनाएको थियो ।

    यस्तैगरी, सिपिलिस र एड्सलाई आमाबाट बच्चामा सर्न नदिने उपचार पनि क्युवाले बनाएको र सन् २०१५ मा विश्व स्वाथ्य संगठनले तारिफ गरेको एल पाइसले उल्लेख गरेको छ । फिडेल क्यास्ट्रोको भाषामा ‘सेतो कोटधारी सेना’को रुपमा पारिभाषिक क्युवाली डाक्टरले क्युवाको कुटनैतिक शक्तिको काम गरेका छन् ।

    विश्व स्वाथ्य संगठनले समेत क्युवामा पछिल्लो तीन दशकमा स्वास्थ्य क्रान्ति भएको भन्दै आफ्नो आधिकारिक वेबसाइटमा क्युवाले स्वाथ्य क्षेत्रको तारिफ गरेको छ । क्युवाको स्वाथ्य सेवा समुदायमैत्री र गरिबमैत्री भएको भन्दै धेरैले तारिफ गर्छन् ।

    नाकाबन्दी लाएपछि पनि क्युवाले गरेको स्वाथ्य प्रगतिमा अमेरिका सकारात्मक छैन । सन् २००५को कट्रिना हुरिक्यानमा क्युवाको स्वास्थ्य सहायता नलिएको अमेरिका अरु देशलाई पनि नलिन आग्रह गर्छ । क्युवाले डाक्टरहरूको मानव अधिकार हनन गरेको भन्दै यस्तो आग्रह गर्ने गरेको छ ।

    तर, क्युवाको स्वाथ्य सामर्थ्य बुझ्ने देशहरूले अमेरिकी आग्रह अस्वीकार गर्दै आएका छन् । स्पेनिस अखबार एल पाइसका अनुसार हाल विश्वका ६७ देशमा आधा लाख क्युवाली डाक्टर छन् । क्युवाको स्वाथ्य क्षेत्रका समर्थकहरूले भने नाकाबन्दी गरेर आफैं क्युवाली नागरिकलाई दु:ख दिएर मानव अधिकार हनन गर्ने अमेरिकाले मानव अधिकारको कुरा उठाउन नमिल्ने तर्क गर्दै आएका छन् ।

  • चीनको रोबट मंगल ग्रहमा अवतरण

    चीनको रोबट मंगल ग्रहमा अवतरण

    एजेन्सी । शनिबार बिहान चीनको रोबट मंगल ग्रहमा सफलतापूर्वक अवतरण भएको छ ।

    छ पांग्रे ‘झोरुङ’ नामक रोबट ३२ करोड किलोमिटर पार गर्दै मंगल ग्रहको उत्तरी गोलार्धको युटोपिया प्लानिसियामा अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ । फेब्रुअरीमा पुगेको झोराङ शनिबार मात्रै सफल अवतरण हुन सफल भएको बिबिसीले लेखेको छ ।

    बिबिसीका अनुसार चीनले अवतरण गराएको रोबटको तौल २ सय ४० केजी भएको र यो सोलार उर्जाबाट सञ्चालन भएको छ ।

    तियानमेन-१ नामक मिसन शनिबार झिमिसेमै अवतरण भएको चीनको अन्तरीक्ष संस्था चिनियाँ राट्रिय अन्तरीक्ष प्रशासन (सिएमएसए)लाई उदृत गर्दै चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ ।

    बिहान ४ बजे अवतरण भएको रोबट तीस मिनेट मंगलग्रहको सतहमा बसेर अध्ययनपछि पुन पार्किङ अर्बिटमा फर्किएको ग्लोबल टाइम्सले लेखेको छ ।

    यो सँगैै मंगलग्रहमा सफल अवतरण हुनेमा अमेरिका, रसिया पछि चीन तेश्रो सफल मुलुक भएको ग्लोबल टाइम्सले लेखेको छ ।

  • भारतमा स्पुतनिक-५ खोप बजारमा बिक्री शुरु, मूल्य प्रति डोज भारु १,०००

    भारतमा स्पुतनिक-५ खोप बजारमा बिक्री शुरु, मूल्य प्रति डोज भारु १,०००

    दिल्ली । भारतको औषधि नियामक निकायले कोभिड-१९ विरुद्धको रुसी स्पुतनिक-५ खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।

    डा. रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ ।

    भारतमा डा. रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक-५ खोप आयात गरिरहेको छ । स्पुतनिक-५ खोपलाई भारतीय औषधि नियामक निकायले गत मे १ तारिखमा स्वीकृति प्रदान गरेको थियो । डा. रेड्डीजले भारतीय बजारमा उक्त खोपको मूल्य प्रति डोज भारु ९४८ तोकेको छ ।

    कम्पनीले आगामी दिनमा खोपको संख्या अझ बढाउने जनाएको छ । स्पुतनिक-५ खोप भारतमै उत्पादन हुन थालेपछि आपूर्ति पनि बढ्ने कम्पनीको भनाई छ । स्पुतनिक भी खोप भारतमा उत्पादन गर्न छ वटा विभिन्न कम्पनीसँग छलफल चलिरहेको बताइएको छ ।

    डा. रेड्डीज कम्पनीका सहअध्यक्ष एवं प्रवन्ध निर्देशक जी भी प्रसादले भारतमा कोभिड-१९ बाट संक्रमितको संख्या तिब्र रुपमा वृद्धि भइरहेकाले जतिसक्दो चाँडो खोप व्यवस्था गर्न आफूहरुले पनि प्रयास गर्न लागेको बताए ।

  • अमेरिकामा बेरोजगार भत्ता दावी गर्नेको संख्या चार लाख ७३ हजार

    अमेरिकामा बेरोजगार भत्ता दावी गर्नेको संख्या चार लाख ७३ हजार

    वासिङ्टन । संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लागेको छ ।

    कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ । पछिल्लो विवरणमा चार लाख ७३ हजार व्यक्तिले मात्र हाल रोजगारी गुमाएको विभागको सर्भेले देखाएको छ ।

    श्रम तथ्याँक ब्युरोले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा बेरोजगारी भत्ताका लागि आवेदन गर्नेहरुको संख्यामा ३४ हजारले कमी आएको उल्लेख छ । अघिल्लो साता करिब पाँच लाख ७ हजार व्यक्तिले बेरोजगारी भत्ताका लागि आवेदन गरेकामा पछिल्लो साता चार लाख ७३ हजारले मात्र आवेदन दिएका छन् ।

    यो गत वर्ष सन् २०२० को मार्च १४ मा बेरोजगारी दावी गरेयता सबैभन्दा कम हो । त्यसबखत कूल दुई लाख ५६ हजारले बेरोजगारी भत्ताका लागि दाबी गरेका थिए ।

    यसैबीच, राज्य र संघीय दुबैतर्फका कार्यक्रमबाट सुविधा दाबी गर्ने व्यक्तिको कूल संख्या ६ लाख ९६ हजारले कमी आएर १ करोड ६८ लाख ५५ हजार रहेको पाइएको छ ।

    रिपब्लीकन शासित धेरैवटा राज्यले संघीय बेरोजगार कार्यक्रमलाई जुनभित्रै अन्त्य गर्ने घोषणा गरेका छन् । यो कार्यक्रम आगामी सेप्टेम्बरभित्र समाप्त हुँदैछ । संघीय सहायता कार्यक्रममा राज्यबाट प्रदान गरिने सुविधाका अतिरिक्त साप्ताहिक ३०० अमेरिकी डलरको बेरोजगार भत्ताको व्यवस्था गरिएको छ ।

    गभर्नरहरुको भनाईमा संघीय सरकारले उपलब्ध गराएको भत्ताका कारण मानिसहरुले काम खोज्न अभिरुचि नदेखाएको र श्रमिकको अभाव हुन थालेको छ ।

    अमेरिकी अर्थमन्त्री जानेट येलेनले गभर्नरहरुका तर्कको खण्डन गरेका छन्। हालै ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जेनेटले बालबच्चा र वृद्धवृद्धाका स्याहारका साथै महामारीको त्रास तथा व्यक्तिगत स्वास्थ्य समस्याले पनि मानिसहरु काममा जान हच्किइरहेका र त्यो स्वाभाविक रहेको बताए ।

  • जापानको फुकुसीमामा ६ म्याग्नीच्यूडको भूकम्प

    जापानको फुकुसीमामा ६ म्याग्नीच्यूडको भूकम्प

    टोकियो । जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो ।

    उक्त भूकम्पको तिब्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षैभरि सानाठूला भूकम्प गइरहन्छन् ।

  • भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

    भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

    नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको छ ।

    मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन् भने तीन लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

    भारतमा गत बुधबार एकै दिन चार हजार २०५ जनाको कोभिड संक्रमणबाट ज्यान गएको थियो । बिहीबार पनि चार हजार १२० जनाको मृत्यु भएको थियो । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म दुई लाख ६२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ ।

    भारत विश्वमै तेस्रो सर्वाधिक प्रभावित मुलुक हो । पहिलो सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म पाँच लाख ९८ हजार तथा दोस्रो सर्वाधिक असर परेको मुलुक ब्राजिलमा चार लाख ३० हजारको मृत्यु भइसकेको छ ।

    कोरोनाभाइरस महामारी शुरु भएयता भारतमा कूल संक्रमित दुई करोड ४० लाखमध्ये दुई करोड ७९ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा हाल ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

    गत जनवरीबाटै खोप अभियान शुरु गरेको भारतमा हालसम्म १७ करोड ९३ लाख व्यक्तिलाई खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतभर ३१ करोड १३ लाख कोभिड नमुना परीक्षण गरिएको छ ।

  • मंगल सतहमा अवतरण गर्नुअघि चिनियाँ यानले झ्याल खोल्यो, दुईसाताभित्र ल्यान्डिङ तयारी

    मंगल सतहमा अवतरण गर्नुअघि चिनियाँ यानले झ्याल खोल्यो, दुईसाताभित्र ल्यान्डिङ तयारी

    बेइजिङ । मंगलग्रहको कक्षलाई परिक्रमा गरिरहेको चिनियाँ यान तियानवेन-१ आगामी दुई साताभित्र सतहमा अवतरण गर्ने भएको छ । ग्लोबल टाइम्सका अनुसार यो स्पेसक्राफ्टले गएराति अतवरणका लागि झ्याल खुला गरेको छ ।

    मंगलको दक्षिण ध्रुवस्थित युटोपिया प्लानिसियामा उक्त यानले अवतरण गर्ने जनाइएको छ । ‘अर्बिटिङ, ल्यान्डिङ र रोभिङ’ मिसन लिएर चीनले फेब्रुअरीमा पठाएको उक्त रोभरले मंगलमा खनिज, पानी र जलवायुको अध्ययन गर्नेछ ।

    ल्यान्डन्डिङको लागि झ्याल खोल्दै उक्त रोभर महत्वपूर्ण र जोखिमपूर्ण चरणमा प्रवेश गरेको चिनियाँ अन्तरिक्ष नियोग (सीएनएसए)ले जनाएको छ । चन्द्रमामा पठाइएको यस्तै प्रणाली जडित रोभरको सफल अवतरणपछि चिनियाँ वैज्ञानिकहरु मंगलमा पनि सफलता दोहोरिनेमा ढुक्क छन् ।

    मंगल सतहमा अवतरण गर्न यो रोभरलाई नौ मिनेट लाग्ने जनाइएको छ । जुन बेला यानको ४.९ किलोमिटर गतिलाई घटाएर शुन्यमा झार्ने तयारी छ । मे मध्यदेखि जुनको मध्यसम्म तियानवेन–१ ले मंगल सतहमा ल्यान्ड गर्नेछ ।

    उक्त यानले १.८५ मिटर अग्लो र २४० किलोको रोभरलाई सतहमा छाड्नेछ । मंगलको तीन महिना र पृथ्वीको ९२ दिन अवधीमा रहेर उक्त रोभरले मंगलको अध्ययन गर्नेछ ।

  • गाजाको आकाशमा रकेटै रकेट : पछिल्लो तनावमा १३० भन्दा बढीको मृत्यु

    गाजाको आकाशमा रकेटै रकेट : पछिल्लो तनावमा १३० भन्दा बढीको मृत्यु

    एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा भएको पछिल्लो तनावमा १३० भन्दा बढीको मृत्यु भएको छ ।

    प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायली सेनाले एकअर्काको क्षेत्रमा रकेट प्रहार गरिरहेका छन् । गाजाको आकाशमा रकेटहरु उडेको देख्न सकिन्छ ।

    गत सोमबारदेखि सुरु भएको तनाव मुस्लिमहरुको पवित्र रमाजानको बेलासम्म मत्थर भएको छैन बरु, यसले युद्धको रुप लिने संकेत देखिएको छ ।

    टेलिभिजनको प्रत्यक्ष प्रसारणकै क्रममा इजरायलले हवाइ आक्रमण गरेर एउटा अग्लो भवन ध्वस्त पारिदिएको थियो । बीबीसी अरेविकको प्रत्यक्ष प्रसारण भैरहेको बेला उक्त हमला भएको थियो ।

    तनाव चर्किदैं जाँदा अहिले इजरायलमा पनि यहुदी र अरबहरुबीच हिंसा मच्चिन थालको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शान्ति स्थापनाको लागि आग्रह गरेका छन् ।

    चीनले इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोक्न राष्ट्रसंघको सुरक्षा परिषद्मा प्रस्ताव लैजाने तयारी गरेको छ ।

  • चीनमा यस वर्ष ९० लाख स्नातक उत्तीर्ण, रोजगार सप्ताहको तयारी

    चीनमा यस वर्ष ९० लाख स्नातक उत्तीर्ण, रोजगार सप्ताहको तयारी

    बेइजिङ । चीनका विश्वविद्यालय र कलेजबाट यस वर्ष ९० लाख ९ हजार विद्यार्थीले स्नातक उत्तीर्ण गर्न लागेको चिनियाँ शिक्षा मन्त्रालयले जनाएको छ ।

    गत वर्षको भन्दा यस वर्ष तीन लाख ५० हजार बढी विद्यार्थीले स्नातक तह उत्तीर्ण गर्न लागेका हुन् । मन्त्रालयले स्नातक गरेका विद्यार्थीका लागि रोजगारी खोज्न वा नयाँ व्यवसाय थालनी गर्न विद्यार्थीसँग मिलेर कार्य गरिरहेको पनि जनाएको छ । हाल, चीनको रोजगार परिस्थितिमा क्रमिक सुधार आइरहेको मन्त्रालयको भनाई छ ।

    नयाँ स्नातक उत्तीर्ण विद्यार्थीका लागि आगामी मे १७ देखि २३ सम्म देशव्यापी रुपमा रोजगार प्रबद्र्धन सप्ताह सञ्चालन गर्न मन्त्रालयले पहल गरेको छ । यस अवधिमा प्रत्येक प्रान्तले दुई वटा ठूला स्तरका रोजगार मेला आयोजना गर्नेछन् ।

    विश्वविद्यालय र कलेजहरुले पनि क्याम्पस स्तरीय रोजगार कार्यक्रम सञ्चालन गर्ने र यी मेला अनलाइन एवं प्रत्यक्ष भेटघाटमा आधारित हुने मन्त्रालयले जनाएको छ ।

  • इजरायलमा हिंसात्मक झडप, गाजामा इजरायली बमबारी जारी

    इजरायलमा हिंसात्मक झडप, गाजामा इजरायली बमबारी जारी

    जेरुसेलम । गाजा क्षेत्रबाट इजरायली मूल भूमितर्फ क्षेप्यास्त्र प्रहार भइरहँदा इजरायलभित्रैका अरब र यहूदी समुदायबीच सडकमा हिंसात्मक झडपहरु भएका छन् । धेरै वर्षपछि पहिलो पटक देखिएको यस हिंसामा उत्रेका दुबै समुदायले सवारी साधन, रेस्टुराँ र यहूदी प्रार्थनागृह (सिनागग) मा आगो लगाइदिएका छन् ।

    दुबै समुदायको मिश्रित बसोबास रहेको शहर लोडका मेयरले मङ्गलबारको यस हिंसात्मक झडपलाई गृहयुद्ध वा प्यालेस्टिनीको पुनः उदयसँग तुलना गरे । अरब विज्ञहरु एवं अधिकारवादीहरुले जेरुसेलममा भड्किएको हिंसाका कारण दुबै समुदायबीच हिंसा फैलिएको बताएका छन् । जेरुसेलम घटनाले अर्को गाजा युद्ध निम्त्याउने सम्भावना बढाएको छ ।

    बुधबार राति पनि हिंसा पुनः भड्किएको थियो र एकअर्कामाथि प्रतिशोध राखेर आक्रमणहरु भएका थिए । तेल अभिभको बाहिरी इलाका बाट याममा दक्षिणपन्थी राष्ट्रवादी इजरायलीको ठूलो समूहले अरब व्यक्ति चढेको आशंकामा एउटा कारलाई रोकेर ती व्यक्तिलाई रक्ताम्य हुनेगरी भुइँमा पछारेर बेस्करी कुटपिट गरे । पछि अस्पताल भर्ना गरिएका ती व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताइएको छ ।

    यसअघि, कालो पहिरनमा उत्रेका इजरायलीले बाट यामकै एउटा अरब व्यक्तिले सञ्चालन गरेको आइसक्रिम पसलका झ्यालका सिसा फुटाइदिएका थिए । अतिवादी यहूदीहरुले टेलिभिजनको प्रत्यक्ष प्रशारणमै ‘अरबीहरु मर्नुपर्छ,’ भन्दै नाराबाजी गरिरहेका थिए । उत्तरी शहर टिबेरियाजमा इजरायली झण्डा बोकेका अतिवादीहरुले सम्भवतः अरबी चढेको कारमाथि ढुङ्गामुढा गरिरहेको दृश्य सामाजिक सञ्जालमा राखिएको थियो ।

    इजरायलको च्यानल १३ ले एक जना वरिष्ट प्रहरी अधिकृतलाई उद्धृत गर्दै तटीय शहर अकरमा अरबी व्यक्तिहरुले एक जना यहूदी व्यक्तिमाथि कुटपिट गरेर सख्त घाइते बनाएको खबर प्राप्त भएको जनाएको छ ।

    राति अबेर प्रशारण भएको अन्तर्वार्तामा इजरायली राष्ट्रपति रुभेन रिभलिनले देश अहिले गृहयुद्धमा पर्न थालेको बताउँदै नागरिकलाई यस्तो बहुलठ्ठीपन तत्काल रोक्न आग्रह गरे ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यहूदी र अरब दुबै समुदायलाई एकअर्का विरुद्ध आक्रमण नगर्न आग्रह गरे । उनले भने, ‘तपाँर्इमा रगत उम्लिरहेको होला, त्यससँग मलाई मतलब छैन । तपाँर्इले कानुन हातमा लिन सक्नुहुन्न ।’

    प्रहरीले बुधवारर देशका विभिन्न भागमा हिंसात्मक भिडन्तमा सहभागी झण्डै ४०० व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ ।

    इजरायलका अरब अल्पसंख्यकले इजरायली राजनीतिमा स्वीकार्यता र प्रभाव बढाउनै लागेको समयमा यस्तो हिंसात्मक घटना भएको छ । इस्लामिक पृष्ठभूमिका अरब पार्टीका प्रमुख मन्सुर अब्बास गत मार्चको चुनावपछि नयाँ सरकार गठनमा राम्रै भूमिकामा देखिएका छन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकार ढाल्ने गरी निर्माण भएको विपक्षीहरुको गठबन्धनमा अब्बासको पनि मुख्य भूमिका देखिएको छ ।

    तर बुधवार एपीसँग कुरा गर्दै अब्बासले हिंसात्मक घटना बढ्न थालेकाले गठबन्धनको विषय अहिले ओझेलमा परेको बताए । उनले भने, ‘यदि युद्धबिराम भए हामी नयाँ सरकार गठनका बारेमा फेरि छलफलमा जुट्ने छौं ।’

    हालैका दिनहरुमा इजरायलमा बसोबास गर्ने अरब नागरिकहरुले जेरुसेलममा प्रहरी दमन बढाइएको र दर्जनौं प्यालेस्टिनी परिवारलाई हटाउने योजना ल्याइएको भन्दै देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन् ।

    इजरायलमा रहेबसेका अरब अल्पसंख्यकले इजरायलको कूल जनसंख्याको झण्डै २० प्रतिशत हिस्सा ओगटेका छन् । उनीहरु मूलतः प्यालेस्टिनी मूलका हुन् । यी समुदायसँग इजरायलको नागरिकता छ र मतदानको अधिकार पनि छ, तर विभिन्न विभेदको सामना गर्नु परिरहेको छ ।

    यसैबीच, रमादानको अन्तिम दिनको तयारीमा जुटेका गाजाका प्यालेस्टिनी मुस्लिम समुदाय अहिले इजरायली हवाई कारबाहीको चपेटामा परेका छन् । गाजा क्षेत्रबाट प्यालेस्टिनी विद्रोहीहरुले इजरायलतर्फ एकपछि अर्को क्षेप्यास्त्र प्रहार गरिरहेका छन् भने त्यसको प्रतिशोधमा इजरायलले पनि भिषण सैन्य कारबाही गरिरहेको छ ।

    एकअर्काबीच आक्रमणको सिलसिला गत सोमबारदेखि शुरु भएको हो । यसबीचमा इजरायलले हमास लडाकू रहेको भन्दै दुई वटा अग्ला भवन ढालिदिएको छ । उक्त भवनमा निशाना बनाउनुअघि इजरायलले त्यहाँ रहेबसेका सर्बसाधारणलाई भवन खाली गर्न चेतावनी दिएको थियो ।

    इजरायली सेनाको भनाईमा सोमबार यतामात्र एक हजार ६०० क्षेप्यास्त्र गाजा क्षेत्रबाट प्रहार गरिएको छ जसमध्ये ४०० वटा गाजा क्षेत्रमै खसेका थिए । इजरायली सेनाले ६०० भन्दा बढी क्षेप्यास्त्र गाजा क्षेत्रमा हमासका लडाकू रहेका ठाउँमा प्रहार गरिएको जनाएको छ ।

    हालसम्मको यस आक्रमणबाट ६९ जना प्यालेस्टिनीको मृत्यु भएको छ जसमा १६ जना बालबालिका र ६ जना महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    इस्लामिक जिहाद र हमासले आफ्ना वरिष्ट नेता एवं लडाकूहरु इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ । जिहादीहरुको आक्रमणमा सात जना इजरायलीको पनि ज्यान गएको छ ।

    यसैबीच, संयुक्त राष्ट्रसंघ र इजिप्टले दुबै पक्षबीच युद्धबिरामको प्रयास जारी रहेको जनाएका छन्, तर त्यसतर्फ खासै प्रगति हुन सकेको छैन । इजरायलको च्यानल १२ ले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको मन्त्रिपरिषदले थप आक्रामक कारबाही गर्न सेनालाई आदेश दिएको जनाएको छ ।

    राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रबाट इजरायलतर्फ अन्धाधुन्ध भइरहेका क्षेप्यास्त्र आक्रमणको निन्दा गरेका छन् । साथै उनले इजरायललाई पनि बढीभन्दा बढी संयमता अपनाउन आग्रह गरेका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्रीलाई फोन गरी आत्मरक्षा गर्न पाउने इजरायलको अधिकार रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वमा तनाब मत्थर पार्ने गरी वरिष्ट कुटनीतिज्ञ त्यसतर्फ पठाइने बताएका छन् ।

  • भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

    भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको ज्यान गइसकेको छ ।

    मन्त्रालयका अनुसार दैनिक कोभिड-१९ का संक्रमितको संख्यामा भने केही कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् ।

    भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

    भारतको राजधानी नयाँ दिल्ली, मुम्बई समेतका ठूला शहरमा कोरोनाभाइरसबाट पीडित बिरामीको उपचारमा ठूलो संकट उत्पन्न भएको छ । विभिन्न प्रमुख शहर एवं राज्यमा स्थानीय तहमा सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, प्रतिबन्ध, कर्फु समेतका उपायहरु घोषणा गरे पनि केन्द्र सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ ।

    सरकारले कोभिड-१९ विरुद्धको खोपलाई पनि तिब्र गतिमा अगाडि बढाएको छ । देशव्यापी रुपमा पर्याप्त खोप नभए पनि सरकारले १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन शुरु गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म १७ करोड ७२ लाख व्यक्तिले खोप लगाएका छन् ।

  • कोरियाले निर्माण गर्‍यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

    कोरियाले निर्माण गर्‍यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

    सीयोेल । दक्षिण कोरियाले आफूलाई कोरोना संक्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।

    उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।

    यतिमात्र नभई यो किट अब हरेक २४ घण्टा पसलमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस-२५, सेभेन इलाभेन, इ-मार्टलगायतका २४ घण्टा पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ ।

    यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पीसीआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् । कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ ।

  • भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको खोजी गर्न वैज्ञानिकहरु सक्रिय

    भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको खोजी गर्न वैज्ञानिकहरु सक्रिय

    नयाँ दिल्ली । भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड-१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको भाइरसलाई ट्र्याक गर्न र यसलाई अझ राम्रोसँग बुझ्नका लागि आवश्यक पर्ने परीक्षण गर्नेतर्फ भारत निकै पछाडि छ ।

    सोमबार, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भाइरसको प्रारम्भिक अनुसन्धानका आधारमा यस नयाँ स्वरुपलाई निकै चिन्ताजनक भनी वर्गीकृत गरेको छ । यस भाइरसको नयाँ स्वरुपलाई डब्लुएचओले पहिला अन्य मुलुकमा समेत फैलिएका बेलायत, दक्षिण अफ्रिका र ब्राजिलका नयाँ स्वरुपका भाइरसकै कोटीमा राखेर अनुसन्धान अघि बढाएको छ ।

    ‘हामीलाई यो भाइरसको नयाँ भेरिएन्टका बारेमा धेरैभन्दा धेरै जानकारी चाहिएको छ’, डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले बताइन् । ‘हामीले थप अनुक्रमित (सिक्वेन्सिङ) गर्नु जरुरी छ र यसलाई भारत एवं अन्य मुलुकका विवरणसँग भिडाउनु पर्दछ ताकि यसबाट यो भाइरस कति फैलिएको छ भन्ने थाहा पाउन मद्दत पुगोस् ।’

    भाइरसको स्वभाव नै निरन्तर रुप परिवर्तन गरिरहनु हो, र बढ्दो संक्रमण वा फैलावटले नयाँ-नयाँ स्वरुपमा रुपान्तरण हुन मद्दत गर्दछ ।

    भाइरसले नयाँ स्वरुप धारण गरे वा नगरेका बारेमा भारतमा भाइरसको आनुवंशिक अनुगमन शुरु गर्न ढिलो भइरहेको थियो । अर्थात् यो कोरोनाभाइरस कति संक्रामक वा घातक हुँदैछ भन्ने बुझ्ने प्रयास भएको देखिन्न ।

    यी नयाँ स्वरुपमा बदलिएका (म्युटेड) कोरोनाभाइरसका भेरिएन्टका भिन्नता वा विशेषतालाई अनुगमन गर्न जरुरी हुन्छ किनकी नयाँ स्वरुपमा बदलिएका भाइरसले मानिसको प्रतिरक्षा प्रणालीलाई बढी क्षति गर्ने, पुनः संक्रमित गर्ने वा खोपहरु कम प्रभावकारी बनाउने सम्भावना हुन्छ । अहिलेका लागि, डब्लुएचओले के कुरामा जोड दिएको छ भने कोभिड-१९ का खोपहरु नयाँ भेरिएन्टबाट संक्रमित व्यक्तिलाई पनि रोगबाट रोकथाम गर्न र मृत्युबाट बचाउन प्रभावकारी छ ।

    भारतीय वैज्ञानिकहरुको भनाईमा उनीहरुका काममा प्रशासनतन्त्रले उत्पन्न गराएको अबरोध र सरकारी निकायहरुबाट महत्वपूर्ण तथ्याँकहरु उपलब्ध गराउन भइरहेको हिच्किचाहट चुनौतीपूर्ण छ । भारतले कूल संक्रमितको करिब १ प्रतिशत तथ्याँक मात्र सिक्वेन्सिङ गरिरहेको छ र कोरोनाभाइरस जिनोमको विश्व डेटाबेसमा यस सिक्वेन्सिङको नतिजा पनि सबै राखेको छैन ।

    सिक्वेन्सिङ पर्याप्त नभएको अवस्थामा त्यहाँ प्रशस्त छिद्रहरु हुन्छन् र त्यसकारण भाइरसका अझ चिन्ताजनक नयाँ स्वरुप (म्युटेसन) त्यतिकै फैलिदै जान्छन्, एमआइटी र हार्बर्ड विश्वविद्यालयकी अनुसन्धाता अलिना चान बताइन ।

    क्याम्ब्रिज विश्वविद्यालयमा क्लिनिकल माइक्रोबायोलोजीका प्राध्यापक रवीन्द्र गुप्ताले भने, ‘यसमा भाइरसका सबै विशेषताहरु अन्तरनिहीत छन् र यसबाट हामी पक्कै चिन्तित हुनु पर्दछ ।’

    गत वर्ष तटीय महाराष्ट्र राज्यमा पहिलो पटक फेला परेको नयाँ संस्करणको कोरोनाभाइरस सर्भे गरिएका २७ राज्यमध्ये १९ मा फेला परेको छ । यसैबीच, बेलायतमा पहिलो पटक फेला परेको एउटा भेरिएन्ट भने ४५ दिनभित्र भारतमा घट्दोक्रममा देखिएको छ ।

    भारतीय स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ तिब्र गतिमा फैलिनुमा नयाँ भेरिएन्ट मात्र जिम्मेवार रहेको भनिहाल्न नहुने भन्दै सावधान गराएका छन् । विज्ञहरुले धार्मिक सभासमारोह र राजनीतिक दलका भिडभाडयुक्त चुनावी सभाका कारण पनि कोरोनाभाइरस तिब्र गतिमा फैलिएको औंल्याएका छन् ।

    भेल्लोरस्थित क्रिस्चियन मेडिकल स्कुलका सूक्ष्मजीव अध्ययन गर्ने डा. गंगादीप काङले पहिल्यै कोभिड-१९ संक्रमित भएका व्यक्तिलाई नयाँ भेरिएन्टले पुनः संक्रमित बनाइरहेको छ वा छैन भन्ने अनुसन्धान गर्नुपर्ने बताए । ‘यस बारेमा मानिसले किन त्यति महत्व दिइरहेका छैनन् भन्ने मैले बुझ्न सकेको छैन ।’

    भारतमा सिक्वेन्सिङका प्रयत्नहरु अस्तव्यस्त हुने गरेका छन् । चानको भनाईमा भारतबाट जिसेडमा प्रति एक हजार संक्रमितमध्ये ०.४९ सिक्वेन्समात्र अपलोड गर्ने गरिएको छ । संयुक्तराज्य अमेरिकामा प्रति एक हजारमा करिब १० अपलोड हुने गरेको छ जबिकी बेलायतले प्रति एक हजारमा ८२ सिक्वेन्स अपलोड हुने गरेको छ ।

    अघिल्लो वर्ष भारतीय सरकारी संस्थाहरुलाई सम्भव भएसम्म देशभित्रै उत्पादित बस्तु खरिद गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले आदेश दिएका थिए। यो असम्भव प्रमाणित भयो, किनभने सिक्वेन्सिङसँग सम्बन्धित सबै सामान विदेशबाटै आयात गर्नुपर्ने थियो, जसका कारण धेरै कागजी प्रक्रियामा जानु परेको थियो, जेनोमिक्स तथा इन्टिग्रेटिभ बायोलोजका निर्देशक अनुराग अग्रवालले बताए ।

  • इजरायल र प्यालेस्टाइनबीच तनाव चर्कियो, हवाइ हमलामा गाजा क्षेत्रमा ३५ को मृत्यु

    इजरायल र प्यालेस्टाइनबीच तनाव चर्कियो, हवाइ हमलामा गाजा क्षेत्रमा ३५ को मृत्यु

    सोमबार रातिदेखि इजरायल र प्यालेस्टाइनबीचको सीमा क्षेत्रमा चर्किएको द्वन्द्व मत्थर हुने संकेत मिलेको छैन । बरु, द्वन्द्व झनै चर्किएको छ ।

    गाजा क्षेत्रबाट प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलतर्फ सयौं रकेट प्रहार गर्दा बुधबार कम्तीमा ३५ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । जसले गर्दा जेरुसेलेमभन्दा बाहिरका सहरमा पनि अस्थिरता फैलिएको छ ।

    इजरायली सेनाले ८ सयभन्दा बढी रकेट आफ्नै क्षेत्रमा खसेको र आफ्नो प्रतिरक्षा प्रणालीले २ सयभन्दा बढी रकेटलाई गाजा क्षेत्रमै खसालिदिएको पनि जनाएको छ ।

    अक्सा मस्जिदमा आफूहरुलाई उक्साउने काम इजरायलले गरेको भन्दै हमासले आपत्ति व्यक्त गरेको छ । इजरायलले टकराव बढाए उसैलाई क्षति पुग्ने पनि हमासले चेतावनी दिएको छ ।

    हमास नेता स्माइल हानियाले टेलिभिजनमार्फत सम्बोधन गर्दै कतार, इजिप्ट र संयुक्त राष्ट्र संघले आफूहरुलाई शान्ति स्थापनाका लागि आग्रह गरेको बताए । इजरायलले द्वन्द्व चाहे आफूहरु त्यसको लागि पनि तयार रहेको पनि उनले जनाए ।

    अहिलेसम्म दुबैतर्फका गरी ४० को मृत्यु भएको बीबीसीले जनाएको छ । इजरायली सेनाले गाजामा १५० ठाउँमा आक्रमण गरेको छ र इजरायली सेनाको आक्रमणबाट प्यालेस्टाइनी सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

    जेरुसेलेमस्थित अलअक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनी आक्रोशित भएका छन् । इस्लाममा धर्ममा यसलाई तेस्रो पवित्र स्थल मानिन्छ । सोमबार जेरुसेलेम दिवस मनाइरहँदा यो हिंसा भड्किएको हो ।