Category: विश्व प्रेस

  • पाकिस्तानमा दुई रेल आपसमा ठोक्किँदा ३० जनाको मृत्यु

    पाकिस्तानमा दुई रेल आपसमा ठोक्किँदा ३० जनाको मृत्यु

    इस्लामाबाद । पाकिस्तानमा यात्रुवाहक दुईवटा एकापसमा जुध्दा ३० जनाको मृत्यु भएको छ भने दर्जर्नौ घाइते भएको अधिकारीहरुले बताएका छन् ।

    एउटा रेल लिकबाट बाहिरिएपछि दास्रो रेल त्यसमा ठोक्किन पुगेपछि दुर्घटना भएको बताइएको छ ।

    घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ भने अवस्था अत्यन्तै गम्भिर रहेको बताइएको छ । दुर्घटनामा आठवटा डिब्बा ध्वस्त भएको कारण फसेका यात्रुहरुलाई निकाल्न कठिनाइ भएको जनाइएको छ ।

    सोमबार कराँचीबाट आइरहेको रेल लिकबाट बाहिरिएको थियो । लगत्तै रावलपिण्डीबाट आइरहेको रेल त्यसमा ठोकिएको हो । के कारणले रेल सडकबाट बाहिरियो भन्ने पत्ता नलागेको बताइएको छ ।

  • कोभिड-१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा संक्रमण थिएन : चीन

    कोभिड-१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा संक्रमण थिएन : चीन

    वेइजिङ । चीनको हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोनाभाइरसबाट संक्रमित नरहेको चीनले फेरि एक पटक दोहोराएको छ ।

    अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोनाभाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले वुहानस्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दावीको खण्डन गर्दै चीनको यो भनाइ आएको हो । अमेरिकी गुप्तचरको रिपोर्टपछि कोरोनाभाइरसको उत्पतिलाई लिएर अमेरिका र चीनका परस्पर भिन्न भनाइ आउने गरेका छन् ।

    प्रयोगशालामा भएको व्यवस्थापकीय असावधानीका कारण चुहावट हुँदै भाइरस मानिसमा सरेको हुनसक्ने आशङ्का अमेरिकी अधिकारीहरूले गर्दै आएका छन् । यसै बिषयलाई लिएर राष्ट्रपति जो बाइडेनलेले अघिल्लो हप्ता विस्तृत अध्ययन गरी ९० दिन भित्र प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई आदेश दिएका थिए ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयोजनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनमा कोरोनाभाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको तर थप अध्ययन भने गर्नु पर्ने बताएको थियो ।

    पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशंकामा बल पुगेको हो। यसलाई नै मध्यनजर गरेर अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले चीनसँग वुहानस्थित प्रयोगशालाका तीन अनुशन्धानकर्तासहित कुल ९ जना चिनियाँ नागरिकको स्वास्थ्यसम्बन्धी विवरण जारी गर्न माग गरेका छन् ।

    शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीमा सन् २०१९ को डिसेम्बर ३० भन्दा पहिले कोरोनाभाइरसको कुनै जानकारी नरहेको दाबी पुनः गरेका छन् ।

    उनले अहिलेसम्म सो प्रयोगशालाका एक कर्मचारी वा विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण नदेखिएको दावी गरे। स्वास्थ्य विवरणहरु प्रयोगशालाका कर्मचारी र शोधकर्ताहरुमा मात्रै सीमित गरिने भएकाले सार्वजनिक गर्न नसकिने उनले बताए ।

  • फेसबुक र इन्स्टाग्रामले ट्रम्पलाई दुई वर्षको लागि लगाए रोक

    फेसबुक र इन्स्टाग्रामले ट्रम्पलाई दुई वर्षको लागि लगाए रोक

    काठमाडौं । फेसबुक र इन्स्टाग्रामले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई थप दुई वर्षको लागि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

    गत जनवरीमा अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको आक्रमणको घटनापछि गरिएका विवादास्पद पोस्टको कारण फेसबुकले रोक लगाएको थियो । तर, गत महिना फेसबुकले सँधैभरिको लागि रोक लगाउने पूर्वनिर्णय बदलेको थियो ।

    फेसबुकले ट्रम्पका उक्त गतिविधि आफ्नो नियमविरुद्ध रहेको जनाएको थियो । राजनीतिज्ञलाई हिंसात्मक कन्टेन्ट पोस्ट गर्न रोक लगाइने नयाँ नियमसँगै फेसबुकले यस्तो निर्णय गरेको हो ।

    ट्रम्पलाई लगाइएको रोक चाहिँ गत जनवरी ७ देखि नै लाग हुने जनाइएको छ ।

  • दिल्लीका मुख्यमन्त्रीद्वारा कोरोनाको तेस्रो लहर विरुद्ध अहिलेदेखि नै तयारी

    दिल्लीका मुख्यमन्त्रीद्वारा कोरोनाको तेस्रो लहर विरुद्ध अहिलेदेखि नै तयारी

    नयाँ दिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी सुरु गरेका छन् ।

    उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।

    तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उनले परामर्श लिन लागेका हुन् ।

    दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ ।

    उनीहरुले पनि विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेर सरकारलाई सुझाव दिने उनले जानकारी दिए ।
    स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ ।

    मुख्यमन्त्री केजरीवालले अर्को ८ सदस्यीय विज्ञ टोली पनि बनाएका छन् । त्यसले तेस्रो चरणको महामारी व्यवस्थापनमा सुझाव सल्लाह दिने बताइएको छ ।

  • चीनको गान्सुमा रेल दुर्घटना, ९ जनाको मृत्यु

    चीनको गान्सुमा रेल दुर्घटना, ९ जनाको मृत्यु

    वेइजिङ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

    चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ-सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५ः२५ बजे रेल दुर्घटना भएको हो ।

    प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए ।

    घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    फ्रान्स-चीन ढुवानी रेल सेवा शुरु

    यसैबीच, चीन र युरोपबीच फ्राइट (सामान ढुवानी)का लागि नयाँ रेल सेवा बुधबार शुरु भएको छ । यो सेवा शुरु भएसँगै चीनको उत्तरी प्रान्त साङ्सी र फ्रान्सबीच सोझो रेल सेवा सम्पर्क स्थापित भएको छ ।

    पचास वटा कन्टेनर लोड गरिएको रेल मध्य साङ्सी प्रान्तबाट बुधबार फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेको थियो । यो रेलले करिब ११ हजार किलोमिटरको दुरी तय गर्नेछ ।

    यो रेल मङ्गोलिया, रसिया, बेलारुस, पोल्यान्ड र जर्मनी हुँदै करिब २० दिनमा फ्रान्स पुग्नेछ चिनियाँ रेलसेवाले जनाएको छ ।

    शाङ्सी जिनाउ लजिस्टिकका व्यवस्थापक वाङ गोकिङले उक्त रेलमा फिटनेसका सामान र ९० हजार डिस्पोजेवल स्टेराइल सिरिंज समेतका अन्य सरसामान रहेको जानकारी दिए ।

  • चीनले यसवर्षभित्र १ अर्बभन्दा बढी डोज खोप विदेश आपूर्ति गर्ने

    चीनले यसवर्षभित्र १ अर्बभन्दा बढी डोज खोप विदेश आपूर्ति गर्ने

    बेइजिङ । चीनले सन् २०२१ भित्र १ अर्ब डोजभन्दा बढी खोप विदेशमा आपूर्ति गर्ने भएको छ ।

    ग्लोबल टाइम्सका अनुसार कानसिनो र वुहान इन्स्टिच्युटले विकास गरेका थप दुई खोपले डब्लुएचओबाट अनुमति प्राप्त गरे वितरण मात्रामा दुई गुणाले वृद्धि हुने जनाइएको छ ।

    डब्लुएचओले चिनियाँ खोपहरु सिनोफार्म र सिनोभ्याकलाई आपतकालिन अनुमति दिइसकेको छ । थप दुई चिनियाँ खोपहरु डब्लुएचओबाट मान्यता पाउने पर्खाइमा छन् ।

    चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक झेङ झोङवेइका अनुसार थप दुई चिनियाँ खोपले अनुमति प्राप्त गरे आपूर्ति थप विस्तार हुनेछ । चीनले मे ३१ सम्म ३५० मिलियन डोज विदेशमा आपूर्ति गरिसकेको छ ।

    वर्षको अन्त्यमा उक्त संख्याले १ अर्ब पार गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

  • अमेरिकाद्वारा ५९ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध, बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

    अमेरिकाद्वारा ५९ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध, बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

    न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्ला समकक्षी डोनाल्ड ट्रम्पले झन्डै एकदर्जन चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्धलाई निरन्तरता दिएका छन् ।

    सीएनएनका अनुसार चिनियाँ सेनासँग सम्बन्ध रहेको आशंका गरिएका ती कम्पनीमाथि लगाइएको प्रतिबन्धको समय बिस्तार गरिएको हो ।

    बिहीबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दैै राष्ट्रपति बाइडेनले ५९ वटा चिनियाँ कम्पनीसँग व्यापार तथा खरिद गर्न अमेरिकी नागरिकलाई रोक लगाएको घोषणा गरेका छन् ।

    ती कम्पनीसँग कारोवार गर्दा सम्भावित जोखिम हुनसक्ने ह्वाइट हाउसको ठम्याइ छ । गत नोभेम्बरमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले ३१ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएका थिए ।

    ती कम्पनीले चिनियाँ सेनालाई मद्दत गर्ने आशंका गर्दै त्यस्तो कदम चालिएको ट्रम्पको दाबी थियो ।

    बाइडेनको यो कार्यकारी आदेश अगस्ट २ देखि लागु हुने जनाइएको छ । अमेरिकाले रोक लगाएका अधिकांश चिनियाँ कम्पनीहरु प्रविधि र व्यापारसँग सम्बन्धित रहेका छन् ।

    प्रतिबन्ध लगाइएकामा चिनियाँ मोबाइल उत्पादक कम्पनी हुवावे र हिकभिजन समेत रहेका छन् । चाइना मोबाइल, चाइना टेलिकम्युनिकेसन्स र चाइना युनिकम पनि प्रतिबन्धको सूचीमा छन् ।

  • बेलायती महारानी र बाइडेनबीच भेटवार्ता हुँदै : लन्डन भ्रमणमा जाँदै अमेरिकी राष्ट्रपति

    बेलायती महारानी र बाइडेनबीच भेटवार्ता हुँदै : लन्डन भ्रमणमा जाँदै अमेरिकी राष्ट्रपति

    लन्डन । अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्ने भएका छन् ।

    उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।

    बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुनुहुने छ ।’

    अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्ने भएका हुन् ।

    राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

    विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ ।

    सम्मेलनमा अन्य देशका पनि शीर्ष नेताहरु सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले जनाएका छन् ।

  • सरकार बनाउन इजरायलका विपक्षी दलबीच सहमति जुट्यो, नयाँ प्रधानमन्त्री नाफ्टाली बेनेट हुने

    सरकार बनाउन इजरायलका विपक्षी दलबीच सहमति जुट्यो, नयाँ प्रधानमन्त्री नाफ्टाली बेनेट हुने

    तेलअभिभ । इजरायलका विपक्षी दलहरुले बेन्जामिन नेतान्याहुको १२ वर्ष लामो सरकारलाई हटाएर नयाँ सरकार बनाउने सहमति गरेका छन् ।

    मध्यपन्थी दल यश अतिदका नेता एर ल्यापिडले आठ दलीय गठबन्धन निर्माण भएको जानकारी दिएका छन् ।

    पालैपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार दक्षिणपन्थी यामिना दलका नेता नाफ्टाली बेनेट प्रधानमन्त्री बन्दैछन् । उनले ल्यापिडलाई सहमतिअनुसार सत्ता हस्तान्तरण गर्ने भएका छन् ।

    यद्यपी, नयाँ सरकार बनाउन सपथ ग्रहण अगाडि संसदको मतदान अनिवार्य हुनु पर्ने व्यवस्था छ ।

    ल्यापिडले एक विज्ञप्ती जारी गर्दै विपक्षी दलको सहमतिबारे राष्ट्रपति रुभेन रिभ्लिनलाई जानकारी गराइएको जनाएका छन् । उनी भन्छन्, ‘अब बन्ने सरकार हामीलाई भोट दिने वा नदिने दुबै इजरायली नागरिकको सेवामा समर्पित हुने जानकारी गराउँछु ।’

    ‘सरकारले प्रतिपक्षीलाई पनि सम्मान गर्नेछ र इजरायली समाजका सबै क्षेत्रलाई एकीकृत गर्नको लागि सबै शक्ति परिचालन गर्नेछ’ ल्यापिडले भनेका छन् ।

    इजरायली मिडियामा सार्वजनिक भएको एक तस्विरमा विपक्ष दलका नेताहरुले सामूहिकरुपमा हस्ताक्षर गर्दै गरेको देख्न सकिन्छ ।

  • शुक्रग्रहमा नासाले दुईवटा अन्तरीक्ष मिसन पठाउने, २०२८ र २०३० बीचमा ती मिसन सञ्चालन हुने

    शुक्रग्रहमा नासाले दुईवटा अन्तरीक्ष मिसन पठाउने, २०२८ र २०३० बीचमा ती मिसन सञ्चालन हुने

    काठमाडौं । अमेरिकी अन्तरिक्ष नियोग नासाले दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे अध्ययन गर्न दुई दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने भएको छ । नासाले शुक्रमा आफ्नो खोज पृथ्वी जीवन्त भएपनि उसको नजिकको छिमेकी ग्रह किन आगोको गोलाजस्तो बन्यो भनेर केन्द्रित गर्नेछ ।

    उक्त ग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको छ। ती मिसन प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन्।

    सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुने जनाइएको छ ।

    नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ।यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो। त्यसपछि सो ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा भने गरेका छन्।

    नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्त्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ।

    सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो। त्यहाँको सतहको तापक्रम ५०० डिग्री सेल्सियस छ।

    डाभिन्ची प्लस नामक पहिलो मिसनले ग्रह कसरी बनेको र विकसित भएको भन्ने बारे खोजी गर्नेछ। उसले शुक्रग्रहमा कुनै समय महासागर थियो कि थिएन भनेर पनि बुझ्न खोज्नेछ।

    दोस्रो मिसन भेरिटासले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहास जान्नेछ अनि किन पृथ्वीभन्दा एकदमै भिन्न तरिकाले शुक्रग्रहको विकासक्रम अघि बढ्यो भनेर पनि उसले जान्न खोज्नेछ। रेडारको प्रयोग गरेर त्यहाँ अझै ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिनेछ।

  • मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय

    मूल्यवृद्धिका कारण तेल उत्पादन बढाउने ओपेकको निर्णय

    काठमाडौं । तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक) र यससँग आबद्ध तेल उत्पादक राष्ट्रहरुले प्रति दिन थप २१ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने योजना अघि सारेका छन् । कोरोनाभाइरस महामारीको प्रभाव कम देखिन थालेका मुलुकहरुबाट तेलको माग बढेको र तेलको मूल्य बढेका कारण उत्पादन बढाउने निर्णयमा ओपेक पुगेको हो ।

    ओपेकका सदस्य एवं तेल उत्पादक राष्ट्रहरुका ऊर्जा मन्त्रीहरुको मङ्गलबार भएको अनलाइन बैठकमा यस्तो निर्णय गरिएको हो ।

    साउदी अरेबियाका ऊर्जा मन्त्री राजकुमार अब्दुलाजिज बिन सल्मानले पछिल्ला दिनहरुमा तेलको बजारमा देखिएको मागका कारण तेल उत्पादन बढाउने निर्णय सही देखिएको छ भनेका छन् । उनले ऊर्जाको माग र आर्थिक गतिविधिको पुनरुद्धारमा अझै पनि ‘क्षितिजमा कालो बादल’ अझै देखिएको बताए ।

    ओपेकले मे देखि जुलाईका तीन महिनाको अवधिमा प्रति दिन २१ लाख ब्यारेल तेल उत्पादन गर्ने यसअघि नै जनाइसकेको थियो । अब ओपेकले जुनमा प्रति दिन तीन लाख ५० हजार ब्यारेल तथा जुलाईमा चार लाख ४० हजार ब्यारेल प्रति दिन थप उत्पादन गर्नेछ । साउदी अरेबियाले प्रति दिन १० लाख ब्यारेल पुनः उत्पादन गर्नेतर्फ विचार गर्न थालेको छ । कोभिडका कारण विश्वभर तेलको माग घटेको भन्दै ओपेकको प्रमुख राष्ट्र साउदी अरेबियाले प्रति दिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्न राजी भएको थियो ।

    ओपेकको प्रमुख सदस्य राष्ट्र साउदी अरेबिया र ओपेकको सदस्य नरहेको रसियाबीच तेल उत्पादनको कोटलाई लिएर केही वर्षदेखि विवाद उत्पन्न हुँदै आएको छ । हाल कोभिडको दोस्रो लहरबाट प्रभावित भारत समेतका मुलुकहरुका कारण तेलको खपतमा कमी आउने, विश्वव्यापी मागमा कमी आउने र तेलको मूल्यवृद्धि हुने आशंका छ ।

    तेल उत्पादक राष्ट्रहरुले सन् २०२० मा कोभिडका कारण तेलको मूल्यलाई स्थायित्व दिन तेल उत्पादन कटौती गरेका थिए । अहिले परिस्थितिमा केही सुधार आएसँगै तेल उत्पादक राष्ट्रहरुले बिस्तारै तेलको उत्पादन बढाउनेतर्फ लागेका छन् ।

    अहिले विश्व बजारमा तेलको मूल्यमा निधै सुधार आएको छ र मङ्गलबार मात्र दुई वर्ष यताकै सबैभन्दा बढी मूल्य कायम भएको छ । संयुक्तराज्य अमेरिका, युरोप र एसियामा वर्षको मध्यदेखि ऊर्जाको माग बढ्दैछ । हवाई उडान थपिने भएकाले पर्यटकको आवागमन बढ्नेछ जसका कारण तेलको माग थपिने ओपेकको भनाई छ ।

    मङ्गलबार अमेरिकी कच्चा तेलको मूल्य २ प्रतिशत बृद्धि भई ६७.७२ डलर प्रति ब्यारेल पुगेको थियो । ब्रेन्ट क्रुडको कारोबारमा पनि २.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ७१.१७ डलर कायम भएको थियो । ब्रेन्ट क्रुडको मूल्य विगत दुई वर्षको अवधिमा यो सबैभन्दा बढी हो । अमेरिकी कच्चा तेलको मूल्य तीन वर्षयताकै सबैभन्दा बढी हो ।

    बुधबार तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । अमेरिकी बेन्चमार्क १६ सेन्टले वृद्धि भएर प्रति ब्यारेल ६७.८८ डलर कायम भएको छ भने ब्रेन्ट क्रुडको मूल्य १८ सेन्टले वृद्धि भई प्रति ब्यारेल ७०.४३ डलर पुगेको छ ।

    तेलको मूल्यमा यस वर्षको शुरुदेखि हालसम्म ३० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ ।
    –रासस

  • चीनमा पहिलोपटक बर्डफ्लु मानिसमा संक्रमण पुष्टि, सरकारले थाल्यो अनुसन्धान

    चीनमा पहिलोपटक बर्डफ्लु मानिसमा संक्रमण पुष्टि, सरकारले थाल्यो अनुसन्धान

    काठमाडौं । चीनमा पहिलोपटक बर्डफ्लु मानिसमा संक्रमण भएको पुष्टि भएको छ । बुधबार एक पुरुषलाई संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । भाइरस कसरी सर्‍यो भन्नेबारे पुष्टि हुन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् ।

    गतसाता बर्डफ्लु संक्रमण पुष्टि भएको थियो तर अहिले उनी निको भएर घर फर्किसकेको जनाइएको छ । कुखुराबाट मानिसमा बर्डफ्लु सरेको धेरै घटनाहरु भए पनि कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिमा बर्ड संक्रमण पुष्टि भएको थिएन ।

    बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)का अनुसार अस्पतालमा भर्ना गरिएको एक महिना पछि उनमा बर्डफ्लु गराउने भाइरस H10N3 बाट संक्रमण पुष्टि भएको थियो । विश्वमा यो संक्रमण कुनै मानिसमा पनि भेटिएको थिएन । यो पंक्षीबाट मानिसमा सरेको पहिलो संक्रमण हो ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यो संक्रमण फैलने जोखिम न्यूून रहेको र मानिसबाट मानिसमा उक्त भाइरस नसर्ने बताएको छ ।
    बर्डफ्लु संक्रमण मानिसमा देखिएपछि त्याहाँ पालिएका लाखौं पक्षीहरु नष्ट गरिएको छ ।

     

  • जापानले कोभ्याक्सलाई ८०० मिलियन डलर सहायता दिने, सुगाले आज बोलाए भर्चुअल सम्मेलन

    जापानले कोभ्याक्सलाई ८०० मिलियन डलर सहायता दिने, सुगाले आज बोलाए भर्चुअल सम्मेलन

    टोक्यो । जापानले विश्व स्वास्थ्य संगठन अन्तर्गतको खोप संजाललाई ८०० मिलियन डलर सहायता प्रदान गर्ने भएको छ ।

    प्रधानमन्त्री यासिहिदे सुगाले उक्त सहायता अन्तर्गत कोभ्याक्सलाई खोप लगायतका सहयोग गर्न लागेको जापानी अखबार मिनिचीले बुधबार जनाएको छ ।

    जापानले यसअघि कोभ्याक्सलाई २०० मिलियन डलर उपलब्ध गराइसकेको छ । चाँडै कोभ्याक्सलाई दिइने खोपको परिमाण पनि घोषणा गरिने उक्त अखबारले लेखेको छ ।

    बुधबार प्रधानमन्त्री सुगाले कोभ्याक्सको भर्चुअल सम्मेलन आयोजना गरेका छन् । उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति कमला ह्यारिस, सामाजिक अभियन्ता बिल गेट्स र जी–सेभेन राष्ट्रका प्रतिनिधि पनि सहभागि हुनेछन् ।

    जापानी सांसदहरुले पछिल्लो संक्रमण वृद्धि भैरहेको ताइवानलाई आस्ट्राजेनेका खोप उपलब्ध गराउन दबाब दिइरहेका छन् ।

  • बेलायतद्वारा जी-सेभेन बैठकमा ‘खोप पासपोर्ट’को प्रस्ताव, बोरिस जोन्सन भन्छन् : आउने महामारीको तयारी गरौं

    बेलायतद्वारा जी-सेभेन बैठकमा ‘खोप पासपोर्ट’को प्रस्ताव, बोरिस जोन्सन भन्छन् : आउने महामारीको तयारी गरौं

    लन्डन । बेलायतले आगामी जी-सेभेन बैठकमा कोभिड-१९ महामारीलाई लक्षित गर्दै खोप पासपोर्ट लागु गर्नुपर्ने प्रस्ताव पेश गर्ने भएको छ । भ्याक्सिन पासपोर्ट लागु गर्न सकिए भविष्यमा आइपर्ने महामारीको चुनौतिसँग जुध्न सकिने उनको भनाई छ ।

    क्यानडियन टेलिभिजन सीबीसीसँग कुरा गदै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड-१९ को खोप पासपोर्टबारे बैठकमा सहमति जुट्नुपर्ने बताए । उनले भने, ‘कसरी भ्रमण र पासपोर्टले काम गर्छ भनेर सहमति खोजिनुपर्छ ।’

    जुन ११ देखि १३ सम्म बेलायतको कर्नवेलमा आयोजना हुने ठूला अर्थतन्त्र जी-सेभेन (अमेरिका, क्यानडा, जापान, बेलायत, फ्रान्स, इटाली र जर्मनी)को सम्मेलन अघि प्रधानमन्त्री जोन्सनले उक्त कुरा बताएका हुन् ।

    ‘जसरी २०२० मानव सभ्यताकै लागि संकटपूर्ण रह्यो त्यसैगरि, आगामी दिनमा पनि यस्ता महामारीबाट जोगिन हामीले तयार थाल्नुपर्छ’ जोन्सनले भने । अहिलेसम्म महामारीबाट संसारभर ३.५ मिलियनको मृत्यु भैसकेको छ ।

  • बेलायतमा कोभिड-१९ को तेस्रो लहर आउने सरकारका सल्लाहकारद्वारा जानकारी

    बेलायतमा कोभिड-१९ को तेस्रो लहर आउने सरकारका सल्लाहकारद्वारा जानकारी

    लन्डन । बेलायत सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।

    उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताएका हुन् । तेस्रो लहर ल्याउन सक्ने प्रकारका बृटिश प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् ।

    उनले बेलायतको वर्तमान अवस्थाका बारेमा भन्नुभएको छ हुनत हाल बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै छ तर पनि ती संक्रमितहरुलाई भारतमा भेटिएका भारतीय प्रजातिका संक्रमितहरुका कारणले बल पुग्न पनि सक्छ ।

    ‘यसैकारणले बेलायतमा कोभिडको तेस्रो लहरको शुरुआत हुन सक्ने अवस्था रहेको छ’ उनले भने । उनले बीबीसीसँगको कुराकानीमा सोमबार भनेका थिए कि हुनत अहिले बेलायतमा देखिएका संक्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुँदै जानेछन् ।

    शुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ- उनले भने । बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को बृटिश भेरिएन्टलाई खतरनाक भनिएको छ ।

  • सिरियाको राष्ट्रपतिमा निर्वाचित असदलाई चीनद्वारा बधाई, असदले प्राप्त गरे ९५.१ प्रतिशत मत

    सिरियाको राष्ट्रपतिमा निर्वाचित असदलाई चीनद्वारा बधाई, असदले प्राप्त गरे ९५.१ प्रतिशत मत

    काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले सिरियाका राष्ट्रपतिमा बसर अल असद निर्वाचित भएकोमा बधाई दिएका छन् । राष्ट्रपति सि जिनपिङले सोमबार सिरियाली नवनिर्वाचित राष्ट्रपति बसर अल असदललाई बधाई सन्देश पठाएका हुन् ।

    सिरियामा हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा बसर अल असद निर्वाचित भएका थिए । राष्ट्रपति सि जिनपिङले सो सन्देशमा चीन र सिरिया आपसका मित्र राष्ट्र हुन् भन्दै यी दुई देशका बीचको मैत्री तथा कूटनीतिक सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने बताएका छन् ।

    राष्ट्रपति सि जिनपिङले सिरिया चीनसँग कूटनीतिक सम्बन्धलाई स्थापना गर्ने र कायम राख्ने अरबको एउटा पुरानो देश रहेको उल्लेख गरेका छन् । आगामी दिनमा सिरियाका राष्ट्रपति असदको समयमा चीन र सिरियाबीचको सम्बन्ध थप सुदृढ बन्ने विश्वास पनि राष्ट्रपति सि जिनपिङले सो सन्देशमा व्यक्त गरेका छन् ।

    उनले कोभिड १९ का विरुद्धमा अहिले विश्वले संघर्ष गरिरहेको छ भन्दै आगामी दिनमा सिरियालाई पनि चीनले यो महामारीका विरुद्धमा लड्न सहयोग गर्ने बाचा गरेका छन् । सिरियामा केही वर्षदेखि राष्ट्रपति असदका विरुद्धमा आन्दोलन जारी छ । त्यहाँका जनताले प्रजातान्त्रका लागि गरेको संघर्षमा परेर चार लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

  • डब्ल्यूएचओद्वारा भारतमा फैलिएको नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण

    डब्ल्यूएचओद्वारा भारतमा फैलिएको नयाँ कोभिड भाइरसलाई ‘डेल्टा भेरिएन्ट’ नामाकरण

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतमा फैलिएको बी.१.६१७.२ कोरोना भाइरसको प्रकारलाई जनाउने ‘भेरिएन्ट’ लाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । भाइरसको नाम उच्चारण सजिलो बनाउन नसक्दा यसलाई सञ्चारमाध्यम तथा जनमानसले भारतीय भेरिएन्टका नामले चिन्दै आएका थिए ।

    डब्ल्यूएचओले सोमबार आफ्नो एक विशेषज्ञ समूहसँगको छलफलमा भेरियन्ट्स को लागि सजिलै उच्चारण र गैर-कलंकित सङ्केत (नाम)हरू प्रयोग गर्न सिफारिस गरेको हो ।

    डब्लुएचओले जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड-१९ को प्रकारलाई जनाउँदा कुनै देशको नाम उच्चारण गर्दा यसले सम्बन्धित देशको प्रतिष्ठामाथि आँच आएको गुनासोलाई सम्बोधन गर्दै ग्रीक वर्णमालाका अक्षर अल्फा, बीटा, गामाजस्ता गैर–वैज्ञानिक समूह वा श्रोता तथा दर्शकहरुद्वारा छलफल गर्न सजिलो र अधिक व्यवहारिक हुने अक्षरहरु प्रयोग गर्न सिफारिस गरिएको छ ।”

    त्यसैगरी बेलायतमा भेटिएको खतरनाक नयाँ कोभिड भाइरस (बी.१.१.७)लाई डेल्टा, दक्षिण अफ्रिकामा भेटिएको भाइरसलाई बिटा र ब्राजिलमा भेटिएको नयाँ भाइरसलाई गामा नामाकरण गरिएको छ ।

    यी भाइरसको वैज्ञानिक नाम पूर्ववत नै रहेपनि उच्चारण सजिलो बनाउन र भाइरसको पहिचान कुनै देश विशेषको नामबाट हुँदा यसले उक्त देशलाई हेर्ने विभेदकारी दृष्टिकोण बन्ने भनाइहरूपछि विश्व स्वास्थ्य संगठनले यो निर्णय लिएकोे हो । विश्व स्वास्थ्य सङ्गठनकी कोभिड-१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै भनिन्, “भेरिअन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न ।”

    अमेरिका, ब्राजिल, फिलिपिन्स र अन्य मुलुकहरूमा भेटिएका कोभिडका नयाँ प्रकारलाई एप्सिलन, जेटा, आयोेटा र थेटाजस्ता नाम दिइएको छ ।

    भारतमा सबैभन्दा पहिले भेटिएको प्रकारलाई भने ‘कप्पा भेरिएन्ट’ नामाकरण गरिएको छ । भारतमा भेटिएको बी.१.६१७.।२ भेरिएन्ट भारतमा कोभिडको घातक दोस्रो लहरको रूपमा देखिएको छ । महामारीको उक्त दोस्रो लहरका कारण दैनिक हजारौँको मृत्यु हुनुका साथै लाखौँ सङ्क्रमित हुँदा भारतको स्वास्थ्य सेवा संरचनालाई नै अस्तव्यस्त बनाएको छ ।

    कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरिअन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ ।

  • अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन न्यूजील्यान्ड भ्रमणमा

    अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसन न्यूजील्यान्ड भ्रमणमा

    अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन न्यूजील्यान्डको भ्रमणका लागि आइतबार न्यूजील्यान्डको क्वीन्सटाउन आइपुगेका छन् । उनलाई न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले स्वागत गरेकी थिइन् ।

    दुई नेताको लामो समयपछि भएको भेटवार्तामा कोरोनाभाइरस महामारीका कारण लामो समय बन्द गरिएको हवाई यातायातलाई पुनः पूर्ववत रुपमै सञ्चालन गर्ने तथा दुबै मुलुकसँग चीनको सम्बन्धमा आएको तिक्तताका विषयमा छलफल हुने अनुमान गरिएको छ ।

    कोरोनाभाइरसको संक्रमण फैलिएपछि कडा प्रतिबन्ध घोषणा गरेको न्यूजील्यान्डको भ्रमण गर्ने मोरिसन पहिलो विशिष्ट नेता हुन् । छिमेकी यी दुबै देशले गत महिनादेखि क्वारेन्टिनमुक्त यात्रा खोलेका थिए । तर हालै मात्र अस्ट्रेलियाको मेलबोर्नमा कोभिड-१९ को संक्रमण देखिएपछि भिक्टोरिया राज्यबाट हुने उडान प्रभावित भएका छन् ।

    न्यूजील्यान्डले यतिबेला क्यान्टरबरी क्षेत्रमा ठूलो वर्षासहितको बाढीको सामना गरिरहेको छ । भिडियो दृश्यहरुमा हेलिकप्टरको सहायताबाट मानिसको उद्धार गरिएको देखाएको छ । बाढीले हजारौं घरपरिवारलाई विस्थापित गर्ने खतरा उत्पन्न भएको छ ।

    क्वीन्सटाउनलाई दुबै नेताको भेटघाटका लागि तोकिनुमा यहाँको पर्यटन व्यवसायलाई पुनर्जीवन दिने प्रयास पनि हो । पर्यटकीय नगर क्वीन्सटाउनलाई कोभिड-१९ को महामारीले ज्यादै नराम्रोसँग प्रभावित बनाएको छ । पर्यटन व्यवसायीले अस्ट्रेलियाली पर्यटक यहाँ आउने आशा गरेका छन् । दुबै देशका लागि चीनसँगको सम्बन्ध पनि वार्ताको प्रमुख अजेन्डा हुनेछ ।

    अस्ट्रेलियासँग चीनको सम्बन्ध निकै कमजोर अवस्थामा पुगेको छ । अस्ट्रेलिया सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेको सेवालाई अस्ट्रेलियामा प्रतिबन्ध लगाउने तथा कोरोनाभाइरसको उत्पत्तिका सम्बन्धमा चीनमाथि स्वतन्त्र छानबिन गर्नुपर्ने माग गरेपछि चीन र अस्ट्रेलियाबीचको विवाद चुलिएको हो ।

    न्यूजील्यान्डले पनि हालैका महिनाहरुमा केही विषयमा चीनको विरोध गर्दै आएको छ । तर चीनसँग अस्ट्रेलियाको भन्दा न्यूजीन्यान्डको सम्बन्ध केही सुमधुर छ ।

    न्यूजीन्यान्डकी प्रधानमन्त्री आर्डर्नले मोरिसनसँग कोभिड-१९ को पुनरुद्धारका साथै केही प्रमुख क्षेत्रीय चुनौती एवं सुरक्षा मामिलामा छलफल गर्ने बताएका छन् । उनीले संवाददाताहरुसँग भनिन् , ‘अस्ट्रेलियासँग हाम्रो सम्बन्ध अत्यन्त प्रगाढ र ज्यादै महत्वपूर्ण छ ।’

  • चीनको उत्पादन क्षेत्र निरन्तर सुधारतर्फ

    चीनको उत्पादन क्षेत्र निरन्तर सुधारतर्फ

    बेइजिङ । कोरोनाभाइरस महामारीको सङ्कटलाई समयमै सम्बोधन गरेको चीनको उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा मे महिनामा सामान्य सुधार आएको एक सर्भेले देखाएको छ ।

    औद्योगिक समूह र राष्ट्रिय तथ्यांक निकायले तयार पारेको मासिक पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) मा चीनको औद्योगिक उत्पादन ५१ विन्दुमा रहेको छ । ५० विन्दुभन्दा माथिको गतिविधिले औद्योगिक उत्पादन वृद्धि भइरहेको सङ्केत गर्दछ । गत अप्रिलमा यो ५१.१ विन्दुमा थियो ।

    चिनियाँ लजिस्टिक एन्ड पर्चेजिङ महासंघ र राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार उत्पादन र आयात बढेको छ भने सामानको अर्डर र रोजगारी केही घटेको छ ।

    महासंघले जारी गरेको वक्तव्यमा अर्थशास्त्री झाङ लिकुनले तथ्याँक विश्लेषणबाट ‘बजार माग अपर्याप्त’ रहेको सङ्केत गर्ने बताएका छन् ।

    चिनियाँ उत्पादकहरुले अन्य मुलुकको तुलनामा सन् २०२० मा आफ्नो अर्थतन्त्र चाँडै खोलेका थिए ।

  • चीनद्वारा एक दम्पतीलाई तीन जनासम्म सन्ताउन जन्माउन दिने अनुमति

    चीनद्वारा एक दम्पतीलाई तीन जनासम्म सन्ताउन जन्माउन दिने अनुमति

    बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिन पिङले सोमबार बसेको पोलिटब्यूरो बैठकमा दुई सन्तान मात्र जन्माउने नियमलाई अन्त्य गर्दै एक दम्पतीले तीन जनासम्म जन्माउन सक्ने घोषणा गरेका छन् ।

    चीनको जनसंख्या वृद्धिदर हालको जनगणनाअनुसार केही दशकमै कम भएपछि राष्ट्रपतिले सो निर्णय गरेका हुन् । सो जनगणनाको नतिजाले चीनमा जनसंख्या घट्नबाट जोगाउन बढी बच्चा जन्माउन पाउने नीति स्वीकृत गरेका छन् ।

    चीनले सार्वजनिक गरेको जनगणनामा गत वर्ष १ करोड २० लाख बच्चा जन्मिएको देखिएको थियो । सन् २०१६ मा एक करोड ८० लाख संख्याको हाराहारीमा थियो भने सन् १९६० दशकयता सबैभन्दा कम हो ।

    सन् १९८० देखि सन् २०१५ सम्म एक दम्पतीले एक जना बच्चामात्र जन्माउन पाउने नीति थियो र सन् २०१६ को सुरुदेखि दुई बच्चासम्म जन्माउन पाउने नीति बनाइएको थियो ।

  • भारतमा कोभिडको नक्कली औषधी बेचेको आरोपमा ३५० जना पक्राउ

    भारतमा कोभिडको नक्कली औषधी बेचेको आरोपमा ३५० जना पक्राउ

    दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट बिरामी भएकाहरुलाई संकास्पद ठगहरुले नक्कली औषधी बेचेको आरोपमा ३ सय ५० जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

    भारतको राजधानी दिल्लीमा प्रहरीले यो घटनालाई मानवाताविरोधी अपराध गरेको भन्दै प्रकाउ गरेको छ ।

    घटनाको अनुसन्धान पछि सामाजिक सञ्जालमार्फत नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको प्रहरीको वरिष्ट अधिकारी प्रेम नाथले बताए ।

  • नयाँ भेरिएन्ट भेटिएपछि भियतनामले होचि मिन्ह सहरका सबैको परीक्षण गर्ने

    नयाँ भेरिएन्ट भेटिएपछि भियतनामले होचि मिन्ह सहरका सबैको परीक्षण गर्ने

    काठमाडौं । भियतनाममा कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखिएपछि हो चि मिन्ह शहरका पुरै स्थानिय बासिन्दाहरुको परीक्षण गरिने भएको छ ।

    नयाँ स्वरुपको कोरोनाभाइरस हावामार्फत तीव्र रुपमा फैलिन सक्ने भएकाले यहाँ १५ दिनका लागि सामाजिक दूरी कायम गर्ने मापदण्ड लागू गर्ने अधिकारीहरुले बताएका छन् ।

    भारतमा र बेलायतमा देखिएको कोरोनाभाइरसका प्रजातिको नयाँ भेरिएन्ट मिश्रितरुपमा आफ्नो देशमा देखिएको भियतनामको स्वास्थ्यमन्त्रीले बताएका छन् ।

    भियतनामको हो चि मिन्ह शहरमा धार्मिक गतिविधि बढेपछि कोरोनाभाइरस संक्रमण वृद्धी भएको अधिकारीहरुले बताएका छन् । त्यहाँ एउटै धार्मिक स्थलमा सहभागी १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

    दैनिक १ लाख जनाको परीक्षण गरिने त्यहाँका अधिकारीले बताएका छन् । त्यहाँ १० जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ, पसल र रेष्टुरेष्टहरु बन्द गरिएको बीबीसीले जनाएको छ ।

    सन् २०२० को सुरुवातमा भियतनाममा कोरोना संक्रमण देखिएलगतै स्वदेश फर्किने आफ्नो नागरिकबाहेक सबैलाई प्रवेशमा रोक लगाइएको थियो र विदेशबाट फर्कने सबैलाई अनिवार्य क्वारेन्टाइन र परीक्षणको व्यवस्था गरिएको थियो ।

    भियतनाममा कोरोनाभाइरस संक्रमण अहिलेसम्म ७ हजार १ सय ७ जनामा पुष्टि भएको छ भने ४७ जनाको मृत्यु भएको छ ।

     

  • बहुमतको सरकार बनाउन इजरायलमा विपक्षी गठबन्धनको कसरत, नेतान्याहुले पद गुमाउने सम्भावना

    बहुमतको सरकार बनाउन इजरायलमा विपक्षी गठबन्धनको कसरत, नेतान्याहुले पद गुमाउने सम्भावना

    तेलअभिभ । सबैभन्दा लामो समयसम्म इजरायलको प्रधानमन्त्री बनेका बेन्जामिन नेतान्याहुको पद गुम्ने सम्भावना बलियो भएको छ ।

    त्यहाँको दक्षिणपन्थी दल यामिनाका नेता नेफ्टाली बेनेटले अन्य दलहरुलाई समेटेर नयाँ सरकार गठनको गृहकार्य सुरु भएको घोषणा गरेका छन् । एसि अटिड नामक अर्को दलसँग मिलेर सरकार बनाउने उनले जनाएका छन् ।

    यो राजनीतिक घटनाक्रमले इजरायलमा तरंग सिर्जना गरेको छ । यदि नयाँ सरकारले सपथ ग्रहण गरेमा १२ वर्ष लामो नेतान्याहुको प्रधानमन्त्रीत्व कार्यकाल समाप्त हुनेछ ।

    आइतबारको प्राइम टाइम टेलिभिजन सम्बोधनमा बोल्दै विपक्षी नेता नेफ्टालीले पाँचौ चरणको अर्को चुनावमा जानबाट देशलाई रोक्न र अस्थिरताबाट देशलाई मुक्त गर्न आफूले सरकार गठनको गृहकार्य सुरु गर्ने घोषणा गरेका थिए ।

    ‘लगातारका चार चरणका चुनाव र त्यसयताका २ महिनालाई समीक्षा गर्दा नेतान्याहु नेतृत्वको दक्षिणपन्थी सरकार बन्ने सम्भावना अब समाप्त भएको छ’ उनले भने, ‘या त पाँचौ चरणको चुनाव वा नयाँ सरकार अब हुनुपर्छ ।’

    वर्तमान प्रधानमन्त्री नेतान्याहुले बन्ने भनिएको नयाँ सरकार राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएका छन् । उनले नाफ्टाली बेनेटलाई समर्थन नगर्न दक्षिणपन्थी दलहरुलाई आग्रह समेत गरेका छन् ।

  • जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति

    जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति

    टोकियो । जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ ।

    स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ।

    फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि देखि नै यो खोप उपयोग हुँदै आएको थियो ।

    मन्त्रालयले आगामी सोमबार सो समूहका लागि फाइजार खोप निःशुल्क उपलब्ध गराउने निर्णय सरकारले गर्ने अपेक्षा पनि गरेको छ ।

    यो खोप उनीहरुलाई उपयोग गर्न उपयुक्त हुन्छ की हुँदैन भन्ने बारेमा चिकित्सकीय परीक्षणका लागि दुई हजार २६० बालबालिकालाई लगाइएको थियो ।

    परीक्षणबाट सकारात्मक नतिजा आएपछि विज्ञ तथा सरोकारवालाहरुले खोप १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई पनि लगाउने अनुमति दिन सकिने सुझाव दिएका हुन् ।

    स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्क व्यक्तिहरुलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमा नै दिइएको थियो ।

  • बेलायतका प्रधानमन्त्री जोन्सनले प्रेमिकासँग गरे विवाह

    बेलायतका प्रधानमन्त्री जोन्सनले प्रेमिकासँग गरे विवाह

    लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् ।

    उनीहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको जनाइएको छ । उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका हुन् । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए ।

    बेलायतमा कोरोनाभाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

    जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् । बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो ।

    उनीहरुको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो ।
    प्रधानमन्त्री जोन्सन अहिले ५६ बर्ष भएका छन् भने उनकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो हो ।

  • कोरोनाभाइरसको भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने

    कोरोनाभाइरसको भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने

    भियतनाममा नयाँ प्रजातिको कोरोनाभाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ ।

    भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोनाभाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दाबी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् ।

    भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताउनुभयो । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

    सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ ।

  • कोभिड-१९ उत्पत्तिको अध्ययनलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

    कोभिड-१९ उत्पत्तिको अध्ययनलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोेभिड-१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ ।

    अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेको संगठनले बताएको हो । जेनेभामा शुक्रवार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य सङ्कटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, ‘सम्बन्धित सबैले यस (कोभिड-१९ को उत्पत्ति)को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ ।’

    ‘यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य गर्नसक्नुहुन्छ र यसबाट तपाइँले चाहनुभएको जवाफहरू प्राप्त गर्नुहुन्छ । वास्तवमा भाइरसको उत्पत्ति पत्ता लगाउन दोषारोपणरहित वातावरणको आवश्यक छ । भाइरस उत्पत्तिको विषय राजनीतिक दोष नलागेको हुनुपर्छ ।’

    डब्ल्यूएचओका वरिष्ठ अधिकारीले सार्स-कोभ २ भाइरसको सम्भावित उत्पत्तिसम्बन्धी समाचार, प्रमाण वा नयाँ सामग्रीका साथ ‘सञ्चारमाध्यममा अधिक छलफल भएको’ र यो चिन्ताको विषय भएको छ ।

    सबै मुलुकका सरकारहरूले सँगै मिलेर काम गर्ने र भाइरस मूल अध्ययन सफलतापूर्वक सम्पन्न गर्नका लागि वातावरण सिर्जना गर्न आह्वान गर्दै रायनले भने, ‘यस मुद्दाको वर्तमान राजनीतिकरणले डब्ल्यूएचओलाई जवाफ दिन कठिन बनाएको छ ।’

    भाइरसको उत्पत्ति पत्ता लगाउन धेरै अध्ययन र बहु अभियानहरू आवश्यक पर्दछन् यसका लागि सहयोग, खुलापन र समय आवश्यक रहेको उनको भनाइ थियो ।

  • बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत, सामाजिक खर्च र व्यवसायमा उच्च कर वृद्धि

    बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत, सामाजिक खर्च र व्यवसायमा उच्च कर वृद्धि

    वासिङटन । राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक बर्षको ६० खर्ब अमेरिकी डलरको बजेट अमेरिकी समय अनुसार शुक्रबार प्रस्ताव गरेका छन् । बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिनुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ ।

    कोभिड-१९महामारीले आक्रान्त बनेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले महामारीलाई नियन्त्रण गर्न सहयोग पुर्‍याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै जनस्तरबाट बृहत् प्रशंसा पाएका थिए ।

    बजेट ‘अमेरिकी नागरिकमा सिधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने’ दावी डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति बनेका बाइडेनले दावी गरेका छन् ।

    ट्रम्प प्रशासनले कोभिड-१९ नियन्त्रणमा देखाएको वेवास्ता र बाइडेनको जनमुखी कार्यक्रमले उनलाई प्रशंसा मिलेको छ । यो बर्षको अनुमानित घाटा ३.७ ट्रिलियन पुग्ने बजेटमा बताइएको छ भने अर्को बर्ष यो घाटा १.८ ट्रिलियनमा झर्ने उल्लेख गरिएको छ । यो महामारीभन्दा पहिलेको अवस्थाभन्दा झण्डै दोब्बर हो ।

    कोभिड-१९ महामारी लक्षित राहतका लागि पाँच खर्ब अमेरिकी डलर स्वीकृत गरिसकेको अवस्थामा बजेटले थप ३० खर्ब डलरभन्दा बढी राष्ट्रिय ऋण पुग्ने प्रक्षेपण गरेको छ । त्यसैले सरकारले आफ्नो खर्चको प्रति डलरमा ५० सेन्ट उधारो लिनुपर्नेछ ।

    बजेट घाटालाई रोक्न असफल भएपछि बाइडेनले व्यवसाय र उच्च कमाई भएका व्यक्तिहरूमा प्रस्तावित कर वृद्धि गर्ने योजना प्रयोग गरेका छन् जसले विश्वभरका पूर्व–प्राथमिक र बाल हेरचाहको लागि ठूलो अनुदान र स्वास्थ्य क्षेत्र लगायतका क्षेत्रमा दिइने ‘ग्यारेन्टेड’ भुक्तानी बिदा जस्ता नयाँ–नयाँ सामाजिक कार्यक्रमहरू लाई मजबुत पार्न सहयोग दिने अपेक्षा गरिएको छ ।

    बाइडेनले आफ्नो बजेटबारे भने, ‘हाम्रो अर्थतन्त्रको विकास गर्ने सबभन्दा राम्रो तरीका माथिबाट तल हो, तर तलबाट माथि हैन । हाम्रो समृद्धि ती मानिसहरूबाट आउँदछ जो दिनहुँ सबैरै उठ्छन्, कडा परिश्रम गर्छन्, आफ्नो परिवार बढाउँछन्, कर तिर्छन्, राष्ट्रको सेवा गर्छन्, र तिनीहरूको समुदायमा स्वयंसेवा गर्छन् ।’

    बजेटमा ८०० अर्ब डलरभन्दा बढी रकम जलबायु परिवर्तनविरूद्धको लडाइँ साथै स्वच्छ उर्जामा लगानी गनैका लागि छुट्ट्याइएको छ भने २०० अर्ब तीन-चार बर्षका पूर्व प्राथमिक विद्यालयमा जाने उमेरका बालबालिकालाई निःशुल्क विद्यालयको व्यवस्था गर्न र १०९ अर्ब डलर सम्पूर्ण अमेरिकीको दूई बर्षे निःशुल्क सामुदायिक कलेज खर्च र २२५ अर्ब डलर परिवार भत्ता र चिकित्सकीय विदामा खर्चिने बताइएको छ । बाइडेनले ११५ अर्ब डलर सडक र पुल निर्माणका साथै १६० डलर सार्वजनिक यातायात र रेल सेवा सुधारका लागि छुट्ट्याइएको छ भने एक खर्ब डलर ब्रोडब्याण्ड इन्टरनेट पहुँचमा सुधारका लागि खर्चिने बताइएको छ ।

    बजेट कार्यान्वयनका लागि अमेरिकी संसद कङ्ग्रेसबाट पारित हुनुपर्छ । रिपब्लिकन पार्टीका सिनेटर लिड्से ग्राहमले योजनालाई अनाबश्यक रूपमा महँगो भनेर आलोचना गरेका छन् ।

  • भारतमा ३६ सयको मृत्यु, १ लाख ७३ हजार नयाँ संक्रमित

    भारतमा ३६ सयको मृत्यु, १ लाख ७३ हजार नयाँ संक्रमित

    दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ओरालो लाग्दै आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन् ।

    २४ घण्टा यता ३ हजार ६ सय १७ जनाको मृत्यु भएको छ भने २ लाख ८४ हजार ६ सय १ जना डिस्चार्ज भएका छन् ।

    भारतमा हालसम्म २ करोड ७७ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ५१ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    अहिलेसम्म कोरोनाबाट ३ लाख २२ हजार ५ सय १२ जनाले ज्यान गुमाइसकेका छन् भने हाल २२ लाख २८ हजार ७ सय २४ जना संक्रिय संक्रमित रहेका छन् ।

     

     

  • कोरोनाभाइरसको उत्पतिको पुनः छानविन गर्न भारतको आग्रह

    कोरोनाभाइरसको उत्पतिको पुनः छानविन गर्न भारतको आग्रह

    दिल्ली । भारतले कोरोनाभाइरसको उत्पतिबारे पुनः छानविन गर्नुपर्ने बताएको छ । थप तथ्यांक र अध्ययनका माध्यमबाट निचोडमा पुग्न अर्को चरणको अध्ययनको आवश्यकता रहेको भारतले जनाएको छ ।

    शुक्रबार विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले उक्त जानकारी दिएका हुन् ।

    भाइरसको उत्पतिबारे यसअघि विश्व स्वास्थ्य संगठनले संचालन गरेको विश्वव्यापी अध्ययन महत्वपूर्ण कदम भएको बताउँदै भारतले यसअघि भएका अध्ययनलाई सबैको समझदारी र सहकार्यको रुपमा अघि बढाउनुपर्ने माग पनि उसले गरेको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले यसैसाता आफ्ना खुफिया एजेन्सीलाई चीनबाट भएको भनिएको भाइरसको उत्पतिको सत्यतथ्य पत्ता लगाउन ९० दिनको समय दिएका छन् ।

    तर, चीनले भने भाइरसको उत्पतिलाई लिएर राजनीति नगर्न भनेको छ ।

  • तनाबको बिच चिनियाँ र बेलायती विदेशमन्त्रीबीच फोनवार्ता

    तनाबको बिच चिनियाँ र बेलायती विदेशमन्त्रीबीच फोनवार्ता

    चिनियाँ विदेश मन्त्री वाङ यी र बेलायती विदेश मन्त्री डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको छ । उनीहरुबीच वार्ता भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    उनीहरुबीच द्धिपक्षीय हितका विभिन्न विषयवस्तुहरुका साथै अन्य चासोका बारेमा कुराकानी भएको थियो । चिनियाँ विदेश मन्त्री यीले गत वर्षमात्र पनि चिनिया राष्ट्रपति सी जिनपिङ र बेलायती प्रधानमन्त्री बोरिस जोेन्सनबीच दुई पटकसम्म फोनमा कुराकानी भएको थियो ।

    विदेशमन्त्री यीले बिहीबार दुई देशका विदेशमन्त्रीबीच भएको कुराकानी तथा गत वर्ष पनि चिनियाँ राष्ट्रपति र बेलायत प्रधानमन्त्रीका बीचमा भएको कुराकानी बाट यी दुई देश बीच असल सम्बन्ध रही आएको कुरा प्रमाणित हुने कुरा बताएका छन् ।

    उनीहरुबीच अहिले कोभिड १९ का कारणले दुवै देशमा पारेको प्रभावका साथै यसका कारण उत्पन्न परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । साथै दुई देशबीचको आन्तरिक व्यापारिक साझेदारीका साथै अन्य आर्थिक विषयमा पनि कुराकानी भएको जनाइएको छ ।

  • चार जना युरोपेली मुलुकका विदेशमन्त्रीले चीनको भ्रमण गर्ने

    चार जना युरोपेली मुलुकका विदेशमन्त्रीले चीनको भ्रमण गर्ने

    बेइजिङ । पोल्यान्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेशमन्त्रीहरुले चीनको भ्रमण गर्न लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

    विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१ तारिखका बीचमा चार देशका मन्त्रीहरुले चीनको भ्रमण गर्न लागेका हुन् ।

    पोल्यान्डका विदेश मन्त्री जिग्निउ राउ, सर्बियाका विदेश मन्त्री निकोला सेलाकोभिच, आयरल्यान्डका विदेश तथा रक्षा मन्त्री सिमोन कोभेनी तथा हङ्गेरीका विदेश तथा व्यापार मन्त्री पिटर जिगार्टो चीनको भ्रमणमा आउन लागेको मन्त्रालयको भनाई छ ।

    चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी को निमन्त्रणमा उनीहरु चीन भ्रमण गर्न लागेको पनि प्रवक्ता लिजियानले बताए ।

  • भारतमा ३६ सयको मृत्यु, १ लाख ८६ हजार नयाँ संक्रमित थपिए

    भारतमा ३६ सयको मृत्यु, १ लाख ८६ हजार नयाँ संक्रमित थपिए

    दिल्ली । कोरोनाभाइरस संक्रमणको कारण पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ । १ लाख ८६ हजार ३ सय ६४ जना नयाँ संंक्रमित थपिएका छन् भने २ लाख ५९ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका भएका छन् ।

    पछिल्लो साता भारतमा कोरोनासंक्रमण दर घट्दै गइरहेको छ भने मृत्यु हुने संख्यामा भने कमी आएको छैन । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड ७५ लाख भन्दा बढी रहेका छन् भने २ करोड ४८ लाख भन्दा बढी डिस्चार्ज भइसकेका छन् ।

    भारतमा कुल ३ लाख १८ हजार ८ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् भने २३ लाख ४३ हजार १ सय ५२ जना संक्रिय संक्रमित रहेका छन् ।

  • अमेरिकी, चिनियाँ व्यापार अवरोध हटाउन प्रतिनिधिबीच टेलिफोन वार्ता

    अमेरिकी, चिनियाँ व्यापार अवरोध हटाउन प्रतिनिधिबीच टेलिफोन वार्ता

    बेइजिङ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हालेयता अमेरिकी र चिनियाँ व्यापार प्रतिनिधिहरुबीच बिहीबार पहिलो पटक टेलिफोनमा कुराकानी भएको छ ।

    दुई देशबीचका व्यापार अवरोध हटाउन निकै महत्वपूर्ण मानिएको यस टेलिफोन वार्तामा तत्काल खासै प्रगति नभए पनि वार्ता प्रक्रिया भने शुरु भएको छ । वार्तामा सहभागी दुबै पक्षले करका प्रावधानमा रहेका गतिरोध सुल्झाउने तर्फ कहिले वार्ता प्रक्रिया शुरु हुन्छ भन्ने कुनै सङ्केत दिएका छैनन् ।

    अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईले व्यापार सम्बन्धका बारेमा ‘आन्तरिक समीक्षा’ अझै जारी रहेको बताएको उनको कार्यालयले जनाएको छ । चीनको वाणिज्य मन्त्रालयले चिनियाँ व्यापार प्रतिनिधि एवं उपप्रधानमन्त्री लिउ हे ले समान चासोका विविध विषय उठाएको बताएको छ, तर विस्तृत विवरण भने दिएको छैन ।

    राष्ट्रपति बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरुद्ध शुरु गरेको व्यापार द्वन्द्वका बारेमा के कस्तो रणनीति अपनाउने भन्ने बारेमा अझै केही बताएका छैनन् । ट्रम्पले चीनको औद्योगिक नीति र व्यापार असन्तुलन बढेको भन्दै चीनबाट आयात हुने सामानमा कर वृद्धि गरेका थिए । त्यसको प्रतिक्रियास्वरुप चीनले पनि अमेरिकी सोयाबिन खरिद स्थगन गर्नुका साथै अन्य सामानमा कर वृद्धि गरेको थियो ।

    सन् २०२० को शुरुदेखि कोरोनाभाइरस महामारी फैलिनुअघि देखि नै मध्यस्थकर्ताहरुबीच प्रत्यक्ष भेटवार्ता भएका छैनन् । द्वन्द्व सामान्यीकरण गर्ने अभिप्रायले सन् २०१९ देखि दुबै देशबीच भएको पहिलो चरणको सम्झौता बमोजिम तल्लो तहका अधिकारीहरुबीच फोनबाटै कुराकानी हुने गरेको छ ।

    पहिलो चरणको सम्झौतामा एकअर्का मुलुकका सामानमा थप कर वृद्धि नगर्ने र कतिपय सामानमाथि लागेका करहरु हटाउने सहमति भएको थियो । चीनले अमेरिकी सोयाबिनको खरिद बढाउने र अन्य सामानको आयात बढाउने प्रतिबद्धता जनाएको थियो ।

    कोरोनाभाइरस महामारीका कारण विश्व व्यापारमा प्रभाव पारेसँगै चीनले अमेरिकी बस्तु तथा सेवाको खरिदमा ढिलाई गरेको छ ।

    यसैबीच, चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनका उपप्रधानमन्त्री लिउ हे र अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाई बीच बिहीबार बिहान टेलिफोनमा वार्ता भएको जनाएको छ ।

    दुबै पक्षबीच समानता र आपसी सम्मानको भावना अनुरुप खुला, व्यवहारिक र रचनात्मक रुपमा वार्ता भएको छ । साथै दुबै पक्षले वार्तामा आ-आफ्ना चासो र सरोकारका विषय उठाएको र आगामी दिनमा निकट सञ्चार सम्पर्क स्थापित गर्ने सहमति जनाएका छन् ।

  • अमेरिकामा गोली प्रहारबाट थप ८ जनाको मृत्यु

    अमेरिकामा गोली प्रहारबाट थप ८ जनाको मृत्यु

    क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा रेल यातायातमा काम गर्ने एक कामदारले गोली प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ । उनले हत्या गरेर आफ्नो पनि ज्यान लिएको प्रहरीले जनाएको छ ।

    सान होजेको भ्याली ट्रान्सपोर्टेशन अथोरिटीमा काम गर्ने ५७ बर्षका साम क्यासिडीले गाली चलाएका थिए । उक्त घटनामा गम्भिर घाइते भएका एक स्थानियलाई अस्पतालमा उपचार भइरहेको छ । के कारणले घटना भएको भन्ने बारे प्रहरीले सार्वजनिक गरेको छैन ।

    अमेरिकामा नरसंहारका घटना महामारीका रुपमा वृद्धि भइरहेको यो पछिल्लो घटना हो । स्थानियका अनुसार बिहान साढे ७ बजे गोली चलेको थियो । मृतकमध्ये एकजना भारतीय भएको प्रहरीले जनाएको छ ।

    उत्त बन्दुकधारीले यातायात सेवामा सन् २०१२ देखि नै काम गर्दै आएको जनाइएको छ ।