Category: विश्व प्रेस

  • चीनको ल्हासा र निङ्ची जोड्ने बुलेट रेलसेवा आजदेखि संचालनमा

    चीनको ल्हासा र निङ्ची जोड्ने बुलेट रेलसेवा आजदेखि संचालनमा

    बेइजिङ । शुक्रबारदेखि चीनको निङ्ची र ल्हासा जोड्ने रेलसेवा संचालनमा आएको छ । चीनको राष्ट्रिय रेलसेवा कर्पोरेसनका अनुसार यसले तिब्बत स्वशाषित क्षेत्रको दक्षिणपूर्वी भेग पनि रेल संजालमा जोडिनेछ ।

    यो रेल सेवाले तिब्बतसँग अन्य राज्यको सम्पर्क सूचना बलियो र संस्कृति आदानप्रदान सुद्धढ हुने विश्वास गरिएको छ । ग्लोबल टाइम्सले तिब्बतको रेलसेवा संचालन हुनु चिनियाँ विकासका लागि निकै महत्वपूर्ण हुने बताएको छ ।

    साथै जातिय एकता, सीमावर्ती क्षेत्रमा दिगोपनको सुनिश्चितता, ग्रामिण क्षेत्रको पुनर्उत्थानमा सहयोग पुग्ने समय ग्लोबल टाइम्सले जनाएको छ । ल्हासादेखि निङ्ची क्षेत्रको राजधानीसम्म जोड्ने ४३५ किलोमिटर लामो रेलसेवा १६० किमी प्रतिघण्टामा रेल कुद्ने ढंगले डिजाइन गरिएको छ ।

     

  • ‘रेड टुरिजम’मा चिनियाँ कम्युनिस्ट आन्दोलन

    ‘रेड टुरिजम’मा चिनियाँ कम्युनिस्ट आन्दोलन

    चीनमा अहिले निकै लोकप्रीय छ, रेड टुरिजम । यहाँ रेड टुरिजमले आन्तरिक पर्यटन बजारलाई नयाँ आकार नै दिएको छ ।

    चीनमा चर्चा पाएको रेड टुरिजमले भारतीय अखबार इन्डियन एक्सप्रेस, हङगकङको साउद चाइना मर्निङ पोस्टदेखि अमेरिकी विश्व च्यानल सिएनएनसम्म चर्चा पाएको छ ।

    के हो ‘रेड टुरिजम’ ?

    सन् १९२१ को जुलाई २३ मा चिनियाँ कम्युनिस्ट पार्टीको जन्म भयो । हुनान प्रान्तमा जन्मिएका चिनियाँ नेता माओ जेदुङले २७ बर्षको उमेरमा पार्टी स्थापना गरेका थिए । पार्टी स्थापनाको छ वर्षपछि जनमुक्ति सेनाको स्थापना भयो ।

    जनमुक्ति सेनाले जापानी उपनिवेशवादी शक्तिदेखि तत्कालीन चीनका शासक चेङ काइसेकका दुवै फौजसँग युद्ध लढ्यो । दोस्रो विश्व युद्ध अगाडिसम्म जापानी र काइसेक दुवै फौजसँग लढेको जनमुक्ति सेनाले दोस्रो विश्वयुद्धपछि निर्णायक युद्ध गर्यो । र, चार वर्षपछि सन् १९४९ अक्टोबर १ मा अहिलेको चीन कब्जा गर्यो ।

    बेइजिङको तियानानमेन स्क्वायरमा पुगेर माओले ‘जनवादी गणतन्त्र चीन’ स्थापना भएको घोषणा गरे । र, अहिलेसम्म यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको सत्ता छ । कुनैबेलाको सामान्य मुलुक अहिले विश्वको दोश्रो ठूलो अर्थतन्त्रको भएको छ ।

    अमेरिकासँग टक्कर गर्ने स्तरको भएको छ । जमिनदेखि अन्तरीक्षसम्म आफ्नो प्रभाव विस्तार गर्न सफल भएको छ ।

    यहीं ऐतिहासिहक घटनाक्रम र यससँग जोडिएका ऐतिहासिक पात्र, परिवेश, स्थानहरुको समग्र यात्रा प्याकेज नै चीनले विकास गरेको ‘रेड टुरिजम’ हो । चीनका नयाँ पुस्तालाई पार्टीको इतिहास पर्यटनको माध्यमबाट चिनाउन यो प्याकेज सुरु भएको हो । यही वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षगाँठ हुनेछेका झन् यसको प्रवद्र्धन व्यापक भएको छ ।

    माओको जन्म भएको हुनान प्रान्तको जन्मस्थान साओस्यान, चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो अधिवेशन भएको नान्हु ताल, चीनका उदारवादी नेता देन स्याओपिङ जन्मेको सिचुवान प्रान्तको ग्वाङएन रेड टुरिजमका गन्तव्यहरुमा पर्छन् ।

    चिनियाँ जनमुक्ति सेनाले यात्रा गरेका लामा–लामा रुटहरु पनि रेड टुरिजमअन्तर्गत पर्छन् । लोकप्रीय रेड टुरिजमका सहरी गन्तव्यहरुमा बेइजिङ, नान्जिङ र सांङघाइ पर्ने र स्पटहरुमा चाहिँ तियानानमेन स्क्वायर, चिनियाँ राष्ट्रिय संग्रहालय, चिनियाँ कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनको स्मृतिगृहहरु पर्ने ग्लोबल टाइम्सले लेखेको छ ।

    पर्यटकहरुलाई भुलाउन चिनियाँ सेनाले जापानी र चेङ काइसेकका सेनासँग गरेको भिडन्त देखाउने नाटक, चित्रकलादेखि विभिन्न उपहार सामग्रीहरु समेत राखिएका छन् । धेरै स्पटहरुमा बेच्नका लागि रातै रंगका स्ट्रबेरीहरु राखिएको ब्लुमबर्ग क्विकटेकले भिडियो सामग्रीमार्फत देखाएको छ ।

    सन् २००४ बाट सामान्य चर्चामा आएको चीनको रेड टुरिजम सि चिनफिङ रास्ट्रपति भएर आएपछि व्यापक भएको अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् । चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार चीनमा १ सय रुटहरु रेड टुरिजमका लागि बनाइएका छन् । गत मे ३१ मा चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले ‘१०० उत्कृष्ट रेड टुरिजम रुटहरु’ सार्वजनिक गरेको थियो ।

    रेड टुरिजमअन्तर्गत २ सय बढी स्पट भएको ग्लोबल टाइम्सले लेखेको छ । जसमध्ये ३९ स्पट मात्रै ठूला र दोस्रो तहका सहरमा छन् । अरु सबै स–सना गाउँ तथा सहरमा छन् ।

    रेड टुरिजमको प्रचारमा चीन सरकारसँगै निजी क्षेत्र पनि उत्तिकै सक्रिय छन् । चीनको रेलवे विभागले रेड टुरिजमलाई प्रबद्र्धन गर्दै ‘रेड लाइन्स’ रुट बनाएको छ । यस्तै, चिनियाँ हवाई यातायात क्षेत्रमा समेत रेड टुरिजमको रुटहरु बनाइएको छ । यसमा चाइना इस्टर्न एयरलाइन्स, छेन्दु एयरलाइन्स, हैनान एयरलाइन्सदेखि चाइना साउदर्न एयरलाइन्सले सेवा दिइरहेको ग्लोबल टाइम्सले लेखेको छ । ग्लोबल टाइम्सका अनुसार रेड टुरिजमको मुख्य सिजन जुन र जुलाइ महिना हुन् ।

    एक वर्षमै साढे एक खर्ब डलर योगदान

    चीन सरकार र निजी क्षेत्र आक्रामक प्रचार गरेको रेड टुरिजमको क्रेज बढ्दै गएको विभिन्न देशका संचार माध्यमहरुले लेखेका छन् । ग्लोबल टाइम्सले हालसालै सार्वजनिक गरेको तथ्यांकअनुसार चीनको अर्थतन्त्रमा रेड टुरिजमले सन् २०२० मा एक खर्ब ५४ अर्ब ५० करोडको योगदान गरेको छ ।

    क्युनारले सार्वजनिक गरेको ‘रेड टुरिजम विकास प्रतिवेदन’ का अनुसार पछिल्ला विदाहरुमा टिकट बिक्रिदर ६० प्रतिशतले बढेको छ । ग्लोबल टाइम्सका अनुसार रेड टुरिजम क्षेत्रमा भ्रमण गर्ने ८९ प्रतिशत ४० वर्षमुनि छन् ।

    सिएनएनका अनुसार चीनको सबैभन्दा ठूलो बुकिङ संस्था सिट्रिपले सन् २०२१ भित्र ५ करोड पर्यटक ल्याउने लक्ष्य लिएको छ । कोभिड–१९ पछि चीनमा पर्यटनको सबैभन्दा राम्रो उत्साह रेड टुरिजम क्षेत्रमै देखिएको छ ।

    सिएनएनले हङकङ पोलिटेक्निक विश्वविद्यालयका प्रोफेसर मिमि लीलाई उदृत गर्दै सन् २०२० मा चीनको कुल आन्तरिक पर्यटनको ११ प्रतिशत हिस्सा रेड टुरिजमले लिएको जनाएको छ । सिएनएनका अनुसार सन् २०२० मा १० करोडले रेड टुरिजम क्षेत्र भ्रमण गरेका थिए । यो बर्ष चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पुग्ने भएकोले झनै संख्या बढ्ने अनुमान गरिएको छ ।

    रेड टुरिजम क्षेत्रको जनशक्ति व्यवस्थित गर्न चीनको पर्यटन मन्त्रालयले हरेक वर्ष देशभरबाट १०० गाइड छान्छ । तालिमका लागि बेइजिङ ल्याएर थप सक्षम बनाउँछ । १०० गाइडबाट पनि उत्कृष्ट पाँच छान्दै चीनले रेड पर्यटनको सुधार र चर्चा गर्ने गरेको सिएनएनले लेखेको छ ।

    रेड टुरिजममार्फत एकतर्फी इतिहास पढाइएको आरोप

    चीनसँग फरक मत राख्नेहरुले रेड टुरिजममार्फत सही इतिहास बढाइ नहुने आरोप लगाइरहेका छन् । सिएनएनले आलोचनात्मक टिप्पणी गर्दै भनेको छ– पर्यटकीय गन्तव्य सही भए पनि पर्यटकलाई एकतर्फी कथा मात्रै सुनाइन्छ ।

    जापानी अतिक्रमणविरुद्ध चिनियाँ नागरिकले गरेको प्रतिरोधबारे युद्ध संग्रहालयमा राखिएका जानकारीमाथि आलोचकले प्रश्न उठाएका छन् । संग्रहालयमा जापानीसँग लड्न तत्कालीन सत्ताधारी दल ‘कौमिनताङ’ असमर्थ भएको लेखिएको छ ।

    जहाँ चिनियाँ जनमुक्ति सेनाले डटेर गरेको बलिदानीको कारण विजय भएको उल्लेख छ । यसैलाई उदाहरण दिँदै सिएनएनले विभिन्न विज्ञहरुको भनाइ लिएर इतिहास एकतर्फी ढंगमा भएको उल्लेख गरेको छ ।

    भारतीय अखबार इन्डियन एक्सप्रेसले पनि चिनियाँ कम्युनिस्ट पार्टी र यसका नेताहरुले गरेका खराब काम र असफलता लुकाएर राम्रा पक्ष मात्रै रेड टुरिजम क्षेत्रमा समेटिएको लेखेको छ ।

  • जम्मु कस्मिरमा चाँडै चुनाब गराउने मोदीको प्रतिबद्धता, क्षेत्रीय नेताहरुलाई भेटेर तुल्याए आश्वस्त

    जम्मु कस्मिरमा चाँडै चुनाब गराउने मोदीको प्रतिबद्धता, क्षेत्रीय नेताहरुलाई भेटेर तुल्याए आश्वस्त

    दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेतृत्वको सरकारले चाँडै जम्मु र कस्मिर राज्यमा चुनावको तयारी गरेको बताएका छन् ।

    बिहीबार उक्त क्षेत्रका स्थानीय नेताहरुसँग दिल्लीमा भेटवार्ता गर्दै प्रधानमन्त्री मोदीले राज्यको सीमाको पुनर्रखांकन गरि विधान सभाको सिट तय गरिने जनाए ।

    सन् २०१९ मा जम्मु कस्मिरको विशेष राज्यको अधिकार खोसिएको विवादास्पद निर्णयपछि मोदीले क्षेत्रीय नेताहरुसँग पहिलोपटक भेटघाट गरेका हुन् ।

    पछिल्लो समय दिल्ली र मुस्लिम बाहुल्य कास्मिर उपत्यकाका नेताहरुबीच सम्बन्ध सुखद छैन । कस्मिरको स्थानीय दलसँग सहकार्य तोडिएपछि सन् २०१८ मा मोदीले त्यहाँ प्रत्यक्ष शासन लागु गरेका थिए ।

    कस्मिरका पूर्वमुख्यमन्त्री फारुख अब्दुल्ला, ओमार अब्दुल्ला, मेहबुबा मुफ्तीसहितका अन्य नेताहरु मोदीसँगको छलफलमा सहभागि थिए ।

  • सिड्नीमा एकसाता लामो लकडाउन, डेल्टा प्रजातिको कोरोना फैलिएपछि प्रतिबन्धहरु लागू

    सिड्नीमा एकसाता लामो लकडाउन, डेल्टा प्रजातिको कोरोना फैलिएपछि प्रतिबन्धहरु लागू

    अष्ट्रेलिया । कोभिड-१९ संक्रमणमा वृद्धि भएपछि अष्ट्रेलियाको सिड्नी सहरमा लकडाउन लागू गरिएको छ । बीबीसीका अनुसार मध्य सिड्नी र बन्डी सामुन्द्रिक तटसहित पूर्वी क्षेत्रमा निषेधाज्ञा लगाइएको हो ।

    गत डिसेम्बयता सिड्नीमा लकडाउन लागू भएको हो । निकै संक्रामक मानिएको कोरोनाको डेल्टा प्रजाति भेटिएपछि अष्ट्रेलियाले भाइरस नियन्त्रणका लागि संघर्ष गरिरहेको छ ।

    शुक्रबार मात्र १७ नयाँ केस पहिचान भएका छन् । सिड्नीमा कूल ६५ केस पुष्टि भएको छ । सर्वसाधारणलाई घरमै बस्न भनिएको छ ।

    ‘हामी यो परिस्थितीलाई हप्तौं लामो समयसम्म लम्बिएको हेर्न चाहँदैनौं । हामी यो परिस्थिती ढिलोचाँडो सुधारिएको हेर्न चाहन्छौं’ न्यू साउथ वेल्स राज्यका प्रमुख ग्लाडिज बे्रजेकिलानले भनिन् ।

    सबै राज्यमा लकडाउन गर्नुभन्दा संक्रमण बढी देखिएका ठाउँमा मात्र लकडाउन गर्ने तयारी रहेको उनले जनाइन् । जुलाई २ सम्म रहने लकडाउनमा मानिसहरुले आगामी शनिबारदेखि अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन पाउने छैनन् ।

    सिड्नीबासीलाई अहिले सहर छाड्न रोक लगाइएको छ । अन्य अष्ट्रेलियाली सहर र राज्यमा सिड्नीबाट भ्रमण गर्न प्रतिबन्ध लगाइएको छ । गत डिसेम्बर यता सिड्नी उच्च दरमा संक्रमण वृद्धि भएको छ ।

  • भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन् : यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

    भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन् : यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

    दिल्ली । भारतमा पछिल्ला केही हप्तामा कोरोना संक्रमणदर घट्दो क्रममा देखिएको छ । यहाँ संक्रमणदर घटे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने  यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।

    पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा संक्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ । यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् ।

    उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् ।

    पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ८४८ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्ममा ३ करोड भन्दा बढी संक्रमित पुगेका हुन् ।

    त्यस्तै यहाँ यो संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पनि झण्डै चार लाखको नजिक पुग्दैछ । भारतमा कोरोनाभाइरसका संक्रमितहरुमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ । तर अहिले यहाँ मृत्युदरमा भने  कमी आएको छ । 

    पछिल्लो समयमा निको हुने दरमा पनि बृद्धि भएको छ । भारतमा पछिल्ला हप्ताहरुमा संक्रमितहरुको निको हुने दरमा बृद्धि भएर ९६.५६ प्रतिशत पुगेको छ ।

    यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरुलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै संक्रमितहरु नै निको भएको अवस्था भने नभएको विज्ञहरुले चेतावानी दिएका छन् । उनीहरुले भनेका छन् कि- यसरी पछिल्ला दिनहरुमा संक्रमितहरु घट्दै जाँदा अब सबै ठिक भयो भनेर सरकारहरुले प्रतिबन्धहरु सबै फुकुवा गर्ने र नागरिकहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु पालना नै नगर्नु भने मुर्खता हुनेछ, यसले अर्को सङ्कटलाई निम्ता दिन सक्छ ।

    यसको मतलब भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कति जना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुपर्‍यो, चिकित्सकहरुले पनि कसरी आफैले र विरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ । अक्सिजन मात्र होइन कि आवश्यक औषधीहरु, अस्पतालका शय्या तथा अरु आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरुलाई पनि थाहा नै छ ।

    यो अवस्था आफूहरुले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर हाल विज्ञहरुले गरेका अनुरोधहरुलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरुले बेवास्ता गरेको बताएका छन् । स्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिँदा दिँदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिसहरु जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पुर्‍याएको र अहिले पनि अब केही समयमै सरकारले यस्ता क्रियाकलापहरुलाई अनुमति दिनसक्ने भन्दै त्यसको विरोध गरिरहेका छन् ।

    सतर्कताका लागि आग्रह

    यता संक्रमित घटेका समाचारहरु आउन थालेदेखि नै पछिल्लो समयमा यहाँका केन्द्रीय तथा स्थानीय सरकारहरुले प्रतिबन्ध हटाउने काममा उदार भएका छन् । जसका कारण यहाँका रेलमार्ग, होटल रेष्टुरेन्ट, सपिङ मलहरु आदिमा ठूलो भिडभाड लाग्न थालेको छ । नयाँ दिल्लीको रेल स्टेसनमा पनि हालैका दिनमा हजारौँ जनाको भिडभाड नै देखिन थालेको छ । सपिङ मलहरुको अवस्था त्यस्तै छ । यो देखेर पनि यहाँका जनस्वास्थ्य विज्ञहरुले अर्को लहरको सम्भावना झन् नजिकिँदै गरेको भनेर चेतावनी दिएका छन् ।

    दिल्लीको उच्च अदालतले गत हप्ता मात्र पछिल्लो समयमा देखिएको यस्तै भिडभाडपछि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउन सरकारका नाममा आदेश दिएको छ । सो अदालतले जनस्वास्थ्य विज्ञहरुले हाल देखाइरहेको सम्भावित तेस्रो लहरलाई रोक्नका लागि स्वास्थ्यका मापदण्डहरु पालना गराउने नै एकमात्र विकल्प देखिएको भन्दै सरकारका नाममा यो आदेश जारी गरेको थियो । यदि यी मापदण्डहरु पालना गराउन सकिएन भने मानिसहरुकै कारण हामी धेरै ठूलो समस्यामा पर्नेछौँ पनि भनेको छ ।

    अहिले त दिल्लीमा पनि व्यापार व्यवसाय खुलेको छ । जसका कारण ठूलो जनसंख्या रहेको भारतका नागरिकहरुको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । यो देखेर यहाँका चिकित्सकहरुले त भारतले दोस्रो भन्दा पनि तेस्रो लहरमा झन् ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने बताइरहेका छन् । उनीहरुले मानिसहरुको बढ्दो जमघट नै ठूलो समस्या भएर आउने चेतावनी दिएका छन् ।

    अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स् (एआइएमएस) का निर्देशक रन्दिप गुलरियाले गत हप्ता भनेका थिए- भारतमा कोभिड-१९ को तेस्रो लहर आगामी ६ देखि ८ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्यो भन्दा पनि बढी हुनसक्छ ।

    उनले गतहप्ता मात्र भनेका थिए- तेस्रो लहर आगामी ६ देखि ८ हप्तासम्ममा आउन सक्छ र सामान्यतया त्यो भन्दा थोरै ढिला हुन पनि सक्छ । तर त्यसको आगमन भने हामीले अब गर्ने व्यवहार र आगामी दिनमा गरिने जनस्वास्थ्यका मापदण्डहरुको पालनाले पनि निर्धारण गर्नेछ ।

    उनले भनेका थिए- हामीले पहिलो र दोस्रो लहरको महामारीबाट कति दुःख पायौँ भन्ने कुरा सबैले बुझ्नुपर्ने हो । हामीले त्यसबाट भएको जनधनको क्षतिबाट पनि धेरै सिक्नुपर्ने हो । तर पछिल्ला दिनहरुमा बढ्दो भिडभाड र सरकारले एकपछि अर्को गरी प्रतिबन्धहरु फुकाउँदै गएकोले विगतबाट हामीले पाठ सिक्यौँ जस्तो लाग्दैन । मलाई लाग्छ अब आउने सम्भावित तेस्रो लहरुले हामीलाई अझ बढी क्षति दिनसक्छ भन्ने डर मलाई लागिरहेको छ ।

    विश्व स्वास्थ्य संगठनको क्षेत्रीय अधिकारी प्रकास नारायणको धारणा पनि त्यस्तै छ । उनले संक्रमितहरुको संख्या केही घटेका समाचारहरु आउँदैमा युद्ध नै जितेजस्तो गरेर सरकारले पनि लकडाउन हटाउने र नागकिहरु पनि हजारौँको संखयामा सडकमा निस्किने गर्नु दुःखद छ भन्दै समयमै सतर्कता अपनाउन आग्रह पनि गरे ।

    सुस्त खोप अभियान

    हुनत भारतको जनसंख्या पनि यहाँको कोरोना विरुद्धको खोप अभियानका लागि एक चुनौती नै हो । भारतको स्वास्थ्यसँग सम्बन्धित एक थिंक ट्याङ्क संस्था नेसनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ् इन्डियाका सदस्य भि के पाउलले कोरोना विरुद्धको खोपले ९४ प्रतिशतसम्म सुरक्षा दिएको अनुसन्धानले देखाएको बताउछन् । साथै कोरोनाको खोप दिएपछि यसका संंक्रमितहरुमध्ये कम्तीमा पनि ७८ देखि ८० प्रतिशत मानिसलाई अस्पताल भर्ना गर्नु नपर्ने देखिएको पनि उनले बताए ।

    भारतमा यसैवर्षको जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको हो । तर अहिलेसम्ममा यहाँका जम्मा पाँच करोड वयस्क मानिसलाई मात्र दुवै मात्रा खोप दिइएको छ । खोपको दुवै मात्रा लिने यो संख्या भारतको वयस्क उमेरको जम्मा पाँच प्रतिशत मात्र हुन आउँछ । यो भारतको स्वास्थ्य मन्त्रालयलकै तथ्याङ्क हो । सो मन्त्रालयले जनाएअनुसार तर देशव्यापी रुपमा २९ करोड ४० लाख मानिसलाई पहिलो मात्रा मात्र खोप दिइएको छ ।

    उता भारतले यसै वर्षको अन्त्यसम्ममा देशका सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य भने लिएको छ । तर सरकारको खोप अभियानको अहिलेको गति अति सुस्त भएकोले विज्ञहरुले त्यो सम्भव देखेका छैनन् । उनीहरुका अनुसार यदि सरकारले यो लक्ष्य पूरा गर्ने हो भने यहाँ हरेक दिन कम्तीमा पनि १० लाख मानिसलाई खोप लगाउनुपर्छ ।
    रासस

  • एकैपल्ट १० सन्तान जन्माएको भनिएकी दक्षिण अफ्रिकी महिला गर्भवतीसमेत नभएको पुष्टि

    एकैपल्ट १० सन्तान जन्माएको भनिएकी दक्षिण अफ्रिकी महिला गर्भवतीसमेत नभएको पुष्टि

    एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले १० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनेर प्रचारित समाचार गलत प्रमाणित भएको छ।

    बीबीसीका अनुसार बीबीसीसमेतले एकैपल्ट १० बच्चा जन्माएको भनेर रिपोर्टिङ गरिएकी महिला गोसिआमे सिथोल गर्भवती समेत नभएको आधिकारिक अनुसन्धानबाट खुलेको छ।

    अहिले ३७ वर्षीया ती महिलालाई अनुसन्धानको दायरामा आएको र मानसिक स्वास्थ ऐन अन्तर्गत नियन्त्रणमा लिइएको बीबीसीले जानकारी दिएको छ।

    दक्षिण अफ्रिकी अनलाइन मिडिया इन्डिपेन्डेन्टको स्वामीत्वमा रहेको प्रीटोरिया न्युजले सबैभन्दा पहिले यो समाचार जुन ८ मा प्रकाशन गरेको थियो। जुन ७ मा स्टेब बुकु अकाडेमिक अस्पतालमा बच्चा जन्मिएको भनिएकोमा अस्पतालले समेत असत्य भनेको छ।

    उक्त अस्पतालमा मात्रै होइन दक्षिण अफ्रिकी प्रान्त गाइटिङभरीका कुनै पनि अस्पतालमा एउटै आमाबाट १० बच्चा जन्मिएको पत्ता नलागेको बीबीसीले लेखेको छ। समाचार गलत भए पनि यसरी कुप्रचार गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन ।

  • न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

    न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

    क्राइस्टचर्च । न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइने भएको छ । न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निश्कर्ष निकालेको हो ।

    यस सम्बन्धमा औषधी नियामक निकायले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री जसिन्डा अर्डेर्नले मन्त्रिपरिषदबाट यो प्रस्ताव पारित गरेपछि १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई खोप लगाउन थालिने भएको छ । यस वर्षको अन्त्यसम्ममा उनीहरुलाई खोप लगाएर सकिने अनुमान गरिएको छ ।

    अहिलेसम्म कोरोनाभाइरसका कारण बालबालिकाहरुमा परेको असर तुलनात्मक रुपमा कम देखिएका छन् । विशेष गरेर उनीहरुलाई गम्भीर बनाएका घटना पनि कम भएको अधिकारीहरुले जनाएका छन् ।

    तर पनि उनीहरुलाई खोप लगाउनु पर्ने आवश्यकता देखिएको छ । उनीहरुलाई खोप लगाउने पर्ने मुख्य दुई कारण ठानिएको छ । पहिलो कारण उनीहरु आफैंलाई धेरैले असर नपरे पनि उनीहरुले अरुलाई सार्न सक्ने संभावना रहने भएकाले उनीहरुलाई खोप लगाउनु पर्ने सुझाव आएको छ ।

    अर्को, बालबालिकालाई अहिले मृत्युकै घटना नभएपनि त्यसले दिर्घकालीन असर भने पर्ने देखिएको छ ।

    किशोर किशोरीहरुलाई पनि खोप लगाउने निर्णय अन्य केही देशहरुले पनि गरिसकेकाले न्यूजील्याण्डले समेत उनीहरुलाई खोप लगाउने निर्णय गर्न लागेको हो ।

  • एनआरएनए आइसीसी सल्लाहकार तिमल्सिनाको राजीनामा

    एनआरएनए आइसीसी सल्लाहकार तिमल्सिनाको राजीनामा

    काठमाडौं । गैरआवासीय नेपाली संघको आइसीसी सल्लाहकार पदबाट पुष्पराज तिमल्सिनाले राजीनामा दिएका छन् ।

    राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस भएका तिमल्सिनाले बुधबारदेखि लागु हुने गरि राजीनामा दिएको जारी वक्तव्यमा उल्लेख छ ।

    संवैधानिक परिषद्ले हालै उनलाई आयोगको सदस्यमा नियुक्त गर्न सिफारिस गरेको थियो । आयोगको पदमा सिफारिस हुन पाउनु एनआरएन प्रतिनिधिलाई उच्च जिम्मेवारी भएको समेत उनले उल्लेख गरेका छन् ।

    एनआरएन आइसीसीको ६९ औं बैठकले उनलाई सल्लाहाकार पदमा नियुक्त गरेका थियो भने सन् २०१९ को अक्टोबरदेखि पद सम्हाल्दै आएका थिए ।

  • चीनद्वारा चार कम्पनीलाई कोभिड-१९ को खोप बिक्री अनुमति

    चीनद्वारा चार कम्पनीलाई कोभिड-१९ को खोप बिक्री अनुमति

    बेइजिङ । चीनले कोभिड-१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ ।

    चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् ।

    चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरुले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् ।

    यी खोपहरु चीनको ठूलो जनसमूहलाई प्रदान गरिएको छ भने विश्वका १०० भन्दा बढी मुलुकले स्वीकृत गरिसकेका छन्, वाणिज्य मन्त्रालयका वरिष्ट अधिकारी लि झिङक्वीनले बताए ।

    उनले सबै मुलुकलाई खासगरी विकासशील मुलुकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय खोप उपलब्ध गराउने चीन सरकारको नीतिलाई खोप उत्पादक कम्पनीहरुले पनि ध्यान दिने विश्वास व्यक्त गरे ।

    चिनियाँ अधिकारीहरुले कोभाक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने पनि बताएका छन् । चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरिद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको पनि जनाएको छ ।

  • बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग

    बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग

    जर्मनी । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।

    अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् ।

    कोरोनाभाइरसको महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य भइ नसकेकाले आगामी बर्ष नै यति ठूलो खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नहुने उनीहरुको भनाई छ ।

    बेइजिङ ओलम्पिक स्थगित गर्नुपर्ने एक सूत्रीय अभियान स्वरुप चिनियाँहरुले आज विश्वका प्रमुख ६० भन्दा बढी सहरमा प्रदर्शन गरेका छन् । विभिन्न देशमा छरिएर रहेका चीन विरोधी ती चिनियाँ आप्रवासीहरुले आगामी बर्ष पनि खेलकुद प्रतियोगिता गराइ हाल्ने अवस्था नरहेको दाबी गरेका छन् ।

    उनीहरुले खेल स्थगित गर्नुपर्ने सन्देश विभिन्न माध्यमबाट चिनियाँ राष्ट्रपति र ओलम्पिक कमिटिका जिम्मेवार पदाधिकारीहरुसम्म पुर्याउन पनि आग्रह गरेका छन् ।

    चिनियाँ प्रदर्शनकारीहरुले यसलाई कुनै राजनीतिक वा अन्य दृष्टीकोणले नहेर्न र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् ।उनीहरुले ओलम्पिक स्थगित गराउन यस्ता दबाबमुलक अभियानलाई निरन्तरता दिइरहने पनि जानकारी गराएका छन् ।

    बेइजिङ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि फेब्रअरी २०सम्म बेइजिङ नेश्नल स्टेडियममा गर्ने तय भएको छ । सो प्रतियोगितामा ७ खेलका १०९ प्रतियोगिता हुने तय गरिएको छ ।

  • बेलायतमा फेब्रुअरी पछि सोमबार सबैभन्दा धेरै संक्रमित

    बेलायतमा फेब्रुअरी पछि सोमबार सबैभन्दा धेरै संक्रमित

    लन्डन । बेलायतका अधिकारीहरुले यहाँ कोरोनाभाइरसको संक्रमण दर फेरि बढ्न थालेको बताएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ गएको फेब्रुअरी महिनादेखि यता दैनिक सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेको बताएको हो ।

    यहाँ सोमबार मात्र ११ हजार ६२५ जना नयाँ संक्रमित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । चौबीस घन्टा यता यतिधेरै संक्रमित थपिएको गएको फेब्रुअरी महिनापछि यो पहिलो पटक भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको मंगलबार बेलायतका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

    पछिल्ला यी संक्रमितहरु समेत गरी आजसम्म बेलायतमा संक्रमित हुनेको संख्या ४६ लाख ५१ हजार पुगेको पनि बताइएको छ । त्यसैगरी २४ घन्टामा यहाँ २७ जनाको कोरोनाका कारण निधन भएको छ । यो समेत गरी बेलायमा यस संक्रमणबाट १ लाख २८ हजार जनाको ज्यान गएको छ ।

    उता सरकारले कोरोनाभाइरसको संक्रमणका कारण देशमा लगाएका प्रतिबन्धहरु हटाउने क्रममा रहेको बताएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले सो कुरा बताएका हुन् । उनले निकै लामो समयदेखि जारी रहेका कतिपय प्रतिबन्धहरु हटाउने प्रक्रियामा रहेको बताएको समाचारमा जनाइएको छ ।

  • बेइजिङको दबाब बढ्दै गएपछि हङकङको अखबार एप्पल डेलीको प्रकाशन बन्द

    बेइजिङको दबाब बढ्दै गएपछि हङकङको अखबार एप्पल डेलीको प्रकाशन बन्द

    हङकङ । बेइजिङले लागु गरेको राष्ट्रिय सुरक्षा कानून लागु भएको एकवर्ष पुग्नै लाग्दा हङकङबाट प्रकाशित हुने लोकतन्त्र पक्षधर अखबार एप्पल डेलीको प्रकाशन बन्द भएको छ ।

    आफ्ना पत्रकारहरुलाई पक्राउ गरिएको र लाखौंको सम्पत्तिलाई रोक्का गरिएको उल्लेख गर्दै उक्त अखबारले डिजिटल र प्रिन्ट संस्करण बन्द भएको जनाएको हो ।

    बुधबार वक्तव्य जारी गर्दै उक्त अखबारले आगामी शनिबारदेखि डिजिटल संस्करण पनि बन्द हुने जनाएको छ । यो खबरले हङकङको मिडिया उद्योगमा तरंग पैदा गरेको छ ।

    गतवर्ष चीनले हङकङमा अलग्गै राष्ट्रिय सुरक्षा कानून लागु भएको जनाएको थियो । उक्त अखबारका कर्मचारीले आफूहरुलाई ढिलोचाँडो अखबारको प्रकाशन बन्द हुने विश्वास रहेको जनाएका छन् ।

  • आस्गाबात संसारकै खर्चिलो सहर, हङकङ दोस्रो स्थानमा

    आस्गाबात संसारकै खर्चिलो सहर, हङकङ दोस्रो स्थानमा

    काठमाडैं । मध्य एसियाली मुलुक तुर्किमेनिस्तानको राजधानी आस्गाबात यसवर्ष संसारकै खर्चिलो सहर बनेको छ ।

    परामर्शदात्री संस्था मर्सरको पछिल्लो अध्ययनअनुसार सन् २०२१ मा उक्त सहर संसारका अन्य सहरलाई उछिन्दै सर्वाधिक खर्चिलो सूचीको पहिलो स्थानमा सूचीकृत भएको हो ।

    विदेशी कामदारका लागि उक्त सहर निकै खर्चिलो रहेको उक्त अध्ययनमा उल्लेख छ । गतवर्ष महंगो सहरको रुपमा पहिलो स्थानमा रहेको हङकङलाई समेत आस्गाबातले उछिनेको छ ।

    हङकङ अहिले दोस्रो स्थानमा छ । त्यसपछि क्रमशः लेबनानको बेइरुत र जापानको राजधानी टोक्यो छन् । आवास, खाना र यातायात खर्चलाई जोडेर २०६ वटा सहरमा यस्तो अध्ययन गरिएको थियो ।

    घरेलु आर्थिक मन्दीको कारण पनि आस्गाबात खर्चिलो बनेको अनुसन्धान गर्ने फर्म मर्सरका जिन फिलिप साराले जनाएका छन् । मन्दीले खानाको मूल्य बढेको र सेवा समेत खर्चिलो बनेको जनाइएको छ ।

  • खोप लगाएपछि पुरानै लयमा फर्कदैं अमेरिका

    खोप लगाएपछि पुरानै लयमा फर्कदैं अमेरिका

    वासिङटन । विगत डेढ वर्षदेखि कोरोनाभाइरसका कारणले अस्तब्यस्त भएको अमेरिकी जनजीवन विस्तारै पुरानै लयमा फर्कन थालेको देखिएको छ । महामारीका कारण घर बसिरहँदा वाक्क भएका मानिसहरु खोप लगाएपछि घरबाट बाहिर निस्केर विस्तारै बजार व्यापार तथा जमघटहरुमा सहभागी हुन थालेका छन् । पछिल्ला हप्ताहरुमा अमेरिकाका विभिन्न शहर तथा बजारहरुमा पनि चहलपहल बढ्न थालेको देखिएको छ भने व्यापारिक प्रतिष्ठानहरुले आफना कारोवारमा वृद्धि भएको बताउन थालेका छन् ।

    अमेरिकाका मुख्य पर्यटकीय गन्तव्य न्यूयोर्क, फ्लोरिडा, क्यालिफोर्निया जस्ता राज्यका ठूला रेष्टुरेन्टहरुमा पनि ‘लाइभ कन्सर्ट’ हरु सुरु भएका छन् भने पार्क तथा समुद्रका किनारमा समेत मानिसहरुको चहलपहल बढ्न थालेको छ । मनोरञ्जनका लागि समुद्री किनारमा जाने मानिसहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

    यतिखेर यहाँका कतिपय पसल, होटल एवं व्यापारिक प्रतिष्ठानहरुले ‘यदि तपाई पूर्ण रुपमा खोप प्राप्त व्यक्ति हुनुहुन्छ भने मास्क लगाइरहन पर्दैन’ भनेर सूचना टाँसेका देखिन्छन् । यी सूचनाहरुले अमेरिकीहरुलाई खुशी तुल्याएको अनूभूति पनि उनीहरु व्यक्त गरिरहेका छन् । सन् २०१९ को अन्त्यतिरबाट चीनको वुहानबाट युरोप हुँदै अमेरिका भित्रिएको ठानिएको कोरोनाभाइरस ‘कोभिड १९’ का कारण अमेरिकाले अकल्पनीय परिस्थितिको सामना गर्नुपरेको थियो ।

    भाइरसको संक्रमणले १६ महिनाको अवधिसम्ममा विश्वभरिमै सबैभन्दा बढी त अमेरिका प्रभावित भयो । अहिलेसम्म पनि अमेरिका नै सबैभन्दा धेरै प्रभावित देशको पहिलो सूचीमा नै रहेको छ । यो भाइरसले विश्वमा सबैभन्दा धेरै नागरिकको ज्यान लिने देशको सूचीमा अमेरिका परेको छ ।

    कोरोनाभाइरस विरुद्धको खोप निर्माणमा अमेरिकी कम्पनीहरुले सफलता पाएसँगै अहिले खोप वितरण तीव्र गतिमा भइरहेको छ । अहिले अमेरिकामा फाइजर कम्पनी र मोडर्ना कम्पनीका गरी दुईओटा खोप प्रदान गरिन्छ भने जोन्सन एण्ड जोन्सनको एक डोज खोप प्रदान गरिन्छ । यी तिनवटै खोपलाई आपतकालीन उपयोगको लागि भन्दै अमेरिकाको फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनले अनुमति दिएको हो । कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालेपछि अमेरिकाका पचासैवटा राज्यमा पहिला जारी गरिएका कतिपय प्रतिबन्धहरुलाई पनि लचिलो बनाइएको छ भने कति राज्यहरुले त यस्ता प्रतिबन्धहरुलाई पूर्ण रुपमा हटाइसकेका छन् ।

    जुन महिनाको दोश्रो सातासम्ममा स्थानीय राज्यका गभर्नरहरुले खोप पर्याप्त उपलब्ध भएकाले खोप लगाउन प्रेरित गर्दै मानिसहरु जम्मा हुन पाउने व्यवस्थालाई खुकुलो बनाएका छन् । सबैभन्दा बढी प्रभावित भएको राज्यमध्येको एक न्यूयोर्कले कोरोनाभाइरस विरुद्धको प्रतिबन्ध हटाएको घोषणा गर्न विशेष कार्यक्रम नै गरेको थियो । राज्यका ७० प्रतिशतभन्दा बढी नागरिकले खोप लगाएपछि राज्य सरकारले लगाएको विभिन्न प्रतिबन्धहरु हटाइएको बताएको थियो ।

    कोरोनाभाइरस विरुद्धको खोप लगाएकाहरुलाई कोरोनाभाइरस लागेको खण्डमा उनीहरुमा सामान्य लक्षण देखापर्ने र कम फैलन सक्ने नयाँ तथ्य समेत प्रकाशित गरिएको छ । सेन्टर्स् फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन् सेन्टरले डिसेमबर १३ देखि अप्रिल १० सम्म गरेको अध्ययनमा यो तथ्य फेला परेको हो । यी खोपहरुले ९१ प्रतिशत सम्म कोरोनाभाइरस विरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्ने अनुसन्धानबाट पाइएको छ ।

    कोरोनाभाइरस विरुद्ध लडने उद्घोषका साथ राष्ट्रपतिको निर्वाचनमा होमिएका जो वाइडेनले निर्वाचनमा विजय भएर जनवरी २० मा शपथ लिएसँगै लिएको रणनीतिले अमेरिकामा सफलता हासिल गर्न सम्भव भएको हो । वाइडेन प्रशासनले एक सय दिनको लक्ष्यसहित दश करोड जनालाई खोप र मास्कको वाध्यकारी व्यवस्था गरेकाले छ महिनामा नै अमेरिकाको जनजीवन सामान्यतर्फ उन्मुख हुन सकेको वा सम्भव भएको हो ।

    वास्तविकता के हो भने वाइडेन प्रशासनको नीतिकै कारण १५० दिनमा ३० करोड अमेरिकीले कोरोना विरुद्धको पहिलो खोप लगाउन सफल भएका छन् । अहिले अमेरिकाको आर्थिक अवस्था थप मजबुत भएको भन्दै वाइडेन प्रशासनको प्रशंसा गरिएको छ । वाइडेन प्रशासनले आपतकालीन युद्धसँग जुधे जसरी राज्य संयन्त्रका हरेक समूहलाई विश्वासमा लिएर यथेष्ट बजेट समेत निकासा दिन सफल भएको थियो ।

    अहिले अमेरिकी राज्य सरकारहरुले कोरोना विरुद्धको खोप लगाउने आफनो लक्ष्य हासिल गर्नको लागि पुरस्कारको समेत घोषणा गरेका छन् । यसरी घोषणा गरिएका राज्यहरुमा न्यूयोर्क, क्यालिफोर्निया, मेरील्याण्ड, मेनलगायतका रहेका छन् । अमेरिकाको सबैभन्दा ठूलो राज्य र जनसंख्यामा समेत पहिलो राज्यको रुपमा रहेको क्यालिफोर्नियाले १५ लाख डलरको पुरस्कारको घोषणा गरेको छ । उक्त राज्यमा ३ करोड ९५ लाख ३८ हजार २२३ जनसंख्या रहेको छ । त्यसमध्ये ५६.९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

    अमेरिकामा कार्यरत चिकित्सक तथा एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा.सञ्जीव सापकोटाले तत्कालको लागि खोपले काम गरेको स्पष्टसँग देखिएको बताउछन् । सापकोटाले संक्रमितको दर घट्दै गएको र खोप लगाउनेको संख्या पनि प्रतिदिन बढ्दो रहेकाले आगामी दुई तीन महिनाभित्रै निकै सहज अवस्था हुने विश्वास व्यक्त गरे ।

    ‘अहिले लिएको खोपले तीन महिना देखि छ महिनासम्म काम गर्छ, त्यसपछिको लागि आधिकारिक निकायहरुले थप अनुसन्धान पश्चात रणनीति सार्वजनिक गर्ने नै छन्’ उनी भन्छन् । महामारीबाट पूर्ण रुपमा मुक्त भएको घोषणा गर्न थप समय चाहिने भएकाले कहिले सम्ममा खोपको उपलब्धता र नागरिकसम्म खोपको पहुँच हुन्छ त्यसमा निर्भर रहने सापकोटा बताउछन् । अमेरिकामा १२ वर्ष माथि उमेर समूहकालाई समेत खोप दिइएकोले विद्यालयहरुमा पठनपाठन समेत सुरु गरिएको छ । सिडिसीले फाइजरको खोपलाई १२ देखि १५ वर्ष उमेर समूहलाई लगाउन अनुमति दिएपछि कोरोनाभाइरस विरुद्धको खोप अभियानमा अर्को सफलता हात लागेको थियो ।

    अमेरिकामा होटलको ‘अकुपेन्सी’ दर ५९.३ प्रतिशत रहेको थियो र यो दर जुन महिनाको दोश्रो सातामा ६६ प्रतिशत पुगेको छ । यसबाट मानिसहरु खोप लगाएपछि छुट्टीमा निस्किएका छन् भन्ने मजवुत आधार मान्न सकिन्छ । अमेरिकामा रियल स्टेट तथा सेवाका क्षेत्रमा लगानी गर्दै आएका रयाड पण्डित विस्तारै होटलहरुको कोठा भरिन थालेको बताउछन् । पण्डितले भने, “खोप पश्चात अमेरिकीहरुमा यात्रा गर्ने प्रवृत्ति वढेको छ, यसले होटल क्षेत्र बढी चलायमान भएको छ ।”

    अझै पनि कर्पोरेट रुपमा वार्षिक सभा, सम्मेलन हुन भने सकेको छैन । अमेरिकामा हुने सभा सम्मेलनले होटल, एयरलाइन्स् र यातायात क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । टेक्सासमा होटल ला क्वान्टा एण्ड स्वीट्मा लगानी गरेका विकासराज न्यौपाने पनि अमेरिका पुरानै लयमा फर्किन कोसिस गरेकोमा खुशी भएका छन् । न्यौपानेले भने, “पछिल्लो दुई महिनाको आँकडा हेर्दा व्यवसायले विस्तारै आफ्नो लय समात्न थालेको अनुभूति भएको छ । होटलका कोठाहरु लिने दर बढदै गएको छ ।”

    न्यौपानेका अनुसार टेक्सासमा खोपको उपलब्धता बढेसँगै रिटेल व्यवसाय, रेष्टुरेन्ट लगायत होटल व्यवसायमा वृद्धि भएको छ । अमेरिकाले आफनो स्वतन्त्रता दिवस आगामी दुईसातामा मनाउँदै छ । उक्त दिन अमेरिकामा मानिसहरु ग्रीष्मकालीन रुपमा छुट्टी मनाउनका लागि हिड्ने गर्छन् । यो समयलाई ग्रीष्मकालीन समयको एउटा चाडकै रुपमा समेत मनाएर मानिसहरुले खानपिन, जमघट र यात्रामा आफूलाई अत्याधिक व्यस्त राख्ने गर्छन् । जुलाई ४ अमेरिका स्वतन्त्र भएको दिन हो । यसलाई यहाँको सरकार र नागरिकले पनि उच्च प्राथमिकताका साथ मनाउने गरेका छन् ।

    अमेरिका पुरानै लयमा फर्कने कोसिश गरिरहेको भएपनि पछिल्ला दिनहरुमा मानव संशाधनमा निकै चुनौती थपिएको छ । सङ्घीय सरकारले वेरोजगार भत्ता बापतको रकममा दिँदै आएको अनुदान, ‘ईविटी’ कार्ड बापतको रकमको वृद्धि तथा बालबालिकाका सुविधाअन्तर्गत मासिक रुपमा दिने रकमका कारणले पनि होला नागरिकहरु काममा फर्कन त्यति उत्साहित भएको भने देखिएको छैन । यसले गर्दा व्यवसायको वृद्धि हुने मौसममा जनशक्तिको अभावले साना तथा मझौला व्यवसायमा भने चुनौती थपिएको छ ।

    सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्ले दिएको तथ्याङ्कअनुसार यो आइतबारसम्म अमेरिकामा १४ करोड ९६ लाख ६७ हजार ६४६ अमेरिकीले खोपको पूर्ण मात्रा प्राप्त गरेका छन् । अमेरिकामा ६५ प्रतिशत वयस्क नागरिकले एक मात्रा ९डोज० खोप लिएका छन् भने ८७ प्रतिशत ज्येष्ठ नागरिकले कम्तिमा पहिलो खोपको डोज लिइसकेका छन् ।

    विश्वमा धेरै नागरिकहरुले खोप प्राप्त गर्नेहरुको सूचीमा जिब्राल्टर, माल्टा देशका ७० प्रतिशत नागरिकले खोप प्राप्त गरेका छन् । यसैगरी कुवेत ६७ दशमलव ३ प्रतिशत, क्यानाडा ६५ दशमलव ४, इजरायल ६३ दशमलव ४, बेलायतका ६१ दशमलव ७ प्रतिशत नागरिकले खोप पाएका छन् । अमेरिकामा कोरोनाभाइरसको संक्रमण ३ करोड ३५ लाख ४१ हजार ९८६ जना नागरिकमा देखा परेकोमा हालसम्म यस सङ्क्रमणका कारणले मृत्युवरण गर्नेको संख्या ६ लाख १ हजार जना रहेका छन् ।

    अमेरिकामा रहेका स्वतन्त्र विश्लेषकहरु र अनुसन्धानकर्ताहरुले कोरोनाभाइरसको नयाँ प्रजाति (भेरियन्ट्) ले कस्तो असर गर्छ भन्ने कुरामा चनाखोपूर्वक विश्लेषण गर्न सुझाव दिइरहेका छन् । उनीहरु कोरोनाभाइरस पूर्ण नियन्त्रणमा आयो भनेर भनिहाल्ने अवस्था छैन भनिरहेका छन् । यसलाई सुझबुझका साथ स्वास्थ्य मापदण्डहरुको ख्याल गर्दै नागरिकहरुलाई आफ्ना काम गर्न घुमफिर गर्न र जमघटहरुमा सामेल हुन पनि उनीहरुले अनुरोध गरिरहेका छन् ।
    -रासस

  • एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा, दोस्रोमा सामसुङको उत्पादन

    एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा, दोस्रोमा सामसुङको उत्पादन

    सियोल । एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् ।

    २१ औं काउन्टरपोइन्ट रिसर्चद्वारा ट्याब्लेट मार्केटबारे प्रकाशित बजार अनुगमन विवरणमा विश्वव्यापी ट्याब्लेट कम्प्युटरको बजार अघिल्लो वर्षको तुलनामा यो बर्ष ५३ प्रतिशतले वृद्धि भएको जानकारी गराइएको छ । गत वर्ष ट्याब्लेट बजारको वृद्धि दर १९ प्रतिशत थियो ।

    यो बर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार एप्पलले विश्वव्यापी ट्याब्लेट बजारको ३७ प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले २० प्रतिशत बजार पाएको छ ।

    चिनियाँ टेलिकम कम्पनी हुवावेको ट्याब्लेट उत्पादनले गत बर्ष ११ प्रतिशत बजारसहित तेस्रो स्थान ओगटेकोमा यो बर्ष उक्त स्थान कायम राखेपनि बजार पहुँचमा मात्रै पाँच प्रतिशत स्थान रहेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

    अमेरिकी सरकारले ठूलो संख्यामा चिनियाँ इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेशन र हुवावेलगायत ड्रोन कम्पनीलाई कालोसूचीमा समावेश गरेका कारण हुवावेको बजारमा निकै गिरावट आएको हो ।

    कम्पनीलाई कालोसूचीमा समावेश गरिएपछि यसले अमेरिकी कम्पनीहरूको स्वामित्वको ‘प्याटेन्ट’ र स्रोत प्रविधिहरू साथै अमेरिकी प्रबिधि समावेश गर्ने अंशहरू खरीद गर्न सक्दैन ।

    यसबाहेक कालोसूचीमा रहेका कम्पनीहरू सूचीकृत हुन सक्दैनन् । स्मार्टफोन र ट्याब्लेटको पार्ट्स पाउन नसक्दा हुवावेले नयाँ उत्पादनहरुलाई बजारमा ल्याउन सक्दैन ।

    सामसुङको ग्यालक्सी ट्याब एस-सेभेन लाइट हालै युरोपका धेरै देशहरूमा लोकप्रिय बनेको छ । ग्यालक्सी ट्याब एस–सेभेन लाइट उत्तरी अमेरिकी, यूरोपेली मुलुकहरूका शैक्षिक संस्थामाझ लोकप्रिय बनेको छ ।

  • विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

    विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त

    संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । संसदमा सोमबार भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उनलाई बिदा गर्ने पक्षमा मत जाहेर गरेका थिए ।

    मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो ।

    स्वीडेनको संसदमा अहिले ३४९ जना सांसद रहेका छन् । तीमध्ये १०९ जना मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए । स्वीडेनको संसदले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद जोगिएको छ । संसद विघटन भएको भए निर्धारित समयभन्दा एक बर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो ।

    विपक्षीहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उनी स्वीडेनको पहिलो प्रधानमन्त्री भएका छन् । बामपन्थी कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो ।

    अर्पाटमेन्टका सम्ब्न्धमा भएको विवादका कारण उनीहरुले समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता नलिनका लागि प्रधानमन्त्री लोफभेनले पटक–पटक आग्रह गर्दा पनि उनीहरुले अस्वीकार गरेपछि संसदमा मतदान गराउनु परेको हो ।

  • भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाको खोप

    भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाको खोप

    दिल्ली । भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले दाबी गरेका छन् ।

    खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो । एकैदिनमा सबैभन्दा धेरै खोप लगाएको कृतिमान अहिले भारतले बनाएको छ, कोरोनाभाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा उनले अगाडि लेखेका छन्, ‘खोप अभियानमा सक्रिय योगदान गर्नुभएका सवैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु भने खोप लगाउनु भएका सबैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’

    देशका प्रदेश तथा राज्यहरुमा एकैचोटी अहिले कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । त्यसैलेपनि एकैदिन यति धेरै मानिसले खोप लगाउन पाएका हुन् ।

    हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति भारतले लिएको छ । १८ बर्षमा सबैलाई खोप लगाउने अभियान आजबाट सुरु भएको हो । यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो ।

  • अष्ट्रेलियाले तत्काल अन्तर्राष्ट्रिय सीमा नखोल्ने, हामी जोखिम उठाउन चाहँदैनौं : व्यापारमन्त्री टेहान

    अष्ट्रेलियाले तत्काल अन्तर्राष्ट्रिय सीमा नखोल्ने, हामी जोखिम उठाउन चाहँदैनौं : व्यापारमन्त्री टेहान

    क्यानबेरा । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला नगर्ने संकेत गरेको छ । अष्ट्रेलियाका व्यापारमन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला गर्न अष्ट्रेलियालाई हतार नभएको बताएका हुन् ।

    सिमाना खुल्ला गर्नु कति ठीक र कति बेठिक भन्ने विषयमा सरोकारवाला र विज्ञहरुसँग परामर्श तथा छलफलहरु भइरहेको उनले बताए । सिमाना अहिले नै खुल्ला गर्न हतार गर्न नहुने सुझाव अधिकांश विज्ञ तथा सरोकारवालाहरुले दिएकाले अझै केही समय सिमाना नखुल्ने उनले जनाए ।

    विशेष सेवा र अवस्थाका लागि भने निर्धारित सर्तहरु पुरा गरेर हवाई यात्रुहरुलाई भने अष्ट्रेलियाले आवत जावत गर्न दिएको छ ।

    न्यूजील्याण्ड र अष्ट्रेलियाका बीचमा हवाई सेवा गत अप्रिलदेखि खुल्ला गरिएको छ । तर सबै देश तथा क्षेत्रलाई अष्ट्रेलियासँगको सिमाना खुल्ला गर्न भने अस्वीकार गरिएको छ । कोरोनाभाइरसको महामारी अझै पनि खतरामुक्त अवस्थामा नरहेकाले सिमाना खोल्ने जोखिम लिन नचाहेको व्यापार मन्त्री टेहानले बताए ।

  • इरानी राष्ट्रपतिमा कट्टरपन्थी रइसी निर्वाचित, इजरायलले भन्यो : विश्वकै लागि खतरा

    इरानी राष्ट्रपतिमा कट्टरपन्थी रइसी निर्वाचित, इजरायलले भन्यो : विश्वकै लागि खतरा

    तेहरान । इरानको नयाँ राष्ट्रपतिमा पश्चिमा मुुलुकप्रति कट्टर आलोचक मानिएका इब्राहिम रइसी निर्वाचित भएका छन् । उनी इरानी धर्मगुरु आयोतल्ला अल खामेनी निकट मानिन्छन् ।

    कट्टर विचारका पक्षपाति मानिने रइसी इरानी पूर्वन्यायाधीश समेत हुन् । उनलाई पश्चिमा मुलुकहरुले थुप्रै मानवअधिकार उल्लंघनका घटनामा जिम्मेवार मानेका छन् ।

    ४८.८ प्रतिशत मत खसेको निर्वाचनमा ६० वर्षिय रइसीले १८ मिलियन मत प्राप्त गरेका थिए । तर, उदार विचारका समर्थक इरानीले चुनावमा भाग लिन अस्वीकार गरेको जनाइएको छ ।

    सन् १९७९ मा गणतन्त्र राज्य स्थापना भएपछि इरानमा खसेको यो अहिलेसम्मकै न्यून मत भएको सीएनएनले जनाएको छ । खामेनीलाई बढीभन्दा बढी नागरिकलाई मत खसाल्न आग्रह गरेपनि धेरै इरानीले मतदानमा रुचि देखाएनन् ।

    कम मत खस्दा दुस्मनहरुको दबाब पनि बढी हुने खामेनीले बताएका थिए । इरानको आठौं राष्ट्रपतिको रुपमा रइसीले ४५ दिनपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

    नयाँ राष्ट्रपतिले कोभिड–१९ को कारण थिलोथिलो परेको अर्थतन्त्र उकास्ने चुनौति छ । सन् २०१५ मा अमेरिकासँग भएको आणविक सन्धिलाई पनि ब्युँताउनुपर्ने दबाब इरानमाथि छ ।

    नयाँ इरानी राष्ट्रपति विश्वकै लागि खतरा : इजरायल

    इजरायलले इरानको राष्ट्रपतिमा रइसी निर्वाचित भएको घटनालाई विश्वले गम्भिरताका साथ लिनुपर्ने बताएको छ । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हैअतले रइसीलाई अहिलेसम्मकै कट्टर इरानी राष्ट्रपति भएको बताएका छन् ।

    इजरायलले रइसीले आणविक गतिविधि बढाउन सक्ने भएकाले सजगता अपनाउनुपर्ने बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रइसीलाई बधाइ दिँदै परम्परागत रुपमा रहेको मैत्री र राम्रो छिमेकीको सम्बन्धलाई स्मरण गरेका छन् ।

    प्यालेस्टिनी लडाकु समूह हमासका प्रवक्ताले इरानको प्रगति र समृद्धिको कामना गरेका छन् ।

  • चिनियाँ नागरिकलाई रुस प्रवेश अनुमति दिने तयारी

    चिनियाँ नागरिकलाई रुस प्रवेश अनुमति दिने तयारी

    मस्को । महामारीका कारण करिब १६ महिना पहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्धलाई खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ ।

    रुसका उपप्रधानमन्त्री तात्याना गोलिकोभाले रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीनलाई पनि राख्न लागिएको शनिबार जानकारी दिए ।

    रुसले गत सन् २०२० को फेब्रअरीदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेको थियो ।

    विभिन्न देशका नागरिकलाई रुस प्रवेश गर्न दिने निर्णय केही दिनमै गरेर सरकारले सार्वजनिक गर्ने समेत उपप्रधानमन्त्री गोलिकोभाले जानकारी दिए ।

    कतिपय देशहरुमा कोरोनाभाइरसको महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्युन हुँदै गएकोले विभिन्न देशहरुका नागरिकलाई आवत जावत गर्न दिने तयारी भएको हो ।

    सुरुमा केही देशहरुका नागरिकलाई प्रवेश खुल्ला गर्ने र त्यस्ता देशहरुको संख्या बढाउदै लगिने पनि उनले बताए ।

  • जनसंख्या वृद्धिदर सुस्त भएपछि चीनले २०२५ सम्म ‘वान चाइल्ड पोलिसी’ अन्त्य गर्ने

    जनसंख्या वृद्धिदर सुस्त भएपछि चीनले २०२५ सम्म ‘वान चाइल्ड पोलिसी’ अन्त्य गर्ने

    बेइजिङ । चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५ सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको ‘द वाल स्ट्रीट जर्नल’मा उल्लेख छ ।

    रिपोर्ट अनुसार सरकारले चीनको चालु पञ्चबर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने प्रतिबन्धहरूलाई पूर्णतया हटाउन सक्छ ।

    चीनको राष्ट्रिय तथ्याङ्क विभागले मेमा सार्वजनिक तथ्याङ्कमा देशको जन्म दर सन् २०१६ देखि सन् २०२० सम्म लगातार चार बर्षसम्म घटेको देखिएको थियो । सन् १९५० पछि विश्वव्यापी रूपमा नै सिनच्याङ प्रान्तमा सबैभन्दा बढी जन्मदर घटेको देखाइएको छ । चिनियाँ स्रोतलाई उद्धृत गर्दै ‘द वाल जर्नल’ भनिएको छ, “चीनले जन्मदर कम भएका क्षेत्रहरूमा छिट्टै प्रतिबन्धलाई सहज बनाउन थाल्नेछ र क्रमशः अन्य प्रान्तहरूमा पनि यो योजना अघि बढाउनेछ ।”

    चीनले जनसङ्ख्या नियन्त्रणका लागि महिलाहरूलाई बन्ध्याकरणका लागि प्रोत्साहन गरेपछि पाको उमेरको जनस ङ्ख्या अधिक भएको छ । जनसङ्ख्या नियन्त्रणको लागि तय गरिएको नियम तोड्नेलाई जेल सजाय दिने नीतिहरूको कारण जन्मदरमा निकै कमी आएको जर्नलमा उल्लेख छ ।

    गत वर्ष परिवर्तनको बावजुद, चीनले खाद्य सङ्कटको चरम विन्दुको तुलनामा देशको हालको आर्थिक वृद्धिपछि पनि प्रति वर्षको नवजात शिशुहरूको जन्म दरमाकमी देखिएपछि नयाँ नीति ल्याई जन्मदरलाई बढाउन लागेको बताइएको छ । चीनमा अहिले पनि प्रति व्यक्ति आय अझै पनि छिमेकी दक्षिण कोरियाभन्दा आधा कम रहेको अमेरिकी पत्रिका वाशिङ्गटन पोस्टले हालै उल्लेख गरेको छ ।

    यसअघि सीएनएनमा प्रकाशित एक लेखमा केही विज्ञहरूलाई उद्धृत गरी बेइजिङ्ले बच्चा जन्माउने नियमलाई किन पूरै नहटाएको हो भन्ने सन्दर्भमा यसको कारण सिन्च्याङ हुन सक्ने बताइएको छ । बेन वेस्टकोटले सीएनएनमा लेख्नुभएको छ, “चीनले विशेष गरी सिनच्याङस्थित जातीय अल्पसङ्ख्यक समुदायप्रति बेइजिङ्को मनोविज्ञानका कारण उनीहरूको अभिभावकत्व सीमित राखेको छ ।”

    यसबाहेक, चिनियाँ सरकारले परिवारमा तीन बच्चाको सीमा राख्नुको कारण सिन्च्याङको जन्म दरमा नियन्त्रण कायम राख्नु भएको कतिपय चिनियाँ प्रशासनका आलोचकहरूले भने पनि खासमा १९५० को दशकमा देखिएको उच्च जनसङ्ख्या वृद्धिका कारण आएको खाद्य सङ्कट र अनियन्त्रित जनसङ्ख्या वृद्धि रोक्नु नै ४० बर्ष पहिले अख्तियार गरेको एक बच्चा नीति चीनका लागि बरदान बनेको थियो ।
    तर पछिल्लो दशकहरूमा अन्य विकशित मुलुकमा जस्तै चिनियाँहरूले पनि बच्चा जन्माउन नचाहनु बेढ्यौली जनसङ्ख्या बृद्धिको प्रमुख कारण हो ।

    कुनै समय अत्यधिक जनसङ्ख्याका कारण असहज बनेको चिनियाँ खाद्य सङ्कट र कमजोर अर्थतन्त्र एक बच्चा नीतिका कारण सफल भएको बताउने गरिन्छ ।

    चीनको विकासको क्रममा नीतिले सफलतापूर्वक जन्मदरमा कडाई भएका कारण यसको नकारात्मक प्रभाब हालैका वर्षहरूमा युवा जनसङ्ख्यामा कमी देखिनुलाई मानिएको छ । अधिकारीहरूले देशको आर्थिक वृद्धिको शक्तिलाई थप शसक्त पार्न पर्याप्त युवा श्रमिकहरू हुनुपर्दछ तर चीनको अहिलेको अवस्थाले योभन्दा भिन्न स्थितिको सामना गर्नुपर्ने विज्ञहरूको सुझाब आएका कारण सरकारले बच्चा जन्माउने सीमालाई हटाउन लागेको भनाइहरूमा थप सत्यता देख्न सकिन्छ ।

    यो जनसङ्ख्या समस्यालाई सम्बोधन गर्न चीनले सन् २०१६ देखि एक दम्पत्ती एक बच्चा नीतिलाई खुकुलो पार्दै दुई बच्चा जन्माउन पाउने नीति अघि ल्याएको थियो । यसमा पनि थप संशोधन गर्दै यसै बर्षदेखि एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने प्राबधान ल्याइएको छ ।

  • राष्ट्रसंघद्वारा म्यानमारमा हतियार आपूर्तिमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित, नेपालले मतदान गरेन

    राष्ट्रसंघद्वारा म्यानमारमा हतियार आपूर्तिमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित, नेपालले मतदान गरेन

    काठमाडौं । संयुक्त राष्ट्रसंघले म्यानमारमा हतियार आपूर्ति नगर्ने प्रस्तावलाई पारित गरेको छ । यो वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरुप उक्त देशको सेनालाई हतियार आपूर्ति नगर्न राष्ट्रसंघले भनेको हो ।

    राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गर्दै फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने सेनाको कदमको निन्दा गरेको छ। राष्ट्रसङ्घले निर्वाचित नेत्री आङ सान सू चीसहितका राजनीतिक बन्दीलाई मुक्ति गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध हिंसक दमन बन्द गर्न आह्वान पनि गरेको छ।

    ‘साँच्चिकै ठूलो गृहयुद्धको जोखिम छ। ढिलो भइसकेको छ। सैन्य कदमलाई फिर्ता गर्ने अवसर साँघुरो भइरहेको छ’ म्यान्मारका लागि राष्ट्रसङ्घीय विशेष दूत क्रिस्टिन श्नानर बुर्गनरले भनिन् ।

    एक सय १९ देशले उक्त प्रस्तावको समर्थन गरेका थिए । बेलारुस मात्र विपक्षमा उभिएको थियो । रुस र चीनसहितका अन्य ३६ देश मतदानमा सहभागी भएनन्। राष्ट्रसङ्घीय सुरक्षा परिषद्का स्थायी सदस्य पनि रहेका रुस र चीन म्यान्मारको सेनाका लागि दुई ठूला हतियार आपूर्तिकर्ता हुन्।

    दक्षिण एशियाली देशमध्ये नेपाल, भारत, पाकिस्तान, भुटान, बाङ्ग्लादेश र श्रीलङ्काले मतदान गरेनन्। तर अफगानिस्तान र माल्दिभ्सले प्रस्तावको पक्षमा मतदान गरे। त्यसरी मतदानमा सहभागी नभएका केही देशले उक्त विषय म्यान्मारको आन्तरिक मामिला भएको बताएका थिए।

    अन्य केहीले उक्त प्रस्तावले चार वर्षअघि सेनाले रोहिन्ज्या मुस्लिमविरुद्ध गरेको क्रूर आक्रमणको विषयलाई सम्बोधन नगरेको बताएका थिए। त्यतिबेला झन्डै १० लाख रोहिन्ज्याहरू म्यान्मार छाड्न बाध्य भएका थिए।

  • टीकटकले कमायो ३४.५ बिलियन डलर, चिनियाँ र अमेरिकी सरकारद्वारा थप दबाब

    टीकटकले कमायो ३४.५ बिलियन डलर, चिनियाँ र अमेरिकी सरकारद्वारा थप दबाब

    काठमाडौं । चिनियाँ भिडियो साझेदारी एप टीकटक निर्माता कम्पनी बाइटडान्सले सन् २०२० मा दोब्बर कमाइ गरेको छ ।

    कम्पनीको आम्दानी १११ प्रतिशतले वृद्धि हुँदै सन् २०२० मा ३४.५ बिलियन डलर पुगेको बीबीसीले जनाएको छ ।

    विश्वव्यापीरुपमा चर्चित बनिरहेको टीकटकको लोकप्रियतामा वृद्धि भएसँगै कमाइमा पनि बढोत्तरी भएको हो । बाइटडान्ससँगै अन्य चिनियाँ कम्पनीलाई पनि सरकारबाट तीव्र दबाब परिरहेको छ ।

    बाइट डान्सको नाफामा पनि उक्त वर्ष ९३ प्रतिशतले वृद्धि भएको छ । सो वर्ष कम्पनीले १९ बिलियन डलर खुद नाफा कमायो । गतवर्ष सोही अवधिमा कम्पनी ४५ बिलियन डलरले घाटामा गएको थियो ।

    गतवर्षको डिसेम्बरसम्म विश्वभरि बाइट डान्सका १.९ बिलियन प्रयोगकर्ता थिए । टीकटकको विश्वव्यापी लोकप्रियतासँगै चीन र अमेरिकी सरकारले बाइट डान्सलाई दबाब दिइरहेका छन् ।

    यो महिनाको सुरुआतमा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ एपले अमेरिकी बजारमा उपस्थित खोज्ने हो भने प्रयोगकर्ताको तथ्यांक सुनिश्चित गर्नुपर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

    साथै, उनले अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पले टीकटक र वी च्याटविरुद्ध लगाएको प्रतिबन्ध पनि फुकुवा गरेका थिए ।

  • ३२ जना महिलाद्वारा पोर्नहब वेबसाइटविरुद्ध मुद्दा दायर, अनुमतिबिना यौन भिडिओ बेचेर नाफा कमाएको आरोप

    ३२ जना महिलाद्वारा पोर्नहब वेबसाइटविरुद्ध मुद्दा दायर, अनुमतिबिना यौन भिडिओ बेचेर नाफा कमाएको आरोप

    काठमाडौं । आफूहरुको अनुमति बिना भिडिओ सार्वजनिक गरेको भन्दै बलात्कार र यौन शोषण मामिलाका पीडित ३२ जना महिलाले चर्चित वेबसाइट पोर्नहबविरुद्ध मुद्दा दायर गरेका छन् । उक्त वेबसाइटको प्यारेन्ट कम्पनी माइन्डगिक विरुद्ध ‘क्लासिकल क्रिमिनल इन्टरप्राइज’ संचालन गरेको भन्दै ती महिलाले संयुक्तरुपमा मुद्दा दायर गरेका हुन् ।

    बलात्कार, बालयौन दुर्व्यवहार, रिभेन्ज पोर्न (बदला लिनका लागि राखिने सेक्स भिडिओ) र सहमति बिनाका यौन कार्यबाट कम्पनीले नाफा आर्जन गरिरहेको आरोपमा बिहीबार मुद्दा दायर भएको बीबीसीले जनाएको छ ।

    ३२ जना पीडितहरुको तर्फबाट अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । पीडितहरुको तर्फबाट कानून व्यवसायी ब्रोन रुड्निकले मुद्दा दर्ता गरेका हुन् । एउटी महिलाले सहमति बेगर भिडिओ पोस्ट गरेर वेबसाइटले नाफा कमाएको आरोप लगाएकी छिन् ।

    ‘यो मुद्दा पोनोग्राफी हैन बरु यसले बलात्कारको मुद्दा आकर्षित गर्छ’ दायर गरिएको बयानमा उल्लेख छ । पीडितलाई क्षतिपूर्ति र आगामी दिनमा यस्तो हुन नदिन माग गर्दै मुद्दा दायर गरिएको हो । सो मुद्दामा आगामी दिनमा सहमतिमा तयार पारिएका भिडिओहरु मात्र पोस्ट गर्न माग गरिएको छ ।

    माइन्डगिक कम्पनीअन्तर्गत अन्तर्गत पोर्नहब, रेडट्युव, यूपोर्न लगायत सयभन्दा बढी पोर्नग्राफी वेबसाइट संचालनमा छन् । ती साइटबाट कम्पनीले महिनौं साढे तीन अर्ब भ्युज बटुल्ने गर्छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पीडितको प्रतिनिधित्व गर्दै मिचेल बोईले यो मुद्दालाई पोर्नोग्राफी उद्योगका लागि ‘भारी पर्न सक्ने क्षण’ बताए ।

  • मोदी संसारकै लोकप्रिय नेताको पहिलो स्थानमा, बाइडेन छैठौं स्थानमा झरे

    मोदी संसारकै लोकप्रिय नेताको पहिलो स्थानमा, बाइडेन छैठौं स्थानमा झरे

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्य विश्व नेताहरुलाई उछिन्दै संसारकै लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा सूचीकृत भएका छन् ।

    अमेरिकाको डेटा इन्टिलेजेन्स फर्म मर्निङ कन्सल्टको पछिल्लो सर्वेमा मोदी विश्व नेताहरुको पहिलो स्थानमा छन् । मोदीको अप्रुभल रेटिङ १०० मा ६६ प्रतिशत छ ।

    उक्त फर्मले शुक्रबार बिहान सार्वजनिक गरेको सूचीमा अमेरिकी राष्ट्रपति बाइडेनको अप्रुभल रेटिङ ५३ प्रतिशत छ र उनी छैठौं स्थानमा छन् । इटालीका मारियो ड्राघी ६५ प्रतिशतपछि दोस्रो स्थानमा छन् ।

    उक्त अध्ययनमा अमेरिका, बेलायत, रुस, अष्ट्रेलिया, क्यानडा, ब्राजिल, फ्रान्स र जर्मनीसहित १३ मुलुकका नेतालाई समावेश गरिएको थियो । यो वर्ष मोदीको लोकप्रियतामा २० प्रतिशत गिरावट आएको छ र अहिले पनि ६६ प्रतिशतले उनलाई रुचाउँछन् ।

    मर्निङ कन्सल्टले प्रत्येक साता राजनीतिक उथलपुथल अनुसार लोकप्रियता मापनको ट्रयाक अपडेट गर्नेगर्छ । मोदीको लोकप्रियता उकालो लाग्नुमा गत जुन ७ मा उनले देशवासीको नाममा सम्बोधन गर्नुलाई कारण मानिएको छ ।

    जुन सम्बोधनमा मोदीले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क कोभिड खोप लगाउने घोषणा गरेका थिए । राज्य सरकारलाई ७५ प्रतिशत खोप आपूर्ति गर्ने घोषणा पनि उनले गरेका थिए । उनले नोभेम्बरसम्म ८० करोड नागरिकलाई निःशुल्क खाना बाँडने घोषणा पनि गरेका थिए ।

  • इरानमा राष्ट्रपतिय चुनाव आज हुँदै, खामेनीप्रति बफादार उम्मेदवार निर्वाचित हुने सम्भावना

    इरानमा राष्ट्रपतिय चुनाव आज हुँदै, खामेनीप्रति बफादार उम्मेदवार निर्वाचित हुने सम्भावना

    दुबई । इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार बिहानैदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ ।

    इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेदवारी दिएका छन् । सर्वोच्च नेता खामेनीले न्यायपालिकाका प्रमुख इब्राहिम राइसीलाई समर्थन गर्नु भएकाले उनी नै विजयी हुने मतसर्वेक्षणहरुले देखाएका छन् ।

    केन्द्रीय बैंकका पूर्व प्रमुख अब्दोलनासेर हेमाटीलाई औसत एवं नरम उम्मेदवार मानिएको छ ।

    राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भए उनी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति हुनेछन् । राइसीमाथि सन् १९८८ मा बन्दीहरुको सामूहिक हत्याको आरोप छ । साथै राइसीले इरानी न्यायपालिकाको नेतृत्व सम्हालेको अवधिमा इरानमा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो ।

    मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका छन् । सर्वोच्च नेता खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो ।

    सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका छन् । उनले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गरेका छन् ।

    राष्ट्रपतिका प्रभावशाली उम्मेदवार राइसीले दक्षिणी तेहरानको मस्जिदमा मतदान गरेका छन् । उनले पनि इरानका सबै योग्य नागरिकलाई मतदानमा भाग लिन आग्रह गरे ।

    राइसीको उम्मेदवारीलाई लिएर इरानका कतिपय नागरिकले असन्तुष्टी जनाएका छन् ।

    करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन् । तर, सरकारसँग निकट इरानी विद्यार्थी संगठनले यस पटक करिब ४२ प्रतिशत मतदान हुने जनाएको छ ।

    यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको यो सबैभन्दा न्यून मतदान हुनेछ ।

  • जापानद्वारा राजधानी टोकियोमा सोमबारदेखि कोभिड-१९ आपतकाल हटाउने निर्णय

    जापानद्वारा राजधानी टोकियोमा सोमबारदेखि कोभिड-१९ आपतकाल हटाउने निर्णय

    टोकियो । जापान सरकारले राजधानी टोकियो सहित ९ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड-१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो ।

    गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो । यसअघि गत मे ११ मै आपतकाल हटाउने पूर्व निर्णय गरिए पनि दुई पटक आपतकाल बढाइएको थियो । नयाँ आपतकाल आइची, फुकुओका, होक्काइडो, ओकायामा, हिरोशिमा र ओकिनावा प्रिफेक्चरमा पनि विस्तार गरिएको थियो ।

    सरकारको निर्णय बमोजिम आगामी जुन २० देखि ओकिनावा बाहेक अन्यत्रको आपतकाल अन्त्य हुनेछ । ओकिनामा भने कोभिड-१९ बाट संक्रमितको संख्या बढेको पाइएपछि आगामी जुलाई ११ सम्म आपतकाल कायम रहने छ ।

    तर कोभिड-१९ विरुद्धका प्रतिबन्धात्मक व्यवस्थाहरु सम्पूर्ण रुपमा अन्त्य भने हुने छैनन् । देशभित्र कोभिड-१९ बाट संक्रमितको संख्या लगातार न्यून भएको र खोप अभियान तिब्र बनाइएको छ । त्यहीकारण सरकारले आगामी जुलाई ११ सम्म टोकियो र अरु ८ वटा प्रिफेक्चरसम्म सामान्य आपतकालको अवस्था रहने जनाएको छ ।

    टोकियो गृष्मकालीन ओलम्पिक खेल सुरु हुन एक महिना मात्र बाँकी छ, र यस्तो अवस्थामा भाइरस पुनः फैलिन सक्ने अनुमान गरिएको छ ।

  • उत्तर कोरियाली राजनीतिक बैठकमा किमजोङले भने : महामारीले भोकमरी आउनसक्ने जोखिम बढ्यो

    उत्तर कोरियाली राजनीतिक बैठकमा किमजोङले भने : महामारीले भोकमरी आउनसक्ने जोखिम बढ्यो

    प्योङयाङ । उत्तर कोरियाली नेता किमजोङ उनले कोभिड-१९ संक्रमण रोकथामका लागि गरिएको विश्व्यापी लकडाउनको आर्थिक असर आफ्नो देशमा पर्ने बताएका छन् ।

    राजधानी प्योङयाङमा आयोजित उच्च स्तरिय राजनीतिक बैठकलाई सम्बोधन गर्दै उनले देशमा खाद्य संकट देखापरेको र भोकमरी सुरु हुने सक्ने समेत बताए ।

    अर्थतन्त्र कमजोर बनेपछि छलफलका लागि उनले उत्तर कोरियामा वृहत राजनीतिक छलफलको आयोजना गरेका थिए । वर्तमान अन्तर्राष्ट्रिय अवस्थाको कारण उत्तर कोरियालाई असर पुगेको उनको उध्दृत गर्दै उत्तर कोरियाली न्यूज एजेन्सीले जनाएको छ ।

    कोभिड-१९ संक्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय सीमा बन्द गर्दा चीनसँगको व्यापार प्रभावित भएको थियो । विनाशकारी आँधी र बाढीले पनि यसवर्ष उत्तर कोरियामा कृषि उत्पादन कम हुने देखिएको छ ।

    बहुसंख्यक जनतालाई असर पर्ने गरि भोकमरी हुने संकेत तत्काल नदेखिएपनि केही विश्लेषकले नागरिकमा पीडा क्रमशः सुरुवात हुनसक्ने जनाएका छन् ।

  • चिनियाँ यान पहिलोपटक आफ्नै अन्तरिक्ष केन्द्रमा पुग्यो, अर्को यानसँग अन्तरिक्षमा डक-प्रक्रिया सम्पन्न

    चिनियाँ यान पहिलोपटक आफ्नै अन्तरिक्ष केन्द्रमा पुग्यो, अर्को यानसँग अन्तरिक्षमा डक-प्रक्रिया सम्पन्न

    बेइजिङ । आफूले निर्माण गरेको पहिलो अन्तरिक्ष केन्द्रमा चीनले विहिबार तीनजना यात्री पठाएको छ । सेन्जु-१२ नामक उक्त अन्तरिक्ष यान विहिबार अपरान्ह नेपाली समयानुसार २ बजे स्पेस स्टेसनमा पुगेको छ ।

    केन्द्रमा रहेको तियान नामक अर्को यानसँग पृथ्वीबाट पठाइएको यान डक्ड (जडान हुने प्रक्रिया) पुरा भएको चीनले जनाएको छ । उक्त यानमा चिनियाँ अन्तरिक्ष यात्रीहरु नेइ हेइसङ, लिउ बोमिङ र ताङ होङ्बो छन् ।

    यो मिसन चीनको अहिलेसम्मकै लामो अन्तरिक्ष मिसन रहेको जनाइएको छ । यो यान पृथ्वीबाट ३८० किलोमिटर टाढाको केन्द्रमा ३ महिना रहनेछ । विहिबार २–एफ रकेटमार्फत यान प्रक्षेपण गरिएको थियो ।

    आफ्नै अन्तरिक्ष केन्द्र बनाउने र त्यसतर्फ मान्छे पठाउने कार्यलाई चीनको अन्तरिक्ष महाशक्ति बन्ने तर्फको यात्राको अर्को कदम मानिएको छ । ६ महिनाअघि चीनले चन्द्रमामार्फत पृथ्वीमा त्यहाँको चट्टान ल्याएर अनुसन्धान गरिरहेको छ ।

    मानवसहितको यान पठाउनुमा चिनियाँ उद्देश्य केन्द्रमा रहेको २२.५ टन तौलको तियान मोड्युललाई संचालनमा ल्याउनु हो ।

  • सत्ता सम्हालेपछि पुटिनसँग वाइडेनको भेटवार्ता : दुबै नेताले गरे एकअर्काको प्रशंसा तर, सहमति जुटेन

    सत्ता सम्हालेपछि पुटिनसँग वाइडेनको भेटवार्ता : दुबै नेताले गरे एकअर्काको प्रशंसा तर, सहमति जुटेन

    जेनेभा । सत्ता सम्हालेपछि पहिलोपटक अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादमिर पुटिनबीच बुधबार भेटवार्ता भएको छ । वार्तापछि दुबै नेताले एकअर्काको प्रशंसा गरेपनि ठोस निष्कर्ष भने ननिस्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    बाइडेनले पुटिनसँगको वार्तामा आफूले मतभेदका विषयहरुलाई शान्तपूर्वक प्रस्तुत गरेको र रुसले पनि अमेरिकसँग शीतयुद्ध नचाहेको बताएका छन् । पुटिनले पनि बाइडेन अनुभवी राजनेता भएको र आफूहरुले उस्तै भाषा प्रयोग गरेर बोलेको भन्दै प्रशंसा गरेका थिए ।

    वार्ता पूर्वनिर्धारित तालिकाभन्दा तीनघण्टासम्म चलेको थियो । वार्ताका लागि आफूहरुले थप समय नचाहेको बताउँदै बाइडेनले रुससँगको सम्बन्ध सुधार्न इमान्दार प्रयत्न भैरहेको समेत बाइडेनले बताए ।

    बाइडेनले आफूलाई मनपर्ने चस्मा एभिएटर लिएर वार्तास्थल पुगेका थिए । तर, उनले पुटिनलाई उपहार दिए वा दिएनन् भन्ने बाहिरिएको छैन । दुबै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल गर्न आरम्भ गर्ने सहमति जनाएका छन् ।

    एकअर्काको देशमा राजदूत पठाउने निर्णय पनि भएको छ । सन् २०२० को अमेरिकाको राष्ट्रपतिय चुनावमा रुसले हस्तक्षेप गरेको भन्दै चलेको आरोप प्रत्यारोपपछि दुबैले राजदूत फिर्ता गरेका थिए ।

    साइवर सुरक्षा, युक्रेन र अढाइ वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नाभाल्नीको भविष्यजस्ता विषयमा भने कुनै सहमति भएको छैन ।

  • कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री

    कोरोनाभाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री

    लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जी७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएको बताइएको छ ।

    उनले सो पत्रकार सम्मेलनमा भनेका थिए- सुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोनाभाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।

    सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो ।

    तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताएका थिए ।

    उनले यस विषयमा बेलायतका बैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताएका थिए ।

  • चीनको शाङ्सीमा फलाम खानीको बाढी दुर्घटनामा ११ जनाको मृत्यु

    चीनको शाङ्सीमा फलाम खानीको बाढी दुर्घटनामा ११ जनाको मृत्यु

    टाइयुआन । चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ ।

    डाइक्सिन काउन्टीको सूचना कार्यालयले बिहीबार करिब एक बजे फलाम खानीको एउटा कुवामा पानी पसेको जनाएको छ । यसअघि उक्त खानी भित्र १३ जना हराइरहेको अनुमान गरिएको थियो ।

    खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको पनि उक्त कार्यालयले जनाएको छ । खानीको हिलो र माटोमा पुरिएको आशंका गरिएका अरु तीन जना मजदूरको खोजी जारी रहेको छ ।

    स्थानीय उद्धार कार्यालयले उक्त घटनाको छानबिन सुरु भइसकेको जनाएको छ । खानी मजदूरको शव निकाल्ने क्रममा उद्धारकर्मीले टनेलभित्र ठूलो संख्यामा फ्युज, डेटोनेटर र बिस्फोटक पदार्थ भेटिएको बताएका छन् ।

    बिस्फोटक पदार्थ डिस्पोजल गर्ने विज्ञहरुको टोली पनि उक्त खानीमा पठाइएको छ । बुधबार बिहानैदेखि भइरहेको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाई भइरहेको छ ।

  • युद्धविराम उल्लंघन गर्दै इजरायली सेनाद्वारा गाजा क्षेत्रमा पुनः हवाइ आक्रमण

    युद्धविराम उल्लंघन गर्दै इजरायली सेनाद्वारा गाजा क्षेत्रमा पुनः हवाइ आक्रमण

    जेरुसेलम । इजरायली बायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ । गतमहिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धबिराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो ।

    इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरुलाई लक्षित गरिएको जनाएको छ । हमास लडाकूहरुले इजरायली भूमिमा आक्रमण गर्ने योजना बनाइरहेको सूचनाका आधारमा हवाई हमला गरिएको पनि सेनाको भनाई छ ।

    इजरायली आक्रमणबाट कुनै जनधनको क्षतिका बारेमा विवरण प्राप्त भइसकेको छैन । मङ्गलबार सयौं इजरायली अतिराष्ट्रवादीहरुले पूर्वी जेरुसेलममा अरब र प्यालेस्टिनी विरुद्ध चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए । यस प्रदर्शनले पुनः हिंसात्मक शृङ्खला शुरु हुने खतरा निम्त्याएको छ ।

    प्रतिक्रिया स्वरुप, गाजास्थित प्यालेस्टिनीहरुले इजरायलको दक्षिणी भेगमा बिस्फोटक पदार्थ भरिएका बेलुनहरु गाजाबाट उडाएका थिए । यी बेलुन बिस्फोटबाट करिब दश ठाउँमा आगो लागेको इजरायली सेनाको भनाई छ ।

    यहूदी समुदायको जुलुस प्रदर्शनले झिनो बहुमत सहित बनेको सरकारका साथै ११ दिनसम्म चलेको इजरायल र हमासबीचको युद्ध रोक्ने गरी भएको युद्धबिराम सम्झौतालाई सङ्कटमा पार्ने खतरा उत्पन्न गरेको छ । गत महिनाको आक्रमणमा २५० जना प्यालेस्टिनी र १३ जना इजरायलीको ज्यान गएको थियो भने गाजामा बम आक्रमणबाट ठूलो संख्यामा धनमाल क्षतिग्रस्त भएको थियो ।

    यहूदी समुदायले गरेको प्रदर्शनलाई प्यालेस्टिनीहरुले अत्यन्त निन्दनीय र खेदपूर्ण भनेका छन् । हमासले उक्त प्रदर्शनको प्रतिरोध गर्न प्यालेस्टिनी समुदायसँग अपिल गरेको छ । पूर्वी जेरुसेलमकै विवादलाई लिएर गत महिना ११ दिने युद्ध भएको थियो ।

    गाजा-बाजा सहितका सयौं अतिराष्ट्रवादी यहूदीहरुको समूहले दमास्कस गेट सम्म प्रदर्शन गरेका थिए । यी प्रदर्शनमा सहभागीहरु अधिकांश युवा थिए र धेरैले इजरायली झण्डा बोकेका थिए ।

    तर इजरायली विदेश मन्त्री याईर लापिडले ट्वीट गर्दै उक्त प्रदर्शनको निन्दा एवं भत्र्सना गरेका छन् । उनले जातिभेदी नाराबाजीले इजरायली जनताको अपमान गर्ने बताएका छन् । यो प्रदर्शनमा सहभागीहरु अघिल्लो महिनाका भन्दा कम थिए । दमास्कस गेट बाट उक्त भिड पुरानो शहरबाट पश्चिमी पर्खालतर्फ गएको थियो जहाँ यहूदीहरुले प्रार्थना गर्ने गर्दछन् ।

  • बाइडेन र पुटिनबीच आज जेनेभामा बहुप्रतीक्षित वार्ता हुँदै

    बाइडेन र पुटिनबीच आज जेनेभामा बहुप्रतीक्षित वार्ता हुँदै

    जेनेभा । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेटवार्ता हुँदैछ । अमेरिका-रुस सम्बन्ध निकै तल्लो स्तरमा पुगेकै समयमा यो प्रतीक्षित भेटवार्ता हुन लागेको हो ।

    दुई मुलुकबीच दशकयताकै चिसो सम्बन्ध रहेको छ । चारमहिनादेखि दुबै नेताले एकअर्का विरुद्ध तिखा व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए । राष्ट्रपति बाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षणप्राप्त ह्याकरहरुले द्वेषपूर्ण साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको आरोप लगाएका छन् ।

    साथै उनले रुसी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप लगाएका छन् । तर रुसी राष्ट्रपति पुटिनले अमेरिकी आरोपहरुको खण्डन गरिरहेका छन् । यो आरोप प्रत्यारोप चलिरहेको बेला दुई मुलुकका राष्ट्र प्रमुखबीच प्रत्यक्ष भेटवार्ता हुन लागेको हो ।

    अमेरिकी संसदमा गत जनवरी ६ मा भएको घटनालाई दृष्टान्त बनाउँदै राष्ट्रपति पुटिनले अमेरिकाले लोकतान्त्रिक मूल्यमान्यतालाई लिएर अरुलाई पाठ नपढाएको बेश हुने बताएका छन् । उनले अमेरिकी गुप्तचर निकायहरुले जेसुकै देखाए पनि अमेरिकी कुनै पनि चुनावलाई लक्षित गरेर आफूहरुले हस्तक्षेप वा साइबर आक्रमण नगरेको बताएका छन् ।

    जेनेभा वार्ताका लागि बाइडेन र पुटिन अहिले त्यहाँ पुगेका छन् । यो वार्ता चारदेखि पाँच घण्टा चल्ने अनुमान गरिएको छ । तर वार्ताबाट तत्कालै कुनै निश्कर्ष निस्कनेमा दुबै नेता विश्वस्त छैनन्, तर वार्ता र संवादको ढोका यस भेटवार्ताले शुरु गर्नेछ । राष्ट्रपति बाइडेनले यो भेटवार्ता दुबै देशबीच सम्बन्ध सामान्यीकरणमा एउटा महत्वपूर्ण कदम हुने बताएका छन् । अमेरिका र रुस दुबैले आपसी सम्बन्धमा “स्थायित्व र अनुमानयोग्य” हुने विश्वास लिएको पनि राष्ट्रपति बाइडेनले बताएका छन् ।

    बाइडेनले गत अप्रिलमा रुसी राष्ट्रपति पुटिनलाई टेलिफोन गरी अमेरिकी चुनावलाई प्रभावित तुल्याउन सक्रिय अमेरिकामा रहेका धेरै जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने तथा रुसी केही दर्जन व्यक्ति एवं कम्पनीमाथि प्रतिबन्ध लगाउने जनाउ दिएका थिए । अमेरिकी यस कदमको विरोधमा रुसले समेत प्रतिशोधपूर्ण कारबाही गरेको थियो ।

    तर, अहिले रुसी राष्ट्रपति र उनको टोली बाइडेनसँगको शिखर वार्ताका लागि जेनेभास्थित सम्मेलन स्थल भिल्ला ला ग्रान्जेमा आइपुग्न लागेको छ । त्यसलगत्तै बाइडेन र उनको टोली सम्मेलन स्थलमा पुग्नेछ । स्वीट्जरल्यान्डका राष्ट्रपति गाए पार्मिलिनले दुबै नेतालाई स्वागत गर्ने भएका छन् ।

    बाइडेन र पुटिनबीच संक्षिप्त भेटघाटपछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभ पनि सहभागी हुनेछन् । त्यसपछि दुई पक्षीय भेटवार्तामा दुबै पक्षका वरिष्ट अधिकारीहरु संलग्न हुनेछन् ।

  • एक भोटले ढलेका नेतान्याहुः १२ वर्षदेखिको सत्तायात्रामा पूर्णविराम

    एक भोटले ढलेका नेतान्याहुः १२ वर्षदेखिको सत्तायात्रामा पूर्णविराम

    सन् १९९६ मा सबैभन्दा कान्छो उमेरका इजरायली प्रधानमन्त्री भएका थिए, बेन्ज्यामिन नेतान्याहु । पहिलो तीन वर्षे कार्यकालपछि फेरि प्रधानमन्त्री भएका नेतान्याहु १२ वर्षपछि आइतबार सत्ताबाट बाहिरिए । उनले दोस्रो कार्यकालमा सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री चलाएको रेकर्ड बनाए ।

    विपक्षी गठबन्धनको भन्दा एक सिट कम मत पाएर बाहिरिएका नेतान्याहुले इजरायलमा कुल १५ वर्ष सत्ताको नेतृत्व गरे ।

    सन् २००९ देखि निरन्तर दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएका नेतान्याहु आइतबार १२० सिटको केनेसेटमा विपक्षीले ६० मत ल्याएपछि अल्पमतमा पर्दै बाहिरिएका हुन् । उनको पक्षमा ५९ मत मात्रै आयो । एक मत खसेन ।

    व्यापारीबाट अस्वभाविक उपहार लिएको तथा पत्रिकामा सकारात्मक समाचार लेखाउन आर्थिक सौदाबाजी गरेको भन्दै भ्रष्टाचारको आरोपमा कानुनी झेलिरहेका ७१ वर्षीय नेतान्याहुलाई सत्ताबाट हटाउन इजरायलमा अभुतपूर्व गठबन्धन बन्यो ।

    वामपन्थी, धर्मिकदेखि अरबिकहुँदै दक्षिणपन्थी सबै पार्टीहरु मिलेर उनलाई हटाएका हुन् । अहिले सात सिट भएका नाफ्ताली बेनित प्रधानमन्त्री भएका छन् भने ३० सिटको पार्टीका संसदीय दलका नेता नेतान्याहु विपक्षी बेन्चमा पुगेका छन् ।

    लिकुड पार्टीले प्रधानमन्त्री मात्रै गुमाएन, सभामुख पद पनि गुमायो । आठ दलीय गठबन्धनबाट लिकुड पार्टीका यारिभ लेभिनलाई पाखा लगाउँदै यस अतिड पार्टीका मिकी लेभिलाई सभामुख चुनिएको थियो ।

    नयाँ प्रधानमन्त्रीलाई बधाई दिएनन् नेतान्याहुले

    आइतबार केनेसेटमा प्रधानमन्त्रीको रुपमा बोल्न आएका नाफ्ताली बेनेटले आफ्नो भाषणको सुरुवातमै नेतान्हायुको तारिफ गरे । ४९ वर्षे बेनेतलाई उदृत गर्दै इजरायली अखबार जेरुसेलम पोस्ट लेख्छ, ‘इजरायलको लागि उपलब्धीहरुले भरिपूर्ण धेरै वर्षको सेवाको लागि निवर्तमान प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुलाई धेरै धन्यवाद । प्रधानमन्त्रीको रुपमा तपाईंले इजरायलको राजनीतिक, सुरक्षा र आर्थिक शक्तिलाई बलियो बनाउन खट्नुभयो ।’

    नेतान्याहुप्रति सकारात्मक भएका बेनेटसँग नेतान्याहु भने आक्रोशित भए । जेरुसेलम पोस्ट नेतान्याहुले केनेसेटमा बोलेको भनाइ उदृत गर्दै लेख्छ, ‘बेनेट सधै एउटा भन्छन्, अर्को गर्छन् । यो सरकार एक दिन पनि देशको नेतृत्व गर्न लायक छैन ।’

    इजरायली प्रधानमन्त्रीको रुपमा ओबामाकालीन इरान आणविक सम्झौताताका अमेरिकी सदनमा गएर आफूले विपक्षमा बोलेको प्रसङ्ग ल्याए नेतान्याहुले । उनले बेनेटलाई कम आँक्दै भने, ‘एउटा इजरायली प्रधानमन्त्रीले अमेरिकी रास्ट्रपतिलाई हुन्न भन्न सक्नुपर्छ ।’

    सत्ताबाट बाहिरिँदै नेतान्याहुले आफ्ना उपलब्धीको व्याख्या गरे । जेरुसेलम पोस्टका अनुसार उनले मूलतः तीन तर्क गरे । एक, सीमान्त देशको रुपमा रहेको इजरायलाई नेतृत्वदायी देश बनाए । दुई, इजरायलको राजधानी जेरुसेलममा अमेरिकी दूतावास सार्नदेखि अरबिक देशसँग सम्झौता गर्न सफल । तीन, देशका सडक, रेलदेखि जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान गरे ।

    नेतान्याहुले दाबी गरेका सफलतालाई अन्तर्राष्ट्रिय मिडियाले पनि सही थपेका छन् । बिबिसीले प्यालेस्टाइन युद्धबाट मात्रै पहिचान बनाएको इजरायललाई नयाँ आकार नेतान्याहुले दिएको लेखेको छ ।

    चाँडै यो सरकार ढाल्ने बताएका नेतान्याहु केनेसेटमा मन्तव्य सकेर केही समय प्रतिपक्षी बेन्चमा बसे । त्यसपछि बाहिरिँदै पत्रकारसँग उनले सत्ता छोडेपनि प्रमख प्रतिपक्षी नेतादेखि आगामी चुनावमा पार्टीको प्रधानमन्त्रीको उम्मेदवार आफैं हुने बताए ।

    उनलाई उदृत गर्दै जेरुसेलम पोस्ट लेख्छ, ‘प्रेसका लागि यो होलिडे हो तर इजरायलका लाखौँ नागरिकहरुको लागि गाह्रो दिन हो । म तपाईंहरुलाई आफ्नो आत्मबल नगिराउन आग्रह गर्छु । हामी चाँडै (सत्तामा) फर्किनेछौँ ।’

    सदनमा बेनेटले सम्बोधन गर्दा विपक्षीले हल्ला गरेका थिए । केही सांसदलाई सुरक्षाकर्मीले बाहिर निकालेका थिए । तर, नेतान्याहु बोल्दा भने सत्ताधारीले शान्तीपूर्वक सम्बोधन सुनेका थिए ।

    नेतान्याहुविरुद्ध विचार नमिल्ने आठ दलको गठबन्धन

    इजरायलको नयाँ आठ दलीय गठबन्धन सरकारमा भएका कुनैपनि दलको आपसमा विचार मिल्दैन । तर, नेतान्याहुविरोधी भावना भने मिल्छ । त्यही ‘एन्टी नेतान्याहु’ सेन्टिमेन्टले उनीहरुलाई एक ठाँउमा ल्याएको छ । कतिसम्म रोचक छ भने, इजरायली सरकारको गठबन्धनमा सहभागी हुँदै नभएका अरब पार्टी समेत सरकारमा जोडिएको छ ।

    मन्सुर अब्बास नेतृत्वको चार सिट भएको ‘राम’ पार्टी पनि सरकारी गठबन्धनमा छ । गठबन्धनको सबैभन्दा सानो पार्टी राम नै हो । सबैभन्दा ठूलो भने १७ सिट भएको यस अतिड पार्टी छ । जसको भागमा सभामुख परेको छ । प्रधानमन्त्री नाफ्ताली बेनितको ‘यामिना’ पार्टीको सात सिट मात्रै छ ।

    गत चैत्र १० मा इजरायलमा भएको पछिल्लो चुनावमा बेनितको पार्टी पाँचौ ठूलो भएको थियो । इजरायलमा पछिल्ला दुइ वर्षमा चार चुनाव भए । तर, बहुमत नजुट्दा कुनैपनि सरकार टिक्न सकेनन । र, अहिलेको आठ दलीय गठबन्धन बनेको हो ।

    गठबन्धनका नेताहरुलाई नेतान्याहुले प्रधानमन्त्री अफर गरिरहेको तर अहिलेसम्म नमानेको जेरुसेलम पोस्टले लेखेको छ । अहिले बनेको सरकार इजरायलको ३६ औं सरकार हो ।

    विचार नमिल्ने दलहरुको गठबन्धन भएकोले इजरायलको आन्तरिक मामिलामा मिलेर काम गर्ने बताइएको छ । आइतबार केनेसेटमा बोल्दै प्रधानमन्त्री बेनेटले नागरिकमैत्री कर्मचारीतन्त्र बनाउने बताए । सिंगापुरको जस्तै कागजविहीन र भिडविहीन काम गर्ने बताए ।

    स्न २०२६ सम्म इजरायलमा उच्च प्राविधिक क्षेत्रका कामदारको संख्या कुल कामदारको १५ प्रतिशत बनाउने उनले बताए । साना व्यावसायी र स्वतन्त्र कामदारलाई सहयोग गर्ने, इजरायको उत्तरी क्षेत्रमा स्तरीय अस्पताल बनाउनेदेखि यातायात क्षेत्रमा सुधार गर्ने उनले बताए । नयाँ सरकार राष्ट्रिय एकताको भएको उनको भनाइ छ ।

    को हुन् नयाँ प्रधानमन्त्री बेनित ?

    बेनेट कट्टर यहुदी हुन् । उनको पार्टी ‘यामिना’ र उनले प्यालेस्टाइनको अस्तित्व स्वीकार नगर्ने अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् । उनी आफू नेतान्याहुभन्दा दक्षिणपन्थी भएको स्वीकार्छन् ।

    केही समयअघि उनले दि टाइम्स अफ इजरायलसँग भनेका थिए, ‘म नेतान्याहु भन्दा दक्षिणपन्थी हुँ । तर, घृणा र विभाजनलाई मेरो राजनीतिक बढुवाको साधनको रुपमा प्रयोग गर्दिनँ ।’

    दक्षिणपन्थी गठबन्धनबाट तेतान्याहुलाई छाडेर आउनुअघि उनी नेतान्याहु क्याबिनेटका विभिन्न जिम्मेवारीहरुमा पनि थिए । उनी शिक्षामन्त्रीदेखि रक्षामन्त्रीसम्म भएका थिए ।

    लिकुड पार्टी प्रमुख प्रतिपक्षी भएको समयमा उनी नेतान्याहुको ‘चिफ अफ स्टास’को रुपमा थिए । त्यहींबाट उनको राजनीतिक जीवन सुरु भएको हो । युएसए टुडेका अनुसार सन् २००९ मा नेतान्याहु प्रधानमन्त्री चुनिँदा बेनित वेस्ट बैंकको यहुदी बस्ती हेर्ने येसा काउन्सिलको महानिर्देशक बनाइए । जसमा उनले दुई वर्ष काम गरे ।

    सन् २०१३ को आमनिर्वाचानमा उनले आफ्नै दल खोले । पहिलो प्रयासमै १२ सिट आयो । सन् २०१३ देखि २०१९ सम्म नेतान्याहुको गठबन्धनमा रहेर अर्थ, धर्म, डायस्पोरा, शिक्षाहुँदै रक्षामन्त्रीसम्म भए । सन् १९९६ मा हेजबुल्लासँग भएको युद्धमा सहभागी भएका बेनित सैन्य सेवाबाट आएका थिए । उनी इजरायली सेनाका कमाण्डो भएको बिबिसीले लेखेको छ ।

    राजनीतिमा आउनुअघि उनी प्रविधिका अर्बपति थिए । सन् २००० ताका श्रीमती सहित अमेरिका पुगेका उनले आरएसए सेक्युरिटि नामक कम्पनी खोले । जसलाई उनले साढे चौध करोड डलरमा बेचे ।

    सन् १९६७ मा भएको छ दिने इजरायल अरब युद्धपछि सनफ्रान्सिस्कोबाट आएका यहुदी आप्रवासीका सन्तानको रुपमा सन् १९७२ मार्च २५ मा बेनेटको जन्म इजरायलको हाइफामा भएको थियो । उनी पढ्नका लागि अमेरिका पुगेका थिए ।

    उनले गठबन्धन सम्झौताअनुसार दुई बर्षपछि यस अटिड पार्टीका नेता तथा पूर्व टेलिभिजन पत्रकार यैर लेपिडलाई पद हस्तान्तरण गर्नुपर्नेछ । यद्यपि, कसैले पार्टी छाडेर नेतान्याहुलाई साथ दिएमा वा गठबन्धनको कुनै दल बाहिरिएमा भने अहिलेको राजनीतिक नक्सा परिर्वतन हुनेछ ।