Category: विश्व प्रेस

  • पाकिस्तानमा मन्दिरमाथि आक्रमण र तोडफोड, भारतीय विदेश मन्त्रालयद्वारा निन्दा

    पाकिस्तानमा मन्दिरमाथि आक्रमण र तोडफोड, भारतीय विदेश मन्त्रालयद्वारा निन्दा

    काठमाडौं । पाकिस्तानमा कट्टरपन्थीले पंजाबको भोग सहरस्थित हिन्दू मन्दिरमाथि आक्रमण गरेका छन् । दिनदहाडै गणेश मन्दिरमा आक्रमण भएको सामाजिक संजालमा सार्वजनिक भएका भिडियोहरुमा देख्न सकिन्छ ।

    मन्दिर तोडफोडमा उत्रिएपछि स्थितीलाई नियन्त्रण गर्नको लागि प्रहरी तैनाथ गरिएको छ । बीबीसी हिन्दीका अनुसार सो इलाकामा बसोबास गर्ने हिन्दू परिवारहरु विस्थापित हुन थालेका छन् ।

    बिहीबार राती धार्मिक नेताहरुसँगको पत्रकार सम्मेलनमा पाकिस्तान प्रहरीले केही मानिसहरुले शान्तिलाई भंग गर्ने प्रयास गरेको आरोप लगाएको जनाएको छ ।

    प्रहरीले मन्दिर तोडफोडमा संलग्न हुने र उनीहरुलाई उक्साउने सबैलाई कार्वाही गर्ने जनाएको छ । प्रहरीले आफूकहाँ तीनवटा उजुरी आएको र छानविन भैरहेको जनाएको छ ।

    सांसद तथा मानवअधिकार संसदीय सचिव लाल मलहीले ट्वीटरमार्फत घटना भएको भोग सहरका हिन्दू परिवारहरु विस्थापित भएको र सुरक्षित ठाउँमा बसाइ सरेको उल्लेख गरेका छन् । उनले हिन्दूहरुको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् ।

    बीबीसी हिन्दीसँग कुरा गर्दै केही हिन्दू परिवारले मन्दिरमा तोडफोडको घटना भैरहँदा आफूहरु डरले घरमै बसेको बताएका छन् । भिडिओहरुमा मन्दिरमा लाठी, ढुंगा र इटाले तोडफोड भएको देख्न सकिन्छ ।

    यस घटनामाथि शुक्रबार पाकिस्तानको अदालतमा सुनुवाई हुँदैछ । घटनाको तरंग भारतसम्म फैलिएको छ । भारतीय विदेश मन्त्रालयले पाकिस्तानमा रहेका हिन्दू अल्पसंख्यकको सुरक्षाको सुनिश्चतता गर्न माग गरेको छ । मन्त्रालयले पाकिस्तानी उच्चायोगका अधिकारीलाई बोलाएर घटनाबारे चिन्ता व्यक्त गरेको छ ।

    लगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि प्रतिक्रिया दिएका छन् । घटनाको निन्दा गर्दै पाकिस्तानी प्रधानमन्त्रीले तोडफोड भएको मन्दिरलाई सरकारको मर्मत गर्ने बताएका छन् ।

     

     

  • रेष्टुरेन्टमा काम गर्छिन् अमेरिकी राष्ट्रपति ओबामाकी कान्छी छोरी

    रेष्टुरेन्टमा काम गर्छिन् अमेरिकी राष्ट्रपति ओबामाकी कान्छी छोरी

    न्यूयोर्क । तपाईंलाई लाग्ला, राष्ट्रको उच्च ओहोदामा रहेकाको परिवारको जीवन सुखी र भव्य हुन्छ । तर, त्यस्तो होइन । केही यस्ता अपवाद हुन्छन् जसले राजनीति व्यापार होइन, सेवा हो भन्ने सन्देश दिन्छ । जस्तै हेरौं न : अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी सासालाई ।

    अमेरिकी राजनीतिको एक शक्तिशाली जोडी ओबामा दम्पत्ति उत्तिकै केयरिङ अभिभावक पनि हुन् । यसकारण मिसेल र बाराकले आफ्ना छोरीहरुलाई गर्ने व्यवहारलाई पनि निकै चासोका साथ हेर्ने गरिन्छ ।

     

    बाराककी कान्छी छोरी १५ वर्षिया सासा ओबामा अहिले एक अमेरिकी रेष्टुरेन्टमा काम गर्छिन् । स्कुलबाट समर बिदा भएपछि उनी खर्च जुटाउन काममा लागेकी हुन् । उनी अहिले म्यासाचुसेट्स राज्यको एक रेष्टुरेन्टमा क्यासिअरको काम गर्दैछिन् ।

    स्थानीय मार्था भिनेयार्ड रेष्टुरेन्टमा सासा ग्राहकको अर्डर लिन्छिन्, क्यासलाई रजिस्टर गर्छिन् र लन्चका लागि अन्य स्टाफलाई सघाउँछिन् । रेष्टुरेन्टमा उनले काम गर्दै गरेका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् ।

    त्यहाँको एक चर्चित अखबार बोस्टन हेराल्डका अनुसार अमेरिकी खुफिया एजेन्सीका ६ जना सुरक्षाकर्मीहरु सासाले काम गर्ने रेष्टुरेन्टबाहिर उनको काम समाप्तीको पर्खाइमा हुन्छन् । सासाले अहिले चारघण्टा काम गर्ने गरेकी छिन् ।

     

  • बिहे भोजमा चट्याङ पर्दा बंगलादेशमा १६ जनाको मृत्यु

    बिहे भोजमा चट्याङ पर्दा बंगलादेशमा १६ जनाको मृत्यु

    ढाका । बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ ।

    उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीवेहरीसहितको वर्षा भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

    एक स्थानीय अधिकारीले बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा भएको जानकारी दिएका छन् । दुलही विवाह समारोहमा उपस्थिति भइनसकेकीले कुनै असर नपरेको स्थानीय अधिकारी शकिब–अल–राबीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

    हाल केही दिनयता भीषण मनसूनी आँधीवेहरीसहितको वर्षाले बंगलादेशलाई प्रभावित पारेको छ । कोक्सबजारको दक्षिणपूर्वी जिल्लामा एक हप्तादेखि परेको अविरल वर्षाका कारण रोहिङ्ग्या शरणार्थीसहित २० जनाको मृत्यु भएको छ । दक्षिण एशियामा प्रत्येक वर्ष चट्याङका कारण सयौँ मानिसको मृत्यु हुने गरेको छ । बङ्गलादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो ।

    सो वर्ष मे महिनामा चट्याङका कारण २०० जनाको मृत्यु भएको थियो । त्यतिबेला एकैदिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो । मौसमविद्का अनुसार उत्तर तथा पश्चिम बङ्गलादेशमा बढी चट्याङ पर्ने सम्भावना भएका क्षेत्र हुन् । गर्मीयाममा तापक्रम बढ्दा त्यहाँ चट्याङ पर्ने सम्भावना अझ बढ्ने गरेको पाइन्छ ।

    सरकारले चट्याङसम्बन्धी पूर्वचेतावनी दिन तथा क्षतिबाट जोगाउन सकिन्छ कि भनेर परीक्षणका रूपमा चट्याङ पत्ता लगाउन सक्ने क्षमता भएका सेन्सर देशका छवटा स्थानमा जडान गरेको छ ।

  • चीनले थप ११ करोड डोज खोप विदेश आपूर्ति गर्ने

    चीनले थप ११ करोड डोज खोप विदेश आपूर्ति गर्ने

    बेइजिङ । चीनले आगामी चार महीनाभित्र ११ करोड डोज कोभिडविरुद्धको खोप कोभ्याक्स संयन्त्रमार्फत अन्य मुलुकलाई वितरण गर्ने भएको छ । आसियान मुलुकहरुको भर्चुअल सम्मेलनपछि चिनियाँ विदेश मन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

    आगामी तीन वर्षमा ३ बिलियन डलर अन्तर्राष्ट्रिय सहायताको प्रतिबद्धता पनि चीनले गरेको विदेशमन्त्री वाङ यीले गरे । चीनले अहिलेसम्म ७५० मिलियन डोज खोप वितरण गरिसकेको छ ।

    साथै, चीनले क्यूवाविरुद्ध अमेरिकाले लगाएको नाकाबन्दीलाई तत्काल हटाउन समेत आग्रह गरेको छ । नाकाबन्दी लगाएर अमेरिकाले दोहोरो चरित्र अपनाएको आरोप समेत चीनले लगाएको छ ।

  • मोदीले राष्ट्रसंघीय सुरक्षा समिति बैठकको अध्यक्षता गर्ने, साउन २५ गते हुँदैछ बैठक

    मोदीले राष्ट्रसंघीय सुरक्षा समिति बैठकको अध्यक्षता गर्ने, साउन २५ गते हुँदैछ बैठक

    दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघीय सुरक्षा समितिको अध्यक्षता गर्ने भएका छन् । कुनै भारतीय प्रधानमन्त्रीले पहिलोपटक सुरक्षा समितिको अध्यक्षता गर्ने अवसर पाउन लागेका हुन् ।

    भारतीय विदेश मन्त्रालयका अनुसार अगस्ट ९ मा मोदीले भर्चुअल माध्यममार्फत समितिको बैठकको अध्यक्षता गर्नेछन् । सामुन्द्रिक सुरक्षा कायम गर्न शान्ति र स्थिरता कायम गर्नुपर्ने बारेको सत्रको अध्यक्षता मोदीले गर्ने प्रवक्ता अरिन्दम बागचीले जनाएका छन् ।

    अगस्ट महीनाका लागि भारतले सुरक्षा समितिको अध्यक्षताको अवसर पाएको छ । अस्थायी सदस्यको रुपमा भारतले सातौंपटक अध्यक्षताको अवसर पाएको हो ।

  • ११ जना महिलाले यौन दुर्ब्यबहारको आरोप लगाएपछि न्यूयोर्क गभर्नरलाई राजीनामा दिन राष्ट्रपति बाइडनको आग्रह

    ११ जना महिलाले यौन दुर्ब्यबहारको आरोप लगाएपछि न्यूयोर्क गभर्नरलाई राजीनामा दिन राष्ट्रपति बाइडनको आग्रह

    न्यूयोर्क । ११ जना महिलाले यौन दुर्ब्यबहारको आरोप लगाएपछि न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोमाथि राजीनामा दिन चौतर्फी दबाब परिरहेको छ । राष्ट्रपति जो बाइडनले समेत राजीनामा दिन कुमोलाई आग्रह गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै कुमोले राजिनामा दिनुपर्ने बाइडेनले बताएका हुन् ।

    यदि कुमोले राजीनामा नदिएको परिस्थितीमा कसरी हटाउन सकिन्छ भन्नेबारे राष्ट्रपति बाइडनले राज्य संसदले महाभियोगबारे निर्णय गर्नसक्ने आफ्नो बुझाई रहेको बताए । न्युयोर्क राज्यको प्रतिनिधिसभा स्पीकर कार्ल हेइस्टीले गर्भनरमाथिको महाभियोग सोधपुछ छिट्टै टुंगो लगाउने जनाएका छन् ।

    कुमोमाथि ११ जना महिलाहरुले विभिन्न समयमा आफूहरुमाथि यौन दुर्ब्यबहार गरेको आरोप लगाएका छन् । राज्यको एटोर्नी जनरल लेटिसिया जेम्सको अफिसबाट सार्वजनिक रिपोर्टमा कुमोले धेरै महिलामाथि यौन दुब्र्यबहार गरेको साथै राज्य र संघीय कानूनको उल्लंघन गरेको उल्लेख गरिएको छ । कुमोले आफूबिरुद्धका कैयन अभियोगहरुको सशक्त प्रतिवाद गरेका छन् । उनले आफ्नो व्यहारको गलत व्याख्या गरिएको बताएका छन् ।

    कुमोविरुद्ध प्रस्तुत १६५ पृष्ठ लामो प्रतिवेदनमा १७९ जना प्रत्यक्षदर्शीको बयान समेटिएको छ । दशौं हजार कागजातहरु पनि समेटिएको छ । कुमोले दुव्र्यहार गरेको भनिएकामा आफ्नै कार्यालयका कर्मचारीहरु, सर्वसाधारणहरु, राज्यका अन्य कर्मचारी छन् ।

  • चीन र आसियान मुलुकबीच साउथ चाइना सीबारे छलफल : अमेरिकी हस्तक्षेप रोक्न एकजुट हुने

    चीन र आसियान मुलुकबीच साउथ चाइना सीबारे छलफल : अमेरिकी हस्तक्षेप रोक्न एकजुट हुने

    बेइजिङ । विवादित जलक्षेत्र साउथ चाइना सीबारे चीन र आसियान मुलुकहरुबीच मिलेर अघि बढ्ने सहमति भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेको भर्चुअल सम्मेलनमा विवादित जलक्षेत्रमा अमेरिकालाई रोक्नेबारे छलफल भएको जनाइएको छ ।

    चिनियाँ विदेशमन्त्रीले आसियान मुलुकका आफ्ना समकक्षीसँग साउथ चाइना सीबारे मंगलबार बेलुका छलफल गरेका थिए । छलफलमा यीले अमेरिकालाई समस्या सिर्जना गर्ने मुलुकको रुपमा उल्लेख गरेका थिए ।

    छलफलमा यीले अमेरिकातर्फ लक्षित गर्दै बाह्य हस्तक्षेप भए चीन चुप लागेर नबस्ने बताएका थिए । पछिल्लो समय चीन र अमेरिकाले साउथ चाइना सीलाई आफ्नो प्रभाव क्षेत्रको रुपमा दाबी गरिरहेका छन् । जसले गर्दा दुई ठूला शक्तिराष्ट्रबीच तनावको स्थिती सिर्जना भएको छ ।

    चीनले पूर्वी एसियाली मुलुकको संगठन आसियनका सदस्य राष्ट्रसँग छलफल गर्नुको उद्देश्य साउथ चाइन सीबारे आचारसंहिता बनाउनु हो । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा वाङ यीले राजनीतिक सहमति जुट्ने वित्तिकै कुनै महामारी वा बाह्य हस्तक्षेप अवरोधको रुपमा नरहने बताएको उल्लेख छ ।

    साथै, विदेशमन्त्री यीले साउथ चाइना सीमा चीनले दावी नगर्ने र जल क्षेत्रमा अवरोध गर्ने काम नगर्ने बताएका थिए । ‘साउथ चाइना सी शक्तिराष्ट्रहरुको लड्न थलो बन्नु हुन्न । हामी सिंगो क्षेत्रमै अस्थिरता ल्याउने कार्य गर्न अनुमति दिँदैनौं’ उनले भने ।

    गतसाता अमेरिकी रक्षामन्त्री लियोड अस्टिनले उक्त क्षेत्रको भ्रमण गरेका थिए भने, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी महीना साउथ चाइन सी क्षेत्रको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

  • क्वाड मुलुकले प्रशान्त महासागरमा युद्ध अभ्यास गर्ने, चीनलाई काउन्टर दिने तयारी

    क्वाड मुलुकले प्रशान्त महासागरमा युद्ध अभ्यास गर्ने, चीनलाई काउन्टर दिने तयारी

    दिल्ली । क्वाड मुलुकहरु अमेरिका, भारत, जापान, अष्ट्रेलियाले प्रशान्त महासागरमा संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । यी चार मुलुकका नौसेनाले मालावार टापुमा सैनिक अभ्यास गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    अभ्यासको तयारी पुरा भएको जनाइएको छ । चीनको प्रभावलाई चुनौति दिन गठन भएको क्वाडले सैन्य अभ्यास गर्न लागेको हो । यसपटक यो अभ्यास पश्चिमी प्रशान्त महासागरमा हुँदैछ ।

    सन् २०२० मा बंगालको खाडी र अरब सागरमा अभ्यास गरिएको थियो । यो अभ्यासलाई चीनविरोधी तयारीको रुपमा हेरिएको छ । पछिल्लो समय क्वाड मुलुकसँग चीनको सम्बन्ध तनावपूर्ण छ ।

    १३ वर्षपछि अष्ट्रेलिया सन् २०२० को युद्ध अभ्यासमा सहभागि भएको हो । चीनलाई काउन्टर दिन क्वाड मुलुकले सैन्य गतिविधि बढाएका छन् । क्वाड मुलुकले हिन्द–प्रशान्त महासागरमा फ्री मुभमेन्टलाई समर्थन गर्दै अएका छन् ।

  • सुरक्षा परिषदमा भारतले भन्यो : अफगानिस्तानमा तत्काल शान्ति सेना पठाउनेबारे सोचेका छैनौं

    सुरक्षा परिषदमा भारतले भन्यो : अफगानिस्तानमा तत्काल शान्ति सेना पठाउनेबारे सोचेका छैनौं

    दिल्ली । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूतले बताएका छन् । संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले सो कुरा बताएका हुन् ।

    उनले भनेका छन्, ‘हामीले अहिले नै अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने बारेमा केही सोचेका छैनौँ, मलाइ लाग्छ यो अहिलेको अवस्थाको समाधानका लागि शान्ति वार्ता नै विकल्प हुनसक्छ ।’

    हाल भारत संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्ष रहेको छ । अध्यक्षको हैसियतमा तिरुमूर्तिले सो कुरा बताएका हुन् । हाल अफगानिस्तानको अवस्था निकै नै कमजोर रहेको, त्यहाँका तालिबानीले हिंसालाई बढावा दिएको र विभिन्न शहरमा उनीहरुले आक्रमण गरेको समाचार आइरहेको उनले जनाएका छन् ।

    राजदूत तिरुमूर्तिले सुरक्षा परिषद्को बैठकमा बोल्दै संयुक्त राष्ट्रसङ्घले अझै पनि अफगानिस्तानको समस्याको समाधान वार्ताबाटै गर्नुपर्छ भन्ने ठानेको उनले बताए ।

    हेल्माण्डमा सेना र तालिबानीबीच भीषण भीडन्त

    उता अफगानिस्तानको दक्षिणी हेल्माण्ड प्रान्तमा तालिबानीसँग भीषण भीडन्त जारी नै रहेको समाचारमा आएको छ । अफगानिस्तानको सेना र अमेरिकी सेनाले सो क्षेत्रमा हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मान्ड प्रान्तको एक शहर लस्कर गाहमा तालिबानीले कडारुपमा प्रतिवाद गरिरहेको बताइएको छ ।

    सोमबार प्राप्त भएको समाचारमा उक्त सहरमा तालिबानले एउटा टेलिभिजन स्टेशन नै कब्जामा लिएका बताइएको छ । त्यहाँका प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार यहाँका ग्रमीण क्षेत्रका कैयौँ मानिसले कतिपय गाउँका खाली भवन तथा कार्यालयमा शरण लिएर बसेका छन् ।

    केही दिनयता अफगान तालिबानीले आक्रमणलाई तीव्र बनाएपछि विद्रोहीसँग लड्न ठूलो संख्यामा थप अफगान सैनिक परिचालन गरिएको छ । यसअघि सो क्षेत्रमा अमेरिकी सेना करिब बीस वर्षसम्म रहेका अमेरिकी सेना हालैमात्र त्यहाँबाट हटेपछि अहिले अफगानिस्तानको सेनाले सुरक्षा दिँदै आएको थियो । केही दिनयता सो क्षेत्रमा तालिबानीले तीव्ररूपमा आक्रमण गरेर कैयौँ भू-भाग कब्जा गर्ने प्रयास गरिरहेका छन् । उनीहरुले केही स्थान त कब्जामा लिइसकेको पनि बताइएको छ ।

  • २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

    २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

    वासिङ्टन । अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो ।

    अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, ‘हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ ।

    ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन् । उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि दिए । रासस

  • ‘अंगरक्षक आउने आशामा उहाँ मारिनुभयो’

    ‘अंगरक्षक आउने आशामा उहाँ मारिनुभयो’

    सीएनएन । गतमहीना आफ्नै शयनकक्षमा जब हाइटीका राष्ट्रपति निर्ममतापूर्वक मारिँद थिए, एक मात्र प्रत्यक्षदर्शी त्यहाँ थिइन् । घटनाबारे उनलाई जति राम्रोसँग थाहा छ, अरुलाई छैन ।

    जुलाई ७ मा मार्टिन मोइज आफ्ना पति जोभेनेल मोइजको शवसँगै रगत बगिरहेको बेला त्यही शयनकक्षमा अर्को बिहान भेटिएकी थिइन् । रहस्यमयी हत्याबाट उनी बाँचिन् तर, हत्यारालाई न्यायको कठ्घरामा ल्याउनुपर्ने भन्दै सुरु भएको खोजीमा उनले आवाज उठाएकी छिन् ।

    आइतबार दक्षिणी अमेरिकी राज्य फ्लोरिडामा सीएनएसँग अन्तर्वार्ता दिँदै गर्दा मोइजले पाखुरामा कालो पट्टी बाँधेकी थिइन् । उनको माग थियो –हत्यारालाई पत्ता लगाएर घटनाबारे छानविन गर्नुपर्छ भन्ने हो ।

    ‘कसैले आदेश दियो र कसैले पैसा । हामीले तिनै मान्छेको खोजी सुरु गरेका छौं । ती मान्छेलाई पत्ता लगाउन मलाई राष्ट्रसंघीय सुरक्षा परिषद्को सहयोग चाहिएको छ’ मोइजले भनिन् ।

    मोइज आफ्ना पति हत्याकी एकमात्र प्रत्यक्षदर्शी हुन् । राष्ट्रपतिय कक्षभित्र प्रवेश गरेर गोली प्रहारको घटना मच्चाउने क्षणकी एक पीडित पनि हुन् । राती १ बजे आफ्नो घरमा स्वचालित राइफल पड्किएको आवाज सुनेपछि मोइज दम्पत्तिलाई लागेको थियो– चीज ठीक भैरहेको छैन ।

    जब उनीहरुलाई थाहा लाग्यो बन्दुकधारी घरभित्रै पस्दैछन्, तब उनीहरु खाटमुनि पसेर लुक्ने प्रयास गरे ।

    हाइटीको राष्ट्रपति कार्यालयका नेपाली अधिकारी भन्छन् : यहाँ अहिले सरकार, सेना, संसद केही छैन

    ‘त्यतिबेला मलाई लागेको थियो, उनीहरु हाम्रो शयनकक्षमै पसेर आक्रमण गर्न सक्दैनन् भन्ने किनभने हामीसँग ३० देखि ५० जना अंगरक्षक थिए घरमा’ उनले स्मरण गरिन् ।

    हाइटीका अधिकारीहरुले जवाफै दिन नसक्ने गरी एउटा ठूलो सुरक्षा असफलता थियो । दुईजना उच्च सुरक्षा अधिकारीहरु अहिले पनि जेलमा छन् । जब उनी गोली लागेर भुइँमा ढलेकी थिइन्, उनको काँध भाँचिएको थियो र रगत बगिरहेको थियो, उनी आक्रमणकारीलाई उसको जुत्ताबाट मात्र चिन्न सक्छिन् । उनलाई लाग्छ, केही खास कुरा खोज्दै स्पेनी भाषा बोल्ने दर्जन आक्रमणकारी कोठाभित्रै छिरेका थिए ।

    ‘उनीहरु कोठाभित्रै स्पेनी भाषामा त्यो होइन, त्यो होइन भन्दै छिरिरहेको सुनेँ । यसको अर्थ, उनीहरु आफूले खोजेको कुरा पाएका छन् ।’

    त्यसपछि उनीहरु राष्ट्रपतिको ठाउँमा आए र कतै फोन गरे, उनले त्यो दुःखदायी क्षण सम्झिइन् ।

    ‘त्यो समय उहाँ जीवितै हुनुहुन्थ्यो । उनीहरुले उहाँ अग्लो, पातलो र कालो वर्णको भएको सुनाए । हुनसक्छ, फोन गरिरहेको मान्छेले हुलिया निश्चित भएपछि गोली हान्न आदेश दियो । त्यसपछि उनीहरुले गोली हाने’ उनले घटनाको वर्णन गरिन् ।

    प्रारम्भिक अध्ययन अनुसार राष्ट्रपतिको अनुहारमा १२ राउन्ड गोली हानिएको थियो । अनुहार, खुट्टा र पाखुरामा गोलीका प्वालहरु थिए ।

    ‘जब उनीहरुले राष्ट्रपतिलाई गोली होन, मैले सोचेँ, अब हामी दुबैजना मारिने भयौं’ उनले भनिन्, ‘अनि मैले आँखाहरु बन्द गरेँ, मैले अरु केही पनि सोचिँन । मैले सोचँे, हाम्रो लागि अन्तिम दिन आज हो’ उनले स्मरण गरिन् ।

    ‘हाइटीमा केही मान्छेहरु छन् जो निकै शक्तिशाली छन् । अहिलेको छानविनले घटनाबारे सत्यतथ्य छानविन गर्छ भनेर म विश्वस्त छैन’ मोइजे भन्छिन् ।

    तत्कालका लागि हाइटीकी फस्ट लेडीको प्राथमिकतामा आफ्ना सन्तानको स्याहार गर्नु र आफ्नो स्वास्थ्यमा ख्याल गर्नु हो । साथै, हाइटीको घटनाबारे छानविन गर्न अन्तर्राष्ट्रिय सहायता जुटाउनु हो ।

  • कोरोना संक्रमण बढेपछि जापानका अन्य चार क्षेत्रमा सङ्कटकाल लागू

    कोरोना संक्रमण बढेपछि जापानका अन्य चार क्षेत्रमा सङ्कटकाल लागू

    टोकियो । ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ ।

    यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा पनि सङ्कटकाल लगाइएको हो । कोरोनाभाइरसको महामारी फैलिँदै गएकाले महामारी न्यूनीकरणका लागि सङ्कटकाल लगाउनुपरेको अधिकारीहरुले जनाएका छन् ।

    टोकियोबाट नजिकै रहेको क्षेत्रमा सङ्कटकाल लगाइएको हो । सङ्कटकाल यही अगस्ट ३१ सम्म लागू हुने जनाइएको छ । टोकियो र ओकिनावामा लगाइएको सङ्कटकाल पनि अगस्ट ३१ सम्मका लागि तय गरिएको छ ।

    जापान सरकारले सङ्कटकालसँगै महामारी नियन्त्रणका लागि अन्य व्यवस्थामा पनि कडाइ गरेको छ । त्यसैगरी खोप अभियानलाई पनि तीव्रताका साथ अगाडि बढाइरहेको छ । सङ्कटकालका बेला मादकपदार्थ बिक्री वितरणमा पनि कडाइ गरिएको छ । अन्य व्यापार व्यवसायलाई पनि नियन्त्रण गरिएको छ । उनीहरुलाई बेलुका ८ बजे बन्द गरिसक्न निर्देशन दिइएको छ ।

    सङ्कटकालको निर्देशन पर्याप्तरुपमा कार्यान्वन भएको वा नभएका बारेमा अनुगमन गर्न सरकारी अधिकारीहरु पनि धेरै खटाइएको छ । सरकारले अन्य छ क्षेत्रमा पनि खुकुलो सङ्कटकाल लगाएको छ । ती क्षेत्रहरुमा महामारी पनि कम रहेको र प्रतिबन्धात्मक व्यवस्थाहरु पनि खुकुलो बनाइएको अधिकारीहरुले जनाएका छन् ।

  • आजदेखि भारत राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षता सम्हाल्दै

    आजदेखि भारत राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षता सम्हाल्दै

    न्यूयोर्क । राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षको कार्यभार भारतले सम्हालेको छ । आलोपालो प्रणालीअनुसार भारतले अगस्ट महीनाका लागि अध्यक्षता प्राप्त गरेको हो ।

    फ्रान्सको समर्थनपछि भारतले समितिको अध्यक्षताको मौका पाएको हो । भारतले अध्यक्षताको दौरान तीन उच्चस्तरीय बैठक गर्ने तयारी गरेको छ जसमा सामुन्द्रीक सुरक्षा, शान्ति स्थापना र आतंकवादजस्ता मूलभूत मुद्दामाथि छलफल हुने जनाइएको छ ।

    साथै, भारतले शान्ति सैनिकको क्षेत्रमा पनि कार्य गर्ने जनाइएको छ । ९ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समितिको बैठक भर्चुअलरुपमा गर्न सक्ने सम्भावना रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    आज सोमबारदेखि भारतले परिषद् अध्यक्षको रुपमा कामकाज सुरु गर्दैछ । यस अवधिभर राष्ट्रसंघका लागि भारतीय राजदूत टीएस तिरिमूर्तिले मिडियालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    सुुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको दुईवर्षे कार्यकाल जनवरी १, २०२१ मा सुरु भएको थियो ।

  • म्यानमार सेनाद्वारा संकटकाल थप दुई वर्ष विस्तार, २०२३ अगस्टसम्म संसदीय निर्वाचनको घोषणा

    म्यानमार सेनाद्वारा संकटकाल थप दुई वर्ष विस्तार, २०२३ अगस्टसम्म संसदीय निर्वाचनको घोषणा

    यांगुन । म्यानमार सेनाले आगामी दुईवर्षसम्म संकटकाल विस्तार गर्ने घोषणा गरेको छ । सेनाका प्रमुख नेता सन् २०२३ को अगस्टसम्ममा आपतकालीन अवस्था हटाई संसदीय निर्बाचन गर्ने घोषणा आइतबार गरेका छन् । यो घाषणासँगै सैनिक नेतृत्वले छ महिनाअघि आङ सान सुकीलाई पदबाट हटाउँदा सार्बजनिक गरेको निर्बाचनको प्रारम्भिक समयसीमा विस्तार गरेको हो । उक्त समय सेनाले छ महिनाभित्र निर्वाचन गर्ने बताएको थियो ।

    एक टेलिभिजन च्यानलमार्फत् जुन्ता नेता मिन आङ हलिङले भने, ‘हामीले अगस्त २०२३ सम्ममा आकस्मिक अवस्थाका प्रावधानहरू पूरा गर्नेछौं । उक्त समयसम्म निष्पक्ष निर्वाचन गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछौँ ।” सैनिक नेतृत्वको प्रशासनले सार्बजनिक गरेको यो निर्बाचनको घोषणा उसैले सत्ता कब्जा गरेपछि दिएको समयसीमा भन्दा साढे दुई बर्ष ढिलो पुगेको छ । यद्यपि यो कुरामा पनि त्यहाँ आन्दोलनरत दलहरू आश्वस्त देखिँदैनन् ।

    “मैले कुनै पनि हालतमा तोकिएको समयमा बहुदलीय निर्वाचन गर्ने प्रतिवद्धता व्यक्त गर्छु,” उहाँले निर्वाचन घोषणा गर्दै टेलिभिजनमार्फत् गरेको सम्बोधनमा भने ।

    सेनाले गत फागुनमा नागरिक आन्दोलनका अगुवालाई देश निकाला गरेपछि म्यानमारमा सैनिक शासन लागु गरिएको छ भने विपक्षी दलहरूको आन्दोलन र सैनिक प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिन भन्दै चलाएका सुरक्षा कारबाहीका कारणम्यानमारको दैनिकी अस्तव्यस्त भएको छ । स्थानीय अनुगमन समूहका अनुसार सेनाले निर्बाचित सरकारलाई हटाउँदा भएका झडपहरूमा अहिलेसम्म ९०० भन्दा बढी को मृत्यु भएको छ ।

    एसियाली यस मुलुकमा विश्वव्यापी महामरीका रूपमा फैलिएको कोरोनाभाइरसको लहरले पनि ठूलो क्षति पुर्‍याएको छ । प्रजातन्त्रको पक्षधर चिकित्सक तथा कर्मचारीहरूले निर्वाचित सरकारलाई काम गर्न दिन आग्रह गर्दै पूर्व सत्ताधारी दल एनएलडी र सैनिक सरकार विरोधी आन्दोलनमा सरिक हुँदा धेरै अस्पताल र सरकारी कार्यालयहरूसमेतमा नियमित सेवाहरू चल्न सकेका छैनन् । विश्व बैंकले म्यानमारमा अहिलेको अवस्था कायमै रहेमा यहाँको अर्थव्यवस्था १८ प्रतिशतसम्म संकुचन हुने पूर्वानुमान गरेको छ ।

    सेनाले सुकीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले जितेको सन् २०२० को नोभेम्बरमा सम्पन्न निर्वाचनमा व्यापक अनियमितता भएको दावी गर्दै सत्ताको नेतृत्व लिएको हो । सैनिक प्रशासनले नै नियुक्त गरेको निर्वाचन आयोगलेले गत हप्ता एक करोड १० लाख भन्दा बढी अनियमितताका उदाहरणहरू भेटिएको दावी गरेको छ ।

    कोरोनाभाइरस प्रतिबन्धलाई बेवास्ता गर्नेदेखि लिएर अवैध रूपमा वाकी टकीहरू आयात गर्नेसम्मका थुप्रै आरोपहरूसहित नेतृ सुकीलाई फेब्रअरी १ देखि हिरासतमा राखिएको छ । यदि आरोपहरूलाई अदालतले पुष्टि गरेमा उहाँलाई एक दशकभन्दा बढी जेल सजाय हुनसक्छ ।

    सरकारको प्रतिवद्धता भ्रम सिर्जना गर्नका लागि आएको भन्दै प्रदर्शनकारीहरूका साना तथा ठूला समूहहरूले आइतबार देशैभर प्रदर्शन गरेका छन् । सेनालेले प्रजातन्त्र पुनःस्थापनाको एक दशक लामो प्रयोगको अन्त्य गर्दै ‘कू’ गरेको करिब ६ महिनापछि आन्दोलनलाई मत्थर पार्न नयाँ घोषणा गरेको उनीहरूको दावी छ ।

    एनएलडीले सन् २०१५ मा भएको अघिल्लो चुनावको तुलनामा सन् २०२० को मतदानमा आफूलाई समर्थन बढेको र निर्वाचनमा दुई तिहाई सीट जित्न सफल भएको दावी गर्दै आएको छ । सन् २०२० को सर्वेक्षणको प्रतिवेदनमा स्वतन्त्र निर्वाचन अनुगमन समूहका लागि एसियाली सञ्जालले निर्वाचनमा ‘जनताको इच्छाअनुसार एनएलडीलाई भारी समर्थन मिलेको’ जनाएको थियो ।

  • अफगानिस्तानमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

    अफगानिस्तानमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

    काबुल । अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ ।

    ‘नुरिस्तान प्रान्तको कमदिश जिल्लामा भारी वर्षाका कारण बुधबार बाढीमा परी वेपत्ता व्यक्तिमध्ये केही अझै हराइरहेका छन् । बाढीका कारण जिल्लाको करिब १२ किलोमिटर सडक भत्केकोे छ, १७३ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्,’ प्राकृतिक प्रकोप व्यवस्थापन राज्यमन्त्री गुलाम बहाउददिन जेलानीले भने ।

    यस प्रान्तका विधायकहरूले बाढी प्रभावित बासिन्दाहरूलाई तत्काल सहयोगको आवश्यकता भएको बताएका छन् । तालिबानले पीडितहरूको उद्धार कार्यमा अवरोध खडा गरिरहेको विधायकहरूले दाबी गरेका छन् । अर्कोतर्फ तालिवान समूहले बाढी प्रभावित क्षेत्रहरुमा सरकारी सेनाहरुको घुसपैठ हुन नदिन भनेको छ ।

    ‘जनताको अवस्था दयनीय छ । उनीहरूलाई तुरुन्तै मद्दत चाहिन्छ । उनीहरूले सबै कुरा गुमाएका छन्,’ नुरिस्तानका सांसद इस्माइल आटिकानले भन्नुभयो । नुरिस्तानका गभर्नर हाफिज अब्दुल कायुमले केही प्रभावित परिवारलाई सरकारले सहयोग प्रदान गरेको बताए ।

    गत महिना अफगानिस्तानको पश्चिमी प्रान्त हेरातका केही भागहरूमा भारी वर्षा र बाढीले गर्दा कम्तीमा पनि १२ जनाको मृत्यु भएको थियो । बाढीले जिल्लाका दशौँ आवासीय घर तथा सडक बगाएको छ । सडक बिग्रेपछि विभिन्न जिल्लामा सडक यातायातका बन्द भएको छ

  • कोभिड-१९ नियन्त्रणका लागि जापानमा स्वास्थ्य सङ्कटकाललाई निरन्तरता

    कोभिड-१९ नियन्त्रणका लागि जापानमा स्वास्थ्य सङ्कटकाललाई निरन्तरता

    टोकियो । जापानले टोकियो, साइतामा, चिबा, कानागावा, ओसाका र ओकिनावा प्रिफेक्चरहरूमा कोरोनाभाइरस संक्रमण दर बढेको भन्दै शनिबार सरकारले स्वास्थ्य सङ्कटकालको अवस्था जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।

    त्यस्तै सरकारले होक्काइदो, इशिकावा, क्योटो, ह्योगो र फुकुओका प्रिफेक्चरमा अगस्ट ३१ सम्मका लागि संक्रमण नियन्त्रणका उपायस्वरूप विभिन्न प्रतिबन्धहरूको घोषणा गएिको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी गराइएको छ ।

    टोकियो महानगरीय सरकारले जुलाई २९ मा सार्वजनिक पछिल्लो २४ घण्टाको तथ्याङ्कमा राजधानी टोकियोमा मात्रै तीन हजार ८६५व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि गरेको छ । त्यसैगरी जापानभर विगत २४ घण्टामा संक्रमण पुष्टि भएका बिरामीको संख्या १० हजार ६९९ पुगेको छ ।

    टोकियो र देशभरका यी दुवै संक्रमित संख्याहरू महामारी सुरु भएदेखिकै सबैभन्दा बढी हो । कतिपय स्थानमा स्वास्थ्य सङ्कटकाल विगत तीन हप्तादेखि जारी रहेपनि संक्रमणको लहर ढिलो हुँदैछ भन्ने कुनै सङ्केत नपाइएको जापानी टेलीभिजन एन एच के वल्र्डले जनाएको छ ।

    स्वास्थ्य सङ्कटकालीन अवस्था लागु भएको प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो छुट्टै सूचनामार्फत् पनि पुष्टि गरेका छन् ।

    टोकियो र ओकिनावाका आकस्मिक अवस्थाहरू सुरुमा अगस्ट २२ मा समाप्त हुने तय गरिएको थियो । ओलम्पिक र अगस्टको मध्य ओबोन बिदालाई समेट्ने गरी पछिल्ला यी उपायहरू अबलम्बन गरिएको सरकारले बताएको छ ।

  • अमेरिकासहित रुस, चीन र पाकिस्तानले अफगान सङ्कटबारे छलफल गर्ने

    अमेरिकासहित रुस, चीन र पाकिस्तानले अफगान सङ्कटबारे छलफल गर्ने

    अमेरिका, रुस, चीन र पाकिस्तान सम्मिलित ’ट्रोइका प्लस’का प्रतिनिधिहरू आगामी महिना युद्धग्रस्त अफगानिस्तानको अवस्थाबारे छलफल गर्ने योजनासहित दोहामा बैठक गर्ने भएका छन् ।

    हाल अफगानीहरूको प्रमुख लक्ष्य युद्धविराम गरी अफगानी समस्यामा पुनः वार्ता आरम्भ गर्नु रहेको निश्कर्ष उनीहरूको रहेको छ । बैठकले अफगानिस्तानको संवैधानिक सुधार र विशेष गरी छोटो दुई वर्षे कार्यकालमा आम चुनावको तयारी गर्ने कार्य योजनासहित अन्तरिम गठबन्धन सरकार गठन गर्नु रहेको ‘द एक्सप्रेस ट्रिब्यून’ले अफगानिस्तानका रूसी राजदूत जामिर काबुलोभलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

    काबुलोभले भने, ‘अफगान सरकारले एक वर्षअघि तालिबानसँग वार्ता गरेको हुनुपथ्र्यो । तालिवानी आन्दोलनले सैन्य सफलता प्राप्त गर्न नसकेपछि विद्रोहीहरू काबुलसँग संयुक्त सरकारमा सहभागी हुन तयार भइसकेका छन् । तर यसका लागि उनीहरूको अस्तित्वलाई काबुलले स्वीकार गर्नुपर्नेछ ।”

    उनले मध्यपूर्वबाट धपाइएका अन्तर्राष्ट्रिय आतङ्ककारी संगठनहरुले अफगानिस्तानमा आफूलाई पुनः स्थापित गर्ने प्रयास गर्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए ।

    काबुलोभलाई अफगानिस्तानको स्थितिमा कुन देशको सबैभन्दा बढी प्रभाव छ भनेर पनि सोधिएको थियो । यससम्बन्धमा उनले भने, ‘त्यहाँ कुनै पनि राष्ट्रको एकल प्रभाब छैन यद्यपि चीन, रुस, अमेरिका र पाकिस्तानले अफगान राजनीतिमा आंशिक प्रभाब राख्ने गरेका छन् ।”

    केही दिनअघि अफगानिस्तान सरकार र तालिवानले अफगानिस्तानमा शान्ति बहाली गर्ने र उच्चस्तरीय वार्तालाई निरन्तरता दिने प्रयासलाई शीघ्र अघि बढाउन सहमति जनाएका छन् । अफगानिस्तानमा हिंसा भड्कने क्रममा दोहामा भएको दुई दिने वार्तापछि दुई पक्षले संयुक्त वक्तव्य जारी गरेका थिए ।

    तथापि, दुवै पक्षले हिंसा वा युद्धविरामको उल्लङ्घन वृद्धिबारे उल्लेख गर्न चाहेनन् । तालिबानसँग वार्तामा राष्ट्रिय मेलमिलापका लागि उच्च परिषद्का अध्यक्ष तथा अफगान वार्ताका लागि राजनीतिज्ञको सात सदस्यीय प्रतिनिधिमण्डलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले अफगान सरकारको दृढ इच्छा र शान्तिप्रतिको प्रतिबद्धता सहभागी नेताहरूसँग बाँडेका थिए । दुई दिनको वार्ता दुवै पक्षका लागि स्पष्ट रूपमा एक अर्कालाई आफ्नो अडान बाँड्ने राम्रो अवसर भएको उनले बताएका थिए ।

    यसैबीच, अफगानिस्तानमा हालैका हप्ताहरूमा हिंसात्मक गतिविधिमा उल्लेख्य वृद्धि देखिएको छ । मे महिनामा विदेशी सेना देशबाट हट्न थालेदेखि तालिबान समूहले आक्रामक कदम चालेका छन् । संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन ९नाटो० सेनाले अगस्टको अन्त्यसम्म सैनाको फिर्ता प्रक्रियालाई पूरा गर्नेछन् ।

    अफगानिस्तानमा तालिवानले धेरैभन्दा धेरै भूभाग आफ्नो नियन्त्रणमा लिइरहेको बताएको छ भने अफगान सेनाले आतङ्ककारीहरुलाई विफल पार्न प्रतिकार अभियान नै चलाएको छ ।

  • आफूलाई एप्पलको सीइओ बनाउन टीम कुकलाई इलोन मस्कको आग्रह !

    आफूलाई एप्पलको सीइओ बनाउन टीम कुकलाई इलोन मस्कको आग्रह !

    सीएनएन । यदि इलोन मस्कले यति धेरै कम्पनीहरु हाँकिरहेका हुने थिएनन् भने, उनी यतिबेला प्रतिष्ठित अमेरिकी प्रविधि कम्पनी एप्पलको प्रमुख कार्यकारी अधिकृत हुने थिए ।

    पाँचवर्षअघि उत्पादनमा भएको ढिलाइ र टेस्लाले लन्च गर्ने भनेको मोडल-थ्रीमा सिर्जिएको अन्यौलताको बेला मस्कले टिम कुकलाई टेलिफोन गर्दै आफूलाई सीइओ बनाउन आग्रह गरेका थिए ।

    जतिबेला एप्पलका वर्तमान सीइओले मस्कको कम्पनी टेस्ला खरिद गर्नेबारे विचार गरिरहेका थिए ।

    मस्कले आफू सीइओ बन्ने सर्तमा मात्र टेस्ला विक्री गर्न खोजेको बताएका थिए । कुकले क्षणभरमै सम्झिए कि मस्कले आफ्नो जागिर खान खोजिरहेका छन् ।

    वाल स्ट्रिट जर्नलका संवाददाता टीम हिगिन्सद्वारा लिखित पुस्तक ‘पावर प्ले : टेस्ला, इलोन मस्क एन्ड द बेट अफ दी सेन्चुरी’माथि लस एन्जल्स टाइम्समा प्रकाशित पुस्तक समीक्षामा यो कुरा उल्लेख छ ।

    लेखक हिगिन्सले एप्पल, टेस्ला र अन्य प्रविधि कम्पनीबारे रिपोर्टिङ गरेका छन् । गत डिसेम्बरको एक ट्वीटमा मस्कले आफूले एप्पललाई टेस्ला विक्री गर्न चाहेको तर, आफूले कुकसँग कहिल्यै कुरा नगरेको बताएका थिए ।

  • डेल्टा भेरिएन्टले चीनमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, वुहान यताकै खराब स्थिती

    डेल्टा भेरिएन्टले चीनमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, वुहान यताकै खराब स्थिती

    बेइजिङ । पूर्वी चीनको जाङ्सु प्रान्तको राजधानी नान्जिङबाट फैलिएको कोभिड–१९ को पछिल्लो संक्रमण बेइजिङ महानगरपालिकासहित मुलुकका अन्य पाँच प्रान्तसम्म फैलिएको छ ।

    ग्लोबल टाइम्सले पछिल्लो संक्रमणलाई वुहानपछिकै सर्वाधिक संक्रामक परिस्थिती भएको जनाएको छ ।

    गत जुलाईमा उक्त विमानस्थलमा पहिलो संक्रमण पुष्टि भएको थियो । बिहीबारसम्म त्यहाँ २०० जनामा संक्रमण भेटिएको छ । यसअघि स्थानीय संक्रमण न्यून हुने गरेपछि लामो दूरीको यात्राको ट्रान्जिट थलो भएकाले पनि नान्जिङ एयरपोर्टमा संक्रमण फैलिएको हो ।

    हुनान प्रान्तको अर्को पर्यटकीय थलो र जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म अवतारको छायांकन स्थल झान्जियाजीमा पनि व्यापक संक्रमण फैलिएको छ । सो ठाउँमा जुलाई २२ मा आयोजित २००० जना सहभागि एक सांस्कृतिक कार्यक्रमबाट फर्किएका ४ जनामा संक्रमण पाइएको थियो ।

    बिहीबार बेइजिङमा झान्जियाजीबाट फर्किएका दुईजनामा संक्रमण भेटिएको छ । पेकिङ युनिभर्सिटीका विज्ञ वाङ ग्वाङफाका अनुसार चीनमा संक्रमण फैलिनुमा संक्रामक डेल्टा प्रजाति कारक रहेको जनाइएको छ ।

  • अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्र ४५ मिनेट नासाको नियन्त्रण बाहिर, स्पेस दुर्घटना टर्‍यो

    अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्र ४५ मिनेट नासाको नियन्त्रण बाहिर, स्पेस दुर्घटना टर्‍यो

    वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र बिहीबार ठूलो दुर्घटनाबाट जोगिएको छ । स्पेस स्टेसन आफ्नो निर्धारित कक्षबाट ४५ मिनेट बाहिर गयो । त्यसपछि नासाको नियन्त्रण केन्द्रमा उपस्थित उडान टीमले पुनः नियन्त्रण स्थापित गर्दै कक्षमा ल्याइपुर्‍याए ।

    नासाका अनुसार आधा डिग्री प्रति सेकेन्डको गतिमा स्पेस स्टेसन कक्षबाट बाहिरिँदै थियो । यो घटना रुसी ल्याब्रोटरी मोडल नाउकाको प्रविधिमा आएको खराबीले हुन गयो । नाउकालाई हालै स्पेस स्टेसनसँग जोडिएको थियो । यो यानको जेस्ट थ्रटर्स नामक प्रविधि आफै चल्न थालेको थियो । जसले गर्दा केन्द्र नासाको नियन्त्रणभन्दा बाहिर गयो । स्पेस स्टेसनमा ७ जना क्रु सदस्य छन् ।

    यो घटना भएको केही बेरमै नासाले बोइङ–सीएसटी–१०० नामक स्टारलाइनर क्याप्सुलको प्रक्षेपणका लागि उल्टो गणना थालेको थियो । अब यसको लन्च ३ अगस्टमा हुनेछ । नासाका अनुसार अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा अहिले दुईजना रुसी, तीन अमेरिक, एक जापानी र एक फ्रान्सेली अन्तरीक्षयात्री छन् ।

  • कोरोनाको खोप लगाउने प्रत्येक अमेरिकीलाई सय डलर दिन राष्ट्रपति बाइडेनको निर्देशन

    कोरोनाको खोप लगाउने प्रत्येक अमेरिकीलाई सय डलर दिन राष्ट्रपति बाइडेनको निर्देशन

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको खोप लगाउने देशका प्रत्येक नागरिकलाई प्रोत्साहन स्वरुप १०० डलर प्रदान गर्न निर्देशन दिएका छन् ।

    खोप अभियानलाई प्रभावकारी बनाउँदै कोरोना विरुद्ध जित हासिल गर्ने रणनीतिस्वरुप उनले राज्य तथा स्थानीय सरकारहरुलाई यस्तो निर्देशन दिएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।

    ‘राष्ट्रपतिले राज्य, क्षेत्रीय तथा स्थानीय सरकारहरुलाई प्रत्येक नयाँ भ्याक्सिन लगाउने अमेरिकीहरुलाई अतिरिक्त प्रोत्साहनस्वरुप १०० डलर भुक्तानी गर्न आह्वान गर्नुभएको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘यसका लागि आवश्यक प्राविधिक सहायताका लागि मन्त्रालय तयार छ ।’

    देशका केही भागहरुमा कोरोना संक्रमणका कारण मानिसहरु अस्पताल भर्ना हुने क्रम बढेको अवस्थामा पनि खोप अभियान सुस्त भएपछि बाइडेनले सो निर्देशन दिएका हुन् । अहिलेसम्म ५७.१ प्रतिशत अमेरिकीहरुले कोरोनाविरुद्धको पूरा डोज खोप लगाइसकेका छन् ।

    यस वर्षको सुरुवातदेखि अमेरिकामा कोभिडका कारण मृत्यु भएका मध्ये ९९.२ प्रतिशत खोप नलगाएकाहरु रहेको तथ्यांकले देखाएको छ ।

  • विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

    विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

    काठमाडौं । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

    संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको भनाई छ ।

    त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको सङ्ख्यामा पनि थोरै बृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् । डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।

    सङ्क्रमितहरुको कुल सङ्ख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् ।कतिपय देशहरुमा कोरोनाभाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ ।

  • अमेरिकामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प!

    अमेरिकामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प!

    काठमाडौं । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्लामा ८.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागलाई उद्धृत गर्दै रोएटर्सले लेखेको छ ।

    स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

  • सिड्नीमा फेरि चार हप्ता लकडाउन हुने

    सिड्नीमा फेरि चार हप्ता लकडाउन हुने

    काठमाडौं । अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

    सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार न्यू साउथ वेल्सभर थप १७७ जना सङ्क्रमित भएका छन् । सिड्नीमा अब अगस्ट २८ सम्म निरन्तर लकडाउन लागू हुने भएको छ । नयाँ थप गरिएको लकडाउन अवधिका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू पनि थप गरिएको छ । किनमेल गर्नु परेमा स्थानीय सरकारको अनुमतिमा घरदेखि १० किलोमिटर टाढासम्म मात्रै जान पाइने व्यवस्था गरिएको छ ।

    अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा डेल्टा भेरिअन्ट फैलिएपछि गएको जुन महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ । सिड्नीमा मात्रै यस वर्ष कोरोनाभाइरसबाट दुई हजार ५०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

    सानास्तरको महामारी नियन्त्रणमा लिएका भिक्टोरिया र साउथ अस्ट्रेलियाले भने बुधबारबाट लकडाउन अन्त्य भएको घोषणा गरेका छन् । तर सिड्नीमा भने निषेधाज्ञा सेप्टेम्बर वा त्योभन्दा पछिसम्म जारी रहनसक्ने विज्ञहरूले अनुमान गरेका छन् ।

    विज्ञ र सरकारी अधिकारीहरूले सङ्क्रमण दर शून्य नजिकै नभएसम्म सिड्नीलाई पुनः खुला गर्न नसकिने बताइरहेका छन् । लगातार भइरहेको लकडाउनप्रति कतिपय मानिसले भने विरोध जनाएका छन् । उनीहरूले सिड्नी, मेलबर्नलगायतका विभिन्न सहरहरूमा प्रदर्शन पनि गरेका थिए । रासस

  • ब्लिंकेनको दिल्ली दौडाहाको मुद्दा बन्यो ‘अफगानिस्तान’, चिनियाँ विदेशमन्त्रीद्वारा तालिवानी डेलिगेसनसँग भेट

    ब्लिंकेनको दिल्ली दौडाहाको मुद्दा बन्यो ‘अफगानिस्तान’, चिनियाँ विदेशमन्त्रीद्वारा तालिवानी डेलिगेसनसँग भेट

    दिल्ली । अमेरिका र भारतबीच अफगानिस्तान, कोभिड-१९, क्वाड, इन्डो–प्यासेफिक, मानवअधिकार र लोकतन्त्रजस्ता मुद्दाहरुमा बुधबार सहमति जुटेको छ ।

    दिल्ली भ्रमणमा पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशमन्त्री जयशंकरलाई भेट गरे ।

    दुई मुलुकबीच मुख्य मुद्दा अफगानिस्तान बन्यो । अमेरिकी सेना फिर्ता भएपछि तालिवानी विद्रोहीले अफगानिस्तानलाई पुनः नियन्त्रणमा लिन सुरु भएसँगै हुनसक्ने सम्भावित अस्थिरतालाई लिएर दुबै नेताले चासो व्यक्त गरेको जनाइएको छ ।

    ब्लिंकेनले अफगानिस्तान अन्तर्राष्ट्रिय समुदायको नियन्त्रणबाट बाहिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरे । संयुक्त पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयंशकरले पनि छिमेकी मुलुकको रुपमा अफगानिस्तानको पछिल्लो अवस्थाले क्षेत्रीय स्थिरता भंग हुनसक्ने भएकाले दुई मुलुकले मिलेर शान्ति कायम गराउनुपर्ने बताएका थिए ।

    अमेरिका र भारतका दुई विदेशमन्त्रीले अफगानिस्तानप्रति चासो व्यक्त गरिरहँदा बुधबार दिउँसो बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीले तालिवानी नेताहरुसँग भेटवार्ता गरेका थिए ।

    वार्ता र समयको यो दृश्यले अफगानिस्तानमा पुनः एकपटक अमेरिका र चीन आमनेसामने हुने देखिएको छ । चिनियाँ विदेशमन्त्री यीले अफगानिस्तानको तालिवानका नेता मुल्लाह अब्दुल घानीसहितको डेलिगेसन टोलीलाई भेट गर्दै अफगानिस्तानमा शान्ति र स्थिरता कायम गर्न त्यहाँको राजनीतिक र सैनिक शक्ति सफल हुने विश्वास व्यक्त गरे ।

    अफगानी नागरिकले नै आफ्नो विवेक र शक्तिबाट शान्ति कायम गर्नुपर्ने चिनियाँ विदेशमन्त्रीको जोड थियो ।

  • एक सातामै भुटानले लगायो ९० प्रतिशत जनसंख्यालाई खोप

    एक सातामै भुटानले लगायो ९० प्रतिशत जनसंख्यालाई खोप

    थिम्पु । भुटानले एकसातामै कूल जनसंख्याको ९० प्रतिशत योग्य नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाएको छ । बालबालिका सम्बन्धी राष्ट्रसंघीय नियोग युनिसेफले यसलाई सफलताको कथा र आशाको किरण भएको बताएको छ ।

    कूल ७ लाख ७० हजार जनसंख्या भएको भुटानमा खोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीले देशव्यापी खोप आपूर्तिमा सघाएका थिए ।

    भुटानले दोस्रो डोज खोप लगाउने अभियान अन्तर्गत दुर्गम भेगमा हेलिकोप्टरमार्फत खोप आपूर्ति गरेको थियो । मंगलबारसम्म कूल खोप लगाउने लक्षित जनसंख्या ५ लाख ३० हजारमध्ये ४ लाख ८० हजारलाई खोप लगाइएको छ । युनिसेफका भुटानी प्रतिनिधि विल पाक्र्सले यसलाई सम्भवतः विश्वकै छिटो खोप अभियानमध्येको एक भएको बताए ।

  • अमेरिकी विदेशमन्त्री दिल्लीमा : मोदीलाई भेटेपछि आजै संयुक्त पत्रकार सम्मेलन हुँदै

    अमेरिकी विदेशमन्त्री दिल्लीमा : मोदीलाई भेटेपछि आजै संयुक्त पत्रकार सम्मेलन हुँदै

    दिल्ली । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन पहिलो भारत भ्रमणको सिलसिलामा आज दिल्ली पुगेका छन् । जहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम छ ।

    ब्लिंकेनले भ्रमणको पहिलो दिन निर्वासित तिब्बती नेताहरुलाई भेटेका छन् । दलाई लामा निकट बौद्ध भिक्षु गेसे दोर्जी दाम्दुल लगायतलाई भेटेर उनले चीनलार्ई सन्देश दिने प्रयास गरे ।

    लगत्तै उनले भारतीय नागरिक समाजका प्रतिनिधिसँग पनि भेट गर्दै लोकतन्त्र कहिलेकाहिँ खराब हुने र कहिलेकाहिँ दुःखदायी हुने समेत बताएका छन् ।

    आजै भारतीय समकक्षी जयशंकरसँग द्धिपक्षीय चासोका विषयमा छलफल हुने जनाइएको छ । अपरान्ह जयंशकर र ब्लिंकेनले संयुक्त पत्रकार सम्मेलन समेत गर्नेछन् ।

    अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत भ्रमणका क्रममा ब्लिंकेनले मोदी र जयशंकरसँग कोभिड-१९ महामारी रोकथाम, इन्डो-प्यासिफिक इन्गेजमेन्ट, क्षेत्रीय सुरक्षा, लोकतान्त्रिक मूल्य र जलवायु परिवर्तनबारे छलफल गर्ने जनाएको छ ।

    बुधबार बेलुका ब्लिंकेन कुवेत भ्रमणमा निस्कने कार्यक्रम छ । मंगलबार बेलुका भारत टेक्नेवित्तिकै उनले नेपाली प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गर्दै बधाई तथा शुभकामना दिएका थिए । दुई नेताबीच १० मिनेट संवाद भएको थियो ।

  • रोकेको बसमा ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु

    रोकेको बसमा ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु

    एजेन्सी । भारतको उत्तर प्रदेश बारबंकी जिल्लामा रोकेर राखेको बसमा ट्रकले ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । पञ्जावको लुधियानाबाट बिहार जाँदै गरेको बसलाई बारबंकीको रामसनेहीघाट कोतवाली क्षेत्रमा मध्यराती ट्रकले ठक्कर दिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

    २ तले बसमा प्राबिधिक समस्या आएपछि चालकले सडक किनारमा रोकेर राखेका थिए । बसभित्रका सबै यात्रु निदाईरहेका बेला तिब्र गतिमा आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । बसमा रहेका यात्रु मध्य १८ जनाको मृत्यु भएको लखनउ प्रहरीका एडीजी सत्य नारायण साबतले बताए । साबतका अनुसार १९ बढी घाइतेहरुलाई उद्दार गरी अस्पताल भर्ना गरिएको छ । सबैको अवस्था गम्भीर रहेको उनले बताए ।

    साउन महिनाको पवित्र तीर्थाटन गर्न लुधियानाबाट सावारिया भरेर यात्रुहरु बिहार जाँदै गरेको बताईएको छ । ट्रकले ठक्कर दिएको समयमा सो स्थानमा भारी वर्ष भइरहेका कारण उद्दारमा ढिलाई भएको स्थानीयले बताएका छन् ।

  • अमेरिकासँगको कूटनीतिक तनावका बीच उत्तर र दक्षिण कोरियाबीच संवाद सुरु

    अमेरिकासँगको कूटनीतिक तनावका बीच उत्तर र दक्षिण कोरियाबीच संवाद सुरु

    काठमाडौं । तीनवर्ष लामो संवादहिनतापछि दक्षिण र उत्तर कोरिया सम्बन्ध सुधारका लागि संवाद सूत्रहरुलाई सक्रिय बनाउन सहमत भएका छन् । आणविक हतियारलाई लिएर अमेरिकासँगको रस्साकस्सीबीच यी दुई छिमेकी मुलुक सम्बन्ध सुधारमा अघि बढेका हुन् ।

    यो कदमले कोरियाली प्रायद्धीपमा तत्कालका लागि राहत मिल्ने अपेक्षा गरिएको छ ।

    तर, उत्तर कोरिया दक्षिणसँग यसअघि भएका सहमतिलाई पालना गर्न तयार हुनेछ वा छैन भन्ने कुरा निश्चित छैन । साथै, आणविक हतियारलाई लिएर अमेरिकासँगको कूटनीतिक वार्ता अघि बढ्छ वा बढ्दैन भन्ने कुरा पनि यकिन छैन ।

    गत अप्रिलदेखि नै किमजोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन सम्बन्ध विस्तारका लागि सीमापार शान्ति कायम गर्नेभन्दै थुप्रैपटक पत्र आदानप्रदान गरिरहेका छन् ।

    ‘दुबै नेताहरु आपसी विश्वासलाई पुनस्थापित गर्दै जतिसक्दो चाँडो सम्बन्धलाई सुधार्नेतर्फ सहमत भएका छन्’ दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लुहाउसका अधिकारी पार्क सो हङले टेलिभिजन सम्बोधनमा भने । उनका अनुसार दुबै कोरियाली मुलुकहरुले मंगलबार बिहानदेखि संवादको औपचारिक थालनी गरेका छन् । दक्षिणको घोषणासँगै उत्तर कोरियाले पनि यसलाई पुष्टि गरेको थियो ।

  • जिन्स पाइन्ट लगाएको विरोधमा बालिकाको हत्या !

    जिन्स पाइन्ट लगाएको विरोधमा बालिकाको हत्या !

    दिल्ली । पछिल्लो समय महिला र युवती आफ्नै परिवारद्वारा मारिएको खबर भारतीय मिडियाको हेडलाइन बनेको छ । यो घटनाले भारतीय समाजमा महिला र युवती आफ्नै परिवारबाट कति सुरक्षित छन् भन्ने बहस पनि सुरु भएको छ ।

    गतसाता उत्तर प्रदेशमा एकजना १७ वर्षिया बालिकाको हत्यो परिवारबाटै भयो । आरोप थियो – जिन्स पाइन्ट लगाउनु ।

    उत्तर प्रदेशको डियोरिया जिल्लास्थित साभ्रेजी खर्ग गाउँमा आफ्नै आफन्तको कुटाइबाट ती बालिकाको मृत्यु भयो । बालिकाकी आमा शकुन्तला देवीका अनुसार काका र हजुरबाले निर्घात कुटपिट गरेपछि बालिका मारिएकी थिइन् ।

    लुगाको विषयमा परिवारका सदस्यबीच झगडा भएको बीबीसी हिन्दीले जनाएको छ । शकुन्तलाका अनुसार सानो झगडाले हिंसाको रुप लिएको थियो ।

    ‘उनी एकदिनको लागि उपवास बसेकी थिइन् । त्यसदिनको बेलुका उनी जिन्स लगाएरै पूजापाठमा बसिन् । त्यतिबेला उनका हजुरबाले जिन्सको लुगा लगाएको भन्दै विरोध गरे । अनि उसले आफूले जिन्सको लुगा लगाउन पाउनुुपर्ने भन्दै बताइन्’ शकुन्तला देवीले भनिन् ।

    कुटपिटबाट बेहोस् भएकी बालिकालाई रिक्सा बोलाएर अस्पताल लगिएको थियो । अर्को बिहान स्थानीय गण्डकी नदीको पुलमा बालिकाको शव भेटियो । प्रहरीले हत्यामा संलग्न भएको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

  • अमेरिकालाई चीनको आग्रह : चिनियाँ नेतृत्वलाई बदनाम गराउने काम बन्द गर्नूस

    अमेरिकालाई चीनको आग्रह : चिनियाँ नेतृत्वलाई बदनाम गराउने काम बन्द गर्नूस

    बेइजिङ । अमेरिकामा जो बाइडन राष्ट्रपति निर्वाचित बनेपछि उनको सरकारका एक वरिष्ठ प्रतिनिधिसँगको उच्चस्तरीय वार्तामा बेइजिङले अमेरिकालाई चिनियाँ नेतृत्वको ‘बद्नाम’ गर्ने काम रोक्न आग्रह गरेको छ ।

    चीनका उपविदेशमन्त्री शी फङले अमेरिकाले चीनलाई ‘कल्पित शत्रु’ का रूपमा हेरेको हुनाले दुई देशबीचको सम्बन्धमा ‘तिक्तता’ बढेको बताएका हुन् । अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मनसँगको वार्तामा चिनियाँ नेताले उक्त कुरा बताएका हुन् । उनी नयाँ सरकार गठनपछिको धेरै महिनापछि चीन भ्रमण गर्ने वरिष्ठ अमेरिकी अधिकारी हुन् । बाइडनले चीनप्रति विशेषतः मानवाधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेका छन् ।

    चीनको विदेश मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिका अनुसार शीले अमेरिकाले ‘आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिने गरेकोे’ दावी गरेका छन् ।

    सोमवार सम्पन्न हुने दुईदिने भ्रमणका क्रममा शर्मनले दुवै दिन चीनको उत्तरपूर्वमा रहेको तियानजिन सहरमा बिताएका छन् । धेरैले अमेरिका-चीनको यो वार्तालाई बाइडन र सी चिनफिङबीच हुन सक्ने भेटको तयारीका रूपमा लिएका लिएका छन् ।

  • अमेरिकाले इराकबाट सेना फिर्ता गर्ने, बाइडेन र इराकी प्रधानमन्त्री कादिमीबीच सहमति

    अमेरिकाले इराकबाट सेना फिर्ता गर्ने, बाइडेन र इराकी प्रधानमन्त्री कादिमीबीच सहमति

    बगदाद । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । तर पनि अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिने बाइडेनको भनाई छ ।

    इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएका हुन् । हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमी अमेरिकाको भ्रमणमा छन् । प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ ।

    उनीहरुबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । इराकमा हाल २ हजार ५०० जना भन्दा बढी अमेरिकी सैनिक रहेका छन् ।इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतंककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ ।हाल इराकमा रहेका अमेरिकी सैनिकहरूले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेको बताइएको छ ।

    अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ ।अमेरिकाले इराकी प्रधानमन्त्रीलाई सहयोगका लागि यो घोषणा गरेको हुनसक्ने अनुमान गरिएको बताइएको छ ।इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताएका छन् ।

    उनले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भनेका छन्, ‘हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ, तर पनि इराकमै आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामग्री र तालिमका विषयमा सहयोग दिँदा राम्रो हुनेछ । गतवर्ष इराकको राजधानी बग्दादमा अमेरिकी सेनाले ड्रोन हमला गर्दा एकजना उच्च इरानी सैन्य जनरल कासिम सुलेमानी र इरानको समर्थन पाएको शिया मुस्लिम मिलिसिया समूहका एक जना नेता मारिएका थिए । त्यसयता इराकमा अमेरिकी सेनाको झन् ठूलो विरोध भएको थियो । यहाँका राजनीतिक दलहरूले अमेरिकी नेतृत्वमा आईएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् ।

  • भारतका दुई राज्यको सीमामा झडप, ६ जना प्रहरीको मृत्यु

    भारतका दुई राज्यको सीमामा झडप, ६ जना प्रहरीको मृत्यु

    एजेन्सी। भारतको असम-मिजोरम सीमा क्षेत्रमा हिंसात्मक झडप हुँदा आसाम राज्यका ६ जना प्रहरीले ज्यान गुमाएका छन् । दुई राज्यको सीमा क्षेत्रमा मिजोरम तर्फबाट आएका केही अराजक समूहले ढुँगामुढा गरेको आसाम प्रहरीले आरोप लगाएको छ ।

    आसाम प्रहरीले शुरुमा ढुँगा मुढा गरेको समूहबाट फायर खोलेको र झडपमा आफ्नो तर्फका ६ प्रहरी मारिएको जनाएको छ । यस घटनालाई लिएर दुबै राज्यका मुख्यमन्त्रीहरुले एकले अर्कालाई दोष लगाएका छन् ।

    आसामका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।

    मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटमा भनाई पोष्ट गर्दै आसाम प्रहरीका ६ जवानले राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएको उल्लेख गरेका छन् । ‘मलाई ठूलो चोट लागेको छ । आसाम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ ।’ मुख्यमन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।

    उता मिजोरम राज्यका गृहमन्त्री लालछमलियानाले आसाम प्रहरीका केहि जवानहरु मिजोरम राज्यको प्रहरी पोष्ट र सीआरपीएफको पोष्ट हुँदै जबर्जस्ती  प्रवेश गरेको बताएका छन् । मिजोरम राज्यको सीआरपीएफ र प्रहरीसँग भनाभन् भइरहेको अवस्थामा मिजोरम राज्यका स्थानीयबासीले प्रतिकार गर्न खोज्दा सो घटना घटेको गृहमन्त्री लालछमलियानाले बताए । उनले प्रतिकारमा आएका निशस्त्र आएका स्थानीयबासी माथि आसाम प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोली प्रहारसमेत गरेको आरोप लगाएका छन् ।

    मिजोरम राज्यको सीआरपीएफका एडीजी संजीव रंजन ओझाले अग्लो स्थानमा रहेको मिजोरम प्रहरी र स्थानीयमाथि आसाम प्रहरीले केहि अश्रुग्याँस छाडेसँगै हिँसा भड्केको बताए । ‘दुबै तर्फबाट फायर खोलेपछि असम प्रहरीका ६ प्रहरीले ज्यान गुमाए,’ एडीजी ओझाले भने ।

    दुबै राज्यका मुख्यमन्त्रीहरुले केन्द्र सरकारको हस्तक्षेपको माग गरेका छन् । केन्द्र सरकारले दुबै राज्यका सीआरपीएफलाई बल प्रयोग गरी शान्ति बहाली गर्न निर्देशन दिए पछि दंगा शान्त भएको छ ।

    केन्द्र सरकारका गृहमन्त्री अमित साहले दुबै राज्यका मुख्यमन्त्रीहरुलाई सीमानाका बाट आ-आफ्नो प्रहरी फर्काउन आग्रह गरेपछि सीमामा तनाव कम भएको थियो ।

  • कोभिड नियन्त्रणमा अमेरिका गलत दिशातर्फ हिँडिरहेको छ : डा. एन्थोनी फाउची

    कोभिड नियन्त्रणमा अमेरिका गलत दिशातर्फ हिँडिरहेको छ : डा. एन्थोनी फाउची

    वासिङ्टन । प्रमुख स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरस नियन्त्रणको मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेको बताएका छन्। पछिल्ला दिनमा अमेरिकामा संक्रमण बढिरहेको बेला प्रमुख अमेरिकी स्वास्थ्य सल्लाहकारको यस्तो प्रतिक्रिया आएको हो ।

    खोप लगाउन अझै हिच्किचाहट रहेको र डेल्टा भेरिएन्ट फैलने गति तीव्र भएकाले संक्रमण पुनः बढ्ने चेतावनी फाउचीले दिएका छन् । स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताएका छन्। उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताएका छन्।

    खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस एउटा महामारी बनेको उनको भनाइ छ । ‘हामी गलत दिशातर्फ अघि बढिरहेका छौं’ उनले भने, ‘पचास प्रतिशत अमेरिकी नागरिकले अहिलेसम्म खोप लगाएका छैनन् । यो नै प्रमुख समस्या हो ।’

    आइतवार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले भने, ‘हामीले आफूलाई खतरामा राखेका छौं ।’ अमेरिकामा अहिलेसम्म ४९ प्रतिशत जनसंख्याले पूर्णरुपमा खोप लगाइसकेका छन् । गत एप्रिलदेखि अमेरिकामा खोप लगाउने दरमा कमी देखिएको छ। त्यसबेलासम्म कोरोनाभाइरसविरुद्ध खोप लगाउनेमा अमेरिका सबैभन्दा अगाडि थियो। विशेषगरी अमेरिकाका दक्षिणी राज्यहरूमा खोप लगाउने दर कम देखिएको छ।

  • भारत भ्रमणमा जाँदै अमेरिकी विदेशमन्त्री ब्लिंकेन : खोप, पेगासेस, क्वाड र आतंकवाद मुख्य एजेन्डा

    भारत भ्रमणमा जाँदै अमेरिकी विदेशमन्त्री ब्लिंकेन : खोप, पेगासेस, क्वाड र आतंकवाद मुख्य एजेन्डा

    दिल्ली । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले आगामी जुलाई २७ देखि भारत भ्रमण गर्ने भएका छन् । भारतीय समकक्षी जयशंकरसँग हुने भेटवार्तामा उनले पेगासेस प्रकरण र भारतमा मानवअधिकार अवस्थाबारे कुरा गर्ने जनाइएको छ ।

    साथै, अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरेसँगै उत्पन्न परिस्थिती र आतंकवादमाथि लगानी रोक्नेबारे पाकिस्तानलाई दबाब दिइराख्न समेत दुई नेताले छलफल गर्ने भएका छन् ।

    दक्षिण तथा मध्य एसियाली मामिलाका उपसचिव डीन थेम्पसनले अफगानिस्तान र पाकिस्तान हुने मामिलाबारे पनि चर्चा हुनसक्छ । पेगासस जासूसी मामिला पनि भारत सरकारको भूमिकालाई लिएर अमेरिका चिन्तित छ । विदेशमन्त्री बनेपछि ब्लिंकनको यो पहिलो भारत भ्रमण हुनेछ । स्रोतका अनुसार वार्तामा दुई मुलुकबीचको व्यापार, लगानी, स्वास्थ्य सुविधा, शिक्षा, डिजिटल डोमेन, इनोभेसन र सुरक्षाजस्ता क्षेत्रमा पनि छलफल हुने जनाइएको छ ।

    कोरोना खोप उत्पादनबारे दुबै नेताले क्वाड इनिसिएटिभबारे पनि उनीहरुले चर्चा गर्ने भएका छन् । वर्षको अन्त्यसम्म क्वाडका सदस्य मुलुकहरुबीच विदेशमन्त्री स्तरिय छलफल बोलाउनेबारे पनि चर्चा हुने जनाइएको छ । आगामी वर्षको सुरुवातदेखि भारतमा उत्पादित खोपलाई एसिया प्रशान्त क्षेत्रमा आपूर्ति गर्नेबारे पनि छलफल हुनेछ ।

    भारतले यसअघि जापान, अमेरिका र अष्ट्रेलियासँग मिलेर खोप बनाउने घोषणा गरेको थियो । यो इनिसिएटिभलाई क्वाड नाम दिइएको छ ।